कारागारलाई खुला सुधारगृह मात्र नभएर उद्योगग्रामका रूपमा स्थापित गर्नुपर्छः गृहमन्त्री लेखक


विराटनगर । गृहमन्त्री रमेश लेखकले कारागारलाई खुला सुधारगृह मात्र नभएर उद्योगग्रामका रूपमा स्थापित गर्ने बताएका छन् ।
कारागार कार्यालय मोरङको नवनिर्मित भवन तथा संरचनाको मंगलबार उद्घाटन गर्दै गृहमन्त्री लेखकले कारागारमा बस्ने कैदीबन्दीको समय सदुपयोग गरी आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यले आधुनिकीकरणसहित कारागारलाई उद्योगग्रामका रूपमा रुपान्तरण गर्न लागेको स्पष्ट गरे ।
उनले प्रचलित कानूनी प्रावधानबमोजिम कारागारमा राख्नुपर्ने बाध्यात्मक व्यवस्था भए पनि कैदीबन्दीको मानव अधिकारप्रति सरकार संवेदनशील रहेको बताए ।
लोकतन्त्रमा सबै व्यक्तिको मानवअधिकार सुनिश्चित हुने प्रसङ्ग उल्लेख गर्दै उनले कैदीबन्दीको तुलनामा कारागार भवन कम भएको र आवश्यक पूर्वाधारसमेत नभएको भन्ने गुनासो सम्बोधन गर्ने पक्षमा आवश्यक गृहकार्य भइरहेको जानकारी दिए ।
फरक प्रसङ्गमा वर्तमान सरकार गठन भएको १० महिनाको अवधिमा केही कानूनी तथा नीतिगत व्यवस्था सुधारसहित आवश्यक वातावरण तयार गरेपछि वस्तु आयातमा कमी र निर्यात वृद्धि भएको, विदेशी मुद्राको सञ्चिति बढेको, निजी क्षेत्र उत्साहित भएको र मुलुकको समग्र आर्थिक परिसूचकहरू सन्तोषजनक रहेको उनले बताए ।