`

पोखरा विमानस्थलको अध्ययन प्रतिवेदन लेखा समितिलाई हस्तान्तरण

Nepal One HD १५ वैशाख २०८२ १५:५८
प्रमुख खबर

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा अनियमितता भएको विषयमा छानबिनका लागि गठित संसदीय उपसमितिले प्रतिवेदन बुझाएको छ ।

सोमबार संसदीय उपसमितिका संयोजक राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई प्रतिवेदन बुझाएका हुन् । लेखा समितिले गत असार १४ गते भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन–अनुगमन गरी छानबिनका लागि दुई छुट्टाछुट्टै उपसमितिहरू गठन गरेको थियो ।

उपसमितिमा सांसदहरू अर्जुननरसिंह केसी, लेखनाथ दाहाल, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, प्रेमबहादुर आले, तारा लामा, तेजुलाल चौधरी, दीपक गिरी, देवप्रसाद तिमिल्सिना, रामकृष्ण यादव र रुक्मणि राना सदस्य थिए । प्रतिवेदनमा विमानस्थल निर्माणका क्रममा १० अर्ब भ्रष्टाचार भएको उल्लेख गरिएको छ ।

तर प्रतिवेदनमा उपसमितिका सदस्य बास्कोटाले भने फरक मत राखेका छन् । पत्रकार सम्मेलन गरी बास्कोटाले प्राविधिक अडिट गर्ने काम उपसमितिले गर्न नसक्ने बताए । उनले सबै कुरा अन्तिम टुंगोमा नपुगेका कारण मूल समितिले नै थप अनुसन्धान र अध्ययन गरी सत्य पत्ता लगाउनुपर्ने बताए । उनले आफूले हस्ताक्षर गर्न नमानेको भनेर बेकारको हल्ला चलाइएको बताए ।


प्रतिक्रिया