`

युएईले कटायो २५० रन

काठमाडौँ – आइसीसी विश्वकप लिग-२ अन्तर्गत अन्तिम खेलमा नेपाल र युएई खेलिरहेका छन् । टस जितेर पहिला ब्याटिङ गरिरहेको युएईले २५० रन पूरा गरेको छ । उसले ४७.२ आभेरमा ५ विकेट गुमाएर २५० रन बनाएको हो ।

यसअघि नै एकदिवसीय मान्यता जोगाएको नेपालले आज यूएईलाई हराएमा एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ । त्यसैले पनि यो खेल नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो र महत्त्वको हो ।

आजको खेल जितेमा नेपालले ३९ अंक रहेको नामिबियालाई उछिन्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोट खेल्न पाउनेछ । फेब्रुअरी १४ मा नामिबियालाई कीर्तिपुर मैदानमै हराएयता नेपालले खेलेका ११ खेलमध्ये १० मा जित हात पारेको छ ।

हिमाल कार्की कांग्रेस कोसी संसदीय दलको उपनेतामा नियुक्त

विराटनगर – हिमाल कार्की नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलको उपनेतामा नियुक्त भएका छन् । संसदीय दलका नेता उद्धव थापाले उनलाई उपनेता  नियुक्त गरेका हुन् ।

उदयपुर क्षेत्र नम्बर १ को प्रदेश (२) बाट दोस्रोपटक प्रदेशसभामा निर्वाचित उनी  प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री हुन् ।  उनी कांग्रेस उदयपुरका जिल्ला सभापति समेत हुन् ।
 

लागुऔषधसहित १४ जना पक्राउ

काठमाडाैं – देशका विभिन्‍न स्थानबाट १४ जना लागुऔषधसहित पक्राउ परेका छन् । सिन्धुलीकाे हरिहरपुरगढी गाउँपालिका-७ भुताहा र काभ्रेको सिमानाबाट अवैध लागूऔषध गाँजा करिब ७६ केजी ५ सय ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सर्लाही हरिवन नगरपालिका-२ बस्ने २३ वर्षीय प्रलात कुमार थोकर र सोही नगरपालिका-८ बस्ने ३३ वर्षीय देउकुमार स्याङ्तान रहेका छन् । प्रहरी चौकी क्यानेश्वरबाट खटिएको प्रहरीले क्यानसिरबाट भुताहातर्फ आउँदै गरेको प्र.०२-०३-०१८ प ८०६५ नम्बरको मोटरसाइकलबाट १ वटा बोरा र हाल नम्बर नखुलेको मोटरसाइकलमा ल्याएको १ वटा बोरा गरी दुवै बोराबाट उक्त परिमाणको लागुऔषध फेला परेको हो ।

प्रहरीले जाँच गर्ने क्रममा नम्बर नखुलेको मोटरसाइकलमा सवार दुई जनाले प्रहरी टोलीलाई देख्नासाथ उक्त गाँजाको बोरा फाली मोटरसाइकल सहित फरार भएका थिए । प्रहरीले प्र.०२-०३-०१८ प ८०६५ नम्बरको मोटरसाइकलमा सवार प्रलात कुमार थोकर र देउकुमार स्याङ्तानलाई पक्राउ गरेको छ भने हाल फरार नम्बर नखुलेको मोटरसाइकलमा सवार व्यक्तिहरूको समेत खोजी गरिरहेको छ । 

कैलालीकाे धनगढी उपमहानगरपालिका-४ यातायात कार्यालय अगाडिबाट अवैध लागुऔषध ब्राउनसुगर २ ग्राम २ सय ५० मिलिग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-५ बस्ने ३० वर्षीय नरेश खड्का, ३० वर्षीय लक्ष्मण खड्का र सोही उपमहानगरपालिक-११ बस्ने ३० वर्षीय देबेन्द्र खड्का रहेका छन् ।  जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी कैलालीकाे टिकापुर नगरपालिका-१ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ६० मिलिग्रामसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपलिका-१ राजिपुर बस्ने २४ वर्षीय आबिनाश चौधरी र २२ वर्षीय बिक्रम चौधरी रहेका छन् । ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले बा.५४ प ४४८१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

पर्सा, वीरगञ्ज महानगरपालिका-३१ मिलनचोकबाट अवैध लागुऔषध गाँजा २४ केजीसहित सोही महानगरपालिका-३२ टेढा बस्ने वर्ष ५४ वर्षीय रमतुल्ला मिया सहित ४ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मिलनचौकबाट खटिएको प्रहरीले जितपुरबाट मनवातर्फ जाँदै गरेको ना.२ ह ३०८९ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।  

यसैगरी, पर्सा, पटेर्वासुगौली गाउँपालिका-३ सोनवर्सा बस्ने ३८ वर्षीय जैनुल होदाको घरबाट अवैध लागुऔषध गाँजा २९ किलोग्रामसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जैनुल र मकवानपुर लाउती गाउँपालिका-३ बस्ने ५० वर्षीय रामजी थिङ रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । 

सुनसरी, धरान उपमहानगरपालिका-१५ स्थित कोकोनट हाउसबाट अवैध लागुऔषध ब्राउनसुगर ३ सय मिलिग्राम, नियन्त्रित औषधि ट्रामाडोल ४० ट्याव्लेट, स्पास्पेइन ४० ट्याव्लेट  र नगद ६० हजार ३ सय ५० रुपैयाँसहित सोही उपमहानगरपालिका-५ घर भई हाल सोही ठाउँ बस्ने २७ वर्षीय जेल्स राईलाई प्रहरीले पक्राउ गरेको छ ।  ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई उक्त ब्राउनसुगरसहित फेला पारी पक्राउ गरेको हो ।

अहिलेको गठबन्धन सरकार पाँचै वर्ष टिक्छ : विमलेन्द्र निधि

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार पाँचै वर्ष टिक्ने बताएका छन् ।

बिहीबार कांग्रेस ललितपुर नगर कमिटीले आयोजना गरेको कार्यक्रममा निधिले अहिलेको गठबन्धन पाँचै वर्ष टिक्ने उल्लेख गरे । उनले एमालेको प्रभावबाट माओवादी मुक्त भइसकेकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएलगत्तै कांग्रेस सरकारमा जाने पनि स्पष्ट पारे ।

नेता निधिले पाँच वर्षमा तीनजना प्रधानमन्त्री बन्ने बताए । उनले पहिलो कार्यकालमा प्रचण्ड निरन्तर रहने बताए । उपराष्ट्रपति निर्वाचनलगत्तै अर्को समीकरण बन्ने हल्लालाई खण्डन गर्दै प्रचण्डले आफ्नो कार्यकाल पूरा गर्ने बताए । प्रचण्डपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने उनको भनाइ थियो ।

अन्तिम कार्यकाल चुनावी सरकारको नेतृत्व भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने उनको भनाइ थियो । तर कति कति वर्ष भन्ने उनले खुलाउन चाहेनन् ।

राष्ट्रपति निर्वाचनअघि नयाँ गठबन्धन गर्ने बेला कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका अध्यक्षहरू पालैपालो प्रधानमन्त्री बन्ने भित्री सहमति भएको थियो । तर कति वर्ष भन्ने अहिलेसम्म खुलेको छैन । चुनावी सरकारको नेतृत्व भने कांग्रेस सभापति देउवाले गर्ने भन्ने धेरैको अनुमान छ ।

नेपाललाई चौथो सफलता, दीपेन्द्रले लिए विकेट

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा यूएईविरुद्ध नेपालले चौथो विकेट लिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको यूएईले चौथो विकेट गुमाएको हो । दीपेन्द्रसिंह ऐरीले नेपाललाई चौथो सफलता दिलाए । उनले आयन अफ्जल खानलाई तीन रनमा आउट गराए । यसअघि सीपी रिजवान सात रनमा रनआउट भए । उनलाई भीम शार्की र आशिफ शेखले रनआउट गराए ।

यसअघि नेपालका सन्दीप लामिछाने र ललितनारायण राजवंशीले विकेट लिएका थिए । सन्दीपले कप्तान मोहम्मद वासिमलाई आउट गराए । वासिमले ४९ बलमा ६ छक्का र दुई चौका प्रहार गर्दै ६३ रन बनाए । त्यस्तै, ललितनारायण राजवंशीले आर्यन लाक्रालाई ६ रनमा बोल्डआउट गराए ।

खेलाडीलाई हौसला दिन प्रधानमन्त्री त्रिवि क्रिकेट मैदानमा (फोटो फिचर)

काठमाडौं – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अहिले नेपाल र यूएईबीचको खेल भइरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोली नेपाल र पाहुना टोली यूएईबीच भइरहेको हो । 

लिगको अन्तिम खेल भएकाले खेलाडीलाई हौसला दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड क्रिकेट मैदानमा पुगेका छन् । उनीसँगै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितका विशिष्ट व्यक्ति पनि खेल हेर्न क्रिकेट मैदानमा पुगेका हुन् । 

टस जितेर ब्याटिङ गरेको यूएईले २६.३ ओभरको समाप्तिमा ४ विकेट गुमाएर १२८ रन जोडेको छ । 

उक्त खेल हेर्न दर्शक भरिभराउ छन् । लिग–२ को अन्तिम श्रृंखलाको यो खेल नेपालका लागि निर्णायक मानिएको छ। आजको खेलमा यूएईलाई हराउन सकेमा नेपाल सोझै जिम्बावेमा हुने एकदिवसीय विश्वकप ग्लोबल छनोटमा पुग्नेछ। 

यूएईसँग हारेमा नेपालले यसै महिनाको अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ। नेपाल पराजित भएमा नामिबिया सोझै विश्व कप छनोटमा पुग्नेछ।

नेपाल र यूएईबीच अहिलेसम्म १२ एकदिवसीय खेल भएको छ। जसमा समान छ खेलमा जित र हार छ। नेपालले पछिल्ला दुवै खेलमा यूएईलाई हराएको छ।

बिहीबार एक हजार रुपैयाँले बढ्याे सुनकाे भाउ

काठमाडाैं –नेपाली बजारमा सुनको भाउ बिहीबार पनि बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक हजार रुपैयाँले बढेर १ लाख ६ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 


यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ६ हजार २ सय रुपैयाँ निर्धारण भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ५ हजार २ सय रुपैयाँ निर्धारण भएको थियो ।

बिहीबार चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १३ सय ५ रुपैयाँ कायम भएको छ । बुधबार भने चाँदीको भाउ १३ सय रुपैयाँ कायम रहेको थियो ।

रासायनिक मलको मूल्यवृद्धिप्रति साना किसान कृषि सहकारी संघ बाराको आपत्ति

बारा – सरकारले रसायनिक मलको मूल्यमा भारी वृद्धि गरेको प्रति साना किसान कृषि सहकारी संघ बाराले आपत्ती जनाएको छ । किसानलाई दिँदै आएको सुविधा काटेर सरकारले अन्याय गरेको बारा संघले जनाएको हो ।

कृषि संघ बाराले किसानलाई समयमा मल समेत उपलब्ध गराउन नसकेको सरकारले यसअघि दिँदै आएको अनुदानमा समेत कैंचि लगाउँदा किसान थप मर्कामा पर्ने उल्लेख गरेको छ ।

‘नेपाल सरकारले कृषिमा अहोरात्र योगदान पुर्‍याउने रासायनिक मलमा अनुदान कटौती गरी मूल्यवृद्धि गरेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । कृषकलाई ठूलो आर्थिक भार पार्नेगरि गरिएको मूल्यवृद्धिको हामी विरोध गर्दछौं,’  संघका अध्यक्ष मिश्रीलाल सहनीद्वारा हस्ताक्षरित जारी विज्ञप्तिमा भनिएको छ ।

संघले सरकारसँग अनुदान कटौती गर्ने निर्णय तुरुन्त फिर्ता लिन माग गरिएकाे छ । ‘सरकारसँग अनुदान कटौती गर्ने निर्णय तुरुन्त फिर्ता लिन माग गर्दछौं । नेपाल कृषि प्रधान देश हो र यहाँका करिब ७० प्रतिशत जनसंख्या प्रत्यक्ष कृषि पेसामा जोडिएका छन् । हामी हाम्रो देशको खाद्य सुरक्षा, गरिबी निवारण, आर्थिक समृद्धि, निर्यात र व्यापार घाटा न्यूनीकरण तथा आत्मनिर्भर र रोजगारी सिर्जना गर्ने क्षेत्रको रूपमा बुझ्न पनि आग्रह गर्दछौं,’ संघले भनेकाे छ । 

अनुदान कटौटी गगरी गरिएको मुल्य वृद्धिको भत्सर्ना गर्दै कृषि संघले नेपाली कृषकहरूको अत्यावश्यक जरुरीका रासायनिक मल, बिउ, किटनाशक औषधि, सिँचाई, बजार व्यवस्था जस्ता कुराहरू सधैँ भोन्नु परिरहेका बेला गरिएको मुल्य वृद्धिले किसानका समस्या समाधान गर्नुको साटो उल्टै प्रत्यक्ष मार पार्ने काम भएको बताएको छ ।

प्रि-ओपन सेसनमा नेप्से सूचक १.८५ विन्दुले उकालाे

काठमाडाैं – प्रि-ओपन सेसनमा नेप्से सूचक १.८५ विन्दुले बढेको छ । यससँगै सूचक १९५३.०६ अंकमा आइपुगेको छ ।

यो सेसनमा ११ कम्पनीको ४१९ कित्ता सेयर कारोबार भएको हो । कुल ११ वटा कारोबार भएको हो । १ लाख ४८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

एमालेलाई विपक्षी दलको मान्यता दिन माग

काठमाडौं – नेकपा एमालेले विपक्षी दलको मान्यता माग गर्दै संघीय संसद सचिवालयलाई पत्र लेखेको छ।

महासचिव शंकर पोखरेलले संघीय संसद् सचिवालयका महासचिव  डा. भरतराज गौतमलाई सम्बोधन गर्दै विपक्षी दलको मान्यता दिन माग गर्नुभएको हो ।

सचिवालयका प्रवक्ता एकराम गिरीले विपक्षी दलको मान्यता दिन आग्रह गर्दै पत्र आएको पुष्टि गर्नुभयो । उहाँले भन्नुभयो, ‘महासचिवज्यूलाई सम्बोधन गरेर पत्र आएको छ। उहाँ महासचिव बाहिर भएकाले पत्र हेर्न पाएका छैनौं ।’

गत फागुन १५ गते पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमालेले प्रतिनिधिसभामा आफूलाई विपक्षी दलको मान्यता दिनुपर्ने माग गरेको हो। यसअघि नेपाली कांग्रेसले विपक्षी दलको मान्यता दिन माग गर्दै आइरहेको थियो। तर, प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएकाले सचिवालयले औपचारिक रुपमा कांग्रेसलाई विपक्षी दलको मान्यता दिएको थिएन।

यद्यपी कांग्रेस प्रतिनिधिसभा बैठकमा विपक्षी दलको बेञ्चमा बस्दै आइरहेको थियो। प्रधानमन्त्रीलाई विश्वासको मत दिएको दल विपक्षी नहुने भएकाले आफूलाई मान्यता दिन नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले माग गर्दै आइरहेका थिए। 

अध्यक्ष ओली आरोप : राष्ट्रपति उपराष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धनले संवैधानिक व्यवस्था मिच्यो

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति उपराष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धनले संवैधानिक व्यवस्था मिचेको आरोप लगाउनुभएको छ ।

उपराष्ट्रपति निर्वाचनका सन्दर्भमा एमालेले मंगलबार ललितपुरमा आयोजना गरेको सङ्घ तथा प्रदेशका सांसदहरूसँगको छलफल कार्यक्रममा ओलीले संविधानको अक्षरमा त्रुटि हुन सक्ने भन्दै सभामुख उपसभामुख र राष्ट्रपति उपराष्ट्रपति मध्ये एक महिला हुनुपर्ने भावना संविधानको रहेको तर सत्ता गठबन्धनले त्यसलाई बेवास्ता गर्दै संवैधानिक व्यवस्था मिचेको आरोप लगाउनुभएको हो ।

अहिले १० दलीय नेताहरूले संविधानलाई मिच्न, महिलाको अधिकार खोस्न निर्वाचन आयोगलाई प्रयोग गरेको उहाँको भनाइ छ । उहाँले संविधानको व्याख्या सम्बन्धी प्रश्न सर्वोच्चको संवैधानिक इजलासले हेर्नुपर्ने धारणा राख्नुभयो । राष्ट्रपति उपराष्ट्रपति निर्वाचनमा संवैधानिक व्यवस्था अनुसार पुरुष महिलाको सन्तुलन मिलाउनु अनिवार्य रहेको उहाँले बताउनुभयो ।

त्यस्तै ओलीले उपराष्ट्रपति पदमा एमालेले जित्ने आधार भएको भन्दै त्यसका बारेमा अहिले चर्चा गरे समीकरण भत्किन सक्ने बताउनुभयो । ओलीले गठबन्धन भित्र अनेक प्रकारका समस्याहरू रहेको र एमालेभित्र कुनै समस्या नरहेकाले पनि उपराष्ट्रपतिमा एमालेका उम्मेदवारको विजय हुने जिकिर गर्नुभयो ।

ओलीले अरू निजी स्वार्थका लागि केन्द्रित भए पनि एमाले सबल राष्ट्रिय शक्ति स्थापित गर्नका लागि लागेको धारणा राख्नुभयो ।

स्ववियु निर्वाचन : वाल्मीकिमा नेविसंघले थप्यो तालामाथि ताला

काठमाडौँ – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नजिकिँदै जाँदा नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको आङ्गिक क्याम्पस वाल्मीकि विद्यापीठमा ताला लागेको छ । मनोनयन दर्ताको दिन नेकपा एकिकृत समाजवादी निकट विद्यार्थी संगठन (अनेरास्ववियू) ले लगाएको तालामा फेरी नेपाली काँग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्गठन (नेविसंघ) ले ताला लगाएको हो ।

निर्वाचन प्रक्रियामा विद्यापीठले अमुक विद्यार्थी सङ्गठनसँग साँठगाँठ गरेर निर्वाचन प्रक्रियालाई अवरुद्ध पार्न खोजेको नेविसंघको आरोप छ । नेविसंघले निर्वाचन समितिका पदाधिकारी र प्राचार्यलाई निषेध भन्दै विद्यापीठ परिसरमा ब्यानर टाँगेको छ ।

देशभरका क्याम्पसहरूमा गत फागुन २७ गते उम्मेदवारको मनोनयन दर्ता भए पनि वाल्मीकि विद्यापीठमा भने निर्वाचन प्रक्रिया अवरुद्ध भएको हो ।

निर्वाचन समिति अफ्ठेरोमा परेको भन्दै नेविसंघलाई वार्ताका लागि मङ्गलवार बिहान १० बजे बोलाइएको थियो । तर,वार्तामा नेविसंघ नआएपछि विद्यापीठका निर्वाचन समितिका संयोजक शान्ति कृष्ण अधिकारी फोन अफ गरेर फरार भएको एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले आरोप लगाएको छ ।

‘निर्वाचन प्रक्रियालाई बिथोल्न निर्वाचन समिति लागेको छ । अमुक विद्यार्थी सङ्गठनको इसारामा चलेर स्ववियु निर्वाचन नगराउने पक्षमा निर्वाचन समिति लागेको छ । यसको अनेरास्ववियु घोर भर्त्सना गर्दछ’,अनेरास्ववियु वाल्मीकि क्याम्पस कमिटीका सचिव तथा स्ववियु सचिवका उम्मेदवार खिलचन्द्र गौतमले बताउनुभयो । ‘हामी तालाबन्दीको विपक्षमा छौँ स्वच्छ ढङ्गले निर्वाचन गराउन विद्यार्थी सङ्गठनलाई पनि मेरो आग्रह छ’,उहाँले भन्नुभयो ।

देशभर स्ववियु निर्वाचन चैत ५ गते हुँदैछ ।

स्ववियु निर्वाचनको माग गर्दै ठाकुरराम क्याम्पसका विद्यार्थी अनसनमा

वीरगन्ज – वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन निर्धारित मितिमै हुनुपर्ने माग गर्दै विद्यार्थी नेताहरू आन्दोलित बनेका छन् ।

नेविसंघका तर्फबाट सभापतिका प्रत्यासी समेत रहेका मुनराज तिवारीको नेतृत्वमा विद्यार्थी नेताहरू क्याम्पस परिसरमा मंगलबार अपरान्ह ३ बजेदेखि धर्ना दिँदै अनसनमा बसेका हुन् । 

अनसनमा नेविसंघ,अखिल क्रान्तिकारी र अनेरास्ववियुका विद्यार्थी नेताहरू अनसनमा बसेका हुन् । स्ववियु निर्वाचन निष्पक्ष र यथावत मितिमै हुनुपर्ने माग राखेर अनसनमा बसेको विद्यार्थीहरूले बताएका छन् । चुनाव निर्वाचन समितिले तोकेको चैत ८ मै हुनुपर्ने माग आफूहरूको रहेको विद्यार्थी नेताहरूको भनाइ छ ।

एमालेले कुनै विदेशी शक्तिको नुन खाएर भक्तिभाव गर्दैन : योगेश भट्टराई

सुर्खेत – नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेले कुनै विदेशी शक्तिको नुन खाएर भक्तिभाव नगर्ने बताउनु भएको छ।

पार्टीको मिसन ग्रासरूट अभियान अन्तरगत सुर्खेतको गुभार्कोटमा आज आयोजित नगस्तरिय प्रशिक्षण कार्यक्रममा सचिव भट्टराईले नेपालको सार्वभौमसत्ता र अखण्डताको रक्षाको लागि नेकपा एमालेले जस्तोसुकै मूल्य चुकाउन तयार रहेको दाबी गर्नुभयो।

पछिल्लो पटक एमाले र माओवादीबीच बनेको गठबन्धनलाई विदेशी शक्तिको प्रभाव परेर माओवादीले भत्काएको दाबी गर्नुहुँदै सचिव भट्टराईले कम्यनिष्ट गठबन्धन भत्काएर प्रचण्डले प्रतिक्रियावादीको सेवक बनेको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो, ‘एमालेसहित बनेको गठबन्धन भत्काउन अध्यारो कोठाभित्र के कस्ता षडयन्त्र भए त्यो त खुल्दै जान्छ । त्यस्तो गठबन्धन बनाउन प्रचण्डले जे भूमिका खेले त्यसले उहाँको चरित्र उदागो बनाएको छ।’

समाजवादी नामको छुट्टै पार्टी बनाएर माधव नेपाल र झलनाथ खनालले पनि कांग्रेस जस्तो प्रतिक्रियावादीको सेवा गरेको उहाँको भनाइ छ।

कार्यक्रममा केन्दीय सदस्य धर्मराज रेग्मी, पूर्व सासद धुव कुमार शाही, कावा अध्यक्ष कूलमणि देवकोटा लगायतले मिसन ग्रासरूट अभियानले पार्टीलाई थप मजबुद बनाउने बताउनु भयो ।

कार्यक्रम कम्पुनिष्ट आन्दोलनमा योगदान पुर्याए बापत २० जना अग्रजहरूलाई सम्मान गरिएको छ।

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू

काठमाडौं – मन्त्रिपरिषद् बैठक सुरू भएको छ।

बैठक  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सुरू भएको एक मन्त्रीले जानकारी दिनुभयाे । बैठकले नीतिगत निर्णय गर्ने बताइएको छ।

राजनीतिक सिन्डिकेट अन्त्यका लागि राष्ट्रवादी शक्तिहरु एक ठाउँमा उभिन आवश्यक : कमल थापा

नेपालगन्ज – राप्रपा नेपालका अध्यक्ष कमल थापाले भ्रष्टाचार र बिदेशी हस्तक्षेपको अन्त्य, सनातन धर्म संस्कृतिको रक्षा र राजनीतिमा कायम सिन्डिकेट तन्त्रको अन्त्यका निमित्त सम्पूर्ण राष्ट्रवादी शक्तिहरु एक ठाउँमा उभिन आह्वान गरेका छन् ।

आज नेपालगन्जमा आयोजित पार्टीका अगुवा कार्यकर्ता भेटघाट एबं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भने, ‘राजनीतिक दलका नेता र विभिन्न शक्तिकेन्द्रहरूलाई म विनम्रतापूर्वक सम्झाउन चाहन्छु कि जनता तपाईहरुको कमारा वा दास होइनन्,अहिले जनतालाई तन्त्रमन्त्र वा वादविवाद होइन शान्ति र स्थिरता चहिएको छ, विकास चाहिएको छ, रोजगारी चाहिएको छ, गरी खाने वातावरण चाहिएको छ ।’ 

उनले गणतन्त्रले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन सकेन भने जनता विकल्प खोज्न बाध्य हुने समेत बताए । राप्रपा नेपालले आगामी दिनमा संगठन निर्माण र जनसंघर्षलाई सँगसँगै लैजाने योजना रहेको भन्दै थापाले देशको प्रत्येक वडा तहसम्म संगठन विस्तार गर्ने तथा २०८०साल फागुन ७ गतेदेखि काठमाडौंमा पार्टीको केन्द्रीय महाधिवेशन गर्ने लक्ष्यका साथ राप्रपा नेपाल अघि बढिरहेको स्पष्ट पारे ।

सर्वसाधारण जनताले सामान्य रोगको उपचार पाउन सकेका छैनन् तर नेताहरुले औषधोपचारको नाउँमा करोडौं रुपैयाँ राज्य कोषबाट पैसा लुटिरहेकामा आक्रोश व्यक्त गर्दै थापाले एनसेल कर छरी प्रकरण, सार्वजनिक जग्गा अतिक्रमण काण्ड, वाइडबडि हवाई जहाज काण्ड, ३८ क्वीन्टल सुन तस्करी काण्ड, नेपाल ट्रष्टको जग्गा ठगी काण्ड, लडाकुहरूको भत्ता चोरि कान्ड, कोभिडको बेला भएको औषधि खरिद र खोप वेपत्ता काण्डहरुको छानविन गरि दोषीलाई कडा कारबाही गर्न समेत उनले माग गरे ।

संक्रमणकालिन न्यायको नाममा गंभीर अपराधमा संलग्न व्यक्तिलाई उन्मुक्ति दिन नमिल्ने भन्दै उनले चाहे माओवादीबाट होस् वा राज्यपक्षबाट होस् निर्दोष र निहत्था जनताको हत्यामा संलग्नहरुलाई उन्मुक्ति दिने गरी कानुन नबनाउन राजनीतिक दल र सांसदहरुलाई आग्रह समेत गरे । 

अगुवा कार्यकर्ता भेलामा पार्टीका सह–महामन्त्री हिक्मत ढकाल, केन्द्रीय सदस्य लक्ष्मी हमाल, जिल्ला अध्यक्ष दिपेन्द्र बहादुर सिंह, उपाध्यक्षहरु आशा बिष्ट र यज्ञराज घिमिरेले समेत बोलेका थिए ।

प्रसांईको महाअभियानको केन्द्रीय समिति विघटन, नयाँ कार्यसमिति बनाइने

काठमाडौँ – ‘राष्ट्र,राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को केन्द्रीय समिति विघटन भएको छ । मङ्गलबार एक विज्ञप्ति जारी गर्दै महाअभियानका संयोजक रहनुभएका दुर्गा प्रसाईँले नागरिक बचाउ अभियान को केन्द्रीय कार्यसमित विघटन गरिएकाे जानकारी दिनुभयाे । 

‘संयोजक र प्रवक्ता बाहेक सबै केन्द्रीय कमिटी हाललाई विघटन गरिएको ब्यहोरा जानकारी गराउँदछौ । छोटो समयमै यहाँहरूले यस महाअभियानलाई देखाउनुभएको अथाह माया, समर्थन र ऐक्यबद्धताले हाम्रो हौसला झन् मजबुत भएको छ’,प्रसाईँले सामाजिक संजाल पेसबुक पेजमा जारी विज्ञप्तिमा भनिएको छ । 

प्रसाईँले अभियानमा जोडिनुभएका सही, इमानदार,कर्मठ अभियान्ताको पहल, समर्थन र सहभागितामा छिट्टै नै महाअभियानको नयाँ केन्द्रीय कमिटी गठन गरिने बताउनुभयो । 

महिलालाई उपराष्ट्रपति बनाउनुपर्ने मागसहितको निवेदन दरपिठ

काठमाडौं – सर्वाेच्च अदालतले महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने मागसहितको निवेदनलाई दरपिठ गरेको छ ।

पुरुष राष्ट्रपति भएकाले उपराष्ट्रपति महिलालाई बनाउनुपर्ने मागसहित सोमबार अधिवक्ता राधिका खतिवडाले दिएको निवेदनलाई सर्वाेच्च अदालतले सोमबार दरपिठ गरिदिएको हो । 

३ चैतमा हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि रामसहायप्रसाद यादवसहितको उम्मेदवारी निर्वाचन आयोगले कायम गरेको छ । 
 

जनमोर्चाले संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने

काठमाडौँ – सत्ता गठबन्धनमा रहेको राजनीतिक दल राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध देशव्यापी रुपमा अभियान चलाउने निर्णय गरेको छ ।

बुटवलमा सम्पन्न राष्ट्रिय परिषद्ले १० चैतदेखि १५ चैतसम्म देशव्यापी अभियान चलाउने निर्णय गरेको हो । उक्त परिषद् बैठकपछि अध्यक्ष चित्रबहादुर केसीले अभियानका कार्यक्रम सार्वजनिक गरेको उक्त पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘अभियानअन्तर्गत सभा, कोणसभाहरू गरिने छ,’ विज्ञप्तिमा भनिएको छ, ‘चैत्र २४ गते जनआन्दोलन दिवसको उपलक्षमा देशव्यापी रूपमा ‘गणतन्त्रको रक्षा गरौँ, प्रतिगमनका विरुद्ध सङ्घर्ष गरौँ’ भन्ने मूल नारा अन्तर्गत सभाका कार्यक्रमहरू गरिने छ ।’

त्यस्तै १० वैशाखमा हुने चितवन–२ को उपनिर्वाचनमा पनि पार्टीका उपाध्यक्ष जनकराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उपनिर्वाचनमा प्रचारप्रसारलाई व्यवस्थित बनाउन महासचिव मनोज भट्टको संयोजकत्वमा २५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

उक्त उपनिर्वाचनलाई नेपालमा बढ्दो अमेरिकी साम्राज्यवादको प्रभाव, इशाईकरणविरुद्ध भण्डाफोर अभियानका रूपमा उपयोग गर्ने निर्णय बैठकले गरेको छ ।

वैशाख र जेठमा देशव्यापी रूपमा पार्टीको जिल्ला सम्मेलन तथा भेला गर्ने निर्णयसमेत उक्त परिषद् बैठकले गरेको छ ।

गठबन्धन अबको ५ वर्षसम्म जनताको अपेक्षा पुरा गर्न एक भएर अघि बढ्नुपर्छ : विश्वप्रकाश शर्मा

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको पाँच वर्ष जनताको अपेक्षा पुरा गर्नका लागि एकीकृत सोचका साथ अघि बढ्नुपर्ने बताएका छन् ।

नेपाल ट्रेड युनियन काँग्रेसले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा शर्माले पाँच वर्षसम्म संसदलाई विघटित नहुनेगरि गठबन्धन दलहरू जनताको अपेक्षा पुरा गर्न एकीकृत रूपमा अघि बढ्नुपर्ने बताएका हुन् ।

उनले मुलुकलाई स्थिरता राखेर नै मुलुकको विकासको आकाङ्क्षा पुरा हुने जिकिर गरे । अहिले राजनीतिमा देखिएका वितृष्णा, अर्थतन्त्रका समस्याहरू, व्यवसायीहरूको पिडा लगायत मुलुकमा देखिएका नकारात्मक सङ्केतहरूलाई राज्यले उचित सम्बोधन गर्नुपर्ने उनले बताए । उनले अहिले बाहिर हल्ला चले जस्तो मुलुकको आर्थिक अवस्था धेरै नराम्रो नरहेको धारणा राखे ।

महामन्त्री शर्माले अव मुलुकको आर्थिक अवस्था सुधार गर्नका लागि व्यापार घाटा नियन्त्रण तर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

बन्दुकमा खिया लागेको छैन भनेर कसलाई धम्की दिएको ? : अध्यक्ष ओली

काठमाडाैँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी घटकलाई बन्दुकमा खिया लागेको छैन भनेर कसलाई धम्की दिएको ? भन्दै प्रश्न गर्नुभएकाे छ ।

राष्ट्रिय राजनीतिमा एउटा पक्ष मानव अधिकारको कुरा उठ्दा नेपालको राजनीतिको बन्दुक उठाउने धम्की दिने गरेको बताउनुभएकाे छ ।

मानव अधिकारको उल्लंघन गर्ने पक्षले नै धम्काइरहेको उहाँले टिप्पणी गर्नुभयाे । मानव अधिकार एलायन्सको सम्मेलनलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले माओवादी घटकका नेताहरूले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएकाे हाे ।

‘नेपालको राजनीतिको एक पक्ष आफूले भनेजस्तो भएन भने मानव अधिकार आयोगलाई धम्की दिन्छ । बन्दुकमा खिया लागेको छैन भन्छ । हामीले गरेको मानव अधिकार उल्लंघनको कुरा गर्ने भनेर प्रश्न गर्छ’, माओवादीप्रति कटाक्ष गर्दै ओलीले भन्नुभयाे ।

सशस्त्र द्वन्दकालीन मुद्दा ब्युँताउन खोजिएको भन्दै माओवादी घटकले आयोजना गरेको कार्यक्रममा माओवादी नेता कृष्णबहादुर महराले बन्दुक उठाउने धम्की दिनुभएकाे थियाे ।

नेपालमा लगानी गर्न चाहने कम्पनीहरूलाई सरकारले आवश्यक सहयोग गर्न तयार छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिमेकी मुलुकसँगको आर्थिक साझेदारी अभिवृद्धिका लागि सीमापार कनेक्टिभिटी अत्यावश्यक रहेको बताएका छन् ।

नेपाल उद्योग परिसंघ र अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनका लागि चाइना काउन्सिलले काठमाडौँमा आयोजना गरेको नेपाल–चीन व्यापार मञ्चको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सीमापार कनेक्टिभिटीको आवश्यकतालाई ध्यानमा राखी सरकारले नेपाल–चीन सिमानाका पूर्वाधार सुधार, सिमानाकामा परीक्षण र मान्यताका लागि पूर्ण सुविधा सम्पन्न प्रयोगशाला स्थापना गर्ने र विभिन्न स्थानमा बन्दरगाह निर्माणलाई तीव्रता दिएको बताएका हुन् ।

नेपालले व्यापार र लगानीमैत्री नीति अवलम्बन गरेको भन्दै उनले प्रत्यक्ष विदेशी लगानीलाई प्रोत्साहन, प्रवर्द्धन र संरक्षण गर्ने जिकिर गरे । उनले लाभदायक क्षेत्रहरू जलविद्युत, औद्योगिक उत्पादन, पूर्वाधार विकास, पर्यटन, कृषि, खनिज, खानी लगायतमा लगानी गर्न आह्वान गरे । प्रधानमन्त्री प्रचण्डले नेपालको कानुनले लगानीबाट कमाएको आम्दानीको पूर्ण फिर्तीलाई अनुमति दिने र नेपालमा दर्ता भएका विदेशी कम्पनीहरूले जग्गा खरिद, स्वामित्व र बिक्री गर्न सक्ने भएकाले लगानीबाट हुने लाभांश लैजान समस्या नरहेको धारणा राखे ।

उनले नेपालमा लगानी गर्न चाहने चिनियाँ कम्पनीहरूलाई आवश्यक सहयोग गर्न तयार रहेको बताए । सीमापार रेलवे र प्रसारण लाइनहरूको सम्भावनाले आगामी वर्षहरूमा दुई देशको आर्थिक सम्बन्धलाई उल्लेखनीय रूपमा सुधार गर्न मद्दत गर्ने उनको विश्वास छ ।

भीम रावलकाे प्रश्न : सरकार जनताको होइन ?

काठमाडौँ – नेकपा एमालेका नेता भीम रावलले सरकार जनताको होइन भन्दै प्रश्न गरेका छन् ।

उनले सरकारले रासायनिक मलमा दिने अनुदान कटौती गरेकोप्रति प्रश्न गरेका हुन् । सरकारले मलको अनुदान घटाएपछि कृषकले यसअघि खरिद गर्दै आएको मूल्य पनि बढ्ने भएको छ।

मंगलबार आफ्नो सामाजिक सञ्जाल ट्टिटरमा लेखेका छन्, ‘पूँजीवादी भनिने देशहरूले पनि कृषिलाई संरक्षण गरेको देखिन्छ’ नेपाल सरकारले मलमा दिने अनुदान कटौती गर्ने, भारतीय फलफूल तरकारीमा विषादी परीक्षण नगर्ने र नेपाली किसानको तरकारी, माछा र केराले बजार नपाउने, चिया, अलैँची र अदुवा निर्बाध भारत निर्यात गर्न नपाइने के नीति हो ? सरकार जनताको होइन ?

आरआर क्याम्पसमा गठबन्धन निकट विद्यार्थीकाे कालाे ब्यानर

काठमाडाैं – रत्न राज्य लक्ष्मी क्याम्पस (आरआरमा) गठबन्धन निकट विद्यार्थी संगठनले कालाे ब्यानर प्रदर्शन गरेका छन् ।

चैत ५ गते हुने स्ववियु चुनावलाई प्रभावित गर्ने उद्देश्यले गठबन्धन निकट विद्यार्थी संगठनले मंगलबार बिहान क्याम्पसकाे मूल गेटमा कालाे ब्यानर टाँगेका हुन् ।

नेविसंघ, एकीकृत समाजवादी निकट अनेरास्ववियु, अखिल क्रान्तिकारी, अनेरास्ववियु क्रान्तिकारी, राप्रपा विद्यार्थी संगठन र समाजवादी विद्यार्थी युनियन लगायतले संयुक्त रुपमा कालाे ब्यानर टाँगेका हुन् ।

उनीहरुले फर्जी तथा अवैध मतदाता नामावली खारेज गर्ने लगायत माग उनीहरुले राखेका छन् । यसअघि उनीहरुले क्याम्पसमा तालाबन्दी गरेका थिए ।

एनआइसी एसिया बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौ –एनआइसी एसिया बैंकले नेपाल लाइफ इन्स्याेरेन्सको नाममा रहेको ५ लाख कित्ता सेयर बिक्री खुला गरेको छ । यसको मूल्य प्रतिकित्ता ३९८ रुपैयाँ तोकिएको छ भने यसमा सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।  

सेयर खरिद गर्न इन्छुक संस्थापकले आज देखि ३५ दिन भित्र बैंकको रजिष्टर्ड कार्यालयमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणले समेत किन्न सक्ने गरी बिक्री खुला गरिने बैंकले जानकारी दिएको छ ।

जनमोर्चाले चितवन-२ मा उम्मेदवारी दिने

काठमाडौँ – राष्ट्रिय जनमोर्चाले चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ।

बुटवलमा बसेको राष्ट्रिय परिषद्को प्रथम बैठकले पार्टीका उपाध्यक्ष जनकराज शर्मालाई चितवन २ को उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

जनमोर्चाका अनुसार उपनिर्वाचनको प्रचारप्रसार तथा निर्वाचन व्यवस्थित बनाउन महासचिव मनोज भट्टको नेतृत्वमा २५ सदस्यीय निर्वाचन परिचालन समितिसमेत बनाइएको छ।

आज रातिदेखि उपराष्ट्रपति निर्वाचनका लागि प्रचारप्रसार निषेध

काठमाडौँ – निर्वाचन आयोगले उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ ।


आगामी चैत्र ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि आयोगले प्रचारप्रसार निषेध लगाएको हो । आयोगले मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै अर्थात् आज फागुन ३० गते राति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म निषेधको अवधि लागू गरेको हो ।

निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिसकेको छ ।

उक्त आचारसंहिताबमोजिम निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निषेधको अवधि लागू हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

निर्वाचन ९कसुर तथा सजाय० ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको छ । साथै उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीतरहारको पूर्वानुमानका सामग्रीहरु प्रसारजस्ता कार्य गर्न नहुने आयोगले स्पष्ट पारेको छ ।

निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयनपत्र दर्ता भई अष्टलक्ष्मी शाक्य (बोहरा), प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव उम्मेदवार रहनुभएको छ । प्रमिला कुमारीले आफ्नो समर्थन यादवलाई रहने घोषणा गरिएको छ ।

एमाले अध्यक्ष ओलीले मानव अधिकार रक्षकको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्ने

​​​​​​​काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानव अधिकार रक्षक एवं सामाजिक अभियन्ताहरूको वृहत् राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुने छ । 

आज राष्ट्रिय सभा गृहमा हुने सम्मेलनको उद्घाटन अध्यक्ष ओलीले गर्नुहुने भएको हो । 

लोकतन्त्र, स्वतन्त्रता, मानवअधिकार, सामाजिक न्याय, सुशासन र जबाफदेहिताको स्थानीय तहसम्म प्रवर्द्धन र सुदृढीकरणका लागि ७ सय ५३ स्थानीय तह र ७ प्रदेशबाट प्रतिनिधित्व हुने मानव अधिकार रक्षक एवं सामाजिक अभियन्ताहरूको वृहत् राष्ट्रिय सम्मेलन हुन लागेको राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्चका अध्यक्ष मीनबहादुर शाहीले जानकारी दिनुभयो ।

यस्तो छ आजकाे विदेशी मुद्राको विनिमयदर

काठमाडौ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । मंगलबार अमेरिकी डलर १३ पैसाले वृद्धि भएको छ। 

राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ १० पैसा र बिक्रीदर १३१ रुपैयाँ ७० पैसा तोकिएको छ। यसअघि सोमबार भने यसको खरिदमूल्य १३० रुपैयाँ ९७ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ५७ पैसामा कारोबार भएको थियो ।

मंगलबारका लागि एक युरोको खरिददर १३९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४० रुपैयाँ ५२ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनकने तुलनामा ४८ पैसाले वृद्धि भएको छ ।  यसअघि आइतबार पनि युरोको भाउमा ७५ पैसाले वृद्धि भएको थियो । सोमबार यसको खरिददर १३९ रुपैयाँ ४० पैसा र बिक्रीदर १४० रुपैयाँ ४ पैसा थियो ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर मंगलबार १५८ रुपैयाँ ३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ७६ पैसा तोकिएको छ। सोमबार उक्त पाउण्डको खरिदमूल्य १५७ रुपैयाँ ५६ पैसा र बिक्रीमूल्य १५८ रुपैयाँ २८ पैसा कायम गरिएको थियो । 

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ ७९ पैसा र बिक्रीमा ८७ रुपैयाँ १९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ९ पैसा र बिक्रीमा ९५ रुपैयाँ ५२ पैसा पाइन्छ।

यस्तै, मंगलबार कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८५ पैसा र बिक्रीमा ३५ रुपैयाँमा ८६ पैसा कायम गरिएको छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर मंगलबार ३४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७० पैसा र बिक्रीमा ३५ रुपैयाँ ८६ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिदमा २९ रुपैयाँ १५ पैसा र बिक्रीमा २९ रुपैयाँ २९ पैसा पाइन्छ।

मंगलबार कुवेती दिनार एकको खरिदमा ४२७ रुपैयाँ ३८ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ३४ पैसा तोकिएको छ। त्यसैगरी बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ४० पैसामा किनबेच भएको छ।

सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौ – सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । उक्त आईपीओमा आज कार्यालय समयभित्रमा आवेदन दिनुपर्ने हुन्छ । कम्पनीले फागुन २६ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो । 

कम्पनीको आफ्नो जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशतको ८९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि भने १० प्रतिशतले हुन आउने ४ लाख ९९ हजार ८७५ कित्तां सेयर र सामूहिक लगानी कोषहरुको लागि ५ प्रतिशत अर्थात २ लाख ४९ हजार ९३६ कित्ता सेयर बाँडफाँट गरिसकिएको छ । कम्पनीले सर्वसाधारणका लागि बाँकी रहेको ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर बिक्री गरेको छ ।

यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।
यसलाई रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी डबल बी’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ ।
 

आजकाे हरियो तरकारी र फलफूलको मुल्य यस्तो छ

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।

जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अंगुर १३० रुपैयाँ, अनार २५० रुपैयाँ  छ भने आभोकाडो ५०० रुपैयाँ, अमला ८० रुपैयाँ, किवि ४५० रुपैयाँ र अम्बा २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ३० रुपैयाँ, अदुवा १०० रुपैयाँ, रातो आलु २४ रुपैया, सेतो आलु १६ रुपैयाँ रहेको छ भने स्थानीय काउली ५० रुपैयाँ, कागती २६० रुपैयाँ, सुकेको खुर्सानी ४२० रुपैयाँ र हरियो खुर्सानी १५० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

त्यस्तै,  लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, राजमा घिउ सिमी १२० रुपैयाँ, चमसूरको साग ७० रुपैयाँ, कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँमा  किनबेच भइरहेको छ भने तितो करेला १२० रुपैयाँ, तोरीको साग ३० रुपैया, भारतीय सुकेको प्याज ३५ रुपैयाँ, हरियो प्याज ४०  रुपैयाँ, पुदीना २०० रुपैयाँ, लोकल बन्दा १५ रुपैयाँ कायम गरिएको छ ।

ब्रोकाउली ७० रुपैयाँ, भान्टा लाम्चो ६० रुपैयाँ, भिण्डी १२० रुपैया केजी र हरियो धनिया ३० रुपैयाँमा पाइने समितिले जनाएको छ ।

यसैगरी, ताजा छडी माछा प्रतिकेजी २५० रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ साथै मंगुरी माछा ३१० रुपैयाँ केजी र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।

माछा मार्न गएका लिम्बुकाे पोखरीमा डुबेर मृत्यु

झापा – झापाको भद्रपुर नगरपालिका–३ भैंसाबाडीमा माछा मार्ने क्रममा पोखरीमा डुबेर एकको मृत्यु भएको छ ।

भद्रपुर नगरपालिका–१ का ४० वर्षीय रामकुमार लिम्बूको पोखरीमा डुबेर मृत्यु भएको हो ।
 जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार पोखरीमा माछा मार्ने क्रममा लिम्बु बेपत्ता भएको भन्ने जानकारी प्राप्त हुनासाथ स्थानीय र इलाका प्रहरी कार्यालय पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले पोखरीमा खोजतालास गर्दा लिम्बूलाई मृत अवस्थामा फेला पारेका थिए । 

मृत अवस्थामा फेला परेका लिम्बूको प्रादेशिक अस्पताल भद्रपुरमा पोष्टमार्टमपश्चात् शव आफन्तलाई जिम्मा बुझाएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको रिजालले जानकारी दिए । 

चितवनका क्याम्पसमा लगाइएको ताला प्रहरीले तोड्यो

चितवन – स्ववियू निर्वाचनलाई अवरोध हुने गरी विभिन्न विद्यार्थी संगठनले लगाएको ताला प्रहरीले तोडेको छ ।

जिल्ला प्रशासन कार्यालयले चितवनका क्याम्पसहरुमा लगाइएको ताला फोड्ने निर्देशन दिएको भोलिपल्ट मंगलबार बिहान प्रहरीले ताला ताेडन सुरु गरेको हो ।

चितवन प्रहरीका  डीएसपी तथा प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार मंगलबार बिहानसम्म विभिन्न ११ वटा क्याम्पसमा लगाएको ताला तोडिएको छ ।

जसअनुसार भरतपुरका सप्तगण्डकी, वीरेन्द्र क्याम्पसलगायतका  छन । चितवनका अन्य क्याम्पसहरुको पनि ताला तोडेर स्ववियु निर्वाचनलाई सहज बनाउने कार्य गरिएको पण्डितले जानकारी दिए । 

चितवन जिल्ला प्रशासनले चितवनका सम्पूर्ण क्याम्पसमा तोकिएकै मितिमा स्ववियु निर्वाचन गर्न क्याम्पस प्रशासनहरुलाई समेत ताला तोडर निर्वाचन प्रक्रिया सहज बनउन अनुराेध गरेकाे छ ।

पूर्व माओवादी घटकले नागरिक अगुवा र बुद्धिजीवीहरूसँग छलफल गर्ने

काठमाडौँ – माओवादी धारका नेताहरूले आज नागरिक अगुवा र बुद्धिजीवीहरूसँग छलफल गर्ने भएका छन्।

विस्तृत शान्ति सम्झौताका बारेमा माओवादी धारका पार्टीहरुले आज बुद्धिजीवी र नागरिक अगुवाहरुसँग छलफल गर्न लागेका हुन्।

गत शुक्रबार बसेको माओवादी धारका पार्टीहरुको बैठकले विस्तृत शान्ति सम्झौताबारे  नागरिक अगुवा तथा बुद्धिजीवीहरूसँग छलफल र अन्तरक्रिया गर्ने निर्णय गरेको थियो।

सोही अनुसार आज नागरिक अगुवाहरुसँग अन्तरक्रिया गर्न लागेका हुन् ।  

राष्ट्रपतिले गरे इजिप्टका लागि आवासीय राजदूत नियुक्त

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले इजिप्टका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम इजिप्टका लागि नेपालको आवासीय राजदूतमा  सुशीलकुमार लम्साललाई नियुक्त गरेका हुन्।

उनलाई मोरोक्को अधिराज्यका लागि समेत गैरआवासीय नेपाली राजदूतको जिम्मेवारी दिइएको छ।

पौडेलले आजै नेपालको संविधानको धारा ७१ बमोजिम  कायम मुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीसमक्ष राष्ट्रपति भवनमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

राष्ट्रपति पौडेललाई अमेरिकाको बधाई

काठमाडौं – अमेरिकाले नेपालका नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएको छ।

राष्ट्रपति पौडेलले आजमात्रै शितलनिवासमा आयोजित एक समारोहकाबीच पद तथा गोपनियताको शपथ लिएका छन्।

नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्प्सनले पौडेललाई सफल कार्यकालको लागि बधाई दिएका हुन्।

अनलाइनमार्फत १५ लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – अनलाइनमार्फत ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। १५ लाख २० हजार रुपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-१ की ३६ वर्षीया अन्जली बिसुन्केलाई प्रहरीले पक्राउ गरेको हो।

उनले पीडितलाई सामाजिक संजाल टिकटकमार्फत साथी बनाई आफूलाई ईंगल्याण्डको नागरिक बताएको र नेपाल आएपश्चात विवाह गरी ईंगल्याण्ड लैजाने प्रलोभन देखाइ ठगी गरेको प्रहरीको भनाइ छ।

जुत्ता, ब्याग, आइफोन, सुनका गरगहनाहरू र ७० हजार अमेरिकी डलर समेतको गिफ्ट पठाई दिने र यसका लागि कुरियरले सम्पर्क गर्छ भनी फोटो भिडियोसमेत पठाएर पीडितलाई विश्वास दिलाए पश्चात कुरियर कार्यालयबाट पार्सल पाउनको लागि एन्टी मनी लाउन्ड्रिङ सर्टिफिकेट , डेलिभरी चार्ज, भन्सार शुल्क, इन्सुरेन्स चार्ज, क्लिरियन्स चार्ज जस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भनी पीडितलाई विभिन्न ब्यक्तिको नाममा रहेको बैंक खातामा पटक-पटक गरी उक्त रकम पठाउन लगाई ठगी गरेको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनीलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ।

बचतकर्ताको १२ करोड ठगी गर्ने सहकारीका तीन सञ्चालक पक्राउ

मोरङ – बचतकर्ताको रकम ठगी गरेको आरोपमा तुलसी बहुमुखी बहुउद्देश्य सहकारी संस्था लिमिटेड बिराटनगरका तीन जना सञ्चालक पक्राउ परेका छन् । उनीहरुलाई बचतकर्ताको रू १२ करोड नौ लाख ठगीको आरोप लागेको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङले आज यहाँ पत्रकार सम्मेलन गरी पक्राउ परेका सहकारीका उपाध्यक्ष मोरङ उर्लावारी नगरपालिका–६ का अनिता गौतम, सचिव झापा भद्रपुर नगरपालिका–१४ का सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक विराटनगर–२ का मन्दीप खवास रहेको जनाएको छ ।

सञ्चालकहरु बचतकर्ताको रकम फिर्ता नगरी यही फागुन १ देखि सम्पर्कविहीन भएका थिए । फरार सञ्चालकविरुद्ध सहकारीका एक सय २१ जना बचतकर्ताले फागुन २८ मा जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी थिए । सोही आधारमा उनीहरुलाई पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिनुभयो ।

मुख्य कार्यालय विराटनगर रहेको सहकारीको झापाको दमक, उदयपुरको गाईघाट र सिरहाको गोलबजारमा गरी तीन वटा सेवा केन्द्रमा गरी २१ हजार सात सय १३ सदस्यमध्ये विराटनगरमा मात्र चार हजार रहेका छन् ।

सहकारीले सबै सेवा केन्द्रमा गरी करिब रू एक अर्ब ५० करोड रकम बचतकर्तालाई फिर्ता गर्नुपर्ने प्रहरीको अनुमान छ ।

संस्थाका अध्यक्ष केदारनाथ शर्मासहित पाँचजना झै फरार रहेकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा सञ्चालकहरुले योजनाबद्ध तरिकाले ठूलो रकम हिनामिना गरी सहकारीका सदस्य एवं बचतकर्ताहरुलाई गठी गरेको देखिन आएको छ ।

विसं २०५२ मा सहकारी विभागमा दर्ता रहेको सो सहकारीको कार्य क्षेत्र नेपालभर रहेको छ । प्रहरीले उक्त संस्थामा बचत गर्ने बचतकर्ता एवं पीडितहरुलाई पाँच दिनभित्र कार्यालयमा जाहेरी दरखास्त दिन आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा पीडित बचतकर्ताहरुको जाहेरी दरखास्त दिनेहरुको सङ्ख्या बढेको छ । 

सेयर बजार २४.६८ अंकले ओरालो

काठमाडौ – साताको दोश्रो कारोबार दिन सोमबार सेयर बजार ओरालो लागेको छ । 

सोमबार सेयर बजारमा २४.६८ अंकले घटेर १९५२.६६ विन्दुमा आएर रोकिएको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.४६ अंकले घटेर ३६८.४९ मा पुगेको छ।

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५६ कम्पनीको ३३ लाख ६९ हजार १३६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १६ करोड २५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको एनआइसि एसिया शीर्ष स्थानमा छ। यसको ६ करोड २४ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा सिवम सिमेन्टको ५ करोड ६८ लाखभन्दा बढीको कारोबार भएको छ। 
सोमबार सबै उपसुचकहरुको कारोबार रकम घटेको छ। 

आजको कारोबारमा सुभम पावरको करिब १० प्रतिशतले सेयर मूल्य बढेको छ। यस कम्पनीको लगानीकर्ताले अत्याधिक कमाएका छन् भने युनिक नेपाल लघुवित्तको ४.०३ प्रतिशत र ग्रिन भेन्चर्सको ३.८६ प्रतिशतले वृद्धि भएको छ ।
 

सुवाचन्द्र नेम्वाङ प्रतिनिधि सभा संसदीय दलको उपनेता चयन

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष सुवाचन्द्र नेम्वाङ प्रतिनिधि सभा संसदीय दलको उपनेता चयन भएका छन् ।


सोमबार एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनलाई उपनेता चयन गरेका हुन् ।