`

अमेरिकाको टेक्सास राज्य संसदद्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

अमेरिका । अमेरिकाको टेक्सास राज्यको संसद्को बिहीवार सम्पन्न बैठकले गौतम बुद्धको जन्मभूमि नेपाल भएको भन्दै हरेक वर्षको १५ मेलाई ‘बुद्ध डे’ का रुपमा मनाउन सङ्कल्प प्रस्ताव पारित गरेको छ।

राज्यसभाको बैठकमा सभामुख डस्टिन बुरोले पेस गर्नुरेको १५ मे लाई ‘बुद्ध डे’का रुपमा मनाउनेसम्बन्धी प्रस्ताव सर्वसम्मते पारित भएको हो।

टेक्सासका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने राज्य सांसद (हाउस अफ रिप्रजेन्टेटिभ) डा सुलेमान ललानी, टेरी मेजा, सलमान भोजानी लगायतले ‘बुद्ध डे’सम्बन्धी सङ्कल्प प्रस्ताव तयार गरी संसदमा दर्ता गराएका थिए।

उक्त अवसरमा नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्र टेक्सास, नेपाली समाज टेक्सास, ग्रेटर अस्टिन नेपाली समाज, बुद्धिस्ट एशोसियसन अफ टेक्सास, तामाङ सोसाइटी अफ टेक्सासलगायत दर्जन बढी संस्था, नेपाल, भियतनाम, कोलम्बिया, म्यानमारलगायत विभिन्न देशका ६० भन्दाबढी बौद्ध भिक्षुहरुको उपस्थिति थियो।

टेक्सास राज्यको संसद् नेपालमैत्री बन्दै गएको भन्दै यहाँका नेपाली समुदायले खुसी व्यक्त गरेका छन्। टेक्सासको राज्य संसदमा हालसम्म नेपाली मूलका सांसदहरुको प्रतिनिधित्व छैन।

नेपालसम्बन्धी प्रस्तावमा राज्य सांसदहरुले उच्च महत्व दिँदै आएको नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले बताए।

टेक्सास नेपाली समुदायको बाक्लो बसोबास भएको राज्य हो। टेक्सासमा नेपाल र नेपालीको पहिचान स्थापित गराउनका लागि यहाँका नेपाली समुदायका व्यक्तिले लामो समयदेखि पैरवी गर्दै आएका थिए।

हालसम्म टेक्सासको राज्य संसद्बाट नेपाल डे, लुम्बिनी डेसम्बन्धी सङ्कल्प प्रस्ताव पारित भइसकेका छन्। बुद्ध डे मनाउनेसम्बन्धी सङ्कल्प प्रस्ताव तेस्रो हो।

बुद्ध डे मनाउनेसम्बन्धी प्रस्ताव नेपाल र नेपालीहरुको पहिचानका पक्षमा भएको थप सफलता भएको ग्रेटर अस्टिन नेपाल समाजका अध्यक्ष विदुर खतिवडाले बताए।

अध्यक्ष खतिवडाका अनुसार टेक्सासको राज्यसभाले गौतम बुद्धको जन्मभूमि नेपालको लुम्बिनी भएको स्वीकार गरी सङ्कल्प प्रस्ताव पारित गरेकाले हरेक वर्षको १५ मे लाई बुद्ध डेका रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइनेछ।

‘के घर के डेरा घर नं २’ प्रदर्शनमा

काठमाडौँ । उपन्यासकार तथा कवि ‘बुद्धिसागर’को कथामा निर्माण गरिएको चलचित्र ‘के घर के डेरा घर नं २’ शुक्रबारदेखि देशव्यापी रुपमा प्रदर्शन भएको छ । चलचित्र शुक्रबार एकैपटक दुई सयभन्दा बढी ‘शो सङ्ख्या’मा प्रदर्शन भएको निर्देशक दीपेन्द्रकुमार खनालले जानकारी दिए ।

चलचित्रका निर्देशक खनालका अनुसार ‘कर्णाली ब्लुज’, ‘फिरफिरे’, ‘एक्लो’ जस्ता चर्चित उपन्याससहित विभिन्न कवितामार्फत स्थापित बद्धिराम चपाईं अर्थात् बुद्धिसागरको कथामा आधारित भई निर्माण गरिएको चलचित्रमा विशेषगरी काठमाडौँ उपत्यकाभित्रका घरबेटी र डेरावालको कथाव्यथालाई समेटिएको छ ।

“चलचित्रको सार्वजनिक प्रदर्शन अगाडि आयोजना गरिएको विशेष प्रदर्शनी (प्रिमियर शो) मा गैरचलचित्रकर्मी दर्शकले पनि यसलाई मन पराउनुभएको छ । त्यसकारण म चलचित्र भवनसम्म पुग्ने दर्शकले चलचित्र मन पराउनुहुनेमा विश्वस्त छु । यो घरबेटी, डेरावालसँगै सहरमा हुनेहरूको कथा हो । यसको सुन्दर पक्ष भनेकै चलचित्रमा रहेका पात्रहरू एकआपसमा जोडिएका छन् । उनीहरूले काठमाडौँ सहरमा देखिने हरेक वर्गलाई प्रतिनिधित्व गरेको छन् भन्ने लागेको छ”, निर्देशक खनालले भने ।

निर्देशक खनालले यस अगाडि ‘के घर के डेरा’ निर्देशन गरेका थिए । उस्तै नाम भए पनि यसपटक कथा र परिवेश फरक रहेको उनले जानकारी दिए ।

किनकी ‘के घर के डेरा’ लाई ‘कमेडी’ शैलीमा प्रस्तुत गरिएको थियो भने यसपटक ‘के घर के डेरा घर नं २’ मा ‘इमोसनल’ शैली प्रयोग गरिएको छ ।

उक्त चलचित्रमा खगेन्द्र लामिछाने, केकी अधिकारी, आर्यन सिग्देल, उपासनासिंह ठकुरी, निश्चल बस्नेत, प्रकाश घिमिरेलगायत कलाकारले पनि अभिनय गरेका छन् ।

अभिनेता लामिछानेले चलचित्रको पटकथामा राम्रा पात्रहरूको उदयसँगै न्यायोचित अवतरण रहेको जानकारी दिए । आफैँ लेखक भएकाले उनले लेखनका क्रममा आइपर्ने कठिनाइसँग जानकार भएर पनि पटकथा सुन्दर लागेको प्रतिक्रिया दिए ।

“पात्रलाई चलचित्रमा जसरी सुरूवात गरिन्छ, त्यसको अन्त्य धेरैलाई मन पर्ने किसिमको बनाउन निकै कठिन हुन्छ । म आफैँ लेखक भएकाले यस चलचित्रमा पटकथामा आएका सम्पूर्ण पात्र अर्थपूर्ण हुनुका साथै एकआपसमा जोडिएको छ र ती यत्तिकै हराउँदैनन्”, अभिनेता लामिछानेले भने ।

‘पशुपति प्रसाद’ जस्तो चलचित्रमा लेखकको भूमिकासँगै अभिनेतासमेत रहेका लामिछानेले ‘अर्गानिक’ भनेर अघोषित रूपमा बुझ्ने गरिएको ग्रामीण परिवेशसम्बन्धी बुझाइमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए । नेपालका मौलिक विषय गाउँ मात्र नभई सहरकै पनि ‘अर्गानिक’ हुने उनको बुझाइ छ ।

अर्थतन्त्र सुधारका लागि सरकारले ‘मिसन’ शैलीमा काम गर्नुपर्छः उपसभापति वाग्ले

काठमाडौँ । लामो समयदेखि तङ्ग्रिन नसकेको मुलुकको अर्थतन्त्र सुधारका लागि सामान्य अवस्थाको जस्तो औपचारिकता मात्रै पूरा गर्ने खालको नभई हस्तक्षेपकारी बजेट ल्याइनुपर्ने सांसदहरुले धारणा राखेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा सांसदहरुले स्पष्ट योजना र कार्यक्रमसहित अर्थतन्त्र सुधारको प्रयास थालिनुपर्ने सुझाव दिएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णिम वाग्लेले विनियोजनअनुसार खर्चको प्रभावकारिता देखिन नसकेकाले त्यस क्षेत्रमा हस्तक्षेपकारी सुधारको रणनीति आवश्यक पर्ने बताए ।

‘बजेट छुट्याइएको पैसा साँच्चिकै खर्च भयो कि भएन ? खर्च भएपछि गुणस्तरीय नतिजा दिन सकियो कि सकिएन ? भन्ने कुरालाई हामीले नजरअन्दाज गरिरहेका छौँ’, उनले भने, ‘विनियोजनअनुसार खर्चको प्रभावकारी कार्यान्वयन हुन सकेको देखिँदैन । पैसा छुट्याएर मात्र भएन खर्च गर्न पनि सक्नुपर्यो । खर्च गर्न नसक्नु भनेको राज्यको क्षमतामाथि पनि प्रश्न हो ।’

अनुकूल र सामान्य अवस्थामा पनि निकै कम पुँजीगत खर्च हुने गरेको उनको भनाइ छ । अर्थतन्त्र सुधारका लागि सरकारले ‘मिसन’ शैलीमा काम गर्नुपर्ने सांसद डा वाग्लेको भनाइ छ ।

‘विभिन्न सभा, सम्मेलन, आवधिक चुनाव, खोप अभियान जस्ता मिसन मोडका काममा राज्यले राम्रो तरिकाले गर्नसक्ने तर नियमित मोडमा गर्नुपर्ने शिक्षा, स्वास्थ्य, सार्वजनिक सेवा प्रवाहका काम गर्न नसक्ने अवस्था छ । यसमा सुधार आवश्यक छ,’ डा वाग्लेले भने ।

सरकारका नीति तथा कार्यक्रम र वार्षिक बजेट निर्वाचनमुखी राजनीतितर्फ बढी केन्द्रित भएको उल्लेख गर्दै उनले भोट बैङ्कको राजनीति र टुक्रे आयोजनाको राजनीति समाप्त पार्नुपर्ने बताए ।

त्यस्तै, नयाँ योजना तथा कार्यक्रम र ‘एजेन्डा’ थपेको थप्यै गर्ने तर सोअनुसारको कार्यक्षमता विकास हुन नसकेको सांसद डा वाग्लेको भनाइ छ ।

आर्थिक रुपमा बलियो र कुलीन वर्गले सार्वजनिक यातायात, सार्वजनिक स्वास्थ्य, सार्वजनिक शिक्षाजस्ता सेवा प्रयोग गर्न छाडेको उल्लेख गर्दै उनले सबै नागरिकलाई सार्वजनिक सेवाप्रति समान धारणा विकास गर्न आवश्यक रहेको बताए । त्यस्तै, सार्वजनिक निजी तथा सहकारी क्षेत्र, गैरसरकारी क्षेत्र कसलाई कुन काम गर्न दिने र नदिने भनेर स्पष्ट पारिनुपर्ने उनले उल्लेख गरे ।

वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेटमा आय र व्ययको सन्तुलन मिलाउनुपर्ने सुझाव दिए । त्यस्तै, आर्थिक शिथिलता र मन्दिलाई हटाउन उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले गरेका सिफारिस कार्यान्वयन गर्नेगरी आगामी आर्थिक वर्षको वजेट केन्द्रित गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै, शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रमा कृतिम बौद्धिकता (एआई) को प्रयोग बढ्दै गएको विषयलाई पनि ध्यानमा राखिनुपर्ने, ठूला आयोजनाको कार्यान्वयनलाई प्राथमिकतामा राख्नुपर्ने सार्वजनिक संस्थानहरुको सङ्ख्या घटाउनुपर्नेलगायतका सुझाव उनले दिए ।

वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन

वीरगञ्ज। वीरगञ्ज भन्सार कार्यालयले चालु आवका १० महिनामा  एक खर्ब ४० अर्ब ४२ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले सो अवधिमा कूल वार्षिक लक्ष्यको ६४ दशमलव १३ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।

कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आर्थिक वर्षमा राजस्व सङ्कलनमा बढोत्तरी हुँदै आएको जानकारी दिए। ‘चालु आव सकिन अब दुई महिनामात्रै बाँकी छ’, उनले भने, ‘सो अवधिमा राजस्व सङ्कलनमा उल्लेखनीय सुधार हुने अपेक्षा गरेका छौँ ।’

कार्यालयले साउनमा  १२ अर्ब १५ करोड, भदौमा रु १३ अर्ब ४२ करोड, असोजमा  १३ अर्ब ४७ करोड, कात्तिकमा  ११ अर्ब १० करोड, मङ्सिरमा रु १४ अर्ब ४० करोड राजस्व सङ्कलन गरेको थियो । त्यस्तै पुसमा  १५ अर्ब ४७ करोड, माघमा रु १४ अर्ब ४४ करोड राजस्व सङ्कलन गरेको थियो ।

यस्तै फागुनमा रु १४ अर्ब ६३ करोड राजस्व सङ्कलन गरेको छ भने चैतमा भने रु १५ अर्ब ४७ करोड राजस्व सङ्कलन गरेको छ । वैशाखमा भने रु १५ अर्ब ७२ करोड राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले कार्यालयका लागि वार्षिक रु दुई खर्ब १८ अर्ब ९५ करोड रकम राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको छ ।

पर्यटकको रोजाइमा ‘गर्मी ठाउँका शीतल गन्तव्य’

चितवन । चितवन भन्ने बित्तिकै धेरैको मनमा गर्मी ठाउँ भन्ने आउँछ तर यही जिल्लामा गर्मी मौसममा पनि शीतल हुने पर्यटकीय गन्तव्यहरू छन् भन्दा धेरैलाई अचम्म लाग्ला १ अचम्म लागेर के गर्नु, यहाँ यस्तै पर्यटकीय गन्तव्यहरू छन् । तराईको उखरमाउलो गर्मी छल्न यस्ता ठाउँ पुग्नेहरू अचेल बढ्दै गएका छन् । यहाँको इच्छाकामना गाउँपालिकाले यस्ता शीतल पर्यटकीय गन्तव्यहरुको प्रवर्द्धन गरिरहेको छ ।

जिल्लाका पहाडी भूभाग गर्मी मौसममा पनि शीतल हुने गर्छन् । भरतपुरको चौकीडाँडा, कालिका र राप्ती नगरपालिकाको पहाडी भूभागसँगै इच्छाकामनाको अधिकांश भूभागमा शीतल हुने गरेको छ । तीमध्ये धेरैको रोजाइ यही पालिकाका पर्यटकीय गन्तव्यहरू पर्ने गरेका छन् । गाउँपालिकाले यहाँ हरेक वर्ष करिब तीन लाखसम्म पर्यटक घुम्न र बस्न आउने अनुमान गरेको छ ।

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ नारायणगढ मुग्लिन सडक नजिकैको लामो झरनामा गर्मी मौसममा धेरै आन्तरिक पर्यटक आउने गरेको बताउँछन् । वडा नं ६ मा पर्ने यस झरनामा वार्षिक करिब ६० हजार पर्यटक घुम्न आउने गरेको उनले सुनाए । “माथिबाट झरेको चिसो पानीको झरनामा नुहाउन र पौडी खेल्न आन्तरिक र बाह्य पर्यटक आउने गरेको तथ्याङ्क छ । यसबाट वार्षिक २५ लाखसम्म राजस्व सङ्कलन हुने गरेको छ”, अध्यक्ष गुरुङले भने ।

यसैगरी, जिल्लाको पुरानो सदरमुकाम उपरदाङ्गगढी सोही गाउँपालिका–७ मा पर्दछ । यसको पुनः निर्माणका काम भइरहेको अध्यक्ष गुरुङ बताए । “उपरदाङ्गगढी कसले बनायो, किन बनायो र त्यसको आवश्यकता के हो ? भन्ने पुष्टि हुनेगरी पुनर्निर्माण गरिरहेका छौँ । गढीमा जीर्ण अवस्थामा रहेको कोतघर पुरानै शैलीमा पुनर्निर्माण भइरहेको छ । पुराना विभिन्न किसिमका हातहतियार र वेशभूषा त्यो घरमा राख्ने मुख्य उद्देश्य रहेको छ”, उनले भने ।

गढी वरिपरि रहेका घरबास (होमस्टे) गर्मीयाममा पर्यटकले रुचाउने गन्तव्य हुन् । बिदाको समयमा यस क्षेत्रका होमस्टेमा ठाउँ पाउन मुस्किल हुने गरेको छ । उपरदाङ्गगढी क्षेत्रमा वार्षिक ३५ हजार बढीले अवलोकन गर्ने र करिब १५ लाख राजस्व सङ्कलन हुने गरेको छ ।

जिल्लाको सबैभन्दा अग्लो चुचुरो सिराइचुली वडा नं १ रहेको छ । यसको संरक्षण र प्रवर्द्धनका लागि पनि गाउँपालिकाले सिँढीसहितको बाटो बनाउने र सरसफाइ गर्ने काम गरिराखेको छ । “यहाँ रेलिङ, फलामे बेन्च, हेर्ने ठाउँ बनाइएका छन् । नजिकैको काली र सिद्धबाबा मन्दिरको संरक्षण गर्ने काम भएको छ”, अध्यक्ष गुरुङले भने, “थप झन्डा राख्ने, स्तम्भहरू बनाउने, अन्य सानातिना पूर्वाधार बनाउने काम गरिरहेका छौँ । यहाँको सौन्दर्य नबिगार्ने गरी संरचना बनाउने काम गरिरहेका छौँ ।”

यहाँबाट चितवनसहित छिमेकी जिल्लाका धेरै जसो हिमाल, समथर भूभाग देखिने र चिसो हावा चलिरहने भएकाले पनि पर्यटकको रोजाइमा पर्ने गरेको छ । यहाँ वार्षिक करिब १० हजार पर्यटक आउने गरेका गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिए ।

इच्छाकामना–२ मा पर्ने अर्को पर्यटकीय गन्तव्य हो, मायाँटार । यहाँ भरतपुरबाट धेरै पर्यटकहरू रात बिताउन पुग्छन् । स्थानीय जातका कुखुरा, खसी र स्थानीय परिकारका सौखिनहरूका लागि यो ठाउँ लोकप्रिय छ । चिसो ठाउँ भएकाले एक रात भए पनि बिताउन यहाँ पर्यटक पुग्ने गरेका हुन् । यसको नजिकै देवीदेवताका थान छन् ।

त्यहाँ दर्शन गर्न पर्यटकहरू पुग्ने गरेका छन् । त्यहाँको बालगौरी थानमा पूजा गरेमा निःसन्तानले सन्तान प्राप्त गर्छन् भन्ने विश्वास छ । गाउँपालिकाको चिसापानीगढीको जङ्गलमा पैदलयात्रा गर्न रुचाउनेहरू पनि आउने गरेको अध्यक्ष गुरुङ बताउँछन् । चिसापानीबाट उपरदाङ्गगढी हुँदै सिराइचुलीसम्म जाने पैदलमार्ग पनि बनेको छ ।

पालिकाको इच्छाकामना मन्दिर वडा नं २, ३, ४ र ५ को सङ्गमस्थलमा पर्दछ । यहाँ धेरै जसो भारतीय पर्यटकहरू आउने गरेका छन् । अध्यक्ष गुरुङले भने, “ काठमाडौँ, भक्तपुर, ललितपुबाट धेरै आउने गरेका छन् । वार्षिक ५० हजारभन्दा बढी पर्यटक मन्दिर दर्शनका लागि आउने गरेका छन् ।” मन्दिरका पुजारीलाई तलब दिएर राखिएको छ । त्यहाँबाट उठेको भेटी गाउँपालिकाको राजस्वमा जम्मा हुने व्यवस्था गरिएको छ ।

गाउँपालिकाका उपाध्यक्ष माया सिलवालका अनुसार गाउँपालिकाको राजमार्ग क्षेत्रमा ठूला होटल भए पनि पर्यटकले ग्रामीण क्षेत्रका साना होटल र होमस्टेमा बस्न रुचाउँछन् । “हात्तीवाङको चेपाङ होमस्टे, मायाँटार, उपरदाङ्गगढीमा गुरुङ होमस्टेहरू छन् । मायाँटार जलबिरेमा होमस्टे छन् । पर्यटकीय गन्तव्यका वरिपरि सामुदायिक होमस्टेहरु छन् । सुन्तला फल्ने समयमा बोटबाटै सुन्तला खानसमेत यहाँ पर्यटक आउने गरेका छन्”, उनले भने ।

उपाध्यक्ष सिलवालले हाल गाउँपालिका क्षेत्रमा करिब १०० होमस्टे रहेका छन् । होमस्टेका लागि गाउँपालिकाले सहयोग गर्दै आएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रबहादुर बस्नेत पर्यापर्यटनको हिसाबले इच्छाकामना महत्वपूर्ण रहेको बताउँछन् । गर्मी क्षेत्र नजिकको शीतल गन्तव्य भएकाले पालिका उच्च प्राथमिकता दिएर त्यस्ता स्थानको प्रवर्द्धन र प्रचारप्रसारमा लागेको उनी बताउँछन् ।

“यसै पालिकामा मनकामना केबुलकारको स्टेसन छ । त्यहाँबाट वार्षिक १० लाखभन्दा बढी पर्यटक मनकामना मन्दिर पुग्ने गरेका छन् । उचित प्रचारप्रसार हुन सकेमा इच्छाकामनाका पर्यटकीय गन्तव्यमा आन्तरिक र बाह्य पर्यटक बढाउन सकिन्छ”, बस्नेत भन्छन् ।

गाउँपालिकाले लगानी सम्मेलन गरेर ठूला लगानीकर्तालाई पनि पर्यटकीय गन्तव्यमा होटल खोल्न प्रोत्साहित गर्ने तयारी गरेको जनाइएको छ ।

पुँजीगत खर्च दश महिनामा चौँतिस प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ सकिन दुई महिना मात्रै बाँकी रहँदा सरकारको विकास खर्च भने निकै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार गत वैशाख मसान्तसम्ममा करिब एक तिहाइ हाराहारी मात्रै पुँजीगत खर्च भएको देखिएको हो ।

चालु आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा रु तीन खर्ब ५२ अर्ब ३५ करोड बजेट छुट्याएको सङ्घ सरकारले हालसम्म वार्षिक विनियोजनको ३४ दशमलव १६ प्रतिशत अर्थात् रु एक खर्ब २० अर्ब ३७ करोड बराबर मात्रै खर्च गर्न सकेको कार्यालयले जनाएको छ ।

यस्तै, चालुगत शीर्षकमा रु ११ खर्ब ४० अर्ब ६६ करोड विनियोजन भएकोमा वार्षिक लक्ष्यको ६७ दशमलव ७९ प्रतिशत अर्थात् रु सात खर्ब ७३ अर्ब २२ करोड बराबर खर्च भएको छ । वित्तीय व्यवस्था शीर्षकमा हालसम्मको खर्च ७१ दशमलव ९६ प्रतिशत बराबर छ । यो शीर्षकमा रु तीन खर्ब ६७ अर्ब २८ करोड बराबर विनियोजन भएकामा वैशाख मसान्तसम्ममा रु दुई खर्ब ६४ अर्ब २८ करोड खर्च भएको छ ।

यसरी चालु आर्थिक वर्षको उक्त अवधिसम्मको कुल बजेट खर्च ६२ दशमलव २४ प्रतिशत बराबर छ । यस वर्ष रु १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याइएकामा सुरुआती दश महिनामा रु ११ खर्ब ५७ अर्ब ८९ करोड बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

खर्चको तुलनामा राजस्व सङ्कलन निकै कम हुँदा यो अवधिमा घाटा बजेट रु दुई खर्ब नाघेको छ । वैशाख मसान्तसम्ममा सरकारले रु नौ खर्ब ४९ अर्ब ७६ करोड बराबर मात्रै राजस्व उठाएको छ, अर्थात् यो अवधिमा सरकारको आम्दानीभन्दा खर्च रू दुई खर्ब आठ अर्ब १३ करोडले बढी छ । चालु आवका लागि सरकारले कुल रु १४ खर्ब ७१ अर्ब ६२ करोड राजस्व उठाउने लक्ष्य राखेको थियो । हालसम्मको राजस्व सङ्कलन वार्षिक लक्ष्यको ६४ दशमलव ५४ प्रतिशत बराबर हो ।

यस्तै, चालु आर्थिक वर्षका लागि रु ५२ अर्ब ३२ करोड बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेकामा हालसम्म लक्ष्यको ३० दशमलव आठ प्रतिशत मात्रै लिइएको छ । वैशाख मसान्तसम्ममा रु १६ अर्ब ११ करोड ८९ लाख बराबर वैदेशिक अनुदान भित्रिएको हो ।

कर राजस्वतर्फ रु १२ खर्ब ८४ अर्ब २० करोडको वार्षिक लक्ष्य रहेकोमा हालसम्म ६४ दशमलव ५५ प्रतिशत अर्थात् रु आठ खर्ब २८ अर्ब ९४ करोड उठेको छ । यस्तै, गैरकर राजस्वतर्फ रु एक खर्ब ३५ अर्ब नौ करोड उठाउने वार्षिक लक्ष्य रहेकामा हालसम्म ६९ दशमलव दुई प्रतिशत अर्थात् रु ९३ अर्ब ४९ करोड बराबर गैरकर राजस्व उठेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती

मुस्ताङ  । मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती गर्न थालिएको छ। कृषिक्षेत्रको प्रवर्द्धन र विकास, स्थानीयको जीविकोपार्जनमा सुधार तथा वातावरणीय दृष्ट्रिकोणबाट स्याउखेती विस्तार समय सान्दर्भिक रहे पनि सरकारी निकायको समन्वयबिनै सार्वजनिक जग्गा र नदी किनारमा स्याउखेती गर्ने क्रम बढेको छ।

जिल्लाका पाँचवटै स्थानीय तहमा समुदाय मिलेर सार्वजनिक जग्गामा स्याउ खेती गर्ने क्रम बढेको हो। समुदायस्तरमै सामूहिक स्याउखेती गरिएको भए पनि सरकारले त्यसबापत पाउने राजस्व, सरकारी अभिलेख र विपद् जोखिम न्यूनीकरणमा भने समस्या र चुनौती देखिएको छ।

घरपझोङ गाउँपालिकाले बिहीबार आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा सार्वजनिक जग्गा अतिक्रमण भइरहेकोप्रति स्थानीयले आलोचना गरे। सार्वजनिक जग्गाको संरक्षण र विकासमा स्थानीय तह सञ्चालन ऐन, २०७४ ले सम्बन्धित स्थानीय तहलाई अधिकार प्रत्यायोजन गरे पनि स्थानीय तह र जनप्रतिनिधिले सार्वजनिक जग्गाको रक्षा गर्न नसकेको उनीहरुको गुनासो थियो।

घरपझोङ–२ मार्फाको राजखोला, घरपझोङ–३ स्याङ खोला र घरपझोङ–५ ढुम्बा खोलामा खोलाको धार खुम्च्याएर समुदायस्तरबाटै जग्गा अतिक्रमण भइरहेको नागरिक सुनुवाइ कार्यक्रममा सरोकारवालाले बताए। खोला बग्ने धारलाई खुम्च्याएर सार्वजनिक जग्गा अतिक्रमण गरी स्याउखेती र घरटहरा निर्माण गर्दा यसले विपद्को जोखिम निम्त्याएको उनीहरुको भनाइ थियो।

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको तापमान वृद्धि भइरहेको र यसले हिमाल पग्लिने, हिमताल फुट्ने र भेलबाढी आउन सक्ने सम्भावना भएकाले नदी तथा खोला क्षेत्रमा अतिक्रमणका कारण मानवीय र भौतिक जोखिम निम्त्याएको छ। विसं २०८० साउन २८ गते कागबेनीमा आएको बाढीले त्यस क्षेत्रमा क्षति पुगेको थियो।

कागबेनीमा मुक्तिनाथबाट बग्ने कागखोलाको धार अतिक्रमणमा पर्दा त्यहाँ प्राकृतिक विपद्को सामना गर्नुपरेको स्थानीयको गुनासो छ। घरपझोङस्थित मार्फा स्याउ र ढुम्बा खोलाको धार खुम्च्याएर स्याउखेती गर्न जग्गा विस्तार गरिएको छ।

जिल्लाका अन्य पालिकामा पनि नदी क्षेत्र दोहन गर्ने क्रम बढेको छ। जिल्लामा स्याउखेतीको अत्यधिक सम्भावना भए पनि यहाँ सार्वजनिक जग्गा नापी नहुँदा भाडामा दिने प्रक्रियामा जान कानुनी जटिलता छ। त्यसैले सार्वजनिक जग्गा अतिक्रमण गरी स्याउखेती गर्ने होडबाजी चलेको हो। प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले सार्वजनिक जग्गा अतिक्रमण रोक्ने र त्यस्ता जग्गाको संरक्षण गर्ने दायित्व स्थानीय तहको भएको स्पष्ट पारे। सार्वजनिक जग्गा अतिक्रमण गरेको उजुरी आउने गरेको र त्यसउपर छानबिन र अनुसन्धान गर्ने कार्य भइरहेको उनले जानकारी दिए।

घरपझोमा गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले सार्वजनिक स्थान र नदी क्षेत्रमा जग्गा अतिक्रमण भएको गुनासो आएको बताए। सार्वजिक जग्गा समस्याको विषय भएकाले यसमा देखिएका कमिकमजोरीलाई औँल्याएर जग्गा अतिक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउने उल्लेख गरे।

मध्यरातदेखि गाजामा भएको इजरायली आक्रमणमा ५० जनाको मृत्यु

गाजा सिटी । गाजाको नागरिक सुरक्षा एजेन्सीले शुक्रबार मध्यरातदेखि प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा ५० जनाको मृत्यु भएको बताएको छ ।

“उत्तरी गाजा पट्टीमा नागरिक घरहरूलाई लक्षित गरेर गरिएको इजरायली गोलाबारीमा मध्यरातदेखि आज बिहानसम्ममा मृतकको सङ्ख्या बढेर ५० पुगेको छ… हाम्रा टोलीहरू अझै ती क्षेत्रहरूमा काम गरिरहेका छन्”, नागरिक सुरक्षा अधिकारी मोहम्मद अल–मुघैयरले भने ।

उत्तरी सहर बेइत लाहियास्थित इन्डोनेसियाली अस्पतालका एक चिकित्सकले अधिकांश बालबालिका र महिलासहित ३० मृतक र दर्जनौँ घाइतेलाई अस्पतालमा ल्याइएको बताए ।

जबालियाको अल–अवदा अस्पतालका कार्यवाहक निर्देशक मोहम्मद सालेहका अनुसार अस्पतालमा बमबारीले पाँच जनाको मृत्यु भएको छ भने ‘७५ भन्दा बढी घाइते’ भएका छन् ।

“इजरायली कब्जाकारीहरूले मेरो घर नजिकैको घरमा बम हाने, यसका बासिन्दाहरू भित्र हुँदा सिधै प्रहार गरे”, बेइत लाहियाको पश्चिमी अल–सलातिन क्षेत्रका ४० वर्षीय युसुफ अल–सुल्तानले ‘हवाई आक्रमण, तोपखाना गोलाबारी र क्वाडकप्टर ड्रोनहरूबाट गोलीबारी’ को रिपोर्ट गर्दै भने, “नागरिकहरू बीच ठूलो विस्थापनको लहर छ । मध्य रातमा डर र त्रासले हामीलाई समातेको छ ।”

सलमान रुस्दीमाथि घातक आक्रमण गरेका माटारलाई २५ बर्षको जेल सजाय

न्यूयोर्क । न्युयोर्कको एक सांस्कृतिक केन्द्रमा सन् २०२२ मा भएको चक्कु आक्रमणमा उपन्यासकार सलमान रुस्दीको हत्या प्रयास गरेको अभियोगमा एक अमेरिकी–लेबनानी नागरिकलाई शुक्रबार सजाय हुने भएको छ ।

अमेरिकी–लेबनानी नागरिक २७ वर्षीय हाडी माटारलाई यसै वर्षको फेब्रुअरीमा हत्या प्रयास र आक्रमणको अभियोगमा दोषी ठहर गरिएको थियो ।

माटारले आफूमाथि छुरा प्रहार गरेको र कुटपिट गरेको सुनुवाईको क्रममा रुस्दीले बताएका थिए ।

रुस्दीले भने, “यो मेरो आँखामा छुरा प्रहारबाट चोट लागेको थियो, यो असाध्यै पीडादायी थियो, त्यसपछि दुखाइका कारण म चिच्याएको थिएँ ।

मुद्दाको सुनुवाइका क्रममा धेरै पटक प्यालेस्टाइनको समर्थनमा नारा लगाएका माटरले रुस्दीलाई छ इन्चको धारिलो हतियार (छुरा) ले १० पटक प्रहार गरेको स्वीकारेका थिए ।

यसअघि उनले सञ्चारमाध्यमसँगको कुराकानीमा रुस्दीको ‘द स्याटानिक भर्सेस’का दुई पृष्ठ मात्र पढेको तर लेखकले ‘इस्लाममाथि आक्रमण गरेको’ विश्वास गरेको बताएका छन् ।

सन् १९८९ मा इरानले रुस्दीको हत्याको माग गरेको फतवापछि माटारको कानुनी टोलीले रुश्दीलाई उत्पीडनको सिकार भएको भनी चित्रण नगर्न साक्षीलाई अनुरोध गरेको थियो ।

इरानले आक्रमणकारीसँग कुनै सम्बन्ध नरहेको बताउँदै घटनाका लागि रुस्दी नै दोषी रहेको दावी गरेको छ ।

आक्रमणमा रुस्दीको दाहिने आँखाको ‘अप्टिकल नर्भ’ काटिएको (चोट लागेको) थियो र उनले अदालतसमक्ष भने, “आँखालाई मोइस्चराइज गर्नका लागि बन्द गर्ने निर्णय गरिएको थियो। यो एकदम पीडादायी शल्यक्रिया थियो जुन म कसैलाई यसका लागि सिफारिस गर्दिन।”

आक्रमणबाट रुस्दीको रूद्रघण्टी, कलेजो र सानो आन्द्रामा पनि चोट लागेको थियो र पाखुरामा नशा काटिएपछि (स्नायुमा क्षति पुगेपछि) उनको एउटा हातमा पक्षाघात भएको थियो ।

अहिले ७७ वर्ष पुगेका बेलायती मूलका अमेरिकी रुस्दीलाई माटरको आक्रमणपछि उद्धार गरी अस्पताल भर्ना गरिएको थियो । गत वर्ष उनले ‘नाइफ’ नामक संस्मरण प्रकाशित गरेका थिए, जसमा उनले मृत्युनजिकको अनुभवलाई प्रस्तुत गरेका छन् ।

‘द इलेभेन्थ आवर’ रुस्दीको विषयवस्तु र रुचिका स्थानहरूको जाँच गर्ने लघुकथाहरूको सङ्ग्रह ‘द इलेभेन्थ आवर’ नोभेम्बर ४, २०२५ मा सार्वजनिक गरिने उनको प्रकाशकले मार्चमा घोषणा गरेको छ।

मुम्बईमा जन्मिएका रुस्दी आफ्नो दोस्रो उपन्यास ‘मिडनाइट्स चिल्ड्रेन’ (१९८१) बाट चर्चामा आएका थिए, उक्त उपन्यासले स्वतन्त्रतापछिको भारतको चित्रणका लागि बेलायतको प्रतिष्ठित बुकर पुरस्कार जितेको थियो। तर ‘द शटानिक भर्सेस’ ले रुस्दीलाई अझ बढी अर्थात् सोचेभन्दा बढी ध्यान आकर्षित गर्‍यो ।

रुस्दी विशेष गरी, अभिव्यक्ति स्वतन्त्रताका पक्षधर र इस्लाम धर्मको अपमान गर्नु कुनै पनि परिस्थितिमा अस्वीकार्य छ भन्ने कुरामा जोड दिनेहरूबीच भीषण रस्साकस्सीको केन्द्र बने ।

विवादका कारण उनका पुस्तक र पुस्तक पसलहरूमा समेत आगो लगाइयो, उनको जापानी अनुवादकको हत्या गरियो र उनको नर्वेली प्रकाशकलाई धेरै पटक गोली हानि मार्ने प्रयास गरिएको थियो।

रुस्दी सन् १९८९ को फतवापछि एक दशकसम्म लण्डनको एकान्तवासमा बसेका थिए तर विगत २० वर्षदेखि उनी न्युयोर्कमा सामान्य रुपमा बस्दै आएका छन् ।

रक्षा सम्झौता पुनःस्थापनाका लागि इयु र बेलायतबीचको विवाद जारी

ब्रसेल्स । आगामी साता ब्रेक्जिटपछि हुन लागेको ऐतिहासिक शिखर सम्मेलनमा रक्षा सम्बन्धहरूलाई थप बलियो बनाउनका लागि माछा मार्ने अधिकार र खाद्य जाँचको मुद्दामा सम्झौताको खोजीमा रहेका युरोपेली सङ्घ (इयु) र बेलायत जोडदार बहस गर्न तयार देखिएका छन् ।

सोमबार लन्डनमा बेलायतका प्रधानमन्त्री किर स्टार्मर र इयुका शीर्ष अधिकारीहरू बीचको बैठक लन्डनको बहुप्रचारित ‘रिसेट’ सम्बन्धबाट पहिलो परिणाम ल्याउने योजना बनाइएको थियो ।

सन् २०२० जनवरी ३१ मा बेलायत इयु ब्लकबाट बाहिरिएपछिका वर्षहरूमा खराब सम्बन्धपछि प्रवाहलाई फेर्ने दिशामा रक्षा र सुरक्षा साझेदारीमा हस्ताक्षर गर्नु एक प्रतीकात्मक कदमको रूपमा हेरिएको छ ।

तर पुराना बानीहरू कठिनसँग मर्छन् र दुवै पक्षहरू पुनर्मिलनलाई रोक्ने धम्की दिने लामो समयदेखि चलिआएका समस्याहरूमाथि अन्तिम समयसम्म झगडा गरिरहेका छन् ।

ब्रसेल्सका कूटनीतिज्ञहरूले इयुले बेलायतबाट केही खाद्यान्न आयातमा नियन्त्रण सजिलो बनाउने बदलामा बेलायतबाट युरोपेली माझीहरूका लागि आफ्नो पानी खुला राख्न वार्ता केन्द्रित रहेको बताएका छन् ।

अन्य अड्चनहरूमा युवाहरूलाई दुई पक्षबीच सजिलै सार्न अनुमति दिने योजनाका लागि इयुको दबाब समावेश छ जुन लन्डनले स्वतन्त्र आवागमनमा फर्कन आफ्नो लक्ष्मण रेखालाई खतरा निम्त्याउने डर छ ।

“उनीहरू सबै कुरा चाहन्छन् र केही दिइरहेका छैनन्”, एक युरोपेली कूटनीतिज्ञले अरुहरू जस्तै नाम नछाप्ने सर्तमा बेलायती अडानबारे गुनासो गरे ।

इयुका प्रमुख उर्सुला भोन डेर लेयन र स्टार्मरले शुक्रबार अल्बानियामा युरोपेली नेताहरूको शिखर सम्मेलनमा वार्तालाई अन्तिम धक्का दिन सक्ने देखिन्छ ।

– ढाँचा –

यदि उनीहरूले अन्तिम बाधाहरू पार गर्न सके भने हस्ताक्षर गरिने ‘सुरक्षा र रक्षा साझेदारी’ लन्डनमा हुने बैठकको प्रमुख आकर्षण हुनेछ ।

रुसबाट खतरा र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब युरोपलाई सुरक्षा नदिने भन्ने डर बीच इयु र बेलायत दुवैले पुनः हतियार बनाउन दौडिरहेको अवस्थामा नजिकको सहयोगको ढोका खोल्ने उद्देश्यले यो कदम चालिएको हो ।

यसको अर्थ थप नियमित सुरक्षा वार्ता, बेलायतले इयुका सैन्य मिसनहरूमा सामेल हुने विचार र लन्डनले इयु ब्लकबाट स्थापित एक खर्ब ५० अर्ब युरो (एक खर्ब ६७ अर्ब डलर) रक्षा कोषमा पूर्ण पहुँच पाउने सम्भावना हुनेछ ।

तर यो सम्झौताले पछि भरिने धेरै विवरणहरू छाड्ने अपेक्षा गरिएको छ । उदाहरणका लागि बेलायत र यसको रक्षा उद्योगलाई इयु कार्यक्रमहरूमा निर्बाध पहुँच दिने थप सम्झौताको आवश्यकता पर्दछ ।

“यो अझ बढी सहयोगका लागि एउटा ढाँचा हो”, इयुका अर्का कूटनीतिज्ञले भने ।

सुरक्षा सम्झौतामा पुग्नु वार्ताकारहरूका लागि सबैभन्दा कम झन्झटिलो कामका रूपमा लामो समयदेखि हेरिएको थियो किनकि बेलायतको पहिले नै नाटोमा २३ इयुका देशहरूसँग अन्तरसम्बन्धित रक्षा सम्बन्धहरू छन् ।

ती सम्बन्धहरू ट्रम्पले युक्रेनमा युद्धको शीघ्र अन्त्यका लागि दबाब दिएर युरोपलाई तरङ्गित बनाएपछि मात्र कसिएका छन् ।

कुनै पनि सम्झौताको स्थितिमा सम्भवतः युक्रेनमा सेना तैनाथ गर्ने योजनाको नेतृत्व गर्न बेलायतले फ्रान्ससँग सहकार्य गरेको छ ।

बेलायत सरकारका एक अधिकारीले नाम नछाप्ने सर्तमा रक्षा सम्झौतामा सहमति हुने अपेक्षा गरिएको बताए ।

यस मामिलासँग परिचित अर्का बेलायती अधिकारीले सोमबार वार्षिक शिखर सम्मेलनको शृङ्खलामा पहिलो मात्र भएको कुरामा जोड दिए ।

“अपरिहार्य रूपमा यस शिखर सम्मेलनका लागि सहमति भएका कुराहरू छन्, छलफल जारी राख्न हामी सहमत भएका कुराहरू छन् र हामीले सीमा नाघेका कुराहरू पनि छन्” उनीहरूले भने ।

रक्षा साझेदारीलाई अन्य दुई कागजातसँगै हस्ताक्षर गर्ने परिकल्पना गरिएको थियो ।

एउटाले विश्वव्यापी मुद्दाहरूमा साझा दृष्टिकोण राख्छ र अर्कोले आगामी महिनाहरूमा दुवै पक्षले प्रगति गर्ने आशा गर्ने कठिन विषयहरू सूचीबद्ध गर्दछ ।

इयु विरोधी सुधार बेलायतबाट बढ्दो चुनौतीको सामना गर्ने स्टार्मरका लागि इयुसँगको घनिष्ठ सहयोग राजनीतिक रूपमा विभाजनकारी मुद्दा भएकाले लन्डन र ब्रसेल्स सावधानीपूर्वक अघि बढिरहेका छन् ।

उत्पादनबिनाको वितरणले समस्या निम्तायोः उपसभापति गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले उत्पादनबिनाको वितरणले समाजवादको बाटो समात्न नसक्ने भएकाले राज्यको लगानी पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि आफ्नो धारणा राख्दै उनले उत्पादन र वितरणबीचको सन्तुलन मिलाएर समाजवादको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकामा जोड दिए।

उत्पादनबिनाको वितरण सम्भव नहुने भएकाले पहिले उत्पादन बढाएर मात्र वितरणमा केन्द्रित हुनुपर्नेमा उनको भनाइ थियो।

‘उत्पादनमा शिथिलता तर वितरणमा प्रतिस्पर्धा र होडबाजीको चलन देखियो। यही कारण हाम्रो राजस्व र चालु खर्चबीच ठूलो खाडल देखिन थालेको छ। हामी लोकिप्रियतावादमा बढी रमाउँदा यस्तो भएको हो। आसेपासे पुँजीवादले मुलुकको अर्थतन्त्रलाई ध्वस्त बनाएको छ’, गुरुङले भने।

यस्तै, राष्ट्रको लगानी पुँजी निर्माणमा हुनुपर्ने र आर्थिक सुशासन कायम गर्नका लागि सुझाव दिँदे उनले शिक्षा क्षेत्रमा आमूल रूपान्तरणको आवश्यकतासमेत औँल्याए। विदेशमा पढ्न जाँदा ठूलो रकम खर्च भइरहेको उल्लेख गर्दै उपसभापति गुरुङले स्वदेशभित्र ठूलो मात्रामा आवासीय विद्यालय स्थापना गर्न आवश्यक रहेको बताए।

उनले स्वास्थ्य क्षेत्रमा सुधारका लागि नयाँ संस्था खोल्नेभन्दा पनि भइरहेका स्वास्थ्य संस्थालाई साधनस्रोत सम्पन्न बनाइनुपर्ने बताए। ‘सङ्ख्या थपेर मात्रै राम्रो स्वास्थ्य सेवा पाउँछ भन्ने हुँदैन। भएका अस्पताललाई सही व्यवस्थापन, पर्याप्त साधनस्रोत र जनशक्ति दिन आवश्यक छ। त्यसतर्फ बजेटले बढी ध्यान पुर्‍याउनुपर्छ’, गुरुङले भने। एकीकृत स्वास्थ्य प्रणाली बनाएर बिरामीको सबै पुराना विवरण तथा तथ्याङ्क थाहा हुने व्यवस्था मिलाउन पनि उनले सरकारसँग आग्रह गरे।

सांसद गुरुङले आगामी आर्थिक वर्षको बजेटले धार्मिक र साहसिक पर्यटनका लागि लगानी केन्द्रित गर्नुपर्ने सुझाव दिए। ‘भौतिक पूर्वाधार निर्माण गर्दा पनि पर्यटन पूर्वाधारसँग जोड्न सक्नुपर्छ। जलविद्युत्का क्षेत्रमा ठूला जलाशययुक्त आयोजना निर्माणलाई बजेटको प्राथमिकतामा राख्नुपर्छ। रासायनिक मलको प्रयोगलाई न्यूनीकरण गरी प्राङ्गारिक मल प्रयोगलाई प्रोत्साहन र प्रवर्द्धन गरिनुपर्ने आवश्यकता छ’, उनको सुझाव थियो।

गुरुङले वनमा खेर गइरहेको बहुमूल्य काठ प्रयोगमा जोड दिनुपर्ने, जडीबुटीको उत्पादन, प्रशोधन तथा बजारीकरण गर्नुपर्नेलगायत सुझाव प्रस्तुत गरे।

नेपाल आईसीसी टी–२० विश्वकप एशिया छनोटको ‘सुपर–थ्री’ मा प्रवेश

काठमाडौं । नेपाली महिला टोली आईसीसी टी–२० विश्वकप एशिया छनोटको ’सुपर–थ्री’ मा प्रवेश गरेको छ ।

शुक्रबार हङकङ र बहराइनबीचको समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल धेरै जितका आधारमा सुपर–थ्रीमा प्रवेश गरेको हो ।

नेपालले ४ खेलमा २ मा जित, १ मा हार र १ मा नतिजाविहीन हुँदा ५ अङ्क जोडेको थियो । हङकङले ४ खेलमा १ मा जित र ३ मा नतिजाविहीन हुँदै ५ अङ्क जोडेको छ ।

बहराइन भने ४ खेलमा २ मा बराबरी र २ मा हारसहित २ अङ्क जोडेर पुछारमा रह्यो । अब नेपालले सुपर–थ्रीमा आगामी सोमबार यूएईसँग र ६ मङ्गलबार थाइल्यान्डसँग खेल्नेछ ।

भोजपुरको पौवादुङमाको पाँच सय हेक्टरमा अकबरे खुर्सानीखेती, वार्षिक १८ करोडको बिक्री

भोजपुर । व्यावसायिक अकबरे (डल्ले) खुर्सानीखेती पौवादुङमाका किसान आकर्षित भएका छन् । अन्य बालीको तुलनामा खुर्सानीखेतीबाट राम्रो आम्दानी हुने भएपछि यहाँका अधिकांश किसान व्यावसायिक खेतीमा जुटेका हुन् ।

गाउँपालिकाले व्यावसायिकखेती प्रणालीका लागि आवश्यक प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेपछि किसानलाई सहजता भएको छ । यहाँको करिब ५०० हेक्टर क्षेत्रमा किसानले खुर्सानीखेती गरिरहेको कृषि शाखाका प्राविधिक बर्तेन्द्र राईले बताए । यहाँका करिब ९०० कृषकले व्यावसायिक अकबरे खुर्सानीखेती गरिरहेको उनको भनाइ छ । खुर्सानीखेतीबाट राम्रो आम्दानी लिन सकिने भएपछि किसान यसतर्फ आकर्षित भएको उनले बताए ।

“अधिकांश किसानले व्यावसायिक रुपमा अकबरे खुर्सानीखेती गरिरहेका छन्”, उनले भने, “यहाँको करिब ५०० हेक्टर क्षेत्रमा किसानले अकबरे खुर्सानीखेती विस्तार गरेका छन्, गत वर्ष खुर्सानीले राम्रो मूल्य पाएपछि यस वर्ष किसानमा थप हौसला बढेको अवस्था छ ।”

गत वर्ष खुर्सानी बिक्रीबाट करिब १८ करोड भित्रिएको तथ्याङ्क रहेको उनले बताए । यस वर्ष खेती विस्तार बढेकाले खुर्सानीबाट ३० देखि ३५ करोड भित्राउने लक्ष्य रहेको उनको भनाइ छ ।

किसानको राम्रो आम्दानीको स्रोतका रुपमा अकबरे खुर्सानी रहेकाले गाउँपालिकाले विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरेर प्रोत्साहन गरिरहेको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए । गाउँपालिकाले आवश्यक सहयोगको कार्यक्रम सञ्चालनले गत वर्षको तुलनामा यस वर्ष खेती विस्तार बढेको उनको भनाइ छ ।

“अकबरे खुर्सानी किसानको मुख्य आम्दानीको स्रोतको रुपमा रहेको छ”, प्रशासकीय अधिकृत भट्टराईले भने, “गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्न आवश्यक प्राविधिक सहयोग गरिरहेको छ, किसानहरु व्यावसायिक खुर्सानीखेतीमा जुटेका छन् ।” कृषिबाट कृषकलाई आयआर्जनमा जोड्न गाउँपालिकाले आवश्यक सहयोग गर्दै आएको उनको भनाइ छ ।

स्थानीय किसानले उत्पादन गरेको खुर्सानी स्थानीय बजारसँगै धरान, इटहरी, विराटनगर, काठमाडौँलगायत शहरमा पुग्ने गरेको छ । उत्पादन भएको खुर्सानी किसानको बगानबाट नै ठेकेदारले खरिद गरेर लैजाने गरेका छन् । अकबरे खुर्सानीको बिक्रीबाट एक किसानले न्यूनतम एक लाख ५० हजारदेखि रु सात लाखसम्म भित्र्याउने गरेको पौवादुङमा–४ बास्तिमका किसान ध्रुव राईले जानकारी दिए ।

खुर्सानीबाट राम्रो आम्दानी हुने भएपछि आफूले २० रोपनी क्षेत्रमा खुर्सानी विस्तार गरेको उनको भनाइ छ । यस वर्ष खुर्सानीबाट आठ लाखदेखि १० लाख आम्दानी लिने लक्ष्य रहेको उनले बताए ।

बाह्र रोपनी क्षेत्रमा विस्तार गरेको खुर्सानीखेतीबाट गत वर्ष पाँच लाख आम्दानी गरेको उनको भनाइ छ । “अकबरे खुर्सानी बिक्रीबाट राम्रो आम्दानी गरिरहेको छु”, उनले भने, “अहिले २० रोपनी क्षेत्रमा खेती विस्तार गरेको छु, यस वर्ष आठदेखि रु १० लाख आम्दानी लिने लक्ष्य छ ।”

गाउँपालिकाले पकेट क्षेत्र निर्धारण नै गरेर कृषकलाई खुर्सानीखेतीमा प्रोत्साहन गरिरहेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन् । किसानलाई आवश्यक प्रोत्साहन गरेसँगै गाउँपालिकाको मुख्य आम्दानीको स्रोतका रुपमा अकबरे खुर्सानी स्थापित भएको उनको भनाइ छ ।

“हामीले पकेट क्षेत्र निर्धारण गरेर विभिन्न खेती प्रणालीमा जोड दिएका छौँ”, उपाध्यक्ष राईले भनिन्, “गाउँपालिकाले गरेको लगानीको प्रतिफल आउन थालेको अवस्था छ, यहाँको खुर्सानीलगायतका कृषि उपज बाह्य बजारमा जाने अवस्था बनेको छ ।”

गाउँपालिकाले कृषि एम्बलुेन्स खरिद गरेर यहाँ उत्पादन भएका कृषि उपजको बजारीकरणका लागिसमेत काम गरिरहेको छ । गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ लगानी गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।

गाउँपालिकाले खेती प्रणालीमा जोड दिएसँगै अकबरे खुर्सानीखेतीबाट मात्र करोडौँ भित्रिने अवस्था बनेको उनको भनाइ छ । खुर्सानीखेतीको क्षेत्रलाई विस्तारका लागि गाउँपालिकाले यस वर्ष ७५० किसानलाई ७० लाख बढीको मल्चिङ प्लास्टिकलगायतका कृषि सामग्री वितरण गरिएको अध्यक्ष राईको भनाइ छ ।

यहाँका छवटै वडामा माटो र हावापानी सुहाउँदो व्यावसायिक खेतीका लागि प्रोत्साहनमूलक कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष राईले जानकारी दिए । “कृषिमा हामीले दूरगामी योजनाका साथ लगानी गरिरहेका छौँ”, अध्यक्ष राईले भने, “किसानको मुख्य आम्दानीको स्रोतका रुपमा अकबरे खुर्सानी बनेको अवस्था छ, खुर्सानीखेती विस्तारका लागि यो वर्ष मात्र ७० लाख भन्दाबढीको कृषि सामग्री वितरण गरेका छौँ, गाउँपालिकाले प्राथमिकता निर्धारण गरेर थालेको लगानीको स्थानीयले प्रतिफल लिन थालेका छन् ।”

गाउँपालिका–२ तिवारीभञ्याङ, वडा नं ३ च्याङग्रे, वडा नं ४ बास्तिम, वडा नं ५ सानोदुम्मा र वडा नं ६ ठूलोदुम्मामा व्यावसायिक अकबरे खुसार्नीखेती भइरहेको छ ।

यस्तै वडा नं १ श्यामशिलाको वडा कार्यालय मुनिको भूगोललाई आलु, बन्दाकोबी र काउलीको खेतीको पकेट क्षेत्रका रुपमा विकास गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ । वडा नं १ श्यामशिलाको माथिल्लो भेगमा किवीखेतीको पकेट क्षेत्र निर्धारण गरिएको गाउँपालिकाले जनाएको छ ।

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

-सङ्गीता राई, धरान (सुनसरी) । पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने चलन थियो । बारीहरू झारपातले भरिन्थे र गाउँलेको मुख्य ध्यान गाईगोरु, बाख्राखोरमै सीमित हुन्थ्यो । तर अहिले त्यो दृश्य फेरिएको छ । बोडी, काँक्रा, गोलभेँडाजस्ता तरकारीले गाउँको बारी रङ्गीन बनाएको छ ।

बिहानै उठेर गोठ जानुअघि यहाँका किसानहरुलाई बारीको तरकारी स्याहार्ने बानी परिसकेको छ । उत्पादन यति बढेको छ कि अब गाउँलेको तरकारी शहरका हाटबजार पुग्न थालेको छ । आत्मनिर्भरतातिरको यो यात्रा बीउको माटोसँगै सुरु भयो, जसले अहिले गाउँको जीवनशैलीमै परिवर्तन ल्याइरहेको छ, अनि गाउँको जीवनमै मिठास छरिँदैछ । बिहान घाम नउदाउँदै बराहक्षेत्र नगरपालिकाका अधिकांश किसानहरू डोको, हँसिया र बोरा बोकेर बारीतिर लागिसकेका हुन्छन् । यी क्षेत्रका प्रत्येक बारीमा हेर्दा कोही काँक्रो टिप्दै, कोही गोलभेँडा टिप्दै त कोही बोडी, कोपी टिप्दै भने कोही बोराभरि तरकारी बोकेर बजार जाने चटारोको दृश्य भने छुट्टै देखिन्छ ।

हिजोआज त गाउँमा बिहानै पनि बजार जस्तै चहलपहल बढेको छ । त्यहीँ देखिन्छन् ४८ वर्षीया रीता राजवंशी । उनले नौ वर्षदेखि तरकारीखेती गर्दै आएको छ । विगतका दिन सम्झँदै उनी भन्छन्, “१३ वर्षपहिले श्रीमान् विदेशमै हुनुहुन्थ्यो । विदेशमा कमाएर महिनामा २०–३० हजार पैसा घरमा पठाउँदा घर खर्च चलाउन हम्मेहम्मे हुन्थ्यो तर अहिले त हामी गाउँमै बसेर तरकारीखेती गरिरहेका छौँ, श्रीमान् पनि घर फर्केर तरकारीखेतीमै लाग्नुभएको छ । तरकारी बेचेको पैसाले घर खर्च सहजै पुग्ने मात्र होइन, मासिक रु ८० हजारभन्दा बढी बचत गर्न सकेका छौँ ।”

राजवंशी दम्पतीले अहिले तीन बिघा जमिनमा व्यावसायिक तरकारीखेती गरिरहेका छन्, पहिले बारी बाँझो थियो । घरमा काम गर्ने मान्छे पनि हुँदैनथ्यो, थोरै ठाउँमा मकै र कोदो लगाइन्थ्यो खानका लागि त पुग्थ्यो तर नगद पैसा भने हातै पर्दैनथ्यो । “अहिले भने तरकारीले चालचलन नै बदल्यो । दिनहुँ तरकारी बेच्न सकिन्छ थोरै धेरै हातमा पैसा आई नै रहन्छ”, उनी भन्छन् ।

उनको तरकारीबारीमा काँक्रो, बोडी, घिरौँला, कोपी, गोलभेँडालगायत मौसमअनुसारको तरकारी लगाइन्छ । मौसमले साथ दिँदा उत्पादन मनग्ये हुन्छ रीता भन्छन्, “सिँचाइ र मलपानी बेलैमा मिलायो भने गत वर्ष झैँ आठ/नौ लाख रुपैयाँको तरकारी सजिलै बेचिन्छ नि ।” उनका अनुहारमा आत्मविश्वास र खुसीको झल्को भने देखिएको थियो । उनले मुस्कुराउँदै भने, “पहिला लाग्थ्यो पैसा त विदेशमै छजस्तो तर अब त लाग्न थाल्यो पैसा त यही आफ्नै देशकै माटोमै रहेछ, अल्छी चाहिँ गर्नुभएन, खट्नसके पैसा जति पनि कमाइन्छ ।”

राजवंशी परिवार जस्तै बराह क्षेत्रका अधिकांश स्थानीय घरपरिवारका किसानहरू अहिले तरकारीखेतीमै रमाइरहेका छन् । तरकारीखेतीले गाउँमा रोजगारीसँगै आत्मनिर्भरताको बाटो खोलिदिएको छ । एकातिर किसानको पसिना, अनि अर्कोतिर बारीको हरियालीले बराह क्षेत्रमा परिवर्तन मात्र देखिएको छैन, बारीबाट बजारसम्मको यात्रा अनि आत्मनिर्भरतातर्फको यात्रा पनि सुरु भएको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिकालगायत विभिन्न ग्रामीण क्षेत्रहरूमा तरकारीखेती प्रवद्र्धन गर्न कृषि ज्ञान केन्द्र सुनसरीले विविध कार्यक्रममार्फत सहयोग गर्दै आएको सुनसरी कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रवीनलाल श्रेष्ठले बताए । उनका अनुसार केन्द्रले प्रत्येक वर्ष स्थानीय तरकारी कृषकहरूलाई अनुदानस्वरूप नगद, उन्नत बीउ, सिँचाइ उपकरण, मल तथा विषादी व्यवस्थापनसम्बन्धी तालिम र खेतको माटो परीक्षणलगायतका प्राविधिक सहयोगहरु प्रदान गर्दै आएको छ ।

साथै, कृषक समूह तथा सहकारीहरूसँगको सहकार्यमा नियमित रूपमा तालिम, कार्यशाला र प्राविधिक अवलोकन कार्यक्रमहरूले किसानहरूमा आधुनिक कृषि प्रविधिप्रति चासो बढाएको छ र आत्मविश्वास पनि थपिएको छ ।

श्रेष्ठका अनुसार आधुनिक तरकारीखेतीले बराह क्षेत्रका धेरै किसानहरूलाई आत्मनिर्भर बनाएको छ । दैनिक उपभोगका लागि मात्र होइन, बजारमा बिक्री गरी आम्दानी बढाउने प्रवृत्ति पनि विस्तार हुँदै गएको छ । तरकारी भण्डारण, बजार पहुँच, कीट प्रकोप र मौसमजन्य समस्याहरू समाधान गर्न केन्द्रले छिटो प्रतिक्रिया दिने र निरन्तर परामर्श सेवा उपलब्ध गराइरहेको छ ।

उनले भने, “यस्ता कार्यक्रमहरूको प्रतिफलस्वरूप कृषकहरूको आम्दानीमा उल्लेखनीय वृद्धि भएको छ जुन समग्र गाउँको आर्थिक रूपान्तरणतर्फको सकारात्मक सङ्केत पनि हो ।”

पहिले बाँझो देखिने सुनसरीको बराह क्षेत्रका धेरै बारीहरू अहिले हरियालीले ढाकिएको छ । अहिले त दिनहुँजसो गाउँका किसानहरू आफ्नै बारीमा फलाएको तरकारी बोकेर हाटबजार पुग्ने गरेका छन् । माटो, पसिना र मेहनतको फलस्वरूप गाउँले जीवनमा आत्मनिर्भरताको स्वरुप परिवर्तन भएको छ । केही वर्षअघि यस क्षेत्रको दृश्य बेग्लै थियो ।

अधिकांश युवा ऋणको भारी बोकेर खाडी मुलुकतिर लाग्थे, गाउँ सुनसान जस्तै हुन्थ्यो, खेतबारी बाँझै तर अहिले वैदेशिक रोजगारी छाडेर थुप्रै युवा गाउँमै फर्किएका छन् । विदेशको तातो घाम छाडेका युवाहरू अहिले आफ्नै खेतबारीको हरियालीमा रमाइरहेका छन् ।

वैदेशिक रोजगारीबाट फर्किएर बराहक्षेत्र नगरपालिका–९ ढोलबजियाका तीन युवाले सामूहिक रूपमा ‘सुन्दर कृषि फार्म’ सञ्चालन गर्दै आइरहेका छन् । अमिर निरौला, रघुवीर चन्द्रवंशी र छविलाल चौधरीले विदेशको अनुभवलाई गाउँमै प्रयोग गरेर उनीहरुले व्यावसायिक तरकारीखेती सुरु गरेका छन् । अमिर र रघुवीर, दक्षिण कोरियामा पाँच वर्ष काम गरेर स्वदेश फर्किए भने छविलाल अफगानिस्तानबाट । उनीहरु तीनैजना स्वदेश फर्किएर २०७४ सालमा फार्म दर्ता गरी डेढ बिघा जमिनबाट रु छ लाखको लगानीमा तरकारीखेती सुरु गरेका थिए । अहिले उनीहरूको तरकारीखेती २० बिघा क्षेत्रमा फैलिएको छ ।

उनीहरुले चार बिघामा काँक्रा, तीन बिघामा टमाटर, एक बिघामा क्याप्सिकम र बाँकी १२ बिघामा बोडी, करेला, लौका, कोभीलगायतका मौसमी अनुसारको तरकारी लगाएका छन् । अमिर भन्छन्, “विदेशको पैसा यतै लगानी गर्दा आम्दानी राम्रो छ गाउँमै रोजगारी पनि दिन सकिएको छ आम्दानी पनि अनि सन्तुष्टि पनि मिलेको छ ।” अर्का सञ्चालक रघुवीरका अनुसार फार्मबाट वार्षिक रुपमा एक करोडको तरकारी बिक्री हुन्छ । मल, तलबलगायत वार्षिक खर्च रु ६० लाख जति हुने गरेको छ । फार्ममा २० जना स्थानीयले रोजगारी पनि पाएका छन् ।

अहिले उत्पादन भएको तरकारी धेरै जसो दमक बिक्रीका लागि व्यापारीले लैजाने गरेको सञ्चालक छविलालले बताए । बाँकी तरकारी भने धरानको कृषि उपज, इटहरी, इनरुवा र बराह क्षेत्रलगायतका स्थानीय बजारमा बिक्रीका हुने गरेको छ । उनीहरुलाई बिक्रीका लागि बजारको समस्या भने छैन, तरकारी खरिदका लागि व्यापारीहरू आफैँ फार्ममा पुग्ने गरेका छन् । सरकारी अनुदान र विभिन्न सङ्घसंस्थाहरुबाट प्राप्त भएको सहयोगका साथै डिजिटल मार्केटिङका कारण पनि कृषिखेती गर्न निकै सहज भएको उनी बताउँछन् ।

स्वदेश फर्किएका यिनै युवाहरूले गाउँमा तरकारीबाट हरियाली मात्र होइन, आत्मनिर्भरताको नयाँ बाटो पनि बनाइरहेका छन् । स्वदेशमै सम्भावना देख्ने सोच पलाएपछि बराह क्षेत्रका बाँझो खेतले नयाँ रूप पाएको छ अनि युवाहरूले आफ्नै गाउँमै रोजगारी । बराहक्षेत्र नगरपालिका–९ श्रीलङ्का टप्पुका अर्जुन चन्द्रवंशी तरकारीखेतीमा रमाइरहेका छन् । अहिले उनको चार बिघाको बारीमा सागसब्जी, आलु, कोपी, बोडी र गोलभेँडासहित मौसमअनुसारका तरकारी उत्पादन भइरहेको छ । अर्जुन अब एक्लो हुनुहुन्न । उनका चार छोराले पनि यही लयमा उनलाई साथ दिइरहेका छन् ।

अर्जुन चन्द्रवंशीको मुख्य आम्दानीको स्रोत गोलभेँडा खेती हो । उनका छोरा श्रीरामका अनुसार गोलभेँडाबाट मात्रै वार्षिक करिब ३० लाख आम्दानी हुने गरेको छ । उनी भन्छन्, “सुरुमा साग, आलु र कोपी खेती गथ्र्यौं तर पछिल्लो समय गोलभेँडाबाट राम्रो आम्दानी हुन थालेपछि यसतर्फ नै ध्यान दिएका छौँ । मौसमले साथ दिए उत्पादन राम्रै हुन्छ । कहिले टिप्न र बेच्न भ्याइनभ्याइ हुन्छ ।”

गोलभेँडाको माग बजारमा उच्च रहेकाले बजारीकरणको समस्या हुँदैन । धनकुटा, धरान, इटहरी, गाईघाट, राजविराजलगायतका ठाउँबाट व्यापारीहरू नियमित रूपमा गोलभेँडालगायत उत्पादन भएको तरकारी किन्न बारीमै आउने गरेका छन् । अर्जुनको परिवारका चार दाजुभाइ मात्र होइन, थप २० जनाले पनि फार्ममा रोजगारी पाएका छन् ।

गाउँमा किसान आत्मनिर्भर बन्न तरकारीखेतीले महत्वपूर्ण भूमिका खेलेको बराहक्षेत्र नगरपालिका कृषि शाखाका प्रमुख तुलसा लिम्बूले बताए । उनका अनुसार अहिले बराह क्षेत्र नगरपालिका क्षेत्रका अधिकांश किसानहरू आफ्नै बारीमा हरियाली तरकारी उत्पादन गर्दै, स्थानीय हाटबजारमै बिक्री गरी राम्रो आम्दानी गरिरहेका छन् ।

“तरकारी उत्पादनले खाद्य सुरक्षा मात्रै होइन, गाउँको आर्थिक संरचना परिवर्तनमा समेत ठूलो योगदान पु¥याएको छ”, लिम्बूले भने । नगरपालिकाले किसानलाई प्राविधिक तालिम, उन्नत बीउबिजन, मल, सिँचाइ सुविधा, प्लास्टिक टनेल निर्माणका लागि अनुदान र बजार व्यवस्थापनमा सहजीकरण गर्दै आएको छ । उनी भन्छन्न्छ, “हामीले किसान र कृषक समूहहरूसँग समन्वय गरेर उत्पादनदेखि बजारीकरणसम्मको प्रक्रियालाई व्यवस्थित बनाउन प्रयासरत छौँ ।”

अहिले गाउँमै रोजगारी सिर्जना हुने क्रम बढिरहेको छ । वैदेशिक रोजगारीमा गएका युवाहरू पनि कृषि पेसामै फर्कन थालेका छन् । स्वदेशमै बसेर आफ्नै माटोमै पसिना बगाएर राम्रै आम्दानी गर्न सकिन्छ भन्ने चेतना अहिले गाउँगाउँमा फैलिएको छ । यद्यपि, जलवायु परिवर्तनका असरले कृषकहरूलाई केही चुनौती पनि थपिएको उनको भनाइ छ ।

अनियमित वर्षा, अत्यधिक गर्मी, असिना वर्षालगायतका कारणले बाली नष्ट हुने, रोग कीरा बढ्ने र समग्र उत्पादन घट्ने जस्ता समस्याका कारण किसानको उत्पादन लागत बढ्न गई प्रतिफल अपेक्षाअनुसार नआउँदा कहिलेकाहीँ निराशा आउने गरेको पनि देखिन गरेको लिम्बूले बताए । मौसमअनुकूल बालीको छनोट, प्लास्टिक टनेल, ड्रिप सिँचाइ प्रणाली, जैविक कीट नियन्त्रणलगायत प्रविधिको प्रयोग बढाउनुपर्ने उनको भनाइ छ ।

नेपालमा पुनः लोडसेडिङ्ग हुँदैन, ढुक्क हुनुस्ः कार्यकारी निर्देशक शाक्य

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत आपूर्तिमा देखिएको समस्यालाई लोडसेडिङ्गसँग जोडेर नहेर्न आग्रह गरेका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गरी शाक्यले प्राविधिक समस्याका कारण सिर्जना भएको प्रतिकुल अवस्थालाई लोडसेडिङ्गसँग जोडेर नहेर्न आग्रह गरेका हुन् ।

उनले अब इन्भर्टर र मैनबत्तीका दिन आए भन्दै सामाजिक संजालमा अभिव्यक्त भनाइप्रति सत्यता नरहेको बताए ।

उनले भने, ‘मौसमजन्य गतिविधिका कारण विद्युतीय संरचनामा भएको क्षति तथा देखिएको प्राविधिक समस्याका कारण सिर्जना भएको प्रतिकुल अवस्थालाई लोडसेडिङ्गसँग जोडेर अब इन्भर्टर र मैनबत्तीको दिन आए भन्दै सामाजिक संजालमा अभिब्यक्त भनाइप्रति कत्ति पनि सत्यता छैन । नेपालमा पुनः लोडसेडिङ्ग शुरु हुने दिन आउदै नआउने आम उपभोक्तालाई जानकारी गराउँदछौ ।’

त्यस्तै उनले ढल्केवर मुजफरपुर ४०० केभी डवल सर्किट लाइनको दुवै सर्किटमा एक साथ समस्या देखिदा विद्युत अचानक अवरुद्ध हुन पुगेको स्पष्ट पारे ।

उने बेलुकाको समयमा लोड बढ्ने भएकाले आपूर्ति व्यवस्था मिलाउने प्रयास असफल भएको पनि उनले जानकारी गराए ।

उनले भने, ‘ढल्केवर आसपासको क्षेत्रमा अति उच्च वेगका साथ चलेको हावाहुरीको कारण ढल्केवर मुजफरपुर ४०० केभि डवल सर्किट लाइनको दुवै सर्किटमा एक साथ देखिएको समस्याका कारण नेपालमा सो लाइनमार्फत आपुर्ति हँुदै आएको विद्युत अचानक अवरुद्ध हुन पुगेको थियो । दुवै सिर्किटमा आएको समस्या तत्काल समाधान नभएकाले नेपालको मात्र प्रणाली संचालन गरि विद्युत आपूर्ति व्यवस्था मिलाउन प्रयास गरिएको तर बेलुकाको समयमा बढेर आउने लोडको कारण समस्या भयो ।’

विद्युत प्रणालीमा देखिएको समस्या दिर्घकालिन रुपमा समाधान गर्न प्राधिकरण प्रतिवद्ध रहेको भन्दै उनले आगामी दिनमा यस्ता समस्या नदोहोरिनका लागि तत्कालिन मध्यकालिन र दिर्घकालिन योजना बनाइ कार्य गरिरहेको पनि जानकारी दिए ।

प्राकृतिक जोखिम न्यूनीकरण गर्न तीनै तहको समन्वय आवश्यक रहेकामा सांसदको जोड

काठमाडौं । प्रतिनिधिसभाका सदस्यहरूले मनसुन सुरु हुन लाग्दा प्राकृतिक जोखिम र क्षति न्यूनीकरण गर्न तीनै तहका सरकारको समन्वय आवश्यक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकको शून्य समयमा सांसद अर्जुन नरसिंह केसीले नेपाल प्राकृतिक जोखिमको उच्चतम विन्दुमा रहेकाले वर्षायाम सुरु हुन लागेसँगै सतर्कता अपनाउनुपर्ने बताए । उनले भने, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सुझाव सरकारले गम्भीर रूपमा लिनुपर्छ । तीनै तहको समन्वय र आवश्यक बजेट विनियोजन गर्न आवश्यक छ ।

सांसद अम्बरबहादुर रायमाझीले पनि देशका राजमार्गको अवस्था बिग्रिँदो अवस्थामा रहेकाले मनसुन सुरु हुन लाग्दा समयमै ध्यान दिनुपर्ने बताए । राजधानीबाट पूर्वतर्फ यात्रा गर्ने बिपी राजमार्ग जीर्ण अवस्थामा छ यसका लागि वैकल्पिक मार्गको व्यवस्था होस् भनेर माग गर्दछु, उनले भने ।

सांसद अच्युतप्रसाद मैनालीले त्रिभुवन विश्वविद्यालयलाई गुणस्तरीय बनाउन सके विदेशी विद्यार्थीलाई समेत आकर्षित गर्न सकिने बताए । सांसद अनिशा नेपालीले महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सल्यानका १० वटै स्थानीय तहमा करोडौँ बेरुजु देखिएकाले यसका कारणबारे छानबिन हुनुपर्ने बताइन् ।

सांसद डा अमरेशकुमार सिंहले उखु र दूध किसानको पैसा समयमा दिनुपर्ने र महँगी नियन्त्रणमा जोड दिनुपर्ने बताए । सांसदद्वय अमृतादेवी अग्रहरी र आश्माकुमारी चौधरीले आगामी आर्थिक वर्षको बजेट जनतामुखी र कृषि क्षेत्र सुधार हुनेगरी ल्याउनुपर्ने बताए ।

सांसद उर्मिला थेबेले पूर्वी नेपालको धार्मिक तथा पर्यटकीय क्षेत्र पाथीभरालाई संयुक्त राष्ट्रसङ्घीय शेक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक पहल गर्नुपर्ने माग गरिन् । सांसद गोकुलप्रसाद बाँस्कोटाले काभ्रे जिल्लामा तरकारीखेतीको राम्रो सम्भावना रहेकाले बृहत् सिँचाइ योजना बनाउन आग्रह गरे ।

सांसदहरू असिम शाह, एकनाथ ढकाल, कालुराम राई, गणेश पराजुली, गङ्गा कार्की, गङ्गाप्रसाद यादव, डा चन्दा कार्की भण्डारी, छिरिङडम्डुल लामा, छिरिङल्हामु लामा तामाङ, जनार्दन शर्मा, ज्वालाकुमारी साह, जावेदाखातुन जागा, जुलीकुमारी महतो महासेठ र अब्दुल खानले विभिन्न समसामयिक विषयमा आफ्ना धारणा प्रस्तुत गरे ।

मेची नगरपालिकाले क्षयरोगको औषधि नियमित खानेलाई अण्डा, दाल र चामल दिने

झापा । मेचीनगर नगरपालिकाले क्षयरोग नियन्त्रणका लागि प्रत्यक्ष निगरानीमा औषधि खान बिरामीलाई प्रोत्साहित गर्दै पोषणयुक्त खानेकुरा दिन थालेको छ ।

पन्ध्र वटा वडामा रहेका आधारभूत स्वास्थ्य केन्द्रमार्फत क्षयरोगका सङ्क्रमितलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खुवाउने कार्यक्रमअन्तर्गत बिरामीलाई कुखुराको अण्डा, बदाम, सातु, दाल र चामल दिने गरिएको नगरप्रमुख गोपाल बुढाथोकीले बताए ।

नगरपालिकाले विक्रम संवत् २०८३ सम्ममा मेचीनगरमा क्षयरोग नियन्त्रण गर्ने अभियान सञ्चालन गरिरहेको छ । सरकारले निःशुल्क औषधि उपलब्ध गराउँदै आए पनि बिरामीले नियमित औषधि सेवन नगरिदिँदा रोग बल्झिने र सङ्क्रमण नघट्ने समस्या छ ।

रोग लुकाएर बसिरहेकाहरुको खोजपड्ताल गर्ने र सङ्क्रमण पुष्टि भइसकेकालाई स्वास्थ्यकर्मीकै प्रत्यक्ष निगरानीमा औषधि खुवाउने व्यवस्था मिलाइएको नगरप्रमुख बुढाथोकीले बताए । छ महिना औषधि सेवनपछि क्षयरोग निको हुन्छ ।

सङ्क्रमण पुष्टि भएका नगरवासीलाई एक बोरा चामल, एक क्यारेट कुखुराको अण्डा, एक लिटर खानेतेल, एक किलो दाल, एक किलो बदाम र एक किलो सातु नगरपालिकाले निःशुल्क उपलब्ध गराउन थालेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले जानकारी दिए ।

नगरपालिकाले पोषणयुक्त खानेकुरा दिने भएपछि क्षयरोगका सङ्क्रमितले नियमित स्वास्थ्य केन्द्रमा जाने र औषधिसमेत नियमित रुपमा खाने गरेको पाइएको सापकोटाले बताए । भूगोल र जनसङ्ख्याका आधारमा मुलुककै ठूलो मेचीनगर नगरपालिकामा हाल १६४ सङ्क्रमितले क्षयरोगको नियमित रुपमा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि सेवन गरिरहेका छन् ।

नियमित औषधि सेवनका लागि स्वास्थ्य केन्द्र धाउनेमा ६५ वर्षमाथिको सङ्ख्या बढी छ । तीनजना एचआइभी सङ्क्रमितले समेत प्रत्यक्ष निगरानी विधि पालन गरेरै औषधि खाइरहेका छन् । नगरपालिकाको स्वास्थ्य शाखाले क्षयरोग नियन्त्रण गर्ने लक्ष्य पूरा गर्न स्वास्थ्यकर्मीलाई गाउँ–गाउँ पठाएर नयाँ सङ्क्रमितको खोजपड्ताल गर्दै आएको छ । हाल प्रदेश सरकारको प्राविधिक सहयोगमा एआई प्रविधिजडित अत्याधुनिक एक्स–रे मेसिनमार्फत क्षयरोगका १९ जना नयाँ सङ्क्रमित पत्ता लागेको जनाइएको छ ।

क्षयरोगका बिरामी स्थानीय सरकारबाट निःशुल्क औषधि र पोषिलो खाद्य वस्तु पाउँदा हर्षित रहेको मेचीनगरका प्रवक्ता एवम् वडा नं २ का वडाध्यक्ष दीपक बराल बताउँछन् । “उपचारसँगै खाद्यान्न पाउँदा विपन्न परिवारका सङ्क्रमित ज्यादै खुसी हुन्छन्”, बराल भन्छन्, “हुनेखानेहरु सुविधासम्पन्न निजी अस्पतालमा गएर खर्च गर्न सक्छन्, तर बिहान र बेलुका हातमुख जोड्न अनिश्चित हुने गरेको विपन्न परिवारका लागि चामल, दाल, अण्डा, सातुलगायतका सामान पाउनु निकै ठूलो उपलब्धि हुँदोरहेछ ।”

तेस्रो एनडिसी कोप–२९ का अध्यक्ष बाबायेभलाई हस्तान्तरण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवादमा सकारात्मक सन्देश प्रवाह गर्न तेस्रो राष्ट्रिय निर्धारित योगदान (तेस्रो एनडिसी) अजरबैजान गणराज्यको राष्ट्रपतिका प्रतिनिधि तथा २९औँ जलवायु शिखर सम्मेलनका अध्यक्ष मुख्तार बाबायेभलाई हस्तान्तरण गरेका छन् ।

बहुप्रतिक्षित सगरमाथा संवादको उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले तेस्रो एनडिसीको औपचारिक अनावरण र बाबायेभलाई हस्तान्तरण गरेका हुन् ।

वन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्टङ्घीय खाका (युएनएफसिसिसी) का पक्ष मुलुकहरुको २१औँ जलवायु शिखर सम्मेलन (कोप–२१) अन्तर्गत पेरिस सम्झौतामा आधारित भई तयार गरेको तेस्रो एनडिसीको मस्यौदा बुधबार बसेको मन्त्रिपरिषद्ले बैठकले स्वीकृत गरेको थियो ।

पेरिस सम्झौतामा निर्धारित लक्ष्यअनुसार, सबैपक्ष राष्ट्रहरूले पाँच वर्षको अन्तरालमा आफ्नो राष्ट्रिय निर्धारित योगदान (एनडिसी) पेस गर्नुपर्ने प्रावधानअनुसार नेपालले एनडिसी तयार गरेको हो ।

नेपालले सन् २०१६ र २०२० मा पहिलो र दोस्रो एनडिसी प्रस्तुत गरेको थियो । अब भने सन् २०२५ सम्म नेपालले तेस्रो एनडिसी पेस गर्ने लक्ष्यसहित तेस्रो राष्ट्रिय निर्धारित योगदान स्वीकृत गरेको हो ।

२१औँ कोपको पेरिस सम्झौताले विश्वको औसत तापक्रम वृद्धि १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित राख्ने र २ डिग्री सेल्सियसभन्दा बढ्न नदिने लक्ष्य राखेको छ । यी लक्ष्यहरू प्राप्त गर्न पेरिस सम्झौताका पक्षराष्ट्रले प्रत्येक पाँच वर्षमा राष्ट्रिय निर्धारित योगदान पेस गर्नुपर्छ ।

नेपालले सन् २०३५ सम्मको अवधि कभर गर्नेगरी मस्यौदा तयार गरेको हो । जलवायु न्यूनीकरण, अनुकूलन, तथा वित्तीय व्यवस्थापनको विस्तृत खाकासहित सन् यसमा २०३५ सम्मको दिगो विकास लक्ष्य, घरेलु तथा अन्तरराष्ट्रिय वित्तीय स्रोतको परिचालन, तथा स्थानीय तहसम्म जलवायु कार्यान्वयनको योजना समेटेर तेस्रो एनडिसीको मस्यौदा तयार भएको छ ।

बेलायतमा शरण खोज्ने आप्रबासीको सङ्ख्यामा वृद्धि

लण्डन । बेलायतमा हालैका वर्षहरूमा शरण खोज्नेहरूको सङ्ख्या ह्वात्तै बढेको सरकारी तथ्याङ्कले देखाएको छ। आप्रबासनका लागि दिइएका दशौँ हजार आवेदनहरू अझै निर्णय हुन बाँकी रहेको तथ्याङ्कमा उल्लेख छ ।

बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले बेलायतमा रहनका लागि सबै कानुनी मार्गहरू समाप्त भएकाहरूका लागि बेलायतबाट बाहिर ‘फिर्ती केन्द्र’ हरू सिर्जना गर्न सकियोस् भनी बिहीबार विभिन्न देशहरूसँग औपचारिक वार्ता सुरु गरेको घोषणा गरेका छन् ।

सन् २०२४ मा बेलायतमा शरण माग्नेको सङ्ख्या तीन गुणाले वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ । यो समयमा ८४ हजार २०० ले शरणार्थीका लागि आवेदन दिएका छन् । सन् २०११ देखि सन् २०२० को बीचमा औसतमा २७ हजार ५०० शरणार्थीले बेलायतमा शरणका लागि आवेदन दिएका थिए ।

सन् २०२२ मा बेलायतमा प्रति १० हजार व्यक्तिमा लगभग १३ जनाले शरणका लागि आवेदन दिएका थिए । ईयूमा यो सङ्ख्या प्रति १० हजार २५ रहेको थियो ।

सन् २०२३ मा बेलायतमा रहेका करिब ११ प्रतिशत आप्रवासी शरणार्थी वा शरणार्थी थिए, जुन सन् २०१९ को छ प्रतिशतको तुलनामा झण्डै दुई गुणा बढी हो ।

आवेदन अस्वीकृत दर सन् २००४ मा ८८ प्रतिशत र सन् २०२२ मा २४ प्रतिशत रहेको थियो भने सन् २०२४ मा ५३ प्रतिशत रहेको थियो ।

सन् २००४ देखि सन् २०२१ को बीचमा, शरणार्थीका लागि लगभग तीन चौथाई आवेदकको प्रारम्भिक अनुरोध अस्वीकार गरिएको थियो । त्यसपछि उनीहरूले सरकारको निर्णयबारे पुनःआवेदन गरेका थिए भने त्यसमध्ये एक तिहाईले शरणार्थीको मान्यता पाउन सफल भएका थिए ।

सन् २०२४ मा शरणार्थीका लागि आवेदन स्वीकृत नभएका नौ हजारभन्दा बढी व्यक्तिलाई देश छोड्न निर्देशन गरिएको थियो । यो सङ्ख्या सन् २०२३ को तुलनामा ३६ प्रतिशतले बढी हो ।

सन् २०२४ मा करिब दुई लाख २४ हजार ७०० मुद्दामाथि सुनुवाई भएको र यसमध्ये ८७ हजार २०० प्रारम्भिक निर्णयको पर्खाइमा रहेका थिए भने एक लाख ३७ हजार ५०० आवेदन प्रारम्भिक अस्वीकारपछि थप कानुनी निरन्तरताका लागि पर्खाइमा थिए ।

यो सङ्ख्या सन् २०२२ देखि घट्दै गएको छ तर सन् २०१४ को तुलनामा चार गुणा बढी छ किनभने प्रारम्भिक निर्णयका लागि लामो समय पर्खनु परेको छ भने ठूलो सङ्ख्यामा मानिसहरू निर्वासनको सामना गरिरहेका छन् ।

सन् २०१८ भन्दा पहिले अस्तित्वमा नै नभएको अस्थायी डुङ्गामा च्यानल पार गर्नेको सङ्ख्या हालैका वर्षहरूमा ह्वात्तै बढेको छ।

सन् २०१८ देखि सन् २०२४ को डिसेम्बरसम्मको अवधिमा एक लाख ४८ हजार आप्रवासीले आफ्नो ज्यान जोखिममा राखेर इङ्लिस च्यानलको बाटो भएर बेलायतको तटीय क्षेत्रमा पुगेको सरकारी तथ्याङ्कले देखाएको छ ।

तीमध्ये ९५ प्रतिशतले शरणका लागि आवेदन दिएका थिए । यो सङ्ख्या सन् २०१८ देखि सन् २०२४ को डिसेम्बरसम्मको अवधिमा सबै शरण चाहनेमध्ये २९ प्रतिशत हो ।

सन् २०२५ मा करिब १३ हजार आप्रवासीले च्यानल पार गरिसकेका छन्, जुन सन् २०२४ को सोही अवधिको तुलनामा बढी हो ।

सन् २०२४ मा शरण माग्नेको सबैभन्दा ठूलो समूह पाकिस्तानबाट आएकाको रहेको थियो । अघिल्ला वर्षहरूमा मुख्यतया सिरिया र इरानबाट आएका आप्रबासी शरणार्थीको सङ्ख्या बढी हुने गरेको थियो ।

आस्था राखेकै कारण आफ्ना पार्टीका नेता कार्यकर्ता पक्राउ गरिएको भन्दै लिङ्देनको आपत्ति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दूराज्यमा आस्था राखेकै कारण आफ्ना पार्टीका नेता कार्यकर्ता पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष लिङ्देनले आस्थाका आधारमै पक्राउ गर्ने क्रम नरोकिए त्यसले विद्रोह निम्त्याउने चेतावनी दिए ।

उनले भने, ‘आस्थाकै आधारले एकपछि अर्कोगरी अनेक बहानाले पक्राउ गर्दै लाने हो भने म प्रधानमन्त्री, गृहमन्त्री र सिंगो सरकारलाई भन्न चाहन्छु यसरी निषेध गरेर लाने भए औपचारिक रुपमै सरकारले भन्दियोस् तिमीहरु विद्रोहमा जाउ । राप्रपा लगायत हिन्दूराज्य, राजसंस्था मान्छु भन्नेहरुले संघीयता मान्दिन, प्रदेश मान्दिन भन्नेहरु देशमा सुशासन हुनुपर्छ, भष्ट्राचार गर्नेलाई दण्डित हुनुपर्छ भन्नेहरु यसरी प्रताडित हुनुपर्छ भने विद्रोहमा जान्छौं । विद्रोहमा जाउ, जंगल पस भन्नुपर्यो ।’

वर्तमान सरकार गलत बाटोमा हिँडिरहेको प्रचण्डको आरोप

डडेल्धुरा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार गलत बाटोमा हिँडिरहेको आरोप लगाएका छन् ।

प्रेस सेन्टर नेपाल, डडेल्धुराले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले सरकारले राम्रो काम गर्नेलाई दण्डित र नराम्रो गर्नेलाई पुरस्कृत गरिरहेको जिकिर गरे ।

उनले भने, ‘सरकार ठीक बाटोमा हिँडिरहेको छैन, यसबाट चिन्तित छौँ । सरकारले आफ्ना मान्छे बचाउने खेल खेलिरहेको छ, यो राम्रो होइन ।’

अध्यक्ष दाहालले कांग्रेस—माओवादीबीचको सत्ता समीकरण हल्ला मात्रै भएको स्पष्ट गर्दै वामपन्थी गठबन्धन पनि ८४ सम्म नहुने जिकिर गरे ।

उनले विकास र समृद्धिका हिसाबले सम्भावना बोकेको भए पनि सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार भएको बताए । अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले भने सुदूरपश्चिम क्षेत्रलाई सधैंँ प्राथमिकतामा राखेको दाबी गरे । आफ्नो नेतृत्वमा सरकार हुँदा सुदूरपश्चिम क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेको अध्यक्ष दाहालको भनाइ थियो ।

उनले भने, ‘विकास र समृद्धिका हिसाबले सम्भावना बोकेको भए पनि सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार छ । हामीले त्यसमा सन्तुलन कायम गर्न खोजेका छौँ । डडेल्धुरा र यहाँका पहाडी जिल्लाबाट भइरहेको बसाइँसराइ रोक्न शिक्षा, स्वास्थ्य, कृषि, जडीबुटी तथा पर्यटन क्षेत्रमैत्री नीति आवश्यक छ । यसका लागि पहल गर्छौं ।’

उनले देशका दुई प्रमुख भौगोलिक क्षेत्र लक्षित गरेर आफ्नो पार्टीले जागरण अभियान सञ्चालन गरिरहेको जानकारी दिए । पहिलो चरणमा तराई केन्द्रित हुलाकी राजमार्ग क्षेत्रमा जागरण अभियान सम्पन्न गरी पहाडी क्षेत्रमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गरिएको उनले जानकारी दिए ।

अध्यक्ष दाहालले पहिलो चरणको जागरण अभियान झापाको कचनकवलबाट सुरु गरी महाकालीमा सम्पन्न भएको र दोस्रो चरणको अभियान बैतडीबाट सुरु भएर सोलुखुम्बुमा समापन गरिने जानकारी दिए ।

मन्त्री उपस्थित नभएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलका क्रममा संसद्मा मन्त्री उपस्थित नभएको भन्दै प्रतिपक्षले नियमापत्ति गरेपछि बैठक स्थगित गरिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलका क्रममा अर्थमन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने भन्दै नियमापत्ति गरेका थिए ।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम ६ (५) अनुसार कुनै पनि मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल चलिरहँदा सम्बन्धित मन्त्रालयको मन्त्री सदनमा उपस्थित हुनुपर्ने व्यवस्थाअनुसार विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलका क्रममा अर्थमन्त्री संसद्मा उपस्थित नरहेको भन्दै नियमापत्ति गरेका थिए ।

नियमापत्तिपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित भएको जानकारी दिए ।

चितवनमा एक व्यक्तिले गरे धारिलो हतियार प्रहार गरी आफ्नै छोरी र भतिजको हत्या

चितवन । चितवनमा एक व्यक्तिले शुक्रबार धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या गरी आफूलेसमेत आत्महत्याको प्रयास गरेका छन् ।

भरतपुर महानगरपालिका–२५ किसान चोक नजिक घर भएका ४२ वर्षीय लीलाराज गिरीले धारिलो हतियार प्रहार गरी भतिज र आफ्नै छोरीको हत्या गरेका हुन् । उनले दुई जनालाई आक्रमणपछि आत्महत्याको प्रयास गरेका थिए । बिहान विद्यालय जाने तयारी गरेका बालबालिकालाई उनले आक्रमण गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार गिरीले आफ्नै छोरी सात वर्षीया प्रभा गिरी र दाजु दया गिरीका पाँच वर्षीय छोरा सजन गिरीलाई खुर्पा प्रहार गरेका थिए । त्यसपश्चात् उनले खुर्पा आफँैमाथि प्रहार गरेको उनले जानकारी दिए ।

घटनालगत्तै तीनै जनालाई उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएकामा दुई बालबालिकाको मृत्यु भएको र गिरीको अवस्था गम्भीर रहेको उनले जानकारी दिए ।

गिरी पूर्वसैनिक रहेको र मानसिक सन्तुलन ठीक नभएका अवस्थामा घटना गराएको प्रारम्भिक रुपमा बुझिएको पुरीले जानकारी दिए । घटना आज बिहान ९ः४५ बजेको समयमा भएको हो ।

हिमाल जोगाउनु पृथ्वी, महासागर र मानवता जोगाउनु होः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल जोगाउनु पृथ्वी, महासागर र स्वयम् मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात् गरेर विश्वव्यापी संवादका रूपमा ‘सगरमाथा संवाद’को आयोजना गरिएको बताएका छन् ।

नेपाल सरकारद्वारा पहिलोपटक आयोजित सगरमाथा संवादको उद्घाटन सत्रलाई शुक्रबार सम्बोधन गर्दै उनले यही यथार्थभित्र इमानदार संवाद र आपसी ज्ञान साटासाट गर्न तथा सामूहिक कदम चाल्न विश्वको सर्वाेच्च शिखर सगरमाथाको नामबाट संवादको जन्म भएको उल्लेख गरे ।

‘आशा गर्छौं, यो संवाद—त्यत्तिकै उच्च बनोस् । उच्च नैतिक स्पष्टता, दृढ बौद्धिक साहस र सुन्दर भविष्य निर्माणका लागि अटल साझा दृष्टिकोणमा उच्च बनोस्’, प्रधानमन्त्री ओलीले भने, ‘जलवायु परिवर्तनको कारक मानिएका हरितगृह ग्यास उत्सर्जनमा हाम्रो भूमिका न्यून छ तर वातावरण संरक्षणमा हाम्रो योगदान महत्वपूर्ण छ । तथापि हामीले असर भने धेरै भोगिरहेका छौँ । हाम्रा घरबासहरू पहिराले बगाइरहेका छन् । बाढी र खडेरी अकस्मात आउँछ, समस्या गर्छ । यसविरुद्ध हामी डटिरहेका छौँ ।’

हिमाल मानव जातिका साझा स्रोत हुन्ः परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हिमालहरु मानव जातिका साझा स्रोत भएका बताएकी छन् ।

‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयमा पहिलोपटक शुक्रबार काठमाडौंमा आयोजित ‘सगरमाथा संवाद’को उद्घाटन सत्रमा स्वागत मन्तव्य व्यक्त गर्दै उनले हिमाल करोडौँ मानिसको ताजा पानीको स्रोत बनेको बताइन् ।

हिमालयले आज जलवायु प्रेरित अवरोधको सबैभन्दा ठूलो भार बोकिरहेको बताउँदै उनले हिमनदी जलवायुको असरका कारण पग्लिने क्रम तीव्र रुपमा बढेको उल्लेख गरिन् । यसले गर्दा हिमाली समुदायको दैनिक जीवनमा नकारात्मक प्रभाव परेको उनको भनाइ थियो ।

‘जलवायु प्रेरित प्रकोपहरूले मानव अस्तित्व र जीविकोपार्जनको जगलाई नै हल्लाइरहेको छ’ उनले भनिन्, ‘जलवायु परिवर्तनका कारण बाढी र हिमताल विस्फोटले ठूलो विनाश भएको छ । खडेरी डढेलोले मानवलाई अथाह पीडा दिएको छ ।’

मन्त्री डा राणाले यो संवाद मनन र आत्मनिरीक्षण गर्ने अवसर प्रदान गर्ने र हिमालदेखि समुद्रसम्म तथा उत्तरीदेखि दक्षिणी गोलाद्र्धसम्म जलवायुजन्य विपत्ति रोक्ने प्रयास भएको बताइन् ।

उनले नाजुक हिमाली पारिस्थितिक प्रणाली भएको देश नेपालले जलवायु परिवर्तनको मार खेपिरहेको जानकारी गराइन् ।

‘हाम्रा नदी, वन र हिमालहरूको सचेत संरक्षकको रूपमा, हामीले पृथ्वीको स्वास्थ्यमा आफ्नो क्षमताभन्दा बढी योगदान गरिरहेका छौं । तर, हामी जलवायु परिवर्तनका नकारात्मक असरहरूको भारी र असमान बोझ सामना गर्न बाध्य छौँ’, मन्त्री डा राणाले भनिन् ।

स्थानीय समुदायहरूले जलवायु परिवर्तनको विरुद्धमा कडा सङ्घर्ष गरिरहेका अविश्वसनीय उदाहरणहरू रहेको बताउँदै उनले तिनीहरूको स्थानीय ज्ञान र जीवनको अनुभवलाई पहिचान र महत्त्व दिनु, अनुकूलनशील रहेकामा जोड दिइन् ।

अन्तर्राष्ट्रियस्तरमा सरकार, सरोकार निकाय र नागरिक समाजबीचको सहकार्य बिना हुन नसक्ने उनको भनाइ थियो ।

नेपालले सन् २०४५ सम्ममा शून्य हरितगृह ग्यास उत्सर्जनको लक्ष्य हासिल गर्न प्रतिबद्धता जनाएको छ । जलविद्युत्, ऊर्जाको स्वच्छ रूप, नेपालको बिजुलीको सबैभन्दा ठूलो स्रोत बनेको छ ।

नेपालद्वारा अग्रणी प्राकृतिक स्रोत व्यवस्थापन कार्यक्रम, सामुदायिक वनले नेपाललाई आफ्नो वन क्षेत्रलाई उल्लेखनीय रूपमा बढाउन मात्र मद्दत गरेको छैन, तर विश्वभरि सहभागी संरक्षणको मोडेलको रूपमा पनि देखा परेको मन्त्री डा राणाले बताइन् ।

‘जलवायु परिवर्तन राष्ट्रिय सीमाहरू पार गर्ने विश्वव्यापी सङ्कट हो । जलवायु परिवर्तनले आफ्नो मार्गमा ल्याउने अस्तित्वजन्य सङ्कटमा न्याय र ऐक्यबद्धतामा आधारित विश्वव्यापी गठबन्धनभन्दा कमले कुनै प्रभाव पार्ने आशा गर्न सकिँदैन,’ उनले भनिन्, ‘त्यसैले, हामी सङ्कटमा परेका देशहरूले सजिलै पहुँच गर्न सक्ने पर्याप्त र प्रभाावकारी क्षति र नोक्सानी कोषको लागि आह्वान गर्दछौँ ।’

नेपालजस्ता देशहरूको जोखिमलाई विश्वले स्वीकार गर्नुपर्ने र जलवायु वित्त, अनुकूलन सहयोग र प्रविधि हस्तान्तरणको प्रावधानमार्फत लक्षित न्यूनीकरण र अनुकूलन रणनीतिहरूलाई समर्थन गर्नुपर्ने उनको भनाइ थियो ।

मन्त्री राणाले यो मञ्चले जलवायु परिवर्तन र क्षेत्रीय र अन्तरराष्ट्रिय शान्ति, सुरक्षा र स्थिरता बीचको सम्बन्ध, साथै बसाइँसराइ, खाद्य सुरक्षा, मानवीय संकट र प्रकोप जोखिमहरूमा जलवायु परिवर्तनको प्रभावहरूमा विचार गर्ने अवसर प्रदान गर्ने उल्लेख गरिन् ।

उनले यो संवादले जलवायु परिवर्तनको खतरा र मानव जातिको भविष्यको अस्तित्वजन्य खतराको सामना गर्न नयाँ विचारहरूलाई उत्प्रेरित गर्न, सहयोगलाई बढावा दिन र ठूलो राजनीतिक इच्छाशक्तिलाई परिचालन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिन् ।

कर्मचारीको कुलिङ पिरियड २ वर्ष राखिने

काठमाडौं । संसदको राज्य व्यवस्था सुशासन समितिबाट निजामती सेवा विधेयक पारित भएको छ । शुक्रबार बसेको समितिको बैठकले विधेयक पारित गरेको हो ।

समितिमा निजामती कर्मचारीको कुलिङ पिरियड २ वर्ष राख्ने विषयमा सहमति भएको छ । त्यस्तै, निजामती कर्मचारीका अतिरिक्त सचिव राख्ने लगायतका विषयमा पनि सहमति जुटेको बताइएको छ । शुक्रबारको समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले कुलिङ पिरियड दुई वर्ष राख्न सुझाव दिएका थिए ।

उनले दुई वर्षभन्दा बढाउँदा जनशक्तिको अभाव हुनक्ने बताएका थिए । यसअघि ‘कुलिङ पिरियड’का विषयमा कांग्रेस र एमालेबीच मतभेद थियो । कांग्रेस दुई वर्ष राख्नुपर्ने र एमाले एक वर्ष राख्नुपर्ने पक्षमा थिए ।

यस्तै निजामती कर्मचारीको अवकाशको उमेर हद ६० वर्ष राख्ने विषयमा पनि सहमति भएको छ । यसअघि अवकाशको उमेर ५८ वर्ष थियो ।

निजामती सेवा विधेयक २०८० फागुन २१ गते प्रतिनिधिसभामा दर्ता भएको थियो । सैद्धान्तिक छलफल गरेर प्रतिनिधिसभाले दफावार छलफलका लागि २०८१ जेठ १५ मा राज्य व्यवस्था समितिमा पठाएको थियो ।

राष्ट्रपतिद्वारा मक्का मदिना जाने हजयात्रीको बिदाइ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता रहेको नेपालमा मुस्लिम समुदायको संस्कृति, कला र परम्पराको आफ्नै महत्वपूर्ण विशिष्टता रहेको बताएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार बिहान मक्का मदिनामा यसवर्ष हज गर्न जान लागेका हजयात्रीलाई शुभकामना दिने क्रममा उनले यस्तो बताएका हुन् ।

“विविध जातजाति, समुदाय, भाषाभाषी, संस्कृति रहेको हाम्रो देशमा यसको संरक्षण र संवद्र्धनका लागि सबै एकसाथ मिलेर लाग्न र यसकै माध्यमबाट आपसमा भाइचारा, मित्रता र सद्भाव बढाउँदै राष्ट्रिय एकतालाई बलियो बनाउन आवश्यक छ, हजयात्राले यसमा ठूलो योगदान दिने विश्वासका साथ तपाईँहरूको यात्रा सफलताको पुनः शुभकामना व्यक्त गर्दछु”, उनले भने ।

उनले परापूर्वकालदेखि नै नेपाल राज्य निर्माणमा यो समुदायको महत्वपूर्ण योगदान रहेको बताए । “पवित्र आस्था र विश्वास बोकेर जाने हजयात्रीहरूको सहजताका लागि सबै खालको सुविधा उपलब्ध गराउन सम्बन्धित् निकायले ध्यान दिनेनै छ भन्ने मैले विश्वास लिएको छु, हज कार्यलाई व्यवस्थितरुपबाट सञ्चालन गर्न समयानुकुल आवश्यक नीति, नियम र प्रवन्ध मिलाउनुपर्नेतर्फ सरोकारवालाको ध्यानाकर्षण गराउन चाहन्छु”, राष्ट्रपति पौडेलले भने ।

सो असवरमा राष्ट्रपति पौडेलले हजयात्रीलाई गम्छा र टोपी लगाएर शुभकामना दिएका थिए । मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष मोहमुद्धिन मियाँले राष्ट्रपतिबाट पहिलोपटक यसरी हजयात्रीलाई हजयात्राको लागि राष्ट्रपति भवनमा शुभकामना सहित बिदाइ गरिनु गौरवको विषय भएको बताए।

कांग्रेस संसदीय दलको बैठक शनिबार बस्ने

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि जेठ ३ गते शनिबार बस्ने भएको छ ।
कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठक शनिबार दिउँसो २ बजे सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्ने जानकारी दिए ।

बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे छलफलका साथै समसामयिक विषयमा विचार–विमर्श हुने प्रमुख सचेतक घिमिरेले बताए ।

कारको ठक्करबाट कपिलवस्तुमा ‘मर्निङ वाक’ मा निस्किएका दुई महिलाको मृत्यु

तौलिहवा । कपिलवस्तुमा कारको ठक्करबाट ‘मर्निङ वाक’ मा निस्किएका दुई महिलाको मृत्यु भएको छ ।

शुक्रबार बिहान करिब ६ बजे पत्थरकोट–गोरुसिङ्गे सडक खण्डमा पत्थरकोटबाट गोरुसिङ्गेतर्फ गइरहेको बिएबी ९५९९ नम्बरको कारले उनीहरूलाई ठक्कर दिएको थियो ।

कारको ठक्करबाट गम्भीर घाइते भएका ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझीलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लैजादैगर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जानकारी दिएको छ ।

कार चालक रुपन्देही, सैनामैना नगरपालिका–५ निवासी ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

युक्रेन–रुस शान्तिवार्तामा प्रगति हुन ट्रम्प-पुटिन भेट हुनुपर्छः विदेशमन्त्री रुबियो

बीबीसी । अमेरिकी विदेशमन्त्रीले टर्कीमा हुन लागेको युक्रेन–रुस शान्तिवार्ताप्रति आफ्नो धेरै अपेक्षा नरहेको भन्दै उक्त मुद्दामा प्रगति हुनका निम्ति अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेट हुनु आवश्यक भएको बताएका छन् ।

‘राष्ट्रपति ट्रम्प र राष्ट्रपति पुटिनबीच यो विषयमा प्रत्यक्ष अन्तरक्रिया नभईकन यहाँ कुनै निर्णायक उपलब्धि हुन्छ जस्तो मलाई लाग्दैन,’ दक्षिणी टर्कीमा नेटोका विदेशमन्त्रीहरूबीच भएको बैठकपश्चात् विदेशमन्त्री मार्को रुबियोले भने ।

इस्तानबुलमा हुन लागेको रुस–युक्रेन वार्तामा आफ्नो देशले प्रतिनिधिमण्डल पठाउन लागेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुष्टी गरे ।

तर उनले मस्कोले ’तल्लो स्तर’को प्रतिनिधिमण्डल पठाउन लागेको भन्दै असन्तुष्टि प्रकट गरेका छन् । रुसी प्रतिनिधिमण्डललाई राष्ट्रपति पुटिनका सल्लाहकार भ्लादिमिर मेदिन्स्कीले अगुवाइ गर्दैछन् ।

उनले क्रेम्लीनको वार्ता टोलीसँग ‘सबै आवश्यक योग्यता भएको’ बताए । यसअघि मध्यपूर्वको भ्रमणमा रहेका ट्रम्पले आफू र पुटिनबीच प्रत्यक्ष भेटघाट नभईकन शान्तिवार्तामा उल्लेखनीय प्रगति हुन नसक्ने टिप्पणी गरेका थिए ।

एयर फोर्स वनमा बीबीसीले उनलाई रुसी प्रतिनिधिमण्डलको स्वरूप देखेर निराशा उब्जिएको छ कि भनेर सोधेको थियो। ट्रम्पले जवाफ दिँदै भने, ‘हेर्नुहोस्, म र पुटिन सँगै नभईकन केही पनि हुनेवाला छैन।’

ट्रम्पले उचित भए शुक्रवार टर्कीमा हुने वार्तामा आफू सहभागी हुने बताए तर फेरि आफू वाशिङ्टन नै फर्कने बताए । बिहीबार टर्कीको इस्तानबुलमा टर्की, अमेरिका, युक्रेन र रुसका टोलीहरू भेट्दै छन्। सन् २०२२मा भएको प्रत्यक्ष वार्तापछि युक्रेन–रुसबीच हुन लागेको यो पहिलो भेट हो ।

सुरेश शिवाकोटीको ‘केलाई हतार’

काठमाडौं । गीतकार सुरेश शिवाकोटीको नयाँ गीत ‘केलाई हतार’ सार्वजनिक भएको छ । गायक गोविन्द मधुर आचार्य, सुष्मा बिसी र विन्दु विसीको सामुहिक स्वर रहेको गीतमा गोविन्दकै संगीत छ ।

निरेन श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा गीतकार सुरेशसँगै गायक गोविन्द, मोडलहरु सन्देश थापा, सञ्चिता बोलखी, प्रेमराज लामिछाने लगायतको अभिनय देख्न सकिन्छ। ।

एचबिएन किस्मतको एरेन्ज, सुरज भुषालको ब्याकग्राउन्ड स्कोर रहेको गीतको भिडियो चक्र बरालले खिचेका हुन् भने विष्णु खड्काले सम्पादन गरेका छन्।

कर्ण थापाको बोलीको विषयमा सर्वत्र विरोध

धनगढी । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले गरेको एक भाषणको सर्वत्र विरोध भइरहेको छ । गत आइतबार बाजुरास्थित एक सार्वजनिक कार्यक्रममा भाषण गरेका थापाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई स्टार्टअप कार्यक्रममा घुस खाएको आशङ्का व्यक्त गरेका थिए । उक्त भाषणको विषयलाई लिएर थापा विरुद्ध सामाजिक सञ्जाल ओर्लिएको छ ।

थापाको भाषण बारे सुदूरपश्चिमका अधिकांश एमालेका नेता कार्यकर्ताले टिप्पणी गरेका छन् । थापाको आरोपलाई प्रमाणित गरेर देखाउन चुनौती दिँदै सामाजिक सञ्जालमा विरोध भएको हो ।

नेकपा(एमाले)का केन्द्रीय कमिटी सदस्य समेत रहेका मन्त्री भण्डारीको गल्ती भएमा प्रमाण सार्वजनिक गर्न र नभए आफ्नो बोलीलाई ठेगानमा राख्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको भनाई छ ।

थापाको भाषणका विषयमा अधिकांश नेता कार्यकर्ताले स्ट्याटस लेखेर विरोध गरेका छन् भने, कतिपय नेताहरू थापाले गल्ती गरेको बताइ रहेकाछन् । थापाले आफ्नो भाषणमा प्रमाणविहीन कुरा गरेका छन् । उनले मन्त्री भण्डारीले स्टार्टअप कर्जा पाउने व्यक्तिबाट रकम असुलेको भन्ने तथ्यहीन आरोप लगाएका छन् ।

नेपाल सरकारले चालु आर्थिक वर्ष २०८१/०८२मा स्टार्टअप सहुलियत कर्जा कार्यक्रम मार्फत सहुलियत ब्याजदर को ऋण प्रवाह गर्ने कार्यक्रम ल्याएको छ । १ अर्ब बजेटको उक्त कार्यक्रममा ६सय ६१ जनाले व्यवसाय गर्नका लागि कर्जा पाउने भकाए छन् ।

उक्त कर्जाबाट समेत रकम असुलेको हुनसक्ने हास्यास्पद आशङ्का व्यक्त गरेपछि थापाको चौतर्फी विरोध भएको हो । जबकि उक्त रकम अझै व्यवसायीको हातमा पर्न सकेको छैन ।

बाजुरा जिल्लाबाट २०७९को निर्वाचनमा पराजित भएका थापालाई आफू चुनाव जित्न नसक्ने र अर्काले चुनाव जितेर मन्त्री भएको देख्न नसक्ने प्रवृत्ति हटाउन अधिकांशले सुझाव दिएका छन् । थापाले समेत २ वटा फर्म रकमको प्रस्ताव गरेकोमा उक्त फर्महरूमा रकम नपरेका कारण आक्रोश पोखेको आरोप उनीमाथि लागेको छ ।

स्टार्टअप उद्यम कर्जा प्रवाह गर्ने विषयमा भण्डारीले नेतृत्व गरेको मन्त्रालय र मन्त्री भण्डारीको कुनै संलग्नता नरहेको मन्त्रालयको भनाई छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठान द्वारा सञ्चालन भएको उक्त कार्यक्रममा प्रतिष्ठान, विज्ञ सदस्य लगायतको समितिले कर्जा पाउने व्यक्तिको छनोट गरेका हुन् ।

स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८१मा व्यवस्था भए अनुसार बैङ्कको प्रतिनिधि, उद्यमशीलता क्षेत्रमा काम गरेको विज्ञ सदस्य, स्टार्टअपमा काम गरेको प्रतिनिधि, घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्रको प्रतिनिधि रहेको मूल्याङ्कन समितिले आवश्यक प्रक्रिया मार्फत उद्यमीहरूको छनोट गरी कर्जा वितरणको निर्णय गरेको हो ।

५ जनाको उक्त मूल्याङ्कन समितिका अनुसार व्यवसायको विवरण, पेस गरिएको प्रस्ताव, कम्तीमा १ मिनेटको भिडियो, छनोटका बेला गरिएका प्रश्नोत्तरको आधारमा उद्यमीको छनोट गरिएको हो ।

छनोटका क्रममा कुनै प्रकारको अनियमितता नभएको मूल्याङ्कन समितिको भनाई छ । मूल्याङ्कनका सबै प्रक्रियाहरू पुरा गर्दा ५० प्रतिशत भन्दा बढी अङ्क प्राप्त गरेका व्यक्तिहरूलाई छनोट गरिएको र फर्म छनोट नहुनुको कारण देखाउन सकिने औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले जनाएको छ ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बिहीबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ तथा डिजेल/मट्टीतेलको प्रतिलिटर तीन रुपैयाँले घटाइएको निगमले जनाएको छ ।

संसदमा सुनाइयो सांसद बस्नेत निलम्बनको सूचना

काठमाडौँ । प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत पदबाट निलम्वित भएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले बस्नेत पद निलम्वन भएको पत्र पढेर सुनाए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री समेत रहेका बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी भ्रष्टाचार निवारण ऐनअनुसार स्वतः पदबाट निलम्वन भएका हुन् ।

टेरामोक्स खरिद गर्दा अनियमितता तथा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले उनीहरूमाथि रु तीन खर्ब २१ करोड बिगो माग दाबी गरिएको छ ।

कञ्चनपुरका दुई नगरपालिका विपद् संकटग्रस्त क्षेत्र घोषणा(मन्त्रिपरिषदको निर्णयसहित)

काठमाडौँ । सरकारले दमक भ्यू–टावरलाई शुल्क लिई सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको छ । वैशाख ३१ गते बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डडेल्धुराको परशुराम नगरपालिका मातहतको १५ शैयाको जनसङ्ख्या मन्त्रालय जोगबुढा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गर्ने गरी हस्तान्तरण गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको जानकारी दिए ।

यस्तै सरकारले औद्यौगिक सम्पत्तिसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने, जल तथा मौसम विज्ञान विभाग र अन्तर्गतका निकायहरूको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने, अर्थ मन्त्रालय र अन्तर्गतका निकायहरूको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने र नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव शोभाकान्त पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ।

नेपालद्वारा बहराइन ६ विकेटले पराजित

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले बहराइनलाई ६ विकेटले हराएको छ । वर्षाले प्रभावित खेलमा ७ ओभरमा ५६ रनको लक्ष्य पाएको नेपालले ५ ओभर ४ बलमा ४ विकेट गुमाएर भेटायो । नेपालकी कप्तान इन्दु बर्माले ७ बलमा नटआउट २४ रन बनाइन् ।

बहराइनकी पवित्रा शेट्टीले ३ विकेट लिइन् । यसअघि थाइल्यान्डको टेर्डथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बहराइनले १२ ओभर ४ बलमा ३ विकेट गुमाएर ७६ रन बनाएको अवस्थामा खेल रोकिएको थियो ।

जितसँगै नेपाल ४ खेलमा ५ अङ्कसहित समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ । बहराइन ३ खेलमा १ अङ्कसहित पुछारमा छ ।

संवैधानिक निकायका ५२ पदाधिकारीविरुद्धको मुद्दाको फैसला जेठ २८ मा आउने

काठमाडौं । संवैधानिक निकायका ५२ पदाधिकारीविरुद्धको रिटमाथिको बहस सकिएको छ । बिहीबार बहस सकिएसँगै संवैधानिक इजलासले आगामी जेठ २८ गते फैसला सुनाउने मिति तोकेको छ ।

इजलासले दुवै पक्षका कानुन व्यवसायीहरूलाई यही जेठ १६ गतेभित्र बहस नोट पेस गर्न आदेश भएको छ ।

रविन्द्र मिश्रलाई सर्वोच्च अदालतमा उपस्थित गराइयो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रविन्द्र मिश्रलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले मिश्रकी पत्नी सारिका कार्कीले दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी गर्दै अनुसन्धानको मिसिलसहित २४ घण्टाभित्र मिश्रलाई इजलासमा उपस्थित गराउन आदेश गरेको थियो ।

मिश्रलाई बन्दीप्रत्यक्षीकरणको सुनुवाइका निम्ति सर्वोच्चमा उपस्थित गराइएको हो । जिल्ला अदालतमा म्याद थपका लागि लैजाँदा उनलाई प्रहरीले सधैँ हत्कडी लगाइदिने गरेको थियो ।

सर्वोच्च लैजाँदा पनि महान्यायाधिवक्ताको कार्यालय पुग्दासम्म हतकडी लगाइएको थियो । सर्वोच्च परिसरमा भने हत्कडी खोलेर लगियो । सर्वोच्चमा रिटको पेसी शुक्रबारका लागि तोकिएको छ ।

कांग्रेस महामन्त्री शर्माले सगरमाथा आरोहण गर्ने

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सगरमाथा आरोहण गर्ने भएका छन् । पर्यटन विभागले महामन्त्री शर्मालाई आरोहणको अनुमति दिएको विभागका निर्देशक हिमाल गौतमले जानकारी दिए ।

महामन्त्री शर्मा केही समयदेखि सगरमाथा आधार शिविर क्षेत्रमै छन् । यसअघि महामन्त्री शर्माले गत मंसिरमा लोबुचे हिमाल आरोहण गरेका थिए।