`

यस्तो छ सहरी विकास मन्त्रालयको वित्तीय प्रगति विवरण

काठमाडौं । सहरी विकास मन्त्रालयले वित्तीय प्रगति विवरण सार्वजनिक गरेको छ । मंगलबार मन्त्रालयले वित्तीय प्रगति विवरण सार्वजनिक गरेको हो ।

चालु आर्थिक वर्ष २०८१/८२ मा मन्त्रालयको जम्मा ९१ अर्ब ३५ करोड २३ लाख बजेट रहेकोमा संघतर्फ ६८ अर्ब २५ करोड ८३ लाख ३९ हजार रहेको थियो । जसमध्ये चालुतर्फ ४ अर्ब ४२ करोड ३८ लाख २३ हजार र पूँजीगत तर्फ ६३ अर्ब ८३ करोड ४५ लाख १६ हजार विनियोजित छ ।

हालसम्म चालुतर्फको खर्च २५.२३ प्रतिशत रहेको छ भने पूँजीगततर्फको खर्च १७.४३ प्रतिशत रहेको छ । समग्रमा हालसम्म जम्मा १२ अर्ब २४ करोड ३ लाख ८७ हजार अर्थात् १७.९३ प्रतिशत खर्च भएको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता नारायण मैनालीले जानकारी दिए ।

मन्त्रालयले २०८२ वैशाख २४ गते भित्र कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाईट जडान कार्य सम्पन्न गर्ने बताएको छ ।

‘संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप प्यारापेट निर्माण कार्य र फ्लडलाईट जडान कार्यको २०८१ फागुनमा सम्झौता सम्पन्न भई २०८२ वैशाख २४ गतेभित्र कार्य सम्पन्न गर्ने गरी निर्माण कार्य अघि बढिरहेको छ,’ मन्त्रालयका प्रवक्ताा मैनालीले भने ।

त्यस्तै, मन्त्रालयले गत असोज ३ बाट धरहरा सञ्चालन भएपछि २ करोड ३७ लाख बढी राजस्व संकलन गरेको पनि जनाएको छ । यो अवधिमा हालसम्म १ लाख ३० हजार भन्दा बढीले धरहरा भ्रमण गरेका छन् ।

यस्ता छन् मन्त्रायलका अन्य भौतिक प्रगतिहरूः

-राष्ट्रिय शहरी नीति स्वीकृत भएको छ 

–स्थानीय पूर्वाधार विकास विभागबाट त्रिवेणी सुस्ता बहुत्तरी झोलुङ्गेपुल निर्माण कार्य सम्पन्न भई संचालन
–झापास्थित दमक व्यापारिक कम्पलेक्सको निर्माण सम्पन्न

–काठमाडौं उपत्यका विकास प्राधिकरणबाट सार्वजनिक जग्गा संरक्षण अन्तर्गत कीर्तिपुरमा चम्पादेवी पार्क र भैंसेपाटी प्लाजामा दुई वटा पार्क निर्माण सम्पन्न

–बागमती सुधार आयोजना अन्तर्गत यस आवमा २०० मीटर नदी तटबन्ध, ३५० मीटर सडक कालोपत्रे र १५० मीटर मुख्य ढल निर्माण

–नगर विकास कोषबाट शहरी खानीपानी सरसफाई आयोजना अन्तर्गत ११ वटा आयोजना निर्माण सम्पन्न भएको र १६ वटा आयोजना स्तरउन्नति

–शहरी उत्थान तथा जिविकोपार्जन सुधार आयोजना अन्तर्गत नगरपालिकाहरुको समावेशी आर्थिक वृद्धि र जीवनयापनमा सुधार ल्याउने गरी एसीयाली विकास बैक सँग सम्झौता भई पोखरा, जनकपुर, देवदह, सेनामैना, लुम्बिनी सांस्कृतिक, सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकामा कार्यक्रम अघि बढेको

आठ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा २० वटा गैँडा मृत फेला

चितवन । चालु आर्थिक वर्षको आठ महिनामा २० वटा गैँडा मृत भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज तथा यस आसपासका क्षेत्रमा ती गैँडा मृत भेटिएका हुन् ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार चालु आर्थिक वर्षमा मृत भेटिएका गैँडाहरु प्राकृतिक कारणले मरेका हुन् । बाघ तथा गोहीको आक्रमणमा परेर, एकापसमा जुधेर, बिरामी भएर, दलदलमा फसेर र बुढो भएर मरेका हुन् ।

यस आर्थिक वर्षमा चोरी–सिकारीका कारण भने गैँडा नमरेको उनले जानकारी दिए । गत आर्थिक वर्षमा २१ वटा गैँडा मरेका थिए । मरेका गैँडामध्ये १८ वटा प्राकृतिक कारणले हो भने दुईवटा चोरी–सिकारीले र एउटाको कारण खुल्न नसकेको उनले बताए ।

मगरका अनुसार आर्थिक वर्ष २०७९/८० मा चितवन राष्ट्रिय निकुञ्जमा २२ वटा गैँडा मरेका थिए । जसमध्ये २० वटा कालगतिले, एउटा विद्युतीय करेन्टबाट र एउटा चोरी–सिकारीले मारेका थिए ।

प्राकृतिक कारणले धेरै गैँडा मरेपछि वन तथा वातावरण मन्त्रालयले मृत्युको कारण खोजी गर्न समिति बनाएको थियो । पछिल्ला वर्षहरुमा प्राकृतिक कारणबाट हुने गैँडाको मृत्यु दर घट्दै आएको छ । आव २०७५/७६ मा प्राकृतिक कारणले मात्र ४३ गैँडा मरेका थिए । त्यसपछिका वर्षहरुमा प्राकृतिक कारणले हुने मृत्युदर घट्दै आएको छ ।

सन् २०२१ को गणनाअनुसार नेपालमा गैँडाको सङ्ख्या ७५२ रहेको छ । एकसिङ्गे गैँडाको सङ्ख्या सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६९४ रहेको छ । बर्दियामा ३८, शुक्लाफाँटामा १८ र पर्सामा तीन गैँडा रहेको तथ्याङ्क छ । चालु आर्थिक वर्षमा गैँडा गणना कार्यक्रम रहेपनि स्थगन भएको छ ।

चीनको छेन्दुबाट पोखरामा व्यावसायिक उडान सुरु

पोखरा । चीनको छेन्दुबाट आएको सिचुवान एयरको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

मंगलबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरको जहाज अवतरण गरेको हो । यो जहाजले आज पोखराबाट छेन्दुका लागि पहिलोपटक व्यवसायिक चाटर्ड उडान गर्दैछ ।

पोखरा पर्यटन परिषद्को नेतृत्वमा पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास, सिचुवान एयरलाइन्स र नेपालस्थित चाइनिज एसोसिएसनसँगको सहकार्यमा पहिलो पटक पोखराबाट चीनको सिचुवान प्रान्तको छेन्दुमा व्यावसायिक ‘चार्टर्ड’ उडान गर्न लागिएको हो ।

लामो समयदेखि पोखरेली जनसमुदायको माग तथा सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासबाट सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्षसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको अवस्थामा पहिलोपटक सिचुवान एयरलायन्सको जहाजबाट १२६ यात्रु छेन्दु जाँदैछन् ।

उडान नियमित गर्ने प्रयास स्वरुप सिचुवान एयरलायन्सले छेन्दुबाट तीनवटा चार्टर्ड उडान गर्ने सुनिश्चित गरिसकेको पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाले जानकारी दिएका छन् ।

चार्टर्ड उडानका लागि एयरलायन्सले हाल भाडादर ६२ हजार रुपैयाँ तय गरेको छ । एयरलायन्सले तीनवटा चाटर्ड उडान पछि नियमित उडानको भाडादरसहित उडान तालिका ल्याउने जनाएको छ । चीनस्थित चाइना ट्राभल्स इन्टरनेशनल छेन्दुले सुरुवाती उडानमा सहकार्य गरिरहेको छ ।

यो उडानले पोखरा र समग्र गण्डकी प्रदेशकै पर्यटन चलायमान हुने विश्वास लिइएको उनको भनाइ छ । उनका अनुसार आगामी तीन महिनासम्ममा करिब एक हजार २५० चिनियाँ पर्यटक चीनको सिचुवान प्रदेशबाट सिधा पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।

पोखराबाट पहिलोपटक हुन लागेको व्यवसायिक चाटर्ड उडानमा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने, पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, पर्यटन व्यवसायी र सञ्चारकर्मी सहभागी हुँदैछन् ।

को हुन् नेपाल प्रहरीको नयाँ आइजिपी बनेका दीपक थापा ?

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

गृहमन्त्रालयमा आज आयोजित विशेष समारोहमा गृहसचिव गोकर्णमणि दुवाडीले नवनियुक्त प्रहरी महानिरीक्षक थापालाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थापालाई नेपाल प्रहरीको ३१औँ आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो ।

दर्ज्यानी चिह्न ग्रहण गर्दै महानिरीक्षक थापाले समाजमा देखिने राम्रा र नराम्रा, खराब र असल अनेक पात्र र पक्षको प्रतिबिम्बबाट नेपाल प्रहरी पनि मुक्त नरहेको भन्दै आवश्यक सुधार गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले आफूले प्रहरीको सेवामा प्रवेश गरेदेखि नै निष्ठापूर्वक काम गरेको भन्दै सङ्गठनको नेतृत्व गर्दा पनि निष्ठापूर्वक काम गर्ने प्रतिवद्धता जनाए । उनले सङ्गठनभित्र कार्यक्षमताको उचित मूल्याङ्कन गर्ने र पूर्वाग्रही भावना नराखी समन्वयात्मक भूमिकामा लाग्ने बताए ।

नवनियुक्त प्रहरी महानिरीक्षक थापालाई दर्ज्यानी चिह्न प्रदान गर्दै गृहसचिव दुवाडीले विभिन्न अपराधका घटनाबाट नयाँ चुनौती उत्पन्न भएकाले यसलाई सहज रुपमा समाधान गर्ने विश्वास व्यक्त गरे । उनले मुलुकको शान्ति सुरक्षा कायम गर्न मन्त्रालयबाट सदैव सकारात्मक सहयोग हुने बताए ।

यसअघिका नेपाल प्रहरीको ३० औँ आईजीपी वसन्तबहादुर कुँवरको कार्यकाल सोमबार राति सकिँएको छ । कुँवरको कार्यकाल सकिनुअघि सरकारले थापालाई नयाँ नेतृत्वका रूपमा चयन गरेको हो।

थापाका प्रतिस्पर्धीको रूपमा एआइजीद्वय टेकबहादुर तामाङ र सुदीप गिरी थिए। दुई प्रतिस्पर्धीभन्दा वरिष्ठतामा अगाडि रहेकाले थापालाई सरकारले प्रहरी महानिरीक्षक बनाएको हो।

थापा २०२८ मंसिर ८ गते, सूर्यवनायक नगरपालिका-८ सिपाडोल, भक्तपुरमा जन्मदिएका थिए। उनी २०५२ साल भदौ १९ गते प्रहरी निरीक्षक बनेका थिए।

उनी २०६३ साल भदौ ८ गते प्रहरी नायब उपरीक्षक बनेका थिए। २०७२ साउन ८ गते प्रहरी उपरीक्षक बनेका थापा २०७५ चैत ६ गते प्रहरी वरिष्ठ उपरीक्षक भए।

२०७९ असार १७ गते प्रहरी नायब महानिरीक्षक बनेका थापा त्यही वर्ष चैत ६ गते प्रहरी अतिरिक महानिरीक्षक भएका थिए।नेपाल प्रहरीको विभिन्न निकायमा काम गरिसकेका थापा अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रमुख छन्।

उनले कानुनमा एलएलबी, राजनीति शास्त्रमा एमए र जनप्रशासनमा एमपिए गरेका छन्। उनी नेपाल प्रहरी प्रधान कार्यालय प्रबन्ध निर्देशनालय, प्रशासन विभाग र काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुखसमेत भइसकेका छन्।

साथै, उनले बागमती प्रदेश प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, तथा विभिन्न जिल्ला प्रहरी कार्यालयहरूमा काम गरेका छन्।

थापाले संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत सुडान र लाइबेरियामा पनि सेवा गरिसकेका छन्। थापा प्रहरी संगठनको विद्यमान ३० वर्षे सेवा अवधि अनुसार ६ महिना प्रहरी महानिरीक्षकको कुर्सीमा हुनेछन्।

तर, गृह मन्त्रालयले प्रहरी सम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ। उक्त विधेयक कार्यान्वयनमा आएको खण्डमा थापाको कार्यकाल छ महिना थपिने छ।

थापा राजनीतिक सन्तुलन मिलाएर कार्यसम्पादन गर्ने छवि बनाएका अधिकृत भनेर चिनिन्छन्। उनी आक्रामक प्रहरी अधिकृत पनि हुन्। थापालाई मंगलबार गृह मन्त्रालयमा दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्ने कार्यक्रम छ। सो कार्यक्रम सकिएपछि थापा प्रहरी प्रधान कार्यालयमा पुगेर कार्यभार सम्हाल्ने छन्।

कुँवरले दुई वर्ष लामो कार्यकालमा धेरै काम गरे पनि सरुवा(बढुवाजस्ता महत्वपूर्ण कार्यहरूमा राजनीतिक शक्तिकेन्द्रसँग नतमस्तक भएको आरोप खेपेका थिए। छ महिनाको छोटो कार्यकालमा थापाले प्रहरी संगठनलाई कुन बाटोमा डोर्‍याउँछन् हेर्न बाँकी छ।

प्रहरीमा व्यापक सुधार आवश्यक छः नवनियुक्त आईजीपी थापा

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले प्रहरीमा व्यापक सुधार आवश्यक रहेको बताएका छन् ।

मंगलबार गृह मन्त्रालयमा दज्र्यानी चिन्ह लगाएपछि उनले प्रहरी भित्रको सुधार आफैंबाट सुरू गर्ने बताएका हुन् ।

उनले भने, ‘प्रहरी कस्तो छ भनेर हामीले लुकाउनुपर्ने केही छैन। ती पक्ष लुकाएर वा दबाएर प्रहरीमा सुधार हुन्छ भन्नेतर्फमा म विश्वास पनि गर्दिनँ । सुधारको प्रारम्भ कोही र कसैबाट होइन म भित्रैबाट नै आवश्यक छ भन्ने स्वीकार गरी अघि बढ्नुको विकल्प छैन।’

उनले मुलुकमा शान्ति सुरक्षाको कार्यान्वयन र मानव अधिकारको प्रत्याभूति गर्न आफू प्रतिवद्ध रहेको बताए । थापालाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले आईजीपीमा बढुवा गरेको थियो ।

मुआब्जा नपाएपछि जलविद्युत आयोजना बन्द

खोटाङ । यहाँको केपिलासगढी गाउँपालिकाका स्थानीयले जलविद्युत् आयोजना सञ्चालन गर्ने सम्बन्धित कम्पनीले जमिन उपयोग गरेबापत मुआब्जा नदिएपछि आयोजना नै बन्द गराएका छन् ।

लामो समयदेखि मुआब्जा नपाएको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका स्थानीयवासीले सुङ्देल र दिप्सुङको सिमाना स्थित रावाखोलाबाट उत्पादन गरिएको तीन मेगावाट क्षमताको माथिल्लो रावाखोला जलविद्युत् आयोजनाको ड्याम (बाँध)बाट खोलातर्फ पानी फर्काएर आयोजना बन्द गराएका हुन् ।

रावाखोलामा रावा इनर्जी डेभलभमेन्ट कम्पनी लिमिटेड, हलेसी ऊर्जा कम्पनी लिमिटेड र लोवर मिड रावाखोला हाइड्रोइलेक्ट्रिक प्रोजेक्टले फरक–फरक तीन ठाउँमा जलविद्युत् आयोजना सञ्चालन गरेको छ । केपिलासगढी गाउँपालिका–४ बाक्सिला, ६ दिप्सुङ र ७ सुङ्देलका स्थानीयले उक्त जलविद्युत् आयोजना सञ्चालक कम्पनीबाट मुआब्जा नपाएको गुनासो गरेका हुन् ।

जलविद्युत् आयोजनाको ट्रान्समिसन र पाइपलाइन विस्तारका क्रममा प्रयोग गरिएको जग्गाको मुआब्जा तथा क्षतिपूर्ति स्थानीयवासीले हालसम्म प्राप्न नगरेपछि चरणबद्ध आन्दोलन सुरु गरिएको निजी तथा सार्वजनिक सम्पत्ति संरक्षण सङ्घर्ष समितिका संयोजक माइतीराज राईले बताए ।

“रावाखोलामा सञ्चालित तीनवटै जलविद्युत् आयोजना कम्पनीले जग्गाधनीहरुलाई क्षतिपूर्ति दिएका छैनन् । उनीहरुले स्थानीयलाई ठगी गरेका छन्”, उनले भने, “जनता ठगीमा परेको विषयमा स्थानीय सरकारलाई समेत जानकारी गराएका छौँ । अहिलेसम्म कुनै सुनुवाइ भएको छैन । तोकिएको समयमा सम्बन्धित जग्गाधनीलाई मुआब्जा उपलब्ध नगराएपछि निर्धारित कार्यक्रमअनुसार पानी खोलातर्फ फर्काएर आयोजना बन्द गरिएको छ ।”

निर्माणाधीन हलेसी ऊर्जा कम्पनी लिमिटेड जलविद्युत् आयोजनाको ट्रान्समिसनलाइनले बाक्सिलाका ३८ जनासहित ४९ घरको जग्गा प्रयोग गरेको छ । जलविद्युत्को पोल र तार टाँग्ने क्रममा स्थानीयको करिब पाँच हजार २०० मिटर जग्गा प्रयोग भएको सङ्घर्ष समितिले जनाएको छ ।

पाइपलाइन विस्तारका क्रममा सुङ्देलका २४, बाक्सिलाका दुई र दिप्सुङका एक जनाको गरी ३८ कित्ता जग्गा प्रयोग गरिएको छ । रावा इनर्जी डेभलपमेन्ट प्रालिले विद्युत्को काम सम्पन्न भएपछि मुआब्जा दिने भन्दै ट्रान्समिसनको काम गरेको तर हालसम्म मुआब्जा नदिएको जग्गाधनीको गुनासो छ ।

रावा इनर्जी डेभलपमेन्ट प्रालिले विद्युत्को काम सकिएपछि सबै जग्गाधनीलाई क्षतिपूर्ति दिने र क्षति पुगेको जग्गा कम्पनीको नाममा सार्नेगरी पाइपलाइनको काम सुरु गरेको थियो । तर, हालसम्म सो सहमति कार्यान्वयन नभएको सङ्घर्ष समितिको भनाइ छ ।

रावा इनर्जी डेभलपमेन्ट प्रालिले खोलामा दश प्रतिशत पानी नछाडेको सङ्घर्ष समितिको आरोप छ । २।५ मेगावाटको विद्युत् उत्पादनको तयारी गरेको हलेसी ऊर्जा कम्पनी लिमिटेडले सर्वोच्चको आदेश विपरीत कृष्णमायाँ खत्रीको जग्गामा पाइपलाइनको काम गरिरहेको छ ।

निर्माणाधीन हलेसी ऊर्जा कम्पनी लिमिटेडले विद्युत् उत्पादनको प्रक्रिया पूरा नगरी छ कित्तामा रहेको ३८४ रोपनी सरकारी जग्गा प्रयोग गरेको सङ्घर्ष समितिले जनाएको छ । हलेसी ऊर्जाले सुङ्देलमा जलाशय र बाक्सिलामा पावरहाउस बनाएर विद्युत् उत्पादन गर्ने तयारी गरेको छ ।

मुआब्जा विवाद प्रकरणलाई लिएर स्थानीयवासीले जलविद्युत् आयोजना नै बन्द गराएपछि आज दुवै पक्षलाई गाउँपालिकाको कार्यालयमा छलफलका लागि बोलाइएको गाउँपालिका प्रमुख समीर राईले जानकारी दिए ।

अस्पताल तथा स्वास्थ्य संस्था दर्ता, नवीकरण, स्तरोन्नति ‘अनलाइन’बाटै

भक्तपुर । बागमती प्रदेशका १३ जिल्लामा सञ्चालित सम्पूर्ण अस्पताल तथा स्वास्थ्य संस्थाहरु दर्ता, नवीकरण तथा स्तरोन्नतिका लागि ‘अनलाइन’ बाटै आवेदन दिन सकिने भएको छ ।

हिजो सोमबार बाग्मती प्रदेश सरकारले आफ्नो प्रदेशभित्रका स्वास्थ्य संस्थाहरुको दर्ता, नवीरकण तथा स्तरोन्नतिका लागि अनलाइन सेवा शुभारम्भ गरेको बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापा मगरले जानकारी दिए ।

निजीस्तरका अस्पताल तथा स्वास्थ्य संस्थाहरु दर्ता, नवीकरण र स्तरोन्नति हुनुअगाडि सम्बन्धित निकायबाट हुने अनुगमनमा आर्थिक चलखेलको आरोप लागेपछि बाग्मती प्रदेश सरकारले अनलाइनबाटै आवेदन दिने गरी सेवा सञ्चालनमा ल्याएको हो ।

स्वास्थ्यमन्त्री थापाले भने, “बाग्मती प्रदेशभित्रका सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरु दर्ता तथा नवीकरण सुरु गरेका छौँ, यसका लागि अब कुनै झन्झट व्यहोर्नु पर्दैन ।” उनले अनलाइनबाट आवदेन दिएपछि मापदण्ड पूरा भए नभएको हेरेर दर्ता नवीकरण र स्तरोन्नति गरिने बताए । मापदण्ड पूरा नगरेका स्वास्थ्य संस्थाहरुको हकमा मन्त्रालयले ६ महिनाको समय थप दिने, ६ महिनाभित्र पनि मापदण्ड पूरा नगर्नेहरुको दर्ता, नवीकरण नगरिने र सेवा बन्द गर्नेरगराउने प्रक्रियामा जाने बताए ।

मन्त्री थापाले स्वास्थ्य सेवा ऐन पारित गरेसँगै बाग्मती प्रदेशभित्रका सरकारी अस्पतालहरुले नर्सिङ कलेज सञ्चालन गर्न खुल्ला भएको बताए । मन्त्री थापाले अस्पतालको सेवालाई चुस्त र दुरुस्त बनाउने ई–हाजिरी सेवा सुरु गरेर बाग्मती प्रदेश मन्त्रालयबाटै दैनिक निरीक्षण गर्ने व्यवस्था गर्न लागिएको बताए ।

मन्त्रालयको सचिव डा सुमित्रा गौतमले निजी अस्पताल एवं स्वास्थ्य संस्थाहरुलाई सहजीकरणसँगै नियमनमा कडाइ गर्ने तयारी गरेको बताइन्।

मन्त्रालयले निजी स्वास्थ्य संस्थाहरुको नियमनलाई पनि चुस्त–दुरुस्त बनाउन सेवाहरुको मूल्य निर्धारण गर्ने, १० प्रतिशत शय्या गरिबहरुका लागि दिएरनदिएको हेर्ने र अनिवार्य गर्न कडाइ गर्ने, सबै अस्पताल एवं स्वास्थ्य संस्थाहरुको मन्त्रालयबाटै निरीक्षण गर्न सक्ने व्यवस्था गर्ने गरी तयारी गरेको बताइन् ।

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको झण्डै दुई लाख

नेपाली बजारमा मंगलबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ७५ हजार २०० रुपैयाँ कायम छ ।

मंगलबार सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ७४ हजार १०० रुपैयाँ किनबेच भएको थियो ।

नेपाली बजारमा यसअघि छापावाल सुनको उच्च मूल्य यही चैत १ गते एक लाख ७४ हजार ५०० रुपैयाँ कायम थियो ।

मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ५० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला दुई हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।

आईजीपी थापालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

गृह मन्त्रालयमा मंगलबार बिहान गृहसचिव गोकर्णमणि दुवाडीले आईजीपी थापालाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।

बसन्तबहादुर कुँवर अवकासमा गएसँगै सोमबार बसेको मन्त्रिपरिषदको बैठकले थापालाई आईजीपी नियुक्त गरेको थियो । थापा २०५२ भदौ १९ गते प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका हुन् ।

काठमाडौंबाट २५ करोड रुपैयाँसहित दुई जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट ठूलो परिमाणमा नगदसहित दुई जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले २५ करोड रुपैयाँबराबरको रकम बरामद गरेको हो ।

ना१ख १६५२ नम्बरको एउटा ट्रकबाट उक्त रकम बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको रकममा नेपाली, अमेरिकी डलर र युरोलगायत छन् ।

‘जसको काम उसको प्रशंसाको संस्कृतिबाट किन विमुख हुँदैछ, नेपाली समाज ?’

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले केन्द्रीय सरकारको नेतृत्वको आलोचनाको रोग काठमाडौं महानगरबाट अन्यत्र पनि सरेको बताएका छन् ।

मंगलबार सामाजिक संजालमार्फत महासचिव पोखरेलले केन्द्र सरकारको बजेटबाट सम्पन्न योजनाको फोटो राखेर स्थानीय जनप्रतिनिधिको प्रशंसा गर्ने प्रचलन अन्यत्र पनि सरेको बताएका हुन् ।

उनले लेखेका छन्, ‘केन्द्र सरकारको बजेट कार्यक्रमबाट सम्पन्न योजनाको फोटो राखेर सो ठाउँको स्थानीय जनप्रतिनिधिको प्रशंसा र केन्द्रीय सरकारका नेतृत्वको आलोचनाको रोग काठमाडौं महानगरबाट अन्यत्र पनि सरेछ ! ? जसको काम उसको प्रशंसाको संस्कृतिबाट किन विमुख हुँदैछ, नेपाली समाज ?’

गाजामा इजरायली आक्रमण, कम्तीमा दुईसय जनाको मृत्यु

बीबीसी । इजरायली लडाकु विमानहरूले गाजाका विभिन्न भागमा युद्धविराम सुरु भएयताकै ठूला हवाई हमलाहरू गरेका छन् । गाजाका अधिकारीहरूले उक्त हमलामा कम्तीमा २०० जनाको मृत्यु भएको बताएका छन् ।

ज्यान गुमाउनेमा उक्त भूभागमा रहेका हमासका उच्च सुरक्षा अधिकारी मोहम्मद अबु वत्था पनि रहेको बताइएको छ । आक्रमणमा उच्च प्रहरी अधिकारी र हमासका राजनीतिक व्यक्तिहरूलाई पनि निसाना बनाइएको थियो । एउटा विज्ञप्तिमा इजरायलले हमासले पहिलो चरणको युद्धविराम लम्ब्याउने प्रस्ताव अस्वीकार गरेकाले आफूले उक्त समूहका निसानाहरूमा आक्रमण गरिरहेको बताएको छ ।

प्यालेस्टिनी समूहले सोझै दोस्रो चरणको युद्धविराममा जानुपर्ने धारणा राख्दै आएको थियो । हमासलाई दबाव दिन इजरायलले गाजामा मानवीय सहायता र विद्युत् आपूर्ति कटौती गरेको छ ।

हमासले इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले युद्धविराम सम्झौता उल्ट्याएको आरोप लगाएको छ । उसले सो हमलाले बाँकी इजरायली बन्धकको भविष्यलाई अन्योलपूर्ण बनाएको पनि जनाएको छ ।

इजरायली अधिकारीले आक्रमण आवश्यक रहुन्जेल जारी रहने र हवाई हमलामा मात्रै सीमित नरहने बताएका छन् । इजरायलले गाजा नजिकैका विद्यालयहरू हवाई हमलापछि आफूले बन्द गरेको जनाएको छ ।

मध्यगाजामा तीनवटा घरमा हमला गरिएको छ भने गाजा सिटीको एउटा भवन तथा खान युनिस र रफाहका विभिन्न स्थानमा पनि हमला भएको प्रत्यक्षदर्शी र स्वास्थ्यकर्मीलाई उदृत गर्दै समाचारसंस्था रोएटर्सले जनाएको छ । जनवरी १९ मा युद्धविराम आरम्भ भएयता इजरायलले गाजामाथि गरेको हवाई हमलाको यो सबैभन्दा ठूलो शृङ्खला हो ।

इजरायली सेनाको आक्रमणमा ३४ प्यालेस्टिनीको मृत्यु

बीबीसी । इजरायली सेनाले गाजापट्टीमा व्यापक हमला गरेको छ । गाजाको हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीले इजरायली सेनाको आक्रमणबाट कम्तिमा ३४ प्यालेस्टिनीहरू मारिएका छन् भने ७० जना घाइते भएका छन् ।

इजरायल रक्षा बलले हमाससँग सम्बन्धित आतंकवादी लक्ष्यहरुलाई लक्षित आक्रमण गरिरहेको बताएको छ । जनवरी १९ मा युद्धविराम सुरु भएदेखि गाजामा भएको यो ठूलो हवाई आक्रमण हो । गाजामा युद्धविराम बढाउने वार्ताहरू सम्झौतामा पुग्न असफल भइरहेका बेला यो आक्रमण भएको हो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री काट्जले मंगलबार बिहान हमलाको आदेश दिएका थिए । चिकित्सक र प्रत्यक्षदर्शीहरूका अनुसार मध्य गाजाको देइर अल–बलाहमा तीन घर, गाजा शहरको एउटा भवन र खान युनिस र रफाहमा लक्षित गरी आक्रमण गरिएको छ।

राष्ट्रसङ्घको आणविक निगरानी संस्थासँग सहकार्य गर्न ‘प्रतिबद्ध’ रहेको इरानको भनाइ

तेहरान । इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले आफ्नो देश संयुक्त राष्ट्रसङ्घको आणविक संस्थाका प्रमुख राफेल ग्रोसीसँगको भेटवार्तापछि उनको देश संस्थासँग सहकार्य गर्न ‘प्रतिबद्ध’ रहेको बताएका छन् ।

घरिबाबादीले एक्समा एक पोस्टमा भियनामा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) का प्रमुखसँग भएको वार्ता ‘खुला र रचनात्मक’ भएको बताए । “आफ्नो राष्ट्रिय सुरक्षा र चासोको रक्षा गर्दा इरान आफ्नो सुरक्षा दायित्वको ढाँचाभित्र आइएइएसँग सहयोग गर्न प्रतिबद्ध छ”, उनले आणविक हतियारको प्रसारलाई रोक्ने उद्देश्यले एजेन्सी प्रोटोकललाई उल्लेख गर्दै भने ।

आफ्नो पोस्टमा ग्रोसीले ‘इरानको आणविक कार्यक्रमको शान्तिपूर्ण प्रकृतिको विश्वसनीय ग्यारेन्टी प्रदान गर्न सहयोग अपरिहार्य’ भएको बताए ।

यसअघि सोमबार विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगााईले बैठक ‘एजेन्सीसँग हाम्रो चलिरहेको संलग्नताको एक हिस्सा’ भएको बताएका थिए ।

घरिबाबादीले शुक्रबार बेइजिङमा आफ्ना रुसी र चिनियाँ समकक्षीहरूसँग वार्तामा भाग लिएपछि अस्ट्रियाको राजधानीमा भएका छलफलहरू भएका हुन् ।

“इरानको शान्तिपूर्ण आणविक सुविधाहरू विरुद्धको खतरा बढेको छ, हामीले आइएइएसँग परामर्श तीव्र पार्नु स्वाभाविक हो”, बगाईले भने ।

मार्च ७ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्ला अली खामेनीलाई देशको आणविक कार्यक्रममा नयाँ वार्ताको आग्रह गर्दै पत्र लेखेका थिए  तर अस्वीकार गरेमा सम्भावित सैन्य कारबाहीको चेतावनी दिएका थिए ।

इरानले पत्र प्राप्त गरेको पुष्टि गरेको छ । बगाईले सोमबार ‘मूल्याङ्कन पूरा भएपछि’ जवाफ दिइने बताए ।
दशकौँदेखि संयुक्त राज्य अमेरिकाको नेतृत्वमा रहेका पश्चिमी देशहरूले तेहरानले आणविक हतियार विकास गर्न खोजिरहेको आशङ्का गर्दै आएका छन् ।

इरानले यी दाबीहरू अस्वीकार गर्दै आफ्ना आणविक गतिविधिहरू ऊर्जा उत्पादन सहित केवल शान्तिपूर्ण उद्देश्यका लागि भएको जोड दिंदै आएको छ ।

सन् २०१५ मा इरानले संयुक्त राष्ट्र सुरक्षा परिषद्का पाँच स्थायी सदस्यहरू–बेलायत, चीन, फ्रान्स, रुस र संयुक्त राज्य अमेरिकाका साथै जर्मनीसँग आफ्नो आणविक गतिविधिहरू सीमित गर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो ।

तर सन् २०१८ मा ट्रम्पले एकतर्फी रूपमा अमेरिकालाई सम्झौताबाट बाहिर निकालेका थिए ।
तेहरान एक वर्षसम्म सम्झौता अन्तर्गतका आफ्नो दायित्वप्रति प्रतिबद्ध रह्यो तर त्यसपछि युरेनियम समृद्धिकरण स्तरहरू ६० प्रतिशतसम्म बढाउँदै तिनीहरूबाट पछि हट्न थाल्यो ।

यी स्तरहरू आणविक बम विकास गर्न आवश्यक ९० प्रतिशत सीमाभन्दा धेरै नजिक छन् र सम्झौताअन्तर्गत इरानको समृद्धिकरण सीमा तीन दशमलव ६७ प्रतिशतभन्दा धेरै माथि छन् ।

हालैका महिनाहरूमा इरानले आफ्नो आणविक गतिविधिहरूमा प्रतिबन्धको बदलामा तेहरानमाथि प्रतिबन्धहरू हटाएको सम्झौतालाई पुनर्जीवित गर्ने प्रयासमा बेलायत, फ्रान्स र जर्मनीसँग धेरै चरणको वार्ता गरेको छ ।

३० भन्दाबढी राष्ट्रले युक्रेन गठबन्धनमा सैनिक पठाउने

लन्डन । बेलायत सरकारले युक्रेनमा कुनै पनि युद्धविरामको रक्षा गर्न तथाकथित गठबन्धनको एक हिस्साका रूपमा ‘उल्लेखनीय सङ्ख्यामा’ राष्ट्रहरूले सेना उपलब्ध गराउने बताएको छ ।

बेलायतले ‘३० भन्दा बढी देशले’ कुनै न कुनै रूपमा समूहमा योगदान गर्ने अपेक्षा गरेको प्रधानमन्त्री किर स्टार्मरका प्रवक्ताले पत्रकारहरूलाई बताए ।

प्रधानमन्त्रीले हप्तान्तमा भने, ‘विभिन्न देशहरूबाट विभिन्न क्षमताहरू हुनेछन्, तर इच्छुक राष्ट्रहरूको गठबन्धनले के प्रदान गर्न सक्छ भन्ने सम्बन्धमा अहिले परिचालन छलफलहरू भइरहेका छन्”, प्रवक्ताले भने, “हामीले ३० भन्दा बढी देश संलग्न हुने अपेक्षा गरिरहेका छौँ । स्पष्ट रूपमा योगदान क्षमताहरू फरक हुनेछन्, तर यो एक उल्लेखनीय बल हुनेछ, उल्लेखनीय सङ्ख्याका देशहरूले सैनिक प्रदान गर्नेछन् र ठूलो समूहले अन्य तरिकाहरूमा योगदान गर्नेछ ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना युद्ध अन्त्य गर्न रुससँग प्रत्यक्ष वार्ता सुरु गरेपछि स्टार्मर र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले गठबन्धन स्थापना गर्ने प्रयासको नेतृत्व गरिरहेका छन् । युक्रेनलाई सुरक्षा ग्यारेन्टी प्रदान गर्न र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई कुनै पनि युद्धविराम उल्लङ्घन गर्नबाट रोक्न अमेरिकी समर्थनसँगै यो समूह आवश्यक रहेको उनीहरुले बताएका छन् ।

स्टार्मर र म्याक्रोनले युक्रेनमा बेलायती र फ्रान्सेली सेनालाई भूमिमा राख्न इच्छुक रहेको बताएका छन् तर अन्य कति देशहरू पनि यस्तै गर्न इच्छुक छन् भन्ने स्पष्ट छैन ।

बेलायती प्रधानमन्त्रीले शनिबार करिब २६ जना अन्य नेता र युरोपेली सङ्घ (इयु) तथा नाटोका प्रमुखहरूको भर्चुअल कलमा योजना अब ‘परिचालन चरण’ मा जाने बताएका थिए ।

दर्जनौँ सैन्य प्रमुखहरू बिहीबार ती छलफलहरूलाई अगाडि बढाउन बेलायतमा भेट्ने भएका छन् ।
केही देशले लजिस्टिक वा निगरानीमा योगदान दिन सक्ने सम्भावना बढाउँदै स्टार्मरले गठबन्धनलाई समर्थन गर्ने कुनै पनि प्रस्तावलाई स्वागत गरेको बताएका छन् ।

उनका प्रवक्ताले इन्जिनियरिङ सहयोग, विमानस्थलहरूको प्रयोग र चालक दलका सदस्यहरूको आवासलाई योगदान दिन सकिने क्षेत्रका रूपमा प्रकाश पारेका थिए ।

जुनमा हुने जी–७ शिखर सम्मेलनमा जेलेन्स्कीलाई क्यानडाको निमन्त्रणा

ओटावा । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई पश्चिमी प्रान्त अल्बर्टामा जुनमा हुने जी–७ शिखर सम्मेलनमा आमन्त्रण गरेका छन् ।

गत हप्ता कार्यभार सम्हाल्नुभएका कार्नीले सप्ताहन्तमा युक्रेनी नेतासँग कुरा गर्नुभएको उल्लेख गर्दै एक सरकारी अधिकारीले भने, “राष्ट्रपति जेलेन्स्कीलाई जुनमा अल्बर्टामा हुने जी–७ बैठकमा आमन्त्रित गरिएको छ ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा फर्किएपछि रुस–युक्रेन युद्धतर्फ सात शक्तिशाली प्रजातन्त्रको समूहबीचको अनिश्चित दृष्टिकोणका बीचमा यो निमन्त्रणा आएको हो ।

गत हप्ता क्युबेकमा भएको जी–७ विदेशमन्त्रीहरूको बैठकअघि ट्रम्प प्रशासनले युक्रेनको ‘क्षेत्रीय अखण्डता’ का लागि लडाइँलाई समर्थन गर्ने शब्दावली र रूसी ‘आक्रमण’ को सन्दर्भलाई बेवास्ता गरेको थियो ।

तर त्यस्तो भाषा शुक्रबार जी–७ बैठकमा जारी विदेशमन्त्रीहरूको अन्तिम बयानमा समावेश थियो । यो रुसले अमेरिकी नेतृत्वको युद्धविराम पहलका सर्तहरू तत्काल स्वीकार गरेन भन्ने सन्दर्भमा सम्भवतः वासिङ्टनमा निराशाको सङ्केत हो ।

यस हप्ता पेरिस र लन्डनको भ्रमण गरिरहेका कार्नीले सामाजिक सञ्जालमा पोस्ट गर्दै जेलेन्स्कीले आफ्नो कलमा ‘युक्रेनको रक्षा र शान्तिलाई अगाडि बढाउनका लागि विश्वव्यापी प्रयासहरू’ बारे अपडेट दिएको बताए ।

“क्यानाडा रुसी आक्रमणविरुद्ध युक्रेनको स्वतन्त्रताको लडाइँलाई दृढतापूर्वक समर्थन गर्दछ”, उनले भने ।
जेलेन्स्कीले सामाजिक सञ्जालमा पोस्ट गर्दै कार्नीसँगको कुराकानीलाई ‘राम्रो र सारगर्भित’ भनेका छन् ।

उनले ‘क्यानाडालाई सहयोग, विशेष गरी रक्षा प्याकेजहरू र हाम्रो ऊर्जा क्षेत्रको समर्थनका लागि धन्यवाद दिएको’ र ‘मस्कोमाथि दबाब बढाउनुपर्ने सही बुँदाहरू’ उठाएकामा कार्नीको प्रशंसा गरेको बताए ।

यस वर्षको जी–७ अध्यक्षता गर्ने क्यानाडाले जुन १५–१७ मा अल्बर्टाको कानानास्किसमा शिखर सम्मेलनको आयोजना गर्नेछ ।

ट्रम्पले आज रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनमा युद्धविरामको प्रस्तावबारे छलफल गर्ने कार्यक्रम छ ।

शिक्षकहरूको निवृत्तिभरण कोष आगामी वैैशाखबाट लागु हुने

काठमाडौं । शिक्षकहरूको लागि निवृत्तिभरण कोष २०८२ वैशाखबाट लागु हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार सूचनामार्फत यसबारे जानकारी दिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार प्रतिनिधिसभामा संशोधन स्वीकार गर्दै ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१’ मा आवश्यक व्यवस्था गर्न सहमति दिएका हुन् ।

जसअनुसार ‘विधेयकको दफा १२ मा रहेको निवृत्तिभरण कोष ऐन, २०७५ को दफा ९ को खण्ड (क) पछि देहायको ‘(क१) शिक्षक सेवा’ थप गर्न प्रस्ताव भएकोमा निवृत्तिभरण कोष ऐन, २०७५ मिति २०७५ ।१२।४ बाट प्रारम्भ भएकोमा विधेयकमा प्रस्तावित व्यवस्थाको भूत प्रभावी असर नहुने सुनिश्चितताको लागि निम्न बमोजिम संशोधन स्वीकार गर्दछु’, भनिएको छ ।

अब निवृत्तिभरण कोष ऐन, २०७५ को दफा ९ (क१) शिक्षक सेवा थप भएको छ भने उक्त खण्ड बमोजिमको व्यवस्था वैशाख १ गतेदेखि प्रारम्भ हुने मन्त्रालयले स्पष्ट गरेको छ ।

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा अच्युत वाग्ले नियुक्त

काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपति पदमा प्राडा अच्युतप्रसाद वाग्ले नियुक्त भएका छन् ।

विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिका संयोजक र सदस्यद्वयको सिफारिसमा परेका तीन जनामध्येबाट डा वाग्लेलाई प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले विश्वविद्यालयको ऐन, २०४८ को दफा १३ (४) बमोजिम सोमबार नियुक्त गरेका हुन्  ।

उपकुलपति छनोटका लागि डा सुरेशराज शर्मा, डा अर्जुन कार्की र जनार्दन नेपाल रहेको समिति गठन गरिएको थियो । विश्वविद्यालयका उपकुलपति डा. भोला थापाको कार्यकाल गत माघ ६ गते सकिएको थियो ।

काभ्रेपलाञ्चोकको वनेपा नगरपालिकामा २०२५ सालमा जन्मिएका नवनियुक्त उपकुलपति वाग्ले काठमाडौँ विश्वविद्यालयका कार्यवाहक उपकुलपति एवं रजिष्ट्रार थिए । उनले  विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टको सहायक डीन, उक्त स्कुलको विज्ञान विभागको प्रमुख र एड्जङ्कट प्रोफेसर रहेर काम गरिसकेका छन् ।

इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी, कानपुरबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका उनले बेलायतको ब्रिमिङ्घम विश्वविद्यालयबाट एमएस्सी र नेपालको त्रिभुवन विश्वविद्यालयबाट एमए उत्तीर्ण गरे । उपकुलपतिको कार्यकाल चार वर्षको रहने छ ।

विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी निर्देशकमा भट्ट नियुक्त

काठमाडौँ । सरकारले राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी निर्देशकमा दिनेश भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा भट्टलाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

कार्यकारी निर्देशक नियुक्तिका लागि गठित सिफारिस समितिले भट्ट, सुमनकुमार कर्ण र मन्दिप सुवेदीको नाम सिफारिस गरेको थियो । भट्ट वातावरण तथा जलवायु परिवर्तनका विज्ञ हुन् ।

एसियन कप छनोटका लागि २३ सदस्यीय टोली घोषणा

काठमाडौं । एसियन कप छनोटको लागि नेपाली राष्ट्रिय फूटबल टोलीको घोषणा भएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमबार २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् । नेपाली टोलीमा तीन खेलाडीले पहिलोपटक स्थान बनाएका छन् ।

टोलीमा गोलरक्षक अन्जल श्रेष्ठ, डिफेन्डर सुमन श्रेष्ठ र फरवार्ड सुवास बम ठकुरी पहिलोपटक समेटिएका हुन् । नेपालले चैत्र ८ गते सिंगापुरसँग अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ भने चैत्र १२ गते मलेसियासँग एएफसी एसियन कप छनोटको खेल खेल्नेछ ।

नेपाली टोलीमा गोलकिपर: किरण चेम्जोङ, दीप कार्की, अञ्जल श्रेष्ठ छन् । त्यस्तै डिफेन्डरमा अनन्त तामाङ, बिमल पाण्डे, सनीस श्रेष्ठ, रणदीप पौडेल, सुमित श्रेष्ठ, अभिषेक लिम्बु, सुमन श्रेष्ठ, मिडफिल्डरमा रोहित चन्द, लैकेन लिम्बु, रोहन कार्की, मणि लामा, भरत खवास, आरिक बिष्ट, मनिष डाँगी, कृतिश रत्न छुन्जु, आयुष घलान छन् । त्यसैगरी फरवार्डमा गिलेस्पी जंग कार्की, अञ्जन बिष्ट, सुवास ठकुरी बम, रेजिन सुब्बा छन् ।

दीपक थापा नेपाल प्रहरीको महानिरीक्षक नियुक्त

काठमाडौं । नेपाल प्रहरीको ३१ औँ प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैंठकले एआईजी थापालाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो ।

आईजीपी नियुक्तिसँगै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत थापाले मंगलबारदेखि प्रहरीको कमान्ड सम्हाल्नेछन् ।

आईजीपी वसन्तबहादुर कुँवरले प्रहरीको ३० वर्षे सेवा अवधिका कारण आज रातिबाट अवकाश पाउने भएपछि थापा प्रहरीको ३१औँ आईजीपी बनेका हुन् । उनीसँगै एआईजी सुदीप गिरी र टेकबहादुर तामाङसमेत आईजीपीको प्रतिस्पर्धामा थिए । तर, सरकारले थापालाई आईजीपी नियुक्त गरेको हो ।

राजतन्त्र पुनःस्थापनाका लागि नवराज सुवेदीको संयोजकत्वमा तेस्रो जनआन्दोलन घोषणा

काठमाडौं । राजतन्त्र पुनःस्थापनाका लागि राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदीको संयोजकत्वमा तेस्रो जनआन्दोलनको घोषणा गरिएको छ ।

सोमबार काठमाडौंमा राजावादी समूहहरूको भेलाले सुवेदीको संयोजकत्वमा जनआन्दोलन गर्ने निर्णय गरेको हो ।

सुवेदीको संयोजतकत्वमा रहेको समितिमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, अस्मिता भण्डारी, केशरबहादुर विष्ट, दुर्गा प्रसाईँ, पशुपति शमशेर जबरा, डा.प्रकाशचन्द्र लोहनी, रमा सिंह, रविन्द्र मिश्र हरिबहादुर बस्नेत सदस्य रहेका छन् ।

उनीहरुले राजतन्त्रको पुनःस्थापना, हिन्दूराज्य, संघीयता खारेजी र भ्रष्टाचार नियन्त्रणको माग गरेका छन् । उनीहरूले दलहरू र राजसंस्थावादीबच नवीन समझदारीको मागसमेत गरेका छन् ।

बेचन झाको बन्दी प्रत्यक्षीकरण रिट खारेज

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाले थुनामुक्तको माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालत खारेज गरिदिएको छ ।

सोमबार सर्वोच्चका न्यायाधीश विनोद शर्मा र अब्दुल अजिज मुसलमानको इजलासले रिट खारेज गरिदिएको हो ।

गत माघ २ गते झाले थुनामुक्तको माग गर्दै निवेदन दायर गरेका थिए । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्न झाको पनि संलग्नता रहेको आरोपमा प्रहरीले गत असार १३ गते उनलाई पक्राउ गरेको थियो ।

उनीविरुद्ध चार कसुरमा मुद्दा दायर भएको थियो । झासमेतका प्रतिवादीहरुले २८ करोड ८१ लाख ७४ हजार ५ सय रूपैयाँ पीडितबाट ठगी गरेको आरोप छ ।

उनलाई राष्ट्र हित प्रतिकूलको कसुरमा ५ वर्ष कैद र ५० हजार जरिवाना, ठगीको कसुरमा ७ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना, किर्तेको कसुरमा ७ वर्ष कैद र ७० हजार जरिवाना, संगठित अपराधमा ५ वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको माग गरिएको छ ।

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी विधेयक बहुमतले पारित

काठमाडौँ ।  प्रतिनिधिसभाको सोमबारको बैठकले ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ बहुमतले पारित गरेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा प्रतिपक्ष दलका सांसदले प्रतिनिधिसभा नियमावलीको नियम २९ अनुसार डिजिटल प्रक्रियाबाट मत विभाजनका लागि माग गरेका थिए ।

मत विभाजन गर्दा उपस्थित एक सय ४५ सांसदमध्ये विधेयकका पक्षमा ९६ र विपक्षमा ४९ मत खसेकाले उक्त प्रस्ताव बहुमतले पारित भएको उपसभामुख इन्दिरा रानाले घोषणा गरिन् ।

विधेयकमाथि छलफलका क्रममा उठेका विषयमाथि जवाफ दिँदै सञ्चारमन्त्री गुरुङले मुलुकको सार्वजनिक प्रशासनलाई आमनागरिकको चाहनाबमोजिम जनमुखी, जवाफदेही र पारदर्शी बनाइ सेवाग्राहीलाई छिटो छरितो सेवा प्रवाह गरी सुशासनको प्रत्याभूति गर्न सरकारले विधेयक ल्याएको बताए ।

ऐनमा नसमेटिएका विषय नियमावली, निर्देशिका, विनियमावली, कार्यविधिमार्फत् संशोधन गरिने उनको भनाइ छ ।मन्त्री गुरुङले गैरआवासीय नेपालीलाई नयाँ तरिकाले परिभाषित गरेका कारण उनीहरूलाई भिसाको व्यवस्था गरिएको बताए ।

विदेशमा बस्ने नेपाली नागरिक तथा नेपाली मुलका विदेशी नागरिक फरक–फरक भएकाले त्यस्ता नागरिकलाई गैरआवासीय नेपाली नागरिक मानिएकाले उनीहरूका लागि भिन्न प्रकृतिको नागरिकता उपलब्ध गराइने प्रबन्धसमेत भएकाले भिसाको व्यवस्था ल्याउनुपरेको उनले स्पष्ट गरे ।

नागरिक एपको विश्वसनीयता र तथ्याङ्कको सुरक्षा एवम् गोपनियतामाथि उठेका प्रश्न जायज रहेको उल्लेख गर्दै मन्त्री गुरुङले त्यसको व्यवस्थापनका लागि मन्त्रालय निर्देशिका बनाउने क्रममा रहेको जानकारी दिए ।

मुलुकको प्रशासनिक प्रणालीलाई आमनागरिकको अपेक्षा एवम् चाहनाअनुरूप सुव्यवस्थित, कार्यात्मक, नतिजामुखी, प्रभावकारी, सेवाग्राही केन्द्रित बनाउन र नवीन प्रविधिको प्रयोगमार्फत सार्वजनिक सेवा प्रवाहलाई आमनागरिकको अपेक्षाबमोजिमको बनाउन यो कानुन ल्याउन लागिएको सरकारको तर्क छ ।

यस विधेयकमार्फत सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४, स्वास्थ्य बीमा ऐन, २०७४ लगायत बाह्र वटा ऐनमा संशोधन गरिएको छ ।

यस विधेयकको मुख्य उद्देश्य नागरिकलाई द्रुत, पारदर्शी र गुणस्तरीय सेवा प्रदान गर्ने तथा इ–गभर्नेन्सको अवधारणाबमोजिम प्रविधिको प्रयोगमार्फत सेवाप्रवाहलाई सहज, छिटोछरितो र पहुँचयोग्य बनाउने रहेको जनाइएको छ ।

बैठकमा प्रधानमन्त्री ओलीका तर्फबाट सञ्चारमन्त्री गुरुङले ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथिको दफावार छलफल गरियोस्’ भन्ने प्रस्ताव सदनमा प्रस्तुत गरेका थिए ।

उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको थियो । विधेकयमाथि प्रतिनिधिसभामा २३ वटा एकल र दुईवटा संयुक्त संशोधन प्रस्ताव परेका थिए । जसमध्ये सांसद सरिता भुसालले आफ्नो संशोधन फिर्ता लिनुभएको थियो भने संशोधनका अरु सबै प्रस्ताव बहुमतले अस्वीकृत भएका छन् ।

आफ्नो संशोधन प्रस्तावसहित दफावार छलफलमा भाग लिँदै सांसद चित्रबहादुर केसीले मुलुक कुशासनको चक्रव्यूहमा फसेको बताए । लोकतन्त्र कुशासनको शिकार भएको पनि उनको भनाइ थियो । अर्का सांसद प्रेम सुवालले विधेयकलाई सदनबाट सोझै पारित गर्नुभन्दा दफावार छलफलका लागि समितिमा पठाउनु उपयुक्त हुने धारणा राखे । 

सांसद सुमना श्रेष्ठले सुशासनसम्बन्धी अध्यादेशमा नागरिकलाई सात दिनभित्र सेवा प्रवाह गरिसक्नुपर्ने भन्ने व्यवस्था राखिएकामा सरकारले हालसम्म कति जनालाई कारबाही गरेको छ भनेर प्रश्न गरिन् ।

काम नगर्ने कर्मचारीलाई कारबाही गर्ने व्यवस्था विधेयकमा स्पष्ट पार्न नसकिएको उनको भनाइ छ । कानुनबिना पूर्वविशिष्टलाई हालसम्म उपलब्ध गराइएको सेवा सुविधा अख्तियारको दुरुपयोग हुने र त्यस्तो सुविधा जफत गरिनुपर्ने पनि श्रेष्ठको भनाइ छ । 

सांसद चन्दा कार्की भण्डारीले सुशासनका लागि कानुन निर्माण मात्र पर्याप्त नहुने भन्दै त्यसको प्रभावकारी कार्यान्वयनमा पनि जोड दिनसक्नुपर्ने बताइन् । विधेयकमाथिको छलफलका क्रममा सांसद प्रकाश ज्वालाले सुशासन कायम गर्न नसकेकै कारण नागरिकमा व्यवस्थाप्रति वितृष्णा बढेको बताए ।

सांसद डा अमरेशकुमार सिंहले गैरआवासीय नेपालीलाई नागरिकता दिने र नेपाल आउँदा भिसा पनि चाहिने विधेयकको व्यवस्था आफैँमा विरोधाभाषपूर्ण रहेको बताए । नेपालको नागरिकता पाएको गैरआवासीय नेपालीलाई भिसा नचाहिने व्यवस्था गरिनुपर्ने उनको भनाइ छ । 

सांसद माधव सापकोटाले पनि गैरआवासीय नेपालीलाई राजनीतिक अधिकारबाहेक सबै अधिकार दिएको भन्दै विधेयकले उनीहरू नेपाल आउँदा भिसा लिनुपर्ने व्यवस्था राखिएको प्रति विमति जनाए ।

सांसद देवेन्द्र पौडेलले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहको विषय निकै बृहत् रहकाले कानुन बनाउँदा संसदमा विस्तृत छलफल र नागरिक समाज, बौद्धिकजगत्को पनि कुरा समेटिनुपर्ने  धारणा राखे । ठेक्कापट्टा, सरुवा–बढुवा, वैदेशिक रोजगारलगायत क्षेत्रमा अत्याधिक भ्रष्ट्राचार रहेको उल्लेख गर्दै सांसद पौडेलले विधेयकले यी समस्या समाधान गर्न नसक्ने बताए ।

विधेयकमाथि सांसदहरू सरिता भुसाल, अशोककुमार चौधरी, हितबहादुर तामाङ, विमला सुवेदी, नारायणी शर्मा, ज्ञानु बस्नेत सुवेदी, छिरीङ डम्डुल लामा, रणेन्द्र बराली, उर्मिला माझी, लक्ष्मी तिवारी, गणेश पराजुली, निशा डाँगी, हितराज पाण्डे, सोविता गौतमलगायतले संशोधन राखेका थिए । 

आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवाको रणनीति बनाउँदै स्वास्थ्य मन्त्रालय

चितवन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवाको १० वर्षे रणनीति बनाउन थालेको छ । मन्त्रालयले प्रदेशस्तरमा छलफल गरेर आर्थिक वर्ष २०८१÷९१ रणनीति बनाउन लागेको हो ।

मन्त्रालयले सोमबार भरतपुरमा चार प्रदेशका आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रका सरोकारवाला र विज्ञहरुसँग छलफल गर्दै उक्त जानकारी दिएको हो । वागमती, गण्डकी, मधेश र कोशी प्रदेशका सहभागीले गोष्ठीमा तथ्यका आधारमा रणनीति बनाउन सुझाव दिएका हुन् ।

कार्यक्रममा प्रदेशसभा सदस्य कृष्णप्रसाद खनालले ऐन बनाउन समयमा नै प्रभावित पार्ने गरेको उल्लेख गर्दै राजनीतिकर्मी र कर्मचारी कोही पनि प्रभावित नबनी ऐन, कानुन बनाउनुपर्ने बताए ।

नेपालमा आयुर्वेदिक औषधि उत्पादन गर्ने कच्चापदार्थ भारतबाट ल्याउनुपर्ने बाध्यता रहेको चर्चा गर्दै उनले भने, ‘नेपालबाट जडीबुटी भारत निकासी हुन्छ, त्यहाँ ग्रेडिङ भएर कमसल खालको जडीबुटी फेरी नेपाल आयात गरिन्छ ।’ यस्तो समस्यालाई चिर्ने गरी रणनीति बनाउन उनले सुझाव दिए ।

बागमती प्रदेशसभाका पूर्व सदस्य विजय सुवेदीले भरतपुरमा एक सय शय्याको आयुर्वेदिक अस्पताल बनाउन आफूहरु लागिपरेको भन्दै शिवनगरमा दुई बिघा सरकारी जग्गा भएर पनि अस्पतालका नाममा ल्याउन कठिन भइरहेको बताए ।

उनले भने,’अहिले पनि फाइल भूमिव्यवस्था मन्त्रालयमा छ, अगाडि बढाउन कठिन भइरहेको छ ।’ जसरी भए पनि यो अस्पताल बनाउनुपर्नेमा उनले जोड दिए ।

स्वास्थ्य मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेलले आयुर्वेदिक तथा वैकल्पिक उपचार प्रणालीलाई मूलधारमा ल्याउन रणनीति बनाउन लागिएको बताए । निरोगी नेपाली बनाउने दुरदृष्टि राखेर रणनीति बनाउनुपर्ने बताउँदै उनले भने, ‘आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा के कारणले पछाडि पर्यो पत्ता लगाउनुपर्छ ।’

आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा श्यामबाबु यादवले नसर्ने रोगको उपचारमा यो विधा महत्वपूर्ण रहेको चर्चा गर्दै एक महिने नसर्ने रोग अभियानमा ३० हजार बढीलाई यसै विधाबाट सेवा दिइएको बताए ।

आयुर्वेद चिकित्सा परिषद्का अध्यक्ष डा सन्तोष ठाकुरले २९ वर्षपछि नीतिबाट रणनीति बन्न लागेको भन्दै रणनीति बनाउँदा कार्यान्वयन पक्षलाई ध्यान दिनुपर्ने बताए ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा महाशाखाका प्रमुख डा पुष्पराज पौडेलले आयुर्वेदिक तथा वैकल्पिक सेवा रणनीति २०८१/९१ बारे चर्चा गर्दै सेवासम्बन्धी संवैधानिक, कानुनी तथा नीतिगत व्यवस्था रणनीतिमा समावेश हुने बताए ।

तहगत साङ्गठनिक संरचना एवं संरचनागत व्यवस्था, बजेट तथा कार्यक्रम, सेवा प्रवाहसम्बन्धी विवरण, शैक्षिक व्यवस्था, अनुसन्धान तथा तालिम, औषधि उत्पादन, निजी तथा गैह्रसरकारी अवस्था, नियमनसम्बन्धी व्यवस्था १० वर्षे रणनीतिमा समावेश हुने उनले जानकारी दिए ।

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयकबाट नेत्र उपाचार सेवा विस्तारमा सहयोग पुग्ने सांसदहरुको विश्वास

काठमाडौँ । सांसदहरुले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ को स्वागत गरेका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा बोल्दै सांसदहरुले विधेयकले नेत्र उपाचार सेवा विस्तारमा सहयोग पुग्ने भन्दै त्यसको स्वागत गरेका हुन् ।

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि छलफल गर्दै राष्ट्रियसभा सदस्य गोपीबहादुर सार्की आछामीले विधेयकले आगामी दिनमा आँखा उपचारको क्षेत्रमा राम्रो उपाचार हुने बताए ।

यसैगरी सांसद मायाप्रसाद शर्माले यो विधेयक समयसान्दर्भिक रहेको बताए । “यो सरोकारवालासँग छलफल गरेर आएको छ । आर्थिक रुपमा पनि आर्थिकभार व्यहोर्नुपर्ने छैन । यो विधेयक उचित छ,” उनले भने ।

सांसद सुरेशकुमार आलेमगरले आँखाको स्वास्थ्यको विषयमा विश्वविद्यालय स्थापना हुनु स्वागतयोग्य रहेको बताए ।

सांसद पदमबहादुर परियारले गहिरोसँग छलफल गरेर आएको विधेयकले आँखाको स्वास्थ्य सेवा विस्तार गर्न सहयोग पुग्ने बताए । “आँखा उपचारको सेवा विस्तार गर्दै सरल, सहज र पहुँचयोग्य उपचार सेवा पाउने भएकाले विधेयक राम्रो छ । तर केही समय विश्वविद्यालयलाई स्वतन्त्र रुपमा काम गर्न छाड्नुपर्छ,” उनले भने ।

सांसद विष्णुकुमारी सापकोटाले विधेयकमा देशभरका नेत्रज्योति सङ्घलाई पनि समेट्न्पर्ने तथा यसबाट दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने बताइन् । 

राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गर्ने समय थप

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको अत्यधिक चाप बढेसँगै कार्यालयको सेवा प्रवाहको समय थप गरेको छ ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप अत्यधिक बढेको हुँदा सेवाग्राहीको सुविधा र सहजतालाई ध्यानमा राख्दै यही चैत ५ गतेदेखि बिहान ७ः३० बजेदेखि बेलुका ७ बजेसम्म राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलनको काम हुने जानकारी दिए ।

कार्यालयले उक्त सेवा बिदाको दिनबाहेक कार्यालय खुल्ने दिनमा पनि प्रदान गर्ने जनाएको छ । यस अघि यो सेवा बिहान १० देखि ५ बजेसम्म सञ्चालन हुँदै आएको थियो ।

राजतन्त्र फर्काउने प्रयास सफल नहुने एमालेको निष्कर्ष

काठमाडौं । नेकपा एमालेले राजतन्त्र फर्काउने प्रयास सफल नहुने निष्कर्ष निकालेको छ । सोमबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले विशेष प्रस्ताव पारित गरेको गर्दै राजतन्त्र फर्काउने प्रयास सफल नहुने निष्कर्ष निकालेको हो ।

एमालेले केही समययता गणतन्त्र र संविधानप्रति भइरहेका सुनियोजित घटनाक्रमप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एमालेको विशेष प्रस्तावमा भनिएको छ, ‘विगतमा आन्दोलनका क्रममा गरिएका सहमति विपरित राजतन्त्र पटकपटक जनताका अधिकारमाथि आक्रमण र सर्वसत्तावादतर्फ उद्धत भएपछि राजतन्त्र र लोकतन्त्र सँगै जान सक्दैनन् भन्ने निष्कर्षका साथ ऐतिहासिक संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । जनताको यस फैसला उल्ट्याउने र मुलुकलाई पश्चगामी दिशामा फर्काउने कुनै पनि प्रयास सफल हुन सक्दैन ।’

त्यस्तै एमालेले एक्काइसौँ शताब्दीमा पनि जन्मजात श्रेष्ठताको वंशगत शासनको बहस आफैँमा हानिकारक, हास्यास्पद र निरर्थक हुने बताएको छ ।

सरकारमा जानेबारे कसैसँग छलफल भएको छैनः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्कपमल दाहाल प्रचण्डले इतिहासको चक्का पछाडि फर्काउने दुस्साहस नगर्न राजावादीलाई चेतावनी दिएका छन् ।

राजेन्द्र श्रेष्ठद्वारा लिखित ‘ऐतिहासिक नेपालमण्डल’ पुस्तकको सोमबार विमोचन गर्दै अध्यक्ष प्रचण्डले केही मानिसहरूले इतिहासको चक्का पछाडि फर्काउने दुस्साहस गरिरहेको र त्यो सफल नहुने बताएका हुन् । उनले कसैले त्यस्तो दुस्साहस गरे दुर्भाग्य हुने बताए ।

उनले भने, ‘अहिले इतिहासको चच्का पछाडि फर्काउने दुस्साहस केही मानिसले गर्दैछन् । मैले तराईमा अभियानमा हिँड्दै गर्दा भनेको थिएँ– अलिकति मुर्खता त पहिल्यै भइसकेको छ, दरबारियाहरूबाट । अब फेरि फर्किन्छु भन्यो भने अर्को मुर्खता हुन्छ, त्यो दुस्साहस नगर्नु सही हुन्छ ।’

अध्यक्ष प्रचण्डले अहिले प्रतिक्रियावादीहरूले केही मानिसहरूलाई उचाल्ने कोसिस गरिरहेकाले त्यसको सबैले प्रतिवाद गर्नुपर्ने बताए । उनले आफूहरुले गणतन्त्रले दिएको अधिकारका बारेमा जनतालाई बुझाउन नसक्नु कमजोरी भएको बताए ।

उनले भने, ‘गणतन्त्रले दिएको अधिकारकाबारेमा हामीले जनतालाई बुझाउन सकेनौं । त्यो हाम्रो कमजोरी हो । तर मुलुकमा केही पनि नभएको भन्ने होइन ।’

अध्यक्ष प्रचण्डले सरकारमा जाने आफूहरुको नीति नभएको बताए । उनले कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउन लागेको भन्ने हल्लामा सत्यता नभएको बताए ।

सरकारमा रहेका दलका नेताहरुसँग सत्यनिरुपण र मेलमिलाप आयोग लगायतका विषयमा छलफल भएको तर माओवादी सरकारमा जानेबारे कसैसँग छलफल नभएको उनले बताए ।

अदालतले रोक लगाए पनि भेनेजुएलाका २३८ आप्रवासी अमेरिकाबाट देशनिकाला

बीबीसी । भेनेजुएलामा सक्रिय एउटा आपराधिक गिरोहका सदस्य भएको आरोप लागेका २०० जनाभन्दा बढीलाई अमेरिकाबाट एल साल्भाडोरको सुपरम्याक्स बन्दीगृह पठाइएको छ ।

एक अमेरिकी न्यायाधीशले उनीहरूलाई देशनिकाला गर्न रोक लगाउने आदेश दिएका थिए । तर सरकारले उनीहरूलाई निष्काशन गर्ने कार्य रोकेन ।

एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले सामाजिक सञ्जालमा लेख्दै भेनेजुएलाको गिरोह ‘ट्रेन डे आरग्व’ का २३८ जना सदस्य र एमएस–थर्टीन नामक अन्तर्राष्ट्रिय गिरोहका २३ जना आफ्नो देशमा आइतबार बिहान आइपुगेका जानकारी दिएका छन् ।

अमेरिका र एल साल्भाडोर दुवै देशका अधिकारीहरूले बन्दीहरूको पहिचान खुलाएका छैनन् । उनीहरूले ती व्यक्तिहरू कस्ता अपराधमा थिए भन्नेबारे केही भनेका छैनन् ।

अमेरिकामा एक सङ्घीय न्यायाधीशले ट्रम्प प्रशासनलाई २०० वर्षभन्दा पुरानो युद्धकालीन कानुन देखाएर त्यसरी देशनिकाला गर्ने कदम रोक्न आदेश दिएका थिए । तर त्यस बेलासम्म ती व्यक्तिहरूलाई बोकेको विमान उडिसकेको थियो ।

नेप्से १० अंकले घट्यो

काठमाडौँ । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से दोहोरो अंकले घटेको छ । सोमबार नेप्से १०.१४ अङ्कले घटेको छ ।

आज कारोबारमा आएका ३३१ कम्पनीको ९९ लाख ३५ हजार ८७२ कित्ता शेयर बजारमा ५ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भयो ।

आइतबार ६ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएको थियो । आज बजारमा ८५ कम्पनीको मूल्य बढेको छ । १४५ कम्पनीको मूल्य घटेको छ भने बाँकी १३ कम्पनीको मूल्य स्थिर रहेको छ । बजारमा राप्ती हाइड्रो पावरको शेयर ९.८६ प्रतिशतले बढेको छ ।

सामुदायिक लघुवित्तको शेयर ८ प्रतिशत भन्दा धेरैले बढेको छ । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ४३ करोड ९३ लाख ६८ हजार मूल्य बराबरको सेयर कारोबार भयो।

नेपाल रिइन्स्योरेन्स कम्पनीको ३० करोड, महालक्ष्मी विकास बैंकको २२ करोड,एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको २० करोड,सीईडीबी होल्डिंसको १८ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

धनुषाको सबैलामा प्रहरीको गोली प्रहारबाट एक घाइते

जनकपुरधाम । धनुषाको सबैला नगरपालिकास्थित भठिहनमा चोकको नामलाई लिएर दुई पक्षबीच सोमबार पनि झडप भएको छ ।

दूई पक्षबीचको झडप ले उग्ररुप लिन थालेपछि नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन् ।

गोली लागेर घाइते भएको पहिचान अहिलेसम्म नखुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहले जानकारी दिए । झडप नियन्त्रण गर्न प्रहरीले गोली चलाउने परेको प्रहरी नायव उपरीक्षक सिंहले बताए ।

घाइतेलाई उपचारको लागि जनकपुर प्रादेशिक अस्पताल ल्याउन ल्याइएको छ । भठिहनस्थित चोकमा एक पक्षले यादव चोक लेखिएको बोर्ड राखेको र अर्को पक्षले सो बोर्ड उखालेपछि तनाव उत्पन्न भएको थियो ।

संविधानमा कमजोरी छ भने संशोधन गर्नुपर्छः सिटौला

काठमाडौँ । नेपाली कांगे्रेसका सांसद कृष्णप्रसाद सिटौलाले आवश्यकताअनुसार संविधान संशोधन गर्न ढिलाइ गर्न नहुने बताएका छन् ।

राष्ट्रियसभाको बैठकको विशेष समयमा बोल्दै सांसद सिटौलाले देशलाई अगाडि बढाउन संविधान कार्यान्वयनको पुनरावलोकन गर्नुपर्ने बताए ।

उनले भने, ‘संविधानको कार्यान्वयनबाट जनतालाई के कति उपलब्धि दिन सक्यौँ ? सही ढङ्गले जनताको हितमा प्रयोग गर्न सकेका छौँ वा छैनौँ भनेर गम्भीर समीक्षा गरौँ ।’

सांसद सिटौलाले राज्य सञ्चालनमा त्रुटी वा संविधानमा कमजोरी छ भने संशोधन गर्नुपर्ने बताए । उनले भने, ‘जनताको हितका लागि छ भने संविधान संशोधन गर्नुपर्छ । संविधानमा सुनिश्चित गरिएका हक प्रचलनमा ल्याउन सक्यौँ वा सकेनौँ त्यसको समीक्षा आवश्यक छ ।’

द्वन्द्वपीडितलाई न्याय दिने काम छिटो टुङ्याउनुपर्ने सांसद सिटौलाले बताए । उनले भने, ‘छिटो न्याय दिन आवश्यक छ । हामी सँगै लड्यौँ, मिल्यौँ, परिवर्तन र संविधान ल्यायौं। अब मिलेर समस्या समाधान गर्नुपर्छ ।’

परिवर्तनकारी राजनीतिक दलमा जुन दृढता देखिनुपर्ने त्यो नदेखिएको उल्लेख गर्दै उनले सबै एकताबद्ध भएर उभिने बेला आएको बताए ।

एआईको चुनौतीबाट बच्न सामसुङलाई ‘गर या मर’ को मानसिकता आवश्यक

सियोल । सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्षले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले निम्त्याएको चुनौतीको सामना गर्न ‘गर या मर’ को मानसिकता अपनाउनु पर्ने बताएका छन् ।

दक्षिण कोरियाली विशाल प्रविधि कम्पनी सामसुङले अमेरिकी प्रबिधि कम्पनी एनभिडियाको आवश्यकता पूरा गर्न सङ्घर्ष गरिरहेको छ किनकि प्रतिद्वन्द्वी एसके हाइनिक्स यसको ‘एआई ग्राफिक्स प्रोसेसिंग युनिट (जीपीयू)’ को लागि उच्च ‘ब्यान्डविथ मेमोरी (एचबीएम) चिप्स’को लागि अमेरिकी प्रविधि कम्पनी एनभिडियाको मुख्य आपूर्तिकर्ता बनेको छ।

विश्वको सबैभन्दा ठूलो मेमोरी चिप निर्माता कम्पनी सामसुङले आफूले ‘सङ्कट’ को सामना गरिरहेको गत बर्षको अक्टोबरमा नै स्वीकार गरिसकेको थियो । यसको ‘मौलिक प्राविधिक प्रतिस्पर्धा र कम्पनीको भविष्य’ को बारेमा प्रश्नहरू उत्पन्न भएको स्वीकार गरेको छ।

‘सामसुङले ‘गर या मर’ को समस्याको सामना गरिरहेको छ । हामीले सतहबाट गहिराइमा सोच्न आवश्यक छ,” दक्षिण कोरियाली समाचार संस्था योनहापले शीर्ष अधिकारीहरूको प्रशिक्षणको क्रममा सामसुङ अध्यक्ष ली जे–योङले राखेको विचारलाई उदृत गर्दै समाचारमा उल्लेख गरेको छ ।

योनहापले कम्पनी स्रोतलाई उदृत गर्दै भनेको छ, “लीको सन्देश भनेको सङ्कट होइन, तर यसको सामना गर्ने मनोभावना हो।” उनले भने,“अल्पकालीन नाफालाई त्याग्नु परे पनि हामीले भविष्यका लागि लगानी गर्नुपर्छ ।”

अनुसन्धानमा भएको खर्चका कारण सामसुङको सञ्चालन मुनाफा गत वर्षको चौथो त्रैमासिकमा झण्डै एक तिहाइले घटेको थियो ।

सन् २०१५ मा विवादास्पद मर्जरसँग सम्बन्धित आरोपबाट लीलाई गत महिना सफाइ दिइएको थियो । यद्यपि, अभियोजकहरूले दक्षिण कोरियाली प्रविधि कम्पनीमाथिको उनको नियन्त्रण बन्द गर्न बनाइएको दाबी गरेका थिए।

पछिल्लो सुनुवाइका क्रममा लीले सामसुङको भविष्यबारे बढ्दो चिन्ताबारे आफू जानकार रहेको बताएका छन् । उनले भने, “हामीले सामना गर्नुपरेको वास्तविकता पहिलेको भन्दा कठिन छ, तर हामी यी चुनौतीहरू पार गर्न र एक कदम अगाडि बढ्न कटिबद्ध छौँ।”

बङ्गलादेशका नेता युनुस चीन भ्रमणमा जाने

ढाका । बङ्गलादेशको सङ्क्रमणकालीन सरकारका प्रमुख नेता मोहम्मद युनुस यसै महिना कूटनीतिक सद्भावना भ्रमणका लागि बेइजिङ जाने भएका छन् ।

छिमेकी मुलुक भारतसँगको चिसो सम्बन्ध देखिएका समय उनको चीन भ्रमण हुन लागेको हो ।
नोबेल शान्ति पुरस्कार विजेता युनुसले गत अगष्टमा भएको विद्यार्थी आन्दोलनबाट पदच्युत भएका पूर्वप्रधानमन्त्री शेख हसिनाको स्थानमा बङ्गलादेशको बागडोर सम्हालेका हुन् ।

भारत हसिनाको सरकारको सबैभन्दा ठूलो हितैषी थियो र उनको बहिर्गमनले भारतसँगको सीमापार सम्बन्धलाई सङ्कटमा पारेको समय युनुस नेतृत्वको कामचलाउ सरकारले एसियाली उपमहाद्वीपमा सत्ता र प्रभावका लागि नयाँ दिल्लीको प्रमुख प्रतिद्वन्द्वी बेइजिङसँगको पूरानो मित्रतालाई प्रगाढ बनाउन लागेको विश्लेषकहरूले बताएका छन् ।

युनुसका सञ्चार सचिव शफिकुल आलमले आइतबार पत्रकारसँग भने, “बङ्गलादेशले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने लक्ष्य राखेको छ ।”

“युनुस र चिनियाँ उच्च अधिकारीबीच दुवै मुलुकसँग सम्बन्धित विविध विषयमा छलफल हुनेछ,” उनले भने ।
युनुसले मार्च २६ देखि २९ सम्म हुने भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

चीनमा रहँदा उनलाई पेकिङ विश्वविद्यालयबाट मानार्थ विद्यावारिधिको उपाधि प्रदान गर्ने साथै लगानीका अवसरहरूको खोजी गर्न विभिन्न चिनियाँ फर्महरूसँग भेटघाट गर्ने पनि कार्यक्रम रहेको छ ।

“बङ्गलादेश निर्माण क्षेत्र (म्यानुफ्याक्चरिङ हब) बन्न चाहन्छ र यो प्रयासमा चीनसँग साझेदारी गर्न इच्छुक छ,” आलमले भने ।

सन् २०१७ मा छिमेकी मुलुक म्यानमामा भएको हिंसात्मक सैन्य कारबाहीबाट भागेर आएका रोहिङ्ग्या शरणार्थीको विशाल जनसङ्ख्याबारे पनि कूटनीतिक वार्ताबाट छलफल हुने अपेक्षा गरिएको छ ।

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री खड्का

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

जल तथा ऊर्जा आयोगको सचिवालयको आयोजनामा सोमबारदेखि सुरु भएको ‘नेपाल राष्ट्रिय हिमनदी, जल तथा मौसम सप्ताह–२०८१’को शुभारम्भ गर्दै मन्त्री खड्काले हिमतालको संरक्षण गर्न आगामी दिनमा सरकारले बजेटको व्यवस्था गर्ने बताए ।

“हिमताल फुट्दाको जोखिमबाट उत्पन्न हुने अवस्था भयावह छ, यो फुटेपछि मानवीय क्षतिसँगै आयोजनाको समेत ठूलो क्षति हुने भएकाले यसलाई समयमै जोगाउनतफृ लाग्नुपर्छ,” मन्त्री खड्काले भने । उनले जलवायु परिवर्तन र विश्वमा भएको तीव्र औद्योगिकरणका कारण विश्वको तापक्रम बढ्दै जाँदा यसको असर नेपालका हिमालमा परेको भन्दै चिन्ता व्यक्त गरे ।

“हिमाल उत्पत्ति भएसँगै हिमताल बनेका छन्, प्राकृतिक हिमतालको संरक्षण गर्नु आजको आवश्यकता हो, हिमतालको संरक्षणका लागि आगामी वर्ष बजेटको व्यवस्था गछौँ,” उनले भने ।

मन्त्री खड्काले जलवायु परिवर्तनको बढ्दो प्रभाव, हिमनदीको घट्दो अवस्था तथा जल र मौसमको बदलिँदो स्वरूपलाई दृष्टिगत गर्दै सरकारले नीति निर्माणदेखि व्यवहारिक समाधान खोज्नेतर्फ विशेष ध्यान दिन आवश्यक रहेको उल्लेख गरे । पानीको अधिकतम उपयोग र संरक्षण गर्नतर्फ सबै लाग्नुपर्ने उनको भनाइ थियो ।

“नेपालमा हिमालय पर्वत शृङ्खलाबाट उत्पन्न हुने नदी तथा हिमनदीले हाम्रो ऊर्जा, कृषि, पर्यटन र जैविक विविधताको आधार निर्माण गरेका छन्, यी जलस्रोत हाम्रो संस्कृति, सभ्यता र आर्थिक विकासको मेरुदण्ड हुन्, पछिल्ला वर्षमा जलवायु परिवर्तनका कारण हाम्रा हिमनदी खुम्चिँदै गएका छन्, यसले जलस्रोत व्यवस्थापन र भविष्यको जलसुरक्षासम्बन्धी गम्भीर चुनौती उत्पन्न गरेको छ,” मन्त्री खड्काले भने । जलस्रोत र मौसम विज्ञानको अध्ययन, अनुसन्धान तथा प्रविधिको प्रयोगलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको उनले बताए ।

सरकारद्वारा हाल सञ्चालन भइरहेका विभिन्न जल तथा मौसमसम्बन्धी पूर्वानुमान प्रणालीलाई डिजिटल प्रविधिसँग समायोजन गर्दै प्रभावकारी आपत्कालीन व्यवस्थापन प्रणाली स्थापना गरिने उल्लेख गरे ।

मन्त्री खड्काले स्वच्छ पानीको प्रवद्र्धन, मौसम पूर्वानुमान प्रणालीको सुदृढीकरण तथा जलस्रोतको दिगो व्यवस्थापनलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम सरकारले अघि बढाइरहेको स्पष्ट पारे । सरकार दिगो जलस्रोत व्यवस्थापन र जलवायु अनुकूलन रणनीति कार्यान्वयन गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

मन्त्री खड्काले जलस्रोत व्यवस्थापनको क्षेत्रमा नेपालले छिमेकी देशसँग मिलेर काम गर्नसक्ने थुप्रै अवसर रहेको बताए । उनले जल तथा मौसम विज्ञानसँग सम्बन्धित अनुसन्धान संस्थासँग सहकार्य गरी नेपालका जलस्रोतको दिगो व्यवस्थापन तथा विकासलाई सुनिश्चित गर्न लाग्ने उल्लेख गरे ।

जल तथा ऊर्जा आयोग सचिवालयका सचिव मधुप्रसाद भेटुवालले एक हप्तासम्म चल्ने नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताहले पानी, जलवायु, मौसमलगायतका विषयमा जनचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने बताए ।

उनले जल तथा मौसमसम्बन्धी अनुसन्धान, नीतिगत सुधार, प्रविधि हस्तान्तरण, तथा अन्तर्राष्ट्रिय सहकार्यलाई अझ मजबुत पार्न यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

‘हिमनदी संरक्षण, सबैका लागि समयमै पूर्वसूचना’ नाराका साथ मनाउन लागिएको उक्त सप्ताहमा नेपालका हिमनदी र जल तथा मौसमको बारेमा जनचेतना फैलाइने आयोगका सहसचिव जगदीश्वर कर्माचार्यले जानकारी दिए । उक्त सप्ताह यही चैत १० गतेसम्म चल्नेछ । 

सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिन गर्न सांसदहरूको माग

काठमाडौं ।  सांसदहरूले गत साउनमा भएको सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको माग गरेका छन् । सोमबारको राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद धनश्याम रिजाल गत साउनमा दुर्घटना भएका सौर्य एयरसलाइन्सको दुर्घटनाबारे सत्यतथ्य छानबिनको माग गरे ।

‘उक्त जहाज दुर्घटना भएको आठ महिना बितिसक्दा पनि छानबिन गरेर प्रतिवेदन तयार गर्न सकेको छैन । दुर्घटनामा ज्यान घुमाउने मृतकका आफन्तले छानबिनको माग गरिरहेका छन् । उनीहरूको माग सम्बोधन गर्न सरकारको ध्यानआकर्षण गराउन चाहन्छु’, उनले भने ।

सांसद रेणु चन्दले पनि सौर्य एयरलाइन्सको दुर्घटनासम्बन्धमा सत्यतथ्य छानबिन गर्न ढिलाइ गर्न नहुनेमा जोड दिए ।

उनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अतिरिक्त सचिव डा सङ्गीता कौशल मिश्रको पदोन्नति नगराइएकोमा सरकारसँग जवाफ मागे । सांसद कृष्णबहादुर रोकायले शिक्षक आन्दोलनरत रहेको भन्दै उनीहरूसँग वार्ता गरेर माग पूरा गर्नुपर्नेमा जोड दिए ।

सांसद रुक्मिणी कोइरालाले यौन व्यवसायलाई कानुनी मान्यता दिने धारणा गलत भाष्य स्थापित गर्न खोजेको भन्दै आपत्ति जनाइन् । सांसद विष्णुकुमारी सापकोटाले पूर्वविशष्टहरूलाई आजीवन सेवा सुविधा उपलब्ध गराउन नहुने धारणा राखिन् ।

सांसद विष्णुदेवी पुडासैनीले भने भत्काइएका सडकको समयमै निर्माण गर्नुपर्नेमा जोड दिइन् । शून्य समयमा बोल्दै सांसद विष्णुबहादुर विश्वकर्माले बालबन्दी गृहमा लागुऔषध भित्रिएको भन्दै सत्यतथ्य छानबिनको माग गरे । बैठकमा सांसदहरू श्रीकृष्णप्रसाद अधिकारी र पदमबहादुर परियारले पनि विभिन्न विषयमा आफ्नो धारणा राखे ।

अझै जनअपेक्षाअनुसारका धेरै काम गर्न बाँकी छ, सबै हातेमालो गरी अघि बढौँः सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रपछि मुलुक र जनताको समृद्धिका लागि धेरै काम भएको बताएका छन् ।

राससद्वारा प्रकाशित ‘रासस फोटो किताबः गणतन्त्रका १६ वर्ष’ पुस्तक सोमबार उनलाई हस्तान्तरणका क्रममा सभापति देउवाले सो कुरा बताएका हुन् । उनले देशमा भएका विकास निर्माणका कामका बारेमा सन्देश प्रवाह गरी ‘केही काम भएको छैन’ भन्ने नकारात्मक भाष्यलाई चिर्नु आवश्यक भएको उल्लेख गरे ।

मुलुकमा भएका कामका बारेमा जनतामा जानकारी गराउनु जरुरी रहेको र त्यसका लागि राससले प्रकाशन गरेको यस प्रकारका पुस्तकको ठूलो महत्व हुने उनको भनाइ थियो ।

पुस्तक अवलोकनपछि उनले भने, ‘यद्यपि अझै जनअपेक्षाअनुसारका धेरै काम गर्न बाँकी छ, यसमा सबै हातेमालो गरी अघि बढौँ ।’

त्यस अवसरमा कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले रासस फोटो किताबको विषयमा सभापति देउवालाई जानकारी गराएका थिए ।

अहिले लगानीको एउटा वातावरण तयार भएको छः अध्यक्ष ढकाल

ललितपुर । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले तीनै तहका सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी रहेकामा जोड दिएका छन् ।

ललितपुर उद्योग वाणिज्य सङ्घको ५८औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यत्रममा उनले केन्द्रीय सरकारले सहकार्य र सहजीकरणका माध्यमबाट कानुनी समस्या समाधान गर्दै लगानीमैत्री वातावरण तयार गरेको बताए । उनले सहकार्यका माध्यमबाट समृद्धि हासिलमा लाग्नुपर्नेमा जोड दिए ।

“रोजगारी सिर्जना, पूर्वाधार निर्माणको काम निजी क्षेत्रको हो, यसका लागि स्थानीय सरकार र निजी क्षेत्रबीच सहकार्य अनिवार्य छ, ललितपुर महानगरले निजी क्षेत्रलाई गरेको प्रोत्साहन सराहनीय छ, प्रदेश सरकारसँग पनि सहकार्य गरेका छौँ”, अध्यक्ष ढकालले भने ।

उनले निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हस्तक्षेप गर्ने गरी कानुन आउने हल्लाले एक किसिमको त्रास सिर्जना गरेको थियोे भन्दै उद्योग वाणिज्य महासङ्घको प्रयासमा अहिले त्यो अवस्था समाधान भएको उल्लेख गरे । “अहिले एउटा वातावरण तयार भएको छ, सरकारले कानुन परिवर्तन गरेर निजी क्षेत्रलाई प्रोत्साहन गरेको छ, अब कार्यविधि र नियमावली सही रुपमा छिटो भयो भने धेरै परिवर्तन हुन्छ, हामीसँग धेरै सम्भावना छन्, सूचना प्रविधिको क्षेत्रमा सम्भावना छ, पैसाको कारणबाट काम गर्न नसक्ने अवस्था हुँदैन”, उनले भने । उनले सकरात्मक सोचका साथ काम गरेर पुँजी परिचालन गर्दै विकास र समृद्धि हासिल गर्न सकिने बताए ।

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले निजी क्षेत्र र सरकारबीचको सहकार्यलाई प्रभावकारी बनाउन आफू तत्पर रहेको बताए । “हामी उद्योग वाणिज्य महासङ्घ र उद्योगी व्यवसायीबीच सहकार्य गर्न तत्पर छौँ, उद्योग वाणिज्य महासङ्घबाट बजेट निर्माणका समयमा छफलमा सहभागी हुनुहोस्, सँगै मिलेर काम गर्न जरुरी छ”, उनले भने ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले ललितपुर उद्योग वाणिज्य सङ्घबाट नेपाल उद्योग वाणिज्य महासङ्घमा सबै कार्यकालमा सक्रिय प्रतिनिधित्व रहेको बताउँदै ललितपुरको आर्थिक सामाजिक विकासमा मिलेर काम गर्न तत्पर रहेको धारणा राखे ।

ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विश्वराज बज्राचार्यले ललितपुरमा विदेशी लगानी भित्राउन अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने तयारी गरिरहेको बताए ।

उनले ललितपुर उद्योग वाणिज्य सङ्घको एप बनाउने तयारीमा रहेको जानकारी गराउँदै अर्थतन्त्रलाई चलायमान बनाउन ललितपुर महोत्सव गर्ने तयारी गरिरहेको पनि जानकारी दिए ।

कार्यक्रममा भाषा, साहित्य, कला, संस्कृति संरक्षण एवं सम्बद्र्धनमा योगदान पुर्याउने संस्कृतिविद् छत्रबहादुर कायस्थलाई २५ हजार र सम्मानपत्रसहित सम्मान गरिएको छ ।

विसं २०२३ चैत ४ गते स्थापना भएको ललितपुर उद्योग वाणिज्य सङ्घले ५८औँ स्थापना दिवसका अवसरमा पूर्वअध्यक्ष, पूर्वपदाधिकारीलगायतलाई सम्मान गरेको हो ।

प्रधानमन्त्रीलाई गैसस महासङ्घको घोषणापत्र हस्तान्तरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गैह्रसरकारी संस्था महासङ्घ नेपालको नवनिर्वाचित नेतृत्वले ११औँ महाधिवेशन तथा राष्ट्रिय नागरिक सम्मेलनबाट पारित २१ बुँदे घोषणापत्र हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा सोमबार महासङ्घका अध्यक्ष अर्जुनकुमार भट्टराईसहितको टोलीले सामाजिक संस्थामैत्री नीति र कानुनको बन्नुुपर्ने, नेपाल विकास सम्मेलनको आयोजना गरिनुपर्नेलगायत विषय समेटिएको घोषणापत्र बुझाएको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले नयाँ नेतृत्वलाई बधाई दिँदै सामाजिक रुपान्तरण र विकासका काममा सफलता हासिल गर्न शुभकामना दिए ।

महासङ्घको गत फागुन २५ गतेदेखि २७ गतेसम्म काठमाडौँमा भएको महाधिवेशनबाट भट्टराईको अध्यक्षतामा ५१ सदस्यीय कार्यसमिति निर्वाचित भएको थियो ।