`

ज्ञानेन्द्र शाहीले भने : भ्रष्टाचारको सबै फाइल खोलेर कारबाही प्रक्रिया अघि नबढाए संसद चल्न दिँदैनौँ

काठमाडौं – राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले भ्रष्टाचारका सबै फाइल खोलेर छानबिन गरेर कारबाही प्रक्रिया अघि बढाउन माग गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समय बोल्दै उनले अख्तियारमा भ्रष्टाचारको फाइलमा धुलो लागेर बसेकाले अब ति फाइल खोलेर छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

कर्णालीको विकासका लागि पैसा नभएको जवाफ दिने सरकारले ती भ्रष्टाचारको फाइल खोलेर दोषीबाट पैसा असुलेर राज्यको कोषमा दाखिला गर्नुपर्ने उनको भनाइ छ ।

यदी भ्रष्टाचारको सबै फाइल खोलेर छानबिन र कारबाही प्रक्रिया अघि नबढाए सदन र सडकबाट संघर्ष गर्ने भन्दै उनले सदन पनि चल्न नदिने चेतावनी दिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी प्रमुखको समेत नाम जोडिनु दुखद हो : स्वर्णिम वाग्ले

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी प्रमुखको समेत नाम जोडिनु दुखद भएको बताएका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन हुनुपर्ने संदिग्दहरुको सूचीमा प्रहरी प्रमुख समेत थपिएको आरोप छ। कानुनको लामो हातबाट कोही भाग्न सक्ने छैनन्, दण्डहीनताको निकृष्ट चुरीफुरी यो नाटक कति लम्बिन्छ हामी हेर्दैछौं।’

शराणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न रास्वपाको माग

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले नक्कली भुटानी शराणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गरेको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै रास्वपाका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले प्रहरी अनुसन्धानप्रति आशंका व्यक्त गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि संसदीय विशेष समिति गठन गर्नुपर्ने माग गरेका हुन् ।

प्रकरणमा पक्राउ परेकाले नाम लिएका व्यक्तिउपर छानबिन नगरेको भन्दै आपत्ति जनाएका लामिछानेले दोषीलाई उम्काउन खोजिएको आशंका पनि व्यक्त गरे ।

यसर्थ नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न रास्वपाले माग गरेपछि सभामुख देवराज घिमिरेले यसप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।

अनुसन्धान गर्न प्रधानमन्त्री र गृहमन्त्री ज्यू किन डराएको ? : रवि लामीछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा) का सभापति रवि लामीछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता रहेकोलाई किन सरकारले कार्बाहि गर्न नसकेको भन्दै प्रश्न गरेका छन् ।

बुधबार जारी प्रतिनिधिसभा बैठकको सुरूमै बोल्दै उनले प्रधानमन्त्री र गृहमन्त्री ज्यू किन डराएको भन्दै प्रश्न गरेका हुन् ।

उनले भने, “तीन दलका नेताले खुसुरखुसुर गर्दा हामीलाई शंका लागिरहेको थियो । आज त राज्यका निकायहरु, अनुसन्धान निकायहरुमै प्रश्न उठिरहेको छ,” लामिछानेले भने, “यो कुनै अँध्यारो कोठामा वा गल्लीमा भएको कुरा पनि होइन । खुलेयाम बालुवाटार र सिंहदरबारमा पैसा बुझेको कुरा आइरहेको छ ।”

उनले यसरी किटानी बयान दिँदा समेत नाम मुछिएकाहरुलाई पक्राउ नगर्नुले राज्यमाथिको विश्वसनीयतामा प्रश्न उठेको बताए ।

“ज–जसको नाम आएको छ, उनीहरुको छानबिन समेत गर्न नसक्ने गरी किन डराएको ? प्रधानमन्त्री, गृहमन्त्री मुटु दरो छ भन्नुहुन्छ, खोइ आँट देखाएको ?,” लामिछानेले भने, “हाम्रो हकमा, नागरिकको हकमा आउँछु भन्दा भन्दै समातिएको छ । न्युजरुमबाट समातिएको व्यक्ति म यहाँ छु ।”

उनले आफूले नाम आएकहरु दोषी हुन् भनेर आरोप लगाएको नभई उनीहरुमाथि पनि छानबिन हुनुपर्ने बताए ।

“एकपटक छानबिनका लागि, सोधपुछका लागि बोलाउन पनि नसक्ने को हो उहाँहरु ?,” लामिछानेले प्रश्न गरे । उनले अहिलेका अनुसन्धानको विश्वसनीयमा प्रश्न उठेको भन्दै तत्काल संसदीय समिति बनाउन माग गरे ।

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

बुधबार राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा उनीहरुले शपथ लिएका हुन् ।

मन्त्री महतोलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री कुमारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका हुन् ।

योसँगै प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद २५ सदस्यीय भएको छ ।

मनकामनामा सुन्तलाको प्रतिमा स्थापना

गोरखा – सुन्तला उत्पादनका हिसाबले छुट्टै पहिचान रहेको गोरखाको मनकामनामा सुन्तलाको प्रतिमा स्थापना गरिएको छ । 

सहिद लखन गाउँपालिका–२ स्थित मनकामनाको ढाँटबारीमा सुन्तला खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सुन्तलाको प्रतिमा स्थापना गरिएको वडाध्यक्ष सकुन थापामगरले जानकारी दिनुभयो ।

“मनकामनाको सुन्तला ग्राहकको पहिलो रोजाइमा पर्छ”, उहाँले भन्नुभयो, “सुन्तलाको पकेट क्षेत्रका रूपमा रहेको ढाँडबारी गाउँलाई सुन्तलाकै माध्यमबाट प्रचार–प्रसार गरी कृषकलाई उत्पादनमा प्रोत्साहन गर्न प्रतिमा स्थापना गरिएको हो ।”

मनकामना मन्दिरका कारण देशकै धार्मिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा रहेको मनकामना क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सुन्तलाको पनि पकेट क्षेत्रका रूपमा रहेको जानकारी गराउन प्रतिमा निर्माण गरिएको हो । प्रतिमा निर्माणले मनकामना क्षेत्रका किसानलाई सुन्तला खेती गर्न अझ बढी प्रोत्साहन मिल्ने वडाध्यक्ष थापामगरको भनाइ छ । 

उद्योग वाणिज्य सङ्घ मनकामना बजार एकाइले करिब रु छ लाख लागतमा ढाँटबारीमा सुन्तलाको प्रतिमा निर्माण गरेको हो । स्थानीयवासीले बसपार्कमा निःशुल्क उपलब्ध गराएको जग्गामा प्रतिमा निर्माण गरिएको वडाध्यक्ष थापामगरले बताउनुभयो । “सुन्तलाको अझै उत्पादन बढाउन सके यहाँका किसानको आर्थिक स्तरमा थप वृद्धि गर्न सकिन्छ, त्यसका लागि कृषकलाई सुन्तला उत्पादनमा प्रोत्साहन गर्नु आवश्यक छ”, उहाँले भन्नुभयो ।

गोरखाको मनकामनास्थित ढाँटबारी क्षेत्रका किसानले वार्षिक करिब रु एक करोडभन्दा बढी मूल्यको सुन्तला बिक्री गर्दै आएका छन् । मनकामनाको सुन्तला अन्य क्षेत्रको बढी स्वादिलो र रसिलो भएको विश्वास गरिएको छ । 

ढाँटबारी गाउँलाई सुन्तलाको गाउँका रूपमा परिचित गराउने प्रतिमा निर्माण गरिएको गोरखा उद्योग वाणिज्य सङ्घ मनकामना बजार एकाइका अध्यक्ष हरि श्रेष्ठले जानकारी दिनुभयो । नवनिर्मित प्रतिमाको गोरखा उद्योग वाणिज्य सङ्घ गोरखाका अध्यक्ष कृष्णकुमार श्रेष्ठ र वडाध्यक्ष थापामगरले संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।रासस

पर्वतका ३२ हजार नागरिक स्वास्थ्य बीमाको पहुँचमा

पर्वत – स्वास्थ्य बीमा कार्यक्रम लागू भएको लामो समय बितिसके पनि पर्वतमा अझै नागरिकको आकर्षण भने बढ्न सकेको छैन । पर्वतमा हालसम्म झण्डै ३२ हजार नागरिक स्वास्थ्य बीमाको पहुँचमा आएका छन् ।

राष्ट्रिय जनगणना, २०७८ का अनुसार पर्वतको कुल जनसङ्ख्या एक लाख ३२ हजार तीन सय ५२ रहेको छ । यीमध्ये २४ प्रतिशतले स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा बोर्डको सम्पर्क कार्यालयका संयोजक तथा जनस्वास्थ्य निरीक्षक टीकाकुमारी श्रीसले जानकारी दिनुभयो । जिल्लाका सातवटा स्थानीय तहमध्ये सबैभन्दा बढी कुश्मा नगरपालिकाका २८ प्रतिशतले र सबैभन्दा कम महाशिला गाउँपालिकाका १३ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँचमा छन् ।

कुश्मा नगरपालिकाको कुल जनसङ्ख्या ३८ हजार सात सय ७४ रहेकामा ११ हजार ७३ जनाले बीमा गरेका छन् भने महाशिला गाउँपालिकाका आठ हजार दुई सय ३३ जनामध्ये एक हजार ६३ जनाले बीमा गरेका छन् । बिहादी गाउँपालिकाको जनसङ्ख्या १२ हजार पाँच सय २१ रहेकामा तीमध्येका एक हजार छ सय ७४ जनाले बीमा गरेका छन् । जुन त्यहाँको जनसङ्ख्याको १३ प्रतिशत हो ।

जलजला गाउँपालिकामा भने बीमा गर्ने धेरै छन् । सातवटा स्थानीय तहमध्ये तेस्रो धेरै स्वास्थ्य बीमा जलजला गाउँपालिकाका बासिन्दाले गरेका छन् । जलजलाको जनसङ्ख्या २१ हजार तीन सय ७५ रहेकामा तीमध्येका पाँच हजार चार सय २९ जना बीमाको पहुँचमा आएका छन् ।

मोदी गाउँपालिकाका नागरिक बीमा गर्नेको प्रतिशतको दोस्रो स्थानमा रहेका छन् । अठार हजार १८ जनसङ्ख्या रहेको मोदी गाउँपालिकामा चार हजार सात सय ९८ अर्थात् झण्डै २७ प्रतिशत नागरिकले स्वास्थ्य बीमा गरेका छन् । पैयुँ गाउँपालिकाका १२ हजार सात सय पाँच नागरिकमध्ये तीन हजार ६४ जनाले अर्थात् २४ प्रतिशतले बीमा गरेका छन् ।

यस्तै २० हजार सात सय २६ जनसङ्ख्या रहेको फलेवास नगरपालिकाका २३ प्रतिशत अर्थात् चार हजार सात सय ९६ जनाले स्वास्थ्य बीमा गरेका श्रीसले जानकारी दिनुभयो । नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रमको फाइदा र कार्यक्रमको नियमबारे आवश्यकताअनुसार सूचित गराउन नसक्दा बीमाप्रति आकर्षण बढ्न नसकेको स्वास्थ्य बीमाको क्षेत्रमा काम गर्ने कर्मचारीले बताएका छन् । वडामा कार्यरत स्वास्थ्य बीमा दर्ता सहयोगीलाई तालिम अभावका कारण सेवाग्राहीले बीमासम्बन्धी आवश्यक कुरा बुझ्न नसक्नु, सेवा प्रदायक अस्पतालबाट सहजरूपमा बिमितले उपचार सेवा र औषधि नपाएको गुनासो गर्नु, जिल्लाका सम्पर्क शाखा कार्यालयमा आवश्यक जनशक्ति नहुनु, वडामा कार्यरत स्वास्थ्य बीमा दर्ता सहयोगीको मोबाइल फोन बिग्रिएको अवस्थामा र नयाँ मोबाइलको फोन व्यवस्था गर्न नसकिएकोलगायतका कारणले समस्या भइरहेको उनीहरूको भनाइ छ ।

महोत्तरीमा मिटरब्याजीविरुद्ध १७ सय उजुरी

जलेश्वर – सरकारले मिटरब्याजीलाई कारबाही गर्न कानुन ल्याएसँगै महोत्तरीमा मिटरब्याजीविरुद्ध धमाधम उजुरी पर्न थालेको छ ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेका अनुसार महोत्तरीमा हालसम्म मिटरब्याजीविरुद्ध एक हजार सात सय ३४ उजुरी दर्ता भएका छन् । सरकारले अध्यादेश ल्याउँदै अनुचित लेनदेन (मिटरब्याज) गरेका व्यक्तिलाई कारबाही गर्ने भन्दै पीडितलाई जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराउन समय दिएपछि अहिले महोत्तरीमा मिटरब्याजीविरुद्ध उजुरी दर्ता गराउनेको सङ्ख्या बढ्दै गएको हो ।

गत वैशाख १८ गतेदेखि पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गर्न थालेका हुन् । यो क्रम जारी रहेको छ । जिल्ला प्रशासन कार्यालयले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गराउन आउने पीडितका लागि सूचना सङ्कलन गर्ने, परामर्श दिने र उजुरी दर्ता गर्ने काम गरिरहेको छ ।

यसअघि जिल्ला प्रशासनले मिटरब्याजीविरुद्ध सरकारको उजुरी दर्ता गराउने अवधि किटान हुनु अगाडि पनि जिल्ला प्रशासन कार्यालयले मिटरब्याजीविरुद्ध तीन सय २१ ठाडो निवेदन दर्ता गरेर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको थियो । तीन सय २१ निवेदनमध्ये २१ वटामा मिलापत्र, ३८ वटामाथि छानबिन गरिसकेको र केही मुद्दा जिल्ला अदालतमा कारबाही प्रक्रियामा रहेको सहायक प्रजिअ न्यौपानेले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयमा आउने मिटरब्याजीपीडित बढीजसो जिल्लाको उत्तरवर्ती क्षेत्रका छन् । बढी ऋण दिने अनिरुद्ध साह, श्याम परदेशी र सञ्जय रौनियारविरुद्ध सबैभन्दा बढी उजुरी परेको बताइएको छ ।

सीमान्तकृत समुदायको अधिकारका लागि सरकार दृढ छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अल्पसङ्ख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारका लागि सरकार दृढ रहेको बताउनुभएको छ ।

नेपाल कुमाल सुधार समितिका अध्यक्ष तेजबहादुर कुमालको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँगको कुराकानीमा प्रधानमन्त्री दाहालले आफू कुमाल समुदायसहित नेपालका सबै अल्पसङ्ख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारको पक्षमा रहेको बताउनुभयो । 

“सानो सङ्ख्यामा रहे पनि नेपालको सामाजिक र राजनीतिक परिवर्तनमा कुमाल समुदायको महत्त्वपूर्ण भूमिका  छ । यो समुदायको इतिहास, संस्कृति र महत्त्व धेरै ठुलो छ”, उहाँले भन्नुभयो । 

प्रधानमन्त्री दाहालले सबै अल्पसङ्ख्यक सीमान्तकृत समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउन आफूले विगतदेखि नै सङ्घर्ष गरेको उल्लेख गर्दै ती समुदायको विकास, समृद्धि, हित र मुद्दाप्रति सरकार दृढ रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालसँगको भेटमा संविधानसभा सदस्य ज्ञानेन्द्र कुमाल, कुमाल मुक्ति मोर्चाका अध्यक्ष कञ्चन कुमाल, आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष श्रुति कुमाललगायतको उपस्थिति रहेको थियो ।

नीति तथा कार्यक्रम पूर्ण छैन : सांसद

काठमाडौँ – सांसद डा सुनिल शर्माले सरकारले तत्कालीन समस्यालाई सम्बोधन गर्न नसक्दा नीति तथा कार्यक्रम पूर्ण नभएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले भन्नुभयो, “नीति तथा कार्यक्रम पूर्ण छैन । अहिलेको गठबन्धनको सरकारले तत्कालीन आवश्यकताअनुसार मुलुकको आर्थिक अवस्था सुधारका लागि नीतिगत व्यवस्थामा बढी जोड दिनसक्दथ्यो ।”

सांसद कालुराम राईले नीति तथा कार्यक्रमको बँुदा नम्बर ४७ मा दुर्लभ लोपोन्मुख वन्यजन्तुको संरक्षणसम्बन्धी विषयमा कुन कुन वन्यजन्तु संरक्षण गर्नपर्ने हो भन्ने स्पष्ट नपारेको बताउनुभयो ।

सांसद सीता मिजारले नीति तथा कार्यक्रमको समर्थन गर्दै तीन तहको सरकारबीचको जिम्मेवारी, दोहोरोपन र अधिकार बाडँफाटमा फरक बुझाइका कारण सेवाग्राहीमा पर्ने गएको समस्याप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सपना राजभण्डारीले सरकारको नीति तथा कार्यक्रममा समर्थन जनाउनुभयो । सांसद सूर्यकुमारी श्रेष्ठले नीति तथा कार्यक्रम पुनरावलोकन गरी सच््याउन सुझाव दिनुभयो । सांसद निर्मला कोइरालाले नीति तथा कार्यक्रममा असमर्थन जनाउनुभयो । सांसद अमृतादेवी अग्रहरी, सांसद सम्झना थपलिया, उर्मिला थेवे र सांसद शान्ति श्रेष्ठ, रुकमणि राना बराइली, सरिता भुसाल, वासुदेव घिमिरे, प्रेमबहादुर महर्जन र प्रतीक्षा तिवारीले नीति तथा कार्यक्रम पुनःलेखन गर्न सुझाव प्रस्तुत गर्नुभयो ।

सांसद रणकुमारी बलमपाकी मगरले राष्ट्रपति महिला उत्थान तथा महिला उद्धार कार्यक्रमलाई पुनः नीति तथा कार्यक्रममा सामावेश गर्न माग गर्नुभयो ।

भूटानी शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनालाई हिरासतमा राख्न दुई दिन म्याद थप

काठमाडौँ – जिल्ला अदालत काठमाडौँले नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार आज म्याद थपका लागि अदालतमा पेश गरिएकोमा हिरासतमा राख्नका लागि अदालतबाट थप दुई दिन म्याद पाएको हो ।

थपिएको दुई दिनको म्यादभित्रमा अब जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा अभियोजन दर्ता गर्नुपर्छ । शरणार्थी प्रकरणमा प्रहरीले पूर्वमन्त्री र बहालवाला सचिवसहित १६ जनालाई पक्राउ गरेको छ ।

उक्त घटनामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव (पूर्व गृहसचिव) टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजीत राईलाई विभिन्न मितिमा पक्राउ गरी हिरासतमा राखेको छ ।

अन्य पक्राउ परेकामा भूटानी शरणार्थी नेता टेकनाथ रिजाल, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीपसहित केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसी छन् ।

पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक, इन्द्रजित राईका छोरा नीरजसहित १७ जना फरार रहेको भन्दै ३३ जना विरुद्ध ठगी, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधमा मुद्दा चलाउनुपर्ने रायसहित सोमबार प्रहरीले आफ्नो प्रतिवेदन सरकारी वकिललाई बुझाइसकेको छ ।

उक्त घटनामा एक सय १३ जनाले साढे २७ करोड ठगी भएको भनी २२ वटा जाहेरी प्रहरीमा दर्ता गरेका थिए ।

नीति तथा कार्यक्रम एवं बजेट छलफल कर्मकाण्डी : अध्यक्ष तिमिल्सिना

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारको नीति तथा कार्यक्रममाथि सङ्घीय संसद्मा हुने छलफल कर्मकाण्डीजस्तो भएको बताउनुभएको छ ।

स्पिकर फोरम र एमसिडिएफको संयुक्त आयोजनामा आज यहाँ आयोजित जलवायु परिवर्तनसम्बन्धी नीतिगत बहसलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “संसद्मा नेपाल सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी छ, यस क्रममा कतिपय समेट्नुपर्ने सुझाव पनि आएका हुन्छन् तर त्यसमा केही हुँदैन, छलफल मात्र हुन्छ ।”

उहाँले बजेटमा पनि त्यस्तै हुने र बजेट पेश भइसकेपछि त्यसमा घटबढ गर्नुपर्ने कुरा सुझावका रुपमा आए पनि त्यसमाथि केही नहुने गरेको हामीलाई थाहा नै छ भन्नुभयो । अध्यक्ष तिमिल्सिनाले सरकारको नीति तथा कार्यक्रम एवं बजेटका नाममा हुने छलफललाई औचित्यपूर्ण बनाउनुपर्ने सुझाव पनि दिनुभयो ।

देशका ऐन, कानुनको प्रभावकारी कार्यान्वयन पनि हुन नसकेको टिप्पणी गर्दै उहाँले भन्नुभयो, “मुख्य समस्या भनेको ऐन कार्यान्वयनकै हो । ऐन बनेका छन्, बनाउँदै जाने हो, कार्यान्वयनमा जाँदा के आवश्यक छ, त्यही आधारमा बन्दै जाने हो ।”

उहाँले छलफल पहिला गरेर ती सुझावको आधारमा बजेट ल्याउने वा बजेट ल्याएपछि छलफल गरेर बजेटमा हुनसक्ने परिवर्तन स्वीकार्न सक्नुपर्ने सुझाव दिनुभयो । अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “बिजेटको तयारी तीन महिना अगाडि भनेको छ, अहिले तीन चार दिन बजेटका लागि भनेर छलफल गरेर समय कसरी पुग्छ ? बजेट ल्याउनुभन्दा १५ दिनअघि प्रि–बजेट छलफल गराएर के समाधान हुन्छ ? हाम्रा तरिका यस्ता छन्, हामी उल्टो तरिकाबाट काम गर्दैछौँ ।”

उहाँले वातावरण संरक्षण गर्दै दिगो विकास लक्ष्य हासिलका लागि विद्युतीय सवारीमा विशेष छुटको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । सो कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईंले विकास निर्माणका काम जलवायुमैत्री हुन नसकेको बताउनुभयो । उहाँले वन र सडकको तादम्यता नमिल्दा सडक निर्माण हुन नसकेको गुनासो आउने गरेको जानकारी दिनुभयो । पहाडी क्षेत्र जलवायु परिवर्तनबाट बढी प्रभावित हुने गरेको उल्लेख गर्दै उहाँले जलवायुमैत्री विकास निर्माणको सम्पूर्ण जिम्मा स्थानीय तहलाई दिनुपर्नेमा जोड दिनुभयो । उहाँले जलवायु परिवर्तनमा आउने वैदेशिक सहयोगको सदुपयोग भएनभएको अनुगमन र निरीक्षण हुन आवश्यक रहेको बताउनुभयो ।

त्यसैगरी राष्ट्रियसभाअन्तर्गत दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले दिगो विकासका सबै लक्ष्यहरु एकापसमा सम्बन्धित भएकाले सबैलाई उत्तिकै प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभयो ।

विधायन व्यवस्थापन समितिकी सभापति जयन्तीदेवी राईले दिगो विकासका लक्ष्य प्राप्त गर्न बाधक कतिपय कानुन परिमार्जन गर्न जरुरी रहेको बताउनुभयो । उहाँले भएका कानुनको प्रभावकारी कार्यान्वयनका बारेमा पनि अध्ययन हुन जरुरी रहेको बताउनुभयो ।

राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलका नेता रमेशजङ्ग रायमाझीले जलवायु परिवर्तनबाट परेको असरका बारेमा संसद्मा नियमित छलफल हुन जरुरी रहेको बताउनुभयो । उहाँले सरकार, संसद् र सांसदले जलवायुजन्य विपद्बाट हुने क्षति न्यूनीकरणलाई निर्वाह गर्नुपर्ने भूमिका बारेमा स्पष्ट हुनु जरुरी रहेको बताउनुभयो ।

राष्ट्रियसभामा प्रमुख विपक्षी दल नेकपा (एमाले) संसदीय दलका नेता देवेन्द्र दाहालले जलवायु परिवर्तनले पार्ने प्रभावका बारेमा नीतिगत बहससँगै तल्लो तहसम्म जनचेतना फैलाउन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा जलवायु विज्ञ डा धर्मराज उप्रेतीले जलवायुजन्य विपद्का घटनाबाट हुने क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली विकासका लागि नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी वन तथा वातावरण मन्त्रालय जलवायु महाशाखा प्रमुख डा बुद्धिसागर पौडेलले जलवायुजन्य विपद् तथा क्षति न्यूनीकरणका लागि विद्यमान ऐन, नियमको प्रभावकारी कार्यान्वयनसँग केही ऐन परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा सहभागी अधिकांश राष्ट्रियसभा सदस्यले विद्यमान नीतिको प्रभावकारी कार्यान्वयनसँग जलवायुजन्य विपद्बाट हुने क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई व्यापक बनाउनुपर्नेमा जोड दिएका थिए । उनीहरुले दिगो विकास लक्ष्य प्राप्तिका लागि माग गरिएको बजेट सरकारबाट उपलब्ध हुन नसकेको गुनासो पनि गरेका थिए ।

नीति कार्यक्रम राष्ट्रिय सहमतिको दस्तावेज : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रमले देशका सामु विद्यमान चुनौतीको समाना गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकाङ्क्षा हासिल गर्ने उद्देश्य लिएको बताउनुभएको छ ।

यही जेठ ५ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेस भएको आर्थिक वर्ष २०८०-८१ का लागि नेपाल सरकारको नीति कार्यक्रममाथिको छलफलमा सदस्यहरूले उठाउनुभएको प्रश्नको जवाफमा उहाँले नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिको दस्तावेजका रूपमा रहेकाले युगान्तकारी दिशामा अगाडि बढ्ने सन्दर्भमा कोसेढुङ्गा सावित हुने बताउनुभयो ।

“यो नीति कार्यक्रम सबैको राष्ट्रिय सहमतिको दस्तावेज बन्न गएको छ”, उहाँले भन्नुभयो, “हिजो प्रतिपक्ष र सत्तापक्षमा रहेकाको तथा आज सत्तापक्ष र प्रतिपक्षमा रहेकाको विचार, धारणा, सैद्धान्तिक प्रतिबद्धता र साझा न्यूनतम कार्यक्रम यसमा समेटिएका छन् ।”

प्रधानमन्त्री दाहालले गणतन्त्र, समाजवाद उन्मुख अर्थतन्त्र र समावेशी शासन प्रणाली संस्थागत गर्ने ध्येयका साथ प्रस्तुत नीति कार्यक्रम गन्तव्यहीन छ भन्नु बिल्कुल तर्क सङ्गत नरहेको बताउनुभयो । “नीति तथा कार्यक्रमको गन्तव्य प्रष्ट छ, सरकारका प्रमुख नीतिगत प्राथमिकताका विषयलाई समेटिएको छ”, उहाँले भन्नुभयो ।

उहाँले नीति कार्यक्रममा दीर्घकालीन सोच मात्र नभई त्यसलाई व्यवहारमा उतार्न अवलम्बन गरिने प्रमुख प्राथमिकता र रणनीति पनि स्पष्टसँग परिभाषित गरिएको बताउनुभयो । विभिन्न आन्तरिक तथा बाह्य कारणले अर्थतन्त्र विविध चुनौतीको बीचबाट गुज्रिरहेको उल्लेख गर्दै उहाँले धरै महत्त्वाकाङ्क्षी भएर नीति कार्यक्रम ल्याउनु व्यावहारिक नहुने बताउनुभयो ।

प्रस्तुत दस्तावेजमा कार्यान्वयनयोग्य विषयलाई उच्च प्राथमिकता दिइएको प्रधानमन्त्रीको भनाइ छ । आगामी आर्थिक वर्षमा गर्न सकिने कुरालाई आधार बनाएर नीति कार्यक्रम तयार गरिएको उहाँको प्रष्टोक्ति थियो ।

“नीति तथा कार्यक्रम कल्पनाको ‘पुलिन्दा’ होइन, कार्यान्वयनयोग्य र प्राथमिकता दिइएका विषयको सूची र संहिता पनि हो । यसको प्रभावकारी कार्यान्वयन गर्न सरकार पूर्ण प्रतिबद्ध छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो । नीति तथा कार्यक्रममा आर्थिक सामाजिक रूपान्तरणका नवीन सोच र कार्यक्रम समेटिएको जनाउँदै प्रधानमन्त्री दाहालले विगतका राम्रा कामलाई निरन्तरता दिइएको बताउनुभयो ।

उहाँले मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशको विकासका लागि बजेट विनियोजनका क्रममा उच्च प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । सुशासनको पक्षलाई दृढताका साथ अगाडि बढाइएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले मुलुकमा विद्यमान सबैखाले विकृति र विसङ्गतिको अन्त्यका लागि गम्भीररूपले दृढ इच्छाका साथ अगाडि बढको बताउनुभयो ।

कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको हो भन्नेमा सरकार प्रष्ट रहेको जनाउँदै उहाँले उपलब्ध कागजात र दस्तावेजका आधारमा कूटनीतिक माध्यमबाट यस विषयलाई सम्बोधन गरिने बताउनुभयो ।

सङ्घ, प्रदेश र स्थानीय तहलाई समन्वय र सदृढ गर्दै लगिने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले लोकतन्त्र र सुशासनको अनुभूति तल्लो तहसम्म पु¥याउने बताउनुभयो । बजेट खर्चको दोहोरोपनलाई अन्त्य गर्न नीतिगत र कानूनी व्यवस्था गरिने उहाँको भनाइ छ ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “प्रस्तुत नीति तथा कार्यक्रममा सङ्घ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्धलाई परिपूरक र सुदृढ बनाउँदै सङ्घीयता कार्यान्वयनमार्फत लोकतन्त्रको सुदृढीकरण, समावेशीकरण, सामाजिक सुरक्षा, लोककल्याणकारी कार्यलाई स्थानीय तहसम्म पु¥याई राज्य संयन्त्रमा सबै नागरिकको समान सहज पुहँच पु¥याउने नीति लिइएको छ ।”

उहाँले तीन तहमा रहेको कामको दोहोरोपन र अधिकारको प्रयोगमा रहेको द्विविधालाई सम्बोधन गर्न आवश्यक नीतिगत र कानूनी सुधार गरिने बताउनुभयो । प्रधानमन्त्री दाहालले यससम्बन्धमा संविधान तथा कानूनमा भएका तर निष्क्रिय रहेका विभिन्न संरचनालाई क्रियाशील तुल्याइने बताउनुभयो ।

वित्तीय सङ्घीयतालाई प्रभावकारी बनाउँदै, वित्तीय हस्तान्तरणलाई कार्यसम्पादनसँग आबद्ध गर्ने विषय पनि कार्यक्रममा समेटिएको उहाँको भनाइ छ । अर्थतन्त्रका विभिन्न चुनौतीलाई सम्बोधन गर्न आर्थिक पुनःउत्थान र पुनः सबलीकरणका कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले अर्थतन्त्रको पुनः संरचनालाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयो ।

“कृषि, उद्योग तथा सेवा क्षेत्रलाई सन्तुलित तवरले अगाडि बढाउने विषयलाई जोड दिइएको छ, उत्पादन र उत्पादकत्व अभिवृद्धि तथा रोजगारी सिर्जना गरी स्वावलम्बी अर्थतन्त्र निर्माण गर्ने सोच नीति कार्यक्रमको आत्मा हो”, उहाँले भन्नुभयो ।

नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित

काठमाडौं – राष्ट्रिय सभाबाट सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ ।

जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । जसलाई राष्ट्रिय सभाको मंगलबारको बैठकले बहुमतले पारित गरेको हो ।

भ्रष्टाचारमा जबरजस्ती मुछ्न खोजिए एमालेले सहँदैन : केपी ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेलाई मुछ्न खोजियो भने त्यो सह्य नहुने बताएका छन् ।

पार्टीको जनसंगठन समन्वय संयन्त्रले आज काठमाडौंमा आयोजना गरेको जनसंगठन पदाधिकारीहरूको भेलालाई सम्बोधन गर्नुहुँदै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेको कुनै संलग्नता नरहेको र कसैले जबरजस्ती मुछ्न खोजे एमालेले नसहने बताएका हुन् ।

‘पार्टीभित्रका कसैले त्यो काममा संलग्नता जनाएको ठहरिए त्यस्ता व्यक्तिलाई कारबाही गर्न एमाले स्वयम् अग्रसर हुन्छ र कारबाही गर्छ,’ अध्यक्ष ओलीले भने, ‘मिडिया प्रयोग गरेर, करकाप गरेर मानिसलाई नाम उच्चारण गर्न लगाएर नेकपा एमालेलाई मुछ्न खोजिन्छ भने एमालेलाई सह्य हुँदैन ।’

भ्रष्टाचार देश र इमानको शत्रु भएको तथा मानिसको नैतिकता, इमानबाट च्यूत हुने बताउँदै ओलीले अगाडि भने, ‘नेकपा एमाले त्यसमा (शरणार्थी प्रकरण) संलग्न थिएन, छैन र हुने छैन । नेकपा एमाले कुनै भैष्टाचारमा संलग्न थिएन र हुने छैन । यदि कसैले एमालेभित्र रहेर रहेर पनि एमालेका आदर्श, यसका मूल्य मान्यताविपरीत, उद्देश्यलाई आघात पुग्नेगरी अनुचित र अनैतिक क्रियाकलाप कसैले गर्छ भने नेकपा एमाले त्यस्तोमा कारबाही गर्न आफैं अग्रसर भएर अगाडि बढ्न ।’

सांसदको प्रश्न : नीति तथा कार्यक्रम कार्यान्वयन गर्न पैसा कहाँ छ ?

काठमाडौँ – सांसद लीलानाथ श्रेष्ठले सरकारलाई नीति तथा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक बजेटको स्रोत कहाँ छ भन्दै प्रश्न गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसद श्रेष्ठले राजस्व सङ्कलनभन्दा खर्च बढी भएको भन्दै नीति तथा कार्यक्रम कार्यान्वयन सम्भव नहुने जिकिर गर्नुभयो ।

“सरकारले प्रस्तुत गरेको आगामी आवको नीति तथा कार्यक्रमअनुसारर अङ्क उल्लेख गरी बजेट प्रस्तुत गर्न सक्छ ? यसका लागि सरकारसँग पैसा कहाँ छ ?”, उहाँले प्रश्न गर्नुभयो ।

सांसद शेरबहादुर कुवँरले नीति तथा कार्यक्रमको समर्थन गर्दै विश्वासको वातावरणबाट पुँजी निर्माणको कार्यक्रम सफल बनाउनुपर्नेमा जोड दिनुभयो । सांसद रणेन्द्र बरालीले सरकारको नीति तथा कार्यक्रम फिर्ता लिने नजिर नभएको भन्दै कार्यान्वयनका लागि शुभकामना व्यक्त गर्नुभयो ।

सांसद रेखा यादवले नीति तथा कार्यक्रममा आवश्यकताका आधारमा कार्यक्रम दोहोरिएको बताउनुभयो । सांसद हृदयराम थानीले नीति तथा कार्यक्रममा राम्रा विषय समेटेको भन्दै विरोधको औचित्य नभएको बताउनुभयो ।

सांसद आरजु देउवाले सरकरको नीति तथा कार्यक्रममा समर्थन जनाउँदै आगामी आवको बजेटमा महिलाको आर्थिक सबलिकरणमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले नीति तथा कार्यक्रममा आमा सुरक्षा कार्यक्रम नछुटाउन सुझाव राख्नुभयो ।

सांसद अनिशा नेपालीले नीति तथा कार्यक्रममा पुरानै कुरा उल्लेख गरिएको भन्दै समेटिएका विषय पनि कार्यान्वयनमा चुनौतीपूर्ण देखिएको बताउनुभयो ।

सांसद हरि ढकालले सरकार नीति तथा कार्यक्रममा चुकेको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रम तय गर्दा सबैको सुझाव नसमेटिएको भन्दै गुनासो गर्नुभयो । “सरकारले रचनात्मक सुझाव लिन इच्छुक देखिएन र युवा सांसदहरुको भावना बुझ्ने प्रयास गरिएन ।”

सांसद अच्युतप्रसाद मौनालीले तराई-मधेस समृद्धिका विषय सरकारको नीति तथा कार्यक्रमले समेटन नसकेको बताउनुभयो ।

रविविरुद्धको रिट दर्ता गर्न सर्वाेच्चको आदेश

काठमाडौं – सर्वाेच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ ।

 आफ्नै प्रशासनले गरेको दरपिठ गर्ने निर्णय बदर गर्दै  मंगलबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले लामिछानेविरुद्धको रिट दर्ता गर्न आदेश दिएको हो ।

गत २५ वैशाखमा दिएको रिट निवेदनलाई २८ वैशाखमा सर्वाेच्च अदालत प्रशासनले दरपिठ गरेको थियो । तर, प्रशासनको निर्णयविरुद्ध २ जेठमा युवराज पौडेल सफलले दिएको निवेदनउपर सुनुवाइ गर्दै मंगलबार सर्वाेच्च अदालतले लामिछानेविरुद्ध रिट दर्ता गरी अघि बढाउन आदेश दिएको हो । 

राजनीतिमा अराजकता बढ्न थाल्यो : अध्यक्ष ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा अराजकता बढेको गुनासो गर्नु भएको छ ।

आज काठमाडौंमा आयोजित जनसंगठन पदाधिकारी भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भयो । उहाँले राजनीतिमा अराजकताका कारण राजनीतिमा अस्थिरता, अन्योल र अविश्वास बढेको दाबी गर्नु भयो ।

उहाँले भन्नुभयो, ‘अराजकताको कारणले मान्छेले राजनीति भन्न छाडेको छ । आफ्ना विचारलाई लोकतान्त्रिक विधिबाट प्रकट गर्ने र लोकतान्त्रिक विधिबाट समाधान खोज्ने होइन, मुडे बलले समाधान खोज्ने, ढुंगा हानेर, अशान्ति मच्याएर आतंकपूर्ण तरिकाबाट आफ्नो असहमति जनाउने शैली अपनाउन थालेका छन् । अन्यन्त अशिष्ट, अमर्यादित, अभद्र र असामाजिक, समाजले स्वीकार्नै नसक्ने खालको घटिया भाषाको प्रयोग गर्न थालिएको छ ।’

दक्षिणपन्थी अराजकतावाद र सांगठनिक अराजकतालाई परास्त गर्दै जनताको बहुदलीय जनवादको मार्ग दर्शनमा समाजवादको आधार निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनु भयो।

‘नीति तथा कार्यक्रम पुनःलेखन जरुरी छैन, सुझाव समेटे पुग्छ’

काठमाडौँ – सांसद राजेन्द्रप्रसाद पाण्डेले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा प्रतिपक्षका सुझाव समेटेर जानुपर्ने बताउनुभएको छ ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उहाँले प्रतिपक्षले नीति तथा कार्यक्रम पुनःलेखनको माग गरे पनि सुझाव समेटेर जानुपर्ने बताउनुभयो ।

“नीति तथा कार्यक्रम फिर्ता लिन र पुनःलेखनको आवश्यकता छैन । प्रतिपक्षबाट आएका राम्रा सुझाव समेट्दा हुन्छ”, उहाँले भन्नुभयो । उहाँले देशको आर्थिक सङ्कट, निष्क्रिय र भ्रष्ट प्रशासन सुधार नभएसम्म कार्यक्रम सफल नहुने धारणा राख्नुभयो ।

“नीति तथा कार्यक्रम बजेटमा प्रतिबिम्बित नभएसम्म सफल हुन्न, यहाँ प्राथमिकतामा राख्ने बजेटमा नराख्ने हो भने अर्थ छैन”, उहाँले भन्नुभयो । उहाँले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, एक हजार दुई सय मेगावट विद्युत् उत्पादन क्षमता भएको जलाशय बूढीगण्डकी आयोजना आगामी बजेटमा समावेश गर्न सुझाव दिनुभयो ।

सांसद अरुणकुमार चौधरीले बजेटमा स्वारोजगारमा जोड दिँदै युवा विदेशिने क्रम रोक्ने कार्यक्रमलाई प्राथमिकता दिनु सुझाव दिनुभयो । सांसद चन्द्रकान्त राउतले नीति तथा कार्यक्रम सङ्घीयता विरोधी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “म आफै आश्यचकित छु, नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम नै सङ्घीयता विरोधी छ ।” उहाँले कर्मचारी र प्रहरी समायोजनलाई नीति तथा कार्यक्रमले समेट्न नसकेको बताउनुभयो ।

संसद् राउतले मधेश प्रदेशलाई विशेष प्रदेशको रुपमा घोषणा गर्न माग गर्नभयो । उहाँले भन्नुभयो, “जुनसुकै आँकडाले पनि मधेस प्रदेश पिछडिएको छ । मधेस प्रदेशलाई विशेष प्रदेश घोषणा गरी विशेष प्याकेज उपलब्ध गराउनुपर्छ ।”

सांसद पृथ्वीसुब्बा गुरुङले राष्ट्रको साझा समस्यालाई नीति तथा कार्यक्रमले नीतिगत समाधान नदिएको बताउनुभयो । नीति तथा कार्यक्रम दलाल पुँजीवादको बाटो हिँडेको भन्दै उहाँले यसबाट समाजवादमा पुग्न नसकिने बताउनुभयो ।

नीति तथा कार्यक्रममा पुँजीगत खर्च बढाउनका र सुशासन कायमका लागि ठोस् नीतिगत व्यवस्था नरिएको उहाँको भनाइ थियो । “सङ्कटमा रहेको अर्थतन्त्रलाई कसरी पार गर्ने भन्ने नीतिगत छलाङ् मार्न नीति तथा कार्यक्रम चुकेको छ”, उहाँले भन्नुभयो ।

सांसद विराजभक्त श्रेष्ठले नीति तथा कार्यक्रमको गति र गन्तव्य नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “नीति तथा कार्यक्रम बजेट भाषण भएर होइन, जनताको चुलोमा रासन भएर पुग्न सकोस ।”

जनताको पक्षमा बजेट आओस् : सांसद रायमाझी

काठमाडौँ – नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभामा संसदीय दलका नेता रमेशजङ्ग रायमाझीले प्राथमिकता प्राप्त आयोजनालाई पर्याप्त बजेट विनियोजन गरिनुपर्ने बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०÷८१ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले निर्धारित समयमै आयोजना सम्पन्न हुने गरी बजेट निर्माण गरिनुपर्नेमा जोड दिनुभयो ।

“रु १० करोड लाग्ने आयोजना छ, तर बजेट रु एक करोड मात्र छुट्ट्याइएको छ, न योजना सफल हुन्छ, न कार्यान्वयन हुन्छ”, रायमाझीले भन्नुभयो, “नीति कार्यक्रमअनुसार बजेट ल्याइनुपर्छ, जनताको पक्षमा, विकास र परिवर्तनको पक्षमा बजेट आओस् ।”

सत्तामा बस्नेले ल्याएको नीति कार्यक्रमलाई प्रतिपक्षीले आलोचना मात्रै गर्ने र सत्तामा रहनेले समर्थन मात्रै गर्ने गरिएकातर्फ असन्तुष्टि व्यक्त गर्दै उहाँले प्रतिपक्षीले उठाएका राम्रा विषयलाई सरकारकाले ध्यान दिनुपर्ने बताउनुभयो ।

सुदूरपश्चिम सरकार बजेट माग्न सिंहदरबार

काठमाडौँ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्व टोलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठसँग भेटवार्ता गरेको छ ।

मुख्यमन्त्री शाहको नेतृत्वमा प्रदेशका सभामुख भीमबहादुर भण्डारी, प्रमुख प्रतिपक्षी दलका नेता समेत रहनुभएका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिंह रावललगायतका अधिकांश मन्त्रीको टोलीले आयोगका उपाध्यक्ष श्रेष्ठसँग आयोगको सचिवालय सिंहदरबारमा भेटवार्ता गरेको हो ।

भेटमा मुख्यमन्त्री शाहले आगामी आर्थिक वर्षको बजेटमा सुदूरपश्चिम प्रदेशलाई विशेष प्राथमकितामा राख्न अनुरोध गर्नुभएको छ । अथाह सम्भावना भएर पनि सुदूरपश्चिम प्रदेश पछाडि परेको भन्दै उहाँले आयोगको ध्यानाकर्षण गराउनुभयो ।

भेटमा आयोगका उपाध्यक्ष डा श्रेष्ठले बजेट माग्न सिंहदरबार धाउनुपर्ने बाध्यता अब हटेको बताउनुभयो । कुनै बेला काठमाडौँ आउनका लागि भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको सुदूरपश्चिम टाढा जस्तो लागे पनि अहिले सुदरपश्चिम काठमाडौँको धेरै टाढा नरहेको उहाँको भनाइ छ ।

सरकारले ल्याएको नीति तथा कार्यक्रममा सुदूरपश्चिमलाई समेटेको
भन्दै आयोग उपाध्यक्ष श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटमा पनि प्राथमिकता दिइनेमा विश्वास दिलाउनुभयो ।

“सिंहदरबारबाट सुदूरपश्चिम र कर्णालीका योजना बनाएर हुँदैन भनेरै सङ्घीयता आएको हो”, उहाँले भन्नुभयो “त्यो कुरा हामी सबैले बुझ्नुप¥यो, सुदूर र कर्णालीका योजना सुदूर कर्णालीले नै बनाउने हो ।”

प्रधानमन्त्री प्रचण्डद्धारा ११औं पटक मन्त्रिपरिषद् विस्तार

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ११औं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले आज जसपाका दुई मन्त्री थपेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरण मन्त्रालय र प्रमिला कुमारीलाई शिक्षा राज्यमन्त्रीको कार्यभार तोकेका हुन् ।

प्रचण्डले दुई मन्त्री थपेसँगै बल्ल सरकारले पूर्णता पाएको छ ।

मनसुनजन्य दुर्घटना न्यूनिकरणमा ध्यान दिन सांसदको आग्रह

काठमाडौँ – यसवर्षको मनसुन सुरु हुन लागेसँगै मनसुनजन्य दुर्घटनाको न्यूनिकरणमा समयमै सरकारको ध्यान जानुपर्नेमा सदनमा आवाज उठेको छ ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद इन्दिरादेवी गौतमले विपद्जन्य घटना हुनै नदिनेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, “मनसुन सक्रिय हुन थालेपछि पहाडमा पहिरो र बाढी तथा तराईमा डुबान हुने भएकाले धेरै जनता त्रसित छन् । यसबाट धनजनको ठूलो क्षति हुने भएकाले यसतर्फ सरकारले बेलैमा ध्यान दिनुपर्छ । घटना घटेपछि भन्दा पनि घटना हुनै नदिनेतर्फ सरकारले ध्यान देओस् ।”

सांसद गङ्गाकुमारी बेल्बासेले पेट्रोलियम पदार्थको मूल्य घटेपनि खाद्य वस्तुको मूल्य नघटेकातर्फ सरकारको ध्यानाकर्षण गराउँदै बजार अनुगमनलाई प्रभावकारी बनाउन माग गर्नुभयो ।

सांसद तारामान स्वाँरले बैतडीको पुर्चौडी र सिगास गाउँपालिकामा नेपाल टेलिकमको मोबाइल सेवा सञ्चालन नहुँदा स्थानीय सञ्चार सुविधाबाट वञ्चित भएका भन्दै त्यसक्षेत्रमा उपयुक्त स्थानमा टेलिफोन टावर निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद मायाप्रसाद शर्माले कर्णालीको जाजरकोटलगायतका धेरै ठाउँमा गाईगोरु र बाख्रामा नयाँ खालका रोग लागेकाले सो रोग नियन्त्रण गर्न सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

सांसद बिमला घिमिरेले एक सातादेखि उखुको भुक्तानी माग गर्दै माइतीघरमा धर्नामा बसेका कपिलवस्तुका किसानका समस्या तत्काल सम्बोधन गर्न माग गर्नुभयो ।

सांसद शारदादेवी भट्टले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याउन माग गर्नुभयो । उहाँले अन्य भ्रष्टाचारसम्बन्धी घटनाको पनि अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सुमित्रा विसीले नक्कली शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन गर्न माग गर्नुभयो ।

मधेश सरकारबाट बाहिरिने माओवादीकाे निर्णय

काठमाडौँ – नेकपा माओवादी केन्द्र मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

मंगलबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

गठबन्धनको निर्णयविपरीत मुख्यमन्त्री सरोज कुमार हिँडेको भन्दै माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको हो।

वन ऐन र नियमावली समाधानका लागि पहल भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वन ऐन र नियमावलीमा विभिन्न समयमा भएको संशोधन र परिमार्जनले देखिएका केही नीतिगत जटिलता र अन्योलतालाई समाधान गरिने बताउनुभएको छ ।

मंगलबार काठमाडौँमा सामुदायिक वन उपभोक्ता महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सामुदायिक वन उपभोक्ता समूहले औँल्याएका वन ऐन र नियमावलीमा देखिएका समस्यामा आफू जानकार रहेको भन्दै यसको समाधानका लागि पहल भइरहेको बताउनुभएको हो । वन क्षेत्रको दिगो व्यवस्थापन गर्न सकेमा वार्षिक १३ लाख जनसङ्ख्याले प्रत्यक्ष रोजगार पाउन सक्ने र विभिन्न मुलुकबाट भइरहेको काठको आयातलाई प्रतिस्थापन गरी देशलाई काठ निर्यातको दिशामा अगाडी बढाउन सकिने देखिएको उहाँले बताउनुभयो ।

सामुदायिक वनको दिगो व्यवस्थापन गर्न सक्दा स्थानीय समुदायलाई थप लाभहरू हुनुका साथै राष्ट्रले पनि आशातीत राजस्व प्राप्त गर्न सक्ने प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री देउवाले सामुदायिक वनबाट उत्पादित वन पैदावार बिक्री गर्दा लाग्ने करको विषयमा पनि उपभोक्ता समूहको गुनासो रहँदै आएको भन्दै यसमा पनि आफ्नो पहलमा केही सुधार भएको जानकारी दिनुभयो ।

सरकारले हालै संसदमा पेश गरेको नीति तथा कार्यक्रममा सामुदायिक वनसँग सम्बन्धित विषयलाई उच्च प्राथमिकतामा राखिएको र तीनै तहका सरकारको समन्वयमा समुदायको सहभागितासहित वनको संरक्षण, व्यवस्थापन र सम्बद्र्धन गरिने नीति प्रस्तावित गरिएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले संघीयताको मर्म बमोजिम वन क्षेत्रको पुनर्संरचना र दिगो वन व्यवस्थापन कार्यक्रम लागु गरी वनको सदुपयोग, उत्पादन र वन क्षेत्रको सुशासनबाट प्राप्त हुने लाभको न्यायोचित वितरण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । हाल नेपालमा २२ हजारभन्दा बढी सामुदायिक वन उपभोक्ता समूहहरूले देशको करिब ४० लाख जनसङ्ख्यालाई आबद्ध गर्दै २२ लाख हेक्टर वन क्षेत्रको व्यवस्थापन गर्दै आएको छ ।

सरकारको आँखा र कान छ कि छैन : महेश बर्तौला

काठमाडौँ – नेकपा एमालेका सचेतक महेश बर्तौलाले पशु चौपायामा लाग्ने लम्पी स्कीन रोगका कारण किसान मारमा परेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गदै उनले देशका धेरै भागहरूमा यसको असर परेको बताएका हुन् ।

उनले भने, ‘सरकारको आँखा र कान छ भने पटक पटक सो संसदमा लम्पी स्कीन रोगका बारेमा पटक पटक माननीयज्यूहरुले कुरा राख्नुभयो, मैले पनि पटक पटक विषय राखेँ । मकवानपुरमा २ सय भन्दा बढी गाईहरू यो रोगबाट मरिसके । ५ हजारभन्दा बढी गाईहरू सङ्क्रमित छन् । देशका धेरै भागहरूमा यसको असर छ । पटक पटक भनियो, सरकार देख्दैन, सरकार सुन्दैन ।’

उनले यो समस्या समाधानमा, पीडित गाईपालक किसानलाई राहत र क्षतिपूर्ति दिन सरकारसँग माग गरे ।

कक्षा १० को नेपाली पाठ्यक्रमबाट डा. सन्दुक रुइतको जीवनी हटाइएकोमा रघुजी पन्तको आपत्ति

काठमाडौं – प्रतिनिधिसभा सदस्य रघुजी पन्तले कक्षा १० को नेपाली पाठ्यक्रमबाट डा. सन्दुक रुइतको जीवनी हटाइएकोमा आपत्ति जनाउनुभएकाे छ । 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले डा. रुइतका कारण देशको इज्जत बढेको र सोहीअनुसार रुइतको जीवनी पढाउन उचित भएर पाठ्यक्रममा राखिए पनि हटाइएकाले शिक्षामन्त्रीले जवाफ दिनुपर्ने माग गर्नुभएकाे छ ।

‘कक्षा १० को नेपाली पाठ्यक्रममा डा सन्दुक रुइतकोबारेमा लेखिएको आठ पृष्ठ जीवनी पढाइ हुन्छ । त्यो पाठ्यपुस्तकबाट हटाइयो र त्यसलाई भाँचेर कता कता ६, ८ को साइन्समा केमा केमा राखियो । डा सन्दुक रुइतको जीवनी, उहाँको कारण हाम्रो देशको इज्जत बढेको छ । त्यो जीवन पढाउन आवश्यक भएर राखिएको थियो । किन त्यो जीवनी हटाइयो, यसबारे शिक्षामन्त्रीले स्पष्ट जवाफ दिन आग्रह गर्छु,’ उहाँले भन्नुभयाे ।

साथै सांसद पन्तले पाठ्यक्रममा कुनै दलको आन्दोलनका बारेमा समावेश गर्न नहुने बताउनुभयाे । 
 

संसदीय सुनुवाइ समिति नहुँदा प्रधानन्यायाधीश नियुक्त हुन सकेन : रामहरि खतिवडा

काठमाडौँ – नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदीय सुनुवाइ समिति नहुँदा प्रधानन्यायाधीश नियुक्त हुन नसकेको बताए ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संवैधानिक परिषद्को सिफारिसपछि उक्त समितिमा प्रधानन्यायाधीशको सुनुवाइ हुने व्यवस्था रहेको बताएका छन् । सुनुवाइपछि सिफारिस स्वीकृत भएमा नियुक्तिका लागि योग्य मानिन्छ उनले बताएका हुन्।

उनले भने, “संसदीय सुनुवाइ समिति नहुँदा प्रधानन्यायाधीश नियुक्त हुन सकेनन् । जसले एक लाख ६८ हजार मुद्दा सुनुवाइ थाती छन् । चाँडोभन्दा चाँडो प्रधानन्यायाधीश नियुक्त गरियोस् ।”

इमरजेन्सी ई–पासपोर्ट लिने र दिने व्यवस्था जिल्लाबाटै गर्न माग

काठमाडौं – प्रतिनिधिसभा सदस्य मानबहादुर गुरुङले देशभरका सबै जिल्लाबाट इमरजेन्सी ई–पासपोर्ट लिने र दिने व्यवस्था गर्न माग गर्नुभएकाे छ । 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सबै जिल्ला प्रशासनबाट इमरजेन्सी ई–पासपोर्ट लिने र दिने व्यवस्था गर्न मा गर्नुभएकाे हाे । 

राहदानी लिन जनताले निकै सास्ती व्यहोर्नु परेको भन्दै उहाँले  सातै प्रदेश सदरमुकामबाट ई–पासपोर्ट मेसिन पनि राख्न माग गर्नुभयाे । 

न्यायिक समिति संयोजकको दुखेसोः ‘जिम्मेवारी पायौँ, जनशक्ति भएन’

महेन्द्रनगर – कञ्चनपुरको बेल्डाडी गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक शान्ति नाथले बितेको एक वर्षमा १६ वटा मुद्दा हल गर्नुभयो । न्यायिक समिति कार्यसम्पादनसम्बन्धी प्रशिक्षण लिएर पालिकामा आउने मुद्दा, मामिलाका साथै विवाद हल गर्न सक्रिय रहनुभएकी संयोजक नाथले इजलास कक्ष, कानुनी शाखा र सचिवालय सञ्चालनका लागि जनशक्ति अभाव रहेको दुःखेसो पोख्नुभयो ।

“न्यायिक समितिमा २० वटा मुद्दा परे”, उहाँले भन्नुभयो, “तीमध्ये १६ वटा मिले बाँकी प्रक्रियामा छन् ।” उहाँले गुनासोसहितका मुद्दा पालिकामा आए पनि हल गर्न अदालत तथा माथिल्लो निकाय पठाउन नपरेको बताउनुभयो ।

कानुनी सल्लाकार नियुक्त गर्ने प्रावधान रहे पनि उहाँले न्यायिक समिति सञ्चालनका लागि पाकिलामा कानुन शाखा स्थापना हुनुपर्नेमा जोड दिनुभयो । “झैझगडा, ऐलानी जग्गाको भोगचलन, अंश मुद्दा र कुटपिटलगायतका विषयमा मुद्दा आउँछन्”, उहाँले भन्नुभयो, “तर न्यायिक समिति सञ्चालनमा अहिले अरु शाखाका कर्मचारीबाट सहयोगले चलेको छ ।”

उहाँले इजलासका लागि भवन र सचिवालय सञ्चालनका सुदूरपश्चिम प्रदेश सरकारसित आवश्यक सहयोग माग गरेको बताउनुभयो । “कानुन शाखा बनाएर बरु कर्मचारी अस्थायी÷करारमा राखेर पनि कार्यसञ्चालनमा सहज हुन्थ्यो”, उहाँले भन्नुभयो, “उपाध्यक्षलाई जिम्मेवारी धेरैतिर भयो तर आवश्यक जनशक्ति उपलब्ध भएन ।”

नौवटा पालिका रहेको कञ्चनपुरमा न्यायिक समितिको नेतृत्वमा आठ पालिकामा महिला हुनुहुन्छ । नगरपालिकाको उपप्रमुख तथा गाउँपालिकाको उपाध्यक्ष न्यायिक समितिको संयोजक रहने व्यवस्थाअनुसार यहाँ बेलौरी नगरपालिकाबाहेकका पालिकामा निर्वाचित महिला न्यायिक समितिमा रहेर काम–कारबाही सञ्चालन गरिरहेका छन् ।

यहाँका न्यायिक समितिमा जग्गा विवाद, गालीगलौज, आलीधुर, कुटपिट, महिला हिंसालगायतका मुद्दा आउने गरेको संयोजकहरुको भनाइ छ । यहाँको जेठो भीमदत्त नगरपालिकामा रहेको न्यायिक समितिमा १८ वटा मुद्दा परेको नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक नीलम लेखक जोशीले जानकारी दिनुभयो ।

उहाँले भीमदत्तनगरपालिकाले १९ वटै वडामा मेलमिलापकर्ता छनोट गरेर वडामा समेत न्यायसम्पादन हुने गरेको बताउनुभयो । “सबै वडामा मेलमिलाप केन्द्र स्थापना गरिएका छन्”, उहाँले भन्नुभयो, “पालिकामा मिलाउन नसेका विवाद अदालतलगायतका निकायमा पठाउने गरेका छौँ ।”

न्यायमा आम नागरिकको पहुँच पु¥याउने उद्देश्यले पनि स्थानीय तहमा न्यायिक समिति गठन गरिएका भए पनि इजलासकक्ष स्थापनामा भने पहल भएको देखिँदैन । “धेरै विवाद स्थानीय तहमै मिल्दा स्थानीयवासी खुसी छन्”, उहाँले भन्नुभयो, “न्यायसम्पादनका बेला सेवाग्राहीले कतिपय अवस्थामा असहज महसुस गर्न थालेपछि इजलासकक्ष बनाएनौँ ।”

कञ्चनपुरका अधिकांश न्यायिक समितिले पालिकामा न्याय सम्पादनमा सहजताका लागि अधिवक्तालाई कानुनी सल्लाहकार नियुक्त गरेका छन् । यहाँको शुक्लाफाँटा नगरपालिकाको न्यायिक समितिले २५ मध्ये १९ वटा मुद्दा मेलमिलाका माध्यमबाट छिनोफानो गरेको छ ।

शुक्लाफाँटा नगरपालिकाका नगर उपप्रमुख कल्पना जोशी पन्तले यहाँका १२ वटै वडामा मेलमिलापकर्ताको व्यवस्थासमेत गरिएको बताउनुभयो । “न्यायिक समितिमा कुटपिट, जग्गा विवादलगायतका मुद्दा आउँछन्”, उहाँले भन्नुभयो, “यहाँबाट छिनोफानो नभएर मुद्दा माथिल्लो निकायमा पठाउनुपरेको छैन ।”

त्यसैगरी यहाँको दोधारा चादँनी नगरपालिकाका उपप्रमुख एवं न्यायिक समिति संयोजक गङ्गादेवी जोशीले यहाँ ६५ भन्दा बढी मुद्दा परेको बताउनुभयो । उहाँले मुद्दा परेकामध्ये २२ वटा मिलपत्र भएको जानकारी दिँदै केही मुद्दा वडा कार्यालयमार्फत पनि छिनोफानोका लागि पठाएको बताउनुभयो ।

दोधारा चादँनी नगरपालिकाले यहाँका १० वटै वडामा मेलमिलापकर्ता खटाउने तयारी गरेको उहाँको भनाइ छ । “एउटा वडाबाट तीन जना गरी १० वटाबाट ३० जनालाई मेलमिलाकर्ताको तालिम दिने तयारी छ ।” उहाँले भन्नुभयो, “अहिले इजलासकक्ष नै बनाएको अवस्था छैन ।” उहाँले जग्गा विवाद, लेनदेन, कुटपिट तथा घरेलु हिंसाका मुद्दा समितिमा आउने गरेको बताउनुभयो ।

इजाजत नलिई नापतौल यन्त्र प्रयोग गर्ने विरुद्ध मुद्दा दायर

वीरगन्ज – गुणस्तर तथा नापतौल कार्यालय वीरगन्ज पर्साले इजाजत नलिई नापतौल यन्त्र प्रयोग गर्ने चालु आर्थिक वर्ष २०७९-८० को १० महिनामा रौतहट र चितवनका १८ व्यापारीविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।

कार्यालयले कम नापतौलमा सामान बिक्री गरेर उपभोक्तालाई ठगी गर्ने तथा इजाजत नलिई कारोबार गर्ने रौतहटका १३ र चितवनका पाँच गरी १८ व्यापारीमाथि सम्बन्धित जिल्लाको जिल्ला अदालतमा मुद्दा दायर गरिएको गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जका प्रमुख मनिष दासले जानकारी दिनुभयो ।

इजाजत नलिई नापतौल गर्ने यन्त्रको प्रयोग गर्ने रौतहटको पशुपति फेन्सी, माँ लक्ष्मी सुनचाँदी ज्वेलर्स, न्यू प्रिया ज्वेलर्स, रामबलराम ट्रेडर्स, रिसब ट्रेडर्स, बैजु किराना एण्ड जेनरल सटार्स, सरोज बिज भण्डार, कृष्णा राइस मिल, बाबा विश्वकर्मा राइस मिल, पप्पु हार्डवेयर एण्ड मेसिनरी, लक्ष्मी हार्डवेयर, रोशन हार्डवेयर र जय बजरङ्गवली ट्रेडर्सविरुद्ध अदालतमा मुद्दा दायर गरिएको प्रमुख दासले बताउनुभयो ।

चितवनको खजुरीको नेपाल प्रालि, खुन्हा एक्सपोर्ट एण्ड इम्पोर्ट प्रालि, प्यासिफिक एक्जिम नेपाल प्रालि, याक ब्रिबीङ्ग कम्पनी प्रालि र याक डिब्टिलरी प्रालिमाथि पनि जिल्ला अदालत चितवनमा मुद्दा दायर गरिएको प्रमुख दासले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा जाँच गर्दा इजाजत नलिई कारोबार गर्ने गरेको तथा कम तौलमा सामान बिक्री गर्ने गरेको पाइएपछि ती १८ व्यापारीविरुद्ध एक वर्षसम्म कैद तथा रु १० हजारसम्म जरिवानाको मागदाबीसहित अदालतमा मुद्दा दायर गरिएको उहाँको भनाइ छ ।

यस्तै चालु आवको १० महिनामा चार सय ७५ जना व्यापारीले अनुमतिपत्र÷इजाजतपत्र लिएको सो कार्यालयले जनाएको छ । कार्यालय प्रमुख दासका अनुसार सो अवधिमा एक हजार ६२ व्यापारीले नियमित जाँच÷नवीकरण र एक हजार एक सय ६१ व्यापारीले जरिवाना तिरी नवीकरण गराएका छन् ।

ती सबै शीर्षकबाट चालु आवको साउनदेखि वैशाखसम्ममा रु एक करोड ९४ हजार तीन सय ७१ राजस्व सङ्कलन भएको प्रमुख दासले जानकारी दिनुभयो । सो कार्यालयले आफ्नो क्षेत्राधिकारभित्र पर्ने मधेस प्रदेशको रौतहट, बारा, पर्सा र बागमती प्रदेशको मकवापुर र चितवन जिल्लामा व्यापारीले गैरकानुनीरूपमा प्रयोग गर्ने ढक, तराजुलाई निरुत्साहित गर्न डोर (अनुगमन) गर्दै आएको कार्यालय प्रमुख दासले बताउनुभयो ।

कुनै पनि नापतौल गर्ने यन्त्र प्रयोग गर्ने पूर्व खरिद गरेको ३५ दिनभित्र नजिकको गुणस्तर नापतौल कार्यालयबाट अनुमति लिइसक्नुपर्ने कानुनी व्यवस्था छ ।

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

तुलसीपुर । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी राजु खनाललाई दिइएको छ ।

यस्तै, सामाजिक विकास मन्त्रीमा चन्द्रकेश गुप्ता, आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रीमा सन्तोसकुमार पाण्डेय नियुक्त भएका छन् भने कृषि तथा भूमि व्यवस्था मन्त्रीमा भण्डारी लाल अहिर, भौतिक पूर्वाधार विकास मन्त्रीमा धर्मबहादुर चौधरी नियुक्त भएका छन् । खनाल, अहिर र गुप्तालाई आज नियुक्त गरिएको हो ।

साथै, धनबहादुर मास्कीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

काठमाडौं – सत्तारुढ जनता समाजवादी पार्टी संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् ।

आज बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष समेत रहेका यादवलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो।

गत वैशाख १० गते बारा क्षेत्र-२ मा भएको उपनिर्वाचनबाट विजयी भएपछि उहाँ सोमबार बसेको संसदीय दलको बैठकबाट नेतामा चयन भएका हुन् ।

गत मंसिर ४ मा भएको निर्वाचनमा यादव सप्तरी क्षेत्र नम्बर २ मा जमत पार्टीका डा. सीके राउतसँग पराजित हुनुभएको थियो। यादव पराजित भएपछि बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव दलको नेता बन्नुभएको थियो ।

तर गत चैत ३ गते भएको उपराष्ट्रपतिको निर्वाचनमा उहाँ विजयी भएपछि जसपा दलको नेता पद खाली थियो । सोमबार बसेको जसपा संसदीय दलको बैठकले यादवलाई सर्वसम्मत दलको नेता चयन गरेको हो । सत्ता गठबन्धन सरकारमा अहिले पनि जसपाको भागमा परेको वन तथा वातावरण मन्त्रालय खाली छ।

जसपबाट अशोक राई शिक्षा मन्त्री हुनुहुन्छ। उक्त खाली मन्त्रालयमा जसपाले अहिलेसम्म मन्त्री पठाउन सकेको छैन। यस्तो दलको नेता चयन भएका यादव आफैं उपप्रधानमन्त्री समेत लिएर सरकारमा जान सक्ने बाटो खुलेको छ। यदि यादव सरकारमा नगए डा. वीरेन्द्र महतो, राजकिशोर यादव र प्रदीप यादवमध्ये एकजना मन्त्री बन्न सक्ने छन्।

व्यावसायिक अधिकार स्थापित गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवसायीको व्यावसायिक अधिकार स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वसँग आज भएको भेटमा प्रधानमन्त्री दाहालले निर्वाधरुपमा पेसा व्यवसाय गर्न आग्रह गर्दै व्यवसाय सञ्चालनका क्रममा कुनै समस्या उत्पन्न भएमा त्यसलाई समाधान गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

उहाँले व्यवसायीको हितका लागि सरकारले सबै प्रकारका सहयोग गर्ने र सरकार निजी क्षेत्रसँग मिलेर काम गर्ने र गरिरहेको बताउनुभयो । भेटका क्रममा महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले मागअनुसार कच्चा सुनको आपूर्ति नहुँदा व्यवसाय सञ्चालनमा कठीनाइ भएको बताउनुभयो । उहाँले व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने नीति नियम निर्माण गरी बजारको माग अनुसार सुनको आपूर्तिको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

त्यसक्रममा महासङ्घको तर्फबाट निवर्तमान अध्यक्ष मोहनकुमार सुनार, विशिष्ट सदस्य मणिरत्न शाक्य, उपाध्यक्षहरु मोहनकाजी शाक्य, विपीन रामुदामु र महेन्द्र शाक्यको उपस्थिति थियो । महासङ्घलाई यसअघि नै सरकारले उद्योग वाणिज्य प्रवद्र्धन संवाद समितिको सदस्यको रूपमा समावेश गरको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा २२ जाहेरी दर्ता

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा पीडित भएको भन्दै हालसम्म एक सय १३ जना प्रहरीको सम्पर्कमा आएका छन् । पीडितका तर्फबाट २२ जाहेरी दर्ता भएको ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालका जाहेरीमा रु २७ करोडभन्दा बढी ठगी भएको उल्लेख छ । उक्त प्रकरणमा सुरुआतमा ८१ जनाको रु १३ करोड ठगी भएको भन्दै काठमाडौँ उपत्यका अपराध अनुन्धान कार्यालयलमा उजुरी परेको थियो । कार्यालयले थप अनुसन्धान तथा कारबाहीका लागि पक्राउ परेका व्यक्तिसहित फाइल जिल्ला प्रहरी परिसर काठमाडौँलाई बुझाएको छ । त्यसपछि थप व्यक्तिले जाहेरी दिएका रिजालले बताउनुभयो ।

उक्त मुद्दामा आजसम्म प्रहरीले १६ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । केही व्यक्ति फरार छन् । केही व्यक्ति अनुसन्धानको घेरामा रहेकाले दरिलो प्रमाण जुटाउने प्रयास भइरहेको उहाँको भनाइ छ । गत वर्ष चैत १२ गतेदेखि प्रहरीले आरोपीतलाई पक्राउ गर्न थालेको हो ।

विधेयक फिर्ताका लागि राष्ट्रियसभामा प्रतिवेदन पेस गरिने

काठमाडौँ – विधायन व्यवस्थापन समितिले ‘कोभिड-१९ संकट व्यवस्थापन विधेयक २०७८ फिर्ता गर्ने सम्बन्धमा राष्ट्रियसभामा प्रतिवेदन पेश गर्ने निर्णय गरेको छ ।

समितिको आज बसेको बैठकले समिति सभापति जयन्ती देवी राईले सबैखाले महामारी र सङ्क्रामक रोगको व्यवस्थापन गर्ने विस्तृत प्रकृतिको छुट्टै विधेयक आवश्यक भएकाले फिर्ता गर्ने सम्बन्धमा प्रतिवेदन पेस गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

उहाँले विधेयकको सैद्धान्तिक पक्ष र कानुन बनेपछि पार्ने प्रभावका सम्बन्धमा छलफल गरेको भए पनि दफाबार छलफल अगाडि बढाउन नसकिएको बताउनुभयो ।

“सबैखाले महामारी र संक्रामक रोगको व्यवस्थापन गर्ने विस्तृत प्रकृतिको छुट्टै विधेयक तर्जुमाका क्रममा रहेको भन्ने सम्बन्धित मन्त्रालयबाट समितिमा जानकारी प्राप्त भएको हुँदा राष्ट्रियसभा नियमावली, २०७५ को नियम ११६ बमोजिम राष्ट्रियसभाको बैठकमा प्रतिवेदन पेश गर्ने निर्णय भएको छ”, उहाँले भन्नुभयो ।

बागमती प्रदेशमा स्वास्थ्य सुधार नीति ल्याउने : मुख्यमन्त्री जम्कट्टेल

मनहरि – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हरेक मन्त्रालयका नीति नागरिकको स्वास्थ्य सुधार हुने खालको हुनुपर्ने बताउनुभएको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘स्वास्थ्य सबै नीतिमा’ विषयक कार्यशाला गोष्ठीमा उहाँले हरेक पूर्वधार निर्माण स्वास्थ्य क्षेत्रको सुधारका लागि लक्षित हुनुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री जम्कट्टेलले स्वास्थ्य सबै नीतिमा भन्ने अवधारणाले प्रदेशको स्वास्थ्य अवस्था सुधारमा टेवा पुग्ने बताउनुभयो । प्रदेशमा निर्माण भएका नीतिलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ थियो । नागरिकको स्वास्थ्य सुधारलाई ध्यानमा राखेर हरेक मन्त्रालयले आफ्नो योजना बनाउनुपर्नेमा मुख्यमन्त्री जम्कट्टेलले जोड दिनुभयो ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले प्रदेशमा निर्माण हुने सबै नीतिमा स्वास्थ्यका सामाजिक निर्धारणलाई सम्बोधन गर्न समन्वय गर्ने, प्रदेशस्तरमा हालसम्म निर्माण भएका नीति तथा रणनीतिमा स्वास्थ्यका विषय सम्बद्ध भए नभएको बारेको विश्लेषण प्रस्तुतिकरण गर्ने र प्रदेशस्तरमा निर्माण हुने सबै नीतिमा स्वास्थ्यलाई समेट्न सम्बन्धित मन्त्रालयको प्रतिबद्धता सुनिश्चित गर्न लागिएको उल्लेख गर्नुभयो ।

सो अवसरमा स्वास्थ्य क्षेत्रका विज्ञ भोगेन्द्रराज डोटेलले बागमती प्रदेशमा स्वास्थ्यसम्बन्धी विश्लेषण प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामा, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष प्रा डा नरविक्रम थापा, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयका सचिव मोहन शाक्य, मन्त्रालयका महाशाखा प्रमुख दीपक तिवारीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

नियमावली संशोधन मस्यौदा समितिको बैठक

काठमाडौँ – सङ्घीय संसद्को संयुक्त बैठक र संयुुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०७५ संशोधन मस्यौदा समितिको पहिलो बैठक बानेश्वरमा बसेको छ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको उपस्थितिमा पहिलो बैठक बसेको हो ।

बैठकलाई सम्बोधन गर्दै सभामुख घिमिरेले मस्यौदा समितिले नियमावलीमा संशोधनको काम जति छिटो सक्नुपर्ने बाध्यकारी अवस्था रहेकाले बुझेर काम गर्नेछ भन्नेमा विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले नियमावली सर्वसम्मत ढङ्गले पास गर्न आग्रह गर्दै लामो समयसम्म संशोधन गर्न नपर्ने गरी तयार हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

केही दिनअघि बसेको राष्ट्रियसभा बैठकले सो समिति गठनसम्बन्धी प्रस्ताव स्वीकृत गरेको थियो । सो प्रस्तावलाई प्रतिनिधिसभाले अनुमोदन गरेको थियो ।

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि बहस

काठमाडौँ – राष्ट्रियसभाको आजको बैठकमा सत्ता पक्षका सांसद सरकारको नीति तथा कार्यक्रम समय सापेक्ष भएको र प्रतिपक्षका सांसदले सामयिक नभएको दाबी गर्नुभएको छ ।

आजको बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद सुमित्रा बिसीले असामान्य अवस्थामा सामान्य जस्तो गरी नीति तथा कार्यक्रम आएको बताउनुभयो ।

सांसद हरिराम चौधरीले आत्मनिर्भर हुने गरी बजेट व्यवस्था गर्न माग गर्नुभयो । सांसदद्वय भगवती न्यौपाने र इन्दिरादेवी गौतमले समसामयिक अवस्थालाई सम्बोधन हुने गरी सरकारको नीति तथा कार्यक्रम आउन नसकेको टिप्पणी गर्नुभयो ।

सांसद कृष्णप्रसाद पौडेलले युवा पलायनलाई रोक्ने गरी नीति तथा कार्यक्रम अनुसारको बजेट व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो । कुल ५९ दशमलव नौ लाख हेक्टटर कृषियोग्य जमिनमध्ये १० लाख हेक्टर बाँझै रहेकाले त्यसमा खेती हुने व्यवस्था गरे आयात प्रतिस्थापन गर्न सकिने उहाँको भनाइ थियो ।

सांसद तारामान स्वाँरले अर्थतन्त्रको समस्या बुझेर समाधान गर्ने गरी नीति तथा कार्यक्रम आएको बताउनुभयो । सांसद जगतबहादुर कार्कीले पर्यटन प्रवद्र्धनबाट नै नेपालको कायापलट हुने भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो ।

राष्ट्रियसभाको अर्को बैठक जेठ ९ गते मङ्गलबार दिउँसो १ बजे र १ मिनेटमा बस्नेछ ।