`

नेपालगञ्जमा ‘खोज र खोप’ अभियान

बाँके – बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाभित्र विभिन्न रोगविरुद्धको खोप लगाउन छुटेका र बीचैमा खोप लगाउन छोडेका बालबालिकालाई खोप लगाउन थालिएको छ ।

‘खोज र खोप’ अभियान सञ्चालन गरेर नियमित खोप लगाउन थालिएको हो । उक्त अभियानअन्तर्गत नेपालगञ्जमा एक सय ९० जनालाई समेटिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजन शाहीले खोप लगाउन छुटेका बालबालिकालाई नियमित खोपमा समेट्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालगञ्जमा प्रत्येक महिनाको ६ देखि ११ गतेसम्म नियमित खोप लगाइन्छ । खोप लगाउन छुटेका बालबालिकाको खोजी अभियान पनि सँगसँगै अघि बढाएका छौँ ।”

जनस्वास्थ्य निरीक्षक शाहीका अनुसार बीचैमा खोप लगाउन छोडेका दुई सय ९४ मध्ये एक सय ३९ बालबालिकालाई खोप लगाइएको छ । अझै एक सय ५५ बालबालिकालाई खोप लगाउन बाँकी छ । नेपालगञ्जमा यसअघि गत वैशाख १५ गते बालबालिकालाई खोप लगाइएको थियो । ‘खोज र खोप’ अभियान सञ्चालनका क्रममा नेपालगञ्जमा छ सय ९२बालबालिकाले बीचैमा खोप लगाउन छोडेको पाइएको थियो । “एक सय ७७ बालबालिकाले कुनै पनि खोप नलगाएको पाइएको थियो”, शाहीले भन्नुभयो–“घरधुरी सर्वेक्षण गरेर बीचैमा खोप लगाउन छोडेका, खोप नै नलगाएकाको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको छ ।”

कर्जाको पुनः संरचना र पुनः तालिकीकरणबारे राष्ट्र बैंकको परिपत्र

काठमाडौँ – चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत कार्यान्वयनमा ल्याइएको कर्जा पुनःसंरचना तथा पुनःतालिकीकरणसम्बन्धी व्यवस्थाबारे नेपाल राष्ट्र बैंकले बैंक तथा वित्त वित्तीय संस्थालाई परिपत्र गरेको छ ।
     
मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले होटल तथा रेष्टुरेन्ट, पशुपक्षीपालन, निर्माण क्षेत्रसँग सम्बन्धित कर्जा र रू पाँच करोडसम्मको अन्य क्षेत्रमा प्रवाह भएको कर्जालाई विसं २०८० असार मसान्तभित्र पुनःसंरचना-पुनःतालिकीकरण गर्नसक्ने व्यवस्था कार्यान्वयनमा ल्याएको थियो ।
     

राष्ट्र बैंकले आज गरेको परिपत्रअनुसार ऋणीको अनुरोधमा उद्योग व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत असुल गरेर कर्जाको पुनःतालिकीकरण तथा पुनःसंरचना गर्न सकिनेछ । यो व्यवस्था कार्यान्वयनका लागि अरु विभिन्न चार वटा शर्त पनि तोकिएका छन् ।
     
“यस्तो पुनःतालिकीकरण तथा पुनःसंरचना २०८० असार मसान्तभित्र गरिसक्नुपर्नेछ भने २०७९ चैत मसान्तसम्म सक्रिय वर्गमा वर्गीकरण भएको कर्जालाई मात्रै पुनःतालिकीकरण वा पुनःसंरचना गर्न सकिनेछ”, राष्ट्र बैंकको परिपत्रमा भनिएको छ, “पुनःसंरचना तथा पुनःतालिकीकरण गरिएका कर्जामा पाँच प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्नेछ र यस्तो कर्जालाई जुन वर्गमा वर्गीकरण गरिएको छ सोही वर्गमा मात्रै प्रवाह गर्न पाइनेछ ।”
     
राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत केही मौद्रिक व्यवस्था खुकुलो बनाएको थियो । जसमा नीतिगत दरलाई यथावत राख्दै विद्यमान बैंक दरलाई एक प्रतिशत विन्दुले घटाएर सात दशमलव पाँच प्रतिशत कायम गरेको थियो । बैंक तथा वित्तीय संस्थाबाट जारी भएका ऋणपत्रलाई कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) गणना गर्ने प्रयोजनका लागि स्रोत (निक्षेप) को रूपमा समेत गणना गर्न पाउने विद्यमान व्यवस्थालाई २०८० पुस मसान्तसम्मका लागि निरन्तरता दिइएको छ ।
     
त्यस्तै तेस्रो त्रैमासिक समीक्षामार्फत ब्याज नियमित रहेका कर्जा भुक्तानीको समय तीन महिना थप्न सकिने व्यवस्थासमेत राष्ट्र बैंकले ल्याएको थियो । यसको कार्यान्वयनसँग सम्बन्धित विषयमा पनि राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरेको छ ।
     
“गत चैत मसान्तसम्ममा असल वर्गमा वर्गीकरण भएका अल्पकालीन तथा चालु प्रकृतिका कर्जालाई ब्याज नियमित रहेको अवस्थामा आवश्यकता र औचित्यका आधारमा कुनै हर्जाना तथा शुल्क नलाग्ने गरी २०८० असार मसान्तभित्र तीन महिनाका लागि म्याद थप गर्न सकिने छ”, राष्ट्र बैंकको परिपत्रमा भनिएको छ । यो व्यवस्थाअनुसार नियमितरूपमा ब्याज भुक्तानी भइरहेका कर्जाको साँवा भुक्तानी गर्ने समय अब तीन महिना बढाउन सकिने भएको छ ।
     
लघुवित्त वित्तीय संस्थाका ऋणीले तिर्न नसकेको ऋण आगामी असारभित्र पुनःसंरचना र पुनःतालिकीकरण गर्न सकिने पनि राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत जनाएको थियो ।

‘विशेष प्रहरी’ भन्दै हिँड्ने चार जना पक्राउ

चितवन – चितवनमा आफूलाई ‘विशेष प्रहरी’ भनेर परिचय पत्र देखाउँदै हिँड्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–५ का २२ वर्षीय खुमबहादुर थापा, राप्ती नगरपालिका–८ का १९ वर्षीय सच्चीन ज्ञवाली, रत्ननगर नगरपालिका–५ का २३ वर्षीय सञ्जीवकुमार मिश्र र खैरहनी नगरपालिका–१३ का २४ वर्षीय सुजन सिलवाल रहेका छन् । 

उनीहरूलाई खैरहनी नगरपालिका र भरतपुर महानगरपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । 

आफू विशेष प्रहरी भन्दै सामाजिक सञ्जालमा कुरा गर्ने तथा व्यवसायीलाई धम्क्याउने गरेको पाइएको उहाँले बताउनुभयो । भरतपुर महानगरपालिका–१२ मालपोत चोकको प्रिन्टिङ प्रेसमा कार्यरत थापाले नक्कली विशेष प्रहरीको परिचय पत्र बनाउने गरेको खुलेको छ । उनीहरूले केन्द्रीय अनुसन्धान ब्युरोको परिचयपत्र समेत बनाएको कार्यालयले जनाएको छ ।

पक्राउ परेका चार जनालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको एसपी कार्कीले बताउनुभयो । उनीहरूलाई मुलुकी अपराध संहिताको लिखदसम्बन्धी कसुरमा म्याद थप गरिएको छ । 

सो मुद्दामा सात वर्षसम्म कैद र रु ७० हजारसम्म जरिवानाको व्यवस्था छ ।

पोर्चुगलमा राहदानी शिविरबाट पाँच करोड राजस्व सङ्कलन

लिस्बन – पोर्चुगलमा राहदानीलगायत विभिन्न समस्यामा रहेका नेपालीलाई लक्षित गरी सञ्चालन गरिएको राहदानी सेवा शिविरबाट रु पाँच करोड २२ लाख राजस्व सङ्कलन भएको छ ।

राजधानी लिस्बनमा करिब एक महिनासम्म सञ्चालन भएको उक्त शिविरबाट सो राजस्व सङ्कलन भएको पोर्चुगलका लागि गैर आवासीय नेपाली राजदूत तथा फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले जानकारी दिनुभयो । 

शिविरबाट दुई हजार तीन सय आठ नेपालीले प्रत्यक्ष दर्ता प्रणालीमार्फत विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि आवेदन दिएका थिए । राहदानी तयार भए पछि अवैतनिक नेपाली महावाणिज्य दूतावास लिस्बनमार्फत सम्बन्धित व्यक्तिलाई उपलब्ध गराइनेछ ।

राहदानी विभागकी शाखा अधिकृत रञ्जिता दाहाल नेतृत्वको प्राविधिकसहितको टोलीले लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्य दूतावासको समन्वय र सहजीकरणमा राहदानी सेवा प्रदान गरेको हो । टोलीमा फ्रान्सको पेरिसस्थित नेपाली राजदूतावासका प्रतिनिधिको समेत सहभागिता रहेको थियो । 

गत मार्च २९ देखि अप्रिल २५ तारिखसम्म सञ्चालन भएको शिविरबाट टोलीले राहदानीको म्याद सकिएको, क्षति भएको, हराएको, नष्ट भएको र पोर्चुगलमा जन्मेका नेपालीको राहदानी बनाउनका लागि आवेदन फारम सङ्कलन गरेको थियो ।

परराष्ट्र मन्त्रालयले राहदानी नै नभएका र कागजातसम्बन्धी समस्यामा परेका नेपालीका लागि विशेष व्यवस्था गरेर पोर्चुगलमा शिविर सञ्चालन गरेको र शिविरबाट समस्यामा परेका अधिकांश नेपाली लाभान्वित भएको राजदूत अधिकारीले बताउनुभयो ।

“पछिल्लो समय विभिन्न मुलुक हुँदै युरोप आएका अधिकांश नेपाली पोर्चुगल पस्ने गरेका छन् । त्यसरी पोर्चुगल छिर्ने नेपालीले राहदानी सुरक्षित गर्न नसक्दा त्यहाँ राहदानीलगायतका कागजातसम्बन्धी समस्या बढ्दै गएको हो”, उहाँले भन्नुभयो, “विदेशी मुलुकमा राहदानीबिना कुनै पनि कागजी प्रक्रिया सम्भव नै छैन, अझै दूतावास नै नभएका ठाउँमा त झनै समस्या हुन्छ, त्यसैले राहदानी सुरक्षित राख्नका लागि आफैँले सतर्कता र सावधानी अपनाउनुपर्छ ।”  

विद्युतीय राहदानी बनाउन प्राविधिक रूपमा खर्चिलो र झन्झटिलो हुने भएकाले पटक–पटक टोली आउन सम्भव नरहेको उल्लेख गर्दै उहाँले राहदानीलाई सुरक्षित रूपमा जतन गरेर राख्न सुझाव दिनुभयो । रासस

अल्पसङख्यका अधिकार अझै ओझेलमा परेका छन् : मन्त्री आचार्य

काठमाडौँ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका अधिकार अझै ओझेलमा परेको बताउनुभएको छ ।

होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा मितिनी नेपालद्वारा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री आचार्यले अल्पसङ्ख्यक समुदायको आन्दोलन सुरु भएको दुई दशक बित्दा पनि उनीहरूका अधिकार अझै ओझेलमा परेको बताउनुभयो ।

“यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्ति समाजमा विभिन्न लान्छना, भेद्भावपूर्ण व्यवहारसहित बस्नुपर्ने अवस्था छ । अल्पसङ्ख्यकका अधिकारको संरक्षण र सुनिश्चितताका निमित्त मन्त्रालय प्रतिबद्ध छ” मन्त्री आचार्यले भन्नुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले अल्पसङ्ख्यक समुदायको मर्यादित जीवनका लागि आयोग प्रतिबद्ध रहेको बताउनुभयो । “आयोग अल्पसङ्ख्यक समुदायको संरक्षण र संवर्द्धन गर्नका लागि प्रयासरत छ । समलिङ्गीको विवाहलाई कानुनी मान्यता दिन सरकारलाई सिफारिस गरेलगायत उनीहरुको अधिकार र आवश्यकतालाई उच्च प्राथमिकतामा राखिएको छ” उहाँले भन्नुभयो ।

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका नागरिकलाई राज्यको मूलप्रवाहीकरणमा ल्याउन आयोगले पहल गरिरहेको बताउनुभयो । अल्पसङ्ख्यकको पहिचान, नागरिकता, बिहेबारी लगायतका समस्यालाई कानूनी प्रावधानबमोजिम निकास दिन जरुरी रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले अल्पसङ्ख्यकको अधिकारको संरक्षणमा राज्यको भूमिकालाई सुदृढ बनाउन मिडियाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । “अल्पसङ्ख्यकको भूमिका एउटा व्यक्तिको मात्र नभई सिङ्गो समाजको हो । तसर्थ यस मुद्दाको सामाजिकीकरणमा मिडियासहित सबै पक्ष एकताबद्ध हुन जरुरी छ”, उहाँले भन्नुभयो ।

संस्थाका अध्यक्ष लक्ष्मी घलानले अल्पसङ्ख्यकको अधिकार सुनिश्चित गर्न आवाज उठिरहेको उल्लेख गर्दै यसलाई अझ सार्थकता दिन सबै पक्ष एकताबद्ध हुन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा मन्त्री आचार्यले अल्पसङ्ख्यकको वास्तविक कथा समेटिएको “सधैँ सँगै ः विविधतामा एकता” पुस्तक विमोचन गर्नुभएको थियो । कार्यक्रममा अल्पसङ्ख्यक समुदायको एक जोडी र समुदायको एक सदस्यको रूपमा स्वीकार गरेका एक उदाहरणीय परिवारलाई सम्मान गरिएको थियो ।

यो दिवस हरेक वर्षको मे १७ मा विश्वव्यापी रूपमा यौनिक तथा लैङ्गिक विविधता भएको समुदायले मनाउँदै आएको पाइन्छ । सन् १९९० मे १७ मा विश्व स्वास्थ्य सङ्गठनले समलैङ्गिकतालाई मानसिक रोगको सूचीबाट हटाई समलैङ्गिकता हुनु प्राकृतिक प्रक्रिया हो भनी घोषणा गरिएको दिनको स्मरण गर्दै “सधैँ सँगै ः विविधतामा एकता” भन्ने नाराका साथ विश्वव्यापी रूपमा आज मनाइएको छ ।

मितिनी नेपाल महिला समलिङ्गी, द्वयलिङ्गी र ट्रान्सजेन्डर व्यक्तिको सहयोगको लागि काम गरिरहेको एक गैरसरकारी संस्था हो । नेपालको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको मानव अधिकारको संरक्षण तथा संवर्द्धन गर्ने तथा उनीहरूलाई सम्मानित जीवन जिउन सामाजिक, सांस्कृतिक, आर्थिक, कानूनी तथा राजनीतिक अधिकारसहित समतामूलक समाज निर्माण गर्ने उद्देश्यले सन् २००५ मा स्थापित भएको संस्था हो ।

शरणार्थी प्रकरणमा संलग्नलाई छुट दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ – उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई छुट दिन नसकिने स्पष्ट पार्नुभएको छ ।

बुधबार सिंहदरबारमा नक्कली शरणार्थी प्रकरणको सत्य तथ्य छानबिनको माग नेकपा एकीकृत समाजवादीले बुझाएको ज्ञापन पत्र बुझ्दै श्रेष्ठले राज्यकै तहमा बसेका नेताहरू र तलसम्म बसेकाहरूको सेटिङमा भएको सङ्गठित अपराधलाई कुनै हालतमा छुट दिन नसकिने स्पष्ट पार्नुभएको हो ।

उहाँले कुनै पनि प्रकरणलाई बिना पूर्वाग्रह निष्पक्ष अनुसन्धानका लागि प्रहरीलाई निर्देशन दिएको जिकिर गर्नुभयो । श्रेष्ठले शरणार्थी प्रकरणमा सबैतर्फबाट पाएको साथले सरकारलाई बल प्रदान गरेको भन्दै कुनै पनि दबाब वा अवान्छीत प्रभावबाट सरकार प्रभावित हुने र यसलाई निष्कर्षमा पुराउन सरकार प्रतिबद्ध रहेको धारणा राख्नुभयो ।

उहाँले भ्रष्टाचारको नियन्त्रण गरी सुशासनको बाटोमा जान नसके मुलुक समृद्धिको बाटोतर्फ जान नसक्ने जिकिर गर्नुभयो ।

नेकपा एकीकृत समाजवादीले नक्कली शरणार्थी प्रकरणमा लगायतका सबै भ्रष्टाचारहरूमा संलग्नलाई कानुनी दायरामा ल्याई कडा भन्दा कडा सजाय दिन माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

राप्रपाको माग : शरणार्थी प्रकरणसहित सबै भ्रष्टाचार काण्डको छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन

काठमाडौं – राप्रपाले सबै भ्रष्टाचार काण्डको छानबिन गर्न माग गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले  नक्कली भुटानी शरणार्थी प्रकरणसहित सबै भ्रष्टाचार काण्डको छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको हो । 

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीविरुद्ध राज्यविरुद्धको अपराध, ठगी, संगठित अपराध र सरकारी दस्तखत किर्तेलगायतका कसुरमा कारबाही चलाउन राप्रपाको माग छ ।

बैठकले भ्रष्टाचार निर्मूल पार्न ललिता निवास जग्गा प्रकरण, माओवादी लडाकु शिविरको घोटाला, एनसेल प्रकरण, वाइडबडीलगायत सबै भ्रष्टाचारका काण्डमाथि छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग गरेको छ । 

आगोको भुङ्ग्रोमाथिको अनौठो नाच

भक्तपुर – मध्यराति आँगनमा बजेको बाजाको आवाज पल्लो गाउँसम्म सुनिन्थ्यो । मध्यरातिसम्म पनि बजेको बाजा सुनेर आफ्नो गाउँको मात्र होइन, वल्लोपल्लो गाउँका मानिसहरुसमेत आगोको भुङ्ग्रोमाथि नाच हेर्न साँझ ढल्किएदेखि नै भेला भएका थिए ।

साँझ ढल्किँदै गयो । मानिसहरूको चहलपहल बढ्दै गयो । आँगनमा बाजा बज्दै थियो । बाजाको आवाज सुनेर रातको पर्वाह नगरी वारिदेखि पारि गाउँसम्मका महिला, पुरुष, बालबालिकाको भीड बढ्दै थियो । चाँगुनारायण नगरपालिका–९ ताथली सौडोलको बस्नेत–गिरी बस्तीका पहलमान बस्नेतकोे घर पछाडिको बारीको पाटामा वरिपरि बाँसले घेरेर बीचमा राखिएको एक सय आठ भारी दाउराको थुप्रामा तान्त्रिक विधिले पूजा गरी बालेको आगोको राप दन्किँदै थियो । केही व्यक्तिहरु बाँसले ठोस्दै दनदनी आगो बालिरहेका थिए । राति ९ बजेदेखि तीनवटा रूखबाट काटिएको दाउरा दनदनी बल्दै थियो ।

दुई घन्टाभन्दा बढी समय बलेको दाउरा सबै आगोका भुङ्ग्रोेमा परिणत भयो । मध्यराति करिब ११ बजे यो बस्तीसँगै वरिपरिबाट भेला भएका मानिस बारीको डिल र वरिपरि बसेर निकै कौतुहलताका साथ ‘अग्निकुण्ड’तर्फ हेर्दै अब के हुन्छ, आगोको सबै भुङ्ग्रोे माथि उफ्रेर सबै आगोको गोल निभाउँछन् कि निभाउँदैनन् भनेर हेर्दै थिए ।

आगोको भुङ्ग्रो नजिकै गुरु रुदबहादुर खड्काले तान्त्रिक विधिअनुसार पूजा गरेपछि कुल देवताका नाममा बोकाको बलि दिइयो । त्यसपछि पहलमानको मूल घरमा भित्रिएका सेतो गन्जी र धोती लगाएका पुरुषहरुले पूजा गरेर बत्ती खाएसँगै शरीर कमाउँदै स्नान गरेर फर्किएसँगै काम्दै उपँ्रmदै थुपारिएको आगोको भुङ्ग्रोमाथि तीनपटक घुमेपछि गुरुको आदेश पाउने बित्तिकै आगोमाथि दौडिन थाले ।

केहीबेरमा मूलको घरको पूजाकोठाभित्र गुरुदेखि विभिन्न देवदेवी र वायु शरीरमा चढेका एक हूल मानिस काम्दै घरबाट निस्किए र आगोको भुङ्ग्रोतर्फ लम्किए । अगाडि बाजा घन्किरहेको थियो । वरिपरि बढेको भीड आगो माथिको नाच हेर्न लालायित थिए । त्यसपछि देवदेवी एवं वायु चढेका सेता गन्जी, धोती लगाएका, माला लगाएका व्यक्तिहरू, काम्दै उफ्रँदै दाउराको आगोको भुङ्ग्रोे अगाडि पुगे । कोही देवदेवीको जयजयकार गर्दै थिए ।

हातमा थाल बजाउँदै उफ्रिरहेका र अर्का मूल गुरु रुद्रबहादुर खड्का एकै छिनमा आगोको भर्भराउँदो भुङ्ग्रोमा लात्तीले हानेर उफ्रिन थाले । त्यसलगत्तै एकपछि अर्को आगोमा होमिए र त्यसैगरी लात्तीले हाने । गुरुको आदेशपछि नयाँ तथा पुराना डाङ्ग्रेहरू टाउको निहुराउँदै मुखबाट ‘भुर्भुर्भुर्भुर्भुर’ आवाज निकाल्दै जोस्सिँदै एकमाथि अर्को आगोमा होमिन थाले । उनीहरू आगोको भुङ्ग्रोमा लात्तीले हान्दै आगोलाई यताउति छर्दै त्यहीँ माथि उफ्रँदै नाच्न थाले । मानौँ त्यो एउटा खेलकुद मैदान हो, आगोका तीन भङ्ग्रो फुटबल हो र उनीहरू त्यही, त्यहीँ फुटबल खेलिरहेका छन् ।

नाङ्गो पैतालाले आगोमाथि मानिस नाचेको र उफ्रिएको देखेर कतिका आँखा आश्चर्यले चम्किला भए । भुङ्ग्रोेमाथि नाच्नेलाई आगोले पोलेको कुनै आभास भएजस्तो देखिँदैनथ्यो । काम्दै र मन्त्र फलाक्दै डाङ्ग्रे भर्भराउँदोे भुङ्ग्रोेमा नाचिरहे । आगोमा नाचेको डिलमा बसेर हेरिरहेकाहरू चकित मात्रै परेनन्, आफ्ना छोरा र श्रीमान् आगोमा नाच्दा आमा र श्रीमतीहरूको मन भने कटक्क खायो । शरीरमा कुलको मूल देवता अर्थात् खप्परमास्टर शरीरमा धारण गरेका ४० वर्षीय राजकुमार बस्नेत, कुलका मामा भान्जी शरीरमा धारण गरेका २४ वर्षीय सौरभ बस्नेत, वायु धारण गरेका ४० वर्षीय सुवास बस्नेत, दिनेश बस्नेत, सुमन बस्नेत आगोमा उफ्रिन थाले ।

नजिकै डिलमा उभिएकी एक किशोरी भन्दै थिइन्, “ओहो, आगोको भुङ्ग्रोेमा उफ्रिँदा हाम्रो ड्याडीलाई पोलेन होला त ? जीउ पनि दुख्यो होला है ।” हेर्नेमध्ये धेरैले जिज्ञासा राखे, यसरी भुङ्ग्रोेमाथि नाच्नेको पैतालाको हालत के भयो होला ? तर खली खुवाउने कार्य सम्पन्न भएपछि भुङ्ग्रोेमा नाच्नेको पैतालामा आगोले पोलेको कुनै सङ्केत नदेखिँदा हेर्नेहरु चकित परे ।

आगोमा नाचेपछि शरीरमा देवदेवी र वायुको कम्पन आइरहेका सबैलाई गुरुले आगामा नाच्दा सुरक्षित भए नभएको एवं काँचो वायु तथा कुलदेवदेवीले पूर्णता पाए÷नपाएको जिज्ञासा राख्दै पालैपालो सबैलाई सोधे । पूर्णता पाएको र डाङ्ग्रेको शरीर सुरक्षित रहेको बताएपछि भने फेरि जयजयकार गर्दै खुसीको धुनसहितको बाजा बजाउँदै सबै काम्दै सुरुमा निस्किएकै घरमा पसे, बलिरहेको बत्ती मुखमा हाल्दै शरीर कम्पन छाड्दै पुरानै अवस्थामा फर्किए र बाहिर निस्किए ।

आफ्नो कुलदेवतालाई उचित स्थान दिने र अकालमा ज्यान गुमाएर भड्किएको मृतात्माको मुक्तिका लागि शदिऔँदेखि चल्दै आएको तान्त्रिक विधिअनुसार गरिने खली प्रथालाई बस्नेत परिवारले चौथोपटक पूर्णता दिएका थिए । मूल गुरु खड्काले भन्नुभयो, “खली प्रथालाई चमत्कार वा अन्धविश्वास भन्न हुँदैन, यो श्रृष्टिको उत्पत्ति कालदेखिनै चल्दै आएको परम्पपरा मानिन्छ । गुरुहरूले प्राचीन तान्त्रिक प्रक्रियामार्फत प्रेतात्माको मुक्तिका लागि खली प्रथा चल्दै आएको हो । मैले नै यहीँ कुलमा योसमेत तीनपटक वायु उतार्ने र खली खुवाउने कार्य गरिएको छ । बीस वर्षअघि पनि यो कुलमा खली खुवाइएको थियो ।”

उहाँका अनुसार अकालमा मृत्यु भएकाको उद्धार नगरी पिशाचको रुपमा रहँदा त्यो कुल वंशभित्रका परिवारलाई दुःख कष्ट दिने, घरमा बिरामी नछुट्ने, अकल्पनीय दुर्घटनाहरु हुने, पशु चौपायाहरु बिरामी नै नभई अचानक मर्नेलगायतका घटना हुन्छन्, अकालमा मृत्यु भएकाको वायु उतारेर त्यही कुलवंशका व्यक्तिको शरीरमा धारण गरेपछि वायुदेवका रुपमा स्थान पाउने भड्किएको आत्माले मुक्ति पाउने विश्वास रहेको छ । अकालमा मृत्यु भएकाहरु सबै वायुदेवका रुपमा कुलदेवतासँगै राखेर पूजा गर्ने भएपछि कुलवंशमा राम्रो भएर आउने पूर्ण विश्वास रहेको मूल गुरु खड्का बताउनुहुन्छ । तान्त्रिक विधि र कूल देवताको शक्तिले आगोको भुङ्ग्रोेमा उफ्रिँदा पनि डाङ्ग्रको खुट्टाको रौं समेत नजल्ने उहाँ बताउनुहुन्छ ।

यहाँका बस्नेत कुलमा अकालमा ज्यान गुमाएकाहरूको आत्मा मुक्तिको कर्मका लागि खली खुवाउन तीन साताको तान्त्रिक विधिअनुसार सबै प्रक्रिया पुरा गरेर खली खुवाउने कार्य सम्पन्न गरिएको हो । तीन सातादेखि हरेक दिन राति खाना खाएपछि कुलका सबै पुरुष शुद्ध भई जम्मा भएर प्रत्येक रात गुरुमार्फत वायु उतार्ने काम सम्पन्न गरेपछि खली खुवाएर त्यसलाई पूर्णता दिइएको नवीन बस्नेतले बताउनु हुन्छ ।

शरीरमा कुलको मूलदेवता अर्थात् खप्परमास्टर शरीरमा धारण गरेका ४० वर्षीय राजकुमार बस्नेत, भान्जाभान्जी चेतबराह र मण्डली धारण गरेका २४ वर्षीय सौरभ बस्नेत, वायु धारण गरेका ४० वर्षीय सुवास बस्नेत आगोको भुङ्ग्रोेमा उप्रिाएका थिए । पुरोना धामी दिनेश बस्नेतको आङ अर्थात् शरीरमा धारण गरेको खप्परमास्टर राजकुमारको शरीरमा र पुरानो धामी सुमन बस्नेतको शरीरमा रहेको भान्जाभान्जी चेतबराह र मण्डली सौरभको आङ अर्थात् शरीरमा हस्तान्तरणसमेत गरिएको नवीन बस्नेतले बताउनुभयो ।

आफ्नो कुलमा अकालमा ज्यान गुमाएर मोक्ष नपाएका पितृको उद्धारका लागि गरिने प्राचीन र तान्त्रिक विधिलाई खली खाने प्रथा भन्ने गरिएको गुरु खड्काले बताउनुहुन्छ । सुरुमा गुरुमार्फत कुलका सबै जम्मा भएर एक भाइका घरमा वायु उतार्ने गरिन्छ । वायु उतार्ने क्रममा मृतात्माले आफ्नै कुलभित्रको आफूले चाहेको व्यक्तिको शरीरमा प्रवेश गर्दै आफ्नो मृत्यु कसरी भयो, आत्माले कति दुःख पायो र अब आत्माले कसरी मोक्ष पाउँछ भन्ने गर्छन् । यसमा तान्त्रिक माध्यमबाट प्रेताात्मा ‘वायु’लाई बोलाएर आफ्नो मृत्युबारे बकाएपछि मृतकको इच्छानुसार खली प्रथा गराइन्छ ।

भड्किएको मृतात्माले आफ्नो कुलभित्र दुःख दिने कथन रहँदै आएको र वायु उतारेर खली खुवाएपछि वायुदेवताका रुपमा स्थान दिई हरेक वर्ष दिवालीका दिन कुलदेवता र वायुदेवताको पूजा गरेपछि कुलमा राम्रो हुने विश्वास वर्षौदेखि रहँदै आएको बस्नेत कुलका ४० वर्षीय माधव बस्नेतको भनाइ छ । यो प्रथा हिन्दू धर्मावलम्बीमा प्राचीनकालदेखि चल्दै आएको बताउँदै उहाँले यसलाई धर्म, परम्परा, संस्कृति र तन्त्रसँग जोडेर हेर्नुपर्ने बताउनुभयो ।

एक वर्षअघि सोही गाउँमा खली खुवाउनु भएका सानुभाइ गिरीले यस प्रथाका बारेमा प्रस्ट्याउँदै भन्नुभयो, “आगाको भुङ्ग्रोमाथि नाङ्गो खुट्टाले नाचेर खरानी बनाउने घटना आफ्नै आँखा अगाडि देख्न सकिन्छ, यसलाई तान्त्रिक विधि र दैवी शक्तिको अनुपम नमूनाका रूपमा लिन सकिन्छ ।” उहाँका अनुसार शरीरमा कुलदेवता र वायुदेवता चढेका व्यक्तिलाई डाङ्ग्रे भनिन्छ, उनीहरूलाई आगोको भुङ्ग्रोमा नाचेर पूर्णता दिने कार्यलाई ‘खली खाने’ भन्ने गरिन्छ ।

डाङ्ग्रे हुन कठिन तान्त्रिक परीक्षा पूरा गर्नुपर्ने बताउँदै एक वर्षअघि मात्रै गिरी कुलमा खली खुवाएर आफै धामी बन्नु भएका सुरेश गिरीले खली खुवाउने प्रथाको बारेमा जानकारी दिंदै भन्नुभयो, “खली खानु डाङ्ग्रे हुने प्रक्रियाको अन्तिम परीक्षा हो, त्यसपछि उनीहरूकै शरीरमा कुल र वायु देवता रहिरहन्छ, त्यसैले धेरै परीक्षणबाट सफल हुँदै खली खुवाउने बेलासम्म आइन्छ, खली खुवाउन बालिने आगो पनि तान्त्रिक विधिबाट जगाइने भएकाले डाङ्ग्रे आगामा नाच्दा पोल्दैन, उनीहरूको खुट्टामा फोका उठ्दैन, घाउ लाग्दैन ।” आफूहरूका शरीरमा धेरै कम्पन हुने र उफ्रने भएकाले भोलिपल्ट भने शरीर निकै थाक्ने गरेको उनीहरू बताउँछन् ।

आगो बाल्ने स्थानलाई पनि तान्त्रिक विधिले शुद्ध गरिने तथा बडो निगरानीमा राखिएको हुन्छ । कुभलो चिताउने कोही व्यक्ति त्यस ठाउँमा प्रवेश गरेमा तथा सिसा, फलामका टुक्रा, किला वा अन्य अशुद्ध सामग्री राखिदिए अनिष्ट हुन सक्ने मानिन्छ ।

खली खाने डाङ्ग्रे लामो प्रक्रियाबाट छनोट हुन्छन् । ‘जोसुकै व्यक्ति पनि डाङ्ग्रे हुन पाउँदैनन् । वायु उतार्ने क्रममा धामी बसेर तन्त्रमन्त्रले पूजा गर्दा जसको शरीरमा कुलदेवता र वायु चढ्छ, उनीहरू मात्र डाङ्ग्रे भएर खली खानयोग्य हुन्छन् । तान्त्रिक विधिद्वारा धामीले विशेष पूजा गरेपछि कुलका मानिसका जीउमा कुलदेवता चढ्ने गरेको बस्नेत बताउनुहुन्छ ।

कुलदेवता शरीरमा आएपछि पटकपटक विभिन्न विधिबाट हुने परीक्षण सफल भएपछि अन्तिममा मात्रै खली खुवाएर डाङ्ग्रेलाई पूर्णता दिइन्छ । डाङ्ग्रे भएपछि शुद्ध भएर बस्नुपर्ने र अशुद्ध खानपान तथा व्यवहार गर्न नहुने उहाँको भनाइ छ । खली खुवाएपछि कुलदेवता र वायुदेवताको शिला स्थापना गर्ने, पूजा गरेर देवता थन्क्याउने र सामूहिहक रूपमा कूलका परिवारले भोज खाएपछि भने बाजागाजाका साथ विभिन्न उपहार एवं दक्षिणा दिएर गुरुहरूलाई बिदाइ गर्ने परम्परा छ । रासस

प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रिय फोटो पत्रकार समूहको ज्ञापनपत्र

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे)ले आज आफ्ना मागहरुसहितको ज्ञापनपत्र बुझाएको छ । समूहका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको टोलीले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर सातबुँदे ज्ञापनपत्र बुझाएको हो ।

सो ज्ञापनपत्रमा नेपालका विभिन्न सञ्चार गृहहरुमा फोटो पत्रकारिता गर्ने फोटो पत्रकारहरुको हकहितका लागि सरकारका तर्फबाट आवश्यक सहयोगका लागि आग्रह गरिएको छ । साथै फोटो सङ्ग्रहालयका लागि जग्गा भवन उपलब्ध गराउन पनि प्रधानमन्त्रीसमक्ष माग गरिएको छ ।

त्यस्तै, फोटो पत्रकारिताको माध्यमबाट जीविकोपार्जन गर्ने सम्पूर्ण पत्रकारहरुको बीमा सुरक्षा र हरेक वर्ष प्रदान गरिने राष्ट्रिय मानपदवीमा फोटो पत्रकार विधा समावेश गरी फोटो पत्रकारहरुलाई पनि योगदानका आधारमा सम्मान गर्नुपर्ने माग गरिएको छ ।

फोटो पत्रकारहरुलाई व्यावसायिक, मर्यादित बनाउनका लागि तालिम दिन, वार्षिक रुपमा बजेट उपलब्ध गराउन र फोटो पत्रकारहरुलाई आवश्यक क्यामेरा किन्न सहुलियत दरमा ऋण उपलब्ध गराउन पनि सो ज्ञापनपत्रमा माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डलेले फोटो पत्रकारहरुका जायज मागहरु पूरा गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको सो समूहका अध्यक्ष वन्तले जानकारी दिनुभयो । प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै अध्यक्ष वन्तले भन्नुभयो “मागहरु जायज छन्, पूरा गर्न पहल गर्नेछु ।”

सरकारले लाल आयोग प्रतिवेदन सार्वजनिक नगरे आन्दोलन गर्ने नाउपाको चेतावनी

काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीले लाल आयोग प्रतिवेदन सरकारले सार्वजनिक नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।

बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सो पार्टीले टीकापुर घटना राजनीतिक घटना भएकाले राजनीतिक हिसाबले हल गर्न माग गर्दै तीन दिन भित्र लाल आयोग प्रतिवेदन सार्वजनिक नभए आन्दोलन गर्ने चेतावनी दिएको हो । साथै सो पार्टीले उक्त प्रतिवेदन सार्वजनिक नगरिए जेष्ठ ३ गतेदेखि ५ गतेसम्म देशव्यापी राँके जुलुस प्रदर्शन गर्ने र ६ देखि १० गतेसम्म नेपाल बन्द गर्ने चेतावनी दिएको छ ।

रेशम चौधरीलगायत व्यक्ति हत्यारा भए फाँसी दिए हुने समेत नागरिक उन्मुक्ति पार्टीले जनाएको छ । नागरिक उन्मुक्तिका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले टीकापुर घटना राजनीतिक घटना भए पनि यसलाई अन्यत्रै मोड्न खोजिएकाले आन्दोलन गर्न बाध्य भएको बताउनुभयो ।

त्यस्तै नागरिक उन्मुक्तिका नेता लक्ष्मण थारुले लाल आयोग सार्वजनिक लगायतका मागहरू तीन दिन भित्र पुरा नभए कडा आन्दोलन गर्न बाध्य हुने बताउनुभयो । उहाँले अदालतको निर्णयलाई स्वीकार गर्ने भन्दै अन्य राजनीतिक घटनालाई माफी दिने तर टीकापुर घटनालाई अन्यत्रै मोडिनु दुर्भाग्य भएको बताउनुभयो ।

उहाँले रेशम चौधरी निर्दोष भएको भन्दै फसाउने काम भएको जिकिर गर्नुभयो ।

प्रजातन्त्रमाथि खतरा देखियो : प्रथम राष्ट्रपति यादव

काठमाडौँ / प्रथम राष्ट्रपति डा रामवरण यादवले प्रजातान्त्रिक विचारको जग, आदर्श र सैद्धान्तिक आधार बलियो रहेकाले यसको भविष्य सुरक्षित रहेको बताउनुभएको छ ।

प्रजातान्त्रिक विचार समाजको १२औँ राष्ट्रिय महाधिवेशन तथा २५औँ साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले विगतमा देशमा समस्या आउँदा गाउँगाउँ पुग्ने गरेको कांग्रेस अहिले हराउन थालेकाले प्रजातन्त्रमाथि खतरा देखिएको भनाइ राख्नुभयो ।

गिरिजाप्रसाद कोइराला कांगे्रस सभापति हुँदा ३५ जना केन्द्रीय सदस्य भएर पनि देशभर पुग्ने कांगे्रसका नेता कार्यकर्ता एक सय ५० केन्द्रीय सदस्य भएर पनि जनतामा पुग्न नसकेकैले प्रजातनत्रमाथि खतरा आउने प्रथम राष्ट्रपति यादवको भनाइ थियो ।

पुरानो प्रजातान्त्रिक दलको निष्क्रियताले प्रजातन्त्रमाथि खतरा आउन सक्ने भएकाले सचेत रहन पनि उहाँले समाजका सदस्यहरुलाई आह्वान गर्नुभयो । प्रजातन्त्र जोगाउन समाजका सदस्यले आलोचनात्मक भएर प्रस्तुत हुनुपर्ने प्रथम राष्ट्रपति यादवको भनाइ थियो ।

बिहीबारसम्म राजधानीमा चल्ने समाजको महाधिवेशनमा सात प्रदेश र ७० जिल्लाका प्रतिनिधिको सहभागिता रहेको अध्यक्ष डा केदारनरसिंह केसीले जानकारी दिनुभयो । समाजको महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्य समितिसमेत गठन गर्ने जनाइएको छ ।

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक २३ दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ४५ दशमलव ०१ अङ्कमा कायम भएको हो ।

आज दुई सय ६६ वटा कम्पनीको २५ लाख ७७ हजार दुई सय १० कित्ता शेयर २५ हजार छ सय ३५ पटक खरिदबिक्री हुँदा रू ८५ करोड ७६ लाख २४ हजार तीन सय १८ बराबरको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक एक सय ७१ दशमलव २३ र जीवन बीमा समूह ९३ दशमलव ३७ अङ्कले बढेको छ । बैंकिङ समूह आठ दशमलव ६५, विकास बैंक ५४ दशमलव ९३, वित्त ३४ दशमलव ५६, होटल तथा पर्यटन समूह २० दशमलव ०२ र जलविद्युत् ४९ दशमलव २८ अङ्कले बढेको छ ।

लगानी समूह शून्य दशमलव ७०, उत्पादन तथा प्रशोधन ३७ दशमलव ८२, लघुवित्त ३१ दशमलव १८, म्युचुअल फन्ड शून्य दशमलव ०१, व्यापार १३ दशमलव १३ र अन्य समूह ३० दशमलव ८२ अङ्कले बढेको छ ।

आत्मनिर्भर लघुवित्त वित्तीयसंस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने माईखोला हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सात दशमलव ९३ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू पाँच करोड ४६ लाख ५८ हजार छ सय ८५ बराबरको एक लाख ३६ हजार एक सय १० कित्ता शेयर किनबेच भएको छ ।

बयासी किलो गाँजासहित दुईजना पक्राउ

जलेश्वर – महोत्तरी प्रहरीले आज गौशाला नगरपालिकाको जङ्गल क्षेत्रबाट ट्र्याक्टरमा बोकेर ल्याउँदै गरेको ८२ किलोग्राम लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बस्ने २६ वर्षीय ट्र्याक्टर चालक गणेश सार्की र सोही ठाउँका ट्र्याक्टरमा सवार २७ वर्षीय पाण्डव थापा रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो ।

ना७त २०० नंको ट्र्याक्टरमा ८२ किलोग्राम लागुऔषध गाँजा बोकेर गौशाला नगरपालिका–१२ जङ्गलमा रेल्वे पुल नजिकै रहेको बाँके खोलाको बाटो हुँदै कान्तिबजार आउँदै गरेको अवस्थामा गस्तीमा गएको प्रहरी टोलीलाई शङ्का लागि ट्र्याक्टरको चेकजाँच गर्दा सो परिमाणको गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।

लागुऔषधसहित पक्राउ परेका चालक, सहायक चालक र ट्र्याक्टरलाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय गौशालामा ल्याएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खाँणलाई बोक्न हुँदैन, निलम्बन गर्नुपर्छ : थापा

काठमाडौं – ​  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका जो कोहीलाई पनि कारबाही गर्नबाट पछि हट्नु नहुने बताएका छन्। ​

बुधबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस पार्टीबाट नाम जोडिएका नेता बालकृष्ण खाँणलाई पार्टीले तत्काल निलम्बन गर्नुपर्ने माग गरे।

अनुसन्धानमा पार्टी जोडिनु नहुने र अनुसन्धानबाट दोषी ठहरिए सबैलाई कारबाही हुनुपर्ने उनको भनाइ छ। महामन्त्री थापाले नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रबिरुद्धको अपराध भएको उल्लेख गरे।

उनले कुनै पनि पदमा बसेको व्यक्ति अभियोग लागिसकेपछि निर्दोष नहुन्जेलसम्म स्वतः निलम्बनमा पर्ने बताए। उनले पार्टीको बैठकमा यसबारेमा छलफल भए पनि केही नेताहरूले पार्टीको परम्परा नरहेको भन्दै पन्छिन खोजेकाले परम्परा तोडेर भए पनि निलम्बन गर्न आवश्यक रहेको उल्लेख गरे।

गलत कुरालाई परम्पराको नाममा बोकेर हिँड्नु नहुने उनको तर्क थियो। उनले पार्टीका नेताहरू भ्रष्टाचारी भए पनि पार्टी नै भ्रष्टाचारी हो भन्न नमिल्ने जिकिर गरे।

महामन्त्री थापाले लोक रिझ्याइँको राजनीति हाबी भएको भन्दै मानिसलाई उचाल्ने काम भइरहेको बताए। उनले काँग्रेसलाई अब नेताबाट नागरिकमा फर्काउनुपर्ने आवश्यकता रहेको पनि उल्लेख गरे।

सर्वोच्च अदालतले गरेको फैसलालाई सम्मान र स्वीकार गर्छु : रेशम चौधरी

काठमाडौँ – टीकापुर घटनामा दोषी ठहरिएर जन्मकैदको सजाय पाएका रेशम चौधरीले सर्वोच्च अदालतले गरेको फैसलालाई सम्मान र स्वीकार गर्ने बताएका छन् ।

मंगलबार चौधरीले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । उनले विज्ञप्ति मार्फत भनेका छन्, ‘सर्वोच्च अदालतले गरेको फैसला मप्रति न्यायिक नहुन सक्छ, तर त्यसो भन्दैमा स्वीकार्नुको विकल्प हुन्न ।’

उनले टीकापुर घटनामाथि गरिएको फैसलामा पुनरावलोकनको बाटो खुला रहेको बताएका छन् । तर, पुनरावेदन गर्ने वा नगर्ने स्पष्ट भनेका छैनन् ।

सम्मानित अदालतलाई सदा सम्मान गर्ने भन्दै उनले फैसलामाथि अनर्गल टिप्पणी नगर्न सबैलाई आग्रहसमेत गरेका छन् । सर्वोच्चप्रति भरोसा रहेको भन्दै चौधरीले आफू अझै पनि न्यायिक पर्खाइमा रहेको उल्लेख गरेका छन् ।

‘म डिल्लीबजार कारागारमा धैर्य, सहनशीलताका साथ कैद भुक्तान गरिरहेको छु । स्वस्थ छु । रत्तिभर मन विचलित छैन । पुस्तक लेखिरहेको छु,’ उनले भनेका छन् ।

लिलाम नहुँदा सयौँ मोटरसाइकल कवाड बने

भजनी – कैलालीको टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयको पछाडि सयौँ मोटरसाइकल पार्किङमा छन् । यहाँ रहेका शतप्रतिशत मोटरसाइकल प्रयोगमा आउने स्थितिमा पनि छैनन् ।

दिनप्रतिदिन मोटरसाइकललगायत भन्सारमा रहेका सवारी साधन कवाड बन्दै गएका छन् । भन्सार कार्यालय पुग्दा सकुशल पुगेका मोटरसाइकल समयमा लिलाम हुन नसक्दा कहिले घाम त कहिले पानीले काम नलाग्ने स्थितिमा पुगेका हुन् ।

भन्सार कार्यालयले एक वर्षदेखि भन्सारमा आएका अवैध सवारी साधनको लिलाम प्रक्रिया नै अगाडि बढाउन सकेको छैन । भन्सारमा सयौंँ मोटरसाइकल मात्रै नभइ दर्जनौँ अटो रिक्सा पनि छन् । साथै भन्सारमा साइकल र चार पाङ्ग्रे सवारीसाधन पनि छन् । कैयौँ मोटरसाइकलका पार्टपुर्जा नै छैनन् । लिलाम प्रक्रिया झन्झटिलो भएका कारण भन्सार कार्यालयले त्यसमा चासो दिन सकेको छैन ।

लिलाम गर्नु पहिले इञ्जीनीयरले सबै प्रक्रिया पूरा गर्नुपर्ने हुँदा सबैभन्दा झन्झट इञ्जीनीयरलाई बोलाउनु रहेको भन्सार कार्यालयका निमित्त प्रमुख तुलसीराम थारु बताउनुहुन्छ । “सबैभन्दा असजिलो काम भएका कारण भनेको समयमा सवारी साधनको लिलाम गर्न सकिएको छैन”, उहाँ भन्नुहुन्छ, “प्रक्रिया लामो छ, इञ्जीनीयर बोलाउनुपर्छ, भनेको समयमा इञ्जीनीयर आउँदैनन्, यातायात कार्यालयबाट मान्छे आउनुपर्छ, झन्झट भएकै कारण पनि समयमा काम हुन नसकिएको हो ।”

गत आर्थिक वर्षमा भन्सारले ८६ मोटरसाइकल र एउटा स्कारपियो लिलाममा बिक्री गरेको थियो । कोरोना सङ्क्रमण सुरु भएपछिको त्यो लिलाम प्रक्रिया पहिलो थियो । त्यसपश्चात भन्सारले सवारी साधनको लिलामीका लागि कुनै पहल नगरेको पाइएको छ । भन्सार कार्यालयसँग कति सवारीसाधन त्यसरी थन्किएका छन् भन्ने एकिन तथ्याङ्क पनि छैन । “भन्सारमा यति नै सवारीसाधन छन् भन्ने तथ्याङ्क हामीसँग छैन”, निमित्त प्रमुख थारु भन्नुहुन्छ, “केही पुराना त केही नयाँ भएका कारण एकिन तथ्याङ्क भन्सारले राखेको छैन, फरक–फरक तथ्याङ्क भने हुनसक्छ ।”

राजस्व सङ्कलनमा पनि भन्सार निकै पछाडि परेको छ । चालु आव सकिन दुई महिना मात्रै बाँकी हुँदा भन्सारले लक्ष्यको ३५ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको छ । अझै लक्ष्य पूरा गर्न भन्सारले दुई महिनामा कूल राजस्वको ६५ प्रतिशत सङ्कलन गर्नुपर्ने देखिएको छ । वैशाखसम्मको तथ्याङ्क हेर्दा भन्सारले रु पाँच करोड ९१ लाख १८ हजार नौ सय राजस्व सङ्कलन गरेको छ ।

असारसम्म भन्सारले रु १६ करोड ९४ लाख ४२ हजार राजस्व सङ्कलनको लक्ष्य लिएको थियो । लक्ष्यको सबैभन्दा बढी असोजमा ८२ प्रतिशत तथा सबैभन्दा कम भदौ र मङ्सिरमा १८ प्रतिशत राजस्व सङ्कलन भएको छ ।

भन्सार कार्यालयका प्रमुख तीर्थराज पासवानले भन्सारको समस्या राजस्व सङ्कलनमा कमी आउनु मात्रै नभएको बताउनुभयो । उहाँले भन्सार कार्यालयलाई चाहिने आवश्यक उपकरण नै नभएको जनाउँदै यस्तो अवस्थामा कार्यालय सञ्चालन गर्न निकै कठिन भएकाले थुप्रै व्यवस्थापकीय सुधार आवश्यक रहेको बताउनुभयो ।

“कार्यालयमा एउटा गतिलो कम्प्युटरसम्म छैन, केही महत्वपूर्ण शीर्षकमा बजेट नै रहेनछ, जता पनि अस्तव्यस्त अवस्था कसरी काम गर्नु ?”, कार्यालय प्रमुख पासवानले भन्नुभयो, “विभागबाट केही बजेट माग गर्न लागि काठमाडौँ पुग्नुपरेको छ, केही बजेट विनियोजन भयो भने कार्यालयलाई व्यवस्थापन गर्न सके त्यसपछि अन्य कुराको व्यवस्थापन गर्न समय लाग्दैन ।”

शरणार्थी प्रकरणलाई ढाकछोप गर्न खोजे कांग्रेस नै अप्ठ्यारोमा पर्छ : शेखर कोइराला

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई ढाकछोप गर्न खोजे कांग्रेस पार्टी नै अप्ठ्यारोमा पर्ने बताए ।

प्रजातान्त्रिक विचार समाजको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन३ ।

उनले भने, ‘यसलाई ढाकछोप गर्न खोजियो भने कांग्रेसको अवस्था के हुन्छ ? भन्ने अहिले म भन्न सक्दिनँ । कांग्रेसमात्रै होइन देशकै अवस्था नाजुक भएर जान्छ । यो मुद्दा अन्तर्राष्ट्रियकरण भइसक्यो । नेपालका प्रहरीले जुन तागत पाइसकेका छन् त्यो त्यसै आइरहेको छैन भन्ने पनि बुझौं ।’

दोषीलाई कारबाही हुनुपर्ने बताउँदै उनले शरणार्थी प्रकरणमा मुछिएपछि बालकृष्ण खाणलाई निलम्बन गर्नुपर्ने बताए ।

वीर अस्पतालका आवासीय चिकित्सकहरू आन्दोलनमा उत्रिए

काठमाडौं – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गतका आवासीय चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । निर्वाहभत्ता नपाएको भन्दै बुधबारबाट आन्दोलनमा उत्रिएका उनीहरुले पहिलो दिन हातमा कालोपट्टी बाँधेर सेवा दिइरहेका छन् ।

दोस्रो दिन बिहीबार एक घण्टा र तेस्रो दिन शुक्रबार दुई घण्टा सबै काम छाडेर अस्पताल परिसरमा धर्ना दिने बताएका आन्दोलनरत चिकित्सकहरुले शनिबारसम्म पनि आफ्ना माग सम्बोधन नभए आइतबारदेखि अस्पतालका कुनै पनि सेवामा संलग्न नहुने चेतावनी दिएका छन् । 

मन्त्री शर्मा भन्नुहुन्छ, “सूचना प्रविधिको प्रयोग बढ्दो, तर राजस्व घट्दो किन ?”

काठमाडौँ – विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर आज नेपाल दूरसञ्चार प्राधिकरणले ‘स्पेक्ट्रम म्यानेजमेन्ट’ सम्मेलनको आयोजना गरेको छ ।

सम्मेलनका क्रममा ‘नेपालमा दूरसञ्चारको बजार र आगामी बाटो’, ‘उदाउँदो मोबाइल प्रविधि’ र ‘इन्टरनेटको वर्तमान अवस्था र भविष्यको आवश्यकता’लगायत तीन सत्रका विभिन्न विषयमा विज्ञसँग अन्तरक्रिया गरिने प्राधिकरणका निर्देशक दीपेश आचार्यले जानकारी दिनुभयो ।

सम्मेलनमा ‘अतिकम विकसित मुलुकमा दूरसञ्चारको बजारः चुनौती र आगामी बाटो’, ‘नेपालको सूचना प्रविधि बजारको वर्तमान अवस्था’, ‘नेपालको दूरसञ्चार बजारको विश्लेषण र डिजिटल अर्थतन्त्रमा यसको भूमिका’, ‘नेपालमा फाइभ–जीको बाटो’, ‘विकसित मुलुकमा फाइभ–जीको अभ्यास’, ‘नेपालमा फाइभ–जीको बजार’लगायत विषयमा वक्ताहरुले प्रस्तुति दिनुहुनेछ ।

सम्मेलनको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उद्घाटन गर्नुभयो । उद्घाटनका क्रममा उहाँले सूचना प्रविधिसम्बन्धी सेवालाई सस्तो र गुणस्तरीय बनाउँदै सबैको पहुँचमा पु¥याउने सन्दर्भमा सेवा प्रदायक र नियामकले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । सरकार सूचना प्रविधिको पहुँच हुने र नहुनेको दूरी कम गर्न लागिपरेको जानकारी दिँदै उहाँले अझै पनि दूरदराजमा गुणस्तरीय मोबाइल सेवा नपुगेकातर्फ सेवा प्रदायकले सोच्नुपर्ने बताउनुभयो ।

सूचना प्रविधिमा पहुँच हुने र पहुँच नहुने बीचको खाडल कसरी पुर्ने भन्ने विषयमा मिलेर काम गर्नु जरुरी रहेको जनाउँदै उहाँले विश्व बजारमा प्रविधि विकासको प्रतिस्पर्धामा उभिनका लागि तयार हुँदै गर्दा अर्कातिर भने यही देशको दूरदराजमा रहेका जनताले राम्रो दूरसञ्चारको सेवा पाइरहेका छैनन् भन्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

“दूरसञ्चार क्षेत्रमा देखिएका समस्या, कमीकमजोरी, सुधार्नुपर्ने विषय, सूचना प्रविधि क्षेत्रबाट राजस्व सङ्कलन गर्ने, ‘डिजिटल डिभाइड’ कम गर्ने, दूरसञ्चार सेवाको गुणस्तर सुधार गर्नेलगायत विषयमा सम्मेलनमा घनिभूत छलफल हुनुपर्छ, विगतमा के–के भए त्यसको समीक्षा हुनुपर्छ”, उहाँले भन्नुभयो ।

उहाँले सूचना प्रविधिको क्षेत्रमा सरकारका साथै निजी क्षेत्रले पनि लगानी बढाउनुपर्ने, प्रविधिको प्रयोग दिनप्रतिदिन बढ्दै गएको भए पनि यस क्षेत्रसँग सम्बन्धित राजस्व घट्दै गइरहेको विषयमा गम्भीर छलफल हुनुपर्ने बताउनुभयो ।

“दिनप्रतिदिन दूरसञ्चार क्षेत्रको प्रविधिको प्रयोग विस्तार भइरहेको छ, तर राजस्व घट्दै आउने देखिएका छ, यसको कहाँनेर समस्या हो ? यसलाई कताबाट हल गर्नुपर्छ भन्ने विषयमा विशेष ध्यान दिन जरुरी छ”, मन्त्री शर्माले भन्नुभयो ।

मन्त्रालयका सचिव कृष्णबहादुर राउतले सूचना प्रविधिको आविष्कारलाई मुलुकको आर्थिक समृद्धि, सामाजिक जीवनको उन्नतिका लागि सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । डिजिटल विभेद न्यून तथा डिजिटल समावेशिता कायम गर्ने गरी पूर्वाधार निर्माण गर्न सरकार जुटेको उहाँको भनाइ थियो ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मुलुकको आर्थिक विकासमा डिजिटल रुपान्तरणले सहयोग पु¥याएको जनाउँदै दीर्घकालीन पूर्वाधार निर्माणमा प्राधिरकण जुटेको बताउनुभयो ।

सार्वजनिक सवारी साधनको भाडादर घट्यो

काठमाडौं – यातायात व्यवस्था विभागले यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर घटाएको छ ।

विभागले आज सूचना जारी गर्दै इन्धनको मूल्यको आधारमा भाडा समायोजन गरिएको जनाएको हो ।

विभागका अनुसार यात्रुवाहक सवारी साधनको भाडा ३.२० प्रतिशतले घटाइएको छ । यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ४.६५ प्रतिशतले घटेको छ ।

‘राष्ट्रिय सहिद’ मुकेश को हुन् ?

 काभ्रे – सरकारले दोस्रो जनआन्दोलनमा घाइते भई अचेत अवस्थामा निधन भएका मुकेश कायस्थलाई ‘राष्ट्रिय सहिद’ घोषणा गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले काभ्रे बनेपा नगरपालिका–८ का उहाँलाई सहिद घोषणा गरेको हो ।

यसअघि मुकेश ‘जिउँदो सहिद’का रूपमा परिचित हुँदै आउनुभएको थियो । मुकेशको गत बुधबार साँझ बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचाररत अवस्थामा निधन भएको हो । जनआन्दोलनमा घाइते हुँदा मुकेश १५ वर्षका हुनुहुन्थ्यो । घाइते भएको १७ वर्षपछि अर्थात् ३२ वर्षमा मुकेशको निधन भएको हो । अघिल्लो हप्तादेखि स्वास्थ्यमा थप समस्या भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । 

जनआन्दोलनताका मुकेश बनेपाकै विद्यासागर स्कुलको कक्षा ८ मा पढ्दै हुनुहुन्थ्यो । लोकतन्त्रका खातिर जनआन्दोलन भइरहँदा २०६२ चैत २७ गते कायस्थलाई बनेपाको तीनदोबाटोमा बायाँ कञ्चटमा सुरक्षाकर्मीको गोली लागी गम्भीर घाइते हुनुभएको थियो । त्यस दिनदखि उहाँको होस् नखुल्लेकै ९अचेत० अवस्थामै निधन भयो । उहाँ बोल्नसमेत सक्नुहुन्नथ्यो भने बायाँ हात र बायाँ गोडा राम्रोसँग चल्दैनथ्यो । गोलीको घाउ निको भए पनि मुकेशको टाउकोमा गहिरो खाल्डो नै थियो । 

मुकेशको बिहीबार राष्ट्रिय सम्मानसहित नेवारी परम्पराअनुसार उग्रतिर्थेश्वर घाटमा अन्त्येष्टि गरिएको थियो । उहाँलाई बाबु कृष्णमानले दागबत्ती दिनुभएको हो । नेपाल प्रहरीको एक टुकडीले शोक धुन बजाई कायस्थको शवलाई बनेपा बजार परिक्रमा गरी उग्रतिर्थेश्वर लगिएको थियो । श्रद्धाञ्जलि अर्पणका लागि मुकेशको शवलाई बिहान ११ देखि दिउँसो २ बजेसम्म बनेपा नगरपालिका कार्यालयको प्राङ्गणमा राखिएको थियो ।

कायस्थको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, स्वास्थ्य तथा जनसङख्यामन्त्री मोहनबहादुर बस्नेत, सांसदद्वय गोकुलप्रसाद बाँस्कोटा र सूर्यमान दोङ, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, बागमती प्रदेशसभा सदस्यद्वय कञ्चनचन्द्र वादे र लक्ष्मण लम्साल, गृह मन्त्रालयका सचिव दिनेश भट्टराईलगायत जिल्लास्थित राजनीतिक दलका नेता–कार्यकर्ता उपस्थित हुनुहुन्थ्यो । सो अवसरमा मन्त्री मोदीले मुकेशलाई सहिद घोषणा गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । 

मुकेश परिवारको एक्ला छोरा हुनुहुन्थ्यो । सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते हुनुएको दिनदेखि ओछ्यानमा पर्नुभएका कायस्थलाई ‘जिउँदो सहिद’ भन्ने गरिँदै आइएको थियो । उहाँ ओछ्यानबाट कहिल्यै उठ्न नसकी १७ वर्षदेखि जीवन र मृत्युसँग लडिरहनुभएको थियो । परिवार र स्वास्थ्कर्मीको निरन्तरको स्याहार र उपचारपछि देब्रे हात केही चलाउने, आमा भन्ने, केही हाँस्ने, गिलो खानेकुरा खाने र ह्वीलचियरमा अडिन सक्नेसम्म हुनुएका मुकेश २०७५ असारमा थप बिरामी परेपछि परिवार निकै चिन्तामा पर्दै आएको थियो । 

स्वाथ्योपचारलगायतका लागि उहाँको नाममा प्रतिष्ठानसमेत स्थापना गरिएको थियो । सरकारले मुकेशको उपचार खर्च, रु १५ हजार मासिक भत्ता, एक सुसारेका लागि रु छ हजार दुई सय भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो । उहाँलाई २०७८ सालमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संयोजकत्व रहेको लोकतन्त्रका योद्धा, अभिलेखीकरण तथा सम्मान समितिले जनआन्दोलनमा खेलेको योगदानको उच्च मूल्याङ्कन गर्दै ‘लोकतन्त्रका योद्धा’ सम्मानसमेत प्रदान गरेको थियो ।

बाबा–आमा भनेर बोलाउला भन्ने आशामा मुकेशको स्याहारसुसारमा दिनरात नभनेको कायस्थ परिवारलाई आशा मरेको थिएन । तर मुकेश पाँच वर्षदेखि दुब्लाउँदै गएको, पहिलेजस्तो हाँस्न र सकेको बोल्न छाड्दा उनीहरूलाई ‘पीरमाथि पीर’ थपिँदै आएको थियो । छोराको विषयमा जो कोहीसँग कुराकानी गर्दा मुकेशका बाबुआमा निकैबेर भक्कानिनुहुन्थ्यो । 

कसैले उहाँको नाम लिएर बोलाउँदा ‘हँहँ, माँ’ भनेर बोल्नसक्ने मुकेश एक वर्षदेखि बोल्न सक्नुभएको थिएन । लामो समय उपचारका क्रममा चपाएर खाना खान नसक्ने मुकेशलाई झोल वा गिलो प्रकारका खानेकुरा खुवाउँदै आइएकामा बिरामी परेपछि पेटमा पाइपद्वारा खानेकुरा दिइँदै आइएको थियो । बिरामी परेयता मुकेश दायाँ हात र दुवै गोडा थोरै मात्रामा चलाउन सक्नुहुन्थ्यो । आफन्तका अनुसार आमा वा बाबुमध्ये कोही केही समय नजिक नभए मुकेश रुनेसम्म गर्नुहुन्थ्यो । 

मुकेशको चेत खुल्नसके सहयोग मागेर भए पनि उपचारका लागि अझै कतै लैजान सकिन्छ कि भन्ने आशामा बसेको थियो कायस्थ परिवार । दलका नेता तथा सरकारी उच्च तहका व्यक्तिले मुकेशलाई भेट्न आउँदा आश्वासन पनि नदिएका होइनन् । तर देश–विदेशका चिकित्सकले थप उपचार गर्न नसकिने सल्लाह दिएको सम्झँदै छोराको भविष्य चकनाचुर भएकामा मर्माहित थियो सो परिवार । 

आन्दोलनका घाइते र सहिदलाई सरकारले सम्झिरहोस् भन्ने चाहना कायस्थ दम्पतीको छ । सरकारले उक्त परिवारको बैंकको रु सात लाख ऋणसमेत मिनाहा गरिदिएको थियो । परिवारका अनुसार पछिल्लो वर्ष मेडिसिटी अस्पतालका चिकित्सक गोपाल रमणले मुकेशको स्वास्थ्यबारे निगरानी गरिरहनुभएको थियो । रमणका अनुसार टाउकोमा जम्ने पानी निस्कने पाइप समय–समयमा बन्द हुने हुँदा समस्या भइरहेको थियो ।

दोस्रो अनआन्दोलनका क्रममा काभे्रका चार युवाले ज्यान गुमाएका थिए । आन्दोलनमा नालाका भीमसेन दाहाल पोखरामा, पनौतीका सगुन ताम्राकार कलङ्कीमा, भीमखोरीका शिवहरि कुँवर बनेपामा र नागे्र गगर्चेका सुनिलकुमार लामा काठमाडौँस्थित जोरपाटीमा मारिनुभएको थियो । उक्त आन्दोलनमा जिल्लाका ४०  घाइते भएका थिए । – राजकुमार पराजुली

मंगलबार घट्यो सुनको मूल्य

काठमाडौं – सुनको मूल्य १ हजार १०० रुपैयाँले घटेको छ ।

मंगलबारको तुलनामा १ हजार १०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तोलाको एक लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको  तेजाबी सुन बुधबार प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको छ ।

चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो ।

कांग्रेसलाई राजनीतिक पार्टीको संज्ञा दिन सकिँदैन : अध्यक्ष ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई आवारा पार्टीको संज्ञा दिनुभएको छ । पार्टीले आयोजना गरेको मदन-आश्रित स्मृति दिवसमा बोल्दै अध्यक्ष ओलीले कांग्रेसलाई राजनीतिक पार्टीको संज्ञा दिन नहुने बताउनुभएको हो । 

‘देशको आर्थिक अवस्था कमजोर भएको छ । देश यस्तो अवस्थामा छ । तर इतिहास बोकेको पार्टी भोलि कहाँ पुग्ने हो थाहा छैन । देश कहाँ लाग्ने हो उसलाई थाहा छैन’, उहाँले भन्नुभयो, ‘एमाले एक्लैले देश बनाउने अभिभारा पुरा गर्छ । हामी सत्ता स्वार्थका लागि कसैसँग मिल्दैनौं । देश जनता, सुशासनका लागि, समृद्धिका लागि मिल्छौ ।’ 

अध्यक्ष ओलीले अहिलेको गठबन्धन सत्ता प्राप्तिका लागि मात्र बनेको दाबी गर्नुभएको छ । गठबन्धनलाई सरकारी गठबन्धन भन्दै उहाँले देश झनै आर्थिक समस्यामा पर्ने चिन्ता व्यक्त गर्नुभयो । 

‘देशमा राजनीतिक अराजकता भयो । सरकार जान्छ कि टिक्छ भन्नेमात्रै चिन्ता छ । देश संकटै संकटले घेरिएको छ । आर्थिक अवस्था बिथोलिएको छ । सरकार समाजलाई आफ्नो गतिमा लग्न सचेत देखिँदैन’, उहाँले भन्नुभयो, ‘एमाले यसमा गम्भीर हुनुपर्छ , गम्भीर छ ।’ 

अध्यक्ष ओलीले देशलाई समृद्धिको बाटोमा लग्न मदन भण्डारीका सपनालाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।

मदन–आश्रितको ३०औँ स्मृतिमा श्रद्धाञ्जलिसभा

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकलाई अहिले राजनीतिकरूपमा भ्रष्टाचार मुक्त बनाउनुपर्ने बताउनुभएको छ ।

मदन–आश्रितको ३०औँ स्मृति दिवसका अवसरमा पार्टीद्वारा आज आयोजित श्रद्धाञ्जलिसभामा उहाँले राजनीतिक संरक्षणमा बढ्दै गइरहेको भ्रष्टाचारले देश विकासमा अवरोध पु¥याएको बताउनुभयो । विश्वभर रक्षात्मक रहेको कम्युनिष्ट आन्दोलन तत्कालीन समयमा अग्रज नेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवादले नेपाली क्रान्तिको मौलिक सिद्धान्तलाई स्थापित गरी अन्तर्राष्ट्रिय तहमा कम्युनिष्ट विचार तथा आन्दोलनलाई उचाइमा पु¥याएको अध्यक्ष नेपालले बताउनुभयो । कुशल सङ्गठक जीवराज आश्रितले पार्टीको विधि विधान, सिद्धान्त, नीति र आदर्शअनरुप सङ्गठन निर्माणमा योगदान गरेको उहाँको भनाइ थियो ।

पार्टीका सम्मानित नेता एवम पूर्वप्रधानमन्त्री झलनाथ खनालले कम्युनिष्ट आदर्शका वैचारिक योद्धाका रूपमा मदन–आश्रितका योगदानलाई स्मरण गर्नुपर्नेमा जोड दिँदै उहाँहरूको निधनले देशको लोकतान्त्रिक आन्दोललाई ठूलो क्षति पुगेको बताउनुभयो ।

सरकारले घटनाको प्रमाण सङ्कलन गरी छानबिन तथा अनुसन्धान गर्न नसकेकाले रहस्यमय हत्याकाण्डका रूपमा लिनुपर्ने उल्लेख गर्दै उहाँले देशमा भएका आन्दोलन तथा अनेक चुनौतीका बीच सामन्त वर्गको अन्त्य गरी नेपालको जनवादी क्रान्तिलाई अगाडि बढाइएको विचार व्यक्त गर्नुभयो ।

कृषकलाई अनुदानमा उपकरण

ढोरपाटन – बागलुङको ढोरपाटन नगरपालिका कृषकलाई आधुनिक प्रविधिसँग जोड्न कृषि औजार वितरण गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रकमबाट कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि औजार उपलब्ध गराएको हो । कृषकलाई घाँस तथा पराल र छवाली काट्ने इलेक्ट्रिक चापाकटर, मिनीटेलर हलो र प्लास्टिक टनेल उपलब्ध गराएको नगरपालिकाका कृषि शाखा प्रमुख महेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

व्यक्तिगत कृषि दर्ता गरेका कृषक, सहकारी र कृषि समूहलाई यसपटक कृषि औजार उपलब्ध गराइएको अधिकारीको भनाइ छ । सत्रवटा चापाकटर, १८ वटा मिनिटेलर हलो, एक सय ४४ वटा प्लास्टिक टनेल वितरण गरेको उहाँले बताउनुभयो । सबै औजार ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको अधिकारीले बताउनुहुन्छ । कृषक र समूहले माग गरेअनुसार कृषि औजार नगरपालिकाले खरिद गरेर वितरण गरेको अधिकारीको भनाइ छ ।

उहाँले भन्नुभयो, “नगरपालिकाले कृषकलाई आवश्यक औजार माग गर्नका लागि सूचना आह्वान गरेका थियौँ, सोहीअनुसार रु तीन लााख ५० हजारको चापाकटर, साढे चार लाखको मिनीटेलर र साढे चार लाखकै प्लास्टिक टनेल वितरण भएको छ, कृषि सामग्री पाएपछि कृषक हर्षित हुनुभएको छ, यसले उहाँहरूलाई उत्पादन बढाउन मद्दत पुग्ने छ भने थप सक्रिय भएर कृषिकर्ममा लाग्न प्रेरणा मिल्ने छ ।”

कृषि औजार प्राप्त गर्नुभएका रुद्रावती कृषि सहकारी संस्थाका अध्यक्ष रेशमराज रेग्मीले नगरपालिकाले दिएको औजारले ग्रामीण क्षेत्रमा घाँस काट्न किसानलाई ठूलो मद्दत पुग्ने बताउनुभयो । उहाँले आधुनिक प्रविधिको विकाससँगै कृषिमा पनि आधुनिकीकरण हुन जरुरी रहेको भन्दै नगरपालिकाले कृषकलाई प्रविधिसँग जोड्न थालेको बताउनुभयो ।

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले कृषिमा आधुनिकीकरण गर्न कृषकलाई आधुनिक औजार वितरण गरेको बताउनुभयो । कृषि उपकरणले कृषकको समय बचत हुनुका साथै उत्पादन बढाउन टेवा पु¥याउने अपेक्षा लिएको उपप्रमुख कायतको भनाइ छ । परम्परागतरूपमा पशुपालन र खेतीपाती गर्दा परनिर्भरनै हुनुपरेको भन्दै अब हरेक कृषकलाई प्रविधिसँग जोड्ने उहाँले बताउनुभयो ।

उपप्रमुख कायतले भन्नुभयो, “हाम्रो नगरपालिकाभित्र धेरै खेतीयोग्य जमिन छन्, अहिलेसम्म कृषकले पुरानै शैलीमा कृषि गर्दा धेरै उत्पादन हुनसकेको छैन, वर्ष दिन काम गरेर छ महिना खान नपुग्ने अवस्था छ, यो अवस्था नयाँ प्रविधि नअपनाउँदा आएको हो, अब कृषकलाई आधुनिक प्रविधिसँग जोड्ने र सामान्य ज्ञान दिने, उन्नत जातका बीउबिजन वितरण गरेर कृषिबाट आत्मनिर्भर बनाउने प्रयास हामीले गरिरहेका छौँ ।”

एमालेले सत्ता स्वार्थका लागि कसैसँग गठबन्धन र एकता गर्दैन : अध्यक्ष ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता स्वार्थका लागि कसैसँग एकता र सहकार्य हुन नसक्ने स्पष्ट पार्नुभएको छ ।

बुधबार मदननगर बल्खुमा आयोजना गरिएको मदन–आश्रित स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिलेको गठबन्धन सरकार प्राप्त गर्नका लागि बनेको भन्दै एमालेले सत्ता स्वार्थका लागि कसैसँग गठबन्धन र एकता नगर्ने स्पष्ट पार्नुभएको हो ।

उहाँले अहिलेको गठबन्धन उद्देश्यहीन, गन्तव्यहीन, लक्ष्यविहीन र नीतिविहीन भएको जिकिर गर्नुभयो । ओलीले राजनीति अस्थिरता र अराजकताबाट गुज्रिरहेको अवस्थामा सरकार टिकाउने खेलमा मात्रै गठबन्धनको ध्यान केन्द्रित रहेको आरोप लगाउनुभयो । त्यस्तै अध्यक्ष ओलीले देश अप्ठेरो अवस्थामा पुग्दा पनि लामो इतिहास बोकेको काँग्रेसको भूमिका नदेखिएको भन्दै काँग्रेस पार्टीलाई राजनीतिक संज्ञा दिन पनि मन नलाग्ने अवस्थामा पुगेको बताउनुभयो ।

ओलीले एमालेले सही बिचार लिएको र सङ्गठन व्यापक भए पनि सङ्गठनात्मक सुधार आवश्यक रहेको बताउनुभयो । एकताबद्ध भएर सुदृढ प्रयास अघि बढाए अग्रज नेताहरूले छाडेर गएका अभिभाराहरूलाई पुरा गर्न सकिने बताउनुभयो ।

२०५० जेठ ३ गते दासढुंगा, चितवनमा रहस्यमय जिप दुर्घटना परी तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको दिनको सम्झनामा नेकपा एमालेले ‘मदन–आश्रित स्मृति’ कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा एमालेका नेता, कार्यकर्ता तथा शुभेच्छुकले मदननगरमा रहेको मदन भण्डारीको शालिकमा माल्यार्पण गरेका थिए ।

प्रधानमन्त्रीसँग अष्ट्रेलियाका सहायक विदेशमन्त्रीको भेटवार्ता

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सले भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा प्रधानमन्त्री दाहालले नेपालको विकास र समृद्धिमा अष्ट्रेलिया सरकार र जनताको सहयोगको निरन्तरताको अपेक्षा गर्नुभएको थियो । प्रधानमन्त्री दाहालले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको अवस्था र समस्याका बारेमा चासो व्यक्त गर्नुभयो । सो अवसरमा उहाँले अष्ट्रेलियाका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तोसमेत दिनुभएको प्रधानमन्त्रीको सचिवालले जनाएको छ ।

भेटमा नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यवसायीकरण र कृषिमा आधारित उद्योगको विकास र पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहयोगका बारेमा छलफल भएको थियो । मन्त्री वाट्सले अष्ट्रेलियामा नेपालीले राम्रो प्रभाव पारेको भन्दै उनीहरूको योगदानको प्रशंसा गर्नुभयो । उहाँले नेपालको विकास र समृद्धिको अभियानमा अष्ट्रेलिया सरकार र जनताको सहयोग निरन्तर रहने विश्वास दिलाउनुभयो ।

जिपको ठक्करबाट बालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा जिपको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ ।

हेटौँडा उपमहानगरपालिका–११ सिमलटारबाट हेटौँडातर्फ आइरहेको बागमती प्रदेश०३–००१च १५९७ नं को जिपले ठक्कर दिँदा सिमलटारका दई वर्षीय समर लोको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ठक्करबाट गम्भिर घाइते भएका उनको हेटौँडा अस्पतालमा मृत्यु भएको हो । प्रहरीले जिप चालकलाई पक्राउ गरेको छ ।

पूर्वराष्ट्रपतिद्वारा मदन भण्डारीको सालिकमा माल्यार्पण

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको सालिकमा माल्यार्पण गर्नुभएको छ । मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसका अवसरमा कोटेश्वरस्थित मदन बाटिकामा रहेको उहाँको सालिकमा पूर्वराष्ट्रपति भण्डारीले माल्यार्पण गर्नुभएको हो ।

यसैगरी पूर्वराष्ट्रपति भण्डारीले तीनकुनेस्थित मदन स्मृति उद्यानमा वृक्षरोपणसमेत गर्नुभएको छ । उद्यानमा उहाँले स्वामीको बिरुवा रोप्नुभयो । पूर्वराष्ट्रपति भण्डारीसँगै एमाले स्थायी कमिटी सदस्य अग्नि खरेलले समेत स्वामीको बिरुवा रोप्नुभयो ।

यसैगरी पूर्वराष्ट्रपति भण्डारीले महादेवस्थान नजिक रहेको मदन भण्डारी स्मृति सामुदायिक पुस्तकालयको समेत आज अवलोकन गर्नुभयो । विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटना परी तत्कालीन एमाले महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितको निधन भएको थियो ।

एमाले र नेकपा (एकीकृत समाजवादी)ले आज विभिन्न कार्यक्रम गरी ३०औँ मदन–आश्रित स्मृति दिवस मनाउँदैछन् ।

छैटौँ चेम्बर एक्स्पो बिहीबारदेखि

काठमाडौँ – निजी व्यवसायीहरूको छाता सङ्गठन नेपाल चेम्बर अफ कमर्सको आयोजनामा छैटौँ चेम्बर एक्स्पो हुने भएको छ । चेम्बरले मङ्गलबार यहाँ पत्रकार सम्मेलन गरी बिहीबारदेखि जेठ ८ गतेसम्म काठमाडौँको भृकुटीमण्डमा एक्स्पो आयोजना गर्न लागेको हो ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले एक्स्पोमा स्वदेशी उत्पादनसँगै विभिन्न अन्तर्राष्ट्रिय वस्तु राखिने जानकारी दिनुभयो । एक्स्पोमा व्यापारिक अन्तक्र्रिया, आयात–निर्यातको सूचना आदान–प्रदान एवं नेपाली वस्तुको बजारीकरणमा जोड दिइने उहाँको भनाइ छ । मुलुकभित्र आयोजना हुने अन्तर्राष्ट्रिय स्तरका व्यापार मेला तथा प्रदर्शनीले उत्पादन, उपभोक्ताको चाहना एवं बजारीकरण तथा व्यापारिक गतिविधि प्रत्यक्ष अवलोकन गर्न सकिने अध्यक्ष मल्ल बताउनुहुन्छ ।

“बाह्य व्यापारिक समुदायसँग सहकार्य गरी स्वदेशी उद्यमी व्यवसायीमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न एक्स्पो प्रभावकारी हुनेछ”, उहाँले भन्नुभयो । एक्स्पोमा नेपाली हस्तकलाका उत्पादन, घरेलु तथा खाद्यान्न सामग्री, जडीबुटीजन्य वस्तु प्रदर्शनी गरिने छ । यस्तै अटोमोबाइल, विद्युतीय सामग्री, फेसन वेयर, छालाजन्य वस्तुसमेत प्रदर्शनीमा राखिनेछन् । मेलामा नेपाललगायत भारत, पाकिस्तान, बङ्गलादेश तथा अन्य विभिन्न मुलुकमा उत्पादित सामग्रीको कक्ष राखिने छ । मुलुकको अर्थतन्त्र चलायमान बनाउन एवं गुणस्तरीय वस्तु प्रयोगमा जोड दिन र उपभोक्तालाई सचेत गराउने उद्देश्यले मेला आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

सूचना प्रविधिको प्रयोग गर्दै उल्लेख्य प्रगति हासिल गर्नुपर्छ : सभामुख घिमिरे

काठमाडौँ – सभामुख देवराज घिमिरेले नेपाल जस्तो मुलुकमा सूचना प्रविधिको प्रयोग गर्दै शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा उल्लेख्य प्रगति हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ ।

विश्व दूरसञ्चार तथा सूचना समाज दिवसका अवसरमा सूचना प्रविधिका क्षेत्रमा क्रियाशील सबैमा शुभकामना व्यक्त गर्दै सञ्चार प्रविधिको सही सदुपयोगका लागि चेतनामूलक कार्यक्रमसँगै नीतिगत व्यवस्था गर्न आवश्यकता औँल्याउनुभयो ।

“सूचना प्रविधिले विश्वलाई नै एउटा गाउँका रूपमा परिणत गरे पनि प्रविधिको उपयोगलाई विश्वासनीय, सुरक्षित र पहुँचयोग्य बनाउने चुनौती भने यथावत् छ, सूचना प्रविधिको प्रयोग गर्दै नेपालको आर्थिक विकास, समृद्धि र रोजगारी सिर्जनामा काम गर्न सम्भव छ”, उहाँले भन्नुभएको छ । विगतको दशकमा दूरसञ्चार क्षेत्रमा भएको नवीनतम प्रविधि, पूर्वाधार विकास र नीतिमा नेपालले राम्रो फड्को मारेको उल्लेख गर्दै उहाँले प्रविधिले मानव जीवनलाई सहज, सरल र समृद्ध बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ ।

सरकार, निजी क्षेत्र र गैरसरकारी संस्थाले डिजिटल प्रणालीमा सेवा प्रदान गर्दै आशाको सञ्चार गरेको महसुस गरेको बताउँदै उहाँले सरकारी सेवामा अनलाइन प्रणालीको विकास, मोबाइल बैंकिङ, इलर्निङ लगायतमा भएको प्रगतिले सेवा प्रवाहमा सहजता र समयको वचत गर्न सहयोग गरेको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, “सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट अति कम विकसित देशहरूको सशक्तीकरण’ नारासहित मनाइने दूरसञ्चार दिवसले सबै नागरिकलाई प्रविधिसँग जोडिने अवसर प्रदान गरोस् भन्ने कामना गर्दछु ।”

आज ३० औँ मदनआश्रित स्मृति दिवस मनाइँदै

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले बुधबार ३० औँ मदनआश्रित स्मृति दिवस मनाउने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय अलोकनगरमा दिवसका सन्दर्भमा भोलि जेठ ३ गते पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित नेताको उपस्थितिमा श्रद्धाञ्जलीसभालगायत कार्यक्रम गर्न लागेको हो ।

मदनआश्रितको योगदानबारे पार्टी निकट सङ्गठनले सबै जिल्लामा श्रद्धाञ्जलीसभा, खेलकुद प्रतियोगिता गर्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

तत्कालीन नेकपा ९एमाले०का महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको विसं २०५० जेठ ३ गते दासढुङ्गामा भएको दुर्घटनामा परी निधन भएको थियो ।

यसैबीच पार्टीले नक्कली शरणार्थी प्रकरणमा दोषीलाई कारबाही गर्न माग गर्दै पार्टीले देशभर जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ध्यानाकर्षण गराएको छ । उक्त घटनाको निष्पक्ष छानबिन गरी सङ्गठनिक आपराधिक गतिविधिमा संलग्न सबैलाई कडाभन्दा कडा सजाय दिएर दण्डित गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षणपत्र बुझाएको हो । पार्टीले बुधबार देशभर दबाबमूलक कार्यक्रमस्वरूप प्रदर्शन गर्ने उपमहासचिव खतिवडाले जानकारी दिनुभयो ।

नीति तथा कार्यक्रममा रोजगारीलाई प्राथमिकता दिन सुझाव

काठमाडौँ – सत्तारुढ गठनबन्धन दलका शीर्ष नेताले कृषि, पर्यटन, शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखेर सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने सुझाव दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा प्रकाशरण महतले सरकारको आगामी नीति तथा कार्यक्रम कस्तो ल्याउने भन्नेबारे सुझावका लागि आज आह्वान गर्नुभएको गठनबन्धको बैठकमा शीर्ष नेताले विदेश पलायन हुने युवालाई रोक्ने खालको नीति तथा कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएका हुन् ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र) का नेता हितराज पाण्डेले भन्नुभयो, “सरकारले नीति तथा कार्यक्रम ल्याउँदैछ, गठबन्धन दलका सबैबाट प्रधानमन्त्री र अर्थमन्त्रीले के–के विषयवस्तुमा अघि बढ्ने भनेर सुझाव माग्नुभयो, हामीले पनि त्यहीअनुसार सुझाव दिएका छौँ ।” उहाँले संसद्मा पनि सिद्धान्त र प्राथमिकताबारे सांसदले सुझाव राखिसकेको सन्दर्भ उल्लेख गर्दै बैठकमा कतिपय नेतालाई लेखेरै सुझाव दिने भन्नुभएको जानकारी दिनुभयो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बैठकमा अहिलेको अर्थव्यवस्था र मुलुकको अवस्थाको बारेमा छलफल भएको र प्रणाली सुधार हुने गरी नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । सिंहदबारमा बसेको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईलगायतका शीर्ष नेताहरूको सहभागिता थियो ।

रेमशलाई जन्मकैद हुँदा टिकापुर घटनाका दुई प्रतिवादीले पाए सफाइ

काठमाडौँ – २०७२ सालमा कैलालीको टिकापुरमा भएको हत्याकाण्डमा प्रतिवादीमध्येका दुई जना सिताराम चौधरी र गंगाराम चौधरीले सर्वोच्च अदालतबाट सफाइ पाएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले दुई जनाले सफाइ पाउने फैसला गरेको हो ।  

सर्वोच्चले  अन्य मुद्दा वा कारणबाट उनीहरुलाई थुनामा राख्न नपर्ने भए थुनामुक्त गर्न सम्बन्धित कारागार शाखा र कैलाली जिल्ला अदालतमा लेखिपठाउन आदेश दिएको छ । 

यस्तै यसअघि उच्च अदालतबाट पाँच वर्ष कैद सजाय भएका लक्ष्मण थारुको हकमा ३ वर्ष कैद हुने अदालतले ठहर गरेको छ । यो प्रकरणमा मुछिएका अन्यको हकमा भने उच्च अदालतको फैसलालाई सर्वोच्चले सदर गरेको छ । 

बयान दिन पूर्वगृहमन्त्री खाँणको आलटाल

काठमाडौं – पूर्वगृहमन्त्री बालकृष्ण खाँणले भुटानी शरणार्थी प्रकरणमा बयान दिन आलटाल गरेका छन् ।

गत बुधबार पक्राउ परेका खाणको जिल्ला सरकारी वकिलको कार्यालयमा   सोमबारबाट बयान सुरु भए पनि बयान दिन खाँडले आलटाल गरेका हुन् ।  उनी ५ दिनसम्म त बयान दिन तयारै नै भएनन् । सोमबार  पनि प्रश्न सोध्दा सोध्दै उनले पेट दुखेको गुनासो गरेपछि डेढ घन्टामै बयान स्थगित भयो ।

जिल्ला सरकारी वकिल कार्यालयका एक जना उपन्यायाधिवक्ता र काठमाडौंका मुद्दाका शाखाका डीएसपी निरञ्जनदत्त भट्टको उपस्थितिमा उनको बयान भइरहेको छ ।

खाँणले निकै सुस्त तरिकाले बयान दिइरहेका सरकारी वकिल कार्यालय कार्यालयका एक अधिकारी बताउछन्। उनको बयान हिजै सकिने तयारी गरिएको थियो , तर उनले बयानमा आलटाल गरेपछि पूर्वउपप्रधान एवं उर्जामन्त्री टोपबहादुर रायमाझीको बयान थालिएको थियो ।जिल्ला अदालतबाट तीन दिन म्याद भएसँगै रायमाझीलाई सरकारी वकिलमा लगेर बयान थालिएको थियो ।

प्राविधिक परिक्षणको काम बाँकी रहेकोले खाणको बयान ढिलो सुरु भएको जिल्ला सरकारी कार्यालय प्रमुख अच्युतमणी न्यौपानेले बताए । प्रहरीले खाणको मोबाइल बराबद गरेपनि फम्र्याट गरेको पाइएकाले रिकभर गर्न विधिविज्ञान प्रयोगशाला पठाइएको उनले बताए ।

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १३ जनामध्ये ११ जनाको बयान सकिइसकेको छ । खाण र पूर्वसभासद आङतावा शेर्पाको मात्रै बयान बाँकी छ । तर खाणले बयान दिन अलमल गर्दा अझै समय लाग्ने देखिन्छ । अबेरसम्म भएपनि बयान सक्ने सरकारी वकिल र प्रहरीको तयारी छ । सरकारी वकिलले बुधबारभित्र अनुसन्धान सकेर रायसहितको प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

सबैभन्दा असंगठित र अव्यवस्थित प्रधानमन्त्री कार्यालय नै हो : रघुजी पन्त

काठमाडौं – नेकपा एमालेका सांसद रघुजी पन्तले समितिको कामलाई योजनावद्ध ढंगले गर्न जरुरी रहेको बताउनुभएको छ ।

आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले समिति सुशासन कायम गर्ने, सुदृढीकरण गर्ने भूमिकामा रहनुपर्ने पनि बताउनुभयो।

उहाँले भन्नुभयो, ‘समितिको कामलाई योजनावद्ध ढंगले गर्न जरुरी छ। सुशासन कायम गर्ने, सुदृढीकरण गर्ने भूमिकामा हामी छौँ, समितिले खेल्ने भूमिका के हो ? सबैभन्दा असंगठित र अव्यवस्थित प्रधानमन्त्री कार्यालय नै हो, त्यो व्यवस्थित छैन। राजनीतिक अस्थिरताले प्रभावकाकरी बन्न सकेको छैन। नेपालको समिति प्रणाली अति लोकतान्त्रिक छ, त्यसले हाम्रो संवेदनशीलतामा अफ्ठ्यारो भइरहेको छ।’

अहिले सबैभन्दा असंगठित र अव्यवस्थित स्थान प्रधानमन्त्री कार्यालय रहेको उल्लेख गर्दै त्यसको व्यवस्थापन हुन जरुरी रहेको बताउनुभयो। 

प्रधानमन्त्री कार्यालय राजनीतिक अस्थिरताका कारण व्यवस्थित हुन नसकेको बताउनुभयो ।

कांग्रेसका संस्थापन इतर असन्तुष्ट समूहले सातै प्रदेशमा अलग्गै भेला

कामाडौं । नेपाली कांग्रेसका संस्थापन इतर असन्तुष्ट समूहले देशैभरी अलग्गै भेला गर्ने भएका छन् । 

संस्थापन पक्षको गतिबिधि प्रति असन्तुष्ट जनाउँदै उनीहरुले  ‘रुपान्तरण अभियान’ अन्तर्गत देशैभरी अलग भेला गर्ने भएका हुन ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मधु आचार्य,गुरुराज घिमिरे, रञ्जित कर्ण लयायतका नेताहरुले सो अलग्गै अभियानको घोषणा गरेका हुन । जसअनुसार जनकपुरवाट सुरु प्रदेश स्तरीय बैठक र भेला २९ जेठमा इटहरीमा पुगेर सकिने छ । 

आज घोषित कार्यक्रम अनुसार जेठ ११ गते जनकपुरमा मधेस प्रदेशको भेला हुनेछ भने बाग्मती प्रदेशको भेला जेठ १६ गते काठमाडौंमा हुनेछ । 

यसैगरी, गण्डकी प्रदेशको २० गते पोखरामा, लुम्बिनी प्रदेशको जेठ २२ गते दाङमा, कर्णाली प्रदेशका २४ गते सुर्खेतमा, सुदुरपश्चिम प्रदेशको भेला जेठ २६ गते धनगढीमा र कोशी प्रदेशको भेला २९ गते जेठमा हुनेछ ।

कांग्रेसलाई रुपान्तरण गर्नका लागि सो भेला आयोजना गरिन लागेको आयोजकहरुले जानकारी दिएका छन् । 

रेशम चौधरीलाई जन्म कैद, सर्वोच्च सदर गर्याे जिल्ला र उच्च अदालतको फैसला

काठमाडौं – नागरिक उन्मुमिक्त पार्टीका संस्थापक रेशम चौधरी जेलमुक्त नहुने भएका छन् । आज सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गरेसँगै चौधरीलाई जन्म कैद हुने भएकाे हाे  ।

जन्मकैदको फैसलाविरुद्ध चौधरीले सर्वोच्चमा पुनरावेदन गरेका थिए । त्यसमा आज फैसला सुनाउँदै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले चौधरीलाई सफाइ दिन इन्कार गरेको हो । सोही घटनामा जेल सजाय भोगिरहेका गंगाराम चौधरी र सीताराम चौधरीले भने सजाय पाएका छन् ।

सवारी दुर्घटना घटाउन डिजिटल बोर्ड

दाङ – सवारी दुर्घटना न्यूनीकरण गर्न तुलसीपुर उपमहानगरपालिका चार प्रमुख स्थानमा डिजिटल बोर्ड राखिएको छ । ट्राफिक नियमको पालना गराउन र यससम्बन्धी थप जानकारी गराउने उद्देश्यले तुलसीपुर बसपार्क, वीरेन्द्र चोक, गोटिखोला र जसपुरमा डिजिटल बोर्ड राखिएको हो ।

डिजिटल बोर्ड उद्घाटनमा तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले यी बोर्डले दुर्घटना न्यूनिकरण गर्न सहयोग पु¥याउने भन्दै ट्राफिक चेतनाबारे सबैमा जानकारी हुनुपर्ने बताउनुभयो ।

यस्तै राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेशका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईले अस्वस्थ प्रतिस्पर्धा र तीव्र गतिका कारण धेरै दुर्घटना हुने गरेको जानकारी गराउनुभयो । उहाँले दुर्घटना न्यूनीकरणका लागि आम नागरिकमा ट्राफिक नियमबारे जानकारी गराउनुपर्नेमा जोड दिनुभयो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं ५ र तुलसीपुरका युवा व्यवसायी विनिल केसीले डिजिटल बोर्ड राख्नका लागि आर्थिक सहयोग उपलब्ध गराउनु भएको थियो । कार्यक्रममा राष्ट्रिय यातायात महासङ्घका सल्लाहकार सुरेश हमालले दुर्घटना न्यूनीकरण गर्न यातायात व्यवसायी, मजदुर र ट्राफिक प्रहरीबीच नङ र मासुको सम्बन्ध हुनुपर्ने बताउनुभयो ।

अयाेग्य लडाकुलाइ रकम बितरण गर्न सर्वाेच्चकाे राेक

काठमाडाैं – सर्वोच्च अदालतले बहिर्गमित लडाकुलाई २–२ लाख बाँड्ने सरकारको निर्णयमा राेक लगाएकाे छ ।

सरकारकाे साे निर्णय तत्काल लागु गर्न राेक लगाउन अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अदालतले दुवै पक्षलाइ छलफलका लागि बाेलाएकाे छ ।  

सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सो आदेश दिएको हो । सरकारलाई न्यायाधीश रेग्मीको इजलासले कारण देखाऊ आदेश पनि जारी गरेको छ भने जेठ ८ गते अन्तरिम आदेशका सम्बन्धमा सुनुवाइ गर्नका लागि रिट निवेदक र सरकारी पक्षलाई सुनुवाइमा बोलाएको छ ।

सरकारको साे निर्णयविरुद्ध अधिबक्ता ज्ञानेन्द्रराज आरणनले रिट दायर गरेका थिए ।