`

ग्रामीण सडक विस्तारबाट कृषि उपजको बजारीकरण सहज

भोजपुर ।  ग्रामीण भेगसम्म सडक विस्तार भएपछि भोजपुरमा स्थानीय उत्पादनको बजारीकरणमा सहज भएको छ । ग्रामीण भेग सडक सञ्जालबाट जोडिएपछि कृषि उपज बेचेर यहाँका किसान आर्थिक रूपमा पनि सक्षम बनेका छन् ।

सदरमुकामको देउराली चोकबाट चखेवाभञ्याङसम्मको ४२ किलोमिटर सडक कालोपत्र भएको छ । यो सडकबाट खोटाङ हुँदै काठमाडौं पुगिन्छ । स्थानीय बजारमा नबिकेका उत्पादन काठमाडौंलगायत सहरमा बिक्री हुने गरेको छ ।

यहाँ उत्पादन भएका कृषिउपज किसानले काठमाडौं बाहेक पूर्वी भेगका धरान, विराटनगरलगायत सहरमा पनि बेच्दै आएका छन् । केही व्यापारी धानमकै किन्न घरखेतमा नै पुग्ने गरेको टेम्केमैयुङ–५ का किसान सन्तोष विष्टले बताए ।

जिल्लाको पूर्वी क्षेत्रबाट तराईका जिल्लासँग जोड्ने भोजपुर र धनकुटाको सीमामा रहेको अरुण नदीमा पक्की पुल बनेपछि स्थानीयलाई आवतजावतमा सहजतासँगै यहाँका उत्पादनको बजारीकरण पनि सहज भएको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा भोजपुर–लेगुवा ६६ किलोमिटर सडक कालोपत्र भएको छ ।

भोजपुरको लेगुवाबाट धनकुटा हुँदै धरान जोड्ने यो सडकमा नियमित रूपमा सार्वजनिक सवारीका साधन सञ्चालन भएपछि व्यापारीलाई पनि उद्यम गर्न सजिलो भएको छ ।

समीक्षा र दुर्गेशको ‘दुस्मन हेरेको हेर्‍यै

काठमाडौं । गायक तथा मोडल दुर्गेश थापाले नयाँ गीत ‘दुस्मन हेरेको हेर्‍यै ’ ल्याएका छन् । गीतमा दुर्गेश र आनन्द कार्कीसहित भर्सनमा गायिकाद्वय समीक्षा अधिकारी र एलिना चौहानको स्वर सुन्न सकिन्छ। गीतको शब्ददेखि संगीत र एरेन्ज दुर्गेशकै रहेको छ। मिक्सिङको काम बिमल छिनालले गरेका छन् ।

फिल्मी शैलीमा तयार पारिएको गीतको भिडियोमा दुर्गेशसँगै प्रियंका कार्की, कविता नेपाली र तिब्बतीयन गायकको रूपमा चर्चामा आएका गायक तथा मोडल पेमा लामाको अभिनय छ ।

यसरी मनाइयो १२औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस

काठमाडौँ । जागरूक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाइएको छ । नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ बुधबार वसन्तपुरमा यो दिवस मनाइएको हो ।

नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन थालिएको हो ।

नेपाली युवाले बिर्सँदै गएको राष्ट्रिय पोशाकको पुनःजागरण हुन थालेको छ । औपचारिक रुपमा राष्ट्रिय पोसाक हटाइएपछि युवाहरु जागरूक भएर यो अभियान सुरु गरेका हुन् ।

भीम रावलले पत्रकार सम्मेलन गर्दै

काठमाडौँ । नेकपा एमालेबाट निस्कासनमा परेका डा. भीम रावलले आज पत्रकार सम्मेलन गर्दैछन् । पार्टीबाट निष्कासनमा परेपछि उनले आफ्ना भावी योजनाबारे जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन् ।

कम्युनिस्ट र उदारवादी विचारधारा समेट्ने गरी नयाँ पार्टी गठन गर्ने तयारीमा रहेका रावलले आज दिउँसो एक बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् । आजको पत्रकार सम्मेलनपछि मेची–महाकाली अभियान चलाउने उनको योजना रहेको बताइएको छ ।

सिड्नीमा यसरी गरियो नयाँवर्षको स्वागत

काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा नयाँ वर्ष सन् २०२५ को भव्य स्वागत गरिएको छ । हार्बर किनारामा भएको विश्वकै आकर्षक आतिशबाजी झण्डै दश लाख मानिसले प्रत्यक्ष हेरेका थिए ।

१२ मिनेट लामो आतिशबाजीले कोकटु द्वीपदेखि पोइन्ट पाइपरसम्म करिब सात किलोमिटर क्षेत्रमा फैलिएको सिड्नी हार्बरलाई उज्यालो बनाएको थियो । यस उत्सवका लागि नौ टनभन्दा बढी पटाका प्रयोग गरिएको थियो।

तस्बिरः सईद खान/ एएफपी

अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेल(फोटोफिचर)

काठमाडौं । पर्यटकीय नगरी ठमेलमा अंग्रेजी नयाँ वर्ष २०२५ को पूर्वसन्ध्यामा आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढेको छ । ठमेल पर्यटन विकास समितिले नयाँ वर्षको स्वागतमा सडक महोत्सव नै आयोजना गरेको छ ।

ठमेलको मुख्य सडकमा सांगीतिक कार्यक्रम आयोजना भएकाले भिडभाड बढेको छ।

तस्बिरः हरिराम भेटुवाल

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम संचालक समितिको बैठकले मंगलबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेलको मूल्य दुई रुपैयाँ बढाएको हो ।

नेपाल-भारत सैन्य अभ्यास सुरु

काठमाडौं । साझा सुरक्षा उद्देश्य प्राप्ति तथा द्विपक्षीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले नेपाल र भारतबीच हुँदै आएको संयुक्त सैन्य अभ्यास सूर्यकिरणको १८औं संस्करण मंगलबारदेखि रुपन्देहीको सालझण्डीमा सुरु भएको छ ।

अभ्यासमा नेपाली सेनाको श्रीलंग बटालियनको टोलीसँगै भारतीय सेनाको ११औं गोर्खा राइफल्सको फौज सहभागी रहेको नेपाली सेनाले जनाएको छ । तालिममा जंगल युद्ध, कठिन भौगोलिक स्थलमा आतंकवादविरुद्धको अपरेशन, शान्ति स्थापना, विपद् व्यवस्थापन तथा सहायता, वातावरण संरक्षण लगायतका विषयमा अभ्यासहरू हुनेछन् ।

नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार यो अभ्यासबाट नेपाल र भारतबीचको मैत्री, विश्वास र साझा सांस्कृतिक सम्बन्ध अझ विस्तार हुनाका साथै दुई देशका व्यावसायिक सेनाको सहकार्य एवं सहयोग अझ सुदृढ हुने छ ।

विसं २०६७ बाट वार्षिक रूपमा नेपाल र भारतमा आलोपालो गरी हुने उक्त अभ्यासको १७औँ शृङ्खला अघिल्लो वर्ष भारतको पिथौरागढमा भएको थियो । हालसम्म नेपाली सेनाका चार हजार दुई सय १५ जना र भारतीय सेनाका चार हजार चार सय ४२ जना सैनिक यो अभ्यासमा सहभागी भएका छन् ।

कोभिडसम्बन्धी जानकारी केही नलुकाई सार्वजनिक गरेको चीनको दाबी

बेइजिङ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले रोगको उत्पत्तिको बारेमा बुझ्न थप तथ्याङ्क र पहुँचको आग्रह गरेपछि बेइजिङले मङ्गलबार कोभिड–१९ सम्बन्धी जानकारी ‘केही पनि नलुकाई’ साझा गरेकोमा जोड दिएको छ ।

चीनको मध्य शहर वुहानमा पहिलो पटक देखा परेको कोभिड–१९ले लाखौँ मानिसको ज्यान लिएको थियो भने अर्थतन्त्रलाई तहसनहस पार्नुका साथै स्वास्थ्य प्रणालीलाई कमजोर बनाएको थियो ।

डब्लुएचओले सोमबार विज्ञप्ति प्रकाशित गर्दै चीनले थप जानकारी साझा गर्नु ‘नैतिक र वैज्ञानिक अनिवार्यता’ भएको बताएको छ ।

“पाँच वर्षअघि… चीनले तुरुन्तै डब्लुएचओ र अन्तर्राष्ट्रिय समुदायसँग महामारीको जानकारी र भाइरल जिन अनुक्रम साझा गर्यो”, विदेश मन्त्रालयका प्रवक्ता माओ निङले मङ्गलबार नियमित पत्रकार सम्मेलनमा भने, “कुनै पनि कुरामा रोक नलगाई हामीले हाम्रो रोकथाम, नियन्त्रण र उपचारको अनुभव साझा गर्यौँ, यसले अन्तर्राष्ट्रिय समुदायको महामारीसँग लड्ने काममा ठूलो योगदान पुर्याउँछ ।”

यो महिना वुहानमा महामारी फैलिएको पहिलो रिपोर्ट भएको पाँचौँ वार्षिकी हो । कोभिड–१९ महामारीका क्रममा डब्लुएचओले चिनियाँ अधिकारीहरूको पारदर्शिता र सहयोगको कमीको बारम्बार आलोचना गरेको थियो ।

डब्लुएचओको नेतृत्वमा र चिनियाँ सहकर्मीहरूको साथमा विशेषज्ञहरूको टोलीले सन् २०२१ को सुरुमा महामारीको उत्पत्तिको बारेमा अनुसन्धान गरेको थियो ।

एक संयुक्त प्रतिवेदनमा तिनीहरूले भाइरस सम्भवतः बजारमा मध्यस्थ जनावरबाट मानिसमा सर्ने अनुमानलाई समर्थन गरे ।

अनुसन्धानकर्ताहरू त्यसयता चीन फर्कन सकेका छैनन् र डब्लुएचओका अधिकारीहरूले पटक–पटक थप तथ्याङ्क मागेका छन् । 

भारी हिमपातले जापानमा हवाई सेवा प्रभावित

टोकियो । लाखौँ परिवार आफ्ना प्रियजनहरूसँग नयाँ वर्षको छुट्टी बिताउन घर फर्किरहेको बेला जापानको उत्तरी क्षेत्रमा भारी हिमपातले मंगलबार दर्जनौँ उडान रद्द गर्‍यो ।

जापान एयरलाइन्सले दिउँसोसम्म ४२ वटा उडान रद्द गरेको र छ हजार ३९८ यात्रुलाई असर गरेको बताएको छ । ती सबै होक्काइडोको उत्तरी टापुबाट आवतजावत गर्ने सेवा थिए ।

यसको मुख्य प्रतिद्वन्द्वी एएनएले पनि उत्तरमा खराब मौसमका कारण आठ सय यात्रुलाई प्रभावित पार्दै १४ उडान रद्द गर्‍यो र आफ्ना ग्राहकहरूलाई सम्भावित ढिलाइ र थप रद्दको चेतावनी दियो ।

होक्काइडोको मुख्य विमानस्थलमा यात्रुहरूले वैकल्पिक उडानहरू सुरक्षित गर्न लामो लाइनहरू बनाए । केहीले सन् २०२५ को स्वागत प्रस्थान कक्षमै गर्ने तयारी गरे ।

“हिउँ देख्न पाउँदा राम्रो थियो तर म यहाँ फस्छु भन्ने मैले सोचेको थिइनँ”, दक्षिणको ओकिनावा घर जान खोजिरहेका एका व्यक्तिले प्रसारणकर्ता एचटिबीलाई भने, “के गर्ने मलाई थाहा छैन । म आज राति विमानस्थलमा बस्नुपर्ने हुन सक्छ ।”

जापानको मौसम विज्ञान एजेन्सीका अनुसार होक्काइडो र जापान सागर फर्केका उत्तरी तटरेखाका समुदायहरूले मंगलबार तीव्र हावा र भारी हिमपातको अनुभव गरिरहेका छन् ।

मौसम एजेन्सीका अनुसार सोमबारदेखि होक्काइडोका केही क्षेत्रमा २० सेन्टिमिटर (७.९ इन्च) भन्दा बढी हिमपात भएको छ । जसमध्ये धेरैजसो मंगलबार बिहान परेको थियो र नयाँ वर्षको दिनसम्म हिमपात जारी रहने अपेक्षा गरिएको छ ।

जलवायु परिवर्तनका कारण चरम गर्मीले विश्वका धेरै भागहरू ओगटेसँगै यस वर्ष जापानको गर्मी रेकर्ड सन् २०२३ को बराबर थियो ।

राष्ट्रिय मौसम एजेन्सीका अनुसार १२६ वर्षअघि रेकर्ड सुरु भएदेखि शरद ऋतु सबैभन्दा तातो थियो ।

माउन्ट फुजीको प्रसिद्ध हिउँको टोपी पनि यस वर्ष अहिलेसम्मकै सबैभन्दा लामो अवधिसम्म अनुपस्थित रह्यो । सामान्यतया अक्टोबरको सुरुमा देखिने भए पनि यो नोभेम्बरको सुरुसम्म देखिएन ।

एमालेलाई राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न महासचिव पोखरेलको आग्रह

नेपालगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेलाई सबल राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न पार्टी कार्यकर्तालाई आग्रह गरेका छन्।

एमाले नेपालगञ्ज उपमहानगरपालिका कमिटीले मंगलबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले समृद्धिका लागि बहुमतको सरकार आवश्यक पर्ने बताए।

महासचिव पोखरेलले ‘मिसन ८४’अन्तर्गत एमालेलाई राष्ट्रिय शक्ति बनाउन सबै तहका नेता तथा कार्यकर्ताको सक्रिय भूमिका आवश्यक पर्नेमा जोड दिए। मिसन ८४ मा केन्द्रित भएर काम गर्न उनले निर्देशन पनि दिए।

महासचिव पोखरेलले विश्वका अन्य देशमा एउटै राजनीतिक दल र नेताले दुई–तीन कार्यकाल सरकारको नेतृत्व गरिरहेको अवस्थामा नेपालमा भने सरकारले पूर्ण कार्यकाल सेवा गर्न नपाउँदा प्रमुख दुई दलबीच सहकार्य हुनु असामान्य नभएको टिप्पणी गरे।

नेपालमै पहिलो पटक स्तन क्यान्सरको सफल वंशाणुगत परीक्षण

काठमाडौँ । मुलुकमा पहिलोपटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण ‘जिन सिक्वेन्सिङ’ सफल भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा यसको परीक्षण सफल भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगलबार जनाएको हो ।

मन्त्रालयका अनुसार अबदेखि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्तन क्यान्सरको वंशाणुगत परीक्षण गरिनेछ । यसअघि यस्तो परीक्षणका निम्ति नमूना भारत पठाउनुपर्ने बाध्यता थियो । प्रयोगशालाले रगत र टिस्युबाट यस्तो नमूना परीक्षण गर्ने जनाइएको छ । योसँगै प्रयोगशालाले क्यान्सरसम्बन्धी चार थरीका नमूना परीक्षण नियमित गर्नेछ ।

भारतमा स्तन क्यान्सरको वंशानुगत नमूना परीक्षणका लागि ६० हजार रुपैयाँ लाग्ने गरेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा यो परीक्षण ३० हजार रुपैयाँमा हुने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको निजी सचिवालयले जनाएको छ ।

भारतमा कल गर्न टेलिकमले घटायो महसुलदर

काठमाडौं । नेपाल टेलिकमले सस्तो दरमा भारतमा कल गर्न एक्सेस कोड १४२४ को महसुल दर तथा पल्स दर परिमार्जन गरेको छ ।

टेलिकमकाअनुसार विगतदेखि नै भारतमा सस्तो दरमा कल गर्नका लागि लागू गरेका विभिन्न विकल्पमध्ये एक्सेस कोड १४२४ को प्रयोग गरेर हुने बाह्यगमन कलको नयाँ महसुल दर निर्धारण गरिएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत भई मिति पुस १५ गते राति १२ बजेदेखि लागू भएको एक्सेस कोड १४२४ को महसुल दर करबाहेक प्रतिमिनेट ३.७६ कायम गरिएको छ ।

यसका साथै एक्सेस कोड १४२४, १४२५ र १४४५ को प्रयोग गरेर भारतमा हुने वाह्यगमन कलको पल्सदर ६० सेकेण्ड निर्धारण गरिएको छ ।

विदेशी पर्यटकको सङ्ख्या वृद्धि गर्न ‘डिजिटल मार्केटिङ’ प्रभावकारी बनाइने

काठमाडौँ । सरकारले विदेशी पर्यटकको सङ्ख्या वृद्धि गर्न अन्तर्राष्ट्रिय प्रवद्र्धन तथा ‘डिजिटल’ बजारीकरणलाई प्रभावकारी बनाउने भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटक आगमन बढाउन तथा नेपालको समग्र पर्यटनलाई दिशानिर्देश गर्नेगरी सरकारले नीतिगत रुपान्तरणको काम गरिरहेको बताएका हुन् ।

नेपाल पर्यटन बोर्डको २६औँ वार्षिकोत्सवमा अवसरमा मंगलबार आयोजित कार्यक्रममा मन्त्री पाण्डेले पर्यटन विकासका लागि सरकारले नयाँ पर्यटन नीति तयार गरिरहेको र यसलाई चाँडै पूर्णता दिने बताए ।

उनले पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी (पिपिपी) को अवधारणालाई आत्मसात् गर्दै अन्तर्राष्ट्रिय प्रवद्र्धनका कार्यक्रमलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन, डिजिटल मार्केटिङलाई जोड दिन निर्देशन दिए ।

पर्यटनराज्यमन्त्री अरुणकुमार चौधरीले पर्यटन उद्योगको विकास र विस्तारबाट नेपालको आर्थिक विकास गर्न सकिने भन्दै यसका लागि सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको बताए ।

पर्यटन मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डले बोर्डले पूर्वाधारको विकाससँगै प्रविधिको व्यापक प्रयोग, पर्यटनका लागि आवश्यक जनशक्ति विकासमा जोड दिनुपर्ने बताए ।

बोर्ड सञ्चालक समितिका सदस्य ऋषि भण्डारीले पर्यटन प्रवद्र्धनको मुख्य जिम्मेवारी बोकेको नेपाल पर्यटन बोर्ड सरोकारवाला सबैलाई साथमा लिएर गतिशील बनाउँदै लैजानुपर्ने खाँचो औँल्याए ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालको पर्यटक आगमन विस्तारै लयमा फर्किंदै गएको र नेपालको पर्यटनमा आगामी दिन थप सुनौलो हुने धारणा राखे ।

कोभिडपछि विश्व परिवेशमा ९७ प्रतिशत ‘रिकभरी’ देखिएको र सन् २०२४ मा नेपालमा ११ लाख ५० हजार हाराहारी पर्यटकले भ्रमण गरेकाले कोभिडपछि नेपालमा ९६ प्रतिशतसम्म रिकभरी देखिएको उनले जानकारी दिए ।

कार्यक्रममा बोर्ड कर्मचारी सङ्गठनका अध्यक्ष कुन्दन मिश्रले संस्थाको आन्तरिक सुदृढीकरणका लागि आवश्यक नीतिगत सुधारका लागि पहल गरिदिन आग्रह गरे ।

प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त

काठमाडौं । प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त भएका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले राईलाई सचिव नियुक्त गरेका हुन् ।

प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले गत मंसिर ९ गते राजीनामा दिएपछि यो पद रिक्त थियो । राईलाई सचिव नियुक्तिका लागि सभामुख देवराज घिमिरेले केही दिनअघि राष्ट्रपतिलाई सिफारिस गरेका थिए ।

झापाको शिवसताक्षी– २ निवासी राई सार्वजनिक प्रशासनमा एमफिल, राजनीति शास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन् ।

२०८४ को चुनावमा भाग लिने नेकपाको निर्णय

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी २०८४ को आमुचनावमा भाग लिने भएको छ ।

मंसिर २७ गतेदेखि पुस २ गतेसम्म कपिलवस्तुको शिवगढीस्थित केन्द्रीय कार्यालयमा बसेको छैटौं पूर्ण बैठकले आगामी निर्वाचनमा भाग लिने निर्णय गरेको हो ।

मंगलबार पत्रकार सम्मेलन गरी नेकपाले पार्टी गठनको १० वर्ष पुगेकाले पार्टीको विचार र प्रस्तावहरूको पक्षमा देशव्यापी अन्तक्रिया गर्ने निर्णय भएको जानकारी दिएको छ ।

बैठकको निर्णयमा भनिएको छ, ‘आगामी २०८४ को चुनावलाई राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्ग, जाति, समुदाय, महिला, युवा विद्यार्थी र नेपाली विशेषताको समाजवादका पक्षमा प्रयोग गर्ने निर्णय गरिएको छ । त्यसका लागि जनतालाई स्पष्ट सन्देश दिन पार्टी दर्ता गरेर उपयुक्त चुनाव चिन्ह लिइनेछ ।’ 

त्यस्तै नेकपाले भ्रष्टाचार, सुकुम्बासी, मिटरब्याज, वैदेशिक हस्तक्षेपलगायतविरुद्ध जनमार्च अभियान सञ्चालन गर्ने भएको छ । बैठकले क्रान्तिकारी पार्टीहरुसँग एकताको उद्देश्य राख्दै तत्काल मित्र पार्टीहरुसँग मोर्चामा सहकार्य गर्दै क्रान्तिकारी ध्रुवीकरणलाई तिब्रता दिने निर्णय पनि गरेको छ ।

३३ अंकले घट्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३३ दशमलव ०८ अङ्कको गिरावट देखिएको छ । मंगलबार नेप्से परिसूचक एक दशमलव २६ प्रतिशतले घटेर दुई हजार पाँच सय ७६ दशमलव ५० बिन्दुमा कायम भएको हो ।


तीन सय आठ कम्पनीको एक करोड ३१ लाख ७४ हजार तीन सय ७९ कित्ता शेयर ६९ हजार नौ सय २३ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ६७ करोड ४६ लाख ८६ हजार बराबरको कारोबार भएको छ ।


वित्त कम्पनीको शेयर मूल्यमा मंगलबार उच्च अङ्कको गिरावट आएको छ । वित्त समूह पाँच दशमलव १९ प्रतिशतले घटेको हो । त्यस्तै विकास बैंक समूह दुई दशमलव ७७ प्रतिशत र व्यापार समूह दशमलव ९७ प्रतिशतले घटेको छ ।


बैंकिङ शून्य दशमलव ९२, होटल तथा पर्यटन एक दशमलव ३८, हाइड्रोपावर एक दशमलव ७३, लगानी शून्य दशमलव ०८, जीवन बीमा शून्य दशमलव ६५, उत्पादन तथा प्रशोधन एक दशमलव ५१, लघुवित्त एक दशमलव ४१, म्युचुअल फन्ड शून्य दशमलव ३८ र निर्जीवन बिमा शून्य दशमलव ९५ प्रतिशतले घटेको छ । अन्य समूहको उपसूचक भने आज शून्य दशमलव ०६ प्रतिशतले बढेको छ ।


सपोर्ट माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेडको शेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै बढ्नेमा भने नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य चार दशमलव ०१ प्रतिशतले बढेको छ ।


कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको रू ३५ करोड ९४ लाख ९२ हजार ३४ बराबरको १५ लाख आठ हजार पाँच सय ५७ कित्ता शेयर किनबेच भएको छ । 

ओलम्पिक, उथलपुथल र ट्रम्पको वर्षपछि विश्वले सन् २०२५ लाई स्वागत गर्दै

सिड्नी । सन् २०२५ लाई अभिवादन गर्न भीडले मङ्गलबार आतसबाजीको आनन्द लिँदै र स्याम्पेन पिउँदै ओलम्पिक गौरव, डोनाल्ड ट्रम्पको नाटकीय पुनरागमन तथा मध्यपूर्व र युक्रेनमा उथलपुथल ल्याउने वर्षलाई बिदाइ गर्नेछन् ।

सन् २०२४ अहिलेसम्मकै सबैभन्दा तातो वर्षका रूपमा दर्ता हुने लगभग निश्चित छ । जलवायु–प्रेरित विपत्तिहरूले युरोपको मैदानदेखि काठमाडौँ उपत्यकासम्म तहसनहस पारेको छ ।

मङ्गलबार दिउँसो अस्ट्रेलियाको मनमोहक सिड्नी हार्बरमा नयाँ वर्षको पूर्वसन्ध्याको समारोह सुरु हुँदा धेरै दर्शकहरू बितेको १२ महिनालाई पछाडि छोड्न पाउँदा राहत महसुस गरिरहेका थिए ।

“स्पष्ट रूपमा विभिन्न ठाउँमा धेरै युद्ध र अशान्ति चलिरहेको छ”, ३२ वर्षीय बीमा कर्मचारी स्टुअर्ट एडवड्र्सले सिड्नीको जलक्षेत्रमा भीड बढ्दै गर्दा भने, “यदि यी सबै कुराहरू आफैँ समाधान हुन्थे र मिल्थे भने संसारका लागि राम्रो हुन्थ्यो ।”

‘विश्वको नयाँ वर्षको राजधानी’ भनिने यस शहरले मध्यरातमा आफ्नो प्रख्यात अपेरा हाउस र हार्बर ब्रिजबाट नौ टन आतसबाजी छोड्नेछ । आतसबाजी हेर्न शहरको किनारमा दश लाखभन्दा बढी दर्शक जम्मा हुने अपेक्षा गरिएको छ ।

“सबै सुन्दर रङहरू देखेर र अद्भुत अस्ट्रेलियामा यति धेरै मानिससँग यो परिस्थितिमा रहन पाउँदा आनन्द लिँदैछु”, ७१ वर्षीय सेवानिवृत्त नर्स रुथ रोसेले भने ।

टेलर स्विफ्टले यस वर्ष आफ्नो इरान भ्रमण समाप्त गरे, पिग्मी हिप्पो मो देङ भाइरल भयो र १६ वर्षीया फुटबल प्रतिभा लामिन यमलले स्पेनलाई युरो जित्न मद्दत गरे ।

पेरिस ओलम्पिकले जुलाई र अगस्टमा केही हप्ताका लागि विश्वलाई एकजुट गर्यो । खेलाडीहरूले सेन नदीमा पौडी खेले, आइफेल टावरको छायाँमा दौडे र भर्साइल दरबार बाहिरको सजाइएको लनमा घोडा चढे ।

– चुनावी उथलपुथल –

यो चुनावको विश्वव्यापी वर्ष थियो । निर्वाचनमा ६० भन्दा बढी देशमा करोडौँ मानिसले मतदान गरे । भ्लादिमिर पुटिन व्यापक रूपमा नक्कली मानिएको रूसी मतदानमा विजयी भए भने बङ्गलादेशमा विद्यार्थी विद्रोहले सत्तारूढ प्रधानमन्त्रीलाई हटायो ।

तथापि डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसमा फर्काउने नोभेम्बर ५ को प्रतिस्पर्धा जत्तिको कुनै पनि मतदान नजिकबाट हेरिएको थिएन ।

मेक्सिकोदेखि मध्यपूर्वसम्म कमान्डर–इन–चिफका रूपमा ट्रम्पको पुनरागमनले पहिले नै तरङ्ग सिर्जना गरेको छ । नवनिर्वाचित राष्ट्रपति ट्रम्पले चीनलाई आर्थिक पीडा दिने धम्की दिएको छ भने ‘२४ घन्टा’ भित्र युक्रेन युद्ध रोक्ने आफ्नो क्षमताको घमण्ड गरेका छन् ।

– आशा र त्रास –

बशर अल–असद सिरियाबाट भागेपछि, इजरायल दक्षिणी लेबनानमा प्रवेश गरेपछि र हिजबुल्लालाई लक्षित गर्ने हत्याको लहरमा परिमार्जित इलेक्ट्रोनिक्स विस्फोट भएपछि मध्यपूर्वभर उथलपुथल फैलियो ।

खाना, आश्रय र औषधिको घट्दो भण्डारले मानवीय सङ्कटलाई अझ अन्धकारमय बनाएको गाजाको निरन्तर युद्धबाट नागरिकहरू थकित भए ।

“सन् २०२४ सबैभन्दा कठिन वर्ष थियो”, विस्थापित बासिन्दाहरूको ठूलो सङ्ख्या अहिले भीडभाड भएका पालहरूमा बस्न बाध्य देइर अल–बलाहबाट वफा हज्जाजले भने, “मैले वर्षको सुरुदेखि नै मेरा बुबा र नजिकका साथीहरूसहित धेरै प्रियजनहरू गुमाएँ, सुरक्षा र शान्ति फर्कियोस् र युद्ध अन्ततः अन्त्य होस् ।”

लामो समयदेखिका शासक असदलाई इस्लामवादी विद्रोहीहरूले अपदस्थ गरेपछि सिरियामा नयाँ वर्ष नजिकिँदै गर्दा आशा र त्रास थियो ।

“सुरक्षा अवस्थाका कारण हामी यस वर्ष बाहिर जान हिचकिचाएका थियौँ, तर हामीले आफ्नो डरलाई जित्ने र आफ्नो बानी परिवर्तन नगर्ने निर्णय गर्यौँ”, ३४ वर्षीया वकिल माराम अयुबले राजधानी दमास्कसबाट भने ।

फेब्रुअरीमा युक्रेनमाथि रूसको आक्रमणले आफ्नो दुःखद तीन वर्ष पूरा गर्दैछ । पूर्वी क्षेत्रमा कमजोर हतियार भएको युक्रेनले अब महत्त्वपूर्ण सैन्य सहयोग घटाउन दृढ देखिएको ट्रम्प प्रशासनको सामना गर्नुपर्ने छ ।

किएभको सडकमा शिक्षक कातेरिना चेमेरिजले ‘युक्रेनका लागि अन्ततः शान्ति प्राप्त होस्’ र ‘मानिसहरू मर्न नपरोस्’ भन्ने चाहना राखे ।

– पुनरागमन, फुटबल, उत्सव –

एआईको प्रगति र उच्च मुद्रास्फीति घट्ने अनुमान गरिएको सन् २०२५ मा अझै धेरै आशाजनक कुराहरू छन् ।

ब्रिटपप ब्याड ब्वाइज ओएसिसले लामो प्रतीक्षित पुनर्मिलन गर्नेछ भने के–पप मेगास्टार बिटिएस दक्षिण कोरियामा सैन्य सेवापछि स्टेजमा फर्कनेछ ।

फुटबल प्रेमीहरूले संयुक्त राज्य अमेरिकामा आयोजना हुने नयाँ ढाँचाको ३२ टिम सहभागी क्लब विश्वकप हेर्न पाउनेछन् ।

भारतको पवित्र नदी किनारमा हुने भव्य कुम्भ मेला उत्सवमा ४० करोड तीर्थयात्रीको अपेक्षा गरिएको छ । यसलाई पृथ्वीमा मानवताको सबैभन्दा ठूलो जमघट भनिएको छ ।

बेलायतको मौसम सेवाले सन् २०२५ का लागि पहिले नै विश्वव्यापी उच्च तापक्रमको पूर्वानुमान गरेको छ । सेवाले अहिलेसम्मकै सबैभन्दा तातो वर्षहरूमध्ये एक हुने सम्भावना रहेको बताएको छ ।

तर विद्युतीय सवारी साधनको बिक्री बढ्दै जाँदा र नवीकरणीय ऊर्जाको वृद्धिसँगै जलवायु परिवर्तनमा हिमनदीको प्रगतिले अन्ततः गति लिनसक्ने आशाको किरण देखिएको छ ।

देशलाई समृद्धिको मार्गमा अग्रसर गराऔँः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले श्रमको सम्मान गर्दै आर्थिक एवं भौतिक विकासको माध्यमबाट देशलाई समृद्धिको मार्गमा अग्रसर गराउनु आजको आवश्कता भएको बताएका छन् ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले मंगलबार आयोजना गरेको श्रम संसदमा उनले मुलुकको विकास भनेको केवल आर्थिक र भौतिक प्रगति मात्र नभइ यससँग मानवीय पक्ष पनि भएको बताए । आफूले राजनीतिक जीवनमा देशको सामाजिक एवं आर्थिक रुपान्तरणका लागि किसान र श्रमिकलाई साथमा लिएर काम गरेको स्मरण गरे ।

“निमुखालाई न्याय अनि विपन्नलाई आय र श्रमको सम्मान गर्ने संस्कृति नै यो देशको विकासको आधार हो भन्ने विषयलाई मैले सदैव जोड दिँदै आएको छु, सफल राजनीतिक परिवर्तनपछि देशले चाहेको विकास र समृद्धिको आधार पनि हामीले यही अवधारणाको जगमा खोज्नुपर्दछ”, राष्ट्रपति पौडेलले भने ।

नेपालका श्रमजीवीहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा गरेको योगदान सराहनीय रहेको र सोही योगदानका कारण संविधानमा उचित श्रम अभ्यास, सङ्गठन गर्न पाउने स्वतन्त्रता, सामूहिक सौदाबाजी र योगदानमा आधारित सामाजिक सुरक्षालाई मौलिक हकका रुपमा समावेश गरिएको उनले बताए ।

“देशमा सबैभन्दा ठूलो श्रमिकहरूको सङ्ख्या कृषि क्षेत्रमा रहेकाले मैले ‘व्यावसायिक कृषि कार्यक्रम’ र कृषि क्रान्तिको कुरा श्रमिकको जीवनमा क्रान्ति ल्याउनकै लागि गरेको हुँ”, उनले भने । राष्ट्रपति पौडेलले प्रकृतिको दोहन र मानवीयताप्रतिको बेवास्ताले विश्वमा दिनानुदिन जलवायु परिवर्तनको जोखिम बढेकामा चिन्ता व्यक्त गरे । उनले जलवायु परिवर्तनको असरबाट महिला श्रमिकहरू बढी प्रभावित भएका बताए ।

कांग्रेसको महाधिवेशन आम निर्वाचनपछि गर्नु उपयुक्तः शशांक कोइराला

चितवन । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले नेपाली कांग्रेसको महाधिवेशन तोकिएको समयमा या आमनिर्वाचनपछि गर्नु उपयुक्त हुने बताएका छन् ।

मंगलबार चितवनको भरतपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै कोइरालाले आम निर्वाचनको मुखमा महाधिवेशन गर्न उपयुक्त नहुने बताए ।

उनले भने, ‘विसं २०८४ मा आम निर्वाचन हुनेछ । त्यसको दुई वर्ष पहिले नै महाधिवेशन हुनुपर्ने हो । होइन भने निर्वाचनपछि गराउँदा उत्तम हुन्छ ।’

निर्धारित समयमा अधिवेशन गराउँदा पार्टीभित्रको असन्तुष्टि हराएर जाने भन्दै उनले आम निर्वाचनको मुखमा महाधिवेशन गराउँदा पार्टीभित्रको तिक्तता आम निर्वाचनमा पर्ने बताए ।

उनले भने, ‘कोइराला परिवार एक होइन विचार एक हुनुपर्यो । विचार एक भए हुन्छ ।’ महाधिवेशनका लागि आफ्नो स्पष्ट खाका रहेको भन्दै उनले पार्टीलाई एक ढिक्का बनाउने, पार्टीभित्रको गुट–उपगुट अन्त्य गर्नुपर्ने, भातृ संस्थाहरुलाई दुरुस्त राख्ने र कसैलाई काखापाखा नगर्ने नेतृत्व आवश्यक रहेको बताए ।

अख्तियारद्वारा स्याङ्जाको अर्जुनचौपारीका तत्कालीन अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्ष दीर्घनारायण अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

आयोगले मंगलबार अर्यालसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो । आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा गुणस्तरहिन ढलान गरेर भ्रष्टाचार गरेको भन्दै उनीहरुविरुद्ध आयोगले मुद्दा दायर गरेको हो ।

आयोगले अर्यालसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुुरण गुरुङ, तत्कालीन इन्जिनियर नवीन थापा, उपभोक्ता व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण पौडेल, सचिव कृष्णप्रसाद काफ्ले, कोषाध्यक्ष हिमकुमारी केसी, प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतम, इन्जिनियर सुदिप आचार्य, तल्लो बजार नाली तथा ढलान निर्माण उपाभोक्ता समितिका अध्यक्ष मंगल देवी थापा मगर, सचिव विष्णुकुमारी विक र कोषाध्यक्ष एकनारायण देवकोटाविरुद्ध मुद्दा दायर भएको छ ।

फास्टट्रयाक निर्माणका लागि आवश्यक विद्युत वैकल्पिक व्यवस्था गरी आपूर्ति गरिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणका लागि आवश्यक विद्युत वैकल्पिक व्यवस्थामार्फत गर्ने भएको छ ।

प्राधिकरणले मकवानपुरको भीमफेदी गाउँपालिका–८ माण्डु माल्टाबेंसी र इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरी कोगटे क्षेत्रमा पर्ने सडक निर्माणका लागि आवश्यक विद्युत वैकल्पिक व्यवस्थामार्फत आपूर्ति गर्ने भएको हो ।

विद्युत् अभावमा फास्ट ट्रयाकको निर्माण प्रभावित हुन नदिन प्राधिकरणले वैकल्पिक व्यवस्था गरी जतिसक्दो छिटो विद्युत् आपूर्तिका लागि काम अगाडि बढाइसकेको छ ।

फास्ट ट्रयाकलाई उक्त क्षेत्रमा करिब १२ मेगावाट विद्युत् आवश्यक पर्नेछ । त्यस क्षेत्रमा चार प्याकेजमा निर्माण भइरहेको छ । विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्थाअन्तर्गत कुलेखानी पहिलो जलविद्युत केन्द्र ढोर्सिङ्गबाट माण्डुसम्मको पहिले चालू रहेको ६६ केभी लाइनलाई ११ केभीमा सञ्चालनमा ल्याइने छ ।

काठमाडौंमा जगेडामा रहेको २२.५ एमभिएको पावर ट्रान्सफर्मरलाई ढोर्सिङ्ग सबस्टेसनमा लगेर त्यहाँ जडान गरी सोहीमार्फत फास्ट ट्रयाकका लागि आवश्यक विद्युत् आपूर्ति दिइनेछ ।

ढोर्सिङ्ग सबस्टेसनमा स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि हाल ५ एमभिए क्षमताको पावर ट्रान्सफर्मर पूर्ण भारमा चालू रहेकाले थप विद्युत् प्रवाह गर्न नसकिने हुँदा अर्को ठूलो क्षमताको ट्रान्सपर्मर थप्न लागिएको हो ।

विद्युत आपूर्ति नहुँदा फास्ट ट्रयाक निर्माणमा समस्या भएको नेपाली सेनाले जानकारी गराएपछि प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाललगायत सम्मिलित उच्चस्तरीय टोलीले सोमबार माण्डु माल्टाबेंसी क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो ।

टोलीले पुनर्निर्माण भइरहेको बागमतीखोला साना जलविद्युत आयोजना र ढोर्सिङ्ग सबस्टेसनको भ्रमण गरी तत्काल विद्युत् आपूर्ति गर्न सकिने विभिन्न विकल्पकहरुमा सम्बन्धित पदाधिकारीहरुसँग छलफल गरेको थियो ।

आयोजनाको पुनर्निर्माण आगामी चैत्रभित्र सक्ने गरी काम भइरहेको छ । उक्त आयोजना सञ्चालन आएपछि पुरानै व्यवस्थाअनुसार विद्युत् आपूर्ति दिइनेछ ।

प्रबन्ध निर्देशक घिसिङले आयोजना सञ्चालनमा नआएसम्मका लागि ढोर्सिङ्ग सबस्टेसनमा पावर ट्रान्सफर्मर थप्ने र ढोर्सिङ्ग–माण्डु लाइनलाई ११ केभीमा चार्ज गरी फास्ट ट्रयाकलाई विद्युत् आपूर्ति दिनु तत्कालका लागि उपयुक्त विकल्प भएको बताए ।

गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले माण्डु हाइड्रोपावरले सञ्चालन गरेको २२ मेगावाटको बागमतीखोला साना जलविद्युतको विद्युतगृहलगायतका संरचनामा ठूलो क्षति पुर्याई विद्युत विद्युत् उत्पादन बन्द भएको छ ।

मेलमिलाप नीति कांग्रेसका लागि मात्र नभई देशक लागि नै आवश्यकः सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतान्त्रिक व्यवस्थालाई अझ सुदृढ गर्दै जानुपर्ने बताएका छन् ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा सभापति देउवाले गणतन्त्रलाई सफल पार्ने र अझै विश्वसनीय बनाउने सबैको कर्तव्य भएको बताए । उनले मेलमिलाप नीति नेपाली कांग्रेसका लागि मात्र नभई देशक लागि नै आवश्यक रहेको बताए ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसले जन्मकालदेखि नै निरन्तर गरेको संघर्षको कारण नै आज नेपाली राजनीति यहाँसम्म आइपुगेको बताए ।

उनले भने,‘नेपाली कांग्रेसले जन्मकालदेखि नै निरन्तर गरेको संघर्षको कारण जनताको अधिकारको लागि गरेको संघर्षको कारण आज नेपाली राजनीति यहाँसम्म पुगेको छ । आधुनिक नेपालको राजनीतिक जग बनाउने काम नेपाली कांग्रेसको नेतृत्वले नै बनेको छ ।’

आगामी एक दशकसम्म पर्यटन दशक मनाइने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मुलुकको पर्यटन क्षेत्रको समग्र विकासका निम्ति नयाँ पर्यटन नीति जारी गर्ने तयारीमा सरकार रहेको बताएका छन् ।

नेपाल पर्यटन बोर्डको २६ औँ वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले समग्र पर्यटन उद्योगलाई दिशानिर्देश गर्नेगरी सरकारले नीतिगत व्यवस्था गर्न लागेको बताए ।

मन्त्री पाण्डेले पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी (पिपिपी) को अवधारणाअनुरुप सञ्चालन गर्नुपर्नेमा जोड दिए । धेरैभन्दा धेरै पर्यटक आकर्षित गर्न भोलिदेखि आगामी एक दशकसम्म पर्यटन दशक मनाइने उनले घोषणा गरे ।

‘हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त छ । यही विविधता बीचको एकता, सहिष्णुता र सद्भावलाई संरक्षण गरी पर्यटन क्षेत्रको विकास गर्नु आजको आवश्यकता हो,’ उनले भने ।

वीपी भन्नुहुन्थ्यो-‘राष्ट्रलाई जोगाउन सबैभन्दा पहिलो कदम सहमति र एकता हो’

डा. शेखर कोइराला ।
४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।

नेपाली कांग्रेसका संस्थापक नेता महामानव, प्रजातान्त्रिक आन्दोलनका महानायक वीपी कोइरालाले २०३३ सालमा राष्ट्रको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकताको रक्षार्थ ऐतिहासिक निर्णय लिनुभएको थियो। दर्जनौँ मुद्दा, फाँसीको सजायको जोखिम सामना गर्दै वीपीले राष्ट्रिय संकटको समयमा सम्पूर्ण नेपालीबीच एकता र सद्भावको आवश्यकता महसुस गरी मेलमिलापको नीति लिएर स्वदेश फर्किनुभएको थियो।
पौष १६ को यो ऐतिहासिक दिनले वीपीको दूरदर्शी सोच र नेपाली जनताको साझा पहिचानको लागि देखाएको दृढता हामी सबैका लागि प्रेरणा हो । उहाँले मेलमिलापको नीति केवल राजनीतिक उद्देश्यका लागि मात्र नभई नेपाली समाज र संस्कृतिको एकताको प्रतीकका रूपमा अगाडि ल्याउनुभएको थियो । यही दिनको सम्झनामा नेपाली कांग्रेसले हरेक वर्ष यस दिनलाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको छ। मैले वीपीसँग त्यस समयमा गरेको संवाद आज पनि म भित्र जीवित छ। उहाँले भन्नुभएको थियो, ‘राष्ट्रलाई जोगाउन सबैभन्दा पहिलो कदम सहमति र एकता हो। विभाजनले मात्र राष्ट्रलाई कमजोर बनाउँछ।’ उहाँका यी शब्दहरूले मलाई मात्र होइन, सिंगो नेपाली कांग्रेसलाई अझ जिम्मेवार बन्न प्रेरित गरेको छ।

वर्तमान समयमा नेपालको राजनीतिक, सामाजिक, र आर्थिक चुनौतीहरूको समाधानका लागि वीपीको मेलमिलापको नीति झन् सान्दर्भिक बनेको छ। राजनीतिक दलहरूबीच राष्ट्रिय मुद्धामा सहकार्य, जनस्तरमा विश्वास र सद्भावको वातावरण र पार्टी भित्र बलियो एकता अहिलेको प्राथमिक आवश्यकता हो। नेपाली कांग्रेसलाई थप सक्षम, बलियो र मुलुकलाइ दिशा निर्देश गर्न र मुलुकको समस्याको समाधान गर्न तयार बनाउँदा वीपी कोइरालाको नीति हाम्रो लागि प्रेरणाको स्रोत बनेको छ। राष्ट्रिय एकता तथा मेलमिलापका सिद्धान्तलाई पछ्याउँदै हामीले विभाजन र वैमनस्य अन्त्य गर्दै शान्ति र समृद्धितर्फको यात्रामा एकीकृत हुनुपर्नेछ। यस अवसरमा सबै नेपालीलाई सहकार्य, सामूहिकता, र राष्ट्रिय अखण्डताप्रति समर्पित बन्न आह्वान गर्दछु।

गोलभेँडा बेचेर वार्षिक सात लाख मुनाफा

घोराही । दाङको घोराही उपमहानगरपालिका–१२ हापुरका जयबहादुर रोकाको बारीमा यतिबेला लटरम्मै टमाटर पाकेको छ । बारीबाटै टमाटर बिक्री गर्न भ्याइनभ्याइ छ । विगत तीन वर्षदेखि व्यावसायिक टमाटरखेती गर्दै आएका रोका व्यवसायप्रति सन्तुष्ट छन् ।

भाउ पाएको समयमा उत्पादन गर्न सके टमाटरबाट राम्रो आम्दानी हुने उनी बताउँछन् । “यस वर्ष समयमै उत्पादन गरेकाले बजारको समस्या छैन”, उनले भने, “यही खेतीलाई निरन्तरता दिने सोचमा छु ।”

रोल्पा रुन्टिगढी गाउँपालिका–७ बाट यहाँ बसाइँ सरी आउनुभएका रोकाले रोल्पाकै एक सामुदायिक विद्यालयमा सात वर्ष कर्मचारीका रुपमा काम गरे । उनी १० वर्ष वैदेशिक रोजगारीमा मलेसिया बसेर फर्किएका हुन् । हाल उनी टमाटर बिक्री गरेरै खर्च कटाएर वार्षिक रु सात लाख बचत गर्न सफल भएका छन् ।

वार्षिक रु १८ लाखको टमाटर बिक्री गरे पनि मल, बीउ, कामदार, जग्गा भाडालगायत सबै खर्च कटाएर त्यति बचत हुने गरेको उनको भनाइ छ । “१० जनालाई रोजगारी दिएको छु”, रोकाले भने, “पहिले रोल्पामा पनि कृषि व्यवसाय गरेको थिएँ तर सडकको अवस्थाका कारण बजारीकरणमा समस्या थियो ।”

मङ्सिरसम्म थोकमा प्रतिकिलो रु ५० का दरले बिक्री गरेको र हाल भाउ घट्दै गएको उनले बताए । उनले तीन बिघा जग्गा भाडामा लिएर टमाटरखेती गरेका छन् । आफ्नो साढे १२ कट्ठा मात्रै जग्गा भएकाले बाँकी जमिन भाडामा लिएको उनले बताए । जग्गाको वार्षिक भाडा रु ९८ हजार तिर्ने गरेका छन् । परिवारमा आठ सदस्य छन् । टमाटरखेतीकै कमाईले छोराछोरीलाई शिक्षादीक्षा गराइरहेका छन् । गत वर्ष रोग, किराले टमाटर उत्पादन केही ढिला हुँदा घाटा व्यहोरेको भए पनि यस वर्ष आम्दानी सन्तोषजनक रहेको उनी बताउँछन् ।

पुटिनलाई नयाँ वर्षको सन्देशमा ‘विश्व शान्ति’ प्रवद्र्धन गर्ने सीको वाचा

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई नयाँ वर्षको सन्देशमा ‘विश्व शान्ति’ प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सरकारी प्रसारक सिसिटिभीका अनुसार सीले भने, ‘अन्तर्राष्ट्रिय परिस्थिति जस्तोसुकै परिवर्तन भए पनि चीन सुधारलाई थप व्यापक रूपमा गहिरो बनाउन… र विश्व शान्ति तथा विकासलाई प्रवद्र्धन गर्न दृढ रहनेछ ।’

सन् २०२२ फेब्रुअरीमा छिमेकी युक्रेनमा पुटिनले पूर्ण आक्रमण गरेपछि चीनले संयुक्त राज्य अमेरिका र अन्य पश्चिमी राष्ट्रहरूको विपरीत आफूलाई तटस्थ पक्षका रूपमा प्रस्तुत गर्न खोजेको छ ।

तर चीन रुसको घनिष्ठ राजनीतिक र आर्थिक साझेदार बनेको छ । जसका कारण केही नाटो सदस्यहरूले बेइजिङलाई युद्धको ‘सक्षमकर्ता’ ब्रान्ड गर्न प्रेरित गरेका छन् । युद्धलाई बेइजिङले कहिल्यै निन्दा गरेको छैन ।

सिसिटिभीका अनुसार सीले पुटिनलाई भने, ‘एक शताब्दीमा नदेखिएका तीव्र विकासोन्मुख परिवर्तनहरू र अशान्त अन्तर्राष्ट्रिय परिस्थितिको सामना गर्दै चीन र रूस गुटनिरपेक्षता, गैर–टकराव र कुनै तेस्रो पक्षलाई लक्षित नगर्ने सही मार्गमा निरन्तर हातेमालो गर्दै अघि बढेका छन् ।’

दुवै राष्ट्रपतिबीच बलियो व्यक्तिगत सम्बन्ध छ । सीले आफ्ना रूसी समकक्षीलाई आफ्नो ‘सबैभन्दा असल मित्र’ भनेका छन् भने पुटिनले उनलाई आफ्नो ‘भरपर्दो साझेदार’ मान्छन् ।

युक्रेनमा रूसको युद्धले प्रदर्शित गरे जस्तै पश्चिमी देशहरूसँग बढ्दो तनावको एक दशकका बावजुद उनीहरूको सम्बन्ध स्थिर रहेको छ ।

सिसिटिभीका अनुसार ‘दुई देशबीचको सम्बन्धमा नयाँ महत्त्वपूर्ण कोसेढुङ्गाको प्रतिनिधित्व गर्दै’ सन् २०२४ मा चीन र रुसबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वार्षिकोत्सव भएको कुरा सीले पुटिनलाई उल्लेख गरेका छन् ।

‘साढे तीन दशकको उतारचढावपछि, चीन–रूस सम्बन्धहरू अझ परिपक्व र स्थिर बन्दै गएका छन्’, सीले भने ।

कांग्रेसको उद्योग तथा व्यापार विभागमा दश सदस्य मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउसवाले पार्टीको उद्योग तथा व्यापार विभागमा दश सदस्य मनोनयन गरेका छन् ।

मंगलबार पार्टी सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ प्रमुख रहेको विभागको सदस्यमा दश सदस्य मनोनयन गरेका हुन् ।

वैदेशिक रोजगार बचतपत्र करिब ११ प्रतिशत मात्रै बिक्री

काठमाडौं। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको ‘वैदेशिक रोजगार बचतपत्र-२०८६ (क)’ को बिक्री निकै न्यून देखिएको छ।

गत मंसिर १२ गते जारी भएको ५० करोड बराबरको बचतपत्र आइतबार बिक्री बन्द भएको हो। यो बचतपत्र करिब ११ प्रतिशत मात्रै बिक्री भएको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी मुकुन्द पोखरेलका अनुसार वैदेशिक रोजगार बचतपत्र रू पाँच करोड ४२ लाख बराबरको बिक्री भएको छ।

कार्यालयले जारी गरेको दुई अर्ब बराबरको ‘नागरिक बचतपत्र–२०८६ (क) भने शतप्रतिशत बिक्री भएको छ। नागरिक बचतपत्रमा साँढे सात र वैदेशिक रोजगार बचतपत्रमा साँढे आठ प्रतिशत ब्याज तोकिएको छ। बचतपत्रको ब्याज प्रत्येक छ महिनामा सम्बन्धित खरिदकर्ताको बैंक खातामा सोझै भुक्तानी हुन्छ।

यस्ता बचतपत्रको ब्याजदर बैंकको मुद्दती निक्षेपभन्दा आकर्षक भए पनि यसको महत्व र फाइदाबारे धेरै नागरिकलाई जानकारी छैन। लगानीका लागि धेरैले घरजग्गा, सुनचाँदी, पुँजीबजार, र मुद्दती निक्षेपजस्ता क्षेत्रलाई प्राथमिकता दिने गरेका छन्। जबकी लगानीका यी विकल्पभन्दा सहज, सुरक्षित र आकर्षक प्रतिफल मानिने सरकारी उपकरण ‘बचतपत्र’ को चर्चा न्यून हुने गरेको छ।

बचतपत्र लगानीका लागि उत्कृष्ट विकल्प हो । तर, यसको प्रचार–प्रसारको अभाव, प्रक्रियागत जटिलता र दोस्रो बजारको सीमित जानकारीका कारण यो उपकरणप्रति लगानीकर्ता आकर्षित हुन सकेको देखिँदैन।

गैँडाको आक्रमणमा परी चितवनमा दुईजना घाइते

चितवन । पूर्वी चितवनमा गैँडाको आक्रमणमा परी दुईजना घाइते भएका छन् । गैंडाको आक्रमणबाट खैरहनी नगरपालिका–१ कासिगाउँका ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार मंगलबार बिहान ६ः२० बजे घरमा आगो तापिरहेको समयमा गैँडाले आक्रमण गरेको हो । घाइते दुवैको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रवक्ता रिजालले जानकारी दिए ।

एकवर्षमा नेपालमा भित्रिए ११ लाख ४७ हजार विदेशी पर्यटक

काठमाडौं । सन् २०२४ मा ११ लाख ४० हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । मंगलबार बिहानसम्मको तथ्याङ्कअनुसार ११ लाख ४७ हजार २४ जना नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ ।

बोर्डका निर्देशक मरिणराज लामिछानेले दैनिक सरदर तीन हजार पर्यटक भ्रमणमा आएका बताउँदै सन् २०२३ को तुलनामा १४ प्रतिशतभन्दा बढीले पर्यटक आगमन बढेको जानकारी दिए ।

सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल आएका थिए । कोरोना महामारीपछि अधिक पर्यटकले नेपाल भ्रमण गरेको यो पहिलो वर्ष हो । सन् २०२० देखि २०२२ सम्म पर्यटक आगमन प्रायः ठप्प थियो ।

राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठन (युएनडब्लुटिओ)को पछिल्लो छ महिनाको तथ्याङ्कअनुसार कोभिड–१९पछि नेपालको पर्यटन ९६ प्रतिशतले पुनरुत्थान भएको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल), विश्व बौद्ध सम्मेलन, अन्तर्राष्ट्रिय ‘बेलुन’ महोत्सव, ‘ड्रागन बोट’ महोत्सवका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा आयोजना भएका मेला र प्रदर्शनीले पनि पर्यटन आगमनमा बढोत्तरी भएको हो ।

तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव भएसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । सोमबारको तुलनामा मंगलबार सुन र चाँदीको मूल्यमा केही गिरावट भएको छ ।

मंगलबार सुन प्रतितोलामा एक हजार रुपैयाँले घटेर एक लाख ४९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्यमा पनि प्रतितोला ३० रुपैयाँले गिरावट भएको छ ।

आज प्रतितोला चाँदी एक हजार सात सय ६५ मा कारोबार भएको छ । सोही परिमाणको चाँदी सोमबार एक हजार सात सय ९५ मा कारोबार भएको थियो ।

व्यक्तिगत लगानीमा क्रिकेट प्रशिक्षण सञ्चालन गर्दै कीर्तिपुर एकेडेमी

मोरङ । एकाबिहानै मोरङको पथरी शनिश्चरे–७ स्थित कीर्तिपुरमा जनकल्याण माविको मैदानमा पुग्ने हो भने विद्यार्थी ब्याट र बलसँग रमाइरहेका हुन्छन् । जाडोको समय एकाबिहानै झिसमिसेमा उनीहरुको अभ्यासले ठुल्ठुलो आवाज आउँछ । विद्यालयको मैदानमा भेला भएका उनीमध्ये कोही शारीरिक अभ्यासमा ब्यस्त हुन्छन् त कोही बलिङ र ब्याटिङमा ।

मैदानमा विद्यार्थीसँगै वरिपरि दौडिएर ‘फिल्डिङ’ को अभ्यास गरिरहेका हुन्छन् राकेश राई । उनले विद्यार्थीलाई नेतृत्व गरिरहेका हुन्छन् । प्रशिक्षक राईको सपना छ पथरी शनिश्चरेबाट राष्ट्रिय खेलाडी उत्पादन गर्ने । क्रिकेट खेलमै जीवन बिताएका उनको सपनालाई साथ दिए कीर्तिपुर एकेडेमीका निर्देशक पुकार राईले । पुकार र राकेशको क्रिकेटप्रतिको लगावका कारण मोरङले प्रधानमन्त्री कप महिला लिगका लागि दुई खेलाडी पाएको छ ।

दुई युवाले आफ्नै लगानीमा सुरु गरेको क्रिकेट प्रशिक्षणले विस्तारै गति लिँदै आएको छ । एकेडेमीले सुरु गरेको क्रिकेट प्रशिक्षणमा ४० भन्दा बढी विद्यार्थी नियमित प्रशिक्षण गर्दै आएका छन् । दश वर्षदेखि १६ वर्षसम्मका १८ बालिका २२ बालकलाई नियमित प्रशिक्षणमा सहभागी रहेका एकेडेमीका निर्देशक पुकार बताउँछन् ।

नियमित प्रशिक्षण गराइरहेको एकेडेमीले राष्ट्रियस्तरमा महिला क्रिकेट खेलाडी उत्पादनमा ठूलो सहयोग पुर्‍याउँदै आएको छ ।

क्रिकेट र फुटबल खेलाडी उत्पादन गर्दै आएको कीर्तिपुरले जन्माएको खेलाडी हुन सरु लिम्बू । राष्ट्रिय महिला फुटबल खेलाडी उनी अहिले अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त फुटबल खेलाडी हुन् ।

महिला फुटबलको नियमित सदस्य उनी सशस्त्र प्रहरी क्लबमा आबद्ध भएकी छिन् । फुटबल मात्र खेलाडी उत्पादन गरिराखेको कीर्तिपुरले अब अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी उत्पादन गर्न महिला क्रिकेट प्रशिक्षण सुरु गरेको छ । सरुजस्तै खेलाडीको उद्गमस्थल हो कीर्तिपुर ।

पछिल्लो पटक प्रधानमन्त्री कप महिला क्रिकेटका लागि एकेडेमीका दुई जना खेलाडी मोरङ जिल्लाको बन्द प्रशिक्षणमा राखिएको छ । प्रशिक्षक राकेश भन्छन्, ‘मोरङले प्रधानमन्त्री कप महिला लिगका लागि बन्द प्रशिक्षणमा उक्त एकेडेमीका स्मारिका गौतम र शुभेक्षा लिम्बूलाई बन्द प्रशिक्षणमा रहनु भनेको हाम्रो सफलता हो ।’

कीर्तिपुरको अभ्यासस्थलमा नियमित क्रिकेट अभ्यास गर्न पुगेका बालबालिका निकै फूर्तिका साथ खेलमैदानमा उत्रन्छन्। प्रशिक्षक राकेशले टिम बनाइदिन्छन् र सोहीअनुसार आ–आफ्नो टिममा सहभागी भएर मैदानमा उत्रिन्छन् उनीहरू । एकेडेमीमा खेलसँगै अनुशासन र जिम्मेवारी पनि सिकाइने प्रशिक्षक राकेश बताउँछन् । घरपरिवारमा के काम गर्ने, विद्यालय र साथीभाइसँग कस्तो व्यवहार गर्नेलगायत विषय पनि अनौपचारिक रूपमा सिकाउने गरिएको छ ।

क्रिकेट क्षेत्रमा लामो समय बिताएका राकेश हालै ‘बेसिक लेभल’ प्रशिक्षक बनेका छन् । उनले सिकेको सीप तथा कला आफ्नै गाउँका बालबालिकालाई प्रदान गरिरहेका छन् ।

एकेडेमीकै अग्रसरतामा क्रिकेट खेलाडीका लागि ‘नेट प्रशिक्षण’ गर्न नेट समेत बनाउन थालिएको छ । वडा कार्यालय ७ र ८ ले आर्थिक सहयोग गरेपछि पक्की क्रिजसहितको ‘नेट प्राक्टिस’ सम्भव भएको हो । पछिल्लो स्थानीय तहमा वडादेखि नगरस्तरीय प्रतियोगिता हुने गरेको र राष्ट्रिय खेलाडीसम्म पुग्ने माध्यम भएकाले यस्ता प्रशिक्षण फलदायी हुने प्रशिक्षक राईको बुझाइ छ ।

एकेडेमीले गरिरहेको यो कार्यलाई नेपाल क्रिकेट फाउण्डेशनले सहयोग गरिरहेको छ । फाउण्डेशनले प्रशिक्षण गरिरहेका खेलाडीलाई खेल सामग्री सहयोग गरिरहेकाले एकेडेमी सञ्चालन गर्न सहज भएको छ । क्रिकेटप्रतिको ‘क्रेज’ बढ्दै गर्दा अभिभावक पनि सकारात्मक बनेका छन् ।

क्रिकेट खेलेर छोरीले राष्ट्रकै नाम राख्नेमा विश्वस्त छन् अभिभावक इन्द्र गौतम । यही एकेडेमीमा प्रशिक्षण गरेका खेलाडीले हालै इक्वालिटी कपमा सहभागी भएर उत्कृष्ट प्रदर्शन गरेपछि एकेडेमीको प्रभाव देखिन थालेको छ । क्रिकेट विकासका लागि ‘ग्रासरुट’बाट स्वःस्फुर्त रूपमा सुरु भएको यस्ता एकेडेमीलाई राज्यले प्रोसाहन गर्नुपर्ने देखिन्छ । खेलकुद सङ्घसंस्थाको नजरबाट टाढा रहेको सो एकेडेमीलाई स्थानीय सरकारले समेत चिन्न सकेको छैन।

सल्लेरीबाट सुर्केसम्म यातायात सेवा सञ्चालन हुँदा पर्यटन व्यवसायी उत्साहित

सोलुखुम्बु । सगरमाथा क्षेत्रको पर्यटनको केन्द्र मानिने लुक्ला नजिकैको सुर्केगाउँसम्म यातायात सेवा विस्तार भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

खुम्बु पासाङल्हामु गाउँपालिकाको विशेष लगानीमा सुर्केसम्म सडक विस्तार भएसँगै सल्लेरीबाट सुर्केसम्म यातायात सेवा सञ्चालनमा आएको छ । यसले सगरमाथा क्षेत्रको पर्यटन प्रवर्द्धनमा ठूलो फड्को मार्ने अपेक्षा गरिएको छ ।

खुम्बु पासाङल्हामु –१ खरिखोलाबाट वडा नं २ सुर्केसम्म  १६ करोडको लागतमा करिब २५ किलोमिटर सडक निर्माण गरिएको हो । यो परियोजना गाउँपालिकाको मुख्य लगानीमा दुई वर्षअघि सुरु भएको थियो । परियोजनाका लागि पालिकाले स्थानीय जलविद्युत् आयोजना—सिल्क पावर र दूधकोशी छैटौसँग साझेदारी गरेको छ ।

थामडाँडाबाट सुर्केसम्मको १२.५ किलोमिटर सडक ठेक्का प्रणालीमार्फत  १० करोड ५२ लाखमा निर्माण सम्पन्न भएको छ । गाउँपालिकाका लेखा शाखा प्रमुख चेतनाथ कट्टेलका अनुसार ५० प्रतिशत लगानी गाउँपालिकाको छ भने बाँकी ५० प्रतिशत जलविद्युत् आयोजनाबाट जुटाइएको छ । खरिखोलाबाट थामडाँडासम्मको १२.३ किलोमिटर सडक भने छ करोड १४ लाख लागतमा पालिकाको आफ्नै स्रोतबाट निर्माण गरिएको थियो ।

दूधकोशी नदीमा रहेको मितेरीपुल बाढीका कारण क्षतिग्रस्त भएपछि अस्थायी रूपमा ह्युमपाइप राखेर सडक सञ्जाललाई निरन्तरता दिइएको छ । दूधकोशीपारिको खरिखोला र पैयाँखोला गरी दुई ठाउँमा ह्युमपाइप प्रयोग गरिएको वडा नं २ का अध्यक्ष आङफुर्वा शेर्पाले बताए।

यसले मालवाहक र अन्य सवारीलाई सहजै सुर्केसम्म पुर्याउन सम्भव बनाएको छ । स्थानीय पर्यटन व्यवसायीले सडक निर्माणप्रति उत्साह व्यक्त गर्दै यो कदमले क्षेत्रीय पर्यटनलाई नयाँ उचाइमा पुर्याउने बताएका छन् । मौसमका कारण उडान रद्द हुँदा यात्री अलपत्र पर्ने समस्या अब समाप्त हुने व्यवसायीको धारणा छ ।

स्थानीयवासीले सडक विस्तारले जीवनशैलीमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् । यसले उनीहरूको दैनिकी सहज बनाउनुका साथै क्षेत्रीय विकासमा गति दिनेछ । लुक्ला नजिकैको सुर्केसम्म सडक सञ्जाल विस्तार भएको खुम्बु क्षेत्रका लागि कोशेढुङ्गा सावित हुँदैछ । सगरमाथा क्षेत्रको पर्यटकीय महत्वलाई बढाउँदै यो परियोजनाले स्थानीय र राष्ट्रिय अर्थतन्त्रमा दीर्घकालीन योगदान दिने अपेक्षा गरिएको छ । पर्यटन व्यवसायी, स्थानीयवासी र सरोकारवाला सबैले यो विकासलाई स्वागत गरेका छन् ।

सुर्केसम्म सडक पुगेपछि सल्लेरीबाट ६४ किलोमिटरको दूरीलाई सहज यात्राका माध्यमबाट पार गर्न सकिने भएको छ । लुक्ला विमानस्थलबाट करिब डेढ घण्टाको पैदल दूरीमा पर्ने फाक्दिङसम्म सडकको पहुँचले भरपर्दो विकल्प सृजना गरेको पर्यटन व्यवसायी अमृत मगरले बताए।

यसअघि मौसम प्रतिकूल हुँदा विदेशी पर्यटक हप्तौँसम्म रामेछापको मन्थलीमा कुर्न बाध्य हुने अवस्था थियो । अब सडक मार्गको विकल्पले मौसमको प्रतिकूलताबाट प्रभावित हुने समस्यालाई धेरै हदसम्म समाधान गर्ने देखिन्छ । पर्यटन व्यवसायी निराजन शर्माका अनुसार आधा पर्यटक अब सिधै सडक मार्गबाट खुम्बु पुग्ने सम्भावना छ ।

दक्षिण कोरियाका निलम्बित राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी

बीबीसी । महाभियोग लगाइएका र त्यसपछि निलम्बनमा परेका दक्षिण कोरियाली राष्ट्रपति यून सुक यउलविरुद्ध सोलस्थित एक अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

उनले डिसेम्बर ३ मा देशमा मार्शल ल लागु गर्ने प्रयास गरेका थिए। सोही आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । उनीमाथि देशद्रोह सहितका आरोपहरूमा अनुसन्धान भइरहेको छ। त्यस क्रममा उनलाई अदालतले सोधपुछका लागि तीन पटक बोलाइसकेको छ। तर उनले त्यसको अवज्ञा गर्दै अदालतमा उपस्थित नभएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

अनुसन्धानकर्ताहरूले आइतबार राति यउललाई विद्रोह र शक्तिको दुरुपयोग गरेको आरोपमा पक्राउ गर्न पुर्जी जारी गर्नुपर्ने माग गरेका थिए। उनका वकिलले भने उक्त कार्यलाई ‘अवैधानिक’ कार्य भनेका छन् । यउन र उनीपछिका कार्यवाहक राष्ट्रपति दुवैलाई संसदद्वारा महाभियोग लगाइएपछि दक्षिण कोरियामा राजनीतिक सङ्कट गहिरिएको छ ।

यदि उनी पक्राउ परे भने पदमा रहँदै पक्राउ पर्ने पहिलो दक्षिण कोरियाली राष्ट्रपति बन्नेछन् । डिसेम्बर पहिलो साता छोटो अवधिका लागि ‘मार्शल ल’ लागु गर्न खोजेपछि उनीविरुद्ध प्रदर्शन भएको थियो भने पछि उनीमाथि महाभियोग लगाइएको थियो ।

पक्राउ पुर्जीको कार्यान्वयनका लागि अनुसन्धानकर्ताहरूले जनवरी ६ सम्मको समय पाएका छन् र उनीहरूले त्यो समय थप गर्नका लागि पनि अनुरोध गर्न सक्छन् ।

अनुसन्धानकर्ताहरूले उनीविरुद्धको पक्राउ पुर्जीलाई कार्यान्वयन गर्न सक्छन् वा सक्दैनन् वा उनका सुरक्षा गार्डहरू तथा समर्थकको प्रदर्शनका कारण त्यो कार्यान्वयन गर्न अक्षम हुन्छन् भन्ने अनिश्चित छ । राष्ट्रपतिको सुरक्षा सेवाले यसअघि अनुसन्धानकर्ताहरूलाई राष्ट्रपतिको कार्यालय भित्रको चौमा र यउनको निजी निवासमा अदालतको अनुमति लिएर पनि प्रवेश गरेर खोजी गर्न रोकिदिएको थियो ।

विगतमा दक्षिण कोरियाली अधिकारीहरूले प्रमुख नेताविरुद्ध उनीहरूको सहयोगी तथा समर्थकले अवरोध गरेपछि पक्राउका प्रयासलाई त्यागेका उदाहरणहरू छन् ।

आनी छोइङको ‘जिन्दगीको पाठशाला’

काठमाडौं । आनी छोइङ डोल्माको स्वरमा रहेको गीत ‘जिन्दगीको पाठशाला’ सार्वजनिक भएको छ । प्रशासनविद् एवं गीतकार डा.दामोदर रेग्मीको शब्द सिर्जना, कीर्ति न्यौपानेको संगीत, पुरुषोत्तम सुवेदीको एरेञ्ज र किशोर थापाको मिक्सिङ÷माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

कृष्णदेव रूपाखेतीको निर्देशन रहेको गीतको भिडियोमा मिथिला शर्माले शिक्षिका र समाजसेवीको भूमिका निर्वाह गरेकी छन् ।

गीतमा सकारात्मक भाव समेटिएको छ । गीतको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा काठमाडौँको दरबार हाइस्कुल, भानुभक्त मावि र कीर्तिपुरको पुष्प सदन मावि र स्वयम्भूमा दृश्य कैद गरिएको छ । भिडियोमा कलाकारमा नायक राकेश खड्का, स्त्रीरोग विशेषज्ञ डा. मनिषा आचार्य लगायतको भूमिका समेत रहेको छ।

बैतडीमा ४.६ म्याग्निच्युडको भूकम्प

बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार बैतडीको सिगास गाउँपालिका–७ को न्वाघर केन्द्रबिन्दु भएर आज बिहान ७ः५४ बजे ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का बैतडीसहित, बझाङ, डडेल्धुरा र डोटीमासमेत महसुस गरिएको थियो । भूकम्पबाट के कति क्षति भयो भन्ने अहिलेसम्म जानकारी नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पश्चिम नेपालमा पछिल्लो समय लगातार भूकम्प गइरहेको छ ।

‘शेरा दरवार’मा जोडिएका व्यक्तिमाथि कानुनी कारबाही गर्न माओवादीको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रले नुवाकोटको शेरा दरबार जग्गा प्रकरणमा जोडिएका विकेश श्रेष्ठ पार्टीको कुनै जिम्मेवारी नरहेको र पार्टीको कुनै पनि गतिविधिमा संलग्न नरहेको जनाएको छ ।

सोमबार पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले केही सञ्चारमाध्यममा प्रकाशित उक्त प्रकरणमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाम जोडेर भइरहेको गलत प्रचारप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएका छन् ।

उनले भनेका छन्, ‘केही सञ्चार माध्यममा प्रकाशित नुवाकोटको “शेरा दरवार” जग्गा प्रकरणमा हाम्रो पार्टी ने.क.पा.(माओवादी केन्द्र)का अध्यक्ष कमरेड प्रचण्डको नाम जोडेर भैरहेको प्रचारबाजीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यस प्रकरणमा पार्टी अध्यक्षलाई जोडेर प्रचार गर्नुको कुनै आधार छैन। जग्गा प्रकरणका मुख्य भनिएका व्यक्ति विकेश श्रेष्ठ पार्टीको कुनै जिम्मेवारीमा पनि छैनन् र पार्टीको कुनै गतिविधिमा पनि संलग्न छैनन् । प्रमाण र सत्य तथ्यका आधारमा हुने कानुनी कारबाहीमा हाम्रो असहमति नरहने कुरा स्पष्ट पार्न चाहन्छु ।’

एएफसी एसिया कपको छनोट खेल आयोजना गर्न प्रधानमन्त्रीलाई पहल गर्न कप्तान चेम्जोङको आग्रह

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा कप्तान चेम्जोङले नेपालमै एएफसी एसिया कपको छनोट खेल आयोजना गर्न प्रधानमन्त्रीलाई पहलकदमीको लागि अनुरोध गरेका छन् ।

प्रधानमन्त्रीसँगको भेटबारे कप्तान चेम्जोङले भनेका छन्, ‘नेपाली खेल क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन भविष्यमा महत्वपूर्ण निर्णयहरू हुनेछन् भन्ने विश्वास छ। हामीले नेपालमै एएफसी एसिया कपको छनोट खेल आयोजना गर्नको लागि सम्माननीय प्रधानमन्त्रीज्यूलाई पहलकदमीको लागि अनुरोध गरिसकेका छौँ । उहाँको सकारात्मक पहलकदमीले सकारात्मक परिणाम आउनेमा हामीलाई विश्वास छ। पुनः नेपाली खेलकुदप्रति उहाँले देखाउनुभएको सहयोग, सद्भाव र अग्रसरताको प्रशंसा गर्दै धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ।’

 https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fkiran.chemjongofficial%2Fposts%2Fpfbid0D5CJLbyQJdN4eJP458cpk7Eb9jfJeLBurFxC4QBwktEpczQVg8iACraMHShUAKkol&show_text=true&width=500

सबै समुदायलाई संस्कार र संस्कृतिको स्वतन्त्रतापूर्वक उपभोग गर्ने अवसर प्राप्त भएको छः उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकमा लोकतन्त्र प्राप्तिपछि विभिन्न जातजाति र समुदायले आआफ्ना संस्कार र संस्कृतिको स्वतन्त्रतापूर्वक उपभोग गर्ने अवसर प्राप्त भएको बताएका छन् ।

तमु ल्होसार मुल आयोजक समितिद्वारा सोमबार टुँडिखेलमा आयोजित तमु ल्होसार महोत्वसको उद्घाटन गर्दै उनले बहुजाति र बहुभाषी नेपाली समाजमा प्रजातान्त्रिक व्यवस्था प्राप्तिसँगै स्वतन्त्रतापूर्वक आफ्नो पहिचानलाई सुरक्षित र समृद्ध तुल्याउने मौका मिलेको बताए ।

उनले भने, “नेपालको पहिचान र अमूल्य निधिका रूपमा रहेको विभिन्न जातजातीका भाषा, वेशभूषा, रितिरिवाज, रहनसहन तथा संस्कार र संस्कृतिलाई वर्तमानमा सक्रियताका साथ जोगाउने र भविष्यका सन्ततीलाई हस्तान्तण गर्न आवश्यक छ ।”

ठूलो त्याग र बलिदानबाट प्राप्त अधिकारलाई सुरक्षित र सम्वद्र्धन गर्न समाजका सबै पक्षले अरूलाई अप्ठ्यारो नपर्ने ढङ्गबाट जिम्मेवारीपूर्वक काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले महोत्सवले तमू समुदायको कला, संस्कृति, पहिचान कायम राख्न अत्यन्तै जागरूक हुनुहुन्छ भन्ने स्पष्ट पारेको धारणा राखे ।

सो अवसरमा पूर्वमन्त्रीत्रय देवप्रसाद गुरूङ, सीता गुरूङ, पार्वत गुरूङलगायतले कला, संस्कृति, वेशभूषा, नाचगान, चार्डपर्व मनाउने हिसाबले नेपालमा गुरूङ समुदाय समृद्ध रहेकाले यसको संरक्षण र सम्वद्र्धनमा सरकारको सहयोग आवश्यक रहेको बताए ।

त्यस अवसरमा गुरूङ समुदायबाट समाजका विभिन्न क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने व्यक्तिलाई सम्मान गरियो । नेपालमा पछिल्लो जनगणनाअनुसार गुरूङ समुदायको जनसङ्ख्या पाँच लाख ४५ हजार सात सय ९१ रहेको छ ।

आदिवासी जनजाति समुदायका रूपमा रहेको गुरूङ समुदाय जल, जङ्गल र जडिबुटीसँग संरक्षण र सामिप्यमा रहने विश्वासिलो र सहासिक जातिका रूपमा विश्वभर पहिचान स्थापित छ ।

गुरूङ समुदायको गण्डकी प्रदेशमा बाक्लो बसोबास रहेको छ । गुरूङ समुदायको रोदीलाई समुदाय चलाउने र ज्ञानको स्तर बढाउने महत्त्वपूर्ण संस्कार र संस्कृतिका रूपमा लिने गरेको पाइन्छ । उक्त समुदायले यस वर्षलाई गरूडको बिदाइ र सर्पको स्वागत गर्दै मनाएका छन् ।

संविधानमा व्यवस्था भएअनुसार गुरूङ समुदायले आफ्नो भाषालाई सरकारी कामकाजको भाषाको रूपमा मान्यता प्रदान गरी व्यावहारिक रूपमा कार्यान्वयन गर्न माग गर्दै आएको छ ।

तमु ह्युल छोज धिं गुरूङ राष्ट्रिय परिषद्का अध्यक्ष कर्णबहादुर गुरूङले संसारभर नै सहासिक जातिका रूपमा पहिचान स्थापित गरेको गुरूङ समुदायको चाडपर्व, भाषा तथा संस्कृतिको संरक्षमा सरकारलाई विशेष ध्यान पुर्याउन आग्रह गरे ।

महोत्सवका अवसरमा गुरूङ जातिको पहिचान, वेशभूषा र संस्कृति झल्कने झाँकी प्रस्तुतिका साथै समुदायको पहिचान र परिचय दिने १०० बढी खानपिनसहितको प्रदर्शन कक्षको व्यवस्था गरिएको छ ।