`

‘माउन्ट एभरेष्ट’ होइन, सगरमाथा इज सगरमाथाः प्रधानमन्त्री ओली

Nepal One HD १८ वैशाख २०८२ १५:२७
प्रमुख खबर

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वाेच्च शिखर सगरमाथालाई सगरमाथाकै नामबाट विश्वमा ब्राण्डिङ गर्नुपर्ने बताएका छन् ।

कोशी लगानी सम्मेलनको विहीबार विराटनगरमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सगरमाथालाई ‘माउन्ट एभरेष्ट’ भनिरहन नपर्ने बताएका हुन् ।

उनले हामीले अब सगरमाथा नै भनेर प्रचार गर्नुपर्ने बताए । उनले भने, ‘एभरेष्टसँग  समगरमाथाको कुनै लिनदिनु छैन, यो नक्कली नाम हो हामीले सगरमाथा नै भन्नुपर्छ, प्रपर नाउन भनेको अर्को हुँदैन, त्यसैले सगरमाथा इज सगरमाथा । माउन्ट एभरेष्ट भनेर सगरमाथाको नाम जसको नाममा राखियो । उनी एउटा ब्रिटिस एभरेष्ट नाम गरेका व्यक्ति हुन् । ती व्यक्तिले सगरमाथा होइन, ल्होत्से चाहिँ अग्लो छ भनेर हिसाब निकालेका थिए । एभरेष्टसँग सगरमाथाको कुनै लिनुदिनु छैन ।’

कार्यक्रममा प्रधानमन्त्रीले नेपालमा लगानीका लागि प्रशस्त सम्भावना र उपयुक्त वातावरण रहेकाले ढुक्क भएर लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह गरे ।

उनले भने, ‘वर्तमान समयमा सडक, पुललगायत पूर्वाधार निर्माण भइसकेकाले सबै लगानीकर्ताले ढुक्क भएर लगानी गर्न सक्नुहुन्छ । सरकारका तर्फबाट कुनै समस्या पर्न दिने छैनौँ । आवश्यक सहकार्य र समन्वय गर्न सरकार तयार छ ।’


प्रतिक्रिया