`

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

काठमाडौँ / धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २८ दशमलव ३८ अङ्कले उकालो लागेर दुई हजार ७७ दशमलव ७६ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३५ अङ्कले उकालो लागेर तीन सय ८८ दशमलव ५१ मा पुगेको छ । त्यस्तै, कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा नै उकालो लागेको छ । कूल ८३ लाख ५२ हजार पाँच सय ७६ कित्ता शेयर रू. तीन अर्ब चार करोड २५ लाख ४३ हजार नौ सय ६१ मूल्यमा खरिद बिक्री भएका छन् ।

कारोबारका आधारमा हिमालयन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको रू १८ करोड ६० लाख ७२ हजार बराबरको कारोबार भएको छ । शिवम् सिमेन्ट रू. १६ करोड ३६ लाख ५१ हजार एक सय ४३, सोल्टी होटल रू. १४ करोड आठ लाख ४८ हजार आठ सय २६, अरुण काबेली पावर रू. १२ करोड एक लाख ९८ हजार नौ सय ३६ र माथिल्लो तामाकोशी रू. १० करोड ६२ लाख ६८ हजार चार सय ४३ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, रावा इनर्जी नौ दशमलव ९८, सिटी होटल नौ दशमलव ५१, प्रभु बैंकको ऋणपत्र आठ दशमलव २२, सनराइज बैंकको ऋणपत्र आठ दशमलव २१ र सिटिजन म्युचुअल फण्डका लगानीकर्ताले आठ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, माथिल्लो तामाकोशी छ दशमलव ६५, बीपीडब्ल्यू लघुवित्त चार दशमलव ४३, लिवर्टी इनर्जी तीन दशमलव ६०, जोशी हाइड्रोपावर तीन दशमलव ४९ र पिपल्स पावर कम्पनीका लगानीकर्ताले दुई दशमलव ९९ प्रतिशतले गुमाएका छन् ।

मुटुरोगी बालबालिकाको निःशुल्क उपचार

ओखलढुङ्गा / खिजीदेम्बा गाउँपालिकाले मुटुरोगी बालबालिकाको निःशुल्क उपचार गर्ने भएको छ । पालिकाभित्रका १५ वर्ष मुनिका बालकालिकाको निःशुल्क उपचार गरिने भएको हो ।

सहिद गङ्गलाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँमा सउल नेसनल युनिभर्सिटी कजेल एण्ड मेडिकल साइन्सको सहकार्यमा खिजीदेम्बाका मुटुरोगी बालकालिकाको निःशुल्क उपचार गरिने गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक इन्द्रप्रसाद गौतमले जानकारी दिनुभयो ।

गाउँपालिकाले रोग पहिचान गरेका बालबालिकालाई यही असार २९ देखि आगामी साउन ५ गतेसम्म काठमाडौँमा निःशुल्क उपचारको प्रबन्ध मिलाइएको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाले उपचारका लागि जाने बालबालिकालाई यातायातकोसमेत व्यवस्था गरिदिने भएको छ ।

पदयात्रा पर्यटनसँग जोडिदै कफुचे हिमताल

गण्डकी / कास्कीको मादी गाउँपालिका–१ मा पर्ने कफुचे हिमताललाई पदयात्रा पर्यटनसँग जोड्ने गरी पहल बढाइएको छ । पछिल्ला समयमा यस क्षेत्रमा बढ्दै गएको पर्यटकको आकर्षणसँगै स्थानीय तहदेखि प्रदेश र सङ्घ तीनवटै सरकारको प्राथमिकतामा यहाँको पदमार्गले स्थान पाउन थालेको हो ।

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै गएको यो ताललाई नेपालको सबैभन्दा कम उचाइमा रहेको हिमतालका रुपमा समेत लिने गरिएको छ । समुद्री सतहबाट दुई हजार चार सय ५० मिटर उचाइमा रहेको यो ताल पछिल्ला समयमा पर्यटकको रोजाइमा पर्न थालेसँगै स्थानीय तहले पनि यसको प्रवद्र्धन र विकासलाई प्राथमिकतामा राखेको मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङग गुरुङले बताउनुभयो ।

“कफुचे हिमताल मादी गाउँपालिकाको मात्र नभइ दशेकै गौरव हो, यसको प्रवद्र्धन र विकास गरेर आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने हाम्रो लक्ष्य छ”, उहाँले भन्नुभयो ।

पर्यटकीय नगरी पोखराबाट नजिकै रहेको कला संस्कृतिले भरिपूर्ण नेपालकै ठूलो गुरुङ गाउँ सिक्लेसबाट एकदिनको पदयात्रामा यसस्थानमा पुग्न सकिन्छ । यहाँको विकास तीनवटै सरकारको प्राथमिकतामा रहेको बताउँदै उहाँले सङ्घबाट पोखरा सिक्लेस, ताङतिङ हुँदै मनाङ जोड्ने पदमार्गलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउने तयारी गरेको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले मादी गाउँपालिका–७ को थाकबाट ताराहिल टप हुँदै कफुचेसम्मको पदमार्गका लागि रु २५ लाख विनियोजन गरेको उहाँले बताउनुभयो । त्यस्तै प्रदेशबाटै सिक्लेस कफुचे पदमार्गका लागि रु ाँच लाख विनियोजन गरिएको छ ।

गाउँपालिकाले अघिल्लो वर्षदेखि नै सिक्लेसबाट कफुचेसम्मका लागि ५० प्रतिशत अनुदानमा घोडा खरिद गर्ने गरी कार्यक्रम अघि सारेको थियो । यसको कार्यविधि पनि तयार भइसकेको र आगामी आर्थिक वर्षमा पनि यस कार्यक्रमलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।

अन्नपूर्ण दोस्रो र चांैथो हिमालको बीचबाट आएको हिमपहिरो पग्लिएर बनेको यो ताल लगभग एक हजार दुई सय वर्गमिटरमा फैलिएको छ । उक्त क्षेत्रमा पहिले पहिले विभिन्न भेडी गोठ रहे पनि अहिले भने छैनन् ।

कफुचे नामाकरण सम्बन्धमा स्थानीयवासीको भिन्नाभिन्नै तर्क छ । स्थानीय गुरुङ भाषामा ‘क’ भनेको हिउँको थुप्रो, ‘फु’ भनेको पग्लनु र ‘चे’ भनेको समथर ताल हो । हिउँ पग्लेर बनेको हुनाले यस ताललाई ‘कफुचे’ भन्ने गरिएको बताइन्छ ।

स्थानीयवासीका अनुसार करिब डेढ दशकअघिसम्म हिउँको थुप्रो रहेको सो स्थानबाट नै आवतजावत गर्न सकिन्थ्यो । पछिल्ला समयमा बर्सेनि बढ्दै गएको जलवायु परिवर्तनको असरका कारण हिउँ पग्लेर ताल बनेको स्थानीयवासी बताउँछन् ।

सिक्लेस–कफुचे मार्गमा पर्ने हुँगु यस क्षेत्रको प्राचीन भेडी गोठ रहने क्षेत्र हो । कफुचेको यात्राका क्रममा सिक्लेसबाट राम्रो हिँड्न सक्नेहरू लगभग साढे तीन घण्टामा हुँगु पुग्न सक्छन् । हिँड्न नसक्नेका लागि भने चारदेखि पाँच घण्टासम्म लाग्ने गर्दछ । हुँगु पुगेका पर्यटक हिँड्न सक्ने एक घण्टामा कफुचे पुगे पनि नसक्नेका लागि डेढ दुई घण्टासम्म लाग्ने गर्दछ ।

पछिल्ला समयमा जथाभावी बाटो खन्ने क्रमसँगै पदमार्ग हराउँदै गएका अवस्थामा सिक्लेस – कफुचेलाई नयाँ पदमार्गका रुपमा विकास गर्न सकिने ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल ९टान० गण्डकी प्रदेशका अध्यक्ष धर्मराज पन्थीले बताउनुभयो । त्यस क्षेत्रमा सन् २००७÷८ सिक्लेस हुँदै नामुन पास भएर तिमाङ पदमार्गको टानले प्रवद्र्धन गरेको बताउँदै अध्यक्ष पन्थीले मादी गाउँपालिकाको याङजाकोटबाट दूधपोखरी हँुदै क्होलासोँथर निस्कने पदमार्गको प्रवद्र्धनलाई पनि प्राथमिकतामा राखिएको बताउनुभयो ।

“कफुचे ताललाई पदयात्रा पर्यटनसँग जोड्न सकेमा यहाँ ठूलो सङ्ख्यामा स्वदेशी एवम् विदेशी पर्यटक आकर्षित गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “पदमार्ग क्षेत्रको प्रवद्र्धन , विकास सँगै पर्यटक लक्षित पूर्वाधार विकासमा तीनवटै तहको साथ र सहयोग आवश्यक छ ।”

प्रतिनिधिसभाको बैठक स्थगन

​​​​​​​काठमाडौं / आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर सोमबारका लागि सारिएको छ ।

आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश सोमबार अपरान्ह ३ बजे बस्नेगरी सारिएको संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।

सूचना टाँसेर आइतबारको बैठक स्थगित गरिएको हो । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले आइतबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक दुई घण्टा पछि सारेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिएका थिए ।

तर, महासचिव डा. गौतमले टाँसेको सूचनामा भने सोमबार अपरान्ह ३ बजे बस्नेगरी आइतबारको बैठक सारिएको उल्लेख छ ।

तिल्चेको बस्ती अझै जोखिममा

मनाङ / हिमाली जिल्ला मनाङमा विसं २०७८ असार १ मा भएको भारी वर्षा इतिहासमै पहिलो घटना बनेको छ । त्यस यता भएको वर्षात् मनाङवासीका लागि अविस्मरणीय छ । वर्षात्का कारण विभिन्न क्षेत्रमा ठूलो बाढीपहिरा जान गएकाले मनाङमा क्षति पुग्यो ।

वर्षातपछि मस्र्याङ्दी नदीसँगै यहाँका खोला, खोल्सीमा आएको बाढीले पनि धेरै क्षति पुर्‍यायो । दूधखोलामा आएको बाढीले नासोँ गाउँपालिका–६ र ७ स्थित तिल्चे गाउँको बस्ती जोखिममा पर्‍यो । दुई वर्ष पूरा भइसक्दा पनि यहाँको बस्ती अझै जोखिममा नै रहेको छ । अझ वर्षायाम सुरुआत भएपछि पानी पर्दा यहाँको बस्ती अझै जोखिममा पुग्ने स्थानीयवासीको गुनासो छ ।

बस्ती संरक्षणका लागि तटबन्ध निर्माण गरी केही मात्रामा जोखिम न्यूनीकरण गरिए पनि अझ बलियो र सुरक्षित बनाउन बजेट अभाव रहेको स्थानीयवासीको भनाइ छ । यस बस्तीलाई सुरक्षित बनाउन सङ्घीय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, गण्डकी प्रदेश र खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयको विशेष भूमिका रहेकाले अझै थप सुरक्षित बनाउन पहल गरिदिन स्थानीयवासीले माग गरेका छन् ।

आर्थिक वर्ष २०८०-८१ मा दूध खोला नियन्त्रण योजनाका लागि बजेट विनियोजन नभए पनि व्यवस्थापन गर्ने प्रयासमा रहेको खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका प्रमुख ढाकारामा आचार्य बताउनुहुन्छ । “यस क्षेत्र दूधखोलाको जोखिममा रहेकाले समन्वयमा लागिरहेका छौँ”, उहाँ भन्नुहुन्छ, “खोला तथा नदी नियन्त्रण कार्यलाई निरन्तरता दिनेछौँ ।”

चालु आर्थिक वर्षमा उक्त बस्तीको जोखिम न्यूनीकरणका लागि तटबन्ध गरिएको छ, तर बजेटको अभाबमा कामलाई पूर्णता दिन सकिएको छैन । नासों गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङ तिल्चेवासीको सुरक्षाका लागि बजेट उपलब्ध गराउन पहल गरिरहेको बताउनुहुन्छ । “बजेट अभाव भए पनि यस क्षेत्रलाई सुरक्षित बनाउन आवश्यक छ, आगामी आर्थिक वर्षमा यस क्षेत्रका लागि प्रदेश सरकारबाट बजेट परेको छैन तर समन्वय र सहकार्य गरेर पनि सुरक्षित बनाउने प्रयासमा छौँ”, उहाँ भन्नुहुन्छ ।

गाउँपालिकाको बजेट कम हुँदा आफ्नै बजेटबाट यहाँको सुरक्षाका लागि काम गर्न सम्भव नभएको अध्यक्ष गुरुङको भनाइ छ । तिल्चेवासी वर्षायाममा पानी पर्न थालेपछि विगतमा झैँ खोलामा बाढी आएर बस्ती नै लैजाने हो कि भनेर तर्सिने गरेकाले यस क्षेत्रलाई सुरक्षित बनाउन प्रदेश सरकार र सङ्घीय सरकारबाट सहयोगका लागि अपिल गरिहाल्नुपर्ने अवस्था रहेको स्थानीयवासी बताउँछन् । पानी पर्न थालेपछि रातभर पनि निन्द्रा नलाग्ने गरेको उनीहरुको भनाइ छ । यहाँको समस्याको समाधान प्रदेश सरकार र सङ्घ सरकारले मात्रै गर्न सक्ने भएकाले गुहार्नुपरेको गाउँपालिकाले जनाएको छ ।

नियन्त्रणमा लिइएको बाघ पर्सा पठाइयो

चितवन / चितवन राष्ट्रिय निकुञ्जले मानव बस्ती पसेर जनतालाई त्रसित बनाउँदै आएको बाघलाई नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्ज पठाएको छ । यहाँ रहेका खोर भरिएपछि पर्सा पठाइएको हो ।

पश्चिम चितवनको मेघौली क्षेत्रका जनतालाई त्रसित बनाएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जले गत बुधबार नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएको बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज पठाइएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बस्ती नजिक आएर जनतालाई त्रसित बनाउने, घरपालुवा जनावरलाई आक्रमण गर्ने गरेको सो बाघलाई भरतपुर महानगरपालिका–२७ बाट नियन्त्रणमा लिइएको थियो । बाघलाई नियन्त्रणमा लिएपछि केही दिन निकुञ्जको मुख्यालय कसरामा राखिएको भए पनि यहाँ राख्ने खोरको अभावका कारण पर्सा पठाइएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बाघ राख्नका लागि हामीसँग खोरको अभाव भयो, त्यसपछि खोरमा नै राख्नका लागि पर्सा राष्ट्रिय निकुञ्ज पठाएका छौँ ।” अन्दाजी १० वर्षको सो बाघलाई ‘डार्ट’ गरी नियन्त्रणमा लिइएको थियो । निकुञ्जमा बाघ राख्न बनाइएका खोर भरिएका छन् । मुख्यालय कसरामा रहेको खोरमा तीन र सौराहामा रहेको खोरमा दुई बाघ रहेका छन् । बाघ राख्नका लागि बनाइएको एउटा काठको खोर जीर्ण अवस्थामा छ । त्यसको मर्मत हुन सकेको छैन ।

यहाँका खोर विगत एक वर्षदेखि भरिएका छन् । घाइते, समस्याग्रस्त तथा मानिसलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा लिएर राख्ने गरिन्छ । घाइते बाघलाई उपचारपश्चात् उसको अवस्था हेरेर सेटेलाइट जडान गरी निकुञ्जमा छाड्ने गरिएको तिवारीले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा एउटा बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्नका लागि बाँके राष्ट्रिय निकुञ्ज पठाइएको थियो ।

डोटीका ग्रामीण सडक अवरुद्ध

दिपायल / असार दोस्रो सातादेखि परेको अविरल वर्षाका कारण डोटीका दर्जन बढी ग्रामीण सडक अवरुद्ध भएका छन् । सडकका कतिपय स्थानमा पहिरो गएको छ भने अधिकांश सडकमा भल बाढीका कारण यातायात सञ्चालन गर्न नसक्ने अवस्था पुगेको छ ।

पछिल्लो समय गाउँगाउँमा ग्रामीण सडक सञ्जाल जोडे पनि मापदण्डअनुरुप सडक नबन्दा ग्रामीण भेगका नागरिक बर्सेनि सास्ती भोग्दै आएका छन् । वर्षाका कारण बडीकेदार गाउँपालिकाको सुनालेखबाट घागल, अन्तरकाँडा हुँदै रनतोला सडक, बोगटान फुडिसल गाउँपालिकाको छिडीखानबाट केदार अखडा सडक, चवारा चौताराबाट सातफरी धिर्गामानडौँ सडक, दिपायलबाट केआइसिंह गाउँपालिका हुदैँ बोगटान फुड्सिल गाउँपालिकासम्मको ग्रामिण सडक, जोरायल गाउँपालिकाको बिपीनगर खसरेबाट गड्सेरा सडक, खड्यौलीदेखि मन्नाकापडीको बरलगाउलगायत डोटीका दर्जन बढी पहिरो र खहरे खोलाले ग्रामीण क्षेत्रका सडक अवरुद्ध भएको स्थानीयले बताएका छन् ।

ग्रामीण सडकमा पहिरो आउँदा उक्त सडकमा चल्ने कतिपय सार्वजनिक यातायातका यात्रु कष्टकर यात्रा गर्न बाध्य भएका छन् । पहिराका कारण सहजपुर–बिपीनगर हुँदै बोगटनको छिडीखानसम्म चल्ने बस तथा जीप बन्द रहेका छन् । साथै बाग्छेडाबाट बोगटान फुडिसलसम्म जाने कच्ची मार्गमा समेत दुई हप्तादेखि यातायात सञ्चालन हुन नसकेको स्थानीय दिपेन्द्र बोहराले बताउनुभयो ।

घाम लागे धुलो हुने पानी परे हिल्याम्मे हुने जिल्लाका ग्रामीण सडक वर्षात्का कारण अवरुद्ध भएका छन् । सडक अवरुद्ध भएकाले विकास निर्माणका सामग्रीसँगै दैनिक उपभोग्य सामग्री ओसारपसारमा समस्या भइरहेको बडीकेदार–५ का वडासदस्य भीम बोहराले बताउनुभयो । वातावरणीय प्रभाव मूल्याङ्कनको वास्ता नगरी जथाभावी ट्र्याक खोलिएका कारण सामान्य वर्षा हुँदा पनि ग्रामीण सडक अवरुद्ध हुने गरेको बडीकेदार–५ का बासिन्दा लक्ष्मण रम्तेलले बताउनुभयो ।

ट्र्याक खुलेलगत्तै सुक्खा मौसममा यातायात सञ्चालनमा ल्याइएका कतिपय सडक अहिले कामै नलाग्ने अवस्थामा पुगेको बडीकेदारका स्थानीय मीन शाहले बताउनुभयो । अधिकांश ग्रामीण सडकमा पानी निकास हुने नालासमेत नहुँदा सडकबाटै भल बग्ने गरेकाले पनि सडक भासिने र भत्किने बढी सम्भावना भएको शाहले बताउनुभयो ।

बजेट खर्चको स्थिति प्रदेशमा झन् खराब, जेठसम्म ४९ प्रतिशत मात्रै खर्च

काठमाडौँ / चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्म प्रदेशहरूको बजेट खर्च आधा मात्रै देखिएको छ । चालु आर्थिक वर्षका लागि प्रदेशहरूले ल्याएको बजेटको आकार रू. तीन खर्ब छ अर्बमध्ये जेठ मसान्तसम्म रू. एक खर्ब ५१ अर्ब ३० करोड बराबर खर्च गरेको देखिन्छ । जुन कुल वार्षिक विनियोजन बजेटको ४९ दशमलव ४५ प्रतिशत हो ।

महालेखा नियन्त्रक कार्यालयले उपलब्ध गराएको प्रदेशहरुको बजेट खर्चसम्बन्धी तथ्याङ्कअनुसार ११ महिनामा सबैभन्दा धेरै कोशी प्रदेशले ६१ दशमलव ४१ प्रतिशत र सबैभन्दा कम मधेश प्रदेशले ३६ दशमलव २५ प्रतिशत बजेट खर्च गरेका छन् ।

सो अवधिमा बागमती प्रदेशले ५० दशमलव ६२ प्रतिशत, गण्डकी प्रदेशले ४८ दशमलव १९ प्रतिशत, लुम्बिनी प्रदेशले ५५ दशमलव ५४ प्रतिशत, कर्णाली प्रदेशले ४५ दशमलव ६० प्रतिशत र सुदूरपश्चिम प्रदेशले ४८ दशमलव ५४ प्रतिशत बजेट खर्च गरेको देखिन्छ । सो अवधिमा चालुतर्फको औसत खर्च ५५ दशमलव ६८ प्रतिशत र पुँजीगततर्फको औसत खर्च ४६ दशमलव ११ प्रतिशत छ ।

कोशी प्रदेश
कोशी प्रदेशले चालु आर्थिक वर्षका लागि कुल रू. ३९ अर्ब ९१ करोडको बजेट ल्याएकोमा जेठ मसान्तसम्ममा रू. २४ अर्ब ५१ करोड बराबर खर्च भएको छ । प्रदेशले चालुतर्फ ७० प्रतिशत र पुँजीगततर्फ ५५ प्रतिशत खर्च गरेको छ । चालु आवका चालुतर्फ रू. १६ अर्ब ६२ करोड र पुँजीगततर्फ रू. २३ अर्ब २९ करोड छुट्याइएमा जेठ मसान्तसम्ममा कोशी प्रदेशले चालुतर्फ रू. ११ अर्ब ६५ करोड र पुँजीगततर्फ रू. १२ अर्ब ८६ करोड खर्च भएको छ ।

मधेश प्रदेश
अन्य प्रदेशको तुलनामा मधेश प्रदेशको बजेट खर्च सबैभन्दा कम छ । चालु आर्थिक वर्षका लागि कुल रू. ४६ अर्ब ९८ करोड बराबरको बजेट ल्याएकोमा जेठ मसान्तसम्ममा रू. १७ अर्ब तीन करोड खर्च भएको छ । जुन वार्षिक विनियोजनको ३६ दशमलव २५ प्रतिशत बराबर हो । मधेश प्रदेशले ११ महिनामा चालु शीर्षकमा ३३ प्रतिशत र पुँजीगत शीर्षकमा ३८ दशमलव ३४ प्रतिशत बजेट खर्च गरेको छ । चालुतर्फ रू २० अर्ब ८० करोड बजेट रहेकोमा रू. ६ अर्ब ९९ करोड ६७ लाख मात्रै खर्च भएको छ । त्यस्तै, पुँजीगत शीर्षकमा रू. २६ अर्ब १८ करोड बजेट रहेकोमा विनियोजनको ३८ प्रतिशत अर्थात् रू. १० अर्ब चार करोड खर्च भएको छ ।

बागमती प्रदेश
बागमती प्रदेशले चालु आर्थिक वर्षका लागि रू. ७० अर्ब ९३ करोड ९२ लाखको बजेट ल्याएकोमा जेठ मसान्तसमममा ५० दशमलव ६२ प्रतिशत अर्थात् रू. ३५ अर्ब ९१ करोड बजेट खर्च गरेको छ । यस अवधिसम्ममा बागमती प्रदेशको बजेट खर्च चालु शीर्षकमा ६१ दशमलव ६१, पुँजीगत शीर्षकमा ४६ प्रतिशत र वित्तीय व्यवस्थापन शीर्षकमा ३० प्रतिशत बराबर छ । चालु शीर्षकमा रू. २६ अर्ब ८४ करोड बराबर बजेट रहेकोमा रू. १६ अर्ब ५३ करोड, पुँजीगत शीर्षकमा रू. ४२ अर्ब नौ करोड बजेट छुट्याइएकोमा रू. १९ अर्ब ३७ करोड र वित्तीय व्यवस्थापन शीर्षकमा रू. दुई अर्ब बजेट छुट्याइएकोमा रू. ६० करोड खर्च भएको छ ।

गण्डकी प्रदेश
जेठ मसान्तसम्ममा गण्डकी प्रदेशको बजेट खर्च ४८ प्रतिशत बराबर छ । यो प्रदेशले चालु आर्थिक वर्षका लागि रू. ३५ अर्ब ९० करोड ९० लाख बराबरको बजेट ल्याएकोमा गत जेठ मसान्तसम्ममा रू. १७ अर्ब ३० करोड बराबर खर्च गरेको हो । यो प्रदेशले हालसम्म चाल शीर्षकमा ५४ र पुँजीगत शीर्षकमा ४५ दशमलव ८२ प्रतिशत बजेट खर्च गरेको छ । चालु शीर्षकमा रू. १२ अर्ब ८० करोड ९३ लाख बराबरको बजेट ल्याइएकोमा जेठ मसान्तसम्ममा रू. ६ अर्ब ९५ करोड र पुँजीगत शीर्षकमा रू. २२ अर्ब ५९ लाख बजेट छुट्याइएकोमा रू. १० अर्ब ३५ करोड बराबर बजेट खर्च भएको छ । वित्तीय व्यवस्थापन शीर्षकमा रू. ५० करोड बजेट छुट्याएको यो प्रदेशको उक्त शीर्षकको खर्च भने शून्य छ ।

लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशको बजेट खर्च चालु आवको जेठ मसान्तसम्म रु. २३ अर्ब ७३ करोड बराबर छ । जुन चालु आर्थिक वर्षका लागि यो प्रदेशले छुट्याएको कुल विनियोजनको ५५ दशमलव ५४ प्रतिशत बराबर हो ।
चालु आर्थिक वर्षका लागि लुम्बिनी प्रदेशले कुल रू. ४२ अर्ब ७३ करोड बराबरको बजेट ल्याएको थियो । चालु शीर्षकमा रू. १७ अर्ब ९४ करोडको बजेट ल्याइएकोमा ६१ दशमलव २० प्रतिशत अर्थात् रू १० अर्ब ९८ करोड र पुँजीगत शीर्षकमा रू. २४ अर्ब ७९ करोडको बजेट ल्याइएकोमा ५१ दशमलव ४५ प्रतिशत अर्थात् रू १२ अर्ब ७५ करोड बराबर खर्च भएको छ ।

कर्णाली प्रदेश
कर्णाली प्रदेशले चालु आवको जेठ मसान्तसम्म ४५ दशमलव ६० प्रतिशत बजेट खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि कुल रू. ३२ अर्ब ७४ करोड बराबरको बजेट ल्याएको कर्णाली प्रदेशले यो अवधिसम्ममा रू. १४ अर्ब ९३ करोड बराबर बजेट खर्च गरेको देखिन्छ । चालु शीर्षकमा ५३ दशमलव ६४ प्रतिशत र पुँजीगत शीर्षकमा ४० दशमलव २५ प्रतिशत बजेट खर्च भएको देखिन्छ । कर्णाली प्रदेशले चालु शीर्षकमा चालु आवका लागि रू. १३ अर्ब आठ करोड बराबर विनियोजन गरेकोमा रू सात अर्ब एक करोड र पुँजीगत शीर्षकमा रू. १९ अर्ब ६६ करोड विनियोजन गरेकोमा रू. सात अर्ब ९१ करोड बराबर खर्च गरेको छ ।

सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशले चालु आर्थिक वर्षका लागि रू. ३६ अर्ब ७९ करोड बराबरको बजेट ल्याएकोमा जेठ मसान्तसम्ममा ४८ दशमलव ५४ प्रतिशत अर्थात् रू. १७ अर्ब ८६ करोड बराबर खर्च गरेको छ ।
प्रदेशले चालु शीर्षकमा रू. १२ अर्ब २५ करोड विनियोजन गरेकोमा ५५ दशमलव ३२ प्रतिशत अर्थात् रू. छ अर्ब ७८ करोड खर्च गरेको छ । पुँजीगत शीर्षकमा रू. २४ अर्ब २३ करोड विनियोजन भएकोमा ४५ दशमलव ७१ प्रतिशत अर्थात् रू. ११ अर्ब सात करोड बराबर खर्च गरेको छ । वित्तीय व्यवस्थापन शीर्षकमा रू. ३० करोड बजेट छुट्याएको सुदूरपश्चिम प्रदेशले चालु आर्थिक वर्षको ११ महिना अवधिसम्ममा उक्त रकम खर्च गर्न सकेको छैन ।

भवन भत्किँदा एघार जनाको मृत्यु, तीन बेपत्ता

रियो दि जेनेरो / उत्तरपूर्वी ब्राजिलको पेर्नम्बुकोको राजधानी रेसिफेमा शनिबार आवासीय भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ भने तीन जना अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् ।

पाउलिस्टा नगरपालिकामा रहेको उक्त भवन शुक्रबार बिहान अज्ञात कारणले भत्किएको हो । वारुणयन्त्र विभागका अनुसार शुक्रबार सात जना मृत अवस्थामा फेला परेका थिए भने अर्को एक जनाको अस्पतालमा मृत्यु भएको थियो । शनिबार बिहान उद्धार टोलीले थप तीन जनाको शव फेला पारेको थियो ।

सन् २०१० मा अदालतको आदेशमा उक्त भवनमा बसोबासमा प्रतिबन्ध लगाइएकोे थियो तर २०१२ यता कैयौं परिवार त्यहाँ अवैध रूपमा बसाइँ सरेका थिए ।

 दुइ घण्टा पछि सर्यो प्रतिनिधिसभा बैठक

काठमाडौं / प्रतिनिधिसभाको बैठक दुइ घण्टालाइ सरेको छ ।

सिंहदरबारमा शिर्ष नेताहरुबिच छलफल जारी नै रहेकोले प्रधानमन्त्रीको आग्रहमा आज निर्धारित प्रतिनिधिसभाको बैठक दिउँसो एक बजे बस्ने भनिएकोमा दुइ घण्टाका लागि पछाडि सारिएको छ ।

सभामुख देवराज घिमिरेलाइ प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको बैठक दुइ घण्टा पछाडि सार्न आग्रह गरेपछि सभामुखले तीन शिर्ष नेताबिचको छलफलले सदन खुलाउन सकारात्मक निष्कर्ष निकाल्न शुभकामना दिनुभएको सभामुखको सचिवालयले जनाएको छ ।

केही दिनअघि भारतीय व्यापारी सरदार प्रितम सिंहबारे उनकी छोरीले लेखेको पुस्तक विमोचन कार्यक्रममा आफुलाई प्रधानमन्त्री बनाउन सरदार सिंह धेरैपटक भारत पुगेको अभिव्यक्ति दिएका थिए । उनको उक्त अभिव्यक्तिलाई लिएर एमाले राप्रपा र रास्वपाले निरन्तर संसद अवरुद्ध गर्दै आएका छन् ।

सिंहदरबारमा प्रधानमन्त्री दाहाल, देउवा र ओलीबीच भेटवार्ता

काठमाडौँ / प्रमुख प्रतिपक्षीलगायतले गरेको सङ्घीय संसदको अवरोध खुलाउने विषयमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठक शुरु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा रसहभागी हुनुहुन्छ ।

गत बुधबारदेखि सङ्घीय संसदका दुवै सदनको बैठक प्रमुख प्रतिपक्षीलगायतका दलले अवरोध गरेका कारण अगाडि बढ्न सकेको छैन । अवरोधका कारण मिटरब्याज पीडितलाई न्याय दिनका लागि अगाडि बढाइएको विधेयक निष्क्रिय भएको छ । यस्तै, अन्य महत्वपूर्ण विधेयकहरु समेत अगाडि बढ्न सकेको छैन । राष्ट्रियसभाको आजको बैठक पनि एमालेको विरोधपछि सोमबारसम्मका लागि स्थगित भएको छ ।

कोशी प्रदेश सरकारमा तीन मन्त्रीद्वारा शपथ

मोरङ / कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले आज तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।

प्रदेश प्रमुख खापुङले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा मन्त्रीहरु जीवन आचार्य, राजेन्द्र कार्की र रामकुमार खत्रीलाई शपथ गराउनुभएको हो । मन्त्री आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ भने कार्की र खत्रीको जिम्मेवारी भने पछि तोकिनेछ ।

यसअघि गत शुक्रबार मन्त्री बन्नुभएका कमलप्रसाद जबेगु र प्रदीपकुमारको जिम्मेवारी पनि पछि तोकिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्रीको राजीनामा मग्दै आज पनि एमालेले गर्याे राष्ट्रिय सभाको बैठक अवरुद्ध

काठमाडौं / नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै आजपनि राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ ।

राष्ट्रिय सभाको बैठक सुरु भए लगत्तै एमाले सांसदहरुले उठेर विरोध जनाएपछि अधयक्ष गणेशप्रसाद तिमल्सिनाले सांसद भगवती न्यौपानेलाई बोल्न समय दिएका थिए । न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहालले दिनुभएको अभिव्यक्ति राष्ट्रघात भएको बताउँदै यस्तो अभिव्यक्ति दिने व्यक्तिलाई प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिक अधिकार नभएको बताउनुभयो ।

उहाँले प्रधानमन्त्रीको बोलीले सबै कुरा प्रश्ष्ट भइसकेको भन्दै अब फेरी प्रधानमन्त्रीले जवाफ दिइरहनु पर्ने अवस्था नै नरहेको बताउनुभयो । उहाँले प्रधानमन्त्रीले राजिनामा नदिएसम्म संसद चल्न नदिने प्रष्ट पार्नुभयो ।

मुख्यमन्त्री थापाको नियुक्तिविरुद्धको रिट न्यायाधीश भट्टराईको इजलासमा

काठमाडौँ / कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारविरुद्ध परेको रिटमाथि आज सुनवाइ हुदैँछ ।

सभामुखको हस्ताक्षरसहित बहुमत पुर्‍याएर गठन भएको थापा नेतृत्वको सरकार अवैधानिक भन्दै नेकपा एमालेले सर्वोच्चमा दायर गरेको रिट न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुख्यमन्त्री बनाउन सभामुखले हस्ताक्षर गर्नु संविधान विपरीत रहेको भन्दै शुक्रबार सर्वोच्चमा रिट दर्ता गरेको थियो।

रिटमा एमालेले प्रदेश सरकार गठन रद्द गरी आफ्नो दलको नेतृत्वमा सरकार बनाउन परमादेश माग गरेको छ।

सडक दुर्घटना बढेपछि अध्यक्ष ओलीले भने –सूक्ष्म अध्ययन र अनुसन्धानको जरुरी देखियो

काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दैनिक रूपमा सडक दुर्घटना बढेपछि चिन्ता व्यक्त गरेका छन् ।

नेपालमा प्रतिदिन ६ जनाले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेको भन्दै अध्यक्ष ओलीले यसबारे सूक्ष्म अध्ययन र अनुसन्धान गर्न आवश्यक रहेको बताए ।

आज सामाजिक सञ्जालमा उनले लेखेका छन् ‘पछिल्लो तीन महीना नेपालमा प्रतिदिन ६ जनाले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेको रेकर्ड सार्वजनिक भएको छ। दुर्घटनाका कारणहरु हाम्रा सडक पूर्वाधार,सडक अनुशासन,ट्राफिक नियमको पालना र सवारी साधनको स्थिति लगायत अनेकौं हुन सक्छन् । यस विषयमा सुक्ष्म अध्ययन र अनुसन्धान हुन जरुरी देखियो’।

एसइई नतिजाः बैतडीमा तीन दशमलव छ माथि जिपिए ल्याउने शून्य

बैतडी / सुदूरपश्चिम प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा खस्किँदै गएको छ । सामुदायिक विद्यालयमा पछिल्लो समयमा शैक्षिक गुणस्तर खस्कँदै जाँदा यसको प्रभाव एसइईको नतिजामा देखिएको हो ।

हालै सार्वजनिक एसइई परीक्षाफलमा सुदूरपश्चिममा तीन दशमलव छभन्दा माथि जिपिए ल्याउने परीक्षार्थीको सङ्ख्या न्यून छ । शिक्षा विकास निर्देशनालयका अनुसार प्रदेशभरि चार सय २२ विद्यार्थीको मात्रै तीन दशमलव छभन्दा माथि जिपिए आएको जनाएको छ ।

यसमा बैतडीमा तीन दशमलव छभन्दा माथि जिपिए ल्याउने परीक्षार्थीको सङ्ख्या शून्य रहेको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुस्कर शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बैतडीबाट पाँच हजार तीन सय ३८ जना परीक्षार्थी सहभागी थिए, कसैको पनि तीन दशमव छभन्दा माथि जिपिए आएको छैन । गत वर्ष पनि कसैको उक्त जिपिए आएको थिएन ।”

सुदूरपश्चिमका नौ जिल्लामामध्ये तीन दशमव छभन्दा माथि जिपिए ल्याउन नसक्ने जिल्ला बैतडीमात्रै रहेको हो । बैतडीबाहेक प्रदेशमा सबैभन्दा बढी कैलालीबाट दुई सय २७ जनाले तीन दशमव छभन्दा माथि जिपिए ल्याएका छन् । यस्तै डोटीबाट ७४ जनाले, कञ्चनपुरबाट ७२ जनाले, डडेल्धुराबाट २२ जनाले, दार्चुलाबाट १२ जनाले, अछामबाट नौ जनाले, बाजुराबाट पाँच र बझाङबाट एक जनाले तीन दशमव छभन्दा माथि जिपिए ल्याएका छन् ।

माध्यमिक तहसम्मको शिक्षा हेर्ने अधिकार अहिले स्थानीय तहलाई भए पनि शिक्षा क्षेत्रलाई प्राथमिकतामा नराख्दा गुणस्तर खस्किँदै गएको हो । निरन्तररूपमा शैक्षिक गुणस्तर ओरोलो लाग्दै गएको भए पनि स्थानीय तहहरूले शैक्षिक गुणस्तर सुधारमा चासो देखाएका छैनन् ।

स्थानीय सरकारले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा ध्यान नदिँदासम्म नतिजा सोचेअनुसारको हात पार्न नसकिने शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख नरेन्द्र अवस्थीले बताउनुभयो । अहिले माध्यमिक तहसम्मको शिक्षा हेर्ने अधिकार स्थानीय सरकारलाई छ । उहाँले भन्नुभयो, “स्थानीय तहको ध्यान शिक्षातिर कम गएको छ । गुणस्तर सुधार र नियमित अनुगमन र निरीक्षणमा चासो नदिँदा यो समस्या देखिएको हो । स्थानीय सरकारले नै गुणस्तर सुधारमा ध्यान दिनुपर्छ ।”

ई-क्यान अध्यक्षमा भट्टराईको उम्मेदवारी घोषणा

काठमाडौँ / शैक्षिक परामर्श संघ (ई-क्यान)को अध्यक्षमा शेषराज भट्टराईले उम्मेदवारी घोषणा गरेका छन् । आगामी असार ३० गते हुने अधिवेशनबाट चुनिने नेतृत्वका लागि भट्टराईले उम्मेदवारी घोषणा गरेका हुन् ।

यसअघि सङ्घको महासचिव र उपाध्यक्षको भूमिका कुशलतापूर्वक निर्वाह गरिसकेका भट्टराईले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उम्मेदवारी घोषणा गरेका हुन् ।

ई-क्यानलाई कुशल नेतृत्वसँगै नीतिगत हिसाबमा शक्तिशाली बनाउनका लागि आफूले उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ । ‘केही विद्यमान समस्याको समाधान गर्नुछ’, उनले भने, ‘केही दूरगामी महत्त्व राख्ने प्रभावकारी नीति निर्माण गरी कार्यान्वयन गर्नुछ । समग्रमा देशको शैक्षिक जनशक्तिलाई अन्तर्राष्ट्रियस्तरको बनाउनमा मेरो भूमिका हुनेछ । त्यसकै लागि मैले उम्मेदवारी घोषणा गरेको हुँ ।’ बौद्धिक व्यक्तित्वको छवि बनाएका भट्टराई इक्यानभित्र सर्वप्रिय छन् । उनलाई सिङ्गो व्यावसायिक टिमको साथ, सहयोग र समर्थन छ ।

महासचिव र उपाध्यक्षको भूमिकामा रहँदा संघ र संघका सदस्यको हितमा गरेका सत्प्रयास नै शेषराजले भावी नेतृत्व पाउने दरिलो आधार हो । सङ्घमा आवद्ध सम्पूर्ण व्यावसायिक शैक्षिक परामर्शदाताको समर्थन भएकाले अधिवेशनले आफूलाई नेतृत्व सुम्पनेमा भट्टराई ढुक्क छन् । सकेसम्म सर्वसम्मत ढङ्गमा नै आफूले नेतृत्व पाउनेमा भट्टराई आशावादी छन् ।

सर्वसम्मत हुन नसके लोकतान्त्रिक विधिबाट अघि बढ्ने उनले बताए । ‘निर्वाचनै हुने स्थिति आउँदा पनि साथीहरूले मलाई नेतृत्वको जिम्मा दिनुहुन्छ भन्नेमा ढुक्क छु’, उनले भने । दर्बिलो नेतृत्व क्षमता उनी अर्विट इन्टरनेशनलका सञ्चालक हुन् ।

विषालु च्याउ खाँदा डोटीमा ११ जना बिरामी

दिपायल / डोटीको दिपायल सिलगढी नगरपालिका–५ इन्द्रचोकका ११ जना विषालु च्याउ खाँदा बिरामी भएका छन् ।

बिरामी हुनेमा दिपायल सिलगढी –५ इन्द्रचोकका अनमोल डुरा, वासु बोगटी, गङ्गा डुरा, एलिजा डुरा, मीना बोगटी, सुनिल खड्का, सकुन्तला खड्का, निशा बोगटी, बर्मा देवल, बबर देवल, सानु बोगटी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

बिरामी भएका सबैलाई जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि डडेल्धुरा अस्पताल सिफारिस गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिनुभयो । उनीहरुको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

काठमाडौँ महानगरपालिकाद्वारा छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरु

काठमाडौँ / काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरुआत गरेको छ । संस्थागत विद्यालयले छात्रवृत्ति प्रदान गर्न कञ्जुस्याइँ गर्ने भएकाले महानगरपालिका आफैँले छात्रवृत्तिका लागि प्रक्रिया सुरु गरेको महानगरपालिकाका प्रमुख बालेन साहले जानकारी दिनुभयो ।

उहाँका अनुसार महानगरपालिकाको शिक्षा शाखाले एक सूचना जारी गरी कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न तयारी थालेको हो । कक्षा ११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्तिका लागि यही असार २८ गतेदेखि आवेदन खुला गरिएको महानगरपालिकाके शिक्षा शाखाद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

आवेदन आगामी साउन १२ गतेसम्म अनलाइनबाटै भर्न सकिने जनाइएको छ । आवेदन दिएका छात्रछात्राको परीक्षा साउन २० गते लिने कार्यतालिकासमेत महानगरले सूचनामार्फत सार्वजनिक गरेको छ । परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा बहुवैकल्पिक वस्तुगत प्रश्न हुने जनाइएको छ । विद्यालयगत छात्रवृत्तिको कोटा र परीक्षा केन्द्र भने महानगरले पछि सार्वजनिक गर्ने जनाएको छ ।

शिक्षा ऐन, २०२८ मा संस्थागत विद्यालयले विद्यालयमा भर्ना भएका कुल विद्यार्थी सङ्ख्याको कम्तीमा १० प्रतिशतमा नघट्ने गरी विपन्न, अपाङ्ग, महिला, दलित वा जनजाति विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ ।

खाल्डोमा डुबेर दाजुभाइको मृत्यु

मलङ्गवा – सर्लाहीको पर्सा गाउँपालिका–४ जिङ्गडवास्थित बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स र १० वर्षीय दिपु रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक दीपेन्द्र पन्जियार थारूले जानकारी दिनुभयो ।

शनिबार दिउँसो घरबाट निस्केका बालकद्वय राति अबेरसम्म नफर्केपछि अभिभावकले खोज्दै जाँदा गए राति घरभन्दा तीन सय मिटरको दूरीमा रहेको बाँके खोलामा खनिएको खाल्डोमा शव डुबिरहेको अवस्थामा फेला परेको थियो । दुईमात्र सन्तान रहेका नागेन्द्रको दुवै छोराको मृत्यु भएपछि अहिले पूरै जिङ्गडवा गाउँ शोकमाा डुबेको छ ।

मधेस विश्वविद्यालयद्वारा कानुन सङ्कायको कक्षा सञ्चालन गर्दै

वीरगन्ज – चालु शैक्षिकसत्रबाट कानुन र सामान्य जनप्रशासन सङ्कायको कक्षा सञ्चालन गर्ने तयारीमा रहेको मधेस विश्वविद्यालयले पाठ्यक्रमलाई अन्तिम रुप दिन सरोकारवालासँग सुझाव सङ्कलन गरेको छ ।

स्थापनाकालदेखि नै भौतिक पूर्वाधार र जनशक्तिको अभाव खेप्दै आएकोे मधेस विश्वविद्यालयले चालु शैक्षिकसत्रदेखि बीए, एलएलबी र समान्य जनप्रशासन सङ्कायको कक्षा सञ्चालन गर्ने अन्तिम गरेको छ । यसका लागि प्रारम्भिक कार्यहरू पूरा गरी मधेस विश्वविद्यालयद्वारा गठित पाठ्यक्रम विकास समिति र काठमाडौँ विश्वविद्यालयको विज्ञ टोलीले तयार पारेको पाठ्यक्रमलाई अन्तिम रूप दिन मधेस प्रदेशका आठवटै जिल्लाका सरोकारवालासँग विश्वविद्यालयले छलफल गरेको उपकुलपति दीपक शाक्यले जानकारी दिनुभयो ।

“हामीले यही शैक्षिकसत्रबाट कानुन र समान्य जनप्रशासन गरी दुईवटा सङ्कायको कक्षा सञ्चालन गर्ने तयारीमा छौँ”, उहाँले भन्नुभयो, “त्यसका लागि हामी पाठ्यक्रम निर्माण गरेर त्यस विषयमा सरोकारवालासँग छलफल गरी सुझाव लिइरहेका छौँ ।” पाठ्यक्रम निर्माण समितिका संयोजक प्रा डा युवराज सङ्ग्रौला नेतृत्वको टोलीले जिल्ला–जिल्लामा पुगेर सङ्कलन गरेको सुझावसहितको प्रतिवेदन पेस गर्नुहुन्छ, यसलाई एकेडेमिक काउन्सिलले पास गरेपछि हामी भर्ना प्रक्रिया सुरु गर्छाैँ, उहाँले भन्नुभयो ।

विश्वविद्यालयको तत्काल आफ्नो संरचना निर्माण भइनसकेकाले काठमाडौँ विश्वविद्यालयको समन्वयमा यी दुवै सङ्कायको पठनपाठन सुरु गर्ने तयारी गरेको छ । त्यससँगै विश्वविद्यालयले आवश्यक पूर्वाधार निर्माणको कार्यलाई समेत अघि बढाएको छ । मधेस विश्वविद्यालयद्वारा वीरगञ्जमा आयोजित कानुन विषयका पाठ्यक्रमसम्बन्धी छलफलमा सहभागी सरोकारवालाले पाठ्यक्रममा समेट्नुपर्ने विषयमा आ–आफ्ना सुझाव दिएका थिए ।

गत २०७९ वैशाख १४ गते मधेस प्रदेशसभाद्वारा मधेस विश्वविद्यालय ऐन, २०७९ जारी भई २०७९ साल भदौ २२ गते स्थापना भएको सो विश्वविद्यालयले वीरगन्जस्थित नेशनल ट्रेडिङको भवन लिजमा लिई कार्यालय सञ्चालन गर्दै आएको छ ।

पोलिटेक्निक, आइटी, व्यवस्थापन, पारामेडिकल, कृषि इन्जिनियरिङलगायतका प्राविधिक शिक्षाको माध्यमबाट मधेस प्रदेशलाई प्राविधिक शिक्षा हबका रूपमा विकास गर्ने उद्देश्यका साथ अघि बढेको मधेस विश्वविद्यालयले जग्गा प्राप्तिसँगै आवश्यक भौतिक संरचनाका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयारीमा जुटेको छ ।

“विश्वविद्यालय सञ्चालन गर्न जग्गा चाहिन्छ, त्यसका लागि लामो समयको प्रयासपश्चात पर्साको ठाउँ–ठाउँमा जग्गा प्राप्त भएको छ”, उपकुलपति शाक्यले भन्नुभयो, “स्थानीय तहका जनप्रतिनिधि तथा स्थानीयको सहयोगमा प्राप्त भएका ऐलानी र गुठी संस्थानको जग्गाको स्वामित्व विश्वविद्यालयमा ल्याउने प्रक्रियामा लागेका छौँ ।”

जग्गाको स्वामित्व विश्वविद्यालयमा हस्तान्तरण नहुदाँसम्म डिपिआर बनाउन सकिँदैन, डिपिआर नबनाई भौतिक संरचना बन्न सक्दैन, त्यसलै जग्गाको स्वामित्व छिटोभन्दा छिटो हस्तान्तरणको प्रयासमा जुटेको उपकुलपति शाक्यको भनाइ छ । मधेस विश्वविद्यालयले पर्साको बहुदरमाई नगरपालिका–२ मा ३५ बिघा र पोखरिया नगरपालिकामा १६ बिघा ऐलानी जग्गा प्राप्त गरेको छ भने पर्साको पकाहाँ मैनपुर गाउँपालिकास्थित सुरजाहा कट्टीमठ्ठ (राधाकृष्ण मन्दिर) को २७ बिघा जग्गा पाएको छ ।

बहुदरमाई नगरपालिका–२ मा प्राप्त भएको जग्गालाई सिमाङ्कन गरी पिलर जडान गरिएको भने पोखरिया नगरपालिकाको १६ बिघा जग्गाको स्वामित्व मधेस विश्वविद्यालयमा हस्तान्तरणका लागि वडा कार्यालयबाट सिफारिस भई अन्य प्रक्रियामा रहेको विश्वविद्यालयले जनाएको छ । स्वामित्व हस्तान्तरणका क्रममा रहेको बहुदरमाईको जग्गामा आवश्यक भौतिक पूर्वाधार संरचना निर्माण गर्न डिपिआर तयार पार्ने काम सुरु भइसकेको विश्वविद्यालयका रजिष्ट्रार विजयकुमार यादवले जानकारी दिनुभयो ।

विश्वविद्यालयले वीरगन्ज महानगरपालिका १७ र १८ मा रहेको १७ बिघा जग्गामा केन्द्रीय कार्यालय बनाउने योजनामा रहेको रजिष्ट्रार यादवले बताउनुभयो । मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रममा मधेस विश्वविद्यालयका लागि रु १० करोड अनुदान रकम छुट्याए पनि विश्वविद्यालयले बल्लतल्ल दुई महिनाअघि मात्र रु पाँच करोड बजेट पाएको छ ।

“धेरै प्रयास गर्दा दुई महिनाअघि मात्र रु १० करोडमध्ये रु पाँच करोड बजेट आयो”, रजिष्ट्रार यादवले भन्नुभयो, “बजेट आएसँगै हामीले कार्यालय व्यवस्थासँगै कक्षा सञ्चालनको तयारीमा जुटेका छौँ ।” यसबाहेक वीरगन्ज महानगरपालिकाको सहयोगमा विश्वविद्यालयको केन्द्रीय कार्यालयको कम्पाउण्ड वाल निर्माणलगायतका काम अन्तिम चरणमा पुगेको छ ।

मधेस विश्वविद्यालयले आफूलाई चाहिने विश्वविद्यालय सङ्गठन, शैक्षिक र प्रशासन नियमावली, २०७९, शिक्षक, कर्मचारी सेवा नियमावली, २०७९, आर्थिक प्रशासन नियमावली, २०७९ बनाई पारित गरिसकेको छ । आफ्नै केन्द्रीय क्याम्पस खोल्ने दीर्घकालीन सोच बनाएको विश्वविद्यालयको डिपिआर तयार भएपछि भौतिक संरचना निर्माणका लागि विभिन्न दूतावास, राष्ट्रिय योजना आयोग, मन्त्रालय तथा दाताबाट रु दुई सय ५० करोड चन्दा सङ्कलन गरी निर्माण गरिने लक्ष्य लिएको रजिष्ट्रार यादवले बताउनुभयो ।

आवश्यकता र औचित्यका आधारमा आवश्यक जनशक्ति भर्ना गर्न सकिने अधिकार पाएको मधेस विश्वविद्यालयमा हाल उपकुलपति, राजिष्ट्रारबाहेक तीन जना प्रशासनतर्फका र चार जना कार्यालय सहयोगी कार्यरत छन् । विश्वविद्यालयको कुलपति मधेस प्रदेशका मुख्यमन्त्री रहने व्यवस्था छ ।

‘काँग्रेस र एमालेसँग पालैपालो मोलमोलाइ गरेर सत्ता दोहन गर्न समाजवादी मोर्चा’ : बाबुराम भट्टराई

काठमाडौँ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले समाजवादी मोर्चामा नरहनुको कारणबारे प्रस्टीकरण दिनुभएको छ । 

माधवकुमार नेपाल नेतृत्वमा समाजवादी मोर्चाको काम कारबाही अघि बढे लगतै भट्टराई ले सो स्पष्टीकरण दिनुभएको हो ।  

”पुराना शक्तिहरूमा एकाधिकार जमाएर बसेका नेताहरूको वैचारिक राजनीतिक विषयप्रतिको अरुचि र अनिच्छा र खालि तत्कालीन संसदीय अङ्क गणितप्रतिको अतिशय लिप्साको प्रतिफल स्वरूप हामीसँग कुनै परामर्श र छलफल विनै रहस्यमय ढङ्गले कथित ‘समाजवादी मोर्चा’ को एकतर्फी घोषणा हुन पुग्यो”, उहाँले भन्नुभएको छ, ”नयाँ युगको नयाँ ढङ्गको समाजवादबारे कुनै स्पष्ट सोच नभएको र सिर्फ अङ्कगणितका आधारमा काँग्रेस र एमालेसँग पालैपालो मोलमोलाइ गरेर सत्ता दोहन गर्ने मात्र त्यसको आशय देखिएकाले त्यसमा हामी संलग्न हुने प्रश्नै उठेन, किनकि त्यो समाजवादको उदात्त ध्येयप्रति नै ठुलो घात हो।” 

उहाँले ट्विटरमा लेख्नुभएको छ: 
​​​​​​​धेरै शुभेच्छुकहरू विशेषतः माओवादी आन्दोलनमा लागेका साथीहरूले हामीलाई आफैँले अघि सारेको समाजवादी केन्द्र वा समाजवादी मोर्चाबाट किन अलग भएको भनेर र अन्य कतिपयले तपाईँ पुराना शक्तितिर कि नयाँ शक्तितिर भनेर निरन्तर प्रश्न गरिरहनु भएकाले आफ्नो दृष्टिकोण सार्वजनिक गर्नु आवश्यक भएको छ। 

१.नेपालमा संविधानसभाबाट समाजवाद-उन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि ती उपलब्धिहरूको रक्षा गर्दै सुशासन र समृद्धिको जगमा समुन्नत समाजवाद निर्माण गर्न नयाँ ढङ्गको समाजवादी केन्द्र वा समाजवादी मोर्चा आवश्यक छ भन्ने प्रस्तावना हामीले अघि सारेकै हो। सकेसम्म पुराना शक्तिहरूको रूपान्तरणबाटै त्यस्तो शक्ति बन्न सके सहज हुन्छ भन्ने इमानदार प्रयत्न हामीले गरेकै हो। त्यस निम्ति गम्भीर प्रकृतिको वैचारिक-राजनीतिक छलफलको आग्रह पनि गरेकै हो। परन्तु पुराना शक्तिहरूमा एकाधिकार जमाएर बसेका नेताहरूको वैचारिक(राजनीतिक विषयप्रतिको अरूची र अनिच्छा र खालि तत्कालीन संसदीय अङ्कगणित प्रतिको अतिशय लिप्साको प्रतिफल स्वरूप हामीसँग कुनै परामर्श र छलफल विनै रहस्यमय ढङ्गले कथित ‘समाजवादी मोर्चा’ को एकतर्फी घोषणा हुन पुग्यो। नयाँ युगको नयाँ ढङ्गको समाजवादबारे कुनै स्पष्ट सोच नभएको र सिर्फ अङ्कगणितका आधारमा काँग्रेस र एमालेसँग पालैपालो मोलमोलाइ गरेर सत्ता दोहन गर्ने मात्र त्यसको आशय देखिएकाले त्यसमा हामी संलग्न हुने प्रश्नै उठेन, किनकि त्यो समाजवादको उदात्त ध्येयप्रति नै ठुलो घात हो।

२.जहाँसम्म हामी नयाँ शक्तितिर कि पुरानो शक्तितिर भन्ने प्रश्न छ हामी नै वास्तवमा वैचारिक रूपले गत एक दशकदेखि देशमा नयाँ वैकल्पिक राजनीति शक्तिका प्रमुख प्रवर्तक भएकाले हामी नयाँ वैकल्पिक शक्ति निर्माणकै पक्षमा रहेको र रहने कुरा स्वतः स्पष्ट छ। वीचमा केही क्षेत्रीयतावादी शक्तिहरूसँग सहकार्य गर्दा हाम्रो छवि जनसमक्ष धमिलिन पुगेको कुरालाई स्विकार्दै हामीले आत्मालोचना सहित त्यसलाई सच्याउने कार्य गरिसकेका छौँ ! अतः नयाँ युगको र देशको आवश्यकता अनुरूप हामी देशमा उदाउँदै गरेका सबै अग्रगामी नयाँ शक्तिहरूसँग सहकार्य गर्दै वृहद नयाँ वैकल्पिक शक्ति निर्माणमा प्रतिबद्ध रहेको र रहने कुरा द्विविधारहित ढङ्गले स्पष्ट पार्न चाहन्छौँ।

तनहुँमा नमूना पशुपक्षी अस्पताल बन्दै

डुम्रे – भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँ परिसरमा नेपालकै ‘नमूना पशु अस्पताल’को निर्माण भइरहेको छ । पशुपक्षीको रोग पहिचान, अनुसन्धान र उपचारका लागि अत्याधुनिक अस्पताल निर्माण गर्ने काम भइरहेको छ । नेपालकै नमूना पशुपक्षी अस्पताल बनाउनका लागि गरिएको प्रस्ताव स्वीकृत भई काम भइरहेको हो ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले गरेको प्रस्ताव गण्डकी प्रदेश सरकारले स्वीकृत गरी बजेट विनियोजन गरेपछि निर्माणको काम भइरहेको विज्ञ केन्द्रले जनाएको छ । केन्द्रका अनुसार हाल केन्द्रमा सामान्य किसिमको प्रयोगशाला मात्र रहेकाले नयाँ प्राकृतिक रोग देखिएमा पत्ता लगाई निदान गर्न धेरै समय लाग्ने र काठमाडौँ पठाउनुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले अस्पताल निर्माण भइरहेको छ ।

गण्डकी प्रदेश सरकारको रु चार करोड ९० लाखको लागतमा डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी इको बिल्र्डस प्रालि चितवनले ठेक्का सम्झौता गरेको थियो । आगामी पुसभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको सहरी विकास तथा भवन निर्माण एकाइ कास्कीले काम गरिरहेको भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा बालकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ६० प्रतिशतभन्दा बढी निर्माण भइसकेको छ ।

पशुपक्षीमा जटिल प्रकारको रोगको उपचार, विभिन्न रोगका बारेमा अनुसन्धान केन्द्रको रूपमा विकास गर्न ‘मोडेल’को रूपमा अस्पताल बनाउने कार्य अघि बढेको केन्द्रका प्रमुख डा श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बहुवर्षीय योजनाअन्तर्गत रु १० करोडको लागतमा अस्पतालको अन्य भौतिक संरचना विस्तार गर्दै लैजाने लक्ष्य रहेको छ ।

देशकै ७७ जिल्लामध्ये पहिलो चरणमा कास्की र तनहुँमा पशु अस्पताल निर्माण भइरहेको उहाँले बताउनुभयो । अस्पतालको भवन निर्माणपश्चात आधुनिक उपकरण जडानसहित दक्ष जनशक्तिले पशुपक्षीको उपचार गर्नेछन् । भवनको भुइँतलामा व्यवस्थित प्रयोगशाला, भिडियो एक्स–रेका साथै प्राविधिक जनशक्तिको व्यवस्था गरिने सो केन्द्रले जनाएको छ ।

अस्पताल निर्माणपछि साना तथा ठूला पशु तथा चराचुरुङ्गीको अत्याधुनिक प्रविधिबाट उपचार गर्न सकिनेछ । केन्द्रका प्रमुख डा श्रेष्ठले भन्नुभयो, “प्रविधि तथा भौतिक पूर्वाधारको अभावले गर्दा कार्यालयको नामअनुसारको काम गर्न कठिन भएको बेला नमूना अस्पताललाई काम गर्न सहयोग पुग्नेछ, पशुपक्षीलाई जटिल रोग लागेमा पोखरा, काठमाडौँ पठाउनुपर्ने बाध्यता पनि हट्नेछ ।”

नमूना अस्पताल सञ्चालन हुनासाथ पशुबाट मानवमा सर्ने विभिन्न रोगको न्यूनीकरण गर्न, महामारीजन्य रोग फैलन नदिन तथा पशुधनको सुरक्षा गर्न मद्दत पुग्ने उहाँले बताउनुभयो । यसलाई तालिम केन्द्रको रूपमा विकास गर्न सकिने केन्द्रका प्रमुख डा श्रेष्ठले बताउनुभयो । महामारी रोग द्रुतगतिमा फैलन सक्ने भएकाले नियन्त्रणको लागि पशुपक्षी पालनमा अग्रणी जिल्लाका रूपमा चिनिएको तनहुँका अतिरिक्त कास्की, लमजुङ, गोरखा, र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का पशुपक्षीको उपचार गर्न सहज हुने केन्द्रले जनाएको छ । बहुवर्षीय योजनाअन्तर्गत अस्पतालको भौतिक संरचना विस्तार गर्दै लैजाने योजना रहेको उहाँले बताउनुभयो ।

पहिलो चरणमा ढलानसहितको तीनतले भवन निर्माण गर्न गरिनेछ । अस्पतालको भवन निर्माणपश्चात आधुनिक उपकरण जडानसहित दक्ष जनशक्तिद्वारा पशुपक्षीको उपचार गरिनेछ । पशुमा लाग्ने महामारीजन्य रोग निदान गरी क्षति हुनबाट जोगाउन पशु स्वास्थ्य कार्यक्रमलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो । “महामारीजन्य रोग पहिचान तथा न्यूनीकरण गर्न सकिए कम्तीमा २० प्रतिशतले पशुको क्षति कमी हुने र किसानको आम्दानी बढाउन सकिन्छ”,उहाँले भन्नुभयो ।

उहाँले नमूना पशु अस्पतालमा पशुपक्षीको रोग निदान, नियन्त्रण र उपचारका लागि सहज हुने बताउनुभयो । सामग्री तथा औजरको अभावमा पशुपक्षीको हचुवाको भरमा उपचार गर्नुपर्ने अवस्थाको अन्त्य हुने उहाँको विश्वास छ । पशु धनलाई क्षति हुनबाट जोगाउन पशु स्वास्थ्य कार्यक्रमलाई प्राथमिकतामा राखिएको केन्द्रका प्रमुख डा श्रेष्ठले बताउनुभयो ।

“पशुमा सहजै नदेखिने जुका, माटे, चरचरेजस्ता रोगले दूध तथा मासु उत्पादन हुन्छ, यसमा आँखाले नदेख्ने किटाणु रहेका हुन्छन्”, उहाँले भन्नुभयो, “यहाँ निर्माण हुने अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणबाट पशुमा लाग्ने रोगको निदान गरी समयमा औषधोपचार गर्न सकिन्छ, जसले गर्दा ती पशुबाट हुने उत्पादनमा बढाउनेछ र किसानको आम्दानी वृद्धि गर्न सकिन्छ ।” अस्पताल निर्माणपछि तनहुँलगायत लमजुङ, गोरखा र नवलपरासी जिल्लाका पशुपालक किसान लाभान्वित हुनेछन् ।

करिब छ सय पाँच वर्गमिटर क्षेत्रफलमा दुई ब्लक गरी भवन निर्माण कार्य भइरहेको छ । भवनको तल्लो तलामा पशुपक्षीका लागि एक्स–रे, भिडियो एक्स–रे, प्रयोगशाला, शव परीक्षणलगायतका सेवा कक्ष र प्रविधिक जनशक्ति रहने व्यवस्थासहितको भवन निर्माण हुनेछ भने पहिलो र दोस्रो तलामा प्रशासनिक कार्यालय, प्रयोगशाला, बैठक हल, तालिम हललगायत रहनेछन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रभावकारी

जाजरकोट – कृषि क्षेत्रमा सुधार गर्नका लागि सञ्चालनमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रभावकारी देखिएको छ । यहाँका विभिन्न पालिकाभित्र जोन, पकेट र ब्लक क्षेत्रमा परियोजना सञ्चालित छ । ती क्षेत्रमा भएको समीक्षाबाट परियोजनाले किसानको समस्या हल भएको पाइएको हो ।

परियोजना जाजरकोटका प्रमुख दीपेन्द्र पोखरेलले किसानको जीवनस्तर माथि उकास्न परियोजना प्रभावकारी भएको बताउनुभयो ।

पालिकाका कृषि शाखा प्रमुखबाट जनताले गरेका अपेक्षाका बारेमा जानकारी लिई भएका कामको सो अवसरमा समीक्षासमेत गरिएको छ । कार्यालयले ८६ दशमलव ४३ प्रतिशत काम भई लक्ष्य नजिक पुगेको उहाँले बताउनुभयो । यसमा पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटतर्फ बाख्रा ब्लक विकास कार्यक्रमअन्तर्गत ९५ दशमलव २४ प्रतिशत, सम्पूर्ण स्थानीय तहअन्तर्गत पकेट विकास कार्यक्रममा ८७ दशमलव ०९ प्रतिशत, जोन विकास कार्यक्रमतर्फ ८२ दशमलव चार प्रतिशत र कृषि विकास कार्यालय जाजरकोटबाट सञ्चालित विभिन्न ब्लकमा (तरकारी, स्याउ, ओखर र मकै) ब्लक विकास कार्यक्रमअन्तर्गत ८१ दशमलव आठ प्रतिशत प्रगति भएको परियोजना प्रमुख पोखरेलले बताउनुभयो ।

जिल्लामा यो कार्यक्रम लागू भएपछि हालसम्म १६ हजार सात सय ५४ जनाले प्रत्यक्ष रोजगारी पाएको र यो आर्थिक वर्षमा मात्र एक हजार सात सय ९० जनाले रोजगारी पाएको कार्यालयले जनाएको छ । कार्यालयले चारवटा विभागमध्ये तीनवटा (जोन, पकेट र ब्लक) विभाग चालु अवस्थामा रहेको बताएको छ ।

जोनअन्तर्गत सुन्तला जोन जिल्लाका सातवटा स्थानीय तहमध्ये चार स्थानीय तहमा कार्यान्वयनमा रहेको छ भने त्यस्तै ओखर जोन पाँचवटा स्थानीय तहमा र मौरी जोन तीनवटा स्थानीय तहमा कार्यान्वयनमा रहेको छ । उक्त कार्यक्रमबाट पाँच सय घरधुरीलाई सेवा प्रदान गरिएको कार्यालयको दाबी छ । आव २०७९÷८० मा सुन्तला जोनतर्फ पाँच मेट्रिक टन क्षमताका तीनवटा सेलार स्टोर निर्माण भई सञ्चालनमा आएसँगै सर्वसाधारण किसानलाई सहयोग पुगेको छ ।

छेडागाड नगरपालिका–१०, कुशे गाउँपालिका–८ र नलगाड नगरपालिका–३ मा सेलार स्टोर निर्माण भई कृषकले उत्पादन गरेका सुन्तलालाई सुरक्षित गर्न सहयोग पुगेको कार्यालयका कृषि प्राविधिक धरम चन्दले बताउनुभयो । जुनिचाँदे, बारेकोट, नलगाड र कुशेमा ओखर जोनतर्फ २१ वटा साना सिँचाइ निर्माण भएका छन् । त्यस्तै नौ ठाउँमा रहेका बगैँचामा थोपा सिँचाइ निर्माण भएको उहाँले जानकारी दिनुभयो ।

मौरी जोनतर्फ छ समूह÷सहकारी÷फार्मलाई मौरीका विभिन्न आधुनिक सामग्री वितरण गरी मह उत्पादनमा आधुनिकीकरणमा जोड दिइएको उहाँले बताउनुभयो । परियोजना लागू भएसँगै जिल्लामा सुन्तला, ओखर र मौरीपालक किसानलाई राहत पुगेको नलगाड–३ का किसान तुले थापाले बताउनुभयो ।

असार सकिन लाग्दा पनि कर्णालीमा ६० प्रतिशतमात्र रोपाइँ

सुर्खेत/भेरीगङ्गा  – कर्णालीमा असार सकिन लाग्दा करिब ६० प्रतिशत धान रोपाइँ भएको छ ।  

कर्णाली प्रदेश कृषि विकास निर्देशनालयका अनुसार डोल्पामा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले जानकारी दिनुभयो । 

उहाँका अनुसार हुम्लामा ८४ दशमलव ०३ प्रतिशत, मुगुमा ६० प्रतिशत, सल्यानमा ७० प्रतिशत, रुकुम पश्चिममा ६० प्रतिशत रोपाइँ भएको छ ।  दैलेखमा भने अहिलेसम्म आधा रोपाइँ पनि हुन सकेको छैन । निर्देशक रोकायले दैलेखमा अहिलेसम्म ४५ प्रतिशत मात्रै रोपाइँ भएको हो । 

यसैगरी जाजरकोटमा ७५ प्रतिशत रोपाइँ हुँदा जुम्लामा भने ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । 

सुर्खेतमा ५५ दशमलव पाँच प्रतिशत रोपाइँ भएको छ । 

कर्णालीमा ४८ हजार एक सय ३३ हेक्टर जमिनमा धान खेती गरिँदै आएको छ भने सल्यान र सुर्खेत मात्रै धानमा आत्मनिर्भर रहेको रोकायले जानकारी दिनुभयो ।रासस

कोसी प्रदेश सरकार विरुद्धको रिटमा आज सर्वोच्चमा सुनवाइ हुँदै

काठमाडौँ । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारविरुद्ध परेको रिटमाथि आज सुनवाइ हुदैँछ । 

कोसी प्रदेशका सभामुखको हस्ताक्षरसहित बहुमत पुर्‍याएर गठन भएको थापा नेतृत्वको सरकार अवैधानिक भन्दै नेकपा एमाले सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो ।

निष्पक्ष बस्नु पर्ने सभामुखले सरकार निमार्ण गर्न र ढाल्न भूमिका खेलेको भन्दै एमालेका तर्फबाट निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रवार वारेसमार्फत रिट दर्ता गराउनुभएको थियो । 

काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा कोसी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गर्दै शुक्रवार पद तथा गोपनीयताको शपथसमेत गराइसक्नुभएको छ  । तर, थापाको मुख्यमन्त्रीमा नियुक्तिको विषय सर्वोच्च अदालतमा पुगेको हो । सो रिटको आजका लागि पेसी तोकिएको हो । 

दुग्ध उत्पादक कृषकलाई अनुदान

दमौली – तनहुँको म्याग्दे गाउँपालिकाले दूध उत्पादक कृषकलाई उत्पादनका आधारमा अनुदान उपलब्ध गराएपछि कृषक उत्साहित भएका छन् । गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने उद्धेश्यसहित पालिकाले उत्पादनका आधारमा अनुदान दिने नीति ल्याएपछि कृषक खुशी भएका हुन् ।

म्याग्दे गाउँपालिका–३ निवासी नवराज घिमिरेले चालु आर्थिक वर्षमा नौ हजार तीन सय ९४ लिटर दूध उत्पादन गर्नुभयो । गाउँपालिकाले उहाँलाई प्रतिलिटर नौ रुपैयाँ २० पैसाका दरले रु ८६ हजार चार सय २४ अनुदान प्राप्त गर्नुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकाको यो कामले कृषकको हौसला बढाएको छ । जति धेरै उत्पादन गर्न सक्यो त्यति हामीलाई फाइदा छ ।” उहाँले यो कार्यलाई निरन्तरता दिन गाउँपालिकालाई आग्रह गर्नुभयो ।

गाउँपालिकाको पशु सेवा शाखाको दूधमा अनुदान कार्यक्रमअन्तर्गत उत्पादनका आधारमा पालिकाले चालु आर्थिक वर्षमा कृषकलाई रु १४ लाख रु ९८ हजार पाँच सय ८२ अनुदान रकम उपलब्ध गराएको छ ।

गाउँपालिकाले प्रतिलिटर नौ रुपैयाँ २० पैसाका दरले उत्पादनका आधारमा अनुदान दिने नीतिबमोजिम तीनवटा सहकारीमा आबद्ध कृषकलाई उत्पादनका आधारमा अनुदान रकम वितरण गरिएको छ । म्याग्दे दुग्ध उत्पादक सहकारी संस्थामार्फत दूध बिक्री गर्ने कृषकलाई रु ११ लाख २१ हजार एक सय ८५, गौसेवा दुग्ध उत्पादक सहकारीमार्फत दूध बिक्री गर्ने कृषकलाई रु दुई लाख १२ हजार दुई सय ३२ र साँगे चारहजार दुग्ध उत्पादक सहकारीमार्फत दूध बिक्री गर्ने कृषकलाई रु एक लाख ६५ हजार एक सय ६३ रकम वितरण गरिएको पशु सेवा शाखा प्रमुख डा विनय शाहले जानकारी दिनुभयो ।

म्याग्दे दुग्ध उत्पादक सहकारीले चालु आर्थिक वर्षमा एक लाख २१ लाख आठ सय ६८ लिटर, गौसेवा दुग्ध उत्पादक सहकारीले २३ हजार ६८ र साँगे चारहजार दुग्ध उत्पादक सहकारीले १७ हजार नौ सय ५२ लिटर दूध उत्पादन गरी बिक्री गरेको हो ।

चालु आर्थिक वर्षमा गाउँपालिकाबाट एक लाख ६२ हजार आठ सय ८९ लिटर दूध उत्पादन भएको छ । दूधमा अनुदान कार्यक्रममार्फत म्याग्दे सहकारीका ५५, गौसेवा सहकारीका १० र साँगे चारहजार सहकारीका २२ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । गाउँपालिकाभित्रका कृषकले उत्पादन गरेको दूध छिमेकी पालिकाका सहकारीमार्फत बिक्री वितरण गर्दा पनि गाउँपालिकाले अनुदान उपलब्ध गराउँदै आएको शाहले बताउनुभयो ।

कृषि र पशुपालन क्षेत्रलाई अझै व्यवस्थित गर्दै लैजाने बताउँदै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले कृषि तथा पशुपालन व्यवसाय गर्ने कृषकलाई प्रोत्साहन गरिने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउन उत्पादनका आधारमा अनुदान दिने नीति ल्याएका हौँ । यसले गर्दा दुग्ध उत्पादक कृषक पेसाप्रति आकर्षित र उत्साहित भएको पाएका छाँै ।”

उपाध्यक्ष बालकृष्ण घिमिरेले दूधको विभिन्न परिकार उत्पादन गरी बजारीकरण गर्न सकिने बताउँदै दूधको खुवा बनाएर विद्यार्थीलाई दिवा खाजास्वरुप प्रदान गर्नेतर्फ ध्यान दिन आग्रह गर्नुभयो । दूग्ध उत्पादक कृषकलाई प्रोत्साहनका लागि गाउँपालिकाले आगामी आव २०८०÷८१ मा पनि उत्पादनमा आधारमा अनुदानको नीतिलाई निरन्तरता दिएको पशु सेवा शाखा प्रमुख डा शाहको भनाइ छ । उहाँका अनुसार थुनेलो परीक्षण तथा उपचार शिविर, घाँसको नर्सरी स्थापना कार्यक्रम सञ्चालन गरिनेछ ।

म्याग्दे दुग्ध उत्पादक सहकारी संस्थाका कार्यवाहक अध्यक्ष नवराज घिमिरेले पालिकाको पशु सेवा शाखामार्फत उपलब्ध अनुदान कार्यक्रम, सुत्केरी पोषण खर्च, पशु बीमा, अन्तर जिल्ला ढुवानीलगायतले दुग्ध उत्पादक कृषकलाई सहयोग पुगेको बताउनुभयो ।

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालन

भरतपुर – पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । नौ घण्टापछि आज बिहानदेखि सडक खण्ड सञ्चालनमा आएको हो । 

चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा शनिवार अपराह्न ४ बजे सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो । तीन एक्स्काभेटर र जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको थियो । 

अहिले रोकिएका सवारीसाधन र यात्रु गन्तव्यतर्फ लागेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिनुभयो । उहाँले  इच्छाकामना गाउँपालिका –५ स्थित तीन नम्बर पुलमा पहिरो खसेपछि  सवारीसाधनलाई एकतर्फी  गरिएको पनि  बताउनुभयो । उहाँले मौसम र सडकको अवस्था बुझेर मात्र यस सडक खण्डको यात्रा गर्न अनुरोध गर्नुभयो ।

यस सडक खण्डमा असार महिना लागेपछि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । यस सडक हुँदै दैनिक हजारौँ सवारी साधन आउजाउ गर्ने गर्दछन् । 

पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौँ र पोखरा ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।

मनसुनी वायुको प्रभाव, पाँच प्रदेशमा पानी पर्ने

काठमाडौँ  – हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिण तर्फ अवस्थित रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

दिउँसो  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। 

राती भने देशभर आंशिकदेखि सामान्य रहनेछ। कोसी प्रदेश सहित देशका तराईका केही  स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। 

प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोसी, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको हुनाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन  लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिन्छ। तसर्थ: हावाहुरी भारी वर्षा, मेघ गर्जन र चट्याङ, गेग्र्यान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची  

​​​​​काठमाडौँ – प्रतिनिधिसभा बैठक बस्दै छ । सङ्घीय संसद् भवन, नयाँ वानेश्वरमा दिउँसो १ः००बजे प्रतिनिधिसभा बैठक बस्न लागेको हो । 

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार शुक्रवारको बैठकमा तीन वटा विधेयक प्रस्तुत हुनेछन् । जसअनुसार राष्ट्रियसभाबाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० प्रतिनिधिसभा बैठकमा टेबुल हुनेछ ।  

यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० पेस गर्नुहुनेछ भने राष्ट्रियसभामा उत्पत्ति भएको ‘मलुकी संहिता सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव पेस गर्नुहुनेछ  

आजै सो विधेयकमाथि संसोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा राखेको संसद् सचिवालयले मुलुकी संहिता सम्बन्धी विधेयक पारित गर्ने प्रस्ताव प्रस्तुत हुनेछ । 

भ्याली फुटसल च्याम्पियनसिपको उपाधिसँगै ललितपुर महानगरलाई दुई लाख

काठमाडौँ – नेकपा एमालेको भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा भएको भ्याली फुटसल च्याम्पियनसिप आज सम्पन्न भएको छ । 

शनिबार भएको कपनस्थित कपन स्पोट्स सेन्टरमा भएको फाइनल खेलमा ललितपुर महानगरले जितेको हो । खेलमा गोकर्णेश्वर नगरपालिकालाई ७–२ गोल अन्तरले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो ।

उपाधिसँगै ललितपुर महानगरपालिकाले दुई लाख प्राप्त गरेको छ भने गोकर्णेश्वरले एक लाख प्राप्त गरेको युवा सङ्घका प्रवक्ता निरोज पौडेलले बताए ।  

ललितपुरलाई उपाधि दिलाउन मनिस खड्का एक्लैले ६ गोल गरे । सुयोग थापाको नाममा एक गोल रह्यो । गोकर्णेश्वरका लागि सागर थिङ र सरोज थिङ एक–एक गोल गरे । मैदानमा उत्कृष्ट तालमेल देखाएको गोकर्णेश्वरले पहिलो हाफमा ललितपुरलाई २–२ गोलको बराबरीमा रोकेको थियो । यद्यपि, दोस्रो हाफमा ललितपुरले एकलौटी गोल थप्दै उपाधि जित्यो । 

प्रतियोगिताका विजेता र उपविजेता टोलीका खेलाडी एवं अफिसियलहरुलाई आयोजक राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेबे लगायत पदाधिकारीहरूले पुरस्कार वितरण गरेका थिए । 

राष्ट्रिय युवा सङ्घ नेपालले स्वास्थ्य युवा, स्वास्थ्य समाज भन्ने नाराका साथ उपत्यकाका युवाहरूबिच फुटसल प्रतियोगिताको आयोजना गरेको हो । राष्ट्रिय युवा सङ्घ नेपालले उपत्यकाका प्रत्येक स्थानीय तहहरूमा आन्तरिक छनोट प्रतियोगिता अयाोजना गर्दै प्रतियोगिताका लागि टोली तयार पारेको थियो । फाइनल खेलमा उपत्यकाका विभिन्न २१ पालिका टोलीहरूको सहभागिता रहेको थियो ।

यसअघि युवा संघले केपी ओली कप फुटबल प्रतियाेगिता सम्पन्न गरेकाे थियाे ।

‘उज्यालो गण्डकी प्रदेश’ घोषणालाई प्रभावकारी बनाउन प्राधिकरणको सहयोग आवश्यक : मुख्यमन्त्री पाण्डे

गण्डकी / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ‘उज्यालो गण्डकी प्रदेश’ घोषणाको कार्यक्रमलाई थप प्रभावकारी बनाउन विद्युत् प्राधिकरणको सहयोग आवश्यक भएको बताउनुभएको छ ।

मुख्यमन्त्री पाण्डे र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्बीच गण्डकी प्रदेशका सबै नागरिकको घरमा विद्युत् पुर्याउने विषयमा आज भएको भेटघाट एवं छलफलमा उहाँले उक्त कुरा बताउनुभयो ।

गण्डकी प्रदेशका ९९ दशमलव ५ प्रतिशत घरमा विद्युत् पुगिसकेकाले बाँकी घरमा विद्युतीकरणका लागि सरकार र प्राधिकरणले मिलेर अघि बढ्नुपर्ने बताउँदै उहाँले ग्रिड लाइन, लघु जलविद्युत् र सौर्य ऊर्जाबाट पनि विद्युतिकरण भएको र सकेसम्म सबै ठाउँमा ग्रिडलाइन विस्तार गर्नेगरी अघि बढ्नुपर्ने बताउनुभयो ।

पछिल्लो केही समय यता विद्युत् छिनछिनमा अनियमित हुँदा उपभोक्ताले गुनासो आउने गरेको बताउँदै उहाँले त्यसबाट उद्योग, व्यापार, व्यवसायमा समस्या आउने भएकाले समाधानतर्फ ध्यान दिन उहाँले अनुरोध गर्नुुभयो । राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका सम्बन्धमा मुख्यमन्त्री पाण्डेले चासो लिनुभएको थियो ।

पृथ्वी राजमार्ग, मध्यपहाडी सडकलगायत सडक विस्तार भएका ठाउँमा पोल स्थानान्तरण नहुँदा दुर्घटना हुन सक्ने खतरा रहेको बताउँदै उहाँले त्यसतर्फ विद्युत् प्राधिकरणले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

छलफलमा कार्यकारी निर्देशक घिसिङले तत्काल उज्यालो पुर्याउन दुर्गम ठाउँमा लघु जलविद्युत्, सौर्य ऊर्जा पनि प्रभावकारी हुने बताउँदै प्राधिकरणले ग्रिड लाइनबाट विद्युत् पुर्याउने गरी काम अघि बढाइरहेको जानकारी दिनुभयो ।

उज्यालो गण्डकी प्रदेश कार्यक्रमलाई सहयोग पुग्ने गरी सबस्टेशन निर्माण, ग्रिड लाइन विस्तारको काम अघि बढिरहेको उहाँले मुख्यमन्त्री पाण्डेलाई जानकारी गराउनुभयो ।

बूढीगण्डकी आयोजना नेपालका लागि आवश्यक र गौरवको परियोजना भएकाले छिटो निर्माण गर्ने दिशामा अघि बढ्नुपर्ने र त्यस्तो हुन नसकेको बताउँदै उहाँले प्रक्रिया भने अघि बढीरहेको बताउनुभयो ।

प्राधिकरणको प्रादेशिक कार्यालयमार्फत सडक विस्तार भएका ठाउँका जोखिम पोल तत्काल स्थानान्तरण गरिने बताउँदै उहाँले सडकले स्थानान्तरण गर्ने उपयुक्त ठाउँ नदिँदा समस्या हुने गरेको, जङ्गल क्षेत्रमा रुख काट्ने अनुमति ढिला हुँदा लाइन विस्तारमा देशभर जटिल समस्या देखिएको बताउनुभयो ।

भेटघाटमा गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटा, नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय पोखराका प्रमुख जगदीशचन्द्र जोशीलगायत सहभागी हुनुहुुन्थ्यो ।

प्रहरी सङ्गठन रुपान्तरणको उपयुक्त अवसर : महानिरीक्षक कुँवर

काठमाडौँ / प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरी सङ्गठनको सुधार र रुपान्तरणका लागि अहिले उपयुक्त अवसर रहेको बताउनुभएको छ । आज प्रहरी प्रधान कार्यालयमा पत्रकार भेटघाट आयोजना गर्दै उहाँले प्रहरी सङ्गठनलाई राजनीतिक नेतृत्वबाट राम्रो सहयोग प्राप्त भएको पनि स्पष्ट पार्नुभयो ।

उहाँले सङ्गठनको रुपान्तरण र विकासका लागि वातावरण राम्रो रहेको तर साधनश्रोतको कमी र राष्ट्रको ढुकुटी रित्तिएका बेला चुनौती भने धेरै रहेको बताउनुभयो । सामान्य नीतिगत निर्णय गरेर के गर्न सकिन्छ भन्ने कुरामा आफू गम्भीर रहेको उहाँको भनाइ छ ।

वर्तमान समयमा गृह मन्त्रालयको नेतृत्व आक्रामकरूपमा लागे पनि अन्य क्षेत्रबाट विविध सीमाका कारण पनि अपेक्षा पूरा हुन नसकेको उहाँले बताउनुभयो ।

साइबर अपराधको विषयमा पत्रकारको जिज्ञासामा महानिरीक्षक कुँवरले जिल्ला जिल्लाबाट साइबर अपराधको मुद्दा अघि बढाउने भन्ने सरकारको निर्णय रहेकाले त्यसमा चुनौती रहेको र त्यसका लागि आवश्यक मार्गदर्शन निर्माण गर्ने चरणमा रहेको जानकारी दिनुभयो । उहाँले आइटीसँग सम्बन्धित प्रहरीलाई तालिम दिलाएर आवश्यक प्रक्रिया अघि बढाउन लागिएको बताउनुभयो ।

उहाँले प्रहरी समायोजनको विषय सरकारको योजनामै रहेको र सरकारको निर्देशन बमोजिम गम्भीरतापूर्वक अघि बाढाउने बताउनुभयो । महानिरीक्षक कुँवरले सङ्गठनमा आफ्नो कुनै स्वार्थ नरहेको तर केही जिज्ञासा भएमा सिधा फोनबाट जानकारी लिन सकिने पनि बताउनुभयो । समाज सुधार तथा शुसासन कायम गर्नका लागि होस्टेमा हैँसे गर्न आफू तयार रहेको उहाँले प्रतिबद्धता जनाउनुभयो ।

घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा नगराइन नगरपालिका–२ का वडा अध्यक्ष बुलन यादव र वडा सचिव अमृत नारायण मिश्रविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सडक निर्माणकार्य सम्पन्न सिफारिस गरिदिएबापत सेवाग्राहीसँग रु. ७० हजार घुस लिएको अभियोगमा आयोगले केही दिन पहिले उनीहरुलाई पक्राउ गरेको थियो । आयोगले उनीहरुविरुद्ध बिगो बमोजिमको कारवाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

स्वास्थ्य सेवामा सरल र सहज पहुँचका लागि गम्भीर बनौँ : प्रधानमन्त्री

काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य सेवाका लागि आवश्यकपर्ने जनशक्ति र स्वास्थ्य सेवा प्रवाहमा जनताको सरल र सहज पहुँचका लागि स्वास्थ्य क्षेत्रका प्रतिष्ठानले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको छैटौँ सभा बैठकलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्रीले स्वास्थ्य सेवा र यस क्षेत्रमा आवश्यकपर्ने जनशक्तिको विकासका निम्ति प्रतिष्ठानको उत्पादन, सेवा र वितरण प्रणाली सरल, पूर्वाग्रहरहित, आम नागरिकको पहुँच पुग्ने स्तरको हुनुपर्ने बताउनुभएको हो ।

सो अवसरमा प्रतिष्ठानका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले ‘प्रतिष्ठानको रणनीतिक विकास र समावादोन्मुख स्वास्थ्यको लक्ष्य प्राप्तिका निम्ति यस सभाले महत्वपूर्ण योगदान गर्ने विश्वास लिँदै सोहीबमोजिम नीति, योजना, कार्यक्रम र कार्यान्वयनको प्रक्रियामा लाग्न’ अपिलसमेत गर्नुभयो ।

“विसं २०१३ मा सोल्जर बोर्ड अस्पतालका रुपमा स्थापना भएको यस अस्पताल निरन्तर क्षमता वृद्धि हुँदै पाँच सय शय्याको अस्पतालका साथसाथै चिकित्साशास्त्रमा दक्ष जनशक्ति उत्पादन गर्ने प्रतिष्ठानका रुपमा विकसित भएको प्रधानमन्त्रीले स्मरण गर्नुभयो ।

सो प्रतिष्ठानबाट गण्डकी प्रदेशका नागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुनुका साथै सहज र सुलभरूपमा चिकित्सा शिक्षासमेतको अध्यापन हुनु आफैँमा गौरवको विषय भएको उहाँले बताउनुभयो । अध्ययन, अनुसन्धान र गुणस्तरीय स्वास्थ्य सेवाका क्षेत्रमा यस प्रतिष्ठानबाट थप योगदान पुग्ने प्रधानमन्त्रीले विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्ड भन्नुभयो, “स्थापनाको छोटो अवधिमा प्रतिष्ठानले हासिल गरेको भौतिक एवं शैक्षिक उपलब्धिको जगमा टेकेर संस्थाको बृहत् हितका पक्षमा नेपालको संविधान, प्रचलित कानुन र प्रतिष्ठानका आफ्नै विधिविधानअनुरूप अगाडि बढ्दै देशकै अग्रणी स्वास्थ्य प्रतिष्ठानका रूपमा विकास एवं विस्तार भएको छ ।” प्रधानमन्त्रीले सो कार्यका लागि यसमा सम्बद्ध सबैले गम्भीर मेहनत र पहलकदमी लिनेमा आफू आशावादी भएको बताउनुभयो ।

स्वास्थ्य सेवा र यस क्षेत्रमा आवश्यकपर्ने जनशक्तिको विकासका निम्ति प्रतिष्ठानको उत्पादन, सेवा र वितरण प्रणाली सरल, पूर्वाग्रहरहित, आम नागरिकको पहुँच पुग्ने स्तरको हुनेमा पनि उहाँले विश्वास व्यक्त गर्नुभयो ।

राहुल गान्धीको पुनरावेदन खारेज

अहमदावाद / गुजरात उच्च अदालतले काङ्ग्रेस नेता राहुल गान्धीको पुनरावेदन निवेदन खारेज गरेको छ ।

मोदी थर भएकाहरूको मानहानी हुनेगरी अभिव्यक्ति दिएका नेता गान्धीलाई तल्लो अदालतले दोषी ठहर गर्दै दुई वर्ष जेल सजाय सुनाएपछि त्यसविरुद्ध उहाँले उच्च अदालतमा पुनरावेदन गर्नुभएको थियो ।

उच्च अदालतका न्यायाधीश हेमन्त एम प्रचकको इजलासले तल्लो अदालतले गरेको निर्णयलाई सदर गर्दै गान्धीको पुनरावेदन निवेदन खारेज गरिएको जनाएको छ । न्यायाधीश प्रचकले ‘ट्रायल कोर्टको फैसला उचित भएकाले तयसमा हस्तक्षेप गर्न आवश्यक नभएको’ बताउनुभएको छ । नेता गान्धीविरुद्ध कम्तीमा १० वटा आपराधिक मुद्दा विचाराधीन छन् ।

ट्रायल कोर्टको फैसलासँगै नेता गान्धीको सांसद पद पनि खारेज भएको थियो । (रासस /एएनआई)

स्वास्थ्य संस्थामा परीक्षण गराउने गर्भवतीलाई पाँच हजार भत्ता

तनहुँ / स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउने गर्भवतीलाई व्यास नगरपालिकाले पाँच हजार भत्ता दिन सुरुआत गरेको छ । जिल्लाको १० पालिका मध्ये नियमित खोप र स्वास्थ्य परीक्षण गराउने गर्भवतीलाई पोषण भत्ता दिने व्यास नगरपालिका पहिलो भएको जनाइएको छ ।

गर्भवतीले टिटानस र धनुष्टङ्कार रोगको विरुद्धको टिडी खोप लगाउनुपर्छ । खोप लगाएको र नियमित परीक्षण गराएकाले सो सुविधा पाउने जनाइएको छ । भत्ता पाउनका लागि गर्भवती आठ महिना भने पूरा भएको हुनुपर्ने प्रावधान रहेको नगरपालिकाले जनाएको छ ।

स्वस्थ शिशु जन्माउने र मातृ मृत्युदर घटाउने नीति अवलम्बन गरिएकाले सोही अनुसार गर्भवतीलाई पोषण भत्ता प्रदान गरिएको नगरपालिकाको महिला, बालबालिका, अपाङ्गता तथा ज्येष्ठ नागरिक उपशाखाप्रमुख राधा आचार्यले बताउनुभयो । हालसम्म व्यासभित्रका एक सय ३० महिलालाई पोषण भत्ताबापत रु ६ लाख ८५ हजार प्रदान गरिसकिएको उपशाखाले जनाएको छ । भत्ता पाउनेहरुमा आदिवासी जनजाति ५७, दलित ३४ र २९ जना ब्राह्मण–क्षेत्री छन् ।

‘यस कार्यक्रमले आर्थिक अवस्था न्यून भएका गर्भवतीलाई प्रत्यक्ष लाभ पु¥याएको हामीले ठानेका छौँ”, उपशाखाप्रमुख आचार्यले भन्नुभयो, “हामीले भत्ता दिने बेलामा समेत स्वास्थ्य संस्थामै गएर सुत्केरी गराउन सल्लाह र स्वास्थ्य समस्या भए परामर्शसमेत दिने गर्छौं ।”

आफूहरुले गर्भवतीलाई प्रदान गरिएको भत्ता रकम पोषणका लागि प्रयोग गर्न अनुरोधसमेत गर्ने गरिएको उपशाखाप्रमुख आचार्यले जानकारी दिनुभयो । यसरी भत्ता दिने गर्दा स्वयं गर्भवतीबाट सकारात्मक प्रतिक्रिया पाउने गरेको उहाँको भनाइ छ ।

व्यास –५ रानीटारीकी ३० वर्षीया चिजा विकले भत्ता पाएकामा खुशी व्यक्त गर्नुभयो । “गर्भवतीलाई भत्ता दिने गरिएको कुरा पत्याएर लागेको थिएन”,उहाँले भन्नुभयो, “हातमा नगदै परेपछि चाहिँ निकै अचम्ममा परेको छु । यो रकम फलफूल र पौष्टिक आहारमै खर्च गर्नेछु ।”

“खोप र नियमित परीक्षण मात्रा पूरा गरेपछि भत्ता पाइने रहेछ”, व्यास–५ की २३ वर्षीया सपना भुजेलले भन्नुभयो, “यस्तो कार्यक्रमले आत्मसम्मानसमेत मिलेको महसुस हुँदो रहेछ ।”

मातृ मृत्युदर घटाएर गर्भवतीलाई नियमित परीक्षण गर्ने बानीको विकास गर्न पोषण भत्ताको कार्यक्रम लागू गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । यस कार्यक्रमले सकारात्मक चर्चा पाएकोसमेत उहाँले जानकारी दिनुभयो ।

“यो कार्यक्रमको सकारात्मक चर्चाले हामीलाई हौसला मिलेको छ”, उहाँले भन्नुभयो, “नगरवासीलाई कसरी प्रत्यक्ष प्रभावकारी कार्यक्रम लागू गर्न सकिन्छ भन्नेमा नै हामी जहिल्यै केन्द्रित छौँ ।”

आगामी दुई शनिबार बैंक खुल्ने

काठमाडौँ / नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालार्ई असार २३ र ३० गते शनिबारका दिन सेवा बन्द नगर्न परिपत्र गरेको छ ।

चालु आर्थिक वर्ष सकिने बेलामा राजस्व भुक्तानी, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरका लागि बढी चाप पर्ने भएकाले शनिबार पनि सेवा उपलब्ध गराउन राष्ट्र बैंकले परिपत्र गरेको हो ।

“असार २३ र ३० गते बिदाका दिनसमेत राति ८ बजेसम्म र असार ३१ गते बेलुका ७ बजेसम्म राजस्व कारोबार गर्ने सम्पूर्ण बैंक, चेक क्लियरिङ एवम् विद्युतीय ट्रान्सफरको फन्ड सेटलमेन्ट गर्ने अन्य बैंक तथा वित्तीय संस्था साथै नेपाल क्लियरिङ हाउस खुला राखी राजस्व बुझ्ने व्यवस्था गनपर्नेछ”, राष्ट्र बैंकले आज जारी गरेको सूचनामा भनिएको छ ।

अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयको अनुरोधपछि यस्तो निर्देशन दिइएको राष्ट्र बैंकले जनाएको छ ।

तीन सातादेखि फक्ताङलुङमा मोबाइल सेवा अवरुद्ध

ताप्लेजुङ / ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ मा तीन सातादेखि मोबाइल सेवा अवरुद्ध हुँदा सञ्चारसेवा प्रभावित भएको छ । गाउँपालिका केन्द्र तापेथोक, साघु, फेम्बु, लेलेप हेल्लोकलगायत क्षेत्रमा सञ्चारसेवा अवरुद्ध भएको हो ।

मोबाइल सेवा बन्द हुँदा सूचना आदन–प्रदान ठप्प भएको स्थानीय रोशन लिम्बूले बताउनुभयो । “अहिले बाढीपहिरोको गइरहेको छ, यस्तो अवस्थामा नेटवर्क नहुँदा सञ्चार सेवा नचल्दा समस्या भएको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार गाउँमा सञ्चार सेवा अवरुद्ध भएको तीन साता भइसकेको छ । “साँझ बिहान पानी परिहेको छ । बाढी पहिराले कहाँ, कति क्षति गर्यो, कहाँ–कहाँ जोखिम बस्ती रहेको छ भन्ने विषयमा सूचना समेत पाउन नसकेको अवस्था छ”, उहाँले भन्नुभयो ।

फक्ताङलुङ गाउँपालिकामा बाहेक अन्यत्रका टावर भने सञ्चालनमै रहेको नेपाल दूरसञ्चार कार्यालय ताप्लेजुङका सूचना अधिकारी सुदीपकुमार महतोले बताउनुभयो । “ताप्लेजुङका टावर सबै राम्रो अवस्थामा छन् । फक्ताङलुङको मुरिङलामा रहेको टावरमा मात्रै समस्या देखिएको हो, टावरमा देखिएको समस्या समाधानका इलाम कार्यालयबाट प्राविधिक टोली आउनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार पाँचथरको हेवाखोलामा पुल निर्माण भएपछि इलामबाट प्राविधिक आउने जानकारी प्राप्त भएको छ ।

हेवाखोलामा कहिले बन्छ बेलीब्रिज ?

पाँचथरको हेवाखोलामा रहेको मोटरेबल पुल तीन साताअघि बाढीपहिराले बगाएसँगै मेची राजर्माग अवरुद्ध छ । गत असार ३ गते राति वर्षासँगै गएको बाढीपहिराले मेची राजमार्ग अवरुद्ध भएको थियो । जसका कारण ताप्लेजुङसँग अन्य जिल्लाको सडक सञ्जाल विच्छेद भएको छ ।

पुल बाढीले बगाएसँगै ताप्लेजुङ, पाँचथरका हिलिहाङसहित फालेलुङ र याङवरक गाउँपालिकासँग सडक सम्पर्क विच्छेद भएको हो । बाढीले पुल बगाएपछि बनाउन थालिएको बेलीब्रिज अझै सकिएको छैन ।

पुल बगाएकै दिन सरकारले तत्काल बेलीब्रिज हाल्ने निर्णय गरेको थियो । पुल नहुँदा ताप्लेजुङमा खाना पकाउने ग्यास, खाद्यान्नलगायका सामग्री अभाव हुन सुरु गरेको ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापाले बताउनुभयो । लामो समय राजर्माग अवरुद्ध हुँदा ताप्लेजुङमा खाद्यवस्तु तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति हुन नसकेको सङ्घले जानएको छ ।

अध्यक्ष ओलीको आरोप : सत्तारुढ गठबन्धनले स्वार्थका लागि राष्ट्रको हितमाथि खेलवाड गर्याे

काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले स्वार्थका लागि राष्ट्रको हितमाथि खेलवाड गरेको आरोप लगाउनुभएको छ ।

शुक्रबार किर्तिपुरमा अखिल स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई उद्घाटन गर्दै अध्यक्ष ओलीले बहुमत नभएका पार्टीहरु एक ठाँउ मिलेर स्वार्थ बाड्दै राष्ट्रको हितमाथि खेलवाड गरेको आरोप लगाउनुभएको हो । ओलीले मुलुकमा संसद भएपनि प्रधानमन्त्री प्रचण्डले आफुलाई दिल्लीले प्रधानमन्त्री बनाएको प्रमाण बोलेको र यस्ता धेरै प्रमाणहरु बाहिर आउन बाँकी रहेको जिकिर गर्नुभयो । भारतले नेपालमा सरकार बनाउछु भनेर नभनेको अवस्थामा नेपालका प्रधानमन्त्रीले नै नेपालको सार्वभौमसत्ता विपरित राखेको अभिव्यक्ति साधारण बिषय नभएको उहाले बताउनुभयो ।

त्यस्तै उहाले राष्ट्रपतिबाट यसअघि नै मृत अवस्थामा पुगेको नागरिकता विधेयकलाई संविधान मिचेर नै प्रमाणीकरण गरेको आरोप लगाउनुभयो । गठजोडको अराजनीतिक भागबन्डा, स्वार्थहरुको कित्ताकाटको कारणले अहंकार पलाएर संविधान नमान्ने ठाउँमा गठबन्धन पुगिसकेको उहाले बताउनुभयो ।

त्यस्तै ओलीले ललिता निवास प्रकरणमा छानविन गरि दोषीहरुलाई कारवाही गर्नुपर्ने स्पष्ट पार्नुभयो । ललिता निवास प्रकरणको छानविनलाई निष्कर्षमा पुराउनै नसक्ने भन्दै ओलीले सरकारले गरिरहेको छानबिन आफू हिरो बन्नका लागि गरिएको स्टन्टबाजीमात्र भएको तर्क गर्नुभयो । ओलीले भारतीय रअ प्रमुखलाई देशको हितको पक्षमा कुरा गर्न आफुले भेटेको भन्दै प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा भारतीय रअ प्रमुखलाई घरमै पुगेर लुकेर भेट गरेको उल्लेख गर्नुभयो ।

ओलीले कोशी प्रदेशमा मुख्यमन्त्री पदमा नियुक्त गर्दा सभामुखले गठबन्धनको आदेशअनुसार संविधान मिच्ने काम गरेको जिकिर गर्नुभयो । उहाले मुलुकका सवै अंगलाई सरकारले त्रासमा राखेको आरोप लगाउनुभयो । उहाले कोशी प्रदेशमा एमाले नेतामाथि भइरहेको आक्रमणमा सरकारको संलग्नता रहेको समेत बताउनुभयो ।