`

यसरी रुपान्तरण हुँदैछ चन्द्रागिरि ‘स्मार्टसिटी’मा : ‘गुगल प्लस कोड’ सहितको ‘डिजिटल’ सडक चोक पहिचान

काठमाडौं । के तपाइँ चन्द्रागिरि नगरवासी हुनुहुन्छ ? अथवा चन्द्रागिरिवासी कहाँ जाँदै ? नगरवासी हुनुहुन्छ, भने अब तपाईँ स्थानीय सरकारबाट पाउने सेवा सुविधा लिन नजिकको वडा कार्यालय धाइरहनुपर्दैन । यतिमात्र होइन, तपाईँले स्थानीय सरकारलाई बुझाउनुपर्ने सेवा शुल्क, कर र राजस्व अनलाइनमार्फत तिर्न सक्नुहुनेछ । साथै आफूलाई आवश्यक पर्ने विभिन्न सेवा अथवा सिफारिस लिन घरैबाट आवेदन दिन सक्नुहुनेछ ।

साथै चन्द्रागिरिवासीलाई भेट गर्न जाँदै हुनुहुन्छ भने चिन्ता लिनुपर्दैन । यी कामका लागि नगरपालिकाले पहिलो पटक ‘गुगल प्लस कोड’ सहित सडक, चोक पहिचान, तथा ‘डिजिटल’ घर नम्बरको ‘प्लेट’ टाँस कार्यको शुभारम्भ गरेको छ । जिपिएस/जिआइएस प्रणालीमा आधारित ‘डिजिटल’ घर नम्बर जडान तथा सडक चोकको नामकरण तयार भएको छ । यसबाट नगरवासीले ‘अनलाइन’ बाट नगरका सेवा उपयोग गर्न पाउने छन् भने नगरका चोक सडकको पनि पहिचान एवं घर नम्बर ‘डिजिटल’ भएका छन् ।

नगरप्रमुख घनश्याम गिरीले भने, ‘जिपिएस/जिआइएस प्रणालीमार्फत नगर प्रोफाइल कार्यान्वयनमा आएको छ । ‘गुगल प्लस कोड’ सहितको प्रोफाइलले सडक चोकको पहिचान तथा घर नम्बर प्लेट ‘डिजिटल’ तयार भएको छ । यसबाट चन्द्रागिरिलाई ‘स्मार्ट सिटी’ मा रुपान्तरण हुन सहयोग मिल्नेछ । नगरवासीले घरमा बसेर नगरबाट प्राप्त हुने सबै सेवा पाउने सहज हुनेछन् । कुन स्थानमा कस्तो विकास आवश्यक पर्छ भन्ने जानकारी पाउने सजिलो हुनेछ । विश्वको कुनै पनि स्थानबाट चन्द्रागिरिमा भएका विकास निर्माण, व्यक्तिको घर,सडकको बारेमा सजिलै जानकारी लिन सक्नेछन् ।’

‘डिजिटल’ घर नम्बर तथा सडक चोकको नामकरणको महत्व

जिपिएस/जिआइएस प्रणालीमा नगरपालिका भित्रका सबै घरधुरीको तथ्यांक सङ्ग्रह गरिएको छ । यसका लागि नगरपालिकाले आफ्नो नगर क्षेत्रको भौगोलिक सूचना लिन ड्रोनको सहायता लिएको थियो । नगरका वडा नं १ देखि १५ सम्मका सबै क्षेत्रमा ‘ड्रोनसर्वे’, ‘स्याटेलाइट म्यापिङ’को काम गरिएको थियो । पहिलो चरणमा लगभग १९ हजार घरमा ‘गुगल प्लस कोड’सहितको सडक चोक पहिचान तथा ’घर नम्बर ‘डिजिटल टाँस गर्ने नगरपालिकाले तयारी थालेको छ । पछिल्लो जनगणनाअनुसार नगरमा लगभग ३५ हजार घर रहेका छन् । विभिन्न चरणमा तथ्याङ्कको भेरिफिकेशन गरिएको थियो । तथ्यांक संकलन पश्चात् बनेका घरधुरीलाई जिपिएस/जिआइएस प्रणालीमा आवद्ध गर्न सकिने प्रवाधान समेत राखिएको जनाइएको छ ।

ड्रोनबाट लिइएका तस्बिरलाई ‘डिजिटाइज’ गरिएको थियो । ती ‘डिजिटाइज’ तस्बिरलाई अस्थायी नम्बर समेत दिइएको थियो । घरधनिको सोही नम्बर अथवा फोन नम्बरका आधारमा सडक, चोक तथा घरको पहिचान हुने जनाइएको छ । नगरका हरेक घरमा गणक तथा प्राविधिक टिम परिचालन भएका थिए । गणकले घरधनी र अन्यसँग व्यक्तिगत विवरण तथा प्राविधिक टोलीले निजी घर, विद्यालय, धार्मिकस्थल, सार्वजनिकस्थल तथा जमिनका प्राविधिक पक्षका सूचना सङ्कलन गरेका थिए । नगरपालिकाका प्रशासकीय अधिकृत हेमराज अर्यालले भने, ‘गुगल प्लस कोड’सहितको सडक, चोक पहिचान तथा ‘डिजिटल’घर नम्बरले नगरपालिकाको सेवा प्रवाह थप प्रभावकारी आउने छ । सेवासंग प्रविधिको लिंक भएको छ ।’

नगर ‘प्रोफाइल’ तयार गर्नेक्रममा व्यक्तिगत ५३ र संस्थागत २१ प्रश्नावली घरधनीले भरेका थिए । व्यक्तिगत घरधुरी सर्वेक्षणमा पारिवारिक, शैक्षिक, स्वास्थ्य, जनसाङ्ख्यिक, रोजगारीलगायतका प्रश्न नगरवासीलाई सोधिएका थिए । यसमा विद्यालय, मठ मन्दिर, सार्वजनिक, निकाय तथा जमिनको समेत विस्तृत विवरण संकलन भएका छन् । घर तथा बाटोघाटाका ‘लोकेसन’ पनि व्यक्तिगत विवरणमा उल्लेख छन् । नगरपालिकाले सबै निजी घर तथा सार्वजनिक भवनलाई ‘अन्तर्राष्ट्रिय मेट्रिक प्रणाली’ को सिद्धान्तअनुसार युनिक नम्बर प्रदान गरेको जनाइको छ । सोही घर नम्बरका आधारमा जिपिएस /जिआइएस ट्रयाक गरिएको । अब टोल टोलमा ‘डिजिटल बोर्ड’ रहने छन् ।

जिपिएस/जिआइएस ट्रयाकका आधारमा नगरपालिकाले आफ्नो हरेक सेवाका गतिविधि अगाडि बढाउने नीति लिने छ । नगरपालिकाले अनलाइनमार्फत सेवा प्रवाह गर्नेछ । यसले नगरपालिकाको सेवा प्रवाहमा चुस्त हुने अपेक्षा लिइएको छ ।

अनलाइनमार्फत सेवा कसरी प्रवाह हुन्छ त रु भन्ने जिज्ञासामा नगरप्रमुख गिरीले भने ‘नगरवासीका लगभग सबै विवरण ‘डिजिटाइज’ भएका छन् । हाम्रा सेवा पनि सोहीअनुरुपको बनाइने छ । यसपछि सेवाग्राहीले फाराम भरेर रिक्वोस्ट पठाउँछन् । यसलाई एसेप्ट गरिन्छ । यसैका आधारमा सेवा प्रवाह हुन्छ । कर भुक्तानी तथा सिफारिस अनलाइनमार्फत सेवा प्रवाह हुन थालेका छन् ।’ नगरपालिकाले अनलाइनबाट घर नक्शा पास व्यवस्था प्रणाली (इबिपिएस) कार्यान्वयनमा ल्याइसकेको छ ।

उनले भने, ‘जिपिएस/जिआएस प्रणालीमार्फत ‘नगर प्रोफाइल’ तयार भएको छ । ‘गुगल प्लस कोड’ सहितको यसले नगरको नीति निर्माण, योजना तर्जुमा, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, विपद व्यवस्थापनमा कोसेढुङ्गाको काम गर्नेछ । व्यवस्थित सहर बनाउन मद्दत मिल्ने छ । नगरपालिकाका सबै सेवा अनलाइमार्फत नै हुनेछ । नगरवासीले बिना झन्झट सेवा सुविधा पाउने छन् । हामी ‘स्मार्ट सिटी’ बनाउने काममा लागेका छौँ ।’

नगरलाई ‘स्मार्ट सिटी’मा रुपान्तरण गर्ने उनको चुनावी घोषणापत्रमा उल्लेख छ । यसबाट नगरपालिका र नगरवासी दुवैलाई फाइदा पुग्ने जनाइएको छ । नगरपालिकालाई आफूलाई आवश्यक पर्ने जनशक्तिको पहिचान भई तुरुन्त उपयोग गर्न मद्दत मिल्ने छ । विपद्का अवस्थामा खोज, उद्धार तथा राहतमा सहयोग पुग्ने जनाइएको छ । नगरका भौगोलिक, सामाजिक, आर्थिक, व्यक्तिगत तथा सबै विवरणका सूचना बैंकका प्रोफाइल हुने हुनाले कुन स्थानमा कस्तो विकास आवश्यक छ भन्ने नीति निर्माण गर्न प्रोफाइलले सहयोग पुग्ने नगरप्रमुख गिरीले जानकारी दिए ।

के हुन्छ फाइदा ?

नगरपालिकका प्रशासकीय अधिकृत अर्यालका अनुसार जिपिएस/जिआइएस प्रणालीले स्थानको मात्र लोकेशन मात्र नभई नगरपालिकाबाट प्रवाह हुने सबै प्रकारका सेवालाई सहज , सरल र एकीकृत एवम् त्रुटिरहित बनाउन उपयोग गर्न सहयोग पुर्याउनेछ । उनले भने, ‘नागरिकलाई प्रविधमैत्री बनाउँदै प्रविधिको उपयोगमा अभ्यस्त गराउन यसले सहयोग पुर्याउँछ । नगरपालिकाले आफ्ना सबै सेवा प्रवाहका क्रियाकलापलाई डिजिटाइज गर्दै अटोमेसन लैजाने तयारी गरेको छ ।’

हालसम्म घरनक्शा पास प्रणाली , राजश्व प्रणाली न्यायिक समिति सञ्चालन प्रणाली, नगरपालिपालिका, वडा कार्यालय, सबै स्वास्थ्य सस्था, विद्यालय समेतको एकीकृत डिजिटल हाजिरी प्रणाली जस्ता प्रणाली सञ्चालनमा आएका छन् ।

प्रधानमन्त्री ओली र श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घेबीच भेटवार्ता भएको छ । पूर्वराष्ट्रपति विक्रमासिङ्घेले प्रधानमन्त्री ओलीलाई बिहीबार बालुवाटार पुगेर भेट गरेका हुन् ।

भेटमा दुई देशबीचको आपसी सम्बन्ध र परस्पर हितका विविध पक्षमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा सांसद एवं उद्योगपति विनोद चौधरीसमेत सहभागी थिए । विक्रमासिङ्घे प्रधानमन्त्री ओलीका एक पुराना मित्र पनि हुन् । यही पुस १३ गते निजी भ्रमणमा नेपाल आएका विक्रमासिङ्घे आज स्वदेश फर्कँदैछन् ।

न्यू अर्लिन्समा भिडमा गाडी जोत्दा १५ जनाको मृत्यु

बीबीसी । अमेरिकी राष्ट्रपति जो बाइडनले न्यू अर्लिन्समा भिडमा गाडी जोतेर हमला गर्ने आक्रमणकारीले आफू जिहादी समूह इस्लामिक स्टेटबाट प्रेरित भएको र मानिसहरूलाई हत्या गर्ने इच्छा व्यक्त गरेको भिडियो अपलोड गरेको पाइएको बताएका छन् ।

बुधवार अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन बिहान सबेरै उक्त सहरमा भएको हमलामा परेर कम्तीमा १५ जनाको ज्यान जानुका साथै कैयौँ घाइते भएका छन् । टेलिभिजन सम्बोधनमा राष्ट्रपति बाइडनले पीडितप्रति समवेदना प्रकट गरे। उनले संदिग्ध व्यक्तिमाथि अनुसन्धान जारी रहेको जनाएका छन् ।

अधिकारीहरूले भिडमा गाडी जोतेर हमला गर्ने संदिग्ध व्यक्तिको पहिचान खुलेको बताएका छन् । उनीहरूका अनुसार ती व्यक्ति टेक्सस राज्यका ४२ वर्षीय अमेरिकी नागरिक शमसुद–दिन जब्बर हुन् ।

उनी पूर्व अमेरिकी सैनिक रहेको अधिकारीहरूले बताएका छन्। प्रहरीसँगको गोली हानाहानमा उनी मारिएका थिए । प्रहरीका अनुसार उनले ठूलो भिडमा तीव्र गतिमा पिकअप ट्रक कुदाएका थिए। त्यस क्रममा १५ जनाको ज्यान जानुका साथै अन्य ३५ जना घाइते भएका हुन् । संघीय जाँच ब्यूरो एफबीआईले भिडमा कुदाइएको ट्रकमा इस्लामिक स्टेट समूहको झन्डा भेटिएको जनाएको छ ।

त्यसपछि उक्त घटनालाई ‘आतङ्कवादी कार्य’ मानेर अनुसन्धान गरिरहेको एफबीआईले जनाएको छ । उक्त घटनाका निम्ति ती व्यक्ति मात्र एक्लै जिम्मेवार नभएको र अन्य व्यक्तिको संलग्नता पनि हुनसक्ने न्यू अर्लिन्सका अनुसन्धानकर्ताहरूले बताएका छन् ।

आक्रमणमा प्रयोग भएको ट्रक र अर्को क्षेत्रमा सम्भावित विस्फोटक पदार्थहरू पाइएको अधिकारीहरूले बताएका छन् ।यसैबीच अमेरिकाकै लस भेगासस्थित ट्रम्प होटल बाहिर पटकाहरू तथा इन्धन भरिएका टिनका भाँडाहरू राखिएको एउटा साइबर टेस्ला ट्रक विस्फोट भएको छ ।

उक्त विस्फोटनपछि अनुसन्धान थालिएको त्यहाँको प्रहरीले जनाएको छ । विस्फोटनका कारण त्यसमा रहेका चालकको ज्यान गएको छ भने अन्य सात जना मानिसहरू घाइते भएको अधिकारीहरूले बताएका छन् ।

राप्रपा नेपालको महाधिवेशनको मिति टुंगो लगाउन शुक्रबार केन्द्रीय समिति बैठक

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले प्रथम महाधिवेशनको टुङ्गो लगाउन केन्द्रीय कार्य समिति बैठक भोलि शुक्रबार बस्ने भएको छ ।

बैठकमा मुलुकको वर्तमान अवस्था, पार्टीको साङ्गठनिक अवस्था, भावी कार्यदिशा, स्थानीय तहको अधिवेशन, भ्रातृ सङ्गठनको क्रियाशीलता प्रशिक्षण, महाधिवेशन केन्द्रित राजनीतिक अभियानबारे छलफल हुने सहमहामन्त्री प्रदीप कार्कीले बताए ।

बैठकमा पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक तथा महामन्त्री राजाराम बर्तौलाले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

हालै तराई मधेस सम्मेलन सम्पन्न गरेको राप्रपाले यही पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने तयारी गरेको जानकारी पनि उनले दिए ।

१२ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौँ । सरकारले १२ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबार सूचना निकालेर सार्वजनिक निकायबाट लेखिआए बमोजिम कार्यालयको बुधबारको निर्णयअनुसार जारी ती कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको जनाएको छ ।

सूचनामा सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ (१) अनुसार १२ कम्पनीहरूलाई कालोसूचीमा राखिएको उल्लेख गरिएको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा परेका निर्माण व्यवसायी र आपूर्तिकर्ताले एकदेखि तीन वर्षसम्म कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन नपाउने सूचनामा उल्लेख गरेको छ । कार्यालयले केही कम्पनी तथा आपूर्तिकर्तालाई तीन वर्ष, केहीलाई एक वर्ष तथा केहीलाई छ महिनाका निम्ति कालोसूचीमा राखेको जनाइएको छ ।

पाँचथरको फिदिमस्थित यातायात पूर्वाधार निर्देशनालय, नेपाल टेलिकम केन्द्रीय कार्यालय, रुकुम पश्चिमको चौरजहारीस्थित सडक विभाग, सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, नेपाल वन निगम लिमिटेडलगायत १२ सार्वजनिक निकायले उक्त कार्यालयलाई कालोसूचीमा राख्न पत्राचार गरेका सूचनामा जनाइएको छ ।

लाज शरणमको एकसाथ तीन पोस्टर

काठमाडौं । फिल्म ‘लाज शरणम्’का तीन पोस्टर सार्वजनिक गरिएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर निर्माण टिमले तीन वटा पोस्टर सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएका पोस्टरमा फिल्मका मुख्य कलाकार अटाएका छन् । पहिलो पोस्टरमा कफिनभित्र हरिस निरौला (क्रकोज), विजय बराल, सागर लम्साल (बले) र अर्जुन घिमिरे (पाँडे) छन् । कफिन भित्रबाट उनीहरूले केही आश्चर्य र रमाइलो मिश्रित भावमा केही हेरिरहेका छन् । यसलाई मृत्युपछि मान्छेले के देख्छ होला भन्ने परिकल्पनाका रूपमा बुझ्न सकिन्छ ।

दोस्रो पोस्टरमा हात तराजु बोकेर एक व्यक्ति कफिनमाथि उभिएका छन् । उसको तराजुमा यार्सा र सुनको विष्कुट जोखिरहेको देखिन्छ । सुनको विष्कुट यार्साको भन्दा भारी तौल देखाइएको छ । उसको अगाडि हिमाल र त्यसको काखमा बस्ती छ । यो पोस्टरले सम्पत्तिको लोभ र बाध्यतामा मान्छे कसरी मृत्युसम्म पुगिरहेको छ भन्ने बुझ्न सकिन्छ ।

अर्को पोस्टरमा हरिष र विजय छन् । हरिषको ढाडमा बसेर विजयले मान्छेको हड्डीको शङ्ख फुकिरहेको देखिन्छ । यसले प्रतिशोध साँधिरहेको देखाएको छ । गम्भीर विषयलाई रमाइलो तरिकाले ‘लाज शरणम्’ले कथा भन्ने पोस्टरले संकेत गरेको छ ।

फिल्म महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शन हुँदैछ । कुमार कट्टेल ‘जिग्री ब्रो’को निर्देशन रहेको फिल्ममा मुकुन्द श्रेष्ठ, विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बुसँगै सक्किगोनि टिमबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामत, कमलमणि नेपाल (खुपीका बाउ) लगायत कलाकारको अभिनय छ ।

फिल्ममा सुदीप बरालको छायाँकन छ । जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको फिल्ममा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् ।

जय ट्रफी मेन्स एलिट कपका लागि सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं । जय ट्रफी मेन्स एलिट कप क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टोली घोषणा भएको छ । बागमती प्रदेश क्रिकेट संघले बिहीबार नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

यसअघि बागमती प्रदेशले प्रारम्भिक टोलीमा १८ खेलाडी छनौट गरेको थियो । प्रारम्भिक टोलीमा रहेका रोविन जोशी, अशोक पौडेल र दयानन्द मण्डल बाहिरिएका छन् । जय ट्रफी नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा पुस २१ देखि २९ गतेसम्म मधेश प्रदेशको जनकपुर र वीरगञ्जमा हुनेछ ।

रवि दाइ र मबीच फाटो ल्याउन पार्टीभित्र र बाहिरकाले खेले

डा. मुकुल ढकाल ।
आज केही कुरा गरौँ ……
अलि अलि तलमाथि हुँदै सबै कुरा राम्रै जाँदै थियो । रवि दाइ र मबीच पार्टी छलफल हुँदै कुरा हुन्थ्यो, ‘भोलिका दिनमा पार्टी ठूलो हुन्छ, फरक फरक मान्छे आउँछन् , राजनीतिबाट जोगिएर जानपर्छ“ र रवि दाइ आफैँ भन्नुहुन्थ्यो, “जस्तो परिस्थिति आए पनि, मुकुल, तिमी र म एक गुट है ।’

परिस्थितिहरू आए । पार्टी बाहिरबाट खेले । पार्टी भित्रैबाट पनि खेले । मैले त्यतिबेला यो राजनीति भइराछ, जोगिऔँ भने , तर त्यतिबेलासम्म उहाँ उहाँलाई पुर्न बनाइएको खाल्डोमा परिसक्नु भएको थियो । मैले बार बार सम्झाएँ, बुझाएँ, तर खाल्डोमा परेको कुरा पत्याउनु भएन । उल्टै मलाई कारबाही गर्नुभयो । अरूका राजनीति नबुझेरै उहाँले मेरो राजनीतिकरूपमा हत्या गर्ने प्रयास गर्नुभयो र म पनि त्यसै अनुसार प्रतिक्रियात्मक हुन पुगें । आखिर मान्छे हुँ, भगवान थोडिन हुँ र । हामीबीचको सम्बन्धमा भित्र बाहिरकाले खेलेको राजनीति समयमा बुझ्न नसक्नु वा भनौँ बुझाउन नसक्नु हाम्रो गल्ती पक्कै हो । सम्बन्ध त दुईतर्फी हुन्छ, गल्ती ममा मात्र थुपारियो । गल्ती त सायद दुवैको हुनपर्छ नि । अलिकति गल्ती मेरो होला, अलिकति गल्ती उहाँको होला र अलिकति नजर लाग्यो होला पापी दुनियाँको ।

सभापतिलाई महामन्त्रीबाट अलग गराएपछि सभापति कमजोर हुन्छन् भन्ने बुझेकाले नराम्ररी नै खेले । मैले बुझाउने प्रयास गरें, म असफल रहेँ । मलाई कारबाही गरे, अनि सभापतिमाथि नै प्रहार गरे । पार्टीलाई उग्र दक्षिणपन्थी अवसरवादी विदेशी दलालहरूले कब्जामा पुर्याउने उनीहरूको योजना सफल हुँदै गएको छ । मिति नै तोकेर भन्दा पनि मलाई पत्याएनन्, अब जब कुराहरू पूरा हुँदै छ, अलि अलि पत्याउनेको सङ्ख्या बढ्न थालेको छ तर म कामना गर्छु कि यो नहोस्, त्यो सङ्ख्या चाहिने जतिमा पुगुन्जेल धेरै ढिलो भइसकेको नहोस् ।

राष्ट्रिय स्वतन्त्र पार्टी जोगाउनपर्छ । हामीले बगाएको बुद्धि, पसिना, पैसा र समयले बनाएको पार्टी हो । साना दुःखले आर्जेको पार्टी होइन, जोगाऔँ । फुटेर होइन, जुटेर । यदि अदालतले निर्दोष भने माफी मागौँला, नभने ? खैर, सबै बिर्सौँ तर सङ्कटको यो घडीमा पार्टी जोगाऔँ । जोगाउने मात्र होइन, ८४ सम्म भरोसायुक्त शक्तिकोरूपमा स्थापित गरेर, मिसन ८४ लाई सफल बनाऔँ ।
अब पनि राजनीति नबुझ्ने हो भने, निषेधकै राजनीतिमा अघि बढ्ने हो भने, प्रचण्ड, देउवा र ओलीसँग मिल्न सक्ने मुकुलसँग मिल्न सकिन्न जस्ता तर्क दिँदै जाने हो भने, के भन्न सकिन्छ र ? राजनीति फरक चिज हो । यो कसरी बुझाउने । रवि दाइका मित्रहरू, शुभचिन्तकहरूलाई म दुश्मन देखिएको छु होला, तर म त लामो समय बाहिर छु, भित्र भित्रै आक्रमण गरेर सकाउनेलाई कसो देख्न सक्नु भएन । प्रमाण के भन्नु होला । यो राजनीति हो, यहाँ प्रमाण अदृष्य हुन्छ । देशमा विदेशी हस्तक्षेप हुन्छ कि हुन्न भन्दा, प्रमाण त के पाइएला । राजनीतिको खेल नबुझ्ने हो भने, ८४ को खेल कुनै हालतमा जितिन्न ।

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । आज मध्यान्ह केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा आगामी केन्द्रीय कमिटी बैठकका एजेण्डा, समसामयिक राजनीतिक परिस्थितिलगायतका विषयमा छलफल कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

यही पुस १० गते बसेको सचिवालय बैठकले पुस २१ र २२ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो ।

बैठकले केन्द्रीय कमिटी बैठकका लागि राजनीतिक प्रतिवेदन, संगठनात्मक कामहरुबारे जानकारी, विगतका सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो बैठकले गरेका निर्णयको अनुमोदन र समसामयिक प्रस्तावसहित चार एजेण्डा पनि तय गरेको थियो ।

नेपाल प्रहरीका डीआइजीद्वय कडायत र केसी एआइजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

बुधबार बसेको बढुवा समितिको बैठकले डीआइजी कुबेर कडायत र रविन्द्र केसीलाई एआइजी बढुवामा सिफारिस गरेको हो । कडायत प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् भने केसी अन्वेषण योजना तथा निर्देशनालयमा कार्यरत छन् ।

निर्वाह भत्ता सरकारी सरह नदिए प्रतिकारमा उत्रने आवासीय चिकित्सकको चेतावनी

काठमाडौं । आवासीय चिकित्सहरुले सरकारी सरह निर्वाह भत्ता नपाए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

उनीहरुले स्वास्थ्य मन्त्री प्रदीप पौडेल, शिक्षा मन्त्री विद्या भट्टराईसहित चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा अन्जनी कुमार झालाई ज्ञापन पत्र बुझाएर सरकारी सरह निर्वाह भत्ता नपाए आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।

स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिका संयोजक डा. शेषराज घिमिरेले समितिसँग विगतमा गरेको सम्झौताविपरीत अन्य कुनै निर्णय गरेमा समितिसहित आवासीय चिकित्सकहरू सशक्त रूपमा प्रतिकारमा उत्रने चेतावनी दिएका छन् ।

समितिले आवासीय चिकित्सकहरुको निर्वाह भता सरकारी आठौं तहको मेडिकल अधिकृतको (वार्षिक १३ महिनाको) पारिश्रमिक बराबर हुने सुनिश्चित गराएर मात्र गैरसरकारी मेडिकल कलेजको इन्स्पेक्सन, सीट निर्धारण र प्रवेश परीक्षाको सम्पुर्ण प्रकृया अघि बढाइने निर्णय गरि सोको आधिकारीक जानकारी दिन माग गरेका छन् ।

समितिका अनुसार बुधबारसम्म देशभरका ४० वटा अस्पताल तथा शिक्षण संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुबाट सामुहिक र संस्थागत रुपमा ऐक्यवद्धता आएको छ ।

ज्ञापन पत्र बुझाउने क्रममा मन्त्री र आयोगका उपाध्यक्षले समितिको माग अनुसार काम अगाडि बढाउने प्रतिक्रिया दिएको समितिका संयोजक डा शेषराज घिमिरेले जानकारी दिए। उनले समितिसँग विगतमा गरेको सम्झौता विपरित अन्य कुनै निर्णय गरेमा समितिसहित आवासीय चिकित्सकहरुले सशक्त रुपमा प्रतिकारमा उत्रने जानकारी दिए ।

नक्कली सुकुम्बासी बनेर लिएको जग्गा जफत र कारबाही : मन्त्री अधिकारी

 काठमाडौँ  । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले जग्गाधनी भएकै अवस्थामा सुकुम्बासी बनेर पुनः जग्गा लिनेमाथि जो कोहीमाथि कारबाही हुने स्पष्ट पारेका छन् ।


प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बुधबारको बैठकमा ‘भूमि समस्या समाधान’सम्बन्धी छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले त्यस्तो व्यक्तिले सुकुम्बासीका नाममा प्राप्त गरेको जग्गा जफत गरी कारबाही गरिने बताए ।

“अहिले जग्गा जमिन कहाँ, कस्तो छ, सबै ‘डिजिटलाइज प्रणाली’मा राख्ने काम भइरहेको छ, व्यक्तिको देशभर कति जग्गा छ भनेर निकाल्न सक्ने प्रविधिको विकास भएको छ”, सुकुम्बासी पहिचानसम्बन्धी प्रक्रियाबारे जानकारी दिँदै मन्त्री अधिकारीले भने, “कुनै व्यक्तिले अन्त जग्गा भएर झुक्याएर आयोगबाट जग्गा लिएको रहेछ भने उक्त जग्गा जफत र कारबाही हुन्छ ।” सरकारबाट जग्गा लिने र बिक्री गर्ने प्रवृत्ति अब अन्त्य गर्नुपर्ने उनको भनाइ थियो ।

मन्त्री अधिकारीले सुकुम्बासी, भूमिहिन र अव्यवस्थित बसोबाससम्बन्धी समस्या समाधान गर्न भूमि समस्या समाधान आयोगले प्रक्रिया थालनी गरिसकेको स्पष्ट पारे । “आयोग देशभरी बन्छ, तर त्यो आयोगको कार्य क्षेत्र र कार्यावधि फरक हुन्छ”, उनले भने, “मन्त्रालयले आयोगको सीमा तोकिसकेको छ ।”

विगतका आयोगले गरेका कामलाई निरन्तरता दिँदै वितरण भएका लालपूर्जाको स्रेष्ता कायम गरी अघि बढिने उल्लेख गर्दै उनले जिल्ला आयोग गठन भएर काम थालनी भएपछि निश्चित अवधि थप गरेर मापदण्ड बनाइने र सो अवधिमा भरिएका फारमलाई अन्तिम मानिने बताए ।

“एक हजारभन्दा कम निवेदन परेको जिल्लाको हकमा एक वर्ष कार्यवधि तोकिनेछ, पाँच हजारसम्म दुई वर्ष र पाँच हजार भन्दा बढी निवेदन परेको जिल्लाको कार्यविधि तीन वर्ष कार्यावधि कायम गरिएको छ”, मन्त्री अधिकारीले भने ।

हालसम्म भूमि समस्या समाधान आयोगमा १० लाख ९६ हजार ६ सय ७९ भूमिहिनको सङ्ख्या प्रविष्ट भएको छ । त्यसमध्ये भूमिहीन दलितको सङ्ख्या ८७ हजार नौ सय ९५, भूमिहिन सुकुम्बासीको सङ्ख्या एक लाख ६६ हजार ६० र भूमिहिन अव्यवस्थितको सङ्ख्या आठ लाख ४२ हजार छ सय १५ रहेको छ । आयोगले हालसम्म चार हजार पाँच सय ८६ वटा पूर्जा वितरण गरिसकेको भने दुई लाख ५९ हजार ४० वटा कित्ता नाप नक्सा सम्पन्न भएको छ ।

भूमि व्यवस्था मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले भूमि समस्या समाधानका लागि जिल्लास्तरीय आयोग गठन गर्ने प्रक्रिया अघि बढेको जानकारी दिए । “आयोगलाई कर्मचारी व्यवस्थापनमा मन्त्रालय लागि परेको छ, चाँडै जिल्ला आयोग गठन गरेर कार्यप्रारम्भ गर्ने तयारी छ”,उनले भने ।

‘सुकुम्बासी उत्पादन गर्ने मुहान नै बन्द गरौँ’

छलफलमा सांसद वीरबहादुर बलायरले सुकुम्बासी समस्याको दीर्घकालीन समस्या समाधान गर्न सुकुम्बासी उत्पादन हुने मुहान नै बन्द गर्नुपर्नेमा जोड दिए । उनले वास्तविक सुकुम्बासी र भूमिहीनको पहिचान गरेर प्राथमिकताका आधारमा जग्गाको स्वामित्व दिइनुपर्ने धारणा राखे ।

सरस्वती सुब्बाले भूमिसम्बन्धी समस्या एकसाथ समाधान गर्न सबै जिल्लामा समिति गठन गरेर कार्यप्रारम्भ गर्नुपर्नेमा जोड दिए । सांसद भानुभक्त जोशीले शुक्लाफाँटा आरक्षबाट विस्थापित नागरिकको समस्या आयोगले समाधान गर्छ कि गर्दैन भनी प्रश्न गरे ।

सांसद मीना तामाङले भूमिहिन, सुकुम्बासी र भूमिहिन दलितको यथार्थ तथ्याङ्क सङ्कलन गरी प्राथमिकताका आधारमा जग्गा दिएर समस्या समाधान गर्नुपर्नेमा जोड दिइन् । सांसद अमृतलाल राजवंशीले भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या दीर्घकालीन समस्या समाधान गर्न आयोग गम्भीर हुनुपर्ने बताए । 

ध्रुव आचार्य राखेपको उपाध्यक्ष नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्षमा ध्रुव आचार्यलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नियामक निकाय राखेपको उपाध्यक्षमा आचार्यलाई नियुक्त गरेको हो । एमालेनिकट आचार्य मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष पनि हुन् ।

यस्ता छन् मन्त्रिपरिषद बैठकका २० निर्णय

काठमाडौं । सरकारले प्रत्येक वर्ष माघ १४ गते सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाउने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले माघ १४ गते देशभर सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाउने निर्णय गरेको बुधबार पत्रकार सम्मेलन गरी सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले जानकारी दिएका हुन् ।

बैठकले महान्यायाधिवक्ता कार्यलय र अन्तर्गतको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गरेको छ भने प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालनसम्बन्धी पहिलो संशोधन कार्यविधि स्वीकृत गरेको छ ।

बैठकले पाँचखाल विशेष आर्थिक क्षेत्रलाई सरकारले उपलब्ध गराएको जग्गामा निजी क्षेत्रबाट पूर्वाधार विकास गरेर सार्वजनिक निजी साझेदारी मोडलमा विकास तथा सञ्चलन गर्न स्वीकृति दिएको छ।

सिङ्गापुरको आर्थिक वृद्वि अपेक्षाभन्दा बढी

सिंगापुर ।  सिङ्गापुरका प्रधानमन्त्री लरेन्स वोङले मङ्गलबार सन् २०२४ मा देशको अर्थतन्त्र ४ दशमलव ० प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको बताए ।

“बलियो अर्थतन्त्रको साथ, म वास्तविक आम्दानी थप बढ्ने आशा गर्दछु,” वोङले आफ्नो नयाँ वर्षको सन्देशमा उल्लेख गरे ।

प्रधानमन्त्रीले आउँदो फेब्रुअरी १८ मा प्रस्तुत हुने बजेट सन् २०२५ मा देशको आगामी कदमको रूपरेखा दिने बताए । सिङ्गापुरको प्रमुख प्राथमिकताहरूमा आर्थिक प्रतिस्पर्धात्मकता बढाउने, नागरिकहरूका लागि अवसर तथा राम्रो रोजगारी सिर्जना गर्ने र बढ्दो जीवनयापन लागतको प्रभावलाई कम गर्ने समावेश छ ।

“हामीले विशेष गरी वृद्ध व्यक्तिहरू तथा कम आय समूहकाहरूलाई थप लक्षित समर्थन प्रदान गर्नेछौं,” वोङले बताए । वृद्ध आमाबाबु तथा साना बच्चाहरूलाई बेवास्ता गरिने छैन ।

नोभेम्बरमा, व्यापार तथा उद्योग मन्त्रालयले सिङ्गापुरको कुल गार्हस्थ्य उत्पादन वृद्धि सन् २०२४ को लागि करिब ३ दशमलव ५ प्रतिशत हुने अनुमान गरेको थियो ।

जर्मनीमा नयाँ वर्षमा आतशबाजी पड्काउँदा पाँच जनाको मृत्यु

बर्लिन । जर्मनीले नयाँ वर्ष मनाउन परम्परागत रूपमा बालएका शक्तिशाली आतिशबाजीका कारण जर्मनीमा पाँच जनाको मृत्यु हुनुका साथै एक प्रहरी अधिकारी गम्भीर घाइते भएका छन् ।

जर्मनहरूले नयाँ वर्षलाई आतशबाजीको तीव्र प्रयोगका साथ मनाउँदछन् । यसले प्रत्येक वर्ष चोटपटकको उच्च सङ्ख्या साथै प्रदूषण र होहल्ला निम्त्याउने गरेका कारण शक्तिशाली आतसबाजीलाई रोक्ने बारेमा बारम्बार बहस हुने गरेको छ ।

प्रहरी प्रवक्ता फ्लोरियन नाथका अनुसार यस वर्ष भएका दुर्घटनामा परी १३ जना प्रहरी अधिकारी घाइते भएका छन्।

राजधानी बर्लिनमा रातारात करिब ३३० जनालाई हिरासतमा लिइएको र विगतका वर्षहरूको तुलनामा यस वर्ष कुनै ठूलो हिंसा वा घटना नभएको प्रहरीले जनाएको छ ।

नर्थ राइन–वेस्टफालियाको उत्तरपश्चिम क्षेत्रमा पर्ने पाडेरबोर्न नजिकै २४ वर्षीय एक व्यक्तिको ‘पाइरोटेक्निक रकेट’ विस्फोट हुँदा मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

स्याक्सोनीको ओशाट्जमा ४५ वर्षीय एक व्यक्तिले ‘पाइरोटेक्निक बारूदी गोला’मा आगो लगाउँदा टाउकोमा गम्भीर चोट लागेर मृत्यु भएको छ । पुलिसका अनुसार यो शक्तिशाली ‘एफ–४ श्रेणी’को आतशबाजी हो र सको खरिद गर्न विशेष अनुमति चाहिन्छ।

स्याक्सोनीको पूर्वी क्षेत्रमा हर्था शहरमा ५० वर्षीय एक व्यक्तिको आतशबाजी पाइप बम विष्फोट गर्न खोज्दा टाउकोमा चोट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ताले बताएका छन् ।

उत्तरको ह्याम्बर्ग नजिकै एक २० वर्षीय युवकको आतिशबाजीमा आगो बालेर मृत्यु भएको थियो।

अन्तमा, बर्लिन नजिकै क्रेमेनमा पनि एक व्यक्तिको आतशबाजीको विस्फोटबाट मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ। यस्तै घटनामा यस क्षेत्रका अन्य तीन जना गम्भीर घाइते भएका छन् । 

हट एयर बेलुनमा उड्दै कलाकृति

गण्डकी । प्राज्ञ नगेन सिंहले पोखराको पामेमा सञ्चालित अन्तरराष्ट्रिय हट एयर बेलुन फेष्टिफलका अवसरमा हट एयर बेलुनमा उड्दै दुई कलाकृति सिर्जना गरेका छन्।

प्राज्ञ सिंहले बेलायती पाइलट एलेक्सले चार हजार फिट माथि बेलुन उठाउदा क्यानभासमा सूयोदयको कलाकृतिसँगै अन्नपूर्ण दृष्य चित्र सिर्जना गरेका हुन्।

नेपालको हट एयर बेलुनमा उडेर बनाएको पहिलो पटक भएको र अन्तराष्ट्रिय हट एयर बेलुन फेस्टिभलको पनि पहिलो घटना हुन सक्ने बेलुन नेपालका व्यवस्थापक सरोज कोइरालाको दावी छ।

हट एयर बेलुनका पाइलट एलेक्सले हट एयर बेलुनमा बसेर बनाइएको कलाकृति सिर्जनालाई आफ्नो जीवनीको पुस्तकमा समावेश गर्ने बताए।

फेस्टिफल संयोजक प्रविण महर्जनले बेलुन फेष्टिफलमा बेलुनमा कलाकृतिको सिर्जना ऐतिहासिक क्षण भएको बताउँदै नेपालमा पहिलो पटक डिजे नानाले बेलुनमा प्रस्तुति दिएको जानकारी गराए।

वामदेव गौतम एकीकृत समाजवादीमा आउने

काठमाडौं । पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा एकीकृत समाजवादीमा आउने भएका छन् ।

बुधबार एकीकृत समाजवादीको पार्टी कार्यालयमा दुई दलका नेताबीचको छलफल सकारात्मक भएको हो । छलफलपछि नेता गौतमले आफू र माधव नेपाल एकजुट हुने बताए । उनले भीम रावलकाबारेमा आफूलाई थाहा नभएको तर आफूहरुबीच एकता हुने बताए ।

उनले धेरै विषय टुंगिएको र अभियानको बैठक बसेर त्यसलाई अनुमोदन गर्ने बताए । एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले छलफल सकारात्मक भएको र छिट्टै निर्णय आउने बताए ।

एकीकृत समाजवादीमा गौतमलाई वरिष्ठ नेताको पदसहित तेस्रो वरियता दिने विषयमा सबै नेता एकमत रहेको बताइएको छ । दुई पार्टी एकता गर्ने विषयमा पटक पटक छलफल भइरहेका छन् ।

भीम रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने

काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेका डा. भीम रावलले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी रावलले देश र प्रवासमा अभियान सञ्चालन गर्दै, देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य बनेको बताएका हुन् ।

उनले बीपी कांग्रेस, पूर्व देशभक्त सैनिक संगठनसहितलाई एक ठाउँमा राखेर नयाँ पुस्ताको जीवन सुरक्षित बनाउन लागेको पनि बताएका छन् । रावलले वैकल्पिक शक्ति निर्माणका लागि मातृभूमि जागरण अभियान सञ्चालन गर्ने पनि बताएका छन् ।

उनले भनेका छन्, ‘देश र जनताले भोगिरहेका समस्याहरूको समाधान र चुनौतीहरूको सामना गर्दै स्वाधीन, स्वतन्त्र र स्वाभिमानी नेपाललाई पुनर्जागरणको दिशामा अगाडि बढाउनुपर्छ । स्वदेश र प्रवासमा रहेका नेपालीहरूका आवाज, आकांक्षा र आवश्यकतालाई गहिरो गरी मनन र विश्लेषण गर्दै राज्य र राजनीतिलाई त्यसको सेवामा समर्पित गर्नुपर्छ ।’

पूर्णपाठ – 

नेप्से पाँच अंकले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो तीन महिनायताकै न्यून कारोबार देखिएको छ ।
बुधबार नेप्से परिसूचक पाँच दशमलव १० अङ्कले बढेर दुई हजार पाँच सय ८१ दशमलव ६० को बिन्दुमा पुग्दा कारोबार रकम भने साढे तीन अर्ब हाराहारीमा खुम्चिएको हो ।

आज तीन सय नौ कम्पनीको ९४ लाख ३४ हजार नौ कित्ता शेयर ४३ हजार सात सय २९ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ५९ करोड ७४ लाख ४५ हजार तीन सय ३४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । यो कारोबार रकम गत असोज अन्तिम सातायताकै न्यून हो ।

मङ्गलबारको कारोबारमा उच्च गिरावट देखिएको वित्त समूह आज सम्हालिएर उच्च वृद्धि देखिएको छ । वित्त समूह तीन दशमलव ८७, विकास बैंक एक दशमलव ६८ र जलविद्युत् समूह एक दशमलव २४ प्रतिशतले बढेको छ । त्यस्तै, होटल तथा पर्यटन शून्य दशमलव ९५, लगानी शून्य दशमलव शून्य नौ, उत्पादन तथा प्रशोधन शून्य दशमलव २५, निर्जीवन बिमा शून्य दशमलव २२ र व्यापार समूह शून्य दशमलव ६३ प्रतिशतले बढको छ ।

अरु समूहको उपसूचकमा भने गिरावट देखिएको छ । बैंकिङ शून्य दशमलव ७२, जीवन बिमा शून्य दशमलव शून्य छ, लघुवित्त शून्य दशमलव १६, म्युचुअल फन्ड शून्य दशमलव १७ र अन्य समूह शून्य दशमलव ४१ प्रतिशतले घटेको हो ।

त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु २१ करोड ८२ लाख १७ हजार तीन सय ४९ बराबरको शेयर खरिदबिक्री भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सन्राइज ब्लुचिप फण्डको १७ लाख ३४ हजार पाँच सय ८९ कित्ता शेयर किनबेच भएको छ

एआईको प्रयोग जीवनोपयोगी हुनसक्छ ?

-डा. परशुराम दाहाल

 नासाले १४ अक्टोबर २०२४ मा जुपिटर(वृहस्पति) ग्रहको चन्द्रमा युरोपाको अध्ययन गर्न प्रक्षेपण गरेको युरोपा क्लिपर मिसन विज्ञान र प्रविधिको क्षेत्रमा माइलस्टोन बनेको छ । युरोपा क्लिपर जुपिटरको चन्द्रमा युरोपाको विस्तृत अध्ययन गर्न डिजाइन गरिएको पहिलो मिसन हो । वैज्ञानिक प्रमाणहरूका अनुसार अहिले पनि जीवनका लागि आवश्यक तत्वहरू युरोपामा हुन सक्छन् । यो अन्तरिक्ष यान छ वर्षपछि, अप्रिल २०३० मा १.८ अर्ब माइल (२.९ अर्ब किलोमिटर) यात्रा गरेर जुपिटरमा पुग्नेछ । त्यहाँ पुगेपछि, यो जुपिटरको परिक्रमा गर्दै युरोपाको ४९ पटक नजिकबाट उडान गरेर अध्ययन गर्नेछ ।

यस मिसनमा कृत्रिम बैद्धिकता (एआई) र अन्य अत्याधुनिक प्रविधिहरूको प्रयोग गरेर जीवनको सम्भावना खोज्ने लक्ष्य राखिएको छ । एआई भनेको कम्प्युटरले मानिसजस्तै सोच्न र काम गर्न सिकेको प्रविधि हो । यसले जटिल समस्या समाधान गर्न र दैनिक जीवनका कामहरू सजिलै गर्न मानिसलाई सहयोग पु¥याउँछ । वैज्ञानिकहरूले यो मिसन केवल पृथ्वीबाहेक जीवनको खोजीको लागि मात्र नभई, भविष्यमा अन्य ग्रह र चन्द्रमाहरूमा अन्वेषण गर्ने योजनाहरूको मार्गप्रशस्त गर्ने विश्वास गरेका छन् । नासाको युरोपा क्लिपर मिसनको कुल अनुमानित लागत लगभग ५.२ अर्ब डलर रहेको छ । यसमा मिसनको विकासदेखि २०३० मा जुपिटरमा पुगेर चार वर्षसम्म सञ्चालन गर्ने सम्पूर्ण खर्च समावेश छ । मिसन अत्यन्त जटिल भएकाले, डिजाइन र विकिरण जस्ता चुनौतीका कारण बजेट बढ्दै गएको हो । यो नासाका सबैभन्दा महँगो ग्रह विज्ञान परियोजनाहरू मध्ये एक मानिन्छ ।

युरोपा क्लिपर मिसनमा १,००० भन्दा बढी वैज्ञानिक र इन्जिनियरहरू संलग्न थिए, जसमा एआई र ग्रह अनुसन्धानका विशेषज्ञहरू पनि समावेश थिए । यो मिसनको तयारी २०१५ मा औपचारिक रूपमा सुरु गरिएको थियो र नौ वर्षको मेहनतपछि १४ अक्टोबर २०२४ मा सफलतापूर्वक प्रक्षेपण गरियो । यस अवधिमा वैज्ञानिक टोलीले जटिल उपकरणहरू निर्माण र परीक्षण गर्दै, जुपिटरतर्फको यात्रा योजना र मार्गको विस्तृत तयारी गरे । मिसनले एआई प्रविधि प्रयोग गरेर डेटा प्रशोधन र नेभिगेसनलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ, जसले जुपिटरको खतरनाक विकिरणबाट सुरक्षित उडान सुनिश्चित गर्छ ।

युरोपा क्लिपर अन्तरिक्षयानले हाइड्राजिन–आधारित इन्धन प्रयोग गर्छ । हाइड्राजिन अन्तरिक्षयात्राका लागि विश्वसनीय इन्धन हो, विशेषगरी गहिरो अन्तरिक्षमा यानको मार्ग परिवर्तन र नियन्त्रणका लागि । यो मिसनका लागि लगभग छ हजार पाउन्ड (दुई हजार ७५० किलोग्राम) इन्धन यानका ट्याङ्कहरूमा भण्डारण गरिएको छ, जसमा हिलियम प्रेसरन्ट पनि छ, जसले इन्धन प्रवाहलाई व्यवस्थापन गर्नेछ । यस इन्धनको मद्दतले युरोपा क्लिपरले मङ्गल र पृथ्वीबाट गुरुत्वीय सहायता लिंदै, जुपिटरको कक्षसम्मको यात्रा पूरा गर्नेछ । हाइड्राजिन थ्रस्टरहरूले मार्ग सुधार र मिसनका दौरान वैज्ञानिक उपकरणहरूको सही दिशामा नियन्त्रण गर्न मद्दत गर्नेछन् ।

युरोपा क्लिपर मिसनको एउटा प्रमुख लक्ष्य युरोपामा जीवनको सम्भावना खोज्नु हो । युरोपा, जुपिटरको मुख्य चन्द्रमाहरू मध्ये एक, सतहमुनि लुकेको नुनिलो महासागरले ढाकिएको छ । वैज्ञानिकहरूले यो महासागरमा पृथ्वीभन्दा बढी पानी रहेको अनुमान गरेका छन् । वैज्ञानिकहरूले जुपिटरको यस चन्द्रमामा बरफमुनि रहेको महासागरमा जीवनका लागि आवश्यक तत्वहरू—पानी, रासायनिक यौगिकहरू र ऊर्जा स्रोत—मौजूद हुनसक्ने अनुमान गरेका छन् । यो मिसनको उद्देश्य युरोपाको वातावरण अध्ययन गरी हाम्रो ब्रह्माण्डमा हामी एक्लै छौं कि छैनौं भन्ने प्रश्नको जवाफ खोज्नु पनि हो । यदि जीवनको लागि अनुकूल अवस्था फेला परेमा, यसले पृथ्वीबाहेक अन्य ग्रह र चन्द्रमाहरूमा जीवनको सम्भावना पुष्टि गर्न मार्ग प्रशस्त गर्नेछ । यो मिसनले मानव सभ्यताले ब्रह्माण्डमा आफ्नो स्थान र जीवनको अर्थबारेको बुझाइमा परिवर्तन ल्याउने आशा गरिएको छ ।

यस मिसनको मुख्य उपकरणहरूमा आइस–पेनेट्रेटिङ राडार, थर्मल इमेजिङ प्रणाली, र अल्ट्राभायोलेट स्पेक्ट्रोस्कोप समावेश छन् । यानले युरोपाको सतहमुनि लुकेको पानी र पानीका फोहोराहरूको खोजी गर्दै जीवनको संकेत अध्ययन गर्नेछ । एआई प्रणालीहरूले सतहका तस्वीरहरू र अन्य वैज्ञानिक डेटा विश्लेषण गरी महत्त्वपूर्ण सूचनाहरू छान्ने र स्वचालित रूपमा मिसनको मार्गदर्शन गर्नेछ ।

सौर्य ऊर्जा प्रयोग गर्ने यो यानमा १०० फिट लामो सोलार प्यानल जडान गरिएको छ, जसले जुपिटरको कमजोर घामबाट पनि पर्याप्त ऊर्जा सङ्कलन गर्न मद्दत गर्नेछ । रेडिएसन–प्रतिरोधी प्रविधिको प्रयोग गरेर, यानका उपकरणहरूलाई जुपिटरको विकिरणबाट सुरक्षित राखिनेछ ।

एआई प्रणालीहरूले मिसनमा सङ्कलन गरिएको डेटा पृथ्वीमा पठाउनु अघि प्राथमिकता निर्धारण र संकुचन गर्नेछन्, जसले अनावश्यक जानकारी हटाएर वैज्ञानिकहरूले तुरुन्तै उपयोग गर्न मिल्ने महत्त्वपूर्ण तथ्यहरू फेला पार्न सकून् । यस प्रकारको कुशलता मानव अनुगमनबिना पनि अन्तरिक्षमा अनुसन्धान गर्न सक्षम हुनेछ । यो मिसनले भविष्यमा पृथ्वीबाहेकका ग्रह र चन्द्रमाहरूमा जीवनको सम्भावना खोज्न थप प्रेरणा दिनेछ । यदि युरोपामा जीवन पत्ता लाग्यो भने यो केवल विज्ञानको विजय नभई सम्पूर्ण मानव जातिका लागि ऐतिहासिक उपलब्धि हुनेछ । एआई र अन्तरिक्ष प्रविधिको यस्तो प्रयोगले अन्तरिक्ष अन्वेषणको क्षेत्रलाई नयाँ उचाइमा पुर्याउनेछ ।

नेपालजस्तो देशका लागि, यस्तो एआई प्रविधि केवल प्रेरणाको स्रोत मात्र नभई देशको प्राविधिक विकासका लागि दिशानिर्देशक पनि हो । यो प्रविधि दुर्गम क्षेत्रमा शिक्षा र स्वास्थ्य सेवा पुर्याउन, ग्रामीण क्षेत्रमा कृषिको उत्पादनशक्ति बढाउन र विपद् व्यवस्थापनका लागि भविष्यवाणी प्रणाली निर्माण गर्न प्रयोग गर्न सकिन्छ । एआई प्रविधि प्रयोग गरेर नेपालले आफ्नो वैज्ञानिक अनुसन्धानमा मात्र नभई, जीवनस्तर सुधार्नका लागि पनि महत्वपूर्ण योगदान गर्न सक्छ । भविष्यमा, एआई र मानिसको सहकार्यले शिक्षा, स्वास्थ्य र अनुसन्धानमा प्रगति ल्याउन महत्वपूर्ण योगदान पुर्याउनेछ । जिम्मेवार र सुरक्षित रूपमा मानव र एआईको सहकार्यले हाम्रो जीवनलाई थप सहज र प्रभावकारी बनाउन सघाउनेछ ।

युरोपामा जीवनको सम्भावना खोज्ने नासाको प्रयासले भविष्यमा पृथ्वीबाहेक अन्य ग्रहहरूमा मानव जीवनको सम्भावनालाई उजागर गर्न सक्छ । नेपालजस्ता देशहरूले पनि यस्ता प्रविधिबाट प्रेरित भई आफ्नो अनुसन्धान र विकासलाई सशक्त बनाउन सक्छन् । एआईले मानव सभ्यताको सम्भावनालाई मात्र होइन, सम्पूर्ण ब्रह्माण्डमा जीवनको परिकल्पनालाई नयाँ उचाइमा पु¥याउनेछ । यसले नेपाललाई विश्वस्तरको अनुसन्धान र अन्तरिक्ष प्रविधिमा सहभागी गराउन मद्दत पुर्याउनेछ ।

युरोपा क्लिपर मिसन नासाको मात्र नभई सम्पूर्ण मानवताको अन्तरिक्ष यात्रामा एक महत्वपूर्ण कोसेढुङ्गा बन्नेछ । यो मिसनले विज्ञान र प्रविधिमा नयाँ क्रान्ति ल्याउँदै भविष्यका अन्तरिक्ष अन्वेषणहरूलाई प्रेरित गर्नेछ, जसले हामीलाई “हामी एक्ला छौँ कि छैनौँ ?” भन्ने प्रश्नको उत्तर खोज्न थप नजिक पुर्याउनेछ ।

(लेखक अमेरिकामा एआई विज्ञका रूपमा कार्यरत हुनुहुन्छ)

नेपालमा होटल तथा रेस्टुराँको सङ्ख्या एक लाख ४२ हजार

काठमाडौँ।  नेपालमा हाल सञ्चालनमा रहेका आवास तथा भोजन सेवासँग सम्बन्धित प्रतिष्ठानको संख्या करिब डेढ लाख हाराहारी देखिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८० प्रतिवेदनअनुसार आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानको संख्या एक लाख ४२ हजार दुई सय २३ छ।

सबैभन्दा धेरै बागमती प्रदेशमा ५२ हजार एक सय २३ वटा होटल तथा रेस्टुरेन्ट रहेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा सात हजार एक सय १० रहेको छ। त्यस्तै, कोशीमा २५ हजार आठ सय ८७, मधेशमा ११ हजार सात सय ४०, गण्डकीमा १६ हजार नौ सय ७६, लुम्बिनीमा २० हजार एक सय ५८ र सुदूरपश्चिममा आठ हजार दुई सय २८ छ।

अध्ययन प्रतिवेदनअनुसार यस्ता प्रतिष्ठानमा संलग्न व्यक्तिको संख्या तीन लाख ८७ हजार सात सय ४७ रहेको छ। यो होटल तथा रेस्टुरेन्ट व्यवसायमा रहेका व्यवसायी तथा साझेदार, वेतलबी पारिवारिक सदस्य र तलबी रोजगार व्यक्तिको संख्या हो।

यो क्षेत्रबाट प्रत्यक्ष रोजगार पाएका व्यक्तिको संख्या एक लाख छ हजार चार सय ५९ छ। होटल तथा रेस्टुरेन्टले कर्मचारीको वार्षिक तलब, ज्याला तथा सुविधामा रू. २० अर्ब ६१ करोड ५० लाख खर्च गर्ने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानमा करिब रू. दुई खर्ब १६ अर्ब ७३ करोड ८३ लाख बराबर लागत रहेको र करिब रु. तीन खर्ब २६ अर्ब एक करोड चार लाख मूल्य बराबरको सेवा उत्पादन गरेको प्रतिवेदनमा उल्लेख छ।

यसअनुसार आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानले नेपालको अर्थतन्त्रमा करिब रु. एक खर्ब नौ अर्ब २७ करोड एक लाख बराबरको मूल्य अभिवृद्धि (भ्यालु एड) गरेको देखिन्छ।

अध्ययन प्रतिवेदनअनुसार आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानमा करिब  पाँच खर्ब ४३ अर्ब २५ करोड ८२ लाख मूल्य बराबरको स्थायी सम्पत्ति रहेको देखिएको छ।

यस्ता प्रतिष्ठानमध्ये करिब २८ दशमलव चार प्रतिशतले वित्तिय संस्थासँग ऋण लिएको देखिन्छ भने ७१ दशमलव छ प्रतिशत प्रतिष्ठानको ऋण नलिएको देखिएको छ।

कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी डा. हेमराज रेग्मीका अनुसार यो सर्वेक्षणमा आवास तथा भोजन व्यवसायसँग सम्बन्धित तारे होटल, रिसोर्ट, गैरतारे होटल, होमस्टेलगायतको अवस्था अध्ययन गरिएको थियो।

होटलमा रहेको कोठाको संख्या एक लाख १६ हजार एक सय रहेको छ। जसमध्ये स्टार होटलमा आठ हजार चार सय ९६ कोठा, गैर तारे होटल तथा लजमा एक लाख ७५, रिसोर्टमा तीन हजार आठ सय २९ र होमस्टेमा तीन हजार सात सय कोठा रहेको यो अध्ययनले देखाएको छ।

हाल नेपालमा सञ्चालित होटल तथा लजले एकैपटक २२ लाख ३४ हजार आठ सय ५२ जनालाई सेवा दिनसक्ने पनि अध्ययनमा उल्लेख छ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको रजिष्ट्रारमा डा. पाल नियुक्त

काठमाडौँ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको रिक्त रजिष्ट्रारमा प्रा.डा. पुष्करबहादुर पाल नियुक्त भएका छन् ।

विश्वविद्यालयका उपकुलपति प्रा. डा. शारदा थपलियाको सिफारिसमा प्रधानमन्त्री एवं कृषि तथा वन विज्ञान विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले डा. पाललाई बुधबार रजिष्ट्रारमा नियुक्त गरेका हुन् ।

उनी सोही विश्वविद्यालयमा कार्यरत पशु चिकित्साविज्ञ हुन् । चितवनको रामपुरस्थित सो विश्वविद्यालयमा करिब चार हजार विद्यार्थी अध्ययनरत छन् ।

बाँके कुष्ठरोगको उच्च जोखिममा

 बाँके । एक वर्षको अवधिमा जिल्लामा ८४ जना नयाँ कुष्ठरोगी पहिचान भएसँगै बाँको कुष्ठरोगको उच्च जोखिममा रहेको पाइएको छ ।

जानकी गाउँपालिका–३ मा अवस्थित आइएनएफद्वारा सञ्चालित साइनिङ अस्पतालमा गत आर्थिक वर्ष २०८०/८१ मा एक सय ४६ जना नयाँ कुष्ठरोगी पहिचान हुँदा बाँकेका मात्रै ८४ बिरामी छन् ।

साइनिङ अस्पतालका प्रमुख मङ्गलबहादुर थारूले नयाँ पहिचान भएका कुष्ठरोगीमा बाँकेका ८४, बर्दियाका २४, भारतका २१, सुदूरपश्चिमका पाँच, रुकुमका चार, सल्यानका तीन तथा दैलेख, सुर्खेत, जाजरकोट, रोल्पा र हुम्लाका एक/एक जना रहेका जानकारी दिए।

पहिचान भएकामध्ये ३९ प्रतिशत बिरामीमा कुष्ठरोगको कीटाणु पोजिटिभ रहेको थियो। बिरामीलाई उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा पठाइएको उनले बताए ।

अस्पतालले आफ्नो बहिरङ्ग सेवामार्फत गत आर्थिक वर्षमा १७ हजार दुई सय ६५ जनालाई सेवा प्रदान गरेको थियो। साइनिङ अस्पतालले कुष्ठरोग सेवालाई विस्तार गर्दै पश्चिम क्षेत्रको कुष्ठरोग प्रेषण केन्द्रका रूपमा आफूलाई स्थापित गरिरहेको थारूले बताए।

अस्पतालले कुष्ठरोगीको पहिचान, अपाङ्गता रोकथाम तथा उपचार, कुष्ठरोग सम्पर्क परीक्षण, समुदायस्तरमा छाला तथा कुष्ठरोग पहिचान शिविर, स्वास्थ्यकर्मीका लागि क्षमता अभिवृद्धि तालिम, समुदायमा कुष्ठरोग सचेतना कार्यक्रम, निःशुल्क उपचार सेवालगायत गतिविधि गरिरहेको प्रमुख थारूले जानकारी दिए ।

गत आवमा प्रयोगशाला परीक्षणमा कुष्ठरोग पहिचानसम्बन्धी ‘स्लिट स्किन स्मिएर’ जाँच आठ सय ३८ र अन्य प्रयोशाला परिक्षण ११ हजार तीन सय १८ रहेको थियो ।

सन् १९९६ मा नेपालगञ्ज टिवी रेफरल केन्द्रको नामबाट सेवा सुरु गरी हाल जानकी गाउँपालिका–३ मानपुरमा साइनिङ अस्पतालले सुविधा सम्पन्न भवनबाट पश्चिम नेपाल र आसपासको क्षेत्रका कुष्ठरोगीको उपचार सेवा प्रदान गर्दै आएको आएको अस्पताल प्रमुख थारूको भनाइ छ ।

जानकी-१ का सेवाग्राही गुलाम हसमत साईले कुष्ठरोग प्रभावित बिरामीलाई आइएनएफको साइनिङ अस्पताल भगवान् जस्तै बनेको बताए । आफूले साइनिङ अस्पतालको माध्यमबाट उपचार पाइरहेको उल्लेख गर्दै धेरैको ज्यान जोगाउन अस्पतालले उल्लेखनीय भूमिका खेलेको उनको भनाइ छ ।

जानकी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक दलबहादुर रानाले समाजमा आइएनएफले कुष्ठरोग निवारण कार्यक्रममा सहयोग पुग्ने गरी सेवा प्रवाह गरेको जानकारी दिँदै अझै पनि कुष्ठरोगको प्रभाव रहेकाले निवारणमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए ।

कुष्ठरोग अहिले पनि जनस्वास्थ्यको समस्याका रूपमा रहेको बताउँदै रानाले समाजमा रोगीहरू लुकेर बसेको हुनसक्ने भएकाले शिविरअन्तर्गत खोजी अभियान सञ्चालनको आवश्यकता रहेको औँल्याए। उनले विगतको तुलनमा रोगीको सङ्ख्या कमी भए पनि रोग निवारणको लक्ष्य भेटाउन सबैले आ–आफ्नो क्षेत्रबाट प्राथमिकताका साथ लाग्न जरुरी भएको उल्लेख गरे ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अङ्गद शाहीले आइएनएफले कुष्ठरोग नियन्त्रणमा ठूलो योगदान गर्दै आएको उल्लेख गरे । गाउँगाउँमा आमा समूह, बालबालिकालाई समेत कुष्ठरोगबारे सचेतना पुर्‍याउनेदेखि साइनिङ अस्पतालमा सहज रूपमा बिरामीको उपचार हुने गरेकामा उनले प्रशंसा गए ।

घट्यो इलाममा धान उत्पादन

फिक्कल (इलाम) । समयमा वर्षा नहुनु, प्राकृतिक विपद् आउनुलगायत कारणले यस वर्ष इलाममा धान उत्पादन घटेको छ । यस वर्ष १० हजार तीन सय ४२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा ३५ हजार ३९ मेट्रिक टन धान उत्पादन भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रको तथ्याङ्कले देखाएको छ ।

गत वर्ष ११ हजार दुई सय २२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा ३९ हजार दुई सय ११ मेट्रिक टन धान उत्पादन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष चार हजार एक सय ५२ मेट्रिक टन अर्थात् १० दशमलव ६४ प्रतिशतले उत्पादनमा कमी आएको केन्द्रका प्रमुख कुलबहादुर राईले जानकारी दिए । उनका अनुसार यस वर्ष गत वर्षको भन्दा धानको उत्पादकत्व घटेको छ ।

गत वर्ष धानको उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ४९ मेट्रिक टन थियो  । यस वर्ष बढेर प्रतिहेक्टर तीन दशमलव ३८ मेट्रिक टनमा झरेको छ । समयमा वर्षा नहुनु, प्राकृतिक विपद् आउनुलगायत कारणले धान उत्पादनमा कमी आएको प्रमुख राईले बताए ।

इलाममा रन्जित, राधा ४, चुल्ठे र अन्य स्थानीय जातका धानखेती गरिन्छ । जिल्लाको चुलाचुली गाउँपालिका र माई नगरपालिका तथा माङसेबुङ, सन्दकपुर र माईजोगमाई गाउँपालिकाको तल्लो क्षेत्रमा बढी मात्रामा धान उत्पादन हुने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

हिमाललाई नजिकबाट नियाल्ने गन्तव्य कपुचे ताल

वासुदेव पौडेल, गण्डकी । आँखै अगाडि ड्वाङड्वाङ आवाजसहित हिउँ पहिरो झर्ने कास्कीको मादी गाउँपालिका वडा नं १ स्थित कपुचे ताल नजिकबाट हिमाललाई नियाल्न सकिने गन्तव्यका रुपमा विकास भएको छ ।

अन्नपूर्ण दोस्रो र चौथो हिमालको बीचबाट कुनै समयमा हिमपहिरोबाट बनेको अनुमान गरिने यो ताल समुद्री सतहबाट जम्मा दुई हजार चार सय २१ मिटर उचाइमा रहेको छ । कूल दश हजार चार सय ४० वर्गमिटर क्षेत्रफलमा फैलिएको कपुचेलाई विश्वकै कम उचाइमा भएको हिमतालका रुपमा दाबी गरिएको मादी गाउँपालिका वडा नं १ का वडाध्यक्ष देवीजङ्ग गुरुङले बताए ।

आँखै अगाडि हिमाल, हिमापहिरोका साथै हरियो र निलो मिश्रित रङको तालको पानीमा घामका किरणहरू पर्दाको मनोरम दृश्य नै यहाँको प्रमुख आकर्षण हो । कपुचे हिमताललाई स्थानीय गुरुङ भाषामा क्हफुचे भनिने बताउँदै वडा अध्यक्ष गुरुङले क्हको अर्थ हिउँ, फुको अर्थ डल्लो र चेको अर्थ समथर भूभाग भन्ने रहेको बताए ।

क्हफुचेबाट अपभ्रंस हुँदै यस ताललाई कपुचे, कफुचे आदिका रुपमा लिने गरिएको उनले जानकारी दिए । बजारदेखि नजिकको हिमताल कपुचेको शान्त वातावरणसँगै वर्षातको समयमा यहाँ फूल्ने विभिन्न प्रजातिका रङ्गी, वीरङ्गी फूलहरूले फूलेर वनपाखा मनमोहक देखिन्छन् ।

पर्यटकीय गाउँ सिक्लेसदेखि हुगु हुँदै छ घण्टा पैदलयात्रा गरेपछि कपुचे पुग्न सकिन्छ । बाटोमा पर्ने इदी झरना मनमोहक र आकर्षक छ । पर्यटकको सुविधाका लागि कपुचे र हुगुमा रेष्टुराँ र अस्थायी संरचनाका होटल बनिसकेका छन् । परम्परागत रुपमा यसअघि बनेका कतिपय भेडीगोठलाई स्तरोन्नति गर्दै पर्यटकस्तरीय होटेलका रुपमा विकास गर्न खोजिएको देखिन्छ ।

काठले बारेका घरमा निगालोको चोयाले बनेका चित्राले छाएका घरमा पर्यटकलाई बास बस्ने ब्यवस्था मिलाएको सिक्लेस–कफुचे मार्गस्थित हुगुमा होटेल आइसफल चलाउँदै आएका पर्यटन व्यवसायी कृष्ण गुरुङले बताए । जङ्गलको बीच र मादी नदीको किनारमा रहेको हुगु यस क्षेत्रमा प्राचीन गोठहरू भएको क्षेत्र हो । अहिले प्राचीन गोठहरू हराउँदै गए पनि तिनै गोठहरू रहेका स्थानमा पर्यटक लक्षित गरी होटेल लगायतका पूर्वाधार विकास गर्न खोजिएको उनले बताए । हुगुका होटेलको आगनबाट टाउको ठडाउने बित्तिकै लमजुङ हिमाललाई आँखै अगाडि देख्न सकिन्छ ।

पछिल्ला समयमा हिमताल र हिउँ पहिरो अवलोनका लागि स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख गन्तव्य बन्दै गएको कपुचे हिमतालसम्म पुग्नका लागि बाटो लगायत पूर्वाधारलाई राज्यले प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

सिक्लेसदेखि सिधै कपुचे पुगेर त्यही बास बसेर भोलिपल्ट फर्किन सक्ने अथवा फर्किएर हुगुमा आएर बास बस्ने दुवै विकल्प छन् । हुगुमा परापूर्वकालमा हिउँदमा सिक्लेसवासीको गाईभैँसी र भेडागोठ राख्ने चलन थियो । हुगुदेखि सिक्लेस फर्कन र नौटा हुँदै अर्को गन्तव्य कोरी पुग्न सकिन्छ ।

पर्यटकीय नगरी पोखराबाट नजिकै रहेको कला संस्कृतिले भरिपूर्ण गुरुङ गाउँ सिक्लेसबाट एक दिनको पदयात्रामा पुग्न सकिने भएका कारण पनि यो पछिल्लो समय चासो र चर्चामा छ । तालको महिमा र गरिमालाई स्वदेशी एवं विदेशी पर्यटकमाझ पुर्‍याउँदै यसको प्रवर्द्धन गर्ने लक्ष्यका साथ मादी गाउँपालिकाले यसको प्रवर्द्धनलाई जोड दिएको मादी–१ का वडाध्यक्ष गुरुङले बताए । सिक्लेसबाट कपुचेसम्म पुग्ने पैदलमार्गलाई व्यवस्थित गर्नेतर्फ आफूहरूको चासो र सक्रियता बढेको बताउँदै उनले यसबीचमा गाउँपालिकासहित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), राष्ट्रिय ताल प्राधिकरण, गण्डकी प्रदेश सरकार आदि निकायबाट तालको पूर्वाधार विकाससँगै तालसम्म जाने बाटो आदिका लागि सहयोग प्राप्त भई केही कामहरू अघि बढेको जानकारी दिए ।

वडाध्यक्ष गुरुङका अनुसार हराउँदै गएको घोडचढी संस्कृतिको जगेर्नालाई लक्षित गरी गाउँपालिकाले सिक्लेसबाट कपुचेसम्मका लागि ५० अनुदानमा घोडा खरिद गर्ने गरी कार्यक्रम अघि सारेको भएपनि त्यसतर्फ युवाहरूको आकर्षण देखिएन ।

ताल कहिले बन्यो भन्ने यकिन तथ्य नभए पनि उक्त क्षेत्रमा पहिले पहिले विभिन्न भेडी गोठ रहे पनि अहिले भने छैनन् । सिक्लेस–कपुुचे मार्गमा पर्ने हुँगु र कपुचे दुवै स्थान प्राचीन भेडी गोठ रहने क्षेत्र हो । कपुचेको यात्राका क्रममा सिक्लेसबाट राम्रो हिँड्न सक्नेहरू लगभग साढे तीन घण्टामा हुगु पुग्न सक्छन् । हिँड्न नसक्नेका लागि भने चारदेखि पाँच घण्टासम्म लाग्ने गर्दछ । हुगु पुगेका पर्यटक हिँड्न सक्ने एक घण्टामा कफुचे पुगे पनि नसक्नेका लागि डेढ दुई घण्टासम्म लाग्ने गर्दछ ।

पोखराबाट छोटो दूरीमा रहेको कपुुचेलाई समेटेर सिक्लेसहुँदै कपुचे–कोरी क्होलासोथार–कर्पुु हुँदै याङजाकोटलाई गुरुङ सम्पदा पदमार्गअन्तर्गत समेट्दै प्रवद्र्धनका काम अघि बढाइएको गुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङले बताए ।

सङ्घले प्राचीन गुरुङ बस्ती रहेको सिक्लेससहित गुरुङ गाउँ र जोडिएका प्राचीन भेडीगोठ एवं नुन बोक्ने मार्गलाई समेटेर बृहत् अवधारणका साथै गुरुङ सम्पदा पदमार्गको अनुसन्धान, एवं अन्वेषण गरी त्यसको प्रवर्द्धन र विकासमा जोड दिएको उनले बताए ।

सङ्घकै आयोजनामा पुसको दोस्रो हप्ता सिक्लेसबाट कपुचे, कोरी, क्होलासोथार, कर्पु हुँदै याङ्जाकोटसम्मको गुरुङ सम्पदा पदमार्ग प्रवर्द्धन सम्पन्न गरिएको सङ्घका महासचिव तुल गुरुङले बताए । पोखराबाट नजिक रहेको कपुचे हिमतालको महिमा र गरिमासँगै यहाँको पर्यटकीय आकर्षणलाई विश्व पर्यटन बजारमा पुर्‍याउनुु जरुरी रहेको उनले बताए ।

वार्षिक निर्यात ६० अर्बमा पुर्‍याउने पाकिस्तानको लक्ष्य

इस्लामावाद । पाकिस्तानी प्रधानमन्त्री शेहबाज सरिफले  देशको राष्ट्रिय आर्थिक रूपान्तरण योजना सन् २०२४/०२९ को शुभारम्भ गरेका छन्। योजनाको लक्ष्य छ प्रतिशत कूल गार्हस्थ्य (जीडीपी) वृद्धि हासिल गर्ने तथा वार्षिक निर्यातलाई ६० अर्ब रुपैयाँमा पुर्याउने रहेको बताइएको छ ।

योजना सार्वजनिक गर्न गरिएको उदुघाटन समारोहलाई प्रधानमन्त्री सरिफले सम्बोधन गर्दै भने, “देशको आर्थिक चुनौतिलाई सम्बोधन गर्न योजनाअन्तर्गत सामूहिक दृष्टिकोणको आवश्यकता हुनेछ।”

शरीफले आफ्नो सरकारले उद्योग, वाणिज्य, सूचना प्रविधि, व्यापार तथा लगानीको प्रवद्र्धन र विश्वभर पाकिस्तानमा निर्मित उत्पादनका लागि नयाँ बजार खोज्ने कुरामा ध्यान केन्द्रित गर्ने बताए । “निर्यातमा आधारित वृद्धि पाकिस्तानको आर्थिक पुनरुत्थानको आधार हुनेछ,” उनले भने ।

प्रधानमन्त्रीले प्रतिस्पर्धा र दक्षता प्रवद्र्धन गर्न उत्पादन लागत घटाउने, लगानीलाई प्रोत्साहन गर्ने र आयात प्रतिबन्ध हटाउने महत्त्वमा जोड दिँदै आर्थिक वृद्धि हासिल गर्न प्रमुख रणनीतिहरू प्रस्तुत गरे ।

शरीफले उच्च गुणस्तरीय विकासलाई थप सुरक्षासँग जोड्ने तथा चीन–पाकिस्तान आर्थिक करिडोर लगायतका दुवै प्रमुख पहलहरू आफ्नो सरकारको प्रतिबद्धतालाई पुनः पुष्टि गरे ।

यसअघि समारोहमा अर्थमन्त्री मुहम्मद औरङ्गजेबले पाकिस्तानलाई दिगो आर्थिक वृद्धिको बाटोमा अघि बढाउन योजनाको महत्त्वलाई प्रकाश पारे ।

उनले सरकारले अर्थ मन्त्रालयमा छुट्टै कर नीति इकाई स्थापना गर्नेलगायतका सुधारका माध्यमबाट वित्तीय अनुशासन तथा स्थायित्व ल्याउने बताए । 

भारतको एक होटलमा एकै परिवारका पाँच सदस्य मृत फेला

नयाँदिल्ली ।  भारतको उत्तरी राज्य उत्तर प्रदेशमा बुधबार चार बालबालिका र आमासहित एकै परिवारका पाँच सदस्य एक होटलमा मृत फेला परेको स्थानीय प्रहरीले पुष्टि गरेको छ।

घटना राज्यको राजधानी लखनउको हो। मृतक बालबालिका ९ तथा १६ वर्षका रहेका छन्। प्रहरीका अनुसार मृतकका भाइलाई पक्राउ गरिएको छ। घरायसी विवादका कारण हत्या गर्न उनले मृतकको हातखुट्टा काटेको आरोप छ।

परिवार लखनउबाट करिब ३५० किलोमिटर टाढा आगरा सहरबाट आएको तथा सोमबार होटलमा चेक इन गरेको थियो।

युक्रेनले सन् २०२५ मा ‘रणभूमि’ र ‘वार्ताको टेबुल’ दुबैमा सङ्घर्ष गर्छ: जेलेन्स्की

किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसको तीन वर्ष लामो आक्रमण अन्त्यका लागि कुनै पनि वार्ता र युद्धस्थलमा डटेर आफ्नो मुलुकको अधिकारका बिषयलाई स्थापित गर्न सङ्घर्ष गर्ने बताएका छन् ।

युक्रेनी नेताको सम्बोधनबाट यो बुझ्न सकिन्छ कि युद्धग्रस्त युक्रेनका लागि यो वर्ष निकै कठिन वर्ष हो, जसले करिब तीन वर्षदेखि राम्रो स्रोत साधन भएको रूसी सेनासँग लडिरहेको छ ।

एएफपीको एक विश्लेषणअनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा रूसले सात गुणा बढी युक्रेनी भूभागमा अतिक्रमण गरेको छ र सन् २०२५ को मध्यतिर रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको बागडोर सम्हाल्दा अमेरिकी सैन्य तथा राजनीतिक समर्थनमा कमी आउने सम्भावना छ ।

“आगामी वर्षमा हरेक दिन युक्रेन कमजोर छैन भनी पमाणित गर्न हामी सबैले युक्रेनको पक्षमा आ–आफ्नो स्थानबाट युद्धभूमि र वार्ताको टेबुल दुवैमा लड्नुपर्छ किनकि केवल यस्तो यूक्रेनले मात्र सम्मान पाउँछ र उसको आवाज सुनिन्छ,” जेलेन्स्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै भने ।

“सन् २०२५ हाम्रो वर्ष होस् । यूक्रेनको बर्ष । हामी जान्दछौं हामीलाई उपहारको रूपमा कि शान्ति दिइनेछैन, तर हामी रूसलाई रोक्न र युद्ध अन्त्य गर्न सबै कुरा गर्नेछौँ । हामी सबै यही चाहन्छौँ,” उनले भने ।

अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले जनवरीमा ट्रम्पले कार्यभार सम्हाल्नुअघि किएभलाई समर्थन गर्ने होडमा युक्रेनका लागि करिब छ अर्ब अमेरिकी डलरको सैन्य र बजेट सहायताको घोषणा गरेको छ ।

रिपब्लिकन पार्टीका नेता ट्रम्पले आफू सत्तामा आएपछि ‘२४ घण्टाभित्र’ द्वन्द्व अन्त्य गर्ने बताएका छन् । अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पको उक्त भनाइले युक्रेनमा शान्तिको लागि क्रेमलिनले हाल नियन्त्रणमा लिएको सबै भूमि त्याग्न बाध्य हुने सम्भावना बढेको छ ।

जेलेन्स्कीले भने, “नयाँ अमेरिकी राष्ट्रपति युक्रेनमा शान्ति हासिल गर्न र पुटिनको आक्रामकता अन्त्य गर्न इच्छुक र सक्षम हुनुहुन्छ भन्नेमा मलाई कुनै शङ्का छैन ।”

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ वर्षको पूर्वसन्ध्यामा मङ्गलबार सम्बोधन गर्दै युक्रेनमा भएको युद्धको स्पष्ट उल्लेख गरेनन् तर रुसी सैनिकको ‘साहस र बहादुरी’को प्रशंसा गरेका थिए ।

ओली सत्ताको दुरुपयोग गरेर तानाशाह बन्न खोजेको रावलको आरोप

काठमाडौं । नेकपा एमालेबाट निष्कासित पूर्वउपाध्यक्ष डा. भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश पोखेका छन् । बुधबार पत्रकार सम्मेलन गरी रावलले ओलीप्रति आक्रोश पोखेका हुन् । उनले ओलीका कारण अन्तर्राष्ट्रिय सम्बन्ध फितलो भएको आरोप लगाए ।

उनले भ्रष्टाचार र हिनामिनामा मुछिएकाहरुलाई जोगाउने काम ओलीले गरेको भन्दै आक्रोश पोखे । रावलले प्रधानमन्त्री ओली सत्ताको दुरुपयोग गरेर तानाशाह बन्न खोजेको आरोपसमेत लगाए ।

उनले पार्टीमा रहँदा आफूले राष्ट्रलाई केन्द्रमा राखेर काम गरेको दाबी गरे । उनले निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस भएपनि प्रतिनिधि सभाको टिकट प्राप्त नभएको गुनासो गरे ।

उनले आफूलाई पछिल्लो समय जिम्मेवारी विहीन बनाइएको र पार्टीमा स्थान नदिएको उल्लेख गरे । आफ्नो व्यक्तिगत स्वार्थ नरहेको भन्दै उनले देश र जनताको पक्षमा निरन्तर खट्ने बताए । रावलले ओलीमा झुटा कुरामा लत बसेको आरोप लगाए ।

उनले भने, ‘म ९०४ मतसहित सदस्यमा विजयी भएको थिएँ । मलाई शपथ लिन लगाउनुभएको होइन र ? तपाईंलाई बा भन्नेहरुबाट शपथ लिएन भनेर प्रचार गराइएको होइन र ?’

रावलले ओलीविरुद्ध उम्मेदवारी दिँदा पार्टीको साधारण सदस्यता खोसिनेसम्मको अवस्था आएको बताए । उनले भने, ‘मलाई अध्यक्षमा उम्मेदवारी किन दिएको भनेर प्रश्न गर्नुभयो । तपाईंलाई त्यही प्रश्न गर्न चाहन्छु, तपाईंले झलनाथ खनालविरुद्ध सातौँ महाधिवेशनमा र माधवकुमार नेपालविरुद्ध तपाईंले किन उमेदवारी दिएको ?’

उनले अध्यक्ष ओलीले वार्ताको नाटक गरेर पछि खबर गर्छु भनेकामा खबरसमेत नगरी कारबाही गरेको उल्लेख गरे । पुुस १० गते बसेको सचिवालय बैठकले रावललाई पार्टीबाट निष्काशन गरेको थियो ।

रावलले निरन्तर पार्टी हित विपरीत गतिविधि गरेपछि साधारण सदस्य समेत नरहने गरी एमालेले कारबाही गरेको हो । त्यसपछि रावलले पत्रकार सम्मेलन गरेका हुन् । रावल नयाँ पार्टी गठनको तयारीमा छन् ।

सहिद परिवारका लागि स्वास्थ्य बीमा गर्दै मधेस सरकार

महोत्तरी । मुलुकको लोकतान्त्रिक शासन व्यवस्थाका पक्षमा ज्यान दिएका सहिद परिवारले अब स्वास्थ्य बिमाको सहुलियत पाउने भएका छन् ।

सशस्त्र द्वन्द्व र मधेस आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिद परिवारको स्वास्थ्य बिमाका लागि मधेस प्रदेश सरकारले बजेट व्यवस्थासहित आवश्यक प्रक्रिया अघि बढाएको छ । यसै सन्दर्भमा मधेस सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालय र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता भएको छ ।

यो सम्झौताबाट लोकतन्त्र स्थापनाका पक्षमा भएको आन्दोलनमा सहादत प्राप्त गरेका र हराइरहेका व्यक्तिका एक हजार ८१ परिवारले बिमा सुविधा पाउने प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले जनाएको छ । स्वास्थ्य बिमा गराउने सन्दर्भमा सहिद परिवारको विस्तृत विवरण सङ्कलनमा बोर्डका कर्मचारी खटिएको मन्त्रालयका सचिव उद्धवप्रसाद रिजालले जानकारी दिए ।

विवरण अद्यावधिक भइसकेपछि मन्त्रालयले बोर्डलाई प्रतिपरिवार तीन हजार पाँच सयका दरले रकम पठाउने सचिव रिजालको भनाइ छ । वार्षिक तीन हजार पाँच सय बोर्डमा जम्मा भएपछि परिवारका पाँच जना सदस्यले स्वास्थ्य बिमाअन्तर्गत सहयोग प्राप्त गर्नसक्ने कानुनी व्यवस्था छ ।

प्रदेश सरकारले सशस्त्र द्वन्द्व र मधेस आन्दोलनका सहिद परिवारका लागि चालु आर्थिक वर्ष २०८१÷८२ मा ४० लाख विनियोजन गरेको छ । विनियोजन गरिएको उक्त रकमबाट सहिद परिवारको स्वास्थ्य बिमा गरिने मन्त्रालयले स्पष्ट गरेको छ ।

सहिद परिवारको उपचार प्रबन्धका लागि प्रदेश सरकारले लिएको तत्परता र पहलकदमीलाई यहाँका बुद्धिजीवीले सकारात्मक रुपमा लिएका छन् । यसै सन्दर्भमा जलेश्वरस्थित रामनन्दन, विश्वेशर महेन्द्र बहुमुखी क्याम्पसका प्राचार्य अजयकुमार झाले सहिद परिवारको खोजी गरी स्वास्थ्य बिमाको व्यवस्थासहित राहतसहयोग उपलब्ध गराउन बजेटसमेत विनियोजन गरेकामा प्रदेश सरकारलाई धन्यवाद दिँदै अझै लोककल्याणकारी एवं जनमुखी कार्यक्रम ल्याउन सरकारसँग अनुरोध गरे । 

दाङका थारु बस्तीमा माघीको चहलपहल सुरु

 दाङ । माघी पर्व नजिकिएसँगै यहाँका थारु बस्तीमा चहलपहल सुरु भएको छ । थारु जातिको सबैभन्दा ठूलो पर्वका रूपमा मानिने माघीको रौनकता छाएको हो ।

माघी पर्व आउनुभन्दा एक महिनाअघिदेखि विभिन्न तयारी गर्ने चलनअनुसार आजभोलि बस्तीका स्थानीयको व्यस्तता बढेको छ । थारु समुदायले नयाँ वर्षका रूपमा यो पर्व मनाउने गर्दछन् ।

यो पर्वका अवसरमा थारु समुदायमा गाउँका महतवा (अगुवा) को घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा रहेको घोराही उपमहानगरपालिका–७ सौडियारका विपना चौधरीले बताइन् । उनका अनुसार अहिले थारु बस्तीमा नाचगान र खानपिनको तयारी भइरहेको छ ।

“माघीको तयारीका लागि वनबाट दाउरा, पात ल्याउने काम भइसक्यो । पातको दुनाटपरी गास्ने काम गरिरहेका छौँ । ढिक्री, रोटी, जाँड पकाउन धान, चामल कुटाउनेरपिसाउने काम सुरु भएको छ । खानाका परिकार बनाउनका लागि एक महिनाअघिदेखि तयारी गर्नुपर्दछ”, विपनाले भनिन्, “ढिक्री, रोटी पकाउने, अनदीको विशेष झोल (जाँड) र भातलगायत विशेष मिठामिठा परिकारको तयारीमा जुटेका छौँ ।” पुस महिनामा तयारी गरेर माघे सङ्क्रान्तिका दिनदेखि चार–पाँच दिनसम्म माघी पर्व मनाउने प्रचलन रहेको उनले जानकारी दिइन् ।

थारु समुदायले माघमा आफ्नो मुखिया, चौकीदार, घरको मूली चुन्ने, नयाँ नियम लागू गर्ने, संशोधन गर्ने भएकाले पनि यसलाई विशेष रूपमा लिइँदै आइएको घोराही–६ का मदन चौधरीले बताए । वर्षभरि गरेका कामको समीक्षा गर्ने र आगामी कामको योजना बनाउने पर्वका रूपमा माघीलाई लिने उनले जानकारी दिए ।

मदनले वर्षभरिको योजना माघमा बनाइने भएकाले पनि थारु समुदायका लागि यो पर्व महत्वपूर्ण रहेको बताए । थारु समुदायमा पुरुषहरू घर बाहिरको तयारीमा लागेका भन्दै महिलाहरू खानपिनको सामग्री जुटाउन लागेका छन् । दाउर, पात, चामल, पिठो, दुनाटपरीजस्ता सामग्री महिलाले तयारी गरिरहेका उनले उल्लेख गरे ।

थारु समुदायका पुरुषहरूले माघीको अघिल्लो दिन आगोको धुनी बालेर ताप्ने गर्दछन् । गाउँभरिका मानिस एकै ठाउँ जम्मा भएर आगो ताप्ने र भालेबासेसँगै नदी वा खोलामा नुहाउने गर्दछन् । नुहाएर आएपछि आफूभन्दा ठूलालाई ढोगभेट गरी आर्शिवाद लिएर घरमा आएपछि खिचडी दान गर्ने प्रचलन थारु समुदायमा छ ।

खिचडीमा मासको दाल, चामल र नुन राखिएको हुन्छ । यो खिचडी पुर्खा, देवीदेवता र चेलीबेटीका लागि छुट्याइने गरिन्छ । “छुट्याइएको खिचडी घरका सदस्यले खान मिल्दैन र त्यो पाहुर (कोसेली)का रूपमा चेलीबेटीका घरमा पु¥याउने प्रचलन छ”, महतवा सङ्घका जिल्ला अध्यक्ष चन्द्रप्रसाद चौधरीले भने ।

माघीको अघिल्लो दिन बिहानै गाउँघरका किसान जम्मा भई बङ्गुर, सुँगुर (थारु भाषामा जिता मार्ना) मारेर बराबरी बाँड्ने चलन छ । घोङ्गी, गँगटा र माछाको विशेष परिकार बनाएर खाने गरिन्छ । माघीका अवसरमा ‘मघौटा नाच’ नाच्ने गरिन्छ । यो नाच शृङ्गार र करुण रसले भरिएको हुने घोराही–६ का रामचरण चौधरीले बताए ।

“थारु समुदायमा माघ महिनालाई नयाँ वर्षका रूपमा लिने गरिन्छ, पुस मसान्तमा आ–आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघको १ गतेदेखि नयाँ हिसाबकिताब सुरु गर्ने चलन छ, माघीमा परिवारभित्र होस् या गाउँ समुदायमा आगामी वर्षका लागि खेतीपातीसहित अन्य व्यवहारको नवीकरण गरिन्छ”, रामचरणले भने । माघ नजिकिएसँगै नाचगान र खानपीनको तयारी भइरहेको छ ।

माघ महोत्सवको तयारी

थारु समुदायको सबैभन्दा ठूलो पर्व माघीका अवसरमा यही पुस २० गते घोराही उपमहानगरपालिका–६ र १७ को आयोजनामा एकदिने माघ महोत्सव हुने भएको छ ।

थारु भाषा, साहित्य तथा लोक कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयको आयोजनामा गत वर्षदेखि महोत्सव आयोजना गरिँदै आइएको महोत्सव मूल आयोजक समितिका संयोजक एवं घोराही–१७ का अध्यक्ष रामलौटन चौधरीले जानकारी दिए ।

महोत्सवको थप तयारी तथा व्यवस्थापनका लागि समाजसेवी तथा थारु अगुवा घोराही–१७ ओखरा निवासी मोहनलाल चौधरीको संयोजकत्वमा ३५ सदस्यीय उपसमिति, वीरेन्द्र चौधरीको संयोजकत्वमा २१ सदस्यीय मञ्च व्यवस्थापन समिति, गोपी चौधरीको संयोजकत्वमा ३५ सदस्यीय स्वयंसेवक उपसमिति र अतिथि सत्कारका लागि ओखरा टोल विकास संस्थालाई जिम्मेवारी दिने निर्णय भएको महोत्सव मूल आयोजक समितिका संयोजक चौधरीले जानकारी दिए ।

थारु समुदायको मौलिक कला, संस्कृति विकास गर्नमा थप सहयोग पुग्ने उद्देश्यले माघ महोत्सवको आयोजना हुन लागेको थारु कल्याण कारिणीसभा दाङका अध्यक्ष अशोक चौधरीले बताए । थारु समुदायको संस्कार र संस्कृति बोकेको पर्वका अवसरमा यसको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले माघ महोत्सव गर्न लागिएको उनले उल्लेख गरे ।

महोत्सवमा थारु परिकार, थारु समुदायको हस्तकला, थारु संस्कृति झल्कने भाषा, वेशभूषालगायत सामग्री प्रदर्शनीमा राखिने थारु कल्याणकारी सभाका सहसचिव श्रीप्रसाद चौधरीले जानकारी दिए । उनले थारु समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अधिकारको सुनिश्चिताका लागि महोत्सवमा थारु समुदायको सशक्त उपस्थिति रहने विश्वास व्यक्त गरे । 

मर्स्याङ्दी जलाधार क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् काठमाडौँ ल्याइँदै

काठमाडौँ । मर्स्याङ्दी जलाधार क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् काठमाडौँ ल्याउने सबस्टेसन र प्रसारण लाइन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिका मार्कीचोकमा ‘ग्याँस इन्सुलेटेड प्रणाली’ (जिआइएस) प्रविधिमा आधारित २२०/१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको हो । त्यस्तै, मर्स्याङ्दी-काठमाडौँ २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण गरिएको मार्कीचोक सबस्टेसन मङ्गलबार विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको हो ।

सबस्टेसन चार्ज गरिएसँगै कूल ८२ किलोमिटर मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन २२० केभीमा सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मार्कीचोक सबस्टेसन सञ्चालनमा आएसँगै मस्र्याङ्दी नदी करिडोरका जलविद्युत् आयोजनाको विद्युत् २२० केभी प्रसारण लाइनबाट काठमाडौँ उपत्यकामा ल्याउन पूर्वाधार संरचना बनेको बताए ।

यसबाट देशको एकीकृत विद्युत् प्रणालीको ‘भोल्टेज’ सुधार भई विद्युत् थप पर्याप्त, भरपर्दो र गुणस्तरीय हुने उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले मस्र्याङ्दी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माणाधीन मार्कीचोक-भरतपुर खण्ड सम्पन्न भएपछि विद्युत् भरतपुरतर्फ पनि पठाउन सकिने जानकारी दिए । मार्कीचोक-भरतपुर खण्ड आगामी जेठभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई सुदृढ बनाउन मर्स्याङ्दी-काठमाडौँ २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत प्रसारण लाइन र मार्कीचोक तथा काठमाडौँको मातातीर्थमा २२०/१३२ केभी सबस्टेसन निर्माण गरिएको हो । मातातीर्थ सबस्टेसन निर्माण सम्पन्न गरी गत वैशाखदेखि सञ्चालनमा आइसकेको छ । दुवै सबस्टेसनमा १६०/१६० एमभिए क्षमताका दुई/दुई पावर ट्रान्सफर्मर राखिएका छन् । दुवै सबस्टेसनको क्षमता ३२०/३२० एमभिए रहेको प्राधिकरणले जनाएको छ ।

मार्कीचोकबाट चन्द्रगिरि नगरपालिकाको बाडभञ्ज्याङसम्म मर्स्याङ्दी-काठमाडौँ प्रसारणलाइन र त्रिशूली नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा ल्याउन निर्माण गरिएको त्रिशूली-काठमाडौँ २२० केभी प्रसारण लाइनलाई बाडभञ्ज्याङमा एकापसमा आबद्ध गरिएको छ । त्रिशूली र मर्स्याङ्दीका दुवै प्रसारण लाइनलाई बाडभञ्ज्याङबाट मल्टिसर्किट (चार सर्किट) मा आबद्ध गरी मातातीर्थ सबस्टेसनमा समाहित गरिएको छ ।

मर्स्याङ्दी-काठमाडौँ र त्रिशूली-काठमाडौँ प्रसारण लाइनबाट आएको करिब एक/एक हजार मेगावाट विद्युत् बाडभञ्ज्याङमा आबद्ध भई त्यहाँबाट करिब दुई हजार मेगावाट विद्युत् मल्टिसर्किट प्रसारण लाइनमार्फत मातातीर्थ सबस्टेसनमा समाहित हुनेछ ।

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन आयोजनाअन्तर्गत मातातीर्थ र मार्कीचोक सबस्टेसन निर्माण ठेक्का पाएको कम्पनीको कार्यसम्पादन सन्तोषजनक नभएपछि ठेक्का तोडी २०७७ पुसमा चाइना मेसेनरी इन्जिनियरिङ कर्पोरेसनसँग नयाँ ठेक्का सम्झौता गरी बाँकी निर्माण अगाडि बढाइएको थियो । दुवै सबस्टेसनको अनुमानित लागत करिब रु सवा दुई अर्ब रहेको आयोजना प्रमुख लक्ष्मण फुँयालले उल्लेख गरे ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र नर्वे सरकारको अनुदान तथा एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन आयोजना सुरु गरिएको थियो ।

काठमाडौँ ल्याइँदै मर्स्याङ्दी जलाधार क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत्

काठमाडौँ- मर्स्याङ्दी जलाधार क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् काठमाडौँ ल्याउने सबस्टेसन र प्रसारण लाइन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिका मार्कीचोकमा ‘ग्याँस इन्सुलेटेड प्रणाली’ (जिआइएस) प्रविधिमा आधारित २२०/१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको हो । त्यस्तै, मर्स्याङ्दी-काठमाडौँ २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण गरिएको मार्कीचोक सबस्टेसन मङ्गलबार विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको हो ।

सबस्टेसन चार्ज गरिएसँगै कूल ८२ किलोमिटर मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन २२० केभीमा सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मार्कीचोक सबस्टेसन सञ्चालनमा आएसँगै मस्र्याङ्दी नदी करिडोरका जलविद्युत् आयोजनाको विद्युत् २२० केभी प्रसारण लाइनबाट काठमाडौँ उपत्यकामा ल्याउन पूर्वाधार संरचना बनेको बताए ।

यसबाट देशको एकीकृत विद्युत् प्रणालीको ‘भोल्टेज’ सुधार भई विद्युत् थप पर्याप्त, भरपर्दो र गुणस्तरीय हुने उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले मस्र्याङ्दी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माणाधीन मार्कीचोक-भरतपुर खण्ड सम्पन्न भएपछि विद्युत् भरतपुरतर्फ पनि पठाउन सकिने जानकारी दिए । मार्कीचोक-भरतपुर खण्ड आगामी जेठभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई सुदृढ बनाउन मर्स्याङ्दी-काठमाडौँ २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत प्रसारण लाइन र मार्कीचोक तथा काठमाडौँको मातातीर्थमा २२०/१३२ केभी सबस्टेसन निर्माण गरिएको हो । मातातीर्थ सबस्टेसन निर्माण सम्पन्न गरी गत वैशाखदेखि सञ्चालनमा आइसकेको छ । दुवै सबस्टेसनमा १६०/१६० एमभिए क्षमताका दुई/दुई पावर ट्रान्सफर्मर राखिएका छन् । दुवै सबस्टेसनको क्षमता ३२०/३२० एमभिए रहेको प्राधिकरणले जनाएको छ ।

मार्कीचोकबाट चन्द्रगिरि नगरपालिकाको बाडभञ्ज्याङसम्म मर्स्याङ्दी-काठमाडौँ प्रसारणलाइन र त्रिशूली नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा ल्याउन निर्माण गरिएको त्रिशूली-काठमाडौँ २२० केभी प्रसारण लाइनलाई बाडभञ्ज्याङमा एकापसमा आबद्ध गरिएको छ । त्रिशूली र मर्स्याङ्दीका दुवै प्रसारण लाइनलाई बाडभञ्ज्याङबाट मल्टिसर्किट (चार सर्किट) मा आबद्ध गरी मातातीर्थ सबस्टेसनमा समाहित गरिएको छ ।

मर्स्याङ्दी-काठमाडौँ र त्रिशूली-काठमाडौँ प्रसारण लाइनबाट आएको करिब एक/एक हजार मेगावाट विद्युत् बाडभञ्ज्याङमा आबद्ध भई त्यहाँबाट करिब दुई हजार मेगावाट विद्युत् मल्टिसर्किट प्रसारण लाइनमार्फत मातातीर्थ सबस्टेसनमा समाहित हुनेछ ।

मर्स्याङ्दी–काठमाडौँ प्रसारण लाइन आयोजनाअन्तर्गत मातातीर्थ र मार्कीचोक सबस्टेसन निर्माण ठेक्का पाएको कम्पनीको कार्यसम्पादन सन्तोषजनक नभएपछि ठेक्का तोडी २०७७ पुसमा चाइना मेसेनरी इन्जिनियरिङ कर्पोरेसनसँग नयाँ ठेक्का सम्झौता गरी बाँकी निर्माण अगाडि बढाइएको थियो । दुवै सबस्टेसनको अनुमानित लागत करिब रु सवा दुई अर्ब रहेको आयोजना प्रमुख लक्ष्मण फुँयालले उल्लेख गरे ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र नर्वे सरकारको अनुदान तथा एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन आयोजना सुरु गरिएको थियो ।

प्रतिनिधिसभाका सचिव राईद्वारा सपथ ग्रहण

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाका नवनियुक्त सचिव हर्कराज राईले पद तथा गोपनियताको सपथ लिएका छन् । उनले बुधबार सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक कक्षमा आयोजित सपथ ग्रहण कार्यक्रममा उपसभामुख इन्दिरा राना, सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, सत्तारुढ तथा प्रतिपक्ष दलका प्रमुख र मुख्य सचेतक, सांसद, संसद् सेवाका कर्मचारीलगायतको उपस्थिति थियो ।

सभामुखको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार झापाको शिवसताक्षी नगरपालिका–२ निवासी राईलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका थिए । नवनियुक्त सचिव राई लामो समय शिक्षक पेसामा आबद्ध रहनुका साथै विभिन्न सरकारी तथा गैरसरकारी संस्थामा प्रशिक्षकका रूपमा काम गर्दै आएका थिए ।

राष्ट्रपतिसमक्ष पाँच राजदूतले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयताको शपथ गराएका छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले गणतन्त्र पोर्चुगल, मलेलिया, गणतन्त्र दक्षिण अफ्रिका, बेल्जियम र डेनमार्कका लागि नवनियुक्त राजदूतहरूलाई शपथ गराएका हुन् ।

राजदूतहरू प्रकाशमणि पौडेल गणतन्त्र पोर्चुगल, डा. नेत्रप्रसाद तिम्सिना मलेसिया, प्रा. कपिलमान श्रेष्ठ गणतन्त्र दक्षिण अफ्रिका, सेवा लम्साल बेल्जियम र सुम्निमा तुलाधर डेनमार्कले बुधबार राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

अमेरिकामा ‘नोरोभाइरस’को प्रकोप बढ्दै

न्युयोर्क । यो महिना संयुक्त राज्य अमेरिकाभरि असामान्य रूपमा ठूलो सङ्ख्यामा नोरोभाइरस प्रकोपले मानिसहरूलाई बिरामी पारिरहेको रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी) ले जनाएको छ ।

पछिल्लो उपलब्ध तथ्याङ्क अनुसार डिसेम्बरको पहिलो साता ९१ जनामा नोरोभाइरस प्रकोपको पुष्टि भएको छ । यो हालैका वर्षहरूमा सोही हप्तामा सीडीसीद्वारा रेकर्ड गरिएको सङ्ख्या भन्दा बढी हो । यसले कोभिड–१९ महामारी अघिका रेकर्ड गरिएका सङ्ख्यालाई पनि नाघ्छ ।

प्रत्येक वर्ष नोरोभाइरस प्रकोपले देशव्यापी अनुमानित १९ देखि २१ लाख मानिसहरूलाई बिरामी पार्छ । यसले अप्रिय ग्यास्ट्रोइंटेस्टाइनल लक्षणहरू निम्त्याउन सक्छ ।

यस महिना, लस एन्जलसको एक रेस्टुरेन्टमा नोरोभाइरसबाट कम्तिमा ८० जना बिरामी परेका थिए ।

फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडिए) ले मानिसहरूलाई ‘ओइस्टर’ नखान सल्लाह दिएको छ । ओइस्टर समुद्री बासस्थानमा बस्ने विभिन्न परिवारहरूको लागि साझा नाम हो ।

अन्नपूर्ण क्षेत्रमा अहिलेसम्मकै धेरै पर्यटक

गण्डकी । पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटक भित्रिएका छन् । ती मध्ये दक्षिण एसियाली मुलुकका एक लाख ३२ हजार ९४ र अन्य मुलुकका एक लाख ११ हजार नौ सय ५१ रहेका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार उक्त सङ्ख्या हालसम्मकै बढी हो । यसअघि सबैभन्दा बढी सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका थिए ।

सन् २०१९ मा एक लाख ८१ हजार पर्यटक भित्रिएकामा त्यसयता कोभिड–१९ महामारीका कारण पर्यटक आगमन घटेको थियो । उक्त महामारी छँदा सन् २०२१ मा जम्मा १६ हजार एक सय पाँच पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । त्यसको अर्को वर्ष अर्थात् सन् २०२२ मा जम्मा एक लाख २९ हजार सात सय ३३ पर्यटक त्यस क्षेत्रमा पुगेका थिए ।

गत वर्षदेखि यस क्षेत्रको पर्यटन पुरानै लयतिर फर्किएको ‘एक्याप’का प्रमुख डा रबिन कडरियाले जानकारी दिए । ‘अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा पर्यटक आगमनमा नयाँ रेकर्ड कायम भएको छ’, उनले भने, ‘गत वर्षको तुलनामा उल्लेख्य संख्यामा पर्यटक बढेका छन् ।’

अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायतका गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले ती गन्तव्यस्थलमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य मानिन्छ ।

चार वर्षअघि चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका घुम्नै पर्ने दस गन्तव्य सूचीमा राखेको थियो ।

अमेरिकी समाचार संस्था ‘सिएनएन’ले सन् २०२३ मा विश्वका घुम्नैपर्ने २३ गन्तव्यको सूचीमा परेको मुस्ताङ उपत्यका पनि अन्नपूर्ण संरक्षण क्षेत्रमै पर्छ । प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले अन्नपूर्ण क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा तय गर्न सकिन्छ । आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट मानिन्छ ।

इलामको चियालाई विश्व बजारमा लैजान सरकारले सघाउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनमा नेपाली चिया निर्यातको सहजीकरणका लागि सरकारले सहयोग गर्ने बताएका छन् ।

गत डिसेम्बर ५ देखि २५ तारिखसम्म चीनको वाणिज्य मन्त्रालयको प्रायोजन तथा फुजियान प्रान्तस्थित झाङझाउ कलेज अफ साइन्स एण्ड टेक्नोलोजीको आयोजनामा ‘नेपालका लागि चिया प्रशोधन प्रविधि र चिया उद्योग प्रवद्र्धनसम्बन्धी तालिम’ मा सहभागी भई फर्किएको टोलीसँगको भेटमा प्रधानमन्त्री ओलीले चिया संस्कृतिको विकाससँगै अर्गानिक चियाको उत्पादन, बजारीकरणमा जोड दिए ।

प्रधानमन्त्री चीनमा सिकेका सिप, ज्ञान र अनुभवलाई प्रयोगमा ल्याउन सुझाव दिए । उनले चियाको ब्रान्डिङ्ग, प्याकेजिङ र बजारीकरणका लागि सरकारले प्रोत्साहन गर्ने बताए । तालिममा नेपाली ३४ जनाको सहभागिता रहेको थियो । जसमध्ये अधिकांश इलामका थिए ।

प्रतितोला एक हजार चार सय बढ्यो सुनको मूल्य

काठमाडौँ । बुधबार सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँ बढेको छ । चाँदीको मूल्य भने स्थिर देखिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धि, आन्तरिक बजारको माग र आपूर्तिबमोजिम समायोजन गर्दा मङ्गलबारको भन्दा आजको मूल्य बढेको हो ।

मङ्गलबार प्रतितोला एक लाख ४९ हजार छ सय रुपैयाँ कायम भएको सुनको मूल्य बुधबार बढेर प्रतितोला एक लाख ५१ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्यमा भने परिवर्तन भएको छैन । आज चाँदी प्रतितोला एक हजार सात सय ६५ मा किनबेच हुँदैछ ।

यसवर्ष स्याङ्जाबाट एक अर्ब १२ करोडभन्दा बढीको  सुन्तला बिक्री

स्याङ्जा । यसवर्ष स्याङ्जाबाट एक अर्ब १२ करोडभन्दा बढीको  सुन्तला बिक्री भएको छ । सुन्तला सुपर जोन क्षेत्रमा उत्पादन भएका सुन्तला बिक्रीबाट यस वर्ष स्याङ्जामा एक अर्ब १२ करोड ४७ लाख १५ हजार दुई सय भित्रिएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपर जोनका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्याङ्जामा यस वर्ष २० हजार ८४ दशमलव दुई मेट्रिक टन सुन्तला उत्पादन भएको हो । उत्पादनमध्ये ९० प्रतिशत बिक्री भएको उनले बताइन् । उत्पादित सुन्तला थोक मूल्यमा प्रतिकेजी ५६ रुपैयाँका दरले बिक्री भएको हो । चालु आर्थिक वर्षमा स्याङ्जामा सुन्तला बगैँचाको क्षेत्रफल दुई हजार दुई सय ८० हेक्टरमा विस्तार भएको छ

चालु आवमा प्रतिहेक्टरमा सुन्तलाको उत्पादकत्व १४.६६ टन भएको सूचना अधिकारी बुढाथोकीले जानकारी दिइन् । गत आवमा दुई हजार एक सय हेक्टरमा सुन्तला बगैँचा कायम थियो । गत वर्ष एक हजार नौ सय ८७ मेट्रिक टन सुन्तला उत्पादन भएको उनले जानकारी दिइन् । गत वर्षको तुलनामा यस वर्ष ५० हेक्टर उत्पादनशील क्षेत्रफल वृद्धि भएको हो । स्याङ्जाका सुपर जोन घोषणा हुनु पूर्व आठ सय ८७ हेक्टरमा फैलिएको सुन्तला बगैँचा सुपर जोन भएसँगै हालसम्म दुई हजार दुई सय ८० हेक्टरमा सुन्तला बगैँचा विस्तार भएको उनले बताइन् ।

विसं २०७३/७४ मा स्याङ्जालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यान्वयन एकाइ घोषणा गरिएको थियो । आव २०७५/७६ को सुरुवातसँगै स्याङ्जालाई सुपर जोन घोषणा गरिएको थियो । सुन्तलाका क्षेत्रमा सुपर जोन घोषणा भई कार्यान्वयनमा आएसँगै जिल्लामा सुन्तला उत्पादनतर्फ किसान थप आकर्षित भएर लागेका सुन्तला सुपर जोन सञ्चालक समिति स्याङ्जाका अध्यक्ष बोधराज अर्यालले बताए । स्याङ्जामा साउनदेखि फागुनसम्म विभिन्न प्रजातिका सुन्तला उत्पादन हुँदै आएका छन् ।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-१ थापा थोकमा रहेको त्रिपुत्र बागवानी कृषि फार्मले यस वर्ष मात्र रु. पाँच करोडका सुन्तलाको कारोबार गरेको छ । फार्मले भाटभटेनी सुपर मार्केटलगायत व्यावसायिक संघसंस्थालाई भारी मात्रामा सुन्तला बिक्री गर्दै आएको छ । फार्मले यस वर्ष प्रतिकेजी न्यूनतम रु. २५ देखि अधिकतम रु. ८५ सम्मका दरले सुन्तला बिक्री गरिरहेको छ । फार्मका सञ्चालक फणिनारायण अर्यालका अनुसार सुन्तलाको न्यूनतम मूल्य प्रतिकेजी रु. २५ देखि अधिकतम रु. ८५ सम्म कायम भएको छ ।

तुलनात्मक रूपमा गत वर्षभन्दा यस वर्ष सुन्तलाको बिक्री मूल्य घटेको उनले बताए । उनी जिल्लाकै अगुवा सुन्तला किसान हुन् । उनी एक्लैले सुन्तला बेचेर गरेर वार्षिक रु .६० देखि ७० लाखसम्म आम्दानी गर्दै आएका छन् ।

स्याङ्जामा सुन्तला व्यवसायलाई मुख्य आम्दानीको स्रोतका रूपमा विकास गर्ने पद्धतिको विकास हुँदै गएको छ । जिल्लाका विभिन्न भागमा निर्वाहमुखी र घरायसी प्रयोजनका लागि गरिँदै आएको सुन्तला खेती विस्तार भएको छ । पुतली बजार, वालिङ, भिरकोट, गल्याङ नगरपालिकासहित आँधी खोला, फेदिखोला, बिरुवा, हरिनास, अर्जुनचौपारी गाउँपालिका सुन्तलाका पकेट क्षेत्र हुन् ।