`

बाघको आक्रमणबाट महिला घाइते

महेन्द्रनगर – बाघको आक्रमणबाट कञ्चनपुरको बेलौरीमा एक महिला घाइते भएकी छिन् । बाघको आक्रमणमा परी बेलौरी नगरपालिका–९ डाडाकुण्डाकी २५ वर्षीया बिन्दु डगौंरा घाइते भएकी हुन् ।

बिहीबार साँझ लालझाडी गाउँपालिका–६ चान्देउस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा डगौंरालाई बाघले आक्रमण गरेको बेलौरी–९ का वडाध्यक्ष किसन रानाले जानकारी दिनुभयो । उनको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ ।

डगौंरालगायत १०–१२ महिलाको समूह च्याउ टिप्न गएको थियो । सोही क्रममा बाघले डगौंरामाथि आक्रमण गरेको हो । “सबैले हो–हल्ला गरेपछि बाघ भाग्दा डगौंराको ज्यान जोगियो”, वडाध्यक्ष रानाले भन्नुभयो, “आक्रमणबाट उनको आँखा र टाउकोमा चोट लागेको छ ।” यसअघि बाघको आक्रमणबाट बेलौरी नगरपालिकामै एक महिलाको ज्यान गएको थियो ।

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

​​​​​​​काठमाडौँ – प्रतिनिधिसभा बैठक बस्दै छ ।  सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा प्रतिनिधिसभा बैठक बैठक बस्नेछ । बैठक १ः०० बजे बोलाइएको छ । 

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० का सबन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश जानकारी गराउने कार्यसूचीमा राखिएको छ ।  

साथै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० पेस गर्ने कार्यसूची रहेको छ । 

आज २१०औँ भानु जयन्ती : भानुभक्तको घर खण्डहर

दमौली –

मेरा इनार, न त सत्तल पाटी केही छन्
जे चिज र धनहरू छन् घरभित्र नै छन्
त्यस घाँसीले कसरी आज दियेछ अर्ति
धिक्कार हो मकन बस्नु नराखी कीर्ति । (भानुभक्त आचार्य)

तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घा शिखर कटेरीमा भानुभक्तको घर खण्डहर अवस्थामा छ । माटो र ढुङ्गाले बनेको घरको गाह्रो चारैतिर भत्केर भग्नावशेषमात्र बाँकी छ । घरभित्रै ठूला–ठूला काँडासहितका बिरुवा हुर्केका छन् । भग्नावशेष हेर्दा घरको भित्ताजस्तो पनि देखिँदैन ।

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घामा यही वर्ष घर पुनःनिर्माणको काम सुरु गर्ने तयारी गरिएको छ । भानु नगरपािलका–४ चुँदीरम्घा शिखर कटेरीस्थित खण्डहर बनेको पुरानो घर भएको ठाउँमा नयाँ घर पुनःनिर्माणको तयारी गरिएको हो ।

भानुभक्त आचार्यको सम्मानमा स्थापना गरिएको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले आगामी आर्थिक वर्ष २०८०÷८१ भित्रै घर पुनःनिर्माणको काम सुरु हुने समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले बताउनुभयो ।

घर पुनःनिर्माणका लागि बजेटको स्रोत सुनिश्चित नभए पनि समितिकै आन्तरिक कोषबाट भए पनि काम सुरु गरिने रानाभाटको भनाइ छ । उहाँले भन्नुभयो, “कङ्क्रिटको घर बनाउन नसकिए पनि ढुङ्गा माटोको भए पनि घर निर्माणका लागि काम सुरु हुन्छ, नगरपालिका, प्रदेश र सङ्घ सरकारलाई पनि घर निर्माणका लागि सहयोगको अपिल गर्छौँ ।”

पश्चिमाञ्चल विकास मञ्चले भानुगृह निर्माणका लागि २०७३ चैत २२ गते शिलान्यास गरे पनि काम सुरु हुनसकेको छैन । अब समिति भने विकास मञ्चको भर नपर्ने रानाभाटको भनाइ छ । उहाँले भन्नुभयो, “विकास मञ्चको भर पर्दा अपजसमात्रै भयो, अब हामी आफ्नै सक्रियतामा काम सुरु गर्छौँ ।”

भानुभक्तको घर पुनःनिर्माणपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ । रानाभाटले भन्नुभयो, “आदिकवि भानुभक्तको नाममा देश तथा विदेशमा भव्य कार्यक्रम हुन्छ तर गृहजिल्लामै भानुभक्तलाई उपेक्षित गरियो कि भन्ने भान हामीलाई हुन्छ । घर पुनःनिर्माण गर्न सकिए यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने विश्वास छ ।”

पश्चिमाञ्चल विकास मञ्चले भानुगृह निर्माणका लागि स्वामित्व ग्रहण र पूर्वाधार अभावको मुख्य समस्या देखिएपछि काम सुरु गर्न नसकिएको जनाएको छ । भानुगृह निर्माण गर्ने ठाउँ सामुदायिक वनभित्र रहेकाले सुरक्षाको पनि समस्या देखिएको छ । विसं २०५७ मा भानु जन्मस्थल विकास समितिको सहयोगमा यादव खरेलले ‘आदिकवि भानुभक्त’ चलचित्र निर्माण गर्नका लागि भानुभक्तको घर रु एक लाखमा पुनःनिर्माण गर्नुभएको थियो । जङ्गलबीचको खरको छानाको घरमा २०६१ जेठमा आगलागी हुँदा रु एक लाख २७ हजारको क्षति भएको थियो ।

भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले राष्ट्रिय विभूतिको अलपत्र रहेको घर पुनःनिर्माणका लागि नगरपालिका प्रयासरत रहेको बताउनुभयो । भानु जन्मस्थललाई भानुधामका रूपमा विकास गर्ने नगरपालिकाको योजना रहेको उहाँको भनाइ छ ।

भानुभक्त जन्मस्थल विकास समितिले गत वर्ष शिखर कटेरीमा पानी र बत्तीको व्यवस्था गरेको छ । शिखर कटेरीमा नै रामायण भवन निर्माण सम्पन्न भइसकेको छ । पर्यटन मन्त्रालयको रु तीन करोड लगानीमा रामायण भवन निर्माण गरिएको हो । रामायण भवनलाई आकर्षकरूपमा बनाइएको छ । भवनको बार्दली काठमा कुँदिएको कलात्मक छ ।

भानुभक्तको योगदानको कदर गर्दै चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल बनाउने भनेर योजना बनाइए पनि कार्यान्वयन नभएकामा सरोकारवालाको गुनासो छ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चमा आबद्ध रोमाकान्त पोख्रेलले नेपाली भाषाको एकीकरण गर्ने भानुभक्तको सम्मान हुन नसक्नु दुःखद् भएको बताउनुभयो ।

भानु जन्मस्थललाई सप्तधाममा विकास गरिने

भानुभक्त जन्म्स्थल विकास समितिले आदिकविको जन्मस्थललाई प्रचार–प्रसार गरी साहित्यिक पर्यटनका रूपमा देश–विदेशमा परिचित गराउन विभिन्न संरचना निर्माण थालेको छ । तर पर्याप्त बजेट नहुँदा त्यसले मूर्तरुप पाउन सकिरहेको छैन ।

आन्तरिक तथा बाह्य पर्यटनका लागि आफ्नै स्वामित्वमा रहेको १४ रोपनी जग्गामा भानु स्मृति पार्क निर्माण भइरहेको विकास समितिका कार्यकारी निर्देशक रानाभाटको भनाइ छ । चुँदीरम्घालाई सप्तधामका रूपमा विकसित गर्नका लागि गुरुयोजना बनाउने तयारी थालिएको रानाभाट बताउनुहुन्छ । “पर्यटकलाई आकर्षित गराउन चुँदीरम्घामा केही संरचना र विकासका काम गर्नुपर्नेछ, त्यसका लागि समितिसँग बजेट छैन”, रानाभाटले भन्नुभयो, “चुँदीरम्घाको विकासका लागि सङ्घ र प्रदेश सरकारसँग बजेट माग गरेका छाँै ।”

भानु जन्मस्थल क्षेत्रमा थप केही पूर्वाधार निर्माण गर्नका लागि गुरुयोजनाअनुसार रु तीन करोड बजेट लाग्ने देखिएको छ । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको कार्यालय, भानु संस्कृत मावि र भानु संस्कृत विद्यापीठमा कच्चीबाटो रहेकाले वर्षायाममा आवतजावत गर्न कठिनाइ भएकाले कालोपत्र, पक्की नालाका लागि बजेट आवश्यक रहेको रानाभाट बताउनुहुन्छ ।

दुई सय दशौँ भानु जयन्तीका अवसरमा आज चुँदीरम्घामा विविध कार्यक्रम हुँदैछ । समितिको आयोजनामा प्रभातफेरी, प्रवचन, पुरस्कार वितरणलगायतका कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डको उपस्थिति रहने आयोजकले जनाएको छ ।

बस खस्दा १९ यात्रु घाइते

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन् । सडकखण्डको भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा बागमती प्रदेश०१–००६ख ५२३७ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो ।

काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको बस आज बिहान ५ः२० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । बस अनियन्त्रित भई सडकबाट १० मिटर तल खसी रुखमा अड्किएको छ । बसमा ४० यात्रु सवार थिए ।

घाइतेमध्ये १० जनाको पुरानो मेडिकल कलेजमा, आठ जनाको भरतपुर अस्पतालमा र एक जनालाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

पहिरोपीडित दुई वर्षदेखि त्रिपालमुनि

किमाथाङ्का – सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका पहिरोपीडित दुई वर्षदेखि त्रिपालमुनि बास बस्न बाध्य छन् । विस्थापित ९७ परिवार त्रिपालमुनि कष्टपूर्ण जीवन बिताउँदै आएका छन् ।

विसं २०७९ असार २८ गते राति आएको पहिराले सिलिचोङ–१ बेसिन्दाका नौ घर बगाउँदा ११ जना बेपत्ता भएका थिए । सरोकारवाला निकायले चासो नदेखाउँदा विस्थापित परिवारको बिचल्ली भएको छ । पहिराले घर बगाएका पीडितसित ओत लाग्ने ठाउँ छैन । पहिराबाट विस्थापित परिवारमध्ये २५ परिवार चित्रे, १२ परिवार बखल्टुमटार र अन्य खाँदबारीमा अस्थायीरूपमा बसिरहेका गाउँपालिकाका अध्यक्ष भुपालराज मेवाहाङले जानकारी दिनुभयो ।

“भवन निर्माणका लागि बजेटको अभाव छ”, उहाँले भन्नुभयो । गाउँपालिकाले पहिरोपीडितको आवास निर्माणका लागि रु पाँच लाख ५० हजार उपलब्ध गराउने निर्णय गरेको छ । पहिरोपीडितका लागि सङ्घीय सरकारले ६० प्रतिशत, प्रदेश सरकारले ३० र स्थानीय सरकारले १० प्रतिशत बजेट उपलब्ध गराउने निर्णय भएको थियो । पानी पर्न थालेपछि उनीहरुलाई घर बगाउने चिन्ता रहन्छ ।

जोखिम भए पनि अन्यत्र जाने ठाउँ नभएपछि केही परिवार बेसिन्दामै बसिरहेका छन् । गाउँपालिका र जिल्ला विपद् व्यवस्थापन समितिले खाँदबारी नगरपालिका–७ स्थित भैरेडाँडामा ५५ परिवारका लागि ६९ रोपनी जग्गा रु एक करोड ३० लाखमा खरिद गरिसकेको छ । तर भवन निर्माणको भने टुङ्गो लागेको छैन ।

मनसुनी वायुको प्रभाव, देशैभरि पानी पर्ने

काठमाडौँ – हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। 

मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्व  तिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको  छ। कोसी,  बागमती तथा गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोसी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षा पनि भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोसी  र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। छ। मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

राती भने देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोसी, गण्डकी र प्रदेशका एक(दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहनु साथै मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको हुनाले यसबाट सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिन्छ। 

तसर्थ हावाहुरी, भारी वर्षा, मेघ गर्जन र चट्याङ, गेग्र्यान बहाव, बाढी, पहिरो तथा भू क्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०८० असार २९ गते (शुक्रवार)
दिउँसो
:  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोसी  र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।
​​​​​​​राती: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

२०८० असार  ३० गते (शनिवार
दिउँसो:
  देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरूमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। 
राती: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेश र मधेस प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। 

२०८० असार  ३१ गते (आइतबार)
दिउँसो:
  देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी  र गण्डकी प्रदेशका एक दुई स्थानहरूमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। 
राती: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक दुई स्थानहरूमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोसी प्रदेश र मधेस प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

भानुभक्तका पनाति भन्नुहुन्छ, चुँदीरम्घालाई पर्यटकीय स्थल बनाइएन 

चुँदीरम्घा (तनहुँ)  – राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मथलो तनहुँको चुँदीरम्घाबारे नसुन्ने सायदै कोही होलान् तर उक्त स्थलमा पुग्ने नेपाली र विदेशी पर्यटक भने नगण्य देखिएका छन् ।

आदिकविको लोकप्रियता र भाषिक एकताको श्रीगणेशको श्रेयका दृष्टिले चँुदीरम्घामा पर्यटकीय गतिविधि बढेको हुनुपर्नेमा त्यस्तो हुन नसकेको सन्दर्भ क्रमशः उठ्न थालेको छ । पर्यटकीय पूर्वाधारका रूपमा भानुका साहित्यिक सङ्ग्रहालय, पक्की सडक, होटल या घरबास आदिको प्रबन्ध नहुनुले पनि यस्तो भएको हुनसक्छ । भानुसँग जोडिएको घाँसीकुवा पनि पृथ्वीराजमार्गमा बनाइएको छ र चँुदीरम्घामा हेर्नै पर्ने भानुसँग जोडिएका विशेष स्मृति स्थल निर्माण गरिएको छैन ।

नेपाल सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मातहत हुने गरी सञ्चालनमा ल्याएको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले भानुका हरेक जन्म जयन्तीमा विविध साहित्यिक र प्रतियोगितात्मक कार्यक्रम भने गर्दै आएको छ । यस्ता कार्यक्रममा काठमाडौँ र विभिन्न जिल्लाबाट आमन्त्रण गरिएका केही कवि पुग्छन् । सीमित स्थानीयवासी र आसपासका विद्यालयका शिक्षक–विद्यार्थी कार्यक्रममा सहभागी हुन्छन् । त्यसपछि एक वर्षसम्म चुँदीरम्घाको साहित्यिक वातावरण सुनसान रहन्छ ।

भानुभक्तका ८२ वर्षीय पनाति हरिनाथ शर्मा आचार्यको मनमा पनि यो कुरा गढेको रहेछ । नेपाल सरकारले पर्याप्त ध्यान दिन नसकेका कारण भानुको जन्मस्थल ओझेलमा परेको उहाँको गुनासो छ । उहाँले आफू केही समयअघि भारतको सिक्किम जाँदा त्यहाँ भानुको भव्य जन्म जयन्ती मनाइएको देखेर भानु कतै उतै जन्मिएका त होइनन् भन्ने खालको भ्रम पैदा भएको व्यङ्ग्यात्मक टिप्पणी गर्नुभयो । भानुभक्तका छोरा रामनाथ थिए भने उनका छोरा देवीभक्तका छोरा हरिनाथ आचार्य गाउँमै सामान्य किसानी गरेर दिन बिताउनुहुन्छ । रामनाथका दुई श्रीमतीमध्ये अर्की श्रीमतीपट्टिका एक नाति हरिनाथभन्दा जेठा पनि जीवितै छन् ।

भानुभक्तको २१०औँ जन्म जयन्तीका अवसरमा विकास समितिले शुक्रवार भानु नगरपालिका–४ मा आयोजना गरेको भानुभक्तीय रामायण वाचन तथा खुला कविता प्रतियोगिता कार्यक्रममा सहभागी स्रष्टाहरूले पनाति हरिनाथसँग भेट्न र सँगै तस्बिर खिचाउन पाउँदा बेग्लै अवसरको अनुभव गरेका थिए । पनाति आचार्यले रासससँग कुरा गर्दै भन्नुभयो, “यत्रो देश–विदेशमा नाम कहलिएका भानुको जन्मस्थललाई आजसम्म पर्यटकीय गन्तव्य नबनाइएकामा हामी परिवारका तर्फबाट दुःख व्यक्त गर्दछौँ ।”

उक्त स्थललाई पर्यटकीय गन्तव्य बनाउन पहल भने नभएका होइनन् । डा जयराज आचार्यको अध्यक्षतामा गठित भानु साहित्य उद्यानका महासचिव काशीराज आचार्यले रम्घाडाँडामा रहेको चार सय रोपनी जग्गा अधिग्रहण गराएर त्यहाँ साहित्य उद्यान बनाउने कार्य सुरु भएको जानकारी दिनुभयो । सोका लागि सरकारबाट रु एक करोड निकासा भएको थियो । उद्यानले व्यक्तिगत स्तरमा पनि आर्थिक सहयोग जुटाइ विकास समिति र नगरपालिकालाई यस्ता काममा भरथेग र सहजीकरण गर्दै आएको छ । महासचिव आचार्यले सबै जग्गा अधिग्रहण भइसकेपछि उक्त डाँडामा भानुको एक सय आठ फिटको विशाल मूर्ति बनाउने लक्ष्य लिइएको बताउनुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा विष्णुविभु घिमिरेले चुँदीरम्घालाई गन्तव्य स्थल बनाउन आग्रह गर्दै आदिकविले जनजीवनका सरल शैलीमा भानुभक्तीय रामायण र अन्य लोकप्रिय रचना गरेका कारण उहाँको कीर्ति नेपाल बाहिर नेपालीहरू पुगेका सबै स्थानमा भएको बताउनुभयो । उहाँले प्रतिभा अब्बल भएमा कुनै सञ्चारमाध्यम वा विमोचनजस्ता कार्यक्रमबाट प्रचार नभए पनि मानिसले कृति आफैँ बोकेर देशाटन गर्ने उदाहरण रामायणलाई लिन सकिने जनाउनुभयो ।

सोही स्थानमा जन्मिएका अध्येता एवं साहित्यकार विधान आचार्यले पृथ्वीराजमार्गमा बनाइएको घाँसीकुवा नै भानुभक्तीय कुवा हो भन्ने प्रामाणिक आधार नभएकाले यसबारे अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

यसैबीच भानु जयन्ती मनाउन चुँदीरम्घामा काठमाडौँ र विभिन्न स्थानबाट आएका कविले बिहीबार साँझ बन्दीपुरमा काव्य साँझ मनाएका छन् । कार्यक्रममा डा घिमिरे, तीर्थ श्रेष्ठ, किशोर श्रेष्ठ, विधान आचार्य, राजेन्द्र शलभ, विश्व विमोहन श्रेष्ठ, नवराज कार्की, डा हिरण्यलाल ज्ञवाली, ज्योति जङ्गल, रीमा केसी, लक्ष्मी माली, अमृत क्षेत्री, प्रतिमा पोखरेल, ईश्वरमणि अधिकारी, सञ्जीव पौडेल, काशीराज आचार्य, भीष्म उप्रेती, असीम सागर, रुद्र ज्ञवाली, स्नेह सायमीलगायतले रचना वाचन गर्नुभएको थियो ।

भानु जयन्तीका अवसरमा आज विकास समितिको कार्यालयबाट बिहान झाँकी प्रदर्शनीसहित प्रभातफेरी सुरु भई चुँदीरम्घास्थित आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गरिँदै छ । 

दिउँसो भानुभक्तीय रामायण वाचन र खुला कविता प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण र अन्य साहित्यिक कार्यक्रमका साथै समितिद्वारा पहिलो पटक प्रकाशित भानुभक्तको रामायण ग्रन्थको विमोचन हुँदैछ । रासस

एमालेको केन्द्रीय कार्यालयको बैठक बस्दै

काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक आज बस्दै छ ।

यही असार ३० गते अर्थात् भोलिका लागि बोलाइएको सचिवालय बैठकको एजेन्डा तय गर्नका लागि आज दिउँसो ३ः०० बजे ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा केन्द्रीय कार्यालयको बैठक बस्न लागेको केन्द्रीय कार्यालय सचिव डा.अधिकारीले जानकारी दिनुभयो ।

यसअघि, अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक जीवन सुदृढीकरण र आगामी सचिवालय बैठकका विषयमा बुधवार र बिहीबार गरी दुई दिन पार्टी उपाध्यक्षसँग छलफल गर्नुभएको थियो । 

आजको केन्द्रीय कार्यालयको बैठकले भने सचिवालय बैठकको एजेन्डा तय गर्ने सचिव डा.अधिकारीले बताउनुभयो ।

आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती आज मनाईंदै

काठमाडौं – नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाईंदैछ ।

संस्कृत भाषामा लेखिएको राजा रामको जीवनीलाई भावानुवादसहित ‘रामायण’ प्रस्तुत गरेर भानुभक्त आचार्यले नेपाली जनतालाई ठूलो गुन लगाउनुभएको छ । उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीहरूको घरघरमा लय हालेर पाठ गरिन्छ ।

पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गर्नुभएको हो ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउन अर्ती दिएपछि भानुभक्तले रामायणलाई नेपाली भाषामा रचना गर्न प्रेरित हुनुभएको थियो ।

भानुभक्तले ‘बधुशिक्षा’ ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’ र अन्य फुटकर कृतिहरुको रचना गर्नुभएको छ । आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’ को कट्टर विरोधी भएर कवितामा भोलिको घोर विरोध गर्नुभएको छ ।

नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउन भानुभक्तको ऐतिहासिक योगदान रहेको छ ।

भानुको जन्मजयन्ती नेपाल बाहिर भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी रहेका देश एवं स्थानमा समेत मनाउने गरिएको छ । आदिकवि भानुभक्त आचार्यको निधन विसं १९२५ असोजमा भएको थियो ।

यसैबीच गण्डकी प्रदेशले भानुजयन्तीका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । प्रदेश मन्त्रिपरिषद्को मिति २०७९ चैत ८ गतेको निर्णयअनुसार प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक बिदासम्बन्धी सूचनाबमोजिम भानुजयन्तीका अवसरमा उक्त दिन बिदा दिने निर्णय गरिएको हो ।

गण्डकीमा रासायनिक मल मौज्दात

अन्नपूर्ण (कास्की) – गण्डकी प्रदेशमा यस किसानलाई आवश्यक रासायनिक मल मौज्दात रहेको छ । बर्सेनि धानखेतीको समयमा रासायनिक मलको अभाव झेल्दै आएका गण्डकी प्रदेशका किसानलाई कृषि सामग्री कम्पनी लिमिटेड पोखराले मल अभाव नहुने जानकारी दिएको हो ।

कृषि सामग्री कम्पनी लिमिटेड गण्डकी प्रदेश प्रादेशिक कार्यालय, पोखराका प्रमुख ठाकुरप्रसाद बास्तोलाका अनुसार हाल कम्पनीमा डिएपी २१ टन र युरिया पाँच टन गोदाममा छ । थप मल आउने क्रममा रहेकाले यस वर्ष धानखेतीको समयमा रासायनिक मल अभाव नहुने उहाँले जानकारी दिनुभयो ।

यो वर्ष अहिलेसम्म मलको अभाव नरहेको राष्ट्रिय कृषक समूह महासङ्घ नेपालका केन्द्रीय उपाध्यक्ष चित्रनाथ सापकोटाले जानकारी दिनुभयो । धान लगाउने समयमो छिटपुटरुपमा पोटासको अभाव देखिए पनि युरिया र डिएपीको अभाव नरहेको उपाध्यक्ष सापकोटाको भनाइ थियो । “तत्काललाई मलको समस्या देखिएको छैन् । अब युरिया मल आवश्यक पर्ने समय आउँदैछ”, उपाध्यक्ष सापकोटाले भन्नुभयो, “युरिया स्टकमा छैन भनेको सुनेको छु तर आधिकारिक सूचना आएको छैन तर, अहिलेसम्मलाई समस्या छैन ।”

गण्डकी प्रदेशमा एक वर्षमा पाँच हजार टन युरिया, तीन हजार टन डिएपी र पाँच सय टन पोटास आवश्यक पर्ने कृषि सामग्री कम्पनी लिमिटेड पोखराका प्रमुख ठाकुरप्रसाद बास्तोलाले जानकारी दिनुभयो । यीमध्ये कास्कीमा एक हजार टन, डिएपी पाँच सय टन र पोटास पचास टन आवश्यक रहेको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षको अन्त्यसम्ममा कास्कीका लागि आवश्यकमध्ये युरिया छ सय टन, डिएपी तिन सय टन र पोटास २१ टन आइसकेको छ । सोही आधारमा अन्य जिल्लाका लागि पनि रासायनिक मल आइसकेको प्रमुख बास्तोलाले जानकारी दिनुभयो ।

अहिलेसम्म आएको मलले उपभोक्ताको चित्त बुझाइरहेको प्रमुख बास्तोलाले बताउनुभयो । उहाँले भन्नुभयो, “सहकारी संस्था र कृषि सामग्री विक्रेताको माग त ठूलो छ । उहाँहरुको मागअनुुसार त पु¥याउन सकेको छैन तर चित्त बुझाएको छु ।” मल अभाव हुन नदिनका लागि नातावाद र पहँुचका आधारमा नबाढी दामासाही ढङ्गले सहकारी संस्था र कृषि सामग्री विक्रेतालाई दिएको उहाँले सुनाउनुभयो ।

गण्डकीमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टे«डिङले मल बिक्री गर्दै आएका छन् । जसमा कृषि सामग्रीले ७० र साल्ट ट्रडिङले ३० प्रतिशत मल बिक्री गर्दै आएको छ । कृषि सामग्री कम्पनी लिमिटेडले प्रदेशका ११ वटै जिल्लामा मल बिक्री गर्दै आएको लिमिटेडका सूचना अधिकारी गोपालजङ्ग गुरुङले जानकारी दिनुभयो । गण्डकी प्रदेशमा सबैभन्दा बढी नवलपुर र त्यसपछि स्याङ्जा, तनहुँ, कास्कीलगायत जिल्लामा मल खपत हुने गरेको सूचना अधिकारी गुरुङले बताउनुभयो ।

बेल्टारी र दर्पुक जोड्न नयाँ पुल बनाइँदै

गल्याङ – कालीगण्डकी नदीमाथि गण्डकी प्रदेश र लुम्बीनी प्रदेश जोड्ने मोटरेवल पुल निर्माणको काम धमाधम भइरहेको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बेल्टारी र पाल्पाको बगनासकाली गाउँपालिका–६ दर्पुक जोड्न नयाँ मोटरेवल पुल बन्न लागेको हो ।

सडक विभाग पुल महाशाखाअन्तर्गत सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पुल सेक्टर पोखरा र गौरी पार्वती न्यू टेक्निकल जेभी कुपण्डोल ललितपुरबीच पुल निर्माणका लागि २०७९ भदौमा सम्झौता भएको हो । निर्माण कम्पनीका इन्जिनियर मनिष भण्डारीका अनुसार उक्त पुल रु १५ करोड ४९ लाखको लागतमा ३३ महिनामा सक्ने गरी बन्न लागेको हो ।

उक्त पुल १२० दशमलव ८० मिटर लम्बाइ र ११ मिटर चौडाइको हुनेछ । पैदलयात्रुका लागि दायाँबायाँ फुटपाथ निर्माण गरिने छ । कालीगण्डकी लोकमार्ग र कालीगण्डकी कोरिडोरसमेत जोड्ने पुलले पाल्पाको मिसन अस्पताल, पर्यटकीयस्थल रानीघाट, तराईका जिल्लामा आवगमन गर्न सहज हुने इन्जिनियर भण्डारीले बताउनुभयो । पुल निर्माणका लागि गाउँपालिकाले लामो समयदेखि पहल गर्दैआएको थियो ।

कालीगण्डकी गाउँपालिका–५ बेल्टारीका अनिष न्यौपानेले स्याङ्जाबाट मिसन अस्पताल जाने छोटो बाटो नहुँदा बिरामीले अकालमै ज्यान गुमाउनुपरेका थुप्रै घटना बेहोर्नुपरेको सुनाउनुभयो । “पुल निर्माण गर्ने वर्षौंको हाम्रो सपना पूरा भएको छ”, उहाँले भन्नुभयो, “मिसन अस्पताल जानआउन पुलले बाटो छोट्याउने भएपछि हामी खुसी छौँ ।” मोटरेबल पुल निर्माण भएपछि मालसमान ढुवानी गर्न, धार्मिक तथा पर्यटकीय यात्रा गर्न सहज हुने विश्वास गरिएको छ ।

बगान समाज परिवर्तन गर्ने चलचित्र : उपसभामुख राना

काठमाडौँ – प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले समाज परिवर्तनमा पुरुष भूमिका विशेष हुने बताउनुभयो । 

बुधवार साँझ आयोजित चलचित्र ‘बगान’ को विशेष प्रदर्शनीमा सहभागी हुँदै उहाँले उक्त चलचित्रमार्फत एकल आमाको कथा, सङ्घर्ष, दायित्वसँगै परिवार र समाजबाट खोज्ने साथलाई देखाइएको बताउनुभयो । 

“एकल आमाको भावनालाई चलचित्रमार्फत समाजसम्म पुर्‍याउने प्रयास गरिएको छ । समाज मात्र नभई आफ्नै परिवारबाट सहयोग नपाउँदा जीवन यात्रामा भोग्ने कठिनाइ चलचित्रमार्फत उजार गरिएको छ”, उपसभामुख रानाले भन्नुभयो । समाज रूपान्तरणमा पुरुषले महिलालाई साथ दिने मात्र नभई परिवर्तनकारी भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो । 

“एकल आमाले नयाँ जीवन बाँच्न पाउनुपर्छ भन्ने तथ्यलाई प्रस्ट्याउँदै यसले समय परिवर्तन गर्न भूमिका खेल्छ”, उहाँले भन्नुभयो । 

विशेष प्रदर्शनीमा चलचित्र ‘बगान’ हेर्न राजनीतिज्ञसँगै कलाकर्मी उपस्थित थिए । चलचित्र हेरेपछि अभिनेता रमेश उप्रेतीले आफूले केही दृश्यमा आँसु रोक्न नसकेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “यसमा कथ्य शैलीसँगै हरेक कलाकार आफूलाई सुहाउँदो भूमिकामा प्रस्तुत हुनुभएको पाए । अभिनेता सरोज खनालको भूमिका महत्त्वपूर्ण रहेको पाए ।” 

अभिनेत्री करिश्मा मानन्धरले चलचित्रको कथा मन परेर नै अभिनयसँगै निर्माणमा सहकार्य गरेको बताउनुभयो । “यसमा मेरो र मेरो आमाको कथासमेत पाइन्छ । यसले समाज र परिवारको कारण आफूलाई स्वतन्त्र हुनबाट रोकिरहेका एकल आमालाई जीवन बाँच्ने प्रेरणा दिन्छ । म प्रतिनिधि पात्र मात्र हुँ ।” उहाँले दर्शकलाई परिवारका साथमा चलचित्र हेर्न आग्रह गर्नुभयो । 

यसै चलचित्रमार्फत अभिनयको सुरुआत गर्नुभएकी अभिनेत्री प्रमिला कार्कीले पहिलो दर्शक नै चलचित्रकर्मी बन्दा उत्साह र डर दुवै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “निकै हिम्मत जुटाएर अग्रज कलाकारसँग बसेर आफूलाई पर्दामा हेरेँ । उहाँहरूले दिनुभएको प्रतिक्रियाले उत्साहित छु ।”

चलचित्रका गीतकार सुरेश वाग्लेले कथालाई अगाडि बढाउन गीतले भूमिका खेलेको बताउनुभयो । तीन दशकको अभिनयको अनुभव सङ्गाल्दै निर्देशक बन्नुभएका अभिनेता खनालले आफूलाई कथा वाचक भन्न रुचाउनुभयो । उहाँले भन्नुभयो, “मैले त कथा र पात्रलाई भेट गराए । बाँकी काम उहाँले नै गर्नुभयो । यसलाई स–परिवार हेर्न म आग्रह गर्दछु ।” 

चलचित्रमा आकाश श्रेष्ठ, नीर शाह, वसुन्धरा भुसाल, मिथिला शर्मालगायतका कलाकारको अभिनय रहेको छ । स्वप्निल नीरवको कथामा तयार भएको उक्त चलचित्रमा गौरीशङ्कर धुजुले छायाङ्कन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायाङ्कन, सन्देश शाहले सम्पादन तथा रेनिश फागोले रङ्ग संयोजन गर्नुभएको छ । 

सो चलचित्र यही असार २९ गतेदेखि प्रदर्शन हुँदैछ । रासस

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयक पारित गरिने

काठमाडौँ – राष्ट्रियसभा बैठक बस्दै छ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा राष्ट्रियसभा बैठक बस्नेछ । बैठक बिहान १०ः०० बजे बस्नेछ । बुधवार स्थगित भएको बैठक आज बस्न लागेको हो ।

सङ्घीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० पारित हुदैँछ ।

जसअनुसार आजको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यक्रम तय भएको छ भने आजै खर्च कटौती सम्बन्धी प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्य तालिका तय भएको छ ।

त्यसपछि अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जारी गर्नुभएको कार्य तालिकामा उल्लेख छ ।

खाद्यान्न सङ्कट अझै महामारीअघिको स्तरभन्दा माथि : संयुक्त राष्ट्रसङ्घ

पेरिस- विगत सात वर्षसम्म विश्वमा भोकमरी बढ्दै गएकोमा सन् २०२२ मा भोकमरी वृद्धिको अवस्था स्थिर तर महामारीअघिको स्तरभन्दा माथि रहेको संयुक्त राष्ट्रसङ्घीय निकायले बुधबार बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन, अन्तर्राष्ट्रिय कृषि विकास कोष, युनिसेफ, विश्व खाद्य कार्यक्रम र विश्व स्वास्थ्य सङ्गठनले तयार पारेको प्रतिवेदनमा सन् २०३० सम्ममा उन्मूलन हुने सम्भावना नरहेको उल्लेख गरिएको छ ।

गत वर्ष ६९ करोड १० लाखदेखि ७८ करोड ३० लाखको हाराहारीमा मानिस भोकमरीको सामना गरेका थिए अर्थात् औसतमा ७३ करोड ५० लाख मानिस भोकमरीको चपेटामा परेका प्रतिवेदनमा उल्लेख छ ।

सन् २०१९ मा विश्व जनसङ्ख्याको ७.९ प्रतिशत भोकमरीमा रहेकामा सन् २०२२ मा यो सङ्ख्या बढेर ९.२ प्रतिशत पुगेको छ ।

‘स्टेट अफ फुड सेक्युरिटी एण्ड न्युट्रिसन इन द वल्र्ड’को प्रतिवेदनअनुसार सन् २०२१ देखि २०२२ को बीचमा खाद्य सङ्कट करिब ३८ लाख मानिसको सङ्ख्यामा कमी आएकाले वार्षिक वृद्धि ‘रोकिएको’ हो ।

अफ्रिका, पश्चिम एसिया र क्यारेबियन क्षेत्रमा भोकमरी अझै बढ्दै गएकाले आत्मसन्तुष्टिको कुनै ठाउँ नभएको अधिकारीहरूले चेतावनी दिएका छन् ।

यो प्रतिवेदन ‘विश्व अझै पनि विश्वव्यापी महामारीबाट गुज्रिरहेकोे र अहिले युक्रेनमा युद्धको परिणामसँग जुधिरहेको अवस्थामा आएको हो । यसले खाद्य र ऊर्जा बजारलाई थप झकझकाएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०१९ यता यी सङ्कटले थप १२ करोड २० लाख मानिसलाई भोकमरीमा डुबाएको छ ।

“महामारीपछिको आर्थिक पुनः रुत्थानले स्थितिमा सुधार ल्याउन मद्दत ग¥यो, तर युक्रेनको युद्धका कारण खाद्यान्न र ऊर्जाको मूल्यवृद्धिले सामान्य प्रगतिलाई कमजोर बनाएकोमा कुनै शङ्का छैन,” प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनमा भनिएको छ, “यो अनुमानले भोकमरी ‘अब विश्वव्यापी स्तरमा बढिरहेको छैन’ तर यो ‘कोभिड–१९ महामारीअघिको स्तरभन्दा निकै माथि छ र भोकमरीमुक्त विश्वको दिगो विकास लक्ष्य–२ हासिल गर्ने मार्गबाट निकै टाढा छ ।

संयुक्त राष्ट्रसङ्घका निकायहरूका अनुसार विश्वले आफ्नो प्रयासलाई दोब्बर बनाउन सकेन भने सन् २०३० सम्ममा भोकमरी, खाद्य असुरक्षा र कुपोषणजस्ता सबै प्रकारका खाल सङ्कटलाई उन्मूलन गर्ने लक्ष्यको पहुँचबाहिर रहनेछ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले एक विज्ञप्ति जारी गर्दै सन् २०३० को पोषण लक्ष्य हासिल गर्ने दिशामा केही क्षेत्र अघि बढेको बताउनुभएको छ ।

तर समग्रमा भन्नुपर्दा दिगो विकास लक्ष्यलाई उकास्न हामीलाई तीव्र र तत्काल विश्वव्यापी प्रयासको खाँचो छ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१५ मा तयार पारेको दिगो विकास लक्ष्यमा भोकमरी र गरिबीको अन्त्यलगायत १७ वटा अन्तरसम्बन्धित उद्देश्य समावेश छन् । यदि प्रगतिको गति अघि बढ्न सकेन भने सन् २०३० सम्ममा पनि करिब ६० करोड मानिस भोकमरीको चपेटामा पर्न सक्छन् ।

खाद्य असुरक्षा र कुपोषणका प्रमुख कारकहरु द्वन्द्व, आर्थिक सङ्कट, प्राकृतिक विपत्तिका साथै असमानता नवसामान्य बन्न पुगेको संयुक्त राष्ट्रसङ्घका निकायहरूले चेतावनी दिएका छन् ।

अन्तर्राष्ट्रिय कृषि विकास कोषका प्रमुख अल्भारो लारियोले भन्नुभयो, “हामीले जुन कुराको कमी महसुस गरिरहेका छौं, त्यो भनेको लगानी र राजनीतिक इच्छाशक्ति हो ।”

विश्व खाद्य कार्यक्रमले गत मे महिनामा सोमालिया, केन्या र इथियोपियाका दुई करोड ३० लाखभन्दा बढी मानिसलाई अनिकाल पर्ने चेतावनी दिएको थियो ।

सन् २०२२ मा विश्वका १० मध्ये तीन जना गरी करिब २ अर्ब ४० करोड मानिस मध्यम वा गम्भीर खाद्य असुरक्षाबाट पीडित भएका थिए ।

महामारीले धेरै मानिसको आयमा असर पारेको र युक्रेन युद्धका कारण मूल्य वृद्धि भएको र अर्बौं मानिस किफायती स्वस्थ आहारको पहुँचबाट बञ्चित भएको संयुक्त राष्ट्रसङ्घीय निकायहरूले बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार गत वर्ष तीन अर्ब १० करोडभन्दा बढी मानिससँग स्वस्थ र सन्तुलित आहारका लागि पर्याप्त पैसा थिएन ।

डब्लुएफपीका कार्यकारी निर्देशक सिन्डी म्याक्केनले बुधबार चेतावनी दिँदै भन्नुभयो, “भोकमरी बढिरहेको छ भने अति जोखिममा रहेकाहरूको सुरक्षाका लागि हामीलाई तत्काल आवश्यक पर्ने स्रोतहरू खतरनाक रूपमा कम भइरहेका छन् ।”

म्याक्केनका अनुसार हामीले अहिलेसम्म देखेको सबैभन्दा ठूलो मानवीय चुनौतीकोरूपमा भोकमरीको समस्याको सामना गरिरहेका छौं ।एएफपी 

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ – पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने एकमात्र बेँसीसहर–चामे सडक आजदेखि दुई बन्द हुने भएको छ ।

यस सखडकखण्डको तिमाङ पावर हाउस खोलाको काठे पुल र स्यार्कु खोलाको काठे पुल भाँचिएकाले काठेपुल निर्माणका लागि आज बिहान १० बजेदेखि भोलि साँझ ५ बजेसम्मको लागि सडक बन्द हुने डुम्रे बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ ।

बेँसीसहर चामे सडकखण्ड अन्तर्गत मनाङको चामे गाउँपालिका–१ स्थित तिमाङ पावर हाउस खोलाको काठे पुल र वडा नं २ स्थित स्यार्कु खोलाको काठे पुल गरी दुई ठाउँमा काठेपुल निर्माण गर्न लागेको र सो स्थानमा वैकल्पिक सडक नभएकाले सडक बन्द गरिएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका इन्जिनियर सुमन अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “उक्त दुई स्थानमै दुई वर्षअघि काठे पुल निर्मापण गरेका थियौँ, अहिले पुलमा राखिएको काठ जीर्ण हुँदै गएको र लोड भएका सवारी साधनसमेत गुड्ने भएकाले कुनै क्षति नहोस् भनेर पुराना काठ हटाएर नयाँ राखेर निर्माण गर्न लागेका छौँ । समयमै जीर्ण पुल मर्मत गर्नसकेमा कुनै मानवीय तथा भौतिक क्षति नहुने भएकाले तत्काल नयाँ पुल निर्माण गर्न लागेको उहाँको भनाइ छ । उहाँका अनुसार तिमाङ खोलाको काठे पुल यसअघि सात मिटर रहेकोमा लम्बाइ नौ मिटर र चौडाइ साढे चार मिटर मिटरको बन्ने भएको छ । त्यस्तै, स्यार्कु खोलामा सात मिटर लम्बाइ र चार मिटर चौडाइको काठे पुल निर्माण हुने बताइएको छ ।

पुल निर्माणको लागि मङ्गलबारबाटै रुख काट्ने, पुलको लागि फलेक बनाउनेलगायतका काम हुँदै आएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका इन्जिनियर अधिकारीले बताउनुभयो । सो स्थानमा सवारी साधनलाई धेरै जोखिम हुँदै आएपछि मर्मतका लागि मनाङको जिल्ला प्रशासन कार्यालयलाई दुई दिनको लागि सडक बन्द गर्न सूचना प्रकाशित गर्न अनुरोध गरेर प्रशासनले समेत बुधबार सूचना जारी गर्दै सडक बन्द हुने ब्यहोरा जानकारी दिएको उहाँको भनाई छ ।

मनाङलाई सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुरुप विसं २०५१ बाट सडक डिभिजन कार्यालय दमौली तनहुँले बेँसीसहर चामे सडक निर्माण अघि बढाएको थियो तर पछि जनयुद्ध र अन्य विविध कारणले तत्कालीन नेपाली सेनाले उक्त सडक विसं २०५७ बाट सडक अघि बढाउने पुनः जिम्मेवारी प्राप्त ग¥यो ।

तत्कालीन नेपाली सेनाले शान्ति प्रक्रियपछि मात्र सडक निर्माणलाई निरन्तरता दिँदै बाँदर लड्लाजस्तो जोखिमपूर्ण भीरमा ज्यानको बाजी राख्दै विसं २०६९ मा सडक निर्माण सम्पन्न गर्दै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो ।

तत्कालीन कार्य गणका इन्जिनियर भरत श्रेष्ठ र इन्द्रिबर गुरुङको नेतृत्वमा सडक सम्पन्न गर्दै हस्तान्तरण गरेयता सडक भने जीर्ण बन्दै गएको छ । यस सडक ६५ किलोमिटरमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर रहेको छ । यस सडक जीर्ण वा बन्द हुँदा प्रत्यक्ष वा बढी मनाङवासीलाई मर्का पर्दै आएको छ ।

रोजगारीकै लागि पढाइ छोड्छन् बालबालिका

डडेल्धुरा – डडेल्धुरामा रोजगारीका लागि बीचमै पढाइ छोड्ने बालबालिकाको सङ्ख्या धेरै रहेको छ । आर्थिक अवस्था कमजोर हुँदा उनीहरु पढाइलाई भन्दा रोजगारको खोजी गर्न बाध्य छन् । कतिपय बालबालिका सानै उमेरमा बिबाह गरिदिँदा पनि पढाइ छोड्न बाध्य छन् ।

भागेश्वर गाउँपालिकामा बीचमै पढाइ छाड्नेको सङ्ख्या अत्यधिक रहेको पाइएको छ । गुणस्तरीय शिक्षाको अभाव, प्राविधिक शिक्षाको कमी, आर्थिक अवस्थाका कारण रोजगारका लागि जानुपर्ने बाध्यता र बालविवाहले गर्दा शैक्षिक सत्रको बीचमा नै कक्षा छोड्ने छात्रछात्राको सङ्ख्या बढी रहेको गाउँपालिकाले जनाएको छ । यसरी पढाइ छोड्नेमा छात्रा बढी छन् । उनीहरुका परिवारले सानो उमरेमा विवाह गरिदिने पाइएको छ ।

यो समस्या भागेश्वरको मात्रै होइन । जिल्लाका अन्य पालिकामा पनि रहेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । कक्षा १ देखि १० सम्म विद्यालय छाड्ने बालबालिका बढी छन् । कतिपय स्थानीय तहका माध्यमिक विद्यालयमा कृषि, वन विज्ञानलगायत विषयको पढाइ सुरु भए पनि उच्च शिक्षाका लागि बाहिर जानुुपर्ने बाध्यता छ ।

“आर्थिक अवस्था कमजोर भएका अभिभावकले आफ्ना सन्तानलाई उच्च शिक्षा दिलाउन सकिरहेका छैनन”, अजयमेरु गाउँपालिका–१ का वडाध्यक्ष दत्तिसिंह भण्डारीले भन्नुभयो । स्थानीयस्तरमै बालिबालिकाले उच्च शिक्षा हासिल गर्ने वातावरण बनाउन आवश्यक भएको उहाँको भनाइ छ । भागेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीका अनुसार भागेश्वरमा अहिलेसम्म करिब ५.५ प्रतिशत बालबालिकाले बीचमै पढाइ छाडेको पाइएको छ । बत्तीस विद्यालय रहेको उक्त गाउँपालिकामा आठ माध्यमिक तथा २४ आधारभूत विद्यालय छन् ।

चालु शैक्षिक सत्रमा तीन हजार पाँच सय ५१ बालबालिका विद्यालयमा भर्ना भएका छन् । करिब ५.५ प्रतिशत बालबालिका विद्यालयको पहँुचभन्दा बाहिर छन् । सामाजिक सञ्जालको दुरुपयोग, भारतसँग सीमा जोडिएको क्षेत्र भएकाले बीचमै पढाइ छोडी रोजगारका लागि भारत जानेको सङ्ख्या अत्यधिक छ । गरिबीका कारण उच्च शिक्षा पढाउन नसक्ने र रोजगारकै लागि अभिभावकले आफुसँगै भारत लैजाने गरेका स्थानीय रमेश लुुहारले बताउनुभयो ।

“रोजगारीको ग्यारेन्टी छैन, पछि पनि रोजगारका लागि विदेशिनुपर्ने हो भन्दै सानै उमेरमा पढाइ छोड्ने चलन छ”, उहाँले भन्नुभयो–“छोरालाई रोजगारका लागि बाहिर पठाउने र छोरीको सानैमा विवाह गरिदिने चलन अहिले पनि व्यापक छ ।”

 मनसुनी वायुको प्रभाव, पाँच प्रदेशमा पानी पर्ने

काठमाडौँ – हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। 

मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्व  तिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको छ। 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोसी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको  छ। कोसी, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।  

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोसी र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। 

राती भने देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

कोसी र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। 

सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोसी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको हुनाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुनसक्ने देखिन्छ। 

तसर्थ हावा हुरी भारी वर्षा, मेघ गर्जन / चट्याङ, गेग्र्यान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता  अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०८० असार २८ गते (बिहीबार)
दिउँसो
:  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोसी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस प्रदेश र कोसी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।
राती: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

२०८० असार २९ गते (शुक्रवार)
दिउँसो:
  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोसी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। छ। मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।
राती: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। छ। मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको छ।

२०८० असार ३० गते (शनिवार)
दिउँसो:  
देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरूमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। 
राती: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

ललिता निवास प्रकरण : थप एक जना पक्राउ

काठमाडौं – ललिता निवास जग्गा प्रकरणमा आज थप एक जना पक्राउ परेका छन् ।

सीआईबीले बुधबार समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल विनोद पौडेललाई पक्राउ गरेको हो ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने कीर्ते प्रकरणमा हालसम्म १७ जना पक्राउ परिसकेका छन् ।

सीआईबीले ललिता निवास सम्बन्धमा कीर्ते र संगठित अपराधमा ४०६ जनालाई प्रतिवादी बनाएर अनुसन्धान गरिरहेको छ ।

दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश

काठमाडौँ – सर्वोच्च अदालतले कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विवादमा दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश गरेको छ ।

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आज उक्त अन्तरिम आदेश गरेको हो । आदेशमा भनिएको छ, “मुद्दाको अन्तिम किनारा नभएसम्म दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्नू/नगराउनु ।”

निवर्तमान मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि पहिलो सुनुवाइ गर्दै उक्त आदेश गरेको हो । अदालतले आगामी साउन ७ गतेको पेशी तोकी उक्त विवादमा छलफल गर्नेछ ।

आदेशमा निवेदक तथा महान्यायाधिवक्ता/मुख्य न्यायाधिवक्ता कोशी प्रदेशलाई दिन र उक्त विवादमा उक्त मितिमा सुनुवाइमा राखी निर्णयार्थ पेश गर्न भनिएको छ ।

एमालेले डाक्यो सचिवालय बैठक

काठमाडौँ – पछिल्लो राजनीतिक विकासक्रमको समीक्षा गर्न नेकपा (एमाले)ले सचिवालय बैठक डाकेको छ । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा यही असार ३० गते सचिवालय बैठक डाकिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा अहिले भइरहेको राजनीतिक विकासक्रमको समीक्षा, कार्यविभाजनअनुसार कामको मूल्याङ्कन, पार्टी स्कुल विभाग, पार्टी प्रचार र जनसङ्गठनको कामको अवस्था र अब पार्टीलाई कसरी लैजाने भन्ने विषयमा छलफल हुनेछ ।

यसैगरी पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीका उपाध्यक्षसँग पार्टी गतिविधिबारे छलफल गर्नुभएको छ । अध्यक्ष ओलीले उपाध्यक्षहरुसँग पार्टीको गतिविधि र आगामी बस्ने सचिवालय बैठकको तयारीबारे छलफल गर्नुभएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो ।

छलफलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सुभासचन्द्र नेम्वाङ र विष्णुप्रसाद पौडेल सहभागी हुुनुहुन्थ्यो ।

गठबन्धनको सिद्धान्त ‘मिलिजुली बसौँ, बाँडीचुँडी खाऔँ’: प्रदीप ज्ञवाली

सुर्खेत – नेकपा एमाले पार्टी उपमहासचिव तथा स्कूल विभागका प्रमुख प्रदीप ज्ञवालीले वर्तमान गठबन्धनको सिद्धान्त ‘मिलीजुली बस्यौँ, बाँडीचुँडी खाऔँ’ भन्ने रहेको टिप्पणी गर्नु भएको छ।

बुधबार वीरेन्द्रनगरमा आयोजित नेकपा एमाले स्कूल विभाग कर्णाली प्रदेशले आयोजना गरेको कर्णाली प्रदेशस्तरीय प्रशिक्षक-प्रशिक्षण कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञावालीले यस्तो बताउनु भएको हो ।

आफ्नो अधिकार क्षेत्रमा पर्ने केही सडक एकतर्फी बनाउँदै कामपा

काठमाडौँ – दुवै तर्फबाट सवारीसाधन आवतजावत गर्दा समस्या आएको भन्दै काठमाडौँ महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रमा पर्ने केही सडकमा एक तर्फबाट मात्रै सवारीसाधन सञ्चालन गर्ने तयारी गरेको छ ।

यसरी एकतर्फी बनाउने सडकमा महेन्द्र सालिक क्षेत्रको सडक, कमलादी क्षेत्र, जमल क्षेत्र, सिफल क्षेत्र, डिल्डीबजार चारखाल क्षेत्रका सडकमा एकतर्फी गर्न लागिएको कामपाको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार सडक एकतर्फी कहिलेदेखि गर्ने, कुन समयमा गर्ने वा सबै समयमा नै सडक एकतर्फी बनाउनेबारे छलफल र अध्ययन भइरहेको छ । त्यसैगरी कामपाले आगामी आवदेखि आफ्नो अधिकार क्षेत्रमा पर्ने सडकमा जेब्राक्रसिङमा रङ लगाउने काम पनि गर्ने जनाएको छ । अहिले अधिकांश स्थानका जेब्राक्रसिङ मेटिएका अवस्थामा छ । यस्तो अवस्थामा रहेको जेब्राक्रसिङका कारण दुर्घटनाको जोखिम हुनेहुँदा सडकको मर्मतसम्भार र थप व्यवस्थित गर्नको लागि जेब्राक्रसिङमा रङ लगाएर स्पष्टसँग देख्नसक्ने बनाउन लागिएको सल्लाहकार श्रेष्ठले जानकारी दिनुभयो ।

सडक विभागसँगको सल्लाहमा जेब्राक्रसिङमा रङ लगाउने, आवश्यक परेको स्थानमा सडकमा रङ लगाउने कामसहित सडकमा गर्नुपर्ने अन्य कामसमेत गर्ने जनाएको छ । नियमअनुसार आठ मिटरसम्मको सडक कामपाको अधिकारभित्र पर्दछ अन्य सडक सडक विभागको अधिकारभित्र पर्नेछ ।

कामपाभित्र आठ मिटरभन्दा कम चौडाइका सडक नौ सय ५० किलोमिटर छ । कामपाभित्र ६२ मिटर चौडाइका सडकसमेत छन् । कामपाले आगमी आवदेखि यस किसिमको व्यवस्था गर्न लागेको हो । कामपाले आगामी आवका लागि सार्वजनिक पूर्वाधार निर्माण तथा सुधारतर्फ गत आर्थिक वर्षको क्रमागत योजनासहित कूल रु सात अर्ब ३४ करोड ६४ लाख ७१ हजार रकम विनियोजन गरेको छ ।

सोअन्तर्गत सडक निर्माण कार्यलाई थप व्यवस्थित बनाउन रु २५ करोड विनियोजन गरिएको छ । त्यस्तै महानगर क्षेत्रभित्रका सम्पूर्ण सडक तथा पेटीमध्ये ‘डिपिआर’ भएका सडक तथा पेटी मर्मत तथा निर्माण गरी धुलोरहित काठमाडौँ योजनालाई कार्यान्वयन गरी अन्य विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि रु एक अर्ब छुट्याएको छ ।

दुर्घटना अपडेट : घाइतेमध्ये १६ उपचाररत, तीनलाई भारत पठाइयो

बैतडी / बैतडीको मेलौलीमा सोमबार भएको बस दुर्घटना परी घाइते भएका ४५ जनामध्ये १६ जना अझै उपचाररत रहेका छन् । थप उपचारका लागि तीन जनालाई भारतको बरेली पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भिर घाइते भएका बस चालक पञ्चेश्वर गाउँपालिका–६ का ३५ वर्षीय देवसिंह भण्डारी, शिवनाथ गाउँपालिका–१ का ५५ वर्षीय मन्दिर सिंह साउद र शिवनाथ गाउँपालिका–५ का विनोद दमाइँलाई भारतको बरेलीमा उपचारका लागि पठाइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार १० जनाको धनगढीस्थित माया मेट्रो अस्पतलमा उपचार भइरहेको छ भने तीन जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

शिवनाथ–५ का गोरख सिंह साउद, सोही स्थानका सङ्गीता रावत, मिना चन्द, कञ्चनपुरकी दिपीका भट्ट, मेलौली–३ का बिसन भट्ट, शिवनाथ–३ का भरत सिंह साउद, पाटन–१ का चन्द्रदेव पन्त, पञ्चेश्वर–७ कि पार्वती भण्डारी र उनका छोरा कृष भण्डारी, मेलौली–४ का अमित चन्दको उपचार भइरहेको प्रहरी निरीक्षक खत्रीले जानकारी दिनुभयो ।

त्यस्तै डडेल्धुरा अस्पतालमा पञ्चेश्वर–३ का कृष्णा शाही, सोही ठाउँका खडकबहादुर चन्द र सेतु चन्दको उपचार भइरहेको छ । दुर्घटनामा सामान्य घाइते भएकालाई घर पठाइएको प्रहरी निरीक्षक खत्रीले बताउनुभयो ।

पञ्चेश्वरबाट महेन्द्रनगर जादैँ लु २ ख २०११ नम्बरको पवनदूत यातायातको बस सोमबार दिउँसो १ बजे मेलौली नगरपालिका–७ स्वाखानीमा दुर्घटनामा परेको थियो । दुर्घटनामा एकजनाको मृत्यु भएको थियो भने ४५ जना घाइते भएका थिए । पञ्चेश्वर गाउँपालिका–६ रन्तोलीका २७ वर्षीय उमेश भण्डारीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा सोमबार नै मृत्यु भएको थियो ।

ओरालो सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको बस रुखमा अड्किएको थियो । घटनाबारे जिल्ला प्रहरी कार्यालय बैतडीले अनुसन्धान गरिरहेको जनाएको छ ।

दिवङ्गत दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ / सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको असामयिक निधनप्रति शोक व्यक्त गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की नेतृ एवं केन्द्रीय सल्लाहकार स्वर्गीय दाहालको निधनप्रति शोक प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो ।

साथै दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने समेत निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जारी गर्नुभएको शोक वक्तव्यमा भनिएको छ, “संवत् २०२८ सालदेखि नेपाली कम्युनिष्ट आन्दोलनमा आवद्ध रही समाज रुपान्तरणका लागि भएका सशस्त्र सङ्घर्षलगायतका आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकी स्वर्गीय दाहालको निष्ठा, त्याग र सङ्घर्षमय जीवनका उदाहरणीय पक्षलाई सबैले आत्मसात गर्न सक्नु उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास नेपाल सरकारको छ ।”

भारतीय प्रधानमन्त्री मोदीद्वारा दाहालको निधनप्रति दुःख व्यक्त

काठमाडौँ / भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री मोदीले आज सामाजिक सञ्जाल ट्वीटरर्माफत सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको उल्लेख गर्नुभएको छ । साथै उहाँले प्रधानमन्त्री दाहालप्रति समवेदना प्रकट गर्दै दिवङ्गत आत्मालाई चिरशान्ति मिलोस् भनी प्राथना गर्नुभएको छ ।

सीता दाहालको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा ६९ वर्षको उमेरमा आज बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको हो । दाहाल पार्किन्सन रोगका कारण लामो समयदेखि अस्वस्थ हुनुहुन्थ्यो । उहाँलाई स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो । दाहाल माओवादी केन्द्रको सल्लाहकार समेत हुनुहुन्थ्यो ।

जथाभावी फोहर फ्याक्नेलाई जरिवाना

वीरगञ्ज / वीरगञ्ज महानगरपालिकाले नगरक्षेत्रभित्र जथाभावी फोहर फ्याक्नेसँग जरिवानाबापत राजस्व सङ्कलन गर्ने अभियान थालेको छ । जथाभावी फोहर फ्याक्ने र सडक दुर्गन्धित गर्ने कार्यलाई निरुत्साहित गर्ने उद्देश्यले महानगरले विसं २०७९ पुस १७ देखि जथाभावी फोहर फ्याक्नेबाट जरिवाना तिराउन थालेको हो ।

महानगरका सडक तथा गल्लीमा जथाभावी फोहर फाल्ने व्यक्ति तथा संस्था गरी पाँच सय ७० जनाबाट जरिवानाबापत रू. चौध लाख ९५ हजार दुई सय पाँच राजस्व सङ्कलन भएको महानगरपालिकाको सरसफाइ शाखा प्रमुख सरफदिन मियाँले जानकारी दिनुभयो ।

स्वच्छ, सफा र सुन्दर महानगर बनाउने उद्देश्यले महानगरले गत पुसदेखि जथाभावी फोहर फ्याक्नेसँग जरिवानाबापत राजस्व सङ्कलन अभियान थालेयता नियमित राजस्व सङ्कलन गर्दै आएको उहाँले बताउनुभयो ।

“घर, पसल र कार्यालयबाट निष्किने फोहर जताततै फ्याक्ने स्थानीयको प्रवृति छ”, प्रमुख मियाँले भन्नुभयो, “त्यस्तो प्रवृतिलाई निरुत्साहित गर्न हामीले फोहर फ्याक्नेलाई जरिवाना गर्ने अभियान सुरु गरेका छौँ ।” यस अभियानलाई थप प्रभावकारी बनाउन सार्वजनिक मुद्दासमेत चलाउने योजना बनाइएको उहाँले जानकारी दिनुभयो ।

प्रमुख मियाँका अनुसार महानगरले निजी संस्थासँग सहकार्य गरी ३२ वटै वडाभित्र तीन चरणमा नियमित सरसफाइ गर्दै आएको छ । महानगरपालिकाले वीरगञ्जस्थित पृथी तारा एमके इनरनेशनल जेभिसँग विसं २०७६ जेठ २ मा सम्झौता गरी नियमित सरसफाई गर्दै आएको उहाँको भनाइ थियो ।

“महानगर प्रमुखको योजना अनुरुप सफा र सुन्दर वीरगञ्ज नगरबासीलाई दिने गरी काम गरिरहेका छौँ”, प्रमुख मियाँले भन्नुभयो, “उक्त योजना अनुसार अहिले बिहान, दिउँसो र राति गरी तीन चरणमा नाला तथा सडक सरसफाइ भइरहेको छ ।” उहाँका अनुसार नालाको सफाइ महानगरले गरिरहेको छ भने सडकको सफाइ साझेदार संस्था पृथी ताराले गरिरहेको छ ।

“पहिला महानगरसँग नाला सफाइ गर्न लागि एउटा ‘जेटिङ मेसिन’ र एउटा ‘सक्सन मेसिन’ थियो”, शाखा प्रमुख मियाँले भन्नुभयो, “अहिले थप एउटारएउटा मेसिन खरिद गरी नाला सरसफाइ अभियानलाई तीव्रता दिएका छौँ ।” साइरण जडित ट्याक्टर फोहरमैला व्यवस्थापनका लागि सञ्चालन गरिएको उहाँको भनाइ थियो ।

विगतमा महानगरसँग डम्पीङ साइड नहुँदा फोहरमैला व्यवस्थापनमा समस्या भएको जनाउँदै प्रमुख मियाँले चार वर्षअघि डम्पिङ साइड निर्माण गरेपछि फोहरमैला व्यवस्थापनमा कुनै समस्या नरहेको बताउनुभयो ।

दाहालको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ / प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी सिता दाहालको पार्थिव शरीरमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा पुगेर उहाँहरुले स्वर्गीय दाहालको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । दाहालको उपचारका क्रममा आज विहान नर्भिक अस्पतालमा निधन भएको थियो ।

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पनि पेरिसडाँडा पुगी श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । साथै नेकपा (एमाले)का उपाध्यक्षहरु सुवास नेम्वाङ्ग र विष्णुप्रसाद पौडेल, सचिव योगेश भट्टराईले पनि श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतले श्रद्धाञ्जली अर्पण गुर्नभएको छ भने नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले पनि पेरिसडाँडा पुगेर श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।

त्यसैगरी, (नेकपा मालेका) महासचिव सिपी मैनाली, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र सोहि पार्टीका पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा तथा नेपाल क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष अध्यक्ष मोहन बैद्यले पनि श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । हाल विभिन्न पार्टीका नेता तथा शुभचिन्तकहरु श्रद्धाञ्जली अर्पणका लागि पेरिसडाँडा पुग्ने क्रम जारी छ

स्वर्गीय दाहाल माओवादी केन्द्रका सल्लाहकार समेत हुनुहुन्थ्यो । उहाँ लामो समयदेखि अस्वस्थ हुनुहुन्थ्यो ।

नवीकरण नगर्ने क्याम्पसलाई त्रिवीले कारबाही गर्ने

काठमाडौँ / त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालनमा भइ नवीकरण नगर्ने क्याम्पसलाई कारबाही गर्ने भएको छ ।

विश्वविद्यालयले आज सूचना प्रकाशित गरी यसअघि नवीकरणका लागि पटक-पटक सम्बन्धित क्याम्पसलाई सूचित गरे पनि नवीकरण नगरेकाले कारबाहीको प्रक्रिया अगाडि बढाएको जानकारी दिएको हो । नवीकरण नगर्ने क्याम्पसको सूची वेबसाइटमा प्रकाशित गरिएको विश्वविद्यालयको भनाइ छ ।

विश्वविद्यालयले कुनै क्याम्पसले नवीकरण प्रक्रियामा भएको भए यथाशक्य आधिकारिक निस्सा प्रमाणसहित सम्बन्धित डीनको कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ । यसअघि त्रिविले २०७९ पुस २० गते र चैत २८ गते नवीकरणका लागि सूचना प्रकाशित गरेको थियो ।

प्रधानमन्त्री दाहाल पत्नीको निधनप्रति रास्वपाद्वारा शोक व्यक्त

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी सीता दाहालको असामयिक निधनप्रति शोक व्यक्त गरेको छ ।

पार्टीका महामन्त्री एवं प्रवक्त डा मुकुल ढकालले शोक वक्तव्य जारी गर्दै दाहालको असामयिक निधनप्रति पार्टी मर्माहत र स्तब्ध बनाएको बताउनुभएको छ ।

“यस दुःखद घडीमा सम्पूर्ण रास्वपा परिवार उहाँको आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछौँ । साथै शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने हार्दिक कामना गर्दछौँ”, शोक वक्तव्यमा भनिएको छ ।

पार्टी सभापति रवी लामिछानेले दाहालको निधन भएको खबरले स्तब्ध बनाएको भन्दै यस दुःखद् घडीमा उहाँको आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

पर्वतका दुई नगरपालिका बजेट ल्याउन असफल

पर्वत / असार अन्तिम सातासम्म पनि यहाँका दुई नगरपालिका बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्न असफल भएका छन् । बजेट, नीति तथा कार्यक्रम सार्वजनिक नगर्ने नगरपालिकामा यहाँका दुईमात्र बाँकी हुन् ।

अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को परिच्छेद ७ को दफा २१ को उपदफा ३ मा ‘गाउँ कार्यपालिका नगर कार्यपालिकाले प्रत्येक वर्ष असार महिनाको १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्ने छ’ भनिएको भए पनि कुश्मा नगरपालिका र फलेवास नगरपालिकामा भने अझै अन्योल रहेको छ ।

सात स्थानीय तह रहेको पर्वतमा अन्य पाँच गाउँपालिकाले बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन् । पाँच गाउँपालिकामध्ये चारले निर्धारित मितिमै र जलजला गाउँपालिकाले केही दिन ढिला गरेर भए पनि बजेट सार्वजनिक गरेको थियो ।

माओवादी केन्द्र पदाधिकारी बैठक बस्दै

काठमाडौँ / नेकापा (माओवादी केन्द्र)को केन्द्रीय पदाधिकारी बैठक केहीबेरमा बस्नेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसङ्गिनी एवं नेकपा (माओवादी केन्द्र)का सल्लाहकार सीता दाहालको निधन भएपछि बैठक बस्न लागेको हो ।

बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने र नेताहरु आउने क्रम सुरु भएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो । माओवादी केन्द्रका अध्यक्ष दाहाल पत्नी एवं माओवादी केन्द्रका सल्लाहकार सीताको आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको थियो ।

सिता दाहालले मुलुकमा गणतन्त्र ल्याउनका लागि भएको जनयुद्धको समयमा पति प्रचण्डको नेतृत्वलाई सफलतामा पुर्‍याउन आफ्नो जीवन बाजी लगाएर सहयोग पुर्‍याउनुभएको थियो । पार्टी कामका लागि पञ्चायतीकालमा लामो समय भूमिगत जीवन बिताउनुभएकी दाहालले देशमा जनयुद्ध सुरुवात भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रियरुपमा सहभागी हुनुभएको थियो ।

पार्टी सल्लाहकार दाहालको पार्थीव शरीर श्रद्धाञ्जलिका लागि आज बिहान ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने र अपराह्न २ बजे पशुपति आर्यघाटमा अन्त्यष्टि गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ ।

बालकको मृत्यु भएपछि मन्टेश्वरी बन्द, तीन पक्राउ

झापा / सेप्टिक ट्याङ्कीमा डुबेर बालकको मृत्यु भएपछि मेचीनगर नगरपालिका-१० स्थित ‘सानो साथी किन्डर गार्टेन’ मन्टेश्वरीका सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार नर्सरीमा अध्ययनरत आठ वर्षे तान्छोपहाङ लिम्बूको मृत्यु भएपछि अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक दीपक भारतीका अनुसार पक्राउ पर्नेमा मेचीनगर-११ का ४५ वर्षीय मनोज गुरुङ र ३५ वर्षीया रमा सुनार र मेचीनगर–१० की २४ वर्षीया अनिसा पोखरेल छन् । मन्टेश्वरीका सञ्चालक काठमाडौँ-३१ निवासी ४२ वर्षे सुरेन रसाइली भने फरार रहेको उहाँको भनाइ छ ।

मृतक बालकका बुबा खर्कबहादुर लिम्बू र आमा मेरिना लिम्बूले चार जनाविरुद्ध लिखित किटानी जाहेरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका मनोज गुरुङ विद्यालयका प्रिन्सिपल हुन् ।

सेप्टिक ट्याङ्कीमा डुबेका बालकको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारका क्रममा मङ्गलबार मृत्यु भएको थियो । मृतकका आमा र बाबुले मन्टेस्वरीका सञ्चालक, व्यवस्थापक र कर्मचारी गरी चार जनामाथि ज्यान सम्बन्धी कसुरमा कानूनी कार्वाहीको माग गर्दै किानी जाहेरी दिनुभएको थियो ।

गुरुङ र रसाइली विद्यालयका साझेदार हुन् भने पोखरेलले संयोजक र सुनार कर्मचारीका रुपमा काम गर्दै आएका थिए । बालकको शव हाल बीएन्डसी अस्पतालमै राखिएको छ ।

श्रद्धाञ्जलीका लागि दाहालको पार्थीव शरीर पेरिसडाँडामा

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडा लगिएको छ । सीताको आज बिहान ८: ३३ बजे ६९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको थियो ।

दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दाहालको पार्थीव शरीर राखिने र अपराह्न २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

दाहाल लामो समयदेखि पार्किन्सनलगायत रोगबाट पीडित हुनुहुन्थ्यो ।

सीता दाहालको अन्त्येष्टि आजै गरिने

काठमाडौं / नेकपा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको अन्त्येष्टि बुधबार नै गरिने भएको छ ।

बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएकी ६९ वर्षीया सीताको बुधबार दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । 

यसअघि उनको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि बिहान ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने भएको छ । 

हृदयघात भएपछि बुधबार बिहान ८ बजे नर्भिकक अस्पतालमा लगिएको सीताको उपचारकै क्रममा ८ बजेर ३३ मिनेट जाँदा निधन भएको प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक प्राध्यापक डा. युवराज शर्माले जानकारी दिए । 

लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने रोगबाट पीडित सीताको अमेरिका, भारतको मुम्बई र सिंगापुरमा उपचार गरिएको थियो । 

मुख्यमन्त्री थापाको नियुक्तिविरुद्धको रिट न्यायाधीश सपना प्रधानको इजलासमा

काठमाडौं / कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदरको माग गर्दै दायर भएको रिट सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा परेको छ ।

थापालाई मुख्यमन्त्री नियुक्त गर्दा बहुमत पुरर्याउन सभामुख बाबुराम गौतमकोसमेत हस्ताक्षर प्रयोग गरेको भन्दै निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की अदालत गएका थिए ।

कार्कीले संविधानको धारा १६८ (३) बमोजिम सरकार गठन गर्दा सभामुखलाई समेत समावेश गरिनु संविधान विपरीतको कार्य भएको दाबी गरेका छन् ।

दाहाललाई श्रद्धाञ्जलि दिन शीर्ष नेता नर्भिक अस्पतालमा

काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसङ्गिनी सीता दाहाललाई श्रद्धाञ्जलि दिन विभिन्न दलका शीर्ष नेताहरु थापाथलीस्थित नर्भिक अन्तराष्ट्रिय अस्पताल पुग्नुभएको छ ।

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरु दाहाललाई श्रद्धाञ्जलि दिनका लागि अस्पताल पुग्नुभएको छ । दाहालको निधनको खबर थाहा पाएपछि उहाँहरू श्रद्धाञ्जलि दिनका लागि अस्पताल पुग्नुभएको हो । अन्य पार्टीका नेताहरु पनि अस्पताल आउने क्रम जारी छ ।

दाहालको आज बिहान ८ः३३ बजे उपचारका क्रममा निधन भएको थियो । ६९ वर्षीया दाहाल लामो समयदेखि पार्किन्सनलगायत रोगबाट पीडित हुनुहुन्थ्यो ।

बचतकर्ताको खातामा पहुँच पुर्याएर लाखौँ रकमान्तर

काठमाडौँ / बैंकको कर्मचारी हुँ भन्दै बचतकर्ताको खातामा पहुँच पुर्याएर एक व्यक्तिले लाखौँ रकम आफ्नो खातामा रकमान्तर गरेका छन् ।

मोरङका २१ वर्षीय महमद मोजाहिद मियाँले बोनस प्राप्त हुने लोभ देखाएर पीडितको बैंक खातामा पहुँच पुर्याई रकम आफ्नो खातामा ट्रान्सफर गरी ठगी गरेको पाइएको हो । यसरी उनले अहिलेसम्म रु ११ लाख १२ हजार आठ सय रकमान्तर गरी ठगी गरेको पाइएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनले सुरुमा पीडितलाई मोबाइलबाट फोन सम्पर्क गरी विभिन्न बैंकको आधिकारिक कर्मचारी हुँ भन्दै बैंक खातासँग वालेट आइडी लिङ्कअप, खाता नवीकरण, केवाइसी फर्म अपडेट, स्टेटमेन्ट भेरिफाइ गरिदिने आश्वासन दिए ।

त्यसो गर्दा पैसा नलाग्ने र राम्रो बोनस प्राप्त हुने गरी काम गरिदिने भनी लोभ देखाएर विश्वासमा पारे । त्यसपछि पीडितहरूकै बैंक खातालगायत, ओटिपी कोडसमेत मागी खातामा पहुँच पुर्याएर अन्यत्र बैंक खाता तथा वालेटहरूमा पैसा रकमान्तर गरेको फेला परेको रेग्मीले बताउनुभयो ।

उक्त घटनामा जाहेरी परेपछि उनलाई ठगीसम्बन्धी कसुरमा पक्राउ गरी जिल्ला प्रहरी परिसर टेकु, काठमाडौँमार्फत थप अनुसन्धान गरिरहेको छ ।

सल्लाहकार दाहालको निधनबाट माओवादी केन्द्र स्तब्ध

काठमाडौँ / नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसङ्गिनी एवं पार्टीका सल्लाहकार सीता दाहालको निधनबाट सिङ्गो पार्टी स्तब्ध भएको जनाएको छ ।

पार्टीका महासचिव देवप्रसाद गुरुङले आज शोक वक्तव्य जारी गर्दै दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपुरणीय क्षति भएको बताउनुभएको छ । उहाँले नेपालको कम्युनिस्ट आन्दोलनमा अत्यन्त महत्त्वपूर्ण र अविस्मरणीय योगदान पुर्याउनुभएको स्मरण गर्दै महासचिव गुरुङले सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवं असीमित समर्पण दाहालका विशेषता हुन् भन्नुभएको छ । उहाँले दिवङ्गत दाहाल आफ्ना योगदानमार्फत चीरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहनुहुने विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

“सीताले देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति खेल्नुभएको योगदानको उच्च सम्मान गर्दै सिङ्गो पार्टी उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ”, वक्तव्यमा भनिएको छ, “प्रधानमन्त्री एवं पार्टी अध्यक्ष दाहाललगायत सिङ्गो परिवारप्रति समवेदना व्यक्त गर्दै धैर्यधारणका लागि आम जनसमुदायमा अपिल गर्दछौँ ।”

माओवादीका सल्लाहकार दाहालको आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको थियो । विसं २०११ असार २१ गते कास्कीको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिनुभएकी सीताको २०२६ सालमा अध्यक्ष दाहालसँग विवाह भएको थियो ।

विसं २०२८ देखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध उहाँ जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल माओवादी केन्द्रको सल्लाहकार हुनुहुन्थ्यो । पार्टीको कामका लागि पञ्चायतकालमा लामो समय भूमिगत जीवन बिताउनुभएकी दाहाल देशमा जनयुद्ध सुरुआत भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रियरूपमा सहभागी हुनुभएको थियो ।

जनयुद्धका समयमा सिङ्गो पार्टीको अभिभावकका रूपमा उहाँले पार्टीभित्रका चुनौती, सङ्कट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो । पछिल्लो समय उहाँ पार्किन्सनलगायत रोगबाट पीडित हुनुभएको थियो ।

चितवनको भरतपुर महानगरपालिका–१४ स्थायी ठेगाना भएकी दाहालका चार सन्तानमध्ये जेठी छोरी ज्ञानुको क्यान्सर र छोरा प्रकाशको हृदयाघातका कारण निधन भइसकेको छ । छोरी रेनु र गङ्गा राजनीतिमै सक्रिय हुनुहुन्छ । सल्लाहकार दाहालको पार्थीव शरीर श्रद्धाञ्जलिका लागि आज बिहान ११ः०० बजेदेखि १ः०० बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने र अपराह्न २ः०० बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ ।

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ /  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।  

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ः०० बजेका लागि बोलाइएको केन्द्रीय समितिको बैठक स्थगित भएको हो ।

कांग्रेसका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले बैठक स्थगित भएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएपछि बैठक स्थगित भएको बताइएको छ ।

सभामुख घिमिरेद्वारा दाहालको निधनमा दुःख व्यक्त

काठमाडौँ / सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवन सङ्गिनी सीताको निधनको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ । उहाँले आज एक शोक वक्तव्य जारी गर्दै दाहालप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

सभामुख घिमिरेले शोकाकूल परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री पत्नी सीताको आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।