`

किन पोखियो जनआक्रोश सडकमा ?

-डा. सूर्यराज आचार्य ।

यो संविधान ठीक ढंगले लेखिएन र राज्यप्रणाली परिणाममुखी बन्न सकेन । संविधान र राज्यप्रणालीमा उल्लेख्य सुधार आवश्यक थियो, तर राजनीतिक संस्थापन सत्ताको भागबण्डा र राज्यदोहनमै व्यस्त रह्यो । समय घर्किंदै गयो, तर परिणामहीन र भ्रष्ट राज्यव्यवस्थाका कारण जनआक्रोश चुलिंदै गयो। यो कुनै न कुनै रुपमा प्रकट हुनु नै थियो ।

अहिले राजाको समर्थनका रूपमा जनआक्रोश सडकमा पोखिंदै छ । यदि बेलैमा राजनीति, संविधान, र राज्यप्रणालीमा सुधार गरी जनअपेक्षित परिणाम दिन सकिएको भए, गणतन्त्रको स्वीकार्यता बढ्ने थियो, र राजसंस्था इतिहासको पानामै सीमित रहन्थ्यो। तर, त्यसो भएन । अब संविधान र राज्यप्रणालीमा गरिनुपर्ने हेरफेरमा राजसंस्थालाई पनि स्थान दिनुपर्ने अवस्था सिर्जना भएको छ । र, यो परिस्थिति सिर्जना गर्ने जिम्मेवार भनेकै वर्तमान राजनीतिक संस्थापन/नेतृत्व हो । अब पनि चुनाव जितेर कसरी सत्ता हत्याउने, र सत्ता भोग गर्ने भन्ने घातक सोचको निरन्तरता नहोस् । आशा गरौं, मुलुकले सर्वस्वीकार्य निकास पाउने छ ।

कास्कीको सैमराङ आसपास केन्द्रबिन्दु भएर भूकम्प

गण्डकी । कास्की केन्द्रविन्दु भएर भूकम्प गएको छ । मंगलबार बिहान ४ बजेर ११ मिनेटमा कास्कीको मादी गाउँपालिकाको सैमराङ आसपास केन्द्रबिन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का कास्की र आसपासका जिल्लामासमेत गरिएको थियो ।

चिया विकास बोर्डको कार्यकारी निर्देशकमा फणीन्द्र पाण्डेलाई नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले चिया विकास बोर्डको कार्यकारी निर्देशकमा फणीन्द्र पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले पाण्डेलाई बोर्डको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले स्वास्थ्य बीमा बोर्डको कार्यकारी प्रमुखमा रघुराज काफ्लेलाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले अनुचित लेनदेन जाँचबुझ आयोग गठन गर्ने निर्णय पनि गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे भने मन्त्रिपरिषद बैठक अनिर्णीत भएको छ ।

शिक्षक महासङ्घद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं ।  नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष लक्ष्मण किशोर सुवेदीले पहिलो चरणको आन्दोलनका माग सुनुवाइ नभएकाले दोस्रो चरणको आन्दोलन गर्नुपरेको बताए ।

महासङ्घले यही फागुन २४ गते पहिलो चरणको आन्दोलन गरेको थियो । विद्यालय शिक्षा विधेयक छिटो अगाडि नबढेकामा महासङ्घको आपत्ति छ ।

महासङ्घका अध्यक्ष सुवेदीले स्थायी, राहत, साविक उच्च मावि, अस्थायी, करार, बालविकास, सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धार, निजी तथा संस्थागत विद्यालयका शिक्षकलगायत सबै खाले शिक्षक र विद्यालय कर्मचारीको मुख्य मुद्दा शिक्षा ऐनबाट सम्बोधन हुनुपर्ने र विद्यालय, विद्यार्थी, शिक्षक र कर्मचारीमैत्री ऐन ल्याउने विषयमा आफूहरूको गम्भीर चासो रहेको बताए ।

उनका अनुसार दोस्रो चरणको आन्दोलनअन्तर्गत प्रमुख राजनीतिक दलका कार्यालयमा प्रतिनिधिमूलक धर्ना कार्यक्रम राखिएको छ ।

जसअनुसार फागुन २७ देखि चैत ५ गतेसम्म नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टीलगायत प्रमुख राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिइने कार्यक्रम रहेको अध्यक्ष सुवेदीले बताए ।

आन्दोलनकै क्रममा हरेक जिल्ला आन्दोलन परिचालन समितिले आफ्नो जिल्लाबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसदसँग भेट गरी विद्यालय शिक्षा ऐन जारी गर्न दबाब सिर्जना गर्ने उनले बताए ।

यस्तै अध्यक्ष सुवेदीले चैत ५ गतेसम्म माग पूरा नभए चैत ७ गतेदेखि चैत १५ गतेसम्म काठमाडौँमा रिले अनसन र चैत २० गतेबाट अनिश्चितकालीन सडक आन्दोलनका कार्यक्रम अगाडि बढाइने बताए ।

‘डिजिटल मिडिया अलायन्स’ गठन, उपाध्यक्षमा नेपाल वान एचडीका मोनिका सिंह

काठमाडौँ । डिजिटल माध्यमबाट प्रकाशन तथा प्रसारण हुने सञ्चारमाध्यमका प्रतिनिधिहरूले ’डिजिटल मिडिया अलायन्स’ (डिम्यानम) गठन गरेका छन् ।

सोमबार गौतम बुद्ध जन्मस्थल लुम्बिनीबाट औपचारिक रूपमा डिम्यानम घोषणा गरिएको हो । केही दिनअघि दर्ता भएको अलाएन्सले अध्यक्ष मोहराज पौडेलको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति गठन गरेको थियो ।

अलायन्सले आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी सूचना तथा समाचार प्रकाशनलाई प्रभावकारी बनाउन भूमिका खेल्ने अध्यक्ष पौडेलले बताए । उनका अनुसार अलायन्समा हाल डिजिटल सञ्चार माध्यममा सक्रिय मिडिया जोडिएका छन् । अन्य सञ्चारमाध्यमलाई अलाएन्समा जोड्दै लगिने छ ।

अलायन्सले डिजिटल मिडियाको हक हित र निष्पक्षताका लागि वकालत गर्ने अलायन्सका महासचिव युवराज कँडेलले बताए । अलायन्सले डिजिटल मिडियामा आबद्ध पत्रकारको क्षमता अभिवृद्धि र गुणस्तर वृद्धिका साथै डिजिटल मिडियाको संरक्षण तथा सम्वद्र्धनमा भूमिका खेल्ने उनले बताए ।

संस्थाको नेतृत्व सुनौलो नेपालका मोहराज पौडेलले गरिरहेका छन् भने उपाध्यक्षद्वयमा नेपाल वान एचडीका मोनिका सिंह र हुलाक सञ्चारका महेश पौडेल, महासचिवमा सिधाकुरा मिडिया नेटवर्कका युवराज कँडेल, सचिवमा राइट सञ्चारका अर्जुन विस्ट र कोषाध्यक्षमा लालीगुँरासका कमल चौलागाईं छन् । सदस्यमा आर्टिस्ट खबरका गोपीकृष्ण चापागाईं, अबाट नेपालका नरेन्द्र महरा र सल्लाहकारमा सिटिजन एचडीका विजन दुवाडी छन् ।

मञ्जुश्री ट्रेल रेस चैत पहिलो साता, ५०२ जना सहभागी हुने

काठमाडौँ । मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण आगामी चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने भएको छ । आयोजकका अनुसार पाँचौं संस्करणमा पाँच सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३७१ नेपाली र १३१ विदेशी गरी कूल ५०२ जनाको सहभागिता रहनेछ । जसमध्ये पुरुष धावक ४०८ र महिला धाविका ९४ जना रहेका छन् ।

पाँचौँ मञ्जुश्री ट्रेल रेसमा एक सय माइल्स, एक सय किलोमिटर, ५० किलोमिटर, ३० किलोमिटर र दस किलोमिटर इभेन्टमा दौड हुनेछन् । १०० माइल्स स्वयम्भूस्थित सिङल ट्रिबाट सुरु भई सोही स्थानमा आएर सकिनेछ । १०० किमी रेस नगरकोटको सेरेन रिसोर्टबाट, ५० किमी रेस गोदावरीबाट तथा ३० किमी रेस सोलिड रक लज डोल्लु पर्मिङबाट सुरु हुनेछ । सबै रेस सिङगलल ट्री स्थित पवना हाउसमा पुगेर समाप्त हुनेछ ।

मन्जुश्री ट्रेल रेस एसिया ट्रेल मास्टर्सको क्वालिफायर पनि हो । मन्जुश्रीमा विजेता हुने खेलाडीहरु भियतनामा हुने एसिया ट्रेल मास्टर्समा चयन हुनेछन् । एसिया ट्रेल मास्टर्समा नेपाली खेलाडी उपाधि दावेदारको रुपमा रहने गर्दछ । सन् २०२३ मा रशिला तामाङ र २०२४ मा प्रिया राईले एसिया ट्रेल मास्टर्सको उपाधि जितेका थिए ।

मन्जुश्री ट्रेल रेसअन्तर्गत १०० माइल्समा पहिलो देखि तेस्रो हुनेले क्रमशः ७५ हजार, ४० हजार र २० हजार प्राप्त गर्नेछ । १०० किमीमा पहिलो देखि तेस्रो हुनेले क्रमशः ५० हजार, २५ हजार र १५ हजार तथा ५० किमीमा पहिलो देखि तेस्रो हुनेले क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपियाँ पुरस्कार पाउनेछ । ३० किमीमा पहिलो देखि तेस्रो हुने क्रमशः २० हजार १० हजार र ५ हजार रुपियाँको हकदार हुनेछ । १० किमीमा भने नगद पुरस्कार राखिएको छैन।

मन्जुश्री ट्रेल रेसका कार्यवाहक अध्यक्ष नारायण आचार्यले मञ्जुश्री चीनबाट नेपालसम्म हिँडेर आएको, त्यो बेला काठमाडौँ उपत्यका पानीले भरिएको र मञ्जुश्रीले चोभारको डाँडा काटेर काठमाडौँ बस्न लायक बनाएको किंवदन्ती रहेको बताए । त्यसैले प्रभावित यस रेसको नाम मञ्जुश्री ट्रेल रेस राखिएको उनले बताए ।

यसैगरी रेस डिरेक्टर आसिस मिश्रले पहिलो संस्करणमा सातजना धावकमात्र रहेको संस्करण गर्दै अहिले पाँच सयभन्दा बढीले सहभािगता जनाउन लागेकोमा आफूलाई धेरै खुशी लागेको बताए ।

यसैगरी धाविका रसिला तामाङले ट्रेल रेस नेपालीहरुका लागि अन्तर्राष्ट्रिय पदकको सम्भावना भएको खेल भएको बताइन् ।

उनले यसपटक व्यवस्थापनमा पनि सहयोग गर्नुपरेकोले खेल्ने,नखेल्ने निर्णय गरिनसकेको जानकारी पनि दिइन् ।

यसरी बन्यो ‘अञ्जिला’

भेषराज कार्की, काठमाडौं ।  महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बा खेल प्रेमिका लागि परिचित नाम बनिसकेकी छन्। युरोपको एउटा व्यावसायिक क्लबबाट समेत खेल खेलिरहेकी कप्तान सुब्बाले चलचित्र ‘अञ्जिला’ मा अभिनय समेत गरेकी छन्।

फुटबलप्रतिको मोह, क्षमता र घरभित्रबाट बाहिर निस्कन गरेको सङ्घर्षदेखि कप्तान बन्दासम्मको कथा रहेको चलचित्रमा उनी आफैँले अभिनय गर्नु दुर्लभ संयोग हो।

नेपालमा खेलकुदसँग जोडिएको वा खेलाडीको विषयमा कमै चलचित्र निर्माण भए पनि विश्वमा धेरै चलचित्र बनेका छन्। यद्यपि आफ्नो भूमिकालाई आफैँ निर्वाह गर्नु दुर्लभ मानिन्छ।

यसका लागि कप्तान सुब्बा पनि तयार थिइनन् किनकी खेल तालिकाबाट समय मिलाउनुपर्ने र अभिनय गर्नुपर्ने थियो। सानैदेखि फुटबल मात्र बुझेकी कप्तान सुब्बालाई आफ्नो कथाले अरूलाई प्रेरणा दिन सन्छ र आफू बाहेक अन्यले भूमिका निर्वाह गर्दा खेलाडी झैँ देखिन कठिन हुन्छ भन्ने लागेपछि चलचित्रमा अभिनय गर्न उनी तयार भइन्।

“मैले झन्डै डेढ वर्ष कुराएर खालिरहेको एक महिना समय दिएकी थिएँ। मेरो लागि अभिनय नयाँ थियो, तर मेरै कथा भएकाले यसमा अभिनय मात्र निकै कम गर्न पथ्र्यो। सोही कारण मैले चलचित्र गर्ने निर्णय लिएकी थिएँ, यसका लागि मलाई सबैले सहयोग गर्नुभयो”, कप्तान सुब्बाले भनिन्।

चलचित्रमा उनको बाल्यकाल, तेह्र वर्षसम्मको भूमिकामा अन्य कलाकारको अभिनय छ। त्यसपछि देखाइएका अधिकांश दृश्यमा उनी आफैंले फुटबल खेलेकी छन्।

लगभग उनी पर्दामा देखिने समय पच्चीस प्रतिशत मात्र छ। त्यस अगाडि नै उनको धर्मपिता तथा चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठ र निर्देशक मिलन चाम्सले नाटकघरमा लगेर नाटक देखाउने, अभिनेता दयाहाङ राईसहितका कलाकारसँग घुलमिल गराउन थालेपछि कप्तान सुब्बाले सहजता महसुस गरेकी थिइन्।

फुटबल खेलाडी र त्यसमा पनि गोलरक्षक बन्नुसँगै अभिनय पनि उनको लागि संयोग भयो। चलचित्रको कथा तयार गर्ने क्रममा कप्तान सुब्बाले अभिनयमा त्यति धेरै चासो नदिएको निर्माता श्रेष्ठले बताए।

“उहाँको स्वभावले नै होला, अभिनयमा मन गर्नुभएको थिएन। तर, हामीले उहाँसँग चलचित्रमा देखिने कलाकारसँग सामिप्यता बढाउनुका साथै चलचित्रको छायाङ्कन पनि देखायौंँ। दृश्य पूरा गर्न गरिने ‘रिटेक’ देखाएपछि, दिग्गज कलाकारले काम गर्ने शैलीसँग अवगत गराएपछि कप्तान सुब्बाले आफ्नो भूमिका आफैँ निर्वाह गर्न तयार हुनुभयो”, निर्माता श्रेष्ठले भने।

उनले खेलाडी सुब्बालाई तेह्र वर्षकै उमेरमा पूर्वाञ्चलको टोलीबाट राष्ट्रिय प्रतियोगिता खेल्न धनगढी पुग्दा भेटेका रहेछन्। त्यहाँ नियमित गोलरक्षक अनुपस्थित भएपछि खेलाडी सुब्बाले अवसर पाएकी थिइन्।

तेह्र वर्षमै उनमा देखिएको कौशलताले उपस्थित सबैको मन जित्यो। तात्कालीन समयमा विभागीय टोली सशस्त्र प्रहरी बलका व्यवस्थापक रहेका निर्माता श्रेष्ठले खेलाडी सुब्बाको बारेमा बुझ्न तात्कालीन कोच नरबहादुर राईलाई जिम्मा दिए।

कोच राई विविध कारणले जागिर छोडेर विदेशिए पछि खेलाडी सुब्बासम्म पुग्ने बाटो नै रोकियो। यद्यपि त्यसको केही समयपछि विभागीय टोलीमा गोलरक्षक चाहिएपछि व्यवस्थापक श्रेष्ठले खोजी पुनः सुरू गरे।

मोरङ फुटबल सङ्घका तात्कालिक अध्यक्ष दीपेन्द्र धिमालमार्फत सम्पर्क भएपछि उनले खेलाडी सुब्बालाई काठमाडौं ल्याएका थिए।

“मलाई धिमालजीले खेलाडी सुब्बाको खेलकुदप्रतिको रूचि, शिक्षाको अवस्था र परिवारको आर्थिक अवस्थाबारे जानकारी गाएपछि पढाउने, खेलाउनु र निरीक्षण गर्ने जिम्मा लिएर काठमाडौँ ल्याए। त्यसपछि उहाँ आफ्नै क्षमताले अहिलेसम्मको यात्रा तय गर्नुभयो। उहाँलाई तेह्रवर्षदेखि नै देखेकाले सङ्घर्ष र सफलतालाई जोडेर चलचित्र बन्नुपर्छ भन्ने लागेर अञ्जिला बनाएका हौँ”, निर्माता श्रेष्ठले भने।

विभागीय टोली सशस्त्र प्रहरी बलमार्फत खेल्न सुरू गरेकी खेलाडी सुब्बाले सन् २०१४ मा श्रीलङ्कामा आयोजना भएको ‘एएफसी यू–१४’ क्षेत्रीय प्रतियोगिताका लागि छनोट हुनुका साथै कप्तानी गरेर नेपालमा महिला फुटबलमा पहिलो आधिकारिक उपाधि जिताउन सफल भइन्। कुनै गोल नखाई पाएको उपलब्धिका कारण खेलाडी सुब्बाले सन् २०१६ को पाकिस्तानमा भएको १२ औँ सागमा श्रीलङ्काविरूद्धको खेलबाट राष्ट्रिय टोलीमा गोलरक्षकको रूपमा खेल्दै आइरहेकी छन्।

दुई वर्षदेखि राष्ट्रिय टोलीको नेतृत्व गर्न थालेकी कप्तान सुब्बाले चलचित्रले आफ्नो बारेमा बुझ्न मद्दत गर्ने बताइन्।

“मेरो सफलता पछाडिको सङ्घर्षलाई चलचित्रले चित्रण गरेको छ। हामी जे जस्तो भए पनि दृढ सङ्कल्पका साथ इमान्दार भएर मेहनत गर्ने हो भने लक्ष्य प्राप्त गर्न सकिन्छ भन्ने प्रेरणा चलचित्रले दिन्छ जस्तो लाग्छ। साथै नेपाली खेल र खेलाडीको विषयमा चलचित्र बन्न सुरू हुने मेरा लागि सुखद खबर हो, आगामी दिनमा अन्य खेलाडीको कथा चलचित्रमा हेर्न पाइनेमा विश्वत छु”, कप्तान सुब्बाले भनिन्।

निर्माता श्रेष्ठले यही समय उपयुक्त लागेर चलचित्र निर्माण गरेको बताए। उनका अनुसार केही समय पर्खिंदा कप्तान सुब्बालाई अभिनय गराउन असहज हुन्थ्यो। सशस्त्र प्रहरी बलमा सत्ताइस वर्ष सात महिना सेवा गर्दा डिएसपीसम्म भएका श्रेष्ठले विभागीय टोलीमा बीस वर्ष काम गरे। खेलकुदसँग जोडिएको चलचित्र हेर्न रूचाउने श्रेष्ठले अन्ततः चलचित्र निर्माण गरे।

“खेलाडीको विषय चलचित्रमा आए धेरै दर्शकसम्म पुग्छ। यसले खेलप्रति दर्शको आकर्षण पनि बढ्छ भन्ने लागेको छ। साथै, हामीले एञ्जिलाको आफ्नै घर भन्ने अभियान पनि सुरू गरेका छौँ। यस चलचित्रमार्फत आएको सम्पूर्ण मुनाफा उहाँको घर निर्माणमा प्रयोग गरिनेछ। हामीले नेपालमा सार्वजनिक प्रदर्शन अगाडि हङकङ र बेलायतमा गरेको विदेश प्रदर्शनीबाट कप्तान सुब्बाले सहयोग प्राप्त गरिसक्नुभएको छ”, निर्माता श्रेष्ठले भने।

‘अञ्जिला’ अगाडि आँखाको ज्योति गुमाएकी सृष्टी केसीको जीवनी आधारित ‘ब्लाइन्ड रक्स’ र उमेश थापा र कविता गुरूङको जीवनीमा आधारित ‘बबी’ निर्देशन गरिसकेएका निर्देशक मिलन चाम्सले तेस्रो पटक ‘वायोपिक’ चलचित्र तयार गरेका हुन्। उनले चलचित्र ९० प्रतिशत कप्तान सुब्बाको जीवनी देखाइएको जानकारी दिए।

“चलचित्र भएकाले हामीले त्यही शैलीमा निर्माण गर्न केही दृश्यलाई फरक तरिकाले छायाङ्कन गरेका छौँ, तर त्यसले मूल कथालाई प्रभाव पारेको छैन। यसमा खेल मात्र नभइ कप्तान सुब्बाको जीवनी देखाएइको छ। उनको बाल्यकालदेखि कप्तान बन्दासम्मको यात्रा चलचित्रमा छ”, निर्देशक चाम्सले भने। चलचित्रमा कप्तान सुब्बासँगै अभिनेता दयाहाङ राई, सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरूङ, वुद्धि तामाङ लगायतको अभिनय गरेका छन्।

महिला खेलाडीको विषयमा चलचित्र बन्नु र त्यसमा आफू अभिनेताको रूपमा जोडिन पाउनु आफ्ना लागि अवसर रहेको अभिनेता राईले बताए।

“म हरेक खेलकुद हेर्छु, आफूले सक्दो प्रवर्द्धन पनि गरिरहेको हुन्छु। महिला फुटबलले पाइरहेको सफलता र भविष्य निकै राम्रो छ। यस्तै बेलामा कप्तानको जीवनीमा चलचित्र बन्नु खेल प्रेमिका हिसाबले खुसीको खबर थियो। त्योसँगै अभिनय नै गर्न प्रस्ताव आएपछि पटकथा नसुन्दै अभिनय गर्ने सहमति दिएको थिएँ। किनकि यो अवसर एउटा अभिनेता र खेल प्रेमिका हिसाबले गुमाउनु हुन्थेन्”, अभिनेता राईले भने।

कप्तान सुब्बाको आउँदो समयमा खेलाडीको विषयमा चलचित्र बन्नका लागि ‘एञ्जिला’ को सफलताले ठूलो प्रभाव पार्ने बुझाइ छ। उनले अन्य निर्माता, निर्देशकलाई खेलको विषयमा आकर्षित गर्न पनि व्यावसायिक रूपमा चलचित्रको सफलता अनिवार्य रहेको बताए।

“खेलकुदको विषयमा चलचित्र बन्नु आफैँमा नयाँ कार्य हो। अहिले खेलले पाइरहेको माया देख्दा आगामी दिनमा अन्य खेलाडी वा खेलकुदको विषयमा चलचित्र बन्छ जस्तो लागेको छ। तर, धेरैले व्यावसायिक नतिजा कसको आउला भनेर कुर्नुभएको छ, म पनि त्यसकै पर्खाइमा छु”, कप्तान सुब्बाले भनिन्।

चलचित्र होलीको अवसर पारेर आउँदो फागुन २९ देखि नेपालसहित विदेशका केही स्थानमा प्रदर्शन हुने निर्माण पक्षले जनाएका छन्।

विदेशी मुद्रा सञ्चिति २३ खर्ब

काठमाडौं । मुलुकमा सात महिनामा विदेशी विनिमय सञ्चिती १६.१ प्रतिशतले बढेको छ । सोमबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार चालु आर्थिक वर्षको सात महिना (साउनदेखि माघसम्म) कूल विदेशी विनिमय सञ्चिती १६.१ प्रतिशतले बढेर २३ खर्ब ६९ अर्ब रूपैयाँ पुगेको उल्लेख छ ।

असार मसान्तसम्म विदेशी विनिमय सञ्चिती २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेकोमा माघ मसान्तमा २३ खर्ब ६९ अर्ब ८ करोड पुगेको बैंकले जनाएको छ ।

बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २१ खर्ब ५ अर्ब १४ करोड पुगेको छ भने बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २ खर्ब ६३ अर्ब ९३ करोड कायम भएको छ ।

आर्थिक वर्ष २०८१/८२ को सात महिनाको आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.२ महिनाको वस्तु आयात र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

प्रधानमन्त्री कप क्रिकेट : पुलिसद्वारा लुम्बिनी पराजित

भैरहवा । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । पुलिसले लुम्बिनीलाई ८७ रनले हराएको हो । 

रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा सोमबार टस जितेर पहिला ब्याटिङ गरेको पुलिस क्लबले निर्धारित ५० ओभरको खेलमा ६ विकेटको क्षतिमा २४९ रन बनायो । दुई सय ५० रन बनाउने क्रममा लुम्बिनीको पारी १६२ रनमा समेटियो । 

पुलिसका लागि कुशल भुर्तेल र आरिफ शेखले अर्धशतकीय पारी खेले । भुर्तेलले ७५ बलको सामना गर्ने क्रममा ६ चौका र एक छक्काको मद्दतमा ५९ रन बनाए ।  यस्तै शेखले ७९ बल खेल्दै ५६ रन बनाए । यसमा उनको दुई छक्का समेत सामेल थियो । यसैगरी गुलशन झाले अविजित ३६, दिलिप नाथले ३४ तथा अमित श्रेष्ठले २२ रन बनाए ।

बलिङतर्फ लुम्बिनी प्रदेशका लागि कृष्ण कार्की र अजय चौहानले तीन तीन विकेट लिए ।  
यस्तै लुम्बिनीका लागि १६२ रन बनाउने क्रममा प्रज्ज्वल थापाले अद्र्धशतकीय पारी खेले । उनले ७२ रन बनाए । थापाले ९४ बलको सामना गर्दै ७ चौका र एक छक्का प्रहार गरे । यस्तै मृनाल गुरुङले ३० तथा सलाहुद्दिन खानले १३ रन बनाए । 

बलिङतर्फ पुलिस क्लबका करण केसीले तीन तथा ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले दुई दुई विकेट लिए । सोमबारदेखि सुरु भएको प्रधानमन्त्री कप क्रिकेट सात पदेश र तीन विभागीय टोली सहभागी छन् । राउण्ड रोबिनका आधारमा खेलाइने प्रतियोगितामा अङ्कका आधारमा शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

प्रचण्डले मंगलबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

सोमबार सभामुख, प्रमुख सचेतक र सचेतकहरूबीचको बैठकमा प्रचण्डले समय माग गरेको छलफल भएको थियो ।

प्रचण्डको माग बमोजिम बोल्ने समय निर्धारण भएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । आइतबार राजावादीले गरेको प्रदर्शनकाबारेमा प्रचण्डले बोल्ने बताइएको छ ।

रवि लामिछानेले देउवा र ओलीसँग सम्झौता गरेको मुकुल ढकालको दाबी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री डा. मुकुल ढकालले रास्वपा सभापति रवि लामिछानेले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भित्री रूपमा सम्झौता गरेको दाबी गरेका छन् ।

सोमबार सामाजिक संजालमार्फत ढकालले रास्वपा सभापति लामिछानेले देउवा र ओलीसँग भित्री रूपमा सम्झौता गरेको दाबी गरेका हुन् ।

उनले लेखेका छन्, ‘रवि दाइले भित्रिरूपमा देउवा र ओलिसँग सम्झौता गरेछन् । मुद्दा कमजोर बनाइदिने, र राजातिर भड्किएको जमातलाई फेरि आफूतिर तानेर राजावादी मोर्चालाई कमजोर बनाउने सम्झौता भएको बुझ्न सकिन्छ । पहिला पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरि पासपोर्ट काण्डमा यस्तै सम्झौता भएकै थियो । अन्य अवस्थामा रविन्द्र मिश्रजस्तै मार्ग परिवर्तन गरि राजाको पक्षमा लाग्ने आन्तरिक रणनीति बुनिरहेका छन् ।’

हनुमन्ते खोलामा फेला परेको शवको पहिचान खुल्यो

भक्तपुर । भक्तपुर नगरपालिका–१ सिर्जनानगरस्थित हनुमन्ते खोलामा शनिबार फेला परेको शवको पहिचान खुलेको छ । शनिबार अपराह्न ३ः४५ बजे हनुमन्ते खोलामा एक युवकको शव फेला परेको थियो ।

उक्त शव रामेछापको गोकुलगङ्गा गाउँपालिका–५ कानीटार घर भई हाल भक्तपुरको जगाती बस्ने २१ वर्षीय रञ्जित विकको भएको खुल्न आएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डिराज नेउपानेले जानकारी दिए ।

मृतककी दिदी पूजा प्रहरी सम्पर्कमा आई शवको पहिचान गरेको उनले बताए । शवपरिक्षणपश्चात् पूजाकी भाउजू शर्मिला गजमेरले सोमबार दिउँसो बुझिलगेको प्रहरी नायब उपरीक्षक नेउपानेले बताए ।
शव नग्न अवस्थामा फेला परेको थियो ।

स्थानीयले प्रहरीलाई खबर गरेपछि तत्काल घटनास्थल पुगेर प्रहरीले अनुसन्धान सुरु गरेको थियो । मृत्युका कारण खुल्न नसकेको र घटनाको अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक नेउपानेले बताए ।

प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम विजयी

घोराही  । किरण ठगुन्नाको शतकीय पारीको मद्दतमा सुदूरपश्चिम प्रदेशले दाङमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई पराजित गरेको छ ।

सुदूरपश्चिमले गण्डकीलाई ६ विकेटले हराएको हो । यसअघि सुदूरपश्चिम पहिलो खेलमा कर्णाली प्रदेशसँग पराजित भएको थियो । 

दाङको लमही क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको गण्डकी प्रदेशले निर्धारित ५० ओभरको खेलमा ८ विकेटको क्षतिमा २२० रन बनायो ।

दुई सय २१ रनको विजयी लक्ष्य सुदूरपश्चिमले ४३ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यो । सुदूरपश्चिमका ठगुन्नाले अविजित १२१ रन बनाए । उनले १०१ बल खेल्दै नौ चौका र ६ छक्का प्रहार गरे । यस्तै कप्तान नारायण जोशीले अविजित ३८, खडक बोहराले १९ तथा निश्चल क्षेत्रीले १८ रनको योगदान दिए । 

बलिङतर्फ गण्डकीका विपिन खत्री, अमृत गुरुङ, कमल परियार र अर्जुन कुमालले एक एक विकेट लिए ।     
यसअघि २२० रन बनाउने क्रममा गण्डकीका लागि अर्जुन कुमाल र दिपक डुम्रेले अद्र्धशतकीय पारी खेले । दिपकले ७४ बल खेल्ने क्रममा तीन चौका र एक छक्का हान्दै ६० रन बनाए । यस्तै अर्जुनले ९५ बलमा ५७ रनको योगदान दिए । उनले यस क्रममा चार चौका र एक छक्का प्रहार गरे ।  

यसैगरी सुदीप अर्यालले अविजित २३, दिनेश बुढामगरले १५ तथा अमृत गुरुङ र विपिन खत्रीले दश दश रनको योगदान दिए । 

बलिङतर्फ सुदूरपश्चिमका लागि शेर मल्लले तीन, नारायण जोशीले दुई तथा हेमन्त धामी, मिलन बोहरा र अर्जुन विकले एक एक विकेट लिए । सोमबारदेखि सुरु भएको प्रधानमन्त्री कप क्रिकेट सात पदेश र तीन विभागीय टोली सहभागी छन् । राउण्ड रोबिनका आधारमा खेलाइने प्रतियोगितामा अङ्कका आधारमा शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

आन्तरिक रोजगारी प्रवर्द्धन दशक घोषणा

काठमाडौँ । बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने लक्ष्य लिएको सरकारले आगामी दशक (सन् २०२५–२०३५) लाई आन्तरिक रोजगारी प्रवर्द्धन दशक घोषणा गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आयोजित ‘राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन–२०८१’को उद्घाटन सत्रमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी प्रवर्द्धन दशक घोषणा गरे।

सो क्रममा सरकार र विभिन्न १० वटा निजी क्षेत्रका छाता सङ्गठनबीच युवा जनशक्तिलाई रोजगार सिर्जना र तालिम प्रदानका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समारोहमा राष्ट्रिय सीप विकास प्रतिष्ठान र कम्प्युटर एसोसिएसन महासङ्घ (क्यान), होटल सङ्घ नेपाल (हान), नेपाल निर्माण व्यवसायी महासङ्घ, नाडा अटोमोबाइल्स एसोसियन अफ नेपाल (नाडा), नेपाल तयारी पोसाक उद्योग सङ्घ, ग्रिल तथा स्टिल व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, एकोर इन्टरनेसनल ट्रेनिक प्रालि, ग्लोबल क्वालिफिकेसन र मदरल्यान्ड स्किल एकेडेमीबीच सोसम्बन्धी समझदारीमा हस्ताक्षर भएको हो ।

सोही अवसरमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत एकीकृत श्रम बजार सूचना प्रणाली विस्तारका लागि श्रम तथा रोजगार मन्त्रालय र स्विस एजेन्सीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी सिर्जना गर्न निजी क्षेत्रको असाधारण महत्त्व रहेको बताए।

रोजगारी सिर्जना र उद्यमशीलता प्रवर्द्धन सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले मुलुकको अर्थतन्त्रलाई निजी क्षेत्रले नेतृत्व गर्नुपर्नेमा जोड दिए। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले प्रत्येक वर्ष श्रम बजारमा आउने श्रम शक्तिलाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने तथा वैदेशिक रोजगारीलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउने सरकारको योजना रहेको बताए।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रले जोखिम मोलेरै भए पनि मुलुकको अर्थतन्त्र वृद्धिका लागि योगदान गरेको उल्लेख गर्दै निजी क्षेत्रलाई प्रोत्साहन गर्ने सरकारको नीति रहेको स्पष्ट पारे।

प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडाले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य, अन्तरराष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धी सीपमूलक जनशक्ति निर्यात, द्विपक्षीय श्रम सम्झौतामा सामाजिक सुरक्षाको सुनिश्चितता तथा दोहोर्‍याएर वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्ने सरकारको दृष्टिकोण रहेको बताए।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई निरुत्साहित गर्ने खालका नीतिगत अस्पष्टता तत्काल हटाएर जानुपर्नेमा जोड दिए। ‘जब निजी क्षेत्रले निर्धक्क ढङ्गले उद्यमशीलता बढाउन सक्छ, तब मात्र रोजगारीका अवसर सृजना हुन सक्छन्,’ उनले भने, ‘नीति निर्माण प्रक्रियामा रहेकाले यसतर्फ ध्यान दिनुपर्छ, तत्काल कानुन संशोधन गरी लगानीमैत्री वातावरण बनाउनुपर्छ ।’

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)का अध्यक्ष जगत सिङ्खडाले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न, सामाजिक सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन तथा श्रम ऐनका मजदुर विरोधी प्रावधान खारेजी गरेर असल श्रम सम्बन्धको वातावरण निर्माण गरिनुपर्ने बताए।

दुई दिनसम्म चल्ने सम्मेलनमा आन्तरिक रोजगारी सृजनाका लागि सम्भावित क्षेत्रको पहिचान र प्रवर्द्धन, नेपालमा रोजगार सेवा तथा सुविधाको विकास र विस्तार, श्रम आप्रवासन व्यवस्थापनका विविध आयाम, सूचना प्रविधिको विकासमा नेपालको सम्भावना र रोजगारी सृजना, वैदेशिक रोजगार प्राप्त ज्ञान, सीप र पुँजीलाई उत्पादन र उत्पादकत्व अभिवृद्धिमा प्रयोगलगायत विषयमा सामूहिक छलफल हुनेछ ।

यसअघि सरकारले विसं २०५४, २०६१, २०६९ र २०७६ सालमा श्रम तथा रोजगार सम्मेलन आयोजना गरेको थियो ।

राजावादीको प्रदर्शन जनताको चाहना र भावना विपरीत भएको एकीकृत समाजवादीको ठहर

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले गणतन्त्रविरुद्ध प्रतिगमनकारी र पुनरुत्थानवादी शक्तिहरूको चलखेल बढेको भन्दै परिवर्तनको पक्षमा रहेका शक्तिहरू एकताबद्ध भएर बढ्नुपर्ने निष्कर्ष निकालेको छ ।

सोमबार बसेको पार्टीको सचिवालय बैठकले प्रतिगामी शक्तिहरूको चलखेलको विरोध गर्दै त्यस्ता गतिविधिहरू नेपाली जनताको चाहाना र भावना विपरीत भएको ठहर गरेको छ ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘अहिले केही व्यक्तिहरूले नेपाली जनताको लामो सङ्घर्ष र जननिर्वाचित संविधानसभाबाट स्थापित गणतन्त्रका विरुद्ध गतिविधि गर्न थालेका छन् । यस्ता गतिविधिहरू नेपाली जनताको चाहना र भावना विपरीत छन् ।’

एकीकृत समाजवादीले प्रतिगमनकारी तथा पुनरुत्थानवादी तत्त्वहरूले इतिहासमा गरेका सम्पूर्ण कुकर्महरूलाई नाङ्गेझार गर्न सबै राजनीतिक पार्टी, बौद्धिक जगत, नागरिक समाज र आम जनसमुदायमा अपील समेत गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान गणतन्त्रको विकल्प उन्नतस्तरको गणतन्त्र नै हो भन्ने तथ्यमा जोड दिँदै हाम्रै काम र अभ्यासहरूको समेत गम्भीर आत्म समीक्षा गर्दै प्रतिगमनकारी तथा पुनरुत्थानवादी तत्त्वहरूले इतिहासमा उनीहरूले गरेका सम्पूर्ण कुकर्महरूलाई नाङ्गेझार गर्न सबै राजनीतिक पार्टी, बौद्धिक जगत, नागरिक समाज र आम जनसमुदायमा अपील गर्दछौँ ।’

शेयर बजारमा २० अंकको गिरावट

काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि शेयर नेप्से दोहोरो अंकले घटेको छ । सोमबार नेप्से २० दशमलव ६८ अङ्कले घटेर २ हजार ७ सय ५१ दशमलव ४२ विन्दुमा झरेको छ ।

आज अन्य बाहेक सबै समूहको शेयर घटेकोमा म्युचल फन्ड समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । यस्तै लगानी र व्यापार समूहको शेयर साढे १ प्रतिशतभन्दा धेरैले घटेको छ । आज उपकार लघुवित्त कम्पनीको शेयर झन्डै ७ प्रतिशतले घटेको छ ।

बजार दोहोरो अङ्कले घटेको दिन नेस्डो समृद्ध लघुवित्त कम्पनीको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ । आज बजारसँगै कारोबार रकम पनि घटेको छ । आज ३ सय ११ वटा कम्पनीका १ करोड ५० लाख कित्ता शेयर ८ अर्ब ३७ करोड रुपैयाँमा किनबेच भएको छ ।

पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा तीन ‘आप्रवासी’को गोली हानी हत्या

क्वेटा । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्तमा बन्दुकधारीले तीन ‘आप्रवासी’ हजामको गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

बलुचिस्तानमा देशका अन्य भागबाट आएका मजदुरहरूमाथि आक्रमण बढेको छ र लडाकूहरूले उनीहरूलाई यस क्षेत्रबाट लाभ उठाएको आरोप लगाउने गरेका छन् ।

अफगानिस्तान र इरानसँग सीमा जोडिएको सो प्रान्तमा लडाकूहरूले सेनालाई सूचना दिएको आरोप लगाएका आप्रवासी हेयरड्रेसरहरूलाई बारम्बार निशाना बनाइएको छ।

पन्जगुर जिल्लाका एक प्रहरी अधिकारी मोहम्मद जैदले भने, “सिन्धका तीन हजामले ज्यान गुमाएका छन् ।”
प्रहरीका अनुसार आइतबार साँझ मोटरसाइकलमा आएका बन्दुकधारीले सैलुन पसलमा पसेर गोली चलाएका थिए । यस आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन ।

पृथकतावादी बलुचिस्तान लिबरेशन आर्मी (बीएलए) यस क्षेत्रको सबैभन्दा सक्रिय समूह हो, जसले बाहिरी व्यक्तिहरूलाई यसको समृद्ध स्रोतहरूको दोहन गरेको आरोप लगाउदै आक्रमणहरू गर्ने गरेको छ ।

गत फेब्रुअरीमा लडाकूहरूले एक बस रोकेर सात जना पञ्जाबी मजदुरहरूलाई मृत्युदण्ड दिएका थिए।

गत वर्षको अप्रिलमा नौश्की शहरमा बसबाट अपहरणमा परेका ११ जना पञ्जाबी मजदुरको पनि मृत्यु भएको थियो भने सोही वर्षको मे महिनामा छ जना पञ्जाबी हजामलाई गोली हानी हत्या गरिएको थियो ।

बलुचिस्तानको बोलन जिल्लाका प्रहरी अधिकारी सैयद दिलावरका अनुसार आइतबार भएको अर्को घटनामा पाकिस्तानी सेनाका दुई सैनिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

लडाकूहरू पहाडमा लुकेर बसेको सूचना पाएपछि सैनिकहरूले सुरक्षा कारबाही चलाएको र घन्टौँसम्म भएको गोली हानाहानमा दुई सैनिकको मृत्यु भएको थियो ।

स्थानीय प्रहरी अधिकारी फजल वकारका अनुसार उत्तरपश्चिम खैबर पख्तुनख्वाको कोहाट जिल्लामा सोमबार बिहान आतङ्ककारीले दुई प्रहरी अधिकारीको पनि गोली हानी हत्या गरेका छन् ।

विगत केही वर्षयता पाकिस्तानी शहरहरूमा आक्रमणहरू विरलै हुने गरेका भएपनि अफगानिस्तानसँगको सीमा क्षेत्रमा हिंसात्मक घटनाहरू बढेका छन् ।

इराकमाथिको प्रतिबन्ध नवीकरण नगर्ने अमेरिकी निर्णय ‘गैरकानुनी’ : इरान

तेहरान । इरानको विदेश मन्त्रालयले इराकलाई इरानबाट बिजुली खरिद गर्न अनुमति दिने प्रतिबन्ध फुकुवा नवीकरण नगर्ने संयुक्त राज्य अमेरिकाको निर्णय ‘गैरकानुनी’ भएको बताएको छ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बाकाईले भने, “यस्ता अभिव्यक्तिहरू अराजकता, मानवताविरुद्ध अपराधको स्वीकारोक्ति हो किनकि एकपक्षीय अमेरिकी प्रतिबन्धको इरानी राष्ट्रविरुद्ध कुनै औचित्य वा कानुनी आधार छैन।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानले आणविक हतियारको क्षमता खोजिरहेको आरोप लगाउँदै तेहरानमाथि ‘अधिकतम दबाब’ दिने नीतिको पछिल्लो निर्णय हो । तेहरानले भने उक्त आरोपको खण्डन गर्दै आएको छ ।

अमेरिकी विदेश मन्त्रालयले इरानलाई कुनै पनि प्रकारको आर्थिक वा वित्तीय राहत प्रदान गर्न नदिनका लागि छुटको नवीकरण नगर्ने निर्णय गरेको जनाएको छ ।

इरानले इराकको लागि एक तिहाइ ग्यास र बिजुली आपूर्ति गर्दछ र यसले तेहरानलाई पर्याप्त आय प्रदान गर्दछ ।

सन् २०१८ मा ट्रम्पले इरानसँगको ऐतिहासिक आणविक सम्झौताबाट अमेरिका पछि हटेपछि वासिङ्टनले तेहरानमाथि पुनः प्रतिबन्ध लगाएको थियो ।

ट्रम्पले हालै इरानसँग नयाँ आणविक सम्झौता गर्न आह्वान गरेका छन् र शुक्रबार अमेरिकी राष्ट्रपति ट्रम्पले इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीलाई नयाँ वार्ताका लागि दबाब दिन पत्र लेखेका छन् । यद्यपि, इरानले आफूलाई कुनै पत्र प्राप्त नभएको बताएको छ ।

पत्रमा उनले इरानले सम्झौता गर्न नमानेमा सैन्य कारबाही हुनसक्ने चेतावनीसमेत दिएका थिए ।
शनिबार खामेनीले ट्रम्पको धम्कीपछि ‘जिस्काउने’ रणनीतिको आलोचना गरेका थिए ।

उनले अमेरिकाको नाम उल्लेख नगरीकन तर अमेरिकालाई सङ्केत गर्दै भने, “केही सरकारहरूले धम्क्याउने शब्दभन्दा अरू केही थाहा छैन । तिनीहरूलाई विदेशी व्यक्ति र नेताहरूका लागि उपयुक्त शब्दहरू केही थाहा छैन।”

उनले भने, “उनीहरूको वार्ता समस्या समाधान गर्ने उद्देश्यले होइन, उनीहरूको उद्देश्य प्रभुत्व कायम गर्नु हो।”

जुलुस निकाल्दा विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा हामी छैनौँः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैरसरकारी संस्थाहरुलाई आग्रह गरेका छन् ।

गैरसरकारी संस्था महासङ्घको ११औँ महाधिवेशन तथा नागरिक सम्मेलनको सोमबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विश्वव्यापीकरणको अवस्थामा सबै काम एक्लै गर्न नसकिने स्थिति भए पनि उर्वर नेपाली भूमिलाई प्रयोग गरेर उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिए ।

उनले सामाजिक संस्थाले असफलताको मात्र नभई सफलता, आशा र उपलब्धिको चर्चा गर्न सुझाव दिँदै विकासको प्रयासमा कुनै प्रकारको अवरोध सृजना हुन नदिने स्पष्ट पारे ।

राजतन्त्र पक्षधरको आइतबारको कार्यक्रमको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘एउटा जुलुस निकाल्नुपर्यो भने विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा हामी छैनौँ । अलोकतान्त्रिक, प्रणाली विरोधी र असंवैधानिक कुरामा लाग्ने हामीलाई फुर्सद छैन । हामी हरेक दिन एक कदम अगाडि भन्ने सोचका साथ समृद्ध नेपालको यात्रामा छौँ ।’

परराष्ट्रमन्त्री राणा भारत प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा धार्मिक भ्रमणको सिलसिलामा सोमबार भारत प्रस्थान गरेकी छन् । मन्त्री राणा भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा पूजाआजाका लागि पुग्ने कार्यक्रम छ ।

मन्त्री राणालाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका थिए । त्यसपछि मन्त्री राणा भारतको विदेश मन्त्रालयद्वारा यही मार्च १७ देखि नयाँ दिल्लीमा आयोजित राइसिना डायलगमा सहभागी हुनेछिन् ।

भारत सरकारको निमन्त्रणामा उक्त डायलगमा मन्त्री राणासहित विश्वका विभिन्न देशका प्रधानमन्त्री तथा विदेशमन्त्रीहरुको सहभागिता रहनेछ ।

कार्यक्रमलाई मन्त्री राणाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । साथै यही भ्रमणकै क्रममा मन्त्री डा राणाले आफ्नो स्वास्थ्य जाँचको फलोअप पनि गराउने कार्यक्रम रहेको छ ।

युनको महाभियोगको फैसलापछिको ‘द्वन्द्व रोक्न’ सियोलमा सुरक्षा व्यवस्थामा कडाइ

सियोल । युनको महाभियोगको फैसलापछिको सम्भावित ‘द्वन्द्व रोक्न’ सियोलमा सुरक्षा व्यवस्थालाई कडा पारिएको सियोल प्रहरीले जनाएको छ ।

दक्षिण कोरियाका प्रहरी प्रमुखले देशको निलम्बित राष्ट्रपतिविरुद्ध महाभियोगलाई सदर गर्ने वा नगर्ने भन्ने विषयमा अदालतले फैसला गरेपछि हुनसक्ने अशान्ति रोक्नका लागि ‘सबै उपलब्ध उपाय’ लाई अबलम्बन गर्न दक्षिण कोरियाली प्रहरी तयार रहेको बताए ।

संवैधानिक अदालतले राष्ट्रपति युन सुक येओलले सैनिक शासनको घोषणा गरेको भन्दै महाभियोग लगाउने विषयमा यसै महिना आफ्नो निर्णय सुनाउने अपेक्षा गरिएको छ।

यूनको नागरिक शासनको अल्पकालिक निलम्बनले प्रजातान्त्रिक दक्षिण कोरियालाई राजनीतिक उथलपुथलमा धकेलेको र उनलाई जनवरीमा भएको विद्रोहका लागि हिरासतमा लिइएको थियो । यद्यपि, प्रक्रियागत आधारमा उनलाई गत साताको अन्त्यमा रिहा गरिएको थियो।

सोलको एक न्यायाधीशले युनको हिरासत अवधि बढाएपछि निलम्बित राष्ट्रपतिका समर्थकहरूले सियोलको एक जिल्ला अदालतको ढोका र झ्यालहरू तोडेका छन् र अधिकारीहरूले आसन्न फैसलालाई लिएर हिंसात्मक हुने चेतावनी दिएका छन्।

सियोल महानगरीय प्रहरी निकायका कार्यवाहक प्रमुख पार्क ह्युन सोले भने, “संवैधानिक अदालत र त्यस वरपर हुने झडपलाई रोक्नुपर्छ।”

“हामीले संवैधानिक अदालतको १०० मिटरभित्रको क्षेत्रलाई विरोधमुक्त क्षेत्र घोषणा गर्ने र ब्यारिकेडलगायत सबै उपलब्ध उपकरणपरिचालन गर्ने योजना बनाएका छौँ,” पार्कले पत्रकार सम्मेलनमा भने ।

उनले भने, “हामीले महाभियोगको विषयमा विरोधी समूहबीच द्वन्द्व हुन नदिन र संवैधानिक अदालतका न्यायाधीशको रक्षाका लागि काम गर्नैपर्छ ।”

प्रहरीले अश्रुग्यास छोड्ने र लाठीको प्रयोगसम्बन्धी थप प्रशिक्षण आफ्ना जवानहरूलाई दिइरहेको भन्दै पार्कले बमको धम्कीको जवाफ दिन प्रहरी विशेष बल परिचालन गर्नेबारे पनि विचार गरिरहेको बताए ।

पार्कका अनुसार फैसलाको दिन नजिकका विद्यालयहरू बन्द गर्नेबारे सम्बन्धित निकायसँग विचारविमर्श भइरहेको र नजिकैका निर्माण स्थलहरू र पेट्रोल पम्पहरू बन्द गर्ने तयारी गरिएको छ ।

ती स्थलहरूमा ‘विरोध र प्रदर्शन सामग्रीहरू भण्डारण गर्न सकिन्छ’ भन्ने चिन्ता प्रहरीको रहेको छ ।

महाभियोगको फैसला को अलावा यूनले डिसेम्बरमा सैनिक शासन (मार्शल ल) घोषणा गरेको आरोपमा एक आपराधिक मुद्दाको सामना गर्नुपर्नेछ । उनी एक आपराधिक मामलामा मुद्दाको सामना गर्ने पहिलो सत्तासीन दक्षिण कोरियाली राष्ट्रपति बन्ने भएका छन् ।

अभियोजक जनरल शिम वू–जुङले सोमबार पत्रकारहरूसँग भने, “अभियोजन पक्षले युनलाई अनपेक्षित रूपमा हिरासतबाट रिहा गरे तापनि मुद्दालाई जारी राख्नेछ।”

शिमले भने, “हामी अभियोजनपक्षको मुद्दालाई निरन्तरता दिन बलियो प्रयास सुनिश्चित गर्नेछौँ।”

रुससँगको युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता गर्न युक्रेन तयार

किएभ । रुससँगको युद्ध अन्त्य गर्नेबारे युक्रेनी र अमेरिकी अधिकारीहरूबीच मङ्गलबार हुने महत्त्वपूर्ण वार्ताको एक दिनअघि युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की सोमबार साउदी अरब पुग्ने अपेक्षा गरिएको छ ।

तीन वर्षको द्वन्द्व समाधानका लागि मङ्गलबार हुने बहुप्रतीक्षित वार्तामा गत महिना जेलेन्स्कीको ह्वाइट हाउसको असफल भ्रमणपछि पहिलो पटक अमेरिकी र युक्रेनी अधिकारीहरू भेट्नेछन् ।

जेलेन्स्कीले सोमबार देशको वास्तविक नेता साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानलाई भेट्ने र त्यसपछि उनको टोली ‘मङ्गलबार अमेरिकी टोलीसँगको बैठकका लागि बस्ने’ बताए ।

रेड सी बन्दरगाह सहर जेद्दामा हुने वार्तामा अमेरिकी मध्यपूर्व दूत स्टिभ विट्कफले वासिङ्टन ‘शान्ति सम्झौताका लागि एक ढाँचा र प्रारम्भिक युद्धविराम पनि पाउन चाहन्छ’ भनेका छन् ।

जेलेन्स्कीले युक्रेन ‘रचनात्मक वार्ताका लागि पूर्ण रूपमा प्रतिबद्ध’ रहेको तर आफ्नो हितलाई ‘सही तरिकामा ध्यानमा राख्न’ चाहेको बताए ।

“शान्ति नजिक ल्याउने र समर्थन जारी राख्ने दुवै सन्दर्भमा हामी परिणामको आशा गर्दछौँ”, उहाँले आइतबार साँझ आफ्नो सम्बोधनमा भने।

अमेरिकी विदेशमन्त्री मार्को रुबियो सोमबार जेद्दा जानुहुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले पनि उनको सहभागिताको पुष्टि गरे ।

निरन्तर सम्पर्कमा

जेलेन्स्कीले उनका वार्ताकारहरूमा विदेशमन्त्री एन्ड्री सिबिगा र रक्षामन्त्री रुस्टेम उमरोभ, उनका चिफ अफ स्टाफ एन्ड्री यर्मक तथा सैन्य कमान्डर एवं यर्मकका सहायक पावलो पालिसा समावेश हुने जानकारी दिए । किएभ अमेरिकी टोलीसँग निरन्तर सम्पर्कमा रहेको उनले बताए ।

वासिङ्टनले हाल राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा सन् २०२२ फेब्रुअरीमा आफ्नो पूर्ण आक्रमण सुरु गरेको मस्कोसँग टेबलमा बाध्य पार्ने प्रयासमा युक्रेनलाई सैन्य सहायताका साथै गुप्तचर साझेदारी र स्याटेलाइट इमेजरीमा पहुँच निलम्बन गरेको छ ।

ट्रम्पले पुटिनसँग सञ्चार नवीकरण गरेका छन् र जेलेन्स्कीको आलोचना गरेका छन् । यसले किएभ र युरोपेली सहयोगीहरूमा ट्रम्पले रुसलाई फाइदा पुग्ने समझौता स्वीकार गर्न युक्रेनलाई बाध्य पार्न सक्ने भन्ने डर उत्पन्न गरेको छ ।

तर शुक्रबार ट्रम्पले युद्धको मैदानमा युक्रेनलाई ‘प्रहार’ गरेकोमा रुसमाथि थप प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेको बताए ।

युक्रेनका युरोपेली सहयोगीहरूले गत हप्ता जेलेन्स्कीसँग शिखर सम्मेलन आयोजना गरेका थिए र उनीहरूले रक्षा खर्च ठूलो मात्रामा बढाउने घोषणा गरेका थिए ।

बेलायत र फ्रान्सले युक्रेनका लागि समुद्र र हावामा युद्धविराम र युक्रेनको शक्ति सुविधाहरूमा रुसले गरेको बमबारी रोक्न प्रस्ताव गरेका छन् ।

जेलेन्स्कीका अनुसार युक्रेनी र बेलायती कूटनीतिज्ञहरूले सप्ताहन्तमा किएभमा वार्ता गरेका थिए ।

ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीचको सार्वजनिक विवादका कारण अमेरिकी नेताले माग गरेको खनिज सम्झौतामा हस्ताक्षर नगरी युक्रेनीहरू बाहिरिएपछि साउदी वार्ता आएको हो ।

पछि जेलेन्स्कीले घटनालाई ‘दुःखदायी’ भने र ट्रम्पको ‘बलियो नेतृत्व’ सँग काम गर्न तयार रहेको बताए । उनले रणनीतिक खनिज भण्डारको सम्झौतामा हस्ताक्षर गर्न तयार रहेको पनि बताए ।

विट्कफले ट्रम्पले जेलेन्स्कीबाट एक पत्र प्राप्त गरेकाे र त्यसलाई ‘एक धेरै सकारात्मक पहिलो कदम’ र ‘एक माफी’ भनेकाे बताए ।

युक्रेनले साउदी अरबमा सम्झौतामा हस्ताक्षर गर्नेछ कि भनेर सोधिएको प्रश्नमा विट्कफले भने, “मलाई लाग्छ जेलेन्स्कीले यसमा हस्ताक्षर गर्ने प्रस्ताव राख्नुभएको छ र उहाँले यसलाई पालना गर्नुहुन्छ वा हुन्न भनेर हामी हेर्नेछौँ ।”

शान्तिका लागि तयार छैन

विट्कफले फेब्रुअरीमा जेलमा रहेका एक अमेरिकी शिक्षकको रिहाइका लागि मस्को भ्रमण गरेका थिए र पछि उनले पुटिनसँग धेरै समय कुरा गरेको र उनीसँग ‘सम्बन्ध विकास’ गरेको बताएका थिए ।

ट्रम्प र जेडी भान्ससँगको जेलेन्स्कीको विवादास्पद भेटका क्रममा वाल्ट्ज ओभल अफिसमा थिए । उनले पछि फक्स न्युजलाई जेलेन्स्की ‘शान्ति वार्ता गर्न तयार हुनुहुन्न’ तर ‘समय उहाँको पक्षमा छैन’ भनेका थिए ।

सिएनएनसँगको अन्तर्वार्तामा वाल्ट्जले भने, “यदि जेलेन्स्कीको व्यक्तिगत प्रेरणा वा राजनीतिक प्रेरणा लडाइँ अन्त्य गर्नेबाट भिन्न छ… तब मेरो विचारमा हामीसँग वास्तविक समस्या छ ।”

साउदी मध्यस्थकर्ता

साउदी अरब रुस र युक्रेनसँग अमेरिकी कूटनीतिका लागि एक प्रमुख आयोजक बनेको छ । रूसी विदेशमन्त्री सर्गेई लाभरोभ र रुबियोले गत महिना रियादमा भेट गरी संवाद पुनः सुरु गर्न र युक्रेन द्वन्द्वमा वार्ता सुरु गर्न सहमत भएका थिए ।

जेलेन्स्कीले सन् २०२२ मा रुसको आक्रमणपछि साउदी अरबमा धेरै पटक भ्रमण गरेका छन् तर गत महिना रुस–अमेरिका वार्तामा निमन्त्रणा नभएको भन्दै भ्रमण स्थगित गरेका थिए।

सन् २०२२ मा रुसी नियन्त्रित युक्रेनमा रहेका पाँच कैदीलाई क्राउन प्रिन्ससँगको वार्तापछि आदानप्रदान गर्न रियाद लगिएको थियो ।

पुटिनले क्राउन प्रिन्सले गत वर्ष ‘जासुसी’ गरेको आरोपमा रुसले जेलमा राखेका वालस्ट्रिट जर्नलका रिपोर्टर इभान गेर्शकोभिचको रिहाइ सुरक्षित गर्न पनि सहयोग गरेको बताए ।

अमेरिकाको ऐतिहासिक मित्र, तेल–धनी राज्य साउदी अरब सन् २०१८ मा टर्कीमा असन्तुष्ट साउदी पत्रकार जमाल खशोग्गीको हत्यापछि अन्तर्राष्ट्रिय रूपमा अछूत बन्यो । तर विट्कफले ट्रम्पको टोलीको ‘साउदीहरूसँग साँच्चै राम्रो सम्बन्ध छ’ भने।

काठमाडौँ महानगरलाई राप्रपाले तिर्‍यो एक लाख जरिवाना

काठमाडाैँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौँ महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना तिरेको छ। महानगरले तोकेको १ लाख रूपैयाँ जरिबाना राप्रपाले बुझाएको हो ।

पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न राप्रपालगायत राजावादी शक्तिहरूले हिजो जनप्रदर्शन गरेका थिए । उक्त जनप्रदर्शनका सहभागीहरूबाट एयरपोर्ट तिलगंगा, गौशलालगायत सार्वजनिक क्षेत्रका सडकमा फोहोर मैला र भौतिक क्षति भएको महानगरको दाबी छ । महानगरले फोहोरमैला व्यवस्थापन ऐन, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन तथा काठमाडौं महानगरपालिकाको आर्थिक ऐनबमोजिम जरिबाना लगाएको हो ।

जुन निर्णयमा राप्रपाले सुरुमा नतिर्ने भनेकाे थियाे , तर राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले महानगरको खातामा १ लाख रकम आज दाखिला गरेको बताएका छन् ।

‘हामी राप्रपा सुशासन मान्छौं र विधिको शासन मान्छौं । राजाको स्वागतमा आएका लाखौं आमाबुवा दाजुभाइ बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान् महानगर नगरपालिकाको निर्णयलाई हामी स्वीकार्छौं ’, उनले फेसबुकमा लेखेका छन् ।

न्यायाधीशले विवेकपूर्ण निर्णय गर्नुपर्छ : प्रधानन्यायाधीश राउत

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायाधीशहरूले विवेकपूर्ण तरिकाले न्याय हुने गरी काम गर्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आज ‘दोस्रो महिला न्यायाधीश सम्मेलन–२०८१’ को उद्घाटन गर्दै उनले महिला न्यायाधीशको गौरव गरिरहँदा न्यायालयको गरिमा र मर्यादालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताए।

‘महिला न्यायाधीशको उपस्थितमा गौरव गरिरहँदा न्यायको स्वच्छता, विवेकपूर्ण निर्णय जरूरी छ,’ प्रधानन्यायाधीश राउतले भने, ‘न्यायको उपभोक्तालाई न्यायपर्ने गरी, न्यायालयको गरिमा र मर्यादालाई ध्यानमा राखेर काम गर्न जरूरी छ ।’ उनले महिला न्यायाधीशलाई घर, परिवार, न्याय सम्पादनको काम गर्नुपर्ने जिम्मेवारी भए पनि मेहनत गरेमा निसन्देह सफलता हासिल हुने विश्वास व्यक्त गरे।

नेपालको प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीले पछिल्लो तीन वर्षमा महिला न्यायाधीशको उपस्थित राम्रो हुँदै गएको र महिला न्यायाधीशमा क्षमता, साहस र अध्ययन जरूरी भएको बताए। उनले न्यायिक निर्णय गर्दा न्याय पर्नेगरी निर्धक्क भएर गर्नुपर्ने र त्यसका लागि महिला न्यायाधीश अब्बल हुनुपर्नेमा जोड दिए।

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले न्यायको सेवा दिने बेलामा महिला न्यायाधीश मात्रै संवेदनशील हुन्छन्, भन्ने नभए पनि महिला न्यायाधीशको उपस्थित महत्त्वपूर्ण भएको बताइन् । उनले क्षमताको प्रश्न आउँदा महिला न्यायाधीशको मात्रै बढी आउने भएकाले क्षमता अभिवृद्धि, अध्ययनमा बढी ध्यान दिनुपर्ने आवश्यकता औँल्याइन्।

सर्वोच्च अदालतका न्यायाधीश तथा न्यायाधीश समाजका अध्यक्ष तिलप्रसाद श्रेष्ठले गुणस्तरीय न्यायका लागि यस्ता सम्मेलन जरूरी भएको र न्याय सम्पादनमा समेत सहज हुने बताए। न्यायाधीश समाज नेपालका महासचिव टेकनारायण कुँवरले न्यायिक क्षेत्रमा महिला सहभागिता र न्यायालयमा लैङ्गिक समानता दिलाउन आवश्यक छलफल गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको जानकारी दिए।

सम्मेलनमा ५० जना देशभर कार्यरत महिला न्यायाधीश र १० जना पूर्व प्रधानन्यायाधीश तथा न्यायाधीश गरी ६० जनाको सहभागिता रहेको छ । सम्मेलनमा प्रथम महिला प्रधानन्यायाधीश कार्कीलाई न्याय क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै प्रधानन्यायाधीश राउतले सम्मान गरेका थिए।

सम्मेलनमा न्यायापालिकामा समावेशीता र महिला न्यायाधीशको प्रतिनिधित्व, चुनौती र सम्भावनाका विविध विषयमा छलफल भइरहेको छ । यसअघि, गत चैत ९ गते महिला न्यायाधीशहरूको प्रथम राष्ट्रिय सम्मेलन भएको थियो ।

राजा फर्कने कुरा असम्भवः माओवादी केन्द्र

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राजा फर्कने कुरा असम्भव रहेको निष्कर्ष निकालेको छ । सोमबार बसेको पार्टी पदाधिकारी बैठकले अहिले धमिलो पानीमा माछा मार्ने षड्यन्त्र भएकाले त्यो पूरा नहुने निष्कर्ष निकालेको हो ।

त्यस्तै बैठकले सरकारले काम गर्न नसक्दा राजावादीहरू सडकमा आएका निष्कर्ष पनि निकालेको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

उनले भने, ‘यो सरकारले पर्फमेन्स दिन नसकेकाले एकै निमेषमा तथ्यहरू बाहिर आउने गरेका छन् । अन्ततः सरकारको नालायकीले नै गर्दा राजावादी आशावादी भएका हुन् ।’

सापकोटाले संसारभरी नै अहिले अराजकता र अन्यौल जस्तो स्थिति रहेको भन्दै धमिलो पानीमा माछा मार्न सकिन्छ कि भनेर सोच बनाउनु सपना मात्र हुने बताए ।

उनले राजाले शासन छाडेपछि पनि माओवादीले राजसंस्था ल्याउन खाजेको थियो भन्ने जनतालाई भ्रमित पार्ने उद्देश्यले आरोप लगाइएको बताए ।

उनले भने,‘माओवादीले राजा ल्याउने कुरा कल्पनापनि गर्न सक्दैन । माओवादीले ल्याउन खोजेको भनेर एउटा भाष्य बनाउन खोजिएको मात्र हो । जनतालाई भ्रमित पार्ने उद्देश्य अन्तरनिहीत छ । जनता भ्रमित हुँदैनन् ।’

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्रै रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताएका छन्।

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ को सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उद्यमशीलताको विकास गरी परिस्थितिमा परिवर्तन ल्याउन र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा अघि बढाउन सरकार लागिरहेकाले यसमा निजी क्षेत्रको भूमिका झन् महत्वपूर्ण हुने धारणा व्यक्त गरे।

उनले विदेशका विभिन्न मुलुकमा गएर नेपालीहरुले श्रम गर्ने तर स्वदेशमा रोजगारीका अवसर सिर्जना नहुने हो भने अर्थतन्त्रको उत्थान नहुने भएकाले विज्ञान प्रविधिको भरपुर उपयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्नेतर्फ ध्यान जानुपर्ने बताए। प्रधानमन्त्री ओलीले विश्व बजारमा प्रतिस्पर्धी हुनसक्ने दक्ष जनशक्ति उत्पादन गर्न र स्वदेशमै बढीभन्दा बढी रोजगारी सिर्जना गर्न लाग्नुपर्नेमा जोड दिए।

कार्यक्रममा राष्ट्रिय सीप विकास प्रतिष्ठान र रोजगारदाता कम्पनीबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो। यस्तै, प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत एकीकृत श्रम बजार सूचना प्रणाली विस्तारका लागि श्रम तथा रोजगार मन्त्रालय र स्विस एजेन्सीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

राजतन्त्र आउने हल्ला मात्र होः सभापति देउवा

सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सञ्चालनमा दलहरूबीच कुनै समस्या नरहेको बताएका छन् ।

सोमबर धनगढी विमानस्थलमा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै सभापति देउवाले अहिलेको गठबन्धन २०८४ सम्म कायम रहने स्पष्ट पारे । 

अर्को एक प्रश्नमा देउवाले राजतन्त्रका पक्षमा अहिले हल्ला मात्र भइरहेको बताए । उनले भने, ‘कुनै माहोल मैले देखेको छैन, त्यो हल्ला मात्र हो, हल्ला गरेर केही हुँदैन ।’

कांग्रेस सभापति देउवा सहितका नेता पार्टीको सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनमा सहभागी हुन  धनगढी आएका हुन् ।

एजाज आलम नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघको अध्यक्षमा निर्विरोध निर्वाचित

बुटवल । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघको अध्यक्षमा एजाज आलम निर्विरोध रुपमा निर्वाचित भएका छन् । बुटवलमा शनिबार सम्पन्न भएको अधिवेशनबाट अध्यक्ष लगायत कार्यसमितिका सबै पदहरुमा निर्विरोध रुपमा निर्वाचित भएका हुन् ।

जसअनुसार अध्यक्षमा बुटवल औद्योगिक क्षेत्रका आलम निर्वाचित भएका हुन्। त्यस्तै वरिष्ठ उपाध्यक्षमा बालाजु औद्योगिक क्षेत्रका वीरेन्द्रनाथ भट्टराई, प्रथम उपाध्यक्षमा राजेश्वरलाल जोशी, द्वितिय उपाध्यक्षमा हेटौंडाका सुदीप घिमिरे, महासचिवमा भक्तपुरका सागर घिमिरे, सचिवमा पोखराका सागर बहादुर श्रेष्ठ, कोषाध्यक्षमा बालाजुका कान्छा थापा र सहकोषाध्यक्षमा नेपालगञ्जका जगदिश उप्रेती निर्विरोध निर्वाचित भएका छन् ।

महासंघको विद्यमान अनुसार अध्यक्ष बाहेकका सबै पदहरु सदस्यमा निर्वाचित भई निर्वाचित सदस्यहरुबाट पदाधिकारी चयन गर्ने व्यवस्था छ । त्यसैगरी एशोशियट सदस्यमा सुयशराज पराजुली चयन भएका छन्। देशभरका सबै औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्षहरु पदेन सदस्यमा निर्वाचित भएका छन् ।

जसअनुसार बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष उपेन्द्र अग्रवाल, हेटौडा औद्योगिक क्षेत्रका बद्रिनाथ शर्मा, बालाजुका मोतिउर रहमान देवान, नेपालगञ्जका किरण कुमार कार्की, पोखराका रुद्रलाल श्रेष्ठ, भक्तपुरका पवन मित्तल, बिरेन्द्रनगरका कलाधर उपाध्याय, धरानका मानमोहन श्रेष्ठ र गजेन्द्रनारायणका मिलन सिंह रहेका छन् । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघ देशभरका औद्योगिक क्षेत्रका उद्योगीहरुको छाता संस्था हो।

योगी आदित्यनाथको तस्बिरबारे शाही र रिमालबीच आरोप-प्रत्यारोप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा पूर्वराजाको स्वागत कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रयोग गरिएको दाबी गरेका छन् ।

सोमबार सामाजिक संजालमार्फत शाहीले प्रधानमन्त्री ओलीको निर्देशनमा उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आदित्यनाथको तस्बिर राख्न लगाएको शाहीले दाबी गरेका हुन् ।

शाहीले भनेका छन्, ‘हिजो राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो स्वयम् प्रधानमन्त्री केली ओलीज्यूको निर्देशनमा प्रधानमन्त्रीज्यूका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाएको पाइएको छ । नेपाली राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रमलाई असर पार्नको लागि यस्ता कुकर्म गर्न थालेछन् छि छि ।’

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रिमालले शाहीको आरोपको प्रतिवाद गरेका छन् । उनले भनेका छन्, ‘कॉक्रा चोरहरू– कॉक्रा चोर्छन्, खान्छन्,पोल खुल्ने डरमा हत्तपत्त अर्काको गालामा बियॉ टॉसी कुलेलम ठोक्छन् ! दलालहरू—पहिले दलाली गर्छन्, दलालीको पोल खुलेपछि खाल’ जोगाउन त्यस्तै हर्कत गर्छन् ! डिसईन्फरमेसनको सहारामा Accidently मर्यादित स्थानमा पुगेका अयोग्यहरूबाट फैलाइने भ्रम यस्तै हो ।यी मानिस कति द्विविधामा भ्रमको खेती गर्दै थिए भन्ने कुरा एउटै स्ट्याटस ५/५ चोटी एडिट गरेको हिस्ट्रीले आफैं बताउँछ । मलाई यस्ता नालायकहरूसँग सवाल–जवाफ गर्नुछैन । कसले कहॉ के गर्दैछ– समाचार त आएकै छ नि !’

आइतबार राप्रपालगायत राजावादीले गरेको पूर्वराजाको स्वागत र्यालीमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगीको तस्बिर पनि देखिएको थियो ।

मुस्ताङको शीतोष्ण फलफूल बगैँचामा यसवर्ष ढिलो फूल फुल्दा…

सुन्दरकुमार थकाली, मुस्ताङ । मुस्ताङमा शीतोष्ण फलफूल बगैँचाका बोटमा झपक्कै फूल फुलका छन् । घरपझोङ–२ मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रका विभिन्न प्रजातिका फलफूल बोटहरु यतिखेर फूल फुलेर सेताम्मे भएका हुन् । विगतका वर्षहरुमा भन्दा यसवर्ष केही हप्ता ढिलो गरी शीतोष्ण फूलहरु फुल्न थालेको हुन् ।

मुख्य रुपमा मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रले शीतोष्ण हावापानीमा उत्पादन हुने फलफूल तथा तरकारीको उत्पादन, बीउ तथा बिरुवा उत्पादन गर्ने कार्य गर्दै आइरहेको छ । जिल्लामा स्याउखेतीको विकास समेत यही केन्द्रले सुरु गरेको थियो ।

मुस्ताङको त्यही केन्द्र हो, जसले यहाँ विभिन्न जातजातका फलफूलको बीउ तथा बिरुवा उत्पादनका साथै फलफूल उत्पादनमा समेत जोड दिइरहेको छ । मुस्ताङका कृषकहरुको आर्थिक विकासमा टेवा पु¥याउन र फलफूल तथा तरकारीखेतीको विकास गरी यहाँका किसानको जीवनस्तर सुधार गर्न केन्द्रले दिँदै आइरहेको योगदान अतुलनीय छ ।

वसन्त ऋतुको आगमनको सुरुआतसँगै यहाँका शीतोष्ण फलफूलका बोट झपक्कै फूल फुल्न थालेका हुन् । केन्द्रले उत्पादन गर्ने हाईचिलिङ जात अर्थात् अत्यधिक चिस्यानको आवश्यकता पर्ने कागजी बदाम, आरु, आरुबखडा र खुर्पानीलगायतका फलफूल बोटमा विस्तारै फूल फुलेर मुस्कुराउन थालेका छन् ।

यसरी बढी मात्रामा अत्यधिक चिस्यान चाहिने फलफूलका बोटमा फूल फुलेर धपक्कै हुँदा केन्द्रमा पुगेर अवलोकन गर्ने पर्यटक मोहित हुने गरेका छन् । तर, यहाँका स्याउ बोटहरुमा चैत्र महिनाको अन्तिम वा वैशाख महिनामा मात्रै फूल फुल्ने क्रम सुरु हुने केन्द्रले जनाएको छ ।

जिल्लाको बागवानी विकास केन्द्र र अन्य किसानले उत्पादन गर्ने यसप्रकारको अधिकांश जातका फूल फुल्ने चरणमा रहेको केन्द्र प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए । केन्द्रमा उत्पादन हुने अधिकांश जातहरु हाईचिलिङअर्थात् अत्यधिक चिस्यानको आवश्यकता पर्ने फलफूलहरु रहेको उनले भनाइ छ । उनले यसप्रकारका हाईचिलिङ जातका फलफूल बोटलाई आठ सयदेखि एक हजार घण्टासम्म चिस्यानको आवश्यक पर्ने बताए ।

केन्द्रमा उत्पादन हुने मुख्य फलफूल जातहरुमा कागजी बदाम ने प्लस अल्ट्रा जातको फलफूलअन्तर्गत पर्दछ । यी मुख्य फलफूलअन्तर्गत आरु फलफूलमा एक अर्ली रेड जात र अर्को ओराइन जातअन्तर्गत पर्दछ । आरुबखडा, मिथ्ले र सान्तारोजा जातमा पर्छ । खुर्पानी सक्करपारा जातमा पर्दछ । केन्द्र प्रमुख आत्रेयले केन्द्रमा मुख्यगरी पाइने यसप्रकारको जात महत्वपूर्ण जातको रुपमा रहेको जानकारी दिए ।

समुद्री सतहदेखि एक हजार आठ सय मिटर उचाइदेखि करिब तीन हजार मिटरसम्मको उच्च भूगोलमा उत्पादन हुने यसप्रकारका फलफूलमा पछिल्लो समय जलवायु परिवर्तनको असरले प्रतिकूल बनाउन थालेको केन्द्र प्रमुख आत्रेयले खुलाए ।

‘जलवायु प्रभावले जमिनको तापमान वृद्धि भइरहेकाले फूल फुल्ने क्रम केही छिटो होकी भन्ने अनुभूति गरेका छौ’, केन्द्र प्रमुख आत्रेयले थपे, ‘बर्सेनि मुस्ताङको तल्लो क्षेत्रमा उत्पादन हुने यसप्रकारका फूलफूल जातहरु माथि माथि सर्दै जान थालेको छ ।’ उनले अनुकूल समयमा एकदुई फेरि आंशिक हिउँ पर्ने र तुषारोका कारण घरपझोङको मार्फा र जोमसोम क्षेत्रमा यसको असर पर्न थालेको बताए ।

केन्द्रले बर्सेनि गुणस्तरीय बिरुवा उत्पादन गर्ने र यसप्रकारका जातलाई प्रशोधित वस्तु तयार गरी बिक्री वितरण गर्ने काम गदैआइरहेको जानकारी दिए ।

केन्द्रले खुर्पानीको फलबाट प्रशोधित गरी ब्रान्डी, जाम र सुकुटी तयार गर्ने गरेको छ । यसैगरी आरुबखडाको वाइन बनाउने गरिएको छ । आरुको ताजा फल बिक्री गर्ने र कागजी बदामको बिरुवा उत्पादन गर्ने काम केन्द्रले गर्दैआइरहेको केन्द्र प्रमुख आत्रेयले उल्लेख गरे । 

जसपा नेपालले पदाधिकारी र कार्यकारिणी सदस्य थप गर्ने

काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय पदाधिकारी र कार्यकारिणी समिति सदस्य थप गर्ने भएको छ ।

पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीको विधान २०८० को ‘धारा १३९ बाधा अड्काउ फुकाउ’ प्रयोग गरी पदाधिकारी र कार्यकारिणी सदस्य थप गर्न विधानको धारा २९ को उपधारा ३ संशोधन गरेको पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनकाअनुसार जातीय, सामुदायिक तथा लैङ्गिक समावेशीतालाई आधार मानी पदाधिकारी तथा कार्यकारिणी सदस्य थप गर्न लागिएको र संशोधित विधानअनुसार जसपा नेपालले थप दुई जना उपाध्यक्ष र एक महासचिव तथा ११ जना केन्द्रीय कार्यकारिणी सदस्य थप गर्नेछ ।

संशोधित धारा २९ को उपधारा ३ अनुसार सङ्घीय परिषद् अध्यक्ष, केन्द्रीय समिति अध्यक्ष, वरिष्ठ नेता, सहअध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्ष र केन्द्रीय समितिबाट निर्वाचित २१ जना सदस्य रहनेगरी केन्द्रीय कार्यकारिणी समिति गठन हुने भएको बस्नेतले बताए ।

जलवायु न्यायको मुद्दालाई विश्वजगतमा पुर्याउनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको कारक नभएर पनि मार खेप्नुपर्ने नेपालजस्ता मुलुकहरूका लागि जलवायु न्यायको विषय हरेक अन्तर्राष्ट्रिय मञ्चहरूमा उठ्न जरुरी भएको बताएका छन् । भौगर्भिक समाजद्वारा सोमबार आयोजित नेपाल भौगर्भिक सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपतिले जलवायु न्यायको मुद्धालाई विश्वजगतमा पुर्याउनुपर्ने बताएका हुन् ।

‘जलवायु परिवर्तनका असरहरूको न्यूनीकरण, प्राकृतिक प्रकोप र भूविपत्को व्यवस्थापन’ जस्तो जल्दोबल्दो विषय मूल कथ्य रहेकाले भौगर्भिक सम्मेलनको महत्वलाई बढाएको छ भन्दै राष्ट्रपति पौडेलले यो मानव दैनन्दिनीसँग प्रत्यक्ष सरोकार रहेको विषय भइसकेको स्पष्ट पारे ।

उनले विश्वका अतिशय विकसित मुलुकहरूमा भएको अन्धाधुन्ध औद्योगिकीकरण, जीवाष्म इन्धनको दोहन, कार्बन उत्सर्जनले कार्वन उत्सर्जनमा नगण्य योगदान गर्ने नेपालजस्तो विकासशील देशमा झन् बढी असर परेको पनि उल्लेख गरे ।

राष्ट्रपति पौडेलले पृथ्वीको तापक्रममा वृद्धि भइरहेको र विगत तीन दशकको अवधिमा हिमालयमा रहेका हिमनदीहरूको हिउँ एक तिहाइ घटिसकेको उल्लेख गर्दै हिमतालहरू विस्फोटनको सँघारमा रहेको बताए । उनले अतिवृष्टिबाट हुने जलप्रकोप, पहिरो र भूक्षयबाट बर्षेनी थुप्रै जनधनको क्षति भइरहेको स्मरण गराए ।

उनले हिमालय पर्वत श्रृङ्खलामा बेलबेलामा गइरहने भूकम्प पनि नेपालको विकास निर्माणका लागि समस्याको रूपमा रहेको भन्दै केही प्राकृतिक प्रकोपहरूको पूर्वानुमान गर्ने पद्धतिको विकास भइसकेको भए पनि भूकम्पसम्बन्धी पूवानुमान गर्न सकिने संयन्त्र आजपर्यन्त पत्ता लगाउन नसकिएको बताए ।

राष्ट्रपति पौडेलले भने, ‘२०७२ सालमा महाभूकम्प गएको एकदशक पुग्न लागेको पूर्वसन्ध्यामा त्यसको मीमांसा पनि यस सम्मेलनमा गरिने भएकाले यसको महत्व विशेष रूपमा रहेको छ भन्ने मैले ठानेको छु ।’

राष्ट्रपति पौडेलले सम्मेलनमा नेपालका खानीखनिजको अवस्थिति, अन्वेषण, भूविपत्, जलवायु परिवर्तन र भौतिक पूर्वाधारको विकासमा भू–विज्ञानको प्रयोगका बारेमा विशद् विमर्श हुने विश्वास व्यक्त गरे । प्राकृतिक स्रोतको उत्खनन्, सदुपयोग र बजार ब्यवस्थापनका लागि लगानीकर्ताको ध्यान आकर्षण गर्न यो सम्मेलन उपयोगी हुनेछ भन्ने राष्ट्रपति पौडेलको अपेक्षा थियो ।

‘अमेरिकीहरूलाई हेक्का रहोस्, हक्कीमा जस्तै व्यापारमा पनि क्यानडाले जित्नेछ’

बीबीसी । क्यानडाको आगामी प्रधानमन्त्री बन्ने दौडमा जस्टिन ट्रुडोलाई विस्थापित गर्न सफल मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध व्यापार युद्ध जित्ने वाचा गरेका छन् ।

क्यानडा तथा बेलायतका केन्द्रीय बैंकका पूर्व गभर्नर रहिसकेका कार्नीले लिबरल पार्टीको नेतृत्वको दौडमा अन्य तीन प्रतिस्पर्धीलाई ठूलो मतान्तरले जितेका छन् । जितपछि गरेको सम्बोधनमा ५९ वर्षीय कार्नीले ट्रम्पको आलोचना गरे ।

ट्रम्पले क्यानडामाथि आयात शुल्क वा ट्यारिफ लगाइदिएका छन् अनि क्यानडालाई अमेरिकाको ‘५१औँ राज्य’ बनाइदिने भनेका छन् । उनले भने, ‘अमेरिकीहरूलाई हेक्का रहोस्, हक्कीमा जस्तै व्यापारमा पनि क्यानडाले जित्नेछ ।’

आगामी केही दिनमा कार्नीले नयाँ प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने अपेक्षा गरिएको छ। उनकै नेतृत्वमा लिबरल पार्टी अर्को आम चुनावमा सामेल हुनेछ ।

चुनावको मिति केही सातामै तोकिनेछ । कार्नीले यसअघि निर्वाचित पद धारण गरेका छैनन् । झन्डै एक दशकसम्म सत्ताको नेतृत्व गरेका जस्टिन ट्रुडोले गत जनवरीमा राजीनामा गरेपछि उनको दलमा नयाँ नेतृत्वको दौड सुरु भएको थियो ।

आवास सङ्कट तथा बढ्दो महँगीका कारण अलोकप्रिय बन्दै गएका ट्रुडोलाई पद त्याग्न आन्तरिक दबाव परेको थियो । आइतबार साँझ भएको लिबरल पार्टीको आन्तरिक चुनावको पहिलो चरणको मतदानमा कार्नीले ८५.९% मत प्राप्त गरेर उनका निकटतम प्रतिद्वन्द्वी पूर्व अर्थमन्त्री क्रिस्टिया फ्रिल्यान्डलाई पराजित गरेका थिए ।

ट्याक्टर दुर्घटनामा बाजुरामा एकजनाको मृत्यु

बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बूढीगङ्गा नगरपालिका–४ खोडालबाडाका अन्दाजी ३३ वर्षीय ट्र्याक्टर चालक पदमबहादुर रावत रहेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खप्तड छेडेदह गाउँपालिकाबाट बूढीगङ्गा नगरपालिका आउँदै गरेको भे२त १५८८ नम्बरको ट्र्याक्टर गएराति ओरालो सडकमा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक जनक बोहराले जानकारी दिए ।

उनका अनुसार ट्याक्टरमा सवार रहेका चार जना मध्ये चालक रावतका छोरा सञ्जय रावतलाई सामान्य चोट लागेको छ ।

घाइते बालकको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको निमित्त प्रहरी नायब उपरीक्षक बोहराले बताए । अन्य तीन जना सकुशल रहेको , ट्याक्टरको अगाडिको भाग करिब २५० मिटर तल सडकमा खसेको र ट्राली ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।

भिरबाट लडेर एकको मृत्यु

जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा आइतबार मिनेटमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्वामीकार्तिक खापर –२ फयालगाउँ बस्ने अन्दाजी ४२ वर्षीय पुसे भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक जनक बोहराले जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार आइतबार बेलुकी कर्णाली नदीमा माछा मार्न जाने क्रममानदी नजिकै रहेको हाँडेको भिरबाट लडेर मृत्यु भएको बताए ।

स्थानीयले भण्डारी भिरबाट लडेर घाइते भएको प्रहरीलाई जानकारी आएपछि घटनास्थल पुग्दा मृत्यु भइसकेको निमित्त प्रहरी नायब उपरीक्षक बोहराले बताए ।

शव निकाल्नका लागि इलाका प्रहरी कार्यालय कोल्टीबाट प्रहरी निरीक्षकको टोली घटनास्थलमा गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ रहेको छ ।

राजनीतिक दलहरु एकले अर्कालाई गाली मात्रै गरेर कसरी बन्छ देश ?

काठमाडौँ । राष्ट्रियसभाको सदस्य भएको एक वर्ष भयो । जनताको पक्षमा काम गर्नका लागि राष्ट्रियसभा उत्कृष्ट थलो रहेछ । राष्ट्रियसभामा मैले महिलाअधिकारका पक्षमा पटकपटक आवाज उठाएको छु । हाम्रो देशमा अहिले पनि महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छैन, महिला हिंसा र विभेद बढ्दो छ । बालिका बलात्कार र यौनजन्य हिंसाका घटनाका समाचार दिनहुँ आइरहेका छन् । महिलाहरु आत्महत्या गर्न विवश छन् । जबसम्म महिलाहरु नेतृत्व तहमा आउँदैनन्, तबसम्म महिला हिंसा रोकिँदैन भन्ने लाग्छ । खासमा निर्णायक तहमा नेपाली महिलाहरु पुगेकै छैनन् । महिला हिंसामा संलग्नलाई कानुनअनुसार कडा कारबाही हुनुपर्छ । उनीहरुलाई कुनै पनि राजनीतिक संरक्षण हुनुहुँदैन ।

संविधानलाई टेकेर केही कामहरु अगाडि बढाइएको छ । तर संविधानमा लेखेको विषय जति कार्यान्वयन हुनुपर्ने थियो, त्यति हुन सकेको छैन । संविधानमा भएका व्यवस्था कार्यान्वयन गर्ने हो भने देशका धेरै समस्या समाधान हुन्थ्योजस्तो लाग्छ । तथापि संविधान संशोधन गर्नुपर्ने आवश्यकता देखिएको छ किनभने संविधानमा रहेका कतिपय प्रावधानले राजनीतिक स्थायित्वमा नै प्रश्न उठ्न थालेका छन् । जस्तै, निर्वाचन प्रणाली असाध्यै महँगो भयो । त्यसलाई संशोधन गर्नुपर्ने आवश्यकता छ । तर संविधानमा व्यवस्थित समानुपातिक प्रणालीलाई भने हटाउनु हुँदैन । त्यही समानुपातिक प्रणाली भएका कारण महिला, मधेसी, दलित, जनजाति संसद्सम्म पुग्न पाएका छन् । बरु महिलालाई समानुपातिक निर्वाचन क्षेत्र आरक्षण गर्नुपर्छ । संविधान संशोधन गर्दा महिलाको अधिकार कटौती गरिनुहुँदैन ।

देशमा सुशासनको लागि सरकार अलि कडा रुपमा प्रस्तुत हुनुपर्ने देख्दैछु । स्थायी सरकार भनेको कर्मचारी हो । मुख्यगरी कर्मचारी इमान्दार हुनुपर्छ सुशासनको लागि । राजनीतिक दलका नेता इमान्दार हुनुपर्छ । कर्मचारीले जनतालाई सास्ती दिनुहुँदैन । विदेशिएका युवाशक्तिलाई देशभित्रै फर्काउनका लागि सरकारले उद्योग खोलिदिनुपर्छ । उद्योग, कलकारखाना खोल्ने वातावरण सरकारले बनाउनुपर्छ । एउटा नेपाली युवा देशभित्रै केही गर्छु भनेर स्वदेश फर्किएको हुन्छ, तर देशभित्र वातावरण नै हुँदैन । सरकारको तल्लो तहदेखि माथिल्लो तहसम्म जनताले केही काम गराउनका लागि खुलेआम घुस दिनुपर्ने बाध्यात्मक अवस्था छ । घुस लिने कर्मचारीलाई सरकारले कारबाही गर्न सक्नुपर्छ । कानुनी राज्य निर्माण गर्न सकियो भने सुशासन कायम हुन्छ । कानुन सबै नराम्रा छैनन् । धेरै राम्रा कानुन पनि छन् । तर हामीले ती कानुनलाई अनुशरण गर्न गरेका छैनौँ ।

सङ्घीयतालाई बलियो बनाउनका लागि सबैभन्दा पहिला स्थानीय सरकारलाई बलियो बनाउनुपर्छ । स्थानीय सरकारलाई अधिकारसम्पन्न बनाउनुपर्छ । स्थानीय तहलाई अझै फराकिलो बनाउनुपर्छ । अहिले स्थानीय तहको सङ्ख्या पनि धेरै छ । अब संविधान संशोधन गर्दा दुईवटा पालिकालाई गाभेर एउटै बनाउनुपर्छ । कतिपय ठाउँमा सानासाना पालिका छन् । तिनीहरुलाई एउटै बनाएर बरु अधिकार बढाउनुपर्छ । स्थानीय तह भनेको जरा हो । जरा बलियो भएको खण्डमा रुख बल्ल बलियो हुन्छ । स्थानीय तह भनेको रुखको जरा हो । त्यसैले हामीले स्थानीय तहलाई बलियो बनाइयो भने सङ्घीयता पनि बलियो हुन्छ । सानासाना उद्योग खोल्ने अधिकार स्थानीय तहलाई पनि दिनुपर्छ । योसँगै स्थानीय तह आत्मनिर्भर हुन पनि जरुरी छ । स्थानीय तहको आम्दानीको बाटो खोज्नुपर्छ । स्थानीय तह आफैँले आम्दानी गरेर आफैँले खर्च गरोस् । सानो काम गर्दा पनि सङ्घीय सरकारको भर पर्नुपर्ने हुनुहुँदैन । सामान्य गाउँको बाटो बनाउन, विद्यालय बनाउँदा, स्वास्थ्य कार्यालय बनाउँदा सङ्घीय सरकारको भर पर्नुहुँदैन स्थानीय सरकार ।

आज धेरैले प्रदेश सरकारमाथि प्रश्न गरिरहेका छन् । प्रदेश सरकार घाँडो भयो भनिरहेका छन् । अनाहकमा राज्यको खर्च बढ्यो भनिरहेका छन् । हेर्दाखेरी हो कि जस्तो पनि लाग्छ । किनभने प्रदेश सरकारलाई सङ्घीय सरकारले चलाएको छ । सङ्घीय सरकार ढल्ने बित्तिकै प्रदेश सरकारहरु पनि ढल्ने उदाहरण स्थापित भइसकेका छन् । तर स्थानीय सरकार ढल्दैन । जसरी स्थानीय सरकार आफैँमा निर्भर छ त्यसैगरी प्रदेश सरकार पनि निर्भर हुन सिक्नुपर्छ । प्रदेश सरकारलाई बलियो बनाउन सङ्घीय सरकारले सहयोग गर्नुपर्छ । प्रदेश सरकारको निम्ति आवश्यक नीतिनियम कानुनहरु बनाइदिनुपर्छ । प्रदेशस्तरीय कानुनहरु बनाइदिनुपर्छ । प्रदेशसँग पनि आम्दानी गर्नका लागि धेरै स्रोतसाधन छन् । स्थानीय पर्यटन छ । धार्मिक मठमन्दिरहरु छन् । त्यसको भरपुर उपभोग गर्न सक्नुपर्छ ।

यदि साँच्चिकै देश बनाउने हो भने यतिबेला सबै राजनीतिक दलहरु एकै ठाउँमा उभिन जरुरी छ । जनताको अवस्थामा सुधार ल्याउन एकले अर्कालाई आरोप लगाएर होइन, सहयोगी भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । राजनीतिक दलहरु एकले अर्कालाई गाली मात्रै गरेर कसरी देश बन्छ ? झगडा मात्रै गरेर कसरी बन्छ ? देशलाई आत्मनिर्भर बनाउन गाँजाजस्ता लाभदायक बालीहरु विकास गर्नुपर्छ । हामीले आफ्नो देशमा जे फल्छ त्यही व्यापार गर्ने हो । कतार, साउदी अरब, दुबईमा तेल छ, सुमद्र छ, उनीहरुले त्यसकै व्यापार गरिरहेका छन् । मैले संसद्मा गाँजाखेतीसम्बन्धी सङ्कल्प प्रस्ताव पनि लैजादैछु ।

राष्ट्रियसभा सदस्य सापकोटाको परिचय

नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसम्पादन सदस्य विष्णुकुमारी सापकोटा राष्ट्रियसभा सदस्य हुन् । यसअघि उनले नेपाल विद्यार्थी सङ्घको केन्द्रीय सदस्य, नेपाल महिला सङ्घको सभापतिको जिम्मेवारीमा रहेर काम गरेकी थिइन् । उनी विगत लामो समयदेखि महिला अधिकारको क्षेत्रमा काम गर्दै आएकी छन् ।

राष्ट्रियसभा सदस्य श्री सापकोटासँग राससका समाचारदाता सुशील दर्नालले गर्नुभएको कुराकानीको सम्पादित अंश ।

कालीगण्डकी करिडोरको बादरजुङ र काभ्रेभिरको यात्रा अब सहज

म्याग्दी । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने बादरजुङ, घोप्टे र काभ्रेभिर पार गर्दा दुई वर्षअघि सम्म त्रसित हुने सवारी चालक सुदीप खड्का हिजोआज ढुक्कका साथ गाडी चलाउँछन् ।

“तल कालीगण्डकी र माथि ठाडो अक्करे भिरको बीचमा रहेको काभ्रेदेखि घाँसा नपुग्दासम्म मनमा डर लागिरहन्थ्यो”, उनले भने, “अक्करे भिरमा पनि सडक फराकिलो बनाएर ढलान गरी डिलतर्फ बार लगाएपछि अहिले ढुक्कका साथ गाडी चलाउन पाइएको छ ।”

भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत सबैभन्दा जोखिमयुक्त र साँघुरो काभ्रे, बादरजुङ र घोप्टेभिर क्षेत्रको सडक विस्तार र ढलान गरिएपछि यात्रा सहज, सुरक्षित र दुर्घटनाको जोखिम घटेको हो । काभ्रेभिरदेखि घाँसासम्मको दुई किलोमिटर सडकलाई आठ मिटर फराकिलो बनाएर ढलान गरिएको बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ ।

“धेरै ठाउँमा विस्फोटक पदार्थ प्रयोगबाट पहाड फुटाएर सडक फराकिलो पारिएको छ”, योजनाका इञ्जिनियर विष्णु चापागाईले भने, “तल बग्ने कालीगण्डकीले बनाएको खोच र विस्फोटक पदार्थको प्रयोग गरी भित्ता काटेर सडक फराकिलो बनाउँदा पहाड थर्किएर कमजोर भई थप पहिरो खस्ने जोखिम देखिएको काभ्रेभिर क्षेत्रमा ‘रक एंकरिङ/रक नेलिङ’ प्रविधिको प्रयोग गरेर फराकिलो र ग्रेड सुधार गरिएको हो ।”

उनकाअनुसार सडकमुनिको पहाडमा ड्रिलिङ गरेर रड राखी, कङ्क्रिट गरेर बेस बनाएर पक्की पर्खाल निर्माण गरेर डिलतर्फ सडक फराकिलो बनाइएको हो । रक एंकरिङ गर्न मजदुरले ड्रिलिङ गरेर फलामको रड राख्ने प्वाल (होल) बनाएका थिए ।

तीन दशमलव पाँच मिटर फराकिलो सडकमा यसअघि एकतर्फी मात्र सवारीसाधन चल्ने गर्दथे । हाल यस क्षेत्रको सडकलाई कम्तीमा आठ मिटर फराकिलो बनाइएको हो । नाली, खोल्सा र सडकको पानी व्यवस्थापन गर्न ह्युम पाइपबाट बगाउने संरचना बनाइएको छ ।

काभ्रेभिर, बादरजुङभिर र घोप्टेभिर क्षेत्रको सडक पार गर्न यसअघि कम्तीमा ३० मिनेट लाग्ने गर्दथ्यो । अहिले पाँच मिनेटमा सडक पार गर्न सकिन्छ । काभ्रेभिरदेखि मुस्ताङको घाँसासम्म अक्करे पहाड छिचोलेर मार्ग खोलिएको सडकमा ‘रक फल’ ढुङ्गाको पहिरो खस्ने र कालीगण्डकीले कटान गर्ने समस्या छ । विसं २०६३ मा नेपाली सेनाले मार्ग खोलेको यो ठाउँमा सवारीसाधन खस्ने, गुडिरहेको सवारीसाधनमा भिरबाट ढुङ्गा, पहिरो खसेर पुरिने, क्षति हुने गरेका छन् ।

बेनी–जोमसोम–कोरला सडकको तातोपानी–घाँसाखण्डको निर्माण कम्पनी शर्मा–गजुरमुखीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले प्रतिकूल भूगोलमा पनि मजदुरहरुले सुरक्षा सतर्कता अपनाएर सडक विस्तारको काम गरेका बताए ।

दुई वर्ष लगाएर काभ्रेभिर–बादरजुङ भिर क्षेत्रको सडक विस्तारको काम सकिएको उनले बताए । “मजदुरहरुले भिरमा रसिमा झुन्डिएर रड राख्ने प्वाल बनाएका थिए । फराकिलो पारिएको सडकलाई ढलान गरेर डिलतर्फ सिमेन्टको पिल्लर र फलामको साइडबार राखिएको छ”, उनले भने, “धेरै ‘रक फल’ हुने भएकाले डिबिएसडी प्रविधिको कालोपत्र सडक नटिक्ने देखिएपछि ढलान गरिएको हो । ढलान गरिएको ठाउँमा पनि भिरबाट खसेका ठूला ढुङ्गाले क्षति पुर्याएको छ ।”

यसैबीच १० किलोमिटर पाँच सय मिटर दूरीको तातोपानी–घाँसा खण्ड स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । अन्नपूर्ण गाउँपालिका–३ दानाका वडाध्यक्ष रमेश पुर्जाले पछिल्लो समय निर्माणले तीव्रता पाएको बताए ।

पहिरोको जोखिम रहेको तीन किलोमिटरबाहेकका ठाउँमा सडकलाई ११ मिटर फराकिलो बनाउने काम सकेर ढलान र डिबिएसडी प्रविधिको कालोपत्र गर्ने काम अन्तिम चरणमा पुर्याइएको हो । चालु आर्थिक वर्ष भित्रनै सडक स्तरोन्नतिको काम सकेर योजना कार्यालयलाई हस्तान्तरणको तयारी गरेको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीका आयोजना व्यवस्थापक न्यौपानेले बताए ।

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति विमानस्थलबाट पक्राउ

काठमाडौं । बलातकार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन् । सिन्धुलीको कमलामाई नगरपालिका–२ चियाबारी घर भएका २७ वर्षीय आशिष बुढाथोकी शनिबार पक्राउ परेका छन् ।

एनसिबि काठमाडौंबाट खटिएको प्रहरीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

बलात्कार मुद्दामा फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट अनुरोध भएपश्चात एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२५ फेब्रुअरी १४ मा उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिन्धुली पठाइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

सार्वजनिक सम्पतिमा क्षति गरेको भन्दै महानगरले गर्यो राप्रपालाई १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । राप्रपाले आइतबार आयोजना गरेको पूर्वराजाको स्वागत कार्यक्रमका क्रममा सडकपेटीमा रहेका रेलिङ तथा आइल्यान्डमा रहेका बिरुवामा क्षति पुगेको भन्दै महानगरले एक लाख रुपैयाँ जरिवाना गरेको हो ।

महानगरले काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम १००,०००।०० (अक्षरुपी एक लाख जरिवाना गरिएको जनाएको छ । यसअघि नेकपा एमालेको दरबारमार्गमा भएको कार्यक्रमका क्रममा पनि फोहोर भएको भन्दै महानगरले एक लाख जरिवाना गरेको थियो ।

गोकर्णेश्वरमा महिलाको हत्या गरेको आरोपमा पाँच जना पक्राउ

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा महिलाको हत्या गरी बोरामा प्याक गरेर शव फालिएको घटनामा संलग्न भएको आरोपमा पाँच जना पक्राउ परेका छन् । प्रहरी वृत्त बौद्धको टोलीले उनीहरुलाई पक्राउ गरेको पक्राउ पर्नेमा एक नाबालकसमेत छन् ।

पक्राउ पर्नेमा सर्लाहीको बागमती ढुंगेखोला घर भएका २५ वर्षीय कैलाश खड्का, मकवानपुरको हेटौडा शिखरपानी घर भएका २० वर्षीय सुरेश तामाङ, नुवाकोटको मेघाङ–४ देउराली घर भएका २४ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोकको तिपिने घर भएकी २० वर्षीया पूजा परियार र एक नाबालक रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए ।

शनिबार गोकर्णेश्वर नगरपालिका–७ नामी कलेज नजिकको बागमती खोलाको बीच भागमा पानीमा डुबेको अवस्थामा एक महिला मृत भेटिएकी थिइन् । बोरामा प्याक गरेको अवस्थामा शव फेला परेको थियो । हत्या गरिएकी महिलाको सनाखत भने हुन नसकेको प्रहरीले जनाएको छ ।

सरकारको स्पष्टीकरणमा यस्तो छ कुलमानको जवाफ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा मन्त्रालयलाई स्पष्टीकरण बुझाएका छन् ।

घिसिङले आइतबार मन्त्रालयमा स्पष्टीकरण बुझाएका हुन् । स्पष्टीकरणमा घिसिङले आफूलाई कारबाही गर्नुपर्ने कुनै कारण नभएको उल्लेख गरेका छन् । मन्त्रिपरिषद्ले निर्णय गरेर घिसिङलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

घिसिङले कार्यकारी निर्देशकको नेतृत्व लिएपछि लोडसेडिङ अन्त्य भएको, ९९ प्रतिशत विद्युतीकरण भएको, घाटामा रहेको संस्थालाई निरन्तर नाफामा लगेको, प्रभावकारी रूपमा चुहावट नियन्त्रण गरेको, भारत र बंगलादेशसम्म विद्युत् निर्यात गरी उल्लेख्य वैदेशिक मुद्रा आर्जन गर्न सफल भएको दाबी गरेका छन् ।