`

अमेरिकी आक्रमणबाट केही उपलब्धि नभएको खामेनीको दाबी

Nepal One HD १३ असार २०८२ ९:०२
विश्व

बीबीसी । इरानका सर्वोच्च नेता आयातोल्ला अली खामेनीले अमेरिकी आक्रमणले इरानको आणविक कार्यक्रममा कुनै उल्लेखनीय क्षति पुर्याउन नसकेको दाबी गरेका छन् ।

इजरायलसँग युद्धविराम भएको दुई दिनपछि पहिलो पटक सार्वजनिक रूपमा बोलेका खामेनीले अमेरिकाले ‘कुनै उपलब्धि हासिल नगरेको’ बताएका हुन् । बिहीबार टेलिभिजनमार्फत गरिएको सम्बोधनमा खामेनीले अमेरिकी हमला ‘असफल’ भएको दाबी गर्दै त्यसको जवाफस्वरूप कतारस्थित अमेरिकी हवाई बेसमा गरिएका प्रहारलाई ‘गम्भीर आघात’ भनेका छन् ।

उनले चेतावनी दिँदै भने, ‘यदि फेरि इरानमाथि आक्रमण भयो भने अमेरिकी सैन्य अड्डाहरूमा थप आक्रमण हुनेछ, र शत्रुले ठूलो मूल्य चुकाउनुपर्नेछ।’

यता, वासिङ्टनले भने आक्रमण सफल भएको अडान दोहोर्याएको छ । अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले पेन्टागनमा पत्रकार सम्मेलन गर्दै अमेरिकी तथा इजरायली गुप्तचर निकायहरूले संकलन गरेको सूचनाको आधारमा ‘इरानको आणविक कार्यक्रमलाई वर्षौं पछाडि धकेलिएको’ बताए ।

‘हामीले इरानी प्रशोधन केन्द्रहरूलाई प्रयोगविहीन बनाएका छौं,’ उनले जनरल ड्यान केनसँग संयुक्त रूपमा सम्बोधन गर्दै भने । राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि आक्रमणबाट इरानका तीन मुख्य आणविक केन्द्रहरू ‘पूर्ण रूपमा ध्वस्त’ भएको दाबी गरेका थिए।

तर अमेरिकी सञ्चारमाध्यमहरूले केही स्रोतहरूलाई उदृत गर्दै वास्तविक क्षति अपेक्षाभन्दा कम हुनसक्ने उल्लेख गरेपछि ट्रम्पले ती रिपोर्टमाथि आक्रोश व्यक्त गरेका थिए । तेहरानले हालसम्म आक्रमणका सबै विवरणहरू सार्वजनिक नगरे पनि खामेनीको लामो मौनता तोड्दै आएको चेतावनीपूर्ण भाषणले पश्चिम एसियामा पुनः तनाव चुलिन सक्ने संकेत दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *