प्रत्येक आतङ्कवादको विरुद्ध शून्य सहनशीलताः प्रधानमन्त्री मोदी


बीबीसी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानसँग उनको सरकारले केवल दुईवटा मामिलामा मात्र संवाद गर्ने बताएका छन् । शनिबार दुई देशबीच संघर्षविरामको सहमति भएपश्चात् मोदीले पहिलो सार्वजनिक सम्बोधन गर्ने क्रममा सोमबार राति त्यसो भनेका हुन्।
अप्रिल २२ मा भारत प्रशासित कश्मीरको पहलगाममा आतङ्कवादीहरूले २६ जना पर्यटकको ज्यान लिएपछि बढेको तनावका माझ भारतले मे ७ मा पाकिस्तान तथा पाकिस्तान प्रशासित कश्मीरमा सैन्य कारबाही गरेको थियो ।
त्यसपछि करिब चार दिनसम्म दुई पक्षबीच आक्रमण र प्रत्याक्रमणका विवरण आएका थिए । सोमबार आफ्नो सम्बोधनमा मोदीले अहिलेको युग युद्धको युग नभएको तर आतङ्कवादको पनि युग नभएको बताए । उनले भने, ‘प्रत्येक आतङ्कवादको विरुद्ध शून्य सहनशीलता नै राम्रो संसारको ग्यारेन्टी हो। पाकिस्तानी सेना, पाकिस्तानको सरकार जुन आतङ्कवादलाई मलजल गर्दैछन् त्यसले एक दिन पाकिस्तानलाई नै समाप्त गरिदिनेछ ।’
पाकिस्तानसँगको संवादबारे भारतको घोषित नीति नै रहेको पनि उनले बताए । उनले भने, ‘यदि पाकिस्तानसँग कुराकानी हुन्छ भने त्यो आतङ्कवादबारे हुन्छ। पाकिस्तानसँग कुराकानी हुन्छ भने पाकिस्तान अधिनस्थ कश्मीरबारे कुराकानी हुन्छ ।’
भारतीय प्रधानमन्त्रीले पाकिस्तानका ’सैन्य तथा आतङ्कवादी ठेगाना’हरू विरुद्धको भारतीय कारबाही ’केवल स्थगित’ गरिएको बताएका छन् ।
उनले भने, ‘अपरेशन सिन्दूर अन्तर्गतका भारतीय सैन्य कारबाही अहिले केवल स्थगित भएको छ। आउने दिनमा पाकिस्तानका प्रत्येक कदमलाई यिनै कसीमा नापिने छन् ।’
चार दिनको सङ्घर्षपश्चात् शनिवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दुई देशबीच संघर्षविरामको सहमति भएको घोषणा गरेका थिए ।