`

१५ दिनभित्र अनलाइन टिकट लिने व्यवस्था मिलाउन सङ्घीय अस्पतालहरूलाई स्वास्थ्य मन्त्री बस्नेतको निर्देशन

काठमाडौँ – स्वास्थ्य मन्त्रालयले दुई वर्षसम्म पनि प्रयोग नभएका स्वास्थ्य उपकरणहरूलाई फिर्ता लिई आवश्यकता अनुसार अर्को अस्पतालमा पठाउने भएको छ ।

स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै कुनै अस्पतालमा दुई वर्षसम्म पनि प्रयोग नभएका वा प्रयोग हुन नसक्ने स्वास्थ्य उपकरणहरूलाई स्वास्थ्य सेवा विभागले फिर्ता लिई आवश्यकता अनुसार अर्को अस्पताललाई मन्त्रालयको सहमतिमा हस्तान्तरण गरिने जानकारी दिनुभयो ।

त्यस्तै उहाँले स्थान नभएर वा जनशक्ति नभएर पनि उपकरण खरिद गरेका अस्पताललाई स्पष्टीकरण सोधिने जानकारी दिनुभयो । अव स्वास्थ्य उपकरणहरू खरिद गर्दा न्यूनतम सेवा मापदण्डले औँल्याए अनुसारका सामाग्री मात्रै मन्त्रालयको समन्वयमा खरिद गर्ने, प्रत्येक अस्पताललाई आगामी २ वर्षको कार्ययोजना बनाएर पेश गर्न लगाउने र सो अनुसार आवश्यक उपकरण मात्रै खरिद गर्ने मन्त्री बस्नेतले बताउनुभयो । उहाँले स्वास्थ्य सेवा विभागलाई खरिद एवं वितरण प्रक्रियालाई थप व्यवस्थित गर्न र सबै अस्पतालको उपकरण जाँच गर्न निर्देशन दिएको पनि उल्लेख गर्नुभयो । मन्त्री बस्नेतले सबै सङ्घीय अस्पतालमा ओपिडी अनलाइन टिकट लिने व्यवस्था १५ दिनभित्र मिलाउन निर्देशन दिएको बताउनुभयो ।

मन्त्री बस्नेतले आफ्नो जेनेभा भ्रमणका क्रममा स्वास्थ्य क्षेत्र सम्बन्धी काम गरिरहेका विभिन्न मित्र राष्ट्रहरू दाताहरू तथा सम्बद्ध निकायहरूसँग पनि भेट गर्ने र नेपालको स्वास्थ्य क्षेत्रको विकास र विस्तार एवं सुधारका बारेमा छलफल हुने जानकारी दिनुभयो ।

किसानलाई सधैँ सिँचाइकै पिरलो

ढोरपाटन – समथर भू–भागदेखि उच्च पहाडसम्म फैलिएको बागलुङका धेरै ठाउँमा सहज सिँचाइको पहुँच छैन । सिँचाइको व्यवस्था नहुँदा खेतीयोग्य जमिन वनमाराले ढाकिएका छन् । तल्लो भेगमा सिँचाइको थोरै मात्रामा सुविधा भए पनि जिल्लाको माथिल्लो क्षेत्रमा भने आकाशे पानीकै भरमा खेतीपाती गर्नुपर्ने अवस्था छ । उच्च क्षेत्र उर्वर भए पनि सुक्खा हुँदा कम मात्रामा मात्रै उत्पादन हुन्छ । अप्ठ्यारो भौगोलिक भनावट कारण करोडौँ लागनी गरेर पनि माथिल्लो क्षेत्रमा सिँचाइको व्यवस्थापन गर्न सकिने अवस्था छैन । सिँचाइको सुविधा नहुँदा अहिले पनि बागलुङ जिल्लावासी खाद्यान्नमा परनिर्भर छन् ।

जिल्लाको उच्च क्षेत्रमा आलु, सिमी, जौँ र फापर उत्पादन हुन्छ भने तल्लो समथर क्षेत्रमा धान, गहुँ, मकै, कोदो, तरकारी र फलफूल उत्पादन हुने गरेका छन् । बागलुङको १० वटै पालिकामध्ये कुनै पालिकाको सबै ठाउँमा सिँचाइको सुविधा छैन । गलकोट, जैमिनी, बागलुङ नगरपालिकामा अलि बढी सिँचाइको सुविधा छ । तर यी पालिकाको पनि माथिल्लो इलाकामा सिँचाइको सुविधा छैन । सिँचाइ अभावका कारण यहाँका किसान आयातित खाद्यान्नमै निर्भर बन्नुपरेको छ । हरेक वर्ष सिँचाइका लागि जिल्लामा करोडौँ बजेट पर्ने त गर्छ तर त्यसले सबै ठाउँमा पुग्दैन ।

बागलुङमा ४६ हजार एक सय ४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकामा ३० हजार पाँच सय २३ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ । यसमध्ये छ हजार एक सय ४८ हेक्टर क्षेत्रफल जमिनमा मात्रै सिँचाइको सहज पहुँच पुगेको छ । खेतीयोग्य जमिनको २० दशमलव १५ प्रतिशत जमिनमा मात्रै सिँचाइको सुविधा पुगेको छ । त्यसमध्ये बाह्रै महिना सिञ्चित क्षेत्र दुई हजार सात सय ७५ हेक्टर रहेको छ । पछिल्लो समय बसाइँसराइले खेतीयोग्य जमिनसमेत बाँझिदै गएका छन् । गाउँमा प्रशस्त खेतीयोग्य जमिन भए पनि सिँचाइको सुविधा नहुँदा बाँझै राख्नुपरेको तमानखोला गाउँपालिकाका कृषक तुलबहादुर विकले बताउनुभयो ।

उहाँले बारी धेरै भए पनि उत्पादन कम हुँदा वर्षभरि खान नपुग्ने बताउनुभयो । पहिले–पहिले समयमै पानी पर्दा बाली सप्रिने र राम्रो उत्पादन भएको स्मरण गर्दै अहिले बर्खे तथा हिउँदे कुनै पनि बाली राम्रो नभएको गुनासो पोख्नुभयो । सिँचाइका लागि कुलो ल्याउनका लागि अप्ठ्यारो भूगोलका कारण समस्या परेको भन्दै आकाशे पानीको भरमा अहिलेसम्म कृषि गर्दै आएको सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “बेँसीमा खेत छैन, पानी लगाउने ठाउँ पनि कतै छैन, भएको यही पाखोबारी हो, पाखोबारीमा सिँचाइ कहाँबाट पानी लिएर गर्ने, सिँचाइ गर्ने व्यवस्था हुन्थ्यो भने खेतीपाती पनि राम्रो हुने थियो, एक वर्षभरि बारीमा दुःख ग¥यो, यहाँ उत्पादन भएकाले खान नपुगेर बजारबाट चामल, पीठो लिएर खानुपर्छ, ठाउँमात्रै भएर नहुने रैछ ।”

निसीखोलाका वीरप्रसाद उपाध्यायले खेतीयोग्य जमिनमा सिँचाइको राम्रो प्रबन्ध नहुँदा परनिर्भर बन्नुपरेको बताउनुभयो । खोलाबाट खेतसम्म ल्याउने कुलो राम्रो नहुँदा किसानलाई बाली लगाउने बेला सिँचाइकै पिरलो हुने उहाँ बताउनुहुन्छ । धान, मकै र गहुँ यस क्षेत्रमा राम्रो उत्पादन हुने भए पनि सिँचाइ अभावका कारण हरेक वर्ष उत्पादन घट्दै गएको उहाँको भनाइ छ ।

आफ्नो खेतबारी बेँसीमै भए पनि कुला तथा नहरको राम्रो व्यवस्था नहुँदा पानी लगाउने समयमा पालो पाउन गाह्रो हुने गरेको बताउनुहुन्छ ।
“यो ठाउँलाई पहिले–पहिलेका मान्छेले यस क्षेत्रको अन्नभण्डारका रूपमा लिने गर्थे, बालीनाली निकै राम्रो हुन्थ्यो, उतिबेला सिँचाइको समस्या थिएन, अहिले मान्छे बढ्दै गएपछि खेती गर्ने ठाउँ पनि बढेको छ, पहिले निर्माण गरेका कुलो अहिले साँघुरा भए”, उपाध्यायले भन्नुभयो– “साँघुरो कुलाको पानीले धेरै ठाउँ सिँचाइ गर्नुपर्ने हुँदा पुग्दैन, त्यसले गर्दा बालीले सिँचाइ पाउँदैन पानी नपाएपछि उत्पादन बढ्ने त कुरै भएन, सिँचाइलाई व्यवस्थित गर्न सके उत्पादन बढाउन समस्या हुने थिएन ।”

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङबाट चालु आर्थिक वर्षमा जिल्लाभर एक सय ३७ वटा योजना परेका छन् । यी सबै प्रदेश तथा सङ्घीय सरकारबाट अनुदानप्राप्त योजना हुन् । जिल्लाको १० वटै पालिकामा योजना परेका छन् । सबैभन्दा बढी योजना गलकोट नगरपालिकामा र सबैभन्दा कम तमानखोला गाउँपालिकामा परेका छन् । जिल्लामा सहजरूपमा सिँचाइको व्यवस्थापन गर्न सरकारले हरेक वर्ष करोडौँका योजना पार्दै आएको छ ।

यस वर्ष केन्द्र सरकारले रु सात करोड ५७ लाख र प्रदेश सरकारले रु ११ करोड ६७ लाख ३० हजार बजेट विनियोजन गरेको छ । १० वटै पालिकामा सहजरूपमा सिँचाइको व्यवस्थाप गर्ने योजनाअनुरुप काम अगाडि बढाइएको छ । जिल्लामा अधिकांश क्षेत्र पाखोबारी र केही भागमात्रै समथर भू–भाग भएको हुँदा सबै क्षेत्रमा सिँचाइको व्यवस्थापन गर्न कठिन देखिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङका निमित्त डिभिजन प्रमुख झकलमान ओझाले जानकारी दिनुभयो ।

उहाँ भन्नुहुन्छ, “यस कार्यालयबाट जिल्लाका सबै पालिकामा सिँचाइ पु¥याउन सकिने ठाउँमा काम गरिरहेका छौँ, अहिलेसम्म बागलुङ खेतीयोग्य जमिनको न्यून क्षेत्रमा मात्रै सिँचाइको पहुँच पुगेको छ, बागलुङ जिल्ला भौगोलिकरूपमा निकै विकट छ, हामीले हरेक वर्ष जनताले चाहे जति बजेट पार्न पनि सकेका छैनौँ, खेतीयोग्य जमिन धेरै ठाउँमा छरिएर रहेको हुँदा जनताले चाहेअनुसार सिँचाइको व्यवस्थापन हुनसकेको छैन, यद्यपि हामी निरन्तर लागिरहेका छौँ, हरेक वर्ष सिँचाइ हुने जग्गा बढिरहेको छ ।” रासस

अर्थतन्त्रमा निजी क्षेत्र : ३२ गुणाले बढे व्यवसाय

काठमाडौँ – नेपालको कुल गार्हस्थ्य (जीडीपी) उत्पादनमा निजी क्षेत्रको हिस्सा ८१ दशमलव ५५ प्रतिशत रहेको एक अध्ययनले देखाएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)को सहायतामा तयार पारेको अध्ययन प्रतिवेदन बिहीबार साँझ एक कार्यक्रमका बीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले सार्वजनिक गर्नुभयो । मन्त्री रिजालले औपचारिक रुपमा पहिलो पटक मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको अवस्थितीको बारेमा अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेकोमा धन्यवाद दिनुभयो ।

सन् २०१२/१३ मा निजी क्षेत्रको योगदान ८६ दशमलव ६७ प्रतिशत थियो । कोरोना महामारी, भूकम्पलगायतका कारणले अर्थतन्त्रमा समस्या देखिँदा निजी क्षेत्रको योगदान कम भएको अध्ययनले देखाएको छ । भूकम्प र कोरोना महामारीको समयमा सरकारी लगानी बढेको र निजी क्षेत्रको योगदान कम भएको देखिएको हो । प्रतिवेदन राष्ट्रिय तथ्याङ्क कार्यालयको सहयोगमा तयार पारिएको हो ।

प्रतिवेदन अनुसार पछिल्लो ३० वर्षमा अर्थतन्त्रमा निजी क्षेत्रका कम्पनी ३२ गुणाले बढेका छन् । सन् १९८३ मा कुल २८ हजार ६६० व्यवसाय सञ्चालनमा रहेकोमा सन् २०१८ मा आइपुग्दा व्यवसायको सङ्ख्या ३० गुणाले बढेर नौ लाख २३ हजार ३५६ पुगेको छ ।

रोजगारी प्रदानका हिसाबले पनि निजी क्षेत्र सबैभन्दा अगाडि देखिएको छ । निजी क्षेत्रले ८५ दशमलव छ प्रतिशत हिस्सा ओगटेको छ । जसमा कृषि, वन तथा मत्यपालन क्षेत्रमा ५७ प्रतिशत, थोक तथा खुद्रा व्यापार तथा सवारी ममर्तमा गरी १२ दशमलव पाँच प्रतिशतले रोजगारी पाएको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनुभयो ।

उहाँका अनुसार निजी क्षेत्रले करिब ५५ लाख रोजगारी उपलब्ध गराएकोमा सरकारले चार लाख २७ हजार रोजगारी उपलब्ध गराएको छ ।

कार्यक्रममा अध्यक्ष ढकालले अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रले पूर्ण क्षमतामा काम गर्नका लागि संरचनागत सुधारको आवश्यकता रहेको बताउनुभयो । साथै सरकारले पुँजीगत खर्च पनि बढाउनुपर्नेमा उहाँको जोड थियो । उहाँले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा लगानीका क्षेत्र बिस्तार, दिगो विकास, निजी सार्वजनिक क्षेत्र साझेदारीलगायतका विषय सरकारलाई सुझाव समेत दिनुभयो ।

सुदूरपश्चिम प्रदेश सरकारले आज पूर्णता पाउँछ : मुख्यमन्त्री शाह

सुदूरपश्चिम – मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारले आज पूर्णता पाउँदैछ ।

प्रदेश सरकार गठन भएको सय दिन पुगेको सन्दर्भमा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारले आज पूर्णता पाउन लागेको जानकारी दिनुभयो ।

“सत्ता गठबन्धनमा रहेका सबै दल सरकारमा सहभागी हुने विश्वास मलाई छ”, उहाँले भन्नुभयो, “आज साँझसम्म मन्त्रिपरिषद्ले पूर्णता पाइसक्छ ।” सरकारले काम गरेको सय दिनमा जनतामा सुशासन र विकासको नयाँ आशा सञ्चार भएको मुख्यमन्त्री शाहले बताउनुभयो । यो अवधिमा राजनीतिक एवं शासकीय दृष्टि र दिशानिर्देशको दृष्टिबाट सफल रहनुलाई सरकारले मुख्य उपलब्धि मानेको छ ।

यसैगरी प्रदेशको वस्तुस्थिति अध्ययन, विभिन्न विकास आयोजनाको अवलोकन र अनुगमन गरी समस्याको पहिचान तथा भावी कार्यदिशा निर्धारण, पूर्ववर्ती सरकारले ल्याएका नीति, कार्यक्रम र बजेटमा रहेका समस्या, वार्षिक विकास कार्यक्रम पहिचान छनोट तथा प्राथमिकीकरणमा अनुशासित र जवाफदेही प्रणाली स्थापनाको सुरुआत, स्थानीय तहसँग उच्चतम् समन्वय र सहकार्य गरी बजेट तर्जुमा प्रक्रियाको सुरुआतसमेत मुख्य उपलब्धि मानिएको छ ।

प्रदेशको सांस्कृतिक, धार्मिक तथा अध्यात्मिक पक्षको उजागर गर्न मानसखण्ड सम्मेलन सम्पन्न भएको, खप्तडमा अध्यात्मिक सम्मेलनको आयोजनाको पहल, प्रगति नभएका विकास आयोजनाको स्थलगत अनुगमन अध्ययन गरी सम्बन्धित निर्माण व्यवसायीलाई आयोजना शीघ्र कार्यान्वयन गर्न निर्देशन, सदाचार प्रवद्र्धन र भ्रष्टाचार न्यूनीकरण गरी सुशासन अभिवृद्धि गर्न विषेश पहलको आरम्भ, कृषि तथा ऊर्जा क्षेत्रको विकासको पहल सुरुलगायतका विषयलाई सय दिनको मुख्य उपलब्धि मानिएको छ ।

पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा र आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले पनि पत्रकारका जिज्ञासाको जवाफ दिनुभएको थियो । प्रदेशसभामा सत्ता गठबन्धन नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता खगराज भट्टले सरकारका सय दिन उपलब्धिपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सानातिना समस्याले गठबन्धनलाई कुनै असर पर्दैन, यो गठबन्धन लामो समयसम्म जानेछ ।”

गत मङ्सिरको निर्वाचनको नतिजासँगै राजनीतिक समीकरणमा भएको फेरबदलले प्रदेशसभामा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावलको नेतृत्वमा नेकपा (माओवादी केन्द्र), राप्रपा र नागरिक उन्मुक्ति पार्टी सम्मिलित प्रदेश सरकार गठन भएको थियो ।

संविधानबमोजिम एक महिनाभित्र विश्वासको मत पाउन नसकेपछि रावल मुख्यमन्त्रीबाट पदमुक्त हुनुभएको थियो । सरकार गठन गर्दा सहयोग गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत लिने समयमा भने असहयोग गर्दा रावल पदमुक्त हुनुभएको थियो । त्यसपछि राजनीतिक समीकरण पनि पुनः फेरिन पुग्दा प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह गत माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

शाह नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी)को समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको हो । संविधानबमोजिम एक महिनाभित्र प्रदेशसभाबाट उहाँले सजिलैसँग विश्वासको मत पाउनुभएको थियो ।

नीति तथा कार्यक्रम अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ – सरकारको नीति तथा कार्यक्रम अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक बस्दै छ ।

सिंहदरबारमा दिउँसो १२ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएकौ प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले ४ बजे संघीय संसदको संयुक्त बैठक सदनमा प्रस्तुत गर्दैछन्।

आज तरकारी तथा फलफूलको मूल्य यस्तो छ

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार आज ठुलो गोलभेँडा, भिण्डी र भेडे खुर्सानी प्रतिकेजी ५५ रुपैयाँ, भारतीय ठुलो गोलभेँडा ६६ रुपैयाँ ६७ पैसा, टनेल गोलभेँडा ५९ रुपैयाँ, भारतीय सानो गोलभेँडा ४० रुपैयाँ, तराई गोलभेँडा, तोरीको साग, स्कूस र तितो करेला ४५ रुपैयाँ, रातो आलु, लाम्चो फर्सी र रायोको साग ३५ रुपैयाँ, भारतीय रातो आलु २९ रुपैयाँ ५० पैसा रहेको छ ।

त्यस्तै, मुडेको रातो आलु ३६ रुपैयाँ ६७ पैसा, सेतो आलु २७ रुपैयाँ ५० पैसा, सुकेको प्याज ३४ रुपैयाँ ६७ पैसा, लोकल गाजर ७६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ६६ रुपैयाँ, ज्यापु काउली ७५ रुपैयाँ, तने बोडी ३० रुपैयाँ, मकै बोडी ५६ रुपैयाँ ६७ पैसा, मटर कोसा १३५ रुपैयाँ, राजमा घिउ सिमी र भटमासकोशा ११६ रुपैयाँ ६७ पैसा, लौका र घिरौँला ४६ रुपैयाँ ६७ पैसा, लोकल परवर ८५ रुपैयाँ रहेको छ ।

त्यसैगरी, पालूगो साग र चमसूरको साग ११६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १०० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, कुरिलो ३२५ रुपैयाँ, न्युरो, सजिवन, चुकन्दर, रातो बन्दा, ग्याठ कोबी र गान्टे मूला ७६ रुपैयाँ ६७ पैसा, सेलरी र पार्सले १८७ रुपैयाँ ५० पैसा रहेको छ । 

उता,  पुदिना १८७ रुपैयाँ ५० पैसा, सौफको साग ११५ रुपैयाँ, पुदिना १८७ रुपैयाँ ५० पैसा, गुन्द्रुक २७५ रुपैयाँ फूजी स्याउ २८३ रुपैयाँ ३३ पैसा, कागती १९० रुपैयाँ, अनार २६५ रुपैयाँ, मालदह र दसहरी आँप २३५ रुपैयाँ, हरियो अङ्गुर २१० रुपैयाँ, कालो अङ्गुर ३२५ रुपैयाँ, लोकल काक्रो ९५ रुपैयाँ, किवी र आभोकाडो ४५० रुपैयाँ तोकिएको छ ।

माओवादीले टुंग्यायो सुदूरपश्चिममा मन्त्री, आजै शपथको तयारी

धनगढी – नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीका रुपमा पठाउने प्रदेशसभा सदस्यको नाम टुग्याएको छ ।

संसदीय दलका नेता खगराज भट्टले सरकार पठाइने मन्त्रीको नाम टुग्एिको जानकारी दिए।

उनकाअनुसार कैलालीबाट निर्वाचित रमेश धामी र अछामबाट निर्वाचित झपट साउदलाई मन्त्री तथा समानुपातिक सांसद गितादेवी माललाई राज्यमन्त्री बनाउने गरी नाम टुंग्याइएको हो । धामी र साउदबीच समन्वय गरेर सामाजिक र पर्यटन मन्त्रालयमा पठाइने भट्टले जानकारी दिए । उनीहरुको शपथ ग्रहण आजै गर्ने तयारी भइरहेको छ ।

वीरगञ्जद्वारा ३६ करोड राजस्व सङ्कलन

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० को १० महिनामा रु ३६ करोड ६१ राजस्व सङ्कलन गरेको छ । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जले सो अवधिमा विभिन्न २६ शीर्षकमा राजस्व सङ्कलन गरेको हो ।

महानगरपालिकाको राजस्व शाखा प्रमुख मनोजकुमार कर्णका अनुसार चालु आवमा सम्पत्ति करबाट रु १४ करोड एक लाख, घरबहाल करबाट रु पाँच करोड ५७ लाख, व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट रु दुई करोड २१ लाख, सरकारी सम्पत्ति बहालबाट रु दुई करोड ७१ लाख, अन्य सेवा शुल्कबाट रु दुई करोड दुई लाख तथा अखेटोपहारमा लाग्ने करबाट रु दुई करोड ३६ लाख सङ्कलन भएको छ ।

यस्तै नक्सा पास दस्तुरबाट रु दुई करोड ९० लाख, सिफारिस दस्तुरबाट रु एक करोड ४३ लाख, भूमिकरबाट रु ७७ लाख, साना सवारी साधनको करबाट रु २४ लाख, बाँडफाँटबाट प्राप्त विज्ञापन करबाट रु ५३ लाख, अन्य स्रोतबाट प्राप्त बाँडफाँट नहुने रोयल्टीबाट रु ६६ लाख, परीक्षा शुल्कबाट रु ११ लाख, बहाल बिटौरी करबाट रु सात लाख तथा अन्य प्रशासनिक सेवा शुल्कबाट रु १२ लाख राजस्व सङ्कलन भएको कर्णले बताउनुभयो ।

त्यस्तै प्रशासनिक दण्ड जरिवाना र जफतबाट रु ३१ लाख, व्यक्तिगत घटना दत्र्ताबाट रु २६ लाख, नाता प्रमाणित दस्तुरबाट रु १२ लाख, र पार्किङ शुल्कबाट रु दुई लाख राजस्व सङ्कलन भएको छ । आव २०७८÷७९ को १० महिनाको अवधिमा महानगरपालिकाले विभिन्न शीर्षकमा रु ५२ करोड ४० लाख राजस्व सङ्कलन गरेको थियो । आव २०७८÷७९ सम्म घरजग्गा रजिष्ट्रेशन शुल्क महानगरपालिकाले उठाउँदै आएकामा चालु आव २०७९÷८० देखि राजस्व बाँडफाँट शीर्षकमा तीनै तहको सरकारमा राजस्व सङ्कलन हुन थालेको छ ।

घरजग्गा रजिष्ट्रेशन शीर्षकमा अघिल्लो आवमा महानगरपालिकाले रु ४७ करोड राजस्व सङ्कलन गरेकामा चालु आवमा रु २० करोडसम्म पनि सङ्कलन हुन नसक्ने अवस्था रहेको कर्ण बताउनुहुन्छ । चालु आवमा महानगरपालिकाले सम्पत्ति करको दर घटाएको, सवारी कर व्यवस्थापन सेवा शुल्क हटाएको र लामो समयसम्म जग्गाको कित्ताकाट रोकिएर नक्सापास र जग्गा कारोबार हुन नसकेकालगायत कारणले अघिल्लो आवको तुलनामा चालु आवमा राजस्व सङ्कलन घटेको उहाँले बताउनुभयो ।

ढुङ्गाले लागेर यार्सागुम्बा सङ्कलकको मृत्यु

खलङ्गा – दार्चुलामा ढुङ्गाले लागेर व्यास गाउँपालिका–१ कुन्तिमा एक यार्सागुम्बा सङ्कलकको मृत्यु भएको छ । अर्का एक सङ्कलक घाइते भएका छन् ।

यार्सागुम्बा सङ्कलनका क्रममा बिहीबार ढुङ्गाले लागेर व्यास गाउँपालिका–१ छाङरुका ४२ वर्षीय वीरसिँह ऐतवालको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । यार्सागुम्बा सङ्कलन गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले उनको टाउकोमा चोट लागेको थियो । ऐतवालको घट्नास्थलमै मृत्यु भएको उहाँले बताउनुभयो ।

सितापुल प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले घाइते पुष्कर ऐतवालको उद्धार गरेको छ । सामान्य चोट लागेका उनको घरमै प्राथमिक उपचार भइरहेको चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक प्रकाशबहादुर सिंहले जानकारी दिनुभयो ।

मिथिलाञ्चलमा आज बरसाइत पर्व मनाइँदै

जलेश्वर – पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुख समृद्धिका लागि मिथिलाञ्चलका महिलाले आज बरसाइत (बटसावित्री) पर्व मनाउँदै छन् ।

जेठ कृष्णपक्ष आमावश्याका दिन मनाइने बरसाइत पर्व नवविवाहिता र अन्य महिलाले फरक विधिअनुसार मनाउने चलन छ । नवविवाहिता महिलाले पहिलो वरसाइत (बिहेपछि आउने पहिलो पर्व) अनिवार्यरुपमा ससुराल (श्रीमान्को घर) मै मनाउनुपर्छ । बिहीबार नहायखाय (स्नान गरी सात्विक भोजन) गरेपछि लुगादेखि चुरासम्मका सबै शुङ्गार र पहिरनका सामग्री माइतबाटै पठाइन्छ ।

आज बिहानै नुहाइ रातो, पहेँलोसहित विभिन्न रङको पहिरनमा नजिकको वर (बट)को रुखमुनि बसेर नवविवाहितले आफ्ना पतिका साथ पूजा गर्दैछन् । उपलब्ध भए वर र पीपल दुवैसँगै भएको ठाउँमा वा नभए वरको रुखमुनि पीपलको हाँगा गाडेर भए पनि वर र पीपल दुवैको उपस्थितिमा पति पत्नी मिलेर पूजा गर्ने चलन छ ।

पति र पत्नीले पूजा गरिरहँदा पत्नीको भाइ छाता ओढाएर साक्षीको रुपमा उभिन्छन् । महिला पुरोहितले पर्वको मन्त्र उच्चारण गरी वरको जरामा पूजा गर्छन् । अंकुरी (पानीमा भिजाएर उमारिएको चना, मुंग र चामल) काँक्रो, केरा, स्याउ, अङ्गुर, आँप, लिची र नरिवल प्रसादको रुपमा वरको जरामा चढाएर सिन्दूरले रङ्ग्याउँछन् । प्रसाद चढाइसकेपछि बर्तालुले पतिलाई उभिन लगाएर वरको रुखमा सात फेरो पहँेलो र रातो धागोले बेर्छन् ।

आँप र कलश लिएर तीनपटक वरको रुख र पतिको परिक्रमा गर्छन् । परिक्रमा गरिरहेको बेलला बर्तालुले एकपटक वरको जरामा र अर्को पटक पतिको गोडामा जल चढाउँछन् । अग्निपुराणमा उल्लेख भएअनुसार व्रती महिला दिनभरि उपवास बसेर सावित्रीको पूजा वृक्षको मुनि बसेर गर्नुका साथसाथै अविवाहित तरुणी पनि गीत गाउँदै र लोकनाच गर्दै यस चाडलाई मनाउने गर्दथिन् ।

यस पर्वको दिनमा बिहानै विवाहित महिला उठेर नदी अथवा पोखरीमा स्नान गरी बट वृक्षमुनि सावित्रीको आराधना र अर्चना गरेर धुमधामका साथ यसलाई मनाउने गर्दछन् । विभिन्न फलफूल, अक्षता, धुप, दीपसहित विवाहित महिला गीत गाउँदै बट वृक्ष भएको ठाउँमा गएर सावित्रीको पूजा गर्दछन् । पर्वमा पार्वती, सावित्री र नागको पनि पूजा गरिन्छ । सावित्रीले मृत पति सत्यवानको पुनर्जीवनका लागि यसरी नै पूजा गरेको धार्मिक पुस्तकमा उल्लेख छ ।

दाङको देउखुरीमा दुई बस एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, दर्जनभन्दा बढी घाइते

दाङ  – दाङमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

दाङको देउखुरीमा आज बिहान दुई बस एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमका अनुसार रोल्पा रुन्टीगढी– ७ निवासी ४३ बर्षीया शोभा परियारको घटनास्थलमा नै मृत्यु भएको हो । सो दुर्घटनामा परी दर्जनभन्दा बढी घाइते हुन पुगेका छन् ।

लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका–३ फल्कापुरमा बिहान एक आपसमा ठोक्किएर सो दुर्घटना भएको हो ।

भालुवाङतर्फ जाँदै गरेका बसका चालक तुल्सीराम रामिजाल गम्भीर घाइते हुन पुगेका छन् । दुई दर्जनभन्दा बढी घाइते भएको उल्लेख गर्दै प्रहरीले ११ जनाको भने अवस्था गम्भीर रहेपछि नेपालगञ्ज लगायतका स्थानमा थप उपचारका लागि पठाएको छ । 

एमाले अध्यक्ष ओलीले स्थानीय तह कर्मचारीलाई आज प्रशिक्षण दिँदै

काठमाडौँ – स्थानीय तह कर्मचारी सङ्घले एक दिवसीय प्रशिक्षण गर्ने भएको छ । 

सङ्घले आज स्थानीय तहका कर्मचारीहरूका लागि एक दिवसीय प्रशिक्षण कार्यक्रम गर्न लागेको हो ।  राष्ट्रिय सभागृहमा आज दिउँसो २ः०० बजे हुने प्रशिक्षण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिनुहुने सङ्घका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

अध्यक्ष ओलीले ‘सुशासन (पारदर्शिता, उत्तरदायी, जबाफदेही, भ्रष्टाचारमा शून्य सहनशीलता, इमानदारता) गुणस्तरीय सेवा प्रवाह, सामाजिक सुरक्षा’ विषयमा स्थानीय तहका कर्मचारीहरूलाई एक दिवसीय प्रशिक्षण दिनुहुने कार्यक्रम रहेको सङ्घका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

लडाकु शिविर घोटालादेखि सीसीटीभी फुटेज प्रकरणसम्मको छानबिन हुनुपर्छ: शंकर पोखरेल

काठमाडौं – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणबारे निष्पक्ष रूपमा छानबिन हुनुपर्ने बताउनुभएको छ।

आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालीलाई नक्कली शरणार्थी बनाएर विदेश पठाउन खोज्नु राज्यविरुद्धको घात भएको बताउनुभयो।

महासचिव पोखरेलले निर्दोष कसैलाई फसाउने र दोषी उम्किन नदिने गरी छानबिन हुन जरुरी रहेको बताउनुभयो। उहाँले लडाकु शिविर घोटाला, बालुवाटार जग्गा प्रकरण, सीसीटीभी फुटेज प्रकरणका बारेमा पनि छानबिन गर्न माग गर्नुभयो। उहाँले भन्नुभयो, ‘नेपालीलाई नक्कली शरणार्थी बनाई विदेश पठाउन खोज्नु राज्यका विरुद्धको घात हो, गम्भीर अपराध हो।’

उहाँले भन्नुभयो, ‘नक्कली आरोप लगाउन छोडौँ, कुनै पनि विषयमा आशंका र अविश्वास छ भने छानबिन गरौँ, सबै छानबिनका लागि तयार हुनुपर्छ। शिविर घोटालाका सन्दर्भमा भएको त्यति ठूलो भ्रष्टाचार लुकाउन मिल्दैन, छानबिन गरौँ, बालुवाटार लगायत अनेकौँ प्रकारका घटनाहरुको छानबिन गरौं । राजश्वका दरहरु हेरफेर गरिकन निश्चित व्यापारिक घरानालाई पोस्ने र राज्यलाई डुबाउने सीसीटीभी फुटेज प्रकरण पनि छानबिन गरौँ, तर समाजलाई नेता र पार्टीहरु नै खराब हुन् भन्ने भाष्य खडा नगरौँ।’

महासचिव पोखरेलले देशको आर्थिक अवस्था अहिलेको स्थितिमा पुग्नुको कारण प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा जिम्मेवारी रहेको उल्लेख गर्नुभयो । उहाँले अहिलेको आर्थिक अवस्थाको जिम्मेवारी सत्ता गठबन्धनले लिनुपर्ने बताउनु भयो।

उहाँले आफ्नो पार्टी सरकारमा रहँदा राजश्व नियमति उठ्ने गरेको तर अहिले राज्शव नै उठ्न नसक्नुको कारण माग गर्नुभयो। उहाँले वैधानिक अर्थतन्त्र कमजोर पार्न अवैधानिक अर्थतन्त्रलाई प्रोत्सहीत गर्ने नीति अवलम्वन गरेकै कारणले आज नेपाल आर्थिक संकटमा फसेको दाबी गर्नुभयो।

महासचिव पोखरेलले विद्यार्थी संगठनले देशको शिक्षा प्रणाली परिवर्तनको आन्दोलन थाल्नुपर्ने बताउनु भयो।

नेपाल एयरलाइन्सले मलेसिया–भैरहवा १२ हजार सात सयमै उडाउने

काठमाडौँ – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ ।

सो अवसरमा निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर रु १२ हजार सात सय कायम गरेको छ । यो मलेसियाबाट भैरहवा उडानका लागि मात्र हो । “नेपाल एयरलाइन्सले भैरहवा–मलेसिया र मलेसिया–भैरहवा–काठमाडौँ रुटमा यही जेठ २९ देखि उडान सुरु गर्दैछ, सो अवसरमा मलेसिया–भैरहवा–काठमाडौँका लागि अत्यन्तै सस्तो शुल्कमा टिकट उपलब्ध गराएका छौँ”, निगमका प्रवक्ता रमेश पौडेलले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार मलेसिया–भैरहवाका लागि रु १२ हजार सात सय र मलेसिया–भैरहवा–काठमाडौँका लागि रु १४ हजार सात सय २० भाडादर कायम गरिएको छ । निगमले मलेसियाको जोहोरबारुबाट क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलसम्म आवतजावत गर्न निकट भविष्यमै सटल बस (यात्रु ओसार पसार गर्ने बस) को व्यवस्था गर्ने उहाँको भनाइ छ । निगमको उडान तालिकाअनुसार टिकट बुकिङ खुला भइसकेको छ ।

भैरहवाबाट हाल निगमले साताको एक उडानबाट सुरु गर्ने र बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार अन्य गन्तव्यमा समेत उडान गर्नेछ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान तदारुकताका साथ गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा निगम व्यवस्थापनले विशेष पहल गरी उडान शुरु गर्ने निर्णय गरेको निगमले जनाएको छ ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहितको टोलीले हालै गरेको मलेसिया भ्रमणमा सिभिल एभिएसन अथोरिटी मलेसियाका निर्देशकसँग मलेसियाबाट भैरहवा नियमित उडानसम्बन्धी विविध पक्षमा छलफल गरेको निगमले उल्लेख गरेको छ ।

सधैँ र सबै ठाउँमा किन्न पाइँदैन ‘रोङ मह’, गाउँपालिकाले प्रवद्र्धन गर्दै

इलाम – रोङ-६ इलामका दावा स्याङ्बोले एक सय पचास घारमा मौरी पालेका छन्। विसं २०७६ सालबाट आधुनिक मौरीपालन गर्दै आएका उनले सेरेना जातका मौरी पालेका हुन्।

पाँचवटा छुट्टाछट्टै स्थानमा करिब ४० वटाका दरले घार व्यवस्थापन गरिएको उनले बताए । उनले भने, “मौरीलाई स्याहारका लागि खटिरहनु पर्दैन ।”

उत्पादनको पाँच प्रतिशत मात्र घारका लागि खर्च गर्न सकियो भने मौरी फस्टाउने उनको भनाइ छ । एउटा घारमा सातामा एक पटक अनिवार्य पुग्नैपर्ने उनले बताए।

उनले वार्षिक दुई सयदेखि दुई सय पचास किलोसम्म मह उत्पादन गर्दै आएका छन्। घरबाट नै प्रतिकिलो रु एक हजार पाँच सयका दरले मह बिक्री हुँदै आएको छ।

मह मात्रै होइन, घारका ‘फ्रेम’ पनि रु एक हजारका दरले बिक्री गर्छन्। एक घारका लागि चार वटा फ्रेम चाहिन्छ ।

स्याङ्बाले जस्तै रोङ– ३ का प्रेमबहादुर राईले पनि ३० वटा आधुनिक घारमा मौरीपालन गरेका छन्। उनले वार्षिक करिब एक सय किलो मह उत्पादन गर्दै आएका छन्। रोङ गाउँपालिकाका धेरै स्थानमा मह उत्पादन हुन्छ ।

अधिकांश स्थानीय व्यावसायिक महबाटै आत्मनिर्भर बनेका छन् । गाउँपालिकाले मह उत्पादनमा सहयोग गर्न थालेपछि स्थानीयले मह उत्पादनलाई नै प्राथमिकता दिएका हुन् । ग्रन्द्रुक ब्राण्डिङमा सफल भएको इलामको रोङ गाउँपालिका पुनः महमा समेत एक कदम अघि बढेको हो । पछिल्लो समय ‘रोङ मह’ सधैँ र सबै ठाउँमा किन्न पाइँदैन भन्ने नारा सहित सो गाउँपालिका अघि बढेको छ ।

गाउँपालिकाले मौरीपालनलाई गाउँपालिकाको पहिचानका रुपमा स्थापित गर्न यो कार्यक्रम नै अगाडि बढाएको अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास)ले जानकारी दिए। उनका अनुसार मौरीपालन व्यवसायमा गाउँपालिकाले पहिला पनि लगानी गरेको र अब पनि प्राथमिकतामा यस व्यवसायलाई अघि बढाइने छ।

केही वर्षअघि पनि गाउँपालिकाले सुरुमा मौरीपालन व्यवसाय प्रवद्र्धनका लागि रु ११ लाख छुट्याएको थियो । अर्को वर्ष २० लाख बजेट छुट्याएर काम अगाडि बढाएको थियो । सो समय किसानलाई आधुनिक मौरीपालनको सीप सिकाउनेदेखि अनुदानमा घार वितरण गर्ने कार्यक्रम तय गरिएको थियो ।

चालु आर्थिक वर्षमा मौरीपालन र व्यावसायिकताका लागि गाउँपालिकाले रु ५० लाख रकम विनियोजन गरेको गाउँपालिकाका पशु शाखा प्रमुख तीर्थराज देवकोटाले जानकारी दिए। मौरीपालन व्यवसायलाई रोङको पहिचान बनाउन गाउँपालिकाले थप लगानी गरेर मह उत्पादनमा जोड दिइने गरिको कार्यक्रम अगाडि बढाइएको उनको भनाइ छ ।

गाउँपालिकाले मौरी विकास केन्द्र नै स्थापना गरेर मौरी पालनको विकासमा लागेको छ । मौरीले वातावरण जोगाउनका लागि राम्रो भूमिका निर्वाह गर्ने भएकाले पनि मौरी जोगाउनुपर्ने बताइएको छ । साथै मौरी रहेमा मह समेत उत्पादन गर्ने र किसानको जीविकोपार्जनमा सहयोग पु¥याउने छ ।

परागशेचनले ताकारीबाली फल्नसमेत मद्दत गर्ने भएकाले पनि मौरी जोगाउन लगानी गरेको गाउँपालिका अध्यक्ष स्याङ्बोको भनाइ छ । मौरीले विषादी सेवन गर्ने भएकाले विभिन्न रोगबाट मानिसलाई बचाउने गरेको विज्ञहरुको भनाइ छ ।

गाउँपलिकाले किटेनीबाट नजिकै पर्ने हडियामा डेढ रोपनी जग्गामा मौरी विकास केन्द्र स्थापना गरेर काम अगाडि बढाएको छ । केन्द्रमा हाल ३२ घार मौरी छन् ।

गाउँपालिकाले सो क्षेत्र मौरीमा राम्रो सम्भावना देखेर मौरीका लागि छुट्टै शाखा र स्रोतसमेत छुट्याइएको छ । साथै स्रोत व्यक्ति नै राखेर काम अगाडि बढाइएको छ ।

मौरी विज्ञका रुपमा रहेका सोही गाउँपलिकाका कुमार तामाङ गाउँपालिकाको मौरी स्रोत व्यक्तिका रुपमा राखेर सो कार्यक्रम सञ्चालन गरिरहेको छ । गाउँपालिकामा मौरीको लागि मौरी विकास शाखा छ ।

तामाङले मौरीपालनका लागि उचित क्षेत्रको छनोट, किसानको छनोट, तालिम सञ्चालन, तथा अनुदानमा घार वितरण गर्न सिफारिस गर्ने लगायतका कार्य गर्नुपर्दछ । साथै मौरीको उपचार गर्नेसम्मको जिम्मेवारी उनले पाएका छन्।

गाउँपालिकाले मौरी विकास केन्द्रबाट मह तथा मौरीका घार तथा मौरीसमेत बिक्री वितरण गर्ने र आम्दानीको स्रोत बढाउने रहेको छ।रासस

कर्जा पाउन २१३ स्टार्ट-अप उद्यम अयोग्य

काठमाडौँ – स्टार्ट–अप उद्यम कर्जाका लागि प्रस्ताव पेस गर्ने दुई सय १३ कम्पनी बाहिरिएका छन् । उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गरेका तीन सय ८२ वटा आवेदनमध्ये पहिलो चरणबाट उक्त कम्पनी बाहिरिएका हुन् ।

उद्योग विभागले स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि, २०७९ को दफा ८ बमोजिम कर्जा लिन इच्छुक स्टार्टअप उद्यम गर्ने उद्यामीलाई परियोजना प्रस्ताव पेस गर्न चैत १६ गते सूचना प्रकाशन गरेको थियो ।

प्रस्ताव पेस भएका आवेदनको प्रारम्भिक रुजु गर्दा कार्यविधिको दफा २ (झ) र ४ (१) बमोजिम कैफियतमा उल्लेख भएका आधारमा थप मूल्याङ्कनमा समावेश नभएको विभागले जनाएको छ ।

चुक्ता पुँजी रु पचास लाखभन्दा बढी भएको, उद्यमको कूल आय (आम्दानी) वार्षिक रु पचाँस लाखभन्दा बढी नभएको, स्थीर पुँजी (घर जग्गाको मूल्य बाहेक) रु दुई करोडभन्दा बढी नभएको, उद्यममा पूर्णकालीन कामदारको सङ्ख्या १० जनाभन्दा बढी नभएको हुनुपर्ने व्यवस्था गरिएको थियो ।

कार्यविधिले परियोजना धितो राखेर अधिकतम रु २५ लाखसम्मको कर्जा दिने व्यवस्था गरेको छ । कर्जा दुई किस्तामा उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ । स्टार्टअप उद्यमले सरकारी लगानीको वाणिज्य बैंकमार्फत सात वर्षका लागि कर्जा पाउनेछन् ।

यस्तो कर्जामा सावाँ भुक्तानी तीन वर्षपछि मात्रै गर्न पाइने सुविधा छ । यस्तो कर्जा प्रवाहका लागि सरकारले चालू आर्थिक वर्षमा रु २५ करोड विनियोजन गरेको थियो । सुरुआतमा देशभर रहेका १०० स्टार्टअपलाई समेट्ने गरी बजेट विनियोजन गरिएको थियो ।

तीन प्रतिशत ब्याज

स्टार्टअप उद्यमीलाई सरकारले तोकेको रु २५ लाख कर्जा उपलब्ध गराउन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था छनोट गर्नेछ । जसमा कर्जा तीन प्रतिशत ब्याजदरमा उपलब्ध हुने कार्यविधिमा उल्लेख छ ।

केन्द्रीय बैंकले नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व भएको वाणिज्य बैंकमार्फत कर्जा प्रवाहका लागि सिफारिस गर्नेछ । छनोट समितिले गरेको सिफारिसका आधारमा केन्द्रीय बैंकले दुई किस्तामा कर्जा प्रवाह गर्नका लागि बैंक तोक्नेछ । जसमा पहिलो किस्तामा स्वीकृत कर्जाको ५० प्रतिशत रकम वितरण गर्नुपर्ने हुन्छ ।

प्रधानमन्त्री प्रचण्डको जवाफ चित्तबुझ्दो भएन : याेगेश भट्टराई

काठमाडौं – नेकपा (एमाले) का सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएको जवाफ चित्तबुझ्दो नभएको टिप्पणी गर्नु भएको छ ।

बिहीबार संसद्‌मा सांसदहरूले गरेको प्रश्नहरूको जवाफ प्रधानमन्त्री प्रचण्डले चित्तबुझ्दो नदिएको भट्टराईले बताउनुभयो ।

“संसद्को प्रश्नोत्तर कार्यक्रम नै जीवन्त छैन पहिलो कुरा । प्रश्न पहिले सोधेर उत्तर पछि ल्याएरचाहिँ जीवन्त हुँदैन । प्रश्नोत्तर जीवन्त हुनुपर्छ। माननीयहरूले त्यहीँ सोध्ने र प्रधानमन्त्रीले त्यहीँ जवाफ दिने गर्नुपर्छ । त्यो कर्मकाण्डी भयो । थुप्रै कुराहरू उठेका छन्, त्यसमा प्रधानमन्त्रीको स्पष्ट जवाफ छैन,” भट्टराईले भन्नुभयो ।

त्यहीँ सवाल(जवाफ गर्न पाउने संसदीय अभ्यास नरहेको भन्दै आज उठेका सवालहरूका बारेमा फेरि पनि संवाद तथा छलफल हुनुपर्ने उहाँले बताउनुभएको छ ।

राजेन्द्र लिङ्देनको आरोप : ठुला–ठुला भ्रष्टाचारमा प्रमुख दलहरूबिच दलीय सहमति देखियो

काठमाडौँ – राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ठुला–ठुला भ्रष्टाचारमा प्रमुख दलहरूबिच दलीय सहमति देखिएको आरोप लगाउनुभएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका भ्रष्टाचार र भ्रष्टाचारी विरुद्ध बिहीबार राप्रपाले काठमाडौँमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै लिङ्दनले ठुला भ्रष्टाचारका काण्डहरूमा सबै दलका ठुला दलका नेताहरूको संलग्नता भएकै कारण जतिसुकै भ्रष्टाचार मुद्दा सार्वजनिक भए पनि टुङ्गो लाग्न नसकेको बताउनुभएको हो ।

उहाँले शरणार्थी प्रकरण पनि विदेशी चासोका कारण अनुसन्धान भएको भन्दै यसलाई पनि अनुसन्धान नै नसकी फाइल बुझाउने तयारी भइरहेको बताउनुभयो । उहाँले यस प्रकरणमा कसैलाई पनि छुट दिन नहुने र राष्ट्रघाती काम गर्ने सबैलाई कडा भन्दा कडा सजाय दिनुपर्ने माग गर्नुभयो ।

लिङ्देनले राप्रपाको नेतृत्वमा नै हिन्दु राष्ट्र र राजसंस्था पुन स्थापित गर्ने भन्दै त्यसका लागि कुनै विदेशीको आशीर्वाद र पैसा नलिने जिकिर गर्नुभयो ।

उहाँले काँग्रेस एमाले र माओवादीबाट मुलुकको आर्थिक विकास र सुशासनको कुनै सम्भावना नै नरहेको बताउनुभयो ।

नेप्से परिसूचक ३२ दशमलव ३० अङ्कले वृद्धि

काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२ दशमलव ३० अङ्कले बढेर एक हजार आठ सय ७७ दशमलब ३२ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव २३ अङ्कले उकालो लागेर तीन सय ५८ दशमलब १८ मा पुगेको छ । कारोबार भएका कूल १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । कूल ४४ लाख २२ हजार एक सय ८६ कित्ता शेयर रु एक अर्ब ४७ करोड ४७ लाख ६५ हजार तीन सय ८८ मूल्यमा खरिद बिक्री भएका छन् ।

कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु आठ करोड ६३ लाख ४८ हजार चार सय ३६ बराबरको कारोबार भएको छ । शिवम् सिमेन्ट रु सात करोड ११ लाख १० हजार चार सय ८०, एनआइसी एशिया बैंक रु छ करोड ७६ लाख ७१ हजार सात सय ७६, एभरेष्ट बैंक रु तीन करोड ५९ लाख ८४ हजार र नागरिक लगानी कोष रु तीन करोड ४५ लाख २१ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, हिमालयन ऊर्जा विकास कम्पनी र आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, शिव श्री हाइड्रोपावर आठ दशमलब १४, गणपति लघुवित्त सात दशमलब ८३ र श्वेत गङ्गा हाइड्रोपावरको शेयर मूल्य सात दशमलव शून्य चार प्रतिशतले बढेको छ ।

त्यस्तै, एनआइबीए ग्रोथ फण्ड तीन दशमलब १४, हिमालयन बैंकको ऋणपत्र एक दशमलब ९९, एनएमबी पचास एक दशमलब एक दशमलब ९६, सामुदायिक लघुवित्त एक दशमलब ९६ र किसान लघुवित्तको शेयर मूल्य एक दशमलव ९१ प्रतिशतले घटेको छ ।

पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुने

काठमाडौँ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुनेभएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आगामी असारको पहिलो सातादेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान सुरु हुने बताउनुभयो ।

नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को २४औँ राष्ट्रिय सम्मेलन तथा वार्षिक साधारणसभाका अवसरमा पर्यटनमन्त्री किरातीले यस्तो जानकारी दिनुभएको हो । “जुन २३ तारिखदेखि पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान गर्दैछौँ, हिजो मात्रै अन्तिम कुराकानी गरेका छौँ”, उहाँले भन्नुभयो ।

विसं २०७९ पुस १७ गतेदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलले सञ्चालनको पाँच महिनासम्म अन्तर्राष्ट्रिय उडान गर्न सकेको छैन । यो विमानस्थल भएर आन्तरिक उडान भइरहे पनि अन्तर्राष्ट्रियतर्फ अहिलेसम्म कुनैपनि उडान भएका छैनन् । विमानस्थल उद्घाटनका दिन नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेको हिमालय एयरलाइन्सले परीक्षण उडान गरे पनि अहिलेसम्म कुनै अन्तर्राष्ट्रिय उडान नभएको विमानस्थल कार्यालयले जनाएको छ ।

पर्यटनमन्त्री किरातीले पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान गर्ने बताउनुभए पनि कुन–कुन एयरलाइन्सका जहाजबाट उडान हुने भन्ने खुलाउनु भएन ।

जेठ २९ देखि गौतमबुद्ध विमानस्थलबाट नियमित उडान

पर्यटनमन्त्री किरातीले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने पनि जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौँ–क्लालम्पुर–भैरहवा–काठमाडौँ सेक्टरमा उडान हुने छन् । उक्त प्रयोजनका लागि टिकट बुकिङ खुलिसकेको निगमले जनाएको छ ।

पर्यटनमन्त्री किरातीले सञ्चालनमा नरहेका १८ विमानस्थलको व्यावसायिक सम्भावना हेरेर यथाशीघ्र सञ्चालन गरिने जानकारी गराउनुभयो । नेपाल वायुसेवा निगमलाई व्यावसायिक रुपमा प्रतिस्पर्धी बनाउने उद्देश्यले आन्तरिक उडानमा बजार विस्तारका लागि थप जहाज खरिद गर्न लागेको र ‘हब’ विमानस्थलमा उडान भर्नेगरी तीन थान जहाज खरिद प्रक्रिया अघि बढाइएको उहाँको भनाइ छ ।

पर्यटनमन्त्री किरातीले भ्रष्टाचारलाई निर्मूल पार्नका निम्ति नागरिक तवरबाट खबरदारी हुन जरुरी भएको उल्लेख गर्नुभयो । नेपालको पर्यटन क्षेत्रको विकास प्रवद्र्धनमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेकामा जोड दिँदै उहाँले सरकार र निजी क्षेत्रको साझेदारीलाई बढाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले समय सापेक्षा पर्यटन क्षेत्रलाई अघि बढाउन नीतिगत सुधार गरेर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

बजेटपछि ऐन निर्माणको दिशामा मन्त्रालय लाग्ने र त्यस प्रक्रियामा व्यवसायीको रायसुझाव लिइने उहाँले जानकारी दिनुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरोना महामारीपछि पर्यटन क्षेत्र पुरानै लयमा फर्केको सङ्केतले यो क्षेत्रमा उत्साह थपेको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रको दिगो विकासका लागि निजी क्षेत्र र सरकारको साझेदारी फराकिलो बनाएर पर्यटकीय पूर्वाधार विकासमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मीले पर्यटन क्षेत्रको सम्भावनालाई व्यवहारमा परिणत गर्न सबै क्षेत्रको सक्रियताको खाँचो औँल्याउनुभयो । वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले पर्यटन पूर्वाधार विकास र प्रवद्र्धनका कामसँगै अघि बढाइनुपर्ने धारणा राख्नुभयो ।

नाट्टाका अध्यक्ष रमेश थापाले कोरोनापछिको पर्यटनलाई पुरानै लयमा फर्काउन अझै केही मेहनत जरुरी रहेको बताउनुभयो । सो अवसरमा संस्थाले पर्यटन क्षेत्रमा योगदान पु¥याउने व्यवसायी शाक्यलगायत विभिन्न व्यक्तिलाई कदरपत्रद्धारा सम्मान गरेको थियो । पर्यटनमन्त्री किरातीले ती पुरस्कार प्रदान गर्नुभयो ।

सरकारको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरिने

काठमाडौँ – सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरले सो व्यहोराको पत्र पढेर सुनाउँदै भोलि दिउँसो ३ः४५ बजे सम्पूर्ण सदस्यहरुलाई निर्धारण गरिएका पोसाकमा उपस्थित भएर आसन ग्रहण गरिसक्न निर्देशन दिनुभयोे ।

प्रतिनिधि सभाको आजको बैठकमा नेपाल सरकारको वार्षिक प्रतिवेदन, २०७८÷७९ पेस भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन, आव २०७८÷७९’ पेस गर्नुभएको हो ।

प्रतिनिधि सभाको अर्को बैठक यही जेठ ५ गते साँझ ६ बजे बस्नेछ ।

संसद्मा प्रधानमन्त्रीको जवाफः एक महिनाभित्र नागरिकता समस्या समाधान गर्छाैं

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक तत्कालीन राष्ट्रपतिबाट प्रमाणीकरण नहुँदा नागरिकतासम्बन्धी समस्या समाधान हुन नसकेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा जसपाका सांसद दीपक कार्कीले बाबुले वंशजको नागरिकता पाउँदा छोराछोरीले जन्मसिद्ध नागरिकता पाएका छन्, छिटो नागरिकता दिनेगरी व्यवस्था गर्न सकिन्छ कि सकिन्न ? भनी गर्नुभएको प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले राष्ट्रपति रामचन्द्र पौडेलले यस विषयमा छलफल गरिरहनुभएकाले समस्या समाधान हुने आशा गरिएको बताउनुभयो ।

यस विषयमा छलफलका क्रममा आएको सुझाव वा सङ्कल्प प्रस्तावमार्फत प्रमाणीकरण गर्न अनुरोध गर्ने वा मन्त्रिपरिषद्बाट निर्णय गरेर प्रमाणीकरण गर्न अनुरोध गर्नसक्ने विकल्पका बारेमा पनि परामर्श जारी रहेको प्रधानमन्त्री दाहालले जानकारी दिनुभयो ।

नागरिकतासम्बन्धी उक्त विधेयक मृत भन्ने तर्कलाई लिने अवस्थामा पनि पुनःशून्यबाट सदनमा प्रक्रिया सुरु गरी एक महिनाभित्र समाधान गरिने उहाँको प्रतिबद्धता थियोे । प्रम नियुक्त हुँदा छ महिनाभित्र नागरिकता समस्या समाधान गर्ने भनी दाहालले बोल्नुभएको विषय पनि सांसदहरुले स्मरण गराउनुभएको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गरिने

त्यसैगरी, प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । दोषी कोही उम्कन नपाओस्, निर्दोष कोही नपरोस् भन्ने भावनाले सरकारले काम गरिरहेको उहाँले जानकारी गराउनुभयो ।

“स्वतन्त्र र निष्पक्षरुपमा सरकारले छानबिन गरिरहेको छ, अपराधीलाई कानुनको दायरामा ल्याउने काम भएको छ, यस विषयमा दृढतापूर्वक छानबिन गर्न गृहमन्त्रीलाई निर्देशन दिएको छु, शरणार्थी प्रकरण देशकै निम्ति गम्भीर र संवेदनशील विषय बनेकाले यसमा संलग्न कसैलाई पनि माफी दिइने छैन”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।

सांसद मेटमणि चौधरीका तर्फबाट सांसद शेरबहादुर कुँवरले नक्कली भुटानी शरणार्थी प्रकरणमा शीर्ष नेतृत्वको संलग्नता पुष्टि भए के गर्नुहुन्छ ? आर्थिक सङ्कटको समाधान कसरी गर्नुहुन्छ ? भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले गलत काम गर्ने कसैले पनि छुट नपाउने प्रतिबद्धता जनाउनुभयो ।

प्रधानमन्त्री दाहालले मौसमी प्रणालीमा आधारित कृषि रहेकाले समयमै मल, बीउ उपलब्ध गराउन कृषि मन्त्रालयलाई निर्देशन दिएको बताउनुभयो । यस वर्षको नीति कार्यक्रम र बजेटमा पनि कृषिलाई प्राथमिकता दिइने उहाँको प्रतिबद्धता छ ।

जनमत पार्टीका तर्फबाट निर्वाचित सांसद अनिता देवीले धानको बीउ छर्ने बेला भइसक्यो, मल र बीउ एकैपटक पाइन्छ कि पाइन्न ? भन्ने प्रश्नको जवाफमा प्रम दाहालले मल कारखाना खोल्नेलगायत कार्यक्रमलाई आगामी वर्ष प्राथमिकतामा राखिएको बताउनुभएको थियो ।

भ्रष्टाचारमा सरकारको शून्य सहनशीलता

प्रम दाहालले भ्रष्टाचारविरुद्ध सरकारले शून्य सहनशीलताको नीति लिएको बताउनुभएको छ । शरणार्थी प्रकरणमात्र होइन, सम्पत्ति शुद्धीकरणका ठूला घटनालगायत अन्य ठूला प्रकरणका बारेमा आवश्यक परेमा कानुन संशोधन गरेर पनि कारबाही हुने प्रतिबद्धता उहाँले जनाउनुभएको हो ।

सांसद सर्वेन्द्रनाथ शुक्लले भ्रष्टाचारविरुद्धका काम कारबाही फलदायीरुपमा अघि बढ्न सकेको छैन ? यसमा सरकारको कार्यक्रम के छ ? भन्ने प्रश्नको जवाफमा “अहिलेको अवस्थालाई सच्याउने अवसरका रुपमा सबै दल लाग्नुपर्ने अवस्थामा हामी छौँ, देशमा सुशासनका लागि यो अवसरलाई गुम्न दिनुहुन्न”, प्रम दाहालले भन्नुभयो ।

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकार तयार छ

प्रम दाहालले गिरीशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकार तयार रहेको बताउनुभएको छ । सांसद गङ्गाराम चौधरीले विसं २०७२ मा टीकापुरमा भएको आन्दोलनमा पहिचानसहितको अधिकार माग गर्दा घुसपैठ गरी हिंसा गराइएकाले न्याय भयो त ? रेशम चौधरीलगायत अन्यायमा परेका विषयमा सरकारले के गर्छ ? भनी गर्नुभएको प्रश्नमा उक्त जवाफ दिनुभएको हो ।

सर्वोच्च अदालतले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न दिएको आदेश किन कार्यान्वयन भएन ? किन बाधा, अड्चन आयो ? भनी उहाँले प्रश्न राख्नुभएको थियो । टीकापुरलगायत पहिचानका लागि भएका अन्य आन्दोलनमा संलग्न बन्दीलाई रिहा गर्न विधेयक तयार भएको जवाफ प्रधानमन्त्री दाहालले दिनुभयो । रेशम चौधरीलाई रिहा गर्न कानुनी प्रक्रियाबाट नै सरकारले काम गरिरहेको उहाँको भनाइ थियो ।

गुणस्तरीय शिक्षा प्रदान गर्न ख्वपलगायत विश्वविद्यालय विधेयक पारित हुने प्रतिबद्धता पनि प्रधानमन्त्री दाहालले जनाउनुभएको छ । सांसद प्रेम सुवालले ख्वप विश्वविद्यालय विधेयक पारित नभई कसरी ज्ञानमा आधारित समाज बन्छ ? भनी राख्नुभएको प्रश्नको उत्तरमा यस्तो जवाफ दिनुभएको हो ।

प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्रीले पहिले भारतबाटै भ्रमण गर्नुपर्ने बाध्यता नभएको स्पष्ट गर्नुभएको छ । सांसद चित्रबहादुर केसीले नेपाली प्रधानमन्त्री नियुक्त भएपछि पहिलो भ्रमण भारतबाटै गर्नुपर्ने बाध्यता के छ ? भनी गर्नुभएको प्रश्नको जवाफमा उहाँले यस्तो उत्तर दिनुभएको हो ।

प्रम दाहालले नेपाली नागरिकता त्याग्नेको तथ्याङ्क गृह मन्त्रालयले सङ्कलन गरिरहेको बताउनुभएको छ । सांसद प्रभु साहले नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिनेको सङ्ख्या कति छ ? उनीहरुको सम्पत्ति के भएको छ ? भन्ने प्रश्नको जवाफमा प्रम दाहालले नेपालबाट सम्पत्ति बेचेर विदेश लैजान नपाइने बताउनुभयो ।

गौरलगायत विभत्स हत्याकाण्ड र दरबारबार हत्याकाण्डको पनि नयाँ शिराबाट छानविन हुनुपर्छ भनी सरकार लागेको प्रधानमन्त्री दाहालले बताउनुभयो । गौर हत्याकाण्डको छानबिनमा के काम के भइरहेको छ ? भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले सो कुरा बताउनुभएको हो । मदनआश्रित हत्याकाण्डको पनि फेरि छानविन गरिनुपर्नेमा उहाँको जोड छ । सांसद अमरेशकुमार सिंहले विभिन्न भ्रष्टाचार काण्डको छानविन कहिलेदेखि सुरु हुन्छ ? नेपालीले मल, बीउ समयमै कहिले पाउँछन् ? भन्ने प्रश्नमा उहाँले यस्तो जवाफ दिनुभएको हो ।

सांसद योगेन्द्र मण्डलले छ महिनाभित्र नागरिकता दिने प्रधानमन्त्रीको भनाइमा कसरी विश्वास गर्ने ? भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले एक महिनाभित्र नागरिकता समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

पञ्चशीलका आधारमा परराष्ट्र नीति : प्रधानमन्त्री दाहाल

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको परराष्ट्र नीति पञ्चशीलका आधारमा नै हुने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सोध्नुभएको प्रश्नको जवाफमा उहाँले राष्ट्रको हितलाई ध्यानमा राखेर नेपालको परराष्ट्र नीतिलाई निरन्तता दिइने उल्लेख गर्नुभयो ।

बैठक सांसद दीलेन्द्रप्रसाद बडूले नेपालको परराष्ट्र नीति कसरी अगाडि बढाउने सरकारको योजना छ भनी प्रश्न गर्नुभएको थियो । त्यस्तै सांसद रघुजी पन्तले नेपाल–भारतबीचको १९५० सन्धि, नेपालको सीमा र भूमिको रक्षालगायत विषयमा भारत भ्रमणको क्रममा छलफल हुन्छ कि हुँदैन भनी प्रश्न गर्नुभएको थियो ।

जवाफमा प्रधानमन्त्री दाहालले भन्नुभयो, “भारत भ्रमणबारे सीमाका सम्बन्धमा हामी एक इञ्च पनि जमिन छोडदैनौँ, छिमेकीको पनि एक इञ्च पनि जमिन चाहिँदैन, यही कुरा हामी भारत भ्रमणमा गएर गछौँ, नेपालको राष्ट्रिय हित, एकतामा असर पर्ने काम हुन दिइने छैन ।”

सांसद दीपक गिरीले दाङको टरिगाउँको विमानस्थलको स्तरोन्नति कहिले हुन्छ भनी गर्नुभएको प्रश्नमा उहाँले उक्त विमानस्थल स्तरोन्नति गर्ने विषयमा सरकार गम्भीर रहेको र छिट्टै काम अघि बढाउने विश्वास दिलाउनुभयो ।

सांसद विद्या भट्टराईले मुलुकमा भ्रष्टाचार र बेतिथि बढेको, लडाकु शिविर, ललिता निवास र नक्कली भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणमा नियन्त्रण र कारबाहीका लागि सरकारको के गरिरहेको छ भन्ने प्रश्न गर्नुभएको थियो ।

जवाफमा प्रधानमन्त्री दाहालले भन्नुभयो, “भ्रष्टाचार र सङ्गठित अपराधलाई सरकारले छाड्ने छैन, नक्कली भुटानी शरणार्थीको विषय नेपालकै इज्जतको विषय बनेको छ, सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता नीति अवलम्बन गरेको छ, त्यसप्रति सरकार प्रतिबद्ध छ ।”

सांसद रामहरि खतिवडाले भूकम्पपछिको पुनःनिर्माण र पछिल्लो आर्थिक अवस्थाका बारेमा गर्नुभएको प्रश्नमा प्रधानमन्त्री दाहालले अहिले विप्रेषण र विदेशी मुद्रा सञ्चितिमा उल्लेख सुधार भएको जानकारी गराउनुभयो ।

साथै, उहाँले सार्वजनिक सेवा प्रवाहले राज्य र सरकारप्रति जनताको भरोसा बढदै गएको उल्लेख गर्दै सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिएको स्पष्ट पार्नुभयो । यस्मा परिणाम देखिने गरी काम गर्ने उहाँको प्रतिबद्धता थियो ।

प्रधानमन्त्री दाहालले भूकम्पपीडितका लागि बाँकी रहेको किस्ता रकम निर्धारित समयभित्रै वितरण गरिने जानकारी गराउनुभयो । सो अवसरमा उहाँले मुलुकमा गणतन्त्रको स्थापनापछि शिक्षा, स्वास्थ्य, साक्षारता, आर्थिक विकास, कृषिलगायत क्षेत्रमा भएका प्रगतिबारे तथ्याङक प्रस्तुत गर्नुभयो ।

एक इन्च जमिन पनि छोड्दैनौँ तर इपीजी रिपोर्ट बुझ्ने वा नबुझ्ने पछि नै थाहाँ हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतसँग सीमा समस्या समाधानका लागि पहल गर्ने बतानुभएकाे  छ  ।

बिहीबार एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा लिपुलेक लगायतका भूमि फिर्ता गर्ने र समग्र सीमा समस्या समाधानबारे कार्यसूची छ कि छैन भनेर गरेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले नेपालको राष्ट्रिय हित विपरीतका कुनै किसिमका सम्झौता नगर्ने सदनलाई विश्वास दिनुभयाे  । 

‘इपीजी रिपोर्टदेखि सीमा समस्यासँग सम्बन्धित विषयहरु र हाम्रो जमिनसँग विषयमा के कुरा प्रष्ट गरेका छौं भने हामी हाम्रो एक इन्च जमिन पनि छोड्न सक्दैनौं’, प्रधानमन्त्रीले भन्नुभयााे, ‘हामीलाई छिमेकीको एक इन्च जमिन पनि चाहिँदैन, हाम्राे एक इन्च जमिन पनि छाेड्दैनाै ।  भारत भ्रमणका क्रममा सोही मान्यताभित्र रहेर नै कुराकानी हुन्छ’  इपीजी रिपोर्ट बुझ्ने वा नबुझ्ने भन्ने बारेचाँही दाहालले अहिले भन्न नसिकने बताउनभुयाे । ‘इपीजी रिपोर्ट बुझ्ने वा नबुझ्ने र देशभित्र आएपछि के हुन्छ भन्ने कुरा भ्रमणमा गएर कुरा गरिसकेपछिको परिस्थितिमा मात्रै भन्न सकिन्छ । तर म के विश्वास दिलाउन चाहन्छु भने नेपालको राष्ट्रिय हित, राष्ट्रिय एकता, अखण्डता र स्वाधिनतामा कुनै किसिमको सम्झौता वा कुनै भ्रम पर्न दिइने छैन’, प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्री–सांसद प्रश्नोत्तर प्रारम्भ : सङ्क्रमणकालीन न्याय सरकारको प्राथमिकतामा छ

काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उत्तर दिने र सांसदले प्रश्न सोध्नेक्रम प्रारम्भ भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री दाहालले बैठकमा प्रश्नोत्तर कार्यक्रममा नियम निलम्बन गर्नुपर्ने अवस्था नमिठो लागे पनि सर्वसम्मत भएकामा खुसी लागेको बताउनुभयो ।

संसद्मा प्रश्न–उत्तर प्रारम्भ गर्न सहमति जुटाउनका लागि झण्डै दुई घण्टा समय लागेको थियो । अहिले प्रधानमन्त्री र सांसद प्रश्नोत्तरको चरण प्रारम्भ भइसकेको छ ।

प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियालाई निष्र्कषमा पु¥याउन सरकारले प्राथमिकतामा राखेको र विस्तृत शान्ति सम्झौताको मर्म र भावनाअनुरुप नै शान्ति प्रक्रियालाई पूर्णता दिने स्पष्ट पार्नुभयो ।

“शान्ति प्रक्रियाका बाँकी काम प्राथमिकताका साथ अघि बढाइनेछ, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक अध्ययनका क्रममा छ”, उहाँले भन्नुभयो, “उक्त विषयमा बृहत् राजनीतिक सहमति जुटाउनका लागिसमेत मैले प्रयास गरिरहेको छु ।”

सांसद पूर्णबहादुर घर्ती मगरले प्रधानमन्त्री दाहालसमक्ष शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय कहिले निष्कर्ष पाउँछ ? भनेर प्रश्न गर्नुभएको थियो । उक्त प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले उक्त जवाफ दिनुभएको थियो ।

त्यस्तै प्रधानमन्त्री दाहालले सरकारी विद्यालयमा गुणस्तरी शिक्षा प्रदान गर्न सरकार तयार रहेको बताउनुभएको छ । उहाँले नेपालमा रहेका युवालाई स्वदेशमै रोजगार उपलब्ध गराउन सरकारले योजना रहेको र शिक्षकको क्षमता अभिवृद्धिका लागिसमेत विभिन्न कार्यक्रम सरकारले ल्याउने स्पष्ट पार्नुभयो । सांसद ईश्वरीदेवी न्यौपानेले सरकारी शिक्षाको गुणस्तर वृद्धि गर्ने र युवालाई स्वदेशमै रोजगार दिने सरकारको योजना के छ भनेर प्रश्न गर्नुभएको थियो ।

प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा ह्रास आएर समग्र आर्थिक विकासमा समस्या भएको सबैलाई जानकारी भएको हुनाले रोजगारी सिर्जना गर्ने खालका कार्यक्रम सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले सरकारी फजुल खर्च कटौती गरी राजस्व चुहावट कडाइका साथ नियन्त्रण गर्ने कामसमेत सरकारले गरिरहेको प्रष्ट पार्नुभयो । प्रधानन्त्री दाहालले नेपालको आर्थिक उन्नतिका लागि विदेशी लगानीलाई प्रोत्साहन र स्वदेशी उद्योगलाई सहयोग गर्ने सरकारको योजना रहेकोसमेत बताउनुभयो । सांसद पद्म गिरीले सरकारको आर्थिकस्तर माथि उठाउन सरकारको योजनाबारे प्रश्न गर्नुभएको थियो ।

सांसद शिशिर खनालको लाल आयोगको प्रतिवेदन कहिले सार्वजनिक हुन्छ भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले लाल आयोगको प्रतिवेदन अहिले तत्काल सार्वजनिक नगर्न सर्वोच्च अदालतले फैसला गरेको हुनाले अदालतबाट फुकुवा हुनेबित्तिकै उक्त प्रतिवेदन खुला हुने जानकारी दिनुभयो । उहाँले विषयवस्तुको गाम्र्भीयतालाई बुझेर विश्वका अन्य देशमा पनि केही समय सार्वजनिक नगर्ने गरेको यथार्थ पनि सदनलाई जानकारी गराउनुभयो ।

उहाँले पूर्वमाओवादी लडाकुलाई राज्यकोषबाट वितरण गरिएको रकम दिएको आरोप मात्र भएको बताउनुभयो । “विस्तृत शान्ति सम्झौतामा नै लडाकुलाई क्यान्टोनमेन्ट राख्ने सहमति नै भएको थियो”, उहाँले भन्नुभयो, “त्यस विषयमा कसैले दिएको उजुरीमा मैले म दोषी ठहर भए, म आफैँ जेल जान तयार छु ।” सांसद ज्ञानेन्द्र शाहीले आठ हजार चार सय ६० अयोग्य लडाकु कहाँ भएको र किन दुई÷दुई लाख दिन लागेको भन्ने विषयमा जिज्ञासा राख्नुभएको थियो । सदनमा प्रश्नोत्तर जारी छ ।

शरणार्थी प्रकरणमा भिआइपी र भिभिआइपीहरूलाई पनि कारबाही हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा भिआइपी र भिभिआइपीहरूलाई पनि कारबाही गर्ने बताए ।

प्रतिनिधिसभामा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, दोषी कोही पनि उम्कन नपाओस्, निर्दोष कोही पनि नपरोस् भन्ने हाम्रो जोड छ। जुनसुकै तहका व्यक्ति भए पनि कानुनको दायरमा आउँछन्। भिआइपी र भिभिआइपीहरूलाई पनि कारबाही हुन्छ। यसलाई अन्तिम निष्कर्षमा पुर्‍याउछौं।

सो प्रकरणमा प्रहरीको छानबिनमा कुनै तहबाट पनि हस्तक्षेप नभएको र हुन पनि नदिने उनले प्रस्टाए।

विदेश पढ्न जाने विद्यार्थीबाट ९ महिनामा ६७ अर्ब १९ करोड रकम बाहिरियो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेश पढ्न जाने विद्यार्थीमार्फत् चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ६७ अर्ब १९ करोड रकम बाहिरिएको बताएका छन् ।

प्रतिनिधिसभामा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका क्रममा कांग्रेस सांसद ईश्वरी न्यौपानेले सोधेको प्रश्नको जवाफ दिदैँ उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘सरकारी एवं सार्वजनिक शिक्षा सुधारलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ । सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको जानकारी गराउन चाहन्छु । सबै सरकारी विद्यालयमा गुणस्तरीय र रोजगारमूलक शिक्षा प्रदान गरी स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गर्न हालको शिक्षा नीतिमा केही गुणात्मक सुधार गर्ने सरकारको धारणा रहेको छ । साथै विद्यालयको संरचनागत र भौतिक सुधारमा जोड दिइएको छु ।,शिक्षकको क्षमता विकासका कार्यक्रम संचालनमा रहेका छन् । स्थानीय तह र प्रदेश सरकारसँग प्रवभाकारी समन्वय गरी विद्यालयको अनुगमन र मूल्यांकन गरिँदै आएको छ । यस्ता कार्यलाई निरन्तरता दिई थप सुधार गरिने व्यवस्था छ ।’

भ्रष्टाचार र कमिसनको जालो तोड्न निरन्तर लागेको छु : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसन र भ्रष्टाचारको जालो तोड्न सरकार निरन्तर लागिपरेको बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) निकट प्रवास समन्वय समितिका सदस्य तथा प्रवासमा कार्यरत नेपाली बुद्धिजीवीसँग आज भएको भेटमा उहाँले भ्रष्टाचारको जालो भताभुङ्ग पार्न आफू निरन्तर लागिपरेको र यसमा नेपाली ‘डायस्पोरा’को पनि साथ चाहिएको बताउनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले कमिसन र भ्रष्टाचारको अन्त्य नगरी आर्थिक समृद्धि र देश विकास गर्ने कुरा सम्भव नरहेको उल्लेख गर्दै भ्रष्टाचार र अनियमिततामा संलग्न जोसुकै भए पनि सरकारले नछाड्ने दृढता व्यक्त गर्नुभयो ।

“प्रमाण पुग्ने दोषी जोसुकै भए पनि सरकारले छाड्दैन”, उहाँले भन्नुभयो, “अनावश्यक र सस्तो लोकप्रियताका लागि तथ्य र प्रमाणबिना सरकारले कसैलाई पनि छुँदैन ।”

उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष नपरुन् भन्नेमा सरकार सचेत रहेको बताउनुभयो । छानबिनलाई निष्कर्षमा पु¥याउन आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दह्रो साथ दिनुभएको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ ।

सो अवसरमा गृहमन्त्री श्रेष्ठलाई प्रवास समन्वय समितिले बधाई तथा शुभकामना व्यक्त गरेको थियो । भ्रष्टाचार विरोधी सरकारको कदमलाई विश्वभर रहेका नेपालीको साथ र समर्थन रहेको समितिले जनाएको छ । प्रवास समितिले ठगी, मानव तस्करी, सरकारी कागजात कीर्ते र राज्यविरुद्धको अपराध गर्नेमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको थियो ।

प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माको नेतृत्वको प्रतिनिधिमण्डलमा सहईन्चार्ज लक्ष्मण पन्त, सचिव टेकबहादुर पाठक, कार्यालय सदस्य इन्द्रराज भट्टराई, सदस्यहरू सुरेन्द्र भुसाल, मनऋषि धिताल, डा कृष्ण कुमार श्रेष्ठ, रमेश तिवारी, हर्क थापालगायतको उपस्थिति थियो ।

प्रतिनिधिसभा बैठक जारी, नियम निलम्बन प्रस्ताव पारित

काठमाडौं – प्रतिनिधिसभा बैठक सुरु भएको छ । बिहान ११ बजे डाकिए पनि दुई घण्टा ढिलो गरी बैठक सुरु भएको हो । बैठकमा नियम लिम्बनको प्रस्ताव पेस गरिएको छ । 

बिहीबारको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने कार्यक्रम छ । सोहीसँग सम्बन्धित् नियम निलम्बनसम्बन्धी प्रस्ताव पेस गरिएको हो । 

कांग्रेसका रमेश लेखकले पेस गरेको नियम निलम्बनको प्रस्तावलाई एमालेका महेश बर्ताैला र रास्पवाका सन्तोष परियारले समर्थन जनाएका छन् । उक्त प्रस्तावमा प्रधानमन्त्रीसँग बढीमा १५ जनाले प्रश्नोत्तर गर्ने पाउनेछन् । साे प्रस्ताव बैठकले पारित  गरेकाे छ । 
 

सम्पत्ति शुद्धीकरण र सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा छलफल

काठमाडौँ – सङ्घीय संसदको प्रतिनिधिसभाअन्तर्गत कानुन न्याय तथा मानव अधिकार समितिको आज सम्पन्न बैठकले आफ्नो आन्तारिक कार्यविधि सर्वसम्मतिले पारित गरेको छ ।

सिंहदरबारस्थित समितिको कार्यकक्षमा समितिका ज्येष्ठ सदस्य मङ्गलप्रसाद गुप्ताको सभापतित्वमा बसेको बैठकले उक्त कार्यविधि सर्वसम्मत पारित गरेको हो । समितिका ज्येष्ठ सदस्य एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि अर्का ज्येष्ठ सदस्य गुप्ताको सभापतित्वमा बैठक बसेको थियो ।

समितिका सबै सदस्यले बैठकमा प्रस्तुत सम्पत्ति शुद्धीकरण र सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा दफाबार छलफलका लागि तत्काल अघि बढाउन समितिले पारित गरेर पठाउनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । सो बमोमिज बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन (तेस्रो संशोधन), २०७९ माथि छलफल प्रारम्भ भएको छ ।

यही जेठ २ गते पहिलो पटक बसेको समितिको बैठकमा समितिका ज्येष्ठ सदस्य एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्क्रमणकालीन न्याय र सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण ऐन तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन विधेयक समितिमा आएकाले यसमा दफाबार छलफल गरी निष्कर्षमा पुर्‍याउनुपर्ने जानकारी गराउनुभएको थियो ।

सङ्क्रमणकालीन न्यायका सम्बन्धमा १८६ वटा संशोधन परेको छ । उक्त विषयमा अब समितिमा दफाबार छलफल प्रारम्भ भएको हो । समितिको बैठक भोलि ११ बजे पुनः बस्नेछ । दफाबार छलफललाई निरन्तरता दिइने आजको बैठकका सभापति गुप्ताले बैठकमा जानकारी गराउनुभयो ।

समितिको बैठकको कार्यविधिमा बिनासूचना निरन्तर पाँचवटा बैठकमा उपस्थित हुन नसके समितिको सदस्यबाट निष्कासन गरिनसक्ने व्यवस्था छ । तर समितिका सदस्यले बैठकमा उपस्थित हुन नसक्नाको लिखित कारण समितिका सभापतिलाई जानकारी गराउनुपर्ने व्यवस्था छ ।

भुटानी शरणार्थी प्रकरण : हज कमिटीका अध्यक्ष समशेर मियाँ पक्राउ

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् ।

प्रहरीले उनलाई आज दिउँसो सिंहदरबारबाट पक्राउ गरेको हो । नक्कली भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने गिरोहसँग अध्यक्ष मियाँको संलग्नता देखिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार शरणार्थीका नाममा ठग्ने गिरोहलाई हज समितिको प्रयोगका लागि उपलब्ध गराएको गृह मन्त्रालयको गाडी अध्यक्ष मियाँले उपलब्ध गराएका थिए । भुटानी शरणार्थी प्रकरणमा उक्त समितिको गाडी प्रयोग भएको खुलासा भएको प्रहरीले जनाएको छ ।

गृह मन्त्रालयको स्वामित्वमा रहेको बिएबी–१४०५ नम्बरको निशान पेट्रोल जिप प्रहरीले बरामद गरेको छ । पीडितहरुलाई बायोमेट्रिक गराउन र अन्तर्वार्ता दिन बोलाएर गिरोहका सदस्यहरु सो गाडीमा जाने गरेको प्रहरीको दाबी छ ।

चितवनको सौराहा र काठमाडौँको सुन्धारालगायतका ठाउँमा अन्तर्वार्ता लिन जाँदा गिरोहका सदस्यहरुले सो गाडी प्रयोग गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । इम्बोस्ड नम्बर बिएबी-१४०५ नम्बरको सो जिप गृह मन्त्रालय अन्तर्गतको नेपाल हज समितिको नाममा रहेको पाइएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान थालेपछि नेपाल हज समितिका अध्यक्ष मियाँ सम्पर्कविहीन भएका प्रहरीले जनाएको छ ।

दरबार हत्याकाण्डदेखि रविका चालक शम्भु थापाको मृत्युसम्म छानबिन हुनुपर्नेमा महेश बस्नेतको जोड

काठमाडौँ – नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले काँग्रेसका पुराना नेता उमेश गिरीले मदन भण्डारी र जिवराज आश्रितको हत्या गिरिजाप्रसाद कोइरालाको योजनामा घटाइएको बताएका उक्त विषयमा छानबिन हुनु पर्ने बताउनुभएको छ ।

सामाजिक सञ्जालमा छानबिन हुनु पर्ने अन्य गम्भीर हत्याका घटनाहरू भन्दै आधा दर्जनभन्दा बढी हत्याकाण्डको छानबिन गर्न जरुरी रहेको बताउनुभएको छ ।

उहाँले प्रचण्डले माओवादी युद्धको दौरान मृत्यु भएका १७ हजार मध्ये ५ हजारको जिम्मा आफूले लिन्छु भनेकाले त्यस्को पनि छानबिन हुनु पर्ने बताउनुभएको छ ।

उहाँले दरबार हत्या काण्ड कथित राजा वादीहरुले पूर्व युवराज दिपेन्द्र शाहलाई दोष लगाइएको भए पनि पूर्व राजा ज्ञानेन्द्र र पूर्व युवराज पारस माथि धेरैले प्रश्न उठाएको भन्दै यसको पनि छानबिन गर्नुपर्ने बताउनुभएको छ ।

बस्नेतले मधेस आन्दोलन , टिकापुर घटना,अर्जुन लामाको हत्यामा अग्नि सापकोटाको नाम, निर्मल पन्त र पुष्कर डंगोलको हत्यामा शालिकराम जमरकट्टेल लगायतको नाम आएकोले यसको पनि छानबिन हुनु पर्ने बताउनुभएको छ ।

बस्नेतले निर्मला हत्या काण्ड , सुनिता नमिता हत्या काण्ड , गौह्र हत्या काण्ड देखि पत्रकार सालिकराम पुडासैनीको आत्महत्या र रवि लामिछानेका चालक शम्भु थापाको मृत्युका विषय पनि छानबिन हुनु पर्ने बताउनुभएको हो ।

हेर्नुहोस् बस्नेतको स्ट्याटस जस्ताको तस्तै :-

छानबिन हुनु पर्ने अन्य गम्भिर हत्याका घटनाहरु ।

१) काँग्रेसका पुराना नेता उमेश गिरीले मदन भण्डारी र जिवराज आश्रितको हत्या गिरिजा प्रसाद कोइरालाको योजनामा भएको बताएका छन।

२) माओबादी युद्धको दौरान मृत्यु भएका १७ हजार मध्ये ५ हजारको जिम्मा आफुले लिन्छु भनेका छन ।

३) २०५८ जेष्ठ १९ मा भएको दरवार हत्या काण्ड कथित राजा बादीहरुले पूर्व युवराज दिपेन्द्र शाहलाई दोष लगाइएको भएपनि पूर्व राजा ज्ञानेन्द्र र पूर्व युवराज पारस माथि धेरैले प्रश्न उठाएका छन ।

४) मधेस आन्दोलन , टिकापुर घटना लगायत धेरै हत्या प्रकरणहरु सतहमा आएका छन । सो क्षेत्रका ठुला नेता मुछिएका छन ।

५) अर्जुन लामाको हत्यामा अग्नि सापकोटाको नाम, निर्मल पंन्त र पुष्कर डंगोलको हत्यामा शालिकराम जमरकट्टेल लगायतको नाम आएको छ ।

६) निर्मला हत्या काण्ड , सुनिता नमिता हत्या काण्ड , गौह्र हत्या काण्डका अपराधिहरुलाई नि कार्बाही गर्नु पर्ने छ ।

७) पत्रकार सालिकराम पुडासैनि र शम्भु थापाको मृतु बिषय पनि छनबिन हुनु पर्दछ ।

तनहुँमा भालुको आक्रमणबाट एकजना घाइते

डुम्रे – तनहुँको व्यास नगरपालिकाका भालुको आक्रमणबाट एकजना घाइते भएका छन् । घाइते हुनेमा व्यास–८ मलपौरेका ३५ वर्षीय गोरे विक रहेका छन् ।

आज बिहान पाँच बजे घर नजिकैको मकै बारीमा मकै खान आएको भालु धपाउन जाँदा भालुले विकमाथि आक्रमण गरेको हो । आक्रमण लगत्तै भालु भागेको थियो  । घाइते विकको स्थानीयवासीले तत्काल उद्धार गरी रिस्तीस्थित स्वास्थ्य चौकी लगिएको थियो । 

विकलाई थप उपचारका लागि दमौली अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भालुले चिथोर्दा उनको दाहिने आँखाको माथिल्लो भागमा घाउ भएको छ ।

काभ्रेपलाञ्चोकबाट उच्च रक्तचाप नियन्त्रण राष्ट्रिय अभियान आरम्भ

काभ्रेपलाञ्चोक – विश्व उच्च रक्तचाप दिवसको अवसर पारी सरकारले उच्च रक्तचाप नियन्त्रण राष्ट्रिय अभियान काभ्रेपलाञ्चोकबाट आरम्भ गरेको छ । 

विश्व स्वास्थ्य सङ्गठन(डब्लुएचओ)को सहयोगमा अभियानको नमुना अभ्यास कार्यक्रम यहाँबाट थालिएको हो । 

बाग्मती प्रदेशको काभ्रेपलाञ्चोकमा लागू गरिएको उक्त अभियान कार्यक्रम सफल भए अन्य जिल्लामा क्रमशः लागू गर्दै जाने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

‘काभ्रेपलाञ्चोक उच्च रक्तचाप हेरचाह व्यवस्थापन पहल’ नाम दिएर बुधवार धुलिखेलमा कार्यक्रमको आयोजना गरी अभियान सुरु गरिएको हो । 

कार्यक्मअन्तर्गत पहिला स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम दिएर गाउँ गाउँमा ‘हाइपरटेन्सन’का बिरामीको स्क्रिनिङ गरी उपचारका लागि स्वास्थ्य संस्थामा ल्याइने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले जानकारी दिनुभयो । 

“काभ्रेपलाञ्चोकमा लागू गरिएको अभियान कार्यक्रम सफल भए अन्य जिल्लामा क्रमशः लागू गर्दै जान्छौँ”, उहाँले भन्नुभयो । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का डा ग्याम्पो दार्जेले नमुनाका लागि देशमै पहिलो पटक काभ्रेपलाञ्चोकबाट यो कार्यक्रम लागू गरिएको बताउनुभयो । उहाँले हाइपरटेन्सन नियन्त्रण कार्यक्रमलाई गम्भीरतापूर्वक लिनसमेत आग्रह गर्नुभएको छ । 

प्रदेश स्वास्थ्य मन्त्रालयको नसर्ने रोग महाशाखा प्रमुख डा फणीन्द्रप्रसाद बडालका अनुसार अभियानअन्तर्गत जिल्लाका स्थानीय सरकारले निरन्तरताको जिम्मेवारी लिनुपर्ने छ । काभ्रेपलाञ्चोक उच्च रक्तचाप नियन्त्रण अभियान सञ्चालन गर्न आवश्यक औषधिको व्यवस्था भइसकेको छ । बिरामीको अवस्था हेरि तीन थरीका औषधि निःशुल्क वितरण हुने जनाइएको छ । 

स्वास्थ्य कार्यालयका प्रमुख डा पुरुषोत्तम सेढाईले काभ्रेको कूल जनसङ्ख्याको ३० हजारभन्दा बढी नागरिकमा उच्च रक्तचापको समस्या रहेको जानकारी दिनुभयो । उहाँका अनुसार हाल जिल्लामा १८ वर्षमाथिका ५१ हजार दुई सय ८१ जनामा उच्च रक्तचापको समस्या छ । यसमध्ये सबैभन्दा बढी बनेपा नगरपालिकामा नौ हजार चार सय ८२ उच्च रक्तचापका बिरामी छन् ।   जिल्लाको १३ स्थानीय तहमा उच्च रक्तचाप नियन्त्रणका कार्यक्रम सञ्चालन गरिएका छन् । रासस

मनास्लु र अन्नपूर्णलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने

लमजुङ – गोरखाको उत्तरी क्षेत्र मनास्लु र अन्नपूर्ण क्षेत्रलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने भएको छ ।

पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) र गोरखा तथा लमजुङका चार स्थानीय तहबीच नयाँ पदमार्ग निर्माण गर्ने समझदारी भएको हो । लमजुङको दोर्दी गाउँपालिकामा बुधबार भएको छलफलमा गोरखाको अजिरकोट गाउँपालिका र लमजुङका दूधपोखरी, दोर्दी र मस्र्याङ्दी गाउँपालिकालाई जोड्ने गरी ‘बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेल’ निर्माण गर्ने सम्झौता भएको टानका द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङले जानकारी दिनुभयो ।

सम्झौतापत्रमा टानका अध्यक्ष नीलहरि बाँस्तोला, अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटा, दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी, मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ र दूधपोखरी गाउँपालिकाका अध्यक्ष धनप्रसाद गुरुङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार उक्त पदमार्ग निर्माणका लागि प्रत्येक स्थानीय तहले आवश्यक वजेट विनियोजन गर्ने र त्यसको प्राविधिक तथा प्रवद्र्धनात्मक संयोजन टान गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको टानका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामचन्द्र सेढाईले जानकारी दिनुभयो ।

सम्झौतासँगै अब नयाँ पदमार्गको खोजी गरी प्रोफाइल तयार गर्ने, पदमार्ग विकासका लागि योजना तयार गर्ने, योजना तथा डिपिआर तयार गर्ने, नयाँ पदमार्गको प्रवद्र्धनका लागि ब्रोसियर, वृत्तचित्र र पर्यटन पदयात्रा नक्सा तयार गरी शुभारम्भ गरिनेछ । विगत ४५ वर्षदेखि पर्वतीय पर्यटन क्षेत्रमा काम गर्दै आएको टानले यसअघि धादिङको रुविभ्याली तथा गोरखाका चुमभ्यालीको समेत नयाँ पदमार्ग खोजेर पर्यटन प्रवद्र्धन गरिसकेको छ ।

कार्यक्रममा दोर्दी गाउँपालिकाका अध्यक्ष अधिकारीले टानसँगको समन्वयनमा लमजुङ तथा गोरखाका उत्तरी गाउँपालिकासँग सहकार्य गरेर तत्काल काम सुरु गर्ने बताउनुभयो । उहाँले पदमार्ग पूर्वाधार विकासका लागि प्रदेश तथा केन्द्रीय सरकारसँग समेत हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अजिरकोट गाउँपालिकाका प्रमुख देवकोटाले अजिरकोटको भच्चेक बजारलाई नयाँ पदमार्गको प्रवेशद्वार तथा हिल स्टेशनका रुपमा विकास गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो । मस्याङ्दी गाउँपालिकाका अध्यक्ष गुरुङले नयाँ पदमार्गलाई छिमेकी जिल्ला मनाङसँग जोड्ने गरी सहकार्य गरिने बताउनुभयो । दूधपोखरी गाउँपालिकाका अध्यक्ष धनप्रसाद गुरुङले राइनासकोटलाई नयाँ पदमार्गसँग जोड्नका लागि राइनास नगरपालिकासँग सहकार्य गरिने उल्लेख गर्नुभयो ।

नयाँ पदमार्गभित्र अजिरकोट, नागेपोखरी, दूधपोखरी, लिपे लेक, मेमे पोखरी, बराहपोखरी, ठूलागीताललगायत प्राकृतिक तथा सांस्कृतिक क्षेत्र पर्दछन् ।

शरणार्थी प्रकरणमा तथ्यले दोषी देख्छ भने जो कोही पनि दण्डित हुनै पर्छ : प्रदीप ज्ञवाली

काठमाडौँ – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नक्कली शरणार्थी प्रकरणमा नाम जोडिएकालाई एमालेले कारबाही गरे पनी नेपाली काँग्रेसले संरक्षण गरेको बताएका छन् ।

आज प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘नक्कली शरणार्थीमा तथ्यले दोषी देख्छ भने जो कोही पनि दण्डित हुनै पर्छ किनभने यो सानो ठगी, अपराध मात्रै होइन, नागरिकलाई अनागरिक बनाएर बाहिर पठाउने भन्ने हो, हाम्रो हिजोसम्म सचिव रहनुभएको साथी जोडिनुभयो, उहाँ दोषी हो कि निर्दोष हो, भोलि छानबिनले बताउँला, छानबिनलाई सजिलो होस् भन्नका निमित्त हामीले निलम्बन गर्‍यौं, तर, अर्को पार्टीले संरक्षण नै गरिराखेको छ ।’

शरणार्थी प्रकरणमा जुन हदसम्म प्रमाणले पुष्टि गर्छ, जो आएपनि कारबाही हुनुपर्ने उनले बताए ।

सहकारीका सात सय बचतकर्ताले प्रहरीमा कागजात बुझाए

महेन्द्रनगर – कञ्चनपुरको महेन्द्रनगरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ता सम्बन्धित कागजातसहित जिल्ला प्रहरी कार्यालय पुगेका छन् ।

जिल्ला प्रहरी कार्यालयले सो सहकारीमा ठगी, रकम फिर्ता नभएको, रकम हिनामिनालगायतको विषयमा जाहेरी दरखास्त पेश गर्न बचतकर्तालाई सार्वजनिकरुपमै आह्वान गरेपछि उनीहरु जिल्ला प्रहरी कार्यालय पुगेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले मङ्गलबार र बुधबार गरी सात सय ३७ बचतकर्ताले प्रहरीमा सम्बन्धित कागजात बुझाएको जानकारी दिनुभयो ।

“यो सहकारीका बिषयमा केन्द्रीय अनुसन्धान ब्युरोले पनि छानबिन गर्दैछ”, उहाँले भन्नुभयो, “कञ्चनपुरमा पनि प्रहरीले जाहेरी लिएर अनुसन्धान अघि बढाउने भएकाले कागजात विवरण पेश गर्न भनेका हौँ ।”

जिल्ला प्रहरी कार्यालयको मूल गेटमा कागजात बुझाउने बचतकर्ताको बुधबारदेखि भीडभाड छ । प्रहरीका अनुसार उक्त सहकारीले महेन्द्रनगर शाखाबाट मात्रै रु २६ करोड निक्षेप सङ्कलन गरेको देखिएको छ । गत माघयता सहकारी सञ्चालक सम्र्पक बाहिर रहेका छन् । सहकारीले यहाँ सञ्चालन गरेको मार्टसमेत कर्मचारीले बन्द गरेका छन् ।

“यहाँ मार्टबाहेक अन्य घर जग्गा कारोबारमा लगानी भएको पनि देखिएन”, एसपी थापाले भन्नुभयो, “अब कागजात जम्मा पारेर सहकारी ठगीमा मुद्दा दायर गरेर अनुसन्धान अगाडि बढाउँछौँ ।” प्रहरीमा बचतकर्ताले फेसबुक, रकम जम्मा गरेका कागजात र नागरिकताको प्रतिलिपिलगायतका कागजात पेश गरिरहेका छन् । यहाँ गत माघको तेस्रो साता लगानी डुब्ने चिन्ताले बचत रकम फिर्ता माग्दै बचतकर्ता आन्दोलित भएका थिए ।

उक्त संस्थामा दैनिक बचत, फिक्स बचतकर्तादेखि ठूलो रकम सेयर लगानी गरेका ग्राहकले आफ्नो लगानी डुब्न लागेको भन्दै रकम फिर्ता माग्न पहल गरिदिन आग्रह गर्दै आएका छन् ।

नेकपा एसले आज काठमाडौंमा शरणार्थी प्रकरणविरुद्ध प्रदर्शन गर्दै

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा नेकपा एकीकृत समाजवादीले आज विरोध प्रदर्शन गर्ने भएको छ ।

बिहिबार दिउँसो ३ बजे माइतीघर मण्डलामा नेकपा एसले प्रदर्शन गर्न लागेको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

हिजो बुधबार मात्र नेकपा एसले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सो प्रकरणको छानबिन गर्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको थियो ।

राप्रपाले आज भ्रष्टाचारविरुद्ध विरोध सभा गर्दै

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज भ्रष्टाचारविरुद्ध विरोध सभा गर्ने भएको छ ।

बिहिबार दिउँसो राप्रपाले वसन्तपुरमा विरोध सभा गर्ने भएको हो । विरोध सभालाई पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सम्बोधन गर्नेछन् ।

एमाले केन्द्रीय स्कुल विभागले आगामी असारदेखि नियमित स्कुल सञ्चालन गर्ने 

काठमाडौं – नेकपा (एमाले)केन्द्रीय स्कुल विभागले आगामी असारदेखि नियमित स्कुल सञ्चालन गर्ने भएको छ । 

पार्टीका उपमहासचिव तथा विभागका प्रमुख प्रदीप ज्ञवालीको अध्यक्षतामा मङ्गलबार बसेको विभागको बैठकले स्कुल सञ्चालन गर्ने निर्णय गरेको हो । 

बैठकले आधारभूत तहमा वैचारिक प्रशिक्षणका लागि पाठ्य सामग्री तयार गर्ने निर्णय पनि गरेको केन्द्रीय सदस्य तथा स्कुल विभागका सचिव पेम्वा लामाले बताउनुभयो । 

पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान)का क्रममा कार्यकर्तालाई राजनीतिक तथा वैचारिक प्रशिक्षणको आवश्यकता महसुस गरी पार्टीको गत बैशाख २८ देखि ३० गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकले उच्च, मध्यम र आधारभूत तहको प्रशिक्षण चलाउने र त्यसका लागि स्कुल विभागले पाठ्यक्रम बनाउने निर्णय गरेको थियो । 

स्कुल विभागको बैठकमा यही बैशाख ११ र १२ गते हुने स्थानीय तहका प्रमुख तथा उपप्रमुखको कार्यशालाको तयारीका विषयमा पनि छलफल भएको छ । विभागले उक्त कार्यशालाको सहजीकरण गर्दै छ । 

स्थानीय तहमा बजेट निर्माणको समय भएकाले कार्यशालामा बजेटका प्राथमिकता निर्धारणका विषयमा विज्ञहरूबाट प्रशिक्षण दिइने छ । काठमाडौंमा हुने कार्यशालामा पार्टीबाट निर्वाचित पालिका प्रमुख तथा उपप्रमुखको सहभागिता रहने छ । 

स्कुल विभागले गत बर्षदेखि नै स्कुल (प्रशिक्षण)सञ्चालन गर्दै आएको छ । 

संसदीय निर्वाचन र पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुटका कारण रोकिएको स्कुल असारदेखि पुनः सञ्चालन गर्न लागिएको हो ।