`

कुन्साङ्गलाई फकाउन मिरुनालाई सकस

काठमाडौँ – अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘मखमली’ सार्वजनिक भएको छ। द्रिप चाम्लिङ्गको शब्द रहेको गीतमा सन्तोष सुनारको सङ्गीत रहेको छ।

रचनाकार चाम्लिङ नेपालकै सफल स्कुल/ कलेज युनाइटेड एकेडेमीका सञ्चालक हुन्। उनी नेपाली परिवेश र भूगोललाई समावेश गर्ने शब्द रचना गर्ने गर्दछन्। मखमली ले पनि त्यस्तै भाव बोकेको छ। प्रकृति प्रेम र जीवनसङ जोडिएका शब्द आकर्षक लेखिएका छन् भने सन्तोषको सङ्गीत र अस्मिताको स्वरले गीतमा प्राण भएको छ।

भिडियोको कन्सेप्टमा केही फरक गर्ने कोसिस निर्देशक राजेश पुमा राईले गरेका छन्। दर्जनौँ सुपर हिट गीत निर्देशन गरिसकेका राजेशले आकर्षक सेट लगाएर भिडियो खिचेका छन्। मिरुना मगर र कुन्साङ्ग बोमजोन गीतको भिडियोमा फिचर रहेका छन् । भिडियोमा कुन्साङ्गको प्रेममा परेकी मिरुनालाई प्रस्तुत गरिएको छ। मिरुना आफ्नो प्रेम व्यक्त गरेर कुन्साङ्गलाई फकाउने कोसिसमा रहेकी छिन्। भिडियोमा राजीव समरको कोरियोग्राफी, उत्सव दाहालको छायाङ्कन र विकास दाहालको सम्पादन रहेको छ।

प्रचण्डका दुःखका दिन सुरु, देउवा र ओलीको नयाँ समीकरण बन्दै

काठमाडौं – राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै नयाँ रानीजीतक समीकरणको प्रयास सुरु भएको छ । 

राष्ट्रपतिमा रामचन्द्र पौडेल र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएसँगै सरकार गठनको लागि नयाँ समीकरणको प्रयास सुरु भएको हो ।  राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनलाई नेपाली कांग्रेस र एमालेले प्रतिष्ठाको विषय बनाएका थिए । जसमा माओवादीको साथ लिएर कांग्रेसले राष्ट्रपतिमा बाजी मारेको छ ।

जसपाले पनि उपराष्ट्रपति पद पाएको छ । पुस १० गते माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाएर सभामुख, राष्ट्रिय सभा सदस्य, केही प्रदेशमा मुख्यमन्त्री, सभामुख र उपसभामुख हात पार्न सफल एमाले अहिले प्रतिपक्षमा बस्ने अवस्थामा पुगेको छ । शक्ति बाँडफाँडकै हिसाब हेर्ने हो भने कांग्रेसले राष्ट्रपति, जसपाले उपराष्ट्रपति, माओवादीले प्रधानमन्त्री, एमालेले प्रतिनिधिसभाको सभामुख र राष्ट्रिय सभा अध्यक्ष पाएका छन् । यी सबै पद दलहरूले गठबन्धन बनाएर पाएका हुन् ।

यो तीन महिनाको बीचमा देशमा दुईवटा गठबन्धन देखिए । पहिलो पाँचदलीय गठबन्धन तोडेर सात दलीय गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री बने ।

त्यसलगत्तै प्रचण्डले उक्त गठबन्धन तोडेर १० दलको अर्को गठबन्धन बनाए । दश दलको गठबन्धनबाट राष्ट्रपतिमा राष्ट्रपतिमा रामचन्द्र पौडेलले बाजी मारे । शुक्रबार भएको उपराष्ट्रपति निर्वाचनमा रामसहायप्रसाद यादवले पनि आठ दलको समर्थन पाए । राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनपछि अब नयाँ दलीय समीकरण बन्ने निश्चित छ ।

प्रधानमन्त्री प्रचण्डले चैत १० गतेभित्र मन्त्रिपरिषद् विस्तार गर्ने बताएका  छन् । त्यसैले उनले चैत ६ गते विश्वासको मत लिने छन् । चैत ७ गते सार्वजनिक बिदा छ । चैत ८ र ९ गते गठबन्धनको बैठक बसेर सरकारमा काँग्रेसलाई सहभागी गराएर माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड आरामको श्वास फेर्ने प्रयासमा छन् । 

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुभन्दा अगावै काँग्रेसलाई प्रतिनिधिसभाको बैठकमा सत्ता पक्षको कुर्सीमा राख्ने प्रयास गरिरहे पनि कांग्रेस त्यसको लागि तयार देखिएको छैन । 

कांग्रेस सभापति शेरबहादुर देउवा  पुस १० गते नतै प्रधानमन्त्री हुने दाउँमा थिए । एकाएक बनेको माओवादी र एमाले गठबन्धनले उनको सपना त्यहीखेर पुरा हुन पाएन । यत्तिखेर देउवालाई प्रधानमन्त्री बन्ने नयाँ योग जुरिरहेको छ । 

नेकपा एमाले देउवालाई प्रधानमन्त्री बनाउन सक्दो प्रयास गरिरहेको छ । मुलुककै ठुलो दल भएको हैसियतले देउवाको प्रधानमन्त्रीको  चाहाना स्वभाविक पनि छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अस्थिर चरित्रका कारण एमाले र कांग्रेस दुवैले धोका पाइरहेका छन् यस्तो अवस्थामा चेत खाइसकेका यी दुई दल एक ठाउँमा मिल्न सक्ने अवस्था स्वतः बनिसकेको छ । एमाले र कांग्रेस मिलेमा सरकार बनाउनका लागि अन्य कुनै दलको  साहारा आवश्यक नपर्ने हुँदा यी दुई दल एक ठाउँमा आउनसक्ने धेरै बलियो शम्भावाना बढ्दै गइरहेको छ । 

१० दलको गठबन्धन बनाएर सरकार चलाउने दाउँमा रहेका प्रचण्डलाई यत्तिखेर १० दलको व्यवस्थापन गर्न निक्कै सकस छ । भएभरका दलहरूले उपप्रधानमन्त्रीसहित मालदार मन्त्रालय मागिरहेका छन् । यस्तो अवस्थामा प्रचण्ड सरकार आफैमा धराप अवस्थामा छ । एकीकृत समाजवादीले सबै दलले प्रमुख पद पाइसकेकाले आफ्नो दलले गृहमन्त्रीमा दाबी गर्ने र तीन मन्त्रालय लिने बताएकाले पनि प्रचण्डलाई यस्को व्यवस्थापन गर्न निक्कै सकस छ । सबैभन्दा ठुलो दल कांग्रेस स–सना मन्त्रालयमा चित्त बुझाउन तयार हुने कुरै भएन ।

राष्ट्रपति आफ्नो भागमा पारिसकेको कांग्रेसका लागि आफै सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भइरहेको बेला अब उसले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लतारिने जाँगर चलाउने अवस्था नै छैन । भएभरका दलहरूको बथानमा कागको समूहमा बकुल्ला बन्नु भन्दा कांग्रेस आफै सुविधाजनक सरकार चलाउने ठाउँको खोजीमा छ । एमाले पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सरकार गिराउन कुनै क्रसर बाँकी नराख्ने मोडमा भएकाले कांग्रेस आफूलाई प्राप्त उपयुक्त यो अवसर त्यसै छोड्नै अवस्थामा नरहेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

 । बन्न लागेको संभावित समिरकणले देउवालाई प्रधानमन्त्री र प्रचण्डलाई प्रतिपक्षीमा पुर्‍याउने सम्भावना धेरै बलियो बनिरहेको छ । 

पाकिस्तानी पुर्व प्रधानमन्त्री खान आज अदालतमा हाजिर हुदैँ

काठमाडौं – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान आज अदालतमा हाजिर हुने भएका छन्।

तोशाखाना मुद्दामा तेहरिक–ए–इन्साफ पार्टीका प्रमुखसमेत रहेका खान विरुद्ध गैर जमानती वारेन्ट जारी गरिए पछि उनी अदालतमा हाजिर हुन लागेका हुन् । 

अदालतले उनलाई  १८ मार्चमा अदालतमा हाजिर हुन भने पनि खानले सुरक्षा चिन्ता गर्दै आएका थिए । जसका कारण मुद्दाको सुनुवाइ गर्ने ठाउँ परिवर्तन भएको छ भने सुनुवाइ इस्लामाबादको अदालतको सट्टा अब न्यायिक कम्प्लेक्समा हुनेछ। अदालतले उनलाई चैत २८ गतेसम्म जमानत दिएको छ। 

उपहार पाएको सामग्री गैरकानुनी रुपमा बिक्रिी गरेको तथा महिला न्यायधिस माथी गैर न्याययिक टिप्पणी गरेको अभियोग उनी माथी छ । 

गत साता उनलाई पक्राउ गर्ने प्रयास भए पछि उनका समर्थकहरुले प्रतिवाद गरेका थिए । सो प्रतिवादमा भएको झडपमा दर्जर्नौै घाइते भएका थिए ।

सरकार मुलुकको शान्ति सुव्यवस्था कायम गर्न असफल भयो : केपी ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको शान्ति सुव्यवस्था कायम गर्न सरकार असफल भएको बताउनुभएको छ ।

शुक्रबार काठमाडौँमा नेपाल विधुत प्राधिकरण कर्मचारी युनियनको ११ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले खुलेआम राष्ट्रबिरोधी, देशद्रोही कुरा गरेर हिँडीरहँदा पनि सरकारले मुलुकको शान्ति सुव्यवस्था कायम गर्न नसकेको बताउनुभएको हो ।

उहाँले देशलाई नै विदेशीसामु बुझाउनुपर्ने अभिव्यक्ति दिएर एक हुल मान्छे हिँड्दा सरकारले नसुनेको उल्लेख गर्नुभयो । देशको सन्तान भन्न पनि नसुहाउने देशद्रोही कुरा गरेर हिँड्नेलाई तत्काल नियन्त्रणमा लिनुपर्ने भन्दै ओलीले मुलुक विरोधी अभियान जारी रहे जनताले प्रतिवाद गर्नुपर्ने अवस्था आउने धारणा राख्नुभयो । उहाँले एमाले सरकार छाडेपछि मुलुकको अर्थतन्त्र, सामाजिक र राजनीतिक अवस्था तहसनहस भएको बताउनुभयो ।

ओलीले अहिले ऊर्जा व्यापार भन्दा पनि स्वदेशमा नै अत्यधिक खपतमा ध्यान दिनुपर्ने बताउनुभयो ।

उपराष्ट्रपतिमा रामसहाय यादव विजयी

काठमाडौं – उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)का रामसहाय यादव विजयी भएका छन् ।

शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । यादवले ३० हजार ३२८ मत ल्याएरका छन् । उनले संघीय सांसद १८४ र प्रदेशसभाका ३२९ को मत पाएका छन् ।

प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभा गरी कुल मतभार ५२ हजार ६२८ रहेको छ । यादवले त्यसको बहुमत अर्थात् २६ हजार ३ सय १४ मतभारभन्दा बढी मत ल्याई निर्वाचित भएका हुन् ।

सकारात्मक दृष्टिकोण र सोच राखेर काम गर्न मन्त्री मोदीको निर्देशन

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले सकारात्मक दृष्ट्रिकोण र सोच राखेर काम गर्न सहसचिवहरुलाई निर्देशन दिएका छन् । 

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्धारा आयोजित ४४औँ वरिष्ठ कार्यकारी विकास तालिमको दीक्षित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् । 

सकारात्मक दृष्ट्रिकोण र सोच राखेर कार्यसम्पादन गर्दा परिणाम निस्किने बताउँदै मन्त्री मोदीले भने, ‘मुल रुपमा अहिले निजामती कर्मचारीहरुले सकारात्मक सोच र दृष्टिकोण राखेर काम गर्नुपर्ने अवस्था छ ।’ 

मन्त्री मोदीले प्रविधिको उच्चतम विकासलाई ख्याल गरेर कार्यसम्पादनमा सुधार गर्न समेत निर्देशन दिए । समयअनुसारको निर्णय र आचरणमा सुधार गर्नुपर्ने पनि मन्त्री मोदीको भनाई थियो ।

व्यक्तिगत स्वार्थबाट मुक्त भएर काम गर्न पनि मन्त्री मोदीले निर्देशन दिए । ‘केही न केही परिवर्तन गर्नैपर्ने छ, तपाईंहरुले पनि नयाँ पुस्ताले सिक्न सक्ने कामहरु गर्न मेरो सुझाव छ, हामीबाट केही न केही सुधार गर्नुपर्ने भएकाले व्यक्तिगत स्वार्थबाट मुक्त भएर काम गर्न म विशेष निर्देशन दिन चाहन्छु,’ उनले भने । 

कर्मचारीहरुमाथि सेवाग्राहीको सकारात्मक दृष्ट्रिकोण नरहेकाले उनीहरुको दृष्ट्रिकोण बदल्ने गरी काम गर्नुपर्ने मन्त्री मोदीको भनाई थियो । ‘कर्मचारीहरुमाथि सेवाग्राहीहरुको आक्रोश मात्रै छ, समयमा काम भएन ? सरल ढंगमा सेवा प्रवाह भएन, भन्नेजस्ता गुनासाहरु प्रशस्तै सुनिन्छन्, यस्तो किन भइरहेको छ ? यस्ता गुनासाहरु सदाको लागि अन्त्य हुनेगरी कार्यसम्पादन गर्ने जिम्मेवारी तपाइहरुको हो,’ मन्त्री मोदीले भने ।

मन्त्री मोदीले सरुवामा व्यवस्थित प्रणालीको जरुरी भएकाले आफ्नो पालामा व्यवस्थित सरुवा प्रणालीको विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । मुख्यसचिव शंकरदास बैरागीले मुलुक बदलिँदो परिवेशमा रहेको बताउँदै देशभित्र र बाहिरका असल अभ्यासबाट सिकेर काम गर्नुपर्ने बताए । 

सरकारको नीति तथा कार्यक्रमलाई घरदैलोमा पुर्याउने काम कर्मचारीहरुको भएकाले जनतामा खस्किँदो दृष्टिकोणलाई बदल्ने चुनौती रहेको बताए । कार्यकारी निर्देशक डा. राजन खनालले आआफ्नो कार्यक्षेत्रमा अब्बलता सावित गर्न निर्देशन दिए । 

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा नेपाली क्रिकेट टोलीलाई सम्मान

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले आइसिसी क्रिकेट विश्वकप लिग–२ मा युएईलाई हराउँदै विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीलाई सम्मान गर्नुभएको छ ।

शीतल निवासमा शुक्रबार राष्ट्रपति पौडेलले नेपाली टोलीलाई सम्मान गर्नुभएको हो । सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले विश्वकप छनोटमा पुग्ने क्रममा नेपाली टोलीले निकै राम्रो खेल खेलेको बताउनुभयो । सबै कुराको पूर्वाधारको कमी हुँदा पनि सफलता प्राप्त हुनु ठुलो कुरा भएको उहाँले बताउनुभयो ।

राष्ट्रपति पौडेलले नेपाली क्रिकेट क्षेत्रलाई उपेक्षा गर्न नहुने भन्दै राष्ट्रको शान राख्नका लागि खेल क्षेत्रको पूर्वाधारका साथै खेलाडीहरूलाई प्रोत्साहित गर्नुपर्ने धारणा राख्नुभयो । नेपालको जीतले सबै नेपाली गौरवान्तीत रहेको र राष्ट्रले खुसीयाली मनाएको उहाँको भनाइ छ । उहाँले विश्वमञ्चमा पनि नेपालले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो

बिहीबार नेपालले संयुक्त अरब इमिरेट्स ९युएई०लाई नौ रनले पराजित गर्दै विश्वकप छनोटमा पुग्न सफल भएको थियो । शुक्रबार नै प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीलाई जनही रु तीन लाख राशिको पुरस्कार घोषणा गर्नुभएको थियो ।

५ चैतमा स्ववियु निर्वाचन गराउन मध्यपश्चिम विश्वविद्यालयको निर्देशन

सुर्खेत –  मध्यपश्चिम विश्वविद्यालयले अदालतमा मुद्दा नपरेका क्याम्पसहरुमा यही ५ चैतमा स्ववियुको निर्वाचन गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मध्यपश्चिम विश्वविद्यालय कार्यकारी परिदष्को बैठकले अदालतमा मुद्दा नपरेका विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा निर्वाचन गर्ने निर्णय गरेको हो।

चैत ३ गते अर्थात् आज शुक्रबार मध्यपश्चिम विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने भनेको थियो। तर, चैत २ गते बसेको विश्वविद्यालयको बैठकले उच्च अदालत सुर्खेतले निर्वाचन रोक्ने आदेश जारी गरेसँगै स्ववियु निर्वाचन स्थगित गर्ने निर्णय गरेको थियो।

तर, शुक्रबार बसेको बैठकले अदालतमा मुद्दा परी स्थगित गरिएका स्थानमा बाहेकका अन्य सम्पूर्ण आंगिक क्याम्पसका क्याम्पस प्रमुखहरुको प्रतिवद्धता बमोजिम र शैक्षिक क्यालेन्डरलाई समेत मध्यनजर गर्दै चैत ५ गते विश्वविद्यालयमा स्ववियुको निर्वाचन सम्पन्न गर्न र गराउन सबैलाई जानकारी सँगै निर्देशन गर्ने निर्णय गरेको छ।

यस्तै, मंगलबार विश्वविद्यालय अन्तर्गतको ‘स्कुल अफ मेनेजमेन्ट’ (मुसोम) का विद्यार्थीले मतदानबाट वञ्चित गराइएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए।

उच्च अदालत सुर्खेतले अर्को आदेश नहुने बेलासम्मका लागि भन्दै बुधबार स्ववियु निर्वाचन स्थगित गर्न आदेश जारी गरेको थियो। चैत्र ८ गते दुवै पक्षलाइ उच्च अदालत सुर्खेतमा ऊपस्थित हुन पनि आदेश जारी गरेको छ।

कांग्रेसले प्वाल परेको ढोक्सा थाप्यो : योगेश भट्टराई

काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले कांग्रेसले प्वाल परेको ढोक्सा थापेको टिप्पणी गरेका छन् । आज संघीय संसद् भवनमा मतदानपछि पत्रकारसँग बोल्दै उनले, यो गठबन्धन धेरै दिन नटिक्ने उनको टिप्पणी छ ।

उनले भने ‘कांग्रेसले ढोक्सा थापेको छ तर तलतिर प्वाल भएको थाप्यो धेरै दिन टिक्दैन् ।’ जनताले विश्वास नगरेको नेतृत्वले १० पटक विश्वासको मत लिए पनि केही गर्न नसक्ने उनको तर्क छ । प्रचण्डप्रति अब जनताको विश्वास नहरेको उनको दाबी छ ।

‘जनताले अविश्वास गरेकोलाई के को विश्वास, प्रचण्ड प्रतिजनताको विश्वास नै छैन् ।विश्वासको मत लिए पनि त्यो सरकारको केही मतलब नै छैन् । जनताले विश्वास नगरेको नेतृत्वले १० पटक विश्वासको मत लिए पनि केही गर्न सक्दैन् । का का को नुन खाको छ, त्यो नुनको सोजो गर्नुपर्छ ।’

संविधानको परिपालना गर्ने राष्ट्रिय एकता सम्बोधन गर्ने र मुलुककाे व्यवस्थाको अभिभावकको रुपमा राष्ट्रपति, उपराष्ट्रपतिले गर्ने व्यवस्था रहेको हुँदा उक्त व्यवस्थालाई कर्यान्वयन गर्ने शिलशिलामा यो निर्वाचन भएको उनको भनाई छ । यसले हाम्रो मुलुकको संविधानलाई अझै सबल, सुदृढ बनाउनुका साथै हाम्रो देशको लोकतान्त्रीक प्रक्रियालाई बलियो बनाउने काम गर्ने उनको भनाई छ ।

लगानी बोर्ड बैठकका तस्बिरहरू

काठमाडौं / लगानी बोर्डको बैठक बसेको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बोर्डको बैठक बसेको हो ।  

उपराष्ट्रपति निर्वाचन : ८२९ सांसदले हाले भोट

काठमाडौँ / उपराष्ट्रपतिको निर्वाचनअन्तर्गतको मतदान कार्यक्रम सकिएको छ । शुक्रबार बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो ।

जम्मा ८२९ सांसदले मतदान गरेका छन् । संघतर्फका ३११ सांसद र प्रदेश सभातर्फका ५१८ सांसदले मतदान गरेका हुन् । 

निर्वाचनमा नेकपा(एमाले)बाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, जसपाका नेता रामसहायप्रसाद यादव र जनमत पार्टीकी नेतृ ममता झा उम्मेदवार हुनुहुन्छ ।

सटर भाडा महंगो र कर बढेपछि धमाधम व्यवसाय बन्द हुँदै

भैरहवा / एक वर्षदेखि सिद्धार्थनगर गल्लामण्डी क्षेत्रमा चियानास्तको पसल गर्दै आएका मोहम्मद समिम अहिले पसल सार्दैमा व्यस्त छन् । ५० हजार अग्रिम बुझाएर एक वर्षअघि पसल सुचारु गरेका उनले १५ हजारका दरले भाडा दिने सहमतिअनुसार व्यवसाय गर्दै आएका थिए । 

पसलको आम्दानीबाट जसो तसो भाडा तिर्दै आएका उनलाई घरधनीले अहिले भाडा बढाउँदा बाध्यताले पसल अन्त सार्नुपरेको छ । मुख्य सडकमा रहेको पसल अहिले बढी भाडाकै कारण भित्री ठाँउमा सारिएको छ ।

‘जसोतसो भाडा तिर्दै आएको थिएँ । घरधनीले भाडा कि २० हजार गर्नु पर्‍यो कि सटर खाली गर्न प¥यो भने,’ समिमले दुखेसो पोखे, ‘अन्ततः घरधनीले भनेको भाडा तिर्न सक्ने अवस्था नभएकोले पसल सार्नुपर्‍यो ।’ 

मर्चवारका प्रेमनाथ बरई भैरहवा आवारोडमा मोबाइल मर्मतको काम गर्दै आएका थिए । सानो सटरको १५ हजार भाडा तिर्दै आएका उनले अहिले पसल बन्द गरी खाली बसेका छन । व्यापारभन्दा बढी सटर भाडा छ । व्यवसायबाट भाडा तिर्न सक्ने अवस्था नै नभएकोले बन्द गर्नुपरेको उनी सुनाउँछन् । 

समिम र बरई त केवल उदाहरण हुन्, रुपन्देहीको भित्री मात्रै होइन मुख्य बजारमा पनि अहिले यही अवस्था छ । व्यावसायिक सटर भाडाका लागि तँछाडमछाड गर्ने मुख्य बजारका सटर अहिले खाली भएको व्यानर जताततै देख्न सकिन्छ । व्यस्त तथा मुख्य बजारका सटरहरु भाडाका लागि मरिहत्ते गर्ने व्यवसायीहरु अहिले भने खाली गरेर पलायन भइरहेका छन् । आर्थिक संकट, व्यवसाय न्यून र घरधनीको ज्यादतीले व्यवसायिक सटरहरु खाली हुँदै गइरहेका छन् । 

भैरहवाको मुख्य बजारहरुमा ‘टू लेट’, ‘सटर खाली’, ‘घर भाडामा’ लगायतसहितका पोष्टर तथा बोर्डहरु देखिने क्रम बढेको छ । आवासीयभन्दा पनि व्यावसायिक प्रयोजनमा प्रयोग भएका भवनहरु पछिल्लो समय खाली हुने क्रम बढ्दो छ । भाडाकै लागि तँछाडमछाड गर्ने व्यवसयाीहरु नै अहिले सटर खाली गर्दै गइरहेका छन् । 

ठूला व्यवसायीहरु जेनतेन गरी व्यवसाय सुचारु गरे पनि बाहिरबाट आएका व्यवसायी र सोही व्यवसायबाट जीविकोपार्जन गर्नेहरु पनि बिक्री न्यून हँुदा भाडासमेत तिर्न सक्ने अवस्था नरहेपछि पसल नै बन्द गर्ने गरेका छन् । गुजाराका लागि स–सानो व्यापार गर्नेहरु पनि भाडा तिर्न नसकेपछि सटर नै छोड्नु परेको गुनासो आउने गरेको सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नेत्र आचार्यले बताए । 

गाँउबाट सहर बजारतर्फ केही गर्न भनेर आएका युवा जगत पनि गाउँ फर्किने लर्को छ । कोभिडले देश फर्केका नेपालीहरु पनि यही केही गरौ भनेर उद्योग व्यवसायमा लागेकाहरु पनि विस्तारै विदेशीने गरेकाले सटर तथा कोठा÷फ्ल्याटहरु खाली हुँदै गइरहेका छन् ।

स्थानीय सरकारले लगाएको घरबहाल कर, घर भाडामा घरधनीको ज्यादती र अचाक्ली भाडा दरले पनि व्यवसायीहरु तनावमा सटरहरु छोड्दै गइरहेका छन् । एकतर्फ वित्तीय संस्थाहरुको मानसिक तनाव दिएका छन् भने घरधनीहरुले पनि पनि मनपरी ढंगले भाडा दर कायम गर्दा भएको व्यवसायीहरु पनि उठ्नु पर्ने अवस्था आएको सिद्धार्थ उद्योग वाािणज्य संघका निवर्तमान अध्यक्ष भिष्म न्यौपानेले भने । 


नियमन गर्ने निकाय पनि अनुगमन नगरेर मौन बस्दा व्यवसायीहरु संकटमा पर्दै गएका छन् । आर्थिक संकटको समयमा भाडामा सहुलियत दिनुको साटो विभिन्न शिर्षक र कारण देखाई भाडामा लुटतन्त्र भइरहेको उनले गुनासोे गरे । 

‘सटरको भाडा १० हजार छ । तर, नगरपालिकाले त्यही सटरको भाडा २५ हजार तोकेर घर बहाल कर लिइरहेको छ । यो पनि एउटा समस्या रहेको छ,’ घरधनी तथा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले भने । 

आफ्नो सम्पतिकको भाडा दर आफुले तोक्नु पर्ने अधिकार हुँदाहुँदै स्थानीय सरकारको कार्यविधीले व्यवसायीहरुलाई समस्या पर्दै गएको छ । ‘मेरो सटरको भाडा दर मैले तोक्ने हो, भाडामा गएपछि बहाल कर बुझाउनु पर्नेमा नगरपालिकाको दररेटअनुसार बहाल कर बुझाउनु परेको छ । १० रुपैयाको करोबार गरे ५० रुपैयाँको कर लिइरहेको छ । यो सरासर गलत हो,’ शर्माले भने । 

सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले नगरपालिकाले एकलौटी रुपमा असीमित भाडा दररेट कायम गरेको बताए । निजी क्षेत्रको सुझावलाई नजरअन्दाज गरी राजश्व परामर्श समिति भाडा दर तोकेको छ यो घटाउनुपर्ने उनले बताए । ‘अत्याधिक भाडा दरकै कारण व्यवसायीहरु पलायन हुनुपर्ने अवस्था  यस्मा नगरपालिकाले संशोधन गर्नुपर्छ । करैकरको चपेटमा हामी व्यवसायीहरु परेका छौँ, अहिले व्यवसायीक सटरहरु खाली हुनुको कारण पनि यही हो,’ श्रेष्ठले भने । 

सिद्धार्थनगर नगरपालिका राजश्व शाखा प्रमुख अमित श्रेष्ठले आर्थिक वर्ष २०७८÷७९ मा २ हजार १०४ करदाताले  ३ करोड ३७ लाख ६६ हजार घरबहाल कर तिरेका छन । गत वर्षभन्दा अहिले करको दर परिवर्तन भएपनि न्यूनतम भाडा दर नगरपालिकाले निर्धारण गरेर त्यसको १० प्रतिशत घरबहाल कर व्यवसायिक सटरहरुबाट लिँदै आएको छ । 

नगरपालिकाले निर्धारण गरेको दररेटमा घटाउनुपर्ने प्रस्ताव अहिलेको नगरसभामा राजश्व परामर्श समितिले लगे पनि पास नभएको बताए । विगतको वर्षमा लिदै आएको घरबहाल कर भने यो आर्थिक वर्षबाट केही शिर्षकमा घटेको छ । 

मान्छेको आर्थिक आय आर्जनको स्रोतमा संकुचन आएपछि छोडेर गइरहेको व्यवसायीहरु बताउँछन् । भारतिय सिमा क्षेत्रको बजारले पनि भैरहवामा व्यवसायीलाई असर गरेको छ । घर भाडा अनियन्त्रित रुपमा बढेपछि कतिपय मानिसले खाली गरेर जानु पर्ने बाध्यता छ भने मान्छेसँग आर्थिक आयआर्जनको स्रोतमा कमि, अनियन्त्रित वृद्धि र महंगीले पनि व्यवसायी फलायन हुन थालेको व्यवसायीहरु बताउँछन् । 
 

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन साँठगाँठ प्रणालीमा चल्याे : अध्यक्ष ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन लोकतान्त्रिक भन्दा पनि साँठगाँठ प्रणालीमा चलेको आरोप लगाउनुभएको छ ।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा उपराष्ट्रपति निर्वाचनमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले लोकतान्त्रिक प्रणालीमा हारजित हुनु स्वाभाविक भए पनि अहिले साँठगाँठको प्रणाली भएको बताउनुभएको हो । उहाँले काँग्रेस सँगको सहकार्यका विषयमा अहिले नै भन्ने बेला नआएको जिकिर गर्नुभयो ।

आफ्नो काँग्रेससँग सहकार्य हुन सक्छ भन्ने अभिव्यक्तिप्रति काँग्रेसकै केही नेताहरू त्रसित भएको उहाँले बताउनुभयो । एक जना चर्का काँग्रेसले कति सालपछि प्रतिपक्षमा भेट होला भनेर अभिव्यक्ति दिएको र यसले काँग्रेसभित्रै ठुलो गडबडी रहेको हुनसक्ने उहाँको भनाइ छ । त्यस्तै उहाँले एमाले देश र जनताका लागि काम गर्ने भन्दै केन्द्र लगायत प्रदेश सरकारमा प्रतिपक्षीमा बसेर काम गर्दा राजनीति नगुम्ने तर्क गर्नुभयो ।

ओलीले शान्ति प्रक्रियाका बाँकी काम समयमा नै टुङ्गाउनुपर्ने र सङ्क्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयकमा एमालेले आवश्यक धारणा तय गर्ने बताउनुभयो ।

हामी ढाेक्सा थाप्दैनाैँ, जनताकाे बीचमा गएर ढ्वाँङ थाप्छाैँ : गाेकुल बास्काेटा

काठमाडौँ – नेकपा एमालेका नेता गोकुल बास्कोटाले आफूहरुले सत्ताको लागि ढोक्सा नथाप्ने बताएका छन् ।

शुक्रबार उपराष्ट्रपति निर्वाचनमा मतदान गर्न संसद भवन पुग्नुभएका बास्कोटाले सत्ताका लागि कांग्रेसले थापेजस्तो ढोक्सा आफूहरुले नथाप्ने र जनताको बीचमा गएर ढ्वाङ थाप्ने बताएका हुन् ।

”ढोक्सा’ भनेको षड्यन्त्र हो, जाली काम हो’ उनले भने । बास्कोटाले सरकारले रासायनिक मलको भाउ बढाएकोमा टिप्पणी पनि गरे ।

उहाँले अबको राजनीति कुन दिशामा जान्छ, भन्ने प्रश्नमा आफू ज्योतिष नभएको र यसबारे देउवालाई प्रश्न गर्न भने ।

रास्वपाले उपराष्ट्रपतिमा ममता झालाई मत दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले उपराष्ट्रपतिमा जनमत पार्टीकी ममता झालाई मतदान गर्ने भएको छ ।

शुक्रबार रास्वपा पार्टी कार्यालयमा नेताहरुबीच भएको सरसल्लाहमा उक्त निर्णय गरेको हो ।

रास्वपाले नयाँ पार्टी र महिला भएकाले ममतालाई रोजेको एक सांसदले बताए ।

रोजेको मन्त्रालय लिएर सरकारमा जान्छौँ : राजेन्द्र पाण्डे

काठमाडौं –नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले ३ मन्त्रालय लिएर आफूहरु सरकारमा जाने बताएका छन् ।

उपराष्ट्रपति निर्वाचनमा मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले रोजेको मन्त्रालय लिएर आफ्नो दल सरकारमा जाने बताए ।

उनले माओवादी केन्द्रले प्रधानमन्त्री लिएपछि कांग्रेसले राष्ट्रपति र जसपाले उपराष्ट्रपति रोजेर लिएको बताए । ‘अब सरकारमा रोज्ने पालो हाम्रो छ । हामी रोजा मन्त्रालय, एक नम्बर ठानिएको मन्त्रालय लिन्छौं’, उनले भने ।

गृहतर्फ संकेत गर्दै उनले रोजेको मन्त्रालय लिने र डेभलपमेन्ट र सर्भिस समेत गरेर ३ वटा मन्त्रालय लिएर सरकारमा जाने बताए । तर, ककसलाई सरकारमा पठाउने, कसको नेतृत्वमा जाने भनेर पार्टीमा कुनै छलफल नभएको उनको भनाई छ ।

एक महिने यात्रामा निस्कदैँ अध्यक्ष ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एक महिने लामाे यात्रामा निस्कने हुनुभएकाे छ । उहाँले  मध्यपहाडी लोकमार्गकाे बाटाे हुँदै पूर्वदेखि पश्चिमसम्मको यात्रा गर्ने हुनुभएकाे हाे । 

बैशाखको दोस्रो हप्ताबाट ओलीले मध्यपहाडी लोकमार्गबाट गाडीको यात्रा गर्दै जनतासँग भेटघाट गर्ने कार्यक्रम रहेकाे छ ।  

कानूनका विद्यार्थीसँग बिहीबारको अन्तरक्रियामा पनि अध्यक्ष ओलीले आफू मध्यपहाडी लोकमार्गको यात्रामा निस्किन लागेको बताउनुभएकाे थियाे । उहाँ एक महिना लामो यात्रामा त्यहाँ रहेका जनतासँग भेट्ने बताउनुभएकाे छ । 

मिसन ग्रासरुट अभियान चलाएको एमालेले स्थानीय जनतालाई आफ्नो कार्यकालमा गरेका कामको प्रचार र पार्टीको सुदृढीकरण अभियान थालेको छ।

प्रधानमन्त्री प्रचण्डद्वारा उपराष्ट्रपति पदमा मतदान

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपति पदमा मतदान गरेका छन् ।

शुक्रबार नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् । उपराष्ट्रपति निर्वाचनअन्तर्गत आज बिहान १० बजेदेखि मतदान जारी छ । अपराह्न १२ बजेसम्म ६१० मत खसेको छ।

सो समयसम्म सङ्घतर्फ २१८ र प्रदेशतर्फ ३९२ मत खसेको

उपराष्ट्रपति निर्वाचन : १२ बजेसम्म ६१० मत खस्यो

काठमाडौं – सङ्घीय संसद् नयाँ बानेश्वरमा जारी उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत दिउँसो १२ बजेसम्मको मतदानमा ६१० मत खसेको छ।

सो समयसम्म सङ्घतर्फ २१८ र प्रदेशतर्फ ३९२ मत खसेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयाे ।

उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा मतदान सुरु भएको हो। निर्वाचनमा नेकपा एमालेका अष्टलक्ष्मी शाक्य बोहरा, जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार हुनुहुन्छ । 

अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ। सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र तय गरिएको छ।

निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता छन्। मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने र आजै साँझ ६ बजेसम्म मतपरिणाम सार्वजनिक गरिने बताइएको छ।

उपराष्ट्रपतिमा महिला नै आउनुपर्छ : ममता झा

काठमाडौँ – जनमत पार्टीबाट उपराष्ट्रपतिकी उम्मेदवार ममता झाले उपराष्ट्रपतिमा महिला नै आउनुपर्ने बताइन् । शुक्रबार शुक्रबार संसद भवनमा जारी मतदान प्रक्रियाको क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले भनिन्, ‘कानून सबैभन्दा ठूलो हो । त्यसैले राष्ट्र र कानूनलाई नै टेकेर हिँड्छु । यो महिलाहरुको हक अधिकारको कुरा हो । उपराष्ट्रपतिमा महिला नै आउनुपर्छ । हाम्रो पार्टी अध्यक्षले संविधानको मर्मलाई आत्मसाथ गर्दै मलाई उम्मेदवार बनाउनुभएको हो । गठबन्धनबाट रामसहायलाई नै भोट हाल्न ह्वीप जारी भएको जानकारी छैन । कुनै पार्टीले पनि दश दलीय गठबन्धनबाट उहाँलाई नै मत दिनुपर्छ भनेको छैन ।’

दश दलीय गठबन्धनबाट जसपाका रामसहाय यादवलाई नै भोट हाल्न ह्वीप जारी नभएको उनले बताइन् ।

उपराष्ट्रपतिमा विजयी भए राष्ट्रिय एकताको प्रवर्द्धन र संविधानको रक्षा गर्नेछु : रामसहाय यादव

काठमाडौँ – उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवले उपराष्ट्रपतिमा विजयी भए राष्ट्रिय एकताको प्रवर्द्धन र संविधानको रक्षा गर्ने बताएका छन् ।

शुक्रबार उपराष्ट्रपतिका लागि मतदान गरिसकेपछि संसद भवन परिसरमा पत्रकारहरुसंग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘गठबन्धनको तर्फबाट सर्वसम्मत उम्मेदवार म नै हो । अब हाम्रो पूर्ण विश्वास छ, गठबन्धनका सबै सदस्यहरूले मत दिएर मलाई जिताउनु हुनेछ । संविधानमा राष्ट्रपतिरउपराष्ट्रपतिको काम कारबाहीको बारेमा उल्लेख गरिएको छ । राष्ट्रिय एकताको प्रवर्द्धन र संविधानको रक्षा गर्नेछु । ‘

यादवले आफू नै सत्ता गठबन्धनको सर्वसम्मत उम्मेदवार भएको दाबी गर्दै सबैले आफूलाई नै मत दिने विश्वास व्यक्त गरेका छन् ।

उपराष्ट्रपति निर्वाचन आफ्नो अनुकूल हुने देखेको छु : अष्टलक्ष्मी

काठमाडौँ – नेकपा एमालेको तर्फबाट उपराष्ट्रपतिकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले निर्वाचनमा अनेकौं चलखेल हुने भन्दै त्यसमा आफ्नो जित हुने दाबी गरेकी छन्।


शुक्रबार संसद भवनमा जारी मतदान प्रक्रियाको क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताइन् ।


उनले भनिन्, ‘स्वस्थ अस्वस्थ, मर्यादित, अमर्यादित अनेकौं चलखेल हुन्छ, त्यसमा हामी श्रेष्ठता कायम गर्नेछौं ।,उपराष्ट्रपति निर्वाचन आफ्नो अनुकूल हुने देखेको छु ।, राष्ट्रपतिमा अनुकूल भएन, बरु यो अनुकूल देख्दैछु । ’

अमेरिकी डलर र बंगलादेशी टाकासहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाएर लैजान लागेको अमेरिकी डलर ९ हजार १ सय र बंगलादेशी टाका २९ हजार ५ सयसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा चिनियाँ नागरिक ५२ वर्षीय चाई हुनान रहेका छन् । उनलाई बिहीबार दिउँसो प्रक्राउ गरिएको हो ।

बंगलादेश एअरलाइन्सको उडानद्वारा काठमाडौंबाट बंगलादेश जान लागेका उनलाई अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्डस् ब्यागेज एरियामा एक्स रे मेसिनमा जाँच गर्ने क्रममा उनको ब्यागबाट उक्त डलर र टाका फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।

त्रिचन्द्रमा चैत ९ गतेमात्रै स्ववियु चुनाव हुने

काठमाडौं – त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सरेको छ । 

विद्यार्थी भर्नालगायत विद्यार्थी संगठनहरूको विवादका कारण निर्वाचन तालिका प्रभावित भएपछि क्याम्पसले चैत ९ गते चुनावका लागि चुनावको नयाँ मिति सार्वजनिक गरेको छ ।

कार्यतालिकाअनुसार मतदाता नामावली चैत ३ गते प्रकाशन हुनेछ । त्यसउपर दावी विरोधका लागि चैत ४ गतेको समय दिइएको छ ।

कानुनका विद्यार्थीहरुसँग ओलीले भने : नेपालको पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधान होइन, जुद्धशमशेरका छोरा हुन् 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधान नभई जुद्धशमशेरको माइलो छोरा रहेको बताउनु भएको छ ।

आज नेपाल ल क्याम्पसमा कानुनका विद्यार्थीहरुसँगको छलफलमा उहाँले कानुनको इतिहासमा गलत पढाइएको बताउनु भयो। उहाँले भन्नुभयो, ‘तपाईहरुले कानुनको किताबमा नेपालको पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधान भनेर पढ्नुभएको होला तर होइन, जुद्धशमशेरका छोरा नेपालको पहिलो प्रधानन्यायाधीश हुन् ।’

१९९७ सालमा जुद्धशमशेरले दुईवटा शनद जारी गरेको र त्यसमध्ये कानुनी शनदको आधारमा पहिलो अदालत गठन भएको ओलीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘त्यतिबेला प्रधानन्यनायाधीश भनिएको थिएन । न्यायाधीश जर्नेल भनिएको थियो । त्यो पदमा आन्तरिक प्रतिस्पर्धा राणाहरुको बीचमा भएको थियो । मोहनशमशेर र जुद्ध शमशेरका छोराबीच प्रतिस्पर्धा भएको थियो। सम्भवत जुद्धशमशेरको माइलो छोरा थिए । उहाँ नेपालको पहिलो प्रधानन्यायधीश भएका थिए ।’

कानुनको इतिहासमा नेपालको पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधान उल्लेख छ । उहाँ भारतीय नागरिक थिए । ओलीले ००७ सालको परिवर्तनपछि विदेशीलाई प्रधानन्ययााधीश बनाउन संविधान संशेधन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विदेशी नागरिकलाई देशको न्यायालय प्रमुख बनाउने कुरा संवैधानिक हुनै सक्दैन तर भयो । किनकी उहाँको दार्जिलिङमा हुँदा वीपी कोइरालासँग घनिष्ठता बढेको थियो ।’

पहिरोमा च्यापिएर सिन्धुलीमा एक जनाको मृत्यु

सिन्धुली – सिन्धुलीको फिक्कल गाउँपालिकामा खसेको पहिरोमा च्यापिएर एक जनाको मृत्यु भएको छ । बारीको ढुंगा निकाल्न लाग्दा माथिबाट खसेको पहिरोमा च्यापिरएर बिहीबार दिउँसो ३५ वर्षीय टेकबहादुर परियारको मृत्यु भएको हो ।

ढुंगा निकाल्ने क्रममा माथिबाट खसेको पहिरोमा च्यापिएर गाउँपालिका ३ खुरहरिका ३५ वर्षीय परियारको मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ ।

पहिरोले च्यापिएर सख्त घाइते भएका परियारलाई तीनपाटन गाउँपालिका बाहुनतिल्पुङ स्वास्थ्य चौकीमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

क्षमता विकासका कार्यक्रम अभियानको रुपमा अगाडि बढाउन मन्त्री मोदीको अग्रसरता

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले समावेशीकरणसँगै क्षमता विकासका कार्यक्रमलाई अगाडि बढाउनका लागि अग्रसरता लिएका छन् ।


निजामती सेवा लगायतका सार्वजनिक सेवा प्रवेशका लागि प्रतिस्पधार्मक क्षमता वृद्धि गर्न लोकसेवा आयोग तयारी कक्षा लगायत क्षमता विकासका कार्यक्रम अगाडि बढाउन मन्त्री मोदीले मंगलबार मन्त्रीस्तरीय निर्णय गरेका हुन् । मन्त्री मोदीको निर्णय अनुसार क्षमता विकासका कार्यक्रमहरु सञ्चालनका लागि मन्त्रालयले बुधबार देशभरका ७५३ वटै स्थानीय तहलाई परिपत्र गरेको छ । 


परिपत्रमा उल्लेख गरिएको छ, ‘निजामती सेवा लगायतका सार्वजनिक सेवामा प्रवेशका लागि प्रतिष्पर्धी बन्न आवश्यक पर्ने क्षमता विकासका लागि स्थानीय तहले आफ्नो स्रोत र साधनको अधिकतम उपयोग गर्दै आफ्नो वार्षिक बजेट, नीति तथा कार्यक्रम मार्फत् समाजका हरेक वर्ग र समुदायको पहुँच बढाउन महिला, आदिवासी जनजाति, दलित, मधेशी, थारु, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तकृत, अपांगता भएका व्यक्ति, लैंगिक तथा यौनिक अल्पंख्यक, किसान, श्रमिक। उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिक रुपले विपन्न खस आर्य लगायत शहिद, वेपत्ता, द्वन्द्वपीडित परिवार समेतलाई लक्षित गरी अभियानका रुपमा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने व्यवस्था हुन मिति २०७९÷ ११ ÷३० (मा. मन्त्रीस्तर)को निर्णयअनुसार अनुरोध छ ।’

राज्यले लिएको आरक्षण तथा सकारात्मक विभेदको नीतिको प्रभावकारी कार्यान्वयनका लागि लक्षित वर्गको क्षमता विकास हुनु अपरिहार्य भएको स्मरण गराउँदै मन्त्रालयले लोक सेवा आयोग तथा विभिन्न संगठित संस्थाहरुले सञ्चालन गर्ने प्रतिस्पर्धात्मक परिक्षाहरुमा लक्षित वर्गबाट अपेक्षित उम्मेदवारले सफलता प्राप्त गर्न नसक्ने जस्ता प्रवृत्ति देखापरेको उल्लेख गरेको छ ।

राज्यले लिएको आरक्षण तथा सकारात्मक विभेद सम्बन्धी नीतिको कार्यान्वयन गरी पछाडि परेको वर्ग तथा समुदायलाई राज्यको मुल प्रवाहमा समाहित गराउँदै राज्यप्रतिको अपनत्व अभिवृद्धि गराउनु तिनै तहका सरकारको दायित्व भएको बताउँदै मन्त्रालयले सबै वर्ग र समुदायका नागरिकलाई निजामती सेवा लगायतका सार्वजनिक सेवामा प्रवेशका लागि प्रतिस्पधार्मक क्षमता वृद्धि गराउनका लागि क्षमता विकासका कार्यक्रम सञ्चालन गर्न परिपचत्र गरेको हो । 


 

हिन्दु विश्वविद्यालय स्थापना गर्न सम्भाव्यता अध्ययन सहित अवधारणा पत्र तयारी समिति गठन

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिन्दु विश्वविद्यालय स्थापना गर्न सम्भाव्यता अध्ययन सहित अवधारणा पत्र तयारी समिति गठन गरेको छ । 

हिन्दु विश्वविद्यालय स्थापना अध्ययनका लागि समिति गठन गर्ने मन्त्रीपरिषद्को निर्णयअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पाँच सदस्यीय सम्भाव्यता अध्ययन सहित अवधारणा पत्र तयारी समिति गठन गर्नुभएको हो ।

डा जगमान गुरुङको संयोजकत्वमा गठित समितिको सदस्यमा प्रा डा रामचन्द्र गौतम, प्रा चेतोनाथ गौतम र कमल ढकाल सदस्य रहनुभएको छ भने सदस्यसचिवमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनाश्याम खतिवडा रहनुभएको छ । समितिलाई आगामी मंसिरभित्र प्रतिवेदन पेश गर्न भनिएको छ । मन्त्री किराँतीले आफूले सिफारिस गरेको व्यक्तिहरूले आफूहरूसँग भएको ज्ञानको प्रयोग गरेर हिन्दु विश्वविद्यालय स्थापनाका लागी आवश्यक अवधारणा सहित सम्भाव्यता अध्ययन गर्ने विश्वास व्यक्त गर्नुभयो । 

त्यस्तै समितिका संयोजक गुरुङले २०८० मंसिरभित्रै प्रतिवेदन बुझाउने र २०८१ बैंशाख भित्रै हिन्दु विश्वविद्यालय स्थापना घोषणा गर्नुपर्ने बताउनुभयो । हिन्दु विश्वविद्यालय भन्दा पनि श्री पशुपति हिन्दु विश्वविद्यालय नै नामाङ्करण गर्न उचित हुने उहाँको भनाइ छ । 

उहाँले हिन्दु विश्वविद्यालयको औचित्य पुष्टि हुने गरी काम गर्ने दाबी गर्नुभयो । सरकारले काभ्रेको भकुण्डेबेँसीमा हिन्दु विश्वविद्यालय स्थापना गर्ने तयारी थालेको हो । 

नेपाललाई लाग्यो पाँचौँ झड्का,भीम सार्की ६७ रन बनाएर आउट

काठमाडाैँ – आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा यूएईले दिएको ३११ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले पाँचौँ विकेट गुमाएको छ ।

त्रिवि क्रिकेट मैदानमा यूएईविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले पाँचौँ विकेटका रूपमा भीम सार्कीलाई गुमाएको हो । सार्की ६७ रन बनाएर आउट भएका हुन् । सार्कीले ७६ बलमा ९ चौका प्रहार गर्दै ६७ रन बनाए ।

यसअघि नेपालका कुशल भुर्तेल ३५ बलमा चार छक्का र तीन चौका प्रहार गर्दै ५० रन बनाएर आउट भएका थिए । कप्तान रोहित पौडेल १६ र कुशल मल्ल ५ आउट हुँदा आशिफ शेख खाता नै नखोली पभिलियन फर्किएका थिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३१० रन बनाएपछि नेपालले विशाल लक्ष्य पाएको हो ।

नेविसंघकाे चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौँ – नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले स्वतन्त्र विद्यार्थी युनियनको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । 

नेविसंघ केन्द्रीय समितिले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रमा लोकतान्त्रिक मूल्य मान्यता स्थापित हुने गरी ज्ञानवर्धक र जीवन उपयोगी शिक्षा लागु गर्नुपर्ने उल्लेख गरिएको छ । 

नेविसंघले अपाङमैत्री शिक्षालय, छात्रवृत्तिको न्यायोचित वितरण, स्वच्छ पर्यावरण र सुन्दर वातावरण, स्वदेशमै शिक्षा अनि स्वदेशमै भविष्य, विद्यार्थी सहुलियतको विशेष प्याकेजलगायतका एजेण्डा अघि  लिएको छ । नेविसंघले व्यवहारिक शैक्षिक क्यालेण्डरसमेत निर्माण गर्ने घोषणा गर्दै त्यसको खाका प्रस्तुत गरेको छ ।

नेविसंघले बोकेका मुख्य प्रतिबद्धतामा माध्यमिक शिक्षा सबै नेपालीका लागि अनिवार्य र निःशुल्क बनाउने र उच्च शिक्षा सबैको पहुँचमा, गुणस्तरीय र सर्वसुलभ हुँदै क्रमशः निःशुल्क बनाउन लगायत छन् । पत्रकार सम्मेलनमा घोषणापत्र सार्वजनिक समितिका सदस्य सचिव विकल राईले स्ववियु निर्वाचनले विद्यार्थीहरुमाँझ आलोचनात्मक चेतनाको निर्माण गर्ने बताए । उनले स्ववियु निर्वाचन देशका लागि सक्षम र सचेत नागरिक उत्पादन गर्ने प्लेटफर्म भएको उल्लेख गरे । 

उनले अहिले स्ववियु निर्वाचन हुन नदिने विभिन्न प्रपञ्च भइरहेकोतर्फ लक्षित गर्दै त्यसप्रति सचेत हुन पनि उनले सबैलाई आग्रह गरे । 

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं – भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।

नेपाललाई इन्धन बिक्री गर्ने भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटेको छ ।

अहिले बजारमा पेट्रोल प्रति लिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा बिक्री भइरहेको छ । यस्तै खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिण्डर १८ सय रुपैयाँ छ ।

भारतबाट घटेर प्राप्त भएको मूल्यका आधारमा अब निगम सञ्चालक समिति वा व्यवस्थापन बैठकले इन्धनको उपभोक्ता मूल्यबारे निर्णय गर्ने छ ।

विदेश जाने युवाहरूलाई अनावश्यक दुख नदिनुस् : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले वैदेशिक रोजगारीका क्रममा विदेश जाने युवाहरूलाई अनावश्यक दुख नदिन निर्देशन दिनुभएको छ।


बिहीबार दिउँसो गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा जाँदा युवाहरूले अनेकौँ समस्या भोग्नुपरेको भन्दै अनावश्यक दुख नदिन निर्देशन दिनुभएको हो।


बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, “वैदेशिक रोजगारीमा जाने युवाहरूले अनावश्यक दुख पाएको गुनासो सुन्ने गरेको छ। पासपोर्ट बनाउँदा, मेडिकल टेस्ट गर्दा, अभिमुखीकरण तालीम लिँदादेखि अध्यागमनसम्म युवाहरूले दुख पाएको कुरा गम्भीर छ। कानुन र विधिअनुसार हुने कुनै पनि काम नरोकियोस्। दुख दिने, आलटाल गर्ने, ढिलासुस्ती गर्ने कामको अनुगमन र नियन्त्रण होस्।”

यस्तो छ प्रधानमन्त्रीको बुँदागत निर्देशन
1) आजको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा भएको प्रस्तुतिले चालु आर्थिक वर्षको हालसम्मको अवस्था उजागर गरेको छ। मन्त्रालयले आफ्नो वार्षिक स्वीकृत बजेट तथा कार्यक्रमका बाँकी कामहरू समयमा नै सम्पन्न गर्ने, मुलुकको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, विकास निर्माणमा सहजीकरण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, सेवा प्रवाह र सुशासन कायम गर्ने सवालमा आगामी दिनमा पनि लागी पर्नु हुने नै छ। साथै केही विषयमा अझ सक्रियताका साथ कार्य सम्पादन गर्न पनि म निर्देशित गर्दछु।


2) गृह प्रशासनसँग सम्वन्धित विद्यमान नीति तथा कानुनहरूलाई समसामयिक बनाउनेतर्फ लाग्ने र कार्य सञ्चालनसँग सम्वन्धित निर्देशिका, दिग्दर्शन र कार्यविधि तर्जुमा एवं परिमार्जन गर्ने।


3) देशको अर्थतन्त्रमा देखा परेका समस्यासँगै लघु वित्त तथा सहकारी र बैंक तथा वित्तीय क्षेत्रमा बचतकर्ता र ऋणीका तर्फबाट समेत आक्रोश एवं केही अवाञ्छित गतिविधि, विभिन्न विषयलाई लिएर भएका गतिविधि र स्वतन्त्र विद्यार्थी युनियनको चुनाव लगायतका कुराहरूलाई सबै सुरक्षा निकायहरूले गम्भीरतापूर्वक मनन गरी समग्र शान्ति सुरक्षाको भरपर्दो व्यवस्था मिलाउने।


4) अपराध नियन्त्रण, अनुसन्धान र अभियोजनलाई छिटोछरितो र विश्वसनीय बनाई अपराधिक घटना नियन्त्रण गर्ने र माफिया, बिचौलिया, दलाली, घुसखोरीजस्ता बेथिति र विसंगतिको अन्त्य गर्ने।


5) सार्वजनिक सेवा बितरणको वर्तमान सरकारी शैलीलाई परिष्कृत र वैज्ञानिक बनाई नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र लिँदा नागरिकहरूले महसुस गरिरहेको झन्झट र ढिलासुस्तीको अन्त्य गर्ने। केन्द्रीयस्तरमा कामभन्दा कर्मचारी बढी र कार्यान्वयनस्तरमा कर्मचारीभन्दा काम बढी भएको विद्यमान अवस्थालाई तत्काल सम्बोधन गरी कार्यबोझ बढी भएका ठाउँमा कर्मचारी खटनपटन मिलाउने। प्रमुख जिल्ला अधिकारीले आफ्नो क्षेत्राधिकारभित्रका सार्वजनिक निकायबाट बितरण हुने सार्वजनिक सेवालाई छिटोछरितो र नागरिकमैत्री बनाउनका लागि आवश्यक सुपरीवेक्षण गरी सुधारका लागि पृष्ठपोषण दिने।


6) अध्यागमन प्रशासनबाट प्रदत्त सेवाले देशको प्रथम मुहार प्रतिविम्वित गर्ने हुँदा सो कार्यमा सक्षम उच्च नैतिक आचरणयुक्त जनशक्ति परिचालन गर्ने र विद्यमान विद्युतीय प्रणालीको स्तरोन्नति गरी पूर्ण प्रयोग गर्ने। बैदेशिक रोजगारीमा जाने आउने नागरिकहरूलाई छिटो छरितो एवं सहज सेवा उपलव्ध गराउने।


7) कारागारका भौतिक संरचनामा सुधार गर्न कार्ययोजना पेश गर्ने। कारागारभित्रका बेथिति र विसंगति नियन्त्रण गर्ने र युवा कैदीहरूको श्रम क्षमता र सीपको उपयोग गर्नेतर्फ आवश्यक नीतिगत तथा कानुनी आधार तयार गरी पेश गर्ने।


8) सीमा व्यवस्थापन एवं राजस्व चुहावट नियन्त्रण कार्यमा थप जिम्मेवार भएर कार्य गर्ने। सीमा स्तम्भहरूको संरक्षण र मर्मतसम्भार गर्ने कार्यलाई प्राथमिकतामा राखी आवश्यक स्रोतसाधन बोर्डर आउट पोष्टमा नै पठाउने व्यवस्था मिलाउनका लागि अर्थ मन्त्रालयमा समन्वय गर्ने। सीमा सुरक्षा पोष्टको हालको ड्युटी क्षेत्र घटाउन सुरक्षा पोष्ट थप गर्न र सीमा सुरक्षा पोष्टको स्थायी संरचना निर्माण गरी स्रोतसाधन थप गर्ने विषयमा आगामी आर्थिक वर्षको बजेट तर्जुमाका बखतसमेत ध्यान दिने।


9) राष्ट्रिय परिचयपत्र तथा घटना दर्ता व्यवस्थापनका सन्दर्भमा राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीका लागि नागरिकको बिवरण संकलन कार्यलाई आगामी वर्षभित्र सक्ने गरी कार्य योजना बनाई काम गर्ने। राष्ट्रिय परिचयपत्र छपाई र बितरणलाई छिटोछरितो बनाउने। राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीसँग अन्य सेवा प्रदायक निकायका विद्युतीय प्रणालीलाई छिटो आवद्ध गरी सेवा प्रवाहलाई सरलीकरण गर्ने। अनलाइन व्यक्तिगत घटना दर्ता प्रणालीलाई सबै वडामा बिस्तार गरी सेवा सरलीकरण गर्ने। डाटा सुरक्षा र संरक्षण कार्यलाई मजबुत बनाउने।


10) सबै स्थानीय तहहरूलाई सामाजिक सुरक्षा भत्ता बैङ्किङ प्रणालीमार्फत बितरण गर्न लगाउने। सामाजिक सुरक्षा भत्ता विद्युतीय भुक्तानी प्रणालीमार्फत भुक्तानी गर्ने। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको पहिचान र विवरण शुद्धिकरण गर्ने।


11) विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापनतर्फ विपद् पूर्वतयारी, खोज, उद्धार, राहत, पुनस्र्थापना, पुनर्लाभ र पुनर्निर्माण जस्ता कार्यलाई प्रभावकारी बनाउने। विपद् जोखिम न्यूनीकरणका उपायहरु अवलम्वन गर्ने सम्वन्धी सचेतना अभिवृद्धि गर्ने। विपद् जोखिम न्यूनीकरणसँग सम्वन्धित जनशक्तिको क्षमता अभिवृद्धि गर्ने। आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने।


12) कसुरजन्य सम्पत्तिको अभिलेखाङ्कनलाई व्यवस्थित र भरपर्दो बनाई सोको दीर्घकालीन उपयोगको विषयमा ध्यान दिने।

13) आन्तरिक नियन्त्रण प्रणालीलाई कसिलो बनाउने। बेरूजु फस्र्यौट कार्यलाई प्राथमिकतामा राखी वित्तीय अनुशासन कायम गर्ने।

मलमा दिँदै आएको अनुदान कटौती गरेको भन्दै माइतीघरमा किसानहरूले गरे विरोध प्रदर्शन

काठमाडौँ – सरकारले किसानलाई मलमा दिँदै आएको अनुदान कटौती गरेको विरोधमा विभिन्न दल निकट किसान सङ्गठनहरूले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् ।

एमाले निकट अखिल नेपाल किसान महासङ्घ, राष्ट्रिय प्रजातन्त्र पार्टी निकट नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान सङ्गठन लगायतका सङ्घहरूले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गर्दै अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले नेपाली किसानको बजा सुनिश्चित गर, किसान मार्न पाइँदैन प्रचण्ड सरकार चाहिँदैन, मलको भयो हाहाकार, राजीनामा देऊ कम्र्फटेबर सरकार लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । वर्तमान सरकारले किसान विरोधी निर्णय गरेको भन्दै निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने उनीहरूले चेतावनी दिएका छन् । किसानहरूलाई दिइँदै आएको अनुदान अविलम्ब फिर्ता गराउनका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने तयारी उनीहरूको छ ।

सरकारले रासायनिक मलमा किसानलाई दिँदै आएको अनुदान समग्रमा ११ दशमलव ८ प्रतिशतले घटाउने निर्णय गरेको थियो । अनुदान कटौतीसँगै किसानहरूले प्रदर्शन गर्दै आएका छन् ।

नेपाललाई तेस्रो झड्का,राेहित पनि आउट

काठमाडाैँ – आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा यूएईले दिएको ३११ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले तीन विकेट गुमाएको छ ।

त्रिवि क्रिकेट मैदानमा जवाफी ब्याटिङ गरेको नेपालले पहिलो विकेटका रूपमा आशिफ शेखलाई शून्य रनमै गुमाएको हो । जुनैद सिद्धकीको बलमा कुशल मल्ल कभर क्षेत्रमा क्याचआउट भएका छन् । उनले ५ रन बनाए ।  त्यसपछि अाएका कुशल मल्ल एक चाैका प्रहार गरेर जुनैद सिद्धकीको बलमा  कभर क्षेत्रमा क्याचआउट हुन पुगे । उनले जम्मा ५ रन जाेड्न भ्याए।  तेस्राे  विकेटका रुपमा राेहित कुमार पाैडेललाई नेपालले गुमाएकाे छ । ६.५ अ‍ोभरमा आयान अफ्जल खानको बलमा उनी मिड अन क्षेत्रमा यूएईका कप्तान मोहम्मद वासिमबाट क्याचआउट भए । रोहितले १६ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३१० रन बनाएपछि नेपालले विशाल लक्ष्य पाएको हो ।

जसपाले गर्यो मञ्जु अन्सारीलाई समानुपातिक सांसद सिफारिस

काठमाडौँ – जनता समाजवादी पार्टी, नेपालले मञ्जु अन्सारीलाई प्रतिनिधि सभा सदस्यको लागि सिफारिस गरेको छ ।

बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अन्सारीलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय गरेको हो । उनी सप्तरी निवासी हुन् ।

दलहरुलाई आयोगले भन्यो- उपराष्ट्रपतिबारे सभा, गोष्ठी र छलफल नगर्न

काठमाडौँ – निर्वाचन आयोगले यही चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि प्रचारप्रसार निषेधका अवधिमा राजनीतिक दलको बैठकबाट उम्मेदवारलाई मत दिने वा नदिने निर्णय नगर्न/नगराउन ध्यानाकर्षण गराएको छ ।

उम्मेदवारका सम्बन्धमा कतिपय राजनीतिक दलका बैठक र त्यससँग सम्बन्धित सार्वजनिक अभिव्यक्ति आएका सन्दर्भमा आज आयोगले प्रेस विज्ञप्ति जारी गरी सो ध्यानाकर्षण गराएको हो । आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु भइरहेको विज्ञप्ति मार्फत स्मरण गराएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा आज जारी विज्ञप्तिमा यस अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका बैठक, छलफल, अन्तक्र्रिया, सभा गर्न नपाइने उल्लेख छ । 

यसैगरी  सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न, उम्मेदवाको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न नपाइने विज्ञप्तिमा उल्लेख गरिएको छ । 

आयोगले मतदानमा सहभागी भई स्वविवेक प्रयोग गरी मतदान गर्न निर्वाचक मण्डलका सदस्यहरुलाई आग्रह गरेको छ ।

सरकारी निवास छाडे उपराष्ट्रपति पुनले

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले बिहीबार सरकारी निवास छाडेका छन् ।

शुक्रबार उपराष्ट्रपतिका लागि निर्वाचन हुँदै छ । यसको अघिल्लो दिन बिहीबार नै उपराष्ट्रपति पुनले सरकारी निवास छाडेका हुन् । 

उनको निजी सचिवालयका अनुसार पुन काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित निजी निवासमा सरेका हुन् ।
 

शुक्रबार बिहान १० बजे देखि उपराष्ट्रपति निर्वाचनको मतदान सुरु

काठमाडौँ – उपराष्ट्रपति निर्वाचनको तयारी पूरा भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा हुने उपराष्ट्रपति निर्वाचनको तयारी पूरा भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतपत्र, मतदान केन्द्रको व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार संसद भवनको ल्होत्से हलमा निर्वाचन हुने छ । मतदानका लागि २ वटा मतपेटिकाको व्यवस्था गरिएको छ ।

बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान गरिने र ४ बजेदेखि मत गणना सुरु गरी साँझ ७ बजेसम्ममा नतिजा घोषणा गरिने कार्यालयले जनाएको छ ।

निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादाव र प्रमिलाकुमारी यादवको उम्मेदवारी परेको छ । प्रमिलाले भने आफ्नो उम्मेदवारी निष्क्रिय पारेर रामसहायलाई समर्थन गर्ने घोषणा गरिसक्नुभएकाे छ । 

त्यस्तै, सत्ता गठबन्धनमै रहेको जनमत पार्टीकी ममता झाले पनि उम्मेद्वारी दिनुभएकाे छ । झाको पक्षमा नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी रहेका छ ।

त्यस्तै विपक्षी दलबाट नेकपा एमालेकी अष्टलक्ष्मी शाक्यको उम्मेदवारी परेको छ । निर्वाचनमा संघीय संसदका ३३२ र प्रदेश सभाका ५५० सांसद मतदाता रहेका छन् ।

युएईले कटायो २५० रन

काठमाडौँ – आइसीसी विश्वकप लिग-२ अन्तर्गत अन्तिम खेलमा नेपाल र युएई खेलिरहेका छन् । टस जितेर पहिला ब्याटिङ गरिरहेको युएईले २५० रन पूरा गरेको छ । उसले ४७.२ आभेरमा ५ विकेट गुमाएर २५० रन बनाएको हो ।

यसअघि नै एकदिवसीय मान्यता जोगाएको नेपालले आज यूएईलाई हराएमा एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ । त्यसैले पनि यो खेल नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो र महत्त्वको हो ।

आजको खेल जितेमा नेपालले ३९ अंक रहेको नामिबियालाई उछिन्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोट खेल्न पाउनेछ । फेब्रुअरी १४ मा नामिबियालाई कीर्तिपुर मैदानमै हराएयता नेपालले खेलेका ११ खेलमध्ये १० मा जित हात पारेको छ ।

हिमाल कार्की कांग्रेस कोसी संसदीय दलको उपनेतामा नियुक्त

विराटनगर – हिमाल कार्की नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलको उपनेतामा नियुक्त भएका छन् । संसदीय दलका नेता उद्धव थापाले उनलाई उपनेता  नियुक्त गरेका हुन् ।

उदयपुर क्षेत्र नम्बर १ को प्रदेश (२) बाट दोस्रोपटक प्रदेशसभामा निर्वाचित उनी  प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री हुन् ।  उनी कांग्रेस उदयपुरका जिल्ला सभापति समेत हुन् ।