`

लिलाधर घिमिरे छपिया जनता कलेजमा नेविसंघको प्यानल नै विजयी

रुपन्देही – नेपाल विद्यार्थी संघ (नेविसंघ) लिलाधर घिमिरे छपिया जनता कलेजमा प्यानल नै विजयी भएको छ ।

आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघले उक्त कलेजमा प्यानल नै जित हात पारेको हो । 

सभापतिमा अभिषेक कुमार यादव, सचिव मुकेश नाउ, कोषाध्यक्ष विजयालक्ष्मी रानाभाट तथा सदस्यहरुमा निराजन गुराव, सरिता मल्लाह, दिपेन्द्र थारु र आशिष जैसवाल विजयी भएका हुन् । 
 

डोटीमा क्रान्तिकारीले मतपेटिका फुटाएपछि स्ववियु निर्वाचन स्थगित, एक जना पक्राउ

​​​​​डोटी । डोटी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपा विप्लव निकट विद्यार्थीले मतपेटिका फुटाएपछि मतदान स्थगित गरिएको निर्वाचन अधिकृत हर्कबहादुर्र कँडेलले जानकारी दिए।

उनले मत पेटिकालगायत अन्य सामग्री तोडफोड भएकाले मतदान गर्न गराउन सम्भव नभएको बताए।

मतदाताको परिचयपत्रसमबन्धी सामान्य विवाद भइरहेकै समयमा केहि व्यक्ति भित्र प्रवेश गरी मतपेटिका तोडफोड  गरेका थिए । निर्वाचन करिब ७५ प्रतिसत सम्पन्न भइसकेको निर्वाचन समितिले जनाएको छ ।

डोटी बहुमुखी क्याम्पसमा विद्यार्थी संख्या ८०९ रहेको छ।

निर्वाचन समितिले सूचना जारी गर्दै केही अराजक व्यक्तिले मतपेटिका तथा अन्य सामग्री तोडफोड गरेका कारण निर्वाचन स्थगित भएको जानकारी दिएको छ । 

निर्वाचन हार्ने भएपछि अनेरास्ववियु लगायतका संगठनहरुले अराजक कार्य गरेको नेपाल विद्यार्थी संघले आरोप लगायको छ । अहिले नेपाल विद्यार्थी संघका नेता तथा विद्यार्थीले सुरक्षा कमजोरका कारण घटना घटेको भन्दै जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै नाराबाजी गरिरहेको छ ।

सेयर बजार ६.९० अंकले ओरालो

काठमाडौं – साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा ओरालो लागेको  छ । आइतबार नेप्से सूचक ६.९० अंकले घटेर १९२६.९० विन्दुमा आएर रोकिएको छ । १ अर्बभन्दा बढीको सेयर कारोबार भएको छ । 

यस्तै, सेन्सेटिभ इन्डेक्सम १.५२ अकले घटेर ३६३.२६ बिन्दुमा आएको छ । आइतबार  ३१ लाख ६३ हजार ३८९ कित्ता  सेयर किनबेच भएको छ ।
मानुसी लघुवित्त बित्तीय संस्था, युनिक नेपाल लघुवित्त र शुवम पावरको १०  प्रतिशतले मूल्यवृद्धि भएको छ । यी कम्पनीहरुले सर्वाधिक कमाएको छ ।

यता,  हिमालय डिस्टिलरीको सर्वाधिक सेयर कारोबार भएको छ । यसको ६ करोड १० लाखभन्दा बढीको कारोबार भएको छ । यता शुभम सिमेन्टको करिब ४ करोडको कारोबार भएको छ । आइतबार  १३ उपसूचकहरूमा ५ कम्पनीको मुल्यमा सामान्य वृद्धि भएको छ भने बाँकी सबै कम्पनी राताम्मै भएको छ ।

एमालेकाे सरकारसँग माग : मलको अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता गर्नु

काठमाडौं – नेकपा एमालेले रासायनिक मलको अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले रासायनिक मलको अनुदान कटौती गर्ने सरकारको निर्णय किसान मार्ने गरी आएको उल्लेख गर्नुभयो । उहाँले उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गर्नुभयो ।

आज पार्टीको कृषि तथा पशुपंक्षी विकास विभागद्वारा ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलन बोल्दै उहाँले नेपाली किसानहरुको संरक्षण र प्रोत्साहनका लागि रासायनिक मलको मूल्य घटाउन र अनुदान वृद्धि गर्न पनि सरकारलाई सचेत गराउनु भयो।

महासचिव पोखरेलले अन्तराष्ट्रिय बजारमा रासायनिक मलको मूल्य घटिरहेका बेला नेपालमा किन वृद्धि गर्नु पर्‍यो भनेर सरकारलाई प्रश्न समेत गर्नुभयो ।

महासचिव पोखरेलले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको भाउ घटिरहेको बेलामा अहिलेको सरकारले जसरी मूल्य वृद्धि गर्ने काम गरेको छ। यो अत्यन्तै अनुचित छ। जबकी हाम्रो पार्टी सरकारमा रहेका बेला अर्थ मन्त्रालयको तर्फबाट रासायनिक मल आयातका लागि राज्यका तर्फबाट अनुदान वृद्धि गर्ने कुरा पनि भएको थियो।

आर्थिक संकटका बेला पनि अर्थ मन्त्रालयले रासायनिक मल आयात गर्नका लागि पर्याप्त मात्रामा उपलब्ध गराउने निर्णय गरेको थियो । यस्तो अवस्थामा यो सरकारलाई के बाध्यता आइलाग्यो ? जसले किसानलाई कृषि क्षेत्रबाट विस्थापित गर्ने योजना ल्याएर मलको अस्वभाविक मूल्य वृद्धि गर्ने काम गर्‍यो। त्यो सर्वथा अनुचित छ।’

सबै दलको समर्थनमा विश्वासको मत पाउँछु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुले सबै दलको समर्थनमा विश्वासको मत पाउने बताउनुभएको छ ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले आफुले सत प्रतिशत सांसदको विश्वासको मत पाउने बताउनुभएको हो । यसअघि आफुले विश्वासको मतमा ९९ दशमलव २५ प्रतिशत आशा गरे पनि अहिले सत प्रतिशत सांसदको विश्वासको मत पाउने अवस्था बनेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ ।

प्रधानमन्त्री प्रचण्डले सोमबार दिउँसो १ विश्वासको मत लिने

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि (सोमबार) दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने हुनभएको छ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्डले भोलि दिउँसो १ बजे प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम तय भएको जानकारी दिनुभयो।

पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले सोही महिनाको २६ गते विश्वासको मत लिनुभएको थियो । त्यतिबेला प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको नेकपा एमाले सरकारलाई दिएको समर्थनसहित सरकारबाट बाहिरिएपछि प्रचण्ड पुनस्विश्वासको मत लिन लाग्नुभएको हो ।

स्ववियु निर्वाचन : शंकरदेव क्याम्पसमा फर्जी मतदान गर्ने नेविसंघ इकाइ अध्यक्षसहित १० जना पक्राउ

काठमाडौं –  काठमाडौंको शंकरदेव क्याम्पसबाट स्वतन्त्र विद्यार्थी संघकाे निर्वाचनमा  फर्जी मतदान गर्न जाने १० जना पक्राउ परेका छन् ।

क्याम्पसभित्र जवरजस्ती फर्जी परिचयपत्र लिएर मतदान गर्न जान खोज्ने नेपाल विद्यार्थी संघ (नेविसंघ)का १० कार्यकर्तालाई प्रहरी पक्राउ गरेको हो ।

नक्कली परिचयपत्र बोकेर भोट हाल्न जान लागेपछि प्रहरीले गेटबाटै पक्राउ गरेको काठमाडौंका प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीले बताउनुभयाे ।

आज देशभर त्रिवि अन्तर्गतका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी संघ स्ववियुको मतदान भइरहेको छ ।

रवि लामिछानेविरुद्ध राहदानीसम्बन्धी कसुरमा मुद्दा चलाउनु नपर्ने सरकारी वकिल कार्यालयको ठहर

काठमाडौं – जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले रवि लामिछानेविरुद्ध राहदानीसम्बन्धी कसुरमा मुद्दा चलाउनु नपर्ने ठहर गरेको छ ।

जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेका अनुसार लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा नचलाउने निर्णय गर्दै त्यहाँबाट उच्च सरकारी वकिल कार्यालय पाटनमा पत्र पठाइएको हो ।

गएको बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंले लामिछानेविरुद्धको राहदानी दुरुपयोगसम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । लामिछानेले आफू अमेरिकी नागरिक रहँदा–रहँदै नेपाली राहदानी लिए पनि त्यसको दुरुपयोग नगरेको जिकिर गरेको प्रतिवेदनमा उल्लेख छ ।

लामिछानेले अमेरिकी नागरिक रहँदै नेपाली राहदानी लिनुमा कुनै बदनियत नरहेको र नेपाली नागरिकता कायमै रहेको अनुमान गरी राहदानी प्राप्त गरेको प्रहरीले तयार पारेको प्रतिवेदनमा जिकिर गरिएको छ ।

प्रहरीले लामिछानेविरुद्ध राहदानीसम्बन्धी कसुरमा कुनै मुद्दा दायर गर्नु नपर्ने ठहर गर्दै सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सोही अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलका तर्फबाट पनि मुद्दा दायर गर्नु नपर्ने ठहर गरिएको हो ।

सत्य निरुपण तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन विधेयक संसदमा पेस

काठमाडौं – संसदमा बेपत्ता पारिएका व्यक्तिकको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ पेस गरिएको छ । 

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको तर्फबाट सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले उक्त विधेयक पेस गरेकी हुन् । 

सांसदद्वय ज्ञानबहादुर शाही र प्रेम सुवालले राखेको विरोधको सूचनालाई बैठकले अस्वीकृत गरेपछि मन्त्री शर्माले उक्त विधेयक पेस गरेकी हुन् । 
 

ज्ञानबहादुर शाहीले भने : विधि र नीतिभन्दा बाहिर मान्छे मार्ने विधेयक ल्याएर कार्यान्वयन गर्न मिल्दैन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले विधि र नीतिभन्दा बाहिर मान्छे मार्ने विधेयक ल्याएर कार्यान्वयन गर्न नमिल्ने बताएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताए । उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक फौजदारी अपराधलाई मिलापत्र गर्न मिल्दैन भन्ने विधिशास्त्रको सिद्धान्त विपरित भएको बताएका छन् ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि विरोधको सूचना राख्दै विधेयक संविधान विपरित भएको भन्दै उनले विधेयकले पीडकलाई उन्मुक्ति दिने र पीडितलाई मिलापत्रको वहानामा अलपत्र छाड्ने जिकिर गरे ।

“विधि र नीतिभन्दा बाहिर मान्छे मार्ने विधेयक ल्याएर कार्यान्वयन गर्न सकिदैन,” उनले भने, “महान्याधीवक्तालाई मानवअधिकारको गम्भीर उल्लंघनको घटनामा कम सजाय माग गर्ने र दिनेखालका असीमित अधिकार दिन खोजिएको छ । जुन पाकृतिक न्यायको सिद्धान्त विपरित छ ।”

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानुनलाई अघि बढाउन सबै दलले साथ दिनुपर्छ : माधव नेपाल

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानुनलाई अघि बढाउन सबै दलले साथ दिनुपर्ने बताएका छन् ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सम्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धी विधेयकमा धेरै लामो समयदेखि चर्चा चल्दै आएकाले अव शान्ति प्रक्रियालाई टुङ्गोमा पुराउन सबै दलहरूले साथ दिनुपर्ने बताएका हुन् ।

यस विषयमा यसअघि नै दलहरूबिच सहमति भइरहेको र अहिले पनि प्रतिपक्षी दलमा पनि विपत्ति नरहेको उनको भनाइ छ । अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि प्रतिपक्षीमा बस्न सकिने भएकाले सबै दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा राम्रो हुने धारणा राखे ।

सरकारले चितवनको क्रिकेट स्टेडियम बनाउनु पर्छ : रघुजी पन्त

काठमाडौँ – नेकपा एमालेका सांसद रघुजी पन्तले चिवनमा क्रिकेट स्डेडियम बनाउन सरकारलाई आग्रह गरेका छन्।

संसदकै शून्य समयमा उनले धुमुस सुन्तलीले बनाउन थालेर पूरा गर्न नसकेको चितवनको क्रिकेट स्टेडियम सरकाले जिम्मा लिएर अघि बढाउनु पर्ने बताएका छन्।

‘सरकारले विजेता टोलीलाई एक दुई लाख रुपैयाँ पुरस्कार घोषणा गरेर मात्र काम चल्दैन,’ उनले भने, ‘त्यो चिवतनको स्टेडियम त्यत्तिकै थन्किएर बसेको छ वेवारिसे भएर, त्यसलाई सरकारले तुरुन्त लिनु प¥यो र निर्माण सम्पन्न गर्नुपर्‍यो ।’

पन्तले त्रिभुवन विश्वविद्यालयसँग समझदारी गरेर कीर्तिपुरको क्रिकेट स्टेडियमलाई विस्तार गर्न र मुलपानीको क्रिकेट स्टेडियम बनाउन पनि माग गरे ।

रामचन्द्र पौडेलले सांसद पद सदस्य परित्यागको प्रतिनिधिसभालाई जानकारी

काठमाडौं – राष्ट्रपतिमा निर्वाचित भएपछि रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यबाट पद परित्याग गरेको संसदलाई जानकारी गराइएको छ । 

प्रतिनिधिसभाको जारी बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य पदबाट राजनीनामा दिएकाले प्रतिनिसभा सदस्यमा एक पद रिक्त भएको जानकारी गराएका हुन् । 
 

नवनिर्वाचित उपराष्ट्रपति यादवको शपथ भोली बिहान १० बजे

काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिने हुनुभएकाे छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहणको कार्यक्रम तय भएको छ ।

यादव यही चैत ३ मा उपराष्ट्रपति पदनमा निर्वाचित हुनुभएकाे थियाे । निर्वाचनमा यादवले ३० हजार ३२८ मतभारप्राप्त गर्नुभएकाे थियाे । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल यही चैत ४ मा सकिएको छ ।

निर्वाचन आयोगले राष्ट्रपति पौडेलसमक्ष उपराष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन आज दिउँसो बुझाउँदैछ ।

एमाले सचेतक बर्तौलाको प्रश्न : ‘यो सरकार कसको हो ? कसको लागि काम गरिरहेको छ ?’

काठमाडौँ – नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकार कसको भनी प्रश्न गरेका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले किसानले समयमै मल नपाएको, भूमिहीनले जग्गा नपाएको, युवाले रोजगारी नपाएको भन्दै उनले यस्तो प्रश्न गरेका हुन् ।

उनले भने, ‘यो सरकार कसको हो ? यो सरकार कसको लागि काम गरिरहेको छ ?’

रसायनिक मलमा अनुदान कटौती भएकोमा उनले असन्तुष्टि जनाए । ‘किसानहरुलाई एक बोरा मलसमेत समयमै उपलब्ध गराउन नसक्ने सरकारले मलमा दिँदै आएको अनुदान कटौती गरेको छ । यो अन्याय कहिलेसम्म भोग्नुपर्ने हो ?’ उनको प्रश्न छ ।

एकीकृत समाजवादीको महासचिवमा घनश्याम भूसाल मनोनित 

काठमाडौँ – एकीकृत समाजवादीको महासचिवमा घनश्याम भूसाल मनोनित भएका छन् ।

आइतबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो । यस्तै महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष मनोनयन गरिएको छ ।

सरकारमा सहभागी हुने रास्वपाको निर्णय

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत कायम राख्ने निर्णय गरेको छ ।

आज बसेको पार्टी संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले सो निर्णय लिएको हो ।

पार्टी सरकारमा सहभागी हुने विषयमा पनि लचक देखिएको छ ।

काँग्रेसले सरकारमा मन्त्री पठाउन चार मापदण्ड तोक्यो

काठमाडौँ – नेपाली काँग्रेसले सरकारमा मन्त्री पठाउन चार मापदण्ड तोकेको छ।

आज बिहान बसेको कार्यसम्पादन समितिको बैठकले सरकारमा सहभागी हुने निर्णय गर्दै मन्त्रीको टुंगो लगाउन मापदण्ड तोकेको हो । मन्त्री टुंगो लगाउँदा योग्यता, योगदान, समावेशीता र प्रादेशिक सन्तुलनका आधारमा टुंगो लगाउने निर्णय भएको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

उनले भने, ‘प्रधानमन्त्रीले भोलि विश्वासको मत दिएपछि सरकारमा जाने प्रक्रिया अघि बढ्छ। हामीले कति मन्त्रालय पाउँछौँ भन्ने गठबन्धन दलहरुबीच आन्तरिक छलफल भइरहेको छ। नेतृत्व तहले मोटामोटी गृहकार्य गरिरहेकै अनुसार हुन्छ। त्यसका लागि योग्यता, समावेशिता र प्रादेशिक सन्तुलनलाई पनि ध्यान दिएर पार्टी नेतृत्वले निर्णय गर्छ।’


प्रचण्ड नेतृत्वको सरकारले संविधानको रक्षा, समृद्धि, स्थिरतालाई केन्द्रमा राखेर काम गर्ने प्रवक्ता महतले दाबी गरेका छन्।

स्ववियु निर्वाचन : सिद्धार्थ बहुमुखी क्याम्पसबाट अनेरास्ववियुका सन्जोग थापा विजयी

काठमाडौँ – स्याङ्जाको सिद्धार्थ बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिमा अनेरास्ववियुका सन्जोग थापा निर्वाचित भएका छन् ।


आइतबार भएको स्ववियु निर्वाचनमा थापाले ११ मतले पराजित गर्दै निर्वाचित भएका हुन् । निर्वाचनमा अनेरास्ववियुको थापाले ५१ र नेविसंघका अधिकारीले ४० मत प्राप्त गरेका छन् ।

स्ववियुको सभापतिसहित प्रत्यक्षतर्फ अनुरास्ववियु प्यानल निर्वाचित भएको हो । सचिवमा कुसुम ढकाल, सदस्यहरूमा अमिशा सुनार र कविता गुरुङ निर्वाचित भएका हुन् ।

प्रि-ओपन सेसन नेप्सेमा झिनो अंकले ओरालाे

काठमाडौं – प्रि-ओपन सेसनमा आइतबार नेप्सेमा झिनो अंकले ओरालो लागेको छ ।

नेप्से सूचकमा ०.०८ अंकले ओरालो लागेर १९३३.२३ विन्दुमा आएको छ । यो सेसनमा ९ कम्पनीको कुल ४०२ कित्ता सेयर कारोबार हुँदा २ लाख ३ हजार ७८९ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ४ वटा कम्पनीको भाउ बढेको छ भने ५ वटैको मूल्य घटेको छ । 

यता १३ उपसुचकहरु मध्ये २ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ४ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।
 

स्ववियु निर्वाचनको मतदान सुरु,केहीमा स्थगित

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका देशभरिका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान जारी छ ।

देशभरिका ६० आङ्गिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आज बिहान ८ बजेदेखि मतदान सुरु भएको थियो त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले मतदान दिउँसो ४ बजेसम्म हुने जानकारी दिनुभयो ।

चौध वर्षपछि हुन थालेको स्ववियु निर्वाचनमा विद्यार्थी उत्साही भएर मतदान प्रक्रियामा सहभागी भएका छन् । बिहानैदेखि विद्यार्थी लाइनबद्ध भएर मतदानमा सहभागी भएका छन् । प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ देखियता नियमित हुनसकेको छैन ।

उपत्यकाका क्याम्पसमा त्रिवि केन्द्रीय क्याम्पस, नेपाल ल क्याम्पस, सररस्वती क्याम्पस, महेन्द्ररत्न बहुमुखी क्याम्पस, थापाथली इञ्जीनियरिङ क्याम्पस, पुल्चोक इञ्जीनियरिङ क्याम्पस, पद्मकन्या बहुमुखी क्याम्पसलगायत अधिकांश क्याम्पस मतदान सुरु भएको उहाँले जानकारी दिनुभयो । मतदानका लागि सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ ।

अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् ।

सरकारले विश्वविद्यालयमा अध्ययरत विद्यार्थी र तिनले आन्दोलनमार्फत गरेका सहमति कार्यन्वयन गर्न, क्याम्पस तथा विश्वविद्यालयको नीति निर्माण र कार्यन्वयनमा विद्यार्थी प्रतिनिधित्व सुनिश्चित गर्न, क्याम्पसमा शैक्षिक वातावरण कायम गर्न र विद्यार्थीको चौतर्फी विकासका लागि स्ववियु निर्वाचन गर्दै आइरहेको छ ।

यी क्याम्पसमा स्ववियु निर्वाचन रोकिए

उपत्यका सबैजसो क्याम्पसमा मतदान भइरहे पनि देशभरिका ६२ आङ्गिक क्याम्पसमध्ये १३ क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ ।

विद्यार्थी सङ्गठनबीच विवाद हुँदा उपत्यकाका केही क्याम्पससहित निर्वाचन प्रक्रिया रोकिएको छ । उपत्यकामा आरआर क्याम्पस, अमृत साइन्स क्याम्पस, पाटन संयुक्त क्याम्पस, नेपाल कमर्स क्याम्पस र विश्वभाषा क्याम्पसमा निर्वाचन प्रक्रिया अबरुद्ध रहेको छ । नेपाल कमर्स क्याम्पसमा हिजो अन्तिम समयमा आएर निर्वाचन रोकिएको हो ।

यस्तै सबैभन्दा धेरै विद्यार्थी भएको पोखराको पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इञ्जीनियरिङ क्याम्पस, पोखरा वन क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, धवलागिरि बहुमुखी क्याम्पस बागलुङ र सिद्धनाथ साइन्स बहुमुखी क्याम्पस निर्वाचन प्रक्रिया रोकिएको छ । यस्तै त्रिचन्द्र क्याम्पसमा यही चैत ९ गतेका लागि तोकिएको छ ।

राष्ट्रपति पौडेलले गरे कुमारी दर्शन

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँको वसन्तपुरस्थित कुमारी घर पुगेर जीवित देवी कुमारीको दर्शन गर्नुभएको छ ।

शनिबार वसन्तपुरस्थित कुमारी घर पुग्नुभएका राष्ट्रपति पौडेलले कुमारीको दर्शन गरी प्रसाद ग्रहण गर्नुभएको थियो । राष्ट्रपतिलाई कुमारी घरका अध्यक्ष गौतमरत्न शाक्य, प्रतिनिधिसभा सदस्य सपना राजभण्डारी, प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यलगायतले कुमारी घरमा स्वागत गर्नुभएको थियो ।

राष्ट्रप्रमुख भएपछि जीवित देवी कुमारीको दर्शन गर्न जाने परम्पराअनुसार राष्ट्रपति पौडेल दर्शन गर्न जानुभएको हो । राष्ट्रपति पौडेल कुमारीको दर्शन गर्न जाँदा सडक खाली नगरी जानुभएको थियो ।

यसअघि शनिबार नै कुमारी घरको प्रतिनिधिमण्डलले राष्ट्रपति निवास शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई बधाई दिएको थियो । कुमारी घरमा हरेक महिनाको दशमीको दिन जीवित देवी कुमारीको पूजा हुने र एकादशीका दिन राष्ट्रप्रमुखसमक्ष सो पूजाको प्रसाद पुर्‍याउने परम्परा छ ।

अछाममा बालिकालाई करणीको आरोपमा एक जना पक्राउ

अछाम – अछाममा बालिका करणीको आरोपमा एक जना पक्राउ परेका छन्।

शुक्रबार राति जिल्लाको साँफेबगरस्थित एक होटलमा  बाजुराकी १७ वर्षीया बालिका माथि जबरजस्ती करणी भएको हो। 

करणी गरेको आरोपमा प्रहरीले ३० बर्षिय एक पुरुषलाई नियन्त्रणमा लिएको  छ। घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश बिष्टले बताए।

घटनाको अनुसन्धान भइरहेकोले प्रहरीले पीडकको नाम भने खुलाइएको छैन।

सरकारलाई दिएको समर्थन के गर्ने भन्नेबारे निधो गर्दै रास्वपा

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई कायम राखेको विश्वासको मतबारे आइतबारको बैठकमा निर्णय लिने भएको छ । 
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले विश्वासको मत लिने भएपछि आइतबार बैठक बसेर यसबारे निर्णय गर्ने तयारी रास्वपाले गरेको हो । 

रास्वपा १० पुसमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको थियो । तर सभापति रवि लामिछानेको नागरिकता प्रकरणपछि रास्वपा सरकारबाट बाहिरिएको थियो । तर समर्थन फिर्ता लिएको थिएन । अहिले रास्वपाको प्रतिनिधिसभामा १९ सिट छ । 
राष्ट्रपति निर्वाचनमा धोका भएको भन्दै नेकपा एमाले समर्थन फिर्तासहित सरकारबाट बाहिरिएको थियो।

राप्रपाले पनि मन्त्री फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । तर रास्वपाले भने तत्काल सरकारबाट बाहिरिए पनि समर्थन फिर्ता नलिने बताएको थियो। उसले राष्ट्रपतिमा गठबन्धनकाउम्मेदवार रामचन्द्र पौडेललाई मत दिएको थियो । उपराष्ट्रपतिमा भने जनमतकी ममता झालाई मत दिएको थियो ।
रास्वपाले कस्तो निर्णय गर्ला चासोका साथ हेरिएको छ ।

भोलि प्रतिनिधिसभाको बैठक, कांग्रेस सत्ता पक्ष कि प्रतिपक्ष ?

काठमाडौं – प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजे बस्ने भएको छ। शनिबार संघीय संसद् सचिवालयले आइतबारको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

सम्भावित कार्यसूचीमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र, प्रतिनिधिसभाको रिक्त एक स्थानको व्यहोराको जानकारीसहित केही प्रतिवेदन पेस गर्ने, केही विधेयक पेस हुने संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आइतबारको प्रतिनिधिसभा बैठकलाई लिएर धेरैको चासो छ । खासगरी संसदको ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल एमालेका सांसद कता बस्लान् भन्ने सबैको चासो देखिएको हो । एमालेको प्रयासमा बनेको गठबन्धनबाट बनेको अहिलेको सरकारबाट एमाले बाहिरिएको छ ।

उसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिँदै सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता गरेको छ । एमालेले संसद् सचिवालयलाई पत्र लेख्दै आफ्नो दललाई प्रमुख प्रतिपक्षी दलको हैसियत प्रदान गर्न आग्रह गरेको छ । अर्कोतिर नेपाली कांग्रेस अहिले पनि प्रतिपक्षी दल हो ।

किनभने कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत मात्र दिएको हो । कांग्रेस अहिलेको सरकार बनाउन सहभागी भएको छैन भने कांग्रेसबाट मन्त्री पनि बनेका छैनन् । त्यसैले आइतबारको बैठकमा कांंग्रेस र एमालेको सांसदको सिट कसरी व्यवस्थापन गर्ने भन्ने समस्या देखिएको छ ।

कांग्रेसले आइतबार बिहान १० बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । केन्द्रीय समितिले गर्ने निर्णय कार्यसम्पादन समितिलाई दिइएकाले भोलि कांग्रेसले सत्ता पक्षमा बस्ने निर्णय गर्न सक्ने सम्भावना पनि धेरै छ ।

शुक्रबार कांग्रेस महामन्त्री गगन थापाले पार्टीले अब बस्ने प्रतिनिधिसभा बैठकमा सत्ता पक्षमा बस्नुपर्ने अभिव्यक्ति दिएका थिए । सोही कारण कांग्रेसले आइतबार महत्वपूर्ण निर्णय लिनसक्ने स्रोतले बतायो ।

देशको आर्थिक अवस्था सुधारका लागि विचार सँग पार्टी एकता हुन सक्छ: माधव नेपाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मन र विचार मिल्नेसँग गठबन्धन हुन सक्ने बताएका छन् ।

शनिबार मेलम्चीमा आयोजित पार्टीको जिल्ला अधिवेशन कार्यक्रमको उद्घाटन गर्दै उनले देशको आर्थिक अवस्था सुधारका लागि विचार मिल्ने पार्टीबीच एकता हुने उल्लेख गर्दै आर्थिक अवस्था मजबुत बनाउनका लागि एकजुट हुनुपर्नेमा जोड दिए । अध्यक्ष नेपालले गल्ती स्वीकार नगर्ने पार्टीसँग एकता सम्भव नरहेको बताएका हुन् । “आफ्नो गल्ती महसुस नगर्ने, गल्ती स्वीकार गर्न नसक्नेहरूसँग गठबन्धन हुन सक्दैन”, उनले भने ।

गणतन्त्र जोगाउँदै संविधानको रक्षा गर्न विचार मिल्ने पार्टीबीच अहिलेको गठबन्धन बनेको उल्लेख गर्दै अध्यक्ष नेपालले भने– “देशको वर्तमान अवस्थालाई ध्यानमा राखी अहिलेको गठबन्धन बनेको हो । संविधानको रक्षा, देशको अर्थतन्त्रको सुधार अहिलेको गठबन्धनमा आबद्ध दलहरूको साझा एजेन्डा हो ।” 

अध्यक्ष नेपालले अझै पनि नेपालमा कम्युनिष्ट लोकप्रिय रहेकाले विचार मिल्ने कम्युनिष्ट एक हुनुपर्नेमा जोड दिए । 

छिट्टै हामी लोप हुनेछौ : प्रर्यटन मन्त्री किराँती

काठमाडौं – नेपालमा पर्यटन नीति नै नभएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले बताएका छन् । 

काठमाडौंमा शनिबार आयोजित नेपाल थामी समाजको छैटौं राष्ट्रिय महाधिवेशनमा बोल्दै मन्त्री किरातीले मुलुकमा संस्कृति र पर्यटनसम्बन्धी नीति नै नभएको स्वीकार गरेका हुन् ।मन्त्री किरातीले भने, ‘पर्यटन नीति हामीले अहिलेसम्म बनाउनै सकेनौं । हाम्रो संस्कृति नीति बनाउनै सकेनौं । सकिएन।’

उनले भने, ‘चाइनिज कल्चर सेन्टर छ नेपालमा। स्पेनिस कल्चर सेन्टर छ नेपालमा । रसियन कल्चर सेन्टर, इन्डियन कल्चर सेन्टर छ नेपालमा। तर नेपालको त केही पनि छैन। ऊसको चाहिँ यहाँ पनि छ। हाम्रो चाहिँ केही पनि छैन। संस्कृतिलाई रिसर्च गर्ने सेन्टरहरु खोइ? हामी लोप नभएर को लोप हुन्छ अब?’

संक्रमणकालीन न्यायसँग सम्बन्धित संशोधन विधेयकप्रति राप्रपाको आपत्ति

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले संक्रमणकालीन न्यायसँग सम्बन्धी संशोधन विधेयकप्रति आपत्ति जनाएको छ ।

सिंहदरबारमा शनिबार बसेको राप्रपा संसदीय दलको बैठकले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएको व्यक्तिको छानबिन सम्बन्धी संशोधन विधेयकमा फरक मत राख्ने निर्णय गरेको पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिनुभयो ।

विधेयकमा द्वन्द्वको एक पक्षीयलाई मात्रै सम्बोधन गर्ने प्रयास गरेकाले आफूहरूको विरोध रहेको उहाँको भनाइ छ । बैठकले संसदीय दलको विधानलाई पारित गरेको छ भने दलको उपनेतामा बुद्धिमान तामाङलाई चयन गरेको लिङ्देनले बताउनुभयो । बैठकले सङ्घ र प्रदेशका सांसदहरूलाई अनुशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

बैठकमा संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको लिङ्देनको भनाइ छ ।

राप्रपाकाे संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ चयन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको उपनेतामा बुद्धिमान तामाङलाई चयन गरेको छ ।

शनिबार सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले तामाङलाई दलको उपनेता चयन गरेको हो ।

बैठकमा लघुवित्त, सहकारी, विदेशमा अलपत्र परेका नागरिक, कृषि मलमा अनुदान घटाएको लगायतका विषयमा छलफल भएको एक नेताले बताए ।

व्यवसायीहरूको समस्या समाधानका लागि पहल गर्छु : सभामुख घिमिरे

काठमाडौँ – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्योगी, व्यवसायीहरूको समस्या समाधानका लागि आफूले पहल गर्ने बताएका छन् ।

ललितपुर उद्योग वाणिज्य सङ्घको स्थापना दिवसका अवसरमा शनिबार ललितपुरमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले व्यवसायीहरूलाई सहज वातावरण निर्माणका साथै आवश्यक ऐन कानुन तर्जुमाका लागि पनि आफूले पहल गर्ने बताएका हुन् ।

उनले मुलुकको विकासका साथै रोजगारी सिर्जना लगायतका क्षेत्रमा व्यवसायीको भूमिका महत्त्वपूर्ण रहेको धारणा राखे । उनले नाफासँगै समाजप्रतिको उत्तरदायी बहन गर्नका लागि व्यवसायी तयार हुनुपर्ने बताए । सभामुख घिमिरेले नेपालको अर्थतन्त्रबारे सबै जानकार रहेकाले अर्थतन्त्रलाई गतिशील बनाउनका लागि सबैले प्रयत्न गर्नुपर्ने बताए ।

हाटहुटमा कानून पारित गराउने सरकारी प्रयास सफल हुन दिइने छैन : गोकुल बाँस्कोटा

काठमाडौँ – नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले हाटहुटमा कानून पारित गराउने सरकारी प्रयास सफल हुन नदिइने बताउनु भएको छ ।

शनिबार उहाँले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै यस्तो बताउनु भएको हो । उहाँले सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी कानून संसदीय समितिमा छलफल नै नगराउने र हाटहुटमा पारित गराउने सरकारी प्रयास सफल हुन नदिइने बताउनु भएको छ ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा लेख्नु भएको छ, ‘सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी कानून संसदीय समितिमा छलफल नै नगराउने र हाटहुटमा पारित गराउने सरकारी प्रयास हो भने सबैले बझे हुन्छ, त्यो कंगारु अदालती मोडल हुने पक्का छ । त्यो किमार्थ हुन दिइने छैन ।’

प्रधानमन्त्री प्रचण्डले देशमा अस्थिरता निम्ताउने कामको अगुवाइ गरे : गोकर्ण विष्ट

काठमाडौँ – नेकपा एमालेका सचिव गोकर्ण विष्टले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा अस्थिरता निम्ताउने कामको अगुवाइ गरिरहेको आरोप लगाएका छन् ।

प्रेस चौतारी मकवानपुर शाखाले हेटौंडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र र बाहिरका शक्ति केन्द्रको स्वार्थमा काम गरिरहेको टिप्पणी गरेका हुन् ।

उनले भने, ‘देशमा राजनीतिक अस्थिरता निम्त्याउने, अन्यौलता निम्त्याउने बर्बादीको दिशातिर लैजाने कामको नेतृत्व देशभित्र र बाहिर रहेका विभिन्न शक्तिकेन्द्रको आडमा वा उनीहरुको स्वार्थलाई सेवा पुर्‍याउने गरी प्रधानमन्त्री प्रचण्डले भूमिका निर्वाह गर्नुभएको छ । एकप्रकारले अस्थिरता निम्त्याउने कामको अगुवाइ, मुख्य भूमिका सम्माननीय उहाँले निर्वाह गर्नुभएको छ । यो उहाँको लागि स्वयं आफैंले थापेको धराप सावित हुनेछ।’

नेकपा एमालेसँग मिलेर माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बने पनि दुई महीना बित्न नपाउँदै सहमतिलाई तोडेर प्रचण्डले अवसरवाद देखाएको सचिव विष्टले बताए। सचिव विष्टले भने, ‘यो अवसरवाद राष्ट्रको समृद्धि, जनताको जीवन रुपान्तरणको लागि नेपालको राजनीतिमा प्रगतिको कालो बादलको रुपमा देखापरेको छ ।’

कांग्रेसले प्रधानमन्त्रीको विश्वासको मतबारे छलफल गर्न भोली बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं – नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। 

आइतबार बिहान साढे १० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा बैठक बोलाएको हो। यसअघि सानेपास्थित केन्द्रिय कार्यालय र सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बस्दै आएको बैठक यसपटक वानेश्वरस्थित संसद भवनमा बोलाईएको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ मा विश्वासको मत लिने तयारी गरिरहेकै बेला कांग्रेसले कार्यसम्पादन समितिका बैठक बोलाएको हो । कांग्रेस नेताहरुका अनुसार सो बैठकवाट प्रधानमन्त्री दाहाललाई विश्वास मतबारे निर्णय गर्न लागेको हो।

यसअघि पुस २६ मा पनि पनि कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो। एउटै कार्यकालमा प्रधानमन्त्री दाहाललाई कांग्रेसले विश्वासको मत दिन लागेको यो दोस्रो पटक हो । 

अस्मिता अधिकारीको ‘मखमली’मा कुन्साङ र मिरुनाको प्रेम

काठमाडाैं / अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘मखमली’ सार्वजनिक गरिएको छ। द्रिप चाम्लिङको शब्द सृजना रहेको गीतमा सन्तोष सुनारको सङ्गीत छ। 

रचनाकार चाम्लिङले  नेपाली परिवेश र भूगोलको भावलाई उतारेको गीतमा सन्तोषको सङ्गीत र अस्मिताको स्वरले प्राण भएको छ।

भिडियोको कन्सेप्टमा केही फरक गर्ने कोसिस निर्देशक राजेश पुमा राईले गरेका छन्। दर्जनौँ सुपर हिट गीत निर्देशन गरिसकेका राजेशले आकर्षक सेट लगाएर भिडियो खिचेका छन्। मिरुना मगर र कुन्साङ बोमजन गीतको भिडियोमा फिचर रहेका छन् । भिडियोमा कुन्साङको प्रेममा परेकी मिरुनालाई प्रस्तुत गरिएको छ।  भिडियोमा राजीव समरको कोरियोग्राफी, उत्सव दाहालको छायाङ्कन र विकास दाहालको सम्पादन रहेको छ।

दक्षिण अफ्रिकामा शुक्रबारसम्म ७६६ जना पुगे दादुरा सङ्क्रमित

जोहानेसबर्ग / दक्षिण अफ्रिकाको राष्ट्रिय सङ्क्रामक रोग संस्थान ९एनआईसीडी० ले देशमा हालसम्म प्रयोगशालाबाट पुष्टि भएका दादुराका घटनाहरू बढेर शुक्रबारसम्म ७६६ पुगेको जनाएको छ।

पूर्वी केप बाहेक सबै दक्षिण अफ्रिकी प्रान्तहरूमा दादुराको प्रकोपग्रस्त क्षेत्र घोषणा गरिएको ,ू एनआईसीडीले विज्ञप्तिमार्फत जनाएको छ ।

सङ्क्रमितहरू मध्ये ४२ प्रतिशतभन्दा बढी बालबालिकाहरू रहेका छन् । सरकारले सबै जनतालाई आफ्ना बालबालिकाहरूलाई दादुरा विरुद्धको खोप लगाउन अनुरोध गरेको छ ।

दादुरा सङ्क्रमणका प्रमुख लक्षणहरूमा उच्च ज्वरो, खोकी, आँखा रातो हुने र नाक बग्ने लगायतका रहेका छन् ।

शसस्त्र प्रहरीका ५० जना डिएसपीको काज सरुवा

काठमाडौं – सशस्त्र प्रहरी बलका ५० जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को काज सरुवा भएको छ। सशस्त्र प्रहरी प्रधान कार्यालयले १३३ जना सशस्त्र प्रहरी निरीक्षकसँगै डीएसपीको पनि सरुवा गरेको हो।

उपराष्ट्रपतिको निर्वाचनका कारण आचारसंहिता लागु भएपछि सशस्त्रले सरुवा गर्नका लागि निर्वाचन आयोगसँग अनुनमति लिएको थियो। संगठनले तयार गरेको कार्यविधि अनुसार हालसम्म कमाण्डको अवसर नपाएकालाई पहिलो प्राथमिकतामा राख्दै सरुवा गरिएको सशस्त्र प्रहरी प्रवक्ता डीआईजी पुरुषोत्तम थापाले जानकारी दिनुभयो।

उनीहरुलाई जेष्ठता अनुसार क्रमशः प्रस्तावित सीमा सुरक्षा गुल्म, बोर्डर आउट पोष्ट (बीओपी) र अस्थायी सुरक्षा बेसहरुको कमाण्ड जिम्मेवारीमा खटाइएको थापाले बताउनुभयो।

अवकास नजिक पुगेका तर विगतमा कमाण्डको जिम्मेवारी कम पाएकालाई पनि प्राथमिकता दिइएको सशस्त्र प्रहरीले जनाएको छ।

उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन भोली राष्ट्रपति समक्ष पेश गरिने

काठमाडौँ – निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन चैत ५ गते राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्ने भएको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन चैत ५ गते राष्ट्रपतिसमक्ष पेश गर्ने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

राष्ट्रिय सहिदहरूको नामावली राजपत्रमा प्रकाशित

काठमाडौँ – नेपाल सरकारको मन्त्रिपरिषद बैठकले निर्णय गरेअनुरूप सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ।

गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका सहिदहरूको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहिदको मान्यता दिने निर्णय गरेको थियो।

मन्त्रिपरिषदको निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई सहिदहरूको अभिलेख माग गरेको थियो। ७७ जिल्लाबाट प्राप्त सोही अभिलेखका आधारमा सहिदहरूको नामावली राजपत्रमा प्रकाशित भएको छ।

जनयुद्धका सहिदहरूले राष्ट्रिय सहिदको मान्यता पाउनुपर्ने माग बारम्बार उठ्दै आएको भएपछि उनीहरूले राष्ट्रिय सहिदको मान्यता पाउन सकेका थिएनन्।  

यससँगै जनयुद्धकालमा राज्य र विद्रोही पक्षबाट ज्यान गुमाएका नागरिकहरूले राष्ट्रिय सहिदको मान्यता पाएका छन्। राष्ट्रिय सहिदका परिवारहरूले यसअघि सहिद घोषणा भई राज्यबाट परिपूरण र सम्मानस्वरूप प्राप्त गरेको सुविधाअनुरूप नै क्षतिपूर्ति, परिपूरण र सम्मान पाउनेछन्।

प्रदेश नामकरणविरोधी प्रदर्शन रोक्न विराटनगरमा निषेधित क्षेत्र घोषणा

विराटनगर – जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ ।

कोशी प्रदेश नामकरणपछि असन्तुष्ट जनाउँदै आएको जातीय र सांस्कृतिक पहिचान पक्षधरहरुले आइतबार वृहत प्रदर्शन गर्ने भए पछि जिल्ला प्रशासन कार्यालयले सम्भावित क्षति हुन सक्ने भन्दै निषेधाज्ञा जारी गरेको हो । 

चैत ५ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निषेधित स्थानमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता कार्य गर्न नपाइने जिल्ला प्रसासन कार्यालयका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जारी गरेको सुचनामा उल्लेख छ । 

निषेध गरिएको क्षेत्रमा प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोक देखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म प्रशासनले निषेधित क्षेत्र रहेका छन् । 

सुर्खेत उडेको बुद्ध एयरको जहाजमा समस्या आएपछि काठमाडौंमै आकस्मिक अवतरण

काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको विमानमा समस्या देखिएपछि पुन काठमाडौं नै फर्काइएको छ । इन्डिकेटरले समस्या देखाएपछि विमान काठमाडौं नै फर्काएर अवतरण गरिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार आज बिहान भएको यो घटनापछि जहाज ग्राउन्डेड गरिएको छ ।
यो जहाज उड्नुपुर्व चेक जाँच गरेका इन्जिनियरलाई समेत काममा रोक लगाइएको छ । अब प्राधिकरणको प्राविधिक टोलीको जाँचपछि मात्र जहाज उड्न सक्ने छ ।

विमान काठमाडौंबाट १५ नटिकल माइल उडेर काठमाडौं फिर्ता भएको हो ।