`

तिम्बुङ पोखरीः पर्यटनको नयाँ गन्तव्य

फुङलिङ । नेपालमा पोखरी र तालहरूको कुरा गर्दा ठूला, गहिरा र अग्ला स्थानमा रहेका ती सुन्दर जलाशयको स्मरण हुन्छ। तीमध्ये केही ठाउँमा पर्यटकको घुइँचो लाग्ने गर्छ, जहाँ पर्यटक प्रकृतिको अनुपम सुन्दरतामा हराउँछन्। ताप्लेजुङमा पनि यस्ता दर्जनौं ताल छन्, जसका बारेमा धेरैलाई थाहा नहुन सक्छ। तीमध्ये एउटा अनुपम सौन्दर्य बोकेको पोखरी हो सिदिङवा गाउँपालिकाको कालीखोलामा अवस्थित तिम्बुङ पोखरी।

सदरमुकाम फुङ्लिङबाट करिब सात घण्टा गाडी यात्रा र एक दिनको पैदल यात्रापछि पुग्न सकिने यो पोखरी हाल पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र ऐतिहासिक महत्व बोकेको यस पोखरीलाई लिम्बू समुदायले ‘तिम्मक वरक’ भन्ने गर्थे। लिम्बू भाषामा‘तिम्मक’ को अर्थ बन्दुक र ‘वरक’ को अर्थ पोखरी हो।

किम्बदन्तीअनुसार परापूर्वकालमा यहाँबाट बन्दुक पड्किएको जस्तै आवाज आउने भएकाले यसलाई तिम्मक वरक भनिन्थ्यो, जुन अहिले ‘तिम्बुङ पोखरी’ का बारेमा जानकार इन्द्रप्रसाद बेघाको भनाइ छ। तिम्बुङ पोखरी प्राकृतिक रूपमा अनुपम त छँदैछ, धार्मिक हिसाबले पनि अत्यन्त महत्वपूर्ण मानिन्छ। जनविश्वासअनुसार यहाँ वरदान मागेमा पूरा हुन्छ।

पौराणिक कथाअनुसार देवीदेवताहरू घना बस्तीका कारण स्वच्छ वातावरण खोज्दै हिँड्दा यो स्थानमा बसोबास गर्न पुगेका थिए। त्यसैले पनि यो ठाउँ आध्यात्मिक रूपमा पवित्र मानिन्छ। हिमाली क्षेत्रकै सुन्दर पोखरीमध्ये एक मानिने तिम्बुङ पोखरी चार हजार तीन सय ५० मिटर उचाइमा अवस्थित छ।

पोखरीको पानी स्वच्छ, नीलो र मनमोहक देखिन्छ, जसले आगन्तुकलाई लोभ्याउने गर्छ। हिमाली हावापानी, अग्ला पहाड, शीतल बतास र सुगन्धित जडीबुटीको सुगन्धले यहाँको वातावरणलाई स्वर्गीय बनाएको छ। सरकारले २०७५ सालमा नेपालका एक सय नयाँ पर्यटन गन्तव्य पहिचान गर्दा तिम्बुङ पोखरीलाई पनि समावेश गरेको थियो।

त्यसयता यहाँ आउने पर्यटकको सङ्ख्यामा केही वृद्धि भए पनि अझै पनि पर्याप्त लगानी र प्रचारप्रसारको अभाव देखिन्छ। हालसम्म आउने पर्यटकको अनुभव भने रोमाञ्चक छ। “यस्तो सुन्दर पोखरी देख्न पाइने कल्पना पनि गरेको थिइन, कठिन यात्रा भए पनि यहाँ आएपछि प्रकृतिको काखमै हराएको अनुभूति हुने गरेको छ”, तिम्बुङ पोखरी पुगेकी पवित्रा साउदेनले भनिन्।

पर्याप्त पूर्वाधार नहुँदा धेरै सम्भावना भएको यो ठाउँ अझै ओझेलमा परेको उनी बताउछिन्। उचित प्रवद्र्धन भएमा पर्यटनको मुख्य केन्द्र बन्नसक्ने झापाबाट तिम्बुङ पोखरी घुम्न आएका आन्तरिक पर्यटक माङ्गा उराउ बताउँछन्।

स्थानीय पालिकाले आफ्नै स्रोतबाट यो क्षेत्रमा केही लगानी गर्नसकेमा पर्यटनबाट आन्तरिक आम्दानीको राम्रो स्रोत बन्नसक्ने सुनसरीबाट घुम्न आउनुभएका पर्यटक घनश्याम साहको भनाइ छ।

तिम्बुङ पोखरीको संरक्षण र प्रवर्द्धनका लागि एक संरक्षण समिति गठन गरिएको छ। समितिले तीनै तहका सरकारसँग समन्वय गरेर विकासका केही काम अघि बढाइसकेको छ।

पाँचथर र ताप्लेजुङ दुवै जिल्लाबाट पोखरी पुग्न पैदलमार्ग निर्माण गरिएको छ। पोखरीबाट ढुङ्गाको सोलिङ र सिँढी निर्माण गरिएको छ। थप पूर्वाधार विकासका लागि आवश्यक समन्वय भइरहेको संरक्षण समितिका सल्लाहकार कैलाश राई बताउँछन्।

सम्झौताको समयभन्दाअघि नै इटहरी बसपार्क निर्माण

इटहरी । देशमा धेरै योजना समयमा काम नसकेर अलपत्र परिरहँदा सुनसरीको इटहरी उपमहानगरपालिकामा भने सम्झौताको समयभन्दा छ महिनाअघि नै निर्माण कार्य सम्पन्न भएको छ । वडा नं ९ स्थित बसपार्क क्षेत्रमा निर्माणाधीन तीन तले टर्मिनल भवनसहित सबै संरचना निर्माण कार्य सम्पन्न भएको उपमहानगरपालिकाका प्रवक्ता दिवस पोख्रेलले जानकारी दिए। वडा नं ६ का अध्यक्षसमेत रहेका प्रवक्ता पोख्रेलका अनुसार २०८० पुस १७ गते निर्माण सुरु गरी २०८२ असार १७ मा सम्पन्न गर्न निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।

निर्माणको जिम्मा पाएको श्री अर्थ–हाम्रो–श्रीमान् कम्पनीले तोकिएको समयभन्दाअघि नै निर्माण सम्पन्न गरी भवनसहितका संरचना हस्तान्तरणका लागि समय माग गरेको छ । सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी उपमहानगरलाई पत्राचार गरिसकेको निर्माण कम्पनीका ठेकेदार अङ्कुर गौतमले बताए। केही दिनमै उपमहानगरलाई भवन हस्तान्तरण गर्ने योजना रहेको गौतमले जानकारी दिए ।

एक बिघा क्षेत्रफलमा फैलिएको बसपार्कमा सुविधा सम्पन्न तीनतले टर्मिनल भवन बनेको छ। भवनको भुइँ तलामा एक सय यात्रु बस्न मिल्ने प्रतिक्षालय, टिकट काउन्टर, मिनीमार्ट, सार्वजनिक शौचालय र कन्ट्रोल रुम निर्माण गरिएको उपमहानगरका इञ्जिनियर भविन्द्र चौधरीले जानकारी दिए।

भवनको पहिलो तलामा व्यावसायिक प्रयोजन गर्न सकिने सात कोठा छन् भने दोस्रो तलामा क्याफेसहितको रेस्टुरेन्ट रहेको इञ्जिनियर चौधरीले जानकारी दिए। बसपार्क रु नौ करोड ४८ लाख ८३ हजार पाँच सय ५६ मा निर्माण गरिएको उपमहानगरपालिकाले जनाएको छ।

सो योजना नगर विकास कोषको ७० प्रतिशत र उपमहानगरको ३० प्रतिशत लागत साझेदारीमा निर्माण गरिएको हो। दुई दशकअघि निर्माण भएको बसपार्क बढ्दो सवारीसाधनको चापसँगै अव्यवस्थित बनको थियो । बसपार्कलाई व्यवस्थित र व्यावसायिक रूपमा प्रयोग गर्ने उपमहानगरको योजना रहेको छ। 

भन्सार शुल्क हटाउन मेक्सिको र अमेरिकाबीच समझदारीको प्रयास

मेक्सिको सिटी । मेक्सिकोले बुधबारदेखि लागू हुने गरी आफ्नो स्टील र आल्मुनियम निर्यातमा २५ प्रतिशतको भन्सार कर हटाउन संयुक्त राज्य अमेरिकासँग वार्ता गरिरहेको अर्थमन्त्री मार्सेलो एब्रार्डले बताएका छन् ।

‘हामीले स्टील र एल्युमिनियममा सम्झौता गर्न आवश्यक छ,’ एब्रार्डले मेक्सिकोको राष्ट्रिय दरबारमा दैनिक प्रेस ब्रिफिङ्गमा भने । मेक्सिकोले अमेरिकाबाट निर्यात भन्दा बढी स्टिल र आल्मुनियम आयात गर्छ, जसले प्रस्तावित करहरू अनुचित बनाएको उनको तर्क थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरी १० मा एक कार्यकारी आदेशमा हस्ताक्षर गरे, जुन यस क्षेत्रको व्यापार घाटालाई उदृत गर्दै सबै स्टील र आल्मुनियम आयातमा २५ प्रतिशत कर लगाउनेछ ।

बिहीबार, मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउम र ट्रम्पले अप्रिल २ सम्म मेक्सिकन उत्पादनहरूमा व्यापक करहरू अस्थायी रूपमा निलम्बन गर्न सहमत भए ।

ट्रम्पले ओभल अफिसमा पत्रकारहरूलाई उनको मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबामसँग ‘धेरै राम्रो कुराकानी’ भएको बताए ।

उनले अवैध आप्रवासन र संयुक्त राज्य अमेरिकामा आउने लागूऔषधहरू दुवैमा ‘अत्यधिक प्रगति’ भएको दाबी गरे । दुवै कारण वासिङ्टनले मेक्सिको, क्यानाडा र चीनमा भन्सार शुल्क लगाउँदा उल्लेख गरिएका थिए ।

रुसको आक्रमणमा युक्रेनमा १२ जनाको मृत्यु

युक्रेन । पूर्वी युक्रेनमा शनिबार  रातभर गरिएको रूसी आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको देशको आपतकालीन सेवाले जनाएको छ । यो घटना साउदी अरेबियामा अमेरिका र युक्रेनी वार्ताकारहरूबीच युद्धविरामको लागि हुने वार्ताको केही दिन अगाडि भएको हो ।

युक्रेनको डोनेट्स्क क्षेत्रको डोब्रोपिलियाको केन्द्रमा शुक्रबार राति भएको रुसी आक्रमणमा ११ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको आपतकालीन सेवाले जनाएको छ । खार्किभ क्षेत्रका सैन्य प्रमुख ओलेग सिनेगुबोभले शनिबार बिहान बोगोदुखिभ सहरमा भएको ड्रोन हमलामा एक जनाको मृत्यु भएको र अन्य सात जना घाइते भएको बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि नयाँ प्रतिबन्ध र शुल्क लगाउने धम्की दिएका बेला रातभर हवाई आक्रमण भएको हो ।

अमेरिकी राष्ट्रपतिले शुक्रबार पत्रकारहरूलाई भने,“उहाँ रूसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि विश्वास गर्नुहुन्छ । मलाई वास्तवमै युक्रेनसँग सम्झौता गर्न गाह्रो लाग्छ र उनीहरूसँग कुनै विकल्प छैन । रूससँग सम्झौता गर्न सजिलो हुन सक्छ ।”

साथै, पत्रकारहरूलाई मन्तव्य दिएको केहि समय पछि राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार युक्रेनमा बमबारी गरेकोमा रुसमाथि नयाँ प्रतिबन्ध र कर लगाउने धम्की दिएको छ ।

“रूसले अहिले युद्धभूमिमा युक्रेनलाई पूर्ण रूपमा आक्रमण गरिरहेको छ । म युद्धविराम र शान्ति सम्झौतामा पुग्न नसकेसम्म रूसमाथि ठूलो मात्रामा बैंकिङ प्रतिबन्ध, नाकाबन्दी लगाउने बारेमा दृढतापूर्वक विचार गरिरहेको छु,” ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममा उल्लेख गरे ।

“रूस र युक्रेन, अब वार्ताको टेबलमा आउनुहोस्,” उनले लेखे । ट्रम्पको धम्की यस्तो समयमा आएको हो, जब रुसले शुक्रबार युक्रेनको ऊर्जा पूर्वाधारमा ठूलो ड्रोन र मिसाइल आक्रमण गरेको थियो ।

केही दिनअघि राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको विवादपछि ट्रम्प प्रशासनले युक्रेनसँग अमेरिकी सैन्य सहायता वितरण र गुप्तचर आदान प्रदानमा रोक लगाएको थियो । नेशनल इकोनोमिक काउन्सिलका निर्देशक केभिन ह्यासेटले ट्रम्पको धम्की कूटनीतिक रणनीतिको हिस्सा भएको बताए ।

“राष्ट्रपति ट्रम्प अडिग छन् कि हामीले सबैलाई टेबुलमा ल्याउनुपर्छ । उनले सबैसँग कुरा गर्दै हुनुहुन्छ,” ह्यासेटले पत्रकारहरूलाई बताए ।

सामाजिक सञ्जाल विधेयक अराजकता घटाउन होः नेता ढकाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य एवं जनवर्गीय सङ्गठन समन्वय संयन्त्र प्रमुख भनुभक्त ढकालले सामाजिक सञ्जाल विधेयक मिडिया क्षेत्रको नियन्त्रण गर्न नभई अराजकता घटाउन ल्याउन लागिएको बताए ।

प्रेस चौतारी नेपाल उपत्यका प्रदेश कमिटीको दोस्रो अधिवेशनको उद्घाटन समारोमा उनले विधेयकमा भएका कमजोरी सच्याउन आफूले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले भने, “बलियो सरकार भएकै बेला सच्याउँ र कार्यान्वयनमा ल्याउँ, बलियो सरकार भएकै बेला काम गर्न सकिएन भनेपछि गर्न सकिँदैन ।”

नेता ढकालले सरकार दुईपटक ढल्ने बताए । उनले भने, “एक पटिक २०८३ असारमा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार र २०८४ को निर्वाचनपछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार ढल्छ ।”

दुई नेता देउवा र ओलीको समझदारी भएसम्म कसैले बोल्दैमा फरक नपर्ने स्थायी कमिटी सदस्य ढकालले बताए । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनलाई स्वस्थ्य र मर्यादित बनाउन मिडियाबाट सहयोगका लागि उनले आग्रह गरे।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले लोकतन्त्रका लागि स्वतन्त्र मिडिया आवश्यक रहेको बताए । उनले त्यसैले सामाजिक सञ्जाल विधेयक लोकतन्त्रको पक्षमा र मिडियाको पक्षमा हुने बताए ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, एमाले बागमती प्रदेशका उपसचिव भक्तकुमारी लामा, प्रेस चौतारीका नेता विश्वमणि सुवेदी, प्रेस युनियनका उपाध्यक्ष जीवन भण्डारी, प्रेस सेन्टरका नेता विक्रमरत्न श्रेष्ठ लगायतले प्रेस स्वतन्त्रताको पक्षमा एकताबद्ध हुनपर्नेमा जोड दिए ।

आईपीएलका संस्थापक मोदीले त्याग्दै भारतीय नागरिकता

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) का संस्थापक ललित मोदीले आफ्नो भारतीय नागरिकता त्यागेको निवेदन दिएका छन् ।

मोदीले लन्डनस्थित भारतीय उच्चायोगमा आफ्नो राहदानी बुझाउदै भारतको नागरिकता त्यागेको आवेदन दिएको  भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवाललाई उदृत गर्दै भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

ललित मोदीले भानुआटुको नागरिकता प्राप्त गरेपछि भारतीय नागरिकता त्याग्न लागेको बताइएको छ । 

ललित मोदीका वकिल महमूद अब्दीले पनि यसको पुष्टि गर्दै उनले दक्षिण प्रशान्त टापु राष्ट्र भानुआटुको नागरिकता लिएको बताएको मिडिया रिपोर्टमा उल्लेख छ । वकिल अब्दीले मोदीविरुद्ध भारतीय एजेन्सीले भारतको कुनै पनि अदालतमा कुनै उजुरी वा आरोपपत्र दायर नगरेको दाबि गरेका छन् । 

२००८ मा आइपिएलको स्थापना गरेका ललित मोदीलाई अनियमितता गरेको आरोप लागेपछि २०१० मा भारत छोड्न बाध्य पारिएको थियो ।  आफूविरुद्ध धरपकड हुनसक्ने संकेत पाएपछि मोदीले २०१० को आइपिएल फाइनलपछि तुरुन्त भारत छोडेर लन्डन पुगेका थिए । 

उनलाई अहिले विश्वको सबैभन्दा लोकप्रिय टी-२० लिग आइपिएल जन्माएको श्रेय जान्छ ।    

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैनः गृहमन्त्री लेखक

डोटी । गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् । भूकम्पीय पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन एकाइ कार्यालयको उद्घाटन गर्न अछाम जाने क्रममा नेपाल प्रेस डोटीले युनियनले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘गणतन्त्रको विकल्प राजतन्त्र हुनसक्दैन, लोकतन्त्रको विकल्प कुनै निरंकुशता हुन सक्दैन ।’

लोकतन्त्रका विरुद्धमा अहिले भइरहेका गतिविधि गर्न लोकतन्त्रले नै छुट दिएको उनले बताए । उनले पूर्वराजालाई शासन गर्न मन भए चुनावमा होमिएर खुला राजनीति गर्न चुनौतीसमेत दिए ।

गृहमन्त्री लेखकले संविधान संशोधनका विषयमा गृहकार्य भइरहेको बताए । सरकार गठन पूर्व नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको समझदारीअनुसार संविधान संशोधनका लागि कार्यदल बनाउने सहमति भई गृहकार्य अघि बढेको र सबैको सहमतिमा संविधान संशोधन हुने उनले बताए ।

अहिलेको निर्वाचन प्रणालीबाट एउटै दलले बहुमत ल्याउँछ भन्नु आदर्शवादी कुरा मात्र होः सांसद गिरी(अन्तरवार्ता)

काठमाडौँ । नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभामा सचेतकको भूमिकामा रहेका पदम गिरीले वर्तमान सरकारलाई नै बलियो बनाएर जाँदा देश र जनताको हित हुने बताएका छन् ।

उनले नेपाली जनताको समृद्धिको यात्रामा सहयोग पुर्याउनका लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्न र प्रतिबद्ध हुन आह्वान समेत गरे ।

गिरीले भने, ‘देश र जनताकाहितमा काम गर्नेगरी सरकारले प्रयास गरेकोछ । वर्तमान सरकारप्रति जनताको ठूलो आशा र अपेक्षा छ । परिस्थितिको आँकलन गर्दै अझै गम्भीर र मेहेनतकासाथ काम अघि बढाउनुपर्छ ।’

विस २०४७ मा विद्यार्थीकालमै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको काफलचौर माध्यमिक विद्यालयमा सङ्गठित भई राजनीतिमा प्रवेश गरेका गिरी पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति, नेकपा(एमाले) पर्वत जिल्ला कमिटी सदस्य, अध्यक्ष हुँदै पार्टी केन्द्रीय कमिटी सदस्य छन् ।

विस २०७४ र २०७९ मा पर्वत जिल्लाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सांसद गिरीले यसअघि कानुन,न्याय तथा संसदीय मामिला र स्वास्थ्य तथा जनसंख्या मन्त्रीको कार्यभार सम्हालिसकेका छन् । उनी हाल नेकपा एमाले संसदीय दलको प्रमुख सचेतक छन् ।

प्रतिनिधिसभा सदस्य गिरीसँग ‘सांसद्सँग रासस संवाद’मा राससका प्रमुख समाचारदाता नारायण न्यौपाने र श्रव्यदृश्य सम्पादक नवीन पौडेलले गरेको कुराकानीको सम्पादित अंशः

मुलुकमा अहिले भइरहेको राजनीतिक अभ्यासलाई यहाँले कसरी हेरिरहनुभएको छ ?

देशको राजनीतिक अहिले पनि अप्ठेरो स्थितिबाट अघि बढिरहेको छ । अर्थतन्त्र कमजोर स्थितिमा छ । रोजगारीका अवसर गुमेको तथा सेवाप्रवाहलाई पनि अपेक्षाकृतरुपमा अघि बढाउन सकिएको छैन । यो परिस्थितिलाई बिरासतकैरुपमा लिएर वर्तमान सरकार गठन भएको थियो । आमजनता शिक्षा, स्वास्थ्य,रोजगारी र सामाजिक सुरक्षाका क्षेत्रमा शीघ्रअनुभूत गर्नेगरी काम भएको हेर्न चाहन्छन् । पछिल्लो समय अर्थतन्त्रमा केही सुधारका सङ्केत देखिन थालेको छ । पहिलेका तुलनामा राजनीति पनि स्थायित्व र सुधारको बाटोमा अघि बढेको छ । सरकार जनतातर्फ फर्केको अनुभूति भएको छ । जनहितका लागि केही गरौँ भन्ने सरकारले प्रयास गरेको छ । मुलुकका दुई प्रमुख राजनीतिक पार्टीहरु, नेकपा एमाले र नेपाली काँग्रेस, मिलेर बनेको सरकार हुनुका नाताले जनताको ठूलो अपेक्षा छ । परिस्थिति आँकलन गरी सरकारले अझै गम्भीर र मेहेनतकासाथ काम अघि बढाउनुपर्छ भन्ने लाग्छ ।

वर्तमान सरकारको संविधान संशोधनको पृष्ठभूमिसँग जोडिएर गठन भएको छ, अहिले संशोधनको विषय चर्चामा छ, के विषयमा, कसरी संशोेधन प्रक्रिया अघि बढ्छ ?

संविधान संशोधन गर्नपर्ने दुईतीन वटा कारण छन् । स्वयम् संविधानको धारामै पनि दश वर्षमा समीक्षा, पुनरवलोकन र समीक्षा गर्ने विषय परिकल्पना गरिएको छ । अहिले नयाँ विषय अघि सारिएको होइन । मुलुकमा राजनीतिक अस्थिरता हुँदा सुशासन र विकास प्रभावित भएको पक्षलाई मध्यनजर गर्दै स्थायित्व कायम गर्नका निम्ति पनि संशोधन गर्न खोजिएको हो । कतिपय संवैधानिक अङ्गका मौजूदा व्यवस्थालाई चुस्त र व्यवहारिक बनाउन आवश्यक छ । जनताका पक्षमा कार्यान्वयनमा लैजान संविधान संशोधनका विषय उठेका हुन् । समावेशी, सहभागितामूलक र समानुपातिक चरित्रलाई थप सुनिश्चित गर्दै संविधानलाई समयानुकूल तुल्याउन संशोधन आवश्यक हुनसक्छ । त्यसै वरिपरि रहेर संशोधनका विषयमा संवाद चलेका हुन् । उपयुक्त समयमा आवश्यक विषय बाहिर आउला । केही नेता र दल विशेषको नभई आमजनताका सरोकार रहेकाले छलफल र संवादका आधारमा उपयुक्त ढङ्गबाट संशोधनलाई अघि बढाउन सकिन्छ । यसमा सबै नागरिकले आफ्ना अभिमत, विचार राख्ने र छलफल गर्दै नागरिकको सहभागिता जुटाउने काम गर्नुपर्छ ।

संविधान संशोधनको बहस चलिरहँदा प्राप्त उपलब्धि नै पो गुम्छ कि भन्ने कोणबाट आशङ्का भइरहेको छ, यसमा यहाँको भनाई के हो ?

सर्वप्रथम जनताले पाएका अधिकार र उपलब्धिको रक्षा गरिनुपर्छ । नागरिकका समस्यालाई सम्बोधन गरिनुपर्छ । मुलुकको राजनीतिक स्थायित्वलाई बल पु¥याउन अनावश्यक संयन्त्रको जालोलाई सीमाबद्ध गर्नुपर्छ । संशोधन अहिले नै यो बुँदा, धारा, ठाउँ भनेर किटान गर्न मिल्दैन । संशोधनको मुद्दा निकै महत्वपूर्ण र संवेदनशील विषय हो । उठेको विषयलाई सम्बोधन गर्न संशोधन भने आवश्यक भइसकेको छ । समावेशी र समानुपातिक प्रतिनिधित्वलाई कहिँ कतैबाट पनि आँच पुग्ने कोणबाट विषय उठाइनु हुन्न । त्यसमा नेताहरु प्रतिबद्ध हुनुहुन्छ । जनतालाई अझै बढी अधिकारसम्पन्न गराउने कुरालाई सोचेर संशोधन अघि बढाउनुपर्छ ।

मुलुकका राजनीतिक परिवर्तनमा एउटै मोर्चामा रहेर योगदान गरेका शक्तिहरुबीच पछिल्लो समय हार्दिकता टुटेको भन्ने टिप्पणीप्रति यहाँको भनाई के हो ?

राजनीतिक दलहरुबीच कतिपय सन्दर्भमा सहकार्य र कहिले प्रतिस्पर्धीका रुपमा रहन पर्ने अवस्था हुन्छ । मुलुकको अर्थतन्त्रका सन्दर्भमा हामी आन्तरिक र बाह्य जटिलताबाट गुज्रिरहेका छौँ । देशको भू–राजनीति जस्तो कठिनाई छ, जनतामा विकास, सुशासन, समृद्धिप्रतिको हुटहुटी र व्यग्रतालाई मध्यनजर राख्दै ठूला दलहरु कम्तिमा पनि केही समयका लागि देशको विकास, सुशासन, समृद्धि र राजनीतिक स्थिरिताका लागि एक ठाउँमा उभिनुपर्छ । होइन भने जनतामा थप निराशा बढेर जाने खतरा उत्पन्न छ । त्यसबाट सिङ्गो राजनीतिक प्रणालीप्रति एकखाले चुनौती उत्पन्न हुन सक्छ । त्यस कारणपनि प्रमुख शक्तिबीच गम्भीरताकासाथ सहकार्य गरेर जान अत्यन्त आवश्यक छ । यसैपृष्ठभूमिमा प्रमुख दुई दल मिलेर सरकार गठन भएको विषयलाई स्वाभाविक मान्नुपर्छ । कांग्रेस र एमालेबीच भएका समझदारी खुलस्त छन् । संविधान संशोधन र सरकारको आलोपालो भन्ने विषय जनतामा आइसकेको छ । अरु शङ्का र दुबिधा पाल्न पर्ने कुरा छैनन् । वर्तमान सरकारलाई नै बलियो बनाएर जाँदा देशको हित हुन्छ । त्यसैले सबै आ–आफ्नो ठाउँमा प्रतिबद्ध हुनुपर्छ भन्ने मेरो भनाई हो ।

हरेक पटक सरकार परिवर्तन हुँदा सुशासन प्राथमिकता भनिँदैआएको छ, तर अभ्यास र व्यवहारमा त्यो देखिन्न नि ?

सुशासनको एजेण्डा अनुरुप राज्यका संयन्त्रहरु त्यसप्रति प्रतिबद्ध भएको नागरिकले अनुभूति गरेका छैनन्। यो सत्य कुरा हो । मुलुकमा हिजोभन्दा आज भ्रष्टाचार बढेको होइन । विगतमा अकूत सम्पती कमाउने र देशलाई लुटेर खाने ठूलो हिस्सा थियो । सुशासनको अनुभूति त परैजाओस भन्न, बोल्न र माग गर्न नपाइने बेला थियो । त्यसलाई बिर्सन मिल्दैन । अहिलेजस्तो भ्रष्टाचारका तमाम घटना बाहिर आउन सक्दैन थिए । पत्रपत्रिका, सामाजिक सञ्जाल र अरु मिडियामा आउन सक्ने स्थिति थिएन । अहिले हरेक नागरिकले सचेत गराएका छन् ।समाज विरुद्धका भ्रष्टाचारजस्ता विषय नागरिकले उठाउन र बाहिर ल्याउन सक्ने भएका छन् । सबैलाई मुलुकको अवस्था केहो भन्ने जान्ने र बुझ्ने वातावरण बनेको छ । सुशासनको क्षेत्रमा जस्तो कठोर नीति लिनपथ्र्याे त्यो लिन सकेको अवस्था छैन । हामीसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सर्तकता केन्द्र र सम्पती शुद्धीकरणजस्ता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न स्थापित संरचना र संयन्त्र छन् । ती संयन्त्रले स्वतन्त्र र प्रभावकारीरुपमा काम गर्नुपर्छ । सुशासन भएन भने विकास र समृद्धिको लक्ष्य हासिल गर्न सम्भव हुँदैन । राष्ट्रसेवक कर्मचारीदेखि नेताहरुले सुशासनप्रति आ–आफ्नो ठाउँबाट इमान्दार र प्रतिबद्ध हुनुपर्यो । देशको स्वार्थलाई केन्द्रमा राखेर काम गर्नुपर्यो ।

संवैधानिक निकायका पदाधिकारीको नियुक्ति स्वतन्त्र ढङ्गबाट नभई आदेशपालक छनौट हुन्छ भनी प्रश्न उठिरहेका बेला कार्यसम्पादनको कस्तो अपेक्षा गर्न सकिएला र ?

संवैधानिक निकायमा स्वतन्त्र ढङ्गले नियुक्ति हुने र काम गर्र्ने प्रणाली हामीले विकास गर्नुपर्छ । त्यो गर्न सकिएन भने कुनै न कुनैरुपले दल विशेषको छायाँ हाबी हुन्छ । त्यस्ता निकायमा राजनीतिक प्रभाव र छायाँ पर्न गएमा स्वतन्त्रपूर्वक काम गर्न र निर्णय लिन नसक्ने अवस्था हुन्छ । पदाधिकारी छनौट प्रक्रियाको उत्तम विकल्प के हुन सक्छ भन्नेमा गहन छलफल र बहस हुनुपर्छ ।

हाल अभ्यासमा रहेको निर्वाचन प्रणाली खर्चिलोछ, यसबाट भ्रष्टाचारलाई मलजल गरेकोछ भन्ने प्रतिक्रियाप्रति यहाँको धारणा के हो ?

निर्वाचन प्रणालीका सन्दर्भमा राजनीतिक दलले उद्योगी, व्यापारी वा कुनै चन्दादातासँग खर्च लिएर चुनाव लड्ने प्रवृत्ति अन्त्य हुनुपर्छ । चुनावमा चन्दा लिए पछि त्यसप्रति सहानुभूति हुन्छ । त्यो स्थितिले सुशासन कायम गर्ने सन्दर्भमा समस्या सिर्जना गर्छ । त्यसकारण राजनीतिक दललाई हैसियत अनुसार विधि बनाएर पार्टी सञ्चालनका लागि राज्यले नै खर्च दिने प्रणाली अघि बढाउन सकिन्छ । चन्दा र सहयोग लिने अहिलेको अभ्यासले सुशासन कायम गर्न अप्ठेरो स्थिति सिर्जना हुन्छ । अहिलेको निर्वाचन प्रणालीले हाम्रोजस्तो मुलुकमा राजनीतिक स्थायित्व दिने विषयमा समस्याकारुपमा रहेकोछ । समानुपातिक र समावेशी प्रतिनिधित्वलाई थप मजबूत तुल्याएर राजनीतिक स्थायित्व दिँदै एउटै पार्टीले कम्तिमा पाँच वर्ष शासन चलाउने अवस्था कसरी बनाउन सकिन्छ ? त्यसतर्फ सबैले सोच्नुपर्छ ।

अहिलेको निर्वाचन प्रणालीबाटै पनि दल विशेषको बहुमत आउन सक्छ, त्यसका लागि पार्टीले जनतालाई खुसी तुल्याउन सक्नुपर्छ भन्ने दृष्टिकोण पनि छ नि ?

अहिलेकै निर्वाचन प्रणालीबाट दल विशेषको बहुमत आउँछ भन्ने विषय आदर्शवादी कुरा मात्रै हो । एउटा दलले सर्लक्क बहुमत ल्याउन सक्ने अवस्था छैन । एउटैले ल्याउन सक्छ भन्ने आदर्शवादी कुरा व्यवहारमा हुन्न । गठबन्धन नभई सरकार बनाउन नसकिने अवस्था छ । यसरी अघि बढ्दा भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्न सकिन्छ ? वास्तविकतालाई नजरअन्दाज गर्न मिल्दैन । त्यो उपयुक्त कुरा होइन । यतिका राजनीतिक दल छन् । त्यसमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने संविधानको मर्म र भावना छ । यस विषयमा ऐन र संविधानमा संशोधन गरेर अघि बढ्नै पर्छ । आदर्शले मात्र समाज चल्दैन, व्यावहारिक पक्ष हेरिनुपर्छ । त्यसलाई ध्यानमा राखेर निर्वाचन प्रणालीलाई अद्यावधिक गरिनुपर्छ ।

पर्वत जिल्लामा विकासको प्राथमिकता र जनताका अपेक्षा के हुन् ?

जिल्लामा आधारभूत पूर्वाधार निर्माण छिटो होस् भन्ने जनचाहनाछ । स्थायी प्रकृतिको सडक नहुँदा कृषि उत्पादन सहर पुर्याउन सकिएको छैन । किसानले जिल्लामा उत्पादन गरेको दूघ, दही बजार पु¥याउन सहजहुनुपर्छ । सडकको पहुँच नहुँदा जनतालाई ठूलो असुविधा भएको छ ।गाउँमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन सकिएको छैन । अस्पताल र स्वास्थ्यचौकी भवन छैनन् । सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा दिन नसक्दा विद्यार्थीको सङ्ख्या घट्दै गएको छ । जनशक्तिलाई अद्यावधिक गराउन विशेष ध्यान दिन पर्नेछ । त्यसलाई छिटो सम्बोधन हुनुपर्छभन्ने गुनासो छ । शिक्षा सुधारका लागि नीतिगत र प्रणालीगत सुधार आवश्यक छ । सेवाप्रवाहका विषयमा पनि जनताका एकखाले गुनासा छन् । रोजगारीका अवसर छैनन् । जनतामा मुलुकमा राजनीतिक स्थायित्व र सेवाप्रवाह चुस्त नहुँदा चिन्ता र गुनासा पाइन्छ । त्यसमा हामी राजनीतिक दलले गम्भीरताका साथ काम गर्नुपर्छ । अब ढिलाइ गर्ने छुट हामीलाई छैन ।

तपाईंले कानुन र स्वास्थ्य मन्त्रीको जिम्मेवारीमा रहेर काम गर्नु भइसकेको छ, वास्तवमा सरकार भनेको के रहेछ ?

सरकार भनेको सिङ्गो नागरिकको सम्पूर्ण जिम्मेवारी लिएको कार्यकारी निकाय हो । सरकारले गर्न नसक्ने भन्ने कुरा हुन्न । सरकारले विश्वास कायम गरी काम गर्ने वातावरण भने हुनुपर्छ । अहिले पनि राजनीतिक अस्थिरताका कारण गठबन्धन गरी सरकार बनाउन पर्ने अवस्था छ । त्यसले कुनै दलले घोषणापत्र कार्यान्वयन गर्नसक्ने स्थितिछैन । कतिपय विषयमा सम्झौता गर्नुपर्ने अवस्था छ । सेवाप्रवाहमा पनि चुनौती छ । यो महसुस भएको छ । नागरिकका समस्यालाई समाधान गर्ने र देशमा भविष्य छैन भनेर व्यक्ति, टोल, गाउँ र जिल्लामात्रै नभई देशै खाली हुने अवस्थालाई सम्बोधन गर्न गहिरो र फराकिलो सोचका साथ हामीले काम गर्न सक्नुपर्छ । युवालाई राष्ट्र निर्माणमा फर्कन प्रोत्साहन गर्नुपर्छ ।

युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न तथा विभिन्न चपेटामा परेका नागरिकलाई उत्साह प्रदान गर्ने केही सन्देश छ ?

विगत एक दशक नेपाली समाज द्वन्द्वको चपेटामा गुज्रन पर्यो । राज्यको ठूलो स्रोतसाधन त्यसमा खर्च भयो । देशले भौतिक, आर्थिक र मानवीय क्षति व्यहोर्न पर्यो । त्यसलगत्तै भूकम्प र विभिन्न महामारी खेप्न पर्यो । त्यसपछि पनि राजनीतिक स्थिरता नहुँदा अपेक्षाअनुरुप काम गर्न सकिएन । तथापि, देशमा सडक पूर्वाधारका क्षेत्रमा काम भने भएकै छ । दूरदराजमा सडकको पहुँच र गाउँगाउँमा पक्की बाटो निर्माण हुँदैछन् । खानेपानीका आयोजना र अस्पताल निर्माण र सञ्चालन भइरहकैछ । विकास पूर्वाधार र सेवाका क्षेत्रमा राज्यको ठूलो धनराशी खर्च भएको छ । पाँच दश वर्षभित्र आधारभूत तहको विकासका पूर्वाधार
पुर्याउन कोसिस भइरहेको छ । त्यसबाट जनतालाई रोजगार र उद्यममा जोडिने वातावरण बन्छ । हाम्रो भविष्य अत्यन्तै सुन्दर छ । विदेशमा आर्जन गरेको ज्ञान, सीप र अर्थ लिएर संसारभर फैलिएका नेपाली घर फर्कने छन् । विभिन्न पेसा व्यवसायका सिलसिलामा विदेशमा रहेका नेपालीमा यो राप र तापछ ।

देश निर्माणका सवालमा तपाईं लगायतका राजनीतिक दलका नेताको भूमिका आगामी दिनमा के रहन्छ ?

राजनीतिक दलका नेताहरुले पनि यो विषयलाई गम्भीरताकासाथ लिनु हुनेछ । अहिले अमेरिकाले आप्रवासीप्रति लिएको नीतिले प्रत्येक देशका नागरिक आफ्नै मुलुकमा मात्र सुरक्षित रहन सक्छौँ भन्ने पुष्टि गरेको छ । केही समय अध्ययन, व्यापार व्यवसाय र रोजगारीमा विदेश गएपनि अन्ततः मातृभूमिमै फर्केर देशको सेवा गर्नुपर्छ । त्यसका लागि राजनीतिक दल र सरकारले वातावरण बनाउनेछन् । हामीले पनि सोही भावना अनुरुप जिम्मेवारी लियौँ भने १० वर्षभित्रै नेपाललाई विकासको उदाहरणकारुपमा उभ्याउन सक्छौँ । त्यो सम्भावना छ । त्यसका लागि भएका स्रोतसाधन र जनशक्तिको समुचित ढङ्गले उपयोग गर्न सक्नुपर्छ । नेपाललाई समृद्ध राष्ट्रकारुपमा चिनाउन सकिन्छ । हामी सबै जुट्नुपर्छ । नेपालमै अथाह सम्भावना छ ।

निवृत्तिभरण अध्यादेश खारेजीको माग गर्दै शिक्षकहरू फेरि सडक आन्दोलनमा, होला त सम्बोधन ?

काठमाडाैँ । शिक्षक महासंघको अगुवाइमा काठमाडौँ उपत्यका सहित देशभरबाट शिक्षकहरू फेरि सडक आन्दोलनमा उत्रिएका छन् । चरणबद्ध आन्दोलन घोषणा गरेको महासंघले माइतीघरमा आन्दोलन गरिरहेको महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए।

२०८० मा सरकारसँग भएको सहमति अनुसार ऐन जारी गर्नुपर्ने र निवृत्तिभरण अध्यादेश खारेजको माग राखेर महासंघ आन्दोलित भएको हो ।

महासंघका अध्यक्ष  सुवेदीका अनुसार  तत्कालीन ऐन, नियमअनुसार नियुक्त कुनै पनि पेसाकर्मीले निरन्तर पाइआएको सुविधामा नकारात्मक असर पर्ने गरी पछि कानुन बनाउनु वा संशोधन गर्नु कानुनी दृष्टिबाट समेत त्रुटिपूर्ण हुन्छ। त्यसैले यो अध्यादेश तुरुन्त फिर्ता गर्न माग गरिएको उनले जानकारी दिए।

गत २९ पुसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको सुशासन, प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमा निवृत्तिभरण कोष ऐन २०७५ को दफा ९ मा ‘शिक्षक सेवा’ थप गर्ने भनिएको छ । यो प्रावधानले २०७५ देखि नै शिक्षक योगदानमा आधारित पेन्सनमा सहभागी हुन बाध्य हुने शिक्षकहरूको तर्क छ । तर, सरकारले अध्यादेश आएको मितिबाट लागू हुने बताए पनि यसमा शिक्षकहरूले मानिरहेका छैनन् ।

राहत, साविक उच्च मावि, शिक्षण सिकाइ अनुदान, प्राविधिक धार तथा विशेष शिक्षाका शिक्षकको कोटालाई स्वीकृत दरबन्दीमा परिणत गरी उमेरको हद नलगाई महासंघकसँग २०८० सालमा भएको सहमति अनुसार स्थायी गर्ने र स्थायी हुन नसक्नेको हकमा गोल्डेन हेन्डसेकको व्यवस्था गर्नुपर्ने माग महासंघको छ ।

२०७५ को आन्तरिक परीक्षा दिन नपाएका वा छुटेका अस्थायी करार शिक्षकले पनि यो अवसर पाउनुपर्ने माग महासंघको छ ।

अस्थायी प्रकृतिका शिक्षकको विरामी विदा सञ्चित हुने व्यवस्था गर्नुपर्ने माग शिक्षकको छ । तह अनुसार हरेक विद्यालयमा कर्मचारीको दरबन्दी व्यवस्था गर्नुपर्ने माग महासंघको छ ।

बाल विकास शिक्षालाई विद्यालय भित्र ल्याउनुपर्ने भनेको छ । शिक्षक बढुवामा चार श्रेणीको व्यवस्था गरी हरेक दश वर्षमा बढुवा हुने प्रबन्ध गर्नुपर्ने माग महासंघको छ ।

आवश्यक शैक्षिक योग्यता र लाइसेन्स भएका शिक्षकको बढुवा गर्दा तहगत प्राथमिकबाट निमावी र निमावीबाट माध्यमिक हुने व्यवस्था गर्न महासंघले भनेको छ ।

तल्लो तहमा स्थायी भएका शिक्षकको हकमा हरेक पटक खुला पदमा शिक्षक सेवा आयोग खुल्दा २५ प्रतिशत पद आन्तरिक प्रतिस्पर्धाका लागि छुट्टाउनु पर्ने माग महासंघको छ ।

द्वन्द्व पीडित तथा शिक्षकको पेसागत संस्थामा बसेर लामो सेवा गरेका शिक्षकको टुटेको सेवा अवधि गणना गरी नियमानुसार उपदान वा निवृत्तिभरण दिनुपर्ने माग महासंघको छ ।

संस्थागत विद्यालयका शिक्षकको तलब भत्ता सामुदायिक विद्यालयका शिक्षक सरह कायम गर्नपर्ने माग महासंघको छ ।

प्रधानाध्यापकका लागि छुट्टै दरबन्दीको व्यवस्था गर्ने र पाँच वर्ष सम्बन्धित तहमा स्थायी सेवा गरेका शिक्षकबाट प्रतिस्पर्धा गराई शिक्षक सेवा आयोग मार्फत प्रधानाध्यापकको पदपूर्ति गर्नुपर्ने बताउँछन् सुवेदी ।

शिक्षकको विभागीय कारबाही अधिकार जिल्ला, प्रदेश र संघका कायालयमा विभाजन गर्नुपर्ने माग महासंघको छ ।

पेसा प्रवेश उमेर ४० वर्ष बनाउन माहासंघले माग गरेको छ । अभिभावकको नेतृत्वमा विद्यालय व्यवस्थापन समिति बनाउनु माग महासंघको छ ।

विद्यालयको सम्पत्ति गैर शैक्षिक प्रयोजनमा प्रयोग र हस्तान्तरण गर्न नपाइने प्रावधान हुनपर्ने बताउँछन् अध्यक्ष सुवेदी ।

शिक्षकका लागि राष्ट्रिय मर्यादाक्रमको व्यवस्था गर्नुपर्ने माग महासंघको छ । शिक्षकको ट्रेड युनियन अधिकारको संरक्षण गर्नेगरी ऐन बनाउन महासंघले भनेको छ ।

प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सबैलाई शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले आज सबैलाई शुभकामना व्यक्त गरेका हुन्र् ।

“आज मार्च ८, अन्तर्राष्ट्रिय महिला दिवस । सबैलाई शुभकामना !” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् ।

आज ‘सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका साथ नेपालसहित विश्वभरि नै विविध कार्यक्रमका गरी एक सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ । सन् १९७५ देखि संयुक्त राष्ट्र सङ्घले नारी दिवस मनाउन थालेको हो ।

राहुघाटको बाँध पहिरोको जोखिममा

सन्तोष गौतम

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा यहाँ निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँध पहिराको जोखिममा परेको छ ।

रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ झिँको फेदीमा धौलागिरि हिमालको फेदीबाट बगेर आउने राहुघाट नदीको पानीलाई थुनेर सुरुङमा छिराउन निर्माणको अन्तिम चरणमा पुुगेको बाँध पहिराको जोखिममा परेको हो । दग्नाम गाउँको फेदीमा सिर्जना भएको नयाँ पहिरो राहुघाट जलविद्युत् आयोजनाको बाँधको सिधा माथि छ ।

गत वर्षको बर्खामा सोही पहिरोबाट आएको गेगर निर्माणाधीन बाँधमा थुप्रिएर क्षति पुुगेको थियो । पहिरो माथि रहेको दग्नाम गाउँ र फेदीको बाँधलाई जोखिम बनाएको छ । आयोजनाका प्रमुख राजबहादुर विष्टले पहिराको नियन्त्रणका लागि अध्ययन थालिएको बताए।

‘बाँधको ठीकमाथि नयाँ सिर्जना पहिराले पार्न सक्ने क्षतिको आँकलन गरेर नियन्त्रणका लागि अध्ययन थालिएको छ’, उनले भने,’प्राविधिक टोलीको अध्ययन प्रतिवेदन र सुझावको पर्खाइमा छौँ ।’

सत्र मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पिआरओआर) प्रविधिको बाँधसँगै राहुघाट नदीको दायाँ किनारमा डिसेन्डर (पानी थिग्राउने) पोखरी निर्माणाधीन छन् । बाँध, डिसेन्टर र इनलेट (सुरुङको प्रवेशविन्दु) को ठीक करिब तीन सय मिटरमाथि पहिरो सिर्जना भएको हो ।

यसैबीच आयोजनाको हालसम्मको भौतिक प्रगति ८२ प्रतिशत पुगेको छ । सिभिल ठेकेदार जयप्रकाश एशोसियट्सले बाँध, सुरुङ, विद्युत्गृह निर्माणको काम अन्तिम चरणमा पुर्‍याएको छ । आगामी २०८२ असार १५ भित्र राहुघाट निर्माण सम्पन्न गर्ने कार्ययोजनासहित निर्माणलाई तीव्रता दिइएको आयोजनाको सिभिल महाशाखाका प्रमुख रविन कट्टेलले बताए ।

‘बाँधमा ब्यारेज, छ हजार दुई सय ७० मिटर लामो मुख्य सुरुङ, सर्जसाफ्ट, ठाडो र तेस्रो प्रेसर साफ्ट र टेलरेस डग निर्माण सकिएको छ’, उनले भने, ‘डिसेन्डर (पानी थिग्राउने पोखरी), पावर इन्टेक, मुख्य सुरुङलाई फिनिसिङ गर्ने र पेनस्टक पाइपलाइन जडानको काम धमाधम भइरहेको छ ।’

मुख्य सुरुङको चार वटा अडिटबाट लाइनिङ (ढलान र पलास्टर) भइरहेको छ । रघुगङ्गा–३ गतिल्केनीचौरमा विद्युत्गृह निर्माणको काम ९० प्रतिशत सकिएको छ । इलेक्ट्रोमेकानिकल ठेकेदार भारत हेभी इक्युभमेन्ट (भेल)ले विद्युत् गृहमा टर्वाइन, जेनेरेटरका उपकरण जडानको काम गरिरहेको छ ।

विद्युत् गृह परिसरमा एआइएस (एयर इन्सुलेटेड) प्रविधिको स्वीचयार्ड निर्माण थालिएको छ । स्वीचयार्डका उपकरणले विद्युत् गृहमा जेनेरेटरबाट उत्पादन भएको ऊर्जालाई प्राप्त गर्ने र प्रशारण लाइनमा आपूर्ति गराउँछ ।

विद्युत् गृहबाट निस्कने पानी कालीगण्डकीमा मिसाउने एक सय २८ मिटर लामो टेलरेस डग निर्माण सकिएको छ । राहुघाटबाट उत्पादन हुने विद्युत् लिलो (लुप इन, लुप आउट) प्रविधिबाट दुई सय २० केभी क्षमताको कालीगण्डकी कोरिडोर दाना–कुश्मा प्रशारण लाइन (डबल सर्किट) मार्फत केन्द्रीय ग्रिडमा जोडिने भएको छ । चार वटा प्रशारण लाइनको टावर निर्माण भइसकेको छ ।

आयोजनाको सिभिल ठेकेदारसँग विसं २०७४ मङ्सिर महिनामा ठेक्का सम्झौता भएको थियो । ठेक्काको ४५ महिनाको अवधिमा कोरोना महामारी, बाढी र पहिराका कारण काम सम्पन्न हुन नसकेपछि ३० महिना म्याद थपिएको छ ।

कमजोर आर्थिक अवस्थाका कारण विसं २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इञ्जिनियरिङ प्रक्युमेन्ट एण्ड कन्ट्रयाक्ट (इपिसी) प्रारुपमा राहुघाट जलविद्युत् आयोजना निर्माण अघि बढाइएको थियो । पहिले ३२ मेगावाटमा डिजाइन गरिएकामा पछि आठ मेगावाट बढाएर ४० मेगावाट पुर्‍याइएको हो । पहिलो कार्यतालिका र सम्झौताअनुसार आयोजना विसं २०७० मा सकिनुपर्ने थियो ।

असल र अनुशासित नागरिक बनाउन खेलकूद आवश्यकः उपप्रधानमन्त्री सिंह

भक्तपुर । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले देशलाई अन्तरास्ट्रिय जगतमा चिनाउनका लागि खेलकूद उपयुक्त माध्यम भएको बताएका छन् ।

शनिबार भक्तपुर जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकुदको महत्वबारे बताए । असल र अनुशासित नागरिक उत्पादनका लागि पनि खेलकूदको भूमिका महत्वपूर्ण रहने उनको भनाई छ ।

’जति बढी खेलाडी उत्पादन गर्न सक्यौं त्यतिनै मात्रामा अनुशासित र असल नागरिक उत्पादन हुने कारणले गर्दा खेलकूदको महत्वलाई सबैले बुझ्नुपर्छ’ उनले भने।

उनले खेलकूदले खेलाडीको स्वास्थ्य राम्रो हुने भन्दै आफ्नो रुचि भएको कुनै न कुनै खेलमा लाग्न पनि सुझाव दिए ।

‘पहिला खेलकुद होइन पढाइमा मात्र ध्यान दिनुपर्छ भन्ने सोचाई थियो । तर, समय परिवर्तन हुँदै गइसकेपछि अहिले पढाईमा त रुचि राख्नु नै पर्छ, विद्यार्थीको समग्र व्यक्तित्व विकासका लागि खेलकुद पनि आवश्यक छ भन्ने धारणा विकास हुँदैछ,’ उपप्रधानमन्त्री सिंहले भने ।

उनले विद्यार्थीको व्यक्तित्व विकासका लागि अनुशासन आवश्यक पर्ने र खेलकूदले अनुशासित बन्न सिकाउने भएकाले खेलकूद मानव जिवनका लागि आवश्यक रहेको बताए ।

अमेरिकी कर भार कम गर्न क्यानडाको आर्थिक सहायता योजना

ओटावा । क्यानाडा सरकारले अमेरिकी शुल्कबाट प्रभावित व्यवसाय र कामदारहरूलाई मद्दत गर्न सहायता कार्यक्रमहरूको नयाँ प्याकेज ल्याएको छ ।

देशको अर्थ विभागको  विज्ञप्ति अनुसार, व्यापार प्रभाव कार्यक्रमले आगामी दुई वर्षमा ५ अर्ब क्यानेडियन डलर (३.५ अर्ब अमेरिकी डलर) लगानी गर्नेछ, जसले व्यवसायहरूलाई अमेरिकी बिक्री घट्दै गएको सामना गर्न र नयाँ विश्वव्यापी बजारहरूमा पहुँच गर्न मद्दत गर्नेछ ।

यसका साथै, सरकारले रोजगार बीमा कार्यक्रममा अस्थायी लचिलोपन ल्याइरहेको छ, जसले गर्दा व्यवसायहरूलाई काम गर्ने घण्टा घटाएर कामदारहरूलाई टिकाइराख्न मद्दत मिल्छ ।

कुल ५०० लाख क्यानेडियन डलर व्यावसायिक ऋण अधिमान्य ब्याज दरमा उपलब्ध हुनेछ । थप १ बिलियन क्यानेडियन डलर कृषि क्षेत्रलाई ऋण दिनको लागि छुट्याइएको छ ।

एआई पूर्वाधार प्रविधिमा माइक्रोसफ्टको ऐतिहासिक लगानी

जोहानेसबर्ग । माइक्रोसफ्टले सन् २०२७ को अन्त्यसम्ममा दक्षिण अफ्रिकामा आफ्नो क्लाउड र आर्टिफिसियल इन्टेलिजेन्स पूर्वाधार विस्तार गर्न ५.४ अर्ब रेन्ड (लगभग २९७ लाख अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको छ ।

माइक्रोसफ्टका अध्यक्ष ब्राड स्मिथले जोहानेसबर्गमा आयोजित एक कार्यक्रममा यो घोषणा गरे । उक्त कार्यक्रममा दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा पनि उपस्थित थिए ।

स्मिथले दक्षिण अफ्रिकाको जोहानेसबर्ग र केप टाउनमा पहिलो इन्टरप्राइज–स्केल डाटा सेन्टर स्थापना गर्न विगत तीन वर्षमा कम्पनीले २० बिलियन रेन्ड लगानी गरेको बताए ।

कार्यक्रममा बोल्दै रामाफोसाले लगानीको स्वागत गर्दै यसले दक्षिण अफ्रिका र यसको अर्थतन्त्रमा निरन्तर विश्वास झल्काउने उल्लेख गरे ।

‘दक्षिण अफ्रिकी अर्थतन्त्रमा अपार सम्भावना छ र व्यापार गर्नको लागि एक अनुकूल ठाउँ हो, जहाँ उनीहरूको लगानी सुरक्षित छ,’ उनले भने ।

क्यानद्वारा वार्षिक क्यालेण्डर सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । क्यानले शनिबार पत्रकार सम्मेलन गरी वार्षिक क्यालेण्डर सार्वजनिक गरेको हो ।

क्यालेण्डरमा महिला पुरुष क्रिकेटको विभिन्न टोलीले खेल्ने प्रतियोगिताहरु समावेश गरिएको छ । साथै राष्ट्रिय अन्तर्राष्ट्रिय घरेलु प्रतियोगिताहरु समावेश गरिएको सचिव पारस खड्काले जानकारी दिए ।

महिलाअधिकार तथा सशक्तीकरणमा राज्य सकारात्मक हुनु खुसीको कुरा: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आन्दोलनबाट प्राप्त अधिकारलाई सही सदुपयोग गरी समानता र सम्मानको लागि अथक प्रयास जारी राख्नुपर्ने बताएकी छिन् ।

११५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सामाजिक सञ्जाल एक्स (ट्वीटर) मार्फत शुभकामना दिँदै पूर्वराष्ट्रपति भण्डारीले समानतामूलक समाज र सम्मानपूर्वक बाँच्न पाउने अधिकारको रक्षाको लागि एकताबद्ध हुन आग्रह गरेकी छिन् ।

उनले लेखेकी छिन्– ‘आज राज्यको प्रमुख प्राथमिकता र दायित्वमा महिलाअधिकार तथा सशक्तीकरण पर्दै जानु हो । यो कार्यमा राज्य सकारात्मक हुनु सम्पूर्ण नेपाली महिलाको लागि खुसीको कुरा हो ।’

महिलामाथि हुने शोषणविरुद्धकाे सङ्घर्षलाई सशक्त बनाउनुपर्छ : खनाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले महिलामाथि हुने अन्याय अत्याचार, विभेद र शोषण विरुद्धको सङ्घर्षलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिएका छन् ।

११५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले पूर्णरूपले लैङ्गिक समानता स्थापनाका निम्तिको सङ्घर्षलाई अझ सशक्तरूपले अगाडि बढाउन जरूरी भएको बताए ।

महिलाहरूको हक र अधिकार प्राप्तिको सङ्घर्ष रूपमा ८ मार्च २०२५ आइपुगेको बताउँदै नेता खनालले सम्पूर्ण महिला दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

उनले सन्देशमा भनेका छन्– ‘आजको दिन विश्वभरका महिला दिदीबहिनीहरूको मुक्तिको ऐतिहासिक महिलाहरूको हक र अधिकारका साथै राजनीतिक, आर्थिक, सामाजिक तथा अधिकारका निम्ति आवाज बुलन्द गरिएको सङ्घर्षको दिन हो । महिला दिदीबहिनीका सङ्घर्षको कारण वर्तमान विश्वमा महिलाअधिकार र समानताका निम्ति उल्लेखनीय हक अधिकारहरू प्राप्त भएका छन् ।’

महिलाहरूले चलाउँदै आएको अनवरत सङ्घर्षको कारणले नेपालको वर्तमान सङ्घीय संसदमा ३३ प्रतिशत र स्थानीय तहमा करिब ४० प्रतिशत महिलाको सहभागिता सुनिश्चित भएको उल्लेख गर्दै नेता खनालले यस महत्त्वपूर्ण राजनीतिक उपलब्धिलाई विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।

रौतहटमा लोसपाका जिल्ला अध्यक्षसहित ६५ जना माओवादी केन्द्रमा प्रवेश

रौतहट । । लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं रौतहट जिल्ला अध्यक्ष लिलाप्रसाद साह तेलीसहित ६५ जना कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन् ।

रौतहटको माधव नाराण नगरपालिका ६ माधोपुरमा शनिबार आयोजित कार्यक्रममा उनीहरु माओवादीमा प्रवेश गरेका हुन् । जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका थिए ।

नप्रवेशी तेली माधव नारायन नगरपालिकामा स्थापित नेता हुन् । गत स्थानीय तह निर्वाचनमा उनी यो नगरपालिकाको मेयरमा ३३३२ मतसहित दोस्रो भएका थिए ।

नवप्रवेशी तेलीले काङ्ग्रेस एमाले पहिचान बिरोधी भएको र मधेसवादी दलहरु अवसरवादमा फसेर फुट र विभाजनमा लागेकाले मधेसको अधिकार रक्षा माओवादीबाट हुने देखेर आफूहरु पार्टी प्रवेश गरेको बताए ।

सातसय वर्ष लामो इतिहास बोकेको लोमान्थाङ दरबार

मुस्ताङ जिल्लाकै महत्त्वपूर्ण र ऐतिहासिक सम्पत्ति लोमान्थाङ दरबार र आसपासका क्षेत्र । करिब ७ सय वर्ष भन्दा बढी लामो इतिहास बोकेको यस दरबार १४ औँ शताब्दीमा तत्कालीन राजा आङ्देन साङ्वो बिष्टको कार्यकालमा बनेको हो ।

तस्बिरः सुशीलबाबु थकाली / रासस

मकवानपुरमा नयाँ उद्योग दर्ता घट्दो, बन्द हुने क्रम बढ्दो

मकवानपुर । मकवानपुरमा पछिल्लो तीन वर्षयता बर्सेनि उद्योग एवं व्यापारिक फर्म हुने क्रम बढ्दो छ ।

आर्थिकमन्दीका कारण आर्थिक वर्ष २०७८/७९ यता मकवानपुरमा निरन्तर उद्योग एवं व्यापारिक फर्म बन्द हुने क्रम बढ्दै गएको हो । चालु आव २०८१/८२ को सात महिनाको अवधिमा उद्योग र वाणिज्यतर्फका तीन सय छ वटा व्यापार बन्द भएका छन् ।

उद्योग तथा वाणिज्य कार्यायल मकवानपुरका अनुसार आव २०८१/८२ मा उद्योगतर्फ एक सय २७ र वाणिज्यतर्फका एक सय ७९ उद्योग व्यापारको लगतकट्टा गराएका छन् ।

अघिल्लो आव २०८०/८१ मा उद्योगतर्फ दुई सय ६८ र वाणिज्यतर्फका तीन सय ३६ गरी छ सय चार उद्योग व्यापार बन्द भएको थियो । यस्तै आव २०७९/८० मा मकवानपुरमा उद्योगतर्फ एक सय १० र वाणिज्यतर्फ एक सय ७३ गरी दुई सय ८३ उद्योग व्यापारको लगतकट्टा गरिएको थियो भने आव २०७८/७९ मा उद्योगतर्फ एक सय १८ र वाणिज्यतर्फ ७२ गरी एक सय ९० उद्योग व्यापारको लगतकट्टा गरिएको उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरका प्रमुख रामप्रसाद भुसालले जानकारी दिए ।

विश्वव्यापी रूपमा देखिएको आर्थिक तरलता, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभाव, युवाहरू वैदेशिक रोजगारीका लागि विदेशिने क्रम बढ्नु र स्थानीय तहमा पनि उद्योग दर्ता गराउनुपर्नेलगायतका कारणले उद्योग तथा वाणिज्यतर्फका उद्योग व्यापारको लगतकट्टा हुने सङ्ख्या बढेको कार्यालय प्रमुख भुसालले बताए।

प्रमुख भुसालका अनुसार मकवानपुरमा बर्सेनि उद्योग व्यवसायको लगतकट्टा बढ्दै जाँदा नयाँ उद्योग व्यवसाय दर्ता भने घट्दै गएको छ । चालु आव २०८१/८२ को सात महिनामा नयाँ उद्योग र वाणिज्यतर्फ चार सय ३० नयाँ व्यवसायी दर्ता भएको छ । चालु आवमा उद्योगतर्फ दुई सय ५७ र वाणिज्यतर्फ एक सय ७३ गरी चार सय ३० नयाँ उद्योग व्यापार दर्ता भएको कार्यालय प्रमुख भुसालले बताए।

जबकी अघिल्लो आव २०८०/८१ मा उद्योगतर्फ तीन सय ६६ र वाणिज्यतर्फ तीन सय ३५ गरी सात सय एक नयाँ उद्योग व्यापार दर्ता भएको थियो । आव २०७९/८९ मा उद्योगतर्फ पाँच सय ७९ र वाणिज्यतर्फ चार सय ३० गरी एक हजार दुई सय ५२ उद्योग व्यापार दर्ता भएको थियो ।

चालु आव २०८१/८२ को सात महिनाको अवधिमा नयाँ उद्योग तथा वाणिज्य दर्ता, नवीकरण, लगतकट्टालगायतका शीर्षकबाट रू एक करोड ७० लाख ३२ हजार आठ सय पाँच राजस्व सङ्कलन भएको प्रमुख भुसालले बताए ।

लामो समयदेखिको आर्थिकमन्दीका कारण हेटौँडामा सटरको भाडा तिर्न नसक्दा व्यापारी सम्पर्कविहीन हुने क्रम समेत बढ्दै गएका छन् । यसरी सम्पर्कविहीन हुनेमा धेरैजसो सहकारी, स्कुल, सुन पसल, किराना पसल, टेलरिङ, मदिरा पसललगायत चलाएर व्यापार व्यवसाय गर्ने रहेका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, तस्बिरमा

काठमाडौं । विभिन्न कार्यक्रमहरु गरि आज विश्वभर ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ । ‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ विश्वभर ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाउन लागिएको हो ।

सरकार र सरोकारवाला निकाय र विभिन्न महिला संगठनले आज विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाउने तयारी गरेका छन् । महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने यस दिवसले लक्ष्य राखेको छ ।

पाल्पामा वडा कार्यालयमा मौरीपालन व्यवसायको नयाँ अभ्यास

पाल्पा । घरका भित्ता, बार्दली, आँगनका डिल वा बारीका छेउछाउ, बगैँचा वरपर मौरीका घार राखिएका हुन्छन् । यसरी नै गाउँघरमा मौरीपालन गरिन्छ । घरका आँगन वरपर, बार्दली, पिँढी तथा भित्तामा पनि मौरीपालन गरेर किसानले राम्रै लाभ लिएका छन् । यी त आमनागरिकलाई देखेका, भोगेका र जानेका कुरा हुन् ।

कार्यालयमा मौरीपालन व्यवसाय थालनी भने कतै भएको सुनिँदैन । पाल्पाको एक सरकारी कार्यालयले मौरीपालन अभ्यास शुरू गरेको छ । यहाँको बगनासकाली गाउँपालिकाको वडा नं १ को कार्यालय चिर्तुङ्धारामा व्यावसायिक तवरबाट मौरीपालन थालनी भएको छ । वडा कार्यालयको परिसरमा लहरै मौरीका घार राखिएका छन् । कार्यालयमा पुग्ने सेवाग्राही तथा सर्वसाधारण एवं जोकोहीलाई पनि मौरी फार्ममा पुगेको अनुभुती हुन्छ । कार्यालय परिसरमा लहरै राखिएका मौरीका घारले सेवाग्राही तथा यहाँ पुग्ने जोसुकैले मौरीपालन सम्बन्धी केही न केही नयाँ ज्ञानार्जन लिने गरेका छन् ।

कार्यालयमा मौरीपालन देखेपछि नागरिकले मौरीपालन सम्बन्धी चासो दिएर जानकारी लिने गरेको कृषि प्राविधिक खिमराज कोइराला बताउछन् । सानो लगानीमा घरमा दुई चार घार राखेर व्यवसाय अगाडि बढाउन सकिने, धेरै मेहनत गर्न नपर्ने हुँदा किसानलाई व्यवसायउन्मुख बनाउनका लागि वडा कार्यालयबाटै मौरीपालन व्यवसाय सञ्चालन गरिएको प्राविधिक कोइरालाले जानकारी दिए ।

“किसानमात्र नभएर आमगरिकमा एउटा सकारात्मक सन्देश प्रवाह गरेको छ, वडा कार्यालयमा आउने सेवाग्राहीले मौरीपालन गर्ने तरिका, लागत, उत्पादन, बजारीकरण सम्बन्धी जानकारी लिने गर्छन्”, उनले भने, “हामीले पनि यहाँ आउनेलाई मौरीपालन सम्बन्धी जानकारी दिने गरिरहेका छौँ, कार्यालयमा काम सम्पन्न नहुँदासम्म मौरीपालनको तरिका सिक्न सेवाग्राही इच्छुक हुने गरेका छन् । ”

वडा कार्यालयको काममा पालो पर्खेर बस्ने समय अहिले मौरीपालनबारे जानकारी लिन सेवाग्राही सक्रिय भएका छन् । कार्यालयमा नयाँ कुराको थालनी भएकाले पनि यस बारेमा धेरैको चासो बढेको छ । वडा कार्यालयको लगानीमा दशवटा आधुनिक घारमा मौरीपालन शुरू गरिएको वडाध्यक्ष शेरबहादुर चिदी बताउछन् । नयाँ अभ्यास भएकाले यसबाट किसानले केही सिकेर घरमा व्यवसाय गर्न उर्जा मिलोस् भनेर शुरू गरेको वडाध्यक्ष चिदीले बताए ।

“कार्यालयमा सेवा लिन आउने किसान तथा सेवाग्राहीलाई मध्यनजर गर्दै मौरीपालन सम्बन्धमा जनचेतना जगाउन यो नयाँ अभ्यासको थालनी गरेका छौँ”, वडाध्यक्ष चिदीले भने, “कृषिमा नागरिकको आकर्षण बढाउन र व्यावसायिक ढङ्गबाट व्यवसाय गर्न उत्प्रेरणा जगाउन कार्यालयले मौरीपालन शुरू गरेको हो, यस व्यवसाय थालनी भएपछि सबैतिरबाट सकारात्मक प्रतिक्रिया पाएको छु ।”

सेवाग्राहीलाई वडा कार्यालयमा पनि मौरीपालन छ भन्ने अनुभूति गराउँदै घरघरमा मौरीपालनमा लाग्न प्रेरणा प्रदान गर्नका लागि कार्यालयमा व्यावसायिक ढङ्गबाट मौरीपालन गरिएको छ । कार्यालय क्षेत्रमा सेरेना मौरीपालन कार्यक्रम अन्तर्गत मौरीपालनलाई जोड दिदै नयाँ कार्यको अभ्यास भएको छ । वडामा उत्कृष्ट किसानलाई मौरीपालनका लागि वडा कार्यालयबाट गोलासहितको घार वितरण गर्ने वडाको योजना छ ।

अहिले कार्यालयमा मौरीपालनको परीक्षणकाल भएकाले व्यवसाय राम्रो हुँदै गएमा थप गर्दै जाने वडाले जनाएको छ । यो कार्य सम्भवतः नेपालमै नयाँ कार्यको सुरूवात हो । वडा कार्यालयले आर्थिक वर्ष २०८१/०८२ को ९० हजार बजेटबाट काम शुरू गरेको छ । व्यवसाय गर्न चाहने हो भने सानो रकमले पनि सञ्चालन गर्न सकिन्छ भन्ने यस वडाले उदाहरण प्रस्तुत गरेको छ ।

सिद्धार्थ राजमार्गसँग जोडिएकाले पनि मौरीको अध्ययन अवलोकन भ्रमणका लागि देशका पूर्वदेखि पश्चिमसम्मका किसान बगनासकाली आउने गरेको कृषि शाखा प्रमुख किशोरकुमार खत्रीले बताए । “मौरीपालनबाट यहाँका किसानले राम्रो आयआर्जन गर्न सफल बनेका छन्, हामीले मौरीपालन सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ, सडकमार्ग जोडिएकाले पनि यो क्षेत्र बजारीकरणका लागि सहज छ”, उनले भने ।

पाल्पा जिल्लामै बगनासकाली गाउँपालिका मौरीपालनको सम्भावना बोकेको क्षेत्र हो । यहाँबाट अन्य जिल्लामा गोलासहितको मौरीघार पठाइन्छ । गाउँपालिकामा एक दर्जन भन्दा बढी किसान व्यावसायिक मौरीपालनमा आबद्ध छन् । यहाँका किसानले मह उत्पादन भन्दा गोला बिक्रीमा जोड दिएका छन् । गोलासहित आठ हजार पाँच सयमा मौरीघार बिक्री भइरहेको छ । एक दुई घारदेखि धेरैमा एक हजार तीन सय घारसम्म मौरीपालन गर्ने गरेको पाइन्छ ।

किसानले स–सानो लगानीमा थोरै–थोरै मौरीपालन गरेर मह उत्पादन तथा गोलासहित घार बिक्रीबाट आयस्रोत लिने गरेका छन् । मध्यपहाडी क्षेत्रमा सेरेना जातको मौरीपालनको सम्भाव्यता भएको हुँदा पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकाभित्र व्यावसायिक रूपमा मौरीपालन भइरहेको छ । व्यावसायिक किसानले महमा भन्दा पनि गोला बिक्रीमा जोड दिएका छन् । तोरी, तोरीका फूल, जङ्गली बोट बिरूवाबाट पुष्प सङ्कलन गरेर मौरीले आहार व्यवस्थापन गरिरहेको छ ।

देशमा फेरि राजा फर्किन असम्भवः प्रचण्ड

रौतहट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्न मन लागे पार्टी खोलेर चुनाव लड्न आग्रह गरेका छन् ।

‘जनतासँग माओवादीः तराई मधेश जागरण अभियान’ अन्तर्गत शनिबार बिहान रौतहटको गरुडामा संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले देशमा फेरि राजा फर्किन असम्भव रहेको बताएका हुन् ।

उनले अब पनि ज्ञानेन्द्रले राजनीति गर्ने सोच राखे मूर्खता शिवाय केही नहुने बताए । उनले भने ‘यसअघि पनि ज्ञानेन्द्रले पहिले पनि केही ठूलाठूला गल्ती गरेका छन् । अब पनि फेरि मुर्खता गरेर आफ्नो बाँकी रहेको साख पनि समाप्त पार्ने गल्ती नगरुन ।’

नेपाली जनताले त्यति बेला पूर्वराजालाई कारबाही गर्नुको सट्टा आरामसँग बस्न दिएको भन्दै प्रचण्डले त्यतिबेलाको उदारतालाई कमजोरी नसम्झन चेतावनी दिए ।

मोरङमा एमालेको संस्थापनइतर समूहको प्यानलै निर्वाचित

विराटनगर । नेकपा एमालेको १०औँ मोरङ जिल्ला अधिवेशनबाट संस्थापनइतर समूहको प्यानलै निर्वाचित भएको छ ।

अधिवेशाबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीनिकट अजम्वर राई नेतृत्वको प्यानलै विजयी भएको हो । उपाध्यक्षमा सागर थापा तथा सचिवमा सोम थापा विजयी भएका छन् । यस्तै, उपसचिवमा सन्तोष वान्तवा र उषा झा विजयी भएका छन् ।

संस्थापन समूहबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू, सचिवमा रविन थापा उम्मेदवार थिए । उपसचिवमा शिल्पा कार्की र इर्जालाल राजवङ्शी उम्मेदवार थिए । राईलाई मोरङका पूर्वजिल्ला अध्यक्ष विनोद ढकालले साथ दिएका थिए ।

मैले ज्ञानेन्द्र शाहलाई ‘राजा’ भन्दा अन्य अर्थ नलगाइदिनुः शेखर कोइराला

झापा । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफूले राजा नै भन्ने बताएका छन् ।

शुक्रबार झापाको बिर्तामोडमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा कोइरालाले ज्ञानेन्द्र शाहलाई आफूले राजा नै भन्ने गरेको बताएका हुन् । कोइरालाले अन्तर्राष्ट्रिय प्रचलन अनुसार एक पटक पदमा पुगेको व्यक्तिलाई ‘पूर्व’ भन्ने नगरिएको बताए ।

उनले भने, ‘हामी चाहिँ पूर्व भन्छौं। तर अमेरिकामा जानुभयो भने अघिल्ला राष्ट्रपतिहरूलाई पनि ‘मिस्टर प्रेसिडेन्ट’ नै भन्ने गरिएको छ।’ आफूले पूर्वराजा शाहलाई ‘राजा’ भन्दा अन्य अर्थ नलगाइदिन उनले आग्रह गरे ।

उनले अब मुलुकमा राजतन्त्र फर्किने सम्भावना नरहेको बताए । उनले भने, फ्रान्समा राजतन्त्र सकिएको सयौं वर्ष भयो । तर त्यहाँ एउटा चिया पसल छ, त्यहाँ राजा फर्काउनुपर्छ भनेर कुरा अहिले पनि हुन्छ ।’ उनले राजाको विरोध गर्दा लोकतन्त्रवादी नहुने बताए ।

उनले भने, ‘हामीले जनतालाई कतिको सेवासुविधा दिएर खुशी पारेका छौं, त्यो महत्वपूर्ण कुरा हो । राजावादीहरूको कुरालाई प्रतिवाद गरेर होइन जनतामुखी काम गरेर मन जित्नुपर्छ।’

दीपक मनाङेले २० प्रतिशत कैद सजाय छुट पाउने

काठमाडौँ । थुनामा रहेका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङेको २० प्रतिशत सजाय छुट भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले मनाङेलाई २० प्रतिशत सजाय छुट दिने आदेश दिएको हो ।

उनले साविक मुलुकी ऐन, दण्ड सजाय महलको ४१ (क) बमोजिम सुविधा माग्दै निवेदन दिएका थिए । उक्त ऐनमा फैसला गर्ने वा लगत रहेको अड्डामा हाजिर भई जरिवाना तिर्न वा कैदमा बस्न मञ्जुर भएमा २० प्रतिशतसम्म कैद मिनाहा गर्न सकिने व्यवस्था छ ।

चक्रे मिलनको हातै छिन्ने गरी तरबार प्रहारको मुद्दामा जिल्ला अदालत काठमाडौंले मनाङेलाई ५ वर्ष कैद सजाय सुनाएको थियो । उक्त सजाय सर्वोच्च अदालतबाट पनि सदर भएको थियो । त्यसपछि उनी गत कातिकमा काठमाडौंबाट पक्राउ परेका थिए ।

२० वर्षअघिको घटनामा उनले पहिले नै दुई वर्ष ८ महिना कैद भुक्तान गरिसकेका छन् । सर्वोच्चको फैसलापछि उनी अब २ वर्ष ४ महिना कैद बस्नु पर्ने थियो । तर अब उनले यसमा २० वर्ष छुट पाएका छन् । मनाङे डिल्लीबजार कारागारमा छन् ।

थाइल्याण्डमा अलपत्र २० नेपालीको उद्धार

काठमाडौं । थाइल्याण्डमा अलपत्र परेका २० नेपालीको उद्धार गरी आज नेपाल पठाइएको छ । बैंककस्थित नेपाली राजदूतावासले उनीहरुलाई स्वदेश पठाएको हो ।

आकर्षक रोजगारीको प्रलोभनमा पारेर गएको जनवरी २४ तारिखमा भारतको नयाँ दिल्ली हुँदै उनीहरुलाई थाइल्याण्ड पुर्याइएको थियो ।

दूतावासले नेपाल सरकारले तोकेका मापदण्ड अनुसार श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी कानून विपरित छिटो धेरै पैसा कमाउने उद्देश्यले कम्वोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायत कुनै पनि देशमा वैदेशिक रोजगारीमा नजान समेत अनुरोध गरेको छ ।

आगामी आर्थिक वर्षको बजेटबारे दुई मन्त्रालयसँग छलफल

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छुट्टा–छुट्टै छलफल गरेको छ । 


छलफलका क्रममा अर्थ मन्त्रालयले आगामी वर्षको बजेटका लागि निरन्तरता दिनुपर्ने कार्यक्रम, परिमार्जित गर्नुपर्ने कार्यक्रम, स्थगित गर्नुपर्ने कार्यक्रम, हटाउनुपर्ने कार्यक्रम र नयाँ कार्यक्रमबारे तयारी गरी अघि बढ्न आग्रह गरेको छ ।


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको छलफलका क्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य बीमा कार्यक्रम, आधारभूत अस्पताल, स्वास्थ्य प्रतिष्ठानहरुको दायित्व, स्वास्थ्य क्षेत्रको जनशक्तिलगायतका विषयमा समीक्षा गरी तिनीहरुलाई प्रभावकारी बनाउने गरी कार्यक्रम बनाउन अनुरोध गरे । 


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा राज्य र निजी क्षेत्रको भूमिकालाई स्पष्ट पार्न जरुरी रहेको बताए । उनले बीमा कार्यक्रमलाई दीर्घकालीन बनाउने गरी कार्यान्वयन गर्न उपयुक्त हुने धारणा व्यक्त गरे । 


उद्योग मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले नीतिगत विषयहरुलाई सम्बोधन गर्न र उद्योग तथा व्यापारिक क्षेत्रमा सहज हुने वातावरण सिर्जना गर्न आग्रह गरे । उनले रोजगारी सिर्जना, उत्पादनमा वृद्धि र देशमा कसरी औद्योगीकरण गर्ने सकिन्छ, त्यसतर्फ ध्यान दिन जरुरी रहेको बताए ।


उद्योग मन्त्री दामोदर भण्डारीले नीतिगत रुपमा सुधार गर्दै तिनीहरुको कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठले कार्यान्वयन क्षमता कमजोर हुने र परिणाम दिन नसक्ने प्रवृतिमा सुधार गर्नुपर्ने बताए ।


छलफलमा अर्थ सचिव, राजस्व सचिव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव, उद्योग मन्त्रालय सचिव, विभागीय प्रमुखलगायतको उपस्थिति थियो । अर्थ मन्त्रालयले यसअघि नयाँ आर्थिक वर्षको बजेटबारे भौतिक, सहरी र उर्जा मन्त्रालयसँग छलफल गरिसकेको छ ।

तपाईंहरु ढुक्क रहनुहोला, यो भिजनसहितको स्थिर सरकार हो, यही बाटोमा अघि बढ्छः प्रधानमन्त्री ओली

सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको रक्षा र संविधानको प्रभावकारी कार्यान्वयन गर्दै आवश्यकतानुसार परिमार्जन गर्दै जाने सरकारको सोच रहेको स्पष्ट गरेका छन् ।

कर्णाली प्रदेशसभाको बैठकमा शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको बलिदान र सङ्घर्षको आधारमा निर्मित नेपालको संविधानले सबैलाई समान अधिकारका साथै सबैको प्रतिस्पर्धा र क्षमता प्रदर्शनको अवसर गरेकाले यसको रक्षा, कार्यान्वयन तथा देश र जनताको हितमा आवश्यक संशोधन सरकारको कर्तव्य भएको बताए । 

प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठनपूर्व नेकपा (एमाले) र नेपाली कांग्रेसबीच भएको सात बुँदे सहमतिमा संविधान संशोधनको बुँदा समावेश गरिएको स्मरण गराउँदै संविधान संशोधन रहर वा लहडमा नभई राष्ट्रिय आवश्यकतालाई हेरेर गरिने विषय भएको उल्लेख गरे ।

‘हामीले ल्याएको गणतन्त्रको व्यवस्थामा राष्ट्रिय स्वाभिमानको प्रबन्ध गरिएको छ । जन्मँदै कोही श्रेष्ठ र कोही रैती हुने प्रणाली सदाका लागि अन्त्य गरेका छौँ । यस प्रणालीमा नागरिक सर्वाेच्चता सबैभन्दा माथि हुन्छ’, प्रधानमन्त्री ओलीले भने, ‘व्यवस्था र अवस्थामा परिवर्तनसँगै अब हामी विकासका सन्दर्भमा आधुनिक ढङ्गले अगाडि बढ्नुपर्छ । अहिलेको सरकारको ध्यान जनतालाई सूचना र प्रविधिको सहायतामा सहज र सरलरुपमा सुविधान उत्पन्न होस् भन्नेमा छ ।’

उनले जनतालाई केन्द्रमा राखेर उत्पादन र उत्पादकत्व बढाउने हिसाबले जानुपर्छ भन्दै सातै प्रदेशसँगको संवाद र छलफलका आधारमा आगामी बजेटमा उचित सम्बोधन गरिने उल्लेख गरे ।

उनले दुई ठूला दल र अन्य सहयोगी दलको समर्थनमा संसद्मा लगभग दुई तिहाइको जनमत रहेकाले आफूहरु समझदारीका साथ देशको समृद्धिका लागि काम गर्न तत्पर भएको बताए । उनले आगामी निर्वाचनसम्म यो सहयात्रा नटुट्ने बताए । 

प्रधानमन्त्री ओलीले भने,’तपाईंहरु ढुक्क रहनुहोला, यो सरकार भिजनसहितको स्थिर सरकारको हो । यही बाटोमा यो सरकार अघि बढ्छ ।’

उनले कर्णाली विकासको सुन्दर सम्भावना बोकेको प्रदेश भएकाले यहाँका माथिल्लो कर्णाली, स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली करिडोर, राकम कर्णाली, भेरी बबइ, दैलेखको पेट्रोल खानी, आदि आयोजना निर्माण, विस्तार सञ्चालनका क्रममा रहेको अवगत गराउँदै स्रोत सुनिश्चितता बिना नयाँ आयोजना बनाउने बेथितिमा सुधार ल्याइएको बताए ।

उनले कुनै अरोप प्रत्यारोपमा नलागी तीनै तहका सरकरको सहकार्यमा देशको विकास र समृद्धिका लागि जुट्न आह्वान गर्दै नयाँ कार्ययोजनाभन्दा थालिसकेका काम पूरा गर्ने आफ्नो सङ्कल्प रहेको बताए ।

प्रधानमन्त्री ओलीले केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारलाई पूर्ण रुपमा सहयोग गर्ने सोचका साथ काम गरिरहेको स्पष्ट गर्दै सामाजिक सञ्जालमा असभ्यता प्रदर्शन गरेर नेपाली सभ्यता र संस्कृतिलाई मास्ने प्रवृत्तिले जनताका बीचमा फाटो ल्याउने बताए । 

नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक स्वीकृत

काठमाडौं ।  प्रतिनिधिसभाबाट ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१’ स्वीकृत भएको छ ।

सभाको शुक्रबारको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त प्रस्ताव सभाको सर्वसम्मतिबाट स्वीकृत भएको थियो । सभामुख देवराज घिमिरेले उक्त विधेयकमाथि संशोधन पेस गर्न चाहने सांसदले संसद् सचिवालयको विधेयक शाखामा आफ्नो संशोधन दर्ता गराउन सक्ने जानकारी गराए ।

विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले हरितगृह ग्यास उत्सर्जनबाट वातावरणमा पर्ने प्रभाव न्यूनीकरण तथा अनुकूलनमार्फत हरित अर्थतन्त्र प्रवद्र्धन, ऊर्जा सम्मिश्रण र ऊर्जा सुरक्षाको सुनिश्चितता गर्न विधेयक ल्याउनुपरेको स्पष्ट पारे ।

विधेयकमाथिको सैद्धान्तिक छलफलमा कान्तिका सेजुवाल, डा अमरेशकुमार सिंह, अमनलाल मोदी, शिशिर खनाल, सुनिता बराल, विमला सुवेदी, कालुराम राई, प्रेम सुवाल, मैना कार्की, ज्ञानेन्द्रबहादुर कार्की, सराज अहमद फारुकी, चन्दा कार्की भण्डारी, नारायणप्रसाद आचार्य, रामहरि खतिवडा, मनीष झा, रणेन्द्र बराली, उर्मिला माझी, राजेन्द्रकुमार केसी, दयालबहादुर शाही, ठाकुरप्रसाद गैरे, अम्बरबहादुर रायमाझी र माधव सापकोटाले भाग लिएका थिए ।

प्रतिनिधिसभामा ‘राष्ट्रिय मानव अधिकार आयोगको २४ औँ वार्षिक प्रतिवेदन आव २०८०/८१’ पेस भएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सो प्रतिवेदन पेस गरेका हुन ।

प्राधिकरणको नेतृत्वले उद्योगीमाथि अत्याचार गरेको मन्त्री खड्काको आरोप

भैरहवा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकारले निजी क्षेत्रसँग मिलेर काम गर्न चाहेको बताएका छन् ।

शुक्रबार भैरहवामा सिद्धार्थ उद्योग वाणिज्य सङ्घको ६६औँ वार्षिक साधारणसभामा मन्त्री खड्काले निजी क्षेत्र कमजोर भए सरकार बलियो हुन नसक्ने तर्क गर्दै सबै मिलेर मुलुक निर्माणमा अगाडि बढ्नुपर्नेमा जोड दिए ।

रुपन्देहीमा देखिएको ट्रङ्क लाइन र डेडिकेटेड फिडर लाइनको समस्याबारे कुरा गर्दै मन्त्री खड्काले प्रयोग गरेको बिजुलीको बिल उद्योगीले तिर्ने दायित्व रहेको तर झुठा विवरणकै आधारमा उद्योगीलाई बिल तिर्न लगाउनु अत्याचार भएको टिप्पणी गरे ।

‘सरकारको जिम्मेवार निकायमा बस्ने, झुठा विवरण पेस गर्ने अनि जनतालाई दुःख दिने कुरा सरकारलाई किमार्थ स्वीकार्य हुँदैन’, उनले भने, ‘मलाई थाहा छ डेडिकेटेडका नाममा जसले त्यो प्रयोग नै गरेको छैन, उसलाई महशुल मात्र हैन हर्जानासमेत तिर्नुपर्छ भनेर बिल पठाइएको छ ।’

मन्त्री खड्काले रुपन्देहीकै २२ वटा उद्योग त्यही कारण समस्यामा परिरहेको भन्दै प्रयोग गरेको विद्युत यकीन गरी उद्योगीले बिल तिर्नुपर्नेमा जोड दिए । डेडिकेटेड लाइन नजिकैबाट गएका आधारमा मात्र बिल तिर्न लगाउनु अत्याचार र अन्याय भएकाले सरकारले यसको समाधान गर्ने उनले आश्वासन दिए ।

सङ्क्रमणकालीन न्याय संयन्त्र गठन गर्न आयोगले पठायो सरकारलाई पत्र

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सङ्क्रमणकालीन न्याय संयन्त्र गठन प्रक्रिया अघि बढाउन सरकारलाई पत्राचार गरेको छ ।

आयोगले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन गठन हुनुपर्ने सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन प्रक्रिया अघि बढाउन शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

सङ्क्रमणकालीन न्यायमा कायम रहेको अन्यौलताको अन्त्य गर्न आवश्यक पहल गरिदिन पीडित तथा सरोकारवालाहरूबाट आयोगसमक्ष अनुरोध भएअनुसार पत्राचार भएको सहायक प्रवक्ता श्यामबाबु काफ्लेले जानकारी दिएका छन् ।

चीनद्वारा निजामती अस्पताललाई दुई करोड मूल्य बराबरको उपकरण हस्तान्तरण

काठमाडौं । चीन सरकारले निजामती कर्मचारी अस्पताललाई ‘लाइफ–लाइन एक्सप्रेस हङ्कङ फाउण्डेशन’मार्फत करिब दुई करोड रुपैयाँ मूल्य बराबरको आँखा उपचारसम्बन्धी अत्याधुनिक उपकरण हस्तान्तरण गरेको छ ।

मिनभवनस्थित अस्पताल परिसरमा शुक्रबार आयोजित कार्यक्रममा चीनको राष्ट्रिय स्वास्थ्य आयोगका पूर्वउपमन्त्री चुइ लीको नेतृत्वमा रहेको टोलीले ती उपकरण हस्तान्तरण गरेको हो । हस्तान्तरण गरिएका उपकरणमा आँखा परीक्षण गर्ने माइक्रोस्कोप, कम्प्युटर, स्क्यान मेसिन, क्यामेरालगायत छन् ।

त्यसअवसरमा राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले नेपाल र चीनबीच प्राचीनकालदेखि नै बहुआयामिक, मैत्रीपूर्ण र घनिष्ट सम्बन्ध रहेको बताइन् । चीनसँगको सम्बन्धलाई नेपालले उच्च महत्व दिएको बताउँदै उनले चीनले नेपालमा लगानी प्रवद्र्धनका साथै सडक पूर्वाधार, विद्युत् विकासलगायतका क्षेत्रमा महत्वपूर्ण सहयोग गर्दैआएकोमा धन्यवाद ज्ञापन गरिन् ।

साङ्घाई सहयोग सङ्घसँग सम्बिन्धित छिमेक सहयोग नियोगनका उपाध्यक्ष एवं चीनका पूर्वउपमन्त्री चुइ लिले नदी र पहाडले जोडिएको नेपाल–चीनबीचको सम्बन्ध सरकारी तहमा मात्र नभई जनस्तरमासमेत न्यानो, मितवत् र बहुआयामिक रहेको बताए ।

उनले चीन सरकारले लिएको नीति तथा कार्यक्रमलाई सघाउने उद्देश्यसहित छिमेकी देशहरूको सम्बन्धलाई अझ सुदृढ र घनिष्ट बनाउन बनाउन साङ्घाई सहयोग सङ्घ क्रियाशील रहेको स्पष्ट गरे ।

फाउण्डेसनका अध्यक्ष तामु यु चुङले चिनियाँ सरकारको सहयोगमा नेपालमा सञ्चालित निजामती अस्पतालको क्षमता विस्तार गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा डा विधाननिधि पौडेलले चीन सरकारको लाइफ लाइन एक्सप्रेस संस्थामार्फत अस्पतालका आँखा विभागका लागि दुई करोड मूल्य बराबरको आँखा उपचारसँग सम्बन्धित उपकरण प्राप्त भएको जानकारी दिँदै आँखाका उपचारलाई प्राथमिकता दिई विशिष्टीकृत सेवा प्रदान गर्ने पक्षमा अस्पताल रहेको बताए ।

आँखा रोगसम्बन्धी रोगको उपचारका लागि पहिलो चरणमा उपकरण उपलब्ध हुनेछ भने त्यसपछि चिकित्सकलाई तालिम र प्रशिक्षणको व्यवस्था चीनले गर्ने भएको छ । तालिमपश्चात दुवै देशका चिकित्सकले शल्यक्रियासहितका उपचार सेवा प्रदान गरी बिरामीलाई सहयोग पुर्याउने सन्दर्भमा सम्झौता भएको कार्यकारी निर्देशक पौडेलले जानकारी दिए ।

सो सम्झौतापत्रमा कार्यकारी निर्देशक पौडेल र लाइफलाइन एक्सप्रेस हङ्कङ फाउन्डेशनका अध्यक्ष ताम यु चुङले हस्ताक्षर गरेका छन् ।

अस्पताल चीनको सहयोगमा १६ वर्षअघि निर्माण भई सञ्चालन छ । चीन सरकारले निजामती कर्मचारी अस्पताललाई एसियाकै स्वास्थ्य क्षेत्रमा उत्कृष्ट केन्द्रका रुपमा विकास गर्दै लैजाने योजना बनाएको छ ।

करिब तीन सय शय्याको निजामती अस्पतालमा दैनिक सरदर एक हजारको सङ्ख्यामा बिरामीले स्वास्थ्योपचार सेवा लिइरहेका कार्यकारी निर्देशक पौडेलले जानकारी दिए ।

गुणस्तरीय स्वास्थ्य सेवाका कारण अस्पतालमा अहिले बिरामीको ठूलो चाप देखिन्छ । निजी क्षेत्रका अन्य अस्पतालका तुलनामा निजामती अस्पतालले कम शुल्कसहित गुणस्तरीय सेवा उपलब्ध गराइरहेको अस्पतालको दाबी छ ।

अस्पतालमा पुग्ने जोकोही बिरामीले सजिलै विशेषज्ञ चिकित्सकसँग परामर्श र परीक्षण गर्न पाउने भएकाले पनि अस्पतालमा बिरामीको चाप बढेको कार्यकारी निर्देशक पौडेलको भनाइ छ ।

वरिष्ठ नेत्र विशेषज्ञ डा प्रज्ञा बस्नेतले अस्पतालको आँखा विभागका लागि अतिआवश्यक मानिएका आँखा परीक्षणसम्बन्धी अत्याधुनिक उपकरणहरु चीन सरकारबाट सहयोगस्वरुप प्राप्त भएपछि बिरामीले गुणस्तरीय उपचार सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरिन् ।

अस्पतालका नेत्ररोग विशेषज्ञ डा राजेश भूर्तेलले आँखाको माइक्रोस्कोप, आँखाको पर्दा, मधुमेह र प्रेसरको परीक्षण तथा राख्नुपर्ने लेन्स अनुमान गर्ने उपकरण प्राप्त भएको जानकारी दिए ।

आयोडिनको मात्रा तत्काल नियन्त्रण गर्न सांसद डाँगीको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद निशा डाँगीले नेपालको नुनमा विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डभन्दा बढी आयोडिन देखिएकाले तत्काल नियन्त्रण गर्न माग गरेकी छिन्।

बैठकको शून्य समयमा उनले नेपाल साल्ट्रट्रेडिङ करर्पोरेशनले नेपालभर नुन वितरण गर्ने गरेको र विश्वस्वास्थ्य सङ्गठनले तोकेको मापदण्डभन्दा बढी आयोडिन प्रयोग गरेको पाइएकाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल अध्ययन गरी नियन्त्रण गर्न माग गरिन् ।

सांसद नैनकला थापाले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा सबै महिलालाई शुभकामना व्यक्त गर्दै दक्षिण एसियामा महिला आन्दोलनका कारण धेरै अधिकार पाएको स्मरण गर्दै अझै महिलाका अधिकार कार्यान्वयनमा बढी ध्यान दिनुपर्नेमा जोड दिइन् ।

सांसद प्रतिमा गौतमले ‘हेनोफोलिया’ एक प्रकारको आनुवांशिक रोग भएको र यो रोग लागेपछि शरीरबाट रगत नरोकिएर गम्भीर समस्या भइरहेको भन्दै त्यससम्बन्धी कानुनी व्यवस्था कार्यान्वयनमा ध्यान दिन आग्रह गरिन् ।

सांसद प्रतिक्षा तिवारीले समान कामको समान ज्याला माग गरेर महिला आन्दोलित भएको आज एक सय १५ वर्ष पुगिसक्दा पनि महिलाले समान ज्याला पाउन नसकेकाप्रति सरकारको ध्यानाकर्षण गराइन् । उनले गृहश्रमिक महिलालाई मूलधारमा ल्याउन र आर्थिक रूपमा सबल बनाउन लाग्नुपर्ने बताइन् ।

सांसद प्रभु हजाराले ठूला, सम्झौता र साना उद्योगहरू उधारो कारोबारले पीडित भएका र कतिपय उद्योग बन्द भएकाले उच्चस्तरीय आयोगले कानुन बनाउन दिएको सुझावलाई कार्यान्वयनको माग गरे । सांसद प्रेमबहादुर मर्हजनले ललितपुरस्थित महालक्ष्मी नगरपालिकाको कुपण्डोलमा डम्बरबहादुर खड्काको घरमा आगलागीबाट ८० लाख क्षति भएको र आगलागी पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरे ।

सांसद विमला सुवेदीले अन्तरराष्ट्रिय श्रमिक दिवसको शुभकामना व्यक्त गर्दै संसद्को नियमावलीको २५७ ले व्यवस्था गरेको महिला समितिको गठन गर्न माग गरिन् ।

सांसद दिलेन्द्रप्रसाद बडूले दार्चुलामा गत वर्षको बाढीले क्षतिग्रस्त भएको संरचना हालसम्म पुनःनिर्माण हुन नसकेकाकाले तत्काल पुनःनिर्माण गरी गाउँलाई सुरक्षित बनाउन माग गरे । 

प्रतिनिधिसभाको शून्य समयमा डढेलो नियन्त्रणदेखि केबलकार निर्माणका विषय उठान

काठमाडौँ। प्रतिनिधिसभा सांसदहरूले समसामयिक विषयमा आवाज उठाउँदै सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकको शून्य समयमा उनीहरूले वन डढेलो नियन्त्रणका लागि दिगो समाधान गर्नुपर्ने, पाथिभारामा स्थानीयको भावनाविपरीत केबलकार निर्माण गर्न नहुने, वैदेशिक रोजगारीमा देखिएको भ्रष्टाचारका विषयमा छानबिन गर्नुपर्नेलगायत विषयमा आवाज उठाएका छन् ।

बैठकमा सांसद ठाकुरप्रसाद गैरेले वन डढेलोको समय सुरु भएको र यसबाट हुने क्षति रोक्नसके मुलुकमा आयात हुने काठको आधा रकम जोगाउन सकिने तर्क गरे । उनले चार दिनदेखि पाल्पाका विभिन्न सामुदायिक वनमा वन डढेलो लागेको र त्यसबाट वन्यजन्तु, पशुपक्षी र काठ, दाउराको क्षति भएको भन्दै दिगो समाधानमा लाग्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद डोलप्रसाद अर्यालले रोजागारीका लागि दैनिक सयौँ युवा विदेशिनु परेको उल्लेख गर्दै श्रम मन्त्रालयले उद्देश्यअनुसार काम गर्न नसकेको आरोप लगाए । मन्त्रालयको ताहाचलस्थित विभागमा प्रतिदिन घुस असुली भइरहेको आरोप लगाउँदै नियन्त्रणका लागि सरकारले पहल गर्नुपर्ने बताए ।

सांसद दिपा शर्माले नेपालगञ्जको लर्ड बुद्ध एजुकेशन एकेडेमीले शिक्षण कलेजमा कार्यरत कर्मचारीलाई सेवासुविधाबाट बञ्चित गरेको र वैशाखदेखि आन्दोलन गर्दासमेत कुनै सुनुवाइ भएको बताइन् । उनले उक्त संस्थाले मनपरी रूपमा मेडिकल कलेज चलाएकाले तत्काल समाधानका लागि सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद दुर्गा राईले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् भार कटौती घटाउन योगदान गरेको भए पनि कार्यसम्पादनमा शून्य अङ्क दिएको भन्दै धन्यवाद दिएर सरकारको व्यङ्ग्य गरिन् । उनले प्रश्न सोधेकै भरमा पत्रकारको प्रेस पास रोक्न नहुने बताइन् ।

सांसद देवेन्द्र पौडेलले पाथीभरामा केबलकार निर्माणमा देखिएको समस्या समाधान गर्न थालिएको वार्ता कहाँसम्म पुग्यो भनेर जानकारी माग गरे । स्थानीयको संस्कृति संरक्षण गर्न उनले माग गरे । पौडेलले निजी क्षेत्रलाई काम गर्न तथा सहजीकरण गर्न व्यवसायीलाई प्रोत्साहत गर्नुपर्नेसमेत बताए ।

सांसद धनबहादुर बुढाले तल्लो बगरदेखि डोल्पाको दुनैसम्म स्तरोन्नितका लागि चार अर्ब २० करोड स्रोत सुनिश्चित भएर पनि निर्माण कार्य अघि बढ्न नसकेको भन्दै उक्त खण्ड कडा चट्टान भएकाले नेपाली सेनामार्फत काम अगाडि बढाउन छिटो पहल गर्न आग्रह गरे ।

सांसद ध्रुवबहादुर प्रधानले लुम्बिनी क्षेत्रमा रहेको बुद्धको मावली गाउँमा उत्खनन् तथा संरक्षण गर्ने कार्यमा पुरातत्व विभागले लापरवाही गरेको आरोप लगाउँदै समाधानका लागि सरकारको ध्यानाकर्षण गराए । सांसद नारायणप्रसाद आचार्यले राजनीतिक व्यक्ति, सार्वजनिक नियुक्त पाएका व्यक्ति, जनप्रतिनिधि, राष्ट्रसेवक सबैको सामाजिक परीक्षण गरी सम्पत्ति छानबिन गर्न माग गरे ।

सोलुखुम्बुको फाप्लु विमानस्थलमा ‘रिफ्युलिङ सेन्टर’ स्थापना गरिने

सोलुखुम्बु । सोलुखुम्बुको फाप्लु विमानस्थलमा हवाई इन्धन ‘रिफ्युलिङ सेन्टर’ स्थापनाका लागि प्रक्रिया अघि बढाइएको छ । नेपाल आयल निगमको प्राविधिक टोली र सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पासहितको टोलीले यसका लागि बिहीबार स्थलगत निरीक्षण गरेर आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।

यहाँ ‘रिफ्युलिङ सेन्टर’ सञ्चालनमा आएमा लुक्ला विमानस्थल तथा काठमाडौँ उडान थप सहज हुने अपेक्षा गरिएको छ । सोलुदूधकुण्ड नगरपालिकाको पहलमा नेपाल आयल निगमसँग गरिएको अनुरोधपछि यो परियोजनाको कार्यान्वयन प्रक्रिया अघि बढेको नगरप्रमुख शेर्पाले जानकारी दिए । फाप्लुलाई हवाई उडानको प्रमुख केन्द्र बनाउने योजनाका साथ काठमाडौँ–फाप्लु तथा फाप्लु–लुक्ला सिधा उडानलाई सहज बनाउन ‘रिफ्युलिङ सेन्टर’ आवश्यक रहेको उहाँको भनाइ छ ।

“रिफ्युलिङ सेन्टर स्थापनापश्चात् यहाँको पर्यटन पवर्द्धनमा ठुलो टेवा पुग्ने छ, खुम्बुमा मौसम प्रतिकूल भएर हवाई उडान प्रभावित हुँदा पर्यटकहरू हप्तौँ कुर्र्नुपर्ने बाध्यता छ । फाप्लुमा यो सेन्टर स्थापना भएमा जहाजकै कारण त्यसरी पर्यटकहरु कुर्नुपर्ने बाध्यता हट्ने छ”, नगरप्रमुख शेर्पाले भने ।

हाल सञ्चालनमा रहेका जिल्लाका दुई विमानस्थलमध्ये लुक्लामा मौसम प्रतिकूल हुनेबित्तिकै सगरमाथा क्षेत्र जाने तथा फर्किने पर्यटकहरू हप्तौँ कुर्नुपर्ने बाध्यता रहेको छ । लुक्लाको मौसम छिनछिनमा परिवर्तन हुने भएकाले हवाई उडान प्रभावित भएर पर्यटकहरुले सास्ती खेप्दै आएका छन् । फाप्लुबाट नियमित उडान भएमा पर्यटकहरू फाप्लु हुँदै सगरमाथा क्षेत्र जाने तथा काठमाडौँ फर्कन सहज हुने जनाइएको छ ।

रक्षामन्त्री मानवीर राईले फाप्लु विमानस्थलमा हवाई इन्धन उपलब्ध गराउन सकिएमा सोलुखुम्बुको समग्र पर्यटन क्षेत्रलाई प्रत्यक्ष फाइदा पुग्ने बताए। उनले फाप्लुमा नियमित उडान नहुँदा आकस्मिक उद्धार तथा हवाई यात्रामा समस्या भइरहेकाले समस्या समाधानमा ध्यान दिनुपर्ने बताए । 

पानी नपर्दा केरा उत्पादनमा ढिलाइ

चितवन । समयमा पानी नपरेपछि केरा उत्पादनमा ढिलाइ हुने देखिएको छ । राम्रो सिँचाइको व्यवस्था भएको ठाउँको उत्पादन हुने तयारी छभने आकासे सिँचाइको बढी भर पर्नुपर्ने ठाउँमा उत्पादन केही ढिलाइ हुने देखिएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण कृषि परियोजना कार्यान्वयन एकाइ चितवनका सूचना अधिकारी इन्द्र शर्मा ढुङ्गानाका अनुसार चैत महिना लागेसँगै उत्पादन हुने केरा यस वर्ष केही दिन ढिलो हुने देखिएको छ । करिब १५ देखि २० दिनपछि केरा बजारमा बिक्री गर्न तयार हुने देखिएको उनको भनाइ छ ।

ढुङ्गानाले भने, “आफ्नै राम्रो सिँचाइ भएको ठाउँको केरा बजारमा बिक्री गर्न मिल्ने अवस्थामा पुगेको छ, सिँचाइ नभएको ठाउँको केही दिन लाग्ने देखिएको छ ।” किसानले बिरुवा छोड्न केही ढिलाइ गर्दा पनि उत्पादन लिन ढिलो हुने अवस्था आएको उनको भनाइ छ ।

जिल्लामा चैत १५ देखि कात्तिक मसान्तसम्म केरा राम्रो उत्पादन हुने गर्दछ । मालभोग, चिनी चम्पा र जी–९ जातका केरा व्यावसायिक रूपमा खेती गरिँदै आइएको छ । जी–९ वर्षभर नै उत्पादन हुने गर्दछ भने अन्य जातको चैतदेखि उत्पादन लिन सुरु गरिन्छ । जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकाका पूरै भाग केराका सुपरजोन हुन् भने भरतपुर महानगरपालिका, कालिका र राप्ती नगरपालिकाका आंशिक भाग सुपरजोनमा पर्दछन् ।

जिल्लामा हाल दुई हजार २०५ हेक्टर क्षेत्रफलमा केरा लगाइएको छ । यहाँ ७०० किसानले केराखेती गर्दै आएका छन् । त्यसमध्ये व्यावसायिक किसान ३५० रहेको कार्यालयले जनाएको छ । अहिले जिल्लामा प्रतिहेक्टर ३७ मेट्रिकटन केरा उत्पादन हुँदै आएको छ । यहाँ उत्पादन भएको केरा राजधानी काठमाडौँसहित छिमेकी जिल्लाका मुख्य सहरमा पुग्ने गर्दछ ।

मध्यपश्चिम विश्वविद्यालयका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित

सुर्खेत । प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीबाट उक्त विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहका अवसरमा विभिन्न तह र सङ्कायका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित भएका छन् ।

वीरेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित समारोहमा ती विद्यार्थी दीक्षित भएका हुन् ।

समारोहमा विज्ञान तथा प्रविधि, व्यवस्थापन, इञ्जिनियरिङ, कानुन, शिक्षाशास्त्र, मानविकी र सामााजिकशास्त्र गरी सबै सङ्कायबाट स्नातक तहका दुई हजार एक सय ८९, स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा शैक्षिक सफलता हासिल गरेका एक हजार छ सय ६३ र व्यवस्थापन संकायको दर्शनाचार्य पूरा गरेका १९ विद्यार्थी दीक्षित भएका हुन् ।

कार्यक्रममा भारतको जवाहरलाल नेहरु विश्वविद्यालयका अग्रज प्राध्यापक प्रा डा महेन्द्र पि लामा प्रमुख अतिथि रहेका थिए ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा ध्रुवकुमार गौतमले नेपाल सरकारको सहयोग, राष्ट्रिय तथा अन्तरराष्ट्रिय विश्वविद्यालय एवं सङ्घसंस्थाको सहकार्यमा थप नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।

चार देशीय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्ने

काठमाडौँ । युगान्डामा सञ्चालन हुने चार देशीय महिला टी–२० शृङ्खलाअन्तर्गत आफनो पहिलो खेलमा नेपाली महिला क्रिकेट टोलीले नामिबियासँग खेल्ने भएको छ ।

युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा शनिबार हुने खेल नेपाली समयअनुसार अपराह्न ४ः४५ बजे हुनेछ । नेपालले नामिबियाको महिला टोलीसँग पहिलो पटक खेल्न लागेको हो । उक्त शृङ्खलामा नेपालसहित घरेलु टोली युगान्डा, नेपाल, नामिबिया र हङकङको सहभागिता रहेको छ ।

सिरिजमा सबै टोलीले एकअर्कासँग सामान दुई÷दुई खेल खेल्नेछन् । त्यसमा नेपालले यही फागुन २५ गते युगान्डासँग खेल्नेछ भने फागुन २६ गते हङकङसँग खेल्ने छ । त्यसैगरी फागुन २८ गते नामिबियासँग, २९ गते युगान्डासँग र ३० गते हङकङसँग खेल्नेछ । लिग चरणको खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले प्रतियोगिताको फाइनल खेल्नेछन् ।

नेपाली टोलीमा कप्तान इन्दु बर्मासहित रुबिना क्षेत्री, पूजा महतो, अलिशाकुमारी यादव, साना प्रवीन, रोमा थापा, विन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, राजमती ऐरी, रचना चौधरी र ईश्वरी विष्ट छ्न् ।

नेपाली टोलिका प्रशिक्षक मनोज कटुवालले आफ्ना टोलीको कमजोरी सुधार गरी सिरिज जितेर फर्कने युगान्डा जानुअघि बताएका थिउ । त्यस्तै, नेपाली टिमकी कप्तान बर्माले आफ्नो टोलीको तयारी राम्रो भएकाले उक्त शृङ्खलामा राम्रो खेल खेलेर फर्कने बताइन् ।

काठमाडौँ चक्रपथ विस्तारको काम केही समयमै सुरु हुन्छः मन्त्री दाहाल

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौँ चक्रपथ दोस्रो खण्डअन्तर्गतको काम केही समयमै सुरु हुने बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आकस्मिक तथा शून्य समयमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री दाहालले चक्रपथको दोस्रो खण्डतर्फ ‘सर्भिस लेन’को निर्माण भइरहेको जानकारी दिए ।

“मुख्य लेनको सम्पूर्ण पूर्वतयारीका कार्य सम्पन्न भइसकेकाले केही समयमै चीन सरकारको सहयोगमा बाँकी निर्माण कार्य सुरु हुनेछ”, मन्त्री दाहालले भने । उनले पुँजीगत खर्च बढाएर लैजान मन्त्रालयले पहलदकमी लिइरहेको उल्लेख गरे । नागढुङ्गा–मुग्लिन, बिपी राजमार्ग, उत्तरदक्षिण करिडोर, पूर्वपश्चिम राजमार्गलगायत राष्ट्रिय राजमार्ग निर्माण तथा स्तरोन्नतिमा अपेक्षित नतिजा हासिल गरिएको दाहालको भनाइ छ ।

उनले भने, “गत पुस मसान्तभित्र सिद्धबाबा सुरुङमार्ग ब्रेक थ्रु, माघ १७ गतेसम्म ४१ वटा पुल निर्माण सम्पन्न भएको छ । रेलमार्गको तीन किलोमिटर ‘ट्रयाक’ तथा दुई लेनतर्फ २४६ किमी सडक कालोपत्र र छ लेनतर्फ ३० किलोमिटर सम्पन्न भएको छ ।”
सवारी चालक अनुमतिपत्र वितरणमा राखिएको लक्ष्य प्राविधिकरण पूरा हुन नसकेको जानकारी दिँदै मन्त्री दाहालले ‘स्मार्ट कार्ड’ वितरणलाई तीव्र पारिएको बताए ।

“यसबीचमा नौ लाख ‘स्मार्ट लाइसेन्स’ वितरण गर्ने भनिएको थियो तर एक लाख ६९ हजार ४३९ मात्रै छपाइ भएर वितरण गरिएको छ”,उनले भने, “दुई÷तीन महिना कार्ड छपाइ गर्ने मेसिन नै चलेन, त्यहाँ अनेक समस्या रहेछन्, ती समस्या समाधान गर्दै अघि बढिएको छ ।”

मन्त्री दाहालले मन्त्रालयका सम्बन्धमा सांसदले उठाएका विषयलाई गम्भीरतापूर्वक लिएको जनाउँदै ती विषय समाधान गरिने प्रतिबद्धता व्यक्त गरे ।