`

काठमाडौंमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौँ । काठमाडौंको बसुन्धरामा दुर्घटनामा परी एक किशोरीको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३ बसुन्धरा सडकमा म प्र ०२–०३४ प ६२५७ नम्बरको स्कुटरले पैदलयात्रुलाई ठक्कर दिँदा स्कुटरमा सवार महोत्तरी घर भई काठमाडौंको चाबहिल बस्ने १८ वर्षीया मनिसा परियारको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा ग्रिनसिटी अस्पतालमा आज निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते पैदलयात्रुको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले स्कुटर चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ ।

बर्खा लाग्यो : डरै डरमा मनाङका माटाका घर

नवीन लामिछाने, मनाङ । हिमाली क्षेत्रमा पानीपर्दैन भन्ने कथन पछिल्लो समय फेरिएको छ । विगतमा पानीको आवश्यकता नै हिउँले पूर्ति गर्ने हिमाली जिल्ला मनाङमा अहिले वर्षा हुन्छ । जसले गर्दा यहाँका माटाका छानो भएका घर मासिन थालेका छन् ।

परम्परा तथा मौलिकता झल्कने गरी रैथाने सीप, ज्ञान र प्रविधिको प्रयोगबाट बनाइएका घरको छत नै माटोका राखिन्थ्यो । माटो जमाएर बनाइएका घर जलवायु परिवर्तनको चेपुवामा परेर कङ्क्रिटले बन्न थालेका छन् । वर्षायाम लागेसँगै माटाका घर डरैडरमा रहेका छन् ।

विगतको तुलनामा मनाङमा औसतभन्दा अधिक वर्षा र लगातार झरी पर्न थालेपछि माटोले बनाइएका परम्परागत घरको छतले धान्न सक्ने अवस्था छैन । जसले गर्दा यहाँका घर पानीले भिजेर चुहिन थालेका छन्। पहिले माथिल्लो मनाङमा वर्षा नै हुँदैनथ्यो । अहिले विशेषगरी नार्पाभूमि गाउँपालिकाका नार र फुमा रहेका यस्ता पुरातन सांस्कृतिक शैलीमा निर्माण गरिएका घर वर्षाका कारण नासिँदै गएको गाउँपालिकाका अध्यक्ष कोञ्जो तेन्जिङ लामाले बताए।

“प्रकृतिसँग जुध्न सकिँदैन । प्रकृतिलाई फेर्न पनि सकिँदैन । जलवायु परिवर्तनले प्रत्यक्ष रूपमा प्रभाव पारेको देखिन्छ। परम्परागत तथा मौलिकता नै मासिने अवस्थामा पुगेको छ । यसका साथै परम्परागत संस्कृतिलाई समेत असर गरेको महसुस हुन्छ”, उनले भने। विगतमा माथिल्लो मनाङमा वर्षा नहुने हुँदा यस्ता घर नै पहिचान बनेकामा अहिले फेरिँदै गएको उनको भनाइ छ ।

सदरमुकाम चामेमा पुराना परम्परागत घरदेखिन छाडेका छन् । विकासको क्रमसँगै आधुनिकताले छोप्दै जाँदा नासोँ तथा चामे गाउँपालिकामा अधिकांश घर आरसिसी गरी निर्माण भएका पाइन्छन् । तर, मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकामा भने पुरातन शैलीका सांस्कृतिक सम्पदा अझै पनि देख्न सकिन्छ ।

आफ्ना सन्ततिका लागि पूर्वजले बनाएका ऐतिहासिक सम्पदा, स्मारक, गुम्बा, छोर्तेन तथा देवस्थलको अस्तित्व नासिँदै जान थालेका छन् । एकातिर जलवायु परिवर्तनको प्रभावले घट्दो हिमपात, बढ्दो तापक्रम र वर्षाले मानिस तथा पशुचौपायाको स्वास्थ्य, सामाजिक, सांस्कृतिक धरो नासिने, रैथाने सीप, पहिचान तथा ज्ञान नासिने गरेको छ भने अर्कोतर्फ जैविक विविधता र पारिस्थितिकीय प्रणालीमा हानी पुर्‍याउने गरेको छ । हिउँ र पानी कम पर्ने चक्र फेरिएपछि हिमाली जीवनशैली र संस्कृतिमा पनि असर परेको अध्यक्ष लामाले बताउनुभयो । पर्यावरणीय प्रभावका कारण जीवनयापन, वातावरणीय अवस्था तथा आर्थिक–सामाजिक–सांस्कृतिक अवस्थामा फेरबदल हुँदै गएको छ ।

“पर्यटकको ‘हब’ का रूपमा परिचित मनाङमा आउने विदेशी पर्यटक तिलिचो जान मात्रै आउँदैनन् । उनीहरू यहाँको जीवनशैलीको अध्ययन गर्न पनि आउँछन्, हामीले गुम्बा, छार्तेन, माटाका घरलगायत मौलिक पहिचान बनेको मनाङवासीको संस्कृति संरक्षण गर्नुपर्छ”, नार्पाभूमिका अध्यक्ष लामाले भने।

उनले नार्पाजातिको संस्कृति, रीतिरिवाज संरक्षण गर्न प्रतिबद्ध रहेको बताए। नार्पाभूमिमा गाउँ छाड्दा साइत हेरेर मात्र निस्किने तथा छोर्तेन घुमेर गाउँ छिर्ने चलन अहिले पनि जीवन्त रहेको छ । गाउँको प्रवेशद्वारका रूपमा अहिले पनि छोर्तेन देख्न पाइन्छ ।

यी परम्परागत गुम्बा छोर्तेन यहाँका सांस्कृतिक सम्पत्ति हुन् । संरक्षणको अभावमा यहाँका गुम्बा, छोर्तेन तथा माटाका घरको छानो चुहिएर दलिन, खम्बा र निदाल कुहिएर मक्किएका छन् ।

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले अधिक वर्षा हुँदा यहाँका बासिन्दाले कङ्क्रिटका घर बनाउन बाध्य भएका बताए। “विगतमा जस्तो पानीको आवश्यकता हिउँले पूरा गर्दैन । भारी वर्षा हुन्छ । जसले चिसो ठाउँ भएकाले वर्षाबाट बच्न माटाको घर फेरिन बाध्य भएका छौँं”, उनले भने, “चामे–५ मा केही परम्परागत मौलिक घर थिए । अहिले ती पनि नासिँदै गएका छन् । जति वर्ष फेरिन्छ, त्यति वर्षा बढ्दा समस्या भएको छ ।”

बाक्लो गारो भएको माटोको घरभित्र बस्दा जाडोमा न्यानो र गर्मीमा शीतल महसुस हुन्छ । यस्ता घरमा बस्दा जाडोयाममा चिसोजन्य रोगले छुँदैन । तर, आधुनिकता छुदै गर्दा आरसिसी घर बन्ने क्रम जारी छ । यस्ता घरमा गर्मीमा बढी गर्मी र जाडोमा बढी जाडो हुन्छ ।

विज्ञका अनुसार माटोले बनेका घरले तातो चिसो सोसेर राख्छ । जसले गर्दा जाडोमा न्यानो र गर्मीमा शीतल हुन्छ । यी पुराना सम्पदाको संरक्षणका लागि तीनै तहका साथै सम्बन्धित निकाय सचेत हुन आवश्यक छ । विशेषगरी जलवायु परिवर्तन न्यूनीकरण तथा हरित वृद्धिमा सरकारको चासो दिन सकेमा यहाँको जीवनशैलीलाई मुख्य रूपमा टेवा पुग्नेछ।

हुम्लाको तिलगाउँमा अध्ययन टोलीले फेला पार्‍यो तीन वटा हिमताल

हुम्ला । हुम्लाको नाम्खा गाउँपालिकाको तिल गाउँमा गएको बाढी पहिरोको अध्ययन गर्न गएको प्राविधिक टोलीले ५ हजार ३ सय ५० मिटरमा रहेको हिमताल भएको स्थानसम्मै पुगेर अध्ययन गरेको छ ।

यसअघि दुईवटा हिमताल देखिएको स्थानमा तीनवटा ताल भेटिएका अध्ययन टोलीका सदस्य शिवकुमार बास्कोटाले जानकारी दिए ।

अध्ययन टोलीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशील कुमार श्रेष्ठ, खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिष्ट शिवकुमार बास्कोटा र जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिष्ट सौहाद्र जोशी छन् ।

यही जेठ १ गते रातीको बाढी र सुख्खा पहिरोका कारण नाम्खा गाउँपालिका–६ तिल गाउँका १८ घरका ३२ जना परिवार विस्थापित भएका थिए ।

गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी माओवादीमा समाहित

काठमाडौं । गंगानारायण श्रेष्ठको नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) नेकपा (माओवादी केन्द्र)मा समाहित भएको छ । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा पार्टी समायोजनसम्बन्धी ५ बुँदे सहमतिपत्र सार्वजनिक गरिएको छ ।

समझदारीपत्रमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेसपाको तर्फबाट श्रेष्ठले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार श्रेष्ठलाई केन्द्रीय सचिव बनाइएको छ। नेसपाका अन्य सदस्यहरूलाई पनि संगठनभित्र सम्मानजनक जिम्मेवारी दिइने बताइएको छ ।

श्रेष्ठ १० वर्षपछि माओवादीमा फर्किएका हुन् । २०७२ असोज ९ गते डा. बाबुराम भट्टराईसँगै श्रेष्ठ पनि माओवादीबाट अलग भएका थिए । त्यतिबेला माओवादीको पोलिटव्युरो सदस्य रहेका श्रेष्ठ १० वर्षपछि पुरानै घर फर्किंदा केन्द्रीय सचिव पद पाएका छन् । समायोजित पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र माओवाद हुने उल्लेख छ ।

कपिलवस्तुमा ग्याँस लिक भएर आगो लाग्दा दाजु बहिनीको मृत्यु

बुटवल । कपिलवस्तुको जयनगरमा खाना पकाउने क्रममा ग्याँस लिक भएर आगो लाग्दा दाजु बहिनीको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका वडा नम्बर ५ जयनगरमा ग्याँस लिक भएर आगो लाग्दा उनीहरुको मृत्यु भएको हो । पर्शुराम यादवका छोरा २४ वर्षीय शिवकुमार यादव र छोरी १८ वर्षीया सोनम यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) मोहनमणी अधिकारीले जानकारी दिए ।

प्रवक्ता अधिकारीका अनुसार बिहान करिब ७ बजेतिर खाना बनाउने क्रममा सिलिन्डरमा जोडिएको रेगुलेटरबाट ग्याँस लिक भई आगलागी भएको थियो । आगलागीबाट गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा ज्यान गएको अधिकारीले जानकारी दिए ।

ग्याँस लिक भएर गोठमा सल्किएको आगो इलाका प्रहरी कार्यालय हथिहवा दोहनीबाट गएको प्रहरी टोली र स्थानीयवासीले तत्काल नियन्त्रणमा लिएका थिए । प्रहरीका अनुसार आगोबाट शिव कुमारको शरीरको ८५ प्रतिशत र सोनमको शरीरको ७५ प्रतिशत भाग जलेको थियो ।

गणतन्त्र उत्सव मनाउन एमालेका शीर्षनेताको जिम्मेवारी बाँडफाँट

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गणतन्त्र दिवसका अवसरमा आयोजना गर्ने उत्सवलाई सफल पार्न पार्टीका शीर्षनेताहरुको जिम्मेवारी बाँडफाँट  गरेको छ ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा सोमबार बसेको जनसङ्गठनका अध्यक्ष, इन्चार्ज र काठमाडौँ उपत्यकाका वडा तहसम्मका पदाधिकारीको भेलाले उत्सवसँगै शक्ति परिचालन गर्न नेताहरुको जिम्मेवारी बाँडफाँट  गरेको हो ।

भेलामा महासचिव शङ्कर पोखरेलले गणतन्त्र दिवसलाई आम जनताले सम्झने गरी मनाउन र राजावादीले फैलाएका भ्रम चिर्न जनप्रदर्शनको तयारी गरिएको बताए ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार जनमानस परिचलान गर्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।

कोशी प्रदेशका जिल्लाहरुको समन्वय गर्न उपाध्यक्ष रामबहादुर थापालाई जिम्मेवारी दिएको छ । मधेश प्रदेशका आठवटै जिल्लाका सम्पर्क मञ्चहरुको समन्वय गर्न उपाध्यक्ष युवराज ज्ञवालीलाई जिम्मेवारी दिइएको छ ।

यस्तै उपत्यकाका जनप्रदर्शनमा ठूलो सङ्ख्यामा सहभागी गराउने ललितपुर र भक्तपुरको समन्वय गर्न उपाध्यक्षहरु क्रमशः अष्टलक्ष्मी शाक्य र गुरु बराललाई जिम्मेवारी तोकिएको छ । उपत्यकाबाहेक बागमती प्रदेशका १० जिल्लाको समन्वयको जिम्मेवारी उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई दिइएको छ ।

स्वयंसेवक परिचालनका लागि उपमहासचिव एवं प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई, बागमती प्रदेशका जिल्लाको जिम्मा उपमहासचिव प्रदीप ज्ञवाली, सुदूरपश्चिम प्रदेश सम्पर्क समन्वय र कर्णाली प्रदेश समन्वयको जिम्मा सचिव लेखराज भट्ट तथा लुम्बिनी र गण्डकीका सबै जिल्ला समन्वयको जिम्मा सचिव पद्मा अर्याललाई तोकिएको छ ।

यसैगरी, जनसङ्गठनहरुको संयोजन गर्नका लागि सचिव गोकर्ण विष्टलाई, उपत्यका विशेषको संयोजन सचिव योगेश भट्टराईलाई र सबै विभागको संयोजनको जिम्मेवारी सचिव छविलाल विश्कर्मालाई दिइएको छ ।

गणतन्त्र दिवसका जेठ १५ गते बिहान भृकुटीमण्डपमा एमालेका नेता तथा कार्यकर्तालाई झाँकी, जुलुस र आफ्नो पार्टी, जनसङ्गठनको पहिचानसहित उपस्थित हुन आजको भेलाले निर्देश गरेको छ । आइतबार बसेको सचिवालय बैठकले गणतन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय गरेको थियो ।

काँक्रा बिक्री गरेर ३० लाख आम्दानी !

तम्घास ।  देशमा रोजगार नभएर अधिकांश युवा विदेश पलायन भइरहेका बेला गुल्मीका एक युवाले भने गाउँमै कृषिमा महत्त्वपूर्ण उपलब्धि गरेका छन् ।

गुल्मीको छत्रकोट गाउँपालिका–५ खज्र्याङका ४० वर्षीय विष्णु भण्डारीले बाँझो जमिनलाई सदुपयोग गर्दै कृषि पेसा सुरू गरेका हुन् । खज्र्याङको ४५ रोपनी जग्गामा उनले काँक्रा, लौका, तोराय, फर्सी, खुर्सानीलगायत तरकारी लगाएका छन् । कुखुरापालनसँगै मासु व्यवसायसमेत गरेका भण्डारीको मुख्य उत्पादन काँक्रा हो।

वि.सं २०७२ मा ‘घरेलु तथा साना उद्योग विकास कार्यालय’ मा ‘पूर्णिमा कृषि तथा पशुपक्षी फर्म’ दर्ता गरेर व्यवसाय सुरू गरेका भण्डारीले गत वर्ष मात्रै रु सात लाखको काँक्रा बिक्री गरेका छन् । सुरुवाती चरणमा थोरैथोरै उत्पादन गरे पनि अहिले व्यवसाय फस्टाएको भण्डारी बताउँछन् ।

‘गतवर्ष दुई हजार बोटमा फलेका काँक्राबाट रु सात लाख आम्दानी भयो,’ उनले भने, ‘यो वर्ष १० हजार बिरूवा लगाएको छु, उत्पादन भएका सबै काँक्रा बिक्री हुँदा ३० लाख आम्दानी हुन्छ ।’ दुई वर्ष अगाडिसम्म काँक्राको मूल्य प्रतिकेजी ४० रूपैँयासम्म रहेको थियो । तर गत वर्ष मूल्य बढेर रु एक सय ४० सम्म पुग्यो ।

जसले गर्दा उनको आम्दानी पनि बढेको छ । गत वर्ष भएको आम्दानीबाट प्रेरित भएर यो वर्ष बिरूवा थपेको भण्डारीले बताए । यो सिजनको लागि पनि काँक्रा तयार भइसकेका छन् । गत मङ्सिर ३० गते रोपेका काँक्रा चैत १० बाट बिक्री सुरू भएका थिए । अहिलेको सिजनमा मात्रै उनले तीन सय क्विन्टल काँक्रा बिक्री गरिसकेका छन् । अहिले फलेका काँक्रा सके अहिले नै सबै बिक्री गर्ने, नभए पाकेका पहेँला काँक्रा दसैँ–तिहारको समयमा अचारको लागि बिक्री गर्ने उनले बताए।

दसैँ–तिहारमा पनि बिक्री नभए बीउको लागि प्रयोग गर्ने भण्डारीको भनाइ छ । यो सिजनमा उनको एउटै बगैँचाबाट दैनिक १० क्विन्टलसम्म काँक्रा बिक्री भइरहेको छ । भण्डारीले काँक्रासँगै बेमौसमी मकै उत्पादन, कुखुरापालन र दुई पोखरीमा मत्स्यपालन पनि गरेका छन् । उनले सबै व्यवसायबाट खर्च कटाउँदा पनि मासिक न्यूनतम एक लाख रूपैँया बचत हुने सुनाए ।

अहिलेको गर्मी मौसम भएकोले काँक्रो अत्याधिक बिक्री भइरहेको छ । आगामी असार महिनासम्म काँक्रो बिक्री हुने सिजन छ । गर्मी सिजन सुरू भइसकेको हुँदा यसपटक बाहिरबाट जिल्लामा काँक्रो भित्रिसकेको छैन । जसले गर्दा बजारमा काँक्रोको माग अत्याधिक रहेको छ । काँक्रो खानाको साथसाथै विवाह, महोत्सव तथा पाठपूजाको समयमा पनि प्रयोग हुन्छ । भण्डारीले यस पटक चार सय क्विन्टल काँक्रो उत्पादन गर्ने लक्ष्य लिएका छन् । उनले अहिले एक हजार बेमौसमी काँक्रोका थप बिरूवा लगाइसकेका छन् । उनको काँक्रा स्थानीय बजारका साथसाथै तम्घास, पाल्पा, बुटबल र काठमाडौँसम्म पुग्ने गरेको छ ।

उनलाई घरपरिवारको पनि पूर्ण साथ मिलेको छ । घर परिवारका चार जनाबाहेक थप चार जनालाई मासिक तलबमा रोजगारी समेत दिएका छन् । पछिल्लो समयमा गाउँमा किसानलाई बाँदर, बदेँल, दुम्सी जस्ता वन्यजन्तुले बालीनालीमा हानीनोक्सानी गर्दै गएको अवस्था छ । तर भण्डारीले भने उक्त समस्या नभएको हुँदा कृषि उत्पादन गर्न सहज भएको बताए । भण्डारीको लोभलाग्दो कृषि कर्मले जिल्लामा युवा शक्तिबाट किसानलाई थप हौसला मिलेको छ । ‘गर्न सके गाउँमै थुप्रै सम्भावना छन्,’ भण्डारीले भने ।

राज्यले टनेल दिएहुन्थ्यो !

काँक्रा बिक्री गरेर आम्दानी लिन जति सजिलो छ, उत्तिकै मेहनत उत्पादन गर्न पनि छ । वर्षा धेरै हुँदा र बिक्री नहुँदा उनले थुप्रै पटक घाटा पनि सहनुपर्यो । काँक्राको लागि टनेल आवश्यक पर्नेमा उनले भने खुल्ला चौरमा उत्पादन गर्दै आएका छन् ।

वडा कार्यालयमा थुप्रै पटक टनेलको लागि आवेदन दिए पनि सहयोग नपाएको भण्डारीले सुनाए । ‘थुप्रै पटक धाएँ, पाइन,’ उनले भने, ‘मकै शत प्रतिशत, नभए ५० प्रतिशतसम्म अनुदानमा हाइटेक टनेल दिए उत्पादन अझ बढाउने थिएँ ।’

टनेल नहुँदा वर्षाको कारणले गत मात्रै पाँच क्विन्टल काँक्रा नोक्सान नभएको उनले बताए । सात लाखको काँक्रा बिक्री गरिसकेपछि थप पाँच क्विन्टल नोक्सान हुँदा धेरै मर्का नपरेको उनी बताउँछन् । ‘अब निरन्तर काँक्राखेती गर्ने हो, अरू पेसा सहायक हुन्,’ भण्डारीले भने, ‘यसमा राज्यको तर्फबाट केही सहयोग भए आभारी हुने थिएँ ।’

धनगढीमा भन्सार प्रमुखलाई कुटपिट गरेको आरोपमा चार नगर प्रहरी पक्राउ

धनगढी । कैलालीको धनगढीस्थित भन्सार प्रमुखमाथि कुटपिट प्रकरणमा ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शनिबार राति कैलाली भन्सार कार्यालयका प्रमुख अनन्तराज तिमिल्सिनामाथि कुटपिट भएको थियो । कुटपिटको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामीसहितका चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक धामी, उनका सवारी चालक हसनबहादुर मल्ल, नगर प्रहरी जवान जितेन्द्र सिंह धामी र नगर प्रहरी हवल्दार मणीदत्त भट्ट रहेका छन् ।

उनीहरुलाई सोमबार बिहान धनगढी उपमहानगरपालिका क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए ।

उनकाअनुसार भन्सार प्रमुख तिमिल्सिनाले अभद्र व्यवहार शीर्षकमा दिएको किटानी जाहेरीका आधारमा चारै जनालाई पक्राउ गरिएको हो ।

चारै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ। नगर प्रहरी निरीक्षक धामीसहितका नगर प्रहरीले शनिबार राति कैलाली भन्सार कार्यालयभित्र प्रवेश गरेर प्रमुख भन्सार अधिकृत धामीमाथि कुटपिट गरेका थिए।

उनीहरुले कुटपिट गरेको सीसीटीभी फुटेज सार्वजनिक भइसकेको छ । घटनापछि भन्सार प्रमुखलाई नेपाल प्रहरीका हवल्दारको कमाण्डमा ४ सदस्यीय सुरक्षा टोली खटाइएको छ ।

इयुमाथिको धम्कीपूर्ण ५० प्रतिशत भन्सार शुल्क जुलाईसम्म स्थगित गर्ने ट्रम्पको घोषणा

वासिङ्टन । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले युरोपेली संघ (इयु) सँग वार्ताका लागि समय पाउन सकियोस् भन्ने उद्देश्यले यसका सामानहरूमाथि ५० प्रतिशत भन्सार शुल्कको कार्यान्वयनलाई जुन १ बाट जुलाई ९ सम्म स्थगित गर्ने बताएका छन् ।

यो सहमति आइतबार युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनसँगको फोन वार्तापछि आएको हो । अमेरिकी राष्ट्रपतिका अनुसार भोन डेर लेयनले ट्रम्पलाई उनी ‘गम्भीर वार्तामा जान चाहन्छु’ भनेका थिए ।

वासिङ्टन फर्कने तयारीका क्रममा न्युजर्सीको मोरिस्टाउनमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘मैले कसैलाई पनि भनेको छु जसले सुन्नु पर्छ, उनीहरूले त्यो गर्नुपर्छ । भोन डेर लेयनले तुरुन्त भेला भएर हामी केही काम गर्न सक्छौँ कि भनेर हेर्ने वाचा गर्नुभयो ।’

शुक्रबारको सामाजिक सञ्जालको पोस्टमा ट्रम्पले २७ सदस्य राष्ट्रको यो समूह व्यापारमा ‘व्यवहार गर्न धेरै गाह्रो’ रहेको र वार्ता ‘कहीँ पुगिरहेको छैन’ भनी गुनासो गर्दै इयुका सामानहरूमाथि ५० प्रतिशत भन्सार शुल्क लगाउने धम्की दिएका थिए । ती भन्सार शुल्क जुन १ देखि लागू हुने थिए ।

तर भोन डेर लेयनसँगको फोनवार्ताले कमसेकम अहिलेका लागि तनावलाई सहज बनाएको देखिन्छ ।

‘म सन् २०२५ जुलाई ९ सम्म विस्तार गर्न सहमत भएँ, त्यसो गर्नु मेरो सुअवसर थियो’, ट्रम्पले आइतबार साँझ पत्रकारहरूसँग कुरा गरेपछि ट्रुथ सोसलमा भने ।

‘इयु र अमेरिकाले संसारको सबैभन्दा महत्त्वपूर्ण र नजिकको व्यापारिक सम्बन्ध साझा गर्दछन्’, आफ्नो पक्षबाट भोन डेर लेयनले भने, ‘युरोप छिटो र निर्णायक रूपमा वार्ता अगाडि बढाउन तयार छ, राम्रो सम्झौतामा पुग्न, हामीलाई जुलाई ९ सम्मको समय चाहिन्छ ।’

कूटनीतिक सम्बन्ध सुधार गर्न भारत र क्यानाडा सहमत

नयाँदिल्ली । भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशङकरले आफ्ना क्यानाडाली समकक्षीसँग कुरा गरेको र दुवै पक्षले सम्बन्ध सहज बनाउन खोजिरहेको बताएका छन्।

आइतबार राति भएको टेलिफोन वार्ता मार्चमा मार्क कार्नी क्यानाडाका प्रधानमन्त्री बनेपछि ओटावा र नयाँदिल्लीबीचको सबैभन्दा उच्च कूटनीतिक सम्पर्क हो।

सन् २०२३ मा क्यानाडाली सिखको हत्यामा नयाँदिल्लीको संलग्नता रहेको आरोप लागेपछि क्यानाडा र भारतबीचको सम्बन्ध तनावपूर्ण बनेको थियो। उक्त आरोपलाई भारतले अस्वीकार गरेको थियो।

विदेशमन्त्री जयशङ्करले नवनियुक्त विदेशमन्त्री अनिता आनन्दसँग ‘भारत–क्यानाडा सम्बन्धका सम्भावनाहरूबारे छलफल गरेको’ र ‘उनको कार्यकाल सफल हुने कामना गरेको’ बताए।

आनन्दले एक्समा उनि ‘क्यानाडा–भारत सम्बन्धलाई बलियो बनाउन, हाम्रो आर्थिक सहयोगलाई गहिरो बनाउन र साझा प्राथमिकताहरूलाई अगाडि बढाउन’ इच्छुक रहेको बताए। आनन्दका अभिभावकहरू भारतका थिए।

क्यानाडा भारत बाहिरको सबैभन्दा ठूलो सिख समुदायको घर हो र यसमा‘खालिस्तान’का कार्यकर्ताहरू छन्। खालिस्तान धार्मिक अल्पसङ्ख्यकका लागि भारतीय क्षेत्रबाट काटेर स्वतन्त्र राज्य खोज्ने सीमान्तकृत पृथकतावादी आन्दोलन हो।

ओटावाले यसअघि भारतलाई सन् २०२३ मा भ्यानकुभरमा ४५ वर्षीय क्यानाडाली नागरिक हरदीप सिंह निज्जरको हत्या गरेको र आन्दोलनसँग सम्बन्धित अन्य सिख कार्यकर्ताहरूलाई लक्षित गरेको आरोप लगाएको थियो। निज्जर एक प्रमुख खालिस्तान अभियानकर्ता थिए।

भारतले यी आरोपहरूलाई बारम्बार खारेज गरेको छ। उक्त आरोपछि दुवै मुलुकबीचको कूटनीतिक सम्बन्धलाई गहिरो सङ्कटमा पारेको थियो र गत वर्ष दुवै मुलुकले शीर्ष कूटनीतिज्ञहरूको शृङ्खलालाई निष्कासन गरेका थिए।

खालिस्तान अभियान भारतको सन् १९४७ को स्वतन्त्रतादेखि सुरु भएको हो र यसलाई एक प्रधानमन्त्रीको हत्या र यात्रु जेटको बम विस्फोटका लागि दोषी ठहराइएको छ।

यो भारत र ठूलो सिख जनसङ्ख्या भएका धेरै पश्चिमी राष्ट्रहरू बिचको कटु मुद्दा भएको छ।

भारतमा प्रतिबन्धित खालिस्तान आन्दोलनविरुद्ध नयाँदिल्लीले कडा कारबाहीको माग गर्छ र मुख्य नेताहरूलाई ‘आतङ्कवाद’ को आरोप लगाइएको छ। क्यानाडाले अर्को महिना जी–७ शिखर सम्मेलनको आयोजना गर्ने भएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई सन् २०१९ देखिका शिखर सम्मेलनमा भाग लिन आमन्त्रित गरिएको छ। सन् २०१९ मा फ्रान्सले उनलाई बियारिट्जमा आमन्त्रित गरेको थियो। मोदीलाई क्यानाडामा निम्तो दिइएको छ कि छैन भन्ने बारेमा कुनै विवरण छैन।

बेपत्ता व्यक्तिका परिवारलाई न्याय दिनेगरी काम गर्ने आयोगको प्रतिबद्धता

काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीलादेवी गड्तौताले बेपत्ता पारिएका व्यक्तिको परिवारलाई न्याय हुनेगरी बेपत्ताको खोजी गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

सशस्त्रद्वन्द्वका पीडित परिवारसँग भएको भेटमा उनले भनिन्, ‘हामीले पीडित परिवारलाई चित्त बुझ्ने गरी, न्याय हुनेगरी खोजतलास गरी यदि द्वन्द्वकै समयमा बेपत्ता भएको, के कारणले, कसले, किन बेपत्ता बनाएको हो ? भन्ने कुरा पत्ता लगाएपछि पीडितलाई न्याय हुने गरी परिपूरणको निम्ति सिफरिस गरिन्छ ।’

उनले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य विरूपण तथा मेलमिलाप आयोग ऐन–२०७१’ बमोजिम विनियमावलीको निम्ति प्रारम्भिक मस्यौदा तयारी भएको जानकारी दिइन् । विनियिमावलीलाई सर्वमान्य बनाउन मस्यौदामाथि द्वन्द्वपीडित परिवारसँग छलफलपछि मात्रै पूर्णता दिने अध्यक्ष गड्तौलाको भनाइ छ ।

‘सङ्क्रमणकालीन न्याय भनेको पीडित केन्द्रित हुनुपर्छ, पीडितमैत्री हुनुपर्छ, सङ्क्रमणकालीन न्यायको भावनाअनुसार काम गर्ने हो, त्यसैले नियमावलीमा पीडितको सुझाव अनिवार्य छ’, उनले भनिन् ।

अहिलेसम्म आयोगले गरेका कामको समीक्षा गर्दै अगाडि बढ्ने गरी आयोगले कार्ययोजना पनि तयार गरेको छ ।

उनले भनिन्, ‘बेपत्तासम्बन्धी ऐनमा कार्यसमिति नियुक्त भएको तीन महिनाभित्र उजुरी दिन पाउने व्यवस्था छ, त्यो व्यवस्था बमोजिम हामीले सूचना प्रकाशन गरिसकेका छौँ, आउँदो भदौको ५ गतेसम्म म्याद छ, यो तीन महिनाभित्रमा उजरी आएपछि न्यायपूर्ण ढङ्गले काम गर्ने योजना छ ।’

अध्यक्ष गड्तौलाले २०८१ साल भदौमा ऐनको तेस्रो संशोधन गरी सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउने गरी व्यवस्था गरिएको बताइन् । द्वन्द्वपीडित सुरक्षाकर्मी सङ्घका अध्यक्ष हेमकुमारी घर्ती मगरले पीडित परिवारलाई न्याय हुने गरी काम गर्न आग्रह गरिन् ।

माओवादीले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौँ । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ । सोमबार बसेको पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमा प्रश्न उठेकाले राजीनामा दिन आग्रह गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

उनले निष्पक्ष अनुसन्धानका लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताए । सापकोटाले भने, ‘कांग्रेसभित्रकाले पनि राजीनामा मागेका छन् । हाम्रो पार्टीको पदाधिकारी बैठकले राज्यका निकायहरूले छानबिन नै सुरु गरिसकेको अवस्थामा गृहमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ भन्ने निष्कर्ष निकालेको छ ।’

उनले यस विषयमा जति ढिलो भयो उति राज्यको साख गिर्दै जाने भन्दै शक्ति नदेखाउन आग्रह गरे ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री निर्दोष रहेको कांग्रेसको ठहर

काठमाडौं । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता कतैबाट पुष्टि नहुने बताएको छ ।

सोमबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले सामाजिक सञ्जालमा अफवाह फैलाइएका भरमा राजीनामा दिन नहुने निष्कर्ष निकालेको छ ।

बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले भिजिट भिसा प्रकरणमा गृहमन्त्री निर्दोष रहेको बताए । महतले भने, बैठकपछि उनले भने, ‘जो संलग्न छन् तिनलाई कारबाही हुनुपर्छ । तर गृहमन्त्री संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त छौँ ।’

त्यस्तै बैठकले कुरा नबुझी अभिव्यक्ति नदिन नेताहरुलाई आग्रह गरेको छ । बैठकमा गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणको नेताहरुलाई जानकारी गराउँदै आफ्नो कुनै संलग्नता नरहेको बताएका थिए ।

कांग्रेस नेता डा. शेखर कोइरालाले गृहमन्त्रीलाई राजीनामा दिइ छानबिनमा सहयोग गर्न आग्रह गरेका थिए । त्यस्तै अर्का नेता राजेन्द्र बजगार्ईंले पार्टी सभापति देउवालाई पत्र लेखी गृहमन्त्रीलाई फिर्ता बोलाउन माग गरेका थिए । भिजिट भिसा प्रकरणमा गृहमन्त्री जोडिएको विषयलाई लिएर कांग्रेसमा दुईथरी मत छ ।

बाँके राष्ट्रिय निकुञ्जमा पर्या पर्यटन प्रवर्द्धन गर्न माग

बाँके । पाटेबाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले स्थापना भएको बाँके राष्ट्रिय निकुञ्जमा पर्या पर्यटनको विकास हुन थालेको छ ।

पाटेबाघलगायत वन्यजन्तु संरक्षणमा सफलता हासिल गरे पनि निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या कम नै रहेको छ । चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म करिब ७०० पर्यटकले मात्रै निकुञ्ज अवलोकन गरेका छन् ।

गत साउनदेखि हालसम्म आन्तरिक तथा बाह्य पर्यटक गरी जम्मा ७०० को हाराहारीमा निकुञ्जभित्र प्रवेश गरेर अवलोकन गरेको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिए ।

“निकुञ्जको मध्यवर्ती क्षेत्रमा वनभोजलगायतका क्रियाकलापमा ५० हजार बढी पर्यटक आउने गरे पनि वन्यजन्तुको वासस्थान क्षेत्रमा भ्रमण गर्ने पर्यटकको संख्या ७ सयको हाराहारीमा रहेको छ”, उनले भने, “सबै पर्यटक निकुञ्ज मध्यवर्ती क्षेत्रमा सञ्चालित घरवास (होमस्टे) मार्फत निकुञ्जभित्र अवलोकन गरेका हुन् ।”

निकुञ्जले बाघ संरक्षणमा सफलता हासिल गरेपनि पर्यापर्यटनको विकास हुन नसकेको उनको भनाइ छ । मध्यवर्ती क्षेत्रमा घुम्न आउने पर्यटकलाई निकुञ्ज अवलोकनमा ल्याउन सक्ने व्यवस्था होमस्टे तथा होटल व्यवसायीले गर्नुपर्नेमा उनले जोड दिए ।

निकुञ्जमा गत आर्थिक वर्ष २०८०/८१ मा ४४४ पर्यटकले अवलोकन गरेका थिए । पर्यटक घुमाउनका लागि होमस्टे तथा होटल व्यवसायीले प्रसस्त मात्रामा सफारी गाडीको व्यवस्था गर्नसके निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्या बढ्ने निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत कँडेलले बताए ।

उनका अनुसार, बाँके निकुञ्जमा अहिले वन्यजन्तुको सङ्ख्यामा वृद्धि हुनुका साथै बाघ संरक्षणमा निकुञ्जले सफलता हासिल गरेको छ । सन् २०२२ को सर्वेक्षणअनुसार बाँके राष्ट्रिय निकुञ्जमा २५ वयस्क बाघ रहेका छन् । यस्तै स्तनधारी वन्यजन्तु ३४, चरा २७६, सरिसृप २४, उभयचर नौ र माछा ५५ गरी ४२२ प्रजाति रहेका छन् ।

विसं २०६७ असार २८ गते स्थापना भएको बाँके राष्ट्रिय निकुञ्ज नेपालगञ्ज विमानस्थलबाट १५ किलोमिटर दूरीमा रहेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दायाँबायाँ संरक्षित क्षेत्र रहेको छ । स्थल र हवाईमार्गबाट सहजै यहाँ आउन सकिन्छ ।

निकुञ्जमा वन्यजन्तुसँगै प्राकृतिक दृश्य हेर्न पर्यटकको सङ्ख्या बढ्दै गए पनि सन्तोषजनक अवस्था नरहेको गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्णलाल चौधरीले बताए । बाँके निकुञ्जको मध्यवर्ती क्षेत्रमा गाभर होमस्टे, खड्कवार होमस्टे र नयाँगाउँ होमस्टे सञ्चालित छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि बर्सेनि बढ्दै गए पनि बाँकेमा भने सुनसान अवस्था रहेको पर्यटन प्रवद्र्धन मञ्चका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए । उनले बाँके निकुञ्जलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउन नागरिकस्तरबाट आफूहरु लागिपरेको उल्लेख गरे ।

पुवाखोलामा ‘बेलिब्रिज’निर्माण अन्तिम चरणमा

इलाम । इलाम सदरमुकामदेखि झापाको विर्तामोड जोड्ने छोटो दूरीको केचना–कञ्चनजङ्गा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज निर्माण अन्तिम चरणमा पुगेको छ ।

इलाम नगरपालिका–९ गोलाखर्क र ११ सोयाक जोड्ने पुवाखोलमा बेलिब्रिज जडान धमाधम भइरहेको सडक डिभिजन कार्यालय इलामका सूचना अधिकारी इञ्जिनियर अर्जुन घिमिरेले जानकारी दिए । संघीय सरकारको एक करोड ३५ लाखको लागतमा बेलिब्रिज निर्माण भइरहेको हो । यही जेठ मसान्तसम्ममा सम्पन्न गर्ने गरी बेलिब्रिज निर्माण भइरहेको उनले बताए । बेलिब्रिज ४८ दशमलव ६ मिटर (१६० फिट) लम्बाइको हुनेछ ।

निर्माण कम्पनीले ठेक्का पाएको बेलिब्रिजको ७० प्रतिशत काम सम्पन्न भइसकेको उनले बताए । ‘बेलिब्रिजको सबै सामान ल्याएर जडान सुरु भएको छ, समग्रमा लगभग ७० प्रतिशत काम सकिएको छ’, इञ्जिनियर घिमिरेले भने, ‘अब ठेल्ने काम बाँकी छ, जोड्दै ठेल्दै गर्नुपर्ने भएकाले त्यसका लागि केही समय लाग्ने रहेछ ।’ यस स्थानमा पहिलो पटक बेलिब्रिज निर्माण सुरु भएको हो । यसअघि पुल नहुँदा यात्रीहरु जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा थिए । मध्य बर्खामा भने सो सडक पूर्ण रुपमा बन्द हुने गरेको थियो।

बेलिब्रिज निर्माण सम्पन्न भएपछि बर्षातको समयमा झापा, इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमका केही क्षेत्रमा सहज र नियमित यातायात सञ्चालन हुनेछ । यसले त्यस क्षेत्रमा सामान ढुवानी गर्न र यात्रीलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ ।

मेची राजमार्गको वैकल्पिक सडकको रुपमा लिइएको सो सडक इलामदेखि विर्तामोडसम्म ५० किलोमिटर दूरी पर्दछ । इलाम खण्डको माई नगरपालिका क्षेत्रमा १५ किलोमिटर सडक कालोपत्र भइसकेको छ । बाँकी १७ किलोमिटर खण्डमध्ये १४ किलोमिटर ठेक्का लागेर निर्माण भइरहेको छ । बाँकी रहेको भागमा समेत काम सुरु गर्ने प्रक्रिया अगाडि बढाइएको सडक डिभिजन प्रमुख इञ्जिनियर पवन भट्टराईले बताए ।

ट्रम्पद्वारा पुटिनलाई ‘पागल’ को संज्ञा

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमाथि भएको अहिलेसम्मकै सबैभन्दा ठूलो रुसी हवाई आक्रमणपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति कडा प्रतिक्रिया जनाएका छन् । ट्रम्पले पुटिनलाई ‘पागल’ भन्दै आक्रमणको आलोचना गरेका छन् ।

ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै भने, ‘उहाँलाई के भयो ? उहाँ सहरहरूमा रकेट पठाउँदै नागरिकहरू मारिरहनुभएको छ। मलाई यो एकदमै मन परेको छैन। मैले उहाँलाई लामो समयदेखि चिन्छु र सधैं राम्रो सम्बन्ध रहेको थियो, तर अहिले उहाँ जुन काम गरिरहनुभएको छ, त्यो स्वीकार्य छैन।’

ट्रम्पको टिप्पणी रुसले आइतबार राति युक्रेनमाथि ३६७ वटा ड्रोन र मिसाइल प्रहार गरेपछि आएको हो । जसमा कम्तीमा १२ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएका छन् ।

यो सन् २०२२ मा सुरु भएको पूर्ण–स्तरीय आक्रमणपछि एकै रातमा भएको सबैभन्दा ठूलो हमला हो । रुसी आक्रमणपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकाको चुप्पीले पुटिनलाई हौसला दिइरहेको बताएका छन् । उनले वासिङ्टनसँग कडा प्रतिबन्धसहितको दवाव बढाउन आग्रह गरेका छन् ।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल मा लेख्दै भनेका छन्, ‘पुटिन पूर्ण रूपमा पागल भइसकेका छन्। उनले सिंगो युक्रेन कब्जा गर्न चाहन्छन्, जुन रुसकै लागि विनाशकारी हुनेछ।’

तीन टोलीद्वारा आगामी सिजनको यूईएफए च्याम्पियन्स लिगमा स्थान सुरक्षित

काठमाडौं । म्यानचेस्टर सिटी, चेल्सी र न्युक्यासल युनाइटेडले आगामी सिजनको यूईएफए च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेका छन् । इंग्लिस प्रिमियर लिगको आइतबार राति सम्पन्न निर्णायक खेलहरूमा तीनै टिम विजयी बन्दै शीर्ष पाँचमा रहन सफल भएका हुन् ।

उपाधि विजेता लिभरपुल भने बराबरीमा रोकियो । म्यानचेस्टर सिटीले फुलहमलाई उसैको मैदानमा २–० ले हरायो। सिटीका लागि इल्काइ गुन्डोगान र एर्लिङ हाल्यान्डले गोल गर्दै टोलीलाई जित दिलाए । सिटीले ३८ खेलमा ७१ अंक जोड्दै लिगको तेस्रो स्थानमा सिजन समाप्त गर्यो।

पराजित फुलहम ५४ अंकसहित ११औँ स्थानमा सीमित बन्यो । त्यस्तै, चेल्सीले नटिङ्घम फरेस्टमाथि १–० को संकटकालीन जित निकालेको थियो। लेवी कोलविलको गोल निर्णायक बन्यो ।

यस जितसँगै चेल्सी ६९ अंकसहित चौथो स्थानमा रह्यो। नटिङ्घम भने ६५ अंक जोड्दै सातौँ स्थानमा सीमित रह्यो र च्याम्पियन्स लिग खेल्ने आशा समाप्त भयो । न्युक्यासल युनाइटेडले एभर्टनविरुद्ध १–० को जित हात पा¥यो। कार्लोस अल्कारेजले गोल गर्दै न्युक्यासललाई महत्त्वपूर्ण तीन अंक दिलाए ।

६६ अंकसहित न्युक्यासल पाँचौँ स्थानमा रह्यो भने एभर्टन ४८ अंकसहित १३औँ स्थानमा टुंगियो । यस सिजनको प्रिमियर लिगबाट च्याम्पियन्स लिग खेल्ने टोलीहरूमा आर्सनल, लिभरपुल, म्यानचेस्टर सिटी, चेल्सी र न्युक्यासल रहेका छन् ।

पार्टी जीवनभित्र हुने प्रतिस्पर्धालाई निकै जटिल बनाउनु गलत होः गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले एमालेमा पार्टी जीवनभित्र हुने प्रतिस्पर्धालाई जटिल बनाइनु गलत भएको बताएका छन् ।

सोमबार सामाजिक संजालमार्फत बास्कोटाले पार्टीभित्र प्रतिस्पर्धालाई निकै जटिल र दुरुह बनाउन खोजेजस्तो व्यवहार प्रकट हुन थालेको बताएका हुन् ।

एमालेको भातृ संगठन राष्ट्रिय युवा संघको महाधिवेशनमा एकाथरीले प्रतिस्पर्धा नै गर्न नदिने र अर्कोथरीले प्रतिस्पर्धामा जाँदा यो र त्यो समूहको भाष्य निर्माण गरेको भन्दै बास्कोटाले त्यसलाई बन्द गर्नुपर्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘एमालेकोअन्तर पार्टी जीवनभित्र हुने प्रतिस्पर्धालाई निकै जटिल र दुरुह बनाउन खोजेजस्तो व्यवहार प्रकट हुन थालेका छन् । चुनाव दुष्मनी र सहमति गरे टीका प्रथा भन्नु गलत हो । जबजको संगठनात्मक सिद्धान्तअनुरुप पार्टी र संम्बद्ध सगंठन चलाए भै गो । जबज भन्या गजब र फलानोको साथ मलाई भन्न बन्द गरौ न !’

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बिहान ९ बजे बैठक बोलाइएको हो ।

बजेट, पार्टीको आन्तरिक विषय र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो । बैठकमा क्रियाशील सदस्यता नवीकरणको विषयमा पनि छलफल हुने बताइएको छ । त्यस्तै भिजिट भिसा प्रकरणमा गृहमन्त्री जोडिएको विषयमा पनि छलफल हुने छ ।

दुई दलको निष्कर्षः गृहमन्त्रीमाथिको आलोचना नाजायज

काठमाडौँ । सत्तारुढ कांग्रेस र एमालेले भिजिट भिसा प्रकरणमा कर्मचारीको बदमासीलाई लिएर गृहमन्त्री रमेश लेखकमाथि भइरहेको आलोचना जायज नभएको निष्कर्ष निकालेको छ ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलका शीर्ष नेताको बैठकले गृहमन्त्रीमाथिको आलोचना जायज नभएको निष्कर्ष निकालेको हो ।

कुनै कर्मचारीले बदमासी गर्छ भने मन्त्रीमाथि प्रश्न उठाउने कुरा हुँदैन भन्ने विषयमा छलफल भएको छलफलमा सहभागी एक नेताले जानकारी दिए ।ती नेताले भने, ‘कर्मचारीले कहाँ कस्तो गल्ती गर्छ तर हचुवामा गृहमन्त्रीलाई मुछिनु अनावश्यक हो ।’

बैठकमा प्रधानमन्त्रीले हचुवामा राजीनामा गराइहाल्ने र दिइहाल्नु नपर्ने बताए । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा, कृषिमन्त्री रामनाथ अधिकारी सहभागी थिए ।

यस्तो छ मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्थतन्त्रमा सुधार आएको बताएको छ । आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यदिशालाई लचिलोलाई सजगतापूर्ण सन्तुलित हुने उल्लेख गरेको छ

। मौद्रिक नीतिको कार्यदिशा परिवर्तन गरेको केन्द्रीय बैंकले न्यून ब्याजदरका कारण कर्जा प्रवाहमा सुधार हुँदै जाँदा आर्थिक गतिविधिमा सुधार आई बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा व्यवस्थापन सहज हुँदै जाने अनुमान रहेको जनाएको छ ।

राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार घटाएको छ । बैंकले सेयर बजार तथा घरजग्गाको लगानी अनुत्पादक हुने भएकाले जोखिम उच्च हुने भन्दै जोखिम भार बढाएको थियो । तर, नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत सेयर बजारको जोखिम भार १२५ प्रतिशतलाई घटाई सयमा झारेका हुन् ।

यस्तै लगानी वातावरण सुधार गर्ने उद्देश्यले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा भएको संशोधनका व्यवस्थाहरुलाई समावेश गरी ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ मा संशोधन गर्ने राष्ट्र बैंकले घोषणा गरेको छ । त्यस्तै बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को संशोधनअनुसार चेक अनादरसम्बन्धी व्यहोरा प्रमाणित गर्ने कार्यविधि तर्जुमा गरी जारीगर्ने मौद्रिक नीति समीक्षामा उल्लेख छ ।

पिएम कम एनभिए भलिबलः गण्डकीको चौथो जित

पोखरा । नवौं पिएम एनभिए भलिबल लिगको पुरुष तर्फ गण्डकीले लगातार चौथो जित निकालेको छ । गण्डकीले मणिमुकुन्द भलिबल क्लबलाई सोझो सेटमा हराएको हो ।

गण्डकीले मणिमुकुन्दलाई २७–२५, २५–२१, २५–१८ मा हराउदै ३ अंक जोडेको छ । जित सगँ गण्डकी १२ अंक सहित शिर्ष स्थानमा छ ।

अर्को खेलमा हेल्प नेपालले कोशी प्रदेशलाई सोझो सेटमा हराउदै ३ अंक आफ्नो पक्षमा परेको छ । हेल्प नेपालले ४ खेल खेल्दै १२ अंक बनाएर शिर्ष स्थानमा छ । हेल्थ नेपालले कोशीलाई २५–२१, २५–२०, २५–२२ ले हरायो ।

पुरुष तर्फको पहिलो खेलमा नेपाल पुलिस क्लबले सुदुर पश्चिम प्रदेशलाई सोझो सेटमा हरायो । नेपाल पुलिस क्लबले सुदुर पश्चिमलाई २५–१९, २५–९, २५–१९ ले विजयी भयो । नेपाल पुलिस क्लबले जित सगँ ३ अंक बुटुल्दै लिग तालिकामा ९ अंक बनाएको छ । सुदुरपश्चिमले ४ खेल खेल्दा एक खेल पनि जित्न सकेको छैन । पुरुष तर्फका ३ खेल हुदैछन् ।

महिलातर्फ न्यु डाइमण्ड र नेपाल पुलिस क्बलले तेस्रो जित निकालेका छन् । पोखरा रंगशालास्थित कभर्ड हलमा भएको खेलमा न्यु डायमण्डले त्रिभुवन आर्मी क्लबलाई र पुलिसले एपिएफलाई हरायो । दुबै टिमले समान ३–१ सेटले हराएको छ ।

पहिलो सेट गुमाएर पनि न्यु डायमण्डले उत्कृष्ट पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पारेको छ । न्यु डायमण्ड २१–२५,२५–१४,२५–२१,२५–२१ ले विजयी भयो । न्यु डायमण्डकी सलिना बुढामगर प्लेयर अफ दि म्याच घोषित भइन् । लगातार ३ जितपछि ९ अंकसहित न्यु डायमण्ड अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

नेपाल पुलिसले विभागीय डर्बीमा एपिएफलाई २५–१९, २४–२६,२५–१८,२५–२१ हरायो । लगातार दुई खेल जितेका दुई विभागीय टोली साविक विजेता नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीचको खेल अहिले सुरु भएको छ। नेपाल पुलिसकी उशा भण्डारी प्लेयर अफ दि म्याच घोषित भइन् । लगातारका ३ जितपछि ९ अंकसहित नेपाल पुलिस पनि शीर्ष स्थानमा छ ।

पुरुषतर्फ ४ खेल हुनेछ । नेपाल भलिबल संघको आयोजनामा एक साता चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको छ। सबैले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष ४ मा रहने टोलीले सेमिफाइनल खेल्ने छन् ।

दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।

रास्वपाको प्रशिक्षण विभाग प्रमुखबाट शाहले दिएको राजीनामा स्वीकृत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रशिक्षण विभाग प्रमुख अनिलकेशरी शाहले पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ ।

आइतबार बसेको पार्टी केन्द्रीय समिति बैठकले शाहको राजीनामा स्वीकृत गरेको हो । उनलाई रास्वपाले २०८० असार ७ गते प्रशिक्षण विभाग प्रमुख बनाएको थियो । त्यस्तै बैठकले सहमहामन्त्री सुमना श्रेष्ठको राजीनामा स्वीकृत गरेको छ ।

उनको राजीनामा ९ जेठमा कार्यवाहक सभापति डीपी अर्यालले स्वीकृत गरेका थिए । बैठकमा उनको राजीनामा स्वीकृत भएको जानकारी गराइएको थियो । श्रेष्ठले गत ४ वैशाखमा राजीनामा बुझाएकी थिइन् ।

सत्तारुढ कांग्रेस र एमालेका शीर्ष नेता छलफलमा

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा दुई दलका शीर्ष नेता छलफलमा जुटेका हुन् ।

छलफलमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, मन्त्रीहरू रमेश लेखक, आरजु राणा देउवा र रामनाथ अधिकारी सहभागी छन् ।

यस्तै एमालेबाट प्रधानमन्त्री केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र अर्थमन्त्री विष्णु पौडेल छन् । नेताहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

पाकिस्तानको पञ्जाबमा आँधी : १९ जनाको मृत्यु,

इस्लामाबाद । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा शनिबार परेको भीषण हावाहुरीका कारण १९ जनाको ज्यान गएको छ भने ९० भन्दा बढी मानिस घाइते भएका छन् । प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडिएमए) ले आइतबार सार्वजनिक गरेको विवरणमा यसबारे जानकारी दिइएको हो ।

पीडिएमएका अनुसार मृतकहरू प्रायः माटो वा कमजोर संरचनाका घरमा रहेका थिए । ती घरहरूमा पर्खाल वा छाना ढल्यो, जसले मानिसहरूलाई पुरेको थियो । हावाहुरी र असिनाका कारण रूख ढलेका, पर्खाल भत्किएका, प्रचार सामग्री उखेलिएका र सौर्य पानाहरू पनि क्षतिग्रस्त भएका छन् ।

प्रान्तभर यातायातमा व्यापक असर परेको छ । मौसमको खराबीका कारण धेरै सडक बन्द गरिएको छ । प्रहरीका अनुसार हावाहुरीको जोखिमले मुख्य सडकहरू बन्द गर्नु परेको हो ।

पञ्जाबको राजधानी लाहोरस्थित विमानस्थलमा उडान सञ्चालनमा पनि समस्या आएको छ । कराँचीबाट लाहोर आउँदै गरेको एक निजी जहाजलाई अवतरणको क्रममा हावाहुरीले अत्यधिक हल्लायो । यात्रुहरू आतंकित भएका थिए । हावाको तीव्रताले गर्दा जहाजका चालकले विमानस्थलमा अवतरण नगरी पुनः कराँची फर्काउने निर्णय गरेका थिए ।

अन्य धेरै उडानहरूमा पनि ढिलाइ भएको खबर आएको छ । पीडिएमएले अझै केही दिन मौसम खराब रहने सम्भावना रहेकोले नागरिकहरूलाई सतर्क रहन आग्रह गरेको छ ।

प्राधिकरणका प्रमुख इरफान अली कथियाले सबै जिल्ला प्रशासक र उद्धार टोलीहरूलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा बस्न निर्देशन दिएका छन् ।

स्थानीय प्रशासनलाई आपसमा समन्वय गरेर सम्भावित विपद् न्यूनीकरण तथा उद्धार कार्यमा सक्रिय रहन भनिएको छ ।

सरकारले नागरिकहरूलाई आवश्यक नपरी बाहिर ननिस्कन, कमजोर संरचनाबाट टाढा रहन र सम्भव भएसम्म सुरक्षित स्थानमा बस्न सुझाव दिएको छ ।

दक्षिण भारतमा कार्गाेजहाज डुब्यो, चालक दलका सबै सदस्यको सकुशल उद्धार

बेङगलोर । भारतको दक्षिणी राज्य केरलाको तटीय क्षेत्रमा एउटा कन्टेनर जहाज डुबेको भारतीय नौसेनाले आइतबार जनाएको छ । केही जोखिमजन्य सामान रहेको दुर्घटनाग्रस्त जहाज लाइबेरियाली झण्डाबाहक जहाज हो ।

भारतीय नौसेनाका अनुसार १८४ मिटर (६०३ फिट) लामो मालवाहक जहाज (एमएससी इएलएसए ३) भारतीय बन्दरगाह भिझिन्जमबाट शनिबार कोच्चितर्फ जाँदै गरेको थियो ।

कोचीबाट करिब ३८ नटिकल माइल दक्षिणपश्चिममा कन्टेनर जहाज खतरनाक अवस्थामा देखिएको भारतीय नौसेनाले जनाएको छ । भारतीय तटरक्षक बल (आईसीजी) र नौसेनाको गस्ती डुंगाले जहाजमा रहेका जर्जिया, रुस, युक्रेन र फिलिपिन्सबाट आएका चालक दलका सबै २४ सदस्यलाई उद्धार गरेको छ ।

“जहाजमा ६४० वटा कन्टेनर रहेका र तीमध्ये १३ वटामा हानिकारक कार्गो थियो भने १२ वटामा क्याल्सियम कार्बाइड थियो,” विज्ञप्तिमा भनिएको छ ।

रक्षा मन्त्रालयले ती कन्टेनरभित्र हानिकारक कुरा के थियो भन्नेबारेकेही बताएको छैन । जहाजमा मल उत्पादन र स्टिल उत्पादनका लागि उपयोगी ‘क्याल्सियम कार्बाइड’ पनि थियो । क्याल्सियम कार्बाइड रासायनिक उद्योगमा प्रयोग हुने हानिकारक रसायन हो ।

“केरलाको तटमा संवेदनशील समुद्री इकोसिस्टमलाई ध्यानमा राख्दै आईसीजीले पूर्ण प्रदूषण नियन्त्रणका लागि आवश्यक तयारी गरेको छ,” नौसेनाले भनेको छ ।

उक्त जहाजमा करिब ३७० टन इन्धन र तेल पनि थियो । अहिलेसम्म कुनै पनि तेल चुहिएको खबर नआएको बताइएको छ ।

गृहमन्त्रीकाबारेमा एमालेः सामाजिक संजालले अनुसन्धान र अभियोजन गर्ने हक राख्दैन

काठमाडौं । नेकपा एमालेले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकका समाजिक संजालले अनुसन्धान र अभियोजन गर्ने हक नराख्ने बताएको छ ।

आइतबार बसेको पार्टी सचिवालय बैठकपछि महासचिव शंकर पोखरेलले अनुसन्धान गर्ने छुट्टै निकाय रहेको बताएका हुन् । उनले आमसञ्चार वा सामाजिक संजालले अनुसन्धान र अभियोजन गर्ने हक नराख्ने बताए ।

उनले भने, ‘अनुसन्धान गर्ने निकायले अनुसन्धान गर्दछन् । दोषी देखिएमा कारबाहीमा पर्दछन् । सामाजिक संजालमा आएको टिप्पणीका आधारमा फैसला हुँदैन ।’

गणतन्त्र दिवसलाई भव्य रुपमा मनाउने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले जेठ १५ गते गणतन्त्र दिवसलाई देशव्यापी उत्सवका रूपमा मनाउने निर्णय गरेको छ ।

आइतबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले गणतन्त्र स्थापना भएको दिनलाई विशेष उत्सवका रूपमा मनाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

बैठकले आमजनसमुदायलाई पनि गणतन्त्र दिवस उत्साहपूर्वक मनाउन आह्वान गरेको छ र उनले, पार्टीका तर्फबाट मात्रै नभइ, स्थानीय तहका पालिकाहरूका तर्फबाट पनि गणतन्त्र दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरिने बताए ।

एमालेले गणतन्त्र दिवसलाई जनस्तरमा अझ व्यापक बनाउने उद्देश्यले स्थानीय तहका कार्यकर्ताहरूलाई सक्रिय भूमिका निर्वाह गर्न निर्देशन समेत दिएको छ ।

बैठकले ‘गणतन्त्रको विपक्षमा हुने कुनै पनि अवाञ्छित गतिविधि’ सहृय नहुने र त्यसको प्रतिवाद गर्न एमालेले निर्णय गरेको छ । बैठकको निर्णयमा भनिएको छ, ‘गणतन्त्रको रक्षा र विकासका लागि पूर्ण प्रतिबद्ध रहँदै भव्य रुपमा मनाउने निर्णय गरेको छ । गणतन्त्रविरुद्ध हुने कुनै पनि अवाञ्छित गतिविधि सहृय छैन ।’

काठमाडौंको तीनकुने घटनामा संलग्न भएको आरोपमा ६१ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । चैत १५ मा काठमाडौंको तीनकुने घटनाका संलग्न भएको आरोपमा  जिल्ला अदालत काठमाडौंमा ६१ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

आइतबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले ६१ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख रामहरि शर्मा काफ्लेले ६१ प्रतिवादीविरुद्ध अभियोजन भएको जानकारी दिए ।

बाँकी चार नाबालक प्रतिवादीविरुद्ध सोमबार मुद्दा दायर हुने उनले जानकारी दिए । आपराधिक उपद्रव र संगठित अपराधको कसुरका ३० जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । अन्य ११ जनालाई आपराधिक उपद्रवमा मात्रै छुट्टै मुद्दा दायर गरिएको छ।

यस्तै दुर्गा प्रसाईंसहित ८ जनालाई भने कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा पनि प्रतिवादी बनाइएको छ । प्रसाईंलाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, हत्या, सङ्गठित अपराध, ज्यान मार्ने उद्योग र एकीकृत कसुरमा सजायको माग दाबी गर्दै मुद्दा दर्ता भएको छ ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणालाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा प्रतिवादी बनाइएको छ ।

चैत १५ तीनकुनेमा भएको प्रदर्शनमा पत्रकार सुरेस रजक र कीर्तिपुरका सविन महर्जनको प्रहरीको गोली लागि ज्यान गएको थियो ।

बंगलादेशमा अन्तरिम नेता युनुसद्वारा नयाँ राजनीतिक वार्ताका साथ एकताको माग

ढाका । बङ्गलादेशका अन्तरिम नेताले एकता निर्माण गर्न र तीव्र राजनीतिक शक्ति सङ्घर्षलाई शान्त पार्न आइतबार विभिन्न दलसँग ‘म्याराथुन वार्ता’ आह्वान गरेका छन् ।

नोबेल शान्ति पुरस्कार विजेता ८४ वर्षीय मोहम्मद युनुसले निर्वाचन नहुञ्जेलका लागि कामचलाउ सरकारको प्रमुख सल्लाहकारको रूपमा सरकारको नेतृत्व गरिरहेका छन् ।

करिब १७ करोड जनसङ्ख्या भएको दक्षिण एसियाली राष्ट्र बङ्गलादेशमा सन् २०२४ को अगष्टमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई विद्यार्थी नेतृत्वको विद्रोहले सत्ताच्युत गरेपछि राजनीतिक उथलपुथल मच्चिएको छ ।

यस महिना सरकारको विरोधमा उत्रिएका प्रमुख राजनीतिक दललगायत अन्य राजनीतिक दलसँग शनिबार साँझ अबेरसम्म चलेको बैठकपछि यो वार्ता बोलाइएको हो ।

उनका प्रेस सचिव शफिकुल आलमले एएफपीसँग भने, “मुख्य सल्लाहकार प्राध्यापक मोहम्मद युनुसले आइतबार विभिन्न दलका नेतासँग भेटवार्ता गर्नुहुनेछ ।”

बङ्गलादेशमा ५४ वटा राजनीतिक दल दर्ता भएका छन्, जसमा हाल प्रतिबन्धित पूर्वनेता हसिनाको अवामी लिग समावेश छैन ।

यस चरणको वार्तामा कति दललाई आमन्त्रण गरिएको छ भन्नेबारे आलमले केही खुलाएनन् ।
इस्लामवादी खेलफात–ए–मजलिस पार्टीका नेता मामुनुल हकले जारी सङ्कटका विषयमा केन्द्रित हुने गरी आफू छलफलमा सहभागी हुन लागेको पुष्टि गरे ।

लिबरल गानोसाम्हाटी एन्डोलोन पार्टीका जोनेद साकीले आफू पनि सहभागी हुने बताए ।
राजधानी ढाकाको सडकमा प्रतिद्वन्द्वी दलहरूले प्रदर्शन गरेको एक हप्तापछि युनुसको नेतृत्वमा रहेको सरकारले राजनीतिक शक्ति संघर्षले हासिल गरेको उपलब्धिलाई खतरामा पार्ने खतरा रहेको चेतावनी दिएको छ । “राष्ट्रिय स्थिरता कायम गर्न, स्वतन्त्र र निष्पक्ष निर्वाचन, न्याय र सुधारको आयोजना गर्न र देशमा अधिनायकवादको पुनरागमनलाई स्थायी रूपमा रोक्न व्यापक एकता आवश्यक छ,” विज्ञप्तिमा भनिएको छ।

सन् २०२४ को अगष्टमा आन्दोलनकारीको इसारामा निर्वासनबाट फर्केका माइक्रोफाइनान्सका अग्रज युनुसले सन् २०२६ को जुनसम्ममा हुने भनिएको निर्वाचनअघि नै लोकतान्त्रिक सुधार लागू गर्नु आफ्नो कर्तव्य भएको बताए ।

कामचलाउ सरकारले विभिन्न सुधार आयोगहरू गठन गरेर सिफारिसहरूको लामो सूची तयार पारेको छ र अहिले राजनीतिक दलहरूको समर्थन खोजिरहेको छ।

युनुसले पछिल्लो पटक फेब्रुअरी १५ मा बङ्गलादेशको लोकतान्त्रिक प्रणालीमा आमूल परिवर्तन गर्ने प्रयासबारे छलफल गर्न सर्वदलीय बैठक आयोजना गर्नुभएको थियो र केही दलले सम्पर्कको अभावमा निराशा व्यक्त गरेका थिए।

सरकारले शनिबारको एक बैठकमा ‘अनुचित मागहरू, जानाजानी उत्तेजक र क्षेत्राधिकारभन्दा बढी भनाइहरू’ सामना गर्नुपरेको छ, जसले यसको काममा ‘लगातार अवरोध’ गरिरहेको छ।

युनुसले राजीनामा दिने चेतावनी दिएका थिए तर उनको क्याबिनेटले उनले तत्काल राजीनामा दिन नहुने बताएको युनुसको कार्यालय स्रोत र एक प्रमुख राजनीतिक सहयोगीले बिहीबार बताएका थिए ।

युनुसले शनिबार आगामी निर्वाचनमा मुख्य दाबेदारका रूपमा हेरिएको प्रमुख दल बङ्गलादेश नेशनलिस्ट पार्टी (बिएनपी) सँग भेट गरेका थिए । बिएनपीले डिसेम्बरमा चुनाव गर्न कडा दबाब दिइरहेको छ।

बङ्गलादेशी सञ्चारमाध्यम र सैन्य स्रोतका अनुसार सेना प्रमुख जनरल वाकर–उज–जमानले पनि यसै हप्ता बिएनपीको मागअनुसार डिसेम्बरभित्र चुनाव गरिसक्नुपर्ने बताएका थिए ।

युनुसले मुस्लिम बहुल देशको सबैभन्दा ठूलो इस्लामी पार्टी जमात–ए–इस्लामी र हसिनाको शासन अन्त्य गर्ने विद्रोहको नेतृत्व गर्ने धेरै विद्यार्थीहरू सम्मिलित नेशनल सिटिजन पार्टी (एनसीपी) का नेताहरूसँग पनि भेट गरेका छन् ।

नेकपा नेता नाहिद इस्लामले विपक्षी दलले सुधारलाई बेवास्ता गर्न र ‘सत्ता कब्जा गर्न’ छिटो चुनावका लागि दबाब दिइरहेको र सेनासमर्थित सरकार पुनः उदय हुन सक्ने ‘सङ्केत’ रहेको बताएका छन् ।

कोलम्बियामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

बोगोटा । पश्चिमी कोलम्बियामा विद्यार्थी र प्राध्यापकहरू सवार एक बस दुर्घटनाग्रस्त हुँदा कम्तीमा १० जनाको मृत्यु र ११ जना घाइते भएको विश्वविद्यालयले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार टोलिमादेखि क्विन्डियोसम्म २६ जना यात्रु बोकेको बस चालकले गाडीको नियन्त्रण गुमाउँदा दुर्घटना भएको थियो ।

शनिबार क्विन्डियो क्षेत्रको हेलिकोइल ब्रिजको छेउमा रहेको अवरोधमा ठोक्किँदा धेरै मानिस बसबाट खसेको प्रहरी कमान्डर लुइस फर्नान्डो अतुएस्टाले बताए ।

“धेरै यात्रुहरू बाहिर निस्केर खाडलमा खसे”, उनले भने, “यस दुर्भाग्यपूर्ण दुर्घटनाका परिस्थितिहरू पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।”

कोलम्बियाको अर्मेनिया सहरमा रहेको हम्बोल्ट विश्वविद्यालयले एक वक्तव्यमा दुर्घटनामा ‘हाम्रा धेरै सहकर्मी, विद्यार्थी, प्राध्यापक र प्रशासकहरूको पीडादायी क्षति’ पछि दुई दिनको शोक घोषणा गरेको बताएको छ ।

विश्वविद्यालयका निर्देशक डिएगो फर्नान्डो जारामिल्लो लोपेजले एक भिडियोमा बसमा ‘२२ विद्यार्थी, दुई शिक्षक र एक सञ्चार अधिकारी’ सवार रहेको जानकारी दिए ।

राष्ट्रिय राजमार्ग प्राधिकरणका अनुसार सन् २०२४ मा दैनिक औसत २२ ट्राफिक मृत्यु भएको कोलम्बियामा सडक दुर्घटनाहरू मृत्युका मुख्य कारणहरूमध्ये एक हुन् ।

मन्त्रालय र अन्तर्गतका निकायमा फाइल रोकिए कर्मचारीलाई कारबाही गर्ने उर्जामन्त्रीको चेतावनी

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले मन्त्रालय र मातहतका निकायमा हुने काममा ढिलासुस्ती नगर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

मन्त्रालय र मातहतका कर्मचारीको आइतबार बसेको बैठकमा उनले ढिलासुस्ती नगरी प्रभावकारी कार्यसम्पादनमा लाग्ने सबैलाई निर्देशन दिएका हुन् ।

‘मन्त्रालय र अन्तर्गतका निकायमा फाइल रोकिने, काममा ढिलाइ हुने गरेको गुनासो आएका छन् । कुनै पनि फाइल रोकिएर नागरिकले समस्या भोग्नु भएन, तीन दिनभित्र कुनैपनि फाइलको छिनोफानो हुनेगरी काम गर्नुहोस्’, मन्त्री खड्काले भने । उनले मन्त्रालयअन्तर्गतका निकायबाट उल्लेख्य प्रगति हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे ।

कर्मचारीलाई पुरस्कार र दण्डको व्यवस्था गरेमात्र हामीले लिएका लक्ष्य हासिल गर्न सहज हुने मन्त्रीको भनाइ छ । ‘कर्मचारीलाई स्थायी सरकार भन्छौँ, काम स्थायी देखिँदैन, आफूले पाएको जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गरौँ’, उनले भने ।

ऊर्जामन्त्री खड्काले मनसुन सुरु हुन लागेको भन्दै वर्षाबाट हुने जोखिम न्यूनीकरणका लागि सूचना प्रवाहलाई जनस्तरसम्म पुर्याउन जल तथा मौसम विज्ञान विभागलाई निर्देशन दिए ।

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा, ऊर्जा सचिव सुरेश आचार्य, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जीव बराल, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, मन्त्रालयका सहसचिवलगायत मातहत निकायका कर्मचारीको सहभागिता थियो ।

बैठकमा मन्त्रालय र मन्त्रालय मातहतका निकायको वैशाख मसान्तसम्म भएको भौतिक तथा वित्तीय प्रगति विवरणसमेत प्रस्तुत गरिएको थियो ।

मस्तिष्क मृत्यु भएकाबाट प्राप्त कलेजो र मिर्गौलाको सफलतापूर्वक प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले नेपालमा पहिलोपटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट लिएको मिर्गौला र कलेजो सफलतापूर्वक प्रत्यारोपण गरेको छ ।

केन्द्रले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो सफलतापूर्वक प्रत्यारोपण गरिएको जानकारी दिए ।

यही जेठ १ गते मस्तिष्क मृत्यु भएका १८ वर्षीय पुरुषबाट प्राप्त दुई मिर्गौला र एउटा कलेजो प्राप्त भएपछि काठमाडौँ मेडिकल कलेजले झिकेको अङ्गमध्ये एउटा मिर्गौला र कलेजो एकजनालाई र आर्को मिर्गौला एकजनामा सफलतापूर्वक प्रत्यारोपण गरिएको उनले जानकारी दिए ।

केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले विश्वमा दुर्लभ मानिएको यस्तो प्रत्यारोपण नेपालका लागि पहिलो सफलता भएको बताउँदै भने, ‘मस्तिष्क मृत्यु भएका व्यक्तिबाट लिएको तीन अङ्गमध्ये एकजना बिरामीमा मिर्गौला र कलेजो प्रत्यारोपण गरिएको छ । अर्का ४२ वर्षीया एक महिलामा मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेका छौँ । उहाँको स्वास्थ्य अवस्था सुधार छ, अबको केही दिनमा उपचार सकेर घर फर्किनुहुन्छ ।’

केन्द्रका कार्यकारी निर्देशक एवं प्रत्यारोपण शल्यचिकित्सक डा पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा, कलेजो प्रत्यारोपणमा डा रोशन घिमिरे र डा प्रवीण महर्जनको सहयोग तथा मिर्गौला प्रत्यारोपणमा डा दिपेश श्रेष्ठ, डा रुपेशकुमार झा, डा हरिप्रसाद बराल, डा रोजन अधिकारी, डा विकास खड्का, एनेस्थेसिया तथा क्रिटिकल केयर विभागबाट डा आरती राई, डा निभा श्रेष्ठ, डा शोभित थापा, डा रेखा श्रेष्ठ,  नेफ्रोलोजी विभागबाट डा कल्पनाकुमारी श्रेष्ठ, डा लुसन सिंह, डा सुमित आचार्य, डा सन्तोष सुवेदी र डा विक्रमवीर बज्राचार्यलगायत स्वास्थ्यकर्मीले सहफलतापूर्वक प्रत्यारोपण गरेका थिए ।

मस्तिष्क मृत भएका व्यक्तिबाट प्राप्त कलेजो र मिर्गाैला प्रत्यारोपण नेपाली टोलीबाटै सफल हुनाले चिकित्सा क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको भएको कार्यकारी निर्देशक डा श्रेष्ठले बताए ।

नेपालमा सडक दुर्घटनाबाट प्रत्येक दिन चारदेखि छ जनाको मृत्यु हुने गरेको भन्दै काठमाडौँ उपत्यकामा मात्रै वार्षिक करिब एक हजार जनाको मस्तिष्क मृत्यु हुने गरिएकामा उनीहरूको अङ्ग झिकेर प्रत्यारोपण गर्न सके नेपाल अङ्ग प्रत्यारोपणमा आत्मनिर्भर हुनसक्ने अस्पतालले जनाएको छ ।

एकजना मस्तिष्क मृत्यु भएका व्यक्तिबाट दुई मिर्गौला, दुई फोक्सो, एक कलेजो, एक मुटु, एक प्याङ्क्रियाज, एक सानो आन्द्रा गरी आठ जनामा अङ्ग प्रत्यारोपण गरेर जीवन दिन सकिन्छ ।

मस्तिष्क मृत्यु पश्चातको अङ्गदान र प्रत्यारोपण संसारमा कठिनताका साथ स्थापित हुँदै गएको हुँदा यससम्बन्धी जनचेतना अभिवृद्धि गर्न सकिएमा पश्चिमा मुलुकमा जस्तै नेपालमा पनि ८० प्रतिशत भन्दा बढी प्रत्यारोपण मस्तिष्क मृत्यु पश्चात हुने अङ्गदानबाट हुनसक्ने र देश अङ्ग प्रत्यारोपणमा आत्मनिर्भर बन्ने केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले बताए ।

केन्द्रले विसं २०७३ मङ्सिर २२ मा पहिलो पटक दक्षिण कोरियाली विज्ञको सहयोगमा कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको थियो । नेपाली टोलीबाट विसं २०७५ कात्तिक १२ गते पहिलोपटक कलेजो प्रत्यारोपण गर्न सफल भएको थियो ।

केन्द्रले हालसम्म तीन वर्षको बालकदेखि ६८ वर्षसम्मका व्यक्तिसम्म गरी ३४ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ । केन्द्रमा १५ देखि २० लाखमा कलेजो प्रत्यारोपण हुँदै आएको जनाइएको छ ।

केन्द्रले देशमा पहिलोपटक विसं २०७४ वैशाख २८ गते मस्तिष्क मृत्यु भएका व्यक्तिबाट दुई मिर्गौला प्रत्यारोपण गरेको थियो । त्यसपछि हालसम्म छ जना व्यक्तिबाट प्राप्त गरी १२ जनाको मिर्गौला र चार जनाको कलेजो प्रत्यारोपण गरेको केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले जानकारी दिए ।

तीन सय शय्याको अस्पताल बनाउन जग्गा माग

पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले देशको सातवटै प्रदेशमा प्रत्यारोण सेवा विस्तार गर्ने योजना बनाइएको बताउँदै बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशमा सेवा सुरु गरिसकेको जानकारी दिए ।

प्रत्याारोण सेवा विस्तारका लागि आवश्यक विशेषज्ञ जनशक्ति उत्पादन गर्न केन्द्रलाई प्रत्यारोपण स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने सङ्घीय सरकारको घोषणा कार्यान्वयनमा ढिलाइ भइरहेको बताउँदै उनले उपयुक्त जग्गा प्राप्त नहुँदा केन्द्र आफ्नै स्रोतबाट तीन सयदेखि पाँच सय शय्याको भवन बनाउने योजना अलपत्र परेको गुनासो गरे ।

भक्तपुर इँटा टायल कारखाना रहेको उद्योग मन्त्रालय मातहतको जग्गा वा सल्लाघारीमा रहेको नेपाल ट्रष्टको जग्गा तथा चाँगुनारायण नगरपालिका–८ सुडालको जग्गामध्ये कुनै एक ठाउँको जग्गा प्राप्त गर्न सके भवन निर्माण यथाशीघ्र हुने श्रेष्ठले उल्लेख गरे ।

उनले भने, ‘अङ्ग फेल भएका गरिब नेपाली जनताको ज्यान बचाउन सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको हालसम्म आफ्नै जग्गा र भवन छैन । अहिले उपलब्ध भवन अत्यन्तै साँघुरो छ । केन्द्रले तीन सय  शय्याको भवन बनाउन सक्षम छ । उपयुक्त जग्गा तत्काल उपलब्ध गराउन लागि सरकारसँग माग गर्दछु ।’

सगरमाथा आरोहण गरेकी प्रहरी नायव निरीक्षक शेर्पालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । प्रहरी महानिरीक्षक दीपक थापाले सगरमाथाको सफल आरोहण गरेकी प्रहरी नायब निरीक्षक कुञ्जाङ छोपेल शेर्पालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रममा थापाले प्रहरी सहायक निरीक्षकबाट प्रहरी नायब निरीक्षक पदमा विशेष बढुवा भएकी शेर्पालाई दर्ज्यानी  चिह्न प्रदान गरेका हुन् ।

यही जेठ ६ गतेको नीति निर्माण समिति (पिसिसी) बैठकले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी सङ्गठनको गौरव बढाउन सफल भएको भन्दै शेर्पालाई विशेष बढुवा प्रदान गर्ने निर्णय गरेको थियो ।

सो अवसरमा प्रहरी महानिरीक्षक थापाले अदम्य साहसका साथ विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी  प्रहरी सङ्गठनको श्रीवृद्धिका लागि गरेको कार्यको प्रशंसा गरे ।

प्रहरी सङ्गठनको प्रतिनिधित्व गर्दै प्रनानी शेर्पाले यही जेठ ५ गते सोमबार बिहान ८ः५६ बजे सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी थिइन् ।

उनले सगरमाथा शिखरबाट नेपालको राष्ट्रिय झण्डा, नेपाल प्रहरीको झण्डा तथा ‘महिला र बालिकाविरूद्ध हुने हिंसा अन्त्य गर्न एकजुट हौँ’ भन्ने नारासहितको ब्यानर फहराएकी थिइन् ।

विषाक्त च्याउ खाँदा इलाममा तीन जनाको मृत्यु

दमक (झापा) । विषाक्त च्याउ खाएर बिरामी परेका इलाम माङसेबुङको एकै वडाका तीन जनाको ज्यान गएको छ । माङसेबुङ गाउँपालिका–५ का ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनिषा लिम्बू र १७ वर्षीया नुमा लावतीको ज्यान गएको हो ।

बिर्तामोडस्थित बिएनसी अस्पतालका सूचना अधिकारी डा अनुपम घिमिरेका अनुसार छ दिनअघि चिया बगानमा उम्रिएको च्याउ खाएका उनीहरू एक्कासी बिरामी परेका थिए ।

मनिषा र नुमाको विराट नर्सिङ अस्पताल विराटनगर र यसअघि नै मृत्यु भएको थियो । लावतीको आज बिएनसी अस्पतालमा मृत्यु भएको हो ।

आर्थिक समृद्धिको आधार पर्यटनः पर्यटनमन्त्री पाण्डे

 

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको आर्थिक समृद्धिको महत्त्वपूर्ण आधार पर्यटन भएकाले यसको विकास र प्रवद्र्धनका लागि समन्वयतात्मक ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

गणतन्त्र दिवस–२०८२ को सन्दर्भमा राष्ट्रिय समाचार समिति (रासस) ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ तस्बिर प्रदर्शनीको आइतबार उद्घाटन गर्दै उनले पर्यटनका क्षेत्रबाट मुलुकमा समृद्धि हासिल हुनेगरी नीतिगत र संरचनागत सुधार गर्दै जानुपर्ने आवश्यकता औँल्याए ।

पर्यटनमन्त्री पाण्डेले नेपालको आर्थिक समृद्धिमा पर्यटन क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको चर्चा गर्दै पर्वतीय पर्यटनको एकीकृत विकासलाई समन्वयात्मक किसिमले विकास गर्न जरुरी भएको बताए । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत हिमालको ब्राण्डिङ र प्रचारका लागि नीतिगत रुपमा अघि बढ्नुपर्ने अपरिहार्यता रहेको उल्लेख गरे ।

मन्त्री पाण्डेले भने, “नेपाल भौगोलिक, प्राकृतिक र अनुपम सांस्कृतिक विविधतायुक्त मात्रै नभई यहाँका अद्वितीय साहसिक गन्तव्यका रूपमा रहेका हिमालहरूको ‘ब्राण्डिङ’ गरेर विश्वकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नु अपरिहार्य छ । प्रदर्शित तस्बिरले पर्यटन विकासका साथै नेपालमा केही भइरहेको छ, भन्ने सन्देश प्रवाह गर्न पनि मद्दत पुग्ने विश्वास लिएको छु ।”

नेपालमा अनुपम र अद्वित्तीय पर्यटकीय ठाउँहरू छन् । प्राकृतिक र भौगोलिक विविधताले सम्पन्न हाम्रा प्राकृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्दै पर्यटकलाई आकर्षण गर्न सरोकार भएका निकाय र मन्त्रालयबीच प्रभावकारी समन्वय र सहकार्य जरुरी रहेको उनले बताए ।

मन्त्री पाण्डेले एकीकृत पर्यटन विकासका लागि अन्तरसरोकार भएका निकाय र मन्त्रालयबीच प्रभावकारी समन्वय जरुरी रहेको औँल्याए । उनले पर्यटकीय गन्तव्यको प्रवद्र्धन र पूर्वाधार विकासमा मन्त्रालयले विशेष योजना बनाएर अघि बढ्ने विश्वास व्यक्त गरे ।

उनले भने, “राससले महत्त्वपूर्ण विषयमा फोटो प्रदर्शनी गरेको छ । प्रदर्शित फोटोले पनि राज्यले केही गर्नुपर्छ भनेर घच्घच्याएको छ । मन्त्रालयले यसलाई ब्राण्डिङ गर्नुपर्ने आवश्यकता छ ।”

नेप्सेमा गिरावट

 

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आठ दशमलव ५७ अङ्कले घटेको छ । शून्य दशमलव ३१ प्रतिशतको गिरावट पछि नेप्से परिसूचक दुई हजार छ सय ७९ दशमलव ९८ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय १४ कम्पनीको एक करोड ८५ लाख पाँच हजार सात सय ७१ कित्ता शेयर ७० हजार छ सय १० पटक खरिदबिक्री हुँदा रू सात अर्ब ६० करोड ९५ लाख ४२ हजार २१२ को कारोबार भएको छ । आज लघुवित्त समूह दुई दशमलव ३२ र व्यापार समूह शून्य दशमलव १३ प्रतिशतले बढेको छ ने अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ शून्य दशमलव ६६, विकास बैंक एक दशमलव ४६, वित्त शून्य दशमलव ९९, होटल तथा पर्यटन एक दशमलव ७५ र जलविद्युत् शून्य दशमलव ३६ प्रतिशतले घटेको छ । त्यस्तै, लगानी समूह एक दशमलव शून्य तीन, जीवन बिमा शून्य दशमलव ३३, उत्पादन तथा प्रशोधन शून्य दशमलव शून्य तीन, म्युचुअल फण्ड दुई दशमलव ९६, निर्जीवन बिमा शून्य दशमलव १० र अन्य समूह शून्य दशमलव ४५ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी सिन्धु विकास बैंक लिमिटेडको शेयर मूल्य आठ दशमलव २८ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा बढी राधी विद्युत् कम्पनी लिमिटेडको रू ७१ करोड ४९ लाख २८ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा प्रभु सेलेक्ट फण्डको १४ लाख ९० हजार छ सय ४९ कित्ता शेयर किनबेच भएको छ ।

जनतालाई रैती हुन पाऊँ भन्नेहरूले फैलाउने भ्रम चिर्नुपर्छः प्रधानमन्त्री ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहका निर्वाचित वडाध्यक्षहरूले जनता र पार्टीसँगको घनिष्ठ सम्बन्धलाई सुदृढ बनाएर विकास र सुशासनका लागि काम गर्नुपर्ने बताएका छन् ।

नेकपा(एमालेको बागमती प्रदेशस्तरीय ज निर्वाचित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनतालाई छिटो र सहज सेवाका साथै विकास र सुशासन कायम गर्ने क्रममा निर्वाचित पालिकाका प्रमुख तथा उपप्रमुखसहित अन्य राजनीतिक पार्टीसँग समेत समन्वय गरेर आमजनताको विश्वास जित्ने गरी काम गर्न आग्रह गरे ।

‘तपाईँहरू पार्टीबाट निर्वाचित भएर जिम्मेवारीमा गएको हो । निर्वाचन जितेपछि चङ्गाको धागो काटिएजस्तो पार्टीसँगको सम्पर्क काटिनु हुँदैन । मैले जितेँ, मलाई अरु मतलब छैन भन्न मिल्दैन। अर्को निर्वाचन पनि आउँछ । त्यसकारण तपाईँहरूले अहिले पार्टीका नीति तथा निर्देशनलाई पालना गर्दै देश र जनताको सेवामा सक्रिय रहनुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘एमाले पार्टी वास्तविक जनतन्त्रका लागि बनेको हो । देशको स्वाधीनता र भौगोलिक अखण्डताका पक्षमा दृढ भएर लाग्ने पार्टी हो । एमाले देशको नायक पार्टी हो । तथाकथित केही वामपन्थीहरू एमालेलाई धुलो चटाउँछु, टर्च लाइट बालेर खोज्न नभेटिने बनाउँछु भनेर अनेक षड्यन्त्रमा उत्रिए तर हामीले ती षड्यन्त्रहरू चकनाचुर बनाएर अगाडि बढेका छौँ ।’

प्रधानमन्त्री ओलीले आफूहरूले कम्युनिष्ट भनेर पार्टी एकता गरेपछि लगभग दुई तिहाइमा पुगेको नेकपालाई विभाजनको अपराध गरेर एमालेको देश बनाउने अभियानलाई रोक्न खोजेको टिप्पणी गर्दै देशलाई बनाउन नदिने देशी–विदेशीहरूको एमालेमाथिको आक्रमण देशकै विरुद्धको आक्रमण हो भने ।

‘उनीहरू खासमा कम्युनिष्ट थिएनन् । उनीहरूले अरूको विरोध नगरी एमालेको मात्रै विरोध गर्छन् । अनि वामपन्थीबीच एकता हुनुपर्छ भनेर उनीहरूले भन्दा हाम्रा कतिपय साथीहरू हो कि भन्ने गलत बुझाइमा पर्छन्’, अध्यक्ष ओलीले भने, ‘कम्बोडियामा मेरो ३२ अर्ब लगानी छ भनेर हल्ला फिँजाउने व्यक्ति ‘प्रचण्ड’ हुन् । त्यसको पछि लाग्नेहरू माधव नेपाल र झलनाथ खनालहरू हुन् । माधव र झलनाथले पार्टी प्रमुख हुँदा प्रभावकारी रूपमा चलाउन सकेनन् । पछिसम्म पार्टीचाहिँ कब्जामा लिएर बस्न खोजे । हामीले निकम्मा, बेठिक र परनिर्भर नेतृत्व विस्थापन गरेर समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाका साथ पार्टीलाई अगाडि बढाउँदा उनीहरूलाई चित्त बुझेन अनि हामीविरुद्ध षड्यन्त्रमा लागेका छन् । देशी–विदेशी प्रतिक्रियावादीहरूले हामीलाई लडाउन खोजेका छन्, त्यसमा सजग भएर आपसी द्वन्द्व र खिचातानीका प्रवृत्तिमा हामी जान हुँदैन । यो कुरा हामीले जनतासमक्ष बुझाउनुपर्छ ।’

राजतन्त्र फर्कने कुनै आधार नभए पनि प्रतिगामी तत्त्वहरू सलबलाउँदा एमालेहरूको मनोबल गिर्न नहुने उल्लेख गर्दै लाज नमानीकन जनतालाई रैती हुन पाऊँ भन्नेहरूले फैलाउने भ्रम चिर्न प्रधानमन्त्री ओलीले आग्रह गरे।

अहिले भ्रष्टाचारीहरू र सहकारपीडितले नै ‘भ्रष्टाचारको विरोध र सहकारीलाई न्याय दे’ भन्नेजस्ता आवाज उठाएर जनतामा भ्रम छरेको पनि अध्यक्ष ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले नेकपा (माओवादी केन्द्र)ले २०६४ सालमा आफ्ना लडाकु क्याम्पमा राखेर र मार्चपास गराएर जनतालाई तर्साएर आतंकको राज गरेकाले त्यसबेला आफूहरू पराजित भए पनि माओवादीले २०६४ सालको जस्तो परिणाम ल्याउने सपना देख्नुमा कुनै दम नभएको स्पष्ट गरे।

‘माओवादी आतङ्कको छायाँमा हामीले २०६४ सालको निर्वाचनमा हार ब्यहोराका हौँ । अब न २०६४ साल आउँछ, न माओवादी आउँछ । यो मुलुकमा एमाले नै मजबुत पार्टी हो । हामीसँग यो मुलुकलाई विकास र सुशासनको नेतृत्व दिने सामथ्र्य छ । त्यसकारण एकापसमा अलमलमा पर्ने र विभाजन नभई आफ्नो शक्तिलाई सुदृढ गरौँ । पार्टीलाई स्पष्ट बहुमतमा ल्याउने ‘मिसन २०८४’ का लागि जुटौँ ।’

दुई दिने प्रशिक्षण कार्यक्रममा नेकपा (एमाले)बाट निर्वाचित बागमती प्रदेशका तीन सय ५९ जना वडाध्यक्षको सहभागिता रहेको छ ।

यसवर्ष विपदबाट चार लाख ५० हजार घरका २० लाख नागरिक प्रभावित हुने अनुमान

काठमाडौं। यसवर्षको प्रि-मनसुन सुरु भएसँगै मनसुन भित्रिने अवस्थामा पुगेको छ। यस वर्षको मनसुनबाट मुलुकमा चार लाख ५० हजार घरका २० लाख नागरिक प्रभावित हुने अनुमान गरिएको छ।

मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबै विषयवस्तुको विश्लेषण गरी तयार पारेको प्रस्तावित मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ मा उक्त अनुमान गरिएको हो।

प्रभावितमध्ये १० प्रतिशत मानिसलाई उद्धार र राहत गर्नुपर्ने अवस्था आउनसक्ने आँकलनसहितको कार्ययोजना निर्माण गरिएको प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिए।

“हामीले अबको मनसुनमा २० लाख मानिस प्रभावित हुने आँकलन गरेका छौं, देशका सबै प्रदेश प्रभावित हुने छन्, त्यही अनुसारका तयारी गर्न क्षेत्रगत रूपमा जिम्मेवारी समेत तोकिएको छ”, उनले भने, “मौज्दात सामग्री के छ? कति थप आवश्यक पर्दछ? भन्ने सबै विषय आँकलन गरेर कार्ययोजना तयार पारेका हौं।”

यही जेठ १४ गते बस्ने गृहमन्त्री अध्यक्ष रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा उक्त राष्ट्रिय कार्ययोजना पेस हुने जनाउँदै प्रवक्ता केसीले सोही बैठकबाट पारित भएपछि कार्यान्वयनमा जाने उल्लेख गरे। उनका अनुसार केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहसम्म कार्य जिम्मेवारी तोकिएको छ।

यसपाली प्रस्तावित कार्ययोजनामा हरेक एक-एक महिनामा विपद्को अवस्थाका विषयमा अनुगमन, मूल्यांकन तथा समीक्षासमेत गर्ने योजना अघि सारिएको केसीले बताए।

यसअघि नेपालमा मनसुनी आँकलन सार्वजनिक भइसकेको छ। मौसम विज्ञान विभागले सार्वजनकि गरेको आँकलनमा वर्षा र अधिकतम तथा न्यूनतम तापक्रम पनि बढी हुने जनाएको छ। सोही पूर्वानुमानका आधारमा प्राधिकरणले सबै सरोकार भएका निकायका वाला प्रतिनिधि तथा संघसंस्थासँग सुझाव लिएर विपद् प्रतिकार्य राष्ट्रिय कार्ययोजना तयार पारेको हो।

जल तथा मौसम विज्ञान विभागले विभागले कर्णाली प्रदेशको पूर्वीभूभाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग र गण्डकी प्रदेशको अधिकांश भूभाग वर्षाबाट बढी प्रभावित हुनसक्ने उल्लेख गरेको छ।

यही जेठ १८ देखि असोज १४ गतेसम्मको चार महिनाको अवधिमा देशका अधिकांश स्थानमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना रहनुका साथै अधिकतम तापक्रम र न्यूनतम तापक्रमसमेत देशभर सरदर भन्दा बढी रहने सम्भावना रहेको विभागकी प्रवक्ता विभूति पोखरेलले जानकारी दिइन्।

उनका अनुसार यस मनसुन ऋतुमा कर्णाली प्रदेशको पूर्वी भूभाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग र गण्डकी प्रदेशको अधिकांश भूभागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ।

सुदूरपश्चिम प्रदेशको दक्षिणी भूभाग, लुम्बिनीको पश्चिमी भूभाग, गण्डकीको उत्तरपूर्वी भूभाग, बागमती र कोशी प्रदेशको उत्तरी भूभागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ।

साथै मधेसका पूर्वी तथा दक्षिणी भूभागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत र देशका बाँकी भूभागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ।

माओवादीले अहिले ६४ को जस्तो हुन्छु भनेपनि अब कहिले आउने छैनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्ने बताएका छन् ।

आइतबार ललितपुरको गोदावरीमा नेकपा एमालेबाट निर्वाचित बागमती प्रदेशका वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजावादीहरुको आन्दोलनप्रति लक्षित गर्दै यस्तो बताएका हुन् । उनले सरकार र जनता चुप लागेकाले राजावादीहरूको फूर्तिफार्ती बढेको बताए ।

उनले ढ्याङ्ग्रो लिएर एमाले मैदानमा उत्रिएपछि राजावादीको भागभाग हुने बताए । उनले भने, ‘नेपाली जनता र सरकार मौन बसेकाले यिनीहरुको फुर्तिफार्ती बढेको हो । एमाले मैदानमा उत्रिएपछि भागाभाग हुन्छ ।’

सम्बोधनका क्रममा प्रधानमन्त्रीले माओवादीप्रति पनि आक्रोश पोखेका थिए । प्रधानमन्त्रीले २०६४ सालमा लुटेर र आतंक सिर्जना गरेर माओवादी पहिलो पार्टी बनेको आरोप लगाए ।

उनले भने, ‘२०६४ सालमा देश माओवादीमय नभई आतंकमय भएको थियो । किनभने माओवादीका लडाकु क्याम्पमा राखेर, मार्च पास गराएर, मान्छे तान्दै कुट्दै, मार्दै तर्साएर आतंकको राज गरेको हो । अब ति दिन गए ।’

उनले माओवादीले अहिले ६४ को जस्तो हुन्छु भनेपनि ६४ अब कहिले नआउने र ठूलो हुन नसक्ने दाबी गरे । उनले दुई तिहाइको कम्युनिस्ट पार्टीलाई ध्वस्त पार्दै एमालेको सरकार ढालेर कांग्रेससँग बिन्तीपत्र चढाउन जानेहरूसँग वाम एकता नहुने बताए ।