`

ट्रम्पको व्यापार युद्धपछि रुबियो क्यानाडा जाँदै

जेद्दा । अमेरिकी विदेशमन्त्री मार्को रुबियो राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको उच्चस्तरीय भ्रमणमा बुधबार क्यानाडाका लागि प्रस्थान गरेका छन् ।  

ट्रम्पले संयुक्त राज्य अमेरिकाको छिमेकी क्यानाडाले अस्तित्वको चुनौतीका रूपमा वर्णन गरेको व्यापार युद्ध सुरु गरेका छन्।

रुबियो क्युबेकको चार्लोभिक्समा विदेशमन्त्रीहरूको जी७ वार्तामा भाग लिनेछन् । त्यहाँ उनले रुसको सन् २०२२ को आक्रमणपछि युक्रेनलाई समर्थन गर्न एकजुट भएका औद्योगिक प्रजातन्त्रहरूको समूहलाई मस्को र किएभ दुवैलाई सम्झौता गर्न दबाब दिने ट्रम्पको दृष्टिकोणलाई समर्थन गर्न जोड दिने योजना बनाउनेछन् ।

रुबियो असामान्य सर्किट मार्ग लिँदै साउदी बन्दरगाह सहर जेद्दाबाट बुधबार बिहान प्रस्थान गरेका छन् । जेद्दामा एक दिनअघि उनले प्रारम्भिक युद्धविराम योजनाबारे छलफल गर्न शीर्ष युक्रेनी अधिकारीहरूलाई भेटेका थिए ।

अधिकांश अमेरिकी प्रशासनहरूमा राष्ट्रपति र वरिष्ठ अधिकारीहरूले क्यानडालाई पहिलो गन्तव्य बनाउँछन् र भ्रमणहरूले थोरै ध्यान आकर्षित गर्छन्, मित्रवत छिमेकीहरू आफ्नो दीर्घकालीन सम्बन्धहरू पुनः पुष्टि गर्नमा केन्द्रित हुन्छन् ।

तर सत्तामा फर्किएपछि ट्रम्पले कम जनसङ्ख्या भएको क्यानाडालाई संयुक्त राज्य अमेरिकाको ‘५१औँ राज्य’ बन्नुपर्ने भनेर खिसी गर्दै र यसमाथि कर लगाएर क्यानाडालाई आघात पुर्याएका छन् ।

 क्यानाडा र अन्य अमेरिकी व्यापारिक साझेदारहरूले सबै इस्पात र एल्युमिनियम आयातमा २५ प्रतिशत कर लगाएकै दिन रुबियो क्यानाडा आइपुग्दैछन् ।

मङ्गलबार ट्रम्पले क्यानाडामा कर दर दोब्बर गर्ने धम्की दिएका थिए तर सबैभन्दा बढी जनसङ्ख्या भएको प्रान्त ओन्टारियोले तीन अमेरिकी राज्यमा बिजुलीमा लगाएको अतिरिक्त महसुल स्थगित गर्न सहमत भएपछि पछि हटे ।

रुबिओले क्यानाडाली विदेशमन्त्री मेलानी जोलीसँग भेट्दा सम्भवतः व्यापार तनावबारे छलफल गर्ने स्वीकार गरे । यद्यपि दुई देशको अझै पनि जी७ सहित ‘साझा चासो’ रहेको बताए ।

स्ववियु निर्वाचन राजनीति हस्तक्षेपमुक्त बनाउन सांसद सुमना श्रेष्ठको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भयमुक्त र राजनीति हस्तक्षेपमुक्त बनाउन माग गरेकी छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा आरआर क्याम्पसमा स्ववियुका सचिव पदका उम्मेदवार दीपक देवकोटालाई खेलकुद ग्राउण्डमा सत्तापक्ष निकटका भातृ संगठनले सामूहिक आक्रमण गरेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

उनले भनिन्,‘स्ववियु निर्वाचन भयमुक्त होस् । सामाजिक संजालमा के आइरहेको छ भने आरआर क्याम्पसमा स्ववियु सचिवका उम्मेदवार दीपक देवकोटामाथि सामूहिक आक्रमण भएको भनेर आएको छ, यसमा मैले सरकारको ध्यानाकर्षण गराएँ । निर्वाचन भयमुक्त गराउनुपर्यो ।’

नसर्ने रोगका विरामीको पहिचान गर्दै ‘पौवादुङमा’

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले समाजमा लुकेर रहेका नसर्ने दीर्घरोगीको खोजी थालेको छ । अस्वास्थ्य खानपान तथा जीवनशैलाका कारण नसर्ने रोग बढ्ने सम्भावनालाई ध्यानमा राख्दै रोगको न्यूनिकरण तथा रोकथामको लागि गाउँपालिकाले खोजी थालेको हो ।

गाउँपालिकाले अहिले कार्यक्रम नै सञ्चालन गरेर स्थानीयको घर/घरमा पुगेर दीर्घरागीको खोजीसँगै पहिचान गरिरहेको पौवादुङमा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गेहेन्द्र उपाध्ययले जानकारी दिए ।

गाउँपालिकाका ३० वर्ष माथीका सम्पूर्ण नागरिकको स्वास्थ्य परिक्षण भइरहेको उनले बताए । हालसम्म सात सय जना स्थानीयको स्वास्थ्य परीक्षण गरिएको उनको भनाइ छ ।

“हामीले नसर्ने रोगहरुको पहिचान तथा खोजी गरिरहेका छ” शाखा प्रमुख दाहालले भने,“तीन वटा वडाका सात सय जनाको स्वास्थ्य परिक्षण सम्पन्न गरेका छौँ । यहाँका ३० वर्ष माथीका एक हजार सात सय जनाको स्वास्थ्य परिक्षण गरेर रोगको खोजी गर्ने हाम्रो लक्ष्य छ ।”

हालसम्मको परिक्षणमा यहाँका करिव १५ प्रतिशत नागरिक नसर्ने दीर्घरोगको जोखिममा देखिएको उनले जानकारी दिए । परीक्षणका क्रममा १० जनामा मिगौला समस्या र १५ जनामा महुमेहको लक्ष्य देखिएकाले उनीलाई उपचारको लागि बाहिरका अस्पतालमा पठाइएको शाखा प्रमुख दाहालले बताए ।

कार्यक्रममार्फत उच्चरक्त चाप, मिर्गौला, मधुमेह, मोटोपनका कारण लाग्ने रोगका लागि उचाई अनुसारको तौलको परिक्षण भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । विशेषज्ञ डाक्टररुको उपस्थितिमा ल्याव परिक्षण गरेर नै नागरिकको स्वास्थ्य जाँच भईरहेको प्रशासकीय अधिकृत भट्टराईले बताए ।

“नसर्ने रोगका कारण मावन स्वास्थ्यमा पुर्याउने क्षतिको न्यूनिकरणको लागि हामीले त्यस्ता रोगीहरुको खोजी गरिरहेका छौँ” उनले भने,“हामीले सानो सावधानी अपनाउन सकेको खण्डमा यस्ता रोगबाट बच्न सकिन्छ । नागरिकलाई सचेतनासँगै नसर्ने रोगको अवस्थाको जानकारी लिन रोगीहरुको खोजी थालेका हौँ । कतिपय मानिसहरुले रोग लुकाएर बस्दा अकालमा ज्यान पनि जान सक्छ । समयमा नै रोग पहिचान, उपचार पद्धती र सजक गराउनका लागि यो कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।”

अस्वास्थ्यकर खानपिन र जीवनशैलीका कारण वषेर्नी नसर्ने दिर्घरोगको विरामी बढ्दै गएकाले समयमा नै रोगको पहिचान, रोगथाम तथा बच्ने उपायको विषयमा नागरिकलाई सचेत गराउने उद्धेश्यले कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।

योजनाबद्ध रुपमा स्वास्थ्यका अन्य नियमित कार्यक्रम सञ्चालन भईरहेको भएपनि नसर्ने दिर्घरोगको रोकथाम तथा न्यूनिकरणको लागि नागरिकको स्वास्थ्य परिक्षणको काम भईरहेको अध्यक्ष राईले जानकारी दिए ।

“मानवको स्वास्थ्य नै धन हो”उनले भने,“हाम्रो सानो अवसावधिका कारण ठूलो रोगको सिकार बन्नु परेको अवस्था पनि छ । नसर्ने रोगको तत्काल लक्षण नदेखिने भएकाले बेलैमा रोगको पहिचान र उपचारको प्रक्रिया अघि बढाउन विरामीको खोजी थालेका हौँ । समयमा नै दिर्घ रोगको पहिचान गरेर रोकथाम तथा बच्ने उपायको विषय जानकारी गराउन अभियान सञ्चालन गरेका हौँ ।”

नागरिकलाई स्वास्थ्य खानपानमा जोड्न आयातित पेय पदार्थको विक्री वितरणमा कडाई गरिएको अध्यक्ष राईले बताए । गाउँपालिकाले नागरिकलाई पोषणुयक्त खानपानमा प्रोत्साहन गर्न उन्नत जातका गाई, भैंसी वितरण गरिरहेकोसमेत अध्यक्ष राईले बताए । गाउँघरमा पाउने अर्गानिक बस्तुको खानपिन तथा नियमित व्यामले नागरिकलाई स्वास्थ्य रहन मद्धत गर्ने उनको भनाइ छ ।

“हामीले नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ”अध्यक्ष राईले भने,“मानव स्वास्थ्यमा असर गर्ने खालका पेय पदार्थको बिक्री वितरणमा कडाई गरिरहेका छौँ । बाह्य पेय पदार्थको विकल्पमा दहि,महि प्रयोग गर्न नागरिकलाई आग्रह गरिरहेका छौँ । पोषणसँगै गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्यले स्थानीय कृषकलाई यो वर्ष मात्र ८० वटा उन्नत जात गाई वितरण गरेका छौँ ।”

बालवालिका, गर्भवती, सुत्केरी तथा बृद्धाबृद्धको स्वास्थ्यलाई ध्यानमा राखेर गाउँपालिकाले पोषण तथा स्वास्थ्यको क्षेत्रमा विभिन्न खालका काम गरिरहेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताए । नागरिकलाई अर्गानिक(जैविक) खेती प्रणालीमा जोड्न महिला विकास वोर्डमार्फत गड्यौला बनाउने, प्राङगारिक मल बनाउनेलगायतका कार्यक्रमसमेत सञ्चालन भइरहेको उपाध्यक्ष राईले जानकारी दिए ।

“हामीले स्वास्थ्यकर कृषि उत्पादनमा जोड दिएका छौँ”उनले भने,“रसायनिक मलको प्रयोगका कारण पनि धेरै किसिमका रोग लाग्ने भएकोले स्वास्थ्यकर कृषि उत्पादनमा जोड दिएका हौँ । कृषकलाई जैविक खेती प्रणाली लाग्न आवश्यक प्रोत्साहनसँगै सचेनाका कार्यसमेत गरिरहेका छौँ ।” 

मन्त्री अनुपस्थित भएपछि संसद बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठकमा मन्त्रीको उपस्थिति नभएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बुधबार बैठक सुरु हुनासाथ नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सदनलाई हेपेको बताएका थिए ।

उनले मन्त्री उपस्थित नभएकाले  बैठक स्थगित गर्न माग गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

प्रतिनिधिसभा बैठकमा एकजना पनि मन्त्री उपस्थित नभए संसद बैठक नबस्ने नियमावलीमा
व्यवस्था छ ।

पाकिस्तानमा रेलमा बन्धक बनाइएका १५० यात्रुको उद्धार, कम्तीमा १६ विद्रोहीको मृत्यु’

बीबीसी । पाकिस्तानको बलोचिस्तान प्रान्तमा सशस्त्र लडाकुहरूले एउटा यात्रुवाहक रेलमा आक्रमण गरी बन्धक बनाएकामध्ये कम्तीमा १५० जनाको उद्धार गरिएको र त्यस क्रममा १६ लडाकुको मृत्यु भएको छ ।

बलोच लिबरेशन आर्मी (बीएलए) का लडाकुहरूले मङ्गलबार क्वेटाबाट पेशावर जान लागेको जफर एक्स्प्रेस रेलमा गोली प्रहार गर्दै यात्रुहरूलाई आफ्नो नियन्त्रणमा लिएका थिए। उक्त रेलमा ४०० जनाभन्दा बढी यात्रु चढेको बताइएको छ।

उक्त पृथक्तावादी समूहले रेलमा धावा बोल्नुअघि दुर्गम सिबी जिल्लामा रेलको पटरीमा आफूले बम आक्रमण गरेको र रेल आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको थियो।

बन्धकहरूलाई मुक्त गर्न सेनाले कारबाही जारी राखेको छ। सो अभियानमा सुरक्षाकर्मीहरूले हेलिकप्टर पनि प्रयोग गरेका छन्।

रेलमा अब कति बन्धक बाँकी छन् भन्ने स्पष्ट छैन। यद्यपि पाकिस्तानी सेनाका एक वरिष्ठ अधिकारीले बीबीसीसँग कुरा गर्दै उक्त रेलमा १०० भन्दा बढी सैनिक चढेको पुष्टि गरेका छन्।

उद्धार हुनेहरूमध्ये केही व्यक्ति घाइते छन्। उनीहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।

स्थानीय सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार लडाकुहरूले बलोच राजनीतिक बन्दीहरूलाई ४८ घण्टाभित्र मुक्त गर्नुपर्ने माग राखेका थिए। आफ्नो माग पूरा नभए बन्धकहरूको हत्या गर्ने धम्की उनीहरूले दिएका थिए।

बीएलए पाकिस्तानको सत्तालाई चुनौती दिने विद्रोही सङ्गठन हो। उक्त समूहले बलोचिस्तानको स्वतन्त्रता माग गर्दै आएको छ।

एक वरिष्ठ प्रहरी अधिकारीलाई उदृत गर्दै समाचारसंस्था एएफपीले उक्त रेल पहाडहरूको बीचमा अवस्थित एउटा सुरुङमार्गका अगाडि रोकिएको विवरण प्रकाशित गरेको छ।

सन् १९६४ मा सिरियामा स्थापना भएको बीएलएफ सुरुमा इरानी बलोच विद्रोहमा संलग्न भयो। इरानी बलोचहरूले त्यहाँको सरकारविरुद्ध विद्रोह गरेका थिए।

सागसब्जी बेचेर मासिक एक लाख आर्जन

सुनसरी । प्रत्येक दिन रोजगारीको खोजीमा सयौँ युवा विदेशिने गरेका छन्भने केही भने विदेशबाट फर्किएर स्वदेशमा नै व्यवसायी बनेका छन् ।

विदेशबाट फर्किएर नेपालमा स्वरोजगार बनेका एक उदाहरण हुन् रामधुनी नगरपालिका–२ कालीझोडाका किसान सुरकुमार राई । एघार वर्ष विदेशमा श्रम गरेर स्वदेश फर्किएका उनले ३० हजार लगानीमा सुरु गरेको सागसब्जीखेतीबाट वार्षिक १२ लाख आम्दानी गर्दै आएका छन् ।

विसं २०७६ सालमा रामधुनी कृषि फार्म दर्ता गरेर अहिले १२ कट्ठा जमिनमा गोलभेँडाखेतीसँगै अन्य सागसब्जीखेती गरिरहेका सोलुखुम्बुका उद्यमी राईले मलेसिया र सिङ्गापुरमा आर्जन गरेको रकमबाट इलम थालेको बताए । उनको बारीमा गोलभेँडासँगै बोडी, सिमीलगायत सागसब्जी लहलहाएका छन् । उनको बारीमा दैनिक ज्यालादारीमा तीन जना कार्यरत छन् ।

उनले भने, “अहिले गोलभेँडाको सिजन अलि कम हुँदै गएका कारण तीनजना मात्र कामदार राखेको छु, , गोडमेल, मल हाल्ने मुख्य सिजनको समयमा १० जनासम्म कामदार राख्ने गरेको छु । मैले उत्पादन गरेको सागसब्जी बिक्रीका लागि बजार लानु पर्दैन, बजारको समस्या छैन खरिद गर्न व्यापारी आफैँ फार्ममा आउनुहुन्छ । धरान, इटहरी, गाईघाट, दमक बराहक्षेत्रका व्यापारी फार्ममा नै गोलभेँडा खरिद गर्न आउने गरेका छन् ।”

गोलभेँडाको मूल्य मङ्सिरदेखि पुससम्म राम्रो हुन्छ जुन समय ४५ देखि ६० सम्ममा फार्मबाटै व्यापारीले खरिद गरेर लाने गरेकामा अहिले भने बजारमा गोलभेँडाको मूल्य घटेको कारण १० देखि रु १५ मा बिक्री गर्नुपरेको उनले बताए । प्लाष्टिक टनेलमा गोलभेँडाखेती गरेका उनी यसो गर्दा उत्पादन बढ्ने उनले सुनाए । गोलभेँडाखेती सुरु गरेको वर्ष स्थानीय सरकारबाट उत्कृष्ट किसानका रूपमा पुरस्कृत भएपछि उनले पछाडि फर्केर हेर्नु परेको छैन । उनी काममा नै तन्मय छन् ।

गोलभेँडा आठ महिना उत्पादन हुन्छ, सिजनमा दैनिक १४ क्विन्टलसम्म बिक्री हुने गरेको उनले बताए । एक सिजनमा उनले तीन हजार क्विन्टलसम्म गोलभेँडा बिक्री गर्दै आएका छन् । स्थानीय सरकारले प्रत्येक वर्ष अनुदानस्वरुप गोलभेँडाको बीउ, मल प्रदान गर्ने गरेको छभने कृषि ज्ञान केन्द्रले २०७७ सालमा दिएकोरु सात लाख अनुदानले गोलभेँडाखेती विस्तार गर्न सहयोग पुगेको बताए ।

अनुदानसँगै तालिम पनि पाएमा कीरा नियन्त्रण गर्न सजिलो हुने उनी बताउँछन् । गोलभेँडाखेतीमा सही प्रविधि र सरकारी सहयोगसँगै बजार व्यवस्थापन राम्रो भयो भने अझ व्यावसायिक रूपमा राम्रो खेती गर्न सकिन्छ । जिल्लामा हाल आठ हजार एक सय ५३ हेक्टरमा सागसब्जीखेती हँुदै आएको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठले बताउँछन् । रामधुनीका साथै बराह क्षेत्रलगायत स्थानका किसानले गोलभेँडा, बन्दाकोबी र बोडीखेती गर्दै आएका छन् ।

जोमसोम बजार जोगाउन धमाधम तटबन्धन गरिँदै

मुस्ताङ । बर्सेनि कालीगण्डकीले जोमसोम बजार कटान गरेपछि तटबन्ध निर्माण प्रारम्भ भएको छ । सङ्घीय सरकारअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागको अगुवाइमा ‘जोमसोम बजार संरक्षण योजना’ अन्तर्गत नदी नियन्त्रण थालिएको हो ।

योजनाअन्तर्गत घरपझोङ गाउँपालिका-४ काठेपुलबाट जिल्ला प्रशासन कार्यालय र नेपाली सेनाको क्याम्प रहेको स्थानमा आरसिसीसहितको ‘ग्यावियन वाल’ ‘पल्मकङ्क्रिट वाल’, तटबन्धको बेस धमाधम निर्माण भइरहेको छ ।

संरक्षण योजनाका निर्माण कम्पनीका मुख्य प्रतिनिधि शिवकुमार श्रेष्ठका अनुसार हालसम्म ५५ प्रतिशत भौतिक र ४२ प्रतिशत वित्तीय प्रगति भएको छ ।

कालीगण्डकी नदी कटान र बर्सेनि वृद्धि हुने नदी उकासका कारण मुस्ताङको छुसाङबाट थासाङ गाउँपालिकाको लेतेसम्मको तटीय क्षेत्रका १३ गाउँ नदी कटानको जोखिममा छन् । ती स्थानको संरक्षणमा सङ्घीय तथा प्रदेश सरकारले विभिन्न चरणमा नदी नियन्त्रणको प्रयास जारी राखेको छ ।

बाबु र दाइबाट यौन दुव्र्यवहारमा परेकी छोरीलाई आमाको जिम्मा नलगाउन उच्च अदालतको आदेश

काठमाडौँ । उच्च अदालत पाटनले निवेदकको मागबमोजिम छोरीलाई जैविक आमाको जिम्मा लगाउनु पर्ने अवस्था नदेखिएको फैसला गरेको छ । महानगरपालिकाले आफ्नी छोरीलाई विद्यालयबाटै नियन्त्रणमा लिई बन्दी बनाएको आरोप लगाएर महानगरपालिकासहित ५ जना व्यक्ति तथा संस्थाविरुद्ध उच्च अदालत पाटनमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमा न्यायाधीश अञ्जु उप्रेती ढकाल र टीकाराम आचार्यको संयुक्त इजलासले यस्तो फैसला गरेको हो ।

यो घटना महानगरपालिकाको वडा नम्बर ४ अन्तर्गत पर्ने एक विद्यालयको कक्षा ७ मा अध्ययनरत छात्राको हो । उनले आफूमाथि घरभित्रै आफ्नै बुबा र बुबाका सहोदर दाजुका छोराले सानैदेखि पटकपटक यौन दुव्र्यवहार गर्ने गरेको घटना साथी र शिक्षिकालाई बताइन् । यो विषय महानगर बाल अधिकार समितिमा पुग्यो । त्यसपछि बाल उद्धार कार्यदलले घटनाको अध्ययन गर्यो । यसबाट बालिका जोखिममा देखिएपछि टोलीबाट बालिकाको उद्धार भएको थियो ।

उद्धार पश्चात बालिका महानगरपालिकाकै सिफारिसमा अस्थायी संरक्षण गृहमा रहदैँ आएकी छिन् । यस घटनामा पीडकहरु माथि जिल्ला अदालत काठमाडौँमा महानगरपालिकाले जाहेरीमा मुद्दा चलाइएको थियो । यसैबीच बालिकाकी आमाले, आफ्नी छोरीलाई काठमाडौँ महानगरपालिका, बालिका पढ्ने विद्यालय, विद्यालयका प्रधानाध्यापक, संरक्षण संस्था र संस्थाका प्रमुखले नियन्त्रणमा लिएर बन्धक बनाएको, छोरीको अवस्था आफूलाई थाहा नभएको भन्दै बन्दीप्रत्यक्षीकरणको मुद्दा दर्ता गरेकी थिइन् ।

मुद्दामा उच्च अदालत पाटनले विपक्षीहरुका नाउँमा ३ दिने लिखित जवाफ पेस गर्ने आदेश गरेको थियो ।
आइतबार महानगरपालिकासहितका विपक्षीले बालिकाको जोखिमपूर्ण अवस्था, उद्धारको प्रक्रिया र बालिकालाई संरक्षणका विषयमा विवरण पेश गरे । यसमा निवेदककोतर्फबाट अधिवक्ता प्रकाश खनियाले बहस गरेका थिए । यस्तै विपक्षीहरुकातर्फबाट वरिष्ठ अधिवक्ता महेश्वर नेपाल, अधिवक्ताहरु ओम प्रकाश अर्याल र कृष्णप्रसाद मरासिनीले बहस गरेका गरेका थिए ।

यस्तो छ अदालतले गरेको फैसलाको संक्षिप्त विवरण

यसमा निवेदकको छोरी उपरमा निजको बाबु तथा दाजुसमेतले बाल यौन दुरुपयोग गरेको भन्ने जाहेरी परी काठमाडौं जिल्ला अदालतमा मुद्दा परी विचाराधीन रहेको भन्ने देखिएको, निवेदकको छोरीलाई काठमाडौं महानगरपालिकाको अनुरोधमा अस्थायी संरक्षण संस्थामा संरक्षण दिई राखिएको पाइएको, उक्त संस्थाले यौन हिंसामा परेका बालबालिकालाई परामर्श, शिक्षा तथा संरक्षण दिई आएको र समय समयमा आमासँग भेटघाट गर्न दिई राखेको भन्ने देखिएको र बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ५० को उपदफा (८) को व्यवस्थासमेतका आधारमा निवेदनको दावी बमोजिम गैर कानुनी नियन्त्रणमा राखेको भनी मान्न सकिएन । तसर्थ, निवेदकको मागबमोजिम निजको छोरीलाई जिम्मा लगाउनु पर्ने अवस्था देखिएन । निवेदकले आफ्नी छोरीलाई भेट्न मागेका बखत भेटघाट गर्न दिनू, सोको प्रवन्ध मिलाई दिनू भनी विपक्षी काठमाडौं महानगरपालिका र संस्थाका नाममा आदेश जारी हुने ठहर्छ ।

के भएको थियो घटना ?
२०८१ पुस ४ गते महानगरपालिकाको हटलाईन नम्बर ११८० मा एक अपरिचित व्यक्तिको फोन आयो । ‘कक्षा ७ मा अध्ययन गर्ने ऋऋषा (नाम परिवर्तन) लाई सेक्सुयल एब्युज भएको रहेछ । तुरुन्तै उद्धार गरिदिनुपर्यो ।’

यो माग त्यहाँबाट सामाजिक विकास विभागमा पठाइयो । विभागले तत्काल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक महाशाखा महाशाखामा पठायो । महाशाखाका प्रमुख एवं बाल कल्याण अधिकारी शान्ता पहाडीले, गुनासो उल्लेख गर्दै बालिकालाई महानगरपालिकाको बालमनोपरामर्श तथा पारिवारिक परामर्श कक्षमा उपस्थित गराउन विद्यालयलाई पत्र पठाइन् । पत्र लिएर बालमनोविज्ञहरु विद्यालय पुगेका थिए ।

परामर्शका क्रममा बालिकाकी आमासहितलाई प्रारम्भिक सोधपुछ गरिएको थियो । त्यसक्रममा बालिकाले आफूमाथि बुवा र ठुलोबुवाको छोरा दाजुबाट यौन दुव्र्यवहार हुने गरेको बताइन् । बालिका सुनाएको विवरणका आधारमा महानगरपालिकाका बाल मनोविज्ञ र समाजसेवीबाट मनोसामाजिक प्रतिवेदन तयार भयो ।

प्रतिवेदनमा बालिकालाई ४५ वर्षका बुवाले उनी कक्षा ३ मा पढ्दादेखि नै कपडा भित्रबाट पिसाव फेर्ने ठाउँमा हात हालेर छुने, माड्ने र चलाउने, उनको छातीमा समेत कपडा भित्रबाट हात हाली छुने, निचोर्ने जस्ता यौनजन्य गतिविधि गर्ने कुरा बालिकाले बताएको ब्यहोरा उल्लेख छ ।

त्यसैगरी उनका ठुलोबुवाका छोरा २२ वर्षीय दाजुले समेत घरमा आमा नभएको मौका छोपी गलत नियत राखेर पटकपटक चुम्बन गर्ने, खाटमा लडाएर छाती चलाउने, टाँसिएर प्रजनन अङ्गले छुवाउने गरेको बालिकाले बताएको भन्ने ब्यहोरा उल्लेख छ । आफू महिनावारी हुँदा समेत बुवाले सोही प्रकृतिको यौन दुव्र्यवहार गर्ने गरेको बालिकाले बताएकी छिन् ।

कानुनले के भन्छ ?
बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा (५०) ले बालबालिकाको संरक्षणको अधिकार स्थानीय तहको बाल कल्याण अधिकारीलाई दिएको छ । ऐनको दफा (५०) को उपदफा (८) मा बालबालिका पीडित भएको मुद्दामा पीडित बालबालिकाले चाहेमा वा बाबुआमा अभिभावक नै पीडक भएमा वा पीडकसँग मिली बालबालिका थप जोखिममा पर्ने सम्भावना देखिएमा वा घटनाको छानबिन कारबाही तथा सत्य तथ्य बुझ्न बाधा पर्ने देखिएमा बाल कल्याण अधिकारीले त्यस्ता पीडित बालबालिकालाई बाबुआमा वा परिवारबाट समेत निश्चित अवधिका लागि अलग गराई अस्थायी संरक्षणमा सेवामा राख्ने व्यवस्था रहेको प्रमुखको सचिवालय सदस्य धिरज जोशी बताउँछन् ।

ऐनले स्थानीय तह र बाल कल्याण अधिकारीलाई दिएको अधिकार कार्यान्वयन गर्न महानगरपालिकाले बाल संरक्षण तथा बाल अधिकार सम्बन्धी कार्यविधि, २०८० जारी गरेर कार्यान्वयनमा ल्याएको छ । यसअनुसार महानगरपालिकाले बाल उद्धार कार्यदल गठन गरेर जनप्रतिनिधिको नेतृत्वमा राष्ट्रिय बाल अधिकार परिषदका प्रतिनिधि, बालबालिका खोजतलास सेवा (१०४), बाल हेल्पलाईन (१०९८), बाग्मती श्रम तथा रोजगार कार्यालयका प्रतिनिधि सम्मिलित कार्यदलमार्फत जोखिममा रहेका बालबालिकाको उद्धार गर्ने गरिएको छ ।

स्वार्थी र विदेश परस्त शक्तिहरुको क्षणिक वितण्डाबाट राजसंस्था पुनःस्थापना असम्भवः झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले कुनै स्वदेशी, विदेशी षडयन्त्र र प्रपञ्चबाट गणतन्त्रलाई कसैले हल्लाउन नसक्ने बताएका छन् ।

बुधबार विज्ञप्ति जारी गरी खनालले इतिहासले कूडाकर्कट बनाएर फ्याँकीसकेका तत्वको पुनः स्थापना सम्भव नभएको बताएका हुन् ।

उनले भनेका छन्, ‘अब नेपालमा जहिलेसम्म नेपाल राज्य रहने छ, त्यसबेला सम्म गणतन्त्र रहने छ । यसलाई कुनै स्वदेशी विदेशी षडयन्त्र र प्रपञ्चबाट कसैले हल्लाउन सक्तैन । यो गणतन्त्र आज पुँजीवादी गणतन्त्रका रुपमा छ, यो अझ अघि बढेर समाजवादी गणतन्त्रमा रुपान्तरण हुनेछ । तर इतिहासले कूडा करकट बनाएर फ्याँकीसकेका तत्वहरुलाई कुनै मतिभ्रष्ट, स्वार्थी र विदेश परस्त शक्तिहरुको क्षणिक वितण्डाबाट पुनःस्थापना गर्नु सम्भव छैन ।’

उनले कुनै पनि तानाशाहहरुका निम्ति संबिधान कागजको खोस्टो मात्र हुने भन्दै राजावादीहरुको हर्कत नियन्त्रण गर्नुपर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘पूर्वराजा ज्ञानेन्द्रको निम्ति आजको संविधान पनि त्यस्तै भएको छ । राजतन्त्रवादीहरुका यी उदण्डतापूर्ण हरकतहरु, संविधान विरोधी, गणतन्त्र विरोधी र धार्मिक समानता विरोधी प्रचारहरुको दृढतापूर्वक खण्डन गरौँ, वर्तमान गणतन्त्र र त्यसलाई समाजवादी गणतन्त्रमा रुपान्तरण गर्नुपर्ने आवश्यकता र औचित्यको पुष्टि गरौँ, राजतन्त्रवादीहरुलाई विदेशीहरुले दिईरहेको टेको पुडोको भण्डाफोर गरौँ ।’

उनले राजतन्त्रवाद र यथास्थितिवादको एक मात्र विकल्प वैज्ञानिक समाजवाद नै भएको उनले उल्लेख गरेका छन् ।

नौ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले नौवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले बुधबार सूचना जारी गरी विभिन्न निकायबाट कालो सूचीमा राख्नको लेखि पठाएअनुसार नौवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जानकारी दिएको छ ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती निर्माण कम्पनीलाई काली सूचीमा राखिएको सूचनामा उल्लेख छ।

अमेरिकी प्रस्तावलाई स्वीकार गर्दै ३० दिने अस्थायी युद्धविरामको लागि युक्रेन सहमत

बीबीसी । युक्रेनले अमेरिकी प्रस्तावलाई स्वीकार गर्दै ३० दिने अस्थायी युद्धविरामको लागि सहमति जनाएको छ । मंगलबार साउदी अरेबियाको जेद्दामा युक्रेन र अमेरिकी प्रतिनिधिमण्डलबीच उच्चस्तरीय वार्तामा यस्तो सहमति भएको हो ।

वार्तापछि अमेरिकाले युक्रेनलाई सुरक्षा सहायता पुनः सुरु गर्ने तथा खुफिया जानकारी आदानप्रदानमा रोक नलगाउने जनाएको छ । ह्वाइट हाउसमा आयोजित कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम प्रस्तावबारे प्रतिक्रिया जनाउँदै युक्रेनले यसमा सहमति जनाएको रुसले पनि समर्थन गर्ने आशा व्यक्त गरे ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ता गर्ने संकेत गर्दै ट्रम्पले आपसी समझदारीका लागि पहल गर्ने उल्लेख गरे । वार्तामा अमेरिकी विदेश सचिव मार्को रुबियोले साउदी अरेबियाको मध्यस्थताको प्रशंसा गर्दै अब रुसले युद्धविराम सर्तहरू स्वीकार गरेर वास्तविक शान्ति वार्तामा अघि बढ्नुपर्ने बताए ।

उनले वार्ताको सफलताका लागि अमेरिकी राष्ट्रपति ट्रम्पको पहललाई श्रेय दिँदै युद्ध अन्त्य गर्नु नै प्रमुख उद्देश्य रहेको स्पष्ट पारे ।

यस वार्तामा अमेरिकाको तर्फबाट विदेश सचिव मार्को रुबियोसँगै राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र मध्यपूर्व राजदूत स्टीभ विटकफ सहभागी थिए भने युक्रेनको तर्फबाट राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका प्रमुख कर्मचारी एन्ड्री येर्माक, विदेशमन्त्री एन्ड्रि सिबिहा र रक्षामन्त्री रुस्टेम उमरोभ उपस्थित थिए । फेब्रुअरी २८ मा ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच विवाद भएको थियो । त्यसयता अमेरिका र युक्रेनबीच उच्चस्तरीय वार्ता हुन सकेको थिएन ।

अमेरिका–युक्रेन वार्ता सकारात्मक दिशामा

साउदी अरेयिबा । मङ्गलबार साउदी अरेबियामा अमेरिका र युक्रेनी प्रतिनिधिमण्डलबीचको वार्ता ‘ठीकै’ भइरहेको एक वरिष्ठ युक्रेनी अधिकारीले बताएका छन् ।

रुसले ३०० भन्दा बढी युक्रेनी ड्रोन खसालेको केही घण्टापछि युक्रेनी र अमेरिकी वरिष्ठ अधिकारीहरूले तीन वर्षदेखिको युद्ध अन्त्य गर्ने विषयमा केन्द्रित रहेको मङ्गलबार वार्ता सुरु गरेका थिए ।

साउदी सहर जेद्दामा भएको वार्ता गत हप्ता राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई रुससँगको युद्ध अन्त्य गर्न दबाब दिन युक्रेनलाई अमेरिकी सैन्य सहायता र केही गुप्तचर आदानप्रदान रोकेको बेला आएको हो ।

ट्रम्पका विशेष दूत स्टीव विटकफ यस सप्ताहन्तमा मस्को जाने अपेक्षा गरिएको छ, जहाँ उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्न सक्नेछन् ।

“एक वरिष्ठ युक्रेनी प्रतिनिधिमण्डलले अमेरिकाका शीर्ष कूटनीतिज्ञ, अमेरिकी विदेश सचिव मार्को रुबियोसँग भेट गर्नुभयो,” समाचार ऐजेन्सीले जनाएको छ ।

यद्यपि, युक्रेनी राष्ट्रपतिका सहयोगी एन्ड्री येर्माकले भने,“सबैभन्दा महत्त्वपूर्ण कुरा युक्रेनमा न्यायपूर्ण र दिगो शान्ति कसरी प्राप्त गर्ने हो ।” उनले भविष्यमा रूसलाई फेरि आक्रमण गर्नबाट रोक्न सुरक्षा ग्यारेन्टीहरू महत्त्वपूर्ण रहेको बताए ।

गत महिना ओभल अफिसमा ट्रम्प र जेलेन्स्कीबीचको विवादपछि दुवै पक्षबीचको यो पहिलो भेट थियो ।
बैठकमा साउदी अरबका विदेशमन्त्री पनि उपस्थित थिए । पत्रकारहरुले उठाएका प्रश्नहरुको जवाफ अधिकारीहरुले दिएनन् ।

प्रतिनिधिमण्डलले बिहान करिब तीन घन्टा भेट गरेपछि विश्राम लिएका थिए । वार्ता जारी रहेको अधिकारीहरुले बताएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको फेब्रुअरी २८ को वासिङ्टन भ्रमण ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग ओभल अफिसमा बहस हुँदा भएको क्षति सुधार गर्न किएभले प्रयास गरिरहेको छ ।

युद्धमा युक्रेनलाई सहयोग गरेको संयुक्त राज्य अमेरिकाले पहिले प्रस्ताव गरेको सैन्य सहायता र गुप्तचर जानकारी जोखिममा छ तर वासिङ्टनले शान्ति सम्झौताका लागि दबाब दिँदै गर्दा अहिले रोक लगाइएको छ ।

रूबियो र जेलेन्स्की सोमबार केही घण्टाको अन्तरमा साउदी अरेबियामा अवतरण गरे तर भेटघाट गरेनन् ।

जेलेन्स्कीले सोमबार साँझ राज्यको शक्तिशाली क्राउन प्रिन्ससँग भेट गरे । उनीहरूबीच ‘युद्धको अन्त्य गर्न र भरपर्दो र स्थायी शान्ति सुरक्षित गर्न आवश्यक कदम र सर्तहरूमा विस्तृत छलफल भएको’ जेलेन्स्कीले बताए ।

“साउदी अरेबियाले कूटनीतिका लागि महत्त्वपूर्ण मञ्च प्रदान गर्दछ र हामी यसको कदर गर्छौं”, जेलेन्स्कीले अनलाइनमा भने ।

रुबियोले पनि क्राउन प्रिन्स मोहम्मद बिन सलमानलाई भेट गरे । उनले वार्ताको आयोजना गरेकामा धन्यवाद दिए र यमनका हुथी विद्रोहीहरूबारे पनि छलफल गरे । हुथी विद्रोहीहरूले लाल सागरमा आफ्नो आक्रमण पुनः सुरु गर्ने धम्की दिएका छन् ।

आइपुग्नुअघि आफ्नो विमानमा पत्रकारहरूसँग कुरा गर्दै रुबियोले आफू र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले साउदी अरबमा युक्रेनको प्रतिक्रियाको समीक्षा गर्ने बताए ।

यदि युक्रेन र अमेरिका ट्रम्पलाई स्वीकार्य समझदारीमा पुगे भने त्यसले उनको प्रशासनको शान्ति वार्ताको प्रयासलाई तीव्र पार्न सक्छ ।

“उनीहरू युक्रेनीहरूका लागि यो महँगो र रक्तपातपूर्ण युद्ध भएको कुरा स्वीकार गर्दै उनीहरूले विचार गर्न सक्ने कुनै प्रकारको शान्ति वार्तालाप र सामान्य रूपरेखाहरूमा प्रवेश गर्न इच्छुक छन्कि छैनन् भन्नेबारे हामी जान्न चाहन्छौँ । उनीहरूले धेरै पीडा भोगेका छन् र उनीहरूका जनताले धेरै पीडा भोगेका छन्”, रुबियोले भने, “र यस्तो कुराको परिणाममा रियायतहरूको बारेमा कुरा गर्न पनि गाह्रो छ, तर यो अन्त्य गर्ने र थप कष्टहरू रोक्ने एक मात्र तरिका हो ।”

“म उनीहरूले के गर्नुपर्छ वा के गर्न आवश्यक छ भन्ने बारे कुनै शर्त राख्ने छैन । मलाई लाग्छ हामी उनीहरू कति टाढासम्म जान इच्छुक छन् भन्ने सुन्न चाहन्छौँ र त्यसलाई रुसीहरू के चाहन्छन् भन्नेसँग तुलना गर्न र हामी वास्तवमै कति टाढा छौँ भन्ने हेर्न चाहन्छौँ”, उनले भने ।

जेलेन्स्कीले रुबियोलाई भेट्ने आफ्नो टोलीमा उनका चिफ अफ स्टाफ एन्ड्री यर्मक, विदेशमन्त्री एन्ड्री सिबिहा र रक्षामन्त्री रुस्टेम उमरोभ समावेश हुने बताए  । रुबियोले अमेरिकी टोलीको नेतृत्व गर्नेछन् ।

वासिङ्टनले किनारा लगाएको हुनाले बाँकी युरोप वार्ताबारे सशङ्कित रहेको छ । युरोपेली सङ्घ (इयु) ले गत हप्ता महादेशको सुरक्षा बढाउन र ट्रम्प प्रशासनको युक्रेनमा अवस्था परिवर्तनको जवाफमा सुरक्षाका लागि सयौँ अर्ब युरो मुक्त गर्न सहमति जनाएको थियो ।

ह्वाइट हाउसका विशेष दूत स्टिभ विट्कफले फक्स न्युजलाई युक्रेनसँग अमेरिकी जासुसी–साझेदारी रोक्दा रक्षा जासुसी–साझेदारी सीमित नभएको बताए ।

देशलाई अशान्तितर्फ धकेल्ने घटनालाई प्रतिकार गर्न समाजवादी मोर्चाको अपील

काठमाडौँ । समाजवादी मोर्चा नेपालले पछिल्लो विकासित राजनीतिक घटनाक्रमबारे नागरिक समाज, बुद्धिजीवी, विभिन्न पेसामा आबद्ध व्यक्तित्वसँग बृहत् अन्तरक्रिया गर्ने भएको छ ।

आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा मंगलबार बसेको मोर्चाको बैठकले प्रतिगामी शक्तिविरुद्ध कसरी एकताबद्ध भएर अगाडि बढ्न सकिन्छ भन्नेबारे सुझाव सङ्कलन गर्न आगामी चैत १ गते अन्तक्र्रिया गर्ने निर्णय गरेको नेता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।

मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सबै परिवर्तनकारी लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्ने विषयमा छलफल गरिएको र बैठकमा गणतन्त्रात्मक व्यवस्थालाई थप समुन्नत र सुदृढ गर्ने विषयमा समीक्षा गरिएको उनले बताए ।

बैठकमा यही फागुन २५ गते राजावादीहरूले गरेको प्रदर्शन, पार्टीका गतिविधिहरूबारे छलफल गरिएको र मोर्चाले निर्माण गर्ने कार्ययोजना चैत १ गते पत्रकार सम्मेलनमार्फत जानकारी दिनेसमेत निर्णय गरिएको छ ।

मोर्चाले विभिन्न राजनीतिक गतिविधि सञ्चालन गर्न जनपरिचालन कार्ययोजनामा तथा समसामयिक राजनीति तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिबारे समीक्षा गरेको पनि नेता विश्वकर्माले जानकारी दिए ।

बैठकले आगामी चैत १५ गते काठमाडौँमा गणतन्त्र रक्षाका लागि विशाल प्रदर्शन तथा आमसभा गर्ने निर्णयसमेत गरेको छ ।

लोकतन्त्र कार्यान्वयनका लागि काम गर्नुपर्छ : सांसद यादव

काठमाडौँ । जसपा नेपालका सांसद राजकिशोर यादवले लोकतन्त्र कार्यान्वयनका लागि काम गर्नुपर्ने बताएका छन् । उनले व्यवस्था मात्रै फेरिएर नहुने उल्लेख गर्दै कार्यशैली पनि फेरिनुपर्ने बताए ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा सांसद यादवले सबै दलले विगतमा भएका गल्ती कमजोरी सुधार गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

चुरे विनाशविरुद्ध बोल्ने पत्रकारको क्यामरा फुटाउनु लोकतन्त्रविपरीत कार्य भएको उनको भनाइ थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवमा वरीयताका आधारमा पहिलो नम्बरमा सिफारिस डा सङ्गीता कौशल मिश्रालाई सचिव बढुवामा सिफारिस नगरिएकामा सांसद यादवले आपत्ति जनाए ।

त्यस्तै लोसपाका सांसद रामप्रकाश चौधरीले स्वास्थ्य सचिव सिफारिस राजनीतिक आस्थाका आधारमा गरिएको आरोप लगाए । उनले गत साउनमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको विषयमा निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै नागरिक उन्मुक्तिका सांसद गङ्गाराम चौधरीले खुला सिमानाका कारण अवैध निकासी पैठारी नरोकिएको बताए । शिक्षक आन्दोलनरत रहेका उल्लेख गर्दै सांसद चौधरीले उनीहरूको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराए ।

नेप्से परिसूचकमा ३२ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२ दशमलव २१ अङ्कले घटेको छ । पुँजीबजार कारोबार पछिल्लो सात दिनमा लगातार घट्दो क्रममा देखिएको हो । आज नेप्से परिसूचकमा एक दशमलव १७ प्रतिशतको गिरावट पछि दुई हजार सात सय १९ दशमलव २० को बिन्दुमा कायम भएको छ ।

आज तीन सय तीन कम्पनीको एक करोड ५५ लाख ५९ हजार छ सय ८३ कित्ता शेयर ९२ हजार ३१ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ३९ करोड ११ लाख ४९ हजार बराबरको कारोबार भएको छ ।

आज विकास बैङ्क समूह एक दशमलव ९३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ७१, वित्त एक दशमलव ५७, होटल तथा पर्यटन एक दशमलव १३, जलविद्युत् एक दशमलव ५१, लगानी एक दशमलव ८९ र जीवन बीमा समूह एक दशमलव ३० प्रतिशतले घटेको छ । त्यसैगरी, उत्पादन तथा प्रशोधन समूह दुई दशमलव ४९, लघुवित्त शून्य दशमलव ८९, म्युचुअल फन्ड शून्य दशमलव १०, निर्जीवन बीमा शून्य दशमलव ९९, व्यापार समूह एक दशमलव ७९ र अन्य समूह एक दशमलव ६८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू ५८ करोड ६५ लाख १७ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै महालक्ष्मी विकास बैङ्क लिमिटेडको नौ लाख ९१ हजार चार सय ४४ कित्ता शेयर किनबेच भएको छ ।

ट्रम्पको दाबीपछि भन्सार कटौतीको कुनै प्रतिबद्धता छैन : भारत

नयाँदिल्ली ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँदिल्लीले ‘उनीहरूको भन्सार शुल्क धेरै तल घटाउन’ सहमत भएको घोषणा गरेको केही दिनपछि भारतले अमेरिकी उत्पादनहरूमा आयात कर घटाउन प्रतिबद्ध नभएको बताएको छ ।

आफ्नो दोस्रो कार्यकालको केही हप्तामै ट्रम्पले मित्र र शत्रुहरूलाई समान रूपमा लक्षित गर्दै विश्वव्यापी व्यापारलाई बढावा दिएको छ ।

उनले सबै व्यापारिक साझेदारहरूलाई ‘अनुचित’ अभ्यासको आरोप लगाउनुभएको छ र आगामी महिनादेखि भारतसहित धेरै देशमा पारस्परिक भन्सार लगाउने घोषणा गरेका छन् ।

ट्रम्पले गत हप्ता भारतको ‘ठूलो भन्सार’ बारे एक पटक फेरि आलोचना गरेका थिए ।

‘तपाईँ भारतमा केही पनि बेच्न सक्नुहुन्न, यो लगभग प्रतिबन्धात्मक छ’, ट्रम्पले भने, ‘जे होस् उनीहरू सहमत भएका छन्, उनीहरू अहिले आफ्नो भन्सार शुल्क कटौती गर्न चाहन्छन् किनभने कसैले अन्ततः उनीहरूले के गरेका छन् भनेर उजागर गरिरहेको छ ।’

तर भारत सरकारले संसदीय समितिलाई ‘यस विषयमा अमेरिकासँग कुनै प्रतिबद्धता गरिएको छैन’ भनी मङ्गलबार टाइम्स अफ इन्डिया अखबारको एक रिपोर्टले जनाएको छ ।

‘सरकारले अमेरिकी राष्ट्रपतिद्वारा बारम्बार उठाइएको मुद्दालाई सम्बोधन गर्न सेप्टेम्बरसम्म समय मागेको छ’, अखबारमा भनिएको छ ।

भारतका वाणिज्य सचिव सुनील बर्थवालले भने, ‘भारत र अमेरिकाले तत्काल भन्सार शुल्क समायोजनको सट्टा दीर्घकालीन व्यापार सहयोगमा ध्यान केन्द्रित गर्दै पारस्परिक रूपमा फाइदाजनक द्विपक्षीय व्यापार सम्झौताको दिशामा काम गरिरहेका छन् ।’

गत महिना ह्वाइट हाउसको भ्रमण गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्रम्पसँग स्वीकार्य सम्बन्ध छ । ट्रम्पले भ्रमणका बेला भारतीय नेतासँग ‘विशेष सम्बन्ध’ साझा गरेको बताए ।

मोदीले विश्वको सबैभन्दा ठूलो र पाँचौँ ठूलो अर्थतन्त्रले ‘आपसी लाभदायक व्यापार सम्झौता’ मा काम गर्ने र त्यसलाई ‘चाँडै नै’ अन्तिम रूप दिइने बताए ।

संयुक्त राज्य अमेरिका भारतको सूचना प्रविधि र सेवा क्षेत्रका लागि महत्त्वपूर्ण बजार भए पनि वासिङ्टनले हालैका वर्षहरूमा नयाँदिल्लीलाई अर्बौं डलरको नयाँ सैन्य हार्डवेयर बिक्री गरेको छ ।

अस्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिकाको चार–पक्षीय समूह क्वाडका राष्ट्र प्रमुखहरूको शिखर सम्मेलनमा भाग लिन ट्रम्पले यस वर्षको अन्त्यमा भारतको भ्रमण गर्नसक्ने अपेक्षा गरिएको छ ।

साउदी अरबमा अमेरिकासँगको वार्ताका क्रममा युक्रेनले सीमित युद्धविरामको प्रस्ताव गर्ने

जेद्दा (साउदी अरेबिया)। रुससँगको तीन–वर्षे युद्ध अन्त्य गर्न साउदी अरेबियामा अमेरिकाका शीर्ष कूटनीतिज्ञसँग भेट्न तयार युक्रेनी प्रतिनिधिमण्डलले कृष्ण सागर र लामो दूरीको क्षेप्यास्त्र आक्रमणका साथै बन्दीहरूको रिहाइ समेट्ने युद्धविरामको प्रस्ताव गर्ने दुई वरिष्ठ युक्रेनी अधिकारीहरूले सोमबार बताएका छन् ।

मङ्गलबारको बैठकको बारेमा सार्वजनिक रूपमा बोल्न अधिकृत नभएका कारण नाम नछाप्ने सर्तमा ती अधिकारीहरूले युक्रेनी प्रतिनिधिमण्डल युक्रेनको दुर्लभ खनिजहरूमा पहुँच सम्बन्धी संयुक्त राज्य अमेरिकासँग सम्झौतामा हस्ताक्षर गर्न वार्ताको क्रममा तयार रहेको बताए । उक्त सम्झौतालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सुरक्षित गर्न उत्सुक छन् ।

जेद्दामा अमेरिकी विदेशमन्त्री मार्को रूबियोसँग युक्रेनी वार्ता टोलीको बैठकअघि थप विवरण उपलब्ध नगराई अधिकारीहरूले विश्वास निर्माण गर्ने उपायहरूबारे छलफल गरेका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको फेब्रुअरी २८ को वासिङ्टन भ्रमण ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग ओभल अफिसमा बहस हुँदा भएको क्षति सुधार गर्न किएभले प्रयास गरिरहेको छ ।

युद्धमा युक्रेनलाई सहयोग गरेको संयुक्त राज्य अमेरिकाले पहिले प्रस्ताव गरेको सैन्य सहायता र गुप्तचर जानकारी जोखिममा छ तर वासिङ्टनले शान्ति सम्झौताका लागि दबाब दिँदै गर्दा अहिले रोक लगाइएको छ ।

रूबियो र जेलेन्स्की सोमबार केही घण्टाको अन्तरमा साउदी अरेबियामा अवतरण गरे पनि भेटघाट गरेनन् । जेलेन्स्कीले सोमबार साँझ राज्यको शक्तिशाली क्राउन प्रिन्ससँग भेट गरे । उनीहरूबीच ‘युद्धको अन्त्य गर्न र भरपर्दो र स्थायी शान्ति सुरक्षित गर्न आवश्यक कदम र सर्तहरूमा विस्तृत छलफल भएको’ जेलेन्स्कीले बताए ।

“साउदी अरेबियाले कूटनीतिका लागि महत्त्वपूर्ण मञ्च प्रदान गर्दछ र हामी यसको कदर गर्छौं”, जेलेन्स्कीले अनलाइनमा भने । रुबियोले पनि क्राउन प्रिन्स मोहम्मद बिन सलमानलाई भेट गरे । उनले वार्ताको आयोजना गरेकामा धन्यवाद दिँदै यमनका हुथी विद्रोहीहरूबारे पनि छलफल गरे । हुथी विद्रोहीहरूले लाल सागरमा आफ्नो आक्रमण पुनः सुरु गर्ने धम्की दिएका छन् ।

आइपुग्नुअघि आफ्नो विमानमा पत्रकारहरूसँग कुरा गर्दै रुबियोले आफू र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले साउदी अरबमा युक्रेनको प्रतिक्रियाको समीक्षा गर्ने बताए । यदि युक्रेन र अमेरिका ट्रम्पलाई स्वीकार्य समझदारीमा पुगे भने त्यसले उनको प्रशासनको शान्ति वार्ताको प्रयासलाई तीव्र पार्न सक्छ ।

“उनीहरू युक्रेनीहरूका लागि यो महँगो र रक्तपातपूर्ण युद्ध भएको कुरा स्वीकार गर्दै उनीहरूले विचार गर्न सक्ने कुनै प्रकारको शान्ति वार्तालाप र सामान्य रूपरेखाहरूमा प्रवेश गर्न इच्छुक छन् कि छैनन् भन्नेबारे हामी जान्न चाहन्छौँ । उनीहरूले धेरै पीडा भोगेका छन् र उनीहरूका जनताले धेरै पीडा भोगेका छन्”, रुबियोले भने, “र यस्तो कुराको परिणाममा रियायतहरूको बारेमा कुरा गर्न पनि गाह्रो छ, तर यो अन्त्य गर्ने र थप कष्टहरू रोक्ने एक मात्र तरिका हो ।”

“म उनीहरूले के गर्नुपर्छ वा के गर्न आवश्यक छ भन्ने बारे कुनै शर्त राख्ने छैन । मलाई लाग्छ हामी उनीहरू कति टाढासम्म जान इच्छुक छन् भन्ने सुन्न चाहन्छौँ र त्यसलाई रुसीहरू के चाहन्छन् भन्नेसँग तुलना गर्न र हामी वास्तवमै कति टाढा छौँ भन्ने हेर्न चाहन्छौँ”, उनले भने ।

जेलेन्स्कीले रुबियोलाई भेट्ने आफ्नो टोलीमा उनका चिफ अफ स्टाफ एन्ड्री यर्मक, विदेशमन्त्री एन्ड्री सिबिहा र रक्षामन्त्री रुस्टेम उमरोभ समावेश हुने बताएका छन् । रुबियोले अमेरिकी टोलीको नेतृत्व गर्नेछन् । वासिङ्टनले किनारा लगाएको हुनाले बाँकी युरोप वार्ताबारे सशङ्कित रहेको छ ।

युरोपेली सङ्घ (इयु) ले गत हप्ता महादेशको सुरक्षा बढाउन र ट्रम्प प्रशासनको युक्रेनमा अवस्था परिवर्तनको जवाफमा सुरक्षाका लागि सयौँ अर्ब युरो मुक्त गर्न सहमति जनाएको थियो ।

ह्वाइट हाउसका विशेष दूत स्टिभ विट्कफले सोमबार फक्स न्युजलाई युक्रेनसँग अमेरिकी जासुसी–साझेदारी रोक्दा रक्षा जासुसी–साझेदारी सीमित नभएको बताए । “हामीले युक्रेनीहरूलाई आवश्यक पर्ने… कुनै पनि रक्षात्मक कुराका लागि जासुसी जानकारी बन्द गर्दैनौँ”, उनले भने । युक्रेनी सेनाद्वारा आक्रामक उद्देश्यका लागि प्रयोग गर्न सकिने अमेरिकी जासुसी साझेदारीमा रोक लगाइएको एक अमेरिकी अधिकारीले बताएका छन् । साउदी वार्ताको दौरान युक्रेनसँग जासुसी–साझेदारी पुनः स्थापित गर्नेतर्फ प्रगति हुन सक्ने ती अधिकारीले सङ्केत गरे ।

प्रधानमन्त्री कप क्रिकेट : मधेसद्वारा कोशी प्रदेश पराजित

धनगढी । भैरहवामा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले कोसी प्रदेशलाई १६५ रनको फराकिलो अन्तरले पराजित गरेको छ। जारी प्रतियोगितामा मधेसको यो पहिलो जित हो भने कोशीको यो दोस्रो हार हो।

भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको मधेस प्रदेशले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २८४ रन बनायो। दुई सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा कोशी प्रदेशको पारी ३३ ओभरमा ११९ रनमा समेटियो।

मधेस प्रदेशका लागि कप्तान अनिल साह, पवन सर्राफ र दीपेश दासले उत्कृष्ट खेल प्रदर्शन गरे। तीनै जनाले अद्र्धशतकीय पारी खेले। अनिलले ७५ बलमा १० चौकाको मद्दतमा ७५ रन बनाए।

यस्तै पवनले ८५ बलको सामना गर्दै दुई छक्का र ११ चौकाको सहयोगमा ९२ रन बनाए। दीपेशले ६० बल खेल्दै एक छक्का र ७ चौकाको सहयोगमा अविजित ५६ रनको योगदान दिए। हरिशङ्कर साहले २९ रन बनाए।

बलिङतर्फ कोशी प्रदेशका प्रकाश कार्की र विपिन महतोले दुई दुई तथा फिरदोस अन्सारी र दीपेश कँडेलले एक विकेट लिए। बयानब्बे रन बनाएका पवन खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए।

यसैगरी कोशीका लागि ब्याटिङ गर्ने क्रममा साकिब हकले २५, सुजन थपलियले २४, फिर्दोश अन्सारीले २१ र दीपेश कँडेलले २० रन बनाए। बलिङतर्फ मधेस प्रदेशका रुपेश सिंह एक्लैले ५ विकेट लिए।
यस्तै राजेश यादवले तीन तथा हरिशङ्कर साह र प्रदीप पासवानले एक एक विकेट लिए। सिद्धार्थ क्रिकेट रङ्गशालामा बुधबार त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशबीच खेल हुनेछ। 

तीनपटक प्रधानमन्त्री बन्दाको जस र अपजस प्रचण्डले लिनुपर्छः सचिव विष्ट

काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति सहयोगी बनेको त छैन भनी आशंका व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विष्टले प्रचण्डको अभिव्यक्तिले प्रतिगामी शक्तिलाई मलजल गरेको बताए ।

उनले भने, ‘कतै आज पूर्वराजाको जुन प्रकारको हौसला छ यसका पछाडि यही प्रकारका गतिविधि पनि घुमाएर सहयोगी त बनिरहेका छैनन् । आज हामीले गम्भीरतासाथ समीक्षा गर्नुपर्नेछ ।’

विष्टले सत्ता र प्रतिपक्षमा रहँदा द्वेध चरित्र देखिएको बताए । उनले प्रचण्डले तीनपटक प्रधानमन्त्री बन्दाको जस र अपजस लिनुपर्ने बताए । यही सरकारका कारण निराशा पैदा भएको भनिएको अभिव्यक्तिप्रति उनले आपत्ति जनाए ।

कोशी प्रदेशसभामा प्रधानमन्त्रीको विशेष सम्बोधनः देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुलुकलाई अगाडि बढाउन थालेको बताएका छन् ।

कोशी प्रदेशसभामा मंगलबार विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको बलिदानी संघर्षको बलमा प्राप्त संविधानको रक्षा गरी आवश्यकताअनुसार जनता र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा संशोधन गर्दै जाने पनि जानकारी गराए ।

यस प्रणालीमा जोकोही पनि प्रतिस्पर्धा गर्न पाउने भएकाले व्यवस्थाविरोधी आवाज उठाउन आवश्यक नभएको स्पष्ट गर्दै उनले संविधानसम्मत्, शान्तिपूर्ण र सुशासनको बाटोबाट यस व्यवस्थालाई अझ उन्नत बनाउन सकिने बताए ।

‘हामी जनताको गरिबी र पछ्यौटेपन हटाएर जान चाहन्छौँ । गरिबी हटाएर मात्रै हामी सन्तोष मान्दैनौँ । समग्र मानवीय जैविक र न्यायोजित आवश्यकताको परिपूर्ति गरेर मुलुकलाई अगाडि बढाउनु छ,’ प्रधानमन्त्री ओलीले भने, ‘नागरिक सर्वाेच्चता भएको यस प्रणालीमा रहेर अब हामी समृद्धिका लागि छिटो काम गर्न चाहन्छौँ । रोजगारीका अवसरमा सिर्जना गर्न चाहन्छौँ । त्योभन्दा पहिला हामीले उद्यमशीलतामा जोड दिनुपरेको छ । त्यसकारण देशलाई पछाडि फर्काउने होइन, अगाडि बडाउने हो । संविधानबमोजिम तीनै तहका सरकारले सहकार्य गरेर देश विकासमा लाग्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले देशको भौगोलिक, सांस्कृतिक र जातीय विविधतालाई मनन गरेर विविधताबीच एकता कायम गरेर ज्ञान र गौरवको यस नेपाललाई विश्व मानचित्रमा सार्वभौम, लोकतान्त्रिक र समृद्ध बनाउन आग्रह गरे । यसअघि प्रधानमन्त्री ओलीले पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्त समारोहलाई मोरङको गोठगाउँमा सम्बोधन गरेका थिए ।

तोसिमा कार्कीको उम्मेद्‌वारी खारेज गर्ने आयोगको निर्णय सर्वोच्चद्वारा बदर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीको उम्मेद्‌वारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ ।

न्यायाधीशहरू डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले कार्कीको उम्मेद्‌वारी खारेज गर्ने आयोगको साढे दुई वर्षअघिको निर्णय खारेज गरेको हो ।

उनी ललितपुर–३ बाट निर्वाचित भएकी थिइन् ।

प्रतिनिधिसभामा सांसद बस्ने कुर्सि भाँचिएपछि…

काठमाडौं । प्रतिनिधि सभा बैठकमा कुर्सी भाचिँदा सांसद घाइते भएका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा एमाले सांसद उर्मिला थेवे बसेको कुर्सी भाँचिएको हो ।

बैठकको विशेष समयमा कांग्रेस सांसद गगन थापा बोलिरहेका बेला कुर्सी भाँचिएको थियो ।

सांसद लडेपछि सभामुख देवराज घिमिरेले चासो देखाएका थिए । उनलाई अहिले संसद् भवनबाट बाहिर लगिएको छ । उनको अवस्था सामान्य नै रहेको बताइएको छ ।

राजावादीको चलखेल बढ्नुमा अहिलेको सरकार मात्र दोषी छैनः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजावादीको चलखेल बढ्नुमा अहिलेको सरकार मात्र दोषी नभएको बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा महामन्त्री थापाले जनताको असन्तुष्टि बढ्नुमा सबै सरकार दोषी रहेका बताएका हुन् । उनले माओवादी अध्यक्ष प्रचण्डलाई सबै आरोप सरकारलाई लगाए पन्छिने काम नगर्न आग्रह गरे ।

उनल भने, ‘आफू हुँदा मात्रै सबै म ठिक, तर आफू बाहिरिएपछि सबै बेठिक भयो भन्ने हाँस्यास्पद कुरा गर्नु हुुँदैन । प्रतिपक्षले प्रश्न गर्ने हो तर यसरी पनि नगरौँ कि समस्यालाई बढाइ चढाइ नगरौँ । हामी सबै त्यस्तै छौँ । सबैले गल्ती गरेका छौँ । आत्मालोचना गरौँ ।’

उनले लोकतन्त्रप्रति प्रचण्डले गरेको प्रतिबद्धताको सराहना गरे । उनले भने, ‘प्रचण्डजीले राखेको अभिव्यक्ति सुन्ने मौका पाएँ । खासगरी नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रमुख प्रतिपक्ष दलले राखेको प्रतिबद्धताको मेरो पार्टीका तर्फबाट सराहना गर्न चाहन्छु । हामी सबै यो व्यवस्था र संविधानप्रति उत्तिकै प्रतिबद्ध छौँ ।’

उनले सबै मिलेर ल्याएको संविधान र व्यवस्था जोगाउन उत्तिकै प्रतिबद्ध रहेको भन्दै कांग्रेस संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा पुग्नु कुनै एक घटना मात्र कारण नरहेको बताए ।

सत्तामा रहेकाको कुशासनले लोकतन्त्रलाई चुनौतिः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार विचौलियाले चलाएको आरोप लगाएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष प्रचण्डले सरकार प्रधानमन्त्रीले नभई विचौलियाले चलाएको आरोप लगाएका हुन् ।

उनले सत्ताको ड्राइभिङ सिटमै विचौलिया रहेका आरोप लगाए । उनले भने, ‘सरकारले यो गर्दैछ भन्ने सुने पनि सरकारको दुई तिहाइको घोडा सरकार र मन्त्रीले चलाएका छैनन् । त्यो घोडा बिचौलियाले चलाएका छन् ।’

उनले सत्तामा रहेकाको कुशासनले लोकतन्त्रलाई चुनौति दिएको बताए । उनले भने, ‘एकअर्कालाई चोख्याएर नक्कली भुटानी शरणार्थी धुनुभयो गंगामा । तर फोहोर भयो लोकतन्त्र । बालमन्दिर धुनुभयो, फोहोर थुप्रियो, त्रिविका काण्ड धुनुभयो तर मैलो लोकतन्त्रमा देखियो । हामी सबैले आत्मसमीक्षा गरेर जबाफदेही भएनौ भने आउने दिन झन् जटिल हुन्छ भनेको थिएँ ।उसको शक्तिले इमान्दार व्यवसायीलाई अपमान गरेको छ ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिजोका राजा महाराजाले जस्तो पुरै सडक खाली गराएर सवारी चलाउने सनक चढेको बताए । प्रचण्डले सत्तारुढ पार्टीका कार्यकर्ताले बर्दिधारीलाई कुट्ने गर्दा लोकतन्त्रप्रति भरोसा राख्छ कि वितृष्णा भन्दै हेक्का राख्न आग्रह गरे ।

गणतन्त्रविरुद्ध गतिविधि गर्ने राजावादीलाई गम्भीर हुन प्रचण्डको चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरूको चहलपहलका पछाडि देशभित्र र बाहिरका चलखेल मिसिएको दाबी गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले राजावादीको यो चलहपहलका पछाडि संगठित प्रयास छ भन्ने कुरा आफूहरुलाई थाहा भएको बताए ।

उनले यसमा देशभित्र र बाहिरका चलखेल पनि मिसिएको बताए । उनले पछिल्ला आठ महिनामा सत्तामा रहेका पार्टीले प्रदर्शन गरेका शासकीय शैली र त्यसबाट उत्पन्न असन्तोष नै यसको मूल कारण रहेको बताए ।

उनले भने, ‘राजावादीको यो चलहपहलका पछाडि संगठित प्रयास छ भन्ने कुरा हामीलाई थाहा छ । यसमा देशभित्र र बाहिरका चलखेल पनि मिसिएका छन् । तर, यस खालका चलखेल आजमात्रै भएका होइनन् । नेपालमा यस्ता चलखेल हिजो पनि थिए, अस्ति पनि थिए । पछिल्ला ८ महिनामा सत्तामा रहेका पार्टीले प्रदर्शन गरेका शासकीय शैली र त्यसबाट उत्पन्न असन्तोष नै यसको मूल कारण हो भन्ने बुझ्न अब कठिनाइ छैन ।’

उनले गणतन्त्रविरुद्ध गतिविधि गर्ने राजावादीलाई गम्भीर हुन चेतावनी दिए । प्रचण्डले लोकतन्त्रको इतिहास पढ्न सुझाव दिए ।

उनले भने, ‘इतिहास फेरि निर्मम हुन्छ, गणतन्त्रका लागि जनताको रगत बगेको छ। क्रान्तिको इतिहास पढ्नुस् । लोकतन्त्र र राजतन्त्रको तुलना हुनै सक्दैन ।’

उनले विश्वका कयौँ देशमा राजतन्त्र अन्त्य हुँदा काटिएको र मारिएको स्मरण गर्दै नेपालमा भने सम्मानजनक रुपमा नागरिकको हैसियत दिएर बिदा गरिएको बताए । नेपालमा लोकतन्त्रले राजावादीलाई बोल्ने हक दिएको बताउँदै तर धेरै चलखेल नगर्न चेतावनी दिए ।

संग्रहालयमा थन्किएको राजतन्त्रले हुकुमप्रमांगीबाट देश चलाउने दिवा सपना नदेख्दा हुन्छः एमाले

काठमाडौं । नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधि नियन्त्रण गर्न माग गरेको छ । मंगलबारको प्रतिनिधिसभा बैकठमा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले राष्ट्रहित विपरीतको कार्यलाई गम्भीरताका साथ लिन सरकारलाई आग्रह गरेका हुन् ।

उनले संविधानको पालना गर्नु प्रत्येक नागरिकले पालना गर्नुपर्ने लेखिएपनि पूर्वराजा र उनका समर्थकहरूले संविधान विपरीत कार्यहरू गरेकाले सरकारले त्यसलाई नियन्त्रण गर्नुपर्ने बताए ।

उनले भने, ‘समाजमा संविधानविपरीत काम भइरहेको छन् । पञ्चायकालीन राष्ट्रियगान गाउने मुलुकको राष्ट्रिय गानको अपमान गर्ने अवमूल्यन गर्ने यस खालको संविधानविरोधी गतिविधिहरू भइरहेका छन् । यी सबै कामहरू गर्न पूर्वराजा ज्ञानेन्द्र शाह स्वयंले उक्साइरहेका छन् । उनको उपस्थितिमा यी सबै कामहरू भइरहेका छन् ।’

उनले रावावादीको प्रदर्शनमा उत्तर प्रदेशका मुख्यमन्त्रीको तस्बिर देखिएको भन्दै यो कहाँबाट परिचालित भएको भन्ने कुरा स्पष्ट भएको बताए ।

उनले भने, ‘राजावादीको प्रदर्शनमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्रीको पोस्टरहरु देखिए । यो हाम्रो संविधान विपरीतको कार्य हो । यो राष्ट्रहित प्रतिकूल हुने कार्य हो। यसलाई कानुनी दायरामा ल्याउनुपर्छ, यसलाई सरकारले गम्भीरताका साथ लिनुपर्छ, नियन्त्रणमा राख्नुपर्छ।’

उनले संग्रहालयमा थन्किएको राजतन्त्रले हुकुमप्रमांगीबाट देश चलाउने दिवा सपना नदेख्न चेतावनी दिए।

विश्वको अधिकांश जनसङ्ख्या प्रदूषित वायुको चपेटामा

बेङ्गलुरु । विश्वको अधिकांश भागमा प्रदूषित हावा रहेको र केवल १७ प्रतिशत सहरहरूले विश्वव्यापी वायु प्रदूषण दिशानिर्देशहरू पूरा गरेको एक प्रतिवेदनले पत्ता लगाएको छ ।

स्विट्जरल्यान्ड स्थित वायु गुणस्तर अनुगमन डाटाबेस आइक्युएयरले एक सय ३८ देशका ४० हजार वायु गुणस्तर अनुगमन स्टेसनबाट प्राप्त डाटा विश्लेषण गरेको थियो र चाड, कङ्गो, बङ्गलादेश, पाकिस्तान र भारतमा सबैभन्दा प्रदूषित हावा रहेको पत्ता लगाएको थियो । 

भारतमा नौ सबैभन्दा प्रदूषित सहरहरू मध्ये छ वटा छन् । तीमध्ये उत्तरपूर्वी भारतको औद्योगिक सहर बिरनिहाट सबैभन्दा खराब स्थानमा छ ।

विशेषज्ञहरूका अनुसार वास्तविक वायु प्रदूषणको मात्रा धेरै बढी हुनसक्छ किनकि विश्वका धेरै भागमा अधिक सटीक डाटाका लागि आवश्यक अनुगमन छैन । उदाहरणका लागि अफ्रिकामा प्रत्येक ३७ लाख मानिसका लागि केवल एउटा अनुगमन स्टेसन छ ।

प्रतिवेदनअनुसार यस समस्याको सामना गर्न थप वायु गुणस्तर अनुगमनकर्ताहरू स्थापित गरिँदैछन् । यस वर्ष प्रतिवेदनका लेखकहरूले वायु प्रदूषणको राम्रो अनुगमन गर्ने प्रयासको परिणामस्वरूप आठ हजार नौ सय ५४ नयाँ स्थान र लगभग एक हजार नयाँ अनुगमनकर्ताबाट प्राप्त डाटा समावेश गर्न सक्षम भए ।

तर गत हप्ता अमेरिकी विदेश मन्त्रालयले विश्वभरका आफ्ना दूतावास र वाणिज्य दूतावासहरूबाट प्राप्त डाटा सार्वजनिक नगर्ने घोषणा गरेपछि वायु प्रदूषणका लागि डाटा अनुगमनलाई धक्का लागेको छ ।

मलेसिया स्थित सनवे सेन्टर फर प्लानेटरी हेल्थकी मुख्य वैज्ञानिक तथा वायु प्रदूषण विशेषज्ञ फातिमा अहमदका अनुसार लामो समयसम्म प्रदूषित हावा सास फेर्नाले श्वासप्रश्वाससम्बन्धी रोग, अल्जाइमर्स र क्यान्सर हुन सक्छ । 

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले वायु प्रदूषणले वार्षिक रूपमा लगभग ७० लाख मानिसको ज्यान लिने अनुमान गरेको छ ।

अहमदले वायु प्रदूषणको स्तर घटाउन अझ धेरै गर्न आवश्यक रहेको बताइन् । डब्लुएचओले विश्वको ९९ प्रतिशत जनसङ्ख्या सिफारिस गरिएको वायु गुणस्तर स्तर पूरा नगर्ने ठाउँमा बसोबास गर्ने गरेको पाएको थियो । 

“यदि तपाईंसँग खराब पानी छ, पानी नै छैन भने, तपाईं मानिसहरूलाई दिनको आधा घण्टा पर्खनू भन्न सक्नुहुन्छ, पानी आउनेछ । तर यदि तपाईंसँग प्रदूषित हावा छ भने, तपाईं मानिसहरूलाई सास फेर्न रोक्नू भन्न सक्नुहुन्न”, अहमदले भनिन् ।

बेइजिङ, दक्षिण कोरियाको सियोल र पोल्यान्डको रिबनिक जस्ता धेरै सहरले सवारी साधन, बिजुली प्लान्ट र उद्योगहरूबाट हुने प्रदूषणमा कडा नियमहरू मार्फत आफ्नो वायु गुणस्तर सफलतापूर्वक सुधार गरेका छन् । उनीहरूले स्वच्छ ऊर्जालाई प्रवद्र्धन गरेका छन् र सार्वजनिक यातायातमा लगानी गरेका छन् ।

गम्भीर वायु प्रदूषण नियन्त्रण गर्ने अर्को उल्लेखनीय प्रयास दक्षिणपूर्वी एसियाली राष्ट्र सङ्घको सीमापार धुवाँ प्रदूषणसम्बन्धी सम्झौता थियो ।

यद्यपि यसले अहिलेसम्म सीमित सफलता पाए पनि यस क्षेत्रका दश देशले ठूला वन डढेलोहरूबाट हुने प्रदूषणको अनुगमन र नियन्त्रण गर्न एकसाथ काम गर्ने प्रतिबद्धता जनाएका छन् । वन डढेलो सुक्खा मौसममा यस क्षेत्रमा सामान्य घटना हो ।

ग्लोबल क्लाइमेट एन्ड हेल्थ एलायन्सको अभियानको नेतृत्व गर्ने श्वेता नारायणले सबैभन्दा खराब वायु प्रदूषणको सामना गर्ने धेरै क्षेत्रहरू पनि कोइला, तेल र ग्यास जलाएर पृथ्वी–तताउने ग्यासहरू व्यापक रूपमा निस्कने ठाउँहरू हुन्  । पृथ्वीको तापक्रम कम गर्न पृथ्वी–तापन उत्सर्जन कम गर्दा वायु गुणस्तर पनि सुधार गर्न सकिने उनले बताइन् ।
“वायु प्रदूषण र जलवायु सङ्कट एउटै सिक्काका दुई पाटा हुन्”, उनले भने ।  

इयुले नेपालको ऊर्जा क्षेत्रको विकासमा थप ऋण तथा अनुदान सहायता उपलब्ध गराउने

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि युरोपेली युनियनका राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेट गरेका छन् । 

सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा मंगलबार भएको भेटमा नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा युरोपियन युनियनले गरेको सहयोगका विविध विषयमा छलफल भएको थियो । युरोपियन युनियनले सन् १९७४ मा कुटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपालको दिगो विकासका लागि साझेदार निकायका रुपमा सहयोग गर्दै आएको छ ।

भेटमा ऊर्जामन्त्री खड्काले नेपालको ऊर्जा, जलस्रोत र पर्यटन क्षेत्रको विकासका युरोपियन युनियनले गरेको सहयोगप्रति धन्यवाद दिएको उर्जामन्त्री खड्काको सचिवालयले जनाएको छ ।

उनले आगामी दिनमा स्वच्छ ऊर्जा, जलवायु परिवर्तन तथा आर्थिक स्थायित्वको क्षेत्रमा गरेको सहयोगप्रति आभार व्यक्त गरेका थिए ।

मन्त्री खड्काले सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले उक्त लक्ष्यलाई पुरा गर्न दातृ निकायहरुको महत्वपूर्ण साथ र सहयोगको अपेक्षा गरे । उनले नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक संसद्मा पेस भइसकेकाले चाँडो पारित हुने बताए ।

नेपालको ऊर्जा क्षेत्रमा युरोपियन युनियन प्रमुख साझेदार रहँदै आएको र नविकरणीय ऊर्जा पहुँच, ग्रामीण विद्युतीकरण र जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणमा इयुको सहयोगप्रति मन्त्री खड्काले आभार व्यक्त गरे । 

भेटमा राजदूत लोरेन्जोले जलवायु परिवर्तन र वैकल्पिक ऊर्जाका क्षेत्रमा नेपालको विकासका लागि थप सहकार्य गर्न युरोपियन युनियन प्रतिबद्ध रहेको बताइन् । उनले नेपालले छिमेकी मुलुकसँग गरेको ऊर्जा सहकार्यको प्रशंसासमेत गरिन् ।

राजदूत लोरेन्जोले नेपालको ऊर्जा क्षेत्रको विकासमा ईयुले थप ऋण तथा अनुदान सहायता उपलब्ध गराउने बताइन् । अप्पर अरुण, दुधकोशी जलाशययुक्त आयोजनालगायतमा ईयु लगानी गर्न इच्छुक रहेको राजदूत लोरेन्जोको भनाइ थियो । भेटमा ईयुको लगानीमा निर्माण भएको चिलिमे–त्रिशुली प्रसारण लाईन उद्घाटन गर्ने सम्बन्धमा समेत छलफल भएको जनाइएको छ ।

पर्वतमा यसवर्ष आलु उत्पादन वृद्धि हुने अनुमान

पर्वत । आलु खेतीको क्षेत्रफल विस्तारसँगै अनुकूल मौसमका कारण यस वर्ष जिल्लामा आलु उत्पादन वृद्धि हुने अनुमान गरिएको छ ।

आलु उत्पादनमा जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले गत वर्षदेखि सुरु भएको खायन आलु विस्तार कार्यक्रमअन्तर्गत यही हिउँदमा एक हजार ४५० हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको थियो ।

यस वर्ष प्रतिहेक्टर १५ मेट्रिक टनका दरले आलु उत्पादन हुने कृषि ज्ञान केन्द्रको अनुमान छ । जसअनुसार हिउँदमा मात्र करिब २२ हजार मेट्रिक टन आलु उत्पादन हुने कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीले जानकारी दिनुभयो । सरदर प्रतिकेजी रु ४० का दरले किसानले आलु बिक्री गर्दा करिब रु ८७ करोड आम्दानी हुने अनुमान छ ।

जिल्लामा गत आर्थिक वर्ष २०८०/८१ मा एक हजार ३९० हेक्टर क्षेत्रफलमा आलुखेती गर्दा २० हजार ३३० मेट्रिक टन आलु उत्पादन भएको थियो ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सोविता सुवेदीका अनुसार विभिन्न पकेट क्षेत्रमा ६१ वटा कृषक समूहलाई आलु उत्पादनमा रु एक करोड ४७ लाख अनुदान वितरण गरिएको छ । बीउ खरिदमा ७० प्रतिशत, यान्त्रिकीकरणमा ५० प्रतिशत, सिँचाइ पूर्वाधारमा ८५ प्रतिशत र बजारीकरण तथा ‘प्याकेजिङ’मा ७५ प्रतिशत अनुदान दिइएको सूचना अधिकारी सुवेदीले बताए ।

जलजला गाउँपालिकाका १६ कृषक समूहले आलु उत्पादनमा अनुदान लिएका छन् । अनुदान पाउन कम्तीमा कृषक समूहले ३० रोपनी बढी क्षेत्रफलमा सामूहिक आलुखेती गरेको हुनुपर्छ ।

मोदी गाउँपालिकाका–४, ५, ६, ७, ९ स्थित लेसपार, क्याङ, छापा, बाजुङलगायत करिब ४५० रोपनी क्षेत्रफलमा आठ कृषक समूहले खायन आलुखेती गरेका छन् । कुश्मा नगरपालिकाका आलु पकेट क्षेत्र पाङ, खुर्कोट, आर्थरलगायतमा २२५ रोपनी बढी क्षेत्रफलमा कृषकहरुले आलु गरिरहेका छन् । फलेवास नगरपालिकाको मुडिकुवा, शङ्करपोखरी, कुर्घा, लिमिठाना, चिर्दीखोलालगायतका किसानले २२० रोपनी क्षेत्रफलमा सामूहिक आलुखेती गरेका छन् ।

यसैगरी, दक्षिण पर्वतको पैयूँ गाउँपालिकाको हुवास क्षेत्र, महाशिला गाउँपालिकामा ६ वटा कृषक समूह आलुखेती गरिरहेका छन् ।

कृषि ज्ञान केन्द्र प्रमुख परशुराम अधिकारीले गत वर्षभन्दा यस वर्ष आलु उत्पादन वृद्धि हुने बताए । हाल कृषकहरु आलु खन्ने चटारोमा रहेकाले अबको एक महिनापछि आलु उत्पादनको यकिन तथ्याङ्क प्राप्त हुने उनले बताए।

युक्रेनको सुरक्षा ग्यारेन्टीबारे छलफल गर्न पेरिसमा सैन्य प्रमुखहरू

पेरिस । रुससँगको कुनै वार्तापछि युक्रेनलाई सुरक्षा ग्यारेन्टीहरू प्रदान गर्न इच्छुक ३० युरोपेली र नाटो देशका सैन्य प्रमुखहरू मङ्गलबार पेरिसमा भेट गर्दैछन् ।

रुसले छिमेकी युक्रेनमा आक्रमण गरेको तीन वर्षभन्दा बढी समय भएपछि युरोपले आफ्नो सुरक्षा बढाउन र संयुक्त राज्य अमेरिकामाथिको निर्भरताबाट मुक्त हुन सङ्घर्ष गरिरहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रान्सअटलान्टिक गठबन्धनलाई उल्ट्याउँदै र मस्कोसँग पुनर्मिलन खोज्दै गरेको बेला यी कदमहरू आएका हुन् ।

ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग सञ्चार पुनः सुरु गरेका छन् र युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको आलोचना गरेका छन् । यसबाट किएभ र युरोपेली सहयोगीहरू बीच ट्रम्पले युक्रेनलाई रुसको पक्षमा सम्झौता स्वीकार गर्न बाध्य पार्नुहुन्छ भन्ने डर उत्पन्न भएको छ ।

ट्रम्पले किएभलाई सैन्य सहायता र गुप्तचर–साझेदारी पनि निलम्बन गरेका छन् । युक्रेनका एक अधिकारीका अनुसार मङ्गलबार साउदी अरबमा अमेरिकी अधिकारीहरूसँग भएको वार्तामा युक्रेनले रुससँग हवाई र नौसैनिक युद्धविरामको प्रस्ताव गर्ने थियो ।

फ्रान्सेली सेनाले बेलायत र टर्कीसहित ३० युरोपेली र नाटो राष्ट्रका सैन्य प्रमुखहरूको पेरिस बैठक सोही दिन हुने बताएको छ ।

नाटो सैन्य कमान्डसँग कडा समन्वयमा भइरहेको बताउने राष्ट्रपति इमानुएल म्याक्रोनले बैठकलाई सम्बोधन गर्नेछन् । म्याक्रोन र बेलायती प्रधानमन्त्री किर स्टार्मरले युक्रेनमा सम्भावित युद्धविराम लागू गर्न तथाकथित ‘इच्छुकहरूको गठबन्धन’ गठन गर्ने प्रयासको नेतृत्व गरिरहेका छन् ।

युरोपका पाँच प्रमुख सैन्य शक्तिहरू–फ्रान्स, बेलायत, जर्मनी, इटाली र पोल्यान्ड–का रक्षामन्त्रीहरूबीच त्यसपछि बुधबार फ्रान्सेली राजधानीमा भेट हुनेछ ।

ती वार्ताहरू ‘युरोपको आवश्यक पुनःशस्त्रीकरण’ र युक्रेनलाई सैन्य समर्थनमा केन्द्रित हुने फ्रान्सेली रक्षामन्त्रीका सहयोगीहरू मध्ये एकले बताएका छन् । स्टार्मरले बदलामा युद्धविरामको समर्थन गर्न इच्छुक राष्ट्रहरूका नेताहरूसँग शनिबार भर्चुअल वार्ता गर्ने उनको कार्यालयले बताएको छ ।

म्याक्रोनले गत हप्ता युक्रेनमा कुनै पनि युरोपेली सेना ‘शान्ति सम्झौतामा हस्ताक्षर भएपछि मात्र यसलाई पूर्ण सम्मान गरिएको सुनिश्चित गर्न’ तैनाथ गरिने बताएका थिए।

उनले फ्रान्सको आणविक प्रतिरोधलाई युरोपेली साझेदारहरूमा विस्तार गर्न छलफल गर्न तयार रहेको पनि बताएका छन् ।

वासिङ्टनले यस क्षेत्रबाट आफ्नो ध्यान मोडेपछि संयुक्त राज्य अमेरिकापछि नाटोको दोस्रो ठूलो सेना र कालो सागरको तटरेखा भएको टर्कीले युरोपको सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्न खोजिरहेको छ ।

टर्कीका राष्ट्रपति रेसेप ताएप एर्दोआनले जेलेन्स्कीको हवाई र नौसेना युद्धविरामको आह्वानमा आफ्नो समर्थन दिएका छन् ।

दुई करोडमा बन्यो विद्यालय भवन

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित खैरेनीटार माध्यमिक विद्यालयको भवन निर्माण गरिएको छ । नेपाल हिल्फे वाइलग्रिस जर्मनको आर्थिक सहयोगमा विद्यालयको आठकोठे भवन निर्माण गरिएको हो ।

उक्त संस्थाको दुई करोड लागतमा विद्यालय भवन निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलमोहन घिमिरेले जानकारी दिए । नयाँ भवन निर्माणसँगै विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक राजेश्वर घिमिरेले जानकारी दिए ।

उक्त भवनको सोमबार शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित र उक्त संस्थाका अध्यक्ष मानफ्रेड लिन्डरले संयुक्त रुपमा उद्घाटन गरे । सो अवसरमा नगरप्रमुख पण्डितले विद्यालयको भवन निर्माणमा सहयोग गरेकामा धन्यवाद ज्ञापन गरे ।

उक्त संस्थाले विगत ३१ वर्षदेखि नेपालको शिक्षा, स्वास्थ्य, सरसफाइलगायतका क्षेत्रमा काम गरिरहेको छ ।

परम्परा जोगाउँदै अठारौँ शताब्दीदेखिको माध्यमिकी परिक्रमा यात्रा

जलेश्वर । नेपाल र भारतको मिथिलाञ्चल क्षेत्रमा अनादिकालदेखि प्रत्येक वर्ष चलिआएको १५ दिने माध्यमिकी परिक्रमा यात्रा भइरहेको छ । यस यात्रा गरेमा मोक्ष प्राप्त हुने धार्मिक मान्यता छ ।

भगवान् रामचन्द्र (मिथिलाबिहारी) र माता सीता (किशोरीजी) को डोलासँगै १५ दिनसम्म नेपाल र भारतका विभिन्न १५  धार्मिकस्थलमा बास बस्दै गरिने यस परिक्रमा यात्राले संसारको सबै दुःख, कष्टबाट मुक्ति मिल्ने धार्मिक मान्यता रहेको जलेश्वर नगरपालिका–१ मा अवस्थित बाबा जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठक बताउँछन् । १५ दिनसम्म चल्ने माध्यमिकी परिक्रमा लामो पैदल यात्रा रहेकाले यस यात्रालाई मिथिलाको महाकुम्भ मानिन्छ । नेपाल र भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सद्भावको प्रतीक बनेको परिक्रमाको क्रममा नेपालमा ११ तथा भारतमा चार गरी १५ विश्रामस्थल छन् ।

विश्रामस्थलका पौराणिक एवं धार्मिक महत्वबारे छुट्टाछुट्टै प्रकाश पारिएकाले यी स्थलप्रति भक्तजनको आस्था रहेको पाइन्छ । मिथिलामहात्म्यअनुसार १८औँ शताब्दीदेखि यो धर्म यात्रालाई माध्यमिकी परिक्रमाका रुपमा मनाइँदै आएको हो ।

यात्राका सहयात्रीले नेपालका १०७ एवं भारतको २६ गरी १३३ किलोमिटर पैदल यात्रा तय गर्ने परम्परा छ । यात्राभरि यात्रीहरुसँग भगवान् रामचन्द्र र माता सीताले यात्रा गर्ने विश्वास गरिन्छ । यात्रीले मृत्युपश्चात् स्वर्ग प्राप्त गर्ने धार्मिक मान्यता रहेको जलेश्वर नगरपालिका–५ का संस्कृतिविद् धु्रव रायले बताए ।

प्रत्येक वर्ष फागुन शुक्लप्रतिपदाको शुभसाइतबाट प्रारम्भ हुने यो धर्मयात्रा १५ दिनभित्र जनकपुर पुगी फागुन पूर्णिमाको तिथिपारि पारेर होली खेलेर समापन गरिन्छ । सीताको जन्मभूमि जनकपुरधाम ऐतिहासिक मिथिला राज्यमा पर्दछ भने मिथिलाका राजा जनकले प्राचीन मिथिलाको राजधानी जनकपुरको चारै कुनामा निर्माण गरिएका कलाणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वर शिवालयलाई आधार मानी यो परिक्रमा यात्रा सुरु गरिएको किंवदन्ती छ । 

जलेश्वर नगरपालिका–८ का पं बद्रीनारायण झाका अनुसार भगवान्को भक्ति गर्दै भगवान्सँगै गरिने यस यात्राका सहभागीहरुले चारधामको यात्रा बराबर फल प्राप्त गर्ने विश्वास गरिन्छ । 

प्रत्येक वर्ष फागुन शुक्लप्रतिपदाका दिन मिथिला नगरपालिकाको कचुरी गाउँमा अवस्थित मिथिला विहारीको कुटीबाट मिथिला विहारी (भगवान् रामचन्द्र) तथा जनकपुरस्थित अग्नि कुण्डका किशोरीजी (माता सीता) को डोला (पालकी) का साथ धार्मिक विधिअनुसार जानकी मन्दिर हुँदै धार्मिक झाँकी, भजनकीर्तन र साधुसन्त, महात्मा तथा हजारौँ यात्रीहरु परिक्रमा यात्रा सुरु गर्छन् । 

जनकपुरको हनुमानगढीबाट सुरु हुने परिक्रमाका यात्री पहिलो बासका लागि सीमावर्ती भारतीय गाउँ कलानेश्वर पुग्छन् । भजनकीर्तन गर्दै भगवान्को डोलाको अघिपछि पुग्ने यात्रीहरु राति  भगवान्कै डोलाको चारैतिर बसेर भजनकिर्तन गर्ने, खानपिन गर्ने र सुतेर रात बिताउँछन् ।

दोस्रो दिन भारतकै सीमावर्ती गाउँ गिरिजास्थानमा बासका लागि पुग्छन् । तेस्रो रातको विश्रामका लागि नेपाल प्रवेश गर्दै महोत्तरीको मटिहानी आइपुग्छन् । यहाँ परिक्रमालाई मटिहानीवासी तथा महोत्तरी प्रशासनले पूजापाठ गर्दै विश्रामस्थलमा खानपानको व्यवस्था गर्दै आएको छ । 

मटिहानीमा माता सीताको विवाहको बेला मटकोर विधिभएको सम्झना गरिँदै यहाँ परिक्रमाको तेस्रो दिनको पराव (विश्राम) गरिने गरिन्छ ।  यसपछि क्रमशः महोत्तरीको सदरमुकाम जलेश्वरमा चौथो पराव, महोत्तरी गाउँपालिकाको मडैगाउँमा पाँचौँ, बलवा नगरपालिकाको धु्रवकुण्डमा छैटौँ र भङ्गहा नगरपालिकाको कञ्चनवन गाउँमा सातौँ दिनको बास बसेर आठौँ दिन पुनः धुनषाको पर्वता पुग्छन् ।

धनुषाकै धनुषाधाममा नवौँ, षतोषरमा दशौँ, औरहीमा एघारौँ, फेरि भारतको करुणामा बाह्रौँ, भारतकै विशौलमा चौधौँ र अन्तिममा  जनकपुरधाममा आएर पन्ध्राँै दिनको विश्राम गर्ने परम्परा छ । 

यस परिक्रमा यात्रामा नेपाल–भारतका हजारौँ साधु, सन्त महन्थ र गृहस्थहरुको सहभागिता रहँदै आएको छ । यात्रामा मिथिलाञ्चलका प्रत्येक गाउँ बस्ती मात्रै नभएर प्रत्येक घरका वयोवृद्धसहित तीनै पुस्ताको उल्लेख्य सहभागिता रहने गरेको छभने कतिपय घरका सदस्यहरुले जीवनमा पाँच पटक, सात पटक र कसैकसैले १० पटकसम्म यात्रा गरेको पाइन्छ । 

जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीका अनुसार यात्राका क्रममा नेपाल र भारतका १५ वटै पराव (विश्राम) स्थलमा १५ दिनसम्म ठूलो मेला लाग्ने गर्दछ । जहाँ लाखौँ रुपैयाँको कारोबार हुने गर्दछ । उनका अनुसार यस मेलामा खाद्यान्नदेखि घरायसी प्रयोजनका सामग्रीको किनमेल, खेल मनोरञ्जनलगायतका क्षेत्रमा व्यापार हुने गर्दछ । 

यस वर्ष फागुन १५ गतेदेखि सुरु भएको १५ दिने माध्यमिकी परिक्रमा यही फागुन २९ गतेसम्पन्न हुनेछ ।

वीर अस्पतालको निर्देशकमा डा. शर्मा नियुक्त

काठमाडौँ। वीर अस्पतालको निर्देशकमा डा. शर्मा नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीर अस्पतालको निर्देशकमा डा. शर्मालाई नियुक्त गरेको हो।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा गठित समितिको सिफारिसअनुसार डा. शर्मालाई उक्त पदमा सिफारिस गरेका थियो।

नवनियुक्त निर्देशक डा. शर्मा सोही अस्पतालमा १० औँ तहका कर्मचारी हुन्।

चलचित्र ‘लाज शरणम्’ हेरेर बालेनले धुर्मुसको खुलेरै गरे तारिफ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सिताराम कट्टेल (धुर्मुस)को तारिफ गरेका छन् । प्रदर्शनरत चलचित्र ‘लाज शरणम्’ हेरेर बालेनले धुर्मुसको खुलेर तारिफ गरेका हुन् ।

बालेनले सोमबार साँझ दरबारमार्गस्थित क्यूएफएक्स हलमा दोस्रो हप्तामा प्रदर्शन भइरहेको चलचित्र ‘लाज शरणम्’ हेरेका हुन् ।

“यस्तो डिटेल दिनुभा’छ नि । कस्तो डिटेल दिया हो ? लास्टै दामी । लास्टै मजा आयो,” सिनेमा हेरेपछि बालेनले धुर्मुसको तारिफ गरे । बालेनले धुर्मुसको प्रशंसा गर्दै भने, “एकदमै राम्रो काम गर्नुभएको छ । म पनि कलाकार हुँ, हामीलाई कला देखाउन पाए हुन्थ्यो भन्ने चाहना हुन्छ । हेरिरहँदा एकदमै मज्जा आयो ।”

बालेन मिडियालाई खबर नगरी चलचित्र हेर्न पुगेका थिए ।चलचित्र ‘लाज शरणम्’मा समावेश ‘नेपाल हाँसेको’ र्‍यापमा बालेनको स्वर छ, जसले दर्शकमाझ निकै चर्चा पाएको थियो । चलचित्रमा भने यो गीत छैन । क्रेडिटलाइन स्क्रोल हुनथाले पछि यो गीत बज्छ ।

सिनेमाले हालसम्म कति कलेक्सन गर्यो भन्ने निर्माणपक्षले खुलाएको छैन । पहिलो दिनको कलेक्सन रिपोर्ट भने भने सार्वजनिक भएको थियो । पहिलो दिन यो चलचित्रले एक करोड १० लाख कलेक्सन गरेको थियो । कुमार कट्टेलको निर्देशनमा बनेको ‘लाज शरणम्’ धुर्मुस मुख्य भूमिकामा छन् । चलचित्रमा सिताराम कट्टेल, महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, अर्पण थापालगायत कलाकार मुख्य भूमिकामा छन् ।

जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको चलचित्रमा नवीन श्रेष्ठ निर्माता छन् । राम नरेश शाह र सिर्जना खड्का सहनिर्माता छन् ।

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ । छापावाल सुनको मूल्य तोलाको एक लाख ६९ हजार ९०० रुपैयाँ कायम छ ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार ४०० रुपैयाँमा किनबेच भएको थियो । चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ ।

सरकारको कार्यसम्पादन कमजोर भएकै कारण राजावादीहरुले टाउको उठाएः अध्यक्ष राउत

महोत्तरी । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले राजावादीहरुको सक्रियतालाई लक्षित गर्दै गणतन्त्रको विकल्प अरु हुन नसक्ने बताएका छन् ।

सरकारको कमजोर डेलीभरीका कारण केही असन्तुष्टिहरु देखिएता पनि ठूला दलहरु भने आफूलाई सुधार गर्न तयार हुनुपर्ने उनले जिकिर गरे । उनले भने, ’हाम्रो पार्टीले लोकतान्त्रिक गणतन्त्र रक्षा गर्ने सवालमा केन्द्रीय समितिबाट पनि निर्णय गरेको छ । जनमत पार्टी पनि गणतान्त्रिक पार्टी हो यसमा हामीले नौलो गणतन्त्र भनेका छौ तर समाजवादी गणतन्त्र भने हैन।’

महोत्तरीको बर्दिवासमा तीन दिनदेखि जारी केन्द्रीय समितिको वैठकको समापनको क्रममा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष राउतले सरकारको कार्यसम्पादन कमजोर भए कै कारण राजावादीहरुले टाउको उठाएको पनि दावी गरे। शुसासन र विकासको क्षेत्रमा सरकारको कार्यसम्पादन शून्य देखिएको बताउँदै उनले गणतन्त्र रक्षाको लागि ठूला दलहरु नै सुध्रनुपर्ने बताए ।

फिलिपिन्सका पूर्वराष्ट्रपति डुटेर्टे पक्राउ

बीबीसी । फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टे पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले ‘लागुऔषध विरुद्धको युद्ध’ मा मानवता विरुद्धको अपराधको आरोप लगाउँदै वारेन्ट जारी गरेपछि फिलिपिन्स प्रहरीले डुटेर्टेलाई पक्राउ गरेको हो ।

हङकङबाट आइपुगेको केही समयपछि नै डुटेर्टेलाई मनिला विमानस्थलमा प्रहरीले पक्राउ गरेको थियो । सन् २०१६ देखि २०२२ सम्म राष्ट्रपति हुँदा डुटेर्टेको क्रूर लागूऔषध विरोधी कारबाहीमा हजारौं मानिसहरू मारिएका थिए ।

७९ वर्षीय उनले सम्भावित गिरफ्तारीको रिपोर्टको जवाफ दिँदै पहिले नै आफू जेल जान तयार रहेको बताएका थिए ।

डुटेर्टेका पूर्व प्रवक्ता साल्भाडोर पानेलोले गिरफ्तारीलाई आलोचना गर्दै यो गैरकानूनी भएको बताएका छन् । आगामी मे १२ मा हुने मध्यावधि चुनावमा आफ्नो सिनेटरको लागि प्रचार गर्न डुटेर्टे हङकङमा थिए ।

रोङका एक सय २१ किसान ‘गुरु किसान’ लाई अभिमुखीकरण तालिम

इलाम । रोङ गाउँपालिकाले एक सय २१ जनालाई ‘गुरु किसान’का रूपमा छनोट गरेर अभिमुखीकरण तालिम दिएको छ ।

करिब चार हजार पाँच सय किसान मध्ये पहिलो चरणमा ती किसानलाई छनौट गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोले उत्पादकत्वमा प्रतिस्पर्धा गराउन उक्त कार्यक्रम ल्याएको जानकारी दिए ।

छवटै वडामा वडास्तरीय अभिमुखीकरण तालिम चलाएको पालिकाले छानिएकालाई ‘गुरु किसान’ के हो ? उनीहरूको काम, कर्तव्य, अधिकार र अबको भूमिकाका सम्बन्धमा तालिम दिएको जनाएको छ । “अहिले एक सय २१ जना छानिनुभएको छ, यो सङ्ख्या क्रमशः वृद्धि हुन्छ”, गाउँपालिका अध्यक्ष स्याङ्बोले भने, “किसानलाई उत्पादकत्वमा प्रतिस्पर्धा गराउन गाउँपालिकाले विगत वर्षदेखि यो अवधारणा अघि सारेको हो ।” यो अवधारणा नेपालमा नै पहिलो भएको गाउँपालिकाको दाबी छ । यही चैत ७ गते एक कार्यक्रमका बीच औपचारिक रूपमा ‘गुरु किसान’ घोषणा गरिने स्याङ्बोले बताए ।

रोङ–१ बडारेका मनबहादुर राईले १२ रोपनी क्षेत्रफलमा १५ मन अलैँची उत्पादन गरे । यहाँकै कतिपय किसानले ३० रोपनी क्षेत्रफलमा खेती गर्दा १० मन अलैँची उत्पादन गर्न सकेका छैनन् । कम क्षेत्रफलमा बढी उत्पादन गर्ने किसानलाई ‘गुरु किसान’का रूपमा छनोट गरी उत्पादकत्वमा प्रतिस्पर्धा गराउन गाउँपालिकाले नयाँ अवधारणा अघि सारेको अध्यक्ष स्याङ्बोको भनाइ छ ।

पहिलो चरणमा छनोट भएकाहरूलाई अभिमुखीकरण तालिम दिएको उपाध्यक्ष विष्णुमाया भुजेलले बताए ।
किसानलाई उत्पादकत्वमा प्रतिस्पर्धा गराउन यो अवधारणा ल्याइएको अध्यक्ष स्याङ्बोको भनाइ छ ।
किसानको उत्पादन, परिमाण, गुणस्तर र निरन्तर उत्पादनजस्ता कुरामा एकरुपता ल्याउन गुरु किसान कार्यविधिलाई कार्यपालिकाले स्वीकृत गरेको वडा नं ६ का अध्यक्ष सत्यमकुमार राईले बताए ।

कार्यक्रमअन्तर्गत पालिकाले किसानलाई तालिम, गोष्ठी, आधुनिक औजार खरिदमा समेत मद्दत गर्ने बताएको छ । कृषि पेसाबाट किसान पलायन हुँदै गएको अवस्थामा यो कार्यक्रमले थप हौसला प्रदान गरेको गुरु किसान दिलकुमार अर्यालले बताए ।

आधुनिक खेती पद्धतिको विकास गर्दै पालिकालाई समृद्ध बनाउन सुरु गरिएको गुरु किसान परियोजनाले यहाँका किसानमा खेतीप्रति जाँगर थपिएको कृषक माया राईले बताइन् ।

सिमसार क्षेत्रको अतिक्रमणले कछुवा जोखिम

मोरङ । सिमसार क्षेत्रको अतिक्रमणले कछुवा उच्च जोखिममा परेका छन् । आहारा तथा उपयुक्त बासस्थानको उपलब्धता कम हुँदा यस्ता प्रजातिको सङ्ख्या घट्न सक्ने अनुसन्धानकर्ताले जनाएका छन् ।

मोरङको बेलबारीस्थित बेतना सिमसारमा दुई वर्षअघि सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको वैज्ञानिकको टोलीले पत्ता लगाएको थियो । हालसम्म नेपालमा कछुवाका १७ प्रजाति र दुई उपप्रजाति फेला परेका छन् । तीमध्ये १३ वटा कडा हाड र चार प्रजातिको नरम खपटा भएका छन् ।

सिमसारमा रहने कछुवा संरक्षणमा कम महत्व दिँदा कछुवा जोखिममा पर्न सक्ने सम्भावना बढ्दै गएको प्राणी शास्त्रका उपप्राध्यापक रामचन्द्र अधिकारीले बताए । विगतका वर्षहरूमा प्रशस्त मात्रामा सिमसारमा देखिने कछुवा, पछिल्ला वर्षहरूमा देख्न कम हुँदै गएको बेलबारी–११ का राजन पोख्रेल बताउछन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत गोविन्दप्रसाद पोखरेलले मोरङका सिमसारमा गरेको एक अध्ययनले सिमसारमा कङ्क्रिटको प्रयोगले गर्दा कछुवालगायत प्रजातिलाई नदी किनारमा आउने तथा फुल पार्नेजस्ता काममा असर गर्न सक्ने उल्लेख छ । मोरङमा करिब एक दशकदेखि सिमसार संरक्षणमा लाग्दै आएका अनुसन्धानकर्ता पोखरेलले हालसम्म एक दर्जनभन्दा बढी कछुवाको उद्धार गरेर विभिन्न सिमसार क्षेत्रमा छाडेको जानकारी पनि दिए ।

उनका अनुसार कछुवाको ‘अण्डा’बाट भाले वा पोथीको सवालमा तापक्रमले निर्धारण गर्छ । औषत तापक्रमभन्दा केही बढी हुँदा पोथी र कम तापक्रम हुँदा भाले निस्कने गर्छ । त्यसैले जलवायु परिवर्तनका कारण हुने तापमान वृद्धिका कारण यो प्रजातिको पनि स्वाभाविक रूपमा नै असर गर्न सक्ने उनले बताए । यही प्रजातिको प्रजननमा जलवायु परिवर्तनका कारण के–कस्तो असर पार्छ भनेर अध्ययन नभए पनि जलवायु परिवर्तनका कारण पारस्थितकीय प्रणालीको ह्रास आउने तथा प्रजातिहरूलाई नकरात्मक असर गर्ने पोख्रेलले बताए ।

धेरै प्रजातिका कछुवाहरू सिमसारमा आश्रित हुन्छन् । नेपालमा पाइने कछुवामध्ये इलङ्गेटेट टर्टोइस (लाम्चे कछुवा, ठोटरी) र तीन धर्के कछुवा (ट्राइक्यारिनेटा)मात्र जमिनमा पाइने पोख्रेलले बताए । मानवीय अतिक्रमण, वन फडानी तथा डढेलोका कारण यस्ता प्रजाति सङ्कटमा पर्ने संरक्षण अधिकृत पोख्रेलको भनाइ छ । वन फडानी, आगलागी, सहरीकरण, पानीको स्रोतमा ह्रास, वन क्षेत्रमा विषादी फ्याँक्ने गतिविधि, सिकार गर्ने तथा घरमा पाल्नेजस्ता क्रियाकलापले यो प्रजाति झन् सङ्कटमा पर्ने उनले बताए ।