`

जीप दुर्घटना अपडेट : थप एकको मृत्यु

पर्वत / जिल्लाको कुश्मा नगरपालिका–३ दुर्लुङमा गएराति भएको जीप दुर्घटनामा थप एक जना बालकको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।

दुघर्टनामा परी गम्भीर घाइते भएका चार वर्षीय बालक प्रिन्स क्षेत्रीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

यसअघि दुर्घटनामा परी सात वर्षीया बालिका शीतल विकको मृत्यु भएको थियो भने ११ जना घाइते भएका छन् । पर्वतको कुश्मा बजारदेखि दुर्लुङ जाँदै गरेको ग १ ज ५२२९ नम्बरको जीप गएराति दुर्लुङको गौडामुनी भन्ने स्थानमा दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएकामध्ये सात जनालाई थप उपचारका लागि पोखरा पठाइएकोे प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताउनुभयो । उहाँका अनुसार दुर्घटनामा घाइते भएकामध्ये शौरभ विक, शान्ति विक, अम्मर विक, निशान परियारको अवस्था सामान्य रहेकाले उनीहरुको पर्वत अस्पतालमा उपचार भइरहेको छ ।

अन्य घाइतेहरु कृष्णप्रसाद पाध्या, हिरादेवी मगर, मीनबहादुर क्षेत्री, चन्द्रकला क्षेत्री, अमृत क्षेत्री र भबदत्त शर्माको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिनुभयो । यात्रुबहाक जीपको टायर फुस्केर ब्रेक फेल हुँदा दुर्घटना भएको उहाँले बताउनुभयो ।

सामाजिक न्यायका लागि १६ जिल्लामा शान्ति समाजको प्रदर्शन

काठमाडौँ / देशका विभिन्न भागमा दलित समुदायमाथि भइरहेको उत्पीडन र अत्याचारविरुद्ध मानव अधिकार तथा शान्ति समाजको आयोजनामा १६ जिल्लामा प्रदर्शन गरिएको छ ।

छुवाछुत मानवताविरुद्ध अपराध हो भन्दै २०८० असार २३ गतेदेखि आजेसम्म शान्ति समाजका जिल्ला शाखाको आयोजनामा सुर्खेत, चितवन, सङ्खुवासभा, नवलपुर, पाल्पा, दाङ, सुनसरी, बाँके, गोरखा, रुपन्देही, काठमाडौँ, तेह्रथुम, कैलाली, नुवाकोट, मोरङ र कास्की गरी १६ जिल्लामा प्रदर्शन गरिएको हो ।

‘प्रदर्शनमा दलित समुदायमाथि भइरहेको उत्पीडन बन्द गर’, ‘दलित समुदायमाथि भइरहेको अत्याचार बन्द गर’, ‘जातीय विभेदका घटनामा दोषीलाई कारबाही गर’, ‘हाम्रो आन्दोलन : सामाजिक न्यायका लागि’ र ‘दण्डहीनता अन्त्य गर’ लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

विभिन्न कालखण्डमा राजनीतिक परिवर्तन र कानुनी व्यवस्था गरिए पनि छुवाछुत र जातीय भेदभावजस्ता मानवताविरुद्धको अपराधका घटना बारम्बार भइरहेको र त्यस्ता घटनामा संलग्न दोषीलाई राजनीतिक एवं सामाजिक संरक्षण प्राप्त भएकाले दण्डहीनता बढेको शान्ति समाजको ठहर छ ।

“दलित अधिकार मानव अधिकार” भन्दै सामाजिक न्यायका लागि विगत २७ वर्षदेखि अभियानरत दण्डहीनताविरुद्ध अभियान जारी राखिने शान्ति समाजका सभापति रामकृष्ण बरालले बताउनुभयो ।

 सहकारी पीडितको प्रदर्शन, बचत फिर्ता गराइदिन माग

काठमाडौं / सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । विभिन्न सहकारीबाट ठगिएका बचतकर्तारहरूले आज काठमाडौंमा प्रदर्शन गरेका हुन् । 

उनीहरूले सहकारीमा बचत गरेको रकमको ग्याण्टी हुनुपर्ने, साँवा र व्याजसहित फिर्ता गर्नुपर्ने भन्दै माइतिघर-बिजुली बजार सडकमा प्रदर्शन गरेका हुन् ।

सहकारी पीडितले आज बिहान सिंहदरबार घेराउ गर्नुका साथै नयाँ बानेश्वरस्थित सहरकारी विभागमा ताला लगाएका थिए ।

सो क्रममा सडक अवरुद्ध गर्न खोजेपछि केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । 

सहकारी पीडितहरू ४५ दिनदेखि आन्दोलनमा छन् ।

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची बनाएको छ ।

इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोलको मूल्य घटेर आएको छ भने डिजेलको बढेको छ । पेट्रोलको मूल्य प्रतिलिटर ३४ पैसाले घटेको छ ।

यस्तै, डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर आएको छ ।

नेपाल आयल निगम सञ्चालक समिति बैठक बैठक बसेर भारतबाट आएको मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने तयारी छ ।

कनकाईमा सुर्तीजन्य पदार्थ बेच्नेलाई ५० हजार जरिवाना

बनियानी / झापाको कनकाई नगरपालिकाले सार्वजनिक क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

नगरपालिकाले ऐन नै बनाएर साउन १ गतेदेखि लागू हुनेगरी सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको हो । नगरसभाबाटै सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो ।

“मानव स्वास्थ्य र वातावरणीय हिसाबले धेरै हानिकारक देखिएकाले सुर्तीजन्य पदार्थ प्रतिबन्ध गर्ने गरी काम थालेका हौँ”, उहाँले भन्नुभयो, “भोलिदेखि निर्णय कार्यान्वयनको चरणमा जान्छ, सबैलाई नगरपालिकाको निर्णय मान्न आग्रह गर्दछु ।”

नगरपालिकालाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा आफूहरु लागेको उहाँको भनाइ छ । चुरोट, खैनी, गुट्खालगायतका सुर्तीजन्य पदार्थ नगर कुरुप बनेको नगरप्रमुख पोखरेलको भनाइ छ । “बाटोमा यत्रतत्र गुट्खाको खोल देखिन्छ”, उहाँले भन्नुभयो, “यसले नगरको सुन्दरतामा असर पर्नुका साथै फोहर व्यवस्थापनसमेत चुनौती थपिएको छ ।”

नगर क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएकाले कसैले अटेर वा बेवास्ता गरे नगरको ऐनबमोजिम बिक्रीवितरणकर्तालाई अधिकतम रू ५० हजार जरिवाना गरिने नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिनुभयो । प्रयोगकर्ताको हकमा भने अधिकतम रू पाँच हजार जरिवाना तोकिएको छ ।

सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाउने विषयमा नगरका राजनीतिक दलले साथ दिएका छन् ।

विदेशमा सिकेको सीपले स्वदेशमा स्वरोजगार

गण्डकी / जागिरको खोजीमा दैनिक हजारौँ युवाहरु विदेशी भूमिमा पुग्छन् । स्वदेशमा भने जस्तो जागिर नपाउँदा श्रमको खोजीमा विदेशी भूमिमा जानु बाध्यता नै हो । तर यहाँका एक व्यक्ति भने विदेशमा सिकेको सीप सदुपयोग गर्दै स्वरोजगार बन्नुभएको छ ।

पोखरा महानगरपालिका-१५ वन क्याम्पस लेन नं. ११ का ४२ वर्षे कमलबहादुर बोहोराले अष्ट्रेलियामा सिकेको मूर्तिकला प्रयोगमा ल्याउँदै आफू मात्र रोजगार नभई अरुलाई पनि रोजगारी दिनुभएको छ ।

भारतीय सेनामा १७ वर्ष काम गरी निवृत्त भएसँगै उहाँ जागिरको सिलसिलामा अष्ट्रेलिया पुग्नुभयो । उहाँले त्यहाँ रहँदा मूर्तिकारको सहयोगीका रुपमा काम गर्नुभयो । “अष्ट्रेलियामा मूर्तीकारले होटल तथा घरमा सौन्दर्यकरणका लागि पानीका झरना सहितका चरनमा रहेका जंगली जनावर र मागअनुसार मूर्ती बनाउनुहुन्थ्यो”, उहाँले भन्नुभयो, “सहयोगी भएर ६ महिना काम गरेपछि यस्तो काम त म नेपालमा गएर पनि गर्न सक्दछु भन्ने दृढ इच्छा शक्तिका साथ स्वदेश फर्किए ।”

उहाँ अष्ट्रेलियामा काम गर्दा मासिक रु दुई लाख आम्दानी गर्नुहुन्थ्यो । पछि त्यहाँ सिकेको सीपले पोखरामै व्यवसाय गर्न सकिन्छ भन्ने लागेर उहाँ स्वदेशी फर्कनुभयो । छ वर्ष अघि स्वदेश फर्कनु भएका उहाँले हामी मासिक रु ७० हजारभन्दा बढी आम्दानी गरिरहनुभएको छ भने तीन जनालाई जागिर पनि दिनुभएको छ ।

होटल, घर, विद्यालय लगायतका लागि काम गर्ने भन्दै उहाँले भन्नुभयो, “पानीको झरना, आसपासमा बच्चा सहितको मृग र ग्राहकको इच्छा अनुसारको देवदेवताको मूर्ती निर्माण गर्दा सामग्री बाहेक रु १२ हजार ज्याला लिन्छु ।” आर्टसमा समेत रुचि राख्ने उहाँले घरको सिलिङ र विद्यालय सौन्दर्यकरणमा समेत काम गर्ने बताउनुभयो ।

उहाँसँग हाल ढाकाराम अधिकारीका साथै बर्दियाका समित थारु र विजय थारुले काम गरिरहनुभएको छ । उहाँहरुले मासिक रु १७ हजारका दरले पारिश्रमिक पाउनुहुन्छ । “मेरोमा काम नभएको समयमा उहाँहरु अन्यत्र काम गर्न जानुहुन्छ”, उहाँले भन्नुभयो ।

पोखरा महानगरपालिका वडा नं। १७ सिताको पाइलास्थित ऐतिहासिक धार्मिक क्षेत्र सदाशिव हरिहर मन्दिर परिसरमा १०८ शिवलिङ्ग र १०८ गौमुखे धारा निर्माण गर्दै गर्नुभएका मूर्तिकार बोहोरा स्वदेशमा केही गर्छ भन्ने सोच राख्ने हो भने विदेश जानु नपर्ने बताउनुहुन्छ ।

“एक जोडि शिबलिङ्ग र गौमुखे धारा निर्माण गरेको रु छ हजार पाँच सयका दरले रु सात लाख दुई हजार लिने गरी मन्दिर व्यवस्थापन समितिसँग सम्झौता भएको छ”, उहाँले भन्नुभयो । शिवलिङ्ग र पानी झर्ने झरनासहितको गौमुखे धाराले प्रसिद्ध धार्मिक क्षेत्र मुक्तिनाथको झझल्को दिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

जी-२० मुलुकका अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन अर्थमन्त्री डा महत भारत प्रस्थान

काठमाडौँ / जी-२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा भाग लिन अर्थमन्त्री डा प्रकाशशरण महत आज भारत प्रस्थान गर्नुभएको छ । भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारदेखि सुरु हुने बैठकमा भाग लिन अर्थमन्त्री त्यहाँ जानुभएको हो ।

अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल र मन्त्रीका निजी सचिव युवराज पाण्डे पनि भ्रमण टोलीमा हुनुहुन्छ । अर्थमन्त्रीका प्रेस संयोजक प्रकाश थापाका अनुसार अर्थमन्त्री बुधबार नेपाल फर्किनुहुनेछ ।

नेपाल जी-२० मुलुकको सदस्य नरहेपनि अतिथि सदस्यका रुपमा अर्थमन्त्री महतले बैठकमा सहभागिता जनाउनुहुनेछ । जी-२० का अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय यो बैठकमा मुख्यगरी विश्व अर्थतन्त्र र विश्व स्वास्थ्य, दिगो वित्त र पूर्वाधार विकास, अन्तर्राष्ट्रिय वित्तीय परिदृश्य, अन्तर्राष्ट्रिय कर प्रणाली, वित्तीय समावेशितालगायतका सत्रमा छलफल हुने जनाइएको छ ।

त्यस्तै, सार्वजनिक ऋण व्यवस्थापनमा सहकार्य, क्रिप्टो कारोबारको नियमन एवं सुपरीवेक्षण, सार्वजनिक पूर्वाधारमा प्रविधिको प्रयोगलगायतका विषय बैठकमा उठाइनेछन् । बैठकको अध्यक्षता भारतीय वित्तमन्त्री निर्मला सीतारमण र रिजर्भ बैंक अफ इन्डियाका गभर्नर डा शक्तिकान्त दासले संयुक्तरुपमा गर्नुहुनेछ ।

कोरियामा भीषण बाढी, तेत्तीस जनाको मृत्यु

सोल / दक्षिण कोरियामा गत साताको भारी वर्षा र बाढीका कारण ३३ जनाको मृत्यु भएको छभने अन्य १० जना बेपत्ता भएका छन् । सरकारी अधिकारीहरूका अनुसार उत्तरी ग्याङसङ प्रान्त र मध्य चुङचेङ प्रान्तमा उनीहरूको मृत्यु भएको हो ।

पछिल्ला दिनमा लगातार परेको वर्षाले देशभरका अधिकांश भूभाग डुबानमा परेका छन् । गत साता ५०० मिलिमिटरभन्दा बढी वर्षा भएको अभिलेख गरिएका प्रदेशहरूमा भारी वर्षाको चेतावनी जारी गरिएको थियो ।

उत्तरी ग्योङसाङ प्रान्तमा दश जना बेपत्ता छन् । बाढी, घर भत्किँदा र पहिरोमा परेर मुलुकभर ज्यान गुमाउनेको सङ्ख्या बढेको छ । मध्य शहर ओसोङमा बाढीले बगाएको भूमिगत सुरुङमा फसेका सवारीसाधनबाट गत राति सातवटा शव निकालिएको थियो ।

अविरल वर्षाबाट प्रभावित १३ वटा शहरका सात हजार आठ सय६६ जनालाई विस्थापित भएका छन् । सार्वजनिक सुविधाहरूको क्षतिको सङ्ख्या एक सय ४९ पुगेको छ । सडक भत्किएका छन्भने सवारी साधन बगेका छन् जताततै बाढीको विनाशमात्र दृष्टिगोचर हुन्छ ।

झापाको पूर्वाञ्चल क्यान्सर र भारतको राजीव गान्धी क्यान्सर अस्पतालबीच सम्झौता

झापा / झापाको पूर्वाञ्चल क्यान्सर अस्पताल र भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालबीच क्यान्सर उपचारको अनुसन्धान, उपचार, प्रविधि र सुविधा आदान–प्रदानसम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा वीरेन्द्र यादव र राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरका मेडिकल डाइरेक्टर डा सुधीरकुमार रावलले शनिबार आयोजित कार्यक्रममा हस्ताक्षर गर्नुभयो ।

नेपालमा क्यान्सर रोगको उपचारलाई अझै भरपर्दो र सुविधायुक्त बनाउन दक्षिण एसियाका दुई अत्याधुनिक अस्पतालबीच चिकित्सा विज्ञानका विविध विषयमा सहयोगको आदान–प्रदान गर्ने उद्देश्यले सम्झौता गरिएको पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा यादवले बताउनुभयो ।

क्यान्सर उपचारको क्षेत्रमा भइरहेका नयाँ अनुसन्धान, नवीनतम् प्रविधि, टेलिमेडिसिन र उपचारमा सहुलियत आदान–प्रदान गरिने सम्झौतामा उल्लेख छ । सम्झौताअनुसार राजीव गान्धी क्यान्सर अस्पतालले पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार गराइरहेका बिरामीलाई टेलिमेडिसिन सेवा उपलब्ध गराउने छ भने रोबोटिक सर्जरीका विषयमा नेपाली चिकित्सकहरूलाई प्रशिक्षित गराउने भएको छ ।

राजीव गान्धी क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा सुधीरकुमार रावलले आफ्नो अस्पतालमा क्यान्सरको उपचारका लागि आउने नेपालीको सङ्ख्या १५ प्रतिशतको हाराहारीमा रहेको जानकारी दिनुभयो । “क्यान्सरको भरपर्दो उपचारका लागि भारतमा आउनुपर्ने पहिले–पहिले बाध्यता थियो”, उहाँले भन्नुभयो, “अब त पूर्वाञ्चल क्यान्सर अस्पतालमै अत्याधुनिक उपचार पद्धति र उपकरणको सहायताबाट उपचार हुन थालिसकेको हुँदा बिरामीले नेपालमै राम्रो उपचार पाउने सम्भावना छ । हामी तपाईँहरूका लागि प्रविधि, अनुसन्धान र जनशक्ति प्रशिक्षणका लागि सहयोग गर्न तयार छौँ ।”

उहाँले पूर्वाञ्चल क्यान्सर अस्पतालमा रोबोटिक सर्जरी र टेलिमेडिसन सेवा सञ्चालन गर्न राजीव गान्धी अस्पतालले सहयोग गर्ने र उक्त अस्पतालको सिफारिसमा थप उपचार आवश्यक परेका बिरामीलाई सहुलियत प्रदान गरिने जानकारी दिनुभयो ।

सम्झौता आदान–प्रदान कार्यक्रममा बोल्दै बीएन्डसी हस्पिटलका डाइरेक्टर प्रा डा उमेश शर्माले नेपालले चिकित्सा क्षेत्रमा फड्को मारिरहेको चर्चा गर्दै राजीव गान्धी क्यान्सर अस्पतालसँगको सहकार्य र सम्बन्ध विस्तारबाट क्यान्सरको उपचारका लागि नेपाली बिरामीले ठूलो लाभ पाउने विश्वास गरिएको बताउनुभयो । झापाको बिर्तामोडमा सन् २०२० मा स्थापना भएको पूर्वाञ्चल क्यान्सर अस्पतालमा दैनिक दुई सय बिरामीले स्वास्थ्योपचार सेवा लिइरहेको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले जानकारी दिनुभयो ।

जनकपुर–जयनगर रेलसेवा बिजलपुरासम्म सञ्चालन हुने

धनुषा – भारतको जयनगरबाट जनकपुरधाम, कुर्था हुँदै महोत्तरीको भङ्गाहा बिजलपुरासम्म रेलसेवा सञ्चालन हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सो सेवाको आज शुभारम्भ गर्नुहुने छ ।

जयनगर–जनकपुरधाम–कुर्थासम्मको ३५ किलोमिटरमा १५ महिनादेखि सञ्चालनमा हुँदै आएको रेल सेवा अब थप १७ किलोमिटरसमेत गरी ५२ किलोमिटर लामो दूरीमा सञ्चालन हुने छ । दोस्रो चरणको भौतिक पूर्वाधार निर्माण भइसकेपछि सेवा बिजलपुरासम्म विस्तार गर्न लागिएको रेलवेका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो । तर जग्गाको मुआब्जा विवादको कारण तेस्रो चरणको बिजलपुराबाट बर्दिबाससम्मको रेलवे पूर्वाधार निर्माण भने रोकिएको छ ।

सत्र किलोमिटर भागको निर्माण सम्पन्न भएपछि भारतको इरकन कम्पनी लिमिटेडले नेपाल रेल्वे कम्पनीलाई गत जेठ १८ गते हस्तान्तरण गरेको थियो ।

ब्रोडगेज दुईसेट रेल १९ चैत २०७८ देखि सञ्चालनमा आएको थियो । सुरुमा एकपटक जनकपुरबाट जयनगर जाने र आउने सेवा दिँदै आएको रेल गत वर्ष मङ्सिरदेखि दुवै रेल दिनको दुईपटक आउने र जाने गरी सेवा दिइरहेको छ ।

सोमबारदेखि थप सेवा विस्तार गरी दैनिक दुवै रेल तीनपटक आउने र जाने सेवा प्रदान गर्ने महाप्रबन्धक झाले बताउनुभयो । यद्यपि भङ्गाहा स्टेशन दिनको एकपटक मात्र बिहान जाने र साँझ फर्किने सेवा प्रदान गर्ने जनाएको छ ।

परराष्ट्र मन्त्री आज थाइल्याण्ड जाँदै

काठमाडौँ – परराष्ट्र मन्त्री एनपी साउद आज थाइल्याण्ड प्रस्थान गर्दै हुनुहुन्छ । 

बिमस्टेक परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा सहभागी हुनका लागि मन्त्री साउदको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल आज बैंककतर्फ प्रस्थान गर्न लागेको हो। 

जसअनुसार आज दिउँसो साढे १ बजे उहाँ थाई स्माइल एयरवेजमार्फत बैंकक प्रस्थान गर्नुहुनेछ  । 

परराष्ट्र मन्त्री साउँदको सचिवालयका अनुसार उहाँ साउन २ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

काभ्रेमा ‘प्याराग्लाइडिङ’

काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ स्थित पर्यटकीय स्थल देविस्थानडाँडाबाट शनिवार व्यावसायिक रूपमा प्याराग्लाइडिङ उडान सुरु गरियो । 

विश्व बजार प्याराग्लाइडिङ प्रालिले देविस्थानबाट धुलिखेल नपा–८ स्थित बडाल गाउँसम्म पुग्ने करिब डेढ किलोमिटर दूरी तथा पाँच हजार पाँच सय फिट उचाइमा उडानका लागि अनुमति प्राप्त गरेको हो । 

उक्त व्यावसायिक रूपमा प्याराग्लाइडिङ उडानको शनिवार पूर्व मन्त्री एवं सांसद गोकुलप्रसाद बाँस्कोटाले शनिवार शुभारम्भ गर्नुभयो । 

उहाँले साहसिक खेल एवं पर्यटकीय मनोरञ्जनसमेत प्राप्त हुने प्याराग्लाइडिङको शुभारम्भले सङ्घीय राजधानीसँग जोडिएको काभ्रेको विकास र समृद्धिमा थप योगदान पुग्ने अपेक्षा गरिएको बताउनुभयो । “देशको समृद्धिको लक्ष्यलाई धुलिखेलमा सुरु गरिएको प्याराग्लाइडिङले धुलिखेलको थप चिनारीसँगै आयआर्जनमा समेत वृद्धि हुनेछ”, उहाँले भन्नुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरणले आवश्यक मापदण्ड पूरा भएपछि उक्त प्रालिलाई औपचारिक ९मनोरञ्जनात्मक उड्डयन सञ्चालन० उडानको अनुमति दिएको हो । 

प्रालिका अध्यक्ष किरण कार्कीले निकै पटकको परीक्षणपछि औपचारिक उडान सुरु गरिएको जनाउँदै आवश्यकता र मौसमका आधारमा प्याराग्लाइडिङ उडान गरिने जानकारी दिनुभयो । उहाँका अनुसार पोखरामा सञ्चालन भएका प्याराग्लाइडिङ कम्पनीहरूको सहकार्यमा धुलिखेलमा पनि व्यावसायिक उडान सुरु गर्न लागिएको हो ।

धुलिखेलमा एकै पटकमा छ वटा उडान भर्न सकिने छ । तोकिएको दूरीमा ३० मिनेट अवधिको उडान हुने जनाइएको छ । एक पटकको उडानबापत तिरिएको रु सात हजारमा रु ३७ लाखको दुर्घटना बीमाको व्यवस्था गरिएको उहाँले बताउनुभयो । धुलिखेल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक बन्दै गएको छ । 

धुलिखेलमा निर्माण भएका देविस्थान पार्क, बलभद्र कुँवर स्मारक, हजार सिँढी तथा अन्य पार्कले घुम्न र वनभोजका लागि आउने आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । 

यस्तै गतसाल पुस अन्तिम साताबाट पनौती नगरस्थित पर्यटकीय पुल्चोकी–कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ उडान भइसकेको छ । प्राधिकरणले काभ्रेको फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई प्याराग्लाइडिङको अनुमति दिएको थियो । 

प्राधिकरणबाट सञ्चालन निर्देशन भएपछि व्यावसायिक उडानको तयारी स्वरूप माघदेखि परीक्षण उडानसँगै डेमोष्ट्रेशन’ उडानपछि ‘टेकअप’ र ‘ल्यान्डिङ’का स्थान व्यवस्थित गरी व्यावसायिक उडान सुरु गरिएको प्रालिका अध्यक्ष छविलाल हुमागाईँले बताउनुभयो । 

उहाँका अनुसार सुरुआती चरणमा तीन प्याराग्लाइडिङबाट ‘डेमोष्ट्रेशन’ उडान गरिएको थियो भने क्रमशः दश वटाले प्याराग्लाइडिङबाट समेत उडान सञ्चालनमा ल्याइएको छ । 

कुशादेवी क्षेत्र तीन वर्षअघि विहावर क्षेत्र पर्यटन महोत्सवका क्रममा फुल्चोकीको गुर्दुमडाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान गरिएको क्षेत्र हो । उक्त स्थानबाट उडान भर्ने स्थान, ल्यान्डिङ, हावाको चाप तथा अन्य वातावरण अनुकूल भएकाले अनुमति पाएको थियो । 

उक्त प्रालिले दैनिक १० प्याराग्लाइडिङले बिहान १० बजेदेखि अपराह्न ४ः०० बजेसम्म उडान अनुमति पाएको हो । तोकिएको समयमा छ हजार पाँच सय फिट उचाइसम्म ‘भिजिबिलिटी’ रहने जनाइएको छ ।

हाल प्याराग्लाइडिङ गुर्दूमडाँडाबाट उडान सुरु गरी कुशादेवीको बन्चरेटारमा ल्यान्डिङ हुन्छ । गुर्दुमडाँडाबाट बन्चरेटार सडकको दूरीको हिसाबले चार किलोमिटर हो । तर प्याराग्लाइडिङको दूरी करिब एक हजार ५० मिटर छ । उडान भर्ने स्थान समुद्री सतहबाट दुई हजार तीन सय ५० मिटर उचाइमा छ भने ल्यान्डिङ हुने स्थान बन्चरेटार एक हजार तीन सय मिटरमा छ ।

प्याराग्लाइडिङले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै यस क्षेत्रको पर्यटनमा थप प्रचारात्मक हुने अपेक्षा गरिएको पनौती–२ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले बताउनुभयो । उहाँका अनुसार प्याराग्लाइडिङ सञ्चालनपछि कुशादेवी विहावर क्षेत्रको आर्थिक विकासमा थप टेवा अपेक्षा गरिएको छ ।

यसैगरी काभ्रेकै पूर्वी क्षेत्र कोसी पूर्वस्थित भम्लु गाउँपालिकामा पनि कहीँ महिनाअघि प्याराग्लाइडिङको परीक्षण उडान गरिएको थियो । उक्त क्षेत्रमा प्याराग्लाइडिङ उडानको तयारी स्वरूप अध्ययन भइरहेको जनाइएको छ । 

विशेष गरी काभ्रेमा अधिकांश पहाडी भू–भाग रहेकाले साहसिक खेल प्याराग्लाइडिङ प्रवर्द्धनका लागि प्रचुर सम्भावना देखिएको हो । रासस

पहिलो पटक पशुआहार चीन निर्यात

चितवन / नेपालबाट पहिलो पटक पशुआहार (हाइलेज) चीन निर्यात भएको छ । भरतपुरमा रहेको होराइजन इन्टरनेसनल प्रालिले उत्पादन गरेको पशुआहार आज एक कार्यक्रमबीच चीन निर्यात गरिएको हो । भरतपुरमा उद्योग रहेको छ ।

सो कम्पनीले तयार गरेको १० कन्टेनर पशुआहार पहिलो दिन चीन पठाइएको हो । कम्पनीका अनुसार अब क्रमशः दैनिक २० कन्टेनर पशुआहार चीन पठाइने छ । एक वर्षमा दुई सय करोड टन पशुआहार चीनको सिगात्से सहर पठाउने योजना छ । सो सहर निकै चिसो हुने भएकाले त्यहाँ घाँस उत्पादन हुँदैन । पालिएका पशु चौपायाका लागि घाँस पठाउन लागिएको हो ।

कम्पनीका प्रमुख कार्यकारी निर्देशक चाङका अनुसार अहिले पठाइएको हाइलेज डाँठ र दुधिलो घोगासहितको मकैको बोटबाट तयार पारिएको हो । क्रमशः अम्रिसो, नेपियर लगायतका घाँसबाट समेत पशुआहार बनाइँदै छ । यो कम्पनीले भरतपुर र वरपरका किसानबाट मकैको बोट नै खरिद गरेर प्रशोधन गरी पशुआहार बनाएको हो । चाङका अनुसार किसानलाई उन्नत जातको बीउ, सिँचाइको व्यवस्था र प्राविधिक सहयोगसमेत गरिँदै आएको छ ।

यो प्रविधिमा दुधिलो मकैको बोटलाई काटेर प्रशोधन गरेपछि हावा नपस्ने गरी प्याकिङ गरिन्छ । सुरक्षित भण्डारणमा एक सय २० दिन राखेपछि यो घाँस चीन पठाउने चाङले जानकारी दिनुभयो । दुई वर्षसम्म घाँस प्रयोग गर्न मिल्छ । यसलाई निकै पोषिलो आहारका रुपमा लिने गरिन्छ । कम्पनीले किसानसँग गुणस्तर हेरेर बोटै सहितको मकै खरिद गर्दै आएको छ । पशुआहारलाई रोला बनाएर पठाइएको छ । एउटा रोलामा चार सय ६० किलो पशुआहार हुन्छ । उहाँका अनुसार दैनिक ८० देखि एक सय रोला पशुआहार उत्पादन गर्न सकिन्छ । हाल तयार गरिएको पशुआहार चितवनका विभिन्न ठाउँबाट सङ्कलन गरिएको हो । धेरै मात्रामा पूर्वी चितवनको मकै रहेको छ ।

सन् २०२२ मा चिनियाँ उपराष्ट्रपति नेपाल आउँदा घाँस चीन लैजाने विषयमा सम्झौता भएको थियो । पहिलो चरणमा केरुङ र रसुवा नाकाबाट घाँस पठाइँदै छ । चाङले चीनको सो क्षेत्रमा दैनिक पाँच सय कन्टेनर घाँसको माग रहेको बताउनुभयो । सिगात्से सहरसँग भरतपुर महानगरपालिकाको भगिनी सम्बन्ध रहेको छ । पशु आहार निर्यात कार्यक्रमको कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपालका लागि चिनियाँ राजदूतावास र भरतपुर महानगरपालिकाले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका थिए ।

पिथौरागढमा नेपाल–भारत समन्वय बैठक सम्पन्न

बैतडी / भारतको पिथौरागढमा सम्पन्न नेपाल–भारत समन्वय बैठकमा झुलाघाट नाका बिहान ६ बजे खोल्ने सहमति भएको छ । नेपालको बैतडी र दार्चुला तथा भारतको पिथौरागढ जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले बैतडीसँग जोडिएको झुलाघाट नाका खोल्नेबारे उक्त सहमति भएको हो ।

यसअघि झुलाघाट नाका बिहान ७ बजे मात्रै खुल्ने गरेको थियो । बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले नेपाल–भारत सीमामा रहेको झुलाघाट पुल एक घन्टाअघि खोल्ने सहमति भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “झुलाघाट पुल अब बिहान ६ बजे खुल्ने र साँझ ७ बजे बन्द हुनेछ । यसले दुवै देशका नागरिकलाई सहज हुनेछ ।”

यसअघि बिहान ७ बजे नाका खुला दुवै देशका नागरिकलाई समस्या हुने गरेको थियो । भारतमा उपचार र किनमेलका लागि जाने नेपाली नागरिकलाई बढी समस्या हुने गरेको थियो ।

यस्तै विपद् उद्धार तथा प्रतिकार्यका लागि महाकाली नदीमा रबर बोट तथा डुङ्गा सञ्चालन गर्न सकिने सहमति र विपद्को समयमा दुवै देशका सुरक्षा निकाय मिलेर उद्धार तथा अन्य कार्यमा सहकार्य गर्ने, महाकाली नदीलाई स्वच्छ राख्न महाकाली नदीमा फोहर नफाल्ने, सीमा क्षेत्रमा हुनसक्ने मानव तस्करी, वन्यजन्तु तस्करीलगायतका गैरकानुनी क्रियाकलाप रोक्नका लागि संयुक्त गस्ती गर्ने, आपसी सहयोग र सहकार्य गर्ने, झुलाघाटस्थित सयौँ वर्ष पहिला बनेको झोलुङ्गे पुलको मर्मतसम्भारका लागि दुवै देशले प्राविधिक समिति गठन गरेर त्यसको मर्मतसम्भार गर्नेसमेत सहमति भएको प्रजिअ पन्थीले जानकारी दिनुभयो ।

यसैगरी झुलाघाटमा बन्ने मोटरेबल पुलको डिपिआर बनिसकेको र भारतको केन्द्र सरकारलाई पठाइसकेको बैठकमा भारतीय पक्षले जानकारी दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले झुलाघाट नाकामा मोटरेबल पुल निर्माणको घोषणा गरेका थिए । त्यसपछि झुलाघाटमा पाँच सय ५० मिटर लम्बाइको मोटरेबल पुल निर्माणका लागि काम अघि बढिसकेको छ । उक्त पुल निर्माण कार्यलाई छिटोभन्दा छिटो अगाडि बढाउने विषयमा पनि सहमति भएको प्रजिअ पन्थीले बताउनुभयो ।

यस्तै बैठकमा भारतीय अधिकारीले धारचुलामा पानीको अभाव भएकाले महाकाली नदीबाट लिफ्टिङ गरेर पानीको व्यवस्थापन गर्ने कुरा उठाएको र यो विषयमा केन्द्र सरकारलाई जानकारी गराउने, भारतबाट लागुऔषध र नशालु औषधि नेपालमा बिक्री हुने गरेको गुनासो आएकाले त्यसलाई रोक्नका लागि भारतीय पक्षले पहल गर्ने, दार्चुलाको व्यासमा बिजुली नभएकाले जेनेरेटर चलाउन इन्धन ल्याउन दिने विषयमा समेत छलफल भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनुभयो ।

सीमा क्षेत्रमा द्विपक्षीय सहयोग आदानप्रदानका लागि आयोजना गरिएको बैठकमा नेपालका तर्फबाट बैतडीका प्रमुख जिल्ला अधिकारी पन्थी, दार्चुलाका प्रमुख जिल्ला अधिकारी जोशी, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाही, दार्चुलाका प्रहरी नायव उपरीक्षक तर्कराज पाण्डे, सशस्त्र प्रहरी बल बैतडीका प्रमुख गंगादत्त पन्त, सशस्त्र प्रहरी बल दार्चुलाका प्रमुख डम्बर विष्ट, अनुसन्धान कार्यालय बैतडीका प्रमुख अर्चना सिंह, भारतका तर्फबाट पिथौरागढ जिल्लाका जिल्ला अधिकारी रिना जोशीलगायत सुरक्षा निकायका प्रमुख सहभागी थिए ।

मुटुरोग अस्पताल निर्माणको पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

लेखनाथ / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा मुटुरोग अस्पताल निर्माणको पहल भइरहेको बताउनुभएको छ ।

रोटरी क्लब अफ पोखरा अन्नपूर्णको १८औँ पदस्थापन समारोहमा मुख्यमन्त्री पाण्डेले मुटु रोगका कारण धेरै नागरिकले ज्यान गुमाउनु परेकाले उनीहरुको समयमै उपचार गर्न सरकारले अस्पताल निर्माणको तयारी गरिरहेको बताउनुभयो । सरकार एक्लैले अस्पताल निर्माण गर्न नसक्ने हुँदा दाताको खोजी भइरहेको उल्लेख गर्दै उहाँले यस कार्यमा विदेशीसँग जोडिएका रोटरियनको पनि सहयोग आवश्यक पर्ने बताउनुभयो ।

“गण्डकी प्रदेशको नीति तथा योजनामा प्रदेशमा मुटुरोग अस्पताल निर्माण गर्ने समावेश गरिएको छ । अस्पताल बनाउनका लागि आवश्यक पर्ने रकम प्रदेश सरकारसँग नहुँदा दाता खोजिरहेका छौँ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “भूकम्प, स्वास्थ्य, शिक्षा, र सीपमूलक कार्यमा सहयोग गर्दै आएको रोटरी क्लबको सहयोग आवश्यक छ ।”

मुख्यमन्त्री पण्डेले सबै काम सरकारले गर्छ भन्ने भावना त्यागी समाजसेवा गर्दै देशलाई समृद्धितर्फ अगाडि बढाउन निजी क्षेत्रका साथै विभिन्न सङ्घसंस्थाको संयुक्त प्रयास आवश्यक भएको बताउनुभयो । “सञ्चार र प्रविधिमा हामी धेरै अगाडि बढ्यौँ तर विकास र समृद्धिमा त्यति प्रगति हुन सकेको छैन”, उहाँले भन्नुभयो, “नकरात्मक त्यागेर सकारात्मक सोच लिएर अगाडि बढ्न जरुरी छ ।” युवा शक्तिलाई विदेश जान रोक्नका लागि स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने उहाँको भनाइ थियो ।

रोटरी क्लबका संस्थापक अध्यक्ष एवं राजनीतिज्ञ देवराज चालिसेले मुलुकमा अफ्ठयारो परेको बेला क्लबले मानवीय सहयोग गर्दै आएको जिकिर गर्दै गण्डकी प्रदेश सरकारसँग हातेमालो गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले क्लबले शिक्षा, स्वास्थ्य, भूकम्प, बाढीपहिरामा परेका व्यक्तिलाई सहयोग गरिरहेको उल्लेख गर्दै मुटुरोग अस्पताल निर्माणका लागि पनि आवश्यक सहयोग गर्ने आश्वासन दिनुभयो ।

कार्यक्रममा विद्यार्थी पविता नेपालीलाई आर्थिक सहयोग गर्नाका साथै क्लबमा योगदान गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरिएको क्लबका अध्यक्ष तोयाबहादुर भट्टराईले जानकारी दिनुभयो ।

गुल्मीका झबिन्द्र आचार्यले एनसिसि कतारको सह कोषाध्यक्षमा उम्मेद्धवारी दिने

दोहा / गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्को आगामी कार्यकाल २०२३-२०२५ को लागि समाजसेवी झबिन्द्र आचार्यले सह-कोषाध्यक्षमा उम्मेद्धवारी दिने घोषणा गरेका छन्।

सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आएका सामाजिक अभियन्ता आचार्य बिभिन्न सामाजिक संस्थामा आवद्द छन् ।

गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नं ५ छापा हिलेमा जन्मेका आचार्यले कतारमा आफ्नो व्यवसाय गर्दै आएका छन् भने बचेको समयलाई समाज सेवामा समर्पित गर्दै आएका छन् ।

मध्यपूर्वमा सम्पूर्ण नेपालीहरुको आवाजलाई उठाउन तथा क्रमिक रुपमा अगाडि बढ्नु पर्छ भन्ने महसुस गरेर आफू समाज सेवामा अगाडी बढेको बताए ।

लामो समयदेखि समाज सेवामा लागेका आचार्य गुल्मी सेवा समाज कतारका पुर्व अध्यक्ष समेत हुन । आचार्य कतारमा गुल्मी यातायातको नामबाट पनि परिचित छन् ।

उनले कतारमा कार्यरत नेपाली श्रमिकहरुको अभिभाकत्व निभाइरहेको साझा संस्थामा रहेर नेपाली श्रमिकका हक, हितका लागि आगामी दिनहरुमा काम गर्ने बताए ।

साथै गैरआवासीय नेपाली संघका विभिन्न अभियानलाई पुर्णता दिन, थप उर्जा प्रदान गर्न र पछिल्लो चरणामा संघमा देखिएको बिबादास्पद कोषलाई समाधान तथा मजबुत बनाउनको लागि पनि आफूले सह-कोषाध्यक्षमा उम्मेद्धवारी दिन लागेको आचार्यले जानकारी गराए ।

आफूले जितेको खण्डमा निश्चित रूपमा आफ्ना योजना अनुसार काम गर्नेछु भन्दै उनले भारीमतले विजयी गराउन कतारबासी सम्पुर्ण एनसिसि पार्सदहरुमा आग्रह गरेका छन्।

विकास न्युजको बार्गेनिङकारिता, रकम नपाएपछि धम्की दिएको आरोप !

काठमाडौं / व्यवसायी एवं अभियान्ता दुर्गा प्रसाईँले आफूलाई विकास न्युजले लगाएको आरोप झुट र कपोकल्पित भएको बताउनुभएको छ । आफूले पत्रकारलाई ज्यान मार्ने धम्की दिएको भन्दै विभिन्न मिडियामा आएको समाचार केबल प्रोपोगान्डा र झुटको फेहरिस्त भएको उहाँले बताउनुभयो ।

विकास न्युज डटकमका प्रधान सम्पादक रामकृष्ण पौडेललाई ज्यान मार्ने धम्की भन्दै विभिन्न समाचार माध्यममा समाचार आएपछि हामीले प्रसाईँसँग यस बारे बुझ्न खोज्यौ ।

जवाफमा प्रसाईँले विकास न्युजको सम्पादकले पटक पटक फोन गरेर रकम मागेको र आफूले रकम नदिएपछि उल्टै हामीलाई तौलिने पख जानेको छु भन्दै धम्की दिएको बताउनुभयो । ‘मलाई म्यासेजमै हामीलाई तौलिन खोज्या भन्दै धम्कायो त्यसलाई पनि मैले वास्ता नगरेपछि झुट समाचार छाप्दै पत्रकार महासङ्घ गुहारेछन्, धिक्कार छ यिनको पत्रकारिता ।’, प्रसाईँले भन्नुभयो ।

तपाइसँग बार्गेनिङ गरेको के प्रमाण छ त भन्ने प्रश्नमा प्रसाँईले हामीलाइ एक स्कृनसट पठाउनुभयो । प्रसाईँले पठाउनुभएको स्कृनसट जस्ताको तस्तै प्रकाशित गरेका छौ ।

पछिल्लो समय व्यवसायी दुर्गा प्रसाईँलाई करोडौ‌ रुपैयाँ माग गरेर ज्यान मार्ने धम्की दिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ । आफ्ना विषयमा आएका झुट समाचारका विषयमा आफू प्रेस काउन्सिलमा जाने प्रसाईँले बताउनुभयो । आफू प्रेस स्वतन्त्रता पक्षमा सधैँ उभिएको बताउँदै उहाँले परिपत्रकारिताको हल्लामा कोही पनि नलाग्न अनुरोध गर्नुभयो ।

समाचारको विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै प्रसाईँले एक विज्ञप्तिसमेत जारी गर्नुभएको छ । हेर्नुहोस् प्रसाईँको विज्ञप्ति :

सम्पूर्ण ध्यान आर्थिक समृद्धिको कार्यभार पूरा गर्न केन्द्रित छ : उपप्रधानमन्त्री श्रेष्ठ

चितवन / उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सम्पूर्ण ध्यान आर्थिक समृद्धिको कार्यभार पूरा गर्न केन्द्रित रहेको बताउनुभएको छ । नेपालमा उत्पादित पशुआहार (हाइलेज) पहिलो पटक चीन निर्यात गर्न आज यहाँ आयोजित कार्यक्रममा उहाँले कृषि उत्पादन बढाएर निर्यात गर्दा व्यापार घाटा कम गर्न सकिने बताउनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई आफ्नो मूल सत्रका रुपमा लिएर यसको आधारमा कामलाई अघि बढाएको बताउनुभयो । उहाँले भन्नुभयो, “ समृद्धिको कार्यभार पूरा गर्नका निम्ति हामीले हाम्रो देशको व्यापार घाटालाई कम गर्ने र त्यसका निम्ति आयात प्रतिस्थापन गरेर निर्याततर्फ काम गर्नुपर्छ ।”

पशु आहार चीन पठाउने कामको आरम्भ भएको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले नयाँ सम्भावनको खोजी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हामीले यथास्थितिमा बसिरहेर हुँदैन । विकासको काम गर्दै व्यापार घाटा कम गर्न भाषण गरेर समस्याको समाधान हुँदैन ।” भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसँगै सुशासन कायम गर्नुपर्नेमा उहाँको जोड थियो । व्यापार घाटा कम गर्ने र सफल रुपमा देशलाई विकास र समृद्धिको दिशामा फड्को मार्ने तिर लान जरुरी रहेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ ।

उहाँले भन्नुभयो, “यसमा अगाडि बढ्ने क्रममा पशुआहार निर्यातको प्रक्रिया सुरु गरेका छौँ । यो एउटा राम्रो अवसर हो ।” सरकारका तर्फबाट गर्नुपर्ने अन्य सहयोगका लागि सधैँ तयार रहेको उहाँको भनाइ थियो ।

कृषि तथा पशुपन्छी विकासमन्त्री डा वेदुराम भुसालले कृषि उत्पादनलाई बढाएर निर्यात गर्न सकेमा देशको अर्थतन्त्र बलियो बन्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कृषि उत्पादन बढाउन सकेमा देशको अर्थतन्त्र बलियो हुन्छ ।” नेपालमा घाँस उत्पादन गरेर चीन निर्यात गर्न सफल भएको भन्दै उहाँले बाँझो जमिनमा घाँस उत्पादन गर्न सकिने बताउनुभयो ।

नेपाली कृषिजन्य उत्पादन बढाएर निर्यातका लागि विभिन्न अवसरको खोजी गर्नुपर्ने उहाँको भनाइ थियो । सन् २००१ मै नेपाल र चीनबीच कृषिमा सहयोग आदानप्रदान गर्ने विषयमा सम्झौता भएको स्मरण गर्दै उहाँले त्यसयताका दिनमा सहयोग आदानप्रदान हुँदै आएको बताउनुभयो । यहाँ उत्पादित पशुआहारलाई चीन पठाउने विषयमा सन् २०२२ मै सम्झौता भएको उहाँले स्मरण गराउनुभयो । चीन र नेपालबीचको सम्बन्ध निकै पुरानो रहेको भन्दै मन्त्री भुसालले आगामी दिनमा अझ सुमधुर हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल र चीनबीचको सम्बन्ध निकै पुरानो भएको भन्दै आजदेखि चीन नेपालबाट पशु आहार जान सुरु गरेकामा खुसी प्रकट गर्नुभयो । गुणस्तरीय उत्पादनमा जोड दिँदै उहाँले चिनियाँ बजार ठूलो भएकाले उत्पादन बढाउन सुझाव दिनुभयो । दुई देशबीचको व्यापारिक सम्बन्ध पनि निकै राम्रो भएको उहाँको भनाइ छ ।

सो अवसरमा उद्योग सचिव मधु मरासिनीले नेपालमा ६२ प्रतिशत कृषिमा निर्भर रहेको उल्लेख गर्दै नयाँ प्रविधि भित्र्याएर उत्पादन बढाई निर्यातमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले यो पेसालाई व्यावसायिक बनाएर अघि बढाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा चीनको सिगात्से सहरका उपप्रमुख लिउ हउ झोङले भरतपुर महानगरसँग यसअघि नै भगिनी सम्बन्ध कायम भएको जिकिर गर्दै यहाँबाट पशुआहार लैजान सुरु गरिएकामा खुसी व्यक्त गर्नुभयो । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले यहाँ उत्पादित पशुआहार चीनको सिगात्से पठाउन पाएकामा महानगरले गर्व गरेको बताउनुभयो । आउँदा दिनमा गुणस्तरीय र ठूलो परिणाममा पशु आहार पठाउन सकिने उहाँको विश्वास थियो ।

विवाद समाधानका लागि सहमतिमा आउन भारतलाई चीनको आग्रह

बेइजिङ / चीनका एक जना वरिष्ठ कूटनीतिज्ञले भारतलाई सीमा विवाद समाधानका निम्ति सहमतिमा आउन आह्वान गरेका छन् ।

दक्षिणपूर्वी एसियाली मुलुकहरूको सङ्गठन (आसियान) का विदेशमन्त्रीहरूको बैठकको सिलसिलामा जकार्तामा रहेका चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको विदेश मामिला आयोगको कार्यालयका निर्देशक वाङ यीले भारतका विदेशमन्त्री सुब्रमण्यम जयशङ्करसँग शुक्रबार भएको भेटमा साझा हितमा ध्यान केन्द्रित गर्न आह्वान गर्नुभएको हो ।

एसियाको सबैभन्दा धेरै जनसङ्ख्या भएका छिमेकीबीचको सीमा तनावलाई कम गर्न वरिष्ठ कूटनीतिज्ञ वाङले सहमतिमा आउन भारतलाई आग्रह गर्नुभएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

वरियतामा चिनियाँ विदेशमन्त्रीभन्दा माथि रहनुभएका चीनका उच्च कूटनीतिज्ञ वाङले दुई पक्षले एकअर्कालाई शङ्का गर्नुको सट्टा एक अर्कालाई समर्थन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

चीन र भारतको साझा हित आपसी मतभिन्नता भन्दा अधिक रहेकाले सहमतिमा आउन भारतलाई आह्वान नेता वाङले आग्रह गर्नुभएको चिनियाँ विदेश मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ ।

भारत र चीनबीचको सम्बन्ध हालैका महिनामा सीमानालाई लिएर बिग्रिएको छ । भिसा विवादमा दुई पक्षले एकअर्काका लगभग सबै पत्रकारहरूलाई निष्कासन गरेका छन् । भारत र उसको उत्तरी भाग लद्दाख क्षेत्रको सीमाङ्कन स्पष्ट नहुँदा सैन्य झडप र अवरोध हुँदै आएको छ । दुवै देश ‘सकेसम्म चाँडो’ सीमा विवाद सैन्य कमाण्डर तहको अर्को चरणको वार्ता गर्न सहमत भएका मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

बेइजिङले भारतको अरुणाचल प्रदेशलाई पनि तिब्बतको भूभाग भएको दाबी गर्दै आएको छभने कश्मीरलाई विवादित क्षेत्र मानेको छ । दुवै मुलुकबीचको चिसो सम्बन्धका बाबजुद चीन भारतको दोस्रो ठूलो व्यापार साझेदार हो ।

स्वास्थ्यकर्मी मृत्यु प्रकरण : चारजना पक्राउ

काठमाडौँ / काठमाडौँको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत एक स्वास्थ्यकर्मीको मृत्यु प्रकरणमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसरका अनुसार हिजो बिहान उक्त सेन्टरका फार्मेसी इञ्चार्ज अमृत पोखरेल मृत भेटिएका थिए । उहाँको परिवारले किटानी जाहेरी दिएकाले सोही आधारमा आत्महत्या दुरुत्साहन कसुरमा अनुसन्धानका लागि चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ गरिएकामा प्रशासन प्रमुख मनोजकुमार बस्नेत, फार्मेसी अधिकृत जुना स्थापित, प्राविधिक सहायक विष्णु पौडेल र कृष्ण पन्त रहेका छन् । निजहरुले मानसिक तनाब दिएकाले अमृतले आत्महत्या गरेको परिवारले आरोप लगाएका छन् । अमृतले ‘आफूलाई फसाउन खोजिएको’ भनेर लेखेको पत्र पनि बरामद भएको प्रहरी उपरीक्षक सीताराम रिजालले बताउनुभयो । उहाँका अनुसारका घटनाबारे थप अनसन्धान भइरहेको छ ।

संयमित र मर्यादित भएर आचोलना गर्दिनुहोस्, सच्चिन तयार छौँ : सभापति लामिछाने

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीबारे टिप्पणी र आलोचना गर्दा सबैलाई संयमित, मर्यादित र अनुशासित हुन आग्रह गर्नुभएको छ ।

बूढानीलकण्ठ नगरपालिकामा आज आयोजित रास्वपाको नगर भेलामा सभापति लामिछानेले पार्टी पङ्क्तिलाई संयमित, शिष्ट र अनुशासित बन्न आह्वान गर्दै आलोचकलाई समेत संयमित र मर्यादित भएर आलोचना गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हामी गाली र आलोचना ग्रहण गर्न तयार छौँ, सप्रिने र सच्चिने यसरी नै हो । तर मर्यादित र अनुशासित भएर टिप्पणी गर्दिनुहोस् । ”

सभापति लामिछानेले रास्वपाका सांसद तथा नेताका अभिव्यक्तिको गलत व्याख्या नगर्न सञ्चारकर्मीसँग आग्रह गर्नुभयो । रास्वपा अन्य राजनीतिक दलको प्रभावमा नपरेको उल्लेख गर्दै उहाँले जनताको मुद्दामा निःस्वार्थ र निःसर्त रुपमा सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“सरकारले भ्रष्टाचार विरोधी फाइल खोल्ने काम सुरु गरेको छ । फाइल खोल्ने काम सरकार र सत्ता टिकाउने खेल मात्र नबनोस्”, सभापति लामिछानेले भन्नुभयो, “हरेक कालखण्डमा भएका भ्रष्टाचारका मुद्दा सक्न सरकार तयार भए रास्वपाले साथ दिन्छ ।”

जनतासँग गरेका वाचा पाँच वर्षभित्र पूरा गर्छौं : उपप्रधानमन्त्री खड्का

काठमाडौँ / उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पाँच वर्षभित्र जनतासँग गरेका वाचा पूरा गर्ने बताउनुभएको छ । उपप्रधानमन्त्री खड्काले देशको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको भए पनि निर्वाचनका बेला जनतासँग गरिएका वाचा पूरा गरेरै छोड्ने बताउनुभयो ।

गृह जिल्ला सुर्खेत पुग्नुभएका उपप्रधानमन्त्री खड्काले आज सुर्खेतको पूर्वी क्षेत्र गुर्भाकोट–७ स्थित गोकुलपुरमा इलाका प्रशासन कार्यालयको उद्घाटन गर्दै देशको प्रतिकूल आर्थिक अवस्थामा पनि विकास–निर्माणका कामहरु अघि बढिरहेको बताउनुभयो । उहाँले जनताको अपेक्षाअनुसार वर्तमान सरकारले काम गरिरहेको जिकिर गर्र्दै देशको प्रतिकूल आर्थिक अवस्थामा पनि समग्र कर्णालीका महत्वपूर्ण विकास योजना अघि बढाइएको बताउनुभयो ।

उपप्रधानमन्त्री खड्काले कर्णाली करिडोर र भेरी करिडोर लगायतका कर्णालीको समृद्धिसँग जोडिएका ठूला सडक योजना निर्माणलाई सरकारले पहिलो प्राथमिकतामा राखेको जानकारीसमेत दिनुभयो । उहाँले २० वर्षभित्र भेरी किनारमा आधुनिक र नमूना सहर निर्माण गरेर भेरीगङ्गा उपत्यका नमूनाको आधुनिक सहर निर्माणको काम अघि बढेको उल्लेख गर्दै त्यो सहर नयाँ पुस्तालाई नासोका रुपमा हस्तान्तरण गरिने बताउनुभयो ।

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनासँगै डोल्पादेखि सुर्खेतसम्मको भेरी किनारमा सिँचाइ, विद्युतीकरण, सडक लगायतका काम गर्ने गरेर भेरी करिडोर सिँचाइ विकास योजना लगायतका ठूला विकास योजना कार्यान्वयन भइरहेको उहाँको भनाइ थियो । पूर्वी सुर्खेतका लेकबेँसी, भेरीगङ्गा र गुर्भाकोट नगरपालिका तथा सिम्ता गाउँपालिकाका नागरिकहरुलाई एकीकृत सेवा पुर्‍याउने उद्देश्यले मेहलकुनामा इलाका प्रशासनसँगै मालपोत, नापी लगायतका जनतासँग प्रत्यक्ष सरोकार राख्ने कार्यालय स्थापना गरिएको उपप्रधानमन्त्री खड्काले बताउनुभयो ।

मिटरब्याजीसम्बन्धी पुरानै विधेयक संसद्बाट पारित हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

चितवन / उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्मा रहेको मिटरब्याजी विरुद्धको विधेयक नै अघि बढाइने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल, चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संसद्मा रहेको विधेयकलाई नै अघि बढाउने प्रक्रियामा छलफल भइरहेको बताउनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “हामीले मिटरब्याजी विरुद्धको पुरानो विधेयकलाई नै अघि बढाउन लागिरहेका छौँ, छिट्टै विधेयक पारित गर्ने स्थितिमा सरकार पुग्छ ।” संसद् अवरोधका कारण विधेयक पारित हुन नसकेको उल्लेख गर्दै उहाँले अब संसद् सञ्चालन हुने बित्तिकै यसलाई पारित गरिने बताउनुभयो ।

“प्रतिपक्षी पनि विधेयकको पक्षमा हुनुहुन्छ । यसलाई हामी चाँडै संसद्बाट पारित गर्छौं”, उहाँले भन्नुभयो । सरकारले संसद्मा दर्ता गराएको विधेयकको विषयमा दलहरुसँग छलफल भइरहेको उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो । मिटरब्याजी विरुद्धको उजुरी नलिने र छानबिनका क्रममा पीडितको पक्षमा न्याय हुने काम नरोकिने उहाँको भनाइ छ ।

विधेयकलाई ऐनका रुपमा लैजान मिल्दैन कि भन्ने चर्चा परिचर्चा भइरहेको उल्लेख गर्दै उहाँले संवेदनशील मुद्दामा विधेयक चाँडो पास गर्नुपर्ने बताउनुभयो । उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “संवेदनशील मुद्दामा कानुनी ग्याब लामो राख्न नमिल्ने भएकाले संसद् खुल्दा पारित हुने गरी काम अघि बढेको छ ।”

ललिता निवास प्रकरणका सम्बन्धमा उहाँले भन्नुभयो, “कस्लाई पहिला पक्राउ गर्ने, पहिला कस्लाई अनुसन्धान गर्ने, अभियोजन दर्ता गर्ने भनेर व्यक्ति हेरेर किटान गर्ने र प्रक्रिया अघि बढाउने गर्दैनौँ ।” प्रहरीले तथ्य र प्रमाणका आधारमा अनुसन्धान गर्ने उहाँको भनाइ थियो । “अनुसन्धानका लागि प्रहरी संयन्त्रलाई दबाब दिन मिल्दैन र दिँदैनौँ”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो– उहाँले थप्नुभयो, “हामीले हस्तक्षेप मुक्त भएर अनुसन्धान गरेर अपराधीलाई दायरामा ल्याउन भनेका छौँ ।”

के हो लम्पी स्किन  ? कसरी बचाउने पशु चौपाया ?

काठमाडौं / यत्तिखेर पशुचौंपायमा देखिने लम्पी स्किन रोग देशब्यापी फैलिएर ७७ वटै जिल्लामा फैलिएको छ ।

पशु सेवा विभागका बरिष्ठ पशु विकास अधिकृत ड. चन्द्र ढकालका अनुशार हालसम्म लम्पीस्किन रोगबाट नेपालमा २८ हजारभन्दा बढी पशु चौंपायाहरु मरीसकेका छन् भने अर्बौ रुपैंयाको क्षती भइसकेको छ ।

हालसम्म ७ लाख ४२ हजार १ सय २४ पशु सक्रमित भइसकेका छन् भने अहिले पनि यस रोगबाट २ लाख, ३२ हजार ३ सय ९ पशु चौंपायाहरु सकृय संक्रमित छन् । विभागका अनुसार हालसम्म दुई लाख ५० हजार ७ सय पशुमा खोप लगाइसकिएको छ ।

पशु सेवा विभागले यस प्रकोपबाट बचाउनका लागि विभिन्न उपायहरू सुझाएको छ । संक्रमित पशुहरूलाई अलग्गै राखेर उपचार गर्नेदेखि संक्रमति पशु चौपायाहरूलाई रोगको प्रकृति हेरेर उपचार गर्न विभागले सुझाएको छ । 

लम्पी स्किन रोग सङ्क्रमित पशुहरुको उपचारको लागि प्रयोग गर्न सकिने उपचार विधि

लम्पी स्किन रोग गाई/गोरू / राँगा/भैंसीमा क्याप्रीपक्स भाइरस अन्तर्गतको लम्पी स्कीन डिजिज भाइरसका कारण लाग्ने रोग हो। यो रोग सामान्यतया टोक्ने वा रगत चुस्ने झिँगा (डाँस), लामखुट्टे, किर्ना, भुसुना जस्ता किराहरूको टोकाइ, सङ्क्रमित पशु एक स्थानबाट अन्यत्र लैजाँदा वा सङ्क्रमित पशुको सम्पर्कमा आएका अन्य पशुमा सजिलै सरी छोटो समयमा धेरै स्थानमा फैलिन सक्ने प्रकृतिको भएकोले यस रोगको शीघ्र पहिचान तथा नियन्त्रण गर्न आवश्यक छ ।

हाल नेपालका अधिकांश जिल्लामा यो रोग देखा परेको सन्दर्भमा फिल्डस्तरमा कार्यरत प्राविधिकहरूले सङ्क्रमित पशुहरुको उपचारको लागि निम्नानुसारको उपचार विधिको प्रयोग गर्न सकिने जानकारी गराईन्छ ।

रोग देखिएका पशुलाई गरिने उपचार विधिः

१. रोगी पशुलाई निरोगी पशुबाट छुट्टाई अलग्गै राख्ने
२. रोगी पशुलाई प्रशस्त मात्रामा पानी, कुँडो वा नरम घाँस, झोलिलो पदार्थ, सख्खर / गुँड पानी, इलोक्ट्रोलाइट खुवाउने

३. ज्वरो आएको पशुलाई आराम गराउने, जोत्ने, गाडा तान्ने काममा नलगाउने
४. रोगको लक्षणका आधारमा देहाय अनुसारको उपचार गर्ने
ज्वरो घटाउनका लागि
बजारमा उपलब्ध हुने पारासिटामोल 1500 mg र मेलोक्सिकेम 100 mg भएको बोलस वा इन्जेक्सन: ठूला पशुलाई: २ बोलस हरेक ८ घण्टाको फरकमा खुवाउने वा 1 ml/10 kg body weight अनुसार सुई लगाउने
पाडापाडी/बाच्छाबाच्छी: १ बोलस हरेक ८ घण्टाको फरकमा मुखबाट खुवाउने वा 1 ml/10 kg body weight अनुसार सुई लगाउने
८ घण्टाको फरकमा औंषधि दिँदा ज्वरो कम नभएमा ४ देखि ६ घण्टाको फरकमा पुनः प्रयोग गर्ने।
शरीरमा चिसो पानीमा भिजाइएको कपडा, बोरा प्रयोग गरी पानी पट्टी लगाउने ।

गाँठा गुठी/गिर्खा र चिलाउने कम गर्नका लागि
Chlorpheniramine maleate Pheniramine maleate:
ठूला पशुलाई: 10-15 ml २४ घण्टाको फरकमा सुई लगाउने
पाडापाडी/बाच्छाबाच्छी: 3-5 ml २४ घण्टाको फरकमा सुई लगाउने
दाना पानी खान नसकेका र अत्यन्तै कमजोर पशुमा २०% रिन्टोज / डेकस्ट्रोज सलाईन दिने
उच्च ज्वरो नभएको अवस्थामा Ivermectin 1% – 1ml/50kg bodyweight अनुसार १ पटक सुईबाट प्रयोग गर्ने
फुटेको तथा आलो घाउ सफा गरी एन्टिसेप्टिक र झिँगा नबस्ने (Fly Repellant ) मलहम वा स्प्रे प्रयोग गर्ने

भिटामिन ई र सेलेनियम मिसिएको बोलस खुवाउने वा सुई लगाउने

छाला, फोक्सो, पाचन प्रणाली, मुत्र प्रणालीमा सङ्क्रमण भएमा
गर्भिणी वा दुध दिने बाहेकका पशुमाः

Oxytetracycline plain 1 ml/ 5kg bodyweight दिनको २ पटक ३ देखि ५ सुई लगाउने वा Oxytetracycline Long Acting 1ml/ 10kg bodyweight ७२ घण्टाको फरकमा दुई पटक सुई लगाउने
वा
Tetracycline Bolus 500 mg:
ठूला पशुलाई:- २ बोलस दिनको २ पटक खुवाउने
पाडापाडी/बाच्छाबाच्छीः- १ बोलस दिनको २ पटक खुवाउने
गर्भिणी वा दूध दिने पशुमाः
Procaine Penicillin 1ml/ 20kg bodyweight दिनको २ पटक ३ देखि ५ दिनसम्म सुई लगाउने वा
Procaine Penicillin Long Acting 1ml/ 20kg bodyweight ४८ घण्टाको फरकमा दुई पटक सुई लगाउने
माथि उल्लेखित औषधि नपाए Amoxicillin तथा Ampicillin पनि प्रयोग गर्न सकिने

सङ्क्रमण रोकथामका उपायः

१. सङ्क्रमित क्षेत्र भन्दा बाहिरका स्वस्थ ३ महिनाभन्दा बढी उमेर समूहका पशुलाई उत्पादकले तोकेको मात्रामा लम्पी स्किन विरूद्ध वर्षेनि खोप लगाउने
२. गर्भिणी सङ्क्रमित पशुबाट जन्मेका बाच्छबाच्छी / पाडापाडीलाई ४ महिनापछि खोप लगाउने
३. सङ्क्रमणबाट निको भएका पशुलाई १ वर्ष पछाडी मात्र खोप लगाउने
४. गोठमा झिँगा, लामखुट्टे, भुसुना लाग्न नदिन गोठ वरिपरि धुँवा लगाउने
५. गोठमा अनावश्यक व्यक्तिलाई आवतजावत गर्न नदिने, रोगी पशुलाई सामुहिक चरन / खर्क आहालमा नलैजाने
६. सङ्क्रमित क्षेत्रबाट पशुको ओसारपसार नगर्ने/नगराउने
७. सङ्क्रमित साँढे वा राँगो रोग निको नभएसम्म प्रजनन्‌को लागि प्रयोग नगर्ने/नगराउने
८. गोठखोर सफा राखी नियमित फिनेल पानी छर्किने
९. नयाँ पशु गोठमा भित्राउँदा बथानमा नमिसाई कम्तिमा २८ दिन अलग्गै राख्ने

१०. मरेका पशु र लसपस भएको सोत्तरलाई गहिरो खाडलमा पुर्ने

भारततर्फ सडक निर्माण गर्दा नेपालमा क्षति

खलङ्गा / भारतले आफ्नो क्षेत्रमा सडक निर्माणका क्रममा विष्फोटक पदार्थ प्रयोग गर्दा नेपालतर्फ क्षति पु¥याएको छ ।

भारतको पिथौरागढ जिल्ला धारचुला तहशिलअन्तर्गतको नयाँबस्तीमा सडक निर्माणका क्रममा उछिट्टिएको ढुङ्गाले नेपालतर्फ महाकाली नगरपालिका–५ मसिनीबलुवाका तीन स्थानीयवासीको घर र गोठमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

बिहीबार र शुक्रबार लगातार सडक निर्माणका लागि विष्फोटक पदार्थ प्रयोग गर्दा ढुङ्गा उछिट्टिएर स्थानीय नरभान बडू, हरकसिंह ठगुन्ना र जगतसिंह ठगुन्नाको घरमा क्षति पुगेको हो । “ब्लास्टिङ गर्दा भारतबाट ढुङ्गा उछिट्टिएर नेपालतर्फ खेतबारीसम्म पुगेका छन्, भारतीय पक्षले बिनासूचना ब्लास्टिङ गर्ने गरेको छ, यसबाट थप क्षतिको खतरा छ”, स्थानीय नरभान बडूले भन्नुभयो ।

बागलुङमा एक पुरुषको शव फेला

ढोरपाटन / बागलुङमा एक पुरुषको शव फेला परेको छ । गलकोट नगरपालिका–५ भैँसेस्थित खरबारीमा ताराखोला गाउँपालिका–५ सानो हिलेका ४० वर्षीय झलिराम पुन मगरको शव फेला परेको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान ८ बजे खरबारीको बाटो नजिकै स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक पुन श्रीमतीसँगै गलकोट नगरपालिका–३ हटियामा डेरा गरी बस्दै आउनुभएको थियो ।

पुन मगरले मदिरा सेवन गरेर भिरबाट लडेको हुन सक्ने आशङ्का गरिएको गलकोट नगरपालिका–५ का वडाअध्यक्ष पवन हमालले बताउनुभयो । प्रहरी र स्थानीयको रोहवरमा शवपरीक्षणका लागि गलकोट नगर अस्पतालमा लगिएको अध्यक्ष हमालले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हत्या आरोपी कारागार चलान

बैतडी / महिलाको हत्या आरोपमा दुई वर्षपछि पक्राउ परेका मेलौली नगरपालिकाका ४४ वर्षीय गोरख दयाल कारागार चलान भएका छन् । डडेल्धुराको भागेश्वर गाउँपालिका–३ लामिकाँडेकी ३६ वर्षीया गीतादेवी मल्लको हत्या आरोपमा दयाललाई प्रहरीले यही असार दोस्रो साता पक्राउ गरेको थियो ।

मल्लको हत्यामा संलग्न रहको भन्दै जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । विसं २०७८ साउन ८ गते बैतडीको मेलौली नगरपालिका–५ स्थित माइती घर आउँदै गरेकी मल्ल मेलौली नगरपालिका–७ ल्वाथलीमा मृतावस्थामा फेला परेकी थिइन् । शव फेला परेपसछि प्रहरीले घटनाबारे थप अनुसन्धान गर्दा गोरखको संलग्नता रहेको भन्दै गोरखलाई पक्राउ गरेको थियो ।

मृत्युभन्दा अघिल्लो दिन मल्ल गोरखको सम्पर्कमा आएको अनुसन्धानका क्रममा खुल्न आएको प्रहरी निरीक्षक जोशीले बताउनुभयो । गोरखविरुद्ध ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान गर्दा निजले प्रहरीसमक्ष मल्लको हत्या गरी शव फालेको भनी बयान दिएका थिए ।

नक्कली मेडिकल सञ्चालक धरौटीमा रिहा

पञ्चेश्वरमा अवैध रुपमा मेडिकल सञ्चालन गरी बिरामी चेकजाँच गरेको आरोपमा पक्राउ परेकी श्यामाकुमारी शाह धरौटीमा रिहा भएकी छन् । श्यामाविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान गरिएको थियो । अनुसन्धानपछि जिल्ला अदालतले रू ३० हजार धरौटीमा श्यामालाई रिहा गर्न आदेश दिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक जोशीले जानकारी दिनुभयो ।

मेडिकल सञ्चालनका लागि स्वास्थ्यसम्बन्धी कुनै तालिम नलिएकी श्यामाले क्लिनिकमा बिरामी जाँच्नुका साथै औषधि बिक्री गरिरहेको अवस्थामा दुई हप्ता अगाडि प्रहरीले नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । श्यामा स्वास्थ्यसँग सम्बन्धित व्यक्ति नभएको र निजले क्लिनिकमा बिरामी जाँच्नुका साथै औषधिसमेत बिक्री गरिरहेकाले प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको उहाँको भनाइ थियो ।

‘श्यामा क्लिनिक’ बिना अनुमति सञ्चालन गरिएको भन्दै जिल्ला प्रशासन कार्यालयले गत जेठमा क्लिनिक सिल गरेको थियो । गाउँपालिकाले क्लिनिक सञ्चालनका लागि अनुमति दिए पनि श्यामा स्वास्थ्यसँग सम्बन्धित व्यक्ति नभएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । श्यामा पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसागर शाहकी श्रीमती हुन् ।

भ्रष्टाचार अभियोगमा सिङ्गापुरका यातायातमन्त्री पक्राउ

सिङ्गापुर / सिङ्गापुरका यातायातमन्त्री भ्रष्टाचार अभियोगमा पक्राउ परेका छन् । उनीसँगै होटल व्यवसायी एक जना अर्बपतिलाई पनि भ्रष्टाचार अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको छ ।

यातायात मन्त्री एस।ईश्वरनलाई गत मङ्गलबार पक्राउ गरी पछि धरौटीमा रिहा गरिएको अख्तियार दुरुपयोग अनुसन्धान ब्यूरोले शुक्रबार राति जारी गरेको वक्तव्यमा जनाइएको छ सिङ्गापुरका सबैभन्दा धनी व्यक्तिमध्येका एक ओङ बेङ सेङलाई पनि गत मङ्गलबार नै पक्राउ गरिएको थियो । निजलाई पनि अनुसन्धानपछि धरौटीमा छाडिएको छ । ब्यूरोले अनुसन्धानको विवरण भने खुलाएको छैन ।

ओङ छानबिनमा परेको खुलासा भएपछि अख्तियार दुरुपयोग अनुसन्धान ब्यूरोले यातायात मन्त्रीमाथिको अनुसन्धानको दायरा फराकिलो बनाएको छ ।

विश्वको सबैभन्दा कम भ्रष्ट देशमध्येको एक सिङ्गापुर विश्वव्यापी वित्तीय केन्द्र हो । यो देशमा भ्रष्टाचार नियन्त्रणका लागि ‘क्याबिनेट’ मन्त्रीहरूलाई निजी क्षेत्रका ठूला आम्दानी गर्ने व्यक्तिको तुलनामा तलब दिइन्छ ।

‘कोरा भक्तपुर साइकलिङ च्यालेन्ज’ सुरु

भक्तपुर / भक्तपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकलिङ गन्तव्य बनाउने उद्देश्यले एक सय किलोमिटर लामो ‘तेस्रो कोरा भक्तपुर साइकलिङ च्यालेन्ज–२०२३’ सुरु भएको छ ।

आज भक्तपुरको ऐतिहासिक एवं सम्पदास्थल दरबारस्क्वायरमा ‘साइकल कनेक्ट संस्था’ले आयोजना गरेको उक्त च्यालेन्जको बाग्मती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईंले रिबन काटेर शुभारम्भ गर्नुभएको हो ।

तीन वर्षदेखि सञ्चालन हुँदै आएको ‘कोरा भक्तपुर साइकलिङ च्यालेन्ज’ले नेपाललाई विश्वमा चिनाउन मद्दत गर्नाका साथै पर्यटकीय विकासमा ठूलो टेवा पुर्‍याउँदै आएको गोसाईंले बताउनुभयो । सफलतापूर्वक सञ्चालन हुँदै आएको यस च्यालेन्जले साइकल यात्रीलाई प्रोत्साहन दिनाका साथै यहाँको प्राकृतिक सौन्दर्यतालाई नियाल्दै ग्रामीण पर्यटकीय प्रवर्द्धनमा टेवा पुर्‍याएको उहाँले चर्चा गर्नुभयो ।

संस्थाका संस्थापक अध्यक्ष एवं कार्यक्रमका संयोजक सुमित बालाले यस वर्ष कार्यक्रममा छ सयभन्दा बढी साइकल यात्रीको सहभागिता रहेको बताउनुभयो । उहाँले भक्तपुरलाई साइकलिङ गन्तव्य बनाउनुका साथै टर्की र सिरियाका भूकम्प पीडितलाई सहयोग गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

भक्तपुर तथा काभ्रेपलाञ्चोकका अधिकांश पर्यटकीय क्षेत्रको सौन्दर्यलाई नियाल्दै दुई हजार एक सय मिटर उचाइसम्म एक सय किलोमिटरको यात्रा आज एकै दिनमा सक्ने बालाले बताउनुभयो । उहाँका अनुसार बिहान ६ बजे भक्तपुरको दरबार स्क्वायरबाट सुरु भएको साइकल यात्रा सिद्धपोखरी, सल्लाघारी, नयाँ ठिमी, बहाखा बजार, बोडे, नीलबाराही, बेँसीगाउँ, दुवाकोट हुँदै चाँगुनारायणसम्म पुगेको छ ।

यो यात्रा त्रिशूल डाँडा, तेलकोट, नगरकोट, थाकलमाथ, खावा, नाला गुम्बा, भंगाल, लटरम्बेश्वर, साँगा, खाल्चोक, आशापुरी, रानीकोट, गुण्डु, गाम्चा, बिरुवा, सिरुटार, बालकोट, लोकन्थली, कौशलटार, सानोथिमि, सल्लाघारी हुँदै पुनः भक्तपुर दरबार क्षेत्रमा पुगेर साँझ ७ बजे समापन गरिने संयोजक बालाले जानकारी दिनुभयो । उहाँले समापनका क्रममा मनोरञ्जनात्मक कार्यक्रम समेतको आयोजना गरिने बताउनुभयो ।

कोरा मास्टर सुनिल ख्याजुले साइकलबाट ५०, ७५ र एक सय किलोमिटरका तीनवटा रूटमा यात्रा हुने जानकारी दिनुभयो । उहाँका अनसार च्यालेन्जमा महिला ५० जनासहित करिब छ सय जनाभन्दा बढीको सहभागिता रहेको छ ।

साइकल कनेक्टका अध्यक्ष निर्जला कोजूले च्यालेन्जमा भक्तपुर, काठमाडौँ, ललितपुर, बनेपा, पनौती, पोखरा, तनहुँ, धरान, भैरहवा, सुर्खेत, नेपालगञ्ज, वीरगञ्ज, चितवन, नवलरासी, बुटवललगायत सहरबाट साइकल यात्रामा सहभागी हुन आउनुभएको बताउनुभयो । उहाँका अनुसार यात्रामा अमेरिका र युरोपियन राष्ट्रका विदेशी साइकल यात्री समेत सहभागी छन् । आज साँझ समापन कार्यक्रममा तीन वटै रुटअन्तर्गतको च्यालेन्ज पूरा गर्ने सहभागीलाई मेडल वितरण गरिने उहाँले जानकारी दिनुभयो ।

संसदीय दलको नेता परिवर्तनमा प्रयास निरन्तर रहन्छ : महामन्त्री थापा

मोरङ / नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस संसदीय दलको नेता परिवर्तनमा आफ्नो प्रयास निरन्तर रहने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले पार्टीका साथीहरुको साथ र सङ्ख्या पुगेको अवस्थामा संसदीय दलको नेता परिवर्तनका लागि सार्थक प्रयास हुने स्पष्ट पार्नुभयो । उहाँले पार्टीको विधानले संसदीय दलको नेता परिवर्तन गर्न स्थान दिएको र पार्टीभित्र पटकपटक प्रयोग हुनाका साथै नेता परिवर्तन भएको उदाहरण रहेको विचार व्यक्त गर्नुभयो ।

देशको आवश्यकताअनुसार आजको दिनमा आफू दलको नेता भएमा पार्टीलाई राम्रोसँग सञ्चालन गर्ने महामन्त्री थापाको भनाइ थियो । कोशी सरकार निर्माणका सम्बन्धमा सर्वोच्च अदालतको आदेशलाई पार्टीले स्वीकार गर्ने उहाँले बताउनुभयो । केन्द्रीय समितिको बैठक नबसेको कारण कोशी सरकार गठनका सम्बन्धमा खुल्ला छलफल गर्न नसकिएको उल्लेख गर्दै उहाँले यसबाट राष्ट्रिय राजनीतिका थुप्रै विषय प्रभावित पारेको धारणा राख्नुभयो ।

महामन्त्री थापाले केन्द्रीय समितिको बैठकले नीति महाधिवेशनको मिति तय गर्नाका साथै नीति अधिवेशनले निर्वाचनमा राजनीतिक दलहरुबीच गठबन्धन गर्ने राजनीतिक संस्कृतिको अन्त्य गर्नाका साथै नयाँ बाटो खोज्ने बताउनुभयो । वर्तमान गठबन्धन सरकार परिवर्तन नहुने जिकिर गर्दै उहाँले सरकारले जनताप्रति दत्तचित्त भई कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

कोरियामा भीषण बाढी, सात जनाको मृत्यु

सोल / दक्षिण कोरियामा भारी वर्षा र बाढीका कारण सात जनाको मृत्यु भएको छभने अन्य तीन जना बेपत्ता भएका छन् । सरकारी अधिकारीहरूका अनुसार अधिक वर्षाले गोसान बाँधमा बाढी पसेकाले हजारौं नागरिकलाई सुरक्षित स्थानमा जान आह्वान गरिएको छ ।

पछिल्ला तीन दिनमा लगातार परेको भारी वर्षाले देशभरका अधिकांश भूभाग डुबानमा परेका छन् । स्थानीय सञ्चारमाध्यमले गोसानको केन्द्रीय काउन्टीका छ हजार चार सयभन्दा बढी बासिन्दालाई शनिबार बिहान घर खाली गर्न आदेश दिइएको जनाएका छन् ।

बाढीपहिराका कारण अहिलेसम्म सात जनाको मृत्यु भएको अभिलेख रहेपनि त्यो अझ बढ्नसक्ने बताइएको छ । पहिरो र भवन भत्किँदा सात जनाको मृत्यु भएको हो । उत्तरी ग्योङसाङ प्रान्तमा खोलाले बगाउँदा तीन जना बेपत्ता भएका छन् ।

कोरिया रेलरोड कर्पोरेशनका अनुसार सबै नियमित रेल सेवा राष्ट्रव्यापी रूपमा बन्द गरिएका थिएभने केही ‘बुलेट ट्रेन’ समयतालिका समायोजन गरी सञ्चालन भएका छन् ।

प्रधानमन्त्री हान डक–सूले विपद् व्यवस्थापन निकायका अधिकारीहरूलाई आपत्कालीन सेवा प्रवाह तथा विपद् प्रतिकार्यलाई गति दिन आग्रह गर्नुभएको छ । उहाँले रक्षा मन्त्रालयबाट सञ्चालन हुने उद्धार कार्यमा सघाउन सम्बद्ध निकायहरूलाई निर्देशन पनि दिनुभएको छ ।

पाटनमा चट्याङबाट ५० भेडाबाख्रा मरे

जुम्ला / जुम्लाको पातारासी गाउँपालिका–२ स्थित दुगाडा पाटनमा चट्याङ लागेर ५० भेडाबाख्रा मरेका छन् ।

यही असार २८ गते दिउँसो २ बजेतिर परेको चट्याङले ती भेडाबाख्रा मरेका छन् भने ७० हराएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिनुभयो । चट्याङले ४२ बाख्रा र आठ भेडा मरेको पातारासी गाउँपालिका भेटेरीनरी शाखाका प्रमुख गगन केसीले बताउनुभयो । सो गाउँपालिकाका स्थानीयवासी कृष्ण ऐडी, र मिमबहादुर बोहोराका भेडाबाख्रा चट्याङबाट मरेका हुन् । पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका अनुसार जिल्लाकै सबैभन्दा बढी भेडापालन हुने ठाउँ पातारासी हो । पाटन र खर्कमा व्यवस्थित भेडीगोठ नहुँदा हरेक वर्ष चट्याङबाट भेडाबाख्रामा ठूलो क्षति गर्ने गरेको कार्यालयले जनाएको छ । भेडाबाख्रा चट्याङबाट मरेपछि घर खर्च लगाउनमा समस्या भएको उनीहरुले बताउनुभयो । उहाँले भन्नुभयो किसान बोहोराले भन्नुभयो “यहीँ पेशाबाट आम्दानीको माध्यम बनेको थियो । घर खर्चदेखि बच्चाको पढाइ खर्च सहजरुपले धानेको थियो । ”

स्थानीय सरकारले राहतको लागि माथिल्लो सरकारी निकायमा पहल गरिदिन अनुरोध गरेको भेडापालक किसान ऐडीले बताउनुभयो । उहाँले भन्नुभयो, “चट्याङबाट भेडा मरेको जानकारी गराएका छौँ । राहत र क्षतिपूर्तिका लागि सम्बन्धित निकायलाई सहयोगको अपिलसमेत गरेका छौँ ।” स्थानीय सरकारबाट हुने सहयोग गरिने पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिनुभयो ।

स्वास्थ्य सेवाका संरचना कायम राख्न माग

कर्णाली / कर्णाली प्रदेशका चिकित्सक एवं स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सेवा निर्देशनालयसहितका कर्णालीका जिल्ला संरचनासमेत कायम राख्न सरकारसँग माग राखेका छन् ।

प्रदेश सरकारअन्तरगतको निर्देशनालय, जिल्ला कार्यालय कायम राख्नुपर्ने भन्दै उनीहरुले सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेललाई १२ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट वक्तव्यमा स्वास्थ्य सेवा निर्देशनालयलाई मन्त्रालयमा मर्ज ९गाभ्ने० भनेको छ । बजेटमै मर्ज गर्ने भनिएपछि चिकित्सक एवं स्वास्थ्यकर्मीले सरकारको यो कार्यले स्वास्थ्य क्षेत्र सङ्कुचित हुने जनाउँदै असन्तुष्टि प्रकट गरेका छन् ।

मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रको दायरा खुम्च्याइनुले सेवा प्रवाहको प्रत्यक्ष असर नागरिकमा पर्ने बताउनुभयो । “महामारी, कुपोषणलगायतका विभिन्न रोगहरुको नियन्त्रण तथा रोकथाम गर्न महाशाखा एक्लैले केही गर्नसक्ने अवस्था रहँदैन”, उहाँले भन्नुभयो, “उनीहरुको सहजताका लागि जिल्ला तहसम्मका संरचना कायम हुनुपर्दछ ।” सेवा विस्तारका साथै प्रभावकारी बनाउन तल्लो तहसम्मको एकाइ आवश्यक रहेको महाशाखा प्रमुख शाहीको भनाइ थियो ।

स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका निर्देशक डा रविन खड्काले निर्देशनालयलाई मन्त्रालयमा गाभ्ने काम गरिए त्यसले सुरक्षित मातृत्व, बाल स्वास्थ्य, रोग नियन्त्रण, महामारी व्यवस्थापन, ज्येष्ठ तथा विपन्न नागरिक, सामाजिक सुरक्षालगायतका ३१ कार्यक्रम पूर्णरुपले प्रभावित हुने बताउनुभयो । “३१ कार्यक्रम प्रमावित हुने मात्र होइन, प्रदेशको स्वास्थ्य अवस्था नै ध्वस्त हुन्छ” उहाँले भन्नुभयो, “जनस्वास्थ्य सेवालाई नियमित गर्ने काममा सरकार गम्भीर हुनुपर्छ ।”

निर्देशक डा खड्काले स्वास्थ्य सेवालाई आधारभूत, विशेषज्ञ र विशिष्टीकृत सेवाका रुपमा जनस्वास्थ्य ऐन तथा नियमावलीमै वर्गीकरण गरिएको र प्रदेश सरकारले विशेषज्ञ सेवाप्रवाह गर्ने तथा स्थानीय तहले प्रदान गर्न आधारभूत तहको स्वास्थ्य सेवा प्राविधिक सहजीकरण र समन्वय गर्न जरुरी रहेकोले ती निकायको महत्वपूर्ण भूमिका रहने उहाँले जनाउनुभयो । उहाँका अनुसार प्रदेशमा छुट्टै तालिम केन्द्र र जिल्लामा स्वास्थ्य कार्यालय पुनःस्थापना गर्नसमेत ध्यानाकर्षण गराइएको छ ।

प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र कर्णाली प्रदेशमा निमित्त निर्देशक डा शङ्कर रिजालले जनस्वास्थ्य सेवालाई विस्तार गर्ने भन्दा खुम्च्याउनु कार्यले नागरिकलाई नै प्रभाव पार्ने र स्वास्थ्य क्षेत्रको सुदृढ हुन नसक्ने प्रतिक्रिया दिनुभयो । जनस्वास्थ्यसँग सरोकार राख्ने सबै सङ्घ÷सङ्गठनले सरकारलाई स्वास्थ्य सेवाका संरचना कायम राख्न ध्यानाकर्षण गराएका छन् ।

नेकपा एसको सचिवालय बैठक आज पनि जारी रहने

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक आज पनि बस्दै छ । 

शुक्रवारदेखि सुरु भएको केन्द्रीय सचिवालयको बैठक आज पनि बस्न लागेको हो । नेताहरूले बोल्ने क्रम अझै बाँकी रहेकाले बैठक लम्बिएर आज पनि बस्नुपरेको हो ।  

माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठानमा सो बैठक शुक्रवारबाट सुरु भएको हो । 

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठकमा मुलुकमा विकसित राजनीतिक घटनाक्रम, सरकार तथा संसद्सहितका क्षेत्रमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, आन्तरिक पार्टी सङ्गठन सुदृढीकरण अभियानको समीक्षा तथा समसामयिक विषयमा छलफल भइरहेको छ । सोही विषयमा सचिवालयका सदस्यहरूले आ आफ्नो धारणा राखिरहेका छन् । 

लुम्बिनी प्रदेशसभा बैठक बस्दै, एक विधेयक फिर्ता हुने

रुपन्देही । लुम्बिनी प्रदेशसभा बैठक आज बस्दै छ । प्रदेश संसद् सचिवालयले आज दिउँसो १ः०० बजे प्रदेशसभा बैठक आह्वान गरिएको जनाएको छ ।  

गत असार २० गते राति लुम्बिनी प्रदेशको आगामी वर्षको बजेट प्रदेशसभाबाट पारित भएसँगै अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको थियो । 

प्रदेशसभा सचिवालयका सचिव दुर्लभ कुमार पुनले जारी गर्नुभएको सूचनाअनुसार लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशनको १९ औँ बैठक असार ३० गते दिउँसो १ः०० बजेका लागि सभामुखको निर्देशनअनुसार आह्वान गरिएको हो ।

आजको प्रदेशसभा बैठकमा प्रदेश निजामती सेवाको गठन, सञ्चालन र देहायका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभाका पेस गर्ने, स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा नवीकरण र स्तरोन्नति ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल हुने र एक विधेयक फिर्ता हुने सम्भावित कार्यसूची रहेको सचिव पुनले जानकारी दिनुभयो । 

लुम्बिनी प्रदेश सरकारले यसअघि लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गरेको थियो। प्रदेशसभामा छलफल नभई रोकिएको उक्त विधेयक आजको प्रदेशसभा बैठकबाट फिर्ता गर्ने तयारी थालिएको छ।

पोखरा–मुग्लिन सडक आयोजनाको पोखरा खण्डको काम बढाउन छलफल

गण्डकी – पोखरा–मुग्लिन सडक विस्तार आयोजनाको पोखरा खण्डको काम अगाडि बढाउने सम्बन्धमा पोखरा महानगर प्रमुख धनराज आचार्य र एसियाली विकास बैङ्क(एडिबी)को टोलीबीच शुक्रवार छलफल भएको छ । 

छलफलमा एडिबीका निर्देशक सल्लाहकार मोहम्मद जाविव र मिसन लिडर सिनवाइ चाङ (एन्जल) लगायतको सहभागिता थियो । 

टोलीमा परियोजना निर्देशक चूडाराज ढकाल, यातायात विज्ञ भूपेन्द्र भट्ट, परियोजना विश्लेषक प्रमोद पुडासैनी र आयोजना व्यवस्थापक(पोखरा खण्ड) अमित कुमार श्रेष्ठलगायतको उपस्थिति थियो ।

भेटमा पोखरा–मुग्लिन सडक विस्तार आयोजनाको पोखरा खण्डमा काम अगाडि बढाउने विषयमा छलफल भएको प्रमुख आचार्यले बताउनुभयो । महानगरपालिकाको तर्फबाट यस खण्डमा काम अगाडि बढाउन कुनै समस्या नरहेको र काम गर्दै गर्दा कुनै प्रकारको समस्या देखिए त्यसको तत्काल समाधानका लागि महानगरपालिका प्रतिबद्ध रहेको उहाँले जानकारी गराउनुभयो । 

“अहिले हामीले पोखरा खण्डको राइट अफ वे खाली गराउने काम सम्पन्न गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “अभियानकै रूपमा सडकको मापदण्ड खाली गराउने काम गरिएको हो, अब केही स्थायी संरचना हटाउन बाँकी छ, मुआब्जाको प्रक्रिया सकिना साथ ती सबै संरचना तत्काल हटाइनेछ ।”

हाल काम अघि बढाउनका लागि वातावरण तयार गरिएको र काम अघि बढाउन एडिबीको टोली सकारात्मक देखिएको प्रमुख आचार्यले बताउनुभयो । एसियाली विकास बैङ्कको सहयोगमा विस्तार गरी चार लेनको बनाउन लागिएको सडक आयोजनाको मापदण्डअन्तर्गत पोखरा खण्ड ४६ मिटर चौडाइको हुनेछ ।  

सेती नदीमा हाल भएको पुलभन्दा माथि र तल दुई/दुई लेनको दुइटा पुल बनाउन रु एक अर्ब सात करोडमा नेपाली कम्पनी रसुवा कन्स्ट्रक्सनले ठेक्का पाएको छ भने, सेती पुलबाहेक राजमार्गको पश्चिम खण्डमा चार वटा ठुला र १२  साना पुल बन्नेछन् । रासस

शनिवार पनि बैङ्क तथा वित्तीय संस्था खुल्ला रहने

काठमाडौँ – आज पनि बैङ्क तथा वित्तीय संस्थाहरू पनि खुल्ला हुने भएका छन् । 

चालु आर्थिक वर्षको अन्तिम शनिवार भएकाले राजश्वलगायतको विषयलाई ध्यानमा दिँदै शनिवार पनि बैङ्क तथा वित्तीय संस्था खुल्ला नै रहन लागेका हुन् ।  

सो कार्यका लागि नेपाल राष्ट्र बैङ्कले यसअघि नै परिपत्र जारी गरेर बिदाका दिन पनि बैङ्क तथा वित्तीय संस्था खुल्ला गरेर कारोबार गर्न निर्देशन दिएको थियो । 

अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयले असार २३ र ३० गते शनिवारका दिन पनि सेवा बन्द नगर्न राष्ट्र बैङ्कलाई अनुरोध गरेपछि गत शनिवार र आज शनिवार बैङ्क तथा वित्तीय संस्थाहरू खुल्ला भएका हुन ।  

जसअनुसार चालु आर्थिक वर्षको अन्तिममा राजस्व भुक्तानी, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरका लागि बढी चाप पर्ने भएकाले शनिवार पनि सेवा उपलब्ध गराउन राष्ट्र बैङ्कले निर्देशन दिएको थियो । 

एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौँ  – नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । च्यासल, ललितपुरस्थित पार्टी मुख्यालयमा सचिवालय बैठक बस्न लागेको हो । 

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने सो बैठकमा समसामयिक राजनीतिक विकास क्रमका बारेमा छलफल गर्ने तथा आन्तरिक सङ्गठनका निर्माणका बारेमा समीक्षा गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। 

सचिवालय बैठक बस्नुअघि गत बुधवार र बिहीबार अध्यक्ष ओलीले पार्टीका उपाध्यक्षसँग सामूहिक रूपमा छलफल  गर्नुभएको थियो । उपाध्यक्षहरूसँग पार्टीको गतिविधि तथा भइरहेका काम कारबाहीको बारेमा छलफल गर्नुभएपछि आज सचिवालय बैठक बोलाइएको हो । 

आजको सचिवालय बैठकले सांगठानिक संरचना, केन्द्रीय नेताहरूको कार्य विभाजन तथा अन्य विषयमा पनि छलफल गर्नेछ । 

त्यस्तै, शुक्रवार महासचिव शङ्कर पोखरेलको नेतृत्वमा बसेको एमालेको केन्द्रीय कार्यालय बैठकले सचिवालय बैठकका लागि एजेन्डा तय गरेको थियो । एमाले केन्द्रीय कार्यालय बैठक महासचिवको उपस्थितिमा बस्ने र उपमहासचिव तथा सचिवहरूको उपस्थिति रहने गर्छ ।

मनसुनी वायुको प्रभाव, यी प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने

काठमाडौँ – हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको  छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।  

राती भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको हुनाले यसबाट सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिन्छ। 

तसर्थ हावाहुरी, भारी वर्षा, मेघ गर्जन र चट्याङ, गेग्र्यान बहाव, बाढी, पहिरो तथा भू(क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०८० असार ३० गते (शनिवार)
दिउँसो:
  देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरूमा मेघ गर्जन / चट्याङसहित भारी वर्षा को समेत सम्भावना रहेको छ। 
राती: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

२०८० असार ३१ गते (आइतबार)
दिउँसो:  
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस प्रदेशलगायत कोसी प्रदेशका तराई भूभागमा हावा हुरीको सम्भावना रहेको छ।
राती:  मधेस र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक दुई स्थानहरूमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। 

२०८० साउन ०१ गते (सोमबार)
दिउँसो:
  देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। 
राती: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। 

अमेरिकी सहायकमन्त्री लु आज नेपाल आउँदै

काठमाडौँ – अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार नेपाल आउनुहुने भएको छ । उहाँले अमेरिकी विदेश मन्त्रालय अन्तर्गत दक्षिण तथा मध्य एसिया मामिला हेर्नुहुन्छ ।

भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत उच्चस्तरीय राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम छ । अमेरिकी सरकारको सहयोग अनुदानमा आधारित मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौताको कार्यान्वयन सुरु हुन मात्र एक महिना बाँकी हुँदा हुन लागेको भ्रमण सोही सेरोफेरोमा केन्द्रित हुने अनुमान गरिएको छ ।

काठमाडौँस्थित अमेरिकी दूतावासका अनुसार उहाँले अमेरिकी चेम्बर अफ कमर्सका पदाधिकारी सँग पनि छुट्टै छलफल गर्नुहुने छ । जसमा उहाँले सिप आदानप्रदानसँगै वैश्विक प्रतिस्पर्धाका लागि आवश्यक कार्यका विषयमा विमर्श गर्नुहुने छ ।

उहाँ यसअघि एमसिसी परियोजना संसद्बाट अनुमोदन हुनेताका नेपाल भ्रमणमा आउनुभएको थियो । मात्र एक दिनका लागि नेपाल भ्रमणमा आउन लाग्नुभएका लु लामो समयअघिदेखि नेपालसँग परिचित हुनुहुन्छ