`

कर्णालीको रैथाने कृषि उत्पादनको माग बढ्दो

सुर्खेत – कर्णालीमा उत्पादन हुने रैथाने बालीको माग अत्यधिक बढेको छ ।  प्रदेशमा उत्पादन हुने ९ वटा रैथाने प्रजातिका बाली प्रदेश सरकारले संरक्षणको नीति लिएसँगै उत्पादन समेत बढेको छ। यहाँ उत्पादन हुने रैथाने बाली बाहिरी जिल्लामा भारी मात्रामा माग बढेको सरोकारवालाहरू बताउँछन्।

कर्णालीमा उत्पादित खाद्यान्न बालीको छुटै लोगो बनाएर प्रदेश सरकारले बिक्री गर्न अनुमति दिएको छ। चिनो, कागुनो, उवा, लट्टे (मार्से), फापर, जुम्ली मार्सी, कोदो, जौ र स्थानीय सिमीलाई प्रदेश सरकारले रैथाने बालीका रूपमा सूचीकृत गरी उक्त खाद्यान्न बिक्री गर्न लोगो समेत प्रदान गरेको छ।

प्रदेशको छुट्टै लोगो बनाएर यहाँ उत्पादित वस्तु बिक्री वितरण गर्न अनुमति दिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बताएको छ। मन्त्रालयको स्वामित्व रहेको लोगो प्रयोग गर्न इजाजत लिनुपर्ने, रैथाने बालीको विवरण प्रत्येक वर्ष मन्त्रालयमा उपलब्ध गराउनुपर्ने लगायतका सर्त राखिएको छ।

कर्णालीका सन्दर्भमा रैथाने बाली संस्कृतिसँग जोडिएकाले सम्पदाको रूपमा दिएको बताइएको छ। सुर्खेतमा जुम्ली मार्सी चामल, चिनो कागुनो प्रतिकेजी २५०, फापरको पिठो २४५, जौंको च्याख्ला १२५, जुम्ली सिमी २०० रुपैयाँमा बिक्री हुन्छ। रैथाने बालीका खाद्य वस्तुले बजारमा राम्रो मूल्य पाएको व्यवसायी बताउँछन्। युवराज प्रकृति अर्गानिक खाद्य पसलका सञ्चालक नेपाली गत वर्ष मात्रै ४५ क्विन्टल रैथाने बालीका उत्पादन प्रदेशबाहिरका आफ्ना बिक्री केन्द्रमा पठाएको बताउँछन्।

वरिष्ठ कृषिविज्ञ सूर्यनाथ योगी कर्णालीको विशिष्ट भूगोल, रैथाने हावापानी र विषादीरहित खेती प्रणालीबाट उत्पादन गरिने भएकाले आन्तरिक तथा बाह्य बजारमा क्रमिक रूपले माग बढ्दो रहेको बताउँछन्।

कर्णालीमा आर्थिक वर्ष २०७७।०७८ मा ६ हजार ४११ टन रैथाने सिमी उत्पादन भएकोमा झण्डै ६० प्रतिशत कर्णाली बाहिर खपत भएको तथ्याङ्क छ। सोही वर्ष कर्णालीका हिमाली जिल्लाबाट सात हजार ७०० टन मार्सी चामल कर्णाली बाहिर गयो। त्यसैगरी १ हजार ४१५ टन चिनो, ४४३ टन कागुनो र १ हजार ७४७ टन फापर उत्पादन भएको मन्त्रालयले जनाएको छ।

‘कागुनो, चिनो र फापर उत्पादनको ८० प्रतिशत राष्ट्रिय बजारमै गएको छ’‚ मन्त्रालयले जनाएको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका अनुसार आर्थिक २०७६/०७७ मा कर्णालीका १० जिल्लामा कोदो १९ हजार ६७४ मेट्रिक टन, फापर दुई हजार २०५ मेट्रिक टन र जौं १३ हजार ३६६ मेट्रिक टन उत्पादन भएको छ। कोदोको सबैभन्दा बढी उत्पादन सुर्खेत, दैलेख, फापर डोल्पा, हुम्ला र मुगुमा तथा जौं जुम्लामा उत्पादन भएको छ।

सुर्खेत र रुकुम पश्चिममा फापर उत्पादन शून्य छ। सोही वर्षको तथ्याङ्कअनुसार चिनो एक ६८० मेट्रिक टन, कागुनो ९३६ मेट्रिक टन र लट्टे ४५ मेट्रिक टन भएको छ। रुकुम पश्चिम, सल्यान, दैलेख र सुर्खेतमा चिनो र कागुनो उत्पादन शून्य छ।

लट्टे सुर्खेत, दैलेख, सल्यान, हुम्ला र डोल्पामा शून्य छ। लट्टे जुम्लामा बढी उत्पादन हुने गरेको छ। चिनो कागुनो हिमाली जिल्लामा उत्पादन बढी छ। रैथाने सिमी ११ हजार १७४ मेट्रिक टन, मार्सी धान ९ हजार ७१४ र उवा १ हजार ८१८ मेट्रिक टन उत्पादन भएको छ।

रैथाने सिमी र मार्सी धानको जुम्ला र कालिकोटमा उत्पादन राम्रो छ। मार्सी धान र उवा भने कर्णालीका रुकुम पश्चिम, सल्यान, जाजरकोट, दैलेख र सुर्खेतमा उत्पादन शून्य छ।

उवाको उत्पादन डोल्पा, हुम्ला र मुगुमा उत्पादन राम्रो छ। कर्णालीमा कोदो १८ हजार ४७३ हेक्टर, फापर २ हजार २९, जौं ९ हजार २८९, चिनो १ हजार ७८८, कागुनो १ हजार ११७, लट्टे ९मार्से० २४, स्थानीय सिमी ६ हजार ६५२, जुम्ली मार्सी धान ४ हजार ६१५ र उवा १ हजार ८१४ हेक्टर खेती हुने गरेको छ।
 
अर्गानिक रैथाने बालीका उत्पादन विक्री गर्नेले अनिवार्य रूपमा ‘मूल्यवान्’ अंकित लोगो राख्नुपर्ने व्यवस्था गरिएको छ। प्रदेश सरकारको २०७४ फागुन ६ गते बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले अर्गानिक कृषिका आधार तय गर्दै रैथाने बालीको संरक्षण गर्ने निर्णय गरेको थियो। यसै निर्णयका आधारमा प्रदेश सरकारले प्राङ्गारिक कृषि ऐन, २०७५ ल्याएको हो।

गत आर्थिक वर्षमा परम्परागत बाली संरक्षण तथा प्रवर्धनका लागि जिल्लाहरूमा संघीय सरकारको विशेष अनुदानबाट १५ लाख रुपैयाँ बजेट उपलब्ध गराउँदै यो वर्ष समेत उक्त कार्यलाई निरन्तरता दिएको छ। चालू आर्थिक वर्षमा प्राङ्गारिक कृषि प्रवर्धनमा र रैथाने बाली विकास कार्यक्रमका लागि प्रदेश सरकारले साढे चार करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

सुर्खेतबाट जुम्ली मार्सी चामल, फापर, चिनो, कागुनोका उत्पादनलाई आकर्षक प्याकेजिङ गरी काठमाडौं, पोखरा र चितवन पठाउन शुरु भएको छ। रैथाने बालीका उत्पादन मात्र बेच्ने सहकारीले गत वर्ष डेढ करोड बढी कारोबार गरेको जनाएको छ। यो सहकारीले पनि ‘मूल्यवान’ लोगो अंकित रैथाने बालीका उत्पादन बिक्री गर्दै आएको छ।

स्थानीय बजारका साथै सुर्खेत, नेपालगञ्ज, कोहलपुर, धनगढी, महेन्द्रनगर, बुटवल, पोखरा, हेटौँडा, काठमाडौं, विराटनगर, धरान, झापालगायतका स्थानमा कर्णालीका प्राङ्गारिक एवं रैथाने बाली वस्तुको विक्री वितरण हुने गरेको छ।

प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बाली विकास महाशाखाका अनुसार डोल्पामा तीन, मुगुमा चार, हुम्लामा ६, जुम्लामा २४, दैलेखमा १, सुर्खेतमा १४, रुकुम पश्चिममा ८, जाजरकोटमा २, सल्यानमा ३ विक्री केन्द्र एवं कोसेली घर छन्।

सुर्खेतको भेरीगंगा नगरपालिका–५ मा अर्गानिक माउन्टेन फ्लेभररदि अर्गानिक भ्यालीमा ‘मूल्यवान’ लोगो अंकित उत्पादन बिक्रीमा राखिएको छ।

आज प्रतितोला ८ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु आठ सयले बढेको छ । 

अघिल्लो दिन प्रतितोला रु एक लाख एक हजारमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख एक हजार आठ सय तोकिएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन रु एक लाख पाँच सय थियो । 

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार दुई सय २० कायम रहेको महासङ्घले जनाएको छ । 

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ निष्काशन

काठमाडौं – सानिमा मिडिल तमोर हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । 

कम्पनीले आफ्नो जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशत को ८९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता सेयर बिक्रीमा ल्याएको हो। 

यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १० प्रतिशत अर्थात् ४ लाख ९९ हजार ८७५ कित्तां सेयर र सामूहिक लगानी कोषहरुको लागि ५ प्रतिशत अर्थात २ लाख ४९ हजार ९३६ कित्ता सेयर बाँडफाँट गरिसकेको छ। 

यता सर्वसाधारणका लागि बाँकी रहेको ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर कम्पनीले बिक्री गर्न लागेको छ । 

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेको छ ।

यसमा फागुन ३० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयावधिमा सबै सेयर बिक्री नभएमा चैत १० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।

यसलाई रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी डबल बी’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ ।

घुस रकमसहित शिक्षा अधिकृत पक्राउ

काठमाडौं – ललितपुर महानगरपालिकाका शिक्षा अधिकृत शेषकान्त पौडेल एक लाख रुपियाँ घुससहित पक्राउ परेका छन् ।

महानगरपालिकाको शिक्षा महाशाखामा कार्यरत उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले बिहीबार घुस रकम लिइसकेको अवस्थामा कार्यकक्षबाटै पक्राउ गरेको हो ।

अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिएवापत घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियारको टोली ललितपुर महानगरपालिका कार्यालय पुगेको थियो । यस विषयमा थप अनुसन्धान गर्ने  थपलियाले बताए ।

१५ वर्ष जेल जीवन बिताएका रामचन्द्र पौडेल अन्ततः देशको अभिभावक (जीवनीसहित)

काठमाडौं – नेपालले बिहीबार तेस्रो राष्ट्रपतिको रुपमा कांग्रेसका रामचन्द्र पौडेललाई पाएको छ । राष्ट्रपति पदका लागि बिहीबार भएको निर्वाचनमा एमाले उम्मेदवार सुवास नेम्वाङलाई पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् । 


३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका पौडेललाई संघीय संसदका २१४ सांसद र प्रदेशसभाका ३५२ सदस्यले मत दिएका हुन् ।  कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाले पौडेलको पक्षमा मतदान गरेका थिए । 


एमाले उम्मेदवार नेम्वाङले १५ हजार ५१८ मत भार पाए । उनलाई संघीय संसदका ९६ जना सांसद र प्रदेशसभाका १६२ सदस्यले मत दिएका हुन् ।

 
पौडेलको राजनीतिक यात्रा 

तनहुँको ब्यासमा २९ असोज २००१ मा उनको जन्म भएको थियो । कांग्रेस पार्टीबाट ६ दशक राजनीतिमा सक्रिय रहेका पौडेल बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका हुन् । 


एकपटक सभामुख, ५ पटक मन्त्री र ६ पटक सांसद रहेका उनी प्रधानमन्त्रीमा लगाता १७ पटकसम्म संसदमा एमाले उम्मेदवार झलनाथ खनालसँग पराजित भएका थिए । तर, बिहीबार १० दलको समर्थनमा उनी देशकै प्रमुख पदमा पुगेका छन् । 

२०१६ सालमा हिमालयन छात्र संघको सदस्य बनेका उनी २०३४ सालमा तनहुँबाट जिल्ला सदस्य भएर कांग्रेसबाट सक्रिय राजनीतिमा होमिए । यसअघि उनी २०२७ सालमा नेविसंघको संस्थापक सदस्य रहेका हुन् । 


तत्कालीन राजा महेन्द्र शाहले २०१७ सालमा संसद् भङ्ग गरेपछि भएको आन्दोलनमा उनी सहभागी भएका पौडेल तत्कालीन प्रधानमन्त्री वीपी कोइरालालाई पक्राउ गरेकोमा विरोधमा उत्रिएका नेता हुन् ।  


२०४३ सालमा कांग्रेसको केन्द्रीय सदस्य एवम् प्रचार विभाग प्रमुख भएका पौडेल त्यसपछि निरन्तर कांग्रेसको केन्द्रीय राजनीतिमा छन् । २०६२ सालमा केन्द्रीय महामन्त्री, २०६४ सालमा केन्द्रीय उपसभापति, २०७२ सालमा कार्यवहाक सभापतिसमेत सम्हालिसकेको अनुभव पौडेलसँग छ ।

 
यस्तै, २०७४ सालबाहेक २०४८ सालदेखि हालसम्म सातपटक सांसद भएका उनी २०५१ सालमा प्रतिनिधिसभाका सभामुखको जिम्मेवारी सम्हाले । २०६५ मा कांग्रेस संसदीय दलको नेता बनेका पौडेलले संसदमा विपक्षी दलको नेताको रुपमा आफ्नो जिम्मेवारी पूरा गरे । 


पहिलोपटक २०४८ सालमा स्थानीय विकास मन्त्री बनेका पौडेल त्यसपछि २०४९ सालमा कृषिमन्त्री, २०५६ सालमा उपप्रधानमन्त्रीसहित सूचना÷सञ्चारमन्त्री, स्थानीय विकास र गृहमन्त्री र  २०६३ सालमा शान्ति तथा पुनर्निर्माण मन्त्री बने ।


प्रजातन्त्र र लोकतन्त्रका लागि भएका आन्दोलनमा सहभागी हुँदा पौडेल पटकपटक गिरफ्तार मात्र भएनन् १५ वर्ष जेल जीवनसमेत बिताए । उनै पौडेललाई आगामी पाँच वर्षका लागि देशले राष्ट्रपतिको रुपमा पाएको छ । 

जसपाले रामसहाय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)ले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । जसपा सांसद प्रदीप यादवले पार्टीले रामसहायलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए ।

बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित यादवलाई उपराष्ट्रपतिमा उठाएर जसपा अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचनमार्फत आफू बारा–२ बाट चुनाव लड्ने तयारीमा रहेको बताइएको छ ।

माओवादी आन्दोलन कुनै क्रान्ति नभएर संगठित हिंसा र आतंक हाे : गोकुल बास्कोटा

काठमाडौं – नेकपा एमालेका नेता गोकुल बास्कोटाले माओवादी आन्दोलन कुनै क्रान्ति नभएर संगठित हिंसा र आतंक भएको बताउनुभएको छ।

आज राष्ट्रपति निर्वाचनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले माओवादीहरुले भन्ने गरेको जनयुद्धलाई राजनीतिक खोलभित्र देखिएको सामाजिक फासिवाद भनि टिप्पणी गर्नुभयो।

उहाँले संक्रमणकालीन न्यायको विषय मानवअधिकारसँग जोडिएको भन्दै सत्ता र शक्तिको लेखाजोखा र स्वार्थका लागि काम हुन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सत्ता, शक्ति वा द्वन्द्वरत पक्षहरुको व्यक्तिगत खुशियालीमा, नाफा वा घाटामा लाखौँ मान्छेहरुको मानवअधिकारसँग जोडिएको प्रश्न व्यक्तिगत लेखाजोखा र स्वार्थको विषय होइन। यो हाम्रो नेपालले पक्ष राष्ट्र भएर अन्तर्राष्ट्रिय रुपमा गरेको मानव अधिकारका सन्धि, अभिसन्धि, महासन्धि, नेपालको संविधान र शान्ति सम्झौताले पनि निरुपण गरेका कुराहरु यसमा पर्छन्।’

सरकारले ऐन ल्याए पनि समितिमा छलफल नगरी हुलमुलमा पारित गरेमा जटिल अवस्था आउने चेतावनी दिनुभयो। उहाँले भन्नुभयो, ‘मानव अधिकारका अन्तर्राष्ट्रिय खमापनहरुका आधारमा सो विषय अगाडि बढाउनुपर्छ।’

काठमाडौंका मेयर र चिनिया राजदुतबिच भेटवार्ता

काठमाडौं – काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह र चिनिया राजदुत सेन सङ बिच भेटवार्ता भएको छ ।

काठमाडौं महानगरपालिकाको कार्यालयमा भएको भेटमा एक अर्का बिचमा सहयोग र आदान प्रदान गर्ने तथा हाल जारी सहयोगलाई निरन्तरता दिने बिषयमा छलफल भएको छ। 

राष्ट्रपति निर्वाचनको मतगणना सुरू

काठमाडौँ – राष्ट्रपति निर्वाचनको मतगणना सुरू भएको छ ।

बिहीबार बिहान १० बजेबाट सुरु भएको मतदान प्रक्रिया अपरान्ह ३ बजे सकिएको थियो । निर्वाचन आयोगले संघ र प्रदेशसभातर्फको छुट्टाछुट्टै स्थलबाट गणना थालेको हो ।

राष्ट्रपतिमा सत्तागठबन्धनको तर्फबाट रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् । मतगणनामा पौडेलको कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र नेम्वाङले सांसद महेश बर्तौलालाई प्रतिनिधि बनाएका छन् ।

मतगणना ७ बजेभित्रै सकेर आजै विजेतालाई आजै प्रमाणपत्र वितरण गर्ने तयारी छ ।

गायिका मेनुका परियारले किन भनिन मुटु जलाउछ

रमेश विक रसाईली / काठमाडौँ ,

लोकप्रिय गायक राजु परियार र मेनुका परियारको स्वर रहेको गीत काटे पलाउछ बजारमा सार्वजनिक भएको छ ।

रंग दर्पन म्युजिकको अफिसियल युटुब च्यानल मार्फत बजारमा पठाईएको गीतलाई नेत्र अर्यालले लेखेका हुन।

राजु सुनामले संगीत गरेको गीत काटे पलाउछलाई अहिले बजारमा दर्शकले माया दिएको पाईएको छ। शिव विक निर्देशक रहेको यो गीत काठमान्डौका विभिन्न भागमा छाँयाकन भएको थियो। ओम विकल र साया भन्डारी अभिनित गीत काटे पलाउछमा अपुरो प्रेम कथा झल्काइएको छ।

प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दा आज हेर्न नभ्याइने

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा आज सुनुवाई नहुने भएको छ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले प्रचण्डविरुद्धको रिट आज हेर्न नभ्याइने र शुक्रबारका लागि सारेको सर्वोच्चले जनाएको छ।

प्रधानमन्त्री प्रचण्डविरुद्ध अधिवक्ताद्धय ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले मंगलबार सर्वोच्चमा रिट दायर गर्नुभएकाे थियाे ।

उहाँहरुले द्वन्द्वकालीन मुद्दालाई लिएर प्रचण्डविरूद्ध फौजदारी अभियोगमा छानबिन र कारवाही हुनुपर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट दिर्ता गर्नुभएकाे हाे । 

राष्ट्रपति निर्वाचनको मतदान सम्पन्न

काठमाडौं – राष्ट्रपति पदका लागि भएको निर्वाचनका मतदान प्रक्रिया सकिएको छ । बिहीबार बिहान १० बजेबाट सुरु भएको मतदान प्रक्रिया अपरान्ह ३ बजेसम्मका लागि समय तोकिएको थियो । 

कुल आठ सय ८२ मतदाता रहेको प्रदेशतर्फ ५५० मध्ये ५१८ र संघतर्फका ३३२ रहेकोमा ३१३ मत खसेको छ।  राष्ट्रपति निर्वाचनमा एमालेबाट सुवासचन्द्र नेम्वाङ र नौद लीय गठबन्धनबाट रामचन्द्र पौडेल प्रतिस्पर्धामा छन् । 

केही समयपछि मतगणना सुरु गरिने निर्वाचन आयोगले जानकारी दिएको छ ।

राष्ट्रपतिले दलीय संरचनाबाट अलग भइ राष्ट्र र जनताको अभिभावकको भूमिका निर्वाह गर्नुपर्छ : महामन्त्री थापा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आज निर्वाचित हुने राष्ट्रपतिले आफूलाई दलीय संरचनाबाट अलग राख्दै राष्ट्र र जनताको अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

बिहिबार नयाँ बानेश्वरस्थित संसद् भवनमा राष्ट्रपति पदका लागि भएको निर्वाचनमा मतदानपछि सञ्चारकर्मीसँग उनले नयाँ निर्वाचित हुने राष्ट्रपतिले दलबाट अलग भएर मन, वचन र कर्मले भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् । राष्ट्रपति दलबाट अलग हुन नसके राष्ट्रपति पदलाई नै न्याय नहुने उनको भनाइ छ ।

उनले भने, “लामो समय लोकतान्त्रिक आन्दोलनमा सङ्घर्ष गर्नुभएका रामचन्द्र पौडेल आज राष्ट्रपति पदमा निर्वाचित हुने करिब निश्चित छ”, यसअघिका राष्ट्रपतिबाट भएका कमजोरीबारे उहाँ जानकार हुनुहुन्छ । त्यसैले पनि उहाँ सुरुमा पार्टीबाट मन, वचन र कर्मले अलग हुनुपर्छ ।”

नयाँ निर्वाचित हुने राष्ट्रपतिलाई आफू अनुकुल संविधानको व्याख्या नगर्न उनले आग्रह गरे । “लामो समय पार्टीमा काम गर्नुभएका उहाँले नेपाली कांग्रेसलाई मनबाट निकालेर काम गर्न सक्नुभएन भने राष्ट्रपति पदलाई न्याय गर्न सक्नु हुन्न”, उनले भने ।

तामाकोसी–काठमाडौं प्रसारण लाइन असारभित्रमा सक्न समयसीमा

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले तामाकोसी–काठमाडौं २२०÷४०० केभी प्रसारण लाइन आयोजनाको निर्माण आगामी असारभित्रमा सम्पन्न गर्न ठेकेदारहरुलाई समयसीमा दिएको छ । 

आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसेसम्म ४४ किलोमिटर र बाह्रबिसेबाट काठमाडौंको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट तथा लप्सीफेदीबाट भक्तपुरको चाँगुनारायणसम्मको १४ किलोमिटर १३२ केभी प्रसारण लाइन र  बाह्रबिसेमा २२०/१३२/११ केभी सबस्टेसन निर्माणाधीन छन् । साथै, लप्सीफेदीमा ४००/२२०/१३२/११, बाह्रबिसेमा ४०० केभी र नयाँ खिम्तीमा ४०० केभी सबस्टेसन निर्माण भइरहेको छ । 

तामाकोसी तथा सुनकोसी नदी र ती नदीहरुका सहायक खोलानालाको जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन तथा राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न तामाकोसी–काठमाडौ प्रसारण लाइन र सबस्टेसन निर्माण सुरु गरिएको हो । 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधानसहितको उच्चस्तरीय टोलीले आयोजनाअन्तर्गत बाह्रबिसे सबस्टेसनको बुधबार अनुगमन भ्रमण गरी महत्वपूर्ण प्रसारण लाइन र सबस्टेसनको निर्माण असारभित्रमा सम्पन्न गर्न निर्देशन दिएको छ । 

निर्माणमा देखिएको अवरोध हटाउन आफ्नोतर्फबाट पनि सहजीकरण तथा समन्वय गर्ने प्रतिबद्धता जनाउँदै टोलीले नयाँ खिम्ती–बाह्रबिसे, बाह्रबिसे–काठमाडौं र बाह्रबिसे सबस्टेसनको निर्माण असारभित्र सम्पन्न गर्न निर्देशन दिएको हो । 


टोलीले प्रसारण लाइन र सबस्टेसन निर्माण जिम्मा पाएका ठेकेदारहरु, आयोजना व्यवस्थापनसँग निर्माणमा हालसम्म भइरहेको प्रगति, सम्पन्न हुने तालिका, व्यहोरिरहेका समस्या तथा समाधानका उपायहरुलगायतका विषयमा विस्तृत रुपमा छलफल गरेको थियो । रुख कटान आदेश, जग्गा प्राप्ति, प्रसारण लाइनको मार्गधिकारमा स्थानीय बासिन्दाको अवरोधलगायतका कारणले प्रसारण लाइन निर्माण प्रभावित हुँदै आएको छ । 

बाह्रबिसे सबस्टेसन निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनीहरु ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको उपक्रमको काम सन्तोषजक नदेखिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे । 
 
चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको विद्युत् बाह्रबिसे सबस्टेसनमा जोडिने छ । मध्यभोटेकोसीको निर्माण आगामी असारभित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

कार्यकारी निर्देशक घिसिङले असारभित्रमा सबस्टेसनको निर्माण नभएर मध्यभोटेकोसीको विद्युत् जोड्न नसकिने अवस्था आएमा त्यसको क्षतिपूर्ति भराइने ठेकेदारलाई चेतावनी दिए । 


‘मध्यभोटेकोसीले सबस्टेसनसम्मको प्रसारण लाइनका टावर निर्माण गरिसकेको छ, सबस्टेसन निर्माण सम्पन्न भएन भने विद्युत् कसरी प्रवाह गर्ने ? यस्तो महत्वपूर्ण सबस्टेसन निर्माणमा ढिलाइ गर्ने ?’, घिसिङले ठेकेदारलाई निर्देशन दिँदै भने, ‘यदी सबस्टेसन निर्माण सम्पन्न नभएर मध्यभोटेकोसीको विद्युत् खेर जाने अवस्था आएमा १०२ मेगावाट विद्युत् बिक्रीबाट दैनिक रुपमा प्राप्त गर्ने आम्दानी असुलउपर गरिनेछ ।’ 

प्राधिकरणले मध्यभोटेकोसीको विद्युतप्रवाहका लागि अस्थायी वैकल्पिक व्यवस्था गरेको छ । तर, त्यसका लागि पनि बाह्रबिसे सबस्टेसन निर्माण अनिवार्य छ । मध्यभोटेकोसीको विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिने छ । 

२२० केभी प्रसारण लाइनबाट आएको विद्युत्लाई बाह्रबिसे सबस्टेसनमार्फत १३२ केभीमा झारिने छ । त्यसपछि २२ मेगावाटको माथिल्लो चाकु ए जलविद्युत् आयोजनाले निर्माण गरेको १३२ केभि प्रसारण लाइनमार्फत लामोसाँघु सबस्टेसनमा जोड्ने गरी वैकल्पिक व्यवस्था गरिएको छ । 

माथिल्लो चाकु ए जलविद्युत् आयोजनाले अहिले बाह्रबिसे बजारबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब ४ किलोमिटर प्रसारण लाइन निर्माण गर्न सर्वेक्षण सम्पन्न गरेको छ । आयोजनाले यो लाइन निर्माण गर्न बढीमा ४ महिना लाग्ने बताएको छ । यो लाइन बनेपछि अहिले लामासाँघु सबस्टेसनमा जोडिएको आयोजना बाह्रबिसे सबस्टेसनका जोडिनेछ । 

कार्यकारी निर्देशक घिसिङले बाह्रबिसे सबस्टेसन र नयाँ खिम्ती–बाह्रबिसे सबस्टेसन निर्माण सम्पन्न भएपछि मध्यभोटेकासीको विद्युत् खिम्तीतर्फ प्रवाह गर्न सकिने बताए । बाह्रबिसे सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभीए र १३२÷११ केभी,५ एमभीएका पावर ट्रान्सफर्मरहरु रहनेछन् । 


घिसिङले बाह्रबिसे बजारबाट सबस्टेसनसम्म जाने करिब साढे चार किलोमिटर सडकको मर्मत तत्काल गरी वर्षा सुरु हुनुभन्दा अघिनै  निर्माणस्थलमा उपकरणहरु तथा निर्माण सामाग्री ढुवानीको व्यवस्था गर्न निर्देशन दिए । 

प्रसारण लाइन अन्तर्गत नयाँ खिम्ती–बाह्रबिसे खण्डमा पर्ने ११८ वटा टावरमध्ये ९० वटा टावरको जग हालिएको छ । ७१ वटा टावर  खडा गरिएको छ । १७.५ किलोमिटर तार तानिएको छ ।  यो लाइन बनाउन पनि बाह्रबिस सबस्टेसनको ठेकेदारले नै पाएको थियो । तर, ठेक्का सम्झौताको ७४ प्रतिशत समय बित्दासमेत कम्पनीले निर्माणका प्रारम्भिक काम नै नगरेपछि सम्झौता अवधि बाँकी नै रहेको अवस्थामा ठेक्का तोडिएको थियो । 

प्राधिकरणले चिनियाँ  कम्पनीसँग ठेक्का तोडी ठेक्का रकमको १० प्रतिशत अर्थात १४ लाख ५४ हजार डलर र ६ करोड १६ लाख ७४ हजार रुपैयाँ कार्यसम्पादन जमानत जफत गरेको थियो । यसैगरी, ठेकेदार कम्पनीले अग्रिम भुक्तानीका लागि राखेको १४ लाख ५४ हजार डलर र ६ करोड १६ लाख ७४ हजार रुपैयाँ बैक जमानत पनि जफत गरिएको थियो । त्यसपछि प्राधिकरणले गरेको नयाँ टेण्डर गरी ठेकेदार छनोट गरेको थियो । 

बाह्रबिसे–लप्सेफेदी खण्डमा पर्ने १२२ टावरमध्ये १११ वटाको जग हालिएको छ भने ४ वटा टावरको जग हाल्ने काम जारी रहेको छ । १०३ वटा खडा गरिएको छ । स्थानीयको अवरोधका कारण लप्सीफेदीमा ४ वटा टावर निर्माण सुरु हुन सकेको छैन । १२.५ किलोमिटर तार तानिएको छ । वन क्षेत्रको जग्गा प्रयोग, रुख कटानी, स्थानीयको अवरोधलगायतका कारणले प्रसारण लाइन निर्माण प्रभावित हुँदै आएको छ । 
 

मतदान पछि ओलीले भने : ‘एमाले र कांग्रेस एक ठाउँमा नहुने भनेर कसम खाएका छैनौ’

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचन पछि कांग्रेस र एमालेको सरकार बन्ने सभ्भावना सकियो भन्न नसकिने बताएका छन् ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रपति निर्वाचनका लागि मतदान गर्न पुगेका अध्यक्ष ओलीले कांग्रेस–एमाले एकै ठाउँमा नहुने भन्ने कसम नखाएको बताएका हुन् ।

‘एमाले र कांग्रेस एक ठाउँमा नहुने भनेर कसम खाएका छैनौँ’ ओलीले भने ।

राष्ट्रपतिका आलोचना गर्नेहरु संकिर्ण मानशिकता भएको जनाउँदै ओलीले यसअघि राष्ट्रपति दुवैले मुलुकको हितका लागि काम गरेको बताएका छन। 

राष्ट्रपति निर्वाचन : केपी ओलीले गरे मतदान

काठमाडौं – राष्ट्रपति चयनका लागि मतदान प्रक्रिया चलिरहेको छ । 

नयाँबानेश्वरस्थित संघीय संसद भवन परिसरमा बिहान १० बजेदेखि मतदान प्रक्रिया सुरु भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली पनि मतदान प्रक्रियामा सहभागी भइसकेका छन् । 

विभिन्न दलका शीर्षनेताले मतदान गरिसकेपछि ओली मतदान गरेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसहित अन्य दलका शीर्ष नेताले मतदान गरेको केही समयपछि ओलीले मतदान गरेका हुन् । 

नौ दलको समर्थनमा कांग्रेसका रामचन्द्र पौडेल र  एमालेका सुवासचन्द्र नेम्वाङबीच राष्ट्रपति पदमा प्रतिस्पर्धा भएको छ । 

रास्वपाकाे निर्णय : राष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनलाई साथ दिने

काठमाडौं – ​​​​​​​राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनलाई साथ दिने भएको छ ।

रास्वपाको बैठकले राष्ट्रपतिका ९ दलीय गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको हो ।

मतदान जारी रहेका बेला बैठकले पौडेललाई मत दिने निर्णय गरेको पार्टीका नेता तथा सांसद असिम शाहले बताएका छन् ।

प्रतिनिधि सभाको चौथो ठूलो दल रास्वपासंग १९ सांसद छन् ।

सांसद गोविन्द न्यौपाने संसद भवनमा लडेर घाइते

काठमाडौँ – राष्ट्रपतिको निर्वाचनमा मतदान गर्ने क्रममा मधेश प्रदेशका सांसद गोविन्द न्यौपाने घाइते भएका छन् ।

बिहिबार संसद भवनमा मतदान गरेर फर्कने क्रममा लडेर घाइते भएका हुज् । उनको टाउकोमा चोट लागेको छ ।

लडेर घाइते भएपछि न्यौपानेलाई संसद भवनमा प्राथमिक उपचार गरिएको छ ।

पौडेल र नेम्बाङले एकै ठाउँमा उभिएर एकअर्कालाई शुभकामना दिए

काठमाडौं – राष्ट्रपतिका उम्मेदवारद्धय नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङले बिजयका लागि एक अर्कालाई शुभकामना दिएका छन् ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी मतदानमा सहभागी हुन पुगेका पौडेल र नेम्वाङले एकै ठाउँमा उभिएर लोकतन्त्र र संविधान निमार्णका लागि एक अर्काले गरेको योगदानको प्रशंशा गर्दै बिजयका लागि शुभकामना दिएका हुन् । 

‘लोकतन्त्रका लागि र ब्यवस्था परिवर्तनका लागि, नेपालको परिवर्तनका, संघीय गणतन्त्रको लागि, समानुपातिक समावेशीताका लागि उहाँ (सुवासचन्द्र नेम्वाङ)को पनि मेरो भन्दा कम भुमिका छैन्,’ भन्दै पौडेलले नेम्वाङलाई शुभकामना दिएका हुन ।  

उता नेम्वाङले पनि पौडेलको छेउमा नै उभिएर भने, ‘वास्तवमा लामो समय देखी हामीसँगै छौं, मेरो अध्यक्षतामा जारी संविधान कार्यान्वयनको यो महत्वपुर्ण चरणमा, राष्ट्रपति निर्वाचनको संघारमा हामी उभिएका छौं, उहाँलाई प्रतिस्पर्धीको रुपमा देखिरहेको छु । राजनीतिमा अंक गणित अलि फरक हुन्छ तर मेरो उहाँलाई शुभकामना छ, उहाँको मलाई शुभकामना छ ।’

लोकतान्त्रिक प्रक्रियामा पौडेल निरन्तर योगदान गरेको उल्लेख गर्दै नेम्वाङले थप भने, ‘यो पटक म निश्चिन्त ढुक्क छु कि एकातिर म छु र एकातिर उहाँ हुनुहुन्छ, मलाई लाग्छ– जसले जीते पनि संविधानको पक्षमा, लोकतन्त्रको पक्षमा, कानुनिको शाषनको पक्षमा नै सिंगो देशलाई एकताबद्ध बनाएर लैजाने सबालमा, मधेस देखी हिमालसम्म एकता बनाएर लाने काम हुनेछ ।’

लोकतन्त्र भनेको स्वस्थ प्रतिस्पर्धा भएको उल्लेख गर्दै लोकतन्त्रमा स्वस्थ्य प्रतिस्पर्धा हुनु अचम्म मान्न नहुने नेम्बाङले बताए ।

प्रधानमन्त्री दाहालद्वारा राष्ट्रपति निर्वाचनमा मतदान

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका छन् ।

बिहिबार नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको सङ्घीय सांसद मतदान केन्द्रमा प्रधानमन्त्री प्रचण्डले मतदान गरेका हुन् ।

बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहने छ ।

नेमकिपा राष्ट्रपति निवावचनमा सहभागी नहुने

काठमाडौँ – नेपाल मजदुर किसान पार्टी राष्ट्रपति निवावचनमा सहभागी नहुने भएको छ ।

बिहिबार बिहान एक विज्ञप्ति जारी गर्दै नेमकिपा राष्ट्रपति निवावचनमा सहभागी नहुने जनाएको हो ।

राष्ट्रपतिका दुवै उम्मेदवार र पार्टीले आश्वस्त पार्न नसकेकाले निर्वाचनमा सहभागी नहुने निर्णय गरिएको नेमकिपा जनाएको हो ।

प्रचण्डविरुद्धको रिट न्यायधिस श्रेष्ठको इजलासमा

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिट न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा परेको छ ।

अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले गत मंगलबार दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुन लागेको हो  ।

प्रधानमन्त्री प्रचण्डले २०७६ माघ १ गते टुँडीखेलमा आयोजित थारु माघी महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै आफूले दश वर्षे युद्धकालमा भएको पाँच हजार जनाको हत्याको जिम्मा लिने बताएका थिए । सोही अभिव्यक्तिलाई मुख्य विषय बनाएर पीडितले मुद्दा सर्वोच्च अदालतमा रिट दायर गरेका हुन । 


रिट निवेदनको पक्षमा कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका रामेछापका ज्ञानेन्द्रराज आरणसहित रहेका छन् ।

योगेश भट्टराईकाे टिप्पणी : ‘प्रचण्डकाे लागि अगाडि जाने बाटो नभएकाले एमालेतिरै फर्किन्छन्’

काठमाडौँ – नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका लागि अगाडि जाने बाटो नभएकाले एमालेतिरै फर्किने टिप्पणी गरेका छन् ।


बिहिबार राष्ट्रपति निर्वाचनमा भाग लिन संसद भवन पुगेका भट्टराईले पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

भट्टराईले भने, ‘प्यासेन्जरलाई दुःख दिनुभो, गाडी छोडेर हिँड्नुभो । फर्किंदै आउनुहोला फेरि हेरौं । कता जानुहोला र ! आउने ठाउँ छ, जाने ठाउँ छैन ।’

राष्ट्रपतिका उम्मेदवार नेम्वाङले भने : ‘आशावादी र सकारात्मक छु’

काठमाडौं – राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले आफु आशावादी र सकारात्मक भएका जनाएका छन । 

जारी मतदान प्रक्रियामा सहभागी हुन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेका नेकपा एमालेका उम्मेदवार नेम्वाङले निर्चाननमा सकारात्मक रहेको जनाएका हुन । 

‘मैले दलका माननीय सदस्य र दलका नेताहरु सबैसँग भेटेको छु, सबैसँग भेटदा म आशावादी र सकारात्मक छु’ नेम्वाङले सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिदै भने । उनले मत खसालेका छन ।   

देश र जनताका अगाडि चुनौती रहेकाले सबै दलहरू एक ठाउँमा उभिनुपर्छ : सुवास नेम्बाङ

काठमाडौँ – राष्ट्रपतिका उम्मेदवार सुवास नेम्बाङले सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

बिहिबार राष्ट्रपति निर्वाचनका लागि मतदान गर्न संसद भवन नयाँ बानेश्वर पुगेका नेम्वाङले पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै देश र जनताका अगाडि चुनौती रहेकाले सम्पूर्ण राजनीतिक दलहरु एक भएर जानु पर्ने बताएका हुन् ।

नेम्वाङले भने, ‘यो देशका सम्पूर्ण राजनीति दलहरु एक ठाउँमा उभिनु पर्छ, तपाईंहरुले देखिराख्नुभएको छ, अहिले देश र जनताको अगाडि चुनौती छ ।’

सत्य निरुपण सम्बन्धी संशोधन विधेयक संसदमा दर्ता गर्ने सरकारको निर्णय

काठमाडाैं – सिंहदरबारमा आज बिहान बसेको मन्त्रिपरिषद बैठकले सत्य निरूपण तथा मेलमिलापसम्बन्धि संशोधित विधेयक आज प्रतिनिधि सभामा दर्ता गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सम्पन्न बैठकले फलफूल, तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षण सम्बन्धि प्रस्ताव मन्त्रिपरिषको विषयगत समितिमा छलफलका लागि पठाई यथाशीघ्र क्याबिनेटमा पेश गर्ने निर्णय पनि बैठकले गरेको छ ।

महिला बिमान चालकलाई एमाले अध्यक्ष ओलीको बधाई

काठमाडौं – नेपाल वायुसेवा निगमको जहाज उडाउने महिला चालक दलका सदस्यहरूप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बधाई ज्ञापन गरेका छन् ।

दुबईबाट उडान भरेर सफलतापूर्वक काठमाडौंमा अवतरण गराएकोमा पाइलट भावना पन्त नेतृत्वको टोलीलाई ओलीले बधाई दिएका हुन् ।

ओलीले ट्विट गर्दै लेखेका छन्, ‘अघि बढ्दैछन् नेपाली महिला! आज अन्तर्राष्ट्रिय महिला दिवस पनि हो। यसै दिन नेपालको राष्ट्रिय ध्वजावाहक जहाजको सफलतापूर्वक अन्तर्राष्ट्रिय उडान भर्न सफल पाइलट भावना पन्त र को-पाइलट सिर्जना रावतलगायत उहाँहरूको टिमलाई हार्दिक बधाई !,’ उनले लेखेका छन् ।

गठबन्धन केबल कुर्सीकै लागि हाे, अझ धेरै गठबन्धन हेर्न बाँकी छ : झलनाथ खनाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका बरिष्ठ नेता झलनाथ खनालले अहिलेको गठबन्धन केबल कुर्सीकै लागि भएको बताउनु भएकाे छ।
आज एकीकृत समावादी मोरङले उर्लाबारीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता खनालले अहिलेको गठबन्धन कुर्सीकै लागि भएको बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘मंसिर ४ को निर्वाचनपछि अहिले तीन महिना भयो। यही समयमा तीनवटा समीकरण भइसक्यो। पाँच वर्षको समय बाँकी छ। त्यसैले धेरै गठबन्धन हेर्न बाँकी छ। अहिलेको गठबन्धन नीति तथा कार्यक्रममा भएको देखिएको छैन। कुर्सीकै कुरा हो।’

राष्ट्रपति निर्वाचनको तयारी पूरा (फोटो फिचर)

काठमाडौं – बिहीबार हुने राष्ट्रपति निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचन आयोगका अनुसार बिहीबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म हुने राष्ट्रपति पदको निर्वाचनको तयारी पूरा भएको हो । 


नयाँबानेश्वरस्थित संघीय संसद भवन परिसरमा दुई वटा मतदान केन्द्र बनाइएको छ । राष्ट्रपति पदको निर्वाचनमा संघीय संसदका सदस्य र प्रदेशसभा सदस्य मतदाता रहने भएकाले उनीहरुलाई छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ ।  

राष्ट्रपतिका लागि कांग्रेस, माओवादी केन्द्रसहित नौ दलको समर्थनमा कांग्रेस नेता रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङ उम्मेदवार छन् ।  
 

राष्ट्रपति भण्डारी सदैव अविस्मरणीय रहनुहुनेछ : कमल थापा

​​​​​​​काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राष्ट्रपति विद्यादेवी भण्डारी सदैव अविस्मरणीय रहनुहुने बताउनुभएको छ ।

सामाजिक सञ्जालमा आज एक स्ट्याटस लेख्दै अध्यक्ष थापाले राष्ट्रहित विपरितको नागरिकता विधेयक र गंभीर अपराधमा संलग्नलाई उन्मुक्ति दिने अध्यादेशमा लिनुभएको अडानको कारण राष्ट्रपति भण्डारी सदैव अविस्मरणीय रहनु हुने बताउनुभएको हो ।

नेपालको ईतिहासमा पहिलो महिला राष्ट्रप्रमुख हुने गौरव पाउनुभएकी  राष्ट्रपति भण्डारीको यहि फागुन २९मा निवृत्त हुनुहुँदैछ ।

माधब नेपाललाई ओलीकाे समवेदना

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेटेर समवेदना प्रकट  गर्नुभएकाे छ । नेपालका भाइ सरोज कुमार उपाध्यायको शनिवार निधन भएको थियो ।

नेपाललाई भेट्न आज दिउँसो ओली उहाँ  बसेको किरिया पुत्री भवनमा पुग्नुभएकाे थियाे  । ओलीले उपाध्यायको निधनप्रति दुःख व्यक्त गर्नुभयाे  ।

नेपालका भाइ उपाध्यायको शंखमुलस्थित एक रेस्टुरेन्टको छैटौँ तलाबाट खसेर निधन भएको थियो ।

राष्ट्रपतिबारे निर्णय लिन राप्रपाको बैठक सुरु

काठमाडौं – राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।

धुम्बाराहीस्थित केन्द्रीय पार्टी कार्यालयमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको सो पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

बैठकले बिहीबार हुने राष्ट्रपति निर्वाचनबारे निर्णय लिनेछ । साथै बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । 

महेश बस्नेतलाई भेट्न बालेन साह गुन्डु पुगे

भक्तपुर – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्व उद्योग मन्त्री महेश बस्नेतसँग भेट गर्नुभएको छ ।

साह आज बस्नेतलाई भेट्न भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ गुन्डु स्थित नेता बस्नेतको निजि निवासमा पुग्नुभएको थियो ।

 निर्वाचनको समयमा राजनीतिक प्रतिष्पर्धा भएता पनि विकास र समृद्धिको विषयमा एक ढिक्का भएर अगाडी बढ्नु नै राजनीतिक दल तथा जनप्रतिनिधिको महत्वपूर्ण जिम्मेवारी जनताबाट लिएको दुवै नेताहरुले आत्मसात् गर्दै सहयोग र सद्भावका साथ अगाडी बढ्ने प्रतिवद्धता जनाउनुभयो । नेता बस्नेत र मेयर साहबीचको भेटवार्तामा काठमाडौँ र भक्तपुरको विकास र त्यहाँको समस्या समाधानमा दुवैले खेल्नुपर्ने भूमिकाको र भक्तपुरको विकास मुलुककै लागि उदाहरणीय भएकाले त्यसलाई अनुकरण गर्ने विषयमा केन्द्रीत भएको थियो ।

त्यस्तै मेयर शाहले केही स्थानीय विकास तथा पुनःनिर्माण गरिएका अनन्तलिङ्गेश्वर मन्दिर, ऐतिहासिक अनन्त झुला (कुण्ड), पाथिभरा मन्दिर, निर्माणाधिन राष्ट्रिय प्राणी उद्यान केन्द्रलगायतका स्थानको अवलोकन समेत गर्नु भएको थियो ।

नेता बस्नेत र मेयर साहबीच भएका छलफलहरु :-

१. वर्तमान राष्ट्रिय राजनीति,
२. मनोहरा करिडोर निर्माण र त्यहाँका समस्या,
३. मनोहरा नदीको बहाव परिवर्तन र त्यसको समाधान,
४. सकुम्बासी बस्तीको समस्या समाधानको उपाय,
५. कोटेश्वर चोकमा आकाशे पुल निर्माण,
६. हनुमन्ते नदीको ५५ रोपनी र मनोहरा नदीको ४४ रोपनी जग्गा कब्जा,
७. सूर्यविनायकदेखी धुलिखेलसम्मको ६ लेनको सडक स्तरउन्नती,
८. भक्तपुरको नमुनायोग्य विकास र त्यसको अनुकरण,
९. केपी ओली नेतृत्वको सरकारको समयमा भएको विकासलाई हाल गठबन्धनको संघीय सरकारका कारण विकासमा भएको अवरोध र त्यसको असर,
१०. मनोहरा प्लानिङ आयोजना,
११. स्मार्ट सिटी,
१२. भक्तपुरका पर्यटकीय, धार्मिक क्षेत्रको विकास,
१३. प्राणी उद्यान केन्द्र,
१४. अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण र सहकार्य,
१५. वातावरण प्रदुषण नियन्त्रण,

माई खोला हाइड्रोपावरको बिहीबारदेखि आईपीओ आउने

काठमाडौं – माई खोला हाइड्रोपावरले बिहीबारदेखि आईपीओ निष्काशन गर्दै छ । आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीले आईपीओ बिक्री खुला गर्ने भएको हो । 


उक्त आईपीओमा चैत ९ गतेसम्म आवेदन दिन सकिनेछ ।  स्थानीयले भने उक्त अवधिसम्ममा पूर्ण आवेदन नपरेमा चैत २४ गतेसम्म सेयर भर्न पाउनेछन् । तर वैदेशिक रोजगारीमा रहेका नेपालीले भने चैत ९ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।


कम्पनीले स्थानीय बासिन्दाहरुका लागि जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको १० प्रतिशत अर्थात ३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँ बराबरको ३ लाख ९२ हजार १५७ कित्ता सेयर बिक्री खुला गर्न लागेको हो ।


यस्तै, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले १० प्रतिशत अर्थात १ लाख ५२ हजार ९४१ कित्ता सेयरमा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । 


यस आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउने ‘एनपी डबल बी प्लस रेटिङ’ प्रदान गरेको छ । 
यस आइपीओमा स्थानीयले प्रभु बैंक, सेन्चुरी बैंक तथा प्राइम कमर्सिल बैंकको इलाम शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै, बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी काठमाडौं र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

आवश्यक ऐन बनाएर सहकारी क्षेत्रलाई नियमन गर्नुपर्छ : सभामुख घिमिरे

काठमाडौँ – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आवश्यक ऐन बनाएर सहकारी क्षेत्रलाई नियमन गर्नुपर्ने बताउनुभएको छ । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घले बुधबार काठमाडौँमा आयोजना गरेको सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूको राष्ट्रिय गोष्ठी उद्घाटन गर्दै सभामुख घिमिरेले अहिले सहकारी संस्थाका बारेमा धेरै आवाजहरू उठिरहेको अवस्थामा यसलाई नियमन गर्न छुट्टै ऐन निर्माण गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले बचत तथा ऋण सहकारी सम्बन्धी ऐनका लागि आफूले पनि पहल गर्ने आश्वासन दिनुभयो । त्यस्तै उहाँले अहिले देशैभरबाट लघुवितिय संस्थामा भइरहेका विरोधका विषयमा केन्द्रीय सहकारी सङ्घले आवश्यक निष्कर्ष निकालेर धारणा तय गर्नुपर्ने बताउनुभयो । विश्व लगायत नेपालमा पनि आर्थिक समस्या देखिएको अवस्थामा तीन खम्वे अर्थनीतिको प्रमुख हिस्सा सहकारी क्षेत्रलाई पनि ठिक ढङ्गले अघि बढाउनुपर्ने उहाँले बताउनुभयो । सभामुख घिमिरेले सहकारीका नामबाट ठगी गर्ने प्रवृत्तिलाई केन्द्रीय सहकारी सङ्घले नै नियमन र अनुगमन गर्दै देखा परेका समस्यालाई समयमा नै समाधान गर्नुपर्ने बताउनुभयो । 

सहकारी क्षेत्रको जोखिम व्यवस्थापन, उत्पादन लक्षित ऋण परिचालन, प्रविधि हस्तान्तरण एवं आन्तरिकीकरण लगायतका विषयमा ठोस मार्गदर्शन सहित व्यवस्थापकीय प्रणालीमा एकरूपमा कायम गर्नका लागि गोष्ठीको आयोजना गरिएको केन्द्रीय सहकारी सङ्घले जनाएको छ । 

भोलि नयाँ राष्ट्रपति चयनका लागि मतदान हुँदै, भोलि नै नतिजा आउने

काठमाडौं – नयाँ राष्ट्रपति चयनका लागि भोलि (बिहीबार) मतदान हुँदैछ । मतदान काठमाडौंको नयाँवानेश्वरस्थित संसद् भवनको ल्होत्सेहल परिसरमा हुनेछ । मतदानका लागि दुईवटा केन्द्र तोकिएको छ ।

एउटा मतदान केन्द्रमा संघीय सांसद र अर्कोमा प्रदेश सांसदले मत खसाल्ने छन् । राष्ट्रपति निर्वाचनमा प्रदेशका ५५० र संघीय संसद्का ३३२ गरी कुल ८८२ जना मतदाता रहेका छन् ।

मतदाताको अन्तिम नामावलीमा नाम रहेको जनता समाजवादी पार्टीकी सांसद सहनाज रहमानको हृदयघातका कारण मृत्यु भएको छ । राष्ट्रपति निर्वाचनमा प्रदेश सांसदको ४८ र संघीय सांसदको ७९ मतभार गणना हुन्छ ।

राष्ट्रपतिको निर्वाचनअन्तर्गत भोलि बिहान १० बजेदेखि तीन बजेसम्म मतदानको समय तोकिएको छ । भोलि बेलुका सात बजेसम्म निर्वाचनको नतिजा सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएकाे छ ।

आयाेगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले  निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयाे । “तीन बजेसम्म मतदानको समय तोकिएको छ । मतदान सकिएलगत्तै सर्वपक्षीय बैठक बसेर मतगणना सुरु हुन्छ,” उनले भने, “सात बजेभित्र नतिजा आइसक्छ ।”

राष्ट्रपति निर्वाचनमा दुई उमेदवारबीच प्रतिस्पर्धा हुँदैछ । आठदलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङ उमेदवार रहनुभएकाे छ । आयोगले प्रदेश सांसद र संघीय सांसदका लागि छुट्टा छुट्टै मतपत्रको व्यवस्था गरेको छ । मतपत्रमा उमेदवारको नाम र फोटो राखिएको छ ।

राजनीतिक स्वार्थ प्रेरितहरूले आफ्नो स्वार्थमा ठेस लागेपछि राष्ट्रपतिविरुद्ध बकवास गर्छन् : अध्यक्ष ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका रुपमा विद्या भण्डारीको भूमिका गौरवपूर्ण रहेको बताएका छन् ।


बुधबार अखिल नेपाल महिला संघद्वारा आयोजित अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । राजनीतिक स्वार्थ प्रेरित व्यक्तिहरूले प्रथम महिला राष्ट्रपतिको मर्यादाको ख्याल नगरेको उनले टिप्पणी समेत गरेका छन् ।

उनले भने, ‘राजनीतिक स्वार्थ प्रेरितहरूले आफ्नो स्वार्थमा कतै ठेस लाग्दा वा आफ्नो सङ्कीर्ण, छुद्र स्वार्थ पुरा नहुँदा राष्ट्रपतिको सम्मानित ओहोदाको मर्यादा नगरेर बकवास गरेका हुन सक्छन्। ती कुराको खास अर्थ छैन। आज हामीले गौरव गर्नुपर्छ विद्यादेवी भण्डारी जस्तो नेतृ तपाईँहरूको आन्दोलनबाट हुर्किएर गएको व्यक्तिले देशलाई सात वर्षसम्म राष्ट्रप्रमुखको हैसियत सफलतापूर्वक नेतृत्व गर्नुभयो।’

अब विवाह गर्दा स्थानीय तहबाट अनुमति लिनुपर्ने

​​​​​​​दैलेख – दैलेखको गुराँस गाउँपालिकाको ८ नम्बर वडा कार्यालयले विवाह गर्नुअघि अनुमति लिन सूचना जारी गरेको छ । 

बालविवाह रोक्न भन्दै कार्यालयले वडाभित्र वैवाहिक कार्य गर्नुअघि अनुमति लिन भनेको हो ।

अनुमति लिएर मात्र विवाह गर्न सूचना जारी गरेको वडा कार्यालयले विवाह दर्ता गर्न आउँदा वडा कार्यालयले दिएको वैवाहिक अनुमतिपत्र अनिवार्य रुपमा ल्याउनुपर्ने सर्त राखेको छ । 

सातै प्रदेशमा स्तन र पाठेघर क्यान्सरको निशुल्क उपचारको व्यवस्था मिलाइनेछ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निशुल्क सेवा विस्तार गरिने बताएका छन् । 

११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त घोषणा गरेका हुन् । 


‘सातवटै प्रदेशमा निसन्तान उपचार सेवा, वडास्तरमा नवजात शिशु स्याहार केन्द्रको स्थापना, महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निशुल्क सेवा विस्तार गरिनेछ । साथै पाठेघरको क्यान्सर रोकथामको लागि ९ देखि १३ वर्षका बालिकालक्षित एचपीभी खोप कार्यक्रमलाई देशव्यापी विस्तार गरिनेछ,’ उनले भने, ‘करिब ३४ प्रतिशत महिलाहरुमा प्रजनन् उमेर समूहका महिलाहरूमा देखिएको रक्तअल्पताको अन्त्य गर्न महिलालक्षित पोषण कार्यक्रम सञ्चालन गरिनेछ ।’ 

हेलिकप्टरबाट हुम्लाको गाउँगाउँमा नुन ढुवानी

सुर्खेत – स्थलमार्गबाट नुन ढुवानीमा समस्या देखिएपछि हुम्लास्थित साल्ट टेडिङ कर्पोरेशनले हेलिकोप्टरबाट नुन ढुवानी थालेको छ । 

सर्केगार्ड गाउँपालिका–४ को दुल्ली कुनाबाट नुन हेलिकोप्टरमा ढुवानी सुरु भएको कर्पोरेशन सिमकोट शाखाका प्रमुख राजबहादुुर लामाले बताए । 

कैलाश एयरको हेलिकोप्टरबाट अनुुदानको नुन ओसार्ने कार्य धमाधम भइरहेको छ । नुन सुर्खेतबाट पैदल मार्गबाट सलीसल्ला हुँदै दुुल्लीकुनासम्म गाडीमा ढुवानी भएपछि सो ठाउँबाट हेलिकोप्टरको माध्यमबाट ढुवानीको काम सुरु भएको हो ।

हेलिकोप्टरले दैनिक २० भन्दा बढी उडान भरेर नुन ढुवानी गर्ने कार्य गरिरहेको छ । बढी परिमाणमा ढुवानी गर्नका लागि हेलिकोप्टरमा झुण्ड्याएर ओसार्ने कार्य गर्दै आएको छ । हेलिकोप्टरभित्र राख्नभन्दा झुण्ड्याएर ल्याउँदा ५० केजी बढी ढुवानी हुने गरेको छ । 

चालुु आर्थिक वर्षको दुुई हजार दुुई सय क्विन्टल नुन फागुन महिनामा आएर हेलिकोप्टरबाट ढुवानी सुुरु छ । खार्पुनाथ गाउँपालिकाका पाँच वटा वडामै हेलिकोप्टरबाटै ढुवानी गरिएको छ । प्रत्येक वडामा १५० क्वीन्टल नुन हेलिकोप्टरबाट पुर्‍याएको उनले बताए । 

यसअघि सिमकोटस्थित शाखाको गोदामबाट नुन खरिद गर्नुपर्ने बाध्यताबाट खार्पुनाथका स्थानीय छुटकारा पाएका छन् ।गाउँपालिकाका लागि साढे सात सय क्विन्टल नुन ओसार्ने कार्य भएको छ भने सिमकोटस्थित शाखाका लागि हेलिकोप्टरले ढुवानी गरी रहेको छ ।

हुम्ला जिल्लामा आयोडिनयुक्त नुनको प्रतिकेजी नौ रुपैयाँमा बिक्री हुने गरेको छ । यस्तै हवाइ मार्गबाट समेत हुम्लामा नुन ढुवानीको काम भइरहेको छ ।