`

एकैदिन लागुऔषधसहित कैलालीमा १० जना पक्राउ

सुदूरपश्चिम । कैलाली जिल्लामा एकैदिन लागुऔषधसहित १० जना पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलाली मातहतबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिकाको विभिन्न पाँच ठाउँका साथै टीकापुर क्षेत्रबाट गरी झण्डै साढे आठ ग्राम खैरो हिरोइन र धनगढीको केदार टोलबाट झण्डै ६९ ग्राम चरेशसहित दश जनालाई पक्राउ गरेको हो।

पक्राउपर्नेमा कञ्चनपुर जिल्ला, कृष्णपुर नगरपालिकाका मोहन राना, प्रदीप राना, अनिल राना, कैलाली जिल्ला धनगढी उपमहानगरपालिकाका प्रभुराम राना, अमर राना, बाहाली राना, दीपक राना, बैतडी जिल्ला घर भई हाल धनगढी बस्ने खेमराज महरा, टीकापुर नगरपालिकाका विक्रम बुढा र मिलन टमटा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कविन्द्रसिंह बोहराले जानकारी दिए।

‘बेलाबखत प्रहरीले यो कर्डन एण्ड स्वीप अभियान चलाउँछ,’ उनले भने, ‘कैलाली लागुऔषधको केन्द्र बन्न थालेको छ, सबै अभिभावकले आ–आफ्ना छोराछोरीको आनीबानीका बारेमा सचेतता आपनाउन निकै जरुरी भइसकेको छ।’

प्रहरीले लागुऔषधको सेवन, ओसारपसार रोकथामका लागि यो भित्रिनसक्ने सम्भावित ठाउँको निगरानी गरेर यसको जालो तोड्ने प्रयास गरिरहेको जनाएको छ।

समाजमा हुने गरेका अधिकांश आपराधिक घटनामा लागुऔषध सेवनकर्ताको कुनै न कुनै रुपले संलग्नता देखिँदा सुरक्षा चुनौती पनि थपिएको प्रहरीको भनाइ छ।

साथै कैलालीको प्रहरी टोलीले धनगढीको ट्रफिक चोक, फूलबारी बस बिसौनी, टीकापुरको डाँडाबोझी, क्षेत्रबाट भन्सार छली गरी ल्याइएका चार लाख ११ हजार सातसय ५० मूल्य बराबरका व्यापारिक मालसामान पनि बरामद गरेको छ।

माओवादी केन्द्रको केन्दीय समिति बैठक आइतबारदेखि सुरु हुँदै

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आइतबारदेखि सुरु हुँदैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार दिउँसो १ बजेदेखि बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

यसअघि बसेको स्थायी समिति बैठकले अध्यक्ष दाहालबाट ‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्पः आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस हुने टुङ्गो लगाएको थियो । बैठकको प्रारम्भमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गर्ने र लगत्तै उहाँबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल हुनेछ । 

केन्द्रीय समिति बैठक सञ्चालनको ‘मोडालिटी’ टुङ्गो लगाउन आइतबार बिहान ८ बजे स्थायी समिति बैठक बस्ने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । बैठकमा चार सय नौ पूर्ण केन्द्रीय सदस्य, दुई सय पाँच वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगबाट ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारी गरी एक सय २५ जनाको समेत सहभागिता रहनेछ ।

एमाले केन्द्रीय कमिटी बैठक आइतबारदेखि

काठमाडौँ । नेकपा एमालेको  केन्द्रीय कमिटी बैठक आइतबारदेखि सुरु हुँदैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । 

यसअघि प्रतिवेदनमाथि समूहगत छलफल हुने गरेकामा यसपटक भने प्रत्येक केन्द्रीय सदस्यलाई बेग्लाबेग्लै धारणा राख्ने व्यवस्था मिलाइएको पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए । प्रत्येक सदस्यलाई करिब तीन मिनेटको समय उपलब्ध गराउने तयारी गरिएको छ । 

बैठकको प्रारम्भमा अध्यक्ष ओलीले पछिल्लो राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा मन्तव्य दिनेछन् । उनीबाट प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमा आगामी कार्ययोजना, पार्टी सङ्गठन सुदृढीकरण, वर्तमान सरकार गठन, यसअघिका सरकारमा साझेदारी, सरकारका प्राथमिकता, संविधान संशोधन, आर्थिक सुधार, सहकारीलगायत विषय समेटिएका उपाध्यक्ष पाण्डेले बताए । 

बैठकमा केन्द्रीय सदस्य र आयोगका प्रमुखलगायत सहभागी हुनेछन् । दुई दिनभित्र बैठक सक्ने तयारी छ । यही पुस १८ गते एमाले सचिवालय बैठकले केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन पारित गरेको थियो ।

अध्यक्ष ओली नेतृत्वमा सरकार गठन भएपछि पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । संसद्को हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा बस्न लागेको बैठकले संविधान संशोधनलगायतका ‘एजेण्डा’मा ठोस धारणा तय गर्ने बताइएको छ । 

सहकारीसम्बन्धी अध्यादेश रवि लक्षितः रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले हालै ल्याएको सहकारीसम्बन्धी अध्यादेश पार्टी सभापति रवि लामिछानेलक्षित रहेको निष्कर्ष निकालेको छ ।

शनिबारबाट सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकमा सहकारीसम्बन्धी अध्यादेश र संसदमा दर्ता भएका विधेयकमाथि छलफल भएको थियो ।

छलफलमा नेताहरुले पार्टी सभापति लामिछानेलाई अप्ठ्यारो पार्ने गरी अध्यादेश ल्याइएको बताएका थिए ।

अध्यादेशमार्फत सरकारले आफू र आफू निकटकालाई बचाउने र सहकारीलाई अझ धराशायी बनाउने प्रक्रियामा भूमिका खेलेको बैठकको निष्कर्ष रहेको रास्वपाका नेता गणेश श्रेष्ठले बताए । दुई दिनसम्म चल्ने बैठकमा संविधान संशोधनका बारेमा पनि छलफल हुनेछ ।

पिंगलास्थानमा युवती मृत्यु प्रकरणः सँगै बसेका युवक मृत फेला

काठमाडौं । काठमाडौँको गौशालास्थित होटलमा मृतक फेला परेकी सुस्मिता खड्काको हत्या आरोपी युवक पनि मृत फेला परेका छन् ।

सुस्मितालाई ढोका थुनेर फरार भएका युवक ओखलढुंगामा मृत फेला परेका हुन् । काठमाडौँको कागेश्वरीकी सुस्मिता होटलभित्रै मृत फेला परेकी थिइन् ।

उनीसँगै बसेका ओखलढुंगाका २३ वर्षीय देवबहादुर थापा शनिबार ओखलढुंगाको सुनकोसी गाउँपालिका–३, सिस्नेरीमा झुण्डिएको अवस्थामा मृत फेला पारेका ओखलढुंगाका डीएसपी कृष्ण खड्काले जानकारी दिएका छन् । युवती मृत फेला परेपछि प्रहरीले हत्याको आशंका गरेको थियो ।

देवबहादुर केही समय पहिले मात्रै जापानबाट नेपाल आएका थिए। उनी पुनः जापान जाने तयारीमा थिए । सुस्मिता पनि जापानिज भाषा पढिरहेकी थिइन् ।

निर्वाचनमा लोकप्रिय मत ल्याउनेले सरकार चलाउन पाउनुपर्छः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।

शनिबार पार्टीको गण्डकी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा महामन्त्री थापाले अहिलेको निर्वाचन प्रणालीले कुनै दलको बहुमत आउने अवस्था नरहेकाले संविधान संशोधन आवश्यक रहेको बताएका हुन् ।

उनले अहिले आज मन्त्री भएको नेताले भोलि रहन्छु कि रहन्न भन्ने त्रासमा रहनुपर्ने अवस्था रहेको बताए । महामन्त्री थापाले निर्वाचनमा लोकप्रिय मत ल्याउनेले सरकार चलाउन दिनुपर्ने बताए । त्यसैले निर्वाचन प्रणालीलाई संशोधन गर्नुपर्ने उनको भनाई थियो ।

फरक प्रसंगमा उनले सहकारी ठगीमा कांग्रेसका जोसुकै नेता जोडिए पनि कारबाही हुने बताए । उनले अब पार्टी सधैं गाली खाएर नबस्ने भन्दै शुद्धीकरणमा लाग्नुपर्ने बताए ।

उनले भने,‘निर्दोष कोही नफसुन् भन्ने हो तर दोषीलाई उम्किनु दिनुहुन्न । सधैं गाली खाएर बस्ने होइन, पार्टीमा शुद्धीकरणको अभियान चलाउनुपर्छ ।’

उनले आमनागरिकसँग कुरा गर्दा भ्रष्टाचारसँग जोडिएको कुरा आउने गरेको बताए । महामन्त्री थापाले २०६२/०६३ पछि मात्र जोडेर हेर्दा ४० वटा काण्ड रहेका भन्दै त्यसकाबारेमा निष्पक्ष छानबिन गर्नुपर्ने बताए ।

उनले भने, ‘ यसो २०६२/०६३ पछि मात्र जोडेर हेर्दा करिव ४० वटा काण्ड रहेछन् । मरो प्रस्ताव के भने यी ४० काण्डलाई एकैठाउँमा लेखौं । गिरिबन्धु काण्ड, वाइडबडी काण्ड, ललिता निवास काण्ड सबै लेखौं । अनि अख्तियारलगायतसँग छलफल गरौं अहिले भएका संयन्त्रले सक्दैन भने शक्तिशाली आयोग बनाएर स्वतन्त्र छानबिन गराउने भए पनि गराऔं ।’

सिङ्गापुरले सन् २०२९ सम्म ‘हाइड्रोजन जेनेरेटर’ निर्माण गर्ने

सिंगापुर । सिङ्गापुरले नयाँ ‘हाइड्रोजन–रेडी कम्बाइन्ड साइकल ग्यास टर्बाइन’ उत्पादन इकाई निर्माण गर्नेछ, जुन २०२९ मा सञ्चालन हुने अपेक्षा गरिएको छ । हाइड्रोजन जेनरेटर बिजुली उत्पादन गर्न प्रयोग गरिने तथा प्रदूषण कम गर्न मद्दत गर्दछ ।

ऊर्जा बजार प्राधिकरण (इएमए) प्रमुख कार्यकारी अधिकृत पुआ कोक केओङले भने, ‘उर्जाको बढ्दो मागसँगै हाम्रो दैनिक जीवनलाई बलियो बनाउन पर्याप्त उत्पादन सुनिश्चित गर्नु महत्त्वपूर्ण छ ।’

सिङ्गापुरको बिजुलीको खुद्रा बिक्रेता प्यासिफिकलाइट पावरले विकास गर्ने नयाँ उत्पादन युनिटको उत्पादन क्षमता कम्तीमा ६०० मेगावाट हुनेछ ।

कम्पनीले दक्षिणपश्चिम सिङ्गापुरको जुरोङ टापुमा निर्माण हुने उक्त सुविधा सुरुमा कम्तीमा ३० प्रतिशत हाइड्रोजनबाट सञ्चालन गर्न सक्ने तथा भविष्यमा १०० प्रतिशत हाइड्रोजन जलाउने योजना रहेको बताएको छ ।

इएमएका अनुसार उन्नत उत्पादन, डिजिटल अर्थतन्त्र र यातायातको विद्युतीकरण जस्ता शक्ति–गहन क्षेत्रहरूद्वारा संचालित सिङ्गापुरको ऊर्जा आवश्यकताहरू बढ्दै गएको छ ।

सहर–राज्यको बिजुली प्रणालीमा चरम माग आगामी छ वर्षमा ३.७ प्रतिशतदेखि ५.७ प्रतिशतसम्म चक्रवृद्धि वार्षिक दरमा बढेर सन् २०३० सम्ममा १०.१ गिगावाट र ११.८ गिगावाटको बीचमा पुग्ने प्रक्षेपण गरिएको छ ।

प्यासिफिकलाइट पावर हाइड्रोजन–तयार उत्पादन इकाई विकास गर्न पेश गरिएका छ वटा प्रस्तावहरूबाट चयन गरिएको थियो ।

स्पेसएक्सले सातौं स्टारशिप परीक्षण उडानको तयारी गर्दै

लस एन्जलस । स्पेसएक्सले आफ्नो विशाल स्टारशिप रकेटको सातौं उडान परीक्षण सुरु गर्ने तयारी गरिरहेको छ । आगामी उडान परीक्षणले महत्त्वपूर्ण स्तरवृद्धि गर्नेछ ।

स्पेसएक्सका अनुसार, स्टारशिपले माथिल्लो चरणमा योजनाबद्ध अपग्रेडको ब्लक उडान परीक्षण सुरु हुनेछ, जसले विश्वसनीयता र कार्यसम्पादनमा ठूलो सुधार ल्याउनेछ ।

स्पेसएक्सले रकेटको प्रोपल्सन प्रणालीलाई पुनः डिजाइन गरेको छ, जसमा प्रोपेलेन्ट भोल्युममा २५ प्रतिशत वृद्धि, फिडलाइनको भ्याकुम ज्याकेटिङ, सवारी साधनको र्याप्टर भ्याकुम इन्जिनका लागि नयाँ इन्धन फिडलाइन प्रणाली तथा सुधारिएको प्रोपल्सन एभियन सेन्सरहरू नियन्त्रण गर्ने प्रणाली समावेश छ ।

स्पेसएक्सका अनुसार अन्तरिक्षमा हुँदा स्टारशिपले १० स्टारलिङ्क सिमुलेटरहरू तैनाथ गर्नेछ । स्पेसएक्सको स्टारशिप अन्तरिक्ष यान र सुपर हेवी रकेटलाई सामूहिक रूपमा स्टारशिप भनिन्छ ।

नासामा स्टारशिपले महत्त्वपूर्ण भूमिका खेल्छ । नासाले चन्द्रमाको यात्राको अन्तिम चरणमा अन्तरिक्ष यात्रीहरूलाई आर्टेमिस ३ भनिने मिसनमा लैजान रोजेको थियो, जुन हाल सन् २०२६ को लागि योजना गरिएको छ । 

पूर्वमन्त्री आलेलाई विश्वप्रसिद्ध हिन्दू रत्न अवार्ड प्रदान

काठमाडौं । विश्व हिन्दू महासङ्घले सांसद तथा पूर्वमन्त्री प्रेमबहादुर आलेलाई हिन्दु रत्न अवार्ड प्रदान गरेको छ ।

महासङ्घले भारतको नयाँ दिल्लीस्थित खाटु श्याम दिल्ली धाममा आयोजना गरेको एक विशेष समारोहमा सांसद आलेलाई हिन्दू धर्म संरक्षण एवं सम्बद्र्धनका अगुवा कालीबाबा शङ्कराचार्यसहित महासङ्घका पदाधिकारीहरुले उक्त अवार्ड प्रदान गरेका हुन् ।

महासङ्घले प्रत्येक पाँच वर्षमा विभिन्न देशका समाजसेवी, राजनीतिज्ञ, धर्मगुरु तथा सनातन हिन्दू धर्मको संरक्षण र सम्बद्र्धनमा विशिष्ट योगदान पु¥याउनेलाई यो अवार्ड प्रदान गर्दै आएको छ ।

हिन्दू  धर्मको संरक्षण र सम्बद्र्धनका साथै सनातन हिन्दु धर्मावलम्बीहरुको सेवा तथा संरक्षणमा विशिष्ट योगदान पुर्याएको उल्लेख गर्दै आलेसहित विश्वका विभिन्न देशका विभिन्न व्यक्तित्वलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

त्यसअवसरमा महासङ्घका अन्तर्राष्ट्रिय पदाधिकारीहरु, भारतका वरिष्ठ समाजसेवीहरु, नेपालका पूर्वउपराष्ट्रपति परमानन्द झासहित विभिन्न देशका वरिष्ठ प्रतिनिधिको उपस्थिति रहेको आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।

उक्त अवार्ड प्राप्त गर्नेहरुमा बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनक, भारतका समाजसेवीहरु एसएस अग्रवाल र निता अम्बानी, भारतीय उद्योगपति गीताञ्जली कर्लोस्कर, अमेरिकाका धर्म गुरु स्वामी जय पतका, भारतका समाजसेवी भगवान गङ्गाराम पाण्डे, राजश्री बिरला, श्रीलङ्काका बौद्ध धर्मगुरु थेरो सुमेधा, आर्या समाज सिङ्गापुरका अध्यक्ष ओमप्रकाश राईलगायतका छन् ।

सांसद आलेले आफूलाई विश्वका विभिन्न देशका विशिष्ट व्यक्तित्वहरुसहित अवार्ड प्रदान गरेकोमा महासङ्घलाई विशेष धन्यवाद ज्ञापन गरेका छन् ।

त्यस अवसरमा भारतको समाजवादी पार्टीका महासचिव हेमानन्द गिरी, विश्व हिन्दू महासङ्घका अध्यक्ष एवं भारतका पूर्वमन्त्री डा आजय सिंहले राजनीति, समाजसेवा तथा आध्यात्मिक क्षेत्रमा विशिष्ठ योगदान पुर्याएका विभिन्न देशका विशिष्ट व्यक्तित्वलाई सम्मान गर्न पाएकामा महासङ्घ तथा खाटु श्याम दिल्ली धामका तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए ।

राप्रपा नेपालले हिन्दू राष्ट्रका लागि चैतदेखि आन्दोलन गर्ने

काठमाडौं । राप्रपा नेपालले हिन्दू राष्ट्र र राजसंस्था फर्काउन चैतदेखि आन्दोलन गर्ने भएको छ । शनिवार सम्पन्न केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो हो ।

बैठकको निर्णयमा भनिएको छ, ‘भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति, सनातन हिन्दूराष्ट्र र राजसंस्थाको पुनःस्थापना, भ्रष्टाचार नियन्त्रणको निम्ति जनलोकपालको व्यवस्था, संकटग्रस्त सहकारी संस्थाहरूको राष्ट्रियकरणलगायतका माग राखेर राप्रपा नेपालले २०८१ चैत महिनादेखि जनसंघर्ष सुरु गर्नेछ ।’


यस्तै आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय पनि बैठकले गरेको छ । २०८२ मंसिर १३ देखि १५ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको राप्रपा नेपालले जनाएको छ ।

पार्टीले ‘तराई मधेस उत्थान अभियान’ सञ्चालन गर्ने प्रवक्ता बसन्तमान सिंह अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सहकारी संस्था, अधिकारसम्पन्न संवैधानिक निकायको व्यवस्था, बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलापसम्बन्धी ऐन, जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा राख्न पहललगायत कार्य गर्न पार्टीले सरकारसित माग गरेको छ ।

सहकारीलाई व्यवस्थित गर्न सरकारी क्रियाशील छः संचारमन्त्री गुरुङ

काठमाडौँ। सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले केही सहकारी संस्थाका कारण समग्र सहकारी क्षेत्र नै बदनाम भइरहेको उल्लेख गर्दै सहकारीलाई व्यवस्थित गर्न सरकार क्रियाशील रहेको बताएका छन्।

दिगो पर्यटन सहकारी संस्थाको शनिबार आयोजित १४औँ साधारण सभामा मन्त्री गुरुङले सहकारीहरूलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न हालै सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी भएको बताए।

उनले सहकारीलाई नियमन गर्न बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थालाई पारदर्शी एवं प्रभावकारी बनाउन राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्ने व्यवस्था समेत अध्यादेशमा भएको जानकारी दिए ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले अब एक व्यक्ति एकै प्रकृतिका एकभन्दा बढी सहकारी संस्थामा सदस्य बन्न नपाउने, बचत तथा ऋण कारोबारको सूचना कर्जा सूचना केन्द्रलाई अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने, व्यक्तिगत बचत तथा ऋणको सीमा निर्धारण एवं कार्यक्षेत्र तोकिएको बताए।

‘सहकारीमा भएको बचत हिनामिना गर्नेलाई कारबाहीको दायरामा ल्याउने काम भइरहेको छ’, उनले भने, ‘बचतकर्ताको बचत फिर्ता गराउने काम सरकारले गरिरहेको छ ।’

सामुदायिक विद्यालयका शिक्षकहरुलाई जाडो बिदामा क्षमता विकास तालिममा भाग लिन महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकाको शिक्षा विभागले जाडो बिदाका समयमा सामुदायिक विद्यालयहरुका शिक्षकहरुलाई क्षमता विकास तालिममा सहभागी हुन आव्हान गरेको छ ।

‘टिचर कलेज कार्यक्रम’अन्तर्गत सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरुलाई तालिमबाट क्षमता विकास गराएर शिक्षकहरुले प्राप्त गरेको योग्यतालाई विश्वविद्यालयबाट प्रमाणीकरण गराउने योजनाअन्तर्गत तालिम सञ्चालन गर्न लागिएको हो ।

सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा भन्छन्, ‘सामुदायिक विद्यालयको नतिजा सुधार गर्न शिक्षकको क्षमता विकासमा लगानी गर्नु पर्ने भएकोले तालिम सञ्चालन गर्न लागेका हौँ ।’

उनका अनुसार शैक्षिक क्रियाकलापमा असर नहुने गरी विदाको समय उपयोग गर्न लागिएको हो । शिक्षकको क्षमता विकास गराएर शैक्षिक क्रियाकलापलाई सिर्जनात्मक, एकीकृत, सिप र व्यवहारमा आधारित बनाउने लक्ष्य राखिएको छ । यसको नतिजा विद्यार्थीहरुको शैक्षिक प्रमाण पत्र र व्यवहारिक सिपमा प्राप्त हुनेछ ।

यसअन्तर्गत पुस २१ र २२ गते कक्षा १० का गणित, विज्ञान, सामाजिक, नेपाली, अंग्रेजी, अर्थशास्त्र विषयका शिक्षकहरुलाई तालिम हुनेछ । पुस २३ गतेदेखि माघ ७ गतेसम्म कक्षा १० का इच्छुक विद्यार्थीका लागि गणित, सामाजिक, विज्ञान र अर्थशास्त्रलगायतका विषयमा सिकाइ कक्षा सञ्चालन हुनेछन् ।

एसइइ लक्षित सिकाइमा अवस्था अनुसार विद्यार्थीको वर्गिकरण गरिनेछ । सिकाइ सहयोग, प्रविधि मार्फत सिकाइ, शिक्षण प्रबन्ध प्रणालीको उपयोग, समूहगत सिकाइ, परियोजना कार्यमा आधारित सिकाइ कक्षाका ढाँचा हुनेछन् ।

पुस २४ गतेदेखि माघ ४ गतेसम्म पुस्तकरहित शुक्रबारका सिर्जनात्मक सिकाइ र शिक्षामा सिप कार्यक्रमसँग सम्बन्धित फोकल शिक्षकहरुका तालिम हुनेछ । पाठ्यक्रममा सहभागितामुलक प्रतिबिम्बन, सञ्चालन मार्गदर्शन प्रतिबिम्बन तथा प्राविधिक क्षमता अभिवृद्धि तालिमका विधि हुन् ।

माघ ५ गतेदेखि ७ गतेसम्म शिक्षकका लागि मनोसामाजिक परामर्श र क्यारियर गाइड म्यापिङ तालिम हुनेछ । पुस २३ गतेदेखि २८ गतेसम्म प्रारम्भिक बाल विकास शिक्षाका सहजकर्ताहरुको तालिम हुनेछ । माघ २ गतेदेखि ७ गतेसम्म कक्षा १ देखि ३ सम्मका शिक्षकहरुका लागि एकीकृत पाठ्यक्रम तथा निर्माणात्मक मूल्याङ्कन सम्बन्धि तालिम हुनेछ ।

रचनात्मक विद्यालय विकास कार्यक्रमको खेलकुद प्रशिक्षण कार्यक्रम पुस २४ देखि माघ ८ सम्म हुनेछ ।

यसरी सञ्चालन हुने तालिमले शिक्षकको वृत्ति विकास र विद्यार्थीको नतिजा सुधार दुवै पक्षमा सकारात्मक नतिजा ल्याउने भएकोले शिक्षकहरुले तालिममा सहभागी हुन समय व्यवस्थापन गर्नुहुने विभागको अपेक्षा छ ।

सामुदायिक विद्यालयहरुमा पुस १८ गते सुरु भएको विदा माघ ८ गतेसम्म हुनेछ । यस अवधिलाई शैक्षिक सत्र २०८१ को कार्ययोजनाअनुसार विद्यार्थीहरुको पढाइमा असर नहुने, खेलकुद तथा सिकाइमा थप सहयोग पुग्ने खालका कार्यक्रम तर्जुमा गरिएका हुन् ।

नेपाली कांग्रेसले आगामी चुनाव एक्लै लड्छः नेता सिंह

महोत्तरी । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले आगामी चुनाव एक्लै लडने बताएका छन् ।

नेपाली कांग्रेस महोत्तरी जिल्ला समितिले शनिबार बर्दिवासमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले त्यसका लागि संगठन निर्माणमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे । केही समय अघि भएको उपनिर्वाचनमा यसको अभ्यास भइसकेको पनि उनले बताए ।

महासमिति बैठकले एक्लै चुनाव लड्ने निर्णय गरेको र केन्द्रीय समिति बैठकले त्यसलाई अनुमोदन गरिसकेको उनले बताए ।

‘आगामी निर्वाचन एक्लै लड्ने भनेर कांग्रेस महासमिति बैठकले निर्णय गरेर केन्द्रीय समितिले अनुमोदन गरिसकेको छ’ सिंहले भने,’पार्टीको मुख्य शक्ति संगठन हो । त्यसैले हामी सबै संगठन सुदृढीकरण गर्न लाग्नुपर्छ ।’

समाजसेवाको सबै भन्दा राम्रो माध्यम राजनीति भएको भन्दै उनले सेवाभावले सक्रिय हुनुपर्नेमा जोड दिए ।

उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्रीसमेत रहेका सिंहले शहरी विकास मन्त्रालयबाट गर्नुपर्ने काम प्रभावकारी रूपमा अघि बढाइरहेको बताए ।

पेरुमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

लिमा । उत्तरपश्चिम पेरुमा एउटा बस नदीमा खस्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १७ जना बेपत्ता भएका छन् ।

अधिकारीहरूका अनुसार बस बिहीबार साँझ लिमाबाट उत्तरी पेरुको पोमाबाम्बाका लागि छुटेको थियो । उक्त बस शुक्रबार बिहान पाकोसबाम्बा नदीमा खसेको थियो, जसमा केही यात्रुहरू हालसम्म बेपत्ता रहेका छन् ।

स्थानीय मिडियाले सडकको खराब अवस्थालाई सम्भावित कारणको रूपमा उदृत गरेका छन् । घटनास्थलमा प्रहरी र सिभिल डिफेन्स टोली तैनाथ भएकाले उद्धार कार्य जारी रहेको छ ।

सुडानमा करिब ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षा जोखिममा

जुडा ।  विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले दक्षिण सुडानका लाखौं मानिसहरूलाई तत्काल मानवीय आवश्यकतालाई सहयोग गर्न आगामी छ महिनामा ४०४ करोड अमेरिकी डलर आवश्यक पर्ने बताएको छ।

बिहीबार साँझ जारी गरिएको आफ्नो पछिल्लो प्रतिवेदनमा डब्लुएफपीले दीर्घकालीन खाद्य तथा पोषण असुरक्षाका कारण देश लामो समयदेखि मानवीय सङ्कटको सामना गरिरहेको जनाएको छ। प्रतिवेदनले सुडानमा जारी द्वन्द्वले अवस्था झन् बिग्रिएको र सन् २०२४ नोभेम्बर ३० सम्ममा आठ लाख ९२ हजार मानिस दक्षिण सुडानबाट भाग्न बाध्य भएको जनाएको छ।

डब्ल्यूएफपीले चेतावनी दियो, “परिस्थिति झन् खराब हुन सक्छ। सन् २०२५ मा करिब ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षाको सामना गर्न सक्छन्।”

प्रतिवेदनका अनुसार करिब ७७ लाख मानिसमध्ये २५ लाखले खाद्यान्न असुरक्षाको आपतकालीन स्तरको सामना गर्न सक्ने जनाएको छ।

डब्लुएफपीले २१ लाख बालबालिका तथा ११ लाख गर्भवती महिला तीव्र कुपोषणबाट पीडित हुने सम्भावना रहेको पनि उल्लेख गरेको छ।

डिसेम्बर २०२४ मा, डब्लुएफपीले दाताहरूलाई खाद्य आपूर्तिहरू पूर्व–स्थापना गर्न प्रारम्भिक रकम उपलब्ध गराउन आह्वान गर्यो।

जनवरी सन् २०२४ देखि, डब्लुएफपीले ४२ लाख मानिसलाई सहयोग गरेको छ। सन् २०२४ डिसेम्बर ११ मा, डब्लुएफपीले खाद्य असुरक्षा, द्वन्द्वबाट प्रभावित सीमान्तकृत समुदायहरूलाई सहयोग गर्न दक्षिण सुडान लचिलोपन रणनीति सुरु गर्यो।

माइक्रोसफ्टले एआई डाटा सेन्टर निर्माण गर्ने, छुट्यायो ८० अर्ब डलर बजेट

सान फ्रान्सिस्को । माइक्रोसफ्टले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) डाटा सेन्टर निर्माण गर्नको लागि सन् २०२५ मा ८० अर्ब अमेरिकी डलर छुट्याएको कम्पनीले जनाएको छ ।

माइक्रोसफ्टले शुक्रबार एक ब्लग पोस्टमा भन्यो, ‘टेक विशालले एआई मोडेलहरूलाई तालिम दिन तथा विश्वभर एआई र क्लाउड–आधारित अनुप्रयोगहरू प्रयोग गर्ने योजना बनाएको छ ।’

माइक्रोसफ्टका उपाध्यक्ष ब्राड स्मिथका अनुसार त्यो ८० अर्ब डलर विनियोजनमध्ये आधाभन्दा बढी संयुक्त राज्य अमेरिकामा खर्च हुनेछ ।

स्मिथले थपे,’एआईले अर्थतन्त्रको हरेक क्षेत्रमा नवप्रवर्तन र उत्पादकत्व बढाउने वाचा गर्छ । संयुक्त राज्य अमेरिका यस नयाँ प्रविधि लहरको अगाडि उभिन तयार छ ।’

माइक्रोसफ्ट तथा ओपनएआई एक डाटा सेन्टर सुविधाको निर्माणको बारेमा वार्तामा थिए । यो सुविधा निर्माण गर्न १०० अर्ब डलरभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको थियो ।

आँधीखोलामा तटबन्ध निर्माण

वालिङ (स्याङ्जा) । नदीकटान नियन्त्रण गर्न आँधीखोलामा तटबन्ध निर्माण प्रारम्भ भएको छ । गण्डकी प्रदेश ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको अनुदानमा सञ्चालित योजनामार्फत चार किलोमिटर तटबन्ध निर्माण प्रारम्भ भएको हो ।

आँधीखोला गाउँपालिका, पुतलीबजार, भिरकोट र वालिङ नगरपालिका भएर बग्ने आँधीखोलामा तटबन्धनको काम सुरु भएको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका प्रमुख किरण आचार्यले बताए ।

धेरै कटान भएका स्थानमा तटबन्धन गरिएको हो । सिँचाइ डिभिजन कार्यालय र पालिकासँगको सहकार्य र लागत साझेदारीमा तटबन्धन गरिएको जानकारी उनले दिए। आठ करोडको लागतमा थालिएको निर्माण आगामी २०८३ वैशाखमा सम्पन्न गर्ने लक्ष्य छ ।

चिनियाँ चलचित्र महोत्सव पुस २५ मा

काठमाडौँ । नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले यही पुस २५ गते चिनियाँ चलचित्र महोत्सव आयोजना हुने भएको छ ।

चाइना फिल्म एडमिनिस्ट्रेशन, यहाँस्थित चिनियाँ राजदूतावास, चाइना फिल्म आर्काइभ र नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले संयुक्त रूपमा आयोजन गर्ने महोत्वसवमा दर्शकले अधिक मनपराएका तीन वटा चलचित्र प्रदर्शन हुनेछन् । चलचित्र प्रदर्शनपछि ती चलचित्रका निर्माता, निर्देशक र कलाकारहरुले दर्शकसँगै छलफल गर्न सक्नेछन् ।

महोत्वसवमा नेपाली चलचित्रका चर्चित कलाकार, निर्देशक, प्राविधिक र विशिष्ट व्यक्तित्वको उपस्थिति रहने नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले जनाएको छ ।

बेनीका सबै घरपरिवारको विद्युतीय अभिलेखीकरण

म्याग्दी । प्रविधिको प्रयोग गरी सेवा प्रवाहमा सहजता ल्याउन, दोहोरो सुविधा हटाउने र लक्षित वर्गसम्म योजना तथा कार्यक्रमको पहुँच बढाउन बेनी नगरपालिकाले सबै घरपरिवारको विद्युतीय अभिलेखीकरण गरेको छ ।

सबै घरपरिवारको विस्तृत विवरण रहेको आर्थिक सामाजिक जोखिम व्यवस्थापन सूचना प्रणाली प्रयोगमा ल्याएको हो । यस्तो सूचना प्रणालीको प्रयोग गर्ने बेनी नगरपालिका नेपालकै पहिलो स्थानीय तह भएको नगर प्रमुख सुरत केसीले बताए ।

कोही एकै व्यक्तिले दोहोरो, तेहोरो सुविधा पाउने र कसैले नपाउने अवस्थाको अन्त्य हुने नगर प्रमुख केसीले बताए । प्रणालीमा घरको तस्बिर, परिवारका सदस्य, उनीहरूको रोजगार, आर्थिक, शैक्षिक, स्वास्थ्य अवस्थालगायत ९२ किसिमका सूचना राखिएको छ ।

दश किसिमका व्यक्तिगत सूचनालाई गोप्य राखिएको छ । नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, सचिव र विषयगत शाखाका कर्मचारीको पहुँच हुने प्रणालीको विवरण अद्यावधिक गर्ने अधिकार पनि उनीहरुलाई नै दिइएको छ ।

यही प्रणालीका आधारमा बेनी नगरपालिकाको १० वटा वडाका सात हजार चार सय ४० घरमा क्युआर कोडसहितको विद्युतीय घर नम्बर प्रणाली लागू भइसकेको छ । यसबाट घरधनीको नाम र सम्पर्क नम्बरबाट घरको स्थान पहिचान गर्न सकिनेछ ।

सूचना प्रणालीको विवरण सङ्कलन गर्ने क्रममा पहिचान भएका तीन सय ४० जना विपन्न महिलालाई संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को सम्बोधन परियोजनामार्फत आयआर्जनमुलक क्रियाकलाप गर्न बीउपुँजी स्वरूप २७ हजार रुपैयाँका दरले सहयोग गरिसकेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए ।

टहरामा बस्दै आएका सात घरपरिवारका लागि यस वर्ष घर बनाउने कार्यक्रम पनि यही सूचना प्रणालीबाट प्राप्त जानकारीका आधारमा बनाएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए ।

काभ्रेका १६ हजार छात्रालाई क्यान्सरविरूद्धको खोप दिइने

काभ्रेपलाञ्चोक । राष्ट्रिय खोप कार्यक्रमअन्र्तगत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्यनरत करिब १६ हजार छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापीलोमा भाइरस) विरूद्धको खोप दिइने भएको छ । उक्त भाइरसविरूद्धको खोप कार्यक्रम सञ्चालनका जिल्लाको सम्पूर्ण स्थानीय तहबाट तथ्याङ्क सङ्कलन कार्य सकिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

देशव्यापी खोप कार्यक्रमअन्तर्गत आउँदो माघ २२ गतेदेखि फागुन ६ सम्म एकैपटक सञ्चालन हुनेछ । कार्यालयले खोप कार्यक्रम सञ्चालनको तयारी अन्तिम चरणमा पुगेकोसमेत जनाएको छ ।

कार्यालय प्रमुख रागीश्री कक्षपति श्रेष्ठअनुसार काभ्रेपलाञ्चोकको दुई सय ५२ सामुदायिक विद्यालय तथा ८४ निजी विद्यालयका १५ हजार छ सय ८६ जना र विद्यालय बाहिर रहेका दुई सय ४९ गरी कूल १५ हजार नौ सय ३५ जना छात्रालाई उक्त खोप लगाउने तयारी गरिएको हो ।

कार्यालयको तथ्याङ्कअनुसार जिल्लास्थित १३ स्थानीय तहमा कक्षा ६ मा अध्ययनत तीन हजार आठ सय ६६, कक्षा ७ मा तीन हजार ३३, कक्षा ८ मा तीन हजार एक, कक्षा ९ का दुई हजार नौ सय ८७ र कक्षा १० का दुई हजार सात सय ९९ जना गरी विद्यालय तहमा १५ हजार छ सय ८६ जनालाई खोप लगाइने छ ।

यस्तै विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका दुई सय ४९ किशोरीलाई खोप लगाउने योजनाबारे छलफल भइरहेको श्रेष्ठले बताइन् । विद्यालय बाहिर रहेका किशोरीको हकमा जन्मदर्ताका आधारमा उमेर हेरेर खोप लगाइने छ ।

नेपाल सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट प्रमाणित उक्त खोप १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपिभीको सङ्क्रमणबाट सुरक्षित हुन अभियान सञ्चालन गर्न लागिएको हो ।

स्थानीयस्तरका विद्यालयमा नै खोप केन्द्र सञ्चालन गरिनेछ भने अभियानको अन्तिम दिन स्वास्थ्य संस्थाबाट खोप उपलब्ध गराइने जनाइएको छ । एक तथ्याङ्कअनुसार नेपालमा हरेक वर्ष दुई हजार दुई सय महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । यसमध्ये एक हजार तीन सयको महिलाको निधन हुने गरेको जनाइएको छ ।

एमपक्स भित्रिन नदिन सीमा नाकाहरुमा विशेष सतर्कता अपनाइने

काठमाडौं । सरकारले एमपक्स भित्रिन नदिन सीमा नाकाहरुमा कडाई गर्ने भएको छ । स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीको अध्यक्षतामा बसेको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाल र छिमेकी देशका सीमानाकाहरुमा एमपक्स भित्रिन नदिन विशेष ख्याल गर्न र केही सूचना प्राप्त भएमा सम्बद्ध निकायमा रिपोर्ट गर्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे ।

उनले अस्पतालहरुको सेवा सुधार र लाइन कम गर्नका लागि यथासम्भव उपाय अपनाउन भन्दै शल्यक्रियाका लागि बिरामीको चाप बढेमा एक अर्कामा सम्प्रेषण गर्ने आग्रह गरे ।

उनले अस्पतालहरुमा अब डिजिटल रिपोर्ट प्रदान गर्ने व्यवस्था लागु भएको भन्दै त्यसलाइ कडाइसाथ कार्यान्वयन गरेर सघाउनसमेत आग्रह गरे ।

बैठकले एमपक्स रोकथामका लागि सचेतना अपनाउँदै निगरानी प्रभावकारी बनाउने निर्णय गरेको छ । साथै, शल्यक्रियाका बिरामीको चाप बढी भएका अस्पतालले एक आपसमा सहकार्य गर्दै बिरामीले कम समय कुर्नुपर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

अस्पतालको पूर्वतयारी तथा प्रतिकार्य योजना डिजिटल रुपमा अद्यावधिक गर्नेसमेत निर्णय बैठकले गरेको छ ।

कैलालीका भूपेन्द्र बडुवाल हत्याका आरोपी काठमाडौंबाट पक्राउ

सुदूरपश्चिम । कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवाल हत्या प्रकरणका एक आरोपीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको ।

प्रहरीले हत्या आरोपी लम्कीचुहा नगरपालिका–१ का २५ वर्षीय हिमाल शाहीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए । उनकाअनुसार शाहीलाई कोटेश्वर क्षेत्रबाट पक्राउ गरिएको हो।

शुक्रबार पक्राउ गरिएका शाहीलाई विमानमार्फत धनगढी ल्याइएको छ। बडुवालको २०७८ कात्तिक २३ गते टीकापुर नगरपालिका–१ मा हत्या भएको थियो ।

प्रहरीले गरेको अनुसन्धानका आधारमा २६ फागुन २०७८ मा जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुख्य अभियुक्त नवीन रावलसहितका २१ जनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दायर गरेको थियो ।

अभियुक्त मध्ये १२ जना पक्राउ परेर पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्। तर मुद्दाको अन्तिम फैसला हुन भने सकेको छैन।

राखेप बोर्ड सदस्यहरुद्वारा सपथ ग्रहण

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा नवनियुक्त आठ बोर्ड सदस्यहरुले सपथ ग्रहण गरेका छन् । उनीहरुलाई सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सपथ ग्रहण गराएका हुन् ।

सपथ ग्रहण गर्ने सदस्यहरुमा शान्तकुमारी चौधरी (झापा), आनन्दकुमार झा (सप्तरी), सुवर्ण श्रेष्ठ (ललितपुर), कमलबहादुर भट्टराई (सर्लाही), हिमालकुमार श्रेष्ठ (गुल्मी), नन्दा बस्याल (सुर्खेत), जगतसिंह धामी (दार्चुला) र भानबहादुर चन्द (कञ्चनपुर) छन् । 

खेलकुद मन्त्री चौधरीले राखेपमा नियुक्त भएका सवै सदस्यहरुलाई बधाई दिँदै आफनो चार वर्षे कार्यकालमा उत्कृष्ट काम गर्न आग्रह गरे । यही पुस ९ गते बसेको मन्त्रीपरिषद्को बैठकले राखेपमा रिक्त रहेका बोर्ड सदस्यमा आठजनालाई नियुक्त गरेको थियो ।

ईश्वर पोखरेलको कृति  ‘आमा, सपना र  ताराहरू’ विमोचन

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले साहित्य लेखनमार्फत सर्जकले आफ्ना सृजना देश र जनताका लागि खर्चनुपर्ने बताएकी छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा लिखित ‘आमा, सपना र  ताराहरू’ संस्मरणात्मक कृतिको शुक्रबार विमोचन गर्दै उनले साहित्य लेखनलाई राजनीति, आर्थिक र सामाजिक परिवर्तनसँग जोडेर लैजानुपर्ने आवश्यकता औँल्याइन् ।

पूर्वराष्ट्रपति भण्डारीले भनिन्, “सर्जक पोखरेलले विभिन्न पत्रपत्रिकामा सैद्धान्तिक, वैचारिक लेख तथा साहित्य संस्मरणमार्फत मुलुकको राजनीतिक परिवर्तन, पार्टी एकता, सङ्गठन सुदृढीकरण र वैचारिक धार प्रवल बनाउन महत्त्वपूर्ण योगदान दिनुभएको छ ।”

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपतिहरूलाई बाँकी जीवन राजनीतिमा पुनरागमन गर्नुभन्दा सामाजिक परिवर्तनको नेतृत्व गर्न आग्रह गरे ।

उनले भने, “गरिबी र पतीवियोगमा रहनुभएकी आफ्नी आमाको प्रेरणाबाट पोखरेल राजनीति क्षेत्रमा अहिलेको अवस्थामा आइपुग्नुभएको हो । उहाँकी आमाले त्यसबेला पनि छोरा ईश्वरको अन्तरजातीय विवाहलाई सहजै स्वीकार्नुभयो । उहाँमा मुखले बोलेर कसैलाई चित्त दुखाउन हुन्न भन्ने भावना थियो ।”

नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले कृतिमा एक सय वर्षको बदलिँदो नेपाली समाज, पारिवारिक सङ्गठन र विघटन, जलवायु परिवर्तनका कारणले भएका बसाइँसराइलगायत समसामयिक र वास्तविक पक्षलाई समेटिएको बताए । 

कृतिका लेखक एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले आफ्नी आमालाई परिवर्तन र रुपान्तरणको पात्रका रूपमा प्रस्तुत गर्दै समाज परिवर्तनको आन्दोलनका सिलसिलामा नेपाली आमाहरूलाई कसरी र कुन ठाउँमा पाइयो भन्ने विषयवस्तु जस्ताको त्यस्तै उतार्न कोसिस गरेको बताए ।

कृतिमा पति र पुत्रवियोगमा, आर्थिक अभावमा पनि समाज र सन्तानलाई देश र जनताका पक्ष अटल रहन प्रेरणा दिएका घटना समेटिएका छन् । 

पुस्तकमा माइती र घरमा आमा, पीडादायी घरायसी अवस्था, बाबुको निधन र त्यसपछिका चुनौती, आमासित छुट्टिन पर्दा, विद्यार्थी जीवन र राजनीतिमा प्रवेश, मैले घर छोडेपछि आमाको अवस्था, भूमिगत अवस्थामा आमासित भेट, मलाई बचाउने औतारी लामा, आँखा दान गर्ने आमा र आमाको स्वभाव शीर्षकमा विभिन्न विषयवस्तु समावेश छन् ।

यसअघि वरिष्ठ उपाध्यक्ष पोखरेलका ‘पूर्वको रातो तारा’, ‘माघ १९’ लगायत कृति प्रकाशित छन् ।

यसवर्ष ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान

काठमाडौं ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष धानको उत्पादन वृद्धि हुने जनाएको छ । मन्त्रालयले शुक्रबार  विज्ञप्ति जारी गरी गत वर्षभन्दा यस वर्ष धान उत्पादनमा उल्लेख्य वृद्धि हुने देखिएको जनाएको हो ।

चालु आर्थिक वर्षमा धान बालीको कुल उत्पादन ५९ लाख ५५ हजार चार सय ७६ मेट्रिक टन हुने प्रारम्भिक अनुमान रहेको र यो गत वर्षको तुलनामा चार दशमलव ०४ प्रतिशतले बढी रहेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

धान बाली लगाइएको क्षेत्रफल घटेको भए पनि उत्पादकत्वमा आएको सकारात्मक वृद्विले उत्पादन वृद्धि भएको मन्त्रालयले जनाएको छ ।

“वर्षे र चैते दुवै गरी चालु आवमा कुल १४ लाख २० हजार छ सय ३६ हेक्टर क्षेत्रफलमा धान लगाइएको अनुमान छ । जुन गत आवको तुलनामा एक दशमलव २८ प्रतिशतले कमि हो”, मन्त्रालयले भनेको छ, “औसत उत्पादकत्व चार दशमलव १९ मेट्रिक टन प्रतिहेक्टर पुगी हालसम्मको उच्च विन्दु कायम भएको छ ।”

चालु आर्थिक वर्षमा मनसुन औसतभन्दा तीन दिन अगाडि सक्रिय हुन पुगेको र पर्याप्त वर्षा हुँदा उत्पादन बढेको जनाइएको छ । यस्तै, किसानले समयमा रासायनिक मल र उन्नत जातको बीउ पाएका कारण पनि उत्पादन बढेको मन्त्रालयको दाबी छ ।

प्रदेशगत रूपमा कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा धान उत्पादनमा वृद्वि भएको छ भने बाँकी तीन प्रदेशमा कमी आएको छ । रुकुम (पश्चिम) मा धान बाली लगाइएको क्षेत्रफल गत वर्षको तुलनामा घटेकाले समग्र कर्णाली प्रदेशको उत्पादनमा कमी आएको मन्त्रालयले जनाएको छ ।

यस्तै, नवलपरासी (पूर्व) को केही भागमा वर्षे धानको बाला नलाग्ने समस्या देखिदा उत्पादनमा कमी आएको र लमजुङ जिल्लामा धान बाली लगाइएको क्षेत्रफल परिमाण परिमार्जन हुँदा कुल धान बाली भित्र्याइएको क्षेत्रफलमा कमी आई उत्पादनमा कमी हुन पुगेको जनाइएको छ ।

पन्ध्र अर्ब लागतको परियोजना कार्यान्वयन गर्न सम्राट सिमेन्ट र लगानी बोर्डबीच सम्झौता

काठमाडौँ । सम्राट सिमेन्ट प्रालिले १५ अर्ब लागत बराबरको परियोजना कार्यान्वयन प्रक्रिया सुरू गर्न लगानी बोर्ड नेपालसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।

शुक्रबार एक कार्यक्रमबीच लगानी बोर्ड र सम्राट सिमेन्टले परियोजना कार्यान्वयन प्रक्रिया औपचारिक रूपमा सुरू गर्नेसम्बन्धी समझदारीपत्र (एमओयु) भएको हो । समझदारीपत्रमा सम्राट सिमेन्ट प्रालिका अध्यक्ष अनिलकुमार रुङ्गटा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले हस्ताक्षर गरे ।

लगानी बोर्डको प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार सम्राट सिमेन्ट यसअघि उद्योग विभागमा दर्ता भएकामा लगानी वृद्धि पछि बोर्डमार्फत अघि बढ्नेछ ।

‘सम्राटले यसअघि उद्योग विभागमा दर्ता भएर काम गरिरहेको थियो । छ अर्बभन्दा माथिको लगानी बोर्डमार्फत कार्यान्वयन हुनुपर्ने व्यवस्थाअनुसार यो कम्पनी बोर्डमा आएको हो’, उनले भने, ‘परियोजना कार्यान्वयनका लागि आज पहिलो चरणको एमओयु भएको छ । अब परियोजना विकास सम्झौता र लगानी सम्झौतालगायत प्रक्रिया बाँकी छन् ।’

यसअघि २०७७ असारमा बसेको लगानी बोर्डको ४४औँ बैठकले सम्राट सिमेन्ट इन्डस्ट्रिज परियोजनाका लागि रू १५ अर्ब पाँच करोड बराबर लगानी स्वीकृति गर्ने निर्णय गरेको थियो ।

निराशाको व्यापार गर्नेलाई महिला जनप्रतिनिधिहरुको उपस्थिति नै काफी छः प्रधानमन्त्री ओली

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको औचित्य स्थापित गर्न र सेवामा प्रभावकारिता दिन महिला जनप्रतिनिधिहरुले सक्रिय भूमिका निर्वाह गरेको बताएका छन् ।

कल्प संस्थाद्वारा शुक्रबार आयोजित जनप्रतिनिधिहरुको सम्मान ‘शी लिड्स आइकन’ कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

नगरपालिका र गाउँपालिकाको इज्जत धान्ने र औचित्य स्थापित गर्ने काममा महिला जनप्रतिनिधिले अगुवाइ गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘व्यवस्थामा परिवर्तन भयो, अवस्थामा परिवर्तन भएन भन्ने गलत भाष्य चिर्न महिला जनप्रतिनिधिहरुको उपस्थिति र सक्रियता नै काफी छ । महिला जागे भने समाज परिवर्तन हुन्छ भन्ने स्थापित भएको छ।’

महिलाले समान अधिकार पाउनु संवैधानिक र कानुनी अधिकार भएको उनले बताए। ती सबै समानता दिने ठाउँमा महिला पुग्नुपर्ने भन्दै उनले थपे, ‘हक अधिकारको उपभोग र अवसरमा समानाता चाहिएको छ। प्राप्त उपलब्धिहरू पर्याप्त नभएका हुन सक्छन्। आज स्थानीय तहमा ४० प्रतिशत जनप्रतिनिधि छन्। यो उपस्थिति प्रगतिउन्मुख छ। यसलाई बढाएर लानुपर्छ।’

प्रधानमन्त्री ओलीले महिलाहरूमा करुण, माया र स्नेहभाव बढी हुने र उनीहरुको भूमिका हरेक क्षेत्रमा उत्कृष्ठता र श्रेष्ठता हासिल गरेको उल्लेख गरे।

कार्यक्रममा विभिन्न पालिकाका छानिएका २७ महिला जनप्रतिनिधि र तीन उत्कृष्ट महिला जनप्रतिनिधिलाई आइकन सम्मान प्रदान गरिएको थियो।

सरकारलाई संसद अधिवेशन चाँडो आह्वान गर्न माओवादीको आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद अधिवेशन बोलाउन सरकारलाई दवाव दिने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको पार्टी स्थायी कमिटी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले नियतवस अधिवेशन आह्वान नगरेको भन्दै सबै दलसँग छलफल गरेर दवाव सिर्जना गर्ने बताएका हुन् ।

सापकोटाले सरकारले संसद छलेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजेको अरोप लगाए । उनले चाँडोभन्दा चाँडो संसदको अधिवेशन आह्वान गर्न सरकारलाई आग्रह समेत गरे ।

बैठकमा प्रचण्डले देशका सबै तहका जनतामाझ पुगेर समस्या बुझ्ने गरि विभिन्न अभियान सञ्चालन गर्ने र त्यसमा अध्यक्षसहित सबै केन्द्रीय नेताहरु समेत सहभागी हुने बताए ।

पुस २१ गतेदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकको तयारीका लागि माओवादीको स्थायी कमिटीको बैठक केही दिनदेखि बसिरहेको छ ।

सम्पदा क्षेत्रलाइ स्मार्ट सांस्कृतिक पर्यटनसँग विकास गर्दै काठमाडौँ महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले सम्पदा क्षेत्रलाई एआर (अग्मेन्टेड रियालिटी), भिआर (भर्चुअल रियालिटी), क्युआर (क्विक रेस्पोन्स) मा आधारित स्मार्ट सांस्कृतिक पर्यटनमा विकास गर्ने उद्देश्यले सामग्री उत्पादन गर्न थालेको छ ।

महानगरको सम्पदा तथा पर्यटन विभागले ‘बाखं न्यने वा’सँगको सहकार्यमा सामग्री उत्पादन थालेको हो । वसन्तपुर, स्वयम्भू, पशुपतिनाथ, बौद्ध र नरः दे (हाँडीगाउँ)का सम्पदाका सांस्कृतिक ऐतिहासिक र पुरातात्विक महत्व तथा यस क्षेत्रसँग सम्बन्धित सांस्कृतिक र सामाजिक चालचलनसम्बन्धी सामग्री उत्पादन भइरहेका छन् । सामग्रीको आधिकारिकताका पुष्टि गर्न इतिहास र लिपिको अध्ययन, पुराना व्यक्तित्वहरुसँग अन्तर्वार्ता लिइसकेको कामपा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले जानकारी दिए ।

महानगरले चालु आर्थिक वर्षका नीतिमा हनुमानढोका दरबार क्षेत्रदेखि स्वयम्भूसम्मको सम्पदा मार्गलाई प्रवद्र्धन गर्ने, वसन्तपुर, स्वयम्भू, बौद्ध, पशुपतिनाथ र वसन्तपुरलाई सम्पदा मार्गका रुपमा विकास गर्ने, यी स्थानहरुको प्रवद्र्धनका लागि रणनीतिक, व्यावसायिक र पर्यटकीय मार्ग पहिचान र नक्साङ्कन गर्ने उल्लेख छ ।

यही नीति कार्यान्वयन गर्ने क्रममा थालिएको कार्यक्रममा पर्यटकलाई प्रदर्शन गरिने अडियो, भिडियो तथा दृश्यात्मक सामग्री उत्पादन गर्ने क्रममा स्वयम्भू क्षेत्रमा एक सय ८८ वटा, हनुमान ढोका दरबार क्षेत्रमा ४१ वटा, वौद्ध क्षेत्रमा सातवटा, हाँडीगाउँ क्षेत्रमा २० वटा पशुपति क्षेत्रका ५६ वटा स्मारकको अध्ययन गरिसकेको महानगरले जनाएको छ ।

सङ्गतले भने, ‘तर गलत सूचना भयो भने यो सुधार गर्न पनि सकिँदैन र छुट दिन पनि सकिँदैन ।’ उनले सामग्रीको आधिकारिता र पुष्ट्याइँका विषयमा कुरा गर्दै काठमाडौंको प्राचीनता, मौलिकतासँग जोडिएका सामाजिक र सांस्कृतिक परम्परा सामग्रीको मर्म रहेको बताए ।

‘यसरी उत्पादित सामग्रीहरु दिगो उपयोगका लागि हुन् । यसका लागि अध्ययन गर्ने, प्रारम्भिक सूचना तथा प्रशोधित सूचनामा काम गर्ने, प्राप्त सूचनालाई आधिकारिकता प्रदान गर्ने संयन्त्र निर्माण गरौँ’, समितिका सदस्य एवं वडा नं १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले भने, ‘यो हतारमा सक्ने काम होइन । सहभागिता र सहकार्यलाई निरन्तरता दिएर काम गरौँ ।’

स्मार्ट पर्यटनका लागि महानगर स्वर्णिम योजना ‘पर्यटकीय सहर’ कार्यक्रमअन्तर्गत प्रयोगकर्ता (पर्यटक) को आवश्यकता पहिचान र बजार सर्वेक्षण अध्ययन गरिएको थियो । ठमेल, वसन्तपुर, पशुपतिनाथ, बौद्ध र स्वयम्भूमा भेटिएका २९ देशका एक सय २५ पर्यटकले सर्वेक्षणमा भाग लिएका थिए ।

राजनीतिभन्दा पर सामाजिक परिवर्तनको नायक बन्न पूर्वराष्ट्रपति भण्डारीलाई विश्वप्रकाशको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सामाजिक अभिभावकको भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

शुक्रबार नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको ‘आमा सपना र ताराहरू’ पुस्तक लोकार्पण कार्यक्रममा महामन्त्री शर्माले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीति भन्दा पर बसेर सामाजिक अभिभावकको भूमिका निर्वाह गर्न आग्रह गरेका हुन् ।

उनले पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा पुनः फर्किन लागेको चर्चा भएपछि यस्तो बताएका हुन् । उनले भने, ‘यदि कसैले मलाई तिम्रो देशको शीतल निवासबाट निस्किएको पूर्वराष्ट्रपतिले के गर्नुपर्छ भनेर सोध्नुभयो भने मैले सामाजिक अभिभावक यो देशलाई चाहिएको छ भन्नेछु । राजनीतिमा आएर कसैको मात्रै बन्ने पनि सुविधा छ । राजनीतिभन्दा पर सामाजिक परिवर्तनको नायक बनेर सबैको बन्ने अवसर पनि छ ।’

पछिल्लो समय पूर्वराष्ट्रपति भण्डारीमा पुनः सक्रिय हुने खबर सार्वजनिक भइरहेका छन् । नेकपा एमालेको एउटा तप्काले भण्डारीलाई पुनः सक्रिय हुन आग्रह गर्दै आएको बताइन्छ । बिहीबार पार्टी सचिवालय बैठकपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीसँग भेटेर दुई घण्टा छलफल गरेका थिए ।

चिसो बढेपछि कैलालीमा दाउरा वितरण

कैलाली ।  कैलालीको टीकापुर क्षेत्रमा चिसो बढेपछि चोक-चोकमा दाउरा वितरण थालिएको छ । विभिन्न सङ्घसंस्था र सामुदायिक वन मिलेर चोक-चोकमा आगो ताप्ने व्यवस्था मिलाउन थालिएको हो ।

तराई क्षेत्रमा विगत पाँच दिनयता चिसो बढेको छ । हुस्सु, कुहिरो तथा शीतलहरले जनजीवन कष्टकर भएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) नगर कमिटीले भुराखानी सामुदायिक वनसँग रुखका जरा मागेर बजार क्षेत्रका चोक-चोकमा आगो ताप्ने व्यवस्था मिलाएको छ ।

एमालेका नगर अध्यक्ष लक्ष्मण थापाले पार्टीले ट्याक्टर र जेसिबीको सहयोगमा सामुदायिक वनसँग दाउरा मागेर बजारका केही चोकमा आगो ताप्ने व्यवस्था मिलाएको बताए ।​

भुराखानी सामुदायिक वन कार्यालयका सचिव बलबहादुर विकले सर्वसाधारणलाई आगो ताप्ने व्यवस्था मिलाउँछौं भनी माग भएपछि दाउरा उपलब्ध गराइएको बताए । ‘रुखका जरा निकालेर चोक-चोकमा आगो ताप्ने व्यवस्था मिलाइएको छ ।’

टीकापुर नगरपालिका–४ ले पनि आफ्नो वडामा रहेका चोकहरूमा आगो ताप्ने व्यवस्था मिलाएको छ । ढलेका रुख र रुखका जरा खनेर चोक-चोकमा दाउरा वितरण गर्न थालिएको वडाध्यक्ष लालवीर चौधरीले बताए । ‘माघी पर्वको पूर्वसन्ध्यामा गाउँगाउँमा मुढा बाल्ने चलन छ,’ उनले भने, ‘चिसो बढेकाले नागरिकलाई राहत होस् भनी दाउरा वितरण गर्न थालेका हौं ।’

यस्तै टीकापुर–७ स्थित सत्ती कर्णाली सामुदायिक वनले समेत ज्येष्ठ नागरिक उपभोक्तालाई दाउरा वितरण गर्ने तयारी गरेको छ ।

अध्यक्ष जीतराम चौधरीका अनुसार विगतका वर्ष झैँ यस वर्ष पनि सामुदायिक वनमा रहेका रुखका जरा निकालेर दाउरा वितरण गरिनेछ ।

‘गत वर्ष ७० चोकमा दाउरा वितरण गरेका थियौं,’ उनले भने, ‘यस वर्ष पनि तिनै ठाउँमा दाउरा दिइनेछ । चिसो बढेकाले वनसँगै जोडिएका गैरउपभोक्तालाई पनि दाउरा उपलब्ध गराउने गरेका छौं ।’ चोक-चोकमा आगो बालेमा बाटोमा हिँड्ने नागरिकलाई समेत सुविधा हुने स्थानीय बताउँछन् ।

भर्चुअल रियालिटमा छाउपडी प्रथा

काठमाडौँ । सुदूरपश्चिमकी १३ वर्षे एक किशोरी पहिलो पटक महिनावारी भएपछि मनपर्ने गायकको साङ्गीतिक कार्यक्रममा जान पाइनन् । उनी आफैँ पनि गायनमा रुचि राख्ने भएकाले साङ्गीतिक कार्यक्रममा जानु उनका लागि ठूलो रहर थियो ।

महिनावारी भएपछि उनी छाउपडी प्रथाका कारण छाउगोठमा बस्न बाध्य भइन् । उनी एकाएक छाउगोठको अध्याँरो कोठामै सीमित भइन् । यसले उनलाई शारीरिकसँगै मानसिक रुपमा पनि विक्षिप्त भइन् । 

किशोरीले छाउगोठमा अनुभव गरेको मनोभावनालाई दुई नेपाली किशोरले भर्चुअल रियालिट (भिआर)मा उतार्ने भएका छन् । अमेरिकाको ड्रेक्सेल विश्वविद्यालयमा अध्ययनरत यी दुई विद्यार्थीले ‘एक गोठभित्रको आवाज’ शीर्षकमा चलचित्र निर्माण गर्न लागेका हुन् ।  

“चलचित्रमा छाउगोठमा ती किशोरीले भोेगेको शारीरिक र मानसिक सङ्घर्षलाई देखाउँदै महिनावारीसँग सम्बन्धित सामाजिक कुरीतिबाट महिलाले भोग्नुपर्ने दुःख र पीडालाई उजागर हाम्रो विश्वास छ”, प्रशन्न सुवेदीले भने ।

सुवेदी ड्रेक्सेल विश्वविद्यालयमा फिल्म स्टडिजमा चौथौँ वर्षका विद्यार्थी हुन् । उनले विश्वविद्यालयका ‘प्रोजेक्ट वर्क’का रुपमा ड्रेक्सेलको वेस्टफाल कलेज अफ मिडिया आट्र्स एन्ड डिजाइनका विद्यार्थी प्रसिन श्रेष्ठसँग उक्त चलचित्र बनाउने निर्णय गरेका हुन् । हालै चलचित्रको कार्यकारी निर्माताका रुपमा अभिनेत्री सुरक्षा पन्त पनि जोडिएकी छन् ।

कलेजका साथीहरु हेमन्ता अधिकारीलाई लेखन र मेधावी पण्डित कथावाचकको जिम्मेवारी दिइएको छ । अमेरिकाका क्रिस सेल ध्वनी डिजाइनर छन् भने फोली आर्टिस्ट, म्याथु लेसी र भियतनामका टिन टा ‘कन्सेप्ट आर्टिस्ट’का रुपमा जोडिएका छन् । नेपालकै उत्सव चौधरी भिआर परामर्शदाताका रुपमा काम गरिरहेका छन् ।

सुवेदी भैरहवामा जन्मेर काठमाडौँमा हुर्केका हुन् भने श्रेष्ठ काठमाडौँमा जन्मे हुर्केका हुन् । सुवेदी र श्रेष्ठले आफ्नो बाल्यकालमा छाउपडीको कुनै न कुनै रूपमा अभ्यास गरेको देखेका थिए । ठाउँ समाजमा महिनावारीको समयमा महिलाले पानी नछुने, खाना नपकाउने वा कुनै पुरुष आफन्तलाई नछुनेजस्ता अभ्यास उनीहरुले पनि बुझेका थिए ।

यस चलचित्रले मुख्य उद्देश्य छाउपडी प्रथाका कारण महिलाहरूले भोग्ने सामाजिक अपमान, हिंसा, र अन्यायलाई दर्शकहरूमाझ जीवन्त रूपमा प्रस्तुत गर्नु हो । आधुनिक प्रविधिको प्रयोगबाट महिलामाथिको शारीरिक, मानसिक र सामाजिक विभेदबारे जनचेतना फैलाउने यो परियोजना महिला अधिकार, प्रजनन स्वास्थ्य र लैङ्गिक समानताका लागि सशक्त कदम भएका सुवेदीको भनाइ छ ।

भर्चुअल रियालिटी (भिआर) प्रविधिको प्रयोगगरी दर्शकलाई छाउगोठभित्रको साँघुरो, अँध्यारो र असुरक्षित वातावरणको अनुभव गराउने लक्ष्य फिल्मले लिएको छ ।

“भिआर हेडसेट लगाएर दर्शकले तीन किशोरी पात्र बनेर छाउगोठको वातावरण महसुस गर्न सक्नेछन् । यो प्रविधिले परम्परागत ‘टुडी’ फिल्मभन्दा फरक अनुभव प्रदान गर्नेछ । भिआर प्रविधिले दर्शकलाई चारैतिरबाट दृश्य र आवाज अनुभव गर्नसक्ने बनाउँछ, जसले कथा अझ प्रभावकारी र वास्तविक बनाउँछ”, प्रसिन श्रेष्ठले भने । 

चलचित्र वास्तविक घटनामा आधारित भई निर्माण गरिएकाले ग्रामीण जीवनका वास्तविक दृश्यहरू पनि समेटिनेछ । निर्देशक सुवेदीले भने, “भिआर प्रविधिले केबल कथा मात्रै देखाउँदैन, दर्शकलाई प्रत्यक्ष रूपमा घटनामा सहभागी गराउँछ । यसले सामाजिक अन्यायको अनुभवलाई अझ सजीव बनाउँछ ।”

फिल्म निर्माणका लागि सुवेदी र श्रेष्ठको टोलीले नेपालका सुदूरपश्चिमका ग्रामीण क्षेत्रमा पुगेर अध्ययन समेत गरिसकेका छन् ।

उनीहरूले कैलाली र डोटीका गाउँहरूमा एक हप्ता बिताएर छाउपडी प्रथाको वास्तविकता नजिकबाट बुझेको बताए । उनीहरुले मोहन्याल गाउँपालिका सोल्टा र बडिगाउँलगायतका क्षेत्रमा स्थानीय महिलाका साथै सदायका अगुवा र स्वास्थ्यकर्मीसँग अन्तरक्रिया गरिसकेका छन् । 

उनीहरुले राष्ट्रिय माध्यामिक विद्यालय श्रीपुर पाल्सा र त्रिवेणी माध्यामिक विद्यालय बडिगाउँका शिक्षक तथा विद्यार्थीसँग अन्तरक्रियाकै गर्नुका साथै एक जना शिक्षकको समन्वयमा काम गरिरहेका छन् । 

टोलीले छाउपडीप्रथासँग जोडिएको स्थानीय भाषा, संस्कृति, र सङ्गीतलाई पनि चलचित्रमा समावेश गरेको छ । कैलालीको मोहन्याल गाउँपालिकामा पुगेको टोलीले देउडा भाका र ग्रामीण जनजीवनलाई उतार्ने प्रयास गरिएको जनाइएको छ । 

नेपालमा छाउपडी प्रथा कानुनतः प्रतिबन्धित छ । मुलुकी अपराध संहिता, २०७४ अनुसार, छाउपडीजस्तो प्रथामा संलग्न हुनेलाई तीन महिना कैद वा तीन हजारसम्म जरिवाना वा दुवै सजाय तोकिएको छ । 

कानुनी व्यवस्था भएका बाबजुद छाउपडी प्रथा अझै भेगहरूमा गहिरो रूपमा प्रचलित छ । अशुद्ध मान्ने परम्पराका कारण उनीहरूलाई घरबाहिरका असुरक्षित झुपडीमा बस्न बाध्य पारिन्छ । यस्तो प्रथाले महिलालाई जनावरको आक्रमण, शारीरिक र मानसिक हिंसा, तथा स्वास्थ्य जोखिमको उच्च सम्भावनामा पार्छ ।

चलचित्र निर्माणका लागि करिब २० हजार अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । यसमध्ये ड्रेक्सेल विश्वविद्यालयले चार हजार अमेरिकी डलर सहयोग गरेको छ भने ‘गो फन्ड मी’ अभियानबाट हालसम्म करिब दुई हजार डलर सङ्कलन गरिएको छ । निर्माण टोली थप आर्थिक स्रोत जुटाउन काम गरिरहेको छ ।

चलचित्रलाई विद्यालय, स्वास्थ्य सम्मेलन, र फिल्म महोत्सवहरूमा प्रदर्शन गरी महिला अधिकार, प्रजनन स्वास्थ्य, र लैङ्गिक समानताको सन्देश फैलाउने योजना निर्माण टोलीको छ । चलचित्रको भिआर संस्करण मेटाक्वेस्ट एपमा निःशुल्क उपलब्ध हुनेछ भने ‘नन–इन्टरएक्टिभ’ संस्करण युट्युब र अन्य प्लेटफर्महरूमा हेर्न सकिनेछ ।

परराष्ट्रमन्त्री राणाद्वारा अमेरिकी पूर्वराष्ट्रपति कार्टरप्रति श्रद्धाञ्जली

काठमाडौं। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् ।

मन्त्री डा राणा शुक्रबार काठमाडौंस्थित अमेरिकी राजदूतावासमा पुगी अमेरिकी पूर्वराष्ट्रपति एवं नोबेल शान्ति पुरस्कार विजेता कार्टरको स्मृतिमा त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै नेपाली जनता, नेपाल सरकार र आफ्ना तर्फबाट उनीप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै उनका परिवारजनमा समवेदना प्रकट गरेकी हुन् ।

पूर्वराष्ट्रपति एवं कार्टर सेन्टरका संस्थापक जिम्मी कार्टरको एक सय वर्षको उमेरमा गत डिसेम्बर २९ मा निधन भएको थियो । मन्त्री डा राणाले सो शोक पुस्तिकामा पूर्वराष्ट्रपति कार्टर एक प्रजातन्त्रवादी नेता तथा नेपालका सच्चा मित्र हुनुहुन्थ्यो भनेकी छन् ।

मन्त्री डा राणाले शोक सन्देशमा भनेकी छन् ‘पूर्व राष्ट्रपति कार्टर, परोपकार, शान्ति तथा प्रजातन्त्रका क्षेत्रमा एक उदाहरणीय व्यक्तित्व हुनुहुन्थ्यो । अमेरिकाको राष्ट्रपतिका साथै कार्टर सेन्टरको संस्थापकका रूपमा रहेर उहाँले मानवअधिकार तथा प्रजातान्त्रिक मूल्य मान्यताका पक्षमा निर्वाह गर्नुभएको भूमिकाको सर्वत्र प्रशंसा हुने गर्दछ ।’

नेपालमा संविधानसभाको निर्वाचनका समयमा सन् २००७ र २०१३ मा स्वर्गीय कार्टरले गरेको नेपाल भ्रमणको स्मरण गर्दै मन्त्री डा राणाले स्वर्गीय कार्टर नेपालका एक सच्चा मित्र र शुभचिन्तकका रूपमा नेपालमा सधैँ शान्ति र प्रजातन्त्रका पक्षमा रहेको उल्लेख गरेकी छन् ।

स्वास्थ्य बीमा सुधार गर्न गठित समितिले बुझायो स्वास्थ्यमन्त्रीलाई प्रतिवेदन

काठमाडौँ । स्वास्थ्य बीमा क्षेत्र सुधार गर्न गठित सुधार समितिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेको छ ।

शुक्रबार मन्त्रालयमा आयोजित प्रतिवेदन हस्तान्तरण कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले प्रतिवेदनले सुझाव दिएका बुँदाहरु कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “बिमा क्षेत्रमा सुधार गर्ने हुटहुटी छ । यो प्रतिवेदनले स्वास्थ्य बिमा सुधार गर्नुपर्ने योजना र विषयवस्तु समेटेको छ । प्रतिवेदन अध्ययन गरेर यसलाई लागू गर्नेछौँ ।”

उनले विद्यमान स्वास्थ्य बिमा कार्यक्रम व्यवस्थित हुन नसकेको र लक्षित समूहले पूर्ण रुपमा लाभ पुग्ने गरी सेवा लिन नसकेको भन्दै प्रतिवेदनले सुधार गर्न सहयोग गर्ने बताए । उनले प्रतिवेदन मन्त्रिपरिषद्मा पनि बुझाइने र केही समयपछि सार्वजनिक गरिने बताए ।

मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले स्वास्थ्य बीमा सुधारका निम्ति पेस गरिएको प्रतिवेदन राम्रो कामको सुरुवात भएको बताए । उनले भने, “विभिन्न चरणमा विज्ञसँग छलफल गरेर तयार पारिएको प्रतिवेदन हो । स्वास्थ्य बिमासम्बन्धी रणनीति प्रतिवेदनमा आएको छ । अध्ययन गरेर यसको कार्ययोजना बनाउनेछौँ ।”

असोज ९ गते वरिष्ठ जनस्वास्थ्यविज्ञ डा शम्भुप्रसाद आचार्यको संयोजकत्वमा मन्त्री पौडेलले स्वास्थ्य बीमा सुधार गर्न नौ सदस्यीय समिति गठन गरेका थिए । प्रतिवेदनका संयोजक आचार्यले प्रतिवेदनले स्वास्थ्य बिमा देखिएका अवसर र चुनौती केलाइएको प्रतिक्रिया दिए ।

उनले भने, “स्वास्थ्य बीमा ठूलो कार्यक्रम हो । यसको प्रभावकारी सञ्चालनका लागि प्रतिवेदनमा तत्काल तथा भविष्यमा गर्नुपर्ने सुधारका प्रयास समेटिएको छ ।” उनले स्वास्थ्य बीमा लागू भएका छिमेकी देश र अन्तर्राष्ट्रिय स्वास्थ्य बीमा प्रणालीका अभ्यास अध्ययन गरेर सुझावसहितको प्रतिवेदन तयार पारिएको जानकारी गराए ।

समितिमा गण्डकी प्रदेशका नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा रघुराज काफ्ले, वरिष्ठ मुटु शल्यचिकित्सक प्रा डा भगवान कोइरालासहित अर्थ मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगका सहसचिव सदस्य रहेका छन् । त्यसैगरी स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक, मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख तथा निजी क्षेत्रका प्रतिनिधिलाई समिति सदस्य तोकिएको थियो ।

रोनाल्डोको रजगज

चितवनको सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको हात्तीसारमा रहेको भाले ‘रोनाल्डो ‘ हात्ती र पृष्ठभूमिमा देखिएका गैँडाको बच्चा (केटो-केटी) ।

तस्बिर : चन्द्रकला क्षेत्री /रासस

सरकारको नीतिअनुसार प्रभावकारी कार्यसम्पादन गर्न मन्त्री दाहालको निर्देशन

पोखरा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारको नीतिअनुसार प्रभावकारी कार्यसम्पादनका लागि कर्मचारीलाई निर्देशन दिएका छन् ।

सडक विभागद्वारा पोखरामा आयोजना गरिएको ‘आयोजना सञ्चालन तथा व्यवस्थापनसम्बन्धी दुई दिने कार्यशाला’ समापनमा आज उनले विकास निर्माणलाई तीव्रता दिई आर्थिक समृद्धिको लक्ष्य हासिल गर्नुपर्ने भएकाले सोही ढंगबाट तदारुकताका साथ काम गर्न निर्देशन दिएका हुन् ।

मन्त्री दाहालले रुग्ण आयोजनाहरूको व्यवस्थापन गर्दै नयाँ आयोजनालाई गति दिने गरी कार्यक्षेत्रमा खटिन आग्रह छ । असल नियतले कार्यसम्पादन गर्दा कुनै पनि निकायबाट कारबाहीमा परिन्छ कि भन्ने डर नमानी कार्य गर्न र नीतिगत समस्या भए मन्त्रालयले सहजीकरण गर्नेसमेत उनले प्रतिबद्धता जनाए ।

“नेपाल अझै पनि निर्माणकै चरणमा रहेकाले अब बन्ने र बनिरहेका संरचनालाई दिगो र सुरक्षित बनाउनेतर्फ ध्यान दिन आवश्यक छ । आयोजनालाई आवश्यकता र उपयोगिताका आधारमा प्राथमिकता दिई सङ्ख्यात्मक रूपमा मात्र नभई गुणात्मक पक्षमा पनि ध्यान दिन मेरो आग्रह छ”, मन्त्री दाहालले भने ,“कुनै पनि आयोजना लामो समयसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्न मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको छ । यस पक्षमा पनि यहाँहरूबाट सहयोग हुनुपर्छ ।”


मन्त्रालयका सचिव केशवकुमार शर्माले प्रत्येक आयोजनाको विवरण चुस्त राख्न, अभिलेख प्रणालीलाई व्यवस्थित बनाउन र कार्यक्षेत्रमा रहेर काम गर्न कार्यालय प्रमुख तथा आयोजना प्रमुखलाई निर्देशन दिए । कार्यसम्पादनका क्रममा बेरुजु फछ्र्यौटलाई ध्यान दिँदै बेरुजु नहुने ढंगबाट काम गर्न उनले आग्रह गरे ।

कार्यशालामा सडक विभागका महानिर्देशक रामहरि पोखरेल, उपमहानिर्देशक उमेश बिन्दु श्रेष्ठ, मन्त्रालयका सहसचिव चन्द्रकला पौडेल, कृष्णराज पन्त, प्रभातकुमार झालगायतले विभिन्न विषयमा अवधारणा पत्र पेस गरेका थिए । कर्मचारीको कार्यसम्पादनलाई थप गतिशील बनाउन देशका अन्य भागमा यस प्रकारको कार्यशाला सञ्चालन गरिने सडक विभागका महानिर्देशक पोखरेलले जानकारी दिएका छन् ।

१७ बुँदे प्रतिबद्धता तथा निर्देशन

कार्यशाला सत्र बुँदे प्रतिबद्धता तथा निर्देशन जारी गर्दै सम्पन्न भएको छ । बढीभन्दा बढी समय कार्यक्षेत्रमा खटिन, अभिलेख प्रणाली व्यवस्थित बनाउन, कार्यसम्पादन विवरण नियमित रूपमा विभागमा पठाउनेलगायत विषय त्यसमा समेटिएका छन् ।

यस्तै, रुग्ण आयोजना व्यवस्थापनको कामलाई गति दिन, सञ्चालित आयोजनाको नियमित नियमन गर्नेलगायत विषय पनि यसमा रहेका छन् । उक्त १७ बुँदे प्रतिबद्धता तथा निर्देशनको प्रभावकारी कार्यान्वयन गर्न मन्त्री दाहालले आग्रह गरे ।

मन्त्रालयका सचिव शर्माले उल्लेखित विषय कार्यान्वयन भए, नभएको मूल्यांकन मन्त्रालयले गर्ने र त्यसलाई दण्ड र पुरस्कारको आधार बनाइने बताए ।

दाउन्ने ‘एग्रो फार्म’ १० करोडको ‘शेयर’ जारी गर्दै

चितवन।  दाउन्ने ‘एग्रो फार्म’ लिमिटेडले १० करोडको सर्वसाधारणका लागि ‘शेयर’ (आइपिओ) जारी गर्ने भएको छ । फार्म स्थापनापछिको सातौँ र पब्लिक कम्पनीमा प्रवेशपछिको प्रथम वार्षिक साधारणसभाले रु १० करोडको आईपिओ जारी गर्ने निर्णय गरेको हो ।

नवलपरासी (सुस्ता-त्रिवेणी पूर्व) विनयीत्रिवेणी गाउँपालिका- ३ को सर्दीमा करिब ११ बिघा जग्गामा फैलिएको ‘एग्रो फार्म’मा सो कम्पनीको अहिले चार लाख कुखुरा रहेका छन् । कम्पनीले निकट भविष्यमै छ लाख कुखुरा पुर्याउने लक्ष्य लिएको अध्यक्ष रघुनाथ भट्टले जानकारी दिए ।

कुखुरापालन क्षेत्रमा आइपिओ जारी गर्ने ‘एग्रो फार्म’ पहिलो भएको कम्पनीले दाबी गरेको छ । कम्पनीको साधारणसभाले रघुनाथ भट्टको अध्यक्षतामा सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । समितिका सञ्चालक सदस्यहरुमा विनोद पोखरेल, विपिन पोखरेल, हेमराज बडाल र हिमालय पौडेल रहनु प्रबन्ध सञ्चालक विनोद पोखरेलले जानकारी दिए ।

विसं २०७४ मा स्थापना भएको यस कम्पनीमा सुरुआतमा एक लाख कुखुरापालन गरिएको थियो । कम्पनीका प्रबन्ध सञ्चालक पोखरेलका अनुसार फार्ममा हाल दैनिक तीन लाख ५० हजारभन्दा बढी अण्डा उत्पादन हुने गरेको छ । उत्पादित अण्डामध्ये केहीलाई ‘दाउन्ने ह्याप्पी एग’को ब्रान्डमा ब्रान्डिङ गरी १५ वटा र ३० वटाका दरले क्रेट बनाएर बजारमा पठाउने गरिएको प्रबन्ध सञ्चालक पोखरेलले जानकारी दिए । यहाँ उत्पादित अण्डा देशका प्रमुख सहरहरुसँगै ग्रामीण क्षेत्रमा समेत पठाइने गरिएको छ ।

प्रबन्ध सञ्चालक पोखरेलका अनुसार दाउन्नेको फार्ममा जर्मन र मलेसियाबाट आयात गरिएका स्वचालित एवं अत्याधुनिक उपकरण जडान गरिएका छन् । उनले भने,’अत्याधुनिक तवरबाट कुखुरापालन गरिएकाले अण्डा तथा मासुको उत्पादन राम्रो छ, अहिलेलाई बजारको समस्या छैन, यसलाई अझ विस्तार गरी देशकै उत्कृष्ट एवं व्यावसायिक एग्रो फार्मका रुपमा स्थापित गर्ने लक्ष्य लिएका छौँ, सात वर्षको हाम्रो अनुभव र परिणामबाट सफल हुने विश्वास लिएका छौँ ।’

नेपालमा लामो समयसम्म कुखुरापालन क्षेत्रमा अनुभव सँगालेका कृषक तथा व्यवसायीहरुको लगानीमा यो कम्पनी स्थापना भएको अध्यक्ष भट्टले जानकारी दिए । यहाँका लगानीकर्ताहरुको पोल्ट्रीसँग सम्बन्धित विभिन्न उद्योगहरुमा समेत लगानी रहेको छ । जसका कारण लागत मूल्य घटाउन र गुणस्तरीय अण्डा उत्पादन गर्न सफल भएको अध्यक्ष भट्ट बताउँछन् ।

नेपालमा तुलनात्मक रुपमा ठूलो सङ्ख्यामा कुखुरापालन गर्ने ‘एग्रो फार्म’ पहिलो कम्पनी भएको र शेयर निष्कासनका लागि सिटिजन्स क्यापिटलसँग कम्पनीले सम्झौता गरिसकेको प्रबन्ध सञ्चालक पोखरेलले बताए ।

सामूहिक खेतीगरी आत्मनिर्भर बन्दै सिसवोनीका दलित महिला

सिरहा । सिरहाको लहान नगरपालिका–२२ स्थित सिसवोनीका अनितादेवी सदायले एक दशकदेखि तरकारी खेती गरिरहेकी छन् । पछिल्लो दुई वर्षदेखि भने उनी स्थानीय महिला समूहमा जोडिएर सामूहिक तरकारी खेतीमा लागेकी छन् ।

खेती गर्न आफ्नो पर्याप्त जमिन नहुने र सामूहिक रूपमा बढी जग्गा भाडामा लिएर खेती गर्दा सस्तो पर्ने भएकाले आफू सामूहिक खेतीतर्फ आकर्षित भएको अनितादेवी बताउँछिन् । ‘लामो समयदेखि तरकारीखेती गर्दै आएकी छु । व्यक्तिगत रूपमा खेती गर्नुभन्दा सामूहिक रूपमा भाडामा जग्गा लिएर खेती गर्दा बढी आम्दानी गर्न सकिने देखियो । त्यसैले अघिल्लो वर्षदेखि हामीले सामूहिक खेती गरेर बराबरी नाफा बाँड्ने गरेको छौँ’, उनले भनिन् ।

अनितादेवी मात्रै होइन, यहाँका २७ जना दलित महिलाले करिब दुई बिघा जमिन भाडामा लिएर तरकारीखेती गरिरहेका छन् । ‘सावोरी लघुउद्यमी महिला बचत समूह’ गठन गरी तरकारीखेती गरिरहेका समूहकी सचिव गङ्गा सदायले जानकारी दिइन् । उनले भनिन्, ‘सामूहिक रूपमा काम गर्दा साथीसँग काम र रमाइलो गर्दै आम्दानी पनि लिन सजिलो हुन्छ । त्यसैले समूहमा आबद्ध २७ जनाले यो काम गरिरहेका छौँ ।’

अर्का कृषक नन्दीलाल सदायले सामूहिक खेतीबाट उत्पादित तरकारीले आफूहरूलाई आत्मनिर्भर बन्दै निकै सघाउ पुगेको बताए । यही समूहमार्फत तरकारीका साथै सामूहिक माछापालन पनि गरिएको छ । अघिल्लो वर्षमात्रै माछा बिक्रीबाट डेढ लाख रुपैयाँ आम्दानी गरिएको र ६ क्विन्टल आलु उत्पादन गरी ७५ हजार रुपैयाँ खुद नाफा भएको नन्दीलालले बताए ।

आलु, गोलभेँडा, काउली, झिङ्नी, बोडीलगायत तरकारी उत्पादन गर्ने गरिएको उनले बताए । यहाँका गरिब तथा विपन्न दलित समुदायलाई तरकारी खेतीतर्फ आकर्षित गर्न लहानस्थित दलित जनकल्याण युवा क्लबले सहयोग गरी रहेको छ ।

किसानलाई खेतीसम्बन्धी तालिम, बीउबिजन, कृषिसामग्री, ‘मल्चिङ’ प्रविधि सहयोग गर्दै आएको क्लबका सामाजिक परिचालक संगीता चौधरीले बताए । उनले नगरपालिकासँग समन्वय गरी तरकारी खेतीको प्रभावकारिता, समस्या, तथा आइपर्ने चुनौती समाधानका उपाय पहिचान गर्न संस्थाले सहयोग गरिरहेको बताउनुभयो ।

वडा नं १२ का वडाध्यक्ष बद्री नारायण चौधरीले तरकारीखेतीले विपन्न दलित समुदायको जीवनस्तर नै बदलिएको र यसको दिगो व्यवस्थापनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

एलिट कपका लागि पुलिस क्लबको टोली घोषणा

काठमाडौं ।  आइतबारबाट सुरु हुने जय ट्रफी मेन्स एलिट कपका लागि विभागीय टिम नेपाल पुलिस क्लबको टोली घोषणा भएको छ । शुक्रबार आरिफ शेखको कप्तानीमा पुलिसको टोली घोषणा भएको हो ।

पुलिसले घोषणा गरेको टोलीमा आरिफ शेख (कप्तान), कुशल भुर्तेल, गुल्सन झा, करण केसी, ललित राजवंशी, अमित श्रेष्ठ, दिलीप नाथ, श्रवण यादव, सुनिल दौलिया, सागर ढकाल, शंकर राना, अभिनाश कर्ण, रासिद खान, अर्जुन साउद र दीपक सरेला रहेका छन् ।

गत वर्ष भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा शीर्ष चारमा रहेका टिमहरू सहभागी हुने जय ट्रफी मेन्स एलिट कप क्रिकेट पुस २१ गतेदेखि हुँदै छ । पुस २१ देखि माघ ३ गतेसम्म जनकपुर र वीरगन्जमा हुने प्रतियोगितामा नेपाल पुलिस, त्रिभुवन आर्मी क्लब, बागमती र मधेश प्रदेश सहभागी हुनेछन् ।

सिंगल राउन्ड रोबिनका ६ खेलपछि शीर्ष दुई टोलीबिच फाइनल खेल हुनेछ । लिग चरणका खेल दुई दिवसीय हुनेछन् भने फाइनल खेल तीन दिवसीय हुनेछ ।

सन् २०२४ ले गुमाएका चर्चित व्यक्तित्व

काठमाडौँ । वर्ष २०२४ लाई विभिन्न कारणले सम्झना गरिनेछ । यो वर्षले धेरै राम्रा कामको सुरुआत गरेको छ । कतिपय घटनाले सुखद कार्यलाई सम्झनामा सीमित गर्दै तिनलाई केवल निर्मम इतिहासमा बदलिदिएको छ । यस्ता घटना जसले सन् २०२४ मा संसार छोडेका केही महत्त्वपूर्ण व्यक्तित्वको नाम यहाँ प्रस्तुत गरिएको छ :

जिमी कार्टर
अमेरिकाका ३९औँ राष्ट्रपति जिमी कार्टरको एक सय वर्षको उमेरमा सन् २०२४ डिसेम्बर ३० मा निधन भएको छ । वाटरगेट काण्ड र भियतनाम युद्धपछि राष्ट्रपति पद जित्ने बदाम किसान जिम्मी कार्टरले ह्वाइट हाउसको कार्यकालपछि विश्वव्यापी मानवतावादीको रूपमा जीवनलाई पुनः परिभाषित गरेका छन् ।


सबैभन्दा लामो समयसम्म बाँचेका अमेरिकी राष्ट्रपतिको जर्जियाको सानो शहर प्लेन्समा ‘होस्पिस केयर’मा प्रवेश गरेको लगभग २२ महिनापछि निधन भएको हो । प्लेन्समा उनी र उनकी श्रीमती रोजालिनले आफ्नो जीवनको अधिकांश समय बिताए । रोजालिनको भने सन् २०२३ नोभेम्बरमा ९६ वर्षको उमेरमा निधन भएको थियो ।

कार्टर सेन्टरका संस्थापक, पूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टरको आफ्नो परिवारबीच उमेरजन्य समस्याका कारण शान्तिपूर्वक निधन भएको उल्लेख छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले कार्टरको निधनबाट विश्वले एक ‘असाधारण नेता, राजनीतिज्ञ र मानवतावादी’ नेतृत्व गुमाएको र आफूले एक प्रिय मित्र गुमाएको बताएका थिए। रोग उन्मूलन, शान्ति स्थापना, नागरिक र मानव अधिकारलाई अगाडि बढाउन, विश्वभर स्वतन्त्र र निष्पक्ष चुनावलाई बढावा दिन र घरबारविहीनहरूलाई सहयोग गर्ने कामका लागि विश्वले उनलाई सम्झिरहनेछ । कार्टरले आफ्नो महत्त्वाकांक्षालाई गहिरो बुद्धि, गहिरो धार्मिक विश्वास र विलक्षण कार्य नैतिकताका साथ प्रयोग गरे । उनले आफ्नो ८० को दशकमा कूटनीतिक मिसनहरू सञ्चालन गरेका थिए र ९० को दशकमा गरिबहरूका लागि घरहरू निर्माण गरेका थिए ।

सन् १९२४ अक्टोबर १ मा जन्मिएका कार्टर अमेरिकी राजनीतिज्ञ, लेखक र डेमोक्रेटिक पार्टीका सदस्य थिए । उनले सन् १९७७ देखि १९८१ सम्म संयुक्त राज्य अमेरिकाको ३९औँ राष्ट्रपतिको रूपमा काम गरेका थिए। उनलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

अल्बर्टो फुजिमोरी
मानवअधिकार हनन र भ्रष्टाचारको अभियोगमा दोषी ठहर भएका पेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरीको सेप्टेम्बर २१ मा निधन भयो । क्यान्सरसँगको लामो लडाइँपछि पूर्वराष्ट्रपति फुजिमोरीको निधन भएको हो । उनको जिब्रोमा क्यान्सर भएको थियो । सन् १९९० देखि २००० सम्म पेरुमा शासन गरेका फुजिमोरी भ्रष्टाचारको आरोपका कारण सत्ताबाट बाहिरिन बाध्य भएका थिए । राष्ट्रपति रहँदा उनले वामपन्थी गुरिल्ला विद्रोहविरुद्ध कडा अडान लिएका थिए। त्यसलाई कतिपयले मानवअधिकार उल्लङ्घनको आरोप लगाएका थिए । तर विद्रोहीहरूले सत्ता कब्जा गर्ने सम्भावना देखिएका बेला फुजिमोरीले पराजित गरेको भन्दै उनको प्रशंसा गर्ने समूह पनि गरिन्छ ।

एलेक्सी नभाल्नी
रुसमा पछिल्लो दशक सबैभन्दा प्रखर प्रतिपक्षी नेताको छवि बनाएका एलेक्सी नभाल्नीको सन् २०२४ फेब्रुअरी १८ मा जेलमा निधन भएको रुसी कारागार प्रशासनले जनाएको थियो । रुसी राष्ट्रपतिका सबैभन्दा कडा आलोचक मानिएका नभाल्नीलाई १९ वर्षको जेल सजाय सुनाइएको थियो। कतिपयले उनलाई लगाइएका अभियोगहरू राजनीतिक रूपमा प्रेरित भएको ठानेका थिए । उनको मृत्यु हुनुभन्दा करिब एक वर्ष पहिले मात्रै रुसको निकै कठोर जेलमध्येको आर्कटिक पेनल कोलोनीमा सारिएको थियो ।

नभाल्नीको मृत्यु भएको भन्दा एक दिनअघि फेब्रुअरी १७ मा उनी अदालती सुनुवाइको क्रमको एक भिडिओमा देखा परेका थिए । त्यसबेला उनी ठिकै देखिनुका साथै हाँसिरहेको देखिएको नभाल्नीका समर्थकहरूले दाबी गरेका छन् । जेल प्रशासनले नभाल्नी फेब्रुअरी १६ मा यात्राका क्रममा अचेत भएको र उपचारका लागि तत्कालै आपत्कालीन सेवालाई खबर गरिए पनि बचाउन नसकिएको बताइएको थियो ।

नभाल्नीलाई सन् २०२० को अगस्टमा स्नायुमा असर गर्ने नोविचोक नामक सोभियतकालीन विषाक्त पदार्थद्वारा आक्रमण गरिएको थियो । साइबेरियाबाट मस्को जाने उडानमा रहेका बेला उनी बिरामी परेपछि जहाजले आपत्कालीन अवतरण गर्नुपरेको थियो। त्यसपछि जर्मनीमा उपचार गराएर रुस फर्किए लगत्तै पक्राउ परेका नभाल्नी मृत्युपर्यन्त रुसी हिरासतमा थिए । नभाल्नीले आफूमाथि स्नायु विष हमला भएकोबारे लगाएको आरोप सही भएको केही खोज पत्रकारहरूको अनुसन्धानले देखाएको थियो ।

नभाल्नी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सबैभन्दा कडा आलोचक थिए। सतचालिस वर्षको उमेरमा निधन भएका नभाल्नीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भ्रष्ट व्यक्ति भएको आरोप लगाउँदै आएका थिए । उनी भ्रष्ट्राचार विरोधी अभियानकर्ता पनि थिए । सन् २०१८ को राष्ट्रपतीय निर्वाचनमा उनी उम्मेदवार बन्न खोजेका थिए तर उनलाई आर्थिक हिनामिनाको आरोपमा उम्मेदवार बन्न दिइएन। नडराई बोल्ने ब्लगरका छवि बनाएका उनलाई सामाजिक सञ्जालमा लाखौँ रुसीले पढ्छन् र सन् २०२० मा उनका केही समर्थकहरू साइबेरियाको स्थानीय निर्वाचनमा निर्वाचित पनि भएका थिए ।

सन् २०२१ को फेब्रुअरीमा नभाल्नी सन् २०१४ मा सुनाइएको सजाय उल्लङ्घन गरेको आरोपमा जेल परेका थिए। उनलाई सन् २०२० मा आफ्नो अवस्थाबारे प्रहरीलाई नियमित खबर नगरेको आरोप लगाइएको थियो । साइबेरियामा भएको स्नायु एजेन्ट आक्रमणमा परेर आपत्कालीन उपचार गराइरहेको थाहा हुँदाहुँदै उनीमाथि यस्तो आरोप लगाइनु हास्यास्पद भएको उनका वकिलहरूले बताएका थिए ।

डा. मनमोहन सिंह
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको बुढ्यौलीजन्य स्वास्थ्य समस्याका कारण सन् २०२४ डिसेम्बर २६ मा राजधानी नयाँदिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा भर्ना गरिएको थियो तर उपचारका क्रममा उनको ९२ वर्षको उमेरमा सोही दिन निधन भएको थियो ।

उनले प्रधानमन्त्रीका रूपमा सन् २००४ देखि २०१४ सम्म भारतलाई नेतृत्व दिए। भारतको आर्थिक सुधारका लागि विशेष योगदान दिएका अर्थशास्त्री सिंहले १९९१ मा भारतको अर्थतन्त्रलाई उदारीकरण गर्न वित्तमन्त्रीको रूपमा महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनको कार्यकालमा भारतको आर्थिक वृद्धि उच्च भएको थियो । उनलाई सरल, विनम्र र प्रभावकारी नेतृत्वका लागि भारतका साथै समग्र विश्वले सम्झिन्छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको अतीतलाई स्मरण गर्दै आफूहरूबिचको अन्तर्क्रियामा उहाँमा सधैँ ‘विवेक र नम्रता झल्किने गरेको’ बताउँदै उहाँको कार्यकालमा ‘भारतीय नागरिकको जनजीवन सुधार गर्न व्यापक प्रयासहरू’ भएको बताएका थिए ।

जवाहरलाल नेहरुपछि पहिलो कार्यकाल पूर्णरूपमा पूरा गर्दै पुनः प्रधानमन्त्रीमा निर्वाचित हुने उनी पहिलो भारतीय नेता थिए। उनको दोस्रो कार्यकालमा भने सरकारमाथि व्यापक रूपमा भ्रष्टाचारका आरोपहरू लागेको थियो ।

सिंहको जन्म सन् १९३२ को सेप्टेम्बर २६ मा विभाजित हुनुपूर्वको भारतको पञ्जाब प्रान्त (हाल पाकिस्तान) को एउटा विकट गाउँमा भएको थियो । त्यहाँ पानी र बिजुलीको अभाव थियो । पञ्जाब विश्वविद्यालयमा पढेपछि उनी स्नातकोत्तर अध्ययनका लागि बेलायतको क्याम्ब्रिज विश्वविद्यालय पुगे र पछि अक्सफोर्डबाट डिफिल गरेका थिए ।

उनले कर कटौती, रुपैयाँको अवमूल्यन, राज्यद्वारा सञ्चालित कम्पनीहरूलाई निजीकरण र विदेशी लगानीलाई प्रोत्साहन गर्ने काम गरेका थिए। यसका कारण अर्थतन्त्रमा सुधार देखा पर्दै उद्योगहरूको तीव्र वृद्धि भयो । बढ्दो मुद्रास्फीति नियन्त्रण भएर सन् १९९० को दशकमा वृद्धिदर निरन्तर उच्च बनेको थियो ।

सिंहको पहिलो प्रधानमन्त्रीकालमा सबैभन्दा ठूलो सफलता अमेरिकासँग आणविक सम्झौता गरेको रूपमा हेरिन्छ । उनको पालामा त्यस ऐतिहासिक सम्झौताका कारण भारतले अमेरिकाको आणविक प्रविधिमा पहुँच पाएको थियो । सिंह सरकारलाई समर्थन गरेका वामपन्थी दलहरूले त्यसकै कारण आफ्नो समर्थन फिर्ता लिएका थिए ।

सीताराम यचुरी
जीवनको उत्तरार्द्धतिर श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम यचुरीको नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचारका क्रममा ७२ वर्षको उमेरमा सेप्टेम्बर १२ मा निधन भएको थियो । सन् १९५२ अगस्ट १२ मा भारतको चेन्नईमा जन्मिएका यचुरी भारतीय राजनीतिका प्रभावशाली नेता थिए ।

उनी सन् २०१५ देखि कम्युनिस्ट पार्टीको महासचिव बनेका थिए । विद्यार्थी कालदेखि नै राजनीतिमा प्रवेश गरेका यचुरी जवाहरलाल नेहरु विश्वविद्यालयमा भारतीय विद्यार्थी महासंघ (एसएफआई)का प्रभावशाली नेता थिए । उनी इन्दिरा गान्धीको शासनकालमा १९७५ देखि १९७७ सम्म लगाइएको सङ्कटकालको समयमा नागरिक अधिकार र वामपन्थी विचारधारको पक्षमा क्रियाशील थिए । यचुरीले सन् २००५ अगस्ट १९ देखि सन् २०१७ अगस्ट १८ सम्म भारतको माथिल्लो सदन राज्यसभाको सदस्यका रूपमा पश्चिम बङ्गालबाट प्रतिनिधित्व गरेका थिए ।

नटवर सिंह
सन् १९८४ मा पद्मभूषण प्राप्त गरेका पूर्व विदेशमन्त्री तथा वरिष्ठ काँग्रेस नेता नटवर सिंहको ९३ वर्षको उमेरमा निधन भएको छ । सन् १९५३ मा भारतीय विदेश सेवा (आइएफएस) मा आफ्नो जागिरे जीवन सुरु गरेका उनी सन् १९८० को दशकमा राजनीतिमा प्रवेश गरेका थिए ।

उनले पूर्व प्रधानमन्त्री राजीव गान्धीको कार्यकालमा इस्पात, खानी, कोइला र कृषि राज्यमन्त्रीको रूपमा काम गरेका थिए । कूटनीति र राजनीतिमा अब्बल मानिने उनलाई तेलसम्बन्धी खाद्य घोटालामा उनको नाम आएपछि सन् २००६ मा काङ्ग्रेसले निलम्बित गरेको थियो । पछि सन् २००८ मा बहुजन समाज पार्टीमा सामेल भएपनि चार महिनापछि उनलाई सो पार्टीबाट पनि निष्कासित गरिएको थियो ।

रतन टाटा
रतन नवल टाटा एक भारतीय उद्योगपति र परोपकारी व्यक्तित्वको नाम हो । उनले सन् १९९१ देखि २०१२ सम्म टाटा समूह र टाटा सन्सको अध्यक्षको रूपमा काम गरेका थिए भने अक्टोबर २०१६ देखि फेब्रुअरी २०१७ सम्म अन्तरिम अध्यक्षको रूपमा पद सम्हालेका थिए । सन् २००० मा उनले भारतको तेस्रो सर्वोच्च नागरिक सम्मान पद्मभूषण प्राप्त गरेका थिए । सन् २००८ मा पद्म विभूषणसहित टाटाले आफ्नो कामको लागि धेरै प्रशंसा प्राप्त गरेका छन् ।

सन् १९३७ डिसेम्बर २८ मा जन्मिएका उनको ८६ वर्षको उमेरमा सन् २०२४ अक्टोबर ९ मा निधन भएको हो । उनको नेतृत्वमा कम्पनीले विश्वव्यापी स्वरूप धारण गरेको थियो । उनको नेतृत्वमा टाटा कम्पनीले कोरस, टेटली र जगुआर ल्यान्ड रोभरजस्ता प्रतिष्ठित ब्रान्डहरू अधिग्रहण गरेको थियो । टाटाको दूरदर्शी नेतृत्व र कर्पोरेट सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताले भारतको कर्पोरेट जगत्मा सुधार ल्याएको बताउने गरिन्छ ।

तीन भारतीय संगीतकार
पद्मश्री, पद्म भूषण र संगीत नाटक एकेडेमी पुरस्कारबाट सम्मानित सङ्गीतकार उत्साद राशिद खानको सन् २०२४ जनवरी ९ मा ५५ वर्षको अल्पायुमा नै निधन भएको हो । हिन्दुस्तानी शास्त्रीय गायक आफ्नो जुगलबन्दी र ख्याल र ठुमरीजस्ता भारतीय शास्त्रीय संगीत शैलीहरूमा निपुणताको लागि प्रसिद्ध थिए ।

लोकप्रिय गीत ‘चिठी आइ है’ का लागि व्यापक प्रशंसा कमाएका चर्चित गजल गायक पञ्कज उदासको पनि यसै वर्ष फेब्रुअरीमा ७२ वर्षको उमेरमा निधन भएको छ । उहाँलाई ‘चिठी आइ है’ र अन्य ‘चाँदी जैसा रङ्ग’, र ‘जिये तो जिए कैसे’ जस्ता धेरै कालजयी गीत तथा गजलका लागि संसारले कहिल्यै भुल्ने छैन । सन् २००६ मा उनलाई संगीत क्षेत्रमा दिएको उनको अपार योगदानका लागि भारतीय पद्मश्री पुरस्कारबाट सम्मानित गरिएको थियो ।

तबला वादक जाकिर हुसेनको ७३ वर्षको उमेरमा निधन भयो । भारतीय शास्त्रीय संगीतलाई पुनर्परिभाषित गर्नका लागि परिचित हुसेनले सहजै परम्परागत तबला लयलाई विश्वव्यापी शैलीसँग मिसाएर व्यापक प्रशंसा प्राप्त गरे । चार पटकको ग्रामी विजेता उनले तबला उस्ताद, सङ्गीतकार, सङ्गीत निर्माता, अभिनेता र शिक्षकका रूपमा महत्त्वपूर्ण योगदान दिए ।

विश्वप्रसिद्ध भारतीय तबलावादक उस्ताद जाकिर हुसेनको डिसेम्बर १६ मा निधन भएको हो । उनी फोक्सोसम्बन्धी समस्या (इडियोप्याथिक पल्मोनरी फाइब्रोसिस)बाट पीडित थिए । उनको अमेरिकाको सान फ्रान्सिस्कोस्थित एक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । हुसेनको जन्म ९ मार्च १९५१ मा मुम्बईमा भएको थियो । उनलाई सन् १९८८ मा पद्मश्री, २००२ मा पद्मभूषण र २०२३ मा पद्मविभूषण पनि प्रदान गरिएको थियो । हुसेन आफ्नो साङ्गीतिक जीवनमा चार ग्रामी अवार्डबाट पनि सम्मानित भएका थिए ।

इब्राहिम रायसी
इरानका राष्ट्रपति इब्राहिम रायसी (सयैद इब्राहिम रैसोलसादाती) को हेलिकप्टर दुर्घटनामा परेर मे १९ मा मृत्यु भएको हो । इरानको पूर्वी अजरबैजान प्रान्तमा हेलिकप्टर दुर्घटनामा परेपछि ६३ वर्षीय उनको मृत्यु भएको थियो । उनलाई इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको उत्तराधिकारी मानिन्थ्यो । न्यायपालिका र धार्मिक अभिजात वर्गमा गहिरो सम्बन्धका साथ स्थापित उपस्थिति, कट्टरपन्थी र धार्मिक रूपमा रूढिवादी राजनीतिज्ञ रायसीले पहिलो पटक २०१७ मा राष्ट्रपतिका लागि उम्मेदवारी दिएको थियो तर पराजित भएका थिए । उनी सन् २०२१ मा राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनी इरानको अहिलेसम्मकै कट्टरपन्थी राष्ट्रपतिको रूपमा परिचित मानिन्थे ।

इरानमा राष्ट्रपति सर्वोच्च नेतापछि दोस्रो वरियतामा हुन्छन् । राष्ट्रपतिको आन्तरिक र वैदेशिक मामिलामा महत्त्वपूर्ण प्रभाव हुन्छ । तर राज्यसम्बन्धी सम्पूर्ण मामिलामा अन्तिम निर्णय सर्वोच्च नेता आयातोल्लाह अली खामेनेको हुने गर्छ । रायसीसँगै इरानका विदेशमन्त्री र अर्धसैनिक रिभोल्युसनरी गार्डका नजिकका एक कट्टरपन्थी नेता ६० वर्षीय होसेन अमिराबडोल्लाहियनका पनि निधन भएको थियो ।

फेतुल्लाह गुलेन
हिज्मेत नामक इस्लामिक आन्दोलनको नेतृत्व गरेको, ‘आतङ्कवादी’ समूहको नेतृत्व गरेको र सन् २०१६ मा शक्तिशाली नेता रेसेप तैयप एर्दोगानको सरकार ढाल्न गरिएको असफल ‘कू’ को नेतृत्व गरेको आरोप लागेका अमेरिकामा बस्दै आएका टर्कीएका मुस्लिम धर्मगुरु फेतुल्लाह गुलेनको २० अक्टोबरमा मृत्यु भएको हो ।

अङ्काराले गुलेनलाई सन् २०१६ को असफल ‘कू’ का मुख्य योजनाकार भएको आरोप लगाउँदै आएको छ । त्रियासी वर्षीय गुलेनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । गुलेन सन् १९९९ देखि पेन्सिलभेनियामा बस्दै आएका थिए। प्रशासनले उनको टर्कीएको नागरिकता सन् २०१७ मा खोसेको थियो । गुलेनले टर्कीए र त्यसभन्दा बाहिर शक्तिशाली इस्लामिक आन्दोलनको निर्माण गरेका थिए । उनीमाथि टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानविरुद्ध ‘कू’ को प्रयास गरेको आरोप लागेको थियो जसलाई उनले खण्डन गर्दै आएका थिए ।

इस्माइल हानिया
हमास नेता इस्माइल हानियाको ‘इजरायलको आक्रमण’ बाट जुलाई ३१ मा मृत्यु भएको थियो । उनी इरानमा मारिएका थिए । प्यालेस्टिनी लडाकू समूह हमास र इरानको एलिट रिभोलुसनरी गार्ड्सले उनी इजरायलले झुक्काएर गरेको आक्रमणमा मारिएको दावी गरेका छन् । इरानका नयाँ राष्ट्रपतिको शपथ ग्रहण समारोहमा सहभागी भएका हानियालाई कार्यक्रम स्थलबाट बाहिरिएपछि तेहरानस्थित इस्माइल हानियाको निवासमा आक्रमण भएको थियो ।

हसन नसरल्लाह
लेबनानको सशस्त्र शिया सङ्गठन हिजबुल्लाह नेता हसन नसरल्लाहको सेप्टेम्बर २७ मा मृत्यु भएको हो । इजरायली सेनाले बेरूतमा गरेको हवाई आक्रमणमा उनी मारिएका हुन् । इजरायलले ६४ वर्षीय नसरल्लाहलाई धेरै इजरायली सैनिक र सर्वसाधारणको हत्याका लागि जिम्मेवार ठहर गरेको थियो । लेबनानमा हिजबुल्लाह समूहको नेतृत्व गर्ने आलिम (धार्मिक विद्वान्)नसरल्लाहले यस समूहको इतिहासमा निर्णायक भूमिका खेलेको पाइन्छ ।

याह्या सिनवार
गाजामा भएको इजरायली आक्रमणमा मारिएका हमासका राजनीतिक प्रमुख याह्या सिनवार सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा भएको विध्वंशकारी आक्रमणका योजनाकार थिए । राजनीतिक प्रमुख सिनवारको इजरायलमा हमासले गरेको आक्रमणको ठीक एक वर्षपछि अक्टोबर १६ मा इजरायली हवाई आक्रमणमा मृत्यु भएको हो । यसअघि हमासका प्रमुख इस्माइल हानिया गत जुलाईमा मारिएपछि हमासभित्र बलियो प्रभाव बनाएका सिनवार राजनीतिक प्रमुख चुनिएका थिए । सन् २०१७ देखि गाजा स्ट्रिपमा हमास समूहका नेता रहेका सिनवारलाई सर्वसम्मतिमा उक्त समूहको राजनीतिक विभाग नेतृत्व गर्ने जिम्मेवारी दिइएको थियो ।

सिनवार चरमपन्थी नेता मानिन्छन् । उनको त्यही स्वभावका कारण पनि गाजामा युद्धविरामका लागि भएका दर्जनौँ प्रयास असफल भएको बताइन्छ । सिनवार यसअघि गाजा क्षेत्रमा हमासको राजनीतिक एकाइ प्रमुख थिए । सन् १९६२ मा जन्मेका सिनवार हमासको सुरक्षा सेवा ‘मज्द’का संस्थापक पनि थिए ।