`

तोसिमाको आक्रोशः महिला नेतृत्व स्वीकार नगरिएको हो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा तोसिमा कार्कीले राज्यले महिलामाथि गरिरहेको विभेद अन्त्यका लागि सत्ता र प्रतिपक्ष नभनी सम्पूर्ण महिला सांसद एकताबद्ध भएर लड्ने बेला आएको बताएकी छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकको आकस्मिक समयमा उनले महिलामाथिको विभेदलाई परास्त गरी महिलाको सामाजिक, राजनीतिक र व्यावसायिक अधिकारका लागि एकताबद्ध रुपमा सङ्घर्ष गर्नुपर्ने खाँचो औँल्याइन् ।

सांसद कार्कीले संविधानमा लैङ्गिक समानताको धारा उल्लेख गरिए पनि राज्यले महिलामाथि हेर्ने दृष्टिकोण अझै परिवर्तन हुन नसकेको जिकिर गरिन् । “राज्यले महिलामाथि गरिरहेको विभेदलाई सच्याएर लैङ्गिक समानताको उदाहरण यो संसद्ले प्रस्तुत गरोस्, महिला समानताको नारा मात्रै होइन, अभिभारा राज्यले बोकोस्”, उनले भनिन् ।

प्रतिनिधिसभा नियमावलीमा महिला संसद् समन्वय समिति गठन गरिने उल्लेख गरिए पनि वर्तमान संसद्ले अहिलेसम्म गठन नगरेकामा असन्तुष्टि व्यक्त गर्दै सांसद कार्कीले संसदीय समितिका सभापतिमध्ये ३३ प्रतिशत महिला सभापति हुनुपर्छ भन्ने नियमावलीमा लेखिएको भए पनि सो व्यवस्था पालना नहुनु विडम्बना भएको बताइन् ।

उनले सरकारले हालै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव नियुक्त गर्दा वरिष्ठताका आधारमा पहिलो नम्बरमा रहेका डा सङ्गीता मिश्रालाई पन्छाएर अर्कै व्यक्तिलाई सचिव नियुक्त गरिएकामा आपत्ति जनाइन् ।

सांसद कार्कीले सो सम्बन्धमा प्रधानमन्त्री, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीले सदनलाई स्पष्ट पार्नुपर्ने बताइन् । “मन्त्रिपरिषद् बैठकले किन यस्तो गर्यो, पुरुष मन्त्रीले महिला सचिवसँग काम गर्नै नसक्ने हो, कि महिला नेतृत्व स्वीकार नगरिएको हो ?”, उनले प्रश्न गरिन् ।

“पच्चीस जनाको मन्त्रिपरिषद्मा ३३ प्रतिशत नपुग्ने गरी महिला मन्त्री सहभागी गराइन्छ, निर्वाचनमा महिलालाई जानजान ‘उप’ र ‘सह’ पदमा मात्र टिकट दिइन्छ”, सांसद कार्कीले भनिन्, “प्रत्यक्षबाट नभई समानुपातिकबाट महिला प्रतिनिधित्वको सङ्ख्या पुर्याउनका लागि मात्रै महिलालाई सांसद बनाइन्छ । यो महिलामाथिको विभेद भएन ?”

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय

काठमाडौँ । सरकारले फागुन २१ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरी सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक गरेका हुन् ।

फेरि फर्कने चाहना नराख्न पूर्वराजालाई सरकारका प्रवक्ताको चेतावनी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पूर्वराजा ज्ञानेन्द्रले आफ्नो हैसियत बिर्सेको आरोप लगाएका छन् ।

मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले व्यवस्था नै पल्टिएपछि राजा जेलमा हुनुपर्नेमा नागार्जुन दरबारमा राखेको भन्दै पूर्वराजा ज्ञानेन्द्रले आफ्नो हैसियत बिर्सेको बताएका हुन् ।

उनले भने, ‘व्यवस्था उल्टिएपछि उनीहरु सबै जेलमा बस्नुपर्ने हो, उनीहरुको सम्पत्ति जफत गर्नुपर्ने हो । तर हामीले उनलाई सुरक्षाको प्रबन्ध गरेर नागार्जुन दरबारमा राखेका छौ, आज उनैले यो व्यवस्थाप्रति कटाक्ष गर्दै, म फेरि फर्कन्छु भनेर जुन हर्कत गरिरहेका छन्, त्यो उसले आफ्नो हैसियत बिर्सेको हो।’

मन्त्री गुरुङले लोकतन्त्रमा विरोध गर्न पाइने भएपनि त्यो सीमामा हुनुपर्ने बताए ।

प्रेस स्वतन्त्रतामा अङ्कुश लाग्ने गरी कानुन बन्दैनः सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाबाट प्रेस स्वतन्त्रता कुण्ठित हुने कुनै पनि प्रकारको कानुन नबन्ने स्पष्ट पारेका छन् ।

अर्थप्रधान सञ्चार माध्यमहरुको छाता संस्था इकोनोमिक मिडिया एशोसिएशन नेपाल (इमान)को आज राजधानीमा सम्पन्न दोस्रो वार्षिकोत्सव तथा साधारण सभालाई सम्बोधन गर्दै सभामुख घिमिरेले संविधान प्रदत्त प्रेस र अभिव्यक्ति स्वतन्त्रताको मर्म विपरीत जान नहुनेमा आफू स्पष्ट बताए ।

“संसद्मा विचाराधीन विधेयकबारे तपाईंहरूको चासोबारे म जानकार छु । प्रेस स्वतन्त्रतामाथि कुनै पनि हालतमा बन्देज लगाउने काम हुँदैन/हुने छैन”, उनले भने । उनले कुनै पनि कानुनले पत्रकारिताको स्वतन्त्र अभ्यासमा अवरोध पु¥याउने, सूचनाको पहुँच रोक्ने वा पारदर्शीतालाई कमजोर पार्ने प्रयत्न गर्नु नहुनेमा पनि जोड दिए ।

देश अहिले सङ्क्रमणकालीन अर्थतन्त्रको चरण पार गर्दै उद्योग, पूर्वाधार विकास, वित्तीय स्थायित्व र लगानीमैत्री वातावरणको निर्माण गर्ने दिशामा अगाडि बढिरहेको उल्लेख गर्दै उनले विगतका आर्थिक नीतिलाई परिमार्जन गर्दै नयाँ सम्भावना खोज्ने क्रममा सरकार, निजी क्षेत्र, वित्तीय संस्था र सञ्चार क्षेत्रबीच सुदृढ सहकार्य आवश्यक रहेको धारणा समेत राखे ।

तथ्यमा आधारित समाचारका लागि आवश्यक तथ्याङ्क उपलब्ध गराउने प्रवृत्ति विकसित हुन नसकेको, विज्ञापन र आर्थिक लाभका कारण कतिपय अवस्थामा समाचार सङ्कलनमा प्रभाव पर्ने गरेको उल्लेख गर्दै चिन्ता व्यक्त गरे । आर्थिक पत्रकारिता केवल समाचार सम्प्रेषणको माध्यम मात्र नभई, नीति–निर्माण र दिगो विकासलाई दिशा दिने एक महत्त्वपूर्ण साधन हुनुपर्ने उनको धारणा थियो । 

गृहमन्त्री लेखकद्वारा बैतडीको शान्तिसुरक्षाबारे जानकारी

गृहमन्त्री रमेश लेखकले बैतडीको शान्तिसुरक्षाका बारेमा जानकारी लिएका छन् । आज बिहान खोड्पे प्रहरी चौकीको निरीक्षण गर्दै उनले जिल्लाको शान्तिसुरक्षाका बारेमा जानकारी लिएका हुन् ।

गृहमन्त्री लेखकले जिल्लाको समग्र शान्तिसुरक्षाका बारेमा जानकारी लिनुका साथै आवश्यक निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । उनले भने, “खोड्पे प्रहरी चौकीको निरीक्षणका क्रममा गृहमन्त्रीज्यूले जिल्लाको समग्र शान्तिसुरक्षा र विपद्को विषय जानकारी लिनुभयो, साथै आवश्यक निर्देशन समेत दिएर जानुभयो ।”

शान्तिसुरक्षा, विपद् व्यवस्थापन, लागुऔषध नियन्त्रणलगायत विषयमा गृहमन्त्री लेखकले निर्देशन दिएका हुन् । गृहमन्त्री लेखक बैतडीपश्चात् बझाङका लागि प्रस्थान गरेका छन् । बझाङमा भूकम्पबाट पीडितका लागि आवास पुनर्निर्माणका लागि अस्थायी कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको गृहमन्त्री लेखकका स्वकीय सचिव जनकराज भट्टले जानकारी दिए । 

इक्वेडरको लागूपदार्थ तस्करी गिरोहबीच झडप हुँदा कम्तीमा २२ जनाको मृत्यु

इक्वेडर । इक्वेडरको लागूपदार्थ तस्करी गिरोहका प्रतिद्वन्द्वी समूहहरूबीच बिहीबार हिंसात्मक बन्दरगाह सहर गुयाक्विलमा भिडन्त हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

सहरमा आन्तरिक झडपको शृङ्खलामा अन्य तीन जना घाइते भएका छन् । स्थानीय प्रहरीले विज्ञप्तिमा पहिले १२ जनाको मृत्यु भएको बताएको थियो । 

एक प्रहरी स्रोतका अनुसार गोली हानाहानमा लस टिगेरोन्स नामक गिरोहका विरोधी समूहहरू संलग्न थिए । उक्त  गिरोह यस पहिले शान्तिपूर्ण देशमा सबैभन्दा शक्तिशाली गिरोहमध्ये एक हो ।

इक्वेडर लागुऔषध तस्करी, अपहरण र फिरौतीमा संलग्न अनुमानित २० आपराधिक गिरोहहरूको घर हो । यिनीहरूले विश्वको सबैभन्दा ठूला कोकिन उत्पादकहरू पेरु र कोलम्बियाबीचमा रहेको एक करोड ८० लाख जनसङ्ख्या भएको इक्वेडरमा विनाश मच्चाइरहेका छन् ।

पछिल्ला वर्षहरूमा इक्वेडर गुयाक्विल जस्ता बन्दरगाहहरू मार्फत संयुक्त राज्य अमेरिका र युरोपमा कोकिन पठाउने अन्तर्राष्ट्रिय कार्टेलहरूको द्रुत प्रसारको बीच हिंसामा डुबेको छ । उदाहरणका लागि हत्याको दर सन् २०१८ मा प्रति एक लाख बासिन्दामा छ बाट बढेर सन् २०२३ मा रेकर्ड ४७ पुगेको छ ।

विशेषज्ञहरूका अनुसार गिरोहहरू निरन्तर परिवर्तन भइरहेका छन् र अपराधबाट हुने मुनाफाले बलियो हुँदै गएका छन् ।

गुयाक्विल गुयास प्रान्तको राजधानी हो । यो सात प्रान्तमध्ये एक हो र यहाँ सरकारले अपराधीहरूसँग लड्दै गर्दा पछिल्लो दुई महिनादेखि आपत्कालीन अवस्था लागू गरेको छ ।

गत महिना राष्ट्रपति डानियल नोबोआले स्पष्ट नगरिएका मित्र राष्ट्रहरूलाई यो लडाइँमा मद्दत गर्न विशेष बलहरू पठाउन अनुरोध गर्ने बताएका थिए ।

अप्रिल १३ मा नोबोआले वामपन्थी लुइसा गोन्जालेजको सामना गर्ने निर्वाचनका लागि इक्वेडरले तयारी गरिरहेको बेला पनि हिंसा कम भएको छैन ।

सेनाको गुप्तचर सूचना चीनलाई बेचेको आरोपमा एक अमेरिकी सैनिक पक्राउ

वासिङ्टन । एफबीआईले चीनमा रहेका व्यक्तिलाई गोप्य सूचना बिक्री गरेको आशङ्कामा बिहीबार एक अमेरिकी सैनिकलाई पक्राउ गरेको न्याय मन्त्रालयले जनाएको छ ।

वासिङ्टन राज्यको एक सैन्य शिविरमा तैनाथ सेनाका सप्लाइ सर्जेन्ट जियान झाओमाथि अमेरिकी सरकारबाट चीनमा अनिर्दिष्ट व्यक्तिहरूलाई बेच्नका लागि गोप्य ‘हार्ड ड्राइभ’ र कम्प्युटर सङ्कलन गरेको आरोप लगाइएको थियो ।

सन् २०२४ जुलाईमा सुरु भएको चोरीका लागि झाओले प्रतिबन्धित पदार्थको लागि कम्तिमा १५ हजार अमेरिकी डलर भुक्तानी प्राप्त गरेको आरोप लगाइएको छ ।

निर्णयक मण्डलीले उनलाई अनधिकृत व्यक्तिहरूलाई राष्ट्रिय प्रतिरक्षा जानकारी प्राप्त गर्न र प्रसारित गर्न षडयन्त्र गरेको साथै घूस खोरी र सरकारी सम्पत्तिको चोरीको आरोप लगाएको होे ।

अभियोग पत्रअनुसार झाओले संयुक्त राज्य अमेरिकाको राष्ट्रिय प्रतिरक्षासँग सम्बन्धित कागजातहरू, लेखहरू, फोटोहरू, उपकरणहरू, उपकरणहरू, र नोटहरू प्राप्त गर्न र प्राप्त गर्न हकदार नभएका व्यक्तिहरूलाई प्रेषित गर्न अन्य सहयोगीहरूसँग मिलेर ‘जानीजानी र गैरकानुनी रूपमा षडयन्त्रमा संलग्न भएको आरोप लागेको छ ।

एफबीआईले सक्रिय अमेरिकी सैनिक ली तियान र पूर्व सैनिक रुओयु डुआनलाई पनि सरकारी सम्पत्ति चोरी र घूस लिएको आरोपमा बिहीबार पक्राउ गरेको छ ।

तियानले ‘संयुक्त राज्य अमेरिकी सेनाको परिचालन क्षमतासँग सम्बन्धित संवेदनशील सैन्य जानकारी सङ्कलन गर्ने’ विशेष गरी अमेरिकी सैन्य हतियार प्रणालीको बारेमा सन् २०२१ नोभेम्बर र सन् २०२४ डिसेम्बरको बीचमा अनिर्दिष्ट रकममा डुआनलाई बेचेको एफबीआईले आरोप लगाएको छ ।

अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “शुक्रबार पक्राउ परेका प्रतिवादीहरूमाथि हाम्रो देशलाई धोका दिएको, अमेरिकाको प्रतिरक्षा क्षमतालाई कमजोर पार्न सक्रिय रूपमा काम गरेको र चीनमा हाम्रा प्रतिद्वन्द्वीहरूलाई सहयोग गरी सशक्त बनाएको आरोप लगाइएको छ।”

महान्यायाधिवक्ता बोन्डीले भन्नुभयो, “तिनीहरूले छिटो, कडा र बृहत् न्यायिक सजायको सामना गर्नेछन् ।” 

कोटीहोमको भूमिपुजन रोक्न खोज्दा पोखराको बाराहीघाटमा झडप

पोखरा । पोखराको लेकसाइडस्थित बाराहीघाटमा मानव सेवा फाउन्डेसनले कोटीहोम आयोजना गर्न लागेपछि झडप भएको छ । पोखरा महानगरपालिकाले अनुमति नलिई भूमिपूजन गर्न नपाउने अडान लिएपछि प्रहरी र आयोजक पक्षबीच झडप भएको हो । भूमिपूजन रोक्न महानगरको अनुरोधमा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हो ।

झडपमा दुबै पक्षका केही व्यक्ति घाइते भएका छन्। मानव सेवा फाउन्डेसनले कोटिहोम आयोजना गर्न बाराहीघाट क्षेत्र चयन गरेको छ ।

महाभियोग लागेका दक्षिण कोरियाली राष्ट्रपति युन रिहा

सियोल । दक्षिण कोरियाको एक अदालतले महाभियोग लागेका राष्ट्रपति युन सुक योलको गिरफ्तारी शुक्रबार रद्द गर्दै उनको रिहाईको लागि अनुमति दिएको छ।

निलम्बित राष्ट्रपतिका वकिलहरूले गत महिना उनको गिरफ्तारी रद्द गर्न अनुरोध दायर गरेका थिए र उनको हिरासत गैरकानुनी भएको तर्क गरेका थिए । अभियोजन पक्षले उनलाई अभियोग लगाउन धेरै लामो समय पर्खेको थियो।

सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टको एउटा कागजातमा भनिएको छ, ‘प्रतिवादीको हिरासत अवधि सकिएपछि अभियोग लगाइएको हो भन्ने निष्कर्षमा पुग्नु तर्कसङ्गत छ।’

‘प्रक्रियागत स्पष्टता सुनिश्चित गर्न र अनुसन्धान प्रक्रियाको वैधताको बारेमा कुनै पनि शङ्का हटाउन हिरासत रद्द गर्ने निर्णय जारी गर्नु उपयुक्त ठानिएको छ,’ अदालतले भनेको छ।

पूर्व अभियोजक युनले डिसेम्बरमा केही समयका लागि नागरिक शासन निलम्बन गर्दैसंसद्मा सैनिक पठाएपछि दक्षिण कोरियाको रजनीतिमा उथलपुथल आएको थियो ।

महाभियोग लगाउनुभन्दा केही घण्टाअघि नै सांसदहरूले मतदान गरेर सैनिक शासनको घोषणा गरेको भन्दै उनीविरूद्ध ‘राज्य विद्रोह’को आरोपको प्रस्ताव दर्ता गरेका थिए ।

सियोलस्थित आफ्नो सरकारी निवासमा सुरक्षा टोली र अनुसन्धानकर्ताबीच तनावपूर्ण झडप हुँदा ६४ वर्षीय युनले दुई हप्तासम्म गिरफ्तारीको विरोध गरेपनि अन्ततः जनवरी १५ मा उहाँलाई हिरासतमा लिइएको थियो।

उनले संवैधानिक अदालतमा महाभियोगको मुद्दाको पनि सामना गरिरहेका छन् । यसले उनलाई पदबाट हटाउने वा नहटाउने भन्ने निर्णय गर्नेछ ।

बन्द उद्योगको सम्पत्ति लिलामी प्रक्रिया थालियो

बागमती। हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले लामो समयदेखि बन्द रहेका तीन उद्योगको सम्झौता रद्द गरी सम्पत्ति लिलामी प्रक्रिया अघि बढाएको छ ।

विगत तीन/चार वर्षदेखि बन्द रहेको नेपाल ब्रुअरी प्रा.लि, ग्रिन गोल्ड इन्टरनेसनल प्रा.लि र बानिया मल्टी प्रोडक्ट प्रा.लिमाथि औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको हो ।

विभिन्न कारणले बन्द रहेका ती उद्योगका सञ्चालकलाई सम्पर्कमा आउन पटक पटक पत्राचार गर्दै आए पनि सम्पर्कमा आउन नचाहनेले कारबाही अघि बढाइएको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख सङ्गीता कुँवरले बताए।

‘हामीले उद्योग सञ्चालकलाई निरन्तर फोन गरेर र पत्राचार गरेर बोलायौँ’, प्रमुख कुँवरले भने, ‘तर उनीहरू आउनुभएन, त्यसैले सम्झौता रद्द गरी सम्पत्ति लिलामी प्रक्रिया अघि बढाएका हौँ, सम्पत्ति लिलामीका लागि सूचना जारी भइसकेको छ, छिट्टै प्रक्रिया पुर्‍याएर लिलामी गर्छौँ।’

यसैबीच हेटौँडा औद्योगिक क्षेत्रमा थप दुई उद्योग सञ्चालनमा आएका छन् । योसँगै औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगको सङ्ख्या एक सय ४६ पुगेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ । पछिल्लो पटक थ्रिस्टार ग्रुपले रङ्गीन तथा सादा कर्कट पाता तथा बाबा मेनिफ्याक्चर प्रा.लिले टिनका स–साना बाकस उत्पादन गर्न सुरु गरेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालले जानकारी दिए।

अमेरिकी सरकारको आर्थिक सहयोगमा २०२० मङ्सिर २० गते स्थापना भएको सो औद्योगिक क्षेत्रभित्र हाल एक सय ४६ उद्योग तथा प्रतिष्ठानले जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गरिरहेका छन् । कूल तीन हजार दुई सय २८ रोपनी क्षेत्रफलमा फैलिएको सो औद्योगिक क्षेत्रभित्र हाल १० उद्योग निर्माणाधीन अवस्थामा छन् ।

कूल जग्गा क्षेत्रफलमध्ये हाल भाडामा दिएको दुई हजार एक सय ७८ रोपनी, खाली जमिन २६ दशमलव ५२ रोपनी र युटिलिटी सेवाले ओगटेको सडक सञ्जाल, विद्युतीकरण, ढल निकासलगायत संरचना निमार्ण क्षेत्रफल पाँच सय ९७ रोपनी रहेको छ ।

औद्योगिक क्षेत्रभित्र कार्यालयबाट निर्मित औद्योगिक भवन १०, गोदाम ११ र अन्य भवन ३४ रहेका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले औद्योगिक क्षेत्रहाताभित्र रहेका उद्योग प्रतिष्ठानको आवश्यकता र मागका आधारमा औद्योगिक भवन, गोदाम, क्वाटर भवन र जग्गाको भाडा लिँदै आएको छ ।

तिब्बतको सीमानासम्म सडक निर्माण गर्न चीनको सहयोग लिन परराष्ट्रमन्त्रीलाई योगेश भट्टराईको आग्रह

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले परराष्ट्रमन्त्री डा. आरजु राणासँग भेटवार्ता गरी ताप्लेजुङदेखि तिब्बतको सीमानासम्म सडक निर्माण गर्न चीनको सहयोग लिन आग्रह गरेका छन् ।

शुक्रबार मन्त्री राणासँग भेट गरी भट्टराईले ताप्लेजुङ सदरमुकामदेखि तिब्बतको सीमाना टिपटलासम्मको ८५ किलोमिटर सड़क विस्तार, कालोपत्रे र पुलहरूको निर्माणका लागि चीन सरकारको सहयोग लिन नेपाल सरकारका तर्फबाट चिनियाँ सरकारसंग औपचारिक छलफलको प्रक्रिया अघि बढाउन अनुरोध गरेका हुन् ।

साथै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाटप्राप्त सिफारिस र लागत अनुमानको प्रारम्भिक प्रस्ताव पनि मन्त्री राणालाई बुझाएको उनले बताएका छन् ।

जनताको भावनाअनुरुप संविधान संशोधन गर्नुपर्छः सांसद अर्याल

काठमाडौँ ।  मैले दुई पटकमन्त्री भएर जनताको सेवा गर्ने मौका पाएकी छु । एक पटक राष्ट्रियसभाको उपाध्यक्ष भएर काम गरेकी छु । अहिले पछिल्लो पटक राष्ट्रियसभामा आएको तीन वर्ष पूरा भयो । राष्ट्रियसभाको उपाध्यक्ष हुँदा मैले जनताको पक्षमा धेरै काम गरेकी छु । राष्ट्रियसभा भनेको अनुभवी सदस्यहरु भएको थलो हो भन्ने मलाई लाग्छ । नेपाली राजनीतिमा खारिएका नेताहरु नै  राष्ट्रियसभामा हुनुहुन्छ । राष्ट्रियसभामा सबै जातजाति र समुदायको प्रतिनिधित्व भएका कारणले पनि परिपक्वता छ भन्न सकिन्छ । 


संविधान कार्यान्वयनको अवस्थालाई हेर्दा, संविधान बनाउँदा सबै राजनीतिक दलका नेता मिलेर बनाइएको हो । तर कार्यान्वयनमा दल र दलका नेताको जागरुकता त्यति देखिँदैन । यो संविधान राजनीतिक दलको लामो सङ्घर्षबाट प्राप्त भएको हो । संविधानमा सबै जातजाति, भाषाभाषीको अधिकार सुनिश्चित भएको छ । कार्यान्वयनको सवालमा सांसदहरु सत्तामा नजाउन्जेल कानुन बनाउनुपर्छ भन्ने तर सत्तामा गएपछि बिर्सिने चलन छ । यसको मतलब यो नौ वर्षको अवधिमा कार्यान्वयन हुँदै भएन भन्ने होइन । तर जति कार्यान्वयन हुनुपर्ने हो, त्यति भएको छैन । मौलिक हक अन्तर्गतका सबै कानुन बन्न सकेका छैनन् । संसद् भनेको जनताका सवाललाई मुखरित गर्ने थलो पनि हो । संसद्मा जनताका सवालले भने प्राथमिकता पाएको देखिन्छ । सांसदहरुले जनताको सवालमा जति आवाज उठाएका हुन्छन्, त्यति सरकारले कार्यान्वयन गरेको देखिँदैन । 


संविधान संशोधनको विषयमा भन्नुपर्दा, संविधान संशोधन अल्पमत र बहुमत भन्दा पनि जनताको सुझावको आधारमा सबै राजनीतिक दलको सहमतिमा हुनुपर्छ । कुनै एक पार्टीको अनुकूलतामा संविधान संशोधन गरिनु हुँदैन । जनताको भावना बुझेर मात्रै संशोधन गर्नुपर्छ । संविधान संशोधनको नाममा कसैको पनि अधिकार कटौती गरिनु हुँदैन । तत्कालको फाइदाका लागि भन्दा पनि दीर्घकालीन सोच राखेर जनताको पक्षमा संशोधन गर्नुपर्ने हुन्छ । 


अहिले राज्यका निकायमा महिलाको प्रतिनिधित्व हुँदै भएको छैन भन्ने होइन । नेपाली महिलाहरु राष्ट्रपति, सभामुख, उपसभामुख, प्रधानन्यायाधीश, मन्त्री, मुख्यसचिव, राष्ट्रियसभाको उपाध्यक्ष हुनुभएको छ । तर महिलाको निमित्त यो नै पर्याप्त होइन । मुलुकको मुख्य कार्यकारी पदको नेतृत्व महिलाले गर्न पाउनुपर्छ । नेपाली राजनीतिमा अहिले पनि एउटै व्यक्ति चार पटक पाँच पटकसम्म प्रधानमन्त्री हुनुभएको छ । जीवनभरी पार्टीको नेतृत्व तहमा हुनुहुन्छ । त्यो संस्कार र प्रवृत्ति गलत छ ।  एउटै व्यक्ति दुई पटकभन्दा बढी  प्रधानमन्त्री बन्न नपाउने व्यवस्था हुनुपर्छ । अब राजनीतिक पार्टीको नेतृत्वमा पनि दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था हुनुपर्छ । देशको नेतृत्व युवा पुस्ताले गर्नै पाएको छैन । कति बुढाले मात्रै देश चलाउने, अब युवालाई पनि अवसर दिनुपर्छ जस्तो लाग्छ । अहिले महिलालाई समानुपातिकमा मात्रै सीमित गरिएको छ । उनीहरु प्रत्यक्ष निर्वाचन लड्न पनि सक्षम छन् । महिलाको लागि पूर्ण समानुपातिक प्रणाली लागू गर्नुप¥यो । 


सङ्घीयता सुदृढीकरण गर्नका लागि प्रदेश र स्थानीय सरकारलाई अझ बढी स्वायत्त बनाउनु पर्दछ । पटक–पटक सरकार परिवर्तन भइरहने करणले पनि सङ्घीयता कार्यान्वयनमा समस्या देखिएका छन् । रोजगारी सिर्जना गर्नेतर्फ कुनैपनि सरकारले ठोस् ध्यान दिएको छैन । अहिलेका युवा नेपाल नै बस्न नचाहने जस्तो भइसक्यो । उनीहरुलाई विदेश जानबाट रोक्नका लागि पनि सरकारले युवामैत्री कार्यक्रम ल्याउनुपर्ने हो । भएका कलकारखाना पनि अहिले सबै बन्द भएका छन् । हाम्रो निर्वाचन प्रणाली महङ्गो भएका कारण पनि नेताहरु कुनै उद्योग खोल्नेभन्दा पनि निर्वाचनमा लागेको खर्च उठाउन तल्लिन भएका देखिन्छन् । त्यसैले यो निर्वाचन प्रणाली परिर्वतन गर्नुपर्ने हुन्छ । नेपालको शिक्षा प्रणालीलाई उन्पादनमुखी बनाउनुपर्ने छ । शिक्षाको गुणस्तरमा ध्यान दिन जरुरी छ । अर्को कुरा स्थिर सरकार नहुँदा पनि विकासमा प्रभाव पारेको हुन्छ । हाम्रोमा स्थायी सरकार कहिलै भएन । खालि सरकार बनाउने र ढाल्ने काम मात्रै भएको छ । 


अहिले पनि नेपाली छोरीहरु एक्लै हिँडडुल गर्न सक्ने अवस्था छैन । देशका विभिन्न ठाउँमा महिलामाथि बलात्कार समेतका यौन उत्पीडनका घटनाहरु भइरहेका छन् । महिलामाथि हुने हिंसा अन्त्य भएको छैन । महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्नेतर्फ मेरो भूमिका हुनेछ । यो विषयमा अहिले पनि संसद्मा आवाज उठाइरहेकी छु । देशको व्यवस्था परिवर्तन भएको छ । तर जनताको अवस्थामा परिवर्तन आउन सकेको छैन । अब मेरो भूमिका जनताको अवस्था परिवर्तन गर्नेमा हुनेछ । उनीहरुको जीविकोपार्जनको समस्या छ । 

राष्ट्रियसभा सदस्य अर्यालको परिचय

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी सदस्य उर्मिला अर्याल राष्ट्रियसभाको सदस्य हुन् । उनी पार्टीको स्थानीय विभाग विभाग प्रमुख पनि हुन् । २०२८ सालदेखि अनेरास्ववियुको सदस्य हुँदै राजनीति सुरु गरकी अर्याल राष्ट्रियसभाको पूर्व उपाध्यक्ष हुन् । नेकपा एमालेमा रहेर लामो समय वामपन्थी राजनीति गरेकी उनी दुई पटक मन्त्री भइसकेकी छन् । उनी २०५६ सालमा पहिलो पटक निर्वाचन जितेर प्रतिनिधिसभाको सांसद भएकी थिइन् ।
(कुराकानीको सम्पादित अंश ।)

बजारको प्रतिक्रियापछि ट्रम्पद्वारा मेक्सिको र क्यानाडामाथिको भन्सार शुल्क फिर्ता

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडा र मेक्सिकोलाई लक्षित केही भन्सार शुल्कहरू ढिलाइ गरेका छन् । यसबाट ओटावालाई प्रतिकारका उपायहरूको आगामी लहर रोक्न अग्रसर गरायो भने वित्तीय बजारहरूमा प्रतिकूल प्रभावपछि कम्पनीहरू र उपभोक्ताहरूलाई राहत प्रदान गरेको छ ।

अर्थशास्त्रीहरूले व्यापक भन्सार शुल्कहरूले अमेरिकी विकासमा असर गर्न सक्ने र मुद्रास्फीति बढाउन सक्ने चेतावनी दिएपछि ट्रम्पको २५ प्रतिशतसम्मको भन्सार शुल्क मङ्गलबार लागू भएपछि सेयर बजारहरू धरासायी भए ।

ट्रम्पले बिहीबार उत्तर अमेरिकी व्यापार सम्झौताले समेटेको क्यानाडा र मेक्सिकोबाट आयात हुने वस्तुहरूमा नयाँ भन्सार शुल्कहरूलाई रोक्ने आदेशमा हस्ताक्षर गरे । यद्यपि उनले आफ्नो निर्णयहरू बजार अस्थिरतासँग जोडिएको सुझावलाई खारेज गरे ।

अप्रिल २ सम्म रहने यो विलम्बले सवारी निर्माताहरूलाई राहत प्रदान गर्दछ । अटो क्षेत्रमा उत्पादनका क्रममा पार्टहरू धेरै पटक उत्तर अमेरिकी सीमाहरू पार गर्दछन् ।

‘बिग थ्री’ अमेरिकी सवारी निर्माताहरू – स्टेलान्टिस, फोर्ड र जनरल मोटर्स – सँगको वार्तापछि वासिङ्टनले सुरुमा संयुक्त राज्य अमेरिका–मेक्सिको–क्यानाडा सम्झौता (युएसएमसिए) मार्फत आउने अटोहरूमा एक महिनाको छुट घोषणा गरेको थियो ।
ह्वाइट हाउसका एक अधिकारीका अनुसार क्यानाडाली आयातको लगभग ६२ प्रतिशत आयातले अझै पनि नयाँ भन्सार शुल्कको सामना गर्नेछ । यद्यपि यीमध्ये धेरै ऊर्जा उत्पादनहरूमा १० प्रतिशतको कम दरमा कर लाग्छ ।

मेक्सिकोबाट आयातको लगभग आधा युएसएमसिएमार्फत आउँछ । “पछिल्ला कदमहरूले हाम्रा अमेरिकी कार निर्माताहरूका लागि अवस्था धेरै अनुकूल बनाएको छ”, ट्रम्पले भने ।

ट्रम्पको निर्णयपछि तुरुन्तै क्यानाडाका वित्तमन्त्री डोमिनिक लेब्लान्कले एक्समा लेखेका छन्, “हाम्रो देशले अप्रिल २ सम्म एक खर्ब २५ अर्ब डलर मूल्यका अमेरिकी उत्पादनहरूमा दोस्रो चरणको भन्सार करहरू अगाडि बढाउने छैन, जबकि हामी सबै भन्सार करहरू हटाउनका लागि काम गरिरहेका छौँ ।”

ट्रम्पले थप करहरू अप्रिल २ मा आउने र ती ‘पारस्परिक प्रकृतिका’ हुने बताए । उनले यसअघि वासिङ्टनले अनुचित ठानेका अभ्यासहरूको उपचार गर्न पारस्परिक भन्सार शुल्क लगाउने प्रतिज्ञा गरेका थिए ।

त्यस समयमा क्यानाडाली र मेक्सिकाली वस्तुहरूले अझै पनि भन्सार शुल्कको सामना गर्न सक्छन् । ट्रम्पले अर्को हप्ताबाट लागु हुने स्टिल र एल्युमिनियम आयातका लागि व्यापक भन्सार शुल्कमा संशोधन नगर्ने पनि बताए ।नयाँ उपायहरूका बावजुद बिहीबार अमेरिकी सेयर बजारहरू फेरि घटे ।

– असाधारण प्रगति –

ट्रम्पले बिहीबार ओभल अफिसमा पत्रकारहरूलाई उहाँको मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबामसँग ‘धेरै राम्रो कुराकानी’ भएको बताए ।

उनले अवैध आप्रवासन र संयुक्त राज्य अमेरिकामा आउने लागूऔषधहरू दुवैमा ‘अत्यधिक प्रगति’ भएको दाबी गरे । दुवै कारण वासिङ्टनले मेक्सिको, क्यानाडा र चीनमा भन्सार शुल्क लगाउँदा उल्लेख गरिएका थिए ।

क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रुडोसँगको तनावपूर्ण सम्बन्धको तुलनामा उनको भनाइ एकदमै फरक थियो ।
ट्रुडोले बिहीबार ‘केही क्षेत्रहरूका लागि अवरोध’ भए पनि ओटावा ‘निकट भविष्यका लागि’ वासिङ्टनसँग व्यापार युद्धमा रहने बताएका थिए । “हाम्रो लक्ष्य यी भन्सार शुल्क, सबै भन्सार शुल्कहरू हटाउनु हो”, उनले भने ।

क्यानाडा र अमेरिकी सरकारको तथ्याङ्कअनुसार क्यानाडाले अवैध अमेरिकी आपूर्तिमा फेन्टानिलको एक प्रतिशतभन्दा कम योगदान गर्दछ ।

यसैबीच चीनले फेन्टानिल आपूर्ति शृङ्खलामा आफ्नो भूमिकाको अमेरिकी आरोपलाई अस्वीकार गरेको छ र यसको सट्टा यस मुद्दामा वासिङ्टनसँगको सहकार्यको प्रशंसा गरेको छ ।

“संयुक्त राज्य अमेरिकाले दयालाई रिसले बदला लिनु हुँदैन, बिना कारण भन्सार शुल्क लगाउन छोड्नुहोस्”, चिनियाँ विदेशमन्त्री वाङ्ग यीले बेइजिङमा भने, “चीन–अमेरिका आर्थिक र व्यापारिक सम्बन्ध पारस्परिक छन् । यदि तपाईँले सहयोग गर्न रोज्नुभयो भने, तपाईँले पारस्परिक रूपमा फाइदाजनक र जित–जित परिणामहरू प्राप्त गर्न सक्नुहुन्छ । यदि तपाईँले दबाब मात्र प्रयोग गर्नुभयो भने, चीनले दृढतापूर्वक प्रतिरोध गर्नेछ ।”

– आर्थिक वास्तविकता –

काटो इन्स्टिट्युटका सामान्य अर्थशास्त्रका उपाध्यक्ष स्कट लिन्सिकोमका अनुसार ट्रम्पको भन्सार शुल्क कम गर्ने निर्णय ‘आर्थिक वास्तविकताको स्वीकार’ थियो । भन्सार शुल्कले आपूर्ति शृङ्खलालाई अवरुद्ध गर्दछ र बोझ मुख्य रूपमा अमेरिकीहरूमा पर्दछ ।

“बजारले उनीहरूलाई मन पराउँदैन र निश्चित रूपमा उनीहरू वरपरको अनिश्चितता मन पराउँदैन”, उनले भने ।

जनवरीमा आफ्नो दोस्रो कार्यकालका लागि पदभार ग्रहण गरेदेखि ट्रम्पले सहयोगी र विरोधीहरूलाई समान रूपमा भन्सार शुल्कको धम्की दिएका छन् ।

अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले ट्रम्पको भन्सार शुल्कले मुद्रास्फीति गराउने कुरामा चिन्तित नभएको भन्दै मूल्यमा कुनै पनि प्रभाव सम्भवतः अस्थायी हुने बताए ।

ट्रम्पले भन्सार शुल्कलाई अमेरिकी सरकारको आम्दानीको स्रोत र व्यापार असन्तुलन सुधार गर्ने तरिकाको रूपमा उल्लेख गरेका छन् ।

जनवरीमा अमेरिकी व्यापार घाटा नयाँ रेकर्डमा पुगेको छ । आयात बढेका कारण व्यापार घाटा ३४ प्रतिशतले बढेर एक खर्ब ३१ अर्ब ४० करोड डलर पुगेको छ ।

विश्लेषकहरूका अनुसार घाटालाई सम्भवतः सुन आयातले बढावा दिएको थियो, तर त्यो तथ्याङ्कले व्यवसायहरू पनि भन्सार शुल्कबाट अगाडि बढ्ने कोशिश गरिरहेका थिए भन्ने सुझाव दिन्छ ।

युक्रेन र अमेरिकाबीच अर्को साता फेरि वार्ता हुने

बीबीसी । अर्को साता साउदी अरबमा अमेरिका र युक्रेनबीच वार्ता हुने भएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त्यो वार्ता ‘अर्थपूर्ण’ हुने आफूले आशा गरेको बताएका छन् । उक्त समयमा जेलेन्स्की पनि साउदी अरबमा हुने छन् । तर उनी वार्तामा सहभागी हुने छैनन् ।

आफूहरू ‘चाँडो र दीर्घकालीन शान्ति’ हासिल गर्न कार्यरत रहेको किएभले बताएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका विशेष दूत स्टीभ विट्कफले अमेरिकी प्रतिनिधिमण्डलले रुस–युक्रेन युद्ध अन्त्य गर्न आवश्यक ‘शान्तिका निम्ति प्रारूप’ पहिल्याउने कोसिस गर्ने बताए ।

गत शुक्रबार ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीच सार्वजनिक चर्काचर्की भएको थियो– त्यतिखेर ट्रम्पले जेलेन्स्की युद्ध अन्त्य गर्न तयार नभएको बताएका थिए। लगत्तै अमेरिकाले युक्रेनलाई दिँदै आएका सैन्य सहयोग स्थगन अनि खुफिया जानकारी दिने काममा रोक लगाइदियो ।

युक्रेनी राष्ट्रपतिले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै अमेरिकासँगको सम्बन्ध सुधार्न खोजेका छन् । युक्रेनका लागि अमेरिका सबैभन्दा ठूलो सैन्य सहयोगदाता थियो । बिहीबार ट्रम्पले जेलेन्स्कीले लेखेको पत्र प्राप्त गरेको विट्कफले बताए । उक्त पत्रमा ‘क्षमायाचना’ तथा ‘कृतज्ञता’ झल्किएको पनि उनले बताए ।

‘आशा गरौँ अब युक्रेनीहरूसँगका मामिला सही मार्गमा आउने छन् र पुरानो अवस्थामा फर्किने छन्,’विट्कफले भने । शान्ति वार्ताका अगाडि आफ्ना तर्फबाट ‘छुट’हरू दिन युक्रेनमाथि अमेरिकाको चर्को दबाव परेको छ भने युक्रेनी राष्ट्रपतिले चाहिँ किएभका लागि दृढ सुरक्षा सुनिश्चितता खोजेका छन् । रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनको आक्रमण गरेको थियो । उसले हाल युक्रेनको २० प्रतिशत भूभागमा नियन्त्रण जमाएको छ ।

बलजफ्ती राजतन्त्रको पुनस्र्थापना हुने हो भने…

डा. बाबुराम भट्टराई ।

प्रसिद्ध दार्शनिक Voltaire को रोचक भनाइ छ– ‘he more often a stupidity is repeated, the more it gets the appearance of wisdom’ ( अर्थात् कुनै मूर्खतापूर्ण कुरालाई जति धेरै पटक दोहोर्यायो, उती त्यो बुद्धिमत्तापूर्ण कुरा जस्तो लाग्न थाल्दछ।)

केही समय यता बढो प्रायोजित ढंगले सामाजिक संजाल र सडकमा जसरी लोकतान्त्रिक गणतन्त्र भन्दा वंशानुगत राजतन्त्र राम्रो हो र देशका सबै राजनीतिक, आर्थिक समस्याको समाधान राजतन्त्रको पुनःस्थापनाले मात्र हुन्छ भन्ने भाष्य आक्रामक रूपमा स्थपित गर्न खोजिँदैछ । त्यसले सोझा जनता मात्र हैन बौद्धिक र युवा जमातलाई समेत भ्रमित पार्न खोज्दैछ। त्यो एकदम रहस्यमय र बिडम्वनापूर्ण मात्र छैन देशको अस्तित्व तथा जनताको भविष्यनिम्ति समेत अत्यन्त खतरनाक छ।

हो, आज देशमा गम्भीर समस्या छन् । राजनीतिक, आर्थिक, सामरिक, सामाजिक लगायत सबै क्षेत्र संकटग्रस्त छन् । पुराना स्थापित राजनीतिक दल र तिनको नेतृत्वप्रति जनअसन्तुष्टी व्यापक छ । खासगरी युवा पुस्ता ज्यादै निराश र आक्रोशित छ ।
हामी स्वयम् तिनै समस्याको समाधान निम्ति केही समयदेखि समग्र राजनीतिकै अग्रगामी पुनर्संरचना र वैकल्पिक राजनीतिक शक्ति निर्माण अभियानमा जुटेका छौं ।

परन्तु अहिलेको अत्याधुनिक ज्ञानविज्ञान र एआईलगायतका प्रविधि तथा मान्छेमा निहीत बुद्धिविवेक प्रयोग गरेर शोधअनुसन्धान गर्दा कुनै पनि तथ्य, तर्क र सूचकले लोकतान्त्रिक गणतन्त्रकाल भन्दा वंशानुगत राजतन्त्रकाल श्रेष्ठ थियो र हुनसक्छ भन्ने पुष्टि गर्दैन । अन्तिम राजा ज्ञानेन्द्रको भूमिका, क्षमता, चरित्र सबैको निष्पक्ष सम्परीक्षण गर्दा उनी देशको समस्याको समाधान हैन झन् ठूलो समस्या र खतरा हुने तथ्य नै स्थापित हुन्छ ।

बरू कथंकदाचित भित्री र बाहिरी शक्तिहरूको साँठगाँठले बलजफ्ती राजतन्त्रको पुनस्र्थापना हुने हो भने त्यसले निर्वााचित संविधानसभाबाट बनेको नेपाली इतिहासकै पहिलो संविधानको हत्या हुने, इतिहासमा पहिलो पटक प्राप्त जनतामा निहीत सार्वभौमसत्ता गुम्ने, बहुजातीय बहुभाषिक मुलुकमा बल्लतल्ल प्राप्त संघीयता पुनः गुमेर देश जातीय द्वन्दमा फस्ने, छिमेकी र विश्वका शक्तिकेन्द्रहरूले आआफ्नो सामरिक स्वार्थको दुहाइ दिंदै संवेदनशील हिमाली क्षेत्रमा प्रत्यक्ष हस्तक्षेप गर्ने र देश अन्त्यहीन सशस्त्र द्वन्द्वमा फस्ने गम्भीर खतरा पो रहन्छ ।

यो खतरनाक परिदृश्यको आँकलन आफूलाई ‘राष्ट्रवाद’ को जन्मजात ठेकेदार मान्ने पूर्वराजा, तिनका आसेपासे र हिमाली क्षेत्रमा सुरक्षा चासो राख्ने बाहिरी शक्ति केन्द्रहरूले गर्नुपर्छ कि पर्दैन ? तुच्छ क्षणिक गद्दीको लोभमा परेर आफ्ना पुर्खाहरूले आर्जेको मुलुकको सार्वभौकिता र स्वाधीनता नै गुमाउने कलंकको भारी बोक्न ज्ञानेन्द्र शाह तयार भएकै हुन् ? छिमेककै सिक्किम र भुटान र अलि परका युक्रेन लगायतबाट पाठ सिक्नुपर्छ कि पर्दैन ? अमेरिकी राष्ट्रपति ट्रम्पले हाकाहाक्की प्यालेस्टाइनको गाजा, ग्रीनल्याण्ड, पनामा नहर लगायत कब्जा गर्ने धम्की दिएबाट अहिलेको संसार कति खतरनाक दिशातिर उन्मुख छ भन्ने यी राजावादीहरूले बुझ्नुपर्छ कि पर्दैन? ‘विचारभन्दा माथि देश’ भन्नेहरूले के सोच्दै होलान् ?

अतः इतिहासको यो संगीन घडीमा देशलाई माया गर्ने सबैले छातीमा हात राखेर ममः भनौं ! भोक लाग्यो भनेर विष नखाऊँ ! वलिदानी संघर्षबाट प्राप्त हाम्रो संविधानका चार स्तम्भ गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेसी लोकतन्त्रमध्ये कुनै एक स्तम्भ ढल्दा पूरै संविधान ढल्नसक्छ भन्ने हेक्का राखौं ! ‘राजा’ हुने सपना देख्नेहरूले बरू संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति बन्ने आँट गरून् । लोकतन्त्रको विकल्प राजतन्त्र हैन झन् उन्नत लोकतन्त्र हो भन्ने बुझून् ।

रङ्गहरुको पर्व होली सुरु, बसन्तपुरमा ठड्याइयो चीर

काठमाडौं । रङ्गहरुको पर्व होली सुरु भएको छ । शुक्रबार काठमाडौंको बसन्तपुरमा रङ्गीचङ्गी ध्वजाले सजाइएको तीनतले चीर ठड्याएसँगै होली सुरु भएको हो ।

फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ । यही प्रचलन अनुसार शुक्रबार बिहान मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएका छन् ।

साथै उनीहरुले एकअर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका छन् । आजै पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर परिसरमा पनि रंगीचंगी कपडा झुण्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ ।

यस वर्षको होली पर्वको मुख्य दिन फागुन २९ गते र चैत १ गते परेको छ । फागुन २९ गते हिमाली तथा पहाडी जिल्लामा र चैत १ गते तराई÷मधेशका जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ ।

कला प्रदर्शनी : एक हजार बढी कला पारखीद्वारा अवलोकन

काठमाडौँ । नेपाल कला परिषद् बबरमहलमा ललितकलाकी कलाकार कृति शाह ‘चन्द’को दोस्रो एकल चित्रकला प्रदर्शनीको एक हजार बढी कलापारखीले अवलोकन गरेका छन् ।

यही फागुन १९ गतेदेखि सुरु भएर बिहीबार सकिएको उक्त प्रदर्शनीमा अग्रज कलाकार, प्राध्यापक, साहित्यकार, युवा तथा विद्यार्थीहरू गरी एक हजारले अवलोकन गरेको कलाकार शाहले जानकारी दिए ।

प्रदर्शनीको अग्रज कलाकार तथा सयौँ कलाकार जन्माउन सफल शशिविक्रम शाहले पनि कला प्रदर्शनी अवलोकन गरेका थिए । बिहीबार समापनका अवसरमा कला अवलोकन गर्दै उनले भने,“पहिलो फिगरेटिभ बनाउँथिन्, अहिले अमूर्त कला बनाएकी रहिछिन्, निकै उत्कृष्ट लाग्यो, पहिलेको प्रदर्शनीभन्दा धेरै राम्रो र फरक पाएँ ।”

वरिष्ठ कलाकार शाहले अमूर्त कला बनाउन निकै गाह्रो हुने सुनाए । “जे सोच्यो त्यही देखिन्छ, अमूर्त कलाको अभिव्यक्ति हेर्नेहरूको सोचाइमा भर पर्छ”, उनले भने ।

उनले कला राम्रो लाग्यो, पुग्यो भन्ने नै नहुने बताउँदै जति सकिन्छ सुधार गर्दै लैजानुपर्ने र हरेक पटक नयाँ हुने सुनाए । उनले भने, “सिर्जना रोकियो भने राम्रो हुन्न, सिर्जना गरिरहनुपर्छ, रोकियो भने सन्तुष्टि हुँदैन । रोकिएपछि पालिस नै हुन्न, जति हिँड्यो उति फाइदा हो नि”, कलालाई सङ्गीतले ठूलो सहयोग गर्ने र शक्ति पनि दिने उनले सुनाए ।

कलाकार कृति शाह चन्दले गएको वर्ष पहिलो कला प्रदर्शनी ललितपुरमा आयोजना गरेकी थिइन् । यसपालि ‘समय, परिस्थिति र वास्तविकता’ शीर्षकमा ४५ कला समावेश गरी दोस्रो एकल चित्रकला प्रदर्शनी आयोजना गरेकी हुन् । यहाँ प्रदर्शनीमा राखिएका एक दर्जन बढी कृतिहरू बिक्रीसमेत भएको उनले सुनाइन् ।

उनका मूर्त र अमूर्त कलाहरू प्रदर्शनीमा राखिएका थिए । रङका तरङ्गले केही बोलिरहेको, सङ्गीत दिइरहेको र छालहरू छचल्किरहेका जस्ता देखिले सिर्जनाले कला पारखीलाई आकर्षित गराएको थियो । एक जना कलाकार उत्तम डङ्गोलले एउटा एकल प्रदर्शनीमा १०–१२ वटा सिर्जना बिक्री हुनु र एक हजार बढीले अवलोकन गर्नु आफैँमा सफल प्रदर्शनी भएको सुनाए ।

कलाकार शाहले यो प्रदर्शनीमा मानिसको जीवन भोगाइलाई सिर्जनामा उतारिएको बताए । समय परिस्थिति र वास्तविकताबीचको बेमेल र जीवनलाई समय र परिस्थितिसँग ढाल्दै अघि बढ्नुपर्छ भन्ने सन्देश यसले दिएको उनले बताए ।

उनका सिर्जनामा अँध्यारोबाट उज्यालोको खोजी, माया, सांस्कृतिक धरोहर, शान्ति, स्वच्छन्दता र न्यायलगायत विषयका कलाकृति प्रदर्शनीमा समावेश भएका थिए । रङका तरङ्गहरूलाई उनले आकर्षक ढङ्गले प्रस्तुत गरेकी थिइन् ।

कला प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति किरण मानन्धर, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तथा पूर्वराजदूत डा केदारभक्त माथेमा, अग्रज कलाकार राधेश्याम मुल्मी, वरिष्ठ कलाकार कृष्ण मानन्धर, वरिष्ठ साहित्यकार रोचक घिमिरे, ललितकला गुठीका संस्थापक स्मृति कर्माचार्य, वरिष्ठ कलाकार गोविन्द डङ्गोल, कवि विप्लव प्रतीकलगायतले आवलोकन गरेका थिए ।

साँखुमा टिपरको ठक्करबाट तीन जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको साँखुमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बिहान करिब ३ः४० बजेको समयमा काठमाडौँको शङ्खरापुर नगरपालिका–६ साँखु सलम्बुटारस्थित साँखु–ब्रह्मखेल सडकखण्डमा बा२क ६५८० नम्बरको टिपर अनियन्त्रित भई युवराज थापाले सञ्चालन गरेको द्वन्द्वपीडित तथा अपाङ्ग समाज संस्थाले बनाएको जस्ताको टहरामा ठक्कर दिन पुगेको थियो ।

टहरोमा ६१ जना बस्दै आएका छन् । टिपरले ठक्कर दिएको कोठामा १० जना सुतिरहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।

सुतिरहेको अवस्थामा टिपरको ठक्करबाट ठेगाना नखुलेका २१ वर्षीय आकाश, २१ वर्षीय सुमन र ४५ वर्षीय हरिजन घाइते भएका थिए । उनीहरुको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।

टिपर चालक सिन्धुपाल्चोकको मेलम्चीका २५ वर्षीय सागर माझीलाई प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको छ ।

एआईजी भट्टराईलाई दज्र्यानी चिन्ह प्रदान

काठमाडौं । बुधबार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका जनक भट्टराईसहित १५ जना प्रहरी अधिकृतहरूले दज्र्यानी चिन्ह लगाएका छन् ।

बिहीबार प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले पदोन्नति भएका १५ जना प्रहरी अधिकृतहरूलाई प्रहरी प्रधान कार्यालयमा दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । मन्त्रिपरिषद्को बुधबारको निर्णयअनुसार भट्टराई प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका थिए ।

यस्तै, गृह मन्त्रालय (सचिवस्तर)को फागुन २० गतेको निर्णयअनुसार प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा १ जना र प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा १३ जना बढुवा भएका थिए ।

उर्जा मन्त्रालयले फेरि सोध्यो कुलमानलाई चार बुँदे स्पष्टीकरण

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई चार बुँदे स्पष्टीकरण सोधेको छ ।

मन्त्रिपरिषदको बुधबारको निर्णयअनुसार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बिहीबार घिसिङलाई स्पष्टीकरण सोधेको हो । स्पष्टीकरणमा मन्त्रालय र घिसिङबीच मिति २०७८ सालको माघ १५ गते भएको कार्यसम्पादन सम्झौता अनुसार आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन प्रतिवेदन तोकिएको समयसीमाभित्र पेश नगरी सम्झौताको सर्त उल्लंघन गरेको आरोप लगाइएको छ ।

राष्ट्रियसभाबाट पनि पाँच अध्यादेश स्वीकृत

काठमाडौं । राष्ट्रिय सभाबाट पनि पाँच वटा अध्यादेश स्वीकृत भएका छन् । बिहीबारको राष्ट्रियसभा बैठकले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन), आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको हो ।

यी पाँच वटा अध्यादेश बुधबारको प्रतिनिधि सभा बैठकबाट पनि स्वीकृत भइसकेका छन् । सरकारले गत पुसमा अध्यादेशहरू ल्याउने निर्णय गरेको थियो। तर राष्ट्रिय सभामा बहुमत प्रष्ट नहुँदा अध्यादेश निर्णयार्थ अघि बढ्न ढिलाइ भएको थियो । भूमिसम्बन्धी अध्यादेश भने निर्णयार्थ प्रस्तुत हुन सकेको छैन ।

बजेटमा सङ्घीय महत्वका आयोजनामा केन्द्रित हुन अर्थमन्त्रीको आग्रह

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय महत्वका आयोजना मात्र सङ्घले गर्ने भएकाले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि आयोजना प्रस्तुत गर्दा विशेष ध्यान दिन आग्रह गरेका छन् ।

आगामी आर्थिक वर्षको बजेट निर्माणसम्बन्धी सहरी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँगको छुट्टाछुट्टै छलफलका क्रममा अर्थमन्त्री पौडेलले प्रदेश र स्थानीय सरकारको जिम्मेवारी तथा भूमिकालाई दृष्टिगत गर्दै ठूला आयोजनामा केन्द्रित हुन आग्रह गरेका हुन् ।

उनले सङ्घीयतामा प्रदेश र स्थानीय तहले गर्ने काम सङ्घले गर्न जरुरी नरहेको उल्लेख गरे । अर्थमन्त्री पौडेलले प्रदेश तथा स्थानीय तहमा अधिकार र जिम्मेवारी हस्तान्तरण गरेर अघि बढ्दा मात्र सङ्घीयताको अभ्यास बलियो हुने बताए ।

त्यस्तै तयारी अवस्थामा रहेका आयोजनाको कार्यान्वयन र आगामी दिनमा आवश्यक पर्ने महत्वपूर्ण आयोजनाको तयारीमा ध्यान पुर्याउन पनि उनले अनुरोध गरे ।

अहिलेको संसदबाट योभन्दा बलियो सरकार बन्ने सम्भावना नहरेको उल्लेख गर्दै अर्थमन्त्री पौडेले यो सरकारले सबै पक्षसँग परामर्श गरी देशको आवश्यकता र जनताको चाहनाअनुसार नयाँ बजेट बनाउने बताए ।

स्थानीयको अवरोधले रोकियो निर्माणाधीन मध्यपहाडी सडक

सुन्दरबजार, (लमजुङ) । पूर्व–पश्चिम पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत लमजुङको सुन्दरबजार नगरपालिका–७ स्थित क्याम्पस गेटबाट खत्रिठाँटीसम्मको दुई किलोमिटर सडक निर्माण रोकिएको छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङमा कूल ४५ किमी सडकमध्ये क्याम्पस गेटबाट खत्रीठाँटीसम्म दुई किमी र भोर्लेटार रानीपानी चोकबाट मिदिम खोला पुलसम्म एक हजार सात सय मिटर सडक स्थानीयको अवरोधका कारण रोकिएको हो ।

मध्यपहाडी लोकमार्ग योजना कार्यालय, पालुङटार गोरखाका अनुसार लामो समयदेखि सडकलाई स्तरवृद्धि गर्दै स्तरोन्नति गर्ने योजनासहित निर्माण अघि बढाइएको थियो । केही स्थानीयले मुआब्जा, सडकको चौडाइ र सम्भावित असरको विषय उठाउँदै सडक निर्माणमा अवरोध पुर्‍याएका छन् ।

स्थानीयका अनुसार सडक विस्तार गर्दा आफ्नो घरजग्गामा असर पर्ने भएकाले उचित क्षतिपूर्ति दिनुपर्ने माग राखिएको हो। केही स्थानीयले सडकको डिजाइन परिवर्तन गर्नुपर्ने मागसमेत अघि सारेका छन् । ‘हामी विकासको विरोधी होइनौँ, तर उचित प्रक्रिया अपनाइनुपर्छ,’ सुन्दरबजारका रामप्रसाद पण्डितले भने । सुन्दरबजार बजार क्षेत्रका स्थानीयले श्रीचन्द्र लामिछानेको संयोजकत्वमा सङ्घर्ष समिति गठन गरेर सडक निर्माणको विरुद्ध सर्वोच्च आदालतसम्म मुद्दा दायर गरिएको उनले बताए । ‘मुद्दा दायर भएको दुई वर्ष वितिसक्दा पनि सर्वोच्चले कुनै आदेश गरेको छैन,’ उनले भने ।

यता स्थानीय भने सर्वोच्चको आदेशपछि सडक निर्माण गर्न दिने बताउँदै आएका छन् । ठेकेदार कम्पनीको सडक निर्माणको म्याद दुई महिना मात्रै बाँकी छ । स्थानीयको अवरोध भइरहँदा सडक निर्माण अलपत्र परेपछि धुलो र धुँवाले आफूहरूले सास्ती भोग्नु परेको स्थानीय राजु न्यौपानेले बताए ।

मध्यपहाडी लोकमार्ग योजना कार्यालयका प्रमुख ईश्वरबहादुर रिजालले केही स्थानीयको अवरोधका कारण सडक निर्माण अन्योलमा परेको बताए । स्थानीयको अवरोध नहुने हो भने हप्ता दिनमा काम सुरु गरेर दुई महिनाभित्र सम्पन्न गर्नसक्ने गरी आफूहरू तयारी अवस्थामा रहेको उनको भनाइ छ ।

स्थानीयको विवाद समाधान नहुँदासम्म सडक निर्माण अगाडि नबढ्ने योजना कार्यालय पालुङ्टारले जनाएको छ । स्थानीयको विवाद समाधान गर्ने प्रमुख दायित्व स्थानीय तह, समाजसेवी, स्थानीय सर्वदलीय प्रतिनिधि भएकाले सबै बसेर छलफलमार्फत समाधान खोज्नुपर्नेमा प्रमुख रिजालले जोड दिए ।

सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोइरालाले सडक निर्माणमा अवरोध हुन नहुने बताउँदै समस्या समाधानको पहल भइरहेको बताए। ‘सडक निर्माण नगरिँदा सबै नागरिकले सास्ती खेप्नुपरेको छ । स्थानीय बासिन्दाको जायज माग सम्बोधन गर्दै काम अघि बढाउन पहल गरिरहेका छौँ,’ उनले भने ।

नगरप्रमुख कोइरालाका अनुसार सम्बन्धित पक्षबीच छलफल भइरहेको छ । स्थानीय प्रशासन, नगरपालिकाका पदाधिकारी, सडक डिभिजन कार्यालय र प्रभावित स्थानीयबीच सहमति जुटाउने प्रयास भइरहेको उनले जानकारी दिए । सुन्दरबजारका बासिन्दाले यथाशीघ्र सडक निर्माण सुरु गर्न माग गरेका छन् । लामो समयदेखि अस्तव्यस्त सडकको अवस्था सुधार्न ढिलाइ नगरियोस् भन्ने स्थानीय माग छ ।

एप्पलको नयाँ ‘म्याकबुक एयर’ बजारमा

सान फ्रान्सिस्को । एप्पलले  एमफोर चिप, १८ घण्टासम्मको ब्याट्री टिक्ने क्षमता र नयाँ १२ मेगापिक्सेलको सेन्टर स्टेज क्यामेरासहितको नयाँ म्याकबुक बजारमा ल्याएको छ ।

कम्पनीका अनुसार यसमा बिल्ट–इन डिस्प्ले, १६ जिबीको स्टार्टिङ युनिफाइड मेमोरी र एप्पल इन्टेलिजेन्ससँग म्याकओएस सिकोइयाको क्षमताका अतिरिक्त दुई वटा बाहिरी डिस्प्ले पनि रहेको छ ।

यसको मूल्य शैक्षिक प्रयोगका लागि ८९९ डलरबाट सुरु भई ९९९ अमेरिकी डलरसम्म रहेको नयाँ १३ र १५ इन्चको म्याकबुक एयर बुधबार प्रि–अर्डरका लागि उपलब्ध हुने एप्पलले जनाएको छ ।

कम्पनीले भनेको छ, ‘पातलो र हल्का फ्यानलेस डिजाइन, दिनभर टिक्ने ब्याट्री क्षमता र एप्पल इन्टेलिजेन्सको साथ म्याकओएस सिकोइयाको अविश्वसनीय क्षमताको साथ आएको म्याकबुक एयर कुनै पनि अन्य ल्यापटप भन्दा फरक छ ।’

‘शुरुआती मूल्य ९९९ डलर भएको म्याकबुक एयरले उपभोक्ताहरूलाई पहिलेभन्दा बढी सेवा र लाभ प्रदान गर्दछ,’ एप्पलका ग्लोबल मार्केटिङका वरिष्ठ उपाध्यक्ष ग्रेग जोसवियाकले भने ।

ट्रम्पको चेतावनीले गाजा युद्धविरामलाई कमजोर बनाएको हमासको आरोप

गाजा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीले कमजोर युद्धविरामको अवहेलना गर्न इजरायललाई प्रोत्साहित गर्ने हमासले बताएको छ। अमेरिकाले ‘आतंकवादी’ समूह मान्ने हमाससँग गाजामा रहेका अमेरिकी बन्धकहरूलाई लक्षित गरी आकस्मिक प्रत्यक्ष वार्ता गरेको ट्रम्पको प्रशासनले खुलासा गरेको केही घण्टापछि ट्रम्पको यो चेतावनी आएको थियो।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले इजरायलसँग परामर्श भएको पुष्टि गर्दै प्रत्यक्ष वार्ताका बारेमा आफ्नो धारणा व्यक्त गरेको जनाएको छ। ट्रम्पले आफ्नो प्रशासनले अर्बौं डलरको हतियार छिटो उपलब्ध गराउने क्रममा आफूले इजरायललाई आफ्नो काम पूरा गर्न आवश्यक सबै कुरा पठाउने बताएका थिए।

‘सबै बन्धकहरूलाई अहिले रिहा गर्नुहोस्, पछि होइन, र तपाईंले हत्या गरेका मानिसहरूका सबै शवहरू तुरुन्तै फिर्ता गर्नुहोस्, अन्यथा यो तपाईंको लागि ‘नारकीय’ बाटो हुनेछ,’ उनले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्, ‘यो तपाईंलाई दिइएको अन्तिम चेतावनी हो, हमास नेतृत्वका लागि अब गाजा छोड्ने समय आएको छ, तपाईंसँग अझै पनि मौका छ।’

ट्रम्पले सन् २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणको प्रतिक्रियास्वरूप इजरायलको अथक सैन्य अभियानका कारण गाजाको सम्पूर्ण जनसङ्ख्या विस्थापित भएको पनि बताएका थिए। ‘गाजाका जनताका लागि एक सुन्दर भविष्यले पर्खिरहेको छ, तर यदि तपाईं बन्धकहरू राख्नुहुन्छ भने तपाईं सम्झनुस् परिस्थिति फरक हुनेछ। ठूलो क्षति व्यहोर्नुपर्नेछ।’

हमासका प्रवक्ता हाजेम कासिमले ट्रम्पको शब्दले इजरायललाई जनवरी १९ देखि जारी युद्धविरामका शर्तहरूको अवहेलना गर्न प्रेरित गरेको बताए। ‘यी धम्कीहरूले युद्धविराम सम्झौतासँग सम्बन्धित मामिलाहरूलाई जटिल बनाउँदछ र यसका सर्तहरू कार्यान्वयन गर्नबाट जोगिन कब्जालाई प्रोत्साहित गर्दछ,’ कासिमले एक बयानमा भने।

हमास नेता कासिमले भने, ‘हमास संयुक्त राज्य अमेरिकालाई युद्धविरामको दोस्रो चरणमा प्रवेश गर्न इजरायललाई दबाब दिन आग्रह गर्दछ।’

श्रीलङ्काका प्रहरी प्रमुखलाई पक्राउ गर्न सर्वसाधारणसँग सुराकी माग्दै प्रहरी

कोलम्बो । श्रीलङ्काको प्रहरीले एक अधिकारीको मृत्युपछि पक्राउ गर्न अदालतको आदेशपछि बेपत्ता भएका आफ्ना फरार प्रमुखको खोजीका लागि बिहीबार सार्वजनिक अपिल जारी गरेको छ ।

प्रवक्ता बुद्धिका मनतुङ्गाले प्रहरी महानिरीक्षक (आईजीपी) देशबन्धु तेन्नाकुनलाई विभिन्न विशेष इकाइमा खटाए पनि फेला पार्न नसकिएको बताए ।

कोलम्बोमा पत्रकारहरूसँग कुरा गर्दै मनतुङ्गाले भने, “हामी सर्वसाधारणलाई उहाँ कहाँ हुनुहुन्छ भन्ने बारेमा कुनै पनि जानकारी दिन आग्रह गर्दछौं ।”

उनले अगाडि भने, “आईजीपीलाई प्रश्रय दिने वा न्यायमा बाधा पु¥याउने जोकोहीलाई पनि कारबाही गरिने चेतावनी पनि दिन्छौँ ।”

मनतुङ्गाले आफ्नै प्रमुखलाई पत्ता लगाउन नसक्नुले प्रहरीमाथिको जनविश्वासलाई कमजोर बनाएको स्वीकारेका छन् । उनले टापुबाट भाग्नबाट रोक्न सरकारले उनलाई विदेश यात्रामा प्रतिबन्ध लगाएको छ ।

“यो गम्भीर विषय हो र हामी उहाँलाई पक्राउ गर्न थप जोसका साथ काम गरिरहेका छौं,” मनतुङ्गाल भने।

उनले भने, “कानुनको जानकार व्यक्तिका रुपमा आइजिपीले अदालतको आदेश पालना गरेर आत्मसमर्पण गर्नुपथ्र्यो ।”

सन् २०२३ मा टेन्नाकुनले एक होटलमा गैरकानुनी रुपमा छापा मारेको आरोप लागेपछि गत साता एक म्याजिस्ट्रेटले उनलाई पक्राउ गर्न आदेश दिएको थियो ।

तेन्नाकुनले एक युनिटलाई राजधानी कोलम्बोबाट करिब १५० किलोमिटर टाढा रहेको दक्षिणी तटीय रिसोर्ट शहर वेलिगामास्थित एक होटलमा अवैध लागूपदार्थको खोजी गर्न आदेश दिएको छ ।

अन्डरकभर अपरेसनबारे अनभिज्ञ स्थानीय प्रहरीले उक्त इकाइसँग मुठभेड गरेपछि गोली हानाहान भएको थियो जसमा एक अधिकारीको मृत्यु भएको थियो भने अर्का एक जना गम्भीर घाइते भएका थि तर त्यहाँबाट कुनै पनि औषधि फेला परेन।

तेन्नाकुनलाई सन् २०२३ को नोभेम्बरमा विवादास्पद रूपमा प्रहरी प्रमुखमा नियुक्त गरिएको थियो भने उनको नियुक्तिलाई सर्वोच्च अदालतले चुनौती दिँदै गत जुलाईमा उनलाई निलम्बन गरेको थियो।

देशको सर्वोच्च अदालतले हिरासतमा रहेका एक शङ्कास्पद व्यक्तिलाई यौनाङ्गमा ‘मेन्थोल बाम’ हालेर यातना दिएको भन्ने छुट्टै मुद्दामा फैसला गरे पनि तेन्नाकुनलाई प्रहरीको सर्वोच्च पद दिइएको थियो ।

अदालतले तेन्नाकुनलाई पीडितलाई क्षतिपूर्तिस्वरूप पाँच लाख भारु (एक हजार ६०० अमेरिकी डलर) तिर्न आदेश दिएको थियो तर त्यतिबेला सरकारले उनीविरुद्ध अनुशासनात्मक कारबाही गर्ने न्यायिक आदेशलाई बेवास्ता गरेको थियो। 

मारवाडी सेवा समितिले गौशाला धर्मशाला सञ्चालन गर्न गर्न पाउने

काठमाडौं । पशुपति गौशाला धर्मशाला सञ्चालन मारवाडी सेवा समितिले गर्न पाउने भएको छ । मारवाडी सेवा समिति नेपालले दायर गरेको रिटमा सुनुवाइ गर्दै बिहीबार पाटन उच्च अदालतले गौशाला धर्मशाला सञ्चालनका लागि काठमाडौं महानगर र पशुपति विकास कोषबीच भएको सम्झौता खारेज गरेको हो । फैसलासँगै मारवाडी समितिले धर्मशाला चलाउने बाटो खुलेको छ ।

पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समिति नेपालबीच २०६० जेठ १२ गते भएको सम्झौता पशुपति क्षेत्र विकास कोषले २०८० साउन १७ एकतर्फी रूपमा भंग गरेको थियो ।

सम्झौता भंग भएपछि समितिले गौशाला धर्मशाला माथि कोषले हस्तक्षेप गर्न खोजेकोले उक्त सम्झौता रद्द गर्ने निर्णय बदर गरिपाऊँ र पूर्व सम्झौताको यथावत् परिपालना गरि पाउ भनी समितिले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।

गत असोज १६ मा समितिको दाबी नपुग्ने गरी फैसला भयो। त्यसपछि असोज २२ गते कोषले गौशाला धर्मशाला सञ्चालनको जिम्मा काठमाडौं महानगरलाई दिने निर्णय र सम्झौता गरेको थियो ।

कर्मचारीलाई सरकारले नोकर ठानेर व्यवहार गर्छ भने त्यस्ता कर्मचारीको पक्षमा उभिन्छौँः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कर्मचारीलाई सरकारले आफ्नो कारिन्दा मात्रै नठान्न चेतावनी दिएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष लिङ्देनले कर्मचारीलाई नोकर ठानेर व्यवहार गर्छ भने त्यस्ता कर्मचारीको पक्षमा उभिने बताएका हुन् ।

उनले झुटा कुरा मन्त्रीले गर्न नहुने बताए । उनले भने, ‘सत्तापक्ष माननीयले पनि एउटा कर्मचारीलाई बोकेर नहिँड्नुस् भन्नुभयो । कर्मचारीलाई सरकारले आफ्नो कारिन्दा मात्रै ठान्छ, नोकर ठानेर व्यवहार गर्छ भने त्यस्ता कर्मचारीको पक्षमा उभिन्छौँ । अन्याय हुन दिन्नौंँ ।’

अध्यक्ष लिङ्देनले परिस्थिति नबिगार्नू भन्दै पछि हट्न उर्जामन्त्रीलाई आग्रह गरे । उनले ३५ अर्ब घाटामा रहेको प्राधिकरणलाई ८ वर्षमा ५२ अर्ब खुद नाफामा लाने कुलमानप्रति ऊर्जामन्त्रीले झुटा विवरण प्रस्तुत गर्दा जलविद्युत क्षेत्रमा नकारात्मक सन्देश जाने बताए ।

लिङदेनले व्यक्तिगत आकांक्षा पूर्तिका लागि संस्थाको हित विपरीत कार्य नगर्न ऊर्जामन्त्रीलाई सुझाव समेत दिए । बैठकमा ऊर्जामन्त्री दीपक खड्काले कुलमानबारे उठेको प्रश्नको जवाफ दिएका थिए । उनले कर्मचारीलाई बोकेर नहिँड्न सुझाव दिएका थिए ।

महानगरले प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरोज गुरागाईंलाई पुनः हाजिर नगराउने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सरोजप्रसाद गुरागाईँलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा पुनः हाजिर गराउँदा नकारात्मक असर पर्ने जनाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई बिहीबार पत्र लेख्दै महानगरले यस्तो बताएको हो । यसअघि मन्त्रालयले गुरागाईँलाई नै महानगरमा काम गर्ने वातावरण तयार पार्न आग्रह गर्दै पत्र पठाएको थियो ।

मन्त्रालयले आफूले प्रमुख प्रशासकीय अधिकृतका रूपमा महानगरपालिकामा खटाएको कर्मचारी गुरागाईंलाई काम गर्ने वातावरण बनाइदिन आग्रहसहित पत्राचार गरेको थियो ।

गुरागाईंले आफूलाई गत पुस ८ गतेदेखि कार्यालयमा हाजिर गर्न नदिएको भन्दै मन्त्रालयसमक्ष लिखित गुनासो गरेका थिए ।

पुरानो बसपार्कको भवन निर्माणको नक्सा पास कागजातको अनुमति पत्रमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृति गरेको महानगरले बताउँदै आएको छ । त्यसपछि छानबिन चलिरहेको भन्दै मेयर बालेन साहले उनलाई काम गर्न दिएका छैनन् ।

अब अराजकता, बलमिच्याँइ र जालझेल चल्दैनः प्रधानमन्त्री ओली

महोत्तरी ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई आत्मनिर्भरताको बाटोमा लैजानुको विकल्प नभएको बताएका छन् ।

महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा बिहीबार ‘नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिज’को उद्घाटन गर्दै प्रधानमन्त्रीले औद्योगिक विकास र रोजगारी सृजनामा प्राथमिकता दिइने बताए । उनले भने, “अब हामी आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प छैन । सहकार्यका माध्यमबाट युवाहरूले आँपको खेती विकास गर्न सक्छन्, यसमा प्रदेश सरकारहरु पनि अघि सरुन् ।”

प्रधानमन्त्री ओलीले निजी क्षेत्रको प्रयास बिना समृद्धि हासिल नहुनेमा सरकार स्पष्ट रहेको बताए । उनले कागज उद्योग स्थापनाले चुलोचौकोमा सीमित सर्वसाधारणले सीप सिक्नुका साथै रोजगारी सृजना हुने बताए । आफ्नै कागज देशभित्र प्रयोग गर्ने अवसर र व्यापार घाटा सन्तुलनका लागि यस उद्योगले योगदान दिइ आत्मनिर्भर बनाउन सहयोग गर्ने विश्वास उनले व्यक्त गरे । 

प्रधानमन्त्री ओलीले वर्तमान सरकार केवल सरकारका लागि नभएर  देश बनाउन आएको बताए । उनले हुलाकी राजमार्ग, सुनकोसी मरिनलगायतका योजना छिटो सम्पन्न गर्ने प्रतिबद्धता जनाए । 

उनले भने, “अब अराजकता, बलमिच्याँइ र जालझेल चल्दैन ।” उनले मुलुकमा अब राजतन्त्र नफर्कने उल्लेख गर्दै सबै संविधान अनुसार चल्नुपर्नेमा जोड दिए । 

लगातार चौथो दिन नेप्सेमा गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको गिरावटले बिहीबार पनि निरन्तरता पाएको छ । गत सोमबारदेखि निरन्तर घटिरहेको नेप्से परिसूचक बिहीबार दुई दशमलव ७० अङ्कको गिरावट पछि दुई हजार आठ सय १८ दशमलव ४३ को विन्दुमा कायम भएको हो ।

आज तीन सय १० कम्पनीको एक करोड ९० लाख ४१ हजार पाँच सय १४ कित्ता शेयर ९३ हजार आठ सय ९५ पटक खरिदबिक्री हुँदा रू १० अर्ब १० करोड १८ लाख १७ हजार छ सय ८१ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ शून्य दशमलव शून्य तीन, विकास बैंक एक दशमलव ८६, उत्पादन तथा प्रशोधन शून्य दशमलव २४ र लघुवित्त शून्य दशमलव शून्य पाँच प्रतिशतले बढेको छभने अरु सबै समूहको उपसूचक घटेको छ । 

वित्त एक दशमलव २३, होटल तथा पर्यटन शून्य दशमलव ५७, जलविद्युत् शून्य दशमलव शून्य छ, लगानी शून्य दशमलव १४ र जीवन बिमा शून्य दशमलव ८० प्रतिशतले घटेको छ । त्यस्तै, म्युचुअल फण्ड शून्य दशमलव १८, निर्जीवन बिमा शून्य दशमलव शून्य चार, व्यापार शून्य दशमलव २४ र अन्य समूह शून्य दशमलव ७१ प्रतिशतले घटेको छ ।

गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ ने नविल डिबेन्चर–२०८२ को शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको  एक अर्ब १२ करोड ८३ लाख ६२ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी घलेम्दी हाइड्रो लिमिटेडको १० लाख ६० हजार कित्ता शेयर किनबेच भएको छ ।

एचपिभी खोप पूर्ण रूपमा सुरक्षित छः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप परीक्षण (ट्रायल)का लागि लगाउने भन्ने भनाइमा कुनै पनि सत्यता नरहेको स्पष्ट पारेका छन् । 

पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोपको हालसम्म गरिएका अध्ययनअनुसार सुरक्षित पाइएको र यसको कुने नकारात्मक असर नदेखिएको उनले बताए । 

राष्ट्रियसभाको बिहीबारको बैठकमा मौखिक प्रश्नको उत्तर दिने क्रममा मन्त्री पौडेलले भने, “यो खोपले पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरसको सङ्क्रमणबाट सुरक्षित गराउँछ । यो खोप सुरक्षित र प्रभावकारी छ । यसबाट हालसम्म कुनै गम्भीर किसिमका असर वा घटना भएका छैनन् ।”

सांसद मदनकुमारी शाह (गरिमा)ले किशोरीलाई लगाइने यो खोप पूर्ण स्वास्थ्यका दृष्टिकोणबाट कति सुरक्षित छ ? र यो खोप पुरुषलाई दिने प्रबन्ध सरकारले कहिले मिलाउने भनी प्रश्न गरिन् ।

उत्तरमा मन्त्री पौडेलले अन्य राष्ट्रमा पुरुषलाई पनि दिने गरिएको बताउँदै यसबारे सहयोगी राष्ट्रबाट उपलब्ध हुन सक्छ की भन्नेमा गृहकार्य भइरहेको जानकारी दिए ।  

गत माघ २२ गतेदेखि देशव्यापी रूपमा सुरू गरिएको अभियानमा हालसम्म १४ लाख किशोरीले यो खोप लगाइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आगामी वर्षदेखि यसलाई नियमित खोपका रूपमा कक्षा ६ का छात्रा र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीलाई दिइनेछ ।

उर्जामन्त्रीको प्रश्नः कुलमानले चाहिँ जे गरे पनि कानुन नलाग्ने हो ?

काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारलाई अटेरी गरेको आरोप लगाएका छन् ।

बिहीबारको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले घिसिङले सरकारलाई असहयोग गरेको आरोप लगाएका हुन् ।

घिसिङले चाहे जसरी सरकार अघि बढ्न नसक्ने पनि बताए । मन्त्री खड्काले घिसिङको नेतृत्वमा लोडसेडिङ अन्त्य भएको भ्रम सांसदहरूलाई नपाल्न पनि आग्रह गरे ।

उनले भने, ‘लोडसेडिङको अन्त्य हुँदै गर्दा हामीहरूले भारतबाट ४५० मेगावाट विद्युत् आयात गरेका थियौँ । ४२५ मेगावाट आवश्यक थियो । अर्कोतिर उद्योगधन्दामा लाइन कम दिएर लोडसेडिङ कम भयो भन्यौँ । आवश्यकता परिपूर्ति गर्दिएकोमा भारतलाई धन्यवाद दिऔँ । तत्कालीन समयमा लोडसेडिङ अन्त्य गरेको श्रेय भारतलाई जानुपर्छ ।’

उनले कुलमानले समयभित्र कार्यसम्पादन मूल्याङ्कन नपाठाएकोले शून्य नम्बर दिएको बताए । मन्त्री खड्काले नेपाल विद्युत प्राधिकरणले हुँदै नभएको नाफा देखाएको आरोप समेत लगाए ।

उनले ट्रंक र डेडिकेटेड लाइनको उठ्न बाँकी भनिएको महसुललाई समेत नाफामा बाँधेर नाफा देखाइएको र यसैका आधारमा प्रिमियममा मूल्यमा जनतालाई शेयर जारी गर्न यो देखाइएको बताए । उनले प्राधिकरण सञ्चालक समितिले प्राधिकरणको सम्पत्ति तथा दायित्वको मूल्याङ्कन (डीडीए) गर्न निर्णय गरे पनि कुलमानले नटेरेको आरोप लगाए ।

उनले भने, ‘हामीले ९ पटकसम्म लिखित अनुरोध गर्यौँ । उहाँले सुन्नुभएन, गर्नुभएन, अझै भन्ने हो भने टेर्नुभएन । उहाँले चाहिँ जे गरे पनि कानुन नलाग्ने हो ? हो भने भनिदिनुपर्यो ।’

आइएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा महोत्तरीमा कागज उद्योग सञ्चालनमा, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

काठमाडौं । आइएमई ग्रुपको लगानीमा महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर १, रामनगरमा स्थापना भएको नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्योग परिसरमा रहेको ताम्रपत्र अनावरण गर्दै उद्योगको औपचारिक उद्घाटन गरेका छन् ।

उद्घाटन लगत्तै प्रधानमन्त्री ओलीले कागज उत्पादन प्रकृया र उद्योगमै रहेको वातावरण मैत्री क्यालसियम कार्वोनेट उत्पादनको समेत अवलोकन गरे ।

२ अर्व रुपैयाँ लगानी रहेको यो उद्योगले अब दैनिक ७५ मेट्रिक टन लेखन तथा छपाई कार्यका लागि उपयुक्त गुणस्तरीय कागज औद्योगिक स्तरमा उत्पादन गर्न थालेको छ । उद्योगले पहिलो चरणमा फोटोकपी पेपर र कापी किताबका लागि प्रयोग हुने कागज उत्पादन सुरु गरेको हो ।

शैक्षिक, प्रशासनिक तथा अन्य धेरै क्षेत्रमा उच्च माग रहेको फोटोकपी पेपर र अन्य कागजको उत्पादनले आन्तरिक बजारको माग सम्बोधन गर्नेछ । विद्यालयको पाठ्यपुस्तक छपाई गर्दै आएको जनक शिक्षा सामग्री केन्द्र लगायतलाई समेत स्वदेशी उत्पादन प्रयोगका लागि ढोका खुल्नेछ ।

उद्योग उद्घाटन समारोहलाई सम्बोधन गर्दै आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रिजको सञ्चालन आइएमई ग्रुपको उत्पादनमूलक क्षेत्रमा औपचारिक प्रवेश मात्र होइन, यो नेपालको औद्योगिक यात्रामै नव जागरणको रुपमा लिएको बताए ।

अध्यक्ष ढकालले नयाँ उद्योगको सञ्चालन मुलुकको आत्मनिर्भरता, आर्थिक वृद्धि तथा दीगो औद्योगिक विकासप्रतिको प्रतिवद्धताको रुपमा लिन र विकासको राष्ट्रिय आकांक्षामा निजी क्षेत्रले गरेको ‘होस्टेमा हैंसे’को उदाहरण बनेको पनि उल्लेख गरे ।

उद्योगहरु बन्द हुने, लगानीकर्ताहरु पलायन हुने र अरबका खाडीको ५० डिग्री सेन्टिग्रेटको तातोमा काम गर्न हाम्रा युवाहरु जानु पर्ने वाध्यतालाई कम गर्दै गरेर नयाँ उद्योगहरु खोल्दै आयात प्रतिस्थापन गर्ने र कर्ममुखी औद्योगिक विकासको नवजागरण सृजना गर्न आइएमई ग्रुपको यस्तै उत्पादनमुलक उद्योगमा भएको प्रवेश महत्वपूर्ण पाइला सावित हुने पनि अध्यक्ष ढकालले उल्लेख गरे ।

औद्योगिक विकास रोजगारीको प्रमुख कारक रहेको प्रस्ट्याउँदै अध्यक्ष ढकालले नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रीले प्रत्यक्षरुपमा ३०० बढी र अप्रत्यक्षरुपमा हजारौंका लागि रोजगारीका अवसर सिर्जना गरेको जानकारी समेत गराए । जसमा इन्जिनियर, प्राविधिक र कारखाना श्रमिकदेखि आपूर्ति व्यवस्थापक, खुद्रा विक्रेता र किसानहरु समेत समावेश छन् । उद्योगले ५० प्रतिशतभन्दा बढी स्थानीय र महिलाहरुलाई अवसर दिन थालेको छ ।

अध्यक्ष ढकालले यो प्रयासलाई स्वदेशी उद्योग प्रवद्र्धन गर्ने र प्रमुख क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने सरकार र आम नेपाली जनताको सोँच तथा सपनासँगको हातेमालोको रुपमा लिन पनि आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको रुपमा अध्यक्ष ढकालले पछिल्लो समय नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले ल्याएका कतिपय कानुनहरु निकै सहयोगी सिद्ध हुने विश्वास लिएको उल्लेख गरे ।

उनले मुलुकको अर्थतन्त्रको सुधार र विकासका लागि आवश्यक नीति तथा कानुनहरु निर्माणमा सरकारले निजी क्षेत्रका सुझावहरु सुन्न थालेको र आपसी समन्वयमा रहेर काम गरिरहेको निजी क्षेत्रले महसुस गरेको पनि उल्लेख गरे ।

स्वदेशी होस या विदेशी होस्, लगानीकर्ताले फिल्डमा काम भए नभएको हेर्ने गर्दछ । त्यसैले यस्तै नयाँ नयाँ ठूला आयोजनाहरु वर्षमै सञ्चालनमा आए भने त्यसले मुलुकमा लगानीको वातावरण छ भन्ने अर्थ आफैँ लाग्नेछ । त्यसैले आज सञ्चालनमा आएको यो उद्योगले पनि नेपालमा लगानीको वातावरणको सकारात्मक सन्देश यथेष्ट मात्रामा दिने पनि अध्यक्ष ढकालले बताए ।

सो अवसरमा अध्यक्ष ढकालले पाथिभरामा बन्न लागेको केबलकारको विषयमा सतहमा आएका केही विषयले मुलुकमा लगानी र व्यवसायिक वातावरणप्रति नकारात्मक सन्देश प्रवाह हुने आशंका रहेको समेत उल्लेख गरे ।

ताप्लेजुङका स्थानीय जनता, स्थानीय सरकार र प्रदेश सरकारले बारम्बार गरेको आग्रहमा पाथिभरामा केबलकारको निर्माण परियोजना सुर गरेको स्मरण गराउदै अध्यक्ष ढकालले उक्त प्रसिद्ध देवस्थलको सांस्कृतिक मूल्यमान्यता र पर्यावरणीय सन्तुलन जस्ता आयोजना निर्माणका सबै पक्षलाई ध्यानमा राखेर र जिल्लाबासी सबैको सहमति र सहभागितामा परियोजनाको निर्माण कार्यको थालनी भएको बताए ।

काम सुरु भए लगत्तै जिल्ला भन्दा बाहिरबाट गएर अवरोधको प्रयास भएको र यस्तो प्रवृतिले भोलिका दिनमा लगानीको अवस्था के हुन्छ र लगानीकर्ता यस्तो अवस्थामा थप लगानीका लागि तयार हुन्छन् कि हुँदैनन भन्ने कुरा निजी क्षेत्र र राज्यले सोच्नुपर्ने अवस्था आएको तर्फ पनि अध्यक्ष ढकालले ध्यानाकर्षण गराए ।

पूर्वाधार निर्माणजस्तो काममा देखिएको अवरोध सूचना प्रविधिको विकासले साँघुरो बनिरहेको संसारभरि पुग्दा त्यसले विश्वका लगानीकर्ताहरुमा कस्तो सन्देश सञ्चार गर्ला भन्ने चिन्ता निजी क्षेत्रमा बढाएको पनि अध्यक्ष ढकालले बताए ।

बदलिदै गरेको विश्व परिवेशमा विदेशी अनुदान तथा सहायता घट्दै गएको यथार्थ मनन गरेर स्वदेशी उद्यमी, रोजगारी र राजश्व सृजना गर्ने कर्मशिलहरुलाई प्रोत्साहन गर्नुको विकल्प नरहेको उल्लेख गर्दै अध्यक्ष ढकालले प्रकृतिले दिएका अपार सम्भावनाहरुलाई उपयोग गर्दै समृद्धि तर्फको यात्रामा सँगसँगै अगाडि बढ्न आह्वान समेत गरे ।

सबै राजनितिक दलका नेताहरु, सबै संघ संस्थाका नेतृत्व वर्गलाई पूर्वाधार विकास, रोजगारी सृजना, आम नागरिकले पाउने सेवा र राज्यले प्राप्त गर्ने राजश्वको मुख्य श्रोत सृजना गर्न सबै पक्ष एकै ठाउँमा उभिनु पर्ने आवश्यकता पनि अध्यक्ष ढकालले औल्याए ।

पूर्वाधार निर्माण, आर्थिक विकास र आम नागरिकले प्राप्त गर्ने सेवा, सुविधा र आवश्यकताका विषयमा नकारात्मक राजनीति नगर्न उनले आग्रह गरे ।

सरोज गुरागाईँलाई काम गर्न दिन काठमाडौं महानगरलाई मन्त्रालयको पत्र

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्ना कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन काठमाडौं महानगरपालिकालाई आग्रह गरेको छ ।

मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतका रूपमा काठमाडौं महानगरपालिकामा खटाइएका कर्मचारी सरोजप्रसाद गुरागाईंलाई महानगर प्रमुख बालेन साहले हाजिर गर्न नदिएको गुनासो आएपछि मन्त्रालयले कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन महानगरलाई आग्रह गरेको हो ।

काठमाडौं महानगरपालिकामा खटाइएका गुरागाईंले आफूलाई गत पुस ८ गतेदेखि कार्यालयमा हाजिर गर्न नदिएको भन्दै मन्त्रालयसमक्ष लिखित गुनासो गरेपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

महानगर प्रमुखले आफ्नो कार्यकक्षमा ताला लगाई काम गर्न नदिएको तथा अनेक झूठा लाञ्छनाहरू समेत लगाएको गुरागाईंले मन्त्रालयलाई दिएको निवेदनमा उल्लेख छ ।

मन्त्रालयले भनेको छ, ‘प्रस्तुत विषयमा त्यहाँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री सरोज प्रसाद गुरागाईं (क.सं.नं. १७२७७६) ले आफूलाई खटाइएको कार्यालयको कार्यकक्षमा प्रवेश गर्न अवरोध सिर्जना गरी कार्यवातावरण विथोलिएको तथा मिति २०८१/०९/०८ देखि हाजिर गर्न नपाएको अवस्था रहेकोले आवश्यक व्यवस्थापन गरी कार्य वातावरण सहज बनाइदिनु हुन भनी यस मन्त्रालयमा निवेदन पेश गर्नुभएको हुँदा निजलाई तहाँ महानगरपालिकामा हाजिर भई कार्य सम्पादनका लागि आवश्यक सहजीकरण गरिदिनु हुन यस मन्त्रालय (मा. मन्त्रीस्तर) को २०८१/११/२१ को निर्णयानुसार अनुरोध छ ।’

अमेरिकाबाट नेपाली नागरिकलाई स–सम्मान स्वदेश फिर्ताको पहल गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले अमेरिकाबाट हालसम्म ३५ नेपाली नागरिक नेपाल फिर्ता भएको उल्लेख गर्दै विभिन्न देशमा रहेका नेपाली नागरिकलाई स–सम्मान स्वदेश फिर्ताका लागि सरकारले परराष्ट्र मन्त्रालयमार्फत् पहल गर्नुपर्ने बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले भने, ‘दुवई, जापान, क्यानडा, कोरियालगायत मुलुकबाट नेपालीलाई डिपोर्ट गरिएको छ । त्यहाँ समस्यामा परेका नागरिकलाई फिर्ता गर्नका लागि परराष्ट्र मन्त्रालयमार्फत् पहल गरिनुपर्छ ।’

सांसद हरी ढकालले एलपी ग्यास व्यवसायीले कमिसन बढाउन सरकारलाई दबाव दिएकै आधारमा मूल्य बढाउने र बजारमा कृतिम अभाव सिर्जनाको स्थिति बनेको बताए ।

त्यस्तै, सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य घटाउन भनेर सरकारलाई निर्देशन दिएकोमा हालसम्म पनि कार्यान्वयन हुन नसकेको बताए । उपभोग्य वस्तुमा अत्याधिक मूल्यवृद्धि भएको धारणा पनि उनले राखे ।

सांसद माघव सापकोटाले सरकार र शिक्षक महासङ्घबीच गतवर्ष भएको सहमति कार्यान्वयनका लागि आग्रह गरे । शिक्षकले गतवर्ष पनि आन्दोलन गरेको र त्यसपछि सरकारसँग सहमति भएकोमा त्यसलाई कार्यान्वयन गर्न नसक्दा फेरी आन्दोलित भएको उनको भनाइ छ । शिक्षक महासङ्घले अहिले फेरि आन्दोलनको तयारी गरिरहेको बताउँदै उनीहरुको जायज माग पूरा गर्न आग्रह गरे ।

सांसद अमरेशकुमार सिंहले स्वास्थ्य मन्त्रालयको सचिव नियुक्तिमा सरकारले संविधान मिचेको आरोप लगाए । सचिवमा वरिष्ठ कर्मचारीलाई सचिव नियुक्त नगरेर कनिष्ठलाई नियुक्त गरेको तथा आदीवासी जनजाति, मधेशी, महिलाप्रति पूर्वाग्रह राखेको भन्दै स्वास्थ्य मन्त्रीको राजिनामासमेत उनले माग गरे ।

अमेरिकाले दिएको सहयोग दुरुपयोग भएको भन्ने विषयको श्वेतपत्र सार्वजनिक गर्न सांसद खतिवडाको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अमेरिकाले दिएको सहयोग दुरुपयोग गर्नेको नाम सार्वजनिक गर्न माग गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद खतिवडाले अमेरिकी सहयोग दुरुपयोग भएको भनेर नेपालको बदनाम गर्ने काम भएको भन्दै श्वेतपत्र सार्वजनिक गर्न माग गरेका हुन् ।

उनले भने, ‘अमेरिकाले दिएको सहयोग दुरुपयोग भयो भनेर बारम्बार चर्चा परिचर्चा भएको छ, कति नेपालमा आएको हो ? क–कसले दुरूपयोग गरे श्वेतपत्र जारी गरियोस् । सारा नेपाललाई बदनाम गर्ने काम भएकोले सरकारले श्वेतपत्र जारी गरोस् ।’

त्यसैगरी उनले अवैध रूपमा बसेको भनेर अमेरिकाबाट फर्काइएकालाई अमानवीय व्यवहार बन्द गर्नसमेत सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद खतिवडाले प्रश्न सोधेकै आधारमा पत्रकारको पास निलम्बन गरिएको भन्दै आपत्ति जनाए ।

कांग्रेस बलियो भएमात्रै लोकतन्त्र सुदृढ हुन्छः सभापति देउवा

ललितपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको हरेक लोकतान्त्रिक आन्दोलनमा भूतपूर्व सैनिकले पुर्याएको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहीबार नेपाल भूतपूर्व सैनिक सङ्घको छैठौँं केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै सभापति देउवाले सबै भ्रातृ एवं शुभेच्छुक संस्था बलियो भएमात्रै कांग्रेस पार्टी बलियो हुने बताए । उनले कांग्रेस बलियो भएमात्रै लोकतन्त्र सुदृढ हुने र नेपाल समृद्ध मुलुक बन्नसक्ने बताए ।

सभापति देउवाले भने, ‘लोकतन्त्रमा मात्रै सबै वर्गको अधिकार सुनिश्चित हुन्छ, सबै भातृ एवं शुभेच्छुक संस्था बलियो भए हाम्रो पार्टी बलियो हुन्छ । नेपाली कांग्रेस बलियो पार्टी भएमात्रै नेपाल समृद्ध मुलुक बन्नसक्छ । यसमा विशेष ध्यान दिन मेरो अनुरोध छ ।’

उनले भूतपूर्व सैनिकका सेवा र सुविधाका विषयमा समस्या रहेको कुरालाई बुझेर आफूले समाधानका लागि पहलकदमी गरिरहेको बताए । उनले गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको पनि जानकारी गराए । गोरखा भर्तीका समस्या समाधानका लागि कूटनीतिक तहमा कुरा अगाडि बढाउने प्रतिबद्धता उनले जनाए  ।

उनले भने,’नेपालका भूतपूर्व सैनिक साथीको समस्या नभएको होइन, यसमा स्पष्ट छु । गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको छ । साथीहरुको सुझाव लिएर भोलिका दिनमा समस्या समाधानका लागि कूटनीतिक तहमा कुरा अगाडि बढाइनेछ । नेपाली भूतपूर्व सैनिकमा पेन्सनको जुन विभेद् छ, त्यसप्रति म जानकार छु । समस्या समाधानका लागि हामी लागिरहनेछौँ ।’

पार्टीका सहमहामन्त्री भीष्मराज आङ्दम्बेले भूतपूर्व सैनिकको त्याग, तपस्या र बलिदानले नेपाली कांग्रेसले यो स्थान हासिल गर्न सफल भएको बताए । सङ्घको राष्ट्रिय महाधिवेशन यही फागुनसम्म  २४ गतेसम्म चल्नेछ ।

गभर्नर नियुक्तिका लागि सिफारिस गर्न समिति गठन

काठमाडौं । सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि सिफारिस गर्न समिति गठन गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिष्द बैठकले गभर्नर सिफारिसको लागि समिति गठन गर्ने निर्णय गरेको भुमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले जानकारी दिए ।

अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा समिति बनेको हो । सिफारिस समिति गठन गर्ने निर्णय भएपनि समितिको सदस्य को को छन् भन्ने निर्णय नभएको र छलफलबाट तय हुने मन्त्री अधिकारीले बताए ।

नेपाल राष्ट्र बैंक ऐनले अर्थमन्त्रीको अध्यक्षतामा सिफारिस समिति गठन गर्ने व्यवस्था गरेको छ । वर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आगामी २४ चैतमा सकिँदैछ ।

पाराएथलेटिक्स टोली भारत जाँदै

काठमाडौँ । विश्व पाराएथलेटिक्स ग्रान्ड प्रिक्समा नेपालबाट ६ जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । भारतको नयाँ दिल्लीमा यही मार्च ७ देखि १४ तारिख (फागुन २३ देखि आगामी चैत १ गते) सम्म हुने प्रतियोगितामा पाँच पुरुष र एक महिला खेलाडीले नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्नेछन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले बिहीबार आयोजित एक कार्यक्रममा खेलाडीसहित १० सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे ।

पुरुष चार सय मिटर दौडमा नवराज कार्की र गोविन्द गिरी, सटपुटमा हिमाल अर्याल र फणिनारायण पौडेल तथा डिस्कस थ्रोमा राजु गुरुङले सहभागिता जनाउने छन् । गोविन्दले ज्याभ्लिन थ्रोमा पनि प्रतिस्पर्धा गर्नेछन् । प्रभा आङदेम्बेले महिला दुई सय, चार सय मिटर दौड र लङजम्पमा भाग लिनेछिन् ।

‘अफिसियल’मा राखेपकी सदस्य अन्जना श्रेष्ठ र मुक्तिनाथ अधिकारी, व्यवस्थापकमा ओमनाथ सिवाकोटी र प्रशिक्षकमा विमला राना मगर छन् । एक महिनाको अन्तरालमा नेपालले पाराएथलेक्टसमा सहभागिता जनाएको यो दोस्रो पटक हो ।

नेपालले गत फेब्रुअरी ४ देखि १४ तारिखसम्म दुबईमा भएको ग्रान्ड प्रिक्समा सहभागिता जनाएको थियो । खेलाडीमा प्रभा र नवराज तथा प्रशिक्षकमा विमला उक्त टोलीमा पनि दोहोरिएका थिए । दुबईमा गरेको प्रदर्शनका आधारमा प्रभा र नवराजलाई पुनः टोलीमा समावेश गरिएको राखेपले जनाएको छ । नेपाली टोलि भोलि भारतको नयाँ दिल्ली प्रस्थान गर्नेछन् ।