`

सरकारलाई राप्रपाको चेतावनीः हिम्मत भए आन्दोलनमा प्रतिबन्ध लगाउनु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपाली जनताले सडकमै फैसला गर्न बाध्य नपार्न सरकारलाई चेतावनी दिएका छन् ।

बिहीबार सामाजिक संजालमार्फत शाहीले सरकारलाई आन्दोलनमा प्रतिबन्ध नलगाउन चेतावनी दिएका हुन् । बिहीबार दिउँसो मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचारमन्त्री पृथ्वीसुब्बा गुरुङले राजावादीको आन्दोलनमा प्रतिबन्ध लगाउन संवैधानिक हक रहेको बताएका थिए । त्यसको जवाफमा शाहीले यस्तो बताएका हुन् ।

शाहीले भनेका छन्, ‘नेपाल सरकारका प्रवक्ता एवंम माननीय सूचना , प्रविधि तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङज्यू तपाईँ नेपालको संविधानको पालना गर्नुहोस् । संविधानको धारा २७० ले फरक विचार राख्ने पार्टी, दल, संघसंस्था बन्देज गर्न पाइँदैन भनेको छ त्यति मात्र होइन फरक अभिव्यक्ति स्वतन्त्रतालाई हनन गर्ने कुनै पनि किसिमको ऐन कानुन बनाउन पाइँदैन। यदि कुनै ऐन कानुन बनेमा स्वतः खारेज हुनेछ भनेर लेखिएको छ।’

उनले संचारमन्त्रीलाई संविधान अध्ययन गर्न आग्रह गरेका छन् । शाहीले जबर्जस्त गर्न खोजे नेपाली जनता सडकमै फैसला गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

उनले भनेका छन्, ‘तपाईँलाई संविधानको अध्ययन गर्न आउँदैन कि ? तपाईँ संविधानभन्दा आफूलाई ठूलो ठान्नुहुन्छ ? मन्त्रीपद भनेको संविधानभन्दा ठूलो होइन। त्यसैले भन्छु यसरी संविधानको ठाडो उल्लङ्घन गर्दै धज्जी उडाउँदै अभिव्यक्ति निर्देशन दिने काम बन्द गर्नुहोस्। राष्ट्रवादीलाई धम्काउँछु भन्ने अभिव्यक्ति नेपाल प्रहरीको आइजीपीको जिब्रो थुत्छु भने जस्तो होइन“ अन्यथा नेपाली जनताले सडकमै फैसला गर्न बाध्य नपार्नुहोस्।’

आगामी आर्थिक वर्षको बजेट लेखनको अन्तिम तयारी

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेखनको अन्तिम तयारी भइरहेको छ । यसमा विभिन्न क्षेत्रबाट प्राप्त सुझावलाई समेत समेट्ने काम भइरहेको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले मुलुकको आवश्यकता तथा जनअपेक्षा, उपलब्ध साधन स्रोतको सीमा र प्राप्त सुझावलाई ध्यान दिएर बजेट लेखनको काम भइरहेको बताए । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उनको टोली बजेट निर्माणमा केन्द्रित छ । अर्थ मन्त्रालयले आगामी आवको बजेटबारे सबै विषयगत मन्त्रालय, विभागहरु, राष्ट्रिय योजना आयोग, राजनीतिक दल, जनप्रतिनिधि तथा सम्बन्धित क्षेत्रका विज्ञसँग परामर्श गरेको थियो ।

अर्थ मन्त्री पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतसँग परामर्श गरेका थिए । यस्तै अर्थ मन्त्रालयले पूर्व अर्थमन्त्रीहरुसँग समेत परामर्श गरेको थियो ।

त्यसैगरी पूर्व अर्थ सचिवहरु, अर्थ विद्हरु, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्सलगायतका विषयतगत सङ्घसंस्थाहरुसँग छलफल गरेको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ । विकास साझेदारहरुसँग पनि छलफल भएको छ ।

बजेट निर्माणका सन्दर्भमा जनप्रतिनिधिहरु, विभिन्न सङ्घ संस्थाका पदाधिकारी, नागरिकले पनि अर्थ मन्त्रालयलाई सुझाव दिएका थिए । अर्थ मन्त्रालयले बजेट सम्बन्धी सुझाव दिन सार्वजनिक रुपमा आह्वान गरेको थियो । सरकारको नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त तथा प्राथिमकताबारे संसद्मा छलफल भइसकेको छ ।

बजेटका सिद्धान्त र प्राथमिकतामा अर्थतन्त्रमा सुधार, रोजगारी सिर्जना, डिजिटल अर्थतन्त्रको निर्माण, भौतिक पूर्वाधारको विकास, सामाजिक सुरक्षालगायतलाई क्षेत्रगत प्रथामिकतामा राखिएको मन्त्रालयले जनाएको छ । यही जेठ १४ गते संसद्मा आर्थिक सर्वेक्षण र जेठ १५ गते बजेट वक्तव्य पेश हुनेछ ।

पछिल्लो समय देशमा भ्रष्टाचार मौलाउँदै गयोः प्रचण्ड

ढोरपाटन (बागलुङ)। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रप्रति जनतामा नयाँ आशा पलाएको बताएका छन् ।

मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका क्रममा बागलुङको बुर्तिबाङ आएका प्रचण्डले बिहीबार आयोजित आमसभालाई सम्बोधन गर्दै पार्टी नयाँ गतिमा अगाडि बढिरहेको उल्लेख गरे ।

मध्यपहाडी जनजागरण अभियानमा आमनागरिकको गुनासा र सुझाव ग्रहण गर्दै पार्टी अगाडि बढिरहेको बताउँदै अध्यक्ष दाहालले यो अभियानले देशमा नयाँ राजनीतिक वातावरण बनाउने विश्वास व्यक्त गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले आगामी दिनमा राष्ट्रिय एकतालाई सुदृढ गर्दै किसान, मजदुरका, उत्पीडन वर्गका समस्या समाधानमा केन्द्रित हुने वातवरण बनाउने उल्लेख गरे ।

आफू प्रधानमन्त्री हुँदा देशमा ठूला परिवर्तन भएको भन्दै अध्यक्ष दाहालले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गसहित अन्य कतिपय योजना तत्कालीन समयमा थालनी गरेको दाबी गरे । मध्यपहाडी लोकमार्गले मध्यपहाडमा बस्ने लाखौँ जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याएको उनले विश्वास व्यक्त गरे ।

अध्यक्ष दाहालले भने, ‘नेपालमा स्वच्छ र स्वस्थ राजनीति गर्ने परिपाटीको विकास भएको छैन । अबमा दिनमा सबै राजनीतिक दल इमान्दारीपूर्वक जनताका पक्षमा केन्द्रित हुनुपर्ने जरुरी छ । पार्टीले सुरु गरेको मध्यपहाडी जनजगरण अभियानमा माओवादी केन्द्रप्रति जनताको आशा पलाएको पाएका छौँ । यो यात्रा आमनागरिकको सुझाव ग्रहण गर्ने र पार्टीलाई मजबुत बनाउनका लागि हो ।’

पछिल्लो समय देशमा भ्रष्टाचार मौलाउँदै गएको बताउँदै उनले यसलाई न्यूनीकरण गर्न पार्टीले खबरदारी गर्दै आएको उल्लेख गरे।

रवि लामिछानेको मुद्दामा हेर्दाहेर्दैमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।

सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश बदर गरी थुनाबाहिरै रहेर मुद्दा लड्न दिनु पर्ने माग गर्दै दायर रिटमा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलबार र बिहीबार सुनुवाइ भएपनि बहस सकिएको छैन । अब शुक्रबार सुनुवाइ हुनेछ। शुक्रबार भने आदेश आउने सम्भावना छ ।

बिहीबार रवि र छविलाल जोशीका कानुन व्यवसायीको बहस सकिएपछि सरकारी वकिलले पनि बहस गरेका छन्। शुक्रबार जाहेरवालाका वकिलले बहस गर्नेछन् ।

जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा रिहा गरे पनि उच्च अदालत बुटवलले थुनामै राख्न आदेश दिएपछि रवि चैत २२ गते पक्राउ परेका थिए । हाल रवि रुपन्देही जिल्ला कारागारमा छन् ।

द्वन्द्वपीडितलाई विश्वासमा लिएर संक्रमणकालीन न्यायको काम टुंग्याउन आयोगको  आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले द्वन्द्वपीडितलाई विश्वासमा लिएर संक्रमणकालीन न्यायको काम टुंग्याउन आग्रह गरेको छ ।

बिहीबार विज्ञप्ति जारी गरी आयोगले विगतका असफल प्रयासबाट पाठ सिक्दै द्वन्द्वपीडितलाई न्याय सुनिश्चित हुने विश्वास दिलाउनु पर्ने बताएको हो । आयोगले सरकारले गठन गरेका संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगको गठन प्रक्रियाप्रति द्वन्द्वपीडितहरूले जनाएको असहमतिलाई गम्भीरतापूर्वक लिएको पनि बताएको छ ।

आयोगले द्वन्द्वपीडितहरूको स्वीकार्यता, विश्वसनीयता र सहयोग बिना संक्रमणकालीन न्याय टुंगोमा पुग्न नसक्ने स्पष्ट पारेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘विवाद र असहमतिलाई वार्ता र संवादका माध्यमबाट समाधान गर्न सकिन्छ । विगतका असफल प्रयासहरूबाट पाठ सिक्दै द्वन्द्वपीडितलाई न्याय सुनिश्चित हुने विश्वास दिलाउन आवश्यक छ ।’

परराष्ट्रमन्त्री राणा र जापानी विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं । जापान भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा र जापानका विदेशमन्त्री इवाया ताकेसीबीच भेटवार्ता भएको छ ।

बिहीबार उनीहरुबीच टोकियोस्थित विदेश मन्त्रालयमा भेटवार्ता भएको हो । भेटमा नेपाल जापान द्विपक्षीय सम्बन्ध, आपसी हित र साझा चासोका विविध विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री राणाको सचिवालयले जनाएको छ ।

भेटका क्रममा मन्त्री राणाले नेपालको आर्थिक, सामाजिक लगायतका क्षेत्रमा विगत लामो समयदेखि गर्दै आएको सहयोगका लागि नेपालका तर्फबाट जापान सरकार र जापानी नागरिकलाई धन्यवाद ज्ञापन गरेका थिइन् ।

त्यस्तै उनीहरुका बीचमा नेपाल जापान सम्बन्धको ७० बर्षे इतिहासका विविध पक्षहरुमा पनि कुराकानी भएको थियो। नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। दुवै देशले आगामी बर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ बार्षिकोत्सव मनाउँदै छन् ।

मन्त्री राणाले त्यस अवसरमा नेपाल सन् २०२६ पछि अतिकम विकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रकारुपमा स्तरोन्नति हुन लागेकाले त्यसपछिको अवस्थामा नेपाललाई सहयोगका लागि जापानसँग आग्रह गरेकी थिइन् ।

त्यसैगरी उनले नेपालमा लगानीका लागि जापानी उद्योगी, व्यवसायीहरुलाई प्रोत्साहित गरिदिन विदेशमन्त्रीलाई आग्रह गर्दै नेपालमा लगानीका धेरै सम्भावना रहेका र नेपाल सरकारले वैदेशिक लगानीलाई सुरक्षा र सुनिश्चितता प्रदान गर्ने पनि बताइन् ।

जापानमा एकजना ट्याक्सी चालकले ५० महिलालाई बलात्कार गरेको आशङ्का

टोकियो । जापानी प्रहरीले बिहीबार एक महिला यात्रुलाई लागुऔषध खुवाएर बलात्कार गरेको आशङ्कामा एक पूर्व ट्याक्सी चालकलाई पक्राउ गरेको बताएका छन् । मिडिया रिपोर्टहरूले दर्जनौँ थप पीडित हुन सक्ने बताएका छन् ।

प्रहरीले उनको ट्याक्सी वा उनको घरमा करिब ५० जना महिलालाई यौन दुव्र्यवहार गरेको करिब तीन हजार भिडियो र तस्बिर फेला पारेको योमियुरी सिम्बुन दैनिक र जिजी प्रेसले रिपोर्ट गरेका छन् ।

“गत वर्ष ती व्यक्तिले २० वर्षकी एउटी महिलालाई निद्राको गोली खान लगाए, जसले गर्दा उनी बेहोस भइन्, उनलाई आफ्नो घरमा लिएर गए र अभद्र कार्य गरे, जसलाई उनले फिल्म बनाएका थिए”, टोकियो प्रहरीका प्रवक्ताले भने ।

प्रहरीले बुधबार ५४ वर्षीय ती व्यक्तिलाई ‘सहमतिविहीन यौन सम्पर्क र यौन अङ्गको छायाङ्कनको सजाय सम्बन्धी कानूनको उल्लङ्घन’ को आशङु्कामा पक्राउ गरेको थप विवरण नदिई प्रवक्ताले बताए ।

मिडिया रिपोर्टहरूका अनुसार उनको कपालमा निद्राको चक्कीका निशानहरू फेला परेका थिए ।

रिपोर्टहरूका अनुसार ती व्यक्तिको फोन र अन्य उपकरणहरूमा बरामद गरिएका फुटेजहरू सन् २००८ देखिका थिए ।

ती व्यक्तिलाई गत अक्टोबरमा अर्की महिलालाई लागुऔषध खुवाएर उनको ४० हजार येन (दुई सय ८० डलर) लुटेको आशङ्कामा पक्राउ गरिएको पनि मिडियाले बताएका छन् ।

कथित अभद्र आक्रमणको आरोपमा डिसेम्बरमा फेरि हिरासतमा लिनुअघि उनलाई पछि रिहा गरिएको थियो ।

विश्वभरका इजरायली मिसनहरूमा सुरक्षा बढाउने नेतान्याहुको आदेश

जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बिहीबार वासिङ्टनको यहुदी संग्रहालयबाहिर ‘फ्री प्यालेस्टिन’ भन्दै हल्ला गर्ने बन्दुकधारीले दूतावासका दुई कर्मचारीको गोली हानी हत्या गरेपछि विश्वव्यापी इजरायली कूटनीतिक मिसनहरूमा सुरक्षा उपायहरू बढाउने आदेश दिएको बताएका छन् ।

‘मैले विश्वभरका इजरायली मिसनहरूमा सुरक्षा व्यवस्था बढाउन र राज्यका प्रतिनिधिहरूको सुरक्षा बढाउन निर्देशन दिएको छु,’ उनले भने, ‘हामी यहुदीविरोधी भावना र इजरायल राज्यविरुद्धको जंगली उक्साहटको भयानक मूल्य देखिरहेका छौँ ।’

बुधबार राति वासिङ्टनको केन्द्रमा रहेको क्यापिटल यहुदी संग्रहालयमा युवा पेसेवरहरू र कूटनीतिक कर्मचारीहरूका लागि सामाजिक कार्यक्रम भइरहेको वेला संग्रहालय बाहिर गोली हानाहान भएको थियो ।

सामाजिक सञ्जालमा फैलिएको एक भिडियो क्लिपमा ज्याकेट र सेतो सर्ट लगाएका एकजना दाह्री भएका युवकलाई प्रहरीले लैजाँदा ‘फ्री, फ्री प्यालेस्टिन’ भनेर चिच्याएको देखाइएको छ ।

संयुक्त राज्य अमेरिकाका लागि इजरायली राजदूत येचिएल लेइटरका अनुसार पीडितहरू विवाह गर्ने योजना बनाएका एक युवादम्पती थिए ।

इजरायली राष्ट्रपति आइज्याक हर्जोगले घातक आक्रमणबाट आफू ‘स्तब्ध’ भएको, तर दुई देश ‘हाम्रा जनताको रक्षामा एकजुट हुने’ बताएका छन् ।

‘इजरायली दूतावासका दुई युवा कर्मचारीको ज्यान लिएको यो घृणा, यहुदी विरोधको घृणित कार्य हो,’ हर्जोगले भने, ‘अमेरिका र इजरायल हाम्रा जनता र हाम्रा साझा मूल्यहरूको रक्षामा एकजुट हुनेछन् । आतंक र घृणाले हामीलाई तोड्नेछैन ।’

विदेशमन्त्री गिडियोन सारले पनि आक्रमणबाट आफू ‘डराएको’ भन्दै इजरायलले ‘आतंक’मा नझुक्ने प्रतिज्ञा गरे ।

‘विशेष गरी यस समयमा विश्वभरका इजरायली प्रतिनिधिहरूले निरन्तर उच्च जोखिमको सामना गरिरहेका छन्,’ उनले भने, ‘हामी अमेरिकी अधिकारीहरूसँग निकट सम्पर्कमा छौँ । इजरायलले आतंकका सामु आत्मसमर्पण गर्नेछैन ।’

१९ अंकले बढ्यो शेयर बजार

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्से बढेको छ । बिहीबार नेप्से १९ दशमलव ०४ अङ्कले बढेर २ हजार ६ सय ८८ दशमलव ५५ विन्दुमा पुगेको छ ।

आज बैंक, माइक्रोफाइनान्स, म्युचल फन्ड र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर घटेको छ । आज बैंक समूहको शेयर झन्डै ४ प्रतिशतले बढेको छ भने होटल समूहको शेयर साढे २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन बाराही हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज ३१४ वटा कम्पनीका २ करोड २३ लाख कित्ता शेयर ९ अर्ब ८२ करोड रुपैयाँमा किनबेच भएको छ ।

बजेटमार्फत नीतिगत स्थिरता र लगानीको ढोका खोल्न निजी क्षेत्रको सुझाव

काठमाडौँ । निजी क्षेत्रले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत नीतिगत स्थिरता र लगानीको ढोका खोल्नुपर्नेमा जोड दिएको छ ।

अर्थ समितिको बिहीबारको बैठकमा ‘आगामी आर्थिक वर्षको बजेटमा समेट्नुपर्ने विषय’सम्बन्धी छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरुले आगामी दशक (२०८२–२०९२) लाई लगानी दशक घोषणा गरी निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले आगामी वर्षको बजेटले सामाजिक न्यायसहितको खुला अर्थतन्त्रको विस्तार र नयाँ चरणको आर्थिक सुधारका लागि सकारात्मक परिवर्तन ल्याउने विषयलाई समेट्नुपर्ने बताए ।

‘साधारण खर्च घटाइ विकास खर्च बढाउने र सर्वसाधारणको क्रयशक्ति तथा उद्यमीको उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने कार्यक्रम आगामी बजेटमा आउनुपर्छ’, उनले भने, ‘नीतिगत स्थिरतासहितको लगानी मैत्री वातावरण अहिलेको आवश्यकता हो ।’

आयात प्रतिस्थापन गर्ने उद्योगलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै श्रेष्ठले एक सय भन्दा बढी रोजगारी प्रदान गर्ने उत्पादनमुलक, पर्यटन तथा सेवा उद्योगलाई रोजगार च्याम्पियन सम्मानसहित आयकरमा ४० प्रतिशत छुट दिनुपर्ने बताए ।

नेपाल उद्योग परिसङ्घका राष्ट्रिय परिषद् सदस्य लक्ष्मीप्रसाद सुवेदीले लगानीका नयाँ क्षेत्रको पहिचान गर्दै निजी क्षेत्रलाई त्यसतर्फ प्रोत्साहित गर्नुपर्नेमा जोड दिए ।

‘लगानी आकर्षण गर्न उत्पादनमुलक उद्योगको नाफामा लाग्ने आयकरको दर क्रमशः कम गर्दै १० प्रतिशतमा सीमित गर्नुपर्छ’, उनले भने, ‘पूँजीगत खर्चको बढोत्तरीका साथै निजी क्षेत्रबाट हुने लगानीका लागि उचित वातावरण बनाएर प्रोत्साहन गर्नुपर्छ ।’

नेपाल चेम्बर अफ कमर्शका कार्यवाहक अध्यक्ष दीपक मलहोत्राले आगामी आवको बजेटमार्फत नीतिगत स्थिरता सुनिश्चित गरिनुपर्नेमा जोड दिए । उनले विद्युतीय उपकरणको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिनुपर्ने बताउँदै विद्युतीय सवारी साधनमा कर वृद्धि नभई थप सहुलियत दिनुपर्ने धारणा राखे ।

समावेशी र सन्तुलित बजेटमा सांसदको जोड

बैठकमा सांसद पूर्णबहादुर तामाङले मुलुकको विकासको अवस्था हेरेर समावेशी र सन्तुलित बजेट विनियोजन गर्नुपर्नेमा जोड दिँदै आवश्यकता र औचित्यका आधारमा आयोजना छनोट गरिनुपर्ने बताए । सांसद नारायणी शर्माले राज्यको नेतृत्वदायी भूमिका अर्थतन्त्रको विकासमा निजी क्षेत्र सँगसँगै अघि बढ्नुपर्नेमा जोड दिइन् ।

सांसद सूर्यबहादुर थापा क्षेत्रीले लहडमा नभई राष्ट्रिय आय र औसत उमेरलाई आधार मानेर सामाजिक सुरक्षा भत्ता निर्धारण गरिनुपर्नेमा जोड दिए । ‘राज्यले नागरिकलाई दिन थालेको सहायता हटाउने होइन, औसत उमेर र राष्ट्रिय आयलाई हेरेर भत्ता निर्धारण गर्नुपर्छ’, उनले भने, ‘दोहोरो भत्ताको सुविधा हटाउनुपर्छ ।’

जुडो टोली बङ्गलादेश प्रस्थान

काठमाडौँ । बङ्गलादेश क्रिरा सिख्रा प्रतिष्ठान (बिकेएसपी) जुडो च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली बिहीबार बङ्गलादेशको ढाका प्रस्थान गरेको छ । यही मे २५ र २६ तारिख (जेठ ११ र १२ गते) हुने प्रतियोगितामा सात पुरुष र पाँच महिला गरी १२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
पुरुष ४५ केजीमुनि रिवाज लामा तामाङ, ५० केजीमुनि सभर पौडेल, ५५ केजीमुनि बुद्ध गुरुङ, ६० केजीमुनि सविनकुमार दियाली, ६६ केजीमुनि विशेष विक, ७३ केजीमुनि प्रयास तामाङ र ७३ केजीमाथि विज्ञान खत्री रहेका छन् ।

त्यस्तै महिला ४४ केजीमुनि समिता नेपाली, ४८ केजीमुनि निशा श्रेष्ठ, ५२ केजीमुनि विनिता नेपाली, ५७ केजीमुनि पेमा याङजी शेर्पा र ६३ केजीमुनि रेखा श्रेष्ठ छन् । सहभागी १२ खेलाडीमध्ये समिता, निशा, विनिता, पेमा र सविनसहित पाँच जना बन्दी सहायता नियोग (पाम)का हुन् ।

प्रशिक्षकमा राधादेवी राई र लक्ष्मी तामाङ रहेका छन् । राधाले प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गर्ने नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जानकारी दिए । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले आजै यहाँ आयोजित एक कार्यक्रममा बिदाइ गरे ।

चलचित्र ‘आ बाट आमा’ मा अभिनेत्री विपना थापा अनुबन्ध

काठमाडौं । चलचित्र ‘आ बाट आमा’मा अभिनेत्री विपना थापा अनुबन्ध भएकी छन् । यो चलचित्रलाई चन्द्र पन्तले निर्देशन गर्दै छन् ।

निर्देशक पन्तले सिनेमाले आमा र सन्तानबीचको गहिरो कथा भन्ने बताएका छन् । चलचित्र भदौदेखि छायाँकनमा जानेछ ।

यसअघि अभिनेत्री थापाले ‘ह्रस्व दीर्घ’मा मेयरको भूमिकामा निवार्ह गरेकी थिइन् । अभिमन्यू निरवीले स्क्रिप्ट लेखिरहेको यस चलचित्रको थिम पोष्टर केही दिनअघि सार्वजनिक भएको थियो । जहाँ आमाको आँखाबाट खस्न लागेको आँसुलाई बच्चाको हातले अड्याउने कोसिस गरेको छ ।

पतञ्जली जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन अख्तियार पठाउने लेखा समितिको निर्णय

काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिले पतञ्जली जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन अख्तियार अनुसन्धान आयोग पठाउने निर्णय गरेको छ ।

समितिको बिहीबार बसेको बैठकले पतञ्जली जग्गा प्रकरण सम्बन्धी फाइल अख्तियारमा पठाउने निर्णय गरेको हो । समिति सभापति ऋषिकेश पोखरेलले पतञ्जली जग्गा प्रकरणको थप अनुसन्धान र आवश्यक प्रक्रिया अघि बढाउन अख्तियारमा सिफारिस गर्ने निर्णय भएको जानकारी दिए ।

भारतीय योगगुरु रामदेवद्वारा सञ्चालित पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालले उद्योग सञ्चालन गर्न भनेर हदबन्दी छुटमा किनेको जग्गा अपचलन भएको सरकारी छानबिन समितिकै प्रतिवेदनले किटान गरेको थियो ।

हदबन्दीका सर्त र बन्देजविपरीत जग्गा अपचलन गरेको भन्दै भूमि व्यवस्थापन तथा अभिलेख विभागले पतञ्जलीमाथि थप अनुसन्धान गर्नुपर्ने सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाए पनि प्रतिवेदन सार्वजनिक गरिएको थिएन ।

हदबन्दी छुटको जग्गा बिक्रीको विवादित निर्णय गर्दा माधव नेपाल प्रधानमन्त्री थिए । अख्तियारले यस विषयमा पूर्वप्रधानमन्त्री नेपालसँग समेत बयान लिइसकेको छ । बयान लिएकै दिन नेपालविरुद्ध पनि मुद्दा चलाउने निर्णय खबर सार्वजनिक भएको थियो । तर अख्तियारले यस विषयमा अहिलेसम्म मुद्दा दर्ता गरेको छैन ।

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौँ । मन्त्रिपरिषद् बैठकका नौ वटा निर्णय सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले बिहीबार पत्रकार सम्मेलन गरी मंगलबारका मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

बैठकले केही मन्त्रीको विदेश भ्रमण स्वीकृत गर्नुका साथै नेपाली सेनाका महासेनानीको पदावधि थप्नेलगायतका निर्णय गरेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान र सुष्मा कोइरालाबीच जलन उपचारसम्बन्धी सम्झदारी

जुम्ला ।  जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुष्मा कोइराला स्मृति अस्पताल, इन्टरप्लास्ट नेपालबिच जलन र त्यसपछिका जटिलताका बिरामीको गुणस्तरीय उपचार तथा स्वास्थ्यकर्मीको दक्षता अभिवृद्धिका लागि त्रिपक्षीय सम्झदारी पत्रमा हस्ताक्षर भएको छ। सम्झदारीअनुसार स्वास्थ्य विज्ञान प्रतिष्ठानले सिफारिस गरेका बिरामीलाई सुष्मा कोइराला स्मृति अस्पतालमा निःशुल्क उपचार प्रदान गरिनेछ। प्रतिष्ठानका चिकित्सक र स्वास्थ्यकर्मीलाई सैद्धान्तिक तथा व्यावहारिक तालिमसमेत दिइनेछ ।

प्रतिष्ठानका निमित्त उपकुलपति डा. डबलबहादुर धामीले टेलिमेडिसिन, सर्जन आदानप्रदान, घुम्ती तालिमलगायत कार्यक्रमले कर्णालीका दुर्गम क्षेत्रका बासिन्दालाई जलन उपचारमा सहज पहुँच पुग्ने विश्वास व्यक्त गरे । इन्टरप्लास्ट, नेपालले प्राविधिक र आर्थिक सहयोगमार्फत यो साझेदारीलाई थप सुदृढ गर्ने प्रतिबद्धता जनाएको छ । विशेषगरी सीमान्तकृत र विपन्न समुदायलाई लक्षित गरी सेवा प्रभावकारी बनाउने लक्ष्य राखिएको प्रतिष्ठानका निमित्त उपकुलपति धामीले बताए।

सम्झदारीले जलन व्यवस्थापनसम्बन्धी तथ्यांक साझेदारी र अनुसन्धान परियोजनालाई समेत प्राथमिकता दिँदै अनुसन्धान र विकासमा संयुक्त सहकार्यको मार्ग सुनिश्चित गरेको छ।

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा सुष्मा कोइराला स्मृति अस्पतालका मेडिकल डाइरेक्टर डा. सन्तोषविक्रम भण्डारी, प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रसिंह साउद, प्रतिष्ठानका निमित्त उपकुलपति डा. धामी, निर्देशक डा. पुजनकुमार रोकाया, इन्टरप्लास्टका उपाध्यक्ष डाक्टर खाकिन्द्रबहादुर भण्डारी, शल्यचिकित्सा विभागका प्रमुख डा. निमरल थापालगायतको सहभागिता थियो ।

जर्मन विकास बैंकद्वारा थानकोटमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बनाउन प्रारम्भिक खाका स्वीकृत

काठमाडौँ। चन्द्रागिरि नगरपालिका–४ स्थित थानकोटमा २५ श्ययाको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बनाउन प्रारम्भिक खाका स्वीकृत भएको छ।

जर्मन सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ‘स्याटेलाइट’ अस्पतालका रुपमा सो स्थानमा नयाँ अस्पताल बन्न लागेको हो।

यसका लागि जर्मन विकास बैंक ( केएफडब्लु) ले प्रारम्भिक खाका स्वीकृत गर्दै विस्तृत खाकाको तयारी थालेको जानकारी नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र चन्द्रागिरि नगरपालिकालाई जानकारी गराएको छ।

यो खाकाकोे तयारीसँगै अव भवन बनाउन बोलपत्रको बाटो खुला भएको छ भने छिट्टै बोलपत्र आह्वान हुने जनाइएको छ। विस्तृत खाका तयार गर्नका लागि स्थलगत अध्ययन गर्न केएफडब्लुको केन्द्रिय कार्यालय जर्मनको बर्लिनबाट उच्चस्तरीय टोलीले बुधबार अस्पताल बन्न लागेको स्थानको अवलोकन एवम् चन्द्रागिरि नगरपालिकाका प्रमुखसहित अन्य जननिर्वाचित प्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, जनस्वास्थ्य शाखा एवं अन्य उच्च प्राविधिक कर्मचारीसँग छलफलसमेत गरेको छ।

छलफलमा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले अस्पताल बनाउन नगरपालिकाले आवश्यक सहजीकरण गर्दै आएको र आगामी दिनमा सहजीकरण जारी राख्ने जानकारी सो उच्च स्तरीय टोलीलाई दिए। उनले नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नगरपालिका र केएफडब्लुबीचका अस्पतालका विषयमा भूमिका स्पष्ट पारिसकिएको बताए।

उहाँले भन्नुभयो, “केएफडब्लुले अस्पतालको प्रारम्भिक खाका स्वीकृत गरेकामा धन्यवाद दिन चाहन्छु। अब म अस्पतालको विस्तृत खाका तयार गर्न र बोलपत्र आह्वान गरेर थप काम सुरु गर्न आग्रह गर्दछु।”केएफडब्लु टोलीका मिसेल स्वीपर, प्राडा योर्क ह्युकेल्बक, रेबिक्का ट्रेइगर, निकोल आना पास्कल जिनेन र स्टुआर्ट किङले छलफलका क्रममा राख्नुभएको जिज्ञासालाई नगर प्रमुख गिरीले जवाफ दिँदै विशेषज्ञ अस्पताल बनाउन स्थानीय सरकारले आवश्यक सबै समन्वय गर्ने गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

छलफलमा नगर उपप्रमुख बसन्ती श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापामगर, नगरप्रवक्ता एवं चन्द्रागिरि–४ का वडाध्यक्ष कृष्णप्रसाद खड्गी, सामाजिक विकास समितिका संयोजक एवम् चन्द्रागिरि–१५ का वडाध्यक्ष घनश्याम लुइँटेल, चन्द्रागिरि–११ का वडाध्यक्ष नरेन्द्रराज श्रेष्ठ, चन्द्रागिरि–५ का वडाध्यक्ष राजेन्द्र महर्जनलगायत कार्यपालिका सदस्य एवं उच्चतहका कर्मचारीको उपस्थिति थियो।

राजावादीहरुले संविधानविरोधी गतिविधि गरे प्रतिवाद हुन्छः सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सरकारले राजावादीहरूले संविधान विरोधी गतिविधि टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएको छ । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधान विरोधी गतिविधिमाथि सरकारले टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएका हुन् ।

उनले मुलुक विखण्डनतिर लैजान खोज्ने कुरा सह्य नहुने बताए । उनले भने, ‘उहाँहरुले संविधानको परिधिमा रहेर कार्यक्रम गर्नुपर्छ । सधैँ यस्तो गतिविधि गरिरहे सरकार सधैँ टुलुटुलु हेरेर बस्दैन। प्रतिवाद हुन्छ। त्यो गतिविधिले कस्तो रूप लिन्छ त्यही अनुसार सरकारले प्रतिवाद गर्छ।’

उनले आवश्यक परे राजावादीहरुको कार्यक्रममा प्रतिबन्ध लगाउने संवैधानिक हक पनि सरकारसँग भएको दाबी गरे ।

उनले भने, ‘उनीहरुले आन्दोलन गर्ने भनेका छन्, हामीले आजको दिनसम्म प्रतिबन्ध लगाएका छैनौँ। प्रतिबन्ध पनि लगाउन सक्ने संवैधानिक, कानुनी अधिकार सरकारसँग छ।’ राप्रपालगायतका राजावादी संगठनहरुले जेठ १५ देखि जनआन्दोलन सुरु गर्ने र राजसंस्था पुनःस्थापना गर्ने बताउँदै आएका छन् ।

मनसुनअघि नै  जोखिमको आँकलन गरेर पूर्वतयारी थाल्न सरकारलाई संसदीय समितिको निर्देशन

 

काठमाडौँ । संसदीय समितिले मनसुनअघि नै विपद् जोखिम न्यूनिकरण गर्न पूर्वतयारी गर्न सरकारलाई सुझाव दिएको छ ।

राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा  सांसदहरुले  मनसुनजन्य विपदबाट हुन सक्ने सम्भावित क्षति न्यूनिकरण गर्न तयारी थाल्नुपर्नेमा जोड दिएका हुन् ।

विपद् व्यवस्थापन (विपद् जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य र विपद् पुनर्लाभ) सम्बन्धमा भएका काम कारबाही, विपद् जोखिम न्यूनीकरणको लागि तयारी तथा भावी कार्ययोजना सम्बन्धमा बैठक बसेको थियो ।

समितिका सभापति सोनाम गेल्जेन शेर्पाले विपद् व्यवस्थापनसम्बन्धी सरकारी नीति तथा योजनाको प्रभावकारी कार्यन्वयन हुनुपर्ने सुझाव दिए ।

विपद् व्यवस्थापन गर्न समन्वय बढाउनुपर्ने, सुरक्षाका सामग्रीको व्यवस्थापन, समयमा नै राहत व्यवस्थापन, छिटो र सहजरूपमा राहत र उद्धार गर्न स्थानीय तहलाई सक्रिय बनाउनुपर्ने तथा स्थानीय राहत कोषमा रकम पठाउदा प्रभावकारी र छिटो हुने उनको भनाइ छ ।

सांसद जगप्रसाद शर्माले सूचना प्रविधिको सदुपयोग गर्दै विपद् जोखिम न्यूनिकरण गर्नुपर्ने सुझाव दिए । विपद जोखिम भएका बस्तीका मानिसलाई अनेत्र व्यवस्थापन गर्नुपर्नेमा उनको जोड छ ।

यसैगरी सांसद इन्दिरादेवि गौतमले विपद पूर्वतयारी तथा प्रतिकार्य योजनाको प्रभावकारी कार्यन्वयनमा जोड दिइन् । सांसद उदयबहादुर बोहोराले समयमा नै उद्धार र राहत उपलब्ध गराउने गरी तयारी थाल्नुपर्ने सुझाव दिए ।

राष्ट्रिय जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले यस वर्ष औसतभन्दा बढी वर्षा हुने भन्दै विपद् प्रतिकार्य तथा पूर्वतयारीका लागि  कार्य गर्नुपर्ने र तीनै तहका सरकारबीचको समन्वय बढाउनुपर्नेमा जोड दिए ।

‘बुधबार जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको हावापानी आँकलनअनुसार यस मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ । कर्णाली प्रदेशको पूर्वीभू–भाग, लुम्बिनी प्रदेशको उत्तरी भू–भाग र गण्डकी प्रदेशको अधिकांश भू–भागमा सरदरभन्दा बढी वर्षा हुने संभावना ५५% देखि ६५% रहेको देखिएको छ,’ उनले भने, “सुदुरपश्चिम प्रदेशको दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशको पश्चिमी भू–भाग, गण्डकी प्रदेशको उत्तर–पूर्वी भू–भाग, बागमती र कोशी प्रदेशको उत्तरी भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५४ देखि ५५% रहेको छ । तसर्थ यस वर्षको मनसुनमा सतर्कता अपनाउन पूर्वतयारीका कार्यक्रमलाई जोड दिने छौँ ।’

कार्यकारी निर्देशक भट्टले आगामी मनसुनमा गत वर्षको भन्दा राम्रो पूर्वतयारी गर्ने र जोखिम न्यूनिकरणका प्रयास गरिने बताए ।

सांसदहरु विष्णुकुमारी सापकोटा, राजेन्द्र लक्ष्मी गैरे, किरणबहादुर श्रेष्ठ, नारायणदत्त मिश्र, गोपीबहादुर सार्की आछामीले पनि विपद जोखिम न्यूनिकरणका लागि समयमा नै पूर्वतयारी गर्नुपर्ने, विपद््पछिको उद्धार राहतमा जोड दिनुपर्ने, बस्ती स्तानान्तरण गर्नुपर्नेमा जोड दिए ।

 

पोखरामा प्याराग्लाइडिङ व्यवसाय पछिल्लो समय विस्तारै चलायमान हुँदै

पोखरा । पोखरा अन्तराष्ट्रिय विमानस्थलका कारण स्थानान्तरणको मारमा परेको प्याराग्लाइडिङ व्यवसाय पछिल्लो समय विस्तारै चलायमान हुन थालेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई खेलकुद संस्थाको सहकार्यमा प्याराग्लाइडिङको समय डेढ घण्टा थप्नुका साथै यसअघि हुँदै आएको खपौदीमा अवतरण गर्ने निर्णयले आशा जगाएको हो।

पुरानै ठाउँमा अवतरण समय थप्ने निर्णयले पोखरालाई विश्वस्तरीय प्याराग्लाइडिङ गन्तव्यका रूपमा स्थापित गर्न सकिने अपेक्षा व्यवसायी र प्यारापाइलटले गरेका छन्। पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि सुरक्षाको कारण देखाउँदै सराङकोट र तोरीपानीबाट उडान हुने प्याराग्लाइडिङलाई मान्द्रेढुंगा स्थानान्तरण गरिएको थियोभने पामेमा अवरतरण हुँदै आएको थियो। सोही कारण प्याराग्लाइडिङ व्यवसाय स्थिरजस्तो बन्नुका साथै व्यवसायीलाई चुनौती थपेको थियो।

अब भने सरागडकोट तोरीपानीको बाहाकोट उडान (टेक अफ) गरेर खपौदी, (इन्ड अफ लेक) मा पूर्ववत् स्थानमा अवतरण हुने निर्णय भएको नाका अध्यक्ष अनिल केसीले जानकारी दिए। उनका अनुसार बिहान ११ बजेदेखि साँझ ४: ३० बजेसम्म प्याराग्लाइडिङ सेवा सञ्चालन हुने भएको छ ।

योसँगै पर्यटक र पाइलटलाई फेवाताल र अन्नपूर्ण हिमशृङ्खलाको मनोरम दृश्यको आनन्द लिन थप समय प्रदान गर्ने जनाउँदै नाका अध्यक्ष केसीले भने, ‘यो समय विस्तारले उडान सङ्ख्या बढाउन र पर्यटकको अनुभवलाई अझ रोमाञ्चक बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’ पोखरा महानगरापालिका प्रमुख प्रमुख धनराज आचार्यले पोखरा भ्रमण वर्ष–२०२५ सञ्चालन भइरहेको सन्दर्भसँगै भएको यो निर्णयले पोखराको साहसिक गतिविधिमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

पार्टी एकताका विषयमा नेपाल समाजवादी पार्टीभित्र विवाद

काठमाडौँ । महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीमा विवाद भएको छ । सहअध्यक्ष गंगानारायण श्रेष्ठ लगायत माओवादी पृष्ठभूमिका नेताहरूले पार्टी एकताबारे निर्णय लिन जेठ ११ गते केन्द्रीय समितिको छुट्टै बैठक बोलाएपछि विवाद भएको हो ।

यादव समूहले बिहीबार विज्ञप्ति जारी गर्दै नेसपाको नाममा बोलाइएको केन्द्रीय समिति बैठक आधिकारिक नभएको जिकिर गरेको छ । साथै माओवादीसँग रुपान्तरणसहित एकता गर्न दृढ रहेको विज्ञप्तिमा उल्लेख छ ।

क्षणिक स्वार्थका लागि राजसंस्थाबारे देउवाको धारणा भन्दै गलत प्रचार गरियोः नेता विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पार्टी सभापति शेरबहादुर देउवाको राजसंस्थाबारे धारणा भन्दै गलत प्रचार गरिएको बताएका छन् ।

देउवा हृदयन्द्रलाई राजामा मान्न तयार रहेको समाचार केही संचारमाध्यममा आएपछि विश्वकर्माले त्यसको खण्डन गरेका हुन् । उनले भनेका छन्, ‘नेपाली कांग्रेसका सभापति पूर्वप्रधानमन्त्री श्री शेरवहादुर देउवा २०६२/६३ को जनआन्दोलनका उपलब्धि अर्थात् संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रको संविधानको संरक्षण र संवद्र्धन गर्दै नागरिकहरूलाई पूर्ण स्वतन्त्रता, समानता र न्याय सहितको लोकतान्त्रिक व्यवस्थाका हिमायती मात्र होईन अथक योद्दा हुनुहुन्छ । कसैले क्षणिक स्वार्थ पूर्ति गर्न राजसंस्थाबारे उहाँको धारणा भनि मिडियामा गलत सूचना संप्रेषण गर्नु अनैतिक कार्य हो ।’

उनले कतै नबोलेको कुरालाई प्रचार नगर्न पनि आग्रह गरेका छन् । उनले भने, ‘उहाँले कहीँ कतै नबोलेको नभनेको र नसोचेको कुरा मनगढन्ते ढंगले प्रचारमा ल्याउनु पत्रकारिताको क्षेत्र र धर्म होइन । अतः यस्ता भ्रमात्मक कुरामा विश्वास नगर्न र अव्यक्त कुरा मिडियामा संम्प्रेषण नगर्न सबैमा अनुरोध गर्दछु ।’

उत्तर कोरियाको युद्धपोत प्रक्षेपणमा ‘गम्भीर’ दुर्घटना

 

सियोल । उत्तर कोरियाको नयाँ नौसैनिक विध्वंसकको प्रक्षेपण समारोहमा ठूलो दुर्घटना भएको सरकारी मिडियाले बिहीबार रिपोर्ट गरेको छ । उत्तर कोरियाली नेता किम जोङ उनले उक्त दुर्घटनालाई ‘आपराधिक कार्य’ भनेका छन् ।

बुधबार पूर्वी बन्दरगाह सहर चोङजिनमा पाँच हजार टनको नयाँ जहाज प्रक्षेपण गर्ने समारोहमा ‘एउटा गम्भीर दुर्घटना भएको’ आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले जनाएको छ ।

दक्षिण कोरियाको सेनाले उत्तर कोरियाले बिहीबार ‘धेरैवटा अज्ञात क्रुज मिसाइलहरू’ पनि प्रहार गरेको बताएको छ, जुन उत्तरको दक्षिण हाम्ग्योङ प्रान्त नजिकै जापान सागर पनि भनिने ‘पूर्वी सागरतिर प्रहार’ गरिएपछि पत्ता लागेको थियो ।

किमले अवलोकन गरेको विध्वंसकको असफल प्रक्षेपणका लागि ‘अनुभवहीन कमान्ड र परिचालन लापरवाही’ लाई दोष दिँदै केसिएनएले त्यहाँ एउटा दुर्घटना भएको र ‘युद्धपोतको तल्लो भागका केही भागहरू कुचिएको’ बताएको छ ।

दुर्घटनाले ‘युद्धपोतको सन्तुलन नष्ट’ गर्न सफल भएको केसिएनएले बतायो । किमले पूरै घटना हेरे र यो ‘सहन सकिँदैन’ भन्ने चेतावनी दिँदै यसलाई ‘पूर्ण लापरवाहीका कारण भएको आपराधिक कार्य’ घोषणा गरेका छन् ।

उनले जिम्मेवार अधिकारीहरूको ‘गैरजिम्मेवार गल्तीहरू’ ‘अर्को महिना बोलाइने पार्टी केन्द्रीय समितिको पूर्ण बैठकमा सम्बोधन गरिने’ बताए ।

दक्षिण कोरियाको सेनाले अमेरिका र सियोलका गुप्तचर अधिकारीहरूले उत्तर कोरियाको जहाजको ‘साइड–लन्च प्रयास’ असफल भएको अनुमान गरेको बताएका छन् ।

“यस मामिलामा प्रयोग गरिएको साइड–लन्च विधि अब दक्षिण कोरियाको सेनाले प्रयोग गर्दैन”, ज्वाइन्ट चिफ्स अफ स्टाफका प्रवक्ता ली सुङ–जुनले पत्रकारहरूलाई भने ।

लीका अनुसार हाल जहाज पानीमा ढलिरहेको छ । यसको आकार र मापनका आधारमा यो पाँच हजार टन विध्वंसक–वर्गको युद्धपोत चो ह्योनसँग मिल्दोजुल्दो छ भन्ने विश्वास गरिन्छ । चो ह्योन उत्तर कोरियाले गत महिना सार्वजनिक गरेको थियो ।

गत महिना प्योङयाङको सरकारी मिडियाले किम आफ्नी छोरी जु एइसँग चो ह्योनको उद्घाटन समारोहमा सहभागी भएको तस्बिर सार्वजनिक गरेको थियो । जु एइलाई धेरै विज्ञले किमको सम्भावित उत्तराधिकारी मानेका थिए ।

उत्तर कोरियाले उक्त जहाज ‘सबैभन्दा शक्तिशाली हतियार’ ले सुसज्जित रहेको र यो ‘अर्को वर्षको सुरुमा सञ्चालनमा आउने’ दाबी गरेको छ ।

केही विश्लेषकले जहाज आणविक हतियार बोक्न सक्षम छोटो दूरीको सामरिक मिसाइलहरूले सुसज्जित हुनसक्ने बताएका छन् । यद्यपि उत्तर कोरियाले आफ्नो आणविक शस्त्रागारलाई सानो बनाउने क्षमता छ भनेर प्रमाणित गरेको छैन ।

 स्पा र वेलनेस पर्यटनको सम्भावना

-सुरेश पुरी
स्पा र वेलनेसको अवधारणा मानव सभ्यताको प्रारम्भदेखि नै विद्यमान रहेको पाइन्छ । प्राचीन समयदेखि नै मानिसहरू प्राकृतिक स्रोतहरू जस्तै तातोपानी, जडीबुटी, ध्यान, योग र जल चिकित्साको माध्यमबाट आफ्नो शारीरिक, मानसिक र आत्मिक स्वास्थ्य सन्तुलनमा ध्यान दिने गर्दथे । आजको युगमा मानिसहरुको जीवन अन्त्यन्तै व्यस्त र तनावपूर्ण हुने गरेको छ । कामको तनाव, अनियमित खानपान र अपर्याप्त आरामले गर्दा मानिस विभिन्न शारीरिक र मानसिक स्वास्थ्य समस्याबाट पीडित छन् । यसको समाधानको उपायको रूपमा विश्वभर स्पा र वेलनेशलाई लिन थालिएको छ ।

मेसोपोटामिया, मिश्र र भारतमा परम्परागत चिकित्सा पद्धति र प्राकृतिक उपचारको अभ्यास प्राचीनकालदेखि चलिआएको छ । प्राचीन भारतमा आयुर्वेद र योगलाई शरीर, मन र आत्माको सन्तुलनका लागि उपयोग गरिन्थ्यो । ग्रीस र रोमन साम्राज्यमा तातोपानी स्नान अत्यन्त लोकप्रिय थिए । त्यहाँ स्नान, विश्राम र सामाजिक जमघट सँगसँगै स्वास्थ्य सन्तुलनमा जोड दिइन्थ्यो । चीन र जापानमा तातोपानी, अकुपञ्चर/अकुप्रेसरजस्ता प्राकृतिक उपचार पद्धति स्वास्थ्य सन्तुलनको लागि प्राचीनकालदेखि चलिआएका छन् ।

आजको २१औँ शताब्दीमा स्पा र वेलनेस केवल स्वास्थ्य सेवाको रूपमा मात्र नभई खरबौँ डलरको विश्वव्यापी उद्योग बनेको छ । वेलनेस भन्नाले केवल रोगको अभाव मात्र होइन, यो जीवनशैलीको एक सक्रिय प्रक्रिया हो, जसले व्यक्तिलाई आफ्नै शरीर, मन र आत्मासँग जोड्न मद्दत गर्छ । डिजिटल जीवनशैली र मानसिक समस्याको वृद्धि, दीर्घकालीन रोगको जोखिम र मानिसको स्वास्थ्यप्रतिको सचेतनाले वेलनेस र स्पा सेवाको माग विश्वव्यापी रूपमा बढेको पाइन्छ । दिगो वेलनेस पर्यटन, पर्यावरणमैत्री स्पा, चिकित्सकीय वेलनेस, स्वास्थ्य केन्द्रित चिकित्सा सेवा, परम्परागत र आधुनिक चिकित्सा संयोजन जस्ता नयाँ विधा विकसित भएका छन् । कोभिड–१९ महामारीपछि मानसिक स्वास्थ्य, रोगप्रतिरोधात्मक क्षमतामा वृद्धि/समष्टिगत तन्दुरुस्तताप्रति विश्वभर नयाँ चासो देखिएको छ । त्यसैले मानिसहरू शारीरिक, मानसिक, भावनात्मक र आध्यात्मिक सन्तुलनको खोजीमा छन् ।

नेपालमा स्पा र वेलनेस 

नेपाली सन्दर्भमा वेलनेस भन्नाले ‘कल्याण’ हो, जसले शारीरिक, मानसिक, भावनात्मक, सामाजिक र आध्यात्मिक पक्षहरूको सन्तुलनलाई जनाउँछ । यो अवधारणा नेपालमा नयाँ होइन, यसको जरा हाम्रो परम्परागत आयुर्वेद, योग, ध्यान, जडीबुटी उपचार र प्राकृतिक जीवनशैलीमा गहिरो रूपमा जोडिएको छ । देशका विभिन्न स्थानमा रहेका तातोपानी कुण्डलाई प्राकृतिक जलचिकित्साको रूपमा  लिने गरिन्छ । नब्बेको दशकपछि होटलहरुमा स्पा सेवाको थालनी भएको पाइन्छ । फुलबारी रिसोर्ट एण्ड स्पा नेपालकै पहिलो स्पा रिसोर्ट थियो । विसं २०५० सालतिर काठमाडौँ र पोखराका केही होटलमा विदेशी पर्यटकलाई लक्षित गरी स्पा सेवा सुरु भयो । अहिले भने नेपालभर स्पाको सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ ।

नेपाली समाजमा शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य र सामाजिक सन्तुलनलाई महत्व दिइन्छ । यसले वेलनेसको व्यापक अर्थलाई समेटछ । आफ्नो प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र परम्परागत उपचार पद्धतिलाई उपभोग गरी वेलनेश गन्तव्यको रूपमा स्थापित गर्न सकिने सम्भावना छ । पछिल्लो १५–२० वर्षमा निजी क्षेत्रको अग्रसरताले यो क्षेत्रलाई व्यावसायिक रूपमा अघि बढाएको छ र बेलनेस पर्यटनलाई नेपालको पर्यटन क्षेत्र विविधीकरण गर्ने अवसरको रूपमा हेरिन थालेको छ । नेपालका अधिकांश लक्जरी होटल तथा रिसोर्टले अहिले स्पा र वेलनेस सेवा दिइरहेका छन् । यसमा अर्बौँ रूपैयाँको लगानी र हजारौँ व्यक्तिले रोजगारी पाएका छन् । हालका स्पा सञ्चालकले आफ्ना वर्षौँको अनुभव पाँचतारे होटलमा काम गर्दै वा विदेशी अन्तरराष्ट्रिय चेन होटलबाट सिकेर सीप आर्जन गरेका हुन् ।

नेपालको प्राकृतिक सौन्दर्य, हिमालयको शान्त वातावरण र समृद्ध सांस्कृतिक विरासतले यसलाई वेलनेस पर्यटनको लागि एक आदर्श गन्तव्य बनाउँछ । विश्वभर बढ्दो वेलनेस पर्यटनको मागलाई मध्यनजर राख्दै नेपालले आफ्नो प्राकृतिक र सांस्कृतिक सम्पदालाई उपयोग गरी यस क्षेत्रमा आफ्नो पहिचान बनाउन ठूलो सम्भावना राख्दछ । अन्तरराष्ट्रिय पर्यटक नेपालमा योग, आयुर्वेद र प्राकृतिक उपचारको अनुभव लिन आउँछन्, जसले गर्दा नेपालको पर्यटक आगमनमा उल्लेख्य वृद्धि र तिनको बसाइलाई लम्ब्याउन सकिन्छ । सँगसँगै यसले स्थानीय संस्कृति र परम्परालाई संरक्षण गर्छ र नेपाललाई विश्वको नक्सामा एक स्वास्थ्य र आरामको गन्तव्यको रूपमा स्थापित गर्न मद्दत पुग्दछ ।

वेलनेसबाट हुने फाइदा

वेलनेस पर्यटनले नेपाललाई धेरै प्रकारका फाइदा दिन्छ । यसले पर्यटन उद्योगलाई बढावा दिनुको साथै स्थानीय अर्थतन्त्रलाई पनि मजबूत बनाउँछ । स्पवा तथा वेलनेसको प्रवर्द्धनबाट व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्यमा सुधारको साथै रोजगारी सिर्जना र मुलुकको आर्थिक समृद्धिमा योगदान पुग्दछ ।

स्वास्थ्यमा फाइदा :  आधुनिक जीवनशैलीले मानिसलाई विभिन्न स्वास्थ्य समस्याबाट जोगिन गाहे बनाएको छ । तनाव, अनिद्रा, मांसपेशी दुखाई र मानसिक अशान्तिजस्ता समस्या बढ्दै गइरहेका छन् । यसले विश्वभर मानिस आफ्नो शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्य सुधार गर्न स्पा र वेलनेश सेवाको खोजीमा छन् । वेलनेस सेवाजस्तै मालिस, योग, ध्यान, आयुर्वेदिक उपचार र प्राकृतिक चिकित्साले मानिसलाई तनावमुक्त गर्न, शरीरिलाई आराम दिन र मनलाई शान्त बनाउन मद्दत गर्दछ । यसले समग्र रूपमा समाजको उत्पादकता र जीवनस्तरमा पनि सुधार ल्याउछ ।

वेलनेस पर्यटनले मानिसहरूको शारीरिक र मानसिक स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । आयुर्वेदिक उपचार, योग, र ध्यानले तनाव, अनिद्रा र मांसपेशी दुखाईजस्ता समस्याको समाधान गर्छ । यसले नयाँ स्वास्थ्य चुनौतीजस्तै नेकटेक (टेक्नोलोजी प्रयोगबाट हुने गर्धन दुखाई)को समाधानमा पनि मद्दत गर्छ । स्पाले शारीरिक र मानसिक स्वास्थ्य दुबैका लागि धेरै लाभ प्रदान गर्दछ । शारीरिक रूपमा यसले तनाव कम गर्न, रक्तसञ्चार सुधार गर्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्दछ । मानसिक रूपमा, स्पाले विश्राम अनुभूति दिलाउने, चिन्ता र डिप्रेसन घटाउने तथा समग्र जीवन सन्तुलन बढाउने काम गर्छ ।

विश्वभर मानसिक स्वास्थ्य समस्याको वृद्धि, बढ्दो प्रतिस्पर्धा र तीव्र गतिमा बदलिँदो जीवनशैलीले वेलनेस पर्यटनप्रतिको माग उल्लेखनीय रूपमा बढाएको छ । पर्यटक यात्रा गर्दासमेत तनाव घटाउने र आफ्नो समग्र स्वास्थ्य सुधार गर्ने उपायको खोजीमा हुन्छन् । यस प्रवृत्तिले स्पा उपचार, योग रिट्रिट र अन्य समग्र अभ्यासलाई झन् लोकप्रिय बनाएको छ । मानिसहरू अब वेलनेसलाई केबल उपचारको रूपमा नभई जीवनशैलीको अङ्ग बनाउँदैछन् । वेलनेसले शरीर र मनप्रतिको सजगता बढाउने, खानेकुरामा रुची जगाउने, मध्यमस्तरको तनाव र व्यायामको सन्तुलन कायम राख्न मद्दत गर्ने हुँदा यो हाम्रो जीवनशैलीको नियमित भागको रूपमा रहेको छ ।

शारीरिक तन्दुरुस्ती :  मसाज, तातोपानीजस्ता स्पा उपचारले मांसपेशीमा भएको तनाव हटाउन, दीर्घकालीन पीडा कम गर्न र जोर्नीहरूको गतिशीलता सुधार गर्न सहयोग गर्छन् । तातोपानी स्नान, विपरीत तापक्रमको पानी र मसाजले रक्तसञ्चार बढाउन सहयोग पु¥याउँछ । यसबाट शरीरभरी अक्सिजन र पोषक तत्व राम्रोसँग आपूर्ति गर्न मद्दत पुग्दछ । स्पा उपचारले शरीरबाट विषाक्त पदार्थहरू बाहिर निकाल्न सहयोग गर्छ, समग्र स्वास्थ्य सुदृढ गर्छ र रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन सहयोगी हुन्छ । विशेषगरी मसाजजस्ता स्पा उपचारले मानसिक तनाव घटाएर विश्राम अनुभूति दिलाउँछ । निद्राको गुणस्तर र बानीमा सुधार पनि ल्याउँछ । स्पा उपचारले छालाको स्वास्थ्य सुधार गर्न सहयोग गर्छन्, जसले छालालाई उज्यालो, मृदु र आकर्षक बनाउँछ ।

मानसिक स्वस्थताः  मसाज, अरोमाथेरापीजस्ता स्पा उपचारले तनाव हर्मोनको मात्रा घटाउँछ र मानसिक शान्ति अनुभूति गराउँछन् । स्पाको शान्त वातावरण र उपचारले मानसिक सन्तुलन कायम राख्न, चिन्ता र डिप्रेसनका लक्षण कम गर्न तथा खुशीको अनुभूति बढाउन सहयोग गर्छ । रक्तसञ्चार सुधार हुने भएकाले स्पा उपचारले मानसिक स्पष्टता, एकाग्रता र सोच्ने क्षमतालाई बढावा दिन्छ । स्पा उपचारले शरीरमा इन्डोरफिन्स, डोपामाइन/सेरोटोनिनजस्ता ‘सुखद्’ हर्मोनको उत्पादन बढाउँछ, जसले ऊर्जास्तर र ‘मुड’ सुधार गर्न मद्दत गर्छ । स्पामा समय बिताउँदा आत्म–हेरचाहको अनुभूति हुन्छ । यसबाट व्यक्तिले आत्म–सम्मान र आत्मविश्वास बढाउँछ र सकारात्मक आत्म–छविमा सुधार आएको अनुभूति गर्दछ ।

रोजगारी सिर्जनाः विश्वका धेरैजसो मुलुकमा वेलनेस पर्यटनको माध्यमबाट राज्यले राम्रो आम्दानी गर्नुको साथै स्थानीय रोजगारी सिर्जना भएको छ । नेपाल भ्रमणमा आउने पर्यटकलाई मात्रै लक्षित गरेको अवस्थामा पनि पर्यटकको वसाइ लम्ब्याउनुको साथै उनीहरुले खर्च गर्ने ठाउँ बन्नसक्छ ।

चुनौतीहरू र समाधान

नेपालमा वेलनेस पर्यटनको विकासमा धेरै चुनौती छन् । यसको लागि सरकार, निजी क्षेत्र, र स्थानीय समुदायको सहयोग आवश्यक छ । पर्यटन मन्त्रालयले होमस्टे, होटल, र रिसोर्टका लागि मापदण्ड तयार गरेको भए पनि अहिलेसम्म स्पा र वेलनेस क्षेत्रका लागि मापदण्ड बनाएको छैन । विश्वभर लक्जरी स्पा र होटलमा अत्यधिक माग भए पनि, धेरै नेपाली युवालाई यो उद्योगबारे अझै पर्याप्त जानकारी छैन ।

नेपालमा स्पा र वेलनेस सेवाका लागि स्पष्ट मापदण्ड नहुँदा केही विकृति विसङ्गति देखिएका छन् । यसले गर्दा सेवाको गुणस्तरमा असर पर्छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी)ले मसाज थेरापी, योग र सौन्दर्य चिकित्साको प्रशिक्षण दिन सकेको छ । सिटिइभिटीले वेलनेससम्बन्धी पाठ्यक्रम तयार गरी त्यसअनुसार जनशक्ति तयार गर्न सकिएमा रोजगारीको अवसर विस्तार हुनेछ ।

निष्कर्ष
नेपालले वेलनेस पर्यटनमा सफल हुन धेरै कदम चाल्न आवश्यक छ । नेपाल र विश्व बजारमा स्पा तथा वेलनेस क्षेत्रमा रोजगारीका अवसर निकै आकर्षक बन्दै गएका छन् । यो क्षेत्रमा दक्ष जनशक्तिको माग उच्च छ र तलब पनि प्रतिस्पर्धात्मक छ । नेपालका अधिकांश स्पा व्यवसायी पनि कहिल्यै न कहिल्यै स्पा व्यावसायिक भएरै आफ्नो ‘करिअर’ सुरु गरेका थिए । यो क्षेत्रमा व्यवसायी बन्ने अवसर पनि सजिलो छ, किनभने सीप, अनुभव र लगनशीलताबाट नै यो उद्योगमा सफल हुन सकिन्छ । युवाले स्पा तथा वेलनेसलाई गम्भीर रूपमा लिएर आफ्नो भविष्यको ‘करिअर’को रूपमा हेर्नु आवश्यक छ, किनभने यो क्षेत्रले देशभित्र र विदेशमा उत्कृष्ट रोजगारी र व्यावसायिक सम्भावना प्रदान गर्छ ।

नेपालमा वेलनेस पर्यटनको भविष्य उज्ज्वल छ । यसले न केवल स्वास्थ्य र आराम प्रदान गर्छ, तर यसले नेपालको अर्थतन्त्र र पर्यटन उद्योगलाई पनि बढावा दिन्छ । नेपाललाई वेलनेस पर्यटनको गन्तव्यको रूपमा विकास गर्न सकिन्छ । यसका लागि सरकार, निजी क्षेत्र र स्थानीय समुदायको सहयोग आवश्यक छ । यसलाई व्यवस्थित, गुणस्तरीय र दिगो बनाउन स्पष्ट नीति, मापदण्ड, तालिम र अनुगमनका लागि यो निर्देशिका अत्यन्त आवश्यक छ । नेपाल सरकारले अन्य पर्यटन क्षेत्रझैँ वेलनेस पर्यटनका लागि छुट्टै निर्देशिका तत्काल लागू गर्नुपर्ने आवश्यकता छ ।

(लेखक नेपाल स्पा तथा वेलनेस सङ्घका अध्यक्ष तथा ट्रांक्विलिटी स्पाका कार्यकारी निर्देशक हुनुहुन्छ)

नवराजपुरमा मैथिली भाषाको पाठ्यपुस्तक लागू

सिरहा । सिरहाको नवराजपुर गाउँपालिकाले मैथिली भाषाको स्थानीय पाठ्यपुस्तक निर्माण गरी कक्षा १ देखि कक्षा ३ सम्म पठनपाठन गराउन थालेको छ । गाउँपालिकाले चालु शैक्षिक सत्रदेखि ‘हमर नवराजपुर’ (हाम्रो नवराजपुर) नामक पाठ्यपुस्तक तयार गरी २० वटै सामुदायिक विद्यायलमा पठनपाठन गराउन सुरु गरेको हो ।

गाउँपालिकाका अध्यक्ष शिव उदगार यादवका अनुसार एक सय पूर्णाङ्कसम्मको स्थानीय भाषामा पाठ्यपुस्तक तयार गरेर पढाउन पाइने प्रावधानअनुसार पाठ्यपुस्तक तयार गरी लागू गरिएको हो । आगामी वर्षको शैक्षिक सत्रदेखि कक्षा ६ सम्म स्थानीय भाषाको पाठ्यक्रम तयार गरी कार्यान्वयन गरिने उनले जानकारी दिए ।

अध्यक्ष यादवले भने, “अहिले कक्षा १ देखि ३ सम्म स्थानीय पाठ्यपुस्तक लागू गरेका छौँ । संविधान अनुसार मौलिक भाषा, कला र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्नुपर्ने दायित्व स्थानीय तहको भएकाले सोहीअनरुप काम गरिएको हो । आगामी शैक्षिकसत्र २०८३ मा कक्षा ६ मा पनि मातृभाषामा पठनपाठन गराउने योजना अनुरुप पाठ्यपुस्तक छपाइको तयारी गरिएको छ ।”

पाठ्यपुस्तकमा नवराजपुर गाउँपालिकाको भूगोल, संस्कृति, परम्परा, जनजीवन, प्रकृतिक सम्पदा, पर्यटन, कृषि, पशुपालन, स्थानीय घरेलु प्रविधिलगायत विषयवस्तु समावेश गरिएका अध्यक्ष यादवले जानकारी दिए । पछिल्लो समय बालबालिकालाई सहरबजार लगेर पढाउने प्रचलन बढेपछि स्थानीय भाषा र संस्कृति सङ्कटमा पर्नसक्ने भएकाले त्यसको संरक्षणका लागि माटो सुहाउँदो पाठ्यपुस्तक बनाएर विद्यालयमा पढाउन थालिएको उनको भनाइ छ ।

अङ्ग्रेजी भाषाको मोहका कारण स्थानीय भाषा सङ्कटमा परिरहेको अवस्थामा गाउँपालिकाले मातृभाषामा पाठ्यक्रम निर्माण गरी पठनपाठन सुरु गर्नु प्रशंसनीय रहेको मैथिली साहित्य परिषद् सिरहाका संयोजक रामरिझन यादवले बताए । अन्य स्थानीय तहले पनि आफ्नो भाषा, कला, संस्कृतिको संरक्षण र सम्वद्र्धनमा यस्तो कार्यलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।

पर्यटक आकर्षणको केन्द्र बन्दै लमजुङको ‘राइनासकोट’

लमजुङ । पूर्वीलमजुङको राइनास नगरपालिका–९ मा रहेको राइनासकोट पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।

विसं २०७२ मा गएको भूकम्पबाट क्षति पुगेको राइनासकोटको गुरुङगाउँ पुनःनिर्माण गरेर घरबास (होमस्टे) सञ्चालन भएसँगै पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको हो ।

राइनास होमस्टेबाट केही माथि रहेको राइनासकोटबाट देखिने अन्नपूर्ण, गणेश, मनास्लु, लमजुङ, माछापुच्छ्रेलगायत एक दर्जनभन्दा बढी हिमशृङ्खलाको रमणीय दृश्यले पर्यटकको मन लोभ्याउने गरेको छ ।

काठमाडौँबाट लमजुङको राइनासकोट पुगेका डा ज्योतिप्रसाद गजुरेलले यहाँको आतिथ्यता र ऐतिहासिक थलो राइनासकोट भ्रमणले आफूलाई आनन्द तुल्याएको बताए । यहाँको हावापानी र सुन्दर, मनोरम दृश्यले पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका उनको बुझाइ छ ।

उक्त डाँडाबाट गोरखाको पर्यटकीयस्थल बारपाक, लाप्राक, भच्चेक, पालुङटार, सिरानकोट, गोरखाबजार, तनहुँको आँबुखैरनी, डुम्रेबजार, बन्दिपुर, दमौलीलगायत गाउँहरू सजिलै देख्न सकिन्छ । लमजुङको सदरमुकाम बेँसीसहर, भोटेवडार, सुन्दरबजार, भोर्लेटार, दुराडाँडा र पूर्वीलमजुङका अधिकांश भागसमेत उक्त डाँडाबाट आँखै अगाडि देख्न सकिन्छ । स्थानीयका अनुसार उक्त स्थानबाट १८ जिल्ला देख्न सकिन्छ ।

यहाँबाट देखिने सूर्योदय र सूर्यास्तको दृश्यसँगै देखिने हिमाल, चेपे र मस्र्याङ्दी नदी किनाराका फाँटका साथै नेपालका बाइसे–चौबिसे राजाको पालामा निर्मित ऐतिहासिक राइनासकोट किल्ला, यहाँस्थित कालिका, कोटेश्वर महादेव, थानीमाई मन्दिरलगायत थुप्रै ऐतिहासिक एवं सांस्कृतिक महत्त्वका स्थलले यहाँको गरिमा र महत्त्व चुलिएको छ ।

रागीनासको नामले परिचित यो ठाउँ पछि अपभ्रंश हुँदै राइनास बन्न गएको स्थानीय बताउँछन् । इतिहास अनुसार शाह वंशीय पहिलो राजा कुलमण्डनका कान्छा छोरा यशोब्रह्म शाहद्वारा स्थापित लमजुङ–राइनासकोट राज्यको पछि यशोब्रह्मका छोरा नरहरि शाहले थप सुदृढीकरण गरे भने द्रव्य शाहले चेपेघाट–लिगलिगको दौडमा विजय हासिल गर्दै १६१६ सालमा गोरखाका राजा भएका थिए ।

समुद्री सतहबाट एक हजार ७७४ मिटरको उचाइमा रहेको रमणीय राइनासकोट नेपालको महत्त्वपूर्ण ऐतिहासिक स्थल हो । यो गाउँमा प्राचीन मौलिकता जोगाउने गरी परम्परागत घुमाउने घरसँगै स्थानीयको कला, संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ गुरुङ सङ्ग्रहालयसमेत स्थापना गरिएको छ ।

लमजुङको गुरुङबस्ती रहेको राइनासकोटका १७ घरमा होमस्टे सञ्चालन गरिएका छन् । यहाँ एक रातमा एक सय जनासम्म मानिस सजिलै बस्न सक्छन् । राइनासकोट सामुदायिक होमस्टेका व्यवस्थापक शम्भु गुरुङले शुक्रबार र शनिबार यहाँ आउने पर्यटकको सङ्ख्या अन्य दिनको तुलनामा बढी हुने गरेको उल्लेख गरे ।

“शुक्रबार र शनिबार ५० देखि एक सयजनाको सङ्ख्यामा होमस्टेमा बास बस्न आउनुहुन्छ । अरु दिन ५० देखि ८० को हाराहारीमा पर्यटक आउनुहुन्छ”, उनले भने ।

होमस्टेमा आएका पाहुनालाई जानेवित्तिकै वेलकम ड्रिङ्क्स, खाजा, रातिको स्थानीयस्तरमा उत्पादित अग्र्यानिक खाना र बिहानको खाजा उपलब्ध गराउँदै आइएको व्यवस्थापक गुरुङले बताए । वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि यहाँ एकै खालका २० घर पुनःनिर्माण गरिएको छ ।

अमेरिकी नागरिक नतासाको सहयोगमा पुनःनिर्माण भएको उक्त ठाउँमा होमस्टे सञ्चालनसँगै पर्यटन प्रवद्र्धन गरिएको उनको भनाइ छ ।
राइनास नगरपालिकाका प्रमुख खड्गबहादुर गुरुङले राइनासकोटको पर्यटनलाई थप विकास गर्नका लागि नगरपालिकाले योजना बनाएर काम गरिरहेको बताए । “होमस्टेलाई थप व्यवस्थित बनाउनका लागि स्थानीय तहमा उत्पादित खानालाई प्रोत्साहन गरिएको छ । होमस्टे सञ्चालनसम्बन्धी तालिम प्रदान गरेका छौँ”, उनले भने ।

मौरीपालन, कुखुरापालन र तरकारीखेतीको विकासलाई नगरपालिकाले प्राथमिकता दिएको नगरप्रमुख गुरुङले जानकारी दिए । केन्द्र र प्रदेश सरकारको सहयोगमा हाल राइनासकोटमा पार्कसमेत स्थापना गरिएको छ । उक्त कोटमा रहेको मन्दिरलाई पुनःनिर्माण, पुरातात्विक सम्पदाको संरक्षण, पार्क तथा बाटो निर्माणमा स्थानीय सरकारले केन्द्र र प्रदेश सरकारसँग समन्वय गरी काम गरिरहेको उनले बताए ।

राइनासकोटबाट प्याराग्लाइडिङसमेत गरिँदै आइएको छ । चैत–वैशाखमा फूल्ने लालिगुँरास, फल्ने काफल र ऐँसेलुले पर्यटकलाई थप लोभ्याउने गरेको नगरप्रमुख गुरुङको भनाइ छ । “ग्रामीण जीवनशैली बुझ्न राइनास उपयुक्त छ । जहाँ खेतीपाती गरेको, ढिकी–जाँतो चलाएको, दूध दूहेको, मोही मोथेकोलगायत दृश्य देख्न सकिन्छ”, उनले भने ।

काठमाडौँबाट एक सय ५५ किलोमिटर टाढा रहेको लमजुङको प्रवेशद्धार पाउँदीबजारबाट डेढ घण्टामा पुग्न सकिने राइनासकोटमा पछिल्लो समय काठमाडौँ, चितवन, पोखरालगायत सहरबाट मानिस घुम्न आउने गरेका छन् ।

पानीको सतह बढेपछि निकालियो सुनकोसीको अस्थायी ‘बेलिब्रिज’

खोटाङ । सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटार भएर बग्ने सुनकोशी नदी तर्न जडान गरिएको अस्थायी बेलिब्रिज हटाइएको छ ।

पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने फोक्सिङटारको मोटरेबल पक्की पुल गत वर्षको बाढीले बगाएपछि अस्थायी बेलिब्रिज जडान गरिएको थियो ।

नदीमा पानीको सतह बढ्न थालेपछि बेलिब्रिज निकालिएको गाईघाट–दिक्तेल सडक आयोजनाका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए । सडक विभागले रु एक करोड दुई लाखमा बेलिब्रिज जडान तथा झिक्न निर्माण कम्पनीसँग समझौता गरेको थियो ।

बेलिब्रिज हटाइएपछि दिक्तेलबाट गाईघाट हुँदै धरान, विराटनगर, काँकडभिट्टा आउजाउ गर्न कठिन भएको छ भने ती स्थानमा पुग्न दिक्तेल–हलेसी–जयराम–घुर्मी–कटारी सडक प्रयोग गर्नुपर्ने भएको छ । यो वैकल्पिक बाटो यात्राका निम्ति कठिन, लामो र साँघुरो छ ।

ग्रिसको क्रेट टापुमा ६.१ म्याग्निच्युडको भूकम्प

एथेन्स । ग्रिक टापु क्रेट र सान्टोरिनीमा बिहीबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ ।
क्रेटको राजधानी हेराक्लिओनबाट ८२ किलोमिटर (५१ माइल) उत्तरपूर्वमा ६८ किलोमिटर गहिराइमा शक्तिशाली भूकम्प गएको युएसजिएसले जनाएको छ ।

पर्यटकहरूमाझ लोकप्रिय क्षेत्र हालैका महिनाहरूमा धेरै कम्पनहरूले हल्लाएको छ, जसका कारण सान्टोरिनी र छिमेकी टापुहरूमा विद्यालयहरू अस्थायी रूपमा बन्द गर्नुपरेको छ ।

ग्रिक मुख्य भूमिको दक्षिणपूर्वमा साइक्लेड्स समूहको सान्टोरिनी, अमोर्गोस, आइओस र एनाफी टापुहरू बीच जनवरीको अन्त्यदेखि मुख्यतया कम परिमाणका हजारौँ भूकम्प रेकर्ड गरिएको छ ।

यो भूकम्पीय झुण्डले कुनै जनधनको हानि वा महत्त्वपूर्ण क्षति पुर्याएको छैन । अफ्रिकी र एनाटोलियन टेक्टोनिक प्लेटहरू मिल्ने ठाउँमा अवस्थित एजियन सागरमा प्रायः भूकम्पहरू आउने गर्छन् ।

तर विज्ञहरूका अनुसार यो क्षेत्रले सन् १९६४ मा रेकर्ड राख्न सुरु गरेदेखि यस्तो तीव्रताको घटना अनुभव गरेको थिएन ।

नाम्खाको बाढीबारे अध्ययन गर्न प्राविधिक टोली हुम्लामा

काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिकाको तिल गाउँमा गएको बाढी पहिरोको अध्ययन गर्न प्राविधिक टोली सिमिकोट पुगेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनिर सुशील कुमार श्रेष्ठ नेतृत्वको तीन सदस्यीय टोली बिहीबार सिमिकोट पुगेको हो । टोलीमा मौसम विज्ञान विभागका हाइड्रोलोजिस्ट इन्जिनियर सौहाद्र जोशी र खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जिओलोजिस्ट शिवकुमार बास्कोटा छन् ।

टोलीले विपद्का कारण भएको क्षतिको मूल्याङकन तथा थप जोखिमको अध्ययन गर्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणले विपद्को प्राविधिक अध्ययनका लागि इसिमोडलाई समेत आग्रह गरिसकेको छ ।

यही जेठ १ गते रातिको बाढीबाट प्रभावित हुम्ला जिल्ला नाम्खा गाउँपालिका–६ का १८ घर परिवारका ३२ जना विस्थापित भएका छन् । उनीहरुका लागि जिल्ला विपद् व्यवस्थापन समिति, हुम्लामार्फत् १० क्विन्टल चामल, १०० लिटर तेल, २ क्विन्टल नुन, २ क्विन्टल चिनी, ३० क्विन्टल मैदा, १ क्विन्टल भुजा, १ क्विन्टल चिउरा, १० पाकेट चियापत्ति, १० पाकेट साबुन, ४ वटा त्रिपाल, १० बोरा सिमेन्ट, आलु तथा सागसव्जीको विउ÷विजन र अत्यावश्यक औषधि उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ ।

बर्डफ्लूले अर्को महामारीको रूप लिने वैज्ञानिकहरुको चेतावनी

बीबीसी । हजारौँ ’फार्महाउस’हरूमा महिनौँदेखि लुकिरहेको रोगले अर्को महामारी निम्त्याउने विषयमा वैज्ञानिकहरूले चेतावनी दिएका छन् । रोगहरूको विकासबारे खोज गरिरहेका अनुसन्धाताहरूले हामीले महसुस नै नगरी अमेरिकाले बर्ड फ्लू अर्को महामारी बन्न सक्ने तह पार गरिसकेकोबारे सचेत गराएका छन् ।

अझ स्पष्ट शब्दमा भन्नुपर्दा एभिअन इन्फ्लुएन्जाको उग्र रोगकारक प्रजाति एच५एन१ अहिले अस्ट्रेलियाबाहेक सबै महादेशमा पुगिसकेको छ। यो एन्टार्कटिकाका पेन्ग्विनहरूमा र मध्यपूर्वका उँटहरूमा पनि देखा परिसकेको छ । यो रोग अहिले अमेरिकाका सबै ५० वटा राज्यहरूका जङ्गली चरा र स्तनधारीमा जीवमा पनि देखिइसकेको छ ।

अमेरिकी कृषि मन्त्रालयका अनुसार यो देशमा अहिले बर्डफ्लू गोठहरूमा सरेर १,००० भन्दा धेरै गाईबस्तुहरूमा पुगिसकेको छ । अहिलेसम्म बर्ड फ्लू ७० जना मानिसहरूमा देखिएको छ र यसले एक जनाको ज्यान समेत लिएको छ । यसको फैलावट रोक्ने अवसर वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र निवर्तमान राष्ट्रपति जो बाइडन दुवै नेतृत्वका प्रशासनले गुमाएको अमेरिकी महामारीविज्ञ तथा प्राध्यापक डा केट्लिन रिभर्स बताउँछिन् ।

महामारीविज्ञहरू अमेरिका मात्रै नभई विश्व नै यसको नियन्त्रणका लागि आवश्यक रूपमा तयार नभएकामा चिन्तित छन् । सन् २००३ यता एच५एन१ बाट ७०० जना भन्दा धेरै मानिसहरू सङ्क्रमित भइसकेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ। यस्तो सङ्क्रमण १५ देशका मानिसहरूमा देखिएको थियो । त्यसमध्ये इन्डोनेशिया, भियतनाम र इजिप्टमा मानिसहरूमा सङ्क्रमण अन्य देशको तुलनामा उच्च देखिएको थियो।

टोटनहमलाई युरोपा लिगको उपाधि

काठमाडौं । टोटनहम हट्स्परले युरोपा लिगको उपाधि जितेको छ । गएराति सान ममेस स्टेडियममा भएको युरोपा लिग फाइनलमा टोटनहमले म्यानचेस्टर युनाइटेडलाई १–० को नतिजाले पराजित गर्दै ऐतिहासिक जित हासिल गरेको हो ।

खेलको निर्णायक गोल पहिलो हाफको ४२औँ मिनेटमा ब्रेनन जोन्सनले गरे, जसले म्यानचेस्टर युनाइटेडका डिफेन्डर लुक शालाई बिट गर्दै गोलरक्षक आन्द्रे ओनानालाई नजिकबाट विट गर्दै गोल गरे ।

दोस्रो हाफमा युनाइटेडले निकै दबाब बनाए पनि टोटनहमको रक्षापङ्क्ति अटल रह्यो, र गोलरक्षक गुलिएल्मो भिकारियोले अन्तिम मिनेटहरूमा उत्कृष्ट बचाउ गरे ।

यो जितले टोटनहमलाई अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ भने प्रशिक्षक एन्जे पोस्टेकोग्लुले आफ्नो दोस्रो सिजनमा उपाधि जित्ने वाचा पूरा गरेका छन् ।

गोरालाई हत्या गर्न आदेश दिएको भिडियो ट्रम्पले दक्षिण अफ्रिकी राष्ट्रपतिलाई देखाएपछि…

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामापोसालाई दक्षिण अफ्रिकामा गोरा जातिका मानिसहरूविरुद्ध नरसंहार भइरहेको आरोप लगाएका छन् । ट्रम्पले आफ्ना समकक्षीमाथि गोरा किसानहरू मारिएको र दमनमा परेका भन्ने आरोप लगाएपछि सम्बन्ध सुधार गर्ने उद्देश्यले गरिएको बैठक एकाएक तनावपूर्ण बनेको थियो ।

बुधबार अमेरिकाले करिब ६० अफ्रिकनहरूलाई शरण दिएपछि दक्षिण अफ्रिका असन्तुष्ट बनेको थियो । राष्ट्रपति रामाफोसा सम्बन्ध सुधारको प्रयासस्वरूप ह्वाइट हाउस पुगेका थिए । तर उक्त भेटमा, ट्रम्पले प्रत्यक्ष पत्रकार सम्मेलनको बीचमा दक्षिण अफ्रिकामा तथाकथित ‘गोराहरूको नरसंहार’ भएको भनी व्यापक रूपमा खण्डन गरिएका दावीहरू प्रस्तुत गर्दै रामाफोसालाई आश्चर्यचकित तुल्याएका थिए ।

ट्रम्पले एउटा भिडियो देखाए जसमा विरोध प्रदर्शनका क्रममा सडक किनारामा राखिएका थुप्रै क्रसहरू देखिन्थे । उनले ती गोरा किसानहरूको समाधिस्थल भएको दावी गरे ।

तर ती क्रसहरू वास्तवमा चिहान नभई २०२० मा क्वाजुलु–नटाल प्रान्तमा एक किसान दम्पतीको हत्या भएपछि गरिएको प्रदर्शनको दृश्य थिए, जसमा किसानहरूमाथि वर्षौंदेखि भएका आक्रमणहरूलाई सम्झनाका रूपमा राखिएको थियो।

उक्त बैठकअघि, रामाफोसाले अमेरिका–दक्षिण अफ्रिका व्यापार सम्बन्ध सुधार आफूको प्रमुख प्राथमिकता भएको बताएका थिए। जुलाईपछि ट्रम्प प्रशासनले लगाउने नयाँ आयात कर अन्त्य भएपछि, अमेरिकी बजारमा दक्षिण अफ्रिकी निर्यात वस्तुहरूमा ३० प्रतिशतसम्म शुल्क लाग्नेछ ।

यो बैठक त्यही साता सम्पन्न भएको थियो, जब ५९ जना गोरा दक्षिण अफ्रिकीहरू अमेरिका पुगेका थिए र उनीहरूलाई शरणार्थीको दर्जा दिइएको थियो। त्यसबेला राष्ट्रपति रामाफोसाले उनीहरूलाई ‘कायर’ को संज्ञा दिएका थिए । ओभल अफिसमा भएको बैठक सुरुमा मैत्रीपूर्ण वातावरणमा सुरु भए पनि ट्रम्पले भिडियो प्रस्तुत गर्न बत्ती कम गर्न आग्रह गरेपछि वातावरण तनावपूर्ण बनेको थियो ।

उक्त भिडियोमा दक्षिण अफ्रिकाको प्रमुख विपक्षी नेताहरू मध्ये एक जुलियस मालेमाको स्वरमा ‘बुअरलाई गोली हान, किसानलाई गोली हान’ भन्ने गीत बजाइएको थियो। त्यसपछि क्रसहरूले भरिएको खेत देखाइएको थियो जसलाई ट्रम्पले ‘गोराहरूको समाधिस्थल’ भएको बताएका थिए ।

रामाफोसाले उक्त भिडियोमा सुनिएको नारामा प्रतिक्रिया दिँदै भने, ‘तपाईंले देख्नुभएको – त्यो भाषण… त्यो हाम्रो सरकारी नीति होइन। दक्षिण अफ्रिकामा बहुदलीय लोकतन्त्र छ जसले नागरिकहरूलाई अभिव्यक्ति स्वतन्त्रता दिन्छ।’

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा आठ वटा फर्मको अनुगमन

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार विभिन्न आठ वटा उद्योग तथा फर्मको अनुगमन गरेको छ । अनुगमनका क्रममा विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन र कारबाही गरिएको जनाएको छ ।

विभागले नोबेल एकेडेमी, भ्याली भ्यू स्कुल, होमटेक इण्डष्ट्रिज प्रालि चन्द्रागिरी, रिलोड फुट वयर, सुप्रिया ट्रेडिङ, चन्द्रागिरीको अनुगमन गरी सम्बन्धित कागजात लिई तीन दिन भित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । त्यस्तै विभागले गुसिङगल मोटरसाइकल सर्भिस सेन्टर, इन्डेक्स फर्निचर नेपाल प्रालि, लिब्राइट एण्ड स्वीफट गोल्ड प्रालिलाई मापदण्ड पालना गर्न निर्देशन दिएको छ ।

 

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा प्रवेश गर्न सफल टोली बुधबार साँझ काठमाडौँ आइपुगेको हो ।

टोलीलाई नेपाल क्रिकेट संघका सचिव पारस खड्कालगायतले विमानस्थलमा स्वागत गरेका थिए । नेपला एसिया क्षेत्र छनोटको सुपर थ्रीको खेलमा ग्लोबल छनोटमा पुगेको छ ।

अख्तियारको नियन्त्रणमा रहेका सहसचिव भट्टराई रिहा

काठमाडौँ । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई रिहा भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेका भट्टराई बुधबार साँझ रिहा भएका हुन् । अख्तियारले भट्टराईलाई बुधबार राति कागज गराएर रिहा गरेको हो ।

उनलाई बिहीबार अख्तियारमा उपस्थित हुन निर्देशन दिइएको छ । भिजिट भिसाको आवरणमा मानव तस्करसँग सेटिङ गरेर नेपालीलाई विभिन्न मुलुक पठाएको आरोपमा अनुसन्धानका लागि उनलाई अख्तियारले बुधबार दिउँसो नियन्त्रणमा लिएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत रहेका भट्टराई मंगलबार बेलुका आकस्मिक रुपमा गृह मन्त्रालयमा सरुवा भएका थिए ।

पोखरा विमानस्थल निर्माणका क्रममा भएको भ्रष्टाचारबारे छानबिन गर्न अख्तियारलाई लेखा समितिको निर्देशन

काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भ्रष्टाचारबारे अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

बुधबार बसेको समितिको बैठकले विमानस्थल निर्माणका क्रममा भएको भनिएको अनियमितता र भ्रष्टाचारबारे अनुसन्धान गर्न अख्तियारलाई निर्देशन दिएको हो ।

उपसमितिले प्रतिवेदनसहित लेखा समितिले कारबाहीका लागि निर्देशन दिने निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले बताए । राजेन्द्र लिङ्देन संयोजक रहेको उपसमितिले पोखरा विमानस्थल निर्माणमा कम्तीमा १० अर्ब रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेर प्रतिवेदन लेखा समितिलाई बुझाएको थियो ।

उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठेक्का प्रक्रियादेखि नै भ्रष्टाचार भएको निष्कर्ष निकालेको थियो । तत्कालीन आयोजना प्रमुख तथा नागरिक उड्डयन प्राधिकरणका वर्तमान महानिर्देशक प्रदीप अधिकारीसहित ८ प्राविधिक तथा कर्मचारीलाई निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाउन उपसमितिले सिफारिस गरेको थियो ।

भूमि विधेयकले भूमिहीनको समस्या समाधान नहुने संघीय लोकतान्त्रिक मोर्चाको निष्कर्ष

काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले सरकारले ल्याएको भूमिसम्बन्धी विधेयकप्रति असहमति जनाएको छ । जनमतको पार्टीको केन्द्रीय कार्यालयमा बुधबार बसेको मोर्चाको बैठकले भूमि व्यवस्था र भूमिसम्बन्धी अभिलेख राख्ने अधिकार संविधानले प्रदेशलाई दिएको अवस्थामा प्रदेशको क्षेत्राधिकार हस्तक्षेप गरी सरकारले भूमिसम्बन्धी विधेयक सदनमा प्रस्तुत गरेको भन्दै असहमति जनाएको हो ।

सरकारले ल्याएको विधेयक असंवैधानिक रहेकाले यसबाट भूमिहीनको समस्या समाधान हुन नसक्ने निष्कर्ष निकालिएको जनमतका प्रवक्ता डा. शरद यादवले जानकारी दिए। विधेयकले भूमाफियालाई मात्रै अत्याधिक लाभ पुग्ने उनले बताए । बैठकले उक्त विधेयक फिर्ता लिन माग गरेको उनले जानकारी दिए ।

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय संयोजक सुजित केसीलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय संयोजक सुजित केसीलाई रिहा गर्ने आदेश दिएको छ ।

सामाजिक सञ्जालमा लेखेकै आधारमा केसीलाई गैरकानुनी थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरण रिटमा बुधबार न्यायाधीशद्वय बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले केसीलाई रिहा गर्ने आदेश दिएको हो ।

सरकारले गैरकानुनी थुनामा राखेको दाबीसहित सर्वोच्च अदालतमा अधिवक्ता राजकुमार श्रेष्ठले केसी पक्राउ र पक्राउको आदेश विरुद्ध शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए ।

अख्तियारले लियो गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको छ । बुधबार अपरान्ह अख्तियारको टोलीले भट्टराईलाई नियन्त्रणमा लिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत रहेका भट्टराईलाई मंगलबार बेलुका आकस्मिक रुपमा गृह मन्त्रालयमा सरुवा गरिएको थियो । यसैबीच अख्तियारले विमानस्थल अध्यागमन कार्यालयमा छापा मारेको छ।

जनआन्दोलनमा सहभागिताका लागि राजावादीले लेखे रास्वपालाई पत्र

काठमाडौं । संवैधानिक राजसंस्था र सनातन हिन्दू अधिराज्य सहित बहुदलीय प्रजातन्त्र पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले जेठ १५ देखि सुरु हुने जनआन्दोलनमा सहकार्य गर्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई पत्र पठाएको छ ।

समितिका संयोजक नवराज सुवेदीले रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई संयुक्त जनआन्दोलनमा सहकार्यका लागि प्रस्ताव गरेका हुन् ।

पत्रमा भनिएको छ, ‘तपाईंको पार्टीका सभापति श्री रवि लामिछानेज्यूले पनि हालको व्यवस्था अन्तर्गत निष्पक्ष न्याय पाउन सकिनेमा शंका व्यक्त गर्नुभएको तथ्य सर्वविदित छ । राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरू दलिय हस्तक्षेप र दलियकरणको गम्भीर शिकार बनिसकेको सन्दर्भमा यस व्यवस्थाबाट तपाईंहरू पनि सन्तुष्ट हुनुहुन्न भन्ने हाम्रो बुझाइ छ । यसैले वर्तमान व्यवस्था परिवर्तन गर्नु आजको ऐतिहासिक आवश्यकता हो भन्ने कुरामा हामीबीच साझा समझदारी हुन सक्ने आशा लिएको छु ।’

समितिले वर्तमान राजनीतिक व्यवस्थाले नेपाली जनताको सुशासन, समृद्धि र राष्ट्रिय पहिचानका अपेक्षाहरू पूरा गर्न असफल भएको कुरा आज सबैमा स्पष्ट भइसकेको र धर्म, संस्कृति र मौलिक मूल्य–मान्यतामा आधारित हाम्रो सनातन पहिचान गम्भीर संकटमा पर्दै गएको उल्लेख गरेको छ ।

पत्रमा भनिएको छ, ‘यस पृष्ठभूमिमा, तपाईंकै पार्टीको मूल सैद्धान्तिक चिन्तन र वर्तमान व्यवस्था प्रतिको आलोचनालाई दृष्टिगत गर्दै, म हाम्रो आन्दोलनमा सहकार्य र सहभागिताको प्रस्ताव गर्दछ । आउनुहोस्, यो चरम दलियकरण र अव्यवस्थाको अन्त्य गरी राष्ट्रिय पहिचान, न्याय, धर्म र लोकतन्त्र पुनःस्थापित गर्ने हाम्रो साझा लक्ष्यका लागि संयुक्त रूपमा अघि बढौं, संवैधानिक राजसंस्था, सनातन हिन्दू राष्ट्र, बहुदलिय प्रजातन्त्र पूनस्र्थापना गरौ ।’

नेपालको व्यापार घाटा बढेर १२ खर्ब ५६ अर्ब पुग्यो

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा १४ खर्ब ७४ अर्ब रुपैयाँ बराबरको वस्तु नेपाल भित्रिएको छ ।

भन्सार विभागले बुधबार सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांकअनुसार १० महिनामा विभिन्न मुलुकबाट १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा नेपालबाट २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा भने १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँ बराबरको मात्रै वस्तु आयात भएको थियो । आयातसँगै नेपालको निर्यातमा पनि उल्लेख्य वृद्धि भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा भने नेपालबाट १ खर्ब २६ अर्ब रुपैयाँ बराबरको मात्रै निर्यात भएको थियो जुन यस वर्षको तुलनामा ७२.७१ प्रतिशतले कम हो ।

विभागको तथ्यांअनुसार दश महिनाको नेपालको व्यापार घाटा ६.७२ प्रतिशतले बढेर १२ खर्ब ५६ अर्ब २७ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा भने यस्तो व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ थियो ।