`

बौद्धिक सम्पत्ति सुरक्षाका लागि नीतिगत सुधार गर्नुपर्छः मन्त्री भण्डारी

Nepal One HD १३ वैशाख २०८२ १८:२६
राजनीति

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बौद्धिक सम्पत्ति सुरक्षाको लागि नीतिगत सुधार गर्नुपर्ने बताएका छन् ।

विश्व बौद्धिक सम्पत्ति दिवसका अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभाग तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, प्रतिलिपि अधिकार राजिष्टारको कार्यालयले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले बौद्धिक सम्पत्ति र मौलिक कला संस्कृतिहरूको संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले प्रतिलिपि अधिकारको सुरक्षामा सरकारले भूमिका निर्वाह गर्ने बताए ।
बौद्धिक सम्पत्ति संरक्षणका विषयमा जनचेतना अभिवृद्धि गर्नुपर्ने बताउँदै उनले नेपालका मौलिक तथा सांस्कृतिक परम्पराहरूको संरक्षण गर्नुपर्नेमा जोड दिए । देशको गहनाका रूपमा चिनिने नेपाली सर्जकहरूले गरेका सृजनाको चोरी गरी आफ्ना नामबाट प्रकाशन÷प्रसारण गर्नेलाई सरकारले कारबाही गर्ने बताए । उनले नेपालका पुराना लोक कला संस्कृति, मौलिक ज्ञान, सङ्गीत कला र सिर्जनाको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्द बहादुर कार्कीले बौद्धिक सम्पत्ति दुरुपयोगका विषयमा सम्बन्धित व्यक्तिहरू नै अनविज्ञ रहेको हुनु नै समस्याको विषय भएको बताए । उनले यस सम्बन्धीका पुराना कानुनहरू संशोधन गर्नुपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले औद्योगिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्ने गरी राज्यको भूमिका बढाउनु हुनु पर्ने बताए ।

बौद्धिक सम्पत्ति सङ्गठनबारे पर्याप्त ज्ञानको अभावले पनि यसको संरक्षणमा चुनौती थपिने गरेको उल्लेख गर्दै अध्यक्ष ढकालले कतिपय ट्रेडमार्कका विषयमा विवादहरू आउने गरेकोले यसको समाधानमा जोड दिनु पर्ने बताए । उनले ट्रेडमार्क तथा पेटेन्टका विषयमा पर्ने उजुरी र यसको सुनुवाइको प्रक्रियालाई सरल सहज र छिटो गर्नु पर्ने बताए ।

“नेपालको कानुनले पनि बौद्धिक सम्पत्तिलाई कानुनमा सुरक्षित गरिएको छ । जसले पेटेन्ट, प्रतिलिपि अधिकार र ट्रेडमार्कहरूलाई सुरक्षित राख्न सहयोग गरेको छ । यस्ता कार्यक्रमले बौद्धिक सम्पत्तिका विषयमा जनचेतना अभिवृद्धिमा ठुलो सहयोग पुग्ने छ । ”उनले भने ।

उनले गीत सङ्गीत क्षेत्र मनोरञ्जन उद्योगका रूपमा विकास हुँदै आएको अवस्थामा सर्जकहरूले सिर्जनाको संरक्षण आवश्यक रहेको बताए ।

उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले अर्थतन्त्रको उन्नति र आर्थिक समृद्धिका लागि औद्योगिक सम्पत्ति महत्त्वपूर्ण भए तापनि यो विषय छायामा परेको बताए । उनले पुरानो कानुन र सरोकारवालको चेतना न्यून रहेको बताए ।

Trademark प्रशासन अप्ठ्यारो र जटिल हुँदा पनि जनशक्तिको स्थिरता, विज्ञता र अनुभव कायम गर्नु चुनौतीपूर्ण रहेको उनको भनाई छ । विभागले पछिल्लो समयमा एकीकृत दर्ता गर्ने व्यवस्थालाई कार्यान्वयनमा ल्याएको र उजुरी फछ्र्यौटमा तीव्रता दिएको महानिर्देशक ज्ञवालीले बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले कलात्मक कार्य र सिर्जनाको संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । उनले बौद्धिक सम्पत्ति साँझा चासोका विषय भएको बताउँदै यसको विषयमा सबैको चासो र सरोकार रहनुपर्ने बताए । हाम्रा परम्परागत संस्कृति, मौलिक ज्ञान, सङ्गीत कला र सिर्जनाको संरक्षण प्रवद्र्धन मार्फत आर्थिक विकास गर्न सकिनेमा जोड दिए ।
विश्व बौद्धिक सम्पत्ति सङ्गठनले पहिलो विश्व आइपि दिवस २००१ मा मनाउन थालिएको थियो । विश्व बौद्धिक सम्पदा सङ्गठनले हरेक वर्ष विभिन्न फरक फरक नारा तय गरेर यो दिवस मनाउँदै आइरहेको सन्दर्भमा यो वर्ष IP and music feel the beat of IP नारा तय गरेको छ ।


प्रतिक्रिया