सरकारले लाल आयोग प्रतिवेदन सार्वजनिक नगरे आन्दोलन गर्ने नाउपाको चेतावनी


काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीले लाल आयोग प्रतिवेदन सरकारले सार्वजनिक नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।
बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सो पार्टीले टीकापुर घटना राजनीतिक घटना भएकाले राजनीतिक हिसाबले हल गर्न माग गर्दै तीन दिन भित्र लाल आयोग प्रतिवेदन सार्वजनिक नभए आन्दोलन गर्ने चेतावनी दिएको हो । साथै सो पार्टीले उक्त प्रतिवेदन सार्वजनिक नगरिए जेष्ठ ३ गतेदेखि ५ गतेसम्म देशव्यापी राँके जुलुस प्रदर्शन गर्ने र ६ देखि १० गतेसम्म नेपाल बन्द गर्ने चेतावनी दिएको छ ।
रेशम चौधरीलगायत व्यक्ति हत्यारा भए फाँसी दिए हुने समेत नागरिक उन्मुक्ति पार्टीले जनाएको छ । नागरिक उन्मुक्तिका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले टीकापुर घटना राजनीतिक घटना भए पनि यसलाई अन्यत्रै मोड्न खोजिएकाले आन्दोलन गर्न बाध्य भएको बताउनुभयो ।
त्यस्तै नागरिक उन्मुक्तिका नेता लक्ष्मण थारुले लाल आयोग सार्वजनिक लगायतका मागहरू तीन दिन भित्र पुरा नभए कडा आन्दोलन गर्न बाध्य हुने बताउनुभयो । उहाँले अदालतको निर्णयलाई स्वीकार गर्ने भन्दै अन्य राजनीतिक घटनालाई माफी दिने तर टीकापुर घटनालाई अन्यत्रै मोडिनु दुर्भाग्य भएको बताउनुभयो ।
उहाँले रेशम चौधरी निर्दोष भएको भन्दै फसाउने काम भएको जिकिर गर्नुभयो ।