गंगालाल र धर्मभक्तले लडेको अभिव्यक्ति स्वतन्त्रताको लडाइँ अहिले संकटमा पर्योः सांसद श्रेष्ठ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सामाजिक सञ्जाल विधेयकका नाममा सरकार आलोचकहरू र नागरिकलाई जेलमा हाल्ने अभियानमा रहेको आरोप लगाएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद श्रेष्ठले सरकार खुद्रे कुरामा लागेको भन्दै आपत्ति जनाए । उनले सरकारलाई सामाजिक संजाल विधेयक पास गर्नुअघि जेल बनाउन सुझाव दिए ।
उनले भने, ‘के हामीसँग यति धेरै जेल छन्, जहाँ सामाजिक सञ्जाल विधेयक पास भएपछि थुनेर राख्न सकियोस् । सरकार खुद्रे कुरामा लाखौँ करोडौँ जरिवानाको मेन्यू ल्याउँदैछ ।’
उनले झुठो आश्वासन दिनेलाई जेल हाल्नुपर्नेमा जनतालाई जेल देखाएर तर्साउने काम नगर्न आग्रह गरे ।
उनले भने, ‘सरकार नागरिकलाई बढ्ता बोल्दै हुनुहुन्छ भनेर धम्की दिइरहेको छ । के झुटो आश्वासन दिने, भ्रम फैल्याउने असम्भव कुरालाई पूरा हुन्छ भनेर वाचा गर्नेहरूलाई चाहिँ उन्मुक्ति दिने हो ? के यो विधेयक साँच्चिकै न्यायका लागि हो कि के का लागि हो ? यो विधेयक सरकारको आलोचक दमन गर्ने हतियार हुन सक्छ यदि कानुन सबैका लागि हो भने शक्ति र सत्ताबाट झूट बोल्नेहरू पहिलो कारबाहीको सूचीमा हुनुपर्छ ।’
उनले गंगालाल र धर्मभक्तले लडेको अभिव्यक्ति स्वतन्त्रताको लडाइँ अहिले संकटमा पर्न लागेको बताए । उनले भने, ‘गंगालाल र धर्मभक्तले लडेको अभिव्यक्ति स्वतन्त्रताको लडाइँ अहिले कुन बयलगाडाको चक्का खुस्किएर अड्किएको हो ? मैले बुझ्न सकेको छैन । सरकार त्यो बयलगाडाको चक्का लुकाउन खोज्दैछ । उता नागरिकहरू कृष्णसेन इच्छुकको कविता गुन्गुनाइरहेका छन् ।’
