`

कांग्रेस र एमाले संविधान संशोधनका लागि राष्ट्रिय सहमतिको आधार तयार गर्नबाट चुकेः अध्यक्ष प्रचण्ड

Nepal One HD २७ माघ २०८१ १८:००
प्रमुख खबर

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमाले संविधान संशोधनका लागि नभई सत्ताका लागि एक भएको आरोप लगाएका छन् ।

आइतबार काठमाडौंमा संविधान निगरानी समूह र रणनीतिक तथा सामाजिक–आर्थिक अनुसन्धान संस्था(आइएसएसआर)को संयुक्त आयोजनामा भएको कार्यक्रममा प्रचण्डले दुई दलले संविधान संशोधन नचाहेको बताएका हुन् ।

उनले ६ महिना शासन गरेपछि प्रधानमन्त्रीले २०८७ मा संविधान संशोधन गर्ने भन्नु त्यसैको उदाहरण भएको बताए । प्रचण्डले वृहत् शान्ति सम्झौता र अन्तरिम संविधान बनाउने पक्षधरसँग संशोधनकाबारेमा कुनै छलफल नगरेकोमा असन्तुष्टि जनाए ।

उनले अब पश्चगामी दृष्टिकोण राखेर वा २०४७ तिर फर्किएर संविधान संशोधन हुन नसक्ने बताए । उनले भने, ‘कांग्रेस र एमालेले वृहत शान्ति सम्झौता र अन्तरिम संविधान बनाउने पक्षधरसँग कुनै छलफल गरेका छैनन् । पश्चगामी दृष्टिकोण राखेर वा २०४७ तिर फर्किएर संविधान संशोधन हुनै सक्दैन।’

अध्यक्ष प्रचण्डले संविधान संशोधनका लागि राष्ट्रिय सहमतिको आधार तयार पार्नुपर्नेमा एमाले र कांग्रेस चुकेको बताए ।

उनले जनतामा बढ्दै गएको निराशा र असन्तुष्टिले आन्दोलनको आवश्यकता भएको हो कि भन्ने आफूलाई लाग्न थालेको बताए ।

उनले भने, ‘जनतामा असन्तुष्टि र निराशा बढेको बढ्यै छ । युवामा देखिएको निराशा हेर्दा, दलहरूले संविधान मिचिरहेको देख्दा यो प्रश्न मानिसहरूको मनमा आउँदैछ भन्ने लाग्न थालेको छ ।’

पछाडि फर्कन चाहने सोच भएकाहरू मुलुकमा हावी भइरहेको भन्दै प्रचण्डले संविधानले दिएका अधिकार कार्यान्वयन हुन नदिने अवस्था सिर्जना गरेर असन्तुष्टि बढाइएको बताए ।


प्रतिक्रिया