`

चीनमा वृद्धवृद्धाको हेरचाहमा एआईको प्रयोग गरिने

बेइजिङ । चीनले वृद्धवृद्धा र सामाजिक हेरचाहमा बौद्धिक कृतिमता (एआई) र बिग डाटाको प्रयोगलाई तीव्रता दिने बताएको छ । अधिकारीहरूले देशको कम जन्मदर र घट्दो श्रमशक्तिसँग जुधिरहेका बेला यो घोषणा गरिएको हो ।

‘हामी सामाजिक सहायता, वृद्ध हेरचाह सेवा र अशक्तहरूका लागि सेवाहरूको क्षेत्रमा बिग डाटा र एआईजस्ता नयाँ प्रविधि र उत्पादनहरूको विकास र अनुप्रयोगलाई तीव्रता दिनेछौं,’ नागरिक मामिला मन्त्री लु झियुआनले चीनको वार्षिक राजनीतिक भेलाको ‘दुई सत्र’ का क्रममा गरिएको एक पत्रकार सम्मेलनमा भने ।

‘यस कदमले सेवाहरूलाई ‘अधिक सुविधाजनक, अधिक सुलभ र अधिक मानकीकृत’ बनाउनेछ,’ लुले भने ।

सन् २०२४ मा चीनको जनसङ्ख्या लगातार तेस्रो वर्ष घटेको छ र त्यहाँ ६० वर्ष वा सोभन्दा बढी उमेरका ३१ करोडभन्दा बढी मानिस रहेका छन् ।

श्रमशक्ति खुम्चिँदै जाँदा सरकारले भविष्यको आर्थिक वृद्धिका लागि प्रविधिको प्रयोग गरिरहेको छ ।

गत जनवरीमा डिपसिकले आफ्नो च्याटबोटको पछिल्लो संस्करण सार्वजनिक गरेपछि स्थानीय सरकारहरूले आफ्नो सेवामा डिपसिकको एआई मोडेल लागू गर्न हतार गरेका छन् ।

डिपसिकको मूल्य कटौती ढाँचाले चिनियाँ कम्पनीहरूलाई उन्नत एआई चिप्सको बिक्रीमा अमेरिकी प्रतिबन्धको बावजुद यसका धेरै पश्चिमी एआई प्रतिस्पर्धीहरूलाई पछि पारेको छ ।

राष्ट्रपति सी चिनफिङले गत महिना निजी कम्पनीहरूका लागि एक दुर्लभ सङ्गोष्ठी आयोजना गर्दा यस क्षेत्रका लागि आधिकारिक समर्थनको सङ्केत गरेका थिए जसमा धेरै एआई र अन्य प्रविधि मालिकहरू सामेल रहेका र उनीहरूलाई ‘आफ्नो प्रतिभा देखाउन’ भनेका थिए ।

सङ्गोष्ठीमा डिपसिकका संस्थापक लियाङ वेनफेङका साथै टेन्सेन्ट, हुवावे र शाओमीजस्ता शीर्ष प्रविधि कम्पनी तथा फर्मका प्रतिनिधिहरू उपस्थित थिए ।

सिरियाली नेताद्वारा राष्ट्रिय एकता र शान्तिका लागि आग्रह

दमास्कस। सिरियाली नेता अहमद अल–साराले आइतबार सुरक्षा बल र पूर्व सरकारका समर्थकहरूबीच दैनिकको झडपपछि शान्ति र राष्ट्रिय एकताका लागि आह्वान गरेका छन् । झडपहरूमा एक हजारभन्दा बढीको मृत्यु भएको छ । तीमध्ये अधिकांश अलावी नागरिकहरू छन् ।

“हामीले सकेसम्म राष्ट्रिय एकता (र) नागरिक शान्तिको रक्षा गर्नुपर्दछ र ईश्वरको इच्छामा हामी यस देशमा सँगै बस्न सक्षम हुनेछौँ”, साराले दमास्कसको छिमेकमा रहेको मस्जिदबाट दिएको भाषणमा भने । उक्त मस्जिदमा उनले आफ्नो बाल्यकाल बिताएका थिए।

“जबसम्म मस्जिदहरूले आफ्ना बालबालिकालाई नैतिकता… र जनतामा निष्पक्षता र न्याय सिकाउँछन्, सिरियाका लागि कुनै डर छैन, ईश्वरको इच्छामा”, उनले भने ।

सिरियाको भूमध्यसागरीय तटमा भएको झडप डिसेम्बरमा साराको इस्लामवादी नेतृत्वको गठबन्धनले असदलाई अपदस्थ गरेपछि नयाँ सरकारको सुरक्षा बलका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ ।

लाटाकिया र टार्टसका तटीय प्रान्तहरू देशको अलावी अल्पसङ्ख्यकको केन्द्रविन्दु हुन् । अलावी धार्मिक समूहसँग असद परिवार सम्बन्धित थियो ।

सिरियाली अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार बिहीबारदेखि घातक झडप शुरु भएयता लाटाकिया र टार्टसमा सात सय ४५ अलावी नागरिक मारिएका छन् ।

अब्जर्भेटरीको आँकडाअनुसार लडाइँमा नयाँ सरकारको सुरक्षा बलका एक सय २५ सदस्य र एक सय ४८ असद–समर्थक लडाकूहरू मारिएका छन् । यसले कुल मृत्यु सङ्ख्या एक हजार १८ पुर्‍याएको छ ।

तेर्‍ह वर्षभन्दा बढी गृहयुद्धपछि सुरक्षा पुनःस्थापना गर्नु नयाँ सरकारका लागि एक प्रमुख चुनौती रहेको छ । यद्यपि साराले अल्पसङ्ख्यकहरूलाई उनीहरूको अधिकार संरक्षित हुने आश्वासन दिने प्रयास गरेका छन् । 

क्यानडाको प्रधानमन्त्री ट्रुडोका उत्तराधिकारीका रूपमा पूर्व गभर्नर कार्नीको चर्चा

ओटावा । क्यानडाको लिबरल पार्टीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीको सामना गरिरहेका प्रधानमन्त्री जस्टिन ट्रुडोको स्थानमा पूर्व गभर्नरलाई आफ्नो नयाँ नेताका रुपमा चयन गर्ने तयारी गरेको छ ।

बैङ्क अफ क्यानडा र बैङ्क अफ इङ्ल्यान्डका पूर्व गभर्नर मार्क कार्नीलाई आइतबार करिब चार लाख पार्टी सदस्यले अनुमोदन गरेको मतपरिणाम सार्वजनिक भएपछि लिबरल पार्टीको नयाँ नेताको रूपमा उनलाई नै चयन गरिने अपेक्षा गरिएको छ ।

अर्को मुख्य प्रतिद्वन्द्वी ट्रुडोकी पूर्व उपप्रधानमन्त्री क्रिस्टिया फ्रिल्यान्ड रहेका छन् । उनी सन् २०१५ मा पहिलो पटक निर्वाचित भएको लिबरल सरकारमा क्याबिनेटका धेरै उच्च पदहरू सम्हालेका छन् ।

दुई सम्भावित उम्मेदवारमध्ये जसले जित्छ उसले ट्रुडोबाट प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गर्नेछ तर नयाँ नेतृत्वले चाँडै नै आम चुनावको सामना गर्नुपर्नेछ । सर्वेक्षणहरूले हाल प्रतिद्वन्द्वी कन्जरभेटिभ पार्टीलाई जित्नका कम लोकप्रिय व्यक्तिका रूपमा देखाएका छन्।

कार्नीले ट्रुडोको क्याबिनेटका अधिकांश सदस्यहरूको समर्थन प्राप्त गरेका छन् र फ्रिल्याण्डको जीत आम चुनावतर्फ अघि बढिरहेका लिबरलहरूको लागि एक झट्का हुनेछ ।

डिसेम्बरमा नाटकीय रूपमा प्रधानमन्त्रीसँग सम्बन्ध विच्छेद भए तापनि विश्लेषकहरूका अनुसार मतदाताहरूले अझै पनि फ्रिल्यान्डलाई ट्रुडोको अलोकप्रिय रेकर्डसँग जोडेका छन् ।

कार्नी र फ्रिल्याण्ड दुवैले ट्रम्पको आक्रमणबाट क्यानडाको रक्षाका लागि आफू नै सबैभन्दा उत्तम उम्मेदवार भएको बताउँदै आएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडालाई गाभ्ने र क्यानाडाको अर्थतन्त्रको प्राणको रूपमा रहेको द्विपक्षीय व्यापारलाई अस्तव्यस्त बनाउने विषयमा बारम्बार बोलेका छन्।

पूर्वराजालाई विमानस्थलमा समर्थहरुको भव्य स्वागत

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किएका छन् । पोखराबाट चार्टर जहाजमार्फत आइतबार दिउँसो आएका पूर्वराजालाई त्रिभुवन विमानस्थल बाहिर समर्थकहरुले भव्य स्वागत गरेका थिए ।

पोखराबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई उनका समर्थकहरूले आज त्रिभुवन विमानस्थलमा स्वागत गरे ।

उनको स्वागतमा समर्थकहरू ठूलो संख्यामा विमानस्थल आसपास पुग्दा त्यहाँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको थियो । त्रिभुवन विमानस्थलबाट बाहिरिएका पूर्वराजाले समर्थकहरूलाई गाडीबाटै अभिवादन गरेका थिए ।

नेपालद्वारा युगाण्डा पराजित

काठमाडौं । चार देशीय महिला टि ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएको छ । आइतबारको खेलमा नेपालले घरेलु टोली युगान्डालाई एक विकेटले पराजित गरेको हो ।

युगान्डाले दिएको ७६ रनको लक्ष्य नेपालले १९ ओभर ५ बलमा ९ विकेट गुमाएर भेट्टायो । नेपालका लागि साना प्रविनले सर्वाधिक १७ रन बनाइन् ।

त्यसअघि युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा टस हारेर ब्याटिङ गरेको युगान्डाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७५ रन बनाएको थियो ।

युगान्डाका लागि इमाकुलेट नाकिसुईले सर्वाधिक २२ रन जोडिन् । नेपालका लागि पुजा महतोले तीन तथा कप्तान इन्दु बर्माले दुई विकेट लिइन् । शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो ।

गेटा मेडिकल कलेजलाई चाँडै विश्वविद्यालयमा स्तरोन्नति गरिने

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका रुपमा स्तरोन्नति गरिने बताएका छन् ।

आइतबार सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह तथा विशेष सभामा प्रधानमन्त्री ओलीले गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउनुपर्छ भनेर आफूले पहिलेदेखि नै कुरा उठाउँदै आएको उल्लेख  गर्दै विश्वविद्यालय बन्नेमा ढुक्क हुन आग्रह गरे ।’यो खुसीको कुरा हो’ उनले भने, ‘नेपालमा कुनै पनि क्षेत्रमा मेडिकल विश्वविद्यालय छैन, त्यो अब यहाँ बन्छ ।’ 

डडेल्धुराको पर्शुराम क्षेत्र जोड्ने पुलसँगै सीमा क्षेत्रमा निर्माण हुने पुलका लागि आफू पहिले प्रधानमन्त्री हुँदा भारतीय समकक्षीसँग कुरा उठाएको उनले बताए । 

दीक्षान्त समारोहका विशेष अतिथि भारतको उत्तराखण्डका सोबनसिंह जीना विश्वविद्यालयका कुलपति प्रा डा सतपालसिंह थिए । आज तीन सय ७२ जना दीक्षित भएका छन् ।

मानविकी तथा समाजशास्त्र, शिक्षा, व्यवस्थापन, इञ्जिनियरिङ र कृषि विज्ञानमा उनीहरुले स्नातक र स्नातकोत्तर उपाधि हासिल गरेका छन् । 

सरकारकै कारण प्रतिक्रियावादी शक्तिहरू उत्साहितः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका जनविरोधी गतिविधिका कारण प्रतिक्रियावादी शक्तिहरू उत्साहित भएको बताएका छन् ।

नेपाली जनप्रगतिशील मञ्च जापानको दोस्रो साधारण सभालाई आइतबार भर्चुअल रूपमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनविरोधी गतिविधिका कारण प्रतिक्रियावादी शक्तिहरू उत्साहित भएका बताएका हुन् ।

उनले सरकारका जनविरोधी गतिविधिहरू रोक्नु माओवादी केन्द्रको जिम्मेवारी भएको बताए । उनले भने, ‘अहिले एमाले नेतृत्वको सरकारले गरिरहेका जनविरोधी गतिविधिका कारण प्रतिक्रियावादी शक्तिहरू उत्साहित भएका छन् । तर, माओवादी केन्द्र जनताबीच पुगेर प्रतिक्रियावादी र अराजक तत्वहरूविरुद्ध संघर्ष गर्ने तयारीमा रहेको छ। सरकारका जनविरोधी गतिविधिहरू रोक्नु माओवादी केन्द्रको जिम्मेवारी हो ।’

माओवादी केन्द्र जनताबीच पुगेर प्रतिक्रियावादी र अराजक तत्वहरूविरुद्ध संघर्ष गर्ने तयारीमा रहेको प्रचण्डले बताए । उनले काठमाडौंको राजनीतिक गतिविधिका कारण केही दिनपछि मात्र अभियानलाई निरन्तरता दिने योजना रहेको बताए ।

अध्यक्ष प्रचण्डले सोमबार बिहान पार्टी सचिवालयको बैठक बस्ने र अभियानसहित अन्य महत्त्वपूर्ण विषयमा छलफल गरिने बताए । प्रचण्डले हुलाकी राजमार्गकेन्द्रित माओवादी तराई–मधेश जागरण अभियानले जनतामा माओवादीप्रतिको विश्वास अझ प्रगाढ बनाएको बताए ।

उनले पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकबाट नेताहरूबीच भावनात्मक एकता कायम गर्दै पार्टीलाई जनतासँग एकाकार गराएर अघि बढ्ने निर्णय गरेको बताए ।

सरकारमा रहेर जनताको पक्षमा काम गर्दा र भ्रष्टाचारविरुद्ध कदम चाल्दा माओवादी नेतृत्वको सरकारलाई असंवैधानिक ढंगले अपदस्थ गरिएको कुरालाई जनताले राम्ररी बुझेको उनले बताए ।

उनले भने, ‘हामी राम्रो काम गर्दै थियौं । तर, उनीहरूले हाम्रो सरकार हटाइदिए । तर, जनताले त्यो कुरा प्रस्ट बुझिसकेका छन् । हामीले प्रचारप्रसार गर्नै परेन । मैले विश्वासको मत प्राप्त गरेरै जनतासँग संवाद गरेको थिएँ । ठूलो दलको सरकार बन्नुपर्ने अवस्थामा पनि असंवैधानिक र अलोकतान्त्रिक रूपमा सरकार गठन भयो । यो कुरा जनताले राम्रोसँग बुझेका छन् ।’

जनताले राजतन्त्र झेलिसकेकाले फेरि नेपालमा राजतन्त्र आउने सम्भावना छैनः माओवादी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद सुरेश आले मगरले राजावादीको सल्बलाहट संयोग मात्र नभएको बताएका छन् ।

आइतबारको राष्ट्रियसभाको बैठकमा सांसद मगरले नेपाली जनताले राजतन्त्र झेलिसकेकाले फेरि नेपालमा राजतन्त्र आउने कुरा सम्भव नरहेको बताएका हुन् । उनले भने, ‘राजतन्त्र झेलिसकेको व्यवस्था हो, गणतन्त्रका कमीकमजोरी होलान् । गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन । यसको सट्टामा राजतन्त्र ल्याएर विकास र समृद्धि आउँदैन ।’

उनले विगतमा सेरेमोनियल र बेबी किङको पक्षमा रहेकाहरू सत्ताको नेतृत्वमा रहेका बेला राजावादीको भूत सल्बलाउनुमा केही आशंका उब्जिएको बताए ।

उनको प्रश्न थियो, ‘माओवादीले गणतन्त्र ल्याउने कुरा गर्दा खिसिट्युरी गर्ने, बेबी र सेरेमोनिल किङको कुरा गर्ने, गणतन्त्र ल्याउनुपर्छ भन्दा बयलगाढा चढेर अमेरिका पुगिन्न भनेर खिसिट्युरी गर्नेहरू राज्यसत्ताको बागडोरमा भएका बेला राजतन्त्रको भूतप्रेत सल्बलाउने कुरा फगत संयोग हो ?’

बैठकमा राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने भन्दै जनआन्दोलनको बलमा स्थापित वर्तमान व्यवस्थालाई सबल तुल्याउन आवश्यक भएको बताए ।

उनले केही व्यक्तिले राजालाई डोर्याएर नारायणहिटी लैजाने भनेर अभिव्यक्ति दिइरहेकामा आपत्ति जनाउँदै यस्ता गतिविधिप्रति सजग हुन सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन ।’

४६ अंकले घट्यो नेप्से

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से उच्च अंकले घटेको छ । आइतबार नेप्से ४६.३३ अंकले घटेर २७७२.१० अंकमा पुगेको छ ।

नेप्से घटेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७.३१ अंकले घटेर ४६३.२९ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका कम्पनीमध्ये २४ वटाको शेयर मूल्य बढेको छ भने २१७ कम्पनीको शेयरमूल्य घटेको छ ।

आज सबै उपसमूह रातम्मे बनेका छन् । नेप्सेका अनुसार आज २ करोड २७ लाख २६ हजार कित्ता शेयर १० अर्ब ९ करोड ३६ लाखभन्दा बढीमा किनबेच भएको छ ।

पर्याप्त वर्षा नहुँदा काठमाडौँ उपत्यकाको आकाश खुलेन, वायु प्रदूषण बढ्यो

काठमाडौँ । पर्याप्त वर्षा नहुँदा काठमाडौँ उपत्यकाको आकाशमा डम्म बादल लगेको छ भने वायु प्रदूषण पनि बढेको छ।

स्थानीय वायुको प्रभाव र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा हुन नसकेको मौसमविद् विनु महर्जनले बताइन्।

‘मुलुकको केही भागमा हिमपात र हल्का मात्र वर्षा भएको छ, तर प्रदूषण हट्ने गरी वर्षा भएको छैन,’ उनले भनिन्, ‘अझै तीन दिन यस्तै हुने देखिन्छ।’

‘एयर क्वालिटि इन्डेक्स’ का अनुसार आज काठमाडौँ विश्वको पाचौँ प्रदूषित सहरका रुपमा सुचीकृत भएको छ। आज यहाँको वायु प्रदूषण एक सय ६३ एक्युआई पुगेको छ।

विश्वको सबैभन्दा बढी प्रदूषित सहरको रुपमा भियतनामको राजधानी हनोई सहर सुचीकृत भएको छ भने दोस्रोमा चीनको बेइजिङ परेको छ। तेस्रो प्रदूषित सहर बङ्गलादेशको ढाका तथा चौथो स्थानमा भारतको नयाँदिल्ली रहेको छ।

क्रिकेटको विकासका लागि सबै प्रदेशमा रङ्गशाला निर्माण आवश्यकः मन्त्री भण्डारी

भैरहवा (रुपन्देही) । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले क्रिकेटको विकासका लागि सात वटै प्रदेशमा रङ्गशाला निर्माण आवश्यक भएको बताएका छन् ।

आजदेखि यहाँ सुरु प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै उनले पूर्वाधार तथा सुविधाको अभावमा पनि नेपाली क्रिकेट क्षेत्रले उल्लेख्य सफलता हासिल गरेको बताए ।

“क्रिकेटको विकासमा सरकार प्रतिबद्ध छ, अभावकै बीचमा पनि नेपाली क्रिकेटले अन्तरराष्ट्रिय स्तरमा प्राप्त गरेको उपलब्धि उल्लेखनीय छ”, उनले भने । उनले क्रिकेटको विकासमा निजी क्षेत्रको पनि भूमिका रहने उल्लेख गर्दै यस क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए । “नेपाल प्रिमियर लिग (एनपिएल) जस्ता प्रतियोगिताले यस क्षेत्रमा आशा जागेको छ, थप लगानीको वातावरण निर्माण भएको छ”, उनले भने ।

लुम्बिनी प्रदेश क्रिकेट सङ्घको व्यवस्थापनमा भइरहेको प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा कूल ४६ वटा खेल खेलाइने छ । यी सबै खेल रुपन्देहीमा रहेको सिद्धार्थ क्रिकेट रङ्गशाला, तिलोत्तमामा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशाला र दाङको लमहीमा रहेको देउखुरी अन्तरराष्ट्रिय रङ्गशालामा खेलाइने जनाइएको छ ।

प्रतियोगितामा सात वटै प्रदेशका टोली र नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विभागीय टोलीसहित १० वटा टोलीहरुले सहभागिता जनाउँदै छन् । प्रतियोगिताको पहिलो दिन सिद्धार्थ क्रिकेट रङ्शालामा लुम्बिनी र कोशी प्रदेश, एक्स्ट्राटेक ओभलमा विभागीय टोली सशस्त्र प्रहरी र बागमती प्रदेश तथा लमहीको देउखुरी रङ्गशालामा सुदूरपश्चिम र कर्णाली प्रदेशबीच खेल भइरहेका छन् । रासस

बजेटमा तीन करोडभन्दा कम लागतका आयोजना समावेश नगर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा तीन करोडभन्दा कम लागतका आयोजना तथा कार्यक्रम प्रस्ताव नगर्न आग्रह गरेका छन् ।

आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा खानेपानी मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालका पदाधिकारीसँग आइतबार बेग्लाबेग्लै भएको छलफलका उनले असङ्ख्य योजना तथा कार्यक्रम बजेटमा राख्ने प्रवृत्तिबाट बाहिर आउन आग्रह गर्दै पूर्वतयारी सकिएका ठूला रुपान्तरणकारी एवं राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना तथा कार्यक्रम मात्र प्रस्ताव गर्न जोड दिए ।

अर्थमन्त्री पौडेलले प्रदेश र स्थानीय तहले गर्न सक्ने कार्यक्रममा उनीहरुको भूमिका बढाउनुपर्ने र एक पटकका लागि बीउपुँजी दिएर भए पनि प्रदेश र स्थानीय तहको कार्यक्षेत्रभित्रका आयोजना तथा कार्यक्रम हस्तान्तरण गर्नुपर्ने बताए ।

बैठकमा खानेपानीमन्त्री प्रदीप यादव, सङ्घीय मामिलामन्त्री राजकुमार गुप्ता, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारी, अर्थ सचिव, राजस्व सचिव, खानेपानी सचिव, सङ्घीय मामिला सचिवगायत सहभागी थिए ।

राजा फर्काउने राजावादीको क्रियाकलाप नियन्त्रण गर्न सरकारसँग माओवादीको माग

काठमाडौँ । सांसदहरुले राजतन्त्र पक्षधरको नाराजुलुसदेखि दलितमाथिको विभेद, शिक्षक आन्दोलन, हवाई सुरक्षालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको आइतबारको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद उदयबहादुर बोहोराले केही समययता काठमाडौँलगायत मुलुकका केही सहरमा नाराजुलुस भइरहेको उल्लेख गर्दै लोकतन्त्रमाथि प्रहार भएकामा चिन्ता व्यक्त गरे ।

उनले सरकार र राजनीतिक दलले कार्यशैली सच्याउन आवश्यक रहेको बताए । मुलुकबाट बेतिथिको अन्त्य, महङ्गी नियन्त्रण र सुशासन प्रवद्र्धनमा सरकार दृढतापूर्वक लाग्नुपर्नेमा उनको जोड थियो ।
नेकपा माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले राजावादीको नाममा भइराखेको गतिविधि नियन्त्रणमा लिन सरकारको ध्यानाकर्षण गराए

। उनले प्रश्न गरे, ‘यो संविधान विरोधी हर्कत, व्यवस्था विरोधी, संघीयता विरोध क्रियाकलाप जे छन् यो अराजकतालाई नियन्त्रण गर्न सरकार किन सकिरहेको छैन ?’

उनले राजतन्त्र अन्त्य भइसकेपछि अहिले तथाकथित प्रतिगामी शक्तिहरू अहिले राजा फर्काउने काममा लागेको भन्दै आपत्ति जनाए । उनले भने, ‘अढाइ सय वर्ष अघिदेखि जरा गाडेर बसेको निरंकुश सामन्तवाद राजतन्त्रको अन्त्य भइसकेपछि अहिले तथाकथित प्रतिगामी शक्तिहरू अहिले राजा फर्काउने भन्दैछन् । जसले राजाको वंश विनाश गरेका हुन्, तिनैले राजा फर्काउने एउटा नाटक मञ्चन गरिरहेका छन् । संविधान विरोधी, व्यवस्था विरोधी हर्कत उनीहरुले गरिरहेका छन् ।’

सांसद शर्माले सरकारले राष्ट्रिय सहमति खोज्नुपर्ने बेलामा पनि त्यस्तो हुन नसकेको बताए । सांसद गोमादेवी तिमल्सिनाले लामो समयदेखि उदयपुर सिमेन्ट उद्योग नेतृत्वबिहीन भएको र कर्मचारीहरुले महिनौदेखि तलव नपाएको उल्लेख गरिन् ।

उनले तत्काल उद्योग सञ्चालन गर्न समेत सरकारको ध्यानाकर्षण गराइन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद भुवनबहादुर सुनारले मुलुकका केही स्थानमा भएका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराए ।

काठमाडौं उपत्यकामा राजावादीको प्रदर्शन

काठमाडौं । काठमाडौंमा राजावादीहरु प्रदर्शनमा उत्रिएका छन् । राजावादीहरुको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बनेको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि विभिन्न ठाउँबाट निस्किरहेका जुलुसले उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बनेको हो । राजावादीहरुको प्रदर्शनले सिनामंगल, गौशाला, कोटेश्वर, तीनकुनेलगायत सडक प्रभावित भएका छन् ।

पूर्वराजाको स्वागतमा राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपालसहित विभिन्न संघसस्थाहरूले काठमाडौंका विभिन्न स्थानबाट प्रदर्शन गरिरहेका छन् ।

प्रदेश अस्पताल बेँसीसहरमा रेडियोलोजी सेवा सञ्चालनमा

लमजुङ । प्रदेश अस्पताल बेँसीसहरमा सर्जिकल इन्टेन्सिभ केयर युनिट (कक्ष) तथा रेडियोलोजी सेवा सञ्चालनमा आएको छ ।

गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले उक्त कक्षको उद्घाटन गर्दै यसले जिल्लावासीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने विश्वास व्यक्त गरे ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरिजङ्ग तामाङको अध्यक्षता उद्घाटन कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, पत्रकार र स्वास्थ्यकर्मीको उपस्थिति थियो । यो सेवाबाट गम्भीर अवस्थाका बिरामीलाई प्रभावकारी उपचार सेवा उपलब्ध गराउन सहज हुने अस्पताल प्रशासनले जनाएको छ । 

द क्लिफमा प्रहरीको ‘कमाण्डो’का प्रशिक्षार्थीको बञ्जी जम्प

काठमाडौँ । कुस्मास्थित द क्लिफमा नेपाल प्रहरीको प्रहरी विशेष कला तथा कारबाही (कमाण्डो) का प्रशिक्षार्थीले बञ्जी जम्प गरेका छन् । तालिम संयोजक प्रहरी नायब उपरीक्षक गणेशबहादुर बरालको संयोजनमा क्लिफमा प्रहरीलाई बञ्जी जम्प गराइएको महाविद्यालयका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक दीपशमशेर जबराले जानकारी दिए ।

‘जस्तोसुकै अवस्थाका लागि कमाण्डोलाई तयार गर्न साहसिक गतिविधिमा संलग्न गराइएको हो’, प्रहरी वरिष्ठ उपरीक्षक जबराले भने, ‘द क्लिफसँग केही वर्षदेखि हामीले सहकार्य गर्दै आएका छौँ ।’ उनका अनुसार १०६ जना प्रशिक्षार्थी प्रहरीले बन्जी जम्प गरेका हुन् ।

नेपाल प्रहरीले तालिमका क्रममा प्रशिक्षार्थीहरूलाई विभिन्न साहसिक खेलमा सहभागी गराउँदै आएको छ । यसअघि पनि सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले तालिमका क्रममा द क्लिफमा बञ्जी जम्प गरिसकेको द क्लिफका अध्यक्ष राजु कार्कीले बताए । ‘हामी पनि नेपाल प्रहरीको तालिमको हिस्सा बन्न पाउँदा खुसी छौँ, आगामी दिनमा पनि यसप्रकारको सहकार्यलाई निरन्तरता दिनेछौँ’, उनले भने ।

राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बागलुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै अग्लो स्वीङ र विश्वकै दोस्रो अग्लो बञ्जी जम्प सञ्चालन हुँदै आएको छ । बन्जी र स्वीङसँगै क्लिफमा रहेको रिसोर्टमा लग्जरी कटेज पनि छ ।

इन्फिनिटी स्विमिङ पुल र सम्मेलन हल निर्माणाधीन छन् । क्लिफमा विश्वकै अग्लो व्यावसायिक स्काइ साइक्लिङ, मेगा ट्रोल, स्काइ क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ चियरलगायत गतिविधि सञ्चालनमा छन् ।

इरानका सर्वोच्च नेताद्वारा क्षेप्यास्त्र सीमा, क्षेत्रीय प्रभावका विषयमा अमेरिकासँग वार्ता गर्न अस्वीकार

तेहरान । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले वार्ताहरू इरानी क्षेप्यास्त्रको सीमा र यस क्षेत्रमा इरानको प्रभावमा प्रतिबन्ध लगाउने उद्देश्यमा केन्द्रित हुने भन्दै दुई देशबीच वार्ताका लागि अमेरिकी प्रयासलाई अस्वीकार गरेका छन् ।

शनिबार अधिकारीहरूको एक समूहलाई सम्बोधन गर्दै उनले अमेरिकाको नाम उल्लेख गरेनन् तर ‘धम्की दिने सरकार’ वार्ताका लागि आफ्नो प्रयासमा दृढ रहिरहेको बताए ।

“उनीहरूको वार्ताको उद्देश्य समस्याहरू समाधान गर्नु होइन, यो … हामी जे चाहन्छौँ त्यो टेबलको विपरीत पक्षमा बसेको अर्को पक्षमाथि थोप्न कुरा गरौँ भन्ने हो”, उनले भने ।

खामेनीको यो टिप्पणी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनीलाई तेहरानको तीव्र गतिमा अघि बढिरहेको आणविक कार्यक्रमलाई नियन्त्रण गर्न र आफ्नो पहिलो कार्यकालमा अमेरिकाले फिर्ता लिएको आणविक सम्झौता प्रतिस्थापन गर्न नयाँ सम्झौताको खोजीमा पत्र पठाएको स्वीकार गरेको एक दिनपछि आएको हो ।

अमेरिकी मागहरू सैन्य र इरानको क्षेत्रीय प्रभावसँग सम्बन्धित हुने खामेनीले बताए ।

“ती रक्षा क्षमताहरू, देशको अन्तर्राष्ट्रिय क्षमताहरूको बारेमा हुनेछन् । (उनीहरूले इरानलाई) केही (निश्चित) कामहरू नगर्न, केही निश्चित मानिसहरूलाई नभेट्न, कुनै निश्चित स्थानमा नजान, केही वस्तुहरू उत्पादन नगर्न, तपाईंको क्षेप्यास्त्र सीमा निश्चित दूरीभन्दा बढी हुनुहुँदैन भनेर आग्रह गर्नेछन् । के कसैले यी कुराहरू स्वीकार गर्न सम्भव छ ?”, उनले भने ।

सबै राज्य मामिलाहरूमा अन्तिम कुरा गर्ने खामेनीले त्यस्ता वार्ताहरूले इरान र पश्चिमबीचका समस्याहरू समाधान नगर्ने बताए । उनले कुनै व्यक्ति वा देशको नाम लिएनन् तर वार्ताको दबाबले जनमतमा इरानमाथि दबाब सिर्जना गरेको बताए । “यो वार्ता होइन । यो आदेश र थोपर्ने काम हो”, उनले भने ।

शुक्रबार ओभल अफिसमा पत्रकारहरूलाई दिएको टिप्पणीमा ट्रम्पले पत्रको बारेमा प्रत्यक्ष रूपमा उल्लेख गरेनन् तर उनले सम्भावित सैन्य कारबाहीतर्फ सङ्केत गर्दै भने, “हामीसँग इरानसँग यस्तो अवस्था छ, केही चाँडै हुन गइरहेको छ । धेरै चाँडै ।”

उनको प्रस्ताव इजरायल र अमेरिका दुवैले इरानलाई आणविक हतियार हासिल गर्न कहिल्यै नदिने चेतावनी दिएको बेला आएको छ । तेहरानले लगभग हतियारको ग्रेडको स्तरमा युरेनियम समृद्ध गरिरहेको बेला सैन्य सङ्घर्षको डर बढाएको छ – यो आणविक हतियारले सुसज्जित राष्ट्रहरूले मात्र गर्छन् ।

तेहरानले लामो समयदेखि आफ्नो कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि हो भन्दै आएको छ । यद्यपि इरानका अधिकारीहरूले अमेरिकासँग प्रतिबन्धहरू र इजरायलसँग गाजा पट्टीमा हमासविरुद्धको युद्धमा अस्थिर युद्धविराम कायम रहेको बेला तनाव उच्च रहेको अवस्थामा बम बनाउने धम्की दिइरहेका छन् ।

इरानको हतियार–ग्रेड युरेनियमको द्रुत उत्पादनले ट्रम्पमाथि थप दबाब दिन्छ । उनले बारम्बार आफू इरानसँग वार्ताका लागि खुला रहेको बताउँदै आएका छन् । यद्यपि उनले आफ्नो पुनः लागू गरिएको ‘अधिकतम दबाब’ नीतिको एक हिस्साका रूपमा इरानको तेल बिक्रीलाई बढ्दो रूपमा लक्षित गर्दै प्रतिबन्धहरू लगाइरहेका छन् ।

अगस्टको अन्त्यमा ‘शत्रु’ सँग संलग्न हुन ‘कुनै हानि छैन’ भन्दै खामेनीले एक भाषणमा अमेरिकासँग सम्भावित वार्ताको ढोका खोलेका थिए । यद्यपि ट्रम्पले तेहरानसँग आणविक वार्ता गर्ने कुरा उठाएपछि खामेनीले अमेरिकासँगको वार्ता ‘बुद्धिमानी, विवेकपूर्ण वा सम्मानजनक छैन’ भन्दै त्यसलाई कम गरेका छन् । 

हमासद्वारा गाजा युद्धविराम वार्ताको दोस्रो चरणअघि बढाउन माग

गाजा । इजरायलले थप वार्ताका लागि दोहामा एक प्रतिनिधिमण्डल पठाउने घोषणा गरेसँगै हमासले गाजा युद्धविरामको दोस्रो चरण तत्काल अघि बढाउन इजरायलसँग माग गरेको छ । समूहले वार्तामा सीधै अघि बढ्ने आफ्नो अडानलाई आइतबार दोहोर्याएको हो ।

प्यालेस्टिनी लडाकू समूहका प्रतिनिधिहरूले सप्ताहन्तमा कायरोमा मध्यस्थकर्ताहरूसँग भेट गरी ‘बिना प्रतिबन्ध वा शर्त’ घेराबन्दी गरिएको क्षेत्रमा पुनः प्रवेश गर्न मानवीय सहायताको आवश्यकतामा जोड दिएको हमासले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

उच्चस्तरीय प्रतिनिधिमण्डलले सम्झौताको ‘दोस्रो चरणका लागि वार्ता सुरु गर्न प्रत्यक्ष रूपमा अघि बढ्नुपर्ने’ आवश्यकतामा पनि जोड दिएको छ । दोस्रो चरणको वार्ताकोे उद्देश्य स्थायी युद्धविरामको लागि आधार तयार गर्नु हो।

हमासले दोस्रो चरणका लागि गाजाबाट पूर्ण इजरायली सेना फिर्ता हुनुपर्ने, नाकाबन्दी अन्त्य गर्नुपर्ने, सो क्षेत्रको पुनःनिर्माण गर्नुपर्ने र आर्थिक सहयोग गर्नुपर्ने लगायतका माग राखेको हमासका एक अधिकारीले एएफपीलाई बताएका छन् ।

हमासका प्रवक्ता अब्देल लतिफ अल–कानौआले सूचकहरू सकारात्मक रहेको बताएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले सोमबार दोहामा प्रतिनिधि पठाउने जनाएको छ ।

इजरायलले युद्धविरामको पहिलो चरण अप्रिलको मध्यसम्म लम्ब्याउन चाहेको बताउँदै आएको छ ।

इजरायलमा रहेका करिब एक हजार ८०० प्यालेस्टिनी कैदीहरूको रिहाईका लागि २५ जना जीवित बन्धक र आठ वटा शवहरूको आदानप्रदान सहित छ हप्ताको सापेक्षिक शान्तिपछि मार्च १ मा त्यो प्रारम्भिक अवधि समाप्त भएको थियो ।

यो युद्धविरामले गाजामा १५ महिनाभन्दा बढी समयदेखि जारी लडाइँलाई धेरै हदसम्म रोकेको थियो । दक्षिणी इजरायलमा सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणको जवाफमा गाजामा इजरायलको निरन्तर सैन्य अभियानका कारण गाजाको लगभग सम्पूर्ण जनसङ्ख्या विस्थापित भएको तर युद्धविरामले शान्तिको लागि वातावरण बनेको छ । 

पोखरा जोड्ने तीन सडक स्तरोन्नति हुँदै

गण्डकी। पर्यटन राजधानी पोखरा जोड्ने तीन सडक यतिबेला स्तरोन्नतिको चरणमा छन्। पोखरा-मुग्लिन सडक, पोखरा-लमजुङ सडकअन्तर्गत तालचोक-बेगनास र मध्यपहाडी लोकमार्गको हरिचोक-याम्दी खण्ड कालोपत्र हुने भएको छ।

पोखरा-मुग्निल सडक आयोजनाको पश्चिम (पोखरा-जामुने) खण्डमा हालसम्म ४३.३४ प्रतिशत भौतिक प्रगति भएको छ। आयोजनाका इन्जिनियर सौजन्य नेपालका अनुसार हालसम्म २९.४७ किमी सडक कालोपत्र भएको छ।

चार लेनको उक्त सडकमा १५.३२ किमीमा दुईतर्फी र १४.१५ किमीमा एकतर्फी कालोपत्र भइसकेको छ। ‘तनहुँमा साढे दुई किमी कालोपत्र हुन बाँकी छ, कास्की खण्डमा पनि अहिले धमाधम कालोपत्र भइरहेको छ’, उनले भने, ‘आगामी वर्षभित्र काम सक्ने लक्ष्य लिइएको छ।’

चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले विसं २०७८ देखि उक्त खण्डको काम सुरु गरेको थियो। पोखराको चाउथे, अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंहचोक, बुढीबजारलगायत क्षेत्रमा पर्ने सडक स्तरोन्नति भइरहेको इन्जिनियर नेपालले जानकारी दिए। पोखरा महानगरपालिका-२७ तालचोकदेखि गगनडौँडासम्मको खण्डमा पनि निर्माणले गति लिएको उनले बताए।

कास्की र तनहुँमा पर्ने पश्चिम खण्डको तीन वर्षे ठेक्का अवधि गत भदौमा सकिएपछि निर्माण कम्पनीले म्याद थपेर काम गरिरहेको छ। पश्चिमतर्फ तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगनगौँडालगायत खण्डमा कालोपत्र भइसकेको छ। तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको आधा सडक छ लेन र आधाजति चार लेनको बन्ने इन्जिनियर नेपालले जानकारी दिए।

वियजपुर खोला र सेती नदीमा पुल निर्माण सँगसँगै भइरहेको उनको भनाइ छ। ३८.८८ किमी दुरीको पश्चिम खण्डमा पर्ने १२ वटामध्ये नौवटा सडक पुल निर्माणको अन्तिम चरणमा रहेको आयोजना कार्यालयले जनाएको छ।

चिनियाँ निर्माण कम्पनीले सात अर्ब ४० करोड ४६ लाख रूपैयाँमा पश्चिम खण्ड निर्माणको जिम्मा लिएको हो। कुल ८१ किमी दुरीको पोखरा-मुग्लिन सडक एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको हो।

कुल ४१.४५ किमीको पूर्वी खण्डमा पनि विसं २०७८ बैशाखदेखि निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको थियो। पूर्वी खण्डमा सडक स्तरोन्नति र कालोपत्रको काम अन्तिम चरणमा पुगेको आयोजना कार्यालयले जनाएको छ।

पोखरादेखि रुपा गाउँपालिका हुँदै लमजुङ जोड्ने सडकअन्तर्गत पोखरा-२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेनको सडक कालोपत्रका लागि पूर्वाधार तयारीको काम भइरहेको छ। विसं २०७९ चैतदेखि निर्माण थालिएको उक्त सडक विश्व बैंकको सहुलियत ऋणमा बन्न लागेको हो।

कुल ३.२८ किमीको उक्त सडकको हालसम्म भौतिक प्रगति ४५ प्रतिशत पुगेको पोखरा महानगरपालिकाको सडक शाखाका इन्जिनियर नवीन गौतमले बताए। निर्माण कम्पनी ‘स्वच्छन्द-सपना-वल्र्डवाइड जेबी’ले ठेक्का सम्झौता भएको एक वर्षपछि बल्ल सडक निर्माणको काम सुरु गरेको थियो।

एक अर्ब ४९ करोडको लागत योजना रहेपनि निर्माण कम्पनीसँग भ्याटबाहेक ७५ करोड ४८ लाख रूपैयाँमा ठेक्का सम्झौता भएको इन्जिनियर गौतमले बताए। फुट ट्रयाक, साइकल लेन र पार्किङसहितको नुमना सडक बन्ने उनको भनाइ छ।

सडक छेउछाउमा बगैँचा, सडकबत्तीलगायत पूर्वाधार बनाइने महानगरपालिकाले जनाएको छ। सडकमा तीनवटा पुल निर्माणाधीन अवस्थामा छन्। सडक विस्तार, कल्भर्ट, नाला र पर्खाल निर्माण भइरहेको इन्जिनियर गौतमले बताए।

इन्जिनियर नेपालले आगामी असारसम्म उक्त सडक कालोपत्र गर्ने लक्ष्य लिइएको बताए। गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरासँग जोडिएको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत हरिचोक-याम्दी खण्ड कालोपत्रका लागि पूर्वाधार तयारीको काम भइरहेको छ।

पर्वतस्थित लोकमार्ग आयोजना कार्यालयका अनुसार कालोपत्रका लागि ‘प्लान्ट’ राख्ने काम भइसकेको छ। करिब २२ सय मिटर दुरीको उक्त सडक समयमा कालोपत्र नहुँदा जनगुनासो बढेको थियो। चार लेनमा सडक विस्तारसँगै नाली, पर्खाल, कल्भर्ट निर्माणलगायतका काम सकिएको जनाइएको छ। दुई वर्षमा सक्ने गरी विसं २०७९ साउनमा काठमाडौंको मोतीदान कन्स्ट्रक्सन सेवा प्रालिले उक्त सडक निर्माणको जिम्मा लिएको थियो।

निर्माण कम्पनीको ढिलासुस्तीका कारण सडक समयमा निर्माण हुन सकेको थिएन। दुवैतर्फ चार लेनको सडक बनिसक्दा पनि उक्त खण्ड समयमा निर्माण नहुँदा लोकमार्गको यात्रा सास्तीपूर्ण बनेको थियो। विद्युत् पोल, खानेपानी व्यवस्थापन, भुक्तानी समस्या जस्ता कारणले पनि सडक निर्माणमा ढिलाइ भएको जनाइएको छ।

आयोजना कार्यालयले ठेक्का तोड्ने चेतावनी दिएपछि निर्माण कम्पनीले कामको गति बढाएको थियो। एकसाथ तीन ठूला सडक निर्माणका क्रममा रहेकाले पर्यटकीय राजधानी पोखराको यातायात सेवा केही असहज भने बनेको छ। 

राजावादीहरुबाट हुने प्रदर्शनलाई मध्यनजर गर्दै त्रिभुवन विमानस्थल प्रवेशमा कडाइ

काठमाडौं । राजावादी समूहले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि त्रिभुवन विमानस्थल आउन आह्वान गरेपछि सुरक्षामा कडाइ गरिएको छ ।

त्रिभुवन विमानस्थलमा हवाइ टिकट भएका यात्रु र कर्मचारी बाहेक अरुलाई प्रवेशमा निषेध गरिएको छ । त्यसैगरी अराजक जुलुश प्रर्दशन गर्ने सक्ने संभावनालाई ध्यानमा राखेर काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था विहानैदेखि कडा पारिएको छ ।

पोखराबाट काठमाडौं फर्किंदा राजावादी दल र समूहहरुले स्वागत गर्ने र त्यसक्रममा हुने प्रर्दशनलाई ध्यानमा राखेर काठमाडौं उपत्यकाकै सुरक्षा व्यवस्था कडा पारिएको हो।

आइतबार विहानैदेखि काठमाडौंका मूख्य गल्ली र चोकहरुमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य सुरक्षा अंगलाई परिचालन गरिएको छ र जिल्ला प्रशासन कार्यालय काठमाडौले दिएको जानकारी अनुसार काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहितका संवेदनशील पहिचान गरिएका क्षेत्र र मुख्य चोकहरुमा सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आज दिउँसो काठमाडौं आउँदैछन्।

लुम्बिनीका तीन स्थानमा प्रधानमन्त्री कप क्रिकेट सुरु

लुम्बिनी । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता लुम्बिनी प्रदेशमासुरु भएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दाङको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार बिहान प्रतियोगिताको उद्घाटन गरेका छन् । रुपन्देहीका दुई र दाङको एक गरी तीनवटा क्रिकेट मैदानमा प्रतियोगिता शुरु भएको हो ।

भैरहवाको सिद्धार्थ रंगशालामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले क्रिकेट बल हस्तान्तरण गरी खेलको उद्घाटन गरेका थिए ।

त्यस्तै तिलोत्तमामा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले प्रतियोगिताको उद्घाटन गरेका छन् । प्रतियोगिता उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले पछिल्लो समय खेल क्षेत्रले देशलाई चिनाउन सफल भएको बताए ।

प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालनका लागि यसपटक लुम्बिनी प्रदेशलाई प्राथमिकता दिएकोप्रति नेपाल क्रिकेट सङ्घलाई उनले धन्यवादसमेत व्यक्त गरे ।

कार्यक्रममा नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले पूर्वाधार विकासमा सरकारको ध्यानाकर्षण गराउनकै लागि काठमाडौँ बाहिर खेलको आयोजना गरेको बताए । आइतबारदेखि सुरु भएको प्रतियोगितमा सात प्रदेश तथा तीन विभागीय गरी १० टोलीको सहभागिता रहेको छ ।

विपद् व्यवस्थापनको अधिकार प्रदेशमा हस्तान्तरण गरिने

कर्णाली । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको अधिकार प्रदेश सरकारलाई हस्तान्तरण गरिएको बताएका छन् ।

आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘प्रादेशिक आपतकालीन गोदामघर हस्तान्तरण’ कार्यक्रममा उनले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नीति, निर्देशन र स्वामित्वमा रहेको अधिकारलाई हस्तान्तरण गरिएको बताए । अब विपद् पर्दा केन्द्रमा सोध्नु नपर्ने र त्यसको व्यवस्थापन प्रदेश सरकार आफैँले गर्नेगरी अधिकार हस्तान्तरण गरिएको उनले जनाए ।

उनले भने, “सरकारले विपद् जोखिम न्यूनीकरणलाई उच्च प्राथमिकतामा राखेर आपत्कालीन गोदामघर सातवटै प्रदेशमा व्यवस्था गरेको छ, जनताको नजिकको सरकार स्थानीय तह भएकाले त्यहाँ पनि आपतकालीन गोदामघर निर्माण गर्ने व्यवस्था मिलाउँछौँ, प्राधिकरणसहित प्रधानमन्त्रीको अध्यक्षताको राष्ट्रिय परिषद् र आफ्नो संयोजकत्वको कार्यकारी समितिले जोखिम न्यूनीकरणमा संवेदनशील भएर काम गरेको छ ।”

गृहमन्त्री लेखकका अनुसार डोटी, बझाङ, बाजुरा र जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट क्षतिग्रस्त संरचनाको विवरणअनुसार पुनःनिर्माण र पुनःस्थापनका कार्यलाई अगाडि बढाइएको छ । जाजरकोटमा प्राधिकरणको संरचना र त्यहाँको अवस्था बुझ्न उनी त्यसतर्फ लागेका छन् । उनले आजै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेललाई वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेत इत्रामस्थित रहेको प्रादेशिक आपतकालीन गोदामघर लिखित रुपमा हस्तान्तरण गरेका छन् ।

‘प्रादेशिक आपतकालीन गोदामघर हस्तान्तरण’ कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री कँडेलले संरचना हस्तान्तरण मात्र नभई त्यससँग सम्बन्धित निकाय र तत्सँगसम्बन्धी अधिकार हस्तान्तरण गर्न केन्द्र सरकार तयार हुनुपर्ने धारणा राखे । उनले आपतकालीन गोदामघर हस्तान्तरण गर्न सात वर्ष लागेको भन्दै हस्तान्तरित संरचनासँगै सङ्घीय सरकारले आवश्यक बजेटको व्यवस्थापनसमेत गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख भीष्मकुमार भुसालले मानवीय सहायता सामग्रीको परिचालन गर्ने जिम्मा यसअघि गृह मन्त्रालयलाई दिइएको बताए ।

मुलुक सङ्घीयतामा गइसकेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनले समग्र विपद् व्यवस्थापनमा सबै तहका सरकारको भूमिका तोकका सन्दर्भमा अब यस्ता खालका आपतकालीन सहायता सामग्री छिटोभन्दा छिटो विपद्बाट प्रभावितसम्म पुर्याउन व्यवस्थापनको अधिकार विकेन्द्रित गरिएको उनले बताए । 

स्कुटर चोरीमा संलग्न दुईजना ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं । स्कुटर चोरीको आरोपमा ट्राफिक प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ घर भई काठमाडौंको मनमैजु बस्ने २० वर्षीय शनिस श्रेष्ठ र रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका १३ घर भइ हाल मनमैजु बस्ने १८ वर्षीय सुशान्त बुढा मगरलाई पक्राउ गरेको हो ।

वास्तविक नम्बर बा८७प १६४४ रहेको स्कुटरमा नम्बर प्लेट नराखी तार्केश्वर नगरपालिका १० घलेपुलमा चलाइरहेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । उक्त स्कुटर सामाखुसी बस्ने महेशचन्द्र खनालले तारकेश्वर नगरपालिका ९ बाट हराएको भनी निवेदन दिएका थिए ।

उक्त स्कुटर सुशान्त बुढा मगरले दिएको भनी खुल्न आएकाले खोजतलास गर्दै जाँदा काठमाडौंको मनमैजुबाट सुशान्तलाई समेत ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

अनुसन्धानकै क्रममा अर्को स्कुटर पनि लुकाएर राखेको भन्ने खुल्न आएकोले खोजतलास गर्दा तार्केश्वर नगरपालिका १० घलेपुलमै नम्बर प्लेटनै नभएको र पार्किङ गरी राखेको अवस्थामा स्कुटर फेला परेको थियो । वास्तविक नम्बर बा ९२प९३९५ भएको स्कुटर टोखा नगरपालिका ११ बाट हराएको भनि रामेछापका रिकी थापा मगरले निवेदन दिएका थिए ।

नियन्त्रणमा आएका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वत्त बालाजु पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिएका छन् ।

सिरियामा दुई दिनको झडप र प्रतिशोधपूर्ण हत्यामा एक हजारभन्दा बढीको मृत्यु

बेरुत । सिरियाली सुरक्षा बल र पदच्यूत राष्ट्रपति बसर अल–असदका समर्थकहरूबीच दुई दिनको झडप र त्यसपछिको प्रतिशोधात्मक हत्याहरूले मृत्यु संख्या एक हजारभन्दा बढी पुगेको एक युद्ध अनुगमन समूहले बताएको छ । यो सिरियाको १४ वर्षअघि सुरु भएको द्वन्द्वपछिको सबैभन्दा घातक हिंसाको घटना हो ।

बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार सात सय ४५ सर्वसाधारण मारिएका छन् । तीमध्ये एक सय २५ जना सरकारी सुरक्षा बलका सदस्य र एक सय ४८ जना असदसँग सम्बन्धित सशस्त्र समूहका लडाकुहरू मारिएका छन् । लाटाकिया सहर वरपरका ठूलो क्षेत्रमा बिजुली र खानेपानी काटिएको अब्जर्भेटरीले बताएको छ ।

असदलाई सत्ताबाट हटाएपछि विद्रोहीहरूले सत्ता लिएको तीन महिनापछि बिहीबार भड्किएको झडपले दमास्कसमा नयाँ सरकारलाई ठूलो चुनौती दिएको छ ।

सरकारले असदका बलहरूको अवशेषबाट भएको आक्रमणको जवाफ दिइरहेको र व्यापक हिंसाका लागि ‘व्यक्तिगत कार्यहरू’ लाई दोष दिएको बताएको छ ।

असदको अल्पसङ्ख्यक अलावी सम्प्रदायका सदस्यहरू विरुद्ध सरकारप्रति वफादार सुन्नी मुस्लिम बन्दुकधारीहरूले शुक्रबार सुरु गरेको प्रतिशोधात्मक हत्या पूर्व सरकारको पतनको नेतृत्व गर्ने गुट हयात ताहरिर अल–शामका लागि ठूलो धक्का हो । अलावीहरूले दशकौँसम्म असदको समर्थन आधारको ठूलो हिस्सा बनाएका थिए ।

अलावी गाउँ र सहरका बासिन्दाहरूले एसोसिएटेड प्रेससँग हत्याहरूको बारेमा कुरा गर्दै बन्दुकधारीहरूले अलावीहरूलाई, अधिकांश पुरुषलाई, सडकमा वा उनीहरूको घरको गेटमा गोली हानेको बताए । सिरियाको तटीय क्षेत्रका दुई बासिन्दाले एपीलाई आफ्नो लुक्ने ठाउँबाट विभिन्न क्षेत्रहरूमा अलावीहरूका धेरै घरहरू लुटिएका र त्यसपछि आगो लगाइएको बताए ।

उनीहरूले बन्दुकधारीहरूद्वारा मारिने डरले आफ्नो नाम सार्वजनिक नगर्न अनुरोध गरे । हजारौँ मानिस सुरक्षाका लागि नजिकैको पहाडतर्फ भागेको उनीहरूले थप जानकारी दिए ।

हिंसाबाट सबैभन्दा बढी प्रभावित बानियास सहरका बासिन्दाहरूले सडकहरूमा लाशहरू छरिएका वा घरहरू र भवनहरूको छतमा गाडिन नपाएका अवस्थामा छोडिएको र कसैले पनि उनीहरूलाई सङ्कलन गर्न नसकेको बताए । एक बासिन्दाका अनुसार बन्दुकधारीहरूले बासिन्दाहरूलाई शुक्रबार नजिकबाट मारिएका आफ्ना पाँच छिमेकीको शव हटाउन घन्टौँसम्म रोकेका थिए ।

परिवार र छिमेकीहरूसँग शुक्रबार हिंसा फैलिएको केही घण्टापछि भागेका बानियासका ५७ वर्षीय बासिन्दा अली शेहाले अलावीहरू बस्ने बानियासको एक क्षेत्रमा उहाँका कम्तीमा २० छिमेकी र सहकर्मी मारिएको र तीमध्ये केही आफ्नै पसलमा वा घरमा मारिएका बताए ।

शेहाले यी आक्रमणलाई असद सरकारले गरेका अपराधहरूका लागि अलावी अल्पसङ्ख्यकको ‘प्रतिशोधात्मक हत्या’ भने । अन्य बासिन्दाले बन्दुकधारीहरूमा विदेशी लडाकूहरू र छिमेकी गाउँ र सहरका उग्रवादीहरू रहेको बताए ।

“यो निकै नराम्रो थियो । शवहरू सडकमा थिए”, सहरबाट करिब २० किलोमिटर टाढाबाट फोनमा कुरा गर्दै शेहाले भने । उनका अनुसार बन्दुकधारीहरू उनको  अपार्टमेन्ट भवनबाट एक सय मिटरभन्दा कममा भेला भएका थिए ।

कम्तीमा एक घटनामा उनलाई थाहा भएअनुसार बासिन्दाहरूलाई उनीहरूको धर्म र सम्प्रदाय जाँच गर्न परिचयपत्र माग्दै थिए अनि त्यसपछि उनीहरूलाई मार्दै थिए । उनले बन्दुकधारीहरूले केही घरमा आगो लगाएको र कारहरू चोरेर घरहरू लुटेको बताए ।

मोटरसाइकल दुर्घटनामा काङ्ग्रेस जिल्ला सदस्य पौडेलको मृत्यु

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ नर्सरीमा शनिबार राति मोटरसाइकल दुर्घटना नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य बालकृष्ण पौडेलको मृत्यु भएको छ ।

पोखराबाट बेलचौतारातर्फ आउँदै गरेको ग १३ प ५०६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ५२ वर्षीय पौडेलको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका पौडेललाई उपचरका लागि जिपी कोइराला अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

‘रक्त शुद्धता र वंश–परम्परा नश्लिय पाखण्डको पर्दाफाश गरौं !’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नश्लीय पाखण्डको पर्दाफास गर्न आवश्यक रहेको बताएका छन् ।

राजावादीहरुको चलखेल बढेको भन्दै सामाजिक संजालमार्फत रिमालले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘अढ़ाई सय वर्षसम्मको चकचकी र लुट खसोट बिर्सिए पनि ०४६ चैतसम्म हाम्रा मुख थुन्ने, ‘यहॉबाट त्यहॉ’ जान नदिने जस्ता राम–राज्यका संचालक यिनीहरू नै थिए हैन र ? अझ त्यसलाई पुरानो कुरा मान्ने हो भने पनि आजभन्दा मात्र ८,६८२ दिन अगाडि त्यसबखतका राजासहित सिङ्गो वंशलाई उनीहरूद्वारा–उनीहरूका लागि – उनीहरूले नै खरानी बनाएका हैनन् र ?’

रिमालले २०६१ माघ १९ देखि ०६३ सम्मलाई ‘गोल्डेन डेज’ भनेर व्याख्या गर्दै त्यस समय ‘गोल्ड’को गोडमेल गर्नेहरू पनि उही रहेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘एयरपोर्ट जाऔं– स्वागत गरौं भन्ने अनुहार र २०६१ माघ १९ देखि ०६३ सम्मको गोल्डेन डेजआयो भन्दै ती डेजमा गोल्डको गोडमेल गर्नेहरू पनि यिनीहरू हैनन् र ? रक्त शुद्धता र वंश–परंपरा नश्लिय पाखण्डको पर्दाफाश गरौं ! अंग्रेजीमा एउटा भनाइ छ नि– ‘फर्गिभ– वट नट फर्गेट!’

वैदेशिक रोजगारीबाट फर्किएका सर्लाहीका इन्द्रलाल केराखेतीबाट मासिक एक लाखसम्म कमाउँदै

बरहथवा । बागमती नगरपालिका-१० निवासी ४७ वर्षीय इन्द्रलाल बल विगत नौ वर्षदेखि केराखेतीमा सम्लग्न छन् । उनले साढे सात बिघा खेतमा केराखेती गरेका छन् । उनले भने, “मेहेनतअनुसारको उत्पादन र उत्पादनअनुसारको राम्रो व्यापार भएका कारण केराखेतीबाट मनग्य आम्दानी भइरहेको छ ।”

कृषि उत्पादनमा व्यावसायिक रूपले जोडिनुपर्ने उनको तर्क छ । “हामी आफ्नो माटोमा सुन फलाउन छाडेर विदेशमा पित्तल कमाउन पुग्ने गर्छौँ”, उनले भने । झण्डै पाँच वर्ष वैदेशिक रोजगारीमा मलेसिया मा विताएका उनी युवाहरूलाई देशमै केही गर्न आग्रह गर्छन् ।

विगत एक दशकदेखि बिहान सबेरैदेखि साँझ अबेरसम्म उहाँ केराबारीमा भेटिन्छन् । खेतीबारी राम्रो हुन त्यसलाई पर्याप्त स्याहारसम्भार गर्नुपर्ने उनको अनुभव छ । “हाम्रो बानी कस्तो छभने खेतमा बाली लगाउने अनि फर्केर नजाने”, उनले भने, “यसरी खेती हुँदैन, हाम्रा पितापुर्खाले भन्ने गर्नुभएको उखानै छ । घोकन्ते विद्या, ध्याउन्ते खेती ।”

बुबाबाजेले खेतीपाती गरेको देखेर हुर्कनुभएका उनले राजनीतिशास्त्रमा प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन गरेका छन् । तत्कालीन राज्यसत्ताविरुद्ध माओवादीले गरेको सङ्घर्षमा होमिएका उनी २०६५ सालमा वैदेशिक रोजगारीमा गए । “देशमा माओवादी सङ्घर्ष थियो । म पनि त्यसैमा होमिएको थिएँ । विसं २०६२/६३ मा काठमाडौँ केन्द्रित आन्दोलन भयो । त्यहाँ पनि निकै नाराबाजी गरियो”, उनले विगत सम्झिए ।

शान्ति वार्तापछि माओवादी सरकारमा गयो । हामी परिवार पाल्नै नसक्ने भएपछि भारतको बाटो हुँदै मलेसिया पुग्यौँ । माओवादी द्वन्द्वबाट आएका ४२ जना एकैपटक मलेसिया अवतरण भएका थियौँ । विदेशको भूमि, हावापानी, रहनसहन, भाषा, वेशभूषा सबै नयाँ । हामीलाई त्यहाँ महिनौँसम्म मार्बल र ढुङ्गा बोकाइयो । निकै कष्ट भयो । सीपबिनाको वैदेशिक रोजगारी पशुले गर्ने सङ्घर्ष हुने उनको भनाइ थियो ।

यसरी पाँच वर्ष काम गरेपछि २०७१ सालमा स्वदेश फर्किएँ । विदेशबाट ल्याएको पैसा एउटा घर बनाउनेबित्तिकै सकियो । फेरि दैनिक छाक टार्नै धौधौको अवस्थामा पुगियो । परिवार बिरामी पर्दा छिमेकमा सापटीसमेत पत्याउन छाडे । काम र दुःख सम्झेर विदेश जाने आँट पनि आएन । त्यसपछि छिमेकीको खेत भाडामा लिएर केराखेती सुरु गरेको उनले सुनाए । त्यसयता उनले दुःखलाई फर्किएर हेर्नुपरेको छैन ।

गाउँमा रु पाँच सय कसैले नपत्याउने अवस्थाबाट केराखेतीले सम्मानजनक जीवन दिएको उनको कथन छ । पुख्र्यौली सम्पत्तिका नाममा तीन कठ्ठा जग्गा पाएका उनले १० वर्षमा १५ कठ्ठा खेत, दुई ठाउँमा घडेरी जोडेको बताए । तीन सन्तानलाई उनीहरूले चाहेअनुसार आजको युग सुहाउँदो शिक्षादीक्षा यसै खेतीको आम्दानीबाट पूरा गरिरहेको उनको भनाइ छ ।

उनले एक छोरालाई फार्मेसी पढाएका छन् । दुई सन्तान उच्च शिक्षा अध्ययनरत छन् । छोराछोरीलाई आजको समाजमा बाँच्न सक्ने वातावरण तयार गर्न सक्नु नै ठूलो सम्पत्ति आर्जन भएको बताउँछन् । आफूहरूजस्तो निम्नवर्गीय परिवारका लागि शिक्षा निकै महँगो बन्दै गएको छ । पैत्रिक सम्पत्तिका नाममा तीन कठ्ठा खेत पाएका उनले छिमेकीको एक बिघा खेत भाडामा लिएर केराखेती सुरु गरेको बताए ।

उनको केराखेती अहिले साढे आठ बिघा पुगिसकेको छ । उनले वर्षको प्रतिकठ्ठा रु चार हजार आठ सयदेखि छ हजार पाँच सयसम्म भाडा तिर्छन् । केरा रोपेको १२ देखि १४ महिनाबाट उत्पादन दिन सुरु हुन्छ । नौ हजार दुई सय बोट केरा रहेकामा प्राकृतिक प्रकोपमा परेर वर्षमा सय बोटसम्म केरा क्षति हुने गरेको उनको भनाइ छ । सुरुमा खनजोत, मलखाद, मजदुर गरी रु २२ लाख लगानी गरेको खेतीबाट १४ महिनामा रु ३१ लाख बढीको केरा बिक्री गर्ने उनको भनाइ छ ।

“प्रतिघरीमा ९० देखि एक सय कोसा केरा फल्छ”, उनले भने, “मैले मालभोग र नाइन ग्रेड (घ्यू) केराको बोट लगाएको छु । नाइन ग्रेडको घरीमा दुई सय कोसासम्म फल्छ ।” प्रतिकोसा रु ३.५० पैसाका दरले कम्तीमा तीन सय ५० देखि पाँच सयसम्म प्रतिघरी केरा बिक्री हुन्छ । छठ तथा चाडपर्वमा अझै महँगोमा बिक्री हुने उनले जानकारी दिए । यहाँ उत्पादन भएका केरा स्थानीय हरिवन, बरहथवा, नयारोड, सोल्टीलगायत बजारसम्म लैजाने गरिएको छ ।

“बजारको मागअनुसार केरा दिन नसकेको उहाँले सुनाउनुभयो । हप्तामा दुई सय ५० घरीभन्दा धेरै केरा पसलेले माग्नुहुन्छ”, उनले भने, “छ–सात बिघामा गरेको खेतीले पुर्याउन गाह्रो छ । थोरैथोरै गरेर दिने गरेको छु ।”

पैसासमेत दैनिक पाइने भएपछि खेती गर्न उत्साह थपिने गरेको उनी सुनाउँछन् । किसान बलले केराखेतीमा पाँच जनालाई नियमितजस्तै काम दिने गर्नुभएको छ । पात काट्ने, गोडमेल गर्ने, मलजल गर्ने, केरा काट्नेलगायत काम हुन्छ ।

उनी आफैँ पनि नियमित काम गर्ने भएकाले एक जना मजदुरको काम आफैँले भ्याउने गरेको उनको भनाइ छ । भारतीय केराका कारण बेलाबेलामा बजारमा समस्या हुने गरेको उनले सुनाए । भारत सरकारले किसानलाई खेती, लगानी र ढुवानी गरेर ९० प्रतिशतसम्म अनुदान दिएको केरासँग हाम्रो महँगो लगानीको उत्पादनले प्रतिस्पर्धा गर्नुपर्दा समस्या हुने गरेको उनले बताए ।

राज्यले थोरै राजस्वको लोभमा देशका किसानलाई पेसाबाट पलायन गर्ने नीति सुधार गर्नुपर्ने उहाँको माग छ । स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर अपुग सामानमात्र भित्र्याउनुपर्ने उनी बताउँछन् ।

खेतमा बिरुवा लगाएर राजनीति गर्ने र कम्मरमा हात लगाएर बस्नेहरूले खेती हुन्न । बजार छैन, कृषि डुब्नका लागि गर्ने हो भन्ने भाष्य सृजना गरेकामा उनले दुःख व्यक्त गरे । यस्ता भाष्यले समाजमा कृषि कर्मप्रति नै नकारात्मक सोचको विकास गरेकाले युवाहरू यही कृषि कोरिया, जापान, अष्ट्रेलिया गएर गर्न लालायित हुने तर नेपालमा खेत बाँझै हुने अवस्था आएको किसान बलको बुझाइ छ ।

कृषि गर्छु भन्नुभन्दा पनि किसानले आफूले लगाएको बिरुवाको भाषा बुझ्ने गरी अभ्यस्त हुनुपर्ने उनी बताउँछन् । बोटबिरुवासँग बिहान, दिउँसो र बेलुका भेट गर्ने र उनीहरूको कुरा बुझ्नेले मलजल गरेमात्र उत्पादन वृद्धि हुन्छ ।

उनले भने, “उत्पादन बढेपछि मात्र आम्दानी बढ्ने हो । बलले केराखेतीबाट सबै खर्च कटाएर मासिक रु एक लाखसम्म आम्दानी गरिरहेको भन्दै यस पेसाले आफूलाई सन्तुष्टि दिएको प्रतिक्रिया दिए । कुनै पनि कृषिलाई उन्नत बनाउन राज्यले प्रविधिको उपयोग तथा खेती प्रणालीको विकासमा भने ध्यान दिनुपर्ने उनी बताउँछन् ।

प्रधानमन्त्री कप क्रिकेटमा मधेस प्रदेशको टिम घोषणा

वीरगञ्ज । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको मधेस प्रदेशबाट सहभागी हुने खेलाडी नाम सार्वजनिक गरिएको छ । मधेस प्रदेश खेलाडी छनोट समितिले शनिबार अनिलकुमार साहको कप्तानीमा १५ सदस्यीय टोली छनोट गरेको हो ।

मधेस प्रदेशको टिममा बाराका पवन सर्राफ, कमल गुप्ता, निखिल सिंह, रञ्जित कुमार, राजेश यादव, विशाल पटेल, रोशन विक, प्रदीप पासवान, रुपेश सिंह, दिपेश दास, हरिशङ्कर साह, शैलेन्द्र साह र सन्नी साह रहेका छन् । मधेस प्रदेशको टिमको प्रशिक्षकमा सुनिल साह रहेका छन् ।

सहप्रशिक्षकमा शुभ टण्डुकार र म्यानेजरमा दीपेन्द्र यादव रहेका छन् । छनोट समितिका संयोजक विकास दलीको नेतृत्वमा १५ सदस्यीय टोलीको छनोट गरेको हो ।

मधेसका आठ जिल्लाका टिमबाट प्रतिस्पर्धा गरेका उत्कृष्ट खेलाडीलाई छनोट गरेर मधेस प्रदेशको टिम बनाइएको हो । मधेस प्रदेशको टिम आइतबार बिहानै रुपन्देही प्रस्थान गरिसकेको छ । प्रतियोगिता लुम्बिनी प्रदेश क्रिकेट सङ्घको व्यवस्थापनमा हुने प्रतियोगितामा १० टिम सहभागी हुँदैछन् ।

माओवादी पदाधिकारी बैठकमा राजावादीको चलखेलका विषयमा छलफल हुने

काठमाडौं । राजावादीहरूको सक्रियता बढेपछि तराई–मधेश जागरण अभियान स्थगित गरेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ ।

आज दिउँसो बस्ने पदाधिकारी बैठकका लागि उपत्यका बाहिर रहेका माओवादीका शीर्ष नेताहरू काठमाडौं फर्किँदै छन् । मधेशमा अभियान चलाइरहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार साँझै काठमाडौं फर्किसकेका छन् ।

प्रतिगामी शक्तिविरुद्ध सडक र सदनमा प्रभावकारी भूमिका बढाउनबारे पदाधिकारी बैठकमा छलफल हुने माओवादी नेताहरूको भनाइ छ । राजावादीहरूले आज राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छन् । पोखराबाट पूर्वराजा शाह आज काठमाडौं फर्किँदैछन् ।

उनलाई स्वागत गर्न राप्रपा र राजवादीहरुले सर्वसाधारणलाई दिउँसो एक बजे त्रिभुवन विमानस्थलमा आउन आह्वान गरेका छन् । राजावादीहरुले शक्ति प्रदर्शन गर्न लागेपछि उपत्यकामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

राजावादीको गतिविधि बढेपछि राजनीतिमा नयाँ तरंग, प्रधानमन्त्री र राष्ट्रपतिबीच छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री ओली शनिबार शीतलनिवास पुगेका हुन् । भेटमा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राजावादीको गतिविधि बढेको भन्दै माओवादीको जागरण अभियान स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादीः तराई–मधेश जागरण अभियान’ स्थगित गरेको छ । पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर केही दिनका लागि अभियान स्थगित गरेको माओवादीले जनाएको छ ।

माओवादी महासचिव देव गुरुङले देशको राजनीति जटिल बन्दै गएकाले अभियान स्थगित गरिएको जानकारी दिए । पछिल्लो समय देशमा राजावादीहरूले सक्रियता बढाएका छन् ।

आइतबार राजावादीहरूले पोखराबाट काठमाडौं फर्किँदा पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा भव्य स्वागत गर्ने तयारी गरेका छन् ।

पुष्पन प्रधानको ‘कागजको खोस्टो’

काठमाडौं । हरिवंश आचार्य अभिनित फिल्म ‘भूठान’ मा समावेश ‘कागजको खोस्टो’ बोलको गीत सार्वजनिक गरिएको छ । पुष्पन प्रधानको स्वर रहेको गीतमा नवराज पराजलीको शब्द र वाचन साथै रिदम कँडेलको संगीत संयोजन छ ।

गीतले घर फर्कन नपाएको परदेशीको व्यथा बोलेको छ। गीत नवराज पराजुलीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

फिल्ममा मुख्य भूमिकामा हरिवंश आचार्यका साथमा दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द (लामा), ऋचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी लगायतको अभिनय छ।

सरकार अरु काम नपाएर कुलमानको पछि मात्रै लागेको जस्तो देखियोः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि सरकारे किचकिच गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

सिन्धुलीमा शनिबार पार्टीको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले कुलमानलाई सरकारले पटक–पटक स्पष्टीकरण सोधेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

उनले मन्त्रीहरुलाई राम्रो काम गर्न नसके नराम्रो काम नगर्न आग्रह गरे । उनले एउटा सरकार नै एउटा व्यक्तिको पछि लागिरहेको जस्तो देखिएको बताए ।

उनले भने, ‘अहिले हामी सुनिरहेका छौं, ऊर्जा मन्त्रालयको । मन्त्रालयअन्तर्गत विद्युत प्राधिकरण छ । मैले बुझ्न सकेको छैन, बदनियत हो कि ढंग नपुगेको हो, तीन–चार महिनामा सेवा निवृत्त हुने एउटा व्यक्तिको पछि सरकार नै लागेको देखिन्छ । यस्ता कुरा ठीक होइन । तीनचार महिनापछि उपयुक्त व्यक्ति ल्याएर नेतृत्व गर्न दिने । सरकारले नै व्यक्तिको पछि लागेर किचकिच गरिरहेको देखिन्छ । यस्तो कुरा ठीक होइन । यस्तो काममा कोही मन्त्रीहरू लाग्नु हुँदैन । प्रधानमन्त्री भनेको सरकारको, त्यो क्याबिनेटको मास्टर हो । उसले राम्रो कामको श्रेय पाउँछ, नराम्रो कामको अपजस पनि लिनुपर्छ ।’

उनले आफूहरूले सरकारको सहयोगी भएको र राम्रो काम गरोस् भन्ने चाहेको बताए । कुलमानका विषयमा अहिलेसम्म महामन्त्री थापा मौन थिए ।

सरकारले कुलमानलाई बर्खास्त गर्ने तयारी गरेको छ । अहिलेसम्म कुलमानलाई किन बर्खास्त नगर्ने भन्दै ६ पटक स्पष्टीकरण सोधिसकेको छ ।

उर्जामन्त्रीले केहीदिन अघि संसदमा लोडसेडिङ अन्त्य गर्नमा कुलमानको हात नभई भारतको हात भएको बताएका थिए । त्यस्तै कुलमानले प्राधिकरण नाफामा गएको भनेर झुठा विवरण पेश गरेको आरोप लगाएका थिए ।

एमालेलाई बलियो बनाउन हामीले ‘जरा अभियान’ थालेका हौँ : महासचिव पोखरेल

बाँके । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेलाई बलियो बनाउनका लागि वडा केन्द्रित ‘जरा अभियान’ सञ्चालन गरिएको बताए।

नेकपा (एमाले)स्थानीय विकास विभागले शनिवार नेपालगञ्जमा आयोजना गरेको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट प्रत्यासी उम्मेदवारलाई सम्मान तथा अभिमुखीकरण कार्यक्रममा उनले जरा केन्द्रित अभियान र मिसन–२०८४ ले एमालेलाई अझ सशक्त शक्तिका रूपमा स्थापित गर्ने बताए।

महासचिव पोखरेलले नेकपा एमालेलाई निर्णायक शक्ति निर्माण गर्ने यात्रामा स्थानीय तहका पूर्वजनप्रतिनिधिका साथै तहका युवा वर्गको योगदान हुनेमा आफू विश्वस्त रहेको बताए।

सुदृढ राजनीतिक दलबाट नै राष्ट्र निर्माण हुने उनको तर्क थियो। ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आफ्नो दल क्रियाशी रहेको उनले अभिमत थियो।

नेकपा (एमाले) बाँके स्थानीय विकास विभाग प्रमुख मीन मल्लको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय सदस्यसूर्य ढकाल, दीपा शर्मा, शान्ति ढकाल, मोहम्मद हारुन हलवाई, पशुपतिदयाल मिश्रा सहभागी थिए।

लुम्बिनीमा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको तयारी पूरा

भैरहवा । पहिलो पटक प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताका सम्पूर्ण खेल उपत्यका बाहिर लुम्बिनी प्रदेशमा हुने भएपछि यहाँको क्रिकेट प्रेमीमा उत्साह छाएको छ ।

प्रधानमन्त्री कपका सम्पूर्ण खेल अहिले लुम्बिनी प्रदेशका तीन वटा खेल मैदानमा हुने भएको छ । यसको लागि तीन वटै खेलमैदानसँगै प्रतियोगिताको सबै तयारी पूरा भएको छ ।

लुम्बिनी प्रदेश क्रिकेट सङ्घको व्यवस्थापनमा हुने प्रतियोगिता आइतबारबाट सुरु हुँदैछ । प्रतियोगिताअन्र्तगत यसपटक ४६ खेल खेलाइने छ । यी सबै खेल रुपन्देहीमा रहेको सिद्धार्थ क्रिकेट रङ्गशाला, तिलोत्तमामा रहेको एकस्ट्राटेक ओभल क्रिकेट रङ्गशाला र दाङको लमहीमा रहेको देउखुरी अन्तरराष्ट्रिय रङ्गशालामा आयोजना हुँदैछ ।

लुम्बिनी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सञ्जय गुरुङका अनुसार यी सबै रङ्गशालामा प्रतियोगिता सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भइसकेको छ ।

प्रतियोगितामा सात वटै प्रदेशका टोली र नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको विभागीय टोलीसहित १० टोलीले सहभागिता जनाउँदै छन् । यी सबै टोलीले एक अर्कासँग खेल्नुपर्नेछ । गुरुङका अनुसार सबै रङ्गशालामा सबै टोलीले खेल्ने गरी प्रतियोगिताको तालिका मिलाइएको छ ।

यसअनुसार रुपन्देहीको सिद्धार्थ क्रिकेट रङ्गशालामा उद्घाटन र फाइनल खेल गरी सम्मा १७ खेल हुनेछन् । एक्स्ट्राटेक ओभलमा १५ र लमहीको देउखुरी रङ्गशालामा १४ खेल हुनेछन् । गुरुङले प्रधानमन्त्री कप लुम्बिनीमा हुनुले यस क्षेत्रको क्रिकेटसँगै होटल तथा पर्यटन व्यवसाय चलायमान हुने बताए ।

“हामी एकदमै उत्साहित छौँ र नेपाल क्रिकेट सङ्घप्रति आभारी छौँ, किनभने पहिलो पटक प्रधानमन्त्री कपका सम्पूर्ण खेल उपत्यका बाहिर हुँदैछन्”, उनले भने, “नेपाल क्रिकेट सङ्घ(क्यान)ले क्रिकेटलाई देशको सम्पूर्ण भागमा पुर्याउनुपर्ने उद्देश्यसहित यो निर्णय स्वागत योग्य छ ।”

प्रतियोगिताका लागि भैरहवाको सिद्धार्थ क्रिकेट रङ्गशालामा पिच मर्मतदेखि पेभेलियन व्यवस्थापन एवं अन्य सबै तयारी पूरा भएको रुपन्देही क्रिकेट सङ्घका अध्यक्ष हरिबहादुर थापाले जानकारी दिए । उनले सात दिन अगावैबाट मैदानमा हुने अन्य सबै खेल स्थगित गरी प्रतियोगिताको तयारी गरिएको बताए ।

गत वर्ष प्रधानमन्त्री कपअन्तर्गत ११ वटा खेल सिद्धार्थ रङ्गशालामा भएका थिए । यसले नेपाल क्रिकेट सङ्घको विश्वास जित्न ठूलो सहयोग गरेको र त्यसैको फलस्वरुप प्रतियोगिताका अहिले सबै खेलहरु लुम्बिनी प्रदेशमा आउन सफल भएको उनको भनाइ छ ।

यसैगरी तिलोत्तमामा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालाको पनि सम्पूर्ण तयारी पूरा भएको रङ्गशालाका प्रबन्ध निर्देशक विनोद कुँवरले जानकारी दिए ।

नेपालमै पहिलो पटक निजी क्षेत्रबाट ‘फ्लड लाइट’ सहितको क्रिकेट रङ्गशालाको स्थापना गरेका कुँवरले प्रतियोगिताले लुम्बिनी प्रदेशको क्रिकेटमा रहेको क्षमता देखाउने अवसर मिलेको बताए । तीन वटा पिच, फ्लड लाइट, शौचालय, चेन्जिङ रुम पेभेलियनलगायत सबै तयार रहेको उनले जानकारी दिए ।

यसअघि काठमाडौँमा दुई वटा मात्र खेलमैदान भएका कारण राउण्ड रोबिनका आधारमा प्रतियोगिता आयोजना गर्न नेपाल क्रिकेट सङ्घलाई अप्ठ्यारो हुँदै आएको थियो । यसले गर्दा प्रतियोगितालाई काठमाडौँबाट बाहिर लैजाने वातावरण बनेको नेपाल क्रिकेट सङ्घका उपाध्यक्ष रोशन सिंहले बताए ।

“पिचलगायत सबै दृष्टिले लुम्बिनी प्रदेशका तीन वटै खेलमैदान उत्कृष्ट भएका कारण क्यानले यहाँ प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको हो”, सिंहले भने, “यसले भोलिका दिनमा ‘ए’ ग्रेडका खेलाडीको छनोटका लागि यहाँको भूमिका महत्वपूर्ण हुनेछ ।”

काठमाडौँ बाहिर क्रिकेटको माहौल बनाउन र काठमाडौँ बाहिर क्यानले क्रिकेट गराउन सक्छ भन्ने अन्तरराष्ट्रिय सन्देश दिन प्रतियोगितालाई पहिलो पटक बाहिर लगिएको सिंहले जानकारी दिए । उनले पिच निर्माणका लागि क्यानले नै काठमाडौँबाट जनशक्ति खटाएको बताए ।

आइतबारबाट सुरु हुने क्रिकेट प्रतियोगिताको फाइनल खेल आगामी चैत १६ गते भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा आयोजना हुनेछ ।

नेपालमा भेटिए छेपारोका तीन नयाँ प्रजाति

काठमाडौं । नेपालमा छेपारोका तीन नयाँ प्रजाति फेला परेका छन्। वेन्ट–टोड गेक्को अर्थात् माउसुली परिवारमा पर्ने यी छेपारा चितवन–अन्नपूर्ण भू–परिधिअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र र चितवनको उत्तरी क्षेत्रमा फेला परेको हो।

उक्त पहिचान तथा नामकरण गरी हालै अन्तर्राष्ट्रिय जर्नल ‘जुट्याक्सा’मा प्रकाशित गरिएको अनुसन्धानकर्ता एवं संरक्षणकर्मी सन्तोष भट्टराईले जानकारी दिए। उनी नेतृत्वको अनुसन्धान टोलीले छेपारोका उक्त नयाँ प्रजाति फेला पारेको हो।

उक्त अध्ययन टोलीमा नेपालबाट सन्तोष भट्टराईको नेतृत्वमा विवेक गौतम, विशाल न्यौपाने, भारतका अक्षय खान्देकर, तेजस ठाकरे र इशान अग्रवाल, जर्मनीका फ्रान्क तिल्लक तथा अस्ट्रेलियाका आश ओल्सन, फिओना होगन र वेएन्डी राइट सहभागी थिए।

‍नयाँ फेला परेका प्रजातिमध्ये चितवनको उत्तरी क्षेत्र कविलास, शक्तिखोर, गैरीवारी, उपरदाङगढीलगायत तनहुँको बन्दीपुर र दमौलीदेखि भिमादसम्म फेला परेको प्रजातिको नामकरण ‘चितवन वेन्ट–टोड गेक्को’ भनेर नामकरण गरिएको छ।

दोस्रो प्रजाति अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत पर्ने ल्वाङ्ग, घान्द्रुक क्षेत्र तथा कास्कीको नौडाँडा क्षेत्रमा फेला परेको प्रजातिको नाम अन्नपूर्ण संरक्षण क्षेत्रले समुदायमा आधारित जैविक विविधता संरक्षणमा खेलेको भूमिकाको कदरस्वरूप तथा अन्नपूर्ण हिमशृङ्खलाका नाममा ‘एक्याप वेन्ट–टोड गेक्को’ भनेर नाम राखेको छ।

तेस्रो प्रजाति मनास्लु संरक्षण क्षेत्रमा भेटिएको थियो। सो प्रजातिको नाम नेपालकै वरिष्ठ वन्यजन्तु विज्ञ प्रोफेसर करणबहादुर शाहले नेपालको वन्यजन्तु (खासगरी उभयचर-सरीसृप) संरक्षणमा गरेको यागदानस्वरूप सो प्रजातिको नामाकरण ‘करण वेन्ट-टोड गेक्को’ भनेर राखिएको छ।

यसरी फेला पारिएका नयाँ प्रजाति यस अनुसन्धानका मुख्य शोधकर्ता सन्तोष भट्टराईको विद्यावारिधि अध्ययनका क्रममा सन् २०२३ को अप्रिलदेखि सेप्टेम्बरसम्म भेटिएका थिए। उक्त प्रजाति पक्का गरेपछि जर्नलमा प्रकाशित गरी हालैमात्र सार्वजनिक गरिएको हो।

वेन्ट–टोड गेक्को प्रजातिअन्तर्गत नेपालमा पहिले पनि तीन वटा प्रजाति फेला परेका र सो प्रजातिको नमुना विदेशका सङ्ग्रहालयमा राखिएकाले अहिले फेला परेका प्रजाति संसारमै नयाँ भनेर यकीन गर्न विदेशमा सङ्ग्रहित नमुनाको अध्ययन तथा तुलना साथै तिनीहरूकै आनुवंशिक अध्ययन गरी यकीन गरिएको हो।

यसरी अध्ययन गर्न नेपाल, भारत, अस्ट्रेलिया र जर्मनीका अनुसन्धानकर्ताको टोली सामेल भएको थियो। साथै सो अध्ययन टोलीले इलामबाट पहिले फेला परेको भनिएका दुई प्रजाति अनुवांशिक अध्ययन गर्दा ती प्रजाति नभई एक प्रजाति भएको यकीन गरेको छ।

गेक्कोनिडे परिवारअन्तर्गत पर्ने यी छेपारो संसारभरि तीन सय ५० भन्दाबढी प्रजातिका पाइन्छन् भने नेपालमा अहिले फेला परेका तीन नयाँसहित जम्मा पाँच प्रजातिमात्र पाइएको छ। सरकार तथा जैविक विविधता संरक्षण गर्ने नेपालका संस्था ठूला स्तनधारी वन्यजन्तुमा मात्र केन्द्रित रहेकाले नेपालमा अझै थुप्रै प्रजातिको रेकर्ड हुन बाँकी नै रहेको संरक्षणकर्मी बताउँछन्।

सरीसृपलगायत अन्य अध्ययन कम भएका प्रजातिको खोज तथा अनुसन्धानका लागि सबै सरोकारवालाले यस्ता प्रजातिको अध्ययन, अनुसन्धान तथा संरक्षणमा प्राथमिकीकरण गर्नुपर्ने देखिएको भट्टराईको भनाइ छ।

प्रत्यक्ष निर्वाचित कार्यकारी र प्रदेश खारेज हुनैपर्छः अध्यक्ष लिङ्देन

वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको आर्थिक अवस्था कमजोर भएकामा चिन्ता व्यक्त गरेका छन् ।

राप्रपाले शनिबार वीरगञ्जमा आयोजना गरेको जनसभामा उनले देशको आर्थिक अवस्था कमजोर बनेकामा चिन्ता व्यक्त गरेका हुन् ।

मुलुकभरबाट सङ्कलन भएको राजस्वले राष्ट्रसेवक कर्मचारीलाई तलबभत्ताको व्यवस्था गर्ननसक्ने परिस्थिति सृजना हुन लागेकामा चिन्ता व्यक्त गर्दै अध्यक्ष लिङ्देनले विदेशी दातृ निकायसँग ऋण लिनुपर्ने अवस्था उत्पन्न हुन लागेको बताए ।

एक दशक अघिसम्म मुलुकको बाह्य र आन्तरिक ऋण सात खर्बको हाराहारीमा रहेकामा हाल त्यो २६ खर्ब नाघेकामा चिन्ता व्यक्त गरे । उनले पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरूले देश बर्बाद बनाएको र अब मुलुकमा राजसंस्था आवश्यक भएको सन्देश दिएको बताए ।

उनले प्रत्यक्ष निर्वाचित कार्यकारी, प्रदेश खारेज आफ्नो पार्टीका माग रहेको बताए । अध्यक्ष लिङ्देनले आफूहरुले चुनाव लड्ने राजा नखोजेको बताए ।

उनले भने, ‘राजा राजनीतिक दलभन्दा र भोटको राजनीतिभन्दा माथि रहने संस्था हो ।’ सभाअघि राप्रपाले वीरगञ्जमा प्रदर्शन गरेको थियो ।

तिब्बतको भूकम्पको धक्का नेपालमा पनि

काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । तिब्बत केन्द्रबिन्दु भएर शनिबार दिउँसो २ बजेर ३५ मिनेट जाँदा ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

शनिबार बिहान म्याग्दी र बागलुङमा पनि भूकम्प गएको थियो । यसअघि पुसमा पनि तिब्बतमा भूकम्प गएको थियो । त्यसको ठूलो धक्का नेपालमा पनि महसुस गरिएको थियो ।

अहिलेको व्यवस्थाप्रति जनतालाई आशावादी बनाउन नसक्दा राजवादीको चलखेलः महासचिव गुरुङ

सिरहा । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले लोकतान्त्रिक व्यवस्थाप्रति जनतालाई आशावादी बनाउनु सबै राजनीतिक दलको कर्तव्य भएको बताएका छन् । साथै यो व्यवस्थालाई अझ सुदृढ बनाउनु पनि उनीहरुको दायित्व भएको उनले बताए ।

लहानमा शनिबार भएको पत्रकार भेटघाटमा उनले जनतालाई लोकतान्त्रिक व्यवस्थाप्रति आशावादी बनाउन नसक्दा केही राजावादीले जनबलमा स्थापित वर्तमान व्यवस्थाप्रति वितृष्णा पैदा गर्ने दुष्प्रयास गरेका टिप्पणी गरे ।

‘नेपाली जनताले लामो सङ्घर्ष र बलिदानबाट लोकतान्त्रिक व्यवस्था स्थापित गरेका हुन्’, उनले भने, ‘सुशासन, सामाजिक न्याय र समृद्धिमार्फत जनतालाई या व्यवस्थाप्रति आशावादी बनाएर यसलाई अझ मजबुत बनाउनुपर्छ ।’

महासचिव गुरुङले हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी तराई–मधेस जनजागरण अभियान’ बाट मधेसका जनतामा जागरण आएको बताए ।

शेर्पा समुदायद्वारा ताप्लेजुङमा सद्भाव र्‍याली

फुङ्लिङ । ताप्लेजुङको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले शनिबार सदरमुकाम फुङ्लिङ बजारमा सद्भाव र्‍याली आयोजना गरेको छ । शान्ति र समृद्धिको सन्देश फैलाउने उद्देश्यले निकालिएको र्यालीमा शेर्पा समुदायका सदस्य मौलिक पोसाकमा सजिएर सहभागी भएका थिए ।

र्‍याली वीरेन्द्र चोकबाट सुरु भई तोक्मे डाँडामा रहेको गुम्बाको परिक्रमा गरेको थियो । गुम्बा परिक्रमा शेर्पा समुदायको धार्मिक आस्थासँग गाँसिएको महत्वपूर्ण परम्परा हो । त्यसले शान्ति, सद्भाव र सकारात्मक ऊर्जाको प्रवद्र्र्धन गर्ने विश्वास गरिन्छ ।

र्‍याली हिमालयन शेर्पा सांस्कृतिक केन्द्र ताप्लेजुङ र शेर्पा सञ्चार समूह नेपाल जिल्ला शाखाको संयुक्त आयोजनामा गरिएको हो । आयोजक संस्थाहरूले बौद्धमार्गीको राष्ट्रिय पर्व २१५२औँ शिङ मो डुल लो ग्याल्पो लोसारको अवसरमा आज विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाएको छन् । 

ग्याल्पो लोसार पर्व शेर्पा समुदायका लागि विशेष महत्व राख्ने चाड हो । यस अवसरमा परम्परागत नृत्य, मौलिक गीत सङ्गीत तथा सांस्कृतिक झाँकी प्रस्तुत गरिन्छ ।