`

रुससँगको आणविक सहकार्य जारी राख्न बङ्गलादेशको आह्वान

ढाका । बङ्गलादेशको अन्तरिम सरकारले गतवर्ष ढाकाको क्रान्तिपछि रुसको सरकारी स्वामित्वमा रहेको रोसाटमका निर्देशकले गरेको पहिलो भ्रमणका क्रममा विवादास्पद आणविक संयन्त्रलाई मस्कोले गरेको ‘महत्त्वपूर्ण’ समर्थनको प्रशंसा गरेको छ ।

रूपपुरमा आणविक संयन्त्रको निर्माण सन् २०१७ मा पूर्व प्रधानमन्त्री शेख हसिनाको कार्यकालमा सुरु भएको थियो ।

धेरै ढिलाइ भएको दुई हजार चार सय मेगावाटको यो परियोजनाले अतिरिक्त ऊर्जा ग्रिडलाई सुदृढ पार्ने लक्ष्य राखेको छ र पूर्ण रूपमा सञ्चालनमा आएपछि उत्पादन क्षमताका आधारमा बङ्गलादेशको सबैभन्दा ठूलो विद्युत् केन्द्र हुनेछ ।

रूसी आणविक ऊर्जा दिग्गज रोसाटमका प्रमुख अलेक्सी लिखाचेभ अन्तिम पटक सन् २०२४ अप्रिलमा बङ्गलादेशमा हुनुहुन्थ्यो । यो अगस्टमा हसिनालाई अपदस्थ गर्ने विद्यार्थी नेतृत्वको विद्रोहको केही समयअघि थियो ।

हसिनाका उत्तराधिकारी अन्तरिम नेता मुहम्मद युनुसले लिखाचेभसँग भेट गरे र उनीहरूले रूपपुर संयन्त्रसम्बन्धी ‘बङ्गलादेश र रुसबीचको निरन्तर सहकार्य’ बारे छलफल गरे ।

“हामी तपाईंको समर्थनको प्रतीक्षामा छौँ, जुन हाम्रा लागि निकै महत्त्वपूर्ण छ”, युनुसले आफ्नो कार्यालयबाट जारी विज्ञप्तिअनुसार रुसी टोलीलाई भने ।

रूपपुर संयन्त्र हसिनाद्वारा शुरू गरिएको सबैभन्दा महङ्गो पूर्वाधार परियोजना थियो तर त्यसयता ९० प्रतिशत मस्को ऋणद्वारा वित्तपोषित १२ अर्ब ६५ करोड डलरको यो योजना भ्रष्टाचारका आरोपहरूले घेरिएको छ । 

सतहत्तर वर्षीया हसिना आफ्नो पुरानो सहयोगी भारत भागेकी छन् । भारतमा उनले सामूहिक हत्यासहितका आरोपहरूको सामना गर्न बङ्गलादेशबाट प्रत्यर्पण अनुरोधलाई अवहेलना गरेकी छन् ।

बङ्गलादेशको भ्रष्टाचार विरोधी आयोगले डिसेम्बरमा हसिना र उहाँको परिवारमाथि रूपपुर प्लान्ट परियोजनासँग सम्बन्धित पाँच अर्ब डलरको कथित घोटालासहित अनुसन्धान सुरु गरेको थियो ।

युनुसको कार्यालयले सन् २०२६ को अन्त्यसम्म त्यो अवधि विस्तार गर्ने प्रस्तावसहित दुई पक्षले मस्कोसँगको ढाकाको ऋण सम्झौताबारे पनि छलफल गरेको बताएको छ ।

विशेष गरी उपभोक्ताहरू चिसोका लागि ऊर्जा–भोक एयर कन्डिसनरमा भर पर्दा करिब १७ करोड जनसङ्ख्या भएको बङ्गलादेश हाल छिमेकी भारतबाट सीमापार बिजुली आयात गर्नमा धेरै निर्भर छ ।

बङ्गलादेश र भारतबीचको सम्बन्ध बिग्रिएको छ । ढाकाले हसिनालाई घर फर्काउन माग गरिरहेको छ ।

बाहिनीपति कपको उपाधि इलामलाई

धरान । बाहिनीपति कपको उपाधि सशस्त्र प्रहरीबल नेपाल नम्बर १ गण इलामले जितेको छ ।  सशस्त्र प्रहरीबल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीले आयोजना गरेको उक्त प्रतियोगिताको आज भएको फाइनलमा इलामले सात स्वर्ण, एक रजत, छ कास्य जित्न सफल भएको छ । 

यही फागुन ११ गतेदेखि सुरु भएको खेल आज सम्पन्न भएको हो । प्रतियोगितामा फुटबल, भलिबल, एथलेटिक्स, टेबलटेनिस, सटपुट, ब्याडमिन्टनलगायत खेलहरु सञ्चालन भएका थिए । 
   
     प्रतियोगितामा सात गण र नौ गुल्मका खेलाडीको सहभागिता थियो । प्रतियोगितामा सामूहिक तथा एकल विधातर्फ गरी तीन सय २० खेलाडी सहभागी रहेको सशस्त्र प्रहरीबल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीले जनाएको छ । 

पुरस्कार वितरण समारोहमा सशस्त्र प्रहरी नायब महानिरीक्षक शम्भु सुवेदीले खेलकुदका माध्यमबाट राष्ट्रको गौरव, शान र पहिचान स्थापित गर्न सकिने बताए । उनले भने, “खेलका माध्यमबाट सामूहिक भावनाको विकास गराउने र आफूसँग भएका क्षमताहरुलाई उजागर गर्नका साथै त्यसबाट व्यक्तित्व विकासको अवसर प्राप्त गर्न सकिन्छ ।”

बाहिनिपति कप २०८१ का विजेता टिम तथा खेलाडीहरुलाई विभिन्न गणका गणपतिहरुले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरे । 

समारोहमा सशस्त्र प्रहरी बल नेपाल नं ४ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापा, सशस्त्र प्रहरी बल नेपाल नं १ गण इलामका सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र सुवेदी, सशस्त्र प्रहरी बल नेपाल नं २ गणका प्रमुख तुला भण्डारीलगायत गण र गुल्मका गणपतिहरुको उपस्थिति रहेको थियो ।

बराह बाहिनी मुख्यालयका नायब महानिरीक्षक शम्भु सुवेदीले विजेता टिम सशस्त्र प्रहरी बल नेपाल नं १ गण इलामलाई ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरे ।

गणतन्त्रविरुद्धको आन्दोलन सम्भव छैन : पूर्वउपराष्ट्रपति पुन

गोरखा । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको आन्दोलन सम्भव नहुने बताएका छन् ।

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले बुधबार जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको २९औँ स्मृति दिवसको अवसरमा आयोजना गरेको सहिदपरिवार सम्मान तथा प्रगतिशील साहित्यिक गोष्ठी एवं बलिदानी दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘गणतन्त्रमाथि चौतर्फी हमला भइरहेको छ, दुई पटक उपराष्ट्रपति पनि भएँ तर गणतन्त्रमार्फत प्राप्त समानुपातिक समावेशी अधिकार कसरी हत्याउन सकिन्छ, भनेर प्रतिगामी शक्ति क्रमशः हाबी हुँदै गएको मैले देखेँ ।’

नेपाली जनता संविधानले निर्दिष्ट गरेको बाटोमा अघि बढ्न चाहेको उनले बताए । संविधानले समाजवादको परिकल्पना गरेकाले पूर्वउपराष्ट्रपति पुनले समाजवाद प्राप्तिपछि मात्र सहिदहरुको सपना सार्थक हुने उल्लेख गरे । जनताका आवश्यक एकैचोटी पूरा हुन नसक्ने भए पनि पार्टीहरुले निरन्तर जनताको पक्षमा काम गर्नुपर्नेमा उनले जोड दिए ।

‘दुश्मन हेरेको हेरै…’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ

काठमाडौँ । गायक दुर्गेश थापाले गत माघ १२ गतेदखि १९ दिन लगातार विभिन्न महोत्सवमा प्रस्तुति दिए । फागुन लागेसँगै साङ्गीतिक कार्यक्रमका लागि युएई पुगेका उनलाई त्यहाँबाट फर्केपछि पनि मेला–महोत्सवमा पुग्न भ्याइनभ्याइ छ ।

मङ्गलबार कैलालीको सुखडमा आयोजित ‘दोस्रो घोडाघोडी सांस्कृतिक तथा पर्यटन महोत्सव’मा प्रस्तुति दिका थापा आज चितवनको गड्यौली महोत्सव पुगेका छन् ।

यही बेला उनको पछिल्लो गीत ‘दुश्मन हरेरै हेरै…’ले पनि युट्युबमा उल्लेख्य दर्शक÷स्रोता बटुलेको छ । एक महिनाअघि थापाको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक उक्त गीतको म्युजिक भिडियोलाई हालसम्म दुई करोड ६० लाखभन्दा बढी पटक हेरिएको छ । युट्युब ट्रेन्डिङको पहिलो स्थानमासमेत परिसकेको उक्त गीतको सफलता सँगसँगै मेला–महोत्सवमा उनको माग बढेको हो । यो गीत छोटो समयमा धेरै ‘भ्यूज’ पाउने थापाको पहिलो गीत हो ।

गत साता एकैदिन हेटौँडा र नुवाकोटको महोत्सवमा पुगेका थापाले हेलिकप्टर प्रयोग गगेका थिए। “फागुन महिनामा ३२ भन्दा बढी ठाउँमा प्रस्तुति दिँदैछु, यो सब दर्शक÷स्रोताको माया र साथले सम्भव भएको हो”, उनले भने, “दुश्मन हेरैको हेरै…गीतको सफलताले मलाई पनि थप उचाइ दियो, यसबाट नयाँ ऊर्जा पाएको महसुस भइरहेको छ ।” कतिपय ठाउँका कार्यक्रममा माए आए पनि व्यवस्ताका कारण समय दिन नभ्याएको थापाले सुनाए । युट्युबसँगै मेला–महोत्सवमा दर्शकले दिएको साथका कारण उनले आर्थिक रूपमा पनि राम्रो लाभ उठाइसकेका छन् ।

‘दुश्मन हेरेको हेरै…’मा थापासहित गायक आनन्द कार्की, गायिका समीक्षा अधिकारी र एलिना चौहानको स्वर सुन्न सकिन्छ । थापाले आफ्नै शब्द र सङ्गीतमा उक्त गीत तयार पारेका हुन् । 

ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौँ दम्पत्ति

लमजुङ । शिवरात्रिमा रातभर उभिएर महादेवको नाउँमा बत्ती बाल्दा सन्तान प्राप्ति हुने विश्वासका कारण लमजुङको ईशानेश्वर महादेव मन्दिरमा बत्ती बाल्न बुधबार देशका विभिन्न स्थानबाट भक्तजनहरु करापुटार आइपुगेका छन् ।

लमजुङ र कास्कीको सिमानामा पर्ने ईशानेश्वरलाई सन्तानेश्वर महादेवको नामले समेत चिनिन्छ । यहाँ बर्सेनि हजारौँले भक्तजनले ठाडो बत्ती बाल्ने गर्दछन् ।  सन्तान प्राप्तिका लागि बत्ती बाल्नेहरु सन्तान प्राप्त भएपछि आफ्ना सन्तान देखाउनसमेत यहाँ आउने गर्छन् ।

नवलपुर देखि ठाडो बत्ती बाल्न आएकी शान्ता बिष्टले ईशानेश्वरको महिमा सधैँ सुन्ने गरेको र यसपटक आफैँ आएको बताइन् । बिष्टका अनुसार उहाँको  बिहे भएको सात बर्ष भएपनि सन्तान नभएपछि सन्तान प्राप्ति हुन्छ भन्ने बिश्वासले दम्पत्तिसहित आएका हुन् ।

त्यसैगरी गोरखाकी विपना थापाले आफू तेस्रो पटक ईशानेश्वर आएको बताइन् । दुई बर्ष अगाडि श्रीमानसहित यहाँ आएर ठाडो बत्ती बालेपछि  गतवर्ष छोरो जन्मिएपछि यसपटक नौ महिनाको छोरो देखाउन आएको उनले बताइन् ।

रातभर जाग्राम रहनेलाई मनोरञ्जन प्रदान गर्न विभिन्न किसिमका कार्यक्रम आयोजना गरिने ईशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिले जनाएको छ । यस वर्षदेखि मन्दिर परिसरमा १०८ धारा र गौरीकुण्डसमेत निर्माण गरिदिएकाले  मेला भर्नेको सङ्ख्या वृद्धि भएको समितिले जनाएको छ ।

लमजुङ, तनहुँ, गोरखा, स्याङ्जा, चितवन, कास्की, बागलुङ, काठमाडौँलगायतका जिल्ला र भारतबाटसमेत यहाँ भक्तजन आएका छन् । यस वर्ष दुई दिनसम्म सञ्चालन हुने गरी खुल्ला भजन प्रतियोगितासमेत आयोजना गरिएको छ ।

शिवरात्रिको अवसरमा आज बिहान ४ बजेदेखि मन्दिरमा दूध चढाउनेको भीड लागेको छ ।

पौराणिक मान्यता अनुसार श्रीस्वस्थानी व्रतकथामा महादेवले सतिदेवीको मृत शरीर लिएर हिँड्दा यस स्थानमा पुगेपछि सतिदेवीको दायाँ तिघ्रा पतन भएको मानिन्छ । यस पूण्यभूमिमा तारकेश्वर महादेव उत्पन्न भई ईशान कोणमा अवस्थित रहेको कारण ईशानेश्वर महादेव नामकरण गरिएको मान्यता छ ।

पार्टीको भावी कार्यक्रम तय गर्न एकीकृत समाजवादीले बनायो महासचिव भुसालको संयोजकत्वमा कार्यदल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले अध्यादेशको प्रक्रिया र अन्तरवस्तु दुवैमा असहमति जनाएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बुधबार बसेको बैठकले अध्यादेशहरू त्रुटिपूर्ण रहेकाले संसदमा निर्णयार्थ पेस भए विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

केन्द्रीय कमिटी बैठकबाट प्राप्त सुझावहरूलाई समेटी तात्कालीक कार्ययोजना र अन्य दस्तावेज टुङ्ग्याउन महासचिव घनश्याम भुसालको नेतृत्वमा आठ सदस्यीय कार्यदल गठन गरेको बैठकले पार्टीका आगामी कार्यक्रम, नीति तथा योजना एकताबद्ध भएर अघि बढाउने निर्णय गरेको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।

पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माणसम्बन्धी आगामी कार्ययोजनामा छलफल गरेको बैठकले मुलुकको समसामयिक राजनीतिक विषयवस्तु तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिबारे छलफल गरेको थियो ।

बैठकमा पार्टी नियमावली, विनियम, निर्देशिका अनुसार सदस्य विस्तार तथा सङ्गठन देशभर सुदृढीकरण गर्ने विषयमा छलफल गरिएको थियो ।

म्यान्मारलाई अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियिनसिपको उपाधि

काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियिनसिपको उपाधि म्यान्मारले जितेको छ । बुधबार त्रिपुरेश्वरििस्थत दशरथ रगंशालमा भएको फाइनल खेलमा घरेलु टोली नेपाललाई २–० ले हराउँदै म्यान्मारले उपाधि जितेको हो ।

फाइनल खेलमा पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो । त्यसपछि खेलको ६२औँ मिनेटमा म्यान्मारले गोल गर्दै नेपालविरुद्ध अग्रता लिएको थियो । पहिलो गोल भएको दुई मिनेटपछि नै म्यान्मारले नेपालविरुद्ध दोस्रो गोल गर्यो ।

म्यान्मारको लागि पहिलो गोल यु पर कियाङले गरिन् । त्यसपछि खेलको ६४औँ मिनेटमा विङ तेइन्जी तुनले गोल गरेर म्यान्मारलाई सफलता दिलाइन् । म्यान्मारले प्रतियोगिताको पहिलो खेलमा लेबनानलाई ३–१ ले पराजित गरेको थियो भने दोस्रो खेलमा किर्गिस्तानलाई ५–० को गोलले हराएर एक खेलअघि नै फाइनलमा आफनो स्थान बनाएको थियो ।

फागुन ५ गतेदेखि सुरु भएको प्रतियोगितामा आयोजक नेपालसहित, लेबनान, किर्गिस्तान र म्यानमारले सहभागिता जनाएका थिए ।

भारतीय केरा आयातले नेपालमा उत्पादित केराको बजार प्रभावित

चितवन। भारतीय केराको आयातले यहाँ उत्पादित केराको बजारलाई प्रभावित बनाएको छ। भारतबाट वैध र अवैध दुवै रुपमा भित्रिएको केराले बजार प्रभावित बनाएको हो।

चितवन केरा उत्पादक संघका अध्यक्ष माधव घिमिरेका अनुसार अहिले यहाँको केरा बजारीकरणका लागि तयारी अवस्थामा छन्। बजारमा भारतीय केराले स्थान पाउँदा यहाँको उत्पादनले सहजै बजार पाउन कठिन भएको उनले बताए।

भारतमा ठूला र चिल्ला केरा उत्पादन हुने हुँदा यहाँका केराको तुलनामा भारतीय केरामा ग्राहकको आँखा पर्ने गर्दछ। नेपालको बजारमा ४० प्रतिशत केरा भारतबाट आउने गर्दछ। थोरै केरामात्र भन्सार तिरेर आउने गरेको भए पनि धेरै अवैध रूपमा भित्रने अध्यक्ष घिमिरेको दाबी छ।

उनले भने, ‘कृषिको अरू उत्पादन सहज आउन रोक्दा केरालाई सरकारले रोक्दैन।’ केरा आयातमा रोक लगाइएमा नेपालमा आत्मनिर्भर हुनसक्ने गरी उत्पादन गर्न सकिने उनको भनाइ छ। देशकै सबैभन्दा बढी केरा उत्पादन हुने चितवनमा तीन हजार दुई सय हेक्टर हाराहारीमा केरा खेती हुँदै आएको छ। यहाँका सात सय बढी किसान केराखेतीमा संलग्न छन्।

हरियो केरा, चिनी चम्पा, माल्भोग जातका केरा व्यावसायिक रूपमा लगाइएको छ। चैतदेखि साउन सम्मलाई किसानले केरा उत्पादनको मुख्य सिजनको रूपमा लिने गर्दछन्।

विद्यार्थीका सिर्जनामा स्वयम्भूका सभ्यता, संस्कृति र सम्पदा

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ का ३३ विद्यालयका ६० विद्यार्थीहरू आज स्वयम्भूमा चित्र कोर्न भेला भए।

उनीहरूलाई स्वयम्भू महोत्सव आयोजक समितिले ‘विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू क्षेत्र’ शीर्षकमा प्रतियोगितात्मक चित्रकलामा सहभागी गराएको थियो। विद्यार्थीहरूले स्वयम्भूसहित उपत्यकाका दृश्य चित्रमा उतारे। चित्रमा उनीहरूले आफ्ना भावनासमेत पोखे। स्कुले विद्यार्थीहरूले आँखाले देखिरहेको दृश्य दुरुस्त चित्रमा कोरेको देखेर आगन्तुहरूले चाख दिएर हेरे।

बोधिसत्व स्कुल स्वयम्भूका विद्यार्थी सूर्यमान तामाङले स्वयम्भूको चित्र कोरे। कला सिर्जनामा रुचि राख्ने तामाङले स्वयम्भूमा आएर कला सिर्जना गर्न पाउँदा खुसी महसुस भएको बताए। कामना इन्टरनेशनल स्कुलकी आरोही प्रसाईं पनि चित्र बनाउने प्रतियोगितामा भाग लिन पाउँदा खुसी भइन्। उनले स्वयम्भूसहित धरहरालाई एउटै क्यानभासमा उतारिन्।

आफ्नो चित्रकलामा धरहरा जोडेर उपत्यकाको मौलिकता देखाउन खोजेको उनले बताइन्। उपत्यकाका सम्पदा जोगाउन कलाको भूमिका महत्त्वपूर्ण हुने उनको बुझाइ छ। स्वयम्भू महोत्सवमा आयोजित उक्त चित्रकला प्रतियोगितालाई स्वर्णिम स्कुलका भगवान श्रेष्ठ र काठमाडौँ महानगरपालिका वडा नं १५ ले सहयोग गरेको हो। चित्रकला प्रतियोगितामा कक्षा ३ देखि ५ र कक्षा ६ देखि ८ गरी दुई समूहमा राखेर कला सिर्जना गराइएको थियो।

प्रतियोगिताको संयोजन गरेका कलाकार दिवेश प्रधानले स्वयम्भू क्षेत्रभित्रका सभ्यता, संस्कृति र चाडपर्वलाई समावेश गर्ने गरी विषय दिएको र त्यही विषयमा विद्यार्थीले चित्र कोरेका बताए। स्वयम्भू महोत्सव मूल आयोजक समितिका संयोजक तथा महानगरको वडा नं १५ का अध्यक्ष ईश्वरमान डङ्गोलले कला संस्कृतिको जगेर्नाका लागि विद्यालयस्तरीय प्रतियोगितात्मक कला सिर्जना कार्यक्रम गरिएको बताए।

आजको प्रतियोगितामा कक्षा ६ देखि ८ का विद्यार्थीको समूहतर्फ मोर्डन नेपाल स्कुलकी ग्रिन्ता पण्डित प्रथम, यूरो स्कुलकी अश्रेया शाक्य द्वितीय र डल्लु आवासीय स्कुलका स्वनिग श्रेष्ठ तृतीय भए। मैत्री स्कुल र शाङ्करी स्कुलका सियविन महर्जन र सौभित महर्जनले सान्त्वना स्थान प्राप्त गरे। त्यसैगरी कक्षा ३ देखि ५ का विद्यार्थीतर्फ डल्लु आवासीय विद्यालयकी सरिना महर्जन प्रथम, ईश्वर आधारभूत विद्यालयकी अनिशा परियार द्वितीय र दिव्यज्ञान माविका जष्टिन कार्की तृतीय भए।

त्यसैगरी फ्यूचर स्टार स्कुल र विजेश्वरी ज्ञानमन्दिर सैनिक विद्यालयका जोवा तामाङ र युनिका भुजेलले सान्त्वना स्थान प्राप्त गरे। यसअघि महोत्सवकै अवसरमा यहाँ २० भन्दा बढी कलाकार सहभागी भएर कला कार्यशाला आयोजना गरिएको थियो। ती कार्यशालामा बनाइएका सम्पदाका कला अहिले पनि महोत्सवमा प्रदर्शन जारी छ। यही फागुन १७ गतेसम्म महोत्सव चल्नेछ।

झापा–११   झापा गोल्डकपको फाइनलमा 

झापा । दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपको दोस्रो सेमिफाइनलमा भुटानको डागा युनाइटेड एपसीलाई पराजित गर्दै झापा–११ फाइनलमा प्रवेश गरेको छ । 

मेची रङ्गशालामा बुधबार भएको खेलमा झापा–११ ले डागा युनाइटेडमाथि ३–१ को जित निकालेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको आजको खेलको ५५औँ मिनटमा झापा–११ का एरोन थापाले फ्रि किममार्फत गोल गरे । खेलको ८४औँ मिनटमा डागा युनाइटेडका सुरज रसायलीले बराबरी गोल फर्काए । निर्धारित ९० मिनटको खेल हुँदासम्म दुवै टोली १–१ को स्थितिमा थिए । 

पाँच मिनट थपिएको इञ्जुरी समयमा भुटान समालिन नसक्दा झापा–११ ले दुई गोल थप्यो । झापा–११ का लागि रोहन कार्की र हरिबहादुर आलेमगरले इञ्जुरी समयमा गोल गरे । आजको खेलको प्लेयर अफ द म्याच झापा–११ का एरोन थापा भए । उनले २१ हजार नगद र ट्रफी प्राप्त गरे । 

यही फागुन १६ गते शुक्रबार झापा–११ ले आयोजक भद्रपुर ब्लेजर्ससँग उपाधिका लागि खेल्नेछ । आयोजक ब्लेजर्सले बङ्गलादेशको काउर्न बाजार प्रगति सङ्घलाई हराउँदै अन्तिम दुईमा स्थान बनाएको हो । प्रतियोगिताको विजेता टोलीले नगद रू १३ लाख तथा उपविजेता टोलीले नगद सात लाख प्राप्त गर्नेछन् ।

नेपाल र म्यानमार पहिलो हाफमा गोलरहित बराबरी

काठमाडौं । काठमाडौँमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको जारी फाइनल खेलमा पहिलो हाफमा नेपाल र म्यानमार बराबरीमा रोकिएका छन् ।

त्रिपुरेश्वरििस्थत दशरथ रगंशालमा भइरहेको खेलमा नेपाला र म्यानमनार पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएका हुन्। दुवै टोलीले राम्रो अवसर पाएपनि सदूपयोग गर्न सकेनन् । यसअघि भएको समूह चरण अन्र्तगतको अन्तिम खेलमा नेपाल र म्यानमारले बराबरीमा खेलेका थिए ।

‘त्रिपक्षीय ऊर्जा सम्झौताले क्षेत्रीय सहकार्यको ढोका खोल्यो’

काठमाडौं ।  संसदको अन्तर्राष्ट्रियसम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादवले नेपाल–भारतसम्बन्ध सुदृढ गर्न र साझा अवसरको लाभ लिन सहकार्यको आवश्यकता रहने बताएका छन् ।

भारतको नयाँदिल्लीमा आयोजित ‘नेपाल-भारतसम्बन्ध, छिमेकी कूटनीति र बुद्धका उपदेशको सान्दर्भिकता’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा उनले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक, धार्मिक, र जनस्तरको सम्बन्धलाई अझ सुदृढ गर्नुपर्नेमा जोड दिए ।

‘नेपाल र भारतबीच शताब्दीयौँदेखि सभ्यतागत सम्बन्ध छ । जसलाई साझा इतिहास, परम्परा, धर्म, विश्वास, र जनस्तरको सम्बन्धले परिभाषित गर्छ । यी साझा विशेषताहरूले हामीलाई इतिहास र संस्कृतिसँग जोडिएका अवसरलाई मूर्तरूप दिन मात्र होइन, द्विपक्षीयसम्बन्ध सुदृढ पार्दै क्षेत्रीय सहकार्यमार्फत साझा समृद्धि हासिल गर्ने अवसर प्रदान गर्छ’, सभापति यादवले भने ।

उनले नेपाल–भारतको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई सुदृढ गर्न बौद्ध, रामायण र महाभारत सर्किटजस्ता धार्मिक पर्यटन मार्गहरूको प्रवद्र्धन गर्नुपर्ने बताए ।

दुई देशबीच भौतिक र डिजिटल सम्पर्कमा विस्तार, आर्थिक र क्षेत्रीय सहकार्यलगायत विषयमा आफ्नो धारणा पूर्वमन्त्री यादवले दक्षिण एसियामा साझा समृद्धि र शान्तिका लागि नेपाल–भारतको सहकार्यलाई थप बलियो बनाउन आह्वानसमेत गरे ।

बोधगया र लुम्बिनीलाई जोडेर बौद्ध सर्किट बनाउने, अयोध्या र जनकपुरलाई समेटेर रामायण सर्किट विस्तार गर्ने तथा पाण्डवहरूसँग सम्बन्धित स्थानलाई समेटेर महाभारत सर्किट प्रवद्र्धन गर्ने योजनालाई मूर्त रूप दिइनुपर्ने उनको भनाइ छ ।

त्यस्तै, सीमापार रेल, सडक, पेट्रोलियम पाइपलाइन र ऊर्जा प्रसारणलाइनजस्ता पूर्वाधार परियोजनालाई तीव्र गतिमा अघि बढाउनुपर्ने पनि सभापति यादवको भनाइ छ ।

नेपाल–भारतबीच डिजिटल भुक्तानी प्रणालीमा सहकार्य तथा अन्तरआवद्धताको विषय पनि उनले उठाए । त्यस्तै, भारतबाट नेपालमा जलविद्युत्, उद्योग, र पर्यटन क्षेत्रमा लगानी बढाउन आग्रह गर्दै उनले त्रिपक्षीय ऊर्जा सम्झौताले क्षेत्रीय सहकार्यको ढोका खोलेको बताए ।

‘यी साझा अवसरको लाभ लिन दुवै देशले पर्याप्त प्रयास गर्न आवश्यक छ । यी पहललाई व्यावहारिक रूपमा सफल बनाउन प्रतिबद्धता चाहिन्छ, उनले भने,भौतिक र डिजिटल सम्पर्क हाम्रो सहकार्यको प्रमुख आधार हुनुपर्छ, किनभने तिनिहरू आर्थिक वृद्धि, सामाजिक प्रगति, र क्षेत्रीय स्थिरताका लागि महत्त्वपूर्ण छन् ।’

सार्क, विमस्टेक, बिबिआइएनजस्ता क्षेत्रीय मञ्चहरूको प्रभावकारी प्रयोग गर्दै नेपाल–भारत सम्बन्धलाई मात्र नभइ सम्पूर्ण दक्षिण एसियाली क्षेत्रलाई समृद्ध बनाउने दिशामा काम गर्न उनले आग्रह गरे ।

भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू बेलायत ननिटनको मेयरमा मनोनीत

बेलायत । भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगर बेलायतको ननिटन एण्ड बेडवर्थ बरोको मेयर पदमा मनोनीत भएका छन् । 

गत वर्ष मे मा सत्तारूढ लेबर पार्टीबाट काउन्सिलर निर्वाचित सारू ३८ जनाका उन्सिलरमध्येबाट मेयर पदमा मनोनीत भएका हुन् । लेबरका १९, कञ्जरभेटिभबाट १७ र ग्रीन पार्टीका दुई जनाका उन्सिलर रहेको बरोमा ग्रीन पार्टीले पनि सारूलाई समर्थन गरेपछि उनी मेयरमा मनोनीत भएका हुन् ।

यहाँ यसअघि उपमेयर चुनिएका थिए । अब  आउँदो मे १५ मा हुने औपचारिक समारोहमा उनले मेयर नियुक्त भई पदभार ग्रहण गर्नेछन् ।

बेलायतको गोर्खा भर्तीको दुई सय वर्षभन्दा लामो इतिहासमा पूर्वगोर्खाकोतर्फबाट पहिलो मेयरका रूपमा ननिटनमा मनोनीत हुनु गर्वको कुरा भएको भन्दै उपमेयर सारूले भने, ‘औपचारिक रूपमा मेयरको शपथ मे मा हुन्छ । खुसीको क्षण हो बेलायतमा गार्खाहरूको योगदानलाई थप उचाइमा पुर्याउने अवसर मिलेको छ ।’

काउन्सिल इतिहासमा उनी पहिलो गोर्खा मेयर बन्न लागेका हुन् । सारू चार वर्षदेखि बेलायती राजनीतिमा सक्रिय हुन् । 

मेयर हुने पक्का भएपछि उनले भने, ‘नेपाली भएर पनि बेलायतमा राजपरिवारकोतर्फबाट आफ्नो बरोमा प्रतिनिधित्व गर्न पाउँदा एकदमै भाग्यमानी ठानेको छु ।’

झण्डै तीनदशक ब्रिटिश आर्मीमा सेवा गरेका मगर हाल ब्रिटिश गोर्खा भेट्रान्स एशोसिएसनका अध्यक्षसमेत हुन् । सारू, रोयल इञ्जिनियर्सको ग्यारिजन इञ्जिनियरका रूपमा सेवानिवृत्त भएका हुन् ।

बेलायतमा सन् २०१७ देखि सारू इम्ब्रोइडरी नामक व्यवसाय चलाइरहेका सारू पाल्पामा जन्मिएका हुन् ।

राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथ मन्दिरमा पूजाआराधना

काठमाडौँ । महाशिवरात्रिका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले पशुपतिनाथ मन्दिरमा पूजाआराधना एवं दर्शन गरेका छन् । महाशिवरात्रिका अवसरमा राष्ट्राध्यक्षले पशुपतिनाथ मन्दिरमा पूजाआराधना एवं दर्शन गर्ने प्राचीनकालदेखिको परम्परा रही आएको छ ।

राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादव पशुपतिनाथ मन्दिर आउँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापालगायत कोषका पदाधिकारी, कर्मचारी, महाशिवरात्रि मूल समारोह समितिका सदस्य, स्थानीय तहका जनप्रतिनिधि, भक्तजनलगायतले स्वागत गरेका थिए ।

पशुपतिनाथ मूल मन्दिरभित्र दर्शन विधिअनुसार परिक्रमा गरी राष्ट्रपति पौडेलले मन्दिरमा पूजाआराधना र दर्शन गरेका थिए । राष्ट्रपति पौडेललाई पशुपतिनाथका मूल अर्चक गणेश भट्टले फूल, प्रसाद लगाइदिएका थिए ।

म्यान्मारसँग खेल्ने नेपाली महिला टिमको प्लेइङ ११ सार्वजनिक

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेल्ने नेपाली महिला टिमको प्लेइङ ११ सार्वजनिक भएको छ । नेपाली टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले दुई खेलाडी परिवर्तन गर्दै नेपालको प्लेइङ ११ सार्वजनिक गरेका हुन् ।

म्यानमारविरुद्ध फाइनल खेल्ने नेपालको प्लेइङ ११ मा कप्तान एञ्जिला तुम्बापो सुब्बा र रेखा पौडेल फर्किएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज साँझ ६ बजे म्यानमारसँग प्रतिस्पर्धा गर्दै छ । यसअघि लिग चरणको अन्तिम खेलमा नेपाल र म्यानमार २–२ गोलको बराबरीमा रोकिएका थिए ।

धनुषामा भएन लक्ष्यको तुलनामा धान खरिद

जनकपुरधाम । नेपाल सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षमा लक्ष्यको तुलनामा कम धान खरिद गरेको छ ।

बत्तीस हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेको थियो । तर पाँच हजार तीन सय ४६ क्विन्टल धानमात्र खरिद गर्न सकेको कार्यालयले जनाएको छ । कार्यालयबाट प्राप्त विवरणअनुसार तोकिएको लक्ष्यको तुलनामा २६ हजार छ सय ५४ क्विन्टल धान कम खरिद गरेको जनाइएको छ ।

तोकिएको समर्थन मूल्यभन्दा बजार मूल्य अत्यधिक रहेकाले किसानले आफ्नो उत्पादन त्यहाँ बिक्री नगरेर निजी क्षेत्रका बजारमा बिक्री गरेकाले लक्ष्यअनुसार धान खरिद नभएको कार्यालयका प्रमुख देवेन्द्र राईले बताए ।

सरकारले प्रतिक्विन्टल तीन हजार पाँच सय ८० रुपैयाँका दरले धान खरिद गर्न निर्देशन दिए पनि बजारमा करिब चार हजार प्रतिक्विन्टलका दरले किसानले धान बिक्री गरेकाले सो कार्यालयले धान खरिद गर्न नसकेको जानकारी दिए । कार्यालयले लक्ष्यप्राप्त गर्न चारवटा सहकारी संस्थासँग धान खरिद गर्ने सम्झौता गरे पनि किसान नआएकाले लक्ष्य प्राप्त नभएको कार्यालयका कर्मचारीले बताएका छन् ।

जनकपुरको मुजेलियामा रहेको कार्यालयले कार्यालय हाताभित्र धान खरिदका लागि काँटा (धान खरिद केन्द्र) मङ्सिर २४ गतेदेखि सुरु गरेको थियो । धनुषाका किसानबाट कार्यालयले यस वर्ष ३२ हजार क्विन्टल सोना मन्सुली धान खरिद गर्ने सूचना जारी गरेको थियो ।

कार्यालयका प्रमुख राईले यस वर्ष धनुषाका किसानबाट सोनामन्सुली प्रतिक्विन्टल तीन हजार पाँच सय ८० रुपैयाँका दरले धान खरिद गर्ने सरकारले समर्थन मूल्य तोकेको थियो ।

धनुषाका सम्बन्धित स्थानीय तहको कृषि शाखाको सिफारिसमा तथा किसानले धान बिक्री गर्न ल्याउँदा धान सफा गरी कार्यालयले तोकेको मापदण्डअनुसारको हुनुपर्ने तथा धान बिक्रीको भुक्तानी चेकमार्फत हुने कार्यालयद्वारा जारी सूचनामा जनाइएको थियो । तर पटकपटक सूचना जारी गरे पनि किसान धान बिक्रीका लागि नआएको उनले बताए ।

कृषि ज्ञान केन्द्र कार्यालय धनुषा जनकपुरधामका अनुसार जिल्लामा यस वर्ष ४१ हजार पाँच सय ६६ हेक्टर क्षेत्रफलमा एक लाख ६६ हजार दुई सय ६० मेट्रिक टन धान उत्पादन भएको थियो ।

यसअघि सो कार्यालयको धान खरिदका लागि धनुषाका प्रमुख जिल्ला अधिकारी राजुराम कडरियाको अध्यक्षतामा जिल्ला प्राथमिक धान खरिद समितिको सम्पन्न बैठकबाट धान खरिद प्रक्रिया सुरु गरेको प्रमुख राईले जानकारी दिए । यस वर्ष सो कार्यालयले गहुँ खरिद गर्ने योजना बनाएको छ ।

प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडी तथा आयोजकबीच बुधबार भेटघाट भएको छ ।

भेटका अवसरमा कपका अफिसियल उद्घोषक एवं एन्फाका प्रकाश रुचालका क्यान्सरपीडित आमाको उपचारका लागि केपी ओली क्लबका तर्फबाट एक लाख र प्रथम महिला राधिका शाक्यका तर्फबाट एक लाख गरी दुई लाख हस्तान्तरण गरियो ।

सो अवसरमा अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष पङ्कज राई, युवासङ्घका अध्यक्ष क्षितिज थेबेलगायत सहभागी थिए । राष्ट्रिय युवासङ्घ नेपालको आयोजनामा यही फागुन ११ गतेदेखि सुरु भएको च्याम्पियनसिप यही फागुन २० गते समापन हुनेछ । प्रतियोगिताका विजेताले १५ लाख ११ हजार एक सय ११, दोस्रो टोलीले पाँच लाख प्राप्त गर्ने आयोजकले जनाएको छ ।

अवाञ्छित गतिविधि गरेको आरोपमा पशुपति क्षेत्रबाट ७५ जना पक्राउ

काठमाडौँ । महाशिवरात्रिको दिन आज आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरबाट प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ ।
पशुपतिनाथ क्षेत्रमा होहल्ला तथा अवाञ्छित गतिविधि गरेको आरोपमा ७५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

उनले भने, “महाशिरात्रिका दिन आज पशुपतिमा निषेधित गरिएको चिज खाएर होहल्ला गर्ने, अवाञ्छित गतिविधि गर्ने ७५ जनालाई हामीले पक्राउ गरेका छौँ ।”

पक्राउ परेकामध्ये केहीलाई प्रहरी वृत्त गौशाला र केहीलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको प्रहरीले जनाएको छ । आज महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिर क्षेत्रमा प्रहरी उपरीक्षकको कमाण्डमा चार हजार दुई सय प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

पशुपतिनाथको दर्शनका लागि आज बिहानैदेखि हजारौँ भक्तजनको भीड लागेको छ । भक्तजनको सुविधाका लागि विकास कोषले बिहान २ बजेदेखि पशुतिनाथका चारवटै ढोका खोलिएको र कम्तीमा १० मिनेटमा भक्तजनलाई दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।

ट्रम्पले ‘गोल्ड कार्ड’ भिसा ५० लाख डलरमा बेच्ने

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ ‘गोल्ड कार्ड’ आवासीय अनुमति ५० लाख अमेरिकी डलरमा बिक्री गर्ने योजना सार्वजनिक गरेका छन् ।

ट्रम्पले परम्परागत ग्रिनकार्डको उच्च मूल्यको संस्करण नयाँ भिसाको बिक्रीले रोजगारी सिर्जना गर्ने र अमेरिकी राष्ट्रिय घाटा कम गर्न प्रयोग गर्न सकिने बताएका छन् ।

“हामी ‘गोल्ड कार्ड’ भिसा बेच्ने तयारी गरिरहेका छौँ । हामी त्यो कार्डको मूल्य करिब ५० लाख अमेरिकी डलर मूल्य राख्ने तयारी गरिरहेका छौँ,” ट्रम्पले ओभल अफिसमा पत्रकारहरुसँग भने ।

आफ्नो दोस्रो कार्यकालको पहिलो प्राथमिकता लाखौँ गैरकानुनी आप्रवासीलाई देश निकाला गरेका रिपब्लिकन राष्ट्रपति ट्रम्पले नयाँ कार्ड अत्यधिक मूल्यवान् अमेरिकी नागरिकताको मार्ग हुने बताए ।

ट्रम्पले भने, “धेरै मानिसहरू यो देशमा बस्न चाहन्छन्, र उनीहरूले काम गर्न, रोजगारी प्रदान गर्न र कम्पनीहरू निर्माण गर्न सक्षम हुनेछन् र यसरी आउने पैसा भएका मानिसहरू हुनेछन्।”
करिब दुई हप्ताभित्र कार्डको बिक्री सुरु हुने ट्रम्पले बताए ।

“हामी यी कार्डहरू मध्ये १० लाख बिक्री गर्न सक्षम हुनेछौं। हामीले यो सबै काम अमेरिकी कानुन अनुरूप नै गरेका छौं,” ट्रम्पले भने । उनले नयाँ गोल्ड कार्डको लागि सबै आवेदकहरूलाई सावधानीपूर्वक जाँच गरिने बताए ।

तर धनी रुसीहरुले पनि आवेदन दिन पाउँछन् कि सक्दैनन् भन्ने प्रश्नमा ट्रम्पले यो सम्भावना रहेको बताए । “सम्भवतः। म केही रूसी कुलीन वर्गहरूलाई चिन्दछु जुन धेरै राम्रो मानिसहरू हुन्। यो सम्भव छ,” ट्रम्पले भने ।

“उनीहरू पहिलेजस्तो धनी छैनन्। मलाई लाग्छ कि उनीहरूले गर्न सक्छन्। मलाई लाग्छ उनीहरूले ५० लाख डलर खर्च गर्न सक्छन्। तीन वर्षअघि मस्कोले युक्रेनमाथि आक्रमण गरेयता थुप्रै रुसी कुलीन वर्गपश्चिमी प्रतिबन्धको चपेटामा परेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै रुसमाथिको प्रतिबन्ध फुकुवा गर्न कुनै न कुनै समयमा सम्भव भए पनि अहिले वार्ताको टेबलमा नरहेको बताए ।

ओभल अफिसमा ट्रम्पको छेउमा उभिएका अमेरिकी वाणिज्य मन्त्री हावर्ड लुटनिकले गोल्ड कार्डको बारेमा भने, “हामी त्यो पैसा हाम्रो घाटा कम गर्न प्रयोग गर्न सक्छौँँ।”

लामो व्यावसायिक करियरमा होटल र क्यासिनोको शृङ्खलाबद्ध ब्रान्डिङ गरेका ट्रम्पले नयाँ कार्डको नाम पनि आफ्नो नाममा राख्न सकिने सुझाव दिएका छन् ।

“कसैले भन्यो, “के हामी यसलाई ट्रम्प गोल्ड कार्ड भन्न सक्छौं?” प्रतिउत्तरमा मैले भने, भनेँ, “यदि यसले मद्दत गर्छ भने, ट्रम्प नाम प्रयोग गर्नुहोस्।”

सुडानमा सैनिक विमान दुर्घटना, कम्तीमा ४६ जनाको मृत्यु

पोर्ट सुडान । सुडानको खार्तुमको बाहिरी इलाकामा रहेको एक आवासीय क्षेत्रमा एउटा सैन्य यातायातको विमान मङ्गलबार दुर्घटना हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको खार्तुमको राज्य सञ्चालित समाचार संस्थाले बुधबार जनाएको छ । उक्त घटनामा कम्तीमा १० जना घाइते भएको जनाइएको छ ।

सेनासमबद्ध स्वास्थ्य मन्त्रालयले विमानमा सवार १९ जनाको मृत्यु भएको पुष्टि गरेको छ । राजधानीको उत्तरपश्चिममा रहेको ओमदुरमानमा रहेको सेनाको सबैभन्दा ठूलो सैन्य केन्द्र वादी सेडना एयर बेस नजिकै मङ्गलबार राति एन्टोनोभ विमान दुर्घटनाग्रस्त भएको थियो ।

सन् २०२३ को अप्रिलदेखि अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) सँग युद्धरत रहेको सेनाले सङ्ख्या उल्लेख नगरिकन ‘उडान भर्ने क्रममा विमान दुर्घटना हुँदा सैनिक र सर्वसाधारण दुवैको मृत्यु भएको’ जनाएको छ ।

प्रत्यक्षदर्शीहरूले ठूलो विस्फोटको आवाज सुनेको र त्यस क्षेत्रमा थुप्रै घरहरू क्षतिग्रस्त भएको देखेको बताएका छन्। दुर्घटनाका कारण आसपासका क्षेत्रमा पनि विद्युत् आपूर्ति बन्द भएको छ ।

सेनासमर्थित स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “भग्नावशेषमुनि रहेका बाँकी मृत शरीर खोजी कार्य जारी छ ।”

आकस्मिक सेवाका कर्मचारीले बालबालिकासहित घाइते सर्वसाधारणलाई नजिकैको अस्पतालमा पु¥याएको मन्त्रालयले जनाएको छ । घटनामा परी कम्तीमा १० जना घाइते भएको बताइएको छ ।

एक सैन्य स्रोतका अनुसार दुर्घटनाको पछाडि प्राविधिक खराबी रहेको थियो । “विमानमा प्रविधिक खराबीका कारण दुर्घटना भएको प्रारम्भिक जानकारी मिलेको छ,” आफुले पाएको तर आफु सञ्चारमाध्यमसँग कुरा गर्ने अख्तियार प्राप्त व्यक्ति नभएकोले नाम उल्लेख नगर्ने शर्तमा ती अधिकारीले एएफपीसँग भने ।

सेना प्रमुख अब्देल फतह अल बुरहान र आरएसएफका पूर्व डेपुटी कमाण्डर मोहम्मद हमादान डग्लोबीच करिब दुई वर्ष लामो द्वन्द्वमा यी घटनाले तीव्रता पाएका छन् ।

संयुक्त राष्ट्रसंघले सुडानलाई विश्वकै सबैभन्दा खराब मानवीय विपत्तिको रुपमा व्याख्या गरेको द्वन्द्वमा यी दुई नेता प्रतिद्वन्द्वी बनेका छन्, जसका कारण दशौं हजार मानिसको ज्यान गएको छ ।

यस लडाईंले खार्तूम र अन्य प्रमुख शहरहरू तहसनहस पारेको छ, लाखौँ मानिसहरू विस्थापित भएका छन् र महत्त्वपूर्ण पूर्वाधारहरू क्षतिग्रस्त भएका छन्।

मध्य सुडान र राजधानीमा हालै सेनाले नियन्त्रण लिने प्रयासमा प्रगति भएको तर द्वन्द्व समाधानको कुनै सङ्केत देखिएको छैन। 

नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र निष्कासन

काठमाडौँ । सरकारी ऋण उठाउन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तीन अर्बको नागरिक बचतपत्र र  ५० करोडको वैदेशिक रोजगार बचतपत्र निष्कासन गरेको छ ।

कार्यालयले बुधबार सूचना जारी गरी ‘नागरिक बचतपत्र–२०८६’ र ‘वैदेशिक रोजगार बचतपत्र–२०८६’ निष्कासनसम्बन्धी जानकारी दिएको हो । पाँच वर्ष अवधिका नागरिक बचतपत्रमा सात प्रतिशत र वैदेशिक रोजगार बचतपत्रमा साढे आठ प्रतिशत ब्याज उपलब्ध गराइने कार्यालयले जनाएको छ । यही फागुन १५ गतेदेखि आगामी चैत १५ गतेसम्म बचतपत्रका बिक्री खुला रहने र उक्त अवधि अगावै निष्कासित रकम बराबरको आवदेन परेमा बन्द गरिने जनाइएको छ ।

यी बचतपत्रको ब्याज प्रत्येक छ महिनामा सम्बन्धित खरिदकर्ताको बैंक खातामा सोझै भुक्तानी हुनेछ । घटीमा १० हजार र बढीमा कुल निष्कासित रकमको सीमा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न सकिने कार्यालयले जनाएको छ । पहिलो आवेदन दिनेले पहिले खरिद गर्न पाउनेछन् ।

बचतपत्रमा गरिने लगानीबारे सर्वसाधारणलाई जानकारी रहुँदा निष्कासन गरिएको रकमभन्दा न्यून आवेदन पर्ने गरेका छन् । यसअघि कार्यालयले गत मङ्सिर १२ गतेदेखि निष्कासन गरेको वैदेशिक रोजगार बचतपत्र, २०८६ (क) मा करिब १२ प्रतिशत बराबर मात्रै बचतपत्र खरिदका लागि आवेदन परेको थियो । 

सहज र सुरक्षित तबरले आकर्षक प्रतिफल दिने सरकारी उपकरण बचतपत्रको ब्याजदर अहिले बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा दिइरहेको ब्याजदरभन्दा दुईदेखि साढे दुई प्रतिशत बिन्दुले बढी हो । यसमा सरकारले मूलधनको सुनिश्चत गरेको हुँदा सुरक्षित लगानी मानिन्छ । 

साथै, बचतपत्रको ब्याज रकम हरेक छ महिनामा खरिदकर्ताको बैंक खातामा सिधैँ जम्मा हुन्छ । यसलाई धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिन्छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सञ्चालन गर्ने डोम्स (डिओएमएस) प्रणाली र इन्भेस्टर पोर्टलमार्फत यी बचतपत्रको सहजै कारोबार गर्न सकिन्छ ।

कानुनी शासन र न्यायपालिकाको स्वतन्त्रताप्रति प्रतिबद्ध छौंः परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणाले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्च आयुक्त भल्कर टकसँग जेनेभामा भेटवार्ता गरेकी छन् । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीयसत्रमा सहभागिताका लागि जेनेभामा रहेकी मन्त्री राणाले बुधबार साइडलाइन भेटवार्ता गरेकी हुन् ।

भेटमा परराष्ट्रमन्त्री राणाले नेपाल मानवअधिकारको संरक्षण र प्रवद्र्धनमा विश्वकै उदाहरणीय एवं पथप्रदर्शक राष्ट्र रहेको भन्दै सीमित स्रोत र साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवद्र्धनमा नेपाल प्रतिबद्ध रहिआएको बताइन् ।

उनले नेपालको वर्तमान संविधानले नागरिक स्वतन्त्रताका साथै नागरिकका राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूलाई मौलिक अधिकारका रूपमा व्यवस्था गरेको जानकारी गराउँदै नेपाल सरकार लोकतान्त्रिक मूल्य मान्यता, कानुनी शासन र न्यायपालिकाको स्वतन्त्रताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट गरेकी थिइन् ।

मन्त्री राणाले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनको निर्माण गरेर नेपाल सरकार तदारुकताका साथ अघि बढेको जानकारी दिँदै सङ्क्रमणकालीन न्यायलाई छिट्टै टुङ्ग्याउने प्रतिबद्धता पनि व्यक्त गरेकी थिइन् ।

भेटमा परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्रसङ्घ महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल, जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय नेपाली स्थायी प्रतिनिधि रामप्रसाद सुवेदी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मानवअधिकार तथा अन्तरराष्ट्रिय सन्धि सम्झौता महाशाखा प्रमुख राजेन्द्र थापालगायत थिए ।

न्याय सम्पादनमा सहज बन्दै डिजिटल प्रविधि

देउखुरी (दाङ) । तुलसीपुर उपमहानगरपालिका–१८ का दुई दाजुभाइको बीचमा जग्गाको विषयमा विवाद भयो । दाजुले तुलसीपुरको न्यायिक समितिमा एसएमएसमार्फत निवेदन दिए । दुई भाइलाई एसएमएसमार्फत न्यायिक समितिले छलफलका लागि बोलायो । दुईमध्येका एक भाइले जग्गा रोक्का राखेकाले विवाद उत्पन्न भएको थियो ।

विवादित दुवै पक्षलाई बोलाई न्यायिक समितिमा छलफल गरियो । जग्गा फुकुवा गर्न दुवै जना सहमति भएपछि दुवैको जित हुने किसिमले आगामी दिनमा विवाद नगर्ने कागज गरिएको तुलसीपुर उपमहानगरपालिका कानुनी मामिला शाखा प्रमुख लक्ष्मी रानाले जानकारी दिइन् । उपमहानगरपालिकाले प्रविधि प्रयोग गरेर सेवा दिँदा छिटोछरितो र सहज भएको सेवाग्राहीको भनाइ छ ।

तुुलसीपुर उपमहानगरपालिका–५ की एक महिलाले घरपरिवारका सदस्यले इज्जतअनुसार खान लाउन नदिएको कारण आफूसँगै बस्न नसक्ने कारण देखाई उपमहानगरपालिको न्यायिक समितिमा उजुरी दिइन् । न्यायिक समितिले उनी र उनको परिवारलाई बुझ्नका लागि बोलायो । पहिलो चरणको छलफलमा कुनै निष्कर्ष ननिस्किएपछि दोस्रो चरणको छलफलमा बोलाउँदा एसएमएसबाट खबर गरियो र दुवै जनाको जित हुनेगरी मुद्दा किनारा लगाइयो । पालिकामा डिजिटल प्रविधिको प्रयोग भएका कारण छिटोछरितो न्याय पाएको उनले बताइन्।

उपमहानगरपालिकाले २०७८ वैशाख १० गते तथ्याङ्क ऐन जारी गरेको थियो । आव २०८१÷८२ को बजेटमा प्रविधियुक्त पालिका बनाउने अभियानको तयारी पूरा गरेको तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले जानकारी दिए । शिक्षा, पञ्जीकरण, योजना बजेटमा डिजिटल प्रणाली सुरु भएपछि गलत तथ्याङ्क दिएर सेवासुविधा लिने प्रवृत्ति पूर्ण रूपमा बन्द भएको छ ।

सूत्र प्रणाली कार्यान्वयनमा आएपछि योजना बजेटपछि थप गर्ने प्रवृत्ति बन्द भएको पालिकाले जनाएको छ । पालिकाको पूर्ण जनसाङ्ख्यिक विवरणसमेत रहेको छ । नगरबाट प्रवाह हुने सबै प्रकारका सेवालाई अनलाइन प्रविधिमा रुपान्तरण गरिन थालेको छ । एकीकृत तथ्याङ्क प्रणालीलाई व्यवस्थित गरी अभिलेख व्यवस्थापन तथा सूचना प्रवाहलाई थप प्रभावकारी बनाउँदै लगिएको छ । वडा नं ६ बाट आरम्भ गरिएको सेवा अन्य वडाहरूले पनि परीक्षण गरिरहेका छन् ।

उपमहानगरपालिकालाई कागजरहित बनाउने नीतिअनुरुप वडा नं ६ बाट ई–सिफारिसको काम सुरु भएको हो । अब नागरिकले आफूलाई आवश्यक परेका कुनै पनि कागजात अनलाइनमा प्रक्रिया पूरा गरेपछि मोबाइलबाटै सजिलै प्राप्त गर्न सकिने वडाध्यक्ष दुजमान भण्डारीले बताए । “ई–सिफारिस सेवाका लागि मोवाइलको प्ले–स्टोरमा गएर ‘तुलसीपुर एसएमएस एप्लिकेसन डाउनलोड’ गरेर सेवा लिन सकिन्छ”, उनले भने, “सेवाग्राहीले आफूलाई आवश्यक परेका पञ्जीकरण (जन्मदर्ता, विवाह दर्ता, बसाइँसराइ, मृत्यु दर्ता) बाहेकका सबै सेवा अनलाइनबाट लिन सक्छन् ।” यो सेवाले पालिकालाई कागजरहित बनाउने अभियानलाई सहयोग पुग्ने र नागरिकको समय बचत हुने वडाध्यक्ष भण्डारीले बताए ।

उपमहानगरपालिकाका सूचना प्रविधि अधिकृत सविन केसीले ई–सिफारिस सेवा लिन सबैभन्दा पहिला मोबाइल एप्स डाउनलोड गर्नुपर्ने र डाउनलोड गरेर रजिष्टे«शन गरिसकेपछि चाहिएको सिफारिस लिन आवश्यक कागजात ‘अपलोड’ गरेर निवेदन दिन सकिने बताए । सूचना प्रविधि अधिकृत केसीका अनुसार तत्कालका लागि वडाबाट प्रदान गरिने ३४ प्रकारका सिफारिस अनलाइनबाटै प्राप्त गर्न सकिनेछ ।

आर्थिक वर्ष २०८०÷८१ मा जिम्मेवारी सरी आएका ९० वटा मुद्दा थिए । यस आवमा २६ मुद्दा दर्ता भएकामा आठवटा मिलापत्र भइसकेका, १८ वटा प्रकृयामा रहेको उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीले जानकारी दिइन् । डाटा प्रणालीबाट काम गर्दा दोहोरिनेको सङ्ख्या कम भएकाले मुद्दा छिटो किनारा लागेको उनको भनाइ छ । तथ्याङ्क राख्न सजिलो भएको र न्याय सम्पादनमा डाटा प्रणालीले सकारात्मक प्रभाव पारेको उनले बताइन् । न्याय सम्पादन प्रभावकारी बन्दै जाँदा नागरिकको यसप्रति विश्वास पनि बढेको छ । पछिल्लो समय पीडितको उजुरी अनलाइनबाट लिने गरेकाले उजुरी गर्न वडा वा पालिकामा आउनुपर्ने झन्झट कम भएको छ । समय र खर्चको बचत हुने भएपछि नागरिक खुसी भएको उनले बताइन् ।

त्यसैगरी रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालिका–४ की रामेश्री सिंहले मोबाइल एपका सहायताले वडा र पालिकाको गतिविधि थाहा पाउने गरेको बताए । पालिकामा न्यायिक समितिले अनलाइनबाट निवेदन लिन र सूचना प्रवाह गर्न थालेपछि सजिलो भएको बताए । पालिकाका सबै कार्यक्रमका बारेमा मोबाइल एपबाट थाहा पाउने गरेको उनले बताए । प्रविधिमैत्री भएपछि घरमै बसेर पालिकाका सबै सेवा लिन सजिलो भएको उनको भनाइ छ । गाउँपालिकाको न्यायिक समितिले विवाद किनारा लगाउने गरेको छ । आव २०८१÷८२ मा आठवटा विवाद दर्ता भएको पालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले जानकारी दिइन् । न्यायिक समितिमा आउने उजुरीका निवेदन अनलाइनबाट लिने गरेको उनले बताइन् ।

शुद्धोदन गाउँपालिका सूचना प्रविधि अधिकृत ईश्वरी न्यौपानेका अनुसार एसिया फाउन्डेसन नेपालअन्तर्गत विकासका लागि तथ्याङ्क परियोजना, बेलायत सरकारको सहयोगमा सञ्चालित कार्यक्रमले ई–सिफारिसका लागि सहयोग गरेकाले पालिकामा काम गर्न सहज भएको छ । अब सानो निवेदन दिन पनि वडामा जानुपर्ने बाध्यता हटेको छ । पालिकामा आउँदा प्रत्येक शाखामा जानुपर्ने झन्झट थियो, अहिले सबै शाखालाई समेटेर काम गरेकाले सजिलो भएको छ । सबै शाखाको ‘आइडी’ बनाएर एकीकृत सूचना व्यवस्था प्रणालीबाट काम गरेको उनले बताइन् ।

गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले डिजिटल कार्यक्रममा ई–सिफारिसलाई सुरुआत गरेको जानकारी दिए । उनका अनुसार कागजरहित अभियान चलाएर काम अगाडि बढाइएको छ । डिजिटल सेवाका लागि सबै वडामा स्वयंसेवक नियुक्ति गरेर काम अगाडि बढाएको र प्रविधिको समय भएकाले प्रविधिमैत्री पालिका बनाउन थालिएको उनले बताए । देशविदेशमा रहेका नागरिकलाई सेवा दिने उद्देश्यले काम सुरु गरेको उनको भनाइ छ । आइडिएमयस लागू भएपछि काम गर्न धेरै सजिलो भएको छ ।

एसिया फाउन्डेसनका लुम्बिनी प्रदेश प्रमुख गोविन्द बस्नेतले तुलसीपुर उपमहानगरपालिका र शुद्धोधन गाउँपालिकाले आफ्ना सेवालाई स्मार्ट बनाउने उद्देश्यले डिजिटल हाजिरी, मोबाइल एप, ई–सिफारिस, वेबसाइट निर्माण, कम्प्युटर र इन्टरनेटको प्रयोगलगायतका काम अगाडि बढाएको बताए । डिजिटल प्रविधिले काम गरेमा सेवाग्राहीलाई छिटोछरितो र भरपर्दो तरिकाले सेवा प्रदान गर्न सकिने उनको भनाइ छ । देशभरका सबै पालिकालाई डिजिटल प्रविधिमा रुपान्तरण गर्नसके जनप्रतिनिधि र कर्मचारीको कार्यक्षमतामा समेत वृद्धि हुने उनी बताउँछन् ।

दाङका कानुन व्यवसायी अर्जुन अधिकारीले पालिकाबाट दिइने न्याय सेवालाई प्रविधिसँग जोडेर अघि बढाएमा सेवा लिन र दिन छिटोछरितो हुने बताए । सेवालाई प्रविधिसँग जोड्दा पारदर्शिता, सुशासन कायम गर्नसमेत मद्दत पुग्ने उनको भनाइ छ । तथ्याङ्क र प्रमाणलाई आधार मानेर योजना निर्माण गर्ने र वास्तविक र लक्षित समुदायसम्म सेवा पुर्याउन सहज हुने उनको धारणा छ । 

होटल बन्दीपुर हिल निर्माण अन्तिम चरणमा

तनहुँ। बन्दीपुरमा निर्माणाधीन पाँचतारे होटल बन्दीपुर हिल अन्तिम चरणमा पुगेको छ। १७ तले क्वीन टावर नामकरण गरिएको सो होटल आगामी जेठ महिनाबाट सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

बन्दीपुर-४ बरालथोकमा निर्माणाधीन सो होटलबाट माछापुच्छ्रेदेखि लाङटाङसम्मको हिमशृङ्खला र अन्य मनोरम दृश्यावलोकन गरी मज्जा लिन सकिने छ। त्यसैगरी, बजार क्षेत्रलाई हेर्न सकिन्छ, जुन पर्यटकका लागि पृथक र रोचक अनुभव हुनसक्ने बताइएको छ।

बन्दीपुर हिलले प्याकेजका रूपमा र्याफ्टिङ, रकक्लाइमिङ, जीपलाइन स्काइसाइक्लिङलगायत साहसी खेलको गन्तव्यका रूपमा विकास गर्न लागेको बन्दीपुर हिलका महाप्रबन्धक रोमनमान श्रेष्ठले जानकारी दिए। उनका अनुसार यस होटलमा ८० कोठा रहने छन्। परियोजनाले तल्लो स्टेशनमा ३ अर्ब ८३ करोड लगानी गरिसकेको छ। परियोजनाको कुल लागत ६ अर्ब २९ करोडमध्ये करिब चार अर्ब ३३ करोड बराबरको काम सम्पन्न गरिसकेको बताइएको छ।

‘साहसिक खेलका साथै खड्गदेवी मन्दिरको दर्शन गर्न सकिन्छ, बन्दीपुरमा घुम्न आउने पर्यटकले पृथक अनुभव लिन सक्नेछन्’, महाप्रबन्धक श्रेष्ठले भने, ‘रेशमी खेती, मौरीपालनसँगै समुदायको विकासका लागि बन्दीपुर हिललाई सामूहिक उद्यमी क्षेत्रमा नमूना बनाइँदैछ।’

बन्दीपुर-४ ठुलढुंगास्थित केबलकारको तल्लो स्टेशन ८० रोपनी क्षेत्रफलमा होटलसहितका मनमोहक उद्यान निर्माण गरिएको छ, जुन पृथ्वीराजमार्ग सडक छेउमा रहेको छ। एक हजार छ सय १६ मिटर लामो केबलकार करिब सात मिनेटमा पार हुने छ।

केबलकार यात्राको क्रममा तल्लो स्टेशनबाट माथिल्लो स्टेशनतर्फ जाँदै गर्दा ९० डिग्रीको कोणमा आकाशतर्फ उडिरहेको आभास गर्न सकिन्छ। केबलकार सञ्चालनको पहिलो वर्ष कम्पनीको विशेष अफरमा पाँच सयमा आवतजावत गर्न सकिने छ।

अन्य दिनमा आठ सयदेखि नौ सय र बिदाका दिनमा एक हजारदेखि एक हजार दुई सय जनासम्मले केबलकारको यात्रा गर्ने गरेका छन्। बन्दीपुर हिलमा हाल एक सय २० जना कर्मचारी कार्यरत छन्। यस परियोजनालाई नेपालकै गौरवको रुपमा लिइएको छ। नेपालकै पहिलो टियूभी प्रमाणपत्र प्राप्त गरिसकेको छ। टियुभी नर्ड जर्मनीअन्तर्गतको कम्पनी टियुभी नर्ड इन्डियाले परियोजनाको सुपरीवेक्षण गरी सर्टिफिकेट प्रदान गरेको हो।

विसं २०८१ जेठ ३१ गतेबाट व्यावसायिक रूपमा केबलकार सञ्चालनमा ल्याइएको हो। बच्चादेखि ज्येष्ठ नागरिकसम्मका लागि लक्षित गरी परियोजना बनेको सो कम्पनीले जनाएको छ।

‘लोड परीक्षण तथा केबलकार अपग्रेड गरी सम्पूर्ण हिसाबले सुरक्षाको प्रत्याभूति गराएपछि अन्तर्राष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र, (टियुभी सर्टिफिकेट) प्राप्त भएको छ’, श्रेष्ठले भने, ‘कम्पनीले सुरक्षा र गुणस्तरलाई पहिलो प्राथमिकता दिएर पूर्ण सुरक्षित वातावरण बनेपछि मात्र सर्वसाधारणका लागि केबलकार सञ्चालनमा ल्याएका हौँ।’

वर्षको एक दिन महाअष्टमीका दिनमात्र सर्वसाधारणका लागि खुला हुने बन्दीपुरको प्रसिद्ध खड्गदेवी मन्दिरमा अब हरेक दिन दर्शन गर्न सकिने कम्पनीले जनाएको छ।

यसअघि नै केबलकारको तल्लो स्टेसनमा अत्याधुनिक सुविधासहितको रेस्टुरेन्ट ‘ड्राइभ इन’सञ्चालनमा ल्याइसकेको छ। विदेशी तथा स्वदेशी पर्यटकलाई अन्तरराष्ट्रियस्तरको (पाँच तारे) सरहको सुविधा प्रदान गर्ने उद्देश्यले बैशाख १ गतेदेखि रेस्टुरेन्ट ‘ड्राइभ इन’सञ्चालनमा ल्याइएको अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए।

त्यस्तै तल्लो स्टेशनमा जङ्गली म्युजियम, चिल्ड्रेन जोन, ३३ कोटी देवीदेवताका मूर्तिसहितको आकर्षक पार्क सञ्चालनमा ल्याइएको छ। समग्र बन्दीपुर हिल गुरुयोजना अनुसारका सबै संरचना आगामी दुई वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ। केबलकारको ३१ गोण्डलामध्ये २१ वटा यात्रु बोक्ने गोण्डला रहेको सो परियोजनाले जनाएको छ। 

पाल्पाका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

तानसेन। महाशिवरात्रिको अवसरमा पाल्पाका प्रसिद्ध धाम तथा शिव मन्दिरमा आज बिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको छ ।

तानसेनको नारायणस्थान, तिनाउको दोभान सिद्धबाबा मन्दिर, बगनासकालीको बराङ्दीस्थित महामृत्युञ्जय शिवासन, सिद्धबाबा धाम तानसेनको ठुटेपीपल बद्रेश्वर शिवालय, बतासेडाँडा, प्रभास, नारायणस्थान, दमकडा, रामपुरलगायतका शिवालय मन्दिरमा भगवान् शिवको पूजाआजा तथा भजन कीर्तन गर्ने भक्तजनको घुइँचो लागेको हो ।

तानसेनको ठुटेपीपलस्थित बद्रेश्वर शिवालयमा बिहान ३ बजेदेखि भक्तजनको घुइँचो लागेको छ । यहाँ तानसेन र आसपासबाट भक्तजन पुगेका छन् । यस्तै तिनाउ गाउँपालिका–३ दोभानस्थित सिद्धबाबा मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

सिद्धपुरुष भर्तृहरिको तपोभूमि तथा आदिमानव रामपिथेकसको विचरणस्थलका रूपमा परिचित सिद्धबाबा पुरातात्विक, धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण भएकाले यहाँ श्रद्धालुको घुइँचो लागेको हो । भक्तजनले सहज रूपमा मन्दिरमा पूजा तथा दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

यहाँ बिहानदेखि नै मूल मन्दिर खुला गरिएको समितिका अध्यक्ष सन्तोष शेरचनले जानकारी दिए । उनका अनुसार यहाँ पाल्पासहित रुपन्देही, नवलपरासी, कपिलवस्तुका साथै छिमेकी मुलुक भारतबाटसमेत श्रद्धालु आएका छन् । मन्दिरमा दर्शन गर्न आउने भक्तजनको सहजताका लागि टोकन र निःशुल्क बसको व्यवस्थासमेत गरिएको उनले बताए।

यस्तै महाशिवरात्री पर्वका अवसरमा बगनासकालीको बराङ्दीस्थित महामृत्युञ्जय शिवासनमा पनि पूजाआजा र दर्शन गर्नेहरूको घुइँचो लागेको छ । यता प्रभासमा पनि बिहानैदेखि भक्तजन लाइनमा बसेर पूजा गरिरहेका छन् । प्रत्येक वर्ष यहाँ रातभर भजनकिर्तन र धुनी जगाउनुका साथै बिहानैदेखि पूजाआजा गर्नेको घुइँचो लाग्ने गर्दछ ।

शिवरात्रिको दिनमा भगवान् शिवको पूजाआजा र भजन कीर्तन गर्ने, उपवास बसेमा मनको कामना पूरा हुने जनविश्वास रहँदै आएको छ । भगवान् शिवलाई बेलपत्र, भाङ, धतुरो चढाउने परम्परा छ ।

हिन्दु धर्ममा ‘देवका पनि देव’ का रूपमा भगवान् शिवलाई पूजाआजा भजन कीर्तन गर्ने परम्परा रहेको छ । शिवको उत्पत्ति भएको दिनका रूपमा हिन्दूले शिवरात्रि पर्व मनाउँदै आएका पौराणिक कथन रहेको छ ।

जिल्लाको तानसेन नगरपालिका–३ भगवतीटोलस्थित अन्नपूर्ण होटलमा शिवरात्रि पर्वको प्रसाद वितरण गरिएको छ। पर्वको अवसरमा होटेलले शिवरात्रिको प्रसाद वितरण गरेको हो । हरेक वर्षजस्तै यस वर्ष पनि प्रसाद वितरण गरिएको होटेलले जनाएको छ ।

बाटोमा हिँड्ने यात्रुदेखि शिवालय मन्दिरमा दर्शन गरी फर्कने दर्शानार्थीले प्रसाद ग्रहण गरिरहेका छन् । होटेल सञ्चालक टिकाराम बस्यालले एक दश अघिदेखि शिवरात्रिका दिन प्रसाद वितरण गर्दै आएको बताउँदै सोही कार्यलाई निरन्तरता दिइएको उल्लेख गरे। भगवान् शिवप्रति आस्था राख्दै आएका बस्यालले शिवको पूजासँगै प्रसाद बाँड्ने गरेका छन् ।

बस्यालले शिवरात्रिका दिन पूजा, प्रसाद वितरण गर्नुका साथै विभिन्न शिवालय मन्दिर र आश्रममा पुगेर आर्थिक तथा खाद्यान्नसमेत सहयोग गर्दै आएका छन् । उनले बाराङ्दीमा रहेको नारायणडाँडा शिवालय मन्दिरमा पूजा गर्दै आएका पूजारीका लागि तलब र पोसाक उपलब्ध गराउँदै आएका छन् ।

काठमाडौं विश्वविद्यालयमा मापदण्ड अनुसार तत्काल उपकुलपतिको नाम सिफारिस गर्न समितिलाई आग्रह

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन विश्वविद्यालयका पदाधिकारीहरूले उपकुलपति खोज तथा सिफारिस समितिको ध्यानाकर्षण गराएका छन् ।

विश्वविद्यालयका १३ जना पदाधिकारीले संयुक्त रूपमा पत्र पठाउँदै विश्वविद्यालयको उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन ध्यानाकर्षण गराएका हुन् ।

उपकुलपति सिफारिसमा ढिलाइ हुँदा समितिको कार्यक्षमता एवं निष्पक्षता माथिसमेत प्रश्न उठ्न थालेकाले यो प्रक्रिया यथाशीघ्र टुङ्ग्याउनुपर्ने ध्यानाकर्षणपत्रमा उल्लेख छ । उपकुलपति छनोटका लागि बनाइएका कार्यविधि तथा मापदण्डका आधारमा तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस हुने विश्वास पनि व्यक्त गरिएको छ ।

“उपकुलपति छनोट प्रक्रियामा सहभागी भई प्रस्तुति र अन्तर्वार्ता दिने उम्मेदवारहरूले पाएको अङ्कलाई तोडमोड गरिएको, प्रक्रिया सुरु भइसकेपछि नाम सिफारिसका लागि वस्तुपरक नदेखिने किसिम नयाँ शर्त अघि सारिँदा समितिमा अन्य सदस्यलाई अप्ठ्यारो परेको भन्ने विषयहरु सञ्चारमाध्याममा आइरहेका छन् । यसलाई गलत साबित गरी समिति आफैँले स्वीकृत गरेको प्रक्रिया र मापदण्डमा आधारित भई तीन जनाको नाम यथाशीघ्र सिफारिस हुनेमा हामी सबै आशावादी छौँ” संयुक्त ध्यानाकर्षणपत्रमा भनिएको छ ।

 ध्यानाकर्षणपत्रमा काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनका डिन प्रा डा बालचन्द्र लुइँटेल, एशोसिएट डिनद्वय प्रा डा प्रकाशचन्द्र भट्टराई र प्रा डा हेमराज काफ्ले, स्कुल अफ आर्टस्का कायममुकायम डिन एक्कुमाया पुन, एशोसिएट डिन डा उद्धव प्याकुरेल, स्कुल अफ म्यानेजमेन्टका डिन प्रा डा विजय केसी, एशोसिएट डिन डा खगेन्द्र आचार्यलगायतको हस्ताक्षर छ ।

त्यस्तै, स्कुल अफ मेडिकल साइन्सेज डिन प्रा डा मनोज हुमागाईँ, स्कुल अफ साइन्सका कायममुकायम डिन प्रा डा उज्ज्वलमान जोशी, स्कुल अफ लका डिन प्रा डा ऋशिकेश वाग्ले, एशोसिएट डिन डा शिवकुमार गिरी र स्कुल अफ इन्जिनियरिङका एशोसिएट डिनद्वय डा श्यामसुन्दर खड्का र प्रा डा बालकृष्ण बलको हस्ताक्षर छ ।

महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायाङ्कन सुरु

काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा छायाङ्कन सुरु भएको छ । नेपाली सिनेजगत्मा महत्त्वपूर्ण चाडपर्वको अवसर पारी चलचित्र निर्माण सुरु गर्ने परम्परालाई निरन्तरता दिँदै महाशिवरात्रिका दिन छायाङ्कन सुरु गरिएको हो । फिल्म निर्माता तथा निर्देशकका अनुसार बुबार ‘कुस्ती’, ‘हर्ष’, ‘माग्ने राजा’ र ‘कोशेढुङ्गा’ चलचित्रको छायाङ्कन सुरु भएको छ ।

अभिनेता बुद्धि तामाङ निर्माता बनेको चलचित्र ‘कुस्ती’को छायाङ्कन काठमाडौँबाट सुरु भएको छ । चलचित्रको मुहुर्त गरेसँगै अभिनेता धीरज मगर, पुस्कर गुरुङ र लुनिभा तुलाधरको दृश्य खिच्दै छायाङ्कन सुरु गरिएको अभिनेता तामाङले बताए ।

“हामीले फागुनदेखि छायाङ्कन सुरु गर्ने भनेपछि शिवरात्रिकै अवसर पारेका हौँ । कलाकारितामा सङ्गालेको अनुभवलाई प्रयोग गरेर चलचित्र निर्माण सुरु गरेको छु । यही पेसाले परिचय दिएकाले मैले नाटकपछि चलचित्र निर्माणमा पनि हात हालेको हुँ । राम्रो समूह र मन पर्ने कथा पाएकाले योजनाभन्दा अगाडि नै निर्माता बन्दैछु”, अभिनेता तामाङले भने ।

आ–आफ्नो स्वभावले एकैसाथ रहन कठिनाइको सामना गरिरहेका छुटिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको कथा ‘कुस्ती’मा देख्न पाइने चलचित्रका लेखक तथा निर्देशक अनिल योञ्जन बताउँछन् । उनका अनुसार चलचित्रमा सहरको कथा भएकाले काठमाडौँ आसपासमा ४५ दिन छायाङ्कन गरिने छ ।

चलचित्रमा अभिनेता धीरज मगर, मिरुना मगर, बुद्धि तामाङ, दीकिला शेर्पा, रवीन्द्र झा, पुस्कर गुरुङ, राजाराम पौडेल, किरण केसी, लुनिभा तुलाधर, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापालगायत कलाकारले अभिनय गर्दैछन् ।

अनुषा सिनेमावुड पिक्चर्स प्रालिको व्यानरमा निर्माण भइरहेको चलचित्रमा उमङ्ग शाहीले छायाङ्कन, मित्रदेव गुरुङले सम्पादन, दीपक शर्मा, अनिल योञ्जन र कल्याण सिंहले सङ्गीत सृजना, शिशिर खातीले नृत्य निर्देशन गर्नेछन् ।

यस्तै, आजै मुहुर्त गरिएको चलचित्र ‘हर्ष’ को छायाङ्कन आउँदो सातादेखि चितवनमा हुने निर्देशक एकता पौडेलले जानकारी दिइन् । न्युयोर्क फिल्म एकेडेमीबाट चलचित्रसम्बन्धी अध्ययन गरेर चलचित्र निर्माणमा जुटेकी निर्देशक पौडेलले ३५ दिनको तालिका बनाएर छायाङ्कन सुरु गरिने बताइन् ।

“आफूले पढेको र सिकेको अनुभवलाई प्रयोग गरेर निर्देशन गर्दैछु । मैले तयार गरेको पटकथालाई पूर्ण रूपमा पर्दामा ल्याउन कोसिस गर्नेछु”, निर्देशक पौडेलले भनिन् । यस चलचित्रमा अभिनेता खगेन्द्र लामिछाने, वर्षा राउत, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, सुवर्ण थापालगायत कलाकारले अभिनय गर्नेछन् ।

‘माग्ने बुढो’को उपनामले परिचित कलाकार केदार घिमिरेको शीर्ष भूमिका रहेको चलचित्र ‘माग्ने राजा’को मुहुर्त गर्दै आजदेखि नै काभ्रेबाट छायाङ्कन सुरु गरिएको छ । काभ्रेमा १० दिन र बाँकी छायाङ्कन काठमाडौँमा गरिने लेखक समीप्याराज तिमल्सेनाले जानकारी दिए ।

उनले भने, “एउटा निम्नस्तरको व्यक्तिको धनी बन्ने मोहलाई विषय बनाइएको चलचित्र सामाजिक विभेदसँगै विकृतिलाई व्यङ्ग्य गर्छ । यो पूर्ण रूपमा मनोरञ्जनले भरिपूर्ण चलचित्र बन्नेछ तर यसले उठान गरेको विषय गम्भीर र सोचनीय छ भन्ने हामीलाई लागेको छ ।”

चलचित्रमा अभिनेता घिमिरेसँगै आर्यन सिग्देल, वर्षा शिवाकोटी, विल्सनविक्रम राई, शिशिर बाङ्देललगायत कलाकारले अभिनय गर्नेछन् । ऋषि लामिछानेको निर्देशनमा तयार भइरहेको ‘माग्ने राजा’ चलचित्र आगामी वर्ष विसं २०८२ को हरितालिका तीजमा प्रदर्शन हुने कलाकार घिमिरेले जानकारी दिए ।

किशोर अनुरागको निर्माण र ‘पूर्णबहादुरको सारङ्गी’का सरोज पौडेलको निर्देशनमा ‘कोशेढुङ्गा’ को पनि आज छायाङ्कन सुरु भएको छ । किशोर अनुराग र प्रेविल कँडेलले निर्माण गर्ने सो चलचित्रको कार्यकारी निर्माताको भूमिकामा दिनेश खड्का छन् । चलचित्रसँग सम्बन्धित निर्देशक, निर्माता, कलाकार र प्राविधिकको उपस्थितिमा आज च्यासलस्थित सेटमा मुहूर्त सटसँगै सो चलचित्रको छायाङ्कन सुरु भएको निर्माता अनुरागले जानकारी दिए ।

करिब एक हप्ता काठमाडौँमा छायाङ्कन गरेपछि चलचित्रको बाँकी काम स्याङ्जामा हुनेछ । निर्देशक पौडेलका अनुसार चलचित्रमा सुरक्षा पन्त, आर्यन सिग्देल, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाईँ, सिरु विष्ट, उद्वव सापकोटा, सन्ध्या राना, सविता रेग्मी, सविन कट्टेल, विकास खनाललगायतले अभिनय गर्नेछन् ।

चलचित्रमा निर्माता अनुरागले ‘क्रिएटिभ डाइरेक्टर’को भूमिकासमेत निर्वाह गर्ने बताइएको छ । “दर्शकको अपेक्षा बढेको मैले महसुस गरेको छ, सोहीअनुसार विषयवस्तु तयार गरेको छु । दर्शकको मन छुने चलचित्र तयार गर्न कुनै सम्झौता गर्ने छैन”, निर्देशक पौडेलले भने ।

महिला प्रधान रहने यस चलचित्रमा सुरक्षा पन्तको मुख्य भूमिका रहने छ । नरदेवी फिल्मस्को प्रस्तुति रहेको उक्त चलचित्रमा बाबु श्रेष्ठको ‘डिओपी’ र सुरेन्द्र पौडेलको सम्पादन रहने छ । रिदम कँडेल र आशिष अविरलको सङ्गीत रहने सो चलचित्रमा ‘कास्टिङ डिरेक्टर’ को भूमिका सुवलमणि सापकोटाको हुनेछ । निर्देशक पौडेलका अनुसार कोशेढुङ्गा चलचित्र २०८२ सालमा ‘रिलिज’ हुनेछ ।

जुम्लाकोटमा क्षयरोगका नयाँ बिरामी पत्ता लगाउन ‘स्क्रिनिङ’ गरिँदै

जुम्ला । जुम्ला जिल्लाको जुम्लाकोटमा क्षयरोगका नयाँ बिरामी पत्ता लगाउन तिला गाउँपालिकाले ‘स्क्रिनिङ’ सुरु गरेको छ । स्वास्थ्य शाखाले पालिकाको जुम्लाकोट स्वास्थ्य चौकीमा क्षयरोगका नयाँ बिरामी पत्ता लगाउन निःशुल्क ‘स्क्रिनिङ’ शिविर सञ्चालन गरेको हो ।

विशेषज्ञ स्वास्थ्यकर्मीसहितको टोली मङ्गलबार तिलाका ग्रामीण स्वास्थ्य चौकीमा पुगेर ‘माइक्रोस्कोपी स्क्रिनिङ’ शिविरमार्फत नयाँ बिरामी तथा पुरानाको अवस्था पत्ता लगाउन खोजपड्ताल अभियान सञ्चालन गरिएको गाउँपालिका स्वास्थ्य शाखाका टिबीरोग सम्पर्कव्यक्ति उत्तम देवकोटाले जानकारी दिए। उनका अनुसार करिब एक सय आठ जनाको स्वास्थ्य जाँच गरिएको छ ।

देवकोटाले भने,’रिपोर्ट आउन दुई दिन लाग्ने छ । जनस्वास्थ्य सेवा कार्यालयबाट टिबीरोग हेर्ने स्वास्थ्यकर्मीसहितको टोलीले यहाँका सम्भावित क्षयरोगका बिरामीको स्वास्थ्य जाँच गरेको हो ।’ गाउँपालिकाका स्वास्थ्यकर्मी गाउँमा पुगेर बिरामी पहिचानसहित स्वास्थ्योपचार सेवा र आवश्यक सल्लाह दिन क्षयरोगसम्बन्धी निःशुल्क शिविर सञ्चालन गरिएको उनको भनाइ छ ।

पालिकाभित्र अहिलेसम्म नौ जना नयाँ क्षयरोगका बिरामी फेला परेपछि सबैलाई स्वास्थ्यकर्मीको निगरानीमा औषधि सेवन गराइएको देवकोटाले बताए। क्षयरोग मुक्त पालिका बनाउने उद्देश्यले प्रत्येक वर्ष गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरी स्थानीयको स्वास्थ्य गरिँदै आइएको उनले उल्लेख गरे।

क्षयरोग सुक्ष्म जीवाणुको सङ्क्रमणबाट लाग्ने सरुवा रोग हो । स्वास्थ्यप्रति सचेतनाको कमी र गरिबीका कारण नेपालमा यस रोगका बिरामी बढिरहेका पाइन्छन् ।

कैदी सम्झौतापछि गाजाबारे दोस्रो चरणको युद्धविराम वार्ता पुनः सुरु

जेरुसेलम । इजरायलले गत हप्ता चार जना इजरायली बन्धकको शवको बदलामा रिहा गर्ने भनिएका ६०० कैदीबन्दीको रिहा गर्न सहमत भएको इजिप्टको राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सहमतिपश्चात गाजा युद्धविराम सम्झौताको दोस्रो चरणका लागि वार्ता जारी रहेको जनाइएको छ ।

प्यालेस्टाइनी लडाकू समूह हमासले इजिप्टको निगरानीमा भएको रिहाइका लागि भएको सहमतिको पुष्टि गरेको छ ।

वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वमामिला हेर्न तोकिएका अधिकारी स्टिभ विटकोफले इजरायली प्रतिनिधिहरू युद्धविराम सम्झौताको अर्को चरणका लागि वार्ताका लागि अघि बढिसकेको बताएका छन् ।

“हामीले धेरै प्रगति गरिरहेका छौँं । इजरायलले अहिले एउटा टोली पठाउँदैछ,” विटकोफले अमेरिकी यहूदी समितिका लागि आयोजित एक कार्यक्रममा भने ।

“यो वार्ता दोहामा वा कायरोमा हुनेछ । वार्तामा इजिप्ट र कतारका मध्यस्थ अधिकारीसहित फेरि वार्ता सुरु हुनेछ,” उनले भने ।

यद्धविरामको पहिलो चरण शनिबार सकिँदैछ तर फेब्रुअरीको सुरुमा सुरु हुने भनिएको बाँकी प्रक्रियाका लागि तय गरिएको वार्ता सुरु भएको छैन । हमासले दोस्रो चरणमा बाँकी रहेका सबै बन्धकलाई एकैपटक रिहा गर्न तयार रहेको बताएको छ ।

समूहले आइतबार इजरायलले ६०० प्यालेस्टिनी कैदीको रिहाईमा ढिलाइ गरेर गाजा युद्धविरामलाई खतरामा पारेको आरोप लगाएको थियो।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बन्धकहरूलाई कसरी मुक्त गरिएको छ भन्नेबारे चिन्ता व्यक्त गर्दै ढिलाइलाई उचित ठहर्याएका छन् र यस प्रक्रियालाई ‘अपमानजनक समारोह’ को रूपमा वर्णन गरिएको छ ।

– ‘सम्मानजनक आदानप्रदान’ –

जनवरी १९ मा युद्धविराम लागू भएयता हमासले सार्वजनिक समारोहमा रेडक्रसका अधिकारीमार्फत् गाजाबाट २५ जना इजरायली बन्धकलाई रिहा गरेको छ । इजरायलले नकाबपोश, सशस्त्र लडाकुहरूले बन्दीहरूलाई नाराले सजाइएको मञ्चमा राखिएको र सम्बोधन गर्न लगाई अपमान गर्ने काम भइरहेको दावी गर्दै इजरायली नियन्त्रणमा रहेका करिब ६०० प्यालेष्टिनी कैदी बन्दीको रिहाइमा ढिाला गरेपछि यसद्धविराम वार्ता अवरूद्ध हुने अवस्थामा पुगेको थियो ।

इजरायलले एक हजार १०० भन्दा बढी प्यालेस्टिनी कैदीलाई रिहा गरिसकेको छ । रेडक्रसको अन्तर्राष्ट्रिय समितिले सबै पक्षलाई बन्दी र बन्धकको अदलाबदली ’मर्यादित र निजी तवरमा’ गर्न आग्रह गरेको छ । 

एक दशकपछि दक्षिण कोरियाको जन्मदरमा वृद्धि

सियोल । दक्षिण कोरियाको जन्मदर एक दशकपछि गत वर्ष पहिलो पटक बढेको सरकारी तथ्यांकले बुधबार देखाएको छ । दक्षिण कोरिया विश्वको सबैभन्दा धेरै औसत आयु र सबैभन्दा कम जन्म दरमध्ये भएको देशमध्ये एक हो । यो एउटा यस्तो संयोजन हो जसले एक बढ्दो जनसाङ्ख्यिकीय चुनौती प्रस्तुत गर्दछ।

सियोलले महिलाहरूलाई बढी भन्दा बढी बच्चा जन्माउन प्रोत्साहित गर्न र जनसङ्ख्या स्थिर कायम राख्न गर्न अर्बौँ डलर खर्च गरेको छ। कोरियाको प्रारम्भिक साङ्ख्यिकीय तथ्याङ्कअनुसार प्रति एक हजार व्यक्तिमा जन्मिने शिशुको सङ्ख्या दर ४.७ रहेको छ, जसले सन् २०१४ देखि निरन्तर घट्दो जनसङ्ख्याको प्रवृत्ति देखाएको थियो ।

प्रजनन दर वा एक महिलाले आफ्नो जीवनकालमा बच्चा जन्माउने औसत सङ्ख्या सन् २०२४ मा ०.७५ पुगेको छ । यो सन् २०२३ को ०.७२ को तुलनामा ०.०३ ले बढी हो। “सन् २०२४ मा दक्षिण कोरियामा दुई लाख ३८ हजार ३०० जनाको जन्म भएको थियो, जुन अघिल्लो वर्षको तुलनामा आठ हजार ३०० (३.६ प्रतिशत) बढी हो,” प्रतिवेदनमा भनिएको छ।

जनसङ्ख्याको अध्ययनमा जानकारी राख्ने कोरियाली अधिकारी पार्क ह्युन जियोङले कोभिड–१९ को महामारीपछि विवाहमा वृद्धि हुनुका साथै जनसांख्यिकीय परिवर्तनमा आएको परिवर्तनका कारण जन्मदरमा वृद्धि भएको बताए। पार्कले एक पत्रकार सम्मेलनमा भने, “पछिल्लो एक दशकमा कोरियामा ३० वर्ष भन्दा माथिका मानिसहरुको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ ।

सियोलका अनुसार सन् २०२४ मा बच्चा जन्माउने औसत मातृ उमेर ३३.७ वर्ष रहेको छ । तर दक्षिण कोरियाको पाँच करोड १० लाख जनसङ्ख्या कायम राख्न आवश्यक पर्ने २.१ जना बालबालिकाभन्दा प्रजनन दर निकै कम छ । सियाटलस्थित युनिभर्सिटी अफ वासिङ्टनको ‘इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएसन’का अनुसार हालको दर कायम रहेसन् २१०० सम्ममा जनसङ्ख्या करिब आधा भएर दुई करोड ६८ लाख पुग्नेछ ।

लगातार गिरावट

विशेषज्ञहरूका अनुसार बच्चा हुर्काउने उच्च लागत र सम्पत्तिको मूल्यदेखि प्रतिस्पर्धात्मक समाज कम जन्मदरका धेरै कारणहरूमध्ये प्रमुख कारण मानिन्छन् । यसले राम्रो तलब आउने रोजगारीका अवसरहरू सुरक्षित गर्न गाह्रो बनाउँछ । कामकाजी आमाहरूले आफ्नो पेसालाई कायम राख्दै घरको काम र बच्चाको हेरचाहको बोझ व्यवस्थापन गर्नु अर्को प्रमुख कारक भएको उनीहरूको भनाइ छ।

दक्षिण कोरियाली सरकारले जन्म दर वृद्धिका लागि नगद अनुदान, ‘बेबीसिटिङ’ सेवा र बाँझोपनको उपचारमा सहयोग प्रदान गर्दछ। तर प्रजनन दरले अहिलेसम्म आफ्नो दीर्घकालीन गिरावटलाई निरन्तरता दिएको छ। मोनाकोपछि विश्वको दोस्रो सबैभन्दा धेरै वृद्ध जनसंख्या दर भएको देशको अपेक्षाकृत कडा अध्यागमन नियमको अर्थ यो हो कि यसले बढ्दो श्रम अभावको सामना गरिरहेको छ।

‘इको भ्यान’ दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ को गुइठेभिरमा ‘इको भ्यान’ दुर्घटना हुँदा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् । बेनी-जोमसोम-कोरला सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका-३ को सुकेबगरदेखि नारच्याङ तर्फ जाँदै गरेको बा ६ च ४९४४ नम्बरको इकोभ्यान आज सडकबाट कालीगण्डकी नदीको किनारमा खसेको सीमा प्रहरी चौकी भुरुङ तातोपानीले जनाएको छ ।

दुर्घटनामा परि सो भ्यानका चालक समेत रहेकी अन्नपूर्ण–४ घरापकी अन्दाजी ४० वर्षीया सुनदेवी गौचन (सरिता)को घटनास्थलमै मृत्यु भएको सीमा प्रहरी चौकी भुरुङ्ग तातोपानीका प्रमुख प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले बताए ।

उनले दुर्घटनामा सख्त घाइते रुपा पुन, नमिता चोचाङ्गी र विष्णुकुमारी बुढाथोकीलाई उद्धार गरेर उपचारका लागि पोखरा अस्पतालमा पठाइएको बताए । नारच्याङमा रहेको शिव मन्दिर जाने यात्रु चढेको भ्यान सडकदेखि करिब एक सय ५० मिटर तल कालीगण्डकी किनारमा खसेको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेल नेतृत्वको टोलीले घटनास्थल पुगेर दुर्घटनाको बारेमा अनुसन्धान थालेको छ । दुर्घटनाका कारण अन्नपूर्ण –४ नारच्याङमा बुधबारदेखि शुरु गर्न लागिएको प्रथम तरुण कप भलिबल प्रतियोगिताको कार्यक्रम स्थगित भएको छ ।

तरुणदल म्याग्दीका कार्यवाहक अध्यक्ष श्रीप्रसाद रोकाले कार्यक्रम स्थल नजिकै भएको दुर्घटनामा स्थानीय व्यक्तिको निधन र घाइते भएकाले खेलकुद प्रतियोगिताको बुधबारका कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।

संविधान कार्यान्वयनका सन्दर्भमा उपयोग र प्रयोग गर्न नसकिएका प्रावधानको गम्भीर समीक्षा गर्न जरुरी छः सांसद रोकाया

काठमाडौँ। नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभामा प्रमुख सचेतक कृष्णबहादुर रोकायले संविधान कार्यान्वयनका सन्दर्भमा उपयोग र प्रयोग गर्न नसकिएका प्रावधानको अब गम्भीर समीक्षा गर्न जरुरी रहेको बताएका छन् ।

संविधानमा रहेका यस्ता अव्यवहारिक विषय हटाउन संविधान संशोधन आवश्यक रहेको जनाउँदै उनले समानुपातिक र समावेशीका विषयलाई थप सुनिश्चित गर्नुपर्छ भने । सङ्घीय सांसद, प्रदेशसभा सदस्य र स्थानीय तहको संख्याबारे उठेका प्रश्नका बारेमा पनि ध्यान दिनुपर्ने खाँचो रहेको उनले बताए ।

विस २०५७ मा नेपाल विद्यार्थी सङ्घ रुकुमको संस्थापक अध्यक्षका रुपमा राजनीतिमा प्रवेश गरेका राष्ट्रियसभा सदस्य रोकाय दुई कार्यकाल सोही सङ्गठनको अध्यक्ष, विस. २०४७ देखि २०६७ सम्म दुई कार्यकाल नेपाली कांग्रेस रूकुम जिल्ला सचिव भए । हाल पार्टीको कर्णाली प्रदेशको महामन्त्रीको जिम्मेवारीमा रहेका उनी राष्ट्रियसभामा कांग्रेसका तर्फबाट प्रमुख सचेतक हुन् ।

प्रमुख सचेतक रोकायसँग ‘सांसद्सँग रासस संवाद’मा राससका प्रमुख समाचारदाता नारायण न्यौपाने र श्रव्यदृश्य सम्पादक नवीन पौडेलले गरेको कुराकानीको सम्पादित अंशः

मुलुकमा भइरहेको राजनीतिक अभ्यासलाई यहाँले कसरी हेरिरहनुभएको छ ?

नेपाली जनताले विस २००७, २०५६ र २०६२।६३ मा अधिकार प्राप्ति र परिवर्तनका लागि जुन आन्दोलन गरे, त्यसबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । यसमा दलित, आदिवासी जनजाति, मधेसी, महिला, थारुलगायत सबैलाई अधिकार प्राप्त छ । संविधानमा व्यवस्थित ती अधिकारको कार्यान्वयन गर्ने मुख्य चुनौती हो । संविधान कार्यान्वयन गर्ने सिलसिलामा विभिन्न धारणा सार्वजनिक भइरहेका छन् । अहिले संविधान निर्माण गरेको १० वर्ष पुग्न लाग्यो । संविधान कार्यान्वयन गरी आन्दोलन मार्फत् प्राप्त अधिकारलाई जोगाउने विषय अहिले पनि सबैको प्राथमिकतामा छ ।

संविधान कार्यान्वयन गर्ने सन्दर्भमा के कस्ता चुनौती छन्, के कस्ता विषय संशोधन गर्नुपर्छ जस्तो लाग्छ ?

वर्तमान सरकार गठन हुँदाका बखत भएको सातबुँदे सहमतिमा एउटा महत्वपूर्ण बुँदा संविधान संशोधन परेको छ । ऐतिहासिक राजनीतिक पृष्ठभूमि भएका मुलुकका प्रमुख दुई राजनीतिक शक्ति नेपाली कांग्रेस र नेकपा (एमाले) को संयुक्त सरकार छ । संविधानमै हरेक १० वर्षमा संविधान पुनरवलोकन गरिने भन्ने छ । यस अवधिमा अभ्यासका क्रममा देखिएको कमीकमजोरी र अपुगलाई सुधार र संशोधन गरौं जुन प्राप्त अधिकारलाई अझ सुनिश्चित गर्न सकियोस् भन्ने हो ।

संविधान कार्यान्वयन गर्दै जाँदा कहाँ चुकियो, कहाँ उपयोग र प्रयोग गर्न सकिएन त्यसलाई समीक्षा गर्न जरुरी छ । संविधान संशोधनका सन्दर्भमा अहिले निर्वाचन प्रणालीसँग जोडेर पनि कुरा उठेको छ । दल विशेषको बहुमत नआउने र खर्चिलो निर्वाचन प्रणाली भन्ने छ । जीवनभर परिवर्तनका लागि निष्ठामा रही राजनीति गरेका व्यक्ति खर्चकै कारण चुनावै लड्न नसक्ने स्थिति पैदा भएको छ । निर्वाचन आयोगले गरेको अनुसन्धानबाट संसारभरको निर्वाचनमध्ये यहाँको खर्चिलो भनी स्वीकार गरेको छ । यस्ता अव्यवहारिक विषय हटाउन संविधान संशोधन आवश्यक छ भन्ने हाम्रो भनाइ हो ।

राजनीतिक दललाई जनतालाई खुसी तुल्याएर बहुमत ल्याउन कुन कानुनले छेक्छ भन्ने पनि प्रश्न छ नि ?

हालको निर्वाचन प्रणाली रहँदासम्म जुनसुकै दल जतिसुकै लोकप्रिय भएपनि एउटै दलको बहुमतको सरकार गठन हुने स्थिति छैन । यसलाई हामी सबैले स्वीकार्नुपर्छ । नेपाली कांग्रेसले चुनावमा ३६ प्रतिशतसम्म मत ल्याएको तथ्याङ्क छ । एमालेको पनि स्थिति त्यही हो । हालको समानुपातिक निर्वाचन प्रणालीबाट आउने सिट संख्या जोड्दा कसैको बहुमत आउँदैन ।

आगामी निर्वाचनमा समानुपातिक र समावेशीका विषयलाई थप सुनिश्चित गर्दै सांसदको संख्या घटाएर लैजान सकिन्छ भन्ने कोणबाट समाजमा बहस चलिरहेको छ । प्रदेश र स्थानीय तहको संख्या ठूलो भएकाले घटाउन पर्छ भन्ने विषय आएको छ । यो सरकारको मन्त्रिपरिषद् चाहे सङ्घीय होस्, चाहे प्रदेशको होस् संख्या ठूलो भयो भन्ने छ । जनताबाट उठेका यस्ता कुरालाई स्वीकार गर्नुपर्छ । इमान्दार र गम्भीरतापूर्वक उठेका विषयवस्तुमाथि समीक्षा गर्नुपर्छ ।

पछिल्लो समय राजनीति आयआर्जन गर्ने माध्यम र व्यवसाय भएको छ भन्ने पाटोलाई कसरी लिनुहुन्छ ?

करिब तपाइँहरुले भनेको कुरा पनि हो, तर यो सबै सत्य होइन । राजनीतिमा २०५७ सालमा प्रवेश गर्दा राजनीतिक भनेको सामाजिक सेवा हो भन्ने मेरो बुझाइ थियो । समाजमा राजनीति गर्ने मानिस मानक बन्नुपर्छ भन्ने नै हो । तर अहिले सेवा होइन पेसा व्यवसाय जस्तो भएको छ भन्ने विषयलाई स्वीकार्नुपर्छ । यस क्षेत्रमा लागेका कतिपयले आफ्ना स्वार्थका लागि अनेक खालका हर्कत र नाजायज क्रियाकलाप गरी राजनीतिलाई बदनाम गरेको देखिएको छ । यसबाट राजनीति र दलप्रति जनतामा निरासा बढाएको छ । राजनीतिमा स्वच्छता ल्याउन जरुरी छ ।

वडाध्यक्षदेखि प्रधानमन्त्रीसम्मलाई राज्यले दिएका सुविधासँग जोडेर मानिसले कुरा उठाइरहेका हुनुपर्छ । साँचिकै जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुने हो भने जवाफदेही र पारदर्शी हुनुपर्छ । हामी सांसदले राज्यबाट प्राप्त सेवासुविधाले काठमाडौँमा बस्न टिक्नसमेत गाह्रो छ । महिनामा दुई पटक मेरो जिल्ला रुकुम पुगेर फर्कदा एक महिनाको सुविधा सकिन्छ । यहाँको बसाइ सजिलो छैन । कोठा भाडा र अरु खर्च जुटाउन कठिन छ । प्राप्त सुविधाले सामान्य दैनिकी चलाउन पुग्दैन । जुनसुकै जनप्रतिनिधिलाई राज्यले पुग्ने सेवासुविधा दिएर पूर्ण रुपमा जनतामा उत्तरदायी बनाउनुपर्छ भन्ने मेरो मान्यता छ ।

कानुन बनाउने प्रथम जिम्मेवारी र कर्तव्य रहेका जनप्रतिनिधि किन बजेट र विकास भन्दै मन्त्रालय धाउनु भएको हो ?

खासमा हामी विधायक हौँ । हाम्रो मुख्य र पहिलो काम भनेको गुणस्तरीय कानुन बनाउने नै हो । त्यसमा अध्ययन, बहस र छलफल गर्नुपर्ने हो । तर जनताको हेराइ फरक छ । उहाँहरु ‘माननीय’ जिल्लामा आएन, विकासका काम भएन भनेर भन्ने चलन छ । जनप्रतिनिधिमाथि आशा र भरोसा गर्ने विषय अन्यथा भएन । म कर्णालीबाट प्रतिनिधित्व गर्छु । राष्ट्रियसभा सदस्य हुनुका नाताले मेरा मतदाता प्रदेशसभा सदस्य र पालिका प्रमुख र उपप्रमुख हुनुभयो ।

उहाँहरुले काम गर्ने सिलसिलामा आएका समस्यालाई कानुन निर्माण मार्फत सम्बोधन गराउन भूमिका खेल्दिनुस् भन्नुपर्नेमा धारो, सिँचाइ, स्वास्थ्य चौकी, सडक, पुल, विद्यालय बनाउने र रोजगारी दिने जस्ता विषयमा बढी सक्रिय हुनुपर्ने बाध्यता छ । जनअपेक्षाका कारणले नेपालका विधायिकाले कानुन र विकास दुवै भूमिकामा रहनु परेको छ ।

चुनावका समयमा गरेका कबुल पुरा गर्नैपर्छ । किनकि त्यसबेला विकासका लागि आश्वासन दिएको हुन्छ । हुनत पूर्वाधार निर्माण लगायतका विकास वडा, स्थानीय तह र प्रदेशको कार्यक्षेत्र भित्र पर्छ । हामीले विशुद्ध कानुन बनाउनतिर मात्रै लाग्नुपर्ने हो, देशको अवस्था, समाजको बुझाइ र समय परिस्थितिले हामी बाध्यतावश दुवै भूमिकामा छौँ ।

आन्दोलनबाट व्यवस्था र सरकार परिवर्तन भइरहने तर जनताको जीवनस्तरमा भने तात्विक सुधार आउन सकेन भन्ने भनाइप्रति यहाँको धारणा के छ ?

पक्कै पनि मुलुक र समाजमा विकृति मौलाएकै छ । कुनैपनि सरकार निर्माण भइसकेपछि सत्तारुढ पक्षले जे गर्छ र भन्छ, प्रतिपक्षको कित्तामा रहँदा त्यसैको विरोध गर्छ । सरकारमा पुगेपछि बिर्सन्छ । प्रतिपक्षमा रहँदा उठाएका विषय सरकारमा रहँदा पूरा गर्नै सक्दैन । यसको अर्थ हामी इमान्दार भएनौं । सर्वप्रथम वडा सदस्यदेखि प्रधानमन्त्रीसम्मको हैसियत राख्ने राजनीतिक व्यक्ति इमान्दार हुनुप–यो ।

विज्ञान र प्रविधिको युग भएकाले कुन नेता र कार्यकर्ताले के भनिरहेको छ, के गर्दैछ भन्ने कुरा जनताले बुझेका छन् । प्रतिपक्षमा हुँदा सुशासनका सन्दर्भमा व्यक्त धारणा र सरकारमा रहँदा सुशासनका लागि चालेका कदम र कार्यशैली जनताले नियाल्छन् । भन्ने एउटा गर्ने अर्कै, यो विरोधाभाष चरित्रले दलका नेतृत्वको ओज र जनविश्वास खस्कन पुगेको छ । सत्य बोल्न र गर्न नसकेको पक्षलाई स्वीकार्न हामीले सक्नुपर्छ ।

राष्ट्रियसभामा एकवर्षे अनुभव कस्तो रह्यो, अबको बाँकी कार्यकाललाई कसरी फलदायी बनाउनुहुन्छ ?

राष्ट्रियसभामा यो मेरो पहिलो अनुभव हो । यो सभाको गरिमालाई अझ गरिमामय बनाउन लागेको छु । प्रतिनिधिसभामा र मातहतका विषयगत समितिमा जस्तो बैठक सञ्चालनका लागि आवश्यक न्यूनतम संख्या (कोरम) सम्बन्धी समस्या हालसम्म राष्ट्रियसभामा छैन । त्यस्तै मातहतका समितिका बैठक पनि कोरम नपुगेर छलफल नै रोकिएर समयमा विधेयक पारित नभएको अवस्था होइन ।

राष्ट्रियसभामा समयको पालना ठीक ढङ्गले हुँदै आएको छ । बैठक निर्धारित समयमै सुरु हुन्छ । यो राष्ट्रियसभाको विशेषता हो । हरेक विधयकमाथि छलफल शिष्ट र सभ्य तरिकाले हुन्छ । विधेयक सर्वसम्मत पारित गर्ने अभ्यास छ । अर्कातर्फ हाम्रा मतदाता प्रदेश र स्थानीय तहका प्रतिनिधि हुन् । त्यसै भएर समस्या हरेक महिनाको अन्तिम शुक्रबार राष्ट्रियसभामा प्रदेशिक विषयमा बहस हुन्छ । यस्तो अभ्यासले सभाको प्रभावकारिता, गरिमा र महत्व बढाएको छ । सभाले वार्षिकरुपमा दुई पटक मतदातालाई भेटेर छलफल गर्ने कार्यतालिका बनाइसकेको छ । त्यस्ता कार्यक्रम मार्फत आउने सुझावका आधारमा कानुन तर्जुमा गरिने छ ।

संविधानको मर्म र भावना अनुसार राष्ट्रियसभा गठन भएन, कतिपय व्यक्तिलाई क्षतिपूर्ति दिलाउने ध्येयले सभामा ल्याइयो भन्ने टिप्पणीप्रति यहाँको प्रतिक्रिया के छ ?

त्यो विरोधका लागि विरोधको कोणबाट आएको भनाइ हो । अहिले त्यहाँ रहेका सदस्य मुलुकको कुनै पनि परिवर्तनमा नलागेका छैनन । मानिसको उमेरले इमान्दारिता, योग्यता र क्षमतामा फरक पार्दैन । राष्ट्रियसभा पुगेका प्रत्येक व्यक्ति जनताका अधिकार स्थापित गराउन जेलनेल भोगेका र त्याग गरेका व्यक्ति हुनुहुन्छ । मुलुकमा राजनीतिक परिवर्तन र समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान दिएका व्यक्तिको उपस्थिति छ । देशमा शान्ति स्थापनादेखि संविधान निर्माणसम्ममा योगदान दिएका व्यक्तिको चयन भएको छ ।

यहाँको गृह जिल्ला रूकुमको विकास प्राथमिकता के हो ?

जिल्लाको प्राथमिकता भनेको बनेका सडक १२ महिना चल्न सक्ने स्थायी प्रकृतिको बनाउन कालोपत्र गर्ने विषय मुख्य हो । अरु जिल्ला जस्तै रुकुममा पनि शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन प्रबद्र्धन र रोजगारीका विषयलाई सँगसँगै लैजानुपर्ने अवस्था छ । सडकको पहुँच र कृषिलाई जोड्न सके रुकुमको कुनाकन्दरमा बस्ने कुनैपनि नागरिकले राहतको महसुस गर्नेछन् । गाउँमा सडक पुगेका छन् तर नियमित हुन सकेका छैनन् । सडकको स्थायित्व भएमा कृषि उपजको आपूर्ति सहज हुन्छ । आजपनि कृषि र सडक जोड्न सके जिल्लाबासीलाई धेरै राहत हुन्छ ।

युवा जनशक्तिलाई विदेश पलायनबाट रोक्ने र स्वदेशमै राख्ने योजना के कस्ता हुन सक्छन् ?

विद्यार्थी राजनीतिबाटै आएको हुनाले युवा–विद्यार्थीको मनोभावना बुझ्छु । उहाँहरुप्रति जिम्मेवार र उत्तरदायी छु । अब नेपालमै सम्भावना छ, राजनीतिक नेतृत्वमा इमान्दारिता, प्रतिबद्धता र इच्छाशक्ति भने जरुरी छ । राजनीतिक दल र राज्य इमान्दार भए युवालाई स्वदेशमा राख्न सकिने थुप्रै सम्भावना छन् ।

नयाँ प्रविधिको प्रयोग गर्न सके कर्णालीमा जडिबुटी र पर्यटन प्रबद्र्धनको ठूलो सम्भावना छ । जलस्रोतको सम्भावना छ । कृषि र पर्यटनका यी स्रोतसाधनको परिचालनमा राज्यले ध्यान दिनुपर्छ । सरकारले युवालाई बाहिर जान रोक्ने मात्र होइन, बाहिरिएकालाई पनि फिर्ता ल्याएर लगानीको वातावरण बनाउन सकिन्छ ।

दुई महिनापछि खुले मुस्ताङका विद्यालय, शैक्षिक सत्र सच्याउन माग

मुस्ताङ  । मुस्ताङका सामुदायिक विद्यालयमा पठनपाठन सुरु भएको छ । दुई महिना हिउँदे बिदापछि जिल्लाका बारागुङ, घरपझोङ र थासाङ गाउँपालिकाका विद्यालय पुनः सञ्चालनमा आएका हुन् ।

हिउँदयामको पुस र माघ महिनामा हिमपात र अत्यधिक चिसोले बालबालिकाको शिक्षण सिकाइ क्रियाकलाप प्रभावित हुने तल्लो मुस्ताङका सामुदायिक विद्यालयले विद्यार्थीलाई लामो हिउँदे बिदा दिने गर्दछन् ।

हिउँदयाममा स्थानीय तहका विद्यालयलाई दुई महिना लामो हिउँदे जाडो बिदा दिने गरिन्छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाअन्तर्गतका सामुदायिक, गुम्बा, आमची र संस्थागत विद्यालय भने हिउँदयाममा साविक स्थान छाडेर बेँसीमा झारिने शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख रामेश्वर लामिछानेले जानकारी दिए ।

जिल्लामा ३५ सामुदायिक विद्यालय छन् । गुम्बा, आमची र संस्थागत गरी १२ विद्यालय सञ्चालनमा छन् । जिल्लाका ४७ विद्यालयमध्ये घरपझाङ, थासाङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका २४ विद्यालयले बर्सेनि हिउँदे बिदा दिने गरेका छन् ।

यसरी दुई महिना लामो हिउँदे जाडो बिदा दिएका विद्यालयले फागुनको पहिलो सातादेखि क्रमशः शिक्षण सिकाइ क्रियाकलापलाई निरन्तरता दिने गर्दछन् । जिल्लामा दुई महिना लामो हिउँदे बिदाका लागि ४५ दिन वार्षिक सरकारी बिदा र १५ दिन सट्टा बिदा गरी ६० दिन विद्यालयको शैक्षिक पठनपाठन स्थगित गरिने जनाइएको छ ।

जिल्लाका तीन स्थानीय तहका सामुदायिक विद्यालयहरू फागुनदेखि क्रमशः शैक्षिक पठनपाठन सञ्चालनमा आएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालय खुले पनि जिल्ला बाहिर रहेका विद्यार्थी विद्यालय फर्किन थालेका छन् । घरपझोङ, थासाङ र वारागुङ मुक्तिक्षेत्रका अधिकांश सामुदायिक तथा धार्मिक गुम्बा विद्यालयहरूमा शैक्षिक पठनपाठन सुरु भएको एकाइ प्रमुख लामिछानेको भनाइ छ ।

उहाँका अनुसार जिल्लाका तीन स्थानीय तहका विद्यालय हिउँदयामको पुस र माघमा विद्यालय पूर्ण रूपमा बन्द हुने भए पनि उपल्लो मुस्ताङका विद्यालयले विद्यार्थीलाई हिउँदे बिदा दिँदैनन् । उपल्लो मुस्ताङका विद्यालयले स्थानीय गाउँपालिकाको सिफारिसमा विद्यार्थीलाई घुम्ती कक्षा चलाउन बेँसी स्थान्तरण गर्ने प्रचलन छ ।

चिसोले बालबालिकाको स्वास्थ्यमा असर पर्ने विद्यालयको शैक्षिक क्रियाकलाप सञ्चालन गर्नसमेत बाधा पुग्ने भएकाले उपल्लो मुस्ताङका विद्यालयहरूले विद्यार्थीलाई पोखराका विभिन्न स्थानमा लगेर शैक्षिक क्रियाकलाप गर्ने गर्छन् । उपल्लो मुस्ताङका विद्यालय जाडो छल्दै घुम्ती कक्षा चलाउन कात्तिकअगावै बेँसीको न्यानो स्थानमा स्थान्तरण गर्ने प्रचलन रहेको लोमान्थाङ गाउँपालिकाका प्रशासन प्रमुख विकास केसीले जानकारी दिए । लोमान्थाङ गाउँपालिकाको तीन सामुदायिक विद्यालयको पोखरामा आफ्नै भवनमा घुम्ती कक्षा चलाउने गरेको उनले बताए ।

यसैगरी उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका आठ सामुदायिक विद्यालयमध्ये सात विद्यालयलाई जाडो छल्न बेँसी झारिएको थियो । गाउँपालिकाको घमी आधारभूत विद्यालय भने जाडो छल्न बेँसी नझरी दुईमहिने हिउँदे बिदा दिएको थियो । घमी आधारभूत विद्यालय हिउँदे बिदापछि सञ्चालनमा आएको र बाँकी सात सामुदायिक विद्यालयले घुम्ती कक्षाका रूपमा बेँसीमै रहेको गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । लोघेकरका विद्यालय आपसमा अस्थायी मर्ज गरी दुई स्थानमा घुम्ती कक्षा सञ्चालनमा रहेको अध्यक्ष बिष्टले बताए ।

तल्लो मुस्ताङका विद्यालय दुईमहिने लामो बिदापछि खुले पनि उपल्लो मुस्ताङका विद्यालय भने गर्मीयाम लागेपछि वैशाखमा साविककै स्थानमा फर्किएर शिक्षण सिकाइ क्रियाकलापलाई नियमित गर्छन् ।

सरकारले गत वर्षदेखि देशभर शैक्षिकसत्रमा एकरुपता ल्याएपछि हिमाली जिल्लाको शैक्षिक क्रियाकलापमा अप्ठ्यारो पर्दै आइरहेको छ । यसअघि हिमाली जिल्लामा पुसअगावै चालु शैक्षिकसत्र सकेर फागुनमा नयाँ शैक्षिकसत्रको पठनपाठन सुरु गर्ने गरिन्थ्यो ।

शैक्षिकसत्र एकरुपताले हिमाली क्षेत्रमा पढ्ने विद्यालयका बालबालिकाको शिक्षण सिकाइ क्रियाकलापमा बाधा पुग्ने गरेको जनहित माध्यमिक बिद्यालयकी व्यवस्थापन समिति सदस्य सम्झना थकालीले बताए ।

उनका अनुसार हिउँदे दुईमहिने बिदाले विद्यार्थीले पढेका र सिकेका सिकाइ उपलब्धि बिर्सने भएकाले शैक्षिक नजितामा असर पुग्ने गरेको छ । सरकारले हिमाली क्षेत्रको शैक्षिकसत्र कार्यान्वयमा पुनर्विचार गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

मोटोपन र मुटुरोगको अन्तरसम्बन्ध

– डा अवनिभूषण उपाध्याय
केही वर्षअघिसम्म मोटो व्यक्तिलाई स्वस्थ एवं खाइलाग्दो व्यक्तिको रूपमा हेरिन्थ्यो भने दुब्लो, पातलोलाई रोगीको रुपमा हेर्ने गरिन्थ्यो । तर विस्तारै यस्तो सामाजिक सोचमा परिवर्तन आएको छ । अहिले अधिकांश मानिस आफूलाई स्वस्थ राख्न मोटो हुनबाट निकै सचेत रहेको पाइन्छ । मोटोपनबाट हुनसक्ने स्वास्थ्य जोखिमका बारेमा जानकारी राख्नेहरूको सङ्ख्या बढ्दैछ । मोटोपनलाई रोगको घरको रुपमा लिन थालिएको छ । यद्यपि, कतिपय मानिसहरू चाहेर वा नचाहेर पनि मोटोपनको सिकार बनेका छन् । मोटोपन भएकालाई जुन कारण र जति धेरै स्वास्थ्य जोखिम छ दुब्लो पातलोलाई त्यस्तो हुन्न । दुब्लो भएर पनि धुमपान गर्ने, चिनीयुक्त खानेकुरा खाने, सन्तुलित भोजन नगर्ने, तनावग्रस्त रहने व्यक्तिलाई मुटुरोगको उच्च जोखिम हुने गर्दछ ।

मोटोपन यस्तो अवस्था हो, जसले गर्दा शरीरमा धेरै किसिमका रोग उत्पन्न भई मानिसको मृत्युसम्म हुने गर्दछ । त्यसमध्ये मटुरोग पनि एउटा हो । मुटुरोगमा हृदयघात, हार्ट फेलियर, अपर्झट मृत्यु हुने, एन्जाइना, मुटुको चालको गडबडी आदि समस्या हुने पर्दछ । शरीरको तौल अर्थात् बीएमआई २५ भन्दा बढी भएकाहरूमा मोटोपनको समस्या ज्यादा हुने गर्दछ । शरीरको वजन ठिक्क भएका भन्दा वजन बढी भएका मानिसमा उच्च रक्तचाप दोब्बर हुने गर्दछ । मोटोपनले नराम्रो करोस्टरोल बढाउने मात्र होइन, राम्रो कलेस्टेरोललाई पनि घटाउँछ । शरीरमा कोलेस्ट्रोल मात्रा बढ्न गएमा रगतको नसामा जम्मा हुन्छ र नसा साँघुरो बनाइदिन्छ । यसले मुटुलाई पम्प गर्न गाह्रो हुन्छ । त्यसैले मोटोपन र मुटुरोगबीच सिधा सम्बन्ध रहेको छ ।

मोटोपनलाई विश्वमा दीर्घरोगको रूपमा हेर्न थालिएको छ । हाल युरोप, अमेरिकामा स्वास्थ्यका समस्याहरूमध्ये मुख्य समस्याको रुपमा मोटोपनलाई मानिएको छ । मानिसमा चेतना बढ्दै गए पनि जीवनशैली बिगिँ्रदै गएका कारण ती देशहरूमा पनि यो समस्या धेरै मानिसलाई देखिएको छ । असन्तुलित खानपान, अत्यधिक खानपान, अनियन्त्रित खानपान नै मोटोपनको एउटा मूल कारण हो । त्यसमध्ये पनि कतिपयमा वंशाणुगत कारण वा कुनै रोगको कारण पनि मोटोपन हुने गर्दछ । विश्वमा सामान्यतया १५ प्रतिशत महिलामा मोटोपन देखिएको छभने ११ प्रतिशत पुरुषमा मोटोपन छ । तीन जनामा एक जना पुरूषमा मोटोपनको समस्या छभने महिलामा चार जनामा एक जनामा वजन ज्यादा देखिएको छ ।

नेपालमा पनि मोटोपन एक स्वास्थ्य समस्याको रुपमा देखिएको छ । सन् २०१३ मा नेपालको कुल जनसङ्ख्याको २१ प्रतिशतमा मोटोपन पाइएको थियो भने सन् २०१९ मा २९ प्रतिशतमा यो समस्या पाइएको थियो । तैपनि नेपाल मोटोपन कम नै भएको देशको सूचीमा पर्दछ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले गरेको अध्ययनअनुसार नेपालमा ३५ प्रतिशत महिला, छ प्रतिशत किशोरकिशोरी र तीन प्रतिशत पाँच वर्षमुनिका बालबालिकामा मोटोपन पाइन्छ । अरु प्रदेशमा भन्दा बागमती प्रदेशमा मोटोपनको समस्या धेरै भएको सो अध्ययनले देखाएको छ ।

मोटो व्यक्तिमा जोखिम कस्तो छ त ?

वार्षिक रूपमा विश्वमा समयअगावै अर्थात् औसत उमेरभन्दा कम उमेरमा हुने मृत्युको सङ्या करिब तीन लाख रहेको छ । विश्वमा मोटोपनको समस्याले वार्षिक तीन लाख मानिसको मृत्यु भइरहेको छ । मृत्युको कारणमध्ये मोटोपनलाई प्रमुख जोखिम तत्व मानिन्छ । डब्लुएचओले गरेको अध्ययनमा उच्च रक्तचाप, सुर्तीजन्य वस्तुको सेवन र खानपिनका कारण हुने मृत्युपछि चौथो नम्बरको कारणमा मोटोपनलाई देखाएको छ । जति शरीरको वजन बढ्यो उति मानिसको मृत्यु बढ्ने गर्छ । बीएमआई ३० भन्दामाथि भएका मोटा मानिसहरूमा ५० प्रतिशतदेखि शतप्रतिशतसम्म अकाल मृत्यु हुने खतरा हुन्छ । सामान्य बीएमआई हुनेको भन्दा बीएमआई ३० भन्दा बढी हुनेको मृत्यु अकालमा हुने खतरा धेरै नै हुन्छ । त्यसकारण मोटोपन आफैँ पनि मानिसको मृत्युको कारक तत्व हो । मोटोपन अलिअलि हुँदा पनि मानिसको मृत्युको सङ्ख्या बढी देखिन्छ ।

एक अध्ययनअनुसार मानिसको तौल हुनुपर्ने आवश्यक तौलभन्दा पाँच केजीमात्र बढी हुँदा पनि ३० देखि ६४ वर्षका मानिसको मृत्यु बढी भएको पाइएको छ । उनीहरूलाई हृदयघात बढी भएको पाइएको छ । शरीरको तौल बढी अर्थात् बीएमआई २५ भन्दा बढी भएमा हुने मुटुका रोगहरूमा हृदयघात, हार्ट फेलियर, एन्जाइना, मुटुको चाल गडबडी हुने, मुटुमा भएका अन्य समस्याका कारण हुने आकस्मिक मृत्यु आदि हुने गरेको पाइएको छ । शरीरको तौल करिब पाँच केजी जति बढी हुँदा पनि शरीरको तौल ठिक्क भएकाहरूलाई भन्दा तौल बढी भएकालाई उच्च रक्तचाप र मधुमेह करिब दोब्बर हुने गरेको पाइएको छ । मधुमेह भएकाहरूमध्ये करिब ८० प्रतिशतको शरीरको तौल बढी भएको पाइन्छ । साथै, शरीरको तौल बढी भएकाहरूमा राम्रो कलेस्टेरोल कम हुने र खराब कलेस्टेरोल बढी हुने गरेको पाइएको छ ।

यसैगरी मोटोपनले ल्याउने अर्को समस्यामा क्यान्सर पनि हो । मोटा मानिसमा स्तन क्यान्सर, पाठेघरको क्यान्सर, ठूलो आन्द्राको क्यान्सर, पित्तथैलीको क्यान्सर, मिर्गौलाको क्यान्सर, प्रोस्टेट क्यान्सर बढी हुने गरेको पाइन्छ । शरीरको तौल बढी भएका महिलामा ठिक्क वजन भएकाहरूमा भन्दा स्तन क्यान्सर दुई गुणा बढी भएको पाइएको छ । मोटो व्यक्तिमा श्वासप्रश्वाससम्बन्धी समस्या बढी नै हुने गर्दछ । सुत्ने बेलामा हुने श्वासप्रश्वाससम्बन्धी समस्या वा घुर्ने समस्या पनि शरीरको तौल बढी हुनेहरूमा धेरै भएको पाइन्छ । यस्तो समस्या हुँदा सुतेको बेला छिनछिनमा श्वास रोकिने अवस्था आउँछ, जसले मुटुमा प्रत्यक्ष असर गर्छ । साथै, मोटा मानिसमा घुर्ने समस्या पनि धेरै आउँछ ।

शरीरको तौल करिब एक किलोग्राम बढ्दा नौदेखि १३ प्रतिशतसम्मलाई जोर्नी दुख्ने समस्या बढ्ने गरेको पाइएको छ । साथै तौल घट्नासाथ जोनीको दुखाइ घट्ने गरेको पाइन्छ । मोटा महिलालाई गर्भाधान भएको बेला धेरै समस्या हुन्छ । गर्भावस्थामा मोटोपन भएको कारण आमा र बच्चाको मृत्युदर बढ्छ । मोटोपनको कारणले गर्भावस्थामा हुने डायबिटिज पनि बढी हुन्छ । वजन धेरै भएका आमाहरूबाट जन्मजातात रुपमा रोग भएका बच्चाहरू धेरै जन्मिन्छन् । अन्य समस्याहरूमा पित्तथैलीको रोग, पिसाब चुहिने रोग, शल्यक्रिया गर्दा जोखिम हुने, डिप्रेशन धेरै हुने हुन्छ । बालबच्चाहरूमा मोटोपन भएमा पछि गएर मुटुरोग धेरै हुने, मधुमेह हुने, पछिसम्म पनि मोटो भइराख्ने समस्या हुन्छ ।

कसरी बच्ने त ?

मोटोपन मुटु रोगको एउटा मुख्य कारण हो । त्यसैले मोटोपनलाई नियन्त्रण गर्न सकियो भने मुटु रोगको जोखिमबाट बच्न सकिन्छ । साथै मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोल पनि मुटु रोग निम्त्याउने भएकाले त्यसलाई नियन्त्रणमा राख्नुपर्छ । मुटुरोगको जोखिमबाट बच्न मोटोपन नियन्त्रणसँगै जीवनशैली परिवर्तन र खानपान परिवर्तन गर्नुपर्छ । दैनिक व्यायाम गर्ने, तनाव कम गर्ने गर्नुपर्छ । अल्छी जीवन, बसिरहनुपर्ने, ज्यादा खाना खानुपर्ने, गुलिया चिल्लो, नुन धेरै खाने, फलफूल, सागपात नखाने वा थोरै मात्र खाने, व्यायाम नगर्ने, रक्सी चुरोट पिउने, टेलिभिजन, कम्प्युटर मोबाइलमा धेरै समय बिताउने आदि खराब जीवनशैली हुन् । ठीक समयमा सुत्ने र ठीक समयमा उठ्ने अर्थात् सधैं एउटै समयमा सुत्ने, उठ्ने गर्नुपर्छ । तनावबाट आफूलाई बचाउनुपर्छ ।

मोटोपनबाट आफूलाई बचाउन सन्तुलित खाना (प्रोटिन, कार्बोहाइड्रेट र चिल्लोको सन्तुलन भएको) खाने गर्नुपर्छ । कार्बोहाइड्रेट घटाउने र प्रोटिन बढाउने गर्नुपर्छ । गुलियो मिठाई, केक, आइसक्रिम आदि खानु हुँदैन । दैनिक व्यायाम एवं योग गर्ने, फलफूल र सागपात प्रशस्त खाने, सकेसम्म हिँड्ने र यातायातको साधन कम प्रयोग गर्ने, सकेसम्म लिफ्टको प्रयोग नगरी भ¥याङमा हिँड्ने गर्नुपर्छ । साँझको खाना सकेसम्म घाम अस्ताउनेबित्तिकै खानुपर्छ । दिनभरिमा ३–४ पल्टभन्दा बढी केही पनि खानु हुँदैन । नियमित रूपले एउटै समयमा खाना खाने, एकैपटकमा धेरै खाना नखाने, भोक धेरै लागेको बेला कम क्यालोरी दिने खानेकुराहरू जस्तै गाँजर, काँक्रो, कागतीको सर्बतलगायत फलफूल र जुस सेवन गर्दा फाइदा हुन्छ । तसर्थ, मुटुरोग निम्त्याउन सक्ने यस्ता कुराहरूमा ध्यान दिन सकियो भने मुटुरोगको जोखिमबाट बच्न सकिन्छ ।

(प्रस्तुत विचार हालै प्रकाशित ‘मान्छेको मुटु’ नामक पुस्तकका लेखक वरिष्ठ मुटुरोग विशेषज्ञ डा उपाध्यायसँग गरिएको कुराकानीमा आधारित)

नेपाली सेनाले यसरी मनायो टुँडिखेलमा सैनिक दिवस(फोटोफिचर)

काठमाडौं । नेपाली सेनाले २६२औँ स्थापना दिवस तथा शिवरात्रि विशेष कार्यक्रम गरी मनाएको छ । बुधबार सेना दिवसका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडैलको सम्मानमा सेनाली सलामी अर्पण गरेको थियो । नेपाली सेनाले सैनिक मञ्चमा मार्चपास, हेलिकोप्टरबाट पुष्पगुच्छा अर्पण गर्नुका साथै राइफल र तोपबाट महाशिवरात्री बढाइँ तथा कवाज प्रस्तुत गरेको थियो ।

समारोहमा सेनाले विभिन्न रणकौशल, मार्चपास तथा परम्परागत वेशभूषा झल्कने विविध कला र नृत्य प्रदर्शन गरेको थियो । साथै नेपाली सेनाले शान्ति मिसनमा प्रयोग गर्दै आएका विभिन्न सवारीसाधन, उपकरण र हतियार प्रदर्शन गरेका थियो । कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरेलगायत उच्च पदाधिकारीहरूको उपस्थिति थियो ।

थाइल्याण्डमा बस दुर्घटना, १८ जनाको मृत्यु

बैंकक । थाइल्याण्डको बैङ्ककमा बुधबार बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राजधानी बैङ्ककको पूर्वमा रहेको प्राचिन बुरी प्रान्तमा स्थानीय सरकारी अधिकारीहरूलाई लिएर फिल्ड ट्रिपमा गएका तीनवटा डबल डेकर बसमध्ये दुर्घटना भएको बस एउटा थियो ।

“दुर्घटनामा १७ जनाको घटनास्थलमा मृत्यु भएको थियो भने एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो,” प्रहरी लेफ्टिनेन्ट कर्णेल सिवापास फुरीप्चाइबुन्चुले भने ।

उनले भने,“हामीले चालकलाई सोधपुछ गर्दा बसको ‘ब्रेक फेल’ भएका कारण सडकबाट भीर हुँदै निकै तल खसेको उनले बताएका छन्। थप अनुसन्धान भइरहेको छ ।”

बस दुर्घटना हुँदा बसमा ४९ जना सवार रहेको र घाइतेहरुलाई उपचारका लागि दुई वटा अस्पतालमा लगिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार थाइल्याण्डमा सडक सुरक्षाको सबैभन्दा खराब रेकर्ड छ । यहाँ हरेक वर्ष लगभग २० हजार व्यक्तिको सडक दुर्घटनाका कारण मृत्यु हुन्छ ।

पूरानो र असुरक्षित सवारी साधन र चालकको लापर्बाही सडक दुर्घटनाको प्रमुख कारक मानिन्छ ।

गत अक्टोबरमा बैङ्ककको उपनगरमा एउटा विद्यालयका विद्यार्थी बोकेको बसमा भएको आगलागीमा परी २३ जनाको मृत्यु भएको थियो।

स्याङ्जामा भ्यान दुर्घटनामा एकजनाको मृत्यु, एक घाइते

वालिङ । स्याङ्जामा गएराति पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् । 

गल्याङ नगरपालिका–११ खरिपानीस्थित सिद्धार्थ राजमार्गमा भएको दुर्घटनामा पाल्पाको रम्भा गाउँपालिका–३ बस्ने भ्यान चालक २६ वर्षीय मित्रलाल अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी हरिप्रसाद पौडेलले जानकारी दिए । उनकाअनुसार दुर्घटनामा परी घाइते भएका चालकको गएराति गल्याङ नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु ३ च नम्बरको भ्यान सडकबाट झण्डै एक सय मिटर तल खसेको थियो । भ्यानमा चालकसहित चार जना सवार थिए । सहचालक पाल्पाको रम्भा गाउँपालिका–३ बस्ने २३ वर्षीय राधेश्याम बस्यालको पाल्पाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको सूचना अधिकारी पौडेलले बताए । 

फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त

काठमाडौं । फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । ऐतिहासिक ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले निर्देशन गर्ने फिल्मको बुधबार शुभमुहूर्त गरेका हुन् ।

निर्देशक, निर्माता, कलाकार र प्राविधिकको उपस्थितिमा फिल्मको मुहूर्त गरिएको हो । च्यासलस्थित सेटमा मुहूर्त सटसँगै फिल्मको छायांकन आजैबाट सुरु भएको निर्देशक पौडेलले जानकारी दिए ।

करिब एक हप्ता काठमाडौंमा छायाँकन गरेपछि निर्माण युनिट बाँकी फिल्मको सुटिङका लागि स्याङ्जा जानेछ । फिल्ममा सुरक्षा पन्त, आर्यन सिग्देल, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाईं, शिरु विष्ट, उद्वव सापकोटा, सन्ध्या राना, सविता रेग्मी, सविन कट्टेल, विकास खनाललगायत छन् ।

नरदेवी फिल्मसको प्रस्तुति रहेको फिल्ममा प्रेविल कँडेल र किशोर अनुराग निर्माता छन् । कार्यकारी निर्मातामा दिनेश खड्का छन् । बाबु श्रेष्ठको डीओपी रहने फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन, रिदम कँडेल र आषिश अविरलको संगीत, सुवलमणि सापकोटाको कास्टिङ छ । फिल्म २०८२ मा रिलिज हुनेछ ।

आधारभूत अस्पताल निर्माण : घोषणा भयो, कार्यान्वयन भएन

गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल भवन निर्माण भएको वर्षदिन भइसक्यो । करोडौँ लागतमा बनेको उक्त अस्पताल भवन कहिले सञ्चालन आउने हो कुनै टुङ्गो छैन । जनशक्ति र उपकरण अभावमा अस्पताल सञ्चालनको योजना अन्योलमा परेको गाउँपालिकाका स्वास्थ्य संयोजक ऋषिराम पौडेलले बताए ।

‘तीन जना मेडिकल अधिकृतसहित २० जनाको दरबन्दी तोकिएपनि हामीसँग जनशक्ति छैन, अस्पताललाई चाहिने उपकरण र अन्य स्रोतसाधनको पनि अभाव छ’, उनले भने, ‘सङ्घ र प्रदेश सरकारसँग यसबारे ध्यानाकर्षण गराइएको छ, स्थानीय तहले मात्र आधारभूत अस्पताल सञ्चालन गर्न सक्ने अवस्था छैन ।’

भवन निर्माणमा अपुग भएको रकम र केही फर्निचर व्यवस्थापनमा गाउँपालिका आफैले लगानी गरेको संयोजक पौडेलले बताए । उनले अन्नपूर्णमा मात्र नभएर देशैभरका आधारभूत अस्पतालको समस्या उस्तै रहेकाले अस्पताल सञ्चालनका लागि सरकारले ठोस योजना ल्याउनुपर्ने बताए । सुविधासम्पन्न भवन बन्ने तर अस्पताल सञ्चालन नहुने स्थितिले जनगुनासो पनि बढ्दै गएको उनको भनाइ छ ।

बागलुङको बडिगाड गाउँपालिकाको केन्द्र ग्वालीचौरको पौँदीटारीमा पनि १८ करोडको आधारभूत अस्पताल भवन सेवा सञ्चालनको पखाईमा छ । गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी उक्त अस्पताल सञ्चालनका लागि प्रदेश र सङ्घ सरकारसम्म धाएको धाएै छन् । ‘जनशक्ति र उपकरण सहयोगका लागि पहल भइरहेको छ, आश्वासन त आउँछ, तर कार्यान्वयन समयमा हुँदैन’, उनले भने, ‘स्रोतसाधन नभई स्थानीय तहलाई मात्र अस्पताल सञ्चालन गर भनेर हामीले कसरी चलाउने ?’

अध्यक्ष अधिकारीले १५ शय्याको उक्त अस्पतालाई पूर्ण क्षमतामा सञ्चालन गर्दा वार्षिक करिब पाँच करोड सञ्चालन खर्च आउने बताए । उक्त अस्पतालबाट डायलासिस सेवा सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयमा पाँच वटा उपकरण माग गरिएको उनले बताए । ‘प्रदेश सरकारसँग एक जना चिकित्सिक माग गरिएको छ, केही जनशक्ति गाउँपालिका आफैले व्यवस्थापन गर्छ’, अध्यक्ष अधिकारीले भनिन्, ‘बागलुङको पश्चिम भेगका र्मिगौलाका बिरामीलाई लक्ष्य गरी डायलासिस सेवा सञ्चालन गर्ने योजना रहेको छ ।’

ग्रामिण क्षेत्रका नागरिकलाई डायलासिस सेवाका लागि अहिले पनि सदरमुकामस्थित धवलागिरि अस्पतालको भर पर्नुपर्ने बाध्यता छ । बडिगाडसहित पश्चिम बागलुङका छ स्थानीय तहका ६४ जनाले अहिले बाहिरका अस्पतालबाट डायलासिस सेवा लिइरहेको अध्यक्ष अधिकारीले बताए। सरकारले करोडौँ खर्च गरेर बनाएका आधारभूत अस्पताल भवनलाई अलपत्र पर्न दिन नहुने उनको भनाइ छ ।

स्थानीय तहको आम्दानीको स्रोत कम हुने भएकाले अस्पताल सञ्चालन र व्यवस्थापनमा चुनौती देखिएको उनले बताए । ‘यी अस्पतालको स्तरोन्नतिसँगै दिगो व्यवस्थापन तथा सञ्चालनका लागि तीनै तहका सरकारबिच आपसी सहयोग र सहकार्यको खाँचो छ’, अध्यक्ष अधिकारीले भने, ‘हामीले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागसँग पनि मागपत्र बुझाएका छौँ, अस्पताल चलाउन जनशक्ति र उपकरणमा खाँचो छ, स्थानीय तहले मात्र यसलाई धान्न सक्ने अवस्था छैन ।’

अध्यक्ष अधिकारीले सङ्घ सरकारबाट स्थानीय तहलाई आउने समानीकरणतर्फको बजेट कटौती हुँदै जाँदा स्थानीय तहलाई थप आर्थिक भार पर्न गएको बताए । स्वास्थ्य, शिक्षालगायत अत्यावश्यक सेवाका क्षेत्रमा समानीकरणतर्फको बजेट थप्नुपर्ने उनको भनाइ छ ।

गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकलले नागरिकलाई घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले हरेक स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको योजना अगाडि बढेको बताए। ‘नयाँनयाँ जनस्वास्थ्य समस्या बढ्दै गएका बेला गाउँघरमै आधारभूत तहको अस्पताल चाहिन्छ भनेर यो अवधारणा ल्याइएको भएपनि अस्पताल सञ्चालनको दिगो र प्रभावकारी योजना बन्न सकेको छैन’, उनले भने, ‘कतिपय स्थानीय तहमा अस्पताल भवन बनिसकेका छन्, कतिपय अलपत्र परेका छन्, केही निर्माणको चरणमा छन् ।’

मन्त्री पाठकले स्रोतसाधनले भ्याएसम्म आधारभूत अस्पतालहरुलाई जनशक्ति, उपकरण र व्यवस्थापकीय सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए। तीनै तहका सरकार मिलेर यी अस्पताललाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । ‘यस विषयमा प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीज्यूसँगको भेटमा पनि कुराकानी भएको छ, सरकारको सोच र लगानीलाई खेर जान दिनुहुँदैन, मन्त्री पाठकले भने ।

सङ्घ सरकारले विसं २०७७ मा भूगोल र जनसङ्ख्याका आधारमा प्रत्येक स्थानीय तहमा पाँच, दस र १५ शय्याका आधारभूत अस्पताल बनाउने मन्त्रीस्तरीय निर्णय गरेको थियो । दुई वर्षमा अस्पताल भवन निर्माण पूरा गरी सेवा सुरु गर्ने उद्देश्य रहेपनि अधिकांश अस्पताल अझै सञ्चालनमा आउन सकेका छैनन् ।

सञ्चालनमा आएका अस्पतालले पनि गुणस्तीय सेवा दिन नसकेको जनगुनासो छ । स्वास्थ्य मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा ७४ आधारभूत अस्पताल घोषणा भएकामा ३५ सञ्चालनमा रहेका छन् । नौ अस्पतालका भवन बनेपनि सेवा सुरु हुन सकेको छैन । १७ अस्पताल भवन निर्माणाधीन छन् भने पाँच अस्पताल निर्माण सुरु भई अलपत्र अवस्थामा छन् ।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गरे राजनीतिक विसङ्गतिको अन्त्य हुन्छः प्रचण्ड

विराटनगर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित जागरण अभियानबाट जनताका समस्या बुझ्न मद्दत पुग्ने बताएका छन् ।

प्रेस सेन्टर नेपाल, मोरङ शाखाद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले दक्षिणी क्षेत्रमा बसोबास गर्ने आदिवासी, जनजाति, मधेसीका समस्याबारे जान्न तिनलाई समाधानको पहल थाल्न जागरण अभियान उपयोगी हुने विश्वास व्यक्त गरे ।

अध्यक्ष दाहालले भने, ‘आर्थिक विकासका निम्ति जागरण अभियान आवश्यक छ, यसबाट उत्पादन र उत्पादकत्व बढाउन पनि मद्दत मिल्नेछ । मेचीदेखि महाकालीसम्मको यो अभियान सुशासनका निम्ति पनि हो ।’ अभियानबाट जनता उत्साहित भएका बताउँदै उनले परिवर्तनको संवाहक नेकपा (माओवादी केन्द्र)भएको जिकिर गरे ।

अध्यक्ष दाहालले देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भएमा राजनीतिक विसङ्गतिको अन्त्य भई जनताको शान्ति र समृद्धिको चाहना पूरा हुने बताए ।