`

राष्ट्रियसभा बैठक स्थगित

काठमाडौँ / राष्ट्रियसभाको आजको बैठक स्थगन भएको छ । आज बिहान ११ः०१ बजे बस्ने गरी तोकिएको बैठक विशेष कारणवश बिहीबारसम्मका लागि स्थगन भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

बैठक बिहीबार बिहान ११ः०१ बजे बस्ने सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो ।

दाहालको पार्थीव शरीर श्रद्धाञ्जलिका लागि पार्टी कार्यालयमा राखिने

काठमाडौँ / नेकपा (माओवादी केन्द्र) का सल्लाहकार एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसङ्गिनी सीता दाहालको पार्थीव शरीर श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिने भएको छ ।

आज बिहान ११ः०० देखि १ः०० बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दाहालको पार्थीव शरीर राखिने र अपराह्न २ः०० बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । दाहालको ६९ वर्षको उमेरमा आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

प्रधानमन्त्रीपत्नी दाहालको निधन

काठमाडौँ / नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधन भएको छ ।

थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा ६९ वर्षको उमेरमा दाहालको आज बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको प्रधानमन्त्री दाहालका निजी चिकित्सक प्रा डा युवराज शर्माले जानकारी दिनुभयो ।

दाहाल पार्किन्सन रोगका कारण लामो समयदेखि अस्वस्थ हुनुहुन्थ्यो । उहाँलाई स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो । दाहाल माओवादी केन्द्रको सल्लाहकार हुनुहुन्थ्यो ।

अन्नपूर्णमा अपाङ्गमैत्री अस्पताल निर्माण

गलेश्वर – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा पाँच शय्याको अपाङ्गमैत्री अस्पताल निर्माण भएको छ । सङ्घीय सरकारले सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने उद्देश्यअनुसार सो भवन निर्माण गरिएको हो ।

म्याग्दीको मङ्गला र धवलागिरिमा निर्माणाधीन अवस्थामै रहेको र रघुगङ्गा गाउँपालिकामा जग्गासहितको प्राविधिक पक्षमा ढिलासुस्तीका कारण अलपत्र परेको अवस्थामा दोवागाउँ नजिकै भूकम्पप्रतिरोधी भवन निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । “भवन चाँडै हस्तान्तरण गरिने छ”, प्रमुख सुवेदीले भन्नुभयो ।

अपाङ्गमैत्री भवन सडक सञ्जाल नजिकै रहेकाले समेत सञ्चालनमा आएपछि बिरामीलाई सहज हुनेछ । निर्माण भएको भवनमा आकस्मिक कक्ष, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डार कोठा, उपचारका लागि छुट्टाछुट्टै कक्ष र स्वास्थ्यकर्मी निवाससहित ३५ कोठा रहेका छन् । भवनको तल्लो तलामा विभिन्न उपचार कक्ष राखिने छ भने माथिल्लो तलाका केही कोठा चिकित्सक र स्वास्थ्यकर्मीका लागि आवासका रूपमा प्रयोग गरिने छ । भवन निर्माणका लागि २०७८ वैशाखमा रविना–अमित जेभीसँग रु पाँच करोड १२ लाखमा ठेक्का सम्झौता भएको थियो । अस्पतालको भवन तयार भए पनि सडकबाट अस्पतालसम्म पुग्ने सडकमा ढलानसहित मोडमा स्तरोन्नति, मेडिकल उपकरण, फर्निचर, तारबारसहितको कम्पाउन्डिङ र नजिकै भत्किएको स्थानमा पक्की संरचना आवश्यक देखिएको छ ।

दोवाका स्थानीय युवा अमृत गर्बुजाका अनुसार अस्पताल निर्माण गर्न अमरबहादुर गर्बुजाले पाँच रोपनी चार आना, कर्णबहादुर पुर्जाले दुई रोपनी दुई आना, नौप्रसाद पुर्जाले एक रोपनी तीन पैसा, गमबहादुर गर्बुजाले एक रोपनी १० आना, यादवबहादुर गर्बुजाले एक रोपनी आठ आना, घमती पुर्जाले १३ आना र टीकाबहादुर पुर्जाले साढे दुई आना जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।

पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ

अन्नपूर्ण (कास्की) – माथि हिमाल । तल पोखरा उपत्यका । थुम्कोमा अर्मलाकोट गाउँ । धेरै ढुङ्गाले बान्की मिलाएर छाएको छानो त केही जस्तापाताले छाइएका घर । ढुङ्गाकै गारो, ढुङ्गाकै बाटोले गाउँको पहिचान दिलाउँछ । शान्त वातावरण, स्वच्छ हावापानीले धेरैको मन फुरुङ्ग हुन्छ । पोखरा महानगरपालिका–१६ अर्मलाकोट प्राकृतिक सुन्दरताले भरिपूर्ण छ ।

पोखरा सहरबाट १२ किलोमिटर टाढा रहेको अर्मलाकोट पछिल्लो समय पर्यटक र पैदलयात्रीको रोजाइमा पर्ने गरेको छ । दिनप्रतिदिन यहाँ घुम्न पुग्नेको सङ्ख्या बढिरहेको छ । परम्परागतरूपमा बनेका घर, यहाँ बस्ने गुरुङ र दलित समुदायको बोलीचाली तथा सरल व्यवहारले आगन्तुकलाई स्वागत गरिरहेको छ । विसं २०७५ मा होमस्टे सञ्चालनमा आएपछि गाउँमा छुट्टै रौनक भेटिन्छ ।
 
गाउँले जनजीवन, आफ्नै रहनसहन र परम्पराले भरिएको भए पनि अर्मलाकोट गाउँको आकर्षक भनेको ढुङ्गेघर नै हो । घरका झ्याल र ढोकामा कलात्मक शैलीमा कुँदिएका फूलबुट्टा तथा आकृतिले पर्यटकलाई झनै मोहित बनाउँछ ।
 
यहाँ पुग्ने पर्यटक गाउँको ढुङ्गेघरले मन लोभ्याएको बताउँछन् । गत शनिबार स्याङ्जाका अर्मलाकोट घुम्न पुग्नुभएका किसन गुरुङले यहाँको घर देख्दा मनै फुरुङ्ग भएको बताउनुभयो । “हाम्रोतिर भन्दा यहाँका घर निकै राम्रा लागे । पोखराबाट नजिकै यति राम्रो गाउँ देख्दा मनै रमायो”, उहाँले भन्नुभयो, “यहाँका स्थानीयको जनजीवन, रहनसहन र स्वागत सत्कारले यहीँ बसिरहन मन लाग्यो ।”
 
पछिल्लो समय अर्मलाकोटमा घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको अर्मलाकोट होमस्टेकी अध्यक्ष बबिता गुरुङले बताउनुभयो । उहाँका अनुसार वर्षाको समय भए पनि पर्यटक गाउँ उक्लनेको सङ्ख्यामा कमी आएको छैन । बिदाका दिन अझ बढी पर्यटकको भीडभाड हुने अध्यक्ष गुरुङले सुनाउनुभयो । “अहिले गाउँमा बर्खाको चटारो छ । पाहुनाहरू आउनुहुन्छ अनि काम सकेर उहाँहरूको स्वागतमा आउँछौँ”, उहाँले भन्नुभयो, “पानी परे पनि रुझेरै आउनुहुन्छ । वर्षात्को समयमा पनि पाहुनको कमी भएको छैन ।”

पोखराबाट नजिक भएकाले पैदलयात्रा गरेर पनि पर्यटक गाउँ पुग्ने गरेको होमस्टेकी सचिव झलश्री गुरुङले बताउनुभयो । यसलाई गुरूङ भाषामा ‘ङ्होला नासा’ पनि भनिन्छ । महेन्द्रगुफाबाट करिब दुई घन्टाको पैदलयात्राबाट अर्मलाकोट पुग्न सकिन्छ । गाउँको सुन्दरतासँगै यहाँबाट सूर्योदय र सूर्यास्त, पोखरा उपत्यको अवलोकनका साथै हिउँ पर्ने समयमा हिउँसमेत खेल्न सकिने उहाँले बताउनुभयो ।
 
हामस्टेमा कोदोको ढिडो, लोकल कुखुराको मासु, गुन्दु्रक, भट्टको अचार, सिस्नोका दाल, वर्षाको समयमा निउरो र टुसाको अचार तथा कोदोको रक्सीको स्वाद लिन सकिने उहाँले बताउनुभयो । साँझ सांस्कृतिक कार्यक्रमको आनन्द लिन सकिन्छ ।

होमस्टेमा पुग्ने एकजना पाहुनावापत रु एक हजार एक सयको दररेट निर्धारण गरिएको होमस्टेका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार यो प्याकेजमा बिहान–बेलुकी खाना र खाजा, बास बस्नसँगै सांस्कृतिक कार्यक्रम समावेश गरिएको छ । यहाँको कोसेलीको रूपमा मुलाको चना, गुन्द्रुक तथा सिजनअनुसार सिस्नो, निउरो, टुसा तथा भाङ्ग्रा लैजान सकिन्छ ।
 
गाउँसम्म पुग्ने बाटो कच्ची भएकाले पर्यटकलाई वर्षात्को समयमा समस्या हुने गरेको अध्यक्ष गुरुङले सुनाउनुभयो । “होमस्टे सञ्चालनपछि पाहुना आउने कम भएको छैन । हामीले पनि सकेको स्वागत सत्कार गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “वर्षाको समयमा आफ्नै साधन लिएर आउने पाहुनाले साह्रै दुःख पाउनुहुन्छ । यहाँ आउने बाटो कालोपत्र गर्न आवश्यक छ ।” रासस

अध्यक्ष नेपालद्वारा दुःख व्यक्त

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मङ्गलबार भएको हेलिकोप्टर दुर्घटनामा दिवङ्गत हुनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जलि तथा परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

अध्यक्ष नेपालले विज्ञप्ति जारी गर्दै उक्त दुर्घटनाले आफूलाई स्तब्ध बनाएको उल्लेख गर्नुभएको छ । उहाँले उक्त हेलिकोप्टर दुर्घटनामा दिवङ्गत भएकाको आत्माको चिर शान्तिको कामना गर्नुभएको छ ।

सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ लामजुरामा दुर्घटना हुँदा क्याप्टेन चेतबहादुर गुरुङ र पाँच म्याक्सिकोका नागरिकको ज्यान गएको थियो ।

सुदुरपश्चिम प्रदेश सहसंयोजकमा शाही

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सुदूरपश्चिम प्रदेशको सहसंयोजकमा पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीलाई नियुक्त गर्नुभएको छ । अध्यक्ष लिङ्देनले पार्टीको विधानअनुसार उहाँलाई सो पदमा नियुक्त गर्नुभएको हो । शाही पार्टीका प्रमुख सचेतकको जिम्मेवारीमा समेत हुनुहुन्छ ।

त्यसैगरी अध्यक्ष लिङ्देनले कर्णाली प्रदेशको सहसंयोजकमा पार्टीका सहमहामन्त्री धनबहादुर बुढालाई नियुक्त गर्नुभएको छ । पार्टीका गतिविधिलाई जनस्तरमा पुर्याएर सङ्गठनलाई सुदृढीकरण गर्न शाही र बुढालाई नयाँ जिम्मेवारी प्रदान गरिएको पार्टीले जनाएको छ ।

यसअघि पार्टीले सातवटै प्रदेशमा पार्टीका वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरूलाई प्रदेश संयोजकको जिम्मेवारी प्रदान गरेको राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

काँग्रेस केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै, नीति महाधिवेशनको मिति मुख्य एजेन्डा

काठमाडौँ  – नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट सुरु हुदैँछ । यसअघि तय भएअनुसार केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ः०० बजेबाट बैठक सुरु हुनेछ । 

अघिल्लो वर्ष साउनमा बैठक बसेपछि केन्द्रीय समिति बैठक अझै बस्न सकेको थिएन, झन्डै एक वर्षपछि बस्न लागेको केन्द्रीय समिति बैठकमा यसबिचमा भएका निर्णयहरू अनुमोदन गराउनेदेखि भातृ सङ्गठन सम्बन्धी गरेको निर्णय र विस्तारका बारेमा पुर्न बिचार गरिने जनाइएको छ ।

गत सोमबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले तय गरेको एजेन्डा अनुसार कार्यसम्पादन समितिले गरेका निर्णय अनुमोदन गरिने भएको छ ।

यसैगरी, महाधिवेशनले सम्पन्न गरेको ६ महिनामा गर्ने भनिएको नीति अधिवेशनका बारेमा निर्णय गरिनेछ । जसअनुसार नीति महाधिवेशनको मिति र स्थान तय गरिने जनाइएको छ ।

साथै, सङ्गठनको कार्य योजना, कार्य तालिका र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि केन्द्रीय समितिमा छलफल हुने जनाइएको छ ।

आजको मौसम: पाँच प्रदेशमा पानी पर्ने, लुम्बिनी र कोसीमा हावाहुरी चल्ने

काठमाडौँ – हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व  तिर सरदर स्थान भन्दा उत्तरतर्फ -नेपाल नजिक_ अवस्थित रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको  छ। कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराइका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। 

राती भने देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस प्रदेशलगायत कोसी र लुम्बिनी प्रदेशका तराइका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोसी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन /चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको हुनाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुनसक्ने देखिन्छ।

तसर्थ हावाहुरी भारी वर्षा, मेघ गर्जन / चट्याङ, गेग्र्यान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 
२०८० असार २७ गते (बुधवार)
दिउँसो:
  देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोसी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। 
राती: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी तथा गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

२०८० असार २८ गते (बिहीबार)
दिउँसो:  
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस प्रदेश र कोसी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।
राती: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी र  गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

२०८० असार २९ गते (शुक्रवार)
दिउँसो:
  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोसी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। छ। मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।
राती: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही  र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। छ। मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

एक लाख घुससहित लेखा अधिकृत पक्राउ

लहान – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहास्थित सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदम विनोद पोखरेललाई रु एक लाख घुस रकमसहित पक्राउ गरेको छ ।

अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले मङ्गलबार साँझ कार्यालयमा छापा मारी पोखरेललाई घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिनुभयो । सडक निर्माणको अन्तिम बिल भुक्तानी दिने प्रयोजनका लागि उनले घुस मागेको पाइएको छ ।

पोखरेल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभाग सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकअन्तर्गत सडक डिभिजन लहानका लेखा अधिकृत हुन् । अख्तियारले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ ।

पार्टीभित्र मित्रता, एकता र पारस्परिक सम्बन्ध आवश्यक छ : अध्यक्ष ओली

​​​​​​​काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आपसी मित्रता, एकता र पारस्परिक सम्बन्ध आवश्यक रहेको बताउनुभएको छ । 

ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा एमाले बागमती सङ्गठन कमिटीको सातौँ बैठकलाई मङ्गलवार सम्बोधन गर्दै उहाँले आपसी मित्रता, एकता र पारस्परिक सम्बन्धले नै पार्टी बलियो हुने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले पार्टीभित्र अन्तर द्वन्द्व मच्चाएर, असमझदारी चर्काएर, गुटबन्दी गरेर चुनाव जितिन्छ भन्ने कुरा नसोच्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । “समझदारी तरिकाले काम गर्‍यो । अगाडि बढ्यो भने मात्र हामी सफल हुन सक्दछौँ”, उहाँले भन्नुभयो, “पार्टीमा अनेक सेन्टिमेन्ट ल्याएर, पार्टीको नीति पक्षमा नउभिएर कहीँ पुगिन्छ भन्ने होइन । कहीँ पुग्नका लागि हामीले सङ्घर्ष गर्नुपर्दछ ।” 

पार्टीमा काम गरिरहेको सक्रिय मान्छेलाई उमेरले नछेक्ने भन्दै अध्यक्ष ओलीले शरीरले काम गर्नलाई बाधा नभएसम्म पार्टी कमिटीमा रहेर काम गर्न आग्रह गर्नुभयो । 

“पार्टीमा काम गरिरहेको मान्छे ७० वर्ष पुग्यो भनेर कमिटीमा बस्न नपाउने हुन्छ ? स्वस्थ भएका मान्छे ७० वर्ष भनेको के को उमेर हो र ? म दुई पटक मिर्गौला प्रत्यारोपण गरेको मान्छे १८ घण्टा काम गरिरहेको छु”, उहाँले भन्नुभयो, “उमेर पुग्यो त्यस कारण कमिटीमा बस्न हुँदैन भन्ने कुरा मान्छेलाई शिथिल, निष्क्रिय बनाउने तरिका हो ।” 

उहाँले उमेर कुनै वैज्ञानिक कुरा नभएको भन्दै विश्वको कुनै पनि देशका पार्टीले उमेर हदबन्दी नराखेको उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले राजनीतिक गर्नका लागि उमेरको हदबन्दी कुरा गर्नुभन्दा मुलुक बनाउने नीति नियम बनाउनु राम्रो भएको भनाइ राख्नुभयो । 

उहाँले जनता अहिले पनि परिवर्तन, न्याय र सुशासनको पक्षमा रहेको बताउनुभयो । 

अध्यक्ष ओलीले सिङ्गै समाज समेटिएको एमाले परिपक्व पार्टी भएको बताउनुभयो । उत्साह र आत्मविश्वासका साथ काम गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्दै उहाँले मिसन २०८४ मा हरेक वडामा ५१ प्रतिशतभन्दा माथि मत ल्याउनुपर्ने बताउनुभयो । 

जेसिबीको ठक्करबाट बालकको मृत्यु

गलकोट – बागलुङ जिल्लाको बडिगाडमा सडक खन्ने क्रममा जेसिबीको ठक्करबाट बालकको मृत्यु भएको छ ।

बडिगाड गाउँपालिका–७ भत्रेनीबाट सोइरेनीसम्मको कच्ची सडक खन्ने क्रममा जेसिबीको ठक्करबाट स्थानीय भानबहादुर घर्तीको १४ वर्षीय छोरा सुनिलको सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । जेसिबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको जनाइएको छ ।

फोहरबाट मल उत्पादन गर्दै मध्यविन्दु

त्रिवेणी – फोहर व्यवस्थापन सहरी क्षेत्रका लागि चुनौती बन्ने गरेको छ । उचित व्यवस्थापन नहुँदा ठूला सहरले समस्या झेलिरहँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकाले भने फोहरबाट ‘कम्पोस्ट मल’ उत्पादन थालेको छ ।

मध्यविन्दुले गण्डकी प्रदेश सरकारसँगको साझेदारीमा ‘नवप्रर्वतन’ कार्यक्रममार्फत फोहर व्यवस्थापनको काम सञ्चालन गरेको छ । उक्त कार्यक्रममार्फत फोहरबाट कम्पोस्ट मल उत्पादन गर्ने काम गरिएको छ । फोहरबाट मल उत्पादन र मललाई आम्दानीसँग जोड्ने गरी नगरपालिका अघि बढेको मध्यविन्दु नगरपालिका नगरप्रमुख भीमलाल अधिकारीले बताउनुभयो ।

नगरपालिकाले दिगोरूपमा नगरभित्रको फोहरमैला व्यवस्थापनको कामलाई अघि बढाउन फोहरसँगै आम्दानीलाई जोडेर हिँडाएको उहाँको भनाइ छ । “फोहर व्यवस्थापन गर्दैगर्दा यसलाई दिगो बनाउन आम्दानीसँग जोड्ने योजनाअनुरुप काम अघि बढिरहेको छ, सोही योजनाअनुसार कम्पोस्ट मल उत्पादन जोडिएको हो”, उहाँले भन्नुभयो ।

नगरपालिकाले घरबाट उत्पादन हुने कुहिने फोहर तथा वनजङ्गलमा रहेका सुकेका पातबाट कम्पोस्ट मल उत्पादन थालेको छ । हालैमात्र विभिन्न समूहमा आबद्ध एक सय ४३ जनाले वनजङ्गलमा सुकेका पात सङ्कलन गरी नगरपालिकालाई बेचेर आम्दानीसमेत गरेका छन् । प्रतिकेजी पाँच रुपैयाँ ४० पैसासम्ममा पात खरिद गरी मल उत्पादन गरिएको छ । सुकेको पात, गाईभैँसीको गोबरको मात्रा मिलाएर मल तयार गर्ने गरिएको छ । पात सङ्कलनबाट केही भए पनि आम्दानी भएको र सामान्य घरखर्च चलाउन सहयोग पुगेको स्थानीय सीता पुरीले बताउनुभयो । सङ्कलित पातसहित घरबाट उत्पादन हुने कुहिने फोहरबाट समेत मल उत्पादनको काम अघि बढेको छ । सुक्खा समयमा वनजङ्गलमा सुकेका पात सङ्कलन गर्दा वनमा हुने आगलागीका घटनामा कमी ल्याउनसमेत सहयोग पुग्ने अपेक्षा लिइएको छ ।

नगरले घरबाट फोहर वर्गीकरणलाई कडाइका साथ लागू गरेको छ । कुहिने र नकुहिने फोहर वर्गीकरणपछि घरबाटै फोहर व्यवस्थापनको काम हुने प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले बताउनुभयो । “फोहर वर्गीकरण गर्नेबित्तिकै कतिपयले कुहिने फोहर आफैँ पनि व्यवस्थापन गर्ने गर्नुभएको छ, यसबाट नगरले व्यवस्थापन गर्ने फोहरमा कमी आएको छ”, उहाँले भन्नुभयो ।

गण्डकी प्रदेश सरकारको करिब रु दुई करोड १३ लाख र पालिकाको करिब ६४ लाखको लागतमा फोहरमैला व्यवस्थापनको कार्यक्रम अघि बढेको हो । कार्यक्रममार्फत फोहर व्यवस्थापन केन्द्र निर्माण, कम्पोस्ट मल तयार पार्ने उपकरणलगायतका सामग्री खरिद गरिएको छ ।

कुहिने फोहरबाट कम्पोस्ट मल तयार गर्नका लागि आवश्यक गोबरको व्यवस्थापनका लागि छाडा चौपाया व्यवस्थापनको कामसमेत सँगै अघि बढेको छ । यसले आवश्यक गोबर मलको माग पूरा हुने साथै छाडा चौपाया व्यवस्थापनको काममा समेत सहयोग पुग्ने कार्यक्रमका ‘फोकल पर्सन’ विवेक पोख्रेलले बताउनुभयो ।

फोहर व्यवस्थापनका क्रममा उत्पादन गरिने कम्पोस्ट मल नगरभित्रका किसानलाई सहुलियत दरमा उपलब्ध गराइने योजना छ । समग्रमा कार्यक्रमले फोहर व्यवस्थापन, स्थानीय रोजगारी सिर्जना, छाडा चौपाया व्यवस्थापन, कम्पोस्ट मल उत्पादनलाई जोड्ने पोख्रेलले बताउनुभयो । योसँगै उत्पादित कम्पोस्ट मलले कृषिमा रासायनिक मलको प्रयोगमा कमी ल्याउन, कृषि उत्पादन बढाउन र अग्र्यानिक उत्पादनलाई समेत सहयोग पुर्याउने उहाँले बताउनुभयो ।

गोरखामा ९० हजार बिरुवा निःशुल्क वितरण गरिँदै

गोरखा – डिभिजन वन कार्यालय गोरखाले विभिन्न प्रजातिका ९० हजारभन्दा बढी बिरुवा निःशुल्क वितरण गर्न सुरुआत गरेको छ । कार्यालयसहित सबडिभिजनमार्फत नर्सरीमा उत्पादन गरिएका बिरुवा जिल्ला भित्र वृक्षरोपणका कार्य बढाउने योजनासहित निःशुल्क वितरण गर्न सुरु गरेको कार्यालय प्रमुख अशोककुमार श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यालयले काष्ठजन्य, मसलाजन्य, खयर, बकाइनो, चिउरीलगायतका बिरुवा उत्पादन गरी वितरण गर्दै आएको उहाँले बताउनुभयो । “हामीले तीन ठाउँका नर्सरीमा बिरुवा उत्पादन गरेका छौँ”, उहाँले भन्नुभयो, “गोरखा नगरपालिकाको तीन किलो, गण्डकी सबडिभिजन वन कार्यालय सिउरेनटर र पालुङटार सबडिभिजन कार्यालयअन्तर्गतका नर्सरीमा उन्नत जातका बिरुवा उत्पादन गरिएको हो ।”

विशेष गरेर कवुलियती वन, सामुदायिक वनमा रहेका बाँझो जमिनमा बिरुवा लगेर वृक्षरोपण गर्न उपभोक्ता समिति र समुदायलाई प्रोत्साहन गर्नका लागि निःशुल्क बिरुवा उत्पादन गरी वितरण गर्दै आएको प्रमुख श्रेष्ठले बताउनुभयो ।

“तीनवटा नर्सरीमध्ये पायकपर्ने ठाउँमा पुगेर प्रक्रिया पूरा गरी बिरुवा लैजाने व्यवस्था मिलाएका छौँ”, उहाँले भन्नुभयो, “अधिकाशं ठाउँका उपभोक्ता समिति तथा समुदायले धेरै बिरुवा लगेर पनि वृक्षरोपण गरिसकेका छन्, केही ठाउँमा अझै लैजाने क्रम चलिरहेको छ ।” यसले समुदायस्तरमा आयआर्जन वृद्धि गर्नसमेत मद्दत पुग्ने उहाँको भनाइ छ ।

कार्यालयले घाँसका लागि राइखन्यु, निमारो, टाँकी, बर्रो, काभ्रो र पाखुरीलगायतका डालेघाँसका बिरुवा उत्पादन गरेको छ । त्यस्तै सौन्दर्यवर्द्धक कल्की, कपुर, म्यान्गुइष्टिक, वीरेन्द्रफूल, कपुर, धुपी, परिजात, श्रीखण्ड, अष्ट्रेलियन बबूल, गोलमोहरलगायतका बिरुवा पनि नर्सरीमा उत्पादन गरी वितरण गरिरहेको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसबाहेक फलफूलका अम्बा, इमिली, निबुवा, लप्सी, अमला, कटहर जडीबुटीजन्य तेजपात, टिमुर, सर्पगन्दा, नीम, कुरिलो, कडिपत्तालगायतका बिरुवा पनि नर्सरीबाट उत्पादन गरी वितरण भइरहेको उहाँले बताउनुभयो । डिभिजन वन कार्यालय गोरखाले हरेक वर्षजसो नर्सरीमार्फत बिरुवा उत्पादन गरी समुदायलाई वितरण गर्दै आएको छ ।रासस

भारतबाट मुर्रा भैँसी, अमेरिका र अष्ट्रेलियाबाट घाँस !

तिगाउँ (नुवाकोट) – “सामान्य भैँसी भारु एक लाखमै पाउन सकिन्छ तर मुर्रा जातको भैँसीको मूल्य बिएमडब्लु कारको मूल्यभन्दा धेरै हुन्छ । अर्थात् पूर्ण नश्लको मुर्रा भैँसी किन्न भारु एक करोडभन्दा बढीसम्म तिर्नुपर्ने हुन्छ ।”

भारतीय अनलाइन ‘एबिपीलाइभ डटकम’ले सन् २०२२ डिसेम्बर १५ मा मुर्रा जातका भैँसीबारे यस्तै भावमा एक आलेख प्रकाशन गरेको थियो । अरु धेरै लोकप्रिय भारतीय सञ्चारमाध्यमले मुर्रा भैँसीबारे सामग्री प्रकाशन तथा प्रसारण गरिरहेका हुन्छन् । पछिल्लो समयमा नेपाली सञ्चारमाध्यममा पनि मुर्रा भैँसीको विषयले स्थान पाउन थालेको छ । गत जेठको दोस्रो साता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को औपचारिक भारत भ्रमणका अवसरमा भएका विभिन्न सम्झौताहरूका विषयसँगै भारतले नेपाललाई १५ मुर्रा राँगो उपलब्ध गराउने भन्ने विषयले महत्त्व पायो । यो विषय नेपालको सङ्घीय संसद्मासमेत चर्चा पायो । हाँसोमजाकको विषय पनि बन्योे तर कृषिप्रधान नेपालका लागि उन्नत जातको मुर्रा भैँसीको नश्ल सुधार अत्यावश्यक छ । देश–विदेश बुझेका कृषिका जानकारहरूका लागि यो महत्त्वको विषय हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा भारतसँग उक्त जातका भैँसी माग भएको थियो भने प्रधानमन्त्री दाहालको उक्त भ्रमणका अवसरमा उपलब्ध गराउने समझारी भएको थियो ।

एक वर्षअघि भारतको राजस्थानमा भएको एक मेलामा एक हजार पाँच सय किलोग्राम, छ फिट उचाइ र १४ फिट लम्बाइ भएको भैँसीको मूल्य एक करोड भारु कायम गरिएको सन्दर्भ अहिले पनि भारतीय सञ्चारमाध्यमले उल्लेख गर्ने गरेका छन् । मुर्रा भैँसी वजनदार मात्र होइन, देख्दा पनि आकर्षक हुन्छन् । यिनले एकपटकमा कम्तीमा २५ लिटरसम्म दूध दिन सक्छन् । व्यावसायिक पशुपालनका लागि भारत र नेपालजस्ता मुलुकका लागि यो एक प्रकारको वरदान नै हो । केवल व्यावसायिक पशुपालनको सोच, उचित लगानी, वातावरण र किसानी मेहनत भने आवश्यक पर्छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–११ तिगाउँस्थित कँडेल कृषि फार्म प्रालिमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणअगावै विभिन्न माध्यमबाट मुर्रा जातका भैँसी उपलब्ध भइसकेको थियो । औपचारिक माध्यमबाट भारतदेखि मुर्रा भैँसी ल्याउन अनुमति र विविध प्रक्रिया पूरा गर्नुपर्छ । सो फार्मले भारतका सीतामढी, दिल्ली र हरियाणलगायतका स्थानबाट नेपालका सीमावर्ती भैरहवालगायतका क्षेत्रमा अनौपचारिक माध्यमबाट ल्याएर पालन गरिएका भैँसी नेपाली व्यवसायीबाट किनेर ल्याएको हो । हाल एक भैँसीले दैनिक २८ लिटरसम्म दूध दिन्छन् । ती भैँसीमा मुर्राको कति प्रतिशत नश्ल छन् भन्ने आधारमा वर्गीकरण हुने गर्छ । पूर्ण मुर्रा भैँसी निकै महँगो पर्छ । सो फर्मले प्रति भैँसी रु दुई लाखदेखि १० लाखसम्ममा ल्याएको हो । अहिले फार्मको राँगो स्थानीय अरु मानिसका भैँसीलाई लगाउन पनि प्रयोग गरिन्छ । यसबाट यसको नश्ल क्रमशः नश्ल सुधार हुन सहयोग मिल्नेछ ।

“मैले कसरी व्यावसायिक कृषिपालन गर्न सकिन्छ भन्नेबारेमा अध्ययनका क्रममा मुर्रा भैँसीबारे थाहा पाएर राँगो मगाएको हुँ ।” फार्मका अध्यक्ष गोपीप्रसाद कँडेलले भन्नुभयो, “प्रधानमन्त्री प्रचण्ड भारत जाँदा १५ मुर्रा राँगो ल्याउने कुरा सकारात्मक हो । यसको नश्ल देशभर फैलाउन र दूध उत्पादनमा आत्मनिर्भर हुन आवश्यक छ । यसरी काम गर्न सकियो भने युवा रोजगारीका नाममा खाडीमा भौतारिन पनि पर्दैन ।”

उच्च शिक्षाका लागि बेलकोटबाट २०४६ सालमा काठमाडौँ छिरेका कँडेलले सुरुमा कागज उद्योग स्थापना गर्नुभएको थियो भने पछि नेपालमै पहिलोपटक सिसाको हस्तकला उद्योग स्थापना गर्नुभयो । आयात–निर्यातको व्यवसाय क्रममा परिवारसहित सन् २००८ मा संयुक्त राज्य अमेरिका पुगेर दुई वर्ष बस्नुभयो । त्यसपछि उहाँ नेपालमै केही गर्नुपर्छ, युवापुस्तालाई पनि प्रेरण दिनुपर्छ भन्ने सोचका साथ स्वदेश फर्कनुभयो । सौर्य ऊर्जा र ग्यास उद्योगमा समेत लगानी गरेका कँडेलले फार्ममा विदेशबाट काठ मगाएर आफू बस्नका लागि पर्यावरणीय काठघर पनि निर्माण गर्नुभएको छ । उहाँले कोल्डस्टोर र डेरी फार्म स्थापनाको लक्ष्य लिनुभएको छ ।

कृषि र पशुपालनसहित विषादिरहित खानको अभियानमा जोडिएका महत्त्वपूर्ण व्यावसायिक सम्मान (सिआइपी) प्राप्त कँडेलले कँडेल कृषि फार्ममा पछिल्लो समयमा उक्त लक्ष्यमा सघाउन कृष्ण दाहाललाई साझेदार बनाउनुभएको छ ।

कुल ५० रोपनी जग्गामा रहेको र चार वर्षअघि स्थापित फार्ममा हाल एक राँगोसहित १० भैँसी, १० गाई छन् । एक गिरी गाई पनि छ । फार्मले कोरियाली गाई पनि मगाउने तयारी गरिरहेको छ । गाई भैँसी थपेर दैनिक पाँच सय लिटर दूध उत्पादन गर्ने लक्ष्य लिइएको कँडेलले बताउनुभयो । यहाँका गाईभैँसीका लागि पोषिलो घाँस खुवाउन फार्मले अमेरिकी घाँस रेड नेपिएर (रातो घाँस), अष्ट्रेलियाको हरियो घाँस (नेपिएर) खेतबारीमा लगाएको छ । हेर्दा उखुजस्तो देखिने यी घाँस रोप्न, हुर्काउन र काट्न सजिलो हुन्छ । फर्ममा हालसम्म करिब रु डेढ करोडको लगानी भइसकेको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले भारत सरकारसँग ल्याइने १५ मुर्रा राँगोका लागि पशुसेवा विभागका महानिर्देशकको संयोजकत्वमा कार्यदल गठन भएको र उक्त टोलीले भारतका सम्बन्धित सरकारी फार्ममा गई प्राविधिक परीक्षणपश्चात राँगो ल्याइने बताउनुभयो । ती राँगोलाई कृषि अनुसन्धान परिषद् (नार्क) लगायत स्थानमा राखेर बीर्य सङ्कलन गरी क्रमिकरूपमा भैँसीहरूमा कृत्रिम गर्भाधान गराइने र पहिलो वर्षमा डेड लाख भैँसीलाई गर्भाधारण गराइने योजना रहेको बताउनुभयो ।

नेपाल र भारतबीचको खुला सिमानाका कारण हालसम्म के–कति यस्ता भैँसी या अनौपचारिक माध्यमबाट भित्रिएका छन् भन्ने विवरण मन्त्रालयमा नरहेको प्रवक्ता सञ्जेलले बताउनुभयो । औपचारिक संयन्त्रबाट स्वास्थ्य परीक्षण र प्रमाणपत्रबिना ल्याउने अनुमति पनि नभएको उहाँको भनाइ छ ।

नेपाल बैंक र व्यवसायीबीच सहमति

गण्डकी – पोखरा उद्योग वाणिज्य सङ्घले नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय तथा उसको स्वामित्वमा पोखरा–९ पृथ्वीचोकस्थित व्यावसायिक भवनको सटरमा व्यवसाय गर्दै आएका व्यवसायीबीचको विवाद सहमतिमा टुङ्ग्याइएको छ ।

बैंकको प्रादेशिक कार्यालय पोखराको त्यहाँका व्यवसायीले सहमतिअनुसारको भाडा नतिरेको दाबी एवं व्यवसायीले कोभिड–१९ को समयमा घोषित भाडा छुटको निर्णय कार्यान्वयन नभएको गुनासोबीच विवाद बढिरहेको थियो ।

विवाद बढ्दै जाँदा बैंकले भाडा असुलीका लागि कानुनी बाटो समात्दै ऋणीहरूको नाम सञ्चारमाध्यममार्फत सार्वजनिक गरेको थियो । बैंकले बक्यौता बुझाउने अन्तिम मिति यही असार २५ गते ११ बजेसम्मलाई तोकेपछि त्यहाँका व्यवसायीले सहजीकरणका लागि पोखरा उद्योग वाणिज्य सङ्घमा रहेको हेल्पडेक्समा लिखित आग्रह गरेका थिए भने बैंक व्यवस्थापन पनि सहजीकरणका लागि पोखरा उद्योग वाणिज्य सङ्घको मध्यस्थता स्वीकार्दै वार्तामा बस्न राजी भएको थियो ।

समस्या समाधानका लागि नेपाल बैंकका सहायक कार्यकारी निर्देशक प्रकाशकुमार अधिकारी, पोखरा उद्योग वाण्ज्यि सङ्घका अध्यक्ष पवनकुमार प्रजापति तथा महासचिव बलराम आचार्य, बैंकका सहायक कार्यकारी निर्देशक अधिकारी, गण्डकी प्रदेश प्रमुख सचिता पराजुली, व्यवसायीबीचको छलफलपछि सहमति गरिएको हो ।

सहमतिअनुसार व्यवसायीले कोभिड–१९ को अवधिमा दिने भनिएको छुटबाहेकको भाडा रकममध्येको न्यूनतम ५० प्रतिशत असार २६ गते र बाँकी असार ३१ गतेसम्म बुझाउने सहमति गरिएको छ । यसमा २०७७ सालमा बढाइएको भाडा र त्यसमा लगाइएको जरिवाना समावेश नगर्न पनि बैंक र व्यवसायी राजी भएका छन् ।

यस्तै वैज्ञानिक भाडादर कायम एवं भाडा समायोजन सम्झौताअनुसार वृद्धि हुनुपर्ने भाडादरमा लागेको जरिवाना मिनाहा गर्नका लागि पोखरा उद्योग वाणिज्य सङ्घ, व्यवसायी र बैंकको पोखरा कार्यालयले केन्द्रीय कार्यालयमा लिखित अनुरोध पठाउने सहमति भएको छ ।

म्याद समाप्त भएका व्यावसायिक फर्महरूको नवीकरणको अनुरोध गर्ने, कुनै पनि रकम भुक्तानी नगर्ने व्यावसायिक फर्महरूका सम्बन्धमा नियमानुसार कानुनी कारबाही अघि बढाउने, अन्य कुराको हकमा व्यवसायी र बैंकबीच २०७५ साउन १५ मा भएको सम्झौताअनुसार अगाडि बढ्ने सहमति गरिएको छ ।

सहमतिमा बैंकका प्रतिनिधि तथा व्यवसायी दुवै पक्षबाट हस्ताक्षर गरिएको जनाउँदै पोउवा सङ्घका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले सहमति कार्यान्वयनमा सहजीकरणका लागि क्रियाशील रहने बताउनुुभयो ।

आजको मौसमः यी स्थानहरुमा पानी पर्ने र हावाहुरी चल्ने

काठमाडौं – हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough) पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व  तिर सरदर स्थान भन्दा उत्तर तर्फ ( नेपाल नजिक) अवस्थित रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको  छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश लगायत कोशी र लुम्बिनी प्रदेशका तराइका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको छ।

सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको हुनाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिन्छ। तसर्थ हावा हुरी भारी वर्षा, मेघ गर्जन/चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।

सिआइबीको आग्रह : ललिता निवास प्रकरणमा अतिरञ्जित र भ्रामक सूचना सम्प्रेषण नगर्नु

काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ललिता निवास प्रकरणमा अतिरञ्जित र भ्रामक सूचना सम्प्रेषण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।

ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले सोमबार एक विज्ञप्ति जारी गरी ललिता निवासको एक सय ४३ रोपनी जग्गाबारे सिआइबीले अनुसन्धान गरेकाले उक्त प्रकरणलाई अतिरञ्जित र भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह गरेका हुन् ।

‘केही दिनदेखि विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जालमा प्रस्तुत कसुरको तथ्यगत विषयलाई अन्यत्रै मोडी कसुरसँग असम्बन्धित व्यक्ति तथा पदाधिकारीको नामसमेत जोडी अतिरञ्जित र भ्रामकरूपमा केही समाचार प्रकाशित भएकामा ब्युरोको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

ब्युरोले ललिता निवास प्रकरणको अनुसन्धानका क्रममा विभिन्न निकाय र महानुभावबाट प्राप्त सहयोगले अनुसन्धानलाई मूर्तरूप दिने कार्यमा थप प्रेरणा मिलेको बताएको छ र आगामी दिनमा समेत सहयोग हुने विश्वास लिएको छ ।

सिआइबीले ललिता निवास प्रकरणमा प्रत्यक्षरूपमा संलग्न व्यक्ति तथा पदाधिकारीलाई कानूनी कारबाहीको दायरामा ल्याउन सम्पूर्ण सचेत नागरिकको सहयोगको अपेक्षासमेत गरेको छ । साथै तथ्यपरक, निष्पक्ष र व्यावसायिकरूपमा प्रस्तुत कसुरको अनुसन्धानलाई अगाडि बढाउने कार्यमा ब्युरो प्रतिबद्ध रहेको समेत बताएको छ ।

अव्यवस्थित बसाइँसराइलाई व्यवस्थित गर्न आवश्यक : मन्त्री बस्नेत

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनसङ्ख्या वृद्धिदर र प्रजननदर कम हुनुले तत्कालका लागि सकारात्मक भए पनि दीर्घकालीन अवस्थाका निम्ति जोखिम हुनसक्ने बताउनुभएको छ ।

विश्व जनसङ्ख्या दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले जनसङ्ख्याको विद्यमान अवस्था हेर्दा समाज परिवर्तित स्वरुपमा गइरहेकोसमेत बताउनुभयो । “जनसङ्ख्याको असन्तुलित अवस्था हेर्दा पहाडी क्षेत्रमा अनुकूल वातावरण र विकासका अवसर सिर्जना गरी अव्यवस्थित बसाइँसराइको प्रक्रियालाई रोक्न आवश्यक भइरहेको छ”, उहाँले जारी गर्नुभएको सन्देशमा भनिएको छ ।

मन्त्री बस्नेतले राष्ट्रिय जनगणना, २०७८ को नतिजाअनुसार नेपालको जनसङ्ख्यिक संरचनामा केही फेरबदल आएको उल्लेख गर्र्दै स्वास्थ्य, शिक्षा र पूर्वाधारका क्षेत्रमा उल्लेख्य सुधार भएता पनि सहरी तथा सुविधासम्पन्न स्थानमा जनसङ्ख्याको बढ्दो चाप, जनसङ्ख्या वृद्धिदरमा देखिएको कमी, ठूलो हिस्सा रहेको आर्थिकरूपले सक्रिय जनसङ्ख्याको उचित परिचालन, लैङ्गिक विभेद तथा सामाजिक कुरीति व्यवस्थापन गर्न थप कदम चाल्नुपर्ने देखिएको बताउनुभयो ।

उहाँले दिगो विकास लक्ष्यले परिकल्पना गरेअनुसार प्रगति हासिल गर्ने गम्भीरतापूर्वक भौगोलिक, क्षेत्रगत र लैङ्गिक असमानता घटाउने गरी कार्यक्रम अन्तरनिकाय र तीनै तहका सरकार बीचमा दृढ सङ्कल्पसहितको समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले जन्म, मृत्युदर्ताजस्ता व्यक्तिगत घटना दर्ता प्रणाली प्रभावकारी बनाउने, ज्येष्ठ नागरिकलगायत विपन्न तथा आम नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने, लैङ्गिक हिंसा प्रभावितका लागि उपचार तथा परामर्श सेवा पुर्याउने र जनसङ्ख्या व्यवस्थापनमा महत्त्वपूर्ण रहेका पक्षमा अध्ययन, अनुसन्धानका कार्यमार्फत नीतिगत सुधारका पहल निरन्तर भइरहेको सन्देशमा उल्लेख गर्नुभएको छ ।

आज नेपालसहित विश्वभर नै ‘लैङ्गिक समानतालाई बनाऔँ, अपरिहार्य रिवाजः सम्भावनाका ढोका खोल्न सुनौँ महिलाको आवाज’ भन्ने नाराका साथ जनसङ्ख्या दिवस मनाइँदै छ ।

पनौतीको बजेट एक अर्ब ५० करोड

काभ्रे – काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि रु एक अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ । नगरले सोमबार तेह्राँै नगरसभाको अधिवेशन सम्पन्न गर्दै उक्त बजेट पारित गरेको हो ।

सभामा आउँदो आवका लागि नगरप्रमुख रामशरण भण्डारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपप्रमुख निराजन जङ्गमले प्रस्तुत गर्नुभएको बजेट सर्वसम्मतले पास गरिएको छ । विनियोजित बजेटमध्ये नगरको आन्तरिक आय रु ४० करोड ७१ लाख, राजस्व बाँडफाँटबाट रु २० करोड नौ लाख, नेपाल सरकारको वित्तीय हस्तान्तरण, बागमती प्रदेश सरकारको वित्तीय हस्तान्तरण र जन सहभागितासहित रु एक अर्ब ५० करोड बजेट विनियोजन गरिएको हो । नगरको नीति तथा कार्यक्रम र अर्थ विधेयक, विनियोजन विधेयक तथा आय व्ययसहितको बजेट पास भएको छ । यस्तै सभाले २०७९÷८० को वार्षिक प्रतिवेदन तथा नगरले गरेका निर्णय अनुमोदन गरेको छ ।

यही असार १० गते सुरु गरिएको नगरसभा कार्यसूचीमा प्रवेश नै नगरी स्थगन भएको थियो । कर्मचारीसम्बन्धी ‘ओएनएम सर्वे’सम्बन्धी विषयमा सहमति नहुँदा उक्त दिन बजेट र नीति तथा कार्यक्रम दुवै प्रस्तुत हुन सकेन । सोमबार आयोजित सभामा भने उक्त प्रस्ताव कार्यसूचीमा समावेश नै गरिएन ।

भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्ष नगरस्तरीय योजना ठेक्का प्रक्रियाबाट सञ्चालन गर्ने बताउनुभयो । प्रस्तुत नीति तथा कार्यक्रममा नगरस्तरीय सबै र वडास्तरीय रु १० लाखभन्दा माथिका सबै योजना ठेक्का प्रक्रियाबाट कार्यान्वयन गरिने उल्लेख छ । तर बजेटमा जनसहभागितामार्फत रु ३८ लाख रकम आम्दानी हुने प्रक्षेपण गरिएको छ ।

यस्तै नीति तथा कार्यक्रममा ‘पनौती नगरको दिगो विकासको आधारः गतिशील अर्थतन्त्र, प्रविधि र पूर्वाधार’ नारालाई सार्थक बनाउन समृद्ध पनौती निर्माण अभियानलाई तीव्रता दिने, ‘नदी एवं खानीजन्य स्रोतको उत्खनन, प्रशोधन तथा ढुवानीलाई व्यवस्थित गराउँदै वडा नं २ र १२ का प्रभावित क्षेत्र सिमाङ्कन गरी खानीजन्य क्षेत्र घोषणा गरिने जनाइएको छ । नगर क्षेत्रका ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक र रमणीय पर्यटकीय क्षेत्रको विकासका लागि संरक्षण संवर्द्धन र प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने, वडा कार्यालयसम्मका सडक कालोपत्र, सिसी क्यामेरा जडान, ढलको पहुँच नभएका स्थानमा सोकपिट बनाउन प्रेरित गर्ने, जेटिङ्ग मेसिनको प्रबन्ध गर्ने उल्लेख छ ।

यसैगरी सुशासन तथा संस्थागत विकास, शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद, कृषि, महिला तथा बालबालिका, बालमैत्री स्थानीय शासन, पूर्वाधार विकास, सम्पदा, वन तथा वातावरण, पर्यटन, सहकारी, पञ्जीकरण तथा सामाजिक सुरक्षा, विपद् व्यवस्थापन, सूचना तथा प्रविधि, प्राकृतिक स्रोत व्यवस्थापन, सार्वजनिक सम्पत्ति उपयोग तथा संरक्षण, प्रधानमन्त्री रोजगार सेवा कार्यक्रमअन्तर्गत नगरमा गर्ने विभिन्न योजना र कार्यक्रमका बारेमा नीति तथा कार्यक्रममा सामावेश गरिएको छ ।

डिजिटल पनौतीको अवधारणालाई पूर्णता दिने, कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम तयार गरी निःशुल्क वितरण गर्ने, पनौती क्षेत्रका भूमिहीन सुकुम्बासीलाई धनी प्रमाणपुर्जा वितरण गर्ने, प्रदूषण नियन्त्रण गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने, नगरभित्र औद्योगिक ग्रामको स्थापना गर्ने, माध्यमिक विद्यालयलाई प्राविधिक विद्यालयका रूपमा विकास गर्ने, खोपासी स्वास्थ्यचौकीलाई नगर अस्पतालमा रुपान्तरण गर्ने, सामुदायिक विद्यालयमा ‘इ–लाइब्रेरी सर्भर’को व्यवस्था गरी अनलाइन शिक्षामा पहुँच विस्तार गर्ने, ८० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई नगरको सहकार्यमा समय–समयमा तीर्थाटन गराइनेसमेत नीति तथा कार्यक्रममा जनाइएको छ ।

सो अवसरमा अर्थ विधेयक, विनियोजन विधेयक, २०७९÷८० को वार्षिक प्रगति प्रतिवेदन, लेखा समिति गठन कार्यविधि–२०८०, लेखा समिति प्रतिवेदन, न्यायिक समिति प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

गाउँघरमा देखिन छाडे ढिकी, जाँतो र पानी घट्ट

ढोरपाटन – डेढ दशक अगाडि बागलुङ निसीखोलाका प्रत्येक गाउँमा पुग्दा पिँढीको एक छेउ ढुङ्गाको जाँतो र अर्को छेउ काठको ढिकी भेटिन्थे । स्थानीयले त्यही ढिकी जाँतोमा कुटानी पिसानी गर्थे । अहिलेको जस्तो ठाउँ–ठाउँमा मिल थिएनन् । जब यहाँका गाउँमा बिजुलीको पहुँच पुग्यो, तब स्थानीयले हरेक गाउँमा दुई–तीनवटा मिल सञ्चालन गर्न थाले । मिलले कुट्ने र पिस्ने काम गर्न थालेपछि घरका पिँढीमा रहेका ढिकी जाँतोको महत्त्व हराउँदै गयो । अहिले गाउँको कुनै पनि कुनामा ढिकी जाँतो भेट्टाउन सकिन्न । बरु घर–घरमा विद्युतीय मिल भेटिन थालेका छन् ।

विद्युत्को पहुँच नहुँदा स्थानीयले कुटानी पिसानीका लागि जाँतो, पानीघट्ट र ढिकीको प्रयोग गर्ने गर्थे । ढिकी जाँतो र पानीघट्ट अन्न पिस्ने परम्परागत प्रविधि हो । गाउँ–गाउँमा बिजुलीमार्फत चल्ने मिल पुगेपछि ढिकी दाँतोको प्रयोग घट्दै जानुका साथै लोप हुँदै गएका छन् । कुनै बेला गाउँलेको कुटानी पिसानी गर्ने प्रमुख माध्यम मानिने ढिकी जाँतो अहिलेका पुस्ताले चिन्नसमेत छोडिसकेका छन् । खोलाको ढुङ्गालाई मिस्त्रीले कलात्मकरूपमा कुँदेर जाँतो बनाउँथे भने काठको टुप्पोमा फलामको काँज लगाई भुइँमा पक्की ढुङ्गाको ओखल बनाई ढिकी बन्थ्यो । ढिकी, जाँतोको विकासपछि पानीघट्ट प्रयोगमा आएको बूढापाकाको भनाइ छ ।

पानीघट्ट खोला तथा नदी किनारमा बनाइने गरिन्थ्यो । खोलाको पानीलाई नहर निर्माण गरी केही माथिदेखि ठूलो पाइपमार्फत फिर्केसम्म झर्ने गरी बनाइन्थ्यो र पानीले फिर्के घुमाएपछि अन्नपात पिस्ने गथ्र्यो । अहिले यो प्रचलन हराइसकेको छ । यस्ता पानीघट्ट ठाडो खोलामा बनाइने गरेको पाइन्छ । अहिले यदाकदा पहिलेका घट्ट जीर्ण अवस्थामा देखिन्छन् । नयाँ प्रविधिको विकाससँगै मौलिक संस्कृति हराउँदै गएकोप्रति बूढापाका दुःखेसो पोख्छन् । नयाँ पुस्ताले पुराना संस्कृतिको संरक्षण नगर्दा आफूहरूको पालाका ढिकी, जाँतो र ओखल हराउँदै गएको निसीखोला गाउँपालिका–७ का देवबहादुर पुन मगर बताउनुहुन्छ । मिलले मानिसको दैनिक जीवनमा सहजता प्रदान गरे पनि खाद्यान्नमा हुने पौष्टिक तत्व नष्ट हुने उहाँको भनाइ छ ।

“पहिले–पहिले ढिकी जाँतोमा कुटे, पिसेको आँटो, पिठो र चामलको स्वादै फरक हुन्थ्यो, अहिले मिलले कुटेको पिठो आँटो खायो भने त्यत्ति स्वादिष्ट हुँदैन, मिलले चामल, मकैको बाहिरी बोक्रासँगै त्यसभित्र हुने पौष्टिकतत्व पनि नष्ट गरिदिँदो रैछ”, उहाँले भन्नुभयो– “अहिले त खाँदाखाँदै बानी पर्यो, पहिले मिलमा पिसेको आटो र चामल खासै मीठो लाग्दैनथ्यो, सजिलोमात्रै खोजेर हुँदैन रैछ, यसले स्वास्थ्यमा कस्तो प्रभाव पारेको छ भन्ने पनि बुझ्नुपर्छ ।”

अर्का स्थानीय तिलबहादुर सुनारले अहिले गाउँमा कसैको घरमा पनि ढिकी जाँतो नभएको बताउनुहुन्छ । अहिलेको पुस्ताले ढिकी कुट्न र जाँतो पिस्न गाह्रो मान्ने हुँदा यस्ता परम्परागत सामग्रीको अस्तित्व सङ्कटमा पर्दै गएको उहाँले बताउनुभयो । पहिले आफ्नो परिवार ११ जनाको हुँदा घरमा दुईवटा जाँतो र एउटा ढिकी रहेको स्मरण गर्दै पालैपालो आँटो पिठो पिसेर उपभोग गरेको सुनारले बताउनुहुन्छ । अहिले मिलले मान्छेलाई अल्छी बनाउनुका साथै रोगीसमेत बनाएको उहाँको भनाइ छ ।

उहाँका अनुसार पहिले ढिकीमा आँटो, पिठो र सातु पिस्ने गरिन्थ्यो भने ढिकीमा चामल, जौँ र गुन्द्रुक बनाउनका लागि मुला कुट्ने गरिन्थ्यो । खासगरी तिहारको बेला ढिकी जाँतो बढी प्रयोग हुने गरेको हुँदाले बताउनुभयो । तिहारको बेला ढिकीमा कुटेको चामलको पिठोले टीका लगाउने, दयो बनाउने र नुन कुटेर वस्तुभाउलाई खुवाउने गरेको स्मरण गर्दै अहिले त्यो प्रचलनसमेत हराएको सुनारको भनाइ छ ।

मिलले कुटानी पिसानीका लागि सहज बनाइदिनुका साथै समयको बचतसमेत भएको स्थानीय ७३ वर्षीया शोभाकुमारी क्षेत्रीले बताउनुभयो । पहिले पानीघट्ट तथा जाँतोमा आँटो पिठो पिस्ने गाउँलेको घुइँचो लाग्ने गरेको भन्दै अहिले सबै मिलमै कुटानी पिसानीको लागि जाने गरेको बताउनुभयो । पहिले पानीघट्ट सञ्चालन गरेकाहरू अहिले बन्द गरेर बस्न बाध्य भएको उहाँको भनाइ छ ।

“घट्ट सञ्चालकले मकै, कोदो, गहुँ, फापर पिस्न आउनेहरूबाट थोरै महसुल उठाउने गर्थे, त्यहीबाट घट्ट सञ्चालकले आफ्नो परिवार चलाउने गरेका थिए, अहिले गाउँले कुटानी पिसानीका लागि मिलमा जान्छन्, घट्टमा कोही पनि आउँदैनन्”, उहाँले भन्नुभयो, “मिलले ढिकी जाँतो र घट्टले भन्दा छिटो कुट्ने पिस्ने काम गरेर होला, पहिले निकै चलको घट्ट अहिले जीर्ण बनेका छन् ।” रासस

चितवन मिल्क तङ्ग्रिँदै : दैनिक एक लाख लिटर दूध प्रशोधन

भरतपुर – नेपालकै सबैभन्दा ठूलो पाउडर प्लान्ट चितवन मिल्कले दैनिक एक लाख लिटर दूध प्रशोधन गरिरहेको छ । भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेको उद्योगले आफ्नो प्रशोधन क्षमता बढाउँदै दैनिक एक लाख लिटर दूध प्रशोधन पु¥याएको हो । कुनै समय घाटामा गएका कारण बन्द भएको चितवन मिल्क क्रमशः तङ्ग्रिँदै गएको प्रबन्धक दुर्गाप्रसाद पराजुलीले बताउनुभयो । असार महिनामा पनि उद्योगमा दूधको अभाव छैन ।

चितवन मिल्कको दैनिक डेढ लाख लिटर प्रशोधन क्षमता छ । बिहान ६ः०० देखि बेलुका ८ः०० बजेसम्म उद्योग सञ्चालन हुने गरेको उहाँले जानकारी दिनुभयो । पाउडर र बटर बनाउनका लागि यहाँ पूर्व मेचीबाट पश्चिम महाकालीका विभिन्न जिल्लाका डेरीबाट दूध ल्याउने गरिएको छ । अहिले दैनिक तीन सय बोरा पाउडर र तीन सय ५० क्रेट बटर उत्पादन भइरहेको प्रबन्धक पराजुलीले बताउनुभयो । उहाँका अनुसार अहिले उत्पादनले गोदाम भरिएको बताउनुभयो । “जसले दूध ल्याउँछ उनीहरूले नै उत्पादन भएको पाउडर र बटर लैजाने गरेका छन्”, उहाँले भन्नुभयो, “दश दिनसम्म यही कोल्डस्टोरमा राखिदिने गरेका छौँ ।”

एक लाख लिटर दूधबाट १० टन पाउडर बन्छ । पाउडर मिल्कको रु चार सयदेखि पाँच पाँच सयको बीचमा मूल्य पर्छ । एक किलो पाउडरले ११ लिटर दूध बन्छ भने ११ लिटर झोल दूधबाट एक किलो पाउडर बन्छ । असार महिनामा यसरी प्लान्ट चलेको पहिलोपटक भएको जनाउँदै उहाँले बत्ती र पानीको समस्याले अझ पूरा समय सञ्चालन गर्न नपाएको बताउनुभयो । “जेठ महिनादेखि नै दूध धेरै आएको थियो, असारमा झन् बढ्यो”, उहाँले भन्नुभयो ।

विसं २०७२ को भूकम्पपछि तीन वर्ष उद्योग बन्द भएको थियो । उद्योग सञ्चालन भएपछि किसानले उत्पादन गरेको दूध खपत भएको छ । मिल्क होलिडे (उत्पादन भएको दूध बिक्री नहुने अवस्था) गर्नुपर्ने अवस्था छैन । “यहाँ प्रयोग भएको मेसिन जर्मन प्रविधिको हो । एउटा सामान बिग्रेपनि जर्मनबाट ल्याउनुपर्छ”, उहाँले भन्नुभयो । सुरुमा उद्योगबाट उत्पादित दूध पाकिस्तानमा पनि बिक्री हुन्थ्यो । हाल नेपालमै खपत भइरहेको महाप्रबन्धक पराजुलीले बताउनुभयो । अहिले ३२ जनशक्तिले उद्योगमा काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

चितवन मिल्क बन्द हुँदा दूध उत्पादन धेरै हुने ‘सिजन’मा उद्योगीले दूध लिन बन्द गर्दा किसानले सडकमै दूध फ्याँकेर विरोधसमेत गरेका थिए । उत्पादित दूधले बजार नपाएपछि पुनः मिल्क होलिडे हुन थालेको भन्दै केन्द्रीय दुग्ध सहकारी सङ्घले जिल्ला–जिल्लामा आन्दोलनसमेत गरेको थियो । जिल्ला दूध उत्पादक सहकारी सङ्घ चितवनका अध्यक्ष किशोर बगालेले बजारमा दूध नबिकेको अवस्थामा उद्योगमा प्रशोधन गरेर पाउडर दूध र बटर बनाउँदा दूध खेर जाने अवस्था नआएको बताउनुभयो । उहाँले किसानलाई चितवन मिल्क र अन्य प्रशोधन उद्योगका कारण मिल्क होलिडे गर्नुपर्ने अवस्था नआएको जानकारी दिनुभयो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पार्किङ शुल्क घटाउन माग

गण्डकी – पोखरा उद्योग वाणिज्य सङ्घले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पार्किङ शुल्क घटाउन माग गरेको छ । सङ्घका अध्यक्ष पवनकुमार प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले नागरिक उड्डयन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमलाई सोमबार ध्यानाकर्षणपत्र बुझाउँदै पुरानो विमानस्थलभन्दा झन्डै २१ गुणा महँगो शुल्क कुनै पनि कोणबाट जायज नभएको बताएको हो । सङ्घले आवागमनलाई असर नपर्ने गरी यात्रुलाई पुर्याउन जाँदा बिदाइ र आगन्तुक÷अथिति पाहुनालाई स्वागत गरी सवारीमा चढाउने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ ।

ध्यानाकर्षणपत्रमा विमानस्थल निर्माणको सूत्रधार, अभियानकर्ता एवं उपभोक्ताको नाताले विमानस्थलसँग सङ्घको गहिरो चासो जोडिएको उल्लेख गर्दै राष्ट्रिय गौरवको परियोजनाका रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रवाह हुने सेवा–सुविधा अन्तर्राष्ट्रियस्तरकै हुनुपर्नेमा जोड दिइएको छ ।

सेवा प्रवाहबाटै विमानस्थलले उपभोक्ताको मन जित्नुपर्ने उल्लेख गर्दै सङ्घले ध्यानाकर्षणपत्रमा विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा व्यवस्थित पार्किङ अपरिहार्य हुने र सेवा सस्तो, सुलभ एवं नागरिकमैत्री हुनुपर्ने भनेको छ । विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान प्रबन्धमा पनि सङ्घको उत्तिकै चासो हुने जनाएको छ ।

ध्यानाकर्षणपत्र बुझ्दै विमानस्थल प्रमुख गौतमले पार्किङ शुल्क महँगो भएको स्वीकार्नुभयो । विमानस्थल प्रशासन यात्रु ल्याउने–लैजाने कार्यमा सहजीकरण गर्नुका साथै राजमार्गसम्म निःशुल्क वा सशुल्क बस सेवा सञ्चालन गर्ने तयारीमा रहेको उहाँले जानकारी गराउनुुभयो ।

अध्यक्ष प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलमा वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, महासचिव बलराम आचार्य, कोषाध्यक्ष दिनेशचन्द्र बाँस्तोला र उपमहासचिव शोभा गौतमलगायत सहभागी हुनुुहुन्थ्यो ।

बागलुङमा ‘सुत्केरी पोषिलो खर्च’

बलेवा – जिल्लाका एक हजार ३४ जना सुत्केरीले ‘सुत्केरी पोषिलो खर्च’ पाएका छन् । स्वास्थ्य कार्यालय बागलुङले चालु आर्थिक वर्षमा यहाँका स्थानीय तहसँगको समन्वयमा ती महिलालाई ‘सुत्केरी पोषिलो खर्च’ उपलव्ध गराएको हो ।

सुत्केरी आमा पोषिलो खाना कार्यक्रमअन्तर्गत सुत्केरी भएको दिनदेखि ४५ दिनसम्म दैनिक रु दुईका दरले प्रतिमहिला रु नौ हजार सरकारले उपलब्ध गराउँदै आएको छ । आमा र शिशुलाई पोषणको कमी हुन नदिनका लागि विभिन्न कार्यक्रममार्फत सचेतना जगाउने र खर्च उपलब्ध गराउने गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रवीण शर्माले बताउनुभयो । स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउने, स्वास्थ्य संस्थामै सुत्केरी हुनेलाई यो कार्यक्रममा सहभागी गराइएको हो ।

नियमित खोप र स्वास्थ्य परीक्षण गराउन गर्भवतीलाई प्रोत्साहन गर्न पोषण भत्ता कार्यक्रम प्रभावकारी भएको उहाँको दाबी थियो । गर्भवतीले टिटानस र धनुष्टङ्कार रोगविरुद्धको डिटी खोप लगाउनुपर्छ । खोप लगाएको र नियमित परीक्षण गराउन स्वास्थ्य कार्यालयले प्रोत्साहित गर्ने गरेको छ । स्वस्थ शिशु जन्माउने र मातृ मृत्युदर घटाउने नीतिअनुरुप गर्भवतीलाई पोषण उपलब्ध गराइएको शर्माले बताउनुभयो ।

हालसम्म चालु आवमा बागलुङभरका एक हजार ३४ सुत्केरी महिलाले “सुत्केरी पोषिलो खर्च’बापत रु ९३ लाख छ हजार पाएका छन् । ‘पोषणसँग सम्बन्धित धेरै काम हामीले गरेका छौँ”,उहाँले भन्नुभयो, “कुपोषण व्यवस्थापन, पोषण पैरवी, कुपोषित बालबालिकाको खोजीलगायतका कार्यक्रम सञ्चालन गरेका छौँ ।”

कार्यालयले पोषण शिविरमार्फत तीन सय ५० जनाको परीक्षण गरेको थियो । तीमध्ये छ जना शीघ्र कुपोषण र मध्यम कुपोषण ३९ जना पत्ता लागेको शर्माले बताउनुभयो । उनीहरुको उपचारका लागि धौलागिरि अस्पताल बागलुङ र गण्डकी प्रदेश सरकार मातहतका विभिन्न अस्पतालमा जान भनिएको थियो ।

पाँच वर्षमुनिका बालबालिका कुपोषणको जोखिममा हुने भन्दै जिल्लाका आठ स्थानीय तहमा कार्यालयले पोषण अवस्थाको विषयमा सर्वेक्षणसमेत गरेको थियो । सर्वेक्षणमा दुई सय ८७ बालबालिका सहभागी भएका थिए । उनीहरुमध्ये कुपोषित बालबालिका धेरै भएका दुई स्थानीय तहमा पोषण शिविर सञ्चालन गरेर तीन सय ५० बालबालिकालाई सेवा दिइएको कार्यालयको तथ्याङ्क छ ।

गोरखाका पाँच स्थानीय तहद्वारा बजेट स्वीकृत

गोरखा – गोरखा जिल्लाभित्रका पाँच स्थानीयको आगामी आर्थिक वर्ष २०८०÷०८१ बजेट स्वीकृत भएको छ । जिल्लाको बारपाक सुलिकोट , अजिरकोट, भीमसेन थापा, सिरानचोक र सहिद लखन गाउँपालिकाको आगामी आवको बजेट पारित भएको हो ।

बारपाक सुलिकोटले आगामी आव २०८०÷०८१ का लागि कूल रु ६० करोड ३९ लाख ६९ हजार बराबरको बजेट गाउँसभाबाट स्वीकृत गरिसकेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

त्यस्तै सहिद लखनले रु ६३ करोड २० लाख १० हजार बराबरको बजेट गाउँसभाबाट स्वीकृत गरेको छ भने सिरानचोकले असार रु ७९ करोड ८४ लाख ५५ हजार ६ सय रुपैयाँ बराबरको बजेट घोषणा गरी पारित गरेको गाउँपालिकाले जनाएको छ । जिल्लाको अजिरकोटले आगामी आवका लागि रु ४९ करोड ३४ लाख ९३ हजार बराबरको बजेट पारित गरेको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिनुभयो । भीमसेन थापाले रु ५५ करोड ८४ लाख ३० हजार चार सयको बजेट ल्याएको छ ।

सो गाउँपालिकाले यही असार १० गते नीति तथा कार्यक्रम र बजेट एकैदिन गाउँसभाबाट स्वीकृत गरेको गाउँपालिका अध्यक्ष लोकप्रसाद बङ्जरा (अक्कल) ले जानकारी दिनुभयो । पाँचवटै स्थानीय तहहरुले असार १० गतेभित्रै आगामी आवको बजेट नीति तथा कार्यक्रम पारित गरेका हुन् ।

जिल्लाको ११ स्थानीय तहमध्ये छ स्थानीय तहरुको बजेट भने स्वीकृत गर्न बाँकी रहेको छ । गोरखा र पालुङटार नगरपालिका, आरुघाट, चुमनुब्री, धार्चे र गण्डकी गाउँपालिकाको बजेट पारित हुन बाँकी रहेको हो ।

गोरखाले आवका लागि कूल रु एक अर्ब ३२ लाख ६५ हजारको बजेट नगरसभामा पेश गरेको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो । त्यस्तै पालुङटार नगरपालिकाले रु ८३ करोड ८७ लाख २५ हजार, आरुघाटले रु ५८ करोड १६ लाख १७ हजार सात सयको बजेट गाउँसभामा पेश गरेको छ ।

उत्तरी गोरखाको चुमनुब्रीले पनि आगामी आवको बजेट स्वीकृत हुन बाँकी रहेको जनाएको छ । आजदेखि सुरु हुने गाउँसभाले आगामी आवको बजेट पारित गर्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो । धार्चेले रु ४८ करोड ९१ हजार पाँच सय बराबरको बजेट ल्याएको छ भने गण्डकी गाउँपालिकाले रु ६१ करोड ७२ लाख बजेट गाउँसभामा पेश गरेको छ । गाउँसभाबाट बजेट पारित हुन बाँकी रहेका सबै स्थानीय तहहरुले असारभित्रै बजेट स्वीकृत भइसक्ने जनाएका छन् ।

अचार बिक्रीबाट वार्षिक पाँच लाख आम्दानी

गल्याङ – स्याङ्जाको गल्याङ नगरपालिका–३, आदर्श टोल निवासी ४४ वर्षीया माया पाठकले तालिमलाई सदुपयोग गरेर आत्मनिर्भर बन्नुभएको छ । उहाँले महिला बहुउद्देश्य सहकारी संस्था लिमिटेडद्वारा २०७७ सालमा प्रदान गरेको एक हप्ते अचार बनाउने तालिम लिनुभएको थियो ।  उहाँ आत्मनिर्भर मात्र बन्नुभएको छैन प्रशिक्षकका रूपमा विभिन्न ठाउँमा महिलालाई अचार बनाउने तालिमसमेत दिँदै आउनुभएको छ ।

तालिम लिएपछि उहाँले पाठक अचार उद्योग दर्ता गरेर व्यावसायिक रूपमा अचार बनाउन थाल्नुभयो । उहाँले रु ६० हजारबाट सुरु गरेको अचार उद्योगको लगानी हाल पाँच लाख पुगेको बताउनुभयो ।

चुलो चौकोमा सीमित पाठकको दैनिकी अचार उद्योग सञ्चालनपश्चात् फेरिएको छ । उहाँ बिहान सबेरै उठ्नुहुन्छ । अचारका लागि विभिन्न कच्चापदार्थ चक्कुको सहायताले टुक्रा पार्नुहुन्छ । मसला र तेलमा कच्चा पदार्थ राम्ररी मोल्नुहुन्छ । दिउँसोपख छोरी बुहारीको सहयोग लिएर मोलेर राखेको अचार बट्टामा खाध्नुहुन्छ । कसैले अचार खाँद्ने, कसैले सिल्लर गर्ने, कसैले स्टिकर टाँस्ने, कसैले प्लास्टिकले लेप गर्ने यो उहाँहरूको दैनिकी हो ।

“उद्योग सञ्चालनपश्चात् कोरोना कोरोनाको मारमा परियो, बिक्रीका लागि ठिक्क पारेका अचार स्टोरमै थन्काउनुपर्ने भयो”, मायाले भन्नुभयो, “व्यवसाय छोडौँ कि निरन्तरता दिऊँ भन्ने दोधार मनका बीच व्यवसायलाई यहाँसम्म ल्याएकी छु, अहिले राम्रो हुँदै गएको छ ।” उहाँले आफूले उत्पादन गरेको अचारबाट वार्षिक रु साढे दुईदेखि पाँच लाख आम्दानी गर्ने गरेको बताउनुभयो । “भान्साको गहनाका रूपमा लिइने अचार सबै स्वस्थ व्यक्तिका लागि लोकप्रिय छ”, उहाँले भन्नुभयो, “अचार गुणस्तरीय र स्वादिलो भए पनि ठुलो परिणाममा उत्पादन गर्दा बजारीकरणमा समस्या छ ।” उहाँले बजारीकरणको राम्रो व्यवस्था भए अझै दुईचार जनालाई रोजगार दिन सक्ने दाबी गर्नुभयो ।

उहाँको उद्योगको अचार गल्याङ, वालिङ, पाल्पा बुटवललगायतका स्थानमा थोक तथा खुद्रा बिक्री हुने गरेको छ । उद्योगमा लप्सी, अमला, गुन्द्रुकभट्ट, अकबरे खुर्सानी, डल्ले खुर्सानी, हरिया र सुकेका खुर्सानी, तामा, कागती, लसुन, आँप, मिक्स, गाँजर मुलालगायतका अचार उत्पादन हुने गरेका छन् । यहाँ उत्पादितमध्ये लप्सी, लसुन, अकबरे खुर्सानी र कटहरको अचार अत्यधिक लोकप्रिय छन् ।

“घरेलु तथा साना उद्योग कार्यालय स्याङ्जाबाट सिल्लर मेसिन पाएपछि अचार सुरक्षित गर्न सजिलो भएको छ”, मायाले भन्नुभयो, “ड्राइ मेसिनका लागि विभिन्न ठाउँमा निवेदन दिए तर पनि पाउँन सकेकी छैन, ड्राइ मेसिनको अभावमा बर्खामा अचार सुकाउन समस्या भएको छ ।”

पाठकको श्रीमान् खेमानन्द रोजगारको सिलसिलामा भारतमा हुनुहन्छ भने एक छोरा सुरज वैदेशिक रोजगारमा जानुभएको छ । उहाँलाई बुहारी आरती र छोरी पूजाले अचार बनाउने काममा दैनिक साथ दिँदै आउनुभएको छ । गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले सीपमूलक तालिम सिकेर आत्मनिर्भर बनेका महिलालाई नगरपालिकाले प्रोत्साहनका योजना ल्याएको बताउनुभयो । “नगरपालिकाले नयाँ आर्थिक वर्षमा धेरैभन्दा धेरै स्वरोजगार उत्पादन गर्ने लक्ष्य राखेको छ”, उहाँले भन्नुभयो, “परम्परागत पेसा, हस्तकला, महिलाको सीपलाई विशेष प्राथमिकताका साथ नगर अगाडि बढ्ने योजनामा छ ।” रासस

प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची

काठमाडौँ  – प्रतिनिधिसभा बैठक बस्दैछ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा दिउँसो ३ः०० बजे प्रतिनिधिसभा बैठक बस्न लागेको हो । 

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा तीन वटा विधेयक प्रस्तुत हुनेछन् । जसअनुसार राष्ट्रियसभाबाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० प्रतिनिधिसभा बैठकमा टेबुल हुनेछ । 

यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० पेस गर्नेछन् भने राष्ट्रियसभामा उत्पत्ति भएको ‘मलुकी संहिता सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव पेस गर्नुहुने छ।

आजै सो विधेयकमाथि संसोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा राखेको संसद् सचिवालयले मुलुकी संहिता सम्बन्धी विधेयक पारित गर्ने प्रस्ताव प्रस्तुत हुनेछ ।  

राष्ट्रियसभा बैठक: विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुने

काठमाडौँ  – राष्ट्रियसभाको बैठक बस्दैछ ।  सङ्घीय संसद् भवन, नयाँ वानेश्वरमा राष्ट्रियसभाको बैठक बस्नेछ । बैठक दिउँसो ११ः०० बजे बोलाइएको छ । 

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार शुक्रवारको बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रूपमा छलफल हुनेछ ।

जसअनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा मन्त्रालय, जलस्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय माथिको बजेट माथि छलफल हुनेछ । 

साथै, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालय माथि छुटाइएको बजेटमाथि पनि छलफल हुनेछ । 

रसुवामा डेङ्गुको बिरामी

रसुवा – उत्तरी रसुवाको भू–भागमा समेत डेङ्गुका बिरामी फेला परेको छ । ती बिरामीको हाल धुन्चेस्थित जिल्ला अस्पतालमा उपचार भैराखेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमितकुमार शाहले एकजना डेङ्गुका बिरामीलाई अस्पतालको अन्तरङ्ग कक्षमा राखी उपचार भइरहेको जानकारी दिनुभयो ।

समुद्र सतहदेखि दुई हजार मिटरको उचाइमा डेङ्गु रोगका बिरामी फेला परेपछि जिल्ला अस्पतालले लामखुट्टेप्रति सावधानी रहन अनुरोध समेत गरेको छ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम बढेपछि गर्मी स्थानमा मात्र हुने लामखुट्टे हिमाली क्षेत्रमा उक्लेको जनाइएको छ । मेडिकल सुपरिटेन्डेन्ट डा शाहले डेङ्गु सार्ने लामखुट्टे बिहान सूर्यदयभन्दा अगाडि र साँझ सूर्यदयभन्दा पछाडि थोरै समय सक्रिय रहने भएकाले सो समयमा बढी सावधानी अपनाउनु पर्छ भन्नुभयो ।   उहाँले घरआँगन छेउका गोरेटो घोडेटोलगायतमा पैदल वा सडक मार्गमा सफा राख्न र पानी जम्ने स्थान माटोले पुरी पानीका भाडा छोपेर राख्न आग्रह समेत गर्नुभयो ।  

यस्तै जिल्ला अस्पताल धुञ्चेले आइतबारदेखि थप व्यवस्थित गर्दै ‘ओपिडी सेवा’ सञ्चालनमा ल्याएको छ । अस्पताल छेउमा रहेको पुरानो भवनलाई सदुपयोग गर्दै व्यवस्थित तवरको ओपिडी सेवा सञ्चालनमा ल्याएको हो । सो ओपिडी सेवाको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले शुभारम्भ गर्नुभयो ।

अस्पताल पुग्नासाथ अधिकांश बिरामी काठमाडौँ रिफर गर्ने परिपाटी क्रमशः अन्त्य हुँदै गएको जनाइएको छ । यसबाट विशेषगरी प्रसुती सेवा लिने सेवाग्राहीलाई सहज भएको समाजसेवी बाबुलाल तामाङले बताउनुभयो ।

मनसुनी वायुको प्रभाव, देशभर वर्षाको सम्भावना

काठमाडौँ  – हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्व तिर सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको  छ। सबै प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो  देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। 

राती भने देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोसी  र गण्डकी  प्रदेशलगायत देशका तराईका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। 

सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको हुनाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुनसक्ने देखिन्छ। 

तसर्थ हावाहुरी भारी वर्षा, मेघ गर्जन / चट्याङ, गेग्र्यान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 
२०८० असार २५ गते (सोमबार)
दिउँसो: 
 देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोसी र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। 
राती: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

२०८० असार २६ गते (मङ्गलवार)
दिउँसो
:  देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक दुई स्थानमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।राती: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।कोसी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस प्रदेशलगायत कोसी र लुम्बिनी प्रदेशका तराइका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। 

२०८० असार २७ गते (बुधवार)
दिउँसो:
  देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोसी र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। 
राती: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस प्रदेशलगायत कोसी र लुम्बिनी प्रदेशका तराइका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

मकवानपुरका आमेथ रुम्बा अन्तराष्ट्रिय फुटबल खेल्दै

हेटौंडा / मकवानपुरका आमेथ रुम्बाले स्पेनमा मंगलबार देखी सुरुहुने ३० औँ दोनोस्टी कप अन्तराष्ट्रिय फुटबल प्रतियोगीता २०२३ मा खेल्ने अबसर पाएका छन् । स्पेनको दोनोस्टी सिटीमा आयोजना हुने नौ बर्ष मुनिका खेलाडीहरु बिच हुने अन्डर नाईन खेलमा रुम्बाले सिडि ईन्टरनेशनल कल्बबाट खेल्ने मौका पाएका हुन् । उनि फरवर्ड प्लेयर पोजिसनका खेलाडी हुन् । सिडि ईन्टरनेशनल कल्बले रुम्बाको रनिङ्ग,खेलको क्षमता र बलियो शरिर देखेका कारण कल्बमा छात्राबृती दिएर प्रशिक्षण गराईएको छ ।

उनको खेल क्षमताको आधारमा छोटो समयमै कल्बमा अनुबन्धित भएर दोनोस्टी कप ईन्टरनेशनल फुटबल प्रतियोगीतामा कल्बले छनौट गरेको उनका बुबा अशोक रुम्बाले बताउनु भयो । बाबुको ईच्छापनि फुटबलमै भएका कारण आफुले सोही क्षेत्रमा लगाएर अगाडी बढाएको रुम्बाले बताए । मंगलबार रुम्बाको टिमले पेरिसको न्यु ओरल्यास कल्बसंग पहिलो खेल खेल्ने छ । दोनोस्टी सिटिको एलिना स्टेडियममा जुलाई ३ देखी ९ सम्म चल्ने प्रतियोगीता अन्तरगत मंगलबारको खेल नेपाली समय अनुसार साझ आठ बजे सुरुहुने तालीका रहेको छ । प्रतियोगीतामा एसिया,अमेरीका,युरोप र अफ्रिका गरी २७ राष्ट्रका खेलाडीहरुको सहभागीता रहने जनाईएको छ ।

आमेथ नेपाली,हिन्दी,अंग्रेजी,स्पेनिष्ट र दोनोस्टीको बाईसबास भाषा समेत राम्रै बोलने गर्दछन । मकवानपुरको मनहरी गाँउपालीका स्थित हाडिखोला ३ पालदमार स्थायी घर भएका आमेथ बुबाको रोजगारी शिलशिलामा स्पेन बस्दै आएकाछन् । उनी भबिस्यमा राम्रो अन्तराष्ट्रिय खेलाडीका रुपमा छाउने पक्का छ । आमेथका बुबा अशोक सिनक्युकेसिन कराँते गण्डकी प्रदेशका संयोजक एबं पर्यटन ब्यवसायी हुन् ।

ललिता निवास प्रकरणमा : थप दुई जना पक्राउ

काठमाडौँ / ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा समरजङ कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी अधिकृत ध्रुव अर्याल रहेका सिआइवीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुभयो ।

घिमिरेमाथि सरकारी जग्गा संरक्षणमा पहल नगरेको आरोप लगाइएको छ । यस्तै अर्याल भने त्यसबेला जग्गा नापजाँचमा खटिएको जनाइएको छ ।

उनीहरुलाई यसअघि नै पक्राउ पूर्जी जारी भएको थियो । उक्त प्रकरणमा सिआइवीले यसअघि नौ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

कीर्ते तथा सङ्गठित रुपमा सरकारी जग्गा हिनामिना गरेको आरोपमा यसअघि पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, धर्मप्रसाद गौतम र गोपाल कार्कीलगायत पक्राउ परिसकेका छन् ।

विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो । सोही प्रकरणमा सिआइवीले अनुसन्धान गरिरहेको छ ।

ललिता निवास प्रकरणमा यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको ब्यूरोले पुनः अनुसन्धान थालेको हो ।

सदन कुनै नेताको मुडमा चल्ने कुरा नभई जनताप्रति उत्तरदायी हुने विषय हुनुपर्छ : सभापति लामिछाने

काठमाडौँ / आइतबार संसद् भवन परिसरमा पत्रकारसँग कुराकानी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सदन कुनै नेताको मुडमा चल्ने कुरा नभई जनताप्रति उत्तरदायी हुने विषय भएको बताउनुभयो ।

रास्वपा कुनै अमुक दलको पछि लाग्यो भन्ने आरोप लागेको भन्दै उहाँले सबै प्रतिपक्षी दल एउटै नभएको र रास्वपाको पनि आफ्नो छुट्टै एजेन्डा रहेको तर्क गर्नुभयो । उहाँले यसअघिका बैठकमा सभामुखले प्रतिपक्षी दल एमालेलाई बोल्न समय दिएर सत्तापक्षलाई बोल्न समय दिएको तर रास्वपालाई बोल्न नदिएको भन्दै असन्तुष्टि जनाउनुभयो । लामिछानेले आफूहरू जनताको मुद्दाको पछि लागेको भन्दै कुनै राजनीतिक दलको पछि नरहेको स्पष्ट पार्नुभयो ।

उहाँले मिटरव्याजी सम्बन्धी कानून लागू हुनुपर्छ पक्षमा रास्वपा रहेको तर सरकारले अन्तिम दिनमा सदनमा ल्याएर आफु जनप्रिय छु भन्ने देखाउन खोजेको पनि बताउनुभयो । उहाँले महत्त्वपूर्ण विधेयकहरूप्रति रास्वपा सचेत रहेको धारणा राख्नुभयो ।

जबरजस्ती करणी मुद्दामा साढे १८ वर्ष कैद

दमौली/ तनहुँ जिल्ला अदालतले जबरर्जस्ती करणी मुद्दाका अभियुक्तलाई १८ वर्ष छ महिना कैद फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले आज अभियुक्त व्यास नगरपालिका–१० निवासी यमबहादुर विकविरुद्ध उक्त फैसला सुनाएको हो ।

यही असार १३ गते मुद्दा फैसला भएकोमा आज सजाय निर्धारण भएको जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिनुभयो । अदालतले कुँवरलाई रु. छ लाख जरिवाना र रु. १५ हजार क्षतिपूर्ति बुझाउने समेत फैसला गरेको छ ।

निज अभियुक्तविरुद्ध विसं २०७८ असार ८ गते परिवर्तित नाम २०७७-७८ ट कुमारी वादीद्वारा तनहुँ जिल्ला अदालतमा जबरर्जस्ती करणी मुद्दा दर्ता भएको थियो । चौँध वर्षीया बालिकालाई विसं २०७७ मङ्सिर १५ गते जबरजस्ती करणी र विसं २०७८ जेठ १३ गते गर्भपतन गराएको अभियोगमा प्रहरीले विकलाई पक्राउ गरेको थियो । अभियुक्तले बालिकालाई विसं २०७७ मङ्सिर १५ र त्यसपछि पटक–पटक बलात्कार गरेको उजुरी परेको थियो ।

‘लामुखट्टेको बासस्थान खोज र नष्ट गर’ अभियान सञ्चालन गरिने

काठमाडौँ / उपत्यकाका स्थानीय तहले ‘लामुखट्टेको बासस्थान खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने भएका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले डेङ्गुको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि स्थानीय तहका प्रमुख र उपप्रमुख तथा स्वास्थ्य विभागका प्रमुखसँग गरेको छलफलमा चार महिनासम्म उक्त अभियान सञ्चालन गरिने महाशाखाका किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिनुभयो ।

“अबको चार महिना डेङ्गु सङ्क्रमण बढ्ने निकै नै जोखिम हुन्छ”, उहाँले भन्नुभयो, “स्थानीय तहले चार महिना लामुखट्टेको बासस्थान खोज र नष्ट गर अभियान सञ्चालन गर्नेछन् ।”

स्थानीय तहले प्रत्येक हप्ता टोल–टोलमा गएर पानी जम्ने सम्भावना भएको ठाउँ खोजी गरी नष्ट गर्नेछन्। महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले महाशाखाबाट उपत्यकाका सबै स्थानीय तहलाई रोकथाम र नियन्त्रण गर्न आग्रह गर्दै यसका लागि आवश्यक सहयोग उपलब्धसमेत गरइने जानकारी दिनुभयो ।

बूढानीलकण्ठ नगरपालिकका प्रमुख मिठाराम अधिकारीले लामखुट्टे खोज्न र नष्ट गर अभियान चाँडै नै सञ्चालन गरिने बताउनुभयो । उहाँले पालिकाभित्रका गाउँ टोलमा पनि डेङ्गु नियन्त्रण तथा रोकथामका लागि सचेतना अभियानसमेत सञ्चालन गरिने उल्लेख गर्नुभयो ।

पानीपरेसँगै जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्ने भएकोले डेङ्गुको जोखिमसमेत बढ्दै आएको छ । महाशाखाका अनुसार काठमाडौँमा ४६ ललितपुरमा १२ भक्तपुरमा ३५ जना डेङ्गुका बिरामी भेटिएका छन् । सन् २०२३ यता अहिलेसम्म एक हजार २४ मानिस डेङ्गुका कारणले बिरामी हुनाका साथै सुनसरीमा एक जनाको ज्यान गएको छ ।

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फूल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गु रोग लाग्दछ । डेङ्गुले गर्दा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्नेजस्ता लक्षण देखा पर्दछ ।

लामखुट्टेबाट बच्न सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन र घरको झ्याल तथा ढोकामा जाली हाल्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ । सन् २०२२ मा ५४ हजार छ सय ३० जनामा डेङ्गु देखिएको र यसबाट ८८ जनाको ज्यान गइसकेको छ । नेपालमा पहिलो पटक सन २००४ मा एक जनामा डेङ्गु देखिएको थियो ।

खुकुलो मौद्रिक नीति ल्याउँदा अर्थतन्त्र चलायमान हुन्छ : अर्थमन्त्री डा. महत

काठमाडौँ / अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रलाई चलायमान बनाउन आगामी आर्थिक वर्षका लागि खुकुलो मौद्रिक नीति ल्याउन आवश्यक रहेको बताउनुभएको छ ।

आर्थिक छलफल चौतारी नेपालले आज काठमाडौंँमा आयोजना गरेको ‘नेपालको आर्थिक अवस्था र आगामी मौद्रिक नीति’ विषयक अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री महतले आगामी मौद्रिक नीति तय गर्दा नीतिगत दर (पोलिसी रेट) मा सम्बोधन गरी खुकुलो गरेर जाँदा अर्थतन्त्र चलायमान हुने बताउनुभयो ।

“मौद्रिक नीति खुकुलो हुने वित्तिकै अर्थतन्त्र चलायमान भएर सहजतातर्फ जान्छ”, उहाँले भन्नुभयो, “कोभिड महामारी पछि पुनरुत्थानका लागि खुकुलो बनाइएको नीति बाह्य क्षेत्रमा समस्या देखिएपछि एकाएक कडाइ गरियो । त्यसको कडाइको प्रभाव अहिले पनि देखिरहेको छ ।”

वित्त नीति र मौद्रिक नीति अर्थतन्त्रका मुख्य दुई उपकरण रहेको उल्लेख गर्नुहुँदै अर्थमन्त्री महतले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक बीचको समन्वयकारी भूमिका हुनुपर्नेमा जोड दिनुभयो । नेपाल राष्ट्र बैंकले स्वायत्त रुपमा काम गरोस् र समग्र अर्थतन्त्र सुधारका लागि पहल गरोस् भन्ने चाहना रहेको उहाँको भनाइ थियो ।

“वित्त नीतिले एउटा र मौद्रिक नीतिले अर्को बाटो समत्यो भने हाम्रा लक्ष्य पूरा हुन सक्दैनन, अर्थमन्त्री महतले भन्नुभयो, “पदको दुरुपयोग मन्त्रालय वा राष्ट्र बैंक दुवैको नेतृत्वबाट हुन सक्छ । राष्ट्र बैंक स्वायत्त भनेर संवैधानिक आयोग जस्तो बनाएर जानुपर्छ भन्ने पनि हुँदैन । अन्तर्राष्ट्रिय अभ्यास पनि हेरिनुपर्छ ।”

सरकारले वित्त नीतिमा अर्थतन्त्र सुधारका महत्वपूर्ण कार्यक्रम राखेको अर्थमन्त्री महतले बताउनुभयो । अहिले लागत महँगो हुँदा पुँजी प्रवाह हुन नसकेको र यसले समग्र अर्थतन्त्र चलायमान हुन नसकेको उहाँको भनाइ थियो ।

आर्थिक अनुशासन पालना सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै अर्थमन्त्री महतले सरकारले अहिले अनावश्यक रकमान्तर रोकेको जानकारी दिनुभयो । उहाँले आगामी आर्थिक वर्षका लागि छ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखिएकोमा त्यो पूरा हुनेमा आफू आशावादी रहेको धारणा व्यक्त गर्नुभयो ।

प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले अर्थतन्त्रमा अहिले देखिएका समस्याको शीघ्र पहिचान गरी समाधानतर्फ लाग्नुपर्ने बताउनुभयो । “नेपालको अर्थतन्त्र गम्भीर अवस्थामा जाँदैछ, त्यसलाई कसरी पुनरुत्थान गर्ने भन्ने आवश्यकता छ”, उहाँले भन्नुभयो, “हाम्रा नीति वा नियत केमा समस्या हो पहिचान गर्न आवश्यक छ ।”

आर्थिक छलफल चौतारी नेपालका अध्यक्षसमेत रहनुभएका सांसद चौधरीले अर्थतन्त्र सुधारका लागि कुन ठाउँमा समस्या छ र कसरी सुधार गर्ने भनेर पहिचान गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिका लागि लिइएका सुझाव नेपाल राष्ट्र बैंकलाई दिने जानकारी दिनुभयो ।

कार्यक्रममा अर्थविद डा. डिल्लीराज खनालले बैंकिङ र वित्तीय क्षेत्रमा समस्या आउँदा समग्र अर्थतन्त्रमा नै समस्या आउने गरेको बताउनुभयो । “पछिल्ला दिनमा अर्थतन्त्र सुधारोन्मुख देखिए पनि अझै सङ्कट कायम छ । अहिले तरलता बढेको छ तर कर्जाको विस्तार हुनसकेको छैन”, उहाँले भन्नुभयो ।

बैंक तथा वितीय संस्थाको कर्जा विस्तार उत्पादनमूलक क्षेत्रमा हुन नसकेको अर्थविद डा खनालको भनाइ थियो । “कोभिड महामारी पछिको पुनरूत्थानका लागि हामीले विस्तारकारी मौद्रिक नीति ल्यायौँ । त्यो आवश्यक पनि थियो । पछि उक्त नीतिले समयानुकूल नतिजा दिन सकेन”, उहाँले भन्नुभयो, “कहाँ लगानी भएको छ भन्ने विषयलाई हामीले उपेक्षा गरेका छौँ । साना, मझौला उद्योग र उत्पादन क्षेत्रमा लगानी नभएकाले बजारमा मूल्य वृद्धि देखिएको हो ।”

घरजग्गालगायत अनुत्पादक क्षेत्रमा लगानी हुनु, कर्जाको ठूलो हिस्सा निश्चित ठूला घरानाले सहुलियतपूर्ण रुपमा प्रयोग गर्नु, सहकारी संस्था समस्याग्रस्त हुँदै जानुलगायत समस्या वित्तीय क्षेत्रमा रहेकाले यसलाई सुधार्नु पर्नेमा अर्थविद डा खनालले जोड दिनुभयो ।

अर्थविद डा. चन्द्रमणि अधिकारीले क्षेत्रगत कर्जाको नतिजा कुल गार्हस्थ्य उत्पादनमा देखिन नसकेको उल्लेख गर्नुभयो । “कृषि, जलविद्युतलगायत क्षेत्रमा प्रवाह भएको कर्जा अनुसार ती क्षेत्रले जीडिपीमा पुर्‍याएको योगदान कम छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा पूर्व बैंकर अनलराज भट्टराईले अहिले बजार माग खुम्चिएको उल्लेख गर्नुहुँदै मौद्रिक नीतिले निजी क्षेत्रलाई व्यवसाय गर्नसक्ने वातावरण बनाउन सक्नुपर्ने धारणा राख्नुभयो ।

लुटपाटमा संलग्न पाँच जना पक्राउ

काठमाडौँ / काठमाडौँका विभिन्न स्थानमा महिलाको घाँटीमा लगाइएको सुनका सिक्री लुटपाट गर्ने कार्यमा संलग्न गिरोहका पाँच जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको छ ।

आज पत्रकार सम्मेलन गरी पक्राउ गरिएका पाँच जनलाई सार्वजनिक गरिएको हो । पक्राउपर्नेमा रामेछाप लिखु गाउँपालिका–१ का ३२ वर्षीय रवीन दमाईं, सुनसरी धरान उपमहानगरपालिका–८ का १८ वर्षीय रवि विश्वकर्मा, काभ्रे पाँचखाल नगरपालिका–७ का उमेश क्षेत्री, धनकुटा लेगुवा गाउँपालिका–७ बस्ने ३० वर्षीय राहुल माझी र भारत पश्चिम बङ्गाल, पश्चिम मेदनीपुर जिल्ला दासपुर थाना जयरामचोक बस्ने ४२ वर्षीय श्रीकान्त माइती रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोजकुमार केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेकाहरुले काठमाडौँका विभिन्न स्थलमा ‘मर्निङ वाक’ हिँडेका महिलालाई लक्षित गरेर शृङ्खलाबद्धरुपमा महिलाले गलामा लगाएका सुनका सिक्री लुटपाट गर्ने गरेका थिए । रवीन दमाईं मर्निङ वाकमा हिँडेका महिलाले गलामा लगाएको सुनका सिक्री लुट्ने र विश्वकर्मा मोटरसाइकल चलाउने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

यसैगरी भारतीय नागरिक माइतीले लुटपाट गरेको सुन खरिद गरेका थिए भने अन्य दुई जना पनि सुन पगाल्नेदेखि अन्य भूमिकामा रहेको खुलेको प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा केसीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पक्राउ परेकाहरुले न्युरोडको जनसेवा मार्ग, चक्रपथको बङ्गलामुखी मन्दिर, सामाखुसीको कपुरधारा, टोखाको ग्राण्डी नजिकै र नागार्जुनको बुद्ध चोकबाट महिलाको सिक्री लुटेको खुलेको छ, टोखाकै विष्णुमति पुल नजिकबाट पनि सिक्री लुटपाट भएको थियो ।”

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको जनाएको छ । दमाईं र विश्वकर्मा दुई जना मिलेर पहिला रेकी गर्ने र योजनाबद्धरुपमा बाइक प्रयोग गरेर महिलालाई लक्षित गरी लुट्ने गरेको प्रहरीको दाबी छ । उनीहरुले राजधानीका विभिन्न आठ स्थानमा यसरी लुटपाट गरेको खुलेको र सबै लुटपाट बिहान ५ देखि ६ बजेसम्ममा भएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा. केसीले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुको साथबाट सुनको ढिक्का एक थान, तौल गर्दा करिब एक तोलाको सिक्री र लुटपाट गर्दा प्रयोग भएका मोटरसाइकल दुई थान, माबाइल छ थान तथा सुनको हार ४७ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत् सेवा अवरुद्ध

डडेल्धुरा / डडेल्धुरासहित सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ ।

दार्चुलाबाहेक सुदूरपश्चिमका छ जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको हो । नेपाल विद्युत् प्राधिकरण डडेल्धुरा वितरण केन्द्रका प्रमुख रमेश अवस्थीका अनुसार डोटीको रुवसकाँडामा मुख्य टावरको तार टुटेपछि विद्युत् सेवा अवरुद्ध भएको छ ।

अत्तरियादेखि स्याउले सबस्टेशन जोड्ने ट्रान्समिसन लाइनको रुवसकाँडास्थित टावरको एउटा तार टुटेको विद्युत् प्राधिकरणले जनाएको छ । मर्मतका लागि डडेल्धुरा र अत्तरियाबाट प्राधिकरण सहितको टोली रुवसकाँडातर्फ गएको जनाइएको छ ।

भ्रष्टाचारको अभियोगमा मुद्दा दायर

काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चङ्खेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीलगायत आठ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

खानेपानी ट्याङ्की निर्माणका लागि प्राप्त भएको मुख्यमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गतको रकममा भ्रष्टाचार गरेको अभियोगमा आयोगले प्रमुख प्रशासकीय अधिकृत शाही, वडाध्यक्ष, उपभोक्ता समितिका अध्यक्षलगायतविरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगले प्रशाकीय अधिकृत शाही, इञ्जिनीयर मानबहादुर ऐडी, प्राविधिक सहायक गोभधन बोहोरा, लेखापाल नवीन रेग्मी, चङ्खेली गाउँपालिका–२ का वडाध्यक्ष हरिहर उपाध्याय, देवकोटावाडा खानेपानी ट्याङ्की निर्माण उपभोक्ता समितिका अध्यक्ष गोपाल विश्वकर्मा, सचिव प्रयोगलाल जैशी र कोषाध्यक्ष नन्दादेवी देवकोटाविरुद्ध रु. छ लाख ४८ हजार बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिनुभयो ।

पिँडालु खेतीले उकासेको महिलाको जीवनस्तर

मध्यबिन्दु / नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–१ जुकेपानीकी सानुमाया तामाङले पिँडालु खेती गर्न थालेको १७ वर्ष भयो । पिँडालु खेतीबाट नै उहाँले आफ्नो घरखर्च धान्नुभएको छ । उहाँले अहिले सात कठ्ठा क्षेत्रफलमा पिँडालु खेती गर्नुभएको छ ।

यस क्षेत्रमा सिँचाइको अभाव भएका कारण धान, गहुँ, तोरीलगायतका बाली राम्रो नहुने हुँदा यहाँका अधिकांशले पिँडालु खेती गर्ने गरेको तामाङले बताउनुभयो । यस्तै अर्का किसान पूर्णमाया तामाङले पनि विगत १४ वर्षदेखि पिँडालु खेती गर्दै आउनुभएको छ । उहाँले अहिले १० कट्ठा क्षेत्रफलमा हात्ती पाउ पिँडालु लगाउनुभएको छ ।

“केही वर्ष पहिले बजारको पहुँच राम्रो नहुँदा पिँडालुसँग धान साटेर ल्याउने गरिन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले बजारीकरण भएसँगै पिँडालु बिक्री गर्नमा कुनै समस्या छैन, विभिन्न स्थानमा निर्यात हुने गरेको छ ।” पछिल्ला वर्षमा पिँडालु खेतीबाट नै रु एक लाखसम्म आम्दानी हुने गरेको कृषको भनाइ छ । पिँडालु खेतीले यहाँको समुदायलाई समूहिकरुपमा काम गर्ने परम्पराको विकाससमेत गरेको कृषक सम्झना तामाङले बताउनुभयो ।

“जुकेपानीको तामाङ टोलका २५ घरले पिँडालु खेती गरेका छौँ”, उहाँले भन्नुभयो, “सबै घरका मिलेर सामूहिकरुपमा अर्मपर्म गरेर काम गर्दा सहज हुने गरेको छ ।” यस क्षेत्रका २५ घरधुरी परिवार अहिले पिँडालु खेतीमा नै आत्मनिर्भर रहेका छन्् । तामाङ टोलमा एउटै परिवारले वार्षिक ५० क्विन्टलभन्दा धेरै पिँडालु उत्पादन गर्दै आएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो ।

“हुप्सेकोट गाउँपालिका क्षेत्र तरकारी पकेट क्षेत्रका रुपमा परिचित छ”, उहाँले भन्नुभयो, “यहाँको तरुलसँगै पिँडालुको पनि बजारमा धेरै माग देखिएको छ ।” गाउँपालिकाले कृषकलाई आवश्यक कृषि सामग्री, मल, बीउ वितरण र बजारीकरणमा सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष पाण्डेले बताउनुभयो ।