`

महानगरका प्रवक्ता मानन्धरलाई माफी मागेर स्पष्टीकरण दिन बालेनको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले महानगरका प्रवक्ता नविन मानन्धरसँग स्पष्टीकरण सोधेका छन् ।

तीन दिनभित्र माफी माग्दै स्पष्टीकरण दिन मेयर साहले मानन्धरलाई निर्देशन दिएका हुन् । प्रवक्ता मानन्धरले सञ्चार माध्यममा बोलेको विषयले आफ्नो मानहानी भएको भन्दै मेयर साहले स्पष्टीकरण सोधेका हुन् ।

पछिल्लो समय प्रवक्ता मानन्धर मेयर साहप्रति आलोचनात्मक टिप्पणी गर्दै आएका छन् । मानन्धर वडा नम्बर १७ का वडा अध्यक्ष हुन् ।

एक टेलिभिजन अन्तरवार्तामा प्रवक्ता मानन्धरले मेयर साह र उनको सचिवालयको चर्को आलोचना गरेका थिए । उनले मेयर साह र उनको सचिवालयविरुद्ध अख्तियारमा उजुरी परेको कुरा पनि बताएका थिए ।

प्रवक्ता मानन्धरले साथीभाईसँग सल्लाह गरेर स्पष्टीकरणको जवाफ दिने बताए । यसअघि मयर साहले भ्रष्टाचार गरेको आरोप लगाउँदै कार्यालय प्रवेशमा रोक लगाएका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराउँदा मानन्धरले समन्वयकारी भूमिका खेलेका थिए ।

सूर्यविनायक–साँगा सडक विस्तारका क्रममा पहिरो खस्दा एक मजदुर घाइते

भक्तपुर । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–साँगा खण्डमा सुक्खा पहिलो खस्दा आइतबार एक मजदुर घाइते भएका छन् ।

भक्तपुरको जगाती–साँगा खण्ड र साँगा–धुलिखेल खण्डमा भइरहेको सडक विस्तारका क्रममा अत्यन्तै जोखिमस्थलका रूपमा रहेको सूयविनायक नगरपालिका–१० साँगाको झोलुङ्गे पुलमुनि सुक्खा पहिरो खस्दा सडक विस्तारको काम गरिरहेका मजदुर पुरिएर घाइते भएका हुन् ।

बर्दियाको वारबर्दिया नगरपालिका–५ घर भई हाल सूर्यविनायक–९ पलासेँ बस्दै आएका ५२ वर्षीय तुलारा थारू घाइते भएका जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । घाइतेको तत्कालै उद्धार गरी उपचारका लागि सूर्यविनायक नगर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

सडक निर्माणमा भएको ढिलाइ, साँझापख भक्तपुरको पलासेँ खण्डमाथिबाट पहिरो झर्ने, सडक तल ठूलो भिर रहेकाले मजदुरले जोखिम मोलेर काम गर्ने र यात्रीले जोखिमपूर्ण यात्रा गर्दै आएका छन् ।

दशौँ लाख सिरियाली नागरिक असदको गुप्तचर र सुरक्षा निकायको ‘खोजी सूचीमा’

दमास्कस । सिरियाको गृह मन्त्रालयका प्रवक्ता नौरेदिन अल–बाबाले गत डिसेम्बरमा सत्ताच्युत भएका लामो समयदेखिका शासक बशर अल असदको गुप्तचर र सुरक्षा निकायले करिब एक तिहाइ जनसङ्ख्यालाई उसको खोजी सूचीमा राखेको बताएको छ ।

बाबाले दमास्कसमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘राजनीतिक कारणले पूर्ववर्ती सरकारले खोजीको सूचीमा राखेका मानिसहरूको सङ्ख्या ८० लाख नाघेको छ । सिरियाली जनताको लगभग एक तिहाई जनसङ्ख्यालाई पूर्व शासनको दमनकारी गुप्तचर र सुरक्षा एजेन्सीहरूले खोजीको सूचीमा राखेको थियो ।’

असदले शान्तिपूर्ण सरकार विरोधी प्रदर्शनमाथि निर्मम दमन गरेपछि सिरियाको गृहयुद्ध सुरु भएको थियो र पछि लाखौँ सिरियालीहरू सुरक्षा सेवाहरूको डरलाग्दो जालमा फसेका थिए । उनीहरूले अभियोजन, दुरुपयोग र अधिकार उल्लङ्घनको सामना गर्नुपरेको थियो।

धेरैले प्रदर्शनमा भाग लिएको वा प्रचार गरेको, राज्यको प्रतिष्ठामा आँच पुर्याएको, विदेशी पक्षहरूसँग कुराकानी गरेको वा ‘आतङ्कवाद’ लाई आर्थिक तथा भौतिक रूपमा सहयोग गरेको आरोप खेप्नुपरेको थियो ।
असदले आफ्नो शासनको विरोध गर्ने सबै विद्रोही र समूहहरूका लागि ‘आतङ्कवाद’ शब्दको प्रयोग गरेका थिए ।

लाखौँ सिरियालीहरूलाई जेलमा फ्याँकियो, जहाँ धेरैले यातना भोग्नुपर्योर दशौं हजार अझै हराइरहेका छन्।

धेरै मानिसहरूले सुरक्षा जाँचचौकीहरूमा हिरासतमा राख्दा वा देश छोड्न खोज्दा मात्र आफूलाई विभिन्न आरोपमा खोजीको सूचीमा राखिएको थाह पाएका थिए किनकि, आरोपहरू प्रायः गोप्य रूपमा जारी गरिन्थ्यो।

इस्लामी नेतृत्वको गठबन्धनले गत डिसेम्बरमा असदलाई उहाँको परिवारको पाँच दशक लामो कठोर शासनको अन्त्य गर्दै करिब १४ वर्षको कडा युद्धपछि अपदस्थ गरेको थियो।

बाबाको टिप्पणी गृह मन्त्रालयको पुनर्गठनको घोषणाको साइडलाइनमा आएको हो जसमा धेरै नयाँ विभागहरू सिर्जना गरिएको छ ।

यसमा एक उजुरी विभाग र सिरियाको भूमि र समुद्री सीमाको प्रभारी एक सीमा सुरक्षा निकाय समावेश छ जसलाई विशेष गरी लागूपदार्थ र मानव तस्करी नेटवर्कर्को ‘अवैध गतिविधि’ को सामना गर्ने काम दिइएको छ।

म्यान्मामा युद्धविरामको म्याद थप गर्न मलेसियाको आग्रह

क्वालालाम्पुर । म्यान्मामा भूकम्पपछिको युद्धविरामको प्रभावकारितामाथि प्रश्न उठेको भएपनि मे महिनाको अन्त्यमा समाप्त हुने गरी युद्धविरामको समयावधि थप र विस्तार गर्न मलेसियाले आइतबार आह्वान गरेको छ ।
गत मार्चको अन्त्यमा गएको विनाशकारी भूकम्पमा परी करिब तीन हजार ८०० जनाको मृत्यु र दशौँ हजार घरबारविहीन भएपछि सत्तारुढ सैन्य जुन्टाले सुरुमा बहुपक्षीय गृहयुद्धमा युद्धविरामको घोषणा गरेको थियो ।
युद्धविराम यसअघि पनि लम्ब्याइएको थियो यद्यपि, द्वन्द्व अनुगमनकर्ताहरूले जुन्टाको नियमित हवाई आक्रमणसहित लडाइँ जारी रहेको बताएका छन्।

“आइतबार क्षेत्रीय विदेशमन्त्रीहरूको बैठकमा मलेसियाका विदेशमन्त्री मोहम्मद हसनले ‘हाल प्रभावित क्षेत्रभन्दा बाहिर युद्धविरामको विस्तार गर्ने प्रस्ताव गर्नुभएको छ,” विज्ञप्तिमा भनिएको छ।

“हामी म्यान्माका सरोकारवालाहरूलाई शत्रुता अन्त्य गर्न, युद्धविरामको विस्तार गर्न, पुनरुत्थानको लागि लामो र कठिन मार्गलाई सहज बनाउन र म्यान्माका जनताको पीडा कम गर्न आह्वान गर्दछौं,” मोहम्मदले आफ्नो प्रारम्भिक भनाइमा उल्लेख गरे ।

मलेसियाले हाल १० सदस्यीय दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) को आलोपालो अध्यक्षता सम्हाल्दै आएको छ ।

सन् २०२१ को फेब्रुअरीमा म्यान्माले नागरिक नेतृ आङ सान सुकीलाई सत्ताच्युत गरेपछि म्यान्माको द्वन्द्व अन्त्यका लागि यस समूहले अहिलेसम्म निष्फल कूटनीतिक प्रयासको नेतृत्व गर्दै आएको छ ।

आसियानले सन् २०२१ को अप्रिलमा जुन्तालगायत सबै समूहका नेताहरूबीच सहमति भएको पाँचबुँदे शान्ति योजना कार्यान्वयन गर्न सङ्घर्ष गरिरहेको छ ।

शान्ति सम्झौतामा प्रगति हुन नसकेको भन्दै जुन्टाका अधिकारीहरूलाई आसियान शिखर सम्मेलनमा सहभागी हुनबाट रोक लगाइएको छ ।

मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले गत अप्रिलमा बैंककमा म्यान्माका जुन्टा नेता मिन आङ ह्लाइङलाई भेटेर युद्धविरामको सम्मान गर्न आग्रह गरेका थिए ।

संयुक्त राष्ट्रसङ्घ र स्वतन्त्र द्वन्द्व अनुगमनकर्ताहरूले युद्धविरामका बावजुद जुन्टाले हवाई आक्रमणको अभियान जारी राखेको बताएका छन्।

प्रत्यक्षदर्शीका अनुसार मे महिनाको मध्यतिर जुन्ताले सागाइङ क्षेत्रमा भूकम्पको केन्द्रविन्दु नजिकै रहेको एक विद्यालयमा गरेको हवाई आक्रमणमा २० बालबालिकासहित २२ जनाको मृत्यु भएको थियो ।
थुप्रै कू विरोधी र जातीय सशस्त्र समूहहरूले शत्रुता रोक्न आ–आफ्नो प्रतिज्ञा गरेका छन्।

तर पूर्वी म्यान्माका केही बासिन्दाले भने छिमेकी मुलुक थाइल्यान्डतर्फको आकर्षक व्यापारिक मार्गमा रहेको जुन्ताको कब्जामा रहेका सहरलाई कूविरोधी फौजले घेराहालेपछि आफूहरु विस्थापित भएको बताएका छन् ।

म्यान्माको जुन्टा प्रशासनले यस वर्षको अन्त्यतिर निर्वाचन गर्ने घोषणा गरेको छ । तर म्यान्माको विपक्षी ‘राष्ट्रिय सहमतिको सरकार’ले जनता र राजनीतिक दललाई सैन्य सरकारले आयोजना गर्ने कुनै पनि निर्वाचन बहिष्कार गर्न आग्रह गरेको छ ।

अनवरले जुन्टा प्रमुख ह्लाइङसँग अप्रिलमा भएको भेटपछि आसियानले ‘चिन्ता’ व्यक्त गरेको र ‘निष्पक्ष र स्वतन्त्र निर्वाचन’ सुनिश्चित गर्न बिस्तारै सहमति निर्माण गर्न चाहेको बताएका थिए।

मनकामना दर्शन गर्न आएका भारतीय पर्यटकको शौचालयमा लडेर मृत्यु

भरतपुर । मनकामना दर्शन गर्न आएका एकजना भारतीय पर्यटकको शौचालयमा लडेर मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केवलकारको स्टेशनमा रहेको शौचालयमा लडेर गुजरात पालनपुरका ६२ वर्षीय मन्नुप्रसाद भट्टको आज मृत्यु भएको हो ।

मुग्लिनस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार शौचालयमा लडेर अचेत भेटिएका भट्टलाई उपचारार्थ इच्छाकामना आधारभूत अस्पताल कुरिनटार ल्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । शव परीक्षणका लागि भरतपुर अस्पतालतर्फ लगिएको छ ।

भौतिक पूर्वाधारमन्त्रीद्वारा ग्वार्को फ्लाईओभरको अनुगमन, असार १ गतेदेखि संचालन गर्ने तयारी

काठमाडौं । ग्वार्को फ्लाईओभर आगामी असार एक गतेदेखि संचालनमा आउने भएको छ । आइतबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल ग्वार्को फ्लाई ओभरको अनुगमन गर्न पुगेका थिए ।

अनुगमनपछि मन्त्री दाहालले काम जेठको अन्तिमसम्ममा सम्पन्न गरेर असार एक गतेदेखि सञ्चालन गर्ने तयारीमा रहेको बताए ।

निर्माण कम्पनीले जेठभित्रै दुवैतर्फको फ्लाइओभर र सडकलाई जोड्न बीचमा माटो भरेर निर्माण गरिएको संरचनामा कालोपत्रे सकिने र लगत्तै गाडी गुडाउने तयारी गरेको छ ।

ठेकेदार कम्पनी आरसी, समानान्तर र रिलिग्रे जेभीले फ्लाइओभरको कोटेश्वरतर्फको र्याम्पमा बिहीबारदेखि नै प्राइम कोट बिछ्याउन सुरु गरेको छ ।

सातदोबाटोतर्फको र्याम्पमा भने ग्राभेल गरेर ‘बेस कोर्स’ बनाउने काम भइरहेको छ । ओभरपास सम्पन्न गर्न १७ करोड ६ लाख ८८ हजारमा ठेक्का लागेको हो ।

सम्झौताअनुसार तोकिएको म्याद २०८० फागुन १२ मा सकिएको थियो । त्यसपछि म्याद थप गरेर २०८१ पुस ८ सम्म कायम गरिएको थियो । दुई वर्षमा निर्माण पूरा गर्ने गरी कम्पनीसँग २०७८ फागुन १२ मा सम्झौता भएको थियो ।

कांग्रेसले बोलायो पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । बैठक सोमबार बिहान ९ बजे बुढानीलकण्ठमा बस्नेगरी बोलाइएको हो ।

बजेट, पार्टीको आन्तरिक विषय र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो । बैठकमा क्रियाशील सदस्यता नवीकरणको विषयमा पनि छलफल हुने बताइएको छ ।

बजेटमा एमाले महासचिवका १५ सुझाव

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बजेट निर्माणका लागि १५ सुझाव दिएका छन् ।

आइतबार सामाजिक संजालमार्फत महासचिव पोखरेलले राज्यको सामथ्र्य वृद्धि नगरीकन समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न नसकिने भन्दै सुझाव दिएका हुन् । उनले नेपालको प्राकृतिक श्रोत ढुंगा, गिटी र वालुवा समेतलाई आय आम्दानीको दिगो श्रोत बनाउने आँट गर्न, वनपैदावारको दिगो उपयोगको नीति र योजना अघि वढाउन आग्रह गरेका छन् ।

यस्ता छन् महासचिव पोखरेलका १५ सुझाव

१. नेपालको अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउनका लागि विशेष योजना आवश्यक छ । अनौपचारिक अर्थतन्त्र सबै ‘कालोधन’ होइन ।

२. नेपालको प्राकृतिक श्रोत ढुंगा, गिटी र वालुवा समेतलाई आय आम्दानीको दिगो श्रोत बनाउने आँट गर्नु पर्दछ । निर्माण सामाग्रीको सहज आपुर्ति नहुदा विकास निर्माण समेत प्रभावित हुने गरेको छ ।

३. नेपालको वनपैदावारको दिगो उपयोगको नीति र योजना अघि वढाउनु पर्दछ । निकुंज र संरक्षण क्षेत्र वाहेकको वन क्षेत्रको व्यावसायिक उपयोग गर्ने सहज नीति आउनु पर्दछ ।

४. वनक्षेत्रमा रहेका तर विकासका दृष्टिकोणवाट रणनीतिक महत्वको जमिनलाई बन क्षेत्रवाट अलगगरी त्यसको प्रयोग गर्ने सहज व्यवस्था आवश्यक छ ।

५. नेपालको उत्पादनको बजारिकरण र कच्चा पदार्थमा आधारित उद्योगलाई प्रतिकुल असर पुग्ने भंसार राजश्वमा सुधार गरिनु पर्दछ ।

६. विदेशवाट आयात हुने कच्चा पदार्थको तुलनामा तयारी वस्तुमा आयत कर छुट दिने अवस्था अन्त्य गरिनु पर्दछ ।

७. भन्सारदरमा न्युन विजकीकरणको व्यवस्था अन्त्य गरिनु पर्दछ । वास्तविक मुल्यमा आधारित रहेर भन्सार दर लागु गरिनु पर्दछ ।

८. भारतीय पर्यटकहरुले नेपाल आउदा ल्याउन पाउने नगद रकमको सीमा बढाउनु पर्दछ ।

९. भारतीय पर्यटकहरुले ल्याउने सवारी साधनलाई भन्सार विन्दुमा नै निश्चित समयका लागि रोड पर्मिटको व्यवस्था मिलाउनु पर्दछ ।

१०. भारतवाट आयात हुने तरकारी र फलफूलमा अनिवार्य रुपमा विषादी परिक्षणको व्यवस्था मिलाउनु पर्दछ ।साथै हरेक वस्तुको व्राण्डिङ र लेवलिङ अनिवार्य गरिनु पर्दछ ।

११. नेपालवाट निर्यात हुने सबै प्रकारको वस्तुहरुको व्राण्डिङ र लेवलिङ गरेर मात्र निर्यात गर्ने व्यवस्था मिलाउनु पर्दछ ।

१२. नेपालका प्रमुख शहरहरुमा व्यवसाय दर्ता गरी गरिने सबै प्रकारका आर्थिक कारोवार विद्युतीय प्रणालीवाट गर्ने व्यवस्था गरिनु पर्दछ ।

१३. उच्च पहाडी र हिमाली क्षेत्रमा मास टुरिजमको विकासका लागि संरक्षण क्षेत्रको जमिन निजी क्षेत्रलाई निश्चित समयका लागि लिजमा दिने व्यवस्था अघि वढाइनु पर्दछ ।

१४. कृषि उत्पादनलाई प्रवर्धनका लागि अनुदानको व्यवस्था गरिनु पर्दछ । साना किसानसम्म सहजरुपमा उत्पादनमा आधारित अनुदान पुग्ने व्यवस्था गर्नुपर्दछ ।

१५. स्टार्टअप योजनालाई वस्तु र सेवाको उत्पादन क्षेत्रमा विस्तार गर्नेगरी पर्याप्त रकमको व्यवस्था गर्नुपर्दछ ।

यसवाट राष्ट्रिय समाथ्र्य वृद्धि भइ समृद्ध नेपाल सुखी नेपाली निर्माणको अभियानमा सार्थक योगदान पुग्नेछ ।

काठमाडौंको बल्खुबाट लागु औषध कारोबारमा संलग्न चार पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंमा लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेको छ । काठमाडौंको बल्खुबाट प्रहरी वृत्त कालिमाटीको टोलीले चार जनालाई लागु औषधसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुली गोलञ्जोका २४ वर्षीय होमराज श्रेष्ठ, काभ्रेको धुलिखेलका २३ वर्षीय रविन श्रेष्ठ, नुवकोटका २१ वर्षीय सुरेन्द्र अछामी र धादिङ त्रिपुरासुन्दरीका २५ वर्षीय विजय आलेमगर छन् ।

होमराज शंकास्पद तरिकाले हिँडेको देखेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको र अनुसन्धानका क्रममा उनीबाट लागु औषध बरामद भएपछि थप तीन जना पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।

उनीहरूको साथबाट लागुऔषध ट्रामाडोल एक हजार ६७ क्याप्सुल र १९ हजार नगद बरामद भएको छ । जिल्ला अदालत काठमाडौंबाट ६ दिनको म्याद थप गरेर अनुसन्धान भइहरेको उनले बताए।

कर्मचारीले गरेको गल्तीका आधार मन्त्रीले राजीनामा दिने होइनः सिटौला

विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले एकजना कर्मचारीले गरेको गल्तीकै आधार मन्त्रीले राजीनामा गर्दै हिँड्न नहुने बताएका छन् ।

आइतबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सिटौलाले कर्मचारीले गरेको गलत क्रियाकलापलाई आधार बनाएर मन्त्रीको राजीनामा माग्ने कार्यले गलत भएको बताएका हुन् ।

उनले भने, ‘कुनै पनि अड्डा अदालतको वा कुनै कार्यालयको कुनै कर्मचारीले गल्ती गर्छ भने ऊ जवाफदेही हुन्छ, ऊ जिम्मेवार हुन्छ, त्यो हो भने । तर कार्यालयको प्रमुखले राजीनामा दिनुपर्छ भन्यौं भने राज्य व्यवस्था चल्दैन ।’

सिटौलाले अहिले अध्यागमन विभागको कर्मचारीमाथि आरोप लागेको र अख्तियारले छानबिन गरिरहेकोले केही समय पर्खिनुपर्ने बताए ।

यसअघि शनिबार कांग्रेस नेता डा. शेखर कोइरालाले भने गृहमन्त्रीले नैतिकतामा आधारमा राजीनामा दिएर छानबिनमा सहयोग गर्न सुझाव दिएका थिए ।

सिटौलाले राजसंस्था कुनै पनि हालतमा फर्किन नसक्ने भन्दै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक नभएको बताए ।

हात्ती सफारी व्यवस्थित गर्न माहुतेलाई प्रशिक्षण

भरतपुर । चितवनको पर्यटकीय नगरी सौराहाको हात्ती सफारी व्यवस्थित गर्न माहुतेलाई प्रशिक्षण दिइएको छ । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको आयोजना भएको प्रशिक्षणमा सहभागी माहुतेहरुलाई हात्तीको स्याहारसुसार, सफारी व्यवस्थापन तथा कानुनी प्रावधानहरुका बारेमा तालिम दिएको हो ।

कार्यक्रम कार्यक्रम संयोजक तथा संस्थाका उपाध्यक्ष शम्भुप्रसाद मालीका अनुसार बाघमारा मध्यवर्ती सामुदायिक वन र चित्रसेन मध्यवर्ती सामुदायिक वनको सहयोगमा प्रशिक्षण दिइएको हो ।

चितवन राष्ट्रिय निकुञ्ज सौराहा सेक्टर कार्यालय प्रमुख शान्ताबहादुर मगर पर्यटन क्षेत्रको सकारात्मक सन्देश प्रवाह गर्न माहुतेहरुको भूमिका महत्वपूर्ण हुने भएकाले सफारीमा चढेका पर्यटकलाई राम्रो व्यवहार गर्नुपर्ने बताए । उनले हात्ती सफारी गर्दा निकुञ्जको कानुन र हात्तीको स्वास्थ्यमा ख्याल गर्न माहुतेलाई आग्रह गरे ।

बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष बिपी चौधरीले चितवनको सफारी पर्यटनमा हात्ती र माहुते दुवैको भूमिका महत्वपूर्ण रहेको बताए । सफारी पर्यटनकै कारण सामुदायिक वनको आम्दानी उल्लेख्य रहेको भन्दै उनले आम्दानीको अधिकांश हिस्सा संरक्षणमा खर्च गर्दै आएको जानकारी दिए ।

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले अधिकारका कुरा उठाएर सौराहाको सफारी पर्यटन कमजोर बनाउन खोजिएको भन्दै यसतर्फ व्यवसायीहरु सचेत रहेको बताए । चितवनको पर्यटन जोगाउन व्यवसायीले हात्ती पालेको भन्दै उनले सफारी पर्यटनको विकासका लागि हात्ती र माहुतेको भूमिका प्रशंसायोग्य रहेको बताए ।

कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज सौराहा सेक्टर कार्यालय प्रमुख शान्ताबहादुर मगरले राष्ट्रिय निकुञ्जका बारेमा जानकारीसहित सफारीका क्रममा वन्यजन्तु देखाउँदा अपनाउनुपर्ने सावधानी, भेटेरिनरी डा अमिर सडौलाले हात्ती सफारीमा पाहुनासँग गर्ने व्यवहार, लैङ्गीक समानता, हात्ती र मानिसमा सर्नसक्ने रोग तथा भेटेरिनरी प्राविधिक किरणराज रिजालले स्वस्थ हात्ती र अस्वस्थ हात्तीको पहिचानका बारेमा प्रशिक्षण दिएका थिए । प्रशिक्षण कार्यक्रममा ६० जनाको सहभागिता रहेको थियो ।

देउवालाई नेविसंघको ध्यानाकर्षण पत्रः दुजाङ शेर्पा नेतृत्वको तदर्थ समिति विघटन गर्न माग

काठमाडौं । नेपाल विद्यार्थी संघले अहिलेको नेतृत्वबाट महाधिवेशन सम्भव नभएको भन्दै पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।

आइतबार शेखर कोइरालानिकट नेविसंघका केन्द्रीय सदस्यहरूले सभापति देउवालाई भेटेर अहिलेको नेतृत्वबाट नेविसंघको १२ औं महाधिवेशन सम्भव नदेखिएकोले विकल्प खोज्न माग गरेका हुन् ।

केन्द्रीय सदस्य प्रेमिका राना मगरको नेतृत्वमा गएको नेविसंघको टोलीले महाधिवेशन सुनिश्चित गर्न माग गरेको छ । ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘नेविसंघ केन्द्रीय तदर्थ समितिका अध्यक्ष दुजाङ शेर्पाले पार्टीले दिएको मुख्य जिम्मेवारि छोडेर संगठनको हित विपरित, व्यक्तिगत स्वार्थमा लागेर संगठनको अस्तित्व संकटमा पार्ने, संगठनभित्र द्वन्द्व सिजना गर्ने, अधिवेशन भन्दा तदर्थवादमा रमाउने गतिविधिमा लाग्नु गलत र निन्दनीय छ । वर्तमान अवस्थामा ने.वि.संघलाई महाधिवेशन उन्मुख गराउने कुनै गतिविधिमा संगठनको नेतृत्वको ध्यान नहुनु, पार्टीले जिम्मेवारी दिएको ३ वर्ष समय वितिसक्दा पनि देशभरको कुनै एउटा जिल्ला, क्याम्पसमा विधिवत रुपमा लोकतान्त्रिक प्रक्रियावाट अधिवेशन नहुनु सांगठनिक गतिविधि छोडेर गैरसांगठनिक क्रियाकलापमा स्वयं ने.वि.संघ अध्यक्ष तल्लिन हुनु संगठनका तल्ला संरचनामा विवाद, द्वन्द्व बढ्दै जानुले संगठनलाई अधिवेश उन्मुख गराउन नसकिने र यसले सिंगो सगठनको जीवनमा हित नगर्ने कुरामा हामी प्रस्ट रहेको आदरणीय सभापतिज्यूलाई नेविसंघ केन्द्रीय तदर्थ समितका सदस्यहरुको तर्फवाट जानकारी सहित ध्यानाकर्षण गराउँदछौं।’

साथै उनीहरूले दुजाङ शेर्पा नेतृत्वको नेविसंघ तदर्थ समितिको म्याद पार्टी केन्द्रीय समितिबाट थप भएका खण्डमा विरोध गर्ने र सामूहिक रूपमा राजीनामा दिने चेतावनी दिएका छन् ।

गृहमन्त्रीमाथि राजीनामाको दवाव

काठमाडौं । भिजिट भिसाको आवरणमा मानव तस्करी गरेको आरोपमा गृह मन्त्रालयका अधिकारीहरू नै अनुसन्धान दायरामा तानिएपछि गृहमन्त्री रमेश लेखकमाथि राजीनामाको दवाव बढेको छ । गिरोहसँग मिलेर रकम असुल गर्दै भिजिट भिसामा नागरिकलाई विदेश पठाएको आरोपमा विमानस्थलस्थित प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तीर्थराज भट्टराईलाई बुधबार नियन्त्रणमा लिएर अख्तियारले अनुसन्धान गरिरहेको छ । यसमा गृहमन्त्री रमेश लेखकको सचिवालयका कर्मचारीको समेत शंकास्पद भूमिका देखिएको छ । त्यसपछि गृहमन्त्री लेखकमाथि राजीनामाको दवाव बढेको हो । पार्टीभित्रैबाट लेखकमाथि राजीनामाको दवाव बढेको छ ।

कांग्रेस नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिएका छन् । उनले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीलाई राजीनामा दिन सुझाव दिएका हुन् । उनले विगतमा पनि केही मन्त्रीहरुले राजीनामा दिएर छानबिनमा सघाएको र मन्त्री लेखकले राजीनामा दिँदा उनकै नैतिकता सघाउ पुग्ने बताए । कोइरालाको भनाई छ, ‘नैतिकताको हिसाब म क्लिन छु, मैले राजीनामा गरेँ। छानबिन समिति बनाउनुस्, गर्नुहोस् तपाईंहरु भने भैहाल्यो नि।’

पार्टीभित्रैबाट राजीनामाको दवाव बढेपछि शनिबार अपरान्ह गृह मन्त्रालयले यस प्रकरणमा नेतृत्व संलग्न नरहेको र अनुसन्धानमा सघाउने भन्दै विज्ञप्ति जारी गर्यो । मन्त्रालयले ती समाचारहरू तथ्यहीन, भ्रमपूर्ण र आधारहीन भएको उल्लेख गरेको छ ।
साँझ फेरि गृहमन्त्री लेखकले गृह मन्त्रालयमा हजारौंमा नभएर लाखौं कर्मचारी रहेकाले कुनै कर्मचारीले बदमासी गर्दैमा मन्त्रीले राजीनामा दिननपर्ने बताए ।

उनले प्रश्न गरे, ‘अनुसन्धान गर्ने सक्षय निकायले कुनैबेला बेला कुनैपनि कर्मचारीमाथि अनुसन्धान गर्न सक्छ । कुनैपनि कर्मचारीमाथि अनुसन्धान सुरु हुँदा सबै मन्त्रीहरुले राजीनामा दिदै जाने हो ? मेराविरुद्ध राजनीतिक रुपले नियोजित रुपले षड्यन्त्रमूलक ढंगले झुटाप्रचारबाजी भइरहेको छ ।’ मन्त्री लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै होइन नभई आफ्नो राजनीतिक र सार्वजनिक जीवनमा आर्थिक अनियमितता गरेको विषय प्रमाणित भए आफू पदबाट मात्र नभई राजनीतिबाट राजीनामा दिने बताएका छन् ।

रास्वपाले पनि गृहमन्त्री र उनका सचिवालय नै ‘भिजिट भिसा’ मार्फत् मानव तस्करीमा संलग्न रहेको कुरा सार्वजनिक भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । रास्वपाले भनेको छ, ‘विगतमा सांसद रमेश लेखकले नै सदनमा, ‘प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ’ भनेर विभिन्न दृष्टान्त सम्झाउनु भएको कुरा आज उहाँलाई नै स्मरण गराउँदै यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर यस विषयमा निष्पक्ष अनुसन्धानलाई सघाउन माग गर्दछौं ।’

गृहमन्त्री लेखकले रास्वपा सभापति गृहमन्त्री भएका बेला, मन्त्री माथि प्रश्न उठेपछि राजीनामा दिएर छानबिनका लागि सहयोग गर्नुपर्ने भन्दै २०८० चैत ६ गतेको संसदमा बोलेको थिए । उनले भनेका थिए, ‘यसै सदनले यसभन्दा पहिला स्थापित गरिसकेको छ कि कुनै पनि माननीय मन्त्री यदि कुनै अनुसन्धानको घेरामा आउनुभयो, प्रश्न उठ्यो, राज्यको कुनै निकायले यदि अनुसन्धान गर्ने स्थिति भयो भने त्यस्तो माननीय मन्त्रीजी पदमा रहन पाउनुहुन्न, रहनुहुन्न । त्यसकारण गृहमन्त्रीले राजीनामा गर्नुपर्छ । यसअघि डा. रामशरण महत अर्थमन्त्री भएका वेला विदेशी बैंकमा खाता छ भन्ने प्रश्न उठ्दा उहाँले राजीनामा दिएको इतिहास यही संसदमा छ । माननीय शेरबहादुर तामाङजी मन्त्री हुँदा बोल्दा केही कुरा बिग्रियो, बेठिक बोल्नुभयो भनेर प्रश्न उठेपछि उहाँले राजीनामा दिनुभएको इतिहास पनि छ । माननीय गोकुल बाँस्कोटाजीमाथि प्रश्न उठ्दा छानबिनका लागि राजीनामा दिएर मार्गप्रशस्त गर्नुभएको यसै संसद्को इतिहास हो । पछिल्लो समय जनार्दन शर्मा अर्थमन्त्री हुँदा बजेटबारे प्रश्न उठ्यो । उहाँले राजीनामा गर्नुभयो र यहाँ छानबिन समिति गठन भयो ।’

रास्वपाकी सांसद सुमना श्रेष्ठ भिजिट भिसा प्रकरण नभई मानव तस्करी नै भएको बताउँछिन् । उनको टिप्पणी छ, ‘यो भिजिट भिसा प्रकरण हैन, मानव तस्करी हो ! आफ्नै छोरा छोरीहरूलाई, अनजान ठाउँमा बिना कुनै श्रम अधिकार संरक्षण पठाउने, त्यो ‘मूल्य’ तोकेर किन्ने विदेशीहरू र यस्तो विषयमा रोक्नुको सट्टा आफ्नो लागि भाग खोज्ने तपाईहरु सम्पूर्णमा— हार्दिक श्रद्धाञ्जली—तपाईंलाई नर्क पनि प्राप्त हुन्न होला ! माथिको आशिर्वाद नभइ यो सम्भव हुँदैन भन्ने अनुसन्धान अधिकृतको कुरा छ, सहसचिवलाई माथिको आशिर्वाद क–कसको हो ?’

मकैमा फौजी किराको समस्या देखिएपछि किसान चिन्तित

भोजपुर । मकैबालीमा फौजी किराको समस्या बढ्न थालेपछि यहाँका किसान चिन्तित भएका छन् । फौजी किराले मकैबालीमा क्षति गर्न थालेपछि किसान चिन्तामा परेका हुन् ।

वैशाख अन्तिम साताबाट अमेरिकन फौजी किराको समस्या बढेसँगै मकैबालीमा क्षति पुगेको स्थानीय कृषक धनबहादुर थापाले बताए ।

किराका कारण गोड्ने समय भएको मकैको गुबोभित्र पसेर गुबो खाइदिने, पात खाने र पहेँलो भएर मर्ने समस्या रहेको उनको भनाइ छ । ‘यस वर्ष पनि मकैमा फौजी किराको समस्या देखिएको छ’, उनले भने, ‘फौजी किराले मकैको गुबो खाएर नष्ट बनाएको अवस्था छ । मकैमा किराको प्रकोप बढेपछि चिन्ता थपिएको छ । विशेष गरेर तल्लो भेगमा लगाइएको मकैमा किराको समस्या बढी देखिएको छ ।

जिल्लाको भोजपुर नगरपालिकाको टक्सार, बोखिम, दाँवा, पौवादुङमा गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, अरुण गाउँपालिकालगायत तल्लो क्षेत्रमा फौजी किराको समस्या देखिएको किसानको भनाइ छ । किराले गुबो नै खान थालेपछि मुख्य खाद्यान्नका रुपमा लगाइएको मकैको उत्पादन घट्ने अवस्था रहेका किसानको भनाइ छ ।

बेँसी तथा तल्लो भेगमा किसानले लगाएको मकैबालीमा फौजी किराको समस्या देखिएकोे कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । किरा नियन्त्रयका लागि किसानलाई आवश्यक प्राविधिक सहयोग गरिरहेको केन्द्रको भनाइ छ ।

हार्वर्डमा विदेशी विद्यार्थी भर्ना रोक्ने ट्रम्प प्रशासनको निर्णयमा अदालतको रोक

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना कार्यक्रम र व्यवस्थापन प्रणाली खारेजका लागि गरेको आदेश कार्यान्वयन गर्न संघीय अदालतले आदेश दिएको छ ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको निर्णय तत्काल कार्यान्वयन नगर्न संघीय अदालतले रोक लगाएको हो । ट्रम्प प्रशासनले बिहीबार हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीको भर्ना कार्यक्रम नै खारेज गर्ने निर्णय गरेको थियो ।

अदालतको आदेशसँगै तत्कालका लागि विदेशी विद्यार्थी भर्ना कार्यक्रम र व्यवस्थापन प्रणाली नरोकिने भएको छ । हार्वर्डले ट्रम्प प्रशासनको कदम गैरकानुनी र स्वतन्त्र शिक्षामा हस्तक्षेप भएको भन्दै शुक्रबार नै मुद्दा दायर गरेको थियो ।

हार्वर्डका अध्यक्ष एलन गार्बरले सरकारको निर्णय अवैध, अनुचित र शिक्षाको स्वतन्त्रतामाथिको प्रतिशोधात्मक कारबाही भएको बताएका छन् ।

पुष्प खड्का जोडिए ‘महाराजधिराज’मा

काठमाडौं । नेपाली चलचित्र ‘महाराजधिराज’मा अभिनेता पुष्प खड्का पनि जोडिएका छन् । ‘महाराजधिराज’ टिमले पुष्पलाई अनुबन्ध गरेको हो ।

अहिलेसम्म सार्वजनिक स्टारकास्टलाई हेर्दा ‘महाराजधिराज’ फरक स्वादको कथावस्तुमा आधारित हुने संकेत देखिएको छ, जहाँ पुराना र नयाँ पुस्ताका कलाकारहरूको सशक्त मिश्रण देख्न सकिनेछ ।

अभिनेता पुष्प ‘महाराजधिराज’मा आफ्नो भूमिका विशेष र महत्वपूर्ण रहेको बताउँदै निकै उत्साहित देखिएका छन् । उनले यस सिनेमाले आफूलाई नयाँ उचाइ दिने विश्वास व्यक्त गरेका छन् ।

‘महाराजधिराज’मा आर्यन सिक्देल, रमेश उप्रेती र पल शाह यसअघि नै अनुबन्ध भइसकेका छन् । नायिकामा वर्षा राउत र वर्षा शिवाकोटी फाइनल भएका छन् ।

‘महाराजधिराज’लाई परिच्छेद सेनले निर्देशन गर्दैछन् । ‘महाराजधिराज’को पोस्टर यसअघि नै रिलिज भइसकेको छ । यो चलचित्रमा निर्देशक सेन स्वयंको लेखन रहेको छ ।

उनले यसअघि निर्देशन गरेको सिनेमा ‘प्रेमगञ्ज’ समीक्षात्मक रुपमा अब्बल ठहरिएको थियो । छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज विष्ट हुन् । उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए, जसले राष्ट्रिय अवार्ड समेत जितेको थियो ।

२९ लाख नगदसहित काठमाडौंबाट एकजना पक्राउ

काठमाडौं । प्रहरीले सुन जस्तो देखिने धातु, चाँदी र झन्डै २९ लाख नगदसहित प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ ।

प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले शनिबार कोटेश्वर सेती ओपी मार्गबाट श्रीराम ज्वेलर्सका संचालक योगेश श्रीमन्त मगरलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए । उनी भारत महाराष्ट्र सोलापुरका हुन् ।

प्रहरीले उनको साथबाट ७३४.२९ ग्राम सुन जस्तो देखिने धातु र साढे नौ किलो चाँदी जस्तो देखिने धातु बरामद गरेको हो । त्यस्तै उनको साथबाट प्रहरीले २८ लाख ९३ हजार रूपैयाँ नगदसमेत बरामद गरेको छ।

डोल्पामा यार्सा संकलन गर्ने समूहबीच झडप, दुई राउण्ड हवाइ फायर

काठमाडौं । शनिबार दिउँसो डोल्पाको ठुली भेरी नगरपालिका– १ ठाला लेकमा यार्सागुम्बा संकलन गर्न गएका २ समूहबीच झडप भएको छ ।

पूर्वी रुकुम जिल्ला मैकोट गाउंपालिका र डोल्पाको काईके गाउँपालिका तथा ठुलीभेरी नगरपालिकाका स्थानीयबीच् यार्सागुम्बा संकलनमा सीमा ईलाकाको विषयमा विवाद भई अन्दाजी ६/७ सय जनाको संख्यामा रहेका उनीहरुबीच आपसी झडप भएको हो ।

स्थितिलाई नियन्त्रणमा लिनको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको सुरक्षाफौजले एसएलआर बाट २ राउण्ड हवाईफायर गरेको रअहिले त्यहाँको अवस्था सामान्य रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

गृह मन्त्रालयले भन्यो-भिजिट भिसा प्रकरणको सत्यतथ्य बाहिर ल्याउँछौं

काठमाडौं । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएको भनिएको भिजिट भिसामा अवैध रकम असुली प्रकरणमा गृहमन्त्री रमेश लेखकको कुनै संलग्नता नरहेको बताएको छ ।

शनिबार विज्ञप्ति जारी गरी मन्त्रालयले भिजिट भिसासम्बन्धी प्रकरणलाई लिएर केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत मन्त्रालयको संलग्नता रहेको भनी आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । मन्त्रालयले ती समाचारहरू तथ्यहीन, भ्रमपूर्ण र आधारहीन भएको उल्लेख गरेको छ ।

मन्त्रालयले सत्यतथ्यमा आधारित समाचार प्रकाशन गर्न पनि सञ्चारमाध्यमलाई आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘शान्ति, सुरक्षा, अमनचयन तथा सुशासन कायम गर्न गृह प्रशासन निरन्तर क्रियाशील छ। मन्त्रालय सबै प्रकारका अनियमितता तथा आपराधिक घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आएको छ।’

मन्त्रालयले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयसँग सम्बन्धित घटनाको अनुसन्धान गम्भीर रूपमा भइरहेको जनाएको छ । उसले सत्यतथ्य बाहिर आउने क्रम जारी रहेको पनि जानकारी दिएको छ। मन्त्रालयले अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानमा पूर्ण सहयोग रहने प्रतिबद्धता पनि जनाएको छ।

देशमा केही भएन भनेर भ्रम छर्ने कुरा फेसन जस्तो भयोः उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नकारात्मक कुरालाई मात्रै बढी प्रचार गरेर प्राप्त उपलब्धिलाई नजरअन्दाज गर्ने प्रवृत्ति बढेको बताएका छन् ।

शनिबार नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ काठमाडौँ महानगर समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अहिले प्राप्त उपलब्धि धेरैको बलिदान र संघर्षबाट प्राप्त भएको भन्दै उनले देशमा केही भएन भनेर भ्रम छर्ने कुरा फेसन जस्तो भएको सिंहले बताए ।

‘अहिलेको समय नेगेटिभ कुरालाई हाइलाइट गर्ने, प्राप्त उपलब्धिलाई केही होइन यो, प्राप्त गरेको कुरा केही होइन भन्ने । प्राप्त गरेको कुरा केही होइन भने के नयाँ प्राप्ति गर्न यो आवाज उठिरहेको छ त ? यतातिर पनि हाम्रो ध्यान जानुपर्छ । लामो समयको त्याग तपस्या र बलिदानले अहिलेको प्रणाली ल्याएका छौँ,’ उपप्रधानमन्त्री सिंहले भने ।

अहिले प्राप्त भएको अधिकारलाई सुरक्षित गरेर संस्थागत गर्दै अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।

ठूलो जिम्मेवारी माओवादीको काँधमा आउँदैछः प्रचण्ड

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा फेरि प्रचण्डको काँधमा नयाँ क्रान्तिको अभिभारा आएको बताएका छन् ।

‘जनतासँग माओवादी–मध्यपहाडी (पुष्पलाल) लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत कास्की रानीपौवामा शनिबार आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले फेरि प्रचण्डको काँधमा नयाँ क्रान्तिको अभिभारा दिन नेपाली जनता तयार भएको बताएका हुन् ।

उनले देश फेरि माओवादीमय भएको दाबीसमेत गरे । उनले भने, ‘मैले ०६४ जस्तै देश माओवादीमय हुने र प्रचण्डमयको अवस्था देखिरहेको छु । निकै ठूलो जिम्मेवारी माओवादीको काँधमा वा प्रचण्डको काँधमा नयाँ क्रान्ति एवम अभिभारा दिन नेपाली जनता तयार भएको महसुस गरेको छु ।’

उनले पार्टीले सञ्चालन गरेको ‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जागरण अभियान’ राष्ट्रिय एकताको अभियान बन्न पुगेको दाबी गरे ।

सरकारद्वारा १० महिनामा चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवा ब्याज भुक्तानी

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा करिब चार खर्ब बराबर सार्वजनिक ऋण उठाउँदा तीन खर्ब आठ अर्ब हाराहारी साँवा ब्याज भुक्तानी गरेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको वैशाख मसान्तसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको सुरुमा कूल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा पछिल्लो १० महिनामा रू एक खर्ब ८८ अर्ब ३० करोड थप वृद्धि भई कूल ऋण दायित्व २६ खर्ब २२ अर्ब ४० करोड पुगेको छ ।

जुन कूल गार्हस्थ्य उत्पादनको ४२.९४ प्रतिशत हुन आउँछ । कूल सार्वजनिक ऋणमा वैशाख मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५१.६९ प्रतिशत अर्थात् रू १३ खर्ब ५५ अर्ब ६९ करोड रहेको छ ।

आन्तरिक ऋणको हिस्सा ४८.३१ प्रतिशत अर्थात् १२ खर्ब ६६ अर्ब ७० करोड रहेको छ । वैशाख महिनामा सार्वजनिक ऋण प्राप्तिभन्दा साँवा भुक्तानी बढी गरेकाले अघिल्लो महिनाको तुलनामा कूल सार्वजनिक ऋण दायित्व घट्न गएको कार्यालयले जनाएको छ । गत चैत मसान्तसम्ममा कूल सार्वजनिक ऋण रू २६ खर्ब ६७ अर्ब २६ करोड बराबर थियो ।

सरकारको वार्षिक लक्ष्यअनुसार आन्तरिक ऋण उठाउन प्रगति देखिए पनि बाह्य ऋण भने वार्षिक लक्ष्यको तुलनामा कम मात्र उठेको छ ।

‘चालु आर्थिक वर्षमा जम्मा रू पाँच खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकामा वैशाख मसान्तसम्ममा तीन खर्ब ९० अर्ब ८३ करोड ऋण प्राप्ति भएको छ । वार्षिक लक्ष्यको तुलनामा कूल ऋण प्राप्ति ७१.४५ प्रतिशत रहेको छ”, प्रतिवेदनमा भनिएको छ, ‘जसमध्ये आन्तरिक ऋण प्राप्तिको प्रगति ९१.२५ र बाह्य ऋण प्राप्तिको प्रगति ४१.३३ प्रतिशत रहेको छ । कूल सार्वजनिक ऋण प्राप्तिमध्ये आन्तरिक ऋण ७७.०५ र बाह्य ऋण २२.९५ प्रतिशत रहेको छ ।’

चालु आर्थिक वर्षका लागि सरकारले तीन खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेकामा हालसम्म रू तीन खर्ब एक अर्ब १४ करोड उठाएको छ भने रू २८ अर्ब ८५ करोड आन्तरिक ऋण उठाउन बाँकी छ ।
त्यसैगरी यस वर्ष रू दुई खर्ब १७ अर्ब बाह्य ऋण उठाउने सरकारी लक्ष्य रहेकामा हालसम्म रू ८९ अर्ब ६८ करोड उठिसकेको छ भने रू एक खर्ब २७ अर्ब ३१ करोड उठ्न बाँकी छ ।

सरकारले यस वर्ष सार्वजनिक ऋणको साँवाब्याज भुक्तानीका लागि रू चार खर्ब दुई अर्ब ८५ करोड बजेट छुट्याएको थियो । जसमध्ये गत वैशाख मसान्तसम्ममा रू तीन खर्ब आठ अर्ब १४ करोड साँवाब्याज भुक्तानी भएको छ । यो वार्षिक बजेट विनियोजनको आधारमा ७६.४९ प्रतिशत हो । कूल गार्हस्थ्य उत्पादनका आधारमा वैशाख मसान्तसम्ममा कूल ऋण सेवा खर्च पाँच दशमलव ०५ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

अमेरिकाको सान डिएगोमा विमान दुर्घटना, पाइलटसहित ६ जनाको मृत्यु

सान डिएगो । अमेरिकाको क्यालिफोर्निया राज्यको सान डिएगो नगरमा एक सानो निजी विमान आवासीय क्षेत्रमा खस्दा पाइलटसहित विमानमा सवार सबै ६ जनाको मृत्यु भएको छ ।

अमेरिकी राष्ट्रिय यातायात सुरक्षा निकायका अनुसार ‘सेसना ५५० सिटेसन’ नामक सो विमान बिहीबार बिहान ३ः४७ बजे विद्युत्‌को तारमा ठोक्किएर सिधै आवासीय क्षेत्रमा खसेको थियो । विमानमा आगो लागेपछि आसपासका थुप्रै घरहरूमा क्षति पुगेको बताइएको छ ।

उक्त विमान चर्चित सङ्गीत व्यवसायी डेभ शापिरोको स्वामित्वमा रहेको थियो । दुर्घटनामा उनका साथै अन्य पाँच जनाको ज्यान गएको छ ।

सान डिएगोको मर्फी क्यान्यन क्षेत्रका कम्तीमा १० घरमा विमानका भागहरू खस्दा सामान्य क्षति पुगेको जनाइएको छ । तर, जमिनमा रहेका मानिसहरूमा गम्भीर चोटपटक नपरेको जानकारी प्राप्त भएको छ ।

सङ्गीत संस्था साउन्ड ट्यालेन्ट समूहले एक वक्तव्य जारी गर्दै भन्यो, ‘हामी हाम्रो सहसंस्थापक, प्रिय सहकर्मी र साथीहरूको असामयिक निधनबाट अत्यन्त मर्माहत भएका छौं । यो कठिन घडीमा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।’

दुर्घटनाको कारण अहिलेसम्म खुल्न नसकेको एनटीएसबीले जनाएको छ । सो समयमा विमानस्थलमा अवतरण मार्गका बत्ती र मौसम मापन यन्त्रहरू काम नगरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

विमानका चालकले आपतकालीन सन्देश पनि नपठाएको जनाइएको छ । सुरक्षा निकायले प्रारम्भिक अनुसन्धानको प्रतिवेदन आउन केही सातासम्म लाग्ने जानकारी गराएको छ ।

संघीयताबारे छलफल गर्न राष्ट्रियसभा सदस्यहरु आआफ्नो निर्वाचन क्षेत्रमा

काठमाडौं ।  यही जेठ ११ र १२ गते सातवटै प्रदेशमा आयोजना हुने ‘संघीयता सबलीकरणमा राष्ट्रियसभाको जिम्मेवारी, प्रदेश र स्थानीय तहसँग समन्वय र साझेदारी’ विषयमा आयोजना हुने छलफलमा भाग लिन राष्ट्रियसभा सदस्यहरु आआफ्ना प्रदेशतर्फ प्रस्थान गरेका थिए।

छलफलमा संघीयता कार्यान्वयन, वित्तीय संघीयता, सार्वजनिक सेवा र विकासका बारेमा विचारविमर्श हुने संसद् सचिवालयले जनाएको छ।

कोशी प्रदेशमा हुने छलफलको संयोजन कृष्णप्रसाद सिटौला, मधेसमा मोहम्मद खालिद र बागमती प्रदेशमा गंगाकुमारी बेलबासेले गर्नेछन्।

यसैगरी, गण्डकी प्रदेशका लागि कमलादेवी पन्त, लुम्बिनीका लागि गोपाल भट्टराई, कर्णालीमा मायाप्रसाद शर्मा र सुदूरपश्चिम प्रदेशका लागि मदनकुमारी शाहलाई संयोजकको जिम्मेवारी तोकिएको सचिवालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ। सम्बन्धित प्रदेशबाट निर्वाचित राष्ट्रियसभाका सबै सदस्य छलफमा सहभागी हुनेछन्।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल बागमती र उपाध्यक्ष विमला घिमिरे लुम्बिनी प्रदेशको छलफल तथा मनोनित सदस्य अञ्जान शाक्य कर्णाली प्रदेशको कार्यक्रममा सहभागी हुने जनाइएको छ।

भेरी र नारायणी नदीमा बेपत्ताको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

कर्णाली । बिहीबार सुर्खेतको गुर्भाकोट नगरपालिका –१० भेरी नदीमा बेपत्ता प्रेमबहादुर राना र शुक्रबार साँझ पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका –९ थम्सीस्थित नारायणी नदीमा बेपत्ता भएका यमलाल दराईको खोजी कार्यका लागि सशस्त्र प्रहरी बलको गोताखोर परिचालन गरिएको छ ।

४४ वर्षीय रानाको खोजी कार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वेरी बाहिनी मुख्यालय सुर्खेतबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अमर बस्नेतको कमाण्डमा ४ जना गोताखोर र सुरक्षा बेस घुमखरेबाट प्रहरी निरीक्षकको कमाण्डमा १३ जनाको टोली शनिबार बिहानबाट खोजी कार्यमा परिचालित छ ।

यस्तै नारायणीमा बेपत्ता ४० वर्षीय दराईको खोजीको लागि शनिबार बिहान सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवनबाट ४ जना गोताखोर सहित ९ जनाको टोली खटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । दराइ माछा मार्ने क्रममा नारायणीमा बेपत्ता भएको बुझिएको छ ।

जुन दिन मेरा हातले कुनै गलत काम हुन्छ, त्यो दिनदेखि म राजनीतिमा देखा पर्दिनः गृहमन्त्री लेखक

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले भिजिट भिसाको सम्बन्धमा आफूमाथि लागेको आरोपकाबारेमा बोल्ने बताएका छन् । शनिबार धनुषास्थित पार्टी कार्यालयमा कार्यकर्तासँगको छलफलका क्रममा गृहमन्त्री लेखकले आफूमाथि उठेका प्रश्नकाबारेमा छिट्टै स्पष्ट पार्ने बताएका हुन् ।

उनले यस विषयमा पार्टीका साथीहरूलाई चिन्ता नगर्न आग्रह गरे । उनले भने, ‘जीवनभरि राजनीति गर्दा पार्टीका सार्थीहरूको मन सानो हुने टाउको निहुरिने काम गर्दैनँ। जुन दिन मेरा हातले कुनै गलत काम हुन्छ। त्यो दिनदेखि म राजनीतिकमा देखा पर्दिनँ । केही दिनदेखि भिजिट भिसासँग जोडेर मेरो बारेमा समाजिक संजालमा लेख्ने काम भइरहेको छ। दुई/तीन दिन किन चुप लागेर बसेका थिएँ भने यो कहाँबाट, कसरी, किन भइरहेछ भने खोजीराखे थिएँ। यस विषयमा मैले धेरै कुरा थाहा पाइसकेका छ ।’

गृहमन्त्रीले यसबारेमा मन्त्रालयले विज्ञप्ति निकाल्ने बताए ।

किएभमा आक्रमणबीच रूस–युक्रेन कैदी आदान–प्रदान

किएभ । युक्रेनको राजधानी किएभमा शनिबार भएको ड्रोन र मिसाइल आक्रमणमा कम्तीमा आठ जना घाइते भएका छन् । उक्त आक्रमण रूस र युक्रेनबीच कैदीहरूको आदान–प्रदान भइरहेको बेला भएको अधिकारीहरूले जनाएका छन् ।

किएभको नागरिक तथा सैन्य प्रशासनका प्रमुख तिमुर टाकाचेन्कोले बताएअनुसार आक्रमणले शहरका विभिन्न क्षेत्रमा आगलागी गराएको र संरचनात्मक क्षति र्पुयाएको छ । शहरका मेयर भिटाली क्लिट्स्कोका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ र उनीहरूलाई अस्पतालमा भर्ना गरिएको छ ।

यसैबीच, रूसी सेनाले युक्रेनले मंगलबारदेखि हालसम्म ७८८ ड्रोन तथा मिसाइल प्रहार गरेको र तीमध्ये ७७६ वटा आफ्नो वायु सुरक्षा प्रणालीले खसालेको दाबी गरेको छ ।

गत हप्ताको इस्तानबुल वार्तामा भएको सहमतिअनुसार रूस र युक्रेनले कैदीहरूको आदान–प्रदानको पहिलो चरण केही घण्टाअघि सम्पन्न गरेका थिए । दुवै पक्षले ३९० जना कैदीहरू फर्काएका छन् र कुल एक हजार कैदी आदान–प्रदान गर्ने अपेक्षा गरिएको छ ।

रूसले युक्रेनलाई तीन दिनभित्र शान्ति सम्झौताको सर्तहरू प्रस्तुत गर्ने तयारी गरिरहेको समेत जनाएको छ ।

युक्रेनसँगको शान्ति सम्झौताको मस्यौदा तयार गर्दै रूस

मास्को ।  रूसी विदेशमन्त्री सेर्गेई लावरोभले मस्कोले युक्रेनसँग दीर्घकालीन शान्ति सम्झौताका लागि आवश्यक सर्तहरू समावेश भएको दस्तावेजको मस्यौदा तयार गरिरहेको जानकारी दिएका छन्। उनका अनुसार यो मस्यौदा कैदीहरूको आदान–प्रदान प्रक्रिया सम्पन्न भएपछि प्रस्तुत गरिनेछ।

रूसी विदेश मन्त्रालयको वेबसाइटमा प्रकाशित विज्ञप्तिमा विदेशमन्त्री लावरोभले रूस किभसँग तीन वर्षभन्दा बढी समयदेखि चलिरहेको युद्धको शान्तिपूर्ण समाधानमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

उनले पछिल्लो समयमा युक्रेनले गरेको निरन्तर ड्रोन आक्रमणका कारण रूसको हवाई यातायात प्रभावित भएको पनि जनाए।

लावरोभले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा भएका शान्ति प्रयासहरूलाई युरोपेली मुलुकहरूले असफल बनाउन युक्रेनलाई उक्साएको आरोप लगाउँदै रूस सधैं वार्ताका लागि खुला रहेको र शान्तिपूर्ण समाधानमा पूर्ण रूपमा समर्पित रहेको बताए।

हाल सम्झौताको दोस्रो चरणमा काम भइरहेको जानकारी दिँदै लावरोभले मस्यौदा विश्वसनीय र दीर्घकालीन शान्तिका लागि आवश्यक सर्तहरूको रूपरेखा भएको उल्लेख गरे। कैदीहरूको आदानप्रदान पूरा भएपछि रूसले मस्यौदा युक्रेनमा पठाई थप छलफलका लागि तयार रहेको उनले स्पष्ट पारे।

मुगुको विकट गाउँ पुलुमा ‘हेलिप्याड’ निर्माण

मुगु । मुगुको   विकट क्षेत्र मानिने मुगूम कार्मारोङ्ग गाउँपालिकाको केन्द्र पुलुमा सेनाले हेलिप्याड निर्माण गरेको छ ।

सो हेलिप्याड निर्माण सम्पन्न गरी सेनाले गत शुक्रबार गाउँपालिकालाई हस्तान्तरण गरेको छ । उत्तर पश्चिम पृतनाका पृतनापति उपरथी अनुपजङ्ग थापाले गाउँपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामालाई हेलिप्याड हस्तान्तरण गरेका हुन् ।

गाउँपालिका अध्यक्ष लामाले सेनाको प्रशंसा गरे । उनले भने, “मुगूमका जनताले विपद्मा उद्धार तथा राहत समयमा पाएका थिएनन्, सुत्केरी र बिरामीले समयमै उपचार नपाउँदा अकालमा ज्यान गुमाउनुपरेको थियो । पैसा भएर पनि समयमै सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न नपाउँदा ज्यान गुमाउनुपरेको थियो अब मापदण्ड अनुसारको हेलिप्याड बनेकाले आवश्यक परेको बेला सक्नेले हेलिकप्टर सेवा लिने छन् ।”

कार्मारोङ्गका पाटनमा बहुमुल्य जुडिबुटी यार्सागुम्बा पाइने भएकाले जिल्लाभित्र र बाहिरका हजाराैं यार्सा टिप्न यहाँ आउँछन् । उच्च हिमाली भुभाग, मौसममा फेरवदल भइरहने, अक्सिजनको कमी, अत्यधिक चिसोका कारण बर्सेन दजनौँ यार्सा सङ्कलक बिरामी हुने र समयमा उपचार नपाउँदा मृत्य हुने गरेकाले हेलिप्याड निर्माणले उद्धारमा सहयोग पुग्ने हनुमान ध्वज गुल्मका गुल्मपति खिमबहादुर अधिकारीले बताए ।

हेलिप्याड रु आठ लाख ४४ हजार १७३ रुपैयाँ ६० पैसामा निर्माण गरिएको हो ।

जुम्लाका दुई स्थानीय तह पूर्णखोप सुनिश्चितता घोषित

जुम्ला । जुम्लाका दुई स्थानीय तह पूर्ण खोप सुनिश्चितता घोषणा भएका छन् । जिल्लाका आठ वटा स्थानीय तहमध्ये कनकासुन्दरी र पातारासी गाउँपालिकालाई शुक्रबार पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।

गाउँपालिकाभित्रका आठवटै वडाका १५ महिना मुनिका २०३ बालबालिकाले नियमित खोप लगाइरहेको र १६ देखि ५९ महिनाभित्रका ५८८ बालबालिकाले पूर्णखोप प्राप्त गरेका छन् ।

चालु आर्थिक वर्षमा हालसम्म सबैले पूर्ण खोप पाएको र आगामी दिनमा दिगोपना कायम राख्ने प्रतिबद्धता जनाउँदै कनकासुन्दरीलाई पूर्णखोप सुनिश्चित दिगोपना गाउँपालिका घोषणा गरिएको सो गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जङ्गलाल बुढाले जानकारी दिए ।

पालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष दामोदरप्रसाद आचार्यले बताए । राष्ट्रिय खोप तालिकाअनुसार सम्पूर्ण खोप प्राप्त गरेको सुनिश्चित भएपछि पातारासी गाउँपालिकालाई घोषणा गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख रतन बुढ्थापाको भनाइ छ ।

पातारासीका पाँच वर्ष मुनिका ५२७ बालबालिका छन् । जसमा ०–१५ महिनासम्म २१९ र १६ देखि ५९ महिनासम्मका जम्मा ३०८ बालबालिकाले पूरा खोप पाइसकेको गाउँपालिकाले जनाएको छ ।

खोप निर्देशिकाअनुसार आवश्यक प्रक्रिया पूरा गरेर गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना गाउँपालिका घोषणा गरिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख प्रेमबहादुर सोमैले बताए । बाँकी स्थानीय तह पनि पूर्णखोप सुनिश्चितता घोषणामा जुटेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ ।

पूर्णखोप सुनिश्चितता हुन बालबालिकाले पोलियो, दादुरा, हेपाटाइटिस, जापानीज इन्सेफ्लाइटिस, रुबेला, झाडापखाला, टाइफाइडलगायत रोगको विरुद्धमा पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पूरा गरेको हुनुपर्ने मापदण्ड छ ।

पर्यटनको सम्भावना रहेको ‘चमेरे गुफा’ ओझेलमा

इलाम । पर्यटनको सम्भावना रहेको इलामको माङसेबुङ गाउँपालिका–२ इभाङस्थित चमेरे गुफा ओझेलमा परेको छ । देउमाई खोलाको किनारसँगै पहाडको फेदीमा रहेको चमेरे गुफाको उचित प्रचारप्रसार हुन सकेको छैन ।

पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिएको चमेरे गुफामा पूर्वाधार निर्माण, संरक्षण र प्रवर्द्धन गर्न नसकिएको स्थानीय पृथीमान जवेगूले बताए । स्थानीयले २० वर्षअघि पत्ता लगाएको गुफाको संरक्षण र प्रवर्द्धनका लागि सरकारी निकायको ध्यान नगएको उनको भनाइ छ । यो गुफा जिल्लाकै प्रमुख धार्मिकस्थल गजुरमुखी धामदेखि एक किलोमिटर दुरीमा मात्र अवस्थित छ ।

प्राकृतिक रूपमा सुन्दर र आकर्षक छ, चमेरे गुफा । ‘चमेरे गुफालाई पर्यटकीय गन्तव्य बनाउन यसको संरक्षण र प्रवर्द्धनसँगै प्रचारप्रसार गर्न आवश्यक छ’, जवेगुले भने, ‘त्यसो गर्न सकिएमा पर्यटकको उपस्थिति हुने सम्भावना छ ।’

देवताका पालामा गजुरमुखी देवीलाई भेट्न आउँदा महादेवले सो गुफामा बास बसेको किवदन्ती प्रचलित छ । पछिल्लो समय गुफामा हुलका हुल चमेरा भेटिने भएकाले सो गुफाको नाम चमेरे गुफा राखिएको स्थानीय हिमाकुमारी अधिकारीले बताइन् ।

गुफा फराकिलो छ । गुफाको प्रवेशद्वारदेखि भित्री भागसम्म चट्टानी संरचना देख्न सकिन्छ । खोलाको किनारमा चट्टानले बनेको संरचनाले यो गुफा भूगर्भीय अध्ययनको दृष्टिले रोचक छ । गुफा करिब ४० देखि ५० जना मानिस अट्न सक्ने आकारमा छ ।

तत्कालीन लिम्बूवानका राजाहरूले आफ्ना सेनालाई सेल्टरको रुपमा यस गुफामा राख्ने गरेको बताइन्छ । माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले यस वर्षदेखि पालिकाभित्रका सबै ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको संरक्षण र संवर्द्धनका लागि योजनाबद्ध काम गरिने बताए । ‘यसवर्षदेखि हामी नीति तथा कार्यक्रममा समेटर ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको संरक्षण र संवर्द्धनको योजनाबद्ध रूपमा काम गर्नेछौँ’, अध्यक्ष राईले भने ।

माङसेबुङ–२ का वडाध्यक्ष कृष्णबहादुर बस्नेतले चमेरे गुफाको प्रवर्द्धन गर्न आगामी दिनमा वडाको विशेष ध्यान जाने बताए ।

रास्वपाका नेता न्यौपाने भन्छन् -अब उपसभापति र महामन्त्री पद तत्काल पूर्ति गरौं

काठमाडौं । रष्ट्रिय स्वतन्त्र पार्टीका नेता यज्ञमणि न्यौपानेले अब उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यको पदपूर्ति गर्नुपर्ने बताएका छन् ।

शनिबार सामाजिक संजालमार्फत न्यौपानेले सर्वोच्च अदालतको आदेशले अब पार्टी सभापति रवि लामिछाने बाहिर आउने सम्भावना केही समयको लागि गाह्रो भएकाले पदपूर्ति गर्नुपर्ने बताएका हुन् ।

त्यस्तै उनले शुभेच्छुक संगठन सबै निकायमा अबिलम्ब निर्माण गर्ने र ती शुभेच्छुक संगठनहरु भातृ संगठनको रुपमा नरही स्वायत्त प्रकृतिका रहने, संसदीय दलको नेता चयन गर्ने, सम्पूर्ण विभाग तथा समितिलाई पूर्णता दिने, ७९ सालमा प्रतिनिधिसभाको निर्वाचन लडेका उम्मेदवारहरूलाई प्राथमिकताका साथ उचित प्रतिनिधित्व गराउनुपर्ने उल्लेख गरेका छन् ।

त्यस्तै उनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको माग संसद तथा सरकारमा राख्ने र जनमत संग्रह माग गर्ने जनमत संग्रहका लागि सदन तथा सडकबाट संघर्ष सुरु गर्ने, वैकल्पिक राजनीतिक दलहरू/नयाँ राजनैतिक दल/ वैकल्पिक राजनीतिक सोच भएका सम्पूर्ण शक्तिहरूसँग गोलमेच सम्मेलन गरी साझा एजेन्डा तय गर्ने र जनआन्दोलन भाग ३ को घोषणा गर्ने, विदेशमा रहेका नेपालीलाई राजदूतावास मार्फत मतदान गर्ने अधिकारको लागि सार्वजनिक महत्वको प्रस्ताव संसदमा पेश गर्ने र पास गराउन सडक आन्दोलन गर्ने, सामाजिक सञ्जाल आन्दोलनको समेत घोषणा गर्न पनि प्रस्ताव गरेका छन् ।

त्यस्तै उनले भारत, चीन, अमेरिका, युरोपियन युनियन भित्रका देशहरू लगायतका शक्ति राष्ट्रहरूसँग कुटनैतिक सम्बन्ध कायम गर्न छायाँ राजदूतको रुपमा प्रतिनिधित्व तोकी सम्बन्ध विस्तार गर्नुपर्ने उल्लेख गरेका छन् । न्यौपाने रास्वपामा यसअघि अनुशासन आयोगका कार्यवाहक प्रमुख थिए ।

गृहमन्त्रीले राजीनामा दिनुपर्छः शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिएका छन् ।

शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीलाई राजीनामा दिन सुझाव दिएका हुन् ।

उनले विगतमा पनि केही मन्त्रीहरुले राजीनामा दिएर छानबिनमा सघाएको र मन्त्री लेखकले राजीनामा दिँदा उनकै नैतिकता सघाउ पुग्ने बताए ।

उनले भने, ‘नैतिकताको हिसाब म क्लिन छु, मैले राजीनामा गरेँ। छानबिन समिति बनाउनुस्, गर्नुहोस् तपाईंहरु भने भैहाल्यो नि।’

गृह मन्त्रालयका सहसचिव तीर्थ भट्टराई भिजिट भिसा प्रकरणमा पक्राउ परेपछि यतिबेला गृहमन्त्रीमाथि राजीनामा नैतिक दबाब परेको छ ।

रूस अझै पनि विश्वको प्रमुख हतियार निर्यातकर्ता रहेको पुटिनको दाबी

मस्को । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले एक उच्चस्तरीय बैठकमा सम्बोधन गर्दै रूस हाल पनि विश्वका प्रमुख हतियार निर्यातकर्ता देशहरूमध्ये अग्रस्थानमा कायम रहेको दाबी गरेका छन् । उनले रूसी सैनिक उपकरण र हतियारप्रति अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय माग देखिएको बताए ।

उनले भने, ‘रूसले अझै पनि विश्वको हतियार बजारमा शीर्ष पाँच राष्ट्रको स्थानमा आफूलाई राख्न सफल भएको र धेरै क्षेत्रहरूमा प्रमुख निर्यातकर्ताका रूपमा अग्रसर रहँदै आएको छ।’

यो मन्तव्य राष्ट्रपति पुटिनले सैनिक–प्रविधिक सहकार्यसम्बन्धी बैठकका क्रममा दिएका हुन् ।
टेलिभिजनमार्फत प्रसारित सम्बोधनमा उनले सन् २०२४ मा रूसले प्रायः सबै हतियार निर्यातसम्बन्धी प्रतिबद्धताहरू पूरा गरेको जानकारी दिए । साथै, उनले भने, ‘रूसी सैन्य उत्पादनहरूको माग निकै उच्च रहेको र हाल अर्बौँ डलर बराबरको अर्डर रहेको छ।’

उनले सम्बन्धित सरकारी निकायहरूलाई हतियार निर्यातमा वृद्धि गर्न आवश्यक नीतिगत पहल तथा राज्यीय समर्थन कार्यक्रमहरू अघि बढाउन निर्देशन दिए ।

पुटिनले भने कि रूसी सैनिक उपकरण तथा हातहतियारहरूमा निरन्तर सुधार भइरहेको छ र देशको सैन्य–औद्योगिक क्षेत्रको मुख्य दायित्व भनेको रूसको विशेष सैन्य अभियानलाई आवश्यक सामग्रीको भरपर्दो आपूर्ति गर्नु हो।

उनका अनुसार, रूसी उत्पादनको गुणस्तर र कार्यक्षमताले अन्तर्राष्ट्रिय बजारमा विश्वास जितिरहेको छ, जसका कारण निर्यात विस्तारको सम्भावना अझ बलियो हुँदै गएको छ।

ट्रम्पद्वारा आयातमा भारी करको घोषणा, एप्पल पनि निशानामा

न्युयोर्क । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घबाट आयात हुने सम्पूर्ण वस्तुमा ५० प्रतिशत कर लगाउने र यदि एप्पल कम्पनीले आफ्ना फोनहरू अमेरिकाभित्र उत्पादन नगरेमा ती सामानमा २५ प्रतिशत कर लगाइने चेतावनी दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,’हाम्रो वार्ता युरोपेली सङ्घसँग अघि बढिरहेको छैन । त्यसैले, म आगामी सन् २०२५ देखि युरोपेली सङ्घका सबै वस्तुहरूमा सोझै ५० प्रतिशत कर लगाउने सिफारिस गर्दैछु । तर यदि ती वस्तुहरू अमेरिकामै निर्माण गरिन्छ भने कुनै पनि शुल्क लाग्ने छैन ।’

एप्पल कम्पनीमाथि निशाना

यस घोषणाअघि राष्ट्रपति ट्रम्पले एप्पल कम्पनीप्रति असन्तुष्टि जनाउँदै यदि उक्त कम्पनीले अझै पनि आफ्नो फोन एशियामा उत्पादन गर्न जारी राखेमा २५ प्रतिशत कर लगाइने चेतावनी दिएका छन् ।

यससँगै एप्पल कम्पनी पनि अन्य ठूला अमेरिकी कम्पनीजस्तै राष्ट्रपतिको नीति अन्तर्गत दबाबमा परेको देखिएको छ । ती कम्पनीहरूमा अमेजन, वालमार्टलगायत रहेका छन्, जसले ट्रम्पको शुल्क नीतिका कारण उत्पन्न भएको अनिश्चितता र मूल्यवृद्धिको दबाब भोगिरहेका छन् ।

व्यापार वार्ताप्रति असन्तुष्टि

राष्ट्रपति ट्रम्पले युरोपेली सङ्घसँगको व्यापार वार्ताबाट कुनै सन्तोषजनक प्रगति नभएको बताउँदै त्यसप्रति गहिरो असन्तुष्टि व्यक्त गरेका छन् । युरोपेली पक्षले परस्पर रूपमा सबै वस्तुमा कर हटाउने प्रस्ताव गरे तापनि ट्रम्पले अधिकांश वस्तुमा न्यूनतम १० प्रतिशत शुल्क कायम राख्नुपर्ने अडान लिँदै आएका छन् ।

एपी समाचार संस्थाका अनुसार, राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेखेका केही वाक्यहरूले समेत विश्वको आर्थिक अवस्थालाई प्रभावित पार्ने खालको प्रभाव देखाएको छ । यद्यपि, उहाँका शुल्क नीतिहरूले अहिलेसम्म उनले प्रतिवद्धता गरेको घरेलु उत्पादनको पुनः स्थापनामा अपेक्षित परिणाम दिन सकेका छैनन ।

गाजामा राहत सामग्री लुटिँदा मानवीय संकट गहिरिँदै

गाजा । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा भइरहेको युद्ध अहिले सबैभन्दा पीडादायी र क्रूर अवस्थामा पुगेको बताएका छन् ।

इजरायलले केही समयदेखि गरेको कडा घेराबन्दी केही सहज बनाएपछि राहत सामग्री गाजामा प्रवेश गर्न थालेको थियो । तर राहत लादिएका १५ भन्दा बढी ट्रकहरू बाटोमै लुटिए, जसले अवस्था अझ भयावह बनाएको छ ।

गाजा क्षेत्र लामो समयदेखि युद्धको चपेटामा छ । युद्धका कारण त्यहाँ खाद्यान्न र औषधिको अभाव छ । इजरायलले हमास नामक समूहलाई नष्ट गर्न भन्दै फेरि ठूलो सैन्य कारबाही सुरु गरेको छ ।

शुक्रबार मात्रै इजरायली हवाई आक्रमणमा परी गाजाका विभिन्न भागमा १६ जनाको ज्यान गएको र धेरै घाइते भएको गाजाको नागरिक सुरक्षा विभागले जनाएको छ ।

गुटेरेसले भने, ‘गाजाका मानिसहरू अहिले यस्तो स्थिति झेलिरहेका छन्, जुन सम्भवतः यो युद्धको सबैभन्दा क्रूर अवस्था हो ।’ उनले इजरायललाई राहत सामग्रीको ढुवानी सहज रूपमा प्रवेश गराउन अनुरोध गरेका छन् ।

उनका अनुसार हालसम्म करिब ४ सय ट्रकमध्ये केवल ११५ ट्रक मात्र गाजामा पुग्न सकेका छन् । ‘अहिलेसम्मको राहत भनेको, जताततै आगो लागिरहेको बेलामा एक थोपा पानी हाल्नुजस्तै हो । जब कि गाजालाई ठूलो मात्रामा सहायता चाहिएको छ ।’

विश्व खाद्य कार्यक्रमले गाजाको दक्षिण भागमा राहत बोकेको १५ ट्रक लुटिएको जानकारी दिएका छन् । ती ट्रकहरूले स्थानीय बेकरीमा रोटी पकाउनका लागि खाद्यान्न पुर्‍याउँदै थिए । संस्थाले भोक, निराशा र राहत आउँछ कि आउँदैन भन्ने डरले अहिलेको अवस्था झनै असुरक्षित बनाएको बताएको छ । इजरायललाई राहत छिटो र बढी मात्रामा प्रवेश गराउन आग्रह गरिएको छ ।

इजरायली सेनाले भने गाजामा रहेको हातहतियार गोदाम, सैन्य अड्डा र लुकेर बसेका लडाकु स्थानमा कारबाही गरिएको बताएको छ । सेनाले ७५ भन्दा बढी स्थानमा आकाशबाट बम प्रहार गरिएको जनाएको छ ।

गाजासँग सिमाना जोडिएका इजरायली बस्तीहरूमा पनि रकेट आक्रमणको डरका कारण सावधानी अपनाइएको छ । गाजाको उत्तरमा रहेको अल-आव्दा अस्पतालमा इजरायली ड्रोनबाट गराइएको आक्रमणमा तीन जना स्वास्थ्यकर्मी घाइते भएका छन् । दक्षिण गाजामा धेरै घरहरू भत्किएको र कालो धुवाँ उठिरहेको दृश्य एएफपीका पत्रकारले देखेका छन् ।

यो युद्ध पुनः मार्च ५ गतेबाट सुरु भएको हो, जब इजरायलले हमासमाथि कारबाही दोहोर्‍यायो । त्यसयता गाजामा तीन हजार६७३ जना मारिएका छन् । यो युद्ध सुरु भएको कात्तिकयता गाजामा कुल ५३ हजार ८२२ जनाको ज्यान गइसकेको छ, जसमा धेरैजसो सर्वसाधारण रहेका छन् ।

सुशासनका निम्ति राजनीतिक दल सुध्रिन आवश्यक छः सांसद बराइली(अन्तरवार्ता)

काठमाडौँ । नेकपा एमालेकी नेत्री रुक्मिणी राना बराइलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य पूरा गर्न सबै राजनीतिक दल केन्द्रित हुनुपर्नेमा जोड दिएकी छन् ।

काभ्रेबाट प्रतिनितिसभा सदस्यमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित उहाँले सङ्घीय सरकारलाई अझै बलियो बनाउन संविधान संशोधनको जिम्मेवारी पूरा गर्नुपर्ने आवश्यकता औँल्याइन् । सांसद बराइलीसँग प्रतिनिधिसभाका अनुभव, सङ्घीय संसद्का गतिविधि, संविधान कार्यान्वयन, संशोधन र युवा पलायनलगायत मुलुकको समसामयिक विषयमा राससका समाचारदाता सुशील दर्नालले लिएको अन्तर्वार्ताको सम्पादित अंशः

आजभोलि केमा व्यस्त हुनुहुन्छ, के गर्दै हुनुहुन्छ ?

एउटा राजनीतिज्ञ हुनुका नाताले जनताका काम, माग मुद्दामा केन्द्रित हुनुपर्ने विषय स्वाभाविक छ । जनताका सवालसके आफैँले पूरा गर्ने, नसकिने रहेछ भने पूरा गर्नका लागि पहल गर्ने काम गरिरहेको छु । सांसदको भूमिकामा पनि छु । त्यसैले कानुन निर्माणसँगै जनताका सवाल उठाउँदै आएकी छु । अहिले बजेट अधिवेशन भएकाले सरकारको नीति तथा कार्यक्रम, सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा अवधारणा राख्ने काम भइरहेको छ ।

अहिलेसम्मको तपाईंको प्रतिनिधिसभाको अनुभव कस्तो रह्यो ?

राष्ट्रहितका सबै समस्याका समाधान गर्ने थलो प्रतिनिधिसभा नै हो । प्रदेश र स्थानीय तहको नेतृत्व गर्ने पनि प्रतिनिधि सभाले नै हो । अर्को जनताका सवाललाई सरकारसम्म पुर्याउने पनि संसद् नै हो । तर, मेरो संसद्प्रतिको बुझाइ र काम गराइमा फरक छ । हामी संसद्मा बहुमत र अल्पमतको अभ्यासमा छौँ । सरकारको अस्थिरताका कारण पनि संसद्ले संविधानका आधारमा जति कानुन बनाउनुपर्ने हो, त्यति कानुन निर्माण गर्न सकेको छैन ।

संविधान कार्यान्वयनको अवस्थालाई कसरी हेर्नुभएको छ ?

मेरो बुझाइमा १०० मा ५० प्रतिशत संविधान कार्यान्वयन भएको छ जस्तो लाग्छ । संसद्मा महिलाको सहभागितालगायत केही व्यवस्था कार्यान्वयन भएको छ । महिलाको कतिपय विषय संविधानमा छ, तर व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । संविधानको मौलिक हकमा उल्लेख भएका दलितलगायत उत्पीडित समुदायको सवाल अहिले पनि थाति नै छ ।

संविधान संशोधनको विषयलाई कसरी हेर्नुभएको ?  

संविधान संशोधन हुनुपर्छ । सङ्घीयता कार्यान्वयनकै सवालमा संशोधन गर्नुपर्नेछ । स्थानीय, प्रदेश र सङ्घीय सरकारको अधिकारका सम्बन्धमा संविधान संशोधन गरेर प्रष्ट पार्नुपर्नेछ । अधिकार जति सबै सङ्घमा राखिदिने तर प्रदेशले काम गरेन मात्रै भनेर हुँदैन । प्रदेशलाई अधिकार नदिएकै कारण प्रदेश सरकार प्रभावकारी बन्न सकेको छैन । संविधान कार्यान्वयनका क्रममा देखिएका जटिलतालाई समयानुकूल संशोधन गर्दै लानुपर्छ ।

समग्रमा महिलाको अवस्थालाई तपाईंले कसरी विश्लेषण गर्नुभएको छ ?

समग्रमा हिजो र आजको अवस्था फरक छ । पहिलेको तुलनामा अहिले महिलाले अधिकार पाएको छैन भन्न मिल्दैन । संविधान निर्माण भइसकेपछि महिलाको सहभागितालाई हेर्ने हो भने वडा सदस्यदेखि राष्ट्रपतिसम्म भएको छ । महिला सभामुख, प्रधानन्याधीश, सरकारको मुख्य सचिव, मन्त्री, नगरपालिका प्रमुख हुनुभएको छ । संविधानअनुसार महिलाको संसद्मा ३३ प्रतिशत सहभागिता कार्यान्वयन भएकै विषय हो । तर, यो पर्याप्त भने होइन । मुख्य कार्यकारी पदमा महिलाको सहभागिता हुन सकेको छैन । प्रतिशतको कुरा गर्ने हो भने पुरुषभन्दा महिलाको जनसङ्ख्या धेरै छ । मेरो विचारमा यदि महिलालाई आरक्षण दिने हो भने ५० प्रतिशत दिनुपर्छ ।

जनताको जीवनस्तर र अवस्थामा कत्तिको सुधार भएको पाउनुभएको छ ?

जनताको अवस्थालाई कसरी विश्लेषण गर्ने भन्नेमा फरक पर्छ । व्यवस्थाअनुसार जनताको अवस्थामा क्रमिक सुधार हुँदै आएको छ । विकासका हिसाबले विकास भएको छ । हिजोका दिनमा गाउँमा एक गाग्री पानी लिएर आउँदा चार घण्टा लाग्थ्यो । तर अहिले घरघरमा धारा पुगेको छ । अहिले रोजगारी भने मुख्य विषय बनेको छ । त्यसतर्फ सबै राजनीतिक दलको ध्यान जान जरुरी छ । हामीले ठूलो महल बनाएर मात्रै हुँदैन । जनताको जनजीविकाको प्रश्न पनि छ । उनीहरुलाई कसरी हुन्छ आत्मनिर्भर बनाउनुपर्ने छ । त्यसतर्फ लाग्न जरुरी छ ।

युवा विदेश पलायन रोक्न सरकारले के गर्नुपर्छ होला ?

युवा विदेश पलायन रोक्न सबैभन्दा पहिला शिक्षालाई कामकाजी मात्र होइन, व्यावहारिक बनाउनुपर्छ । मेरै उदाहरण दिँदा छोराले १२ कक्षा सकेको छ । अब उसलाई यहाँ बस्ने मन छैन । अभिभावकले जति खर्च गरेर पठाएको हुन्छ, त्यहीअनुसारको आम्दानी हुने स्रोत छैन । स्वदेशमा रोजगारी बढाउन औद्योगिक क्षेत्रमा सरकारले लगानी बढाउनुपर्छ । बन्द भएका उद्योगलाई फेरि सञ्चालन गर्नेतर्फ सरकारको ध्यान जान जरुरी छ । स्वदेशमै इलम पाउने व्यवस्था भए युवालाई रोक्न सकिन्छ ।

देशमा सुशासन कायम गर्न के गर्न सकिन्छ ?

सबैको चित्त बुझाउन सकिन्छ भन्ने छैन । तर पनि जनतालाई चाहेअनुसार सेवा दिने हो भने सुशासन कायम हुन्छ । जनतालाई सरकार भएको अनुभूति दिनुपर्छ । जनतालाई न्याय हुनेगरी काम गरेको खण्डमा सुशासन हुन्छ । तीनै तहका सरकारले इमान्दारीका साथ आआफ्नो भूमिका निर्वाह गर्ने हो भने सुशासन कायम हुँदै जान्छ । सुशासनका निम्ति राजनीतिक दल सुध्रिन आवश्यक छ ।

देशलाई समृद्ध कसरी गर्न सकिन्छ होला ?

यदि देश समृद्ध बनाउने हो भने समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्न सबै राजनीतिक दलबीच मतैक्यता भएर लाग्नुपर्छ । त्यसका लागि राजनीतिक दलको बीचमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ । देश बनाउन आम्दानीको स्रोतको पहिचान गर्नुपर्छ । सङ्घीय सरकारले पनि बृहत योजना बनाउनुपर्छ । प्रदेशले आफ्नो स्थानीय पर्यटन, कृषि, कला संस्कृतिको व्यवस्थापन गर्नुपर्छ । काभ्रेपलाञ्चोककै कुरा गर्ने हो भने पर्यटनको सम्भावना छ । काभ्रेका चार वटा स्थानीय तहलाई कृषिको ‘हब’ भने पनि हुन्छ । हामीले ती स्थानीय तहलाई कृषि ‘जोन’का रुपमा विकास गर्नसक्ने सम्भावना छ । तर कृषकलाई चाहिने मल, बीउ, भण्डारण, बजार व्यवस्थापन गर्नुपर्नेछ । पर्यटनका हिसाबले नमोबुद्ध, धुलिखेल र नगरकोटको सम्भावना छ । यी ठाउँलाई थप विकास गरेर लैजानुपर्छ । काभ्रेमा कृषिसँगै दुग्धजन्य पदार्थ पनि धेरै उत्पादन हुन्छ । त्यसको उचित व्यवस्थापन जरुरी छ ।

गाउँ र सहर जोड्न ‘गाउँ पर्यटन मार्ट’

गण्डकी । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना एवं गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको सहआयोजनामा शुक्रबारदेखि पोखरामा गाउँ पर्यटन मार्ट सुरु भएको छ ।

गण्डकी प्रदेशभित्र होमस्टे सञ्चालन गरिरहेका २७ होमस्टेसँगै कोशी प्रदेश र बन्दीपुरबाट पर्यटन सम्बद्ध प्रतिनिधि मार्टमा सहभागी छन् । मार्टमा सहभागी होमस्टेका तर्फबाट आआफ्ना होमस्टेमा दिइने सेवा, प्याकेज तथा आकर्षणबारे जानकारी गराइएको छभने गाउँ पर्यटन सम्बद्ध विभिन्न विषयमा छलफल सत्रहरू सञ्चालन भएका छन् ।

होमस्टे मार्टको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले गाउँ पर्यटनको विकास सरकारको प्राथमिकतामा रहेको बताए । त्यसका लागि आवश्यक बजेट विनियोजन गर्ने उनले प्रतिबद्धता जनाए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले होमस्टे केवल गाउँमै सीमित भएर चल्न नसक्ने बताउँदै सहरका मानिस गाउँ पुग्नैपर्नेमा जोड दिए । गाउँ र सहरलाई पर्यटकीय रुपमा जोड्न मार्ट सञ्चालन गरिएको उनको भनाइ छ ।

मार्टका क्रममा सञ्चार, उद्योग व्यवसाय र पर्यटनसँग सम्बन्धित व्यक्तित्वहरूबाट छुट्टाछुट्टै छलफल तथा विचार विमर्श गरिने जनाइएको छ । भिटोफ गण्डकीका अध्यक्ष शोभा सापकोटाले गाउँ पर्यटनको विकाससँगै होमस्टे व्यवसायलाई प्रभावकारी बनाउन मार्ट उपयोगी बन्ने विश्वास व्यक्त गरे ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले हरेक गाउँहरू पर्यटकीय सम्भावनायुक्त हुने बताउँदै गाउँ पर्यटनको विकासका माध्यमबाट तिनीहरूको पर्यटकीय सम्भावना उजागर गर्न सकिने बताए । मार्ट भोलिसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

एकीकृत समाजवादीको ताप्लेजुङ अध्यक्षमा लिम्बू निर्वाचित

फुङ्लिङ(ताप्लेजुङ) । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को ११ औँ जिल्ला अधिवेशनले दुर्गा लिम्बूलाई सर्वसम्मतिमा अध्यक्ष चयन गरेको छ । जिल्ला उपाध्यक्षमा रामचन्द्र पोमु, महिला उपाध्यक्षमा देवीमाया नेपाली, सचिवमा मोहन न्यौपाने चुनिएका छन् ।

शुक्रबार सम्पन्न अधिवेशनले लिम्बूको नेतृत्वमा ४५ सदस्यीय जिल्ला समिति निर्विरोध गठन गरिएको हो । जिल्ला अधिवेशनको उद्घाटन पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले गरेका थिए ।

त्यस अवसरमा केन्द्रीय सचिव बलदेव चौधरी, निर्वाचन आयोगका अध्यक्ष माधव पौडेल, कोशी प्रदेश कमिटी अध्यक्ष सरिता खड्का, विभिन्न पालिका र जिल्ला स्तरका पार्टीका कार्यकर्ता, अन्य दलका प्रतिनिधिको उपस्थिति थियो । सचिव न्यौपानेका अनुसार अधिवेशनमा जिल्लाका ६१ वटै वडाका २५० जना प्रतिनिधि सहभागी थिए ।

जातीय भेदभाव तथा छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको मृत्यु

काठमाडौँ । जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय ऐन, २०६८’ जारी भएको आज १४ वर्ष पूरा भएको छ । तर ऐन कार्यान्वयन पछि पनि जातीय भेदभाव तथा छुवाछूतका घटनामा कमी आउन सकेको छैन ।

यस अवधिमा पानी, चुल्हो छोएको र अन्तजातीय विवाह गरेको निहुँमा १७ जना दलित समुदायका व्यक्तिको हत्या भएको छ भने कैयौँ सामाजिक बहिष्करणमा परेको समता फाउन्डेशनले जनाएको छ ।

फाउन्डेशनका अनुसार ऐन लागू भएपछि राजेश नेपाली (पर्वत), रुपमती कुमारी दास (मोरङ), नवराज विक (जाजरकोट) मनवीरे सुनार (कालीकोट), शिवशङ्कर दास (सप्तरी), सेते दमाईं (दैलेख), झुमा विक (ताप्लेजुङ), सङ्गीता परियार (तनहुँ) र अस्मिता सार्की (झापा) को हत्या भएको छ ।

यसैगरी लक्ष्मी परियार (काभ्रे), अजित मिजार (काभ्रे), श्रेया सुनार (कास्की), मना सार्की (कालीकोट), दितीया रेष्मा रसाइली (धनुषा), माया विक (कैलाली), टीकाराम नेपाली (रुकुम) र अङ्गिरा पासी (रुपन्देही) को पनि हत्या गरिएको फाउण्डेशनका अध्यक्ष डा मदन परियारले जानकारी दिए ।

ऐनबमोजिम कसुर गरेको ठहरेमा अदालतले कसुरदारबाट पीडितलाई दुई लाख रुपैयाँसम्म क्षतिपूर्ति भराइदिनुपर्ने व्यवस्था छ । कसुर गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजारदेखि दुई लाख रुपैयाँ जरिवाना हुने पनि व्यवस्था छ । छुवाछूतका घटनालाई गाउँमै मिलापत्र गर्ने, प्रहरी प्रशासनले ऐनबारे अनविज्ञता प्रकट गर्दै उजुरी दिन आनाकानी गर्ने र यदि उजुरी दर्ता गरेपनि पीडककै पक्षमा फैसला हुने गरेको अध्यक्ष परियार बताउँछन् । अन्तरजातीय विवाह गरेकै कारण थुप्रै जोडी र दलित परिवार विस्थापित भएका छन् ।

विसं २०६८ जेठ १० गते व्यवस्थापिका–संसद्को बैठकले सर्वसम्मतिबाट ‘जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८’ पारित गरेको थियो । ऐन व्यवस्थापिका–संसद्बाट पारित भएलगत्तै दैलेख तोली गाविस–२ धनीगाउँ निवासी सन्तबहादुर दमाईं र सोही स्थान बस्ने राजकुमारी शाहीबीच प्रेम सम्बन्ध कायम भई दुवैको आपसी समझदारीमा प्रेमविवाह गरेको निहँुमा राजकुमारी शाहीको माइतीपक्षले २०६८ साल भदौ १४ गते सन्तबहादुरका बाबु सेतेलाई साङ्घातिक आक्रमण गरेपछि निजको मृत्यु भएको थियो ।