`

सोविताको अभिव्यक्ति रेकर्डबाट हटाउन एमालेको माग

Nepal One HD २४ असार २०८२ १६:३४
बिशेष

काठमाडौं । नेकपा एमालेले प्रतिपक्षी दलका सांसदहरूको प्रधानमन्त्रीको भ्रमण टोलीका सदस्य स्पेनमै रहेको भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीलाई जोडेर संसदमा भ्रम फैलाउने काम भएको भन्दै यस विषयमा सभामुखको ध्यानाकर्षण गराउँदै रेकर्डबाट हटाउन मागसमेत गरे ।

उनले भने, ’प्रधानमन्त्रीज्यू स्पेन भ्रमण सकाएर फर्किसक्नुभएको छ। उहाँ गरिमामय संसदमै पनि यस विषयमा जानकारी गराइसक्नुभएको छ। तर, त्यसका बावजुद केही माननीयहरूले भ्रमणमा गएकाहरू स्पेनमै बसेको वा भिजिट भिसामा स्पेन गएर बसेको कपोलकल्पित र भ्रामक विषय प्रस्तुत गर्नुभएको छ । माननीयज्यूहरूबाट तथ्यहीन विषयमा सभामुखले नोटिसमा लिनुपर्छ। यस्ता भ्रामक विषय रेकर्डबाट हटाइनुपर्छ ।’

एमालेका मुख्य सचेतक बर्तौलाले बोलेपछि प्रमुख प्रतिपक्षी दल माओवादीका सांसदहरूले उठेर विरोध गरेका थिए । सरकारका विषयमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री वा मन्त्रीलाई दिन माओवादीले सभामुखको ध्यानाकर्षण गराए ।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘ यस विषयमा मन्त्रीले वा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ । माननीयले जवाफ दिने होइन ।माननीयबाट जवाफ आइरहेका छन्। यसले हाम्रो संसदले हेपिएको भान भएको छ ।’

त्यसपछि सभामुख देवराज घिमिरेले आफ्ना ध्यानाकर्षण भएको र उत्तरदायी भएर बोल्न सांसदहरूलाई निर्देशन दिए ।

बैठकको सुरुमै रास्वपाकी सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको साथमा स्पेन गएका केही व्यक्ति नफर्किएका दाबी गरेकी थिइन् ।

उनले प्रधानमन्त्री गएको स्पेनको कार्यक्रममा समेत केही मानिस गएर नफर्किएको दाबी गरेकी हुन् । उनले भनेकी थिइन्, ‘सम्माननीय प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रममा समेत केही मानिसहरू कार्यक्रममा सहभागी हुने बहाना गरेर नफर्किएको भन्नेलगायतका समाचारहरू पनि आइरहेका छन्। व्यक्ति विशेष कसैप्रति पनि हाम्रो आरोप छैन तर यो विषय गम्भीर हो।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *