`

म्याग्दीमा सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक्साभेटर चालकको मृत्यु

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनास्थित दरखोला जलविद्युत् आयोजनामा सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।

जलविद्युत आयोजनाको पाइपलाइनका लागि निर्माणाधिन कुनौटा–दर शिलबाङ मोटरबाटो खन्ने क्रममा खसेको पहिरोमा पुरिएर एक्साभेटर चालक ३२ वर्षका खेमराज कुमाललको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्याङ्जाको चापाकोट नगरपालिका–८ घर भएका एक्साभेटर चालक कुमालको शव एक्साभेटरभित्रै च्यापिएको अवस्थामा फेला परेको र शव परीक्षणको लागि प्रदेश अस्पताल बेनी पठाउने तयारी गरिएको ताकम प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विक्रम तिवारीले जानकारी दिए । घटनापछि प्रहरी र स्थानीयवासीले एक्साभेटर चालकको शव पहिरोबाट बाहिर निकालेका थिए ।

मोटरबाटो खन्दै गरेको समयमा अचानक माथिबाट खसेको पहिरोले एक्साभेटर समेत पूर्ण रूपमा क्षति भएको छ ।

दरखोला हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको ६ दशमलव ५ मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजनाले ‘पेनस्टक पाइप’ राख्नका लागि अहिले लाम्पुस भीरमा सडक निर्माण गरिरहेको छ ।

नासाको चन्द्र अभियानसँग जोडिएको स्टारशिप पुनः परीक्षणमा उत्रिँदै

वासिङटन । मङ्गल ग्रहमा मानव बस्ती बसाल्ने एलन मस्कको महत्वाकांक्षी योजनाको केन्द्रमा रहेको स्पेसएक्सको ‘स्टारशिप मेगारकेट’ फेरि परीक्षण उडानको तयारीमा छ । अघिल्ला दुई प्रयासमा यानमा आगो लागेर विस्फोट भएपछि यो परीक्षणमा थप चासो केन्द्रित भएको छ ।

टेक्सासको दक्षिणी भागमा रहेको स्पेसएक्सको स्टारबेस प्रक्षेपण केन्द्रबाट मंगलबार स्थानीय समय अनुसार बेलुका ६ः३० बजे प्रक्षेपण हुने समय तय गरिएको छ ।

एक सय २३ मिटर अग्लो स्टारशिप अहिलेसम्म बनाइएको सबैभन्दा ठूलो यान हो । नासाले पनि आफ्नो ‘आर्टेमिस–३’ मिशन अन्तर्गत अमेरिकीहरूलाई चन्द्रमामा फर्काउने यानको रूपमा स्टारशिपको एक संस्करण प्रयोग गर्ने तयारी गरेको छ ।

तर अघिल्ला दुई परीक्षणमा माथिल्लो भाग विस्फोट हुँदा टुक्राहरू क्यारेबियन टापुहरूमा खसेका थिए, जसले हवाई उडानमा बाधा र्पुयाएको थियो । यसपटक परीक्षण सफल पार्न स्पेसएक्समाथि थप दबाब रहेको छ ।

कम्पनीले परीक्षणमार्फत तीव्र विकासको नीति अपनाएको बताउँदै आएको छ, जसले विगतमा पनि वाणिज्यिक अन्तरिक्ष उडानमा सफलताको आधार तयार पारेको थियो ।

पर्यावरणीय चिन्ता र अनुमति

अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) ले प्रक्षेपणका लागि अनुमति दिँदै हवाई क्षेत्र बन्द गर्ने क्षेत्रफल झन्डै दोब्बर बनाउँदै एक हजार ६०० नौटिकल माइलसम्म विस्तार गरेको छ ।

यस प्रक्रियामा बेलायत, टक्र्स र केकोस टापु, बहामास, मेक्सिको र क्यूबाका अधिकारीहरूसँग समन्वय गरिएको छ ।

एफएएले वार्षिक प्रक्षेपण सङ्ख्या पाँच बाट बढाएर २५ पुर्याउने निर्णय पनि हालै गरेको छ । यसले वातावरणमा नकारात्मक असर नपार्ने बताउँदै संरक्षण समूहहरूको चेतावनीलाई अस्वीकार गरेको हो, जसले समुद्री कछुवा र तटीय चराहरूको जोखिमको चेतावनी दिएका थिए ।

कर र महँगीको असर कम गर्न जापान सरकारको विशेष पहल

टोकियो । जापान सरकारले साना तथा मध्यम व्यवसायहरूलाई अमेरिकाबाट लगाइएको आयात करको असरबाट जोगाउन १५ अर्ब ५० करोड डलरभन्दा बढी बराबरको राहत कार्यक्रम सार्वजनिक गरेको छ ।

अमेरिकाले जापानसहित धेरै देशका सामानहरूमा १० प्रतिशतको आधारभूत आयात कर तथा सवारीसाधन, फलाम र एल्युमिनियममा अझै बढी दरको कर लगाएको छ, जसको प्रत्यक्ष असर जापानी व्यवसायहरूमा परेको छ ।

सरकारले साना व्यवसायहरूलाई सहज ऋण, ऋण सर्तहरूमा सहुलियत तथा सरकारी ऋण संस्थामार्फत आर्थिक सहायता प्रदान गर्ने जनाएको छ ।

मन्त्रिपरिषद्का मुख्यसचिव योशिमासा हायाशीले भने,“अमेरिकी करबाट प्रभावित साना तथा मध्यम व्यवसायहरूलाई पूर्ण समर्थन दिइनेछ ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चालु वर्षको मार्च महिनामा जापानका सामानहरूमा २४ प्रतिशत बराबरको ‘प्रतिशोधात्मक’ कर घोषणा गरेका थिए, तर त्यो निर्णय जुलाईको सुरुसम्मका लागि रोकिएको छ ।

जापानले ती करहरू पूर्णरूपमा हटाउन आग्रह गरिरहेको छ । त्यसका लागि सरकारी प्रतिनिधि चाँडै चौथो चरणको वार्ताका लागि अमेरिका जाँदै छन् ।

प्रधानमन्त्री शिगेरु इशिबाले आगामी महिना क्यानडामा हुने सात राष्ट्रको शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पसँग प्रत्यक्ष भेटवार्ता गरेर सहमति जुटाउने सङ्केत दिए ।

अर्कोतर्फ, सरकारले बढ्दो बिजुली तथा ग्यासको मूल्यका कारण जनतामा परेको असर कम गर्न आगामी तीन महिनाका लागि दुई खर्ब ८८ अर्ब बराबरको सहयोग प्रदान गर्ने जनाएको छ ।

यसले प्रत्येक परिवारको मासिक उपभोग खर्चमा तीन हजार डलरको राहत दिने बताइएको छ । साथै, सरकारले अस्पताल, विद्यालय तथा साना उद्योगहरूलाई थप विशेष सहायता प्रदान गर्ने योजना पनि अघि सारेको छ ।

अमेरिका–युरोपेली सङ्घ व्यापार वार्तामा सकारात्मक सङ्केत, भन्सार शुल्क अस्थायी रूपमा स्थगित

ब्रसेल्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घमाथि प्रस्ताव गरिएको ५० प्रतिशत भन्सार शुल्क अस्थायी रूपमा स्थगित गर्ने निर्णय लिएपछि दुई पक्षबीचको व्यापार वार्ता पुनः सकारात्मक दिशामा अघि बढ्ने सङ्केत देखिएको छ । आइतबार राष्ट्रपति ट्रम्प र युरोपेली आयोगका अध्यक्ष उर्सुला फोन डेर लायनबीच भएको टेलिफोन वार्तापछि आगामी जुलाई ९ भित्र निष्कर्षमा पुग्ने लक्ष्य राखिएको जानकारी प्राप्त भएको छ ।

वार्ताको वर्तमान अवस्था

अमेरिकाले अघिल्लो चरणमा युरोपेली सङ्घका विभिन्न वस्तुहरूमा उच्च भन्सार शुल्क लगाइसकेको छ, जसमा सवारी साधन, फलाम, पित्तल लगायतका सामग्रीहरू छन् । हाल केही शुल्कहरू वार्ताका कारण अस्थायी रूपमा रोकिएका छन् । यद्यपि युरोपेली वस्तुहरू अझै १० प्रतिशतको भन्सार महसुल अन्तर्गत परिरहेका छन् ।

युरोपेली सङ्घका तर्फबाट व्यापार आयुक्त मरोस सेफ्चोभिक वार्तालाई सक्रिय रूपमा अगाडि बढाइरहेका छन् । अमेरिकाका वाणिज्य सचिव होवार्ड लुटनिक र व्यापार प्रतिनिधि जेमिसन ग्रियरसँग उनको निरन्तर सम्पर्क भइरहेको छ ।

अमेरिकाको अपेक्षा

राष्ट्रपति ट्रम्पले अमेरिका–युरोपबीचको व्यापार घाटा घटाउनुपर्ने आवश्यकता औंल्याएका छन् । उनले युरोपेली देशहरूले अमेरिकी ऊर्जा सामग्रीको खरिदमा वृद्धि गर्नु आवश्यक रहेको बताए । साथै, उनले केही कर प्रणाली र गैरभन्सार अडचनहरूबारे पनि छलफल अघि सारेका छन्, जसमा मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने प्रस्ताव पनि समावेश रहेको जनाइएको छ । यस्ता प्रस्तावहरूमध्ये केही युरोपेली पक्षका लागि कठिन रहेको बुझिएको छ ।

युरोपेली सङ्घको दृष्टिकोण

युरोपेली सङ्घले व्यापारमा सहकार्य र समझदारी कायम राख्दै आर्थिक स्थायित्व सुनिश्चित गर्न चाहेको जनाएको छ । यसका लागि उसले दुई पक्षीय भन्सार छुटको प्रस्ताव अघि सारेको छ, जसमा औद्योगिक उत्पादनहरू समेत समावेश छन् ।

युरोपेली सङ्घले चीनसँग सम्बन्धित व्यापारिक चुनौतीहरूबारे संयुक्त पहल गर्न सकिने सम्भावनाबारे पनि सङ्केत गरेको छ, यद्यपि प्रत्यक्ष रूपमा चीनको नाम उल्लेख गरिएको छैन ।

यदि वार्ता सकारात्मक रूपमा अघि बढ्न सकेन भने युरोपेली सङ्घले करिब १३६ अर्ब अमेरिकी डलर बराबरका वस्तुहरूमा शुल्क लगाउने विकल्पको समेत विचार गरिरहेको छ । साथै, केही प्रमुख प्रविधि कम्पनीहरूमाथि समेत नियमन कडा पार्न सकिने बताइएको छ ।

युरोपेली आयोगका अध्यक्ष फोन डेर लायनले आइतबारको वार्तापछि वार्तालाई स्पष्ट र निर्णायक रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । आगामी महिनामा क्यानडामा हुने सात राष्ट्र समूहको सम्मेलनमा राष्ट्रपति ट्रम्प र अध्यक्ष डेर लायनबीच प्रत्यक्ष भेट हुने सम्भावना रहेको छ, जसबाट व्यापार वार्ता थप सुदृढ हुने आशा गरिएको छ ।

बाजुरामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिकामा मंगलबार जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

दुर्घटनामा धनगढी उपमहानगरपालिका घर भई हाल नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख ५५ वर्षीय लोकबहादुर खड्का, जिप चालक ४० वर्षीय करन महतरा र बडीमालिका नगरपालिका–७ निवासी २८ वर्षीय रवीन्द्र धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा दुईजना घाइते भएका छन् । उनीहरुको आधारभूत अस्पताल कोल्टीमा उपचारका भइरहेको छ । नेपाल टेलिकमको टावरमा सोलार प्यानल जोड्न पिलुचौरबाट गएको जिप दुर्घटना भएको हो ।

सङ्कटमा रैथाने स्रोत, बीउ जोगाउँदै बैङ्क

काठमाडौँ । “पहिलेपहिले नेपालका हरेक घर नै बीउ बैङ्कजस्तै थिए । हरेक घरमा बीउ भकारी हुन्थे, भित्तामा समेत बीउ राख्ने चलन थियो । केही ढुङ्ग्रोमा, केही फाटेको टोलो (कपडा)मा । सप्रेका चीजबाट बीउ छानेर राख्ने चलन थियो, अनि समय आएपछि आफूले पनि रोप्थे, छिमेकीलाई पनि दिन्थे । बीउसमेत ऐँचोपैँचो हुन्थ्यो । त्यो बीउ मात्र नभई समाज नै रहेछ । अचेल त्यस्तो रहेन”, रैथाने एग्री प्रोडक्टका अध्यक्ष तिलक ढकाल भन्छन् ।

हुन पनि केही दशकअघिसम्म पनि धेरैजसो किसानले आफूलाई चाहिने बीउ परम्परागत शैलीमा संरक्षण गर्थे, त्यसैबाट जैविक खेती प्रणाली जोगाइरहेका थिए । पछिल्लो सयम जलवायु परिवर्तन, आधुनिक बालिहरूको बढ्दो प्रयोग र बजारमुखी कृषि प्रणालीका कारण परम्परागत बीउ संरक्षण अभ्यास सङ्कटमा छ । त्यसैकारण होला नेपालका धेरै कृषि आनुवंशिक स्रोतहरू सङ्कटमा छन् ।

“हाम्रा बाली हराउँदै गएकाभन्दा पनि हामीले उन्नत जातका नाममा तिनलाई छोड्दै गएकाले समस्या भएको हो । रैथाने बाली तथा स्रोतले त पुस्तौँ पुस्तादेखि नेपाली माटो, भूगोल (रिजान), हावापानी (सिजन) चिनेका छन् । पुस्तौँसम्म बीउ बन्ने सामथ्र्य राख्छन् ।

हामी भने धेरै फल्ने र नफल्नेमै झल्झियौँ, सरकारले पनि कृषि आधुनिकीकरणका नाममा रैथाने स्रोतको संरक्षण गर्न सकेन”, ढकाल भन्छन्, “अब चेत्नुपर्ने बेला आएको छ । बीउ नै रहेन भने समस्या झन् विकराल बन्नेवाला छ । त्यसैले हरेक घर र समाजमा रहेका बहुबाली प्रथा, त्यससँग जोडिएका मौलिक सीप र ज्ञान जोगाउँदै जानुपर्छ ।” यसका लागि रैथाने बाली तथा कृषि जैविक विविधताका स्रोत संरक्षण, त्यसको प्रवर्द्धन र बजारीकरणको सुनिश्चितता गरी यसैबाट धनी बन्न सकिन्छ भन्ने सन्देश फैलाउन जरुरी रहेको उनको भनाइ छ ।

अर्का संरक्षण अभियन्ता मथुरा खनाल पनि परम्परागत रैथाने आनुवंशिक स्रोतहरू सङ्कटमा पर्न थालेकामा चिन्ता व्यक्त गर्छन् । “पहिले बाउबाजेका पालामा राम्रो उब्जनी हुने अन्नबाली अचेल देखिँदैनन् । हाम्रो जीवनकालमा खेतबारीमा हुने धान, मकै, गहुँ, फलफूल तथा तरकारी बाली पनि हराउँदै गएका छन्”, उनी भन्छन्, “यसमा बालीको कुरा मात्रै होइन वन स्रोत । सूक्ष्म जीवाणुको कुरा पनि आउँछ । त्यसैले यस्तै अवस्था रहने र बाँकी रहेका लोपोन्मुख, दुर्लभ तथा विशेष गुण भएका कृषि आनुवंशिक स्रोत संरक्षणका लागि पहल नहुने हो भने निकै समस्या आउनेवाला छ ।”

खनालका अनुसार नेपाललाई विश्वकै जीवन्त जैविक विविधताको सङ्ग्रहालय भनिन्छ तर जलवायु सङ्कटका कारण यहाँका धेरै जैविक विविधतामाथि क्षति बेहोर्नु परेको छ । पछिल्लो दशक नेपालका अधिकांश रैथाने स्रोतहरू मानवीय क्रियाकलाप, उन्नत जातको प्रयोग र एेँजेरुजस्ता वनमाराका कारण थप समस्यामा परेको बताउने वातावरणविद् खनाल नेपालका रैथाने र परम्परागत ज्ञानको नाश हुनु अझ डरलाग्दो विषय भएको बताउँछन् ।

“हाम्रा जमिन बाँझो र कृषक पलायन हुँदैछन् । यसको अर्थ हाम्रो परम्परागत ज्ञान नै लोप हुने खतरा छ । रैथाने ज्ञान र श्रम अभ्यास नै लोप हुने अवस्थाले हामी हरेक वस्तुमा परनिर्भरतातर्फ गइरहेका छौँ । यसले हामीलाई कुन दिशातिर लैजाँदैछ भनेर गम्भीर समीक्षा गरौँ”, उनी भन्छन्, “यस्तो अवस्थामा जीन बैङ्कजस्ता प्रविधिको प्रयोगमार्फत स्रोतको संरक्षण र तिनको सामाजिकीकरणका लागि काम गर्नुपर्ने आवश्यकता छ । प्रयोगशालाको उपयोग र परम्परागत कृषि ज्ञानको प्रसारलाई सँगसँगै अगाडि बढाउन लाग्नुपर्छ ।”

मानव स्वास्थ्य, आर्थिक उन्नति र खाद्य सम्प्रभूता प्रकृतिमाथि नै अडेको छ तर यही प्रकृति हिजोआज जटिल समस्यामा छ । विभिन्न अध्ययनले पारिस्थितिकीय प्रणालीको ह्रासले गर्दा विश्वका ४० प्रतिशत मानिस आफ्नो समुन्नतिबाट वञ्चित भएका भनेर औँल्याएका छन् । नेपालकै कुरा गर्ने हो भने यहाँको कृषि जैविक विविधतामा गम्भीर सङ्कट आउँदा धेरै मानिसहरू आन्तरिक आप्रवासन, थातथलोबाट विस्थापन भई गम्भीर आर्थिक, सामाजिक र परम्परागत ज्ञान हस्तान्तरण गर्ने अवस्थाबाट वञ्चित भइरहेका छन् ।

कृषि अनुसन्धान परिषद् (नार्क) कै तथ्याङ्कअनुसार नेपालमा रहेका हजारौँ स्रोतमध्ये करिब ४० प्रतिशत कृषि जैविक विविधता लोप भइसकेका छन् । जबकि यहाँ २४ हजार ३०० प्रजातिमध्ये २८ प्रतिशत अर्थात् छ हजार ६१८ प्रजाति कृषि आनुवंशिक स्रोत रहेका र जसका करिब एक लाख भूमि–जात रहेको बताउने गरिएको थियो ।

जानकारहरूका अनुसार नेपालमा करिब ३० हजार रैथाने बाली छन् । नेपालमा करिब एक हजार २६ प्रजातिका बाली, ५१० घाँसे बाली, ३५ घरपालुवा जनावर, २३६ माछा, २५० जलीय अन्य कृषि जनावर, १७ जलीय वनस्पति, तीन हजार ५०० कीरा र ८०० सूक्ष्म जीवाणु रहेका छन् । नेपाल ११ जाति र २९ प्रजातिका खाद्य बालीहरू तथा छ जाति र १२ प्रजातिका वागवानी बालीहरू उत्पत्तिको प्राथमिक केन्द्र मानिन्छ । यसैगरी, यहाँ विभिन्न जङ्गली नातेदार वनस्पतिमध्ये १० जातिका १३ प्रजाति रहेको भन्ने गरिन्छ ।

नेपाल सरकारको राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जीन बैङ्क) का सूचना अधिकारी डा मुकुन्द भट्टराई विकासे भनेर विदेशबाट आउने जातहरूले प्राथमिकता पाउँदा नेपालका रैथाने तथा स्थानीय जातहरू ५० प्रतिशतसम्म लोप भइसकेका बताउँछन् ।

“अब सरकार, सबै सरोकार भएकाहरू गम्भीर नबनेमा र स्थानीय जातलाई जथाभावी आधुनिक उन्नत जातले विस्थापन गरिरहेमा आगामी दशक करिब २५ प्रतिशत बालीका जङ्गली नातेदार लोभ भई कृषि जैविक विविधता संरक्षणमा चुनौती थपिने छ”, उनी भन्छन्, “यसर्थ भविष्यको दिगो खाद्य र पोषण सुरक्षाका लागि आनुवंशिक विविधता र बाली प्रजनन प्रणालीमा जोड दिन आवश्यक छ । यसका लागि वर्तमान मौजुदा विविधताको संरक्षण तथा तिनमा अनुसन्धानकर्ता, प्रजननकर्ता र कृषकहरूको पहुँच सुनिश्चित गरिनुपर्दछ ।”

सङ्कट टार्न बीउ बैङ्क

दिगो विकास लक्ष्यले सन् २०३० सम्म सबै मानिसहरूलाई वर्षभरि सुरक्षित, पोषिलो र पर्याप्त खाना सुनिश्चित गर्दै भोकमरी अन्त्य गर्ने र कुपोषणका सबै रूपहरूको उन्मूलन गर्ने भनेको छ । यद्यपि, हालसम्मको अवस्था चिन्ताजनक छ ।

विश्व खाद्य सङ्गठन (एफएओ)को एक ‘रिपोर्ट’अनुसार सन् २०२३ मा अनुमानित रूपमा ७१३ देखि ७५७ मिलियन मानिसहरू (विश्व जनसङ्ख्याको ८.९ देखि ९.४ प्रतिशत) ले भोकको सामना गरेका थिए । यदि यसको मध्यम सीमा (७३३ मिलियन) लाई आधार मान्ने हो भने यो सन् २०१९ को तुलनामा करिब १५२ मिलियनभन्दा बढी मानिसहरू भोकको चपेटामा परेका हुन् ।

नेपालमा ६० प्रतिशतभन्दा बढी जनसङ्ख्या कृषि पेसामा निर्भर छन् तर कृषि उत्पादनमा ह्रास आँदा बर्सेनि अर्बौं रुपैयाँको खाद्यवस्तु निर्यात गर्नु परिरहेको छ । १५औँ पञ्चवर्षीय योजनाअनुसार नेपालका २१ प्रतिशत जनसङ्ख्यामा पर्याप्त खाद्यको पहुँच छैन । यस्तो अवस्थामा कृषि आनुवंशिक स्रोतमा भने गम्भीर क्षति पुगेको छ । यसले गर्दा उपयुक्त कृषि जैविक विविधताको अभावमा नेपाललगायत समग्र विश्वले गम्भीर खाद्य सङ्कटको सामना गर्नुपर्ने विज्ञहरूले चेतावनी दिने गरेका छन् । यसलाई एफएओको तथ्याङ्कले समेत पुष्टि गर्छ ।

उक्त संस्थाका अनुसार गत बीसौँ शताब्दीमा मात्रै विश्वको बाली विविधतामा पूर्ति गर्नै नसकिने गरी करिब ७५ प्रतिशतले ह्रास आएको छ । उसले आफ्ना विवरणमा भनेको छ, “विश्व जनसङ्ख्या वृद्धिदर, जलवायु परिवर्तन, भूमिको क्षय र विश्वव्यापी सङ्कट तथा द्वन्द्वको सामना गरिरहेको सन्दर्भमा यी आनुवंशिक स्रोतहरूको विविधता हाल र भविष्यका चुनौतीहरूसँग अनुकूलन गर्नका लागि अत्यन्त आवश्यक बनिरहेको छ ।”

यी विविध कारण हाल विश्व्यापी रूपमै कृषि आनुवंशिक स्रोतको संरक्षणका पहल भइरहेका छन् । यसका लागि दिगो विकासको लक्ष्य नं २ को ९५० मा सन् २०२० सम्म बीउ, खेती गरिने बोटबिरुवा, फार्म एवं पशुपालन र तिनका जङ्गली प्रजातिहरुको संरक्षणलाई प्राथमिकता दिई विभिन्न बीउ, बिरुवा एवं लोपोन्मुख पशुहरूको डिएनए बैङ्क र सामुदायिक बीउ बैङ्कको विस्तार गर्न लक्ष्य निर्धारण गरिएको थियो ।

नेपाल सरकारले सो लक्ष्य, जैविक विविधता महासन्धि, खाद्य र कृषिका लागि वानस्पतिक आनुवंशिक स्रोतहरूसम्बन्धी अन्तरराष्ट्रिय सन्धिअनुसारका गतिविधि अगाडि बढाइरहेको छ । कृषि जैविक विविधता नीति २०६३ अनुसार राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जिन बैङ्क) स्थापना गरिएको छ । त्यसै आधारमा सामुदायिक बीउ बैङ्क कार्यक्रम कार्यान्वयन निर्देशिका २०६५ र सामुदायिक बीउ बैङ्क स्थापना कार्यान्वयन कार्यविधि २०७२ ल्याई यसको कार्यान्वयन अघि बढाइसकेको छ ।

विक्रम संवत् २०६७ असोज २१ गते स्थापित जिन बैङ्कले कृषि आनुवंशिक स्रोतको सदुपयोग र प्रवद्र्धनका लागि खोज, अनुसन्धान, सङ्कलन र संरक्षणको काम गरिरहेको केन्द्र प्रमुख डा बालकृष्ण जोशीले बताए । खाद्य तथा पोषण सुरक्षा, जीवनस्तर र आर्थिक समृद्धिका निम्ति सम्पूर्ण कृषि आनुवंशिक स्रोतहरुको संरक्षण तथा उपयोगको मिसनसहित बैङ्कले आनुवंशिक स्रोतहरुको मूल्याङ्कन गरी गुण–विशेषका आनुवंशिक चिह्नहरु पत्ता लगाउनाका साथै पूर्वप्रजननद्वारा उन्नत तथा उपयुक्त जात छनोट गर्ने र प्रजननकर्ता तथा कृषकहरुलाई उपलब्ध गराउने गरेको उनको भनाइ छ ।

“विभिन्न कारणले कृषि जैविक विविधतामा एकपछि अर्को सङ्कट निम्ति रहेको छ । जलवायु परिवर्तनको प्रत्यक्ष मारमा हाम्रा रैथाने स्रोत र परम्परागत कृषि स्रोतहरू परिरहेका छन् । तिनको संरक्षणका लागि हामीले काम विभिन्न विधिमार्फत काम गरिरहेका छौँ”, डा शर्माले भने, “जिन बैंकमा संरक्षित आनुवंशिक स्रोतहरू तत्काल र भावी प्रयोग, दिगो विकास र प्रजनन कृषि उत्पादनका लागि प्रत्यक्ष प्रयोग, पर्याप्रणालीमा विविधताको संरक्षण, वैज्ञानिक परीक्षण तथा पूर्वबाली प्रजननका लागि प्रयोग हुन्छन् ।”

यसका लागि नेपालमा केन्द्रमा जीन बैङ्क र त्यसअन्तर्गत फिल्ड जिन बैङ्क, तन्तु प्रविधि प्रयोगशाला तथा तन्तु बैङ्क, मल्टिकुलर प्रयोगशाला तथा डिएनए बैङ्क छन्भने स्थानीय किसानसँगको सहकार्यमा देशका विभिन्न स्थानमा ७५ वटा जति सामुदायिक बीउ बैङ्कहरू छन् । विभिन्न प्रकारका यी बैङ्कहरूमा नेपालका करिब ३०० प्रजातिका २० हजारभन्दा बढी कृषि आनुवंशिक स्रोत संरक्षण गरिएका छन् । त्यसबाहेक विश्वका विभिन्न २५ देशका अन्तरराष्ट्रिय बैङ्कमा २५ हजार २९७ नेपालका रैथाने आनुवंशिक स्रोत (बाल तथा वागवानी र सूक्ष्म जीवाणुलगायत) सुरक्षित राखिएको केन्द्र प्रमुख डा शर्माले जानकारी दिए ।

यस बैङ्कमा एक लाख सङ्कलन रोख्ने क्षमताको ५०—१०० वर्षसम्म बीउ संरक्षण गर्ने दीर्घकालीन, ५० हजार क्षमताको १०—१५ वर्षसम्म संरक्षण गर्नसक्ने मध्यमकालीन र प्राकृतिक तापक्रम तथा आद्रतामा अल्पकालीन मौसमी भण्डारण कक्ष रहेका छन् । यहाँ संस्था र व्यक्तिले पनि निःशुल्क रूपमा आफ्ना बीउ राख्नसक्ने ‘लकर’ सुविधा रहेको छ ।

अब गर्नुपर्ने काम

जिन बैङ्क प्रमुख डा शर्माका अनुसार कृषि जैविक विविधताको कुरा गर्दा बाली, पशुपन्छी, घाँसेबाली, कृषि—कीरा, कृषि—सूक्ष्म जीवाणु, जलीय कृषि आनुवंशिक स्रोत गरी छवटा सम्भागलाई नै ध्यान दिनुपर्छ । जिन बैङ्कले यी छवटै सम्भागलाई हेरेर एक सय एक असल अभ्यास भनेर काम गरिरहेको छ । सरकारले कृषि दशकसमेत घोषणा गरेको अवस्थामा अब सरोकार भएकाहरूले रैथाने कृषि स्रोतले खान पुग्दैन भन्ने भाष्य बदल्दै आयातितभन्दा हाम्रै माटो, भूगोल र हावापानी चिनेको स्रोतमा सम्भावना छ भनेर आशा जगाउनुपर्ने डा शर्माको भनाइ छ ।

“यसमा पनि कृषि र गैरकृषि स्रोतहरू छन्, हालसम्म गैरकृषि स्रोतमा बजेट, तोकिएको जनशक्ति, संरक्षण क्षेत्र, निकुञ्जलगायतको पर्याप्त व्यवस्था गरिएको छ । कृषि स्रोतमा भने न बजेट, न शिक्षा, न त मौलिक ज्ञानलाई प्रोत्साहन नीति छ”, उनी भन्छन्, “त्यसैकारण किसान र कृषि क्षेत्र समस्यामा छ । किसानका ग्राहक धेरै हुनुपर्नेमा किसानलाई धेरै ठाउँमा ग्राहक बन्ने उल्टो बाटो बनेको छ । पसलमा बेचेर करोडपति बन्ने तर किसानका उत्पादन नै नबिकेर थप दुःखी बन्ने अवस्था छ, यसलाई सुधार्ने गरी काम गर्नुपर्छ ।”

त्यसका लागि डा शर्मा तीन वटा काम गर्नुपर्ने आवश्यकता औँल्याउँछन् । पहिलो, सरकारले स्थानीय र रैथाने कृषिउपजको पहिचान गरी त्यस्ता स्रोतलाई बिनाकर स्वतः किनबेचको व्यवस्था गर्ने । दोस्रो, किसानको घरघरलाई पसलका रूपमा विकास गर्ने नीति बनाउने र कृषिमार्टहरूमा ६०÷७० प्रतिशत रैथाने स्रोत हुनुपर्ने मापदण्ड बनाएर लागू गर्ने र रैथाने स्रोतमा अनुसन्धान, त्यसको प्रयोग र विस्तारका लागि लगानी बढाउने तथा शिक्षामा जोड दिने । तेस्रो, देशमा कम्तीमा तीनवटा कृषि राष्ट्रिय निकुञ्ज स्थापना र रैथाने कृषि प्रवद्र्धनका लागि कृषि राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्ने ।

यस्तै, नेपालमा हाल ७५ वटा सामुदायिक जिन बैङ्क स्थापित छन्, तीमध्ये करिब ५५ वटा क्रियाशील छन् । गाउँघरमा पाइने स्थानीय जातहरूको संरक्षण तथा कृषकको सहज पहुँच पुग्ने गरी समुदायका किसानहरू नै मिलेर यस्तो अभ्यास गर्ने गरिएको छ । यिनले आफ्नो क्षेत्रमा पाइने बाली, घाँसेबाली, जलीय कृषि वस्तु, पशुपक्षी, किरा, सूक्ष्म जीवाणुको आणुवंशिक विविधता संरक्षण तथा उपयोगमा योगदान गरिरहेका छन् । यी बैङ्कलाई थप व्यवस्थित गर्दै स्थानीय स्रोत, सीप र ज्ञानको सदुपयोग गर्नुपर्ने आवश्यकता रहेको सामुदायिक बीउ बैङ्क सङ्घ नेपालका अध्यक्ष पार्वती भण्डारीको भनाइ छ ।

उनी नेपालका रैथाने बालीको संरक्षणका लागि सामुदायिक रूपमा निकै जागरण आएकाले अब यही स्रोतमार्फत आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश फैलाउन जरुरी रहेको बताउँछन् । “हामा रैथाने स्रोतमाथि विभिन्न कारणले सङ्कट आएको छ तर सरकार, सरोकारवाला सबैले यो सङ्कटको सामनाका लागि काम नगरी हुँदैन भन्ने सोचको पनि विकास भएको छ”, उनी भन्छन्, “यसलाई उपयोग गर्दै रैथाने बीउ संरक्षण, त्यससँग जोडिएका ज्ञान प्रवद्र्धन र पुस्तान्तरण तथा उत्पादनको बजार सुनिश्चिततामा लाग्नुपर्ने आवश्यकता छ ।”

फोहोरबाट टायल, इन्टरलकलगायत सामग्री उत्पादन

घोराही। देशभर फोहोर व्यवस्थापनको चुनौती बढिरहेको बेला दाङको राप्ती गाउँपालिकाले फोहोरबाट टायल उत्पादन सुरु गरेको छ । फोहोरलाई मोहर बनाउने गाउँपालिकाको नीतिअनुसार स्थानीय सरकार र निजी क्षेत्रको सहकार्यमा टायल उत्पादन सुरु भएको हो ।

राप्ती गाउँपालिका–२ पुन्यपुरमा प्लास्टिकजन्य फोहोरबाट टायल, इन्टरलकलगायत सामग्री उत्पादन सुरु गरिएको छ । फोहोरलाई मोहर बनाउने गाउँपालिकाको नीतिअनुरूप स्थानीय सरकार र निजी क्षेत्रको सहकार्यमा फोहोरबाट टायल, इन्टरलक, इँटालगायत सामग्री उत्पादन गर्न थालिएको हो ।

राप्ती गाउँपालिका र इको फ्यामिली प्राइभेट लिमिटेड हेटौँडाको सहकार्यमा फोहोरलाई व्यवस्थापन गरेर नगल्ने फोहोरबाट टायल, इन्टरलकलगायत सामग्री उत्पादन गर्न थालिएको इको फ्यामिली प्रालिका सुपरभाइजर लालबहादुर चौधरीले बताए ।

सुपरभाइजर चौधरीका अनुसार फोहोरका रूपमा फालिने चाउचाउ, बिस्कुट, भोला, गुट्कालगायत प्लास्टिकबाट टायल, इन्टरलक, टाँक उत्पादन गर्ने योजना भए पनि पहिलो चरणमा टायल उत्पादन गरिएको छ ।

उत्पादित टायलको मूल्य ३५ रुपैयाँ तोकिएको छ । यद्यपि गाउँपालिका भित्रका नागरिकलाई २० प्रतिशत छुटमा दिने व्यवस्था गरिएको गाउँपाकिलाले जनाएको छ ।

लुम्बिनी प्रदेशको राजधानीसमेत रहेको राप्ती गाउँपालिकामा फोहोर व्यवस्थापनको चुनौती बढ्दै गएपछि गाउँपालिकाले नीति नै बनाएर दीर्घकालीन योजना बनाएको गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीको भनाइ छ ।

विक्रम संवत् २०७९ भदौमा भएको सम्झौताबमोजिम गाउँपालिकाले फोहोर सङ्कलन गरेर स्रोत केन्द्रसम्म पुर्‍याइदिने र बाँकी फोहोर वर्गीकरणदेखि प्लास्टिक सामग्री र जैविक मल उत्पादनको काम उक्त कम्पनीले गरिरहेको छ ।

स्वच्छ र हरित पालिका निर्माण गर्ने अभियानअन्तर्गत फोहोरबाट प्लास्टिक सामग्री उत्पादनका लागि गाउँपालिकाले दुई करोड २० लाख रुपैयाँ बढी लगानी गरिसकेको उपाध्यक्ष चौधरीले बताइन् ।

उक्त रकमबाट जग्गा तारबार तथा स्रोत केन्द्रका लागि दुई वटा घर निर्माण गरिएको छ । कम्पनीले यहाँ प्रयोग नहुने फोहोरलाई कबाडमा बिक्री गर्ने र त्यसबाट गाउँपालिकाले निकासी कर लिने गरी सहमति भएको छ । नौ वटा वडा रहेको राप्ती गाउँपालिकाबाट दैनिक आठ ट्र्याक्टर फोहोर सङ्कलन हुँदै आएको छ ।

फोहोर सङ्कलनदेखि वर्गीकरणसम्मको काम गर्न १८ जनाले रोजगारी पाएका छन् । जसमा आठ जना कम्पनीका तर्फबाट राखिएको छ भने १० जना गाउँपालिकाका तर्फबाट राखिएको छ ।

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन गर्न रास्वपाको माग

काठमाडौँ । प्रतिपक्ष दलहरूले प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन् । सभाको मंगलबारको बैठक सुरू भएलगत्तै प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतले गृहमन्त्रीको राजीनामा माग गर्दै सदन अवरोध गरेका हुन् । अवरोधपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगन गरेका छन् ।

त्यसअघि सभामुख घिमिरेले नेपाली कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेलाई सत्तापक्षका तर्फबाट बोल्ने समय उपलब्ध गराएका थिए । सत्तापक्षका सांसदलाई बोल्न नदिन रास्वपाका सांसदहरूले उठेर नाराबाजी गरेका थिए ।

सदनमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्ष दलका सांसदहरूले सत्तापक्षका सासंदहरूलाई बोल्न अवरोध गरेका थिए ।

रास्वपाका सांसद शिशिर खनालले ‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री रमेश लेखकको संग्लनताका विषयमा उच्चस्तरीय अनुसन्धान आयोग बनाउनुपर्ने माग गरे । उनले सो प्रकरणमा सङ्गठित रूपमा भ्रष्टाचार भएको भन्दै एक उच्चस्तरीय छानविन आयोग नबनेसम्म सदन चल्न नदिने जिकिर गरे ।

‘त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भिजिट भिसाका नाममा निर्दोष युवालाई लुटेर करोडौँको अबैध असुलीको र्याकेट चलिरहेको छ’, सांसद खनालले भने, ‘गृहमन्त्रीले पठाउनुभएको सहसचिव विवादित पृष्ठभूमिको हुनुहुँदोरहेछ । तर किन उहाँलाई अध्यागमनमा पठाइयो । गृहमन्त्रीको पनि स्वार्थ जोडिएको छ ।’

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिने अवस्था सिर्जना हुन्छः प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिने अवस्था सिर्जना गर्ने बताएका छन् ।

मंगलबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भिजिट भिसा प्रकरण गृहमन्त्रीसँगमात्रै नभइ सरकारसँग पनि सम्बन्धित रहेकाले विपक्षी दलले गृहमन्त्रीलाई राजीनामा दिने अवस्था सिर्जना गर्ने बताएका हुन् ।

उनले यस विषयलाई प्रतिपक्ष दलहरूले एकजुट भएर गम्भीर रूपले उठाउने बताए । उनले भने, ‘यो सामान्य विषय छैन । यो गृहमन्त्रीसँग मात्रै सम्बन्धित विषय पनि होइन । सिङ्गो सरकारसँग पनि सम्बन्धित छ । प्रतिपक्ष दलहरूले एकजुट भएर यो विषयलाई गम्भीर रूपले उठाइन्छ । कम्तीमा प्रतिपक्ष दलहरूले गृहमन्त्रीको राजीनामा गराउने स्थितिसम्म चाहिँ बन्छ ।’

अध्यक्ष प्रचण्डले नेपाल समाजवादी पार्टीसँगको एकताका विषयमा कुनै विवाद नरहेको भन्दै महेन्द्र राय यादव महाधिवेशनका क्रममा माओवादीमा आउने उल्लेख गरे ।

उनले एकता प्रक्रियामा बाबुरामलाई आफूले छोडेको नभइ बाबुराम नै पार्टी, आन्दोलन र माक्र्सवाद छाडेर भागेको आरोप लगाए ।

गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलहरुद्वारा संसद अवरोध

काठमाडौँ । संसद्का प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म प्रतिनिधिसभाको कारबाही अघि बढ्न नदिने अडान लिएको छ ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको मंगलबारको बैठक सुरू गरेपछि सबै प्रतिपक्षी दलका सांसदले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख घिमिरेले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनलाई बोल्ने समय दिएका थिए ।

पुनले यो हप्ताभर सार्वजनिक सञ्चारमाध्यममा त्रिुभवन विश्वविद्यालय अध्यागमनमा ‘भिजिट भिसा’ मा भ्रष्टाचार भएको चर्चा चलेको उल्लेख गर्दै सामान्य नागरिक जो काम गर्न बाहिर जान्छन् उनीहरूलाई ५० लाखदेखि तीन करोडसम्म उठाइएको भन्ने तथ्य आएको बताए ।

मुख्य आरोपी सहसचिव तीर्थराज भट्टराईलाई गृहमन्त्रीले नै त्यहाँ पठाएको आरोप लगाउँदै त्यस विषयमा अनुसन्धान हुनुपर्ने प्रतिपक्षी दलको माग छ । गृहमन्त्री रमेश लेखक कानुन र मानव अधिकार क्षेत्रबाट आएकाले र उहाँले यसअघि धेरै नेतामाथि नैतिकताको विषय उठाएकाले राजीनामा माग गरे ।

‘गृहमन्त्री लेखकको सचिवालय यसमा जोडिएकाले अनुसन्धान गर्ने निकाय सबै गृहमन्त्री मातहत रहेकाले गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानका लागि मार्गप्रशस्त गरिदिनुपर्छ, उहाँले राजीनामा दिनुपर्छ, राजीनामा नआएसम्म संसद्को प्रक्रिया अघि बढ्दैन,’ पुनले भने ।

त्यसैगरी रास्वपाका सांसद शिशिर खनालले पनि विगतमा गृहमन्त्री लेखकले नैतिकताको कुरा गरेको भन्दै त्यही कुरा स्मरण गरेर राजीनामा दिन सुझाव दिए ।

उनले गृहमन्त्रीले राजीनामा नदिई सदन चल्न नदिने बताए । त्यसपछि विपक्षी सांसदहरु उठेर विरोध जनाइरहे । त्यसैबीचमा सभामुखले कांग्रेस मुख्यसचेतक श्याम घिमिरेलाई बोल्न समय दिएका थिए ।

घिमिरे बोल्न थालेपछि विपक्षी सांसदहरुले होहल्ला गरिरहे । त्यसपछि सभामुखले घिमिरेलाई आसन ग्रहण गर्न आग्रह गरे । विपक्षी सांसदहरुले होहल्ला गरिरहेपछि सभामुखले आधाघण्टाका लागि बैठक स्थगित गरेका छन् ।

जुडोमा नेपाललाई पाँच स्वर्णसहित १० पदक

काठमाडौँ । बङ्गलादेश क्रिरा सिखा प्रोतिष्ठान (बिकेएसपी) कप आमन्त्रण अन्तराष्ट्रिय जुडो च्याम्पियनसिपमा नेपाली खेलाडीले पाँच स्वर्णसहित १० पदक जितेका छन् ।

नेपालले थप एक रजत र चार कास्य पनि जित्दै समग्रमा उपविजेता बन्यो । त्यसमा बन्दी सहायता नियोग (पाम)का खेलाडीले सर्वाधिक चार स्वर्ण र एक कास्य जिते ।

प्रतियोगितामा पामबाट पाँच खेलाडी सहभागी भएकोमा सबैले पदक चुमे । पुरुष ६० केजीमुनि सविनकुमार दियाली र ६६ केजीमुनि विशेष विक तथा महिला ४८ केजीमुनि निशा श्रेष्ठ, ५२ केजीमुनि विनिता नेपाली र ५७ केजीमुनि पेमा याङजी शेर्पाले नेपाललाई स्वर्ण दिलाए ।

पुरुष ४५ केजीमुनि रिवाज लामा तामाङले रजत जिते । पुरुष ५५ केजीमुनि बुद्ध गुरुङ र ७३ केजीमाथि विज्ञान खत्री तथा महिला ४४ केजीमुनि समिता नेपाली र ६३ केजीमुनि रेखा श्रेष्ठले कास्य हात पारे ।
प्रतियोगितामा नेपालबाट जम्मा १२ खेलाडी सहभागी थिए । तीमध्ये निशा, विनिता, पेमा, सविन र समिता पामका हुन् ।

प्रशिक्षकमा राधादेवी राई र लक्ष्मी तामाङ रहेका छन् । राधाले प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गरेको नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जानकारी दिनुभयो । बङ्गलादेशको बीकेएसपी टोली ६ स्वर्ण, ८ रजत र १० कास्यसाथ टिम च्याम्पियन बन्यो।

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । सोमबारको तुलनामा मंगलबार सुनचाँदीको मूल्य केही घटेको छ । सुन तोलामा २०० रुपैयाँ र सोही परिमाणको चाँदी १० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य एक लाख ९० हजार ९०० रुपैयाँ कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मूल्य एक हजार ९९५ रुपैयाँ निर्धारण भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३५५अमेरिकी डलर कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

राष्ट्रपतिलाई बजेटबारे अर्थमन्त्रीको ब्रिफिङ

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटका बारेमा ब्रिफिङ गरेका छन् ।

सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहीबार  बजेट ल्याउँदै छ । सोही वजेटका बारेमा मन्त्री पौडेलले मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर ब्रिफिङ गरेका राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

नागढुंगाबाट चाँदीको गरगहनासहित एक जना पक्राउ

काठमाडौं । प्रहरीले नागढुंगाबाट चाँदीको गरगहनासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा नागढुङ्गा चेकप्वाईन्टबाट १२.१७६ किलोग्राम चाँदीको जस्तो देखिने धातुका गरगहनासहित बाराको कलैयाका अनिशकुमार सिंहलाई पक्राउ गरेको हो ।

वीरगंजबाट काठमाडौंतर्फ आइरहेको बा. प्र. ०१–००३ ख ३७०१ नम्बरको बसका सहचालक सिंहले बसमा लुकाई छिपाई ल्याएको अवस्थामा चाँदी जस्तो देखिने धातुबाट बनेका बिल बीजक नभएका सिक्री, चन्द्रमा, पाउजुलगायतका गरगहना बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी अपिलराज बोहराले जानकारी दिए ।

अरब सागरमा लाइबेरियाको मालबाहक पानीजहाज डुब्यो

बीबीसी । भारतको दक्षिणी राज्य केरलाको सरकारले अरब सागरमा लाइबेरियाको एक मालबाहक पानीजहाज डुबेको र त्यसबाट तेल पोखिएपछि तटीय क्षेत्रहरूमा सावधान हुन सूचना जारी गरेको छ । दक्षिण–पश्चिम मनसुनको तेज रफ्तारका कारण उक्त क्षेत्रमा कति नोक्सानी भएको छ भनेर तत्कालै थाहा हुन कठिन भएको छ ।

लाइबेरियाको झण्डाबाहक उक्त पानीजहाजमा ६४३ वटा कन्टेनर रहेका बताइएको छ । तीमध्ये ७३ खाली थिए भने १३ कन्टेनरमा क्याल्सियम कार्बाइड नामक रसायन थिए जसबाट एसिटिलीन ग्यास निस्कन्छ । त्यसका अतिरिक्त जहाजमा ८४.४४ मेट्रिक टन डिजल अनि ३६७.१ मेट्रिक टक फर्नेस अइल पनि थियो ।

ती सामग्री पोखिएपछि उत्पन्न हुने खतराका माझ केरलाको सरकारले अलाप्पुझा, कोल्लम, एर्नाकुलम तथा तिरुवनन्तपुरमसहित राज्यका तटीय जिल्लाहरू सतर्कता बढाएको छ । ती जिल्लाहरूमा गएराति तथा आज बिहान करिब ९ कन्टेनर बगेर किनारमा आइपुगेका छन् ।

सरकारले खासगरि माछा मार्ने व्यवसायमा सामेल स्थानीय समुदायलाई जहाज डुबेको ठाउँभन्दा २० नटिकल माइल वरपर माछा नमार्न भनेको छ । मुख्यमन्त्री पिनरायी विजयनको अध्यक्षतामा बसेको आपत्कालीन बैठकपश्चात् उक्त निर्णय लिइएको थियो ।

बगेर आएका कन्टेनरका नजिक नजान र तिनलाई नछुन भनिएको छ । यसअघि सोमबार भारतीय तटरक्षक बल (आईसीजी)ले २४ सदस्य रहेका उक्त जहाजमा फसेका ३ जनालाई पनि उद्धार गरेको थियो । शनिबार उक्त जहाज एकापट्टि ढल्किएको र डुब्न लागेको देखिएपछि उद्धारकार्य सुरु भएको थियो ।

फैलँदो प्रदूषण नियन्त्रण गर्न मुम्बईबाट एउटा विशेष जहाज त्यसतर्फ पठाइएको बताइएको छ । डुब्नुअघि एकापट्टि ढल्कँदा उक्त जहाजबाट करिब १०० कन्टेनर पानीमा खसेको र मनसुनका कारण ती बग्दै तटतर्फ आउन सक्ने बताइएको छ । त्यसमा भएको तेल समुद्रको पिँधमा जान सक्ने भएकाले त्यससँग जुझ्न विभिन्न निकाय मिलेर विस्तृत कार्ययोजना बनाउन पनि निर्देश गरिएको छ ।

कामी रिता शेर्पाद्वारा सगरमाथाको ३१ औं पटक आरोहण

काठमाडौं । विश्व विख्यात आरोही कामी रिता शेर्पाले सगरमाथाको ३१ औं पटक सफल आरोहण गरेका छन् । मंगलबार बिहान चार बजे शेर्पा ३१ औं पटक सगरमाथा शिखरमा पुगेका सेभेन समिट ट्रेक्सले जानकारी दिएको छ ।

यससँगै सगरमाथा आरोहणको व्यक्तिगत कीर्तिमानलाई अझ उच्च बनाउँदै उनले पुनः नयाँ इतिहास रचेका छन् । सोलुखुम्बुका कामी रिता शेर्पा विश्वकै सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने पर्वतारोही हुन् ।

उनी अहिले सुरक्षित रूपमा आधार शिविरतर्फ फर्कंदै छन् । सोलुखुम्बुको थामेका कामीरिताले २४ वर्षको उमेरमा २०५१ सालमा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए।

सम्पत्ति शुद्धीकरण मुद्दामा बम्जन जेल चलान

सर्लाही । विवादित धर्मगुरु रामबहादुर बम्जन भनिने रामलाल बम्जनलाई आज सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

‘लिटिल बुद्ध’ का नामले समेत चर्चित बम्जनलाई न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले थुनामा राख्ने आदेश गरेपछि मलङ्गवा कारागार चलान गरिएको हो ।

सम्पति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) कसुरमा बम्जनमाथि २०८१ फागुन ५ गतेका दिन सर्लाही जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । मुद्दा सुनवाइका क्रममा सोमबार बम्जन जिल्ला अदालत आउँदा ठूलो सङ्ख्यामा उनका समर्थक तथा अनुयायीहरु अदालत अगाडि जम्मा भएका थिए ।

यसअघि पनि सर्लाही जिल्ला अदालतले बम्जनलाई एक नाबालिका अनुयायी ‘आनी’ माथि यौन दुराचार गरेको आरोपमा सजाय सुनाएको थियो । बम्जनलाई जिल्ला अदालतले २०८१ असारमा १० वर्ष कैद र रु पाँच लाख क्षतिपूर्तिको सजाय सुनाएको थियो ।

त्यसविरूद्ध उनले उच्च अदालत जनकपुरमा पुनरावेदन निवेदन दिएका थिए । उच्च अदालत जनकपुरले जिल्ला अदालतको फैसला उल्ट्याउँदै बम्जनलाई गत चैत ६ गते सफाइ दिएको थियो ।

उच्च अदालत जनकपुरबाट सफाइ पाएसँगै बम्जन जेलमुक्त भएका थिए । तर सोमबार फेरि सम्पत्ति शुद्धीकरण मुद्दामा उनी जेल चलान भएका हुन् ।

दाङको समृद्धिका लागि १० पालिकामा नागरिकका सुझाव हस्तान्तरण

दाङ । नागरिक स्तरबाट दाङ जिल्लाको विकासका विषयमा सुझाव संकलन गर्ने उद्देश्यसाथ ‘हाम्रो दाङ, हाम्रो जिम्मेवारी’ अभियानअन्तर्गत आयोजित ‘दाङको समृद्धिमा नागरिकको आवाज’ कार्यक्रमबाट संकलित सुझावहरू घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाका नगरप्रमुखहरूलाई औपचारिक रूपमा सोमबार हस्तान्तरण गरिएको छ ।

साथै, दाङका सबै स्थानीय तहहरूलाई पनि औपचारिक इमेलमार्फत ती सुझावहरू पठाइएको अभियानका संयोजक प्रदीप मजगैयाँले जानकारी दिए ।

जेठ ५ गते घोराहीमा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रबाट आएका १२० भन्दा बढी सहभागीहरूले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, वातावरण, पर्यटन, लैङ्गिक समानता, समावेशी सेवा र सुशासन जस्ता विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए। सुझावहरू नागरिकको प्रत्यक्ष अनुभवमा आधारित रहेकाले नीति निर्माणमा प्रभावकारी बन्ने विश्वास आयोजकको छ ।

संयोजक मजगैयाँले भने, ‘संकलित सुझावहरूलाई प्रदेश र संघीय सरकारसमक्ष पनि औपचारिक रूपमा पेश गरिनेछ, जसबाट नीति, योजना र बजेट निर्माण प्रक्रियामा नागरिकको आवाज समेटिने अपेक्षा गरिएको छ।’

कार्यक्रमले जनप्रतिनिधि र नागरिकबीच प्रत्यक्ष संवादको माध्यम तयार गरेको भन्दै सहभागीहरूले सकारात्मक प्रतिक्रिया जनाएका छन्। उनीहरूका अनुसार यस्तो खालको खुला बहसले नागरिक सरोकारका विषयहरू उजागर गर्न सघाउ पुर्याउनेछ ।

कार्यक्रममा नागरिक समाजका प्रतिनिधि, युवाहरू, महिलाहरू, अपाङ्गता भएका व्यक्ति, पत्रकार, व्यवसायी, चिकित्सकको सक्रिय उपस्थिति रहेको थियो ।

नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक, सांस्कृतिक र आपसी विश्वासमा आधारितः पूर्वराष्ट्रपति भण्डारी

बेइजिङ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विश्वमा भइरहेको तीव्र परिवर्तन र जटिलताका बीच साझा भविष्य निर्माणका लागि राजनीतिक दलहरूको भूमिका अपरिहार्य रहेको बताएकी छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागद्वारा बेइजिङमा आयोजित ‘छिमेकी देशहरूसँग साझा भविष्य निर्माण– राजनीतिक दलहरूको भूमिका’ विषयक संवाद सम्मेलनलाई सम्बोधन गर्दै भण्डारीले यस्तो बताएकी हुन् ।

उनले नेपालको वर्तमान यात्रा लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, शान्तिपूर्ण सामाजिक रूपान्तरण र आर्थिक समृद्धिमा केन्द्रित रहेको उल्लेख गरिन् । पूर्वराष्ट्रपति भण्डारीले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक, सांस्कृतिक, र आपसी विश्वासमा आधारित रहेको बताइन् ।

उनले यस सम्बन्धलाई ‘राजनीतिक, आर्थिक र कूटनीतिक आयाममा मात्र सीमित नभई भावनात्मक निकटता र आपसी सहयोगको गहिरो परम्पराले जोडिएको उल्लेख गरिन् । आर्थिक सहकार्य र साझा समृद्धिको आधारमा दुई देशबीचको मित्रता थप बलियो र विश्वसनीय बन्दै गएको उनको भनाइ थियो ।

नेकपा एमालेले आफ्नै विशिष्ट परिस्थितिमा सामाजिक आर्थिक रूपान्तरणको मार्ग अवलम्बन गर्दै आएको उनले बताइन् । उनले छिमेकी देशहरूबारे शान्तिपूर्ण, सुरक्षित, समृद्ध, सुन्दर र मैत्रीपूर्ण घर निर्माण गर्ने साझा दृष्टिकोण प्रस्तुत गरेकोमा चिनियाँ कम्युनिष्ट पार्टीलाई धन्यवाद दिइन् ।

उनले राष्ट्रपति सी चिनफिङले ‘जब एसिया हाम्रो हुन्छ, सम्पूर्ण विश्वलाई फाइदा हुन्छ’ भन्दै सधैँ जोड दिँदै आएको स्मरण गराइन् । यो अभिव्यक्तिले छिमेकी राष्ट्रहरूसँग साझा भविष्य भएको समुदाय निर्माण गर्ने चीनको दीर्घकालीन दृष्टिकोणलाई प्रतिबिम्बित गर्ने उनको भनाइ थियो ।

पूर्वराष्ट्रपति भण्डारीले एसियाली मुलुकहरूबीचको सहकार्य एक राम्रो सुरुवात भएको र यसले एसियाको पुनर्जागरणलाई उजागर गरेको विश्वास व्यक्त गरिन् ।

उनले यस संवाद कार्यक्रमलाई केवल एक बैठक मात्र नभई भविष्य निर्माण प्रक्रियाको महत्त्वपूर्ण कडी भएको बताउँदै यस्ता संवाद विषयगत र नियमित बनुन् भन्ने चाहना व्यक्त गरिन् ।

पर्यटकलाई कुनै पनि कानुनी र प्रशासनिक झञ्झटको अवस्था आउन नदिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आउने पर्यटकलाई कुनै पनि कानुनी र प्रशासनिक झञ्झट नदिइ न्यानो आतिथ्य दिन आग्रह गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयद्वारा सोमबार सिंहदरबारमा आयोजित राष्ट्रिय पर्यटन संवादमा प्रधानमन्त्रीले विद्यमान अवरोधहरू हटाइ सुशासन र विकासको गतिलाई अगाडि बढाउन व्यापक सुधारका लागि निर्देशन दिएका हुन् ।

अध्यागमनमा यात्रुलाई अनावश्यक दुःख दिने, लगेज हराउने, सीमा नाकाहरूमा पर्यटक प्रवेश गर्दा अनेक बाहना बनाउने जस्ता कार्य अन्त्य हुनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए ।

‘हामीले पूर्वाधार विकाससँगै पर्यटन वृद्धिको कोसिस गरिरहेका छौँ । सम्पर्क सञ्जाल विस्तार गरिएकाले नेपाल अब दुर्गम रहेन । जुम्लाको स्याउ काठमाडौँ राम्ररी आएर बजार पाउन थालेको छ । चीनसँग १४ नाका खोलिएका छन् । किमाथाङ्का नाकामा पुल बन्दैछ’, प्रधानमन्त्री ओलीले भने, ‘केही पनि नभएका ठाउँमा एकैपटक सबै थोक गर्न पर्दा समय लाग्छ । केही पनि भएन भनेर चिन्ता गर्नुपर्ने अवस्था छैन । सम्बन्धित निकायबाट हुनुपर्ने सहजीकरणका काममा कुनै कमजोरी नगरी समृद्धिको आधारका रूपमा पर्यटनलाई अघि बढाऔँ ।’

प्रधानमन्त्री ओलीले नेपालको आकाश सुरक्षित भए पनि युरोपको आकाश नेपालका लागि अझै प्रतिबन्धित (कालो सूची) रहेकामा सर्तबमोजिम हवाई क्षेत्रका दुई निकायलाई अविलम्ब अलग्याउन र अरु मापदण्ड पनि पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।

छलफलमा काठमाडौँ–मुग्लिन–पोखरा, बुटवल–पाल्पा–पोखरा, काठमाडौँ–धुलिखेललगायत मुख्य सडकहरू समयमै निर्माण, सीमा नाकाहरूबाट पर्यटकको प्रवेशमा सहजता, युरोपियन मुलुकमा सिधा हवाई सम्पर्क, विश्वमञ्चमा नेपालको ब्राण्ङिङ, पर्यटन प्रवद्र्धनको गुरुयोजना निर्माण, नेपाल वायुसेवा निगमको पुनःसंरचना, सगरमाथा संवादपश्चात् त्यसका निष्कर्ष कार्यान्वयन, गुणस्तरीय लगानी, जनशक्ति व्यवस्थापन, कर तथा मुद्रा सटहीमा सहजता, हिमालयको सफाइ, डिजिटल क्षमता विस्तार र अन्तर निकाय समन्वय वृद्धि गर्नुपर्नेमा जोड दिइएको छ ।

सङ्घका सम्बन्धित मन्त्रीहरू, प्रदेश सरकारका पर्यटन हेर्ने मन्त्रीहरू, उच्चाधिकारी र निजी क्षेत्रका प्रतिनिधि सहभागी कार्यक्रममा पर्यटन क्षेत्रमा विद्यमान समस्या र समाधनका उपायबारे निजी क्षेत्रबाट प्राप्त सुझावसमेतको आधारमा तयार गरिएको कार्ययोजना प्रस्तुत गरिएको थियो ।

ऊर्जा विकासको लक्ष्य प्राप्त गर्न विद्युत् विधेयक अपरिहार्यः उर्जामन्त्री खड्का

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा विकासको लक्ष्य प्राप्त गर्न विद्युत् विधेयक अपरिहार्य रहेको बताएका छन्।

मन्त्रालयका सचिव, पूर्वसचिव, ऊर्जाविज्ञ, नियामक निकाय, मन्त्रालयका उच्च अधिकारी तथा नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिहरूसँग आज विद्युत् विधेयकका विषयमा छलफल गर्दै मन्त्री खड्काले ऊर्जा विकासको मार्गचित्रलाई पूरा गर्न उक्त विधेयक अपरिहार्य रहेको बताएका हुन्।

“सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ, यसलाई पूरा गर्न विद्युत् विधेयक अत्यन्त अपरिहार्य रहेको छ,” मन्त्री खड्काले भने। विद्युत् विधेयकलाई सरकारले उच्च प्राथमिकतामा राखेको उनको भनाइ थियो ।

‘हाम्रो सङ्गठित र संयुक्त प्रयासबाट तयार भएको यस विधेयकले राष्ट्रिय ऊर्जा क्षेत्रलाई दीर्घकालीन स्थायित्व प्रदान गर्नाका साथै निजी तथा वैदेशिक लगानीलाई समेत आकर्षित गर्नेछ,’ उनले भने ।

विधेयकले जलविद्युत् उत्पादन, प्रसारण, वितरण र बजार व्यवस्थापनमा स्पष्ट नीति तथा संरचना तय गर्दै निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्ने खालको कानुनी आधार तयार गर्नेछ । यसले ऊर्जा सुरक्षाको प्रत्याभूति गर्दै स्थानीय र राष्ट्रिय दुवै तहमा आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको मन्त्री खड्काले बताए।

सरकारले राखेको २८ हजार ५०० मेगावाट उत्पादन लक्ष्य प्राप्त गर्न दीर्घकालीन योजना, आधुनिक पूर्वाधार तथा लगानीमैत्री नीति आवश्यक रहेको सन्दर्भमा यो विधेयक रणनीतिक महत्वको कदम मानिएको उनले बताए। उक्त विधेयकलाई ‘समृद्ध नेपाल निर्माणतर्फको सशक्त पाइला’ भएको उनले बताए। विधेयकले सम्पूर्ण नेपालीका लागि उज्ज्वल भविष्य सुनिश्चित हुने मन्त्री खड्काको भनाइ थियो ।

सरकारले यो विधेयकलाई चाँडै संसद्मा प्रस्तुत गर्दै पारित गराउने तयारी गरिरहेको छ । ऊर्जाविज्ञ र सरोकारवाला निकायले समेत विधेयकको स्वागत गर्दै यसले ऊर्जा क्षेत्रमा नयाँ युगको सुरुआत गर्ने विश्वास व्यक्त गरेका छन् ।

अन्नपूर्ण आधार शिविरमा म्याराथन प्रतियोगिता हुने

म्याग्दी।अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर) आरोहणको हीरक महोत्सवका अवसरमा अन्नपूर्ण प्रथम आधार शिविरमा म्याराथन दौड प्रतियोगिता हुने भएको छ।

अन्नपूर्णमा पहिलो पटक मानव पाइला टेकेको ७५ वर्ष पूरा भएको अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको हीरक महोत्सवमा ३० किलोमिटर लामो म्याराथन दौड हुन लागेको हो।

यही जेठ २० गते अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण आधार शिविरबाट नारच्याङ गाउँसम्म म्याराथन दौड प्रतियोगिता सञ्चालन हुने गाउँपालिका अध्यक्ष भारतकुमार पुनले जानकारी दिएका हुन्।

म्याराथन प्रतियोगितामा करिब ६० जनाले सहभागिता जनाउने भएका छन्। जेठ १६ देखि २१ गतेसम्म विविध कार्यक्रमसहित मनाउन लागिएको अन्नपूर्ण हीरक महोत्सवका अवसरमा जिल्लामै पहिलो पटक उच्च उचाइमा म्याराथन दौड प्रतियोगिता हुन लागेको अध्यक्ष पुनले बताए।

अन्नपूर्ण गाउँपालिकाका आठवटै वडाबाट पाँच/पाँचजना र जिल्लाका अन्य पाँच स्थानीय तहबाट दुई/दुईजना र नारच्याङ क्षेत्रबाट थप युवाले समेत म्याराथनमा भाग लिने म्याराथन दौड प्रतियोगिता उपसमितिका सदस्य चित्र तिलिजाले जानकारी दिए। उनका अनुसार, प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद रु ५० हजार, ३० हजार र २० हजार पुरस्कार प्रदान गरिनेछ।

हीरक महोत्सवका अवसरमा पुख्र्यौली नाचका साथै विविध कार्यक्रम तय गरिएको छ। आधार शिविरमा प्रथम आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको सालिक अनावारण गर्नाका साथै आधार शिविरमा निर्माण भएको खुला सङ्ग्रहालय र नारच्याङदेखि आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको समेत उद्घाटन गर्ने कार्यक्रम छ।

सो अवसरमा आधार शिविरमा शिलालेखमा आरोहीहरूको अभिलेख राख्नेसमेत तयारी गरिएको अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समितिका सदस्य एवं अन्नपूर्ण प्रथम आधार शिविर पदमार्गका अभियन्ता तेज गुरुङले बताए।

अन्नपूर्ण हिमाल आरोहण नेपालको पर्वतारोहण इतिहासमा ऐतिहासिक दिनका रूपमा परिचित छ। सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हार्जोगको नेतृत्वमा लुइस लचेनल र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेका थिए।

गुणस्तरीय शिक्षा दिने व्यवस्था गरेर विदेशी विद्यार्थीलाई नेपालमा आकर्षित गरिनुपर्छः सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुणस्तरीय शिक्षा दिने व्यवस्था गरेर विदेशी विद्यार्थीका लागि पनि नेपाललाई शिक्षाको हब बनाउनुपर्नेमा जोड दिएका छन् ।

कांग्रेस शिक्षा विभागले सोमबार आयोजना गरेको शिक्षा नीति विषयक बहस कार्यक्रममा सभापति देउवाले शिक्षा नै महत्वपूर्ण विषय भएकाले यसको गुणस्तर सुधार गरी स्वदेशी विद्यार्थीलाई देशमै रोक्ने र विदेशी विद्यार्थीलाई पनि आकर्षित गर्ने गरी नीति निर्माण गर्न लागिपर्ने प्रतिबद्धतासमेत जनाए ।

सभापति देउवाले सबै आमाबाबुको इच्छा छोरा छोरीलाई राम्रो शिक्षा दिने भएकाले त्यो पूरा गर्ने गरी व्यवस्था गरिनुपर्ने बताए । शिक्षा सभ्यता पनि भएकाले यसले गाउँदेखि सहरसम्मका मानिसलाई शिक्षित भएर अघि बढाउने पनि सभापति देउवाको भनाइ थियो ।

विभाग प्रमुख नैनसिंह महरले शिक्षालाई अनुसन्धानमुखी बनाउने गरी नीति निर्माण गरिनुपर्ने आवश्यकता औँल्याए ।

लुक्ला विमानस्थल

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ मा अवस्थित तेन्जिङ –हिलारी विमानस्थल ‘लुक्ला’। सगरमाथा आरोहण तथा खुम्बु क्षेत्र भ्रमणका लागि ‘लुक्ला’ व्यस्त विमानस्थलको रुपमा रहेको पाइन्छ । तस्बिरः गार्डेन राई/रासस

सर्वोच्चको आदेश विधिको शासनप्रति आस्था राख्ने नागरिकहरुका लागि चिन्ताको विषयः रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वोच्च अदालतले सभापति रवि लामिछाने सम्बन्धी मुद्दामा दिएको पछिल्लो आदेशको कानूनी पालना गर्न बाध्य भएपनि विवेकका दृष्टिले अपूर्ण र अन्यायपूर्ण रहेको बताएको छ ।

कार्यवाहक प्रवक्ता मनिष झाले सोमबार विज्ञप्ति जारी गरी यस्तो बताएका हुन् । रास्वपाले मौलिक अधिकारसँग जोडिएको बन्दी प्रत्यक्षीकरणको निवेदनको सार्थक सम्बोधन नहुनु, ‘बेल सुनुवाई’ मा सीमित हुनपर्ने विषय मुद्दाको गुणदोषमै केन्द्रित हुनगई प्रमाण ऐन २०३१ को दफा २५ को प्रतिकुल हुने गरी प्रमाणको भार प्रतिवादीले नै बोक्न पर्ने आशय व्यक्त हुनु एवं सर्वोच्च अदालतबाटै स्थापित नजिरहरुको नजरअन्दाज गरी थुनामै राख्नुपर्ने आदेश दिइनु विधिको शासनप्रति आस्था राख्ने नागरिकहरुका लागि चिन्ताको विषय भएको बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारद्वारा सहकारीको राष्ट्रव्यापी समस्याको समाधान नखोजी सम्बन्धित मुद्दाहरूमा चयनात्मक अभियोजन, फरक व्यवहार र समान प्रकृतिका मुद्दामा दलीय आबद्धत्ताको आधारमा विभेद भइरहेको यथार्थलाई राष्ट्रिय स्वतन्त्र पार्टीले ’राजनीतिक प्रतिशोध’ को रुपमा चित्रित गर्दै आएको छ । रवि लामिछानेले संगठित अपराध गरेको नभई राज्यले नै लामिछानेमाथि संगठित अपराध गरिरहेको अभिमत आम जनतामा गड्दै गएको निष्कर्ष पार्टीको छ । दलतन्त्रको दोहन, राज्य संयन्त्रको अस्त्रीकरण लगायतका बेथिति एवं ‘प्रतिशोध विरुद्ध न्यायका लागि वृहत अभियान’ को अवधारणा पत्र अनुमोदन गर्दै अबका राजनीतिक मुद्दा देश–विदेशमा रहेका आम नेपालीहरु माझ नै स्थापित गर्ने गरी अघि बढ्न रास्वपा केन्द्रीय समिति दृढ संकल्पित छ ।’

‘गणतान्त्रिक राज्यमा समेत न्याय र मानवीयता मृत भेटेपछि मेरो आस्था र विश्वासको जग बेस्सरी हल्लिएको छ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले अदालतबाट आफूले न्याय नपाएको गुनासो गरेकी छन् ।

सोमबार अपरान्ह सामाजिक संजालमार्फत पौडेलले अब, न्याय माग्न म कहाँ जाऊँ ? भन्दै प्रश्न गरेकी हुन् । उनले भनेकी छन्, ‘अब, न्याय माग्न म कहाँ जाऊँ ? मनको डर मेटाउन कसलाई गुहारौं ? गणतान्त्रिक राज्यमा समेत न्याय र मानवीयता मृत भेटेपछि मेरो आस्था र विश्वासको जग बेस्सरी हल्लिएको छ। थाहा छैन, फेरि स्थिर हुन्छ कि सदाका लागि ढल्छ !’

यस्तो छ निकिताको भनाई

जेठ ९ गते शुक्रबार, सर्वोच्च अदालतमा सुनुवाइको अन्तिम दिन । न्यायालय, न्यायकर्ता र न्यायप्रतिको दृढ विश्वास लिएर तेस्रो दिन पनि अदालत पुगें । बहस सकिएर आदेश आउने दिन, सुनाउनेले जे–जे सुनाए पनि अदालतप्रतिकै आश मर्न दिएन मनले। अन्याय हुँदैन भन्ने लागिरह्यो ।

हाम्रो तर्फबाट बहस राम्रो भयो । बेञ्चका हरेक प्रश्नको कानून व्यवसायीको तथ्यपूर्ण जवाफ। बहसले तथ्य पक्रेर आदेश गर्न बेञ्चलाई प्रशस्तै आधार दिएको ठानें । न्यायप्रतिको विश्वास झनै बढ्यो ।
करिब दुई बजेतिर बहस सकिएपछि आदेशको प्रतीक्षामा यताउति गरिरहें । केहीपछि सह–रजिष्ट्रार (प्रवक्ता)को कार्यकक्षमा बस्न भनियो । केही सञ्चारकर्मी पनि थिए। आदेश कुर्दाकुर्दै करिब ७ घण्टा बित्यो ।
‘एकैछिन है …’ भन्दै कार्यकक्षबाट निस्किएका प्रवक्ता फर्किएनन् । आदेश ल्याएर सुनाउनु पर्ने मान्छे नै हराए । ‘श्रीमान त निस्किनु भयो’ भनेर एकजना पत्रकार भाइले जानकारी दिए । त्यसको आधा घण्टासम्म पनि आदेश लिएर कार्यकक्ष फर्किएनन् प्रवक्ता ।

बाहिर निस्किदा एकजना आफन्तले फोनमा ‘नेगेटिभ समाचार छ, मैले कान्तिपुरको अनलाइनमा पढें’ भन्नुभयो । म अदालतमै छु । केही घण्टादेखि आदेशबारे आधिकारिक जानकारी दिने प्रवक्ताको कार्यकक्षमै छु। म निवेदक, मेरो श्रीमानबारे आएको आदेश बाहिरबाट सुन्नुपर्ने, अदालतले आधिकारिक रुपमा नसुनाउने । अदालत प्रशासन कतिसम्म गैरजिम्मेवार । अदालतले न्याय त दिएन–दिएन, मानवीय व्यवहार पनि गरेन । मानवता हराएको देश ! झमझम पानी परिरहेको थियो, अदालतबाट निस्किएँ ।

शुक्रबारको तनाव, अनिन्द्रा र रुवाई …! जिन्दगीकै अत्यन्तै कठिन दिन । भोलिपल्ट (शनिबार) भैरहवा जानु नै थियो, गएँ । अन्यायको शिकार भएकी म, कसरी तंग्रिएर हिंडे होला । कसरी उहाँको अगाडि पुगें, थाहा छैन । सायद जिउँदो लास भएर हिंडेछु । उहाँको अगाडि पुगेपछि मात्रै होस् खुलेजस्तो भयो । साँझ काठमाडौं फर्किए ।

केही प्रमाण नभेटिँदा पनि मेरो श्रीमानविरुद्ध मुद्दा लगाइयो । नियत नै राखेर थुनियो। गैरकानूनी पक्राउबारे परेको रिटमा अदालतले एक शब्द पनि बोलेन । अब, न्याय माग्न म कहाँ जाऊँ ? मनको डर मेटाउन कसलाई गुहारौं ? गणतान्त्रिक राज्यमा समेत न्याय र मानवीयता मृत भेटेपछि मेरो आस्था र विश्वासको जग बेस्सरी हल्लिएको छ। थाहा छैन, फेरि स्थिर हुन्छ कि सदाका लागि ढल्छ !

सौर्य सिमेन्टद्वारा उदयपुरको कटारीमा विद्यालय र स्वास्थ्य केन्द्र भवन हस्तान्तरण

उदयपुर । सौर्य सिमेन्ट इन्कोर्पोरेटेड लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत कटारी नगरपालिकाको दुई वडामा निर्माण सम्पन्न गरिएका सार्वजनिक संरचना हस्तान्तरण गरेको छ ।

कम्पनीले वडा नम्बर ७ स्थित सरस्वती आधारभूत विद्यालय, मर्जेतपुरमा दुई कोठे पक्की विद्यालय भवन र वडा नम्बर ८ मा प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माण गरी आइतबार औपचारिक रूपमा हस्तान्तरण गरेको हो ।

विद्यालय भवन उद्घाटनका लागि आयोजित कार्यक्रममा कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले शिक्षा र स्वास्थ्य क्षेत्रलाई सशक्त बनाउने शौर्य सिमेन्ट यस्तो प्रयासलाई सराहना गरे ।

उनले सौर्य सिमेन्टको सामाजिक उत्तरदायित्वले विद्यालयको संरचना बनेको भन्दै अब संरचना जस्तै शैक्षिक गुणस्तर सुधार्न आवश्यक रहेको भन्दै त्यसका लागि अभिभावकको सक्रियता जरुरी रहेको बताए ।

कार्यक्रममा सौर्य सिमेन्टका सिनियर भाइस प्रेसिडेन्ट राजन झाले सामाजिक उत्तरदायित्वलाई स्थानीय तहसँग सहकार्य गरेर अघि बढाइएको जनाउँदै भने, ‘देशको समृद्धिका लागि आर्थिक र राजनीतिक क्षेत्र दुवै सबल हुनुपर्छ।’ उनले कम्पनीले निर्माण क्षेत्रमा हुने असर न्यूनीकरणका लागि इन्जिनियरको टोली खटाएर अध्ययन र समाधानको प्रयास गरिरहेको पनि बताए।

त्यस अवसरमा वडाध्यक्ष तथा नगरपालिकाको सामाजिक विकास समितिका संयोजक सुविन ढुंगानाले विद्यालय र सामुदायिक विकासमा सहयोग गरेकोमा धन्यवाद दिँदै खानी क्षेत्र नजिकको नदी उचाइ र सम्भावित जोखिमप्रति पनि सौर्यलाई सजग रहन आग्रह गरे।

विद्यालयका प्रधानाध्यापक जयबहादुर तामाङले कम्पनीले २०५६ सालदेखि विद्यालयलाई निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै विद्यालय परिवारको तर्फबाट सम्मान गरेका थिए। ‘शिक्षक व्यवस्थापनदेखि भौतिक सामग्रीसम्ममा सहयोग पाएका छौं,’ उनले भने।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष भीमबहादुर मगरले पनि उद्योगको निरन्तर सहयोगप्रति आभार प्रकट गरे। कार्यक्रममा उद्योगले विद्यार्थीहरूलाई खेल तथा शैक्षिक सामग्री वितरण गर्नुका साथै सहभागी अतिथिलाई मायाको चिनो प्रदान गरेको उद्योगका मार्केटिङ प्रमुख अनुज महतले जानकारी दिए।

यसै दिन वडा नम्बर ८ मा निर्माण सम्पन्न भएको प्राथमिक स्वास्थ्य केन्द्र भवन पनि हस्तान्तरण गरिएको हो । नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सुरेश दाहालले भवन हस्तान्तरणसँगै सेवा विस्तार सुरु हुने जानकारी दिए ।

कार्यक्रममा मेयर श्रेष्ठले स्वास्थ्य पहुँचका लागि यो भवन महत्वपूर्ण हुने बताए। वडाध्यक्ष नविन्द्र तामाङले वडाको भूगोल ठूलो भएकाले यस्तो केन्द्रले सेवा वितरणमा सहजता ल्याउने विश्वास व्यक्त गर्दै, अब वडालाई एम्बुलेन्सको आवश्यकता रहेको समेत औंल्याए।

नेपाल खानेपानी संस्थानको अध्यक्षमा भट्टराई नियुक्त

काठमाडौं । नेपाल खानेपानी संस्थानको अध्यक्षमा डा. ढुण्डीराज भट्टराई नियुक्त भएका छन् । मन्त्रीस्तरीय निर्णयानुसार भट्टराई संस्थानको अध्यक्षमा नियुक्त भएका हुन् ।

खानेपानी संस्थान ऐन, २०४६ (संशोधन सहित) को दफा ८ को उपदफा ८.१.१ बमोजिम रहने नेपाल खानेपानी संस्थान संचालक समितिको अध्यक्ष पदमा सोही ऐनको दफा ११.१ बमोजिम तीन वर्षका भट्टराईलाई नियुक्त गरिएको खानेपानी मन्त्रालयका सचिव इन्जिनियर प्रमिलादेवी शाक्य बज्राचार्यले जानकारी दिइन् ।

भट्टराई अर्घाखाँची भूमिकास्थान नगरपालिका–९ का स्थायीवासी हुन् ।

प्रधानमन्त्रीलाई उत्तेजनापूर्ण अभिव्यक्ति नदिन आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उत्तेजनापूर्ण अभिव्यक्ति नदिन आग्रह आग्रह गरेको छ ।

सोमबार विज्ञप्ति जारी गरी आयोगले राजतन्त्रसमर्थक आन्दोलनलाई इङ्गित गर्दै प्रधानमन्त्री ओलीले एक कार्यक्रममा ‘जेठ १५ गते एघार बजेदेखि दुईबजेसम्म काठमाडौँ नेकपा एमालेको नियन्त्रणमा हुनुपर्छ’ भन्ने लगायतका अभिव्यक्ति दिँदै त्यसका लागि एमाले कार्यकर्तालाई तयार रहन भनी दिएको निर्देशनपूर्ण अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले भनेको छ, ‘शान्तिपूर्ण तवरबाट विचार र अभिव्यक्ति राख्न नेपालको संविधान र कानूनले निषेध गरेको छैन । यस परिस्थितिमा अरुको विचार, अभिव्यक्ति र प्रदर्शनप्रति लक्षित गरी सम्माननीय प्रधानमन्त्रीबाट आएको उक्त अभिव्यक्ति चिन्ताजनक छ । जुनसुकै व्यक्ति, समूह र पार्टीलाई आफ्नो विचार र अभिव्यक्तिको स्वतन्त्रता भए पनि अरुप्रति लक्षित गरी मूठभेड निम्तिन सक्ने गरी उत्तेजनापूर्ण अभिव्यक्ति आउनु मानव अधिकारका मूल्यमान्यताको समेत विपरीत हुन जान्छ ।’

आयोगले जिम्मेवार व्यक्तिले आफ्नो अभिव्यक्ति दिँदा संयमित हुन, अरु व्यक्ति, समूह वा पार्टी लक्षित नकारात्मक टीकाटिप्पणी नगर्न आग्रह गरको छ ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर भूकम्प

सुर्खेत । जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाडाँलाई केन्द्रविन्दु बनाएर सोमबार दिउँसो २ः२५ बजे भूकम्प गएको छ ।

चार दशमलव ३ रेक्टरको भूकम्प गएको भूकम्पमापन केन्द्र सुर्खेतका प्रमुख चिन्तक तिम्सिनाले जानकारी दिए । उनका अनुसार यो पराकम्पन हो । जाजरकोट आसपासका जिल्लामा कम्पन महसुस भएको उनले जानकारी दिए ।

२१ अंकले घट्यो नेप्से 

 

काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । सोमबार नेप्से परिसूचक पाँच दशमलव २१ अङ्कले घटेर दुई हजार ६७४ दशमलव ७६ को विन्दुमा कायम भएको हो ।

आज ३३७ कम्पनीको एक करोड ७१ लाख ६० हजार ६२५ कित्ता शेयर ६९ हजार ६५१ पटक खरिदबिक्री हुँदा रू सात अर्ब ५८ करोड ५० लाख २२ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा बैङ्किङ समूह शून्य दशमलव १७ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ७९ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ ।

विकास बैङ्क शून्य दशमलव २७, वित्त शून्य दशमलव १२, होटल तथा पर्यटन शून्य दशमलव ९१, जलविद्युत् शून्य दशमलव ०६ र लगानी समूह शून्य दशमलव १५ प्रतिशतले घटेको छ । त्यस्तै, जीवन बीमा शून्य दशमलव २०, लघुवित्त एक दशमलव ५०, म्युचुअल फन्ड शून्य दशमलव ०८, निर्जीवन बीमा शून्य दशमलव ३२, व्यापार शून्य दशमलव १३ र अन्य समूह शून्य दशमलव ४८ प्रतिशतले घटेको छ ।

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै राधी विद्युत् कम्पनी लिमिटेडको रु ६४ करोड ३१ लाख ५० हजार ९०० बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने ङादी ग्रुप पावर लिमिटेडको १४ लाख ८९ हजार ३०२ कित्ता शेयर खरिदबिक्री भएको छ ।

कार्यपालिका बैठक राख्न बालेनलाई सदस्यहरुको पत्र

काठमाडौं । काठमाडौ महानगपालिकाका मेयर बालेन साहलाई कार्यपालिका सदस्यहरुको कार्यपालिका बैठक छिटो बोलाउन माग गरेका छन् ।

महानगरपालिकाका ४० जना कार्यपालिका सदस्यले मेयर साहलाई जति सक्दो छिटो कार्यपालिका बैठक बोलाउन माग गरेका हुन् । सोमबार बसेको कार्यपालिका सदस्यहरूको अनौपचारिक बैठकले यस्तो माग गरेको हो । बैठकमा मेयर साहबाहेक सबै उपस्थित थिए ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ मा‘कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्ने’ भनिएको छ । तर काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक पुस १० गतेयता बस्न सकेको छैन ।

महानगरका प्रवक्ता नवीन मानन्धरले स्थानीय सरकार सञ्चालन ऐनमै सभा तथा कार्यपालिकाको बैठक नगर प्रमुखले बोलाउने र अध्यक्षता गर्ने प्रावधान रहेकोमा बैठक नबोलाउँदा आगामी आर्थिक वर्षको बजेटमा अन्योल देखिएपछि बैठकको माग गरेका बताए ।

सामान्यभन्दा चाँडो मनसुनी वर्षाले मुम्बई प्रभावित

मुम्बई । भारतको आर्थिक राजधानी मुम्बईमा सोमबार भारी वर्षा भएको छ । मौसम पूर्वानुमानकर्ताहरूका अनुसार वार्षिक मनसुनी वर्षा सामान्यभन्दा दुई हप्ताअघि नै भएको हो ।

तापक्रम घटाउने भारी वर्षा सामान्यतया महाराष्ट्रको दक्षिणपश्चिमी राज्यमा जुनको सुरुमा अपेक्षा गरिन्छ । तापक्रम घटाउने वर्षालाई किसानहरूले आफ्नो बालीका लागि स्वागत गर्छन् । तर यसले बाढी ल्याएर यातायात पूर्वाधारको क्षेत्रमा हरेक वर्ष विनाश निम्त्याउने गर्छ ।

भारतीय मौसम विभागकी मुम्बई मौसम प्रमुख शुभाङ्गी भुटेले सन् २०११ मा उनीहरूको रेकर्ड सुरु भएदेखि यस वर्ष वर्षा आएको सबैभन्दा चाँडो समय भएको बताइन् ।

‘त्यसबेलादेखि यो राज्यमा आएको सबैभन्दा प्रारम्भिक मनसुन हो, त्यसैले यो १४ वर्षमा सबैभन्दा चाँडो हो,’ उनले भनिन् ।

दक्षिण एसिया तातो हुँदै गइरहेको र हालका वर्षहरूमा मौसमी ढाँचाहरू परिवर्तन भएको मौसमविद्हरूको भनाइ छ । तर वैज्ञानिकहरू तातो हुँदै गएको पृथ्वीले अत्यधिक जटिल मनसुनलाई कसरी प्रभावित गरिरहेको छ भन्ने बारेमा स्पष्ट छैनन् ।

दक्षिणपश्चिम मनसुन एक विशाल समुद्री हावा हो, जसले दक्षिण एसियामा हरेक वर्ष जुन र सेप्टेम्बरको बीचमा वार्षिक वर्षाको ७०–८० प्रतिशत ल्याउँछ ।

गर्मीको तापले उपमहाद्वीपको भू–भागलाई तातो बनाउँदा यस्तो हुन्छ । यसले हावालाई उठाउँछ र चिसो हिन्द महासागरको हावालाई भित्र तान्छ जसले त्यसपछि भारी मात्रामा वर्षा उत्पन्न गर्दछ ।

मनसुन कृषिका लागि महत्त्वपूर्ण छ र लाखौँ किसानको जीविकोपार्जन र खाद्य सुरक्षाका लागि महत्त्वपूर्ण छ । तर यसले हरेक वर्ष भूस्खलन र बाढीमा विनाश ल्याउने गरेको छ ।

भारतमा दक्षिणपश्चिम मनसुन सामान्यतया जुन १ को आसपास केरलाको दक्षिणी टुप्पामा आइपुग्छ र जुलाईको सुरुमा देशलाई ढाक्न उत्तरतिर सर्छ । वर्षा सामान्यतया जुन ७ तिर महाराष्ट्रमा पुग्छ ।

जापानले अमेरिकी भन्सार शुल्क वार्तालाई ‘तीव्रता’ दिने

टोकियो । संयुक्त राज्य अमेरिका र जापान आफ्नो पछिल्लो भन्सार शुल्क वार्तामा सम्झौताको प्रयासलाई गति दिन सहमत भएको टोकियोले बताएको छ।

अमेरिकाको प्रमुख सहयोगी र यसको सबैभन्दा ठुलो लगानीकर्ता जापान अधिकांश मुलुकमा लगाइएको समान १० प्रतिशत आधारभूत भन्सार शुल्क तथा कार, स्टिल र आल्मोनियममा कडा भन्सार शुल्कको अधीनमा छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिलको सुरुमा जापानमाथि २४ प्रतिशत ‘पारस्परिक’ भन्सार शुल्कको घोषणा गरेका थिए। तर, पछि अन्य देशमाथिका समान उपायहरूसँगै तिनलाई जुलाईको सुरुसम्म स्थगित गरे।

जापान ट्रम्पले घोषणा गरेका आफ्नो आयातमाथिका सबै भन्सार शुल्कहरू हटाउन चाहन्छ। टोकियोका भन्सार शुल्क दूत रियोसी अकाजावाले सप्ताहन्तमा वासिङ्टनमा तेस्रो चरणको वार्ता गरेका थिए र यो हप्ता फर्कने कार्यक्रम छ।

दुई देशले ‘पारस्परिक रूपमा लाभदायक सम्झौता साकार पार्न प्रयासहरू तीव्र पार्नेछौँ’ भनी पुष्टि गरेको जापानका शीर्ष सरकारी प्रवक्ता योसिमासा हायासीले सोमबार बताए।

आइतबार प्रधानमन्त्री सिगेरू इसिबाले पनि अकाजावाको पछिल्लो चरणको वार्तामा ‘प्रगति’ भएको बताए। इसिबाले आगामी महिना क्यानाडामा हुने वार्षिक जी– ७ को बैठकमा दुई नेताले भेट्दा ट्रम्पसँग सम्झौता गर्ने लक्ष्य राखेको बताए।

टोकियोका अनुसार फेब्रुअरीमा ह्वाइट हाउसमा ट्रम्पलाई भेट्ने इसिबाले गत हप्ता राष्ट्रपतिसँग करिब ४५ मिनेट फोनमा कुरा गरेका थिए।

समाजवादी क्रान्तिको पक्षमा पार्टी एकतालाई अगाडि बढाएका छौँ : अध्यक्ष प्रचण्ड

ललितपुर।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी क्रान्तिको पक्षमा पार्टी एकतालाई अगाडि बढाएको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) र समाजवादी पार्टीबिच पार्टी समायोजनका लागि सोमबार ललितपुरमा आयोजित कार्यक्रममा उनले गत आमचुनावदेखि नै एकताको पक्षमा छलफल चलाएको र विचार, राजनीतिक आस्थाका आधारमा एकीकरण, समायोजन र ध्रुवीकरणको प्रक्रिया निरन्तर जारी रहेको उल्लेख गरे ।

‘सबै कम्युनिस्ट एक ठाउँमा हुँदा जनमत ठुलो हुन्छ, यो एकताले ठुलो ढोका खोल्नेछ, महेन्द्र राय यादवसँग पनि छलफल भइनै रहेको छ । पार्टीको नामको कारणले उहाँ महाधिवेशनसम्म बहिरै हुन चाहनुभएको छ, उहाँ पनि यो एकता प्रक्रियामा समाहित हुनुहुनेछ,’ अध्यक्ष प्रचण्डले भने, ‘गंगानारायण श्रेष्ठले जे प्रतिबद्धता गर्नुभएको छ, त्यो सराहनीय छ ।’

आज सुरु भएको प्रयास दूरगामी राजनीतिक महत्त्वको प्रयास भएको बताउँदै उनले आजको प्रयासले शक्तिशाली समाजवादी आन्दोलनलाई अगाडि बढाउने धारणा राखे ।

आफूसहित नेपाल समाजवादी पार्टीका नेताहरूलाई नेकपा (माओवादी केन्द्र) मा समायोजन भएको अवसरमा गरिएको समझदारी पत्रमा हस्ताक्षर गरेपछि नेता गंगानारायण श्रेष्ठले नेताहरूको दोष नहुँदानहुँदै पनि समृद्धिको यात्रामा समाजवाद निर्माणका लागि बहसलाई अगाडि बढाउने क्रममा पार्टी छिन्नभिन्न हुन पुगेको बताए । उनले विगतको प्रयोगबाट नेपालको समृद्धि हासिल गर्ने परिणाम आउन नसकेको तर्क गरे ।

नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिमा रहेका दुईतिहाइ सदस्यले अनुमोदन गरेर एकतामा आएको श्रेष्ठले स्पष्ट पारे । उनले हिजो जानअञ्जानमा गरेका गल्तीबाट देश र पार्टीले क्षति भोग्नुपरेको भन्दै विचार र राजनीतिक एजेन्डा मिल्नेहरू छुट्टाछुट्टै भएर बस्नु आवश्यक नभएकाले एकता प्रक्रियामा सामेल भएको बताए ।

महासचिव देव गुरुङले समाजवादी क्रान्तिका लागि यसका पक्षधरसँग एकतालाई निरन्तरता दिने जानकारी गराए । उनले जनवादी केन्द्रीयताको मान्यताअनुरूप पार्टी अगाडि बढ्ने जानकारी गराए । दुई पार्टीबिच पार्टी समायोजनपश्चात् गंगानारायण श्रेष्ठलाई सचिवको जिम्मेवारी दिइएको महासचिव गुरुङले जानकारी दिए ।

खिजीदेम्बामा पाठेघर तथा स्तन क्यान्सर परीक्षण, ६८ मा जटिल समस्या

ओखलढुङ्गा । ओखलढुङ्गाको खिजीदेम्बाका ९ स्थानमा सञ्चालन भएको पाठेघर तथा स्तन क्यान्सको स्क्रिनिङ र आङखस्ने समस्या पहिचान शिविरमा ६ सय ४५ जना महिलाले सेवा लिएका छन् । अस्पतालको पहुँचभन्दा टाढाको जिल्लाकै दुर्गममा पर्ने खिजीदेम्बा गाउँपालिकाका सबै नौ वटै वडामा निःशुल्क शिविर सञ्चालन भएपछि वर्षौँदेखि रोगसँग जुधिरहेका महिला लाभान्वित भएका छन् ।

गाउँपालिकाको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत गाउँपालिकाले वडा नं १ देखि ९ सम्मका ३० वर्ष भन्दामाथिका उमेर समूहका महिलाको निःशुल्क पाठेघर र स्तन क्यान्सरसँगसम्बन्धी परीक्षण शिविर आयोजना गरेको थियो । शिविरमा परीक्षण गरिएकामध्ये ६८ जनामा जटिल समस्या देखा परेको स्वास्थ्य शाखा प्रमुख इन्द्र गौतमले जानकारी दिए ।

गौतमका अनुसार शिविरमा वडा नं १ र २ बाट ९७ जना, वडा नं ३ बाट ९४ जना, वडा नं ४ बाट ५० जना र वडा नं ५ बाट १३० जनाले सेवा लिएका छन् । यस्तै वडा नं ६ बाट १२९ जना, वडा नं ८ बाट ८६ जना र वडा नं ९ बाट ५९ जना गरी जम्मा ६४५ जना महिलाले सेवा लिएका छन् ।

जेठ ५ गतेदेखि जारी शिविर वडा नं ७ मा आज १२ गते जारी छ । परीक्षण गरिएकामध्ये १९ जना पाठेघर खस्ने जटिल समस्या, ३३ जनामा भिआइए शङ्कास्पद अवस्था र १९ जनामा पाठेघरमा मासु पलाएको (सिस्ट)को समस्या देखिएको छ ।

शिविरमा जटिल समस्या देखिएकालाई गाउँपालिकाले निःशुल्क उपचारको व्यवस्था मिलाउने गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताए। पाठेघर तथा स्तन क्यान्सरको प्रारम्भिक पहिचान, जोखिम न्यूनीकरण, सचेतना अभिवृद्धि गर्ने उद्देश्यले शिविर राखिएको उनको भनाइ छ ।

स्वास्थ्य क्षेत्रमा पहुँच अभावका कारण पछाडि परेको ग्रामीण क्षेत्रका महिलालाई लक्षित गरेर क्यान्सर जस्तो घातक रोगबाट बचाउन विशेषज्ञ चिकित्सक ल्याएर सञ्चालन गरिएको शिविरबाट सेवा पाउँदा निकै सहज भएको भन्दै स्थानीय महिलाले खुसी व्यक्त गरेका छन् ।

जटिल रोगको स्वास्थ्य परीक्षणकै लागि जिल्ला सदरमुकाम, रामेछापको मन्थली वा राजधानी काठमाडौँ जानुपर्ने बाध्यता अन्त्य गर्दै गाउँपालिकाले गाउँ गाउँमै शिविर सञ्चालन गरेपछि सहज भएको खिजीदेम्बा–४ की महिला स्वास्थ्य स्वयंसेविका पवित्रा सुवेदीको भनाइ छ । संवेदनशील अंकमा हुने समस्या सामान्य हुँदासम्म लुकाउने र जटिल भएपछि उपचार गराउन नसक्दा दीर्घरोगी भएर बाँच्नुपर्ने दुर्गमका नागरिकको बाध्यता छ ।

काठमाडौंमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौँ । काठमाडौंको बसुन्धरामा दुर्घटनामा परी एक किशोरीको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३ बसुन्धरा सडकमा म प्र ०२–०३४ प ६२५७ नम्बरको स्कुटरले पैदलयात्रुलाई ठक्कर दिँदा स्कुटरमा सवार महोत्तरी घर भई काठमाडौंको चाबहिल बस्ने १८ वर्षीया मनिसा परियारको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा ग्रिनसिटी अस्पतालमा आज निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते पैदलयात्रुको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले स्कुटर चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ ।

बर्खा लाग्यो : डरै डरमा मनाङका माटाका घर

नवीन लामिछाने, मनाङ । हिमाली क्षेत्रमा पानीपर्दैन भन्ने कथन पछिल्लो समय फेरिएको छ । विगतमा पानीको आवश्यकता नै हिउँले पूर्ति गर्ने हिमाली जिल्ला मनाङमा अहिले वर्षा हुन्छ । जसले गर्दा यहाँका माटाका छानो भएका घर मासिन थालेका छन् ।

परम्परा तथा मौलिकता झल्कने गरी रैथाने सीप, ज्ञान र प्रविधिको प्रयोगबाट बनाइएका घरको छत नै माटोका राखिन्थ्यो । माटो जमाएर बनाइएका घर जलवायु परिवर्तनको चेपुवामा परेर कङ्क्रिटले बन्न थालेका छन् । वर्षायाम लागेसँगै माटाका घर डरैडरमा रहेका छन् ।

विगतको तुलनामा मनाङमा औसतभन्दा अधिक वर्षा र लगातार झरी पर्न थालेपछि माटोले बनाइएका परम्परागत घरको छतले धान्न सक्ने अवस्था छैन । जसले गर्दा यहाँका घर पानीले भिजेर चुहिन थालेका छन्। पहिले माथिल्लो मनाङमा वर्षा नै हुँदैनथ्यो । अहिले विशेषगरी नार्पाभूमि गाउँपालिकाका नार र फुमा रहेका यस्ता पुरातन सांस्कृतिक शैलीमा निर्माण गरिएका घर वर्षाका कारण नासिँदै गएको गाउँपालिकाका अध्यक्ष कोञ्जो तेन्जिङ लामाले बताए।

“प्रकृतिसँग जुध्न सकिँदैन । प्रकृतिलाई फेर्न पनि सकिँदैन । जलवायु परिवर्तनले प्रत्यक्ष रूपमा प्रभाव पारेको देखिन्छ। परम्परागत तथा मौलिकता नै मासिने अवस्थामा पुगेको छ । यसका साथै परम्परागत संस्कृतिलाई समेत असर गरेको महसुस हुन्छ”, उनले भने। विगतमा माथिल्लो मनाङमा वर्षा नहुने हुँदा यस्ता घर नै पहिचान बनेकामा अहिले फेरिँदै गएको उनको भनाइ छ ।

सदरमुकाम चामेमा पुराना परम्परागत घरदेखिन छाडेका छन् । विकासको क्रमसँगै आधुनिकताले छोप्दै जाँदा नासोँ तथा चामे गाउँपालिकामा अधिकांश घर आरसिसी गरी निर्माण भएका पाइन्छन् । तर, मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकामा भने पुरातन शैलीका सांस्कृतिक सम्पदा अझै पनि देख्न सकिन्छ ।

आफ्ना सन्ततिका लागि पूर्वजले बनाएका ऐतिहासिक सम्पदा, स्मारक, गुम्बा, छोर्तेन तथा देवस्थलको अस्तित्व नासिँदै जान थालेका छन् । एकातिर जलवायु परिवर्तनको प्रभावले घट्दो हिमपात, बढ्दो तापक्रम र वर्षाले मानिस तथा पशुचौपायाको स्वास्थ्य, सामाजिक, सांस्कृतिक धरो नासिने, रैथाने सीप, पहिचान तथा ज्ञान नासिने गरेको छ भने अर्कोतर्फ जैविक विविधता र पारिस्थितिकीय प्रणालीमा हानी पुर्‍याउने गरेको छ । हिउँ र पानी कम पर्ने चक्र फेरिएपछि हिमाली जीवनशैली र संस्कृतिमा पनि असर परेको अध्यक्ष लामाले बताउनुभयो । पर्यावरणीय प्रभावका कारण जीवनयापन, वातावरणीय अवस्था तथा आर्थिक–सामाजिक–सांस्कृतिक अवस्थामा फेरबदल हुँदै गएको छ ।

“पर्यटकको ‘हब’ का रूपमा परिचित मनाङमा आउने विदेशी पर्यटक तिलिचो जान मात्रै आउँदैनन् । उनीहरू यहाँको जीवनशैलीको अध्ययन गर्न पनि आउँछन्, हामीले गुम्बा, छार्तेन, माटाका घरलगायत मौलिक पहिचान बनेको मनाङवासीको संस्कृति संरक्षण गर्नुपर्छ”, नार्पाभूमिका अध्यक्ष लामाले भने।

उनले नार्पाजातिको संस्कृति, रीतिरिवाज संरक्षण गर्न प्रतिबद्ध रहेको बताए। नार्पाभूमिमा गाउँ छाड्दा साइत हेरेर मात्र निस्किने तथा छोर्तेन घुमेर गाउँ छिर्ने चलन अहिले पनि जीवन्त रहेको छ । गाउँको प्रवेशद्वारका रूपमा अहिले पनि छोर्तेन देख्न पाइन्छ ।

यी परम्परागत गुम्बा छोर्तेन यहाँका सांस्कृतिक सम्पत्ति हुन् । संरक्षणको अभावमा यहाँका गुम्बा, छोर्तेन तथा माटाका घरको छानो चुहिएर दलिन, खम्बा र निदाल कुहिएर मक्किएका छन् ।

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले अधिक वर्षा हुँदा यहाँका बासिन्दाले कङ्क्रिटका घर बनाउन बाध्य भएका बताए। “विगतमा जस्तो पानीको आवश्यकता हिउँले पूरा गर्दैन । भारी वर्षा हुन्छ । जसले चिसो ठाउँ भएकाले वर्षाबाट बच्न माटाको घर फेरिन बाध्य भएका छौँं”, उनले भने, “चामे–५ मा केही परम्परागत मौलिक घर थिए । अहिले ती पनि नासिँदै गएका छन् । जति वर्ष फेरिन्छ, त्यति वर्षा बढ्दा समस्या भएको छ ।”

बाक्लो गारो भएको माटोको घरभित्र बस्दा जाडोमा न्यानो र गर्मीमा शीतल महसुस हुन्छ । यस्ता घरमा बस्दा जाडोयाममा चिसोजन्य रोगले छुँदैन । तर, आधुनिकता छुदै गर्दा आरसिसी घर बन्ने क्रम जारी छ । यस्ता घरमा गर्मीमा बढी गर्मी र जाडोमा बढी जाडो हुन्छ ।

विज्ञका अनुसार माटोले बनेका घरले तातो चिसो सोसेर राख्छ । जसले गर्दा जाडोमा न्यानो र गर्मीमा शीतल हुन्छ । यी पुराना सम्पदाको संरक्षणका लागि तीनै तहका साथै सम्बन्धित निकाय सचेत हुन आवश्यक छ । विशेषगरी जलवायु परिवर्तन न्यूनीकरण तथा हरित वृद्धिमा सरकारको चासो दिन सकेमा यहाँको जीवनशैलीलाई मुख्य रूपमा टेवा पुग्नेछ।

हुम्लाको तिलगाउँमा अध्ययन टोलीले फेला पार्‍यो तीन वटा हिमताल

हुम्ला । हुम्लाको नाम्खा गाउँपालिकाको तिल गाउँमा गएको बाढी पहिरोको अध्ययन गर्न गएको प्राविधिक टोलीले ५ हजार ३ सय ५० मिटरमा रहेको हिमताल भएको स्थानसम्मै पुगेर अध्ययन गरेको छ ।

यसअघि दुईवटा हिमताल देखिएको स्थानमा तीनवटा ताल भेटिएका अध्ययन टोलीका सदस्य शिवकुमार बास्कोटाले जानकारी दिए ।

अध्ययन टोलीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशील कुमार श्रेष्ठ, खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिष्ट शिवकुमार बास्कोटा र जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिष्ट सौहाद्र जोशी छन् ।

यही जेठ १ गते रातीको बाढी र सुख्खा पहिरोका कारण नाम्खा गाउँपालिका–६ तिल गाउँका १८ घरका ३२ जना परिवार विस्थापित भएका थिए ।

गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी माओवादीमा समाहित

काठमाडौं । गंगानारायण श्रेष्ठको नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) नेकपा (माओवादी केन्द्र)मा समाहित भएको छ । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा पार्टी समायोजनसम्बन्धी ५ बुँदे सहमतिपत्र सार्वजनिक गरिएको छ ।

समझदारीपत्रमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेसपाको तर्फबाट श्रेष्ठले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार श्रेष्ठलाई केन्द्रीय सचिव बनाइएको छ। नेसपाका अन्य सदस्यहरूलाई पनि संगठनभित्र सम्मानजनक जिम्मेवारी दिइने बताइएको छ ।

श्रेष्ठ १० वर्षपछि माओवादीमा फर्किएका हुन् । २०७२ असोज ९ गते डा. बाबुराम भट्टराईसँगै श्रेष्ठ पनि माओवादीबाट अलग भएका थिए । त्यतिबेला माओवादीको पोलिटव्युरो सदस्य रहेका श्रेष्ठ १० वर्षपछि पुरानै घर फर्किंदा केन्द्रीय सचिव पद पाएका छन् । समायोजित पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र माओवाद हुने उल्लेख छ ।