`

क्रेमलिनका आलोचक नाभाल्नीलाई विविध कार्यक्रम गरी सम्झना गरिँदै

Nepal One HD ४ फागुन २०८१ १६:५९
विश्व

मस्को ।  रूसी विपक्षी नेता एलेक्सी नाभाल्नीको जेलमै मृत्यु भएको एक वर्षपछि उनका समर्थकले आइतबार मस्कोस्थित उनको समाधिस्थलमा भेला भई उनिप्रति सम्मान प्रकट गर्ने भएका छन् । नाभाल्नीको स्मृतिमा गरिने कार्यक्रममा उनका रूसी प्रशंसकले प्रशासनबाट हुने प्रतिशोधको जोखिम मोलेर कार्यक्रम गर्ने बताएका छन्।

अकल्पनीय दमनका कारण निर्वासनमा उत्रेको रूसको विपक्षी आन्दोलन आन्तरिक कलहले ग्रस्त भएको र आफ्नो व्यक्तित्व गुमाएपछि नराम्ररी कमजोर भएको अवस्थामा उनको स्मरणमा मस्कोलगायत देशका अन्य शहरमा पनि कार्यक्रमहरू हुनेछन्।

विभिन्न देशहरूमा निर्वासित रूसीहरूले भ्लादिमिर पुटिनको लामो शासनकालको बिरूद्ध लडाईलाई पुनर्जीवित गर्ने प्रयास गरेका छन् ।

पुटिनका मुख्य प्रतिद्वन्द्वी नाभाल्नीलाई रूसी अधिकारीहरूले ‘अतिवादी’ घोषणा गरेका थिए, जुन फैसला सन् २०२४ १६ फेब्रुअरीमा आर्कटिकको एक दण्डात्मक उपनिवेशमा उनको मृत्युभए पनि लागू छ ।

रूसमा नाभाल्नी वा उनको भ्रष्टाचारविराधी फाउन्डेसनलाई ‘अतिवादी’ घोषणा नगरी उल्लेख गर्नेलाई जरिवाना वा पटक–पटक अपराध गरेमा चार वर्षसम्म जेल सजाय हुने कानुनी प्रावधान छ ।

नाभाल्नीका पूर्व शीर्ष सहयोगी लियोनिद भोल्कोभले टेलिग्राममा लेखेका छन, “एलेक्सीका समर्थकहरूले विश्वभरि नै स्मृति सभा गर्नेछन् ।” उनले भने, “केही स्थानमा प्रदर्शन गरिनेछ भने कहीँ ‘नाभाल्नी’को जीवनी र योगदान समेटिएको ‘डकुमेन्ट्री’ प्रदर्शन हुनेछ भने केही स्थानमा स्मृति सभा हुनेछ ।

नाभाल्नीकी विधवा युलिया नाभाल्नायाले बर्लिनमा आयोजित एक कार्यक्रमबाट आफ्ना पतिको सम्झनाका यादगार दिनहरू समर्थकमाझ अनलाइन् प्रशारणका माध्यमबाट प्रस्तुत गर्नेछन । यसैबीच, रूसी प्रशासन केन्द्र क्रेमलिन समर्थक टेलिग्राम च्यानलले आफ्ना समर्थकलाई चिहानमा नजान चेतावनी दिएका छन् ।


प्रतिक्रिया