`

बन्धक फिर्ताको वार्ताका लागि इजरायली प्रतिनिधिमण्डल कतार जाँदै

इजरायल । गाजा युद्ध र बन्धक सम्झौताका सम्बन्धमा वार्ता सुरु गर्न इजरायलले कतारको राजधानी दोहामा प्रतिनिधिमण्डल पठाउने तयारी गरेको छ।

प्रतिनिधिमण्डलमा इजरायली गुप्तचर निकाय मोसाद, शिन बेट वा इजरायली सुरक्षा निकाय, इजरायली रक्षा बल (आईडीएफ) का अधिकारीहरूले बिहीबार इजरायली प्रधानमन्त्रीको कार्यालयले सम्भावित बन्धक-युद्धविराम व्यवस्थाबारे छलफल गर्न प्रधानमन्त्रीले प्रतिनिधिमण्डलको कतार भ्रमणलाई स्वीकृति दिएको घोषणा गरेको थियो।

‘नेतन्याहुले मोसाद, शिन बेट र आईडीएफको कार्यकारी स्तरको प्रतिनिधिमण्डललाई दोहामा वार्ता जारी राख्न अनुमति दिनुभएको छ,” प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यसैबीच बन्धकका परिवारको प्रतिनिधित्व गर्ने नागरिक, स्वयंसेवकमा आधारित संस्था ‘द होस्टेज एण्ड मिसिङ फेमिलीज फोरम’ले नेतन्याहूको निर्णयको स्वागत गर्दै ’अवसरको ढोका’ गुम्न नहुने बताएको छ।

एक्समा इजरायली भाषामा पोस्ट भएको सन्देशमा फोरमले भनेको छ, ‘बन्धक र बेपत्ता परिवार फोरम इजरायली प्रतिनिधिमण्डललाई कतार पठाउने निर्णयको स्वागत गर्दछ। हामीले अवसरको ढोका गुमाउनु हुँदैन। प्रधानमन्त्रीले वार्ता टोलीलाई एक सम्झौतामा पुग्न अधिकार दिने र टोलीले हरेक बन्धकलाई फिर्ता गर्नेछ।’

निरन्तर घट्दै टेलिकम सेवाप्रदायकको राजस्वमा योगदान

काठमाडौं । पछिल्लो एक दशक टेलिकम सेवा प्रदायकका लागि प्रतिकूल रह्यो । यस अवधिमा केही सेवा प्रदायक बन्द भए भने यस क्षेत्रबाट हुने समग्र आम्दानीमा पनि सङ्कुचन आयो । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार सन् २०१५ सम्म छ वटा सेवाप्रदायक रहेकामा अहिले दुई वटा सेवा प्रदायक मात्र अस्तित्वमा छन् । सञ्चालनमा रहेका सेवा प्रदायकको आम्दानी पनि औसतमा २५ प्रतिशतले ओरालो लागेको छ ।

टेलिकम सेवा प्रदायकको आम्दानीमा सङ्कुचन आउँदा यसको सोझो असर राज्यले प्राप्त गर्ने राजस्वमा पनि परेको छ। विश्व बैंकले सार्वजनिक गरेको नेपालसम्बन्धी प्रतिवेदनमा सन् २०१६ मा टेलिकम सेवाप्रदायक क्षेत्रको मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा करिब चार प्रतिशत योगदान रहेकामा सन् २०२३ मा आइपुग्दा यो आधाभन्दा बढीले कम भएको छ ।

सन् २०१६ मा टेलिकम सेवाप्रदायकको जिडिपीमा तीन दशमलव नौ प्रतिशत योगदान रहेकामा सन् २०२३ मा आइपुग्दा एक दशमलव आठ प्रतिशतमा सीमित भएको छ । त्यति मात्रै होइन, त्यसयता टेलिकम सेवाप्रदायकको योगदान बर्सेनि घट्दो क्रममा छ । विज्ञहरु यदि समयमै नीतिगत सुधार नहुने हो भने टेलिकम सेवाप्रदायकको आम्दानी र सरकारले प्राप्त गर्ने राजस्व थप सङ्कुचित हुने बताउँछन् । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व कार्यकारी निर्देशक आनन्दराज खनालका अनुसार हाल टेलिकम कम्पनीहरु सङ्कटोन्मुख अवस्थामा छन् ।

टेलिकम कम्पनीको अनुमतिपत्र नवीकरण शुल्कदेखि, भाइबर, ह्वाट्स एप, इमोलगायत ओटिटी (ओभर दि टप) प्लेटफर्मलगायतका समस्या सम्बोधन नगर्ने हो भने टेलिकम कम्पनीलाई आगामी दिनमा व्यवसाय सञ्चालन गर्न गाह्रो हुने अवस्था आउनसक्ने उनको विश्लेषण छ ।

तथ्याङ्कअनुसार सन् २०१७ मा टेलिकम सेवाप्रदायकको जिडिपीमा योगदान तीन दशमलव चार प्रतिशत, सन् २०१८ मा तीन प्रतिशत, सन् २०१९ मा दुई दशमलव सात प्रतिशत, सन् २०२० मा दुई दशमलव चार प्रतिशत हुँदै सन् २०२१ मा दुई दशमलव दुई प्रतिशत र सन् २०२२ मा एक दशमलव नौ प्रतिशत सीमित भएको छ । महँगो सञ्चालन खर्च, बर्सेनि ठूलो लगानीका बाबजुद नियमनकारी निकायले सहजीकरण नगरिदिँदा सिर्जित समस्याका टेलिकम सेवाप्रदायकहरुले भोग्नु परेको विज्ञ खनालको बुझाइ छ ।

‘अर्बौं लगानी भइरहेका क्षेत्रमा सरकारले पनि सोहीअनुसार उनीहरुलाई आम्दानीका लागि सहजीकरण गरिदिनुपर्छ’, उनले भने, ‘जबसम्म कम्पनीहरुले आम्दानी गर्न सक्दैनन्, तब प्रभावकारी र गुणस्तरीय सेवाप्रवाह र विस्तार गर्न सक्दैनन्, त्यसैले ठूला लगानी भएका क्षेत्रमा पनि समान र न्यायोचित व्यवहारको आवश्यकता छ ।’

प्राधिकरणका अनुसार हाल सञ्चालनमा रहेका दुई सेवाप्रदायक नेपाल टेलिकम र एनसेलले मात्रै हालसम्म रु पाँच खर्बभन्दा बढी राजस्वमार्फत सरकारलाई योगदान गरिसकेका छन् र यो प्रत्येक वर्ष घट्दो अवस्थामा छ । त्यसबाहेक टेलिकम कम्पनीले जनतालाई सञ्चारको सुविधा उपलब्ध गराउँदै अर्थतन्त्रलाई विभिन्न आयामबाट चलायमान बनाइरहेका छन् । हाल यस क्षेत्रमा हाल ४० हजारभन्दा बढीले रोजगारी पाइरहेका छन् ।

नेपाल टेलिकमले आर्थिक वर्ष २०८०/८१ को वित्तीय प्रतिवेदनमा भ्वाइस, एसएमएस सेवासहित समग्रमा राजस्व घट्नुमा ओटिटी प्लेटफर्मको नकारात्मक प्रभाव नै भएको उल्लेख गरेको छ । साथै प्रविधिमा आएको परिवर्तनका कारण पिएसटिएन तथा एडिएसएल सेवाको राजस्व विगतका वर्षदेखि नै लगातार घट्दो क्रममा रहेको उल्लेख गरेको छ ।

बढ्दो प्रतिस्पर्धाका कारण नियमित रुपमा महसुल दरमा गर्नुपरेको कटौती, सस्तो दररेटमा उपलब्ध अफर प्याकेजका कारण साधारण महशुल प्रयोग गर्नेभन्दा प्याकेज प्रयोगकर्ता बढेपछि ग्राहक संख्या बढे पनि जिएसएम सेवाको राजस्व उक्त आर्थिक वर्षमा रु ४४ करोडले कम भएको नेपाल टेलिकमले जनाएको छ ।

‘दूरसञ्चार प्र्रविधिको विकास, इन्टरनेट सेवाको बढ्दो पहुँचका कारण ओटिटी (जस्तै भाइबर, ह्वाट्सएप, म्यासेञ्जर, इमो आदि) सेवाहरुको व्यापक प्रयोग, विदेशबाट हुने आगमन कल र मुलुकभित्रको कलको परिमाणमा असर परेका कारण अन्तरआबद्धता आय करिब रु ६८ करोडले कम भएको छ भने समग्रमा समीक्षा अवधिमा कूल आय सञ्चालन रु एक अर्ब ६५ करोडले सञ्चित भएको छ’, कम्पनीको आव २०७९/८० को वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

एनसेलका प्रमुख नियामक मामिला अधिकृत विशाल उपाध्याय सञ्चार क्षेत्रलाई पनि अन्य युटिलिटिज जस्तै सुविधा दिनुपर्ने आवश्यकता औँल्याउँछन् । उनका अनुसार जसरी पानी, बिजुली र सरसफाइका लागि नियम छ, त्यस्तै नियमन टेलिकम क्षेत्रमा पनि हुनुपर्ने देखिन्छ । ‘हामी सबैले खानेपानीका लागि मासिक रुपमा निश्चित शुल्क तिरिरहेका हुन्छौँ, बिजुली र फोहरको हकमा पनि त्यही हो, जबकी खानेपानी, बिजुली र फोहरसम्बन्धी सरकारले दिने सेवा टेलिकमको जस्तो गुणस्तरीय पनि छैन’, उनले भने, ‘बर्सेनि अर्बौं रुपैयाँ लगानी भइरहेको यस क्षेत्रको संरक्षण र विकासका लागि पनि सरकारले त्यसप्रकारको नीति ल्याउनु जरुरी भइसकेको छ ।’

हालै एक सार्वजनिक कार्यक्रममा एनसेलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) जाब्बोर कायुमोभले टेलिकम कम्पनीको आम्दानी मात्रै घटेका हिसाबले हेर्न नहुने उल्लेख गर्दै यसबाट मुलुकले पनि यस क्षेत्रबाट प्राप्त हुनसक्ने लाभ गुमाइरहेको धारणा राखे । उनले टेलिकम क्षेत्रका केही मुद्दा तत्काल नै सम्बोधन नभए अर्बौंको लगानी सङ्कटमा पर्ने दाबी गरे । उनले नेपालले पनि भारत सरकारले जस्तै टेलिकम कम्पनीलाई बचाउनका लागि केही नीतिगत सुधारमा जोड दिनुपर्ने आवश्यकता औंल्याए । साथै, दीर्घकालीन समयावधि मोडल र मूल्यस्फीतिका आधारमा टेलिकमको मूल्य समाजोजन गर्न सकिने उनको भनाइ छ ।

टेलिकम कम्पनी नियामकीय प्रावधानका कारण पनि आफूहरुको आम्दानी गुमिरहेको बताउँछन् । त्यसैमध्येको एक हो, टिएससी । सन् २०१८ मा १० प्रतिशतमा रहेको टिएससीलाई बढाएर १३ प्रतिशत बनाइयो । जुन वार्षिक रु सात अर्ब हुन्छ, भने यसमा डाटामा टिएससी लगाउँदा त्यो रकम वार्षिक रु पाँच अर्ब हुन्छ । साथै, स्पेक्ट्रममा बाँडफाँटमा ढिलाइ हुँदा पनि टेलिकमका सेवा प्रदायकलाई घाटा भएको देखिन्छ । डिजिटल भ्यालु एडेड सर्भिसेस (भिएएस) बाट वार्षिक झण्डै रु पाँच अर्ब लागत बढेको छ भने इन्टरकनेक्सन दर प्रतिमिनेट ५४ पैसाबाट प्रतिमिनेट एक पैसामा सीमित गर्दा टेलिकम सेवाप्रदायकको वार्षिक रु तीन अर्बभन्दा बढी गुमेको छ ।

खुम्चँदै आम्दानी
आठ वर्षअघि नेपाल टेलिकम र एनसेलको वार्षिक रु ९७ अर्ब आम्दानी गरिरहेकामा अहिले त्यो खुम्चिएर रु ७३ अर्बमा झरेको छ । एनसेलले गरेको एक अध्ययनअनुसार यही नीति कायम नै रहने हो भने आगामी दिनमा दुवै टेलिकमको आम्दानी अझ गुम्ने देखिन्छ । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भेषराज कँडेल टेलिकमको बजार बढ्दै जाने र आम्दानी घट्दै जानुको अर्थ केही नीतिगत रुपमा समस्या रहेको बुझ्न सकिन्छ । सरकारले ठूला लगानी भएका टेलिकम क्षेत्रका लागि पनि सञ्चालन र आम्दानीका लागि सहजीकरण गर्न आवश्यक रहेको उहाँको बुझाइ छ । टेलिकम क्षेत्रबाट हुने आम्दानी आठ वर्षमा झण्डै रु २५ अर्ब कम हुँदा राज्य कोषमा पनि असर पर्छ ।

घट्दो भ्वाइस र आइएलडीको आम्दानी
दुवै टेलिकम कम्पनीहरु भ्वाइस, डाटा र अन्तर्राष्ट्रिय कलबाट हुने आम्दानी सङ्कुचित हुँदै जानुमा ओटिटी प्लेटफर्म भएको बताउँछन् । यसका लागि सरकारले नीतिगत रुपमा समस्या सम्बोधन गर्नुपर्ने उनीहरुको बुझाइ छ । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक सङ्गीता पहाडीले नयाँ बन्न लागेको दूरसञ्चार ऐनको मस्यौदामा आफूहरुले यस प्रकारको समस्या समधान हुनेगरी सुझाव दिएको बताउँछिन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७३/७४ मा भ्वाइसबाट हुने आम्दानी रु ४३ अर्ब ५१ करोड ७० लाख रहेकामा आव २०७९/८० मा आइपुग्दा २५ दशमलव ११ प्रतिशतले घटेर रु ३२ अर्ब ५८ करोड ८० लाखमा सीमित भएको छ । साथै, सोही अवधिमा इन्टरनेशनल लङ डिस्टेन्स कल (आइएलडी)बाट हुने आम्दानी ५६ दशमलव ६४ प्रतिशतले ओरालो लागेको छ । अर्थात् आव २०७३/७४ मा नेपाल टेलिकम र एनसेलले अन्तर्राष्ट्रिय कलमार्फत रु २५ अर्बभन्दा बढी आम्दानी गरेकामा आव २०७९/८० मा आइपुग्दा रु १० अर्ब ८५ करोडमा सीमित भएको छ ।

डाटाको कमजोर खपत
एनसेलका अनुसार हाल ग्राहकहरुले औसतमा मासिक चार जिबी मात्रै डाटा खपत गरिरहेका छन् । दक्षिण एसियाका अन्य देशमा डाटाको खपत नेपालको तुलनामा अत्यधिक बढी छ । तथ्याङ्कअनुसार बङ्गलादेशमा १३ जिबी, भारतमा २० र पाकिस्तानको नौ जिबी डाटा मासिक रुपमा प्रत्येक ग्राहकले खपत गरिरहेको अवस्थामा नेपालमा भने विभिन्न कारणले खपत बढ्न सकेको छैन । विश्वमा औसत डाटा खपत प्रतिव्यक्ति २० जिबी छ । एनसेलले गरेको अध्ययनअनुसार ७७ प्रतिशत मोबाइल प्रयोगकर्ता ६० प्रतिशत समय वाइफाइ प्रयोग गरिरहेका छन् ।

नवीकरण शुल्कको मार
नेपालमा जिएसएम मोबाइलको नवीकरण शुल्क रु २० अर्ब छ । जुन आफैँमा निकै धेरै भएको यस क्षेत्रका जानकार बताउँछन् । जबकी टेलिकम कम्पनीहरुले जस्तै इन्टरनेट सुविधा दिने इन्टरनेट सेवाप्रदायकले नवीकरण शुल्क रु तीन लाख मात्रै बुझाए पुग्छ । तथ्याङ्कअनुसार अधिकांश प्रयोगकर्ता डाटाभन्दा बढी वाइफाइमा आबद्ध हुँदा टेलिकमको आम्दानी घट्दो छ भने इन्टरनेट सेवाप्रदायकको बढ्दो छ ।

घट्दो आम्दानी भइरहेको अवस्थामा रु २० अर्बको नवीकरण शुल्क निकै धेरै भएको जानकारहरुको बुझाइ छ । छिमेकी मुलुक भारतमा भने जिएसएम मोबाइलको नवीकरण शुल्क छदेखि १० प्रतिशत निर्धारण गरिएको छ भने आइएसपीको नवीकरण शुल्क आठ प्रतिशत छ । नेपालमा पनि नयाँ निर्माण हुन लागेको दूरसञ्चार ऐनको मस्यौदा पनि जिएसएम मोबाइलको नवीकरण शुल्क आठ प्रतिशत हुने उल्लेख छ । यद्यपि, यो अहिले निर्माणकै प्रक्रियामा छ ।

अदालतले पक्राउ पुर्जी जारी गरेपछि सार्वजनिक लेखा समितिका सभापतिका स्वकीय सचिव बर्खास्त

काठमाडौँ । संसदको सार्वजनिक लेखा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ठगीमा संलग्नको आरोप लागेका स्वकीय सचिव अनिलकुमार पोखरेललाई हटाएका छन् ।

संसद सचिवालयलाई पत्र लेखेर सभापति पोखरेलले स्वकीय सचिवलाई हटाएका हुन् । उच्च अदालत विराटनगरले सभापति पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेललाई ठगीमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई परमादेश दिएको थियो ।

मोरङको रंगेली नगरपालिका–२ का पोखरेललाई एमबीबीएसमा नाम निकालिदिने भन्दै रकम ठगी गरेको आरोप लागेको छ । छोरीलाई पार्टीको कोटाबाट एमबीबीएसमा नाम निकालिदिने भनी पोखरेलले आफूसँग ३८ लाख ३० हजार रुपैयाँ लिएको आरोप सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–५ बकधुवा निवासी बौआलाल चौधरीको छ ।

भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक नेतृत्वको निष्ठा चाहिन्छः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा सुशासन स्थापित गर्न राजनीतिक नेतृत्वको नियत सफा हुनुपर्ने बताएका छन् ।

शुक्रबार नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सुशासनका लागि आदर्शका कुरा गरेर नहुने बरु नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताएका हुन् ।

उनले नेपाली समाजले राजनीतिक दलहरु र सरकारबाट त्यो महसुस गरेको छ त भन्दै प्रश्न गरेका छन् ।

उनले भने, ‘के हामी भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा निष्ठापूर्वक जसरी जानुपर्ने हो त्यसरी गएका छौं त ? नेपाली समाजले राजनीतिक दलहरु र सरकारबाट त्यो महसुस गरेको छ त ?’

उनले आफूले पछिल्लोपटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध सुशासनका पक्षमा, सामाजिक विभेदका विरुद्ध सामाजिक न्यायका पक्षमा र आर्थिक समस्याबाट देशलाई राहत दिने पक्षमा इमान्दारिताका साथ काम गरेको दाबी गरे ।

नेपालको राजनीतिक परिवर्तन ल्याउन र त्यसलाई स्थायित्व दिन नेपाली पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको स्पष्ट गर्दै उनले अहिलेको चुनौतीलाई सामना गर्न पनि पत्रकार महासंघले आफूलाई दृढतापूर्वक अघि बढाउनुपर्ने बताए ।

सुनको मूल्य तोलामा दुई हजारले बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र नेपाली बजारमा माग बढेसँगै शुक्रबार सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँ बढेको हो ।

बिहीबार प्रतितोला एक लाख ५१ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य शुक्रबार एक लाख ५३ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेको छ । आज नेपाली बजारमा चाँदी प्रतितोला एक हजार आठ सय १० मा कारोबार हुनेछ ।

समर्थकहरुको विरोधपछि दक्षिण कोरियाका निलम्बित राष्ट्रपतिलाई पक्राउ गर्ने प्रयास स्थगित

बीबीसी । अख्तियारको दुरुपयोग गरेको विषयमा अनुसन्धान गर्ने दक्षिण कोरियाली निकायका अनुसन्धानकर्ताहरूले महाभियोग लागेर निलम्बनमा परेका राष्ट्रपति यून सुक यउललाई नियन्त्रणमा लिने प्रयासलाई स्थगित गरेका छन् ।

विज्ञप्तिमा अनुसन्धानकर्ताहरूले ‘निरन्तरको गतिरोधका कारण उनलाई पक्राउ गर्न व्यावहारिक रूपमा असम्भव देखिएको’ बताएका हुन् । ‘हामी कार्यस्थलमा रहेका हाम्रो टोलीको सुरक्षाबारे संवेदनशील छौँ। हामीले आरोप लागेका व्यक्तिले कानुनी प्रक्रियालाई अस्वीकार गर्ने प्रवृत्ति देखाएको पाएका छौँ…। उक्त कार्य व्यापक रूपमा निन्दनीय छ,’ वक्तव्यमा भनिएको छ ।

यउललाई पक्राउ गर्न के गर्ने भन्ने विषयमा पुनः एक पटक छलफल गरेर मात्र तय गरिने उनीहरूले जनाएका छन् ।

अनुसन्धानकर्ताहरूले निलम्बित राष्ट्रपति यउललाई पक्राउ गर्ने कार्यलाई स्थगित गरेपछि उनको निवासअगाडि जम्मा भएका समर्थकहरूले चाहिँ ‘हामीले जित्यौँ’ भन्दै नारा लगाएका छन् । उनलाई पक्राउ गर्न खोज्दा शुक्रबार बिहानैदेखि नाटकीय घटनाहरू भएका थिए ।

यउललाई पक्राउ गर्नका लागि उनको घरमा पुगेका प्रहरी अधिकारीहरूले उक्त स्थान छाडेका छन् । डिसेम्बर महिनाको सुरुमा छोटो अवधिका लागि कायम रहेको ’मार्शल ल’ लागु गरेको आरोपमा उनलाई पक्राउ गर्न खोजिएको हो ।

स्थानीय समयअनुसार बिहान ८ बजे सुरुमा २० जना प्रहरी अधिकारीहरू यउलको घरतर्फ गएका थिए । तर पछि उक्त सङ्ख्या बढाएर ८० पुर्याइएको थियो । यउलका वकिलहरूले उनीविरुद्ध जारी भएको पक्राउपुर्जीलाई ‘कानुनविपरीत’ भन्दै त्यसलाई चुनौती दिने बताउँदै आएका छन् । यउलको सुरक्षा दिने फौजले पनि उनलाई पक्राउ गर्नबाट रोकेको थियो ।

यसै साताको सुरुमा सोलस्थित एक अदालतले यउलविरुद्ध पक्राउपुर्जी जारी गरेको थियो । उनले डिसेम्बर ३ मा देशमा मार्शल ल लागु गर्ने प्रयास गरेका थिए। सोही आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

उनीमाथि देशद्रोहसहितका आरोपहरूमा अनुसन्धान भइरहेको छ । त्यसक्रममा उनलाई अदालतले सोधपुछका लागि तीन पटक बोलाइसकेको छ । तर उनले त्यसको अवज्ञा गर्दै अदालतमा उपस्थित नभएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

गुप्तेश्वर महादेव मन्दिर संरक्षणमा स्थानीय सरकार

भोजपुर। रामप्रसादराई गाउँपालिका–३ भुल्केमा रहेको गुप्तेश्वर महादेवको मन्दिर स्थानीय सरकारको सक्रियतामा निर्माण सम्पन्न भएको छ ।

केन्द्र सरकारको  ३० लाख र गाउँपालिकाको  ४० लाख गरी  ७० लाख लागतमा मन्दिर र मन्दिर परिसरमा भौतिक संरचना निर्माण गरिएको हो ।

आफ्नो वडाका धार्मिक तथा पर्यटकीय क्षेत्रसँगै जलाधार क्षेत्रको संरक्षणलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिँदै वडाध्यक्ष रामु थापाले तीनधारे र भुल्के मुहानलाई जलवायु अनुकूलन कार्यक्रमअन्तर्गत संरक्षण गरिएको बताए ।

सुक्खा क्षेत्रका प्राकृतिक मुहानहरुको संरक्षणका लागि ‘रिचार्ज’ पोखरीसमेत निर्माण गरिएका उनले जानकारी दिए।

गुप्तेश्वर महादेव मन्दिरमा राम नवमी र बालाचर्तुदशीमा मेला लाग्ने गरेको छ । भोजपुर र खोटाङसँगै देशका विभिन्न स्थानबाट भक्तजन पूजार्चनाका निम्ति यहाँ आउने गरेका छन् ।

नेपाललाई ५० मिलियन डलर अनुदान थप गर्ने एमसीसी बोर्डको निर्णय

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपालमा दिने अनुदानमा ५० मिलियन अमेरिकी डलर थप गरेको छ । बिहीबार बसेको  एमसीसीको बोर्ड बैठकले अनुदानमा बन्ने परियोजनामा केही ढिला भएपछि ५० मिलियन डलर थप गर्ने निर्णय गरेको हो ।

‘अतिरिक्त अनुदानले नेपालको विद्युत ग्रिडलाई सुदृढ गर्न र दीर्घकालीन आर्थिक वृद्धिलाई समर्थन गर्न कम्प्याक्टको सफलता सुनिश्चित गर्न हाम्रो आपसी समर्पणलाई पुनः पुष्टि गर्दछ,’ एमसीसी कम्प्याक्ट अपरेसनका उपाध्यक्ष क्यामरन अल्फोर्डले भनेका छन् ।

मिलेनियम च्यालेन्ज कर्पोरेशन एक स्वतन्त्र अमेरिकी सरकारको विकास एजेन्सी हो, जसले आर्थिक वृद्धिमार्फत विश्वव्यापी गरिबी कम गर्न काम गर्दछ। २००४ मा सिर्जना गरिएको एमसीसीले समय–सीमित अनुदानहरू प्रदान गर्दछ जसले पूर्वाधारमा लगानीलाई नीति र संस्थागत सुधारहरूसँग जोड्दछ ।

मुगुमा भूकम्प

काठमाडौं । मुगुमा भूकम्प गएको छ । शुक्रबार बिहान ८ बजेर ३ मिनेटमा मुगुको लुमा क्षेत्र केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

बिहीबार दिउँसो सिन्धुपाल्चोक केन्द्र बनाएर भूकम्प गएको थियो । पश्चिम नेपालमा भने केही समयदेखि निरन्तर भूकम्प गइरहेको छ ।

सशस्त्र प्रहरीले माग्यो एक हजार भन्दाबढी कर्मचारी

काठमाडौं । सशस्त्र प्रहरी बलले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । सशस्त्र प्रहरीले प्रहरी निरीक्षकदेखि प्रहरी परिचरसम्मका कर्मचारी माग गरेको हो । सशस्त्र प्रहरीको मानवस्रोत विभागले कुल एक हजार एकसय ७९ जना जनशक्ति माग गरेको हो ।

जस अनुसार ६८ जना निरीक्षक, ८३ जना सहायक निरीक्षक, ९४१ जना जवान, २० जना भान्से, १९ जना कुचिकार, १० जना सूचिकार, २५ जना केशकर्तक र १४ जना चर्मकर्मी माग गरिएको हो ।

जिप दुर्घटनामा परी बझाङमा पाँच जनाको मृत्यु

बझाङ । बझाङको मष्टा गाउँपालिका–१ कोटदेवलमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मष्टा गाउँपालिका–१ रनाडाका ४२ वर्षीय धर्म थापाका मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज भण्डारीले जानकारी दिए ।

बिहीबार राति भातेखोलाबाट रनाडा जाने क्रममा सुदूरपश्चिम प्रदेश ००१ ज १३९८ नम्बरको जिप मष्टा गाउँपालिका–१ कोटदेवलमा दुर्घटना भएको उनले बताए । जिप सडकबाट करिब सय मिटर तल खसेको छ । जीपमा चालक थापा मात्र थिए ।

बिहीबार राति नै तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आइरहेको जिप धमेना नजिक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो ।

बझाङको तलकोटबाट चैनपुर आउँदै गरेको जिप , तीन जनाको घटनास्थलमै मृत्यु

बझाङ । बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।  तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर आउने क्रममा बिहीबार राति  धमेना नजिकै जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईले जानकारी दिए ।

दुर्घटनामा घाइते एक बालिकालाई उपचारका लागि जिल्ला अस्पतालतर्फ ल्याउँदै गरेको प्रजिअ भट्टराईले बताए । जिपमा कति जना सवार थिए भन्ने एकीन जानकारी नआएको उनले बताए । अहिले प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्ना नेतृत्वको टोली घट्नास्थलतर्फ गएको छ ।

नेपाल प्रहरीका पाँच एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका पाँच जना वरिष्ठ उपरीक्षक (एसएसपी), नायब महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।

बुधबार बसेको बढुवा समितिको बैठकले डीआईजीहरू ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलियालाई बढुवाका लागि सिफारिस गरेको हो ।

बूढानीलकण्ठमा प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच दुई घण्टा वार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओली पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न बिहीबार उनको निवास बूढानीलकण्ठ पुगेका थिए ।

करिब दुई घण्टा भएको भेटमा नेकपा (एमाले)को पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव मीना भण्डारीले जानकारी दिइन् ।

बाख्रा पालेर वार्षिक पाँच लाख भन्दाबढी आम्दानी

दाङ ।  दाङको घोराही उपमहानगरपालिका–६ बचाहाका बालकृष्ण खनालले व्यावसायिक बाख्रा पालनबाट वार्षिक पाँच लाख ५० हजार आम्दानी गर्दै आएका छन् । उनले प्रकृति बाख्रा फार्म दर्ता गरेर व्यावसायिक रूपमा बाख्रा पालन गर्दै आएका हुन् ।

घरमा आमाले घर खर्चका लागि पालेका पाँच वटा बाख्रालाई बढाउँदै अहिले ७० पुर्‍याएको खनालले बताए। उनका अनुसार अहिले खोरमा ५० माउ र २० वटा खसी छन् ।

‘राम्रै छ बजार, दुईटा बोका बेच्यो कि तीस हजार, चिन्ता छैन क्यै । मलाई अमेरिका यै, मलाई जापान पनि यै, मलाई अस्ट्रेलिया यै’ भन्ने लोकगायक पशुपति शर्माको यो मेरो जीवनसँग ठ्याक्कै मिलेको छ’, खनालले भने । अहिले जाडो मौसममा दिउँसोको पारिलो घाममा बाख्राले आनन्द लिने भएकाले खोर बाहिर राख्ने गरेको उनले बताए। खनालले बाख्राका लागि दिउँसो र रातमा बस्ने व्यवस्थित खोर बनाएका छन् ।

‘अहिले सोचेजति नाफा नभए पनि लगानी भने उठिरहेको छ, वार्षिक पाँच लाख ५० हजारसम्म आम्दानी हुन्छ । घरखर्च यसैबाट चलेको छ, बचत भने खासै भएको छैन’, उनले भने, ‘युवाले स्वदेशमा नै निरन्तर मेहनत गर्ने हो भने सफलता अवश्य हात लाग्छ ।’

‘पछिल्लो समय रोजगारीका लागि विदेश जाने युवाले यहाँ केही गर्नुपर्छ अर्काको देशमा बगाउने पसिना आफ्नै भूमिमा बगायो भने यही सुन फल्छ’, खनालले भने।

आफ्नै जमिनमा लगानी गरी खोर तयार गरेर बाख्रा पालन सुरु गरेको उनले बताए। सङ्घ, प्रदेश र स्थानीय तहले किसानलाई सहयोग गरेको भन्ने सुने पनि आफूले अहिलेसम्म कुनै निकायबाट सहयोग नगरेको उनले गुनासो गरे।

‘लगानी लगाउने बित्तिकै आम्दानी वा नाफा खोज्नु हुँदैन, धैर्य गरेमा सफल भइन्छ । निरन्तर मेहनत भने गर्नुपर्छ’, खनालले भने। हालसम्म १२ लाख लगानी गरेर व्यवस्थित दुई वटा खोर बनाएको बताउँदै उनले गत दसैँमा मात्र पाँच लाख ५० हजारको खसीबोका बेचेको जानकारी दिए। एउटा खसीलाई ६० हजारसम्म बाख्रा बिक्री गरेको उनले उल्लेख गरे।

अहिले खोरमा बिक्री गर्न १५ वटा खसीबोका तयार रहेका खनालले बताए। दाङसहित रोल्पा, रुकुम र प्यूठानबाट पनि ग्राहक बाख्रा खोज्न आउने उनले उल्लेख गर्दै भने, ‘बाख्रा खरिद गर्न व्यापारी घरमा आउँछन्, गत दसैँमा मात्रै पाँच लाख ५० हजारको खसीबोका बिक्री भएको थियो ।’ यो वर्षको बिस्तारै आम्दानी बढ्ने अपेक्षा रहेको बताउँदै खोर बनाउँदाको रकम चुक्ता भएपछि मुनाफामा जाने उनले उल्लेख गरे ।

आम्दानी बढ्दा लगानी पनि बढाउन मन लाग्ने भन्दै उहाँले स्थानीय निकायले आर्थिक तथा प्राविधिक सहयोग गरी युवालाई स्वरोजगारका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए । स्वदेशमै केही गर्न चाहने किसानले उत्पादन गरेका वस्तुलाई सरकारले अनुदानका कार्यक्रममा जोडेर सहयोग गरेमा काम गर्न अझै हौसला मिल्ने उनको भनाइ छ ।

केयुको उपकुलपतिका लागि आवेदन माग

काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि आवेदन माग गरिएको छ । उपकुलपति छनोट सिफारिस समितिले बिहीबार १० दिनको समय दिएर खुला आवेदन माग गरेको हो ।

मान्यताप्राप्त विश्वविद्यालयबाट विद्यावारिधि वा सो सरहको उपाधि प्राप्त गरेको व्यक्तिले उपकुलपतिका लागि आवेदन दिन सक्नेछन् ।

त्यसैगरी कार्यविधिअनुसार कुनै पनि विश्वविद्यालयको प्राध्यपक पदमा नियुक्त भई काम गरेको अनुभव र दरखास्त दिनुअघि कुनै पनि राजनीतिक दलको सदस्य नरहेको व्यक्तिले पनि उम्मेदवारी दिन पाउनेछन् ।

झाराटारा किसिमले पार्टी चल्नेवाला छैन, ‘सिरियस’ बनौंः नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले झाराटारा गरेर पार्टी नचल्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले बिहीबार सय दिने अभियानअन्तर्गत आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका आन्तरिक गतिविधि झाराटारा किसिमले गरेर नहुने बताएका हुन् ।

पार्टीको संगठनलाई कागजी रुपमा मात्रै सीमित गर्न नहुने भन्दै उनले पार्टीलाई बलियो ढंगले अघि बढाउन सबै लाग्नुपर्नेमा जोड दिए ।

पार्टीभित्र असल संस्कार स्थापित गर्नुपर्ने भन्दै उनले अस्वस्थ संस्कारले कसैलाई फाइदा नगर्ने बताए । सिंहले कागजमा मात्र सदस्य संख्या भएर नहुने भन्दै उनले पार्टीका कार्यक्रमहरूमा सहभागिता बढाउनुपर्ने बताए ।

‘पार्टी केन्द्रले भन्यो, जिल्लाले सर्कुलर गर्याे । गर्नुपर्ने भएको हुनाले कार्यक्रम गरेको भनेर भएन । झारा टारेर, आलटाल गरेर पार्टी चल्नेवाला छैन । सिरियस्ली लाग्नुपर्याे हामीसबै,’ उनले भने ।

मुलुकको स्थायीत्व र विकासको नेतृत्व कांग्रेसले गर्नुपर्ने र त्यसका लागि पार्टीलाई व्यवस्थित राख्नुपर्नेमा सिंहले जोड दिए ।

ठूला दल मिलेर सरकार बनाएको प्रति नकारात्मक टिकाटिप्पणी हुने गरेको भन्दै सिंहले जनताको राजनीतिक स्थायीत्व र स्थीरताको चाहनाअनुसार नै ठूला दल मिल्नुपरेको धारणा राखे ।

‘पहिला सरकार बनेको केही हप्ता, महिनामा स्क्याण्डलहरू आउँथ्यो । राजनीति स्थीरता दिन्छौं भनेर बनेको कांग्रेस– एमालेको सरकार बनेपछि तपाईहरूले के त्यस्तो स्क्याम सुन्नुभएको छ ?’, उपप्रधानमन्त्री सिंहले भने ।

त्यस्तै उनले सरकार विधिको शासनमा प्रतिवद्द रहेको भन्दै बदमासी गर्नेमाथि विधिअनुसारनै अनुसन्धान र कारवाहीको प्रक्रिया अघि बढ्ने र अन्तिम फैसला सर्वाेच्च अदालतले गर्ने पनि बताए ।

सिंहले बिभिन्न आन्दोलनबाट प्राप्त अधिकारलाई सुरक्षित राख्दै मुलुकलाई आर्थिक लगायतका विकासतर्फ अघि बढ्नुपर्ने पनि बताए ।

परराष्ट्रमन्त्री राणाद्वारा प्रथम महिला राजदूत शाहप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालका प्रथम महिला राजदूत स्वर्गीय विन्देश्वरी शाहप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् ।

पूर्वराजदूत शाहको ९२ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो । मन्त्री डा राणाले  दिउँसो काठमाडौँको कालिमाटीस्थित स्वर्गीय शाहको निवासमा पुगेर उनको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली दिएकी हुन् । 

परराष्ट्र सेवामा रहेकी शाह विसं २०४४ मा भारतका लागि नेपाली राजदूत नियुक्त भएकी थिइन् ।

प्रदेशले सरकारले संशोधन गरेको कानुनका कारण महानगरको आय घटेको छ, यो नीतिगत भ्रष्टाचार हो : मेयर साह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले प्रदेश सरकारले आर्थिक ऐन संशोधन गरेर स्थानीय सरकारले प्राप्त गरिरहेको मनोरञ्जन शीर्षकबाट प्राप्त हुने राजस्व घटाइदिएको भन्दै आपत्ति जनाएका छन् ।

बिहीबार लेखा परीक्षणको प्रारम्भिक बैठकमा मेयर साहले प्रदेश सरकारले आर्थिक ऐन संशोधन गरेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले भने, ‘पहिले आकाशे शिशाको पुलमा ५ प्रतिशत थियो । यसबाट महानगरपालिकाले वार्षिक २३ लाख ८६ हजार रुपैयाँ राजस्व प्राप्त भएको थियो । अहिले वार्षिक ५० हजार रुपैयाँ तोकिएको छ । यसबाट सोझै २३ लाख ३० हजार रुपैयाँ राजस्व घटेको छ । पहिले क्यासिनोमा खर्च गरिएको रकमको ५ प्रतिशत शुल्क थियो । अहिले प्रति टिकटमा ५० रुपैयाँ तोकिएको छ । पहिले मेला महोत्सव, कन्सर्ट, जादु सर्कसमा प्रवेशको ५ प्रतिशत कर थियो । अहिले महानगरपालिकाभित्र प्रतिदिन १५ हजार रुपैयाँ तोकेको छ ।’

उनले भने,‘यसरी राजस्व घटेपछि महानगरपालिकाले चलचित्र, कला तथा सिर्जनाको प्रोत्साहन तथा प्रवद्र्धनमा कार्यक्रममा बजेट राख्न पाएन । अर्कोतिर संविधानले स्थानीय सरकारको एकल अधिकारका रुपमा दिएको वहाल कर संघीय सरकारले संकलन गरिरहेको छ । यसबाट पनि महानगरपालिकाको आय घटेको छ । नीतिगत यस्ता विषयलाई पनि लेखा परीक्षणका क्रममा औल्याउनु पर्छ ।’

वित्तीय अनुशासनमा नियामक निकायबाट प्राप्त भएका सुझावलाई योजना तथा कार्यक्रम तर्जुमादेखि नै कार्यान्वयन गरिएको मेयर साहको भनाइ छ ।

लेखा परीक्षण अधिकारीसँगका अपेक्षासँगै मेयर साहले विभागीय प्रमुख र खर्च गर्ने अधिकारीहरुलाई परीक्षणका क्रममा माग गरिएका विवरण, आधार, प्रमाण र कारणहरु तत्काल उपलब्ध गराउन निर्देशन दिए ।

बैठकमा उपमेयर सुनिता डंगोल, नायव महालेखा परीक्षक ताराप्रसाद पाण्डे, निर्देशक कल्पना अर्याल पोखरेल, लेखा परीक्षण अधिकारी रामकृष्ण पोखरेल, गीता पन्थी र राजु पाण्डेसहित महानगरपालिकाका विभागीय प्रमुखहरु सहभागी थिए ।

त्यस क्रममा उपमेयर सुनिता डंगोलले, कानुनले दिएका अधिकारलाई करदाताप्रति जिम्मेवार भएर परीक्षण कार्य सम्पन्न हुने अपेक्षा राखिन् । महानगरपालिकाले वित्तीय सुशासनका लागि पूर्व लेखा परीक्षण, आन्तरिक लेखा परीक्षण र अन्तिम लेखा परीक्षण गरी ३ चरणमा लेखा परीक्षण गर्ने गरेको छ ।

वित्त विभागका प्रमुख डा. शिवराज अधिकारीका अनुसार महानगरपालिकाको केन्द्र, ३२ वटा वडा, हनुमान ढोका दरबार संरक्षण कार्यक्रम र जग्गा एकीकरण आयोजना गरी ३५ वटा एकाइको छुट्टाछुट्टै परीक्षणबाट प्रारम्भिक प्रतिवेदन तयार हुनेछ ।

सरकार सहकारी ठगीमा जोडिएका आफ्ना मान्छे जोगाउने काममा लागेको माओवादीको आरोप

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारले कांग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा एमालेका नेता ऋषिकेश पोखरेललाई सहकारी ठगी प्रकरणमा दोषी देखिएपनि संरक्षण गर्ने काम गरेको आरोप लगाएको छ ।

बिहीबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले आफ्नालाई जोगाएर टाढाका मान्छेलाई छानीछानी कारबाही गर्ने काम गरिरहेको बताए ।

उनले यसबाट सरकार भ्रष्टाचारको संरक्षक बनेको स्पष्ट भएको बताए । उनले भने, ‘राम्रो काम गर्नेलाई हटाउने । आफ्नालाई जोगाउने कांग्रेस उपसभापति धनराज गुरुङ सहकारीमा जोडिएको सिँधै छ तर कुनै कारबाही नै छैन । लेखा सभापति ऋषिकेश पोखरेललाई पनि संरक्षण गरिरहेको छ ।’

त्यस्तै, उनले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङको उदाहरण दिँदै सरकारले राम्रो काम गर्नेलाई हटाउन खोजिरहेको पनि बताए ।

सरकार विचार–शून्य रहेको भन्दै मूल्य, मान्यता र आदर्शपनि सरकारमा नरहेको उनले आरोप लगाए । बैठकले सरकार उल्टो बाटो हिँडेको निष्कर्ष पनि निकालेको छ ।

सापकोटाले भने, ‘विद्युत प्राधिकरणमा राम्रो काम भइरहेको छ तर सरकार कुलमानलाई हटाउन खोज्दैछ । अनि अदालतले दोषी ठहर्यााएको मान्छेबाट जग्गा दान लिने काम प्रथम दृष्टिमै भ्रष्टाचारलाई पक्षपोषण गर्ने कुरा हुन्छ । यसबाट सरकार असफल हुँदै गएको स्पष्ट भएको छ ।’

पिलीमा ‘युद्ध सङ्ग्रहालय’ निर्माण गरिँदै

मीमबहादुर रावल, मान्म (कालीकोट) । कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका–७ को पिलीमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘युद्ध सङ्ग्रहालय’ निर्माण गर्न थालिएको छ । भौगोलिक रूपमा विकट मानिने कालीकोटको पर्यटन प्रवर्द्धनका लागि युद्ध सङ्ग्रहालय निर्माणदेखि द्वन्द्वका बेलाको स्मरण गर्न स्मारक निर्माण थालिएको हो ।

कालीकोट १० वर्षे सशस्त्र द्वन्द्वकालको समयमा अत्यन्त्यै प्रभावित जिल्ला भएकाले सो समयमा जिल्लावासीले कयौँ सास्ती भोग्नुपरेको थियो । द्वन्द्वकालमा भएका ठूला युद्धमध्येको कालीकोटको पिलीमा पनि भएको थियो । सोही स्थानमा कर्णाली प्रदेश सरकारको लगानीमा तीव्र गतिमा युद्ध सङ्ग्रहालय निर्माण भइरहेको छ ।

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ देखि बर्सेनि बजेट विनियोजन गरेर प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत डिभिजन वन कार्यालय कालीकोटले युद्ध सङ्ग्रहालय निर्माणलाई निरन्तरता दिइरहेको खाँडाचक्र नगरपालिकाका प्रमुख कमलबहादुर शाहीले बताए । आन्तरिक तथा बाह्य पर्यटकलाई अध्ययन तथा अनुसन्धानको केन्द्र बनाउँदै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँ सङ्ग्रहालय निर्माण थालिएको उनले उल्लेख गरे ।

“नगरपालिकाले पनि सङ्ग्रहालय निर्माणमा सहयोग गरिरहेको छ”, नगरप्रमुख शाहीले भने, “प्रदेश सरकारको लगानीमा सङ्ग्रहालय बनिरहेको छ, यसले आन्तरिक आम्दानी वृद्धि हुने, युद्ध भएको स्थानबारे प्रचारप्रसार भई पर्यटक आगमन बढ्ने र द्धन्द्धकालका बारेमा अध्ययन, अनुसन्धान गर्न चाहनेका लागि उत्कृष्ट गन्तव्य हुने विश्वास लिएका छौँ ।”

द्वन्द्वको बेला तत्कालीन शाही सेना र माओवादी सेनाको अन्तिम भिडन्त भएको ठाउँ पिलीलाई युद्ध पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न स्थानीय, स्थानीय सरकार र प्रदेश सरकारले पहल गरिरहेको उनको भनाइ छ ।

“विसं २०६२ साउन २३ गते विद्रोही र तत्कालीन शाहीबीच दोहोरो भिडन्त हुँदा एक सय तीन जनाको ज्यान गएको पिली गाउँलाई युद्ध पर्यटकीयस्थलका रूपमा विकास गर्ने लक्ष्य गाउँले लिएको छ”, स्थानीय मानबहादुर मल्लले भने । सो समयमा सबैभन्दा बढी मानवीय क्षति भएकाले यसलाई युद्ध पर्यटन क्षेत्रका रूपमा विकास गर्न खोजिएको उनले उल्लेख गरे ।

कर्णाली राजमार्ग हुँदै जुम्ला र मुगुको राराताल जाने बीच बाटोमा पर्ने भएकाले यहाँ पर्यटकको आगमन बढाउन सकिने भन्दै यो ठाउँ द्धन्द्धकालका बारेमा अध्ययन, अनुसन्धान गर्न चाहनेका लागि महत्वपूर्ण हुनसक्ने स्थानीय रामबहादुर कार्कीले विचार राखे ।

“द्धन्द्धका कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय चर्चामा रहेको पिलीलाई सधैँभर जीवन्त राख्ने, युद्धको अवशेषहरू देखाउने र पर्यटनका माध्यमबाट स्थानीयको जीवनस्तर उकास्ने उद्देश्यले पर्यटकीय गाउँका रूपमा विकास गर्न थालेकान हौँ”, उनले भने, “युद्ध पर्यटकीयस्थल र लडाइँ भएका ठाउँमा भग्नाअवशेष र लडाइँमा प्रयोग भएका बङ्करको संरक्षण गर्ने तयारी थालिएको छ । लडाइँ प्रयोग भएका हतियारसमेत सङ्कलन गर्ने तयारी छ ।”

आव २०७६/७७ मा एक करोड ५० लाख बजेट विनियोजन भएकामा सो रकमबाट घरबास (होमस्टे) सहित तीन वटा भवन, करिब सात सय मिटर रेलिङसहितको सिँढी निर्माण भएका खाँडाचक्र नगरपालिकाका प्रमुख शाहीले जानकारी दिए ।

“त्यसअघि र पछि गरेर तीन करोड खर्च भइसके पनि नयाँ बन्ने संरचनाको काम सुरु भएको छैन । पिलीका लागि सङ्घीय संरचना नबन्दै तत्कालीन दाँहा गाविस, जिल्ला विकास समिति कालीकोट, नागरिक तथा पर्यटन उड्डयन मन्त्रालयलगायत निकायको समन्वयमा ती संरचना निर्माण भएका हुन् । कोभिड–१९ पछि भने बजेट विनियोजन भएको थिएन”, उनले भने ।

भ्युटावरसहित अन्य संरचना बन्दै

डिभिजन वन कार्यालय कालीकोटमार्फत पिलीमा युद्ध पर्यटकीय क्षेत्र बनाउन विभिन्न पूर्वाधारका काम भइरहेका छन् । यहाँ युद्ध सङ्ग्र्रहालय, रेलिङसहित करिब एक हजार नौ सय मिटर पैदलमार्ग, पौडी पोखरी, सवारीस्थाल, प्रवेशद्वार, भ्यटावर, टिकट काउन्टर, बुट्यानसहितका दुई वटा चौतारा, शौचालय र गेट निर्माण गरिएको डिभिजन वन कार्यालयका प्रमुख महेश कुमाईले जानकारी दिए ।

सङ्ग्रहालय निर्माण अन्तिम चरणमा पुगेको बताउँदै ८५ प्रतिशत भौतिक प्रगति र ५७ प्रतिशत वित्तीय प्रगति भएको उनले जानकारी दिए । अहिले बाहिरी आवरण र रङ्गरोगनको काम भइरहेको छ ।

विसं २०८४ असार २२ गतेसम्म काम सम्पन्न गर्नेगरी विसं २०७९ असार २३ गते छ करोड ८९ लाख ९९ हजारमा ठेक्का सम्झौता भएको थियो । डिभिजन वन कार्यालयका प्रमुख कुमाईले अहिले तीव्र रूपमा निर्माण अघि बढेको जानकारी दिए ।

युद्धस्थलका रूपमा चिनिएको पिलीलाई पर्यटकीय गन्तव्यमा रुपान्तरण गर्न सके स्थानीयको आयआर्जन वृद्धि हुनुका साथै रोजगारीका अवसर सिर्जना हुने प्रमुख कुमाईले बताए ।

“यहाँ उत्पादन हुने स्थानीय वस्तु र व्यवसाय प्रवर्द्धनमा सहयोग पुग्नेछ”, उनले भने, “घटनासँग सम्बन्धित विषय र सामग्री सङ्ग्रहालयमा राखेपछि अवलोकन, अनुसन्धान गर्ने आन्तरिक र बाह्य पर्यटक पनि बढ्नेछन् । अब यो पिलीको डाँडा मात्र नभई पर्यटकीय गन्तव्यका रूपमा चिनाउन जरुरी छ ।”

आन्तरिक पर्यटकको रोजाइमा पिली

पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पिली पर्न थालेको छ । यहाँ बनेका संरचना र कर्णाली राजमार्गको सिरानमा पर्यटकीय क्षेत्र विस्तार भएपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्न थालेको हो ।

पिली द्धन्द्धसम्बन्धी अध्ययन र अनुसन्धान गर्नेका लागि आकर्षण केन्द्र बनेको भन्दै प्रमुख पर्यटकीय गन्तव्य राराताल र जुम्ला पुग्ने पर्यटकलाई यहाँ रोकिराख्न पनि यो स्थान महत्वपूर्ण हुने कर्णाली प्रदेशसभाका सांसद दुर्गबहादुर रावतले बताए ।

“पिली रारा तथा जुम्ला जाने सडक नजिकपर्ने भएकाले पनि आन्तरिक पर्यटकको रोजाइ पर्ने गरेको छ”, उनले भने, “अहिले यो पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गएको छ ।” उनले यस क्षेत्रको प्रचारप्रसार, थप पूर्वाधार निर्माणलगायत काममार्फत पर्यटन प्रवर्द्धनमा प्रदेश र सङ्घीय सरकारले योजनाबद्ध रूपमा काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

युद्धमा प्रयोग भएका हातहतियार र अन्तिम युद्ध भएको ठाउँको इतिहासलाई महसुस गर्ने सामग्री राख्ने गरेर संरचना तयार गरिएको खाँडाचक्र नगरपालिकाले जनाएको छ । युद्धका बेला दुवै पक्षले प्रयोग गरेका बङ्कर हातहतियारसमेत संरक्षण गर्नु आवश्यक देखिएकाले ती संरचना संरक्षण गर्न थालिएको पूर्ववडाध्यक्ष रजबहादुर मल्लले बताए ।

“सशस्त्र द्वन्द्वको अन्तिम युद्धस्थल पिलीमा बनेका भौतिक संरचनाको संरक्षण गर्दै पर्यटकलाई आकर्षित गर्ने योजना बनाउनुपर्छ”, उनले भने, “स्थानीय अर्गानिक उत्पादनलाई जोड दिएर यहाँको पर्यटन क्षेत्रको विकासका लागि ध्यान दिएका छौँ ।” 

सभापति कप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी माघमा

ललितपुर । नेपाली कांग्रेस, लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समिति २०८१ को आयोजनामा सर्वाधिक राशिको सभापति कप राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ।

महाधिवेशन निर्देशक समितिले बिहीबार  पार्टीको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी आगामी माघ १० देखि १७ गतेसम्म उक्त प्रतियोगिता हुने जानकारी गराएको हो।

प्रतियोगिताको प्रथम पुरस्कार नगद रु २६ लाख र दोस्रो पुरस्कार नगद १३ लाख रहेको महाधिवेशन निर्देशन समिति २०८१ का संयोजक मोहनबहादुर बस्नेतले जानकारी दिए।

दशरथ रङ्गशाला त्रिपपुरेश्वरमा हुने प्रतियोगितामा राष्ट्रिस्तरका ‘ए’ डिभिजन क्लब र आमन्त्रित विदेशी दुई टोली सहभागी हुने जनाइएको छ। प्रतियोगितालाई अखिल नेपाल फुटबल सङ्घले प्राविधिक सहयोग उपलब्ध गराउने छ। संयोजक बस्नेतले राज्यले खेलाडीको क्षमताअनुसार प्रतिभा प्रस्फुटन र उनीहरुको क्षमता अभिवृद्धिका लागि बजेट छुट्याउन नसकेकाले सरकारलाई दबाब दिन प्रतियोगिता आयोजना गरिएको बताए।

त्यसैगरी लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवशन निर्देशन समितिको बैठकले नयाँ खेलकुद विकास ऐन २०७७ सहित नेपाल ओलम्पिक विवादबारे सम्बन्धित निकायको ध्यानकर्षण गराउने निर्णय गरेको छ। मुलुकको हितमा योगदान गरेका ३६ जना स्वर्गीय नेता तथा सहिदहरुको सम्मानमा नेपाल लोकतान्त्रिक खेलकुद सङ्घले देशैभर खेलकुद सञ्चालन गर्ने जनाएको छ।

प्रतियोगिताका लागि व्यावसायिक घरानाबाट प्राप्त हुने विज्ञापन, टिकट बिक्रीबाट प्राप्त हुने रकम र पार्टीका नेता तथा शुभेच्छुकबाट प्राप्त हुने रकम खर्च गरिने आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा रु एक करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ।

भीम रावलको आरोप प्रचण्डले लगाएको १९ बुँदे आरोपको ‘कपीपेस्ट’मात्रः एमाले

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीमाथि भीम रावलले लगाएको आरोप माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएको १९ बुँदे आरोपको ‘कपी पेस्ट’मात्र भएको निष्कर्ष निकालेको छ ।

बिहीबार बसेको पार्टी सचिवालय बैठकले रावलको आरोप २०७७ साल कात्तिकमा प्रचण्डले १९ पेजको आरोपको कपी पेस्ट भएको निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उपमहासचिव ज्ञवालीले रावलले ३१ पृष्ठको दस्तावेजमा ३० पृष्ठ गालीगलौज अनि पौने प्यारामा अभियान चलाउँछु भनिसकेपछि पार्टीमा कुनै छलफल गरिरहनुपर्ने गम्भीर विषय नरहेको पनि बताए ।

उनले भने, ‘२०७७ साल कात्तिकमा लगभग यी नै भाषामा प्रचण्डले १९ पेजको आरोप लगाउनु भएको थियो । एक किसिमले कपी पेष्ट हो । त्यसले उहाँभित्र कति नकारात्मक कुराले भरिएको प्रष्ट भएको छ । गालीगलौजले देश बन्दैन ।’

नेप्सेमा चार अर्ब ६० करोडको कारोबार

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्से सामान्य अंकले बढेको छ । बिहीबार नेप्से ४.६३ अंकले बढेर २५८६.२३ बिन्दुमा कायम भएको छ ।

१५६ कम्पनीको शेयर मूल्य बढ्दा ७७ कम्पनीको मूल्य घटेको छ । बुधबार डेभलपमेन्ट बैंकमा सर्वाधिक २.४० प्रतिशतको वृद्धि भएको छ ।

हाइड्रोपावर १.८७ प्रतिशतले बढेको छ । बैंक, इन्भेस्टमेन्ट, ट्रेडिङ, अदर र माइक्रो फाइनान्समा भने गिरावट देखिएको छ । आज चार अर्ब ६० करोडको कारोबार भएको छ ।

सबैको सहमति र समन्वयबाट संविधान संशोधन गर्नुपर्छः अध्यक्ष यादव

खजुरा (बाँके) । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान विज्ञसहितको आयोग बनाएर संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

अवधि पत्रकार सङ्घ नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले संविधान विज्ञद्वारा प्राप्त सुझावका आधारमा सबैको सहमति र समन्वयबाट संविधान संशोधन गर्नुपर्ने उल्लेख गरे ।

अध्यक्ष यादवले समानुपातिक समावेशी प्रतिनिधित्वलाई खुम्च्याउने गरी संविधान संशोधन गर्न नहुने धारणा राखे । उनले भने, ‘सबैले अपनत्व लिने गरी, सङ्घीयता, गणतन्त्र र समावेशितालाई बलियो बनाउने किसिमले सबैको सहमति र समन्वयबाट मात्रै संशोधन गर्नुपर्ने आवश्यकता छ ।’

अध्यक्ष यादवले देशमा बढ्दै गएको राजनीतिक अस्थिरताले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढेको बताए ।

उनले भने, ‘गणतन्त्र र सङ्घीयताको रूपमा प्राप्त भएका उपलब्धिलाई संथागत गर्न सकिएन भने २००७ सालमा भएको परिवर्तन २०१७ सालमा गुमेजस्तै नहोला भन्न सकिँंदैन । त्यसैले उपलब्धिलाई संस्थागत गर्न सबै एकजुट हुनु जरुरी छ ।’

अवधि पत्रकार सङ्घ नेपालका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा जसपा नेपालका केन्द्रिय सचिव एवं नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई, स्थानीय नेतालगायत सञ्चरकर्मीको उपस्थिति थियो । 

घ्याङस्वारा आन्तरिक पर्यटकको रोजाइमा

त्रिशूली । नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका- ४ मा अवस्थित ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र घ्याङस्वारा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। जिल्लाको मध्यविन्दु एवं संघीय राजधानी काठमाडौंबाट ३६ किलोमिटरको दूरीमा रहेको घ्याङस्वारा दुई हजार दुई सय मिटर उचाइमा पर्ने भएकाले उच्च स्थानबाट मनोरम दृश्यको अवलोकनका लागि अहिले हिउँदयामको समयमा पर्यटकको आगमन बढेको हो।

उक्त स्थानमा अहिले दैनिक सयौँको संख्यामा आन्तरिक पर्यटकको आगमन भइरहेको गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ (रमेश)ले जानकारी दिए। उनका अनुसार पञ्चकन्या गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत बुट्यान-झाडी हटाएर धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा आवश्यक संरचना निर्माण गरिरहेको छ।

‘पर्यटकलाई आकर्षित गर्न आवश्यक संरचनासहित भूमेदेवी मन्दिर व्यवस्थापन, खेलमैदान, घरवास (होमस्टे) निर्माण गरेसँगै नुवाकोटसहित आसपासबाट वनभोज, घुमफिर र विभिन्न औपचारिक कार्यक्रममा आउने दैनिक एक हजारको हाराहारीमा आन्तरिक पर्यटक आइरहेका छन्,’ अध्यक्ष तामाङले भने, ‘स्थानीय कृषि उपजको उपभोग, खरिद–बिक्रीसहित आर्थिक गतिविधि पनि चलायमान बनेको छ।’

प्रधानमन्त्री रोजगार कार्यक्रमसहित उक्त स्थानमा गाउँपालिकाले सशस्त्र द्वन्द्वको क्रममा ज्यान गुमाएका सहिदको सालिकसहित पार्क निर्माण र पालिकावासीको श्रमदानबाट चियाका बिरुवा रोपण गरेको छ। उपत्यकाका रूपमा रहेको उक्त स्थानमा हरियाली चियाबगान, पानी, बत्ती, शौचालय, निःशुल्क इन्टरनेट, फोटो भिडियो बनाउन चाहनेलाई आकर्षक किसिमले तयार गरिएका ‘सेल्फी प्वाइन्ट’ले घ्याङस्वारा पुग्नेको मन लोभ्याउने स्थानीय पुरुषोत्तम खड्काले बताए।

पछिल्लो पाँच वर्षमा नुवाकोटको उत्कृष्ट गन्तव्यका रूपमा पर्यटकको रोजाइमा घ्याङस्वारा पर्न थालेको खड्काले उल्लेख गरे। ‘आन्तरिक पर्यटकको आगमन बढेसँगै यसको प्रचारप्रसार पनि भइरहेको छ। काठमाडौंबाट नजिकै पर्ने भएकाले खुला स्थानको खोजीमा रहेकालाई यहाँ आउन, खाजा तथा खाना स्थानीय कृषि उपजको व्यवस्थासहित होमस्टे सञ्चालनमा छन्। साथै स्थानीय उब्जनीको बिक्री बढ्नुका साथै घरवास र होटेलको आम्दानी पनि बढ्दै गएको छ,’ उनले भने।

गाउँपालिकाले सरकारी लगानीमा घरवास निर्माण गरी सञ्चालनमा ल्याएको अध्यक्ष तामाङले जानकारी दिए। ‘निजी क्षेत्रबाट पनि आकर्षक होटेल तथा रेस्टुरेन्ट र घरवासको निर्माण भइरहेका छन्। गाउँपालिकाले घरवास सञ्चालन र पूर्वाधार निर्माणमा सहजीकरण गर्दै आएको छ। स्थानीयलाई आर्थिक उपार्जनमा केन्द्रित गराउन यसबाट टेवा पुगेको छ,’ उनले भने ।

एक सय ५० रोपनी क्षेत्रफलमा फैलिएको घ्याङस्वाराको उचाइ एक हजार सात सयदेखि दुई हजार दुई सय मिटरसम्म रहेको भन्दै यसलाई खुला उपत्यकाका रूपमा चिनिएको अध्यक्ष तामाङले बताए। उच्च स्थानमा रहेको भूमेस्थान गणेश मन्दिर पुग्ने पदमार्ग चियाबगानको मध्यविन्दुबाट बनाइएकाले घुमफिरसहित हिन्दु र बौद्धमार्गीको तीर्थस्थलका रूपमा यसको महत्त्व बढेको उनको भनाइ छ।

पञ्चकन्या गाउँपालिकाको केन्द्र लाँकुरीभञ्ज्याङसम्म कालोपत्रेसहितको व्यवस्थित सडक भए पनि करिब पाँच किलाेिमटर ग्रामीण सडक भएकाले उक्त स्थानमा व्यवस्थित सडकसहित थप पूर्वाधार निर्माणका लागि गाउँपालिकाले संघीय सरकारसँग सहयोगका लागि अनुरोध गरिरहेको अध्यक्ष तामाङले उल्लेख गरे।

सोहीअनुसार निर्माणाधीन खेलमैदानलाई बहुउद्देश्यीय रंगशाला बनाउने परिकल्पनासहित पूर्वाधार निर्माणमा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले चासो देखाएको तामाङले बताए।

पर्यटकीय गन्तव्यको आकर्षक केन्द्र बन्दै गएको घ्याङस्वारामा गाउँपालिकाले गरेको परिकल्पनामा थप पूर्वाधार निर्माणसहित व्यवस्थित सडक, भूमेस्थान मन्दिरको जगेर्ना एवं खेलमैदानलाई बहुउद्देश्यीय रंगशाला निर्माणमा आफूले पहल गर्ने कांग्रेसका प्रवक्ता डा. महतले प्रतिबद्धता जनाएका थिए।

नुवाकोट र यस आसपास जिल्लाका हिमशृंखला अवलोकनसहित मनोरम वातावरणमा रमाउन सकिने भएकाले यहाँका संरचना व्यवस्थित बनाउने परिकल्पनालाई पूर्णता दिन आगामी आर्थिक वर्षमा आवश्यक बजेट उपलब्ध गराउने आश्वासन दिएको अध्यक्ष तामाङले जानकारी दिए।

‘सबैभन्दा उच्च स्थान (दुई हजार दुई सय मिटर)को थाप्लोमा रहेको भूमेस्थान गणेश मन्दिर, निर्माणाधीन खेलमैदान, उक्त स्थान पुग्नलाई बाँकी रहेको सडक कालोपत्र र सोही ठाउँबाट दुप्चेश्वरको गोल्फुभञ्ज्याङ हुँदै सिन्धुपाल्चोकलाई जोडेर सडक निर्माणमार्फत पर्यटकीय मार्ग निर्माणको योजनालाई पूर्णता दिन पर्यटन र भौतिक पूर्वाधारको क्षेत्रबाट बहुशीर्षकमा बजेटको सुनिश्चित गर्ने प्रतिबद्धता प्रवक्ता डा. महतले गरेका छन्,’ अध्यक्ष तामाङले भने।

पर्यटन प्रवर्द्धनका लागि नुवाकोटमा ककनी, सूर्याचौर, शिवपुरी निकुञ्जका साथै पछिल्लो समय घ्याङस्वाराबाट पनि लाभ लिन थालिएको स्थानीय बताउँछन्। 

संस्कृत शिक्षालाई विज्ञानसँग जोड्दै यसको संरक्षण, खोज र अनुसन्धानमा सरकारले ध्यान दिनेछः प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको उन्नयनले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार भएको नेपाल संस्कृत विश्वविद्यालयको ७७ औँ सभा-बैठकमा सम्बोधान गर्दै कुलपति ओलीले संस्कृतले समाजको विकासका सन्दर्भमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले विज्ञानसँग जोड्दै यसको संरक्षण, खोज र अनुसन्धानमा सरकारले ध्यान दिने बताए।

प्रधानमन्त्री ओलीले नेपालको आधुनिक शिक्षा विकासको जगमा रहेको संस्कृत शिक्षाले राजनीतिक जागरण सृजना गर्ने काममा पनि योगदान दिएको र वेदको अर्थ पनि विज्ञान भएकाले यस शिक्षालाई अगाडि बढाउन विश्वविद्यलयले अगुवाइ गर्ने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री ओलीले अहिलेको सरकारले विश्वविद्यालयका भौतिक सम्पतिको रक्षा र स्वर्गद्वारी गुठीलगायत छरपस्ट रहेका जग्गाहरुको उचित जगेर्ना गर्ने पनि स्पष्ट गरे। बैठकमा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय शिक्षा नीति, २०७६ बमोजिम उच्चशिक्षालाई प्रतिस्पर्धी, उत्पादनमुखी र अनुसन्धानमुखी बनाउनुपर्नेमा जोड दिइन्।

उपकुलपति प्रा डा धनेश्वर नेपालले हाम्रा प्राचीन ऋषिमहर्षिहरुको लामो तपस्याद्वारा निःसृत संस्कृत वाङ्मयमा ज्ञानविज्ञानको धारा प्रवाहित हुँदै आएकाले यसको मौलिकताको रक्षाका साथै आधुनिकीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

बैठकले आर्थिक वर्ष २०८१-०८२ को वार्षिक शैक्षिक कार्यक्रम तथा आय व्यय (बजेट) पारित गरेको थियो।

गाजामा इजरायली हमलामा पूर्वप्रहरी प्रमुखसहित ११ जनाको मृत्यु

गाजापट्टी । गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार इजरायली हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको बताएको छ । मृत्यु हुनेमा यस क्षेत्रको अहिले ध्वस्त हमास प्रहरी बलका प्रमुख पनि रहेका छन् ।

“दक्षिणी गाजा पट्टीको खान युनुस सहरको पश्चिममा रहेको अल–मवासी क्षेत्रमा विस्थापित मानिसहरूको निवासमा कब्जाकारी विमानले बम प्रहार गर्दा तीन बालबालिका र दुई महिलासहित ११ जनाको मृत्यु भएको छ र १५ जना घाइते भएका छन्”, गाजाको नागरिक सुरक्षा एजेन्सीले विज्ञप्तिमा भनेको छ ।

मारिनेहरूमा प्रहरी प्रमुख महमुद सलाह र उहाँका सहायक हुसाम शाहवान रहेको एजेन्सीका प्रवक्ता महमुद बासलले जानकारी दिए । इजरायली सेनाले घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ ।

इजरायली रक्षामन्त्री इजरायल काट्जले बुधबार हमासले इजरायलमा रकेट आक्रमण जारी राखेमा गाजामा आक्रमण तीव्र पार्ने धम्की दिएका थिए ।

हालैका दिनहरूमा गाजाबाट नवीकृत रकेट आक्रमणले इजरायलमा थोरै क्षति पुर्याएको छ र युद्धको सुरुआती चरणको तुलनामा धेरै कम सङ्ख्यामा रकेट प्रहार गरिएको छ तर यो करिब १५ महिनाको लडाइँपछि इजरायली सरकारका लागि राजनीतिक झट्का हो । काट्जले गाजामा अझै बन्धक बनाइएकाहरूको रिहाइको पनि माग गरे ।

सन् २०२४ चीनको सबैभन्दा गर्मी वर्ष

बेइजिङ। जलवायु परिवर्तनले चरम मौसमको वृद्धि भइरहेको विश्वमा गत वर्ष चीनको सबैभन्दा न्यानो वर्ष रहेको मौसम एजेन्सीले जनाएको छ ।

चीन हरित गृह ग्यासहरूको प्रमुख उत्सर्जक हो । वैज्ञानिकहरूका अनुसार हरितगृह ग्यासले विश्वव्यापी तापक्रम बढाइरहेको छ । तर बेइजिङले कार्बन डाइअक्साइड उत्सर्जन सन् २०३० सम्ममा चरममा पुग्ने र २०६० सम्ममा शुद्ध शून्यमा ल्याइने प्रतिबद्धता जनाएको छ ।

सन् २०२४ का लागि औसत राष्ट्रिय तापक्रम १०.९२ डिग्री सेल्सियस (५१.६६ फरेनहाइट) औसतभन्दा १.०३ डिग्री बढी थियो । यो सन् १९६१ मा पूर्ण रेकर्ड सुरु भएपछिको सबैभन्दा तातो वर्ष भएको चीन मौसम विज्ञान प्रशासनले बुधबार राति आफ्नो समाचार साइटमा बताएको छ ।

“सबैभन्दा न्यानो चार वर्षहरू विगत चार वर्ष नै थिए र सन् १९६१ देखिका सबैभन्दा न्यानो शीर्ष दश वर्षहरू २१औँ शताब्दीमा परेका छन,” प्रशासनले भनेको छ ।

चीनले यस वर्ष नै जुलाईमा अवलोकनको इतिहासमै सबैभन्दा तातो महिनाका साथै अगस्ट र शरद ऋतु पनि रेकर्ड तातो भएको दर्ता गरेको छ ।

संयुक्त राष्ट्रसङ्घले सोमबार वर्षको अन्त्यमा दिएको सन्देशमा सन् २०२४ लाई विश्वव्यापी रूपमा रेकर्ड गरिएको सबैभन्दा तातो वर्ष हुने बताएको छ ।

विश्वव्यापी तापक्रम मुख्यतया जीवाश्म इन्धनको जलनले हुन्छ र ये केवल तापमान वृद्धिको कुरा मात्र नभई वायुमण्डल र समुद्रहरूमा थप तापको प्रभाव पनि हो ।

तातो हावाले अधिक जल वाष्प समात्न सक्छ र तातो महासागरहरूको अर्थ अधिक वाष्पीकरण हो । यसका कारण अधिक तीव्र वर्षा र आँधीबेहरी हुन्छ । प्रभावहरू व्यापक, घातक र बढ्दो महँगो, सम्पत्तिलाई क्षति पुर्याउने र बालीहरू नष्ट गर्छ ।

– दर्जनौँको मृत्यु –

चीनमा गत वर्ष बाढीका कारण दर्जनौँको मृत्यु भएको थियो भने हजारौँलाई सुरक्षित स्थानमा सारिएको थियो । मे महिनामा दक्षिणी चीनमा केही दिनको वर्षापछि राजमार्ग भत्किँदा ४८ जनाको मृत्यु भएको थियो ।

दक्षिणी शहर गुआङ्झाउका बासिन्दाहरूले रेकर्ड तोड्ने लामो गर्मीको अनुभव गरे । राज्य मिडियाका अनुसार त्यहाँ २४० दिनसम्म औसत तापक्रम २२ डिग्री सेल्सियस (७१.६ डिग्री फारेनहाइट) भन्दा माथि थियो । यसले सन् १९९४ मा २३४ दिनको रेकर्ड तोड्यो ।

सिचुआन, चोङकिङ र याङ्जी नदीको मध्य भागहरू प्रारम्भिक शरद ऋतुमा गर्मी र खडेरीबाट ग्रस्त थिए ।

विश्वव्यापी रूपमा सन् २०२४ मा स्पेन र केन्यामा घातक बाढी, संयुक्त राज्य अमेरिका र फिलिपिन्समा धेरै हिंसात्मक आँधीबेहरी र दक्षिण अमेरिकाभरि गम्भीर खडेरी र डढेलोहरू देखिए ।

प्राकृतिक प्रकोपका कारण सन् २०२४ मा तीन खर्ब १० अर्ब डलरको आर्थिक क्षति भएको जुरिचस्थित इन्स्युरेन्स जायन्ट स्विस रीले जनाएको छ ।

सन् २०१५ को पेरिस जलवायु सम्झौताले विश्वव्यापी तापक्रमलाई पूर्व–औद्योगिक स्तरभन्दा दुई डिग्री सेल्सियसभन्दा कम र सम्भव भएमा १।५ डिग्री सेल्सियसभन्दा कममा सीमित गर्ने लक्ष्य राखेको थियो ।

नोभेम्बरमा विश्व मौसम सङ्गठनले जनवरी–सेप्टेम्बरको औसत सतह हावाको तापमान सन् १८५० र सन् १९०० बीच मापन गरिएको औद्योगिक पूर्व औसतभन्दा १.५४ डिग्री सेल्सियस माथि रहेको जनायो । 

पाकिस्तानको लाहोर विश्वको सबैभन्दा प्रदूषित सहरको सूचीमा

लाहोर (पाकिस्तान) । आइक्युएयरको पछिल्लो वायु गुणस्तर सूचकाङ्क (एक्युआई) को वर्गाीकरणअनुसार प्रमुख विश्वव्यापी वायु गुणस्तर अनुगमन सेवाको तथ्याङ्कका आधारमा कराची र लाहोर विश्वका सबैभन्दा प्रदूषित सहरको सूचीमा परेका छन् ।

लाहोर र कराची दुवैले गम्भीर वायु प्रदूषणसँग जुझिरहेका छन् । यसले जनस्वास्थ्यका लागि ठूलो खतरा खडा गरेको छ । विशेष गरी लाहोरलाई विश्वको सबैभन्दा प्रदूषित सहरको रूपमा स्थान दिइएको छ । लाहोरको एक्युआई ३५४ छ । यसलाई बासिन्दाहरूका लागि ‘खतरनाक’ मानिन्छ ।

एक्सप्रेस ट्रिब्युनका अनुसार एक करोड १० लाखभन्दा बढी जनसङ्ख्या भएको यो सहर सवारी साधनको उत्सर्जन, औद्योगिक गतिविधिहरू र बाली जलाउने कार्यका कारण लामो समयदेखि खराब वायु गुणस्तरसँग जुधिरहेको छ ।

नतिजाको रूपमा विशेष गरी जाडो महिनाहरूमा जब धुवाँ सबैभन्दा तीव्र हुँदा धेरै बासिन्दाले दम र अन्य फोक्सोका रोगसहित बढ्दो श्वासप्रश्वास समस्याहरूको सामना गर्नुपरेको छ ।

गत महिनामा धुवाँका कारण १८ लाख ८६ हजार ५८६ जना बिरामी परेका छन् । तीमध्ये एक लाख २९ हजार ,२२९ ले श्वासप्रश्वासको समस्याका लागि अस्पताल उपचार खोजिरहेका छन् ।

यसैबीच, ६१ लाख १५३ व्यक्तिमा कार्डियोथोरेसिक अवस्थाहरू अवस्था निदान गरिएको छ । त्यसैगरी दैनिक ६९ हजार ३९९ भन्दा बढी बिरामी श्वासप्रश्वासको समस्या, छाती दुख्ने वा धुवाँको कारणले स्ट्रोक भएको रिपोर्ट गरिएको छ ।

रिपोर्ट अनुसार पाकिस्तानको सबैभन्दा ठूलो सहर कराची १६४ को एक्यूआई सहित सूचीमा १३औँ स्थानमा छ । यसले यो सरहलाई ‘अस्वस्थ’ श्रेणीमा राखेको छ ।

सहरको व्यस्त बन्दरगाह, भारी ट्राफिक र औद्योगिक क्षेत्रहरूले उच्च प्रदूषणको स्तरमा योगदान पुर्याउँछ । यसले वातावरण र जनस्वास्थ्य दुवैलाई खतरामा पारेको छ ।

वायु प्रदूषणको सामना गर्न निरन्तर प्रयासहरू भए पनि कराचीको हावाको गुणस्तर बिग्रँदै जाँदा बासिन्दाहरू, विशेष गरी पहिले नै स्वास्थ्य अवस्थाहरू भएका मानिसहरूलाई गम्भीर खतरा उत्पन्न गरेको छ ।

गैरसरकारी वातावरणीय सङ्गठन क्लाइमेट एक्सन सेन्टर (सिएसी) ले यसअघि लाहोर र पञ्जाबका अन्य सहरमा धुवाँका साथै कराचीमा हालैको धुवाँलाई सवारी उत्सर्जनसँग जोडेको छ ।

मङ्गलबार कराची प्रेस क्लबमा आयोजित पत्रकार सम्मेलनमा सिएसी निर्देशक यासिर हुसेनले पेट्रोल र डिजेल सवारी साधनहरूबाट उत्सर्जन यी शहरहरूमा प्रदूषणमा प्रमुख योगदानकर्ता भएका बताए । कराचीमा ६० प्रतिशत र लाहोरमा ८० प्रतिशत प्रदूषणका लागि जिम्मेवार छ ।

यसैबीच जाडो याममा दादुराको प्रकोपले स्वास्थ्य विशेषज्ञहरूबीच चिन्ता बढाएको छ ।

विशेष गरी कुपोषित, प्रतिरक्षाविहीन वा खोप नलगाएकाका लागि नाक बग्ने, ज्वरो, खोकी, रातो आँखा र छालाको चकत्ते जस्ता लक्षणहरूद्वारा चिह्नित दादुरा कमजोर बच्चाहरूका लागि घातक हुनसक्छ ।

चिकित्सकहरूले यो अत्यधिक सरुवा रोग एक बच्चाबाट अर्को बच्चामा छिटो फैलने चेतावनी दिएका छन् । उनीहरूले आमाबाबुले आफ्ना बच्चाहरूलाई यस सङ्क्रामक रोगबाट जोगाउन नौ महिनादेखि डेढ वर्ष उमेरका बीचमा दादुरा विरुद्धको खोप लगाउन सुनिश्चित गर्नुपर्ने कुरामा जोड दिएका छन् । 

शेरादरबारको जग्गा हिनामिना गर्नेमाथि कारबाही हुन्छः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार नियन्त्रण र सुशासनको सुनिश्चितता वर्तमान सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा ‘भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक’माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले भने, ‘सरकारले भ्रष्टाचारलाई शून्य सहनशीलताका रुपमा लिएको छ, सुशासनको सुनिश्चिता गर्न सरकार प्रतिबद्ध छ ।’

मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने मुख्य जिम्मेवारी सरकारको रहेको जनाउँदै उनले जनताबाट आवधिकरुपमा निर्वाचित भएर राजनीतिक दलबाट गठन भएको सरकार मात्रै भ्रष्टाचार नियन्त्रण गर्न सक्षम हुने जिकिर गरे ।

‘सरकारमाथि सबैले विश्वास गर्नुपर्छ, कमी कमजोरी भए खबरदारी गर्नुपर्छ’, उनले भने । उनले भ्रष्टाचारजन्य कसुरको अनुसन्धान र कारबाही जहिले पनि हुनसक्ने स्पष्ट पारे ।

गृहमन्त्री लेखकले नुवाकोटको शेरादरबारको जग्गा हिनामिनासम्बन्धी मुद्दामा गम्भीरतापूर्वक अनुसन्धान भइरहेको जानकारी दिए ।

‘यस विषयमा अनुसन्धान हुन्छ, कारबाही अघि बढ्छ’, उनले भने, ‘त्यो जग्गा गलत ढङ्गले कोही व्यक्ति वा कम्पनीको नाममा छ भने त्यो फिर्ता हुन्छ ।’

गैरकानुनी ढङ्गबाट भएको भ्रष्टाचारजन्य कार्य, सरकारी र सार्वजनिक सम्पत्तिका हिनामिनामा सरकार चुप नलाग्ने र सरकारी सम्पत्ति फिर्ता ल्याउने उनले बताए ।

बालगायक सचिन परियारको निधन

काठमाडौं । बालगायक सचिन परियारको निधन भएको छ । उपचारको क्रममा बिहीबार बिहान त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको अस्पतालले जनाएको छ ।

सचिनको केही दिनदेखि आईसीयूमा उपचार भइरहेको थियो । अघिल्लो वर्षदेखि नै स्वास्थ्य समस्याका कारण उनी थलिएका थिए । उनले ‘रातो रबर एक’, ‘रुमाल खस्छ कि’, ‘के छ र हजुर’, ‘बरको छायाले’ लगायत थुप्रै गीत गाएका छन् ।

राज्य व्यवस्था समितिबाट भ्रष्टाचार निवारणसम्बन्धी विधेयक पारित

काठमाडौँ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ ।

समितिको बिहीबारको बैठकले सभापति रामहरि खतिवडाको प्रस्तावमा उपसमितिको प्रतिवेदनसहित विधेयक पारित गरेको हो ।

उक्त विधेयकमाथिको छलफलमा उठेका विषयलाई टुङ्गोमा पुर्याउन समिति सदस्य हृदयराम थानीको संयोजकत्वमा उपसमिति गठन गरिएको थियो । त्यसअघि उपसमितिको प्रतिवेदनमाथि छलफल भएको थियो ।

बैठकमा सरकारका तर्फबाट गृहमन्त्री रमेश लेखकले उपसमितिद्वारा तयार पारिएको प्रतिवेदन सरकारलाई स्वीकार रहेकाले उक्त विधेयक पारित गर्न अनुरोध गरेका थिए ।

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं । सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर ४.८ म्याग्निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार दिउँसो १ बजेर २ मिनेटमा भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौंमासमेत महसुस गरिएको थियो ।

भ्रष्टाचार नियन्त्रणसम्बन्धी काम गर्न शक्तिशाली आयोग बनाऔँः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचार नियन्त्रण हल्लाको विषय नभएको बताएका छन् ।

बिहीबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले निर्दोष नफस्ने र दोषी नउम्कने गरी काम गर्नुपर्ने बताएका हुन् ।

उनले आवश्यक परे शक्तिशाली आयोग बनाएर जानुपर्ने बताए । महामन्त्री थापाले अहिले कसैलाई धम्क्याउनका लागि फाइल खोल्छु भन्ने गरिएको भन्दै यसले भ्रष्टाचार नियन्त्रण नहुने बताए । उनले भने, ‘फाइल खोल्छु भनेको सुन्दा सुन्दा आजित भइसक्यौं । कुन फाइल खोल्ने हो ? शेरा दरबार, ललिता निवास, गिरिबन्धुको कुन कुनको फाइल खोल्ने हो खोलौँ ।’

उनले बहालवाला प्रधानमन्त्री, आफ्नो पार्टीका सभापतिसहित शीर्ष नेता बसेर सहमतिमा पुग्न पनि आग्रह गरे ।

उनले भने, ‘भ्रष्टाचारसम्बन्धी काम गर्न शक्तिशाली आयोग बनाउने भए बनाऔँ । पूर्व/बहालवाला प्रधानमन्त्री, सांसदको सम्पति छानबिन गर्न आयोग बनाउने हो ? बनाऔँ । यस विषयमा सल्लाह गरौं । तर तेरो फाइल खोलिदिन्छु भनेर भाषण गर्न छाडौं ।’

शेरा दरबार प्रकरणका दोषीलाई कारबाहीको दायरामा ल्याइयोस्ः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेरा दरबार प्रकरणका दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन् ।

बिहीबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अध्यक्ष प्रचण्डले दोषीमाथि कारबाही गर्नुपर्ने बताएका हुन् ।

बैठकमा नेकपा एमालेका सांसद वासुदेव घिमिरेले शेरा दरबार प्रकरणलाई लिएर प्रश्न उठाएका थिए । जवाफमा प्रचण्डले यसमा संलग्न जोसुकै भएपनि कारबाही गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘म प्रधानमन्त्री भएको बेला भनेको थिएँ कि भ्रष्टाचारमा म पनि संलग्न भएको पाइए कारबाहीको दायरामा ल्याइयोस् । शेरा दरबारमा दोषीलाई कारबाहीको दायरामा ल्याइयोस् ।’

 उनले शेरा दरबार प्रकरणको अनुसन्धानमा आफूले सघाउने र सरकारलाई धन्यवाद दिने पनि बताए ।

गौशालास्थित एक होटलमा युवती मृत फेला

काठमाडौं । काठमाडौंको गौशालास्थित एक होटलमा युवती मृत फेला परेकी छन् । गौशालास्थित बागमती होटलको एक कोठामा एक युवती मृत फेला परेकी जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । युवतीले होटलको कोठा नखोलेपछि प्रहरीलाई बोलाइएको थियो ।

मृतक कागेश्वरी मनोहरा नगरपालिका घर भएकी अन्दाजी २३ वर्षीया युवती हुन् । उनको पहिचान प्रहरीले खुलाएको छैन । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

गाउँपालिकाले ‘ब्रान्डिङ’ गरेर बिक्री गरिदिन थालेपछि रोङका किसान तितेकरेलाको खेतीमा आकर्षित

इलाम । इलामको रोङ गाउँपालिकाका किसान तितेकरेलाको खेतीतर्फ आकर्षित भएका छन् । किसानले उत्पादन गरेका तितेकरेलालाई गाउँपालिकाले ‘ब्रान्डिङ’ गरेर बिक्री गरिदिन थालेपछि यहाँका किसान यसतर्फ आकर्षित भएका हुन् ।


रोङ–४ का रघुनाथ अर्यालका अनुसार गत वर्षसम्म बजारको पहुँच नहुँदा घरमा उपभोग गर्नका लागि मात्र तितेकरेला लगाउने गरिएकामा पालिकाले बजारीकरण गर्न थालेपछि व्यावसायिक उत्पादन सुरु गरिएको हो । “अहिले पालिकाले सुकाएर करेलाको ब्रान्डिङ सुरु गरेको छ । बजारको चिन्ता केही नभएपछि व्यावसायिक उत्पादन सुरु गरेका छौँ”, उनले भने ।

अर्यालले यसवर्ष पाखाबारीमा करेलाको एक हजार बिरुवा रोपेको जानकारी दिए । “तरकारीका रूपमा बिक्री नभए पनि स्थानीय सरकारले किनिदिने भएपछि ढुक्कसँग खेती थालेका छौँ”, उनले भने । उनका अनुसार गाउँपालिकाका सबै वडाका अधिकांश किसान यो खेतीतर्फ आकर्षित भएका छन् ।

गाउँपालिकाले करेलालाई सुकाएर सुकुटीका रूपमा प्रशोधन गरी बिक्री सुरु गरेको हो । “यस वर्ष बिक्रीका लागि दुई सय किलो सुख्खा तितेकरेला तयार छ”, गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बोले भने, “यहाँका अधिकांश किसानले व्यावसायिक खेती सुरु गर्नुभएकाले अर्को वर्ष धेरै उत्पादन हुनेछ । एक पटकमा ५० हजार किलो काँचो करेला प्रशोधन गर्न सक्ने उद्योग निर्माण भइरहेको छ ।”

गाउँपालिकाका अध्यक्ष स्याङ्बोले बेमौसममा पनि उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर तितेकरेलालाई सुकाएर प्याकेजिङ गरी बजारमा ल्याउने तयारी भइरहेको जानकारी दिए । करेलाको अध्ययन, अनुसन्धान गर्दा सफल भएपछि पालिकाले बजारीकरण थालेको उनको भनाइ छ ।

तितेकरेलालाई गुन्द्रुकसँग मोलेर अचारका रूपमा पनि खान सकिन्छ । प्याकेजिङ भएको तितेकरेलालाई तातोपानीमा पाँच(१० मिनेट भिजाएर पुरानै स्वरूप तथा स्वादमा विभिन्न तरिकाले पकाएर खान सकिने किसान बताउँछन् ।

रोङ गाउँपालिकाका सबै स्थानमा उत्पादन गर्न सकिने करेला पालिकाले प्रशोधन गरेर बजारीकरणमा लागेपछि यसको खेतीमा किसानको उत्साह बढेको करेला खेती गर्दै आएका रोङ–३ प्यूरेका लल्मी लाप्चाले बताए ।

गाउँपालिकाले यसअघि रोङमा गुन्द्रुक, सिस्नो, बेसार, मह, चिया, कुचोलगायत कृषिजन्य वस्तुको ब्रान्डिङ गरी बजारीकरण गरिरहेको गाउँपालिकाका उपाध्यक्ष विष्णुमाया भुजेलले बताए । रोङको गुन्द्रुक र महको माग बजारमा बढी भएकाले माग अनुसार आपूर्ति गर्न कठिन भइरहेको उनको भनाइ छ । 

मनाङमा विदेशी पर्यटकको आकर्षण बढ्दै

मनाङ। घुम्न लायक स्थानका रूपमा विश्वसामु परिचित मनाङमा पछिल्लो समय विदेशी पर्यटकको आकर्षण बढ्दै गएको छ । स्वदेशी पर्यटकको तथ्याङ्क नराखिए पनि बाह्य पर्यटकको अभिलेखीकरण अनुसार वार्षिक रूपमा यहाँ आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको हो ।

विश्वको जोखिमयुक्त भनेर पहिचान गरिएको अन्नपूर्ण पदमार्ग यात्रामा आउने विदेशी पर्यटकको रोजाइमा मनाङ प्राथमिकतामा पर्ने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इकाईले जनाएको छ । सन् २०२४ मा मनाङमा ३० हजार आठ सय ६६ पर्यटक भित्रिएका छन् । एक वर्षमा १८ हजार चार सय ९९ पुरुष, १२ हजार तीन सय ६२ महिला र पाँच जना अन्य विदेशी नागरिक यहाँ आएका तथ्याङ्क रहेको इकाईका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए ।

यहाँ आउने पर्यटक अन्नपूर्ण पदमार्गका साथै मनास्लु पदयात्रामासमेत निस्कने गरेका इकाईअन्तर्गत धारापानीमा भएको अभिलेखीकरण उल्लेख छ । उनका अनुसार तीन वर्षको वार्षिक तथ्याङ्कअनुसार हालसम्म बढी मात्रामा फ्रान्सका नागरिक यहाँ आएका देखिन्छ ।

प्रमुख भुजेलले भने,’अन्य देशको तुलनामा यहाँको भ्रमणमा फ्रान्सका नागरिक बढी आएको पाएका छौँ ।’ सन् २०२४ मा तीन हजार तीन सय १६ जना फ्रान्सका नागरिकले भ्रमण गरेका छन् । उनका अनुसार इजरायलका तीन हजार छ, जर्मनीका दुई हजार तीन सय ५५, युकेका एक हजार नौ सय र भारतका एक हजार आठ सय ३१ नागरिक यहाँ आएका छन् ।

हिमाली क्षेत्र, अग्ला पहाड र जैविक विविधताले भरिपूर्ण रहेकाले यहाँ पर्यटकको आकर्षण बदेको भन्दै यहाँ आउने पर्यटकले मानव जीवनको वास्तविकता, स्थानीय परिकार र संस्कृति, रहनसहन, प्राकृतिक सुन्दरतालगायत हिमाली दृश्य अवलोकन गर्न आकर्षित हुने भुजेलले बताए । बाइस हजार ३९ पर्यटक थोराङ्रा भञ्ज्याङ र तिलिचो ताललगायत क्षेत्रको भ्रमण गरेका छन् भने आठ हजार आठ सय २७ पर्यटकले मनास्लु पदमार्गको यात्रा गरेका उनले जानकारी दिए ।

दुई सिजनमा पर्यटकको आवागमन हुने भन्दै पहिलो सिजन (मार्च, अप्रिल र मे) महिनामा बढी पर्यटकको आगमन हुने भुजेलले बताउनुभयो । त्यस्तै दोस्रो सिजनअन्तर्गत सेप्टेम्बर, नोभेम्बर, अक्टोबर र डिसेम्बरमा पर्यटकको आगमन तुलनात्कम रूपमा कम हुन्छ ।

सन् २०२३ मा २१ हजार दुई सय ४७ पर्यटक भित्रिएको तथ्याङ्कमा अभिलेखीकरण छ । सन् २०२३ मा १८ हजार ८३ विदेशी नागरिकले थोराङ्रा भञ्ज्याङ, तिलिचो ताल, गङ्गापूर्ण ताल, आइसलेकलगायत हिमतालको भ्रमणका गरेका छन्, भने तीन हजार एक सय ६४ विदेशी नागरिकले मनास्लु पदमार्गको यात्रा गरेका छन् । सन् २०२३ मा पनि सबैभन्दा बढी फ्रान्सका नागरिक आएको इकाईका प्रमुख भुजेलले जानकारी दिए ।

सन् २०२२ मा १५ हजार आठ सय ५५ विदेशी नागरिकले मनाङ भ्रमण गरेका थिए । यहाँ आउने अधिकांश विदेशी पर्यटक विश्वको दशौंँ स्थानमा पर्ने जोखिमयुक्त अन्नपूर्ण पदमार्गमा यात्राका लागि आउने गरेका छन् । फ्रान्स, इजरायल, जर्मनी, भारतका साथै अन्य देशका नागरिक आउने क्रम विस्तारै बढ्दै गएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इकाईले जनाएको छ । यसका साथै अमेरिका, अष्ट्रेलिया, चीन, रसिया, नेदरल्याण्ड, पोल्याण्डलगायत एक सय २५ देशका नागरिक यहाँ आउने गरेका इकाईका प्रमुख भुजेलले उल्लेख गरे ।
कोभिडको सङ्क्रमण र विसं २०७८ को बाढीपहिरापछि यहाँ पर्यटक आगमनमा वृद्धि हुँदै गएको छ । पर्यटक हिमाल, पहाडका दृश्य, मनाङवासीको संस्कार, संस्कृति, रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न पर्यटक आउने गर्दछन् । यहाँ आउने अधिकांश पर्यटक अन्नपूर्ण पदमार्गमार्फत मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा पुग्ने गर्दछन् ।

अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका- ७ मनाङ्गे चौताराबाट यात्राको सुरुआत हुन्छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच वटा जिल्ला जोडिएका छन् ।

काठमाडौँबाट बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् । पछिल्लो समय सडक यातायात सहज भएपछि सवारीसाधनमा चामे, खाङ्सारसम्म पर्यटक पुग्ने गरेका पाइन्छन् । त्यसपछि मात्रै मुख्य गन्तव्यतर्फ पदमार्गको यात्रा सुरु गरिन्छ ।

इलाममा एकै परिवारद्वारा एक वर्षमा ३४ लाखको अलैँची उत्पादन

मङ्गलबारे । नेपालमा भएन र राज्यले गरेन भन्नेको जमात उस्तै छ । कसैको मुख नताकी गर्नसके वार्षिक लाखौँ कमाउनेहरुको सङ्ख्या पनि कम छैन । पछिल्लो समय कृषि पेसा छोड्नेको सङ्ख्या बढ्दै गएको छ तर कृषि पेसाबाटै मनग्ये कमाउने किसानसमेत गाउँमा नै रमाइरहेका छन् ।

कृषि पेसाबाट नै गर्नसके स्वदेशमा नै बसेर विदेशमा भन्दा दोब्बर बढी आम्दानी गर्न सकिन्छ भन्ने उदारहण बनेका छन् इलाम सन्दकपुर गाउँपालिका–२ का निवर्तमान वडाध्यक्ष गिरिराज खनाल । उनले यसैवर्ष ३४ लाख माथिको अलैँची उत्पादन गरेका छन्।

सन्दकपुर गाउँपालिका–२ माइमझुवाका किसान गिरिराज खनालले मकैबारी मासेर लगाएको खेतीबाट ३० मन उत्पादन गरेको बताए । अलैँचीको मूल्य हाल १२ वर्षयताकै उच्च अर्थात प्रतिमन एक लाख १५ हजार रहेको छ । ३० मन अलैँचीको प्रतिमन एक लाख १५ हजारको दरले पनि ३४ लाख ५० हजार पर्न जान्छ । यो उनको एकै वर्षको आम्दानी हो ।

गाउँगाउँमा पुगेका ब्यापारीले महँङ्गो मूल्य लगाउने गरेका छन् । बजारमा व्यापारीले एक लाख १० हजारमाथि खरिद गर्ने गरेका छन् । निवर्तमान वडाध्यक्षसमेत रहेका खनालले लामो समयदेखि अलैँची खेती गर्दै आएका छन् । बीचमा किसानले लगाएको अलैँची मासिँदा पनि आफूले सो खेती नछोडेको उनले बताए । केही वर्षअघि दानाबाट समेत अलैँची उत्पादन गरेर जिल्ला तथा जिल्ला बाहिरका किसान समक्ष बिरुवा पुर्याएको उनको भनाइ छ ।

धेरै मेहनतसमेत नलाग्ने अलैँची खेतीबाट मनग्गे आम्दानी लिन सकिन्छ । सुरुमा बिरुवा रोप्दा बारी फँडानी गर्न र बिरुवा लगाउन केही खर्च हुने र अलैँची उत्पादन भएपछि टिप्न र छोडाउन खर्च हुने गरेको किसान खनालको भनाइ छ । समयसमयमा गोडमेल, मलजल र पानी लगाउनुपर्ने हुन्छ ।

हाल उनले ३३ रोपनी र २४ रोपनीका दुईवटा प्लटमा सो खेती गरेका छन् । हिउँद्को समयमा तुसारो पर्ने भएकाले यहाँ हिउँदका दिनमा तुसारोबाट जोगाउन ग्रिन नेट लगाउने गरिन्छ । उनले यसवर्ष करिब ३० मन अलैँची उत्पादन गरेका छन् । आगामी वर्षबाट अझैँ उत्पादन बढ्ने उनले बताए । अलेँची लगाएको तीन वर्षदेखि उत्पादन सुरु हुन्छ । गएको वर्ष लगाएको नयाँ बिरुवाबाटसमेत उत्पादन बढ्ने उनले बताए ।

राजनीति गर्ने मान्छेले केही न केही काम गर्नुपर्ने उनी बताउँछन् । राजनीति गर्न खर्च आवश्यक पर्ने भएकाले पनि केही काम गर्नुपर्छ भन्ने सोचका साथ आफूले कृषि पेसा रोजेको उनी बताउँछन् ।

उनले जस्तै जिल्लाका अन्य किसानले समेतयस वर्ष अलैँचीबाट राम्रो रकम कमाइ गरेका छन् । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार बर्सेनि सवा चार अर्ब रुपैयाँ बराबरको अलैँची निकासी हुने गर्दछ । चालु आव २०८१/८२ को पहिलो तीन महिनामा सात सय ८३.७५ मेट्रिक टन अलैँची मेची भन्सारबाट निर्यात भएको छ । यो अघिल्लो वर्षको तुलनामा ४९ प्रतिशत कमी हो । आव २०८०/८१ को सोही अवधिमा एक हजार पाँच सय २५.९६ मेट्रिक टन अलैँची निर्यात भएको थियो ।

अलैँची औषधीय गुण भएको नगदेबाली हो । यसबाट विशेष गरेर औषधिजन्य वस्तु निर्माण हुने गर्दछ । गर्मीमासमेत अलैँचीलाई शीतलता प्रदानका लागि प्रयोग गरिन्छ । मसलाका रुपमा समेत अलैँचीको प्रयोग हुन्छ । गाउँघरमा मासु पकाउँदा अलैँचीलाई जिरासँग मिसाएर पकाउने गरिन्छ । सर्बत पानीमासमेत यसलाई प्रयोग गरिने गरिन्छ ।

नेपालबाट विदेश निर्यात हुने अलैँचीबाट पर्फिम वा सुगन्धित तेल निर्माण हुने गर्दछ । विकसित मुलुकमा यसबाट निर्माण भएको पर्फिम निकै मूल्यमा बिक्री हुने गर्दछ । नेपालमा उत्पादित अलैँचीको उचित प्रशोधन र प्रमाणीकरण नहुँदा अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न समस्या भइरहेको छ ।

झापामा यसको प्रशोधनका लागि एउटा मात्र प्रशोधन केन्द्र हुँदा ब्यवसायी समस्यामा परेको बताउँछन् ।