`

सगरमाथा क्षेत्रमा हवाई उडान बन्द गर्ने वायु सेवा सञ्चालकको निर्णय

काठमाडौँ । वायुसेवा सञ्चालक संघले खुम्बु क्षेत्रमा हुने सबै हेलिकोप्टर तथा जहाजका उडान अनिश्चितकालका लागि स्थगन गरेको छ ।

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खुम्बु पासाङ ल्हामु गाउँपालिकालगायतका स्थानीय समूहले धम्की दिएको भन्दै संघले उडान बन्द गर्ने निर्णय गरेको हो ।

संघका प्रथम उपाध्यक्ष प्रतापजंग पाण्डेले आइतबार विज्ञप्ति जारी गरी आइतबारदेखि त्यस क्षेत्रमा हुँदै आएका उद्धार, चार्टर तथा व्यावसायिक उडान स्थगन गरेको जानकारी दिएका छन् ।

स्थानीय युवा समूह, क्लबलगायत सरोकारवालाहरूले हेलिकोप्टर अवतरण भएमा चालकलाई समातेर कारबाही गर्ने जस्ता अभिव्यक्ति सञ्चारमाध्यममार्फत व्यक्त गरेका कारण हेलिकोप्टर सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म त्यस क्षेत्रका सबै उडान वायुसेवा कम्पनीले अनिश्चितकालका लागि स्थगन गरेको पाण्डेले जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘यो निर्णयबाट यात्रु महानुभाव तथा सर्वसाधारणमा पर्न जाने असुविधाप्रति वायुसेवा सञ्चालक संघ क्षमायाचना गर्दछ ।’

हेलिकोप्टर उडानले निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा बासस्थानमा चुनौती थपिएको भन्दै पुस १७ देखि उद्धारबाहेक पर्यटकका लागि हुने चार्टर उडान रोकिएको हो ।

उडान सञ्चालन गर्न शुक्रबार गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीसहित सरोकारवालाहरूको बैठक बसेको थियो । बैठकले प्रमुख जिल्ला अधिकारीलाई समस्या हल गर्न निर्देशन दिएको थियो ।

मान्छे बेगरका घरहरु

लमजुङ । छेवैको घर जीर्ण छ। आँगन घाँसेमैदान जस्तै बनेको छ। भत्किन लागेको ढोकामा ताल्चा झुण्डिएको छ। ‘मान्छे बेगरको घर यस्तै त हुन्छ नि! बेवारिसे झैँ,’ छिमेकीविहीन घर देखेर लमजुङको राइनास नगरपालिका–१० बोराङकी ८७ वर्षिया रमादेवी न्यौपानेलाई उद्देक लाग्छ।

उनको घर दायाँबायाँ, जहाँत्यहीँ फर्किंदा उस्तै जीर्ण र छिमेकी बेगर घर छन्। रमादेवी अहिले लगभग छिमेकीविहीन जस्तै छिन्। उनको घर वरिपरिका झण्डै १५ घरमा ताल्चा झुण्डिएको छ। घरधनी सहरतिर छन्। गाउँमा मान्छे पलायन हुँदै गएको देख्दा अचेल बोराङ टोलभरिकै उमेरले पाकी रमादेवीको मन अत्तालिन्छ।

उनलाई गाउँ रित्तिँदै गएकामा चिन्ता लाग्छ। किनभने त्यो गाउँसँग उनको बाल्यकालदेखि बुढौलीसम्मकै प्रगाढ सम्झना छ। ‘बालखैमा बिहे गरेर आएको गाउँ हो। यहाँ पहिला कति रमाइलो हुन्थ्यो। अहिले कस्तो भयो,’ उनी भन्छिन्,’हराउँदै गयो गाउँको रौनक।’

बिहे भएर आएदेखिको उनको मानसपटलमा पुरानो गाउँ अझै फनफनी घुम्छ, अतित बनेर। ‘कच्ची बाटो पारि र वारि दुवैतिर घनाबस्ती थियो,’ उनी गाउँको विगत स्मरण गर्दै भन्छिन्, ‘अहिले घरहरु छन्, बस्ने कोही छैनन्। सबै सहरतिर लागे। सुख र सुविधाले त्यति तान्यो।’

छोराबुहारीको साथमा घरमै बस्न पाए पनि रमादेवीलाई सुनसान गाउँको अवस्थाले मन पोल्छ। अझ बढी त करेसाबारीमा फलफूल फल्दा टिपेर खाइदिने चकचके केटाकेटी नहुँदा उनलाई खल्लो लाग्छ। ‘कुनै समय थियो। गाउँभरका चकचके केटाकेटीले बोटमा बतिला नलाग्दै फुलफूल टिपेर बिठ्याइँ गरिदिन्थे,’ उनको स्मृति बग्दै गयो,’उतिबेला लट्ठी लिएरै भुराभुरी लखेट्दै दौडिनुपर्थ्यो। अहिले चरा र बाँदरले खाएर रित्याउँछन्। मान्छे भेटिदैनन्।’

लमजुङको राइनास नगरपालिका–१० बोराङलाई न्यौपाने टोल पनि भनेर चिनिन्छ। किनभने त्यहाँ तीन घर अधिकारीबाहेक प्रायः सबै न्यौपाने थरका छन्। अधिकांश शिक्षक पेशामा आबद्ध टोल भएकाले यस गाउँको अर्को नाम मास्टरटोल पनि हो। ‘यहाँका अधिकांश बुवाहरु शिक्षक पेशामै आबद्ध हुनुभयो भने छोराछोरी केहीले यही शिक्षण पेशा अपनाएका छन्,’ रमादेवीका छोरा राममणि न्यौपानेले बताए।

उनी गाउँकै महेन्द्र प्राथमिक विद्यालयको प्रधानाध्यापक छन्। उनका अनुसार टोलमा ५५ घरधुरी छन्। यसमध्ये मुस्किलले २६/२७ घरमा मात्रै घरमुली बसोबास गर्छन्। अरु अधिकांश सहरतिरै त कोही विदेश पलायन छन्।

शिक्षकहरु जन्माएको थलोप्रति राममणिलाई जति गर्व अनुभूति छ, त्यससँगै हाल आफ्नै विद्यालयमा विद्यार्थीको संख्या दिनानुदिन घट्दै गएकामा पीडा उत्तिकै छ। पाँच जनाको शिक्षक दरबन्दी घटेर अहिले दुई जनामा सीमित हुनुपरेको छ।

कक्षा शिशुदेखि कक्षा ५ सम्म जम्मा १७ जना विद्यार्थी पढ्न आउँछन्। त्यसमा पनि बोराङटोलको एक जना मात्रै विद्यार्थी पढ्छन्। ‘गाँउमा अभिभावक नै नभए पनि पढ्न आउने केटाकेटी कहाँ पाउनु?,’ उनी भन्छन्।

अझ भनौँ कहिलेकाहीँ विद्यार्थी विद्यालय नआइदिएर कक्षा रित्तै हुने गर्छ। राममणिका अनुसार गाउँमा स्वास्थ्य सेवा, खानेपानी, यातायातलगायतका भौतिक पूर्वाधार सुविधाको अभावले गर्दा घरहरु रित्तिदै गएको हो। यसले टोलको विकाससहित विद्यालयको पठनपाठनमा समेत असर गरेको छ।

राइनास नगरपालिका–१० मा प्यारजुङ, लामा गाउँ, सिमघारी, पात्लेपानी, कत्रेनी, बोराङलगायत टोल छन्। टोलैपिच्छे मौरीपालन, तरकारी खेतीजस्ता उत्पादन र उद्यमशील काम भएका छन्। यद्यपि पालिकाले योजनाबद्ध ढङ्गमा आधुनिक खेती बसाउने र रोजगारोन्मुख कार्ययोजनामा खासै चासो नल्याएको हुँदा स्थानीय सहरमुखी हुन थालेको बताउँछन्।

बस्तीमा मान्छे बस्न छाडेपछि प्रेम न्यौपानेको मनोबल कमजोर हुँदै गएको अनुभव सुनाउँछन्। ‘छरछिमेकी हुँदा गाह्रोसाह्रो परेको बेला सहयोगी हात हुन्थे,’ उनी भन्छन्,’अहिले बिरामी भइयो भने छिमेकी गुहार्न पनि ठाउँ छैन।’

गाउँका युवा पुस्ताहरु रोजगारी र शिक्षा आर्जन गर्नका लागि सहर पसेका छन्। चाडपर्वमा घर सम्झेर एकाध परिवार आउँछन् नभए वर्षौदेखि घरले स्याहार नपाएको स्थानीयले बताए। प्रेमका छिमेकी हुन्, विजयराज, दामोदर, अर्जुन। उनीहरु तीनैजनाको घरमा ताल्चा छ।

रोजगार र छोराछोरी पढाउन काठमाडौँ पसेका छिमेकी उतै बसेको प्रेम बताउँछन्। ‘मेरो वरिपरि त सबै घरमा ताला लागेको छ। छिमेकी नहुँदा निकै नियास्रोको महसुस हुन्छ,’ उनी भन्छन्,’गाउँका टाढाबाढा मान्छेहरु नै सहर पसेपछि गाउँको विकास हुने कुरै भएन।’

गाउँको छेउमै चौतारा छ। चौतारा अचेल पहिलेजस्तो भरिभराउ हुँदैन। ७२ वर्षे स्थानीय विष्णुहरि न्यौपानेले अब बूढाबूढीपछि पुर्ख्यौली घर कसले धान्ला भन्ने चिन्ताले सताउन थालेको बताउँछन्। उनका ठूलो छोरा चितवन रोजगारका सिलसिलामा उतै छन्। माइलो र कान्छो काठमाडौँमा छन्। सुविधा नभएको गाउँमा नबस्नु सहरतिरै आउनु भनेर छोराहरु जोड गरे पनि जन्मेलको थलो छोड्न मन नलाग्ने गरेको उनले सुनाए।

‘हामी चिसो छल्न गाउँ आएका। होइन भने प्रायः काठमाडौँतिर बस्छौँ,’ उनले भने, ‘किन बस्ने गाउँमा भो अब दुःख गर्नु पर्दैन भन्छन् छोराहरु।’ बिरामी परेको बेला सिटामोलसमेत पाउन मुस्कील हुने गाउँको दुःख सम्झिँदा विष्णुहरीले गाँउको माया गर्ने आदर्श भाव ओझेल पर्दै गएको बताउँछन्। उनले भनेजस्तै गाउँमा बस्न सजिलो भने पक्कै छैन।

जति हेर्दा क्षणभर रमाइलो लाग्छ, त्यहाँ सुविधायुक्त जीवन बिताउन चुनौतीपूर्ण छ। ६८ वर्षे डिल्लीराम न्यौपानेले गाउँका अनेक दुःखलाई बेलीविस्तार लगाए। उनको पुर्खौली जिउने आधार खेती किसानी हो। सकिनसकी लगाएको बाली बाँदर, मृग, दुम्सी जस्ता जनावरले एकैछिन सखाप पारिदिन्छन्। ‘अन्न लगायो बाँदरलाई बाख्रा पाल्यो बाघलाई,’ उनी किसानले भोग्नु परेको पीडा सुनाउँछन्, ‘के खाएर बस्ने हो यो गाउँमा? अनि सहर नपसे के गर्ने?’

लालीगुँरास आमा समूहकी अध्यक्ष राजुकुमारी न्यौपानेका अनुसार गाउँमा स्थानीय टिकाउनका लागि स्थानीय सरकारले खासै कुनै पनि योजना नल्याएको गुनासो गर्छिन्। रोजगारको अभाव, उद्यमशीलताका आधारहरु नहुँदा युवा पलयान भएका छन्। यति मात्रै होइन, बुढापाका पनि छोराछोरीसँगै सहर पस्न थाले। यसले गर्दा गाउँ सुनसान हुँदै गएको उनले सुनाइन्।

उनका अनुसार मान्छे नै नरहे स्थानीय क्षेत्रको विकासको आधार हराउँछ। गाउँमा मान्छे टिकाउन ग्रामीण योजना ल्याउन अति आवश्यक रहेको उनको बुझाइ छ। सामुदायिक सिकाइ केन्द्रमा आबद्ध रहेकी स्थानीय विमला अधिकारी न्यौपानेले कृषिमा आधुनिकीरण गर्ने र स्वास्थ्य, खानेपानी बाटोघाटोको सुविधा विस्तार गर्न सके न्यौपाने गाउँ स्वर्गजस्तै रहेको बताइन्।

धुलोधुवाँदेखि पर रहेको गाउँ प्राकृतिक हिसाबले जति सुन्दर छ, उति नै पर्यटकीय दृष्टिले आकर्षित छ। परम्परागत रुपमा धान, गहुँ, मकैखेती गर्दै आएका यहाँका किसानहरुका अहिले अधिकांश जग्गा बाँझै छन्। ‘खेती गर्ने बुढापाका छन्, सक्ने गर्छन् नसक्नेको बाँझै रहन्छ,’ विमला भनिन्, ‘कृषिमा आधुनिकीरण गर्न सके पनि आयआर्जनमा धेरै राहत हुन्थ्यो।’ 

माघेसङ्क्रान्ति नजिकिएसँगै सर्लाहीका किसानलाई तरुल खन्न भ्याइनभ्याइ

 सर्लाही । माघेसङ्क्रान्ति नजिकिएसँगै सर्लाहीको बागमतीका किसानलाई तरुल खन्न भ्याइनभ्याइ भएको छ । पुसको दोस्रो हप्ता लागिसक्दा सङ्क्रान्तिका लागि तरुल निकाल्ने चटारो बढेको बागमती नगरपालिका–५ टेकानीका तरुल किसान दलबहादुर लुङ्गेलीले बताए । लुङ्गेलीले बागमती खोला बगरमा पाँच कट्ठा खेतमा तरुल लगाएका छतन् ।

चाडबाडको मुखमा मूल्यसमेत राम्रो पाउने भएकाले पुसको तेस्रो हप्तासम्म तरुले बेचिसक्ने योजना बनाएको उनले सुनाए । “तरुलको मूल्य माघेसङ्क्रान्तिमा राम्रो पाइन्छ ।” उनले भने, “त्यसकारण पुस २५/२६ सम्म बेचिसक्ने योजना छ ।” त्यसपछि तरुलले उति राम्रो मूल्य नपाउने उनको अनुभव छ । तरुल स्वास्थ्यका हिसाबले चिसो मौसममा उपयोगी रहेकाले यस बेला ब्यापार र मूल्य बढ्ने गरेको छ ।

बागमती नगरपालिका–५ स्थित बागमती नदी उकास जमिनमा किसानले ठूलो क्षेत्रफलमा तरुलखेती गर्ने गरेका छन् । बालुवा तथा खोलाको पाँगो माटो भएका जग्गामा तरुल उत्पादन राम्रो हुने गरेको स्थानीय किसान हिरालाल मण्डलको भनाइ छ । “बगरको खेती सुन जस्तै बनेको छ”, उनले भने, “तरुल उत्पादनबाट मनग्य आम्दानी हुन्छ ।”

तरुलखेती गरेका बागमती नगरपालिका–४, जिराएतका किसान विमल खड्काले तरुलको उत्पादन राम्रो हुँदा अन्यबालीभन्दा धेरै आम्दानी हुने गरेको बताए । आफ्नो र ठेक्का गरेर खड्काले पनि एक बिघा बगर खेतमा तरुल लगाएका छन् । केहीमा तरुल उत्पादन राम्रो भएको र केहीमा बिग्रिएको उनको भनाइ थियो ।

यहाँका किसानहरूले आकासे र पताले गरी दुई जातको तरुल उत्पादन गर्ने गरेका छन् । आकासे अर्थात् सेतो तरुल कम स्वादिलो हुने धेरै उत्पादन हुने तथा मूल्य केही कम हुने गरेको बागमती–४ जिरायतका तरुल व्यापारी राम दरेस महतोले बताए । अर्को पताले अर्थात् रातो जातको तरुल भने उत्पादन केही कम हुने खान पनि स्वादिलो हुने भएकाले मूल्यसमेत राम्रो रहेको उनको भनाइ छ ।

यहाँका किसानले प्रतिबिघा ८० देखि एक सय २० क्विन्टलसम्म तरुल फलाउने गरेका छन् । यस वर्ष छठको समयमा तरुल प्रतिकिलो एक सय २० रुपैयाँसम्ममा बिक्री भएको थियो । अहिले बजार मूल्य प्रतिकिलो ५५ देखि ६० रुपैयाँ रहेको तरुल व्यापारी डम्बरबहादुर खड्काको भनाइ छ । यस वर्ष उनी २० बिघामा लगाएको तरुल बजार लैजाने योजनामा छन् ।

उनले आफ्नो र भाडामा गरी २० बिघा बढी खेतमा तरुल लगाएका छन् । जग्गा भाडामा लिदा वर्षको प्रतिबिगाहा ५० देखि ६० हजार रुपैयाँसम्म तिर्नुपर्ने उनको भनाइ छ । तरुल खेती गर्दा प्रतिकठ्ठा बीउ, मलखाद, कामदार गरी आठ हजारसम्म खर्च हुने गर्दछ । उनका अनुसार तरुल खेतीबाट किसानहरूले प्रतिकट्ठा ३० देखि ४० हजारसम्म आम्दानी गर्दछ ।

बागमती नगरपालिका कृषि शाखाका अनुसार यस क्षेत्रमा बर्सेनि लगभग तीन सय बिगाहा क्षेत्रफलमा तरुलखेती हुँदै आएको छ । सिँचाइ हुने खेतमा पानी जम्ने जोखिम रहेकाले तरुल उत्पादनका लागि बगर खेत उपयुक्त हुने कृषि प्राविधिकहरू बताउँछन् । बागमती नदी उकास जग्गा तरुल उत्पादनका लागि निकै उपयोगी बनेको छ ।

केही समयअघिसम्म यसैखेर गइरहेको बगरखेतीमा यतिबेला किसानले सुन फलाइरहेका बागमती नगरपालिका कृषि शाखा प्राविधिक हिमाल शाहीले बताए। खोलाको बगर स्थानीय किसानले प्रतिपरिवार पाँच कट्ठाको दरले भाग लगाएर केही समय ता खेती गर्दै आएका छन् ।

बगरमा किसानले तरुलसहित मुम्फली, सखरखण्ड, तोरी, मकै, रहरी, परबर, बोडीलगायतको खेती गर्ने गरेका छन् । खेती राम्रो हुने गरेकाले स्थानीयको आयस्तरमा समेत परिवर्तन ल्याएको नगरपालिकाले जनाएको छ । 

नेप्से सामान्य अङ्कले बढ्यो

काठमाडौँ । यो साता कारोबारको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । आइतबार नेप्से परिसूचक पाँच दशमलव ३२ अङ्कले बढेर दुई हजार पाँच सय ९१ दशमलव ५६ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय २७ कम्पनीका ९३ लाख ८६ हजार सात सय २१ कित्ता शेयर ६१ हजार एक सय ६७ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ८६ करोड दुई लाख एक हजार नौ सय ७४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा बैंकिङ शून्य दशमलव ५५, वित्त एक दशमलव ०४, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६०, लघुवित्त शून्य दशमलव १४ र म्युचुअल फन्ड शून्य दशमलव ७४ प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ । विकास बैंक शून्य दशमलव ०२, होटल तथा पर्यटन शून्य दशमलव ६०, जलविद्युत् एक दशमलव ६७ र लगानी समूह शून्य दशमलव ३९ प्रतिशतले बढेको छ । त्यस्तै, जीवन बीमा शून्य दशमलव २७, निर्जीवन बीमा शून्य दशमलव ०४, व्यापार एक दशमलव १४ र अन्य समूह शून्य दशमलव १० प्रतिशतले बढेको छ ।

तीन वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड, दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेड र ग्रीन भेन्चर्स लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य आठ दशमलव ८८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनी लिमिटेडको रू १९ करोड नौ लाख ५० हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको तीन लाख ८३ हजार पाँच सय छ कित्ता शेयर किनबेच भएको छ ।

जनकपुरधाममा रङ्गशाला बनाउन डिपिआर तयार गरिँदै

धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रङ्गशाला बनाउन विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइरहेको बताएका छन् ।

आइतबारदेखि जनकपुरधाममा सुरु भएको ‘जय ट्रफी मेन्स एलाइट कप’को उद्घाटन कार्यक्रममा मुख्यमन्त्री सिंहले सोमबार राष्ट्रिय खेलकुद परिषद् र गुठी संस्थानसँग प्रदेश सरकारले खेल मैदानका लागि सम्झौता गर्ने बताए ।

रङ्गशाला बनाउने स्थानको जमिन सरोकार भएका निकायसँगको सहमतिमा मालपोतबाट पास हुनेवित्तिकै प्रदेशस्तरीय मन्त्रिपरिषद्बाट निर्णय गरेर प्रतिवेदन सङ्घीय सरकारसमक्ष पेस गरिने उनले उल्लेख गरे ।

करिब सात वर्षअघि भारत सरकारका तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामको विकासका लागि एक अर्ब उपलब्ध गराउने घोषणा गरेको रकम हालसम्म खर्च नभएकाले उक्त रकम रङ्गशाला निर्माणमा लगाउने मुख्यमन्त्री सिंहले जानकारी दिए । बाँकी रकम प्रदेश सरकारले लगानी गर्ने उनले बताए ।

भारत सरकारले प्रदान गर्ने भनिएको रकम खर्च गर्न प्रदेशस्तरीय मन्त्रिपरिषद्बाट निर्णय गरेर केन्द्रमा पठाउनुपर्ने बताउँदै मुख्यमन्त्री सिंहले केन्द्र सरकारले स्वीकृत गरी भारतीय दूतावासमा पठाउनुपर्ने र दूतावासले स्वीकृति प्रदान गरेपछि मात्र बोलपत्र आह्वान गर्न सकिने जानकारी दिए । केही प्राविधिक त्रुटिका कारण अहिलेसम्म बोलपत्र आह्वान हुन नसकेको उनले उल्लेख गरे ।

गुठी संस्थानले राष्ट्रिय खेलकुद परिषद्सँग सम्झौता गरिसकेको अवस्थामा प्रदेश सरकारसँग जग्गा नभएकाले टिप्पणी उठाउन नसकिएको मुख्यमन्त्री सिंहले बताए । उनले रङ्गशालाका लागि दुई अर्ब ५० करोडदेखि तीन अर्बसम्म खर्च लाग्ने अनुमानसहित बोलपत्र आह्वान गरिने जानकारी दिए ।

मुख्यमन्त्री सिंहले खेलकुदका साथै अन्य पूर्वाधार विकासमा पनि प्रदेश सरकारले युवासँग सहकार्य र समन्वय गरी अवसरहरू सिर्जना गर्दै जाने प्रतिबद्धता जनाए ।

जय ट्रफी उद्घाटन कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, नेपाल क्रिकेट सङ्घ (क्यान)का उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का, धनुषा क्रिकेट सङ्घका अध्यक्ष गुड्डु पाण्डेय, विभिन्न राजनीतिक दलका प्रतिनितिधिलगायत खेल प्रेमीहरूको उपस्थिति थियो ।

जापानमा बर्डफ्लुको प्रकोप

टोकियो । जापानको उत्तरी इवाते क्षेत्रको एक फार्ममा बर्डफ्लु को प्रकोप फैलिएपछि जापानका अधिकारीहरूले आइतबारदेखि करिब ५० हजार कुखुरा नष्ट गर्न सुरु गरेका छन् ।

जापानमा बर्डफ्लुको यो १९ औँ प्रकोप भएको कृषि मन्त्रालयले जनाएको छ ।

पछिल्लो फार्ममा कुखुराको मृत्यु दर बढ्दै गएको र आइतबार गरिएको परीक्षणमा फार्मका कुकुरामा बर्डफ्लुको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसले गर्दा त्यहाँ ५० हजार कुखुरालाई नष्ट गरिएको क्षेत्रीय प्रशासनले जनाएको छ ।

इवातेले तीन किलोमिटर (१.८६ माइल) को परिधिभित्र रहेका अन्य दुई फार्ममा राखिएका १७ हजार पङ्क्षीको आवागमनमा पनि प्रतिबन्ध लगाएको छ ।

सङ्क्रमित फार्मको १० किलोमिटरभित्र राखिएका करिब ३८ लाख चरा तत्कालका लागि उक्त क्षेत्रबाट बाहिर जानबाट रोकिने छ ।

बिहीबार इवातेको अर्को फार्म र मध्य आइची क्षेत्रको एक फार्ममा बर्ड फ्लु भाइरसको सङ्क्रमण देखिएको थियो र यसले ती फार्ममा क्रमशः एक लाख २० हजार र एक लाख लाख ४७ हजार पङ्क्षीलाई नष्ट गर्नुपरेको छ ।

डिसेम्बर २९ मा पूर्वी इबाराकीको एक फार्ममा प्रकोप पुष्टि भएको थियो, जसका कारण त्यहाँ १० लाख ८० हजार पङ्क्षीलाई नष्ट गरिएको थियो ।

गाजामा इजरायली हवाई आक्रमणमा कम्तीमा १८४ जनाको मृत्यु

गाजा । इजरायली सेनाले गाजा पट्टीमा पछिल्लो ७२ घण्टामा ९४ वटा हवाई आक्रमण र गोलाबारी गरेको र त्यसमा १८४ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजा मिडिया कार्यालयले  जनाएको छ ।

कार्यालयले जारी गरेको विज्ञप्तिमा निहत्था नागरिक र आवासीय क्षेत्र, विशेषगरी गाजा सिटीलाई लक्षित गरी गरिएको आक्रमणलाई ‘खतरनाक र क्रूर’ भनिएको छ ।

मृत्यु भएका वा घाइते भएका मध्ये धेरै जना भग्नावशेषमा फसेका छन् र क्षतिग्रस्त पूर्वाधारका कारण उनीहरूलाई अस्पतालसम्म पुग्न र स्वास्थ्यलाभमा बाधा पुगेको छ । गाजामा प्यालेस्टिनी नागरिक सुरक्षा अधिकारीहरूले इजरायली हवाई आक्रमण विगत तीन दिनदेखि हिंसात्मक रूपमा तीव्र भएको पुष्टि गरेका छन्, जसलाई स्थानीय बासिन्दाहरूले असाधारण कठिन समयको रूपमा वर्णन गरेका छन्।

वक्तव्यमा इजरायली सेनालाई यी ‘भयानक आक्रमण’ को लागि पूर्ण रूपमा जिम्मेवार ठहर्याइएको छ र इजरायललाई हतियार र राजनीतिक समर्थन प्रदान गरेकोमा अमेरिकी प्रशासनको आलोचना पनि गरिएको छ।

यसले अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्लाई यी ‘जघन्य अपराधहरू’ को दस्तावेजीकरण गर्न र अपराधीहरूको जवाफदेहीता सुनिश्चित गर्न स्वतन्त्र अनुसन्धान टोलीहरू पठाएर आफ्नो कानुनी र नैतिक दायित्वहरू पालन गर्न आह्वान गरेको छ ।

इजरायली रक्षामन्त्री काट्जले बुधबार हमासले बन्धकहरूलाई रिहा नगरे र इजरायलमाथि रकेट प्रहार गर्न बन्द नगरे ‘व्यापक बल’ प्रयोग गर्ने चेतावनी दिएपछि गाजामा इजरायली हवाई आक्रमण बिहीबार बिहान सुरु भएको थियो।

सन् २०२३ अक्टोबर ७ मा शत्रुता सुरु भएदेखि इजरायलले गाजामा हमासविरुद्ध ठूलो मात्रामा सैन्य अभियान चलाइरहेको छ । युद्धका कारण गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार ४५ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ।

दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणबाट एक हजार २०० भन्दा बढी इजरायलीको मृत्यु भएको थियो र लगभग २५० जनाको अपहरण भएको थियो।

ड्रोन आक्रमणमा परी रूसी पत्रकारको मृत्यु

मस्को । युक्रेनको डोनेट्स्क क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक रूसी युद्ध संवाददाताको मृत्यु हुनुका साथै अन्य चार जना सञ्चारकर्मी घाइते भएको रसियाली समाचार संस्था रिया नोभोस्तीले शनिबार जनाएको छ।

डोनेट्स्क–गोर्लोभका राजमार्गमा रूसी पत्रकार चढेको कारमा ड्रोन प्रहार हुँदा रूसी पत्रिका इज्वेस्टियाका स्ट्रिङर अलेक्जेन्डर मार्टेमियानोभको मृत्यु भएको समाचारमा जनाइएको छ ।

‘गोर्लोभकामा भएको गोलाबारीपछिको दृश्याङ्कन पछि हामी डोनेट्स्क फर्किरहेका थियौँ। राजमार्गमा मानव ड्रोनले हाम्रो कारलाई ठक्कर दियो,’ आरआईए नोभोस्तीका संवाददाता म्याक्सिम रोमानेन्कोले भने। डोनेट्स्क क्षेत्रका प्रमुख डेनिस पुशिलिनले टेलिग्राममा सबै घाइते पत्रकारको उपचार भइरहेको बताए। रूसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले रूसी पत्रकारमाथि हुने आक्रमणका लागि ‘उचित समयमा प्रतिक्रिया’ दिइने बताएका छन्।

गाजा युद्धविराम वार्ता कतारमा पुनः सुरु, इजरायली कारबाही जारी

गाजा । इजरायलले शनिबार गाजा युद्धविराम र बन्धक मुक्त सम्झौताका लागि कतारमा वार्ता पुनः सुरु भएको पुष्टि गरेको छ ।

गाजा शहरमा रहेको अल–घौला परिवारको घरमा बिहान भएको हवाई आक्रमणमा परी ११ जनाको मृत्यु भएकै दिन वार्ता सुरू भएको प्यालेष्टिनी प्रहरीले जनाएको छ ।

इजरायलका रक्षामन्त्री इजरायल काट्जले सन् २०२३ को अक्टोबरमा भएको आक्रमणमा बन्धक बनाइएका व्यक्तिहरूको रिहाईका लागि कतारमा हमाससँग अप्रत्यक्ष वार्ता सुरु भएको पुष्टि गरेका हुन् ।

बन्धकमध्येकी एक महिला सैनिक लिरी अल्बागका आफन्तलाई मन्त्रीले ‘बन्धकहरूलाई मुक्त गर्ने प्रयास भइरहेको र वार्ताका लागि इजरायली प्रतिनिधिमण्डल शुक्रबार कतारमा पुगेको बताएकी छिन् ।

काट्जका अनुसार प्रधानमन्त्री बेनाजामिनले ‘वार्ताका लागि विस्तृत निर्देशन’ दिएका छन् ।

हमासको सशस्त्र शाखा इजेदिन अल–कासम ब्रिगेडले गाजामा अल्बागलाई कैदमा राखेको भिडियो सार्वजनिक गरेपछि उनले यस्तो बताएका हुन् ।

साढे तीन मिनेट लामो रेकर्डिङमा १९ वर्षीया ती युवतीले हिब्रु भाषामा इजरायली सरकारलाई आफ्नो रिहाइका लागि आग्रह गरेको सुन्न सकिन्छ, यद्यपि, भिडियोको आधिकारिकताबारे पुष्टि गर्न नसकिएको एएफपीका स्थानीय संवाददाताले जनाएका छन् ।

भिडियो सार्वजनिक भएपछि अल्बाग परिवारले नेतन्याहूलाई अपील जारी गर्दै भनेको छ, ‘गाजामा तपाईंका आफ्नै छोराछोरी बनाइएका छन् भनी युद्धविराम सम्झौताका लागि निर्णय लिने समय आएको छ।’

हाल गाजामा ९६ जना इजरायली बन्धक रहेका छन्, जसमध्ये ३४ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ । 

यु–१६ फुटबलमा फ्रेन्ड्स क्लब विजयी

काठमाडौँ । एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लबले सातदोबाटो युथ क्लबलाई पराजित गर्दै विजयी भएको छ । 


सातदोबाटोस्थित एन्फा मैदानमा आइतबार भएको खेलमा फ्रेन्ड्सले युथ क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । 


फ्रेन्ड्सको जितमा रिहान बुढा र दिवान थापाले समान एक/एक गोल गरे । दुवै गोल खेलको पहिलो हाफमा भएको थियो । खेल सुरुआती मिनेटमा नै फ्रन्ड्सका रिहानले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका हुन् । 

खेलको २२औँ मिनेटमा दिवानले गोल गर्दै फ्रेन्डसको अग्रता दोब्बर बनाएका हुन् । त्यसपछि खेलमा थप गोल हुनसकेन र अन्तत फ्रेन्ड्सले सातदोबाटोमाथि २–० गोलअन्तरले जित निकालेको हो ।

माओवादीको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । धुम्बाराहीस्थित स्मार्ट दरबार बैङ्क्वेटमा आइतबारदेखि केन्द्रीय समिति बैठक सुरू भएको हो ।

केन्द्रीय समिति बैठकको अध्यक्षले पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेपछि समसामयिक विषयमा ब्रिफिङ गर्नेछन् । बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक परिस्थितिबारे ब्रिफिङ गर्ने, त्यसपछि सबै प्रदेशका अध्यक्षहरूले रिपोर्टिङ गर्नेछन् ।

अनि बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए । बैठक चार दिनसम्म चल्नेछ ।

नयाँ सरकार गठनपछि राजनीतिक स्थायित्वको सन्देश प्रवाह भएको छः प्रधानमन्त्री ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनपछि राजनीतिक स्थायित्वको सन्देश प्रवाह भएको बताएका छन् ।

आइतबारदेखि सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

प्रतिवेदनमा नयाँ सरकार गठनपछि राजनीतिक स्थायित्वको सन्देश प्रवाह भएको, साझा नीतिगत प्रतिबद्धता र सङ्कल्प जारी भएको, सरकार सञ्चालनमा सहजीकरणका लागि आवश्यक संरचना बनाइएको, अर्थतन्त्रमा सुधार आएको, सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पारित भएको, राष्ट्रियहितको रक्षा र सन्तुलित बाह्य सम्बन्ध कायम गरिएको, सहकारी क्षेत्रको बेथिति अन्त्यगरी बचतकर्तालाई न्याय तथा अनियमिततामा संलग्नलाई सजाय गरिएको र विकास–निर्माणले गति लिएको उल्लेख छ ।

प्रतिवेदनमा नेपाली जनताको विकास र समृद्धिको चाहनालाई पूरा गर्न बीआरआई महत्त्वपूर्ण रहेको उल्लेख गरिएको छ प्रतिवेदनमा भनिएको छ, ‘हस्ताक्षर भएको बीआरआई सहयोग ढाँचाको विशेष महत्व छ। कनेक्टिभिटी र पूर्वाधार निर्माणमा टेवा पुयाउँदै भूपरिवेष्ठितताले सिर्जना गरेका नेपालका अप्ठ्यारालाई चिर्न र नेपालको पारवहन सुविधाको विविधीकरण, व्यापार सहजीकरण र लगानी अभिवृद्धिमा यसले टेवा पुर्याउने  विश्वास लिइएको छ। जनताको विकास र समृद्धिको चाहनालाई पूरा गर्न, तीव्र आर्थिक विकास गर्दै विकासशील देशमा स्तरोन्नति गर्न, दिगो विकास लक्ष्य हासिल गर्न र नेपाललाई यथासक्य छिटो मध्यम आय भएको मुलुकमा माथि उठाउन हामीलाई स्रोतको अभाव छ।’

ओलीले प्रतिवेदनमा संवेदनशील विषयमा सत्ता सहकार्यमा विभाजन ल्याएर पुनः अस्थिरताको खेती गर्न चाहनेहरूको योजना विफल तुल्याइदिएको उल्लेख गरेका छन् ।

प्रतिवेदनमा भनिएको छ, ‘यो सम्झौता आफैँमा महत्वपूर्ण छ, तर यावत् भ्रम, मिथ्याप्रचार र असहजतालाई चिर्दै यस विषयमा मुलुकका दुई मुख्य दलका बीचमा जस्तो साझा अवधारणा निर्माण हुन सक्यो, यो विषय पनि उत्तिकै महत्वपूर्ण छ। यसले वाह्य सम्बन्ध र वाह्य सहायता परिचालनमा सिङ्गो राष्ट्रको एउटै बोली बनाउन र वार्ताको टेबलमा राष्ट्रिय अडान बलियो बनाउन मद्दत पुरÞ्याएको छ । संवेदनशील विषयमा सत्ता सहकार्यमा विभाजन ल्याएर पुनः अस्थिरताको खेती गर्न चाहनेहरूको योजना पनि यसले विफल तुल्याइदिएको छ।’

अध्यक्ष ओलीले राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर छिमेकी लगायत सबै मित्र राष्ट्रहरूसँग विश्वसनीय सम्बन्ध र आर्थिक साझेदारी विकास गर्न चाहेको प्रतिवेदनमा उल्लेख गरेका छन् ।

प्रतिवेदनमा माओवादी केन्द्र सामाजिक सद्भाव भड्काउने खेलमा लागेको आरोप लगाइएको छ । प्रतिवेदनमा भनिएको छ, ‘माओवादी केन्द्र राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच पुर्याउन उद्दत देखिएको छ। पूर्व राजावादीहरूसँग बाक्लै उठबस गरिरहेको छ। सरकारमा रहँदा आफैँले कार्बाही गरेका व्यक्तिहरू र समूहको खुल्ला समर्थनमा उत्रिएको छ। प्रधानमन्त्रीको चीन भ्रमण र हिजो आफ्नै कार्यकालमा भएको सम्झौतालाई समेत विवादित बनाउन उद्दत देखिएको छ । यी घटनाक्रमहरू माओवादी केन्द्रमा गहिरिंदै गरेको वैचारिक विचलन, राजनीतिक अस्थिरता, अवसरवाद र सरकारबाट बाहिरिनु परेका पीडाका अभिव्यक्ति हुन्।’

बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा नयाँ राजनीतिक मार्गचित्र, एमाले र नेपाली कांग्रेससँगको गठनबन्धनको आवश्यकता, औचित्य र अवसर, वर्तमान गठनबन्धनपछिका छ महिना, बदलिँदो विश्व परिवेश र मुलुकको पराराष्ट्र नीति, स्थानीय तह उपनिर्वाचनको समीक्षा र निर्णायक राष्ट्रिय शक्तिको निर्माणलाई समेटेका छन् ।

प्रतिक्रियावादी शक्तिहरु अमानवीयरुपमा एमालेविरुद्ध झुठा प्रचारमा लागे, प्रतिवाद गर्नुपर्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभक्त शक्तिहरु मजबुद भएका कारण मुलुकका प्रतिक्रियावादी शक्तिहरु आतङ्कित भएको बताएका छन् ।

आइतबारदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिक्रियावादी शक्तिहरु अमानवीयरुपमा एमालेविरुद्ध झुठा प्रचारमा लागेको बताएका हुन् ।

अध्यक्ष ओलीले एमालेको लोकप्रियता देखेर यसको लोकप्रियता घटाउन र एमालेलाई बदनाम गर्न विरोधीहरू लागेकाले पार्टीका सही नीतिका आधारमा एकताबद्ध भई झुठा प्रचार चिरेर पार्टीलाई निर्णायक शक्ति बनाउन जनस्तरमा लाग्न निर्देशन दिए ।

उनले भने, ‘हामी विरोधीका आरोपमाथि चुप लागेर बस्नु हुँदैन । चुप लागेर बस्नुपर्छ भन्ने कमजोर धारणा हो। विरोधीका आरोपबारे तथ्यका आधारमा खण्डन गर्नुपर्छ।’

उनले अब पार्टीमा गुटबन्दी र अराजकता अन्त्य गर्नुपर्ने बताए । उनले भने, ‘पार्टीभित्र गुटबन्दी र अराजकता अन्त्य गर्नैपर्छ। लोकतन्त्रका नाममा पार्टीभित्र गुटबन्दी गरेर भाँडभैलो मच्याउने कार्यले पार्टीलाई बलियो बनाउँदैन।’

पार्टीका आन्तरिक विषय सार्वजनिक खपतका लागि प्रस्तुत नगर्न आग्रह गर्दै अध्यक्ष ओलीले पार्टीलाई विभाजन गरेर वा सिध्याइयो भनेर लड्डु खाएका कतिपय नेताहरुलाई अहिले लड्डु ओकल्नुपरेको पनि टिप्पणी गरे।

बैठकमा अध्यक्ष ओलीले ४३ पृष्ठको लिखित राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रतिवेदनमा प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध कुनै अभियान नचलाएको दाबी गरिएको छ ।

त्यस्तै, प्रचण्ड नेतृत्वको सरकार आफ्नालाई चोख्याउने अभियानमा केन्द्रित रहेको, ललितानिवास प्रकरणमा पूर्व प्रधानमन्त्रीहरूलाई र सुन तस्करीमा पूर्वसभामुख महरालाई जोगाएको दाबी प्रतिवेदनमा गरिएको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘पूर्ववर्ती सरकारले भ्रष्टाचार विरुद्ध कुनै ’अभियान’ चलाइरहेको थिएन। बरु आफ्नालाई चोख्याउने’ अभियानमा केन्द्रित थियो। चर्चित ललितानिवास प्रकरणमा सर्वोच्चको निर्देशनात्मक आदेशपछि मात्रै सम्बद्ध प्रकरणमा जोडिएका पूर्व प्रधानमन्त्रीहरूलाई सोधपुछ गरिएको विषय होस् या सुन तस्करीमा नाम मुछिएका पूर्वसभामुखलाई संसदमा दबाबपछि बनेको न्यायिक आयोगको प्रतिवेदनपछि मात्रै बाध्यात्मक रुपमा मुद्दा चलाइएको विषय होस्, नेपाली जनताका मनमा त्यतिबेला प्रदर्शित पाखण्ड र सदाचारको आवरणमा भ्रष्टाचारको संरक्षणका घटनाहरू ताजै छन्। त्यसैले गर्न खोजिएको दाबी झूठा र अर्थहीन छ।’

पर्वतमा ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु

पर्वत । पर्वतको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एकजना महिलाको घटनास्थलमा मृत्यु भएको छ ।

पीपलटारीस्थित तल्लो रोहोटेका धु्रव रेग्मीको घरको ग्यास आइतबार बिहान फेर्ने क्रममा चुहिएर एक्कासी आगलागी हुँदा छिमेकी ७३ वर्षीया वृद्धा दुर्गादेवी पौडेलको जलेर मृत्यु भएको हो । मृतक पौडेल चिया पिउन र दूध लिन रेग्मीको घरमा गएका थिए ।

घरधनी ५२ वर्षीय रेग्मी गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । उनका अनुसार घाइतेको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा पठाइएको छ ।

आगलागीलगत्तै सदरमुकाम कुश्माबाट पुगेको प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट घरमा क्षति पुगेको बताउँदै घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक विष्टले जानकारी दिए । मृतक महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा ल्याइएका प्रहरीले जानकारी दिएको छ ।

मुस्ताङमा करिव ७ करोडको अवैध सामानसहित तीनजना पक्राउ

मुस्ताङ । मुस्ताङमा प्रहरीले करिव सात करोड मूल्य बराबरको अवैध सामानसहित तीन जनालाई पक्राउ गरेको छ ।

भन्सार प्रज्ञापनपत्र र बिल बिजक बिनाको ६ करोड ८१ लाख मूल्य बराबरको अवैध सामानसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

कोरोला नाकाबाट जोमसोम हुँदै बेनीतर्फ जाँदै गरेको ग १ ख ६९९९ नम्बरको ट्रकमा भन्सार प्रज्ञापनपत्र र बिल बिजकबिना अवैध रूपमा सामान ओसारपसार भएको हुन सक्ने भन्ने गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले ट्रक चालक विष्णु थापा, ट्रकधनी घ्याचो गुरुङ र टसी आया गुरुङलाई पक्राउ गरिएको डीएसपी सूर्यबहादुर बोगटीले जानकारी दिएका छन् ।

उक्त ट्रकबाट ३३ प्रकारका सामान बरामद गरिएको छ । पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन, ललितपुर पठाइएको डीएसपी बोगटीले बताए ।

रास्वपाद्वारा परियारको संयोजकत्वमा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ ।

आइतबार रास्वापले संविधानमा आवश्यक संशोधनको सन्दर्भलाई मध्यनजर गर्दै ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

कार्यदलमा कान्तिशिखा धिताल, डा. नन्दन यादव, गणेश कार्की, सोविता गौतम, असिम साह, डा. तोसिमा कार्की, डा. अच्यूतम लामिछाने र मेघ आले रहेका छन् ।

कार्यदलले सातवटै प्रदेशमा आवश्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधानविद्सँग छलफल गरेर दलको तर्फबाट सार्वजनिक धारणा बनाउने छ ।

एमालेको केन्द्रीय कमिटी बैठक सुरु(फोटोफिचर)

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । आइतबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो ।

बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दैछन् । गत असारमा अध्यक्ष ओली प्रधानमन्त्री भएपछि पहिलोपटक एमालेको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।

सत्तारुढ भूमिकामा बस्न लागेको बैठकले कांग्रेससँगको सत्ता सहकार्यबारे पनि समीक्षा गर्दैछ । ओलीको प्रतिवेदनमाथि यस पटक हरेक केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि तीन मिनेटको समय छुट्याइएको छ ।

‘पूर्णबहादुरको सारंगी’ का निर्देशक पौडेलद्वारा नयाँ फिल्म ‘कोशेढुंगा’ निर्देशन गर्ने घोषणा

काठमाडौं । फिल्म ‘पूर्णबहादुरको सारंगी’ का निर्देशक सरोज पौडेलले नयाँ फिल्म निर्देशनको घोषणा गरेका छन् । पौडेलले फिल्म ‘कोशेढुंगा’ निर्देशन गर्ने घोषणा गरेका हुन् ।

आइतबार सामाजिक संजालमार्फत फिल्मको थिम पोस्टर सार्वजनिक गरेका छन् । नरदेवी फिल्मसको प्रस्तुति रहने फिल्ममा हरि महत र प्रेविल कँडेल निर्माता छन्

। दिनेश खड्का कार्यकारी निर्माता छन् । बाबु श्रेष्ठको डीओपी रहने फिल्म सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् ।चलचित्रमा संगीत रिदम कँडेल र आशिष अविरलको रहनेछ ।

पौडेलले भनेका छन्, ‘प्रिय शुभचिन्तक ! चलचित्र पूर्णबहादुरको सारङ्गी प्रति तपाईंहरुले दिएको माया साथ र सपोर्टप्रति ऋणी हुँदै २०८२ सालको लागि दोस्रो भेट लिएर आउँदैछु आशा छ तपाईंहरुको निरन्तर माया पाउनेछु।’

नेपालमा एम-पक्सको सर्तकता तथा निगरानी

-डा. प्रकाश बुढाथोकी

नेपालमा पुनः १८ महिनापछि मङ्कीपक्स देखापरेको छ । तनहुँ स्थायी घर भई पुस ४ गते काठमाडौँ आएका सउदी अरेबियामा कार्यरत ३६ वर्षीय पुरुषमा पुस ५ गते सङ्क्रमण पुष्टि भएको हो । उनको टेकु अस्पतालमा आइसोलेसनमा राखी उपचारपश्चात् डिस्चार्ज भइसकेको छ । पहिलो सङ्क्रमित पुस ३ गते विमानस्थलबाट ट्याक्सी चढेर निजी अस्पताल हुँदै सरकारी सरुवा रोग अस्पताल टेकु पुगे भने अर्का ४४ वर्षीय पुरुष पुस १३ गते एक दिन स्वयम्भुमा आफन्तकहाँ बसी आइतबार टेकु अस्पताल पुगे । उनको उपचार भइरहेको छ । नेपालमा पहिलोपटक एक अस्पतालमा उपचाररत ६० वर्षीया विदेशी महिलाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको नमुनामा मङ्कीपक्स देखिएको स्वास्थ्य मन्त्रालयले २०८० असार १ गते पुष्टि गरेको थियो । 


सन् २०२४ सम्मको अफ्रिकाको प्रतिवेदनमा २० देशबाट करिब ६३ हजार बढी नमुनामा १३ हजार ५७९ बढी पुष्टि, मृत्यृ १२ सय बढी छ । सङ्क्रमण तीब्ररुपमा फैलिएपछि अफ्रिकी सीडिसीले गत अगष्ट १२ मा जनस्वास्थ्य सङ्कटकाल तथा विश्व स्वास्थ्य सङ्गठनले अगष्ट १४ मा विश्व स्वास्थ्य आपत्काल (पिएचआइसी) घोषणा गरेको थियो । एम–पक्स हाम्रा लागि नयाँ मानिए पनि विश्वमा पहिलेदेखि नै छ । अफ्रिकी महादेशमा दशकौं अगाडिदेखि नै देखिरहेको छ । तथापि विशेष चर्चा सन् २०२२ मा युरोपमा फैलन थालेपछि भएको हो । सन् २०२२ मा विश्व स्वास्थ्य सङ्गठनले विश्वभर ७५ देशमा १६ हजारजनामा भाइरस पुष्टि भएपछि मंकी–पक्सलाई विश्वब्यापी जनस्वास्थ्य आपतकाल घोषणा गरेको थियो । हाल मंकी–पक्सलाई एम–पक्सको नामले सम्बोधन गरिन्छ ।


सन् १९५८ मा पहिलोपटक पश्चिम अफ्रिकाको डेनमार्कमा एक दुर्गम भेगमा एक बन्दी बाँदरमा फेला परेको थियो । त्यसपछि अफ्रिकामा विभिन्न प्रकारका लोखर्के, मुसा, न्याउरी मुसा र विभिन्न प्रजातिका बाँदरमा सङ्क्रमण पाइएको थियो । मानिसमा भने पहिलोपटक सन् १९७० मा अफ्रिकी मुलुक कङ्गोमा नौ महिने बालकमा पुष्टि भएको थियो । त्यतिबेला यो रोग १० अफ्रिकी मुलुकमा फैलिएको थियो । सन् २००३ मा आयातित कुकुर हुँदै अमेरिकामा फैलिएको थियो । एसियामा सर्वप्रथम सन् २०१९ मा  सिंगापुरमा नाइजेरियाबाट आएका ब्यक्तिलाई मंकी–पक्स देखिएको थियो । बादरबाट मानिसमा मात्र नभई मानिसबाट मानिसमा सर्न थालेको, धेरैलाई निदान गर्न कठिन भएको, खोप नभएको, सङ्क्रमण तीव्र फैलिँदै गएको तथा अहिलेसम्म सङ्क्रमण नदेखिएका देशमा समेत २१ दिनभित्र देखिनसक्ने भएकाले स्वास्थ्य आपत्काल घोषणा गरिएको सङ्गठनले बताएको छ । सन् २०२२ जुलाईमा युरोप, अमेरिकालगायत देशमा तीव्र रुपमा फैलिई ११० देशमा ८७ हजार बढी सङ्क्रमित र १४० जनाको ज्यान गएको थियो । हालसम्म भारत, नेपाललगायत ११६ देशमा यो रोग देखा परिसकेको छ । 

 के कारणले हुन्छ ?

मङ्कीपक्स भाइरसका क्लेड एक–दुई गरी दुई प्रजाति छन्, यसमा क्लेड–१ बढी सङ्क्रामक र घातक छ । सन् २०२२ मा क्लेड–२ भेरियन्टको सङ्क्रमण७० बढी देशमा फैलिदा एम–पक्सलाई जनस्वास्थ्य सङ्कटका रुपमा घोषणा गरेको थियो । अफ्रिकामा देखिएको भेरियन्ट क्लेड–१ हो, जुन समुदायस्तरमै छ तर हाल फैलिएको नयाँ प्रजाति क्लेड–१ बी सङ्क्रमितहरुमध्ये १० प्रतिशत बढीको मृत्यृ हुने गरेको तथ्याङ्क छ । विश्व स्वास्थ्य सङ्गठनले एउटा बिरामीलाई समेत गम्भीर मानेको छ । मध्य एवं पश्चिमी अफ्रिकी देशको जङ्गली स्थानमा पाइने बाँदरबाट मानिसमा सरेकाले मङ्कीपक्स नामकरण गरिएको हो ।

लक्षण कस्तो हुन्छ ?

सामान्यतः सङ्क्रमण भएको २१ दिनपछि ज्वरो आउने, ज्वरो सुरु भएको एकदेखि तीन दिनभित्रमा छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखा पर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांशपेसी दुख्ने र शरीरका ग्रन्थीहरु बढ्ने गर्छन् । सङ्क्रमणबाट भएको घाउ १४ देखि २१ दिनसम्म रहने र त्यसपछि सामान्यतः आफैँ हराउँछ । बिबिराको प्रकृति चिकनपक्स अर्थात् ठेउला र भिरगीसँग मिल्दोजुल्दो छ ।

सङ्क्रमण भएको एकदेखि २१ दिनसम्ममा एम–पक्सको लक्षणहरु देखिने गर्छ र दुईदेखि चार हप्तासम्ममा अधिकांश सङ्क्रमितले स्वास्थ्य लाभ गरिसक्छन् । ‘न्यु इङ्लैण्ड जर्नल अफ मेडिसिन’मा प्रकाशित अनुसन्धानमा सङ्क्रमितहरुमध्ये सबैभन्दा बढीमा शरिरको बिशेषत गुप्ताङ, मलद्वारमा घाउ, पानीका फोकाहरु देखिएको छ । लक्षण १४ देखि २८ दिनसम्म रहनसक्छ र पछि सामान्यतः आफैँ हराउँछ । एक व्यक्तिबाट अर्काे व्यक्तिमा लक्षण देखिने अवधि दुईदेखि तीन सातासम्म रहन्छ । सङ्क्रमितमध्ये १० प्रतिशतमा स्वास्थ्य जटिलता भएर मृत्यृ हुनसक्छ । गर्भवती, बालवालिका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुमा जटिलता हुनसक्छ । सम्भावित जटिलताहरुमा आखामा सङ्क्रमण र दृष्टि गुम्नु, अन्य जीवाणुको सङ्क्रमण, निमोनिया, मस्तिष्क ज्वर, गर्भ खेर जाने र मृत्यु  पर्दछन् ।

सङ्क्रमण घातक देखिने वर्गमा बच्चा, दीर्घकालिन रोगी, शरिर कमजोर भएका व्यक्ति पर्दछन् । पछिल्लो समय शारिरीक क्रियाकलापमा लागेका मानिसमा रोग देखिने गरेको छ र यौनरोगसँग सम्बन्धित भनेर पनि लिन सकिन्छ । पछिल्लो समयमा पुरुष समलिंगी  समूहमा एउटा मात्रै घाउ दिसा गर्ने भागमा वा लिङ्गमा बिबिरा वा पानीको फोकाजस्तो बिबिरा गुप्ताङ्मा देखिएको छ । यसले सङ्क्रमण भएको स्थानबाट आएको व्यक्तिसँग सम्पर्कमा आउँदा वा नजिकको सम्बन्ध बनाएकोमा एउटा मात्र घाउ, बिबिरा आउँदा पनि एम–पक्स हुनसक्छ ।

सर्ने माध्यम के के हुनसक्छ ?

सम्पर्कमा आएका ५० जनामध्ये एक जनामा सर्ने यो रोग अन्य सङ्क्रामक रोग तथा बिबिरा ठेउला र भिरिङ्गीको बिबिरासँग मिल्दोजुल्दो भएकाले स्वास्थ्यकर्मी झुक्किने सम्भावना बढी छ । रोग सङ्क्रमित व्यक्ति वा पशुसँग नजिकको सम्पर्कमा आउँदा तिनीहरुको थुक, र्याल, घाउ, खटिरा, शरिरबाट निस्कने तरल पदार्थ, दूषित सतह र मांशपेसीबाट सर्ने गर्दछ । भाइरस स्वासनली, आँखा, नाक वा मुख काटिएको, टोकिएको वा फुटेका छालामार्फत पनि सर्नसक्छ । यस्तै बाँदर,मुसा लोखर्केलगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट पनि सर्न र फैलिन सक्छ । सङ्क्रमितसँगको यौन सम्पर्कबाट पनि सर्नसक्छ । तथापि बिर्यबाट सर्ने प्रमाणित भईसकेको छैन । गर्भवतीमा गर्भबाट बच्चामा सर्नसक्छ । फोका, लुगाफाटोलगायतमा सङ्क्रमणहुँदा सर्ने जोखिम बढी रहन्छ । बिफरकै समूहमा पर्ने मंकीपक्स सङ्क्रमित व्यक्तिको घाउ, हाच्छिउँका छिटा र थुक पनि सार्ने माध्यम भएकाले सजिलै एकबाट अर्काेमा सर्नसक्छ । तरल पदार्थ स्वासनली, आँखा, मुख वा नाकबाट छिर्नसक्छ । पानीका फोका देखिएर अस्पताल पुग्ने चलन नभएकाले सर्ने माध्यमका बारेमा जानकारी दिई फैलन नदिने नै राम्रो हो । कोभिडजस्तो छिटै सर्ने र घातक नभएकाले आत्तिहाल्नु पर्देन ।


धेरैजसो लक्षणबाट त्यो बाहेक छालाको जाँच र फोकाको पीसीआरबाट पत्ता लगाइन्छ । फोकाबाट लिइएको नमुनाको मन्किपक्स भाइरल पोलिमरेज चेन रिएक्सन—पीसीआरबाट रोगको निदान गरिन्छ । नमुना छाला, तरल पदार्थ क्रस्ट वा बायोप्सीबाट निकालिन्छ । एन्टिजेन र एन्टिबडी परीक्षणले अर्थाेपक्स भाइरसबीचको फरक पत्ता लगाउन नसक्ने भएकाले उपयोगी हुँदैन ।

उपचार तथा रोकथाम के हो त ?

धेरैजसो मानिसमा यस्ले कुनै जटिलता नल्याउने र दुईदेखि चार हप्तामा आफैँ निको हुन्छ । तथापि, बच्चा, बृद्धबृद्धा र दीर्घरोगीलाई भने च्याप्ने र छाला, आँखा तथा अङ्गको सङ्क्रमण, निमोनिया, इन्सेफलाइटिस जस्ता जटिलता ल्याउने गर्छ । रोगको मृत्यृदर शून्यदेखि ११ प्रतिशत छ । सिकिस्त बिरामीका लागि एन्टिभाइरल औषधि टेकोभिरिम्याट पनि उपलब्ध छ ।

कोरोना सङ्क्रमणमा अपनाइएका मास्कको प्रयोग, हावा ओहरदोहर गर्ने स्थान, साबुनपानीले हातको सरसफाइजस्ता स्वास्थ्य मापदण्ड पालनालाई निरन्तरता दिनपर्छ । सङ्क्रमितले प्रयोग गरेका लुगाफाटा, बिछ्यौनालाई निसङ्क्रमित गरेर मात्र अन्यले प्रयोग गर्नपर्छ । सन् १९८० मा उन्मुलन भएको बिफरका लागि प्रयोग हुने खोप मंकीपक्समा ८५ प्रतिशत प्रभावकारी रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । सङ्क्रमण भएको चार दिनभित्र खोप लिन सकिन्छ र चारदेखि १४ दिनभित्रमा खोप दिनसके सङ्क्रमणको जटिलतालाई धेरै हदसम्म कम गर्न सकिन्छ । बिफरको एन्टिभाइरल औषधि प्रयोग गर्न सकिने भए पनि सजिलै उपलब्ध छैन र खोप नै सफल मानिन्छ ।

बिफर उन्मुलन भइसकेकाले त्यसको खोप बिश्वमा पाउन गाहे छ । बजारमा पर्याप्त मात्रामा नभए पनि अन्कारा नामक खोपको दुई मात्रा लगाउन सकिन्छ । यो खोप सन् २०१९ देखि अमेरिका, क्यानाडा युरोपमा मान्यता प्राप्त छ । उच्च जोखिममा भएका स्वास्थ्यकर्मी, ल्याबमा काम गर्नेले खोप लगाउँदा हुन्छ । बिगतदेखि नै समलिंगी  बढी सङ्क्रमित छन् । बिफरको खोपले मुटुको मांशपेसी सुजन, रोग प्रतिरोधात्मक क्षिमता दबाउने, एचआइभीजस्ता रोग लागेकालाई पनि जोखिम छ भने एक्जेमाका बिरामीलाई प्राणघातक छ । नयाँ पुस्ताका खोप जिन्नेइओसजस्ता खोप ठूला समूहलाई दिन सुरक्षित छन । तथापि, अहिलेका लागि सङ्क्रमण रोक्न रिङ्ग भ्याक्सिनेसन नै पर्याप्त छ । हाल प्रयोगमा आइरहेको एम पक्स भाइरसको सक्रिय भाइरस प्रयोग भएकाले एसिएएम २००० नामक खोपले इम्युनोकम्प्रोमाइज्ड ब्यक्तिमा प्रयोगमा नल्याउन सिडिसीले अनुरोध गरेको थियो । निस्क्रिय भाइरस प्रयोग गरिएको कम असर हुने जेन्नोइज नामक खोप पनि उपलब्ध छ ।

रोकथामका लागि स्मलपक्स सङ्क्रमणविरुद्ध प्रयोगमा ल्याइएको एसिएम २०० र जेनिओज नामक खोप हाल प्रयोगमा ल्याइएको छ । सामान्यतया बिफर उन्मलन भइसकेपछि उपचारका लागि तयार पारिएका खोप र औषधिलाई जैविक हतियारको रुपमा प्रयोग गर्न सरक्षित राखिएको थियो । सिडिसीले बिफरको उपचारमा प्रयोग गरिने दुई एन्टिभाइरल औषधि टिपीओएक्स र सिडोफोभिर मंकीपक्सविरुद्ध प्रयोग गर्न अनुमति समेत दिएको छ । कुनै खोप नभए पनि बिफरको खोप ८५ प्रतिशत प्रभावकारी हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

असुरक्षित यौन सम्पर्कबाट पनि सरेकाले कण्डम प्रयोग गर्न र यौन साथीहरु परिवर्तन गरेकामा लक्षणहरुमा ध्यान दिनपर्छ । भाइरस बोक्नसक्ने जनावरहरु, बिरामी वा मरेका जनावर, बादर, मुसाजस्ता सङ्क्रमणको इतिहास भएकाहरुको सम्पर्कमा आउनु हुँदैन । संदिग्ध जनावर वा मानिससँग सम्पर्कमा आएपछि स्यानिटाइजर वा साबुनपानीले हात धुने गर्नपर्छ । सङ्क्रमित वा संदिग्धको हेरचाह गर्दा पीपीई लगाउने, राम्रोसँग पकाएको मासु मात्र खाने र मङ्कीपक्स सतह र सामग्रीमार्फत पनि सर्नसक्ने भएकाले बिरामी ब्यक्ति वा जनावरको सम्पर्कमा रहेका सामग्रीहरु छुनु हुँदैन । 

विश्वभर मानव आवतजावत कायम रहेकाले रोकथाम सजिलै होला जस्तो पनि देखिदैन । त्यसैमा नेपाल ट्रान्जिट प्वाइन्ट र आवतजावतले निरन्तरता पाइरहेकाले उच्च जोखिममा रहेको हो । सङ्क्रमणङफैलिएका देशबाट आउने तथा पर्यटकको आगमनमा पनि बढोत्तरी नै छ । विदेशबाट आएकालाई कम्तिमा दुईदेखि तीन  हप्ता क्वारेन्टाइनमा बस्ने भने पनि कार्यान्वयनमा छैन । सम्भावित जोखिम भएका देशबाट आउनेमाथि निगरानी राख्ने र क्वारेन्टिनमा राख्नपर्छ । सङ्क्रमितलाई तीन हप्ता आइसोलेसनमा राखी कन्ट्याक्ट ट्रेसिङ अनिवार्य गर्नपर्छ । संक्रमितलाई २१ दिन आइसोलेसनमा राख्नुपर्छ । मंकीपक्सको सङ्क्रमण पुष्टि भई बिरामी भएका वा मरेका जनावरको सम्पर्कमा नजाने, सङ्क्रमितको सम्पर्कमा आएकाले परीक्षण गर्ने, सम्पर्कमा आएको सतह, स्थान वा कोठा निसङ्क्रमण गर्ने, मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने तथा फोहरलाई उचित स्थानमा व्यवस्थापन गर्नपर्छ ।

अन्तमा, सरकारले निगरानी, फोकल अस्पताल र व्यक्ति, परीक्षण, परामर्श र उपचारको व्यवस्था गरेको छ । तथापि, आम नागरिक जिम्मेवार नहुँदा सरकारको तयारी मात्र पर्याप्त हुँदैन । तसर्थ, ज्वरो आएको तीन दिनभित्र अनुहार, हत्केला र पैतालामा डाबर देखिए स्वास्थ्य मन्त्रालयको हटलाइन १११५ मा जानकारी गराउनपर्छ । एमपक्सको शङ्का वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, सङ्क्रमित व्यक्तिलाई घर वा अस्पतालमा आइसोलेसनमा राख्ने, सङ्क्रमित व्यक्तिको हेरचाह गर्नेले पूर्णरुपमा जनस्वास्थ्यका मापदण्डहरु पालना गर्ने, घाउसँग प्रत्यक्ष सम्पर्क हुनसक्ने जोखिममा पञ्जा लगाउने, नियमित रुपमा साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, सङ्क्रमितका लुगा, तौलिया, ओछयान, भाडाहरु तातोपानी, साबुन, डिटरजेन्टले धुने गर्नपर्छ ।

(लेखक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता हुनुहुन्छ)

सुनको मूल्य प्रतितोला एक हजार पाँच सय घट्यो

काठमाडौँ । आइतबार  सुनको मूल्य घटेको छ । आन्तरिक बजारको माग तथा आपूर्ति व्यवस्थापन र अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको उतारचढावका कारण सुनको मूल्य आइतबार प्रतितोला एक हजार पाँच सय घटेको हो ।

शुक्रबार प्रतितोला एक लाख ५३ हजार पाँच सयमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ५२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

शुक्रबारको तुलनामा आज चाँदीको मूल्य भने स्थिर देखिएको छ । आज चाँदी प्रतितोला  एक हजार आठ सय १० रुपैयाँमा कारोबार हुनेछ ।

पार्टी छाडेर गएपछि सराप्ने संस्कार वाहियात होः गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी छाडेर गएपछि सराप्ने संस्कार राम्रो नभएको बताएका छन् ।

पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनालले एमाले परित्याग गरेको घोषणा गरेपछि बास्कोटाले खाएको थालमा चुठ्नु राम्रो नभएको र झन् गएपछि सराप्ने संस्कार वाहियात नै भएको बताएका हुन् ।

बास्कोटाले समाजिक संजालमा लेखेका छन्, ‘मान्छेको वास्तविक परीक्षण सजिलो, स्वार्थपूर्ति र पदीय महत्वकांक्षामा होइन, संकट, त्याग र सङ्घर्षको समयमा हुन्छ । आफ्नै लागि आउनेहरु आए सकेजति लाभ लिए र गए । हाईट र लाईट एमालेकै टोपी, धोती अनि गुन्यु चोली लगाएर बढाए । खाएको थालमा चुठ्नु राम्रो होइन,झन् गएपछि सराप्ने संस्कार वाहियात नै हो।’

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजीबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौँ बाहिरका अधिकांश विमानस्थलमा बिहान हवाई उडान हुनसकेको छैन । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार काठमाडौँ बाहिरका विमानस्थलमध्ये भद्रपुर, भरतपुर, पोखरा र सुर्खेतबाहेक अन्य विमानस्थलमा उडान हुनसकेको छैन ।

काठमाडौँ विमानस्थलमा भने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान नियमित रूपमा सञ्चालन भइरहेको छ । आन्तरिकतर्फ काठमाडौँबाट सिधा उडान हुने कतिपय विमानस्थलमा उडान हुन नसकेको जनाइएको छ ।

बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णले हाल भद्रपुर, भरतपुर, पोखरा र सुर्खेत उडान खुले पनि अन्य विमानस्थल कम भिजीविलिटीका कारण उडान हुनसकेको छैन । तराई क्षेत्रका बाक्लो हुस्सुका कारण विमानस्थल ढिलोगरी खुल्ने गरेको उनले बताए ।

पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा आंशिकदेखि साधरणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार अहिले कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र मधेस प्रदेशको पूर्वी भूभागमा साधरणतया बदली रहनुका साथै कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ ।

“तुलनात्मक रूपमा आजभन्दा भोलि सोमबार बढी बदली रहने र वर्षाको पनि सम्भावना रहेको छ”, मौसमविद् महर्जनले भनिन्, “बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ ।”

उनले पश्चिमी न्यूनचापीय प्रणालीको बढी प्रभाव सोमबार र मङ्गलबार रहने भएकाले बदली र वर्षाको सम्भावना रहेको बताइन् ।

सूर्योदय र सूर्यास्त हुँदाको आनन्द लिन सकिने कोरीडाँडा

वासुदेव पौडेल, गण्डकी । कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी आँखै अगाडि लमजुङ माछापुच्छ्रे, अन्नपूर्ण दोस्रो र चौथो, थ्रि सिस्टर आदि हिमाललाई नजिकबाट नियाल्न सकिने गन्तव्य हो । पर्यटकीय गाउँ सिक्लेसबाट हुगु हुँदै नौलाखर्क, नौटा हुँदै करिब नौ घण्टा उकालो यात्रा गरेपछि समुद्री सतहबाट तीन हजार आठ सय ५० मिटर उचाइमा रहेको कोरीडाँडा पुगिन्छ । यो पदयात्राका क्रममा पर्यटकले अन्नपूर्ण र लमजुङ हिमालबाट समयसमयमा खस्ने हिउँपहिरो अवलोकन गर्दै जङ्गल, परम्परागत गोठ हुँदै उकालो चढ्ने होटल आइसफलका सञ्चालक पर्यटन व्यवसायी कृष्ण गुरुङले बताए ।

सिक्लेसदेखि तासा हुँदै कोरी पुग्ने अर्को पदमार्गसमेत रहेको छ । हुगुमा बिहानको खाजा खाएर हिँडेका पर्यटक दिउँसोको खाना खान नौटाखर्क पुग्छन् । यहाँ चिया पसल छ । कोरी सूर्योदय र सूर्यास्त हेर्ने उपयुक्त गन्तव्यसमेत रहेको उनको भनाइ छ ।

कोरी जाने मार्गमा रहेको पाखामा गुरासैगुराँसको जङ्गल छ । वसन्तयाममा यहाँ रङ्गिएर मनमोहक बन्छ भने जेठतिर खर्कहरूमा फुल्ने मनमोहक फूलले जोकोहीलाई लोभ्याउने गरेको छ ।

प्राचीनकालमा कोरी सिक्लेस हुँदै मनाङ र लमजुङ जाने परम्परागत मार्ग प्रचलनमा रहँदा बटुवाहरू बास बस्ने थलो र गोठालाको खर्क थियो । नुन लिन जाने मार्गका रूपमा पनि यसले चासो र चर्चा कमाएको थियो । हाल चारवटा होटल रहेको कोरीमा पछिल्लो समय हाइकिङ र बिदामा घुमघामका लागि आन्तरिक पर्यटक आउने क्रम निकै बढिरहेको होटल व्यवसायी होम गुरुङले बताए ।

‘कोरी हिमाललाई जरोदेखि टुप्पैसम्म एकसाथ अवलोकन गर्न पाउने गन्तव्य हो’, उनले भने, ‘पदयात्राका क्रममा ठाडो उकालोका कारण थकित बनेका पदयात्रीलाई यहाँ आइसकेपछि देखिने दृश्यले सबै थकान बिर्साउने गरेको छ ।’ सिक्लेसबाट तसा हुँदै कोरी पुगेका पर्यटक पुरानै बाटो, नौटा हुगु– कपुचे–हुगु– सिक्लेस, ठुलोलेक–गुरुङ देउराली–तिमाङ, ठुलोलेक–क्होलासोथार–करापुडाडा–याङजाकोट अथवा ताङतिङ भएर यात्रा गर्ने विकल्प छ ।

कपुचे हिमतालसँगै कोरी, क्होलासोँथर र करापुडाँडालाई समेटिएकाले यो पदमार्गलाई ‘फोरके ट्रेक’का रूपमा समेत लिन सकिने पर्यटन व्यवसायीहरू बताउँछन् । कोरीको पदयात्रामा जाने पर्यटक पोखराबाट ४१ किलोमिटर दूरीमा रहेको पर्यटकीय गाउँ सिक्लेसबाट त्यसतर्फको यात्रा सुरु गर्दछन् ।

सिक्लेसमा आएका पर्यटकले यहाँस्थित गुरुङ सङ्ग्रहालय, शान्ति स्मारक, सिक्लेस पार्क, हिमालको दृश्यावलोकन, गुरुङ जातिको मन्दिर, मौलिक संस्कृति, वेशभूषा, झाँकी आदिको अवलोकन गर्न पाउने मादी –१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले बताए । कोरीको पर्यटकीय सम्भावनालाई उजागर गर्न मादी गाउँपालिकाले प्राथमिकतामा राखेको उनले जानकारी दिए । उनका अनुसार यहाँको पुरुयुमबाट कोरीसम्म केबुलकार सञ्चालन गर्नका लागि सम्भाव्यता अध्ययनसँगै सार्वजनिक सुनुवाइसमेत भइसकेको छ ।

सिक्लेसबाट अन्नपूर्ण हिमालको काँखमा समुद्री सतहबाट दुई हजार चार सय २१ मिटर उचाइमा रहेको कपुचे ताल अवलोकन गर्दै कपुचेमा नै बस्ने वा हुगुमा आएर बस्ने विकल्प छ । त्यहाँबाट पर्यटक कोरीतर्फको यात्रा तय गर्ने उनले जानकारी दिए । कोरीबाट छ हजार नौ सय ८८ मिटर उचाइको लमजुङ हिमाल, सात हजार नौ सय ३७ मिटर उचाइको अन्नपूर्ण दोस्रो, छ हजार नौ सय ९३ मिटर उचाइको माछापुच्छ्रे हिमाल र आठ हजार एक सय ५६ मिटर उचाइको मनास्लु हिमाल आँखै अगाडि देख्न सकिन्छ ।

कोरी पदयात्रासँगै हिमाल अवलोकनको उपयुक्त गन्तव्य रहेको बताउने पर्यटक पथप्रदर्शक गङ्गा घले आफूले यस पदमार्गमा धेरै पर्यटकको समूहलाई लिएर आइसकेको बताए । ‘यहाँ आइसकेपछि जोकोही पर्यटक हिमालसहितको मनोरम दृश्य देखेर रमाउने गरेका छन्’, उनले भने, ‘जरैदेखि टुप्पोसम्म एकसाथ हिमाललाई नियाल्न पाउनु नै यहाँको प्रमुख विशेषता हो ।’

करिब १० वर्ष अघिसम्म सेताम्य हुने हिमाल अहिले भने खुइलिएको देख्दा आफूलाई धेरै चिन्तित बनाएको बताउँदै उनले पहिला सेताम्य हिमाल देखेर गएका विदेशी पर्यटक दोहोर्‍याएर आउने क्रममा हिमाल खुइलिएको देख्दा चिन्ताले रुने गरेको अनुभव सुनाए । ‘पहिले यहाँबाट देखिने सेताम्य हिमालमा अहिले हिउँ नै छैन’, उनले भने, ‘पछिल्लो १० वर्षयता हिमाली क्षेत्रमा तापमान वृद्धिको धेरै असर परिसकेको छ ।’

हिमाललाई बचाउने नसके हाम्रो पर्यटनमा पनि गम्भीर असर पर्ने बताउँदै उनले जथाभावी प्लाष्टिकजन्य वस्तु नजलाउन र वातारण प्रदूषण हुने कुनै किसिमका गतिवधि नगर्न सुझाए । कोरीडाँडासहित यस क्षेत्रको पदयात्रा प्रवर्द्धन गर्ने उद्देश्यका साथ गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशले गुरुङ सम्पदा पदमार्गका रूपमा यहाँको प्रवर्द्धन र विकासलाई जोड दिएको सङ्घका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङले बताए ।

सङ्घको आयोजना एवं नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय र मादी गाउँपालिकाको सहयोगमा पुसको दोस्रो साता सिक्लेसबाट कपुचे, कोरी, क्होलासोथार, कर्पुडाँडा हुँदै याङ्जाकोटसम्मको पदयात्रा सम्पन्न गरिएको कार्यक्रम संयोजकसमेत रहेका उनले बताए ।

प्रवर्द्धनात्मक कार्यक्रममा अवसरमा कोरी र त्यहाँको पर्यटकीय सम्भावना, आवश्यकता आदिबारे स्थलगत पहिचान गरिएको बताउँदै उनले त्यहाँ विद्युत्, खानेपानी, सञ्चारलगायत अत्यावश्यकीय पूर्वाधार विकास गर्नुपर्ने देखिएको बताए ।

‘कोरीमा पर्यटकीय आकर्षण बढ्दो छ’, उनले भने, ‘राज्यले उक्त स्थानमा तत्काल बिजुली, खानेपानीका साथै सञ्चार सुविधा पुग्नेगरी व्यवस्था गरिनु अपरिहार्य देखिएको छ ।’

सोमबारदेखि वर्षा र हिमपात हुने

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा बदली रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो आंशिकदेखि साधारणतया बदली रहने र भोलि सोमबार देशका पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार अहिले कर्णाली, लुम्बिनी, गण्डकी, बाग्मती र मधेस प्रदेशको पूर्वी भू–भागमा साधरणतया बदली रहनुका साथै कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । आज दिउँसो देशको पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि साधरणतया मौसम बदलीदेखि सामान्यतया वर्षा रहने छ ।

आज राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनेछ । ‘तुलनात्मक रूपमा आजभन्दा भोलि सोमबार बढी बदली रहने र वर्षाको पनि सम्भावना रहेको छ,’ उनले भने, ‘बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिमका पहाडी र उच्च हिमाली क्षेत्र र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।’ पश्चिमी न्यूनचापीय प्रणालीको बढी प्रभाव सोमबार र मङ्गलबार रहने भएकाले बदली र वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

काठमाडौँको न्यूनतम तापक्रम बढ्यो

शनिबारको तुलनामा आज काठमाडौँको न्यूनतम तापक्रम केही वृद्धि भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौँको न्यूनतम तापक्रम सात दशमलव दुई डिग्री सेल्सियस मापन भएको छ । शनिबार पाँच दशमलव नौ डिग्री सेल्सियस मापन भएको थियो ।

राति काठमाडौँको आकाशमा बादल लागेको हुनाले न्यूनतम तापक्रम थोरै बढेको मौसमविद् महर्जनले जानकारी दिए । न्यूनतम तापक्रम बढेकाले काठमाडौँमा आज तुलनात्मक रूपमा बिहान कम चिसो महसुस भएको छ । गत मङ्सिर २९ गते काठमाडौँको न्यूनतम तापक्रम दुई दशमलव पाँच डिग्री सेल्सियस पुगेको थियो ।

आफूविरुद्ध नबोल्न पूर्वपोर्नस्टारलाई पैसा दिएको मुद्दामा ट्रम्पविरुद्ध अदालतले सजाय सुनाउँदै

बीबीसी । अमेरिकामा एकजना न्यायाधीशले डोनल्ड ट्रम्पविरुद्ध मुख नखोल्न पैसा दिएको मुद्दामा १० जनवरीमा न्यूयोर्कमा सजाय सुनाइने बताएका छन् । राष्ट्रपतिको शपथ लिने मितिको १० दिनअघि त्यस्तो सजाय सुनाइन लागिएको हो।

न्यूयोर्कका न्यायाधीश ह्वान मर्चनले ट्रम्पलाई जेल, जेलबाहिर रहेर चालचलन सुधार्ने मौका वा जरिवाना नतोक्ने बरु ‘निःसर्त छाड्ने’ सङ्केत गरेका छन् । उनले आफ्नो आदेशमा राष्ट्रपति–निर्वाचित ट्रम्प सुनुवाइका लागि प्रत्यक्ष वा भर्चुअल माध्यममार्फत् उपस्थित हुनसक्ने बताएका छन् ।

ट्रम्पले राष्ट्रपतिमा भएको आफ्नो जितलाई आफूविरुद्धका मुद्दा खारेज गर्न प्रयोग गर्न खोजेका थिए । न्यायाधीशको आदेशबारे प्रतिक्रिया जनाउने क्रममा राष्ट्रपति–निर्वाचित ट्रम्पले त्यसलाई ‘अवैध राजनीतिक हमला’ भन्दै त्यो ‘बदनियतपूर्ण परिहास’ बाहेक केही नभएको बताएका छन् ।

ट्रम्पको टोलीले सजाय तोक्ने काममा अघि बढ्ने न्यायाधीशको निर्णयको आलोचना गर्दै “कानुनहीन“ मुद्दा तत्काल खारेज हुनुपर्ने बताएको छ ।

गत मे महिनामा पूर्वपोर्नस्टार स्टोर्मी ड्यान्यल्सलाई झूटो व्यापारिक विवरण तयार पारेर एक लाख ३० हजार अमेरिकी डलर दिएको बारे ३४ वटा कसुरमा उनी दोषी ठहरिएका थिए ।

ती अभियोग ट्रम्पका पूर्व वकिल माइकल कोएनले सन् २०१६ को चुनावअघि ड्यान्यल्सलाई ट्रम्पसँग भएको भनिएको यौन सम्बन्धबारे चुप रहनका रकम दिएको विषय लुकाउने प्रयास सम्बन्धी छन् ।

ट्रम्पले आफूले कुनै गलत काम नगरेको भन्दै दोष स्वीकारेका छैनन् । उनले उक्त मुद्दा सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा आफ्नो प्रचार अभियानलाई बिथोल्ने प्रयास स्वरूप ल्याइएको तर्क गरेका छन् ।

पूर्वआइजिपी खनालद्वारा एमाले परित्याग

काठमाडौं । पूर्वआइजिपी सर्वेन्द्र खनालले नेकपा एमाले परित्याग गरेका छन् । आइतबार सामाजिक संजालमार्फत खनालले पार्टी परित्याग गरी आफू स्वतन्त्र रुपमा रहने जानकारी दिएका हुन् ।

उनले भनेका छन्, ‘हजुरहरु मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आवद्ध छैन। म स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु। म देश र समाज हितका लागि आफ्नो समय परिस्थिति अनुकुल सधैं सक्दो कार्यहरु गरिरहने छु ।’

३० वर्षे सेवा अवधिका कारण अवकाश भएपछि उनी नेकपा एमाले प्रवेश गरेका थिए । त्यसपछि खनाल काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका थिए । उनी रास्वपाका शिशिर खनालसँग पराजित भए ।

पछि तनहुँमा भएको उपनिर्वाचनमा पनि खनालले उम्मेदवारी दिएका थिए । त्यहाँ पनि खनाल पराजित भएका थिए । पछिल्लो समय उनी एमालेका कुनै कार्यक्रम तथा भेलामा सहभागी हुन छाडेका थिए ।

क्याम्पसको लापरबाहीले रोकियो ४९ विद्यार्थीको नतिजा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको सिद्धान्त क्याम्पसका विद्यार्थीको नतिजा क्याम्पसको लापरबाहीका कारण रोकिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रापुरबाट सम्बन्धन लिएर सञ्चालनमा आएको क्याम्पसका स्नातक आठौँ सत्रहान्त (सेमिस्टर)का विद्यार्थीको नतिजा रोकिएको हो । 

क्याम्पसको वन विज्ञान सङ्कायमा अध्ययनरत ४९ जना विद्यार्थीको नतिजा नआउँदा विद्यार्थीहरू समस्यामा परेका छन् । विद्यार्थी आशिष थपलियाले आठौँ सत्रहान्तको थेसिस (शोधपत्र) को रिजल्ट रोकिएको बताए ।

‘हामीसँगै भर्ना भएका वन विज्ञानतर्फका हेटौँडा र कटारीका विद्यार्थीहरूको नतिजा पुस १६ गते आए पनि हाम्रो रोकिएको छ’, उनले भने, ‘यस विषयमा क्याम्पस प्रमुखसँग कुराकानी गर्न खोज्दा क्याम्पस प्रमुखसँग सम्पर्क भएको छैन ।’

क्याम्पसको लापरबाही र ढिलासुस्तीले आफूहरूको रिजल्ट रोकिएको भन्दै यसले लोकसेवा लड्न तथा वैदेशिक अध्ययनमा जान समेत असर पुगेको थपलियाले उल्लेख गरे ।

विद्यार्थीको नतिजा प्रकाशन रोकिएको विषयमा सिद्धान्त क्याम्पसका प्रमुख एवम् प्रबन्ध निर्देशक छवि कँडेलले विश्वविद्यालयको गल्तीका कारण विद्यार्थीको नतिजा रोकिएको बताए ।

‘हामीले आन्तरिक मूल्याङ्कनको नम्बर पठाउने अन्तिम दिनमा विद्यार्थीहरूको नम्बर इमेल गरेर पठाएका थियौँ’, उनले भने, ‘विश्वविद्यालयले इमेल नहेरी अरू दुई क्याम्पसको रिजल्ट निकाल्दा हाम्रो रोकिएछ ।’

विद्यार्थीहरूको नतिजा रोकिएको विषयमा विश्वविद्यालयसँग कुराकानी भइरहेको भन्दै कँडेलले चाँडै नतिजा प्रकाशन हुने बताए । 

आठौँ सत्रहान्तका विद्यार्थीहरूसँग क्याम्पसले अतिरिक्त शुल्कसमेत माग्दै आएको विद्यार्थीहरूको गुनासो छ । विद्यार्थी प्रेमकृष्ण साहले भर्ना गर्ने बेलाबाट क्याम्पसमा धेरै समस्या रहेका भन्दै भने, ‘हामी विश्वविद्यालयको आठौँ ब्याच तथा सिद्धान्त क्याम्पसको दोस्रो ब्याचका विद्यार्थी हौँ । क्याम्पसले प्रयोगात्मक परीक्षा नलिने तर शुल्क लिने गरेको छ । विद्यार्थीसँग भर्ना हुने बेलामा मागेको धरौटी रकमबारे पनि अन्योलता सिर्जना भएको छ ।’

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट बिएस्सी फरेष्ट्रीतर्फको सम्बन्धन लिएर शैक्षिक सत्र २०७५ बाट सिद्धान्त क्याम्पसले अध्ययन–अध्यापन गराउँदै आएको थियो । क्याम्पसमा बिएस्सी फरेष्ट्रीतर्फ दोस्रो ब्याचका रूपमा शैक्षिक सत्र २०७६–२०८० समूहमा भर्ना भएका विद्यार्थीहरूले थेसिसको रिजल्ट रोकिँदा आफूहरूलाई मानसिक तनाव परेको गुनासो गरेका छन् ।

बाँके राष्ट्रिय निकुञ्जमा बाघको आहारा बढाउन घाँसेमैदान क्षेत्र बढाइँदै

बाँके । बाघ संरक्षणका लागि विसं २०६७ मा स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा घाँसेमैदान क्षेत्र बढाउन लागिएको छ । नेपालकै कान्छो निकुञ्जका रुपमा घोषणा भएको निकुञ्जमा बाघको आहार बढाउनका लागि क्षेत्र बढाउने तयारी गरिएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले निकुञ्जभित्र रहेको करौंतीघाँसे मैदानको क्षेत्रलाई थप ५० हेक्टर क्षेत्रफलमा बढाउने तयारी गरिएको जानकारी दिए ।

“हामीसँग हालसम्म चार सय हेक्टर क्षेत्रफलमा घाँसेमैदान रहेका छन् । यहाँ रहेका २५ वटा बाघका लागि घाँसेमैदान क्षेत्र बढाउन सकिएमा बाघलाई आहार जुटाउन सहज हुन्छ । त्यही उद्देश्यले करौंतीघाँसे मैदानको ४० देखि ५० हेक्टर क्षेत्रफल बढाउने तयारीमा छौँ”, उनले भने ।

कँडेलले बाघको सङ्ख्या बढेसँगै संरक्षणमा चुनौती थपिएको बताए । उनले बाघ संरक्षणका लागि आहारा प्रजातिका जनावरको सङ्ख्या बढाउनेतर्फ पनि निकुञ्जले ध्यान केन्द्रित गरेको जानकारी दिए । यसका लागि मृग, चित्तल, चौका, बँदेल, रतुवालगायत वन्यजन्तुको संरक्षण गरिने कँडेलको भनाइ छ ।

उनका अनुसार एउटा बाघले वर्षमा औसतमा ५० वटा सिकार गर्छ भने एकपटकमा १५ देखि ४० किलोसम्म मासु खाने गर्छ । जुन एक हप्तासम्मका लागि हुन्छ । त्यसैले बाघ बढेसँगै तिनको सुरक्षा, निकुञ्जमा मानव प्रवेश नियन्त्रण, बाघको आहारा प्रजातिका वन्यजन्तुको सङ्ख्या थप वृद्धिलगायत चुनौती रहेको उनले बताए ।
निकुञ्जका सूचना अधिकृत मन्दीप पँगेनीले करौंतीघाँसे मैदानमा बाघको सहजताका लागि तीनवटा सोलार जडित पानीपोखरी र एउटा मचान बनाइएको बताए ।

बाँकेमा सन् २००८ देखि बाघ गणना सुरु भएको थियो । सो समयमा निकुञ्जमा बाघ देखिएको थिएन तर हाल यहाँ बाघको सङ्ख्या २५ पुगेको छ । सन् २०१३ मा दोस्रो बाघ गणनामा चार, सन् २०१८ मा भएको तेस्रो गणनामा २१ पुगेकामा त्यसयता बाघको सङ्ख्या ह्वात्तै बढेको निकुञ्जका प्रमुख कँडेलले जानकारी दिए ।

नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धताअनुरूप बाघको बासस्थान र जैविकमार्ग संरक्षण गर्ने उद्देश्यले विसं २०६७ असार २८ गते बाँके निकुञ्ज स्थापना गरिएको थियो ।

निकुञ्जले बाँके, दाङ र सल्यानको पाँच सय ५० वर्ग किलोमिटर क्षेत्रलाई समेटेको छ । यस निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिम कोहलपुर सुर्खेत राजमार्ग, उत्तर चुरे पर्वत र दक्षिणपूर्व–पश्चिम राजमार्ग रहेको छ ।

यहाँ जैविक विविधताको दृष्टिले महत्वपूर्ण मानिएको यस निकुञ्ज क्षेत्रमा आठवटा इकोसिष्टम, एकसय २४ वनस्पति प्रजाति, ३५ प्रजातिका स्तनधारी, तीन सयभन्दा बढी प्रकारका चराका प्रजाति, ५८ प्रजातिका माछा, २२ सरीसृप तथा छ प्रकारका उभयचरहरू पाइन्छन् । ११ प्रजातिका दुर्लभ तथा सङ्कटापन्न स्तनधारी र ५० प्रजातिका अन्तर्राष्ट्रियस्तरमै दुर्लभ चराहरू निकुञ्जभित्र रहेका छन् ।

बाँके, दाङ र सल्यान जिल्लाको तीन सय ४३ वर्ग किलोमिटर क्षेत्रलाई समेटेर यहाँ मध्यवर्ती क्षेत्र पनि घोषणा गरिएको छ । यो निकुञ्ज पश्चिममा बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएकाले ठूला वन्यजन्तुका लागि एकदमै महत्वपूर्ण बासस्थानका रूपमा रहेको छ ।

तीन पुस्ताको सहकार्यमा ‘सपनीमा’ तयार

काठमाडौँ । नेपाली चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ का लागि ‘सपनीमा’ बोलको गीत तयार भएको छ । उक्त गीतमा शब्द र सङ्गीत करुण थापाले दिएका छन् भने गायिका इन्दिरा जोशी र गायक करण परियारको स्वर रहेको छ । 

सङ्गीतकार थापा २० वर्षपछि यही गीतमार्फत पाश्र्व सङ्गीतमा फर्किएका हुन्  । सन् २००४ मा ‘बादल वर्षा बिजुली’ बोलको गीतपछि चलचित्रका लागि पहिलोपटक गीतसङ्गीत तयार गरेको उनले बताए ।

“मैले चलचित्रको गीत लेखन र सङ्गीतको काम छाड्नुको कारण उक्त समयमा गीतसङ्गीतलाई हल्का रूपमा प्रयोग गर्ने प्रचलन मुख्य थियो, त्यसैले मैले व्यर्थका गीतहरू लेख्न र सिर्जना गर्न सकिन”, उनले भने । 

उनलाई ‘बादल वर्षा बिजुली’ झैँ गीत तयार गर्न धेरै चलचित्रकर्मीले आग्रह गरेका छन् तर सङ्गीतकार थापा तयार भएनन् । त्यसपछि गीतिसङ्ग्रहमा मात्र काम गरेका सङ्गीतकार थापा पुनः चलचित्रमा काम गर्न तयार हुनुको कारण भने निर्देशक दीपेन्द्र गौचन रहेको बताउँछन् ।

चलचित्रको विषयवस्तु बुझेपछि र गीतको प्रसङ्ग थाहा पाएपछि सङ्गीतकार थापाले शब्द र सङ्गीत सिर्जना गरे । त्यसपछि उनले चलचित्रको विषयअनुसार पुरुष गायनमा परियार र महिला गायनमा जोशीलाई छनोट गरेको जनाइएको छ ।

“म नेपाल आइडल नामक साङ्गीतिक प्रतियोगितामा पुग्दा नै गायक परियारको गायनबाट प्रभावित थिए । महिला स्वरका लागि मलाई गायिका जोशी उपयुक्त लाग्नुभयो”, सङ्गीतकार थापाले भने । 

यसरी गीतमा तीन पुस्ताको सहकार्य सम्भव भएको उनले बताए । गायिका जोशीले यो सहकार्यमार्फत आफूले सिक्ने अवसर पाएको बताइन् ।

उनले भनिन्,“मलाई आफूभन्दा अग्रज र आफैँ निर्णायक रहेको प्रतियोगितामार्फत उदाएका अनुजसँग काम गर्न पाउँदा निकै खुसी लागेको छ । चलचित्रको विषयअनुसार नै सहरिया युवतीका लागि मैले स्वर दिएकी हुँ ।” 

गायक परियारले आफ्नो पाश्र्व गायनमा उदाउने सपना पूरा भएको बताए । “म चलचित्रका गीतमा स्वर दिन चाहन्थे, यो सपना पूरा भएको छ । मैले न्याय गर्न सकेको छु भन्ने लागेको छ । आफ्नै गुरु गायिका जोशी र अग्रज सङ्गीतकार थापासँग काम गर्न पाउनु मेरा लागि अवसर र चुनौती दुवै थियो । मैले सङ्गीतमा देखेको एउटा सपना पूरा भएकामा खुसी छु”, उनले भने । 

चलचित्रका निर्देशन गौचनले विषयवस्तुअनुसार गीतको अडियो र श्रव्यदृश्य तयार गरिएको बताए ।

वृत्तचित्र ‘उजेली’, ‘हाम्रो मुमिन’ लगायत निर्देशन गरेर परिचित  निर्देशक गौचनले ठूलो पर्दाका लागि पहिलोपटक चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ निर्देशन गरेका हुन् । उनले पहाडी समुदायको केटी र मधेशी समुदायको केटाको रहनसहन तथा मेलमिलापको विषयवस्तुलाई पर्दामा ल्याएको बताए । यो चलचित्र आगामी माघ ११ गते प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।  

यू–१९ महिला टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले यू–१९ महिला टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा गरेको छ । शनिबार क्यानले १५ सदस्यीय टोली घोषणा गरेको हो । क्यानले पूजा महतोको कप्तानीमा टोली घोषणा गरेको छ ।

प्रतियोगित जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा आयोजना हुँदैछ । नेपालले पहिलो पटक यू–१९ महिला टी–२० विश्वकपमा स्थान सुरक्षित गरेको हो ।

गत नोभेम्बरमा यूएईमा सम्पन्न विश्वकप एसिया छनोट प्रतियोगितामा उपाधि जितेको थियो ।नेपाल यू–१९ महिला टी–२० विश्वकपमा समूह ‘डी’ मा परेको छ। यस समूहमा नेपालसँगै अष्ट्रेलिया, बंगलादेश, र स्कटल्याण्ड रहेका छन् ।

सर्वोच्च बारको अध्यक्षमा मेघराज पोखरेल विजयी

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा मेघराज पोखरेल विजयी भएका छन् । शनिबार सम्पन्न भएको निर्वाचनबाट महेश कुमार थापालाई पराजित गर्दै उनी विजयी हुन् ।

यस्तै उपाध्यक्षमा अम्बर बहादुर राउत, सचिवमा रमण कुमार कर्ण, सहसचिवमा पुन्देवी महर्जन, कोषाध्यक्षमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।

त्यस्तै महिला सदस्यमा शशी बस्नेत तथा खुला सदस्यमा दुर्गा मोहन श्रेष्ठ, इन्द्र शेखर खड्का, प्रदीप कुमार श्रेष्ठ, नागेश्वर प्रसाद चौधरी, निर्मल प्रसाद उपाध्याय, ओम कृष्ण श्रेष्ठ, प्रमोद रेग्मी र प्रदीप कुमार राजवंशी निर्वाचित भएको निर्वाचन अधिकृत देवी रेग्मी पोखरेल विजयी भएका छन् ।

तीन ठूला दलले सरकारको नेतृत्व गर्दा देश र जनतालाई केही दिन सकेनन्ः विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशको तीन ठूला दलले नेपालको नेतृत्व गर्दैगर्दा देश र जनतालाई केही दिन नसकेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा महासचिव विप्लवले तीन ठूला दलले के दिए भनेर प्रश्नबाहेक केही नदेखिएको बताएका छन् । उनले माओवादी केन्द्रले तीन पटक प्रधानमन्त्री हुदाँ पनि जनतालाई के दिन्छ भन्ने कुरा प्रश्न नै रहेको बताए ।

उनले भने, ‘नेपाली काङ्ग्रेस ६ सालदेखि देशको नेतृत्व गर्ने मौका पाएको छ र धेरैपटक प्रधानमन्त्री पनि भइसकेको छ । अहिले पनि नेपाली काङ्ग्रेस सरकारमा छ । तर काङ्ग्रेसले नेतृत्व गरेपछि नेपाली जनतालाई के दिन्छ भन्ने कुरामा स्पष्टता छैन । नेकपा एमालेको नेतृत्वमा सरकार छ तर एमालेले देशलाई के दियो र के दिने चाहना छ भनेर सोच्ने हो भने प्रश्न मात्र देखिन्छ । माओवादी केन्द्रले पनि एकताको कुराहरु गरिरहेकै छ तर तीन पटक प्रधानमन्त्री हुँदा पनि जनतालाई के दिन्छ भन्ने कुरा प्रश्न नै छ ।’

अघिल्लो सरकारले अघि बढाएका अर्थतन्त्र सुधारका योजना कार्यान्वयनका लागि सरकारलाई दवाव दिन प्रचण्डको आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको आर्थिक अवस्थामा परिवर्तन ल्याउन अर्थतन्त्रमा व्यापक सुधार गर्ने समय आएको बताएका छन् ।

शनिबार नेपाल राष्ट्रिय व्यवसायी महासंघको सातौं वार्षिक साधारण सभा तथा तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले लगानीमैत्री वातावरण, उत्पादन वृद्धि र व्यापार व्यवसायको प्रवद्र्धनमार्फत अर्थतन्त्रमा व्यापक सुधार गर्न ध्यान केन्द्रित गर्ने बेला आएको बताएका हुन् ।

उनले परिवर्तित राजनीतिक व्यवस्थाअनुकूल जनताको अवस्था परिवर्तन गर्न आर्थिक क्षेत्रमा व्यापक सुधार अनिवार्य भएको बताए ।

सामाजिक न्यायमा आधारित आर्थिक समृद्धिले मात्रै जनताको जीवनस्तर माथि उठाउन सम्भव भएको स्पष्ट गर्दै उनले देशको सम्पूर्ण ध्यान आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा केन्द्रित गर्ने बेला आएको बताए ।

दैनिक १८ घण्टासम्म भित्तामा लोडसेडिङको तालिका टाँसेर आफ्नो उद्योग व्यवसाय सञ्चालनको समय पर्खनुपर्ने जर्जर अवस्थालाई अन्त्य गर्दै आफू दोस्रोपटक प्रधानमन्त्री हुँदा लोडसोडिङमुक्त उज्यालो नेपालको थालनी गरिएको स्मरण गरे ।

प्रचण्डले आफूले पछिल्लो पटक सरकारको नेतृत्व गर्न पाउँदा सुशासन र सामाजिक न्यायसँगै आर्थिक समृद्धिलाई महत्वपूर्ण राष्ट्रिय एजेण्डाको रुपमा स्थापित गरेर यसलाई राज्यको अभियानकै रुपमा अघि बढाएको बताए ।

अघिल्लो सरकारले अघि बढाएका अर्थतन्त्र सुधारका व्यवस्थित पहल र योजनाहरु कार्यान्वयनका लागि सरकारलाई दबाब दिन व्यवसायीलाई आग्रह गरे ।

प्रधानमन्त्री कप महिला क्रिकेटमा अछामको सान्त्वना जित

बैतडी । प्रधानमन्त्री कप महिला टी–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगितामा अछामले सान्त्वना जित निकालेको छ । प्रतियोगिताबाट बाहिरिसकेको अछामले सान्त्वना जित निकाल्ने क्रममा डोटीलाई २४ रनले पराजित गरेको हो । 

दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा पहिला ‘ब्याटिङ’ गरेको अछामले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ३५ रन बनायो । अछामका रबिना साउदले अर्धसतकीय पारे खेल्दै अविजित ५२ रन जोडिन् । जारी प्रतियोगितामा साउद अर्धसतक हिर्काउने पहिलो खेलाडी बनिन् । डोटीका रेश्मी विष्टले दुई विकेट लिइन् । 

जवाफी ब्याटिङ गरेको डोटी १७ दशमलव चार ओभरमा एक सय चार रनमा अलआउट भयो । डोटीका अल्फा श्रेष्ठले ३९ रनको योगदान गरिन् । अछामका लागि रबिना साउद र वबिता धामीले समान तीन÷तीन विकेट लिए । यो खेलमा रबिना ‘प्लेयर अफ दी म्याच’ चुनिएकी छिन् । 

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजना र बैतडी जिल्ला क्रिकेट सङ्घको सहआयोजना यही पुस १९ गतेदेखि सुरु भएको प्रतियोगिता पुस २५ गते सम्पन्न हुनेछ । 

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू छनोट गरेर प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको टोली तयार गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले बताए । प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता आगामी माघ पहिलो सातादेखि धनगढीमा हुँदैछ ।

एकैदिन लागुऔषधसहित कैलालीमा १० जना पक्राउ

सुदूरपश्चिम । कैलाली जिल्लामा एकैदिन लागुऔषधसहित १० जना पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलाली मातहतबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिकाको विभिन्न पाँच ठाउँका साथै टीकापुर क्षेत्रबाट गरी झण्डै साढे आठ ग्राम खैरो हिरोइन र धनगढीको केदार टोलबाट झण्डै ६९ ग्राम चरेशसहित दश जनालाई पक्राउ गरेको हो।

पक्राउपर्नेमा कञ्चनपुर जिल्ला, कृष्णपुर नगरपालिकाका मोहन राना, प्रदीप राना, अनिल राना, कैलाली जिल्ला धनगढी उपमहानगरपालिकाका प्रभुराम राना, अमर राना, बाहाली राना, दीपक राना, बैतडी जिल्ला घर भई हाल धनगढी बस्ने खेमराज महरा, टीकापुर नगरपालिकाका विक्रम बुढा र मिलन टमटा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कविन्द्रसिंह बोहराले जानकारी दिए।

‘बेलाबखत प्रहरीले यो कर्डन एण्ड स्वीप अभियान चलाउँछ,’ उनले भने, ‘कैलाली लागुऔषधको केन्द्र बन्न थालेको छ, सबै अभिभावकले आ–आफ्ना छोराछोरीको आनीबानीका बारेमा सचेतता आपनाउन निकै जरुरी भइसकेको छ।’

प्रहरीले लागुऔषधको सेवन, ओसारपसार रोकथामका लागि यो भित्रिनसक्ने सम्भावित ठाउँको निगरानी गरेर यसको जालो तोड्ने प्रयास गरिरहेको जनाएको छ।

समाजमा हुने गरेका अधिकांश आपराधिक घटनामा लागुऔषध सेवनकर्ताको कुनै न कुनै रुपले संलग्नता देखिँदा सुरक्षा चुनौती पनि थपिएको प्रहरीको भनाइ छ।

साथै कैलालीको प्रहरी टोलीले धनगढीको ट्रफिक चोक, फूलबारी बस बिसौनी, टीकापुरको डाँडाबोझी, क्षेत्रबाट भन्सार छली गरी ल्याइएका चार लाख ११ हजार सातसय ५० मूल्य बराबरका व्यापारिक मालसामान पनि बरामद गरेको छ।

माओवादी केन्द्रको केन्दीय समिति बैठक आइतबारदेखि सुरु हुँदै

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आइतबारदेखि सुरु हुँदैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार दिउँसो १ बजेदेखि बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

यसअघि बसेको स्थायी समिति बैठकले अध्यक्ष दाहालबाट ‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्पः आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस हुने टुङ्गो लगाएको थियो । बैठकको प्रारम्भमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गर्ने र लगत्तै उहाँबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल हुनेछ । 

केन्द्रीय समिति बैठक सञ्चालनको ‘मोडालिटी’ टुङ्गो लगाउन आइतबार बिहान ८ बजे स्थायी समिति बैठक बस्ने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । बैठकमा चार सय नौ पूर्ण केन्द्रीय सदस्य, दुई सय पाँच वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगबाट ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारी गरी एक सय २५ जनाको समेत सहभागिता रहनेछ ।

एमाले केन्द्रीय कमिटी बैठक आइतबारदेखि

काठमाडौँ । नेकपा एमालेको  केन्द्रीय कमिटी बैठक आइतबारदेखि सुरु हुँदैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । 

यसअघि प्रतिवेदनमाथि समूहगत छलफल हुने गरेकामा यसपटक भने प्रत्येक केन्द्रीय सदस्यलाई बेग्लाबेग्लै धारणा राख्ने व्यवस्था मिलाइएको पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए । प्रत्येक सदस्यलाई करिब तीन मिनेटको समय उपलब्ध गराउने तयारी गरिएको छ । 

बैठकको प्रारम्भमा अध्यक्ष ओलीले पछिल्लो राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा मन्तव्य दिनेछन् । उनीबाट प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमा आगामी कार्ययोजना, पार्टी सङ्गठन सुदृढीकरण, वर्तमान सरकार गठन, यसअघिका सरकारमा साझेदारी, सरकारका प्राथमिकता, संविधान संशोधन, आर्थिक सुधार, सहकारीलगायत विषय समेटिएका उपाध्यक्ष पाण्डेले बताए । 

बैठकमा केन्द्रीय सदस्य र आयोगका प्रमुखलगायत सहभागी हुनेछन् । दुई दिनभित्र बैठक सक्ने तयारी छ । यही पुस १८ गते एमाले सचिवालय बैठकले केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन पारित गरेको थियो ।

अध्यक्ष ओली नेतृत्वमा सरकार गठन भएपछि पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । संसद्को हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा बस्न लागेको बैठकले संविधान संशोधनलगायतका ‘एजेण्डा’मा ठोस धारणा तय गर्ने बताइएको छ । 

सहकारीसम्बन्धी अध्यादेश रवि लक्षितः रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले हालै ल्याएको सहकारीसम्बन्धी अध्यादेश पार्टी सभापति रवि लामिछानेलक्षित रहेको निष्कर्ष निकालेको छ ।

शनिबारबाट सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकमा सहकारीसम्बन्धी अध्यादेश र संसदमा दर्ता भएका विधेयकमाथि छलफल भएको थियो ।

छलफलमा नेताहरुले पार्टी सभापति लामिछानेलाई अप्ठ्यारो पार्ने गरी अध्यादेश ल्याइएको बताएका थिए ।

अध्यादेशमार्फत सरकारले आफू र आफू निकटकालाई बचाउने र सहकारीलाई अझ धराशायी बनाउने प्रक्रियामा भूमिका खेलेको बैठकको निष्कर्ष रहेको रास्वपाका नेता गणेश श्रेष्ठले बताए । दुई दिनसम्म चल्ने बैठकमा संविधान संशोधनका बारेमा पनि छलफल हुनेछ ।

पिंगलास्थानमा युवती मृत्यु प्रकरणः सँगै बसेका युवक मृत फेला

काठमाडौं । काठमाडौँको गौशालास्थित होटलमा मृतक फेला परेकी सुस्मिता खड्काको हत्या आरोपी युवक पनि मृत फेला परेका छन् ।

सुस्मितालाई ढोका थुनेर फरार भएका युवक ओखलढुंगामा मृत फेला परेका हुन् । काठमाडौँको कागेश्वरीकी सुस्मिता होटलभित्रै मृत फेला परेकी थिइन् ।

उनीसँगै बसेका ओखलढुंगाका २३ वर्षीय देवबहादुर थापा शनिबार ओखलढुंगाको सुनकोसी गाउँपालिका–३, सिस्नेरीमा झुण्डिएको अवस्थामा मृत फेला पारेका ओखलढुंगाका डीएसपी कृष्ण खड्काले जानकारी दिएका छन् । युवती मृत फेला परेपछि प्रहरीले हत्याको आशंका गरेको थियो ।

देवबहादुर केही समय पहिले मात्रै जापानबाट नेपाल आएका थिए। उनी पुनः जापान जाने तयारीमा थिए । सुस्मिता पनि जापानिज भाषा पढिरहेकी थिइन् ।

निर्वाचनमा लोकप्रिय मत ल्याउनेले सरकार चलाउन पाउनुपर्छः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।

शनिबार पार्टीको गण्डकी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा महामन्त्री थापाले अहिलेको निर्वाचन प्रणालीले कुनै दलको बहुमत आउने अवस्था नरहेकाले संविधान संशोधन आवश्यक रहेको बताएका हुन् ।

उनले अहिले आज मन्त्री भएको नेताले भोलि रहन्छु कि रहन्न भन्ने त्रासमा रहनुपर्ने अवस्था रहेको बताए । महामन्त्री थापाले निर्वाचनमा लोकप्रिय मत ल्याउनेले सरकार चलाउन दिनुपर्ने बताए । त्यसैले निर्वाचन प्रणालीलाई संशोधन गर्नुपर्ने उनको भनाई थियो ।

फरक प्रसंगमा उनले सहकारी ठगीमा कांग्रेसका जोसुकै नेता जोडिए पनि कारबाही हुने बताए । उनले अब पार्टी सधैं गाली खाएर नबस्ने भन्दै शुद्धीकरणमा लाग्नुपर्ने बताए ।

उनले भने,‘निर्दोष कोही नफसुन् भन्ने हो तर दोषीलाई उम्किनु दिनुहुन्न । सधैं गाली खाएर बस्ने होइन, पार्टीमा शुद्धीकरणको अभियान चलाउनुपर्छ ।’

उनले आमनागरिकसँग कुरा गर्दा भ्रष्टाचारसँग जोडिएको कुरा आउने गरेको बताए । महामन्त्री थापाले २०६२/०६३ पछि मात्र जोडेर हेर्दा ४० वटा काण्ड रहेका भन्दै त्यसकाबारेमा निष्पक्ष छानबिन गर्नुपर्ने बताए ।

उनले भने, ‘ यसो २०६२/०६३ पछि मात्र जोडेर हेर्दा करिव ४० वटा काण्ड रहेछन् । मरो प्रस्ताव के भने यी ४० काण्डलाई एकैठाउँमा लेखौं । गिरिबन्धु काण्ड, वाइडबडी काण्ड, ललिता निवास काण्ड सबै लेखौं । अनि अख्तियारलगायतसँग छलफल गरौं अहिले भएका संयन्त्रले सक्दैन भने शक्तिशाली आयोग बनाएर स्वतन्त्र छानबिन गराउने भए पनि गराऔं ।’