`

लेबनानबाट इजरायली सेनाको फिर्तीको समयसीमा समाप्त

Nepal One HD ६ फागुन २०८१ १३:४१
विश्व

बेरुत । इजरायलले पाँचवटा रणनीतिक स्थानमा रहने योजना बनाएको केही घन्टापछि हिजबुल्लाहसँगको युद्धविराम सम्झौताअन्तर्गत दक्षिण लेबनानबाट सबै इजरायली सैनिकहरू बाहिर निस्कनुपर्ने समयसीमा मङ्गलबार समाप्त भएको छ ।


लेबनानी सुरक्षा अधिकारीका अनुसार इजरायली सैनिकहरूले सोमबारदेखि केही सीमावर्ती गाउँबाट फिर्ता हुन थालेका थिए, तर उनीहरू प्रमुख क्षेत्रहरूमा रहने दृष्टिकोण देखिन्थ्यो ।


“लेबनानी सेना अघि बढ्दै गर्दा इजरायली बलहरूले मैस अल–जबाल र ब्लिदा सहित सीमावर्ती गाउँहरूबाट फिर्ता हुन थालेका छन्”, संवेदनशील मामिलाहरूबारे छलफल गर्न नाम नछाप्न अनुरोध गर्दै ती अधिकारीले भने ।


हिजबुल्लाहको गढ मानिने दक्षिण र पूर्वी लेबनान तथा दक्षिण बेरुतमा दुई महिनाको पूर्ण युद्ध र गाजा द्वन्द्वका कारण हिजबुल्लाहले शुरु गरेको एक वर्षको सीमा पार गतिविधिहरूका कारण भारी विनाश भएको थियो ।


अधिकारीहरूका अनुसार पुनर्निर्माण लागत चार खर्ब १० अर्ब डलरभन्दा बढी पुग्नसक्ने अनुमान छ भने संयुक्त राष्ट्रसङ्घको आँकडाअनुसार एक लाखभन्दा बढी मानिस अझै आन्तरिक रूपमा विस्थापित छन् ।


विनाशका बावजुद हजारौँले नोभेम्बर २७ को युद्धविरामदेखि घर फर्कन, उनीहरूको सम्पत्तिको निरीक्षण गर्न र केही अवस्थामा भग्नावशेषमुनि मृतकहरूको खोजी गर्न उत्सुकतापूर्वक पर्खिरहेका छन् ।


“मेरो घरको अगाडि, मेरो गुलाबको नजिकै बसेर बिहानको कफी पिउन मैले धेरै याद गरेकी छु”, डेढ वर्षभन्दा बढी विस्थापनपछि आफ्नो सीमावर्ती गाउँ फर्कने योजना बनाइरहेकी ६० वर्षकी फातिमा सुकेरले भने, “मैले मैस अल–जबलका सबै कुरा याद गर्छु, म मेरा छिमेकीहरूलाई याद गर्छु । हामी अलग भएका थियौँ र उनीहरू कहाँ गए मलाई थाहा छैन ।”


मैस अल–जबलको नगरपालिकासहित धेरै सीमावर्ती सहर र गाउँहरूले विस्थापित बासिन्दाहरूलाई उनीहरूको ‘सुरक्षित’ फिर्ती सुनिश्चित गर्न त्यहाँ फर्कनु अघि लेबनानी सेना तैनाथ गर्न पर्खन आह्वान गरेका छन् ।


लेबनानी टेलिभिजन च्यानल एलबिसीआईले मङ्गलबार देशको सेना मैस अल–जबल, ब्लिडा, यारौन, मारौन र महबिबमा रातारात सरेको रिपोर्ट गरेको छ ।


प्रतिक्रिया