`

प्रचण्डद्वारा रिङ्कु सदाको मृत्युबारे सिरहाका प्रजिअ र सुरक्षा प्रमुखसँग छलफल

सिरहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिरहाका प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा प्रमुखसँग रिङ्कुकुमारी सदाको शंकास्पद मृत्यु तथा घटनाको अनुसन्धान प्रक्रियाबारे जानकारी लिएका छन् ।

जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा सिरहा आएको बेला उनले प्रजिअसहित सुरक्षा प्रमुखलाई बोलाएर घटनाबारे जानकारी लिएका हुन् ।

अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग आजै भेट गरेको उल्लेख गर्दै परिवारले हत्या नै भएको आशंकाले गरेका संवेदनशील भएर सत्यतथ्य अनुसन्धान गर्न आग्रह गरे ।

बलात्कारपछि पञ्चायतले मिलापत्र गराउन खोजेकाले बलात्कार भएको देखिए पनि हत्या वा आत्महत्या के हो यथार्थ छानबिन हुनुपर्ने र दर्ता भएका सबै जाहेरीमा अनुसन्धान हुनुपर्ने उनले बताए ।

अध्यक्ष प्रचण्डले सिरहामै दाइजोसँग जोडिएको घटनामा अर्को एक महिलाको पनि मृत्यु भएको र यसको अनुसन्धानमा ध्यान नपुगेको परिवारबाट गुनासो आएकाले सो घटनाको पनि यथार्थ अनुसन्धान गर्न आग्रह गरेका थिए ।

जवाफमा प्रजिअ र सुरक्षा प्रमुखहरुले प्राप्त जाहेरीका आधारमा अनुसन्धान भइरहेको र अनुसन्धान प्रक्रियामा दबाब नरहेको जानकारी गराएका थिए ।

८८ लाखको लागतमा कैलाश र वैकुण्ठ जोड्ने गरी जिपलाइन निर्माण

मनहरी। मकवानपुरको कैलाश गाउँपालिकाले कैलाश र वैकुण्ठ क्षेत्र जोड्ने गरी जिपलाइन निर्माण गरेको छ । गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले  ८८ लाखको लागतमा करिब एक हजार २०० मिटर लामो जिपलाइन निर्माण गरिएको बताए।

वडा नं २ बैकुण्ठमा निर्मित कैलाश वैकुण्ठ जिपलाइनको पहिलो चरणको परीक्षणसमेत सम्पन्न भएको र यसले धादिङको रोराङ बेनीघाट र गजुरी गाउँपालिका, मकवानपुरका थाहानगर, राक्सिराङ र मनहरी गाउँपालिकाका नागरिकसमेत लाभान्वित हुने उनले बताए।

जिपलाइन निर्माणमा सङ्लग्न प्राविधिकसहित गाउँपालिका अध्यक्ष मुक्तान, योजना शाखा प्रमुख नरेन्द्र दत्त भट्ट, इन्जिनियर अनिल जोशीलगायतको टोलीले पहिलो चरणको परीक्षण गरेका हुन् ।

गाउँपालिका योजना शाखा प्रमुख नरेन्द्रदत्त भट्टले पालिकाले बहु वर्षीय योजना बनाई दुई स्थानमा स्टेसन, ब्रेकिङ सिस्टम (हारनेस) र तार निर्माण गरिएको उनले बताए। अब चाँडै नियमित जिपलाइन नियमित सञ्चालनमा आउने उनले जानकारी दिए।

जिपलाइन प्राविधिक एवं प्रशिक्षक बद्री घिमिरेले पहिलो चरणमा ब्रेकिङ सिस्टम (सोलोप) सम्बन्धी कार्यको परीक्षण गरिएको र अब दोस्रो चरणको परीक्षणपछि नियमित सञ्चालनमा ल्याइने बताए।

भूमिहीनलाई छिट्टै लालपुर्जा दिन्छौँ : मन्त्री अधिकारी

सिन्धुली। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिहीनलाई छिट्टै लालपुर्जा दिने गरी सरकारले काम गरिरहेको बताएका छन् । आज सिन्धुलीमाढीमा भूमि समस्या समाधान आयोगका पदाधिकारी तथा सदस्यहरू र सहकारी अभियन्ताहरूसँगको भेटघाटका क्रममा उनले यस्तो बताएका हुन् ।

भूमिहीन दलित, सुकुम्बासी, अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्ने पक्षमा सरकार रहेको बताउँदै उनले भूमि समस्या समाधान आयोगलाई अन्तिम आयोग बनाउने गरी काम गर्न आयोग सिन्धुलीका पदाधिकारी तथा सदस्यलाई निर्देशन दिए।

मन्त्री अधिकारीले लालपुर्जा नपाएकालाई लालपुर्जा दिने कामलाई तीव्रता दिन र अन्य काम पनि छिटो गर्नसमेत आग्रह गरे। कानुनी बाधालाई हटाउने काम सरकारले गर्ने र त्यसका लागि नमिलेका कानुनलाई परिवर्तन गर्न अध्यादेश ल्याइएको उनको भनाइ थियो ।

मन्त्री अधिकारीले भने, ‘लालपुर्जा दिने नारा कुनै पनि दलको चुनावी नारा हुँदैन, अहिलेको सरकार र आयोगप्रति उठेका भ्रमलाई चिर्नेगरी काम गर्नुहुन अनुरोध छ । सरकारको उद्देश्य बसोबास गर्दै, कमाउँदै आएको ठाउँमा नै जग्गा दिने हो, जीवनभर मेरो जग्गाको स्वामित्व चाहियो भनेर रुने अवस्थाको अन्य गर्नु हो । जोखिमयुक्त अवस्थामा बसोबास गरेका भूमिहीनलाई सुरक्षित स्थानमा सार्ने काम आयोगले गर्छ ।’

सधैँ जग्गा पाइन्छ, जङ्गल फँडानी गर्न पाइन्छ भन्ने कुराको अन्त्य हुनुपर्नेमा जोड दिँदै उनले आयोगले जंगलको सीमा निर्धारण गर्ने र त्यो मिच्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउने गरी काम गर्न आयोगलाई आग्रह गरे। आयोगले जंगल फाँड्ने, नयाँ ठाउँ खोज्ने नभई सुरक्षित स्थान मात्र खोज्ने वातावरण बनाउने मन्त्री अधिकारीले उल्लेख गरे ।

धनुषामा एक महिलाको घरभित्रै गाडिएको अवस्थामा शव फेला, श्रीमान फरार

जनकपुरधाम । एक सातादेखि बेपत्ता भएकी धनुषाको लक्ष्मीनिया गाउँपालिका, बनिनियाकी २० वर्षीया अञ्जली यादवको घरमित्रै शव भेटिएको छ ।

अञ्जलीको शव आफ्नै घरको पूजाकोठामा गाडिएको अवस्थामा भेटिएको हो । सुरूमा अञ्जलीका श्रीमान रामहरिले अञ्जली हराएको भनेर गाउँलेहरूलाई भनेपनि त्यसको दुई दिनपछि १० महिनाकी छोरीसहित उनी आफैं बेपत्ता भएका छन् । श्रीमान पनि बेपत्ता भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि अनुसन्धानका क्रममा शनिबार दिउँसो अञ्जलीको शव उनकै घरको पूजाकोठाभित्र गाडिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी वरुणबहादुर सिंहले जानकारी दिए ।

प्रहरीकाअनुसार शव सडेगलेको अवस्थामा भेटिएको छ । अञ्जलीको शवलाई उत्खनन् गरेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा पठाइएको छ । घटनाका विषयमा थप अनुसन्धान र बेपत्ता श्रीमानको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

आगामी आर्थिक वर्षका लागि करिब १९ खर्ब हाराहारीको बजेट आउने

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा कार्यतालिका (बजेट क्यालेन्डर) तयार पारी बजेट लेखन थालेको छ ।

राष्ट्रिय स्रोत अनुमान समितिले उपलब्ध गराएको बजेट सीमा (सिलिङ) भित्र रही आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया अघि बढेको अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संशोधन गरेर अध्यादेशमार्फत ल्याइएको बजेट क्यालेण्डरसम्बन्धी व्यवस्थाअनुसार काम अघि बढिरहेका छन् । स्रोत अनुमान समितिले करिब १९ खर्ब हाराहारीको बजेट सिलिङ उपलब्ध गराइसकेको छ । सबै विषयगत मन्त्रालयलाई पनि बजेट सिलिङ दिइसकेका छौँ’, भण्डारीले भने ।

आगामी आर्थिक वर्षको बजेट बनाउनका लागि सबै मन्त्रालयहरुले बजेटको सीमा र बजेट तर्जुमा मार्गदर्शन पाइसकेका छन् । मन्त्रालयहरुले बजेटमा समावेश गर्नुपर्ने नीति, कार्यक्रम र अपेक्षित उपलब्धिसहितका सूचकहरुको विवरण आगामी चैत १ गतेदेखि चैत २० गतेसम्म अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगलाई उपलब्ध गराइसक्नुपर्नेछ ।

बजेटमा समावेश गर्नुपर्ने विषयहरुमा सार्वजनिक सूचना जारी गरी सुझाव सङ्कलन गर्ने काम आगामी चैत १५ गतेदेखि २०८२ वैशाख १० गतेभित्र टुङ्ग्याउने गरी कार्यतालिका बनाइएको छ । बजेटका नीति तथा कार्यक्रममाथि आगामी चैत १६ गतेदेखि चैत २२ गतेसम्म राष्ट्रिय योजना आयोगमा छलफल चल्नेछ ।

सबै मन्त्रालयहरुले आगामी चैत १५ गतेभित्र सम्बन्धित मन्त्रालय र मातहतका निकायबाट आगामी आर्थिक वर्षका लागि कार्यान्वयन हुने योजना तथा कार्यक्रमका लागि बजेट प्रस्ताव गरिसक्नुपर्नेछ ।

मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबिआईएस) मार्फत् विषयगत मन्त्रालयहरुले बजेत प्रस्ताव गर्ने अन्तिम मिति चैत १५ लाई तोकिएको छ । यसरी मन्त्रालयबाट प्रस्ताव भएका योजना तथा कार्यक्रममाथि मन्त्री र सचिवहरुसँग आगामी चैत २० गतेदेखि चैत २२ गतेसम्म सैद्धान्तिक छलफल चल्नेछ । मन्त्रालयहरुसँग बजेट कार्यक्रम र शीर्षकगत छलफल भने चैत २४ गतेदेखि वैशाख १५ गतेसम्म चल्नेछ ।

त्यस्तै, चैत २८ गतेभित्र अन्तरसरकारी वित्त परिषद्को बैठक बसिसक्ने र बजेटका उद्देश्य, प्राथमिकता एवं मुख्य कार्यक्रमबारे सांसदहरुसँग प्रदेशगत रुपमा छलफल हुनेछ । सङ्घीय सशर्त अनुदानका विषयमा प्रदेश आर्थिक मामिला तथा योजनामन्त्रालयहरुसँग छलफलका लागि आगामी चैत २४ देखि वैशाख १५ गतेसम्मको समयावधि तोकिएको छ ।

आगामी आर्थिक वर्षको बजेटबारे राजनीतिक दलका प्रतिनिधि, पूर्वअर्थमन्त्रीहरु, पूर्वगभर्नर, पूर्वअर्थसचिव, अर्थशास्त्री एवं विज्ञहरुसँगको छलफलका चैत २६ देखि वैशाख २५ गतेसम्म चल्नेछ ।

त्यस्तै, आगामी वैशाख १० गतेभित्र विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताको मस्यौदा तयार पार्ने र वैशाख १५ गतेभित्र सङ्घीय सदनका दुवै सदनमा पेस गर्नेगरी क्यालेन्डर बनेको छ ।

आगामी जेठ १ गतेभित्र राजस्व परामर्श समितिले आफ्नो प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेस गर्नेछ र त्यो बेलासम्ममा बजेट वक्तव्यको पहिलो मस्यौदा तयार भइसक्नेछ ।

त्यस्तै, अर्थमन्त्रीले जेठ १० गते राष्ट्रपतिसमक्ष बजेट ‘बिफ्रिङ’ गर्ने कार्यतालिका छ । बजेट वक्तव्यलाई जेठ १३ गतेभित्र अन्तिम रुप दिइ जेठ १४ गते मन्त्रिपरिषद् र राष्ट्रिय योजना आयोगमा ब्रिफ्रिङका लागि लगिनेछ ।

आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक जेठ १४ गते छपाइका लागि पठाइनेछ । आर्थिक सर्वेक्षण, संस्थानको प्रगति विवरण र मन्त्रालयहरुको प्रगति विवरण आगामी जेठ १४ गते सङ्घीय संसद्का दुवै सदनमा प्रस्तुत हुनेछ । त्यस्तै, जेठ १५ गते संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पेस हुनेछ ।

राजस्व परामर्श समिति र बजेट लेखन समिति गठन

अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालको संयोजकत्वमा पाँच सदस्यीय बजेट मस्यौदा लेखन समिति गठन भएको प्रवक्ता भण्डारीले जानकारी दिए । समितिमा वैदेशिक महाशाखा प्रमुख धनीराम शर्मा, राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री, प्रशासन महाशाखा प्रमुख थानप्रसाद पङ्गेनी, आन्तरिक राजस्व विभागका महानिर्देशक तीर्थराज चिलुवाल र सहमहालेखा नियन्त्रक सुशीला अर्याल सदस्य छन् ।

त्यसैगरी, राजस्व सचिव दिनेश कुमार घिमिरेको संयोजकत्वमा राजस्व परामर्श समिति गठन भएको छ । यो समितिले आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक ऐन तर्जुमा गर्दा अवलम्बन गर्नुपर्ने राजस्वका नीतिबारे सुझाव दिनेछ ।

भन्सार महसुल, मूल्य अभिवृद्धि कर, आयकर, अन्तःशुल्क, गैरकर एवं राजस्व चुहावट नियन्त्रणका लागि केकस्ता रणनीति अवलम्बन गर्न सकिन्छ भनेर यो समितिले सरकारलाई सुझाव दिनेछ । राजस्व परामर्श समितिअन्तर्गत विभिन्न सात वटा उपसमितिहरु गठन भएको पनि अर्थ मन्त्रालयले जनाएको छ ।

जसमा आन्तरिक राजस्व उपसमिति, भन्सार उपसमिति, उद्योग, वाणिज्य तथा निर्यात प्रवद्र्धन उपसमितिलगायत उपसमितिहरु रहेका छन् ।

त्यस्तै, राजस्व चुहावट नियन्त्रण तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान उपसमिति, कृषि, ऊर्जा तथा पर्यटन उपसमिति, बैंक तथा वित्तीय संस्था, बिमा, सहकारी तथा पुँजीबजार उपसमिति र गैरकर तथा अन्तर–सरकारी राजस्व व्यवस्थापन उपसमिति रहेका छन् ।

नेपालको विकास प्रयासमा जापानले गरेको योगदानको उपराष्ट्रपतिद्वारा प्रशंसा

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जापान नेपालको हितैषी मित्र र दीगो विकासको सहयात्री भएको बताएका छन् । नेपाल जाइका अलमनाई एसोसियसन (जान) को ५१औं वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित समारोहलाई सम्बोधन गर्दै उनले नेपालको विकास प्रयासमा जापानले गरेको योगदानको उच्च मूल्याङ्कन गरे ।

“नेपाल र जापानबीच ‘एसियाका ज्योति’ भगवान बुद्धको शिक्षाबाट प्रभावित युगौँ पुरानो सामाजिक–साँस्कृतिक सम्बन्ध छ”, उपराष्ट्रपतिले भने, “समय–समयमा दुई देशबीच हुने गरेका उच्चस्तरीय भ्रमण तथा विचार आदानप्रदानले हाम्रो सम्बन्धलाई थप मजबुत बनाएको छ ।”

उनले नेपालको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकामा जापान सरकारलाई धन्यवाद दिँदै जापानी आर्थिक सहयोगका प्रमुख क्षेत्रहरूमा मानव संशाधन विकास, स्वास्थ्य, कृषि विकास, पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृतिलगायतको रहेको बताए ।

“नेपालले जापानको अनुभव, ज्ञान, सीप र प्रविधिबाट लाभान्वित हुन चाहेको छ”, उपराष्ट्रपति यादवले भने, “नागढुङ्गा सुरुङमार्गको सुरुवातसँगै सडक पूर्वाधारको विकासमा जापानको सहयोग प्रशंसनीय छ ।”

उनले ‘जान’ ले नेपाल र जापानको सुमधुर सम्बन्धलाई जनस्तरसम्म पुर्याउन र जापानमा सिकेको ज्ञान, सीप र प्रविधिलाई नेपालको विकासमा लगाउने दिशामा पुर्याउँदै आएको योगदान महत्वपूर्ण रहेको बताए ।

“यो संस्थाले ग्रामीण क्षेत्रमा सामुदायिक विकासका काम सुरु गर्नु सकारात्मक छ”, उनले भने, “यी कार्यहरूलाई थप ग्रामीण भेगमा विस्तार गर्न सक्नुपर्दछ ।”

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नेपालको विकासका लागि नीति निर्माण गर्ने, उन्नत कार्य संस्कृति वातावरण तयार गर्ने, उन्नत विकास र नविनतम् प्रविधिको प्रयोगका लागि जापानबाट सिक्ने र सिकाउने वातावरणका लागि जानले नेतृत्वदायी भूमिका अझ विस्तार गर्नुपर्ने बताए ।

राष्ट्रिय आप्रवासन नीति तयार गर्न लागेको सन्दर्भमा वैदेशिक रोजगारीमार्फत श्रम शक्तिको विकास गर्ने अवसर र चुनौतीको विश्लेषण गर्नुपर्ने विषयमा जोड दिँदै मन्त्री भण्डारीले श्रम, रोजगार र सामाजिक विकासमा जान, नेपाल र जापान सरकारको बीच सहकार्यका आवश्यक रहेको बताए ।

जापान नेपालको प्रमुख श्रम गन्तव्यका रुपमा रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले जापानी श्रम बजारको माग पूर्ति गर्नेगरी नेपालले बेलैमा सोच्नुपर्ने आवश्यकता औँल्याए । “मर्यादित भर्ना प्रक्रियाबाट कसरी नेपाली श्रमिक जापान पठाउन सक्छौँ, जापानमा सीकेका श्रम, सीप र पुँजीसहित कसरी स्वदेशमा फर्काउन सकिन्छ भन्ने बारेमा सबैले ध्यान दिनुपर्छ”, उनले भने ।

बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्ने सरकारको नीति रहेको उल्लेख गर्दै उनले सरकारले आन्तरिक रोजगारी दशक घोषणा गर्न लागेको जानकारी दिए ।

मुख्यसचिव एकनारायण अर्यालले नेपालको विकास प्रयासमा जापान सरकारले पुर्याएको योगदान नेपालले सदैव प्रसंशा गर्दै आइरहेको बताउँदै जापान नेपालको दिगो, भरपर्दो र विश्वासिलो विकास साझेदार भएको उल्लेख गरे । नेपाल र जापानको घनिष्ट सम्बन्धलाई थप उचाइमा पु¥याउने कार्यमा निरन्तर लाग्दै नेपालको विकासमा ‘जान’ सदैव प्रतिबद्ध रहोस् र नेपाल र जापान बीचको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग पुगोस् भनी शुभकामना व्यक्त गरे ।

नेपालका लागि जापानका राजदूत तोरु मायेदाले आगामी वर्ष जापान–नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव मनाउन गइरहेको सन्दर्भ स्मरण गर्दै दुई देशको सम्बन्ध सुदृढ र प्रगाढ बनाउन जानले गरेको महत्वपूर्ण योगदानका लागि धन्यवाद व्यक्त गरे ।

“भावी पुस्ताका लागि यो सम्बन्ध अझै राम्रो बनाउन के गर्न सकिन्छ, नेपाल अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नति भएपश्चातको अवस्थामा कस्ता योजना निर्माण गर्ने र सिकेका सीप कसरी प्रयोग गर्ने भन्ने विषयमा सोच्नुपर्ने बेला आएको छ”, उनले भने ।

जाइका नेपालका प्रमुख मिजुकी मात्सुजाकीले नेपाल जापान सम्बन्धमा जानले गरेको योगदानको प्रशंसा गरे । जानका अध्यक्ष डा रामचन्द्र भुसालले नेपालको दिगो विकासमा जापानको महत्वपूर्ण सहयोग रहेको र अहिलेको विश्व परिवेशमा निस्वार्थ, भरपर्दो र दिगो विकासमा सहयोग गर्ने जापान जस्तो मुलुकको सहयोग अझै महत्वपूर्ण र आवश्यक रहेको बताए ।

उनले नेपालको विकास प्रयासमा जापानको सदैव सहयोग रहँदै आएको उल्लेख गर्दै दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन जानले ‘मैत्री सम्बन्धको चौतारी’का रुपमा काम गर्दै आइरहेको बताए ।

नेपालको सामुदायिक विकाससँगै शिक्षा र स्वास्थ्य प्रवद्र्धन तथा महिला सशक्तीकरणका पक्षमा जान केन्द्रित रहेको जानकारी दिँदै उनले जापानमा आर्जन गरेको पुँजी र प्रविधि स्वदेश भित्राउन पनि संस्था क्रियाशील रहेको बताए ।

समारोहमा उपराष्ट्रपति यादवले जानका आजीवन सदस्य एवं मुख्यसचिव एकनारायण अर्याललाई अभिनन्दन गरेका थिए । सो अवसरमा उपराष्ट्रपति यादवले जानको वार्षिक प्रकाशन ‘मिलन’ लोकार्पण गरे ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा नेपालबाट जापान गई अध्ययन तालिम तथा भ्रमण गरी फर्किएका नेपालीलाई सङ्गठित गरी जापान र नेपालबीचको मित्रतालाई थप सुदृढ गर्ने उद्देश्यले विसं २०२९ मा जानको स्थापना भएको हो ।

कर्मठ, अनुशासित र इमानदार नागरिक तयार गर्न विद्यालय शिक्षाको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कार्की

धरान (सुनसरी) । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले परिवार, समाज र राष्ट्रप्रतिको जिम्मेवारी बोध भएका कर्मठ, अनुशासित र इमानदार नागरिक तयार गर्न विद्यालयको शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

शनिबार धरान उपमहानगरपालिका–१५ स्थित श्री शिक्षा सदन माविको ६९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा उनले मुलुक निर्माण गर्ने दक्ष जनशक्ति उत्पादन गर्ने विद्यालयको शिक्षा पनि गुणस्तरीय हुनुपर्ने बताए।

“सार्वजनिक विद्यालयले थप मेहनत गरी निजीक्षेत्रसँग प्रतिस्पर्धा गर्न सक्नुपर्छ”, उनले भने। शिक्षा देश विकासको महत्वपूर्ण आधारस्तम्भ भएको उल्लेख गर्दै उनले श्री शिक्षा सदन स्कुलले यस क्षेत्रको शिक्षाको विकासमा पुर्‍याएको योगदानको प्रसंशा गरे।

त्यसअवसरमा विद्यालयका व्यवस्थापन समितिले नीतिगत नेतृत्व गर्ने भएकाले विद्यालयका प्र्रमुख र शिक्षकहरुले यस भूमिकालाई निर्वाह गरेर विद्यालयलाई उत्कृष्ट बनाउनुपर्नेमा जोड दिए।

बिपी राजमार्गअन्तर्गत मुल्कोटमा सवारी दुर्घटना, आठ जना घाइते

सिन्धुली । सिन्धुलीको बिपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका–५ मुल्कोटमा आज दिउँसो भएको सवारी दुर्घटनामा आठ जना घाइते भएका छन् ।

झापाबाट काठमाडौँतर्फ जाँदै गरेको म.प्र. ०२–००१ ज ००६ नम्बरको विद्युतीय गाडी तीव्र गतिका कारण अनियन्त्रित भई सडक छेउको डिभाइडरमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए ।

दुर्घटनामा घाइते हुनेमा काठमाडौँ महानगरपालिका–१६ बस्ने ५२ वर्षीया विष्णुमाया लालचन, ५६ वर्षीया यमकुमारी हिराचन, ५८ वर्षीया पदमकुमारी जुवारचन, ३० वर्षीया हानानी जुवारचन, १६ वर्षीया हास्मी जुवारचन, ६२ वर्षीय जनकलाल हिराचन, ५६ वर्षीय शक्तिलाल जुवारचन र सिन्धुलीको कमलामाई नगरपालिका–७, रामपुर निवासी १९ वर्षीय सहचालक निशान तामाङ रहेका छन् ।

प्रहरी उपरीक्षक काफ्लेका अनुसार घाइतेको अवस्था खतरामुक्त छ र उनीहरूलाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । सवारी चालक, सिन्धुलीको कमलामाई नगरपालिका–७, रामपुर निवासी २४ वर्षीय सुजन बल भने सकुशल रहेका छन् ।

घटनाको प्रारम्भिक अनुसन्धानका आधारमा गाडी तीव्र गतिमा रहेको र त्यसकै कारण अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरी उपरीक्षक काफ्लेले बताए । सवारी चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उत्तराखण्डमा हिमपहिरोमा फसेका ४७ जनाको उद्धार, आठ कामदारको खोजी जारी

देहरादुन । उत्तरी भारतको सीमाक्षेत्रमा हिमपहिरोमा फसेका ४७ जनाको उद्धार गरिएको छ । अझै आठजनाको खोजी भइरहेको अधिकारीहरूले शनिबार (फागुन १७) बताएका छन् ।

चीनको तिब्बतसँग सीमा जोडिएको भारतको उत्तराखण्डको चमोली जिल्लास्थित एक गाउँनजिकै निर्माण शिविरमा शुक्रबार हिमपहिरो खस्दा ५५ कामदार हिउँ र भग्नावशेषमा पुरिएका थिए । उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामीले उक्त क्षेत्रको मौसम सफा भएसँगै राहत र उद्धार कार्यलाई तीव्रता दिइएको बताए ।

“हिउँमा फसेका सबै कामदारलाई जतिसक्दो चाँडो सुरक्षित रूपमा बाहिर निकाल्ने हरसम्भव प्रयास भइरहेको छ,” धामीले भने ।स्थानीय प्रहरीले शनिबार विज्ञप्ति जारी गर्दै भग्नावशेषबाट ४७ जनालाई निकालिएको र बाँकी आठको खोजी जारी रहेको जनाएको छ । घटनास्थलमा रहेका सेनाका चिकित्सकले गम्भीर घाइतेको जीवनरक्षक शल्यक्रिया गरेको बताइएको छ ।

सन् २०२१ मा उत्तराखण्डमा हिमनदीको ठूलो भाग नदीमा खस्दा करिब १०० जनाको मृत्यु भएको थियो । सन् २०१३ को विनाशकारी मनसुनी बाढी र पहिरोका कारण ६ हजार मानिसको मृत्यु भएको थियो । र, राज्यमा विकास परियोजनाको पुनरवलोकनको माग गरिएको थियो । 

टर्कीसँग ४० वर्षको सशस्त्र सङ्घर्षपछि पिकेकेद्वारा युद्धविरामको घोषणा

इस्तानबुल । टर्कीको जेलमा रहेका नेता अब्दुल्लाह ओकालानको अनुरोधपछि कुर्द लडाकू समूह (पिकेके) ले शनिबार टर्कीसँग युद्धविरामको घोषणा गरेको छ ।

चार दशकभन्दा बढी समयदेखि टर्कीसँग लडेपछि यसै हप्ता कुर्दिस्तान वर्कर्स पार्टी ९पिकेके० को विघटनको घोषणा गर्दै ओकालानले नेता तथा कार्यकर्तालाई हतियार बिसाउन आग्रह गरेको होे ।

पिकेके कार्यकारी समितिले ओकलानलाई उदृत गर्दै भनेको छ, “नेता अपोको शान्ति र लोकतान्त्रिक समाजका लागि आह्वानको कार्यान्वयनका लागि मार्ग प्रशस्त गर्न हामी आजदेखि लागू हुने गरी युद्धविरामको घोषणा गर्दैछौं ।”

उत्तरी इराकमा मुख्यालय रहेको समितिले भनेको छ, “हामी पिकेके विघटनको आह्वानको विषयसँग सहमत छौँ र यसलाई अनुसरण र कार्यान्वयन गर्नेछौँ ।”
“आफ्नोसमूहमाथि आक्रमण नभएसम्म हाम्रा कुनै पनि सेनाले सशस्त्र कारबाही गर्ने छैनन्,” विज्ञप्तिमा भनिएको छ।

टर्की, संयुक्त राज्य अमेरिका र युरोपियन युनियनद्वारा आतंकवादी समूह घोषित पिकेकेले सन् १९८४ देखि कुर्दहरूको लागि एक मातृभूमि बनाउने उद्देश्यले विद्रोह गरेको छ । पिकेकेले टर्कीको आठ करोड ५० लाख जनसङ्ख्याको लगभग २० प्रतिशत हिस्सा ओगटेको छ।

सन् १९९९ मा ओकालान जेलमा परेदेखि नै करिब ४० हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको रक्तपात अन्त्यका लागि विभिन्न प्रयासहरू भएका छन् ।

ओकालानसँग उनलाई राखिएको टापुको एक जेलमा धेरै पटकको बैठकपछि कुर्द समर्थक डीईएम पार्टीले बिहीबार पिकेकेलाई आफ्ना हतियारहरू बिसाउन र संगठनको विघटनको घोषणा गर्न एक सम्मेलन बोलाउन अपिल गरेको थियो।

पिकेकेले शनिबार ओकालानले चाहेअनुसार सम्मेलन आयोजना गर्न तयार रहेको तर त्यसका लागि उपयुक्त सुरक्षित वातावरण सिर्जना गर्नुपर्ने र ओकालानले व्यक्तिगत रूपमा निर्देशन र सम्मेलनको सफलताका लागि नेतृत्व गर्नुपर्ने बताएको छ ।

अभियानले दक्षिण नेपालको रूपरेखा फेर्न सहयोग पुग्नेछः अध्यक्ष प्रचण्ड

 काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हुलाकी मार्गकेन्द्रित अभियानले दक्षिण नेपालको रूपरेखा फेर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

सिरहाको औरही नगरपालिका–४ मा शनिबार आयोजित कार्यक्रममा उनले अभियानका माध्यमबाट हुलाकी मार्ग आसपासका जनाताको आर्थिक उन्नतिका लागि पहल लिन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

लामो समयदेखि अघि बढाउन नसकिएको हुलाकी मार्गको थप विकास गर्न आफू २०७३ सालमा प्रधानमन्त्री हुँदा पहल लिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी सहयोग सुरू गरेपछि योजना अघि बढेको स्मरण गरे ।

जनतासँग माओवादी, तराई मधेस जागरण अभियानका क्रममा औरही–४ इँटाटारमा शनिबार आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्या गरेर माओवादी पार्टीमा प्रवेश गरेकाहरूलाई अध्यक्ष तथा पूर्वप्रधानमन्त्री दाहालले स्वागत गरेका थिए ।

सरकारका प्रवक्ता भन्छन् -सदनमा प्रस्तुत सबै अध्यादेश पास हुन्छन्

कास्की । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले सरकारले सदनमा प्रस्तुत गरेका अध्यादेश पारित हुने बताएका छन् ।

पोखरामा रहेको हिमालय आँखा अस्पतालको ३२औँ वार्षिकोत्सवको शनिबार उद्घाटन गर्दै उनले सुशासन प्रवद्र्धन र सार्वजनिक सेवालाई प्रभावकारी बनाउने गरी सरकारले अध्यादेश ल्याएकाले पारित गर्नुपर्ने बताएका हुन् ।

सञ्चारमन्त्री गुरूङले केभन्दा जनता खुसी हुन्छन् भनेर होइन जनता के काम गर्दा खुसी हुन्छन् भनेर सोच्नुपर्ने बताए । “स्वास्थ्य क्षेत्र अस्तव्यस्त छ, शिक्षा क्षेत्र त्यस्तै छ । अस्तव्यस्तताभित्र सुधार कसरी गर्न सकिन्छ भनेर अध्यादेश ल्याएको हो”, उनले भने ।

सुशासनबिना देशको विकास नहुने भएकाले सुशासन प्रवद्र्धनका लागि समेत अध्यादेशले सहयोग पुग्ने उनको विश्वास थियो ।

मन्त्री गुरूङले भने, “नेपालको ऐन, कानुनमा एकैपटक धेरै सुधार गर्नुपर्ने देखिएकाले संवैधानिक प्रावधानअनुसार नै अध्यादेश ल्याइएको हो । हामीलाई के अनुभव छ भने संसदबाट एउटा विधेयक पास गर्न पाँच वर्ष लाग्यो । सुशासन कायम र सार्वजनिक सेवालाई प्रभावकारी बनाउन १२ कानुन संशोधन गर्न आवश्यक छ । संशोधन नगरिकन सुशासन हुँदैन, सार्वजनिक सेवा प्रवाह प्रभावकारी तत्कालै गर्नुपर्दछ । अध्यादेश पास हुन्छ, पास गराउनु पर्दछ ।”

संसद् चलिरहेका बेलामा अध्यादेश ल्याउन नपाइने भएकाले नै सरकारले संसद् सुरू हुनुभन्दा अघि ल्याएकाले संसद् छलेर अध्यादेश ल्याइएको भनेर चर्चा गर्नु आवश्यक नरहेको उनले बताए ।

सञ्चारमन्त्री गुरूङले निजी क्षेत्रबाट सञ्चालन भएर देशकै नमूना आँखा अस्पतालका रूपमा रहेको हिमालय आँखा अस्पताललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए ।

राष्ट्र निर्माणको महाअभियानमा जुट्न राष्ट्रपतिको अपील

गण्डकी । राष्ट्रपति रामचन्द्र पौडेलले केही भएन भन्नेमात्र नभई धेरै भएको छ तर देश र जनताका लागि हामीले अझै थुप्रै गर्न बाँकी छ भन्ने अठोटसहित राष्ट्र निर्माणको महाअभियानमा जुट्न अपील गरेका छन् ।

कास्कीको पोखरा महानगरपालिका–१८ सराङकोटमा आयोजित श्रीमद्भगवत् ज्ञान महायज्ञ एवं धार्मिक पर्यटन महाउत्सव एवं देवालय सराङकोटधामको शनिबार उद्घाटन गर्दै उनले जनताको लामो सङ्घर्ष, त्याग र बलिदानबाट हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको बताउँदै हाम्रो संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट पनि मुलुकको आर्थिक विकास भएको स्पष्ट पारे ।

राष्ट्रपति पौडेलले युवा जनशक्तिको पलायन मुलुकका लागि ठूलो चिन्ताको विषय भएको भन्दै यो अवस्थाबाट मुलुकलाई जोगाउन सम्बद्ध सबैलाई गम्भीर बन्न आग्रह गरे । उनले भने, “युवा जनशक्तिको पलायन मुलुकका लागि ठूलो चिन्ताको विषय हो । यो अवस्थाबाट मुलुकलाई जोगाउन सम्बद्ध हरेक पक्ष गम्भीर बनून् भन्ने मेरो आग्रह छ ।”

उनले देश विकासको मूल आधार कृषि, जलस्रोत, पर्यटन र पूर्वाधारको विकास भएकाले कृषि, जलस्रोत, पर्यटन, उद्योगधन्दाको विकास र उत्पादन बढाएर स्वदेशी अर्थतन्त्रलाई मजबुत बनाउनुपर्ने बताए ।

राष्ट्रपति पौडेलले २०४६ सालको परिवर्तनपछि गाउँ, गाउँमा बाटो, बिजुली, पानी, शिक्षा, स्वास्थ्य, सञ्चारजस्ता पूर्वाधार पुगिसकेको उल्लेख गर्दै अब स्वदेशमै रोजगारी र आम्दानीको अवसर सृजना गरी विदेश पलायन भइरहेको युवा जनशक्तिलाई रोक्नु पहिलो आवश्यकता भएको बताए ।

उनले भने, “यो पवित्र स्थलबाट म आज अपील गर्न चाहन्छु कि सबै नीति, निर्माण तहमा रहेका हामी सबैको ध्यान यसको समाधानतर्फ केन्द्रित होस् ।”

उनले पोखरा र यस क्षेत्रको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई नेपाल र विश्व पर्यटन बजारमा प्रवद्र्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारका रूपमा स्थापित गर्न सकिने प्रचुर सम्भावना आफूले देखिरहेको बताए ।

उनले पर्यटकीय पूर्वाधार विकासमा निजी क्षेत्रको अत्यन्त महत्त्वपूर्ण भूमिका हुने भन्दै निजी क्षेत्रका लागि लगानीमैत्री वातावरण बनाउन स्थानीय, प्रदेश र सङ्घ सरकारले उपयुक्त नीति, नियम र कानुन निर्माण गरेर प्रोत्साहन गरिदिनुपर्ने उल्लेख गरे ।

राष्ट्रपति पौडेलले पोखरा अन्तरराष्ट्रिय विमानस्थलले यसलाई सिधैँ विश्वसँग जोडेको उल्लेख गर्दै ‘जाउँ है पोखरा’लगायतका पर्यटन प्रवद्र्धन अभियानमात्र होइन यहाँ हुने मेला, महोत्सव र साहसिक गतिविधिले यो विश्वकै एउटा घुम्नैपर्ने ठाउँका रूपमा विकास हुँदै गएको बताए ।

उनले “पोखरालाई अझै आधुनिक, विकसित र सुविधासम्पन्न बनाउँदै लैजान नीति निर्माता, तीनै तहका सरकार, पर्यटन उद्यमी, व्यवसायी र यहाँका बासिन्दा दत्तचित्त भएर लाग्नुपर्दछ भन्ने मलाई लाग्दछ ।”

चौँरी याक प्रवर्द्धन गर्दै सिरिजङ्घा गाउँपालिका

फुङ्लिङ।  सिरिजङ्घा गाउँपालिकाले कञ्चनजङ्घा आधार शिविर क्षेत्रमा चौँरी याक प्रदर्शनी गर्ने भएको छ । विश्वको तेस्रो अग्लो हिमालको आधार शिविरमा चौँरी याक प्रवर्द्धन तथा संरक्षण गर्न प्रदर्शनी आयोजना गर्न लागिएको हो ।

यसका लागि गाउँपालिकाले आठ लाख बजेट विनियोजन गरेको जनाइएको छ । सिरिजङ्घा महोत्सव–२०८२ का अवसरमा आगामी वैशाख १३ देखि १५ गतेसम्म चौँरी याक प्रवर्द्धन तथा प्रदर्शनी आयोजना गरिने गाउँपालिकाका उपाध्यक्ष डा चित्र माबोले जानकारी दिए। त्यस अवसरमा उत्कृष्ट चौँरी पालकलाई पुरस्कृत गरिने छ ।

गाउँपालिकाका अनुसार उत्कृष्ट हुने किसानलाई रु २८ हजार पाँच सय ८६ प्रदान गरिनेछ भने सान्त्वना पुरस्कार स्वरूप आठ हजार पाँच सय ८६ उपलब्ध गराइने छ । हाल चौँरीपालनप्रति आकर्षण घट्दै गएकाले यसको संरक्षण र महत्त्व उजागर गर्न प्रदर्शनी आयोजना गर्न लागिएको उपाध्यक्ष माबोले बताए। चौँरी पालन हिमाली क्षेत्रमा जीवनयापनको मुख्य आधार भएकाले यसलाई प्रवर्द्धन गर्न आवश्यक रहेको उनको भनाइ छ ।

ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा समुदायको प्रमुख आम्दानीको स्रोत चौँरी गोठ हो । चौँरीबाट दूधजन्य पदार्थ घ्यू, छुर्पी उत्पादन गरेर बिक्री गरेर गुजारा गर्दै आएका छन् । त्यस्तै याक चीनका विभिन्न बजारमा माग आउने गर्छ । किसानले चीनमा याक निर्यात गर्न पनि याक पालन गर्ने गर्छन् । एउटा याक एक लाखभन्दा बढी मूल्यमा चीनमा निर्यात हुने गरेको किसानको भनाइ छ । गाउँपालिकाले आयोजना गरेको चौँरी याक प्रवर्द्धन तथा प्रदर्शन कार्यक्रमले किसानलाई थप प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ ।

स्ट्रबेरी खेतीबाट वार्षिक ३० लाख आम्दानी

काभ्रेपलाञ्चोक। बनेपा नगरपालिका–१० जनागालका मुक्ति विष्टलाई अहिले स्ट्रबेरी फल टिप्न र बजार पठाउन भ्याइन भ्याइ छ । पछिल्ला दुई वर्षदेखि ३० लाखको हाराहारीमा आम्दानी गरिरहेका विष्ट हाल जनागाल र नुवाकोटको ककनीमा स्ट्रबेरीको रेखदेख गर्नमा व्यस्त छन्।

करिब चार वर्षअघि ‘कोरोना महामारीकाल’मा हरेक क्षेत्रका व्यक्तिले रोजीरोटी गुमाइरहेका बेला निकालेको ‘जुक्ति’ले मुक्ति विष्ट अहिले स्ट्रबेरीको स्थापित व्यवसायी बनेका हुन् ।

विष्ट त्यसबेलाको जुक्तिबाट व्यावयायिक स्ट्रबेरीखेतीमा रत्तिभर विचलित नभई व्यवसायको दायरा बढाउँदै रमाइरहेका छन् ।

‘अहिले बजारीकरणको समस्या छैन, स्थानीय तथा उपत्यकाको बजारमा तीन सयदेखि सात सयसम्ममा स्ट्रबेरी बिक्री भइरहेको छ’, विष्टले भने।

जसले आफ्नै देशमा पसिना बगाइरहेका छन्, धेरैजसोले कृषि व्यवसाय रोजेको पाइन्छन् । यस्तैमध्येका एक हुन् विष्ट । उनी आफ्नै दश रोपनी जग्गामा स्ट्रबेरी रोपेर जिल्लामा मात्र नभएर देशकै नमुना कृषकको पहिचान बनाउने अभियानमा छन् । तर, ४५ वर्षीय विष्टले स्ट्रबेरी रोप्ने सीप सिकेर व्यवसाय थाल्नुभएको भने होइन, अरूले रोपेको देखेर र भनेको सुनेकै भरमा थालेका हुन् । दैनिक हजारौँ युवा रोजगारीका लागि विदेश पलायन भइरहँदा स्वदेशमै पनि केही गरौँ भन्ने लाग्नेहरूलाई विष्टको स्ट्रबरीखेती उदाहरणीय बन्न सक्ने देखिएको छ ।

अहिले विष्टले यही खेतीबाट नाम र दाम पनि कमाउँदै छन्। उनले आफ्नै माटोमा बगाएको पसिनाले प्रत्येक वर्ष मुनाफा बढाइरहेको छ । त्यस्तै व्यवसायको दायरा पनि फराकिलो भइरहेको छ । यस वर्ष पनि विष्टले लगाएको खेतीबाट उत्पादन सुरू भइसकेको छ । उनले स्ट्रेबरीखेतीका लागि करिब ३० लाख लगानी गरेका छन् ।

गत वर्ष सबै खर्च कटाएर ३० लाख बचत गरेका थिए। उनी यस वर्ष यतिकै हाराहारीमा आम्दानी लिने अपेक्षामा छन्। विष्टले हाल स्ट्रेबरी मात्र लगाउनुभएको छैन, मौसमअनुसारका अन्य तरकारी तथा कुखुरापालनसमेत पनि गरिरहेका छन् ।

हाल उनको व्यवसायमा दैनिक पाँच जनाले रोजगारी पनि पाएका छन् । व्यवसायका लागि उहाँले विभिन्न सहकारी र बैंकबाट केही ऋण लिएको बताए ।

‘व्यवसायका लागि सरकारले दिने सहुलियत ऋणका लागि प्रयास गरिरहेको छु, तर पाएको छैन’, उनले गुनासो गरे।

विष्ट आफ्नो व्यवसायलाई अब कसरी नयाँ रूप दिने भन्नेबारे सोच्दै छन्। उनले भने , ‘अब केही समयमै स्ट्रेबरीखेतीबाट वाइन र जुस कम्पनी खोलेर यसलाई उद्योगका रूपमा विकसित गर्ने लक्ष्य छ, यसका लागि विज्ञहरूसँग सल्लाह गरिरहेको छु ।’

साथै, विष्टले गत वर्षदेखि नै स्ट्रबेरीका अतिरिक्त बिरूवासमेत उत्पादन गरेर बेच्ने गरिरहेको सुनाए । उनको अनुभवमा स्ट्रेबरी आफैँमा एक स्वादिलो र पोषिलो फल भएको र यसले मानव स्वास्थ्यमा धेरै नै फाइदा दिने भएकाले बजारमा माग र मूल्य उच्च भएको हो ।

विष्टले यस वर्ष ५० हजार केजी उत्पादन गर्ने लक्ष्य लिएका छन्, जसबाट गत वर्षभन्दा बढी आम्दानी हुनेछ । उनले स्ट्रबेरीखेतीका लागि बनेपामा र ककनीमा गरी एक लाख बिरुवा रोपेका हुन् ।

उनले भने, ‘स्ट्रबेरीको बिरुवा र उत्पादनका लागि अब बजारको समस्या छैन, आफैँ बिरुवा उत्पादन थालेको छु ।’

उनले चितवन, नवलपरासी र बारामा स्ट्रबेरीखेतीका लागि अध्ययन भइरहेको बताए। उनले गत वर्ष ४० हजार बिरुवा उत्पादन गरी केही बिक्री गरेका थिए ।

दुई महिनामा हुर्केको स्ट्रबरीले उत्पादन दिन थाल्छ । उनले स्ट्रबेरीखेती थालेको थाहा पाउने बनेपा तथा आसपासका उहाँको खेतमै गएर खेती हेर्ने र किनेर लैजाने गर्छन् ।

विष्टले भने, ‘आजकाल दैनिक मेरो स्ट्रबेरी खेती हेर्न आउनेक्रम बढ्दैछ, उहाँहरू यहीबाटै किनेर पनि लैजानुहुन्छ, उहाँहरूलाई म बजारको भन्दा सस्तोगरी दिने गर्छु ।’

विष्टले उत्पादन गरेको स्ट्रबेरी जिल्लाको मुख्य बजार बनेपालगायत धुलिखेल, पाँचखाल र पनौती तथा काठमाडौँ, पोखरा तथा चितवनसम्म जाने गरेको छ ।

विष्टले भने, ‘देशका प्रमुख सहरमा मेरा उत्पादन पुर्‍याउने लक्ष्य लिएको छु, स्ट्रबेरी बिरुवा छिमेकी जिल्ला भक्तपुर, सिन्धुपाल्चोक र सिन्धुलीबाट माग हुन थालेको छ, त्यसमा पनि विशेष ध्यान दिइरहेको छु ।’ प्रतिबिरूवा २५ देखि ३० सम्ममा बिक्री हुने गरेको विष्ट बताउँछन् ।

विष्टले अमर भू–मण्डलीय बहुउद्देश्यीय कृषि फार्म दर्ता गरी नयाँ नयाँ काम सुरू गरिएकाले लगानीमा पनि वृद्धि हुँदै गएको बताउँछन्।

‘सुरूआतका बेला कृषि तथा अन्य उत्पादनमा लाग्ने क्रममा केही घाटा व्यहोर्नुपर्‍यो, अहिले त्यस्तो छैन’, विष्टले भने। उत्पादनका लागि रासायनिक मलको अभावले कठिनाइ व्यहोर्नुपरेको विष्टले सुनाए।

मिथिला माध्यमिकी परिक्रमाका यात्रीको स्वागतका लागि सार्वजनिक बिदा

महोत्तरी । मिथिलाको महाकुम्भ भनिने मिथिला माध्यमिकी परिक्रमाका यात्रीको स्वागत र परिक्रमा मेलामा सहभागिताका लागि मटिहानी नगर कार्यपालिकाको कार्यालयले सार्वजनिक बिदा दिने भएको छ । नगरमा आइतबारका लागि सार्वजनिक बिदा दिइएको हो ।

मिथिला माध्यमिकी परिक्रमा यस भेगको सांस्कृतिक तथा धार्मिक उत्सव भएको हुँदा आफ्नो ठाउँमा आइपुग्ने यात्री र अतिथिको स्वागतमा सबैको सहभागिता हुन सकोस् भन्ने ध्येयले सार्वजनिक बिदा दिँदै आइएको नगरप्रमुख हरिप्रसाद मण्डलको भनाइ छ । 

मिथिला माध्यमिकी परिक्रमाको ‘डोला’ (श्रीराम सीताको प्रतिमा राखिएका डोली) साथ यस यात्राका सहभागी यात्री आइतबार मटिहानी आइपुग्दैछन् । यात्राको चौथो दिन ‘डोला’ मटिहानी आइपुग्ने मिथिलाको स्थापित परम्परा हो । मटिहानी परिक्रमा महोत्तरी प्रवेश गर्ने द्वार पनि हो । मटिहानीसँगै लगातार पाँच रात परिक्रमा यात्रीले जिल्लामा बिताउनेछन् ।

महोत्तरीमा माध्यमिकी परिक्रमा यात्राको चौथो, पाँचौँ, छैटौँ, सातौँ र आठौँ दिन क्रमशः मटिहानी, जलेश्वर, मडै (महोत्तरी गाउँपालिका), ध्रुवकुण्ड (बलवा नगरपालिका) र कञ्चनवन (भङ्गाहा नगरपालिका) मा रात्रिबासको परम्परा छ । श्रीराम र सीताका प्रतिमा राखिएका ‘डोला’साथ यात्री पडावस्थल (पारम्परिक रात्रि विश्रामस्थल) पुगेपछि सो दिन ती ठाउँमा परिक्रमा मेलाको परम्परा रहँदै आएको छ ।

आफ्नो ठाउँमा मेला र रात्रि विश्रामका दिन जिल्लाका अन्य चार स्थानीय तह जलेश्वर नगरपालिका, महोत्तरी गाउँपालिका, बलवा नगरपालिका र भङ्गाहा नगरपालिका कार्यालयले पनि यसअघिदेखि नै सार्वजनिक बिदा दिँदै आएका छन् ।

गत बिहीबार धनुषाको मिथिला विहारी–८ कचुरीस्थित मिथिला विहारी मन्दिरबाट श्रीराम र जनकपुरधाम–८ स्थित सुन्दरसदन मठबाट श्री सीताजीका प्रतिमा ‘डोला’ मा राखेर सुरु भएको यात्रा १५ रात बिताएर १६औँ दिन बिहान जनकपुरधामको अन्तरगृह परिक्रमा गरेर सम्पन्न गरिने परम्परा छ । यस यात्रामा महोत्तरीका पाँच, धनुषाका छ र भारतको मधुवनी जिल्लामा चार पडावस्थल (रात्रि विश्रामस्थल) को चलन छ । 

यात्रामा साधुसन्त र गृहस्थ जीवनका सर्वसाधारणसहित १०औँ हजारको सहभागिता छ । यो यात्राको अभिष्ठ मोक्ष कामना र कल्याण रहेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) का मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झाले बताए ।

जुम्लामा वर्षा र हिमपात, किसानलाई राहत

जुम्ला । शुक्रबार बिहानैदेखि हिमपात र वर्षा हुँदा यहाँका किसानलाई राहत पुगेको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ र वर्षा भएको हो ।

उच्च ठाउँमा एक फिट जति हिउँ परेको पातारासी गाउँपालिका-१ का स्थानीयवासी मुनबहादुर एडीले जानकारी दिए ।

ढिलोगरी वर्षासँगै भएको हिमपातपछि आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएका छन् । गत असोजदेखि पानी नपर्दा हिउँदे बाली सुक्दै गएका थिए ।

जिल्लाका आठवटै स्थानीय तहमा धेरैजसो ठाउँमा सिँचाइको अभाव छ । जहाँ किसानले आकाशे वर्षात्का भरमा जौँ, गहुँ बाली लगाउने गर्छन् । हिमपातका कारण जौँ, गहुँलगायत नयाँ स्याउका बिरुवा लगाउन निकै सहज भएको हिमा गाउँपालिका-६ का स्थानीय किसान दुर्गा शाहीले बताए ।

जिल्लामा स्याउ र ओखरका बिरुवा रोप्ने याम आएकाले हिमपातका कारण सहज भएको कृषि विकास कार्यालयका सूचना अधिकारी दीपकसिंह धामीले बताए ।

जुम्लालगायत माथिल्लो कर्णालीमा हिमपात भएसँगै हवाई सेवा अवरुद्ध भएको छ । साथै सदरमुकाम खलङ्गा बजारबाट चल्ने लामो तथा छोटा दूरीका सवारीसाधन फाट्टफुट्ट चलेको तिला कर्णाली यातायातले जनाएको छ ।

गत २४ घण्टामा जिल्लामा ३३ मितिमिटर वर्षा भएको हावापानी फिल्ड कार्यालयले जनाएको छ ।

0

यातायातसम्बन्धी सबै समस्या समाधान गर्छौँ : मुख्यमन्त्री लामा

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले यातायातसम्बन्धी सबै खाले समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् ।

नारायणी यातायात व्यवसायी सङ्घको ३६औँ वार्षिक साधारण सभा तथा १६औँ अधिवेशन उद्घाटन समारोहलाई आज हेटौँडामा सम्बोधन गर्दै उनले यातायातसम्बन्धी नियम कानुन संशोधन गरी समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको स्पष्ट पारे।

राज्यले गर्नुपर्ने धेरै काम यातायात व्यवसायी आफैँले गरिरहेको बताउँदै सवारी जाँचपास र नवीकरणलाई प्रविधिमैत्री बनाउन छलफल अगाडि बढाउन प्रदेश सरकार तयार रहेको बताए। विदेशमा भएको प्रणाली प्रदेशमा पनि कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिँदै दुर्घटना तथा बिमासम्बन्धी ऐनमा आवश्यक संशोधन गर्न प्रदेश सरकारले आवश्यक सहजीकरण गर्ने बताए।

बागमती प्रदेश सरकार श्रम रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले प्रदेशको ३० प्रतिशत राजस्वमा यातायात क्षेत्रले योगदान गरिरहेको बताएका छन्। उनले २२ लाख सवारी चालक अनुमतिपत्र नागरिक एपमा राखिएको जानकारी दिए। अनलाइनबाटै राजस्व तिर्ने, नवीकरण गर्ने र नामसारी गर्ने व्यवस्था मिलाउने तयारीमा प्रदेश सरकार लागिरहेको उनले बताए।

सङ्घका अध्यक्ष हीरालाल श्रेष्ठले सेवामूलक संस्था भएर पनि सङ्घले नेपाल सरकारलाई कर तिर्दै आइरहेको बताए। अहिले पनि ठूलो रकम सरकारलाई कर तिर्नुपर्ने र आर्थिक अभावका कारण भरतपुरको रामनगरमा रहेको जग्गा बिक्री गरेर कर चुक्ता गर्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ । हेटौँडामा मुख्य कार्यालय रहेको नारायणी यातायात व्यवसायी सङ्घले चितवनको रामनगरमा रहेको जग्गा बिक्री गरी कर तिर्ने तयारी गरिरहेको छ ।

विसं २०७५ फागुन १९ गतेको राजपत्रमा प्रकाशित केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०७५ अनुरूप नारायणी यातायात व्यवसायी सङ्घको रूपान्तरित कम्पनीको रूपमा स्थापना भएको पुरानो नारायणी यातायात कम्पनी प्रालि दर्ता गरेर सङ्घका नेतृत्वले व्यवसायीका दुर्घटना, बिमा दायित्वलगायत विषयमा काम गर्न थालेको थियो ।

साधारण सभामा संविधानसभा सदस्य अनन्त पौडेल, प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँ, प्रेमबहादुर पुलामी, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोदसिंह रानाभाटलगायतले शुभकामना दिएका थिए ।

सङ्घले हेटौँडामा मुख्यालय रहेको मानव सेवा आश्रमलाई हरेक साधारण सभामा सहयोग गर्दै आएकामा यो वर्ष नगद रु ५१ हजार सहयोग गरेको छ । त्यस्तै पाँच जना चालकलाई जनही नगद रु १० हजारसहित सम्मान गरिएको छ ।

सम्मानित हुनेमा हेटौँडाका अर्जुन भुर्तेल, ध्रुवलाल श्रेष्ठ, काठमाडौँका सुरेश श्रेष्ठ, चितवनका भोला थापा र रौतहटका रामपुकार राय रहेका छन् । साधारण सभामा नेपाल मेडिसिटी अस्पताल काठमाडौँका विशेषज्ञ डाक्टरको टोलीले व्यवसायीको स्वास्थ्य परीक्षण गरेका थिए।

जेलेन्स्कीसँग ट्रम्पले गरेको व्यवहारप्रति युरोपेली नेताहरु रुष्ट, भने- युक्रेन ‘एक्लो छैन’

वासिङ्टन । अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको जित देखिने गरी युद्धविराम गराउन बाध्य पार्ने छन् भन्ने चिन्तामा रहेका अमेरिकी सहयोगी युरोपेली मुलुकका नेताले अमेरिकी र युक्रेनी नेताहरूबबीको चर्काचर्की सञ्चारमाध्यममा आएसँगै जेलेन्स्की र युक्रेनको समर्थनमा आफ्ना भनाइहरू सार्वजनिक गरेका छन् ।

युरोपेली आयोग र युरोपेली काउन्सिलका क्रमशः प्रमुख उर्सुला भोन डेर लेयेन र एन्टोनियो कोस्टाले जेलेन्स्की कहिल्यै एक्लो नभएको बताएका छन् ।

“बलियो बन्नुस्, साहसी बन्नुस् र निडर बन्नुस्”, भोन डेर लेयन र कोस्टाले सामाजिक सञ्जालमा संयुक्त विज्ञप्ति जारी गर्दै जेलेन्स्कीलाई भने, “हामी न्यायपूर्ण र स्थायी शान्तिका लागि तपाइको साथमा सहकार्य गरिरहनेछौँ ।”

यसैबीच, इयूका शीर्ष कूटनीतिज्ञ काजा कल्लासले युरोपेली शक्ति र वासिङ्टनबीचको ट्रान्सएटलान्टिक गठबन्धनबारे अमेरिकी नेतृत्वमाथि प्रश्न उठाएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, “आज, यो स्पष्ट भयो कि यो चुनौतीको सामना गर्नको लागि स्वतन्त्र विश्वलाई नयाँ नेताको खाँचो छ। यसका लागि हामी युरोपेलीहरू के गर्छौँ यसमा निर्भर रहनेछ ।”

वार्ता अवरूद्ध भएसँगै युक्रेनको समर्थनमा पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले जेलेन्स्कीलाई सङ्केत गर्दै भने, “तपाईं एक्लो हुनुहुन्न ।”

बेलायती प्रधानमन्त्री केइर स्टार्मरले ट्रम्प र जेलेन्स्की दुवैसँग फोनमा कुरा भएको र किएभलाई ‘अटुट समर्थन’ गर्ने प्रतिबद्धता व्यक्त गरे ।

इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीले संयुक्त राज्य अमेरिका, युरोप र युक्रेनका सहयोगीहरूबीच ‘अविलम्ब’ शिखर सम्मेलन गर्न आह्वान गरेका छन् ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले युक्रेन युद्धमा रुस ‘आक्रमणकारी’ भएको बताएका छन् ।
उनले भने, “आक्रमणकारी रुस हो । युक्रेनलाई सहयोग गर्ने र रुसलाई तीन वर्षअघि नै प्रतिबन्ध लगाउने र त्यसलाई निरन्तरता दिने हाम्रो निर्ण सही थियो ।”

जेलेन्स्कीविरुद्ध ट्रम्पले लगाएको आरोपलाई संकेत गर्दै उनले भने, “यदि कोही तेस्रो विश्वयुद्धमा खेलिरहेको छ भने त्यो रूसी नेता पुटिन हुन् ।”

जर्मनीका सम्भावित चान्सलर फ्रेडरिक मर्जले जेलेन्स्कीलाई समर्थन गर्ने आश्वासन दिएका छन् ।

“हामीले यस भयानक युद्धमा आक्रमणकारी र पीडितलाई कहिल्यै भ्रमित गर्नु हुँदैन,” मर्जले भने । निवर्तमान चान्सलर ओलाफ स्कोल्जले पनि युक्रेनको समर्थन गर्नुभएको छ भने विदेशमन्त्री एनालेना बेयरबोकले पनि किएभको ‘शान्ति र सुरक्षाको खोजी हाम्रो हो’ भनेका छन् ।

यसैबीच, हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुवैका निकटतम साझेदारमध्येका एक ओर्बानले शान्तिका लागि बहादुरीका साथ उभिएकोमा धन्यवाद दिएका छन् ।

ओर्बानले एक्समा लेखेका छन्, “शक्तिशाली मानिसले शान्तिको पक्षमा माहोल बनाउँछ, कमजोर मानिसले युद्ध गर्छ ।”

इटालियन प्रधानमन्त्री जियोर्जिया मेलोनीले संयुक्त राज्य अमेरिका, युरोप र तिनका सहयोगीहरूलाई युक्रेन युद्धको विषयमा एकजुट हुन आह्वान गरेका छन् ।

उनले भने,“ढिलो नगरी शिखर सम्मेलन आवश्यक छ । युक्रेनबाट सुरु भएको आजको प्रमुख चुनौतीहरूको सामना कसरी गर्ने भन्ने बारेमा हामी स्पष्ट रूपमा कसरी कुरा गर्न चाहन्छौँ।”

“युक्रेनका लागि नेदरल्याण्डको समर्थन अझै कम भएको छैन”,प्रधानमन्त्री डिक स्कूफले एक्समा भने, “विशेष गरी अहिले हामी स्थायी शान्ति चाहन्छौं र रूसले सुरु गरेको आक्रमणको युद्धको अन्त्य चाहन्छौँ।”

किएभ कट्टर सहयोगी पोल्याण्डले विवादपछि युक्रेनीहरूलाई आश्वस्त पार्न कदम चालेको थियो। पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले जेलेन्स्कीलाई सम्बोधन गर्दै भने, “प्रिय युक्रेनी मित्रहरु, तपाईं एक्लो हुनुहुन्न ।”

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले युद्धग्रस्त युक्रेनको पक्षमा आफ्नो देश उभिने बताए । “युक्रेनी मित्रहरू, स्पेन तपाईंहरूको साथमा उभिएको छ,” सन् २०२२ मा रुसले गरेको आक्रमणपछि युक्रेनका कट्टर समर्थक सान्चेजले एक्समा लेखेका छन् ।

बझाङमा १४ वर्षीया बालिकामाथि करणी

बझाङ । बझाङमा १४ वर्षीया बालिका करणी आरोपमा एक युवक पक्राउ परेका छन्।

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मस्टा गाउँपालिका–४ घर भएका २२ वर्षीय विवेक उपाध्यायलाई बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

प्रहरीका अनुसार विवेक जयपृथ्वी नगरपालिका-१० चैनपुर डेरा गरी बस्दै आएका थिए। उक्त बालिकाले जबरजस्ती करणीको घटना बारे उजुरी दिएको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले विवेकलाई पक्राउ गरेको जनाइएको छ। घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

ट्रम्पसँगको सम्बन्ध सुधार गर्न सकिने जेलेन्स्कीको भनाइ

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग शान्ति स्थापना गर्ने कुरामा चकाचर्की भएपछि अमेरिकी टेलिभिजन फक्स न्यूजसँग बोल्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकासँगको आफ्नो सम्बन्ध अझै सुधार गर्न सकिने बताएका छन् ।

फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पसँगको सम्बन्ध लाई बचाउन सकिन्छ कि भनेर सोधिएको प्रश्नमा जेलेन्स्कीले भने, “पक्कै पनि।”

अमेरिका र युक्रेनबीचको सम्बन्ध ‘दुई राष्ट्रपति भन्दा बढी’ का लागि रहेको भन्दै उनले युक्रेनलाई रूसको ठूलो र राम्रो सशस्त्र सेनाविरुद्धको लडाइँमा वासिङ्टनको सहयोगको खाँचो रहेको बताए ।

जेलेन्स्कीले ट्रम्पको मनपर्ने समाचार च्यानल फक्ससँग भने, “अमेरिका र ट्रम्पको समर्थन बिना यो यात्रा पक्कै कठिन हुनेछ।”

राष्ट्रपति ट्रम्पले पत्रकारसँग कुरा गर्दै जेलेन्स्कीले ‘बढी खेलिरहेको’ र तत्काल युद्ध अन्त्य गर्न सहमत हुनुपर्ने बताए ।

तपाईँ ट्रम्पसँग माफी माग्न चाहनुहुन्छ त भन्ने प्रश्नमा जेलेन्स्कीले अस्वीकार गर्दै फक्स न्यूजसँग भने, “हामीले केही नराम्रो गरेका छौँ भन्ने मलाई लाग्दैन । यद्यपि, उनले पत्रकारहरूको अगाडि विवादको बिषयलाई धेरै आदानप्रदान नहोस् भन्ने आफूले चाहेको बताएका थिए ।

यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सीएनएनसँगको कुराकानीमा जेलेन्स्कीलाई ‘हाम्रो समय खेर फालेकोमा माफी माग्न’ आग्रह गरेका छन् ।

अमेरिका र युक्रेनबीचको वार्ताले धेरै पाठ सिकायो- महासचिव पोखरेल

काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिका र युक्रेनबीचको वार्ताले धेरै पाठ सिकाएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले बाहिरवाट प्राप्त हुने सहयोग अस्थायी र कतिपय अर्थमा स्वार्थ आधारित हुदो रहेछ भन्दै रुस र युक्रेन दुले युद्ध अन्त्यका लागि ठुलो मुल्य चुकाउनु पर्ने अवस्था देखिएको बताएका छन् ।

साथै उनले अमेरिकाको पछिल्लो रणनीतिले अवको एशिया नै भूराजनीतिको द्वन्द्वको केन्द्र बन्न सक्ने संकेत गरेको बताएका छन् ।

उनले भनेका छन्-अमेरिका र युक्रेन बीच अमेरिकामा भएको प्रत्यक्ष वार्ताले धेरैलाई धेरै कुराको पाठ सिकाएको छ । हरेक राष्ट्रले आफ्नो राष्ट्रिय हितका लागि छिमेकसंगको सम्वन्धलाई प्राथमिकतामा राख्नु पर्दछ । छिमेकीसंगको सम्वन्ध विग्रदा ठुला र शक्तिशाली देशहरुले पनि दुःख पाउनु पर्दोरहेछ । छिमेकका विरुद्ध वाहिरवाट प्राप्त हुने सहयोग अस्थायी र कतिपय अर्थमा स्वार्थ आधारित हुदो रहेछ ।

आज रुस र युक्रेन दुबैका लागि युद्ध घाडो भएको छ । तर युद्ध अन्त्यका लागि उनीहरुले निकै ठुलो मुल्य चुकाउनु पर्ने अवस्था देखिदैछ ।

शान्ति र स्थायित्वका लागि अव हरेक देशले सोच्नु पर्दछ, क्षेत्रिय शान्ति विना विश्व शान्ति सम्भव हुदैन । त्यसमाथि एशियाली देशहरुले आपसी सम्वन्धको विकासमा जोड़ दिने हो भने एशिया विश्वसभ्यताको केन्द्रका रुपमा पुनः स्थापित हुने अवस्था छ ।

अमेरिकाको पछिल्लो रणनीतिले अवको एशिया नै भूराजनीतिको द्वन्द्वको केन्द्र बन्न सक्ने संकेत गर्दछ । गाजा क्षेत्र प्यालेस्टानीहरुवाट खोस्ने योजनाले त्यसकै संकेत गर्दछ । साथै रुश र युक्रेन बीचको युद्ध अन्त्यको नाममा भएको अमेरिकी प्रयास विश्वशान्तिको उद्देश्यसंग जोडिएको देखिएन । त्यसको केन्द्रमा खनिज सम्पदाको प्राप्ति मुख्य चासोको विषय वन्न पुगेको छ । यस प्रकारको स्वार्थपरक नीतिले अन्ततः आर्थिक स्वार्थ आधारित नयाँ प्रकारको भूराजनीतिक द्वन्द्वको विकास गर्नेछ । यस प्रकारको परिस्थितिवाट एशियाली राष्ट्रहरु विशेष ढंगले सचेत बन्नु आवश्यक छ ।

बारामा भारत सरकारको सहयोगमा निर्मित पक्की पुल सञ्चालनमा

वीरगञ्ज । भारत सरकारको आर्थिक सहयोगमा बारा जिल्लाको बङ्गरी नदीमाथि भलुही–भरवलिया–८ मा निर्माण गरिएको पक्की पुल सञ्चालनमा आएको छ । ‘नेपाल–भारत विकास सहयोग’अन्तर्गत सामुदायिक विकास परियोजनाको रूपमा सार्वजनिक पूर्वाधार क्षेत्रअन्तर्गत निर्माणाधीन पुल सञ्चालनमा ल्याइएको हो ।

भारतका महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत देवीसहाय मीना र सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका सुपरिटेन्डेन्ट इन्जिनियर शुभराज न्यौपानेले संयुक्त रूपमा उद्घाटन गरे ।

भारत सरकारले सो पुल निर्माणका लागि एक करोड ९६ लाख खर्चेर निर्माण सम्पन्न गराएको हो । महावाणिज्यदूत मीनाले नवनिर्मित आरसिसी पुलले अब भलुही–भरवलिया, फेटा र छिमेकी गाउँका नागरिकलाई वीरगञ्ज महानगरपालिकासँग सिधा सम्पर्क गर्न सहज हुने बताए ।

“पुल निर्माण भएसँगै स्थानीयवासीको जीविकोपार्जन र यातायातको सहज पहुँच सृजना भएको छ”, उनले भने, “यहाँका स्थानीय समुदायको आवश्यकतालाई ध्यानमा राखेर पुल निर्माण गरेका हौँ ।”

सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका सुपरिटेन्डेन्ट इन्जिनियर न्यौपानेले पुल बनेसँगै यहाँको जनताको जनजीवनमा थप सहजता प्रदान गर्ने बताए । “पहिला पुल नहुँदा र अहिले पुल बनेपछि यहाँका जनताको आर्थिक र सामाजिकलगायत गतिविधिमा सकारात्मक प्रभाव पार्ने देखिन्छ”,उनले भने, “सडक र पुलजस्ता पूर्वाधारले अन्य गतिविधिलाई समेत चलायमान बनाउने गर्छ ।”

महावाणिज्य दूतावासले नवनिर्मित आरसिसी पुलले अब भलुही–भरवलिया, फेटा र छिमेकी गाउँका नागरिकलाई वीरगञ्ज महानगरसँग सोझो सम्पर्क गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने छ ।

सन् २००३ देखि भारतले नेपालमा पाँच सय ६३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाउँदै आइरहेको छ । नेपालका सातै प्रदेशको तल्लो तहमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ र अन्य सार्वजनिक उपयोगिताको निर्माणका क्षेत्रमा चार सय ९३ परियोजना पूरा गरिसकेको छ ।

यीमध्ये भारत सरकारले भारतको महावाणिज्य दूतावास, वीरगञ्जको क्षेत्राधिकारअन्तर्गत ७४ वटा कार्यक्रम स्वीकृत गरेको छ । तीमध्ये ५६ वटा हालसम्म पूरा भइसकेका छन् । यीमध्ये तीनवटा बारामा छन् ।

भारत सरकारले वाणिज्य दूतावासको क्षेत्राधिकारअन्तर्गत विभिन्न संस्थालाई एक सय ९७ एम्बुलेन्स र ३८ स्कुल बस उपहारस्वरूप प्रदान गरेको छ । यीमध्ये भारत सरकारले बाराका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १३ एम्बुलेन्स र चार स्कुल बस उपहारस्वरूप प्रदान गरेको जनाएको छ ।

महावाणिज्यदूत मीनाले भारत र नेपालबीच बहुआयामिक र बहुक्षेत्रीय विकास साझेदारी रहेकाले पनि भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई प्रतिविम्बित गर्ने बताउनुभयो । यस परियोजनाको कार्यान्वयनले नेपाल सरकारको पूर्वाधार विकासजस्ता प्राथमिकता क्षेत्रमा पूर्वाधार निर्माण गर्ने प्रयासमा टेवा पुग्ने विश्वास लिएको जनाएको छ ।

‘राष्ट्रका लागि दुई घण्टा अभियान’ मा बागमतीका स्वास्थ्यमन्त्री थापा

भक्तपुर । शनिबार कहिले सिमसिम पानी त कहिले हल्का झुल्किएको घाम । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित अरनिको राजमार्गखण्डको सरसफाइमा ‘राष्ट्रका लागि दुई घण्टा अभियान’लाई साथ दिन हातमा कुचो र डस्विन बोक्दै सडकमा पुगे बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा ।

‘राष्ट्रका लागि दुई घण्टा अभियान’ ले एक सय चार हप्ताको सफाइ अभियानका क्रममा शनिबार बिहान अरनिको राजमार्ग सफाई कर्यक्रममा अभियन्ताको टोलीसँगै मन्त्री थापा पनि हातमा कुचो र डस्विन लिएर सफाइमा तल्लीन भए।

कार्यक्रममा मन्त्री थापाले सडक सफाइमा स्थानीय तह र स्थानीयवासीलाई जिम्मेवार बनाइनुपर्ने बताउँदै सडक दुर्घटनामा परेकाको तत्काल उपचार गर्न सकिने गरी भक्तपुरमा ट्रमा सेन्टर निर्माण गर्न लागेको बताए ।

उनले भने, “अरनिको राजमामार्ग खण्डमा दुर्घटना भइरहन्छ । पूर्वबाट आउने सवारीसाधन दुर्घटना हुँदा सिधै काठमाडौँमा घाइतेलाई पुर्याउँदा ज्यान जोखिम हुन्छ, त्यसैले भक्तपुरमै एउटा ट्रमा सेन्टरको आवश्यकता रहेकाले राजमार्गमै सञ्चालित सूर्यविनायक नगर अस्पतालाई अब प्रदेश सरकारले ट्रमा सेन्टरका रुपमा विकास गर्ने भएको छ ।”

सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरका रुपमा स्तरोन्तति र विकास गर्न प्रदेश सरकारले आवश्यक प्रक्रिया अगाडि बढाएको बताउँदै उनले आउँदो आवमा प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गर्ने बताए ।

अभियानको चौथो चरणको स्वदायित्व बोध कार्यक्रम र सुरक्षित राजमार्गका लागि ट्राफिक कार्यालयको सहकार्यमा सडक र गाडीमा सुरक्षित सडक प्रयोगकाबारेमा जनचेतना फैलाइएको अभियन्ता नवराज काफ्लले जानकारी दिए ।

उनले एक सय चार हप्तासम्म अभियान सञ्चालन भइरहेको जानकारी दिँदै चाँगुनारायण नगरपालिकामा पनि यो अभियान सञ्चालन गरिएको बताए । उनले ट्राफिकसँग मिलेर सडक दुर्घटना न्यूनीकरण अभियानसमेत सँगसँगै चलाइएको बताए ।

एमाले र कांग्रेसले संविधानअनुसार काम गर्न नसकेको रावलको आरोप

लमजुङ । भूमि जागरण अभियान नेपालका संयोजक  डा. भीम रावलले राष्ट्र र राष्ट्रियताका निम्ति स्वभीमानी नेपाली एकजुट हुनुपर्ने बताएका छन् ।

लमजुङ बेँसीसहर नगरपालिका–७ मा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले देश राजनीतिक र आर्थिक रुपमा सङ्कटोन्मुख अवस्था रहेकाले यसको समाधानका लागि सबै एकजुट हुनुपर्ने बताए ।

“कुनै दल वा व्यक्तिगत स्वार्थमा नलागी देश, जनताको पक्षमा सबै एकजुट हुनुपर्ने बेला आएको छ”, उनले भने, “राजनीति दलहरुले देश र जनताको लागि काम गर्न नसक्दा सङ्कट पैदा भएको छ, यस्ता सङ्कटबाट पार पाउनका लागि सबैको हातेमालो जरुरी छ ।”

देशलाई सही दिशामा लैजानका लागि दुई ठूला दल एमाले र कांग्रेसले संविधानअनुसार काम गर्न नसकेको आरोप लगाउँदै नेता रावलले राष्ट्र र राष्ट्रियताको पक्षमा उभिँदा पार्टीभित्रै आलोचित हुनुपरेको गुनो ।

सहकारीप्रतिको नकारात्मक भावलाई चिर्न सहकारीहरुले आफ्नो गतिविधि राम्रो बनाउनुपर्छः उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले अहिले सहकारीप्रति नकारात्मक धारणा रहेको भन्दै आफ्नो गतिविधिबाट सहकारीहरुले आफूलाई राम्रो प्रमाणित गर्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा जनपयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले तीन खम्बे अर्थनीति अन्तर्गत रहेको सहकारीप्रति नागरिकमा नकारात्मक भाव रहेको बताए । उनले सहकारकिो सिद्धान्त र मर्मविपरित जाँदा सहकारीमा समस्या देखिएको पनि बताए ।

‘यस्तो संकटको समयमा खास गरेर नेपालको अर्थतन्त्रको तीन खम्बे अर्थनीतिमा सहकारीको ठूलो योगदान रहनुपर्ने भएको हुनाले पनि जुन तपाईहरुको सहकारी छ यसले अहिलेको अवस्थालाई चिर्दै सहकारी राम्रो हो भन्ने कुरालाई आफ्नो गतिविधिबाट देखाउनु हुन्छ भन्ने विश्वास लिएको छु,’ सिंहले भने, ‘सहकारीको सिद्धान्त र मर्मविपरित गएको कारणले गर्दा धेरैले जीवनमै डिस्टर्भेन्स हुनेगरि, आफैंलाई दबाब हुने अवस्था भोगिरहनुपरेको छ ।’

फरक प्रसंगमा उनले राजनीतिक स्थायित्व, स्थिरता र सरकारको महत्व बुझाउनका लागि वर्तमान सरकार बनेको बताए । राजनीतिक स्थिरताको लागि वर्तमान सरकार बनेको भन्दै भएका कमी कमजोरीहरुलाई पहिचान गर्दै सुधार गर्नेतर्फ सरकार अघि बढेको जानकारी दिए ।

‘जनताले सरकारको आयुको त ठेगान छैन, सरकार बनेको केही महिनामा नै अर्को सरकार बन्छ, सरकारको नै सुनिश्चितता छैन भने त्यस्तो सरकारले हाम्रो लागि के काम गर्छ भनेर सोच्न थालेको हुनाले राजनीतिक स्थायित्व, स्थिरता र सरकारको महत्व बुझाउनको लागि वर्तमान सरकार बनेको हो। कमीकमजोरीहरुलाई पहिचान गर्दै सुधार गर्दै अघि बढ्नेतर्फ सरकार गई रहेको छ,’ उपप्रधानमन्त्री सिंहले भने ।

सरकारले जीवनयापन गर्न सहज वातावरण सिर्जना हुनुपर्छ भन्ने हरेक नेपालीको चाहना रहेको भन्दै त्यसलाई पूरा गर्नको लागि सरकार लागिरहेको उनको भनाई छ । सिंहले अधिकारसँगै कर्तव्यप्रति पनि सचेत हुनुपर्नेमा जोड दिए।

जसपा नेपालले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ । ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा यही फागुन १८, १९ र २० गते बिहान ११ बजे बस्ने गरी केन्द्रीय समितिको बैठक आह्वान गरिएको पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनले भने, “बैठकमा गत भदौदेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षा हुने छ ।” बैठकमा पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरूले आ–आफ्नो कार्यक्षेत्रमा भएका कार्यप्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।

यसैगरी वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायत एजेण्डामा बैठक केन्द्रित रहने बस्नेतले बताए ।

सामाजिक विकास कार्यालय म्याग्दी तीन महिनादेखि प्रमुखविहीन

म्याग्दी । सामाजिक विकास कार्यालय तीन महिनादेखि प्रमुखविहीन भएको छ । कार्यालय प्रमुख नहुँदा चालु आर्थिक वर्षमा बजेट विनियोजन भएका योजना तथा कार्यक्रम कार्यान्वयन ठप्प भएको छ । कर्मचारीहरूले तलब पनि खान पाएका छैनन् ।

सामाजिक विकास कार्यालय गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको कार्यालय हो । तत्कालीन कार्यालय प्रमुख रमेश थापाको गत कात्तिकमा सरूवा भएको थियो । प्रदेश सरकारले लामो समयसम्म अर्का प्रमुख नपठाउँदा सेवा प्रवाह, योजना तथा कार्यक्रम कार्यान्वयन ठप्प भएको सेवाग्राही रूद्र सुवेदीले बताए ।

“स्वरोजगारमूलक उद्यमलाई सहयोग गर्ने कार्यक्रमको अनुदानका लागि छनोट भएर भुक्तानीका लागि कागजात पेस गरे पनि कार्यालय प्रमुख नहुँदा पाइएको छैन”, उनले भने ।

अधिकृतस्तरका कर्मचारी कार्यालय प्रमुख रहने उक्त कार्यालयमा हाल नायब सुब्बा गोविन्द पुन, एक जना प्राविधिक, लेखा र सहयोगीमात्र छन् । प्रदेश सरकारले उक्त कार्यालयमार्फत कार्यान्वयन हुने ४५ वटा योजनाका लागि चालु आवमा दुई करोड ८० लाख ९० हजार बजेट विनियोजन गरेको छ ।

विभिन्न कार्यक्रमका लागि रु एक करोड ३५ लाख ७५ हजार विनियोजन भएको छ । एघार वटा योजनाको सम्झौता र बाँकी सबै योजनाको सर्वेक्षण तथा लागत अनुमान तयार पारे पनि आर्थिक वर्षको सात महिनासम्म वित्तीय प्रगति न्यून छ ।

कार्यालयमार्फत खेलमैदान, सामुदायिक भवन, विद्यालय पूर्वाधार, धार्मिकस्थलको संरक्षणसम्बन्धी योजना, बालबालिका, महिला, ज्येष्ठ नागरिक, अपाङ्गता, आदिवासी जनजाति, एकल महिला, दलित समुदायको सशक्तीकरणसम्बन्धी कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

कार्यालय प्रमुख नहुँदा भएको समस्याका बारेमा मन्त्रालयमा जानकारी गराइएको र कार्यालय प्रमुखको प्रतिक्षामा रहेको नायबसुब्बा गोविन्द पुनले बताए । “कार्यालयको समस्याका बारेमा मन्त्रालयलाई जानकारी गराएका छाँै, हामी कर्मचारीहरूले तीन महिनादेखिको तलब पनि खान पाएका छैनौँ”, उनले भने, “मन्त्रालयबाट केही दिनमै कार्यालय प्रमुख पठाउने आवश्वासन पाएअनुसार समस्या समाधान हुनेमा आशावादी छौँ ।”

राष्ट्रपति पौडेल पोखरामा

गण्डकी । राष्ट्रपति रामचन्द्र पौडेल पोखरा महानगपालिका–१८ सराङकोटमा जारी श्रीमद्भागवत ज्ञान महायज्ञ तथा धार्मिक उत्सवमा सहभागी हुनसराङकोट आइपुगेका छन् ।

नेपाली सेनाको हेलीकप्टरमा आएका उनले सराङकोटमा स्थापित पञ्चमुखी गणेश र कैलाशेश्वर शिवालयको उद्घाटन गर्ने कार्यक्रम छ । सराङकोटमा यही फागुन १४ गतेदेखि श्रीमद्भागवत ज्ञानमहायज्ञ भइरहेको छ ।

रुपन्देहीको मायादेवीमा एक युवकको गोली हानी हत्या

बुटवल । रुपन्देहीको मायादेवीमा एकजनाको गोली हानी हत्या भएको छ । प्रहरीका अनुसार मायादेवी गाउपालिका वडा नम्बर २ दंगचैयाका अनिल भन्ने राकेश सिंह लोधको गोली प्रहार गरी हत्या भएको हो ।

बिहान अवेरसम्म नउठेका उनलाई स्थानीयले घरको बरन्डामा मृत भेटेपछि प्रहरीलाई खबर गरेका थिए । रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुरज खत्रीले लोधकोे निधार र कन्चटमा घाउ देखिएको बताए ।

उनले घाउ हेर्दा गोली प्रहार जस्तो देखिएको उनले बताए । गाउँमै खेती किसानी गर्दै आएका २९ वर्षीय लोध घरमा एक्लै बस्ने गर्दथे । घटना पछि मृतकका दाजु दीपक लोेध फरार छन् । उनीहरूका बीचमा अंश विवाद रहेको स्थानीयले बताएका छन् ।

हिमपातपछि सेताम्मे लोमान्थाङ

हिमपातपछि सेताम्मे देखिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाको क्षेत्र । हिमपातपछि बालीनाली सप्रिने आशमा स्थानीय किसानहरु खुशी भएका छन् ।

तस्बिर : सुन्दरकुमार थकाली/रासस

संसद सरकार बनाउने र ढाल्ने खेलमै केन्द्रित भएको जस्तो देखिन थाल्योः सांसद स्वार

काठमाडौँ । राष्ट्रियसभाको सदस्य भएको पाँच वर्ष भयो । यो पाँच वर्ष राष्ट्रियसभामा रहेर काम गर्दैगर्दा धेरै कुराको अनुभव लिने अवसर मिल्यो । संसद् भनेको कानुन निर्माणसँगै जनताका सवाललाई उठाउने थलो हो । तर सांसदहरु संविधानअनुरुप कानुन निर्माण गर्नेभन्दा पनि आपसी आरोप–प्रत्यारोपमा केन्द्रित भएको देखिन्छ । संसद्मा जनताका सवाल जति उठ्नुपर्ने हो, त्यति स्थान पाएको देखिँदैन । संसद मुख्यत सरकार बनाउने र ढाल्ने खेलमै केन्द्रित भएको जस्तो देखिन्छ । हामी सांसद भनेको जनप्रतिनिधि हो । जनताको आवाजलाई संसद्मार्फत सरकारसम्म पुर्याउनुपर्ने हो । तर सांसदहरुले राजनीतिक खिचातानीमै व्यस्त भएको देखिन्छ । अर्को कुरा, संविधान जारी भएको करिब एक दशक भएको छ । जुन गतिमा संविधानको मर्मअनुरुप कानुन निर्माण हुनुपर्ने हो, त्यो भएको छैन । संविधानको मौलिक हकमा रहेको व्यवस्थाको कानुन बनाउने कुरा अझै पनि पूरा भएको छैन । नीति तथा कार्यक्रम र बजेटबाहेक अन्य नीति संसद्मा पेस हुँदैन । सांसदहरु पनि विकासे कार्यकर्ताको रुपमा मात्रै देखा परेका छन् ।

संविधानमा रहेका केही प्रावधान कार्यान्वयन भएका छन् । तर जति हुनुपर्ने हो त्यति हुन सकेको छैन । संविधानअनुसार अझै ४० वटा कानुन बन्न सकेको छैन । जति राष्ट्रियसभाले छिटोछिटो कानुन पारित गरेको हुन्छ, त्यहीअनुरुप प्रतिनिधिसभाले गर्न सकेको छैन । राष्ट्रियसभाबाट पारित भएका धेरै विधेयक प्रतिनिधिसभामा गएर अड्किएका छन् ।

अहिले संविधान संशोधनको बहस चलेको छ । संविधान संशोधन गर्नै नहुने भन्ने होइन । समयअनुरुप संशोधन हुनुपर्छ । संविधान संशोधन हचुवाको भरमा गर्न हुँदैन । सबैभन्दा पहिला संविधान कुन–कुन विषयमा संशोधन गर्ने हो त्यसबारेमा सरकार प्रष्ट हुनुपर्छ । राजनीतिक दल र सांसदहरु प्रष्ट हुनुपर्छ । संविधान संशोधनको विषयमा पर्याप्त छलफल गर्नुपर्छ । संशोधन जनताको पक्षमा हुनुपर्छ । संशोधन कुनै राजनीतिक पार्टीको स्वार्थको लागिभन्दा पनि आवश्यकताको आधारमा हुनुपर्छ । संविधान संशोधनको नाममा दलित, महिला, आदिवासी जनजाति, मधेसीलगायत उत्पीडित समुदायको अधिकार कटौती हुनुहुँदैन । बरु उनीहरुको अधिकार थप गर्दै व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्छ । संशोधनमा आमजनताको भावना बुझ्नुपर्छ । सङ्घीयतालाई थप मजबुत बनाउन र निर्वाचन प्रणालीमा सुधार गर्नका लागि संशोधन गर्नुपर्छ । मुलुकको कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचनबाट चुनिने व्यवस्थाको निम्ति संविधान संशोधन गर्न सकिन्छ ।

मुलुकमा सुशासन कायम गर्नका निम्ति सबैभन्दा पहिला सरकारले भ्रष्टाचारको अन्त्य गर्र्नुपर्छ । राजनीतिक दल र दलका नेता सुध्रिनुपर्छ । उनीहरु पारदर्शी हुनुपर्छ । जुनसुकै पार्टीको सरकार भए पनि भ्रष्टाचारीलाई उन्मुक्ति दिनेभन्दा पनि कडाभन्दा कडा कारबाही गर्नुपर्छ । सरकार र राजनीतिक पार्टी वा नेताहरुले भ्रष्टाचारीलाई संरक्षण गर्नुहुँदैन । आफ्नै नेता÷कार्यकर्ता भए पनि भ्रष्टाचारमा संलग्न छन् भने पार्टीले कारबाही गर्न सक्नुपर्छ । अहिलेको निर्वाचन प्रणाली अत्यन्त महङ्गो भएको छ । एउटा निर्वाचनमा चारपाँच करोडसम्म खर्च गर्ने प्रचलन बढेको छ । निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ । त्यो निर्वाचनमा लागेको खर्च निकाल्नका लागि नेताहरु भ्रष्टाचारमा तल्लीन हुने गरेको आरोप छ । नेताहरु जनताप्रति उत्तरदायी नदेखिनु विडम्बना हो ।

हाम्रो देशमा सङ्घीय, प्रदेश र स्थानीय गरी तीन तहको सरकार छ । सङ्घीय सरकारले संविधानअनुरुप प्रदेश सरकारलाई अधिकार दिनुपर्ने हो । तर अधिकार दिएको छैन । अधिकार नदिएका कारणले प्रदेश र स्थानीय सरकारले सोचेअनुरुप काम गर्न सकेको छैन । जस्तै, प्रहरी ऐन, निजामती सेवा ऐन अहिलेसम्म पनि बन्न सकेका छैनन् । यी ऐनलाई जतिसक्दो चाँडो ल्याउन कुनै पनि सरकारको तत्परता देखिँदैन । सङ्घीय सरकारले प्रदेश सरकारलाई दिनुपर्ने अधिकार नदिएपछि प्रदेश सरकार घाँडोजस्तै बनाइएको छ । हाम्रो सङ्घीयता भनेको सहकार्यको सङ्घीयता हो । समावेशी सङ्घीयता हो । तर तीन सरकारबीच सहकार्य, समन्वय देखा परेको छैन । सङ्घीय सरकारले प्रदेश सरकारबाट रायसल्लाह लिने वा दिने काम भएको छैन । सङ्घीयता सबलीकरणको निम्ति सङ्घीयतालाई ठीक ढङ्गले बुझ्न जरुरी छ । सङ्घीयता मात्रै भन्ने तर सबै अधिकार सङ्घमा राख्ने गर्नुहुँदैन ।

बजेटमा पनि प्रदेश सरकारलाई प्राथमिकता दिएको देखिँदैन । एकदुई लाखसम्मका योजना पनि सङ्घले नै बजेटमार्फत दिने गरेको देखिन्छ । यसको अन्त्य हुन जरुरी छ । अबको बजेट युवाकेन्द्रित हुनुपर्छ । रोजगारी सिर्जना गर्ने गरी सरकारले बजेट ल्याउनुपर्छ । देशभित्र पर्याप्त रोजगारी नभएका कारण धेरै युवा विदेशिने क्रम बढ्दै गएको छ । ती युवालाई वैदेशिक रोजगारीमा जानबाट रोक्न सरकारले युवा लक्षित कार्यक्रम ल्याउनुपर्छ । संविधानअनुरुपको अर्थ प्रणालीलाई अगाडि बढाउन समाजवादोन्मुख अर्थनीति बनाउनुपर्छ । समाजवादोन्मुख भन्ने तर सबै निजीकरण गर्ने भन्ने हुँदैन । युवाको विदेश पलायन रोक्नका लागि शिक्षा क्षेत्रमा आमूल सुधार गर्नुपर्छ । बन्द भएका कारखाना, उद्योग सरकारले सञ्चालनमा ल्याउनुपर्छ । मुलुकको समृद्धि र परिवर्तनका लागि सङ्घर्ष गरेका मुख्य ठूला तीन दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकापसमा मिल्नुको विकल्प छैन । यी दलहरुबीच आरोप–प्रत्यारोपले राज्यप्रणालीलाई नै कमजोर बनाउँछ । लोकतन्त्रमा यस्तो हुनु भनेको विडम्बना नै हो । जनताको अवस्था सुधारको निम्ति पनि यी तीन शक्ति एकआपसमा मिलेर अगाडि बढ्नुको विकल्प छैन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तारामान स्वार राष्ट्रियसभा सदस्य हुन् । सांसद स्वार २०७६ सालमा राष्ट्रियसभामा प्रवेश गरेका हुन् ।

(कुराकानीको सम्पादित अंश)

रिङ्कु सदालाई न्याय दिलाउन सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता

सिरहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरस्थित रिङ्कुकुमारी सदाको घरमा पुगेर न्यायका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सामूहिक बलात्कारपीडित १७ वर्षीया किशोरी रिङ्कुलाई न्याय दिनुको साटो स्थानीय पञ्चायत बसेर मिलापत्र गराउन खोजेपछि उनी मृत फेला परेकी थिइन् । जनतासँग माओवादी तराई मधेस जागरण अभियानको क्रममा सिरहा पुगेका अध्यक्ष प्रचण्डसहित माओवादी केन्द्रका नेताहरु रिङ्कुको घरमै पुगेर न्यायको लडाइँमा साथ दिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले रिङ्कुको न्यायका लागि संसदमा आवाज उठाएको जानकारी दिँदै जति सक्यो चाँडो न्यायका लागि पहलकदमी लिने बताए । प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जानकारी गराएको उल्लेख गर्दै उनले छानबिनलाई चाँडो निष्कर्षमा पुर्याउन प्रहरीलाई आग्रह गरिएको बताए ।

त्यसक्रममा उनले रिङ्कुको न्यायका लागि मुसहर समुदायले गरिरहेको संघर्षप्रति पनि ऐक्यवद्धता जनाए । रिङ्कुकै घरमा संघर्ष समितिले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तराई मधेसका विभेद, अपमान र अत्याचारका विरुद्ध आवाज उठाउन नै पार्टीले तराई मधेस जागरण अभियान सञ्चालन गरेको र यस्ता घटनाका विरुद्ध निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे ।

बलात्कार जस्तो जघन्य अपराधमा तत्काल पीडितलाई न्यायका लागि पहल गर्नुको साटो गाउँमै मिलापत्र गराउन खोज्नु राष्ट्रकै लागि लज्जास्पद घटना भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्ड तत्काल पीडितमाथि न्याय दिन सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
रिङ्कु मृत्यु प्रकरणमा प्रहरीले अहिले कर्तव्य ज्यान, करणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चार वटा शीर्षकमा अनुसन्धान गरिरहेको छ।

गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी रिङ्कु स्थानीय तीन जना युवाबाट सामूहिक बलात्कारमा परेको थिइन् । त्यसपछि माघ २९ र ३० गते पञ्चायत बसेर गाउँमै लेनदेनमा घटना मिलाउने प्रयास गरिएको भन्दै घटना सार्वजनिक भएको थियो । माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा शंकास्पद अवस्थामा मृत फेला परेकी थिइन् ।

ट्रम्पले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध निम्त्याउन लागेको आरोप लगाएपछि भएन खनिज सम्झौता

बीबीसी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सकारात्मक वार्तापछि शुक्रबार व्हाइट हाउस छोड्ने आशामा थिए । अनि राष्ट्रपति ट्रम्प युक्रेनसँग खनिज सम्झौतामा हस्ताक्षर हुने आशामा थिए ।

तर ह्वाइट हाउसमा भएको वार्तामा दुई राष्ट्रपतिबीच चर्का चर्की भएपछि दुवैको आशा निराशामा परिणत भएको छ । ट्रम्पले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध निम्त्याउन लागेको आरोप लगाएपछि वार्ता भाँडिएको छ ।

ट्रम्पले जेलेन्नस्कीलाई शान्तिका लागि तयार भएर मात्रै अर्को वार्तामा आउन भनेका थिए । ट्रम्प चर्को रुपमा प्रस्तुत भएपछि जेलेन्नस्की बैठककको निर्धारित समयअघि नै हिंडेका थिए ।

जेलेन्स्कीले ट्रम्पसँगको विवाद ‘राम्रो नभएको’ र सम्बन्ध बचाउन सकिने प्रतिक्रिया दिएका छन् । उता ट्रम्पले शान्तिका लागि तयार भए जेलेन्स्की फिर्ता आउन सक्ने बताए ।

भारत क्षयरोग अन्त्यको दिशामा तीव्र गतिमा अघि बढ्दै

नयाँदिल्ली । भारतका केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डाले सन् २०२५ को अन्त्यसम्ममा देशबाट क्षयरोग (टीबी) उन्मूलन गर्ने प्रयास भइरहेको बताएका छन् ।

नड्डाले पूर्वी राज्य ओडिशाको स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त घोषणा गरे । “दिगो विकास लक्ष्य अनुसार भारतले सन् २०३० सम्ममा क्षयरोग उन्मूलन गर्नुपर्नेछ । तर, सन् २०२५ सम्ममा यसलाई हासिल गर्न हामी तयार छौं,” उनले भने ।

देशभर चलिरहेको १०० दिने क्षयरोग उन्मूलन अभियानमा हालसम्म पाँच लाख क्षयरोगी पत्ता लागेको नड्डाले बताए ।

क्षयरोग एक सङ्क्रामक रोग हो,जसले सामान्यतया फोक्सोलाई असर गर्छ । क्षयरोगीले खोक्दा, हाछ्युँ गर्दा वा कुरा गर्दा फोक्सोबाट निस्कने थोपाहरू मार्फत हावामा फैलिन्छ ।

बेलायतमा नोरोभाइरस सङ्क्रमणमा वृद्धि

लण्डन । बेलायतका स्वास्थ्य अधिकारीहरूले यस हप्ता नोरोभाइरसको सम्भावित दोस्रो लहरको बारेमा चिन्ता व्यक्त गरेका छन् ।
युके हेल्थ सेक्युरिटी एजेन्सी –युकेएचए) को पछिल्लो तथ्याड़कले देशभरि नोरोभाइरसका केसहरू बढ्दै गएको देखाएको छ ।

युकेएचएले अघिल्लो पन्ध्र दिनको तुलनामा फेब्रुअरी ३ र १६ बीचमा भाइरसका केसहरू झन्डै ३० प्रतिशतले बढेको र पाँच–सिजनको औसतभन्दा दोब्बर बढी भएको बताएको छ ।

स्वास्थ्य एजेन्सीका अनुसार ६५ वर्ष वा माथिका व्यक्तिहरूमा सबैभन्दा धेरै केसहरू फेला परेका छन् ।

मौसम न्यानो हुने बित्तिकै उक्त केसहरू सामान्यतया वर्षको यो समयको घट्न थाल्छन् ।

भर्खरको तथ्याङ्कले यो सिजन नयाँ जीआइआइ १७ जीनोटाइपसँग जोडिएका केसहरूको सङ्ख्यामा वृद्धि भएको देखाएको छ । यसैबीच, जीआइआइ ४ जीनोटाइप पनि बढिरहेको छ ।

नोरोभाइरस सङ्क्रमणका सामान्य लक्षणहरूमा बान्ता, पखाला र पेट दुख्ने समावेश छन् । भाइरसले कहिलेकाहीं ज्वरो, टाउको दुखाइ र मांसपेशी दुखाइ हुन सक्छ । यी लक्षणहरू सामान्यतया सङ्क्रमित भएको एक वा दुई दिन पछि सुरु हुन्छ ।

डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार बसेको बैठकले शुक्रबार मध्यरातिदेखि लागु हुनेगरी डिजेल र मट्टितेलमा एक एक रुपैयाँले मूल्य घटाएको हो । पेट्रोलको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

नयाँ शिक्षा ऐनले शिक्षकहरुका माग सम्बोधन गर्छः मन्त्री भण्डारी

सीपी लोहिया, बैतडी । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले शैक्षिक क्षेत्र सुधारका लागि नयाँ शिक्षा ऐन आवश्यक रहेको बताएका छन् । शुक्रबार नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीको १८ औं जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले समग्र शैक्षिक क्षेत्रको विकासका लागि नयाँ शिक्षा ऐन ल्याइन लागिएको बताए ।

उनले भने,’नयाँ शिक्षा ऐन चाँडै आउनेछ, सबै शिक्षकहरुका मागहरुलाई अधिकतम रुपमा सम्बोधन गर्ने र शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्ने हिसाबले सरकारले ऐन उक्त ल्याउन लागेको हो।’

शिक्षकहरुका तर्फबाट व्यक्त भएका मागहरुलाई ऐनले सम्बोधन गर्ने दाबी गर्दै उनले यसको लागि सरकार लागिपरेको जानकारी दिए ।

नयाँ आउने शिक्षा ऐनले सबै शिक्षकहरूका मागहरूलाई सम्बोधन गर्ने र शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्ने उनको दाबी छ । शिक्षकहरूका तर्फबाट व्यक्त भएका मागहरूलाई ऐनले सम्बोधन गर्ने उनले बताए ।

अहिले एमाले र काँग्रेस मिलेर राष्ट्रिय आवश्यकताका आधारमा सरकार निर्माण गरिएको मन्त्री भण्डारीले बताए । सरकारले अध्यादेशमार्फत ल्याएका कानुनहरू अहिलेको आवश्यकता भएकाले सांसदबाट पारित गर्नुपर्ने उनको भनाई छ ।

यस्तै देशको अर्थतन्त्र सुधारका लागि सबै पक्ष एक भएर अघि बढ्नुपर्नेमा मन्त्री भण्डारीको जोड छ । अर्थतन्त्रमा सुधार आए मात्रै देशका समस्या समाधान हुने भएकाले सबै क्षेत्र मिलेर जानुपर्नेमा उनले जोड दिए ।

अधिवेशनले परमानन्द भट्टको अध्यक्षतामा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बैतडीको २५ सदस्यीय नयाँ नेतृत्व समेत चयन गरेको नेपाल शिक्षक सङ्गठन बैतडीका निवर्तमान अध्यक्ष प्रेमराज भट्टले जानकारी दिए ।

कांग्रेसले सत्तारुढ दलको बैठकमा संविधान संशोधनका लागि कार्यदल बनाउन प्रस्ताव गर्ने

काठमाडौं । नेपाली कांग्रेसले पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्ताका माध्यमबाट समाधान गर्नुपर्ने बताएको छ ।

शुक्रबार बुढानिलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारीले बैठकले ‘नो केबलकार’ भन्ने कुरामा कांग्रेसको सैद्धान्तिक सहमति नरहेको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बताए ।

वार्ता निष्कर्षमा नपुगेसम्मका लागि निर्माण कार्य स्थगित गर्ने सरकारको कदम स्वागतयोग्य रहेको उनले बताए । बैठकमा निर्वाचनसम्बन्धी विधेयक, दलसम्बन्धी विधेयकका विषयमा छलफल भएको थियो । विधेयक निर्माणको काम सुस्त देखिएकाले तीव्रता दिने विषयमा छलफल भएको उनले बताए।

त्यस्तै बैठकले संविधान संशोधनका लागि कार्यदल बनाउन प्रस्ताव गर्ने निर्णय गरेको छ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले संविधान संशोधनका लागि कार्यदल बनाउन प्रस्ताव गर्ने विषयमा बैठकमा छलफल भएको जानकारी दिए ।

जेनेभा भ्रमण उपलब्धिमूलकः परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणाले आफ्नो साताव्यापी जेनेभा भ्रमण सफल र उपलब्धिमूलक भएको प्रतिक्रिया दिएकी छन् ।

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभा गएकी मन्त्री राणा शुक्रबार स्वदेश फर्किएपछि यस्तो प्रतिक्रिया दिएकी हुन् । राणाले गत मङ्गलबार राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को उच्चस्तरीय सत्रलाई सम्बोधन गरेकी थिइन् ।

सो सत्रमा राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूका परराष्ट्र तथा मानवअधिकारसम्बन्धी मन्त्री एवं मानवअधिकारका क्षेत्रमा कार्यरत व्यक्तिहरूको सहभागिता थियो ।

नेपाल फर्किएपछि मन्त्री राणाले मानवअधिकारको रक्षा र प्रवद्र्धनमा नेपालले विगत लामो समयदेखि काम गरिरेहको जानकारी विश्व समुदायलाई गराउँदै सोही प्रतिबद्धताका साथ नेपालले उक्त परिषदको आगामी सन् २०२७ देखि २०२९ सम्मका लागि सदस्यमा उम्मेदवारी दिएकाले संयुक्त राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रहरूसँग नेपाललाई सहयोग गर्न आग्रह गरेको बताइन् ।

संयुक्त राष्ट्रसङ्घको सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषद्को सदस्य, २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद एवं सन् २०३७ देखि २०३८ का लागि सुरक्षा परिषद्को अस्थायी सदस्यमा नेपालले उम्मेदवारी दिने भएकाले त्यसमा सहयोगका लागि राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रहरूसँग मन्त्री राणाले आग्रह गरिन् ।

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्यसहितको उम्मेदवारीमा नेपाललाई मतदान गर्न आफूले विश्व समुदायलाई आग्रह गरेको र उनीहरूले पनि नेपाललाई सहयोग गर्ने वचन दिएको मन्त्री राणाले जानकारी दिइन् ।

यस भ्रमणका क्रममा मन्त्री राणाले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्च आयुक्त भल्कर टकसँग भेटवार्ता गरी नेपालमा मानवअधिकार तथा संक्रमणकालीन न्यायको अवस्थाका बारेमा जानकारी गराएकी थिइन् ।

यसैगरी उनले जेनेभामा रहँदा स्वीट्जरल्याण्ड, नर्वे, स्पेन, स्लोभाकिया, फिलिपिन्स, अजरबैजान, किर्गिस्तान, मेक्सिकोलगायतका मुलुकका समकक्षी, प्रतिनिधिमण्डल र नेताहरूसँग भेटवार्ता गरी द्विपक्षीय हित र चासोका विषयहरूमा छलफल गरेकी थिइन् ।

साथै भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग, जेनेभाले आयोजना गरेको स्वागत समारोहमा उपस्थित भएका एक सयभन्दा बढी मुलुकका नियोगप्रमुख तथा प्रतिनिधि एवं संयुक्त राष्ट्रसङ्घलगायत विभिन्न अन्तर्राष्ट्रिय सङ्घसंस्थाका पदाधिकारीसँग पनि मन्त्री राणाले नेपाललाई मानवअधिकार परिषद्को सदस्यमा मत दिएर सहयोग गर्न आग्रह गरेकी थिइन् ।

मन्त्री राणा ६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबार जेनेभा गएकी थिइन् । उनी सहितको प्रतिनिधिमण्डल शुक्रबार बिहान १०ः३० मा काठमाठौँ आइपुग्ने कार्यक्रम रहेकोमा यहाँको मौसम खराब भएपछि दोहाबाट आएको कतार एयरवेजको विमान भारतको कोलकाता डाइभर्ट गरिएको थियो । त्यसपछि कोलकाताबाट अपराह्न मात्र उनी काठमाडौँ फर्किएकी थिइन् ।