`

निवर्तमान राष्ट्रपति भण्डारीको शीतल निवासबाट बिदाइ

काठमाडौं – निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी लगातार दुई कार्यकाल पूरा गरी शीतल निवासबाट बिदा हुनुभएको छ ।सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाइ गर्नुभएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निवर्तमान राष्ट्रपति भण्डारीलाई आँखीझ्याल उपहार दिएर बिदाइ गर्नुभएको छ ।

भण्डारी शीतल निवासबाट निजी निवासमा जाँदै गर्दा नेपाली सेनाको टोलीले टुँडिखेलबाट २१ टोपको सलामी दिएर बिदाई गरिएको छ।

२०७४ साल फागुन २९ गते भण्डारी राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । २०७२ साल कात्तिक ११ गते पहिलो पटक राष्ट्रपतिमा बन्नुभएकी उहाँ २०७४ सालमा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको थियो ।

उहाँ आज बालुवाटारस्थित छोरीको घरमा सर्ने तयारी रहेको स्रोतले जनाएको छ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की लगायतको उपस्थिति रहेको थियो ।

महिलाको नेतृत्व विकासलाई व्यक्तिको मात्र नभई समुदायकै विकासको रूपमा लिनु पर्छ : रेखा शर्मा

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले महिलाको नेतृत्व विकासलाई व्यक्तिको मात्र नभई समुदायकै विकासको रूपमा लिनुपर्ने बताउनुभएको छ ।

सोमबार काठमाडौँमा नारी अनलाइन पत्रिकाको शुभारम्भ गर्दै मन्त्री शर्माले विभिन्न आन्दोलन र युद्धको परिणामस्वरूप हरेक क्षेत्रमा महिलाको भूमिका बढ्दै भन्दै महिलाको नेतृत्व विकासलाई व्यक्तिको मात्र नभई समुदायकै विकासको रूपमा लिनुपर्ने बताउनुभएको हो ।

उहाँले पुरुष असफल हुँदा व्यक्ति असफल हुने र महिला असफल हुँदा महिला समुदाय नै असफल हुने भएकाले महिलालाई असफल हुने छुट नभएको बताउनुभयो । मन्त्री शर्माले जुनसुकै क्षेत्रमा रहेका महिलाहरूले आफूलाई सफल बनाउनुका लागि प्रयत्न गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले सञ्चारमाध्यमले राम्रो कामका लागि उत्प्रेरित गर्ने प्रेरणादायी सामग्रीको खोजी बढाउनुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै उहाँले विभिन्न आन्दोलन र युद्धदेखि सदनभित्र संविधान र कानुन बनाउने बेलासम्म महिलाले बढी जिम्मेवारी बहन गर्दै आएको उल्लेख गर्दै महिलाको योगदानको यथोचित कदरसहित क्षमताअनुसार अवसर प्रदान गर्ने वातावरण बनाउनुपर्नेमा पनि जोड दिनुभयो ।

उपराष्ट्रपतिमा सहयोग गर्न प्रधानमन्त्रीसँग जसपाको आग्रह

काठमाडौं – जनता समाजवादीका नेताहरुले उपराष्ट्रपतिमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका जसपा संसदीय दलका नेता रामसहाय यादवलाई सहयोग गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् । 

आगामी ३ चैतमा उपराष्ट्रपति पदको निर्वाचन हुँदै छ ।  प्रधानमन्त्री प्रचण्डलाई सोमबार भेटेर उपराष्ट्रपतिमा रामसहाय यादवलाई सहयोग गर्न आग्रह गरेको जसपा नेता प्रदीप यादवले जानकारी दिए । 

जवाफमा प्रधानमन्त्री प्रचण्डले संघीयता र गणतन्त्रको रक्षा निमित्त आफु र आफ्नो दलले यादवलाई सहयोग गर्ने बताएका उनले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले  यादवलाई विजयी गराउने प्रतिबद्धता पनि जनाए । 

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सांसदबाट राजीनामा दिए

काठमाडौँ – नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सांसदबाट राजीनामा दिएका छन् । सोमबार उनले सभामुखसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

गत मंसिर ४ को निर्वाचनमा पौडेल तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी भएका थिए ।

फागुन २५ मा राष्ट्रपति निर्वाचित भएपछि उनले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

कुष्ठरोग नियन्त्रणमा चुनौती, विभेदकारी कानुन हटाउनुपर्ने माग

काठमाडौं – सरकारले कुष्ठरोग उन्मुलनको घोषणा गरे पनि नियन्त्रणमा भने चुनौती देखिएको छ । कुष्ठरोग स्वास्थ्य समस्यासँगै सामाजिक समस्या रहेकाले यसको अन्त्यका लागि विभेदकारी कानुन संशोधन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका हुन् । 

२५औं अन्तर्राष्ट्रिय आत्मसम्मान तथा आदर दिवसको अवसरमा काठमाडौंमा एशोसिएसन फर आईडिया नेपालले आयोजना गरेको सम्मान कार्यक्रमका वक्ताहरुले कुष्ठरोग निवारणका लागि राज्यका सबै तह र तप्का संवेदनशील भएर आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए । 

करिब तीन लाख सक्रिय संक्रमित कुष्ठरोगी रहेका र वार्षिक तीज हजार ५०० सम्म कुष्ठरोगी थपिने गरेको कार्यक्रममा जानकारी दिइयो ।सन् २०२३ मै नेपाललाई कुष्ठरोग उन्मुलन राष्ट्रको घोषणा गरिएको थियो । तर, कुष्ठरोग उन्मुलन राष्ट्रको घोषणा गरिए पनि अझै वार्षिक ३५ सयसम्म संक्रमित थपिँदा निवारणमा चुनौती थपिएको सरोकारवालाको भनाइ छ । 

देवानी संहिता २०७४मा कुष्ठरोगसम्बन्धी केही कानुनी व्यवस्था संविधानको मर्मविपरीत रहेकोले यसलाई संशोधन गर्नुपर्नेमा कांग्रेसका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य बद्री पाण्डेले जोड दिए । विवाहपछि कुष्ठरोग लागेमा सम्बन्धविच्छेद गर्न पाउने विद्यमान कानुनी व्यवस्थाले कुष्ठरोगीलाई विभेद गरेको भन्दै उनले कुष्ठरोगीलाई पारिवारिकमैत्री हुने गरी कानुन बनाउनुपर्ने र यसमा आफूले सक्दो भूमिका निर्वाह गर्ने बताए । 

ल्याप्रोसी मिसन नेपालका कन्ट्री डाइरेक्टर शोभाकर कँडेलले पनि कुष्ठरोगीप्रति विभेदकारी कानुन परिमार्जन गर्नुपर्नेमा जोड दिए । उनले कुष्ठरोगी स्वास्थ्य समस्यासँगै सामाजिक समस्या पनि रहेकाले कानुन संशोधन गरेर रोगीमैत्री बनाउनुपर्नेमा उनको भनाइ छ । 

आईडिया नेपालका अध्यक्ष अमर तिमल्सिनाले कुष्ठरोगसम्बन्धी कानुनले विभेद गरेकाले यसलाई सम्बोधन गर्नुको विकल्प नरहेको बताए । विनाभेदभाव समाजमा जीवनयापन गर्नपाउनु पर्नेमा नैसर्गिग अधिकार भए पनि विद्यमान कानुनले विभेद गरेको भन्दै उनले यसलाई हटाएर समानतासहित रोगी सम्मानजनक बाँच्न पाउनुपर्ने व्यवस्था गर्नुपर्ने बताए । 

एशोसिएसन फर आईडिया नेपालका अध्यक्ष दिनेश न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा कुष्ठरोग नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै वरिष्ठ छाला रोगविज्ञ डा. रवीन्द्र बास्कोटा, सुनकोशी गाउँपालिका सिन्धुपाल्चोकका बलराम नेउपाने, समाजसेवी पिमा घर्तीमगर, श्रीलंकाका रे, भारतका रामवराही साहसहितलाई सम्मान गरिएको थियो । 
 

उपराष्ट्रपतिको उम्मेदवारी फिर्ता लिने प्रमिला यादवको घोषणा

काठमाडौं –  जनता समाजवादी पार्टी (जसपा) बाट उपराष्ट्रपतिकी उम्मेदवार प्रमिला कुमारी यादवले उम्मेदवारी फिर्ता लिनुभएकाे छ। उम्मेदवारी फिर्ता लिएपछि उहाँले जसपाबाट उम्मेदवार बनेका रामसहाय यादवलाई समर्थन गर्ने घोषणा गर्नुभएकाे छ। 

उहाँले मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाधिनता, समावेशीता, संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय र समाजवाद प्रति निष्ठापूर्वक संधै समर्पित रहने सालीन स्वभावका, सादा जीवन, निष्कलंक एवं स्वच्छ छवी र उच्च विचार भएका एक बौद्धिक एवं परिपक्क नेता यादवलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभएकाे छ।

‘मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाधिनता, समावेशीता, संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय र समाजवाद प्रति निष्ठापूर्वक संधै समर्पित रहने सालीन स्वभावका, सादा जीवन, निष्कलंक एवम् स्वच्छ छवी र उच्च विचार भएका एक बौद्धिक एवम् परिपक्व नेता माननीय रामसहाय प्रसाद यादव, उप९राष्ट्रपति जस्तो गरिमामय पदका लागि सबै भन्दा उपयुक्त, योग्य र सक्षम उम्मेदवार हुनुहुन्छ’, उहाँले भन्नुभयाे, ‘प्राविधिक रुपमा मेरो नाम उम्मेदवारको सूचीमा रहन गएको भएता पनि प्रतिवद्धताका साथ म वहाँलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु,’ उहाँले भन्नुभएकाे छ।

यादवले विज्ञप्तिमा भन्नुभएकाे छ, ‘अब उपरान्त म उपराष्ट्रपति पदको लागि उम्मेदवार नरहेको हुँदा गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहनुभएका माननीय रामसहाय प्रसाद यादवलाई आफ्नो अमूल्य मत दिई विजयी गराउनुहुन सम्पूर्ण माननीय सांसद एवम् माननीय प्रदेशसभा सदस्यज्यूहरुसँग हार्दिक अपिल गर्दछु।’

उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदै छ।

९ विकेटले पीएनजीमाथि नेपालको शानदार जित

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलामा सोमबार भएको खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी)माथि शानदार जित निकालेको छ । 

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको ९६ रनको लक्ष्य पछ्याएको नेपालले एक विकेटको क्षतिमा ७.४ ओभरमै भेट्याएको हो ।

नेपालका लागि सर्वाधिक आसिफ शेखले २१ बलमा ८ चौका र ३ छक्काको मद्दतले ५३ रनको अर्धशतकीय पारी खेल्दै नटआउट रहेका थिए । कुशल भुर्तेलले १४ बलमा ३३, कुशल मल्लले १३ बलमा १२ रन जोडेका थिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पीएनजीले ३२ ओभरको समाप्तिमा अलआउट हुँदै ९५ रन मात्र जोड्न सफल भएको थियो । 


पीएनजीलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछानेले पाँच विकेट लिए । ललित राजवंशी र कुशल मल्लले दुई दुई र सोमपाल कामीले एक विकेट लिएका थिए । 
 

सङ्घीय शिक्षा ऐन यथाशीघ्र जारी गर्न सरकारले आवश्यक गृहकार्य गरिरहेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सङ्घीय शिक्षा ऐन यथाशीघ्र जारी गर्न सरकारले आवश्यक गृहकार्य गरिरहेको बताएका छन् ।

सोमबार काठमाडौँको पद्मोदय माध्यमिक विद्यालयको हीरक जयन्तीका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त ऐन पारित गरी शिक्षा क्षेत्रमा विद्यमान समस्याहरूको प्याकेजमै सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको पनि बताएका हुन् ।

देशमा रहेको सरकारी र निजी क्षेत्रको शैक्षिक गुणस्तर र उत्पादनमा निकै भिन्नता रहेको तथ्यलाई आत्मसाथ गर्दै सरकारी शैक्षिक संस्थाको गुणस्तर गुणात्मक रूपमा विकास गर्न शैक्षिक गुरुयोजना निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्ने दायित्व रहेको उनले बताए । उनले शिक्षाको विकास मुलुक र जनताको सर्वाङ्गीण विकासको आधारस्तम्भ भएको तथ्यलाई सबैले आत्मसाथ गर्नुपर्ने धारणा राखे । प्रधानमन्त्री प्रचण्डले शैक्षिक पाठ्यक्रमको पुनरावलोकन गरी शिक्षालाई जीवनउपयोगी, आधुनिक, विज्ञान प्रविधि र व्यावसायिक बनाउन बदलिएको राजनीतिक एवं सामाजिक व्यवस्थाअनुरूप पाठ्यक्रममा गुणात्मक सुधार आवश्यक रहेको उल्लेख गरे ।

उनले विश्वबजारमा प्रतिस्पर्धा गर्न योग्य जनशक्ति तयार पार्न विज्ञान, गणित र इन्जिनियरिङलाई माध्यमिक तहदेखि नै अनिवार्य विषय बनाउँदै उच्च शिक्षालाई अनुसन्धानमुखी बनाउन आवश्यक रहेको पनि बताएका छन् ।

सोमबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढ्यो 

काठमाडौ – नेपाली बजारमा सोमबार सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको छ । लगातार ४ दिनदेखि सुनको मूल्यमा थप ३ हजार १०० रूपैयाँले वृद्धि भएको छ।

गत बिहीबार १ लाख १ हजार रुपैयाँमा कारोबार भएको सुन शुक्रबार मूल्य प्रतितोला १ लाख १ हजार ८०० सय रुपैयाँ पुगेको थियो। आइतबार भने १ लाख ३ हजार ५०० रूपैयाँ पुगेको थियो।  शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १ हजार ८०० सय रुपैयाँ पुगेको थियो। 

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोलामा ६ सय रुपैयाँले बढेर १ लाख ४ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि, आइतबार छापावाल सुन तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३ हजार रुपैयाँ निर्धारण भएको थियो । 

यता, सोमबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १२ सय ५५ सय रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ १२ सय ४५ रुपैयाँ कायम रहेको थियो । 

नेपालको पर्यटन प्रवर्द्धन गर्न अष्ट्रेलियाको एडिलेडमा नेपाल महोत्सव हुने

एडिलेड – नेपालको पर्यटन प्रवर्द्धन गर्न उद्देश्यसहित अष्ट्रेलियाको एडिलेड शहरमा नेपाल महोत्सव हुने भएको छ । 

गैर आवासीय नेपाली संघ (एनआरएनए) साउथ अष्ट्रेलिया राज्य समितिको आयोजनामा १८ मार्च (४ चैत)मा हुने महोत्सवमा प्रिमियर पिटर मालिनौस्कस, पर्यटन तथा बहुसांस्कृतिक मन्त्री जोबेटीशन, माथिल्लो सदन लेजेस्लेटिभ काउन्सिलको विपक्षी दलको उपनेता जिङ ली, संसद सदस्यहरु, विभिन्न नगरका मेयरहरुको उपस्थिति रहने अष्ट्रेलियाका उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया राज्य समिति संयोजक रेनुका लामाले बताइन् । 

महोत्सवका लागि अष्ट्रेलियन डलर एक लाखदेखि एक लाख २० हजारसम्म खर्च हुने अनुमान गरिएको छ । महोत्सवमा ४० बटा स्टल हुनेछन् । जसमा १० वटा ठूला स्टल हुने बताए । मुख्य आर्कषणका रुपमा नेपालको विविधता झल्कने नेपाल हाउसको निर्माण गरिने भएको छ । जसमा नेपालका परम्परागत ढिकी जातो, भेषभुषा, हिमाल दृष्य समेटिएका फोटोहरु, त्यसै गरि धरहरा, पशुपति, स्वयंम्बु समेत राखिने भएको छ ।

अहिले सरकारमा जाने नजाने भन्ने विषयमा पार्टीभित्र छलफल भएको छैन : रवि लामिछाने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताएका छन् ।

आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले अहिलेको परिस्थितिको मूल्याङ्कन गर्नेकाम भइरहेको छ बताएका छन् । उनले भने, ‘सरकारमा जाने तयारी भन्ने होइन । परिस्थितिलाई मूल्याङ्कन गर्नुपर्ने हुन्छ ।’ उनले सत्ता समीकरण परिवर्तन भएपछि सरकारमा जानु परेमा कारण स्पष्ट पारेर मात्रै सहभागी हुने बताए । उनले थपे, ‘अहिले सरकारमा जाने नजाने भन्ने विषयमा पार्टीभित्र छलफल भएको छैन ।’

रास्वपा छुट्टै परिचय बोकेर बनेको दल भएकाले पछिल्ला राजनीतिक घटनाक्रम नियाल्दै गरेको बताए । आफ्नो दलको राजनीतिक अभ्यास सुरुआती चरणमा रहेको उनले उल्लेख गरे । सरकारलाई दिएको समर्थन फिर्ता नलिएको अवस्थामा अब के गर्ने भन्ने विषयमा पार्टीभित्र छलफल हुने उनको भनाइ थियो । आगामी वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको तयारी सुरु गरेको उनले जानकारी दिएका छन् ।


सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर कारोबार रोक्का

काठमाडौं – मर्जर प्रक्रिया पूरा गरी भोलि अर्थात् फागुन २९ गतेदेखि एकीकृत कारोबार सञ्चालन गर्न लागेका निर्जीवन बीमा कम्पनी सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले शेयर कारोबार रोक्का राखिदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पत्राचार गरेका छन् ।

मर्जरपश्चात् गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९, बमोजिम गाभ्ने/गाभिने कम्पनीको शेयर मिलान, धितोपत्रको पुनः दर्ता धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि एकीकृत कारोबार भएको मितिबाट १५ दिनका लागि शेयर कारोबार रोक्का हुने कम्पनीले  जानकारी दिएको छ ।

साविक सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिएपश्चात् सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट फागुन २९ गतेदेखि एकीकृत कारोबार हुँदै छ ।

मर्जपछि बन्ने कम्पनीको केन्द्रीय कार्यालय भने काठमाडौं महानगरपालिका–१ नक्सालमा रहने कम्पनीले जानकारी दिएको छ । सगरमाथा र लुम्बिनी  जनरल इन्स्योरेन्स १००:८०  शेयर अनुपातमा मर्जमा जाने निर्णय गरेका हुन् ।

राष्ट्रिय सभाको बैठक ८ चैतमा

काठमाडौं – सोमबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक १० दिनपछि बस्ने गरी सारिएको छ ।

सोमबार दिउँसो १ः०१ बजे बस्ने गरी डाकिएको राष्ट्रिय सभाको बैठक विशेष कारणवस १० दिनपछि बस्ने गरी सारिएको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले जानकारी दिएका छन् । 


सचिव फुयालका अनुसार सोमबारका लागि बोलाइएको बैठक अब ८ चैत बुधबार दिउँसो १ः०१ बजे बस्नेछ । 

यसबारे फुलालले जारी गररेको सूचना :

माओवादी घटक दलकाे सरकारसँग माग : शान्ति प्रक्रियाका बाँकी काम यथाशीघ्र पूरा गर्न

काठमाडौँ – माओवादी घटक दलहरूले शान्ति प्रक्रियाका बाँकी काम यथाशीघ्र पूरा गर्न सरकारसँग माग गरेका छन् ।

आइतबार काठमाडौँमा संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै नेकपा माओवादी केन्द्र, नेकपा, नेकपा क्रान्तिकारी माओवादी लगायतका दलहरूले द्वन्द्वकालीन घटनाहरूको निरूपण गर्ने जिम्मेवारी पाएको सत्य निरूपण तथा मेलमिलाप आयोगलार्ई पूर्णता दिई शान्ति प्रक्रियाका बाँकी काम यथाशीघ्र पूरा गर्न सरकारसँग माग गरेका हुन् । द्वन्द्वकालीन घटनाहरूको निरूपण गर्ने बहानामा संवैधानिक व्यवस्थाभन्दा बाहिर गएर गर्न नसकिने उनीहरूको भनाइ छ । द्वन्द्वबाट पीडित नागरिक तथा उनीहरूका परिवारलाई न्याय दिलाउने सन्दर्भमा सर्वोच्च अदालतले विद्यमान कानुनमा सुधार गर्न दिएको निर्देशनमा आफूहरूको ध्यान गएको भन्दै शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न सरकारसँग माग गरिएको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिनुभयो ।

विस्तृत शान्ति सम्झौता र त्यसलाई आफ्नो अभिन्न अङ्ग मानेको नेपालको संविधानले द्वन्द्वकालीन घटनाहरूको निरूपण गर्ने जिम्मेवारी सत्य निरूपण तथा मेलमिलाप आयोगलाई दिएको सन्दर्भ र संवैधानिक व्यवस्थाभन्दा बाहिर जानु शान्ति सम्झौताका विरुद्ध हुने तथ्य स्पष्ट रहेको उहाँले बताउनुभयो । महासचिव गुरुङले शान्ति प्रक्रियाका बाँकी काम संवैधानिक मान्यताका साथ पुरा गर्नुपर्ने भन्दै आफूहरू एक ठाउँ उभिएको धारणा राख्नुभयो ।

त्यस्तै नेकपाका महासचिव नेत्र बिक्रम चन्द विप्लवले प्रधानमन्त्रीलाई राज्यले नियन्त्रणमा राख्ने काम गरेको बताउनुभयो । अहिले क्रान्तिको अपूर्णताका कारण जनयुद्धका घटकहरूलाई मुद्दा चलाउने काम भएको भन्दै सबै मिलेर क्रान्तिलाई पुरा गर्नुपर्ने बताउनुभयो । संसदीय व्यवस्था, दलाल व्यवस्था पुँजीवादी व्यवस्थालाई परिवर्तन गर्दै वैज्ञानिक समाजवादतिर जानुपर्ने उहाँको भनाइ छ ।

माओवादी घटक दलहरूले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित द्वन्द्वकलाका सबै मुद्दाहरू सत्य निरूपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकारभित्र पर्ने जनाएका छन् । उनीहरूले राज्यले गतकालमा विभिन्न राजनीतिक दलसँग गरेका सहमति कार्यान्वयनका लागि पनि सरकारसँग माग गरेका छन् ।

नेविसंघ लफडा : केन्द्रीय कार्यालयमा ताला,अधिकांश ठाउँमा बागी

काठमाडौं – नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघमा विवाद चुलिएकाे छ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका मुखमा सभापति दुजाङ शेर्पाले मनपरी ढंगले पत्र पठाउँदै जिल्ला र इकाइ सभापतिहरू घोषित गरेको भन्दै  नेविसङमा लफडा सुरु भएकाे हाे । 

असन्तुष्ट पक्षले आइतबार केन्द्रीय कार्यालय घेराउ गरेका छन् ।

अनामनगरस्थित केन्द्रीय कार्यालयमा असन्तुष्ट पक्षले तालाबन्दी गर्नुका साथै सभापति शेर्पाको राजीनामा समेत माग गरेका छन् । उनीहरुले केन्द्रीय कार्यालय परिसरमा नाराबाजी समेत गरेका थिए । स्ववियु निर्वाचन हुनलागेका धेरैजसो क्याम्पसमा नेविसंघका बागी उम्मेदवार खडा भएका छन् ।

सेयर बजार २६.८० अंकले उकालो

काठमाडौं – साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ओरालाे लागेकाे छ । आज नेप्से सूचक २६.८० अंकले घटेर १९७५.८९ विन्दुमा आएर रोकिएको छ । 

१ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सेन्सेटिभ इन्डेक्सम ५.५५ अकले घटेर ३७३.९५ बिन्दुमा आएको छ । 

४७ लाख ७२  हजार १४० कित्ता  सेयर किनबेच भएको छ ।  शिभम पावर लिमिटेड करिब १०  प्रतिशतले वृद्धि भएको छ । यस कम्पनीहरूले सर्वाधिक कमाएको छ ।

यता,  शिभम सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । यसको ८ करोड २१ लाख भन्दामाथिको कारोबार भएको छ ।

यता हिमालय डिस्टिलरीको ५ करोड ७५ लाखबढीको कारोबार भएको छ । बिहीबार सबै उपसूचकहरूमा राताम्मै भएको छ ।

एमालेको प्रमुख सचेतकमा गिरी र सचेतकमा बर्ताैला नियुक्त

काठमाडौँ – नेकपा (एमाले)को प्रमुख सचेतकमा पूर्व स्वास्थ्यमन्त्री पदम गिरी चयन हुनु भएको छ । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले गिरीलाई आइतबार प्रमुख सचेतकमा नियुक्त गर्नुभएको हो ।

अध्यक्ष ओलीले सचेतकमा प्रतिनिधिसभा सदस्य महेश बर्तौलालाई नियुक्त गर्नुभएको छ । गिरी पर्वतबाट र बर्तौला मकवानपुरबाट विजयी हुनु भएको थियो ।

गिरी र बर्तौला दुवै नेता विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा उदाएका हुन् । गिरी पिएन क्याम्पसका पूर्व स्ववियु सभापति हुन् भने बर्तौला हेटौँडा क्याम्पसका पूर्व स्ववियु सभापति हुन् ।

यूएईविरुद्ध सानदार जित निकाल्दै नेपालले जोगायो ओडीआई मान्यता

काठमाडौं – लिग २ अन्तर्गतको खेलमा यूएईविरुद्ध शानदार जित हासिल गर्दै नेपालले एक दिवसीय राष्ट्रको मान्यता जोगाएको छ । साथै एक दिवसीय विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने सम्भावना पनि नेपालले जिवित राखेको छ ।

आज त्रिवि मैदानमा भएको खेलमा नेपाली बलरसामु यूएईका ब्याट्सम्यानहरु निरिह सावित भए ।

ललित राजवंशीको पाँच विकेट प्रेरित आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको दोस्रो खेलमा यूएईलाई २२.५ ओभरमा अलआउट गर्दै एकदिवसीय मान्यता सुरक्षित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईलाई निरिह पार्दै नेपालले १७७ रनको शानदार जित दर्ता गर्यो । नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको युएई २२.४ ओभरमा ७१ रन बनाउँदै अलआउट भयो ।

जितसँगै नेपाल ३६ अंक जोडेर अमेरिकालाई पछि पार्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ । तेस्रो स्थानमा ३९ अंकसहित रहेको नामिबियालाई पछि पार्दै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन बाँकी दुई खेल जित्नुपर्ने दबाव नेपाललाई छ ।

शृंखला क्निस्विप गर्ने लक्ष्यमा रहेको नेपालले पहिलो खेलमा पपुवा न्यूगिनी (पीएनजी)लाई ५२ रनले पराजित गरेको थियो ।

वर्तमान सरकारमा सहभागी हुने सोच छैन : राजेन्द्र लिङ्देन

काठमाडौँ – राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकारमा सहभागी हुने सोच नरहेको बताएका छन् ।

आइतबार पार्टी कार्यालय धुम्वाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा लिङ्देनले राप्रपाले सरकारलाई प्राथमिकतामा नराखेको र अहिले नै सहभागी सोच पनि नरहेको बताएका हुन्। उनले वर्तमान सरकारलाई समर्थन गर्ने सम्भावना पनि कम रहेको जिकिर गरे । त्यस्तै उपराष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्ने विषयमा छिटै पार्टीले निर्णय गर्ने जानकारी दिए ।

यसअघि राष्ट्रपतिको निर्वाचन राप्रपाले बहिष्कार गरेको नभई राजनीतिमा क्रियाशील व्यक्तिले राष्ट्रपतिमा उम्मेदवारी दिएकै कारण कसैलाई पनि मत नहालेको स्पष्ट परे । कार्यक्रममा सुरेश आचार्य लगायतका व्यक्तिहरूलाई राप्रपा प्रवेश गराइएको थियो ।

देशको आर्थिक अवस्थामा प्रधानमन्त्री डराउनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको आर्थिक अवस्थालाई लिएर नागरिकलाई निराशाको सिकार हुन बाट बचाउनुपर्ने बताएका छन् ।


देशको आर्थिक अवस्थामा प्रधानमन्त्रीले भने डर लिनुपर्ने बताएका छन् ।आज काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् । देशका नागरिकहरु दैनिक देशको आर्थिक अवस्था माथि उठ्ने आशामा रहेकाले सो विषलाई मनन गरेर प्रधानमन्त्रीले देशको अवस्थावारे बुझ्नुपर्ने आवश्यकता रहेको बताएका छन् । ‘दर्जनौं मन्त्रालय अहिले खाली अवस्थामा रहेका छन् ।

यसरी मन्त्रालय खाली राखेर परिवर्तनको समयलाई बाधक बनाएको महामन्त्री थापाको भनाइ छ । विगतमा जस्तो गठबन्धन नटुक्रिने र बेला –बेला गठबन्धन टुक्रिए जनताले दिएको दण्ड भोग्न तयार रहने प्रतिबद्धता दिनुपर्ने समेत प्रधानमन्त्रीलाई महामन्त्री थापाले निर्देशन दिएका छन् ।

सत्तारुढ गठबन्धनले सरकार ५ वर्ष टिक्छ र यो अवधिमा डेलिभरी गर्न सकेन भने जनताबाट दण्ड भोग्न तयार छौं भनेर जनतासामू प्रतिबद्धता जनाउनुपर्ने समेत उनले बताए ।

कांग्रेस परित्याग गरे रामचन्द्र पौडेलले

काठमाडौं – राष्ट्रपतिमा निर्वाचित भएपछि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेस परित्याग गरेका छन् ।

गत बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका उनले पदद तथा गोपनीयताको शपथ लिनु अघिल्लो आइतबार कांग्रेस परित्याग गरेका हुन् । 

आइतबार उनले आफ्नो सहयोगीमार्फत कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी कांग्रेसबाट राजीनामा दिएका हुन् । आफ्नो सहयोगीमार्फत पौडेलले राजीनामा पत्र बुझाएका हुन् । 

नवनिर्वाचित राष्ट्रपति पौडेलले सोमबार पद तथा गोपनीयताको शपथ लिने र पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । 
 

कमल थापाको पार्टीका केन्द्रीय प्रवक्ता आचार्य राप्रपामा प्रवेश

काठमाडौं – कमल थापा नेतृत्वको राप्रपा नेपालका केन्द्रीय प्रवक्ता  सुरेश आचार्य राप्रपामा प्रवेश गरेका छन् । 

धुम्बाराहीस्थित पार्टी कार्यालयमा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आचार्यसहित विश्व ह्विलचेयर यात्री सन्देश रम्तेल लगायतका ४२ जनालाई राप्रपामा प्रवेश गराउँदै स्वागत गरेका छन् । 

आचार्य राप्रपा नेपालमा प्रवक्ता, कार्यसम्पादन समिति सदस्य र प्रचार प्रसार विभाग प्रमुखको जिम्मेवारीमा थिए । आचार्यले राजनीति, सामाजिक लगायतका विभिन्न विषयमा पुस्तक प्रकाशन गरेका छन् । 

एमालेका कारण द्वन्द्वकालीन घटनामा न्याय निरुपण हुन सकेन : देव गुरुङ

काठमाडौं – माओवादी केन्द्रका महासचिव देव गुरुङले एमालेका कारण द्वन्द्वकालीन घटनामा न्याय निरुपण हुन नसकेको आरोप लगाएका छन् । 

माओवादी धारका दलहरुले आइतबार गरेको संयुक्त पत्रकार सम्मेलनमा उनले एमालेको असहयोगका कारण द्वन्द्वकालीन घटनामा न्याय निरुपण हुन नसकेको आरोप लगाएका हुन् ।

एमालेकै कारण अघिल्लो प्रतिनिधिसभामा दर्ता भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक रोकिएको आरोप लगाएका उनले शान्ति प्रक्रिया टुंग्याउने विषयमा एमालेले लगातार नकारात्मक धारणा राख्दै आएको दाबी गरे । 

एमालेकै कारण सर्वोच्च अदालतको आदेशपछि संसदमा दर्ता भएको सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिको छानबिन आयोगसम्बन्धी ऐन अगाडि बढ्न नसकेको उनको भनाइ छ । 
 

यूएईले गुमायो चार विकेट

काठमाडौं –आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी खेलमा नेपालले दिएको २४९ रनको लक्ष्य यूएईले पछ्याइरहेको छ । 

नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा यूएईले चार विकेट गुमाएको छ । छैटौँ ओभरमा खेल भइरहँदा युएईले चार विकेट गुमाएको हो । 

पहिलो, तेस्रो, पाँचौँ र छैटौँ ओभरमा यूएईले तीन विकेट गुमाएको हो । युएईलाई सस्तैमा समेट्ने क्रममा ललित राजवंशीले दुई र दीपेन्द्रसिं ऐरी र साेमपाल कामीले एक/एक विकेट लिएका हुन् । 

यूएईले ५.१ ओभरको समाप्तिमा चार विकेट गुमाएर आठ रन जोडेको छ । 

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले ४ बल बाँकी छँदै अलआउट हुँदै २४८ रन जोडेको हो । नेपालका लागि सर्वाधिक कप्तान रोहितकुमार पौडेलले ७७ रनको योगदान गरे । उनले ११२ बलमा नौवटा चौका प्रहार गरेका थिए । 


यसैगरी, आरिफ शेखले ४३, गुल्सन झाले ३७, दीपेन्द्रसिंह ऐरीले  ३४ र भीम सार्कीले २९ रनको योगदान गर्दा नेपालका बाँकी ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । 
 

उपराष्ट्रपति निर्वाचन : चारजनाको उम्मेदवारी कायम

काठमाडौं – उपराष्ट्रपति पदको निर्वाचनमा मनोनयन दर्ता गरेका चारजनाको उम्मेदवारी कायम भएको छ । 

शनिबार मनोनयन दर्ता गरेकाउपर परेका उजुरीमाथी जाँचबुझ गरेर निर्वाचन अधिकृतको कार्यालयले चारजना उम्मेदवारको नामावली प्रकाशन गरेको छ । 

मनोनयन दर्ता गराएका सत्तारुढ गठबन्धनबाट रामसहायप्रसाद यादव, ममता झा र प्रमिला कुमारी र एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्यको नाम प्रकाशित गरिएको हो । 

जसपाले रामसहायप्रसाद यादवको उम्मेदवारी कायम राखेर प्रमिला यादवको उम्मेदवारी फिर्ता गराउने भएको छ ।

उपराष्ट्रपति उम्मेदवारबारे निर्णय लिन ९ दलको बैठक जारी

काठमाडौं – कांग्रेस, माओवादीसहित नौ दलको बैठक बसिरहेको छ । 

सिंहदरवारमा जारी बैठकमा उपराष्ट्रपति पदको साझा उम्मेदवार तय गर्न नौ दलको बैठक बसिरहेको हो ।

बैठकमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीले उपराष्ट्रपतिको साझा उम्मेदवार बनाउने गरि छलफल भइरहेको छ । 

बैंकको ब्याजदरलाई एकल अङ्कमा झार्न माग गर्दै उद्योगी व्यवसायीहरूकाे काठमाडौँमा विरोध प्रदर्शन

काठमाडौँ – बैंकको ब्याजदरलाई एकल अङ्कमा झार्न माग गर्दै उद्योगी व्यवसायीले आन्दोलन गरेका छन् ।

मुलुकभरका व्यवसायी सङ्घ संस्थाहरू एकीकृत भएर आइतबार काठमाडौँमा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उनीहरूले बैंक तथा वित्तीय समस्या समाधानको माग गरेका थिए ।

व्यवसायीहरूले ब्याजदरलाई एकल अङ्कमा झार्नुपर्ने लगायत आधार दरमा प्रिमियममा बढीमा दुई प्रतिशत हुनुपर्ने, चालु पुँजी निर्देशिका खारेज गरी व्यवहारिक निर्देशिका बनाइनुपर्ने लगायतका माग राखेका छन् । प्रदर्शनमा सहभागीहरूले प्रिमियम दर वृद्धि नियन्त्रण गर, बैंक हामीलाई प्यारो छ, व्याज वृद्धिले हामीलाई गाह्रो भो, बैंकिङ आतङ्क बन्द गर लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

व्यवसायी आन्दोलन सङ्घर्ष समितिका संयोजक नरेश कटुवालले व्यवसायीहरूका समस्याका बारेमा पटक पटक राज्यलाई ध्यानाकर्षण गराउँदा पनि सम्बोधन नभएका कारण आन्दोलन गर्नुपरेको बताए । उद्योगी व्यवसायीहरूलाई बचाउनका लागि एकीकृत भएर प्रदर्शन गरेको उनको भनाइ छ ।

कटुवालले आफूहरूको माग सम्बोधन नभए राष्ट्र बैंक र संसद् भवनमा घेराउ गर्ने चेतावनी दिए । व्यवसायीहरूले मौद्रिक नीति परिमार्जनमा समेत जोड दिएका छन् ।

सरकारले लिएको नीतिहरूका कारण मुलुकको आर्थिक समस्या सुधार हुँदै आएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले लिएको नीतिहरूका कारण मुलुकको आर्थिक समस्या सुधार हुँदै आएको बताएका छन् ।

आइतबार काठमाडौँमा नेपाल निर्माण व्यवसायी महासङ्घको २४ औँ साधारण सभा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले वैदेशिक मुद्रा सञ्चितिमा ह्रास आउँदा मुलुक सङ्कटमा पर्ने खतरा देखिए पनि बाह्य क्षेत्र सन्तुलनमा राख्न सरकारले लिएका नीति सफल भएका कारण आर्थिक सङ्कट टरेको बताएका हुन । उनले अहिले १० महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्ने सञ्चित रहेकाले अर्थतन्त्र सङ्कटबाट क्रमशः सुधारतर्फ अग्रसर भइरहेको जिकिर गरे ।

अनावश्यक खालका चालू प्रकृतिका खर्च कटौती गर्दै पुँजीगत खर्चलाई तीव्रता दिने सरकारको प्राथमिकता रहेको र सबैभन्दा धेरै पुँजीगत बजेट रहेको भौतिक पूर्वाधार मन्त्रालयलाई खर्च बढाउने, निर्माण व्यवसायीहरूका बाँकी रहेका भुक्तानीहरू समयमै भुक्तान गर्ने दिशातर्फ सरकारको ध्यान गएको उनले बताए ।

निजी क्षेत्रसँगको सहकार्यमा अर्थतन्त्रमा देखिएका समस्याहरू समाधान गर्दै चुनौतीलाई अवसरमा बदल्न सरकार सङ्कल्पबद्ध रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । त्यस्तै प्रधानमन्त्री प्रचण्डले कोभिड महामारी, बाह्य युद्ध र आपूर्ति व्यवस्थामा परेको चाप जस्ता कारण केही निर्माण सामग्रीहरूको मूल्य बढेकाले निर्माण व्यवसायीको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न सरकार गम्भीर रहेको धारणा राखे ।

निर्माण कार्यको ठेक्का लिने तर काम समयमै सम्पन्न नगर्ने, ठेक्का सम्झौताअनुसारको गुणस्तरीय काम नगर्ने, विभिन्न बहानामा ठेक्काको समयसीमा लम्बाउने र लागत बढाउनेजस्ता समस्याहरू आउने गरेको भन्दै उनले निर्माण व्यवसायीहरू अत्यन्त जिम्मेवार भएर काम गर्न जरुरी रहेको बताए ।

निर्माण व्यवसायी महासंघको साधारणसभा सुरू (फाेटाे फिचर)

काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघको २४ औं साधारणसभा  सुरू भएको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा महासंघको २४ औं साधारणसभाकाे  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गरेका हुन् । 

साधारणसभामा ‘एफक्यान एक्सिलेन्स अवार्ड’ पनि वितरण हुनेछ भने  ३८ विधामा संस्था तथा व्यक्तिलाई पुरस्कृत गरिनेछ ।

साधारणसभामा देशभरबाट करिब  ११ सय प्रतिनिधि र ५०० पर्यवेक्षक सहभागी हुनेछन् । 

नेपालले यूएईलाई दियो २४९ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी खेलमा नेपालले यूएईलाई २४९ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार टस जितेर ब्याटिङ थालेको नेपालले ४ बल बाँकी छँदै अलआउट हुँदै २४८ रन जोडेको हो ।

नेपालका लागि सर्वाधिक कप्तान रोहितकुमार पौडेलले ७७ रनको योगदान गरे । उनले ११२ बलमा नौवटा चौका प्रहार गरेका थिए । 

यसैगरी, आरिफ शेखले ४३, गुल्सन झाले ३७, दीपेन्द्रसिंह ऐरीले  ३४ र भीम सार्कीले २९ रनको योगदान गर्दा नेपालका बाँकी ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । 

आयोगलेको निर्णयविरुद्ध सर्वोच्च जाने तयारीमा एमाले

काठमाडौँ – नेकपा एमाले उपराष्ट्रपतिमा रामशाह यादवको उम्मेदवारी सदर गर्ने निर्वाचन आयोगविरुद्ध अदालत जाने तयारी गरेको छ ।

राष्ट्रपति र उपराष्ट्रपति दुवै फरक समुदायका पुरुष बन्न सक्ने संविधानको व्याख्या गर्दै रामसहायप्रसाद यादवको उमेदवारी कायम गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत जाने तयारीमा एमाले लागेको हो ।

एमाले नेताहरुका अनुसार उम्मेदवारी सदर गर्ने निर्णयको पूर्णपाठपछि पार्टीले थप निर्णय लिने छ ।

रामशाह यादवको उम्मेदवारी संविधान र कानुन विपरीत रहेको भन्दै नेकपा नेकपा एमालेले शनिवार निर्वाचन आयोगमा उजुरी दिएको थियो ।

राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले उपराष्ट्रपति पनि पुरुष हुन नहुने भन्दै एमालेले जसपाका उम्मेदवार यादवविरुद्ध उजुरी दिएको हो । निर्वाचन आयोगका प्रमुख आयुत्त दिनेशकुमार थपलियाले पनि उपराष्ट्रपतिमा महिलाकै उम्मेदवारी हुनुपर्ने बताउँदै आउनुभएको थियो ।

प्रि -ओपन सेसन अपडेट

काठमाडौँ – साताको पहिलो कारोबार दिन आइतबार प्रि-ओपन सेसनमा नेप्से सूचक ५.५६ अंकले बढेको छ। यस वृद्धिसँगै सूचक २००८.२६ विन्दुमा पुगेको छ।

यस अवधिमा ८ लाख २७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। २५ कम्पनीको २ हजार १६० कित्ता सेयर कारोबार भएको छ।

यस सेसनमा कुल ३९ वटा कारोबार भएको हो। यो सेसनमा १९ वटा कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ।

बाँकीमा कुनै परिवर्तन भएको छैन।

लागुऔषधसहित १ जना पक्राउ

बारा – जितपुरसिमरा उपमहानगरपालिका-८ रमौलीबाट अवैध लागूऔषध गाँजा करिब ८ केजीसहित सोही उपमहानगरपालिका-१० बस्ने ५६ वर्षीय दशै मुखियालाई  प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले रमौलीबाट नितनपुरतर्फ पैदल जादै गरेको उनलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

प्रमिला यादवले उम्मेदवारी फिर्ता लिने

काठमाडौं – उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नुभएकी प्रमिला यादवले उम्मेदवारी फिर्ता लिने हुनुभएकाे छ । 

आयोगले उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी सदर गरेपछि यादवले उम्मेदवारी फिर्ता गर्ने हुनुभएकाे हाे । 

रामशाह यादवको उम्मेदवारी संविधान र कानुन विपरीत रहेको भन्दै नेकपा नेकपा एमालेले शनिवार निर्वाचन आयोगमा उजुरी दिएको थियो । 

नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा एमालेका सांसद महेश बर्तौला लगायतका नेताहरूले यादवविरुद्ध उजुरी दिनुभएकाे थियाे । 

राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले उपराष्ट्रपति पनि पुरुष हुन नहुने भन्दै एमालेले जसपाका उम्मेदवार यादवविरुद्ध उजुरी दिएको हो । निर्वाचन आयोगका प्रमुख आयुत्त दिनेशकुमार थपलियाले पनि उपराष्ट्रपतिमा महिलाकै उम्मेदवारी हुनुपर्ने बताउँदै आउनुभएको थियो । 

सिन्धुलीमा बस दुर्घटना अपडेट : ६ जनाको मृत्यु

काठमाडौँ – सिन्धुलीमा भएको बस दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । आइतबार भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ ।

मृत्यु हुनेमा तीन पुरुष, दुई महिला र एक बालिका रहेका छन् । उनीहरुको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका जनाएको छ ।

मध्यपहाडि लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुइभिरमा आज बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । ओखलढुङगाबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस दुर्घटना भएको हो । मृतकको पहिचान खुल्न सकेको छैन ।

घटनास्थलबाट घाइतेको उद्धार गरी उपचारका लागि गोलञ्जोर गाउँपालिका–७ खुर्कोटस्थित सामुदायिक अस्पताल लगिएको छ । चालकको अवस्था सामान्य रहेको छ । उनको घुर्मीमा उपचार भइरहेको छ । बस अनियन्त्रित भइ भित्तामा ठोक्किँएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बलात्कार आराेपमा ३ जना पक्राउ

दाङ – २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१७ बेलभार बस्ने २९ वर्षीय निर्मल चौधरीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

उनीहरुले ती माहिलालाई बेलभार चोकदेखि करिब १ सय मिटर पश्चिममा रहेको  खाली जग्गामा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्यायी प्रहरी पोष्ट चौघेराबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

आइतबार सुनको भाउ १ हजार ७०० रुपैयाँले बढ्यो

काठमाडौं – सुनचाँदीको भाउ आइतबार बढेको छ । गत शुक्रबारको तुलनामा आइतबार छापावाला सुनको मूल्य तोलामा एक हजार ७०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायीी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । 
गत शुक्रबार पनि ८०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला एक लाख एक हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

आइतबार तेजाबी सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँ किनबेच भइरहेको छ । 

यसैगरी आइतबार तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार चाँदी पाँच रुपैयाँले घटेर १ हजार २२० रुपैयाँमा किनबेच भएको थियो । 

लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकताको सहमति

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकताको सहमति भएको छ । 

शनिबार साझ तीन दलबीच विभिन्न ‘एजेन्डा’मा सहकार्य गरी अगाडि बढ्ने निर्णय भएको नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)ले  जानकारी दिनुभयो ।

उहाँका अनुसार मधेश र थारुहट आन्दोलनका मुद्दाको सम्बोधन, नागरिकता विधेयक, आन्दोलनकारीमाथिका मुद्दा फिर्ता, राजबन्दीको रिहाइ, विगतका सहमति कार्यान्वयलगायतका एजेन्डासहित सहकार्य गर्ने सहमति भएको हो । कार्यगत एकताका लागि तीन पार्टीबीच सहमति पत्रसमेत तयार भएको बताइएको छ । 

उक्त सहमति पत्रमा जनमत पार्टीकातर्फबाट अध्यक्ष डा सिके राउत, लोसपाका अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी) ले हस्ताक्षर गर्नुभएको छ । 

तीन पार्टीबीच उपराष्ट्रपति निर्वाचनमा पनि सहकार्य गर्ने निर्णय भएको छ । उपराष्ट्रपतिमा जनमत पार्टीले ममता झालाई उम्मेदवार बनाएको छ ।

६ वर्षदेखिको हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको अवरोध हटाउने प्रयास

काठमाडौं – देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणमा अवरोधै अवरोध छ । 

हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडाहरु १५, १६ तथा १७ स्थिति हटिया र सर्लाहीको लालबन्दी नगरपालिकाको जियाजोर क्षेत्रमा करिब ६ वर्षदेखि निर्माणमा अवरोध छ । 

हटिया क्षेत्रमा १४ वटा, हेटौडा उपमहानगरपालिका वडा नं ११ स्थित थाना थानाभ¥याङमा २ वटा र जियाजोर क्षेत्रमा ८ वटा टावर निर्माणमा अवरोध छ । थानाभ¥याङ स्थित सबस्टेसनमा लाइन छिराउन २ वटा टावर निर्माण गर्नु पर्ने छ । यसबाट ऐलानी जग्गामा बनेका ४६ वटा घर प्रभावित हुने छन् । 

त्यस क्षेत्रका स्थानीय बासिन्दाले प्रसारण लाइनको रुट परिवर्तनको माग गर्दै निर्माणमा अवरोध गर्दा करिब १० वर्षअघि सुरु भएको रणनीतिक महत्वको प्रसारण लाइन निर्माण सम्पन्न हुन सकिरहेको छैन । स्थानीय अवरोध खुलाई निर्माणका लागि नेपाल विद्युत प्राधिकरणले गरिरहेको निरन्तरको प्रयास पनि सफल हुन सकिरहेको छैन । 

मकवानपुरको हेटौडा उपमहानगरपालिका–११ थानाभर्‍याङ सबस्टेसनबाट सुरु भई सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थिति इनरुवा सबस्टेसनमा जोडिने प्रसारण लाइन १० जिल्ला पार भएर जान्छ । प्रसारण लाइनको मार्ग परिवर्तनको माग गर्दै निर्माणमा स्थानीयको अवरोध, सर्वोच्च अदालतको अन्तरिम आदेश, वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान स्वीकृतिको प्रक्रियागत अल्झन, ठेकेदारको कमजोर कार्यसम्पादनलगायतका कारणले निर्माण ढिला भएको हो । ३० महिनामा निर्माण सम्पन्न गर्ने २०६९को माघमा ठेक्का सम्झौता भएको थियो । 

हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न हुन नसक्दा धनुषास्थिति ढल्केबर सबस्टेसनबाट लाइन क्षमता अभावमा मुख्य रुपमा पश्चिमतर्फ विद्युत् पठाउन सकिएको छैन । हाल ढल्केबरबाट पश्चिमतर्फ १३२ केभी प्रसारण लाइन मात्रै छ । साथै, प्रसारण लाइन अभावमा ढल्केबर सबस्टेसनमा पर्याप्त विद्युत् पुर्याउन नसक्दा देशभित्र खपत गरी बढी भएको विद्युत भारततर्फ निर्यात गर्न र आवश्यक पर्दा आयात गर्न समस्या छ । 

प्रसारण लाइन निर्माणमा निरन्तर अवरोध भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका प्रमुख दीर्घायुकुमार श्रेष्ठ, आयोजना प्रमुख श्याम यादव सम्मिलित उच्चस्तरीय टोलीले शनिबार हेटौडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामा, वडा नं १५ का वडाध्यक्ष सुनील मोक्तान, वडा नं १६ का  वडाध्यक्ष रामकृष्ण कोइरालासँग समस्या समाधानका लागि छलफल गरेको छ । 

टोलीले स्थानीयसँगको छलफल र सहमतिमै प्रसारण लाइन निर्माण अगाडि बढाइने हुँदा यसका लागि आवश्यक सहयोग, समन्वय र सहजीकरण गरिदिन आग्रह गरेको छ । 

कार्यकारी निर्देशक घिसिङले देशभित्रको विद्युत् आपूर्ति र भारतसँगको विद्युत् व्यापारका लागि यो प्रसारण लाइन तत्काल निर्माण सम्पन्न गर्नु पर्ने भएकोले आयोजना र स्थानीयबासिन्दा दुवै पक्ष मर्कामा नपर्ने गरी अवरोध हटाउनका लागि पहल गरिदिन आग्रह गरे । 

‘यो लाइन बन्न सकेन भने यसै वर्षबाट बिक्री गर्न नसकी दैनिक रुपमा चार सय देखि पाँच सय मेगावाटसम्म विद्युत खेर फाल्नु पर्ने वाध्यात्मक अवस्था आउँदैछ, यसबाट प्राधिकरणलाई मात्र नभएर देशलाई नै ठूलो घाटा हुने छ’, उनले भने,  ‘प्रभावितहरुलाई उचित क्षतिपूर्ति दिएर सहमतिमै प्रसारण लाइन निर्माण अगाडि बढाउन तयार छौं, दुवै पक्षलाई विन विन हुने गरी समस्या समाधान गरौं ।’

नगरप्रमुख लामाले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको निर्माण पनि अगाडि बढ्ने र प्रभावितहरु पनि मर्कामा नगर्ने गरी समस्या समाधानका लागि सहजीकरण गरिने बताए । 

वडाध्यक्षहरु मोक्तान र कोइरालाले समस्या समाधानका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताए । उनीहरुले यसका लागि छिट्टै प्रभावितहरुसँग छलफल गरिने उल्लेख गरे । हटिया क्षेत्रमा टावर प्याड निर्माणका लागि अधिग्रहण गरिने जग्गाको मुआब्जा निर्धारण भइसकेको छ । केही जग्गाधनीले मुआब्जा पनि बुझिसकेका छन् । मुआब्जा मुझ्नेले पनि टार प्याड निर्माण गर्न दिएका छैनन् । 

पहाडी, शिवालिक चुरे र तराई क्षेत्रमा पर्ने २ सय ८८ किलोमिटर प्रसारण लाइनका लागि ७ सय ९२ वटा टावर निर्माण गर्नु पर्छ । यसमध्ये ७ सय २८ वटा टावरको जग हालिएको छ । ७ सय ८ वटा टावर खडा गरिएको छ । 

हेटौंडा–ढल्केबर–इनरुवा ४४० केभी प्रसारण लाइन विद्ययमान १३२ केभी प्रसारण लाइन र पूर्व–पश्चिम राजमार्गको नजिक र प्रायः समानान्तर छ । प्रसारण लाइनको मार्गधिकार क्षेत्र प्रसारण लाइनको केन्द्र विन्दुबाट दायाँ बायाँ २३÷२३ मिटर हुने छ । आयोजनाले ५१८ हेक्टर वन क्षेत्रमा रहेका रुखहरु काट्नु पर्ने र ३० हेक्टर निजी कृषि योग्य जमिम अधिग्रहण गर्नुपर्ने छ । मार्गधिकारमा ४७५ हेक्टर निजी जग्गा र १७१ वटा घर तथा अन्य संरचनाहरु प्रभावित हुने छन् । 

आयोजना अन्तर्गत नै हेटौंडामा निर्माणाधीन २२० केभीको सबस्टेसन आगामी असारभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । हटौंडामै निर्माणाधीन ४०० केभीको सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ । 

१७ करोड अमेरिकी डदर अनुमानित लागत रहेको आयोजना नेपाल सरकार, विद्युत प्राधिकरणको लगानी र विश्व बैकको सहुलियतपूर्ण ऋणमा नेपाल–भारत विद्युत प्रसारण तथा व्यापार परियोजना  अन्तर्गत सुरु गरिएको हो । आयोजनाबाट विश्व बैंक बाहिरिएको छ । यसबाट मुलुकभित्रको प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत व्यापार सहज हुने अपेक्षा गरिएको छ ।

उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम

काठमाडौं – निर्वाचन आयोगले उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम रहेको निर्णय गरेको छ । निर्वाचन आयोगले यादवको उम्मेदवार खारेज गर्न नपर्ने निर्णय गरेको हो । 

आज आफ्नो उम्मेदवारीविरुद्ध परेको उजुरीमाथि स्पष्टिकरण दिन निर्वाचन आयोग पुग्नुभएका यादवको उम्मेदवारी कायमै राख्ने निर्णय गरेको हो । यादवको उम्मेदवारी संविधान र कानुन विपरीत रहेको भन्दै नेकपा नेकपा एमालेले शनिवार निर्वाचन आयोगमा उजुरी दिएको थियो । 

नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा एमालेका सांसद महेश बर्तौला लगायतका नेताहरूले यादवविरुद्ध उजुरी दिएको थियो । 

राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले उपराष्ट्रपति पनि पुरुष हुन नहुने भन्दै एमालेले जसपाका उम्मेदवार यादवविरुद्ध उजुरी दिएको हो । निर्वाचन आयोगका प्रमुख आयुत्त दिनेशकुमार थपलियाले पनि उपराष्ट्रपतिमा महिलाकै उम्मेदवारी हुनुपर्ने बताउँदै आउनुभएको थियो ।