`

रास्वपाले राष्ट्रपति निर्वाचनबारे बिहीबार मात्रै निर्णय लिने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रपति निर्वाचनबारे बिहीबार मात्रै निर्णय लिने भएको छ । 

राष्ट्रपति निर्वाचनको सन्दर्भमा पार्टीले भोलि बिहान बैठक बसेर आवश्यक निर्णय गर्ने सो पार्टीका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिनुभयो ।

राष्ट्रपतिको निर्वाचनको मतदान भोलि बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने तय भएको छ । 

राष्ट्रपतिको निर्वाचनमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुभाषचन्द्र नेम्वाङ उम्मेदवार हुनुहुन्छ ।

बुधबार बुधबार एक हजारले घट्यो 

काठमाडौँ – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारको तुलनामा प्रतितोला रु एक हजारले घटेको छ । 

अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख एक हजार पाँच सय तोकिएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार छ । यसको मूल्य अघिल्लो दिन रु एक लाख दुई हजार थियो । 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ४५ ले घटेर रु एक हजार दुई सय २५ मा आएको महासङ्घले जनाएको छ । 

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

महिला अटोचालकहरु सुदुरपश्चिम सरकारद्वारा सम्मानित

धनगढी – ११३आौ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ६ जना अटो चालक महिला सम्मानित भएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले आज एक बिशेष कार्यक्रमको आयोजना गरी अटोचालक महिलाहरुलाई सम्मान गरेकाे हाे ।

 सामाजिक विकास मन्त्रालयले नगद १० हजारसहित प्रमाणपत्र र दोषल्ला ओढाएर सम्मान गरेको थियाे ।   

यसरी सम्मानित हुनेमा अटो रिक्सा चालकहरुमा भगवती दुवी कुँवर, सविता चौधरी, छुटमनिया चौधरी, ईश्वरी नाथ, मिरादेवी चौधरी र वास्मती दहित रहेका छन् ।

ग्लोबल आइएमई लघुवित्तको साधारणसभा आज

काठमाडौ – ग्लोबल आइएमई लघुवित्तको वार्षिक साधारणसभा आज बस्दैछ ।  उक्त सभामा कम्पनीले कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ ।

कम्पनीले आर्थिक वर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ८ प्रतिशत नगद गरी उक्त लाभांश वितरण गर्नेछ ।  प्रबन्धपत्र संशोधन गरी कम्पनीले ‘इनवार्ड रेमिट्यान्स’ सम्बन्धी कार्य गर्ने व्यवस्था पनि थप गर्ने भएको छ ।

यता, कम्पनीको चुक्ता पुँजी र सञ्चित मुनाफा (फ्रि रिजर्भ) को जम्मा रकमभन्दा बढी हुने गरी कुनै पब्लिक कम्पनी वा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सक्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभामा पेस हुनेछ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १६ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, फागुन १५ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

यस्तै, कुनै लघुवित्तसँग मर्जर प्रक्रिया वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । 

राप्रपा प्रवक्ता श्रेष्ठको प्रश्न– राजावादी भनिने समूहले चुनावमा भोट कहाँ हाले ?

काठमाडौं – राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले आफूलाई राजावादी भन्ने समूहले निर्वाचनमा कसलाई मत दिए भन्दै प्रश्न गरेका छन् । 


राप्रपाको जस्तै राजसंस्था, हिन्दू राष्टको मुद्दा लिएकाले नै राप्रपाविरुद्ध नै षड्यन्त्र गरिरहेको भन्दै उनले भनेका छन्, एकाध राजावादी छन् तिनले आफैँ उम्मेदवार बनेर राप्रपाका उमेदवारलाई हराइदिए । रवीन्द्र मिश्रको हारमा राजावादी भनिनेहरु नै हारको कारण बन्न पुगेका होइनन् र ? हामीलाई जान्न मन छ, हिन्दुराष्ट्र र राजसंस्थाको मुद्दा लिएर राजनीतिक समुह बनाएका, आफ्नै उम्मेदवार खडा नगरेका १०० भन्दा बढी दल र समूहले गएको निर्वाचनमा कहाँ भोट हाले ?’ 


राजनीतिक दलमा आफ्नै सीमा र मर्यादा हुने भन्दै उनले राष्ट्रपति निर्वाचनबारे वृहत छलफलबाट उपर्युक्त निर्णय लिने बताए । बुधबार दिउँसो १ बजे बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बिहीबार हुने राष्ट्रपति निर्वाचनका सम्बन्धमा निर्णय लिने उनको भनाइ छ । 


उनले सामाजिक सञ्जालमा लेखेका छन् :

आज दिउँसो १.०० बजे राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। वैठकमा विभिन्न एजेन्डामा छलफल हुनेछ, भोलि हुने राष्ट्रपति निर्वाचनका सम्बन्धमा पनि छलफल हुनेछ । राष्ट्रपति निर्वाचनका सन्दर्भमा विभिन्न कोणबाट आएका सुझावहरु हाम्रो “नोटिस“मा छन्।

राजनीतिक दलले कार्यकर्ताको भावना र जनभावना अनुरुप आफूलाई गतिशील बनाउने हो। सबैलाई थाहै छ, कुनै निर्णय गर्दा राप्रपाले बृहत छलफल गरेर निर्णय गर्ने गरेको छ, यसपटक पनि त्यसै गर्छ, सुझबुझपूर्ण निर्णय गर्छ । निर्णय गर्दा कार्यकर्ता, शुभेच्छुक शुभचिन्तकको भावना प्रतिबिम्बित गर्छ नै । तर यसो गरिए खबरदार, उसो गरिए बर्बाद हुन्छ भन्ने जस्तो अभिव्यक्ति जिम्मेवार निकायमा रहेका साथीहरूबाट सामाजिक सञ्जालमा यदाकदा आउने गरेको छ। पार्टीका साथीहरूले विचार दिने निकायहरु छन् । देश, जनसमुदाय र पार्टीको वृहत्तरहित भन्दा पर राप्रपा कहिल्यै छैन र हुने छैन । राजनीतिक पार्टी सञ्चालन गर्ने क्रममा कहिलेकाहीँ प्रयोग पनि गर्नुपर्ने हुन्छ तर त्यो प्रयोग पनि पवित्र उद्देश्यबाट पार्टीकै हितका लागि गरिने हो । रणनीति र कार्यनीति गलत भएकै रहेछ भने पनि प्रश्न गर्ने, जवाफ खोज्ने र सच्याउन प्रयास गर्ने बैठक, भेला र सम्मेलनहरुमा हो । एउटा प्रजातान्त्रिक पार्टी र संरचनाभित्र त्यस्ता अवसरहरु प्रशस्तै आउँछन् ।


एकाथरि मान्छेहरु राप्रपाको जस्तै विचार बोक्छन्, बोल्छन् तर राप्रपाका लागि सधैंको प्रतिपक्षी जस्ता देखिन्छन् । संगठित रुपमा राप्रपालाई अर्ती उपदेश दिन्छन्, भए नभएको प्रचार, दुष्प्रचार गर्छन्, आवश्यक परे तल्लो स्तरको टिप्पणी पनि गर्छन्, चुनावको बेला तिनले राप्रपालाई होइन कांग्रेस कम्युनिस्टलाई भोट दिन्छन् भन्ने हाम्रो आरोप छ । एकाध राजावादी छन् तिनले आफै उम्मेदवार बनेर राप्रपाका उमेदवारलाई हराइदिए । रवीन्द्र मिश्रको हारमा राजावादी भनिनेहरु नै हारको कारण बन्न पुगेका होइनन् र ? हामीलाई जान्न मन छ, हिन्दुराष्ट्र र राजसंस्थाको मुद्दा लिएर राजनीतिक समुह बनाएका, आफ्नै उम्मेदवार खडा नगरेका १०० भन्दा बढी दल र समूहले गएको निर्वाचनमा कहाँ भोट हाले ? एजेन्डाको पक्षमा मतदान गर्नुहुनेहरु प्रति भने हार्दिक नमन छ।


हामी सबैको साझा लक्ष्य राजसंस्था, हिन्दुराष्ट्रको पक्षमा र संघीयताको विपक्षमा जनमत बटुल्ने हुनुपर्ने हो। आफूलाई राम्रो बनाउने र आफ्नो अभियान सञ्चालन गर्ने क्रममा अर्कोलाई दोषी देखाउने प्रवृत्ति राष्ट्रवादी आन्दोलनको सबैभन्दा कमजोर पक्ष हो। निशाना बनाउनुपर्नेहरु अरु नै छन् तर लामो इतिहास भएको, समान विचार बोकेको, यहि एजेन्डा लिएर निर्वाचन मार्फत वैधानिक रुपमा स्थापित भएको, संसदको पाँचौ र यो एजेन्डाको प्रमुख शक्ति राप्रपालाई किन निशाना बनाइदैछ ?


राप्रपाका साथीहरूले यि विषयको जवाफ खोज्नुपर्छ । हामी राजनीतिक पार्टीका सदस्य हौं, राजनीतिक पार्टीका आफ्नै सीमा र मर्यादाहरु हुन्छन् । तल्लो तहसम्म संरचना भएको संगठनमा हामी तहगत रुपमा जिम्मेवार र उत्तरदायी बन्नुपर्छ । कुनै पनि एजेन्डामा अभियन्ता जस्तो विचार दिने, अभियन्ताबाट प्रभावित भएर आफूलाई बदल्ने स्वतन्त्रता दलको सदस्यले खोज्नु हुदैन । हामी अनेक आरोह अवरोह पार गर्दै ३३ वर्ष इतिहास भएको पार्टीका सदस्य हौं, ३३ दिनमा नेता हुने रहर गर्नेहरुको कुरा सुनेर आफूलाई बदल्ने भुल नगरौं ।


आजको बैठकमा राप्रपाले जे निर्णय गर्नुपर्ने हो त्यहि गर्छ ।
सबैको जय होस् ।

भलिबलकी अरुणा शाहीलाई वर्ष महिला खेलाडी अवार्ड

काठमाडौं – भलिबलकी अरुणा शाहीलाई ‘एनएसजेएफ’ पल्सर स्पोर्ट्स अवार्ड–२०७८ अन्तर्गत वर्ष महिला खेलाडीको अवार्ड प्रदान गरिएको छ  । 

नेपाल खेलकुद पत्रकार मञ्चले उक्त अवार्डबाट शाहीलाई सम्मानित गरेको हो । 

वर्ष महिला खेलाडीको मनोनयनमा शाहीसँगै क्रिकेटका सीता राना मगर, रुबिना क्षेत्री, बक्सिङकी पुनम रावल र एथलेटिक्सकी पुष्पा भण्डारी मनोनयनमा परेका थिए ।
 

बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सुरक्षा दिन गृहमन्त्रालयको सर्कुलर

काठमाडौं – गृहमन्त्रालयले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सुरक्षा दिन देशभरका प्रमुख जिल्ला अधिकारीलाई सर्कुलर जारी गरेको छ । 

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि आक्रमण तथा दुर्व्यवहारका घटना हुन थालेपछि गृहमन्त्रालयले देशभरका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उक्त निर्देशन दिएको हो । 

बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सुरक्षामा अलर्ट रहन मन्त्रालयले निर्देशन दिएको हो । 

संक्रमणकालीन न्यायका विषयमा अदालतबाट छिनोफानो गर्नु गलत हाे : नेपाली कांग्रेस

काठमाडौं – नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले द्वन्द्वका बेलामा भएका सबै घटनाहरु संक्रमणकालीन न्यायकै विधिबाट समाधान गर्नुपर्ने बताएका छन् । सिंहदरबारमा बसेको सत्तारुढ गठबन्धनद्वारा गठित कार्यदलको बैठकपछि बोल्दै उनले यस्तो बताएका हुन्।

उनले संक्रमणकालीन न्यायका विषयमा अदालतबाट छिनोफानो गर्नु गलत हुने बताए । उनले यो कुनै अमुक पार्टीको मात्रै नभएर राज्यको विषय भएको बताए । सबै मिलेर संक्रमणकालीन न्याय सम्पादन गर्ने भएकाले अदालत पनि यो विषयमा सकारात्मक हुने उनको बुझाइ छ ।’नेपाली कांग्रेस द्वन्द्वका बेलामा भएका सबै घटनाहरु संक्रमणकालीन न्यायकै विधिबाट समाधान गर्नुपर्छ भन्ने पक्षमा छ ।’

संक्रमणकालीन न्याय सत्ता, शक्ति मिलीभगत र तजबिजीमा टुंगिने कुरा हैन : गोकुल बाँस्कोटा

काठमाडौं – नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले संक्रमणकालीन न्याय निरुपणको विषय द्वन्द्वरत पक्षको मिलीभगत वा सत्ता र शक्तिको तजबिजीमा टुंगिने कुरा नभएको बताएका छन् ।

आज उनले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा एक पोष्ट गर्दै यस्तो बताएका हुन् ।

उनले ट्वीटरमा लेखेका छन् ‘ संक्रमणकालीन न्याय निरुपणको विषय द्वन्दरतपक्षको मिलीभगत वा सत्ता र शक्तिको तजविजीमा टुंगिने कुरा हैन।यो पीडीतपक्षले मानवअधिकारको निर्वाद प्रयोग गर्न पाउने कानुनी,ब्यक्तिगत र संबैधानिक अधिकारको प्रश्न पनि हो।’

सर्वोच्चलाई सभामुख घिमिरेको जवाफ : विपक्षी दलको नेताको विषय संसदको विशेषाधिकार भएकाे जिकिर 

काठमाडौं – सभामुख देवराज घिमिरेले प्रमुख विपक्षी दलको नेताका सन्दर्भमा परेको रिटको जवाफ पठाउनुभएको छ ।

सर्वोच्च अदालतमा पठाइएको जवाफमा प्रमुख विपक्षी दलको नेताको विषय संसदको विशेषाधिकार भएको उल्लेख छ ।

‘ प्रमुख प्रतिपक्षी दल को हो  भन्ने विषयकाे  निरुपण गर्न हामी सक्षम छौं । अदालतले केही भनिदिइ रहनुपर्दैन,यो संसदको विशेषाधिकार हो । यो संसदले  ब्याख्या गर्ने विषय हो ।’ पठाइएको जवाफमा भनिएको छ । 

सत्तारुढ आठ दलको बैठक : बुधबार काठमाडौं आइपुग्न सांसदलाई निर्देशन

काठमाडौँ – सत्ता गठबन्धनमा रहेका दलहरूले राष्ट्रपति निर्वाचनका सन्दर्भमा आफ्ना मतदातालाई प्रशिक्षण दिने भएका छन् । यसका लागि मतदानमा सहभागी हुने सदस्यहरूलाई बुधबार ११ बजेसम्म काठमाडौँ आउन भनिएको छ ।

सिंहदरबारमा मंगलबार बसेको सत्ता गठबन्धनको राष्ट्रपति निर्वाचन परिचालन समितिको बैठकले यस पटक यसअघि भन्दा फरक ढङ्गले राष्ट्रपतिको निर्वाचन हुन लागेकाले आवश्यक प्रशिक्षण दिने निर्णय गरेको हो ।

बैठकपछि काँग्रेस उपसभापति पूर्णबहादुर खड्काले सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा मतदानका लागि प्राविधिक तयारी गरिएको जानकारी दिनुभयो । निर्वाचनसँग जोडिएका विषयसँग सम्बन्धित विषयमा छलफल भएको र आवश्यक तयारी गर्ने निर्णय भएको उहाँले बताउनुभयो । उहाँले देशभरबाट आएका मतदाताहरूलाई अभिमुखीकरण गर्ने कार्यक्रम तय भए पनि निर्वाचन आचारसंहिता लागू भएकाले सो कार्यक्रम स्थगित भएको जानकारी दिनुभयो ।

त्यस्तै जसपाका नेता राजेन्द्र श्रेष्ठले निर्वाचनका सम्बन्धमा गर्नुपर्ने सबै कामलाई व्यवस्थित गर्न सम्बन्धित दलले तयारी गर्ने निर्णय भएको बताउनुभयो । उहाँले निर्वाचनमा कुनै समस्या नरहेको र आफ्ना पक्षमा धेरै मत खस्ने दाबी गर्नुभयो ।

राष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धनबाट रामचन्द्र पौडेल र एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार बन्नुभएको छ । राष्ट्रपति निर्वाचन फाल्गुन २५ गते बिहीबार काठमाडौँमा हुँदै छ ।

सेयर बजार दोहोरो अंकले वृद्धि

काठमाडौं – मंगलबार सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ। आज सेयर कारोबार मापक नेप्से परिसूचक १४.४१ अंकले घटेर १९५२.६६ विन्दुमा पुगेको छ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५३ अङ्कले घटेर ३७०.२४ मा पुगेको छ।


मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६१ कम्पनीको ४० लाख ५९ हजार १४९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २० करोड ४४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।


त्यस्तै, कारोबारको आधारमा साल्ट ट्रेडिङ शीर्ष स्थानमा छ। यसको १२ करोड ७ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा हिमालय डिष्टिलरीको ९ करोड ३९ लाखभन्दा बढीको कारोबार भएको छ। यसैगरी तेश्रो स्थानमा छिमेकि लघुवित्त वित्तिय संस्थाको ५ करोड ४५ लाख बढिको कारोबार भएको छ ।


मंगलबार १३ उपसुचकहरु मध्ये निर्माण र प्रशोधन र म्युचुअल फण्ड बाहेक सबैको कारोबार रकम बढेको छ। 


आजको कारोबारमा सुभम पावरको १० प्रतिशतले सेयर मूल्य बढेको छ। यस कम्पनीको लगानीकर्ताले अत्याधिक कमाएका छन् भने सुपर मादी हाइड्रो पावरको ९.९७ प्रतिशत र सिद्धार्थ लगानी वृद्धि आयोजनाको ८.०२ प्रतिशतले वृद्धि भएको छ ।

शान्ति सम्झौताको हस्ताक्षरकर्तालाई मुद्दा चलाउने कुरा गम्भीर विषय हो : डा.बाबुराम भट्टराई

काठमाडौँ – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले शान्ति सम्झौताको हस्ताक्षरकर्तालाई मुद्दा चलाउने कुरा गम्भीर विषय भएको बताउनुभएको छ ।

११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा समाजवादी महिला सङ्घले मंगलबार काठमाडौँमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा भट्टराईले पछिल्लो समय बृहत् शान्ति सम्झौता मर्मबिपरितका कार्यहरू भएको र शान्ति सम्झौताको हस्ताक्षरकर्ता प्रधानमन्त्री प्रचण्डलाई मुद्दा चलाउने कुरा गम्भीर विषय भएको बताउनुभएको हो ।

उहाँले आफूहरू अदालतको सम्मान गर्ने भन्दै शान्ति सम्झौता संविधानकै एउटा अङ्ग भएकाले द्वन्द्वकालीन मुद्धाहरुलाई आयोग मार्फत समाधान गर्नुपर्ने जिकिर गर्नुभयो । द्वन्द्वकालीन मुद्धाहरुलाई निरूपण गर्न विभिन्न आयोग बनेको अवस्थामा केही द्वन्द्वको खेती गर्ने र डलरबादीहरुले शान्ति प्रक्रियाका कामलाई पूर्णता दिन नदिएको उहाँले बताउनुभयो । भट्टराईले अहिले संविधानमा रहेका महिला, लगायतका जनताका अधिकारहरूलाई उल्टाउनका लागि गम्भीर प्रकृतिका षडयन्त्रहरू भइरहेको बताउनुभयो ।

उहाँले बलिदानी पूर्वक बनाएको नयाँ संविधानमा रहेका अधिकारहरूमा केही त्रुटि रहेकाले आगामी दिनमा सबैलाई समान अधिकार दिनका लागि संविधान संशोधन आवश्यक रहेको धारणा राख्नुभयो ।

सिंहदरबारमा ८ दलको बैठक बस्दै

काठमाडाैँ – सिंहदरबारमा ८ दलको बैठक बस्ने भएको छ। आज दिउँसो २ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो।

कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पार्टी, राष्ट्रिय जनमोर्चाका नेताहरू बैठकमा सहभागि हुनेछन् ।

प्रधानमन्त्री प्रचण्डविरुद्ध नेपाली कांग्रेसका नेता जितेन्द्र मोक्तान,ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले रिट दर्ता गर्नुभएकाे छ । दर्ता भएको रिटको शुक्रबारलाई पेसी तोकिएको छ। 

यस्तो छ प्रचण्डविरुद्धको रिट निवेदनको पूर्णपाठ

काठमाडाैँ – प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। प्रचण्ड विरूद्धको सर्वाेच्च अदालत पुग्नुभएका नेपाली कांग्रेसका नेता जितेन्द्र मोक्तान,ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले रिट दर्ता गर्नुभएकाे हाे । दर्ता भएको रिटको शुक्रबारलाई पेसी तोकिएको छ।

मंगलबार अधिवक्ता ज्ञानेन्द्र आरन र रामेछापका कल्याण बुढाथोकीले प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक कारबाहीको माग गर्दै सर्वोच्चमा रिट दर्ता गर्नुभएकाे हाे ।

सर्वोच्च प्रशासनले प्रचण्ड विरुद्धको रिटलाई ०७९ Wo-९४७ नम्बरमा दर्ता गरेको हो। शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय ईश्वर खतिवडा र हरि फुयालको संयुक्त इजलाशले रिट दर्ता गर्न आदेश दिएको थियो। ​उहाँरूले द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाउन माग गर्दै रिट दिन लाग्नुभएको छ । ०७६ माघ १ गते प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजार जनाको जिम्मा लिने घोषणा गर्नुभएको थियो ।

व्यक्ति हत्या आरोपमा प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वाेच्चमा रिट दर्ता, बिहीबार सुनुवाइ

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध व्यक्ति हत्या आरोपमा सर्वाेच्च अदालतमा रिट दर्ता भएको छ । 

माओवादी युद्धकालमा मारिएका व्यक्तिका २८ जना आफन्तले संयुक्त रुपमा मंगलबार प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वाेच्च अदालतथमा रिट दर्ता गरेका हुन् । 

१ माघ २०७३ मा टुँडिखेलमा आफुले द्वन्द्वकालीन समयमा मारिएका १७ हजारमध्ये पाँच हजार जनाको हत्याको जिम्मेवारी लिने प्रचण्डको अभिव्यक्तिलाई समेत आधार मानेर मुद्दा दायर गरिएको हो । 

प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी छानबिन प्रक्रियाअघि बढाउन माग गर्दै ज्ञानेन्द्रराज आरण समेतले रिट दायर गरेका हुन् । 

यसअघि सर्वाेच्च अदालत प्रशासनले निवेदन दरपीठ गर्ने निर्णयलाई गत शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले आफ्नै प्रशासनको दरपीठ गर्ने निर्णय बदर गर्दै निवेदन दर्ता गर्न आदेश दिएको थियो । 


सोही आदेशअनुसार मंगलबार रिट दर्ता भएको हो । रिटमा प्रारम्भिक सुनुवाइको लागि बिहीबार पेसी तोकिएको छ ।
 

‘कुनै विदेशी शक्तिका सामु झुक्दैनौँ‘ : विष्णु रिजाल

काठमाडौँ – नेकपा एमालेका नेता तथा एमालेका प्रचार विभागका उपप्रमुख विष्णु रिजालले कुनै शक्तिका सामु नझुक्ने राष्ट्रवादी पार्टी भएका कारण आफ्नो पार्टीलाई घेराबन्दीमा पारिएको बताएका छन् । जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।


उनले भने, ‘आफ्नो संविधान आफैँ बनाउँदा, नाकाबन्दीको डटेर सामना गर्दा, आफ्नो लुटिएको भूमिसहित नक्सा जारी गर्दा र चीनसँग बारबहन सम्झौता गर्दा हाम्रो पार्टीमाथि प्रहार गरिएको छ । तर, जति गरे पनि हामी कुनै विदेशी प्रभुका सामु झुक्दैनौँ ।‘
नेकपा (एमाले) द्वारा सञ्चालित मिसन ग्रासरुट अभियानका क्रममा आयोजित वडास्तरीय भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य रिजालले राष्ट्रभक्त पार्टीका पक्षमा जनतालाई गोलबन्द गराउनुपर्नेमा जोड दिए ।


‘एउटा पार्टी असल वा खराब हुने कुराले देशको भविष्य निर्धारण गर्दछ । एमालेका सही नीतिका कारण आज गाउँगाउँमा विकास सम्भव भएको छ, सामाजिक सुरक्षाका प्रश्नमा जनता लाभान्वित भएका छन् र मुलुकले समृद्धिको मार्ग समातेको छ’, उनले भने, ‘तर, हामीलाई अप्राकृतिक रुपमा घेराबन्दी गरेर यी सब कुरालाई अवरुद्ध पार्न खोजिएको छ । जनताको बलमा त्यसलाई परास्त गर्नेछौं ।’

प्रधानमन्त्री प्रचण्ड विरूद्धको रिट सर्वोच्च अदालतमा आज दर्ता गरिँदै 

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरूद्धको रिट सर्वोच्च अदालतमा आज दर्ता हुँदैछ।

अधिवक्ता ज्ञानेन्द्र आरन र कल्याण बुढाथोकीले प्रधानमन्त्री प्रचण्डविरूद्धको रिट दर्ता गर्न लागेका हुन् । यसका लागि उनीहरू सर्वोच्च परिसरमा पुगिसकेका छन् ।

गत शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय ईश्वर खतिवडा र हरि फुयालको संयुक्त इजलाशले रिट दर्ता गर्न आदेश दिएको थियो। ​उनीरूले द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाउन माग गर्दै रिट दिन लागेका हुन् । ०७६ माघ १ गते प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजार जनाको जिम्मा लिने घोषणा गरेका थिए ।

महिला अधिकारका लागि अझै धेरै काम गर्नुपर्ने छ : सभामुख घिमिरे

काठमाडौँ – सभामुख देवराज घिमिरेले महिला अधिकारका लागि अझै धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।


आज सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा बोल्दै सभामुख घिमिरेले संविधानसभाबाट जारी नेपालको संविधानले व्यवस्था गरेको प्रावधानका कारण राज्यका प्रमुख अङ्गमा महिला सहभागिता सुनिश्चित हुँदै गएको बताएका हुन् । संवैधानिक प्रावधानले कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधि कानुन बनाउने तहसम्म पुगेको उनले उल्लेख गरे ।

सभामुख घिमिरेले भने, महिला अधिकारका लागि अझै धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

माओवादीधारका दलहरुको बैठक आगामी फागुन २६ गते पुनः बस्ने

काठमाडौँ – माओवादीधारका दलहरुको बैठकलाई निरन्तरता दिइने भएको छ । मंगलबार बसेको माओवादी धारका ८ दलको बैठकले आगामी फागुन २६ गते पुनः बैठक बस्ने निर्णय गरेको हो ।

सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउन दबाब दिने उद्देश्यले माओवादी धाराहरूको बैठक बस्ने नेकपा समाजवादी माओवादीका नेता कर्णजीत बुढाले बताए ।

मंगलबार बसेको बैठकले शान्ति सम्झौताविरुद्ध हुने गतिविधिको एककजुट भएर प्रतिवाद गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो लगाउन आवश्यक कानुनी एवं संस्थागत व्यवस्थाको लागि तत्काल पहल गर्न माओवादी धारका नेताहहरुको सरकारसँग मागसमेत गरेको छ ।

बैठकपछि विज्ञप्ति जारी गर्दै उनीहरुले शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने कुनै पनि गतिविधिहरूको प्रतिवाद गर्न एकमत रहेको बताएका हुन् । साथै बैठकमा सहभागी नेताहरुले सबै माओवादीहरू मिल्नुपर्ने भन्दै आआफ्नो धारणा राखेको नेता बुढाले बताए ।

राप्रपाले राष्ट्रपति निर्वाचनबारे निर्णय गर्न बोलायो बैठक

काठमाडौँ – राष्ट्रपति निर्वाचनबारे निर्णय गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बैठक बोलाएको छ । 

केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार दिउँसो १ बजे पार्टी कार्यालयमा बस्ने राप्रपाले जनाएको छ । 

बैठकमा राष्ट्रपति निर्वाचनबारे  छलफल हुने जनाइएको छ । राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङ उम्मेदवार छन् ।

कारकाे ठक्करबाट बालिकाकाे मृत्यु

सर्लाही – सर्लाहीको बलरा नगरपालिका-२ मा  कारको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीय हरेशन सहनीकी १८ महिने छोरी माया कुमारी रहेकी प्रहरीले जनाएकाे छ । 

भारतिय नम्बरको कारले बाटोमा खेलिरहेकी बालिकालाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा प्रादेशिक अस्पताल मंलगवामा मृत्यु भएको हाे । ठक्कर दिने कारसहित चालकलाई प्रहरी चौकी छन्किटोलाले नियन्त्रणमा लिएको छ । 

प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले घट्याे

काठमाडौं – प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य अंकले घटेको छ । नेप्से सुचक ०.८३ अंकले घटेर १९३७.४२ विन्दुमा आएको छ ।

यो सेसनमा कुल ३ वटा कम्पनीको भाउ बढेको छ भने ३ वटैको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।  
 

शान्ति सम्झौताविरुद्ध हुने गतिविधिको प्रतिवाद गर्ने माओवादी घटकको निर्णय

काठमाडौं – माओवादी घटक दलले शान्ति सम्झौता र परिवर्तनकाविरुद्ध हुने कुनै पनि गतिविधिहरुको प्रतिवाद गर्ने निर्णय गरेका छन् ।

माओवादी द्वन्द्वकालीन घटनामा ज्यान गुमाएका १७ हजारमध्ये ५ हजारको जिम्मा लिने माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई आधारमा मानेर उनीविरुद्ध फौजदारी मुद्दा सर्वाेच्च अदालतमा दर्ता हुन लागेपछि माओवादी घटक दलको उक्त धारणा आएको हो । 

मंगलबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको माओवादी घटक दलहरुले संक्रमणकालीन न्यायका सम्बन्धमा भइरहेको चर्चाबारे आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

‘शान्ति प्रक्रियासँग जोडिएका विषयहरु विस्तृत शान्ति सम्झौताको भावना र मर्मअनुरुप व्यवस्थापन गरिनुपर्दछ भन्ने कुरामा हामी दृढ छौं । संक्रमणकालीन न्यायसँग सम्बन्धित् विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् अगाडि बढाइनुपर्दछ । संक्रमणकालीन न्यायको प्रक्रियाविपरीतका काम कारबाहीहरुले शान्ति सम्झौताको कार्यान्वयनमा सहयोग पुयाउँदैन भन्ने कुरामा समेत हामी स्पष्ट छौं,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो लगाउन आवश्यक कानुनी एवं संस्थागत व्यवस्थाको लागि तत्काल पहल गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं । शान्ति सम्झौता र परिवर्तनकाविरुद्ध हुने कुनै पनि गतिविधिहरुको प्रतिवाद गर्न हामी एकमत छौं । साथै विभिन्न समयमा राज्यसँग भएका सहमति र सम्झौताहरुको कार्यान्वयन हुनुपर्दछ भन्ने कुरामा समेत प्रतिवद्ध छौं ।’ 

उक्त विज्ञप्तिमा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड,  नेपाल समाजवादी पार्टी अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सीपी. गजुरेल, नेकपा प्रवक्ता खड्कबहादुर विश्वकर्मा, नेकपा बहुमतका संयोजक धमेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी महासचिव विश्वभक्त दुलाल आहुति, नेकपा माओवादी समाजवादी अध्यक्ष कर्णजित बुढाथोकी र माओवादी कम्युनिस्ट पार्टीका सदस्य नारायणप्रसाद धिमालले हस्ताक्षर गरेका छन् । 

विज्ञप्तिको पूर्णपाठ :

पर्यटकको पर्खाइमा मुगुका घोडा व्यवसायी 

मुगु – छायाँनाथ रारा नगरपालिका–८ चुगा गाउँका दन्त लाल भियालको दैनिकि कार्य हो रारा तालमा आएका पर्यटकलाई घोडामा घुमाउने । पिठ्यँुमा अदुरानो झोला, हातमा घोडाको कडेली समातेर उनी आन्तरिक तथा वाह्य पर्यटकको पर्खाइमा बस्छन् । सुख्खा रोटी र पिरो खुर्सानीको सहारामा उनी दैनिक रारा पुग्छन् । जहान परिवार पाल्ने आशमा अन्य काम छोडेर घोडासँगै उनी रारामा दौडिने गर्दछन् ।

पर्यटक नआउँदा उनको मन सुख्खा रोटीसँगै खाएको पिरो खुर्सानी जस्तै मन पनि पिरो हुन्छ । पछिल्लो समय पर्यटक नआउनु र घोडा सवार गरेको शुल्कमा पनि हेरफेर हुनाले घोडा व्यवसायी मर्कामा पर्ने गरेका छन् ।

ति मध्येका एक घोडा व्यवसायी भियाल विगत जस्तो घोडा व्यवसाय खस्कँदै गएको बताउँछन् । विगतका वर्षहरुमा एक घोडा सवार गरेको ५ सयदेखि एक हजार रुपैयाँसम्म दिने गरेका थिए । । तर, अहिले रारा ताल हेर्न आउने पर्यटकको संख्या पनि कमि हुनु र शुल्कमा पनि तलमाथि हुनाले जीवन गुजरा चलाउन पनि सकस परेको भियालको गुनासो छ । मंसिर महिनायता रारातालमा पर्यटक नआउँदा जीविकोपार्जन गर्न पनि धौ–धौ रहेको उनको भनाइ छ ।   


रारा तालमा घुम्न आउनेको संख्यामा कमि भएपछि मुगुका घोडा व्यवसायीको पनि रोजगारीमा समस्या भएको हो ।  दिनभरी रारा घुम्न आउने पर्यटकहरूलाई सल्लेरीदेखि रारा मुर्माटपसम्म घोडा चढाएर र पर्यटकको सामान बोकेर हिजोआज दैनिक ३ सयदेखि ५ सय रुपैयाँसम्म आम्दानी गरेको अर्को घोडा व्यवसायी पप्पु तिरुवाले बताए । 

उनका अनुसार भदौ असोज महिना तिर अलि बढि पर्यटक आउँछन् । पर्यटकहरू सल्लेरीदेखि घोडा चढी रारा मिली किनारसम्म पुग्दा व्यवसायीले एउटा घोडाको एक हजार, सल्लेरीदेखि रारा हुटुसम्म एक हजार ५ सय, सल्लेरीदेखि मुर्माटपसम्म दुई हजार ५ सय र घोडा चढेर फोटो खिचेबापत ५० रुपैयाँ लिने गरेका छन् । घोडा चढेको दर रेटमा एकरूपता नहुँदा व्यवसायीको मनपरी भने यहाँ कायमै छ । घोडा चढेको दर रेट निर्धारण नहँुदा पर्यटकहरू ठगिने गरेका छन् ।  


रारामा पर्यटकहरूको संख्या घटेपछि घोडा व्यवसाय मात्र होइन, रारामा लामो समयदेखि डुंगा चालक, तालको किनारमा रहेका होटल व्यवसायीको पनि आम्दानी घटेको छ । हिजोआज रारा घुम्न आउने आन्तरिक पर्यटकहरू दैनिक १०  देखि २० जनासम्म हुने गरेको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विश्व बाबु श्रेष्ठले बताए ।

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी विनिमयदर सार्वजनीक गरेको छ ।

मंगलबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७६ पैसा  र बिक्रीदर १३१ रुपैयाँ ३६ पैसा तोकिएको छ। 

युरोपियन युरोको खरिददर १३९ रुपैयाँ ८ पैसा  र बिक्रीदर १३९ रुपैयाँ ७१ पैसा कायम गरिएको छ । 

यता, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५७ रुपैयाँ २५ पैसा र बिक्रीदर १५७ रुपैयाँ ९७ पैसा तोकिएको छ। 

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ८ पैसा र बिक्री भने ८८ रुपैयाँ ४८ पैसा कायम गरिएको छ।

क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ १४ पैसा र बिक्रीमा ९६ रुपैयाँ ५८ पैसामा कारोबार भइरहेको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८४ पैसा र बिक्रीमा ३६ रुपैयाँ कायम गरिएको छ। 

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३६ रुपैयाँ तोकेको छ।

यसैगरी, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६० पैसा र बिक्रीमा ३५ रुपैयाँ ७७ पैसामा कारोबार भइरहेको छ।

मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २९ रुपैयाँ २० पैसा र बिक्रीमा २९ रुपैयाँ ३३ पैसा कायम गरिएको छ।

मंगलबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ५ पैसा र बिक्रीमा ४२८ रुपैयाँ १ पैसा छ भने  बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ८० पैसा र बिक्रीदर ३४८ रुपैयाँ ३९ पैसामा किनबेच भईरहेको छ।

असी हजार डिजेलमा मट्टितेल मिसाएको प्रमाणित, मात्रा निक्यौल नहुदाँ नमुना भारत पठाईने

काठमाडौं – असी हजार लिटर डिजलमा मट्टितेल मिसावट पुष्टी भए पछि थप परिक्षणका लागि भारत पठाईने भएको छ।

नेपाल आयल निगमको केन्द्रीय ल्याबमा नमुना परीक्षण गर्दा मट्टितेल मिसावट भएको प्रमाणित भएको तर ती टयाङकरहरुमा कति मात्रामा मट्टितेल  मिसावट भएको हाे भन्ने निश्चित नभएपछि थप परीक्षणका लागि स्याम्पल भारत पठाउने लागिएको हो।


गत फागुन १३ गते भारतको सिलिगुडीबाट झापाको चारआली डिपोमा ल्याइएको ४ वटा ट्यांकरमा सो मिसावट पाईएको हो । जसअनुसार मे १ ख २१४९,मे १ ख २१५१, ना ७ ख १५०७ र ना ७ ख ६९७४ नम्बरको ट्यांकरमा ल्याईएको कुल ८० हजार लिटर डिजलमा मटितेल मिसावट भएको प्रमाणित भएको हो ।

सो बारेमा अध्ययन गर्न गठित छानबिन समितिले पनि झापाबाट काठमाडौंको केन्द्रिय ल्याबमा परीक्षणका लागि ल्याइएको डिजलको नमुना परिक्षण गर्दा मट्टितेल मिसावट गरिएको प्रमाणिकरण गरेर प्रतिवेदन पनि बुझाई सकेको छ । समितिले सिफारिस गरे अनुसार मात्र निक्याैल गर्न नसक्दा नमुना संकलन गरेर भारत लैजान लागिएको हो ।

राष्ट्रपति निर्वाचनका लागि मध्यरातिदेखि मौन अधवि सुरु

काठमाडौं–  राष्ट्रपति निर्वाचनका लागि मध्यरातिदेखि मौन अधवि सुरु भएको छ ।

आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनलाई स्वच्छ, स्वतत्त्व, निष्पक्ष विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि मौन अबधि सुरु भएको हो ।

निर्वाचन आयोगका अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने निर्वाचन आचारसंहिता, २०७९ मा व्यवस्था अनुसार मौन अवधि लागू हुनेछ ।

‘उक्त अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न, उम्मेदवाको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न मत माग्न, एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न सञ्चारमाध्यमबाट जीत हारको पूर्वानुमानका सामग्रीहरु प्रसारजस्ता कार्य गर्न नहुने भएको हुँदा यस्ता आचारणहरू पालना गर्न गराउन सम्बन्धित सबैलाई आयोग हार्दिक आग्रह गर्दछ,’ आयोग भनेको छ।

आचारसंहिता उल्लंघन गरे निर्वाचन कसुर तथा सजाय ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता २०७० को दफा १७ बमोजिम सजाय हुने बताएको छ। 

राष्ट्रपतिका लागि  कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार रहेका छन् भने नेकपा एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्। 

झाँक्रीको यातनाबाट १४ वर्षीया बालिकाको मृत्यु

बुटवल – झारफुक गर्ने बहानामा कुटपिट गरी एक बालिकाको हत्या गरेको आरोपमा झाँक्री महिला पक्राउ परेकी छन् । इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीले सैनामैना नगरपालिका १० फूलवारीकी १४ वर्षीया सीता ज्ञवालीको शारीरिक यातनाका कारण मृत्यु भएको विषयमा अनुसन्धान गर्न ती महिलालाई पक्राउ गरेको हो ।

सुरुमा घाँटी र कान दुखेपछि ज्वरो आएर स्थानीय सालझण्डीको एक स्थानीय क्लिनिकमा उपचार गराई घरमै बसेकी सीतालाई मातासँग देखाउन भन्दै अभिभावकले सैनामैना १० बेम्टेनीकी २२ वर्षीया माता सोनिया रेश्मी कहाँ शनिबार साँझ लिएर गएका थिए । 

माता भनिने सोनियाले धामी झाँक्री गरी बोक्सी भकाउने नाममा निर्मम शारीरिक यातना दिएकी थिइन् । त्यसपछि उनको शनिबार करिब साढे ९ बजे मृत्यु भएको थियो । लगातार चार–पाँच दिनदेखि बिरामी परेकी सीताको मृत्यु शारीरिक यातनाले भएको स्थानीयको भनाइ छ ।  

उनको अन्तिम संस्कार गरेपछि घटना सामसुम भएको थियो । आइतबार साँझ सो घटनाको भिडियो सार्वजनिक भएपछि सीतालाई निर्मम शारीरिक यातना दिएर मृत्यु भएको स्थानीयलाई थाहा भएको थियो ।  

भिडियोमा माता भनिने सोनियाले सीतालाई लछारपछार गरेको, शरीरमा पानी खन्याएको, कपालमा समातेर घिसारेको, जबरजस्ती पानी खुवाएको लगायतका निर्मम तरिकाको यातना गरेको देखिन्छ । 

सप्तरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

सप्तरी – सप्तरीमा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्युमा मोटरसाइकल चालक बलान बिहुल गाउँपालिका ४ वेल्हीका ५५ वर्षीय विशो मण्डललाई मण्डल रहेका छन् ।

हुलाकी सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बिआर ३२ वाई ६०५७ नम्बरको मोटरसाइकल आनियन्त्रित भई  पोलमा ठोक्किएर दुर्घटना भएको सप्तरीका एसपी नरेन्द्र कुमार कार्कीले जानकारी दिएका छन् ।

गम्भीर रहेका मण्डललाई उपचारका लागि बोदेबर्साइनस्थित  जिवन ज्योति अस्पताल उपचारको लागि लग्दा चिकित्सकले मृत घोषणा गरेका थिए ।

सोही मोटरसाइकलमा सबार सोही ठाउँका राम लोचन शर्माको १८ वर्षिय छोरा कमलेश कुमार शर्मा घाइते भएका छन् । उनको जिवन ज्योति अस्पताल बोदेबर्साइन सप्तरीमा उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सिँचाइ सुविधा नहुँदा कैलालीमा मकै खेती न्यून

धनगढी – कैलाली वसन्ते मकै खेतीका लागि उर्वर क्षेत्र मानिए पनि सिँचाइ अभावका कारण जिल्लाको पहाडी क्षेत्रमा खेती प्रवर्द्धन हुन सकेको छैन ।

प्रदेश सरकार, स्थानीय तह र संघिय सरकारले बर्षेनी करोडौं बजेट सिंचाईमा खर्च गर्ने गरेका भएपनि कैलालीको पहाडी क्षेत्रमा पर्ने चुरे गाउँपालिका र मोहन्याल गाउँपालिकामा वसन्ते मकै खेती न्यून हुँदै आएको छ । ‘वातावरणीय रुपमा कैलालीका दुई पहाडी पालिकामा वसन्ते मकैको राम्रो संभावना रहेको छ,’  कृषि ज्ञान केन्द्र कैलालीका अधिकृत श्यामनारायण चौधरीले भने, ‘तर सिंचाई अभावका कारण पहाडी क्षेत्रमा वसन्ते मकै खेती खास्सै भएको छैन, त्यहाँ बजारको पनि समस्या रहेको छ ।’

कैलालीमा ५ हजार ७ सय ४१ हेक्टर क्षेत्रफलमा बर्षे मकै खेति हुने गरेको भएपनि चैते मकै खेति भने ४ सय ४० हेक्टरमा मात्रै हुने गरेको अधिकृत चोधरीले बताए । ‘बर्षायाममा पहाडी क्षेत्रमा पनि मकै खेति हुने गर्दछ,’ चौधरीले भने, ‘तर वसन्ते मकै खेति गर्न पहाडी क्षेत्रमा सिचाईको समस्या रहेको छ, जसका कारण कैलालीको तारई क्षेत्रमा मात्रै वसन्ते मकै खेति हुने गरेको छ, पहाड तिर  सिंचाईको सुबिधा भएको थोरै स्थानमा मात्रै वसन्ते मकै खेती हुने गर्दछ ।’

कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र प्रसाद शर्माका अनुसार वसन्ते मकै खेतिबाट कैलालीमा गत बर्ष १ हजार ७ सय ८० मेट्रिकटन मकै उत्पादन भएको थियो । तर  पहाडी क्षेत्रमा सिचाई सुविधा पुर्‍याउन सकेको अवस्थामा उत्पापादन दोब्बर हुन सक्ने कार्यालय प्रमुख शर्मा बताउँछन् । ‘बर्षे मकै खेतीभन्दा वसन्ते मकै राम्रो उत्पादन हुने गरेको छ,’ शर्माले भने मकै उत्पादनका लागि पहाडी क्षेत्रको हावा पानी पनि राम्रो छ, तर सिंचाई अभाव कारण पहाडमा मकै खेति विस्तार हुन सकेको छैन ।’ उनले पहाडी क्षेत्रमा सिंचाईको सुबिधा पुगाउन प्रदेश सरकारको लगानी मात्रै प्रयाप्त नहुने बताए । 
 

एक सय हेक्टर क्षेत्र फलमा ५० प्रतिशत अनुदान

कैलालीमा वसन्ते मकै खेति गर्न प्रदेश सरकारले ५० प्रतिशत अनुदान दिदैछ । कैलालीमा ४ सय ४० हेक्टर क्षेत्रफलमा वसन्ते मकै खेति हुने गरेकोमा त्यस मध्य प्रदेश सरकारले एक सय हेक्टर क्षेत्रफलमा ५० प्रतिशत अनुदान दिन लागेको हो ।

त्यसका लागि ७ वटा कृषि सहकारी संस्था, ८ वटा समुह र १२ वटा व्यक्ति वा फर्मलाई छनौट गरिएको कृषि ज्ञान केन्द्र कैलालीका अधिकृत श्यामनारायण चौधरीले बताए । छनौट भएका सहकारी तथा समुहलाई बढीमा ५० हजार सम्म कृषि ज्ञान केन्द्रले उपलब्ध गराउने छ, भने ५० हजार कृषकले व्यहोर्नुपर्ने छ । ५० हजार अनुदान पाउनका लागि किसानले डेढ किघा जमिनमा मकै खेति गर्नु पर्ने हुन्छ, भने कृषि ज्ञान केन्द्रले सिफारिष गरेको बीउ प्रयोग गर्नुपर्ने हुन्छ ।

कृषि ज्ञान केन्द्रले कैलालीमा १० प्रकारका मकैका बीउ सिफारिष गरेको छ । सिफारिष भएका बीउमा अरुण–२, ३, ४ र ६, रामपुर कम्पोजिट, नुतन (के.एच.१०१), राजकुमार, ९२२०, टी एक्स–३६९ तथा रामपुर हाइब्रिड–१० रहेका छन् ।

अनुदान पाएका किसानले आवश्यककता अनुसार पानी तान्ने मोटर, बीउ, किटनाषक औषधी वा अन्य सामग्री खरिद गर्नु पर्ने छ । कैलालीमा चैते धान खेतिका लागि जम्मा १ सय ९५ जनाको आवेदान परेको थियो । 

कृषि ज्ञान केन्द्र कैलालीका अनुसार मकैका लागि बजारको अभाव भने छैन । जिल्लामै थुप्रै दाना उद्योग सञ्चालन रहेका कारण कृषकले उत्पादन गरेको मकै सहजै विक्रि हुने अधिकृत चौधरी बताउँछन् । ‘मकै खेति गर्दा पनि हामीले दाना उद्योगी संग समन्वय गरेका छौं,’ चौधरीले भने, ‘उनिहरुले उत्पादन भएको सवै मकै खरिद गर्न सक्ने आस्वासन दिएका छन्, त्यसैले तराई क्षेत्रमा उत्पादन हुने मकैका लागि बजारको अभाव छैन, पहाडी क्षेत्रमा अलि अलि समस्या रहेको छ ।’ यसका साथै पोलेर खाने प्रयोजनका लागि मकैको राम्रो बजार रहेको उनले बताए । 

कैलालीमा गत बर्ष बर्षे र वसन्ते गरी जम्मा ६ हजार १ सय ८१ हेक्टर क्षेत्रफल जमिनमा मकै खेति भएको थियो भने, १३ हजार ५ सय ३१ मेट्रिकटन उत्पादन भएको थियो । कैलालीमा प्रतिहेक्टर जमिनमा तीन देखि ४ माट्रिकटन मकै उब्जनरी हुने गरेको छ । कैलालीको मकै उत्पादकत्व २ दशमलव १९ मेट्रिकटन रहेको छ ।

प्रचण्डले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन मानेन्न : अध्यक्ष ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन नमान्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भएको बताउनु भएको छ।

आज नेकपा एमालेले पार्टी केन्द्रीय कार्यलय च्यासमा सांसदहरूलाई प्रशिक्षण दिनुहुँदै उहाँले यस्तो कुरा बताउनु भएको हो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘पहिलो पटक प्रधानमन्त्री हुँदा द्वन्द्वकालिन मुद्दा टुग्याउन आग्रह गर्दा प्रचण्डले मान्नुभएन । कहिले के भनेर कहिले के भनेर पन्छिनु भयो ।’

अध्यक्ष ओली भन्नुहुन्छ, ‘मैले प्रचण्ड र शेरबहादुरजीलाई पटकपटक भनें। द्वन्द्वका प्रमुख पक्ष र विपक्ष तपाईंहरु हो । यसको एउटा खाका बनाउँ । म दुवै हातका औंठा छाप गरीदिन्छु भने तर उहाँले वास्ता गर्नु भएन ।’

प्रधानमन्त्री प्रचण्डले दिए उपाध्यायलाई श्रद्धाञ्जली

काठमाडौं – नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं विज्ञान तथा प्रविधि विभाग प्रमुख सरोज उपाध्यायको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आलोकनगर पुगेका छन् ।

प्रचण्ड नेकपा श्रद्धाद्दञ्जली दिन नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय पुगेका हुन् । प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाइ उपाध्यायको पार्थिव शरीरमा श्रद्धान्जली अर्पण गर्नुका साथै नेपालसहित परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

गत शनिबार शंखमुलस्थित एक रेष्टुरेन्टको छतबाट लडेर घाइते भएका उपाध्यायको अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनको आज साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

बालुवामुनि गाडेर राखेको गाजा बरामद

सप्तरी- सप्तरी प्रहरीले बालुवामुनि गाडेर लुकाएर राखेको ६० केजीगाँजा बरामद गरेको छ ।

कन्चनरूप प्रहरी टोलीले हनुमाननगर कंकालिनी नगरपालिका १ कोशी ब्यारेजभन्दा दक्षिण कोशी बाँधको २ सय मिटर तल  बालुवामुनि अवैध रुपमा गाडेर राखेको अवस्थामा गाजा बरामद भएको सप्तरीका एसपी नरेन्द्र कुमार कार्कीले जानकारी दिएका छन् ।

 घटनाको थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

संविधानको रक्षा मेरो पहिलो दायित्व हुनेछ: सुवास नेम्वाङ

काठमाडौं – नेकपा एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेद्वार सुवासचन्द्र नेम्वाङले आफूलाई राष्ट्रपतिमा निर्वाचित गर्दा संविधानको रक्षा गर्ने बताउनु भएको छ।

उहाँले भन्नुभयो, ‘म राष्ट्रपति हुँदा संविधानको रक्षा गर्छु। तपाईंको शिर निहुरिने काम हुन दिन्न। संविधानको रक्षा मेरो पहिलो दायित्व हुनेछ। मैलै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता आरजु राणालाई भेटेर आएको हुँ।’

आज नेकपा एमालेले पार्टी केन्द्रीय कार्यलय च्यासमा सांसदहरूलाई प्रशिक्षण दिने कार्यक्रमा यस्तो कुरा बताउनु भएको हो।

उहाँले कांग्रेसका सभापति देउवाले राष्ट्रपतिमा उपयुक्त पात्र भएको पनि बताउनु भयो । जिम्मेवार राजनीतिक दल एक ठाउँमा उभिनु पर्दछ भन्ने देउवाको भनाइ छ ।

उहाँले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई भेटेकाे बताउनु भयाे ।

युएईलाई नेपालले दियो २३० रनको लक्ष्य

काठमाडौं – आईसीसी विश्वकप लिग टू क्रिकेटमा नेपालले युएईलाई २ सय ३० रनको चुनौती दिएको छ। 

दुबई रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २९ रन बनाएको हो ।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ७० रनको महत्वपूर्ण योगदान गरे। ९९ बल खेलेका उनले ७ चौका हिर्काए। 

कुशल मल्लले ३२ रन जोडे। ३२ बल नै सामना गरेका मल्लले २ छक्का र ४ चौका प्रहार गरे। 

सन्दीप लामिछानेले २७, करण केसीले १७, ज्ञानेन्द्र मल्लले ११ रन बनाउँदा आसिफ शेख ६, दीपेन्द्रसिंह ऐरीले ४ र कप्तान रोहित पौडेल एक रन बनाएर आउट भए। आरिफ शेख ४३ र प्रतिस जिसि ११ रनमा अविजित रहे। 

युएईका जुनैद सिद्दिकीले ३, रोहन मुस्तफा र आर्यन लकराले २÷२ तथा कार्थिक मेइयाप्पनले एक विकेट लिए। 

जारी प्रतियोगितामा नेपाल ३१ खेलबाट ३० अंक जाडेर छैटौँ स्थानमा छ। समान खेलबाट एक अंक बढी बनाएको युएई पाँचौ स्थानमा छ। 

अब बाँकी रहने ४ खेल भने मार्च ९ देखि त्रिवि त्रिकेट मैदान कीर्तिपुरमा हुनेछन् । कीर्तिपुरमा पनि नेपाल, युएई र पपुवा न्यूगिनीबीचको त्रिदेशीय सिरिज हुनेछ । नेपालले लिग टूमा खेल्न बाँकी ५ मध्ये सबै खेल जित्न सके सिधै एक दिवसीय विश्वकप छनोटमा स्थान बनाउने छ । शीर्ष तीनभित्र पर्न नसके क्वालिफायर खेल्नुपर्ने छ ।

राष्ट्रपति निर्वाचन : एमाले सांसदलाई प्रशिक्षण (फोटो फिचर)

काठमाडौं – नेकपा एमालेले राष्ट्रपति पदको निर्वाचनका विषयमा आफ्ना सांसदलाई प्रशिक्षण दिएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा एमालेले आफ्ना सांसदहरुलाई प्रशिक्षण दिएको हो । 

२५ फागुनमा राष्ट्रपति पदको निर्वाचन हुँदै छ । एमालेका सुवास नेम्वाङ र कांग्रेसका रामचन्द्र पौडेल उम्मेदवार छन् । सो निर्वाचनको सोमबार मध्यराति १२ बजेदेखि मौनअवधि सुरु हुँदै छ । 

मौन अवधि सुरु हुनु केही घण्टा अगाडि एमालेले आफ्ना संघीय र प्रदेश सांसदलाई राष्ट्रपति निर्वाचनबारे प्रशिक्षण दिएको हो । राष्ट्रपतिको निर्वाचनमा संघीय र प्रादेशिक सांसद मतदाता रहनेछन् । 


 

लोकतन्त्रको रक्षा गर्ने शर्तमा एमाले सबैसँग सहकार्य गर्न तयार छ: अध्यक्ष ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र रक्षाका लागि एमाले पार्टीले सबैसँग सहकार्य गर्न तयार भएको बताएका छन् ।
सोमबार नेकपा एमालेले पार्टी केन्द्रीय कार्यलय च्यासमा सांसदहरूलाई प्रशिक्षण दिदै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै ओलीले भने, ‘लोकतन्त्रको रक्षा गर्ने शर्तमा एमाले काँग्रेससँग सहकार्य गर्न तयार छ। एमाले व्यक्तिगत स्वार्थका लागि कसैसँग सहमति गर्दैन तर राष्ट्रिय स्वार्थका लागि सबैसँग सहकार्य गर्न तयार छ ।’

बलुचिस्तानमा आत्मघाती आक्रमण, ९ सुरक्षाकर्मीको मृत्यु, १३ जना घाइते

कराँची – पाकिस्तानको बलुचिस्तानमा भएको आत्मघाती आक्रमणबाट कम्तीमा नौ जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।

सोमबार भएको सो आक्रमणमा अन्य १३ जना घाइते भएका पाकिस्तानी प्रहरीले जनाएको छ । 

क्वेटा–सिबी राजमार्गको कम्बरी पुल नजिक बलुचिस्तान कन्स्टेबुलरीका कर्मचारीहरूको ट्रकमा बम विस्फोट गराइएको थियो ।

सो आक्रमण प्रारम्भिक अनुसन्धानले आत्मघाती रहेको वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) महमूद नोतेजाईले बताए ।