`

सोमबारदेखि अन्तर्राष्ट्रिय थ्रीबाईथ्री एनबिसी बास्केटबल च्याम्पियनसिप हुने

Nepal One HD २६ माघ २०८१ २०:०५
खेलकुद

काठमाडौं । नेपाल बास्केटबल संघ र थ्री बाई थ्रीको आयोजनामा सोमबारबाट अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिप हुने भएको छ ।

शनिबार पत्रकार सम्मेलन गर्दै नेपाल बास्केबल संघले बुधबारसम्म हुने प्रतियोगितामा ३२ टीम सहभागी हुने जानकारी दिएको छ । प्रतियोगितामा नेपालबाट २२ टीम सहभागी हुनेछन् । त्यस्तै, बंगलादेशबाट ४, ३ भारत र १ पाकिस्तानबाट टीम सहभागी हुने बास्केबल संघका महासचिव नरेन्द्र थापाले जानकारी दिए ।

दुई टीमको टुंगो लाग्न बाँकी छ । महासचिव थापाका अनुसार नेपाली टिमले दुई जना विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन् । जसमध्ये १ खेलाडीमात्रै कोर्टमा उत्रने नियम रहेको छ ।

पहिलो संस्करण भब्य आयोजना भएपछि दोस्रो संस्करण आयोजना गरेको संघका अध्यक्ष भीम गुरुङले जानकारी गराए । उनले भने,‘पहिलो संस्करण हामीले निकै भब्य आयोजना गरेका थियौं । पहिलो संस्करण नै राम्रो भएपछि निरन्तरता दियौं । दोस्रोमा झनै राम्रो खेल हुने विश्वास छ ।’

प्रतियोगिताको सबै म्यानेजमेन्टको जिम्मेवारी आइडिया पिक्सेसले गरेको छ । पत्रकार सम्मेलनमा आइडिया पिक्सेलको तर्फबाट पवनराज जोशीको सहभागिता रहेको थियो । थी बाई थ्री का कोर्डिनेटर तथा केन्द्रिय सदस्य शरद बिष्टले प्रतियोगिता सम्पन्न गर्न अनुमानित खर्च १२ देखि १५ लाख लाग्ने बताए ।

संघका अध्यक्ष गुरुङले अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट कुनै सहयोग नभएको बताएका छन् ।

‘हामीले यो सबै खर्च आफ्नो लागत र स्पोन्सरकै सहयोगले गर्दैछौं । राखेपबाट कुनै सहयोग भएको छैन,’ गुरुङले भने, ‘राखेप सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय भन्दा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्नु भन्नुहुन्छ । तर, हामी अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा आधामात्रै खर्च बेहोर्दिनुस् भनेको छौं । तर, उहाँले दिनुहुन्न ।’

संघले प्रतियोगिताको अन्तिम दिन भारत र पाकिस्तानबीच मैत्रीपूर्ण खेल आयोजना हुने जनाएको छ । ‘हामीले नेपाली भूमि खेलकुदको लागि न्युट्रल भेन्यु हो भन्ने सन्देश दिनको लागि भारत र पाकिस्ताबीच अन्तिम दिन मैत्रीपूर्ण खेल आयोजना गर्दैछौं । यसमा दुबै टोलीको समर्थन रहेको छ ।’


प्रतिक्रिया