`

जीवन्त इतिहास बोकेको भक्तपुरको जुद्ध बारुणयन्त्र

–रमेश गिरी
भक्तपुर । नेपालको पहिलो दमकल सेवा जुद्ध बारुणयन्त्र कार्यालय हो । काठमाडौँमा तत्कालीन राणा शासनकालमा जुद्धशमशेर राणाले आफ्नै नाममा १०९४ सालमा स्थापना गरेसँगै भक्तपुरमा पनि २००१ सालमा स्थापना गरिएको थियो । राणाकालमा अग्नि नियन्त्रणका लागि स्थापना गरिएको जुद्ध बारुण यन्त्रको इतिहास काठमाडौँ र ललितपुरमा नरहे पनि भक्तपुरमा भने अझै पनि सेवाकालीन रूपमै रहेको छ ।

गृह मन्त्रालयअन्तर्गत रहेको यस कार्यालय विपद् जोखिम व्यवस्थापन प्राधिकरणअन्तर्गत लैजाने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ ले देशभरका सात सय ५३ वटा स्थानीय तहमै दमकल राख्नुपर्ने व्यवस्था गरेपछि काठमाडौंस्थित जुद्ध बारुण यन्त्र कार्यालयले काठमाडौँ महानगरपालिकालाई र ललितपुरस्थित जुद्ध बारुणयन्त्र कार्यालयले ललितपुर महानगरपालिकालाई दमकल हस्तान्तरण गरेका थिए । तर भक्तपुर नगरपालिकाले भने जुद्ध बारुण यन्त्रका दमकल आफूले जिम्मेवारी नलिने बताए पनि निकै समय अन्योलको अवस्थामा रहेको भक्तपुर कार्यालयमा मध्पुरथिमि नगरपालिकाले एक, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाको संयुक्त लगानीमा एक गरी दुईवटा दमकल खरिद गरी कार्यालयलाई हस्तान्तरण गरेको थियो ।

ती तीनवटै पालिकाले दमकलसँगै हरेक वर्ष ती दमकलको मर्मतसम्भार र लाग्ने आवश्यक इन्धनको समेत व्यवस्था गर्दै आए पनि भक्तपुर नगरपालिकाले भने सेवा लिए पनि कुनै दायित्व बहन भने गरेको छैन । २००१ सालमा तीन रोपनी सात आना क्षेत्रफलमा भवन निर्माण गरेर सञ्चालनमा ल्याएको जुद्ध बारुणयन्त्रले स्थापनाको ८१ वर्षमा बल्ल सुविधा सम्पन्न नयाँ भवन पाएको छ ।

जुद्ध वारुणयन्त्र कार्यालय भक्तपुरका प्रमुख विजयप्रसाद धौभडेल यहाँको दमकललाई पनि भक्तपुर नगरपालिकालाई हस्तान्तण गर्न खोजेको, पटक पटक तत्कालीन प्रमुख जिल्ला अधिकारीसँगको नेतृत्वमा नगरपालिकासँग छलफल गर्दा पनि भक्तपुर नगरपालिकाले दमकलको जिम्मेवारी लिन नमानेपछि गृह मन्त्रालयअन्तर्गत नै भक्तपुर दमकलले जुद्ध वारुणयन्त्रको इतिहास जीवन्त राखेको बताउँछन् ।

भक्तपुरको दमकललाई गृह मन्त्रालय, मातहत कार्यालय, सहयोग गर्ने नगरपालिका, सहयोगी विभिन्न सङ्घसंस्था एवं प्रतिष्ठान, स्वदेशी तथा विदेशी निकायको सहयोग गरिरहेका छन् । जीर्ण र पुरानो भवनमा लामो समय व्यतित गर्दै धेरै आरोहअवरोह र चुनौती पार गरी जुद्ध बारुणयन्त्र भक्तपुरले जस्तोसुकै कठिन परिस्थितिमा पनि आफ्नो सेवालाई कुनै कमी हुन नदिएको उनी बताउँछन् ।

कार्यालय प्रमुख धौभडेल भन्छन्, ‘मेरो जीवनको ३९ वर्ष यहीं कार्यालयमा विभिन्न पदमा रहेर सेवा गरिरहँदा जीर्ण पानी चुहिने भवनमा थोत्रा दमकलले पनि सेवालाई कमी हुन दिएनौँ, नगरपालिकाले नयाँ दमकल दिएपछि धरै राम्रो भयो । भवन निर्माणको सबै विवादलाई विभिन्न चरणको छलफलबाट सहमति गर्दै नयाँ भवन बनाउन सफल भएका छौँ । जुद्ध बारुणयन्त्रको इतिहास अब यहाँ सधैँ जीवन्त र सेवा निरन्तरता रहन्छ ।’ पुरानो, जीर्ण र साँघुरो भवन २०७२ सालको भूकम्पले थप क्षति पुर्‍याएपछि जोखिम मोलेरै पनि कार्यालय सञ्चालन गर्दै आएको अवस्थामा नयाँ भवन निर्माणका लागि सरकारसँग पटकपटक गरेको आग्रहपछि भवन बन्ने त भयो तर जग्गा आफ्नो नाममा नुहँदा थप समस्या आएको उनी स्मरण गर्छन् ।

दमकल रहेको जग्गा पनि नेपाली सेनाको नाममा पुगेपछि पटक पटकको छलफल र सहमतिबाट भवन रहेको जग्गा सरकारसँग लिजमा लिने प्रक्रिया पूरा गर्नेदेखि उक्त जग्गामा नयाँ भवन निर्माण गर्न भक्तपुर नगरपालिकाबाट नक्सापासमा गरेको ढिलाइलाई बिर्सन कठिन भएको यहाँका कर्मचारी बताउँछन् । सरकारले भवन निर्माण गर्न बजेटको व्यवस्थापन गर्दा पनि कार्यालयबाट पछाडि वस्तीमा जाने सडक साँघुरो भएकाले निम्तिएको जटिलता पन्छाएर फराकिलो सडक निर्माण गरेर नक्सापास गर्दै नयाँ भवन निर्माणमा भएको ढिलाइले भूकम्पले जीर्ण बनेको भवनमा ज्यान जोखिम राखेर सेवामा तल्लिन रहनु परेको कठिन क्षणलाई नयाँ भवनले धेरै हदसम्म बिर्साइदिएको कर्मचारी बताउँछन् ।

कार्यालय प्रमख धौभडेल भन्छन्, ‘कार्यालय प्रमुखको हैसियतले मेरो धरै प्रयत्न, स्थानीयवासी र नगरपालिकासँगको पटकपटकको छलफलबाट निकास निकाल्दै पछाडि वस्तीमा जाने सडक फराकिलो पार्न केही जग्गा छाडेर सहमति गरेपछि बल्ल नक्सापास गरेर नयाँ भवन निर्माणको प्रारम्भिक प्रक्रिया अगाडि बढाएर अहिलेको नयाँ भवनमा आइपुगेका हौँ, अब गृहमन्त्री रमेश लेखकबाट उद्घाटन गराउन हामी उहाँलाई कुरिरहेका छौँ ।’

नेपाल सरकार मन्त्रिपरिषद्बाट आगामी ५० वर्षका लागि जुद्ध बारुणयन्त्र भक्तपुरका लागि जग्गा लिजमा प्राप्त भएसँगै नेपाल सरकारको बजेटमा शहरी विकास तथा भवन निर्माण विभाग, सघन शहरी तथा भवन निर्माण आयोजना बबरमहल काठमाडौँले २०७७ साउन ६ गते ठेक्का सम्झौता गरी भवन निर्माण सुरु भएको थियो । ‘अहिले नयाँ भवन निर्माण सम्पन्न भएर यहीँ भवनबाट कार्यालय सञ्चालन गर्न पाउँदा ती दिनमा हामीले भोगेका कठिनाइ, संघर्ष र प्रयत्नलाई बिर्सेर हामीले देखेका सपना पूरा भएकाले साह्रै खुसी लागेको छ’, उनी भन्छन् । नेपाल सरकारको कूल रु पाँच करोड ७६ लाख ९८ हजार ६५८ रूपैयाँ ७७ पैसाको लागतमा निर्माण सम्पन्न भएर २०८१ कात्तिक १ गते सघन शहरी तथा भवन निर्माण आयोजनाले यस कार्यालयलाई हस्तान्तरण गरेको छ । नयाँ भवनबाट कार्यालय सञ्चालनमा आएपनि उद्घाटनमा फेरि ढिलाइ भएको छ ।

यस्ता छन् दमकलको अवस्था

स्थापनाकालमा तत्कालीन सरकारले २००१ सालमा उपलब्ध गराएको डज दमकल अहिले नचल्ने अवस्थामा छ । त्यसपछि २०२४ सालमा बेलायत सरकारले उपलब्ध गराएको डेनिस गाडी मर्मत गरेर चलाउन सकिने अवस्थामा रहेको छ । २०३६ सालमा तत्कालीन सरकारबाट उपलब्ध गराएको म्याग्रस गाडी इन्जिन फेरेर चलाउन सकिने अवस्थामा रहेको छ भने २०३२ सालमा सरकारले उपलब्ध गराएको पानीट्याङ्की, २०५८ सालमा सिद्धीस्मृति प्रतिष्ठानमार्फत उपलब्ध गराएको जर्मन गाडी, २०७३ मा मध्यपुरथिमि नगरपालिकाले खरिद गरी उपलब्ध गराएको दमकल र २०७९ सालमा सूर्यविनायक र चाँगुनारायण नगरपालिकाले संयुक्त रूपमा खरिद गरी उपलब्ध गराएको दकमलमध्ये अहिले मध्यपुरथिमि नगरपालिका र सूयविनायक तथा चाँगुनारायण नगरपालिकाले उपलब्ध गराएको दुईवटा दमकल तथा दुईवटा व्याकअपका लागि पानीट्याङ्की चालु अवस्थामा रहेको कार्यालय प्रमुख धौभडेल बताउँछन् ।

यहाँ रहेका पुराना गाडीहरु जीर्ण भएर थन्किएको अवस्थामा रहेकाले पुराना र नबने तथा नचल्ने अवस्थामा पुगेका दमकललाई यहीँ एक सङ्ग्रहालयको रूपमा विकास गरेर राख्नसके यसको इतिहासलाई सधैँ जीवित राख्ने सकिने उनी बताउँछन् । नगरपालिकाले उपलब्ध गराएको दुईवटा दमकलका लागि आवश्यक इन्धन, जोखिम भत्ता, मर्मत खर्च तीन नगरपालिकाले व्यहोर्दै आएको जानकारी गराउँदै छ ।

भक्तपुर, काठमाडौँ, ललितपुरदेखि काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकको तातोपानीसम्म सेवा दिँदै आएको भक्तपुरका दमकलले अहिले पनि आवश्यक पर्दा जुनसुकै ठाउँमा सेवाका लागि तयार रहँदै आएको छ । कार्यालयमा ३२ दरबन्दी स्वीकृत रहेकोमा १५ जना फायर म्यान, चार जना भारी सवारी चालक, दुई जना हबल्दार र दुई जना क्लिफर, एक नासु, एक खरिदार, एक सहायक कम्प्युटर अपरेटर, एक सहलेखापाल र तीन कार्यालय सहयोगी रहेकामा अन्य पद रिक्त छन् भने २३ जना कर्मचारीलाई करार सेवामा रहेका छन् ।

कर्मचारीका लागि आवश्यक सुरक्षा तालिम, आवश्यक जोखिम सामग्रीका व्यवस्थापन गर्दै आए पनि करार कर्मचारी र यहाँको कर्मचारी एवं कार्यालय सञ्चालनका लागि थप बजेटको आवश्यकता रहेको छ । कर्मचारीलाई अगनी नियन्त्रणका बेला सुरक्षित पार्नु आवश्यक रहेको भन्दै कार्यालय प्रमुख धौभडेलले कार्यालयले आगो नियन्त्रण, इनारमा खसेरका मानिसको उद्धार र ग्यासलगायत विभिन्न क्षेत्रमा हुने आगलागी नियन्त्रणमा समेत तालिम र अन्य सेवा दिँदै आएको उनी बताउँछन् । 

मौलिक फागु संरक्षणमा जुट्दै पाल्पाका स्थानीयवासी

पाल्पा ।

मजाको फागुन जानमा लाग्यो, धड्कन लाग्यो छाती हो ।
औँला काटी कलम बनावे रगतकी मसिया बनायी, यै हो ।
हाय हाय रगत के मसिया बनावे सखियाँ ।
धड्कन लाग्यो छाती हो ।
फागु खेलन हो…हुरी खेलन..।राजाको आँगनमा हुरी खेलन…

लोप हुनलागेका यी र यस्तै फागु गीत गाएर पाल्पाको तानसेन नगरपालिकाऔ १३ छेर्लुङ्गका टोल-टोलमा तीन दिनदेखि सर्वसाधारण फागु खेलिरहेका छन् । पहाडी भेगका अधिकांश गाउँमा फागु पूर्णिमाको चार/पाँच दिन अघिदेखि यी गीत गाउने परम्परालाई यहाँका युवा र पाका पुस्ता मिलेर ब्युँताइरहेका छन् । उनीहरु यस्ता गीत गाउँदै टोलवस्तीमा पुगिरहेका छन् ।

छेर्लुङ्गमा आज बिहानैदेखि युवा र पाका पुस्ता फागु गीत गाउँदै रमाइरहेको दृश्य देखिएको छ । उनीहरु ट्याम्को, ढोलक, मादल र मुजुराको तालसँगै लयबद्ध बनाउँदै, गाउँदै होलीको रङ्सँग रमाएका छन् ।

आधुनिकता र प्रविधिको विकाससँगै होली खेल्ने प्रचलन बढेपछि मौलिक फागु हराउन लागेका बेला छेर्लुङ्गवासी भने परम्परा सरंक्षणमा जुटेको स्थानीय किशोर भट्टराईले बताए । उनले भने,’दुई/तीन दिनदेखि यहाँका युवा र पाका स्वतःस्फूर्त रूपमा सबै टोलमा समूह बनाएर उत्साहका साथ फागु सिकाउने, गाउने र नाच्ने गरिरहेका छन् ।’

फागु खेलेर सङ्कलित केही रकम साथीभाइ मिलेर रमाइलो गर्ने र बाँकी रकम सामाजिक कार्यमा खर्च गर्ने गरिने उनले बताए । यहाँ त्रेता युगमा भगवान विष्णुका भक्त प्रह्लादको कथामा आधारित भई फागु गीत गाउने प्रचलन छ ।

फागु गीत भाका र ठाउँअनुसार फरक-फरक भएपनि टेम्को, ढोलक, डम्फु, मजुरा मादल बजाएर गीतअनुसार नाचिने स्थानीय धनबहादुर भट्टराई बताउँछन् ।

दुई दशक अघिसम्म पाल्पासहित पहाडी जिल्लाका विभिन्न गाउँ र टोलहरुमा यसरी गाइने मौलिक फागु अहिले सीमित समूह र टोलमा मात्रै देख्न पाइन्छ ।

यहाँका चिदीपानी, भैरवस्थान, देउराली, खस्यौली, ख्याहा सोमादीको सर्देवा, बराङदीलगायतका गाउँमा टेम्को, ढोलक, डम्फु, मजुरा बजाएर फागु खेल्ने प्रचलन कायमै छ । यहाँ पाका पुस्ताले युवा पुस्तालाई सिकाउँदै आएका छन् ।

हिमवत्खण्ड सम्मिलनले नेपालीलाई एकतामा बाध्ने काम गर्छ : संयोजक सुब्बा

काठमाडौं । हिमवत्खण्ड क्षेत्रका भाषाभाषीका विभिन्न संस्कृति, सभ्यता, ज्ञान र परम्परालाई आत्मसात् गर्दै यहाँका विविध जातजाति तथा समुदायबीच सांस्कृतिक आदानप्रदान गर्ने, संस्कृति, सभ्यता र ज्ञान परम्पराका सम्बन्धमा प्राज्ञिक विमर्श गर्ने उद्देश्यले आगामी चैत १ देखि ३ गतेसम्म काठमाडौँमा ‘हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन’ हुँदैछ । सम्मिलनमा हिमवत्खण्डका नेपालका सातवटै प्रदेशका साथै भारत (सिक्किम, पश्चिम बङ्गाल, असम, मणिपुर, मेघालय, उत्तराञ्चल), चीन, बङ्गलादेश, म्यान्मार, भुटान, थाइल्यान्डमा बसोबास गर्ने नेपालीहरु सहभागी हुँदैछन् । प्रस्तुत छ, सम्मिलनको पूर्वसन्ध्यामा मदन भण्डारी कला–साहित्य प्रतिष्ठानका अध्यक्ष तथा सम्मिलन आयोजक समितिका संयोजक डा विजय सुब्बासँग रासस सम्वाददाता कालिका खड्काले गरेको कुराकानीको केही अंशः

हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन गर्दै हुनुहुन्छ । हिमवत्खण्ड भनेको के हो ?

नेपाल हिमवत्खण्डको केन्द्र स्थल हो । नेपाल सभ्यता र ज्ञानको पवित्र भूमि हो । यो विश्वमा मानव सभ्यताको आदिभूमि हो । ज्ञानोदयको आदिभूमि हो । यसै हिमवत्खण्ड नेपालमा सबैभन्दा प्राचीन ग्रन्य ऋगवेद र सबैभन्दा प्राचीन भाषा संस्कृतको जन्म भएको हो । यसै भूमिमा चार वेद, उपनिषद्, श्रुति, स्मृति, पुराण तथा अनेकौँ नीतिशास्त्रको प्रादुर्भाव र विस्तार भएको हो । हिमवत्खण्डअन्तर्गत नै सप्तगण्डकीमा काश्यप ऋषि, पुलत्स्य ऋषि, कोशी किनारमा कौशिक ऋषि (विश्वामित्र), मिथिलामा तत्वज्ञानी राजा जनक, याज्ञवल्क्य, गार्गीजस्ता दार्शनिक र वाल्मीकि, व्यास, कालीदास जस्ता महान् कविहरूको जन्म भयो । यहीं नै ने मुनि नामका ऋषि र किराँतहरूका ऋषि आकुनीले ख्याती कमाएको पाइन्छ । वैदिक वाङ्मयमा विविध दर्शनहरूको आविष्कारले यस क्षेत्रलाई सिञ्चित गर्न सकेकाले नै हिमवत्खण्ड र यसअन्तर्गत पर्ने नेपाललाई मानव सभ्यताको उद्गम र विश्व सभ्यताको ज्येष्ठभूमि मानिएको हो । यसै पावन भूमिमा गौतम बुद्धको जन्म भयो र विश्वभर बुद्धत्वको प्रकाश प्रशारित भयो ।

प्राचीन नेपाल अहिलेभन्दा ठूलो थियो । विक्रमादित्यका छोरा समद्र गुप्तको प्रयागस्थित अभिलेखमा कामरुप (आसाम) र कर्कपुर (कुमाउ र गडवाल क्षेत्रबीचको देशलाई ‘नेपाल’ भनी वर्णन गरिएको छ । हिमवत्खण्डको यो विशाल यज्ञभूमि, तपोभूमि, ज्ञानभूमिमा कैयौँ ऋषि–महर्षिहरूले ज्ञानको आविष्कार गरेका थिए । उनीहरूले नै अनेक धर्मशास्त्र, नीतिशास्त्र, राज्य शासनका विधिविधान सिर्जना गरेर हिमवत्खण्डलाई युगयुगसम्म सङ्गठित गराउने थिति बसाले । हिमवत्खण्डले ओगट्ने भौगोलिक क्षेत्रफल जति विविधतापूर्ण र विशाल छ, त्यत्तिकै यसको गहनता र महत्ता पनि व्यापक र विशाल छ । यस भूखण्डका भौगोलिक, ऐतिहासिक, सांस्कृतिक र आध्यात्मिक मूल्य विशिष्ट छन् । पौराणिक ग्रन्थहरूका अनुसार हिमवत्खण्ड भन्नेबित्तिकै प्राचीन ऋषिमुनिको पवित्र तपोभूमि भन्ने बुझिन्छ । हिमवत्खण्ड भनेको पूर्वदेखि पश्चिमसम्म विस्तारित हिमालय श्रृङ्खला समाविष्ट भूगोलको एउटा खण्ड हो । हिमवत्खण्डवारे प्राचीनकालदेखि नै विभिन्न चर्चा परिचर्चा हुँदै आएका छन् । वेदव्यासद्वारा रचित अठार पुराणहरूमध्ये प्रमुख स्कन्द पुराण पनि हो । यसअन्तर्गत एउटा खण्डमा हिमवत्खण्डको महिमा वर्णन गरिएको छ । स्कन्द पुराणको यसै खण्डमा वर्णन गरिएअनुसार हिमालय पालित सिन्ध प्रदेशदेखि ब्रह्मपुत्रसम्म फैलिएको मानसरोवर समन्वित भूखण्ड नै हिमवत्खण्ड हो ।

सम्मिलन गर्नुको मूल उद्देश्य के हो ?

भण्डारी कला–साहित्य प्रतिष्ठानद्वारा भानु जयन्तीका अवसरमा २०७५ असार २९ देखि ३१ गते पहिलोपटक हिमवत्खण्ड कला–साहित्य सम्मिलन आयोजना गरिएको थियो । अहिले हिमवत्खण्ड कला–साहित्य–संस्कृति भनेर संस्कृति थप गरेका छौं । संस्कृति थप्नुको कारण यसपालिका लोकसंस्कृतिको सङ्कलन मुख्य विषय हो । तत्कालीन तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले हिमवत्वखण्डको सम्मिलन गर्नुपर्छ भनेर भन्नुभयो । त्यसपछि खोजी गरेर २०७५ सालमा हिमवत्खण्ड कला–साहित्य प्रतिष्ठान सम्मिलन गरिएको हो । धेरैले हिमवत्खण्ड के हो भनेर सोध्नुुहुन्छ । हिमवत्खण्ड भनेको पश्चिममा सिन्धु नदी (सिन्धु प्रदेश पनि भनिन्छ) । पश्चिममा ब्रह्मपुत्र नदी, उत्तरमा मानसरोवर क्षेत्र, पूर्वमा ल्हासा, उत्तरमा हिमालय पर्वत श्रृङ्खला दक्षिणमा गङ्गा नदी (गङ्गा मैदान पनि भनिन्छ) । यो हिमवत्खण्डको भू–भाग हो । यसलाई हिन्दू धर्ममा सनातनी धर्म पनि भनिन्छ । त्यसमा १८ वटा महापुराण छन् । तीमध्ये सबैभन्दा ठूलो स्कन्द महापुराण हो । त्यो स्कन्द महापुराणको एउटा महत्वपूर्ण खण्ड हिमवत्खण्ड रहेछ ।

हिमवत्खण्डको मध्यभागमा नेपाल छ । यो पुराण र महापुराणमा धेरै उच्च स्थान रहेको छ । हिमवत्खण्डमा मानस खण्ड लेखिएको छ । मानसखण्ड (मानसरोबरसँग जोडेर नेपालको चर्चा गरिएको छ) । पशुपतिनाथ, मृगस्थली, बागमती नदी, गुह्येश्वरीको यति धेरै उच्च स्थानमा चर्चा छ । नेपालमा संस्कृतिका विद्धान पण्डित महापण्डितले यस्तो अन्य देशका पण्डित आउँदा हामी सानो जस्तो देखाउँछौँ । हिमवत्खण्डमा नेपालको हैसियत भुर्इंमा बस्ने होइन । माथिको आसनमा बस्ने हैसियत रहेछ । यो सम्मिलनमा नेपालभित्र र नेपाली मूलका विदेशी नागरिक हुनुहुन्छ । हिमवत्खण्डभित्र बसेको भावना, लोकसंस्कृतिको अवस्था के छ जम्मा गरौँ भन्ने मूल उद्देश्य हो । धेरैले ‘ग्रेटर नेपाल’सँग जोडेर हेर्ने पनि हेर्ने गरेका छन् । त्यो राजनीतिक हो । हिमवत्खण्डभित्र बसेका नेपाली र नेपालीमूलका विदेशी नागरिकको साझा विषय लोकसंस्कृतिलाई मूल विषय बनाएका छौँ । एकताको भावना फैलाऔँ भन्ने पनि हो ।

हिमवत्खण्ड संसारकै गौरव हो । यही गौरवशाली भूखण्डमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वप्रसिद्ध हिमशृङ्खलाहरू अवस्थित छन् । भारोपेली तथा भोट बर्मेली भाषाको आधार क्षेत्रका रूपमा रहेको यस भू–भागमा अस्तित्वमा रहेका नेपालीसहित विभिन्न भाषा, सभ्यता र संस्कृतिको उन्नयन, आपसी सदभाव र सांस्कृतिक एवम् मौलिक सिर्जनशील पक्षको महिमा गान एवम् विचार विमर्श यस सम्मिलनको खास उद्देश्य रहने छ । हिमवत्खण्डका समस्त सांस्कृतिक वैभवप्रति गर्व गर्दै यहाँको प्रकृति, संस्कृति तथा मानवीय मूल्यको संरक्षण गर्नु यस सम्मिलनको उद्देश्य हुनेछ । हिमवत्खण्डको यस भेगमा सिर्जित वैदिक तथा बौद्ध वाड्मय, ज्योतिष विज्ञान, योग एवम् आयुर्वेद र अपार सांस्कृतिक ज्ञान परम्परा र वैभवले यस क्षेत्रको चेतनालाई सदैव उँचो राख्दै आएको छ । ज्ञान तथा चेतनाका ती महिमाशाली परम्पराप्रति गौरवबोध गर्नमा यस सम्मिलनले थप भूमिका खेल्नेछ ।

हिमवत्खण्डका मौलिक तथा रैथाने संस्कृति, ज्ञान परम्परा, तन्व–मन्त्र, कला–साहित्य, रीतिरिवाज, शिल्पकला, भेषभूषा, खानपान, मूर्त तथा अमूर्त सम्पदाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न सम्मिलनले यस क्षेत्रमा पुनर्जागरण ल्याउनेछ । हिमवत्खण्डका प्राचीन सभ्यता, सांस्कृतिक, सामाजिक, भौगोलिकलगायतका विविध आयामबारे खोज–अन्वेषण, अध्ययन–अनुसन्धान तथा संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्नका निमित्त यस सम्मिलनले ऊर्जा प्रदान गर्नेछ । नेपाल अनेक जातजाति, संस्कृति तथा भाषाभाषीका इनद्रेणीको रूपमा परिचित रहँदै आएको छ । यस मुलुकमा रहेको प्राकृतिक, जैविक तथा सांस्कृतिक विविधता नै यस धराको ऐश्वर्य हो । यस सत्यलाई आत्मसात् गरी अन्तरराष्ट्रिय एकताको सेतु नेपाली राष्ट्रिय संस्कृतिको संवर्द्धन र विकास गर्नु हाम्रो परम कर्तव्य हो । यो सम्मिलनको अर्को उद्देश्य भनेको मुलुकको विकास निर्माण र समृद्धितर्फको यात्रामा बहुसांस्कृतिक पहिचान कायम राख्दै अघि बढ्न सम्बद्ध सबै पक्षलाई आह्वान गर्नु पनि हो । भाषिक घनत्वका दृष्टिले नेपाल अनुपम भूमि रहिआएको छ र हाल बोलचालमा रहेका एक सय २३ भाषा तथा तीसँग जोडिएका संस्कृतिको जीवन्तता यसको प्राण हो । यसलाई नागरिक तथा सरकारी दुवै तहका प्रयत्नबाट जोगाउनु तथा एक आपसमा सहकार्य गरी विकसित गर्नु आवश्यक छ । नेपालका भाषा र संस्कृतिहरूको संरक्षणका लागि विशेष भूमिका निर्वाह गर्नका लागि सम्बद्ध सबै पक्षमा चेतना जागृत गराउनु यस सम्मिलनको थप उद्देश्य हुने छ ।

हिमवत्खण्डको मौलिक संस्कार संस्कृतिभित्रका कस्ता विषयहरु बढी सम्मिलनमा छलफल हुन्छ ?

हिमवत्खण्डको दक्षिण भाग हिमालय पर्वत श्रृङ्खला हो । सभा लाख पर्वत श्रृृङ्खलाबाट सिञ्चित जमिन हिमवत्खण्ड हो । हामीले नेपालभित्रको प्रदेश नभनी बागमती सिञ्चित भू–भागको लोक संस्कृति, गण्डकी, कोशी, सेती, महाकालीको हिमालय पर्वत श्रृङ्खलाको नदी सभ्यताको लोक संस्कृतिको सङ्कलन गर्ने र शिर नभएको लुम्बिनी क्षेत्रको लोकसंस्कृति र मिथिला क्षेत्रको लोकसंस्कृति (मधेश प्रदेश) भनेर सात प्रदेशको सातवटा कार्यपत्रको व्यवस्था गरिएको छ । नेपाल बाहिरबाट १० वटा कार्यपत्र प्रस्तुत गरिनेछ । त्यसबाहेक नेपाल वरिष्ठ विद्धानबाट हिमवत्खण्डको गरिमा, यसक्षेत्रभित्रको नेपाली भाषा र विश्वव्यापीकरण, हिमवत्खण्डको सांस्कृतिक वशिष्टता के छ ? नेपाली संस्कृतिको खानपान जस्तैः बर्माका नेपालीले गुन्द्रुक खान्छन् कि खाँदैनन् ? नृत्य लोकलय कस्तो छ । कार्यपत्र सात प्रदेशबाट सातवटा, विदेशी नेपालीका तर्फबाट १० वटा र विज्ञहरुबाट पाँच वटा गरी २२ वटा कार्यपत्रका प्रस्तुत गरिनेछ । पछि त्यसलाई सङ्कलन गरी पुस्तक निकाल्ने सोच छ ।

सम्मिलनमा नेपालीबाट मात्रै कार्यपत्र प्रस्तुत हुन्छन् कि विदेशमा बस्ने नेपालीबाट पनि हुन्छ ?

नेपालको लोकसंस्कृतिबारे गोष्ठी–पत्र भनेर नेपालका सातओटै प्रदेशका नेपाली लोकसंस्कृति सम्बन्धमा प्रस्तुति हुनेछ भने नेपाल बाहिरको नेपाली लोकसंस्कृतिसम्बन्धी म्यानमार, बङ्गलादेश, भुटान, थाइल्यान्ड, चीनको तिब्बतका साथै भारतका पश्चिम बङ्गाल, सिक्किम, मणिपुर, असम, देहरादुन आदिबाट गोष्ठीपत्र प्रस्तुत हुनेछ । विशेष गोष्ठी–पत्र प्रस्तुति हिमवत्खण्डमा नेपाली भाषाको अवस्थाबारे प्राडा चुडामणि बन्धु, हिमवत्खण्डका नेपाली भाषा र यसको अन्य भाषासँगको अन्तरसम्बन्ध प्राडा माधवप्रसाद पोखरेल, हिमवत्खण्डको संस्कृति र विश्वव्यापीकरण डा रमेश ढुङ्गेल, हिमवत्खण्डको नेपाली खानपान संस्कृति डा भेषराज अधिकारीको प्रस्तुति रहनेछ ।

सम्मिलनमा मुलुकका सातवटै प्रदेशका साथै भारत (सिक्किम, पश्चिम बङ्गाल, असम, मणिपुर, मेघालय, उत्तराञ्चल), चीन, बङ्गलादेश, म्यान्मार, भुटान, थाइल्यान्डबाट नेपाली लोकसंस्कृतिसम्बन्धी कार्यपत्र प्रस्तुत गरिने छ । सम्मिलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हिमवत्खण्ड, यसको महिमा र लोकसंस्कृति’ सम्बन्धमा प्रवचन दिने कार्यक्रम छ । सिक्किमका पूर्वमुख्यमन्त्री तथा वरिष्ठ साहित्यकार पवन चाम्लिङद्वारा ‘हिमवत्खण्डमा नेपाली भाषा तथा नेपाली लोकसंस्कृतिको अवस्था’ का बारेमा विशेष प्रवचन हुनेछ ।

हिमवत्खण्डको सम्मिलन गर्न कस्ता चुनौतीहरु छन् ?

आर्थिक व्यवस्थापन गर्न निकै समय लाग्यो । अलिअलि कठिनाई अनुभव पनि भएको छ तर व्यवस्थापन गर्छौँ । सहयोग सङ्कलन पनि गर्छौैँ । तयारीको अन्तिम अवस्थामा पुर्याइसकेका छौँ । विदेशबाट आउने नेपालीलाई खाने र बस्ने व्यवस्था मिलाएका छौँ । घोषणापत्र तयार गर्छाैँ । पहिलो सम्मिलनमै हिमवत्खण्ड क्षेत्रभित्रका नेपालीबीचमा एउटा मञ्च बनाउने कुरा भएको थियो तर भएन । अहिले चाहि त्यो मञ्च बनाउँछाँै । दुई वा तीन वर्षमा यस्ता सम्मिलन गर्नेछौँ । भारतमा नेपाली मूलका वासिन्दा धेरै छन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली लोकसंस्कृतिको अवस्थाबारे यो क्षेत्रमा काम गर्न राम्रो भन्ने सुझाव दिनुभएको थियो । बर्माको पिलोक भन्ने ठाउँमा २०/२२ वर्षका नेपाली मूलका छोरीहरु नेपाल सम्झेर रुन्छन् । बाजेहरु नै उता गएका थिए । बुबाआमालाई सम्म नेपालका बारेमा थाहा छैन । नातिनातिनाहरु नेपालको नाम त्यसरी भावुक भएर लिन्छन् । यस्ता मान्छेहरु नेपालमा ल्याउनुपर्छ भन्ने लाग्यो । धेरै नेपाली आफन्त, दिदीबहिनी भेटन पाउने खुशीमा नेपाल आउन लालाहित छन् । तीन दिन नेपाल बस्दा सबै भाषाभाषीको प्रतिनिधित्व हुने गरी विदेशी पाँच र नेपाली १० सांस्कृतिक प्रस्तुति पनि गरिन्छ । यो विविधतालाई जीवित राख्न पुस्तक, भिडियो पनि बनाउने योजना छ ।

सम्मिलनमा विदेशी नेपाली र नेपाली गरी सहभागी कति जना हुनुहुन्छ ?

सम्मिलनमा विदेशबाट कलाकारसहित करिब सय जना आउनुहुन्छ भनेसहभागी देशभरबाट करिब २०० जना तथा आयोजक, सल्लाहकार गरी जम्मा करिब एक हजारको उपस्थिति हुन्छ । सिकिमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङले विदेशमा बसेर धेरै नेपाली भाषाको काम गर्नुभएको छ । उहाँलाई हामीले सम्मान पनि गर्छाैँ । हामीले यसरी सम्मिलन सुरु गरेपछि भविष्यमा पनि कसै न कसैले यो कामलाई निरन्तरता दिनेछन् भन्ने लागेको छ । यो वौद्धिक छलफल हो । सुरुको दिनमा पुरानो चलचित्र बसाइ, मुनामदन पर्यटन बोर्डमा देखाइनेछ । नेपाली चलचित्र, सञ्चारमाध्यममा नेपाली भाषाको प्रयोग, संस्कृति र समृद्धिमा नेपाली भाषाको प्रयोग भन्ने विषय रहेको छ । सम्मिलनको उद्घाटन राष्ट्रिय सभागृहमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी गर्नुहुनेछ भने सभापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ ।

सम्मिलनका क्रममा भन्नुपर्ने केही विषय छ कि ?

यो सम्मिलन भनेको मदन भण्डारी फाउन्डेसनको कला साहित्यको क्षेत्र हेर्ने हाँगा मात्रै हो । यस्ता विषय सरकारका एकेडेमीले काम गर्नुपर्छ । एकेडेमीहरुमा नेपालमा चर्चित र स्थापित व्यक्तिलाई लैजानुपर्छ । त्यो काम एकेडेमीले गर्नुपर्छ । सरकारकै लगानीमा यस्ता काम आगामी दिनमा गर्न पाए राम्रो हुन्थ्यो ताकी संसारभरका नेपालीबीच सांस्कृतिक सम्बन्धलाई अगाडि बढाउन सकियोस् । राज्यले कला, साहित्य, संस्कृति क्षेत्रमा काम गर्ने संस्थालाई सहयोग गर्नुपर्छ । पुराण, महापुराणसँग जोडिएर धेरै ठूलो सम्पति रहेछ । धार्मिक क्षेत्रमा काम गर्ने मानिसहरुले नेपालको धार्मिक क्षेत्रमा र नेपालीलाई उच्च आशामा बसाउन सक्नुपर्छ । धार्मिक कुराभन्दा फरक काम गर्ने हामी सांस्कृतिक पक्षलाई ध्यान दिएर काम गरिरहेका छौँ । नेपालीको भावनालाई जोड्ने काम गरिरहेका छौँ ।

त्रिवि केन्द्रीय क्याम्पसमा अध्यक्षका लागि १७ जनाको उम्मेदवारी

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अध्यक्ष पदका लागि १७ जनाको उम्मेदवारी परेको छ ।

क्याम्पसले सार्वजनिक गरेको अन्तिम उम्मेदवारको सूचिमा अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु क्रान्तिकारी र स्वतन्त्र विद्यार्थी समूहलगायत स्वतन्त्रले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका क्याम्पस निर्वाचन अधिकृत प्राडा कृष्णप्रसाद न्यौपानेले जानकारी दिए ।

अनेरास्ववियुबाट सिद्धान्त भट्ट, नेपाल विद्यार्थी सङ्घबाट दीपकराज जोशी, अखिल (क्रान्तिकारी)बाट प्रवीन दाहाल, स्वतन्त्र विद्यार्थी समूहबाट दिनेश कार्की, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घबाट विलम सुवाल, नेपाली विद्यार्थी मञ्चबाट अक्कल रानाभाट, नयाँ शक्ति विद्यार्थी युनियनबाट नरेन्द्र सिंह महरा, स्वतन्त्र विद्यार्थी (त्रिवि)बाट उज्जलवहादुर खड्का, स्वतन्त्रबाट पद्मा भुसाल, सनम वली र दिप्रसन केसीलगायतले उम्मेदवारी दर्ता गराएका छन् । त्रिवि केन्द्रीय क्याम्पसमा ६ हजार १४६ मतदाता रहेका छन् ।

आज साँझ ४ बजेसम्म उम्मेदवारमाथि दावी विरोध र फिर्ता लिने समयावधि तोकिएको तथा आजै साँझ ७ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका रहेको छ ।

त्रिविले स्ववियु निर्वाचनको प्रचारप्रसारको समय फागुन २९ गते दिनको २ बजेदेखि चैत २ गते राति १२ बजेसम्मका लागि तोकेको छ । स्ववियु निर्वाचनमा आगामी चैत ५ गते त्रिविअन्तर्गतका क्याम्पसमा हुँदै छ ।

नियमितभन्दा फरक चलचित्र ‘आउट लः दफा २१९’

काठमाडौँ । नेपालमा केही वर्षयता सामाजिक विषयवस्तुसँग जोडिएका चलचित्र बढी निर्माण भइरहेका छन् । सामाजिक विषय र हास्यप्रधान प्रस्तुतीकरण रहका चलचित्रले दर्शकको साथ पनि राम्रै पाइरहेका छन् । ‘छक्का पञ्जा’, ‘कबड्डी’, ‘जात्रा’ चलचित्रका शृङ्खलाको व्यापार हेर्दा नेपालमा हास्यप्रधान चलचित्रमा दर्शक आकर्षित रहेको बुझ्न सकिन्छ ।

फरक विषय वा प्रस्तुतीकरण भएका चलचित्र निर्माण गर्नु चलचित्रकर्मीको दायित्व रहेको निर्देशक बिक्की महर्जनको बुझाइ छ । यही महसुस गरेर उनले दुई वर्षअघि पहिलो चलचित्र निर्देशन गर्ने सोच बनाउँदा द्वन्द्व विधालाई रोजे ।

उनले निर्देशन गरेको चलचित्र ‘आउट लः दफा २१९’ द्वन्द्व विधामा तयार गरिएको छ । “हामीले बनिरहेका चलचित्रभन्दा फरक गर्ने कोसिस गर्दै जोखिम मोलेर पनि द्वन्द्व विधामा चलचित्र तयार गरेका छौँ । यस चलचित्रको प्रस्तुतीकरणको शैली बनिरहेकाभन्दा फरक छभने हामीले दफा २१९ को विषयलाई उठाएका छौँ । महिला हिंसा र बलत्कारका विषय चलचित्रमा समेटेका छौँ”, निर्देशक महर्जनले भने ।

उनले चलचित्रलाई बिनासम्झौता तयार गर्न दुई वर्ष समय लागेको जानकारी दिए । अन्य विधाको तुलनामा द्वन्द्व विधामा निर्माण गरिने चलचित्रमा जोखिम हुनाका साथै लगानी बढी लाग्ने अभिनेता सुशील श्रेष्ठको भनाइ छ । पहिलोपटक द्वन्द्वप्रधान चलचित्रमा काम गरेका अभिनेता श्रेष्ठले चलचित्रको काम सुरु हुँदादेखि प्रदर्शनसम्म दुई वर्ष समय दिएको बताए ।

उनले भने, “एउटा राम्रो चलचित्र बनाउन र नेपालमै उपलब्ध स्रोतसाधनको प्रयोग गर्न हामीले कुनै कसर बाँकी राखेका छैनौँ । एउटा द्वन्द्वको दृश्य खिच्न नौ दिन लागेको छ । यस्ता दृश्य खिच्दा थकित हुनाका साथै जोखिम पनि उत्तिकै हुन्छ ।”

विदेशी चलचित्रमा कलाकारझैँ देखिने जोखिमका दृश्य ‘बडी डबल’ भए पनि नेपालमा भने अभिनेताले नै सबै दृश्यमा आफैँले छायाङ्कन गर्नुपर्छ । द्वन्द्वका दृश्यको छायाङ्कन गर्दा अभिनेता श्रेष्ठको हातको औँला भाँचिनेदेखि चोटपटक लागेको थियो । प्रायः प्रेमकथानक चलचित्रमा देखिएका अभिनेता श्रेष्ठका लागि यसपटक फरक विधाको चलचित्रमा काम गर्नु चुनौतीसँगै अवसर पनि थियो ।

“एकै किसिमको चलचित्रमा काम गर्दा हाम्रो विषयमा धारणा नै बन्छ, त्यसकारण पनि मैले जोखिम मोलेर फरक विधामा प्रयास गरेँ । छायाङ्कनका क्रममा घाइते भएर पनि काम गरेको दृश्यलाई पर्दामा हेर्दा सन्तुष्टि मिलेको छ । चलचित्र भनेको सामूहिक कार्य हो, राम्रो बनाउन हामी सबैले उत्तिकै मेहनत गरेका छौँ”, उनले भने ।

चलचित्रका निर्देशक महर्जनले चलचित्र छायाङ्कनसँगै त्यसपछि गरिने प्राविधिक कार्यका लागि समय लागेको बताए ।

“हाम्रो चलचित्रमा प्राविधिक पक्षलाई समय दिनुपरेकाले दर्शकसम्म ल्याउन समय लागेको हो किनकि विदेशी चलचित्र हेरेर तारिफ गर्ने दर्शकले हाम्रोमा कमी नदेखुन् भन्ने हामी सम्पूर्ण निर्माण समूहलाई लाग्थ्यो । पारिवारिक चलचित्र मात्र बनिरहेको सन्दर्भलाई मध्यनजर गर्दै विविधता चाहिन्छ भनेर द्वन्द्वप्रधान चलचित्र निर्माण सुरु गरेका थियौँ । त्यसैले यसमा गर्नुपर्ने मेहनत र लगानीमा कुनै सम्झौता गरेका छैनौँ”, निर्देशक महर्जनले भने ।

उनका अनुसार विदेशी चलचित्रमा देखिने द्वन्द्वका दृश्यझैँ ‘आउट लः दफा २१९’ का दृश्यलाई तयार गरिएको छ । यही फागुन २९ गतेदेखि देशभर प्रदर्शन हुने चलचित्रलाई अमित अग्रहरी र निशा गुइडेले निर्माण गरेका हुन् । निर्देशक महर्जन र दीर्घ धामीले संयुक्त रूपमा पटकथा तयार गरेको चलचित्रमा नवीन गुरुङले छायाङ्कन र साहिल खानले सम्पादन गरेका छन् ।

‘रास्वपा पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली चाहन्छ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरुले पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली चाहेको बताएको छ ।

पार्टीका पूर्वमहामन्त्री डा. मुकुल ढकाल सभापति रवि लामिछाने राजतन्त्रको पक्षमा रहेको बताएपछि केन्द्रीय सदस्य गणेश कार्कीले गणतन्त्रका विषयमा पार्टीको धारणा चाहनेहरूलाई दस्तावेज पढिदिन आग्रह गरेका हुन् ।

कार्कीले भनेका छन्, ‘प्रस्तावनामा प्रष्ट लेखिएको छ कि रास्वपाले पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली चाहन्छ । हजारौं पटक भनेका छौँ कि हामीलाई व्यवस्था हैन, अवस्था फेर्नु छ । गणतन्त्रका विषयमा पार्टीको धारणा चाहनेहरूले दस्तावेज पढिदिनु होला । नेताका भाषण सुनिदिनु होला । दस्तावेज र विचार ऋतु जस्तो फेरिदैन ।’

पूर्वमहामन्त्री ढकालले केहीदिन अघि राजाबाट सकारात्मक कुरा नआएपछि आफूहरु गणतन्त्र कै लाइनमा पार्टी खोल्ने निर्णयमा पुगेको बताएका थिए ।

ढकालले भनेका थिए, ‘राष्ट्रिय स्वतन्त्र पार्टी खोल्नु अघि ‘राजतन्त्र’ को लाइन लिने कि “गणतन्त्र“ को भनेर रवि दाइ र मबीच छलफल भयो । त्यतिबेला छलफल गर्नका लागि कोही थिएन, जे जति हुन्थ्यो, हामी दुइबीच नै हुन्थ्यो । राजासँग भेट्न रवि दाइ झापासम्म जानुभयो । राजा र राजाका नजिकका मान्छेसँग उहाँको दुई–चार पटक कुरा पनि भयो । रवि दाइ राजतन्त्रलाई समातेर जाने लाइनमा हुनुहुन्थ्यो । त्यतिबेला मैले रवि दाइलाई भनें, ‘राजा ल्याउने वा आउने कुरा हामीले गरेर हुन्न, राजा आफैंले बोल्नपर्छ । जसलाई ल्याउन खोजेको हो, ऊ आफैँले त ‘म आउने हो’ भन्न पर्यो नि ।’ राजा बोल्न तयार भएनन् , तर त्यसपछि पनि रवि दाइले ‘राजतन्त्र’ लाई कुनै न कुनै ढङ्गले समेटौं भनिराख्नु भयो । मैले प्रस्ताव राखें, रवि दाइले त्यही अनुसार राजासँग पनि कुरा गर्नुभयो । मेरो प्रस्ताव थियो–“राजाको निजी सम्पत्ति नहुने, जनताले राजालाई पाल्ने, राजाको सम्पत्ति ट्रस्टमा लगेर सकेसम्म सबै जिल्ला नत्र कम्तिमा हालका प्रदेश राजधानीमा एक–एक वटा ठूला स्कुल र अस्पताल खोलौँ । यति घोषणा गरि एकैपटक स्कुल र अस्पतालहरूको शिलान्यास गरौँ ।’ राजाबाट सकारात्मक कुरा आएन । राजाबाट सकारात्मक कुरा नआएपछी, गणतन्त्र कै लाइनमा पार्टी खोल्ने निर्णय गर्यौँ ।’

यस्तो छ रास्वपाको प्रस्तावना

न्याय प्रणाली माथिको विश्वास झन् बलियो भएको छः सांसद कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले न्याय प्रणालीमाथिको विश्वास झन बलियो भएको बताएकी छन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्यमा आफ्नो उम्मेदवारी खारेजीसम्बन्धी निर्वाचन आयोगको निर्णय बदर गरिदिएपछि कार्कीले सत्यको जित भएको बताएकी हुन् । उनले भनेकी छन्, ‘अन्ततः सत्यको जित भएको छ। यो जित सँगसँगै लाभको पदको परिभाषा पनि स्थापित भएको छ।’

यस्तो छ कार्कीको प्रतिक्रिया

उम्मेदवारीमाथि विरोध दाबी गर्ने म्याद सकिसकेपछि पनि विपक्षीले हालेको उजुरीमाथि टेकेर म चुनावी प्रचारप्रसारमा भइरहेको बखत निर्वाचन आयोगले मेरो उम्मेदवारी खारेज गरेको थियो । न्यायको लागि म सर्वोच्च पुगें । सर्वोच्चले स्टे अर्डरमार्फत मेरो उम्मेदवारी कायम गरिदियो । त्यसको विरोधमा निर्वाचन आयोग पुनः सर्वोच्च पुगेर मेरो उम्मेदवारी खारेज नै हुनुपर्छ भन्ने दाबी राख्यो । निरन्तर दुई वर्षको लडाईं, पेसी र सुनुवाइपछि फागुन २७ मा बसेको न्यायधीशहरू डा. मनोज कुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले निर्वाचन आयोगको निर्णय बदर गरी म संघीय संसद पदको उम्मेदवारको लागि योग्य ठहर रहेको अन्तिम फैसला सुनाएको छ ।

सुरुवाती दिनदेखि नै नयाँ युवा राजनीतिमा आउन खोज्दा रोक्न छेक्न खोजिएकोमा अन्ततः अदालतले स्थापित गरेको छ। हामीलाई अदालतमाथि विश्वास थियो र यस सँगै हाम्रो न्याय प्रणाली माथिको विश्वास झन बलियो भएको छ । भ्रष्टाचार र वेथितिले थाङथिलो बनाईएको देशको राजनीतिलाई सङ्ल्याउन हामी जस्तो युवाको भूमिकामा थप जिम्मेवारीबोध गरेको छु।’

काठमाडौंको बसन्तपुरमा होलीको रौनक(तस्बिरसहित)

काठमाडौं । नेपालका हिमाली र पहाडीमा आज होली पर्व हर्षोल्लासका साथ मनाइरहेका छन् । आज काठमाडौंको बसन्तपुर क्षेत्रमा आपसमा रंग खेलेर होली खेल्नेको भीड लागेको छ ।

बसन्तपुर लगायत काठमाडौं उपत्यकाका विभिन्न स्थानमा होली मनाउनेहरुको चहलपहल छ । ठाउँ–ठाउँमा होली विशेष कार्यक्रम पनि आयोजना भइरहेका छन् ।

तस्बिरः प्रदीपराज वन्त, चन्द्रकला क्षेत्री, हरिराम भेटुवाल/रासस

अस्ट्रेलियाली पूर्व क्रिकेटर म्याकगिल कोकिन आपूर्ति मामिलामा दोषी ठहर

सिड्नी ।  अस्ट्रेलियाका पूर्व टेस्ट क्रिकेटर स्टुअर्ट म्याकगिललाई बिहीबार कोकिन आपूर्तिमा संलग्न भएको आरोपमा दोषी ठहर गरिएको स्थानीय मिडियाले जनाएको छ।

सेवानिवृत्त लेग स्पिनरले सन् २०२१ मा आफ्नो व्यक्तिगत कोकिन डिलरलाई एक सहयोगीसँग परिचय गराएको प्रहरीले जनाएको छ।

त्यसपछि ती दुई जनाले आपसमा दुई लाख अमेरिकी डलरको लागूपदार्थ सम्झौता गरेको प्रहरीले जनाएको छ।

यद्यपि म्याकगिल त्यसपछिको कारोबारमा संलग्न नभए पनि जुरीले ५४ वर्षीय म्याकगिललाई जानीजानी प्रतिबन्धित लागूपदार्थको आपूर्तिमा सहभागी भएको दोषी ठहर गरेको राष्ट्रिय प्रसारक एबिसीले बताएको छ।

जुरीले उनलाई व्यावसायिक स्तरको लागूपदार्थ आपूर्तिमा संलग्न हुने अझ गम्भीर आरोपमा निर्दोष ठहर गरेको छ।

म्याकगिलले सन् १९९८ देखि सन् २००८ सम्म अस्ट्रेलियाका लागि ४४ टेस्ट खेल्नुभएको थियो।उनको करियर शेन वार्नको करियरसँग मेल खान्थ्यो। शेन वार्नलाई व्यापक रूपमा सर्वकालीन सर्वश्रेष्ठ स्पिन बलर मानिन्छ।

‘अनुचित व्यापार’ अझ सामान्य हुने दक्षिण कोरियाली मन्त्रीको चेतावनी

सियोल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वव्यापी इस्पात र एल्युमिनियममा लगाइएको भन्सार शुल्कबाट सिओल प्रभावित भएपछि दक्षिण कोरियाले ‘अनुचित व्यापार अभ्यासहरू’ अझ बढी सामान्य हुने अपेक्षा गरेको व्यापार, उद्योग र ऊर्जामन्त्री आन डक–गेउनले बिहीबार बताएका छन् । उनले यसले दृढ कारबाही आवश्यक पर्ने बताए ।

सिओलको प्रयासका बावजुद कुनै छुट नदिइकन यी धातुहरूमा अमेरिकाको तीव्र २५ प्रतिशत भन्सार शुल्क बुधबारदेखि लागू भएको छ । गत वर्ष दक्षिण कोरियाले संयुक्त राज्य अमेरिकामा तीन अर्ब २० करोड अर्ब डलरको इस्पात ढुवानी गरेको थियो । यो अमेरिकी वाणिज्य मन्त्रालयको अन्तर्राष्ट्रिय व्यापार प्रशासनको तथ्यांकअनुसार समग्रमा छैटौँ स्थानमा रहेको थियो ।

मुलुकको ६० करोड डलरको एल्युमिनियम निर्यातले देशलाई अमेरिकी आपूर्तिकर्ताहरूमध्ये चौथो स्थानमा राखेको थियो ।“अनुचित व्यापार अभ्यासहरू बारम्बार हुने अपेक्षा गरिएको छ र सरकारले दृढतापूर्वक प्रतिक्रिया दिनेछ”, मन्त्री आनले प्रमुख इस्पात कम्पनीहरूसँगको बैठकमा भन्नुभयो, “हामीले डम्पिङ र इस्पात आयातको अनुगमनसहित व्यापार रक्षा प्रणालीहरू सुदृढ गर्न काम गरिरहेका छौँ ।”

“उच्च स्तरको अनिश्चिततालाई ध्यानमा राख्दै, म तपाईंलाई उच्च–मूल्य–थपिएका उत्पादनहरूमा केन्द्रित अग्रगामी लगानी र निर्यात रणनीतिहरू विचार गर्न आग्रह गर्दछु”, आनले कम्पनीहरूलाई आफ्ना रणनीतिहरू परिवर्तन गर्न आग्रह गर्दै भन्नुभयो, “सरकारले पनि यस दिशामा आफ्नो समर्थन केन्द्रित गर्नेछ ।”

दक्षिण कोरियाको व्यापार मन्त्रालयले ‘अनुचित इस्पात आयात र व्यापार मुद्दाहरूलाई सम्बोधन गर्ने’ रणनीति मार्चमा विकास गरी अन्तिम रूप दिइने बताएको छ ।सिओलका अर्का व्यापारमन्त्री बिहीबार वासिङ्टन जानुभयो र उनले ‘देशमाथिको आर्थिक प्रतिबन्धहरू कम गर्न वार्ता गर्ने’ बताए ।

“दक्षिण कोरिया संयुक्त राज्य अमेरिकाको आर्थिक सुरक्षा नीतिहरूसँग सबैभन्दा संलग्न साझेदारहरू मध्ये एक हो भन्ने कुरामा जोड दिने योजना थियो”, चेओङ इन–क्योले प्रस्थान गर्नुअघि बिहीबार पत्रकारहरूलाई भने।

गत हप्ता ट्रम्पले अन्य देशहरूसँगै दक्षिण कोरियालाई ‘अनुचित’ अभ्यासहरूका लागि आलोचना गर्दै सियोलको ‘औसत भन्सार शुल्क अमेरिकी आयात करको तुलनामा चार गुणा बढी’ रहेको बताएका थिए ।

उनले वासिङ्टनले आणविक–सशस्त्र उत्तर कोरियाविरुद्ध आंशिक रूपमा सुरक्षा दिन त्यहाँ तैनाथ अमेरिकी सैनिकहरूको दशौँ हजारको उल्लेख गर्दै दक्षिण कोरियालाई ‘सैन्य रूपमा यति धेरै मद्दत’ दिएको भनेर गुनासो गरे ।

ट्रम्पको सम्बोधनको केही घण्टापछि, दक्षिण कोरियाको व्यापार मन्त्रालयले द्विपक्षीय मुक्त–व्यापार सम्झौताका कारणले ‘संयुक्त राज्य अमेरिकाबाट दक्षिण कोरियामा आयातमा भन्सार शुल्क प्रभावकारी रूपमा शून्य प्रतिशतको नजिक छ’ शीर्षकसहितको विज्ञप्ति जारी गरेको थियो ।

वासिङ्टनका अनुसार सन् २०२४ मा दक्षिण कोरियामा अमेरिकी निर्यात ६५ अर्ब ५० करोड डलर थियो । यो अघिल्लो वर्षको तुलनामा शून्य दशमलव सात प्रतिशतले बढेको छ भने आयात १३ दशमलव तीन प्रतिशतले बढेर एक खर्ब ३१ अर्ब ५० करोड अर्ब डलर पुगेको छ ।

कार र अटोमोबाइल पार्ट्सले संयुक्त राज्य अमेरिकामा दक्षिण कोरियाको निर्यातको लगभग एक तिहाइ हिस्सा बनाउँछ भने पेट्रोलियम र धातुहरू देशबाट सबैभन्दा ठूलो आयात हुन् ।

होलीमा नियम मिच्नेलाई दिनभर सडकमै रोकिने

काठमाडौँ । काठमाडौँ उपत्यकामा होली पर्वलाई मध्यनजर गरी सुरक्षा व्यवस्था चुस्त पारिएको छ । आज बिहानैदेखि उपत्यकाको तीनवटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा ट्राफिक जाँच अभियान तीव्र पारिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।

उनका अनुसार यसपटक ट्राफिक कारबाही मात्रै गरिँदैन, उनीहरुलाई होली मनाउन नपाउने गरी दिनभर सडकमा रोकिने छ । उनले भने, ‘हामीले नियम उल्लङ्घन गर्ने जो कोहीलाई ट्राफिक जाँचस्थलमा कानुनी कारबाही त गरिन्छ नै त्यसका अलावा सोही स्थानमा दिनभर गाडी रोकेर राखिन्छ ।’

त्यसका लागि उपत्यकामा १२० भन्दाबढी जाँच स्थल तोकेर प्रहरी परिचालन गरिएको छ । ट्राफिक प्रहरी र जनपथ प्रहरीले संयुक्त रूपमा जाँच अभियान चलाएको छ । हरेक ठाउँमा संयुक्त परिचालन भएको र मादक पदार्थ सेवन तथा लागु पदार्थ सेवनका लागि आवश्यक उपकरण तथा टोली संयुक्त रूपमा खटाइएको पनि उनले बताए।

प्रहरीले आफ्ना नजिकका र चिनेजानेकासँग मात्रै होली खेल्न अनुरोध गरेको छ । त्यसरी खेल्दा आपसी भाइचारा वृद्धि हुने गरी र सौहार्दपूर्ण तथा संस्कृतिअनुसार होली मनाउन अनुरोध गरेको छ ।

त्यसैगरी काठमाडौँ, ललितपुर र भक्तपुर प्रशासन कार्यालयले पनि मर्यादित भएर होली खेल्न अनुरोध गर्दै उच्छृङ्खल रूपमा होली खेले कानुनी कारबाही गर्ने जनाएको छ ।

आज काठमाडौँ उपत्यकालगायत पहाडी जिल्लामा होली खेलिन्छ भने भोलि तराइमा होली खेल्ने चलन छ । कतिपय जिल्लामा दुई दिननै होली खेलिन्छ ।

हरसिद्धी नाच, तस्बिरमा

ललितपुर महानगरपालिका वडा नं २८ र २९ मा पर्ने हरसिद्धी ऐतिहासिक हरसिद्धी नाच (जतल प्याखँ) प्रदर्शन गरिँदै । सबैभन्दा पुरानो नाचको रूपमा रहेको हरसिद्धी नाचमा व्रम्हायणी, महेश्वरी, कुमारी, भैरवी, विष्णुदेवी, बालकुमारी, महासरस्वती, महाकाली, महालक्ष्मी, तम्दा रिखेश्वर (तम्दा ऋषि), अग्नी देवता (कौमाद्य), भष्मासुरलगायत २९ देवगण रहेको छ । उक्त नाच फागुपूर्णिमाको दिन, योमरी पूर्णिमा र दशैँको नवमीका दिन प्रदर्शन गर्ने गरिन्छ ।

तस्बिरः रत्न श्रेष्ठ/रासस

भोजपुरका किसानलाई तालिमसँगै कृषि सामग्री हस्तान्तरण

भोजपुर । जिल्लाको लेखर्कका किसानलाई नवीनतम तरकारी खेती प्रणाली सम्वन्धि तालिमसँगै कृषि सामग्री हस्तान्तरण गरिएको छ ।

व्यावसायिकसँगै आर्थिक रुपमा सक्षम बनाउने ध्येयले २८ अगुवा किसानलाई नवीनतम तरकारी खेती प्रणालीको विषयमा जानकारीसँगै उपयुक्त प्रविधि हस्तान्तरण गरिएको हो । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) ले, गाउँपालिका तथा वडाको समन्वयमा किसानलाई तरकारी खेती प्रणाली सम्वन्धि ज्ञान दिइएको हो ।

तालिमका सहभागी किसानलाई उन्नत जातको बीउ विजन, प्लाष्टिक टनेललगायतका कृषि सामग्रीसमेत वितरण गरिएको टेम्केमैयुङ ९ लखर्कका वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिए । वडाका तरकारी खेती गरिरहेका किसानलाई नविनतम खेती प्रणालीको बारेमा ज्ञान प्रदान गर्न तालिम सञ्चालन गरिएको उनको भनाइ छ । किसानलाई अभ्यास गराएर नै खेती प्रणालीको विषयमा जानकारी दिइएको उनले बताए ।

‘यहाँका धेरै किसानले तरकारी खेती गरिरहेका छन्’ उनले भने, ‘किसानसँग तरकारी खेती प्रणाली सम्वन्धि जानकारी नहुँदा समस्या थियो । उनीहरुलाई तरकारी खेती प्रणालीको विषयमा ज्ञान दिएर व्यावसायिक बन्न थप प्रोत्साहन गर्न तालिम दिएका हौँ ।’ यहाँका अगुवा किसानलाई पाँच दिने कार्यक्रम सञ्चालन गरेर तरकारी खेती प्रणालीको विषयमा व्यवहारिक ज्ञान दिएको हो ।

किसानलाई तरकारी तथा नगदेबालीको माध्यमबाट आर्थिक रुपमा सक्षम बनाउन गाउँपालिकाले विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले जानकारी दिइन् । टेम्केमैयुङ गाउँपालिकामा कृषिको राम्रो सम्भावना रहेकोले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर काम भइरहेको उपाध्यक्ष राईको भनाइ छ ।

गाउँपालिकाले यहाँको भूगोल तथा माटो सुहाउँदो तरकारी तथा नगदेबालीको खेतीमा प्रोत्साहन कार्यक्रमसमेत सञ्चालन गरिरहेको उपाध्यक्ष राईले जानकारी दिइन् ।

‘हामीले किसानलाई तरकारी तथा नगदेबालीको व्यावसायिक खेतीमा लाग्न प्रोत्साहन गरिरहेका छौँ’ उनले भनिन्, ‘गाउँपालिकाले प्राथमिकताका साथ कृषि र पर्यटनमा लगानी गरिरहेको छ । कृषकलाई व्यावसायिक बनाएर आयआर्जनसँग जोड्न विभिन्न सीपमूलक कार्यक्रमहरु सञ्चालन गरिरहेका छौँ ।’

किसानलाई नगदे तथा व्यावसायिक तरकारी खेतीसँगै बाख्रापालन, कुखुरापालन, बंगुरपालन, मौरीपालन, जडीबुटी खेती, सुन्तला, कागती खेती लाग्न आवश्यक सहयोगसँगै सीप प्रदान गरिरहेको उपाध्यक्ष राईले बताइन् । परम्परागत रुपमा तरकारी खेती गर्दै आएको भएपनि तालिमबाट आधुनिक खेती प्रणालीको विषयमा जानकारी पाएको किसानहरुको भनाइ छ ।

तालिमसँगै कृषि सामग्री पनि पाएकाले भावी दिनमा व्यावसायिक रुपमा तरकारी खेती गर्न सहजता थपिएको स्थानीय किसान सत्यदेवी राईले बताइन् । तालिमका क्रममा तरकारी खेती प्रविधिसँगै रोग, किरा तथा उपचार पद्धतिको विषयमासमेत जानकारी लिन पाएको उनले बताइन् ।

‘परम्परागत रुपमा तरकारी खेती गर्दै आएकी थिएँ’ उनले भने, ‘आधुनिक तरकारी खेती प्रविधिको जानकारी नहुँदा धेरै समस्या थियो । तालिममा सहभागी भएर खेती प्रविधिसँगै तरकारीमा लाग्ने रोक, कीरा तथा त्यसको उपचार पद्धतिको विषयमासमेत ज्ञान पाएँ । यहाँ सिकेको सीपलाई सदुयोग गर्दै अवका दिनमा तरकारी खेतीलाई थप विस्तार गर्ने सोच बनाएकी छु ।’

सभ्य बन्दै  होली,  अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने  दृश्य बिरलै

काठमाडौँ । आज बिहानैदेखि एक आपसमा रङ खेली फागु पूर्णिमा अर्थात् होली पर्व मनाउनेको चहलपहल छ । यसरी  होली पर्व मनाउनेले  अनुमति विना अरूलाई रङ दलिदिने र पानी खन्याइदिने गरेको दृश्य भने बिरलै भेटिन थालेको छ ।


केही वर्षअघिसम्म होलीका दिन घर बाहिर निस्कनेलाई बाल्टीका बाल्टी पानी खन्याइन्थ्यो । जबरजस्त अबिरलगायत रङ दलेर मानिस नचिनिने गरी रङ्ग्यान्थ्यो । रङ र पानी मिलाएर घोलिएको रासायनिक पदार्थलाई बटुवालाई समस्या पारिन्थ्यो । विगत केही वर्ष अघिदेखि सांस्कृतिक शहर काठमाडौँमा फागु पूर्णिमा अर्थात् होली पर्व अनुशासित भइरहेको देखिन थालेको छ । फागु पर्व नमनाएका मानिस सडकमा हिँड्दा पनि कसैले पानी र रङ लगाइदिएको छैन ।


 सामान्यतया यो वर्ष कसैले पनि अन्यको इच्छा विपरीत फागु पूर्णिमाको संस्कृतिका नाममा विकृतिका काम गरेको देखिएन । मानिस आफू आफूमै रमाए । घरपरिवार एवं छरछिमकीसँग फागु खेले ।
टीका लगाइदिए । खुसी साटासाट गरे । आपसी सौहार्दता बढाए । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा (होली) पर्व राजधानीलगायत पहाडी र हिमाली जिल्लामा आज अपेक्षाकृत शान्त रूपमा मनाउन थालिएको छ । 


केही वर्षअघिसम्म फागु पूर्णिमा (होली)मा मानिसको इच्छाविपरीत रङ दल्ने पानीका लोला हान्ने गरिन्थ्यो । केही वर्षअघिदेखि त्यस्तो काम रोकिएको छ । सडकमा फागु खेल्ने प्रायःबालबालिका थिए । बालबालिकाले पनि विगतमा जस्तो सडकमा हिँड्ने मानिसलाई रङ दल्ने र पानीका लोला हान्ने गरेका छैनन् ।


गाडी ‘रिजर्भ’ गरेर होली खेल्दै हिँड्ने मानिसको भीड नगण्य छ । जोरपाटी चोकमा फागु पर्व मनाइरहेका युवा मङ्गलबहादुर तामाङ चिनजानका साथीभाइबीच मात्र पर्व मनाउने सडकमा सवारी र पैदल यात्रा गर्नेलाई केही नगर्ने बताउँछन् ।


विशेषगरी युवतीलाई लोलामा पानी भरेर एक हप्ताअघिदेखि नै छ्यापेर मनोवैज्ञानिक रूपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो । यस वर्ष फागु पर्वकै दिन पनि सहज रूपमा हिँडडुल गर्न सकेको सडकमा भेटिएका धेरैले बताए ।


कतै अपवादका रूपमा जबर्जस्ती रङ लगाएपनि फोहर पानीले दुव्र्यवहार गरेको देखिएन । फुर्सद भएकाले सडकमा पर्व मनाएपनि जरुरी काम परेर बाहिर निस्कनुपर्नेलाई इच्छा विपरीत रङ दलिदिँदा केही वर्ष अघिसम्म धेरै तनावपूर्ण वातावरण बन्ने गरेको थियो ।

चीरोत्थान गरिएको वसन्तपुरमा विशेष चहलपहल

यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले विशेष रूमपा होली अर्थात् फागु पूर्णिमा पर्व मनाउन थालेका छन् । बिहानैदेखि विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोकास्थित वसन्तपुर दरबार क्षेत्रमा मानिसको चहलपहल बढेको छ । वसन्तपुर दरबार क्षेत्रमा जम्मा भएकाहरुले पनि चिनजानका मानिसलाई मात्र रङ दल्ने र पानीका लोला हान्ने गरेको देखिन्छ । वसन्तपुर दरबार क्षेत्रमा आज दिनभर फागु पूर्णिमा उत्सव मनाइन्छ । 


वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई बेलुकी विधिपूर्वक ढाली बाजागाजाका साथ टँुडिखेलमा लगी जलाउँछन् । उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ । यसका लागि बेलुकीसम्म नै वसन्तपुर दरबार क्षेत्रमा मानिसको भीड लाग्छ ।


फागुन शुक्ल अष्टमीका दिन फागुन २३ गते वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिङ्गारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु भएको थियो । वसन्तपुरमा चीर गाडेपछि होली सुरु भएको  मान्ने गरिन्छ ।


यसैले केही वर्षअघिसम्म फागुन शुक्ल अष्टमीदेखि अरूलाई दुःख दिने नियतले रङ र लोला हानिन्थ्यो । यो क्रम अहिले वसन्तपुर दरबार क्षेत्रमा पनि रोकिएको काठमाडौँ महानगरपालिका वडा नं २४ का अध्यक्ष विनोदकुमार राजभण्डारीले जानकारी दिए ।


फागु पूर्णिमा अर्थात् होली पर्वका अवसरमा आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ । 


त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ । 


यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष प्राडा रामचन्द्र गौतम बताउँछन् । 


राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ । 


फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ । यस अवसरमा आज हिमाली र पहाडी क्षेत्रका ५६ जिल्लामा सरकारले बिदा दिएको छ । शुक्रबार तराइ क्षेत्रका २१ जिल्लामा बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । यसरी फागु पूर्णिमा पर्व देशभर मनाउने गरिन्छ । 

पाकिस्तानमा रेल अपहरण प्रकरणः तीन सयको उद्दार

बीबीसी । पाकिस्तानको बलोचिस्तान प्रान्तमा सशस्त्र लडाकुहरू कब्जामा लिएको एक यात्रुवाहक रेलमा बन्धक बनाइएकामध्ये कम्तीमा ३०० जना मुक्त भएका सुरक्षा अधिकारीहरूले बताएका छन् ।

पाकिस्तानको सेनाका प्रवक्ताले सुरक्षा कारबाहीमा कम्तीमा ३३ लडाकु मारिएका बताए । रेलमा आक्रमण गरेको बलोच लिबरेशन आर्मी (बीएलए)माथि सुरक्षा कारबाही सुरु हुनु अगावै २१ जना सर्वसाधारण र चार सैनिकहरू मारिएका सेनाका प्रवक्ताले बताएका छन् ।

सेनाले उक्त क्षेत्रमा अन्य जोखिम भए नभएकोबारे खोजी भइरहेको जनाएको छ । मङ्गलबार क्वेटाबाट पेशावर जान लागेको जफर एक्स्प्रेस रेलमा बीएलए लडाकुले गोली प्रहार गर्दै यात्रुहरूलाई आफ्नो नियन्त्रणमा लिएका थिए ।

उक्त रेलमा आक्रमण हुँदा करिब ४४० जना यात्रु सवार रहेका सैन्य प्रवक्ताले बताएका छन् । सुरक्षा अधिकारीहरूलाई उदृत गर्दै केही सञ्चारमाध्यमले उक्त रेलबाट केही लडाकुहरूले बन्धकहरू समेत लिएर वरपरको पहाडी भूभागतिर गएको विवरण प्रकाशित गरेका छन् ।

आक्रमणका समयमा वरपरको क्षेत्रमा भागेका यात्रुहरूको खोजी भइरहेको पाकिस्तानी सेनाले जनाएको छ। कति जना यात्रुहरू हराइरहेका छन् भन्नेबारे यकिन हुन नसकेको अधिकारीहरूले बताएका छन् ।

स्थानीय सञ्चार माध्यममा प्रकाशित विवरण अनुसार बलोच लडाकुहरूले राजनीतिक बन्दी बनाइएका आफ्ना लडाकुलाई ४८ घण्टाभित्र मुक्त नगरिए सबै बन्धकको हत्या गर्ने चेतावनी दिएका थिए ।

बेलायत र अमेरिकालगायत कैयौँ पाश्चात्य देशहरूले यो समूहलाई ’अन्तर्राष्ट्रिय आतङ्कवादी सङ्गठन’ मानेका छन् । सन् १९६४ मा सिरियामा स्थापना भएको बीएलएफ सुरुमा इरानी बलोच विद्रोहमा संलग्न भयो। इरानी बलोचहरूले त्यहाँको सरकारविरुद्ध विद्रोह गरेका थिए ।

क्यानले गर्‍यो क्रिकेट खेलाडीको वर्गीकरण 

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट खेलाडीको वर्गीकरण सार्वजनिक गरेको छ ।

बुधबार क्यानले क्रिकेटरलाई चार श्रेणीमा वर्गीकरण गरेको हो । क्यानको वर्गीकरण अनुसार, कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी र आसिफ शेख ग्रेड ‘ए’ मा परेका छन् ।

करण केसी र कुशल भुर्तेल भने ग्रेड ‘बी’मा परेका छन् । ग्रेड ‘बी’मा करण र कुशलसँगै गुल्सन झा, ललित राजवंशी र अनिल साह परेका छन् ।

यसैगरी, ग्रेड ‘सी’मा सन्दीप जोरा, आरिफ शेख, भीम सार्की र कुशल मल्ल परेका छन् । ग्रेड ‘डी’मा सागर ढकाल, लोकेश बम, साहब आलम, आकाश चन्द, विवेक यादव, सूर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतिश जिसी, अविनाश बोहरा र मयन यादव परेका छन् ।

त्यस्तै महिलातर्फ पुजा महतो ‘ए’ ग्रेडमा समावेश परेकी छन् । कप्तान इन्दु वर्मासहित पुजा, पूर्व कप्तान रुविना क्षेत्री र पूर्व उपपक्तान सीता राना मगर ग्रेड ‘ए’ मा छन् ।

क्यानले महिलातर्फ एनुअल कन्ट्राक्मा १९ खेलाडीलाई समावेश गरेको छ । जसमा ‘ए’ मा ४ खेलाडी छन् भने ‘बी’ मा एक र ‘सी’ मा दुई खेलाडी छन् । ग्रेड ‘बी’ मा कविता जोशी मात्र छिन् भने ग्रेड ‘सी’ मा कविता कुँवर र सम्झना खड्का छिन् ।

चैत ७ गतेको प्रतिनिधिसभा बैठकमा ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नउत्तर’ कार्यक्रम

काठमाडौँ । आगामी चैत ७ गते बस्ने प्रतिनिधिसभाको बैठकमा ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नउत्तर’ कार्यक्रम तय भएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रम चैत ७ गतेको बैठकमा हुनेगरी निर्धारण गरेको जानकारी दिए । प्रश्नोत्तरमा यसपटक ९ जना सांसदले प्रश्न सोध्न पाउने छन् ।

प्रतिक्रियावादी शक्तिको षड्यन्त्रविरुद्ध लाखौँ जनता सडकमा उतारेर खबरदारी गर्छौंः प्रचण्ड

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्ता गठबन्धनले भ्रष्टाचारी र विचौलियाको पक्षमा गरिरहेको गतिविधिका कारण जनतामा निराशा र असन्तुष्टि बढ्दै गएको बताएका छन् ।

बुधबार मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको छैटौँ राष्ट्रिय सम्मेलनको बुटवलमा उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सरकारको कार्यशैली देखेर इतिहासको रछ्यानमा मिल्काइएका प्रतिगामी तत्त्वहरूले धमिलो पानीमा माछा मार्न खोजेको बताएका हुन् ।

उनले प्रतिगामी र प्रतिक्रियावादी शक्तिको षड्यन्त्रविरुद्ध लाखौँ जनता सडकमा उतारेर खबरदारी गरिने बताए । उनले आफ्नो पार्टीले गणतान्त्रिक व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि सबै परिवर्तनकारी शक्ति र जनतालाई लिएर जस्तोसुकै संघर्ष गर्न पनि तयार रहेको बताए ।

अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता अग्रगामी एजेन्डामा जानु रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले पछाडि फर्कने तर्फ कसैले सोचे राम्रो नहुने चेतावनी दिए ।

अध्यक्ष प्रचण्डले राजनीति परिवर्तनमा उत्पीडित समुदायको ऐतिहासिक र निर्णायक भूमिका रहेको स्पष्ट गर्दै जातीय क्षेत्रीय मोर्चा र समाजवादी क्रान्तिको सम्बन्धबारे पार्टीले पहिलोपटक धारणा तय गरेको जानकारी दिए ।

न्यून भिजिविलिटीका आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित

काठमाडौँ । प्रतिकुल मौसमका कारण आवश्यक भिजिविलिटी नहुँदा आन्तरिक र अन्तर्राष्ट्रियतर्फका हवाई उडान प्रभावित भएका छन् ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार मौसम प्रतिकुलका कारण न्यून भिजिविलिटीका कारण केही विमान आकाशमै ‘होल्ड’मा परेका हुन् ।

विमानस्थल कार्यालयका अनुसार जापानको नारिताबाट आएको नेपाल एयरलाइन्सको विमान केही समय होल्ड भएपछि अवतरण भएको छ ।

कतारको दोहाबाट आएको कतार एयरवेज, भारतको नयाँ दिल्लीबाट आएको एयर इन्डिया, मलेसियाको क्वालालम्पुरबाट आएको बाटिक एयर, दुवईबाट आएको फ्लाइ दुवई, भैरहवाबाट आएको फ्लाइ दुवई, धनगढीबाट आएको बुद्ध एयर, पोखराबाट आएको यति एयरलाइन्सका विमान कम भिजिविलिटीका कारण होल्डमा परेको कार्यालयको भनाइ छ ।

हत्याका अभियुक्त ३७ वर्षपछि पक्राउ

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ३७ वर्षपछि पक्राउ परेका छन् । २०४४ साल फागुन सात गते पर्वतको साबिक कुर्घा गाउँका गम्भीर गुरुङ र तेजबहादुर गुरुङ स्थानीय रामबहादुुर गुरुङको हत्या गरी फरार भएका थिए ।

हत्या पछि फरार भएका उनीहरुलाई जिल्ला अदालत पर्वतले २०५८ सालमा दोषी ठहर गर्दै दश दश वर्ष कैद सजाय सुनाएको थियो ।

उनीहरुलाई ललितपुरबाट फागुन २५ गते प्रहरीले पक्राउ गरेको हो । पक्राउ पश्चात दुबै जना अदालतको आदेशमा जेल चलान भएका प्रहरीले जनाएको छ ।

बाबुराम रेग्मीको अध्यक्षतामा मिटरब्याज सम्बन्धी आयोग गठन

काठमाडौं । सरकारले अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । फागुन २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बुधबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि सुझाव सहितको प्रतिवेदन पेश गर्न बाबुराम रेग्मीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय भएको जानकारी दिए ।

आयोगका सदस्यमा भरतबहादुर बोहरा र बद्रीप्रसाद भट्टराई रहेका छन् । त्यस्तै बैठकले भवानी विद्यापीठ माध्यमिक विद्यालय, पर्वतको छात्रावास भवन निर्माणको प्रस्तावित सम्भाव्यता अध्ययनसम्बन्धी आदान–प्रदानपत्र स्वीकृत गर्ने निर्णय गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

-भवानी विद्यापीठ माध्यमिक विद्यालय, पर्वतको छात्रावास भवन निर्माणको प्रश्तावित सम्भाव्यता अध्ययनसम्बन्धी आदान–प्रदान पत्र (लेटर अफ एक्सचेन्ज) स्वीकृत गर्ने र उक्त पत्रमा नेपाल सरकारको तर्फवाट हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने ।

–जापान सरकारको सहयोगमा निर्माणाधीन नागढुङ्गा सुरुङ्गमार्ग निर्माण आयोजनाका लागि प्रस्तावित सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने ।

–क्वालिटी टिभिइटी फर युथ(क्वालिटी) प्रोजेक्ट फेज १ कार्यक्रमका लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने थप अनुदान रकम १.६८ मिलियन स्वीस फ्रैंक (करिव नेपाली रू.२५ करोड ६५ लाख बरावर) अनुदान सहायता स्वीकार गर्ने र उक्त एक्सचेन्ज अफ लेटरमा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी दिने ।

–विश्व बैंकबाट सञ्चालित विभिन्न आयोजनामा प्रतिकार्य विकल्प (आरआरओ) स्थापना गर्नको लागि उल्लिखित आयोजनाहरूको वित्तीय सम्झौतामा सर्वग्राही संशोधन गर्नेसम्बन्धी सम्झौता स्वीकृत गर्ने र सो सम्झौतामा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी दिने ।

–२०८१ चैत २० गतेदेखि २२ गतेसम्म स्पेनको मेड्रिडमा सञ्चालन हुने लिडरसिप एण्ड लेभरेजिन द ग्लोवल एसएआई नेटवर्क कार्यक्रम र २०८१ चैत २५ गतेदेखि २६ गतेसम्म थाइल्याण्डको बैङ्ककमा सञ्चालन हुने आइडिर्आ—एडिबी लिडरसिप फोरम कार्यक्रममा सहभागिताका लागि माननीय महालेखापरीक्षक श्री तोयम रायालाई स्वीकृति प्रदान गर्ने।

–विश्व बैंकको वित्तीय सहयोगमा कार्यान्वयनमा रहेको रणनितिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजनामा प्रस्तावित २०० मिलियन अमेरिकी डलर बराबरको थप सहुलियतपूर्ण ऋण रकम स्वीकार गर्नेसम्बन्धी वित्तीय सम्झौता र आयोजना दस्तावेजलाई अन्तिम रूप दिन नेपाल सरकारको तर्फबाट वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरी उल्लेखित दस्तावेजहरूलाई अन्तिम रूप दिन अख्तियारी प्रदान गर्ने।

–२०८१ चैत १८ गतेदेखि २२ गतेसम्म थाइल्याण्डको बैङ्ककमा सञ्चालन हुने एजुकेसनल वर्कसप अन सिस्टम अफ अडिट क्वालिटी म्यानेजमेण्ट कार्यक्रममा सहभागिताका लागि उपमहालेखापरीक्षक श्री बैकुण्ठबहादुर अधिकारीलाई स्वीकृति प्रदान गर्ने।

–राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट सिफारिस भएबमोजिम सङ्घ, प्रदेश र स्थानीय तहविच रोयल्टी बाँडफाँटका आधार विधि र हिस्सा स्वीकृत गर्ने।

–उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एण्ड एम) गर्न पूर्वस्वीकृति प्रदान गर्ने ।

–२०८१ चैत १५ गतेदेखि १७ गतेसम्म माल्टामा आयोजना हुने १६ औं एनआरएनए युरोपियन रेनिल कन्फ्रेन्समा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारीलाई स्वीकृति दिने ।

–श्री भागीरथी भट्टराई (ज्ञवाली), काठमाडौँलाई विद्युत नियमन आयोगको सदस्य पदमा नियुक्त गर्ने ।

–रेट एनालाइसिस नम्र्स फर वर्क २०८१ स्वीकृत गर्ने।

–आर्थिक वर्ष २०८१/८२ को बाँकी अवधिका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत सञ्चालित उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम, काठमाडौंको लागि अधिकृतस्तरका ८ पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने।

–राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशक पदमा श्री फाइन्द्रराज पाण्डे, लमजुङलाई नियुक्त गर्ने ।

–अनुचित लेनदेन (मिटरव्याज) अपराध नियन्त्रणका लागि सुझाव सहितको प्रतिवेदन पेश गर्न श्री बाबुराम रेग्मीको अध्यक्षतामा श्री भरतबहादुर बोहोरा र श्री बद्रीप्रसाद भट्टराई सदस्य रहेको ३ सदस्यीय अनुचित लेनदेन (मिटरव्याज) सम्बन्धी जाँचबुझ आयोग, २०८१ गठन गर्ने ।

–गैरआवासीय नेपालीसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने।

–जिल्ला समन्वय समितिको नाममा दर्ता रहेको तनहुँ जिल्ला साविक फराकचौर गा.वि.स. वडा नं. ९ ग को क्षेत्रफल ०–६–०–० (छ आना) सरकारी जग्गा व्यास नगरपालिका वडा नं. ३ को वडा कार्यालय भवन निर्माणको लागि उपयोग गर्न स्वीकृति दिने।

–जग्गा प्रशासन निर्देशिका, २०५८ र भू–सूचना प्रणाली सञ्चालन निर्देशिका, २०७१ खारेज गर्ने।

–मिति २०८१ चैत १२ गतेदेखि १३ गतेसम्म जर्मनीको बर्लिनमा आयोजना हुने पिटर्सवर्ग क्लाइमेट डायलग २०२५ कार्यक्रममा सहभागी हुन वन तथा वातावरण मन्त्री माननीय ऐनबहादुर शाही ठकुरीलाई स्वीकृति प्रदान गर्ने।

–वडीचौर–विमेनी–बावियाचौर–विद्यापुर सडक निर्माणको लागि सुर्खेत जिल्लाको बराहताल गाउँपालिका वडा नं. २.५.६.७ र पञ्चपुरी नगरपालिका वडा नं ३ मा रहेको राष्ट्रिय वनको १०.३१९ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने।

–जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा वन तथा वातावरण मन्त्रालयका सहसचिव (प्रा.) डा. बुद्धि सागर पौडेललाई अर्को व्यवस्था नभएसम्मको लागि कामकाज गर्न खटाउने।

–नागरिक उड्डयन क्षेत्रको सुधारसम्बन्धी उच्चस्तरीय अध्ययन तथा सुझाव समितिको म्याद ४५ दिन थप गर्ने।
–कान्ति बाल अस्पताल भवन पुनर्निर्माण कार्यलाई विशेष परियोजनाको रूपमा कार्यान्वयन गर्ने गरी खरिद प्रक्रिया अगाडि बढाउन स्वीकृति दिने।

–मित्र राष्ट्र चीनले एम्बुलेन्स प्रयोजनार्थ अनुदान (वस्तुगत सहायता) स्वरूप प्रदान गर्ने ५० थान इलेक्ट्रिक भेकल स्वीकार गर्न स्वीकृति प्रदान गर्ने।

–स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको पदमा डा. रघुराज काफ्ले, तनहुँलाई नियुक्त गर्ने ।

महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल नामिबियासँग पराजित

काठमाडौं । महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल नामिबियासँग पराजित भएको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा बुधबार भएको खेलमा नेपाल नामिबियासँग २३ रनले पराजित भयो ।

नामिबियाले दिएको १२६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १०२ रनमात्र बनाउन सक्यो । नेपालकी साना प्रवीनले सबैभन्दा धेरै ३१ रन बनाइन् ।

यस्तै कविता जोशीले नटआउट १७ रन जोडिन् । नामिबियाकी इभेलीन केजरुक्वाले २ विकेट लिइन् । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनायो । योसँगै शृङ्खलामा नेपालले ४ वटा खेलमा ३ वटा हारेको छ ।

नेपाल पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा घरेलु टोली युगान्डालाई १ विकेटले हराएको नेपाल तेस्रो खेलमा हङकङसँग २ रनले पराजित भएको थियो । नेपालले बिहीबार युगान्डासँग र शुक्रबार हङकङसँग खेल्नेछ ।

प्रतिनिधिसभामा निजीकरण विधेयक प्रस्तुत

काठमाडौँ । प्रतिनिधिसभामा निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ प्रस्तुत भएको छ । सभाको बुधबारको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक प्रस्तुत गरे ।

बैठकमा अर्थमन्त्री पौडेलले विरोधका सूचना राख्ने सांसदहरुले राख्नुभएको जिज्ञासाको जवाफ दिँदै बन्द, रुग्ण र घटामा रहेका संस्थालाई यही अवस्थामा रहन दिन नसकिने, त्यहाँ रहेका
सम्पत्तिको व्यवस्थापन गरेर जानुपर्ने आवश्यकता बोध गरी विधेयक ल्याइएको स्पष्ट पारे ।

बैठकले उक्त विधेयकमाथि सांसदहरु प्रभु साह, मेटमणि चौधरी, प्रेम सुवाल, छिरिङ ल्हामु लामा (तामाङ), माधव सापकोटा र चित्रबहादुर केसीबाट प्राप्त विरोधका सूचना बहुमतले अस्वीकृत गरेको थियो ।

सरकारले ‘आन्तरिक रोजगार प्रवद्र्धन दशक’ सफलतापूर्वक कार्यान्वयन गर्न आवश्यक रणनीति बनाउने

काठमाडौं । सरकारले ‘आन्तरिक रोजगार प्रवद्र्धन दशक’ सफलतापूर्वक कार्यान्वयन गर्न आवश्यक रणनीति बनाउने भएको छ ।

नेपालमा आन्तरिक रोजगारी अभिवृद्धि गर्ने उद्देश्यले सोमबार र मंगलबार काठमाडौंमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ आयोजना गरिएको थियो । श्रम तथा रोजगार मन्त्रालयले आयोजना गरेको सम्मेलनले यस्तो रणनीति बनाउने गरी घोषणापत्र जारी गरेको छ ।

घोषणापत्रमा आन्तरिक रोजगारी सिर्जना तीव्रता दिन घोषित आन्तरिक रोजगार प्रवद्र्धन दशकलाई सफलतापूर्वक कार्यान्वयन गर्न आवश्यक रणनीति, कार्यनीति र कार्यक्रम कार्यान्वयन गर्ने उल्लेख छ । रोजगार प्रवद्र्धन दशक कार्यान्वयन गर्न आवश्यक नीतिगत र प्रविधिगत परिमार्जन गरिने समेत घोषणा पत्रमा लेखिएको छ ।

शेयर बजारमा १७ अंकको वृद्धि

काठमाडौँ । पछिल्लो सात कारोबार दिन लगातार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बुधबार भने दोहोरो अङ्कको वृद्धि देखिएको छ । बुधबार नेप्से परिसूचक १७ दशमलव २८ अङ्कले बढेर दुई हजार सात सय ३६ दशमलव ४८ को विन्दुमा कायम भएको हो ।

आज विभिन्न तीन सय २३ कम्पनीका दुई करोड २९ लाख ४१ हजार तीन सय ६५ कित्ता शेयर ७९ हजार दुई सय ३६ पटक खरिदबिक्री हुँदा आठ अर्ब २३ करोड ५२ लाख ६८ हजार सात सय ५५ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा विकास बैंक समूह शून्य दशमलव ३३ र लघुवित्त समूह शून्य दशमलव २७ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै लगानी समूह एक दशमलव ७६ र अन्य समूह एक दशमलव ५७ प्रतिशतले बढेको छ ।

बैंकिङ शून्य दशमलव ५३, वित्त शून्य दशमलव ०२, होटल तथा पर्यटन शून्य दशमलव ६४, जलविद्युत् शून्य दशमलव ८५, जीवन बीमा शून्य दशमलव ६४, उत्पादन तथा प्रशोधन शून्य दशमलव १८, म्युचुअल फन्ड शून्य दशमलव १०, निर्जीवन बीमा शून्य दशमलव ४० र व्यापार समूह शून्य दशमलव २१ प्रतिशतले बढेको छ ।

पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ७९ प्रतिशतले बढेको छ । साथै विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा आज सबैभन्दा धेरै माछापुच्छ्रे बैंक लिमिटेड प्रमोटर शेयर रू ८१ करोड ३६ लाख ५२ हजार एक सय बराबरको ८१ लाख ३६ हजार पाँच सय २१ कित्ता कारोबार भएको नेप्सेले जनाएको छ ।

चैत पाँचमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छेन्दु उडान हुँदै

गण्डकी । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको प्रयासस्वरुप यही चैत ५ गते पोखराबाट मित्रराष्ट्र चीनको छेन्दुसम्म पहिलो व्यवसायिक चार्टर्ड उडान गरिने भएको छ ।

लामो समयदेखि पोखरेली जनसमुदायको माग तथा सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासबाट सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्षसम्म पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेका अवस्थामा पहिलोपटक व्यावसायिक चार्टर्ड उडान गर्न लागिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए।

“पोखराबाट अन्तर्राष्ट्रिय विमान सुचारु गर्नको लागि पटकपटक राज्यका सम्बन्धित उच्च निकायमा ध्यानाकर्षण गरिरहदा पनि उडान सुचारु हुन नसक्दा हामी निजी क्षेत्रका पर्यटन व्यवसायीले नै केही प्रयास गरौँ भन्ने उद्देश्यका साथ पोखरा पर्यटन परिषद्को नेतृत्वमा नेपालस्थित चिनियाँ राजदूतावास र सिचुवान एयरलाइन्स सँगको सहकार्यमा यो अन्तर्राष्ट्रिय उडान गर्न लागिएको हो”, उनले भने ।

यसमा विशेषतः चीनस्थित चाइना ट्राभल्स इन्टरनेसनल छेन्दुले सुरुवाती उडानहरुमा सहकार्य गरिरहेको बताउँदै उनले नेपालस्थत चाइनिज ओभरसिज एसोसिएसनले पनि संयोजनकारी भूमिका निर्वाह गरेको जानकारी दिए । यो उडानले पोखरा र समग्र गण्डकी प्रदेशकै पर्यटन चलायमान हुने विश्वास लिइएको उनको भनाइ छ ।

आगामी तीन महिनासम्मको अवधिमा करिब एक हजार २५० जना चिनियाँ पर्यटक चीनको सिचुवान प्रदेशबाट हवाईमार्गबाट सीधा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउन प्रयासरत रहेको चिनियाँ दूतावास, सिचुवान एयरलाइन्स र चाइना ट्राभल इन्टरनेसनल छेन्दुले जानकारी गराएको उनले बताए ।

सुरुवाती चरणमा केही व्यावसायिक चार्टर्ड उडानबाट सुरु गरेर यसलाई व्यावसायिक उडानमा परिणत गरी नियमित अन्तर्राष्ट्रिय उडान गर्ने कार्यको लागि पोखरा पर्यटन परिषद् र समग्र पर्यटन व्यवसायीहरू निरन्तर प्रयासमा लागिरहेको परिषद्ले जनाएको छ ।

पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानको प्रयासस्वरुप पहिलोपटक व्यावसायिक चार्टर्ड उडान हुन लागेको भन्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले अब चार्टर्ड मात्र नभई नियमित उडान हुनुपर्ने बताए ।

ठूलो जनसङ्ख्या रहेको चीनबाट पर्यटक भित्र्याउन सकिएमा त्यसले पोखरा सहित समग्र नेपालको पर्यटनमा महत्वपूर्ण योगदान पुग्ने उनले बताए ।

नेपालस्थित चिनियाँ राजदूतावासका डिसिएम वाङ सिनले पोखराबाट हुन लागेको व्यावसायिक चार्टर्ड उडानले पोखराको समग्र आर्थिक एवं पर्यटकीय विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताउँदै नेपाल चीनबीचको वर्षौंदेखिको सम्बन्ध आगामी दिनमा थप प्रगाढ बन्दै जाने उनले विश्वास व्यक्त गरे ।

उडानको तालिका अनुसार चैत ५ गते छेन्दुबाट बिहान १० बजे १२७ जना चिनियाँ यात्रु लिएर विमान पोखरा विमानस्थल अवतरण गर्नेछ । उक्त दिन दिउँसो १२ बजे १२७ जना पोखराबाट पर्यटन व्यवसायी छेन्दु प्रस्थान गर्नेछन् ।

उक्त व्यावसायिक चार्टर्ड उडानमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने, पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीलगायत सहभागी बन्ने जनाइएको छ ।

पहिलो व्यावसायिक उडानका क्रममा हुनेसात रात आठ दिनसम्मको कार्यक्रममा विशेषतः सिचुवान प्रदेशको छेन्दु, लुझेउ, इमि, लिसन, छोङछिङ केन्द्रित रही त्यहाँका पर्यटन विकास, विस्तारका बारे जनकारी लिइने परिषद्का महसचिव जीवनराज सापकोटाले जानकारी दिए ।

त्यस्तै नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाली महावाणिज्य दूतावास छेन्दुको सहकार्यमा छेन्दु र छाउछिङमा क्रमशः १९ र २२ मार्चमा नेपाल इभिङ र सेल्स मिसन गर्न लागिएको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख मणिराज लामिछानेले जानकारी दिए ।

“पोखराबाट अन्तर्राष्ट्रिय उडानका रुपमा गर्न लागिएको पहिलो व्यावसायिक चार्टर्ड उडानसँगै गरिने सेल्स मिसनका कार्यक्रमले पोखरा सहित समग्र नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्नेछ”, उनले भने ।

त्यस्तै पोखरा महानगरपालिकाका प्रमुखको नेतृत्वमा लुझोउ सहरमा केही विशिष्ट व्यक्तिहरू सहित समकक्षीसँग भेटवार्ता एवं महत्वपूर्ण विषयमा छलफल गरिने जनाइएको छ ।

सञ्चालनको दुई वर्षसम्म पनि पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेका अवस्थामा पहिलोपटक गर्न लागिएको व्यवसायिक चार्टर्ड उडान आफैँमा महत्वपूर्ण रहेको पोखरा भ्रमणवर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईले बताए ।

टिकट सकिएपछि सिड्नीमा नेपथ्यको थप शो

सिड्नी । कन्सर्टका लागि तोकिएको मितिभन्दा तीन साताअगावै अनलाइनबाट साढे पाँच हजार अर्थात् सम्पूर्ण टिकट बिक्री भएपछि नेपथ्य ब्यान्डले सिड्नी सहरका लागि उत्तिकै क्षमताको दोस्रो शो घोषणा गरेको छ ।

अस्ट्रेलियाको शृंखलाबद्ध यात्रामा रहेको नेपथ्य आगामी चैत १६ (मार्च २९) मा सिड्नीस्थित ‘होर्डन पभिलियन’ मा प्रस्तुत हुँदै थियो । अब भने अर्को दिन अर्थात् चैत १७ (मार्च ३०) मा पनि नेपथ्य त्यसै हलमा उपस्थित हुनेछ ।

राजधानी क्यानबेराबाट महिना दिन लामो शृंखलाबद्ध यात्रा सुरु गरेको नेपथ्यले पर्थमा दोस्रो कन्सर्ट गरिसकेको छ । दुवै सहरमा भएको कन्सर्टको चर्चासँगै सिड्नीमा टिकटको माग बढेको थियो । सिड्नीका लागि भएभरका टिकट निकै अगाडि बिक्री भइसकेपछि स्थानीय आयोजक टीआरएन इभेन्ट्स र नेपथ्यलाई व्यवस्थापन गर्दै आएको संस्था नेपालयले थप शो घोषणा गरेका हुन् ।

नेपालयले यसलाई आफूहरूले नेपाली संगीत क्षेत्रकै निम्ति सुखद खबरका रूपमा लिएको जनाएको छ । कार्यक्रम आयोजनाको व्यवस्थापकीय चुनौती उल्लेख गर्दै नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘कलाकारको लोकप्रियता र दर्शकको मागको समीकरण आकलन गर्दै कस्तो र कति क्षमताको स्थानमा कन्सर्ट गर्ने भन्ने चुनौती रहने गर्छ । त्यसै आधारमा आयोजनास्थलबारे व्यवस्थापकीय निर्णय लिनुपर्ने हुन्छ ।’

अस्ट्रेलियाको एकपछि अर्को सहरमा आयोजित नेपथ्यको कन्सर्टको चर्चाले दर्शकको चासो ह्वात्तै बढेको स्थानीय आयोजक टीआरएनका प्रदीप पाठक बताउँछन् । ‘यसै कारण भएभरका टिकट चाँडै बिक्री भए । अरू दर्शकको आकांक्षालाई सम्मान गर्दै थप शो घोषणा गर्ने जमर्को गरेका हौं,’ उनले भने ।

नेपथ्य आगामी प्रस्तुतिका लागि ब्रिसबेन पुगिसकेको छ । यसपछि क्रमशः होबार्ट, एडिलेड र मेलबर्न सहरमा आफूलाई उभ्याएर ब्यान्ड सिड्नी पुग्नेछ ।

सिड्नीस्थित विश्वविद्यालयको प्रेक्षालयमा सन् २००९ मा पहिलो पटक प्रस्तुत भएर अस्ट्रेलिया अनुभव थालनी गरेको नेपथ्यले त्यसपछि दुई हजार दर्शक क्षमताको ‘टाउनहल’ मा आफूलाई उभ्याएको थियो । टाउनहलमा क्षमताभन्दा धेरै दर्शक आएपछि केही बेरसम्मै सिड्नी सहरको मुटुमा रहेको त्यो भेग प्रहरीले नियन्त्रणमा लिनुपर्ने गरी अस्तव्यस्त बन्न पुगेको थियो । त्यसपछि केही समयसम्मै लगातार तीन हजार दर्शक क्षमताको लुनापार्कस्थित ‘बिग टप’ हलमा नेपथ्यले प्रस्तुति दिएको थियो ।

नेपथ्य सन् २०२३ मा साढे पाँच हजार दर्शक क्षमताको हल ‘होर्डन पभिलियन’ मा प्रस्तुत भएको थियो । त्यति बेला आँटै गरेर ठूलो हल चयन गर्दा पनि भएभरका सबै टिकट बिक्री भएका थिए । त्यसै अनुभवका आधारमा यसपाला पनि उही हल छनोट गरिएको थियो । तर शो सुरु हुन निकै समय बाँकी छँदै भएभरका टिकट अनलाइनबाट बिक्री भएका छन् ।

पहिलोमा जस्तै सिड्नीको दोस्रो शोमा पनि घोषणालगत्तै टिकट काट्नेलाई ‘अर्ली बर्ड बुकिङ’ अन्तर्गत सहुलियत दर व्यवस्था गरिएको स्थानीय आयोजकले जनाएको छ । दोसो शोको टिकट मार्च १२ बुधबार सिड्नी समय अपराह्न ४ बजेदेखि खुला गरिएको छ ।

अस्ट्रेलियामा नेपथ्यको शृंखलाबद्ध यात्राको टिकट ब्यान्डको आधिकारिक वेबसाइट www.nepathya.com.np बाट सोझै किन्न सकिन्छ ।

तीनै तहमा कार्यकारी व्यवस्थापकीय र न्यायिक अधिकारसहितको संरचना उपयुक्तः अर्थमन्त्री पौडेल

काठमाडौँ । प्रतिनिधि सभामा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गरिएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो विधेयक सांसदसमक्ष प्रस्तुत गरेका हुन् ।

त्यस अवसरमा विरोधको सूचना राख्ने सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले सङ्घीय सरकारले कानुन मात्र बनाउने र विकासका सम्पूर्ण काम प्रदेश सरकारलाई दिनुपर्छ भन्ने विषय संवैधानिक नहुने तर्क गरे ।

उनले भने, “सङ्घीय सरकारले कानुन मात्र बनाउने विकासका सम्पूर्ण काम प्रदेश सरकारलाई दिनुपर्छ भन्ने भनाइ झट्ट सुन्दा आकर्षक लाग्ला, तर त्यसरी देश बन्दैन, हाम्रोमा तीन तहको सरकार छ, हामीले तीनै तहमा कार्यकारी व्यवस्थापकीय र न्यायिक अधिकारसहितको संरचनाको व्यवस्था गरेका छौँ ।”

आगामी आर्थिक बजेटको निर्माण गर्दा नेपालले अवलम्बन गरेका करसम्बन्धी नीतिलाई छलफल गरेर सरकार अगाडि बढ्ने उनको भनाइ छ ।

“आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरु प्रभु साह, प्रकाश ज्वाला, प्रेम सुवाल, चित्रबहादुर केसी, देवेन्द्र पौडेल र नारायणी शर्माले विरोधको सूचना दर्ता गराएका थिए।

सांसद प्रभु शाहले सरकारले कर उठाए वापत जनतालाई केही पनि दिन नसकेको बताए। सांसद प्रकाश ज्वालाले सरकारले संसद्, संसदीय समिति र सांसदलाई नजरअन्दाज गरेको बताए।

सांसद प्रेस सुवालले आर्थिक कार्यविधिलाई पारदर्शी बनाउन नयाँ पुस्तालाई सुसंस्कृत र अनुशासित बनाउनुपर्छ भने । उनले विज्ञान तथा प्रविधि अध्ययन संस्थान (डिन) को कार्यकक्षमा सत्तारुढ दलकै विद्यर्थीहरुले तोडफोड गरेको घटना सार्वजनिक भएको उल्लेख गरे ।

सांसद चित्रबहादुर केसीले व्यवहारिक रूपमै समानुपातिक रूपमा देशको आर्थिक विकास हुनुपर्ने माग गरे । सांसद देवेन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ ले योजना आयोगको भूमिकालाई न्यूनीकरण गरेको भन्दै विधेयकको विरोध गरे ।

सांसद नारायणी शर्माले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक संसदीय समितिमा छलफलको प्रक्रियामा अगाडि बढिरहेको अवस्थामा सबै प्रक्रिया पूरा नगरीकन अध्यादेशमार्फत सरकारले विधेयक ल्याएको भन्दै विरोध जनाइन् ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ सम्बन्धी विरोधको सूचनालाई बैठकले बहुमतले अस्वीकृत गरेको थियो ।

नामिबियाले नेपाललाई दियो १२६ रनको लक्ष्य

काठमाडौँ । यास्मिन खानको उत्कृष्ट ब्याटिङसँगै नामिबियाले महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गन आजको खेलमा नेपाल सामू जितका लागि १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

युगान्डाको एन्टेबे क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय २५ रनको योगफल बनायो ।

उसका लागि यास्मिन खानले ४४ बल खल्दै पाँच चौकाको सहायताले ४५ रन बनाइन् । विल्का म्वाटिलले २०, अर्रास्टा डियर्गार्डले १६ तथा कप्तान सुने विटम्यानले १५ रन बनाइन ।

नेपालका लागि ईश्वरी विष्टले सर्वाधिक तीन विकेट लिइन् भने रचनाकुमारी चौधरीले दुई तथा रिया शर्मा र इन्दु बर्माले समान एक/एक विकेट लिए ।


प्रतियोगितामा दुई हार बेहोरेको नेपाल जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रिएको छ । नेपाल आफ्नो पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको थियो । त्यस्तै दोस्रो खेल भने नेपालले घरेलु टोली युगान्डालाई एक विकेटले पराजित गरेको थियो भने तेस्रो खेलमा नेपाल हङकङसँग दुई रनले पराजित भएको थियो ।


जारी प्रतियोगितामा नामिबियाले नेपाललाई यसअघि पराजित गरेको थियो भने हङकङसँग चार विकेट र युगान्डासँग एक रनले पराजित भएको थियो । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

ग्रिनल्यान्डको संसदीय चुनावमा अतिराष्ट्रवादी पार्टीलाई सबैभन्दा बढी मत प्राप्त

ग्रिनल्यान्ड । अतिराष्ट्रवादी डेमोक्राटिट पार्टीले ग्रिनल्यान्डको संसदीय चुनावमा सबैभन्दा बढी मत प्राप्त गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषित लक्ष्य कुनै न कुनै तरिकाले टापुमाथि नियन्त्रण हासिल गर्ने भन्ने छायाँमा मतदानमा गएको ग्रिनल्यान्डमा यो आश्चर्यजनक परिणाम हो ।

डेमोक्राटिट (डेमोक्रेट्स) र दोस्रो स्थान हसिल गरेको नालेरक (पोइन्ट अफ ओरिएन्टेसन) दुवै डेनमार्कबाट स्वतन्त्रताको पक्षमा छन् तर परिवर्तनको गतिमा फरक छन् ।

वर्षौंदेखि यस क्षेत्रमा शासन गरिरहेका दलहरूमाथि डेमोक्राटिटको आश्चर्यजनक विजयले ग्रिनल्यान्डमा धेरैले स्वास्थ्य सेवा, शिक्षा, सांस्कृतिक सम्पदा र अन्य सामाजिक नीतिहरूको बारेमा उत्तिकै चिन्तित छन् भन्ने सङ्केत गर्दछ ।

“ग्रिनल्यान्डको राजनीतिक इतिहासमा यो एउटा ऐतिहासिक परिणाम हो भन्ने मलाई लाग्छ”, डेमोक्राटिट पार्टीका नेता जेन्स–फ्रेडरिक निल्सनले परिणामपछि चुनावी पार्टीमा भने ।

ग्रिनल्यान्डको अखबार सर्मिट्सियाकका अनुसार निल्सन आफ्नो पार्टीको लाभ देखेर चकित देखिएका थिए, फोटोहरूमा उनी चुनावी पार्टीमा विशाल मुस्कान र ताली बजाउँदै देखिएका थिए ।

निल्सनले आफ्नो पार्टीले ग्रिनल्यान्डको भविष्यको राजनीतिक मार्गका लागि वार्ता गर्न अन्य सबै दलहरूसँग सम्पर्क गर्ने बताएको डेनिस ब्रोडकास्टिङ कर्पोरेसनले उल्लेख गरेको छ ।

राजधानी न्युकको मतदान केन्द्रमा दिनभर न्यानो घाममा ठूलो भीड आएपछि अप्रत्याशित परिणामहरू आएको थियो । थकित मतदान अधिकारीहरूले सबैलाई मतदान गर्ने मौका दिन सुनिश्चित गर्न मङ्गलबार योजनाबद्ध राति ८ बजे (स्थानीय समय) पछि नै मतदान केन्द्रहरू बन्द गरेका थिए ।

प्रधानमन्त्री म्युट बोरुप एगेडले फेब्रुअरीमा ग्रिनल्यान्डले कहिल्यै अनुभव गरेको जस्तो ‘गम्भीर समय’ मा देशलाई एकताबद्ध हुन आवश्यक रहेको भन्दै अलि चाँडै निर्वाचनको घोषणा गरेका थिए ।

बुधबार परिणामहरू थाहा भएपछि एगेडले फेसबुक पोष्टमा मतदाताहरूलाई मतदान गरेकोमा धन्यवाद दिए र पार्टीहरू सरकार गठन गर्न वार्ता गर्न तयार रहेको बताए ।

गत हप्ता काङ्ग्रेसको संयुक्त सदनमा ट्रम्पले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकामा’ प्राप्त गर्न गइरहेको सोचेको बताएका थिए ।

डेनमार्कको स्वशासित क्षेत्र ग्रिनल्यान्ड उत्तरी अटलान्टिकमा रणनीतिक हवाई र समुद्री मार्गहरूमा फैलिएको छ र मोबाइल फोनदेखि नवीकरणीय ऊर्जा प्रविधिसम्म बनाउन आवश्यक दुर्लभ पृथ्वी खनिजहरूको समृद्ध भण्डार छ ।

एगेडको इनुइट अताकातिगिइट (युनाइटेड इनुइट) ले व्यापक रूपमा जित्ने अपेक्षा गरिएको थियो । त्यसपछि सियामुटले जित्ने अपेक्षा गरिएको थियो । यी दुई दलले हालका वर्षहरूमा ग्रिनल्याण्डको राजनीतिमा प्रभुत्व जमाएका थिए ।

डेनमार्कबाट अलग हुने कुरा मतपत्रमा थिएन तर सबैको मनमा थियो । छपन्न हजार जनसङ्ख्या भएको यो टापु कम्तीमा सन् २००९ देखि स्वतन्त्रताको बाटोमा छ र यसले स्वतन्त्रता घोषणा गर्ने समय आएको छ कि छैन भनेर बहस गर्ने बेला निर्वाचित ३१ सांसदले टापुको भविष्यलाई आकार दिनेछन् ।

चुनावमा पाँच मुख्य पार्टीमध्ये चारले स्वतन्त्रता खोजेका थिए तर कहिले र कसरी भन्नेमा असहमत थिए ।
नालेरक सबैभन्दा आक्रामक रूपमा स्वतन्त्रताको समर्थक हो भने डेमोक्राटिट परिवर्तनको अधिक मध्यम गतिको पक्षमा छ ।

पोलार रिसर्च एन्ड पोलिसी इनिसिएटिभका प्रबन्ध निर्देशक ड्वेन मेनेजेसले भने, “स्वतन्त्रताका लागि कुन दृष्टिकोणले दिन जित्नेछ त्यो अन्ततः डेमोक्राटिटले गठबन्धन सरकार गठन गर्ने निर्णय गर्छ र यदि गर्छ भने कुन पार्टीसँग भन्ने कुरामा निर्भर गर्दछ ।”

अमेरिका र रुसका गुप्तचर प्रमुखहरू नियमित सम्पर्क कायम राख्न सहमत

मस्को । अमेरिका र रुसका गुप्तचर निकायका प्रमुखहरूले फोनमा कुराकानी गरेको र अमेरिका–रुस सम्बन्धमा तनाव कम गर्न नियमित सम्पर्क कायम राख्न सहमत भएको बुधबारका समाचार रिपोर्टहरूले जनाएका छन् ।

धेरै वर्षपछि पहिलो पटक यस्तो सम्पर्कमा सिआइए प्रमुख जोन र्‍याटक्लिफ र रुसको बाह्य गुप्तचर एजेन्सी एसभिआरका प्रमुख सर्गेई नारिस्किनले मङ्गलबार फोनमा कुरा गरेको सरकारी तास एजेन्सीले जनाएको छ ।

उनीहरू आफ्ना एजेन्सीहरूबीच ‘अन्तर्राष्ट्रिय स्थिरता र सुरक्षामा योगदान पुर्‍याउनका साथै मस्को र वासिङ्टनबीचको सम्बन्धमा द्वन्द्व कम गर्न’ ‘नियमित सम्पर्क’ गर्न सहमत भएको छ ।

यो फोनवार्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन वर्षे युक्रेन सङ्घर्ष अन्त्य गर्ने प्रतिज्ञा गर्दै पदभार सम्हालेपछि पहिलो यस्तो सम्पर्क थियो ।

युक्रेनले ३० दिनको युद्धविरामका लागि अमेरिकी प्रस्तावलाई समर्थन गरेको र साउदी अरबमा सङ्कटपूर्ण वार्तामा रुससँग तत्काल वार्ता गर्न सहमत भएकै दिन यो फोनवार्ता भएको थियो ।

सिआइए र एसभिआरका प्रमुखहरूबीच अन्तिम सम्पर्क सन् २०२२ नोभेम्बरमा भएको थियो । त्यसबेला नारिस्किनले अङ्कारामा तत्कालीन सिआइए प्रमुख विलियम बन्र्ससँग कुरा गरेको थियो । 

प्रतिनिधिसभामा सुशासनसम्बन्धी विधेयक प्रस्तुत

काठमाडौँ । प्रतिनिधिसभामा ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलेबुधबार उक्त विधेयक प्रस्तुत गरेका हुन् । विधेयक प्रस्तुत गर्दै उनले दुवै सदनको बैठक नभएका बेला कानुन अत्यावश्यक भएकाले अध्यादेशहरु ल्याउनुपरेको बताए ।

मन्त्री गुरुङले कुनै पनि आग्रहले सोचाइको क्षितिजलाई साँघुरो बनाउने उल्लेख गर्दै भने, ‘अध्यादेश भन्ने वित्तिकै विरोध गर्नु भनेको एकाङ्की विचार हो । त्यसको विषय वस्तुमा जानु उपयुक्त हुन्छ ।’

उनले सांसदका विचारको आफूले सम्मान गर्ने उल्लेख गर्दै सांसदहरुलाई रचनात्मक ढङ्गले सोच्न आग्रह गरे । सरकारले विधेयक ल्याउने विषय संविधानसम्मत नै रहेको बताउँदै मन्त्री गुरुङले विधेयक पारित गर्नका लागि सहयोग गर्न सांसदहरुलाई आग्रह गरे ।

यसअघि बैठकले ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथिको विरोधको सूचनालाई अस्वीकृत गरेको थियो ।

सांसदहरु प्रभु साह, प्रकाश ज्वाला, प्रेम सुवाल, हितराज पाण्डे, चित्रबहादुर केसी र दुर्गा राईबाट प्राप्त विरोधको सूचनाहरुलाई बहुमतले अस्वीकृत गरेको हो । 

मूलपानीमा करेन्ट लागेर टिपरका सहचालकको मृत्यु

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका–७ मुलपानीमा करेन्ट लागेर गए राति टिपरका सहचालकको मृत्यु भएको छ ।

मूलपानीबाट अमरसिंह थापा चोक जाने सडकमा बा प्र ०३–००१ ख १३३८ नम्बरको टिपरबाट बालुवा खन्याउने क्रममा बिजुलीको अखम्बाको तार सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएका सहचालक १५ वर्षीय सुमन खड्काको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

रामेछापको मन्थली नगरपालिका–७ का खड्कालाई उपचारका लागि शङ्खरापुर अस्पताल नारायणटारतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–१६ बालाजु वसन्तनगर गुम्बा नजिक एक व्यक्ति मृत फेला परेका छन् । नुवाकोटको ढिकुरे घर बताउने अन्दाजी ३६ वर्षीय नरेन्द्र बाँनिया आज मृत फेला परेका हुन् ।

सात जुवाडे पक्राउ

काठमाडौँ–२६ मित्रनगरस्थित एक गेष्ट हाउसमा अवैधरुपमा जुवातास खेलिरहेको अवस्थामा सात जुवाडे पक्राउ परेका छन् । प्रहरी प्रभाग गोँगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु एक लाख ३५ हजार र ताससहित पक्राउ गरेको हो ।

वर्कसपमा आगलागी

ललितपुर महानगरपालिका–२ सानेपा करिडोरस्थित बिना पाण्डेको राजअटो इलेक्ट्रोनिक वर्कसपमा विद्युत् सर्ट भई आज बिहान आगलागी भएको छ । सो आगलागीबाट वर्कसपसँगै जोडिएको पसल र खाजा घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ । स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 के तपाईंमा मानसिक रोगको समस्या त छैन ?

-डा. निराकारमान श्रेष्ठ

हाम्रो परिवारका सदस्य वा छिमेकका मानिसहरु बाहिरबाट हेर्दा स्वस्थ्य देखिए पनि वास्तवमा स्वस्थ नहुन सक्छन्अर्थात् मानसिक रोगबाट प्रभावित भएका हुनसक्छन् । शारीरिक रोगका बिरामीले आफ्नो रोगका बारेमा अरुलाई बताउने गरे पनि मानसिक रोगका बिरामीले सकभर सार्वजनिक गर्न चाहँदैन् । मानौँ उनीहरु बिरामी नै होइनन्झैँ गरी लुकाउने र परिवारका सदस्यले पनि ढाकछोप गराउन खोज्छन् । जतिबेला अन्य मानिसले थाहा पाउँछन्, त्यतिबेला बिरामीको अवस्था निकै जटिल भइसकेको हुन्छ ।

साधारण जनसङ्ख्याको कम्तीमा पनि दुई प्रतिशत मानिसलाई कडा मानसिक रोग लागेको पाइन्छ । न्युरोसिस पनि धेरै प्रकारको हुन्छ । साधारण जनसङ्ख्याको कम्तीमा १० देखि १५ प्रतिशत मानिसलाई कुनै न कुनै न्युरोसिस रोग लागेको पाइन्छ । त्यस्तै सुस्तमनस्थिति साधारण जनसङ्ख्याको करिब तीन प्रतिशतलाई भएको पाइन्छ । मदिरा तथा लागुऔषधको दुव्र्यसन पनि करिब तीनदेखि पाँच प्रतिशत मानिसमा देखिन्छ । पर्सनालिटी डिसअर्डर पनि करिब एक प्रतिशत मानिसमा देखिन्छ । करिब २५ देखि ३५ प्रतिशत मानिस कुनै न कुनै मानसिक रोगबाट पीडित हुन्छन् यस अर्थमा मानसिक रोग शारीरिक रोगजस्तै धेरै सङ्ख्यामा हुँदैन भन्ने धारणा सरासर गलत हो ।

सामान्यतया स्वास्थ्य भन्नासाथ शारीरिक स्वास्थ्यलाई बुझिन्छ । शारीरिक, मानसिक र सामाजिक तीनै पक्षको संयोजन भए मात्रै मानिसलाई स्वस्थ्य मान्न सकिन्छ । विश्व स्वास्थ्य सङ्गठनले पनि स्वास्थ्य भन्नाले केवल रोग नहुँदैमा या अशक्त नहुँदैमा स्वस्थ भन्न मिल्दैन, शारीरिक, मानसिक र सामाजिक हिसाबले पूर्ण रूपमा स्वस्थ रहेको अवस्था भनी परिभाषित गरेको छ । तर व्यवहारमा शारीरिक पक्षलाई मात्र विशेष जोड दिइएको पाइन्छ ।

शारीरिक रोग भन्नाले शरीरको रोगजस्तै क्षयरोग, औलो ज्वरो, कालाजार, चिनीको रोग, कुष्ठरोग, क्यान्सर आदिलाई जनाउँछ । मानसिक रोगअन्तर्गत विभिन्न प्रकारका एङ्जाइटी डिसअर्डर, डिप्रेसन, वाइपोलार डिसअर्डर, माइग्रेन, छारेरोग, मादकपदार्थ तथा लागुऔषध दुव्र्यसन, सिजोफ्रेनिया, सुस्तमनस्थिति, पर्सनालिटी डिसअर्डर आदि पर्दछन् । सर्वसाधारण मानिसहरूमा मानसिक रोग भन्नासाथ पागलपन अथवा मानसिक असन्तुलन भएको वा बहुलाएका व्यक्तिको चित्रण मात्र मनमा आउने गरेको पाइन्छ र मानसिक रोग लागेको भन्नासाथ मानसिक रूपले असन्तुलन व्यक्ति भन्ने धारणा भएको पाइन्छ । यो धारणा सरासर गलत हो किनभने हामीले नछानीकन एक सय जना मानसिक रोगीहरू लियौँ भने तिनीहरूमध्ये करिब पाँच जना मात्र पागल अथवा मानसिक रूपले असन्तुलन भएको पाउँछौँ भने करिब ९५ जना अरू सर्वसाधारण मानिसजस्तै देखिन्छन् ।

नेपालमा मानसिक स्वास्थ्य समस्या एक गम्भीर र बढ्दो चिन्ताको विषय हो । पछिल्ला वर्षहरूमा मानसिक रोगबारे चेतना बढ्दै गए पनि, अझै पनि समाजमा यो विषयलाई खुला रूपमा छलफल गर्न हिचकिचाहट देखिन्छ । मानसिक रोगलाई लाज वा कमजोरीका रूपमा हेर्ने प्रवृत्तिले समस्या लुकाउने र उपचार नगर्ने प्रवृत्ति बढाएको छ । गरिबी, बेरोजगारी र वित्तीय अस्थिरताले पनि धेरैलाई डिप्रेसन र तनावको शिकार बनाएको छ । नेपालमा मदिरा र लागुऔषधको सेवन गर्ने व्यक्तिहरूको सङ्ख्या बढ्दै गएकाले मानसिक स्वास्थ्यमा नकारात्मक असर परेको देखिन्छ । विवाह, पढाइ, जागीर र सामाजिक मान्यताका कारण कतिपय मानिसहरू ठूलो मानसिक दबाबमा रहेका छन् ।

शारीरिक स्वास्थ्य तथा शारीरिक रोगको उपचारमा विज्ञानले ठूलो फड्को मारेको छ र जनमानसमा शारीरिक स्वास्थ्यप्रति ठूलो सचेतना तथा जानकारी आए तापनि मानसिक स्वास्थ्य तथा मानसिक रोगप्रतिको गलत धारणा, भ्रम, अन्धविश्वास आदि अझ पनि समाजमा व्यापक रुपमा भएको पाइन्छ । मानसिक रूपले स्वस्थ हुनका लागि व्यक्तिमा समय तथा वातावरणअनुसार अगाडि बढ्न सक्ने क्षमता, भावनात्मक द्वन्द्वबाट ज्यादै विचलित नहुने गुण, अर्थपूर्ण रूपले जीवनयापन गर्नसक्ने क्षमता भएको, आफूमा विद्यमान सामथ्र्यको प्रयोग गरी उत्पादनशील तथा फलदायी काम गर्न सक्ने भएको, अरू व्यक्तिसँग अर्थपूर्ण सम्बन्ध जोडी सो सम्बन्धलाई निरन्तरता दिन सक्ने क्षमता भएको र कुनै प्रकारका मानसिक रोगका खास लक्षण नभएको अवस्था हुनुपर्छ ।

मानसिक रोग र मानसिक रोगीहरुप्रति संसारका हरेक देशमा केही न केही गलत धारणाहरु पाइन्छ । हाम्रो देशमा पनि मानसिक रोग सम्बन्धमा धेरै अन्धविश्वास तथा गलत धारणाहरु समाजमा व्याप्त छन् । मानसिक रोग विकसित राष्ट्रहरु र विकासोन्मुख राष्ट्रहरुमा बराबर पाइन्छ र सहरी क्षेत्रमा र गाम्रीण क्षेत्रमा पनि यो बराबर हिसाबले देखिएको छ । तर सामाजिक पृष्ठभूमि अलग–अलग भएको कारणले गर्दा रोगको लक्षणहरु अथवा बिरामीको समस्या भने फरक फरक हुन सक्दछ ।

दिन प्रतिदिन मानसिक रोगीको सङ्ख्यामा बढ्दै जाँदा तिनको उपचारमा भने राज्यको ध्यान पुग्न सकेको छैन । तीन करोडभन्दा ज्यादा जनसङ्ख्याका लागि हाल नेपालमा सवा दुई सय जति मात्र मानसिक रोग विशेषज्ञ छन् । मानसिक रोग विशेषज्ञ र जनसङ्ख्याका हिसाबले हालको अनुपात एकदम कम छ । विश्व स्वास्थ्य सङ्गठनको सिफारिसअनुसार १० हजार जनसङ्ख्याको लागि एक जना मानसिक रोग विशेषज्ञ हुनुपर्नेमा हाल नेपालमा १० लाख ३३ हजार जनसङ्ख्याका लागि एक जनामात्र मानसिक रोग विशेषज्ञ पर्दछ । अर्थात् मानसिक रोग विशेषज्ञको र जनसङ्ख्याको अनुपात १ः३३,००,००० मात्र छ । त्यसैले मानसिक रोग विशेषज्ञ र अरु मानसिक स्वास्थ्य कार्यकर्ताको एकदमै कमी भएकाले मानसिक रोगको उपचारमा ठूलो समस्या देखिएको छ ।

जनशक्तिको अभावसँगै पर्याप्त बजेट नहुँदा पनि उपचारमा कठिनाइ हुने गरेको छ । विश्व स्वास्थ्य सगठनको अनुसार हरेक राष्ट्रले आफ्नो कूल राष्ट्रिय बजेटको कम से कम १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रको लागि छुट्याउनुपर्नेमा नेपालले करिब पाँच प्रतिशत मात्र छुट्याउने गरेको पाइन्छ । स्वास्थ्य क्षेत्रमा प्राप्त कूल रकममध्ये केवल ०.२ प्रतिशत मात्र मानसिक स्वास्थ्यलाई छुट्याउने गरेको पाइन्छ । यसरी बजेटको कमीले गर्दा पनि मानसिक रोगको उपचारमा प्रत्यक्ष तथा अप्रत्यक्ष समस्या परेको देखिन्छ ।

मानसिक रोगका लक्षणहरू कस्ता–कस्ता हुन्छन् ?

शारीरिक रोगका लक्षणहरू शारीरिक भएजस्तै मानसिक रोगका लक्षणहरू पनि प्रायः मानसिक प्रकृतिका हुन्छन् । जस्तै मनोदशा गडबडी, विचारको गडबडी, व्यवहारमा गडबडी, निद्रामा गडबडी, ज्ञानेन्द्रीय अङ्गहरूको अनुभूतिमा गडबडी, सम्झना शक्तिमा गडबडी, अन्र्तदृष्टिमा गडबडी, वुद्धि क्षमतामा गडबडी, एकाग्रतामा गडबडी, कुराकानीमा गडबडी, एकापसको अन्तक्र्रियामा गडबडी, सौखमा गडबडी आदिजस्ता लक्षणहरू मानसिक रोगहरूमा देखा पर्दछन् । सबै प्रकारका शारीरिक लक्षणहरू एउटै शारीरिक रोगमा नदेखेजस्तै सबै प्रकारका मानसिक लक्षणहरू एउटै मानसिक रोगमा देखिँदैनन् ।

कुनै मानसिक रोगमा एक प्रकारका लक्षणहरू देखिन्छन् भने अर्को मानसिक रोगमा अरू प्रकारका मानसिक लक्षणहरू देखिन्छन् । यी लक्षणहरूका आधारमा मानसिक रोग कुन प्रकारका हो भन्ने निदान गरिन्छ र सोहीअनुसार मानसिक रोगीको उपचार गरिन्छ । निद्रा नलाग्ने, बिनाकारण शङ्का गर्ने, बिनाकारण डराउने, उदास हुने, ज्यादा उत्तेजित हुने, असामान्य कुरा गर्ने, असामान्य व्यवहार देखाउने आदि जस्ता मानसिक लक्षणबाहेक टाउको दुख्ने, जीउ दुख्ने, मुटु चाँडोचाँडो धड्कने, छिटोछिटो पिसाब लाग्ने, बोली नआउने, शरीरको कुनै भाग नचल्ने, देख्न नसक्ने, सास फेर्न गाह्रो हुने आदि जस्ता शारीरिक लक्षण पनि मानसिक रोगमा देखा पर्न सक्दछन् ।

मानसिक रोगका कारणहरू के हुन सक्छन् ?

मानसिक रोगको कारण यही नै हो भन्न र किट्न नसके तापनि वंशानुगत कारण, मनोवैज्ञानिक कारण, सामाजिक कारण, शारीरिक रोगका कारण, टाउकोको घाउ चोटपटकको कारण, सङ्क्रमण रोगका कारण, दिमागमा परजीवीको कारण, शारीरिक रोगका लागि सेवन गरिने कुनैकुनै औषधिका कारण, मस्तिष्कमा हुने एक प्रकारका न्युरोट्रान्समिटर भन्ने रासायनिक पदार्थहरूको गडबडीको कारण, मादक तथा लागुऔषधको अत्यधिक सेवनको कारण, व्यक्तित्वको कारण आदिलाई मानसिक रोगका कारणहरूमा लिन सकिन्छ । तर के छ भने धेरैजसो मानसिक रोगका कारणमा यिनीहरूमध्ये एउटाभन्दा धेरै कारणहरूको भूमिका भएको पाइन्छ । कुनै व्यक्तिमा एउटा कारणको प्राधान्यता हुन्छ भने अर्को व्यक्तिमा अर्कै कारणको प्राधान्यता भएको पाइन्छ । अत्यधिक मादक पदार्थ सेवन गर्नु तथा मादक पदार्थको कुलतमा फस्नु एक प्रकारको मानसिक रोग वा मानसिक विकृति हो ।

के मानसिक रोगको उपचार सम्भव छ ?

धेरैजसो मानसिक रोगहरु उपचारपछि ठीक हुन्छ र निको हुन्छ । थोरै प्रतिशत भने निको नहुन सक्दछ र जीवनभर नै औषधि उपचार गरिरहनुपर्ने हुन्छ । तर यिनीहरुमा पनि औषधिले रोगलाई नियन्त्रण गर्न सकिन्छ सबै मानसिक रोगहरूको उपचार हुन्छ र धेरै मानसिक रोगहरू ठीक पनि हुन्छन् । कुनैकुनै शारीरिक रोग पूर्णतया ठीक नहुने र जिन्दगीभर औषधि खानुपर्ने भएजस्तै कुनैकुनै मानसिक रोग पनि त्यस प्रकारका हुन्छ ।

मानसिक रोगका उपचारमा औषधि दिने, बिजुलीको माध्यमबाट उपचार गर्ने, न्युरोमोडुलेसन उपचार, काउन्सेलिङ, साइकोथेरापी, फेमिली थेरापी, ग्रूप थेरापी, सोसल इन्टरभेन्सन, भोकेसनल थेरापी, रिहाविलिटेसन आदि जस्ता विधिहरू अपनाइन्छन् । मानसिक रोगको उपचार बिरामी, उसको परिवार तथा सामाजिक परिप्रेक्ष्यलाई ध्यानमा राखेर गर्नुपर्ने हुन्छ । मानसिक रोगको उपचार एक पटक गरेपछि छोड्न नहुने र सधैँभरि गरिरहनुपर्ने हुन्छ भन्ने भ्रम पनि मानिसहरुमा रहेको छ । यो गलत कुरा हो । धेरैजसो मानसिक रोगहरुमा केही महिना औषधि खाएर छोड्न सकिन्छ भने कुनै कुनै मानसिक रोग औषधि उपचार बिना पनि ठीक हुन्छ भने कुनैकुनै मानसिक रोगमा जीवनभर नै औषधि खानुपर्ने हुन्छ ।

नेपालमा धेरै मानिसहरू, विशेषगरी युवाहरू, डिप्रेसनको शिकार भइरहेका छन् । कामको चाप, पारिवारिक तनाव र भविष्यको अन्योलका कारण धेरैलाई एन्जाइटी डिसअर्डरको समस्या देखिन्छ । भूकम्प, द्वन्द्व, हिंसा, वा अन्य ट्रमाटिक घटनाहरूबाट गुज्रेका व्यक्तिहरूमा पोस्ट–ट्रमोटिक स्ट्रेस डिसअर्डर भएको पाइन्छ । कतिपयमा बाइपोलार डिसअर्डर, स्किजोफ्रेनिया जस्ता गम्भीर मानसिक रोगहरू पनि देखा पर्ने गरेका छन् । नेपालमा मानसिक रोगको समस्या ठूलो छ, तर यसबारे खुलेर कुरा गर्न र उचित उपचार खोज्न अझै पनि धेरै चुनौतीहरू छन् । मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनु आवश्यक छ, ताकि सबै नागरिकहरू स्वस्थ जीवन बिताउन सकून् । यदि तपाइँलाई वा तपाइँको नजिक कसैलाई मानसिक स्वास्थ्यसम्बन्धी समस्या छ भने, चिकित्सक वा परामर्शदातासँग सम्पर्क गर्नु सबैभन्दा राम्रो उपाय हो ।

(स्वास्थ्य मन्त्रालयका पूर्वसचिव तथा वरिष्ठ मानसिक रोग विशेषज्ञ डा श्रेष्ठसँग गरिएको कुराकानीम आधारित)

सरकारले गणतन्त्रमा हुर्किएका नयाँ शक्तिलाई झुटा मुद्दा लगाएर दमन गरेको सोविता गौतमको आरोप

काठमाडौँ । प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा सांसदहरुले गणतन्त्रवादी शक्ति एक जुट हुँदै गणतन्त्र र संविधानको रक्षा गर्न जोड दिएका छन् । उनीहरुले समसामयिक विषयमा सदन मार्फत सरकारको ध्यानाकर्ष गराउँदै सरकार जनताप्रति उत्तरदायी बन्न आग्रह गरे ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोविता गौतमले गणतन्त्रमा हुर्किएका नयाँ शक्तिलाई झुटा मुद्दा लगाएर सरकारले दमन गर्न लागेको आरोप लगाइन् ।

सांसद सुशीला सिर्पाली ठकुरीले सरकार जनताप्रति उत्तरदायी नहुँदा प्रतिक्रियावादी शक्ति सल्बलाउन थालेको जनाउँदै सरकार देश र जनताप्रति जवाफदेही हुनुपर्छ बताइन् । सांसद हितबहादुर तामाङले संविधान र गणतन्त्रवादी एकताबद्ध हुनुपर्नेमा जोड दिँदै राजतन्त्र पुनःस्थापना गर्ने दिवासप्न नदेख्न चुनौती दिए ।

सांसद हितराज पाण्डेले बाख्रापालक किसानले उचित मूल्य पाउन नसकेको, पशु बीमाको प्रभावकारी कार्यान्वयन, दानाको मूल्य नियन्त्रण, घाँसको उचित प्रबन्ध तथा खसीबाख्राको चोरी पैठारी रोक्न सरकारको ध्यानाकर्षण गराए । सांसद सुहाङ नेम्वाङले पूर्वी पहाडी क्षेत्रका दुग्ध उत्पादक किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद हर्कमाया विश्वकर्माले जातीय विभेदलाई बढवा दिने र समाज बिथोल्ने गतिविधिमाथि प्रतिबन्ध लगाउन सुझाव दिइन् । सांसद सुरेन्द्र आचार्यले सुक्खायाममा देशव्यापीरुपमा हुनसक्ने खानेपानीको अभावको अवस्था अन्त्य गरी जनतालाई स्वच्छ पिउने पानीको उचित प्रबन्धन गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद सूर्यबहादुर थापा क्षेत्रीले नौमुरे बहुउद्देश्यीय जलविद्युत् आयोजना तत्काल अघि बढाउन सरकारसँग माग गरे । सांसद हृदयराम थानीले सुर्खेत विमानस्थलको उत्तरतर्फ धावन मार्ग विस्तार गर्न, बड्डीचौर–खम्बागाडे सडकको काम तीव्र गतिमा अघि बढाउन सरकारसँग माग गरे ।

सांसद सञ्जयप्रसाद गौतमले नेपाल–भारत सीमाका दशगजा क्षेत्रमा बसोबास गर्ने जनताको समस्यमा समाधानमा केन्द्रित हुन ध्यानाकर्षण गराए । सांसद सूर्यप्रसाद ढकाल र हेमराज राई सरकार देश र जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिए । 

सुमनाले तारकेश्वरमा कांग्रेस नेताले सरकारी जग्गा कब्जा गरेको आरोप लगाएपछि संसदमा हंगामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना क्षेष्ठले काठमाडौंको तारकेश्वरमा कांग्रेसका नेताले सरकारी जग्गा कब्जा गरेको आरोप लगाएपछि संसदमा हंगामा भएको छ ।

बुधबार प्रतिनिधिसभाको शून्य समयमा सांसद श्रेष्ठले काठमाडौंको काठमाडौं क्षेत्र नम्बर ६ मा पर्ने तारकेश्वरमा कांग्रेस नेताले सरकारको स्वामित्वमा रहेको जग्गाकब्जा गरेको आरोप लगाएकी थिइन् ।

उनले भनिन्,‘काठमाडौँ क्षेत्र नम्बर ६ मा पर्ने तारकेश्वर वडानम्बर ९ को लोकतान्त्रिक चोकमा रहेको सरकारको नाममा रहेको जग्गाकित्तानम्बर ६२ र ६३ को सरकारी जग्गा कांग्रेस नेताले कब्जा गरेको स्थानीयबासिन्दाको उजुरीको बाबजुद स्थानीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरेको आमगुनासो छ । यसमा ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले बोलेलगत्तै नेपाली कांग्रेसका सांसदहरुले आपत्ति जनाए । साथै सांसद श्रेष्ठको अभिव्यक्ति रेडर्कबाट हटाउन समेत माग गरे ।

कांग्रेस सांसदहरुको विरोधपछि सभामुख देवराज घिमिरेले संसद्मा राखेको विषय तथ्यमा आधारित हुनुपर्ने बताए । यदि यो विषय तथ्य नभएको पाइए रेकर्डबाट हटाउने सभामुखले आश्वासन दिएपछि बैठक अगाडि बढेको थियो ।

उद्योग क्षेत्र समृद्धिको बाटोमा छ : उद्योगमन्त्री भण्डारी

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको उद्योग क्षेत्र यतिबेला समृद्धितर्फ उन्मूख रहेको बताएका छन् ।

मेरो अटोले बुधबार आयोजना गरेको अटोमोटिभ कनक्लेभ-२०८१ को उद्‌घाटन सत्रमा उनले आर्थिक सुधारका पक्षमा सरकार दृढताका साथ लागिपरेको उल्लेख गर्दै त्यसले उद्योग क्षेत्रलाई समृद्धिको बाटोमा ल्याइरहेको बताएका हुन् ।

सरकारले निजी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको जनाउँदै मन्त्री भण्डारीले अर्थतन्त्रमा देखिएका समस्या समाधानमा सरकार केन्द्रित रहेको उल्लेख गरे । नयाँ बजेटको छलफल शुभारम्भ भएको जनाउँदै उनले उद्योग मन्त्रालयको नीतिगत सुधारका लागि र निजी क्षेत्रको सुधारका लागि अर्थ मन्त्रालयबाट बजेट माग गरिने बताए।

मन्त्री भण्डारीले निजी क्षेत्रको समग्र विकासका लागि नीतिगत तथा अन्य विषयमा सुझावका लागि आह्वान गरे। अहिलेका ऐन खण्डीत नहुने गरेर नीतिगत सुधारका लागि उनले सुझाव माग गरे। आफू उद्योगमन्त्रीका रुपमा रहँदासम्म उद्योग क्षेत्रको सुधारका क्षेत्रमा जतिसुकै नकारात्मक आलोचना गरिए पनि बिना कुनै स्वार्थ लागिपर्ने उनले प्रतिबद्धता जनाए।

नेपालका उद्योगी तथा व्यवसायीले विभिन्न प्रहार झेल्नुपरेको उल्लेख गर्दै मन्त्री भण्डारीले नेपाली उद्योगको उत्थानका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताए। स्वदेशी वस्तु उपभोगको विषय दोहोर्‍याउँदै उनले नेपाली उत्पादनको प्रयोग नगर्ने प्रवृत्तिले यहाँका उद्योग धराशायी बन्नुपरेको बताए।

प्रधानमन्त्रीसमक्ष अन्तर–व्यवस्थापिका मञ्चको घोषणापत्र हस्तान्तरण

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष अन्त-व्यवस्थापिका मञ्च, नेपालको १० औं सम्मेलनबाट पारित सात बुँदे घोषणापत्र हस्तान्तरण गरिएको छ ।

उक्त मञ्चको गत पुस १-३ गते गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित सम्मेलनका निष्कर्षहरू बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिएको हो ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, उपाध्यक्ष विमला घिमिरेसहित सातै प्रदेशका सभामुख, उपसभामुख र संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयलगायत सहभागी भेटमा संघीयता एवं संविधान कार्यान्वयनलाई तीव्रता दिन संघ, प्रदेश र स्थानीय तहको साझा सूचीअन्तर्गत निर्माण गरिने कानुनको सन्दर्भमा तीन वटै सभाको परस्पर सम्बन्ध विकास गर्ने प्रतिबद्धता गरिएको छ ।

यस्तै बन्न बाँकी कानुनको अध्ययन र पहिचान गरी संघीय संसदबाट कानुन निर्माण गर्न पहल गर्ने जनाइएको छ ।

घोषणापत्रमा संसदीय विषयगत समितिको कामकारबाहीलाई प्रभावकारी बनाउने उद्देश्यले समन्वय र सहजीकरण गर्न सम्बन्धित नियमावलीमा प्रतिनिधि सभाका उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष तथा प्रदेश सभाका उपसभामुखको भूमिका स्पष्ट गर्न पहल गर्ने प्रतिबद्धता रहेको छ ।

यस्तै कानुनको कार्यान्वयन मापन एवं उत्तर विधायिकी परीक्षणको कार्य सरकारसँग समन्वय गरी संघ र प्रदेशमा सुरु गर्ने, यसका लागि सम्बन्धित सभाका नियमावलीमा व्यवस्था गर्ने, सरकारले सभामा पेश गर्ने नीति तथा कार्यक्रम सिद्धान्त र प्राथमिकता, पूर्व बजेट छलफल एवं संसदबाट अनुमोदित बजेट, बजेटको खर्च समेतका सम्बन्धमा अध्ययन विश्लेषण गरी संसद सदस्यलाई अध्ययन, अनुसन्धानात्मक र प्रशिक्षणात्मक सेवा पुर्‍याउने विषय घोषणापत्रमा रहेको छ ।

भेटका अवसरमा प्रधानमन्त्री ओलीले सबै सरकार र संसद्हरुबीच संविधानले गरेका प्रबन्धबमोजिम उचित समन्वय र सहकार्य अझै बढाउनुपर्नेमा जोड दिँदै संघीय सरकारका तर्फबाट हुनुपर्ने समन्वय बढाउने बताए ।

उनले संसदले सरकारसमक्ष बजेटसम्बन्धी प्रस्ताव गर्दा राज्यको आर्थिक हैसियतलाई विचार गरेर गरिदिनुपर्ने र सरकारका सम्बन्धित मन्त्रालयले पनि संसदको नेतृत्वले आवश्यकता ठानेर पठाइसकेका प्रस्तावलाई सहजरुपमा अघि बढाउनुपर्ने बताए ।

सर्लाहीबाट नक्कली नोटसहित पाँच जना पक्राउ

जनकपुरधाम । नक्कली नोट बनाउने गिरोहलाई सर्लाहीमा प्रहरीले पक्राउ गरेको छ । सर्लाहीको मलङ्गवा नगरपालिका–८, गोरखकाली नाकाबाट नक्कली नोटसहित नोट बनाउने कार्यमा संलग्न पाँच जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरका ४२ वर्षीय खुर्सैद भन्ने सुल्तान मंसुर, रौतहटको गढीमाई नगरपालिका–९, चिलमिलियाका ५६ वर्षीय रामनारायण सहनी, सर्लाहीको धनकौल गाउँपालिका–७, बैरियाका ४८ वर्षीय दुलार सहनी, सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२, का ५० वर्षीय रामपृत सहनी र ब्रह्मपुरी गाउँपालिका–२, कै ३५ वर्षीया सिहानता कुमारी देवी रहेका छन् ।

भारततर्फबाट आइरहेको मोटरसाइकलमा नेपाल प्रवेश गरेका उनीहरुलाई विशेष सूचनाको आधारमा खानतलासी गर्दा नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक सरोज राईले जानकारी दिएका छन् ।

प्रहरीले उक्त गिरोहको साथबाट नेपाली नक्कली एक हजार दरको एक/एक वटा नोट राखी बिचमा सेतो पेपर राखेर बनाइएको ८८ थान बण्डलमा नक्कली नेपाली रुपैयाँ १७६ थान (एक लाख ७६ हजार रुपियाँ) बरामद गरेको छ ।

भारतीय अर्बपति मुकेश अम्बानीको जियो प्लाटफर्म र स्पेसएक्सबीच सम्झौता

मुम्बई। भारतीय अर्बपति मुकेश अम्बानीको जियो प्लाटफर्मले बुधबार एलन मस्कको स्पेसएक्ससँग स्टारलिङ्कको उपग्रह इन्टरनेट सेवा आफ्ना ग्राहकहरूलाई प्रदान गर्न सम्झौता गरेको बताएको छ ।

प्रतिद्वन्द्वी टेल्को कम्पनी भारती एयरटेलले यस्तै सम्झौतामा हस्ताक्षर गरेको एक दिनपछि र मस्क र अम्बानीका कम्पनीहरूबीच स्याटेलाइट स्पेक्ट्रम कसरी प्रदान गर्ने भन्ने विषयमा विवाद भएको केही महिनापछि यो घोषणा आएको हो ।

कम पृथ्वी कक्ष उपग्रहहरूद्वारा दुर्गम स्थानहरूमा उच्च–गतिको इन्टरनेट पहुँच प्रदान गर्ने स्टारलिङ्कको सम्भावित प्रक्षेपणले भारतमा प्रिडेटरी मूल्य निर्धारणदेखि स्पेक्ट्रम विनियोजनसम्मका मुद्दाहरूमा तीव्र बहस भएको छ ।

तर विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको भारतले बृहत् स्याटेलाइट ब्रोडब्यान्ड सेवाहरूको प्रक्षेपणका लागि तयारी गरिरहेको बेला स्पेसएक्स र भारतका टेलिकमहरूले अपनाउन सहयोग गर्न हात मिलाएको देखिन्छ ।
एक विज्ञप्तिअनुसार यो सम्झौताले जियोले ‘आफ्ना खुद्रा आउटलेटहरूमा स्टारलिङ्क उपकरणहरू’ प्रदान गर्ने र भारतीय कम्पनीले ‘ग्राहक सेवा स्थापना र सक्रियतालाई समर्थन गर्न मद्दत’ गर्ने पनि देखिन्छ ।

‘पार्टीहरूले भारतका सबैभन्दा ग्रामीण र दूरदराजका क्षेत्रहरू सहित देशभर विश्वसनीय ब्रोडब्यान्ड सेवाहरू प्रदान गर्न, डाटा ट्राफिकका हिसाबले विश्वको सबैभन्दा ठूलो मोबाइल अपरेटरका रूपमा जियोको स्थितिको फाइदा उठाउनेछन्’, विज्ञप्तिमा भनिएको छ ।

जियोले यो सम्झौता ‘स्पेसएक्सले भारतमा स्टारलिङ्क बेच्नका लागि आफ्नै अनुमति प्राप्त गर्ने’ कुरामा निर्भर रहेको बताएको छ ।

गत महिना स्टारलिङ्कको इजाजतपत्र आवेदन प्रारम्भिक नियामक स्वीकृतिको नजिक पुगेको भारतीय मिडिया रिपोर्टहरूले बताएका थिए । अम्बानीको दूरसञ्चार एकाइले पनि स्याटेलाइट ब्रोडब्यान्ड सेवा प्रदान गर्न छुट्टै काम गरिरहेको छ ।

जियो प्लेटफर्मले जियोस्टेशनरी र मध्यम पृथ्वी कक्ष उपग्रहहरूको संयोजन प्रयोग गरेर ब्रोडब्यान्ड सेवाहरू प्रदान गर्न सन् २०२२ मा लक्जमबर्गको एसइएससँग संयुक्त उद्यमको घोषणा गरेको थियो ।

गत महिना वासिङ्टनमा मस्कले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेपछि पनि जियो–स्पेसएक्स सम्झौता आएको हो ।

प्रविधि उद्यमी मस्कको भारतमा व्यापारिक रुचि हाल सामाजिक मिडिया प्लेटफर्म एक्समा सीमित छ । विद्युतीय सवारी निर्माता टेस्लाले विश्वको पाँचौँ ठूलो अर्थतन्त्रमा प्रवेश गर्न तयारी गरिरहेको छ ।

टेस्लाले गत महिना नयाँदिल्ली र मुम्बईका लागि स्टोर प्रबन्धक र सेवा प्राविधिकहरूका लागि जागिरको विज्ञापन जारी गर्दै भारतमा भर्ती सुरु गर्न थालेको थियो ।