`

कानून र लेखा उपसमूहतर्फ सशस्त्र प्रहरीले माग्यो २८ प्रहरी निरीक्षक

काठमाडौं । सशस्त्र प्रहरी बलले २८ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको छ । शुक्रबार भर्ना तथा छनोट शाखाले सूचना जारी गरी २८ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको हो ।

कानून र लेखा उपसमूहतर्फ गरेर २८ जना नयाँ प्रहरी निरीक्षक भर्नाका लागि दरखास्त आह्वान गरिएको सूचनामा उल्लेख छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी चैत १९ गतेसम्म दरखास्त दिन सक्नेछन्।

बागलुङका छ स्थानीय सरकारको आफ्नै ‘सिंहदरबार’

बागलुङ । सङ्घीयता लागूपछि बागलुङ १० पालिका भए । त्यसअघि बागलुङ नगरपालिका मात्र अस्तित्वमा थियोे । २०७३ सालमा स्थापना भएका बागलुङका नौ पालिका भाडाको घरमा सञ्चालन भएका थिए । ती मध्ये छ स्थानीय तह आफ्नै भवनबाट सेवा दिन सफल भएका छन्भने गलकोट र जैमिनी नगरपालिकाका भवन निर्माणाधीन छन् ।

फागुनदेखि ढोरपाटन नगरपालिकाले पनि आफ्नै भवनबाट प्रवाह गर्न थालेको छ । भवन सम्पन्नपश्चात् फागुनदेखि सेवा दिन थालिएको छ । चार करोड ५९ लाख ३४ हजारको लागतमा छ तलाको पक्की भवनबाट सेवा प्रवाह थालिएपछि कार्यालय सञ्चालन खर्च घटेको छ ।

काठेखोला गाउँपालिकाले जग्गा टुङ्गो लगाउन सकेको छैन । ताराखोला गाउँपालिकाले सुविधासम्पन्न भवन निर्माण गरेको एक वर्ष पछि बडिगाड गाउँपालिकाले भवन बनाएको हो ।

काठमाडौँको सिंहदरबार सङ्घीयतापछि जनताको सेवाका लागि गाउँमै ठडिन थालेका हुन् । बडिगाड र ताराखोला मात्र होइन तमानखोला, निसीखोला गाउँपालिका र बरेङ गाउँपालिकाले पनि आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेका छन् ।

कुमारी सहकारी हिनामिना प्रकरणमा एक अर्ब १३ करोड बिगो दाबीसहित २५ जनाविरूद्ध मुद्दा दर्ता

म्याग्दी । बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापासहित २५ जनाविरूद्ध एक अर्ब १३ करोड बिगो दाबी गर्दै जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको छ ।

सहकारी रजिष्ट्रारको कार्यालय पोखराको सिफारिसमा जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धानपछि उनिहरूविरूद्ध बिहीबार म्याग्दी जिल्ला अदालतमा सरकारी वकिल कार्यालयले माग दाबीसहितको अभियोगपत्र दर्ता गरेको हो ।

सङ्गठित रूपमा सहकारीमा निक्षेप रहेको सेयर तथा बचत रकम, संस्थाको सम्पत्ति र बाह्य ऋणवापतको रकम, नेपाल सरकारको राजस्वसमेत हानिनोक्सानी पुर्याइ सहकारी ऐन, २०७४ को नियमावली २०७५ र संस्थाको विनियमविपरीत गरेका उनीलाई सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण ऐन २०६४ बमोजिम थप अनुसन्धान र कारबाही गर्न पनि माग गरिएको छ ।

जिल्ला अदालतका सूचना अधिकारी डिल्लीराम पौडेलले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम दर्ता भएको अभियोगपत्रका विषयमा आगामी आइतबारदेखि थुनछेक बहस सुरू हुने जानकारी दिए । “समय अभावका कारण प्राप्त भएको अभियोगपत्र दर्तामात्र भएको छ”, उनले भने, “आइतबारदेखि थुनछेक बहस सुरू हुन्छ ।”

सहकारीका वर्तमान र पूर्व सञ्चालक समितिका पदाधीकारी, सदस्य, लेखा र ऋण समितिका संयोजक तथा सदस्यलाई विपक्षी बनाइएको छ । २०८१ माघ २० गते पक्राउ परेका पाँच र फागुन ७ गते पक्राउ परेका एक जना प्रहरीको हिरासतमा र १९ जना फरार छन् । अनुसन्धान प्रभावित हुने भन्दै प्रहरी, वकिल कार्यालय र अदालतले पक्राउ नपरेका आरोपितको नाम सार्वजनिक गरेका छैनन् ।

बेनी नगरपालिका–१ का ३६ वर्षीय थापा कुमारी सहकारीका पूर्वसचिव, उपाध्यक्ष र ऋण समितिको पदाधीकारी हुन् । विसं २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा ९एमाले०बाट जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित थापा उक्त पार्टीको पूर्व जिल्ला उपसचिवको जिम्मेवारीमा थिए । थापाले सहकारीको रू १७ करोड ५८ लाख ६३ हजार चार सय २६ हिनामिना गरेको अनुसन्धानबाट पुष्टि भएको छ ।

उक्त सहकारीका पूर्वप्रबन्धक जलजला गाउँपालिका–३ पर्वत बेनीका ५३ वर्षीय रूद्र गुरूङले रू १३ करोड ५९ लाख ४८ हजार छ सय नौ अपचलन गरेका अनुसन्धानबाट खुलेको छ । अनुसन्धान प्रतिवेदनअनुसार सहकारीका सचिव, पूर्वसहसचिव र लेखा समिति सदस्य बेनी नगरपालिका–१ की ४९ वर्षीय देवीकुमारी थापाले रू तीन करोड ७१ लाख चार हजार छ सय ३१ र पूर्वअध्यक्ष रघुगङ्गा गाउँपालिका–५ का ६७ वर्षीय मनप्रसाद थकालीले रू पाँच करोड ८२ लाख ६६ हजार सात हिनामिना गरेका छन् ।

पूर्वकोषाध्यक्ष, पूर्वअध्यक्ष, पूर्व ऋण समिति सदस्य अन्नपूर्ण गाउँपालिका–७ का ६६ वर्षीय थमबहादुर गर्बुजाविरूद्ध रू चार करोड ५५ लाख ९४ हजार दुई सय २७ र लेखासमितिका पूर्वसदस्य बेनी नगरपालिका–४ का ३७ वर्षीय लोकबहादुर पुन ९लोकेश०ले रू दुई करोड १० लाख ४६ हजार ४४ हिनामिना गरेका छन् । फरार रहेकाहरूले पनि कम्तीमा रू ५२ लाख ९३ हजारदेखि रू सात करोड ४४ लाख दुरूपयोग गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

प्रहरीले सहकारी रजिष्ट्रारको कार्यालयले गरेको छानबिन प्रतिवेदन, पक्राउ परेकाहरूसँग सोधपुछ, कागजात तथा प्रमाणको अध्ययन र पीडित बचतकर्ताको उजुरीका आधारमा अनुसन्धान गरेको हो । सञ्चालक समिति, ऋण उपसमिति र लेखा सुपरीवेक्षक समितिमा दबाब दिई समितिका पदाधिकारीलाई बाध्यात्मक स्थिति सृजना गरी संस्थालाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखी सम्पूर्ण सिष्टमको तालाचाबी आफूहरूले नै लिई गलत लेखापरीक्षण गराई झुठा प्रतिवेदन सार्वजनिक गर्ने, अनधिकृत रूपमा कारोबार सञ्चालन गर्ने, सहकारीको रकम अपचलन गरी आफ्नो नाममा निजी सम्पत्ति खरिद बिक्री गरी गैरकानुनी लाभ लिएको अनुसन्धानबाट खुलेको छ ।

सहकारी ठगी गरेको रकमले निजी सम्पत्ति खरिद गरी एकीकृत गर्ने, निजी कम्पनीमा रकम निकासा गराउने, सहकारीको रकमलाई गैरकानुनी रूपमा ढुकुटीका कारोबारमा प्रयोग गर्ने, प्रचलित कानुनबमोजिम सहकारी ऐन तथा कर्जा प्रक्रियाको मापदण्ड नै पूरा नगरी सहकारीको पुँजी कोषको १० प्रतिशतभन्दा अधिक मात्रामा कर्जा प्रवाह गर्ने, कर्जा प्रवाह गर्दाका बखतमा पर्याप्त मात्रामा कर्जा विष्लेषण तथा सुरक्षण नलिई कर्जा प्रवाह गराउने, पेश्कीका नाममा रकम हिनामिना मिलान गर्ने, ऋण देखाई रकम हिनामिना गराउने, चार हजारभन्दा बढी सदस्यको कारोबार गराई सीमित व्यक्तिलाई सेयर सदस्य प्रदान गरी सहकारीको रकमबाट लाभ लिन जीवन बिमा गराई सहकारीको रकम हिनामिना गर्ने, आफूहरूले लिएको ऋणको दायित्व भुक्तान नगरी आम्दानी हिनामिना गराउने, ब्याज छुट खर्च लेखी रकम हिनामिना गर्ने, सहकारी ऐन, कानुनविपरीत कर्जाभन्दा बढी बचतमा ब्याजदर कायम गराई रकम हिनामिना गर्नेजस्ता कार्य गरेको आरोप अभियोगपत्रमा उल्लेख छ ।

भूकम्पबाट सिन्धुपाल्चोकमा एक कैदी घाइते

काठमाडौं । भूकम्पपछि भाग्ने क्रममा सिन्धुपाल्चोकमा एकजना घाइते भएका छन् । जिल्ला कारागारबाट हामफालेर भाग्ने क्रममा एक कैदी घाइते भएका हुन् ।

उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए । भूकम्पबाट भएको क्षतिकोबारेमा बुझ्ने काम भइरहेको उनले बताए ।

शुक्रबार बिहान २ बजेर ५१ मिनेटमा सिन्धुपाल्चोकको भैरव कुण्ड केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको काठमाडौंसहित आसपासका जिल्ला ठूलो धक्का महसुस गरिएको थियो ।

सिन्धुपाल्चोक केन्द्र बनाएर ६ दशमलव एक म्याग्निच्युडको भूकम्प

काठमाडौं । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर आज बिहान छ दशमलव एक म्याग्निच्युडको भूकम्प गएको छ ।

खानी तथा भूगर्व विभाग मातहतको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको हो ।

राजधानी काठमाडौँ र आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको धक्का पूर्वी नेपालका केही जिल्लामा समेत महसुस गरिएको छ । भूकम्पका कारण रातको समयमा निद्रामा रहेका मानिससमेत खुला स्थानमा निस्केका थिए ।

दसौं राष्ट्रिय खेलकुद जेठ ३ देखि १० गतेसम्म कर्णाली प्रदेशमा हुने

काठमाडौं । दसौं राष्ट्रिय खेलकुद तेस्रो पटक सरेको छ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीबार बसेको बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म कर्णाली प्रदेशमा गर्ने निर्णय गरेको हो ।

यसअघि राखेपको बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद आगामी चैत २३ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको थियो । त्यसअघि प्रतियोगिता मंसिरमा गर्ने भनिएको थियो । बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद २०८२ साल जेठ १७ देखि २१ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

प्रदेशमा लोकसेवा आयोग स्थापनाबारे पुनर्विचार गर्न अध्यक्ष रेग्मीको आग्रह

काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सरकारले मागेको कर्मचारी व्यवस्थापन गर्न आयोग सक्षम रहेको बताएका छन् ।

बिहीबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा अध्यक्ष रेग्मीले देशभर नै सरकारलाई आवश्यक परेका कर्मचारी व्यवस्थापन गर्न आयोग सक्षम रहेको बताएका हुन्।

उनले सरकारले माग गरेको कर्मचारीलाई पूर्ति गर्ने काम आयोगले गरिरहेको भन्दै आयोगले आफुखुसी कर्मचारी माग्ने काम नगरेको स्पष्ट पारे ।

उनले भने, ‘विभिन्न स्थानीय तहबाट नियुक्त भएका कर्मचारीहरु सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भएर विभिन्न ठाउमा कार्यरत रहनुभएको छ । त्यो विल्कुलै गलत काम भइरहेको छ । त्यो कुनैपनि हालतमा मिल्दैन । एउटा पालिकाले कुनै सन्दर्भमा २०/२५ वर्ष नियुक्त गरेको कर्मचारी त्यो पालिकाबाट अनुकुल हुने ठाउँमा आफ्नो प्रभाव प्रयोग गरेर चाहेको ठाउँमा सरुवा भएर काम गर्न पाउनुपर्छ भन्ने कुरा कुनै सिद्धान्तले, कुनै कानुनले वा नीतिले मिल्दैन । यसमा सुधार गर्नुपर्छ ।’

अध्यक्ष रेग्मीले देशैभर एउटै निकायले कर्मचारी व्यवस्थापन गर्न सके एकै खालको सुशासन कायम हुने र त्यही अनुसार कामको गुणस्तर हुने जिकिर गरे ।

केन्द्रमा लोकसेवा आयोग हँदाहुँदै प्रदेशमा लोकसेवा स्थापना गर्नुपर्ने कारणबारे पुनर्विचार गर्नुपर्ने उनको भनाइ छ । उनले प्रदेश लोकसेवा आयोगले अस्थायी, करार, ज्यालादारीरुपमा कर्मचारी नियुक्ति गर्न नसक्ने उल्लेख गरे ।

लोकसेवा आयोगको वार्षिक प्रतिवेदनमाथिको छलफलका क्रममा समिति सदस्यहरुले समावेशी सिद्धान्तका आधारमा भर्ना छनौट विधिप्रति जिज्ञासा राखेका थिए।

ढुङ्गेलको नेतृत्वमा एएनओ अस्ट्रेलिया गठन

सिड्नी । एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ)ले शाखा विस्तारको क्रममा अस्ट्रेलियामा नेपालीभाषी समेटेर नयाँ कार्यसमिति घोषण गरेको छ । भुटानीमुलका नेपालीभाषी युवा डम्वर ढुङ्गेलको अध्यक्षतामा एएनओ अस्ट्रेलिया शाखा गठन भएको हो ।

उपाध्यक्षमा दिनेश खतिवडा, महासचिव गगन विडारी, उप महासचिव राजकुमार श्रेष्ठ, कोषाध्यक्ष लिला भण्डारी रहेका छन् । सदस्यहरूमा निकेश शर्मा, राम खतिवडा, युवराज शर्मा, हरि पोखरेल, खगेन्द्र आचार्य, आशिका राई, बिजय बस्नेत, सरिता ढकाल, भवानी ढकाल, पुष्प आचार्य, गोविन्द गौतम रहेका छन् ।
र्ख्यौली थातथलो नेपाल भएर भुटान, वर्मा, भारतलगायत देशबाट विश्वका विभिन्न देशमा छरिएर रहेका नेपालीलाई एएनओले समेटेको एएनओ अन्तर्राष्ट्रियका महासचिव सिएम भट्टराईले बताए ।

अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले भाषा र संस्कृति जोगिए नेपाली जोगिने भन्दै सबैले यसमा येगदान दिनुपर्ने बताइन् । उनले नेपालीभाषी समुदायलाई नेपालको संमृद्धिमा जुट्न आग्रह गरिन् ।

गतवर्ष मार्च २४ मा थाइल्यान्डको बैंककमा ३२ देशका नेपालीभाषीले भुटानी नेपालीमूलका अमेरिकन व्यवसायी डिल्ली अधिकारीको नेतृत्वमा एएनओ गठन भएको थियो । यसअघि यसको शाखा वेलायत र पोर्चुगलमा गठन गरिसकिएको केन्द्रीय सदस्य भीम बस्नेतले बताए ।

चीनमा पठाइएको जहाजमा भएको ढिलाइबारे छानबिन गर्न निगमले बनायो समिति

काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्ना विमानहरूको उडानसम्बन्धमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

बिहीबार विज्ञप्ति जारी गरी निगमले अन्तर्राष्ट्रिय उडानहरू विमान निर्माता कम्पनी तथा नियमनकारी निकायको मापदण्डअनुसार मर्मतसम्भार गरिरहेकाले यात्रुहरूलाई कुनै समस्या नपर्ने जनाएको छ ।

निगमको वाइडबडी विमानमध्ये ९एन–एएलजेड नियमित रूपमा उडान गरिरहेको जनाएको छ । यस्तै, वाइडबडी ९एन–एएलवाईले बेलुकादेखि काठमाडौं–दिल्ली उडान गर्ने जनाएको छ ।

निगमको न्यारोबडी ९एन–एकेडब्ल्यू चीनको शेन्याङ सीचेक प्रक्रिया पूरा भएको र आवश्यक कस्टम क्लियरेन्समा ढिला हुन गएको जनाएको छ । उक्त विमान शनिबार नेपाल आउने निगमको भनाइ छ ।

अर्को न्यारोबडी ९एन–एकेएक्स विमानको नोज ल्यान्डिङ गियर मर्मत गरी शनिबार नै नेपाल आउने निगमको भनाइ छ ।

निगमको आन्तरिक उडानमा प्रयोग हुने ९एन–एबीयू ट्विनअटर विमानको इन्जिन प्रतिस्थापन ४ मार्चसम्म सकेर नियमित उडानमा आउने र अर्को ट्विनअटर विमान ९एन–एबीटीको पनि इन्जिन प्रतिस्थापनपछि नियमित उडानमा आउने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘मदन पुरस्कार–२०८१’का लागि आवेदन आह्वान

काठमाडौं । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८१’का लागि आवेदन माग गरेको छ। गुठीले २०८१ साल (२०२४ अप्रिल १५ देखि २०२५ अप्रिल १४)मा प्रकाशित पुस्तकका लागि आवेदन माग गरेको हो।

उक्त अवधिमा प्रकाशित भएका पुस्तकका लेखकले मदन पुरस्कारका लागि २०८२ वैशाख १५ सम्ममा आवेदन दिन सक्नेछन्।

आवेदकले आफ्नो पुस्तकका चारप्रतिसहित आवश्यक विवरण मदन पुरस्कार गुठीको ठेगानामा पठाउनु पर्नेछ।

मोरङमा नेविसंघका दुई पक्षबीच कुटाकुट

विराटनगर ।  नेपाल विद्यार्थी संघ मोरङमा दुई पक्षबीच कुटाकुट भएको छ। बिहीबार स्वतन्त्र विद्यार्थी युनियनको चुनावको बारेमा कांग्रेसको संस्थापन पक्ष र इत्तर समूहबीच विवाद हुँदा कुटाकुट भएको हो ।

विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा नेपाल विद्यार्थी संघको दुई पक्षबीच झडप हुँदा दुई जना विद्यार्थी घाइते भएका छन् ।

सभापति शेरबहादुर देउवा र शेखर कोइराला समूहका नेताहरुबीच कुटाकुट हुँदा कोइराला समूहका दुई नेता घाइते भएका छन् ।

नेविसंघ मोरङका सभापति सरोज पोखरेल र आयुष दाहालसहितको टोली क्याम्पसमा इकाइ समिति गठन र स्ववियु चुनावको भागबन्डाको विषय लिएर गएपछि विवाद भएको थियो।

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष जसवन्त पौडेलको समूहले पोखरेल र दाहाललाई कुटेको बताइएको छ । स्ववियु सभापति पौडेल देउवा समूहका हुन् । जिल्ला सभापति पोखरेल भने कोइराला समूह हुन् । घाइतेको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ।

गुराँसले जोगाउँदै फुङ्लिङको पर्यटन व्यवसाय

फुङ्लिङ । ताप्लेजुङको वनपाखामा गुराँस फुल्न थालेको छ। गुराँसको यो रङ्गीन छटा सौन्दर्य मात्र होइन, पर्यटन प्रवर्द्धनको सम्भावित अवसर पनि हो। हरेक वर्षजस्तै यसपटक पनि गुराँस फुलेसँगै यहाँका स्थानीय व्यवसायी र पर्यटनसँग सम्बन्धित व्यक्ति आशावादी देखिन्छन्।

समुद्र सतहबाट तीन हजार मिटर उचाइमा अवस्थित सुकेटार विमानस्थल आसपासका क्षेत्रमा गुराँस फुलेर वनजङ्गल राताम्य देखिन्छन्। यसले प्रकृति प्रेमीलाई लोभ्याउँछ, बरु पर्यटन उद्योगसमेतमा सकारात्मक प्रभाव पार्छ। गुराँस फुल्ने मौसममा व्यापार बढ्ने स्थानीयको भनाइ छ।

गुराँस हेर्नका लागि मानिस टाढा–टाढाबाट आउँछन्। यहाँ आउनेहरू गुराँससँग रमाउने मात्र नभई सोही कारणले व्यवसायलाई पनि टेवा पुगेको छ। गतवर्ष भन्दा यस वर्ष केही समय छिटो गुराँस फुलेको फुङ्लिङ नगरपालिका–७ का एलबी राईले बताए।

गुराँस फुल्न थालेपछि सामाजिक सञ्जाल पनि रङ्गीन बन्न थालेका छन्। मानिसले गुराँससँग खिचिएका तस्बिर सामाजिक सञ्जालमा चर्चित बन्दै गएका छन्। कतिपय पर्यटक यहाँ गुराँस हेर्न मात्र होइन, प्राकृतिक सौन्दर्यसँग रमाउन पदयात्रा गर्न रुचाउँछन्। यस्ता गतिविधिले पाथीभरा क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको स्थानीय बताउँछन्।

गुराँस सुन्दरता प्रदर्शनका लागि मात्र सीमित छैन। यसका औषधीय गुण पनि छन्। गुराँसका पात, बोक्रा र फूललाई विभिन्न औषधिमा प्रयोग गरिन्छ। स्थानीयस्तरमा गुराँसको अचार, सर्वत, रक्सी उत्पादन गरेर आर्थिक गतिविधि बढाउने पहल भइरहेको छ। ताप्लेजुङमा विगतका तुलनामा अलिक छिटै गुराँस फुल्नथालेका फुङ्लिङ–९ का स्थानीय लेकाली कान्छा मुक्कुमले बताए।

गुराँसलाई अझ व्यवस्थित ढङ्गले संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्न सकिने मुक्कुमले बताए। सरकार तथा सरोकार भएका निकायले गुराँस उद्यान स्थापना गरी यसको व्यावसायिक उपयोगमा जोड दिनुपर्नेमा उनले जोड दिए।

नेपालमा पाइने ३२ प्रजातिका गुराँसमध्ये ताप्लेजुङ, तेह्रथुम र सङ्खरसभा जिल्लाको सङ्गमस्थल तीनजुरे मिल्के २८ प्रजातिका पाइन्छन्। ताप्लेजुङको पाथीभरा क्षेत्रमा २६ प्रजातिको गुराँस पाइने तथ्याङ्क रहेको संरक्षण क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका हिमाली संरक्षण मञ्च संस्थाका कार्यक्रम संयोजक रमेश राईले बताए।

‘पाथीभरा क्षेत्र गुराँससँगै पर्यटनका लागि उत्कृष्ट सम्भावना बोकेको गन्तव्य बन्न सक्छ। यहाँको प्राकृतिक सौन्दर्य, विशेष गरी वसन्त ऋतुमा फुल्ने गुराँसका विभिन्न प्रजाति, पर्यटकलाई लोभ्याउने प्रमुख तत्व हुन सक्छन्’, उनले भने।

स्थानीय निकाय, पर्यटन व्यवसायी, तथा सरकारको सहकार्यमा प्रभावकारी प्रचारप्रसार, पूर्वाधार विकास र दिगो पर्यटन रणनीति लागू गर्न सकियो भने यो क्षेत्र गुराँस पार्कको रूपमा विकास गरी पर्यटन प्रवर्द्धन गर्न सकिने उनको भनाइ छ। 

संस्कृतिसँग जोडिएका पोखरी

-लक्ष्मी गारु, भादगाउँ । भक्तपुर नगरपालिका–५ को चुपिङ्घाटस्थित काँल्हाचा पुखुः (पोखरी)मा नुहाए घाउ खटिरा निको हुने जनविश्वास छ । घरघरमा धारा नभएको समयमा गाहिटी, तमारी, खँला र आर्दशका स्थानीयहरु काँल्हाचा पुखुःमा स्नान गर्ने, मुख धुने, तर्पण दिने, देवीदेवतालाई जल चढाई चम्पकेश्वर महादेवको दर्शन गर्ने प्रचलन रहेको थियो ।

भक्तपुर औद्योगिक क्षेत्रको दक्षिणतर्फ इन्द्रायणी पीठ नजिक रहेको प्राचीन धल्चा पुखुः(कालदह पोखरी)मा स्नान गर्नाले गोसाईकुण्डमा स्नान गरे सरह पुण्य प्राप्त हुने धार्मिक जनविश्वास रहेको छ । गोसाईकुण्डको प्रतीक मानिने धल्चा पुखुःमा स्नान गरी त्यहाँको महादेवलाई जल चढाउनाले शिर कम्पन हुने र छालासम्बन्धी रोगको निवारण हुने धार्मिक मान्यता रहेको स्थानीय लक्ष्मीनारायण पक्काले बताए । यहाँ जनै पूर्णिमाको दिन ठूलो मेला लाग्छ ।

यसैगरी भक्तपुरको ख्वप लाय्कू दरबार (दरवार क्षेत्र)भित्र रहेको दुमाज पुखुःमा आइतबार र बिहीवार बच्चालाई नुहाई दिए, मुख धुवाई दिएमा रुन्चे लागेको, पेट दुःखेको निको हुने जनविश्वास छ । यो पुखुःको पानीले दुमाजु परिसर सरसफाईका लागि दैनिक प्रयोग गर्ने परम्परा रहेको स्थानीय ७४ वर्षीय बुद्धिलाल सुवाल बताउँछन् ।

पुखुःहरुको शहर भनेर परिचित भक्तपुर नगरका काँल्हाचा पुखुः, धल्चा पुखुः र दुमाजु पुखुः मात्र होइन, अधिकांश पुखुःहरु कुनै न कुनै धार्मिक–सांस्कृतिक एवं रोगको उपचारसँग सम्बन्धित रहेका छन् । नगरका चार दर्जन पुखुःमध्ये करिब दुई दर्जन पुखुःधार्मिक तथा सांस्कृतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिन्छन् ।

धार्मिक तथा सांस्कृतिक आस्था रहेका, इतिहास बोकेका, रोग निवारणका लागि बनाएका, शहरको शोभा एवं सुन्दरता बढाउन, कमलको फूल उत्पादन, मानवीय जीवनमा कठिन समयमा मनलाई शान्ति पार्नुका साथै विपद्लगायतका समयमा आकस्मिक प्रयोगका लागि विभिन्न कालखण्डमा निर्मित अति सुन्दर मनोमोहक पुखुःहरु छन् ।

धार्मिक तथा सांस्कृतिक महत्व झल्काउनुका साथै राष्ट्रहितको लागि भक्तपुरमा पुखुःहरु निर्माण गरेको पुरातत्वविद, इतिहास तथा संस्कृतिविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले बताए । विषेशगरी टाढाटाढाका तीर्थ यात्रामा गई स्नान गर्न जान नसक्ने असहाय अशक्तलाई आफ्नै ठाउँमा स्नान गराई दर्शन पुजा गर्न सजिलो लागि बनाएको उनले बताए ।

यस्तै पुखुःहरुमध्ये एक हो भक्तपुर नगरपालिका–१, दूधपाटीमा अवस्थित सिद्धपोखरी । स्थानीयमा तः पुखुःले समेत परिचित सिद्धपोखरी दिउँसो आन्तरिक र बाह्य पर्यटकको आकर्षण गन्तव्य बनेको छ भने बिहान स्थानीय बासिन्दाको धार्मिक तीर्थस्थलको रूपमा रहेको छ । स्थानीय वृद्धवृद्धा बिहानै पोखरीमा आई मुखधुने र पोखरीको जल त्यहाँको महादेवलगयात देवीदेवतालाई चढाई दर्शन गर्ने परम्परा आजपर्यन्त कायमै रहेको स्थानीय ६५ वर्षीय विष्णुप्रसाद खत्रीले बताउँछन् ।

सिद्धपोखरी लौकिक वास्तुकलाको अनुपम उदाहरण बोकेको पुखुःको रूपमा परिचित छ । यो पुखुःको पूर्वपट्टि नेपालको सर्ब प्राचीन बराह र गणेशको मूर्ति रहेको छ । धार्मिक समन्वय र सद्भावको अनुपम उदाहरणस्वरूप शिवलिङ्ग र चैत्य त्यहाँ छ । यो चैत्य लिच्छवीकालीन मानिएको छ ।

प्राडा श्रेष्ठका अनुसार वास्तुतन्त्र विधिअनुरूप सिद्ध तान्त्रिक युगमा निर्माण गरेको विशाल पुखुःभएकाले यसलाई सिद्ध पुखुःभनी नामाकरण गरिएको हो । नेपाल सम्वत् २३८ तिर भक्तपुरलाई राजधानी नगरको रूपमा स्थापित गर्ने त्रिपुर राजदरबार राजधानीकै मध्यभागमा बनाउने, नगरलाई अनुपम कलाकृतिले सजाउने कार्य राजा आनन्ददेवको पालामा भएको थियो । सिद्धपोखरी त्योभन्दा केही समय पूर्व आनन्ददेवको दाजु युवराज इन्द्रदेवले निर्माण गर्न लगाएको इतिहासमा उल्लेख छ ।

लोकमान्यताअनुसार देवराज इन्द्रले स्नान गरेको दहको प्रतीकको रूपमा लिने भएकाले यस दहलाई इन्द्रदह पनि भन्ने गरिन्छ । इन्द्रदह परिसरमा लिच्छवीकालीनदेखि मल्लकालसम्मका शैव, शक्ति, बौद्ध, वैष्णव, सम्प्रदायका देवी देवताका मूर्तिहरु रहेका छन् । त्यहाँ रहेको शिवलिङ्गमा जल चढाई पिएमा घाँटी दुःखेको रोग निको हुन्छ भन्ने जनविश्वास छ ।

इन्द्रजात्रामा यँेन्याँ पुन्हीको पूर्वसन्ध्यामा इन्द्रायणी देवीको खटजात्रा गरी इन्द्रदहको पश्चिमतिर देवीलाई विरामान गर्ने परम्परा छ । भोलिपल्ट पुन्हीको दिन दहमा स्नान गरी इन्द्रायणी देवीको पूजाआराधना गरे ठूलो पूण्य प्राप्ति हुनुका साथै पारिवारिक सुःख समृद्धि मिल्ने जनविश्वास रहेको छ । इन्द्रदहमा वासुकी नागसमेतको बसोबास रहेको विश्वास गरिन्छ । त्यसैले पानी नपरेर रोपाई ढिला भएको बेला भक्तपुरका स्थानीय बासिन्दा इन्द्रदहमा गई तान्त्रिक विधिद्वारा वासुकी नागको पूजा गरी ‘हरहर महादेव पानी दे, अलिकति होइन धेरै दे’ भनेर पानी माग्ने प्रचलन अहिले पनि रहेको पाइन्छ ।

भक्तपुरमा इन्द्रजात्रामा निकाल्ने तीन दिने याँ मता (आकाश दीप)नगर परिक्रमापछि पुखुःहरुमा परिक्रमा गराई जात्रा सम्पन्न गर्ने चलन अहिलेसम्म छ । पहिलो दिनको याँःमता कमलविनायकको यातु बहारे(कमलपोखरी)मा परिक्रमा गरी सम्पन्न गर्छ । दोस्रो दिनको याँःमता झौखेलको मुगथौ पुखुःमा परिक्रमा गरी सम्पन्न गर्छ । तस्रो दिनको याँःमता सिद्धपोखरीमा परिक्रमा गराई सम्पन्न गर्छ ।

त्यसैगरी हरेक वर्ष माघ १ गते भक्तपुरमा मनाइने सम्यक महादानमा द्विपंकर बुद्धलाई चढाउने तिलभात इताछेंस्थित नःपुखुको पानीले पकाउने चलन छ । नःपुखुः परिसरमा नै सम्यक महादान पर्व मनाइन्छ । भक्तपुरमा मानव निर्मित विभिन्न सुन्दर पोखरीहरु मध्ये भाज्या पुखुःअति महत्वपूर्ण सुन्दर पुखुः हो । पुखुःको मध्यभागमा शिखर शैलीमा निर्माण गरिएको सुन्दर जलेश्वरको मन्दिर छ । यो पुखुः १२ औं शताब्दीको शक्तिशाली शासक वर्ग भाजु कसःको नाममा निर्माण गरेकाले यसलाई भाज्या पुखुः भनिएको प्राडा श्रेष्ठले बताए ।

भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित रानी पुखुः, कमलविनायस्थित यातु बहारे पुखुः, सिद्ध पुखुः, भाज्या पुखुःलगायतका पुखुःहरुको डिल वा परिसरमा भक्तपुरका स्थानीय नेवार समुदायको कुलदेवता स्थापित छन् । वर्षको एक दिन दिगु पूजा÷देवाली पूजा (कुल पूजा)मा ती पोखरीहरुको डिलमा कुल पूजा गरी भोज गर्ने परम्परा आज पनि जीवित रहेको छ ।

पुखुःछेउमा कुल देवता स्थापित गर्नुको मुख्य उद्देश्य पुखुःमा रहेको पवित्र जलले कुलदेवताको स्नान गराई दर्शन पुजन गर्नु हो । पुखुःहरुको छेउमा कुलदेवता स्थापित गर्नुको अर्को कारण वर्षको एक पटक भएपनि शहरी सिमाना सुरक्षा के कस्तो छ हेरी देश रक्षाको भावना जगाउनु रहेको श्रेष्ठले बताए ।

प्राचीनकालदेखिका पुखुःहरु जनतालाई धार्मिक, सांस्कृतिक रूपमा मात्र नभएर मानसिक रूपमा पनि शान्ति, आनन्द प्रदान गर्न बनाएको हो । पर्यावरणले मानिसहरुमा कति रोगको निवारण गर्छ भन्ने भक्तपुरका पुखुःहरुले देखाएको छ । मानवीय जीवनमा कठिन परिस्थिति अनावृष्टि, अनिकाल जस्तो समयमा पानीको प्रयोग गर्न पाओस् भनी प्राकृतिक रूपमा जल भण्डारणको रूपमा पनि पुखुःहरु बनाएको हो । सिँचाइलगायत आगलागीजस्ता विपद्को समयमा आकस्मिक रूपमा ती पुखुःहरुको पानी प्रयोग हुँदैं आएका छन् ।

भक्तपुर नगर स्थापना गर्ने लिच्छवी राजा आन्नददेवले वास्तुमय बनाउने क्रममा विभिन्न पुखुःहरु निर्माण गरेका थिए । यससँगै मल्लकालमा पनि धेरै पुखुःहरु बनेको इतिहासमा उल्लेख छ । धर्म संस्कृतिले धनी भक्तपुरमा कति जात्रा पर्वका लागि नभई नहुने कमलको फुलको लागि समेत पुखुः बनाएको छ । नगरमा कमलविनायकको बाहारे पुखुः, तलेजु भवानीको पूजाको लागि ब्यासीस्थित नार्का बाहारे पुखु:, पलेश्वाँ बाहारे, याताको बाहारे पुखुःहरु कमलको फुलकै लागि निर्माण गरेको इतिहासमा उल्लेख छ ।

पानी जीवन भएकाले मानिसको दैनिकीसँग जोडेर नगरको प्रत्येक टोलटोलमा नुहाउन, लुगाकपडा धुन, तरकारी पखाल्न, गाईवस्तुलाई खुवाउन, हातखुट्टा धुन, भाँडा माझ्न, कृषि कर्म गरी घर फर्कने क्रममा औजार धुने कार्यमा पनि पुखुःको उपयोग हुँदै आएको छ । त्यसैगरी माछापालन गरेर आर्थिक रूपमा सबल बन्नुका साथै बाह्य तथा आन्तरिक पर्यटकको गन्तब्यस्थलको रूपमा विकास गर्न पुखुः बनाएको हो ।

यहाँका पुखुः तत्कालीन समयको विज्ञान प्रविधि र इञ्जिनीयरिङको अनुपम सीपको नमूना पनि रहेको छ । भक्तपुर नगरपालिका–८ को खँचा पुखुःमा करिब एक किलोमिटर पश्चिममा रहेको प्रसिद्ध न्यातपोल (पाँच तल्ले) मन्दिरको छायाँ स्पष्ट देखिन्छ । यस्तो इञ्जिनीयरिङ प्रविधि प्रयोग भएको पुखुः वास्तवमै उत्कृष्ट नमूना मान्न सकिन्छ ।

पछिल्लो समय अधिकांश पुखुःहरुले भक्तपुर नगरपालिकाको सहयोग र स्थानीयको श्रमदानमा पुनर्जीवन पाएको छ । सिद्धपोखरी, रानी पोखरी, भाज्या पुखुः, कालदह, दुमाजु पुखुः, मंगल कुण्ड, कुमारी पुखुः, गरुडकुण्ड, सँला गणेश पुखुः, नाग पुखुः, नःपुखुको पुनर्निर्माण गरिएको छ । समयमै मर्मतसम्भार नहुँदा नगरभित्रका करिब ५० पुखुःमध्ये गलसी पुखुः, नार्का बाहारे, तिलांचा पुखुः, खोर्चा र खोहरे पुखुः मार्कण्डे पुखुः, अलिगचा पुखुःलगायत झण्डै एक दर्जन पुखुः भने लोप भइसकेका छन् ।

सबै नेपालीलाई नागरिक बीमामा जोड्नुपर्छः स्वास्थ्यमन्त्री पौडेल

ललितपुर ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै नेपाली नागरिकलाई अनिवार्य बिमामा जोड्नुपर्ने बताएका छन् ।

विश्व प्रोटिन दिवसको अवसरमा नेपाल दाना उद्योग संघद्वारा बिहीबार ललितपुरमा आयोजित ‘मानव स्वास्थ्यमा प्रोटिनको भूमिका’ विषयक कार्यक्रममा मन्त्री पौडेलले नागरिकलाई निरोगी बनाउन उपचारात्मक पद्धतिभन्दा पनि निरोधात्मक पद्धतिलाई ध्यान दिनुपर्ने बताए ।

हरेक नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्‍याई निरोगी बनाउन नागरिकको योगदानमा आधारित स्वास्थ्य बिमालाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने उनको भनाइ थियो ।

स्वास्थ्य क्षेत्रमा नीतिगत रूपमा समेट्नुपर्ने कुरा धेरै रहेका उल्लेख गर्दै मन्त्री पौडेलले मानव स्वास्थ्यलाई आवश्यक पर्ने प्रोटिन सुरक्षाका लागि कानुन बनाएर नीतिगत व्यवस्थापन गर्न सुझाव पेस गर्न सरोकारवालालाई आग्रह गरे । ‘संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्न स्वास्थ्य बिमा महत्त्वपूर्ण छ, यसबाट नागरिकको निःशुल्क उपचार सुनिश्चित हुन्छ, प्रोटिन सुरक्षाको कुरालाई पनि यसमा जोड्न सकिन्छ,’ उनले भने ।

मानव स्वास्थ्यलाई ध्यान दिँदै प्रोटिनलाई उपचारात्मक प्रणाली र चिकित्सकको सिफारिस प्रणालीमा कसरी जोड्न सकिन्छ भनेर ध्यान दिनुपर्ने मन्त्री पौडेलले उल्लेख गरे । पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले नेपालका पशुजन्य उत्पादन स्वास्थ्यका दृष्टिकोणले सुरक्षित रहेका बताए ।

नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीले उत्पादनदेखि उपभोगसम्म सुरक्षित खाद्यान्न नीतिको अवधारणामा रहेर खाद्य सुरक्षाका लागि प्रोटिनको सुनिश्चितता हुनुपर्नेमा जोड दिए । रासस

नेपालमा लगानी गर्न जापानी लगानीकर्तालाई अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले नेपालको विकासका प्राथमिकताका क्षेत्रहरूमा जापानी लगानी आकर्षित गर्ने ठूलो सम्भावना रहेको बताएका छन् ।

बिहीबार नेपाल जापान फ्रेन्डसिप समिट २०२५ का लागि आएका जापानका विभिन्न व्यावसायिक कम्पनीका प्रतिनिधिहरूसँगको भेटमा उनले नेपाल जापान फ्रेन्डसिप समिटले नेपालमा लगानीकर्ताहरूको लागि अनुकूल वातावरण रहेको सन्देश प्रवाह गर्ने र जापानी लगानीकर्ताहरूलाई नेपालमा थप लगानी गर्न उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

अर्थमन्त्री पौडेलले विदेशी लगानीकर्ताहरूका लागि जलविद्युत, पर्यटन र उत्पादनमूलक क्षेत्र पनि लगानीको लागि आकर्षक क्षेत्र रहेकोले यी क्षेत्रमा उत्साहित भएर लगानी गर्न अनुरोध गरे ।

उनले सरकारले निजी क्षेत्रका सरोकारहरूलाई सम्बोधन गरी विभिन्न कानुनहरू अध्यादेशमार्फत संशोधन गरी लगानीको लागि अझ सहज वातावरण तयार गरेको जानकारी दिए । फुजिता, बेन्सेस कर्पोरेसन, डिजिटल पाइलट, टोकियो मरिन, फोर्थ भ्यालीलगायत एक दर्जनभन्दा बढी कम्पनीका प्रतिनिधिहरूले अर्थमन्त्री पौडेललाई भेटेका थिए ।

नेप्सेमा ४९ अंकको वृद्धि

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार उच्च अङ्कले बढेको छ । बिहीबार नेप्से ४९ दशमलव १५ अङ्कले बढेर २ हजार ८ सय १५ दशमलव ०४ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा बैंक समूह ३ प्रतिशतभन्दा धेरै र उत्पादन समूह झन्डै ३ प्रतिशतले उकालो लागेको छ । आज गार्डियन माइक्रो लाइफ इन्सुरेन्स, अपर हेवा खोला जलविद्युत्, सिन्धु विकास बैंक, दोर्दी खोला जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

बजार उच्च अङ्कले बढेको दिन भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर भने ७ प्रतिशतभन्दा धेरैले घटेको छ । आज कारोबार रकम पनि बढेको छ । आज ३ सय वटा कम्पनीका २ करोड ६१ लाख कित्ता शेयर ११ अर्ब ३९ करोड रुपैयाँमा कारोबार भएका छन् ।

अब भूकम्पपछिको पुनर्निर्माणले अब तिव्रता पाउँछः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भूकम्पपछिको क्षति आँकलन, पुनःनिर्माण र पुनःस्थापनालाई तीव्रता दिइएको बताएका छन् ।

सिंहदरबारमा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २९औँ बैठकमा गृहमन्त्री लेखकले जाजरकोट, डोटी र बझाङमा भूकम्पपछिको क्षतिको आँकलन, पुनःनिर्माण र पुनःस्थापनालाई सरकारले तीव्र रूपमा अघि बढाएको जानकारी दिए ।

भूकम्पपछिको पुनःनिर्माण एवं पुर्नस्थापनाका लागि जाजरकोट, डोटी र बझाङमा पुर्ननिर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटनगर्ने तयारी गरिएको उनले जानकारी दिए ।

“हामीले बितेको ६ महिनामा विस्तृत क्षति आँकलन र नीजि घरको पुनःनिर्माण एवं पुनःस्थापन गर्न आवश्यक मापदण्ड बनाउने, नियमावली बनाउने र बजेट व्यवस्थापनको काम गरेका छौँ”, गृहमन्त्री लेखकले भने, “त्यहाँ केन्द्रबिन्दु भएर गएका भूकम्पबाट नीजि घरमा भएको क्षति आँकलन गर्ने काम अगाडि बढ्नुका साथै पुनःनिर्माण र पुनःस्थापनको काम अगाडि बढाएका छौँ ।”

मन्त्रालयले गतवर्ष जाजरकोट र बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पपछिको पुनःनिर्माणलाई प्रभावकारी रूपमा अघि बढाउने गरी कार्ययोजना ल्याएको छ ।

गृहमन्त्री लेखकले आगामी साता बझाङ, अछाम र जाजरकोट पुगेर पुनःनिर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटनका साथै त्यहाँको अवस्थाबारे जानकारी लिने गृहमन्त्रालयले जनाएको छ ।

नेपाललाई मानवअधिकार परिषद्को सदस्यमा मत दिन परराष्ट्रमन्त्रीको आग्रह

 काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यमा नेपाललाई मतदान गर्न विश्व समुदायलाई आग्रह गरेकी छिन् ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८औँ उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने क्रममा जेनेभमा रहनुभएका मन्त्री डा देउवाले जेनेभामा रहेका विभिन्न देशका राजदूत एवं प्रतिनिधिहरुलाई सो आग्रह गरेकी हुन् ।

मन्त्री डा. राणाको सम्मानमा जेनेभास्थित नेपाली स्थायी नियोगद्वारा बुधबार साँझ जेनेभामा रहेका विभिन्न देशका स्थायी नियोग र विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाका प्रमुखहरुका लागि आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उनले सीमित स्रोत र साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवर्धनका क्षेत्रमा नेपालले गरेका काम र प्राप्त उपलब्धिलाई हेरेर नेपाललाई मत दिन आग्रह गरिन् ।

सो समारोहमा जेनेभामा रहेका एक सयभन्दा बढी देशका राष्ट्रसंघीय स्थायी नियोगप्रमुख तथा राजदूत र विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधि उपस्थित थिए।

उनले भनिन्, ‘नेपाल सरकार शान्ति, प्रजातन्त्र र मानअधिकारको पक्षमा अडिग छ । मानवअधिकारको रक्षा र प्रवर्धनमा हामीले विगत लामो समयदेखि काम गरिरेहका छौँ। यही प्रतिबद्धताका साथ नेपालले यस परिषदको आगामी सन् २०२७ देखि २०२९ सम्मका लागि सदस्यमा उम्मेदवारी दिएको छ । संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्रहरुलाई म नेपाललाई सहयोग गर्न आग्रह गर्दछु।’

परराष्ट्रमन्त्री डा.राणाले भनिन्, ‘नेपालको वर्तमान संविधानले नागरिक स्वतन्त्रताका साथै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका अधिकारहरूलाई मौलिक हकका रुपमा समेटेको छ। नेपाल सरकार लोकतान्त्रिक मूल्यमान्यता, कानूनी शासन र न्यायपालिकाको स्वतन्त्रताप्रति पूर्ण रुपमा प्रतिबद्ध रही आएको छ।’

उनले नेपालले शान्ति प्रक्रियाका क्रममा पनि विश्वकै उदाहरणीय भएर काम गरेको दृष्टान्त पेश गर्दै शान्ति प्रक्रियाका बाँकी रहेका कामलाई पनि छिट्टै टुंग्याउने गरी संक्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण गरेर तदारुकताका साथ काम गरिरहेको जानकारी गराइन् ।

मन्त्री डा.देउवाले पछिल्ला समयमा नेपालले बाल, महिला तथा अल्पसंख्यकहरुको अधिकारका साथै समावेशिताका क्षेत्रमा उपलब्धिहरु हासिल गरेको जानकारी गराउँदै नेपालको वर्तमान सरकार सदैव राष्ट्रिय मानवअधिकार आयोगको स्वतन्त्रताका पक्षमा रही आएको पनि स्पष्ट गरे ।

यसअघि मन्त्री डा.देउवाले गत मंगलबार राष्ट्रसंघीय मानवअधिकार परिषदको उच्चस्तरीय सत्रलाई सम्बोधन गरेकी थिइन् । जेनेभामा जारी सो सत्रमा राष्ट्रसंघका सदस्य राष्ट्रहरुका परराष्ट्र तथा मानवअधिकारसम्बन्धी मन्त्री एवं मानवअधिकारका क्षेत्रमा कार्यरत व्यक्तिहरुको सहभागिता छ।

मन्त्री डा.राणाले ६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबार जेनेभा पुगेकी थिइन् । उनी शुक्रबार बिहान स्वदेश फर्कँदै छिन् ।

भारतमा एक पटकमा एक बियरमार्फत परिवर्तन ल्याउँदै महिलाहरू

भारत । भारतको बढ्दो क्राफ्ट बियर दृश्यको अंशका रूपमा वर्षा भाट दुई तरिकाले दुर्लभ छन्ः पहिलो मदिरा बनाउने महिलाका रूपमा र दोस्रो मदिरा पिउने महिलाका रूपमा ।

भाट एउटा यस्तो देशमा पुरुष–प्रभुत्व भएको उद्योगमा आफ्नो दाबी गरिरहनुभएको छ जहाँ सामाजिक परम्पराहरूले धेरैजसो महिलालाई मदिरापान नगर्न बाध्य पार्छन् ।

३८ वर्षीया भाटले धेरै वर्षसम्म पुरुष साथीहरूको व्यङ्ग्य सहेकी थिइन् । तिनीहरूले उनीसँग विशेष स्वादको परख गर्ने मांसपेशी छ कि छैन वा कामको दबाब सम्हाल्न पर्याप्त शान्त छन् कि छैनन् भन्ने प्रश्न गर्दथे ।

तर उद्योगमा एक दशकपछि उनी बेङ्गलुरुको सबैभन्दा लोकप्रिय पबहरू मध्ये एकमा हेड ब्रुअर बन्न पुगेकी छन् र सहरको धनी युवा प्रविधि कामदारहरूको सेवा गरेकी छन् ।

“एक महिलाले गर्न नसक्ने केही पनि छैन जुन एक पुरुषले गर्न सक्छ… रेसिपी विकासदेखि, शारीरिक कामसम्म, टोली व्यवस्थापनसम्म”, भाटले भनिन्, “हामीले अगाडि आउन र हामी यो गर्न सक्छौँ भनेर भन्नका लागि यो कदम चालेका छौँ, एउटा कलङ्क थियो… हामी ती रूढीवादी र बाधाहरू तोड्दैछौँ ।”

सरकारी तथ्याङ्कअनुसार ९९ प्रतिशत महिलाले मदिरापान नगर्ने भारतको बाँकी भागभन्दा उदार मदिरा संस्कृतिका लागि बेङ्गलुरु लामो समयदेखि प्रसिद्ध छ ।

यसको प्रख्यात प्रविधि उद्योगले प्रायः सहरमा स्थापित सामाजिक सम्बन्धहरू नभई कुलीन विश्वविद्यालयहरूबाट आउने युवा र उच्च शिक्षित कार्यबललाई रोजगारी दिन्छ ।

यसले बेङ्गलुरुको फस्टाउँदो क्राफ्ट बियर बारहरूमा जोडदार व्यापार प्रदान गर्दछ । बेङ्गलुरुमा घरभित्रै ब्रुअरी छन् जसले सयौँ कामदारलाई रोजगारी दिन्छन् र नयाँ मानिसहरूसँग भेट्न उत्सुक र पैसा खर्च गर्न तयार ग्राहकहरू छन् ।

आधिकारिक तथ्याङ्कअनुसार काम गर्ने उमेरका महिलामध्ये २५ प्रतिशत मात्र औपचारिक रूपमा रोजगारीमा रहेको भारतमा सहरको कार्यबल एउटा अनौठो उदाहरण हो ।

तुलनात्मक रूपमा तिनीहरूले बेङ्गलुरुका प्रविधि फर्महरूमा काम गर्नेहरूको लगभग ४० प्रतिशत हिस्सा ओगटेका छन् । यो सहरको भारतका अन्य ठाउँबाट महत्त्वाकांक्षी महिलाहरूलाई आकर्षित गर्ने क्षमताको प्रमाण हो । तीमध्ये ठूलो सङ्ख्यामा कामपछि बारहरूमा साथीहरूसँग चर्को आवाजमा कुराकानी गरिरहेको देखिन्छ ।

– रोल मोडेल –

तीमध्ये ३२ वर्षीया लिनेट पाइरेस पनि छन् । उनी औषधि अनुसन्धानकर्ताका रूपमा काम गर्न बेङ्गलुरु गइन् तर चाँडै आफूलाई पेय पदार्थ बनाउने व्यवसायमा आकर्षित भएको पाइन् ।
सहरको दक्षिणमा फस्टाउँदो बाहिरी बियर गार्डेनमा ब्रुअर बन्ने उनको बाटोले उनलाई आफूलाई गम्भीरताका साथ लिन अस्वीकार गर्ने पुरुष सहकर्मीहरूमाथि आफूलाई दाबी गर्न बाध्य तुल्यायो ।

“त्यहाँ अधिकांश पुरुष–प्रभुत्व भएको कोठामा उभिएर तपाईंको विचार व्यक्त गर्न वा तिनीहरूलाई सुन्न लगाउन कोशिश गर्दै… तपाईंले त्यो कसरी पार गर्ने र पछाडि छोड्ने सिक्नुपर्छ”, उनले भनिन् ।

चार वर्षअघि उनले महिला ब्रुअर्स कलेक्टिभ स्थापना गरे । यसले सहरका ब्रुपबहरूमा काम गर्ने दर्जनौँ अन्य महिलासँग मिलेर पछि आउनेहरूका लागि बाटो सहज बनाउने लक्ष्य राखेको छ ।

“म निश्चित रूपमा अन्य महिला ब्रुअरहरूका लागि एक रोल मोडेल बन्न चाहन्छु”, पाइरेसले भने, “उद्योगमा प्रवेश गर्ने अन्य महिलाहरूलाई प्रेरित गर्न र विकास गर्न मद्दत गर्ने कुरा यही हो ।”

– कटु पुरुष, कटु बियर –

भाट र पाइरेस आफ्नै सहरमा पथप्रदर्शक भए तापनि महिलाहरू प्राचीन कालदेखि नै मदिरा बनाउने उद्योगका आधारस्तम्भ रहेका छन् ।

पहिलो अभिलेखित बियर रेसिपी १८०० ईसा पूर्वमा माटोको टुक्रामा बियरको सुमेरियन देवी निन्कासीको सम्मानमा लेखिएको मानिन्छ ।

त्यही समयतिर मेसोपोटामियामा प्राचीन कानूनहरूमध्ये एक हम्मुराबीको संहितामा महिला पानपसल मालिकहरूको उल्लेख गरिएको थियो । “यो इतिहासलाई ध्यानमा राख्दै जब मानिसहरूले यो पुरुषको पेय हो भन्छन् भने यो पागलपन र अलि अपरिपक्व र अज्ञानता हो”, भारतको बियर उद्योगको बारेमा पोडकास्ट होस्ट गिरिजा चट्टीले भने ।

भारतमा मदिरापानलाई प्रायः तिरस्कार गरिन्छ । स्वतन्त्रता नेता महात्मा गान्धी संयम र उन्मूलनको पक्षमा सबैभन्दा कडा आवाजहरू मध्ये एक थिइन् ।

भारतको सन् १९४९ को संविधानले सरकारलाई ‘औषधीय उद्देश्यहरू’ बाहेक मदिरापानमा रोक लगाउन आदेश दिन्छ, केही राज्यमा लागू गरिएको निषेधाज्ञा बाहेक यो खण्ड धेरैजसो बेवास्ता गरिन्छ ।

मदिरापान भारतीयहरूको सानो अल्पसङ्ख्यकमा पनि लिङ्गहरू बीचको विभाजन स्पष्ट छ । सन् २०२२ मा प्रकाशित सरकारी स्वास्थ्य सर्वेक्षण अनुसार महिलाहरू भन्दा लगभग १५ गुणा धेरै पुरुषहरूले ग्रहण गर्छन् ।

बारहरूमा जाने थोरै महिलाहरूको बीचमा त्यो विभाजन र त्यसको सामाजिक अपेक्षाहरू अझै पनि सजिलै देख्न सकिन्छ ।
चट्टीले वेटरहरूले पहिलो स्थानमा माग्ने महिलाको सट्टामा टेबलमा बसेको कुनै पनि पुरुषलाई पेय पदार्थको मेनु हस्तान्तरण गर्ने नियमित उदाहरणलाई उदृत गर्छिन् ।

“यदि महिलाहरूले कटु पुरुषहरूलाई सम्हाल्न सक्छन् भने उनीहरू कटु बियरलाई राम्रोसँग सम्हाल्न सक्छन्”, उनले हाँसो गर्दै भनिन् ।

इयूको उदय अमेरिकालाई ‘मजबुत बनाउन’ भएको ट्रम्पको भनाइ

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो क्याबिनेट बैठकमा युरोपेली सङ्घ (इयू) को जन्म अमेरिकालाई ‘मजबुत बनाउन’का लागि भएको बताए ।

ट्रम्पले भने, “युरोपेली युनियन (इयू)को गठन संयुक्त राज्य अमेरिकालाई पेचिलो बनाउनका लागि गरिएको हो । यसको उद्देश्य यही हो र उनीहरूले यसमा राम्रो काम गरेका छन् । तर, अहिले म राष्ट्रपति भएको छु ।”

ट्रम्पले आफ्नो पछिल्लो कर वृद्धिको विवरण चाँडै सार्वजनिक गर्ने बताएका छन्, “हामीले कर वृद्धिसम्बन्धि एउटा निर्णय गरेका छौं र हामी चाँडै नै यसको घोषणा गर्नेछौँ। यो २५ प्रतिशत हुनेछ।”

युरोपेली आयोगले ट्रम्पको भनाइप्रति तुरुन्तै जवाफी प्रतिक्रिया दिँदै भनेको छ, “युरोपेली सङ्घ विश्वको सबैभन्दा ठूलो स्वतन्त्र बजार हो । यो संयुक्त राज्य अमेरिकाका लागि वरदान साबित भएको छ,” युरोपेली आयोगको एक स्रोतले बुधबार जनाएको छ।

स्रोतका अनुसार इयूले नयाँ कर वृद्धिको ‘दृढतापूर्वक र तुरुन्तै’ प्रतिक्रिया दिनेछ।

हालैका हप्ताहरूमा, अमेरिकी प्रशासनले युरोपेली सामानहरूमा उच्च आयात करहरू लगाउने प्रतिज्ञा गरेको र यसले संयुक्त राज्य अमेरिका र युरोपबीचको साझेदारीलाई उथलपुथलको अवस्थामा पुर्‍याएको छ । अमेरिकाले इयूबाट अमेरिका निर्यात हुने सामानमा लगाउने करको हाराहारीमा नै उसको सामानमा कर वृद्धि हुने दाबी इयूका अधिकारीले गरेका छन्।

मुस्लिम समुदायलाई संवैधानिक अधिकार दिने माओवादी आन्दोलन नै होः अध्यक्ष प्रचण्ड

सुनसरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राज्यबाट अपहेलित मुस्लिम समुदायलाई संवधानिक हैसियत दिने काम माओवादी आन्दोलनले गरेको बताएका छन् ।

जनतासँग माओवादी, हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानअन्तर्गत बिहीबार सुनसरीको हरिनगर गाउँपालिकामा आयोजित स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन प्रचण्डले यस्तो बताएका हुन् ।

उत्पीडित उपेक्षित समुदायको सहभागितामा भएको जनयुद्धका कारण राजनीतिक परिवर्तन संभव भएको, राजनीतिक परिवर्तनलाई संस्थागत गर्न बनेको संविधानले धर्म निरपेक्षतालाई स्थापित गरेकाले मुस्लिम समुदाय अधिकार सम्पन्न भएको र माओवादी रहँदासम्म मुस्लिम लगायत उत्पीडित समुदायले पाएको अधिकार कसैले खोस्न नसक्ने बताए ।

माओवादी आन्दोलनका कारण उत्पीडित उपेक्षित समुदाय बलियो भएकाले आफ्नो अधिकारलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने अवस्था बनाउन माओवादी पार्टीलाई बलियो बनाउनुपर्ने बताए ।

अन्य दलहरुलाई अहिले जनताले पाएको अधिकार बढी लागेको र कुनै न कुनै बहानामा खोस्न चाहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जनताको अधिकार विरुद्ध हुने कुनै पनि खाले षड्यन्त्रलाई विफल पार्न आफ्नो पार्टी जनताकै तागत लिएर अघि बढ्ने बताए ।

उनले सीमा क्षेत्रका समस्या लगेर सिंहदरबारमा घन्काउन जनतासँग माओवादी, तराई मधेस जागरण अभियान थालिएको जानकारी दिदै यो अभियानले दक्षिण नेपालका समस्या राष्ट्रिय समस्याको रुपमा अघि बढाउने बताए ।

हरिनगर ६ को मुस्लिम बस्तीमा भएको कार्यक्रममा मुस्लिम अगुवाहरुले अध्यक्ष प्रचण्ड समक्ष ज्ञापनपत्र बुझाएका थिए। उनीहरुले सीमा क्षेत्रका समस्या र मुस्लिम समुदायका आवाजप्रति गम्भीर हुन आग्रह गर्दै बेला–बेलामा हुने साम्प्रदायिक हिंसाप्रति राज्य संवेदनशील हुनुपर्ने बताएका थिए ।

बाँके निकुञ्जमा देखिन थाले पाटे बाघ

बाँके । बाँके राष्ट्रिय निकुञ्ज र कम्दी करिडोरका राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा राखिएका क्यामेरामा पाटे बाघ र चितुवा देखिएका छन् । निकुञ्जका करिब ७० स्थानमा लगाइएका एक सय ६९ र कम्दी करिडोरमा लगाइएका ९५ क्यामेरामा बाघ र चितुवाको आवतजावत भएको देखिएको हो ।

निकुञ्जका सूचना अधिकारी मन्दीप पङ्गेनीले करिब ८० दिनसम्म लगाइएको क्यामेरामा पाटे बाघ र चितुवा देखिएको भन्दै अहिले क्यामेरा निकालिएको बताए ।

“बाघ र आहार प्रजातिको अवस्था बुझ्न क्यामेरा लगाइएको थियो । अहिले यसलाई निकालेर विश्लेषण गर्न बाँकी छ”, उनले भने । पङ्गेनीले बाँके राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायत सङ्घसस्थाको संयुक्त प्राविधिक टोलीले एक महिनाभित्र विश्लेषणको काम सकेपछि वास्तविक तथ्याङ्क बाहिर आउने उल्लेख गरे ।

जिल्ला वन कार्यालयका प्रमुख शङ्करप्रसाद गुप्ताले कम्दी करिडोरको सामुदायिक तथा राष्ट्रिय वनमा दुई किलोमिटरको दूरीमा क्यामेरा जडान गरेर पाटे बाघ र चितुवाको अध्ययन भइरहेको जानकारी दिए । ती क्यामेरा करिडोरमा एक साता अघि लगाइएको थियो ।

उनले क्यामेरामा बाघ र चितुवा आवतजावत गरेको देखिएको उल्लेख गर्दै बाघ कुनकुन बाटोबाट हिड्छन् भन्ने जानकारी समेत प्राप्त भइरहेको बताए । वन प्रमुख गुप्ताले जडान गरिएका क्यामेरा १५ दिनसम्म कम्दी करिडोरमा रहने जानकारी दिँदै क्यामेराबाट बाघ र आहारा प्रजातिको वास्तविक तथ्याङ्क आउने बताए ।

“यसको विस्तृत तथ्याङ्क आएपछि प्राविधिक टोलीले विश्लोषण गर्नेछ र आगामी दिनका लागि योजना बनाइने छ”, उनले भने ।
यसअघि भएको गणनामा बाँके राष्ट्रिय निकुञ्जमा २५ बाघ रहेका पाइएको गुप्ताले जानकारी दिए । बाँके राष्ट्रिय निकुञ्ज विसं २०६७ मा स्थापना भएको थियो ।

११ किसिमका दुर्लभसहित ३४ किसिमका स्तनधारी, ५० किसिमका दुर्लभसहित तीन सय किसिमका पन्छी, दुई किसिमका दुर्लभसहित २४ घस्रने, पाँच किसिमका दुर्लभसहित ५५ बढी प्रजातिका माछा प्रजातिका जीवजन्तु यहाँ रहेका निकुञ्ज कार्यालयले जनाएको छ ।

स्वास्थ्य सेवा ऐनको मस्यौदा अन्तिम चरणमा छः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा ऐनको मस्यौदा अन्तिम चरणमा रहेको बताएका छन् । व्यवस्थित स्वास्थ्य नीति बनाएर अघि बढ्नुपर्ने उल्लेख गर्दै उनले समग्र स्वास्थ्य क्षेत्रलाई लिएर नीति बनाउने काम भइरहेको बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलमा बिहीबार २८औँ स्वास्थ्य सेवा दिवस २०८१ को अवसरमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले भने, ‘एकीकृत स्वास्थ्य सेवा ऐन नै ल्याउन खोजिएको हो । सबैलाई समेटेर लैजान खोजिरहेका छौँ । ऐनलाई सरोकारवासँग छलफल गरेर निष्कर्षमा पुर्याउनुपर्नेछ । स्वास्थ्य सेवाभित्रका जनशक्तिका सबै विषय ऐनभित्र समेट्ने प्रयास गरिरहेका छौँ ।’

मन्त्री पौडेलले सङ्घीयता भित्र रहेर स्वास्थ्य सेवा विस्तार गर्ने विषयमा काम गर्नुपर्ने बताए । उनले भने, “स्वास्थ्यकर्मी दबाबमा रहेर काम गर्न सक्दैनन् । काम गर्ने वातावरण निर्माण गर्नुपर्यो । जनशक्ति यहाँ बस्न चाहेका छैनन् । आवश्यक क्षमता अभिवृद्धि गर्ने वातावरण बनेको छैन ? व्यक्तिगत उन्नयनको परिस्थिति सहज बनाइनुपर्छ । यो पनि स्वास्थ्य सेवा ऐनमा समावेश गर्नुपर्छ ।”

स्वास्थ्य मन्त्रालयका पूर्वसचिव रोशन पोखरेलले स्वास्थ्य सेवालाई विशेष बनाउन छुट्टै स्वास्थ्य सेवा ऐन बनाउनुपर्ने प्रतिक्रिया दिए ।

उनले भने, ‘कर्मचारीलाई उत्प्रेरणा पनि आवश्यक छ । दरबन्दीको समस्या हल गर्नुपर्नेछ । सङ्घीयतामा स्वास्थ्य सेवालाई कहाँ राख्ने त्यो स्पष्ट हुनुपर्छ । स्वास्थ्य सेवालाई एकै ठाउँमा नल्याउने हो भने यसको नतिजा राम्रो आउन सक्दैन ।’

मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेलले अरु क्षेत्रका तुलनामा स्वास्थ्यका विभिन्न सूचकमा उल्लेखीय प्रगति हुनु सुखद् पक्ष भएको बताए ।

उनले भने, ‘विभिन्न चुनौतीका बिचमा पनि स्वास्थ्यका सूचकमा राम्रो सुधार देखिएको छ । यद्यपी अझै पनि दूरदराजमा स्वास्थ्य सेवा पुर्याउन सकिरहेका छैनौँ । स्वास्थ्यकर्मीमा उत्प्रेरणा जगाउन जरुरी छ । एकातिर जनशक्ति पुग्न नसकेको अवस्था छ भने अर्कोतिर जनशक्ति पलायन हुने चुनौती देखिएको छ ।’

नेपाल स्वास्थ्यकर्मी युनियनका अध्यक्ष उज्ज्वलकुमार शर्माले स्वास्थ्यकर्मीको दरबन्दी समाधान गर्न सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) आवश्यक रहेको बताए । उनले एकीकृत स्वास्थ्य सेवा ऐनमा सबै तहको कर्मचारीको सल्लाह लिएर बनाउनुपर्ने बताए ।

‘सर्वसुलभ स्वास्थ्य सेवाः निरोगी नेपाल हाम्रो प्रतिबद्धता’ नारासहित आज २८औँ स्वास्थ्य सेवा दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

पदबाट हटाउन मन्त्रालयलाई कुलमानको चुनौती

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई पदबाट हटाउने अधिकार मन्त्रालयलाई नभएको जवाफ दिएका छन् ।

उर्जा मन्त्रालयले सोधेको स्पष्टीकरणको जवाफ दिँदै घिसिङले आफूलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने अधिकार मन्त्रालयलाई नभएको जवाफ दिएका हुन् ।

उनले ऊर्जा मन्त्रालयलाई बुझाएको जवाफमा उनले आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै मन्त्रालयको कदमलाई कानूनी र न्यायिक सिद्धान्तको विपरीत भनेका छन् । उनले आफ्नो नियुक्ति मन्त्रिपरिषद्ले गरेको र मन्त्रालयसँग आफूलाई पदमुक्त गर्ने अधिकार नरहेको बताएका छन् ।

जवाफमा उनले भनेका  छन्, ‘म मन्त्रिपरिषद् बैठकबाट नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा १७ (१) बमोजिम ४ वर्षको लागि नियुक्त भएको हुँ र मलाई सेवाबाट हटाउने अधिकार नेपाल सरकारको कार्य सञ्चालन नियमावली र सम्बन्धित विनियमावली अनुसार छैन ।’

दुई दिनअघि मन्त्रालयले घिसिङलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । घिसिङमाथि सरकारको सहमतिबिना भारतबाट आयात गरेको विद्युतमा महसुल वृद्धि गरेको भन्दै स्पष्टीकरण सोधिएको हो ।

संसद मैले सोचेभन्दा फरक रहेछ

काठमाडौँ । राष्ट्रियसभाको सदस्य भएको एक वर्ष भयो । संसदमा पहिलो पटक प्रवेश गरेको हुँ । संसद मैले सोचेभन्दा फरक रहेछ । राष्ट्रियसभामा आउँदै गर्दा सबै समान होलान् भन्ने लागेको थियो, त्यसो रहेनछ । संसद्मा पनि त्यहि किसिमको विभेद हुँदो रहेछ । समान ढङ्गबाट नीति निर्माण भएको होला भन्ने लागेको थियो । राष्ट्रियसभामा प्रवेश गरेपछि थाहा भयो, यहाँ पनि दलितमाथिको विभेद् स्पष्ट रूपमा देखिन्छ । 

विसं २०७२ मा संविधान घोषणा भएपछि करिब तीन सय ४० वटा ऐन बनेका छन् । मौलिक हकको विषयमा १६ वटा ऐन बनेछन् । तर दलित समुदायको मौलिक हकको विषयमा एउटा पनि ऐन बनेको देखिँदैन । दलित समुदायबारे एकीकृत ऐन अहिले पनि बनेको छैन । अन्तरिम संविधानकालमा २०६८ सालमा जातीय भेदभाव तथा छुवाछूत (कसुर, सजाय) ऐन बनेको थियो । त्यो बाहेक संविधानको मौलिक हकमा व्यवस्था गरिए अनुसार दलितको लागि छुट्टै ऐन बनेको छैन । यसको बारेमा कुनैपनि राजनीतिक दलका प्रतिनिधि र सरकारको ध्यान पुगेको देखिएन । संविधान जारी भएपछि दलित समुदायबाट मन्त्री र राज्यमन्त्री बनेका छन् । तर कसैको पनि दलितसम्बन्धी कानुन बनाउनेतर्फ पर्याप्त ध्यान गएको छैन । 


अहिले संविधान संशोधनका बारेमा छलफल हुन थालेको छ । संविधान संशोधन गर्नुपर्छ तर दलित, महिला, आदिवासी जनजाति, मधेशी, उत्पीडित समुदायको पक्षमा संशोधन गर्नुपर्छ । संविधान संशोधनको नाममा उनीहरूको अधिकार कटौती गर्न पाइँदैन । संशोधन सबैको हित र आवश्यकताका आधारमा हुनुपर्छ । राजनीतिक दलको स्वार्थको निम्ति संशोधन गरिनु हुँदैन । 


राष्ट्रियसभालाई मात्रै समानुपातिक बनाउने तर प्रतिनिधिसभालाई समानुपातिक नबनाउने तरिकाले संशोधन हुँदैछ भन्ने पनि सुनिन्छ । अहिले दलित, महिला, आदिवासी जनजाति, मधेशी र उत्पीडित समुदायलाई धेरै अधिकार भयो भन्ने बहस पनि चलिरहेको छ । यो गलत व्याख्या हो । ती समुदायका लागि हाल संविधानमा केही अधिकारको व्यवस्था गरिएको छ तर त्यो पर्याप्त छैन । दलित समुदायले पाएका अधिकारलाई अझ थप गर्नुपर्छ । संविधान संशोधन पश्चगमन होइन, अग्रगमनका लागि हुनुपर्छ । 


संविधान जारी भएको करिब एक दशक भएको छ । यसको कार्यान्वयनलाई हेर्दा जति हुनुपर्ने हो त्यति हुन सकेको छैन । मौलिक हकअन्तर्गत कानुन बन्न सकेका छैनन् । उत्पीडित समुदायलाई सम्बोधन गर्नेगरी ऐनहरू बनेका छैनन् । सरकार र संसद् ऐन बनाउनेभन्दा पनि दलगत स्वार्थमा केन्द्रित हुनु दुर्भाग्य हो । 


प्रष्ट छ, ऐन नबनेसम्म संविधान कार्यान्वयन हुँदैन । निजामती सेवा ऐन, प्रहरी ऐन र सङ्घीय वित्तसम्बन्धी ऐनहरू बन्न सकेका छैनन् । संविधान पूर्ण रूपमा कार्यान्वयन नहुँदा मुलुकमा अराजक स्थिति उत्पन्न हुन्छ । त्यसैले संसद् र सरकारले यथाशीघ्र ऐन बनाउनतर्फ ध्यान दिनुपर्छ । 


अर्को, मुलुकमा भ्रष्टाचार व्याप्त छ । महङ्गी उत्तिकै छ । नेपाल युवा शक्ति भएको मुलुक हो । तर देशभित्रै रोजगारी नहुँदा दक्ष युवा विदेश पलायन हुनु परेको छ । सरकारले देशभित्र उद्योग कलकारखाना खोलेर विदेसिएका युवाका लागि नेपाल फर्कने वातावरण निर्माण गर्नुपर्छ । विडम्बना के छ भने भएका सरकारले त्यत्रो लगानी गरेर स्थापना गरेका उद्योग, कलकारखानाहरू पनि बन्द अवस्थामा छन् । त्यसलाई सञ्चालन गर्नेतर्फ सरकारको ध्यान जानुपर्छ । उत्पादन बढाउनुपर्छ । सरकारले पटकपटक नीति बनाउँछ । बजेटमा स्वरोजगारको कुरा आउँछ । तर कार्यान्वयन हुँदैन । गाउँ युवाविहीन हुँदैछ । 


सरकारले बजेटमा कृषि उत्पादनलाई प्राथमिकता दिएको हुन्छ । तर कार्यान्वयनको पाटो कमजोर छ । एक ठाउँका लागि बजेटको व्यवस्था गरिएको हुन्छ तर रातारात अर्काे ठाउँमा रकमान्तर हुन्छ । जनताको अवस्था परिवर्तन गर्नु मुख्य कुरा हो । जनतालाई रोजगारी दिनु मुख्य कुरा हो । हामीले व्यवस्था परिवर्तन गरेपनि जनताको अवस्था परिवर्तन गर्न सकेका छैनौँ । अब जनताको अवस्था परिवर्तन गर्नेतर्फ सरकारहरू लाग्नुपर्छ । जनताको अवस्था परिवर्तन हुँदै गएपछि विकासका काम त आफैँ हुँदै जान्छ । 


अबको मेरो योजना भनेको दलितसम्बन्धी एकीकृत कानुन निर्माणका लागि पहल गर्नेतर्फ हुन्छ । संविधानको धारा २५ र ५० अनुसार कानुन बनाउनेतर्फ मेरो ध्यान जानेछ । ती धाराको आधारमा ऐन बनाउनका लागि मेरो सक्रिय भूमिका हुनेछ । दलित समुदायलाई विशेष अधिकार दिनुपर्छ । राजनीतिक दलको सम्पत्ति सार्वजनिक गर्नुपर्छ । सुशासनको लागि राजनीतिक दलहरू पारदर्शी बन्नुपर्छ ।

सांसद विष्णुबहादुर विश्वकर्माको परिचय

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य विष्णुबहादुर विश्वकर्मा राष्ट्रियसभाको सदस्य हुन् । सानैदेखि जातीय भेदभाव तथा छुवाछूतको पीडा भोग्नुभएका विश्वकर्मा जान्ने भएदेखि दलित समुदायको अधिकारको निम्ति सङ्घर्ष गर्दै आएका छन् ।
 (विद्यार्थी जीवनदेखि नै राजनीति सुरु गरेका सांसद विश्वकर्मासँग सांसद हुँदाको अनुभव, सङ्घीय संसद्का गतिविधि, संविधान संशोधन, जातीय भेदभाव तथा छुवाछूत लगायतका विषयमा राससका समाचारदाता सुशील दर्नालले गरेको कुराकानीको सम्पादित अंशः

राष्ट्रपतिद्वारा ग्याल्पो लोसारको शुभारम्भ

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले शेर्पालगायत हिमाली, आदिवासी समुदायको नयाँ वर्ष श्यिङ मो डुल लो २१५२ ग्याल्पो ल्होसारको शुभारम्भ गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित एक कार्यक्रममा फेमार (शेर्पा परिकार) काटेर राष्ट्रपति पौडेलले ग्याल्पो ल्होसारको शुभारम्भ गरेका हुन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा ग्याल्पो ल्होसारजस्ता पर्वहरूले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न योगदान दिने विश्वास लिएको बताए । उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएको तथा यहाँ बसोबास गर्ने सबै जातजातिको आफ्नो भिन्न परम्परा, रीतिरिवाज र संस्कृति रहेको बताए ।

राष्ट्रपति पौडेलले भिन्न सांस्कृतिक विविधता बोकेको नेपालमा शेर्पा समुदायको आफ्नै र विशिष्ट पहिचान रहेको उल्लेख गर्दै शेर्पा तथा हिमाली आदिवासीले नेपालको हिमाली क्षेत्रको भाषा, धर्म, कला, संस्कृति र परम्पराको निरन्तरता, संरक्षण, सम्वर्धन तथा विकासमा आफ्नो पहिचान कायम राख्दै पर्यटन तथा आफ्नो व्यवसायमार्फत मुलुकलाई आर्थिक रूपमा सबल बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेको बताए ।

सो अवसरमा खेम्पो लामा आचार्यले ल्होसारका बारेमा जानकारी गराएका हुन् । कार्यक्रममा ल्होसारसम्बन्धी गित तथा स्याब्रु नृत्य प्रस्तुत गरिएको थियो ।

जापानमा डढेलो वस्तीमा प्रवेश गर्दा ८० भन्दाबढी भवनमा क्षति

टोकियो । उत्तरी जापानमा लागेको डढेलोका कारण ८० भन्दा बढी भवनमा क्षति पुगेको छ भने सयौं बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।

सार्वजनिक प्रसारक एनएचकेमा प्रशारण गरिएको फुटेजमा इवाते क्षेत्रको ओफुनातोको जङ्गली क्षेत्रमा आगोले धेरै घरहरू जलेको फ्रेममा परिणत भएको देखाइएको छ।

स्थानीय नगरपालिकाले दिएको जानकारीअनुसार नजिकैका करिब ६०० बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।

बिहीबार बिहानसम्म शहरका अधिकारीहरूले आगोबाट कम्तीमा ८४ वटा भवनमा क्षति पुगेको अनुमान गरेका छन् । सेल्फ डिफेन्स फोर्सेजले डढेलोलाई आकाशबाट निभाउने प्रयास गरिरहेको तर अझै नियन्त्रणमा लिन नसकिएको बताएको छ ।

ओफुनातोका मेयर कियोशी फुचिगामीले बुधबार साँझ भएको आगलागीलाई ’ठूलो परिमाणको’ भन्दै मोनाकोभन्दा तीन गुणा बढी ६०० हेक्टर (१,५०० एकड) जमिन जलेर नष्ट भएको बताएका छन् । आगलागीको कारण भने खुल्न नसकेको उनले बताए ।
सन् २०२३ फेब्रुअरीदेखि अप्रिलको अवधिमा जापानमा करिब एक हजार ३०० वटा बढी डढेलो लागेको थियो ।

फुचिगामीका अनुसार इवातेमा लागेको पछिल्लो डढेलोको अवस्थामा पश्चिमबाट आएको ‘तीव्र बतास’ले सोही क्षेत्रमा स–साना डढेलोको शृङ्खला फैलाउन मद्दत गरेको छ ।

उद्धार गरिएकी ४५ वर्षीया एक महिलाले एनएचकेसँग आफू कामबाट फर्किँदा आगो आफ्नो घरनजिक आइरहेको बताइन् । उनले भनिन्, “मेरा बच्चाहरू सुरक्षित छन् भन्ने जानकारी प्राप्त गरेपछि मलाई राहत महसुस भयो।”

उत्तर कोरियाले युक्रेन विरुद्धको युद्धलाई समर्थन गर्न रुसमा थप सेना पठाएको सियोलको दाबी

सियोल । दक्षिण कोरियाको जासुसी एजेन्सीले उत्तर कोरियाले रुस–युक्रेन मोर्चामा तैनाथ आफ्ना सैनिकहरूको ठूलो क्षति भएपछि रुसमा थप सेना पठाएको  बताएको छ ।

राष्ट्रिय गुप्तचर सेवा (एनआइएस) ले एक संक्षिप्त विज्ञप्तिमा उत्तर कोरियाले रुसमा कति सैनिक तैनाथ गरेको छ भनेर यकिन गर्ने प्रयास गरिरहेको बताएको छ ।

यस क्षेत्रबाट अस्थायी रूपमा फिर्ता भएको रिपोर्टपछि फेब्रुअरीको पहिलो हप्तामा उत्तर कोरियाली सेनालाई रुसको कुर्स्क क्षेत्रका मोर्चाहरूमा पुनः तैनाथ गरिएको एनआइएसले अनुमान गरेको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले फेब्रुअरी ७ मा एक सम्बोधनमा कुर्स्कमा नयाँ युक्रेनी आक्रमणको पुष्टि गरे र उत्तर कोरियाली सेनाहरू त्यहाँ रूसी सेनाका साथमा लडिरहेको बताए ।

अमेरिकी, दक्षिण कोरियाली र युक्रेनी गुप्तचर अधिकारीहरूका अनुसार उत्तर कोरियाले रूसलाई ठूलो मात्रामा परम्परागत हतियारहरू आपूर्ति गरिरहेको छ र गत शरदमा यसले रूसमा लगभग १० हजारदेखि १२ हजार सैनिक पठाएको थियो ।

उत्तर कोरियाली सैनिकहरू अत्यधिक अनुशासित र राम्ररी प्रशिक्षित छन् तर पर्यवेक्षकहरूका अनुसार उनीहरू युद्ध अनुभवको कमी र भूभागको अपरिचितताका कारण रूस–युक्रेन युद्ध क्षेत्रमा ड्रोन र तोपखाना आक्रमणका लागि सजिलो लक्ष्य बनेका छन् ।

जनवरीमा एनआइएसले करिब तीन सय उत्तर कोरियाली सैनिकको मृत्यु भएको र अन्य दुई हजार सात सय घाइते भएको बताएको थियो ।

जेलेन्स्कीले यसअघि उत्तर कोरियामा मारिएका वा घाइते भएका व्यक्तिको सङ्ख्या चार हजार रहेको बताएको थियो तर अमेरिकाको अनुमान अनुसार यो सङ्ख्या करिब एक हजार दुई सयभन्दा कम थियो ।

यसअघि बुधबार दक्षिण कोरियाको समाचार पत्र जोङआङ इल्बोले अज्ञात स्रोतलाई उद्धृत गर्दै जनवरीदेखि फेब्रुअरीसम्म कुर्स्कमा थप एक हजारदेखि तीन हजार उत्तर कोरियाली सैनिक तैनाथ गरिएको जनाएको थियो ।

रूसले उत्तर कोरियालाई उच्च–प्रविधिको हतियार प्रविधिहरू हस्तान्तरण गरेर पुरस्कृत गर्न सक्छ जसले यसको आणविक हतियार कार्यक्रमलाई तीव्र रूपमा बढाउन सक्छ भन्नेमा दक्षिण कोरिया, अमेरिका र उनीहरूका साझेदारहरू चिन्तित छन् । उत्तर कोरियाले रूसबाट आर्थिक र अन्य सहायता पनि प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

गत हप्ता साउदी अरबमा भएको वार्तामा रूस र अमेरिका युद्ध अन्त्य गर्ने र आफ्नो कूटनीतिक र आर्थिक सम्बन्धहरू सुधार गर्ने दिशामा काम सुरु गर्न सहमत भएका थिए ।

वार्तामा युक्रेनी अधिकारीहरू उपस्थित थिएनन् । त्यसले राष्ट्रपति डोनाल्ड ट्रम्पअन्तर्गत अमेरिकी विदेश नीतिमा असाधारण परिवर्तन र युक्रेनमा युद्धका कारण रूसलाई अलग–थलग पार्ने अमेरिका–नेतृत्वको प्रयासबाट स्पष्ट विचलनलाई देखाएको थियो ।

पर्यवेक्षकहरूका अनुसार उत्तर कोरियाली नेता किम जोङ उनले युद्ध समाप्त हुनुअघि थप रूसी सहायता प्राप्त गर्न रूसमा थप सैनिकहरू पठाउन सक्नेछन् ।

उत्तर कोरियाले एक अर्ब ५० करोड डलरको क्रिप्टोकरेन्सी चोरी गरेको एफबिआईको भनाइ

वासिङ्टन । अमेरिकी फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबिआई) ले उत्तर कोरियामाथि गत हप्ता एक अर्ब ५० करोड डलरको डिजिटल सम्पत्ति चोरी गरेको आरोप लगाएको छ । यो इतिहासमा सबैभन्दा ठूलो क्रिप्टो चोरी हो ।

“उत्तर कोरिया क्रिप्टोकरेन्सी एक्सचेन्ज, बाइबिटबाट लगभग एब अर्ब ५० करोड अमेरिकी डलर मूल्य बराबरको भर्चुअल सम्पत्ति चोरीको लागि जिम्मेवार थियो”, एफबिआईले एक सार्वजनिक सेवा घोषणामा भनेको छ ।

ब्युरोले लाजारस ग्रुप पनि भनिने ट्रेडरट्रेटर एक समूह चोरीको पछाडि रहेको बताएको छ ।

“उनीहरू दु्रत गतिमा अघि बढिरहेका छन् र चोरी गरिएको केही सम्पत्तिलाई बिटकोइन र अन्य भर्चुअल सम्पत्तिमा परिवर्तन गरिसकेका छन् जुन धेरै ब्लकचेनहरूमा हजारौँ ठेगानामा फैलिएका छन्”, ब्युरोले भनेको छ, “यी सम्पत्तिहरू थप रूपमा धुलाइ गरिने र अन्ततः फिएट मुद्रामा परिवर्तन गरिने अपेक्षा गरिएको छ ।”

उत्तर कोरियाली नेता किम जोङ उनको उपहास गर्ने फिल्म ‘द इन्टरभ्यु’ को बदलामा सोनी पिक्चर्समा ह्याकिङ गरेको आरोप लागेपछि लाजारस समूहले एक दशकअघि कुख्याति प्राप्त गरेको थियो ।

उत्तर कोरियाको साइबर–युद्ध कार्यक्रम कम्तीमा सन् १९९० को मध्यदेखि सुरु भएको हो।

सन् २०२० को अमेरिकी सैन्य प्रतिवेदन अनुसार, त्यसबेला देखि यो छ हजार जना सदस्य भएको साइबर–युद्ध एकाइ बनेको छ जसलाई ब्युरो १२१ भनिन्छ र यो धेरै देशबाट सञ्चालन हुन्छ । 

पढ्ने उमेरमै आमा बन्नुका पीडा

रामचन्द्र रायमाझी, पाल्पा । पाल्पाको  माथागढी गाउँपालिका बहादुरपुरकी यमिश्वर जर्घाको १५ वर्ष हुँदा प्रेम विवाह भयो । अहिले उनी २४ वर्षकी भइन्। उनको काखमा एक वर्षको छोरा छन् । विद्यालयमा कापी कलम लिएर पढ्न जाने समयमा जर्घा बच्चा स्याहार्दै घर व्यवहार चलाउँदै आएकी छिन्। कक्षा ५ मा पढ्दै गर्दा उनको विवाह भएको हो । हाँस्दै खेल्दै पढ्ने उमेरमा जर्घा एक सन्ताको आमा छिन्।

जिल्लाकै निस्दी गाउँपालिका मित्यालकी शान्ती सारुको १३ वर्ष हुँदा मागी विवाह भयो । अहिले उनी २२ वर्षकी भइन्। सारुका चार वर्षका छोरा छन् । उनलाई अहिले सानैमा विवाह भएकोमा पछुतो छ । उमेर नपुगी विवाह भएकाले उनले आफ्ना धेरै चाहनालाई मनभित्रै खुम्च्याउनु परेको छ ।

‘बिहे गर्दिन भन्न कहाँ पाइन्थ्यो र १ घरपरिवारको चाहनाअनुसार बिहे गर्नुपथ्र्यो, आफूलाई परेका हिंसा बारेमा पनि बोल्न सक्दिनथेँ । आफूसरहका धेरैजसो साथीको सानैमा विवाह भएको थियो । मेरो बालविवाह भएको अहिले बल्ल महशुस हुन्छ’, उनले भनिन्।

उनीजस्तै जिल्लाका धेरै किशोरी आमा बनेका छन् । तराईमा व्याप्त रहेको भनिने बालविवाह पहाडी क्षेत्रमा पनि कम छैन । पढ्ने उमेरका यी किशोरीको काखमा छोराछोरी, टाउकोमा सिन्दुर, गलामा पोते र हातमा राता चुराले भरिने गरेका छन् । अधिकांश बालिका विवाह गरेको एक/डेढ वर्षमै गर्भवती हुने गर्दछन् ।

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको तथ्याङ्कअनुसार जर्घा र सारुजस्तै पाल्पाका गर्भवती महिलामध्ये करिब १३ प्रतिशत बिहे गर्नका लागि नेपालको कानुनले तोकेको न्यूनतम् उमेर २० वर्षभन्दा कमका छन् । बितेका तीन आर्थिक वर्षमा कूल १३ हजार ९९८ गर्भवती महिलामध्ये एक हजार ७८१ जना २० वर्ष मुनिका अर्थात् १२ दशमलव ७२ प्रतिशत थिए ।

स्वास्थ्य कार्यालयका प्रमुख टुकप्रसाद पोखरेलका अनुसार स्वास्थ्य संस्थामा गर्भ जाँच गर्न जाने महिलाको उमेर हेर्दा यो अवस्था देखिएको हो । कति गर्भवती स्वास्थ्य संस्थामा नआएका हुनसक्ने भएकाले यो मात्रा बढ्न सक्ने पोखरेलले बताए।

विगत तीन आववर्षमा भएका गर्भवतीमध्ये उमेर नपुगेका निस्दी गाउँपालिकामा सबैभन्दा बढी अर्थात् २५ प्रतिशत थिए । तिनाउ गाउँपालिकामा २३, माथागढी गाउँपालिकामा २१, रैनादेवी छहरा गाउँपालिकामा १९, रामपुर नगरपालिकामा १५, रिब्दीकोट गाउँपालिकामा १४, पूर्वखोला गाउँपालिकामा १३, रम्भा गाउँपालिकामा ११, बगनासकाली गाउँपालिका र तानसेन नगरपालिकामा आठ प्रतिशत किशोरी आमा बनेका हुन् ।

बालविवाहका कार्यक्रम असफल

यहाँका स्थानीय तहले बालबालिकाका क्षेत्रमा कार्यक्रम तय गरेका त छन् तर ती सबै असफलजस्तै भएका छन् । आप्mनो पालिकालाई ‘बालमैत्री’ घोषणा गर्ने होडबाजीमा उनीहरु छन् । बालबालिकाका नाममा यहाँका पाँचवटा पालिकाले तीन करोड आठ लाख रुपैयाँभन्दा बढी बजेटसमेत खर्च गरेका छन् तर उपलब्धी भने शून्य जस्तै छ ।

२०७७ साल चैतमा लुम्बिनी प्रदेशमै पहिलो ‘बालमैत्री’ गाउँपालिका घोषणा गरेको बगनासकाली गाउँपालिकाले अहिलेसम्म ‘बालमैत्री’ कार्यक्रमका लागि एक करोड १९ लाख ५० हजार रुपैयाँ बजेट खर्च गरिसकेको भए पनि यहाँ बालविवाह रोकिएको छैन ।

यस्तै, रम्भा गाउँपालिकाले आप्mनो पालिकालाई २०७८ पुसमा बालमैत्री गाउँपालिका घोषणा गरेको थियो । यहाँ यससम्बन्धी कार्यक्रमका लागि अहिलेसम्म ५६ लाख ५० हजार रुपैयाँ रकम खर्च भएको छ । गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बालविवाह हुने दर घटाउन सफल भएको दाबी गरे पनि यहाँ अझै पनि लुकीछिपी बालविवाह भइरहेका छन् ।

सबैभन्दा बढी किशोरी आमा बनेको निस्दी गाउँपालिकाले २०७९ भदौदेखि सातवटै वडामा विभिन्न बालमैत्री कार्यक्रम चलाएको छ । त्यसका लागि अहिलेसम्म रु ८७ लाख रकम खर्चिसकेको छ । बालविवाह केही मात्रामा घटे पनि रोकिएको छैन । ‘हामीले जुन अठोट गरेका थियौँ त्यसको प्रतिफल प्राप्त भएको छ,’ गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले भन्नुुभयो । उहाँका अनुसार अघिल्लो आविमा पालिकाकाबाट बालविवाह गर्ने सात जोडीलाई फिर्ता गरिएको थियो । यहाँ मागीभन्दा भागी विवाह बढी गर्ने प्रचलन छ ।

रामपुर नगरपालिकालाई २०८३ मंसिरभित्र बालमैत्री घोषणा गर्ने तयारी छ । यससँग सम्बन्धित कार्यक्रमका लागि पालिकाले अहिलेसम्ममा २५ लाख रुपैयाँ रकम खर्च गरिसकेको छ । माथागढी गाउँपालिकामा बालविवाह चुनौतीको रुपमा रहेको छ । यहाँ पनि सानै उमेरमा छोरीलाई अर्काको घरमा पठाइदिने परम्पराले गर्दा यसो भएको हो । तिनाउ गाउँपालिकामा पनि बालविवाह पहिलेदेखि नै हुँदै आएको देखिन्छ । पालिकाले आगामी २०८३ सालभित्र बालमैत्री पालिका घोषणा गर्ने गरी कार्यक्रम अगाडि बढाएको छ । तानसेन नगरपालिकाले पनि बालबालिकाको क्षेत्रमा लाखौँ रकम खर्च गरे पनि बालविवाह रोक्न सकेको छैन ।

यहाँका ग्रामीण क्षेत्रमा अझैपनि बालविवाह कायमै छ । रैनादेवी छहरा गाउँपालिकाभित्र पनि बालविवाह हुने गरेको छ । यहाँ जनजाति, दलित, ब्राह्मण, क्षेत्रीको बसोबास छ । जनजाति, दलित समुदायभित्र करीब ४० प्रतिशत उमेर नपुग्दै विवाह बन्धनमा बाँधिने गरेको गाउँपालिकाले जनाएको छ । बालविवाह अन्त्यगर्नका लागि रिब्दीकोट गाउँपालिकाले खासै चासो देखाएको छैन । पूर्वखोला गाउँपालिकामा बालविवाहको अवस्था अत्यन्त चुनौतिपूर्ण रहे पनि त्यसलाई घटाउन सकिएको छैन । पालिका अध्यक्ष नुनबहादुर थापाले विगतदेखि नै बालविवाहले जरा गाडेकाले त्यसलाई घटाउन चुनौती रहेको बताए। यहाँ बसोवास गर्ने करिव ८० प्रतिशत मगर समुदायमा छिटै विवाह गर्ने परम्परा हट्न नसक्दा बालविवाह न्यूनीकरणमा अप्ठ्यारो परेको अध्यक्ष थापा स्वीकार्छन्।

परिपक्व नहुँदै विवाह गरेका किशोरकिशोरीको जीवन कष्टकर बन्न थालेको छ । निस्दीको सरस्वती माविका प्रधानाध्यापक प्रदीप अर्यालले समाजले कम उमेरमा हुने विवाहलाई सहजै मान्यता दिँदा समस्या भइरहेको बताउँछन्। ‘किशोरीले विवाहको जिम्मेवारी बोकेर कसरी पढ्न सक्छन्, पढाइ निरन्तर नुहँदा बीचैमा छोड्छन्, विवाहबाटै उनीहरुको जीवन बर्बाद हुन्छ’, उनी भन्छन्, ‘नियमित विद्यालयमा हुने कार्यक्रममा बालविवाहविरुद्ध भएको व्यवस्थाबारे जानकारी दिन्छौँ, तर रोक्न सकिएको छैन ।”

बालविवाह कानुनीरूपमा अपराध भएकाले सरकारी र गैरसकारी तवरबाट जनचेतना जगाउने विभिन्न कार्यक्रम गरिए पनि रोक्न सकिएको छैन । अधिवक्ता शिवप्रसाद देवकोटा जिल्लामा आउने अधिकांश मुद्दामा बालविवाह पनि रहेको बताउँछन्। उनले बालबालिकामा स्वास्थ्य समस्या, मानसिक समस्या, आर्थिक समस्या निम्तिने भएकाले यसलाई रोक्नु सबैको दायित्व भएको बताए। बालविवाह र कलिलैमा गर्भवती हुने समस्या अन्त्य गनुपर्नेमा उनको जोड छ ।

कम उमेरमा विवाह गर्दा पुण्य प्राप्त हुन्छ भन्ने अन्धविश्वास, गरिबी तथा विभेद, कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्नुजस्ता कारण बालविवाह हुने गरेको छ । बालविवाहका कारण शारीरिक, मानसिक रोगको शिकार, घरेलु हिंसा तथा विभेदमा वृद्धि, कम उमेरमा बच्चा जन्माउँदा आमा र शिशु दुवैको मृत्यु हुने खतरा, विवाहपछि पढाइ बिग्रनेजस्ता समस्या देखिएको छ । बालविवाह परम्परागत संस्कृति र जातीय व्यवस्थासँगै जोडिएको विषय भएकाले त्यस्ता कुसंस्कार र जातीय व्यवस्थालाई बदल्ने, छोरीको सशक्तीकरण गर्ने, समुदायसँग नजिक स्थानीय सरकार रहन्छ, उसले बालविवाहविरुद्ध अभियान सञ्चालन गर्ने, बालविवाह गर्ने गराउनेलाई सामाजिक बहिष्कार गर्नुपर्ने आवाज उठ्न थालेको छ । 

काठमाडौं महानगरपालिकाले दुई दिने शैक्षिक मेला आयोजना गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फागुन १६ र १७ गते शैक्षिक मेला आयोजना गर्ने भएको छ । महानगरले दुई दिन राष्ट्रियसभा गृह परिसरमा ‘काठमाडौँ शैक्षिक मेला’ आयोजना गर्न लागेको छ ।

विद्यालय शिक्षालाई बैज्ञानिक र व्यवहारिक तथा विद्यार्थीको रुचि र अभिभावकहरुको चाहनाअनुरुप सञ्चालन गर्नका लागि सामुदायिक विद्यालयबाट विभिन्न कार्यक्रममार्फत प्रयास थालिएको महानगरले जनाएको छ ।

यसरी थालिएका कार्यक्रमहरुबाट विद्यार्थीहरुमा परेको प्रभाव, यसबाट उनीहरुले सिकेका ज्ञान र सिपहरुको प्रस्तुति तथा प्रदर्शनीका लागि मेला आयोजना गर्न लागिएको हो ।

कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा सहभागी विद्यालय र संघसंस्थाहरुसँग सहकार्य हुनेछ । विद्यालय शिक्षाको नवप्रवर्तन तथा स्तरोन्नतिका लागि मेलाले कोशेढुङ्गा स्थापित गर्ने, आगामी कार्यक्रमका लागि आयामिक पृष्ठपोषण प्रदान गर्ने अपेक्षा लिइएको छ । महानगरपालिकाले शैक्षिक गुणस्तर सुधारसँगै बालबालिकाको शैक्षिक, शारीरिक, मानसिक, चारित्रिक विकास, विद्यालयको पूर्वाधार, शिक्षकहरुको क्षमता विकासलगायतका कार्यक्रमको बिम्ब मेलामा समेटिनेछन् ।

मेला आयोजनाका लागि महानगरपालिकाको सहरी योजना आयोग, शिक्षा विभाग, स्रोत शिक्षक, प्रधानाध्यापक र शिक्षकहरुले सहजीकरण गर्नेछन् । प्रदर्शनी तथा प्रस्तुतिमा विद्यार्थीहरुले नविनतम सिकाइ गतिविधि प्रदर्शन गर्नेछन् । बुक फ्री फ्राइडेअन्तर्गतका ३५ वटा शैक्षिक उपसमूहका स्टलमार्फत रुचि र नतिजा प्रदर्शन गर्नेछन् ।

शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा स्वदेशी एवं विदेशी पाहुनाकालाई अवलोकनका लागि निमन्त्रणा गरिएको मेलामा सामुदायिक विद्यालयहरुले दिवा खाजाका रुपमा ३० रुपैयाँमा उपलब्ध गराउने खाजा १० वटा स्टलबाट सबैलाई ३० रुपैयाँमा नै उपलब्ध गराइनेछ ।

यस्तै नेपाल भाषा, मौलिक संस्कृति, भेषभूषा झल्काउने प्रदर्शनी, मौलिक बादन तथा गायन प्रस्तुति समावेश गरिनेछ । विद्यार्थी नमूना संसद अभ्यास, विद्यालय शिक्षा सुधारसम्बन्धी छलफल, बुक फ्री फ्राइडेको बावा उपसमूहअन्तर्गत मरुहिटी पानीको गुण जाँच तथा प्रविधिमार्फत सिकाइको प्रदर्शनी, विद्यार्थीका अनुभूति कोरिएका १ हजार बढी स्केचिङ र स्कल्प्चरको नमूना प्रदर्शनी, टिचर कलेज प्रोग्रामसम्बन्धी गतिविधि तथा नतिजा सुधारका असल अभ्यासको आदानप्रदान, महानगरपालिकाका शैक्षिक गतिविधिको जानकारीका लागि सूचना केन्द्र मेलाका आकर्षण हुन् । कार्यक्रमका ३ चरणमध्ये फेस्ट पहिलो चरणको कार्यक्रम हो ।

दोस्रो चरणमा चालु शैक्षिक सत्रको अन्तिम बुक फ्री फ्राइडेका दिन (२०८१ फागुन २३ गते) साझेदार र सरोकारवालाले आफू नजिकको सामुदायिक विद्यालयका कार्यक्रम अवलोकन गराउने योजना बनाइएको छ । तेस्रो चरणमा शैक्षिक क्रियाकलापका नविनतम आयामका विषयमा पृष्ठपोषण लिन गोलमेच अन्तक्र्रिया आयोजना गरिनेछ ।

महानगरपालिकाभित्र ८७ वटा सामुदायिक विद्यालयमा ६१ हजार ३२९ जना विद्यार्थी र ५२४ वटा संस्थागत विद्यालयमा २ लाख १० हजार ९३४ जना गरी २ लाख ७२ हजार २६३ जना विद्यार्थी अध्ययनरत छन् ।

विद्यालय शिक्षाको विकास, स्तरोन्नति र गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले महानगरपालिकाले अहिले अनुसन्धानमा आधारित लगानी बढाएको छ ।

जसबाट प्रारम्भिक बाल विकास सुधार, पूर्वाधार विस्तार, शिक्षक क्षमता अभिवृद्धि, शैक्षिक सामग्रीको उपलब्धता र उपयोगिता अभिवृद्धि, शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोग, बुक फ्री फ्राइडे (एकीकृत सिकाइ, सिर्जनात्मक सिकाइ र शिक्षामा सिप), टिचर कलेज प्रोग्राम, नतिजा सुधार कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।

विद्यालयको पूर्वाधार र शैक्षिक वातावरणका लागि बहुवर्षे कार्यक्रमअन्तर्गत महानगर गौरव योजनामा ‘गरी खाने शिक्षा, महानगरपालिकाको इच्छा’ कार्यक्रम कार्यान्वयनमा छ ।

यस्तै, नियमित र प्राथमिकतामा राखिएको महानगर स्वर्णिम योजनाअन्तर्गत ‘सुन्दर विद्यालय परियोजना’ र ‘रचनात्मक विद्यालय’ कार्यान्वयनमा ल्याइएका छन् । यसरी सञ्चालन गरिएका कार्यक्रमबाट सैद्धान्तिक शैक्षिक कार्यक्रमलाई प्रयोगात्मक र व्यवहारिक बनाएर समय सापेक्ष र उत्तरदायी नागरिक उत्पादनमा योगदान गर्ने महानगरपालिकाको लक्ष्य रहेको छ ।

मानवीय सुखका लागि प्रयोग गर्नुपर्ने प्रविधिको दुरुपयोग भयोः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मर्यादाहरु ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने र परिवारकै बीचमा पनि अविश्वास पैदा गर्ने जस्ता कामहरु नियन्त्रण गरिने बताएका छन् ।

महान्यायाधिवक्ताको कार्यालयद्वारा बिहीबार आयोजित डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मानवीय सुख र समृद्धिका लागि डिजिटल प्रविधिको प्रयोग हुनुपर्ने भएकाले अधिकारको प्रयोगका नाममा समाजलाई विकृत बनाउने छाडातन्त्रलाई रोक्न कानुन ल्याएको बताए ।

उनले सरकारले सामाजिक सञ्जाल प्रयोगको अधिकारमा तलमाथि हुने गरी कुनै कानुन नबनाउने स्पष्ट गर्दै कार्यान्वयनको दश वर्ष पुगेको अवस्थामा संविधानको समीक्षा गर्दै आवश्यक संशोधन गरिने बताए ।

डिजिटल युगमा कुनै मुलुकको एक्लो प्रयासले अपराध नियन्त्रण प्रभावकारी नहुने भएकाले यसमा अन्तर्राष्ट्रिय सहयोग आदानप्रदान आवश्यक हुनेमा जोड दिँदै प्रधानमन्त्री ओलीले डिजिटल प्रविधिकोे प्रयोग गरेर वा नगरेर अपराध हुन सक्ने र यसको अनुसन्धानका लागि विद्युतीय प्रविधि प्रयोगको सुविधाले अपराध नियन्त्रणमा अन्तर्राष्ट्रिय सहयोग आदान–प्रदान सहज हुने बताए ।

प्रधानमन्त्री ओलीले विज्ञान र प्रविधिले मानिसलाई सहज र सरल बनाइ सुख सुविधा दिने भएकाले यसको दुरुपयोगका कारण सभ्य समाजका लागि अपराध नियन्त्रण चुनौतीपूर्ण बनेको उल्लेख गर्दै लोकतन्त्रमा सबै मानव जातिले सुविधा पाउनुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको बताए ।

‘बिसौँ शताब्दीले नयाँनयाँ आविष्कार दिएको छ । तर त्यसको दुरुपयोग पनि भएको छ । अपराधका क्षेत्रमा सङ्गठित प्रयास भएका छन् । हामीले एआइ र डिजिटल प्रविधिको प्रयोग गरेर अपराध हुन नपाउने परिस्थिति निर्माण गर्नुपर्छ र अपराध भइहालेमा वस्तुनिष्ठ अनुसन्धान गरेर निष्पक्ष न्याय निरुपण गर्न सक्नुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘अहिले डिजिटल प्रविधिको सदुपयोग मात्र भइरहेको छैन । दुरुपयोग र अपराध कर्म पनि भइरहेको छ । अपराध रोक्न र प्रभावकारी न्याय दिन यस्ता सम्मेलनले भूमिका खेल्नेछन् भन्ने मैले विश्वास लिएको छु ।’

प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय गन्तव्य प्राप्ति गर्न सुशासन प्राप्ति तथा जनताको सामाजिक र आर्थिक अधिकारको प्रयोग आवश्यक पर्ने तर यी कुनै पनि अधिकारको दुरुपयोग हुन नहुने उल्लेख गर्दै भने, ‘विकास भएको छ तर अहिले भएको विकासबाट हामी सन्तुष्ट छैनौँ । कुनै पनि बेथितिबाट हामी सुशासन र समृद्धि प्राप्त गर्न सक्दैनौँ । जनतालाई हरेक हिसाबले जैविक र आधारभूत अधिकार सम्पन्न बनाउन हामी अझ अगाडि बढ्न चाहन्छौँ । हामी पूर्ण लोकतन्त्र चाहन्छौँ । हाम्रा सबै सामाजिक प्रबन्धले मानवीय सुख र सहज आपूर्तिको परिपाटी बसाउनुपर्छ । देशलाई पछ्यौटेपनबाट अगाडि बनाउने प्रयासलाई हामी सफल बनाएर छाड्ने छौँ ।’

महान्यायाधिवक्ता रमेश बडालले आपराधिक घटनामध्ये डिजिटल प्रयोगबाट अपराध हुने क्रम बढ्दो रहेको र सामाजिक सञ्जाल दुरुपयोगका साथै डिजिटल ठगी, वित्तीय अपराध तथा डाटा सुरक्षा चुनौतीपूर्ण भएको बताए ।

हेटौंडामा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

हेटौंडा । हेटौँडा उपमहानगरपालिका–६ सल्लाघारी नजिक मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ६१ वर्षीय कमलबहादुर बोहराको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका वृद्धको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रामनगरबाट हात्तीलेटतर्फ जाँदै गरेको ना५४प १८७६ नंको मोटरसाइकलले बुधबार साँझ पैदलयात्री बोहरालाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका बोहराको हेटौँडा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा लगिएको थियो । उहाँको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनापछि मोटरसाइकल चालक विदुर सापकोटा फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय चौघडाले जनाएको छ ।

त्रिभुवन विमानस्थलबाट सुनसहित चार विदेशी पक्राउ

काठमाडौँ । त्रिभुवन विभानस्थलबाट ३ किलो ७४५ ग्राम  सुनसहित चार जना पक्राउ परेका छन् । उज्वेकिस्तानका चार जना नागरिक भन्सारबाट जाँचपास सकेर बाहिर निस्कने क्रममा बुधबार सुनसहित पक्राउ परेका हुन् ।

उनीहरुले मलद्वारामा लुकाएर सुन ल्याएको पाइएको थियो । दुबईबाट काठमाडौं आएको दुबई एफजेएड उडानबाट नेपाल आएका उनीहरुमध्ये तीन जना महिला र एक पुरुष रहेका वरिष्ठ प्रहरी उपरीक्षक सोमेन्द्र राठौरले जानकारी दिए ।

मुक्तिक्षेत्रमा मानवनिर्मित विशाल शालग्राम

मुस्ताङ जिल्ला वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गत रहेको चर्चित पर्यटकीयस्थल सेल्फी पार्कमा रहेको विशाल शालग्राम । मुक्तिनाथ दर्शन गर्न जाँदा कागबेनी गाउँ नजिकैको सडक छेवैमा रहेको यो शालग्राम पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको लागि आकर्षणको केन्द्र बन्दै गएको छ ।

तस्बिरः सुशीलबाबु थकाली/रासस

आर्सनल र नोटम फरेस्ट बराबरीमा

काठमाडौं । इङ्लिस प्रिमियर लिगको अंकतालिकाको दोस्रो र तेस्रो स्थानमा रहेका आर्सनल र नोटम फरेस्ट बराबरीमा रोकिएका छन् ।

गएराति भएको खेलमा दुई टोलीले गोलरहीत बराबरी खेलेका हुन् । २७ खेलमा ५४ अंक बटुलेको आर्सनल दोस्रो स्थानमा छ भने समान खेलबाट ४८ अंकका साथ नोटम फरेस्ट तेस्रो स्थानमा छ ।

शीर्ष स्थानको लिभरपुलले भने आर्सनलसँग १३ अंकको अग्रता कायम गरेको छ । उता अंकतालिकाको तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले १३औँ स्थानको टोटनहामलाई १–० ले पराजित गर्यो । खेलको १२औँ मिनेटमा अर्लिङ हल्यान्डले गरेको गोल निर्णायक बन्दा म्यानचेस्टर सिटी विजयी भएको हो ।

उता ब्रेनफोर्ड र एभर्टनबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ । ब्रेनफोर्डका लागि पहिलो हाफको इन्जुरी समयमा योने विजाले गोल गरे भने ७७औँ मिनेटमा एभर्टनका जाके ओब्रेइनले बराबरी गोल फर्काए ।

पार्टी अभियानले दक्षिण नेपालका समस्यालाई राष्ट्रिय मुद्दाको रुपमा स्थापित गर्ने छ: अध्यक्ष प्रचण्ड

सुनसरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले अघि बढाएको जनतासँग माओवादी, तराई मधेस जागरण अभियानले देशको दक्षिण क्षेत्रमा बस्ने जनताका समस्यालाई राष्ट्रिय मुद्दाको रुपमा स्थापित गर्ने बताएका छन् ।
जनतासँग माओवादी, हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानअन्तर्गत बिहीबार सुनसरीको बर्जुमा आयोजित स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन प्रचण्डले यस्तो बताएका हुन् ।

राज्यले दक्षिण भेगमा बस्दै आएका नागरिकमाथि वर्षौंदेखि विभेद गरिरहेकाले यसको विरुद्ध संघर्षको झण्डा उठाउन अभियान थालिएको उनले बताए । जति दक्षिणतिर पुग्यो उति नै विभेद र अभाव धेरै पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भौतिक पूर्वाधारको विकासका लागि राज्यको ध्यानाकर्षण गराउन, पार्टीको तर्फबाट गर्न सकिने कामको पहल लिन र मानवीय विकास तथा सचेतनाका लागि पनि यो अभियान फलदायी हुने उनले विश्वास व्यक्त गरे ।

पार्टीले उत्पीडित वर्गको पक्षमागरेको बलिदानीपूर्ण आन्दोलनबाट धेरै अधिकार प्राप्त भए पनि त्यसको कार्यान्वयनमा गति नआएको, आफ्नो पार्टीको नेतृत्वमा रहेको सरकारले जनताको पक्षमा थालेको काममा अवरोध गर्न सरकार नै बदलिएको र अहिलेको सरकारले भ्रष्ट, दलाल र विचौलियाको सेवा गर्नुबाहेक जनताको पक्षमा अरु कुनै काम नगरेकाले जनतालाई सचेत बनाउँदै आफ्नो खबरदारी र जागरणमा अघि बढेको उनले स्पष्ट पारे ।

आफूले सरकारको नेतृत्व गर्दा धेरै मेहनत गरेर रासायनिक मलको आपूर्ति सहज गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले फेरि समस्या देखिन थालेको बताए । आफूले धेरै नै मेहनत गरेर विद्यालय शिक्षा विधेयक संसदमा पुर्याइएको उल्लेख गर्दै उनले यसलाई पारित गरेर शैक्षिक क्षेत्र सुधारमा पूरै जोड दिनुपर्ने बताए । कार्यक्रममा सुनसरीका स्थापित कृषि व्यवसायी राधाकृष्ण राई माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

किन हुँदैछ नेपालमा चर्को घृणाको खेती ?

-डा. युवराज संग्रौला ।

२००७ सालदेखि आजसम्म देशको राजनीतिले ‘देवत्वकरण र घृणा’ को खेती गर्न मात्र जानेछ । बिपी कोइरालालाई पञ्चायतकाविरुद्ध कांग्रेसले ‘महामानव’ बनाए, ताकी संसारकै उनी पालक थिए जसरी । बिपीको प्रजातान्त्रिक समाजवादी नेताको रुपमा परिचय बनेको भए, सायद उनलाई सबै नेपालीले उत्तिकै मान्थे होला । राजाहरुको त कुरै छोडौं एक पेजको त स्तुति नै हुन्छ । पञ्चायतीकालमा त ठूलो फर्सी पनि राजाकै कारणले फलेको हो भनी मान्नु पथ्र्यो । फेरि आयो, बहुदलीय व्यवस्था । तब मदन भण्डारीलाई जननेतादेखि के मात्र पदवी हालिएन, अनि प्रचण्डको त कुरै छोडौं । माधवजी पनि आफू सबै भन्दा उत्तम नेता ठान्छन् । यी सबैले गरेका कामहरूको कसैले सम्झना गर्छ ? गर्दैन । राजावादी बिपीको गाउँबाट विकास शहर आउनुपर्छ भन्ने मान्यताको कहिल्यै कुरा गर्छन र ? राजा महेन्द्रले नेपाललाई संयुक्त राष्ट्रसंघको सदस्य बनाएर नेपाललाई अजिंगरको मुखबाट बचाएकै हो तर कांग्रेर र कम्युनिस्ट कहिल्यै उनको प्रशंसामा बोल्छन् र ? मदन भण्डारीले वाम राजनीतिलाई संसंदीय समाजवादको बाटोमा मुखरीत गरेको कोही याद गर्छ र ? अहिले त फेरि अर्को चमत्कारीक ‘देवत्व र घृणा’ को युग चलिरहेको छ ।

. नेपाली समाजको परिवर्तनमा मौलिकता कहिले पनि आएनछ ! समाजको परिवर्तनमा केही पुरानो विलय भएर केही नयाँ उत्पत्ति हुन्छ । यही क्रममा समाजको समकालीन चेतनाको निर्माण हुन्छ, जो आममानिसको समकालीन मनोविज्ञानका रुपमा रहन्छ । तर नेपालमा त सबै कुरा अन्यत्रबाट टिपि एको रहेछ। न्याय प्रणाली अर्कैको, अर्थशास्त्र अर्कैको, राजनीतिक शास्त्र अर्कैको, प्रबिधि अर्कैको र अब त सोच पनि अर्कैको। सायद यो देवत्व र घृणाको संस्कृति पनि यही अरुको चोर्ने आदतकै फल हो ।

२. नेपालमा राजनीतिमा नयाँधारको विकास पुराना दलको सेवाको परिणाममुखी प्रक्षेपण (डेलिभरी)को असफलताले खोजेको थियो । तर यसमा त कसैको बिमर्श सम्म भएन। तर जब अन्ना हजारेलाई दोहन गर्दै, जे मन लाग्यो त्यही बोल्ने, कटुतालाई राजनीतिको रणनीति बनाउने र साइबर प्रचारको दुरुपयोगबाट राजनीतिमा केजरीवालमार्का जन्मियो र पश्चिमी प्रचारले विकल्पका रुपमा सिनेमादेखि चमत्कारका कथासम्म लेखेर भारतीयलाई दियो, तब नेपालमा पनि विकल्पको अभियान जन्मियो । टेलिभिजनमा गाली गलौज र प्रहारबाट लामिछाने जन्मिए । केजरीवाल र लामिछानेले राजनीतिमा हरेक शक्तिको निर्माण समाजका तत्कालीन अन्तरविरोध, गतिशक्ति, प्राथमिक आर्थिक वर्गको पहिचान, राष्ट्रको भुराजनीती र अन्तर्राष्ट्रिय परिस्थिति समेतको आलोकमा बनेको विचारमा खडा हुन्छ भन्ने मान्यतालाई इन्कार गरे र ‘सस्तो लोकपृयता र कस्मेटिक व्यक्तित्व स्वरुप’ राजनीतिको आधार हो भन्ने मान्यता स्थापित गरे, र असफल पनि भए ।

३. वर्तमान शताब्दीको दोस्रो र तेस्रो शताब्दीको राजनीतिमा पश्चिमले आन्तरिक सूक्ष्म व्यवस्थापनलाई नै रेजीम वा सत्ता परिवर्तनको एउटा रणनीति बनायो र यस्को सबैभन्दा प्रखर प्रकट जेलेन्स्कीबाट उदय गराएर गर्यो । ट्रम्पले अहिले यो बोलिदिए । जेलेन्स्की ‘पोल्यान्डमा लेख वालेन्सा र रसियामा बोरीस एल्सिन’को निर्माणको असफलताको पाठ थियो । कस्मेटिक व्यक्तित्व विचारहीन हुन्छ र उसको प्रयोग पपेटको रुपमा हुन सक्ने रहेछ। पपेटहरुको निर्माण शक्तिशाली राष्ट्रले आफ्नो स्वार्थका लागि गर्ने रहेछ । यो कुरा अब ‘५०० बिलियन डलरको’ रेयरअर्थ’ खनिजको लागि जेलन्स्कीको बीउ २०१४ को मैदान आन्दोलनबाट भएको रहेछ भन्ने अहिले खुल्यो । नेपालमा पनि यो प्रयोग हुन सक्छ किनभने नेपालमा युरेनियमको प्रचुर भण्डार छ।

४. जेलेन्स्की पूर्वयुक्रेनमा तीन विशेषता प्रकट थिए । भ्रष्टाचार, राजनीतिक कुसंस्कार र समाजमा जताततै घृणाको खेती । मैदान विद्रोहको पृष्ठभुमि थियो, यो । यो खेलमा स्थापित राजनीतिको विचार उन्मूलन पहिला गरिन्छ । राजनीतिक दलमा विदेशीहरुले प्रशिक्षण गर्दछन्, जुन नेपालमा पनि व्यापक भयो। यिनै प्रशिक्षणद्वारा ती राजनीतिक शक्तिको विचार सिध्याइन्छ र तब तिनै राजनीति शक्तिप्रति घृणा निर्माणको मार्ग निर्माण हुन्छ । अहिले नेपालमा त्यही हुँदैछ। तब कस्मेटिक व्यक्तिको निर्माण शुरु गरिन्छ, नेपालमा मधेसबाट एकजना निर्माण गर्ने प्रयास भयो र अर्बौं खर्च भयो तर संभव भएन ।

५. अहिले नेपालमा चर्को घृणाको खेती हुँदैछ । यो खेतीमा रसियामा बोरीस यल्सिन जस्तै पहिलाको शासनमा मोज गर्नेको संख्या बढी थियो । नेपालमा पनि बहुदल छिरेर ३० वर्ष सत्ताको वरिपरी रहनेहरु अहिले घृणाको खेतीमा व्यस्त छन् । यिनीहरु कोही कांग्रेस, एमाले र माओवादी बनेर मेयर, संसद, र मन्त्री भए । आज उनीहरु वर्तमान व्यवस्था असफल हुन आफूबाहेकका मात्र जिम्मेवार छन् भन्दै घृणाको खेती गर्दैछन् ।

नेपालको राजनीतिक परिवर्तनमा २००७ सालदेखि राजनीति आन्दोलनमा सरिक कांग्रेस, कम्युनिष्ट, र २०४७ देखि संलग्न राप्रपा अनि २०६३ देखि बहुदलमा पसेको माओवादी कुनै शक्तिसँग अहिले बिचारको अर्थ र महत्व छैन । मात्र सत्ताको खेल छ । त्यही कारणले नेतृत्वमा पितृत्व र देवत्व मात्र छ। यी विचार स्खलित शक्तिहरु राजनीतिक परिवर्तनका असफल पहिलो धारका प्रतिनिधि हुन पुगेका छन् । २०६३ सालबाट केजरीवाल प्रवृत्तिबाट जन्मिएका कथित वैकल्पिक शक्ति पनि असफल भए। विचार होइन कस्मेटिक व्यक्ति राजनीतिको केन्द्र हो भन्ने ती शक्ति दोस्रो धार बने । यी दुबै र अहिले जन्मन खोजेको राजतन्त्रक उदयको चाहना पनि राजनीतिमा विचारहीन हस्तक्षेप नै हो जहाँ व्यक्ति प्रधान हुन्छ विचार होइन। यी तिनै शक्तिको गन्तव्य स्थान एउटै हो, सत्ताको दोहन र मालिकत्व ।

यथार्थमा नेपाली समाजले खोजेको राजनीति व्यवस्था ‘विगत ७० वर्षको असफल युगबाट दिशान्तर हो’ जसका लागि स्पष्ट दर्शन, सिद्धान्त र कार्यमूलक रणनीति चाहिन्छ।’ तबमात्र देशको उत्पादन र खपत प्रणाली, लगानीको प्रेरणा, शिक्षाको ढाँचा, स्वास्थ्यको सुदृढ पहुँच, भौतिक निर्माणको दिर्घ गुरुयोजना, व्यापारको विस्तार र कुटनैतिक सम्बन्धले सही दिशा प्राप्त गर्दछन् । अबको राजनीतिक यात्राको एउटा मात्र लक्ष हुन्छ, त्यो हो राज्य व्यवस्थाको संचालनमा (राजनीतिक र आर्थिक बिकास प्रणालीमा) स्वतन्त्र नागरिकको प्रत्यक्ष सहभागिता । यो व्यवस्था नागरिकतन्त्र, जो यथार्थमा डेमोक्रेसी हो । अहिलेको संविधानले गरेको व्यवस्था त नेताको ‘पितृत्व र देवत्व’ अधिनमा रहेको दलतन्त्र मात्र हो । त्यसैले झुठो र भ्रामक प्रचार र अफवाहमा समय वयतीत गर्न अब समय छैन ।

आलोचुङगालामा बुनेको गलैँचाको माग उच्च

ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुगोला गाउँका लागि गलैँचा मुख्य आम्दानीको स्रोत बनेको छ । यहाँको परम्परागत गलैँचा उत्पादन चीनको बजारमा राम्रो मागको साथ निर्यात हुने गरेको छ । तर कोभिड–१९ महामारीका कारण नाका बन्द हुँदा यहाँको गलैँचा उत्पादन चीनसम्म पुग्न सकेको थिएन ।

नाका खुलेसँगै, ओलाङचुगोलामा उत्पादन भएको गलैँचा अहिले चीनका विभिन्न बजारमा निर्यात हुन थालेको उद्यमी फुप् ल्हमु श्रेष्ठले जानकारी दिए। यसले यहाँका ग्रामीण समुदायलाई थप आर्थिक अवसर प्रदान गरेको छ ।

ओलाङचुगोला उत्पादित गलैँचा नेपाली बजारमा पनि लोकप्रिय छ । यस क्षेत्रको गलैँचा फुङ्लिङ बजार हुँदै काठमाडौसम्म पुग्ने गर्दछ । नेपाली बजारमा यी गलैँचाको मूल्य प्रतिएकाइ दश हजारदेखि २५ हजारसम्म पर्ने उनले बताए ।

उद्यमी श्रेष्ठका अनुसार चीनका बजारमा ती नै गलैँचाको मूल्य निकै उच्च छ, जहाँ १५ हजारदेखि ४५ हजारसम्ममा खरिद बिक्री गरेको छ । यो अन्तर्राष्ट्रिय बजारमा मूल्य फरक भएको कारण स्थानीय उत्पादनकर्तालाई राम्रो मुनाफा हुने गर्दछ ।

यसरी चीनमा निर्यात हुने गलैँचा ओलाङचुगोलामा रहेका उद्यमी र हस्तकलाकारको आर्थिक समृद्धिका लागि ठूलो अवसरको रूपमा प्रस्तुत भएको छ । नाका खुलेसँगै यो व्यापारको सञ्जाल थप फैलिएको छ । स्थानीयस्तरमा रोजगारीको सिर्जनासमेत गरेको छ । निर्यातका अवसरले ओलाङचुगोला क्षेत्रको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्न थालेको छ ।

इरानले युरेनियमको भण्डारण बढाएको आइएइएको भनाई

भियना । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) को गोप्य प्रतिवेदनअनुसार हालैका महिनाहरूमा इरानले अत्यधिक समृद्ध युरेनियमको भण्डारमा उल्लेखनीय वृद्धि गरेको छ ।

प्रतिबन्ध राहतको बदलामा तेहरानको आणविक कार्यक्रमलाई रोक्ने सन् २०१५ को सम्झौता भङ्ग भएपछि इरान र संयुक्त राष्ट्र आणविक वाचडग आइएइएबीच तनावहरू पटक–पटक बढेका छन् ।

आइएइएले आफ्नो त्रैमासिक प्रतिवेदनमा यो ‘गम्भीर चिन्ताको विषय’ हो भन्दै इरानसँग ८ फेब्रुअरीसम्म ६० प्रतिशतसम्म समृद्ध २७४.८ किलोग्राम अनुमानित मात्रा रहेको र यो नोभेम्बरको अघिल्लो प्रतिवेदन पछि ९२.५ किलोग्रामले बढेको बताएको छ ।

यो तेहरानले डिसेम्बरमा ६० प्रतिशतसम्म अत्यधिक समृद्ध युरेनियमको उत्पादन बढाउने योजना घोषणा गरेपछि आएको हो । यो आणविक हतियारहरूका लागि आवश्यक ९० प्रतिशत स्तरबाट छोटो कदम हो ।

आइएइएका अनुसार तेहरान ६० प्रतिशत युरेनियम संवर्धन गर्ने एक मात्र गैर–आणविक हतियार भएको देश हो । इरानले सधैँ आणविक हतियार खोज्ने कुरा अस्वीकार गर्दै आएको छ ।

“यस्तो आणविक सामग्री उत्पादन गर्ने एक मात्र गैर–आणविक हतियार राष्ट्र इरानले उच्च समृद्ध युरेनियमको उत्पादन र सञ्चयमा उल्लेखनीय वृद्धि गर्नु गम्भीर चिन्ताको विषय हो”, प्रतिवेदनमा भनिएको छ ।

यो आइएइए बोर्ड अफ गभर्नरको बैठकको पूर्वसन्ध्यामा आएको छ ।

डोनाल्ड ट्रम्पले राष्ट्रपतिका रूपमा आफ्नो पहिलो कार्यकालमा संयुक्त राज्य अमेरिकालाई तेहरानसँगको सन् २०१५ को ऐतिहासिक सम्झौताबाट एकतर्फी रूपमा हटाउनुभएको थियो । सम्झौताले इरानको आणविक कार्यक्रममाथि सीमाहरूको बदलामा प्रतिबन्ध राहत प्रदान गरेको थियो ।