`

हिमपातपछि सेताम्मे लोमान्थाङ

हिमपातपछि सेताम्मे देखिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाको क्षेत्र । हिमपातपछि बालीनाली सप्रिने आशमा स्थानीय किसानहरु खुशी भएका छन् ।

तस्बिर : सुन्दरकुमार थकाली/रासस

संसद सरकार बनाउने र ढाल्ने खेलमै केन्द्रित भएको जस्तो देखिन थाल्योः सांसद स्वार

काठमाडौँ । राष्ट्रियसभाको सदस्य भएको पाँच वर्ष भयो । यो पाँच वर्ष राष्ट्रियसभामा रहेर काम गर्दैगर्दा धेरै कुराको अनुभव लिने अवसर मिल्यो । संसद् भनेको कानुन निर्माणसँगै जनताका सवाललाई उठाउने थलो हो । तर सांसदहरु संविधानअनुरुप कानुन निर्माण गर्नेभन्दा पनि आपसी आरोप–प्रत्यारोपमा केन्द्रित भएको देखिन्छ । संसद्मा जनताका सवाल जति उठ्नुपर्ने हो, त्यति स्थान पाएको देखिँदैन । संसद मुख्यत सरकार बनाउने र ढाल्ने खेलमै केन्द्रित भएको जस्तो देखिन्छ । हामी सांसद भनेको जनप्रतिनिधि हो । जनताको आवाजलाई संसद्मार्फत सरकारसम्म पुर्याउनुपर्ने हो । तर सांसदहरुले राजनीतिक खिचातानीमै व्यस्त भएको देखिन्छ । अर्को कुरा, संविधान जारी भएको करिब एक दशक भएको छ । जुन गतिमा संविधानको मर्मअनुरुप कानुन निर्माण हुनुपर्ने हो, त्यो भएको छैन । संविधानको मौलिक हकमा रहेको व्यवस्थाको कानुन बनाउने कुरा अझै पनि पूरा भएको छैन । नीति तथा कार्यक्रम र बजेटबाहेक अन्य नीति संसद्मा पेस हुँदैन । सांसदहरु पनि विकासे कार्यकर्ताको रुपमा मात्रै देखा परेका छन् ।

संविधानमा रहेका केही प्रावधान कार्यान्वयन भएका छन् । तर जति हुनुपर्ने हो त्यति हुन सकेको छैन । संविधानअनुसार अझै ४० वटा कानुन बन्न सकेको छैन । जति राष्ट्रियसभाले छिटोछिटो कानुन पारित गरेको हुन्छ, त्यहीअनुरुप प्रतिनिधिसभाले गर्न सकेको छैन । राष्ट्रियसभाबाट पारित भएका धेरै विधेयक प्रतिनिधिसभामा गएर अड्किएका छन् ।

अहिले संविधान संशोधनको बहस चलेको छ । संविधान संशोधन गर्नै नहुने भन्ने होइन । समयअनुरुप संशोधन हुनुपर्छ । संविधान संशोधन हचुवाको भरमा गर्न हुँदैन । सबैभन्दा पहिला संविधान कुन–कुन विषयमा संशोधन गर्ने हो त्यसबारेमा सरकार प्रष्ट हुनुपर्छ । राजनीतिक दल र सांसदहरु प्रष्ट हुनुपर्छ । संविधान संशोधनको विषयमा पर्याप्त छलफल गर्नुपर्छ । संशोधन जनताको पक्षमा हुनुपर्छ । संशोधन कुनै राजनीतिक पार्टीको स्वार्थको लागिभन्दा पनि आवश्यकताको आधारमा हुनुपर्छ । संविधान संशोधनको नाममा दलित, महिला, आदिवासी जनजाति, मधेसीलगायत उत्पीडित समुदायको अधिकार कटौती हुनुहुँदैन । बरु उनीहरुको अधिकार थप गर्दै व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्छ । संशोधनमा आमजनताको भावना बुझ्नुपर्छ । सङ्घीयतालाई थप मजबुत बनाउन र निर्वाचन प्रणालीमा सुधार गर्नका लागि संशोधन गर्नुपर्छ । मुलुकको कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचनबाट चुनिने व्यवस्थाको निम्ति संविधान संशोधन गर्न सकिन्छ ।

मुलुकमा सुशासन कायम गर्नका निम्ति सबैभन्दा पहिला सरकारले भ्रष्टाचारको अन्त्य गर्र्नुपर्छ । राजनीतिक दल र दलका नेता सुध्रिनुपर्छ । उनीहरु पारदर्शी हुनुपर्छ । जुनसुकै पार्टीको सरकार भए पनि भ्रष्टाचारीलाई उन्मुक्ति दिनेभन्दा पनि कडाभन्दा कडा कारबाही गर्नुपर्छ । सरकार र राजनीतिक पार्टी वा नेताहरुले भ्रष्टाचारीलाई संरक्षण गर्नुहुँदैन । आफ्नै नेता÷कार्यकर्ता भए पनि भ्रष्टाचारमा संलग्न छन् भने पार्टीले कारबाही गर्न सक्नुपर्छ । अहिलेको निर्वाचन प्रणाली अत्यन्त महङ्गो भएको छ । एउटा निर्वाचनमा चारपाँच करोडसम्म खर्च गर्ने प्रचलन बढेको छ । निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ । त्यो निर्वाचनमा लागेको खर्च निकाल्नका लागि नेताहरु भ्रष्टाचारमा तल्लीन हुने गरेको आरोप छ । नेताहरु जनताप्रति उत्तरदायी नदेखिनु विडम्बना हो ।

हाम्रो देशमा सङ्घीय, प्रदेश र स्थानीय गरी तीन तहको सरकार छ । सङ्घीय सरकारले संविधानअनुरुप प्रदेश सरकारलाई अधिकार दिनुपर्ने हो । तर अधिकार दिएको छैन । अधिकार नदिएका कारणले प्रदेश र स्थानीय सरकारले सोचेअनुरुप काम गर्न सकेको छैन । जस्तै, प्रहरी ऐन, निजामती सेवा ऐन अहिलेसम्म पनि बन्न सकेका छैनन् । यी ऐनलाई जतिसक्दो चाँडो ल्याउन कुनै पनि सरकारको तत्परता देखिँदैन । सङ्घीय सरकारले प्रदेश सरकारलाई दिनुपर्ने अधिकार नदिएपछि प्रदेश सरकार घाँडोजस्तै बनाइएको छ । हाम्रो सङ्घीयता भनेको सहकार्यको सङ्घीयता हो । समावेशी सङ्घीयता हो । तर तीन सरकारबीच सहकार्य, समन्वय देखा परेको छैन । सङ्घीय सरकारले प्रदेश सरकारबाट रायसल्लाह लिने वा दिने काम भएको छैन । सङ्घीयता सबलीकरणको निम्ति सङ्घीयतालाई ठीक ढङ्गले बुझ्न जरुरी छ । सङ्घीयता मात्रै भन्ने तर सबै अधिकार सङ्घमा राख्ने गर्नुहुँदैन ।

बजेटमा पनि प्रदेश सरकारलाई प्राथमिकता दिएको देखिँदैन । एकदुई लाखसम्मका योजना पनि सङ्घले नै बजेटमार्फत दिने गरेको देखिन्छ । यसको अन्त्य हुन जरुरी छ । अबको बजेट युवाकेन्द्रित हुनुपर्छ । रोजगारी सिर्जना गर्ने गरी सरकारले बजेट ल्याउनुपर्छ । देशभित्र पर्याप्त रोजगारी नभएका कारण धेरै युवा विदेशिने क्रम बढ्दै गएको छ । ती युवालाई वैदेशिक रोजगारीमा जानबाट रोक्न सरकारले युवा लक्षित कार्यक्रम ल्याउनुपर्छ । संविधानअनुरुपको अर्थ प्रणालीलाई अगाडि बढाउन समाजवादोन्मुख अर्थनीति बनाउनुपर्छ । समाजवादोन्मुख भन्ने तर सबै निजीकरण गर्ने भन्ने हुँदैन । युवाको विदेश पलायन रोक्नका लागि शिक्षा क्षेत्रमा आमूल सुधार गर्नुपर्छ । बन्द भएका कारखाना, उद्योग सरकारले सञ्चालनमा ल्याउनुपर्छ । मुलुकको समृद्धि र परिवर्तनका लागि सङ्घर्ष गरेका मुख्य ठूला तीन दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकापसमा मिल्नुको विकल्प छैन । यी दलहरुबीच आरोप–प्रत्यारोपले राज्यप्रणालीलाई नै कमजोर बनाउँछ । लोकतन्त्रमा यस्तो हुनु भनेको विडम्बना नै हो । जनताको अवस्था सुधारको निम्ति पनि यी तीन शक्ति एकआपसमा मिलेर अगाडि बढ्नुको विकल्प छैन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तारामान स्वार राष्ट्रियसभा सदस्य हुन् । सांसद स्वार २०७६ सालमा राष्ट्रियसभामा प्रवेश गरेका हुन् ।

(कुराकानीको सम्पादित अंश)

रिङ्कु सदालाई न्याय दिलाउन सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता

सिरहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरस्थित रिङ्कुकुमारी सदाको घरमा पुगेर न्यायका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सामूहिक बलात्कारपीडित १७ वर्षीया किशोरी रिङ्कुलाई न्याय दिनुको साटो स्थानीय पञ्चायत बसेर मिलापत्र गराउन खोजेपछि उनी मृत फेला परेकी थिइन् । जनतासँग माओवादी तराई मधेस जागरण अभियानको क्रममा सिरहा पुगेका अध्यक्ष प्रचण्डसहित माओवादी केन्द्रका नेताहरु रिङ्कुको घरमै पुगेर न्यायको लडाइँमा साथ दिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले रिङ्कुको न्यायका लागि संसदमा आवाज उठाएको जानकारी दिँदै जति सक्यो चाँडो न्यायका लागि पहलकदमी लिने बताए । प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जानकारी गराएको उल्लेख गर्दै उनले छानबिनलाई चाँडो निष्कर्षमा पुर्याउन प्रहरीलाई आग्रह गरिएको बताए ।

त्यसक्रममा उनले रिङ्कुको न्यायका लागि मुसहर समुदायले गरिरहेको संघर्षप्रति पनि ऐक्यवद्धता जनाए । रिङ्कुकै घरमा संघर्ष समितिले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तराई मधेसका विभेद, अपमान र अत्याचारका विरुद्ध आवाज उठाउन नै पार्टीले तराई मधेस जागरण अभियान सञ्चालन गरेको र यस्ता घटनाका विरुद्ध निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे ।

बलात्कार जस्तो जघन्य अपराधमा तत्काल पीडितलाई न्यायका लागि पहल गर्नुको साटो गाउँमै मिलापत्र गराउन खोज्नु राष्ट्रकै लागि लज्जास्पद घटना भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्ड तत्काल पीडितमाथि न्याय दिन सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
रिङ्कु मृत्यु प्रकरणमा प्रहरीले अहिले कर्तव्य ज्यान, करणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चार वटा शीर्षकमा अनुसन्धान गरिरहेको छ।

गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी रिङ्कु स्थानीय तीन जना युवाबाट सामूहिक बलात्कारमा परेको थिइन् । त्यसपछि माघ २९ र ३० गते पञ्चायत बसेर गाउँमै लेनदेनमा घटना मिलाउने प्रयास गरिएको भन्दै घटना सार्वजनिक भएको थियो । माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा शंकास्पद अवस्थामा मृत फेला परेकी थिइन् ।

ट्रम्पले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध निम्त्याउन लागेको आरोप लगाएपछि भएन खनिज सम्झौता

बीबीसी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सकारात्मक वार्तापछि शुक्रबार व्हाइट हाउस छोड्ने आशामा थिए । अनि राष्ट्रपति ट्रम्प युक्रेनसँग खनिज सम्झौतामा हस्ताक्षर हुने आशामा थिए ।

तर ह्वाइट हाउसमा भएको वार्तामा दुई राष्ट्रपतिबीच चर्का चर्की भएपछि दुवैको आशा निराशामा परिणत भएको छ । ट्रम्पले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध निम्त्याउन लागेको आरोप लगाएपछि वार्ता भाँडिएको छ ।

ट्रम्पले जेलेन्नस्कीलाई शान्तिका लागि तयार भएर मात्रै अर्को वार्तामा आउन भनेका थिए । ट्रम्प चर्को रुपमा प्रस्तुत भएपछि जेलेन्नस्की बैठककको निर्धारित समयअघि नै हिंडेका थिए ।

जेलेन्स्कीले ट्रम्पसँगको विवाद ‘राम्रो नभएको’ र सम्बन्ध बचाउन सकिने प्रतिक्रिया दिएका छन् । उता ट्रम्पले शान्तिका लागि तयार भए जेलेन्स्की फिर्ता आउन सक्ने बताए ।

भारत क्षयरोग अन्त्यको दिशामा तीव्र गतिमा अघि बढ्दै

नयाँदिल्ली । भारतका केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डाले सन् २०२५ को अन्त्यसम्ममा देशबाट क्षयरोग (टीबी) उन्मूलन गर्ने प्रयास भइरहेको बताएका छन् ।

नड्डाले पूर्वी राज्य ओडिशाको स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त घोषणा गरे । “दिगो विकास लक्ष्य अनुसार भारतले सन् २०३० सम्ममा क्षयरोग उन्मूलन गर्नुपर्नेछ । तर, सन् २०२५ सम्ममा यसलाई हासिल गर्न हामी तयार छौं,” उनले भने ।

देशभर चलिरहेको १०० दिने क्षयरोग उन्मूलन अभियानमा हालसम्म पाँच लाख क्षयरोगी पत्ता लागेको नड्डाले बताए ।

क्षयरोग एक सङ्क्रामक रोग हो,जसले सामान्यतया फोक्सोलाई असर गर्छ । क्षयरोगीले खोक्दा, हाछ्युँ गर्दा वा कुरा गर्दा फोक्सोबाट निस्कने थोपाहरू मार्फत हावामा फैलिन्छ ।

बेलायतमा नोरोभाइरस सङ्क्रमणमा वृद्धि

लण्डन । बेलायतका स्वास्थ्य अधिकारीहरूले यस हप्ता नोरोभाइरसको सम्भावित दोस्रो लहरको बारेमा चिन्ता व्यक्त गरेका छन् ।
युके हेल्थ सेक्युरिटी एजेन्सी –युकेएचए) को पछिल्लो तथ्याड़कले देशभरि नोरोभाइरसका केसहरू बढ्दै गएको देखाएको छ ।

युकेएचएले अघिल्लो पन्ध्र दिनको तुलनामा फेब्रुअरी ३ र १६ बीचमा भाइरसका केसहरू झन्डै ३० प्रतिशतले बढेको र पाँच–सिजनको औसतभन्दा दोब्बर बढी भएको बताएको छ ।

स्वास्थ्य एजेन्सीका अनुसार ६५ वर्ष वा माथिका व्यक्तिहरूमा सबैभन्दा धेरै केसहरू फेला परेका छन् ।

मौसम न्यानो हुने बित्तिकै उक्त केसहरू सामान्यतया वर्षको यो समयको घट्न थाल्छन् ।

भर्खरको तथ्याङ्कले यो सिजन नयाँ जीआइआइ १७ जीनोटाइपसँग जोडिएका केसहरूको सङ्ख्यामा वृद्धि भएको देखाएको छ । यसैबीच, जीआइआइ ४ जीनोटाइप पनि बढिरहेको छ ।

नोरोभाइरस सङ्क्रमणका सामान्य लक्षणहरूमा बान्ता, पखाला र पेट दुख्ने समावेश छन् । भाइरसले कहिलेकाहीं ज्वरो, टाउको दुखाइ र मांसपेशी दुखाइ हुन सक्छ । यी लक्षणहरू सामान्यतया सङ्क्रमित भएको एक वा दुई दिन पछि सुरु हुन्छ ।

डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार बसेको बैठकले शुक्रबार मध्यरातिदेखि लागु हुनेगरी डिजेल र मट्टितेलमा एक एक रुपैयाँले मूल्य घटाएको हो । पेट्रोलको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

नयाँ शिक्षा ऐनले शिक्षकहरुका माग सम्बोधन गर्छः मन्त्री भण्डारी

सीपी लोहिया, बैतडी । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले शैक्षिक क्षेत्र सुधारका लागि नयाँ शिक्षा ऐन आवश्यक रहेको बताएका छन् । शुक्रबार नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीको १८ औं जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले समग्र शैक्षिक क्षेत्रको विकासका लागि नयाँ शिक्षा ऐन ल्याइन लागिएको बताए ।

उनले भने,’नयाँ शिक्षा ऐन चाँडै आउनेछ, सबै शिक्षकहरुका मागहरुलाई अधिकतम रुपमा सम्बोधन गर्ने र शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्ने हिसाबले सरकारले ऐन उक्त ल्याउन लागेको हो।’

शिक्षकहरुका तर्फबाट व्यक्त भएका मागहरुलाई ऐनले सम्बोधन गर्ने दाबी गर्दै उनले यसको लागि सरकार लागिपरेको जानकारी दिए ।

नयाँ आउने शिक्षा ऐनले सबै शिक्षकहरूका मागहरूलाई सम्बोधन गर्ने र शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्ने उनको दाबी छ । शिक्षकहरूका तर्फबाट व्यक्त भएका मागहरूलाई ऐनले सम्बोधन गर्ने उनले बताए ।

अहिले एमाले र काँग्रेस मिलेर राष्ट्रिय आवश्यकताका आधारमा सरकार निर्माण गरिएको मन्त्री भण्डारीले बताए । सरकारले अध्यादेशमार्फत ल्याएका कानुनहरू अहिलेको आवश्यकता भएकाले सांसदबाट पारित गर्नुपर्ने उनको भनाई छ ।

यस्तै देशको अर्थतन्त्र सुधारका लागि सबै पक्ष एक भएर अघि बढ्नुपर्नेमा मन्त्री भण्डारीको जोड छ । अर्थतन्त्रमा सुधार आए मात्रै देशका समस्या समाधान हुने भएकाले सबै क्षेत्र मिलेर जानुपर्नेमा उनले जोड दिए ।

अधिवेशनले परमानन्द भट्टको अध्यक्षतामा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बैतडीको २५ सदस्यीय नयाँ नेतृत्व समेत चयन गरेको नेपाल शिक्षक सङ्गठन बैतडीका निवर्तमान अध्यक्ष प्रेमराज भट्टले जानकारी दिए ।

कांग्रेसले सत्तारुढ दलको बैठकमा संविधान संशोधनका लागि कार्यदल बनाउन प्रस्ताव गर्ने

काठमाडौं । नेपाली कांग्रेसले पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्ताका माध्यमबाट समाधान गर्नुपर्ने बताएको छ ।

शुक्रबार बुढानिलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारीले बैठकले ‘नो केबलकार’ भन्ने कुरामा कांग्रेसको सैद्धान्तिक सहमति नरहेको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बताए ।

वार्ता निष्कर्षमा नपुगेसम्मका लागि निर्माण कार्य स्थगित गर्ने सरकारको कदम स्वागतयोग्य रहेको उनले बताए । बैठकमा निर्वाचनसम्बन्धी विधेयक, दलसम्बन्धी विधेयकका विषयमा छलफल भएको थियो । विधेयक निर्माणको काम सुस्त देखिएकाले तीव्रता दिने विषयमा छलफल भएको उनले बताए।

त्यस्तै बैठकले संविधान संशोधनका लागि कार्यदल बनाउन प्रस्ताव गर्ने निर्णय गरेको छ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले संविधान संशोधनका लागि कार्यदल बनाउन प्रस्ताव गर्ने विषयमा बैठकमा छलफल भएको जानकारी दिए ।

जेनेभा भ्रमण उपलब्धिमूलकः परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणाले आफ्नो साताव्यापी जेनेभा भ्रमण सफल र उपलब्धिमूलक भएको प्रतिक्रिया दिएकी छन् ।

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभा गएकी मन्त्री राणा शुक्रबार स्वदेश फर्किएपछि यस्तो प्रतिक्रिया दिएकी हुन् । राणाले गत मङ्गलबार राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को उच्चस्तरीय सत्रलाई सम्बोधन गरेकी थिइन् ।

सो सत्रमा राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूका परराष्ट्र तथा मानवअधिकारसम्बन्धी मन्त्री एवं मानवअधिकारका क्षेत्रमा कार्यरत व्यक्तिहरूको सहभागिता थियो ।

नेपाल फर्किएपछि मन्त्री राणाले मानवअधिकारको रक्षा र प्रवद्र्धनमा नेपालले विगत लामो समयदेखि काम गरिरेहको जानकारी विश्व समुदायलाई गराउँदै सोही प्रतिबद्धताका साथ नेपालले उक्त परिषदको आगामी सन् २०२७ देखि २०२९ सम्मका लागि सदस्यमा उम्मेदवारी दिएकाले संयुक्त राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रहरूसँग नेपाललाई सहयोग गर्न आग्रह गरेको बताइन् ।

संयुक्त राष्ट्रसङ्घको सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषद्को सदस्य, २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद एवं सन् २०३७ देखि २०३८ का लागि सुरक्षा परिषद्को अस्थायी सदस्यमा नेपालले उम्मेदवारी दिने भएकाले त्यसमा सहयोगका लागि राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रहरूसँग मन्त्री राणाले आग्रह गरिन् ।

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्यसहितको उम्मेदवारीमा नेपाललाई मतदान गर्न आफूले विश्व समुदायलाई आग्रह गरेको र उनीहरूले पनि नेपाललाई सहयोग गर्ने वचन दिएको मन्त्री राणाले जानकारी दिइन् ।

यस भ्रमणका क्रममा मन्त्री राणाले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्च आयुक्त भल्कर टकसँग भेटवार्ता गरी नेपालमा मानवअधिकार तथा संक्रमणकालीन न्यायको अवस्थाका बारेमा जानकारी गराएकी थिइन् ।

यसैगरी उनले जेनेभामा रहँदा स्वीट्जरल्याण्ड, नर्वे, स्पेन, स्लोभाकिया, फिलिपिन्स, अजरबैजान, किर्गिस्तान, मेक्सिकोलगायतका मुलुकका समकक्षी, प्रतिनिधिमण्डल र नेताहरूसँग भेटवार्ता गरी द्विपक्षीय हित र चासोका विषयहरूमा छलफल गरेकी थिइन् ।

साथै भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग, जेनेभाले आयोजना गरेको स्वागत समारोहमा उपस्थित भएका एक सयभन्दा बढी मुलुकका नियोगप्रमुख तथा प्रतिनिधि एवं संयुक्त राष्ट्रसङ्घलगायत विभिन्न अन्तर्राष्ट्रिय सङ्घसंस्थाका पदाधिकारीसँग पनि मन्त्री राणाले नेपाललाई मानवअधिकार परिषद्को सदस्यमा मत दिएर सहयोग गर्न आग्रह गरेकी थिइन् ।

मन्त्री राणा ६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबार जेनेभा गएकी थिइन् । उनी सहितको प्रतिनिधिमण्डल शुक्रबार बिहान १०ः३० मा काठमाठौँ आइपुग्ने कार्यक्रम रहेकोमा यहाँको मौसम खराब भएपछि दोहाबाट आएको कतार एयरवेजको विमान भारतको कोलकाता डाइभर्ट गरिएको थियो । त्यसपछि कोलकाताबाट अपराह्न मात्र उनी काठमाडौँ फर्किएकी थिइन् ।

भूमिसम्बन्धी अध्यादेश भूमिहीनको समस्या समाधानका लागि आएको होइनः अध्यक्ष यादव

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले भूमिसम्बन्धी अध्यादेश भूमिहीनको समस्या समाधान गर्नको लागि नभई भूमाफियालाई पोस्न ल्याएको आरोप लगाएका छन् ।

शुक्रबार अध्यादेशबारे विभिन्न दलका नेताहरूसँगको अन्तरक्रियामा अध्यक्ष यादवले अध्यादेश सुकुम्वासीका नाममा भूमाफिया पोस्न ल्याएको आरोप लगाएका हुन् ।

उनले सुकुम्वासीका नाममा बिचौलिया, रियलस्टेटवालाले महत्त्वपूर्ण जग्गा हडप्ने योजनाअनुसार सरकारले अध्यादेश ल्याएको बताए । उनले अध्यादेश फिर्ता नलिए आफ्नो पार्टी आन्दोलनमा उत्रिने बताए ।

उनले भने, ‘सरकारले सांसद खरिद बिक्री गरेर अध्यादेश पास गराउन खोज्यो भने हामी जनताकोमा जान्छौं ।’ उनले वन फडानी गरेर सुकुम्बासी व्यवस्थापन गर्न नहुने बताए । अध्यक्ष यादवले सुकुम्वासी समस्या समाधान गर्न २०१४ सालदेखि व्यवस्थित गर्न खोजिए पनि २०२४ सालमा वन फडानी गरिएको बताए ।

उत्तराखण्डको बद्रीनाथमा हिमपहिरोमा फसेका ५७ मध्ये १० जनाको उद्दार

उत्तराखण्ड । भारतको उत्तराखण्डको चमोली जिल्लामा शुक्रबार ठूलो हिमपहिरो गएको छ । हिमपहिरोमा परीसडक निर्माणमा संलग्न कम्तीमा ४७ जना कामदार हिउँको ठूलो थुप्रोमुनि फसेका छन् । हिमपहिरोमा फसेका कम्तीमा १० जनालाई उद्धार गरिएको छ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले भने, “सीमा सडक सङ्गठन (बीआरओ) शिविरका निर्माण मजदुरहरू बद्रीनाथको माना गाउँनजिकै काम गरिरहेका समय एक्कासी हिमपहिरो आउँदा केही व्यक्ति हिउभित्र फसेका छन्। उद्धारका लागि सुरक्षकर्मी त्यसतर्फ गइसकेका छन्।”

प्रहरी मुख्यालयका प्रवक्ता आईजी निलेश आनन्द भर्नेले यो समाचार तयार पार्दासम्म ५७ जना कामदारमध्ये १० जना कामदारको उद्धार गरिएको बताए ।

“मानाको सीमा क्षेत्रमा रहेको सीमा सडक सङ्गठनको शिविर नजिकै ठूलो हिमपहिरो खसेको छ जसमा सडक निर्माणमा संलग्न ५७ जना कामदार फसेका र तीमध्ये १० जना कामदारलाई उद्धार गरी गम्भीर अवस्थामा माना नजिकैको सेनाको क्याम्पमा पठाइएको छ,” प्रहरी महानिरीक्षक निलेश आनन्द भर्नेले एएनआईसँग बताए ।

यसैबीच, बीआरओका कार्यकारी इञ्जिनियर सीआर मीनाले उद्धार कार्य जारी रहेको र भारी हिमपातका कारण टोलीलाई कठिनाइ भइरहेको बताए ।

“तीनदेखि चारवटा एम्बुलेन्स पनि पठाइएको छ, तर बाक्लो हिमपातका कारण उद्धार टोलीलाई त्यहाँ पुग्न समस्या भइरहेको छ,” बीआरओका कार्यकारी इञ्जिनियरले भने। उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले भारत–तिब्बत सीमा प्रहरी र बीआरओले राहत र उद्धार कार्य जारी राखेको बताए ।

उनले भने, “चमोली जिल्लाको माना गाउँ नजिकै बीआरओले गरिरहेको निर्माण कार्यको क्रममा धेरै कामदारहरू हिमपहिरोमा फसेको दुःखद खबर प्राप्त भएको थियो। आईटीबीपी, बीआरओ र अन्य उद्धार टोलीहरूद्वारा राहत र उद्धार कार्यहरू भइरहेका छन्।” बिहीबार लाहौल र स्पीति प्रहरीले यस क्षेत्रका लागि हिमस्खलनको चेतावनी जारी गरेको थियो ।

जनकपुर भन्सारद्वारा २४ करोड ७३ लाख राजश्व सङ्कलन

जनकपुरधाम । जनकपुर भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा २४ करोड ७३ लाख ६९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

कार्यालयको ५७ करोड सात लाख १७ हजार रुपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य रहेको छ । चालू आवको वार्षिक राजस्व लक्ष्यको तुलनामा हालसम्ममा ४३ प्रतिशत मात्र राजस्व संकलन भएको कार्यालयका भन्सार अधिकृत रविन्सलाल दासले जानकारी दिए ।

उनका अनुसार चालू आवको साउन महिनामा ७७ दशमलव ७८ प्रतिशत, भदौमा ५६, असोजमा ७७ दशमलव ४५, कात्तिकमा ६८ दशमलव ७१, मंसिरमा ७६ दशमलव ६०, पुसमा ८६ दशमलव ३१, माघमा ७९ दशमलव ६५ तथा फागुन १५ गतेसम्ममा २५ दशमलव ७९ प्रतिशत राजस्व संकलन भएको छ ।

उक्त भन्सारअन्तर्गत जटही नाकाबाट अर्धतयारी कपडा, हार्डवेयर सामग्री, टायल्स, ग्रेनाइट, कोइला, कृषिउपज, कृषिका लागि विषादी, खाद्यान्न, तरकारी एवं फलफूल, खेलकुद सामग्री, स्टेशनरी, विभिन्न उद्योगका कञ्चापदार्थ, घरायसीलगायत सामग्री आयात भएको भन्सार अधिकृत दासले बताए ।

उक्त भन्सार कार्यालयअन्तर्गत इनरुवा, मैनाथपुर तथा भडडीया छोटी भन्सार कार्यालयसमेत रहका छन् । ती कार्यालयलाई पाँच हजार रुपैयाँसम्मको भन्सार राजस्व लिने अधिकार रहेको छ । राजस्व संकलन लक्ष्यको तुलनामा कमी हुनुका मुख्य कारण चोरी तस्करी नियन्त्रण नहुनु, आर्थिक मन्दीलगायत रहेको छ ।

स्वास्थ्य क्षेत्रमा लगानी नबढाएसम्म स्वास्थ्यसेवामा नागरिकको पहुँच स्थापित गर्न कठिन छः स्वास्थ्यमन्त्री पौडेल

गण्डकी । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा लगानी नबढाएसम्म स्वास्थ्यसेवामा नागरिकको पहुँच स्थापित गर्न नसकिने बताएका छन् ।

बुकवर्म फाउण्डेशनद्वारा शुक्रबार पोखरामा आयोजित १२औँ नेपाल साहित्य महोत्सवको ‘स्वास्थ्यसेवामा जनताको पहुँच’ विषयक बहस सत्रमा उनले जनसङ्ख्याको तुलनामा नेपालमा अस्पताल र चिकित्सकको कमी रहेको उल्लेख गरे ।

‘सेना, प्रहरी, निजामतिलगायतमा जनशक्ति बढ्यो तर स्वास्थ्य जस्तो अत्यावश्यक र संवेदनशील क्षेत्रमा जनशक्ति थपिन सकेको छैन’, मन्त्री पौडेलले भने, ‘स्वास्थ्य पूर्वाधार, जनशक्ति र उपकरणमा लगानी बढाउनुपर्छ, नीतिगत र संवैधानिक घोषणाअनुसार नागरिकलाई स्वास्थ्यसेवा दिन कुल बजेटको ३० प्रतिशत बजेट स्वास्थ्यमा छुट्टाउनुपर्छ ।’

स्रोतको सुनिश्चितता नगरी गरिएका कतिपय घोषणा कार्यान्वयनमा चुनौती देखिएको उनको भनाइ छ । मन्त्री पौडेलले स्वास्थ्य बिमा कार्यक्रममा देखिएका विकृतिलाई अन्त्य गरी थप व्यवस्थित गर्नुपर्ने बताए । उनले छिट्टै पाँच सय जना नयाँ चिकित्सकको दरबन्दी सिर्जना गरी परीक्षाका लागि विज्ञापन निकाल्ने तयारी भइरहेको बताए ।

मन्त्री पौडेलले गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा प्रवाहका लागि सरकार प्रतिबद्ध रहेको समेत स्पष्ट पारे । ‘स्वास्थ्य प्रणालीमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता छ, नीतिगत व्यवस्था भएपनि स्रोतको अभावमा कतिपय योजना व्यवहारिक रुपमा कार्यान्वयन हुन सकेका छैनन्’, उनले भने, ‘अब स्वास्थ्यमा लगानी वृद्धि गरेर यस क्षेत्रमा देखिएका समस्याको दीर्घकालिन समाधान खोज्नुपर्छ ।’

महाशिवरात्रिमा पशुपतिनाथ आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ

काठमाडौं । महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ । साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले शुक्रबार दक्षिणासहित बिदाइ गरेका हुन् । साधुसन्त नेपाल प्रवेश गरेदेखि नै खाने बस्ने र धुनीको व्यवस्था संस्थान र कोषले गरेको थियो ।

गुठी संस्थान र कोषले साधुसन्तहरुको बर्गिकरण गर्दै त्यहीअनुसारको खर्चको व्यवस्था गर्दै आएको छ । नागाबाबा, गोरखनाथ सम्प्रदायका नवनाथ बाबा, वैरागी, सन्यासी र सामान्य बाबाको वर्गीकरण गरी दक्षिणा दिने प्रचलन रहेको छ ।

वर्ग अनुसार दुई सय देखि ९ हजार रुपैयाँसम्म दक्षिणा दिइएको गुठी संस्थानका सहायक प्रशासक वैकुण्ठ प्रसाद रेग्मीले जानकारी दिए ।

व्यावसायिक फुटबल खेल्न एन्जिला ग्रिस प्रस्थान

काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता खेल्न नेपाल आएकी राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बा शुक्रबार ग्रिस प्रस्थान गरेकी छिन् ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) प्रवक्ता सुरेश शाह, केन्द्रीय सदस्य पेमा डोल्मा लामा, र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे ।

एन्जिला व्यवसायिक फुटबल खेल्न ग्रिस प्रस्थान गरेकी हुन् । त्यहाँ उनले निस अट्रोमिटौबाट ग्रिक महिला ‘ए’ डिभिजन लिग खेलिरहेकी छन् ।

यही फागुन १४ गते भएको अन्तरराष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल म्यानमारसँग २–० ले पराजित भएको थियो । प्रतियोगितामा यी दुई टोलिसँगै लेबनान र कीर्गिस्तानको सहभागिता थियो ।

न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२/८३ मा सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत कार्यान्वयन हुने आयोजना र कार्यक्रमको प्रस्ताव पेस गर्ने समयावधि थपेको छ । यी शीर्षकअन्तर्गत अनुदान लिनका लागि प्रदेश र स्थानीय तहले फागुन मसान्तसम्म प्रस्ताव हाल्न सक्ने आयोगले जनाएको छ ।

यसअघि आयोगले सबै प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै समपूरक र विशेष अनुदान लिन फागुन १५ गतेभित्र प्रस्ताव पेस गरिसक्न भनेको थियो । तर सो अवधिमा अपेक्षाभन्दा न्यून प्रस्ताव परेपछि समयावधि थप्नुपरेको आयोगले जनाएको छ ।

‘जति सङ्ख्यामा सहभागिता देखिनुपथ्र्यो त्यो देखिएन । पालिका मात्र नभएर प्रदेशहरुबाट पनि अपेक्षित रुपमा प्रस्ताव आएनन् । यहिकारण समयावधि बढाइएको हो’, आयोगका प्रवक्ता हरिशरण पुडासैनीले भने ।

अघिल्ला वर्षहरुमा आयोगले समपूरक र विशेष अनुदानका लागि पुस मसान्तभित्र प्रस्ताव माग गरिसक्थ्यो । तर यसपटक समपूरक र विशेष अनुदानसम्बन्धी कार्यविधि संशोधनमा ढिलाई हुँदा योजना तथा कार्यक्रमको प्रस्ताव माग गर्ने समयावधि करिब डेढ महिना पर धकेलिएको हो । समपूरक अनुदानमा सङ्घले ५० प्रतिशत योगदान गर्ने र बाँकी ५० प्रतिशत सम्बन्धित प्रदेश तथा स्थानीय तहले व्यहोर्ने यसअघिको व्यवस्था संशोधन गरी पालिकाहरुको वर्गीकरणका आधारमा २० देखि ८० प्रतिशतसम्म व्यहोर्नुपर्ने व्यवस्था ल्याइएको छ ।

विशेष अनुदानसम्बन्धी कार्यविधि, २०८१ ले यो शीर्षकमा अनुदान दिँदा योजना तथा कार्यक्रमको लागत तोकेको छ । गाउँपालिका वा नगरपालिकाबाट कार्यान्वयन गरिने आयोजना वा कार्यक्रममा रू २५ लाखदेखि रू तीन करोड लागत हुनुपर्नेछ । त्यस्तै, उपमहानगरपालिका र महानगरपालिकाबाट कार्यान्वयन गरिने आयोजना वा कार्यक्रमको लागत अनुमान न्यूनतम रू २५ लाखदेखि अधिकतम रू पाँच करोडसम्म तोकिएको छ ।

सङ्घीय विशेष अनुदानअन्तर्गत प्रदेश सरकारबाट कार्यान्वयन हुने आयोजना वा कार्यक्रमका लागि कुल लागत अनुमान रू पाँच करोड देखि रू १० करोड तोकिएको छ । विशेष अनुदानअन्तर्गतका पूर्वाधार आयोजना तीन वर्षभित्र र अन्य कार्यक्रम सालबसाली रुपमा सम्पन्न गरिसक्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

त्यस्तै, समपूरक अनुदानसम्बन्धी कार्यविधि, २०८१ अनुसार गाउँपालिका वा नगरपालिकाले रू एक करोडदेखि रू सात करोडसम्मको लागतको आयोजना तथा कार्यक्रमका लागि सङ्घ सरकारसँग अनुदान माग गर्न सक्छन् । त्यस्तै, उपमहानगरपालिका र महानगरपालिकाले रू तीन करोडदेखि रू १५ करोड र प्रदेशले रू १० करोडदेखि रू तीस करोडसम्मका आयोजनाका लागि प्रस्ताव हाल्न सक्छन् ।

प्रदेश र स्थानीय तहले अनलाइन प्रणालीबाट मात्रै समपूरक र विशेष अनुदानसम्बन्धी प्रस्ताव हाल्न पाउँछन् । त्यस्तै, यस्ता आयोजना तथा कार्यक्रममा अनुदान लिनका लागि प्रस्ताव पेस गर्दा कार्यविधिले तोकेको प्रक्रिया र कागजातहरु अनिवार्य गरेको आयोगले जनाएको छ ।

कार्यविधिअनुसार यी शीर्षकमा अनुदान लिनका लागि आयोजनाको सम्भाव्यता अध्ययन, ड्रइङ, डिजाइन, स्पेसिफिकेसनसहितको विस्तृत विवरणको लागत अनुमान पेस गर्नुपर्ने हुन्छ । त्यस्तै, वातावरणीय अध्ययन प्रतिवेदनलगायतका कागजात चाहिन्छन् । अनुदान माग गर्नका लागि स्थानीय तहको हकमा सम्बन्धित कार्यपालिकाको निर्णय र प्रदेशको हकमा सम्बन्धित प्रदेश योजना आयोगको सिफारिसमा प्रदेश सरकारको मन्त्रिपरिषद्ले निर्णय गरेको हुनुपर्ने व्यवस्था कार्यविधिमा राखिएको छ ।

ग्रामीण बस्ती सडक सञ्जालमा जोड्दै

गोलबजार (सिरहा) । कुनैबेला साँघुरो सडक र सडकै छेउमा फुसको छाप्रो, त्यसभित्र ससाना पसल मात्रै देखिने सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिकास्थित ग्रामीण बजारहरूको स्वरूप यतिबेला फेरिएको छ । सडक डिभिजन कार्यालय लहान सिरहाले सिरहा–सप्तरी–उदयपुरको ग्रामीण बस्तीका सडक निर्माणमा तदारुकता देखाएपछि गाउँहरू विकासको मूलधारमा जोडिन थालेका छन् ।

बजारको स्वरूप फेरिएसँगै त्यस क्षेत्रका स्थानीयमा पहिलाको भन्दा बेग्लै खालको उत्साहसमेत देखिन थालिएको छ । “पहिला बजार क्षेत्रमा साँघुरो सडक र फुसको छाप्रो, त्यहीभित्र सानासाना व्यवसायी मात्र थियो”, लक्ष्मीपुरपतारी गाउँपालिकाका श्याम यादव भन्छन्, “तर अहिले सडक फराकिलोसँगै बजारमा ठूलठूला पक्की भवन र ठूला पसल खुल्न थालेका छन् ।” कुनैबेला दुर्गम मानिने सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकास्थित विद्यापति मार्गअन्तर्गत पर्ने छपरारी–पोखरभिण्डा–खुर्कियाही सडक छेउका बस्ती सुगम क्षेत्र बनेका छन् ।

लक्ष्मीपुर पतारी गाउँपालिकालाई केही वर्षअघिसम्म दुर्गम क्षेत्रका रूपमा मानिथ्यो तर अहिले ती क्षेत्रले आफ्नो पुरानो पहिचान फेरेको छ । यतिबेला लक्ष्मीपुर पतारी क्षेत्र मधेस प्रदेशकै पर्यटकीय क्षेत्रका रूपमा विकास हुन थालेको छ । यसको प्रमुख कारण हो पूर्व–पश्चिम राजमार्गसम्म जोडिएको विद्यापति मार्ग सडकको कालोपत्र । पूर्व–पश्चिम राजमार्गलाई जोड्ने उत्तर दक्षिण ग्रामीण ती सडक कालोपत्र भएसँगै लक्ष्मीपुर पतारी क्षेत्रका स्थानीयवासीको अनुहारमा यतिबेला मुस्कान छाएको छ ।

पूर्व–पश्चिम राजमार्गस्थित छपरारीदेखि भारतीय सिमानाका बहहरीसम्मको उक्त सडक स्तरोन्नतिसँगै सडक डिभिजन कार्यालय लहान सिरहाले सडक कालोपत्र गरेपछि स्थानीयलाई आवतजावतमा सहज मात्रै होइन, हिलो र धुलोबाट मुक्त भएका छन् । “छपरारी बजारदेखि बडहरीसम्मको पुग्न पहिला मोटरसाइकलमा डेढ घण्टासम्म लाग्दथ्यो”, पोखरभिण्डा गाउँका स्थानीय सन्तोष साह भन्छन्, “तर सडक कालोपत्र भएपछि अहिले मुस्किलले १५ मिनेटमै पुगिन्छ ।”

सडक डिभिजन कार्यालय लहानले सिरहा, सप्तरी र उदयपुर जिल्लाका जीर्ण सडकको स्तरोन्नतिसँगै कालोपत्रको कार्य तीव्र रूपमा अघि बढेसँगै दुर्गम मानिएका ग्रामीण क्षेत्र अहिले सुगम क्षेत्र बन्दै गएको छ । सडकहरू निर्माण भएपछि विकासले गति लिनुका साथै हजारौँ युवाले स्थानीयस्तरमै रोजगारीको अवसर प्राप्त गरेका छन् । “पहिला पहिला सडक जीर्ण हुँदा सवारीसाधन त्यति नचल्दा गाउँमा उत्पादन भएको तरकारी सहज रूपमा लहान बजारसम्म पुर्‍याउन समस्या हुन्थ्यो”, लक्ष्मीपुर पतारीका श्रवण महतो भन्छन्, “तर अहिले थुप्रै सङ्ख्यामा अटो रिक्साहरू चल्न थालेपछि ती बालीहरू बजार पुर्‍याउन सकिरहेका छौँ ।” यसबाट किसानसमेत उत्साहित भएको उनको भनाइ छ ।

वषौँदेखि जीर्ण रहेको सो सडक स्तरोन्नतिसँगै कालोपत्रको काम अन्तिम चरणमा पुगेको छ । रु १८ करोड ७४ लाख ९९ हजार नौको लागतमा २०७९ असार २३ मा ठेक्का सम्झौता गरी काम सुरु गरेको सिद्धबाबा अम्भुजा जेभी काठमाडौँले सडक स्तरोन्नति तथा कालोपत्रको काम गरिरहेको छ । विसं २०८२ असारसम्ममा उक्त सडकको काम सकिने समयावधि रहे पनि हालसम्म ९४ प्रतिशत काम सम्पन्न भइसकेको निर्माण कम्पनीका प्रतिनिधि सबइञ्जिनियर नरेशकुमार मण्डलको भनाइ छ । उनका अनुसार गाउँ क्षेत्रमा १२ मिटर चौडाइ र गाउँ बाहिर १० मिटर चौडाइ सडक स्तरोन्नति गरिरहेको छ भने गाउँ क्षेत्रमा नालासमेत निर्माण गरिएको छ ।

निर्माणाधीन विद्यापति मार्गको निर्माण कार्य अन्तिम चरणमा रहेको डिभिजन सडक कार्यालय लहानका प्रमुख डिभिजनल इञ्जिनियर आशुतोष कर्णले बताए। प्राविधिक रूपमा केही भेरियसन गर्नुपर्ने भएकाले सडकको बाँकी कार्य छिट्टै अगाडि बढाइने उनको कथन छ । यस्तै सप्तरीको सुरुङ्गा नगरपालिका–७ कदमहा चोक हुँदै चकदह, प्रमाणपुर र वडा नं १० पटेर्वा चोकसम्म निर्माणाधीन सडकको काम पनि तीव्र रूपमा भइरहेको छ । कूल आठ किलोमिटर पाँच सय मिटर लामो सो सडकमा हालसम्म करिब पाँच किलोमिटर सडक कालोपत्र गर्ने चरणमा पुगेको डिभिजन सडक कार्यालय लहानले जनाएको छ ।

गौरी पार्वती के एण्ड केजी जेभीले २०८१ मङ्सिर १७ गतेसम्म काम सक्नेगरी २०७९ मङ्सिर १८ मा ठेक्का सम्झौता गरेकामा रकम सुनिश्चित नगरिँदा केही ढिलाइ भए पनि अहिले काम तीव्र रूपमा भइरहेको निर्माण कम्पनीका प्रतिनिधि इञ्जिनियर भूपेन्द्र सिफैलया बताउछन् । उनले थपिएको म्याद अघि नै काम सकिनेगरी निर्माणको काम अघि बढेको बताए ।

बलान नदीको छेउबाट निर्माण भइरहेको सो सडकले आवागमनमा सहजता मात्र नभई बलान नदीले बर्सेनि गर्दै आएको कटान र डुबानको समस्यासमेत समाधान हुने स्थानीयको बुझाइ छ । “हाम्रा लागि यो बाटो अत्यन्तै महत्त्वपूर्ण र वरदान नै बनेको छ”, बैरवनका स्थानीय जिवछ यादव भन्छन्, “सडक निर्माण भएपछि गाडी गुडाउन पनि सहज हुन्छ र वर्षायाम बलान नदीले गर्ने कटान र डुबानबाटसमेत बचाउँछ, यो हाम्रा लागि ठूलो उपलब्धि हो”, उनले भने । कूल रु २७ करोड आठ लाख १६ हजारको लागतमा निर्माण भइरहेको यस सडकको भौतिक प्रगति ३३ प्रतिशत रहेको निर्माण कम्पनीका प्रतिनिधि विश्व सुवेदीको भनाइ छ ।

यस्तै उदयपुरको पुरानो सडकसँग सप्तरी लोकमार्ग दूरी छोट्याउन २०२५ सालमा ट्रयाक खोलिएको मोतीगढा–जोगीदह खण्ड निर्माणको कामले पनि तीव्रता पाएको छ । करिब १२ किलोमिटरको सो सडकलाई पनि कालोपत्र गर्ने गरी काम अघि बढेको डिभिजन सडक कार्यालय लहानका प्रमुख कर्ण बताउछन् । कर्णका अनुसार नेपाल सरकारको निर्वाचन क्षेत्र रणनीतिक सडक योजनाअन्तर्गत संघीय संसद्को एउटा निर्वाचन क्षेत्रमा कम्तीमा २५ र बढीमा ४० करोड रुपैयाँसम्मको लागतमा सडकहरू निर्माण भइरहेको छ ।

ती योजनाअन्तर्गत उदयपुरको निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने सदरमुकाम गाईघाट जोड्ने जिल्लाकै पुरानो सडक मोतीगढा–जोगीदह खण्डमा कालोपत्र गर्न लागिएको छ । दुई लेनको सडक कालोपत्र गर्नेगरी रु २८ करोड ४३ लाख ४६ हजारमा ठेक्का सम्झौता गरी धमाधम काम गरिरहेको छ ।

आवश्यक पर्ने रकम सुनिश्चित नगरिँदा त्रियुगा नगरपालिका वडा नं १, २ र ३ तथा चौदण्डीगढी नगरपालिका–१०, ९, २, ५ को सुन्दरपुर हुँदै सप्तरीको फत्तेपुर जोड्ने ३० किलोमिटर सडकअन्तर्गत मोतीगढा–जोगीदह–रुपनीसम्मको करिब १२ किलोमिटरको सडक आव २०८१/८२ को अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्य पूरा हुन नसकेको निर्माण व्यवसायी मनिकुमार दाहालले बताए । उक्त सडकलाई दुई लेनको बनाएर कालोपत्र गर्नेगरी अघिल्लो आवमा आर्थिक वर्ष काम वर्ष सुरु गरेको थियो ।

डिभिजन सडक कार्यालय लहानका इञ्जिनियर सञ्जीव साहका अनुसार सडक स्तरोन्नतिसँगै चौडा पार्ने र दायाँबायाँ नाली निर्माण, ठूला सानागरी २२ वटा कल्भर्ट निर्माण सम्पन्न भई नाला निर्माण गर्नेलगायत काम भइरहेको छ । करिब  २५ करोडभन्दा बढी लागत अनुमान रहेको सो योजनामा सरकारले चालु आवमा रु अढाइ करोड मात्र बजेट उपलब्ध गराएको छ ।

साना दललाई चलखेल गर्न नदिन पनि विनागठबन्धन एक्लाएक्लै चुनावमा जानुपर्छः महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राजनीतिक दलले मुलुक बनाउन नसकेको नभई मुलुक बनाउने परिस्थिति निर्माण नहुँदा समस्या भएको बताएका छन् ।

एमाले पेसागत विशेष जिल्ला कमिटीले शुक्रबार आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले विभिन्न बहानामा देशमा उत्पन्न हुने समस्याका कारण राजनीतिक दलले सम्पूर्ण ध्यान विकास निर्माणमा लगाउन नपाएको जिकिर गरे ।

‘विसं २०७४ मा राजनीतिक दलले काम गर्ने वातावरण तयार भए पनि त्यतिबेलाको सरकारले राम्रोसँग काम गर्न पाएन । कमजोर धरातलमा गरिएको एमाले र नेकपा (माओवादी केन्द्र)को एकतापछि बनेको नेकपा र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई पनि काम गर्न समस्या भयो’, महासचिव पोखरेलले भने ।

उनले देश आर्थिक रूपमा कमजोर र सामाजिक रूपमा अराजक बन्दै गएपछि थप समस्या उत्पन्न हुन नदिन दुई ठूला राजनीतिक दल मिलेर काम गर्न थालेको बताए ।

‘मुलुकलाई अगाडि बढाउने कोसिस भइरहेको छ । अब हाम्रो समय अलमलमा बित्दैन । हाल देखिएका समस्या समाधानका लागि काम भइरहेको छ । नयाँ सरकार बनेपछि आर्थिक सुधारको प्रक्रियामा केही प्रगति भएको छ’, महासचिव पोखरेलको भनाइ थियो, ‘लगानीको वातावरण तयार भएको छ । ब्याजदर घटेको छ । पुँजीगत खर्च वृद्धि भएको छ । पहिलेभन्दा कर उठ्न थालेको छ । मोटामोटी आर्थिक सूचक सुधारोन्मुख छ ।’

उनले नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाए पनि आगामी निर्वाचनमा विनागठबन्धन एक्लाएक्लै चुनाव लड्ने बताए ।

‘गठबन्धन गर्दा साना पार्टी संसदमा रहिरहने र तिनले अस्थिरता सिर्जना गरिरहने अवस्था कायमै रहन्छ । त्यसको अन्त्य हुनुपर्दछ भन्ने मान्यताका साथ हामी एक्लाएक्लै चुनावमा जान्छौँ’, महासचिव पोखरेलले भने ।

मधेसी जनताको मुक्तिको जिम्मा माओवादीले लिन्छः प्रचण्ड

राजविराज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सक्कली मधेसवादी दल माओवादी मात्रै भएकाले अब मधेसी जनताको मुक्तिको सम्पूर्ण जिम्मा माओवादीले लिने बताएका छन् ।

जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत सप्तरीको राजबिराजमामा आयोजित स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र नागरिक समाजका अगुवाहरुसँगको अन्तर्कियामा जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत सप्तरीको राजबिराजमा शुक्रबार आयोजित स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र नागरिक समाजका अगुवाहरुसँगको अन्तरक्रियालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

मधेसी जनता मधेसवादको नारामा स्थापित नक्कली मधेसवादी दलको भुलभुलैयाको परेको औल्याउँदै अध्यक्ष प्रचण्डले उनीहरुबाट मधेसी जनताको मुक्ति नहुने प्रमाणित भइसकेकाले अब वास्तविक मधेसवादी दल माओवादीसित जोडिनुपर्ने बेला आएको बताए ।

आफूलाई मधेसवादी भन्ने दलहरुको दिशा जनतातिर नभई प्रतिक्रियावादी दिशा उन्मुख रहेकाले नक्कली मधेसवादी दलसँग सावधान रहन उनले आग्रह गरे । मधेसको मुक्तिविना देशको मुक्ति सम्भव छैन भन्ने दृढ मान्यताका साथ पार्टीले सबैभन्दा पहिले मधेसी मुक्ति मोर्चा गठन गरेर जनयुद्ध थालनी गरिएको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले मधेससँगै वर्गीय मुक्तिका लागि जीवन आहुति दिने एक हजार तीन सय मधेसका सहिद सहित मधेस मुक्तिका लागि ज्यान गुमाउने सबै सहिदका सपनाको जिम्मेवारी पनि अब माओवादीले लिने प्रतिबद्धता व्यक्त गरे ।

संघीयता, समावेशिताको बढी आवश्यकता मधेसी समुदायलाई भएको र यसको नेतृत्वकर्ता शक्ति माओवादी भएकाले अब माओवादी र मधेसी जनतको एकता अपरिहार्य र अनिवार्य भइसकेको अध्यक्ष प्रचण्डले स्पष्ट गरे । अन्य प्रदेशमा पहिचानको सवाल कम सम्बोधन भए पनि मधेस प्रदेशको नामाकरण पहिचानबाट भएकोमा गर्व महसुस भएको उल्लेख गर्दै उनले माओवादी र मधेसी जनता एक ठाउँमा केन्द्रित हुने होइन भने प्राप्त उपलब्धि खोसिने खतरा रहेकोतर्फ सचेत रहनुपर्ने बताए ।

राजनीतिक दलको तर्फबाट माओवादीले नै पहिलोपटक हुलाकी मार्ग केन्द्रित राजनीतिक अभियान सुरु गरिएको उल्लेख गर्दै उनले यसको मुख्य उद्देश्य यस क्षेत्रका जनताको आर्थिक सामाजिक जीवनमा परिवर्तन ल्याउनु भएको स्पष्ट गरे ।

नेपालमा सबैभन्दा पुरानो सडकको रुपमा हुलाकी मार्ग रहेको भए पनि राज्यले अलपत्र पारेको अवस्थमा आफू प्रधानमन्त्री भएको बेला भारत भ्रमणमा जाँदा समकक्षी नरेन्द्र मोदीलाई यो सडक बनाउने हो कि होइन भनेर प्रश्न गरेपछि उहाँले बनाउने नै हो भन्ने प्रतिबद्धता जनाएको स्मरण गरे ।

प्रचण्डले त्यसपछि हुलाकी मार्ग निर्माण सुरु भएको र आफूले सिराहामा आएर यसको उद्घाटन गरेको जानकारी दिए । मधेसमा सिँचाइ, मल बीउ आदिका समस्या समाधान, कृषि उत्पादन वृद्धि र बजारीकरण, शिक्षा, स्वास्थ्य आदिको अवस्थामा परिवर्तन ल्याउन पार्टी पूर्णरुपमा समर्पित भएर लाग्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादी नेतृत्वको सरकारले थालेको मिटरब्याज पीडितलाई न्याय दिन थालेको ऐतिहासिक अभियान अहिले रोकिएको उल्लेख गर्दै पार्टीको गत केन्द्रीय समिति बैठकले मधेस प्रदेशमा प्रदेशस्तरीय र अन्य प्रदेशका जिल्लाहरुमा मिटरब्याज पीडित संघर्ष समिति बनाएर आन्दोलन अघि बढाउने जानकारी दिए ।

पार्टीले थालेको सुशासनको अभियान भ्रष्टाचार विरुद्धको अभियान मात्र नभएर दलाल पुँजीवादविरुद्धको आन्दोलन भएको बताए ।

नेसपा अध्यक्ष महेन्द्रराय यादवले माओवादी जनयुद्धका कारण नै गणतन्त्र संभव भएको उल्लेख गर्दै नेपालमा पहिलो गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंह र दोस्रो गणतन्त्रवादी नेता प्रचण्ड भएको बताए ।

भारतको रक्षा र सुरक्षा साझेदारीमा इयुको नजर

नयाँदिल्ली । युरोपेली सङ्घ (इयु) ले भारतसँग सुरक्षा र रक्षा साझेदारी अन्वेषण गरिरहेको इयुकी प्रमुख उर्सुला भोन डेर लेयनले बताएकी छन् ।

नयाँदिल्लीमा रहेकी भोन डेर लेयन आफ्नो परम्परागत सहयोगी संयुक्त राज्य अमेरिकासँग बिग्रिएको सम्बन्ध बचाउन खोज्दै आफ्ना कमिश्नहरूको समूहका साथ दुई दिने भ्रमणका लागि बिहीबार भारत आइपुगेकी हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मित्र र शत्रु दुवैका विरुद्ध धेरै शुल्क लगाउने घोषणा गरेपछि प्रतिनिधिमण्डलले विश्वको पाँचौँ ठूलो अर्थतन्त्रसँग आफ्नो कूटनीतिक र व्यापारिक सम्बन्धलाई गहिरो बनाउने लक्ष्य राखेको छ ।

इयुले एसिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावबारे साझा चिन्ताहरू, लचिलो आपूर्ति शृङ्खला निर्माण र कृत्रिम बौद्धिकता (एआई) सहित नयाँ प्रविधिहरूको शासनबारे भारतसँग साझा आधार खोज्ने आशा पनि राखेको छ ।

“हामी जापान र दक्षिण कोरियासँगको साझेदारीको ढाँचामा भारतसँग भविष्यको सुरक्षा र रक्षा साझेदारीको अन्वेषण गर्दैछौँ भनेर म घोषणा गर्न सक्छु”, इयु प्रमुखले भनिन्,“यसले हामीलाई साझा खतराहरू विरुद्ध हाम्रो काम बढाउन मद्दत गर्नेछ, चाहे त्यो सीमापार आतङ्कवाद, समुद्री सुरक्षा खतरा, साइबर आक्रमण वा हामीले देख्ने नयाँ घटना होस् ः हाम्रो महत्त्वपूर्ण पूर्वाधारमा आक्रमण ।”

इयु भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । इयुले सन् २०२३ मा एक खर्ब २४ अर्ब युरो (एक खर्ब ३० अर्ब डलर) मूल्य बराबरको वस्तुहरूको व्यापार गरेको थियो । ब्रसेल्सका अनुसार यो कूल भारतीय व्यापारको १२ प्रतिशतभन्दा बढी हो ।

भारतीय बजारले रक्षादेखि कृषि, कार र स्वच्छ ऊर्जासम्मका क्षेत्रहरूका लागि धेरै अवसरहरू प्रदान गर्दछ । तथापि उच्च शुल्कहरूद्वारा संरक्षित यो हाल इयुको वस्तुहरूको व्यापारको केवल दुई दशमलव दुई प्रतिशत मात्र हो ।

ब्लकले आफ्ना कार, मदिरा, वाइन र अन्य उत्पादनहरूका लागि प्रवेश अवरोधहरू कम गर्ने व्यापार सम्झौताका लागि जोड दिइरहेको छ ।

यसैबीच नयाँदिल्लीले स्वच्छ ऊर्जा, सहरी पूर्वाधार र पानी व्यवस्थापन जस्ता क्षेत्रहरूमा उच्च इयु लगानीको आशा गरेको छ ।
मोदीले संयुक्त स्थानीय उद्यम र यसका कुशल व्यवसायीहरूका लागि थप सुव्यवस्थित आप्रवासन नीतिका लागि जोड दिएका छन् ।
“इयु र भारतबीचको स्वतन्त्र व्यापार सम्झौता विश्वमा कहीँ पनि यस प्रकारको सबैभन्दा ठूलो सम्झौता हुनेछ”, भोन डेर लेयनले भनिन्, “यो सजिलो हुने छैन, तर मलाई पनि थाहा छ कि समय र दृढ सङ्कल्प महत्त्वपूर्ण छ… यसैकारण हामीले प्रधानमन्त्री मोदीसँग यो वर्षभित्र यसलाई सम्पन्न गर्न जोड दिन सहमति जनाएका छौँ ।”

दुवै पक्षले युक्रेनमा रुसको युद्धबारे पनि छलफल गर्ने अपेक्षा गरिएको छ । आफ्नो परम्परागत सैन्य हार्डवेयरको आपूर्तिकर्ता एवं ऐतिहासिक रूपमा रुससँग नजिक भारतले युक्रेनको आक्रमणपछि मस्कोबाट टाढा रहन पश्चिमी दबावको विरोध गरेको छ ।

अर्थतन्त्रले धेरै कठिनाइको सामना गर्नुपरेको चिनियाँ राष्ट्रपति सीको भनाइ

चीन । चीनका राष्ट्रपति सी चिनफिङले बेइजिङमा हुने प्रमुख राजनीतिक बैठकअघि प्रकाशित एक लेखमा देशको अर्थतन्त्रले अझै पनि ‘थुप्रै कठिनाइ’ को सामना गरिरहेको बताए ।

“अहिले बाह्य वातावरणमा आएको परिवर्तनको प्रतिकूल प्रभाव गहिरो भएको छ र चीनको अर्थतन्त्रले अझै पनि थुप्रै कठिनाइ र चुनौतीको सामना गरिरहेको छ,” सीले सत्तारुढ कम्युनिस्ट पार्टीको आधिकारिक पत्रिका किउशीमा शुक्रबार प्रकाशित लेखमा उल्लेख गरे ।

“अर्थतन्त्र सुधारमा देखिएका समस्याका बावजुद यो पनि स्वीकार गर्नुपर्छ कि असङ्ख्य फाइदाहरू, सशक्त लचिलोपन र विशाल क्षमताका साथ चीनको आर्थिक आधारभूत आधारहरू ठोस रहेका छन्,” राष्ट्रपति सीले भने ।

उनले अगाडि भने, “दीर्घकालीन वृद्धि र समग्र सकारात्मक मार्गलाई समर्थन गर्ने परिस्थितिमा परिवर्तन आएको छैन ।”

चीनको राजनीतिक नेतृत्वले अर्को हप्ता ‘दुई सत्र’ मा हुने बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर वृद्धि र व्यापारमा देखिएका जोखिमबाट रुग्ण अर्थव्यवस्थालाई जोगाउने योजनाहरू तयार पार्ने अपेक्षा विश्लेषकहरूले गरेका छन्।

प्रधानमन्त्री ली कियाङले सन् २०२५ का लागि आर्थिक वृद्धिको लक्ष्य तय गर्ने क्रममा बुधबार हुने नेसनल पिपुल्स कङ्ग्रेस (संसद) को उद्घाटनमा सबैको नजर रहनेछ ।

नेपालको पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन

काठमाडौँ । नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको शुक्रबार निधन भएको छ । ८४ वर्षीया पूर्वन्यायाधीश श्रेष्ठको महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान निधन भएको सर्वाेच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए ।

स्वास्थ्यमा केही समस्या देखिएपछि उनी केही दिनदेखि त्यहाँ उपचाररत थिइन् । सर्वोच्च अदालतमा पुग्ने उनी दोस्रो महिला न्यायाधीश हुन् ।

सर्वोच्च अदालतको न्यायाधीशका रूपमा श्रेष्ठ विसं २०६१ वैशाख ३ देखि २०६५ जेठ २१ गतेसम्म कार्यरत थिइन् । उनी अधिकृत देखिनै न्यायक्षेत्रमा कार्यरत थिइन् । श्रेष्ठको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि हुने जानकारी दिइएको छ । उनका दुई छोरा छन् ।

प्रतिकुल मौसमका कारण त्रिभुवन विमानस्थलबाट हवाई उडान प्रभावित

काठमाडौँ । प्रतिकुल मौसमका कारण हवाई सेवा प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार भिजिविलिटी कमजोर हुँदा कैयौँ हवाई उडान प्रभावित भएका छन् ।

कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार दोहाबाट काठमाडौँका लागि आएका कतार एयरवेजका क्यूआर६५२ जहाज कलकता डाइभर्ट गरिएको छ । त्यसबाहेक मलेसियाबाट आएको नेपाल एयरलाइन्स र एयर चाइनाका विमान पनि डाइभर्ट भएका छन् । मौसमकै कारण सिचुआन एयरलाइन्सको उडान रद्द भएको छ ।

मौसमका कारण आन्तरिक उडान पनि प्रभावित भएका छन् । कार्यालयका अनुसार काठमाडौँ–पोखरा, काठमाडौँ–भरतपुर, काठमाडौँ–नेपालगञ्ज, काठमाडौँ–राजविराज, काठमाडौँ, विराटनगर, काठमाडौँ–जनकपुर, काठमाडौँ–भद्रपुर, काठमाडौँ–भैरहवा लगायतका केही उडान रद्द भएको कार्यालयले जनाएको छ । साथै अधिकांश उडान डिले भएका छन् । प्रवक्ता शेर्पाका अनुसार दिउँसोदेखि भने उडान सामान्य रुपले भइरहेको छ ।

हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ । शुक्रबार बिहानदेखि परेको वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ ।

सडकमा जमेको बाक्लो हिउँका कारण लोकमार्गअन्तर्गत बागलुङको निसीखोला–पूर्वी रुकुम खण्ड अवरुद्ध भएको हो ।

निसीखोला गाउँपालिका–६ पातीहाल्नेमा डेढ फिट हिउँ परेको छ । सडक अवरुद्ध हुँदा पूर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोट, डोल्पालगायत स्थानबाट सञ्चालन हुने सवारीसाधन ठप्प भएको निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले जानकारी दिए । अहिले पनि निरन्तर हिमपात भइरहेको उनले बताए ।

‘बिहानैदेखि वर्षा भएको थियो, अहिले हिमपात भइरहेकाले तत्कालै सडक खुलाउन सकिने अवस्था छैन । हिमपात रोकिएर घाम लाग्यो भने मेसिन प्रयोग गरेर सडक खुलाउनु पर्छ । बिहान काठमाडौँदेखि आएका रात्रि बस सञ्चालन भए पनि अहिले लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन हुनसकेका छैनन्’, अध्यक्ष घर्तीमगरले भने ।

नेपालको एकमात्र ढोरपाटन सिकार आरक्षको माथिल्लो भेगमा पनि बाक्लो हिमपात भएको छ । बिहानैदेखि परेको हिमपातका कारण जनजीवन प्रभावित भएको ढोरपाटन नगरपालिका–९ का स्थानीय चकबहादुर अदैले जानकारी दिए ।

नेपाल र जापानबीच आयात–निर्यातको सम्बन्ध विकसित हुन थाल्नु सुखदः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ का माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुुग्ने बताएका छन् ।

समिटमा सहभागी हुन नेपाल आएका जापानी टोली र नेपाली समन्वयकर्ताहरुसँग शुक्रबार प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापानबीच सरकार–सरकार र जनता–जनताबीचको लामो सम्बन्ध अब आयात–निर्यातमा पनि विकसित हुन थालेको बताए ।

“नेपालीहरु राम्रो रोजगारीका लागि जापान पनि गएका छन् । नेपालको फापर जापान पुुगेको छ । जापानबाट गोल्डेन ट्राउड नेपाल भित्रिएको छ । जनस्तरका यस्ता असल सम्बन्धका अनेक आयामहरु छन्”, प्रधानमन्त्री ओलीले भने, “हामीबीच अब्बल मित्रता छ । खाली मित्रताबाहेक अरु केही छैन । हाम्रो सम्बन्ध साकुराजस्तै लटरम्म भएर फुलेको छ । समस्यारहित यो सम्बन्ध तथा विकासको साझेदारीलाई सूूचना प्रविधिको सहयोगमा उचाइका साथ अगाडि बढाउनुपरेको छ ।”

प्रधानमन्त्री ओलीले युद्धले विनाश र शान्तिले विकास दिन्छ भन्ने उदाहरण जापानले प्रस्तुत गरेको उल्लेख गर्दै विश्वमा शान्ति छाओस् भन्ने आफूहरुको प्रबल इच्छा र सक्रिय प्रयास रहेको बताए ।

एक दशकभन्दा बढी समयदेखि उद्यमशीलता प्रवद्र्धन र व्यावसायिक मार्गदर्शनमा सक्रिय रहेको आइडिया स्टुडियो नेपालअन्तर्गतको समूूहद्वारा सञ्चालित लिडएक्स नेपाल र फोर्थ लिभायेको आयोजनामा यही फागुन १४ देखि १६ गतेसम्म नेपालमा समिट आयोजना गरिएको हो ।

पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध

दार्चुला । महाकाली नगरपालिका–५ किम्तडीमा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध भएको छ । पहिरो खसेपछि आज बिहानदेखि यातायात सेवा ठप्प भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । सडक अवरुद्ध हुँदा बिहानैदेखि तराइबाट जिल्ला सदरमुकामका लागी छुटेका तथा जिल्लाबाट बाहिरिने सवारीसाधन बाटोमै थन्किएका छन् ।

यात्रु बाटोमै अलपत्र परेका महाकाली काउन्टर दार्चुलाका लवराज अवस्थीले जानकारी दिए । सोही ठाउँमा गत माघ दोस्रो साता पनि पहिरो गएको थियो । उक्त ठाउँमा केही समयअघि सडक मर्मत सम्भार गरिएको थियो ।

६ महिनामा प्राधिकरणको नाफा ११ अर्ब ३६ करोड

काठमाडौ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ ।

प्राधिकरणले पुस मसान्तसम्मको विवरणअनुसार ११ अर्ब ३६ करोड नाफा आर्जन गरेको हो ।प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ ।

विद्युत् खरिद, प्रशासनिक, विभिन्न आयोजनाहरुमा समेत ५९ अर्ब ८ करोड रुपैयाँ खर्च गरिएको प्राधिकरणले जनाएको छ । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा प्राधिकरणको करअघिको सञ्चालन नाफा ११ अर्ब ३६ करोड रुपैयाँ हुने प्रक्षेपण गरिएको जनाएको छ ।

आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुबाट निरन्तर नाफामा छ । गत आर्थिक वर्ष २०८०/८१ मा प्राधिकरणले १४ अर्ब ४६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

प्राधिकरणले नाफाबाट विद्युत उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार एवम् सुदृढीकरण र विद्युतीकरणतर्फका आयोजनाहरुमा लगानी गरिरहेको छ । प्राधिकरणले चालु आर्थिक वर्षको ६ महिनामा विद्युत बिक्रीबाट ५३ अर्ब १८ करोड रुपैयाँ सङ्कलन गरेको छ ।

यस अवधिमा प्राधिकरणका सहायक तथा सम्वद्ध कम्पनीहरुवाट १ अर्व १५ करोड र अन्य निजी उत्पादक कम्पनीहरुवाट ५ अर्व १६ करोड गरी जम्मा ६ अर्ब ३१ करोड युनिट विद्युत खरिद गरिएको छ ।

खरिद गरिएको विद्युत्का लागि ३४ अर्ब ८४ करोड रुपैयाँ रकम भुक्तानी भएको छ । भारतबाट २४ करोड २० लाख युनिट विद्युत आयात गरी १ अर्ब ६५ करोड रुपैयाँ भुक्तानी गरिएको छ । गत साउनदेखि पुससम्ममा १ अर्व ७७ करोड १८ लाख युनिट विद्युत भारततर्फ निर्यात गरी १३ अर्ब ९ करोड रुपैयाँ आम्दानी गरिएको छ ।

चीनमा बालबालिका अपहरणको अभियोगमा एक महिलालाई मृत्युदण्ड

गुइयाङ । चीनमा १७ जना बालबालिकाको अपहरण तथा बेचबिखन गरेको अभियोगमा दोषी ठहरिएका एक व्यक्तिलाई शुक्रबार मृत्युदण्ड दिइएको छ ।

दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तको गुइयाङ इन्टरमीडिएट पिपुल्स कोर्टले यु हुयिङलाई सुनाइएको मृत्युदण्डको सजायलाई सर्वोच्च जनअदालतबाट अनुमोदन गरेपछि मृत्युदण्ड दिइएको हो ।

सन् १९९३ देखि २००३ को बीचमा युले गुइझोउ, चोङकिङ र युन्नानका बालबालिकालाई अपहरण गरी पैसाका लागि बेचेको अदालतबाट ठहर भएको थियो ।

सन् २०२४ अक्टोबर २५ मा भएको पहिलो आपराधिक फैसलामा युलाई बाल तस्करीको अपराधमा मृत्युदण्डको सजाय सुनाइएको थियो । युले गुइझोउ प्रान्तीय उच्च जनअदालतमा अपील गरेपनि उनको अपील अस्वीकृत गर्दै दोस्रो पटकको सुनुवाईपछि मृत्युदण्डको सजायलाई सदर गरिएको थियो ।

अदालतले ती महिलालाई आजीवन राजनीतिक अधिकारबाट बञ्चित गर्दै उनको सबै व्यक्तिगत सम्पत्ति जफत गर्न आदेश दिएको थियो ।

सांसदले जनताको विश्वास जित्न काम गरेर देखाउनुपर्छः सांसद शाक्य

काठमाडौँ ।  संसदीय अभ्यास मेरा लागि नौलो थियो । म दुई वर्ष सात महिना जति इजरायलको राजदूतसमेत भएको थिएँ । राजदूत हुँदा उत्तरदायित्व आफूले नै बहन गर्नुपर्ने हुन्छ । आफूले तय गरेका योजना कार्यान्वयन गर्न सहज हुन्छ । तर संसदीय अभ्यासमा आफैँले कार्यान्वयन गर्न सकिँदैन । निर्देशन मात्र दिन सकिने रहेछ । सांसदले धेरै विषयमा आवाज उठाएका हुन्छौँ । कार्यपालिकाले मात्रै त्यसकोे कार्यान्वयन गर्न सक्छ । कतिपय विषय कार्यान्वयन हुन्छन्, कतिपय हुँदैनन् ।

संसदीय अभ्यासमा मैले देखेको मुख्य चुनौती भनेको सांसदले उठाएका विषयको कार्यान्वयन नै हो । आवाज उठायो, तर कार्यान्वयन नहुने समस्या रहेछ । तर राम्रो पक्ष के लाग्यो भने राष्ट्रियसभा र यस मातहतका समितिहरु भने निकै सक्रिय हुने गरेको पाएँ । सभा वा समितिका बैठकहरु कोरम नपुगेर स्थगित भएका छैनन् ।

राष्ट्रियसभाअन्तर्गतका समितिले निकै मेहनतका साथ काम गरेको पाएकी छु । कुनै विषय वा विधेयकमा संशोधन दर्ता गरेका सदस्यहरु पनि त्यहाँ उपस्थित भएर आफ्नो धारणा राख्नुभएको हुन्छ । घनिभूत छलफल गर्नुहुन्छ । राष्ट्रियसभाका समितिमा विचाराधीन विधेयकहरु माथिको छलफल राम्रो रहेको पाइयो । विधेयकमा सबै कुरा समावेश गर्न त सकिँदैन । सकेसम्म त्यहाँ उठेका आवाजलाई समेट्ने प्रयास राम्रो देखियो । यसमा सबै सदस्यहरु सजग रहेको पाइयो ।

म राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा छु । त्यहाँ पनि सबै सदस्यहरु उपस्थित हुनुहुन्छ । अहिले म उक्त समितिअन्तर्गत रहेको दिगो विकास उपसमितिको संयोजक छु । उपसमितिले यही २०८१ फागुन २ गते ‘नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा अध्ययन प्रतिवेदन–२०८१’ लाई पारित गरी मूल समितिमा बुझाएको छ । यो प्रतिवेदन लामो छलफल र अध्ययनबाट तयार पारिएको छ ।

यो प्रतिवेदन तयार पार्न राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, संयुक्त टे«ड युनियन महासङ्घ, निजी क्षेत्रलगायत सरोकारवाला निकायसँग छ वटा बैठक गरेका थियौँ ।

नेपालले सन् २०१० देखि नै आवधिक योजना, बजेट तथा कार्यक्रमहरुमार्फत स्तरोन्नतिका प्रयासहरु गर्दै आएको भए पनि अहिलेसम्म अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन सकेको छैन । प्रतिव्यक्ति कूल राष्ट्रिय आय, मानव सम्पत्ति सूचकाङ्क र आर्थिक तथा वातावरणीय जोखिम सूचकाङ्कका शर्तहरु पूरा गरेपछि स्तरोन्नति हुने विश्वव्यापी मान्यता छ । यी शर्तमध्ये संयुक्त राष्ट्रसङ्घले सन् २०१५, २०१८ र २०२१ मा गरेको मूल्याङ्कनमा नेपालको मानव सम्पत्ति सूचकाङ्क र आर्थिक तथा वातावरणीय जोखिम सूचकाङ्क पूरा गरेको भए पनि अहिलेसम्म विभिन्न कारणले स्तरोन्नति हुन सकेको छैन ।

तीन शर्तमध्ये कुनै दुईवटा मापदण्ड मात्र पूरा भए पनि स्तरोन्नतिका लागि योग्यता पुग्ने भएकाले प्रतिव्यक्ति कूल राष्ट्रिय आयको मापदण्ड पूरा नभए पनि दुईवटा सूचक पूरा गरी नेपाल सन् २०२६ नोभेम्बर २४ मा अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्र हुने लक्ष्य प्राप्तिको दिशातर्फ अगाडि बढिरहेको छ । संयुक्त राष्ट्रसङ्घबाट हरेक तीन वर्षमा हुने मूल्याङ्कनमा लगातार दुईपटक स्तरोन्नतिका लागि योग्य भएपछि मुलुक स्तरोन्नति हुनसक्छ । सन् २०१५ र २०१८ मा नेपालले दुईवटा सूचकको  मापदण्ड पूरा गरेकोले स्तरोन्नतिका लागि योग्यता पुगेको थियो ।

तत्कालीन अवस्थामा भूकम्पपछिको पुनःनिर्माणबाट तङ्ग्रिँदै गरेको आर्थिक अवस्था र संविधान जारी हुने समय भएका कारण त्यसबाट नेपाल पछि हटेको थियो । सन् २०१८ मा स्तरोन्नति हुने निर्णय लिँदा तयारीका लागि तीन वर्षको समयसीमा भए पनि उक्त समय छोटो भएकाले सन् २०२१ मा स्तरोन्नति गर्ने निर्णय भएको थियो । त्यतिबेला पनि कोभिड–१९ को प्रभावले गर्दा नेपाल, बङ्गलादेश र लाओसले पाँच वर्षको सङ्क्रमण समय पाएका छन् । यो अवस्थामा अब नेपालले सन् २०२६ मा स्तरोन्नति हुनैपर्ने अवस्था छ ।

स्तरोन्नतिपछि दिगोपना कायम गर्न जिम्मेवार सरकारी संयन्त्र एवं निजी क्षेत्रबीच पारस्परिक समन्वय, बुझाई र अपनत्व, स्रोतको उपलब्धता, कानुनी एवं नीतिगत स्पष्टता र तयारीको अवस्था के–छ भन्ने विषयमा संसदीय अध्ययन तथा मूल्यांकन आवश्यक भएकोले यो प्रतिवेदनमा यी कुरालाई पनि ख्याल गरेका छौँ ।  नेपालको प्रतिव्यक्ति आय वृद्धि गर्न बृहत् आर्थिक स्थिरता र वित्तीय दिगोपना कायम गर्नुपर्ने, अन्तर्राष्ट्रिय व्यापारको पूर्वाधार प्रवद्र्धन गर्दै उत्पादनशील क्षेत्रमा आर्थिक वृद्धि गर्नुपर्ने, आर्थिक रूपान्तरणको प्रवद्र्धन गर्दै आर्थिक लाभको दिगोपनाबाट आर्थिक अभिवृद्धि  गर्नुपर्ने, उत्पादनशील मानव पुँजीको वृद्धि र दिगोपनाको लागि सामाजिक क्षेत्रको सवलीकरण गर्नुपर्ने, भविष्यमा पर्नसक्ने आर्थिक तथा वित्तीय जोखिम व्यवस्थापनमा दिगोपना मापन गर्दै आर्थिक तथा वातावरणीय क्षेत्रको थप सुधार गर्नुपर्ने जस्ता कुरा हामीले यो प्रतिवेनको रणनीतिक उद्देश्यमा समावेश गरेका छौँ ।

प्रतिवेदनमा नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा नेपालको छवि, इज्जत एवं प्रतिष्ठा बढ्ने, अन्तर्राष्ट्रिय क्षेत्रमा विकासशील राष्ट्रका रुपमा दर्ज हुने, लगानीका लागि थप वातावरण तयार हुने, नेपालका दीर्घकालीन विकासका सोचहरु, दिगो विकासका लक्ष्यहरु पूरा गर्न सरकार गैरसरकारी संस्था, निजी क्षेत्र लगायत विकास साझेदारबीच थप समन्वय सुदृढ हुने प्रतिवदेनमा उल्लेख छ । यसका लागि सबै तहका सरकारबीच समन्वय जरुरी  छ । अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्ध र दुई पक्षिय सम्बन्ध अझै बलियो बनाउनुपर्छ ।

मेरो योजना भनेको मुलुकको आर्थिक विकासका लागि कसरी अगाडि बढ्ने भन्ने रहेको छ । मुलुकको छवि कसरी अन्तर्राष्ट्रिय जगत्मा उँचो बनाउने भनेर सांसदको हैसियतले गर्नुपर्ने सबै काम गर्नेछु । जलवायु परिवर्तनको असर अहिलेको मुख्य चुनौतीको विषय रहेको छ । संसद्को ध्यान भनेको जलवायु परिवर्तनबाट हुने असर कसरी न्यूनीकरण गर्न सकिन्छ ? जलवायु वित्तलाई कसरी सही रुपमा परिचालन गर्न सकिन्छ ? जोखिमबाट कसरी बच्ने ? भन्ने विषय गम्भीर छ । नेपालले जलवायुजन्य जोखिम न्यूनीकरणका लागि गम्भीर भएर अगाडि बढ्नुपर्छ । म सांसदको हैसियले पनि यी मुद्दालाई उठान गरिरहन्छु ।

संविधानको पूर्ण कार्यान्वयन भने जटिल विषय हो । समन्वयको अभावका कारण जति कार्यान्वयन हुनुपर्ने हो त्यति भएको छैन । संविधानमा व्यवस्थित समावेशी लगायतका विषयहरु आफैँमा राम्रा छन् जहाँ दलितका कुरा छन्, महिलाका कुरा छन्, जनजातिका कुरा छन् । संविधानका भएका व्यवस्थालाई सबैको सहकार्य भएमा कार्यान्वयन गर्न सहज हुन्छ । कार्यान्वयन नभएकै भन्ने पनि होइन । तर जति गर्न सकिन्थ्यो त्यति भने भएको छैन ।

सांसदले जनताको विश्वास जित्नका लागि सबै आफ्नो दायित्व मात्रै बुझिदिए पुग्छ । अनि बोलेर मात्रै भन्दा पनि कामले नै जनतालाई विश्वास दिलाउन आवश्यक छ । संसदमा रहनुभएका जिम्मेवार पक्षले यी कुराको बोध गरेर अगाडि बढ्नुपर्छ । सञ्चारमाध्यमले पनि भ्रमित कुराहरु जनतालाई सम्प्रेष्ण गर्नुहुँदैन ।

संसदीय अभ्यासमा रहँदा खुसीचाहिँ के लाग्यो भने बाहिरबाट हेर्दा सांसदहरु झगडा गरेको जस्तो देखिन्छन् । तर बाहिर निस्किएपछिसँगै चिया पनि पिएका हुन्छन् । हामीबीच मिल्ने संस्कार राम्रो छ । वैचारिक रुपमा मात्रै विवाद देखिन्छ । जे संसद्मा देखिन्छ बाहिर त्यस्तो हुँदैन ।

राष्ट्रियसभा सदस्य शाक्यको परिचय 

सङ्खुवासभामा जन्मिएकी डा अञ्जान शाक्य नेपालका लागि इजरायलको राजदूत हुँदै हाल राष्ट्रियसभाको सदस्य छिन् । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरेका हुन् । गायिका तथा समाचारवाचिका हुँदै राजदूतको रुपमा आफ्नो छवि स्थापित गरिसक्नुभएकी शाक्य राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति अन्तर्गतको दिगो विकास उपसमिति संयोजक हुन् । यो मन्दिर, यो मस्जिद, यो चैत्य, यो गुम्बा, मलाई छ प्यारो सधैँ आफूभन्दा…भन्ने गीतबाट चर्चित शाक्यसँग अन्तर्राष्ट्रिय सरोकार केन्द्रको अध्यक्ष, नेपाल ओमेन च्याम्बरको अध्यक्ष लगायतका पदमा रहेर काम गरेको अनुभव समेत छ । उनले सन् २०११ मा व्यवस्थापन विषयमा विद्यावारिधि गरेकी छन्  ।

-कुराकानीमा आधारित

अब पढ्ने होइन त ? ‘रामतुलसी’

-सुशीला रेग्मी, रामपुर (पाल्पा), १६ फागुन । कक्षाकोठामा अत्याधुनिक प्रविधि जडान छ । विद्यार्थीका हातमा किताब, कापी, कलम होइन, स्मार्ट ट्याब छन् । यसमै विद्यार्थीहरु गुगलबाट नयाँ कुरा खोज्न र जानकारी लिइरहन व्यस्त देखिन्छन् । साना कक्षादेखि ठूला कक्षासम्मका विद्यार्थीले आफ्नो पालोअनुसार कक्षाकोठामा बसेर पढिरहेको देखिन्छ ।

आफैँ स्मार्ट ट्याब खोलेर पढ्ने सुविधा सायद नेपालमै निजी विद्यालयमा पनि कमै होला । सामुदायिक विद्यालयमा त यस्तो प्रविधि भित्रिएको नहुन पनि सक्छ । पाल्पा रामपुर नगरपालिका–५ बेझाड बजारस्थित रामतुलसी नमुना माध्यमिक विद्यालयका विद्यार्थी हाल स्मार्ट ट्याबको माध्यमबाट अध्ययन गरिरहेका छन् । सामुदायिक विद्यालयमा यस्तो प्रविधि देख्ने जो कोहीलाई लाग्छ, विदेशका विद्यालयका कक्षाकोठामा बसेर पढेजस्तो वातावरण । सोच्दै नसोचेको प्रविधिबाट शिक्षण हुन थालेपछि यतिबेला विद्यार्थी मात्र होइन, अभिभावक, जनप्रतिनिधि, स्थानीय सबैको ध्यान विद्यालयले तानिरहेको छ ।

एउटा कक्षाकोठाभित्र विद्यार्थीका हात–हातमा स्मार्ट ट्याबमात्र नभई रेकर्डिङ स्टुडियो, कम्प्युटर, ल्यापटप, मिक्चर, माइक्रोफोन, भिडियो क्यामेराजस्ता प्रविधि जडान छ । सो प्रविधि रेडियो र टेलिभिजन, रेकर्डिङ स्टुडियोमा देखिन्छ । तर यहाँको विद्यालयमै एउटै कक्षाकोठामा अत्याधुनिक प्रविधि जडान गरेर धमाधम शिक्षण कार्य भइरहेको छ । यो कार्य देख्दा विदेशस्थित ठूलाठूला विश्वविद्यालयमा पढेजस्तो लाग्ने गर्दछ ।

समयानुकूल भित्रिएका प्रविधिलाई अवलम्बन गर्दै विद्यालयले अत्याधुनिक सूचना प्रविधि कक्षाकोठा (आइसिटी कक्षाकोठा) निर्माण गरेर विभिन्न उपकरण जडान गरी पठनपाठन गरिरहेको छ । विदेशमा पढाई हुने प्रविधि आफ्नै विद्यालयमा निर्माण भई पढ्न पाउनु नै हाम्रो लागि ठूलो अवसर रहेको बताउनुहुन्छ, छात्रा विविशा घिमिरे ।

उनी आफैँले स्मार्ट ट्याबबाट पढाइसँग सम्बन्धित नयाँ कुरा खोजेर जानकारी लिने गर्छन् । “सबै विद्यार्थीको घरमा कम्प्युटर, ल्यापटप जस्ता विभिन्न प्रविधिको सुविधा हुँदैन, सबै विद्यार्थी प्रविधिसँग नजोडिन सक्छन्, विद्यालयमा अत्याधुनिक सूचना प्रविधि कक्षाकोठाले हामीलाई नयाँ ज्ञान सीप सिक्ने वातावरण मिलेको छ, यसले प्रविधि र विद्यार्थीको सम्बन्ध नजिक बनाएको छ”, उनले भने ।

हिजोका दिनमा फुर्सदको समय विद्यार्थीहरु एकापसमा कुराकानीमा समय बिताउने गर्थे भने अहिले खाली समय मिल्नेबित्तिकै आइसिटी कक्षाकोठामा जाने र प्रविधिमै ध्यान केन्द्रित हुन थालेको छ । साना कक्षामा पढ्नेदेखि ठूला कक्षामा पढ्ने विद्यार्थी आइसिटी कक्षामा बसेर पढ्न पाउँदा औधी हर्षित हुन्छन् । यहाँको सुविधा सम्पन्न प्रविधियुक्त कक्षाकोठाको यत्रतत्र चर्चा मात्र नभई अहिले अध्ययन अवलोकन गर्न आउनेको उपस्थिति बढ्दो छ ।

प्रविधिको प्रयोगले पठनपाठनमा सक्रियता बढाउने र आफूलाई दैनिक केही न केही नयाँ कुरा सिक्न र खोज्न मन लाग्ने गरेको छात्र सन्देश पोखरेलले आफ्नो अनुभव सुनाए । यही प्रविधि सिक्नका लागि बाहिर धेरै रकम खर्च गर्नुपर्छ, हाम्रो गाउँघरमा त चाहेर पनि सिक्न पाइने सुविधा छैन तर हामीले विद्यालय तहमा नै आफ्नै पढ्ने महत्वपूर्ण अवसर प्राप्त गरेको उनले बताए ।

प्रविधियुक्त शिक्षाले पठनपाठनलाई सहज मात्र नभई विद्यार्थीलाई केही न केही नयाँ कुरा सिक्न, खोज्न र जानकारी लिन अभ्यस्त बनाएको बताउँछन्, छात्रा अनिशा श्रेष्ठ । शिक्षकले पढाउँदै गर्दा पाठसँग सम्बन्धित कुराहरु गुगलबाट खोजेर जानकारी लिने गर्दा सिकाइ छिटो बुझिने र सम्झन पनि सहज भएको अनुभूति गरेको उनले सुनाए ।

कतिपय विषयवस्तु सैद्धान्तिक शिक्षणले मात्रै बुझाउन नसकिने खालको हुनाले प्रयोगात्मक तरिकाबाट विद्यार्थीलाई बुझाउनुपर्ने भएकाले प्रविधिको प्रयोग गरेर शिक्षण गर्न थालेपछि विद्यार्थीले छिटो बुझ्ने र नयाँ कुरा सिक्न जागरुक हुने गरेको विज्ञान शिक्षक राजन घिमिरे बताउँछन् । पाठसँग सम्बन्धित कतिपय विषयवस्तु प्रयोगात्मक रुपमा प्रविधिको प्रयोग गरेर देखाउनुपर्ने हुँदा शिक्षण कार्यका लागि सूचना प्रविधिको प्रयोग अति अपरिहार्य रहेको उनको अनुभव छ ।

पूर्वबालविकास तह (मन्टेश्वरी) देखि सबै विद्यार्थीलाई प्रयोग हुने गरी कक्षा सञ्चालन गरिएको छ । कक्षा ६ देखि १० सम्मका कम्प्युटर विषय, कक्षा ९ र १० का विद्यार्थीका लागि कम्प्युटर मात्र नभई सबै विषय पठनपाठन भइरहेको छ । साना कक्षाका विद्यार्थीलाई पनि पालैपालो नयाँ प्रविधिबाट पढाउने, सिकाउने कार्य चलिरहेको छ ।

हाल ५० जना विद्यार्थीले एकैपटक बसेर स्मार्ट ट्याबमा पढ्न मिल्ने व्यवस्था छ । मोनिटरिङ, भिडियो क्यामेरा, प्रिन्टर, ल्यापटप, माइक्रोफोन, मिक्चर, रेकर्डिङ स्टुडियो, सम्पादन कक्षको छुट्टै व्यवस्था, विद्यार्थीले समूह कार्य गर्न तीनवटा प्यानलबोर्ड, एसीसहितको सुविधा सम्पन्न कक्षाकोठा पठनपाठनमा प्रयोग भइरहेको छ ।

शिक्षा मन्त्रालय र आइएसिई कोरियाको साझेदारीमा अत्याधुनिक सूचना प्रविधि कक्षाकोठा निर्माण गरिएको हो । सो प्रविधिसहितको कक्षाकोठा निर्माणका लागि नेपालभित्रका तीनवटा विद्यालय छनोटमध्ये रामतुुलसी नमुना माविसहित बाग्लुुङको ताराखोलामा अवस्थित नेपाल सेकेण्डरी विद्यालयलाई शिक्षा मन्त्रालयबाट स्वीकृत प्रदान गरेपछि नयाँ प्रविधिसहितको कक्षाकोठा निर्माण सम्पन्न गरेर प्रयोगमा ल्याइएको छ ।

करिब एक करोड ५० लाखको लागतमा तयार पारिएको विद्यालयले जनाएको छ । अघिल्लो शैक्षिक सत्रमा शुभारम्भ गरेर यस शैक्षिक सत्रबाट शिक्षण कार्यका लागि सञ्चालन भइरहेको छ । यहाँ सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिमका कार्यक्रम समेत हुने गरेका छन् ।

कक्षा शिक्षणका क्रममा शिक्षकले पढाउँदै गर्दा विद्यार्थीले तत्कालै प्रश्नको उत्तर गुगलबाट खोजेर आफै पत्ता लगाउने हुँदा उत्तर खोज्न किताबको पाना पल्टाइरहनु नपर्ने र प्रविधिको प्रयोगले पाठसँग जोडिएका नयाँ कुरा आफैँ खोजेर पत्ता लगाउन सक्ने भएको सूचना प्रविधि (आइटी) शिक्षक चन्द्रप्रकाश भट्टराई बताउँछन् ।

“रेकर्डिङ स्टुडियोमा शिक्षकले पढाएका कुराहरु रेकर्ड हुन्छन्, यदी विद्यार्थीले पढ्ने क्रममा नबुझेको, अप्ठ्यारो लागेको छ भने भोलिपल्ट आएर वा सोही दिन समय मिलाएर पुनःदोहोराएर पढ्न र बुझ्न सक्ने प्रविधि छ, गुगलमा खोजेर आफूलाई आवश्यक पर्ने नयाँ कुरा पत्ता लगाउने, नयाँ कुरा सिक्न बढी विद्यार्थी उत्सुक र जिज्ञासु बनेका छन्, मनोरञ्जन तरिकाबाट पढाइ भइरहेको छ” उनले भने ।

अहिलेको २१औँ शताब्दिमा विदेशमा गएरपनि प्रतिष्पर्धा गर्न सक्ने खालको जनशक्ति उत्पादन गर्न, समयानुकूल आएका प्रविधिलाई अवलम्वन गरी विद्यार्थीको आवश्यकता पूरा गर्न विद्यालय सक्षम बनेको प्रधानाध्यापक बालकृष्ण लम्साल बताउँछन् । अन्य विद्यालयभन्दा फरक ढङ्गले काम गर्नका लागि सूचना प्रविधि कक्ष (आइसिटी ल्याब) मात्र नभई अत्याधुनिक सूचना प्रविधि कक्षाकोठा नै तयार पारिएको उनले बताए ।

“विद्यार्थीले हातहातमा स्मार्ट ट्याबलेट लिएर शिक्षकसँगै सिक्ने र त्यसलाई व्यवहारमा उतार्न प्रयोगात्मक शिक्षण सिकाइ भइरहेको छ, नयाँ प्रविधि सिक्न पाउँदा विद्यार्थी पनि उत्साहित छन्”, प्रअ लम्सालले भने, “हाम्रो नारा नै ‘सिक्नका लागि रामतुलसी’ भन्नेछ, यहाँ आउने जो कोहीले पनि अन्य विद्यालयमा भन्दा फरक केही न केही नयाँ कुरा सिक्न पाउनु हुनेछ, यो नै रामतुलसीको पहिचान हो” ।

हरियाली पार्कसहितको सफा, सुग्घर, प्रविधिमैत्री विद्यालयको रुपमा पठनपाठन भइरहेको छ । निर्धक्कसँग यस विद्यालयमा विद्यार्थी पठाएर प्रविधिमैत्री शिक्षण पद्धतिसँग परिचित हुनका निम्ति सबै अभिभावकलाई प्रअ लम्सालको अनुरोध छ । अभिभावकले विद्यालयप्रति गरेको विश्वास र सहयोगका कारण विद्यालय यहाँसम्म आइपुगेको उनी बताउँछन् ।

विसं २०७४ देखि नेपाल सरकारबाट नमुना विद्यालयको रुपमा घोषणा भएको हो । उच्च शिक्षातर्फ शिक्षा, मानविकी, व्यवस्थापन, विज्ञान र प्राविधिक धारतर्फ डिप्लोमा इन एग्रीकल्चर बालीविज्ञान कक्षा सञ्चालन भइरहेको छ । आफ्नै गाउँमा बसेर प्राविधिक शिक्षा पढ्न पाउँदा विद्यार्थीलाई उच्च शिक्षाका लागि बाहिर जाने र आर्थिक भारको समस्या परेको छैन ।

यो विद्यालय पाल्पा जिल्लाकै नमुनाउन्मुख र पुरानो विद्यालयको रुपमा परिचित छ । यस विद्यालयमा हाल पाल्पा, स्याङजा, तनहुँ र नवलपुर जिल्लाका करिव दुई हजार सात सय विद्यार्थी अध्ययनरत छन् । करिब एक सय शिक्षक कर्मचारी कार्यरत छन् । विद्यालयको रेखदेख र सुरक्षाका लागि सुरक्षा कर्मचारी परिचालन गरिएको छ ।

हाल यहाँ नेपाली, अङ्ग्रेजी माध्यममा कक्षा १० सम्म पठनपाठन भइरहेको छ । विद्यालयको वातावरण, अनुशासन, सामुदायिक भएपनि शिक्षामा अब्बल विद्यालय भएकाले खोजेजस्तै पठनपाठन हुने गरेकाले विद्यार्थी रामतुलसी पढ्ने भनेपछि उत्साहित हुन्छन् । सामुदायिक विद्यालयले शैक्षिक क्षेत्रमा गरेको नमुना कार्यले राम्रो शिक्षा लिन संस्थागत विद्यालय नै पढ्नुपर्छ भन्ने मानसिकता हिजोआज विद्यार्थी तथा अभिभावकमा हट्दै गएको छ ।

शैक्षिक प्रयोजनका लागि व्यवस्थित प्रयोगशाला तयार पारेर साना र ठूला कक्षाका विद्यार्थीलाई फरकफरक कोठामा कम्प्युटर सिक्ने व्यवस्था मिलाइएको छ । व्यवस्थित पुस्तकालय, बसको सुविधा, आधुनिक चमेनागृह सञ्चालन, सेनेटरी प्याड प्रयोगमा जोड, स्टेम ल्याबको प्रयोग, विद्यालयको वेबसाइट र सर्भर सञ्चालन, विद्यार्थी प्रगति विवरणलाई व्यवस्थित गरिएको विद्यालयले जनाएको छ । प्राथमिक उपचारका लागि एक जना नर्स शिक्षकको व्यवस्था गरिएको छ ।

यहाँ सञ्चालनमा आएको प्रविधिमैत्री नमुना पूर्व बालविकास अर्थात् मन्टेश्वरी कक्षाले निकै चर्चा पाएको छ । शैक्षिक गुणस्तरलाई मध्यनजर गर्दै विद्यालय जाने प्रारम्भिक उमेर समूहका बालबालिकालाई लक्षित गर्दै प्रविधिमैत्री सुविधा सम्पन्न मन्टेश्वरी कक्षा सञ्चालनमा आएको छ । भौतिक तथा शैक्षिक क्षेत्रमा राम्रो पहिचान बनाउन सफल भएको रामतुलसी मावि धेरैको रोजाइमा पर्ने गरेको छ ।

प्रयाप्त खेल मैदान, सुविधा सम्पन्न शौचालय, खानेपानी, प्रयोगशाला, पुस्तकालय लगायतको राम्रो सुविधा छ । विद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्री सबैको प्रबन्ध, विद्यालयभित्रै तयार पारिएको स्वस्थकर खाजाको व्यवस्था, पढ्दै, खेल्दै सिक्ने वातावरणले विद्यार्थी सिकाईमा जिज्ञासु बनेका छन् ।

सामान्यतया विद्यालयको समय बिहान १० देखि ४ बजेसम्म हो, तर आवश्यकताअनुसार यहाँका शिक्षक, कर्मचारी बिहानदेखि साँझसम्म विद्यालयको शैक्षिक विकासमा अहोरात्र खटिएकै हुन्छन् । शिक्षक, कर्मचारी, व्यवस्थापन समिति र अभिभावकले विद्यालयको शैक्षिक तथा भौतिकस्तर सुधार गर्न अहोरात्र खटेपछि विद्यार्थीले सोचेजस्तै र खोजेजस्तै विद्यालय बनेको छ ।

रामतुलसी माविको हिजोको इतिहास खोतल्दा पार्टी, पौवाबाट अक्षराम्भ भएको विद्यालय हो । भवन अभावमा गाउँका पार्टी, पौवा, चौतारी, खुल्ला चउर, बगैचामा विद्यार्थी राखेर शिक्षा दिएको विद्यालय अहिले सुविधा सम्पन्न नमुना विद्यालयका रुपमा सबैकासामु चिनिएको छ । शिक्षाको उज्यालो ज्योती प्रदान गर्न २०२५ सालमा स्थापना भएको यो विद्यालय पूर्वी पाल्पामै पुरानो हाइस्कुलका नामले परिचित छ ।

‘सिक्नका लागि रामतुलसी’ भन्ने नारालाई साकार पार्ने भावी योजनामा समावेश गरिएको छ । सूचना र सञ्चारलाई शिक्षणमा जोड्दै जाने, भौतिक सुविधायुक्त कक्षाकोठा निर्माण गर्दै जाने, ठूलो क्षमताको शैक्षिक सभाहल निर्माण, अभिभावक शिक्षा सञ्चालन गर्ने योजनामा उल्लेख छ ।

केपी ओली कपको फाइनल हेर्न बुफोन नेपाल आउने

काठमाडौं । फिफा विश्वकप विजेता इटालीका गोलकिपर जियानलुइजी बुफोनले आफू नेपाल आउने भएका छन् । शुक्रबार भिडियो सन्देश जारी गर्दै बुफोनले केपी ओली कप फुटबलको फाइनलका लागि नेपाल आउन लागेको जानकारी दिएका हुन् ।

उनले भनेका छन्, ‘नमस्ते सबै जनालाई म जिजी बुफोन, केपी ओली कपको फाइनलमा चिफ गेष्टका रूपमा मार्चको पहिलो हप्ता म नेपाल आउँदै छु ।’

बुफोन केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा सहभागी हुन १८ फागुनमा नेपाल आइपुग्ने छन् । केपी ओली कपको फाइनल १९ फागुनमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ ।

प्रतितोला २२ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली  बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला  दुई हजार २०० ले घटेर  एक लाख ६८ हजार १०० कायम भएको छ ।

महासङ्घका अनुसार शुक्रबार चाँदीको मूल्य भने स्थिर छ । चाँदीको मूल्य प्रतितोला  एक हजार ९१५  रुपैयाँ कायम भएको छ ।

मणिपुरका मिलिसिया लडाकूहरूद्वारा लुटिएका हतियारसहित आत्मसमर्पण

नयाँदिल्ली । भारतको द्वन्द्वग्रस्त मणिपुर राज्यलाई नयाँदिल्लीको प्रत्यक्ष शासनअन्तर्गत राखिएको केही दिनपछि प्रतिद्वन्द्वी जातीय समूहहरूका मिलिसिया लडाकूहरूले सुरक्षा बलहरूबाट लुटिएका दर्जनौँ बन्दुकहरू र अन्य उपकरणहरू समर्पण गरेको प्रहरीले शुक्रबार बताएको छ ।

मणिपुर सन् २०२३ मेमा मुख्यतः हिन्दू मेइतेई बहुसङ्ख्यक र मुख्यतः क्रिश्चियन कुकी समुदायबीच भएको घातक हिंसा फैलिएपछि जातीय रेखाहरूमा विभाजित भएको छ ।

भारतको युद्धग्रस्त म्यानमासँगको सीमामा रहेको यस उत्तरपूर्वी राज्यमा कम्तीमा दुई सय ६० जनाको मृत्यु भएको छ र दशौँ हजार मानिस आफ्ना घरबाट भागेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) का मुख्यमन्त्री एन बीरेन सिंहले आफ्नो सरकारले हिंसा रोक्न पर्याप्त काम नगरेको भन्दै आलोचना भएपछि यस महिना राजीनामा दिएका थिए ।

समुदायिक समूहहरूले उनको राजीनामा र त्यसपछि नयाँदिल्लीद्वारा प्रत्यक्ष शासन लागू गरिएकोमा स्वागत गरे र यसले पारस्परिक शङ्काहरू र राज्य अधिकारीहरूद्वारा पक्षपातको प्रतिद्वन्द्वी जातीय समूहहरूका आरोपहरू अन्त्य गर्नेछ भन्ने आशा गरे ।

मणिपुर प्रहरीले शुक्रबार एक्समा शृङ्खलाबद्ध पोस्टहरूमा राज्यभरका जातीय मिलिसियाहरूले समर्पण गरेको ह्यान्ड ग्रेनेड, पेस्तोल, राइफल, हेलमेट, बुलेटप्रुफ ज्याकेट र गोलाबारुदका फोटोहरू साझा गरेको छ । गत हप्तामा कम्तीमा तीन सय सात हतियार हस्तान्तरण गरिएको प्रहरीले एक विज्ञप्तिमा जनाएको छ ।

“लुटिएका र गैरकानूनी रूपमा राखिएका हतियार र गोलीगठ्ठा समर्पण गर्न अनुरोधले सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ”, विज्ञप्तिमा भनिएको छ, “हतियारको यस्तो स्वेच्छिक समर्पणले मणिपुर राज्यमा शान्ति, साम्प्रदायिक सद्भाव र कानूनको पुनःस्थापनामा महत्त्वपूर्ण मद्दत गर्नेछ ।”

हतियार त्याग्नेहरूलाई आपराधिक अभियोग नलगाइने प्रहरीले बताएको छ । मेइतेई र कुकी समुदायहरू बीच लामो समयदेखि चलिरहेको तनाव भूमि र सार्वजनिक रोजगारीका लागि प्रतिस्पर्धाको वरिपरि घुम्छन् । अधिकारकर्मीहरूले स्थानीय नेताहरूलाई राजनीतिक लाभका लागि जातीय विभाजनहरू बढाएको आरोप लगाएका छन् ।

सरकारी तथ्याङ्कअनुसार हिंसाको प्रकोप हुँदा मणिपुरमा महिनाौँसम्म इन्टरनेट सेवा बन्द गरिएको थियो र यसबाट लगभग ६० हजार मानिस आफ्नो घरबाट विस्थापित भएका थिए । निरन्तर तनावका कारण राज्यका हजारौँ बासिन्दा अझै पनि घर फर्केका छैनन् ।

मार्चदेखि चीनलाई थप १० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा १० प्रतिशत थप शुल्क लगाउने घोषणा गरेका छन् । साथै उनले ‘अस्वीकार्य’ लागूपदार्थ तस्करीका कारण देखाउँदै क्यानाडा र मेक्सिकोमाथि आगामी हप्ता शुल्क लगाउने योजना अघि बढाउने बताएका छन् ।

विश्वभरका अघिल्लो दिनको नोक्सानीलाई पछ्याउँदै शुक्रबार एसियामा खुल्ने बजारहरूमा रिपब्लिकन राष्ट्रपति ट्रम्पको यो पछिल्लो टिप्पणीले विश्वव्यापी व्यापार युद्धको डर फैलाएको छ ।

अवैध आप्रवासन र घातक फेन्टानिललाई लिएर ट्रम्पले यस महिना क्यानाडा र मेक्सिकोको आयातमा २५ प्रतिशत कर लगाउने घोषणा गरेको थियो । तर एक महिना लामो विश्राम मङ्गलबार समाप्त हुँदैछ ।

अर्को हप्ता शुल्कमा अगाडि बढ्ने योजना छ कि छैन भन्ने पत्रकारहरूको प्रश्नपछि ट्रम्पले बिहीबार सामाजिक सञ्जालमा जबसम्म फेन्टानिलको समस्या बन्द हुँदैन ‘वा गम्भीर रूपमा सीमित हुँदैन’ प्रस्तावित शुल्कहरू निर्धारित रूपमा हुने लेखेका छन् ।

“चीनलाई पनि त्यही मितिमा १० प्रतिशत थप शुल्क लगाइनेछ”, उनले मार्च ४ को सन्दर्भमा भने ।

यस महिनाको सुरुमा ट्रम्पले चीनबाट आयात हुने सामानमा १० प्रतिशत शुल्क वृद्धि गरे । यसबाट बेइजिङलाई जवाफी कारबाही गर्न उत्प्रेरित गर्यो ।

एक अमेरिकी अधिकारीले फेन्टानिलका कारण लगाइएको अवस्थित शुल्कमा नयाँ १० प्रतिशत शुल्क थपिएको पुष्टि गर्दै लागूपदार्थ मामिलामा ‘अपर्याप्त प्रगति’ भएको बताएका छन् ।

फेन्टानिल मुद्दालाई सम्बोधन गर्न वासिङ्टनले तीनवटै देशविरुद्ध कारबाही गर्नुपर्ने अधिकारीले बताए । चिनियाँ वाणिज्यमन्त्री वाङ वेन्ताओले बिहीबार वासिङ्टनको अघिल्लो १० प्रतिशत शुल्कप्रति चिन्ता व्यक्त गरे ।

“चीन यसको दृढतापूर्वक विरोध गर्दछ र सम्बन्धित जवाफी कदमहरू चालेको छ”, नवनियुक्त अमेरिकी व्यापार प्रतिनिधि (युएसटिआर) जेमिसन ग्रिरलाई लेखेको पत्रमा वाङले भने । ट्रम्पको खतराबाट आफ्नो अर्थतन्त्रलाई जोगाउने योजना बनाउन चिनियाँ नेतृत्वको बैठक अर्को हप्ता बस्ने भएको छ ।

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबामले बिहीबार ट्रम्पको धम्की शुल्कबाट बच्न उनीसँग कुरा गर्ने आशा गरेको बताए । एक उच्चस्तरीय मेक्सिकाली प्रतिनिधिमण्डल सम्झौताको खोजीमा वासिङ्टनमा छ ।

साथै क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अधिकारीहरूले अमेरिकी करहरू रोक्न चौबीसै घण्टा काम गरिरहेको तर अर्को हप्ता उपायहरू लागु भएमा ‘तत्काल’ प्रतिक्रिया हुने बताए ।

संयुक्त राज्य अमेरिकामा प्रवेश गर्ने फेन्टानिल र कागजातविहीन आप्रवासीहरूको एक प्रतिशतभन्दा कम क्यानाडाको सीमाबाट आउने कुरामा ट्रुडोले बारम्बार जोड दिएको छ ।

ट्रम्पको धम्कीले प्रमुख निर्यातक देशहरूमा कम्पन पैदा गरेको छ । टोकियोमा केही समयका लागि तीन प्रतिशतको गिरावटसँगै शुक्रबारको सुरुमा एसियाली बजारहरू रातो रङमा थिए ।

पारस्परिक शुल्क

फेन्टानिलमाथि कर लगाउने बाहेक ट्रम्पले ट्रुथ सोसलमा तथाकथित पारस्परिक शुल्कका लागि अप्रिल २ को मिति ‘पूर्ण बल र प्रभावमा रहनेछ’ भने ।

यी शुल्कहरू प्रत्येक अमेरिकी व्यापार साझेदारका लागि अनुकूलित हुनेछन् । ट्रम्पले व्यापार मुद्दाहरूमा आह्वान गरेका अध्ययनहरू सरकारी निकायहरूले पूरा गरेपछि विवरणहरू आउनेछन् ।

ग्रिरलाई लेखेको पत्रमा वाङले ट्रम्पले ‘चीनलाई लक्षित गरी’ धेरै व्यापार अनुसन्धानहरूको आह्वान गरेको र दुवै पक्षलाई संवादमार्फत आफ्ना मतभेदहरू समाधान गर्न आग्रह गरेको लेखेको छ ।

बेइजिङले अमेरिकी फेन्टानिलसम्बन्धी चिन्ताहरूलाई अस्वीकार गरेको छ र वासिङ्टनले अन्य देशहरूमाथि शुल्क लगाउनुको साटो आफैँ यो समस्या समाधान गर्नुपर्छ भनेको छ ।

संयुक्त राज्य अमेरिकामा सीधै लागूपदार्थ आपूर्ति गरिनुको साटो गत वर्ष कंग्रेसनल रिसर्च सर्भिसको प्रतिवेदनले उल्लेख गरेअनुसार अमेरिकातर्फ जाने फेन्टानिल चीनबाट आउने रासायनिक अग्रदूत पदार्थहरू प्रयोग गरेर मेक्सिकोमा बनाइएको देखिन्छ ।

केही अग्रदूतले अन्तर्राष्ट्रिय नियन्त्रणको सामना गरे पनि अन्य चीन जस्ता देशहरूबाट कानूनी रूपमा निर्माण र निर्यात गर्न सकिन्छ । फेब्रुअरीको सुरुमा चीनको विदेश मन्त्रालयले नयाँ शुल्कहरूले लागूपदार्थविरुद्धको सहकार्यलाई हानि पुर्‍याउन सक्छ भनी चेतावनी दिएको थियो ।

बनेपास्थित एक होटलमा युवती मृत फेला, सँगै गएका युवक फरार

बनेपा । काभ्रेको बनेपास्थित एक होटलमा युवती मृत फेला परेकी छन् । बनेपा नगरपालिका बुडोल बस्ने २३ वर्षीया शर्मिला श्रेष्ठ बिहीबार साँझ मृत फेला परेकी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनी बनेपा नगरपालिका भवन अगाडि रहेको एक होटलमा मृत फेला परेकी हुन् । सँगै गएका युवक भने फरार रहेका प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बनेपाबाट टोली खटिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रशासनले भन्यो-भूकम्पबाट सिन्धुपाल्चोकमा मानवीय र भौतिक क्षतिका घटना भएका छैनन्

काठमाडौं । भूकम्पबाट जिल्लामा कुनै मानवीय वा भौतिक क्षति नभएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले विज्ञप्ति जारी गरी सिन्धुपाल्चोक कारागारमा कैद भुक्तान गरिरहेका एक जना कैदीको भागदौडको क्रममा लडेर दाहिने हातमा सामान्य चोट लागेको जनाएको छ ।

उनलाई चौतारा अस्पतालमा उपचार गराइएको र अहिले उनलाई डिस्चार्ज गरिएको छ । त्यस्तै भूकम्पबाट भोटेकोशी गाउँपालिका वडा नं ३ स्थित तुसारे भन्ने स्थानमा सुख्खा पहिरो गएको छ।

तर, उक्त स्थानमा मानव बस्ती नभएकाले कुनै क्षति नभएको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिएका छन् । यसैगरी, भोटेकोशी गाउँपालिका स्थित इलाका प्रहरी कार्यालय कोदारीको एक तल्ले जस्ताको छानो भएको ब्यारेक भवनमा सामान्य क्षति पुगेको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर शुक्रबार बिहान २ बजेर ५१ मिनेटमा ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

धारपानी धाम

दाङको घोराही उपमहानगरपालिका-५ स्थित करिब ३३ हेक्टर क्षेत्रफलमा फैलिएको धार्मिक तथा पर्यटकीयस्थल पाण्डवेश्वर महादेव मन्दिर, धारपानी धाम । उक्त तस्बिर महाशिवरात्रिको दिन लिइएको हो ।

तस्बिर: कुलदीप न्यौपाने / रासस

वीरगञ्ज गोल्डकप फुटबल शनिबारदेखि

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाको सहयोगमा भोलि शनिबारदेखि हुने वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको खेल आयोजक भेट्रान सिटीक्लबले जनाएको छ ।

आदर्शनगर रङ्गशाला हुने प्रतियोगितामा एक भारतीयसहित राष्ट्रियस्तरका आठ वटा फुटबल टोली मैदानमा उत्रने भेट्रान सिटी क्लबका उपाध्यक्ष सागर शमशेर जबराले जानकारी दिए ।

प्रतियोगितामा ए डिभिजन लिग खेल्ने संकटा, मच्छिन्द्र, नेपाल पुलिस, एपिआई चर्च ब्वाइज युनाइटेड, दिल्लीको गढवाल डाइमण्ड फुटबल क्लब, सलहेश फुटबल क्लब बागमती युथ क्लब र वीरगञ्ज युनाइटेड स्पर्धा गर्दै छन् ।

प्रतियोगितामा प्रथम हुनेलाई पदक एवं प्रमाणपत्रका साथ नगद रु ११ लाख ११ हजार एक सय ११, उपविजेता टोलीलाई रु पाँच लाख ५५ हजार पाँच सय ५५ प्रदान गरिने छ । शनिबार हुने उद्घाटन खेलमा वीरगञ्ज युनाइटेड र गढवाल डाइमण्ड भिड्ने छन् ।

प्रतियोगिता सम्पन्न गर्नका लागि करिव एक करोड खर्च लाग्ने आयोजकले जनाएको छ । प्रथम वीरगञ्ज गोल्ड कप फुटबल प्रतियोगिता २०८० को कात्तिक महिनामा आयोजना गरिएको थियो । प्रथम संस्करणको वीरगञ्ज गोल्डकपको विजेताको रूपमा नेपाल पुलिस क्लब र उपविजेताको रूपमा नेपाल आर्मी क्लब भएको थियो ।

‘वरिष्ठ बलराम’को प्रदर्शन मिति घोषणा

काठमाडौं । फिल्म ‘वरिष्ठ बलराम’ले रिलिज मिति घोषणा गरेको छ । टाइटल टिजर सार्वजनिक गर्दै निर्माणपक्षले रिलिज मिति घोषणा गरेको हो । निर्देशक सुरेन्द्र पौडेलका अनुसार यो फिल्म तिहारको लक्ष्मी पूजाका दिन कात्तिक ३ गते रिलिज हुनेछ ।

फिल्ममा दयाहाङ राई, विजय बराल, पशुपति राई, समृद्धि अर्याल, माओत्से गुरुङलगायत कलाकारको अभिनय रहनेछ । आशिष एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा रहेका छन् ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहने फिल्मको पटकथा महेश दवाडीले लेखेका छन् । सामाजिक कथावस्तुमा आधारित फिल्मको छायाँकन तराईका विभिन्न स्थानमा गरिनेछ ।

तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको फिल्ममा प्रशान्त शिवाकोटी संगीत, सम्राट शाक्य एक्सन र प्रदीप लामाको कोरियोग्राफी रहने छ । फिल्म वृषभ सिद्धी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुनेछ ।