`

नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द हुने

काठमाडौँ। सङ्घीय राजधानीको प्रदेशविन्दु नागढुङ्गा­–नौबिसे सडक आजदेखि हरेक दिन दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ।

नारायणगढ– मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले आजदेखि यही जेठ २५ गतेसम्म बिहान १०ः३० बजेदेखि अपाह्न ३ः०० बजेसम्म उक्त सडक बन्द गरेर काम थालेको जनाएको छ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौँ र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा उक्त निर्णय भएको जानकारी दिए।

आयोजनाले नागढुङ्गा–पिपलामोड खण्ड निर्माणका लागि सडक बन्द गर्नुपरेको बताएको छ। नारायणगढ मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले काठमाडौँबाट जाने सवारीसाधन नागढुङ्गामा र नौबिसेतर्फबाट काठमाडौँ आउने सवारीसाधन खानीखोलामा रोकिने जनाएको छ।

प्रहरीले विकल्पमा धार्के­–सीतापाइला तथा टोखा­–छहरे­त्रिशूली­गल्छी सडक प्रयोग गर्न अनुरोध गरेको छ।

बन्द हुने अवस्थामा पुगेको बालमन्दिर माविले १० वर्षको अवधिमा मारेको फड्को

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलस्थित बालमन्दिर माध्यमिक विद्यालयले पछिल्लो १० वर्षको अवधिमा भौतिक र शैक्षिक हिसाबले फड्को मारेको छ । दशकअघि विद्यार्थी नपाएर बन्द हुने अवस्थामा पुगेको यो सामुदायिक विद्यालयमा हाल निजी विद्यालय छोडेर पढ्न आउन थालेका छन् ।

अङ्ग्रेजी माध्यमबाट पठनपाठन, अभिभावक र समुदायको सुझावअनुसार तयार पारेको कार्ययोजना कार्यान्वयन, विद्यार्थीमैत्री शिक्षण विधिको प्रयोग, तह वृद्धि, विपन्न विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री सहयोग, व्यवस्थित पूर्वाधार र स्रोत साधनको उच्चतम परिचालन गरेपछि विद्यार्थीको आकर्षण बढेको प्रअ सुरेन्द्रप्रसाद केसीले बताए ।

“विसं २०७१ मा कक्षा पाँच उत्तीर्ण भएका १२ जना विद्यार्थी बाहिरिने र नयाँ नथपिने भएपछि विद्यालय बन्द गर्ने बहस चलेको थियो”, उनले भने, “शैक्षिक, भौतिक र आर्थिक कार्ययोजना बनाएर कार्यान्वयन गरेपछि त्यसयताका वर्ष विद्यार्थी सङ्ख्या निरन्तर बढेको छ ।”

विसं २०७२ को शैक्षिक सत्रमा सेवा क्षेत्रमा बस्तीमा व्यवस्थापन समिति र शिक्षकहरूले घरदैलो गरेर ९३ जना विद्यालय भर्ना गराए । विसं २०७३ मा विद्यार्थी सङ्ख्या १३२ पुग्यो । विसं २०७५ मा कक्षा ६, २०७८ मा कक्षा ८ र २०८० मा कक्षा ९ को पठनपाठन सुरु गरेको यस विद्यालयका १० जना विद्यार्थीले २०८१ मा पहिलोपटक माध्यमिक शिक्षा परिक्षा (एसइई)मा सहभागिता जनाएका छन् ।

विसं २०२८ मा हाल म्याग्दी बालगृह रहेको ठाउँमा स्थापना भएको विद्यालय विसं २०५८ मा कालीपुलमा स्थानान्तरण गरिएको थियो । नेपाल बाल सङ्गठनले सञ्चालन गरेको बालगृहमा रहेका अनाथ बालबालिकालाई पठनपाठनको ब्यवस्था मिलाउन त्यसबेला यो विद्यालय स्थापना भएको थियो ।

हाल कक्षा १० मा २२ जनासहित २७२ जना विद्यार्थी रहेको यस विद्यालयमा भर्ना अभियान सकिँदासम्म विद्यार्थी सङ्ख्या करिब ३५० जना पुग्ने प्रअ खत्रीको अनुमान छ । औसत सिकाइ उपलब्धि तीन दशमलव नौ जिपिए छ । यसपाली बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविका एक, पोखराको विन्दबासिनी माविबाट दुई जनासहित छ जना अन्य विद्यालयका विद्यार्थी बालमन्दिरमा भर्ना हुन आएका छन् ।

बाल कक्षापछि एक वर्ष केजी (पूर्वप्राथमिक तह)मा पढाउने र कक्षा १ मा भर्ना गर्ने अभ्यास थालेको यस विद्यालयले अङ्ग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन, विभाग बनाएर शिक्षकहरूलाई जिम्मेवारी बाँडफाँट, अतिरिक्त क्रियाकलाप, खेलकुद गतिविधि सञ्चालन, कक्षाकोठाबाट बाहिर निस्किँदा आउटपासको व्यवस्था, कम्प्युटर, विज्ञान प्रयोगशाला र पुस्तकालयको व्यवस्था गरेको छ ।

कक्षाकोठामा शैक्षिक सामग्रीको प्रदर्शनी र प्रयोग गरेर विद्यार्थीको सहभागितामा पठनपाठन गर्ने विधि अपनाएको छ । प्रार्थनाको समयमा विद्यार्थीले सामान्य ज्ञान, समाचार वाचन र कला प्रस्तुत गर्छन् । हरेक तीन/तीन महिनामा सामूहिक र व्यक्तिगतका साथै शिक्षकले अभिभावकलाई फोन गरेर विद्यार्थीको आनीबानीका बारेमा छलफल गर्छन् ।

विभिन्न सङ्घ संस्था र दातासँग समन्वय गरेर विपन्न विद्यार्थीलाई छात्रावृत्ति, पोसाक, शैक्षिक सामग्रीको व्यवस्थापन गरिएको प्रअ खत्रीले बताए । विद्यालयबाट अतिरिक्त क्रियाकलापका प्रतियोगितामा सहभागी हुने विद्यार्थी र शिक्षकलाई हौसला प्रदान गर्न सम्मानका साथै विद्यार्थीको जन्मदिन मनाउने गरेको छ ।

विद्यालय परिसरको जग्गामा निर्माण भएको भवन तथा टहराबाट मासिक दुई लाख ३२ हजारका दरले हुने आम्दानीबाट निजी स्रोतका चार जना शिक्षक र एक जना सुरक्षा गार्डको तलब व्यवस्थापन गरेको विद्यालयले अभिभावकबाट कुनै पनि शीर्षकमा शुल्क लिने नगरेको व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रराज शर्माले बताए ।

पछिल्लो दश वर्षमा दुई करोड ५० लाखभन्दा बढीको लागतमा चार वटा भवन, कम्प्युटर, विज्ञान प्रयोगशाला, शौचालय, सभाहल, सटरकोठा भवन, खानेपानी, भुइँमा पेभर ब्लक बिछ्याइएको छ ।
छात्रावासका लागि पाँच कोठे भवन निर्माणाधीन छ । यस वर्षदेखि विद्यालयमै खाजा पसल सञ्चालन भएको छ । विद्यालय परिसरको खाल्डो र खेलमैदानमा जमेको पानीमा ढुङ्गा राखेर कक्षाकोठामा छिर्नुपर्ने अवस्थाको विद्यालय अहिले पूर्वाधारका हिसाबले व्यवस्थित र सुविधासम्पन्न बनेको छ ।

नब्बे प्रतिशत विद्यार्थी दलित समुदायका रहेका सहायक प्रअ गीता सुवेदीले बताइन् । विपन्न विद्यार्थीको पठनपाठनमा सघाउन पाँच लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्यसहित अभियान सञ्चालन गरेको छ । पूर्वविद्यार्थी, दाता र सामाजिक सङ्घ संस्था खोजेर विद्यार्थीलाई शैक्षिक सामग्री, पोसाकको व्यवस्था मिलाइएको छ ।

खेलमैदानको अभाव र छात्रावास सञ्चालनका लागि पर्याप्त भवन नहुनु, शैक्षिक सत्रको अन्तिमसम्म पनि भर्ना हुन आउने र केही विद्यार्थीले बीचमा विद्यालय परिवर्तन गर्ने समस्या रहेको छ । रोजगारीको शिलशिलामा बेनीमा आएका अभिभावकहरू कामको खोजीमा अन्यत्र जाँदा बालबालिकाले शैक्षिक सत्रको बीचमा विद्यालय परिवर्तन गर्ने समस्या देखिएको हो ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बालमन्दिर माविमा तह थप गर्न विद्यार्थी सङ्ख्या कम भएका अन्य विद्यालयबाट आधारभूत तहको दरबन्दी भए पनि माध्यमिक तहसम्म पठनपाठन गर्नसक्ने विषयगत शिक्षकको व्यवस्था मिलाएको बताए ।

बेनीमा रहेको बेनी सामुदायिक र प्रकाश माविमा बढ्दो विद्यार्थीको चाप व्यवस्थापन गर्न बालमन्दिर माविलाई तहवृद्धि गरी शैक्षिक र भौतिक क्रियाकलापमा नगरपालिकाले सहयोग गर्दै आएको नगर प्रमुख केसीले बताए । सामुदायिक विद्यालयका लागि बालमन्दिर माविको सुधार र परिवर्तन उदाहरणीय बनेको उनको भनाइ छ ।

दूध उत्पादनमा नमूना बन्दै तनहुँको ‘बेलवास गाउँ’

तनहुँ । तनहुँको व्यास नगरपालिका–१३ स्थित बेलबास क्षेत्रका बासिन्दा दूध उत्पादन सबल बन्दै गएका छन् । यहाँका अधिकांश व्यक्ति पशुपालन र कृषिमा लागेका छन् । जसले गर्दा यस क्षेत्र नमूना बन्नुका साथै मुहारमा परिवर्तन आएको छ ।

आफूले दूध उत्पादन गर्नुका साथै पशुपालन गर्न चाहने किसानलाई उत्प्रेरण जगाउने कार्य गर्दै आएका छन् । यस क्षेत्रका पशुपालन कृषकले अन्य व्यक्तिका लागि पनि परिश्रम गर्न सकिए केही हँुदोरहेछ भन्ने गतिलो सन्देश दिएका छन् । दूध बिक्रीबाट आएको पैसाले लेनदेन व्यवहारका साथै दैनिक घरखर्च चलाउनमा सजिलो भएको पशुपालक किसान बताउँछन् ।

कृषकको खरिद मूल्यअनुरुप अहिले दैनिक एक लाख तीस हजार मूल्यको दूध सङ्कलन हुने गरेको संस्थाका व्यवस्थापक श्रीप्रसाद साँखीले जानकारी दिए । उनले भने, “थोरैमा मासिक रु १५ हजारदेखि दुई लाखसम्म कमाउने दूध व्यवसायी रहेका छन् ।” एउटै गाउँबाट दैनिक एक हजार छ सय लिटर दूध बिक्री हँुदै आएको छ । उत्पादित दूध बेलबास दुग्ध उत्पादक सहकारी संस्थामार्फत दमौली र पोखरामा बिक्री हुने गरेको छ ।

संस्थामा आबद्ध १०० जना शेयर सदस्यमध्ये ६५ जना कृषकले पशुपालनबाट दुग्ध उत्पादन गरी बिक्री गर्दै आएको संस्थाका व्यवस्थापक साँखीले बताए । यहाँ उत्पादित दूधमध्ये दमौलीमा रहेका दुई डिपोबाट ६०० लिटर र बाँकी एक हजार लिटर दूध सुजल डेरी पोखरामा पठाइने गरिएको छ ।

पोखरा नपठाई स्थानीय बजारमा नै खपत गर्न सकिए यहाँका कृषकले अझ बढी फाइदा लिन सक्ने उनी बताउँछन् । दूधका साथै दही, पनिर, नौनी र घ्यू पनि बिक्री गर्ने गरिएको छ । आठ जना कर्मचारीले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् । यस क्षेत्रका अधिकांश मानिसहरु पशुपालन गरी आत्मनिर्भर बन्न सफल भएका छन् ।

सोही वडा निवासी लेखनाथ बास्तोला विगत चार वर्षदेखि व्यावसायिक गाई पाल्दै आएका छन् । गाडी व्यवसायी समेत रहनुभएका बाँस्तोलाले गाडी व्यवसाय छाडेर पुनः गाउँ फर्किएर पशुपालन पेसामा लागेका छन् ।

उनका फार्ममा अहिले २२ वटा गाई छन् । जसमध्ये १५ वटा लैना गाईबाट दैनिक २०० बढी लिटर दूध बिक्री गर्दै आएका छन् । “सुरुमा रु एक करोडको लगानी भएको छ”, उनले भने, “मासिक चार लाखको दूध बिक्री गर्छु, सबै खर्च कटाएर मासिक दुई लाख कमाउँदै आएको छु ।”

त्यसैगरी १३ वर्ष वैदेशिक रोजगारीमा बसेर स्वदेश फर्किएर पशुपालनमा लाग्नुभएका अर्का दुग्ध व्यवसायी मेघनाथ आचार्यले नौ वटा गाईबाट दैनिक ४० लिटर दूध बिक्री गर्दै आएका छन् । खर्च कटाएर मासिक रूपमा राम्रै आम्दानी हुने गरेको कृषक आचार्य बताउँछन्। “आफ्नो चार रोपनी र भाडामा १२ रोपनी जग्गा लिएर घाँसखेती गरेको छु”, उनले भने, “सुरुमा १० लाख लगानी गरी थालिएको व्यवसायबाट परिवार सबै सन्तुष्ट छौँ ।”

व्यावसायिक पशुपालन कृषकलाई राज्यले प्रोत्साहन गर्न दाना, चोकरको महँगी नियन्त्रण र उत्पादनका आधारमा अनुदानलाई प्राथमिकता दिन सके अझै प्रभावकारी हुन सक्ने संस्थाका अध्यक्ष केशवबहादुर रानाले बताए ।

गाउँ नजिकै दुग्ध सङ्कलन केन्द्र रहेकाले कृषकले दैनिक बिहान र बेलुका उत्पादन गरेका दूध बिक्री गर्न समेत सहज भएको छ । नगरपालिकाले उत्पादनका आधारमा कृषकलाई प्रति लिटर दूधमा एक रुपैयाँ अनुदान प्रदान गर्दै आएकोमा वृद्धि गर्ने योजना रहेको वडाध्यक्ष वसन्तबहादुर आलेले बताए । यस क्षेत्रका अधिकांश मानिस पशुपालन र कृषि पेसामा व्यस्त हुने गरेका छन् ।

रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतले थुनामै राख्ने आदेश दिएपछि सचिवालय र केन्द्रीय समिति बैठक बोलाएको छ ।

सर्वोच्चको आदेशलगत्तै गएराति बसेका सचिवालयको आकस्मिक भर्चुअल बैठकले सचिवालय र केन्द्रीय समिति बैठक बोलाएको हो । आज दिउँसो तीन बजे सचिवालय र चार बजे केन्द्रीय समितिको भर्चुअल बैठक बस्ने रास्वपाले जनाएको छ ।

त्यस्तै आइतबार दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक बस्ने रास्वपाले जनाएको छ । शुक्रबार सर्वोच्च अदालतले उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रविलाई पुर्पक्षका लागि थुनामा पठाउन दिएको आदेशलाई सदर गरेको थियो ।

रविलाई थुनामा पठाउने उच्च अदालतको आदेश सर्वोच्चद्वारा सदर

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश सदर गरेको छ ।

शुक्रबार न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी उनकी पत्नी निकिता पौडेलले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो । तुलसीपुर इजलासको आदेशलाई सदर गरेको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए ।

सर्वोच्च अदालतको यो आदेशपछि जिल्ला अदालत रुपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिदासम्म रवि थुनामा हुनेछन् ।

जिल्ला अदालतबाट एक करोड धरौटी भएको मुद्दामा धरौटीको आदेश बदरको माग गर्दै लामिछाने उच्च अदालत गएका थिए । उच्च अदालतबाट थुनाको आदेश भएपछि चैत २२ देखि भैरहवा कारागारमा छन् ।

मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोली घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले थाइल्याण्डसँगको दुईवटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोलीको घोषणा गरेका छन् ।

यो टोलीले थाइल्याण्डको राजधानी बैंककमा हुने खेलहरूमा सहभागिता जनाउनेछ । यी खेलहरू एएफसी महिला एशियन कप छनोटको तयारीका लागि आयोजना गरिएको हो ।

नेपाल र थाइल्याण्डबीच दुई मैत्रीपूर्ण खेलहरू तय भएका छन् । पहिलो खेल मे ३०, २०२५ मा बैंककको बन्द रङ्गशालामा हुनेछ भने दोस्रो खेल जुन २, २०२५ मा आयोजना हुनेछ।

यी खेलहरूले नेपाली टोलीलाई एएफसी महिला एशियन कप छनोटका लागि अभ्यासको रुपमा रहने छ । नेपाल एएफसी महिला एशियन कप छनोटको समूह ‘एफ’ मा रहेको छ।

यो समूहमा नेपालसहित लाओस, श्रीलङ्का र उज्बेकिस्तान छन् । मैत्रीपूर्ण खेलहरूले नेपाललाई छनोट चरणका लागि आवश्यक अनुभव र आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्नेछ । प्रशिक्षक तामाङले अनुभवी र युवा खेलाडीहरूको मिश्रणसहितको २३ सदस्यीय टोली छनोट गरेका छन्।

– गोलकिपरः अञ्जिला तुम्बा पोसुब्बा, अञ्जना रानामगर, उषा नाथ

– डिफेन्डरः गीता राना, निशा थोकर, अमृता जैसी, पूजा राना, विमला विक, मनमाया दमाई, समीक्षा घिमिरे

– मिडफिल्डरः रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, सरस्वती हमाल, विमला चौधरी, अनिता बस्नेत, सविता रानामगर, सुष्मा तामाङ

– फरवार्डः सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, अनिता केसी, चन्द्रा भण्डारी

प्रमुख १० अपराधमा बैंकिङ कसुर पहिलो स्थानमा

काठमाडौँ । प्रमुख १० अपराधमध्ये पहिलो स्थानमा बैंकिङ कसुरका मुद्दा देखिएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रहरीले छुट्याएको मुख्य १० अपराधमा बैंकिङ कसुर पहिलो स्थानमा परेको हो ।

त्यसपछि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र सुविधासम्बन्धी अपराध, आत्महत्या, लागुऔषध, चोरी, जबर्जस्ती करणी, ठगी, सवारी ज्यान, ज्यान मार्ने उद्योग र बहुविवाह छन् ।

बैंकिङ कसुरका मुद्दामात्रै ११ हजार ४८ दर्ता रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिए । उनका अनुसार उक्त विवरण पछिल्लो १० महिनाका हुन् ।

त्यसपछि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र सुविधासम्बन्धी कसुरमा छ हजार ८८४ वटा मुद्दा दर्ता भएका छन् ।

लागुऔषधका चार हजार ४१, चोरीका दुई हजार ९४०, जबर्जस्ती करणीका एक हजार ८२८, ठगीका एक हजार ७५०, सवारी ज्यानसम्बन्धी, एक हजार ५५७, ज्यान मार्ने उद्योगमा ८९४ र बहुबिवाहसम्बन्धी ४५४ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरीले सार्वजनिक गरेको विवरणमा कूल ४६ हजार ८८९ मुद्दा दर्ता भएकामा प्रमुख १० अपराधका मात्रै ७८ दशमलव ५१ प्रतिशत रहेको जनाएको छ ।

प्रवक्ता थापाले उक्त तथ्याङ्क विश्लेषण गर्दा औसतमा दैनिक अपराधसम्बन्धी १५६ वटा मुद्दा दर्ता हुने गरेको बताए । उनले जनचेतना, प्रहरीको सक्रियता तथा प्रहरीप्रतिको विश्वासमा अपराधको उजुरी दिने क्रम बढेको तथ्याङ्कले देखाएको दाबी गरे ।

त्रिभुवन विमानस्थल भन्सारमा दैनिक करोडौंको घोटाला हुने गरेको प्रचण्डको दाबी

बागलुङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारप्रतिको आक्रोशलाई समयमा नै सम्बोधन गर्न नसके ठूलो जनआन्दोलनको स्थिति बन्ने बताएका छन् ।

माओवादी केन्द्रको ‘मध्यपहाडी लोकमार्ग जागर कार्यक्रम’ अन्तर्गत शुक्रबार बागलुङमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले जनतामा दिनप्रतिदिन आवेग र आक्रोश बढ्दै जाँदा पनि सरकार उल्टो बाटोमा हिँडिरहेको बताए ।

उनले सरकारप्रतिको आक्रोशलाई समयमै सम्बोधन गर्न नसके ठूलो जनआन्दोलनको स्थिति बन्ने बताए । दाहालले प्रतिपक्षी दलको हैसियतले सरकारलाई खबरदारीमात्रै गरेको बताए ।

उनले जनतामा आन्दोलनको अपील गरिनसकेको भन्दै सरकार यही रूपमा अघि बढे बर्खापछि ठूलो जनविद्रोह गर्ने चेतावनी दिए । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा प्रतिदिन करोडौंको घोटाला हुने गरेको दाबी गरे ।

उने भने, ‘एयरपोर्ट भन्सारमा प्रतिदिन लाखौं र करोडौंको घोटाला हुने गरेको छ। म प्रधानमन्त्री र नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएको बेलामा हामीले एकपछि अर्को नीतिगत निर्णय गर्दै टाइप गर्दै रहेको कुरा अहिले एकै दिन एउटै रूटबाट पचासौं लाख सरकारको हातमा गइराखेको छ ।’

जगमानलाई ओलीले भने– मेरो कुण्डली हेर्नुहोस् अनि थाहा हुन्छ, राजतन्त्र फर्किँदैन

पोखरा । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको हक अधिकार र मुलुकको स्वाधिताको रक्षा गर्दै सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्रभागमा एमाले पार्टी रहेको बताएका छन्।

राष्ट्रिय युवा संघ नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै भविष्यवाणी नभएकाले त्यस्तो गलत सपना नदेख्न आग्रह गरेका हुन्।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति जगमान गुरुङले पूर्व राजा ज्ञानेन्द्र शाहको कुण्डली हेरेर चाँडै राजतन्त्र फर्कने जस्ता हल्ला फिँजाएको उल्ल्लेख गर्दै उनले भने, ‘पूर्व राजाको कुण्डली मात्रै हेरेर हुँदैन। जनताको कुण्डली हेर्नुपर्छ। ज्योतिषीहरूले मेरो कुण्डली पनि हेरे हुन्छ। राजसिंहासनको कल्पना अब हुन्न। नेपाली जनताले फालिसकेको राजतन्त्र अब फर्कन्न। राजतन्त्रविरुद्ध लडेका हामी यस देशमा छँदैछौँ, प्रतिगमनका त्यस्ता सपना नदेख्न म आग्रह गर्छु।’

उनले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरूसँग सम्झौता नगर्ने भने भए भाग्नका लागि हेलिकप्टरको व्यवस्था गरिदिने भन्दै दिएको अभिव्यक्तिप्रति जवाफ फर्काए।

‘प्रधानमन्त्रीलाई भाग्न हेलिकोप्टरको सुविधा दिने जस्ता उत्ताउलो कुरा पनि गरेका छन्। म भन्न चाहान्छु, कुनै पनि प्रतिगमनको कुचेष्ठालाई धुलो पिठो बनाइन्छ। त्यस्ता प्रयास रोक्ने अग्रभागमा युवा संघ आउनुपर्छ। कुनै पनि समय हामी त्यस्ता प्रयासलाई नियन्त्रण गर्न अगाडि बढ्नुपर्ने हुन्छ। तयारी अवस्थामा रहन म सबैलाई आग्रह गर्छु,’ उनले भने, ‘एमालेमाथि आन्तरिक र बाह्य पक्षहरू तथा विरोधीहरूको केन्द्रीकृत र चौतर्फी आक्रमण गरेका छन्। एमालेले गल्ती गरेको भए अहिले हामी जुन ठाउँमा छौँ। त्यस ठाउँमा आउन दिने थिएनन्। हामी सही नीति, सुशासन र विकासका निम्ति काम गर्ने पार्टी हो। एमालेको पक्षमा बोल्दा झोले भनेर हहतोत्साहित गर्नेहरूको भ्रम र अन्योलमा नपरी आफ्ना कर्तव्य पूरा गर्न म आग्रह गर्दछु।’

अध्यक्ष ओलीले एमालेका योगदानलाई बिर्साउने प्रयास गरिएको टिप्पणी गर्दै एमालेको नेतृत्वमाथि केन्द्रिकृत गरेर अनुचित झुठा लाञ्छना र आरोप लगाउने काम भइरहेकाले त्यस्ता भ्रम फिजाउन खोज्ने प्रयासहरूलाई तोड्न सबै देशभक्त र एमालेहरू एकजुट हुनुपर्नेमा जोड दिए।

 

 

 

जेठ १५ गते राजालाई सिंहासन राख्ने भन्दै छन्, घरमै सिंहासन बनाएर राखे हुन्छ: प्रधानमन्त्री ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले राजालाई घरमै सिंहासन बनाएर राख्न सुझाव दिएका छन् ।

राष्ट्रिय युवा संघ नेपालको १०औं महाधिवेशनको उद्घाटन शत्रमा प्रधानमन्त्री ओलीले देशमा राज सिंहासन गइसकेकाले त्यसको कल्पना नगर्न सुझाव दिए ।

‘यो १५ गते राजालाई सिंहासनमा राख्छन् अरे । सिंहासन बनाएर राख । देशको राज सिंहासन भनेको गयो । गइसक्यो । अब देशको राज सिंहासनको कल्पना गर्ने कस्तो दिमाग होला,’ उनले भने ।

प्रधानमन्त्री ओली राजा ल्याउने भ्रममा नपर्ने आग्रह गरे । कुनै प्रकारका जनविरोधी र देशद्रोही क्रियाकलापको चेष्टा भयो भने त्यसलाई जनताले धुलो चटाउने ओलीले बताए ।

उनले राष्ट्रिय युवा संघको महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गरे । सहमति नभए स्वच्छ रुपमा निर्वाचन गरी नेतृत्व चयन गर्ने उनको आग्रह थियो ।

 

 

 

कुनै पनि प्रतिगमनको कुचेष्टालाई धुलो पिठो बनाइन्छः प्रधानमन्त्री ओली

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले राजसंस्था पुनःस्थापना हुने कुनै सम्भावना नरहेको बताएका छन् । शुक्रबार पोखरामा राष्ट्रिय युवा संघ नेपालको १०औं महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशमा राज सिंहासन गइसकेको बताएका हुन् ।

उनले कुनै प्रकारका जनविरोधी र देशद्रोही क्रियाकलापको चेष्टा भए जनताले प्रतिकार गर्ने बताए । उनले भने, ‘जेठ १५ गते राजालाई सिंहासनमा राख्छन् अरे । सिंहासन बनाएर राख । देशको राज सिंहासन गइसक्यो ।’

प्रधानमन्त्रीले जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै भविष्यवाणी नभएकाले त्यस्तो गलत सपना नदेख्न राजावादीहरुलाई आग्रह गरे । उनले भने, ‘पूर्व राजाको कुण्डली मात्रै हेरेर हुँदैन। जनताको कुण्डली हेर्नुपर्छ। ज्योतिषीहरूले मेरो कुण्डली पनि हेरे हुन्छ।’

उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्रीलाई भाग्न हेलिकोप्टरको सुविधा दिने जस्ता उत्ताउलो अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए ।

उनले भने, ‘प्रधानमन्त्रीलाई भाग्न हेलिकोप्टरको सुविधा दिने जस्ता उत्ताउलो कुरा पनि गरेका छन्। म भन्न चाहन्छु, कुनै पनि प्रतिगमनको कुचेष्ठालाई धुलो पिठो बनाइन्छ।’

प्रधानमन्त्री ओलीले राजनीति कहिल्यै नगरेको र राजनीतिक थाहै नपाएका व्यक्तिको हातमा राजनीति जाँदा मुलुकमा अस्थिरता आएको बताए ।

आत्मानुशासन, करुणा, सहिष्णुता र अहिंसालाई व्यवहारमा उतारौँ : राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बौद्ध धर्मले आत्मानुशासन, करुणा, सहिष्णुता र अहिंसाको अमूल्य शिक्षा प्रदान गर्दै आएकाले यसलाई हामी सबैले व्यवहारमा उतार्न सक्नुपर्ने बताएका छन् ।

देशभित्रका विभिन्न गुम्बाहरूबाट सहभागी भई ४७ औँ लामा देशदर्शन भ्रमण सम्पन्न गरी फर्किएका लामा आनी सहभागी कार्यक्रमलाई शुक्रबार शीतल निवासमा सम्बोधन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् ।

‘मूर्त र अर्मूत बौद्ध सम्पदाको जगेर्ना गर्दै बौद्ध दर्शनको जीवनोपयोगी पक्षलाई व्यवहारमा उतार्न सके मुलुकको हितार्थ उपयोगी मार्ग प्रशस्त हुँदै जानेछ’, उनले भने ।

त्यसको लागि बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिले आगामी दिनमा अझै प्रभावकारी भूमिका निर्वाह गर्ने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरे । यस किसिमको भ्रमणले बौद्ध धर्म, दर्शनको संरक्षण विकास र प्रवर्द्धनमा टेवा पुर्‍याउँदै धार्मिक पर्यटन अभिवृद्धि गर्न सकारात्मक भूमिका निर्वाह गर्ने उनको भनाई थियो ।

‘बौद्ध तीर्थस्थलहरूको भ्रमण कार्यक्रमले मुलुकमा दिगो शान्ति र विकासका लागि टेवा मिल्नेछ भन्ने कुरामा विश्वस्त छु’, राष्ट्रपति पौडेलले भने ।

उनले यस यात्राबाट फर्किएका लामा तथा आनीले देशका विभिन्न बौद्ध गन्तव्यमा पुगेर केवल तीर्थयात्रा मात्र गरेका छैनन्, नेपाली समाजको धार्मिक ऐक्यबद्धता र आत्मिक समृद्धिको सन्देश पनि बोकेर आएको विश्वास व्यक्त गरे । राष्ट्रपति पौडेलले समितिले नेपाली समाजमा बौद्ध शिक्षा, साधना र सांस्कृतिक जागरणका क्षेत्रमा पुर्‍याउँदै आएको योगदान सराहनीय छ भने ।

नेपाललाई बौद्ध र आध्यात्मिक पर्यटनको विश्व केन्द्र बनाउँछौँ : मन्त्री पाण्डे

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाललाई बौद्ध, अध्यात्म र शान्ति पर्यटनको विश्व केन्द्रका रूपमा स्थापित गरिने बताएका छन् ।

नेपाल पर्यटन बोर्डको आयोजना र नेपाल एसोसिएसन फर टुर एन्ड ट्राभल्स (नाटा) को सहकार्यमा गरिएको ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट (बिआइटिएम)’को उद्घाटन गर्दै मन्त्री पाण्डेले नेपाललाई बौद्ध सांस्कृतिक सम्पदाको केन्द्र बनाउँदै आध्यात्मिक पर्यटकलाई आकर्षित गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

‘बुद्धको जन्मभूमि लुम्बिनीबाट सुरु भएको शान्तिको सन्देश विश्वभर फैलाउने समय आएको छ’, मन्त्री पाण्डेले भने । लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति सहरका रूपमा विकास गरिने उनले बताए । ‘बुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति सहरका रूपमा विकास गर्न सरकार प्रतिबद्ध छ’, मन्त्री पाण्डेले भने ।

कपिलवस्तु, रामग्राम, देवदह, तिलौराकोटलगायतका प्रमुख सर्किटमा केन्द्रित हुँदै बौद्ध पर्यटनलाई प्राथमिकता दिइएको उनको भनाइ थियो ।

मन्त्री पाण्डेले बौद्ध पर्यटन प्रवद्र्धनका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र सडक सञ्जालको प्रभावकारी पहुँच स्थापित गर्ने काम भइरहेको बताए ।

युनेस्को प्रतिनिधिसँगको पछिल्लो संवादलाई उल्लेख गर्दै उनले लुम्बिनीलाई जोखिमयुक्त सूचीमा नराख्न आग्रह गरिएको बताए । साथै तिलौराकोटलाई युनेस्कोको सम्भावित सूचीमा समावेश गराउन सरकारले पहल गरिरहेको मन्त्री पाण्डेले उल्लेख गरे ।

मन्त्री पाण्डेले मुलुक शान्ति र समृद्धिको नयाँ युगतर्फको यात्राको रहेकाले विश्व शान्तिको चाहना राख्नेलाई नेपाल भ्रमण गर्नसमेत आग्रह गरे ।

कार्यक्रममा कोशी प्रदेशका उद्योग, पर्यटन तथा वातावरणमन्त्री षडानन्द मण्डलले प्रदेश सरकारले पर्यटकीय पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताए । बिआइटिएम–२०२५ को उद्घाटन समारोहमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले नेपाल पर्यटकीय गन्तव्य मात्र नभएर शान्तिको आध्यात्मिक यात्रास्थल भएको बताए ।

उनले भने, ‘नेपाललाई बौद्ध पर्यटनको केन्द्रका रूपमा विश्वमा पुनः स्थापना गर्न यस प्रकारका अन्तर्राष्ट्रिय कार्यक्रम निर्णायक साबित हुनेछन् । बुद्धको जन्मभूमि नेपाल अब विश्व आध्यात्मिक यात्रा र आत्मअन्वेषणको केन्द्र बन्ने दिशामा अग्रसर छ । हामी नेपाललाई केवल गन्तव्यका रूपमा होइन, आध्यात्मिक यात्राको सुरुआत विन्दुका रूपमा प्रस्तुत गर्दै छौँ ।’

नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले अध्यात्मक पर्यटनमा मार्ट उपयोगी बन्ने विश्वास व्यक्त गरे। नेपाल उद्योग, वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस किसिमका अन्तर्राष्ट्रिय मार्टले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए। कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा लार्केल लामाले नेपाल शान्तिको भूमि भएको विषय संसारलाई बुझाउन लागिरहेको बताए।

नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी समितिको सदस्यमा सर्वसम्मत निर्वाचित

काठमाडौं । नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी सदस्यमा सर्वसम्मत निर्वाचित भएको छ । जेनेभामा जारी संगठनको ७८औँ महासभाका क्रममा नेपाल दक्षिणपूर्वी एसिया क्षेत्रबाट सदस्यमा सर्वसम्मत चयन भएको हो ।

यसले नेपालका स्वास्थ्य सुधारका असल प्रयासहरुको विश्वव्यापी प्रसार अनि विश्वका राम्रा अभ्यासको अनुकरणका लागि अझ ठूलो सम्भावनाको ढोका उघारेको स्वास्थ्यमन्त्री प्रदीप पौडेलले बताएका छन् ।

अब नेपाल तीन वर्ष संगठनको कार्यकारी समितिमा रहनेछ । मन्त्री पौडेलले यसका लागि सबै नेपालीलाई बधाई समेत दिएका छन् ।

नेपालले आगामी वर्ष आप्रवासी श्रमिकको स्वास्थ्यका लागि रोजगारदातालाई जिम्मेवार बनाउन संकल्प प्रस्ताव लैजाने तयारी गरेको मन्त्री पौडेलले बताए ।

उनले यो जिम्मेवारीले नेपाली श्रमिकको स्वास्थ्य रक्षाका मुद्दामा विश्वव्यापी समर्थन जुटाउन योगदान पुग्ने ठानेको उल्लेख गरेका छन् ।

बेलायती प्रसिद्ध पत्रिका ‘द टेलिग्राफ’ अमेरिकी स्वामित्वमा लैजाने सहमति

लन्डन । अमेरिकी लगानी समूह ‘रेडबर्ड क्यापिटल पार्टनर्स’ले प्रसिद्ध बेलायती पत्रिका ‘द टेलिग्राफ’लाई ५० करोड पाउन्ड (करिब ६७ करोड अमेरिकी डलर) मा खरिद गर्ने सम्झौतामा सहमति जनाएको छ ।

रेडबर्डले ‘द टेलिग्राफ मिडिया ग्रुप (टिएमजी)’ सँग १७० वर्ष पुरानो अखबारको प्रिन्ट र अनलाइन सेवा खरिद गर्न सैद्धान्तिक सहमति गरेको हो ।

अघिल्लो कन्जरभेटिभ सरकारको हस्तक्षेपपछि यसले लगभग दुई वर्ष लामो प्रक्रियापछि बिक्रीको लागि निष्कर्ष निकालेको हो ।

‘अमेरिका–इमिरेट्स कन्सोर्टियम रेडबर्ड आईएमआई’ले सन् २०२३ को अन्त्यतिर टिएमजीका लागि सम्झौता गरिसकेको छ ।

अबुधाबीको प्रेस सेन्सरसिपको उच्च हस्तक्षेपका कारण अभिव्यक्ति स्वतन्त्रतामा पर्न सक्ने सम्भावित असरको चिन्ताका बीच अघिल्लो बेलायती सरकारले पत्रिकाको द्रूत पुनविक्री सुरु गरेको थियो ।

रेडबर्ड क्यापिटल पार्टनर्सले शुक्रबार टीएमजीसँग भएको सम्झौताले यसलाई ‘एकमात्र नियन्त्रण मालिक’ बनाएको र सन् १८५५ मा स्थापित पत्रिकाको ‘विकाशमा नयाँ युगको सुरूवात’ गरेको बताएको छ।

द टेलिग्राफलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न रेडबर्डको विकास रणनीतिमा डिजिटल सेवा, सदस्यता र पत्रकारितामा पूँजी लगानी समावेश हुनेछ ।

अमेरिकी समूहले आगामी दिनमा पत्रिकाको स्वरूप कस्तो बनाउने भन्ने बिषयमा ‘प्रिन्ट मिडियाको विशेषज्ञता र द टेलिग्राफको सम्पादकीय मूल्यमान्यतालाई कायम राख्ने दृढ प्रतिबद्धता भएका बेलायतका अल्पसङ्ख्यक लगानीकर्ताहरूसँग छलफल गरिरहेको’ बताएको छ ।

जापानमा चामलको मूल्यमा उच्च वृद्धि

टोकियो । जापानको मुख्य मुद्रास्फीति दर अप्रिलमा बढेर ३.५ प्रतिशत पुगेको छ। मुद्रा स्फीतिका कारण चामलको मूल्य अघिल्लो बर्षको तुलनामा दोब्बर भएको सरकारी तथ्याङ्कले देखाएको छ।

ताजा खानाबाहेक उपभोक्ता मूल्य मापन, अघिल्लो महिना ३.२ प्रतिशत अर्थात् बजार पूर्वानुमान भन्दा माथि पुगेको छ। मुद्रास्फीतिका कारण सम्भवतः बैंक अफ जापानले ब्याज दरहरू बढाउने सम्भावना बलियो देखिएको छ।

आन्तरिक मामिला मन्त्रालयका अनुसार मार्च महिनामा ऊर्जाबाहेकका सामानमा मूल्यवृद्धि २.९ प्रतिशत भएकोमा अप्रिलमा यो ३.० प्रतिशत कायम भएको छ।

समग्र असन्तुलित मुद्रास्फीति मार्च र यो महिनामा समान ३.६ प्रतिशत रहेको छ। करिब तीन वर्षदेखि आन्तरिक मुद्रास्फीति जापानको केन्द्रीय बैंकको दुई प्रतिशतको लक्ष्यभन्दा माथि रहेको छ।

यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिबाट उत्पन्न अनिश्चितताले केन्द्रीय बैंकलाई तत्कालका लागि आफ्नो वर्तमान अडानमा अडिग रहन प्रेरित गर्न सक्छ।

बैंकले मे महिनाको सुरुमा आफ्नो अन्तिम बैठकमा आफ्नो मुख्य ब्याज दर स्थिर राखेको थियो तर कर वृद्धिले विश्वव्यापी आर्थिक अनिश्चिततालाई बढावा दिइरहेको भन्दै बैंकले जापानको लागि आर्थिक वृद्धिको पूर्वानुमानलाई परिमार्जन गरेको छ।

सन् २०२२ मा युक्रेनमा रुसी आक्रमणपछि जापानमा मुद्रास्फिति देखिएको थियो। चामलको मूल्यवृद्धि सरकारका लागि राजनीतिक टाउको दुखाइ बनेको छ।

शुक्रबार सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्कअनुसार सन् २०२४ को अप्रिलको तुलनामा चामलको मूल्य ९८.४ प्रतिशतले बढेको छ।

मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले आफ्नो आपतकालीन भण्डारको केही हिस्सा बजारमा पठाएको छ।

सन् २०२३ मा अत्यधिक गर्मी मौसम ( कम बर्षा र खडेरीका ) का कारण खराब उत्पादन हुनु र गत वर्ष ‘महाभूकम्प’ को चेतावनीका कारण आत्तिएर किनमेल गर्नु पनि यो कमीको मुख्य कारण हो।

खपत बढ्नुमा पर्यटकको उच्च आगमनलाई पनि जिम्मेवार मानिएको छ भने केही व्यापारीले खाद्यान्न भण्डारण गरेको अनुमान गरिएको छ।

यसै साता जापानका कृषिमन्त्री ताकु इटोले चामलको विषयमा भएको गडबडीका कारण जनआक्रोश उत्पन्न भएपछि राजीनामा दिएका थिए।

उनले सप्ताहन्तमा एक सभामा भने, ‘मैले आफैले कहिल्यै चामल किनेको थिइनँ किनभने मेरा शुभेच्छुकहरूले मलाई यति धेरै चामल दिन्छन् कि म व्यावहारिक रूपमा यसलाई बेच्न सक्छु।’

इटोको राजीनामापछि प्रधानमन्त्री शिगेरु इशिबाले भने, ‘म जापानी जनतासँग माफी माग्छु किनभने उहाँलाई नियुक्त गर्नु मेरो जिम्मेवारी हो।’

उनले भने, “चामलको मूल्य उच्च छ भन्ने कुरा एक पटकको घटना होइन तर संरचनात्मक घटना हो। मलाई लाग्छ, हामीले यस विषयमा गहन छलफल गर्नुपर्छ र ती (चामलको मूल्य) अवश्य पनि घट्नुपर्छ।”

क्यापिटल इकोनोमिक्सका मार्सेल थिलियान्टले भने, ‘साप्ताहिक धानको मूल्यमा स्थिरताको सङ्केत देखिएको छ, त्यसैले चामलको मुद्रास्फीति केही समयपछि फेरि नरम हुन थाल्नुपर्छ।’

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

काठमाडौं । यसपटक सरदरभन्दा बढी बर्खा हुने भएपछि डेङ्गी सङ्क्रमणसमेत बढ्ने प्रक्षेपण गरिएको छ।

जल तथा मौसम विज्ञान विभागले यसपटक मनसुनमा सरदरभन्दा बढी पानी पर्ने भनेपछि डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले भने, ‘गत वर्षको तुलनामा हाल कम सङ्क्रमण देखिएको छ तर यस वर्ष मौसम विभागले धेरै नै पानी पर्ने भनेको छ। त्यसले सङ्क्रमणको जोखिम बढाउने छ।’

पानी धेरै पर्दा जम्मा हुने पानीमा डेङ्गी सार्ने लामखुट्टे फस्टाउने भन्दै उनले सतर्कता अपनाउन सबैलाई आग्रह गरे। दाहालले पानी सङ्कलन हुने टायर, गमला जस्ता ठाउँ हालैदेखि व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।

उनका अनुसार पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल निस्किने लार्भा वयस्क भएपछि त्यसले टोकेमा डेङ्गु रोग लाग्ने गरेको छ।

शाखा प्रमुख डा दाहालले पुस १७ देखि हालसम्म ७१ जिल्लामा एक हजार ८१ जनामा सङ्क्रमण देखिएको र पाँच जनाभन्दा बढी सङ्क्रमण भएका ३० स्थानीय तहमा सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न पत्राचार गरिएको जानकारी दिए।

सन् २०२४ मा डेङ्गी सङ्क्रमण ७६ जिल्लामा फैलिएको थियो भने १५ जनाको मृत्यु र ४१ हजार ८६५ जना सङ्क्रमित भएका थिए।

वनमन्त्री शाहीसँग चीनका प्रशासक लिउको भेटवार्ता

काठमाडौँ । चीन भ्रमणमा रहेका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग चीनको राष्ट्रिय वन तथा घाँसेमैदान प्रशासनका प्रशासक लिउ गुओहोङले भेटवार्ता गरेका छन् ।

त्यस अवसरमा मन्त्री शाहीले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धबारे चर्चा गर्दै चीनको एक घनिष्ट मित्र, विकास साझेदार र असल छिमेकीका रूपमा नेपालले सम्बन्धलाई उच्च महत्व र प्राथमिकता दिएको उल्लेख गरेको उनको सचिवालयले जनाएको छ । दुई देशबीच विभिन्न तहमा हुने नियमित भ्रमण आदानप्रदानले विद्यमान सम्बन्धलाई थप सुदृढ बनाउँदै लगेको उनको भनाइ थियो ।

मन्त्री शाहीले मानव–वन्यजन्तु द्वन्द्व, पारिस्थितिक प्रणाली पुनस्र्थापना, विपद् जोखिम न्यूनीकरण र मरुभूमि तथा सीमान्तकृत भूमिको पुनरुत्थान, बाँस र बेतको आनुवंशिक सुधारमा संयुक्त सहकार्य, काठ प्रशोधन, बाँस र बेतका उत्पादनहरू विकास, वन्यजन्तु पालन आदिमा चीनबाट प्राविधिक सहयोगलगायत विषयमा सहकार्यका लागि आग्रह गरेका थिए । उनले नेपालबाट दुईवटा गैँडा हस्तान्तरण गर्ने प्रक्रियालाई अन्तिम रूप दिने कार्य अघि बढेको अवगत गराए ।

चीनको बेइजिङमा अन्तरराष्ट्रिय बाँस तथा बेत सङ्गठन (इन्बार) परिषद्को १३औँ बैठकको अध्यक्षता गर्न शाही चीन भ्रमणमा गएका हुन् । नेपाल हाल इन्बारको अध्यक्ष राष्ट्र हो ।

मन्त्री शाहीले इन्बारको संस्थापक सदस्य तथा १३औँ परिषद्को अध्यक्षका रूपमा नेपाल यसका कार्यक्रमहरू र १३औँ परिषद् बैठकको नतिजा कार्यान्वयन गर्न तथा सहयोगका थप अवसरहरू खोज्न सबै सदस्य राष्ट्रहरूसँग सहकार्य गर्न इच्छुक रहेको उल्लेख गरेका थिए । सन् १९९७ मा स्थापित अन्तर्राष्ट्रिय बाँस तथा बेत सङ्गठन एक अन्तरसरकारी विकास सङ्गठन हो, जसले बाँस तथा बेतको प्रयोग गरी वातावरणीय रूपमा दिगो विकासलाई प्रवर्द्धन गर्दछ ।

साहसिक पर्यटनको सम्भावना घोर्ले भिर

फिक्कल। ठाडो स्वरूप, टाढाबाट पर्खालजस्तो देखिने चट्टानी बनावटमा रहेको इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीको तोभाङमा अवस्थित भौतिक पूर्वाधारको अभावमा पर्यटकको आकर्षणको केन्द्र बन्न सकेको छैन ।

वरिपरि हरियाली डाँडाकाँडा र अधिकांश भूभाग ठूला चट्टानहरू रहेको घोर्ले भिर साहसिक पर्यटनका लागि प्रशस्त सम्भावना भएर पनि ओझेलमा परेको छ ।

समुन्द्री सतहबाट अनुमानित एक हजार ५०० देखि एक हजार ७०० मिटरसम्मको उचाइमा अवस्थित अन्दाजी १५५ हेक्टर क्षेत्रफलमा फैलिएको घोर्ले भिर प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक सम्पन्नताले भरिपूर्ण रहेको छ । स्थानीय ज्येष्ठ नागरिक मनबहादुर बुढाथोकी जङ्गली जनावर घोरल प्रशस्त मात्रा पाइने भएकाले यस भिरको नाम घोर्ले भिर रहन गएको बताउँछन् ।

घोरलहरूको वासस्थान भएको कारणले नै घोरल भिरबाट अपभ्रंश हुँदै बोलीचालीमा सहजताका लागि घोर्ले भिर नामाकरण गरिएको उनको भनाइ छ । पहिले पहिले त्यस भिरमा स्थानीय गाउँलेहरूले गाईबस्तु, बाख्रा चराउन लैजाँदा बाख्रासँगै घोरल चर्ने, रमाउने र खेल्ने गरेकाले त्यस भिरको नाम घोर्ले भिर रहन गएको उनको भनाइ छ ।

‘हामी केटाकेटी हुँदा बाख्रा चराउन घोर्ले भिर जान्थ्यौँ, त्यति बेला घोरलहरू बाख्रासँगै चर्ने गर्दथे । बेलुका बाख्रा घरतिर ल्याउँदा घोरलहरू पनि बाख्रासँगै आउने गरेको र बाख्राहरू खोरमा पसेपछि ती घोरलहरू जङ्गलतिरै जान्थे,’बुढाथोकीले सुनाए ।

साहसिक पर्यटनमा रुचि राख्ने पर्यटकहरूका लागि घोर्ले भिर आकर्षक गन्तव्य बन्न सक्ने प्रशस्त सम्भावना रहेको स्थानीय समाजसेवी यामकुमार बुढाथोकी बताउँछन् ।

‘घोर्ले भिर क्षेत्र आसपासमा पदयात्राका लागि उत्कृष्ट वातावरण छ । माङसेबुङ गाउँपालिका कार्यालयदेखि घोर्लेभिर डाँडासम्म र १ नं वडा कार्यालयदेखि घोर्लेभिर डाँडासम्मको पदयात्रा मार्ग निर्माण गर्न सकिन्छ । उनले भने, ‘घोर्लेभिरको चट्टानी संरचना रक क्लाइम्बिङको पनि उत्तिकै सम्भावना छ ।’

त्यस्तै सफा मौसम, हावाको सन्तुलित प्रवाह, उचाइ र खुला भूक्षेत्रको उपलब्धताका कारण घोर्लेभिरमा प्याराग्लाइडिङको समेत सम्भावना रहेको छ । घोर्लेभिरबाट उडेर तलतिर फेवा खोलाको बगरमा अवतरणका लागि दूरीसमेत पर्याप्त हुने भएकाले प्याराग्लाइडिङको सम्भावना पनि उत्तिकै छ ।

यस क्षेत्रमा साहसिक गतिविधिका लागि हालसम्म सरकारी निकाय र निजी क्षेत्रबाट कुनै सम्भाव्यता अध्ययन भने नभएको वडाध्यक्ष भूपाल योङहाङ बताउँछन् ।

‘घोर्लेभिर नजिकै लामिडाँडाको शिवालय मन्दिरसम्म त गाउँपालिकाको लगानीमा सडक पुर्‍याइएको छ । बाँकी कुनै काम गर्न सकिएको छैन,’वडाध्यक्ष योङहाङले भने, ‘आगामी दिनमा वडाका तर्फबाट समेत घोर्लेभिरको प्रवर्द्धनका लागि कार्यक्रम समावेश गर्नेछौँ ।’

माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले पालिकाभित्रका सबै ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रहरूको संरक्षण र संवर्द्धनका लागि योजनाबद्ध रूपमा काम गरिरहेको बताए । उनले घोर्लेभिरलाई साहसिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सम्भाव्यता अध्ययनको तयारी भइरहेको बताए ।

‘घोर्लेभिरमा रक क्लाइम्बिङ र प्याराग्लाइडिङजस्ता साहसिक गतिविधि गर्न सम्भाव्यता अध्ययनका लागि प्रदेश सरकार र सङ्घीय सरकारसमक्ष पेस गरेका छौँ,’ अध्यक्ष राईले भने, ‘नेपालका थुप्रै डाँडा टाकुराहरू पर्यटकीय गन्तव्य बनेका छन् । घोर्लेभिर त झन् प्रशस्त सम्भावना भएको क्षेत्र हो’, उनले पर्यावरण संरक्षणसँग जोड्दै पालिका पर्यटन विकासमा अघि बढिरहेको बताए ।

अध्यक्ष राईले घोर्लेभिरमा पर्यटन प्रवर्द्धन गर्न योजनाबद्ध रूपमा काम गरिने बताए । त्यसकै लागि पालिकाभित्रका सबै ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको योजनाबद्ध रूपमा प्रवर्द्धन गर्नका लागि गएको साता त्यस्ता १८ वटा क्षेत्रको अध्ययन र अनुसन्धान गर्न पर्यटन पदयात्रा सम्पन्न गरेको उनले बताए ।

यता, साहसिक पर्यटन विकासका लागि सरकारी नीति स्पष्ट हुन नसक्दा उल्लेख्य प्रगति हुन नसकेको पर्यटन व्यवसायीहरू बताउँछन् । माङसेबुङका पर्यटन व्यवसायी रोशन राई सरकारी नीति उदार नहुँदासम्म साहसिक पर्यटनको विकास चुनौतीपूर्ण रहेको बताउँछन् ।

घोर्लेभिरको टुप्पोबाट चारैतिरका डाँडाकाँडा, स्थानीय जीवनशैलीका बस्तीहरू, हरियाली फाँटहरू एकैसाथ देख्न सकिन्छ । मौसम सफा भएको बेला कञ्चनजङ्घा र कुम्भकर्ण हिमाल समेत प्रस्टै देखिन्छ । यहाँको मौसम परिवर्तनसँगै देखिने प्राकृतिक दृश्यले जो कोहीलाई स्वर्गीय आनन्द प्राप्त हुन्छ ।

भौगोलिक बनावटका कारण घोर्लेभिरले प्रकृतिप्रेमी र फोटोग्राफरहरूलाई विशेष आकर्षित गर्ने गर्दछ । स्थानीय बोटबिरुवाको विविधतामा वैज्ञानिक अनुसन्धान, औषधीय अध्ययन र वनस्पतीय पर्यटनका लागि पनि यो ठाउँ सम्भावनायुक्त मानिन्छ । साथै, जैविक कृषि, मौरीपालन र जडीबुटी खेतीको सम्भावनासमेत प्रशस्त छ ।

घोर्लेभिर प्राकृतिक सुन्दरता र जैविक विविधताको दृष्टिले समेत महत्त्वपूर्ण छ । एकातिर साहसिक गतिविधिको सम्भावना र अर्कोतर्फ हरियाली शान्त वातावरण । पहिलो पटक घोर्लेभिर पुग्ने जो कोहीले स्वर्गीय आनन्द प्राप्त गर्छन् । घोर्लेभिर वरपरको जङ्गलमा घोरलसँगै अन्य जङ्गली जनावरहरूको वासस्थान प्रशस्त पाइन्छ ।

घोर्लेभिरमा दर्जनौँ गुफा, ओडार, चेप र खोपहरु छन् । ती गुफा, ओडार, चेप र खोपमा घोरल, मृग, चितुवाहरू बस्दथे । अहिले पनि घोरल र मृगहरु प्रशस्त देख्न पाइन्छ । चितुवाहरू भने पाउन छाडिएको स्थानीय गणेश नेपाल बताउँछन् ।

‘मैले बाल्यकालदेखि घोर्लेभिर हेर्दै आएको छु । पहिले हामी गाईबाख्रा चराउने, जडीबुटी टिप्ने ठाउँ थियो । यहाँ प्रशस्त जङ्गली जनावरहरू पाइन्थे’, उनले भने, ‘अहिले कम हुँदै गएको छ । समयमै यस क्षेत्रको प्रवर्द्धन नगर्ने हो भने यहाँको जैविक विविधता हराउँदै जाने जोखिम रहेको छ ।’

घोर्लेभिर वरपरका जङ्गलमा जैविक महत्वका विभिन्न जडीबुटीजन्य वनस्पतिहरु समेत प्रशस्त पाइन्छ । भोर्ला, चिउरी, लालीगुराँस, सुनाखरी, कुरिलो, असुरो, बुढो ओखर, हटचुर, अमला, हर्रा, बर्रा, पुदिना, तीतेपाती, मालागिरि, पाङ्ग्रा, बल्ढङ्ग्रा, कुकुरडाइनो, सिकारी लहरा, बाबियो, दार, गुर्जोलगायत जैविक महत्वका खोपोन्मुख जडीबुटीहरु पाइन्छन् ।

घोर्लेभिरको बीच भागमा घोरल र मृगले चाट्ने ‘खार’ नुनिलो स्वादको हुने भएकाले घोरल र मृगले नुनको स्वाद त्यही खार चाटेर लिने गर्दछन् ।

घोर्लेभिर र आसपासका क्षेत्रमा भौतिक पूर्वाधारको विकास भने हुन सकेको छैन । त्यहाँसम्म पुग्न पक्की बन्न सकेको छैन । विद्युत् र खानेपानी पनि विस्तार हुन सकेको छैन ।

गाउँपालिका कार्यालयबाट बताहा दोभान हुँदै तोभाङ भञ्ज्याङसम्म सवारी साधनमार्फत र त्यहाँबाट करिब आधा घण्टाको उकालो पैदल यात्रापछि घोर्लेभिर पुग्न सकिन्छ ।

त्यसैगरी अर्को बाटो गजुरमुखी धामदेखि तोभाङ हुँदै भञ्ज्याङसम्म र १ नं वडा कार्यालयबाट भञ्ज्याङसम्म सवारी साधनमार्फत र त्यहाँबाट करिब आधा घण्टाको उकालो पैदल यात्रापछि घोर्लेभिर पुग्न सकिन्छ । त्यसैगरी दमक–चिसापानी–रवि सडकअन्तर्गत हुलाकदेखि देउराली हुँदै लामीडाँडाबाट पनि पैदल यात्रा गरेर यहाँ पुग्न सकिन्छ ।

घोर्लेभिरलाई साहसिक पर्यटनको उत्कृष्ट गन्तव्य बनाउन योजनाबद्ध र दिगो दृष्टिकोण आवश्यक छ । यसका लागि स्थानीय सरकार, निजी क्षेत्र, पर्यटन व्यवसायी र स्थानीय समुदायहरुबीच सहकार्य अपरिहार्य पर्छ ।

घोर्लेभिरको पर्यटन प्रवर्द्धनका लागि सडक निर्माण, विद्युत् विस्तार, खानेपानीको व्यवस्थापन, शौचालय व्यवस्थापन इन्टरनेटको व्यवस्थापनजस्ता आधारभूत कामको थालनी गर्नुपर्छ ।

त्यस्तै, सरकारका तर्फबाट घोर्लेभिरको प्राकृतिक र सांस्कृतिक विशिष्टतालाई ‘ब्रान्डिङ’ गर्नेगरी रणनीति बनाई समुदायमा आधारित दिगो पर्यटन विकासमा जानुपर्नेमा जोड दिइएको छ ।

घोर्लेभिरलाई पर्यटनको गन्तव्यका रूपमा विकास गर्नसके स्थानीयलाई रोजगारीको अवसर सिर्जना हुनका साथै आम्दानीसमेत बढ्ने देखिन्छ ।

यसको प्रवर्द्धनका लागि सरकार, पर्यटन व्यवसायी र स्थानीयबासीको सहकार्य र समन्वयमा अत्यावश्यक छ । यदि यहाँको सम्भावनालाई योजनाबद्ध ढङ्गले उपयोग गर्न सकियो भने यो केवल माङसेबुङको मात्र होइन, समग्र इलाम र नेपालकै गौरव बन्नेमा दुई मत छैन ।

‘कुलिङ पिरियड’बारे पूर्वप्रशासकका आ–आफ्नै तर्क

-नारायण न्यौपाने, काठमाडौँ। प्रशासनिक सङ्घीयता कार्यान्वयनका लागि महत्वपूर्ण मानिएको सङ्घीय निजामती ऐनसम्बन्धी विधेयक विषयगत समितिमा दफावार छलफल सकेर सदनमा नपुग्दै ‘कुलिङ पिरियड’ एकाएक चर्चामा आएको छ ।

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले यही जेठ २ गते विधेयकमा सङ्घीय निजामती सेवामा रहने कर्मचारीको उमेर हद ६० वर्ष, अतिरिक्त सचिव र दुईवर्षे कुलिङ पिरियड राख्ने सहमतिसहित विधेयक पारित गरेको थियो । समितिबाट विधेयक पारित भएको एक साता नबित्दै खासगरी कुलिङ पिरियडलाई लिए उच्च प्रशासनिक नेतृत्वले सो व्यवस्थाप्रति फरक मत राख्दै त्यसलाई सच्याउन सभामुख र राष्ट्रियसभा अध्यक्षसहित राजनीतिक दलका नेतृत्वसँग आग्रह गरेका छन् ।

निजामती सेवामा रहेको कर्मचारी अवकाश प्राप्त सरकारी कर्मचारीले अर्को जिम्मेवारी प्राप्त गर्ने सन्दर्भमा पर्खनुपर्ने समयावधिसम्बन्धी व्यवस्थालाई ‘कुलिङ पिरियड’ भन्ने गरिन्छ । तत्कालीन प्रशासन सुधार सुझाव आयोगका अध्यक्ष काशिराज दाहाल शासन प्रणालीमा असल शासन नदिने, मिलोमतोबाट नियुक्ति हुने, आफ्नो स्वार्थका लागि काम गर्ने प्रवृत्ति देखिएकाले कुलिङ पिरियडसम्बन्धी व्यवस्था राख्न आवश्यक रहेको बताउँछन् ।

उनी भन्छन्, “यदि मुलुकमा असल शासन गर्ने सोच भएको भए यो आवश्यक थिएन, सेवामा रहँदा कर्मचारीले राम्रो छवि बनाएको छ भने दुई वर्षपछि आउन सक्ने सम्भावना उत्तिकै रहन्छ ।”

राजनीतिक क्षेत्रको जस्तै कर्मचारीतन्त्रमा पनि आफू मात्रै पदमा बसिरहनुपर्छ भन्ने सोचले निजामती सेवा परिणाममुखीभन्दा पदमुखी भयो कि भन्ने प्रश्न उब्जिएको दाहालको भनाइ छ । कर्मचारीमा व्यावसयिकता चाहिन्छ, राजनीतिक संरक्षणमा खराब काम गर्ने र कसरी माथिल्लो पदमा जाने कार्यले व्यावसायिकता मर्छ । कर्मचारीमा दलीय आबद्धता देखिने, मासिक शुल्क बुझाउने, नजिक हुन दलको स्वार्थमा काम गर्ने हुँदा प्रशासनिक नेतृत्वमा जुन निष्पक्षता र तटस्थता देखिएन भनेर सोसम्बन्धी व्यवस्था कानुनमा कहीँ न कहीँ यो व्यवस्था हुनुपर्ने आवश्यकता यसअघि नै औँल्याइएको उनले स्मरण गरे ।

दाहाल नेतृत्वको आयोगले यससम्बन्धी व्यवस्था ऐनमा राख्न उचित हुने सुझाव दिएको थियो । “कुलि¬ङ पिरियडसम्बन्धी पछिल्लो चर्चाले उच्च प्रशासनिक नेतृत्वले आफैँप्रति विश्वास भएन कि जस्तो देखिन्छ । राज्यले आफूलाई लिन चाहँदैन भने पनि कर्मचारी सन्तुष्ट हुनुपर्छ”, दाहालले भने । उनले ऐनको मस्यौमा राखिएको उक्त व्यवस्था हटाइनुपर्छ भनेर अडान लिनुभन्दा राज्यले आवश्यक ठानेको अवस्थामा संशोधन गर्न सक्ने पाटोलाई स्वीकार गरेर जानु उपयुक्त हुने बताए ।

निजामती सेवालाई बदनाम गराउनका लागि विधेयकमा कुलिङ पिरियडसम्बन्धी व्यवस्था अघि सारिएको एक पूर्वप्रशासकको तर्क छ । निजामतीबाहेक सेना, प्रहरी, प्राध्यापनलगायत सेवामा यससम्बन्धी व्यवस्था नभएको अवस्थामा निजामती सेवाको ‘तेजोबध’ गर्न कुलिङ पिरियड अघि बढाइएको उनको जिकिर छ ।

त्रिभुवन विश्वविद्यालय, रत्नराज्यलक्ष्मी क्याम्पसका आमसञ्चार तथा पत्रकारिता विभागका प्रमुख डा जगत नेपाल सरकारी नियुक्तिमा हुने चलखेल र अनियमितता रोकेपछि मात्र कुलिङ पिरियड राख्ने वा नराख्ने भन्नेमा निर्णयमा पुग्नुपर्ने बताउँछन् ।

“कर्मचारीलाई अवकाशलगत्तै नियुक्ति दिने उचित होइन, तर योग्यता, क्षमता र देशको आवश्यकता छ भने त्यसलाई रोक्न पनि मिल्दैन”, उनले भने, “निकटका मान्छे ल्याउनलाई कुलिङ नराख्ने, अन्यका लागि राख्ने हुनुभएन, ठीक व्यक्तिलाई ठीक जिम्मेवारी दिनुपर्यो ।”

विधेयकमा निजामती सेवाबाट अवकाश पाएको दुई वर्षसम्म संवैधानिक तथा सरकारी नियुक्ति लिन नमिल्ने व्यवस्था गरिएको छ । यसअघिको राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले कुलिङ पिरियड दुई वर्ष राख्ने सम्बन्धमा सरकार सहमत भएको जानकारी दिएपछि विधेयक पारित भएको थियो ।

कुलिङ पिरियड राख्ने कि नराख्ने भन्ने विषय पहिले पनि आएको थियो । प्रशासन सुधार आयोगको प्रतिवेदनमा कर्मचारीको ‘आचरण’ ठिक नभएको खण्डमा निजामती सेवाबाट अवकाश भएको व्यक्ति ६ महिनासम्म वैदेशिक सहायताबाट सञ्चालित योजनामा काम गर्न नपाउने भन्ने लेखिएको थियो ।

‘रामनदी घाट व्यवस्थापन तथा धार्मिक पर्यटनमा जोड’

स्याङ्जा । पाल्पा र स्याङ्जाको सङ्गमस्थलका रुपमा मात्र नभई धार्मिक पर्यटनका हिसाबले महत्वपूर्ण स्थल ‘रामनदी धाम’ पर्यटकीय गन्तव्यका रुपमा समेत विकसित हुँदैछ ।

धार्मिक मान्यताअनुसार मार्कण्य, भर्तृहरिजस्ता ऋषि महर्षिहरुको तपोभूमि एवं भगवान् रामचन्द्रले स्नान गर्ने नदीका रुपमा परिचित रामनदीको ऐतिहासिक महत्व रहेको छ ।

स्याङ्जाको गल्याङ नगरपालिका–१ मा अवस्थित पवित्रस्थल राम्दी धाममा बर्सेनि हजारौँ भक्तजन आई नाचगान, पूजापाठ, आराधना गर्नेक्रम बढेसँगै यो ठाउँ धार्मिक गन्तव्यका रुपमा परिचित हुन थालेको रामनदीधाम संस्कृत गुरुकुलका प्रधानाध्यापक कृष्णप्रसाद बस्यालले बताए ।

दैनिक पूजापाठका अतिरिक्त पाल्पा, स्याङ्जा, बाग्लुङ, गुल्मी, रुपन्देही, कपिलवस्तु, नवलपरासीलगायत आसपासका जिल्लाहरुबाट समेत शवदहनका लागि कालीगण्डकी नदीतटस्थित पवित्र धार्मिकस्थल रामनदी धाममा ल्याइनेक्रम बढेको छ ।

कालीगण्डकी नदीलाई तीर्थको प्रतीकका रुपमा मानिएको, परापूर्वकालदेखि नै शवदहनस्थलका रुपमा प्रयोग गरिँदै आएको सो घाटमा अहिले दैनिक करिब ३० वटा शव जलाउने गरिएको छ ।

स्थानीयका अनुसार सिद्धार्थ राजमार्गको छेउमा पर्ने रामनदीधाममा २०१५ सालबाट नियमित घाटका रुपमा शवदहन गरिँदै आएको र पछिल्लो समय अन्त्येष्टि गरिनेको सङ्ख्या वृद्धि भएको छ ।

यसरी शव जलाउन ल्याउनेको सङ्ख्या वृद्धि भएसँगै नियमित सरसफाइको अभावका कारण वातावरणीय समस्या सिर्जना भएको महसुस गरी स्थानीय वडा तथा पालिकाले घाट सरसफाइमा ध्यान दिएको स्पष्ट गरेको छ ।

शव जलाउँदा निस्कने धुवाँको कारण रामनदी क्षेत्रको वातावरण प्रभावित भएको र कालीगण्डकी नदीको जलसमेत प्रदूषित भएको भन्ने गुनासो आउने गरेको बताउँदै गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले रामनदीलाई व्यवस्थित, वातावरणमैत्री र पर्यटकीयस्थलका रुपमा विकास गर्न प्रदेश तथा केन्द्र सरकारसँग अनुरोध गरेकाले अब काम अघि बढ्ने विश्वास व्यक्त गरे ।

भरामनदीमा शवदहन गर्दा कुनै पनि शुल्क नलाग्ने जानकारी दिँदै प्रमुख भट्टराईले नदी किनारसम्म जाने बाटो पक्की बनाउन, खानेपानीसहित शौचालयको व्यवस्था गर्न, प्रतीक्षालय निर्माण गर्न पालिकाका तर्फबाट काम भइरहेको स्पष्ट गरे ।

विधिपूर्वक शव जलाइसकेपछि नदी किनारमा छरपष्ट छाडिने पानीका बोतल, कपडा र अन्य फोहोरजन्य सामग्रीले पानी प्रदूषित हुने गरेकाले न्यूनतम सरसफाइमा ध्यान दिन पालिकाले सम्बद्ध पक्षसँग अनुरोध गरेको छ ।

यसैगरी, वर्षायामको समयमा नदीको बहाव बढ्दै जाँदा शव जलाउन कठिन हुने गरेको र कहिलेकाहीँ जलाउँदै गर्दा शवसमेत बगाउने गरेको दुखेसो मृतकका आफन्त तथा मलामीबाट गुनासो आउने स्थानीयको भनाइ छ ।

नगरप्रमुख भट्टराईले रामनदीधाममा उपयुक्त स्नानस्थल, व्यवस्थित शवदाहस्थल, किरियापुत्री भवन, शौचालय, खानेपानी समेटेर बृहत् योजना पेस गरेको र आगामी आर्थिक वर्ष २०८२÷८३ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गण्डकी प्रदेश सरकारबाट समेत बजेटको प्रबन्ध गर्ने आश्वासन प्राप्त भएकाले अब छिट्टै राम्दीले मुहार फर्ने र समग्र समस्या समाधान हुने बताए ।

रामनदीघाटस्थित समस्या समाधानका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारले प्राथमिकताका साथ कार्यक्रम कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै गुरुकुलका प्रधानाध्यापक बस्याल कालीगण्डकी नदी तटमा रहेको पवित्रस्थललाई धार्मिक पर्यटनको केन्द्र बनाउन र शव दहनसहित घाट व्यवस्थापनमा सरोकार भएका सबैको ध्यान जानुपर्ने बताउँछन् ।

अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा

काठमाडौँ। अभिनेता राजेश हमाल आठ वर्षको अन्तरालपछि चलचित्रमा देखिएका छन् । उनले अभिनय गरेको चलचित्र ‘नरसिंहा अवतार’ आजदेखि नेपालभर प्रदर्शनमा आएको छ । आफूले सुहाउँदो र अनुकूल भूमिका पाएकै कारण चलचित्र अभिनयमा पुनः फर्किएको अभिनेता हमालले बताए ।

“मलाई चलचित्रमा काम गर्ने प्रस्ताव धेरै आइरहेका थिएँ । तर, मैले आफ्नो पात्रलाई सुहाउँदो भूमिका पाइनँ र अन्य काममै व्यस्त भएँ । यस चलचित्रमा प्रस्ताव गर्दा पनि म अभिनय गर्ने मनस्थितिमा थिइनँ, तर निर्देशकले पटकथा सुनाउनुभएपछि मैले खोजेको जस्तो भूमिका पाएँ । चलचित्रको विषयवस्तु, म सुहाउँदो भूमिका र विश्वास गर्न सकिने निर्देशक, निर्माताको समूहले गर्दा म चलचित्रमार्फत ठूलो पर्दामा पुनः आएँ”, अभिनेता हमालले भने ।

अभिनेता हमालले विगतका वर्षमा चलचित्रमा अभिनय गर्ने प्रस्ताव आए तापनि चित्त बुझ्दो र सुहाउँदो भूमिका नपाएकाले ठूलो पर्दामा नदेखिएको स्पष्ट गरे । विशेषतः उनले अभिनय गरेको दुई चलचित्र ‘वाग्मती’ र ‘सकुन्तला’ असफल भएपछि चलचित्रभन्दा विज्ञापन, मेला महोत्सव र टेलिभिजनजस्ता कार्यक्रममा व्यस्त भए ।

“कथावस्तु मन परेर अभिनय गरेका चलचित्र प्रदर्शनमा आउँदा मैले ‘मेकिङ’ मा त्यो गुणस्तरीयता पाइन् । त्यसकारण केही समय विश्राम लिएँ र त्यो समयमा म अन्य गतिविधिमा व्यस्त भएँ । यसपटक सबैले मेहनत गरेका छौँ, दर्शक प्रतिक्रिया बुझ्न म पनि प्रतीक्षारत छु”, अभिनेता हमालले भने ।

निर्देशक दिवाकर भट्टराईले स्थापित अभिनेता हमाललाई पुनः चलचित्रको पर्दामा ल्याउनु आफ्ना लागि अवसर र चुनौती रहेको बताए ।

“अभिनेता हमालको प्रशंसक (फ्यान) का बारेमा मैले बोल्नै पर्दैन । उहाँलाई हेर्न चलचित्र भवनसम्म आउनुहुने दर्शकले निराश हुनुपर्दैन, आफूले गरेको कामप्रति विश्वस्त छु । हाम्रो चलचित्रको मुख्य आकर्षण कथा नै हो, त्यहाँ परिवेशअनुसार सबै ‘पात्र’लाई सुहाउँदो भूमिकामा प्रस्तुत गरेको छु”, निर्देशक भट्टराईले भने ।

उक्त चलचित्रमा अभिनेता हमालसँगै राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, दीपा शाही, उषा खड्गी र बाल–कलाकारहरु एभेलिना खड्का र समाइरा थापाले अभिनय गरेका छन्।

चलचित्र ‘नरसिंहाः अवतार’ नेपालभर १३३ शो प्राप्त गरेको निर्माण पक्षले जनाएका छन् । नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेले चलचित्रलाई संयुक्त रुपमा निर्माण गरेका हुन् ।

अर्थतन्त्र सुधारको समयसीमासहित ‘सुधार कार्यान्वयन कार्ययोजना’ जारी

काठमाडौँ। आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२ जारी भएको छ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ ले दिएका सुझाव कार्यान्वयनका लागि सरकारले कार्ययोजना ल्याएको हो ।

गत वैशाख २ गते नेपाल सरकार मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव चुडामणि पौडेलको संयोजकत्वमा राजस्व सचिव दिनेशकुमार घिमिरे र उद्योग सचिव कृष्णबहादुर राउत सदस्य रहेको कार्ययोजना निर्माण समिति बनाइएको थियो ।

उक्त समितिलाई पूर्वसचिव रामेश्वरप्रसाद खनालको अध्यक्षतामा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनले दिएका सुझावहरू कार्यान्वयनका लागि कार्ययोजना तयार गर्ने जिम्मेवारी दिइएको थियो । समितिले खनाल प्रतिवेदन कार्यान्वयनका लागि क्षेत्रगत तथा मन्त्रालयगत जिम्मेवारी र समयसीमासहितको कार्ययोजना तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।

“सम्बन्धित मन्त्रालयले माइलस्टोनसहित स्पष्ट र कार्यान्वयनयोग्य कार्ययोजना तयार गरी आफ्नो वार्षिक कार्यक्रममा समावेश गरेर कार्ययोजनामा उल्लिखित क्रियाकलापहरू समयमै सम्पन्न गर्नुपर्नेछ,” प्रतिवेदनमा भनिएको छ, “यस कार्ययोजनालाई आन्तरिकीकरण गरी विस्तृत कार्ययोजना तयार गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउनुपर्ने जिम्मेवारी सम्बन्धित मन्त्रालयको हुनेछ ।”

कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहको पनि महत्वपूर्ण भूमिका रहने जनाइएको छ । अर्थतन्त्र सुधारका लागि छ महिनादेखि तीन वर्षसम्म सम्पन्न गरिसक्नुपर्ने समयसीमासहित कार्ययोजना तयार पारिएको छ । बैङ्किङ प्रणालीको सञ्चालन लागत कम गर्न, क्षमता अभिवृद्धि र वित्तीय स्थायित्व काम गर्न कर्जा र निक्षेपको ब्याजदर अन्तर एक वर्षभित्र कम गरिसक्ने लक्ष्य राखिएको छ । यीलगायत कामहरू एक वर्षभित्र गरिसक्नेगरी पनि समयसीमा निर्धारण गरिएको छ । आगामी एक वर्षभित्र अर्थतन्त्रमा ब्याजदर उतारचढावलाई सम्बोधन गर्न ऋणपत्र बजारको विकास गर्ने काम पनि सकिसक्ने भनिएको छ ।

मुद्रास्फीति नियन्त्रणका लागि सरकारी खर्च कटौती तथा अप्रत्यक्ष करका दरहरूमा कमी ल्याउने काम पनि एक वर्षभित्र गरिसक्ने कार्ययोजनामा उल्लेख छ । भारतीय रुपैयाँसँगको विनिमय दरको विकल्पमा अध्ययन तथा अनुसन्धान गर्ने काम पनि आगामी एक वर्षभित्र गरिसक्ने सरकारको योजना छ । यस्तै, आगामी दुई वर्षभित्र विभिन्न १४ वटा ऐन खारेज गरिसक्ने पनि कार्ययोजनामा उल्लेख छ ।

त्यस्ता ऐनमा आयकर टिकट दस्तुर ऐन २०१९, कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२, निजी वन जङ्गल राष्ट्रियकरण ऐन २०१३, प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०१३, क्षतिपूर्ति ऐन २०१९, बिर्ता उन्मूलन ऐन २०१६ लगायत रहेका छन् । यी ऐन खारेज गर्न समितिले सिफारिस गरेको थियो ।

यसैगरी, बिर्तावालले बिर्तामा रकम लगाई लिन खान नपाउने ऐन २०१५, राजस्व चुहावट ऐन २०५२, विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन २०२१, नेपाल एजेन्सी ऐन २०१४, प्रादेशिक विकास योजनाहरु ऐन २०१३, सामाजिक व्यवहार सुधार ऐन २०३३, नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन २०१४ र वित्तीय मध्यस्थताको काम गर्ने संस्थासम्बन्धी ऐन, २०५५ लाई आगामी दुई वर्षभित्र खारेज गरिसक्ने गरी कार्ययोजना बनाइएको छ ।

ज्येष्ठ नागरिक भत्ता पाउने उमेर ७० वर्ष कायम गर्ने तथा भत्ता पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने काम एक वर्षभित्र सकिसक्नेसमेत भनिएको छ । यस्तै, सङ्घीय शासन प्रणाली अनुरुपको प्रशासनिक पुनःसंरचना गर्ने, प्रदेश र स्थानीय तहको खर्चलाई एकल खाता प्रणालीमा ल्याउने, तीनवटै तहका लागि एकीकृत आयोजना बैंक सूचना प्रणाली तयार गरी कार्यान्वयन गर्ने काम पनि आगामी एक वर्षभित्र गरिसक्नेगरी कार्ययोजना बनाइएको छ ।

लुम्बिनी विकास कोष र पशुपति विकास कोषजस्ता सालबसाली प्रकृतिका आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाबाट आगामी छ महिनाभित्र हटाई सक्न भनिएको छ । मूल्य अभिवृद्धि कर ऐनमा कर छलीविरुद्धको सामान्य नियमहरूसम्बन्धी प्रावधान थप गर्ने, अन्तःशुल्क लाग्ने वस्तुहरूको सङ्ख्या क्रमशः घटाउँदै जनस्वास्थ्य र पर्यावरणमा दुष्प्रभाव पार्ने वस्तुहरूमा मात्र सीमित गर्ने काम एक वर्षभित्र गरिसक्ने भनिएको छ ।

प्रदेश तथा स्थानीय तहमा तिर्ने कर तथा गैरकर राजस्वलाई प्यान नम्बरसँग आबद्ध गर्ने, निर्यातमा हुने आयमा १० प्रतिशत मात्र आयकर लगाउने र सरकारको स्वामित्वमा रहेका संस्थानहरुलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत गरी निजी क्षेत्रलाई शेयर बिक्री गर्ने काम पनि आगामी एक वर्षभित्र गरिसक्ने गरी कार्ययोजना बनाइएको छ ।

यस्तै, जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल इञ्जिनियरिङ कन्सल्टेन्सी सेवा केन्द्र, नेसनल कन्स्ट्रक्सन कम्पनी नेपाल र नेपाल ओरियन्ट म्याग्नेसाइट प्रालिलाई खारेग गरी यी संस्थाका नाममा रहेको अचल सम्पत्ति सरकारका नाममा ल्याई व्यवस्थापन गर्नका लागि एक वर्षको समय दिइएको छ । यस्तै, हेटौँडा सिमेन्ट उद्योग र उदयपुर सिमेन्ट उद्योगलाई गाभेर सरकारको स्वामित्व केही हिस्सा मात्र राखेर बाँकी शेयर निजी क्षेत्रलाई बिक्री गर्ने काम पनि आगामी एक वर्षभित्र गरिसक्ने गरी कार्ययोजना बनाइएको छ ।

नेपाल वायुसेवा निगमको पुनःसंरचना गरी बाह्य रणनीतिक साझेदार भित्र्याएर व्यावसायिक ढङ्गले व्यवस्थापनको काम आगामी दुई वर्षभित्र गरिसक्ने भनिएको छ । यस्तै, दुग्ध विकास संस्थानलाई सबै प्रदेशमा रहनेगरी प्रदेश सरकारको सार्वजनिक संस्थानका रूपमा परिणत गर्ने काम आगामी दुई वर्षभित्र गरिसक्ने भनिएको छ ।

खानै नपुगेर विदेश जाने वातावरणको अन्त्य गर्न आवश्यक छः प्रचण्ड

गलकोट । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा केही भएन भन्ने निराशा त्याग्न आमजनतालाई आग्रह गरेका छन् ।

नेपाल समृद्धउन्मुख रहेकाले नेपालमा केही भएन भन्ने निराशाको अन्त्य गर्दै स्थानीय उत्पादन, घरेलु उद्योग र आत्मनिर्भर कृषि प्रणाली अपनाउन आवश्यक रहेकामा उनले जोड दिए ।

माओवादी केन्द्रले थालेको मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका क्रममा शुक्रबार बागलुङ बजारमा आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मध्यपहाडी लोकमार्गले आर्थिक समृद्धिसँग यहाँका जनतालाई जोडेको बताए ।

उनले मध्यपहाडी पुष्पलाल लोकमार्ग आफ्नै प्रस्तावमा अघि बढेको उल्लेख गर्दै आयोजना छिट्टै सक्न आवश्यक रहेको बताए ।

अध्यक्ष प्रचण्डले मध्यपहाडी जनजागरण अभियानमा आमनागरिकका गुनासा र सुझाव ग्रहण गर्दै माओवादी केन्द्र नयाँ ढङ्गले अघि बढ्ने बताए । दलित, किसान, मजुदर, उत्पीडित वर्गलगायतका समस्या सम्बोधन गर्ने पार्टी माओवादी केन्द्र मात्रै भएको उनको भनाइ थियो ।

‘लोकमार्गले सबैभन्दा बढी भाग समेटिएको बागलुङमा विकासको ढोका खुला भएको छ, सडकले आर्थिक समृद्धिमा जोड्न मद्दत गर्दछ, बागलुङको अछेते–गलकोट सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अघि बढेको छ, गलकोट–म्याग्दी जोड्ने सडक निर्माण भए यहाँका जनतालाई फाइदा पुग्ने छ’, अध्यक्ष प्रचण्डले भने, ‘खानै नपुगेर विदेश जाने वातावरणको अन्त्य गर्न आवश्यक छ, सरकारले वातावरण बनाओस्, मैले साथ दिन्छु, तर नेपालमा केही पनि भएन भन्ने कुरा भ्रम मात्रै हो ।’

नेपालको मुख्य समस्या भ्रष्टाचार रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भ्रष्टाचार निर्मूल पार्न माओवादी केन्द्रको सरकार आवश्यक रहेको बताए । जनसंवाद बिहीबार बागलुङको पातीहाल्नेबाट सुरु भएको जनसंवाद जागरण अभियान बुर्तिबाङ, गलकोट र ताराखोलामा सम्पन्न भएको छ ।

यसपालिको राष्ट्रिय ललितकला प्रदर्शनीमा ‘कलामा विविधता’ थप्नेगरी तयारी

काठमाडौँ। नेपाली ललितकलाको महाउत्सव मानिने यसपालिको राष्ट्रिय ललितकला प्रदर्शनीमा कलामा विविधता दिने प्रयास गरिने बताइएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा यही जेठ १५ देखि ३० गतेसम्म आयोजना हुने प्रदर्शनीमा सातै प्रदेशका विविधता झल्किने गरी प्रदर्शनी गर्ने अन्तिम तयारी भइरहेको प्रदर्शनी संयोजक एवं प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले जानकारी दिए ।

उनले भने, “नेपालमा अभ्यासमा रहेका रैथाने कलादेखि हालका समसामयिक कलालाई एकै ठाउँमा राखेर प्रदर्शनी हुँदैन । पहिलो अभ्यासका रुपमा यसपटक हरेक प्रदेशको छुट्टाछुट्टै ग्यालरीमा कला प्रदर्शनी हुनेछ । जसबाट प्रदेशको कला अवलोकनका साथै अध्ययन पनि गर्न सकिनेछ । प्रदर्शनीमा करिब ६०० कलाकारका ६५० हाराहारीका कलाकृतिहरु समावेश गरिनेछ ।”

राष्ट्रिय प्रदर्शनीको पूर्वसन्ध्यामा यसअघि फागुनमा सातै प्रदेशमा कला प्रदर्शनी गरिएको थियो । त्यहाँ कलाकारका एक हजार कलाकृति समावेश थिए । तीमध्ये छनोट भएका ५०० कलाकृति र आमन्त्रित कलाकारका गरी ६०० हाराहारीमा कला प्रदर्शनी हुने प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले बताए ।

सातै प्रदेशममा अभ्यासमा रहेका विविध मौलिक कलाकृतिको प्रतिनिधित्व हुने गरी व्यवस्थापन गरिएको उनले जानकारी दिए । “लोककला, हस्तकलामा पनि समुदायगत, जातिगत, भौगोलिक क्षेत्रका हिसाबले पनि विविधता झल्किने गरी व्यवस्थापन गर्दैछौँ । यसमा मौलिक शिल्प ज्ञानहरू हुनेछन् भने त्यो साङ्केतिक रूपमा पनि हेर्न पाइने व्यवस्था गरिने छ । प्रदर्शनीमा दैनिक जीवनमा प्रयोग हुने सामान रहने छन्”, सदस्यसचिव काफ्लेले भने, “यसलाई हामीले पुनर्जागरणको चरण भनेका छौँ । नेपालका लोपोन्मुख कतिपय लोककला, हस्तकला, शिल्प हस्तकलाहरू देख्न पाइने छन् । राउटेदेखि मधेशका डोम समुदायले बनाउने कलाहरू प्रदर्शनीमा समावेश हुनेछन् ।”

प्रदर्शनीमा समसामयिक पक्षलाई उठाइएका आधुनिक पक्षलाई उठाइका लोककला, परम्परागत कला, शिल्प हस्तकला, विश्वमा चलेका न्यू मिडियासँग सम्बधित बहुआयामिक तथा सिर्जनात्मक वास्तुकलालगायत प्रदर्शनीमा राख्ने जनाइएको छ । नेपाल ललितकलालाई समावेशी बनाउँदै जनसाधारीकरण गर्नु प्रदर्शनीको मुख्य उद्देश्य रहेको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली बताउँछन् ।

उनले भने, “भोक, सोख र लोकलाई सन्तुलन मिलाउँदै लोक र भोकलाई सोखमा जोड्नका लागि तयार हुनुपर्छ । कलाको पहिचान स्थानीय, राष्ट्रिय, अन्तरराष्ट्रिय पहुँचमा पुर्याउँदै अर्थतन्त्रमा योगदान दिने उद्देश्य हो । विगत वर्षदेखि सातै प्रदेशका लुकेका कलालाई उजागर गर्दै प्रदर्शनी भइरहेको छ, त्यसले कलामा एउटा जागरण पैदा गर्न सफल भएको छ ।”

प्रदर्शनी सफल बनाउन प्रतिष्ठानका उपकुलपति लालकाजी लामाको संयोजकत्वमा मूल समिति र अन्य सातवटा उपसमिति गठन गरिएका छन् । यसपालि प्रदर्शनीअन्तर्गत सांस्कृतिक संस्थानसँगको सहकार्यमा साङ्गीतिक प्रस्तुति, नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा साहित्यिक प्रस्तुतिसमेत रहने गरी कार्यक्रम तयार पारिएको छ ।

प्रदर्शनीअन्तर्गत गत वर्ष जस्तै राष्ट्रिय, प्रादेशिक तथा नवप्रतिभा र विधागत पुरस्कारसमेत प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । यसका साथै दुई जनालाई विशेष सम्मानका रूपमा अरनिको सम्मान, कला प्रवर्द्धक तथा सहिदको स्मरणमा पुरस्कार तथा सम्मान, कला लेखक तथा पत्रकार र सहयोगी संस्थाहरूलाई पनि पुरस्कार तथा सम्मान प्रदान हुनेछ ।

आर्थिक गतिविधि चलायमान बनाउन मुलुकमा शान्ति सुरक्षा कायम हुनुपर्छः गृहमन्त्री लेखक

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले शान्तिसुरक्षमा कुनै सम्झौता नगर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

शुक्रबार जनकपुरमा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी उद्घाटन गर्दै गृहमन्त्री लेखकले शान्तिसुरक्षा नभए मुलुकमा सुशासन कायम हुन नसक्ने भएकाले सबै सुरक्षा निकायहरूलाई जिम्मेवारीपूर्वक र अनुशासित रूपमा कार्य गर्न निर्देशन दिएका हुन् ।

उनले विकास र समृद्धिका साथै आर्थिक गतिविधि चलायमान बनाउन मुलुकमा शान्ति सुरक्षा कायम हुनुपर्ने बताए । उनले १० वर्षको सशस्त्र द्वन्द्वका समयमा शान्ति सुरक्षाको स्थीति कमजोर भएकाले विकासका काम अवरुद्ध भएको बताए ।

सीमानाकाबाट हुने चोरीपैठारीले राजस्व घटिरहेको,आन्तरिक व्यापार कमजोर भएको र सीमामा अपराध बढिरहेको भन्दै गृहमन्त्री लेखकले यसलाई नियन्त्रणका लागि मेहनतका साथ लाग्न आग्रह गरे।

गृहमन्त्री लेखकले राष्ट्रसेवक कर्मचारीहरूले कानुनविपरीत आर्थिक लोभ र लाभमा नपरी इमान्दारी एवं निष्पक्ष भई छिटो, सरल र सहज तरिकाले सेवा प्रवाह गर्न निर्देशन दिए ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रहरी समायोजन नहुँदा प्रदेश सरकारलाई शान्तिसुरक्षाका काम गर्न समस्या भएको गुनासो गरे । उनले प्रदेशअन्तर्गत रहेका सुरक्षा निकायलाई आफ्नो सीमित साधनस्रोतका बाबजुद सक्दो सहयोग गरिरहेको भन्दै तत्काल प्रहरी समायोजनको काम अगाडि बढाउन आग्रह गरे ।

मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले छिमेकी देशमा बलिरहेको द्वन्द्व र असमझदारीले नेपालको सीमाक्षेत्रमा सुरक्षा चुनौती थपिँदै जाने अवस्थातर्फ सतर्क तथा सचेत रहन सुरक्षा निकायलाई आग्रह गरे ।

गोष्ठीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश तथा जिल्ला प्रमुख, आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायतको सहभागिता रहेको छ ।

 पैसा कमाउने स्मार्ट उपाय : पुँजी बजार लगानीको रहस्य

-अचुतकुमार ओझा

पुँजी बजारमा केही अदृश्य रहस्य रहेका हुन्छन् । यसलाई पहिचान गर्नसक्नु नै लगानी सफलताको हो । एकै समय एकथरी लगानीकर्ता बजारमा लाभका हिसाबले उच्च आशा र भरोसा राख्ने गर्दछन्, भने अर्काथरी डर र त्रासले भरिएका हुन्छन् । यसले गर्दा बजारको सूचाङ्क घटबढ भइरहन्छ । बजारको वास्तविक सुन्दरता नै यसको उतारचढाव हो । यही तलमाथि भइरहने बजारको चरित्ररुपी रसीले मान्छेलाई बजारबाट भाग्न दिँदैन, कसेर राखी राखेको हुन्छ । हरेक लगानीकर्तामा पैसाको भोक रहनु सामान्य हो तर त्यसको खुराक भेटाउन सक्ने उर्बर ठाउँ धितोपत्र बजार हुन सक्छ । यसका लागि पैसा कमाउनेभन्दा बनाउन जान्नु आवश्यक छ, पुँजी बजारले कसरी पैसा छाप्छ ? भन्ने जादुमयी रहस्य बुझेपछि मात्रै सम्भव छ ।

बजारमा भएको जोखिम थाहा पाउँदै आफ्नो अध्ययन, क्षमता, सीप र अनुभव बढाउँदै त्यसको न्यूनीकरण गरेर बजारबाट खजना कसरी लिन सकिन्छ ? त्यो बताउनु यसको मुख्य प्रयास हो । धितोपत्र बजारले सीमित आयमा खुम्चिएका र एक किसिमलेभन्दा अभावमा बाँचिरहेका व्यक्तिलाई कसरी अवसर दिन सक्छ ? त्यो अवसरले कसरी आर्थिक सुरक्षाबाट स्वतन्त्रताको स्तरसम्म पु¥याउन सक्छ ? र त्यो रहस्यमयी काम कसरी गरिरहेको हुन्छ ? हरेक व्यक्तिले बुझेर बजारमा डुबुल्की मार्ने हो भने उसले वित्तीय स्वतन्त्रता पाउने पक्का छ । बजारले गर्ने चमत्कारी काम थोरै समय निकालेर अध्ययन गर्ने हो भने सजिलै पहिचान गर्न सकिन्छ । यस्तो भित्री तत्व थाहा नपाई लगानी गर्नेले भन्दा थाहा पाएर गर्नेले धेरै लाभ बजारबाट उठाउन सक्छ, प्रतिस्पर्धाको दौडमा विजेतालाई दिइने पदकको हकदार हुने पक्कापक्की छ ।

पैसा कमाउने विभिन्न स्मार्ट तरिकाहरु हुने गर्छन् । कुनै समय एउटा खर्बपति जन्मन दशकौँ लाग्थ्यो तर वर्तमान समयमा एक दुई वर्षमा जन्मनसक्ने भएको छ । यस्तो कसरी सम्भव भयो ? हरेक व्यक्तिमा जिज्ञासा रहनु स्वाभाविक हो । खासगरी प्रविधिको विकास र फैलिँदो धितोपत्र बजारका कारण यो जादु देखिने गरेको छ । बिलिनियर बन्ने थुप्रै स्मार्ट तरिकामध्ये धितोपत्र बजारको महत्व सबैभन्दा माथि छ । यदि हामीले त्यसले कसरी काम गर्छ ? बजारमा कस्तो जादु हुन्छ ? रहस्य के छ ? थाहा पाउन सक्यौँ भने धनी हुने बाटो धेरै टाढा रहँदैन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को तथ्याङ्कलाई हेर्ने हो भने सन् १९९३ मा १५७ विन्दुबाट सुरुआत भएर सन् २००० मा ५४५ विन्दुमा पुग्यो तर त्यसको १८ महिनामा नै बजार १८६ अङ्कमा झर्‍यो । पुनः सुधार हुँदै सन् २००८ मा ११७५ को विन्दु चुम्न पुग्यो तर २०१२ मा परिसूचक २९८ मा झर्‍यो ।

सन् २०१६ मा १८८१ विन्दुको शिखर टेक्न सफल भएकामा फेरि २०१६ देखि २०१९ भित्रमा परिसूचक ११०४ मा ओर्लियो । त्यसपछि २०२१ मा लगभग ३२०० अङ्कको सर्वकालीन उच्च विन्दुमा पुग्यो र २०२२ मा आइपुग्दा पुनःलगभग १८०० अङ्कमा सीमित भयो । क्रमशः सुधार हुँदै सन् २०२५ मा आइपुग्दा सूचकाङ्क २७१० को सेरोफेरोमा घुमिरहेको छ । यस तथ्याङ्कले के देखाउँछ भने बजार बुल हुँदा प्रवेश गरेकाहरु पनि अघिल्लो बुलदेखि दोस्रो बुलसम्म धैर्यता राख्न सक्छन् भने बढ्दो बजारको फाइदा नै पाउनेछन् । तथ्याङ्कमा एक बुलदेखि अर्काे बुलमा पुग्दा बजारको वृद्धि औसतमा ७० प्रतिशत देखिन्छ । हरेक पटक उच्चविन्दुमा परेकाहरु अर्काे पटकको उच्च विन्दुमा निस्कन पाउने हो भने सम्पत्ति ७० प्रतिशत बढ्ने देखिन्छ । आफ्नो लगानीको ६०० प्रतिशत प्रतिफल बजारबाट लिनसक्ने इतिहास विगतको अवस्थाले देखाउँछ ।

सानो रकमबाटै सुरुआत गर्न सकिने : पुँजी बजार त्यो स्थान हो जहाँ सानो रकमबाट आफ्नो लगानीको यात्रा प्रारम्भ गर्न सकिन्छ । धितोपत्र बजारबाहेक सायद अन्य कुनै ठाउँ छैन जहाँ रु एक हजार लगानी गर्न सकियोस् र प्रतिफलको अपेक्षा राख्न पाइयोस् । रियलस्टेट, यातायात व्यवसाय, मुद्रा बजार वा सुनचाँदीलगायतको उद्यममा यति थोरै लगानीबाट सुरुआत गर्न सम्भव छैन । पुँजी बजार यस्तो स्थान हो, जहाँ सानो रकमदेखि संसारको धनाढ्यको सबै सम्पत्ति लगानी गर्न सकिन्छ । टीका लगाएको दक्षिणा, खुत्रुकेमा राखेको सानोसानो बचत वा आफ्नो बिक्री गरेको पूरा सम्पत्ति थोरैदेखि धेरै सबैखाले रकम पुँजी बजारमा अट्ने गर्छ । आफ्नो हैसियतअनुसार कम चाहिएमा थोरै र बढी चाहिएमा धेरै रकम धितोपत्र बजारमा लगानी गर्न सकिन्छ । यो बजारमा धनीदेखि सामान्य व्यक्ति सबै अट्न र कमाउनसक्ने अवसर रहेको हुन्छ ।

दीर्घकालीन सम्पति सिर्जना  : पुँजी बजार यस्तो स्थान हो जहाँ सही लगानी गर्न सकियो भने पाँच, १० वा २० वर्षको समयमा राम्रो सम्पत्ति बनाउने सम्भावना रहन्छ । खासगरी थोरै पैसाबाट सुरुआत गरेर बजारको खेल सिक्दैै र लगानी पैmलाउँदै धनको सिर्जना गर्न सकिन्छ । चाहे त्यो संस्थापक सेयर होस्, प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) वा दोस्रो बजारमा लगानी गर्दै गएमा लामो समयमा सेयर बजारले सम्पत्तिको कम्पाउडिङसमेत गर्नसक्ने हुँदा सेयरमा गरिएको लगानीले दीर्घकालीन सम्पत्ति बनाउन मद्दत गर्छ । संसारका सबै सेयर बजारको इतिहास हेर्ने हो भने लामो समयमा बढेर गएको देखिन्छ, जसले लगानीकर्ताको सम्पत्ति बढाउने र बैंकमा राखेर प्राप्त हुने ब्याजभन्दा उच्च प्रतिफल दिएको तथ्याङ्कहरुले देखाउने गरेको पाइन्छ ।

यसर्थ, सेयर बजारमा गरिएको लगानीले सम्पत्ति बनाउन टेवा पुग्नुका साथै उक्त सम्पत्तिबाट नियमित लाभ लिँदै आर्थिक स्वतन्त्रताको बाटोमा आफूलाई हिँडाउन सहज हुनेछ । नेपालको नेप्सेलाई हेर्ने हो भने करिब २७ वर्षको अवधिमा १५७ अङ्कबाट ३२०० विन्दुमा पुगेको देखिन्छ । यसमा नेप्से परिसूचकको औसत चक्रिय वार्षिक वृद्धि हेर्ने हो भने हरेक वर्ष १४ दशमलव २३ प्रतिशतको  देखिन्छ ।

नगदमा तुरुन्त बदल्न सकिने : धितोपत्र बजारमा गरिएको लगानी संसारको सबैभन्दा छिटो नगद बनाउन सकिने सम्पत्तिमध्ये एक हो । उदाहरणको लागि रियलस्टेट, गाडी, मेसिन वा अन्य सम्पत्तिलाई तत्काल नगदमा बदल्न असम्भव हुने गर्छ तर धितोपत्र बजारका उपकरणहरुलाई सजिलै रुपान्तरण गर्न सकिन्छ । पुँजी बजारका औजारहरु (सेयर, डिवेञ्चर, बण्ड र हकप्रद सेयर, म्युचुअल फण्ड आदि) जति छिटो अन्य व्यवसाय वा सम्पत्तिलाई नगदमा परिवर्तन गर्न सम्भव छैन । मानिसलाई चाहिने आपत्कालीन कोषदेखि भैपरी आउने खर्चसमेत धितोपत्र उपकरणमा लगानी गरेर राखिएको छ भने पनि चाहिएको समयमा बिक्री गरेर आवश्यक रकम निकाल्न सकिन्छ । चाहिएको समयमा नगदमा बदल्नुपर्ने पैसासमेत धितोपत्र बजारमा लगानी गर्नु उपयुक्त हुनसक्ने देखिन्छ । खासगरी लगानी गरिरहेको समयमा कुनै नयाँ र उच्च मुनाफामुखी अवसर प्राप्त हुन आएमा तरलताकै अभावमा त्यस्ता आयोजना छोड्नुपर्ने अवस्था आउँदैन ।

उच्च प्रतिफलको सम्भावना हुने : धितोपत्र बजार सम्भावना र जोखिमको क्षेत्र हो । यदि बजारको राम्रो अध्ययन, विश्लेषण र अभ्यास गर्नसक्ने हो भने नसोचेको लाभ लिन सकिन्छ । एकपटक लगानी गरेपछि वर्षौंसम्म प्रतिफल लिन सकिन्छ । धितोपत्रमा गरेको लगानीबाट बोनस, हकप्रद र नगद लाभांश लिन सकिन्छ । बजार बढ्दै गर्दा र आफूले किनेको कम्पनीको मूल्य खरिद गरे भन्दा उच्च हुँदै जाँदा बढीमा बिक्री गरेर पुँजीगत लाभसमेत लिन सकिन्छ । बजारमा वृद्धि र गिरावटको चक्र चलिरहेकै हुन्छ । न्यूनविन्दुको आसपास खरिद र उच्चविन्दुको छेउछाउ बिक्री गर्नसक्ने सीप र कला यदि लगानीकर्ताले आफूमा विकास गर्न सक्ने हो भने बजारबाट नसोचेको लाभ लिनसक्ने अवस्था बन्छ । सही समयमा ठीक लगानी गर्नसक्ने क्षमता आफूमा विकास गर्नसक्ने हो भने बजारबाट उच्च प्रतिफल पाउने निश्चित छ ।

मालिक बन्ने अवसर : सेयर खरिद गर्नु भनेको केबल लगानी गर्नुमात्रै होइन, बरु आफूले खरिद गरेको सेयर बराबर सम्बन्धित कम्पनीको स्वामित्व प्राप्त गरेर स्वामी बन्नु पनि हो । जो व्यक्ति आफैँ कम्पनी खोलेर व्यवसाय निर्माण गर्न सक्दैन वा भ्याउँदैन तर कम्पनीको मालिक बनेर उद्यम गर्न चाहन्छ भने त्यस्ता व्यक्तिका लागि कम्पनीमा जोडिने र आम्दानीको स्रोत विस्तार गर्ने उपयुक्त माध्यम नै सेयर बजार हो अर्थात् सेयरको खरिद गर्नु हो । यसैले सेयर किन्नु भनेको कम्पनीको निश्चित हिस्सा खरिद गर्नु हो । सेयर बजारले कम्पनी खडा गर्न नसक्नेलाई सेयर हिस्सा किनेर पनि मालिक बन्नसक्ने अवसर प्रदान गर्दछ । एउटा सेयर धनीले चाहेमा प्रतिस्पर्धाबाट छनोट हुँदै सञ्चालकसम्म बन्नसक्ने अवसर सेयर बजारले दिन सक्छ । यस कारण पुँजी बजार लगानीको अवसर मात्रै नभई कम्पनीको नेतृत्व गर्ने आधारस्तम्भ पनि हो ।

आफ्नो पेसा तथा व्यवसायसँगै गर्न सकिने : सेयर बजारमा लगानी गर्नका लागि लगानीकर्ताले गरिरहेको रोजगारी, उद्यम वा व्यवसाय छोडेर समय दिइरहनु पर्दैन । यसका लागि अन्य पेसा तथा व्यवसायलाई निरन्तरता दिएर नै लगानी गरिराख्न सकिन्छ । पुँजी बजारमा प्रवेश र कारोबार गर्नका लागि आफ्नो भइरहेको पेसा व्यवसायले कुनै अवरोध र बाधा पुर्‍याउँदैन । बरु धितोपत्र बजारमा लगानी गरिरहेका व्यक्तिले चाहेमा नयाँ पेसा वा व्यवसाय गर्नका लागि कुनै रोकतोक रहँदैन । सेयर बजारमा गरिने लगानी र व्यवसायसँगै गर्न सकियो भने लगानी विविधीकरण हुने र आम्दानीका नयाँ स्रोतसमेत प्राप्त हुने देखिन्छ । आफूले सञ्चालन गरिरहेको वा गर्न चाहेको व्यवसायलाई निरन्तरता दिँदै साथमा पुँजी बजारमा गरिने लगानीलाई अगाडि बढाउन सकियो भने एउटा क्षेत्रमा नोक्सान हुँदा अर्काे क्षेत्रमा प्राप्त हुने मुनाफाले आफ्नो व्यवहार सञ्चालन गरी राख्न सकिन्छ ।

अनलाइनबाट कारोबार : विगतका समयहरुमा धितोपत्रमा लगानी गर्दा खासगरी प्रारम्भिक सार्वजनिक निष्कासनमा आवेदन दिनुपर्दा घण्टौँसम्म लामो लाइनमा उभिएर फाराम भर्नुपथ्र्याे भने भौतिकरुपमा सशरीर आफैँ उपस्थित हुनुपर्ने स्थिति थियो । दोस्रो बजारमा कारोबार गर्दा धितोपत्र दलाल कम्पनीमा जानुपर्ने र खरिद वा बिक्रीका लागि आवश्यक आदेश फाराम भर्ने गर्नुपथ्र्याे । अहिले यी दुवै समस्याको समाधान भइसकेको छ । आइपिओमा मेरो सेयर, सिआस्वा, डिम्याट, बैंक खाता र प्यान नम्बर भएपछि आफू बसेको स्थानबाट नै अनलाइनमार्फत आवेदन गर्न सकिन्छ ।
यस्तै दोस्रो बजारमा कारोबार गर्न टे«ड म्यानेजमेन्ट सिस्टम (टिएमएस) खाता खोल्नुपर्ने हुन्छ । यस्तो खाता खोलिसकेपछि उक्त खातामार्फत आफूसँग भएको धितोपत्रलाई बिक्री गर्न सकिन्छ भने आवश्यक कोल्याटर जम्मा गरेर धितोपत्रको खरिद गर्न पनि पाइन्छ । यसका लागि लगानीकर्ता ब्रोकरको कार्यालय धाइरहनु पर्दैन । पहिलाको जस्तो ब्रोकरले आफ्नो आदेश राखिदियो दिएन भन्ने कुनै दुविधा पनि रहँदैन, अहिले आफैँले सिधै आदेश टिएमएस प्रणालीमा राख्नसक्ने भएकाले आफू जहाँ भए तापनि धितोपत्रको कारोबार गर्न सकिन्छ । यसरी खरिद गरेको धितोपत्रको भुक्तानी गर्नुपरेमा वा बिक्री गरेको धितोपत्रको रकम प्राप्त गर्नुपरेमा डिजिटल बैंकिङमार्फत गर्न सकिने भएकोले स्वदेश वा विदेश जहाँ रहेर पनि धितोपत्र कारोबार गर्न सकिने अवस्था बनेको छ ।

निष्क्रिय आय : हरेक मानिसले जीवनमा समय र वित्तीय स्वतन्त्रता खोज्ने गर्दछन् । यी दुवै स्वतन्त्रताको मूल स्रोत तपाईं निष्क्रिय आयमा (पेपर एसेष्ट, रियलस्टेट, कमोडिटी, सिस्टम व्यवसाय आदि) भर पर्छ । जबसम्म सक्रिय आयमा (आत्मनिर्भर, स्वरोजगारी वा रोेजगारी) हाम्रो आम्दानी सीमित रहन्छ, तबसम्म समय र वित्तीय स्वतन्त्रताको स्वाद लिन सकिँदैन । यसरी आफ्नो समय र जवानी सुम्पिएर गरिने आयमा खुम्चिएर रहनुभन्दा त्यस्ता सक्रिय आयलाई निष्क्रिय आयमा बदल्न जानियो र सकियो भने जीवनको सुख र खुसी थाहा पाउन सकिन्छ । यस्तो निष्क्रिय आय बढाउँदै लैजाने एक उत्तम उपाय हामीले प्राप्त गरेको सक्रिय आयलाई क्रमशः निष्क्रिय आय दिने सम्पत्तिमा लगानी बढाउँदै लैजानु हो । यस्ता सम्पत्ति मध्य पुँजी बजार सबैभन्दा उपयुक्त रहने गरेको देखिन्छ । सेयर बजारमा थोरैबाट सुरुआत गर्न सकिन्छ भने ठूलो धनराशिलाई पनि लगानी गर्न पाइन्छ । यसरी गरेको लगानीले लगानीकर्तालाई निरन्तर लामो समय नगद, बोनस, हकप्रद वा पुँजीगत लाभका रुपमा निष्क्रिय आय दिइरहने गर्दछ । विश्वका धनीहरुको सबैभन्दा बलियो हतियार नै निष्क्रिय आय हो । जहाँ दैनिक कुनै पेसा वा व्यवसायमा उपस्थित भए जसरी हाजिर भैरहनु पर्दैन आफ्नो अनुकूल समयमा अध्ययन र मेहनत गर्न सकिन्छ । निष्क्रिय आय बढ्दै जाँदा मान्छेलाई रोबर्ट कियोसाकीले ‘धनी बुबा गरिब बुबा’ मा भने जस्तै दैनिक १०–५ बजेको ‘र्‍याट रेस’ बाट मुक्ति प्राप्त हुन्छ तर पनि प्रतिफल भने दिइ नै रहन्छ ।

सम्पत्ति सुरक्षामा खर्च नहुने  : कैयौँ क्षेत्रमा हुने लगानीमा लगानीकर्ताले आफ्नो सम्पत्तिको रक्षाका लागि ठूलोमात्रामा धनराशि खर्च गर्नुपर्ने हुन्छ । यदि त्यसो गरिएन भने हराउने, टुटफुट हुने, नासिएर जाने वा चोरी हुनेजस्ता समस्या आउनसक्छ । खासगरी भौतिक सम्पत्तिमा भएको लगानी संरक्षणका लागि कहिलेकाहीँ उक्त सम्पत्तिले दिने प्रतिफलभन्दा पनि धेरै व्ययभार लाग्ने गरेको पाइन्छ । तर धितोपत्रमा गरिएको लगानी एक अभौतिक सम्पत्ति भएकाले यसको सुरक्षामा खासै खर्च लाग्ने गर्दैन । यो चोरी भएर वा हराएर जाने, आगलागी वा प्राकृतिक प्रकोपले नाश हुने, यसलाई राख्नका लागि ठूलो स्थान चाहिनेजस्ता समस्या रहँदैन । केबल कारोबारका लागि आफूमा ज्ञान, सीप र अनुभव बढाउनसक्ने हो भने पुँजी बजारबाट प्राप्त सम्पत्ति संरक्षणको लागि कुनै जोखिम लिनु पर्दैन ।

लगानीमा विविधीकरण : सफल लगानीकर्ताले विभिन्न क्षेत्रमा लगानी गरिरहेका हुन्छन् । आफूसँग भएको पैसालाई पनि एउटै क्षेत्रमा नभई फरक क्षेत्रमा लगानी गर्न सक्ने हो भने जोखिम न्यूनीकरण र प्रतिफलको थप अवसर प्राप्त हुने देखिन्छ । यसैले लगानीकर्तालाई आफ्नो पुँजी सुरक्षित र बढी प्रतिफलमुखी बनाउनका लागि लगानी विविधीकरणको अवसर धितोपत्र बजारले उपलब्ध गराउँछ । खासगरी धितोपत्र बजारमा धेरै किसिमका उपकरणहरु जस्तैः सेयर, डिवेञ्चर, बोण्ड, हकप्रद सेयर र म्युचुअल फण्ड आदि हुनेहुँदा आफ्नो क्षमता र योग्यताअनुसारको औजारमा लगानी गर्न सकिन्छ ।

यस्तै सेयरमा लगानी गर्दा पनि फरक क्षेत्र (बैंक तथा वित्तीय, उत्पादन मुलक, विद्युत् र होटल आदि) का कम्पनीहरुको छनोट गरी लगानी विविधीकरण गर्न सकिन्छ । सेयर बजारले लगानी विविधीकरणमार्फत लगानीकर्तालाई कम जोखिममा धन प्राप्त गर्न मद्दत गरिरहेको हुन्छ ।

चक्रिय वृद्धिः लगानीमा चक्रीय वृद्धि भनेको कुनै ठाउँमा गरिएको लगानीबाट प्राप्त लाभांशलाई पुनः त्यसै क्षेत्रमा लगानी बढाउँदै क्रमशः प्रतिफल बढाउँदै जाने र त्यसबाट प्राप्त आयलाई पुनःलगानी गर्ने, यस क्रमलाई निरन्तर लामो समयसम्म प्रयोग गरियो भने सम्पत्ति द्रुतगतिमा बढाउन सकिन्छ । यसले लगानी र मुनाफालाई झन छिटो बढ्न मद्दत गर्दछ । यसको बलियो उदाहरण वारेन्ट बफेटको लगानी रणनीतिलाई लिन सकिन्छ । बफेटले लगानीमा उच्च प्रतिफलभन्दा उचित प्रतिफलमा जोड दिए भने आठ दशकदेखि निरन्तर विनाविश्राम लगानी गरिरहेका छन् । उनलाई थाहा छ, लगानीमा सबैभन्दा शक्तिशाली भनेको समय हो, समयको सहयोगमा चक्र वृद्धिमामार्फत अथाह धन जोड्न सम्भव छ । यसैका कारण दशकौँदेखि विश्वका १० धनीमध्ये एकमा आफूलाई टिकाइराख्न सफल भएका छन् ।

यस क्षेत्रमा थोरै रकम पनि लगानी गर्न सकिने भएकाले पहिला लगानी गरिएको पुँजीबाट प्राप्त लाभांशलाई पुनःसेयरमा नै लगानी गर्न सकिन्छ, त्यो रकमले पनि पैसा कमाउन थाल्छ, जसले गर्दा सम्पत्ति झन् छिटो बढ्छ । अल्बर्ट आइस्टाइनले भने जस्तै संसारको आठौँ आश्चर्य अर्थात् चक्रीय वृद्धिले तपाईंको वासलतमा रहेको सम्पत्ति कोलमको योगफल बढोत्तरीमा जादुमयी काम गर्न थाल्नेछ, जुन अपत्यारिलो लागे तापनि यथार्थ हुनेछ । यति मात्रै होइन, सेयरको मूल्य समयसँगै बढ्ने भएकाले मुद्रास्फीतिको असरबाट पैसा जोगाउन र त्यसलाई जित्न सहयोग गर्छ ।

यसरी पुँजी बजारमा गरिने लगानीले सिधा खालको प्रतिफल मात्रै नभई अप्रत्यक्ष लाभहरु दिइरहेको हुन्छ । समुन्द्रमा जानेले जस्तो भाँडा बोकेर जान्छन् त्यतिनै पानी पाउँछन् भने जस्तै धितोपत्र बजारमा पनि जसले जस्तो ज्ञान र सीप प्रयोग गर्छ सोही बमोजिमको प्रतिफल भेटिने निश्चित छ । यसैले हरेक लगानीकर्ताले बजारमा लगानी गर्नुपूर्व पैसा बनाउने रहस्य बुझ्न जरुरी छ । सम्पति निर्माणमा बजारले कसरी काम गरी रहेको छ ? थाहा पाएर लगानीको यात्रालाई आरम्भ गर्नसक्ने हो भने लक्ष्यसम्म पुग्ने बाटो पहिलाउन खास समस्या छैन । यसैले धन कमाउने रहस्य धितोपत्र बजारमा छ । यसका लागि आफूलाई सधैँअब्बल बनाइराख्न आफ्नो योग्यता, अनुभव, अध्ययन र सिकाइलाई चम्काइराख्न खाँचो देखिन्छ ।

(लेखक सेयर बजारका जानकार हुनुहुन्छ)

नयाँ वार्ताअघि भन्सार शुल्कमा ट्रम्पलाई जापानी प्रधानमन्त्रीको दबाब

टोकियो । जापानका प्रधानमन्त्री सिगेरु इसिबाले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कर कम गर्ने विषयमा नयाँ वार्ताअघि फोनवार्तामा फेरि दबाब दिएको बताए ।

अमेरिकाको प्रमुख सहयोगी र यसको सबैभन्दा ठुलो लगानीकर्ता जापानमाथि अधिकांश राष्ट्रमा लगाइएका सामान १० प्रतिशत आधारभूत भन्सार शुल्क र कार, स्टिल र आल्मुनियममा कडा भन्सार शुल्क लगाइएको छ ।

ट्रम्पले अप्रिलको सुरुमा जापानमाथि २४ प्रतिशत ‘पारस्परिक’ कर लगाउने घोषणा पनि गरेका थिए, तर पछि अन्य देशमा लगाइएका समान उपायहरूसँगै ती जुलाईको सुरुसम्मका लागि स्थगित गरे ।

इसिबाले शुक्रबार बिहान आफूले बिहीबार साँझ वासिङ्टनमा ट्रम्पसँग ४५ मिनेट कुरा गरेको र ‘भन्सार शुल्क र आर्थिक सुरक्षासहित विभिन्न विषयहरूमा छलफल भएको’ बताए ।

‘मैले उहाँलाई अमेरिकी भन्सार शुल्कको विषयमा जापानको अवस्था बताएँ, भन्सार शुल्क हटाउने हाम्रो आग्रहमा कुनै परिवर्तन छैन,’ इसिबाले टोकियोमा पत्रकार सम्मेलनमा भने, ‘मैले पहिले भनेजस्तै, यो केवल भन्सार शुल्कको मात्र कुरा नभई लगानीको पनि कुरा हो । जापान र अमेरिकाले अमेरिकामा रोजगारी सिर्जना गर्न सहयोग गर्ने हाम्रो अवस्थामा पनि कुनै परिवर्तन हुनेछैन ।’

यो टिप्पणी जापानका भन्सार शुल्क दूत, आर्थिक पुनरुत्थानमन्त्री रियोसेई अकाजावा तेस्रो चरणको वार्ताका लागि वासिङ्टन प्रस्थान गर्दा आएको हो ।

‘अमेरिकाले चालेका भन्सार शुल्क उपायहरूको शृंखला खेदजनक छ । हामी यी उपायहरूको समीक्षाको कडा माग गर्नेछौँ,’ अकाजावाले टोकियोको हानेडा विमानस्थलमा पत्रकारहरूलाई भने, ‘तर, हामीले एउटा सम्झौतामा पुग्नुपर्छ, त्यसैले यो दुवै पक्षका लागि जित–जित हुनुपर्छ । हामी अमेरिकी पक्षको विभिन्न प्रस्ताव र विचारहरू ध्यानपूर्वक सुन्छौँ र दुई पक्षबिच साझा आधार खोज्छौँ ।’

सार्वजनिक प्रसारक एनएचके र अन्य जापानी मिडियाले सरकारी स्रोतलाई उद्धृत गर्दै अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले यसपटक वार्तामा भाग नलिने बताएका छन् । रिपोर्टहरूका अनुसार अकाजावा मे ३० मा फेरि वासिङ्टन जानेछन् ।

ट्रम्पको २५ प्रतिशत अटो भन्सार शुल्क टोकियोका लागि विशेषगरी पीडादायक छ, किनकि जापानका लगभग आठ प्रतिशत जागिरहरू यस क्षेत्रसँग जोडिएका छन् ।

यसै महिनाको सुरुमा ट्रम्प प्रशासनले इन्जिन र ट्रान्समिसनसहित अटो पार्टसमा २५ प्रतिशत नयाँ आयात कर लगाएको थियो । फेब्रुअरीमा ह्वाइट हाउसमा इसिबाले ट्रम्पलाई वार्षिक जापानी लगानी १० खर्ब डलरसम्म बढाउने वाचा गरेका थिए ।

‘हालैका अमेरिका–चीन र अमेरिका–बेलायत व्यापार सम्झौताहरूले वासिङ्टनले व्यापार तनाव कम गर्ने लक्ष्य राखेको संकेत गरे तापनि जापान–अमेरिका वार्ताले थोरै प्रगति गरेको छ,’ मुडिज एनालिटिक्सका स्टेफन एङ्ग्रिकले भने, ‘अमेरिकामा विश्वको सबैभन्दा ठुलो विदेशी लगानीकर्ताका रूपमा जापानको स्थितिले यसलाई करको खतराबाट जोगाएको छैन, त्यसैले थप लगानीको वाचा गर्नु एउटा अविश्वसनीय मोलतोल हो ।’

रूसको अपार्टमेन्टमा आगलागी हुँदा पाँच जनाको मृत्यु

रूस । रूसको चुकोतका स्वायत्त क्षेत्रको राजधानी अनादिरस्थित एक आवासीय भवनमा आगलागी हुँदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएको स्थानीय अधिकारीले जनाएका छन् ।

अनुसन्धान समितिले शुक्रबार दिएको जानकारीमा प्रारम्भिक अनुसन्धानले घरेलु उपकरणमा विद्युत चुहावट भई आगलागी भएको देखाएको छ । स्थानीय समयअनुसार बिहान ३ः१० मा अपार्टमेन्टको एउटा भान्सामा आगो लागेपछि आगोको लप्कासँगै धुवाँको मुस्लो जमिनभन्दा धेरै माथिसम्म देखिएको जनाइएको छ ।

आगलागीका कारण तीन पुरुष र एक महिलाको घटना स्थलमा नै मृत्यु भएको र एक जनाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जनाइएको छ । उक्त भवनबाट १७ जनालाई उद्धार गरी सुरक्षितस्थलमा लगिएको छ ।

हाल आगो नियन्त्रणमा आइसकेको र घटनाको अनुसन्धान भइरहेको सुरक्षा अधिकारीहरूले जनाएका छन् ।

परराष्ट्रमन्त्री डा राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी, जाइकाका अध्यक्ष तानाका अकिहिकोसँग शुक्रबार भेटवार्ता गरेकी छन्। टोकियोस्थित जाइकाको मुख्यालयमा भएको सो भेटमा नेपाल जापान द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको थियो।

भेटका क्रममा मन्त्री राणाले नेपालको आर्थिक, सामाजिक लगायतका विविध क्षेत्रमा विगत लामो समयदेखि जाइका मार्फत् जापान सरकारले पुर्‍याउँदै आएको सहयोगका लागि नेपालका तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए।

मन्त्री राणाले जाइकाले नेपालका लागि आधारभूत सहयोग नीतिमार्फत् आर्थिक बृद्धि र गरिबी निवारण, विपद जोखिम न्यूनिकरण र जलवायु परिवर्तन तथा सुशासन एवं प्रजातन्त्रको सुदृढीकरण जस्ता क्षेत्रमा गरेको सहयोगको सराहना गरेकी छन्।

मन्त्री राणाले सो अवसरमा पछिल्लो समयमा नागढुंगा सुरुङमार्गको निर्माण, सिन्धुली बर्दिबास सडकको पुननिर्माण एवं मर्मत सम्भार लगायत नेपालका कैयौँ क्षेत्रहरुमा जाइकामार्फत् जापन सरकारले पुर्याउँदै आएको सहयोगको सराहना गरिन् ।

भेटमा उनीहरुबीच नेपाल जापान सम्बन्ध, जाइकाले नेपाललाई गरिरहेको सहयोग, जलवायु परिवर्तन र यसको असर, विपद व्यवस्थापन, सुशासन र ज्येष्ठ नागरिकहरुसम्बन्धी विषयमा पनि कुराकानी भएको थियो ।

सिक्टा सिँचाइको पूर्वी मूल नहरमा शाखा नहर निर्माण सुरु

राँझा। बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले पूर्वी मूल नहरमा शाखा नहर निर्माणको काम सुरु गरेको छ । पूर्वी मूल नहरको केही क्षेत्रमा पानी सञ्चालन भइरहेकाले अब किसानको खेतसम्म पुर्‍याउन शाखा नहर निर्माण सुरु गरिएको आयोजनाका निर्देशक राजु आचार्यले जानकारी दिए ।

उनका अनुसार राप्ती सोनारी गाउँपालिका–४ स्थित लटनिया गाउँबाट पहिलो शाखा नहर निर्माणको काम सुरु गरिएको छ । उक्त शाखा नहरको लम्बाइ चार किलोमिटर रहनेछ भने नहरको एक दशमलव चार किमीबाट प्र–शाखा नहर निर्माण गरिने र शाखामा तीन वटा जति प्र–शाखा नहर रहनेछन् ।

शाखा नहर निर्माणका लागि पाँच करोड ७९ लाख रुपैयाँमा पिएस निर्माण सेवासँग ठेक्का सम्झौता भई काम अगाडि बढेको आयोजनाका इञ्जिनियिर विनेश श्रेष्ठले जानकारी दिए ।

शाखा नहरबाट ६७० हेक्टर क्षेत्रमा सिँचाइ गर्ने लक्ष्य लिइएको र यसबाट सतह सिँचाइ गर्न नसक्ने क्षेत्रमा पानी पुर्‍याउन लिफ्ट सिँचाइको वैकल्पिक व्यवस्था गर्न लागिएको उनले बताए । लिफ्ट सिँचाइका लागिसमेत पाँच करोड ५० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको श्रेष्ठले जानकारी दिए ।

पूर्वी मूल नहरमा शाखा नहर निर्माण नहुँदा स्थानीयले यसअघि ‘राजकुलो’ मा सिक्टाको पानी खसालेर सिँचाइ गर्दै आएका थिए ।
राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले आयोजनाले किसानको खेतमा पानी पुर्‍याउनुपर्ने बताए । राप्ती सोनारीको वडा नम्बर १ बाहेक सबै वडामा सिक्टाले छोए पनि सतह सिँचाइ नपुग्ने ठाउँमा वैकल्पिक व्यवस्था गरिदिनुपर्ने उनको माग छ ।

यस आयोजनाको अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको छ । आयोजनाले जिल्लाको ४२ हजार ७६६ हेक्टर जमिनमा पानी सिँचाइको लक्ष्य लिएको छ । पश्चिमी नहर र पूर्वी नहर गरी दुई मुख्य नहरबाट पानी वितरण गरी शाखा नहरबाट सिँचाइको व्यवस्था गरिएको छ ।

पश्चिमी मूल नहरबाट ३३ हजार ७६६ हेक्टर र पूर्वी नहरबाट नौ हजार हेक्टर जमिनमा पानी सिँचाइ गर्ने लक्ष्य लिइएको आयोजना निर्देशक आचार्यले बताए ।

हालसम्म २१ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको र पश्चिमी मूल नहरको ४५ दशमलव २५ किमी निर्माण काम सम्पन्न भइसकेको उनले बताए । पूर्वी मूल नहरको ५३ दशमलव ५० किमीमध्ये ३७ दशमलव ६८ किलोमिटर निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ ।

पूर्वाधार निर्माण माओवादी केन्द्रको उच्च प्राथमिकतामा : प्रचण्ड

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता भएको बताएका छन् ।

बागलुङको ताराखोला पालिकाको सहिद मार्ग स्तरोन्नतिका निम्ति बजेट विनियोजन गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराउने समेत बताए ।

ताराखोला गाउँपालिकाद्वारा आयोजित एक कार्यक्रममा उनले ताराखोलालाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त सडकको विस्तार र कालोपत्र गर्न सरकारसँग रकम माग्ने बताए ।

“सहिद मार्गलाई बजेटमा समेट्न यसअघि पनि पहल गरिएको हो, तर त्यसले सार्थकता पाउन सकेन, यसपालि विशेष प्रयत्न गर्छौँ”, उनले भने, “स्थानीय उत्पादनको बजारीकरण र पर्यटनका दृष्टिले पनि यो सडक महत्वपूर्ण छ ।”

भौगोलिक कठिनाइ र सीमित स्रोतसाधन हुँदा पनि विकासनिर्माण र सेवा प्रवाहमा ताराखोला गाउँपालिकाले उदाहरणीय काम गरेको उनले बताए । स्थानीय तहलाई पक्की सडकमार्फत प्रदेश राजधानीसँग जोड्ने सरकारको लक्ष्य अनुरूप २० किलोमिटर लामो उक्त सडक चार वर्ष अघि नै कालोपत्र गरिने सडकका रूपमा छनोट गरिएको थियो ।

पार्टीले सुरू गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित जनजागरण अभियानले माओवादी केन्द्रको जनतासँगको सम्बन्धलाई सुदृढ बनाएको उनले बताए ।

सुनको मूल्य तोलामा एक हजार एक सयले बढ्यो

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ बिहीबारको तुलनामा आज एक तोला सुनको मूल्य एक हजार १०० ले घटेको हो । चाँदी पनि तोलामा २० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९० हजार ४०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी रु दुई हजार पाँचमा कारोबार भइरहेको छ ।

अन्तराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार ३३० डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

हेटौँडा औद्योगिक क्षेत्रमा चार उद्योग थपिए

बागमती । हेटौँडा औद्योगिक क्षेत्रमा उद्योग विस्तारको क्रम क्रमशः बढ्दै गएको छ । हालै त्यहाँ चारवटा नयाँ उद्योग थपिएका छन्।औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालका अनुसार गत वैशाखदेखि लक्की पोलि इन्डस्ट्रिजले प्लाष्टिकका सामान र टोटल प्याकेजिङले प्लाष्टिकको बोरा उत्पादन थालेका छन् । गत माघदेखि थ्रिस्टार ग्रुपले रंगीन तथा सादा कर्कटपाता र बाबा मेनिफ्याक्चरले टिनका बाकस बनाउन थालेका छन्।

औद्योगिक क्षेत्रमा हाल १० वटा उद्योगका संरचना निर्माणाधीन छन्। तीमध्ये अधिकांशको निर्माण अन्तिम चरणमा पुगेको छ। लामो समयदेखि बन्द रहेका छवटा उद्योगमध्ये सुप्रिम मेटल उद्योगले पनि फलामको काटी उत्पादन सुरु गरेको सूचना अधिकारी नेपालले बताए ।

विभिन्न कारणले बन्द रहेका अन्य पाँचवटा उद्योग सञ्चालनका लागि सञ्चालकसँग सम्पर्क समन्वय भइरहेको उनले बताए। उनका अनुसार बन्द रहेकामध्ये डाइनेष्टी डिष्टलरी, ग्रिन गोल्ड इन्टरनेशनल प्रालि, साउथ एसियन पोलिपाइप प्रालि र बानियाँ मल्टि प्रोडक्ट प्रालि पुनः सञ्चालनको तयारी भइरहेको सञ्चालकहरूबाट जानकारी प्राप्त भएको छ।

अमेरिका सरकारको सहयोगमा २०२० साल मंसिर २० गते स्थापना भएको औद्योगिक क्षेत्रमा हाल एक सय ४६ उद्योग तथा प्रतिष्ठानले जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गरिरहेका छन्।कुल तीन हजार दुई सय २८ रोपनी क्षेत्रफलमा फैलिएको औद्योगिक क्षेत्रभित्रमा खाद्य उद्योग, युनाइटेड ब्रुअरी , गोर्खा ब्रुअरी कम्पनी, एसियन पेन्ट्स, पशु आहारा दाना उद्योग, कार्टुन उद्योग प्रमुख उद्योगका रूपमा सञ्चालनमा छन्।

औद्योगिक क्षेत्रमा सरकारी स्वामित्वका हेटौँडा दुग्ध वितरण आयोजना, प्रदेश खाद्य तथा गुण नियन्त्रण कार्यालय, प्रदेश बीउबिजन कम्पनी, प्रदेश माटो परीक्षण कार्यालय, इलाका प्रहरी कार्यालय र नेपाल बैंक लिमिटेड सञ्चालनमा छन्।

कुल जग्गा क्षेत्रफलमध्ये हाल भाडामा दिएको दुई हजार एक सय ७८ रोपनी, खाली जमिन २६ दशमलव ५२ रोपनी र युटिलिटी सेवाले ओगटेको सडक सञ्जाल, विद्युतीकरण, ढल निकासलगायत संरचना निर्माण क्षेत्रफल पाँच सय ९७ रोपनी रहेको छ ।

औद्योगिक क्षेत्रभित्र कार्यालयबाट निर्मित औद्योगिक भवन १०, गोदाम ११ र अन्य भवन ३४ वटा छन्। औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले औद्योगिक क्षेत्रहाताभित्रका उद्योग– प्रतिष्ठानका भवन, गोदाम, क्वार्टर र जग्गाबाट पनि बहाल संकलन गर्दै आएको छ ।

राष्ट्रिय युवा संघको १० औं राष्ट्रिय महाअधिवेशन पोखरामा आजदेखि सुरू हुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघको १० औं राष्ट्रिय महाअधिवेशन पोखरामा आजदेखि सुरू हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मध्याह्न अमरसिंह चौर पोखरामा महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ ।

महाधिवेशनमा १ हजार ७ सय ९२ जना प्रतिनिधि हुनेछन् । नेकपा (एमाले) को पछिल्लो नीतिअनुसार युवा संघको महाधिवेशनले ९ पदाधिकारीसहित १ सय ५१ सदस्यीय नयाँ केन्द्रीय समिति निर्वाचित गर्नेछ ।

संगठनका अध्यक्ष क्षितिज थेवे अधिवेशनबाट नेतृत्वमा दोहोरिन चाहेका छन् । त्यस्तै महासचिव सुमन पुरी, उपाध्यक्षहरू कृष्णहरि केसी, प्रकाश गौतम र महाराज गुरूङले पनि अध्यक्षमा आकांक्षा देखाएका छन् ।

महासचिवमा खेम शर्मा, कुबेर अधिकारी, विनय शाह, राजन थापा, महेश चौलागाईं, निरोज पौडेल लगायतको नाम चर्चामा छ । परिवर्तित नीतिअनुसार युवा संघमा दुई जना उपाध्यक्ष हुनेछन्। जसमा एक जना महिला अनिवार्य गरिएको छ ।

महिला उपाध्यक्षमा शारदा पछाईं, नीशा लिम्बू, रेशु तामाङ, अनुपमा राईले आकांक्षा राखेका छन्। खुलातर्फ बलराम बेलबासे, राजन थापा, राकेश राई लगायतको चर्चा छ ।

हार्वर्डमा विदेशी विद्यार्थी भर्नामा रोक

बीबीसी । ट्रम्प प्रशासनले अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालय हार्वर्डमा विदेशी विद्यार्थी भर्नामा रोक लगाएको छ ।

होमल्याड सेक्युरिटी डिपार्टमेन्टका सेक्रेटरी क्रिस्टी नोयमले कानूनको पालना गर्न असफल भएकाले हार्वर्डको विद्यार्थी र विनिमय आगन्तुक कार्यक्रमको प्रमाणपत्र खारेज गरिएको जानकारी दिएकी छन् ।

हार्वर्डले उक्त कदमलाई ‘अवैधानिक’ भनेको छ । उसले हार्वर्डमा १४० भन्दा बढी देशबाट आएका विदेशी विद्यार्थी र विद्वानहरूलाई कायम राख्न पूर्ण प्रतिबद्ध रहेको बताएको छ । ट्रम्प प्रशासनको यस निर्णयले विश्वविद्यालयमा अध्ययनरत हजारौं विदेशी विद्यार्थीहरूलाई असर पर्नेछ ।

विश्वविद्यालयका अनुसार अघिल्लो शैक्षिक वर्षमा ६ हजार ७०० भन्दाबढी विदेशी विद्यार्थीहरू भर्ना भएका थिए, जसले सम्पूर्ण विद्यार्थीहरूको २७ प्रतिशत हिस्सा ओगटेका थिए । बिहीबार यो खबर फैलिएपछि हजारौं विद्यार्थीहरु अन्योलमा परेका छन् ।

ट्रम्प प्रशासनले हार्वर्डलाई यहूदी विरोधी गतिविधिहरूको विरुद्ध लड्न भर्ना, नियुक्ति र पढाउने तरिकामा परिवर्तन गर्न माग गरेको छ। साथै, उसले विश्वविद्यालयको करमुक्त स्थिति खारेज गर्ने र सरकारी अनुदान रोक्ने धम्की पनि दिएको छ ।

हार्वर्डले यसअघि यहूदी विरोधी घटनाहरूविरुद्ध कदम चालिएको बताएको थियो, र सरकारी मागलाई विश्वविद्यालयको ‘बौद्धिक स्वतन्त्रता’ नियन्त्रण गर्ने प्रयास भनेको थियो ।

गत अप्रिलमा, नोएमले हार्वर्डलाई विदेशी विद्यार्थी सम्बन्धी अभिलेखहरू उपलब्ध गराउने माग राखेकी थिइन्, अन्यथा विद्यार्थी भिसा कार्यक्रमबाट हटाउने चेतावनी दिइएको थियो । बिहीबारको पत्रमा, नोएमले हार्वर्डलाई विदेशी विद्यार्थी भर्ना गर्ने अनुमति पुनः प्राप्त गर्न केही शर्तहरू पूरा गर्नुपर्ने बताइन् ।

यसमा हार्वर्डमा विगत पाँच वर्षमा भर्ना भएका गैर–अप्रवासी विद्यार्थीहरूको सबै अनुशासनसम्बन्धी अभिलेखहरू, साथै गैरआप्रवासी विद्यार्थीहरूद्वारा गरिएको ‘अवैध’ वा ‘हिंसात्मक’ गतिविधिको भिडियो, अडियो वा इलेक्ट्रोनिक अभिलेखहरू सरकारलाई बुझाउने माग गरिएको छ ।

ट्रम्प प्रशासनले विगतमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि व्यक्तिगत भिसामा कटौती गर्ने प्रयास गरेको छ, जसले अमेरिकाभरका क्याम्पसहरूमा अन्योल सिर्जना गरेको छ र कैयौं मुद्दाहरू दायर गरिएका छन् ।

बैतडीको खलङ्गा केन्द्रबिन्दु भएर दुई पटक भूकम्पको धक्का

बैतडी । बैतडी सदरमुकाम भएर भूकम्प भएको छ । सुर्खेतिस्थित भूूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार सदरमुकाम खलङ्गा केन्द्रबिन्दु भएर आज बिहान १ः४८ बजे पाँच दशमलव एक र २ बजे तीन दशमलव सात रेक्टर स्केलको भूकम्प भएको हो ।

लगातार दुईपटक कम्पन भएपछि यहाँका स्थानीय घर बाहिर निस्केका थिए । भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरिएको केन्द्रका प्रमुख तिमल्सिनाले बताए । भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त हुन बाँकी छ ।

भलिबलमा गण्डकीको विजयी शुरुवात

पोखरा । नवौं पिएम कप एनभिए भलिबल लिगको पुरुषतर्फ डिफेन्डिङ च्याम्पियन हेल्प नेपालले विजयी शुरुवात गरेको छ । बिहीबार हेल्प नेपालले आर्मीलाई सोझो सेटमा हराउदै विजयी शुरुवात गरेको हो ।

अर्को खेलमा गण्डकी प्रदेशले प्रतिस्पर्धात्मक खेलमा कोशी प्रदेशलाई ३–१ ले पराजित गर्यो । गण्डकीले २५–१५, २५–२१, २५–२२ र २५–२० ले हराउँदै कोशीलाई हरायो । त्यसअघि बिहीबारै भएको पुरुषतर्फको पहिलो खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा हराएको थियो ।

एकतर्फी जित निकाल्ने क्रममा एपिएफ २५–१९,२५–१६,२५–१६ ले विजयी भएको थियो । त्यसअघि महिलातर्फ एभरेष्ट भलिबल क्लब र एपिएफले विजयी सुरुवात गरेका छन् । एभरेष्टले पुनरागमन जित निकाल्ने क्रममा त्रिभुवन आर्मी क्लबलाई ३–१ ले हराएको छ ।

पोखरा रंगशालास्थित कभर्ड हलमा पहिलो सेट २२–२५ ले गुमाएको एभरेष्टले त्यसपछि लगातार २५–१९, २५–१७,२५–१३ ले सेट आफ्नो पक्षमा पारेको हो । राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीको नेतृत्वमा रहेको एभरेष्टमा ३ थाइल्याण्डका खेलाडी सहित मैदान उत्रिएको थियो ।

त्यसअघि एपिएफ क्लबले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै एपिएफले जितबाट लिगको यात्रा सुरु गरेको हो । एपिएफले २५–१०, २५–१०, २५–१५ को सहज जित निकालेको हो । नेपाल भलिबल संघको आयोजनामा एक साता चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता छ ।

सबैले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष ४ मा रहने टोलीले सेमिफाइनल खेल्ने छन् । दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् । लिगका विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका थिए ।

ढोरपाटनका मेयर नेपालीलाई २० लाख धरौटीमा छाड्न आदेश

गण्डकी । जिल्ला अदालत कास्कीले बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई धरौटीमा छोड्न आदेश दिएको छ ।

बिहीबार न्यायाधीश कृष्णजंग शाहको इजलासले नेपालीलाई २० लाख धरौटीमा छोड्न आदेश दिएको हो । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका थिए ।

नेपाली हाल बागलुङ कारगारमा छन् । उनी ईमेज बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा जिल्ला अदालत बागलुङले थुनामा पठाउन आदेश दिएको थियो ।

सरकारलाई राप्रपाको चेतावनीः हिम्मत भए आन्दोलनमा प्रतिबन्ध लगाउनु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपाली जनताले सडकमै फैसला गर्न बाध्य नपार्न सरकारलाई चेतावनी दिएका छन् ।

बिहीबार सामाजिक संजालमार्फत शाहीले सरकारलाई आन्दोलनमा प्रतिबन्ध नलगाउन चेतावनी दिएका हुन् । बिहीबार दिउँसो मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचारमन्त्री पृथ्वीसुब्बा गुरुङले राजावादीको आन्दोलनमा प्रतिबन्ध लगाउन संवैधानिक हक रहेको बताएका थिए । त्यसको जवाफमा शाहीले यस्तो बताएका हुन् ।

शाहीले भनेका छन्, ‘नेपाल सरकारका प्रवक्ता एवंम माननीय सूचना , प्रविधि तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङज्यू तपाईँ नेपालको संविधानको पालना गर्नुहोस् । संविधानको धारा २७० ले फरक विचार राख्ने पार्टी, दल, संघसंस्था बन्देज गर्न पाइँदैन भनेको छ त्यति मात्र होइन फरक अभिव्यक्ति स्वतन्त्रतालाई हनन गर्ने कुनै पनि किसिमको ऐन कानुन बनाउन पाइँदैन। यदि कुनै ऐन कानुन बनेमा स्वतः खारेज हुनेछ भनेर लेखिएको छ।’

उनले संचारमन्त्रीलाई संविधान अध्ययन गर्न आग्रह गरेका छन् । शाहीले जबर्जस्त गर्न खोजे नेपाली जनता सडकमै फैसला गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

उनले भनेका छन्, ‘तपाईँलाई संविधानको अध्ययन गर्न आउँदैन कि ? तपाईँ संविधानभन्दा आफूलाई ठूलो ठान्नुहुन्छ ? मन्त्रीपद भनेको संविधानभन्दा ठूलो होइन। त्यसैले भन्छु यसरी संविधानको ठाडो उल्लङ्घन गर्दै धज्जी उडाउँदै अभिव्यक्ति निर्देशन दिने काम बन्द गर्नुहोस्। राष्ट्रवादीलाई धम्काउँछु भन्ने अभिव्यक्ति नेपाल प्रहरीको आइजीपीको जिब्रो थुत्छु भने जस्तो होइन“ अन्यथा नेपाली जनताले सडकमै फैसला गर्न बाध्य नपार्नुहोस्।’