नक्कली शरणार्थीकाे फाइल अगाडि बढाउन नमान्ने सुब्बालाई दुर्गममा सरुवा


काठमाडौं – नक्कली शरणार्थी खडा गर्ने फाइल अगाडि बढाउन नमानेको झोकमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणले एक नायब सुब्बालाई दुर्गममा सरुवा गरिदिएको खुलासा भएको छ ।
भुटानी शरणार्थीसम्बन्धी समितिअन्तर्गत झापामा रहेको एक इकाइ प्रमुख रहेका ती कर्मचारीलाई खाँणले सरुवा गरी ताप्लेजुङ पठाइदिएका थिए ।
त्यो समितिमा विभिन्न दातृ निकायका कर्मचारी र गृह मन्त्रालयले खटाएका कर्मचारीले संयुक्तरूपमा शरणार्थी ‘भेरिफिकेसन’को काम गर्दै आएका थिए ।
‘तपाईंले सहयोग गर्नुभएन भन्दै ती कर्मचारीलाई ९खाँणले० सरुवा गरिदिनुभएको थियो,’ गृहस्रोतले भन्यो ।
नक्कली शरणार्थी खडा गरी अमेरिका पठाउने भनी चलेको ठगी धन्दामा संलग्न भएको आरोपमा खाँण बुधवार पक्राउ परेका छन् । उनलाई ३ दिनको म्याद लिएर प्रहरीले हिरासतमा राखेको छ ।
अदालतले दिएको म्याद आज ९शुक्रवार० सकिए पनि भोलि शनिवार परेकाले खाँण हिरासतमै रहनेछन् । उनलाई म्याद थपका लागि आइतवार पुनः जिल्ला अदालत काठमाडौंमा लगिने छ । खाँणसँगै उनका निजी सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् ।
खाँणले गिरोहका सदस्यसँग मनी ट्रान्सफरमार्फत पैसा बुझेको प्रमाण फेला परेको प्रहरी स्रोतले जनाएको छ । गिरोहका सदस्यहरूसँगको ‘कल डिटेल्स’, च्याट आदिलाई पनि प्रमाणका रूपमा लिइएको छ ।
यस प्रकरणमा अहिलेसम्म १२ जना पक्राउ परेका छन् । खाँणका अलावा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजीत राई, केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ, सन्देश शर्मा पोखरेल, टेकनारायण पाण्डे र सन्दीप रायमाझीलगायत प्रहरी हिरासतमा छन् ।
अहिलेसम्म उनीहरूविरुद्ध २० वटा जाहेरी परेको छ । प्रहरीका अनुसार १५४ जना पीडित सम्पर्कमा आएका छन् । हालसम्म पीडितले दिएको विवरण हेर्दा २३ करोड बराबर बिगो कायम हुनसक्ने देखिएको छ ।
अपराध अनुसन्धान कार्यालयका अनुसार यस प्रकरणमा २०७९ जेठ १८ गते रामकुमार रेग्मी र गजेन्द्र बुढाथोकीले पहिलो उजुरी दिएका थिए । अन्य जाहेरी पछि मात्र थपिएका हुन् ।