`

उपराष्ट्रपतिका उम्मेदवार यादवले आयोगलाई बुझाए आफूविरुद्धको प्रष्टिकरण

काठमाडौँ – उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले आफूविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा परेको उजुरीमाथिको प्रष्टिकरण पेस गरेका छन् । आज (आइतबार) नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी विरुद्धको उजुरीको जवाफ पेस गरेका हुन् ।

शनिवार उम्मेदवारी दर्ता गरेपछि एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले संविधानको भावना विपरीत राष्ट्रपतिमा पुरुष उम्मेदवार निर्वाचित भएपछि उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने र यादवको उम्मेदवारी संविधान विपरित भएको भन्दै दावी विरोध पेस गरेकी थिइन् ।

सो दावी विरोधमाथि जवाफ पेस गर्दै यादवले संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व गर्नुपर्ने भन्ने व्यवस्था रहेको र ‘वा’ भन्ने शब्दले विकल्प दिएकोले आफू उम्मेदवारको लागि योग्य भएको दावी पेस गरेका छन् ।

उनले संविधानको धारा ७०, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐनको दफा १६ को ५ मा भएको व्यवस्थाअनुसार आफू राष्ट्रपति निर्वाचित ब्यक्तिभन्दा फरक समुदायको मधेशी भएको जवाफ पेस गरेका छन् ।

खोटाङमा बिहानैदेखि बन्दकर्ता सडकमा, यातायात ठप्प

खोटाङ – प्रदेश १ को नाम ‘कोशी’ राखिएको विरोधमा आह्वान गरिएको बन्दका कारण खोटाङमा यातायातका साधन ठप्प बनेको छ ।

गत फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ राखिएकोमा भर्त्सना गर्दै जनता समाजवादी पार्टी नेपाल, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, किरात राई यायोक्खा लगायतको सहकार्यमा आइतबार जिल्लाभर बन्द आह्वान गरिएको हो । पहिचानको आधारमा नामाकरण गराउनका लागि दवाव सिर्जना गर्न गठित प्रदेश १ पुःन नामाकरण संयुक्त संघर्ष समितिको आह्वानमा जिल्लामा बन्द  गरिएको जसपाका प्रदेश समिति सदस्य नेता नविन राईले बताए । 

संयुक्त बन्दका कारण जिल्लाबाट छुट्ने छोटो तथा लामो दूरीको सवारी साधन चल्न पाएका छैनन् । बन्दकर्ताले मोटरसाईकल समेत नियन्त्रणमा लिएर पार्किङ गराइरहेका छन् । सवारी साधन चल्न नदिन बन्दकर्ता बिहान साढे तीन बजेदेखि दिक्तेलको किरातचोकमा सडकमा पुगेका थिए । बन्दकर्ता दिक्तेलको किरातचोक र अल्छेढुंगास्थित मध्यपहाडी लोकमार्गमा बसेर सवारी आवागमनमा रोक लगाइरहेका छन् । यातायात ठप्प हुँदा यात्रु भने मारमा परेका छन् । 

बन्दकर्ताले दिक्तेलबजारका पसल समेत बन्द गराएका छन् । बजार बन्द गराउन बन्दकर्ताको एक टोली खटिएका थिए । दिक्तेल बजार र आसपासका शैक्षिक संस्थामा पनि बन्दको प्रभाव परेको छ । दिक्तेल बाहिरका शैक्षिक संस्थामा भने आंशिक प्रभाव परेको छ । साविकको सदरमुकाम दिक्तेलको तुलनामा अन्य ठाउँमा बन्दको प्रभाव कम देखिएको छ । 


प्रदेशको नामाकरण सच्याउन र पुःन नामाकरणको मागमा पहिचान पक्षधर पार्टी तथा जातीय संघसंगठनले बन्द आव्हान गरेका हुन् । इतिहास, भूगोल, सभ्यता र संस्कृतिको आधारमा प्रदेशको नामाकरण गर्नका लागि दवाव सिर्जना गर्न बन्द आव्हान गरिएको किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरातले बताए । 

प्रदेशको पुःन नामाकरणका सन्दर्भमा खोटाङमा जनता समाजवादी पार्टी नेपाल, नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, किरात राई यायोक्खा, किरात सेवा समाज, नेपाल जनजाति युवा संघ, नेपाल तामाङ घेदुङ संघ, नेवा देयःदवु, नेपाल तमु छ्योज्धी, नेपाल शेर्पा संघ, नेपाल मगर संघ, नेपाल भुजेल सेवा समाज, नेपाल माझी सेवा समाज, किरात चाम्लिङ राई खाम्वातिम, किरात साम्पाङ राई जुम्लेखा र किरात राई फन्सिकिमले संयुक्त संघर्ष थालेका छन् । 

नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ सोमबार दिउँसो १ बजे हुने

काठमाडौँ – नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथ ग्रहण समारोह भोलि दिउसो १ बजे हुने भएको छ ।

फागुन २५ गते निर्वाचित हुनुभएका नेपालको तेस्रो राष्ट्रपति पौडेललाई भोलि (सोमबार) दिउसो १ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा कायममुकायम प्रधानन्यायाधिश हरिकृष्ण कार्कीले पद तथा गोपनियताको शपथ गराउनुहुने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेबी भण्डारीको कार्यकाल भने आज राती १२ बजेदेखि सकिदै छ ।

सिन्धुलीमा बस दुर्घटना, ५ जनाको मृत्यु, २४ जना घाइते, ५को अवस्था गम्भीर

काठमाडौं – सिन्धुलीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

ओखलढुंगाबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ खा ६५९६ नम्बरको बस  फिक्कल गाउँपालिका वडा नम्बर ४ कुइभिर डाँडामा  दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा २ महिला, २ पुरुष र १ बच्चा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

घटनामा २४ जना घाइते हुनुहुन्छ ।दुर्घटनामा घाइतेभएकाहरुको उद्धार गरी प्राथमिक उपचारका लागि खुर्कोट लगिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकि छ ।

सवारी दुर्घटनामा एक जनाकाे मृत्यु

बारा – बाराको महागढिमाई नगरपालिका ८ थलही पुलमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

कलैयाबाट लङ्गडा चोक तर्फ जाँदै गरेको ना ३७ प ४१४८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएको थियो ।  दुर्घटनामा मोटरसाइकल चालक बाराकै आदर्श कोतवाल गाउँपालिका १ जमुनियाका अन्दाजी २२ वर्षीय विकास कुमार साह घाईते भएका थिए ।

उनकाे  उपचारको क्रममा गण्डक अस्पताल वीरगञ्ज पर्सामा मृत्यु भएको हो । दुर्घटनामा संलग्न सवारी साधन फरार भएकाले  खोजी भएरहेको स्थानीय प्रहरीले जानकारी दिएको छ । 

निर्माण व्यवसायी महासंघको साधारणसभा आज, प्रधानमन्त्रीले उदघाटन गर्ने

काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघको २४ औं साधारणसभा आजवाट सुरु हुने भएको छ ।

महासंघको २४ औं साधारणसभा आइतबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन लागेको महासंघले जनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदघाटन गर्ने साधारणसभामा ‘एफक्यान एक्सिलेन्स अवार्ड’ पनि बितरण हुनेछ भने  ३८ विधामा संस्था तथा व्यक्तिलाई पुरस्कृत गरिनेछ ।

साधारण सभामा देशभरबाट करिव ११ सय प्रतिनिधि र पाँचसय पर्यवेक्षक सहभागी हुनेछन् । 

महोत्तरीमा मोबाइल पसलमा आगलागी हुदाँ लाखौंको क्षति

बर्दिवास – महोत्तरीको गौशाला बजारमा एक मोबाइल पसलमा आगलगी हुँदा लाखौंको क्षति भएको छ । 

शनिवार राति गौशाला बजारमा सञ्चालित आरोही मोबाइल पसलमा आगलगी हुँदा करिब १५ लाख बराबरको सरसमानहरु जलेर नष्ट भएका हुन्।

ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवका अनुसार पसलभित्र जडान गरिएको विद्युतको तार सर्ट भएर  आगलागी भएको खबर पाउने बितिक्कै पाएलगतै घटनास्थलमा प्रहरी पुगेर आगोलाई नियन्त्रणमा लिएको थियो । क्षतिको थप विवरण संकलन भईरहेको छ।

नेपालमा आज सात जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घण्टामा गरिएको ६ सयजनाको नमूना परीक्षणमा ७ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयको विवरणअनुसार हाल देशभर जम्मा १२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । 

सोही अवधिमा ३ हजार ९८६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । 

शुक्रबार नयाँ संक्रमितको संख्या शून्य रहेको थियो। हाल नेपालमा कोभिड संक्रमणमुक्त हुने दर ९८ प्रतिशतभन्दा धेरै रहेको छ । 

नवनिर्वाचित राष्ट्रपति पौडेलले गरे पुष्पलालको शालिकमा माल्यार्पण

काठमाडौँ – नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले काँग्रेसका संस्थापक नेता एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सालिकमा माल्यार्पण गर्नुभएको छ ।

शनिबार ललितपुरको वाँडेगाउँस्थित भट्टराई आश्रम पुगेर उहाँले भट्टराईको सालिकमा माल्यार्पण गर्नुभएको हो । सो क्रममा पौडेलले भट्टराई आश्रमको अवलोकन एवं निरीक्षण समेत गर्नुभएको थियो । नवनिर्वाचित राष्ट्रपति पौडेललाई आश्रमको सञ्चालिका अमिता कपाली, काँग्रेसका उपसभापति एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का लगायतले स्वागत गरेका थिए ।

त्यसअघि शनिबार नै नवनिर्वाचित राष्ट्रपति पौडेल कीर्तिपुर नगरपालिका–४ चम्पादेवीस्थित पुष्पलाल स्मृति उद्यान जानुभई नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको प्रतिमामा माल्यार्पण गर्नुभएको थियो ।

एमालेले जसपाका उपराष्ट्रपति उम्मेदवार रामसहायविरुद्ध उजुरी दर्ता गर्यो

काठमाडौँ – उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएका जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादवको उम्मेदवारी संविधान र कानुनविपरीत रहेको भन्दै नेकपा एमालेले उजुरी दिएको छ । 

उपराष्ट्रपति पदका लागि एमालेबाट उम्मेदवारी दिनुभएकी अष्टलक्ष्मी शाक्य (बोहरा)को प्रतिनिधि एवं सांसद महेश बर्तौलाले नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा शनिबार उजुरी दर्ता गर्नुभएकाे हाे । 

राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले उपराष्ट्रपति पनि पुरुष हुन नहुने भन्दै एमालेले जसपाका उम्मेदवार यादवविरुद्ध उजुरी दिएको हो । साथै यादवको उम्मेदवारी कानुनविपरीत रहेको एमालेको दाबी छ ।

यद्यपि जसपाबाट उम्मेदवारी दिएका यादवको नाममा शुक्रबार नै प्रश्न उठ्न थालेपछि जसपाबाटै प्रमिला यादवले पनि उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउनुभएकाे छ ।  ९ दलीय गठबन्धनका शीर्ष नेताहरूले कांग्रेसलाई राष्ट्रपतिमा निर्वाचित गरेर जसपालाई उपराष्ट्रपतिमा सहयोग गर्ने सहमति गरेका थिए ।

एमालेबाट भने उपराष्ट्रपतिमा शाक्यले उम्मेदवारी दर्ता गराउनुभएकाे छ । उपराष्ट्रपति निर्वाचनको तयारीका सन्दर्भमा आइतबार उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । त्यस्तै चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुनेछ ।

केही दिनमा समाजवादी मोर्चा बनेर फेरि शक्तिशाली कम्युनिस्ट केन्द्र बन्छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा समाजवादी मोर्चा बन्ने र त्यसको जगमा कम्युनिस्ट एकताको पहल गरिने बताएका छन् ।

शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मधेश प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले पहिला समाजवादी मोर्चा बनाउने र त्यसपछि कम्युनिस्टहरूको बृहत्तर एकताका निम्ति बहस सुरु गरिने बताए । 

‘जनयुद्ध र जनआन्दोलनका मुद्धा सम्बोधन भइसकेका छैनन्, शान्ति प्रक्रिया टुंगोमा पुगिसकेको छैन,’ प्रधानमन्त्रीले भने, ‘शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा छ। यसका निम्ति समाजवादी शक्तिहरूको सहकार्य र एकता जरूरी छ।’

उनले माओवादी धाराका कम्युनिस्ट घटकहरूबीच भइरहेको छलफल पनि एकताका लागि सकरात्मक भएको बताएका छन् । शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धि विषय सत्य निरूपण तथा मेलमिलापको माध्यमद्वारा टुंगो लगाउनुपर्छ भन्नेमा आफूहरूको साझा मत रहेको उनले बताए ।

‘संसार भएरमा एक पटक कम्युनिस्ट आन्दोलन पराजित भएपछि उठेर आएका विरलै दृष्टान्त छन् । चाहे पूर्वी युरोप हेर्नुस्, चाहे पश्चिम बंगाल वा अन्य ठाउँको क्रान्ति हेर्नुस्, क्रान्तिले धक्का खाएपछि उठ्न कठिन हुन्छ । नेपालमा पनि हामी चुनौती र सम्भावनाको दोसाँधमा छौँ । बृहत्तर वामपन्थी एकतामार्फत् चुनौती छिचोलेर समाजवादको ढोका खोल्नुपर्छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

उपराष्ट्रपतिका उम्मेदवार रामसहायविरुद्ध उजुरी दिने एमालेको तयारी

काठमाडौँ – उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएका जसपाका नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी संविधान र कानुन विपरीत रहेको भन्दै नेकपा नेकपा एमालेले उजुरी दिने तयारी गरेको छ ।

नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा एमालेका सांसद महेश बर्तौला लगायतका नेताहरू उजुरीपत्र लिएर पुग्नुभएकाे हाे  ।

राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले उपराष्ट्रपति पनि पुरुष हुन नहुने भन्दै एमालेले जसपाका उम्मेदवार यादवविरुद्ध उजुरी दिने तयारी गरेको हो । साथै यादवको उम्मेदवारी कानुन विपरीत रहेको एमालेको दाबी छ ।

रामवरण यादव हाम्रो समर्थनमा राष्ट्रपति हुनुभएको हो : अध्यक्ष ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको पहिलो राष्ट्रपति डा रामवरण यादव आफूहरुको समर्थन र प्रस्तावमा निर्वाचित भएको बताउनुभएको छ।

एमालेका तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता भएपछि सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले नेपालको पहिलो राष्ट्रपति डा यादवलाई आफूहरुको प्रस्तावमा नै निर्वाचित गराएको बताउनुभयो । उहाँले आफ्नो पार्टीले त्यसपछि क्रमशः आफ्नै उम्मेदवार उठाएको बताउनुभयो ।

यस्तै सङ्घीय संसद्भवन नयाँ वानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै एमालेबाट उपराष्ट्रपति पदमा  उम्मेदवारी दिनुभएकी अष्टलक्ष्मी शाक्यले लोकतन्त्रमा विश्वास गर्नेहरुले स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले यसबारे सोच्न जरुरी छ ।”

एमालेले आज बिहान एमालेले उपाध्यक्ष शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । शाक्यको प्रस्तावकमा अध्यक्ष ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेताहरु छविलाल विश्वकर्मा, गोकर्ण विष्ट र रघुवीर महासेठ हुनुहुन्छ । त्यस्तै, समर्थकममा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने र यशोदा रिजाल हुनुहुन्छ ।  

उपराष्ट्रपतिमा उम्मेदवारी फिर्ता हुँदैन,बरू मित्रवत् प्रतिष्पर्धा गर्छौं : सीके राउत

काठमाडौं – जनमत पार्टीका अध्यक्ष सीके राउतले उपराष्ट्रपति पदका लागि आफ्नो पार्टीबाट ममता झाको उमेदवारी दर्ता भएपछि यस विषयमा गठबन्धनमा छलफल हुने प्रतिक्रिया दिएका छन् । 

उमेदवारी दर्तापछि राउतले आठदलीय गठबन्धनको निर्णयअनुसार नै आफूहरुले उमेदवारी दिएको बताएका छन् । उनले गठबन्धन दलबाट तीनजनाको उमेदवारी परेकाले यस विषयमा गठबन्धनमा  छलफल हुने बताए । 

राउतले गठबन्धनको निर्णयअनुसार नै आफ्नो पार्टीले उमेदवारी दिएको बताए । उनले आफ्नो पार्टीको उमेदवारको पक्षमा गठबन्धनमा सहमति हुने बताए । आफ्नो उमेदवारमा सहमति नभएको अवस्थामा मित्रवत् प्रतिस्पर्धा हुने उनले बताए । 

उपराष्ट्रपति पदका लागि जसपाबाट नेतृ प्रमिला यादव र नेता राम सहायप्रसाद यादवको उमेदवारी परेको छ । यस्तै, नेकपा (एमाले)बाट अष्टलक्ष्मी शाक्यले उमेदवारी दिएकी छन् भने जनमत पार्टीबाट झाले उमेदवारी दर्ता गरेकी छन् । 

राष्ट्रपति चुनावमा एकमत देखिएको आठदलीय गठबन्धन उपराष्ट्रपति चुनावमा भने एक भएन । निर्वाचन आयोगको निर्णय र प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्तिले गठबन्धन सशंकित देखिएको छ । 

उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयले उमेदवारी दर्ताको समय आज बिहान ९ बजेदेखि २ बजेसम्म तोकेको थियो ।

गौमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल छैठौंका जीसी विजयी

काठमाडौं- प्यूठानको गौमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल छैठौंका उम्मेदवार विजयी भएका छन् ।

गौमुखीको स्ववियु सभापतिमा अखिल छैठौंका रजत जीसी विजयी भएका हुन् । जीसीको प्यानल नै विजयी भएको बताइएको छ । यससँगै अखिल छैठौंले स्ववियु सभापतिमा खाता खोलेको छ ।


 

आरआर क्याम्पसमा खुकरी आतंक मच्चाउने नेकपा एसका कार्यकर्ता पक्राउ

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि शनिवार उम्मेदवारी दर्ता भइरहेको समयमा नेकपा एस निकट विद्यार्थीहरु  आरआर क्याम्पसमा खुकुरी आतंकसहित तान्डब्य मच्चाएका छन् । 

शनिवार उम्मेदवारी दर्ताको समयमा रत्न राज्य क्याम्पसमा  नेकपा एसका एक कार्यकर्ताले खुकुरी आतङ्क मच्चाएका हुन्  ।
क्याम्पस हाताभित्र नेकपा एसका एक कार्यकर्ता नाङ्गो खुकुरी देखाएर एमाले निकट अनेरास्ववियुका कार्यकर्ताहरूलाई धम्की दिँदै गरेको भिडिओ सार्वजनिक भएको छ ।

भिडिओमा उनी खुकुरी लिएर केही विद्यार्थीहरूलाई लखेट्न खोजिरहेका छन् । प्रहरी स्रोतका अनुसार उनी नेकपा एसका एक नेतासँग त्यहाँ पुगेका थिए । उनी विद्यार्थी भने होइनन् ।

खुकरी आतंक मच्चाउने उनलाई प्रहरीले पक्राउ गरेको छ । खुकुरीसहित पक्राउ पर्ने व्यक्ति मनोज चन्द भन्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ । उनलाई स्ववियु सभापति तपेन्द्रजंग शाहीसहितका अखिलका कार्यकर्ताले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन्  ।

उपराष्ट्रपतिका लागि चार जनाको उम्मेदवारी दर्ता

काठमाडौं – उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ। निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेदेखि अपराह्न २ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समयसीमा तय गरिएकोमा चार जनाको उम्मेदवारी दर्ता भएको हो ।

सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार तोकिएको समयभित्र चार जनाको उम्मेदवारी परेको हो । नेकपा एमालेका तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् ।

यस्तै १० दलीय सत्तारुढ गठबन्धनकातर्फबाट जनता समाजवादी पार्टी नेपालका दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसपाको तर्फबाट रामसहायप्रसाद यादव र प्रमिला यादवको उम्मेदवारी परेको छ । 

यस्तै जनमत पार्टीको तर्फबाट ममता झाको उम्मेदवारी परेको छ । आइतबारसम्म गठबन्धनले आधिकारिक उम्मेदवार तय गर्ने बताइएको छ । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै जनमत पार्टीका अध्यक्ष सिके राउतले सत्तागठबन्धनको तर्फबाट आइतबारसम्म साझा उम्मेदवार तय हुने बताए । 

आगामी चैत ३ गते उपराष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ । 

उपराष्ट्रपतिमा जसपाबाट रामसहाय र प्रमिला यादवकाे उम्मेदवारी

काठमाडौं – सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीबाट दुई जनाले उपराष्ट्रपति पदमा उम्मेदवारी दिएका छन् ।नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पुगेर जसपाका रामसहाय प्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दिएका हुन् ।

माओवादी र नेकपा एसका नेताहरुको साथमा पुगेका रामसहाय यादवको प्रस्तावकमा अशोक कुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत, रमेशजंग रायमाझी रहेका छन् भने समर्थकमा रेखा यादव,अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा भानुभक्त जोशी रहेका छन् ।

यस्तै प्रमिला यादवको प्रस्तावकमा प्रमिला यादवको प्रस्तावक स् मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, रन्जु झा, राजकिशोर यादव  र समर्थकमा  अनिता देवकोटा, सीता गुरुङ, विरेन्द्र महतो, मनिस सुमन, सुशीला श्रेष्ठ रहेका छन् ।

सत्ता गठबन्धनबाटै जनमत पार्टीकी ममता झा पनि उम्मेदवारी दर्ता गराउन संसद भवन पुगेकी छन् ।

उपराष्ट्रपतिमा जसपा नेता यादवको उमेदवारी दर्ता

काठमाडौं – जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेता रामसहाय प्रसाद यादवले उपराष्ट्रपति पदका लागि उमेदवारी दर्ता गराएका छन् । 

उनलाई सत्ता गठबन्धनमा आबद्ध दलको समर्थन रहेको छ । गठबन्धका दलको प्रस्ताव र समर्थनमा उनले उमेदवारी दर्ता गराएका हुन् । प्रस्तावकमा अशोककुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत र रमेशजंग रायमाझी छन् । 

समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा र भानुभक्त जोशी रहेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एस र जसपासहित चार दलको समर्थन रहेका उनलाई स्वतन्त्रका एक सांसदको पनि समर्थन रहेको छ । 

गठबन्धका दलको समर्थन रहेकाले उनले जित्ने पायः निश्चित रहेको छ । राष्ट्रपतिमा गठबन्धनका साझा उमेदवार रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् । 

यसअघि निर्वाचन आयोगले राष्ट्रपतिमा पुरुष उमेदवार निर्वाचित भइसकेकाले उपराष्ट्रपतिमा पनि पुरुष उमेदवारको उमेदवारी दर्ता नगर्ने बताए पनि अन्ततः पछि हट्दै यादवको उमेदवारी दर्ता गरेको हो । 

आज नै उमेदवारविरुद्ध उजुरी दिन सकिनेछ । यसका लागि २ देखि ३ बजेसम्मको समय तोकिएको छ । 

२८ गते उजुरीउपर जाँचबुझ गरि निर्णय लिइने निर्वाचन आयोगले जनाएको छ । सोही दिन उमेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची छ । २८ गते नै उमेदवारले नाम फिर्ता लिने र सोही दिन अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची रहेको कार्यतालिकामा उल्लेख छ । 

चैत ३ गते मतदान हुनेछ । मतदान बिहान १० बजेदखि दिउँसो ३ बजेसम्म हुने आयोगले जनाएको छ ।

लोकतन्त्र बलियो बनाउन सबैले सोच्ने बेला आयो : अष्ष्टलक्ष्मी शाक्य

काठमाडौं – नेकपा एमालेबाट उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउनुभएकी अष्टलक्ष्मी शाक्यले  आफू एक्लै नरहेकाे बताउनुभएकाे छ ।

एमालेका नेताहरुसहित नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पुगेर उम्मेदवारी दर्ता गराएपश्चात् पत्रकारहरुसँग कुराकानी गर्दै शाक्यले लाेकतन्त्र बलियाे बनाउन सबैले साेच्नुपर्ने बेला अाएकाे बताउनुभयाे । ‘लोकतन्त्र बलियो बनाउन सबैले सोच्ने बेला आयो’,उहाँले भन्नुभयो । 

शाक्यको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट रघुवीर महासेठ र समर्थकमा कृष्ण गोपाल श्रेष्ठ महेश बर्तौला तुलसा दाहाल भगवती न्यौपाने यसोदा रिजाल रहनुभएकाे छ । 

आरआर क्याम्पसमा विद्यार्थीहरूको ताबन्दी

काठमाडौं – स्ववियु निर्वाचनको तयारीमा जुटेका विद्यार्थी संगठनहरूले रत्न राज्य लक्ष्मी क्याम्पसमा तालाबन्दी गरेका छन् । स्ववियुविरुद्ध षड्यन्त्रपूर्ण हर्कत चलिरहेको आरोप लगाउँदै विद्यार्थीहरूले तालाबन्दी गरेका हुन् ।

२६ फागुनमा अनलाइनमार्फत सार्वजनिक गरिएको मतदाता नामावलीलाई व्यापक रूपले हेरफेर गर्ने कार्यमा क्याम्पस प्रशासन र निर्वाचन समिति संलग्न भएको भन्दै उनीहरू आन्दोलित बनेका हुन् । कुनै एउटा संगठनलाई फाइदा पुग्नेगरी गतिविधि भइरहेको भन्दै विद्यार्थीले क्याम्पसमा तालाबन्दी गरेका छन् ।

विद्यार्थीको नाम थपघट गरिएकाले निष्पक्षा छानविन नभएसम्म तालाबन्दी जारी नै रहने उनीहरूको चेतावनी छ ।

नेविसंघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी,  अरेरा स्ववियू क्रान्तिकारी, राप्रपा विद्यार्थी संगठन र समाजवादी विद्यार्थी युनियनले संयुक्त रूपमा तालाबन्दी गरेका हुन् ।

गठबन्धनको तर्फबाट ममता झा ले गराइन् उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता

काठमाडौँ – सत्ता गठबन्धनबाट जनमत पार्टीकी ममता झाले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन् ।

सत्तारुढ गठबन्धनले जनमत पार्टीकी ममता झालाई आज बिहान उपराष्ट्रपति बनाउने निर्णय गरेको थियो । बालुवाटारमा शनिबार बिहान बसेको १० दलीय गठबन्धनको बैठकले उक्त सहमति गरेको थियो ।

महोत्तरीको बर्दिबासमा जग्गा वर्गिकरणपछी कित्ताकाट गर्ने निर्णय

 महोत्तरी – महोत्तरीको बर्दिबासमा जग्गा कित्ताकाट  प्रक्रियालाई अगाडी वढाइने निर्णय गरिएको छ ।

लामो समयदेखी जग्गा वर्गीकरण कै अभावमा कित्ताकाट रोकिएको वेला बर्दिबास नगरपालिकाले विभिन्न १० सिर्षकमा रहेर जग्गा वर्गिकरणको मापदण्ड समेत सार्वजनिक गरेको हो ।

  व्यवसायिक क्षेत्र, आवासिय क्षेत्र, कृषि क्षेत्र, सार्वजनिक उपयोगको क्षेत्र, कला संस्कृति तथा पुरात्त्विक क्षेत्र, औधोगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र,वन क्षेत्र, नदि, खोला, ताल तथा सिमसार क्षेत्र र नेपाल सरकारवाट तोकिएको अन्य क्षेत्र गरि नगरभरीको जग्गालाइ १० भागमा बिभाजन गरिएको नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले जानकारी दिए ।

जग्गा वर्गीकरण बैज्ञानिक ढंगवाट गरिएको हुनाले कित्ताकाटमा कुनै समस्या नआउने सेवा प्रदायक कम्पनी स्मार्ट सिटी विल्डर्सको दावी छ ।
नगर क्षेत्रको जम्मा ३१५.४ स्क्वायर फिट बर्गकिलोमिटर जगामध्य कृषि क्षेत्रको लागी मापदण्डअनुसार ५ हजार ४ सय ८३ हेक्टर जग्गा रहेको सिटी विल्डर्सले जनाएको छ ।

त्यसैगरी आवासिय क्षेत्रको २७०७ हेक्टर, व्यवसायिक क्षेत्रको ८८४.०७ हेक्टर, औधोगिक क्षेत्रको ०.१७ हेक्टर, कला, संस्कृति तथा पुरात्त्विक महत्वको क्षेत्रको जग्गा ५.४९ हेक्टर, वन क्षेत्रको १८८७३.०६ हेक्टर, नदि, खोला, सिमसार क्षेत्रमा २९२६.२३ हेक्टर, खानी तथा खनिज क्षेत्रमा १०.८६ हेक्टर, सार्वजनिक उपयोगको क्षेत्रमा १०.८६ हेक्टर क्षेत्रफल रहेको नगरपालिकाले जनाएको छ ।

यो जग्गा अहिलेको मापदण्डअनुसार वर्गीकरण गरिएको हो । अहिलेको तथ्यांकलाई आधार मान्ने हो भने यसअघि भएको बर्गिकरणमा निर्धारण गरिएको क्षेत्रफल घटेको देखिएको छ ।

सहरिकरणको विकाससगैँ कृषियोग्य जगा खुम्चिएको देखिएको छ भने आवासिय क्षेत्रमा वृद्धि भएको छ । २०७४ को तथ्यांकअनुसार कृषि क्षेत्रमा ८२३२ हेक्टर खेतियोग्य जमिन थियो तर अहिलेको वर्गीकरणमा यो क्षेत्रफल खुम्चिएर ५४८३ हेक्टर क्षेत्रफल वनेको छ ।

यो ५ वर्षको अवधीमा व्यवसायिक क्षेत्रमा निक्कै बिस्तार भएको देखिएको छ । २०७४ मा १३.१ व्यवसायिक क्षेत्र रहेकोमा यो अहिले बढेर ८८४.०७ हेक्टर पुगेको नगरपालिकाले जनाएको छ ।

पहिले र अहिलेको तथ्यांकलाई हेर्ने हो भने नदि, खोला, ताल तथा सिमसार  क्षेत्रमा अतिक्रमण भएको देखिएको छ । ५ बर्ष अघि ३६६०.८४ हेक्टर क्षेत्रफल रहेकोमा अहिलेको   वर्गीकरणमा  घटेर २९२६.२३ हेक्टरमा खुम्चिएको छ ।

सेवा प्रदायक कमपनिले हस्तान्तरण गरेको उक्त जग्गा वर्गीकरणलाई नगरपालिकाको कार्यापालिकाले आजै सदर गरेको हो । कार्यापालिकाको निर्णयसहित आइतवार राजपत्रांकितमा प्रकाशित गरि केन्द्रिय नापी कार्यालयमा पठाउने नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले जानकारी दिए ।

प्रकृया पूरा हुनासाथ तुरुन्त कित्ताकाट गरेर बैंक कर्जा तथा किनवेच गर्न सक्ने नगर प्रमुख प्रल्हाद कुमार क्षेत्रीले जानकारी दिए ।

जग्गा वर्गीकरण गरि कित्ताकाट प्रक्रियामा यो नगर मधेश प्रदेश कै पहिलो पालिका वनेको छ ।

ओइलानी जग्गाको प्रक्रिया तत्काल अगाडि बढाइने

ओइलानी तथा अव्यवस्थित जग्गाको विवाद पनि तत्काल टुंग्याउने नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीको भनाइ  छ ।

अघिल्लो सरकारवाट भएका त्रुटिका कारण कतिपय जग्गामा विवाद भएकै कारण तत्काल लालपुर्जा वितरण प्रक्रियामा समस्या वनेको प्रमुख क्षेत्रीले वताए ।

` विवादित जग्गामा पुन: नापी गर्ने नापी कार्यालयसँग सहमती भएको छ ।´ उन्ले भने । ` सोमवार वा मंगलवार य्प बिषय पनि टुंगोमा पुग्नेछ ।´

विवादित जग्गाको समस्या सावधान भएपछी लालपुर्जा वितरण प्रक्रिया अगाडि वढने पनि नगरप्रमुख क्षेत्रीको जिकिर छ ।
 

जसपाले बोलायो कार्यकारिणी समितिको बैठक

काठमाडौँ – जनता समाजवादी पार्टी नेपाल, (जसपा)ले आज कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

बैठक दिउँसो बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने पार्टीका कार्यकारिणी समिति सदय शिवलाल थापाले जानकारी दिनुभयो । बैठकमा उपराष्ट्रपति पदको उम्मेदवारीलगायत समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गरिने छ । जसपाले प्रतिनिधिसभा सदस्य एवम् कार्यकारिणी सदस्य रामसहाय यादवलाई उपराष्ट्रपति बनाउने बिहीबार नै निर्णय गरिसकेको छ ।

त्यसैगरी सत्ता गठबन्धनमा रहेको जनमत पार्टीले केन्द्रीय सदस्य ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने शुक्रबार निर्णय गरेको छ ।

एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने

काठमाडौँ – नेकपा एमालेले उपराष्ट्रपतिको उम्मेदवार उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई बनाउने निर्णय गरेको छ ।शनिबार बिहान ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

बैठक बाट शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन सर्वसम्मतरुपमा निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए । साथै, बैठकमा उपराष्ट्रपतिमा पुरुषलाई उम्मेदवार बनाउन हुन्न भन्ने कुरालाई जोड दिइएको ज्ञवालीले बताए ।

ज्ञवालीले भने, ‘यो बैठक एउटा मात्रै एजेण्डामा केन्द्रित थियो । चैत्र ३ गते हुने उपराष्ट्रपतिका लागि पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेका छौँ । हामीले तल गाउँपालिका, नगरपालिकादेखि नै अध्यक्षरउपाध्यक्ष, प्रमुखरउपप्रमुखमध्ये एक जना महिला अघि सारेका छौँ । पुरुषलाई नै दुई वटैमा उठाउने कुरा संविधानविपरितको कुरा हो । त्यसो गर्न मिल्दैन ।’

उपराष्ट्रपति पदका लागि आज निर्वाचन आयोगले उम्मेदवारी दर्ताको समय बिहान ९ बजेदेखि २ बजेसम्का लागि दिएको छ ।

उपराष्ट्रपतिबारे आयोगको निर्णयप्रति कांग्रेस र माओवादीको मतभेद

काठमाडौं – निर्वाचन आयोगको उपराष्ट्रपतिको उम्मेदवार महिला हुनुपर्ने निर्णयप्रति नेपाली कांग्रेस र माओवादी केन्द्रको मतभेद देखिएको छ । 

खसआर्य समुदायका पुरुष रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएकाले आयोगले पुरुष र खसआर्य समुदायबाहेकबाट उपराष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने भन्दै अन्यथा मनोनयन दर्ता नगर्ने निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ । 

उक्त निर्णयप्रति कांग्रेस र माओवादीको मतभेद देखिएको हो । आयोगको निर्णयपछि नौ दलीय गठबन्धनको कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलको बैठक बस्यो । 

बैठकपछि बाहिरिने क्रममा कार्यदल संयोजक तथा कांग्रेस उपसभापति खड्काले राष्ट्रपति र उपराष्ट्रपतिबारे निर्वाचन आयोगको संविधानको व्यवस्थाविपरीत रहेको प्रतिक्रिया दिए । 

सिंहदरबारमा बसेको सत्ता साझेदार ९ दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपसभापति खड्काले आयोगको निर्णय र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भनाइ संविधान अनुकूल नरहेको बताएका हुन् ।
संविधानविपरीत आयोगले निर्णय गरेको भन्दै उनले भने, ‘फरक लिंग वा फरक समुदाय भन्नाले अनिवार्य उपराष्ट्रपति महिला हुनुपर्छ । अथवा राष्ट्रपति र उपराष्ट्रपति महिला–पुरुष हुनुपर्छ भन्ने व्यवस्था संविधानमा गरिएको छैन ।’ 

तर, आयोगको निर्णय संविधानसम्मत रहेको माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले बताए ।  सोही कार्यदलको बैठकबाट बाहिरिने क्रममा उनले आयोगले जारी गरेको वक्तव्य संविधानभन्दा बाहिर नरहेको बताए । संविधान र कानुनको मर्म र भावनाअनुसार नै उपराष्ट्रपति चयन गर्नुपर्ने उनको भनाइ छ । 

प्रधानमन्त्री प्रचण्डलाई लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको मुद्दामा सर्वोच्च अदालतले कुनै पनि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्चले प्रचण्डमाथि कारण देखाउ आदेश जारी गरेको छ ।

प्रधानमन्त्री समेत रहेका प्रचण्डलाई फौजदारी अभियोगमा पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै परेको रिटमा शुक्रवार सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले विपक्षी (प्रचण्ड)का नाममा कारण देखऊ आदेश जारी गरेको हो । साथै मुद्दालाई अग्राधिकार समेत दिइएको छ ।

जनमत पार्टीकले ममता झालाई उपराष्ट्रपतिमा उठाउने

काठमाडौं – सिके राउत नेतृत्वको जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

 जनमत पार्टीको कार्यकारी बैठकले झालाई उपराष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको हो । उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता गर्ने अघिल्लो दिन जनमतले उपराष्ट्रपतिमा दाबी गर्दै पार्टीकी सप्तरी जिल्ला इञ्जार्ज झालाई अघि सारेको हो । 

उपराष्ट्रपतिमा जनतमसहित जसपा र नागरिक उन्मुक्ति पार्टीले पनि दाबी गरिरहेको छ । 

एमालेले बाेलायाे सचिवालय बैठक

काठमाडाैं – नेकपा एमालेले सचिवालय बैठक बाेलाएकाे छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार बिहान बस्ने गरी एमालेले सचिवालयको बैठक बोलाएको हाे । बैठक शनिबार बिहान ९ बजे बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयाे ।

बैठकले उपराष्ट्रपतिकाे उम्मेदवार टुंगाे लगाउने बताइएकाे छ । बैठकमा राष्ट्रपति चुनावकाे समेत समीक्षा हुने बताइएकाे छ ।

अरु पार्टीजस्तो फोहोरी खेलमा लाग्दैन नेकपा एमाले : अध्यक्ष ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरु पार्टीहरु क्षणिक दैनिक फोहोरी खेलमा लागेको भन्दै आफूहरु त्यसमा सहभागी नहुने बताएका छन् ।

नेकपा एमाले निकट खेलकुद महासंघका नवनिर्वाचित पदाधिकारीहरुको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ओलीले भने, ‘हामी अरु पार्टीजस्तो क्षणिक दैनिक फोहारी खेलमा सामेल छैनौं, सामेल हुँदैनौं।’

एमाले देश बनाउन लागेको र देश बनाएपछि मात्र विश्राम लिने भन्दै आफूहरु म्याराथन दौडमा रहेको उनले बताए।

अध्यक्षक्ष ओलीले एमाले लामो दौडको घोडा भएको उनले बताए । उनले भज्नुभयो, ‘सिल्भर तातेजस्तो हामी तात्दैनौं, यसो ताप पायो तातिहाल्यो, भूईँमा राख्यो एकैछिनमा सेलाइहाल्यो, हामी अर्बौं वर्ष खरबौं वर्ष तातेपछि सूर्य तातेजस्तै जस्तो तात्नु पर्छ, एमाले त्यस्तै हो ।’

ओलीले छिटो पनि नगरी, हतार पनि नगरी, योजनावद्ध ढंगले अघि बढ्नु पर्ने बताए ।

विश्वविद्यालय तालाबन्दीरहित बनाउनेदेखि प्राज्ञिक सुशासन कायम गर्ने अनेरास्ववियुको प्रतिबद्धता

काठमाडौं –  नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले शिक्षामा राज्यको लगानी वृद्धि गर्ने र निःशुल्क शिक्षाका लागि आवश्यक नीति तर्जुमा गर्न पहल गर्नेसहित स्ववियु निर्वाचनको प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियुले चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचन केन्द्रीत घोषणा पत्र सार्वजनिक गरेको हो । 

घोषणा पत्रमा सम्भाव्यता तथा आवश्यकताका आधारमा त्रिभुवन विश्वविद्यालयका ठूला आंगिक क्याम्पसहरूलाई स्वायत्त विश्वविद्यालयका रूपमा स्थापना गर्न पहल गर्ने, संस्कृत भाषा, आयुर्वेद चिकित्सा र पूर्वीय दर्शनको शिक्षालाई सबैको पहुँचमा पुर्‍याउने र शैक्षिक पर्यटनको विषय बनाउन पहल गर्ने, ७७ वटै जिल्लामा कम्तीमा एक त्रि.वि.को आंगिक क्याम्पस स्थापनाको लागि पहल गर्ने लगाएत उल्लेख छ ।

त्यस्तै उच्च शिक्षामा छात्रवृत्ति कार्यक्रमलाई वृद्धि गर्न पहल गर्ने, लक्षित वर्गका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न छात्रवृत्ति प्रणालीलाई थप व्यवस्थित र पारदर्शी बनाउन पहल गर्ने पनि घोषणा पत्रमा समावेश गरिएको छ । सम्पूर्ण विश्वविद्यालयहरूलाई अनिवार्य रूपमा शैक्षिक क्यालेन्डर निर्माण गर्न र शैक्षिक क्यालेन्डर अनुसार शैक्षिक कार्यक्रम लागु गर्न पहल गर्ने, विश्वविद्यालयलाई प्रविधि मैत्री बनाउन पहल गर्ने लगाएतका विषय उल्लेख गरिएको अनेरास्ववियुका अध्यक्ष समिक बडालले बताए ।

त्यस्तै अनेरास्ववियुले विश्वविद्यालय तथा क्याम्पसहरुलाई बन्दरहित सम्मानित क्षेत्रका रुपमा विकास गर्न तालाबन्दी,तोडफोड, आगजनी जस्ता ध्वंसात्मक क्रियाकलापको विपक्षमा रहने प्रतिवद्धता जनाएको छ भने आन्दोलनका नाममा हुने पदाधिकारी, प्राध्यापक, कर्मचारी माथिको व्यक्तिगत आक्रमण तथा दुर्व्यवहारको विपक्षमा रहने, आर्थिक पारदर्शिता र प्राज्ञिक सुशासन कायम गर्ने जनाएको छ ।

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवकै उम्मेदवारी दर्ता गछौँ : उपेन्द्र यादव

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपति उम्मेदवारमा पार्टीका रामसहायप्रसाद यादवको नाम दर्ता गरिने बताएका छन् । राष्ट्रपति र उपराष्ट्रपति हुन फरक लिंग वा समुदायको व्यवस्था भएकाले उपराष्ट्रपतिमा यादवले उम्मेदवारी दिने यादवले बताए ।

‘निर्वाचन आयोगले महिला अनिवार्य भनेको थाहा छैन । निर्वाचन आयोगको विज्ञप्तिमा पनि छैन । लिङग वा फरक समुदाय भनिएको छ । संविधान र निर्वाचन ऐनमा त्यहीँ छ’ यादवले भने, ‘फरक लिङग वा समुदाय भनेको रामचन्द्र पौडेल र रामसायहप्रसाद यादव एउटै समुदाय होइनन् ।’ तर, निर्वाचन आयोगका प्रमुख निर्वचन आयूक्त दिनेशकुमार थपलियाले उपराष्ट्रपति महिला उम्मेदवार हुनुपर्ने बताएका छन् ।

‘राष्ट्रपति र उपराष्ट्रपति फरक लिंगको नभएमा उम्मेदवारी दर्ता नगर्न निर्देशन दिइसकेका छौं । उम्मेदवारी नै दर्ता हुँदैन’ थपलियाले भने, ‘उहाँहरुले बनाएको व्यवस्थालाई हामीले कार्यन्वयन गरेका हौं ।’ उपराष्ट्रपतिको शनिवार उम्मेदवारी दर्ता भई चैत ३ गते उपराष्ट्रपतिको चुनाव हुनेछ।

उपराष्ट्रपति महिलालाई निर्वाचित गराउन माओवादी केन्द्रको माग

काठमाडौं – नेकपा माओवादी केन्द्रले महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने पक्षमा देखिएको छ ।

निर्वाचन आयोगले राष्ट्रपतिमा पुरुष र खसआर्य समुदायका रामचन्द्र पौडेल निर्वाचित भएपछि अब फरक लिंग वा समुदायको व्यक्ति उपराष्ट्रपति पदको उम्मेदवारीमा जोड दिनुपर्नेमा जोड दिएको छ ।

सत्ता साझेदार दलहरुको साझा धारण नआएपनि माओवादी केन्द्रले पुरुष राष्ट्रपति भएकाले महिला उपराष्ट्रपति हुँदा राम्रो हुने उल्लेख गरेको छ ।

माओवादी केन्द्रका महासचिव देव गुरुङका अनुसार ‘संविधानमा फरक लिंग वा समुदाय भनिएतापनि अभ्यासमा त्यो आएको छैन् । त्यसैले संविधानमा उल्लेख गरेको कुरालाई आधार मानेर अघि बढ्नुपर्ने हुन्छ ।

उपराष्ट्रपति कसले पाउने भन्ने विषयमा गठबन्धनभित्र औपचारिक छलफल भइनसकेको महासचि गुरुङले बताए ।

पूर्णबहादुर खड्काले भने : जसपालाई उपराष्ट्रपति दिने निर्णय भएको छैन

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धनबीचमा जनता समाजवादी पार्टीलाई नै उपराष्ट्रपति दिने भन्ने बारेमा निर्णय नभइसकेको बताएका छन् ।

शुक्रबार ललितपुरको बोडे गाउँमा रहेको पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको आश्रममा पुगेर उनको शालिकको दर्शनपछि उनले उपराष्ट्रपति निर्वाचनको बारेमा केही समझदारी र सहमति भए पनि अब छिट्टै नै गठबन्धनको बैठक बसेर औपचारिक निर्णय गर्ने बताए ।

‘उपराष्ट्रपति निर्वाचनको बारेमा केही समझदारी, सहमति भएका छन्। प्रधानमन्त्रीजीले त्यसको संयोजन गर्नुहुनेछ । सम्बन्धित दल र नेताहरूको बैठक बोलाएर औपचारिक रूपमा निर्णयमा पुग्छौं । दलहरूको बीचमा सहमति गरेर उपराष्ट्रपतिको निर्वाचनमा पनि सकारात्मक परिणाम आउनेछ । जसपालाई उपराष्ट्रपति दिने कुरा ८ दलको बीचमा प्रवेश गरिसकेको छैन । त्यसैले ८ दलको बैठक बसेर औपचारिक निर्णय हुन्’, उनले भने ।

खड्काले पदको लोभका कारण पुस १० गते कांग्रेस सहितको गठबन्धन भत्किएको स्वीकार गरेका छन् । नेपाललाई रूपान्तरण गर्ने, स्थायी शान्तिको जगमा सबै दलहरू मिलेर मुलुकको आर्थिक उन्नति र प्रगतिको लागि बेगमा मुलुकलाई लैजाने संकल्प गरेर चुनाव गएपछि सहमति अनुसार कार्यान्वयन हुन नसक्दा तत्कालीन गठबन्धन भत्किए पनि आन्तरिक रूपमा सच्याएर अघि बढेको उनको भनाई छ ।

उपसभापति खड्काले पुस १० गतेपछि नै आफूसहित पार्टीले एजेण्डामा सहमति भएका दलहरूबीचमा आन्तरिक रूपमा सूक्ष्म तरिकाले विभिन्न चरणमा संवाद अघि बढाउँदै लैजानुको परिणाम बिहीबार राष्ट्रपति पदमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएको बताए ।

प्रचण्डविरुद्धको रिटमा प्रारम्भिक बहस सकियो, आजै आदेश आउने सम्भावना

काठमाडौं – प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिटमा प्रारम्भिक बहस सकिएको छ । 

सर्वोच्चका अन्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा भएको बहसमा वरिष्ठ अधिवक्ताहरू बालकृष्ण न्यौपाने, डा. सुरेन्द्र भण्डारीसहित अधिवक्ताहरूले बहस गरेका छन् । 

उनीहरूले प्रचण्ड स्वंयले पाँच हजार हत्याको जिम्मा लिने भनेर बोलेकाले उनलाई पक्राउ गरी अनुसन्धान गर्न अन्तरिम आदेश माग गरेका छन् । न्यायाधीश खतिवडाका इजलासले आजै आवश्यक आदेश दिने तयारी गरेको बताइएको छ ।

उपराष्ट्रपति निर्वाचन : खसआर्यबाहेक वा महिलाको मात्र मनोनयन दर्ता गर्न आयोगको निर्देशन

काठमाडौं – निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचनका लागि खसआर्यबाहेकका समुदाय वा महिलाको मात्र मनोनयन दर्ता गर्न निर्देशन दिएको छ । 

राष्ट्रपतिमा खसआर्य समुदायका रामचन्द्र पौडेल निर्वाचित भएकाले अब उपराष्ट्रपतिमा खसआर्यबाहेक समुदायका वा महिलाको मात्र उम्मेदवारी दर्ता गर्न आयोगले निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । 

शुक्रबार बसेको आयोगको बैठकले खसआर्य समुदायबाहेक वा महिलाको मात्र     मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए । 

३ चैतमा हुने उपराष्ट्रपतिको निर्वाचनका लागि २७ फागुनमा मनोनयन दर्ताको समय तोकिएको छ । 

आयोगले जारी गरेको विज्ञप्ति :

नागरिक उन्मुक्तिले रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गर्यो

काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीले रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । 

आज बिहान सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले दलकी अध्यक्ष र संसदीय दलको नेता समेत रहनुभएकी चाैधरीलाई उपराष्ट्रपतिकाे उम्मेदवार बनाउने निर्णय गरेको हाे । 

सत्ता गठबन्धनको तर्फबाट भने जसपाका नेता रामशहाय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । उपराष्ट्रपतिको निर्वाचन आउँदो चैत ३ गते हुँदैछ ।

माेटरसाइल दु्र्घटना हुँदा चालककाे मृत्यु

काठमाडाैं – काठमाडाैंकाे घण्टाघरमा पैदलयात्रुलाई ठक्कर दिएर मोटरसाइकल पल्टिदा चालकको मृत्यु भएको छ भने पैदलयात्रु घाइते भएका छन् ।

मोटरसाइकल चालक भोजपुरको षडानन्द गाउँपालिका ११ घर भई हाल काठमाण्डौ बस्ने सुजल छावुहाङ राईको उपचारको क्रममा शुक्रबार बिहान सवा ७ बजे राष्ट्रिय ट्रमा सेन्टर महांकालमा मृत्यु भएको हो ।

घाईते भएका पैदलयात्रु काठमाण्डौको नैकाप बस्ने ५८ बर्षीय असोक कुमार महर्जनको सोही अस्पतालमा उपचार भईरहेको छ । शुक्रबार बिहान ७ बजे बा ६५ प ५६०८ नम्बरको मोटरसाइकलले पैदलयात्रुलाई ठक्कर दिएर पल्टिएको थियो । 

प्रधानमन्त्री प्रचण्डविरूद्ध रिटको सुनुवाइ ईश्वर खतिवडाको इजलासमा

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरूद्ध परेको रिटको सुनुवाइ हुँदै छ।

माओवादी युद्धकालिन घटनालाई लिएर सर्वाेच्च अदालतमा दायर रिटमाथि शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाइ हुन लागेको हो ।

गत मंगलबार दारयर रिटमाथि बिहीबार पेसी तोकिएको थियो । तर, बिहीबार हेर्न नभ्याइने परेपछि शुक्रबार सुनुवाइ हुन लागेको हो ।

कर्णालीको रैथाने कृषि उत्पादनको माग बढ्दो

सुर्खेत – कर्णालीमा उत्पादन हुने रैथाने बालीको माग अत्यधिक बढेको छ ।  प्रदेशमा उत्पादन हुने ९ वटा रैथाने प्रजातिका बाली प्रदेश सरकारले संरक्षणको नीति लिएसँगै उत्पादन समेत बढेको छ। यहाँ उत्पादन हुने रैथाने बाली बाहिरी जिल्लामा भारी मात्रामा माग बढेको सरोकारवालाहरू बताउँछन्।

कर्णालीमा उत्पादित खाद्यान्न बालीको छुटै लोगो बनाएर प्रदेश सरकारले बिक्री गर्न अनुमति दिएको छ। चिनो, कागुनो, उवा, लट्टे (मार्से), फापर, जुम्ली मार्सी, कोदो, जौ र स्थानीय सिमीलाई प्रदेश सरकारले रैथाने बालीका रूपमा सूचीकृत गरी उक्त खाद्यान्न बिक्री गर्न लोगो समेत प्रदान गरेको छ।

प्रदेशको छुट्टै लोगो बनाएर यहाँ उत्पादित वस्तु बिक्री वितरण गर्न अनुमति दिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बताएको छ। मन्त्रालयको स्वामित्व रहेको लोगो प्रयोग गर्न इजाजत लिनुपर्ने, रैथाने बालीको विवरण प्रत्येक वर्ष मन्त्रालयमा उपलब्ध गराउनुपर्ने लगायतका सर्त राखिएको छ।

कर्णालीका सन्दर्भमा रैथाने बाली संस्कृतिसँग जोडिएकाले सम्पदाको रूपमा दिएको बताइएको छ। सुर्खेतमा जुम्ली मार्सी चामल, चिनो कागुनो प्रतिकेजी २५०, फापरको पिठो २४५, जौंको च्याख्ला १२५, जुम्ली सिमी २०० रुपैयाँमा बिक्री हुन्छ। रैथाने बालीका खाद्य वस्तुले बजारमा राम्रो मूल्य पाएको व्यवसायी बताउँछन्। युवराज प्रकृति अर्गानिक खाद्य पसलका सञ्चालक नेपाली गत वर्ष मात्रै ४५ क्विन्टल रैथाने बालीका उत्पादन प्रदेशबाहिरका आफ्ना बिक्री केन्द्रमा पठाएको बताउँछन्।

वरिष्ठ कृषिविज्ञ सूर्यनाथ योगी कर्णालीको विशिष्ट भूगोल, रैथाने हावापानी र विषादीरहित खेती प्रणालीबाट उत्पादन गरिने भएकाले आन्तरिक तथा बाह्य बजारमा क्रमिक रूपले माग बढ्दो रहेको बताउँछन्।

कर्णालीमा आर्थिक वर्ष २०७७।०७८ मा ६ हजार ४११ टन रैथाने सिमी उत्पादन भएकोमा झण्डै ६० प्रतिशत कर्णाली बाहिर खपत भएको तथ्याङ्क छ। सोही वर्ष कर्णालीका हिमाली जिल्लाबाट सात हजार ७०० टन मार्सी चामल कर्णाली बाहिर गयो। त्यसैगरी १ हजार ४१५ टन चिनो, ४४३ टन कागुनो र १ हजार ७४७ टन फापर उत्पादन भएको मन्त्रालयले जनाएको छ।

‘कागुनो, चिनो र फापर उत्पादनको ८० प्रतिशत राष्ट्रिय बजारमै गएको छ’‚ मन्त्रालयले जनाएको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका अनुसार आर्थिक २०७६/०७७ मा कर्णालीका १० जिल्लामा कोदो १९ हजार ६७४ मेट्रिक टन, फापर दुई हजार २०५ मेट्रिक टन र जौं १३ हजार ३६६ मेट्रिक टन उत्पादन भएको छ। कोदोको सबैभन्दा बढी उत्पादन सुर्खेत, दैलेख, फापर डोल्पा, हुम्ला र मुगुमा तथा जौं जुम्लामा उत्पादन भएको छ।

सुर्खेत र रुकुम पश्चिममा फापर उत्पादन शून्य छ। सोही वर्षको तथ्याङ्कअनुसार चिनो एक ६८० मेट्रिक टन, कागुनो ९३६ मेट्रिक टन र लट्टे ४५ मेट्रिक टन भएको छ। रुकुम पश्चिम, सल्यान, दैलेख र सुर्खेतमा चिनो र कागुनो उत्पादन शून्य छ।

लट्टे सुर्खेत, दैलेख, सल्यान, हुम्ला र डोल्पामा शून्य छ। लट्टे जुम्लामा बढी उत्पादन हुने गरेको छ। चिनो कागुनो हिमाली जिल्लामा उत्पादन बढी छ। रैथाने सिमी ११ हजार १७४ मेट्रिक टन, मार्सी धान ९ हजार ७१४ र उवा १ हजार ८१८ मेट्रिक टन उत्पादन भएको छ।

रैथाने सिमी र मार्सी धानको जुम्ला र कालिकोटमा उत्पादन राम्रो छ। मार्सी धान र उवा भने कर्णालीका रुकुम पश्चिम, सल्यान, जाजरकोट, दैलेख र सुर्खेतमा उत्पादन शून्य छ।

उवाको उत्पादन डोल्पा, हुम्ला र मुगुमा उत्पादन राम्रो छ। कर्णालीमा कोदो १८ हजार ४७३ हेक्टर, फापर २ हजार २९, जौं ९ हजार २८९, चिनो १ हजार ७८८, कागुनो १ हजार ११७, लट्टे ९मार्से० २४, स्थानीय सिमी ६ हजार ६५२, जुम्ली मार्सी धान ४ हजार ६१५ र उवा १ हजार ८१४ हेक्टर खेती हुने गरेको छ।
 
अर्गानिक रैथाने बालीका उत्पादन विक्री गर्नेले अनिवार्य रूपमा ‘मूल्यवान्’ अंकित लोगो राख्नुपर्ने व्यवस्था गरिएको छ। प्रदेश सरकारको २०७४ फागुन ६ गते बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले अर्गानिक कृषिका आधार तय गर्दै रैथाने बालीको संरक्षण गर्ने निर्णय गरेको थियो। यसै निर्णयका आधारमा प्रदेश सरकारले प्राङ्गारिक कृषि ऐन, २०७५ ल्याएको हो।

गत आर्थिक वर्षमा परम्परागत बाली संरक्षण तथा प्रवर्धनका लागि जिल्लाहरूमा संघीय सरकारको विशेष अनुदानबाट १५ लाख रुपैयाँ बजेट उपलब्ध गराउँदै यो वर्ष समेत उक्त कार्यलाई निरन्तरता दिएको छ। चालू आर्थिक वर्षमा प्राङ्गारिक कृषि प्रवर्धनमा र रैथाने बाली विकास कार्यक्रमका लागि प्रदेश सरकारले साढे चार करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

सुर्खेतबाट जुम्ली मार्सी चामल, फापर, चिनो, कागुनोका उत्पादनलाई आकर्षक प्याकेजिङ गरी काठमाडौं, पोखरा र चितवन पठाउन शुरु भएको छ। रैथाने बालीका उत्पादन मात्र बेच्ने सहकारीले गत वर्ष डेढ करोड बढी कारोबार गरेको जनाएको छ। यो सहकारीले पनि ‘मूल्यवान’ लोगो अंकित रैथाने बालीका उत्पादन बिक्री गर्दै आएको छ।

स्थानीय बजारका साथै सुर्खेत, नेपालगञ्ज, कोहलपुर, धनगढी, महेन्द्रनगर, बुटवल, पोखरा, हेटौँडा, काठमाडौं, विराटनगर, धरान, झापालगायतका स्थानमा कर्णालीका प्राङ्गारिक एवं रैथाने बाली वस्तुको विक्री वितरण हुने गरेको छ।

प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बाली विकास महाशाखाका अनुसार डोल्पामा तीन, मुगुमा चार, हुम्लामा ६, जुम्लामा २४, दैलेखमा १, सुर्खेतमा १४, रुकुम पश्चिममा ८, जाजरकोटमा २, सल्यानमा ३ विक्री केन्द्र एवं कोसेली घर छन्।

सुर्खेतको भेरीगंगा नगरपालिका–५ मा अर्गानिक माउन्टेन फ्लेभररदि अर्गानिक भ्यालीमा ‘मूल्यवान’ लोगो अंकित उत्पादन बिक्रीमा राखिएको छ।